`

निर्वाचनका कारण आज साँझदेखि पूर्वी सीमानाका ७२ घण्टाका लागि बन्द

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएका छन् । भारतमा यही वैशाख १४ गते हुने दोस्रो चरणको लोकसभा निर्वाचनका लागि भारतीय आग्रहमा नेपाली नाका बन्द गरिएका हुन् । बन्द अवधिमा सर्वसाधारण र सवारी साधनको आवतजावत निषेध हुने स्थानीय प्रशासनले जनाएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले काँकडभिट्टा, भद्रपुर, टाघनडुब्बा र गौरीगञ्ज नाका उक्त अवधिमा बन्द रहने जानकारी दिनुभयो । आज साँझ ६ बजे बन्द भएका ती नाका वैशाख १४ गते साँझ ६ बजे खुल्ने भएका छन् ।

भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन पश्चिम बङ्गालको दार्जीलिङ र विहारको किसनगञ्ज जिल्लामा यही बवैशाख १४ गते एकैदिन हुँदैछ । भारतका दुवै जिल्ला झापासँग सीमा जोडिएका छन् ।

उक्त अवधिमा नाकाबाट अति जरुरीबाहेक सर्वसाधारण र सवारी साधनको आउजाउ पूर्णतया बन्द हुने प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले बताउनुभयो । उहाँले मतदानबाहेकका दिनमा अत्यावश्यक एम्बुलेन्स र हवाई सेवा प्रयोगकर्तालाई भने छुट दिइने जानकारी दिनुभयो ।

खुला सीमाका कारण चुनावका बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले भारतीय सुरक्षा निकायको आग्रहमा सीमानाका बन्द गर्ने विगतदेखिकै प्रचलन रहेको प्रजिअ बाँस्तोलाले बताउनुभयो । नेपालमा चुनाव हुँदासमेत भारतीय पक्षले उसको सीमानाका बन्द गर्ने गरेको उहाँले बताउनुभयो । चुनाव लक्षित नाका बन्दका बेला सीमाको दशगजा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्ने जनाएका छन् ।

भारतको दार्जीलिङ जिल्लासँग झापासँगै इलामको समेत सीमाले छोएको छ । उक्त अवधिमा इलामको पशुपतिनगर र मानेभञ्ज्याङ नाका बन्द गरिने बताइएको छ । भारतीय सञ्चार माध्यमका अनुसार भारतको पश्चिम बङ्गालको दार्जीलिङ, रायगञ्ज र बलुरघाट निर्वाचन क्षेत्रमा वैशाख १४ गते मतदान हुनेछ । सोही दिन विहार प्रान्तको किसनगञ्ज, पूर्णिया, कटिहार, भागलपुर र बाङ्का निर्वाचन क्षेत्रमा मतदान हुनेछ ।

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

इनरुवा (सुनसरी), ११ वैशाख : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज आगलागी भएको छ । आगलागीबाट रु ५० लाखभन्दा बढीको क्षति भएको छ ।

स्थानीय जियान्दन मेहताको घरमा विद्युत् सर्ट भएर आगलागी भएको हो । आगो उहाँका छिमेकी रामदेव मेहताको घरमा राखिएको परालमा सल्केपछि अन्य १५ घर जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । आगलागीबाट महेन्द्र मेहताका १० वर्षीय छोरा घाइते भएका छन् । उनको इनरुवा अस्पतालमा उपचार भइरहेको छ ।

आगोले शिशौ टोलका सात परिवारको घरमा रहेको खाद्यान्न, लत्ताकपडा र नगद जलेर नष्ट भएको छ । आगोबाट भएको क्षतिको थप विवरण सङ्कलन भइरहेकोे प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीले आगो निभाएका थिए । आगो निभाउन सात दमकल प्रयोग गरिएको थियो । आगलागीबाट सबै सामान जलेर नष्ट भएपछि पीडितको बिचल्ली भएको छ ।

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न १२ वटा कानुन र नियमावलीमा अध्यादेशमार्फत गरेको संशोधनको नेपाल उद्योग वाणिज्य महासङ्घले स्वागत गरेको छ ।

कूल गार्हस्थ्य उत्पादनको ० दशमलव २ प्रतिशतमात्रै विदेशी लगानी आइरहेको सन्दर्भमा महासङ्घको आग्रहमा गरिएको सुधारले लगानीको वातावरण बन्ने विश्वास गर्न सकिने महासङ्घले आज विज्ञप्तिमार्फत जनाएको छ ।

यसअघि महासङ्घले निजी क्षेत्रले लगानी सम्मेलनअगावै सो सम्मेलनमार्फत नेपालमा विदेशी तथा स्वदेशी लगानी प्रवद्र्धनका लागि सहयोगीसिद्ध हुने गरी विद्यमान नियम तथा कानुनमा संशोधन तथा सुधारका लागि सरकारलाई सुझाएको थियो ।

सोही आधारमा नेपाल सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, औद्योगिक व्यवसाय ऐन, २०७६, वन ऐन, भूमिसम्बन्धी ऐनलगायतका कानुनमा संशोधन गरेको छ । नयाँ व्यवस्थाले वातावरणीय प्रभाव मूल्याङ्कन, हदबन्दीलगायतका विषयलाई सम्बोधन गरेको छ ।

यही वैशाख १६ र १७ गते हुन गइरहेको लगानी सम्मेलनलाई लक्षित गरी महासङ्घको पहलमा नियमावली बनाई स्टार्ट अपको परिभाषा दिने विषय पनि यस पटकको केही नेपाल ऐन संशोधनमा परेकामा महासङ्घले खुसी व्यक्त गरेको सो विज्ञप्तिमा जनाइएको छ ।

सो विज्ञप्तिमा भनिएको छ, यसअघि परिभाषाको अभावमा स्टार्ट अपलाई सुविधा दिन सकिएको थिएन । महासङ्घले नै नियमावलीमार्फत परिभाषा खोजे पनि यसपटक सिधै ऐनबाट सम्बोधन हुनु सकारात्मक छ ।

प्रधानमन्त्री कार्यालका तत्कालीन सचिव एकनारायण अर्यालको संयोजकत्वमा गठित नीतिगत सुधार कार्यदलको सुझावअनुरुप ऐन नियममा संशोधन भएको हो । सो कार्यदलमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि सदस्य हुनुहुन्थ्यो । अध्यादेशबाट पारित यी नियम तथा कानुनी व्यवस्थाहरुको कार्यान्वयनका लागि पनि महासङ्घले आग्रह गरेको छ ।

युक्रेनले युद्धका लागि सैन्य सेवा उमेरका नागरिकलाई स्वदेश फिर्ता बोलाउने

सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू ल्याउन लागेको युक्रेनले मङ्गलबार बताएको छ ।

किएभले यसै महिना नयाँ कानुन प्रस्तुत गर्दै ड्राफ्ट डोजर (सशस्त्र सेनामा सामेल हुनको लागि आधिकारिक आदेश पालना नगर्ने व्यक्ति) का लागि सजायमा कडाइ गर्ने र परिचालनको उमेर दुई वर्ष घटाएर २५ वर्ष पु¥याएको छ ।

विदेशमन्त्री दिमित्रो कुलेबाले भन्नुभयो, “विदेश बसेका कारण कुनै पनि नागरिकलाई मातृभूमिप्रतिको कर्तव्यबाट मुक्त गर्न सकिँदैन । त्यसैले हिजो मैले युक्रेन र विदेशका भर्ती उमेरका पुरुषहरूप्रति निष्पक्ष मनोवृत्ति पुनस्र्थापित गर्ने उपायका लागि निर्देशनमा हस्ताक्षर गरेको छु । यो न्यायोचित हुनेछ ।”

उहाँले भन्नुभयो, “छिट्टै परराष्ट्र मन्त्रालयले विदेशी कूटनीतिक नियोगमा भर्ना भएका पुरुषका लागि कानूनी दायराभित्र रहेर कन्सुलर सेवा प्राप्त गर्ने प्रक्रियाबारे थप स्पष्टिकरण दिनेछ ।उहाँले के कस्ता उपायहरू पहिले नै लागू गरिएको थियो वा विचार भइरहेको थियो भन्ने कुरा स्पष्ट पार्नुभएन ।

युक्रेनी सञ्चारमाध्यमले प्रकाशित गरेको एक दस्तावेजमा परराष्ट्र मन्त्रालयले १८ देखि ६० वर्ष उमेर समूहका सबै युक्रेनी पुरुषका लागि कन्सुलर सेवा स्थगन गरेको उल्लेख छ ।युक्रेनका प्रथम उपविदेशमन्त्री एन्ड्री सिबिगाको हस्ताक्षर रहेको पत्रमा युक्रेनी प्रतिनिधि कार्यालयहरूले विदेशमा रहेका पुरुषलाई मात्र युक्रेन फर्कन अनुमति दिने कागजात जारी गर्ने उल्लेख छ ।

यस कदमले विभिन्न प्रकारका प्रशासनिक प्रक्रियाहरू पुरा गर्दै युक्रेनी पुरुषहरूलाई विदेशबाट फर्कन बाध्य पार्नेछ । युक्रेनको राहदानी कार्यालयले ‘प्राविधिक कारण’ देखाउँदै विदेशस्थित वाणिज्य दूतावासमा केही कागजात जारी गर्न रोकेको घोषणा गरेको छ ।

जनशक्तिको अभावमा युक्रेनी सेनाले हालैका महिनाहरूमा लगातार रूसी सेनालाई आफ्नो जमिन छोड्दै पछि हटिरहेको छ । रूसले केही समय पहिले पूर्वी शहर अभदाइभ्कालाई कब्जा गरेको थियो र अहिले वरपरका गाउँहरू कब्जा गरिरहेको छ ।

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ रात्रिभोजको आयोजना गर्नुभयो । सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो ।

रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो । त्यस्तै रात्रिभोजमा प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवं विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावको सहभागिता थियो ।

कतारका अमिर अल थानी राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा आज अपराह्न त्रिभुवन विमानस्थलमा अवतरण गर्नुभएको थियो । राष्ट्रपति पौडेलले विमानस्थलको अतिविशिष्ट कक्षमा उहाँको स्वागत गर्नुभएको थियो । कतारका अमिर विमानस्थलबाट राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको थियो । शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरसहितको प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता भएको थियो । बुधबार दुई देशका प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताको कार्यक्रम छ ।

मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने

कर्णाली, ११ वैशाख : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री कँडेलले यही वैशाख १३ गते विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराउनुभएको थियो ।

नेकपा (माओवादी केन्द्र) लाई आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय दिने सहमति भएसँगै माओवादी केन्द्र प्रदेश सरकारमा सहभागी हुने भएको छ । माओवादी केन्द्रले चार मन्त्रालय प्राप्त गरेपश्चात् सरकार विस्तार हुने वातावरण बनेपछि मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने मिति तय भएको कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक रनसिंह परियारले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईले प्रदेश सरकार विस्तार तथा मन्त्रालय बाँडफाँटबारे सत्ता साझेदार दलबीच सहमति भएको बताउनुभयो ।

कर्णाली किड्स कपको उपाधि छत्रपाल आविलाई

सिमकोट (हुम्ला), ११ वैशाख : हुम्लाको अदानचुली गाउँपालिकामा आयोजित कर्णाली किड्स कप- २०८१ को उपाधि छत्रपाल आधारभूत विद्यालयले हात पारेको छ ।

आज भएको फाइनल खेलमा सूर्योदय माध्यमिक विद्यालयलाई ४-१ गोल अन्तरले पराजित गर्दै छत्रपाल आवि विजेता भएको हो ।

‘बालबालिकाका लागि खेलकुद’ भन्ने नाराका साथ शुक्रबारदेखि सुरु भएको कर्णाली किड्स कपको विजेताले ३० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

तेस्रो उपाधी अदानचुली- १ को जनकल्याण आधारभूत विद्यालयले हात पारेको छ । उपविजेता सूर्योदय माविले २० हजार नगदसहित मेडल प्राप्त गरे । तृतीय हुने जनकल्याण आविले १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । जनकल्याण आविका हेमराज दानी प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए ।

डुङ्गा दुर्घटनामा १६ आप्रवासीको मृत्यु, २८ जना बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा भएको पछिल्लो डुङ्गा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको मृत्यु हुनुका साथै २८ जना बेपत्ता भएको संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले मङ्गलबार जनाएको छ ।

इथियोपियाली आप्रवासी बोकेको अर्को डुङ्गा जिबुटीको तटीय क्षेत्रमा डुबेको हो ।“जिबुटी तटमा बालबालिकासहित ७७ जना आप्रवासी सवार डुङ्गा पल्टिँदा दुर्घटना भएको छ,” आइओएमले एक्स (ट्वीटर)मा लेखेको पोस्टमा भनिएको छ ।

“कम से कम २८ व्यक्ति वेपत्ता भएका छन् । १६ जनाको मृत्यु भएको छ”, विज्ञप्तिमा भनिएको छ, “स्थानीय आईओएम शाखाले स्थानीय अधिकारीहरूलाई खोजी र उद्धार कार्यमा सहयोग गरिरहेको छ ।

यो तथाकथित पूर्वी आप्रवासन मार्गमा भएको पछिल्लो घातक दुर्घटना थियो ।जिबुटीको उत्तरपूर्वमा पर्ने गोडोरियाको तटमा अप्रिल ८ मा ६० जनाभन्दा बढी यात्रु बोकेको अर्को डुङ्गा डुबेको आईओएम र जिबुटीस्थित इथियोपियाली दूतावासले जनाएको छ ।

आइओएमका अनुसार उक्त घटनामा बालबालिकासहित ४४ आप्रवासीको मृत्यु भएको थियो । जिबुटीस्थित दूतावासका अनुसार डुङ्गाले इथियोपियाली आप्रवासीलाई जिबुटीबाट युद्धग्रस्त यमनतर्फ लैजाँदै थियो ।

हरेक वर्ष हजारौं अफ्रिकी आप्रवासीहरूले द्वन्द्व वा प्राकृतिक विपत्तिबाट बच्न वा राम्रो आर्थिक अवसरको खोजीमा युद्धग्रस्त यमन हुँदै ‘रेड सी’ पार गरेर खतरनाक ‘पूर्वी मार्ग’ पार गर्दै साउदी अरब पुग्ने गर्छन् ।

नुवाकोटको प्रसिद्ध जात्रा सिन्दूरे जात्राको रौनक जारी

त्रिशूली (नुवाकोट), ११ वैशाख ः नुवाकोटको प्रसिद्ध जात्रा भैरवी वर्ष बन्धन (सिन्दूरे जात्रा) को विशेष रौनक जारी छ । जीवित भगवान्को रुपमा धामी एवं भैरवीदेवी मन्दिरका पुजारी हरिमानसिंह डङ्गोल र उहाँको जीवन सङ्गीनी धमिनीलाई पुज्ने र मुलुकमा आगामी वर्ष के हुन्छ ? भनेर गोप्य भाविष्यवाणी गर्ने सिन्दूरे जात्रा भैरवीदेवी मन्दिर नुवाकोट र जालपादेवी मन्दिर देवीघाटमा चलिरहेको छ ।

सोमबार राति बूढीदेवता मन्दिर र भैरवीदेवी मन्दिरमा लिङ्गो उठाएसगैँ सुरु भएको जात्राको विशेष रौनक आगामी बिहीबार सिन्दूर खेलेर हर्षबढाइँको साथ जारी रहन्छ । धार्मिक तथा सांस्कृतिक परम्परासहित ठूलो पर्वको रुपमा मनाइने यस जात्रा गत फागुपूर्णिमाको दिन बाह्रभाइले भैरवीदेवीको मन्दिरबाट जल ग्रहण गरेर शुद्ध भएसँगै सुरु भएको हो । जात्राको विशेष रौनक सोमबारसाँझदेखि सुरु भएर बिहीबारसम्म चल्ने नुवाकोट दरबार मौला अमालका प्रतिनिधि द्धारे महेन्द्रकुमार शाहीले जानकारी दिनुभयो ।

उहाँको अनुसार स्थानीयवासी, तीर्थालु, धर्मावलम्बीबाट बयालिस हात लामो सल्लाका लिङ्गो मङ्गलबार बिहान बूढी भैरवीदेवता मन्दिर र त्यसपश्चात् भैरवी देवी मन्दिर परिसरमा उठाइएको छ । भैरवी वर्ष बन्धनको सिन्दूरे जात्राअन्तर्गत लिङ्गो उठाएसँगै भैरवीदेवी मन्दिरको रथसहित धामी, धमिनीलगायतको लावालस्कर मङ्गलबार राति देवीघाटस्थित प्रसिद्ध जालपादेवी मन्दिरमा पुराइने गरिन्छ ।

“फागुपूर्णिमादेखि सुरु भएर वैशाख शुक्ल दशमीसम्म विभिन्न धार्मिक परम्पराको साथ मनाइने जात्रा नुवाकोटकै सबैभन्दा लामो सरकारी जात्रा हो”, द्धारे शाहीले भन्नुभयो, “लिङ्गो उठाउने, भैरवीदेवीको रथयात्रा, जीवित भगवान् धामीधमिनीको जालपादेवी मन्दिर प्रस्थान, जालपादेवी मन्दिरमा जीवित पशुको बलि ग्रहण, राष्ट्रको नाममा गोप्य भविष्यवाणी, देवीघाटबाट फर्केपछि जिल्लाका सरकारी कार्यालयका प्रमुख, राजनीतिक दल, सामाजिक सङ्घसंस्थाको प्रतिनिधिको उपस्थितिमा द्धारेबाट धामीधमिनीको माथमा सिन्दूर हालेर सिन्दूरे जात्रा मनाइने गरिन्छ ।”

८६ वर्षीय धामी डङ्गोलले जालपादेवी मन्दिरमा मङ्गलबारमध्ये रातमा जीवित पशुको बलि खाएपश्चात् गर्ने गोप्य भविष्यवाणीलाई राष्ट्र प्रमुखसमक्ष पठाइने भएकाले यसलाई विशेष महत्वको रुपमा लिइन्छ ।

धामीले गर्ने भविष्यवाणी राष्ट्रप्रमुख राष्ट्रपतिसमक्ष जाहेर गरिने द्धारे शाहीले जानकारी दिनुभयो । उहाँको अनुसार धामीले गोप्यरुपमा गरेको भविष्यवाणी द्धारेसहित गुभाजु र बाह्रभाइखलकलाई मात्र थाहा हुनेछ । “धामीले गर्ने भविष्यवाणीलाई सदियौँँ वर्षअघिदेखिको परम्पराअनुसार राष्ट्रप्रमुखले गम्भीरतापूर्वक लिनुहुन्छ”, उहाँले भन्नुभयो, “भविष्यवाणीअनुसार आगामी वर्ष मुलुकमा हुने अशुभको सङ्केत भएमा राष्ट्र प्रमुखबाट क्षमा पूजा पठाउने तथा आफैँ उपस्थित भएर पुर्जा गर्ने चलन छ ।”

जात्राको अवसरमा विदुर–५ देवीघाटस्थित जालपादेवी मन्दिर र नुवाकोटस्थित भैरवीदेवी मन्दिरमा भक्तजनको उल्लेख्य सहभागिता रहेको छ । बहिनी भैरवीदेवीको मुकुटसहितको रथयात्रा दिदी जालपादेवीको मन्दिरमा पु¥याइने हुँदा भैरवी र जालपाको एकै स्थानमा दर्शन गर्न र भैरवीको मुकुटसहितको रथयात्राको अवधिभर भैरवीको मुख्य शिलामा दर्शन गर्न पाइने हुँदा यस अवसरमा धर्मावलम्बीको चहलपहल हजारौँको सङ्ख्यामा हुने गर्दछ ।

लेखा अधिकृत नहुँदा तीन महिनादेखि कामकाज ठप्प

म्याग्दी, ११ वैशाख : लेखा अधिकृत नहुँदा म्याग्दीको धवलागिरि गाउँपालिकाको कामकाज तीन महिनादेखि ठप्प भएको छ । लेखा शाखा कर्मचारीविहीन भएपछि आर्थिक काम ठप्प बनेको हो । आर्थिक काम रोकिएपछि प्रशासनिक काम समेत प्रभावित बनेको छ । कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीले तीन महिनादेखि तलब पाएका छैनन् । सामाजिक सुरक्षा भत्ता वितरण रोकिएको छ । विकास निर्माणका काम रोकिएको सेवाग्राहीको गुनासो छ ।

निर्माण व्यवसायी, आपूर्तिकर्ता र उपभोक्ता समितिले भुक्तानी पाउन सकेका छैनन् । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले लोकसेवा आयोगमा लेखा अधिकृत माग गरिएपनि पदपूर्ति नभएको बताउनुभयो । उहाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कोष तथा लेखा नियन्त्रकको कार्यालयमा अनुरोध गर्दा लेखा शाखाको कर्मचारी नपाइएको बताउनुभयो ।

“लेखा शाखामा पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोगमा माग गरेका छौँ”, उहाँले भन्नुभयो, “लोक सेवाबाट नआउँदासम्म काम फुकाउन छोटो समय र दुर्गमको कारण देखाएर आउन मानेनन् ।” गाउँपालिकामा लेखा अधिकृत र लेखापालको दरबन्दी विगत दुई वर्षदेखि रिक्त छ ।

यसअघि करिब डेढ वर्षसम्म आन्तरिक लेखापरीक्षक तिलक शङ्कर पौडेललाई लेखा शाखा प्रमुखको जिम्मेवारी दिइएको थियो । आर्थिक प्रशासन नियमन गर्नुपर्ने दायित्व भएका लेखापरीक्षकलाई आर्थिक कारोवारको जिम्मेवारी दिन नमिल्ने भएपछि २०८१ फागुन २१ गतेको कार्यपालिका बैठकले पौडेललाई लेखा परीक्षकको मात्रै जिम्मेवारी दिएको छ ।

ठेक्का सम्झौता गरेका र काम सम्पन्न भइसकेका विकासे आयोजनाका भुक्तानी निर्माण व्यवसायी र उपभोक्ता समितिले पाउन सकेका छैनन् ।

चालु आव २०८०/८१ को ९ महिनामा कूल बजेटको ३० दशमलव ८ प्रतिशत मात्र खर्च भएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले लेखा अधिकृत र लेखापालको जिम्मेवारीका लागि धेरै जनालाई अनुरोध गरिए पनि आउन नमानेको बताउनुभयो ।

कूल ५० भन्दा बढीको दरबन्दी भएको धवलागिरि गाउँपालिकाको प्रशासनिक, प्राविधिक, लेखा, कृषि, भेटेरिनरी, शिक्षा शाखामा एक तिहाइभन्दा कम मात्र कर्मचारी कार्यरत छन् ।

दैलेखमा एउटै बँदेलको टोकाइबाट सात जना घाइते

दैलेख, ११ वैशाख : रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पु¥याउँदै आएको बँदेलले पछिल्लो समय मानिसलाई दिउँसै आक्रमण गर्न थालेको छ । आज भैरवी गाउँपालिका–६ कुसापानीमा गहुँ काटिरहेका स्थानीयलाई आक्रमण गर्दा एउटै बँदेलले सात जनालाई घाइते बनाएको छ ।

घुम्नेखाली, पाण्डेटोल र पुनडाँडाका तीन वटा टोलमा गहुँ काट्दै गरेका, बाटोमा हिँड्दै गरेका सात जनालाई एउटै बँदेलले लखेटीलखेटी टोकेको भैरवी गाउँपालिका-६ का वडाध्यक्ष तुलबहादुर हमालले बताउनुभयो ।

बँदेलको टोकाइबाट भैरवी गाउँपालिका-६ का ३७ वर्षीय गणेश सिजाली, २३ वर्षीय लछुमन पुनमगर, ३३ वर्षीय रत्नबहादुर बराल, २७ वर्षीय तर्कबहादुर पुनमगर, १४ वर्षीय पूर्ण सिंजाली, ६८ वर्षीय जयबहादुर थापामगर र १२ वर्षीय तिलक पौडेल घाइते हुनुभएको छ ।

घाइते सबैलाई लखेट्दै बँदेलले पछिल्तिरबाट खुट्टाका साप्रामा टोकेको पानीपोखरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) कर्णबहादुर रोकायले जानकारी दिनुभयो । घाइते सबैलाई स्थानीय लाइफ केयर फार्मेसीमा प्राथमिक उपचार गरिएको छ ।

घाइतेमध्ये गणेश सलामी सख्त घाइते हुनुभएकोले थप उपचारका लागि सदरमुकाम ल्याइएको वडाध्यक्ष हमालले बताउनुभयो । गएको फागुनमा भैरवी गाउँपालिका-६ घुम्नेखाली घरमै बसेकी पवित्रा कँडेललाई बँदेलले दायाँ खुट्टाको साप्रो र हातको औँला टोकेर अपाङ्ग हुनुभएको छ ।

थाइल्याण्डमा सिनेटको निर्वाचन हुने

थाइल्याण्डमा एक दशकअघिको सैन्य ‘कू’पछि पहिलो पटक यहाँको माथिल्लो सदन (सिनेट)को लागि आगामी जुन महिनामा निर्वाचन हुनेभएको छ ।प्रधानमन्त्री श्रेता थाभिसिनको मन्त्रीमण्डलले धेरै चरणमा हुने जटिल निर्वाचनका लागि योजनाहरू स्वीकृत गरेको छ । यद्यपि निर्वाचनमा पूर्ण सार्वजनिक मतदान हुने कुरा भने समावेश गरिएको छैन ।

सन् २०१७ मा तत्कालीन सेनाप्रति बफादार (जुन्टा) प्रशासनले तयार पारेको संविधान परिवर्तनको पक्षमा छन् कि छैनन् भनेर थाइल्यान्डका जनतालाई सोधेर जनमत सङ्ग्रह गर्न पनि थाई मन्त्रीहरू सहमत भएका छन् ।

सन् २०१४ मा सत्ता कब्जा गरेको सैन्य सरकार र यसको आडमा बनेको सिनेटले वर्तमान २५० सदस्य नियुक्त गरेकोे गत वर्षको आम निर्वाचनको परिणाम निर्धारण गर्न महत्वपूर्ण भूमिका खेलेको थियो ।

प्रोग्रेसिभ मुभ फरवार्ड पार्टी (एमएफपी) ले तल्लो सदनमा अधिकांश सिट जितेपनि सिनेटमा पर्याप्त समर्थन जुटाउन नसकेका कारण यसका नेता पिटा लिम्जारोएनरतलाई प्रधानमन्त्री बन्नबाट रोकियो । त्यसपछि चुनावमा दोस्रो स्थानमा रहेको फेउ थाई पार्टीकी नेतृ स्रेथाले सेनासँग सम्बन्धित दलसँग मिलेर गठबन्धन सरकार बनाउनुभएको थियो ।

माथिल्लो सदनमा न्याय, शिक्षा, जनस्वास्थ्य, उद्योग, कला र खेलकुद, वृद्ध र जातीय अल्पसङ्ख्यकलगायत काम र जीवनका विभिन्न २० क्षेत्रहरूबाट छानिएका २०० सिनेटरहरू हुनेछन् ।

सन् २०२४ जुन ९, १६ र २६ मा तीन चरणको मतदान हुने भएकाले सिनेटर बन्नका लागि आवेदन दिएकाहरूले मात्र मतदान गर्न पाउनेछन् ।आलोचकहरूले यो प्रक्रिया अलोकतान्त्रिक र अनावश्यक रूपमा जटिल भएको बताएका छन् ।

एमएफपीका प्रवक्ता परित वाचारासिन्धुले एएफपीसँग भन्नुभयो, “यो निर्वाचन होइन किनभने सिनेटका सदस्यहरू जनताबाट प्रत्यक्ष रूपमा आउँदैनन् ।”निर्वाचनको परिणाम जुलाई २ मा आउने अपेक्षा गरिएको छ ।

सिरहाको सलहेश भोजपुर गोल्डकपको सेमिफाइनलमा, भोली अन्तिम क्वाटर फाइनल

टक्सार (भोजपुर), ११ वैशाख : डाँगीहाट युथ क्लब मोरङलाई ४-० गोल अन्तरले पराजित गर्दे सलहेश युवा क्लब सिरहा अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भोजपुर नगरपालिका-७, कोदार रङ्गशालामा आज भएको खेलमा सलहेश युवा क्लब सिरहाका तर्फबाट जर्सी नम्वर १० का स्टेफेन बिलोङले खेलको २६औँ र ७५औँ मिनेट दुई गोल गरे । सलहेशकै जर्सी नम्बर ७ का फोडे फोफनाले ५१औँ मिनेटमा एक गोल र जर्सी नम्बर ११ का आदित्य शाक्यले ८६औँ मिनेटमा थप गोल गरेका थिए ।

मोरङका तर्फबाट गोल हुन सकेन । प्रतियोगिताको म्यान अफ द म्याच सलहेश युवा क्लब सिरहाका स्टेफेन विनोङ भए । उनले नगद पाँच हजारका साथमा मेडल प्राप्त गरे ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र खोटाङ भगवती स्पोर्ट्स क्लब यसअघिनै सेमिफाइनलमा पुगेका छन् ।

भोली बुधबार अन्तिम क्वाटर फाइनल खेल आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ र चर्च व्बाइज युनाइटेड काठमाडाँैका बीचमा हुनेछ । आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविण सुवालका अनुसार फाइनल खेल आगामी वैशाख १५ गते हुनेछ ।

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतारी अमिरलाई आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार उनीसँग भएको द्विपक्षीय भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले जोशीको रिहाइका लागि पलह गर्न आग्रह गरेका हुन् । कतारी अमिर राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार अपराह्न यहाँ आएका हुन् ।

राष्ट्रपति पौडेलले आफूहरूका लागि विपिनको रिहाइ महत्वपूर्ण चासोको विषय रहेको बताएका र रिहाइका लागि कतारका अमिरलाई पहल गरिदिन आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

गत ७ अक्टोबर २०२३ मा हमासको आक्रमणमा परी विपिन जोशी बेपत्ता छन् । सो अवसरमा कतारका अमिरले यसबारेमा विगतमा पनि चासो लिएर पहल गरेको र यसबारेमा थप पहल गर्ने पनि बताएका थिए ।

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत

काठमाडौँ, ११ वैशाख : आज बसेको लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने (मार्केट साउन्डिङ) परियोजनाको सूची स्वीकृत गरेको छ । सम्मेलनमा सरकारी र निजीसमेत गरी कूल एक सय ४८ वटा परियोजना सोकेसमा राखिनेछन् ।

आजको बैठकले दुई वटा परियोजनामा लगानी थप गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो । ह्वासिन नारायणी सिमेन्ट परियोजनाको लागि रु छ अर्ब ६३ करोड ४० लाख बराबर थप लगानी स्वीकृत भएको छ । डाबर नेपाल प्रालिको लगानी सम्झौताको मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ ।

डाबर नेपालले क्षमता विस्तार तथा उत्पादन विविधिकरणका लागि रु नौ अर्ब ६८ करोड पुनर्लगानीका लागि प्रस्ताव गरेको छ । उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन प्राप्त भई बोर्डको मूल्याङ्कन पश्चात् वार्ता प्रक्रिया अगाडि बढाइएको हो ।

बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगानी सम्मेलनलाई औपचारिकतामा मात्र सीमित नबनाई बढीभन्दा बढी नतिजामुखी बनाउन निर्देशन दिनुभयो । स्वदेशी, विदेशी तथा निजी क्षेत्रबाट हुने स्वपूँजी तथा ऋण परिचालनलाई सहजीकण गर्न मन्त्रालयले विशेष एकाइ बनाएर अघि बढ्न प्रधानमन्त्री दाहालले निर्देशन दिनुभयो ।

सार्वजनिक र निजी क्षेत्रको साझेदारीबाट मात्र मुलुकको समृद्धि हासिल हुने बताउनुहुँदै प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई सुविधा दिन पुरातन सोच र पुरातन नीतिगत तथा कानुनी व्यवस्थाबाट सम्भव नरहेकाले सरकारले लगानीका अवरोध हटाउन कानुन संशोधनको कार्य अघि बढाएको बताउनुभयो ।

बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अघिल्लो बोर्ड बैठकको निर्णय कार्यान्वयनको अवस्था र तेस्रो लगानी सम्मेलनको तयारीको सम्पूर्ण पक्षको विषयमा जानकारी गराउनुभएको थियो । लगानी सम्मेलन यही वैशाख १६ र १७ मा हुँदैछ ।

प्लास्टिक सर्जरीको अवस्था र सुरक्षित अभ्यासबारे गोष्ठी हुँदै

काठमाडौँ, ११ वैशाख : नेपाल प्लास्टिक सर्जन सङ्घ (एपसन) र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल (न्याम्स्)को प्लास्टिक सर्जरी सङ्कायको संयुक्त आयोजनामा गोष्ठी हुने भएको छ ।

‘नेपालमा प्लास्टिक सर्जरीको अवस्था, चुनौती र सुरक्षित अभ्यास’ विषयमा यही वैशाख १४ गते गोष्ठी हुने भएको हो । यस गोष्ठीमा नेपालका वरिष्ठ प्लास्टिक सर्जन प्रा डा पियुष दाहाल, प्रा डा शङ्करमान राई, प्रा डा जयनमान श्रेष्ठ र प्रा डा किरण नकर्मीले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । कार्यक्रमको संयोजन र गोष्ठीबाट प्राप्त निष्कर्षका आधारमा भावी कार्ययोजनाको निर्माण गरिने अस्पतालका सहप्राध्यापक प्लास्टिक सर्जन डा पशुपतिबाबु पोखरेलले बताउनुभयो ।

गोष्ठीले नेपालको प्लास्टिक तथा जलनसम्बन्धी सेवाको विकास र विस्तार गर्न ऐतिहासिक भूमिका खेल्ने विश्वास लिएको आयोजकले जनाएको छ । गोष्ठीमा यो सेवामा कार्यरत करिब ५० जना प्लास्टिक सर्जनहरुको सहभागिता हुने अनुमान गरिएको छ ।

पर्यटन क्षेत्रको प्रवर्द्धनमा सरकार र निजी क्षेत्रका बीचमा थप सहकार्य आवश्यक छ – मुख्यमन्त्री अधिकारी

गण्डकी, ११ वैशाख ः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मुलुकको पर्यटकीय राजधानी पोखरा घोषणालाई कार्यान्वयनमा ल्याउन सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

पोखरा महानगरपालिका–६ लेकसाइडमा नवनिर्मित ‘पोखरा भिजेल एण्ड स्पा’को आज शुभारम्भ गर्नुहुँदै उहाँले भौतिक पूर्वाधार निर्माणसँगै गुणस्तरीय सेवामा जोड दिन होटल व्यवसायीलाई आग्रह गर्नुभयो ।

मुख्यमन्त्री अधिकारीले पर्यटन क्षेत्रको प्रवद्र्धनमा सरकार र निजी क्षेत्र बीचमा थप सहकार्य आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले समृद्धिको आधार पर्यटन व्यवसायमा रु छ अर्बभन्दा बढी लगानी भएको जनाउँदै सरकारीस्तरबाट थप सहयोग आवश्यक छ भन्नुभयो ।

पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले सरकारी सेवा सुविधाबाट पर्यटन व्यवसायी वञ्चित रहेको उल्लेख गर्दै कर असुलीसँगै राज्यका तर्फबाट आवश्यक सेवा सुविधा उपलब्ध गराउनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले पछिल्लो समय पोखराको पर्यटन प्रवद्र्धनमा आकर्षण बढेको बताउनुभयो । पोखरा भिलेजका सञ्चालक हरि शर्मा गैरेले ६५ वटा कोठासहित तीन वटा सभा कक्ष भएको सो भवन निर्माणमा रु २५ करोड लगानी भएको जानकारी दिनुभयो । होटलमा हाल ७४ जनाले रोजगार प्राप्त गरेको उहाँको भनाइ छ । कार्यक्रममा सञ्चालक बालकृष्ण गैरे, जनरल मेनेजर लक्ष्मण खड्कालगायतले होटलले प्रदान गर्ने सेवा सुविधाका बारेमा प्रकाश पार्नुभएको थियो ।

रुसको युक्रेन युद्धमा समर्थन गरेको अमेरिकी दाबीको चीनद्वारा निन्दा

बेइजिङले युक्रेनमा रुसको युद्धको समर्थन गरिरहेको भन्ने अमेरिकाको ‘निराधार आरोप’ को चीनले मङ्गलबार निन्दा गरेको छ । “संयुक्त राज्य अमेरिकाले युक्रेनका लागि ठूलो मात्रामा सहायता विधेयक अगाडि ल्याएको छ, साथै चीन र रुसबीचको सामान्य व्यापारविरुद्ध आधारहीन आरोप पनि लगाएको छ”, विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भन्नुभयो, “यस्तो प्रकारको दृष्टिकोण अत्यन्त कपटी र पूर्णतः गैरजिम्मेबारपूर्ण छ र चीन यसको कडा विरोध गर्दछ ।”

चीन र रुसले हालैका वर्षहरूमा आर्थिक सहयोग र कूटनीतिक सम्पर्क बढाएका छन् र युक्रेनमाथि आक्रमण गरेपछि उनीहरूको रणनीतिक साझेदारी अझ घनिष्ठ भएको छ ।

चीनले आफू युक्रेन द्वन्द्वमा तटस्थ पक्ष भएको बताउँछ तर मस्कोको हमलाको निन्दा गर्न अस्वीकार गरेकामा उसको आलोचना गरिएको छ । साथै यसै साता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको बेइजिङको योजनाबद्ध भ्रमणअघि अमेरिकाले चीनमाथि युक्रेन युद्धमा सोभियत युगपछिको सबैभन्दा ठूलो सैन्यकरणका रूपमा रुसलाई सहयोग गरेको आरोप लगाएको थियो ।

ब्लिङ्केनले शुक्रबार रुसलाई उसको सैन्य विस्तारका लागि प्रयोग गर्ने घटकहरू आपूर्ति गरेर चीनले युक्रेन युद्धलाई बढावा दिइरहेको बताउनुभएको थियो । “रुसको रक्षा औद्योगिक आधारको कुरा आउँदा अहिलेको समयमा यसमा मुख्य योगदानकर्ता चीन हो”, काप्रीमा जी७ का मन्त्रीहरूको बैठकपछि उहाँले पत्रकारहरूसँग भन्नुभयो, “युक्रेनविरुद्ध रुसको आक्रामकता जारी राख्नका लागि यसले अनुमति दिइरहेको छ ।”

अमेरिकी अधिकारीहरूले चीनले प्रत्यक्ष सैन्य सहायता दिन बन्द गरेको भए पनि दोहोरो प्रयोगको आपूर्ति प्रदान गरेको बताएका छन् । यसबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको नेतृत्वमा रहेको हाउस अफ रिप्रेजेन्टेटिभ्समा निष्क्रियताका कारण युक्रेनलाई अमेरिकी सहायतामा भएको लामो ढिलाइले रुसलाई पुनः सङ्गठित हुन सहयोग पुगेको छ ।

युक्रेन युद्धमा रुसलाई सहयोग गरिरहेको भन्ने दाबीहरूलाई चीनले लामो समयदेखि खण्डन गर्दै आएको छ । साथै उसले रुससँगको आफ्नो सम्बन्धमा ‘आलोचना वा दबाब’ स्वीकार नगर्ने बताएको छ ।

“युक्रेन युद्धमा चीनले सधैँ उद्देश्यपूर्ण र न्यायपूर्ण अडान राखेको छ, शान्ति वार्ताका लागि सक्रियरूपमा वकालत गरेको छ र राजनीतिक समाधानमा जोड दिएको छ”, मन्त्रालयका प्रवक्ता वाङले भन्नुभयो, “दोहोरो उपयोग हुने वस्तुहरूको निर्यातमा चीनले लगातार नियम लागु गर्दछ ।”

“चीन न युक्रेन सङ्कटको निर्माता हो न त यसको पक्ष नै हो र उसले कहिल्यै पनि आगोमा घिउ हालेको छैन”, उहाँले भन्नुभयो, “हामी दोस्रो पक्षलाई दोष दिने वा हामीमाथि दोष लगाउने स्वीकार गर्दैनौँ ।”

चिनियाँ प्रहरीद्वारा विदेशमा आर्थिक फरार व्यक्तिको खोजी अभियान सुरु

चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले विदेशमा फरार रहेका आर्थिक भगौडाहरूलाई पक्रन यस वर्षका लागि अभियानको योजना बनाएकोे छ ।

राष्ट्रिय सुरक्षा र सामाजिक स्थिरताको रक्षा गर्न ‘फक्स हन्ट–२०२४’ कोड नामको अभियानले भ्रष्टाचार विरुद्धको अभियानलाई तीव्रता दिने र प्रमुख जोखिमहरूलाई रोक्ने र निरुत्साहित गर्ने अपेक्षा गरिएको छ ।

सन् २०२४ देखि लगातार १० वर्षमा चीनको ‘फक्स हन्ट’ सञ्चालनहरूले एक सय २० भन्दा बढी देश र क्षेत्रमा नौ हजारभन्दा बढी आर्थिक भगोडालाई पक्राउ गरेको र लगभग ४९ अर्ब युआन (लगभग छ अर्ब ८० करोड अमेरिकी डलर) को आर्थिक नोक्सानलाई पुनः प्राप्त गरेको छ ।

‘सेन्झाउ–१८’ चालक दल अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार

‘सेन्झाउ–१८’ चालक दलको अन्तरिक्ष मिसनले मङ्गलबार प्रक्षेपणअघि आफ्नो अन्तिम संयुक्त अभ्यास र प्रणालीव्यापी वायु टाइटनेस जाँच पूरा गरेको छ ।

रकेट र अन्तरिक्ष यानले विद्युतीय कार्यसम्पादन परीक्षण पूरा गरिसकेको र प्रक्षेपण स्थलमा रहेका अन्तरिक्ष यात्रीहरू र सबै प्रणालीहरूले प्रक्षेपण ड्रिल गरेका छन् । सबै कुरा राम्रो अवस्थामा रहेको रिपोर्ट गरिएको छ ।

उत्तरपश्चिम चीनको ‘जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्र’ मा अप्रिल महिनामा सामान्यतया सबैभन्दा हावा र बलौटे महिना रहने गरेको छ । प्रक्षेपण साइटमा मौसम विज्ञान कर्मचारीहरूले विगत १० वर्षमा अप्रिलको हावा गति डेटाको विश्लेषण गरेका र धेरै आकस्मिक प्रतिक्रिया योजनाहरू म्याप आउट गरेका छन् ।

चीन मानव अन्तरिक्ष एजेन्सीले सेन्झाउ–१८ चालक दल अन्तरिक्ष यान र लामो मार्च–२ एफ रकेटको संयोजन प्रक्षेपण क्षेत्रमा स्थानान्तरण गरिएको जनाएको छ । अन्तरिक्ष एजेन्सीले अन्तरिक्ष यान आगामी दिनमा लन्च गरिने उल्लेख गरेको छ ।

कुवेतमा अन्तर्राष्ट्रिय युवा फोटोग्राफी प्रदर्शनी सुरु

कुवेतको हवाली गभर्नरेटमा सोमबारदेखि अन्तर्राष्ट्रिय युवा फोटोग्राफी प्रदर्शनी सुरु भएको छ ।कुवेत चाइना कल्चरल सेन्टर र कुवेत सोसाइटी फर फोटोग्राफी आर्ट्सले ७० वटा फोटोग्राफिक कार्यहरू प्रदर्शन गर्ने ‘संयुक्त भिजन साझा भविष्य’ ले सहआयोजना गर्दैछन् ।

कुवेत चाइना कल्चरल सेन्टरले बेल्ट एण्ड रोड साझेदार देशहरूसहित धेरै देशका युवा फोटोग्राफद्वारा ५० पुरस्कार–विजेता फोटोहरू उपलब्ध गराएको छ । कुवेत सोसाइटी फर फोटोग्राफी आर्ट्सले १६ युवा कुवेती फोटोग्राफरद्वारा २० शीर्ष फोटोग्राफिक कार्य प्रस्तुत गरकोे छ । यसले देशका सहर, प्रकृति, समाज र अन्य दृष्टिकोण देखाएको छ ।

कुवेत चाइना कल्चरल सेन्टरका निर्देशक सिया जियानफेङले प्रदर्शनी चीन र कुवेतबीचको सांस्कृतिक आदानप्रदानको अर्को प्रमाण भएको र यसले दुई देशका जनताबीच आपसी समझदारी बढाउन मद्दत गर्ने बताउनुभयो । कुवेत सोसाइटी फर फोटोग्राफी आर्ट्सका अध्यक्ष सुआद अल–हमारले यी कामले चीन र कुवेतका युवा फोटोग्राफरहरूको जीवन शक्तिलाई प्रतिबिम्बित गर्दछ भन्नुभयो ।फोटोग्राफी प्रदर्शनी जेठ २२ गतेसम्म चल्नेछ ।

इजरायलको मध्यस्थताका लागि ‘उपयोगी’ भए हमास दोहामा नै रहन्छ : कतार

कतारले हमासको राजनीतिक नेतृत्वलाई युद्धविराम वार्ताका लागि आवश्यक रहेमाकतारमा नै रहने अनुमति दिने बताएको छ ।

गाजामा जारी युद्ध अन्त्य गर्ने उद्देश्यले गरिएको मध्यस्थता प्रयासमा हमासको उपस्थिति लाभदायक रहेसम्म हमासको राजनीतिक नेतृत्व दोहामै रहने कतारले मङ्गलबार जनाएको हो ।

विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले पत्रकार सम्मेलनमा भन्नुभयो, “यो हमासको राजनीतिक नेतृत्व कतारमा रहनु मध्यस्थता प्रयासमा उपयोगी र सकारात्मक छ । हामीले सधैं भन्दै आएका छौँ, उनीहरूको उपस्थिति आवश्यक रहँदासम्म हमास प्रतिनिधि यहाँ रहनेछन् ।”

बैतडीमा पासोमा परेको चितुवाको उद्धार

बैतडी, ११ वैशाख : बैतडीमा पासोमा परेको चितुवाको आज उद्धार गरिएको छ । सिगास गाउँपालिका–९ चुवाँ भेरिखोलामा स्थानीयले थापेको पासोमा परेको चितुवाको उद्धार गरिएको हो ।

डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलीपकुमार यादवका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले पासोमा परेको चितुवाको उद्धार गरेको हो । पशु चिकित्सकले उपचार गरेपछि चितुवालाई सिगास संरक्षित वनमा छाडिएको उहाँले बताउनुभयो । चितुवाको खुट्टामा सामान्य चोट रहेकाले उपचारपछि सिगास संरक्षित वनमा छाडिएको हो ।

स्थानीयले थापेको पासोमा परेको अन्दाजी दुई वर्षको चितुवालाई स्थानीयले देखेपछि प्रहरी र डिभिजन वन कार्यालयलाई खबरपछि उद्धार गरिएको हो ।

प्रदेशसभा सदस्यका उम्मेदवार भण्डारीका बुवाको निधनप्रति एमालेको दुःख व्यक्त

काठमाडौँ, ११ वैशाख : नेकपा (एमाले)ले बझाङ-१ का प्रदेशसभा सदस्यका उम्मेदवार दमन भण्डारीका बुवा चक्र भण्डारीको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ ।

पार्टी महासचिव शङ्कर पोखरेलले आज शोक वक्तव्य जारी गरी बुवा चक्र भण्डारीको निधनले शोकमा पर्नुभएका दमन भण्डारी र सपरिवारमा गहिरो समवेदना व्यक्त गर्नु भएको हो ।

“यही वैशाख १५ गते प्रदेशसभा सदस्यका लागि बझाङ-१ मा हुन गइरहेको निर्वाचनमा उम्मेदवार रहनुभएका कमरेड दमनको निर्वाचन प्रचारको क्रममा बुवाको निधनबाट केही व्यवधान हुन गएको छ”, शोक वक्तव्यमा भनिएको छ, “यस विषम परिस्थितिमा चुनाव प्रचारप्रसार तथा मत संरक्षणको क्रममा अझ गम्भीरताका साथ परिचालित हुन सिङ्गो पार्टी पंक्तिलाई हार्दिक अनुरोध गर्दछु ।”

बाजुरा जिल्ला कमिटीका अध्यक्षसमेत रहनु भएका भण्डारीका बुवा चक्र भण्डारीको आज बझाङको छबिस पाथिभेरा गाउँपालिका-१, भण्डारी गाउँमा निधन भएको एमालेले जनाएको छ ।

‘अनावश्यक विदा, आम माफीका नाममा पहुँच वाला अपराधीलाई मात्र छुट विषयमा लगातार काम गरिरहेको छु’

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अनावश्यक विदा र ‘भिआइपी सवारी’ का नाममा नागरिकले पाउने सास्ती हटाउन आफू लागिपरेको बताएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत गृहमन्त्री लामिछानेले विगतका परम्परागत र नीतिगत निर्णय गरि त्यसलाई सच्याउने बताएका हुन् । उनले भनेका छन्, ‘विगतका कयौं निर्णय र परम्परा छन् जसलाई नितिगत निर्णय गरि सच्याउनु पर्छ । अनावश्यक विदा, ‘भिआइपी सवारी’ का नामको नागरिकले पाउने सास्ती, करोडौं खर्च गरेर दिइने पदक सम्मान, आममाफीका नाममा पहुँचवाला अपराधीलाई मात्र छुट, सुरक्षाकर्मीहरुलाई कामदार बनाउने परम्परा, केही भूतपूर्वहरुलाई दिइँदै आएको अभूतपूर्व सुविधा लगायतका तमाम विषयमा पदबहाल गरेको दिनदेखि नै लगातार काम गरिरहेको छु। रिजल्ट आउँदैछ। तर विधि नै नफेरिकन कुनै व्यक्ति, देश वा घटना हेरेर फरक फरक निर्णय गरिनु कुटनैतिक, राजनैतिक र वैधानिक हिसाबले सही हुन्न।’ उनले तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्ने बताएका छन् । उनले भनेका छन्, ‘जे कुरा हिजो गलत भनिएको थियो त्यो आजपनि गलत नै हो, हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन। तर तीन दशकका अभ्यासहरुलाई सच्याउन समय त लाग्छ। धेरै काम हुँदैछन्, थोरै धैर्य गरिदिनु भए पुग्छ।’

उनले लाखौं नेपालीलाई रोजगारी दिने कतारका राजाको नेपाल भ्रमणको स्वागत गर्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘विश्व अर्थराजनीतिमा नयाँ मानक स्थापित गर्दै रहेको, हाम्रा लाखौ युवाहरूलाई रोजगारीको अवसर दिइरहेको र नेपालसँग ऐतिहासिक कुटनैतिक सम्बन्ध स्थापित भएको मित्र राष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी लाई नेपालमा ससम्मान स्वागत गर्दछु । लोकतन्त्रमा आफ्नो देशको नेतालाई नागरिकले आफ्ना कुरा मज्जाले भन्न पाउनु पर्छ। चासोका साथ प्रश्न र खबरदारी गरिदिनु हुने सबैप्रति आभार । लोकतन्त्र दिवसको सबैलाई शुभकामना ।’

वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

वीरगञ्ज (पर्सा), ११ वैशाखः वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् ।

वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा रु ५३ लाख ९० हजार बराबरको क्षति भएको वीरगञ्ज महानगरपालिका–१७ का वडाध्यक्ष राजीबबहादुर क्षेत्रीले बताउनुभयो । “सात जनाको फुसको घरसहित अन्य लत्ताकपडा र भाँडाकुँडा पनि जलेको छ”, उहाँले भन्नुभयो, “ठूलो आगलागी भएकाले पनि तत्कालै नियन्त्रण गर्न सकेनौँ । फुसको घरमात्रै होइन, गाईगोठलगायत संरचना पनि नष्ट भएका छन् ।”

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले दुईवटा दमकमको सहायताले दुई घण्टामा आगो निभाइएको बताउनुभयो ।

आगलागीबाट महेन्द्र सहनीको घर, अन्नपात, लत्ताकपडा नष्ट हुँदा रु १० लाख ६३ हजार बराबरको क्षति भएको छ । सहनीको सुनचाँदी, एउटा गाई र चारवटा बाख्रासमेत जलेका छन् । आगलागीबाट सहनीका छिमेकी मैना सहनीको घरको अन्नपात, लत्ताकपडा र चारवटा चौपाया गरी रु आठ लाख ६८ हजार बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोही ठाउँका वीरेन्द्र सहनीको घर, अन्नपात र अन्य सरसमानसहित रु चार लाख ८० हजार बराबरको क्षति भएको छ । यसैगरी तुहान सहनीको पनि घर, अन्नपात, लत्ताकपडा सुनचाँदीसहितका गरगहना जल्दा रु ११ लाख ६० हजार बराबरको क्षति भएको छ ।

पर्सा प्रहरीका अनुसार फुलदेव सहनीको घर, अनपात, लत्ताकपडा, सरसामान, सुन चाँदी गरी रु चार लाख १६ हजार बराबरको क्षति भएको छ । अभय सहनी रु सात लाख ८० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । सोही ठाउँकै अदालत साहको रु छ लाख २३ हजार बराबरको क्षति भएको छ ।

वडाध्यक्ष क्षेत्रीले वडा कार्यालयसँग पर्याप्त बजेट नभएकाले विषद् व्यवस्थापन समितिमार्फत तत्कालै राहत प्रक्रिया अघि बढाइने बताउनुभयो ।

यही वैशाख ८ गते सीमावर्ती भारतको गहुँ खेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया वस्तीका १५ किसानको अन्नबालीसहितको फुसको घर जल्दा रु १२ करोड ८४ लाख बराबरको क्षति भएको थियो ।

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको छ ।

महाधिवेशनको तयारी, पार्टी सङ्गठन तथा जनवर्गीय सङ्गठनका कार्य प्रगतिबारे छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए । बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर महाधिवेशन प्रतिनिधि छनोट कार्यविधिबारे छलफल गरिनेछ ।

स्थायी कमिटी बैठकले पारित गर्ने राजनीतिक, साङ्गठनिक, विधानसम्बन्धी प्रतिवेदन तथा एजेण्डालाई केन्द्रीय कमिटी बैठकमा पेस गरिनेछ । महाधिवेशन व्यवस्थापनका लागि गठित सबै कमिटीका तयारी, नवीकरण गरिएका सङ्गठित सदस्यका साथै नयाँ सदस्यता अनुमोदनलगायत विषयमा छलफल केन्द्रित हुने बैठकमा सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल हुने नेता गौतमले जानकारी दिए ।

आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्न लागेको उक्त पार्टीले यही वैशाख १५ गतेभित्र सम्बन्धित सदस्यको शुल्कसहितको नवीकरण कागजात, नामावली विवरण केन्द्रमा पठाउन सबै कमिटी, विभाग, फाँटलाई निर्देशन दिएको छ ।

भूकम्पबारे चेतना जगाउन बृहत् फोटो प्रदर्शनी

काठमाडौँ, ११ वैशाखः विक्रम संवत् २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको सम्झनामा भोलि वैशाख १२ यहाँ बृहत् फोटो प्रदर्शनी आयोजना हुने भएको छ । भूकम्पबारे चेतना जगाउन प्रदर्शनी आयोजना गरिएको हो ।

खानी तथा भूगर्भविभागको आयोजनामा हुने प्रदर्शनीमा गोरखा भूकम्पलगायत डोटी, बझाङ, जाजरकोटमा भएका भूकम्पबाट भएको क्षति तथा मानव समाज र भूगोलमा आएको परिवर्तनका दृश्य समावेश छन् ।

विभागका अनुसार भूकम्पीय विपद् सामान्य हुँदै जाने क्रममा विगतका पीडा बिर्सँदै जाने मानवीय स्वभाव छ । फोटो प्रदर्शनीको माध्यमबाट सचेत रहन सन्देश दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो । विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जनसाधारणलाई भूकम्पबाट सधैँ सतर्क रहन अभिप्रेरित गर्ने उद्देश्यले विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र र महिला पत्रकारहरूको संस्था ‘संवाहिका समाज नेपाल’सँगको सहकार्यमा प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।

गोरखा भूकम्पमा नौ हजारले ज्यान गुमाएका थिएभने २२ हजारभन्दा बढी घाइते भएका थिए । वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार उक्त भूकम्पको एक वर्षसम्म पाँचसयभन्दा बढी परकम्प महसुस गरिएको थियो ।

देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा सभामुखको जोड

काठमाडौँ, ११ वैशाखः सभामुख देवराज घिमिरले लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

सभामुख घिमिरले आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै नेपालमा विभिन्न समयमा भएका प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

“लोकतन्त्रप्राप्तिपछि राजनीतिक व्यवस्थामा परिवर्तन आए पनि जनताको जीवनमा परिवर्तन आउन नसकेको यथार्थ हामीबाट छिपेको छैन, लोकतन्त्रभन्दा राम्रो अर्को शासन व्यवस्था हुन सक्दैन”, शुभकामना सन्देशमा भनिएको छ, “यसै कुरालाई हृदयङ्गम गरेर सम्पूर्ण राजनीतिक शक्तिहरू समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता देखेको छु ।”

सभामुख घिमिरले लोकतन्त्रले नै अधिकारमुखी, समावेशी र सन्तुलित विकासका लागि आधार प्रदान गर्ने उल्लेख गर्दै सन्देशमा भन्नुभएको छ, “जनमुखी लोकतन्त्र नै वास्तविक लोकतन्त्र हो, यसलाई सार्वजनिक नीति, योजना, कार्यक्रम र तिनको कार्यान्वयनमा उतार्न जरुरी छ, नेपालको लोकतन्त्रको रक्षा र प्रवर्द्धनमा नेपालको संसद्ले विगतदेखि नै उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।”

विसं २०६२/६३ को आन्दोलनपछि राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

बालाजु बाइसधारामा आजदेखि ‘बालाजु बाइसधारा मेला सुरु

काठमाडौँ, ११ वैशाखः स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म जारी रहने छ ।

बालाजु बाइसधारा मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिले बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला भर्नका लागि बिहानैदेखि बालाजु बाइसधारामा भक्तजनको घुईँचो लागेको बताउनुभयो । बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ ।

भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको छ । मेलामा दुई लाख ३० हजार सहभागी हुने आयोजकको अपेक्षा छ ।

चितवनमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

चितवनमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सोमबार साँझ भरतपुर महानगरपालिका–३ बेलचोकमा बाह्रघरेबाट बेलचोकतर्फ आउँदै गरेको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट घाइते साइकलयात्री भरतपुर महानगरपालिका–११ गणेशस्थानका ६० वर्षीय कुमार गुरुङको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो । मोटरसाइकल चालक मकवानपुर मनहरी गाउँपालिका–३ का ३३ वर्षीय सुदर्शन अधिकारी र मोटरसाइकल पछाडि सवार भरतपुर–९ वसन्तचोकका ४९ वर्षीय सन्तोष बुर्लाकोटी घाइते हुनुभएको छ । घाइते दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

शुक्लाफाँटामा बाघ बढे

दोधारा चाँदनी (कञ्चनपुर), ११ वैशाखः महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ । दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ ।

निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिएभने २०२२ मा त्यो बढेर ३६ पुगेको थियो । निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनाअनुसार २४ वटा भाले र १७ वटा पोथी तथा विश्लेषणका आधारमा थप तीन गरेर बाघको सङ्ख्या ४४ पुगेको हो । गत मङ्सिरदेखि ९१ वटा क्यामेरा ट्रयापिङबाट गरिएको अनुगमनमा बाघको सङ्ख्या बढेर ४४ पुगेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो ।

“यहाँ बाघका लागि खाना र बासस्थानको राम्रो वातावरण भएकाले थोरै क्षेत्रफलमा पनि धेरै बाघ छन्”, प्रमुख संरक्षण अधिकृत भट्टराईले भन्नुभयो, “यहाँ चोरीसिकारी पनि छैन त्यसकारण बाघको सङ्ख्या बढ्दै गएको छ ।” शुक्लाफाँटाभित्र रहेका ठूलो घाँसेमैदान, चौधर नदी, रानीताल र सिकारी तालजस्ता तालतलैया र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको सङ्ख्या पनि बढेको उहाँले बताउनुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटनको प्रमुख केन्द्र बन्नसक्ने भए पनि पर्याप्त प्रचार–प्रसार नहुँदा यसबाट लाभ लिन नसकिएको यहाँका पर्यटन व्यवसायी जगदीश भट्ट बताउनुहुन्छ । “शुक्लाफाँटा पाटेबाघका लागि प्रख्यात छ तर यहाँ बाह्य पर्यटक आएका छैनन्”, उहाँले भन्नुभयो ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले शुक्लाफाँटा पर्यटकका लागि उपयुक्त गन्तव्य भएकाले यसको प्रचारप्रसार गर्नसके यहाँको आर्थिक विकास टेवा पुग्ने बताउनुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघ, बाह्रसिङ्गे र गैँडालगायतका दुर्लभ वन्यजन्तुका लागि प्रसिद्ध भए पनि प्रचारप्रसारको अभावमा पर्यटक आगमनमा वृद्धि नभएको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।

सर्लाहीमा ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, चार जना घाइते

बरहथवा (सर्लाही), ११ वैशाखः सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् ।

सोमबार मध्यरात हरिपुर्वाबाट पिप्राभित्ता जाँदै गरेको ट्रयाक्टर बरहथवा नगरपालिका–१५ स्थित नहरको बाटोमा दुर्घटना भएको हो । दुर्घटनामा १७ वर्षका राजकुमार सिंहको मृत्यु भएको हो ।

दुर्घटनामा परेका अन्य चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

क्यानद्वारा सोलुखुम्बुको महाकुलुङमा प्याराग्लाइडिङको परीक्षणको अनुमति

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले द बाबु एडभेञ्चर इन्टरनेशनल स्कुललाई सोलुखुम्बुको महाकुलुङमा प्याराग्लाइडिङको परीक्षण उडानका लागि अनुमति प्रदान गरेको छ । क्यानले सो कम्पनीलाई महाकुलुङ–५ मा यही वैशाख ११ गतेदेखि १५ गतेसम्म परीक्षण उडानका लागि अनुमति प्रदान गरेको जनाएको छ ।

क्यानका अनुसार कम्पनीले सो क्षेत्रमा बिहान ८ बजेदेखि अपराह्न्न ४ बजेसम्म प्याराग्लाइडिङको परीक्षण उडान गर्न पाउनेछ । तर त्यसका लागि लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थल नागरिक उड्डयन कार्यालयको सम्पर्कमा रही उडान सञ्चालन गर्नुपर्नेछ । साथै हवाई उडान हुने समयमा भने परीक्षण गर्न पाइने छैन ।

“स्थानीय प्रशासनको प्रत्यक्ष समन्वयमा रही सुरक्षाको पूर्ण प्रत्याभूति भएपश्चात मात्र सर्तको अधिनमा रही प्याराग्लाइडिङ प्ररीक्षण पटके उडान अनुमति प्रदान गरिएको छ”, क्यानले दिएको अनुमति पत्रमा भनिएको छ ।

कम्पनीका प्रबन्धक नविनबाबु गुरुङले पर्यटन प्रवर्द्धन र सम्भावनाको खोजी गर्ने क्रममा सोलुखुम्बुमा प्याराग्लाइडिङको परीक्षण उडान गर्न लागिएको हो । “क्यानबाट सोमबार अनुमति प्राप्त भएको छ, अबको केही दिनमा सो क्षेत्र आसपासबाट ५/६ वटा जति परीक्षण उडान गरिनेछ”, उहाँले भन्नुभयो, “परीक्षण उडान सफल भयो भने व्यवसायिक उडानको तयारी गरिनेछ ।”

उहाँले परीक्षण उडानमा त्यहाँको हावाको बहाव, मौसम अनुकुलताबारे जानकारी लिइनेछ । “परीक्षण उडान सफल भए स्थानीय तहसँगको सहकार्यमा व्यावसायिक उडानका लागि प्रयास गरिनेछ, मुख्य कुरा पर्यटकको आगमन त्यसका लागि यातायातको पहुँच कस्तो छ भन्नेमा पनि ध्यान दिइनेछ”, उहाँले भन्नुभयो ।उहाँका अनुसार हाल कम्पनीले पोखरा, काठमाडौँको चन्द्रागिरि, सुर्खेत र दाङमा व्यवसायिक प्याराग्लाइडिङ सञ्चालन गरिरहेको छ ।

सन् २०२३ मा इटालीको सार्वजनिक घाटा ईयूमा सबैभन्दा धेरै

इटालीको सार्वजनिक घाटा गत वर्ष अपेक्षा गरिएभन्दा बढेर कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ७.४ प्रतिशत पुगेको छ । यसले फेरि एकपटक इटाली युरोपेली सङ्घ (ईयू)मा सबैभन्दा बढी सार्वजनिक घाटा व्यहोर्ने मुलुक भएको संशोधित आधिकारिक तथ्याङ्कले देखाएको छ ।

राष्ट्रिय तथ्याङ्क निकाय (इस्टाट) ले मार्चमा एक प्रारम्भिक अनुमान जारी गरेको थियो । उक्त प्रक्षेपणमा सन् २०२२ मा ८.६ प्रतिशत रहेको सार्वजनिक घाटा मार्चमा कुल गार्हस्थ्य उत्पादनको ७.२ प्रतिशत पुगेको छ ।

“घरको ऊर्जा दक्षतामा सुधार गर्ने उद्देश्यले उदार ‘सुपरबोनस’ कर प्रोत्साहनको अपेक्षा भन्दा बढी लागतको कारण माथिको संशोधन गरिएको छ,” इस्टाट विशेषज्ञहरूले सोमबार संसदमा एक सुनवाईको क्रममा भने ।

थर्मल इन्सुलेशनदेखि सोलार प्यानलसम्मका परियोजनाहरूका लागि प्रयोग गरिने यो प्रोत्साहन सन् २०२० को मे महिनामा तत्कालीन प्रधानमन्त्री जुजेप्पे कोन्तेको नेतृत्वमा कोरोना भाइरस महामारीको बीचमा आर्थिक गतिविधिलाई प्रोत्साहित गर्न सुरु गरिएको थियो ।

निर्माण क्षेत्रलाई समर्थन गर्ने उद्देश्यले अन्य लाभहरूको साथ संयुक्त रूपमा, कुल लागत पहिले नै दुई खर्ब १९ अर्ब यूरो, वा जीडीपीको दसौं भाग पुगिसकेको जियोर्जिया मेलोनी नेतृत्वको सरकारले बताएको छ ।

इटालीपछि हङ्गेरी र रोमानियाले गत वर्ष ईयूमा सबैभन्दा बढी ६.७ प्रतिशत र ६.६ प्रतिशत घाटा व्यहोरेको युरोस्टाटले सोमबार जनाएको छ ।ईयूका एघार सदस्य राष्ट्रले कुल गार्हस्थ्य उत्पादनको ३.० प्रतिशतभन्दा बढी घाटा व्यहोरेका छन् ।

इटालीको सार्वजनिक ऋण गत वर्ष कुल गार्हस्थ्य उत्पादनको १३७.३ प्रतिशत थियो । यो घाटा प्रतिशत ग्रीसपछि ईयूमा सबैभन्दा बढी १६१.९ प्रतिशत हो ।युरोस्टाटका अनुसार सन् २०२२÷२१ मा इटालीमा ईयूको सबैभन्दा बढी घाटा थियो, यद्यपि सन् २०२० मा स्पेन सूचीको शीर्ष स्थानमा पुगेको थियो ।

माल्दिभ्सका राष्ट्रपति मुइज्जुको दललाई अत्यधिक बहुमत


माल्दिभ्समा भएको संसदीय निर्वाचनमा राष्ट्रपति मोहमद मुइज्जुको दलले अत्यधिक बहुमत ल्याएको छ ।माल्दिभ्सको ९३–सदस्यीय संसद्मा राष्ट्रपति मुइज्जुको पिपल्स नेशनल कङ्ग्रेस (पिएनसी) ले ६७ स्थान जित्दै दुई तिहाई बहुमत आएको प्रारम्भिक नतिजामा देखिएको छ ।

निर्वाचनको परिणाम औपचारिक रूपमा केही दिनपछि मात्रै घोषणा हुनेछ । यसअघि संसद्मा बहुमत रहेको माल्दिभिअन डेमोक्र्याटिक पार्टी (एमडीपी) ले निर्वाचनमा नराम्रो पराजय देखेको छ अर्थात् एमडिपीले केवल १५ सीट प्राप्त गरेको छ ।

पिनएनसीको पक्षमा आएको परिणामलाई विश्लेषकरूले चीनसँग निकट सम्बन्ध राख्ने राष्ट्रपति मुइज्जुको नीति जनताबाट अनुमोदित भएको मानेका छन् ।धेरैले माल्दिभ्समा लामो समयदेखि पर्दै आएको भारतीय प्रभाव घटाउन चाहने मुइज्जुलाई ‘चीन निकट’ नेताका रूपमा हेर्छन् ।

स्थानीय सञ्चारमाध्यमले देशको संविधान संशोधन गर्न पर्याप्त हुने गरी पिएनसीले संसद्मा दुईतिहाइ बहुमत पाएको र यसले माल्दिभ्समा स्थायी विकासको लागि सारिएका चीनको लगानीमा ल्याइएका आयोजनालाई अघि बढाउन सहज वातावरण प्रदान गर्ने विश्लेषकहरूले बताएका छन् ।

युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियामा प्राध्यापन गर्ने माल्दिभ्स मामिलाका विश्लेषक अजिम जाहिरले भन्नुभयो, “मुइज्जुका लागि यो ठूलो उपलब्धि हो ।”उहाँले आफु सत्तामा आउनुअघि माल्दिभ्सको तात्कालिक सरकारले अङ्गीकार गरेको ‘पहिला भारत’ भन्ने नीति अन्त्य गर्ने उद्देश्यसहित निर्वाचन अभियान चलाउनुभएको थियो ।

गत वर्षको अन्त्यतिर सत्तामा आएका मुइज्जुले भारतको प्रभाव घटाउन भन्दै माल्दिभ्समा रहेका सबै भारतीय सैनिकलाई फिर्ता पठाउने उद्घोष गर्नुभएको थियो ।

व्यास गुफा परिसरमा सन्ध्याकालीन गङ्गा आरती हुने

डुम्रे (तनहुँ) – चार वेद १८ पुराणका रचयिता भगवान् वेद व्यासको जन्मस्थलमा गङ्गा आरती गरिने भएको छ । व्यास गुफा एक पवित्र धार्मिकस्थल भएकाले व्यास भूमि अगाडि रहेको मादी र सेती नदीको तटमा गङ्गा आरती गरिने भएको हो ।

व्यास गुफा परिसरमा स्वदेशी तथा विदेशी धार्मिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले आगामी वर्ष २०८२ वैशाख १ गतेबाट सन्ध्याकालीन गङ्गा आरती गर्ने योजनासहित काम भइरहेको व्यास क्षेत्रका प्रमुख संरक्षक एवं शान्ति श्वरुपानन्द दामोदर बाबाले जानकारी दिनुभयो ।

व्यास नगरपालिकामा रहेको पवित्र व्यास गुफा परिसरको अगाडि मादी र सेती गङ्गा तटमा विशेष मञ्च बनाई सन्ध्या गङ्गा आरती गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुबाट नै यो योजना नसोचिएको होइन । तर, जग्गाको अभावमा काम अगाडि बढाउन सकिएको थिएन । अब नदीको धार दक्षिणतिर गएकाले तटबन्ध निर्माण गरी सन्ध्याकालीन गङ्गा आरती गर्ने ठाउँ बनाउनेछौँ ।”

गङ्गा आरतीका लागि मञ्च, भक्तजन रहने स्थान तथा अन्य भौतिक संरचनाका अतिरिक्त नित्य सन्ध्या आरती गर्ने बटुक, सरसामग्रीको आवश्यकता पर्दछ । स्वदेशी तथा विदेशी धार्मिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ सन्ध्याकालीन आरतीको व्यवस्था गर्न लागिएको शान्ति स्वरूपानन्द बाबाको भनाइ छ ।

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने

काठमाडौँ, ११ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । लुम्बिनी, कोशी, मधेस, बागमती गण्डकी र कर्णाली प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले ती क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

त्यसैगरी, आज राति गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुने तथा बाँकी भागका मुख्यतया मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका साथै कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

आज अपराह्न र राति लुम्बिनी, कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

गर्मी बढेसँगै नारायणी अस्पतालको आकस्मिक कक्षमा ज्वरोका बिरामी बढे

वीरगञ्ज (पर्सा) – गर्मी बढेसँगै नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । नारायणी अस्पताल वीरगञ्जका अनुसार अन्य यामको तुलनामा अहिले आकस्मिक कक्षमा उपचार गराउन आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको जनाएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चीतरञ्जन शाहले अन्य दिनको तुलनामा गर्मी बढेसँगै आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्या बढेको बताउनुभयो ।

‘‘अहिले अस्पतालमा ज्वरो र पेट दुख्ने समस्या लिएर अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्या भने बढेको छ’’, उहाँले भन्नुभयो, ‘‘सामान्य दिनमा आकस्मिक कक्षमा धेरै बिरामी आउँदैन्थे । तर, अहिले दैनिक ९० भन्दा धेरै जना ज्वरो तथा पेट दुख्ने समस्याका बिरामी आकस्मिक कक्षमा उपचार गर्न आइरहेका छन् ।’’

नारायणी अस्पतालमा दैनिक नौ सयभन्दा धेरै बिरामी उपचार गर्न आउने गर्छन । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शाहले विगत १५ मा समग्रमा अस्पताल भर्ना हुने बिरामीको सङ्ख्यामा भने धेरै घटबढ नभएको जानकारी दिनुभयो ।

‘‘हामीले आज अस्पतालमा भर्ना भएका बिरामीको १५ दिने तथ्याङ्कको विषयमा समीक्षा गरेका थियौँ । समग्रमा बिरामी भर्ना हुने अवस्थामा खासै फेरबदल भएको देखिएको छैन ।’’ आज सिमराको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएको छ । न्यूनतम तापक्रम भने २० डिग्री सेल्सियस रहेको छ ।

अन्य तराई÷मधेसका जिल्ला मुलुककै सबैभन्दा ठूलो औद्योगिक नगरी पर्सामा जनजीवन प्रभावित हँुदै आइरहेको छ । दिनको समयमा अत्यावश्यक काम परे मात्रै सर्वसाधारण बाहिर निस्कने गरेका छन् । अन्य दिनको तुलनामा सरकारी कार्यालयमा पनि सर्वसाधारणको भीड न्यून हुँदै आइरहेको छ । वीरगञ्जमा कपडा पसल गर्दै आइरहेका अनिल गुप्ता चर्काे गर्मी बढेसँगै सर्वसाधारण किनमेलको लागि निकै कम मात्रै आउने गरेको बताउनुभयो ।

‘‘अहिले दिनको समयमा त अत्यावश्यक समान किनमेल गर्ने मात्रै आउने गर्छन,’’ उहाँले भन्नुभयो, ‘‘बिहान र बेलुकीपख मात्रै पसलहरुमा भीडभाड लाग्ने गर्छ ।’’ जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पनि आज सार्वजनिक सूचना जारी गरेर विगत केही दिनदेखि देशका अधिकांश भू(भागहरूको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको जनाएको छ । महाशाखाका अनुसार लुम्बिनी प्रदेश तथा मधेश प्रदेशको तराई भूभागका थोरै स्थानमा बिगत दूई दिनदेखि तथा सुदूरपश्चिम प्रदेशको तराईका भू(भागको थोरै स्थानमा बिगत एक दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको थियो ।

महाशाखाले आगामी केही दिनसम्म तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

कतारी अमिरको भ्रमण : राष्ट्रपति पौडेलले स्वागत गर्ने, युवा तथा खेलकुद र शिक्षा क्षेत्रका समझदारीपत्रमा हस्ताक्षर हुने

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आजदेखि दुईदिने नेपालको राजकीय भ्रमण गर्दै हुनुहुन्छ । दुई दिने भ्रमणका क्रममा उहाँ आज अपराह्न काठमाडौँ आइपुग्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपतिको कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई स्वागत गर्न स्वयं राष्ट्रपति पौडेल जानुहुने भएको छ । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उहाँको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताईएको छ ।

मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो । नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले उहाँको नेपाल भ्रमण कार्यक्रम स्वीकृत गर्नुका साथै भ्रमणका अवसरमा आज नेपालभर सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ ।

साथै सरकारले कतारसँग हुने द्विपक्षीय वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्र्नुहुने निर्णय गरेको छ । कतारी अमिरले आज नै राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले उहाँको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्नुहुनेछ ।

त्यस्तै कतारका अमिर शेख थानीले यही वैशाख १२ गते प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनुहुनेछ । मन्त्रिपरिषद्को बैठकले नेपाल र कतारबीच हुने विभिन्न विषयका समझदारीपत्रहरु स्वीकृत गर्ने र समकक्षी मिलाई हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । त्यस्तै दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

कतारमा कार्यरत नेपाली कामदारको हकहितका लागि भ्रमणका क्रममा छलफल हुने तय भएपनि नयाँ सम्झौता गर्ने सम्बन्धमा भने अझै टुङ्गो लागिसकेको छैन् । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले श्रमसम्बन्धी विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ ।

मन्त्रालयले नयाँ सम्झौता गर्ने विषयका सम्बन्धमा विवरणसहित सन्देश पठाएको तर हालसम्म कतारबाट औपचारिक प्रतिक्रियासहित जानकारी आइनसकेको जनाएको छ ।ं कतारमा हाल झण्डै चार लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत छन् ।