`

नाट्य प्रतिष्ठानको विकासमा मन्त्रालयले सहयोग गर्छ – मन्त्री तामाङ

काठमाडौँ – नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले स्थापनाको १४औँ वार्षिकोत्सव सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितमान तामाङले ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०८०’ घोषणा, स्रष्टा सम्मान तथा विविध सांस्कृतिक कार्यक्रमको सोमबार उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा उहाँले वार्षिकोत्सवका अवसरमा प्रज्ञा प्रतिष्ठानले प्राप्त गरेका उपलब्धिहरु, सम्पन्न गर्न बाँकी रहेका कामहरुका बारेमा समीक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले प्रज्ञा प्रतिष्ठानका लागि मन्त्रालयबाट आगामी आर्थिक वर्षमा सम्बोधन गरिनुपर्ने विषयमा आफू र मन्त्रालय सकारात्मक रहेको छ भन्नुभयो ।

समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा शर्माले ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रि प्रज्ञा पुरस्कार–२०८०’का लागि छनोट भएका स्रष्टा तथा सर्जकहरुको नामावली सार्वजनिक गर्नुभयो । पुरस्कारको नामावली सार्वजनिक गर्दै कुलपति शर्माले प्रज्ञा–प्रतिष्ठान स्रष्टा तथा सर्जकहरुको संस्था भएकाले उहाँहरुको सल्लाह र सुझावलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य कृष्ण अधिकारी, ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, राष्ट्रिय जनसांस्कृतिक सङ्घ नेपालका कार्यवाहक अध्यक्ष भीम कुमाखी मल्ललगायतले वार्षिकोत्सवका अवसरमा आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिष्ठानका उपकुलपति शम्भु राईले प्रज्ञा प्रतिष्ठानको अवसर र चुनौतीका बारेमा चर्चा गर्दै प्रज्ञा प्रतिष्ठानसँग विविध कार्यक्रम आयोजना गर्नका लागि सुविधासम्पन्न प्रेक्षालयको अभाव रहेको बताउनुभयो ।

पुरस्कारका लागि छनौट हुनुभएका स्रष्टाहरु रङ्गमञ्च विधातर्फ वरिष्ठ नाट्यकर्मी तथा अभिनेता हरिहर शर्मा, शास्त्रीय सङ्गीत विधातर्फ वरिष्ठ सङ्गीत साधक चन्दनकुमार श्रेष्ठ, सङ्गीत विधातर्फ वरिष्ठ गायिका तारा थापा, नृत्य विधातर्फ जोगेन्द्र केसी, नाटक विधातर्फ नाट्यकर्मी गोपाल देवान र लोक सङ्गीत विधातर्फ बमबहादुर कार्की रहनुभएको छ । वार्षिकोत्सव कार्यक्रमका अवसरमा नाटक, नृत्य र सङ्गीतका क्षेत्रमा संस्थागत तथा व्यक्तिगत रुपमा योगदान पु¥याएका संस्था तथा स्रष्टाहरुलाई सम्मान गरिएको छ ।

संस्थागततर्फ नृत्य निर्देशक सङ्घ नेपाल, माला आर्टस् एकेडेमी र सांस्कृतिक समाज नेपाल सम्मानित भए भने व्यक्तिगततर्फ वरिष्ठ नृत्यकर्मी नारायणदेवी प्रधान, राधेश्याम प्रधान, केपी पौडेल, वरिष्ठ रङ्गकर्मी वीरेन्द्र हमाल, वरिष्ठ गायक रामकृष्ण दुवाल, जनपक्षीय गायक भीम मल्ल कुमाखी, प्राज्ञ माधव प्रधान, वरिष्ठ सङ्गीतकर्मी सङ्गीता प्रधान, वरिष्ठ गायिका कुन्ती मोक्तान, वरिष्ठ नाट्यकर्मी अविनाश श्रेष्ठ, वरिष्ठ नाटक निर्देशक अशेष मल्ल, सङ्गीतकर्मी रुपकुमार राई, वरिष्ठ नाट्यकर्मी बद्री अधिकारी र सङ्गीतकर्मी विष्णु अधिकारीलगायत प्रशंसापत्रसहित सम्मानित हुनुभयो । प्रज्ञा–प्रतिष्ठानको सदस्यसचिव कुश्मा महराद्वारा सहजीकरण गरिएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको १४ वर्षे यात्राकोे भिडियो प्रस्तुत गरिएको थियो ।

लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ – अर्थमन्त्री पुन

काठमाडौँ – अर्थमन्त्री वर्षमान पुनले सरकारले अबलम्बन गरेका राम्रा नीतिको निरन्तरताले मुलुकमा लगानीको वातावरण बनाउन र लगानीकर्तालाई प्रतिफल प्राप्त गर्न सहयोग पुग्ने बताउनुभएको छ ।

तेस्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा सोमबार आयोजित विभिन्न सञ्चार माध्यमका प्रधानसम्पादक तथा सम्पादकहरुसँगको छलफलमा अर्थमन्त्री पुनले सरकार परिवर्तन भएपनि सरकारी नीतिहरुले निरन्तरता पाउने र लगानीकर्तालाई लगानीको प्रतिफल लैजान समस्या नहुने बताउनुभयो । उहाँले घरेलु राजनीतिक परिवर्तनले स्वदेशी तथा विदेशी लगानीसम्बन्धी नीतिमा फेरबदल नहुने स्पष्ट पार्नुभयो ।

“सरकार चाँडो परिवर्तन भइरहँदा लगानीसम्बन्धी नीतिहरुमा कस्तो प्रभाव पर्छ भनेर लगानीकर्ताले चासो राख्ने गर्नुभएको छ । सरकार परिवर्तन हुँदा पनि हाम्रा नीतिहरु परिवर्तन हुँदैनन् र घरेलु समस्याले लगानीकर्तालाई अप्ठ्यारो पार्दैन”, उहाँले भन्नुभयो, “पुँजीको विशेषता भनेको लगानीको वातावरण र प्रतिफल प्राप्ति हो । कुनै वाद वा व्यवस्थासँग लगानीकर्ताको मतलब हुँदैन । लगानीकर्ताले वातावरण छ वा छैन भनेर हेर्ने हो । नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ ।”

लगानी प्रतिबद्धताअनुसार उपलब्धि कम देखिए पनि सरकारले पछिल्लो समय विभिन्न कानुनी, प्रक्रियागत तथा संरचनागत सुधार गरेकाले आन्तरिक र वैदेशिक लगानी बढ्ने उहाँको भनाइ छ । पहिलो र दोस्रो लगानी सम्मेलनबाट प्राप्त उपलब्धि तथा सिकाईले तेस्रो लगानी सम्मेलनलाई थप परिस्कृत बनाएको अर्थमन्त्री पुनले बताउनुभयो । भारतमा पनि लगानी प्रतिवद्धताको तुलनामा प्राप्ति करिब ३० प्रतिशत हाराहारी रहेको उल्लेख गर्नुहुँदै उहाँले नेपालको अवस्था यो भन्दा राम्रो रहेको बताउनुभयो ।

नेपालमा लगानीमैत्री वातावरण बनाउन विभिन्न कानुन परिमार्जन तथा संरचनागत सुधार हुँदै गएको उहाँको भनाई छ । लगानी सम्मेलनअघि सबै राजनीतिक दल, विषयविज्ञ तथा सरोकारवालसँग पर्याप्त छलफल गर्ने र सम्मेलनमा आवद्ध गराउने उहाँले स्पष्ट पार्नुभयो । “यो सरकारको मात्र सम्मेलन होइन । राष्ट्रकै सम्मेलन हो । यसमा सत्तापक्ष र प्रतिपक्ष भन्ने हुँदैन । आन्तरिक तथा वैदेशिक लगानीमा हामी सबैको समान धारणा छ भन्ने देखाउन चाहान्छौँ”, अर्थमन्त्री पुनले भन्नुभयो ।

निजी क्षेत्र र लगानीकर्ताको सुझाव समेटेर सरकारले अध्यादेशमार्फत् कानूनी सुधारको प्रयास गरेको उहाँले बताउनुभयो । अहिले संसद नचलेको बेला कानुन संशोधन गर्नुपर्ने अवस्था आएकाले अध्यादेशमार्फत् प्रक्रिया अघि बढेपनि संशोधित कानुनहरु पारित हुनका लागि संसदमा जाने र त्यहाँबाट पारित भएपछि कार्यान्वयनको चरणमा जाने उहाँले स्पष्ट पार्नुभयो । नेपालमा लगानीका लागि ऊर्जा, पर्यटन, सूचना प्रविधि तथा कृषि प्रशोधनलगायतका क्षेत्र बढी उपयुक्त रहेकाले ती क्षेत्रमा लगानी गर्न उहाँले लगानीकर्तालाई आह्वान गर्नुभयो । नेपालको दुई ठूला छिमेकी मुलुक भारत र चीनसँग मित्रवत सम्बन्ध रहेकाले यहाँको उत्पादन छिमेकी मुलुकका बजारसम्म पु¥याउन समस्या नरहने बताउनुभयो ।

कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील भट्टले लगानी प्रवद्र्धन निरन्तरको प्रयास र प्रक्रिया भएकोले आन्तरिक वातावरण सुधारबाटै यसलाई थप परिस्कृत र नतिजामुखी बनाउनुपर्ने बताउनुभयो । नेपालमा लगानीका वातावरण छ भन्ने आधार स्पष्ट हुँदै गएको भट्टको भनाइ छ । लगानी सम्मेलनमा सार्वजनिक-निजी साझेदारी (पिपिपी) अवधारणाका परियोजना मात्र नभई अन्य सरकारी र निजीक्षेत्रका परियोजनासमेत सोकेसमा राखिने उहाँको भनाइ छ ।

वैशाख १६ र १७ गते दुई दिन चल्ने सम्मेलनका लागि सरकारी र निजी क्षेत्रबाट एक सय ५० हाराहारी आयोजना सोकेसमा लैजाने तयारी सरकारले गरेको छ । सम्मेलनमा विभिन्न विषयका १० वटा सत्रमा छलफल हुनेछ । जसमा ५० जनाको हाराहारीमा वक्ता रहनेछन् । सम्मेलनमा एक हजारभन्दा बढी व्यक्तिको सहभागिता रहने जनाइएको छ ।

इस्मा आगलागी : आँखै अगाडि खरानी बने सम्पत्ति र सपना

तम्घास – गुल्मीको इस्मा गाउँपालिका-२ का चन्द्रबहादुर कुँवरले पाँच वर्षअघि १४ लाख खर्चेर दुईतले पक्की घर बनाउनुभएको थियो । जीवनमा धेरै दुखले बनाएको सोही घर शनिबार गाउँमा पसेको आगोले निमेषभरमा खरानी भयो । जङ्गलबाट आगो बस्तीमा पस्दा उहाँको घरगोठसहित कुटानी–पिसानी गर्ने मिल र नौवटा बाख्रा आगोमा परे ।

एक महिना अघिमात्र कान्छा छोराको बुहारी भित्र्याउनुभएको उहाँको बिहेका गर-गहनासहित घरमा भएका अन्न, लत्ताकपडा, गोठमा भएको घाँसपात केही बाँकी रहेनन् । उहाँले सुरु गर्नुभएको व्यावसायिक बाख्रापालनको पनि नाम निशाना रहेन । घरमै सञ्चालन गरेको मिल पनि आगोले खरानी बनायो ।

“हेर्दाहेर्दै एकैछिनमा घरसहित सबै सामान जले” उहाँले भन्नुभयो, “आँखै अगाडि सम्पत्ति र सपना दुवै खरानी भयो ।” आफूहरु बल्लतल्ल घरभन्दा पर पुगेर ज्यान जोगाउन सफल भएको उहाँले बताउनुभयो । गोठमा रहेका भैँसी र गोरु फुकाएर भगाउन भ्याउँदा बाँचे ।

सोही गाउँका घनबहादुर कुँवरले पनि किराना पसल सञ्चालन गर्नुभएको थियो । परिवार चलाउन किराना पसलले सहयोग पुगेको थियो । आगो लागेको दिन शनिबार बिहान उहाँ बिहे भोजको निम्तो गर्न बँेसी झर्नुभएको थियो । सोही समयमा जङ्गलबाट आएको आगोले उहाँको किराना पसल, घर, गोठ र चर्पी जलेर नष्ट भयो ।

“बस्ने बास, लाउने कपडा र अन्नपात सबै जल्यो,” उहाँले भन्नुभयो, “मेरा सबै आशा आगोले एकै छिनमा खरानी बनाइदियो ।” आगोले घर जलेपछि रेडक्रसले दिएको त्रिपालमुनि गुजारा चलाइरहनुभएको छ । आगोले घरका भैँसी र बाख्रा पनि मरेको उहाँले बताउनुभयो ।

सोही ठाउँकी कमला कुँवर शनिबार बिहान बिहे भोज खान छल्दी जानुभएको थियो । त्यही बेला गाउँमा लागेको आगोले उहाँको घर पनि बाँकी राखेन । “बिहान घरबाट निस्कँदा ठिकै थियो, फर्केर आउँदा घर थिएन,” कुँवरले भन्नुभयो, “आगोले मन छियाछिया भएको छ ।” सिङ्गो गाउँ सखाप हुनेगरी आगो लगाउनेलाई कारबाही हुनुपर्ने उहाँको माग छ ।

स्थानीय रामकुमारी थापाले आफ्नो छोरा अर्काको घर जोगाउन जाँदा आफ्नो गोठ जलेको बताउनुभयो । गोठको आगो निभाउन घरको छानो भत्काए पनि सम्भव नभएको थापाको भनाइ छ । गोठमा आगलागी हुँदा दुईवटा भैँसी, दुईवटा बाख्रा र गहना जलेर नष्ट भएको थापाले बताउनुभयो ।

इस्मा रेडक्रसमा कार्यरत बैकुण्ठ कुँवरले अत्यधिक हावाहुरीले गर्दा सिङ्गो गाउँ सखाप भएको बताउनुभयो । “एक्कासि आगोको झिल्को फैलिन थाले, निभाउने र सहयोग गर्ने कुनै मौका रहेन,” उहाँले भन्नुभयो, “धन्न मानवीय क्षति हुन पाएन ।”

आगालगीबाट पीडित उहाँहरु प्रतिनिधिमूलक पात्र मात्रै हुन् । जिल्लाको विभिन्न ठाउँमा आगलागी हुँदा धेरै क्षति भएको छ । त्यसमध्ये पनि इस्मामा सबैभन्दा धेरै क्षति भएको छ । इस्माको वडा नं १, २ तथा ४ मा लागेको आगोले ६० भन्दा धेरै घर–गोठ जलेका छन् । सिङ्गो गाउँ आगोले सखाप बनाएको छ । आगलागीबाट करोडौँका भौतिक संरचना एवं सयौँको सङ्ख्यामा पशुचौपाया मरेका छन् । डढेलोले इस्मामा लु४त ६५३५ नंको ट्र्याक्टर जलेको छ ।

हेर्नुहोस् बैशाख ११ गते मंगलवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ ।

बृष राशि- परोपकारको क्षेत्रमा समय ब्यतित रहनेछ । कुराकाट्ने ब्यक्तिको कमि नरहला । बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला ।

मीथुन राशि – सामान्य चुनौति पस्चात आम्दानि राम्रो रहनेछ । बौधिक ब्यतित्व हरुको साथ प्राप्त हुनेछ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । सामान्य यात्रा हुन सक्छ । चाढो क्रोधको सिकार भईनेछ सजग रहनु होला । पारीवारिक समस्याले सताउन सक्छ ।

कर्कट राशि- सभा सम्मेलनमा समय ब्यतित हुने योग रहेको छ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । आय मुलक कार्यको थालनि हुनेछ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ ।

सिंह राशि- सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । दिन मध्यम रहनेछ ।

कन्या राशि- नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ ।

तुला राशि- साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ ।

बृश्चिक राशि- परोपकारका क्षेत्रमा समय ब्यतित रहनेछ । शत्रु बृद्धि हुनसक्छन् । मित्र तथा दाजुभाई बिचको सम्बन्धमा खटपट रहन सक्ने सम्भाबना रहेकोछ । शारीरिक आलस्यताले सताउ सक्नेछ । मान्यजनको स्वास्थमा आएको खराबिका कारण सामान्य खर्चको सम्भाबना रहेको छ ।

धनु राशि – आय मूलक कार्यमा जुट्ने माध्यम फेला पर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । प्रतिस्पर्दा मुलक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ ।

मकर राशि – सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ ।

कुम्भ राशि- साथि भाई हरुको खराब संगतका कारण सामान्य अपजस आई पर्नेछ । साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला ।

मिन राशि- सामान्य चोट पटकको सम्भाबना रहेको छ । मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ सञ्चित रकम खर्च हुने योग रहेको छ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ ।

स्याङ्जा सहयोग समाज पोर्चुगलको अध्यक्षमा विपिन अर्याल

लिस्बन (पोर्चुगल) – स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशनले विपिन अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।आइतबार राजधानी लिस्बनमा सम्पन्न अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि अर्यालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समाजको उपाध्यक्षमा विशाल पराजुली, तुलबहादुर गुरुङ, गणेश गैरे र क्षितिज गौचन चयन हुनुभएको छ । समाजको महासचिवमा ऋषि सुवेदी चयन हुनुभएको छ । अधिवेशनले सचिवमा मणि सुवेदी र शेरबहादुर गुरुङलाई सर्वसम्मत निर्वाचित गरेको छ । यस्तै कोषाध्यक्षमा दिक्षा पौडेल र सहकोषाध्यक्षमा पुरनबहादुर कुँवरलाई चयन हुनुभएको छ ।

समाजको सदस्यमा टापबहादुर राना, भरत थापा, अनमोल केसी, खगेन्द्र भण्डारी, खेमराज न्यौपाने, राजेश पङ्गेनी लगायत २१ जना सर्वसम्मत चयन भएका छन् ।

समाजका अध्यक्ष अर्यालको अध्यक्षता तथा गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका संस्थापक अध्यक्ष पूर्णबहादुर हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्का, सङ्घका आइसिसी सदस्य राजकुमार थापा, स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव एमपी अर्याल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कतारका अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनी दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

उनलाई स्वागतका लागि राष्ट्रपति रामचन्द्र पौडेल स्वयं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने जनाइएको छ ।

कतारका अमिरले गर्ने नेपालको राजकीय भ्रमणको अवसरमा भोलि आज देशभर सार्वजनिक बिदा पनि दिइएको छ ।

म्याग्दीका एक सय भन्दा बढी वनमा डढेलो

म्याग्दी (बेनी) – म्याग्दीमा एक सय १० भन्दा बढी वनमा डढेलो लागेको छ । लामो खडेरी र जथाभाबी आगजनीले वनजङ्गल सखाप पार्न थालेको हो । पछिल्लो एक सातामा जिल्लामा दिनहुँ डढेलोको घटना बढेका छन् । एक सय १० बढी सामुदायिक वनमा डढेलो लागेको र जथाभावी डढेलो लगाउने प्रवृति नरोकिएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख डिभिजन वनअधिकृत विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

‘‘अहिले जिल्लामा वन डढेलो नियन्त्रण बाहिर छ, एउटै वनमा दोहोराएर डढेलो लागेको छ, कतिपय ठाउँमा वनजंगलमा फैलिएको आगो वस्तीमा पस्ने जोखिम पनि छ, हामीले समुदायस्तरमा आगजनी र डढेलो नियन्त्रणको लागि सावधानी अपनाउन आह्वान गरेका छौँ’’, डिभिजन वन अधिकृत अधिकारीले भन्नुभयो ।

जिल्लामा रहेका तीन सय ११ सामुदायिक वनसँगै निजी वन, धार्मिक वन र अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) अन्तर्गतका वनजङ्गलमा हरेक दिन आगजनी भइरहेका छन् । गत फागुनदेखि वनमा डढेलो लाग्न थालेको थियो । स्वास्थ्य संस्थाहरुमा डढेलोकै कारण आँखा, स्वासप्रश्वास, छाला चिलाउने लगायतका समस्याका बिरामी बढेका छन् ।

जथाभावी वन डढेलो लगाउँदा दर्जनौँ बस्ती जोखिममा परेका छन् । रघुगङ्गा गाउँपालिका-१ बादुँकगाउँ वरपरका जङ्गलमा आइतबार दिउँसोदेखि लागेको डढेलो गाउँमा पस्न सक्ने जोखिम भएपछि स्थानीयवासीले दुई दिनदेखि डढेलो निभाउने काममा जुटेको स्थानीय युवा लोकेन गर्बुजाले बताउनुभयो ।

‘‘गाउँ वरपर सबैतिरबाट डढेलो लागेको छ, कति बेला गाउँमा आगो पस्छ भन्ने डर र त्रास मात्रै छ, डढेलोको धुँवाले श्वास फेर्नसमेत कठिन बनाएको छ’’, गर्बुजाले भन्नुभयो ।

वन डढेलो रोकथामका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि घाँस राम्रो हुने भन्दै वनजङ्गलमा आगो लगाउने प्रचलन अझै हट्न सकेको छैन । बेनी नगरपालिकासहित मङ्गला, मालिका, धवलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका दर्जनौ वन क्षेत्रमा दिनहुँ डढेलो लागिरहेको छ ।

डढेलोले वनजङ्गल उजाड र नाङ्गो देखिन थालेका छन् । वनस्पती, वन्यजन्तु र वन्यजन्तुको वासस्थानलाई नष्ट गर्नुको साथै मानव स्वास्थ्यमा समेत असर पर्ने भएकाले डढेलो लगाउने कार्य रोक्न डिभिजन वन कार्यालयले सबैलाई आह्वान गरेको छ ।

वन ऐन २०७६ को दफा ५० को उपदफा ४ बमोजिम वनजङ्गलमा आगलागी गर्नेलाई फौजदारी अभियोग मानिने र यस्तो कार्य गर्नेलाई तीन वर्ष कैद, ६० हजार जरिवाना र दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ । तर हालसम्म वन डढेला लगाउनेको पहिचान र कानुनी कारबाही हुन सकेको छैन ।

शीर्षनेताद्वारा एकै मञ्चबाट विकासमा एकताबद्ध हुन आह्वान

काठमाडौँ, १० वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको हीरक महोत्सव समारोहमा देशका शीर्षनेताहरुले एकै मञ्चबाट मुलुकको विकासमा एकताबद्ध हुनुपर्ने उद्घोष गर्नुभयो । महोत्सवमा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा (एकीकृत समाजवादी)का नेता एवं प्रधानमन्त्री झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत उपस्थिति हुनुहुन्थ्यो ।

प्रधानमन्त्रीसहित शीर्ष दलका नेताहरुको उपस्थिति हुने बित्तिकै अत्याधुनिक प्रविधिसँगै एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा स्थापनाको हीरक महोत्सवको शुभारम्भ गरेपछि माहोल निकै रोचक बनेको थियो ।

पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ संयुक्तरुपमा प्रधानमन्त्री दाहाल ,एमाले अध्यक्ष ओली, कांग्रेसका सभापति देउवा, एकीकृत समाजवादीका नेता खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीलगायत प्रमुख दलले सम्मान प्रदान गर्नुभयो । त्यो समय मञ्चमा दलहरुबीच एकताको दृश्य प्रस्ट देखिन्थ्यो । हिरक महोत्सवमा उपस्थितिहरुले उक्त समारोहलाई निकै रोचकपूर्ण तरिकाले तालीले स्वागत गरिरहेका देखिन्थ्यो । सम्मानित हुने बित्तिकै पूर्वराष्ट्रपति भण्डारीले सम्बोधनका माहोल केही भावुक भएको थियो ।

हीरक महोत्वसको प्रारम्भ हुने बित्तिकै नेकपा स्थापनाको अवस्थादेखि वर्तमान अवस्थासम्म विश्लेषण गरेर वृत्तचित्र प्रस्तुत गरिएको थियो । उक्त वृत्तचित्रप्रति इङ्गित गर्दै कांग्रेसका सभापति देउवालले सम्बोधन गर्ने बेलामा ‘खाली कांग्रेसलाई गाली गर्ने’ भन्ने शब्दबाट सम्बोधन सुरु गर्नुभयो । केहीबेर सबैलाई अलि असहजजस्तो महसुस भएको थियो तर उहाँले संवाद, सहमति र सहकार्यबाट लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्दै देशको विकासमा सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो ।

“वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुनिश्चित गर्दै मुलुकको विकास गर्न सबैको सहकार्य जरुरी छ,” सभापति देउवाले भन्नुभयो, “नागरिकको मौलिक हक अधिकारको संरक्षण, देशमा दिगो शान्ति, सुशासनका लागि न्यूनतम सहमति र सहकार्य जरुरी छ ।”

महोत्सवमा कांग्रेस सभापति देउवापछि प्रधानमन्त्री दाहालले सबै राजनीतिक दलले सहकार्य गरेर देशको विकास र जनतालाई सेवा प्रदान दिनुपर्ने बताउनुभयो ।“हामीले जे–जति राजनीतिक उपलब्धि प्राप्त गरेका छौँ, ती सबै राजनीतिक समझदारी एवम् एकताबाटै प्राप्त गरेका छौँ तर हामीबीच समझदारीको स्तर तल झर्दा भने सबै कमजोर भएका छौँ,” उहाँले भन्नुभयो, “हामीले समझदारी गर्दा ठूला–ठूला उपलब्धि हासिल गरेका छौँ तर जतिबेला हामी विमति तिर तथा एकअर्काप्रति विद्वेषतर्फ गयौैँ, नेपाली जनताले दुःख पाउने स्थिति सृजना भयो, आजको दिन राजनीतिक दलबीच समझदारी र सहमतिको यात्रा तय गर्ने नयाँ दिन बनोस् भनी सबै राजनीति दललाई अपिल गर्दछु ।”

सबै राजनीतिक दलले एकअर्का राजनीति दलका योगदानलाई सम्मान गर्दै आफूभित्र रहेका कमीकमजोरी हटाएर देश र जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त अध्यक्ष दाहालको थियो । सम्बोधनका क्रमा एमालेका अध्यक्ष ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र रक्षा र सबलीकरणमा एकताबद्ध हुन सबै राजनीतिक दलहरुलाई आह्वान गर्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सबलीकरणको बाटोमा सबै एक ठाउँमा उभिनुपर्ने उल्लेख गर्दै भन्नुभयो, “मुलुकबाट गरिबी हटाउने गरी ठोस योजना बनाउने, भ्रष्टाचारको अन्त्य गर्ने र राष्ट्र र राष्ट्रिय हितको पक्षमा अघि बढ्नुपर्छ, एमालेले नाजायज ढङ्गले कुनै पनि खालको अडान राख्दैन तर मुलुकको हितको पक्षमा उभिन्छ ।”

हीरक महोत्वसमा मुलुकका शीर्ष राजनीतिक दलको आ–आफ्नो शैलीमा प्रस्तुति फरक भए पनि सबैको चाहना मुलुको विकास र समृद्धि नै थियो । ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित नेकपाको स्थापना दिवका अवसरमा विकास र समृद्धिका लागि पाइला अघि बढाउनुपर्ने सन्देशमूलक गीतसमेत कलाकारहरुले प्रस्तुत गरेका थिए । महोत्सवका लागि साजसज्जा निकै गरिएको थियो ।

विभिन्न आर्कषण नाराका साथ नेकपा स्थापनाको ७५ लेखिएको पोष्टरमा फोटो खिच्ने र रमाउनेको निकै घुइँचो देखिन्थ्यो । महोत्सवको अर्को आकर्षणको केन्द्र लोकतान्त्रिक चोक भनेर किटान गरिएको एउटा स्थान थियो । त्यहाँ गएर व्यक्तिले आफ्नो विचार लेखिरहेका थिए । नेकपा स्थापनाको हीरक महोत्सव निकै रोचक देखिन्थ्यो ।

विधि र पद्धतिमा आधारित कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्दछ : अध्यक्ष नेपाल

काठमाडौँ, १० वैशाख : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको चाहना अनुरुप शान्ति र समृद्धिको लक्ष्य हासिल गर्न कम्युनिष्ट पार्टीहरु एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।

कम्युनिष्ट पार्टी स्थापनाको ७५औँ वर्षका अवसरमा अध्यक्ष नेपालले आज शुभकामना सन्देश जारी गर्दै विगतको सबै कमजोरीको आत्मसमीक्षा गरी सही विचार र कार्यदिशा भएको कम्युनिष्ट आचरणको विधि र पद्धतिमा आधारित बलियो कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्ने बताउनुभएको हो ।

कम्युनिष्ट आन्दोलन टुट फुट हुँदा जनतामा निराशा र आक्रोस बढेको बताउँदै उहाँले भन्नुभयो, “टुट फुट विभाजन र एकताका अनेकौँ श्रृङ्खला पार गरेको नेपाली कम्युनिष्ट आन्दोलनले पछिल्लो समयमा प्राप्त व्यापक जनसमर्थन र साथलाई जनचाहना अनुरुप उपयोग गर्न नसक्दा जनतामा निराशा र आक्रोश बढिरहेको कुरालाई आजको दिनमा सम्बन्धित सबैले स्वीकार गर्नुपर्दछ । मुलुक र जनताका एजेण्डालाई केन्द्र विन्दुमा राखेर विगतका गल्ती नदोहो-याउने विश्वासिलो आधारसहितको सहकार्यले मात्र कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ अघि बढाउन सक्दछ ।”

नेपालको कम्युनिष्ट आन्दोलनले स्थापना कालदेखि नै अङ्गिकार गरेका मुलुकको राष्ट्रियता, जनताको जनजीविका, स्वतन्त्रता, लोकतन्त्र जस्ता विषयमा अहिले पनि विविधखाले चुनौती रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले यस्तो अवस्थामा कम्युनिष्ट पार्टीको दायित्व र जिम्मेवारी थपिएको प्रष्ट पार्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवसका अवसरमा संस्थापक महासचिव पुष्पलाललगायत सम्पूर्ण संस्थापकहरुको स्मरण गर्दै उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई आजको अवस्थासम्म ल्याइ पु-याउन जीवन उत्सर्ग गर्ने सहिदप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

पेट्रोलियम पदार्थ उत्खननको प्रगतिबारे मन्त्री भण्डारीलाई जानकारी

काठमाडौँ, १० वैशाख : दैलेखको पञ्चकोशीमा पेट्रोलियम पदार्थ उत्खननका लागि भइरहेको प्रगतिबारे चिनियाँ पक्षले उद्योग, वातावरण तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई आज जानकारी गराएको छ । पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेश नापितका अनुसार चिनियाँ सरकारको ‘जिओलोजिकल सर्वे कम्पनी’का परियोजना प्रमुख डा याङ पिङले कामका प्रगतिबारे मन्त्री भण्डारीलाई जानकारी गराउनुभएको हो ।

सो टोलीले अन्तिम चरणको ‘ड्रिलिङ’ कार्य सुरु गर्ने जानकारी गराएको छ । सो टोलीले सन् २०१९ देखि हालसम्मका कामका बारेमा जानकारी गराउँदै दैलेखमा पेट्रोलियम पदार्थको सम्भावना उच्च रहेको जनाएको छ । त्यसको पुष्टि हुने परिमाण र गुणस्तरबारे जानकारी प्राप्त हुन बाँकी रहेको अन्वेषण परियोजना प्रमुख नापितले बताउनुभयो । मन्त्री भण्डारीलाई जानकारी गराउने टोलीमा चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीका सर्वेक्षण उपमहानिर्देशक डा मुको नेतृत्व सहितको विज्ञ समूह सहभागी थिए ।

जानकारी लिइसकेपछि मन्त्री भण्डारीले चिनियाँ सरकारको सहयोगको सराहना गर्दै आगामी दिनमा नेपालमा यस्ता क्षेत्रमा लगानी बढ्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले दैलेखको पेट्रोलियम पदार्थ उत्खननका लागि भइरहेको प्रगति अत्यन्त उत्साहजन रहेको जानकारीले सरकारलाई उत्साहित बनाएको प्रतिक्रिया दिनुभयो । साथै उहाँले सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

खुला मेयर कप फुटबल प्रतियोगिता यही वैशाख १५ गतेदेखि

गोदावरी (ललितपुर), १० वैशाख : प्रथम उपत्यकाव्यापी अन्तर नगरपालिका खुला मेयर कप फुटबल प्रतियोगिता यही वैशाख १५ गतेदेखि सुरुआत हुने भएको छ ।

गोदावरी नगरपालिकाद्वारा गोदावरी–१० स्थित खेलमैदानमा आयोजना हुने सो प्रतियोगितामा काठमाडौँको नौ स्थानीय तहको नौ, ललितपुरको चार स्थानीय तहको पाँच र भक्तपुरको एक स्थानीय तहबाट एक टोली सहभागिता रहनेछ ।

प्रतियोगिताका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा विजेता र उपविजेता टोलीले नगद पुरस्कार क्रमश ः रु पाँच लाख, रु तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै अनुशासित टोलीलाई रु ५० हजार ‘म्यान अफ दी म्याच’ लाई रु ५० हजारका साथै उत्कृष्ट गोलकिपर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता प्रशिक्षकलाई रु २५ हजार नगद पुरस्कार प्रदान गरिने जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन नगरमा खेल पर्यटनको विकास गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

सो अवसरमा नगर प्रवक्ता मिलन सिलवाल र प्रतियोगिता संयोजक निरोज बज्राचार्यले प्रतियोगिताका बारेमा जानकारी दिनुभयो । प्रतियोगिताका लागि गोदावरी नगरपालिकाले रु २५ लाख बजेट विनियोजन गरेको बताइएको छ ।

साहना प्रधान स्मृति राष्ट्रिय हक्की प्रतियोगिता वैशाख १५ गतेदेखि

काठमाडौँ, १० वैशाख : नेपाल हक्की सङ्घको आयोजनामा छैटौँ साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता यही वैशाख १५ गतेदेखि हुने भएको छ । प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टोलीको सहभागिता रहने आयोजक हक्की सङ्घका अध्यक्ष अनिलप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी ‘लिग कम नकआउट’ आधारमा खेल खेलाइने छ ।

समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः एक लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ लाई पाँच हजार नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, सर्वाधिक स्कोरकर्ता र उदीयमान खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब रु ३५ लाख खर्च हुने हक्की सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो । पाँचदिने उक्त प्रतियोगिताका खेलहरु काभ्रेको धुलिखेल खेलकुद मैदानमा हुनेछ ।

मौसम विशेष बुलेटिन जारी : तराईमा अत्याधिक गर्मी हुने, तातो लहरबाट बच्न अनुरोध

काठमाडौँ, १० वैशाख : जल तथा मौसम विज्ञान विभागले विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेकाले गर्मी बढी हुने जनाएको छ । विभागले लुम्बिनी प्रदेश तथा मधेस प्रदेशको तराई भूभागका थोरै स्थानमा बिगत दुई दिनदेखि तथा सुदूरपश्चिम प्रदेशको तराईका भूभागको थोरै स्थानमा बिगत एक दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको भन्दै तापक्रम बढ्ने हुँदा सचेत हुन आज विशेष बुलेटिन सार्वजनिक गर्दै अनुरोध गरेको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको उक्त बुलेटिनमा आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध गरिएको छ ।

“ती भूभागमा आगामी ५ दिन (२०८१ वैशाख १० गते देखि २०८१ वैशाख १४ गते) सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ । साथै पहाडी भूभागका उपत्यका तथा खोचमा तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेकोले यस महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अध्यावधिक रहनुहुन अनुरोध छ”, बुलेटिनमा उल्लेख छ ।

महाशाखाले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर जस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न पनि अनुरोध गरेको छ ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन अनुरोध गरिएको छ ।

नेविसङ्घद्वारा स्थानीयतहका प्रमुखलाई ज्ञापनपत्र

काठमाडौँ, १० वैशाख : नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले शिक्षा सुधारसहित विभिन्न माग राखेर स्थानीय तहमा ज्ञापनपत्र बुझाएको छ । नेवि सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष दुजाङ शेर्पाले शिक्षा सुधारका लागि विभिन्न माग राखेर देशभरका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएको बताउनुभयो ।

उहाँले गतचैत २२ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार यही वैशाख ६ गते सबै स्थानीय तहमा १७ बुँदे ज्ञापनपत्र बुझाइएको जानकारी दिनुभयो । “वैशाख ६ गते देशभरका ६ सय १३ स्थानीय तह, वैशाख ९ गते एक सय २७ पालिकामा र बाँकी नौ पालिकामा इमेलमार्फत ज्ञापनपत्र बुझाएका हौँ,” अध्यक्ष शेर्पाले भन्नुभयो ।

नेविसङ्घले स्थानीय तहसँग विद्यालय शिक्षा निःशुल्क गर्नुपर्ने, कूल बजेटको २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने, माटो सुहाउँदो स्थानीय पाठ्यक्रम निर्माण गर्नुपर्ने, पोषणयुक्त दिवा खाजा दिनुपर्ने, खेलकुद तथा शैक्षिक सामग्री उपलब्ध गराउनुपर्ने, विद्यालय आफैँले किताब बिक्री गर्ने कार्यको अन्त्य हुनुपर्ने, शिक्षकलाई न्यूनतम पारिश्रमिकभन्दा बढी दिनुपर्नेलगायत माग राखेका छन् । अध्यक्ष शेर्पाले सार्वजनिक शिक्षाप्रति आमनागरिक तथा विद्यार्थीको भरोसा आर्जन गर्दै सरकारी र निजी विद्यालय शिक्षामा देखिएको खाडल पुर्नका लागि ज्ञापनपत्रले सहयोग पुग्ने विश्वास व्यक्त गर्नभयो ।

नर्वेका राजा ह्याराल्डले आफ्नो कामको बोझ घटाउने

करिब दुई महिनाको बिरामी बिदापछि सोमबार काममा फर्किनुभएका नर्वेका ८७ वर्षीय राजा ह्याराल्डले आफ्नो वृद्ध उमेर कमजोर स्वास्थ्य अवस्थाका कारण कामको बोझ घटाउन लाग्नुभएको राजदरबार स्रोतले जनाएको छ ।

युरोपका सबैभन्दा वृद्ध राजा ह्याराल्ड गत फेब्रुअरीको अन्त्यतिर मलेसियाको लाङकावी टापुमा बिदा मनाउन गएका बेला अस्वस्थ बन्नुभएको थियो ।

उहाँलाई नर्वेको मेडिकल ट्रान्सपोर्ट फ्लाइटमा फर्काइएको थियो र मलेसियामा जडान गरिएको अस्थायी पेसमेकरको सट्टा स्थायी पेसमेकर जडान गरिएको थियो ।

दरबारले भनेको छ, “राजा ह्याराल्ड स्वदेश फर्कन पाउँदा र आफ्नो जिम्मेवारीमा फर्कन पाउँदा खुसी हुनुहुन्छ ।” यद्यपि, ‘गतिविधिको सङ्ख्या र दायरामा स्थायी रूपमा कमी आएको’ भन्दै राजाले आफ्नो उमेरलाई ध्यानमा राख्दै आफ्नो तालिकामा समायोजन गर्ने बताइएको छ ।

सन् १९९१ देखि राजगद्दी सम्हालिरहेका ह्याराल्ड बैशाखीको भरमा सामान्य हिडडुल गर्नुहुन्छ । हालैका वर्षहरूमा उहाँले एकपछि अर्को गर्दै स्वास्थ्य समस्याहरूको सामना गर्नुपरेको छ ।

उहाँले डेनमार्कमा रहेकी आफ्नी ८३ वर्षीया नातिनी महारानी मार्ग्रेथ द्वितीयको नेतृत्व पछ्याउने र राजगद्दी त्याग्ने अड्कलबाजीलाई अस्वीकार गर्नुभएको छ । राजा ह्याराल्डको अनुपस्थितिमा ५० वर्षीय युवराज हाकोनले राजकीय जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर), १० वैशाखः सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ । विसं २०६२ मा तत्कालीन टीकापुर विकास समितिले क्याम्पसको स्थापनाका लागि तीन सय ८० बिघा जग्गा क्याम्पसलाई दिएको भए पनि क्याम्पसले हालसम्म ८० बिघा मात्रै भोगचलन गर्न पाएको छ । अन्य तीन सय बिघा जमिन मुक्त कमैया तथा सुकुमवासीका नाममा अतिक्रमण भएको क्याम्पसले जनाएको छ ।

विसं २०६३ मा क्याम्पसको जमिन अतिक्रमण सुरु भएको टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धविन्द्र रावलले जानकारी दिनुभयो । उक्त जग्गामा अहिले करिब एक हजार पाँच सय घरपरिवारले टहरा बनाएर क्याम्पसको जमिन ओगटेको छ ।“हामीले कृषि एजी कार्यक्रम सञ्चालन गरेका छाँै, यसमा अध्ययनरत विद्यार्थीहरुलाई प्रयोगात्मक गर्न हामीसँग ठाउँ छैन,” क्याम्पस प्रमुख रावलले भन्नुभयो, “विद्यार्थीहरुको अध्ययनका लागि भौतिक संरचना र प्रयोगशाला भवन नहुँदा समस्या भएको छ ।” उहाँले स्थानीय सरकारदेखि केन्द्र सरकारसम्म पटकपटक अतिक्रमण हटाई दिन आग्रह गरे पनि अतिक्रमण हटाउन नसकेको बताउनुभयो ।

अतिक्रमण हटाउनका लागि स्थानीय सरकार, प्रदेश सरकार र सर्वपक्षीय बैठकबाट विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको सहभागितामा पटक–पटक छलफल भए पनि विश्वविद्यालयले आफ्नो जग्गा भोगचलन गर्न पाएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति कर्ण थापाले विश्वविद्यालयको जग्गा अतिक्रमण हुँदा कृषि विज्ञान सङ्काय सञ्चालनमा कठिनाइ भएको जानकारी दिनुभयो । “विश्वविद्यालयको स्वामित्वमा रहेको जग्गा उपयोग गरी कृषिफार्महरु विस्तार गर्न सके हाम्रा विद्यार्थीहरुलाई सिक्ने र कमाउने माध्यम बन्ने थियो,” उपकुलपति थापाले भन्नुभयो, “विश्वविद्यालयको उक्त जग्गा अतिक्रमणमुक्त गरिदिन सम्बन्धित निकायहरुसँग आग्रह गर्दछु ।” उहाँले आइतबार दीक्षान्त समारोहमा प्रधानमन्त्री एंव विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत अतिक्रमणमा परेको उक्त जग्गा हटाउन पहल गरिदिन आग्रह गर्नुभयो ।

विश्वविद्यालयको जमिन राजनीतिक पहुँचवालाहरुले कब्जा गरेर कमाई खाने भाँडो बनाएको स्थानीयको आरोप छ । विश्वविद्यालयले कानुनी बाटोबाट अतिक्रमित जमिन उपभोग गरी गुरुयोजनाअनुसार भौतिक संरचना बनाउनुपर्नेमा यहाँका सामाजिक अगुवाहरु बताउँछन् ।

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले उक्त जग्गामा वर्षौंदेखि बसोबास रहेकाले अतिक्रमण हटाउन समस्या भएको बताउनुभयो । “त्यहाँ बसोबास गर्नेहरुले भूमि आयोगमा निवेदन दिएका छन्,” उहाँले भन्नुभयो, “जग्गा अतिक्रमण गर्नेहरुलाई राजनीतिक दलहरुले संरक्षण गरेका छन् ।” उहाँले सरकारले भूमिहीन सुकुम्वासीको अन्य ठाउँमा व्यवस्थापन गरेर उक्त जग्गा क्याम्पसको प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले यो समस्या समाधानका गर्न सबै राजनीतिक दलहरुले एकमत भएमात्रै सम्भव रहेको बताउनुभयो ।

मन्त्रिपरिषद् बैठकद्वारा नेपाल सरकार र कतार सरकारबीच हुने विभिन्न समझदारीपत्रहरु स्वीकृत

काठमाडौँ, १० वैशाख : सरकारले अर्थमन्त्रालयको प्रस्तावमा कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना कार्यान्वयनका लागि स्विस सरकारबाट प्राप्त हुने ९० लाख १० हजार स्विस फ्य्राङ्क र कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) बाट पोखरा महानगरपालिकाका लागि अमेरिकी डलर ९८ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो । बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा २०८१ वैशाख १५ र १६ गते काठमाडौँमा आयोजना हुने नेपाल चीनको तिब्बत व्यापार सहजीकरण समितिको १२औँ बैठकको पूर्वकार्यसूची स्वीकृत गर्ने र उक्त बैठकमा सहभागी हुन मन्त्रालय सहसचिवको संयोजकत्व वार्ताटोली गठन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

गृह मन्त्रालयको प्रस्तावमा विपद्बाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनस्र्थापना तथा पुनर्निर्माण गर्न तीन तहका सरकारको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली संशोधन गर्ने निर्णय बैठकले गरेको सरकारको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

नेपाल सरकार र कतार सरकारबीच हुने विभिन्न समझदारीपत्रहरु स्वीकृत गर्ने र समकक्षीलाई हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

त्यसैगरी, सचिव मधुकुमार मरासिनीलाई अर्थ मन्त्रालयको सचिवमा र डा कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवका रुपमा जिम्मेवारी तोक्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा मित्रराष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमणका क्रममा २०८१ वैशाख ११ गते मङ्गलबार देशभर सार्वजनिक बिदा दिने निर्णय पनि बैठकले गरेको छ ।

यही वैशाख ६ गतेको मन्त्रिपरिषद्का बैठकका निर्णयहरु पनि प्रवक्ता शर्माले आजै सार्वजनिक गर्नुभएको छ ।

उक्त बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा २०८१ साल वैशाख १० देखि १२ गतेसम्म थाइल्यान्डको बैङ्ककमा आयोजना हुने फुड लेबलिङ वर्कशपमा भाग लिन राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । त्यसैगरी, २०८१ वैशाख १० देखि १४ गतेसम्म थाइल्यान्डको बैङ्ककमा आयोजना हुने एसिया तथा प्यासिफिक क्षेत्रको आर्थिक तथा सामाजिक सहकार्यसम्बन्धी कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा रमेशचन्द्र पौडेललाई सहभागी हुने स्वीकृत प्रदान गर्ने निर्णय गरेको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा आगामी जेठ १५ देखि १७ गतेसम्म मलेसियाको क्वालालम्पुरमा आयोजना हुने कार्यक्रममा सहभागी हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई स्वीकृति बैठकले दिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

नेपाल आयल निगमको कार्यकारी निर्देशकको मासिक तलब र अन्य सुविधा तोक्ने, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा सिँचाइको विकास तथा व्यवस्थापन गर्ने र नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत दिने निर्णय बैठकले गरेको उहाँले बताउनुभयो ।

प्रवक्ता शर्माले आगामी जेठ १४ देखि १७ गतेसम्म आयोजना हुने सानाटापु विकासशील राष्ट्रको सम्मेलनमा परराष्ट्र मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने तथा नेपाल–बङ्गलादेश द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठकको कार्यसूची स्वीकृत गर्ने र उक्त बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका सचिव नेतृत्वको नेपाली प्रतिनिधिमण्डल गठन गर्ने बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमण कार्यक्रम स्वीकृत गर्ने र कतारी पक्षसँग हुने वार्ताको नेतृत्व प्रधानमन्त्रीले गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको थियो ।

नेपाल र कतारबीच युवा तथा खेलकुद क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र र शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा हुने सहकार्यसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने निर्णय बैठकले गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । शनिबारबाहेक अन्य सार्वजनिक बिदाका दिनमा समेत गोश्वारा हुलाक कार्यालय, हुलाक निर्देशनालय र जिल्ला हुलाक कार्यालयहरु सञ्चालन हुने, उपमहालेखापरीक्षक पदमा नायब महालेखापरीक्षक बैकुण्ठबहादुर अधिकारीलाई बढुवा गर्ने र राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने निर्णय बैठकले गरेको उहाँले बताउनुभयो ।

तातो हावाले कष्टकर बन्दै तराईको जनजीवन

भैरहवा (रुपन्देही), १० वैशाख : वैशाखको पहिलो साता नै भैरहवा आसपासको अधिकतम तापक्रम करिब ४४ डिग्री पुगेको छ । तीव्र गतिमा तापक्रम वृद्धि र तातो हावा (लू) चल्दा जनजीवन कष्टकर बन्दै गएको छ । ठाउँठाउँमा आगलागी भइरहेका छन् । आगलागीले करोडौंको धनमाल नष्ट भएका छन् । गर्मी बढ्दै जाँदा बाटो सुनसान हुँदै गएका छन् । अस्पतालमा बिरामीको चाप बढेको छ ।

शनिबार नेपालमै सबैभन्दा बढी गर्मी (४३ दशमलव ६ डिग्री) भैरहवामा मापन भएको छ । आइतबार ४० दशमलव ६ डिग्रीले केही कम गर्मीको महसुस गराए पनि आज फेरि गर्मीले प्रचण्ड रुप लिएको छ । आज भैरहवाको तापमान ४३ डिग्री पुगेको छ ।

भैरहवामा अन्य ठाउँभन्दा बढी गर्मी हुन थालेपछि जनजीवन कष्टकर बनेको हो । रुपन्देहीलगायतका जिल्लामा गर्मी बढेपछि स्थानीयवासीको दैनिकीमा समस्या आएको छ । चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा चलेपछि सर्वसाधारण घरबाहिर निस्किन सकेका छैनन् । अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज प्रभावित भएको छ ।

भीम अस्पताल भैरहवामा गर्मीका कारण बिरामी भई आउनेको चाप बढ्दो छ । सामान्य अवस्थामा दैनिक दुई सयसम्म बिरामी आउने अस्पतालमा अहिले गर्मीकै कारण सात सयको हाराहारीमा बिरामी आएको भैरहवा भीम अस्पतालका कार्यालय प्रमुख डाक्टर मोहम्मद नुरुल हुदाले जानकारी दिनुभयो ।

“चिसो मौसम हुँदा सरदर तीनदेखि चार सय बिरामीको सङ्ख्या हुन्थ्यो, अहिले छ देखि सात सय दैनिक पुगेको छ,” उहाँले भन्नुभयो, “धेरैमा पखाला र छालासम्बन्धी समस्या देखिएको छ ।”

गर्मीसँगै पानी कम प्रयोग गर्दा हुने बिरामीको सङ्ख्या पनि बढेको उहाँले बताउनुभयो । पिसाबको सङ्क्रमण, कडा ज्वरो, मिर्गौलामा पत्थरी भएका बिरामीमा तीव्र पेट दुख्ने समस्याका बिरामी अस्पताल आइरहेका छन् । अहिलेको वातावरणका कारण दम रोगका बिरामीलाई समस्या भएको उहाँले बताउनुभयो ।

गर्मी बढ्दा चिसो पेयपदार्थ र फलफूल जुसको व्यापार बढेको छ । मध्याह्न र अपराह्न सरकारी कार्यालयसहित बजारमा सर्वसाधारणको उपस्थिति पातलिएको छ । स्थानीय बासिन्दाको भनाइअनुसार विगतको वर्षभन्दा यस वर्ष बढी गर्मी भएको हो । गर्मीले मानिस मात्र हैनन्, पशुपंक्षी समेत प्रभावित भएका छन् । बजार सुनसान भएपछि व्यापार घटेको छ । मोबाइल व्यापारी हरि पाण्डेले गर्मीकै कारण व्यापार घटेको बताउनुभयो । “अहिले किसानसँग पैसा आएर बिक्री बढ्नुपर्ने हो,” पाण्डेले भन्नुभयो, “तर गर्मी र तातो हावाकै कारण आगलागीले किसानको अन्न नष्ट भएको छ, अनि कसरी व्यापार बढ्नु ?”

अहिले अत्यधिक गर्मीका कारण बच्चाको मुख सुक्ने, पानीको कमी हुनेलगायत समस्या देखिएकाले उनीहरुलाई पर्याप्त झोलिलो पदार्थ ख्वाउन चिकित्सकले सुझाव दिएका छन् । दिउँसो ११ देखि ३ बजेसम्म अति आवश्यक काम नपर्दासम्म घरबाट बाहिर ननिस्कन भीम अस्पतालका कार्यालय प्रमुख डाक्टर मोहम्मद नुरुल हुदाले सुझाव दिनुभयो ।

“बाहिर निस्किनै परे पूरा बाहुलाको लुगा लगाएर निस्किने र मुख राम्ररी छोप्नुपर्छ,” उहाँले भन्नुभयो, “कतिपयले सन्सक्रिम लगाउनुहुन्छ, यसले पनि एलर्जी हुने हुँदा चिकित्सकको सल्लाहमा मात्र प्रयोग गर्नुपर्छ ।”

गर्मीबाट जोगिन पानी र झोलिलो पदार्थ बढीभन्दा बढी खान उहाँको सुझाव छ । तातो हावा, प्रचण्ड गर्मी र आगलागीबाट वातावरणमा परेको असरका कारण जनजीवन प्रभावित भएपछि राहत पाउन सर्वसाधारण, किसान, व्यापारीलगायतले वर्षाको कामना गरिरहेका छन् ।

राजनीतिक दलले आफ्ना नीति तथा आदर्शको समीक्षा गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, १० वैशाख : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै राजनीतिक दलले आ–आफ्नो पार्टीले लिएको नीति तथा आदर्शमा विचलन आएको छ कि छैन भनेर समीक्षा गर्र्नुपर्नेे बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको भएको आज ७५ वर्ष पूरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा उहाँले राजनीतिक दलहरुले लिएको नीति तथा आदर्शमा विचलन आएको वा नआएको बारे बेलाबेला समीक्षा गर्दै अगाडि बढ्नुपर्छ भन्नुभयो । “नेपाली कम्युनिष्ट आन्दोलनले आफ्नो हीरक जयन्ती मनाइरहँदा यस आन्दोलनको गहन समीक्षासमेत गरिनु पर्दछ भन्ने मलाई लागेको छ, सँगै स्थापना भएका अरू देशका कम्युनिष्ट पार्टीले किन के कति सफलता हासिल गरे र के कस्ता विफलता व्यहोर्नु प¥यो,” पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “नेपाली कम्युनिष्ट आन्दोलनमा पटकपटक देखिने गरेको फुट र विभाजन साँच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकाङ्क्षा, अवसरवाद र भड्काव हाबी हुँदा भएको हो भन्नेजस्ता विषयमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्नुपर्छ ।”

नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको पचहत्तर वर्ष पुगेको ऐतिहासिक अवसर पारेर यो विशेष समारोह आयोजना गरेकोमा नेकपा (एमाले) लाई धन्यवाद दिँदै उहाँले यस कार्यक्रमको पूर्ण सफलताको कामना गर्नुभयो । उहाँले भन्नुभयो “यस अवसरमा, म नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा सहभागी हुँदा आफ्नो जीवन उत्सर्ग गर्ने सबै ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धासुमन अर्पण गर्दछु ।”

विसं २००६ मा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले बितेका साढे सात दशकमा जहानियाँ राणा शासनको अन्त्य गर्न, निरङ्कुश निर्दलीय पञ्चायती व्यवस्था समाप्त पारी बहुदलीय व्यवस्था बहाली गर्न र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न ऐतिहासिक भूमिका निर्वाह गरेको उहाँको भनाइ थियो ।

“नेपाली कम्युनिष्ट आन्दोलनले मुलुकको स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान प्रवद्र्धन गर्न, देश प्रेमको भावना जागृत गर्न तथा राष्ट्रियताको संवद्र्धन गर्न महत्वपूर्ण दायित्व बहन गर्दै आएको छ,” उहाँले भन्नुभयो, “यसले जनताको जनजीविका, सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि सशक्त आवाज उठाएको छ र आफूले सरकार सञ्चालन गरेका बेला तथा संयुक्त सरकारमा सहभागी बनेका बेला राष्ट्र र जनताका जल्दाबल्दा यी विषयहरूलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्दै आएको छ, यसबाट कम्युनिष्ट आन्दोलनप्रति नेपाली जनताको आशा र भरोसा बढेको छ ।”

पूर्वराष्ट्रपति भण्डारीले मुलुकमा उपलब्ध प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा तथा जनताको श्रम, सीप र प्रतिभाको सदुपयोगमार्फत स्वदेशी उत्पादन र उत्पादकत्वमा वृद्धि गर्दै स्वाधीन, आत्मनिर्भर र सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नुपर्ने र यसरी मात्र देशलाई समृद्ध र जनतालाई सुखी बनाउने उहाँको भनाइ थियो ।

“राजनीतिक दलहरूले साझा दृष्टिकोण बनाएर अगाडि बढ्ने उच्चस्तरको राजनीतिक संस्कृतिको विकास गर्नै पर्दछ,” पूर्वराष्ट्रपति भण्डारीले थप्नुभयो, “अन्यथा प्राप्त भएको राजनीतिक उपलब्धिबाट देश र जनता लाभान्वित नहुने मात्र होइन लोकतान्त्रिक राजनीतिक प्रणालीले समेत आलोचनाको भागिदार बन्नुपर्दछ, त्यसैले राजनीतिक दलहरूले यस विषयमा समेत बेलैमा ध्यान दिनुपर्दछ ।”

नेपालका निकट छिमेकी मित्रराष्ट्रहरू भारत र चीनले अभूतपूर्व सामाजिक आर्थिक विकास गरिरहेको हुँदा दुई मुलुकसँगको सुमधुर सम्बन्धलाई थप सुदृढ तुल्याएर पारस्परिक लाभलाई दृष्टिगत गर्दै विकासका निम्ति साझेदारी गर्नुपर्ने उहाँको भनाइ थियो ।

“मित्रराष्ट्रहरू र विकासका साझेदार अन्तर्राष्ट्रिय संस्थासँगको सम्बन्धलाई समेत थप कसिलो बनाएर आपसी हितका निम्ति अग्रसर बन्नुपर्दछ,” उहाँले भन्नुभयो, “परराष्ट्र तथा विदेश सम्बन्ध, जलवायु सङ्कट, अन्तर्राष्ट्रिय सीमा सुरक्षा, सार्वजनिक स्वास्थ्य, गुणस्तरीय शिक्षा, रोजगारी प्रवद्र्धनजस्ता विषयमा साझा धारणा बनाएर देशका राजनीतिक दलहरू तिनको कार्यान्वयन गर्न अग्रसर हुनु पर्दछ ।”

उहाँले खुल्ला सीमाले राष्ट्रिय सुरक्षा, भौगोलिक अखण्डता र सार्वभौमिकताका विषयमा पार्नसक्ने प्रतिकूल प्रभावका बारेमा सम्पूर्ण राजनीतिक दलहरूले सजगता अपनाउनुपर्ने आवश्यकता समेत आँैल्याउनुभएको थियो ।

पार्टीले आफूलाई ‘गणतन्त्र गौरव सम्मान’ अर्पण गरेकामा धन्यवाद दिँदै पूर्वराष्ट्रपति भण्डारीले यो सम्मान मलाई व्यक्तिगत रूपमा गरिएको जस्तो देखिए पनि वास्तवमा यो लोकतान्त्रिक गणतन्त्रप्रतिको उच्च आस्था, विश्वास र सम्मानको प्रतीक भएको र थप जिम्मेवारी बोध भएको महसुस बताउनुभयो ।

दूधको भुक्तानी नपाएपछि चितवनका किसानलाई गाईभैँसी पाल्न कठिन

नारायणगढ (चितवन), १० वैशाख : सात महिनादेखि दूधको भुक्तानी नपाएपछि चितवनका दुग्ध उत्पादक किसानले गाईभैँसी पाल्न कठिन भएको बताएका छन् । गत असोजदेखि जिल्लाका विभिन्न डेरीलाई बेचेको दूधको करिब रु ८२ करोड भुक्तानी नपाउँदा गाईभँैसी पाल्न कठिन भएको किसानले बताएका हुन् ।

भरतपुर महानगरपालिका–१३ चम्फानगरका होमनाथ सुवेदी दूध बेचेको पैसा भुक्तानी नपाएपछि गाईभैँसीलाई के खुवाउने भन्ने समस्या उत्पन्न भएको बताउनुहुन्छ । स्थानीय उज्जवल दुग्ध उत्पादक संस्थाका अध्यक्षसमेत रहनुभएका सुवेदीले आफूमात्र नभई संस्थामा आबद्ध सबैजसो किसान समस्यामा परेको बताउनुभयो ।

“विगत छ महिनादेखि यहाँका विभिन्न डेरीले करोडौँ रकम भुक्तानी नगर्दा किसानलाई दाना ९चोक्कर० समेत दिन सकेका छैनौ । त्यसैले हामी निकै समस्यामा छौँ”, सुवेदीले रासससँग भन्नुभयो ।

उहाँका अनुसार सो संस्थाले स्थानीय सुजल डेरीसँग रु ९५ लाख र अन्य संस्थाहरूसँग गरी रु एक करोड ५० हजारभन्दा बढी रकम भुक्तानी लिन बाँकी छ । ती संस्थाले नियमित दूध लिइरहे पनि पैसा दिन आनाकानी गरिरहेका छन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले चितवन दूधमा आत्मनिर्भर भए पनि दूधको भुक्तानी नपाउँदा दुग्ध उत्पादक किसान निराश भएका बताउनुभयो । अहिले जिल्लामा रहेका दुग्ध उत्पादक किसानले दुग्ध विकास संस्थान ९डिडिसी० र सुजल डेरीलगायत संस्थासँग रु ८२ करोडभन्दा बढी रकम भुक्तानी लिन बाँकी रहेको र अन्तिम पटक चैत २१ गतेसम्म भुक्तानी दिने गरी भएको सहमतिसमेत कार्यान्वयन नहुँदा गाईभैँसीपालक किसान पेसाबाट पलायन हुने अवस्था आएको उहाँको भनाइ छ ।

“किसानले बैंकबाट लिएको ऋणको ब्याजसमेत तिर्न नसक्ने अवस्था आइसकेको छ । अब चाँडै वक्यौता भुक्तानी नदिने हो भने धेरै किसान पेसाबाट नै पलायन हुने छन् । त्यसैले सहमति कार्यान्वयन गर्न म सबैलाई आग्रह गर्दछु”, बगालले भन्नुभयो ।

चितवनमा हाल दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ भने दैनिक एक लाख ५० हजार लिटर दूध जिल्ला बाहिर निर्यात हुने गरेको छ । अहिले दूध नउठ्ने समस्या हटे पनि भुक्तानी नपाउने समस्या बढ्दै गएकाले तत्काल समस्या समाधान गर्न सरकारले पहलकदमी लिनुपर्ने स्थानीय किसानको आग्रह छ ।

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रक्षेपण

उत्तर कोरियाले दक्षिण कोरियाको पूर्वी तटनजिकै समुद्रमा एउटा अज्ञात ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको सोलको सेनाले सोमबार बताएको छ । उक्त मिसाइल प्योङयाङले यस वर्ष परीक्षण गरेको शृङ्खलामा पछिल्लो हो । दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफले जापान सागर पनि भनिने जल क्षेत्रको नाम लिँदै भन्नुभयो, “उत्तर कोरियाले पूर्वी सागरमा अज्ञात मिसाइल प्रक्षेपण गरेको छ ।”

टोक्योले पनि प्रक्षेपणको पुष्टि गरेको छ । जापानी रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समा भनेको छ, “उत्तर कोरियाबाट संदिग्ध ब्यालेस्टिक मिसाइल प्रक्षेपण भएको थियो ।” जापानको तटरक्षकले मन्त्रालयलाई उद्धृत गर्दै प्रारम्भिक घोषणाको लगत्तै उक्त मिसाइल पहिल्यै खसेको देखिएको बताएको थियो ।

सार्वजनिक प्रसारक एनएचकेलगायत जापानी सञ्चार माध्यमले अज्ञात सरकारी स्रोतहरूलाई उद्धृत गर्दै संदिग्ध मिसाइल जापानको विशेष आर्थिक क्षेत्रबाहिर खसेको बताएका छन् ।

सोलस्थित विशेषज्ञ साइट एनके न्युजले भनेको छ, “छोटो उडान समय, सम्भवतः १० मिनेटभन्दा कम, छोटो दूरीको ब्यालेस्टिक मिसाइल (एअआरबिएम) वा छ सय मिमी मल्टिपल लन्च रकेट सिस्टम (एमएलआरएस) को प्रक्षेपण भएको सङ्केत गर्दछ ।”

गत महिना रुसले आणविक हतियार सम्पन्न मुलुक उत्तर कोरियाविरुद्ध संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको अनुगमनलाई खारेज गरेपछि पछिल्लो प्रक्षेपण भएको हो । प्योङयाङको सहयोगी मस्कोले आफ्नो आणविक र हतियार कार्यक्रमका लागि किम जोङ उनको सरकारमाथि लगाइएको प्रतिबन्धको उल्लङ्घनको राष्ट्रसङ्घीय अनुगमनलाई प्रभावकारीरूपमा अन्त्य गर्न मार्चमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा भिटो प्रयोग गरेको थियो ।

उत्तर कोरियाले रणनीतिक क्रुज मिसाइलका लागि डिजाइन गरिएको ‘सुपर–लार्ज वारहेड’ को शुक्रबार परीक्षण गरेको राज्य मिडियाले बताएको छ । सोलको सेनाले उसले करिब सोही समयमा क्रुज मिसाइल प्रक्षेपण भएको पत्ता लगाएको पुष्टि गरेको छ ।

आफ्नो ब्यालेस्टिक समकक्षीहरूको विपरीत उत्तर कोरियामाथि हालको राष्ट्रसङ्घीय प्रतिबन्धअन्तर्गत क्रुज मिसाइलको परीक्षण प्रतिबन्धित छैनन् । क्रुज मिसाइलहरू जेटद्वारा सञ्चालित हुन्छन् र अधिक परिष्कृत ब्यालेस्टिक मिसाइलहरूको तुलनामा कम उचाइमा उड्छन् । यसबाट तिनीहरूलाई पत्ता लगाउन र रोक्न कठिन हुन्छ ।उत्तर कोरियाले युक्रेनमा प्रयोग गर्नका लागि रुसमा पठाउनुअघि क्रुज मिसाइलहरूको परीक्षण गर्न सक्ने विश्लेषकहरूले चेतावनी दिएका छन् । उत्तर कोरियाली नेता किमले राष्ट्रसङ्घले प्रतिबन्ध लगाए पनि मस्कोमा हतियार पठाइरहेको वासिङ्टन र सोलको दाबी छ । प्योङयाङले युक्रेनमा प्रयोग गर्नका लागि हतियारले भरिएका करिब सात हजार कन्टेनर मस्कोमा पठाएको सोलले दाबी गरेको छ ।

धेरै हदसम्म एक्लो परेको उत्तर कोरियाले हालै मस्कोसँगको सैन्य सम्बन्धलाई बलियो बनाएको छ । साथै उसले यसै महिना आफूविरुद्धको अन्तर्राष्ट्रिय प्रतिबन्धको अनुगमन गर्ने संयुक्त राष्ट्र विशेषज्ञहरूको एउटा प्यानलको नवीकरणलाई रोक्नका लागि भिटो प्रयोग गरेकामा रुसलाई धन्यवाद दिएको छ ।

उत्तर कोरियाले परीक्षणमा पनि तीव्रता दिएको छ । उसले अप्रिलको प्रारम्भमा नयाँ मध्यमदेखि लामो दूरीको ठोस इन्धन हाइपरसोनिक मिसाइलको परीक्षण गरेको दाबी गरेको छ ।

यसै वर्ष प्योङयाङले दक्षिण कोरियालाई आफ्नो ‘प्रमुख शत्रु’ घोषणा गरेको छ । पुनरमिलन र पहुँचका लागि समर्पित एजेन्सीहरूलाई अलग गरेको छ र ‘शून्य दशमलव ००१ मिमी’ क्षेत्रीय उल्लङ्घनमा समेत युद्धको धम्की दिएको छ । गत वर्ष उत्तर कोरियाले सन् २००६ देखि लागु राष्ट्रसङ्घीय प्रतिबन्धलाई बेवास्ता गर्दै तथा वासिङ्टन र सोलको चेतावनी भए पनि रेकर्ड सङख्यामा मिसाइल परीक्षण गरेको थियो । प्योङयाङले सन् २०२२ मा आफैँलाई ‘अपरिवर्तनीय’ आणविक हतियार सम्पन्न मुलुक घोषणा गरेको छ ।

धूपबाट सल्किएको आगोले शिवनगरमा तीन पसल जलेर नष्ट

बरहथवा (सर्लाही), १० वैशाखः घर ढलान गर्न पूजा गरेको धूप सल्किएर सर्लाहीको चक्रघट्ट गाउँपालिका–१ शिवनगरमा आज तीनवटा पसल जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागीबाट विन्देश्वर साहले सञ्चालन गरेको दुईवटा पसल जलेको छ । त्यसैगरि मिश्रीलाल ठाकुरको हावा भर्ने पसल पनि पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ ।

साहकै निर्माणाधीन घरमा बालेको धूपबाट सल्किएको आगोले उहाँकै औषधि पसल र जुत्ता–चप्पल पसलमा आगो लागेको स्थानीयको भनाइ छ । आगोले निर्माणाधीन घरमा क्षति पुगेको छ । साहको निर्माणाधीन पक्की घरको दोस्रो तल्लाको छत ढलानको तयारीका लागि पूजा गरिएको थियो । पूजामा धूप बालेर ढलान गर्ने कामदारहरू खाना गएको बेला आगो सल्किएको हो ।

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय, प्रहरी र हरिवन नगरपालिकाको वारुणयन्त्रको सहायताले आगो निभाइएको थियो । समयमै आगो निभाउन सकिएकोले थप क्षति हुन नपाएको स्थानीयको भनाइ छ ।

संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवसहित ३५ देशका प्रतिनिधि नेपाल आउँदै

काठमाडौँ, १० वैशाख : संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरु नेपाल आउने हुनु भएको छ ।अर्थमन्त्री वर्षमान पुनको सचिवालयले दिएको जानकारीअनुसार उहाँहरु यही वैशाख १७ गते काठमाडौँ आइपुग्नु हुनेछ ।

युएनडिपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयशानी मेडागाङ्गोडा लाबेले आज अर्थमन्त्री वर्षमान पुनसँगको शिष्टाचार भेटमा उक्त भ्रमणबारे जानकारी गराउनुभएको छ ।युएनडिपीको एसिया प्रशान्त क्षेत्रको बैठकका लागि उहाँहरु काठमाडौँ आउन लाग्नुभएको हो । बैठकका लागि संयुक्त राष्ट्रसङ्घकी सहायक महासचिव एवं युएनडिपीकी एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कन्नी विग्नाराजा पनि नेपाल आउनु हुनेछ । त्यस क्रममा विग्नाराजाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री वर्षमान पुन र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलगायतसँग शिष्टाचार भेट गर्नुहुने जनाइएको छ ।

यस्तै, विग्नाराजासहितको टोलीले सोलुखुम्बु क्षेत्रको भ्रमणमा गर्नेछ । त्यहाँ इम्जा ताल निरीक्षण गर्ने कार्यक्रम छ । युएनडिपीले इम्जामा हिमताल फुट्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै उक्त जोखिम घटाएको थियो । तालभन्दा तल्लो भेगमा रहेका बस्तीको सुरक्षाका लागि युएनडिपीले तालभित्र जमेको हिउँ बाहिर निकालेर तालको गहिराइ बढाएको थियो । यस्तै, युएनडिपीले दोलखाको उत्तरी क्षेत्रस्थित रोल्वालिङ उपत्यकामा रहेको नेपालको सबैभन्दा ठूलो हिमताल च्छोरोल्पाको फुट्न सक्ने जोखिम पनि घटाएको थियो । आगामी दिनमा त्यस्तै जोखिममा रहेकामध्ये सुनकोशी बेसिनका तीन र गण्डकी बेसिनका एक तालको जोखिम घटाउने योजना रहेको लाबेले बताउनुभयो ।

भेटमा लाबेले युएनडिपीले नेपालको गरिबी निवारण तथा स्वास्थ्य क्षेत्रमा गरिरहेको कामबारे स्मरण गर्नुहुँदै ‘ग्लोबल ग्रिन क्लाइमेट फन्ड’को कार्यक्रम नेपालमा लागू गर्न लागेको जानकारी दिनुभयो ।

अध्यक्ष ओलीद्वारा समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पलाई साकार तुल्याउन सबैसँग अनुरोध

ललितपुर, १० वैशाख : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पलाई साकार तुल्याउने अभियानमा साथ दिन सबैसँग अनुरोध गर्नुभएको छ । एमालेद्वारा आज यहाँ आयोजित नेपाल कम्युनिष्ट पार्टी स्थापनाको हीरक महोत्सव समारोहमा उहाँले नेपाल र नेपालीको पक्षमा ल्याइएको सङ्कल्पलाई परिणाममुखी बनाउन मुलुकका जिम्मेवारी सबै पक्षको साथ–सहयोग आवश्यक हुने बताउनुभयो ।

देशका पूर्वप्रधानमन्त्री एवं प्रमुख राजनीतिक पार्टीका नेताहरूको सहभागिता रहेको हीरक महोत्सव समारोहमा अध्यक्ष ओलीले राष्ट्रिय एकता, लोकतन्त्र, समुन्नत नेपालको पक्षमा सिङ्गो देश एक हुनुपर्नेमा धारणा व्यक्त गर्नुभयो । उहाँले मुलुकमा लोकतन्त्र ल्याउन एमालेको नेतृत्वदायी भूमिका रहेको स्मरण गर्दै जेलनेलसहित ठूलो त्याग र सङ्घर्षबाट प्राप्त लोकतन्त्रलाई अझ सुदृढ, संस्थागत र जनमुखी बनाउन एमाले प्रतिबद्ध छ भन्नुभयो । उहाँले नेपालमा राणा शासनको अन्त्य, पञ्चायती व्यवस्थाको अन्त्यसहित बहुदलीय प्रजातन्त्रको स्थापना र राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापनाका क्रममा भएका आन्दोलनमा नेकपा (एमाले) को भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

आफ्नो स्थापना कालदेखि सदैव नेपाल र नेपाली जनताको पक्षमा निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीको ७५ वर्षको इतिहास गौरव गर्न लायक रहेको उल्लेख गर्र्दै अध्यक्ष ओलीले अबको कम्युनिष्ट आन्दोलन समृद्ध नेपालसहित सुखी नेपालीको सङ्कल्पसहित समाजवादको दिशामा अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

देशका प्रमुख वामपन्थी शक्तिबीचको एकता र धुव्रीकरण देश र जनताका पक्षमा हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले हतार नगरी यसअघिको अनुभवलाई दृष्टिगत गरी सहकार्य र विश्वासका आधारमा कम्युनिष्ट घटकबीच एकता हुँदा राम्रो हुने बताउनुभयो ।

अध्यक्ष ओलीले राष्ट्रियता, भौगोलिक अखण्डता, स्वाधिनता, विकास निर्माण, सुशासन, भूमिहीन सुकुम्वासी समास्या समाधान, भ्रष्टाचार अन्त्यसहित समुन्नत नेपालका पक्षमा नयाँ राजनीतिक समीकरणको सरकार गठन भएको स्प्ष्ट गर्नुभयो । हीरक समारोहमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र बाबुराम भट्टराई तथा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलगायतका नेतागणको उपस्थिति थियो ।

दलहरूबीच सहकार्य गरौँ, जनतालाई राम्रो सेवा दिऔँ : प्रधानमन्त्री

काठमाडौँ, १० वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक दलले सहकार्य गरेर देशको विकास र जनतालाई सेवा प्रदान गर्नुपर्ने बताउनुभएको छ । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेका अवसरमा नेकपा (एमाले)ले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सबै राजनीतिक दल एकताबद्ध भएर संविधानको मर्मअनुसार समाजवादको बाटोमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

“हामीले जे–जति राजनीतिक उपलब्धि प्राप्त गरेका छौँ, ती सबै राजनीतिक समझदारी एवं एकताबाटै प्राप्त गरेका हौँ । तर हामीबीच समझदारीको स्तर तल झर्दा भने सबै कमजोर भएका छौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “हामीले समझदारी गर्दा ठूलाठूला उपलब्धि हासिल गरेका छौँ, तर जतिबेला हामी विमतितिर तथा एकअर्काप्रति विद्वेषतर्फ गयौैँ, नेपाली जनताले दुःख पाउने स्थिति सिर्जना भयो । त्यसकारण आजको दिन हामी राजनीतिक दलबीच समझदारी र सहमतिको यात्रा तय गर्ने नयाँ दिन बनोस् भनी सबै राजनीतिक दललाई अपिल गर्दछु ।”

विभिन्न कम्युनिष्ट धाराको प्रतिनिधित्व गर्ने कम्युनिष्टहरू, नेपाली कांग्रेस एवं अन्य दलको योगदानबाट नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले दलहरुबीच सहकार्य तथा समझदारीको वातावरण हुँदामात्रै परिवर्तनलाई संस्थागत गर्न सकिने बताउनुभयो । “सबै राजनीतिक दलबीचको समझदारीको बलमा नै हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवस्थामा छौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “समानुपातिक एवं समावेशी मान्यतासहितको सङ्घीय गणतन्त्रलाई प्रहार गर्ने काम भइरहेको छ, त्यसकाविरुद्ध लोकतन्त्रलाई सुदृढ गर्न सबै राजनीतिक दल लाग्नुपर्छ ।”

प्रधानमन्त्री दाहालले लोकतन्त्रलाई सुदृढ गर्नका लागि सबै राजनीतिक दलको सकारात्मक योगदान रहेको उल्लेख गर्दै सामाजिक न्याय र समृद्धि दिने सपना पूरा गर्न पनि सबै राजनीतिक दल मिल्नुपर्नेमा जोड दिनुभयो । सबै राजनीतिक दलले अर्को राजनीतिक दलको योगदानलाई सम्मान गर्नुपर्ने र आफूभित्र रहेका कमीकमजोरी हटाएर देश र जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने उहाँको भनाइ छ । “हामीले गरेका राम्रा कामको समीक्षा गरौँ, कमीकमजोरीको पनि समीक्षा गरौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “आगामी दिनमा अझ उन्नत विचारको विकास गरी जनता र राष्ट्रका पक्षमा अझ दृढतापूर्वक उभिने सङ्कल्प गरौँ ।”

मनाङको लार्केपासबाट चार विदेशी पर्यटकको उद्धार

मनाङ, १० वैशाख : विकट जिल्ला मनाङ भ्रमणमा आएका विदेशी पाँच पर्यटक लेक लागेर बिरामी परेपछि उनीहरुको उद्धार गरिएको छ । आज मनास्लु पदमार्गअन्तर्गत नासों गाउँपालिका–७ भिमताङबाट उनीहरुको उद्धार गरिएको हो ।

लार्केपास गइरहेका पाँच पर्यटकको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार भिमताङबाट हेलिकप्टरमार्फत पर्यटकको उद्धार गरिएको हो । चामेमा ल्याएर सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ ।

साउथ अफ्रिकाका दुई, न्युजिल्यान्डका दुई र एकजना पथप्रदर्शकको उद्धार गरिएको प्रजिअ लामिछानेले बताउनुभयो । लेक लागेर पर्यटक बिरामी भएपछि हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि लगिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तापक्रम नमिल्दा बिरामी पर्नसक्ने भएकाले पर्यटक सचेत भएर आउन मेरो आग्रह छ । यहाँको यात्रामा सवारीसाधनको उपलब्धताको अभाव रहेकाले सचेतता अपनाउनुपर्छ ।”

गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेटः कर्णालीद्वारा गण्डकी पराजित

काठमाडौँ, १० वैशाख : वीर गणेशमान सिंह ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई पाँच रनले पराजित गर्दै विजयी भएको छ ।मूलपानी क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको एक सय ६९ रनको लक्ष्य पछ्याएको गण्डकीले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ६३ रनमा समेटियो । गण्डकीका लागि अर्जुन कुमालले ५५ बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे ।

यसैगरी, रोशन गौतमले २३, सन्दीप क्षेत्रीले अविजित १९, कप्तान विपिन खत्रीले अविजित १७, दीपक डुम्रेले १४ तथा ईश्वर क्षेत्रीले १२ रन बनाए । कर्णालीका लागि कप्तान दिवान पुन, प्रकाश जैसी र युनिस ठकुरीले समान एक–एक विकेट लिए ।त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ६८ रन बनाएको थियो ।

कर्णालीका लागि विपिन रावलले ४३ बलमा पाँच छक्का र चार चौकाको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे । त्यसैगरी, रवीन्द्र शाहीले ३३, दिनेश अधिकारीले अविजित २९ तथा अर्जुन घर्तीले २८ रन बनाए ।गण्डकीका लागि अमृत गुरुङले चार विकेट लिए । यस जितसँगै कर्णालीले प्रतियोगितामा तेस्रोे जित दर्ता गराएको छ ।

पूर्वाधार विकास समितिको टोली अनुगमनमा

सल्यान, १० वैशाख : प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको टोलीले कर्णाली प्रदेशमा रहेका राष्ट्रिय गौरवका आयोजना र राजमार्गको अनुगमन गरिरहेको छ ।

पूर्वाधार विकास समितिका सदस्य ऐनबहादुर शाहीको संयोजकत्वमा रहेको उक्त टोलीले बाँकेको नेपालगञ्जबाट दाङ हुँदै भेरी राजमार्ग र कर्णाली करिडोरको अनुगमन गर्ने छ । टोलीले आइतबार सल्यानमा सरकोकारवालासँग अन्तक्र्रिया गरेको छ । अनुगमन टोलीमा पूर्वमन्त्री प्रकाश ज्वाला, प्रतिनिधिसभा सदस्य उर्मिला माझी, मैना कार्कीलगायत रहनुभएको छ ।

समितिका संयोजक शाहीले कर्णाली प्रदेशमा पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कर्णाली प्रदेशमा सडकलगायत पूर्वाधार निर्माणमा सरकारले ध्यान दिन सकेको छैन । अब गरिने विकासमा कर्णालीलाई प्राथमिकतामा राखिनुपर्दछ ।”

सल्यानमा निर्माणाधीन सडकको अवस्थाका विषयमा गरिएको छलफलमा संयोजक शाहीले यसअघिका सरकारले अघि सारेका विकास आयोजनालाई अहिलेको सरकारले पनि निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश र जिल्लामा सञ्चालित गौरवका पूर्वाधारका योजनामा ध्यान नदिएर अहिलेको सरकारले योजना अलपत्र पार्न खोजेको छ । यो राम्रो कार्य होइन । मन्त्री र सरकार फेरिँदैमा आयोजनामा असर पर्नुहुँदैन ।”

पूर्वमन्त्री तथा विकास समितिका सदस्य ज्वालाले छनोटमा परेका विकास निर्माणका योजना कार्यान्वयमा ढिलाइ हुँदा नागरिकमा निरासा बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न योजनामा बजेट छ । टेन्डर भएको छ । तर कार्यान्वयनमा प्रभावकारिता छैन । यसलाई सुधार गर्न सबैले पहल लिनुपर्दछ ।”

सल्यानमा सञ्चालित मदन भण्डारी राजमार्ग, राप्ती राजमार्गसहित कर्णाली प्रदेशमा निर्माणाधीन मध्यपहाडी लोकमार्ग, कर्णाली करिडोरलगायतका सडकमा भइरहेको कामको अनुगमन गरी स्थलगत रिपोर्ट तयार गरेर विकास समिति, सम्बन्धित मन्त्री र मन्त्रालयलाई बुझाइने अनुगमन समितिका सदस्य माझीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सडक पूर्वाधारका कामलाई छिटोछरितो र गुणस्तरीय बनाउन समितिको तर्फबाट ध्यानाकर्षण गराउँछौँ ।”

कार्यक्रममा सहभागी सरोकारवालाले सरकार र मन्त्री फेरबदल हँुदैमा सञ्चालित गौरवका आयोजना प्रभावित हुन नहुनेमा जोड दिए । राप्ती राजमार्ग र मदन भण्डारी राजमार्गमा आवश्यक बजेटको स्रोतको सुनिश्चिता भए पनि सरकार फेरबदल भएपछि बोलपत्र आह्वान नभएको उहाँहरुको गुनासो थियो ।

कर्णाली प्रदेशसभा सदस्य सुरेश अधिकारीले सल्यान र रुकुमका लागि जीवन (लाइफलाइन)को रुपमा रहेको राप्ती राजमार्गको काममा ढिलाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ठेक्का सम्झौता भएको लामो समयम भए पनि काममा ढिलाइ भएको छ । यसलाई छिटो कार्यान्वयन गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्दछ ।”

यस्तै कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा पुनले अघि बढाइएका आयोजनाका काम रोक्न नहुने बताउनुभयो ।

लेनिन जन्मजयन्ती र नेकपा स्थापना दिवसका अवसरमा प्रधानमन्त्री प्रचण्डको शुभकामना

काठमाडौँ, १० वैशाख : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिका नायक भ्लादिमिर इल्यिच लेनिनको १५४ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिष्ट पार्टीको ७५ औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक विज्ञप्तिमार्फत उहाँले यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी, वामपन्थी, प्रगतिशील र देशभक्त शक्तिहरू तथा जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

साथै सो विज्ञप्तिमार्फत उहाँले यस अवसरमा सहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै बेपत्ता योद्धाहरूप्रति उच्च सम्मानका साथ घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र दीर्घजीवनको कामना पनि गर्नुभएको छ ।

लेनिन जयन्तीको अवसर पारेर नेपालमा आजभन्दा ७५ वर्ष पहिले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले वर्ग सङ्घर्ष र अन्तरसङ्घर्षका अनुभव र आन्दोलनका विभिन्न आरोह अवरोहका साथ नेपालको कम्युनिष्ट आन्दोलनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दै समाजवादको दिशा परिलक्षित गरेको बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालले कम्युनिष्ट आन्दोलनले जनवादी क्रान्तिको मूलभूत कार्यभार नेपाली विशिष्टता र मौलिकतासहित पूरा गर्दै समाजवादी क्रान्तिको आधारविन्दु निर्माण गरेको पनि स्पष्ट गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले सो विज्ञप्तिमा भन्नुभएको छ, “विचारधारात्मक सङ्घर्ष एवं एकता र विभाजनका अनेकौँ अनुभवसहित यति बेला हामी वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूबीच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेका छौँ ।”

उहाँले भन्नुभएको छ, “यसले हामीलाई एकातर्फ बदलिएको राजनीतिक प्रणालीअनुरूप जनताको जीवनमा परिवर्तन ल्याउँदै समाजवादको लक्ष्य प्राप्तिमा मार्गनिर्देश गर्नेछ भने अर्कोतर्फ सत्ता समीकरण, सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिष्ट केन्द्रको साझा सपना र सङ्कल्पलाई सार्थक तुल्याउनेछ ।”

प्रधानमन्त्री दाहालले आजको दिन विगतका अनुभवहरूको समीक्षा र संश्लेषणसहित वामपन्थी शक्तिहरूबीच वैचारिक र राजनीतिक प्रश्नमा गहन छलफलका साथ साझा निष्कर्षमा पुग्न सङ्कल्प गर्ने दिन हो भन्नुभएको छ ।

कम्युनिष्ट एवं वामपन्थी शक्तिहरूको साझा सङ्कल्प, सहकार्य र एकताको आधारमा मात्रै देशमा विद्यमान चुनौती सम्बोधन गर्दै आशाको रक्तसञ्चार सिर्जना गर्न सम्भव रहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री दाहालले भन्नुभएको छ, “यही निष्कर्षका साथ सुरू गरिएको सत्ता सहयात्रालाई विभिन्न चुनौतीहरूबाट जोगाउँदै निर्धारित लक्ष्यसम्म पु¥याउनु हामी सबैको साझा जिम्मेवारी हो । यस दिशामा सम्पूर्ण वामपन्थी शक्तिहरू एवं सम्पूर्ण क्रान्तिकारी जनसमुदायको सकारात्मक योगदान रहनेमा म विश्वस्त छु ।”

शिक्षक महासङ्घको महाधिवेशन आजदेखि

काठमाडौँ, १० वैशाख : नेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि महासङ्घको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक सङ्घठनले भने भाग नलिने भएको छ ।

महासङ्घको विधानविपरीत एक पक्षीय ढङ्घले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरुले राष्ट्रिय समितिको बैठकमा राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै सङ्गठनले महाधिवेशनमा भाग नलिने घोषणा गरेको हो ।

महासङ्घको सदस्यता नवीकरण, विद्यालयमा नयाँ नियुक्त भएका शिक्षक, प्राविधिक धारका शिक्षक सदस्यताबाट वञ्चित भएका, लोकतान्त्रिक विधिलाई निषेध गरिएको सङ्गठनका महासचिव हंशबहादुर शाहीले आरोप लगाउनुभयो ।

महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले भने विभिन्न चरणमा वार्ता र संवाद गर्दा पनि सङ्गठन आफूसमेत सहभागी बैठकका निर्णयबाट पछि हटेको जिकिर गर्नुभयो ।

सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

भद्रपुर (झापा), १०, वैशाख : झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । विभिन्न सहकारी संस्था तथा अन्यमा आरोपितले रु ३० लाख १६ हजार बराबरको चोरी गरेको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयको टोलीले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वय तथा जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर घर भएका ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सन्तबहादुर साङ्तान, २२ वर्षीय सुनिल साङ्तान, २५ वर्षीय बुुद्ध स्याङ्तान, २८ वर्षीय अजय राना मगर र २१ वर्षीय सुजन स्याङ्तान रहेका छन् । उनीहरुको साथबाट मोटरसाइकल दुई थान, मोबाइल सेट सात थान, हतौडा, प्लासलगायतका समान बरामद गरिएको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो ।

आगोले जलेर घर खरानी भएपछि १६ परिवारको बिचल्ली

अर्घाखाँची, १० वैशाख : अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३ रातामाटाकी बसन्ता मल्ल आइतबार घरको खरानी सोहोर्दै हुनुहुन्थ्यो । शनिबार लागेको आगोेले उहाँको घरसहित अन्नपात र लत्ताकपडा खरानी बनाएपछि उहाँलगायत टोलका १६ परिवारको बिचल्ली भएको छ ।

“घर एक्कैछिनमा खरानी भयो । गाँसबासको टुङ्गो छैन । कहाँ बस्ने कहाँ खाने”, आँशु झार्दै मल्लले भन्नुभयो । स्थानीय गङ्गाबहादुर विकको पनि मल्लको जस्तै पीडा छ । “घरमा रहेको गरगहना, अन्न कपडा, लालपुर्जा, नागरिकता सबै जलेर नष्ट भयो”, उहाँले भन्नुभयो, “घरमा रहेका कुनैपनि वस्तु बचाउन सकिएन ।”

बसन्ता र गङ्गाबहादुर मात्र हैन धारापानीमा शनिबार आगलागीमा परेर घर जलेका १३ परिवार अहिले खुला आकाशमुनि बस्न बाध्य छन् । आगोले भूमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलामखिल्जीलगायत गाउँमा आगोले १६ घर र १० गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्र रावलले जानकारी दिनुभयो । बस्तीमा पसेको आगो निभाइए पनि वनमा अझै पूर्णरुपमा निभाउन सकिएको छैन ।

प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले गाउँमै गएर डढेलोले घर गुमाएका परिवारलाई खाद्यान्न सामग्री वितरण गर्नुभएको छ । आगलागीबाट घर नष्ट भएका रातामाटा क्षेत्रका १६ परिवारलाई जिल्ला प्रशासन कार्यालयको पहलमा उद्योग वाणिज्य सङ्घले खाद्यान्न सामग्री उपलब्ध गराएको हो । उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष प्रदीप मिश्रले चामल, दाल, तेल, नुनलगायत खाद्य सामग्री वितरण गरिएको बताउनुभयो ।

आगोले गाउँनै सखाप भएको छ । जिल्लाका विभिन्न स्थानमा शनिबार लागेको आगलागीबाट ४३ घर गोठ जलेर नष्ट भएका छन् । शनिबार भूमिकास्थान नगरपालिका, शीतगङ्गा नगरपालिका र पाणिनी गाउँपालिकामा डढेलोले २० घर र २३ गोठ जलेर नष्ट भएका छन् भने ११ बाख्रा र ६ भैँसी मरेका छन् ।

नेकपा स्थापनाको आज ७५ वर्ष पूरा

काठमाडौँ, १० वैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ । नेपालमा तत्कालीन समयमा जहाँनीया राणा शासन कायम भएकाले सो को विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका नेपाली युवाको सक्रियतामा नेकपा को स्थापना भएको थियो ।

त्यसबेला भारतको कोलकातामा रहेका पुष्पलाल श्रेष्ठले नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिई माक्र्सवादको अध्ययन गरी २००५ चैत २३ गते ‘कम्युनिष्ट घोषणापत्र’लाई नेपाली भाषामा अनुवाद गरेपछि नेपालमा कम्युनिष्ट विचारको प्रकाशनको सूत्रपात भएको मानिन्छ ।

नेपालमा २००६ वैशाख १० गते (१९४९ अप्रिल २२) का दिन श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भएको हो । समाजवाद स्थापनाको लक्ष्यसहित स्थापित नेकपामा श्रेष्ठ संस्थापक महासचिव हुनुहुन्थ्यो । नेकपाका संस्थापकहरुमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ हुनुहुन्थ्यो । स्थापनाकालमा एउटै रहेका कम्युनिष्ट पार्टी विभाजन र एकताको शृङ्खलाबाट गुज्रँदै आएका छन्् । अहिले पनि विभिन्न धार र समूहमा कम्युनिष्ट तथा वाम पार्टी सञ्चालित छन् ।

मुलुकको एक प्रमुख कम्युनिष्ट घटक नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज पार्टी स्थापनाको ७५औँ वर्ष (हीरक महोत्सव) का अवसरमा महाधिवेशन प्रतिनिधि राष्ट्रिय परिषद् भएको स्थल ललितपुरको गोदावरीमा विशेष समारोह आयोजना गर्दैछ । नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान दिने विशिष्ट व्यक्तिलाई गणतन्त्र गौरव सम्मानबाट सम्मानसमेत गरिने भएकाले समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत अन्य पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेका प्रचारप्रसार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

आइतबार सम्पन्न एमालेको परिषद् बैठकले पार्टी स्थापनाको ७५ वर्ष पूरा भएका अवसरमा सो समारोहमा ‘गणतन्त्र गौरव’ सम्मानबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेको छ । मुलुकबाट निरङ्कुशताको अन्त्य र गणतन्त्र स्थापना गर्न अग्रजको सङ्घर्ष, निष्ठा र त्यागलाई स्मरण तथा सम्मान गर्न एमालेले उक्त सम्मान प्रदान गर्न लागेको प्रचारप्रसार विभाग प्रमुख गौतमले बताउनुभयो ।

हीरक महोत्सव समारोहमा राष्ट्रिय परिषद् सदस्यका साथै एमालेका काठमाडौँ उपत्यकाबाट जिल्ला कमिटीका सबै पदाधिकारी तथा सदस्य, सबै पालिकाका पदाधिकारी र सचिवालयका सदस्य, सबै वडाका पदाधिकारी, सबै जनप्रतिनिधि (प्रतिनिधिसभा÷राष्ट्रियसभाका सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका अध्यक्ष÷उपाध्यक्ष, प्रमुख÷उपप्रमुख, स्थानीय तहका वडाध्यक्ष र सदस्य, सबै जनसङ्गठनका केन्द्रीय पदाधिकारी तथा सदस्य, उपत्यकामा रहेका जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य तथा हाल असङ्गठित रहेका तर पार्टीका पुराना र प्रतिष्ठित)लाई सहभागी गराउने तयारी गरिएको एमालेको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताउनुभयो ।

पर्यटकीय आकर्षण बन्दै लहानको ‘हात्तीदह सिमसार’

सिरहा, १० वैशाख : दुई वर्षअघि ‘कोइरालो खोला नमूना सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ विकास गरिएपछि सिरहाको लहान नगरपालिका–१५ स्थित ‘हात्तीदह सिमसार’ क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ । विसं २०८० मा एक लाख २५ हजार आन्तरिक तथा बाह्य पर्यटकले यस क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्र संरक्षण तथा सञ्चालक समितिका अध्यक्ष रुद्रनारायण चौधरीले सिमसार क्षेत्र संरक्षण गरी पर्यटकीय क्षेत्र विकास गरेको छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको बताउनुभयो ।

“छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । यसले हामीलाई उत्साहित बनाएको छ”, अध्यक्ष चौधरीले भन्नुभयो, “आगामी दिनमा यसलाई थप व्यवस्थित बनाउँछौँ ।”डिभिजन वन कार्यालय, लहानको जैविक विविधता साथै पर्यापर्यटनका लागि सहयोग, लहान नगरपालिकाले सडक बाटोे निर्माण तथा मर्मत, दिवङ्गत नेता प्रदीप गिरीको सङ्घीय संसदीय विकास कोषबाट खानेपानी ट्याङ्की निर्माण, वडा नं १५ ले विद्युतीकरण र खानेपानी धारा जडान, बृहत् जलाधार व्यवस्थापन कार्यलय उदयपुर र राष्ट्रपति चुरे संरक्षण विकास कार्यालयले वनभोजस्थल निर्माण र पर्यापर्यटन प्रवद्र्धन गर्न सहयोग गरेपछि यस क्षेत्रको विकास सम्भव भएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

चुरे पर्वतको फेदमा हरियाली वनजङ्गल, बीचमा ‘बोटिङ’सहितको स्वच्छ र सफा पोखरी, उद्यान निर्माण, चिसो हावापानी र शान्त वातावरणले पर्यटकलाई आकर्षित गरेको छ । यसैगरी फूलको बगैँचा, बालबालिकाका लागि उद्यान, प्राणी उद्यान केन्द्रलगायत संरचना यहाँ निर्माण गरिएका छन् । करिब ५६ हेक्टरमा फैलिएको लहान–१५ ढोड्नास्थित ‘कोइरालो समुदायिक वन’मध्ये पाँच हेक्टर सिमसार क्षेत्रलाई संरक्षण गरी पर्यटकीय गन्तव्य बनाइएको हो ।

आगामी दिनमा पर्यटकलाई थप आकर्षित गर्न साहसिक पर्यापर्यटन, सामुदायिक होमस्टे (घरबास) प्रवद्र्धन, घोडा सवारी, पोखरी माथि पुल निर्माण तथा सूचना केन्द्र स्थापना गर्ने योजना रहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । पर्यटकीय क्षेत्रको आन्तरिक आम्दानीबाट ३८ जनाले रोजगार पाएका छन् । नजिकै रहेको प्रसिद्ध राजदेवी मन्दिरलाई पनि जोडेर यस क्षेत्रको एकसाथ विकास गर्न स्थानीय तह लागिपरेको लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । सिमसार पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिएर थप पूर्वाधार निर्माणमा जोड दिइने उहाँले बताउनुभयो ।

साँगादेखि धुलिखेलसम्मको विस्तार कार्य निरन्तर अघि बढ्ने

काभ्रेपलाञ्चोक, १० वैशाख : अरनिको राजमार्गअन्तर्गतको काभ्रेपलाञ्चोकको सिमास्थल साँगादेखि धुलिखेलसम्मको विस्तार कार्य निरन्तर अघि बढ्ने भएको छ । आयोजनाअन्तर्गत डेढ महिनादेखि रोकिएको बनेपा–बुडोल क्षेत्रको निर्माण कार्यलाई निरन्तरता दिने सहमति भएको हो ।

बनेपा–बुडोल खण्डमा निर्माणाधीन कल्भर्टलगायत संरचनाको निर्माण कार्य रोक्न उच्च अदालत पाटनले उत्प्रेषण आदेश जारी गरेपछि करिब डेढ महिनादेखि निर्माण कार्य रोकिएको थियो । स्थानीयस्तरमा सरोकारवालाबीच भएको बैठकले तत्कालै मुद्दा फिर्ता लिने सहमति भएपछि निर्माणलाई निरन्तरता दिइने भएको हो । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख रिमबहादुर तामाङको अध्यक्षतामा सरोकारवाला एवं मुद्दा हाल्ने स्थानीयबीचको आइतबारको बैठकमा उक्त सहमति भएको हो ।

यस्तै उक्त बैठकले हाल निर्माणाधीन कल्भर्टको पानीलाई व्यक्तिगत जग्गामार्फत निकास नगराई सडक सिमाभित्र छुट्टै ड्रेनमार्फत चण्डेश्वरी खोलामा निकासी गराउने तथा आवश्यकताअनुसार सिँचाइ निकासका लागि व्यवस्थापन गरी अघि बढ्ने सहमति भएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अदालतको मुद्दा फिर्ता लिने र निर्माणाधीन कल्भर्टबाट पानीलाई ‘डाइभर्ट’ गरी खोलामा मिसाउने सहमति भएपछि आयोजनाको निर्माणले निकास पाएको बताउनुभयो ।

बनेपा नगरपालिका–६ बुडोलका १३ जनाले सुर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाको कार्यालय भक्तपुरसहित आयोजना प्रमुख राजेन्द्र दास, बनेपास्थित ६ र ७ नं वडा कार्यालयलाई विपक्षी बनाई गत फागुन २० गते रिट दर्ता गरेका थिए । दर्ता गरिएको रिटमा गत फागुन २१ गते नै प्रारम्भिक सुनुवाइ भएको थियो

विसं २०१६ मा सडक निर्माणका बेला खेतका लागि पानी निकास गर्न राखिएको ह्युमपाइपसहितको ढलको स्थानमा हाल सडक विस्तारका क्रममा नयाँ डिजाइनमा कल्भर्ट निर्माण गरिएको थियो । हाल बस्ती विकास भए पनि उक्त कल्भर्टबाट पानी निकास हुँदा सडकको तल्लो क्षेत्रको बस्तीमा क्षति पुग्ने भन्दै स्थानीयले रिट दर्ता गरेका थिए । उक्त क्षेत्रको निर्माण कार्य रोकिँदा ‘डाइभर्ट’ गरिएको सडकमा दुर्घटनासमेत बढेका थिए भने पानी परेका बेला राजमार्गमा सवारीसाधन ठप्प हुने गरेको छ ।

तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट धुलिखेलसम्मको आठ दशमलव ४ किमी सडकखण्ड रु चार अर्ब पाँच करोड ६४ लाखको लागतमा निर्माण थालिएको थियो ।

नागढुङ्गा नाकामा चेक जाँच गर्दा चामलको बोराभित्र लागुऔषध फेला, दुई पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले चामलको बोराभित्र लुकाएर ल्याएको लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले चामलको बोराभित्र लुकाएर ल्याएको लागुऔषधसहित सप्तरीको खड्क नगरपालिका–११ बनौली बस्ने ४७ वर्षीय रामलोचन मुखिया र सप्तरीकै वरहथवा नगरपालिका–११ का ४७ वर्षीय कमल अधिकारीलाई पक्राउ गरी आईतबार सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक रामेश्वर कार्कीले उपत्यका भित्रिने गाडीहरु नागढुङ्गा नाकामा जाँचका क्रममा चामलभित्र लुकाएर ल्याएको लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले नागढुङ्गामा मुखियालाई पक्राउ गरेपनि मुखियाको बयानका आधारमा काठमाडौँमा लागुऔषध बिक्री वितरणमा संलग्न अधिकारीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो ।

पक्राउ परेका व्यक्तिसँग प्रहरीले आठ सय ४२ एम्पुल डाइजेपाम, छ सय ८५ एम्पुल नुर्फिन, नौ सय ५१ एम्पुल फेनार्गन र तीन हजार तीन सय आठ ट्याब्लेट मनोद्दिपक पदार्थ नाइट्रोभेट बरामद गरेको छ ।

प्रहरीले पक्राउ परेका दुवैलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयका नौ विद्यार्थीलाई स्वर्ण पदक

दोधारा चाँदनी (कञ्चनपुर) – सुदूरपश्चिम विश्वविद्यालयका नौ विद्यार्थीले स्वर्ण पदक प्राप्त गर्नुभएको छ ।महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित चौथो दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्र्णण पदकबाट विभूषित गर्नुभएको हो ।

दीक्षान्त समारोहमा दीक्षित तीन सय ७६ बढी विद्यार्थीहरूमध्ये नौ जनाले स्वर्ण पदक, एक जनाले चान्सलर पदक र एक जनाले भाइस चान्सलर पदक प्राप्त गर्नुभएको हो । विश्वविद्यालयको केन्द्रीय क्याम्पसका विद्यार्थी व्यवस्थापन सङ्कायबाट स्नाकोत्तर हेमन्त भट्टले चान्सलर पदक प्राप्त गर्नुभएको छ । इञ्जिनियरिङ सङ्कायमा स्नातक नवीनप्रसाद जोशीले भाइस चान्सलर पदक प्राप्त गर्नुभएको छ ।

केन्द्रीय क्याम्पसका नीराकुमारी जोशी, गणेशदत्त शर्मा, हेमन्त भट्ट, हरिशप्रसाद अवस्थी, अभिषेक नेगी, सुनील थापा, नवीनप्रसाद जोशी र टीकापुर बहुमुखी क्याम्पसका विरेन्द्र चौधरी र टार्जन भण्डारीले स्वर्ण पदक प्राप्त गर्नुभएको हो ।

दीक्षान्त समारोहमा इञ्जिनियरिङ सङ्कायका १७ जना, विज्ञान तथा प्रविधि सङ्कायका २२ जना, व्यवस्थापन सङ्कायका एक सय ३९ जना, मानविकी सङ्कायका ६८ जना, शिक्षा शास्त्रका एक सय जना र कृषि विज्ञान सङ्कायका ३० जना गरी तीन सय ७६ जना विद्यार्थी दीक्षित हुनुभएको छ ।

सो अवसरमा विश्वविद्यालयका कुलपति एंव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्रै नभइ व्यावहारिक र जीवनोपयोगी हुनुपर्ने बताउनुभयो ।

उहाँले राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयको ध्यान जानुपर्नेमा जोड दिनुभयो । “युवा राष्ट्रका भविष्य हुन तसर्थ विश्वविद्यालयबाट निस्कदा उनीहरू चरित्रवान् र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी भएर कर्तव्य निर्वाह गर्न सक्ने हुनुपर्दछ ।” कुलपति एंव प्रधानमन्त्री दाहालले भन्नुभयो, “मुलुकको लोकतान्त्रिक प्रणालीलाई थप सबल तथा सुदृढ बनाउन र अर्थतन्त्रलाई तीव्र रूपान्तरण गर्न वैज्ञानिक जनशक्ति चाहिन्छ ।” विश्वविद्यालयबाट पास आउट भएका एक हजार तीन सय ३७ विद्यार्थीमध्ये तीन सय ७६ जना मात्रै दीक्षान्त समारोहमा सहभागी भएको विश्वविद्यालयका उपकुलपति कर्णबहादुर थापाले बताउनुभयो ।

विसं २०६८ मा स्थापना भएको विश्वविद्यालयले विसं २०७१ देखि शैक्षिक कार्यक्रमअघि बढाएको थियो । विश्वविद्यालयको केन्द्रीय र आङ्गिक गरी १६ क्याम्पसमा २३ हजार तीन सय ९९ विद्यार्थी अध्ययनरत छन । विश्वविद्यालयका उपकुलपति कर्णबहादुर थापाले हाल विद्यालयमा चार सय ९१ जना प्राध्यापक, एक सय ७९ जना कर्मचारी रहेको बताउनुभयो । “विश्वविद्यालयको स्थापनापछि यहाँका जनताको उच्च शिक्षामा पहुँच भएको छ ।” उपकुलपति थापाले भन्नुभयोे, “विश्वविद्यालयले युग सुहाउँदो प्राविधिक शिक्षामा जोड दिएको छ ।” विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्ज्ञ, विज्ञानतथा प्रविधि, इञ्जिनीयरिङ्ग, कृषि विज्ञान र कानुन र स्वास्थ्य विज्ञान सङ्काय गरी आठ सङ्काय सञ्चालन गरेको उहाँले बताउनुभयो ।

प्रदेशसभा उपनिर्वाचन : उम्मेदवारलाई घरदैलो गर्न भ्याइ–नभ्याई

चैनपुर (बझाङ) – यही वैशाख १५ गते हुने बझाङ प्रदेशसभा १ को उपनिर्वाचनका लागि उम्मेदवारहरू घरदैलोमा दौडधुप गरिरहनुभएको छ । आफ्ना पक्षमा मत पार्नका लागि विभिन्न कार्यसूची (एजेण्डा) सहित उम्मेदवारहरू ५० वडामा पुग्ने तयारी गरिरहनुभएको छ ।

तलकोट र साइपाल गाउँपालिकाबाट घरदैलो अभियान गरेका राजनीतिक दल शनिबार भने छविसपाथीभेरा गाउँपालिकामा पुगेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमन भण्डारीको टोलीले तलकोट र साइपालमा घरदैलो अभियान गरेर फर्किएपछि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका दलले पनि सोही पालिकाहरूमा भोट मागे । पालिकाबाट टाढाको पालिका भएको हुँदा प्रचार अभियान सुरुमै गरेको माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले बताउनुभयो । उहाँका अनुसार पालिकामा अभियानमा जाँदा संयोगवश अन्य दल पनि सोही पालिकामा प्रचार गरिरहेका देखिए । “यद्यपि पालिकाभित्र भने सँगसँगै नभएर विभिन्न वडा–वडामा घरदैलो अभियानमा गयौँ,” उहाँले भन्नुभयो ।

११ राजनीतिक दलबाट उम्मेदवारी दिनुभएका उम्मेदवारले आफूलाई निर्वाचित गराउन विभिन्न ‘एजेन्डा’हरू सार्वजनिक गरिरहेका छन् । सबै उम्मेदवारको साझा एजेन्डा भने ताक्लाकोट सडक र बिजुली नै छ । ठूला दलले आफ्नो पार्टी सरकारमा हुँदा सडकमा बजेट हालेको जनाउँदै भोट मागिरहनुभएको छभने साना दलहरूले ठूला दलले काम गर्न नसकेको आरोप लगाएका छन् ।

कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंंह, एमालेका दमन भण्डारी, माओवादी केन्द्रका जनक बुढाले ताक्लाकोट सडक आफ्नो पार्टी सरकारमा गएको बेलामा सडकमा बजेट हालेको र सम्पन्न पनि आफ्नै सरकार भएपछि हुने जनाउँदै भोट मागिरहनुभएको छ । यसलाई खण्डन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्का, मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापासहितका साना दलले भने ठूला दलले आफूले सरकारमा हुँदा आएको बजेट कार्यकर्तालाई पाल्न मात्रै भएको आरोप लगाउँदै भोट मागिरहनुभएको छ ।

एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गर्ने

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गर्ने भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा आइतबार सम्पन्न एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले एमाले पार्टीका पूर्वउपाध्यक्ष रहनुभएको भण्डारीलाई सम्मान गर्ने प्रस्ताव पारित गरेको एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले जानकारी दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५औँ बर्ष (हीरक महोत्सव)का अवसरमा यही वैशाख १० गते हुने विशेष समारोहमा उक्त सम्मान पूर्वराष्ट्रपति भण्डारीलाई प्रदान गरिने छ । नेता भट्टराईका अनुसार आजको परिषद् बैठकको अध्यक्षता गर्नुभएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले हीरक महोत्सवमा मुलुकको लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा योगदान पु¥याउनु भएको, राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजना रहेको र सो योजनाअनुसार पार्टीका पूर्वउपाध्यक्ष एवम् दुई–दुईपटक गणतन्त्र नेपालको निर्वाचित भएको व्यक्ति पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई सर्वसम्मतिमा पारित गर्ने निर्णय गरेको थियो ।

एमालेले कम्युनिष्ट पार्टी स्थापना भएको अवसरमा विशेष समारोहको आयोजना गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवको प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहनुभएको छ । महोत्सवमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरवहादुर देउवालगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताहरुले सम्बोधन गर्नुहुने जनाइएको छ ।

मझगाउँ विमानस्थल निर्माणलाई निरन्तरतादिन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

कञ्चनपुर -कञ्चनपुरको मझगाउँ विमानस्थल निर्माणलाई निरन्तरता दिन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज ज्ञापनपत्र बुझाइएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा सहभागी हुन पुग्नुभएका प्रधानमन्त्रीलाई विमानस्थल पुनः सञ्चालन समितिका अध्यक्ष रमेश चन्दले ज्ञापनपत्र बुझाउनुभएको हो । “चलनचल्तीमा रहेको विमानस्थलभन्दा दक्षिणतर्फ रहेको करिब छ सय ६५ मिटर लम्बाइसम्मको क्षेत्र (रत्नवाटिका र नेपाली सेनाले खेलमैदानका रुपमा प्रयोग गर्दै आएको क्षेत्र)लाई विसं २०५१ जेठ ९ गते प्रकाशित राजपत्रअनुसार प्रस्ट रुपमा विमानस्थलका रुपमा घोषणा गरिएको छ,” प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ, “सो क्षेत्रलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले संरक्षित क्षेत्र जनाउँदै निर्माणमा अवरोध पु¥याएको छ ।”

वातावरणीय प्रभाव मूल्याङ्कनका लागि सहमतिपत्र नदिएकाले बाधा–अड्चन हटाई निर्माण सञ्चालन गराउनका लागि निकुञ्ज कार्यालयलाई निर्देशन दिनका लागि प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा आग्रह गरिएको छ । विमानस्थल पुनः सञ्चालनका लागि निर्माण अघि बढाउन भीमदत्त नगरपालिकाले १५, दोधाराचाँदनी नगरपालिकाले १०, सुदूरपश्चिम प्रदेश सरकारले २५ र सङ्घीय सरकारले ५० प्रतिशत खर्च ब्यहोर्ने गरी विसं २०७७ साल फागुन ३ गते सम्झौता गरिएको थियो ।

सम्झौताअनुसार विमानस्थलको निर्माण अगाडि बढाउनका लागि ठेक्का प्रक्रियामार्फत कार्य भइरहेकामा निकुञ्ज र निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाले अवरोध पु¥याउँदै आएको जनाइएको छ ।

विमानस्थलको दक्षिणतिर धावन मार्ग विस्तारका लागि नेपाली सेनाले प्रयोग गर्दै आएको रत्नवाटिका र खेल मैदानसम्म विमानस्थल विस्तार गर्न लागिएको छ । विमानस्थल विस्तारका लागि वातावरणीय प्रभाव अध्ययनका लागि सहमति दिन निकुञ्जले अस्वीकार गरेपछि विमानस्थल निर्माण अलपत्र परेको छ ।

प्रधानमन्त्री दहालले ज्ञापनपत्र बुझ्दै विमानस्थल निर्माण सञ्चालन गर्नका लागि पहल गरिने आश्वासन दिनुभएको छ । विसं २०२३ मा निर्माण भई सञ्चालनमा ल्याइएको मझगाउँ विमानस्थल विसं २०५६ सम्म सञ्चालनमा रहेको थियो । देशमा सशस्त्र द्वन्द्व सुरु भएपछि सुरक्षाको कारण देखाउँदै विमानस्थल बन्द गरिएको थियो ।

यसैबीच, तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापनमा परेका आरक्ष विस्थापित परिवारले आज प्रधानमन्त्री दाहाललाई भेटेर चाँडोभन्दा चाँडो पुनःस्थापन गराई वर्षौंदेखिको समस्या सुझाउन माग गरेका छन् ।प्रधानमन्त्रीलाई भेट्ने कार्यसँगै समस्या समाधानका लागि पहल गरिदिन जनाउँदै ज्ञापनपत्र बुझाइएको आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले बताउनुभयो ।