`

हात्तीको आक्रमणमा परी मृत्यु भएका राना परिवारलाई राहत रकम हस्तान्तरण

Nepal One HD १८ असोज २०८१ १९:१३
समाज

कञ्चनपुर, १८ असोज : लालझाडी गाउँपालिका–४ डाँडाजाइमा हात्तीको आक्रमणमा परी मृत्यु भएका ५९ वर्षीय रामदल रानाको परिवारलाई राहत रकम उपलब्ध गराइएको छ ।

सामुदायिक वन समन्वय समिति (सिएफसिसि) कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीले राहत स्वरूप रु २५ हजार मृतककी श्रीमती चन्द्रावती रानालाई घरमै पुगेर हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

समन्वय समितिमा आबद्ध संरक्षणकर्मीहरूले बनाएको कोषबाट राहत रकम उपलब्ध गराइएको र सो कोषबाट अन्यलाई पनि नगद सहयोग गरिँदै आएको उहाँले बताउनुभयो ।

राहत रकम हस्तान्तरण गर्नुहँुदै अध्यक्ष जोशीले लालझाडी जैविकमार्ग मासिदा हात्तीले प्रत्येक वर्ष मानवीय क्षति पु¥याउँदै आएको बताउनुभयो । उहाँका अनुसार हात्तीको आक्रमणमा परी हालसम्म यहाँ १२ जनाले ज्यान गुमाइसकेका छन् ।
वडाध्यक्ष बहादुर सिंह रानाले विसं २०६४ सालदेखि निरन्तर रूपमा हात्तीले बर्सेनि मानवीय, भौतिक क्षतिसँगै स्थानीय किसानको अन्नबालीमा नोक्सानी पु¥याउँदै आएको बताउनुभयो । हात्तीको आक्रमणमा परी मृत्यु भएका परिवारलाई गाउँपालिकाका तर्फबाट सक्दो सहयोग गरिने बताउनुभयो ।

लालझाडी सव डिभिजन वन कार्यालयका प्रमुख करुणाकर जोशीले क्षतिपूर्ति वापतको रकम उपलब्ध गराउनका लागि कागजी प्रकृयामा सहयोग गरिने बताउनुभयो ।

असोज १२ गते राति उखुबारीमा कुरुवा बसेका बेला जङ्गली हात्तीको आक्रमणमा परेर रानाको मृत्यु भएको थियो ।


प्रतिक्रिया