`

कालिका मन्दिर परिसरमा लागेको यस वर्षको चैतेदसैँं मेलामा १० करोडको कारोबार

गलकोट (बागलुङ)- यस वर्षको चैतेदसैँं मेलामा रु १० करोडको कारोबार भएको छ । तीन सय वर्षभन्दा पुरानो मेलाको रूपमा रहेको चैतेदसैँं मेलाले बागलुङमा निरन्तरता पाएको छ । कालिका मन्दिर परिसरमा चैत ३० गतेदेखि लागेको चैतेदसैँ मेला बिहीबार सकिएको थियो ।

मेलामा स्थानीय उत्पादन डाला, नाङ्ला, ठेका र मादललगायतको स्टल राखिएको थियो । एक सय ५० वटा स्टलमा खाद्यान्न, लत्ताकपडा, कस्मेटिक र खेलौनालगायतका सामग्रीको कारोबार भएको थियो । बागलुङको पर्यटन व्यवसाय समेत मेलाले चलायमान बनाउँदै आएको छ ।

बागलुङ कालिका भगवती गुठीद्वारा आयोजित मेलामा स्थानीय र आयातित उत्पादनको खरिद बिक्री भएको थियो । पाँच लाखभन्दा बढीले मेलाको अवलोकन गरेको अनुमान बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको छ ।

“तीन सय वर्ष पुरानो मेलाको रुपमा रहेको चैतेदसैँं मेलामालाई संरक्षणसँगै निरन्तरता दिइएको छ, मेलामा राम्रो आर्थिक कारोबार भएको छ, स्टलमा खरिद गर्नेको भीड लागेको थियो”, बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका कुमार अध्यक्ष खड्काले भन्नुभयो “मेलालाई नाफा घाटाका रुपमा नलिई चैतेदसैँं मेला संरक्षणका काम गर्दै आएका छौँ, मेला सञ्चालनमा लागि कालिका गुठीले व्यवस्थापनमा रु ५५ लाख खर्च गरेको छ ।”

कालिका मन्दिरले प्रत्येक वर्ष रु १० लाख चैतेदसैँं मेला सञ्चालनका लागि दिने गरेको छ । अन्य खर्च प्रायोजक, स्टलबाट उठाएर मेला सञ्चालन गरिँदै आएको छ ।

मेलाका अवसरमा कालिका कप खुला राष्ट्रिय भलिबल प्रतियोगिता, खुला लोकदोहोरी प्रतियोगिता, छेलो, विद्यालयस्तरीय नृत्य, कालिका मन्दिर परिसरबाट शालग्राम सङ्ग्राहलयसम्म दौडलगायतका प्रतियोगिता सम्पन्न गरिएको छ । चैतेदसैँं मेलामा नेपालका विभिन्न जिल्ला चितवन, काठमाडौँसहित भारतीय धार्मिक पर्यटकसमेत आएका थिए ।

विद्यार्थी घटेपछि ३१ विद्यालयको तह घटाइयो, दुई विद्यालय बन्द

गलकोट (बागलुङ)-विद्यार्थी सङ्ख्या नपुगेका ३१ सामुदायिक विद्यालयको तह घटाइएको छ । बागलुङ नगरपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्दै ‘लिड विद्यालय’, आवासीयसहितको विद्यालय र ‘बिग विद्यालय’को अवधारणा कार्यान्वयनका लागि विद्यार्थी थोरै भएका ३१ सामुदायिक विद्यालयको हाल भइरहेको कक्षाको तह घटाएको छ ।

विद्यार्थी अभाव झेल्दै आएका प्राथमिक विद्यालय र आधारभूत विद्यालयमा तह घटाइएको छ भने दुई विद्यालय तत्कालका लागि बन्द गरिएको छ । बन्द हुने विद्यालयमा बागलुङ नगरपालिका–९ तित्याङका रानेभूमि प्रावि र सरस्वती प्रावि छन् ।

विद्यालयमा भौतिक पूर्वाधार थपिँदै जाने र विद्यार्थीको सङ्ख्या घट्ने अवस्थामा विद्यार्थीको सङ्ख्याका आधारमा कक्षा सञ्चालन गर्दा गुणस्तरमा वृद्धि हुने विद्यार्थी सङ्ख्या धेरै भएको विद्यालयमा शिक्षकको अभाव नहुने र विद्यालयमा गरिएको लगानी सदुपयोग हुने भएकाले बागलुङ नगरपालिकाले ३१ विद्यालयको तह मिलान गरी घटाइएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाले दुई वर्षसम्म गरेको विद्यालयको अध्ययनअनुसार विद्यालय तह मिलान कार्यविधिअन्तर्गत रही तह मिलान गरिएको श्रेष्ठको भनाइ छ । “१३औँ नगरसभाबाट विद्यालय व्यवस्थापन गर्ने सम्बन्धमा भएको निर्णय, नगर शिक्षा समितिको सुझाव र विद्यालयको स्थलगत अनुगमन समितिको सिफारिस प्रतिवेदनको आधारमा विद्यालय स्थगत र तह मिलान गरेको हो”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “तह घटाउँदा एक घण्टा हिँड्नुपर्ने अवस्थाका विद्यालयलाई असर पारिएको छैन, न्यून विद्यार्थी भई घर नजिकै वैकल्पिक विद्यालय भएका विद्यालय छनोट गरेर तह घटाइएको छ, तह घटाउँदा धेरै हुन आएका शिक्षकलाई विद्यार्थी सङ्ख्याको अनुपातमा दरबन्दी मिलान गरिन्छ ।”

तह घटाइएपछि बालविकास केन्द्र सञ्चालन हुने विद्यालयको सङ्ख्या आठ, बालविकास केन्द्र र कक्षा एकमात्र सञ्चालन हुने विद्यालय ११, कक्षा १ मात्र सञ्चालन हुने विद्यालय एक, कक्षा १ देखि ३ सम्म सञ्चालन हुने विद्यालय पाँच, कक्षा १ देखि ४ सम्म सञ्चालन हुने विद्यालय दुई र चार विद्यालयमा कक्षा १ देखि ६ कक्षासम्म सञ्चालन हुने छ ।

नगरपालिकाले विद्यालयमा गरेको लगानी बालुवामा पानी भएको भन्दै विद्यार्थी भएको विद्यालयमा मात्रै भौतिक पूर्वाधार, प्रविधि र अङ्ग्रेजीमा पठनपाठन गराउनेगरी तह मिलान गर्न थालेको नगरउपप्रमुख राजु खड्काले बताउनुभयो । खड्काका अनुसार जनसङ्ख्या बढ्दा आवश्यकता देखिएर समुदायस्तरको पहलमा खोलिएका विद्यालयमा क्रमशः घट्दो जनसङ्ख्या, बसाइँसराइ, संस्थागत विद्यालयमा आकर्षणजस्ता कारण विद्यालयमा विद्यार्थीको सङ्ख्या अपुग हुन थालेपछि विद्यालय घटाउन थालिएको हो ।

नगरपालिकाले टाढाका विद्यार्थीलाई आवासीयसहितको विद्यालय बनाउने र गुणस्तरी शिक्षामा जोड दिनका लागि एकीकृत विद्यालयको अवधारणा ल्याइएको नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेलले जानकारी दिनुभयो । “कतै शिक्षकले विद्यालय कुर्नुपर्ने त कतै विद्यार्थीले शिक्षक नपाउने अवस्था हाम्रो नगरमा आयो, एक हजार तीन सय विद्यार्थी भएको विद्यालय, जिल्लाकै नमूना विद्यालय हाम्रै नगरभित्र छन्, तर एक–दुई विद्यार्थी पढाएर शिक्षक बस्नुपर्ने अवस्था अन्त्य गर्न आवश्यक छ, त्यहाँका विद्यार्थीलाई आवासीयसहितको सुविधा दिन सकिन्छ”, पोख्रेलले भन्नुभयो ।

विद्यालय स्थगन र तह मिलानपछि धेरै हुन आउने शिक्षकलाई सोही वडाभित्रका आवश्यक रहेका विद्यालयमा व्यवस्थापन गरिने छ । नजिकमा विद्यालय नभएको, अलग्गै बस्ती र भौगोलिक विकटता भएको विद्यालय तथा कक्षा स्थगनले पढाइबाट बञ्चित हुने बालबालिकालाई आवश्यक वैकल्पिक व्यवस्था मिलाइएको छ । नगरपालिकाले स्थगन भएका विद्यालयमा सञ्चालित प्रारम्भिक बालविकास कक्षा आवश्यक रहेसम्म कायम राखिने, स्थगन भएका विद्यालयमा दोब्बर सङ्ख्यामा विद्यार्थी उपलब्ध भए पुनः विद्यालय सञ्चालन गर्न सकिने जनाएको छ ।

स्थगन भई खाली हुने विद्यालयलाई वडा कार्यालयको संरक्षकत्वमा विद्यालय छात्राबास, पुस्तकालय, सामुदायिक सिकाइ तथा प्रशिक्षण केन्द्र, सामुदायिक प्रयोजनका भवन, टोल सुधार, महिला समूहको भवनको रुपमा प्रयोगमा ल्याइने छ ।

अनुगमन समितिले तय गरेको मापदण्डबमोजिम विद्यालय स्थगन भई विद्यार्थी जाने विद्यालयका लागि बढीमा रु दुई लाख र तह मिलान हुने विद्यालयलाई प्रतिकक्षा बढीमा रु २५ हजारका दरले एकपटकका लागि अनुदान दिइने छ ।

यस्तै नगरपालिकाले नेपाल सरकारले दिवाखाजाका लागि दिने रु १५ मा नगरले रु पाँच थप अनुदान निकासा दिइने छ । यसो गर्दा दिवाखाजामा मात्रै नगरपालिकाको वार्षिक रु ५० लाख अतिरिक्त खर्च हुनेछ । नगरपालिकाले शिक्षामा गुणस्तर बढाई संस्थागतभन्दा अब्बल विद्यार्थी बनाउन शैक्षिक सुधारको रणनीति ल्याएको छ ।

हामी र हाम्रो दल कसैको दास भएर कसैको इशारामा हिँड्दैनौँ – अध्यक्ष नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले निर्वाह गर्ने भूमिका निर्णायक भएको बताउनुभएको छ ।

कोशी प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनमा अध्यक्ष नेपालले एकीकृत समाजवादीले संविधानको रक्षा गर्दै जनताको सेवालाई केन्द्रमा राखेर राजनीति गरेकाले भूमिका निर्णायक बन्दै गएको बताउनुभयो । कुनै पनि दलले एकीकृत समाजवादीलाई सानो दल वा कमजोर आकलन नगर्न चेतावनी दिँदै त्यस्तो भुल कसैले गरेमा सह्य नहुने प्रष्ट पार्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले पार्टीले देश र जनताको हितलाई सर्वोपरी राखेको बताउनुभयो । उहाँले अहिलेको राजनीतिमा उथुलपुथल पार्ने क्षमता एकीकृत समाजवादी पार्टीसँग भएको उल्लेख गर्दै आफ्नो पार्टी कम्युनिष्ट आदर्श तथा मूल्य–मान्यताअनुसार अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी र हाम्रो दल कसैको दास भएर कसैको इशारामा हिँड्दैनौँ, हामी स्वाभिमानी छौँ ।”

उहाँले सुदूरपश्चिममा चार सिट हुँदा पनि आफ्नै पार्टीको मुख्यमन्त्री रहेको भन्दै बागमती, मधेससहितका प्रदेशमा एकीकृत समाजवादीको सहभागिताबिना सरकार बनाउने कल्पनासमेत गर्न नसकिने प्रष्ट पार्नुभयो ।

उहाँले लोकतान्त्रिक आचरण बोकेका सबै दलसँग समन्वय र सहकार्यको खाँचो औँल्याउनुभयो । व्यक्तिवाद हाबी भएका कम्युनिष्ट पार्टीसँग कार्यगत एकता नहुने अध्यक्ष नेपालको भनाइ थियो ।

भारतीय नाका जोड्ने अमरपथ सडकमा धमाधम कालोपत्रे हुँदै

झापा- कनकाई नगरपालिकादेखि सीमावर्ती भारतको विहार राज्यको डिगलबैंक नाका जोड्ने सडकमा धमाधम कालोपत्रे भइरहेको छ । ‘अमरपथ सडक’ नामाकरण गरिएको उक्त सडकको १५ किलोमिटर कालोपत्रे निर्माण सम्पन्न भइसकेको पूर्वाधार विकास कार्यालय झापाले जनाएको छ । पूर्वपश्चिम राजमार्गको सुरुङ्गा चोकदेखि डिगलबैंकसम्मको २४ किलोमिटर सडकमध्ये अब नौ किलोमिटर कालोपत्रे हुन बाँकी रहेको कार्यालयका इन्जिनियर कुलानन्द चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो सडकको दुई खण्डमा निर्माण भइरहेको छ । मैनाचुली–रोशन जेभीले रु ५७ करोड १८ लाखमा सडक निर्माणको ठेक्का लिएको छ । जसमध्ये सुरुङ्गा चोकदेखि झापा गाउँपालिकाको सीमानासम्म पहिलो खण्डको आठ किलोमिटर सडक कालोपत्रे गत मंसिरमै सम्पन्न भएको थियो ।

अमरपथ सडक खण्डको दोस्रो चरणको निर्माण तीव्र गतिमा भइरहेको उहाँले जानकारी दिनुभयो । झापा गाउँपालिकादेखि दक्षिणतर्फ सात किलोमिटर सडकको कालोपत्रे भइसकेकोे बताउनुभयो ।

इन्जिनियर चौधरीका अनुसार निर्माण कम्पनीले वि.सं. २०७६ मंसिर ३० गते चार वर्षको अवधिमा सडक निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । तर कोभिड महामारी र सरकारले समयमा बजेट निकासी गर्न नसक्दा एक वर्षको म्याद थप गरी विसं २०८१ मंसिर ३० गते निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत सो सडकको निर्माण भइरहेको छ । सडक निर्माणमा बजेट अभाव भएको कार्यालयले जनाएको छ । “सडक सम्पन्न गर्न अझै रु १५ करोड रकम चाहिन्छ”, उहाँले भन्नुभयो, “तर कार्यालयसँग अब रु १५ लाख जति मात्र बजेट बाँकी छ ।”

उहाँले मन्त्रालयले बजेटको सुनिश्चितता नगरी योजना कार्यान्वयन गर्दा तोकिएको मितिमा काम सक्न सकस हुने गरेको बताउनुभयो । उहाँका अनुसार थप बजेट निकास भएमा तोकिएकै मितिमा सडकको निर्माण सम्पन्न हुनेछ ।

कम्युनिष्ट पार्टीबीच तत्काल एकता सम्भव छैन : उपाध्यक्ष पाण्डे

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान परिस्थितिमा कम्युनिष्ट पार्टीहरुबीच तत्काल एकताको सम्भावना नरहेको बताउनुभएको छ ।

धादिङ–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा उहाँले कम्युनिष्ट एकताका लागि विचार, कार्यदिशा र सिद्धान्तमा आवश्यक छलफल गर्न बाँकी रहेकाले अहिले एकता नहुने बताउनुभयो ।

केही नेताहरूले एकताको हल्ला चलाएको भए पनि यसमा कुनै सत्यता नरहेको उहाँको भनाइ थियो । नेता पाण्डेले कम्युनिष्ट पार्टीहरूमा आ–आफ्नै विचार रहेकाले अहिलेकै अवस्थामा एकता गर्ने अवस्था नरहेको बताउनुभयो ।

कम्युनिष्ट आन्दोलनको मूलधार आफ्नो पार्टी भएको भन्दै उहाँले निष्ठावान कार्यकर्ता र जनताको बलमा पार्टीको अस्तित्व कायम गर्ने प्रष्ट पार्नुभयो । उपाध्यक्ष पाण्डेले आगामी निर्वाचनमा पार्टीले एक्लै चुनाव लडेर जित्ने दृढताका साथ सङ्गठन विस्तार गर्नुपर्ने र अबको मुख्य कार्यभार सङ्गठन सुदृढीकरण गरी पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रसिद्ध तीर्थस्थल पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन पुगे

फुङ्लिङ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा सनिबार एकैदिन छ हजार चार सय ३८ भक्तजन पूजापाठका लागि पुगेका छन् ।चैतेदसैँको छेकमा पूजापाठ गर्न उत्तम हुने र मौसमसमेत खुलेकाले भक्तजनको आगमन बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । अन्य दिनको तुलनामा शनिबार र मङ्गलबार पाथीभरामा भक्तजनको चाप बढ्ने गरेको छ । स्वदेशी तथा विदेशी तीर्थयात्री यस मन्दिरमा आउने गरेका छन् । भक्तजनको चाप बढेपछि सहज रूपमा पूजापाठका लागि जनशक्ति खटाएर आवश्यक प्रबन्ध मिलाइएको समितिले जनाएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक लाख ६८ हजार चार सय ६८ भक्तजनले पाथीभरामा पुगेर पूजापाठ गरेको तथ्याङ्क समितिले सार्वजनिक गरेको छ । भदौमा पाँच हजार, असोजमा १० हजार तीन सय ४३, कात्तिकमा ४९ हजार एक सय ६३ भक्तजन पाथीभरा आएको समितिले जनाएको छ ।

यस्तै मङ्सिरमा २० हजार चार सय १६, पुसमा पाँच हजार छ सय ५५, माघमा छ हजार एक सय एक, फागुनमा १७ हजार नौ सय १२ भक्तजन पाथीभरा पुगेका छन् ।
 

धार्मिक सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छः राष्ट्रपति

काठमाडौँ, ९ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने बताउनुभएको छ ।

२६२३औँ महावीर जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणका लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न आग्रह पनि गर्नुभयो ।

“सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास छ”, राष्ट्रपति पौडेलद्वारा जारी शुभकामनामा भनिएको छ । उहाँले सम्पूर्ण नेपाली जैन धर्मावलम्बीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ । महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचारी र अपरिग्रहका सिद्धान्तहरू परिपालन गर्नुभएको थियो । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ ।

कोशी, मधेस र लु्म्बिनी प्रदेशका तराई क्षेत्रमा हुरीबतासको चेतावनी

काठमाडौँ, ९ वैशाखः हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा पानी र हिउँ पर्ने सम्भावना छ ।

लुम्बिनी र कोशी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले ती क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

त्यसैगरी, आज राति कोशी, मधेस,बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली हुने तथा बाँकी भागका मौसम सफा रहने छ । मधेस तथा कोशी प्रदेशका तराई भेगका एक–दुई स्थानमा हुरीबतासको सम्भावना छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

मधेस तथा कोशी प्रदेशका तराई भेगका एक–दुई स्थान र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

हेर्नुहोस् बैशाख ९ गते आइतवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । सहि निणर्य गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ ।

बृष राशि – सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निणर्य गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

मीथुन राशि- प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

कर्कट राशि – यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निणर्यले दाजुभाई बिच मनमुटाब रहन सक्ला । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

सिंह राशि – बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । खानपानको कारण स्वास्थ सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

कन्या राशि – पारीवरिक शुःख प्राप्त हुनेछ । निणर्य गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

तुला राशि- खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि – बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्याले सताउनेछ ।

धनु राशि- कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मकर राशि – मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।

कुम्भ राशि – स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्नेछ । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मिन राशि – मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

विराटनगर महानगरपालिकाले मलामी बसलाई निःशुल्क इन्धन उपलब्ध गराउने

विराटनगर-मलामीका लागि निःशुल्क रूपमा सञ्चालित बसका लागि विराटनगर महानगरपालिकाले इन्धन उपलब्ध गराउने भएको छ । विराटनगरका युवा करिम अन्सारीले मलामीका लागि निःशुल्क रूपमा उपलब्ध गराउँदै बसका लागि महानगरले इन्धन उपलब्ध गराउने भएको हो ।

विराट सेवा आश्रमसँगको सहकार्यमा विराटनगर वडा नं १० ले अन्सारी र ज्येष्ठ नागरिकको आज सम्मान गरेको थियो । सो सम्मान कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले मलामीका लागि सञ्चालित बसलाई मासिक इन्धन उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “यस्तो पवित्र कार्यमा महानगरपालिका पनि सहभागी हुन चाहन्छ । बसका लागि आवश्यक पर्ने इन्धन महानगरपालिकाले मासिक रूपमै उपलब्ध गराउनेछ ।”

ज्येष्ठ नागरिकका ज्ञान र अनुभवलाई समाजले अनुशरण गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकका अनुभव, ज्ञान र सीपलाई अनुशरण नगरेकै कारण समाज पछाडि परेको छ, अनुभवसँगै ज्ञान, संस्कारसमेत ज्येष्ठ नागरिकबाट सिक्नु अहिलेको आवश्यकता हो ।” उहाँले महानगरपालिकाले ज्येष्ठ नागरिकलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

महानगरले १९ वटै वडामा घरघर पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गर्दै आएको छ । ज्येष्ठ नागरिकलाई सो अवसरमा कम्बल, छाता, हर्लिक्स, फलफूल प्रदान गरेर सम्मान गरिएको थियो । वडाभित्र बसोबास गर्ने एक सय जनालाई सम्मान गरिएको वडाध्यक्ष अर्जुन गिरीले जानकारी दिनुभयो ।कार्यक्रममा सम्मानित अन्सारीले ज्येष्ठ नागरिकलाई धार्मिकयात्रामा जानका लागि समेत निःशुल्क बस सेवा उपलब्ध गराउँदै आएका छन् ।
 

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन

काठमाडौँ, ८ वैशाखः अमेरिका भ्रमणबाट आज स्वदेश फर्किनुभएका अर्थमन्त्री वर्षमान पुनले त्यहाँको सरकार, निजी क्षेत्र र विकास साझेदारहरु नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखिएको बताउनुभएको छ ।

वासिङ्टन डिसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर फर्किनुभएका अर्थमन्त्री पुनले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै आफ्नो भ्रमण सफल भएको बताउनुभयो । अमेरिकाको सरकार, निजी क्षेत्र तथा विकास साझेदारहरूले नेपालसँग थप सहकार्य तथा विकास परियोजनामा लगानी गर्न चाहिरहेको उहाँको भनाइ छ ।

“समग्रमा यो भ्रमण सफल भएको छ । अमेरिकी सरकारी अधिकारी र मिलेनियन च्यालेञ्ज कर्पोरेसन (एमसिसी)का पदाधिकारीसँग पनि छलफल भयो । उहाँहरूले अमेरिकी सरकार नेपालसँग काम गर्न इच्छुक र विगतभन्दा अझ बढी नजिक रहेर सहयोग गर्ने इच्छा व्यक्त गर्नुभएको छ”, अर्थमन्त्री पुनले भन्नुभयो, “अहिलेको सरकारसँग त्यहाँको सरकार, विकास साझेदार तथा निजी क्षेत्र काम गर्न इच्छुक देखिएको छ । लगानी सम्मेलनमा त्यहाँका उद्योगी व्यवसायीको निकै आकर्षण देखिएको छ ।” निजी क्षेत्रतर्फ कोकाकोला, मेटा, डिज्नील्याण्डलगायत कम्पनीसँग छलफल भएको र ती कम्पनीले पनि नेपालले थप लगानी गर्न चाहेको अर्थमन्त्री पुनले बताउनुभयो ।

एमसिसीको अनुदान सहयोगमा मिलेनियम च्यालेञ्ज नेपाल अकाउन्ट विकास समिति (एमसीए–नेपाल)ले विद्युत् प्रसारण लाइन र सडक आयोजना निर्माण गरिरहेकामा ती आयोजना तोकिएको समयभित्रै सम्पन्न हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । एमसीए–नेपालअन्तर्गतका परियोजना निर्माणका क्रममा सुरुमा एमसिसीको अनुदान सहयोग खर्च गर्ने र बाँकी रहेका काममा नेपालले खर्च गर्नेगरी काम भइरहेको पनि उहाँको भनाइ छ ।

चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अर्थमन्त्री पुन सोमबार अमेरिका प्रस्थान गर्नुभएको थियो । यो भ्रमणका क्रममा विभिन्न १९ वटा औपचारिक एवं अनौपचारिक कार्यक्रममा अर्थमन्त्री पुनले सहभागिता जनाउनुभएको थियो ।

उहाँले विश्व बैंक र मुद्रा कोषका बैठकमा सहभागी हुनुका साथै जलवायु परिवर्तनको प्रभावले खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठक, दक्षिण एसियामा स्वच्छ ऊर्जा सङ्क्रमणसम्बन्धी सत्रका साथै विभिन्न उच्चस्तरीय द्विपक्षीय एवं बहुपक्षीय बैठकहरूमा सहभागिता जनाउनुभएको थियो । ती छलफलहरुमा जलवायु परिवर्तन असर न्यूनीकरण तथा नेपालजस्ता न्यून कार्बन उत्सर्जन गर्ने मुलुकहरुले पाउनुपर्ने क्षतिपूर्तिबारे गम्भीर विमर्श भएको अर्थमन्त्री पुनको भनाइ छ ।

“जलवायु परिवर्तनको असरको मारमा नेपाल परेको सन्दर्भसँगै कार्बन उत्सर्जन र जलवायु परिवर्तनमा नेपालको भूमिका नरहेको, तर विकसित देशहरूको भूमिका रहेकाले नेपालले त्यसको क्षतिपूर्ति पाउनुपर्ने विषयलाई गम्भीरताका साथ उठाइएको छ । नेपालले कोप–२८ का क्रममा उठाएका एजेण्डालाई अहिले पनि प्राथमिकतामा साथ उठाइएको छ”, अर्थमन्त्री पुनले भन्नुभयो, “दक्षिण एसियाको ऊर्जा क्षेत्रसँग सम्बन्धित छलफलमा नेपालले स्वच्छ ऊर्जा उत्पादन गरिरहेको र स्वच्छ तथा हरित ऊर्जा निर्यातको प्रचुर सम्भावना रहेकाले यस क्षेत्रमा लगानी बढाउन विभिन्न द्विपक्षीय तथा बहुपक्षीय निकायसँग लगानीका लागि आग्रह गरेको छु ।”

अर्थमन्त्री पुनले विश्व बैंकका कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त (डिएफआई) परिचालन हेर्ने उपाध्यक्ष आकिहिको निसिओ, विश्व बैंककै पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेन, अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)का उपाध्यक्ष रिकार्डो पुलिटी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)का सहायक प्रबन्ध निर्देशक बो–लीसँग पनि भेटघाट गर्नुभएको थियो । त्यस्तै अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) का उच्च पदाधिकारी, अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डिएफपी)का पदाधिकारी, अमेरिकन चेम्बर अफ कमर्ससहित निजी क्षेत्रका प्रतिनिधि र त्यहाँस्थित गैरआवासीय नेपालीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

अर्थमन्त्री पुन र विश्व बैंकका उच्च अधिकारीहरूबीचको वार्तामा सङ्खुवासभामा निर्माण हुने एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्थजलासययुक्त आयोजनाको वित्तीय ढाँचाबारे महत्त्वपूर्ण सहमति भएको छ । यो आयोजनामा विश्व बैंकले करिब ८५ लाख अमेरिकी डलर बराबरको सहुलियत ऋणका लागि सैद्धान्तिक सहमति भएको अर्थमन्त्री पुनले बताउनुभयो । त्यस्तै छ सय ३५ मेगावाट उत्पादन क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा पनि सहवित्तीयकरणमा लगानी गर्नेबारे छलफल भएको उहाँको भनाइ छ ।

अमेरिकी व्यवसायीहरुको संस्था ‘युएस चेम्बर अफ कमर्स’का पदाधिकारीहरूसँगको अन्तक्र्रियामा अर्थमन्त्री पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षक गन्तव्य रहेको उल्लेख गर्नुहुँदै लगानीका लागि आह्वान गर्नुभएको थियो ।

धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ३ र ४ धारापानीमा भीषण आगलागीका भएको छ । आगो अहिले पनि नियन्त्रण बाहिर रहेको जनाइएको छ । वनमा लागेको आगो हावाहुरीका कारण शनिबार दिउँसो १ बजेतिर बस्तीमा सल्किएको थियो ।

भूमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्कलगायतका गाउँमा भएको भीषण आगलागीबाट झण्डै २० घरगोठ जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले जानकारी दिए ।

भीषण आगोले गाउँ नै सखाप भएको बाजाखर्कका स्थानीय हरिप्रसाद भुसालले बताए । प्रहरी, दमकल, स्थानीयले आगो निभाउने प्रयास गरिरहे पनि नियन्त्रण बाहिर रहेको प्रहरी निरीक्षक रावलको भनाइ छ । जिल्ला प्रहरी कार्यालयबाट गएको टोली र स्थानीयको टोलीले नियन्त्रणको प्रयास गरिरहेको छ ।

मानवीय क्षति नभए पनि पशुचौपाया मरेको, घरगोठ जलेको स्थानीय टेकराज भुसालले बताए । क्षतिको यकिन विवरण आउन नसकेको प्रहरीको भनाइ छ । पाणिनी गाउँपालिका–३ खुलैलेमा तीन घरगोठ जलेर नष्ट भएका छन् ।

आगलागीबाट शोभाखर बन्जाडेको गोठ, रेशम परियारको घर र गोठ, वसन्त मल्ल ठकुरीको घर गोठ, विष्णु जिएम खोकाको पसल जलेको छ । साथै गङ्गाबहादुर र दुर्गा विकको थोरे घर, पूर्णप्रसाद भुसालको गोठ र बाइक, भुपलाल भुसालको गोठ र भैसी जलेका छन् । प्रहरीका अनुसार झबिवाल भुसाल, खिमप्रसाद भुसाल, तिलक भुसाल, ईश्वरी भुसाल काशीराम भुसालको घर जलेको छ भने गङ्गा भुसालको गोठ, रामजी भुसालको घर र थारो, कृष्ण ओलीको घर, थारो र भैसी, दोलप्रसाद भुसाल र पिताम्बर भुसालको थारो जलेको प्रहरीको भनाइ छ ।

उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछाने

फिक्कल (इलाम), ८ वैशाखः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता, कार्यकर्तालाई कडा कारबाही गरिने बताउनुभएको छ ।

इलामको फाकफोकथुम गाउँपालिकास्थित आमोचकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसाको पोको बोकेर गाउँ छिर्ने जो-कोहीलाई कडा कारबाही गरिने बताउनुभएको हो ।

उहाँले पैसा बाँड्न आउनेको फोटो खिचेर पठाए २४ घण्टाभित्र कारबाही गर्ने बताउनुभयो । “मौन अवधिमा धेरै पैसाको चलखेल हुन्छ, यदि कसैले पैसा दिन खोज्यो भने फोटो खिचेर गृह मन्त्रालयमा पठाइदिनुहोला”, उहाँले भन्नुभयो, “२४ घण्टाभित्र त्यसलाई कारबाही गर्छौँ ।”

उहाँले गाउँगाउँमा पैसा बाँड्दै हिँडेर इलामको भविष्य किन्न खोज्नेलाई सार्वजनिक गरेर आम नागरिकसामु चिनाउने बताउनुभयो । “सुरक्षाकर्मी साथीहरू यही हुनुहुन्छ, चोकचोकमा खटिएर नागरिकलाई सचेत गराउनुहोला, पैसाको पोको बोकेर गाउँ छिर्नेलाई त्यही पोकोमा पोको पारेर हिरासतमा पठाइदिनुहोला”, उहाँले सुरुक्षाकर्मीलाई निर्देशन दिँदै भन्नुभयो ।

लामिछानेले आफ्नो पार्टीको उम्मेदवार जिताउन मात्रै इलाम नआएको उल्लेख गर्दै इलामलाई जिताउन र आम इलामेली नागरिकलाई जिताउन चुनावी घरदैलोमा आएको बताउनुभयो ।

रास्वपाले इलाम-२ मा पत्रकार मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । रास्वपाको टोली अहिले चुनावी घरदैलोमा छ । यही वैशाख १५ गते इलाम-२ मा उपनिर्वाचन हुँदैछ ।

पलेसा र कविराज वर्षका उत्कृष्ट

भरतपुर (चितवन), ८ वैशाखः नेपाल तेक्वान्दो सङ्घको आठौँ वार्षिक साधारणसभा आजदेखि चितवनको सौराहामा सुरु भएको छ । साधारणसभाको युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले उद्घाटन गर्नुभयो ।

सो अवसरमा मन्त्री श्रेष्ठले खेलकुदको विकासमा वर्तमान सरकार निरन्तर लागिरहने बताउनुभयो । उहाँले खेलक्षेत्रमा प्रशस्त सम्भावना रहेको भन्दै सबै विधाका खेलमा सरकारको लगानी रहने बताउनुभयो ।

उपसभामुख इन्दिरा रानाले खेलाडीलाई राज्यले हेर्नुपर्ने बताउनुभयो । साधारणसभामा ६५ जिल्लाका एक सय ३० जना प्रतिनिधि सहभागी भएको नेपाल तेक्वान्दो सङ्घ चितवनका सचिव सैलेस श्रेष्ठले जानकारी दिनुभयो ।

साधारणसभामा छनोट चरण पार गर्दै पेरिस पारालिम्पिक खेल्न लाग्नुभएकी पारा तेक्वान्दो खेलाडी पलेसा गोवद्र्धन र प्रशिक्षक कविराज नेगी लामा वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षकबाट सम्मानित हुनुभएको छ । पलेसालाई रु ५० हजार र कविराजलाई नगद रु १५ हजारसहित सम्मान गरिएको हो ।

यसैगरी रोल्पाको जलजला तेक्वान्दो डोजाङका प्रशिक्षक हेमन्त खत्री उत्कृष्ट तेक्वान्दो इन्स्ट्रक्टर अवार्डबाट सम्मानित हुनुभयो । उहाँलाई नगद रु १५ हजारबाट सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट जिल्ला र उत्कृष्ट प्रदेशबाट चितवन र बागमती प्रदेशलाई नगद रु २५ हजारबाट सम्मान गरिएको थियो ।

उपसभामुख इन्दिरा रानामगर र गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छालाई नगद रु २५ हजारसहित सम्मान गरिएको सङ्घका अध्यक्ष प्रकाशशम्शेर राणाले जानकारी दिनुभयो ।

अमेरिकी विद्युतीय निगरानी उपकरणको प्रयोग गर्न सिनेटको अनुमति

विदेशमा रहेका अमेरिकी गुप्तचर निकायहरूले व्यापक रूपमा प्रयोग गर्ने तर नागरिक स्वतन्त्रतावादी सङ्गठनहरूले आलोचना गर्ने शक्तिशाली विद्युतीय निगरानी उपकरणको नवीकरणलाई अमेरिकी सिनेटले शनिबार अनुमोदन गरेको छ ।शुक्रबार अमेरिकी सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ६० मत र विपक्षमा ३४ मत परेको थियो ।

ह्वाइट हाउसले राष्ट्रपति जो बाइडेनले ‘विधेयकमा चाँडै हस्ताक्षर गर्ने’ बताएको छ ।यस कार्यक्रमले अमेरिकी गुप्तचर एजेन्सीहरूलाई न्यायिक वारेन्ट नलिइकन इलेक्ट्रोनिक निगरानी गर्न अनुमति दिनेछ । यसले अमेरिकी नागरिकहरूबाट निगरानीको लागि लक्षित विदेशीहरूसँग उनीहरूलाई विशेष गरी अमेरिकी क्षेत्रभन्दा बाहिर कहीँ पनि गैर–अमेरिकीहरूको फोन कल र इमेलसहितका सञ्चार सन्देशहरू मेटाउन अनुमति दिन्छ ।

राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले एक विज्ञप्ति जारी गर्दै भन्नुभयो, “कानूनले गम्भीर राष्ट्रिय सुरक्षा खतराहरू पत्ता लगाउन र संयुक्त राज्य अमेरिकाको रक्षाको लागि उक्त समझदारी प्रयोग गर्न हाम्रा सुरक्षा अधिकारीहरूलाई काम गर्न सहयोग गर्नेछ ।” विदेशी गुप्तचर निगरानी ऐन (फिसा) को धारा ७०२ अन्तर्गत प्राधिकरणलाई गोपनीयता र नागरिक स्वतन्त्रताका पक्षधरहरूले निन्दा गरेका छन् ।

सदनबाट पारित भएकोे तर उग्र बहसको विषय बनेको विधेयक फिसालार्ई पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नवीकरण नगर्न सांसदहरूसँग आग्रह गर्नुभएको थियो । उहाँले यो र यस्तै मुद्दालाई लिएर राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपतीय निर्वाचनमा कमजोर प्रमाणित गर्न खोजिरहनु भएको छ । ट्रम्पले यसै महिनाको सुरुमा आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा पुष्टि हुने कुनै तथ्यविना नै लेख्नुभएको थियोे, “यो अवैध रूपमा म र अरू धेरै विरुद्ध प्रयोग गरिएको थियो । तिनीहरूले मेरो अभियानको जासुसी गरे ।”

गत डिसेम्बरमा ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले गाजा र युक्रेनमा जारी युद्ध, चीनसँगको उच्च तनाव र साइबर आक्रमणको निरन्तर खतराबीच यो ‘एकपक्षीय’ निःशस्त्रीकरणका लागि खतरनाक समय हुने भन्दै सिनेटरहरूलाई कार्यक्रम नवीकरण नगर्न आग्रह गर्नुभएको थियो ।

कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढ्दै

लेखनाथ (कास्की), ८ वैशाखः कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको छ । मादी गाउँपालिका-३ स्थित याङ्जाकोटमा एक हप्तादेखि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको हो ।

होटल र घरबास (होमस्टे)मा गरी दैनिक एक सय ५० पाहुना राख्न सक्ने याङ्जाकोटमा यतिबेला दैनिक ६०-७० जना आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । यसअघि दैनिक ४०-५० जना पर्यटक आउने गर्थे ।

याङ्जाकोटमा होमस्टे सञ्चालन गर्दै आउनुभएका नारायण गुरुङले पछिल्लो १५ दिनयता गाउँमा आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको बताउनुभयो । याङ्जाकोटमा यतिबेला साहित्यिक कार्यक्रमसमेत बाक्लिएका छन् । संस्कृतिविद् डा जगमान गुरुङ आफ्नै गाउँमा रहनुभएको बेला विभिन्न समूहले साहित्यिक कार्यक्रम गरेको गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङले बताउनुभयो ।

पोखराको काँहुखोलाबाट याङ्जाकोटको सडक सुधार भएसँगै पोखराको काँहुखोलाबाट एक घण्टामै याङ्जाकोट पुग्न सकिने भएकाले बिदाका दिन कर्मचारी र सर्वसाधारण यहाँको होमस्टेमा पुग्ने गरेका छन् ।

पोखराको काँहुखोलाबाट जीप तथा बसमा १९ किलोमिटरको दूरी यात्रा गरेपछि याङ्जाकोट पुग्न सकिन्छ । यहाँ पर्यटकलाई स्थानीय उत्पादनका परिकार ख्वाउने गरिएको छ । पर्यटकको रोजाइमा रैथाने परिकार पर्ने गर्छ ।

कोदो तथा फापरको ढिँडो, गुन्द्रुक तथा भट्ट, पिंडालु, तरुल, आलु, मकै, भैँसीको दूध, लोकल कुखुराको मासु जस्ता परिकारको व्यवस्था होमस्टे सञ्चालकले गरेका छन् ।

नयाँ वर्षमा याङ्जाकोट पुग्नुभएका पोखरा-१३ का विश्व सिग्देलले याङ्जाकोटवासीको स्वागत, सत्कार र परिकार अग्र्यानिक भएको बताउनुभयो । पोखराको कोलाहाल वातावरणबाट टाढा रहन हप्ताको एक दिन बजारको नजिकैका यस्ता होमस्टेमा रात बिताउने र विभिन्न सेमिनार त्यहाँ लगेर गर्ने हो भने गाउँको छुट्टै आनन्द लिन सकिने सिग्देलको भनाइ छ ।

दुई सय ५० घर रहेको पर्यटकीय गुरुङगाउँ याङ्जाकोटमा २० भन्दा बढी घरमा होमस्टे सञ्चालनमा छन् । नजिकैको कर्पुडाँडामा हिउँ खेल्नका लागि याङ्जाकोटबाट त्यहाँसम्मको पैदलमार्ग एक वर्षअघि स्तरोन्नति गरिएको थियो ।

यहाँबाट अन्नपूर्ण हिमशृङ्खलाका साथै पर्यटकीय गाउँ सिक्लेस, थाक, लम्तरीडाँडा, ठूलाकोट, काँहु धरहरा, सराङकोट, कास्कीकोट, पुम्दीको शिव मन्दिर, आर्वा, तप्राङ, चित्रे, मादीबेँसीका साथै लमजुङका केही भाग दृश्यावलोकन गर्न सकिन्छ ।

अखिल नेपाल महिला सङ्घको झापा अध्यक्षमा तारा श्रेष्ठ

बनियानी (झापा), ८ वैशाखः अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) झापाको अध्यक्षमा तारा श्रेष्ठ चयन हुनुभएको छ ।

चैत २८ गते सुरु भएको विस्तारित भेलाले आज नयाँ नेतृत्व चयन गरेको हो । भेलाले तारा श्रेष्ठको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षमा कचाली राजवंशी, कल्पना राई र रीता मिश्र चयन हुनुभएको छ । समितिको सचिवमा टीका राउत, सहसचिवमा हीरा राजवंशी, इन्दिरा नेपाल, सुस्मा अधिकारी र कोषाध्यक्षमा कमला विक चयन हुनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रञ्जित तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाबाट नवनिर्वाचित पदाधिकारीलाई अनेम सङ्घ (क्रान्तिकारी)की केन्द्रीय सदस्य निरु खतिवडाले पद तथा गोपनियताको शपथ गराउनुभएको थियो ।

आइतबारदेखि हनुमानगढीमा हनुमान जयन्ती महोत्सव सुरु हुने

खजुरा (बाँके), ८ वैशाख : हनुमान जयन्तीका अवसरमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित हनुमानगढीमा तीनदिने हनुमान जयन्ती महोत्सव हुने भएको छ । आइतबारदेखि सुरु हुने उक्त महोत्सवको पुर्व सन्ध्यामा आज मन्दिरको बृहत सरसफाई गरिएको छ ।

भारतको अयोध्याबाट आएको १२ जनाको टोलीले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्यलगायत कथा प्रवचन गर्ने र भारतको दिल्लीस्थित मोन्टी नटराज ग्रुपद्वारा विभिन्न कार्यक्रम गरिने हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका सचिव विश्वजित तिवारीले बताउनुभयो ।

महोत्सवमा काठमाडौँ, विराटनगर, बुटवल, सुर्खेत, सल्यान भारतको बहराइच, श्रावस्ती गोण्डालगायतका क्षेत्रबाट भक्तजनको सहभागिता रहने आयोजक सुन्दर काण्ड मित्रमण्डलका अध्यक्ष जितेन्द्र सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय प्रतिष्ठित व्यक्तिको चन्दाबाट उठेको रकमबाट करिब २० हजारलाई भण्डारा (भोजन)को व्यवस्थापन गरिएको छ । यसमा करिब रु २० लाख खर्च हुने अनुमान गरिएको छ । उहाँले हनुमानगढी गुरुजीको तपोभूमि भएको उल्लेख गर्दै यस स्थानमा गाईको सेवा हुने बताउनुभयो ।

“विगतमा फोहरको व्यवस्थापन गर्ने, कुस्ती खेल्ने ठाउँ भएको र बाल्दा नामको ऐतिहासिक तलाउ रहेको तर पछि ऋषिमुनिको आगमनपछि पाँच करोड गायत्री मन्त्रको जप भएको पवित्र स्थानको रुपमा यसलाई लिइएको छ”, थानापति महन्त गिरीले भन्नुभयो ।

आइतबारदेखि सुरु हुने हनुमान महोत्सवमा अखण्ड रामायण पाठ, अण्टयाम सङ्कीर्तन एवं निशान पूजन, बालाजीको रात्रि जागरण एवं झाँकी, सुन्दरकाण्ड एवं भजनकीर्तन र महाआरती, रथयात्रा, शोभायात्रा हुने समितिले जनाएको छ ।

एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित

काठमाडौँ, ८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरणका लागि चाल्नुपर्ने कदमबारे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग सुझाव मागेको छ ।

लतिलपुरको गोदावारीस्थित सनराइज हलमा जारी महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनले पार्टी जीवनको लोकतान्त्रिकरणका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरी समाजवादमा पुग्न आगामी निर्वाचनमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने सवाललाई केन्द्रमा राखिएको छ ।

तत्कालीन महासचिव मदन भण्डारीद्वारा प्रस्तुत ‘जनताको बहुदलीय जनवाद’लाई सिद्धान्तका रूपमा अङ्गीकार गर्दै आएको एमालेले उक्त लक्ष्य पूरा गर्न वर्तमान सरकारलाई दिगो, परिणामुखी र सफल तुल्याउँँदै अर्थतन्त्रलाई चलायमान बनाउने, सहकारीपीडितलाई न्याय दिने, सार्वजनिक सेवालाई प्रभावकारी बनाई सुशासन कायम गर्ने, सङ्घीयता कार्यान्वयनका जटिलता फुकाउने सवालमा नीतिगत प्राथमिकता र चासो दिएको छ ।

एमालेले भ्रष्टाचार र बेइमानीपूर्ण कार्य गर्नेलाई कारबाही गर्ने, मुलुकमा जवाफदेहिता सुनिश्चित गर्ने, कृषिको औद्योगिकीकरण र स्वदेशी उत्पादनका साथै यातायात, सञ्चार र पूर्वाधार विकासमा जोड दिने, विद्युत् उत्पादन र खपत बढाउने जस्ता १३ नीतिगत प्राथमिकता निर्धारण गरेको छ ।

यस्तै प्रविधिक शिक्षाको विस्तार र लैङ्गिक समानता कायम, शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने र वैदेशिक सम्बन्धलाई राष्ट्रिय स्वाधिनताका आधारमा सृदृढ बनाउन एमालेको जोड रहेको छ । ती विषयमा एमाले नेतृत्वले महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग समूहगत छलफलबाट सारभूत र रणनीतिक सुझाव मागेको छ । परिषद् बैठकमा आज प्रतिवेदन र श्रव्यदृष्य सामग्री प्रस्तुतिको क्रम रहेको छ भने आइतबार समूहगत छलफल र पारित हुनेछ ।

परिषद् बैठकमा सहभागी दुई हजार चार सय ५४ प्रतिनिधिमाझ अध्यक्ष ओलीबाट प्रस्तुत प्रतिवेदनमा पार्टी सदस्यता वितरण, नवीकरण र परीक्षण, प्रतिनिधि छनोट, अधिवेशन र नेतृत्व चयन, कमिटी सञ्चालन, चेन अफ कमाण्ड र कार्यकर्ताको (मूल्याङ्कन), कार्यशैली, जीवनशैली र कार्यकर्ताको आचरण, आर्थिक–सामाजिक रुपान्तरण र जनचासोका विषयको सम्बोधन र निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने सम्बन्धमा कार्यकर्ताबाट व्यापक छलफलसहित सुझावको अपेक्षा गर्नुभएको छ ।

अध्यक्ष ओलीले मुलुकमा बढ्दो चरम राजनीतिक विकृति, आर्थिक र व्यावसायिक क्षेत्रमा उत्पन्न सङ्कट र रोजगारीका क्षेत्र साँघुरिएका अवस्था एवं सुशासन तथा सेवा प्रवाहमा उत्पन्न समस्याका कारण समाजमा निराशा छाएको टिप्पणी गर्दै यसलाई वर्तमान सरकारले चिर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले यस स्थितिले सिर्जना गरेको असन्तुष्टिलाई एकातिर लोकप्रियतावाद र पुरातन तथा दक्षिणपन्थी शक्तिले प्रयोग गर्न सक्ने भएकाले सत्तापक्ष र प्रतिपक्ष राष्ट्रिय समस्याको समाधानमा संवादमा माध्यमबाट एक ठाउँमा आउनुपर्ने बताउनुभयो ।

गत २०७८ मङ्सिर १० देखि १४ गतेसम्म चितवनको सौराहामा भएको १०औँ राष्ट्रिय महाधिवेशनपछि आन्तरिक र बाह्य सङ्कट व्यहोरेको एमालेले सत्ता हाल आफूलाई सहज स्थितिमा कायम गर्न सकेको विश्लेषण गरेको छ । पछिल्लो समयमा समीकरणमा हेरफेर भई सत्तापक्ष बनेको एमालेको परिषद् बैठकमा हुने छलफल र पारित हुने दस्तावेज तथा घोषणाहरूलाई महत्वका साथ हेरिएको छ ।

पार्टीका महासचिव पोखरेलको साङ्गठनिक प्रतिवेदनमा कार्यशैली, जीवनशैली र कार्यकर्ताको आचरण, आर्थिक–सामाजिक रुपान्तरण र जनचासोका विषयको सम्बोधनलगायत विषयलाई विद्यमान समस्या र चुनौतीका रुपमा प्रस्तुत गरिएको छ ।

उच्च प्रविधियुक्त व्यवस्थापनमा भइरहेको परिषद् बैठकमा यसबीचमा पार्टीले चलाएको ‘मिसन ग्रासरुट’ अभियान, ‘झुलाघाट–चिवाभञ्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ जस्ता कामको समीक्षा गर्दै त्यसका आधारमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा निष्कर्ष निकालिने महासचिव पोखरेलले बताउनुभयो ।

उहाँले मुलुकको आवश्यकता, जनचाहनाअनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई सुनिश्चित गर्ने बलियो, सुदृढ र निर्णायक राष्ट्रिय शक्तिका रूपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले स्पष्ट दिशानिर्देश गर्ने विश्वास व्यक्त गर्नुभयो ।

दुई महाधिवेशनका बीचमा हुने ठूलो निकायका रूपमा रहेको परिषद् बैठकले ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने मूल नाराका साथ दशौँ महाधिवेशनबाट चुनिएको नेतृत्वका कामको समीक्षासहित भावी कार्यदिशा तय गर्ने सो पार्टीका सचिव योगेश भट्टराईको भनाइ छ ।

परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमाथि छलफल हुनेछन् । बैठकबाट वर्ष २०८१ लाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्ययोजना छलफलसहित पारित गराउने तयारी रहेको एमालेको केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

सोमबार नेकपा स्थापनाको ७५औँ वर्षका अवसरमा सम्मानलगायत विशेष कार्यक्रम आयोजना गरिएको छ । जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरूलगायत शीर्ष नेताहरुको उपस्थिति रहने जनाइएको छ ।

‘क्रान्तिकारी शक्तिहरू एकजुट भएर शक्ति आर्जन गर्नुपर्छ’ – नेसपा

पाटन (ललितपुर), ८ वैशाखः नेपाल समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरूले क्रान्तिकारी शक्तिहरू एकजुट भएर शक्ति आर्जन गर्नुपर्नेमा जोड दिएका छन् ।

पार्टीको बागमती प्रदेश र गैरभौगोलिक प्रदेश समितिको आयोजनामा आज ललितपुरमा भएको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा धारणा राख्ने नेता, कार्यकर्ता तथा जिल्लाका प्रतिनिधिले नेपाली जनताको माग, भावना र चाहनाअनुसार रुपान्तरण र परिवर्तनका लागि देशका वामपन्थीहरूलाई एकठाउँमा ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

पार्टीका अध्यक्ष महिन्द्र राय यादवले सङ्घीयता, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता आधारशिला भएको बताउनुहुँदै यसको रक्षाका लागि वामपन्थीहरूलाई एक ठाउँमा ल्याउनुपर्छ भन्ने धारणा राख्नुभयो । “मधेस आन्दोलन र जनयुद्धको माग पूरा गर्नका लागि नै माओवादीसँग एकता आवश्यक छ । हाम्रो नजिकैको मित्र शक्ति भनेको माओवादी केन्द्र नै हो, गत निर्वाचनमा माओवादी र हाम्रो पार्टी एकता भएर नेकपा समाजवादी हुने सर्तमा चुनाव चिह्न लिएर चुनाव लडेको हो”, उहाँले भन्नुभयो ।

नेपालका सबै वामपन्थी एक ठाउँमा आउन सकेन भने भारतमा जस्तै कम्युनिष्ट पार्टी समाप्त हुने उल्लेख गर्दै उहाँले वर्तमान सरकार कम्युनिष्ट ध्रुवीकरणका लागि भएको बताउनुभयो ।

उहाँले पार्टी एकताको माध्यमबाट जनताको पक्षमा काम गर्ने शक्ति प्राप्त हुने बताउनु हुँदै ध्रुवीकरण भएर मात्रै जनताको अपेक्षा सम्बोधन गर्ने पार्टीको रुपमा स्थापित हुन सकिने बताउनुभयो । उहाँले विभिन्न आन्दोलनबाट स्थापित नेता तथा कार्यकर्तालाई समेट्दै एकताको अभियानमा लाग्ने सबैलाई जोड्ने अभियान रहेको उहाँको भनाइ थियो ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री तथा नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले क्रान्तिकारी शक्तिहरु एकजुट भएर शक्ति आर्जन गर्नुपर्छ भनेर लागिपरेको बताउनुभयो । उहाँले पश्चगामी शक्तिहरूको अराजक गतिविधि रोक्न साथै धर्मनिरपेक्षता, गणतन्त्र र सङ्घीयताको संरक्षणका लागि अहिले ध्रुवीकरण हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

“संविधानसभाबाट संविधान घोषणापछि व्यवस्था परिवर्तनको एउटा कोर्ष पूरा भएको हो, तर त्यसपछि त्यही परिवर्तनको आधारमा समाजवादतिर जान नसकेपछि हामी छुट्टिनुपरेको हो, यो बीचमा हाम्रो प्रयोगले पार्टी र परिवर्तनकारी शक्तिहरु सफल हुन सकेन, तसर्थ जनयुद्धको ‘लिगेसी’ बोकेकाहरू विगतका गल्तीको समीक्षा गर्दै रुपान्तरणसहितको एकता गर्नुपर्छ”, श्रेष्ठले भन्नुभयो ।

पार्टी एकता कार्यदलका सदस्य तथा पार्टीका महासचिव रमेश यादवले नयाँ शक्तिको नारा र मधेस विद्रोहबाट उदाएको शक्तिलाई एकताबद्ध बनाएर समृद्धिको दिशामा कसरी अगाडि बढ्ने भन्ने चिन्ता रहेको बताउनुभयो ।

उहाँले जनविद्रोहबाट यहाँसम्म आइपुग्दा एउटा नेतालाई मात्रै स्थापित गर्ने उद्देश्य नरहेको भन्दै एउटा राजनीतिक स्वार्थका लागि राजनीतिक पसल मात्रै खोलेको होइन, जनताको गाँस, बास र कपासको चिन्ताले स्थापित हुन खोजेको बताउनुभयो । उहाँले राजनीतिक शक्तिहरूको रुपान्तरणका लागि औचित्यपूर्ण एकता आवश्यक रहेको बताउनुभयो । पश्चिमी शक्तिको उदय हुँदै गरेको अवस्थामा रहेकाले यसले परिवर्तनकारी शक्ति र वर्तमान व्यवस्थामा खतरा देखापरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा मकवानपुरका प्रतिनिधि राजकुमार भेटवाल, ललितपुरका प्रतिनिधि शङ्कर अधिकारी, काठमाडौँका प्रतिनिधि सुरेश खड्गी, भक्तपुरकी प्रतिनिधि ललिता श्रेष्ठ, काभ्रेका उपाध्यक्ष राजीव लामा, ललितपुरका प्रतिनिधि राजु महर्जनलगायत बागमती प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधिले समृद्धि हाम्रै पालामा भन्ने भनाइलाई सार्थक बनाउन आवश्यक रहेको बताउनुभयो । यसका लागि विगतमा परिवर्तनका लागि राजनीतिक मोर्चामा क्रियाशील शक्तिहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने, विचार, राजनीति र दृष्टिकोणलाई सार्थक बनाउँदै निराशालाई उत्साहमा बदल्न भाषणभन्दा काम गर्नुपर्ने अवस्थामा ध्रुवीकरण भएर राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणका लागि लाग्नुपर्ने बताउनुभयो ।

उहाँहरूले नयाँ शक्तिका नाममा खराब नियत भएका व्यक्तिहरू हावी हुँदा राजनीतिक व्यवस्था, संविधानको मूल मर्म र गणतन्त्रमाथि सङ्कट देखापरेको बताउँदै वामपन्थी शक्तिबीचको एकताका माध्यमबाट उपलब्धि हासिल गर्न लाग्नुपर्ने बताउनुभयो ।

राजनीतिक दलका कार्यकर्ताहरूले सामाजिक गतिविधिमा क्रियाशील भएर सहिष्णुता, सद्भाव कायम गर्दै राजनीतिक लक्ष्य र उपलब्धि हासिलका लागि स्पष्ट लक्ष्यसहित लाग्नुपर्ने, पद प्राप्तिका लागि मात्रै राजनीतिमा लाग्नु नहुनेमा उहाँहरुको जोड थियो ।

नेपाल पौडी सङ्घको अध्यक्षमा जगतमान श्रेष्ठ

काठमाडौँ, ८ वैशाखः नेपाल पौडी सङ्घको पाँचौँ राष्ट्रिय अधिवेशनबाट जगतमान श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

वरिष्ठ उपाध्यक्षमा जयप्रकाश भट्टराई, उपाध्यक्षमा क्रमशः जुनाकुमारी कडायत, चित्रराज भट्ट, उमेश प्रधान निर्वाचित हुनुभयो । त्यस्तै महासचिवमा ईश्वर कार्की, सचिवमा क्रमशः रञ्जन भट्टराई, गङ्गालाल गोले निर्वाचित हुनुभयो भने कोषाध्यक्षमा दिलीप वैद्य, सहकोषाध्यक्षमा योगेन्द्रमान श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

सदस्यमा दीपकसागर सिंह, विकास शर्मा, कुमार गिरी, गङ्गालाल सिङ्गार, डम्बरबहादुर तामाङ, भरत तामाङ, विष्णुप्रसाद न्यौपाने, पञ्चा सिंह, टेकबहादुर थापा, जनक थापा, रुपेशमान सिंह, हरेन्द्र यादव, अनिश महर्जन तथा शिरिष गरूङ निर्वाचित भएका छन् ।

यससँगै नेपाल पौडी सङ्घमा अशोकरत्न बज्राचार्यको कार्यसमितिको ४२ वर्षदेखिको विरासत तोडिएको छ ।

पर्यटकीय क्षेत्रमा इन्द्रेणी पर्यटन आकर्षित गर्न सकिन्छ’ – मन्त्री चौधरी

काठमाडौँ, ८ वैशाख : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपालले अपनाएको समावेशी चरित्र विश्वमाझ पुर्याएर इन्द्रेणी पर्यटन भित्र््याउन लाग्नुपर्ने बताउनुभएको छ ।

नेपालमा पहिलोपटक आयोजना भएको इन्द्रेणी (रेन्बो) पर्यटन अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले प्रदेश र स्थानीय तहमा रहेका पर्यटकीय क्षेत्रमा पनि इन्द्रेणी पर्यटन आकर्षित गर्न सकिने बताउनुभयो । पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेकोमा आयोजक एवं सहयोगीलाई धन्यवाद दिँदै मन्त्री चौधरीले इन्द्रेणी पर्यटन क्षेत्रबाट थाइल्याण्डको कुल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत योगदान रहेको तथ्य प्रस्तुत गर्नुभयो ।

लैङ्गिक समानता नीति २०७७ मै लागू भएको जनाउँदै मन्त्री चौधरीले नीति परिमार्जन गर्नका निम्ति छुट्टै निकाय तोकिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “लैङ्गिक समानता नीति २०७७ मा लागू भएको छ, पहिलो समलिङ्गी विवाह दर्ता भएको छ । विगतमा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि लुम्बिनी र कोशी प्रदेशमा अभिमुखीकरण र सचेतनाका कार्यक्रम सञ्चालन भएका थिए, अब सातै प्रदेशमा सञ्चालन गर्ने तयारीमा छौँ ।”

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा ‘मायाको पहिचान नेपाल’ले सम्मेलनको आयोजना गरेको हो । मन्त्री चौधरीले लैङ्गिक समानताका लागि कानुन पर्याप्त रहेको र अहिले कार्यान्वयनको क्रममा रहेको जानकारी दिनुभयो ।

नेपालमा पहिलोपटक गत मङ्सिरमा लमजुङको दोर्दी गाउँपालिका कार्यालयले माया गुरुङ र सुरेन्द्र पाण्डेलाई समलिङ्गी विवाह दर्ताको प्रमाणपत्र दिएको थियो । माया र सुरेन्द्रको पहिलो विवाह दर्ता भएसँगै सुप्रिता गुरुङ र दिप्ती श्रेष्ठलाई बर्दियाको बढैयाताल गाउँपालिकाले समलिङ्गी विवाह दर्ताको प्रमाणपत्र दिएको छ ।

सो अवसरमा सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकका लागि नेपाल सुरक्षित रहेको बताउनुभयो । समलिङ्गी विवाह दर्ता हुन थालेकोले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि नेपालमा सम्मानित वातावरण रहेको उहाँले उल्लेख गर्नुभयो ।

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पर्यटकलाई स्वागत गर्न नेपाल तयार रहेको बताउनुभयो । “संवैधानिक अधिकार दिएको छ, अरू देशमा जाँदा डराइडराई जानुपर्छ”, उहाँले भन्नुभयो, “यहाँ (नेपालमा) सुरक्षा छ । समलिङ्गी विवाह ‘हनिमुन डेस्टिनेसन’को रूपमा लैजाने सोचिरहेका छौँ ।”

नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले विश्वका एक सय ४५ देशमा गरिएको अध्ययनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि नेपालको अवस्था राम्रो रहेको बताउनुभयो । “एक सय ४५ देशमा नेपालको अवस्था राम्रो र उत्साहप्रद देखिएको छ । अनुकरणीय छ । प्रगति राम्रो भएको छ”, उहाँले भन्नुभयो, “समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने नेपाल एसियामा दोस्रो देश बनेको छ ।”

पर्यटन सम्मेलनमा अमेरिका, न्यूजील्याण्ड, जर्मनीका पर्यटन व्यवसायीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । भारतीय लेखक एवं म्याथोलोजिष्ट देवदत्त पटनायक र पारोमिताले यौनिकता तथा लैङ्गिकताबारे पुराना तथ्यहरू प्रस्तुत गर्नुभएको थियो ।

आइओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एजेन्डा सुरू गरेको छ । एआईले खेलकुदका लागि प्रदान गर्न सक्ने परिकल्पना गरिएको प्रभाव र आइओसीले कसरी विश्वव्यापी नेतृत्व गर्न चाहन्छ भन्ने कुराको स्थापना गरेको छ ।

सन् २०१२ को लन्डन ओलम्पिक खेलहरूका लागि स्थलमध्येको लि भ्याली भेलोपार्कमा आयोजित उद्घाटन कार्यक्रममा आइओसी अध्यक्ष थोमस बाचले ‘ओलम्पिक एआई एजेन्डा’लाई यस क्षेत्रमा ओलम्पिक आन्दोलनका नेताद्वारा पहिलो दृष्टिकोणको रूपमा प्रस्तुत गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो ओलम्पिक एआई एजेन्डाले अवसर र जोखिम दुवैलाई प्रस्तुत गर्दछ । यो एक वैचारिक र एकै समयमा व्यावहारिक दृष्टिकोण हो । यसले हाम्रो दृष्टि र महत्त्वाकांक्षालाई परिभाषित र एआईको पूर्ण क्षमतालाई अँगालेर हाम्रा मार्गदर्शक सिद्धान्तहरूलाई परिभाषित गर्दछ ।”

आईओसीले खेलाडीहरूलाई समर्थन गर्ने, स्वच्छ प्रतिस्पर्धा, सुरक्षित खेलकुद, एआईका फाइदाहरूमा समान पहुँच सुनिश्चित गर्ने, दिगोपन, बढ्दो संलग्नतामा ध्यान केन्द्रित गर्दै ओलम्पिक र पाराओलम्पिक खेल सञ्चालनलाई अनुकूलन गर्ने लगायत पाँचवटा मुख्य फोकस क्षेत्रहरूमा प्रभावकारीरूपमा लाभान्वित गर्ने रणनीतिक लक्ष्य परिभाषित गरेको छ ।

अध्यक्ष बाचले ओलम्पिक एआई एजेन्डाको केन्द्र खेलाडीहरू रहेको उल्लेख गर्दै भन्नुभयो, “किनकी खेलाडीहरू ओलम्पिक आन्दोलनका मुटु हुन् ।” उहाँका अनुसार एआईले संसारका हरेक कुनामा खेलाडी र प्रतिभा पहिचान गर्न सहयोग गर्न सक्छ तथा थप खेलाडीहरूलाई व्यक्तिगत प्रशिक्षण विधि, उत्कृष्ट खेल उपकरण, फिट र स्वस्थ रहन थप व्यक्तिगत कार्यक्रमहरूमा पहुँच प्रदान गर्न सक्छ ।

खेलकुद प्रदर्शनभन्दा बाहिर एआईले न्याय र रेफ्रीमा क्रान्ति ल्याउन सक्नेछ । यसबाट खेलकुदमा निष्पक्षतालाई बलियो बनाउने र खेलकुद सुरक्षामा सुधार ल्याउन सक्छ । एआईले खेलकुद कार्यक्रमहरूको आयोजनालाई अत्यन्त प्रभावकारी बनाउने, खेल प्रसारणलाई रूपान्तरण गर्ने र दर्शकको अनुभवलाई धेरै व्यक्तिगत राख्ने अध्यक्ष बाचले भन्नुभयो ।

एआईको अनवरत वृद्धिले पत्रकारहरूलाई कठिन छनोट प्रदान, जागिरलाई कस्तो असर पर्ला ?

आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता वा एआई) को वृद्धिले बढ्दो सङ्ख्यामा पत्रकारहरूलाई द्रुत रूपमा विस्तार हुँदै गएको र प्रविधिबाट उत्पन्न हुने नैतिक र सम्पादकीय चुनौतीहरूको सामना गर्न बाध्य पारेको छ ।

इटालेली सहर पेरुगियामा भएको अन्तर्राष्ट्रिय पत्रकारिता महोत्सवमा उठेका प्रश्नहरूमध्ये न्युजरुमलाई सहयोग गर्न वा तिनीहरूलाई पूर्णरूपमा रूपान्तरण गर्न एआईको भूमिका रहेको थियो ।

एआईको वृद्धिले जागिरलाई कस्तो असर पर्ला ?

मानव बौद्धिकताको नक्कल गर्ने एआई उपकरणहरू विश्वभरका न्यूजरूमहरूमा ध्वनि फाइलहरू ट्रान्सक्राइब गर्न, पाठहरू संक्षेप गर्न र अनुवाद गर्न व्यापकरूपमा प्रयोग गरिन्छ ।

सन् २०२३ को प्रारम्भमा जर्मनीको एक्सेल स्प्रिङ्गर समूहले बिल्ड र डाइ वेल्ट अखबारहरूमा जागिरहरू कटौती गरिरहेको घोषणा गरेको र एआईले अब आफ्ना केही पत्रकारहरूलाई प्रतिस्थापन गर्न सक्ने जनाएको छ ।

जेनेरेटिभ एआईले दैनिक भाषामा साधारण अनुरोध पछ्याएर पाठ र छविहरू उत्पादन गर्न डेढ वर्षदेखि नयाँ सीमाहरू खोल्दै र चिन्ता बढाउँदै आएको छ ।

आवाज र अनुहार अब पोडकास्ट उत्पादन गर्न वा टेलिभिजनमा समाचार प्रस्तुत गर्न क्लोन गर्न सकिन्छ । गत वर्ष फिलिपिनो वेबसाइट र्याप्लरले आफ्ना लामा लेखहरूलाई कमिक्स, ग्राफिक्स र भिडियोहरूमा रूपान्तरण गरेर युवा दर्शकहरूलाई लक्षित गरी ब्रान्ड सिर्जना गरेको थियो ।

मिडियाकर्मीहरू व्यापारमा सबैभन्दा ठूलो थप मूल्य प्रस्ताव गर्ने कार्यहरूमा केन्द्रित हुनुपर्नेमा सहमत भएका छन् । “तपाईं नै वास्तविक सामानहरू गर्ने व्यक्ति हुनुहुन्छ र हामीले उत्पादन गर्ने उपकरणहरू तपाईंका लागि सहायक हुनेछन्”, गुगल समाचारका महाप्रबन्धक शैलश प्रकाशले पेरुगिया महोत्सवमा भन्नुभयो ।

पैसाको बारेमा

सन् २०२२ को उत्तरार्धमा च्याटजिपिटी देखा परेपछि जेनेरेटिभ एआईको लागत घटेको र ‘युएस स्टार्ट–अप ओपेन एआई’द्वारा डिजाइन गरिएको उपकरणले अब साना न्यूजरूमहरूमा पहुँच योग्य बनाएको छ ।

कोलम्बियाई खोज आउटलेट क्युसन पब्लिकाले इन्जिनियरहरूलाई एउटा उपकरण विकास गर्न प्रयोग गरेको छ । यसले यसको अभिलेखहरूमा खोजी गर्न र ब्रेकिङ न्यूजको घटनामा पृष्ठभूमि जानकारी फेला पार्न सक्ने बताएको छ ।

“तर धेरै मिडिया सङ्गठनले एआई इन्टरफेसको केन्द्रमा रहेको आफ्नै भाषा मोडेलहरू बनाउँदैनन”, एम्स्टर्डम विश्वविद्यालयका प्राध्यापक नताली हेलबर्गरले भन्नुभयो, “तिनीहरू सुरक्षित र भरपर्दो प्रविधिका लागि आवश्यक छ ।”

गलत सूचनाको धम्की

एभ्रीपिक्सेल जर्नलको गत वर्षको अनुमानअनुसार एआईले एक सय ५० वर्षमा फोटोग्राफीमा जति तस्बिरहरू एक वर्षमा सिर्जना गरेको छ । यसले गहिरो प्रश्नहरू खडा गरेको छ । मिडिया र प्राविधिक सङ्गठनहरूले खतरालाई सम्बोधन गर्न टोली बनाउँदै र विशेषगरी कन्टेन्ट प्रोभेनेन्स एन्ड अथेन्सिटीका लागि गठबन्धनमार्फत साझा मापदण्डहरू सेट गर्न खोजेको छ ।

“हाम्रो मुख्य काम भनेको समाचार सङ्कलन, प्रत्यक्ष स्थलगत रिपोर्टिङ हो” हालै एएफपी सम्पादकीय नवप्रर्वतन र कृत्रिम बौद्धिकताका लागि विश्वव्यापी समाचार निर्देशक बन्न नियुक्त गरिनुभएकी सोफी ह्युटनले भन्नुभयो, “हामी मानव रिपोर्टरहरूमा केही समयका लागि निर्भर हुनेछौँ तर यो कृत्रिम बौद्धिकताको सहयोगले हुनसक्छ ।”

वाइल्ड वेस्टदेखि नियमनसम्म

विश्वसनीय समाचारको रक्षा गर्न आफ्नो मिडिया अधिकार संक्षिप्त विस्तार गरेको मिडिया अधिकार वाचडग रिपोर्टर्स विदाउट बोर्डर्सले गत वर्षको अन्तमा एआई र पत्रकारितामा पेरिस चार्टर सुरू गरेको थियो ।

“पेरिस चार्टरबारे मलाई साँच्चै मनपर्ने कुरामध्ये एउटा पारदर्शितामा जोड थियो”, अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा ग्लोबल मिडिया, इनोभेसन र मानवअधिकारका लेक्चरर आन्या शिफ्रिनले भन्नुभयो, “उनीहरूले जेनेरेटिभ एआई प्रयोग गर्दा प्रकाशकहरूले कति हदसम्म खुलासा गर्नुपर्छ ?”

“गम्भीर बहस चलिरहेको छ ः के तपाईंले एआई सामग्री चिह्न लगाउनुपर्छ वा मानिसहरूले तपाईंको ब्रान्तमा विश्वास गर्नुपर्छ ?”, सार्वजनिक प्रसारक स्विडिस रेडियोमा एआई र समाचार रणनीतिका प्रमुख ओले जाक्रिसनले भन्नुभयो । उहाँले निरन्तर विकसित हुँदै गएको प्रविधिको सामना गर्दा नियमन आफ्नो बाल्यवस्थामै रहने बताउनुभयो ।

मार्चमा युरोपेली संसद्ले नवप्रवर्तनलाई नरोकी एआई मोडेलहरूलाई नियमन गर्ने लक्ष्य राखेको एउटा रूपरेखा कानून ग्रहण गर्यो तर दिशानिर्देशहरू र चार्टरहरू न्युजरुममा द्रुतरूपमा सामान्य भइरहेका छन् । भारतको क्विन्टिलियन मिडियामा हरेक तीन महिनामा एआई सम्पादकीय दिशानिर्देश अध्यावधिक गर्ने गरिएको उक्त मिडियाका मालिक रितु कपुरले बताउनुभयो ।

संस्थाको कुनै पनि लेख एआईमार्फत लेख्न सकिँदैन र यसले सिर्जना गर्ने छविले वास्तविक जीवनलाई प्रतिध्वनित गर्न सक्दैन ।

विरोध कि सहयोग गर्ने ?

एआई मोडेलहरूले डाटालाई फिड गर्दछन् तर महत्त्वपूर्ण वस्तुका लागि समस्या बढाएका छन् । डिसेम्बरमा न्यूयोर्क टाइम्सले प्रतिलिपि अधिकार उल्लङ्घनका लागि ओपनएआई र यसको मुख्य लगानीकर्ता माइक्रोसफ्टलाई मुद्दा हालेको छ ।

यसको विपरित, अन्य मिडिया सङ्गठनहरूले ओपनएआईसँग सम्झौता गरेका छन् । एक्सेल स्प्रिङ्गर, अमेरिकी समाचार एजेन्सी एपी, फ्रान्सेली दैनिक मोन्डे र स्पेनी समूह प्रिसा मिडियाले ओपनएआईसँग सम्झौता गरेका हुन् । यिनीहरूको शीर्षकमा एल पेस र एएस अखबारहरू समावेश भएका छन् ।

कोलम्बिया विश्वविद्यालयको पत्रकारिता स्कूलका प्राध्यापक एमिली बेलले मिडिया उद्योगमा स्रोतसाधनको अभाव भएकाले नयाँ प्रविधिसँग सहकार्य गर्न आकर्षक रहेको बताउनुभयो ।

युक्रेन र रूसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका कारण रूसी इन्धन डिपोमा आगो लागेको अधिकारीहरूले बताएका छन् ।रूसको बेल्गोरोड क्षेत्रका गभर्नर भासिली एनोखिनलले युक्रेनको सीमापार आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको र युक्रेनको उत्तरपूर्वी क्षेत्रमा रूसी आक्रमणमा परी दुई जनाको मृत्यु भएको बताएका छन् ।

युक्रेनको रक्षा क्षेत्रका एक स्रोतले एएफपीलाई बताएअनुसार किएभले रूसको सैन्य–औद्योगिक परिसरलाई खुवाउने ऊर्जा पूर्वाधारका लागि ‘ठूलो आकारको’ ड्रोन आक्रमण गरेको थियो ।युक्रेनको सुरक्षा सेवा (एसबियु), सेना र सैन्य गुप्तचर निकायको ‘संयुक्त अभियान’ भएको भन्दै स्रोतले भन्यो, “कम्तीमा तीन वटा विद्युतीय सबस्टेसन र एउटा इन्धन भण्डारण केन्द्रमा आगलागी भएको छ ।

रूसको रक्षा मन्त्रालयले रातिमा आएका ५० वटा युक्रेनी ड्रोनलाई रोकेको जनाएको छ । रोकिएका ड्रोनमध्ये केही राजधानी मस्को नजिकैको सीमाबाट सयौँ किलोमिटर टाढा रहेका छन् ।

रूसको पश्चिमी स्मोलेन्स्क क्षेत्रको एक इन्धन डिपोमा ठूलो आगलागी भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।“वायु रक्षा बलले हवाई वाहनहरूलाई गोली हानी आक्रमण विफल पार्ने प्रयास गरेपनि भग्नावशेष खसेपछि इन्धन र लुब्रिकेन्ट्स भएको ट्याङ्कीमा आगो लागेको छ,” गभर्नर एनोखिनले बताउनुभयो । हालैका महिनाहरूमा रूसी तेल र ग्याँस सुविधाहरूमा युक्रेनी आक्रमणहरू बढेका छन् भने यसलाई युक्रेनले रूसको युद्धलाई बढावा दिन प्रयोग गरिएको पूर्वाधारमा ‘निष्पक्ष’ प्रतिशोधको भाग भनेको छ ।

नयाँ वर्षमा देशलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्छ: नेता पौडेल

काठमाडौँ, ८ वैशाखः नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले नयाँ वर्षमा मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क) ले नयाँ वर्षको उपलक्ष्यमा आज सपनतीर्थमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम’मा विसं २०८१ मा नयाँ आशा र विधिको शासन स्थापनामा राजनीतिक दल लाग्नुपर्ने बताउनुभएको हो । काठमाडौँ क्षेत्र नं ५ का सांसद पौडेलले निराशाले समस्याको समाधान नहुने भएकाले नयाँ आशाका साथ देशलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । “विसं २०८० मा हरेक क्षेत्रमा धेरै प्रश्न उठेका छन्, यस वर्ष उत्तर खोज्ने गरी हामी लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेता पौडेलले ८० को दशक निकै चुनौतीपूर्ण दशक रहेकाले यसको समाधानका लागि एकताबद्ध हुन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले जलवायु परिवर्तनका कारण वायुप्रदूषणसमेत अत्यधिक बढ्दै गएको भन्दै यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको बताउनुभयो ।

नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले नयाँ वर्षसँगै कांग्रेसलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले कांग्रेसले मात्र देशलाई स्थायित्व दिनसक्ने भएकाले कांग्रेसलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क) का सभापति एवम् काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष ख्यामराज तिवारीले पार्टीभित्र देखिएको गुठ उपगुठको अन्त्य गर्दै पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)का कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

कार्यालय समयमा कार्यकक्षमा नभेटिनेलाई स्वास्थ्य मन्त्रालयले कारबाही गर्ने

काठमाडौँ, ८ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीलाई कार्यालयमा हाजिर गर्ने तर कार्यकक्षमा नभेटिने गरिएकाले त्यस्तालाई कारबाही गर्ने जनाएको छ । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले मन्त्रालयअन्तर्गत प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्दै कार्यालय समयमा उपस्थित नहुनेलाई कारबाही गर्ने जनाउनु भएको हो ।

उहाँले अबदेखि कार्यालयमा समयमा नभेटिने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई कानून बमोजिम कारवाही गर्ने बताउनुभयो ।स्वास्थ्य सचिव बुर्लाकोटीले जारी गरेको निर्देशनमा स्वास्थ्य सेवा विभाग लगायतका निकायमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु हाजिरी हेर्दा कार्यालयमा हाजिर भएको देखिने तर कार्यकक्षमा खोज्दा फेला पार्न नसकिने पाइएकाले सेवाग्राहीले सेवा पाउन नसकेको गुनासो प्राप्त भएको उल्लेख छ ।

“यसरी कार्यालय समयमा आफ्नो कार्यकक्षमा उपस्थिति नहुनु प्रचलित कानून, नैतिकता, वैयक्तिक आचरण एवं विधिको प्रतिकूल हुने हुँदा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारी संयमित रही आफ्नो पदीय मर्यादा, आचारण र अनुशासन एवं विधिको पालना गर्नुहुन निर्देशन दिइएको छ”, निर्देशनमा भनिएको छ ।

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर, ८ वैशाखः भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । भोलि आइतबारदेखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

भोजपुर रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठवटा टोलीको सहभागिता रहने आयोजक जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो ।

गोल्डकपमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहभागिता जनाउने छ । प्रतियोगितामा जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडौँ, चर्च व्बाइज युनाइटेड काठमाडौँ, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्टस् क्लब र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ गरी आठ टोलीको सहभागिता रहने छ ।

प्रतियोगिता सञ्चालनका लागि रु ४९ लाख २५ हजार पाँच सय लागत अनुमान गरिएको छ । भोजपुर नगरपालिकाले रु ३० लाख विनियोजन गरेको छ । बाँकी रकम प्रायोजकहरुबाट जुटाइने छ । हालसम्म रु १० लाख रकम जुटेको आयोजकको भनाइ छ । प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद रु पाँच लाख र तीन लाख पाउनेछन् । व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकले पुरस्कार पाउनेछन् ।

भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन हुन लागेको प्रतियोगिताको सहप्रायोजक राष्ट्रिय वाणिज्य बैंक र प्रायोजकमा साल्ट ट्रेडिङ कर्पोरेसन, शिवम फुटवेयर्स प्रालि, साङ्ग्रिला चप्पल, युडी विल्डर्स भोजपुर र तेज कन्ट्रक्सन काभ्रे र संयुक्त बस व्यवसायी भोजपुर रहेका छन् ।

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी, ८ वैशाख -भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको छ । भारतमा भएको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै बन्द गरिएको सीमानाका आजदेखि पुनः सञ्चालनमा आएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।

यही वैशाख ७ गते त्तराखण्ड राज्यमा भएको लोकसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ६ बजेदेखि वैशाख ७ गते निर्वाचन नसकिँदासम्मका लागि झुलाघाट नाका बन्द गरिएको हो ।

देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै

काठमाडौँ, ८ वैशाख: हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा पानी र हिउँ पर्ने सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने तथा बाँकी भागका मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।

आज दिउँसो बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान र बाँकी प्रदेशका केही ठाउँमा तथा बेलुका गण्डकी र लुम्बिनीका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ

म्याग्दीमा डढेलोका कारण वायु प्रदूषण : दैनिक ३० जनाभन्दा बढी बिरामी

गलेश्वर (म्याग्दी)-म्याग्दीको मङ्गला गाउँपालिका–२ मा पर्ने सिमलचौरको कुकुर बिसाउने सामुदायिक वनमा यही वैशाख ५ गते रातिदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

सिमलचौरलगायत जिल्लाका पाँच सामुदायिक वनमा लागेको डढेलोका कारण तँुवालोले वातावरण प्रदूषित बनाउँदा आँखा दुख्ने, छाती पोल्ने, रुघाखोकी र ज्वरो आउने, दम बढ्नेजस्ता बिरामी बढेको पश्चिम म्याग्दीको दरबाङ अस्पतालका चिकित्सक यमन नेपालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले दैनिक ३० जनाभन्दा बढी बिरामी वायु प्रदूषणबाट ग्रस्त भएका भेटिएका छन् । चैतदेखि वैशाख पहिलो सातासम्म म्याग्दीका ७५ भन्दाबढी सामुदायिक वनमा लागेको डढेलोका कारण दुई हजार बढी हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ । वनमा डढेलो लागेपछि धुवाँ र तुवाँलोका कारण वातावरण विषाक्त बनेको तथा बिरामी हुनेक्रम पनि बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।

वनमा आगलागी हुँदा साना तथा ठूला सयौँ रूखबिरुवा जल्नुका साथै बहुमूल्य जडीबुटी, जङ्गली पशुपक्षी र अन्य वन पैदावार नष्ट भएका छन् । म्याग्दीमा हावाहुरीको मौसम सुरु भएसँगै सदरमुकाम बेनी तथा विभिन्न स्थानमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् । सामुदायिक वनमा १० हेक्टरदेखि एक सय ५० हेक्टर क्षेत्रफलमा आगलागीले क्षति पुगेको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाउँछ ।

एक साताअघि मात्र बेनी नगरपालिका–२ ज्यामरुककोटको बगरफाँट सामुदायिक वनको ६५ हेक्टर जङ्गल आगलागीबाट सखाप भयो । बुधबार मुलछहरी सामुदायिक वनमा लागेको आगोले करिब डेढ सय हेक्टर वन क्षेत्र नाश हुनुका साथै जङ्गली जनावर बासस्थान छाडेर गाउँ पस्न थालेपछि गाउँलेहरु आतङ्कित भएका स्थानीयले बताएका छन् ।

सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा स्थानीय परिचालित भएका छन् । स्थानीय र सुरक्षाकर्मी दुई दिनसम्म खटिए पनि आगो निभाउन नसकेको स्थानीय भीमबहादुर रिजालले बताउनुभयो ।

यसैगरी पश्चिम म्याग्दीको निस्कोट, उपल्लो दरबाङ क्षेत्रका सामुदायिक वनमा आगलागी हुँदा करिब ८० हेक्टर जङ्गलमा क्षति पुगेको डिभिजन वन कार्यालयले जनाएको छ । भौगोलिक कठिनाइ र भिरालो वनमा आगो लागेकाले निभाउन कठिन हुने गरेको कार्यालयले जनाएको छ ।

सामान्यतया सुक्खा र गर्मी मौसममा डढेलो बढी लाग्ने गरे पनि म्याग्दीमा हरियो घाँसको लोभमा पाखो डाँडा तथा जङ्गलमा आगो लगाउने गरिएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद अधिकारीले बताउनुभयो । “यस वर्ष म्याग्दीमा आगलागीबाट धेरै क्षति भयो, मानवीय लापरबाहीले आगलागी हुने गरेको छ”, अधिकारीले भन्नुभयो । उहाँका अनुसार मानवीय कारणबाट लगाउने गरिएको डढेलोको असर लामो समयसम्म हुने भएकाले घाँसको लोभमा प्राकृतिक स्रोतसाधन नष्ट गर्ने गरिएको छ ।

डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले विभिन्न शीर्षकमा रु १० लाख बजेटमा विभिन्न उपकरणसहितको सामग्री व्यवस्थापन, जनशक्ति परिचालनलगायतका गतिविधि गर्ने गरेको छ । जङ्गलमा जथाभावी लगाइएको डढेलोको तथ्याङ्क गण्डकी प्रदेशको वन निर्देशनालयमा समेत पठाइएको छ ।

डढेलोले वातावरण प्रदूषणसमेत बनाएको उहाँको भनाइ छ । जिल्लाको अति दुर्गम क्षेत्रमा जथाभावी डढेलो लाग्दा भूगोलका कारण स्थानीयसहित अन्य जनशक्तिसमेत पुग्न नसक्ने भन्दै उहाँले हरियो घाँसको लोभमा जथाभावी डढेलो लगाउने कार्यलाई निरुत्साहित गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली (तनहुँ – तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर करिब रु तीन करोड आम्दानी गरेका छन् । नगरपालिकाका चार वडाका कृषकले यस वर्ष सुन्तला बिक्री गरी रु दुई करोड ९० लाख आम्दानी गरेका हुन् ।

भिमाद–१, ५, ८ र ९ का किसानले दुई सय २२ टन सुन्तला बिक्री गरेका नगरपालिकाका कृषि सेवा शाखा प्रमुख कृष्ता महतोले जानकारी दिनुभयो । त्यसमध्ये वडा नं ८ अस्पादीबाट मात्रै रु एक करोड ५० लाखको सुन्तला बिक्री भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पादीका कृषकले एक सय ६६ टन सुन्तला बिक्री गर्नुभएको तथ्याङ्क छ । अन्य वडाको तुलनामा यो वडामा बढी सुन्तला उत्पादन हुने गर्दछ ।”

कृषि सेवा शाखा प्रमुख महतोका अनुसार चार वडालाई नगरपालिकाले पकेट क्षेत्रको रुपमा घोषणा गरेको छ । पकेट क्षेत्रका सुन्तला कृषकलाई नगरपालिकाले विभिन्न सामग्री सहयोग गर्दै आएको उहाँको भनाइ छ । पकेट क्षेत्रका वडाहरुमा एक सय ५० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरिएको छ ।

नगरपालिकाले चालु आव २०८०÷८१ मा वडा नं ५ लाई पनि सुन्तला पकेट क्षेत्रको रुपमा विकास गरेको छ । यो वडाको मिछुर्लुङ क्षेत्र सुन्तला पकेट कार्यक्रममा ३३ जना कृषक आबद्ध छन् । उक्त समूहलाई यसै वर्ष सुन्तला खेती प्रवर्द्धनका लागि रु छ लाख सहयोग गरिएको कृषि अधिकृत हरिप्रसाद गैह्रेले जानकारी दिनुभयो ।

तनहुँमा यो वर्ष रु ३० करोड बराबरको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष रु २९ करोड बराबरको सुन्तला उत्पादन भएको थियो । प्रत्येक वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको छ । सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित हुँदै गएका छन् ।

जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ । कार्यालयले सुन्तला खेती कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।

कार्यालयका सूचना अधिकारी किरण परियारका अनुसार देवघाट–२ र ३, आँबुखैरेनी–५, म्याग्दे ४, व्यास–७, १३ र १४, भिमाद– ८ र ९, बन्दीपुर–३, ऋषिङ–३ र घिरिङमा सुन्तला खेती विस्तारको सम्भावना छ । तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका उहाँले बताउनुभयो ।

सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौँका साथै पोखरा, नारायणगढ लगायतका ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमाद लगायतका ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् ।

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै

महोत्तरी – महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता होटल व्यवसाय फस्टाउँदै गएको छ । पछिल्लो पटक बर्दिवास–१ म रु एक अर्बमाथिको लगानीमा सुविधा सम्पन्न पाँच तारे होटल निर्माण काम थालिएको छ । बर्दिवास चोकको नजिकै ‘होटल रामिणी’को निर्माण थालिएको हो ।

कोरोना महामारीमा सुस्ताएको पर्यटकीय गतिविधि पछिल्ला दिनमा बढ्न थालेसँगै होटल, व्यवसाय तथा पर्यटनलाई लक्षित गरेर विभिन्न क्षेत्रमा लगानी गर्ने बढिरहेका छन् । होटल रामिणीको निर्माणका लागि रु एक अर्ब १० करोड लागत अनुमान गरिएको होटल रामिणी निर्माण समितिका अध्यक्ष शम्भु घिमिरेले जानकारी दिनुभयो ।

यसअघि केही महिना पहिले मात्र बर्दिवासस्थित होटल गौतमले लालगढमा रु ५० करोड बढी लागतमा अत्याधुनिक होटल निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । विनायक, गुञ्ज, नाव्या र पावनमिथिला बर्दिवासमा सञ्चालन हुँदै आएका आधुनिक सेवासहितका होटल मानिन्छन् । यसबाहेक २० भन्दा बढी १० करोड लागतमा निर्माण भएका होटल बर्दिवासमा सञ्चालित छन् ।

मधेसको राजधानी र प्राचीन मिथिला राज्यको मुख्य सांस्कृतिक केन्द्र जनकपुरधाम र भारतको अयोध्यासँगको रामायणकालीन सम्बन्धलाई पर्यटन आदानप्रदानमार्फत जोड्ने उद्देश्यले होटल निर्माण थालिएको घिमिरेको भनाइ छ ।

आदर्श नारी सीताको माइती जनकपुरधाम र मर्यादा पुरुषोत्तम श्रीरामको जन्मभूमि अयोध्याको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अत्याधुनिक होटल सञ्चालन भएको भन्दै यसले स्थानीयको आर्थिकस्तरमा सुधार ल्याउनुका साथै रोजगारीका अवसर सिर्जना गर्ने उहाँले बताउनुभयो । बर्दिवासबाट ३० किलोमिटरको दूरीमा भारतीय सीमावर्ती कन्हमा बजार छ । जहाँबाट भारतको राजधानी दिल्ली र अन्य ठूला नगरसँग सिधा यातायात सेवाले जोडेको छ ।

साथै ३५ किमी दूरीमा पर्ने जनकपुरधामका पर्यटकीय गतिविधिसँग सोझै जोडिन सकिने बर्दिवासका होटल तथा पर्यटन व्यवसायी बताउँछन् । ‘रामिणी’ सीताजीकै मिथिला, वैदेही, जानकी, मैथिली, किशोरीजी र जनकनन्दिनी जस्तै नाउँ हो । जनकपुरधाम र अयोध्याका सम्बन्ध घनिभूत बनाउन र दोहोरो आवागमन सघन बनाउन सुविधा सम्पन्न होटल र यसको सेवाले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कूल एक बिघा क्षेत्रफलमा निर्माण हुने यस होटलमा सात÷सात तलाका दुई वटा भवन बन्ने छन् । होटलमा ८२ वटा अत्याधुनिक सुविधासहितका कोठा हुने जनाइएको छ । होटल निर्माण दुई वर्षभित्र सम्पन्न भइसक्ने प्रबन्धक श्रेया पाण्डेको भनाइ छ ।

पूर्वपश्चिम राजमार्ग, बिपी राजमार्ग, मदन भण्डारी राजमार्ग र भारतसँग जोड्ने बर्दिवास जलेश्वर तथा बर्दिवास सम्सी सडकको सङ्गम रहेको हुँदा यो ठाउँ आम यात्रीका लागि बसोबास गर्न उपयुक्त केन्द्र बन्दै गएको प्रबन्धक पाण्डेले बताउनुभयो ।

चुरे पहाडको काखमा अवस्थित बर्दिवास वरपर टुटेश्वरधाम, पञ्चधुरा माइस्थान र राइमण्डल धार्मिक क्षेत्र पर्यटकका गन्तव्य बन्दै आएका छन् । यसैगरी १० हजार वर्ष पहिलेको पाषाणकालीन हतियार कारखाना यहाँ रहेको तथ्य प्रकाशमा आउँदै गएपछि यसबारे चासो राख्ने अन्वेषकको बाक्लो आउजाउ बढेको बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काले बताउनुभयो । साथै पूर्वपश्चिम राजमार्गमा मधेसको झण्डै मध्यविन्दूमा परेको हुँदा बर्दिवासमा होटल तथा पर्यटन सम्भावना बढेको उहाँको भनाइ छ ।

सेवा, सुविधा र अपनत्वभाव होटल तथा पर्यटन सम्भावना विकासका अपरिहार्य पक्ष रहेको होटल तथा पर्यटन व्यवसायी सङ्घ मधेस प्रदेश समितिका अध्यक्ष हिरालाल गौतमले बताउनुभयो । यही कुरालाई मध्यनजर गर्दै मुलुकमा ३५ लाख पर्यटक धान्ने होटल पूर्वाधार रहेका उहाँले जानकारी दिनुभयो ।

हाल मुलुकमा पाँच तारे होटलको सङ्ख्या २२ र चार तारे होटलको सङ्ख्या ३४ पुगेको छ । नयाँ बन्न लागेको होटल रामिणीले भारतका होटल ब्राण्डसँग छलफल गरी सेवा तथा सुविधा स्तरीय बनाइने प्रबन्धक पाण्डेले बताउनुभयो । उहाँका अनुसार होटल सञ्चालनमा आएसँगै एक सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने छन् ।

हमासको आक्रमणमा परी गत ज्यान गुमाएका आनन्द साहको परिवारलाई प्रदेश सरकारद्वारा पाँच लाख सहयोग

गोदार (धनुषा), ७ वैशाख : प्यालेस्टिनी राजनीतिक तथा सैन्य समूह हमासको आक्रमणमा परी गत असोजमा ज्यान गुमाएका धनुषाका आनन्द साहको परिवारलाई मधेस प्रदेश सरकारले रु पाँच लाख सहयोग गरेको छ ।

प्रदेश सरकारबाट घोषणा भएअनुरुप मुख्यमन्त्री सरोजकुमार यादवले मृतक साहका बुवा सोमन साहलाई रु पाँच लाख बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।

गत असोज २० गते इजरायलको मध्य र दक्षिण क्षेत्रमा हमास समूहले गरेको आक्रमणमा परी धनुषाको लक्ष्मीनियाँ–४ का आनन्द साहसहित अध्ययन भ्रमणमा रहेको १० जना विद्यार्थीको निधन भएको थियो ।

शिलान्यासको पाँच वर्षपछि निर्माण हुँदै नवलपुरको ‘नमूना सदरमुकाम’

त्रिवेणी (नवलपरासी),- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणको प्रक्रियाअघि बढेको छ । शिलान्यासको पाँच वर्षपछि जिल्लाको महत्वपूर्ण आयोजनका रुपमा हेरिएको नमूना सदरमुकाम निर्माण प्रक्रियाअघि बढाइएको हो ।

जिल्लामा रहने सङ्घ तथा प्रदेश मातहतका सरकारी कार्यालय एकै स्थानमा बनाउने गरी कावासोती नगरपालिका–३, मा रहेको एक सय ८७ बिघा जग्गामा नमूना सदरमुकाम निर्माण थालनी गरिएको थियो । विसं २०७६ वैशाख ७ गते नमूना सदरमुकाम निर्माणको योजनाअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो ।

सङ्घीयतापछि तत्कालीन नवलपरासीबाट अलग भएको नवलपुरको नयाँ, व्यवस्थित र आधुनिक शैलीको सदरमुकाम निर्माण गर्ने योजनाअनुसार यसलाई नमूना सदरमुकाम नामकरण गरी काम थालिएको थियो । शिलान्यासको पाँच वर्षपछि मात्र निर्माणको जिम्मा पाएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनले भवन निर्माणको प्रक्रिया सुरु गरेको छ ।

आयोजना कार्यालयले विसं गत चैत २५ गते भवन निर्माणको ठेक्का खुलाएको छ । एक महिनाको समय राखेर भवन निर्माणका लागि ठेक्का आह्वान गरेको आयोजना कार्यालयका प्रमुख झपटबहादुर थापाले बताउनुभयो । नवलपुरको नमूना सदरमुकाम निर्माणस्थलमा पहिलो चरणमा रु ५० करोडको काम गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

रु ५० करोड बजेट सुनिश्चित भएसँगै पहिलो चरणमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी पाँच वटा कार्यालयका लागि भवन निर्माण प्रक्रियाअघि बढेको कार्यालय प्रमुख थापाले बताउनुभयो । पहिलो चरणमा बन्ने भवनमध्ये जिल्ला प्रशासन कार्यालयको अलग भवन रहने छ ।

बाँकी सेवाको एकरूपता हुने किसिमका कार्यालय रहने गरी दुई भवनमा चार वटा खण्ड हुने छन् । जसमा चार वटा कार्यालय रहनेछन् । “यसअघि काम हुन सकेको थिएन, पहिलो चरणमा केही कार्यालय रहने गरी भवन निर्माणको प्रक्रिया अघि बढेको छ, तीन आवमा पहिलो चरणको काम सक्ने लक्ष्य छ”, कार्यालय प्रमुख थापाले भन्नुभयो ।

निर्माणस्थलमा अन्य सरकारी कार्यालयको भवन तथा बाटो निर्माण, निर्माणस्थलको उत्तरी क्षेत्रमा रहेको केरुङ्गे खोलाको बाढी नियन्त्रणलगायत कार्य गर्न थप बजेट माग गरिएको उहाँको भनाइ छ । थप बजेट सुनिश्चित भएपछि निर्माणअन्तर्गत दोस्रो चरणको काम अघि बढ्ने उहाँले बताउनुभयो ।

दोस्रो चरणमा भवन निर्माणको लागि रु पाँच अर्ब र बाटोलगायत अन्य कार्यका लागि रु दुई अर्ब ५० करोड सरकारसँग माग गरिएको कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो ।

नमूना सदरमुकाम निर्माणस्थलमा यसअघि करिब रु १० करोडको लागतमा कच्ची बाटो निर्माण गरिएको थियो । सोबाहेक अन्य कुनै काम अघि नबढेको अवस्थामा पहिलो चरणमा भवन निर्माणको प्रक्रिया सुरु हुनु जिल्लावासीका लागि खुसीको कुरा भएको जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले बताउनुभयो ।

“सरकारी कार्यालय अहिले यत्रतत्र छरिएर रहेका छन्, त्यसमाथि भाडाको घरमा सञ्चालन हुँदा, साँघुरो छन्, सेवाग्राही मैत्री छैनन्, नमूना सदरमुकाममा भवन निर्माणको काम सुरु हुने सबैका लागि खुसीको कुरा हो”, उहाँले भन्नुभयो ।

पहिलो चरणको काममा कुनै विलम्ब नगरी सम्पन्न गर्नेतर्फ लाग्नुपर्ने र अन्य कार्यालयका लागि समेत थप बजेट सुनिश्चित गरी काम अघि बढाउन आवश्यक रहेको उहाँको भनाइ छ । नमूना सदरमुकाम निर्माणस्थलमा सङ्घ, प्रदेश कार्यालय, पुस्तकालय, सभाहल, बैंक, अतिथि गृह, आवास गृह, रङशाला, सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, पार्कलगायत संरचना निर्माण गर्ने योजना रहेको छ । प्रारम्भिक योजनाअनुसार नमूना सदरमुकाम निर्माणका लागि करिब रु १६ अर्ब लाग्ने अनुमान गरिएको छ ।

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता दिएर उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) ले युक्रेनको साँच्चिकै सहयोगी हो कि होइन भन्ने छनौट गर्नुपर्ने बताउनुभएको छ ।

नेटोका रक्षामन्त्रीहरूसँगको भिडियो कन्फरेन्समा जेलेन्स्कीले भन्नुभयो, “हाम्रो आकाश फेरि सुरक्षित हुनुपर्छ ।

यो पूर्ण रूपमा तपाईंको छनौटमा निर्भर गर्दछ । जीवन वास्तवमा सबै ठाउँमा समान मूल्यवान छ कि छैन छनौट गर्नुहोस् । तपाईंसँग सबै साझेदारहरूको समान मनोवृत्ति छ कि छैन छनौट गर्नुहोस् । हामी वास्तवमै सहयोगी हौं कि होइनौं भन्ने निर्णय गर्नुहोस् ।” जेलेन्स्कीले जमिन र हावाबाट रूसी आक्रमण रोक्न सक्ने आफ्नो सेनाको क्षमताको निराशाजनक तस्वीर प्रस्तुत गर्दै युक्रेनले पश्चिमी सहयोगबिना आफ्नो प्रतिरक्षा गर्न नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो स्पष्ट छ रूससँग हवाई आक्रमणका लागि शक्ति छ । यसको आक्रमण अब ड्रोन र रकेटमा निर्भर हुन सक्छ, दुर्भाग्यवश, जमीनमा हाम्रो क्षमता सीमित छ ।” जेलेन्स्कीले अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’मा ६१ अर्ब अमेरिकी डलरको सैन्य सहायता प्याकेजलाई खोलिदिने वा नखोलिदिने भन्ने विषयमा शनिबार भएको मतदानलाई ‘अत्यन्त महत्वपूर्ण निर्णय’ भन्नुभयो ।

रिपब्लिकन पार्टीमा देखिएको राजनीतिक विवादका कारण गत वर्षदेखि नै सहायता वितरणमा ढिलाइ भइरहेको छ ।रूसी हवाई आक्रमणका कारण दर्जनौँको मृत्यु हुनुका साथै घाइते भएपछि युक्रेनी नेताले युक्रेनी शहरहरूको सुरक्षा गर्न र जीवन बचाउन किएभलाई थप हवाई प्रतिरक्षा प्रणालीको आवश्यकता रहेको बताउनुभयो ।

जेलेन्स्कीले नेटो–युक्रेन परिषद्को बैठकमा भन्नुभयो, “रक्षा गर्न, हामीलाई थप सात ‘प्याट्रियट्स’ वा यस्तै हवाई रक्षा प्रणाली चाहिन्छ र यो न्यूनतम सङ्ख्या हो । ती हतियारले धेरै युक्रेनी जीवन बचाउन सक्छन् र वास्तवमा स्थिति परिवर्तन गर्न सक्छन् ।”

उहाँले थप्नुभयो, “यो वर्ष हामी निर्णयको प्रतिक्षा गर्न सक्दैनौं ।” युक्रेन रुसी आक्रमण रोक्न पश्चिमी, मुख्यतया अमेरिकी सैन्य समर्थनमा निर्भर छ ।

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो

सिमकोट, (हुम्ला) – हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक उपभोग्य सामग्रीको नयाँ मूल्य निर्धारण गरेको छ । सङ्घले निर्धारण गरेको अधिकांश सामानको रु पाँचदेखि रु ५० सम्म मूल्य घटेको छ भने खसीको मासुको मूल्य रु एक सय बढीले घटेको जनाइएको छ ।

सिमकोट बजारमा दैनिक उपभोग्य हुने सामानको हुम्ला उद्योग वाणिज्य सङ्घले गरेको मूल्य निर्धारण गरेसँगै सम्पूर्ण व्यवसायीलाई मूल्य सूची वितरण गरिएको छ । सङ्घले वितरण गरेअनुसार नै मूल्य कार्यान्वयन गरिएको व्यवसायी बताउँछन् ।

सिमकोट बजारमा थोक व्यवसाय गर्दै आएका व्यवसायीले खुद्रा सामान बिक्री नगर्ने निर्णय गरिएको सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार मासु जन्यपदार्थको वितरण तथा खुद्रा मूल्यसमेत निर्धारण गरिएको हो । व्यवसायीलाई दैनिक उपभोग्य वस्तुको मूल्य सूची बनाएर वितरण गरिएसँगै एकरुपता आउने विश्वास लिइएको भण्डारीले बताउनुभयो ।

वोइलर कुखुराको मासु, माछा र वँगुरको मासु प्रतिकेजी रु सात सय, अण्डाप्रति गोटा रु ३०, प्रतिक्यारेट रु सात सय ५० र रागाँको मासु प्रतिकेजी रु सात सय ५० निर्धारण गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । जिउँदो खसीको प्रतिकेजी रु छ सय ५०, खसीको मासु मिक्स प्रतिकेजी रु एक हजार र खसीको नेट मासुको रु एक हजार एक सय निर्धारण गरिएको छ ।

दैनिक उपभोग्य वस्तुमा धारा तेल तीन सय ७०, सन फलावर तीन सय सय, स्वास्तिक प्रतिलिटर दुई सय ८०, डाल्टा घ्यू दुई सय ८०, चिनी प्रतिकेजी एक सय ७०, चिउरा प्रतिकेजी दुई सय मूल्य तोकिएको छ ।

अन्य उपभोग्य वस्तुमा पनि मूल्य निर्धारण गरिएको भन्दै अधिकांश वस्तुको मुल्य घटेको उहाँले बतायनुभयो । मूल्य सूचीमा कायम भएअनुसार नै व्यापारीले सामग्री विक्रिवितरण गरेमा बजारमा एकरुपता कायम आउने उहाँको भनाइ छ ।

भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा

काँक्रेविहार (सुर्खेत) – भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ (पुल) अन्तिम चरणमा पुगेको छ । डोल्पा, जाजरकोट र रुकुमपश्चिमलाई जोड्न महत्वपूर्ण मानिएको भेरी नदीको बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ ।

बेलिब्रिज निर्माणका लागि आवश्यकपर्ने पाता सबै जडान भइरहेको आयोजनाका प्रमुख सुनील रञ्जितकारले बताउनुभयो । पुलको बेस प्लेट जडानको काम भोलिदेखि सुरु हुने उहाँले जानकारी दिनुभयो । जेठ मसान्तभित्र पुल निर्माण गरिसक्ने योजनाका साथ काम भइरहेको उहाँको भनाइ छ ।

पुलका सबै पाता यति बिल्र्डसले जडान गरेको छ भने बेस प्लेटदेखि ढलान, पालको काम बुद्धिबहादुर खत्रीले गर्ने सहमतिअनुसार काम भइरहेको प्रमुख रञ्जितकारले बताउनुभयो ।

जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको अनाहबीचमा पर्ने उक्त पुल लामो समयदेखि अलपत्र परेकामा नयाँ कार्यालय प्रमुख आएसँगै निर्माणले तीव्रता पाएको हो । रु तीन करोड ८१ लाखको लागतमा बेलिब्रिजको काम भइरहेको छ । बेलिब्रिज हिम सगरमाथा–खड्का कृष्ण जेभीले विसं २०७८ पुसमा जिम्मा लिएको थियो । एक वर्षभित्र निर्माण सक्ने भन्दै काम सुरु गरिएको उक्त पुल अहिलेसम्म पूरा हुन सकेको छैन ।

आयोजना कार्यालयको प्रमुख बदलिरहने तथा निर्माण व्यवसायीलाई काम गर्न ताकेता नगर्दा पुल निर्माण अलपत्र पर्दै आएको थियो । हालका प्रमुख रञ्जितकारले आफू कार्यक्षेत्रमा खटिएर निर्माणलाई तीव्रता दिन दबाब दिएपछि अहिले करिब ९० प्रतिशत काम पूरा भएको छ । तीन जिल्लाको लाइफलाइनका साथै भारत, नेपाल र चीन जोड्ने त्रिदेशीय सडकको रुपमा पनि उक्त आयोजना महत्वपूर्ण मानिएको छ ।

एक सय १८ किलोमिटर लम्बाइ रहेको जाजरकोट–डोल्पा खण्डभित्रको ५६ किमी सडकमा अहिले काम भइरहेको आयोजना प्रमुख रञ्जितकारले जानकारी दिनुभयो । ठेक्का लिएर काम नगर्ने क्याराभानलाई समेत तत्काल काममा फर्कन दबाब दिइएको उहाँको भनाइ छ ।

रञ्जितकारका अनुसार अहिले ५६ किमी खण्डमा कामले तिव्रता पाएको छ भने बाँकी ६२ किमीमा सडक फराकिलो बनाउने र स्तरोन्नतिको काम सुरु गर्न थालिएको छ । यो पुल निर्माण पछि जगदुल्ला जलविद्युत् आयोजना एक सय छ मेगावाट निर्माणमा समेत सहजता हुनेछ । जेठ मसान्तभित्र डोल्पामा बेलिब्रिज पुलमार्फत सिधा यातायात सेवा सञ्चालन गर्ने आफ्नो लक्ष्य रहेको आयोजना प्रमुख रञ्जितकारले बताउनुभयो ।

एमाले प्रतिनिधि परिषद् बैठक बस्दै, साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरिने

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज बस्दैछ । बैठक वैशाख ८ र ९ गते ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र जानकारी दिए। उनका अनुसार बैठकमा महाधिवेशन परिषद् सदस्य दुई हजार ७३ र तीन सय ८१ जना गरी कूल दुई हजार चार सय ५४ जना सहभागी हुनेछन् ।

परिषद् बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछ । यसैगरी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्ने छन् । महासचिव शङ्कर पोखरेलले मुलुकको आवश्यकता, जनचाहनाअनुसार राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई सुनिश्चित गर्ने बलियो, सुदृढ र निर्णायक राष्ट्रिय शक्तिका रुपमा एमालेलाई विकसित गर्न परिषद् बैठकले स्पष्ट दिशानिर्देश गरी निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

एमालेलाई कसरी अगाडि बढाउने निर्क्यौल गर्ने र राष्ट्रिय राजनीतिलाई सही दिशामा अगाडि बढाउने सन्दर्भमा पनि बैठक महत्वपूर्ण हुने उहाँनको भनाइ थियो । एमालेको विधानमा दुई राष्ट्रिय महाधिवेशनबीचमा आवश्यकताअनुसार परिषद् बैठक बस्ने उल्लेख गरिएको छ ।

भारत सरकारको सहयोगमा बन्ने विद्यालय भवनको शिलान्यास

काठमाडौँ – भारत सरकारको रु दुई करोड ८२ लाख आर्थिक सहयोगमा निर्माण हुने दार्चुलाको व्याँस गाउँपालिका-६ स्थित हिमालय माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ ।व्याँस गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामी र भारतीय राजदूतावास, काठमाडौँका द्वितीय सचिव प्रशान्तकुमार सोनाले संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभएको हो ।

त्यसैगरी, ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत रु तीन करोड ३७ लाखमा निर्माण गरिएको दुहूँ गाउँपालिकास्थित जनविकास माविको विद्यालय भवनको दुहूँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल र भारतीय राजदूतावासका द्वितीय सचिव सोनाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोगले व्याँस गाउँपालिकाको हिमालय माविलाई दुईतले विद्यालय भवन, शौचालय, पर्खाल र प्रवेशद्वार निर्माण गरिनेछ ।

त्यसैगरी, दुहूँ गाउँपालिकास्थित जनविकास माविको भवन निर्माण गरिएको दूतावासले जनाएको छ । भारत र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यी दुवै परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको हो ।

हिमालय माविका लागि परियोजनाको कार्यान्वयन व्याँस गाउँपालिकामार्फत गरिनेछ भने जनविकास माविका परियोजना कार्यान्वयन दुहूँ गाउँपालिकामार्फत गरिनेछ ।

व्याँस गाउँपालिका र दुहूँ गाउँपालिकाका अध्यक्षले भारत सरकारको सहयोगको प्रशंसा गर्नुभएको छ । दार्चुलास्थित हिमालय मावि र जनविकास माविमा अध्ययनरत विद्यार्थीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयका नयाँ भवन उपयोगी हुने उहाँहरुले बताउनुभयो ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । चार सय ८९ वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये सुदूरपश्चिम प्रदेशमा ४० वटा परियोजना छन्, जसमा १० वटा परियोजना दार्चुलामा छन् ।