`

भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा

काँक्रेविहार (सुर्खेत) – भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ (पुल) अन्तिम चरणमा पुगेको छ । डोल्पा, जाजरकोट र रुकुमपश्चिमलाई जोड्न महत्वपूर्ण मानिएको भेरी नदीको बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ ।

बेलिब्रिज निर्माणका लागि आवश्यकपर्ने पाता सबै जडान भइरहेको आयोजनाका प्रमुख सुनील रञ्जितकारले बताउनुभयो । पुलको बेस प्लेट जडानको काम भोलिदेखि सुरु हुने उहाँले जानकारी दिनुभयो । जेठ मसान्तभित्र पुल निर्माण गरिसक्ने योजनाका साथ काम भइरहेको उहाँको भनाइ छ ।

पुलका सबै पाता यति बिल्र्डसले जडान गरेको छ भने बेस प्लेटदेखि ढलान, पालको काम बुद्धिबहादुर खत्रीले गर्ने सहमतिअनुसार काम भइरहेको प्रमुख रञ्जितकारले बताउनुभयो ।

जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको अनाहबीचमा पर्ने उक्त पुल लामो समयदेखि अलपत्र परेकामा नयाँ कार्यालय प्रमुख आएसँगै निर्माणले तीव्रता पाएको हो । रु तीन करोड ८१ लाखको लागतमा बेलिब्रिजको काम भइरहेको छ । बेलिब्रिज हिम सगरमाथा–खड्का कृष्ण जेभीले विसं २०७८ पुसमा जिम्मा लिएको थियो । एक वर्षभित्र निर्माण सक्ने भन्दै काम सुरु गरिएको उक्त पुल अहिलेसम्म पूरा हुन सकेको छैन ।

आयोजना कार्यालयको प्रमुख बदलिरहने तथा निर्माण व्यवसायीलाई काम गर्न ताकेता नगर्दा पुल निर्माण अलपत्र पर्दै आएको थियो । हालका प्रमुख रञ्जितकारले आफू कार्यक्षेत्रमा खटिएर निर्माणलाई तीव्रता दिन दबाब दिएपछि अहिले करिब ९० प्रतिशत काम पूरा भएको छ । तीन जिल्लाको लाइफलाइनका साथै भारत, नेपाल र चीन जोड्ने त्रिदेशीय सडकको रुपमा पनि उक्त आयोजना महत्वपूर्ण मानिएको छ ।

एक सय १८ किलोमिटर लम्बाइ रहेको जाजरकोट–डोल्पा खण्डभित्रको ५६ किमी सडकमा अहिले काम भइरहेको आयोजना प्रमुख रञ्जितकारले जानकारी दिनुभयो । ठेक्का लिएर काम नगर्ने क्याराभानलाई समेत तत्काल काममा फर्कन दबाब दिइएको उहाँको भनाइ छ ।

रञ्जितकारका अनुसार अहिले ५६ किमी खण्डमा कामले तिव्रता पाएको छ भने बाँकी ६२ किमीमा सडक फराकिलो बनाउने र स्तरोन्नतिको काम सुरु गर्न थालिएको छ । यो पुल निर्माण पछि जगदुल्ला जलविद्युत् आयोजना एक सय छ मेगावाट निर्माणमा समेत सहजता हुनेछ । जेठ मसान्तभित्र डोल्पामा बेलिब्रिज पुलमार्फत सिधा यातायात सेवा सञ्चालन गर्ने आफ्नो लक्ष्य रहेको आयोजना प्रमुख रञ्जितकारले बताउनुभयो ।

एमाले प्रतिनिधि परिषद् बैठक बस्दै, साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरिने

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज बस्दैछ । बैठक वैशाख ८ र ९ गते ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र जानकारी दिए। उनका अनुसार बैठकमा महाधिवेशन परिषद् सदस्य दुई हजार ७३ र तीन सय ८१ जना गरी कूल दुई हजार चार सय ५४ जना सहभागी हुनेछन् ।

परिषद् बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछ । यसैगरी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन् । महासचिव शङ्कर पोखरेलले मुलुकको आवश्यकता, जनचाहनाअनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई सुनिश्चित गर्ने बलियो, सुदृढ र निर्णायक राष्ट्रिय शक्तिका रुपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले स्पष्ट दिशानिर्देश गरी निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

एमालेलाई कसरी अगाडि बढाउने निर्क्यौल गर्ने र राष्ट्रिय राजनीतिलाई सही दिशामा अगाडि बढाउने सन्दर्भमा पनि बैठक महत्वपूर्ण हुने उहाँनको भनाइ थियो । एमालेको विधानमा दुई राष्ट्रिय महाधिवेशनबीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने उल्लेख गरिएको छ ।

भारत सरकारको सहयोगमा बन्ने विद्यालय भवनको शिलान्यास

काठमाडौँ – भारत सरकारको रु दुई करोड ८२ लाख आर्थिक सहयोगमा निर्माण हुने दार्चुलाको व्याँस गाउँपालिका-६ स्थित हिमालय माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ ।व्याँस गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामी र भारतीय राजदूतावास, काठमाडौँका द्वितीय सचिव प्रशान्तकुमार सोनाले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको हो ।

त्यसैगरी, ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत रु तीन करोड ३७ लाखमा निर्माण गरिएको दुहूँ गाउँपालिकास्थित जनविकास माविको विद्यालय भवनको दुहूँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल र भारतीय राजदूतावासका द्वितीय सचिव सोनाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोगले व्याँस गाउँपालिकाको हिमालय माविलाई दुईतले विद्यालय भवन, शौचालय, पर्खाल र प्रवेशद्वार निर्माण गरिनेछ ।

त्यसैगरी, दुहूँ गाउँपालिकास्थित जनविकास माविको भवन निर्माण गरिएको दूतावासले जनाएको छ । भारत र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यी दुवै परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको हो ।

हिमालय माविका लागि परियोजनाको कार्यान्वयन व्याँस गाउँपालिकामार्फत गरिनेछ भने जनविकास माविका परियोजना कार्यान्वयन दुहूँ गाउँपालिकामार्फत गरिनेछ ।

व्याँस गाउँपालिका र दुहूँ गाउँपालिकाका अध्यक्षले भारत सरकारको सहयोगको प्रशंसा गर्नुभएको छ । दार्चुलास्थित हिमालय मावि र जनविकास माविमा अध्ययनरत विद्यार्थीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयका नयाँ भवन उपयोगी हुने उहाँहरुले बताउनुभयो ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । चार सय ८९ वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये सुदूरपश्चिम प्रदेशमा ४० वटा परियोजना छन्, जसमा १० वटा परियोजना दार्चुलामा छन् ।

प्रदेश सरकार गठनसम्बन्धी गतिविधिमा कांग्रेसको असहमति

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा पछिल्लो पटक गण्डकी र सुदूरपश्चिम प्रदेशमा भएको गतिविधिप्रति असहमति जनाएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले प्रदेश प्रमुखबाट भएका पछिल्ला निर्णयहरु संविधानको भावना विपरीत भएको आरोप लगाउनुभयो ।

यसबीच गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेर प्रदेश प्रमुख र प्रदेश सरकारले संविधानको पालना नगरेको उहाँको भनाइ छ । विसं २०८० चैत २५ गते प्रदेश सरकारमा भएको नियुक्ति त्रुटिपूर्ण रहेको भनी सर्वोच्च अदालतमा रिट दायर भएकोमा अदालतले टुङ्गो नलगाउँदासम्म दीर्घकालीन असर पर्ने प्रकृतिका कुनै पनि निर्णय नगर्नु÷नगराउनु भनी सर्वोच्च अदालतले चैत २८ गते आदेश गरेको थियो ।

उक्त रिटको पूर्ण सुनुवाइ २०८१ साल वैशाख १० मा तोकिएको अवस्थामा प्रदेशसभा बैठक आह्वान गरेर प्रदेश प्रमुख र प्रदेश सरकार दुवैले अदालतको अवहेलना गरेको कांग्रेसको ठहर छ ।“सर्वोच्चमा विचाराधीन रहेको मुद्दाको अवज्ञा गर्दै प्रदेशसभाको अधिवेशन बोलाइनु गैरकानुनी एवं सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश विपरीत छ । अहिलेको अवस्थामा बोलाइएको बैठकमा नेपाली कांग्रेस प्रतिपक्षको हैसियतमा उपस्थित हुन नसक्ने स्पष्ट गर्न
चाहन्छ”, प्रवक्ता डा महतले भन्नुभयो ।

यसैगरी, सुदूरपश्चिम प्रदेशमा सरकार गठन गर्ने क्रममा संविधानको धारा, १६८ (२) बमोजिम संविधानसम्मत् गरिएको दाबीलाई खारेज गरी प्रदेश प्रमुखले पुनः सरकार आह्वान गर्नु गलत भएको प्रवक्ता डा महतले बताउनुभयो । संविधानले प्रदेश सरकार गठन गर्ने सन्दर्भमा प्रदेश प्रमुखलाई विशेष अधिकार प्रयोग गर्ने छुट नदिएको उहाँले बताउनुभयो ।—

हेर्नुहोस् बैशाख ८ गते शनिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – आम्दानि क्षेत्र मध्यमनै रहेता पनि इष्टमित्रका निम्ती सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । शारिरीक आलस्यताको सामना भने गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ ।

बृष राशि – आय मुलक कार्यको थालनि हुनेछ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

मिथुन राशि – नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ ।सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ ।

कर्कट राशि- सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । आजको कार्यले भोलिलाई फाइदा रहनेछ ।

सिंह राशि- निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ ।

कन्या राशि – एकान्त वाताबरणमा मन रम्नेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । जिबन साथीको सहयोग द्वारा गरीएका काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

तुला राशि- पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दा मुलक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ ।

बृश्चिक राशि – नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । अप्रिय खवरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेकोछ ।

धनु राशि – साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मानसम्मानमा आधात पर्नसक्ने सम्भाबना रहेकोछ ।

मकर राशि – मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।

कुम्भ राशि – प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । आम्दानि मध्यम रहला ।

मीन राशि- बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ ।

दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटिएको डब्लुएचओद्वारा जानकारी

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा अत्यधिक मात्रामा देखिएको जनाएको छ ।

एभियन इन्फ्लुएन्जा ए (एचफाइभ एनवान) पहिलो पटक सन् १९९६ मा देखा परेको थियो तर सन् २०२० देखि सङ्क्रमित स्तनधारीहरूको सङ्ख्यामा वृद्धिसँगै चराहरूमा प्रकोपको सङ्ख्या तीव्र रूपमा बढेको छ ।

वर्ड फ्लुको यो प्रजातीका कारण दशौं लाख कुखुरा जङ्गली चराहरूको मृत्यु भएको छ भने जमीन र समुद्री स्तनधारीहरू पनि सङ्क्रमित भएका छन् ।

गत महिना यसबाट सङ्क्रमित हुने सूचीमा यस प्रकारको इन्फ्लुएन्जाको लागि अति संवेदनशील नठानिएका गाई र बाख्राहरूसमेत परेका भेटिएका थिए । विशेषज्ञहरूको लागि यो अर्को चुनौतीको बिषय बनेको छ ।

अमेरिकी अधिकारीहरूले यसै महिनाको सुरुमा टेक्सासको एक डेरी फार्ममा काम गर्ने एक व्यक्ति पशुको सम्पर्कमा आएपछि बर्ड फ्लुबाट मुक्त भएको बताएका थिए ।

विश्व स्वास्थ्य सङ्गठनको ग्लोबल इन्फ्लुएन्जा कार्यक्रमका प्रमुख वेनकिङ झाङले भन्नुभयो, “टेक्सासमा गाईबाट एभियन इन्फ्लुएन्जा मानिसमा सङ्क्रमण भएको यो पहिलो घटना हो ।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “चराबाट गाई, गाईबाट गाई र गाईबाट चरामा सर्ने सङ्क्रमण पनि पछिल्लाो प्रकोपको समयमा भेटिएको छ । यसले हामीले पहिले बुझेको भन्दा सङ्क्रमणका अन्य मार्गहरू फेला पारेको हुन सक्छ भन्ने देखाउँछ ।”

संयुक्त राज्य अमेरिकामा बर्ड फ्लुको लागि एक मानव परीक्षण गरिएको यो दोस्रो घटना थियो र भाइरसले जङ्गली चराहरूको सम्पर्कमा आएका झुण्डहरूलाई बिरामी पारेपछि यो घटना सार्वजनिक गरिएको थियो ।

झाङले भन्नुभयो, “अहिले हामीले अमेरिकी राज्यहरूमा गाईका धेरै झुण्डहरू प्रभावित भएको देख्छौं, जसले स्तनधारी जनावरहरूमा भाइरस फैलिने अर्को कदम देखाउँछ ।”
सङ्क्रमित जनावरको दूधमा पनि यो भाइरस देखिएको छ ।

झाङले भन्नुभयो “याईको काँचो दूध (छाले दुध) मा भाइरसको सघनता धेरै थियो, तर विशेषज्ञहरूले अझै पनि दूधमा भाइरस कति समयसम्म बाँच्न सक्छ भनेर अनुसन्धान गरिरहेका छन् ।

टेक्सासको स्वास्थ्य विभागले बिरामी गाईको दूध नष्ट गर्न डेरीहरू आवश्यक पर्ने भएकाले व्यावसायिक रूपमा दूध आपूर्तिका लागि पशुको सङ्क्रमणले चिन्ता सिर्जना गरिनसकेको बताएको छ । दुध शुद्ध पार्ने प्रक्रिया ‘पाश्चराइजेशन’ले यो भाइरसलाई मार्ने बताइएको छ ।

झाङले भन्नुभयो, “मानिसहरूले सुरक्षित खाद्य अभ्यासहरू सुनिश्चित गर्न महत्त्वपूर्ण छ । यसका लागि ‘पास्चुराइज्ड’ दूध र दुग्धजन्य उत्पादनहरू मात्र उपभोग गर्नु सुरक्षित हुनेछ ।

सन् २००३ देखि यस वर्षको अप्रिल १ सम्म विश्व स्वास्थ्य सङ्गठनले २३ देशमा ८८९ जना मानिसमा सङ्क्रमण हुँदा ४६३ जनाको मृत्यु भएको जनाएको छ ।

झाङका अनुसार पछिल्ला केही वर्षयता युरोप र संयुक्त राज्य अमेरिकामा भाइरस बढेयताका मानवीय घटनामा हल्का सङ्क्रमण देखिएको छ ।

अहिलेसम्म मानिसमा फैलिरहेको कुनै प्रमाण भेटिएको छैन । यदि आवश्यक भएमा उपचारका लागि एचफाइभ एनवानविरूद्धको केही खोप उत्पादनको तयारी भइसकेको झाङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी आवश्यक परेको खण्डमा मानवका लागि छिटो खोप उत्पादन गर्न तयार छौँ ।”

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौँ – यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् ।पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३३ आरोही समूहका ६५ महिला र दुई सय ८७ पुरुष गरी जम्मा तीन सय ५२ आरोहीले अनुमति लिएका हुन् । हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका छन् ।

विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले सगरमाथा आरोहण गर्न उत्साहजनक रुपमा आरोही आइरहेको बताउनुभयो । उहाँले यो वर्ष चार सयभन्दा बढी आरोही आउने विश्वास व्यक्त गर्नुभयो । अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए ।

सगरमाथासहितका विभिन्न २४ हिमाल आरोहणको अनुमतिबापत हालसम्म रु ५६ करोड ४० लाख ३१ हजार एक सय ८१ राजस्व सङ्कलन भएको छ ।

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा – भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन् ।

पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया शुक्रबार भारतले रोकेको हो । चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरु पानीटङ्कीको सडकमा असुरक्षित अवस्थामा रहेको चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि रोशन अग्रवालले जानकारी दिनुभयो ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भारतीय भन्सारमा नेपाली चिया रोकिएको स्वीकार गर्दै त्यसलाई खुलाउन स्थानीय र केन्द्रीय तहबाट प्रयास भइरहेको बताउनुभयो । भारतीय नाकामा नेपाली चिया रोकिएको जानकारी आएपछि पानीटङ्कीस्थल भन्सार कार्यालयका समकक्षीसँग शुक्रबार भेटेर समस्या समाधानका लागि आग्रह गरेको भन्सार प्रमुख रेग्मीले बताउनुभयो ।

मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेमराज प्रसाईंले नेपाली चियाको निर्यात रोक्न भारत सरकारले गुणस्तर परीक्षणको नयाँ बखेडा झिकेको प्रतिक्रिया दिनुभयो । तत्काल यसको समाधान नखोजिए नेपाली चिया उद्योग सङ्कटमा फस्ने उहाँको भनाइ छ ।

चिया व्यवसायी एवम् भन्सार प्रतिनिधि अग्रवालका अनुसार पानीटङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयले हरेक ट्रकमा नेपाली चियाको अलग–अलग गुणस्तर परीक्षण गरिनुपर्ने नयाँ नियम लगाएर निर्यातमा रोक लगाएको हो ।

“यसअघि एउटा कम्पनीले एउटा नमूनाको गुणस्तर जाँचपास गराएको ‘रिपोर्ट’ले १५ दिनसम्म चिया निर्यात गर्दा पनि मान्यता पाउँथ्यो,” व्यवसायी अग्रवालले भन्नुभयो, “अहिले पानीटङ्कीको भारतीय भन्सारले हरेक गाडीको छुट्टाछुट्टै नमूनाको गुणस्तर जाँचपास रिपोर्ट ल्याउनुपर्ने अड्को थापेको छ ।”

पानीटङ्की भन्सारमा गोदामको सुविधा नभएकाले नेपालबाट चिया ‘लोड’ भएर गएका १७ वटा ट्रक खुला सडकमा अलपत्र परेको उहाँले बताउनुभयो । त्रिपालले छोपेर सडकमा अलपत्र अवस्थामा चिया राखिएको ट्रकमा राति चोरी हुनसक्ने जोखिम छ । अलपत्र ट्रकहरुमध्ये नेपाल चिया विकास निगमको छवटा ट्रक छन् भने अन्य सामान हिमालयन रेञ्जलगायत चिया उद्योगका हुन् ।

सिटिसी र अर्थोडक्स गरी दुवै प्रकारका चिया भारत निर्यात हुँदै आएको छ । नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ । निर्यात हुने चियाको ९२ प्रतिशत काँकडभिट्टा नाका भएर भारत जाने गरेको छ । चिया व्यवसायीका अनुसार भारतले नेपालमा गरिएको गुणस्तर जाँचको रिपोर्टलाई मान्यता दिएको छैन ।

भारतको पानीटङ्की भन्सारमा समेत गुणस्तर जाँच्ने प्रयोगशाला छैन । भारतको कोलकाता, दिल्ली, पटनालगायत स्थानका प्रयोगशालामा गरिएको गुणस्तर जाँचपासलाई भारतीय भन्सारले मान्यता दिने हुँदा यसबाट नेपाली चिया निर्यातमा संलग्न व्यवसायीले झन्झट भोग्दै आएका छन् ।

एमालेका जनसंगठनहरूको महिला राष्ट्रिय भेला हुने, पूर्व राष्ट्रपति भण्डारी प्रमुख अतिथि

काठमाडौँ, ७ वैशाख- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जनसङ्गठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्ने भएकोे छ । जनसङ्गठन समन्वय संयन्त्रको बैठकले आगामी जेठ १६ र १७ गते जनसङ्गठनहरूको महिला राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो । भेला व्यवस्थापनका लागि अखिल नेपाल महिला सङ्घका अध्यक्ष टुकादेवी हमालका संयोजकत्वमा ११ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ ।

पार्टीका स्थायी कमिटी सदस्य एवं जनसङ्गठनका संयोजक भानुभक्त ढकालले समग्र महिला आन्दोलनको इतिहास, नेतृत्व र उपलब्धिलाई स्मरणसहित स्थापित गराउन २३ वटै जनसङ्गठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भेलाको प्रमुख अतिथि रहने र अध्यक्ष केपी शर्मा ओलीले भेलाकोे समापन गर्नुहुने जनाइएको छ ।

भेला व्यवस्थापन समितिको सचिवमा पार्टीका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश जनसङ्गठन समन्वय संयन्त्र संयोजक रचना खड्का रहनुभएको छ । यसैगरी नेपाल बुद्धिजीवी परिषदका इञ्चार्ज विद्या भट्टराईसहित अनेमसङ्घका महासचिव पेम्बा लामा, अन्य जनसङ्गठनका तर्फबाट जमुना वर्षा शर्मा, सरिता भुसाल, सीता लामा, मन्दिरा श्रेष्ठ, भवानी बजगाई, नन्दा बस्याल र शारदा खनाल सदस्य छन् ।

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्न सहयोग हुन्छ : उपप्रधानमन्त्री महासेठ

रसुवा, ७ वैशाखः उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले गल्छी, त्रिशूली, मैलुङ स्याफ्रुबेँसी, रसुवागढी राजमार्ग विस्तार छिटो सम्पन्न हुने जानकारी दिनुभएको छ । गोसाइँकुण्ड गाउँपालिका र लाङ्टाङ राष्ट्रिय निकुञ्जद्वारा संयुुक्तरूपमा आयोजित १२औँ ‘रेडपान्डा’ ट्रफी प्रतियोगिता र २९ औँ वन्यजन्तु सप्ताह कार्यक्रमको समापन कार्यक्रममा उहाँले धुञ्चे खोदल हुँदै त्रिशूली मैलुङ स्याफ्रुबेँसी मार्ग जोड्ने सडक सुधारमा सहयोग हुने बताउनुभयो । गोसाइँकुण्ड जानका लागि केबुलकार निर्माणका गर्न सक्दो सहयोग गर्ने उपप्रधानमन्त्री महासेठले जानकारी दिनुभयो ।

कार्यक्रममा सांसद् मोहन आचार्यले रसुवाको पूर्वाधार विकासमा थप सहयोग गर्न सरकारसंग आग्रह गर्नुभयो । गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङ, तत्कालीन संविधानसभाका सदस्य प्रेम तामाङ, जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का जिल्ला अध्यक्ष कर्नेल तामाङ, उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङ, गोसाइँकुण्ड गाउँपालिका –६ का वडाध्यक्ष दावासिदार तामाङ, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ , लाङ्टाङ निकुञ्ज मध्यवर्ती क्षेत्रकी लालुमायाँ घलेलगायतले विकास निर्माण सामूहिक प्रतिवद्धताको खाँचो औँल्याउनुभयो ।

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौँ, ७ वैशाख ः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाई एयरलाइन्सको टिजी ३१९ नंको उडानबाट आज नेपाल आएकी भारतीय महिला सहिना प्रभिन रहेकी विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सेतो प्लास्टिकलाई बाहिरबाट कालो टेपले बेरर भित्री कपडा भित्र लुकाएर ल्याएको अवस्थामा अर्धठोस अवस्थामा रहेको सुनजस्तो देखिने दुई पोका पहेँलो धातु अन्दाजी (प्लास्टिकसहित) आठ सय ५० ग्राम सुनसहित निजलाई पक्राउ गरिएको हो ।”

यसअघि बिहीबार पनि प्रहरीले विमानस्थलबाट एक किलो ७० ग्राम बेवारिसे अवस्थामा रहेको सुन बरामद गरेको थियो ।

जिल्ला प्रहरी काठमाडौँद्वारा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौँ, ७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा ‘रोडसाइड रोलकल’ सडक संवाद कार्यक्रमको सुरुआत गरेको छ ।

राज्यको सेवा प्रवाहको पहुँचमा नपुगेका, उपेक्षित समुदायसँग प्रहरीले अन्तर संवाद गर्ने, आपसी विश्वास बलियो बनाई उनीहरुबाट भइरहेका वा हुनसक्ने गैह्रकानुनी तथा आपराधिक घटनामा कमी ल्याउने उद्देश्यले उक्त संवाद आयोजना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आफ्नो, पेसा, व्यवसायमा व्यस्त हुने, जो प्रहरी कार्यालयसम्म आफ्ना गुनासाहरु लिएर आउन सक्नु हुन्न उहाँहरुलाई लक्षित गरी यो संवाद आयोजना गरिएको हो, नागरिकलाई परेका समस्यामा हामी समाधानका लागि अग्रसर हुने छौँ ।”

प्रहरी परिसर काठमाडौँको क्षेत्रभित्र लक्षित समूहलाई पायक पर्ने स्थानमा छ चरणमा संवाद गरिने प्रमुख खत्रीले बताउनुभयो । आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा भएको सडक संवादमा उपस्थित लक्षित वर्गका सहभागीले आफ्ना समस्या खुलेर राखेका थिए ।

कतिपयले आफूहरुमाथि कुटपिट हुने, लुटपाटका घटना हुने र प्रहरीलाई खबर गर्दा पनि पक्राउ नपरेको दुखेसो सुनाएका थिए । नेपालको संविधानले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत तथा राज्यको पहुँच बाहिरका समुदायलाई विशेष प्राथमिकतामा राखी सेवा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । सोही अनुसारका लक्षित वर्गलाइ केन्द्रित गरी रोडसाइड रोलकल सडक संवाद सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उहाँहरुको गुनासो, पीरमर्का र समस्याको सुनुवाइ गर्दै सामाजिकीरणको मूल प्रवाहमा ल्याउन जरुरी छ ।”कार्यक्रमका सहभागीले उठाएका प्रश्नको जवाफ दिनुहँदै जिल्ला प्रहरी परिसर प्रमुख खत्रीले राज्यले प्रदान गरेको अभिभारा पूरा गर्न नेपाल प्रहरी सङ्गठनले व्यावसायिक निष्ठाका साथ अधिकतम प्रयास गर्दै आएको बताउनुभयो । प्रहरीले अपेक्षित सफलता प्राप्त गर्दै आइरहेको समेत उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “समुदायका सदस्यहरुबाट सामाजिक सचेतना एवं कानुनी ज्ञानको अभावमा जान/अन्जान बाट हुन सक्ने आपराधिक कार्यलाई घटाउन सके समग्र काठमाडौँ जिल्लाको शान्ति सु-व्यवस्था सुदृढ हुने देखिन्छ ।”

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछः मन्त्री भण्डारी

नारायणगढ (चितवन), ७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताउनुभएको छ ।

उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ, चितवनले भरतपुर महानगरपालिका–१० मा आयोजना गरेको पाँच दिने औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेलाको उद्घाटन कार्यक्रममा उहाँले विभिन्न समयमा बन्द भएका र रुग्ण उद्योग सञ्चालन कसरी गर्न सकिन्छ भने मिहीन ढङ्गले छलफल गरी नीति ल्याइने बताउनुभयो ।

मन्त्री भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट प्रत्येक प्रदेशमा कम्तीमा पनि एउटा औद्योगिक क्षेत्र बिस्तारको कार्यक्रम ल्याइने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “उद्योगी व्यवसायीले निराश हुनुपर्ने स्थिती आउन नदिन सरकार लागिपरेको छ, हामी अहिले देखिएको निराशालाई आशामा बदल्छौँ ।”

अहिले सरकार मुख्यतः लगानी सम्मेलनमा केन्द्रित रहेको उल्लेख गर्दै भण्डारीले उद्योगी व्यवसायीले महसुस गर्ने गरी आगामी नीति तथा कार्यक्रम र बजेट ल्याइने बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रालयले स्वदेशी वस्तु उपभोगसम्बन्धी नीति र ‘स्टार्टअप’ कार्यक्रम चाँडै ल्याउँदैछ, आन्तरिक उत्पादन बढाउन उद्योग नीति पनि समयसापेक्ष परिवर्तन गर्नुपर्ने छ ।”

तीन तहका सरकारबीच नीतिगत समस्याले पनि आर्थिक गतिविधि बढ्न नसकेको उल्लेख गर्दै उहाँले सरकार सबै यस्ता समस्या अन्त्य गरेर अगाडि बढ्ने बताउनुभयो । मन्त्री भण्डारीले विगतका दुई लगानी सम्मेलनको अनुभवलाई आत्मसात गर्दै सरकार अहिलेको सम्मेलनलाई अझ सफल बनाउन लागिपरेको जानकारी गराउनुभयो ।

ढाकामा बङ्गलादेशको सबैभन्दा ठूलो पशु प्रदर्शनी सुरू

दक्षिण एशियाली मुलुक बङ्गलादेशको डेरी, पोल्ट्री तथा अन्य पशुपन्छी क्षेत्रमा लगानीका अवसर र उन्नत प्रविधिबारे जानकारी गराउने उद्देश्यले बङ्गलादेशको पशुपन्छी उद्योगको अहिलेसम्मको सबैभन्दा ठूलो प्रदर्शनी बिहीबारदेखि ढाकामा शुरु भएको छ ।

बङ्गलादेश डेरी फार्मर्स एसोसिएसन (बीडीएफए) र बङ्गलादेश पोल्ट्री उद्योग केन्द्रीय परिषद् (बीपीआईसीसी) को आयोजना तथा मत्स्य तथा पशुपन्छी मन्त्रालय र बङ्गलादेश सरकारको युवा विकास निर्देशनालयको सहकार्यमा आयोजित दुईदिने प्रदर्शनीमा ठूलो सङ्ख्यामा डेरी फार्म, ग्राहक र आगन्तुकहरूको सहभागिता रहेको छ । बङ्गोबोन्धु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बिआइसीसी) को छेउमा शेर–ए–बङ्गला नगरस्थित पुरानो व्यापार मेला मैदानमा प्रदर्शनीको उद्घाटन गरिएको थियो ।

मेलामा देशभरका पोल्ट्री तथा डेरी क्षेत्रका करीब तीन हजार कृषकले आफ्ना पशुपङ्क्षी प्रदर्शन गरेका थिए । प्रदर्शनी स्थलमा २५ वटा मण्डप र ३० वटा स्टल राखिएको आयोजकले जनाएको छ ।

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले प्रदर्शनीको उद्घाटन गर्नुभएको थियो । उहाँले किसानहरूको भेलालाई सम्बोधन गर्दैे देशमा प्रोटिनको बढ्दो मागलाई पूरा गर्न पशुपन्छी क्षेत्रलाई थप फस्टाउने गरी अगाडि बढ्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको थियो ।

मूल्य अभिवृद्धिका लागि आधुनिक प्रविधि अपनाएर खेतबारी र किसानको ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको र यसले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा योगदान पु¥याउने आयोजकले जनाएको छ ।

स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौँ, ७ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन तथा सूचना प्रसारणमा भर नपर्न अनुरोध गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै विगत केही दिनदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो प्रयोग गरी स्वास्थ्य बीमाप्रति भ्रामक सूचना फैलिएको भन्दै त्यसमा कुनै सत्यता नभएको जनाएको हो ।

सूचनामा भनिएको छ, “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नाममा विभिन्न उमेर समूहका लागि निःशुल्क स्वास्थ्य बीमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरु प्रसारण गरेको पाइएको छ । यस्ता सूचना÷विज्ञापनमा कुनै सत्यता नभएकाले यस प्रकारका सूचना/विज्ञापनमा नहेर्नुुहुनसमेत सम्पूर्ण सर्वसाधारणमा अनुरोध छ ।”

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सामाजिक सञ्जालमा आएका गलत तथा भ्रामक सूचना तथा विज्ञापन प्रसारण गर्नेलाई विद्यमान कानुनअनुसार सम्बन्धित निकायमार्फत कारबाही प्रक्रिया अघि बढाइ सकिएको जानकारी गराउनुभयो । उहाँले सर्वसाधारणलाई पनि भ्रामक सामग्रीको प्रयोग नगरी जानकारीका लागि आधिकारिक निकायमा सम्पर्क गर्न अनुरोध गर्नुभयो ।
 

डोल्पामा एक सय २० हिउँ चितुवा रहेका पुष्टि

काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ । नतिजाअनुसार डोल्पाको संरक्षित क्षेत्रबाहिर पनि हिउँ चितुवाको उल्लेखनीय सङ्ख्या रहेको देखिएको छ । विसं २०८० को वैशाखदेखि भदौसम्म सञ्चालित व्यवस्थित क्यामेरा ट्याप सर्वेक्षणले शे– फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाहिरको पूर्वी डोल्पा क्षेत्रमा रहेका हिउँ चितुवाको सङ्ख्या यकिन गरेको छ ।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको सहयोगमा गरिएको यस सर्वेक्षणले प्रतिएक सय वर्ग किलोमिटरको क्षेत्रमा हिउँ चितुवाको घनत्व १.५ रहेको अनुमान गरेको छ । यससँगै अध्ययन क्षेत्रभित्र ३० वटा हिउँ चितुवा रहेको यकिन हुन गएको छ ।

यसैगरी, चार वर्षअघि निकुञ्जभित्र गरिएको यस किसिमको सर्वेक्षणले प्रतिएक सय वर्ग किलोमिटरमा चितुवाको घनत्व २.२ रहेको अनुमान गरेको थियो । यस आधारबाट ९० वटा हिउँ चितुवा यो संरक्षित क्षेत्रभित्र रहेको यकिन भएको थियो ।

यसर्थ डोल्पामा हिउँ चितुवाको कूल सङ्ख्या एक सय २० हुन गएको छ । जुन सङ्ख्या नेपालकै सबैभन्दा उच्च हो र घनत्व पनि सबैभन्दा बढी हुन आउँछ । हिउँ चितुवा उच्च पहाडी पर्यावरणमा पाइने दुर्लभ, लोपोन्मुख र संरक्षित वन्यजन्तु हो ।

यो प्रजाति आफ्नो बासस्थान वातावरणमा शीर्ष सिकारी भएकाले पर्यावरणको स्वास्थ्य र सन्तुलन कायम राख्न हिउँ चितुवाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । ठूलो र दुर्गम भौगोलिक क्षेत्रको बासस्थानमा बस्ने भएकाले ठूला बिरालाहरूमध्ये विश्वव्यापी रूपमा सबैभन्दा कम अध्ययन गरिएका प्रजातिहरूमा यो प्रजाति पनि पर्छ ।

नेपालमा हिउँ चितुवाको बासस्थान (३० हजार वर्ग किलोमिटर) मध्ये ४२ प्रतिशत भाग संरक्षित क्षेत्रभन्दा बाहिर पर्छ । यी क्षेत्रहरू बासस्थान र कोरिडोर दुवैका रूपमा निकै महत्वपूर्ण छन् ।

पूर्वी डोल्पा नेपालको तीन संरक्षित क्षेत्र (शे–फोक्सुण्डो, ढोरपाटन सिकार आरक्ष र अन्नपूर्ण संरक्षण क्षेत्र) र हिउँ चितुवाको दुई भूपरिधि क्षेत्र (पश्चिम र मध्य) मा रहेका हिउँ चितुवाको सङ्ख्यालाई जोडेको छ । यस महत्वलाई दृष्टिगत गरी सरकारले यस क्षेत्रमा यो महत्वपूर्ण प्रजातिको अध्ययन तथा अनुसन्धानलाई उच्च प्राथमिकता दिई विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

हिँउ चितुवा विश्वमा नै एसियाका १२ राष्ट्रमा मात्र सीमित रहेको र जम्मा चार हजारदेखि छ हजार पाँच सयको सङ्ख्यामा रहेको अनुमान गरिएको छ । हिउँ चितुवाका लागि नेपाल चौथो राष्ट्रमा पर्दछ र जहाँ तीन सयदेखि चार सय सङ्ख्यामा हिउँ चितुवा पाइने विश्वास गरिएको छ । यस हिसाबले हिउँ चितुवा अवलोकनका लागि विश्वमा नेपाल र नेपालमा डोल्पा एक प्रमुख गन्तव्य स्थापित छ ।

डिभिजन वन कार्यालय डोल्पाको कार्यक्षेत्रभित्र गरिएको यस सर्वेक्षणले छार्का ताङसोङ, काइके र डोल्पो बुद्ध गाउँपालिकाका राष्ट्रिय निकुञ्जबाहिर रहेका क्षेत्रमात्र समेटेको थियो ।

हिमाली भूभागमा पर्ने करिब दुई  हजार वर्गकिलोमिटर क्षेत्रफलमा ६० दिनसम्म यो अध्ययन गरिएको थियो । यो अध्ययनमा ३३ जना नागरिक वैज्ञानिक, डिभिजन वन कार्यालय डोल्पाका सात जना कर्मचारी, तीनजना विद्यार्थी र दुईजना डब्लुडब्लुएफ नेपालका वन्यजन्तु अनुसन्धानकर्ताहरू सामेल थिए ।

वन तथा भू–संरक्षण विभाग र डिभिजन वन कार्यालय डोल्पाको नेतृत्व अनि डब्लुडब्लुएफ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पादित यस सर्वेक्षणका लागि ६६ ठाउँमा ‘क्यामेरा ट्रयाप’हरू जडान गरिएका थिए ।

यो सर्वेक्षणले पहिलोपटक संरक्षित क्षेत्रबाहिर बाक्लो सङ्ख्यामा हिउँ चितुवा रहेको बलियो प्रमाण मात्र देखाएको छैन, नेपालमा हिउँ चितुवाको सङ्ख्या बुझ्न पनि सघाएको छ । यस सर्वेक्षणले संरक्षित क्षेत्रबाहिर पनि प्रभावकारी संरक्षणका प्रयासहरूको आवश्यकता रहेको पुष्टि पनि गरेको वन तथा भू–संरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले बताए ।

“हामी यस उपलब्धिमा डिभिजन वन कार्यालय डोल्पालाई बधाई दिन्छौँ । यससँगै अनुसन्धानमा खटिने वन्यजन्तु अनुसन्धानकर्ताहरू, नागरिक वैज्ञानिकहरू, स्थानीय आदिवासी समुदायहरू र डब्लुडब्लुएफ नेपालका साथमा काम गर्न पाउँदा हामी निकै खुसी छौँ,” उनले भने ।

डब्लुडब्लुएफका नेपाल प्रतिनिधि डा घनश्याम गुरुङले विश्वव्यापी रूपमा हिउँ चितुवाको अनुसन्धान र संरक्षण गर्नमा विभिन्न प्रयास भइराखेको उल्लेख गर्दै नेपाल सरकारलाई सहयोग गर्न र हिउँ चितुवाको दीर्घकालीन संरक्षणका लागि स्थानीय समुदायसँग साझेदारी गर्न पाउँदा थप जिम्मेवार हुन प्रेरित गरेको बताए ।

उनले हिउँ चितुवाको संरक्षण र स्थानीय समुदायको विकासलाई समानान्तर रूपमा अघि बढाउन डब्लुडब्लुएफ नेपालले समुदायमा आधारित संरक्षणका प्रयासलाई जारी राख्ने प्रतिबद्धता व्यक्त गरे  ।

आगामी दिनहरुमा मानव–हिउँ चितुवा द्वन्द्व न्यूनीकरणका लागि पशु बीमा तथा राहत व्यवस्था र घरपालुवा पशुचौपायाको चरिचरन क्षेत्र  व्यवस्थापन आवश्यक देखिएको छ । साथै हिउँ चितुवा संरक्षण तथा पर्यापर्यटन प्रवद्र्धन र जडीबुटी उत्पादन क्षेत्रका रुपमा पनि विकास गर्न दिगो, वैज्ञानिक र एकीकृत व्यवस्थापनतर्फ सबैको साझा पहल, प्रयास र अभ्यास हुने अपेक्षा गरिएको छ ।

अर्थमन्त्री पुन र विश्व बैंकका दक्षिण एसिया उपाध्यक्ष रेजरबीच छलफल, माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सहमति

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुटेको छ ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त बैठकमा सहभागी हुन अमेरिका भ्रमणमा रहनुभएका अर्थमन्त्री वर्षमान पुन र विश्व बैंक उच्च नेतृत्वबीच वासिन्टन डिसीमा भएको वार्तामा त्यसबारे सैद्धान्तिक सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच माथिल्लो अरुणसहित विश्व बैंकको लगानीमा नेपालमा सञ्चालित आयोजनाबारे छलफल भएको थियो । विश्व बैंकको लगानीमा सञ्चालित अरु विकास आयोजनाको कामलाई समेत तीव्रता दिने विषयमा छलफल भएको थियो ।

नेपालले परम्परागत रुपमा उपयोग गर्दै आएको विश्व बैंकको सहुलित दरमा ऋण दिने संस्था इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसन (आईडीए) सुविधा बढाउने र आयोजनाहरुमा विविधिकरण गर्नेबारे समेत कुराकानी भएको जनाइएको छ ।
माथिल्लो अरुण परियोजनामा वित्तीय व्यवस्थापनका लागि विश्व बैंकले नेतृत्व गर्ने गरी सैद्धान्तिक निष्कर्षमा पुगिएको मन्त्री पुनको भ्रमण टोली सदस्य एवं अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले जानकारी दिनुभयो । नेपाल सरकारले सैद्धान्तिक स्वीकृति दिएपछि सहमतिले औपचारिकता पाउनुका साथै वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता हुनेछ ।

यो परियोजनामा विश्व बैंकको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहुलियतपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट गरी ७० प्रतिशत ऋण लगानी जुटाउने र ३० प्रतिशत स्वपुँजी (इक्विटी) बाट वित्तीय व्यवस्थापन गर्ने तयारी छ ।

उक्त परियोजना निर्माणको लागत अनुमान भने टुङ्गिसकेको छैन । माथिल्लो अरुण परियोजनाको पूर्वतयारीका कार्यमा दुई किलोमिटर सुरुङमार्ग र २१ किलोमिटर पहुँचमार्ग निर्माण अघि बढेको छ । परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति र मुआब्जा वितरण करिब सकिएको मन्त्रालयले जनाएको छ ।

आजै अर्थमन्त्री पुन र अमेरिकी विकास संस्था यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डीएफसी) का प्रमुख कार्यकारी अधिकृत (सिईओ) स्कट नाथनबीच भेटावार्ता भएको छ । भेटमा अर्थमन्त्री पुनले नेपालमा विदेशी लगानीका लागि उपयुक्त वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

नेपालले निजी क्षेत्रलाई विकास र समृद्धिको साझेदारका रुपमा सँगसँगै अघि बढाउने नीति लिएको स्पष्ट पार्नुहुँदै अर्थमन्त्री पुनले निजी क्षेत्रको प्रवद्र्धन र लगानी सहजीकरणका लागि विभिन्न कानूनी, प्रक्रियागत तथा प्रशासनिक झन्झट हटाउने बाटोमा रहेको बताउनुभयो । नेपालको ऊर्जा क्षेत्रमा लगानीको सम्भावना राम्रो रहेकाले अमेरिकी लगानीकर्तालाई नेपालमा आएर लगानी गर्न पनि अर्थमन्त्री पुनले अपिल गर्नुभयो ।

डीएफसी विभिन्न देशका निजी क्षेत्रसँग साझेदारी गरी विकासशील देशले सामना गरिरहेको चुनौतीहरूको समाधानका लागि लगानी गर्ने संस्था हो । उक्त संस्थाले ऊर्जा, स्वास्थ्य, पूर्वाधार र प्रविधिलगायत क्षेत्रमा वित्तीय लगानी गर्दै आएको छ । डीएफसीले नेपालका निजी क्षेत्रसँग हाल ऋण र स्वपुँजी (इक्विटी) गरी दुई करोड ७० लाख अमेरिकी डलर बराबरको साझेदारी छ ।

आगो निभाउने क्रममा जलेर ७४ वर्षीय गुरुङको घटनास्थलमै मृत्यु

गल्याङ (स्याङजा), ७ वैशाख : स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको आगो निभाउने क्रममा आज जलेर मृत्यु भएको छ ।

बारीमा कोदोको बिउ राख्नलाई पात-पतिङ्गर जलाउने क्रममा जङ्गलमा आगो सल्किएपछि उक्त आगो निभाउन खोज्दा गुरुङको जलेर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

गुरुङको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

फिक्कल (इलाम), ७ वैशाख : इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । विजुलीको काम गर्ने क्रममा करेन्ट लागेर इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप कुँवरको शुक्रबार दिउँसो मृत्यू भएको प्रहरीले जनाएको छ ।

इलामको सन्दकपुर गाउँपालिका लैजाँदै गरिएको नयाँ विद्युतको पोलमा काम गर्ने क्रममा इलाम नगरपालिका-८ स्थित महभीर टोलमा कुँवरलाई ११ हजार भोल्टको करेन्ट लागेको थियो ।

कुँवरको शव डढेको अवस्थामा विजुलीको पोलबाट खसेको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि इलाम अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश जवेगूले जानकारी दिनुभयो ।

काठमाडौँ-तराई-मधेश द्रूतमार्गको भौतिक प्रगति ३३ प्रतिशत

काठमाडौँ, ७ वैशाख : रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनालाई जिम्मेवारी सुम्पिएको काठमाडौँ–तराई–मधेश द्रूतमार्ग सहित चारवटै उत्तर-दक्षिण रणनीतिक सडकको निर्माणमा विनियोजित बजेटअनुरुप शतप्रतिशत नै लक्ष्य हाँसिल भइरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सदस्यले उठाउनुभएको प्रश्नको जवाफमा उहाँले देशको कठिन भूगोल र दुर्गमस्थानलाई सडक सञ्जाल जोड्ने सरकारको लक्ष्यलाई सेनाले सहयोग पु-याइराखेको बताउनुभयो । मन्त्री उप्रेतीले भन्नुभयो, “सेनाको जनशक्ति तथा उपकरणको उपलब्धताको तुलनामा न्यून बजेट विनियोजन हुँदा क्षमताको पूर्णसदुपयोग हुन सकेको छैन । मुलुकको आर्थिक समृद्धि र रणनीतिक महत्वसँग जोडिएका सडक छिटो सम्पन्न गर्न मन्त्रालयले हरसम्भव समन्वय गरिरहेको छ ।”

आयोजना निर्माणकार्य समयमा पुरा गरी सर्वसाधारणले छिटो लाभ प्राप्त गर्न सकुन भन्नेमा मन्त्रालय सजग रहेको बताउँदै उहाँले खोकना क्षेत्रको जग्गा अधिग्रहण, पुरक वातावरणीय अध्ययन, विष्फोटक पदार्थ र अन्य निर्माण सामग्री व्यवस्थापन चूनौतिकाबीच निर्माणकार्य दू्रतरुपमा अघि बढिरहेको जनाउनुभयो ।

प्रधानसेनापति प्रभुराम शर्माले सेनाको व्यवस्थापनमा निर्माणाधिन आयोजना कावुबाहेक निर्धारित समय र तोकिएको बजेटको सीमाभित्र पुरा गर्ने दृढता ब्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “केही विधि र प्रक्रियाकोकारण बाहेक पूर्वनिर्धारित लक्ष्यअनुरुप नै प्रगति हासिल भाएकोछ, काबुबाहिरको परिस्थितिबाहेक आयोजना समयमै पुरा हुन्छ, प्रेरणा दिने र आत्मवल बढाउने काम गरौँ, शंका नगरौँ ।”

पुल र सुरुङ निर्माणलाई गुणस्तरीय तुल्याउन सेना अरोरात्र खटिएको बताउँदै प्रधानसेनापति शर्माले हालसम्म विनियोजित बजेटअनुरुप काम गर्न सफल भएकाले तोकिएको समयसीमा भित्र पुरा हुनेमा विश्वस्त छौँ भन्नुभयो ।

करिव ७१ किमी दुरीको काठमाडौँ–तराई–मधेश दू्रतमार्ग(फाष्ट ट्रयाक)का हालसम्म ३३ प्रतिशत भौतिक र वितीय प्रगति हासिल भएको सो अवसरमा जानकारी दिइयो ।

निर्माणलाई १३ समूहमा विभिजन गरी आयोजना अघि बढाइएकामा प्रस्थान विन्दुक्षेत्र खोकनाबाहेक अरु क्षेत्रको काम भकाभक अघि बढिरहेको जानकारी दिइयो । त्यस मार्गमा बनाइनुपर्ने छ वटा सुरुङमध्ये तीन वटाको निर्माण समग्रमा ७६ प्रतिशत प्रगति हाँसिल भएको बताइयो ।

आयोजनाका लागि हालसम्म ३० हजार ५९१ रुख कटान गरिएकामा एक रुख बराबर २५ कादरले पाँच लाख विरुवा रोपेर हुर्काउने कामसमेत भइरहेको सेनाको भनाइ छ । केही रुख कटान, केही जग्गा अधिग्रहण, मुआब्जा वितरण लगायतका समस्या भने सुल्झाउन बाँकी नै रहेको जानकारी दिइयो ।

रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले राजनीतिक, धार्मिक र सांस्कृतिलगायतका विभिन्न विषयबस्तुसँग गाँसिएको रणनीतिक महत्वको आयोजनालाई तीव्रगतिमा अघि बढाउन समयमै प्रयाप्त बजेटको अभावमा श्रोत, जनशक्ति र उपकरणको पूर्णरुपमा सदुपयोग हुन नसकेको प्रतिक्रिया दिनुभयो ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा दीपककुमार खरालले मुलुकको सर्वाधिक प्राथमिकता प्राप्त आयोजना समयमै सम्पन्न गर्ने सेनाको प्रयासमा मन्त्रालयका तर्फबाट हरसम्भव सहयोग र समन्वय भइरहेको विश्वास दिलाउनुभयो ।

सेनाको व्यवस्थापनमा निर्माण भइरहेका रणनीतिक महत्वका चार वटा उत्तर–दक्षिण सडकको समग्र प्रगति भने ८८ प्रतिशत रहेको पनि सो अवसरमा जानकारी दिइयो ।

भौतिकपूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले मुलुकको रणनीति महत्वको द्रुत मार्गलगायतका उत्तर–दक्षिण सडक कोरिडोर मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभयो ।

यसअघि बैठकमा सेनाको तर्फबाट दु्रतमार्ग र रणनीतिक महत्वको उत्तर–दक्षिणका चार वटा सडकको हालसम्मको कार्यप्रगति, कठिनाई र चूनौतिबारे समितिलाई जानकारी दिइयो ।

नेपाली सेनाका सहायकरथी विकास पोखरेलले दु्रतमार्गका लागि अधिग्रहण गर्नुपर्ने १५ हजार ४१६ रोपनी जग्गामध्ये ३९२ बाँकी नै रहेको तथा प्रस्थान विन्दुमा देखिएको समस्या सुल्झाउन विभिन्न ६ विकल्पमा अध्ययन भइरहेको जानकारी दिनुभयो ।

सेनाले विभिन्न कानुनी, नीतिगत, प्रक्रियागत कार्य र भौगोलिक चूनौतिकाबीचमा पनि आफनो नेतृत्वमा अघि बढिरहेका आयोजनालाई समयमै पुरा गर्न दिलो ज्यान र सम्भव भएसम्मको ज्ञान प्रयोग गरी पारदर्शी ढङ्गबाट लक्ष्य बमोजिम काम भइरहेको जनाएको छ । करिव रु दुई खर्ब ११ अर्ब ९४ करोडको लागतमा अघि बढिरहेको द्रुतमार्गमा हालसम्म रु ५७ अर्ब खर्च भइसकेको जानकारी दिइयो ।

यसअघि बैठकमा सदस्यले आयोजनासम्बन्धी आएका विभिन्न टिक्का टिप्पणी, प्रगति र सुल्झाउन पर्ने अड्चनबारे जिज्ञासा राख्नुभयो । बैठकमा सभापति रामहरि खतिवडाले मुलुकको आर्थिक विकास र समृद्धिसँग प्रत्यक्ष सरोकार जोडिएका कोरिडोर र द्रूतमार्ग समयमै सम्पन्न गर्न आवश्यक बजेट विनियोजनका लागि समितिले सरकारलाई निर्देश गरेको बताउनुभयो । यसअघि समितिले सेनासँग गत पुसमा ती आयोजनाकाबारेमा जानकारी लिएको थियो । विसं २०७४ जेठमा शिलान्यास भई २०७६ असोजबाट कार्य प्रभारम्भ भएको द्रुत मार्ग आगामी २०८३ चैतसम्ममा निर्माण पुरा गर्ने गरी सेनाको व्यवस्थापनमा अघि बढिरहेको छ ।

इजाजतपत्र बिना सञ्चालित अस्पतालको महानगरद्वारा अनुगमन

विराटनगर, ७ वैशाख : विराटनगर महानगरपालिका-३ दूधफारम स्थित पूर्व विराट निदान अस्पताल एन्ड ट्रमा सेन्टरले इजाजतपत्र बिना स्वास्थ्य सेवा प्रवाह गरेको गुनासो आएपछि विराटनगर महानगरपालिकाले अनुगमन गरेको छ । सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको टोलीले आज अनुगमन गर्दा महानगरपालिकाबाट व्यवसाय दर्ता नभएको, सम्बन्धित निकायबाट इजाजतपत्र नलिई सञ्चालन गरेको पाइएको छ ।

व्यवसाय दर्ता र इजाजतपत्र सम्बन्धित निकायबाट लिन प्रक्रिया सुरु गरे पनि प्राप्त नभईकनै सञ्चालन गरेको देखिएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख दिलीप यादवले जानकारी दिनुभयो । अस्पतालमा बिरामी नभए पनि औषधि पसलसहित अन्य केही सेवा सञ्चालनमा रहेको पाइएको उहाँले बताउनुभयो ।

अनुगमन टोलीले इजाजतपत्र प्राप्त नभएसम्म कुनै पनि स्वास्थ्य उपचार नगर्न निर्देशन दिएको छ । यादवले सही तरिकाले काम गर्नेलाई महानगरले सधैँ सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो । अनुगमनमा महानगरका स्वास्थ्य अधिकृत रमेश कार्की, मीना अधिकारी, भूपेन्द्र साह, राजेन्द्र कुइँकेल, नगर प्रहरी प्रमुख राजन पौडेल, स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य अधिकृत शेखर यादव, जिल्ला प्रशासन कार्यालय मोरङका प्रतिनिधि कृष्ण पोखरेल, अनुगमन समितिका सदस्य डा विशम्बर यादवलगायतको सहभागिता रहेको थियो । महानगरले बिना दर्ता सञ्चालनमा रहेका अन्य व्यवसायको पनि अनुगमनलाई तीव्रता दिएको छ ।

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो, ‘तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो’

काठमाडौँ, ७ वैशाख : माडी नगरपालिकाको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास निर्माणमा देखिएका समस्या समाधान गर्न आग्रह गरेका छन् । सिंहदरबारमा आज प्रधानमन्त्रीसँग भेट गर्दै प्रतिनिधिमण्डलले नगरवासीले भोग्नुपरेका समस्या समाधानमा नेतृत्वदायी भूमिका निर्वाह गरिदिन आग्रह गरेका हुन् । सो क्रममा माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले चार दिनदेखि माडीमा बिजुली नभएको र जनजीवन अस्तव्यस्त भएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “चार दिनदेखि जनताले बिजुली बाल्न पाएका छैनन्, खानेपानी छैन, जनजीवन अस्तव्यस्त छ ।”

लामो समयदेखि विकास निर्माणका कार्य पनि अगाडि बढ्न नसकेको उल्लेख गर्दै नगरप्रमुख महतोले भन्नुभयो, “तपाईं चितवन–३ को जनप्रतिनिधि हुँदा नयाँ उत्साह थियो । विकासका काम सुरू भएका थिए । अहिले लथालिङ्ग छ । तपाईंले चितवन छाडेपछि माडीको बिचल्ली भयो ।”

उहाँका अनुसार विद्युत् प्राधिकरणले सुरु गरेको विद्युतीय तार भूमिगत गर्ने काम अझै सम्पन्न हुन सकेका छैनन् । “जसका कारण सडक धुलाम्मे छ”, नगरप्रमुख महतोले भन्नुभयो, “यसलाई तत्काल समाधान गरौँ ।”

माडीवासीका गुनासा सुनेपछि प्रधानमन्त्री दाहालले सरोकारवाला निकायका प्रमुखलाई समस्या समाधानमा गम्भीर भएर लाग्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “माडीको समस्या समाधानमा वन मन्त्रालय र विद्युत् प्राधिकरण गम्भीर हुनुप¥यो ।”

जनताको हितलाई सर्वोपरी राखेर काम गर्न निर्देशन दिँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “मुख्य कुरा जनताको हित हो । जनतालाई सास्ती दिएर निकुञ्ज संरक्षण हुँदैन । जनताको भावना सम्बोधन गरेर मात्र पर्यावरण संरक्षण सम्भव हुन्छ ।”

प्रधानमन्त्री दाहालले यस विषयमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन(युनेस्को) सँग पनि परामर्श गर्न वन तथा वातावरण मन्त्रालयलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “विकासका काममा सबैले आआफ्ना स्थानबाट सहजीकरण गरौँ ।”

छलफलमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, वन तथा वातावरण राज्यमन्त्री दीपक कार्की, सांसद गङ्गा बेल्वासे, पूर्वसांसद कृष्णभक्त पोखरेल, माडी नगरपालिका प्रमुख महतो, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत सहभागी हुनुहुन्थ्यो ।

अवैध औषधि बेच्ने दुई मेडिकल बन्द

ढोरपाटन (बागलुङ), ७ वैशाख : बागलुङमा अवैध रुपमा औषधि बेच्ने दुई मेडिकल हल बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङ र औषधि विभाग काठमाडौँले आज अनुगमन गर्दा अवैध रुपमा औषधि बिक्री–वितरण गर्ने धौलाश्री मेडिकल हल र बुद्ध डेन्टल होम बन्द गरेको हो ।

अनुगमनका क्रममा औषधि व्यवस्था विभागमा दर्ता नभएका, जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने औषधि बेचबिखन गरेको पाइएपछि दुईवटा मेडिकल बन्द गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका नायब सुब्बा रामप्रसाद उपाध्यायले बताउनुभयो ।

सम्बन्धित व्यवसायीको अनुपस्थितिमा गैरव्यक्तिले अनाधिकृत रुपमा उपचार गरी औषधि बिक्री–वितरण गरेको, विभागमा दर्ता नभएका औषधि भण्डारण गरी बिक्री–वितरण गरेको, लागू मनोद्विपक औषधिको रेकर्ड नराखेको पाइएपछि औषधि जफत गरी तत्कालका लागि मेडिकल बन्द गरिएको उहाँको भनाइ छ ।

अनुगमनका क्रममा देखिएका कमजोरीका विषयमा तीन दिनभित्र औषधि व्यवस्था विभागमा सम्बन्धित व्यवसायीलाई कारणसहित उपस्थित हुन लिखित रुपमा अनुरोध गरिएको उपाध्यायले बताउनुभयो । अनुगमनका क्रममा अस्पताल रोडको बुद्ध डेन्टल होम पनि बन्द गरिएको छ । डेन्टल होम सञ्चालनका लागि आवश्यक पर्ने कागजपत्र फेला नपरेको र सञ्चालकसमेत फेला नपरेकाले तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएर डेन्टल होम बन्द गरिएको हो ।

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु भएको सिरियाली मानवअधिकार अनुगमनकारी संस्थाले शुक्रबार जनाएको छ ।

‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ले भनेको छ, “मध्य प्रान्त होम्सको पूर्वमा रहेको मरुभूमि क्षेत्रमा एउटा सैन्य बसलाई लक्षित गरी मध्यम र भारी मेशिनगनले आक्रमण गरिएको र आक्रमणमा सरकार समर्थक लडाकु ‘अल–कुद्स ब्रिगेड’का २२ जनाको मृत्यु भएको हो ।

पूर्वी सिरियाको अल–बुकामाल सहरको ग्रामीण इलाकामा रहेको सिरियाली सेनाको मुख्यालयमा इस्लामिक स्टेट (आइएस) लडाकू समूहले गरेको अर्को आक्रमणमा परी छ सिरियाली सैनिकको मृत्यु भएको छ ।

सिरियाको मरुभूमिमा यस वर्षको सुरुदेखि अहिलेसम्म ३२९ जनाको मृत्यु भएको उक्त संस्थाले जनाएको छ ।

इरानमाथि कथित आक्रमणपछि इटालीद्वारा ‘तनाव कम गर्न’ आग्रह


इजराइलले इरानमाथि आक्रमण गरेको रिपोर्ट आएपछि इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले शुक्रबार ‘पूर्णरूपमा तनाव कम गर्न’ आह्वान गर्दै जी७ समक्ष काप्रीमा हुने वार्तामा यस विषयमा छलफल गर्ने बताउनुभएको छ ।

रोमले सात मुलुकको समूह जी७ का विदेशमन्त्रीहरूको बैठकको आयोजना गरिरहेको इटालीको टापु काप्रीबाट आरएआई समाचार उहाँले भन्नुभयो, “हामी सबैलाई तनावबाट जोगिनका लागि सतर्क रहन आमन्त्रण गर्दछौँ ।”

उहाँका अनुसार जी७ ले मध्यपूर्वमा ‘पूर्णरूपमा तनाव कम गर्न’ चाहेको बताउनुभयो । जी७ मा संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, जापान, क्यानाडा र इटाली रहेका छन् ।

क्यानाडाका विदेशमन्त्री मेलानी जोलीले सामाजिक सञ्जाल एक्समा भन्नुभयो, “हामी स्थितिलाई नजिकबाट नियालिरहेका छौँ, हामी आज बिहान इटालीमा जी७ को बैठकमा विदेशमन्त्रीहरूसँग स्थितिलाई सम्बोधन गर्नेछौँ ।”

इरानको सरकारी सञ्चारमाध्यमले शुक्रबार मध्य प्रान्त इस्फहानमा विस्फोट भएको सूचना दिएको थियो । अमेरिकी सञ्चारमाध्यमले भने अधिकारीहरूलाई उद्धृत गर्दै इजराइलले आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि जवाफी आक्रमण गरेको बताएको छ ।

करिब एक साताअघि सिरियामा इरानको दूतावासमा भएको घातक आक्रमणको जवाफमा इरानले इजराइलमाथि ड्रोन र मिसाइलहरू प्रहार गरेपछि इजराइलले जवाफी आक्रमण गर्ने चेतावनी दिएको थियो । इरानको अधिकांश ड्रोन तथा मिसाइल आक्रमणलाई इजराइलले रोकेको थियो । यसबाट गाजा युद्धबाट ठूलो क्षेत्रीय प्रभावको आशङ्का बढेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनलगायत जी७ का मन्त्रीहरू बुधबारदेखि काप्रीमा हुनुहुन्छ र शुक्रबार दिउँसोको भोजनपछि बैठक समाप्त हुँदैछ । बिहीबार बिहान बैठकको एजेन्डमा सबैभन्दा अघि मध्यपूर्व सङ्कट थियो ।

शुक्रबारको बैठक हिन्द–प्रशान्त क्षेत्रमा बढ्दो तनावमाथि केन्द्रित थियो तर इटालीका विदेशमन्त्री ताजानीले इरानको स्थितिमाथि ‘छलफल’ गरिने पुष्टि गर्नुभयो ।

विश्व कलेजो दिवस : कलेजो स्वस्थ राख्न खानपान र रहनसहनमा ध्यान

काठमाडौँ, ७ वैशाख- आज अप्रिल १९, ‘विश्व कलेजो दिवस’ । कलेजोसम्बन्धी रोगबारे जनचेतना जगाउन र कलेजोको स्वास्थ्य प्रवद्र्धन गर्न हरेक वर्ष आजको दिन विश्व कलेजो दिवस मनाइन्छ । यस दिवसको महत्वको बारेमा मानिसलाई शिक्षित गराउने, कलेजो रोगको प्रारम्भिक पहिचान र उपचारका लागि पैरवी गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

यस वर्षको दिवसको नारा, ‘सतर्क रहनुहोस्, नियमित कलेजो जाँच गराउनुहोस्, र फ्याटी लिभर रोगबाट बच्नुस्’ रहेको छ । अर्थात् प्रारम्भिक चरणमा कलेजोको समस्या पहिचान र रोकथाम गर्नुपर्छ जसले गर्दा बोसोयुक्त कलेजो रोगबाट बच्न सकिने कुरालाई इङ्गित गर्दछ । कलेजो मानव शरीरको महत्वपूर्ण अङ्ग हो ।

कलेजो स्वस्थ्य राख्न खानपान र रहनसहनमा ध्यान दिनसके विभिन्न समस्याबाट बच्न सक्ने विज्ञ बताउँछन् । वरिष्ठ कलेजो रोग विशेषज्ञ प्राडा युवराज शर्माले भन्नुभयो, “कलेजोले शरीरमा महत्वपूर्ण भूमिका खेल्छ । यसले पाचन प्रणालीदेखि शरीरलाई चाहिने विभिन्न तत्व निर्माण गर्दछ । नचाहिने विकार तत्वलाई शुद्धिकरण गर्दछ । खानपान र रहनसहन नै कलेजो स्वस्थ राख्ने महत्वपूर्ण कुरा हुन् ।”

उहाँका अनुसार धेरै चिल्लोपदार्थ सेवन नगर्ने, नियमित व्यायाम गर्ने गर्नुपर्छ, जसले गर्दा कलेजोमा बोसोको मात्रा जम्न दिँदैन । कलेजोमा बोसो जम्नुलाई ‘फ्याटी लिभर’ भनिन्छ । नेपालमा अधिकांश कलेजोको समस्या देखिएकामा रक्सीको अधिक सेवन प्रमुख कारण रहेको छ । त्यसैगरी हेपटाइटिस ‘बी’,‘सी’को सङ्क्रमण, आनुवंशिक कारण पनि कलेजोको समस्या देखिने गरेको चिकित्सकको भनाइ छ ।

“रक्सीजन्य पदार्थले सबैभन्दा धेरै कलेजोमा क्षति गरेको देखिन्छ । लिभर रक्सीजन्य पदार्थमा सिमितता वा सकेसम्म प्रयोग नगरेकै राम्रो हुन्छ”, डा शर्माले भन्नुभयो, “बच्चालाई हेपाटाइटिस भाइरसको सङ्क्रमणविरुद्ध खोप लगाउनुपर्छ । आनुवंशिक कारणले निम्तिने समस्या पनि छ । परिवारमा कोही सदस्यलाई समस्या छ भने अरुले एकपटक जाँच गर्नुपर्छ ।”

वर्षमा एक पटक कलेजोको अवस्था ठीक छ वा छैन भनेर लिभर फङ्सन टेस्ट (एलएफटी) गराउन चिकित्सकको सुझाव छ । यो सुविधा हरेक सरकारी तथा निजी प्रयोगशालामा सर्वसुलभरुपमा उपलब्ध छ । नेशनल हेल्थ सर्भिस (एनएचएस), युकेका अनुसार कलेजोमा समस्या आयो भने खाना रुचि नहुने, वाकवाकी लाग्ने, जीउमा कमजोरी महसुस हुने, बिरामी भइराख्ने लक्षण देखिन सक्ने हुन्छ ।डा शर्माले समस्या बढ्दै जाँदा जन्डिसको लक्षणजस्तै आँखा पहेँलो हुने, छाला पहेँलो हुने, छ महिनाभन्दा बढी लगातार कलेजोमा समस्या भयो भने ‘क्रोनिक लिभर डिजिज’ हुन सक्ने बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “यसले गर्दा पेटमा पानी आउने, पेटको अमाशयमा नशा फुल्ने, नशा फुटने, रगत उल्टी हुने, रगत दिसा जाने, छालामा विभिन्न प्रकारका दाग जस्तो लक्षण देखिन थाल्छन् ।” उहाँले कलेजोले काम नै नगर्ने अवस्थामा पुग्यो भने प्रत्यारोपण गर्नुपर्ने अवस्था आउने भएकाले सुगर तथा कोलेस्ट्रोलका बिरामीले नियमित जाँच गराइराख्नु पर्ने बताउनुभयो ।

एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पुरा, २ हजार ४५४ जना सहभागी हुने

काठमाडौँ, ७ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको तयारी पूरा भएको छ । ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सबै तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा महाधिवेशन परिषद् सदस्य दुई हजार ७३ र तीन सय ८१ जना गरी कूल दुई हजार चार सय ५४ जना सहभागी हुनेछन् ।

परिषद् बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नु हुनेछ । यसैगरी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन् ।पत्रकार सम्मेलनमा महासचिव शङ्कर पोखरेलले मुलुकको आवश्यकता, जनचाहनाअनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई सुनिश्चित गर्ने बलियो, सुदृढ र निर्णायक राष्ट्रिय शक्तिका रुपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले स्पष्ट दिशानिर्देश गरी निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

एमालेलाई कसरी अगाडि बढाउने निर्क्यौल गर्ने र राष्ट्रिय राजनीतिलाई सही दिशामा अगाडि बढाउने सन्दर्भमा पनि बैठक महत्वपूर्ण हुने उहाँको भनाइ थियो उहाँले मुलुकको ओरालो यात्रालाई रोकेर मुलुकलाई सकारात्मक दिशा दिने प्रयत्नको संश्लेषण परिषद्को बैठकबाट गर्ने बताउनुभयो । “मुलुकलाई अगाडि बढाउने निष्कर्ष परिषद् बैठकबाट गर्ने छौँ,” उहाँले भन्नुभयो, “महाधिवेशन यताको समग्र कामको समीक्षा गरिनेछ ।”

बैठकमा मिसन ग्रासरुट, झुलाघाट चिवाभञ्याङ सङ्कल्पयात्राको समीक्षा गर्दै त्यसका आधारमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने निष्कर्ष निकाल्ने महासचिव पोखरेलले बताउनुभयो । उहाँका अनुसार परिषद् बैठकमा यसअघि गरिएको पार्टीका केन्द्रीय सदस्यहरुको कार्यविभाजनको पनि समीक्षा गरिनेछ । वार्षिक कार्ययोजनालाई आगामी दिनमा परिषद् बैठकका निष्कर्षले महत्वपूर्ण भूमिका खेल्ने छन्,” उहाँले भन्नुभयो । कसरी व्यवस्थित गर्ने खालको निष्कर्षका साथै साङ्गठनिक कामको समीक्षामार्फत निकाल्ने उहाँको भनाइ छ । “एमालेलाई बलियो र निर्णायक शक्तिका रुपमा स्थापित गर्ने कुरा

महासचिव पोखरेलले राजनीतिक अस्थिरता अन्त्यका लागि बलियो र निर्णायक राष्ट्रिय शक्ति आवश्यक रहेको बताउनुभयो । “एमाले बलियो छ तर पर्याप्त छैनौँ । हामी अरूभन्दा ठूला त छौँ तर राष्ट्रिय आवश्यकता पूरा गर्ने अवस्थामा पुगिसकेका छैनौँ”, उहाँले भन्नुभयो, “पहिलो पार्टी हुनुमात्र पर्याप्त हुँदोरहेनछ । राष्ट्रिय आवश्यकता पूरा गर्ने हिसाबले बलियो र निर्णायक बन्नु जरुरी रहेछ । बलियो र निर्णायकले नै अस्थिरता अन्त्य गर्न सक्दछ ।”

उहाँले अहिलेको सरकारले राम्रो काम गरे सरकारलाई निरन्तरता दिन तयार रहेको बताउनुभयो । महासचिव पोखरेलले गणतन्त्रको सुदृढीकरण, लोकतन्त्रलाई संस्थागत विकास गर्ने सवालमा सधैँभरि सत्ता र प्रतिपक्षसँग मिलेर काम गर्न तयार रहेको बताउनुभयो । परिषद् बैठक वैशाख ८ र ९ गते ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा हुनेछ । एमालेको विधानमा दुई राष्ट्रिय महाधिवेशनबीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने उल्लेख गरिएको छ ।

हीरक महोत्सव मनाइने
सैगरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको ७५ वर्ष पूरा गरेको अवसरमा पार्टीले हीरक महोत्सव मनाउने भएको छ । यही वैशाख १० गते सभाहलमा नै एक विशेष समारोहको आयोजना गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका प्रमुख नेताहरुले सम्बोधन गर्नुहुनेछ । उक्त हीरक महोत्सवमा गणतन्त्र गौरव सम्मानबाट एकजना विशिष्ट व्यक्तिलाई सम्मान गर्ने उहाँले जानकारी दिनुभयो ।

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुटेको छ ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त बैठकमा सहभागी हुन अमेरिका भ्रमणमा रहनुभएका अर्थमन्त्री वर्षमान पुन र विश्व बैंक उच्च नेतृत्वबीच वासिन्टन डिसीमा भएको वार्तामा त्यसबारे सैद्धान्तिक सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ ।अर्थमन्त्री पुन र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच माथिल्लो अरुणसहित विश्व बैंकको लगानीमा नेपालमा सञ्चालित आयोजनाबारे छलफल भएको थियो । विश्व बैंकको लगानीमा सञ्चालित अरु विकास आयोजनाको कामलाई समेत तीव्रता दिने विषयमा छलफल भएको थियो ।


नेपालले परम्परागत रुपमा उपयोग गर्दै आएको विश्व बैंकको सहुलित दरमा ऋण दिने संस्था इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसन (आईडीए) सुविधा बढाउने र आयोजनाहरुमा विविधिकरण गर्नेबारे समेत कुराकानी भएको जनाइएको छ ।

माथिल्लो अरुण परियोजनामा वित्तीय व्यवस्थापनका लागि विश्व बैंकले नेतृत्व गर्ने गरी सैद्धान्तिक निष्कर्षमा पुगिएको मन्त्री पुनको भ्रमण टोली सदस्य एवं अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले जानकारी दिनुभयो । नेपाल सरकारले सैद्धान्तिक स्वीकृति दिएपछि सहमतिले औपचारिकता पाउनुका साथै वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता हुनेछ ।

यो परियोजनामा विश्व बैंकको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहुलियतपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट गरी ७० प्रतिशत ऋण लगानी जुटाउने र ३० प्रतिशत स्वपुँजी (इक्विटी) बाट वित्तीय व्यवस्थापन गर्ने तयारी छ ।

उक्त परियोजना निर्माणको लागत अनुमान भने टुङ्गिसकेको छैन । माथिल्लो अरुण परियोजनाको पूर्वतयारीका कार्यमा दुई किलोमिटर सुरुङमार्ग र २१ किलोमिटर पहुँचमार्ग निर्माण अघि बढेको छ । परियोजनाका लागि आवश्यक जग्गा प्राप्ति र मुआब्जा वितरण करिब सकिएको मन्त्रालयले जनाएको छ ।

आजै अर्थमन्त्री पुन र अमेरिकी विकास संस्था यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डीएफसी) का प्रमुख कार्यकारी अधिकृत (सिईओ) स्कट नाथनबीच भेटावार्ता भएको छ । भेटमा अर्थमन्त्री पुनले नेपालमा विदेशी लगानीका लागि उपयुक्त वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

नेपालले निजी क्षेत्रलाई विकास र समृद्धिको साझेदारका रुपमा सँगसँगै अघि बढाउने नीति लिएको स्पष्ट पार्नुहुँदै अर्थमन्त्री पुनले निजी क्षेत्रको प्रवद्र्धन र लगानी सहजीकरणका लागि विभिन्न कानूनी, प्रक्रियागत तथा प्रशासनिक झन्झट हटाउने बाटोमा रहेको बताउनुभयो । नेपालको ऊर्जा क्षेत्रमा लगानीको सम्भावना राम्रो रहेकाले अमेरिकी लगानीकर्तालाई नेपालमा आएर लगानी गर्न पनि अर्थमन्त्री पुनले अपिल गर्नुभयो ।

डीएफसी विभिन्न देशका निजी क्षेत्रसँग साझेदारी गरी विकासशील देशले सामना गरिरहेको चुनौतीहरूको समाधानका लागि लगानी गर्ने संस्था हो । उक्त संस्थाले ऊर्जा, स्वास्थ्य, पूर्वाधार र प्रविधिलगायत क्षेत्रमा वित्तीय लगानी गर्दै आएको छ । डीएफसीले नेपालका निजी क्षेत्रसँग हाल ऋण र स्वपुँजी (इक्विटी) गरी दुई करोड ७० लाख अमेरिकी डलर बराबरको साझेदारी छ ।

आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा

काठमाडौँ, ७ वैशाखः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको पहुँच आमजनताका बीचमा लैजान सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल एशोसियसन फर सफ्टवेर एण्ड आइटी कम्पनिज (नास–आइटी)का पदाधिकारीसँगको भेटमा उहाँले सञ्चार तथा सूचना प्रविधिको प्रयोग बढाएर मुलुकको डिजिटल रुपान्तरणका लागि सहकार्य आवश्यक रहेको बताउनुभएको हो ।मन्त्री शर्माले नेपालमा सञ्चार तथा सूचना प्रविधिको विकासका लागि यसलाई आम जनताले बुझ्ने गरी स्थापित गर्नुपर्ने बताउनुभयो । उहाँले हरेक क्षेत्रको विकासका लागि त्यसको महत्व आमनागरिकले बुझ्नुपर्नेमा उदाहरण दिँदै भन्नुभयो, “योग विज्ञान आजको होइन तर रामदेवले स्थापित गरेपछि योग घरघरमा पुग्यो । उत्पीडित समुदायको मुक्ति र अधिकारको नारा नयाँ होइन तर माओवादी जनयुद्धले त्यसलाई घरघरमा पु¥याएपछि मात्रै परिवर्तन सम्भव भयो । त्यसैगरी अब सञ्चार तथा सूचना प्रविधिको महत्व र औचित्य पनि आमजनताले महसुस गर्ने गरी स्थापित गर्नुपर्छ, ताकि यसलाई आफ्नो जीवनशैली बनाएर त्यसबाटै उनीहरुले जीवन सहज र सरल बनाउन सकून् ।”

सञ्चार तथा सूचना प्रविधिको महत्व केही प्राविधिक व्यक्तिहरुले मात्रै बुझ्ने र बाँकीले आफूलाई उपभोक्ताका रुपमा मात्र लिनेभन्दा पनि सबैले सूचना प्रविधि क्षेत्रलाई आत्मसात् गर्नेगरी यसको विकास गर्नुपर्नेमा मन्त्री शर्माले जोड दिनुभयो । अब सुशासन र समृद्धिको आधार नै सञ्चार तथा सूचना प्रविधि क्षेत्र भएकाले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि क्षेत्रको लगानी वृद्धि गर्न कानुन परिमार्जन गरेर जाने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सरकारी र निजी क्षेत्रको सहकार्यबाट सूचना प्रविधि प्रयोग गरी मुलुकलाई समृद्ध बनाउन सकिने स्पष्ट गर्नुभयो ।

छलफलमा प्रतिनिधिसभा सदस्य मनिष झाले सूचना प्रविधि क्षेत्रलाई समुदायस्तरमा पु¥याएर हरेक विद्यालयमा यसलाई प्रतिष्पर्धाको विधा बनाउनुपर्ने बताउनुभयो । सूचना प्रविधिमा विद्यालय तहहुँदै प्रदेश र राष्ट्रियस्तरमा प्रतिस्पर्धा गराएर लाखौँ युवालाई देशभित्रै रोजगार र स्वरोजगार बनाउन सकिने उहाँले स्पष्ट गर्नुभयो ।

सो क्रममा नास आइटीका पदाधिकारीले पालिकास्तरमा हरेक नागरिकको एकीकृत तथ्याङ्क व्यवस्थापन गर्ने गरी एकीकृत डाटा केन्द्र स्थापना गर्नुपर्ने, नेपाली आइटी कम्पनीले देश बाहिर शाखा स्थापना गर्ने गरी कानुनी व्यवस्था गर्नुपर्ने, आइटी उद्योग र स्टार्टअपलाई प्राथमिक क्षेत्रको ऋणको वर्गको समावेश गर्नुपर्ने, सूचना प्रविधिको काम एकद्वार प्रणालीबाट गर्न आइटी बोर्ड स्थापना गर्नुपर्ने, आइटी पार्क र हब स्थापना गरेर एकैथलोबाट सूचना प्रविधिको काम गराउन सरकारले सहजीकरण गर्नुपर्ने, सरकारी निकायका लागि सफ्टवेयर खरिद गर्दा स्थानीयलाई प्राथमिकता दिनुपर्नेलगायतका सुझाव दिनुभएको थियो । छलफलमा नास–आइटीका अध्यक्ष रिचन श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

चीनबाट आयात गरिएको रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम ढुवानी भइरहेको छ । करिब ११ महिना गोदममा थन्किएको मल आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै मल काठमाडौँतर्फ ढुवानी भएको हो । कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भएपछि तीन हजार पाँच सय टन मल काठमाडौँ पठाइएको भन्सार कार्यालयले जनाएको छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीका अनुसार तीन हजार पाँच सय टन मलमध्ये हालसम्म एक हजार दुई सय टनभन्दा बढी मल जाँच पास भएर काठमाडौँ पुगेको छ । बाँकी मल पनि जाँच पास प्रक्रियामा रहेकाले चाँडै नै काठमाडौँ पुग्नेछ ।

सरकार गठन र विघटनका शृङ्खलाले देश विकासमा अवरोध भएको छः रामशङ्कर यादव

काठमाडौँ, ७ वैशाखः अहिले वैदेशिक रोजगारीमा जाने युवाको ताँती छ । युवा पलायन रोक्न देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न जरुरी भएको छ । ‘आफ्नो देश छाडेर परदेश नजाऊ’ भन्न राज्यले उनीहरूलाई परिवार पाल्न सक्ने रोजगारीको व्यवस्था गर्न सक्नुपर्छ । सरकार गठन र विघटनको शृङ्खलाले देशको विकास प्रयासमा अवरोध भएको छ । जनताले राजनीतिक स्थायित्व विकास चाहेका छन् । देश र जनताको हित गर्ने राजनीतिक पार्टीलाई सत्तामा पुग्नेगरी मत दिनुपर्छ । अनिमात्र देशको विकासमा ती दलले काम गर्ने वातावरण बन्छ ।

हामीले अङ्गीकार गरेको संसदीय अभ्यास सैद्धान्तिक रूपमा मलाई ठीक लागेको छ । यद्यपि कतिपय व्यावहारिक पक्षमा अझै सुधारको खाँचो छ । सदनभित्र हामी जरुरी विषयलाई थाँती राखेर अनावश्यक कुरामा बढी केन्द्रित भएको देख्छु । सदनभित्र सांसदहरूले कानुन बनाउने विषयमा बढी ध्यान दिनुपर्छ । तर कानुन अलपत्र परेको देख्दा सांसदको नाताले आफैँलाई हीनताबोध हुन्छ । पछिल्लो निर्वाचनपछि संसद्का तीनवटा अधिवेशन बसिसके, तर संसद्बाट जम्मा चारवटा कानुन पास भयो । सांसदको काममा कमी भयो । सांसदहरूको मनोबल नै कमजोर भएको छ । सांसदले शून्य र विशेष समयमा जनताका आधारभूत कुरा राख्छन्, तर ती कार्यान्वयन हुँदैनन् ।

राजनीतिमा म पनि धेरै समयदेखि क्रियाशील छु । तैपनि पहिलोपटक प्रतिनिधिसभा सदस्य बनेको हुँ । देशका ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले मुलुकका लागि जेजति गर्नुपर्ने हो त्यो गर्न सकेको देखिँदैन । देश र जनतालाई भुलेर आफ्नो स्वार्थका लागि अलि बढी काम गरेको जस्तो देखिन्छ । नेताहरूमा नैतिकता हुनुपर्छ । भ्रष्टाचार न्यूनीकरण नभएसम्म देश बन्दैन ।

राजनीति कमाउने पेसा होइन, यो समाजसेवा हो । सांसदहरूको पनि सोच अलि फरक छ । आफ्नो क्षेत्रमा बजेट लिएर जान पाए जनता खुसी हुने थिए भन्ने हरेक सांसदको सोचाइ हुन्छ । जनताले भोट दिएर जिताएका सांसदलाई विकास निर्माणको काम गर्नुपर्ने पनि जरुरी हुन्छ । जनताले विकासकै कामको आशा गर्छ । के–के विकास गर्यो त ? त्यो नै प्रश्न हुन्छ । ठूला नेता, प्रभावशाली सांसदले आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका लागि धेरै बजेट लैजाने गलत प्रवृत्ति हाबी छ ।

सिराहा जिल्ला पञ्चायती व्यवस्थादेखि नै विकास निर्माणमा पछि परेको छ । त्यहाँको मुख्य समस्या खानेपानी र सिँचाइ हो । हामीजस्ता साना सांसदको जिल्लामा बजेट नै दिइएन । यसबाट जनतामा निराशा छ । खेतीबालीका लागि उर्वर यस क्षेत्रमा सिँचाइ अभाव किसानले भोग्नुपरिरहेकै छ । तर हाम्रो कुरा सुनुवाइ भइरहेको छैन । आगामी बजेटमा सरकारले सिराहाको विकासका लागि केही गर्छ कि ?

हामी नेपाली स्वाभिमानी छौँ । सङ्घीय व्यवस्था उपयुक्त व्यवस्था हो । यो व्यवस्थालाई खराब भन्न मिल्दैन । यो व्यवस्थामा अन्याय, भ्रष्टाचार, अनियमितता रोक्न जनता नै जाग्नुपर्छ । दलीय प्रणालीमा ‘ह्वीप’ जारी हुन्छ । सांसदले समर्थन गर्न मन नभए पनि गर्नुपर्ने बाध्यता हुन्छ । संसदीय व्यवस्थामा प्रधानमन्त्री देशका लागि समर्पित हुनुपर्छ । कर्मचारी संयन्त्र पनि स्वच्छ छविको हुनुुपर्छ । अनिमात्र देशमा सुशासन प्रत्याभूत हुनसक्छ ।

सांसद रामशङ्कर यादवको परिचय

सांसद रामशङ्कर यादवको जन्म २०१८ साल असोज १४ गते सिराहा जिल्लामा भएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट प्रत्यक्ष निर्वाचित सांसद यादव २०५६ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । विसं २०७८ मा एमाले केन्द्रीय सदस्य र राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुँदै २०७९ मङ्सिर ४ को निर्वाचनमा उहाँ सिराहा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो ।
(सांसद यादवसँग राससका समाचारदाता कालिका खड्काले गर्नुभएको कुराकानीको सम्पादित अंश ।)

प्रधानमन्त्रीसँग हमासको कब्जामा रहेका विपिन जोशीका परिवारको भेट

काठमाडौँ, ७ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवाआमासहित परिवारका सदस्यले भेट गरेका हुन् । भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र त्यस निम्ति निरन्तर पहल गरिरहेको बताउँदै चाँडै सकारात्मक परिणाम आउनेमा आफू आशावादी रहेको उल्लेख गर्नुभयो ।

प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक सूचना जारी गरेर काफ्लेपाटी, बलुडाँडा, गुराँसे, माथिल्लो फेदीबजार तथा होटलमा मदिरा बेच्न तथा सेवनमा निषेध गरेको हो । तीर्थयात्रीको सुरक्षा र स्वास्थ्यलाई दृष्टिगत गरी मदिरा निषेध गरिएको जनाइएको छ ।

पाथीभरा क्षेत्रमा मदिराजन्य पदार्थको सेवन, ओसारपसार र बिक्री पूर्ण रूपमा निषेध गरिएसँगै यसको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध सबै पक्षसँग समितिले आग्रह पनि गरेको छ ।

सुर्खेतमा आजदेखि ‘एन्फा महिला लिग–२०२४ छनोट फुटबल प्रतियोगिता’ हुँदै

कर्णाली, ७ वैशाखः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग–२०२४ छनोट फुटबल प्रतियोगिता’ हुँदैछ ।अखिल नेपाल फुटबल सङ्घको आयोजनामा वीरेन्द्रनगरस्थित रङ्गशालामा हुने प्रतियोगितामा सातै प्रदेशका खेलाडी र अफिसियल गरी एक सय ५० भन्दा बढीको सहभागिता हुने सुर्खेत जिल्ला फुटबल सङ्घका अध्यक्ष रवीन्द्र चन्दले जानकारी दिनुभयो । प्रतियोगिता ‘राउण्ड रविन’ ढाँचामा सञ्चालन हुनेछ ।

शीर्ष तीन टोली एन्फा महिला लिग–२०२४ को दोस्रो चरणमा प्रवेश गर्ने र तिनले नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, सशस्त्र प्रहरी बल र नेपाल पुलिस क्लबको महिला टोलीसँग प्रतिस्पर्धा गर्ने उहाँले बताउनुभयो । अध्यक्ष चन्दका अनुसार उक्त प्रतियोगिताका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले रु २० लाख र राष्ट्रिय खेलकुद विकास परिषद्बाट रु २५ लाख विनियोजन भएको छ ।

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ, ७ वैशाखः हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख प्रदान गरेको छ । पालिकाले छात्रवृत्तिस्वरुप उक्त रकम उपलब्ध गराएको हो ।

नगरपालिकाले बिहीबार वडा नं ४ बडहरेका विकेश सिलवाल र वडा नं ६ मङ्गलटारका हेमन राईलाई उक्त रकम प्रदान गरेको हो । नगर कार्यपालिकाद्वारा पारित छात्रवृत्ति कार्यक्रमअन्तर्गत पहिलोपटक दुई छात्रलाई प्रोत्साहन रकम उपलब्ध गराइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो । “नगरपालिकाले रोजगारमूलक गुणस्तरीय शिक्षामा जोड दिएको छ । नगरपालिकाभित्रका छात्रछात्रालाई प्राविधिक विषय अध्ययन गर्न प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ”, उहाँले भन्नुभयो, “चिकित्साशास्त्र, कृषि तथा पशु विज्ञान, वन तथा वातावरण विज्ञान, इन्जिनीयरिङ र सूचना प्रविधिका विषय गरी पाँच विषयमा उच्च शिक्षा अध्ययन गर्नेलाई रकम प्रदान गरिने छ ।”

यसैबीच, हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर क्रमशः सुधार भएको छ । गत वर्षको परीक्षामा करिब २२ प्रतिशत विद्यार्थीमात्र सबै विषयमा उत्तीर्ण भएकामा यस वर्ष ४० दशमलव ६३ प्रतिशत उत्तीर्ण भएको नगरप्रमुख राईले बताउनुभयो । गत वर्षदेखि नगरपालिकाले सामुदायिक विद्यालयको परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन व्यवस्थित गर्न थालेको थियो । कक्षा ४ देखि ९ सम्मको वार्षिक परीक्षामा फरक विद्यालयका शिक्षकलाई फरक विद्यालयमा परीक्षा केन्द्राध्यक्ष बनाएर खटाइएको थियो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाको मातहतमा प्रश्नपत्र बनाउने र उत्तरपुस्तिका परीक्षण गरी नतिजा प्रकाशन सुरु गरिएको थियो । शैक्षिकसत्र २०८०÷८१ मा कक्षा ४ देखि ९ सम्म नगरपालिकाका सबै सामुदायिक विद्यालयबाट दुई हजार सात सय पाँचजना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । यसमध्ये एक हजार ९९ विद्यार्थी उत्तीर्ण भएका छन् ।

कञ्चनपुरमा गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट

महेन्द्रनगर (कञ्चनपुर), ७ वैशाखः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ ।

दोधारा चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले जानकारी दिनुभयो । उहाँले स्थानीय पुजन बरालसहित १५ स्थानीयको गहुँबालीमा आगलागी भएको बताउनुभयो ।

“आगलागीबाट सात बिघा जमिनको गहुँबाली पूर्ण रूपमा क्षति भएको छ”, बस्नेतले भन्नुभयो, “स्थानीय, सुरक्षा निकाय, जनप्रतिनिधि र भीमदत्त र दोधारा चाँदनी नगरपालिकाको दमकलको सहायताले आगो निभाइएको थियो ।”

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

काँक्रेविहार (सुर्खेत), ७ वैशाख : भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ ।डोल्पा, जाजरकोट, रुकुमपश्चिमलाई जोड्ने बेलिब्रिजका पाताहरु सबै जडान भएका आयोजना प्रमुख सुनिल रन्जितकारले राससलाई बताउनुभयो । पुलको ‘बेस प्लेट’ जडानको काम भोलिदेखि सुरु हुने उहाँले जानकारी दिनुभयो ।

आगामी एक महिनाभित्र सम्पूर्ण काम पूरा गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उहाँले बताउनुभयो । पुलका निम्ति रु तीन करोड ८१ लाख विनियोजन भएको छ । यो पुल तीन जिल्लाको ‘लाइफ लाइन’ मात्र नभइ भारत, नेपाल र चीन जोड्ने सडकको महत्वपूर्ण संरचना हो ।एक सय १८ किलोमिटर लामो जाजरकोट–डोल्पा सडकको ५६ किलोमिटर खण्डमा अहिले काम भइरहेको छ ।

बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भागका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । त्यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा वर्षा र हिमपातको पनि सम्भावना छ ।

आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार कोशी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा पानी र हिउँ पर्नेछ । लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

चितवनका भित्री सडकमा दुर्घटना सबैभन्दा बढी

नारायणगढ (चितवन) – जिल्लामा भएका सवारी दुर्घटनामध्ये सबैभन्दा बढी भित्री सडकमा भएका छन् । गत वर्ष विभिन्न सडकमा तीन सय ७४ दुर्घटना भएकामा ती दुर्घटनामा परी एक सय चारजनाको मृत्यु भएको छ ।

भित्री सडकमा मात्रै दुई सय दुईवटा दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको छ भने तीन सय १२ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुरेश सुवेदीका अनुसार विसं २०८० मा भएका दुर्घटनामा छ सय ८५ घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गमा भएका ८० वटा दुर्घटनामा २५ जनाको मृत्यु भएको छ भने एक सय ७५ जना घाइते भएका सेवेदीले जानकारी दिनुभयो । जिल्लाको नारायणगढ–मुग्लिन सडकखण्डमा ५२ सवारी दुर्घटनामा भएका छन् । ती दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने एक सय ३५ घाइते भएका छन् ।

पृथ्वी राजमार्गमा भएका १६ दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ३७ घाइते भएका छन् । मुख्य सहरी क्षेत्रमा भएका २४ सवारी दुर्घटनामा आठको मृत्यु भएको छ भने २६ जना घाइते भएका कार्यालयको तथ्याङ्कले देखाएको छ ।

भित्री सडकमा तीव्रगति, सवारी चालकको लापरवाही र ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउँदा दुर्घटना बढी हुने गरेको प्रमुख सुवेदीको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले भएका सवारी दुर्घटनामा मोटरसाइकल बढी छन् । रातको समयमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा बढी दुर्घटना हुने गरेको छ ।”

दुर्घटना न्यूनीकरणका लागि नियमित रूपमा ट्राफिक प्रहरीले जाँचलाई कडाइ र दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइएको उहाँले बताउनुभयो ।

माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्ला यामिनलाई उच्च अदालतले बिहीबार रिहा गरेको छ ।

माल्दिभ्समा तीन न्यायाधीशको उच्च अदालतको इजलासले यामिनको सन् २०२२ को मुद्दा अनुचित भएको ठहर गर्दै नयाँ मुद्दाको आदेश दिएको छ । न्यायाधीश हसन शफिउले लामो फैसला पढ्दै तल्लो अदालतको फैसला निष्पक्ष नभएको बताउनुभयो । फैसलाको प्रत्यक्ष प्रसारण गरिएको थियो ।

फैसला आइतबारको संसदीय निर्वाचनअघि आएको छ । निर्वाचनमा यामिनले आफ्नो सजाय भोग्दै गर्दा आफूले गठन गरेको राजनीतिक दलबाट उम्मेदवार उतार्दै हुनुहुन्छ ।

यामिनलाई दुई आरोपमा दोषी ठहर गरिएको थियो । सन् २०१३ देखि सन् २०१८ सम्म सत्तामा रहँदा पर्यटन विकासका लागि एउटा सानो टापु भाडामा दिन घुस लिएको आरोपमा अदालतले दोषी ठहर गरेको थियो । बिहीबारको फैसलाले उक्त फैसलालाई खारेज गरेको छ । यामिनका सह–आरोपी युसुफ नइमलाई पनि रिहा गरिएको छ । व्यापारी नइमलाई १० लाख डलर घुस दिएको आरोपमा दोषी ठहर गरिएको थियो ।

चौँसठ्ठी वर्षीय यामिनलाई उच्च सुरक्षा भएको माफुशी कारागारमा राखिएको थियो तर उहाँका सहयोगी मोहम्मद मुइज्जु गत सेप्टेम्बरमा राष्ट्रपति निर्वाचनमा विजय भएको भोलिपल्टै यामिनलाई नजरबन्दमा राखिएको थियो ।