`

आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा

काठमाडौँ, ७ वैशाखः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको पहुँच आमजनताका बीचमा लैजान सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल एशोसियसन फर सफ्टवेर एण्ड आइटी कम्पनिज (नास–आइटी)का पदाधिकारीसँगको भेटमा उहाँले सञ्चार तथा सूचना प्रविधिको प्रयोग बढाएर मुलुकको डिजिटल रुपान्तरणका लागि सहकार्य आवश्यक रहेको बताउनुभएको हो ।मन्त्री शर्माले नेपालमा सञ्चार तथा सूचना प्रविधिको विकासका लागि यसलाई आम जनताले बुझ्ने गरी स्थापित गर्नुपर्ने बताउनुभयो । उहाँले हरेक क्षेत्रको विकासका लागि त्यसको महत्व आमनागरिकले बुझ्नुपर्नेमा उदाहरण दिँदै भन्नुभयो, “योग विज्ञान आजको होइन तर रामदेवले स्थापित गरेपछि योग घरघरमा पुग्यो । उत्पीडित समुदायको मुक्ति र अधिकारको नारा नयाँ होइन तर माओवादी जनयुद्धले त्यसलाई घरघरमा पु¥याएपछि मात्रै परिवर्तन सम्भव भयो । त्यसैगरी अब सञ्चार तथा सूचना प्रविधिको महत्व र औचित्य पनि आमजनताले महसुस गर्ने गरी स्थापित गर्नुपर्छ, ताकि यसलाई आफ्नो जीवनशैली बनाएर त्यसबाटै उनीहरुले जीवन सहज र सरल बनाउन सकून् ।”

सञ्चार तथा सूचना प्रविधिको महत्व केही प्राविधिक व्यक्तिहरुले मात्रै बुझ्ने र बाँकीले आफूलाई उपभोक्ताका रुपमा मात्र लिनेभन्दा पनि सबैले सूचना प्रविधि क्षेत्रलाई आत्मसात् गर्नेगरी यसको विकास गर्नुपर्नेमा मन्त्री शर्माले जोड दिनुभयो । अब सुशासन र समृद्धिको आधार नै सञ्चार तथा सूचना प्रविधि क्षेत्र भएकाले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि क्षेत्रको लगानी वृद्धि गर्न कानुन परिमार्जन गरेर जाने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सरकारी र निजी क्षेत्रको सहकार्यबाट सूचना प्रविधि प्रयोग गरी मुलुकलाई समृद्ध बनाउन सकिने स्पष्ट गर्नुभयो ।

छलफलमा प्रतिनिधिसभा सदस्य मनिष झाले सूचना प्रविधि क्षेत्रलाई समुदायस्तरमा पु¥याएर हरेक विद्यालयमा यसलाई प्रतिष्पर्धाको विधा बनाउनुपर्ने बताउनुभयो । सूचना प्रविधिमा विद्यालय तहहुँदै प्रदेश र राष्ट्रियस्तरमा प्रतिस्पर्धा गराएर लाखौँ युवालाई देशभित्रै रोजगार र स्वरोजगार बनाउन सकिने उहाँले स्पष्ट गर्नुभयो ।

सो क्रममा नास आइटीका पदाधिकारीले पालिकास्तरमा हरेक नागरिकको एकीकृत तथ्याङ्क व्यवस्थापन गर्ने गरी एकीकृत डाटा केन्द्र स्थापना गर्नुपर्ने, नेपाली आइटी कम्पनीले देश बाहिर शाखा स्थापना गर्ने गरी कानुनी व्यवस्था गर्नुपर्ने, आइटी उद्योग र स्टार्टअपलाई प्राथमिक क्षेत्रको ऋणको वर्गको समावेश गर्नुपर्ने, सूचना प्रविधिको काम एकद्वार प्रणालीबाट गर्न आइटी बोर्ड स्थापना गर्नुपर्ने, आइटी पार्क र हब स्थापना गरेर एकैथलोबाट सूचना प्रविधिको काम गराउन सरकारले सहजीकरण गर्नुपर्ने, सरकारी निकायका लागि सफ्टवेयर खरिद गर्दा स्थानीयलाई प्राथमिकता दिनुपर्नेलगायतका सुझाव दिनुभएको थियो । छलफलमा नास–आइटीका अध्यक्ष रिचन श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

चीनबाट आयात गरिएको रासायनिक मल काठमाडौँ ढुवानी

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम ढुवानी भइरहेको छ । करिब ११ महिना गोदममा थन्किएको मल आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै मल काठमाडौँतर्फ ढुवानी भएको हो । कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भएपछि तीन हजार पाँच सय टन मल काठमाडौँ पठाइएको भन्सार कार्यालयले जनाएको छ ।

तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीका अनुसार तीन हजार पाँच सय टन मलमध्ये हालसम्म एक हजार दुई सय टनभन्दा बढी मल जाँच पास भएर काठमाडौँ पुगेको छ । बाँकी मल पनि जाँच पास प्रक्रियामा रहेकाले चाँडै नै काठमाडौँ पुग्नेछ ।

सरकार गठन र विघटनका शृङ्खलाले देश विकासमा अवरोध भएको छः रामशङ्कर यादव

काठमाडौँ, ७ वैशाखः अहिले वैदेशिक रोजगारीमा जाने युवाको ताँती छ । युवा पलायन रोक्न देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न जरुरी भएको छ । ‘आफ्नो देश छाडेर परदेश नजाऊ’ भन्न राज्यले उनीहरूलाई परिवार पाल्न सक्ने रोजगारीको व्यवस्था गर्न सक्नुपर्छ । सरकार गठन र विघटनको शृङ्खलाले देशको विकास प्रयासमा अवरोध भएको छ । जनताले राजनीतिक स्थायित्व विकास चाहेका छन् । देश र जनताको हित गर्ने राजनीतिक पार्टीलाई सत्तामा पुग्नेगरी मत दिनुपर्छ । अनिमात्र देशको विकासमा ती दलले काम गर्ने वातावरण बन्छ ।

हामीले अङ्गीकार गरेको संसदीय अभ्यास सैद्धान्तिक रूपमा मलाई ठीक लागेको छ । यद्यपि कतिपय व्यावहारिक पक्षमा अझै सुधारको खाँचो छ । सदनभित्र हामी जरुरी विषयलाई थाँती राखेर अनावश्यक कुरामा बढी केन्द्रित भएको देख्छु । सदनभित्र सांसदहरूले कानुन बनाउने विषयमा बढी ध्यान दिनुपर्छ । तर कानुन अलपत्र परेको देख्दा सांसदको नाताले आफैँलाई हीनताबोध हुन्छ । पछिल्लो निर्वाचनपछि संसद्का तीनवटा अधिवेशन बसिसके, तर संसद्बाट जम्मा चारवटा कानुन पास भयो । सांसदको काममा कमी भयो । सांसदहरूको मनोबल नै कमजोर भएको छ । सांसदले शून्य र विशेष समयमा जनताका आधारभूत कुरा राख्छन्, तर ती कार्यान्वयन हुँदैनन् ।

राजनीतिमा म पनि धेरै समयदेखि क्रियाशील छु । तैपनि पहिलोपटक प्रतिनिधिसभा सदस्य बनेको हुँ । देशका ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले मुलुकका लागि जेजति गर्नुपर्ने हो त्यो गर्न सकेको देखिँदैन । देश र जनतालाई भुलेर आफ्नो स्वार्थका लागि अलि बढी काम गरेको जस्तो देखिन्छ । नेताहरूमा नैतिकता हुनुपर्छ । भ्रष्टाचार न्यूनीकरण नभएसम्म देश बन्दैन ।

राजनीति कमाउने पेसा होइन, यो समाजसेवा हो । सांसदहरूको पनि सोच अलि फरक छ । आफ्नो क्षेत्रमा बजेट लिएर जान पाए जनता खुसी हुने थिए भन्ने हरेक सांसदको सोचाइ हुन्छ । जनताले भोट दिएर जिताएका सांसदलाई विकास निर्माणको काम गर्नुपर्ने पनि जरुरी हुन्छ । जनताले विकासकै कामको आशा गर्छ । के–के विकास गर्यो त ? त्यो नै प्रश्न हुन्छ । ठूला नेता, प्रभावशाली सांसदले आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका लागि धेरै बजेट लैजाने गलत प्रवृत्ति हाबी छ ।

सिराहा जिल्ला पञ्चायती व्यवस्थादेखि नै विकास निर्माणमा पछि परेको छ । त्यहाँको मुख्य समस्या खानेपानी र सिँचाइ हो । हामीजस्ता साना सांसदको जिल्लामा बजेट नै दिइएन । यसबाट जनतामा निराशा छ । खेतीबालीका लागि उर्वर यस क्षेत्रमा सिँचाइ अभाव किसानले भोग्नुपरिरहेकै छ । तर हाम्रो कुरा सुनुवाइ भइरहेको छैन । आगामी बजेटमा सरकारले सिराहाको विकासका लागि केही गर्छ कि ?

हामी नेपाली स्वाभिमानी छौँ । सङ्घीय व्यवस्था उपयुक्त व्यवस्था हो । यो व्यवस्थालाई खराब भन्न मिल्दैन । यो व्यवस्थामा अन्याय, भ्रष्टाचार, अनियमितता रोक्न जनता नै जाग्नुपर्छ । दलीय प्रणालीमा ‘ह्वीप’ जारी हुन्छ । सांसदले समर्थन गर्न मन नभए पनि गर्नुपर्ने बाध्यता हुन्छ । संसदीय व्यवस्थामा प्रधानमन्त्री देशका लागि समर्पित हुनुपर्छ । कर्मचारी संयन्त्र पनि स्वच्छ छविको हुनुुपर्छ । अनिमात्र देशमा सुशासन प्रत्याभूत हुनसक्छ ।

सांसद रामशङ्कर यादवको परिचय

सांसद रामशङ्कर यादवको जन्म २०१८ साल असोज १४ गते सिराहा जिल्लामा भएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट प्रत्यक्ष निर्वाचित सांसद यादव २०५६ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । विसं २०७८ मा एमाले केन्द्रीय सदस्य र राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुँदै २०७९ मङ्सिर ४ को निर्वाचनमा उहाँ सिराहा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो ।
(सांसद यादवसँग राससका समाचारदाता कालिका खड्काले गर्नुभएको कुराकानीको सम्पादित अंश ।)

प्रधानमन्त्रीसँग हमासको कब्जामा रहेका विपिन जोशीका परिवारको भेट

काठमाडौँ, ७ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवाआमासहित परिवारका सदस्यले भेट गरेका हुन् । भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र त्यस निम्ति निरन्तर पहल गरिरहेको बताउँदै चाँडै सकारात्मक परिणाम आउनेमा आफू आशावादी रहेको उल्लेख गर्नुभयो ।

प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक सूचना जारी गरेर काफ्लेपाटी, बलुडाँडा, गुराँसे, माथिल्लो फेदीबजार तथा होटलमा मदिरा बेच्न तथा सेवनमा निषेध गरेको हो । तीर्थयात्रीको सुरक्षा र स्वास्थ्यलाई दृष्टिगत गरी मदिरा निषेध गरिएको जनाइएको छ ।

पाथीभरा क्षेत्रमा मदिराजन्य पदार्थको सेवन, ओसारपसार र बिक्री पूर्ण रूपमा निषेध गरिएसँगै यसको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध सबै पक्षसँग समितिले आग्रह पनि गरेको छ ।

सुर्खेतमा आजदेखि ‘एन्फा महिला लिग–२०२४ छनोट फुटबल प्रतियोगिता’ हुँदै

कर्णाली, ७ वैशाखः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग–२०२४ छनोट फुटबल प्रतियोगिता’ हुँदैछ ।अखिल नेपाल फुटबल सङ्घको आयोजनामा वीरेन्द्रनगरस्थित रङ्गशालामा हुने प्रतियोगितामा सातै प्रदेशका खेलाडी र अफिसियल गरी एक सय ५० भन्दा बढीको सहभागिता हुने सुर्खेत जिल्ला फुटबल सङ्घका अध्यक्ष रवीन्द्र चन्दले जानकारी दिनुभयो । प्रतियोगिता ‘राउण्ड रविन’ ढाँचामा सञ्चालन हुनेछ ।

शीर्ष तीन टोली एन्फा महिला लिग–२०२४ को दोस्रो चरणमा प्रवेश गर्ने र तिनले नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लब, सशस्त्र प्रहरी बल र नेपाल पुलिस क्लबको महिला टोलीसँग प्रतिस्पर्धा गर्ने उहाँले बताउनुभयो । अध्यक्ष चन्दका अनुसार उक्त प्रतियोगिताका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले रु २० लाख र राष्ट्रिय खेलकुद विकास परिषद्बाट रु २५ लाख विनियोजन भएको छ ।

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ, ७ वैशाखः हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख प्रदान गरेको छ । पालिकाले छात्रवृत्तिस्वरुप उक्त रकम उपलब्ध गराएको हो ।

नगरपालिकाले बिहीबार वडा नं ४ बडहरेका विकेश सिलवाल र वडा नं ६ मङ्गलटारका हेमन राईलाई उक्त रकम प्रदान गरेको हो । नगर कार्यपालिकाद्वारा पारित छात्रवृत्ति कार्यक्रमअन्तर्गत पहिलोपटक दुई छात्रलाई प्रोत्साहन रकम उपलब्ध गराइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो । “नगरपालिकाले रोजगारमूलक गुणस्तरीय शिक्षामा जोड दिएको छ । नगरपालिकाभित्रका छात्रछात्रालाई प्राविधिक विषय अध्ययन गर्न प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ”, उहाँले भन्नुभयो, “चिकित्साशास्त्र, कृषि तथा पशु विज्ञान, वन तथा वातावरण विज्ञान, इन्जिनीयरिङ र सूचना प्रविधिका विषय गरी पाँच विषयमा उच्च शिक्षा अध्ययन गर्नेलाई रकम प्रदान गरिने छ ।”

यसैबीच, हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर क्रमशः सुधार भएको छ । गत वर्षको परीक्षामा करिब २२ प्रतिशत विद्यार्थीमात्र सबै विषयमा उत्तीर्ण भएकामा यस वर्ष ४० दशमलव ६३ प्रतिशत उत्तीर्ण भएको नगरप्रमुख राईले बताउनुभयो । गत वर्षदेखि नगरपालिकाले सामुदायिक विद्यालयको परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन व्यवस्थित गर्न थालेको थियो । कक्षा ४ देखि ९ सम्मको वार्षिक परीक्षामा फरक विद्यालयका शिक्षकलाई फरक विद्यालयमा परीक्षा केन्द्राध्यक्ष बनाएर खटाइएको थियो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाको मातहतमा प्रश्नपत्र बनाउने र उत्तरपुस्तिका परीक्षण गरी नतिजा प्रकाशन सुरु गरिएको थियो । शैक्षिकसत्र २०८०÷८१ मा कक्षा ४ देखि ९ सम्म नगरपालिकाका सबै सामुदायिक विद्यालयबाट दुई हजार सात सय पाँचजना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । यसमध्ये एक हजार ९९ विद्यार्थी उत्तीर्ण भएका छन् ।

कञ्चनपुरमा गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट

महेन्द्रनगर (कञ्चनपुर), ७ वैशाखः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ ।

दोधारा चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले जानकारी दिनुभयो । उहाँले स्थानीय पुजन बरालसहित १५ स्थानीयको गहुँबालीमा आगलागी भएको बताउनुभयो ।

“आगलागीबाट सात बिघा जमिनको गहुँबाली पूर्ण रूपमा क्षति भएको छ”, बस्नेतले भन्नुभयो, “स्थानीय, सुरक्षा निकाय, जनप्रतिनिधि र भीमदत्त र दोधारा चाँदनी नगरपालिकाको दमकलको सहायताले आगो निभाइएको थियो ।”

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

काँक्रेविहार (सुर्खेत), ७ वैशाख : भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ ।डोल्पा, जाजरकोट, रुकुमपश्चिमलाई जोड्ने बेलिब्रिजका पाताहरु सबै जडान भएका आयोजना प्रमुख सुनिल रन्जितकारले राससलाई बताउनुभयो । पुलको ‘बेस प्लेट’ जडानको काम भोलिदेखि सुरु हुने उहाँले जानकारी दिनुभयो ।

आगामी एक महिनाभित्र सम्पूर्ण काम पूरा गर्ने लक्ष्यका साथ निर्माण भइरहेको उहाँले बताउनुभयो । पुलका निम्ति रु तीन करोड ८१ लाख विनियोजन भएको छ । यो पुल तीन जिल्लाको ‘लाइफ लाइन’ मात्र नभइ भारत, नेपाल र चीन जोड्ने सडकको महत्वपूर्ण संरचना हो ।एक सय १८ किलोमिटर लामो जाजरकोट–डोल्पा सडकको ५६ किलोमिटर खण्डमा अहिले काम भइरहेको छ ।

बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भागका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । त्यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा वर्षा र हिमपातको पनि सम्भावना छ ।

आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार कोशी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा पानी र हिउँ पर्नेछ । लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

चितवनका भित्री सडकमा दुर्घटना सबैभन्दा बढी

नारायणगढ (चितवन) – जिल्लामा भएका सवारी दुर्घटनामध्ये सबैभन्दा बढी भित्री सडकमा भएका छन् । गत वर्ष विभिन्न सडकमा तीन सय ७४ दुर्घटना भएकामा ती दुर्घटनामा परी एक सय चारजनाको मृत्यु भएको छ ।

भित्री सडकमा मात्रै दुई सय दुईवटा दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको छ भने तीन सय १२ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुरेश सुवेदीका अनुसार विसं २०८० मा भएका दुर्घटनामा छ सय ८५ घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गमा भएका ८० वटा दुर्घटनामा २५ जनाको मृत्यु भएको छ भने एक सय ७५ जना घाइते भएका सेवेदीले जानकारी दिनुभयो । जिल्लाको नारायणगढ–मुग्लिन सडकखण्डमा ५२ सवारी दुर्घटनामा भएका छन् । ती दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने एक सय ३५ घाइते भएका छन् ।

पृथ्वी राजमार्गमा भएका १६ दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ३७ घाइते भएका छन् । मुख्य सहरी क्षेत्रमा भएका २४ सवारी दुर्घटनामा आठको मृत्यु भएको छ भने २६ जना घाइते भएका कार्यालयको तथ्याङ्कले देखाएको छ ।

भित्री सडकमा तीव्रगति, सवारी चालकको लापरवाही र ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउँदा दुर्घटना बढी हुने गरेको प्रमुख सुवेदीको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले भएका सवारी दुर्घटनामा मोटरसाइकल बढी छन् । रातको समयमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा बढी दुर्घटना हुने गरेको छ ।”

दुर्घटना न्यूनीकरणका लागि नियमित रूपमा ट्राफिक प्रहरीले जाँचलाई कडाइ र दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइएको उहाँले बताउनुभयो ।

माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्ला यामिनलाई उच्च अदालतले बिहीबार रिहा गरेको छ ।

माल्दिभ्समा तीन न्यायाधीशको उच्च अदालतको इजलासले यामिनको सन् २०२२ को मुद्दा अनुचित भएको ठहर गर्दै नयाँ मुद्दाको आदेश दिएको छ । न्यायाधीश हसन शफिउले लामो फैसला पढ्दै तल्लो अदालतको फैसला निष्पक्ष नभएको बताउनुभयो । फैसलाको प्रत्यक्ष प्रसारण गरिएको थियो ।

फैसला आइतबारको संसदीय निर्वाचनअघि आएको छ । निर्वाचनमा यामिनले आफ्नो सजाय भोग्दै गर्दा आफूले गठन गरेको राजनीतिक दलबाट उम्मेदवार उतार्दै हुनुहुन्छ ।

यामिनलाई दुई आरोपमा दोषी ठहर गरिएको थियो । सन् २०१३ देखि सन् २०१८ सम्म सत्तामा रहँदा पर्यटन विकासका लागि एउटा सानो टापु भाडामा दिन घुस लिएको आरोपमा अदालतले दोषी ठहर गरेको थियो । बिहीबारको फैसलाले उक्त फैसलालाई खारेज गरेको छ । यामिनका सह–आरोपी युसुफ नइमलाई पनि रिहा गरिएको छ । व्यापारी नइमलाई १० लाख डलर घुस दिएको आरोपमा दोषी ठहर गरिएको थियो ।

चौँसठ्ठी वर्षीय यामिनलाई उच्च सुरक्षा भएको माफुशी कारागारमा राखिएको थियो तर उहाँका सहयोगी मोहम्मद मुइज्जु गत सेप्टेम्बरमा राष्ट्रपति निर्वाचनमा विजय भएको भोलिपल्टै यामिनलाई नजरबन्दमा राखिएको थियो ।

मनकामना केबलकार आज बन्द हुने

नारायणगढ (चितवन): मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने भएको छ ।

केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।

चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारबाट गोरखाको सहिदलखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिर जाने भक्तजनको सहजताका लागि विसं २०५५ मा उक्त केबलकार सञ्चालनमा ल्याइएको हो ।

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ, यस्तो थियो मतभेदको कारण

कर्णाली – कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त हुनुभएको नौ दिन बित्दासमेत यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको छैन । केन्द्रमा सत्ता गठबन्धन बदलिएसँगै गत चैत २७ गते नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा नेकपा एमालेका प्रदेशसभा सदस्य कँडेल मुख्यमन्त्री बन्नुभएको थियो ।

मुख्यमन्त्री नियुक्त हुनुभए पनि माओवादी केन्द्र र एमालेबीचमै प्रदेश मन्त्रालयको भागबन्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । मुख्यमन्त्री कँडेलले छिट्टै सरकार विस्तार हुने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “मन्त्री परिषद् विस्तार हुन्छ, छिट्टै हुन्छ ।”

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तारमा मुख्यमन्त्रीले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अर्थ, सामाजिक, उद्योग र ऊर्जा विकास मन्त्रालय मागेका छौँ तर उहाँ दिन चाहानु हुन्न । मुख्यमन्त्री र सभामुख त हामीले उहाँहरुलाई दिएकै छौँ ।”

नेकपा एमाले कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक टेकराज पछाइले माओवादी दलको नेता शर्मा काठमाडौँमा रहेकाले मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रालय बाँडफाँडमा छलफल चलिरहेको छ तर उहाँहरुले एक जना मन्त्री सरकारमा सहभागी गराए हुन्थ्यो भन्ने हो । माओवादी केन्द्रले त्यो गरेको छैन । सरकार विस्तार गर्न अझै वैशाख ११ गतेसम्म लाग्ला ।”

नेकपा (माओवादी केन्द्र) प्रदेशसभाका प्रमुख सचेतक रनसिंह परियारले मन्त्रालय भागबन्डामै कुरा नमिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसको सहजीकरण सरकारको नेतृत्व गरिरहेको दलले गर्ने हो । मुख्यमन्त्री कँडेलले अझ बढी लचकता अपनाउनुपर्छ ।”

यस्तो थियो मतभेदको कारण

केन्द्रमा लोकतान्त्रिक–वाम गठबन्धन रहँदा नेकपा (माओवादी केन्द्र) का तर्फबाट राजकुमार शर्मा मुख्यमन्त्री हुनुहुन्थ्यो । जब केन्द्रमा सत्ता गठबन्धन बदलियो । कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेस गत फागुन २२ गतेबाट सरकारबाट समर्थन फिर्ता लिएर बाहिरियो ।

कांग्रेसले समर्थन फिर्ता लिएपछि रिक्त रहेका तीन मन्त्रालय एक महिनासम्म मुख्यमन्त्री शर्मा आफैँले सम्हाल्नुभयो । कांग्रेसको समर्थन फिर्तापछि अल्पमतमा परेका मुख्यमन्त्री शर्मा नेतृत्वको सरकार सत्ता गठबन्धन नेकपा एमाले तथा एकीकृत समाजवादीको समर्थनमा चैत २० गते विश्वासको मत लिने तयारीमा थियो, तर केन्द्रीय सत्ता गठबन्धनको सहमतिअनुसार कर्णालीमा मुख्यमन्त्री नेकपा एमालेलाई दिने चैत १९ गते सर्कुलर आयो । त्यसपछि कर्णालीमा माओवादी केन्द्र बिच्कियो । माओवादी केन्द्रले दलको बैठक राखेर केन्द्रीय सहमति नमान्ने निर्णय समेत ग¥यो ।

मुख्यमन्त्री एमालेलाई दिने केन्द्रको सहमतिअनुसार वातावरण बनाउन सत्ता गठबन्धन दल नेकपा एमाले र माओवादी केन्द्रबीच लामो छलफल भयो तर शर्माले विश्वासको मत लिने अडान छोड्नु भएन । यसैबीचमा चैत २० गतेको प्रदेशसभा बैठकमा उहाँले विशेष परिस्थिति देखाउँदै राजीनामा दिनुभयो ।

मुख्यमन्त्री शर्माको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री पदमा दाबी पेश गर्न एक हप्ताको समयसीमा राखेर आह्वान गर्नुभयो । एमाले–माओवादीबीचमा भागबन्डा नमिल्दा नमिल्दै संवैधानिक सङ्कट टार्न भए पनि चैत २७ गते नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले एमाले, माओवादी र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्नुभयो । सोही दिन नेता कँडेल मुख्यमन्त्री नियुक्त हुनुभयो, तर माओवादीले आफूले रोजेको मन्त्रालय पाउनुपर्ने अडान राखेपछि सहमति नहुँदा कर्णाली प्रदेश सरकारको मन्त्री परिषद् हालसम्म विस्तार हुन नसकेको हो ।

भारतद्वारा दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास

काठमाडौँ – नेपाल-भारत विकास सहकार्यअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिकास्थित गलैनाथ माध्यमिक विद्यालयको भवन शिलान्यास गरिएको छ ।

भारत सरकारको रु २ करोड ७३ लाख आर्थिक सहयोगमा निर्माण हुने उक्त परियोजनाको शैल्यशिखर नगरपालिकाका प्रमुख विजय सिंह धामी र भारतीय राजदूतावास, काठमाडौँका द्वितीय सचिव प्रशान्तकुमार सोनाले बिहिबार शिलान्यास गर्नुभयो ।

कार्यक्रममा प्रमुख धामीले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पु-याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभयो । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोग विद्यालयलाई आवश्यक सुविधासँगै दुई तले भवन, शौचालय, कार्यालय भवन र फर्निचरमा उपयोग गरिने दूतावासले जनाएको छ ।

भारत सरकार र नेपालबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइनेछ । परियोजना दार्चुलाकोे शैल्यशिखर नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण दृष्टान्तका रुपमा रहने जनाइएको छ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । चार सय ८९ वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये सुदूरपश्चिम प्रदेशमा ४० वटा परियोजना रहेका छन् । त्यसमध्ये १० वटा परियोजना दार्चुलामा छन् ।

बिजुक्छेद्वारा लिखित पुस्तक ‘सय वर्षपछिको भक्तपुर’ बारे चर्चा

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले स्थानीय तह प्रजातन्त्रको जग भएको बताउनु भएको छ । बयालिसौँ विश्व सम्पदा दिवसका अवसरमा बिहिबार भक्तपुरमा आयोजित कार्यक्रममा सांस्कृतिक नगर भक्तपुरको सम्पदा संरक्षणबारे बिजुक्छे आफैले लेख्नुभएको पुस्तक ‘सय वर्षपछिको भक्तपुर’ बारे चर्चा गर्दै उहाँले प्रजातन्त्र बलियो बनाउन स्थानीय तह बलियो बनाउनुपर्ने बताउनुभएको हो ।

भक्तपुर नगरलाई विकास गर्न नयाँ पुस्तालाई इमानदारितापूर्वक काम गर्न प्रेरित गर्नुपर्ने उहाँले जोड दिनुभयो । उहाँले भक्तपुर नगर सांस्कृतिक नगर घोषणा भएमा ऐन कानुनअनुसार कार्य हुने र मौलिकता संरक्षणमा सहजता तथा एकरुपता आउने विचार व्यक्त गर्नुुभयो । पुराना घरहरु नगरको पहिचान भएकाले यस्ता घरहरुको संरक्षण गरी पुराना शैलीका घर निर्माणमा नगरपालिकाले जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले माटो जोडाइका घरहरु स्वास्थ्यको हिसाबले लाभदायी, सुरक्षित हुने भएकाले काठ र माटोको विशेषताबारे अनुसन्धान गर्दै नयाँ पुस्तालाई पुराना घर, मन्दिर र सम्पदा निर्माणसम्बन्धी तालिम दिनुपर्ने खाँचो औँल्याउनुभयो । भक्तपुर नगरपालिकाले खानेपानीको गुणस्तर कायम गर्नुपर्ने र घर निर्माण गर्दा नक्सापास प्रक्रियाबारे जनतालाई जानकारी दिनुपर्ने उहाँको भनाइ छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नारायणमान बिजक्छे (रोहित)ले लेख्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकले नगरको भविष्य कस्तो हुन्छ भन्ने कल्पना गरेको बताउनुभयो । प्रजापतिले भक्तपुर नगरले शिक्षाको जग बलियो बनाउन २०५६ सालमा ख्वप उच्च मावि, २०५८ सालमा ख्वप कलेज र ख्वप ई कलेज स्थापना गर्दै हाल सातवटा कलेज स्थापना गर्न सफल भएको बताउनुभयो ।

कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले ५० वर्षपछिको नेपाल र सय वर्षपछिको भक्तपुरबारे परिकल्पनाले भक्तपुरको मौलिकता संरक्षणमा योगदान पु¥याएको चर्चा गर्दै पुस्तकका लेखकको दूरदृष्टिपूर्ण सोच र परिकल्पनाले नयाँ पुस्ताका लागि सहर निर्माण गर्न गुरुयोजनाको काम गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा इतिहासविद् विश्वमोहन जोशी, भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दीपेशराज शर्मा, भक्तपुर नपाका पर्यटन शाखा प्रमुख गौतम लासिवालगायतले बिजुक्छेद्वारा लिखित पुस्तकको सान्दर्भिकताबारे चर्चा गर्नुभएको थियो ।

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको काम गर्ने ४३ वर्षीय मनोहर पवर पसलको रु १७ लाख जम्मा गर्न बिहिबार १ः३० बजेतिर बैंक निस्कनुभयो ।

मोटरसाइकलको लेगार्डमा कालो रङ्गको झोलाभित्र पैसा राखेर उहाँ नयाँ बजारस्थित कृषि विकास बैंक जानुभयो । बैंकमा पुगेर हेर्दा पैसा भएको झोला मोटरसाइकलमा थिएन । पैसाको झोला बाटोमा खसेको मनोहरले पत्तो पाउनुभएन । वरपर खोज्दा झोला फेला नपरेपछि उहाँ ठूलो तनावमा पर्नुभयो, यसबारेमा प्रहरीलाई खबर पुग्यो ।

पोखराका मुख्य बजारबाट ठूलो रकम हराएको सूचनापछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माको कमाण्डमा तत्कालै प्रहरी परिचालित भयो । हराएको पैसाको झोला भारत घर भई पोखरा–३ नदीपुर बस्ने ६५ वर्षीय छोटुलाल शर्माले बाटोमा भेटाउनुभएको रहेछ । टिस्यु पेपर लगायतका व्यापार गर्ने शर्माले पैसाको झोला फेला पारेपछि प्रहरी खोज्दै हिँडेको अवस्थामा खोजीमा खटिएको प्रहरी टोलीले भेटाएको थियो । शर्माको साथमा मोबाइल नभएकाले प्रहरीमा समयमै सम्पर्क गर्न सक्नुभएको थिएन ।

“पृथ्वीचोकबाट १७ लाख हरायो भनेपछि ठूलो घटना हुने भयो भनेर सबै ठाउँबाट तत्कालै प्रहरी परिचालित भयो ।” प्रनाउ शर्माले भन्नुभयो, “पैसाको झोला भेटाएपछि उहाँ (छोटुलाल) प्रहरी खोज्दै हिँड्नुभएको रहेछ, प्रहरीलाई देख्ने वित्तिकै उहाँले पैसाको झोला बुझाउनुभयो ।”

प्रनाउ शर्माले फेला परेको पैसा सम्बन्धित व्यक्तिको पुष्टि भएपछि शर्माको रोहबरमा ज्वैलर्सका सञ्चालक पोखरा–५ बस्ने ४३ वर्षीय धुव्रकुमार सुनार बुझाइएको जानकारी दिनुभयो ।

‘भूकम्पले भत्काएका सबै सम्पदा पुनःनिर्माण गरेँ’ – महर्जन

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विसं २०७२ को भूकम्पले भत्किएका एक सय ५० पाटी पौवा पुनःनिर्माण गरिएको जानकारी दिनुभएको छ ।

विश्वसम्पदा दिवसको अवसरमा बिहिबार उहाँले ललितपुरको सम्पत्ति नै सम्पदा भएको बताउनुभयो । यसको संरक्षणका लागि महानगर सधैँ सक्रिय रहेको र वर्षौदेखि रोकिएका प्राचीन जात्रालाई निरन्तरता दिन थालिएको उहाँले दाबी गर्नुभयो । विश्वसम्पदा जोगाउन ललितपुर महानगरपालिकाले शून्य सहनशीलताको सिद्धान्त अपनाउँदै आएको बताउनुभयो ।

विश्वसम्पदा दिवसकै सन्र्दभमा पाटनमा कलाकार मनिषलाल श्रेष्ठले बनाएको एक हजार तीन सय ३६ मिटर लामो धागोका प्रतिस्थापन कला प्रदर्शनी गरिएको थियो । उक्त रङ्गीन धागो महानगर प्रमुख चिरीबाबु महर्जनले शरीरमा बेरेर दिवस उद्घाटन गर्नुभएको थियो ।

प्रमुख महर्जनले उद्घाटन गर्नुभएपछि उपस्थित अरु सबैले शरीरमा धागो बेर्दै पाटन दरबार परिसरका सम्पदा घेरेका थिए । “हाम्रा सम्पदा धागोले जस्तै एकबद्ध हुनुपर्छ भन्ने सन्देश दिन खाजेको हुँ”, मनिषले भन्नुभयो, “अबको पुस्तालाई एकता र बहुसांस्कृतिक भाव जगाउन आवश्यक छ ।” उहाँले यो प्रोजेक्ट सन् २०१७ मा नै तयार पार्नुभएको थियो । “प्रोजेक्ट १३३६” शीर्षक पुनःप्रदर्शनी गरिएको हो ।

सडक बालबालिका मुक्त बनाउन मन्त्री चौधरीको निर्देशन

ललितपुर – सडक बालबालिका मुक्त बनाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ । ललितपुरस्थित राष्ट्रिय बाल अधिकार परिषद्को सम्पन्न बैठकमा उहाँले यस्तो निर्देशन दिनुभएको हो । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले सडक मानव मुक्त गर्ने अभियान सञ्चालन गरेको थियो ।

“सडक बालबालिका मुक्त अभियान थालनी किन नगर्ने?”, बैठकमा मन्त्री चौधरीले भन्नुभयो, “यो अभियान चाल्याँै भने हामी सफल हुन्छौँ ।” उहाँले अभियानका लागि सात सय ५३ वटै पालिकामा समेत समन्वय गरेर काम गर्नुपर्ने बताउनुभयो । त्यस्तै, उहाँले बालगृहहरुको अवस्था के छ ? अध्ययन गरी ‘रेकर्ड’ राख्नसमेत कर्मचारीलाई निर्देशन दिनुभयो ।

हेर्नुहोस् बैशाख ७ गते शुक्रवारको राशिफल

ज्यो.पं सरोज घिमिर/मेष राशि- प्रतिश्पर्दीहरु सवल रहनाले कार्यसम्पादनमा बिषेश साबधान रहनु पर्ने समय रहेकोछ । बिश्वासिला ब्यत्तिहरुबाट धोकाहुन सक्ने सम्भाबना रहेकोछ । सामाजिक कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामान्य खर्च हुने योग रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

बृष राशि – अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

मीथुन राशि – सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । प्रेम सम्बन्धमा सुधार आउनेछ । पारीबारीक झोर झमेला सताउन सक्नेछ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

कर्कट राशि – मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कुराकाट्ने ब्यक्ति बाट टाढै रहनु होला । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

सिंह राशि – मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । स्बास्थ सम्बन्धि समस्यामा सुधार आउनेछ । मित्रजनको साथ सहयोले आक्स्मिक धनलाभ हुन सक्नेछ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

कन्या राशि – भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । हराएका धनमाल प्राप्ति योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । संगित तर्फ रुचिजाग्नेछ ।

तुला राशि – प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । सामान्य क्षती ब्यर्होनु पर्ला । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

बृश्चिक राशि – मित्रजनको सहयोग प्राप्त हुनेछ । बिद्या तथा ब्यापारको राम्रो योग रहेको छ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । धनमालमा सामान्य क्षति हुने योग रहेको छ सजग रहनु होला । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

धनु राशि – पारीवार तथा ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । सन्तान सम्बन्धि समस्या ले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मकर राशि – आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । कार्य क्षेत्रमा उत्पन्न झन्झट पश्चात सभा सम्मेलनमा सम्लग्न भईनेछ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

कुम्भ राशि – बोलिको कारण साधारण समस्या आउन सक्नेछ । स्वास्थ सम्बन्धी समस्याले सताउला । स्तान्तरण को योग रहको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ ।

मिन राशि – ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

चीनका विदेशमन्त्री वाङ र इन्डोनेसियाका नवनिर्वाचित राष्ट्रपति जोकोवीबीच भेट

बेइजिङले आफ्नो क्षेत्रीय प्रभाव बढाउन खोजेका बेला चीनका विदेशमन्त्री वाङ यीले बिहीबार इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो र उहाँका उत्तराधिकारी प्रबोवो सुबियान्तोसँग भेटवार्ता गर्नुभएको छ ।

यसै महिना प्रबोवोको बेइजिङ भ्रमणपछि उक्त भेटवार्ता भएको हो । प्रबोवोको बेइजिङ भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले जाकर्तासँगको सम्बन्धको प्रशंसा गर्दै बेइजिङ र अन्य पूर्वी एसियाली छिमेकीहरूबीच विवादित दक्षिण चीन सागरलाई लिएर फिलिपिन्ससहितको तनाव बढ्दै गएपछि क्षेत्रीय शान्तिका लागि एउटा दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो ।

इन्डोनेसियाका रक्षामन्त्री प्रबोवोले फेब्रुअरीमा इन्डोनेसियामा भएको राष्ट्रपति निर्वाचनको पहिलो चरणमा बहुमतसहित विजय हासिल गर्नुभएको थियो । उहाँले बेइजिङसँग घनिष्ठ सम्बन्ध विकास गर्न समर्थन जनाउनुभएको छ ।

चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति भवनमा जोकोवीको नामले प्रख्यात विडोडो र रक्षा मन्त्रालयमा प्रबोवोसँग भेट गर्नुअघि बिहीबार इन्डोनेसियाली समकक्षी रेटनो मार्सुडीसँग पनि भेटवार्ता गर्नुभयो । जोकोवी र वाङले क्षेत्रीय शान्ति र स्थिरताका लागि आफ्नो इच्छा व्यक्त गर्नुभएको र इजराइल तथा हमासबीच गाजामा युद्धविरामका लागि बारम्बार आह्वान गर्नुभएको रेटनोले बताउनुभयो ।

“राष्ट्रपतिले कुनै पनि तनाव बढ्न नहुनेमा जोड दिनुभयो”, बैठकपछि रेटनोले पत्रकारहरूसँग भन्नुभयो, “यस मुद्दामा चीन र इन्डोनेसियाको अडान समान छ र राष्ट्रपतिले चीनले पनि बढ्दो तनाव रोक्नका लागि आफ्नो प्रभाव प्रयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।”

प्रबोवोको मिडिया टिमले वाङसँगको छलफलपछि जारी गरेको विज्ञप्तिमा दुवै नेताले सम्भावित संयुक्त सैन्य अभ्यासबारे छलफल गर्नुभएको बताएको थियो । पछि उक्त विषयबारे कुनै पनि उल्लिखित कुरालाई हटाउनका लागि विज्ञप्तिमा संशोधन गरिएको थियो । इन्डोनेसियाको रक्षा मन्त्रालले अर्को विज्ञप्ति जारी गर्दै दुवै पक्षले विवरण निर्दिष्ट नगरी प्रशिक्षण सहयोग र संयुक्त अभ्यासबारे छलफल गरेको बताएको छ ।

चीन इन्डोनेसियामा प्रत्यक्ष विदेशी लगानीको सबैभन्दा ठूला स्रोतहरूमध्येको एक हो र उसले इन्डोनेसियामा परियोजनाहरूमा अर्बौं डलर लगानी गरेको छ । चिनियाँ कम्पनीहरूले हालैका वर्षहरूमा इन्डोनेसियाली प्राकृतिक स्रोतहरूको निकासीमा लगानी गरेका छन् । जाकर्ताले गत वर्ष दक्षिणपूर्वी एसियाको पहिलो उच्च गतिको रेल लाइनको उद्घाटन गरेको थियो । उक्त रेल लाइन बेइजिङ समर्थित बहु–अर्बौं डलरको परियोजना पनि हो

अमेरिका र बेलायतद्वारा इरानको ड्रोन कार्यक्रममा व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा बिहीबार इरानको सैन्य ड्रोनविरुद्ध व्यापक प्रतिबन्धहरूको घोषणा गरेका छन् ।

अमेरिकी अर्थ मन्त्रालयले इरानको मानवरहित हवाई वाहन (युएभी) कार्यक्रमलाई उल्लेख गर्दै एक विज्ञप्तिमा भनेको छ, “इरानको युएभी उत्पादनलाई सक्षम बनाउने १६ व्यक्ति र दुई संस्थालाई लक्षित गरिरहेको छ, यसमा इरानको शाहिद संस्करण युएभीलाई शक्ति दिने इन्जिनको प्रकारहरू पनि सामेल छन्, यसको प्रयोग अप्रिल १३ को आक्रमणमा गरिएको थियो ।”

संयुक्त अधिराज्यले पनि ‘इरानको युएभी र ब्यालिस्टिक मिसाइल उद्योगहरूमा सामेल धेरै इरानी सैन्य सङ्गठन, व्यक्ति र संस्थाहरूलाई लक्षित गरी’ प्रतिबन्ध लगाएको मन्त्रालयले बताएको छ ।

तेहरानले सिरियास्थित इरानी वाणिज्य दूतावासमा अप्रिल १ मा भएको हवाई आक्रमाणको बदलामा शनिबार राति इजराइलमाथि आफ्नो पहिलो प्रत्यक्ष सैन्य आक्रमण गरेको थियो । आफ्नो दूतावासमा भएको आक्रमणप्रति इजराइललाई व्यापकरूपमा दोष दिइएको थियो । आक्रमणमा दुई जनरलसहित इस्लामिक रिभोल्युसनरी गार्डका सात सदस्य मारिएका थिए ।

इरानले गरेको आक्रमणमा तीन सयभन्दा धेरै ड्रोन र मिसाइलहरू समावेश थिए । तीमध्ये अधिकांशलाई इजराइल, अमेरिका र बेलायतसहित उसका सहयोगीले खसाएका थिए । इरानी आक्रमणमा अत्यन्त थोरै क्षति भएको छ । आक्रमणको जवाफमा इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजराइलसँग आफ्नो रक्षा गर्ने अधिकार सुरक्षित रहेको बताउनुभएको छ ।

अमेरिकी अर्थमन्त्री जेनेट येलेनले एक विज्ञप्तिमा भन्नुभयो, “आज संयुक्त अधिराज्यसँगको समन्वयमा र साझेदार तथा सहयोगीहरूको परामर्शमा हामीले इजराइलमाथि इरानको अभूतपूर्व आक्रमणको जवाफ दिन द्रुत र निर्णायक कदम चालिरहेका छौँ ।”

“हामी इरानको युएभी कार्यक्रम र उसको आतङ्कवादलाई समर्थन गर्न शासनले उत्पन्न गर्ने राजस्वसहित घातक गतिविधिका मुख्य पक्षहरूलाई तल पार्न र अवरोध पुर्याउनका लागि ट्रेजरीका आर्थिक उपकरणको प्रयोग गर्दैछौँ”, उहाँले भन्नुभयो, “हामी आगमी दिन र साताहरूमा थप कारवाहीका साथ इरानको सामना गर्नका लागि हाम्रो प्रतिबन्ध प्राधिकरणलाई निरन्तरता दिनेछौँ ।”

इरानको युएभी कार्यक्रमविरुद्ध प्रतिबन्धका साथै अमेरिकाले इरानको स्टिल उद्योगका लागि पार्टपुर्जा उपलब्ध गराउने पाँच कम्पनीमाथि पनि प्रतिबन्ध लगाइरहेको छ । अर्थ मन्त्रालयले भनेको छ, “इरानको धातु क्षेत्रले वार्षिक आधारमा कयौँ अर्ब डलर बराबरको आम्दानी गर्दछ, यसमा अधिकांश स्टिल निर्यातबाट आउँछ ।”

रामहरि श्रेष्ठ प्रकरणमा अनुसन्धान प्रभावित हुँदैन : गृहमन्त्री लामिछाने

काठमाडौँ, ६ वैशाख – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग रमिला श्रेष्ठले आज भेट गरी आफ्ना पति रामहरि श्रेष्ठको हत्याका दोषीलाई हदैसम्म कारबाही गर्न माग गर्नुभएको छ । गृहमन्त्रालयमा भएको भेटका क्रममा गृहमन्त्री लामिछानेले घटनाको निष्पक्ष अनुसन्धान हुने र अनुसन्धान प्रक्रियामा कुनै कमजोरी हुन नदिने जनाउँदै अदालतले पीडितलाई न्याय दिने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री लामिछानेले सरकारको नेतृत्वमा कुन दलको को छ भन्ने कुराले अनुसन्धान प्रभावित नहुने पनि स्पष्ट पार्नुभयो । सो क्रममा रमिलाले आफूमाथि सुरक्षा चुनौती बढेको उल्लेख गर्दै दोषीलाई हदैसम्मका कारबाही हुनुपर्ने माग गर्नुभयो । घटनाको १६ वर्षपछि आरोपित कालीबहादुर खाम पक्राउ पर्दा न्यायको आश जागेको बताउनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला

काठमाडौँ, ६ वैशाख ःत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको छ । बुधबार ११ बजे अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भई भारतको दिल्लीबाट आई वे नं ५ मा रोकिएको फ्लाइट 6E1151को इन्डिगो एयरको सिट नं २७ र २८ को तलपट्टि बेवारिसे अवस्थामा उक्त सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बेवारिसे अवस्थामा भेटिएको उक्त सुनमा सिक्री तीन, सुनको बिस्कुट थान ६, त्रिभुज आकारको सुनजस्तो देखिने पहेँलो रङको धातुको टुक्राहरु दुई, सिक्री जोड्ने स–साना रिङ दुई फेला परेको छ, सोको कूल अन्दाजी तौल एक किलो ७० ग्राम रहेको छ ।”

शर्मा र अधिकारी सचिव पदमा बढुवा

काठमाडौँ, ६ वैशाख ः सरकारले नेपाल प्रशासन सेवा र नेपाल लेखापरीक्षण सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा क्रमशः केदारनाथ शर्मा र बैकुण्ठबहादुर अधिकारीलाई बढुवा गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

बैठकले राष्ट्रिय मानवअधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त तथा बागमती प्रदेशको प्रमुख सचिव पदमा सहसचिव गोविन्दबहादुर कार्कीलाई कायम मुकायम मुकरर गरी प्रदेश प्रमुख सचिवको पदमा कामकाजमा खटाउने निर्णय गरेको छ । बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा स्वास्थ्य सेवा विभागको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको मन्त्री शर्माले जानकारी दिनुभयो ।

स्वीकृति नपाएका पाठ्यपुस्तक प्रयोग भए कारबाही गरिने

गोरखा, : गोरखा नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयले पाठ्यक्रम विकास केन्द्रले स्वीकृत नै नगरेका पाठ्यक्रम पुस्तक प्रयोगमा ल्याएको पाइए कानुनबमोजिम कारबाही गर्ने भएको छ ।

नगर क्षेत्रभित्रका केही निजी विद्यालयले पाठ्यक्रम विकास केन्द्रले स्वीकृति नै प्रदान नगरेका पाठ्यसामग्री, पाठ्यपुस्तक वा शिक्षण सिकाइ सामग्री प्रयोगमा ल्याएको भन्ने गुनासो आएपछि नगरपालिकाले विद्यालयको अनुगमनको तयारीसमेत थालेको नगरपालिकाको शिक्षा शाखाका प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

“नगरपालिकाले सबै विद्यालयलाई अनिवार्य रूपमा स्वीकृत पाठ्यपुस्तक तथा पाठ्यसामग्री प्रयोग गर्न निर्देशन दिइसकेको छ”, उहाँले भन्नुभयो, “केही निजी विद्यालयले शिक्षा नियमावलीविपरीत पाठ्यपुस्तक प्रयोग गरेको गुनासो आएकाले अनुगमन गर्ने तयारीसमेत भइरहेको छ ।”

उहाँले कुनै पनि विद्यालयले स्वीकृत पाठ्यपुस्तकभन्दा बाहिरका पाठ्यपुस्तक पढाउनु शिक्षा नियमावलीविपरीत हुने बताउनुभयो । “हामीले स्वीकृत पाठ्यपुस्तक मात्रै लागू गर्ने भनेर निर्णय पनि गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “केही विद्यालयले आफुखुसी पाठ्यपुस्तक प्रयोगमा ल्याएको भन्ने गुनासो हामीलाई पनि आएको छ, हामी अनुगमन गरी आवश्यक कारबाही गर्छौँ ।”

गुनासो आएका विद्यालयका सञ्चालकलाई टोलिफोनसमेत गरेर नगरपालिकाले सचेत गराइसकेको पनि उहाँको भनाइ छ । “गुनासो आएका विद्यालयका सञ्चालकलाई हामीले तपाईँहरूले स्वीकृत गरेकाभन्दा बाहिरको पाठ्यपुस्तक लगाउनुभएको छ भन्ने गुनासो आएको छ, के भएको तुरुन्त सच्याउनु होस् भनेका पनि छौँ”, प्रमुख खड्काले भन्नुभयो ।

प्रमुख खड्काले विद्यायलयको अनुगमनका लागि समितिसमेत गठन गरिसकेको जानकारी दिनुभयो । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले स्वीकृति प्रदान गरिएका पाठ्यपुस्तक, पाठ्य सामग्री तथा सिकाइ सामग्रीमात्र प्रयोग गर्न–गराउन सबै स्थानीय तहलाई आग्रह गरिसकेको छ ।

शिक्षा नियमावली, २०५९ को परिच्छेद ७ को नियम ३५ वमोजिम विद्यालयहरूले प्रयोग गर्ने पाठ्यपुस्तक, थप पाठ्य सामग्री तथा शिक्षण सिकाइ सामग्री केन्द्रले अनिवार्य स्वीकृत गरेको हुनुपर्ने व्यवस्था छ ।

श्रीमद्भागवत धर्म मात्रै नभएर विज्ञान पनि हो : रक्षामन्त्री उप्रेती

काठमाडौँ, ६ वैशाख : रक्षामन्त्री हरिप्रसाद उप्रेतीले श्रीमद्भागवत धर्म मात्रै नभएर विज्ञान पनि भएको बताउनुभएको छ । गोकर्णेश्वर नगरपालिका–४ संयुक्त अपाङ्गएकता आवाज केन्द्रमा आजदेखि आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रृङगारिक महाआरती २०८१ लाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री उप्रेतीले श्रीमद्भागवतमा पाँच हजार वर्ष पहिला लेखेका विषय अहिले पुष्टि भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच हजार वर्ष पहिले हाम्रा ऋषिमुनीले पत्ता लगाएका कुरा अहिले पुष्टि भइरहेको छ, त्यसैले श्रीमद्भागवत धर्म मात्रै नभएर विज्ञान पनि हो, कलियुगमा हुने कुराका बारेमा जे लेखिएको छ, त्यो पुष्टि हुँदैछ ।”

संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा रहेका ५७ जना अनाथ बालबालिकाको सहयोगका लागि मन्त्री उप्रेतीले आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

यसैगरी संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीले संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा रहेका अनाथ बालबालिकाको खाना, बस्न तथा अन्य सहयोगार्थ सप्ताह ज्ञान महायज्ञ आयोजना गरिएको बताउनुभयो ।

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा गर्ने

काठमाडौँ, ६ वैशाख – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित (र्यान्डम) प्रक्रियाबाट गर्ने भएको छ । स्वचालित विधि हाललाई काठमाडौँ जिल्लाबाट नमूनाका रुपमा कार्यान्वनमा ल्याइने छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्नो विद्यार्थीलाई सजिलो र प्रतिस्पर्धी विद्यालयका विद्यार्थीलाई दुःख दिने नियतबाट अब केन्द्र निर्धारण नगर्न निर्देशन दिनुभएपछि बोर्डले नयाँ थालनी गर्न लागेको हो ।

यो विधिमा हरेक विद्यालयका परीक्षार्थीको सङ्ख्या र परीक्षा केन्द्रको सिट सङ्ख्याका आधारमा विद्यालय र केन्द्रको दूरी निकालेर विद्यालयबाट नजिक पर्ने केन्द्रलाई प्राथमिकता दिइएको छ । सकभर औसतमा एक सय ५० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्ने गरी केन्द्र बाँडिएको छ । एउटै सञ्चालक भएका विद्यालयहरूमा केन्द्र नपर्ने गरी छनोट गरिएको थियो भने दुई परस्पर विद्यालयका परीक्षार्थीको केन्द्र एक अर्काकामा पनि नपर्ने गरी व्यवस्था गरिएको जनाइएको छ ।

एकै वर्षमा चार लाख २६ हजार पर्यटकले मुस्ताङ घुमे

म्याग्दी, ६ वैशाख : पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४ पर्यटक पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरेको पर्यटकको तथ्याङ्कको आधारमा यो सङ्ख्या सार्वजनिक गरिएको हो । प्रहरी कार्यालयले घाँसामा सडक मार्ग र जोमसोम विमानस्थलमा हवाइ मार्गबाट भित्रिने पर्यटकको तथ्याङ्क राख्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलनबहादुर विकका अनुसार यो सङ्ख्या अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत थोराङ्ला पास गरेर मनाङ हुँदै मुस्ताङ आउने पर्यटक बाहेकको हो । सडक मार्गबाट चार लाख १४ हजार दुई सय ८० जना र हवाईमार्गबाट ११ हजार छ सय ८४ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको प्रहरी निरीक्षक विकले बताउनुभयो ।

घुम्न आएका आन्तरिक पर्यटक मध्ये तीन लाख ३५ हजार चार सय ६६ सडकमार्गबाट र एक हजार आठ सय ७९ पर्यटक हवाई मार्गबाट मुस्ताङ पुगेका हुन् । घुम्न आएका कूल पर्यटकमध्ये ८८ हजार छ सय १९ जना विदेशी पर्यटक आएका थिए । विदेशी पर्यटकमा पनि ७८ हजार आठ १४ सडकमार्गबाट र नौ हजार आठ सय पाँच जना हवाईमार्गको प्रयोग गरी मुस्ताङ आएको देखिएको छ । मुस्ताङ भित्रिने विदेशी पर्यटकमा ठूलो सङ्ख्या भारतीयको छ । सात हजार आठ सय आठ पर्यटक सार्क राष्ट्रबाहेकका पर्यटक हुन् ।

उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका प्रमुख आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायतका स्थान मुस्ताङका धार्मिक र पर्यटकीय गन्तव्यको रुपमा परिचित छन् ।

म्याग्दी हुँदै सडक मार्ग, थोराङ्ला पास हुँदै पैदल मार्ग र पोखराबाट हवाई मार्ग भएर पर्यटक मुस्ताङ पुग्ने गर्छन् । सार्क मुलुक बाहिरका पर्यटकको सङ्ख्या घट्दै जानु चिन्ताको विषय भएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बताउनुभयो ।

मुस्ताङमा पर्यटकको चहल पहल बढ्नुमा यातायातको सुविधा, अन्नपूर्ण चक्रीय पदमार्ग विश्वका उत्कृष्ट १० गन्तव्यमा समेटिनु, डिजिटल मार्केटिङ र सुविधायुक्त होटल खुल्नु लगायतका कारण हुनसक्ने पर्यटन व्यवसायीको अनुमान छ ।

भारतीय आइटी कम्पनी इन्फोसिसको राजस्व वृद्धि अपेक्षाभन्दा कम

भारतको सूचना प्रविधि (आइटी) कम्पनी इन्फोसिसले बिहीबार मार्चमा समाप्त हुने त्रैमासिकका लागि अपेक्षाभन्दा कम राजस्व वृद्धि भएको बताएको छ । कम्पनीले अमेरिकामा ग्राहक खर्चमा देखिएको सुस्तताले सफ्टवेयर सेवा उद्योगका लागि सुधारको अपेक्षालाई प्रभावित गरेको जनाएको छ ।

बेङ्गलुरु प्रधान कार्यालय रहेको कम्पनी गत वर्ष कोभिड–प्रेरित वृद्धिपछि लडखडाएको छ । कम्पनीले आफ्नो आम्दानीको ८० प्रतिशतभन्दा बढी पश्चिमी बजारहरूबाट कमाउँछ । उच्च ब्याज दरहरू र मुद्रास्फीतिले विश्वव्यापी कम्पनीहरूको प्राविधिक खर्चमा असर पुर्याउँदा थोरै मात्र सम्झौता भएका छन् भने भारतीय सफ्टवेयर आउटसोर्सिङ क्षेत्रको विद्यमान करार पत्रहरू रद्द भएका छन् ।

इन्फोसिसले त्रैमासिकका लागि चार अर्ब ५४ करोड अमेरिकी डलर आम्दानी भएको बताएको छ । यो गत आर्थिक वर्षको समान अवधिको तुलनामा एक दशमलव तीन प्रतिशतले बढी हो । कम्पनीको खुद मुनाफा ३० प्रतिशतले बढेर ९५ करोड ४० लाख डलर पुगेको छ तर अन्य आम्दानीमा भएको वृद्धिले यसलाई सहयोग गरेको छ ।

इन्फोसिसका प्रमुख कार्यकारी सलिल पारेखले समष्टिगत परिदृश्यमा ‘मिश्रित दृष्टिकोण’ रहेको बताउनुभयो । “तपाईंले देखेजस्तै अमेरिकामा हाम्रो दृष्टिकोण सुस्त थियो भन्ने मलाई लागेको छ”, उहाँले भन्नुभयो ।

कम्पनीको सबैभन्दा ठूलो बजार उत्तरी अमेरिकी व्यापारबाट आम्दानीमा दुई दशमलव एक प्रतिशतले कमी आएको छ । “लागत, दक्षता र ठूला सम्झौताहरूको एकीकृत प्रकृतिसँग राम्रो प्रवृत्ति छ तर डिजिटल कार्यक्रम वा कुनै विवेकपूर्ण काम अझै पनि हामीले देखिरहेका कामहरूमा देखिरहेका छैनौँ ।”

इन्फोसिसले आगामी १२ महिनाका लागि सुस्त बिक्री वृद्धिको अनुमान गरेको छ । कम्पनीले स्थिर मुद्राका आधारमा आम्दानी एकदेखि तीन प्रतिशतको बीचमा बढ्ने अनुमान गरेको छ । बिहीबार मुम्बईमा कारोबारको अन्त्यमा इन्फोसिसको सेयर एक दशमलव शून्य छ प्रतिशतले बढेर बन्द भएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते काठमाडौँमा हुने

काठमाडौँ, ६ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक यही वैशाख २८ र २९ गते काठमाडौँमा आह्वान गरेको छ । बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोणमा छलफल गरिने छ । पार्टीका महासचिव घनश्याम भुसालले बैठकमा जनवर्गीय सङ्गठनका कार्य प्रगति, समसामयिक राजनीतिक अवस्था, नवीकरण गरिएका सङ्गठित सदस्यको अनुमोदनलगायत विषयमा छलफल हुने जानकारी दिनुभयो ।

बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी बाँडफाँड, आगामी असारमा हुने राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौटका मापदण्ड तय गरिने छ ।

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले साङ्गठनिक प्रतिवेदन पेस गर्नुहुने छ । पार्टीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन आयोजना गर्न लागेको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : एथलेटिक्समा आशिषद्वारा नयाँ कीर्तिमान

काठमाडौँ, ६ वैशाख : राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको अन्तिम दिन आज तीन नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपलजम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भङ्ग गरी स्वर्ण जिते । आशिषले २०४४ सालमा धनवीर चौधरीले बनाएको १४.०६ मिटरको कीर्तिमान तोडेका हुन् ।

बागमती प्रदेशका विशाल गुरुङ दोस्रो तथा लुम्बिनी प्रदेशका विजय थारू तेस्रो भए । सो स्पर्धाको छात्रामा लुम्बिनीकी अनिशा थारू पहिलो भइन् । अनिशाले १०.५७ मिटर जम्प गरिन् । सुदूरपश्चिमकी रेनुका ऐर दोस्रो तथा बागमतीकी अपेक्षा महतो तेस्रो भए ।

त्यस्तै, छात्रा तीन हजार मिटर दौडमा सुदूरपश्चिमकी देवकीकुमारी धामीले जुनियर राष्ट्रिय कीर्तिमानसहित पहिलो भइन् । देवकीले निर्धारित दूरी १० मिनेट ५२.८२ सेकेन्डमा दौड पूरा गर्दै २०७५ सालमा राममाया बुढाले स्थापित गरेको १० मिनेट ५७.२ सेकेन्डको कीर्तिमान तोडिन् ।

लुम्बिनीकी गुञ्जा यादव दोस्रो तथा कर्णाली प्रदेशकी कल्पना बुढा तेस्रो बने । उक्त स्पर्धाको छात्रमा कर्णाली प्रदेशका अजय विकले स्वर्ण जिते । उनले दूरी पूरा गर्न ९ मिनेट २४.२ सेकेन्ड समय लगाए । बागमतीका विश्वराम कुँवरले रजत तथा कर्णालीका अक्कल बडुवालले कास्य हात पारे ।

छात्रा ४ गुणा ४ सय मिटर रिलेमा भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा राना सम्मिलित कर्णाली टोलीले कीर्तिमानी स्वर्ण जिते । उक्त टोलीले निर्धारित दूरी ४ मिनेट १७.२ सेकेन्डमा पार गरे । यसअघि उक्त कीर्तिमान लुम्बिनीका अरुणा रिजाल, पूर्णिमा खड्का, पूजा चौधरी र करुणा रिजालका नाममा ४ मिनेट २३.८ सेकेन्डको कीर्तिमान थियो ।

लुम्बिनी दोस्रो तथा सुदूरपश्चिम तेस्रो स्थानमा रहे । सोही स्पर्धाको छात्रमा सुदूरपश्चिम पहिलो, मधेस प्रदेश दोस्रो र बागमती प्रदेश तेस्रो बने ।

यसैगरी, आजै भएको सटपुटको छात्रमा कर्णालीका बालकुमार नकाल पहिलो भए । उनले १२.९५ मिटर टाढा फाले । सुदूरपश्चिमका गणेश विक दोस्रो तथा लुम्बिनीका सुराज थापा तेस्रो स्थानमा रहे । सो स्पर्धाको छात्रामा सुदूरपश्चिमकी कृष्णा बम १०.५७ मिटर टाढा फाल्दै शीर्ष स्थानमा रहिन् । सुदूरपश्चिमकै पूजा साउदले दोस्रो तथा बागमतीकी एलिना विक तेस्रो बने ।

छात्रको दुई सय मिटर दौडमा मधेसका आदेशकुमार यादव पहिलो भए । उनले २२.८ सेकेन्ड समय खर्चे । सुदूरपश्चिमका चन्द्र बोहरा दोस्रो तथा बागमतीका सन्तबहादुर दराई तेस्रो भए । उक्त स्पर्धाको छात्रामा कोशी प्रदेशकी आरती चौधरीले निर्धारित दूरी २८.२ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । सुदूरपश्चिमकी रितु जोशीले रजत तथा गण्डकीकी एन्जल अधिकारीले कास्य हात पारे ।

नदी कटानका कारण साँघुरिँदै बस्ती : जग्गा छैन तर कर तिर्दैछन् स्थानीयवासी

गलेश्वर (म्याग्दी), ५ वैशाख ः म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको छ । म्याग्दीको बेनी नगरपालिका–२ मा पर्ने यो गाउँको ३६ रोपनी जग्गा म्याग्दी नदी कटानका कारण बगरमा परिणत भएको छ । नदी गाउँ भएको क्षेत्रबाट बगेको छ तर स्थानीयले नदी बगेको जग्गाको कर तिरिरहेका छन् ।

बगरफाँटवासीले विसं २०५७ देखि हुँदै नभएको जग्गाको कर तिर्न बाध्य हुनु परेको हो । २०५७ सालमा म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको अझैसम्म पनि कर तिर्दै आएको स्थानीय ओमबहादुर थापाले बताउनुभयो । बगरफाँटस्थित ढलेबगरको विरौटा भन्ने ठाउँमा अहिले म्याग्दी नदी बगिरहेको छ । नदी बगेको ठाउँभन्दा पारिपट्टि बेनी–६ को डम्मरासम्म फैलिएको विरौटाको अहिले नामोनिसान छैन । जग्गा नभए पनि जग्गाधनी पुर्जा कामयमै रहेकाले हुँदै नभएको जग्गा र आफूले उपभोग गर्नै नमिल्ने ठाउँको समेत कर तिर्न बाध्य हुनु परेको बेनी–२ का ओमबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार स्थानीयवासी हीराबहादुर घिमिरे, भक्तबहादुर घिमिरे, ओमबहादुर थापा, कृष्णबहादुर थापालगायत आठ व्यक्तिले मालपोत कर तिर्दै आएका छन् ।

पहिला जग्गा (खेत, बारी र घर) भएको ठाउँमा अहिले नदी बगेको र आफ्नो जग्गा भएको ठाउँ बेनी–६ डम्मरामा नदीको बगरमा परिणत भएको स्थानीयवासी थापाको भनाइ छ । “हाम्रो जग्गा अहिले डम्मरामा पर्छ, नदीको बगरमा परिणत भएको छ”, उहाँले भन्नुभयो, “जग्गाधनी प्रमाण पुर्जामा हाम्रो नाम छ, बर्सेनि मालपोत कर तिर्दै आएका छौँ तर हाम्रै जग्गाको नदीजन्य पदार्थ हामीले प्रयोग गर्न पाउँदैनौँ, हामीमाथि अन्याय भएको छ ।”

विसं २०५७ मा सो नदीमा आएको भीषण बाढीले जग्गा बगाएको थियो । यसयताका २१ वर्षसम्म जग्गाधनीले नियमितरूपमा मालपोत कर तिर्दै आएका जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ । बगरफाँटगाउँ पहिरा र नदी कटानको जोखिममा पर्दै गएको छ । विसं २०५७ देखि म्याग्दी नदीले कटान गर्न सुरु गरेको बगरफाँटमा रहेका दुई सय घरधुरी वर्षाको समयमा गाउँको शिरानबाट खस्ने पहिरा र गाउँको पुछारमा नदीको कटानबाट बर्सेनि त्रसित हुने गरेका छन् ।

नदीको कटान नियन्त्रणका लागि नदी किनारमा ग्याबियन जाली भर्ने गरिएको भए पनि वर्षामा ढुङ्गा र लेदोसहित उर्लिएर आउने बाढी नियन्त्रण हुन नसकेको स्थानीयवासीले बताएका छन् । “गाउँ जोखिममा छ, शिरानबाट खस्ने पहिरा र पुछारमा बग्ने नदीका कारण वर्षामा कहिल्यै ढुक्कसँग सुत्न सकिँदैन, कतिबेला के हुन्छ भन्ने त्रास रहिरहन्छ”, नदी कटानबाट गाउँलाई जोगाउन बर्सेनि तटबन्धनको पहल गर्दै आउनुभएका स्थानीय समाजसेवी नारायण कार्कीले बताउनुभयो ।

नदीको कटानका कारण बगरफाँटको एक सय ५० रोपनीभन्दा बढी खेतीयोग्य जमीन क्षय भइसकेको र नदी कटानको समस्या अझै बढ्दै गएको स्थानीय बुद्धिजीवी तथा म्याग्दी नदी कटान नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्षसमेत रहनुभएका कार्कीले जानकारी दिनुभयो ।

बेनी–३ को तारोखेतबाट बगेर बगरफाँटको शिरानमा अवस्थित पहरो हुँदै आउने पहिरो नियन्त्रण सम्भव नभए पनि नदी कटान नियन्त्रण गर्न सके केही मात्रामा गाउँ सुरक्षित रहने उहाँको भनाइ छ । गाउँको शिरानमा रहेको विशाल पहिरो नियन्त्रणका लागि स्थानीय तहको प्रयासले मात्र नहुने भएकाले प्रदेश वा सङ्घबाटै ठूलो योजना आवश्यक पर्ने देखिएको छ तर समस्या समाधान नभएकाले यसले सदरमुकाम बेनीबजारसमेत प्रभावित हुने अनुमान गरिएको छ ।

पहिरो र नदी कटानका कारण सुन्दरबस्ती र कृषि उपजका लागि उर्वर फाँट रहेको बगरफाँट साँघुरिँदै गएको छ । आप्रे र उडाइनो छहराको बीचबाट खस्ने पहिराका कारण गाउँको शिरानमा रहेको जङ्गल र बस्ती मासिने खतरा बढेको जनाइएको छ । पहिराले गाउँ कुरूप बन्दै गएको र पाँच घरपरिवार बसाइँ सरिसकेको स्थानीय पदमपाणि शर्माले जानकारी दिनुभयो ।

सोमेश्वर दर्शन गर्न दुई लाख भक्तजन पुगे


भरतपुर, ६ वैशाख : चितवनको माडीस्थित सोमेश्वर कालिका मन्दिरमा चैतेदसैँ र रामनमवी पर्वमा दुई लाख बढी भक्तजनले दर्शन गरेका छन् । चैत्र शुक्ल सप्तमी, अष्ठमी र नवमीका दिन कालिका भगवतीको दर्शन गर्न दुई लाखभन्दा बढी भक्तजन उपस्थित भएका सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर पोखरेलले बताउनुभयो । “चैतेदसैँका अवसरमा यहाँ लाग्ने मेलामा चैत्र शुक्ल सप्तमीका दिनमात्रै एक लाख भक्तजनको उपस्थिति रहेको थियो”, उहाँले भन्नुभयो, “त्यसपछि अष्टमी र नवमीका दिनमा भक्तजनको उपस्थिति भयो ।”

वर्षमा एक पटकमात्रै भक्तजनको ठूलो उपस्थिति रहने सोमेश्वर कालिका मन्दिर नेपाल र भारतको सिमाना (दशगजा)मा रहेको ऐतिहासिक धार्मिक पर्यटकीयस्थल हो । माडी उपत्यकाको दक्षिणमा पर्ने चुरे पहाडमा अवस्थित सोमेश्वर कालिका नेपाल र भारत दुवै देशका नागरिकको आस्थाको केन्द्रका रूपमा रहेको पोखरेलको भनाइ छ ।

“केही वर्ष अगाडिसम्म चैतेदसैँका बेला ९५ प्रतिशत भारतीय तीर्थयात्री र पाँच प्रतिशतमात्रै नेपाली तीर्थयात्री आउने गरेका थिए”, उहाँले भन्नुभयो, “अहिले पनि नेपालीभन्दा भारतीय बढी आउँछन्, तर तुलनात्मकरूपमा नेपाली तीर्थयात्री बढ्दै गएका छन् ।” सोमेश्वर कालिकाको दर्शन गरेमा मागेको कुरा पाइने विश्वासका आधारमा यहाँ भक्तजन दर्शन गर्न आउने गरेका उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसपालि पनि पाँच दम्पती दूधेबालक लिएर सोमेश्वर कालिकाको प्रसाद हो भन्दै माथा टेकाएर गए ।” यहाँ आउनका लागि सडक सञ्जालको विकास भएसँगै नेपालतर्फबाट आउने तीर्थयात्रीको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको उहाँले बताउनुभयो ।

“चैतेदसैँको मेला व्यवस्थापनका लागि हामी नौ दिनसम्म यही स्थानमा बसेर सबै काम गरेका थियौँ”, उहाँले भन्नुभयो, “राम नवमीको दिनबाट मेला सकिने भएको हुँदा भक्तजनको उपस्थिति घट्दो क्रममा छ ।” सोमेश्वर कालिका मन्दिर दशगजा क्षेत्रमा पर्ने भएकाले भारतले यहाँ संरचना निर्माण गर्न नदिएका कारण लाखौँ भक्तजनको आस्थाको केन्द्रमा सानो मन्दिर भएको उहाँको भनाइ छ ।

“यो ठाउँ दशगजामा पर्ने क्षेत्र भएकाले दुई देशको सहमतिबिना यहाँ केही काम पनि गर्न सकिँदैन, दुई देशका नागरिकको आस्था रहेको सोमेश्वर कालिका मन्दिरसमेत जीर्ण भएको छ”, उहाँले भन्नुभयो । माडी नगरपालिका–५ मा पर्ने मन्दिर र गढी क्षेत्र वसन्तपुर बजारबाट १४ किलोमिटरको दूरीमा पर्दछ ।

यस स्थानमा रहेको गढीमा देखिएका इँटा र गढीको पर्खाल निकै पुरानो भए पनि पुरातत्व विभागले उत्खननमा चासो नदिएको उहाँले बताउनुभयो । सोमेश्वरगढीलाई सरकारले नेपालका एक सय पर्यटकीय गन्तव्यभित्र राखेको छ ।

माडीका नगरप्रमुख ताराकुमारी काजी महतोले नगरपालिकाले केन्द्र र प्रदेश सरकारसँगको सहयोग र सहकार्यमा चुरे पर्वत हुँदै मन्दिर पुग्न भन्दा एक हजार पाँच सय मिटर तलसम्म कच्ची सडक निर्माण गरेको बताउनुभयो । सडकमार्ग सकिएसँगै सुरु हुने पैदलमार्गबाट मन्दिरसम्म पुग्न मानिसको आकर्षण बढाउन प्रस्तर मूर्ति कुँदेर नेपालको मौलिक संस्कृति तथा धार्मिक आस्था झल्काउने प्रयास गरिएको उहाँको भनाइ छ । उहाँले गढी क्षेत्र दशगजामा परेकाले स्थानीय सरकारबाट ल्याइएका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन नसकिएको बताउनुभयो ।

चितवनको भूमिपुत्र भनेर चिनिने आदिवासी जनजाति थारू समुदायको मुख्य आस्थाको केन्द्र भनेर सोमेश्वर कालिका मन्दिरलाई लिने गरिएको मन्दिरका पूजारी शोभाखर चापागाईँले बताउनुभयो । हिउँद लागेपछि खेतीपाती गर्ने बेलासम्म पानी नपरेको खण्डमा यही मन्दिरमा पूजा गरेर पानी मागेपछि पानी पथ्र्यो भन्ने जनविश्वास रहेको उहाँको भनाइ छ ।

पूजारी चापागाईँले भन्नुभयो, “पहिले थारू समुदायको मात्रै आस्थाको केन्द्र रहेको सोमेश्वर कालिका अहिले आम नेपाली र भारतीयसमेतको धार्मिक आस्थाको केन्द्र बनेको छ, यहाँ नेपालीका साथै भारतीय नागरिक बढी आउने गरेका छन् ।” सोमेश्वर कालिका मन्दिर महादेव र कालीको बासस्थान रहेको शक्तिपीठ भएको चापागाईँले बताउनुभयो ।

चैतेदसैँको अवसरमा भारतको महाराष्ट्र, बङ्गालसम्मका भक्तजन यहाँ दर्शनका लागि आउने गरेका भए पनि नेपालबाट बाह्रै महिना धार्मिक पर्यटक पुग्ने गरेका उहाँले बताउनुभयो । भरतपुरबाट सोमेश्वरगढी घुम्न पुग्नुभएका महेन्द्र आचार्यले ऐतिहासिक गढीमा पुग्दा आनन्दको महसुस भएको बताउनुभयो । उहाँले ऐतिहासिक क्षेत्र भएकाले राज्यले विशेष ध्यान दिएर यहाँ रहेका संरचनाको संरक्षण र प्रवर्द्धनको काम गर्नुपर्ने बताउनुभयो ।

मन्दिरका संस्थापक नीलकण्ठ सापकोटाले गढीमा विसं २०५० फागुन १२ गते मन्दिर स्थापना भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विसं २०२६ मा गाई चराउँदै आउँदा यहाँ रुखमा झुण्ड्याएको घण्टी र बाघको मूर्ति फेला परेको थियो, त्यसपछि मन्दिर बनाउनुपर्छ भनेर लागेका हौँ ।” उहाँका अनुसार पाँच पाण्डव यहाँ आएर वनबास बसेको किंवदन्ती छ ।

गणेशमान सिंह टि ट्वान्टी राष्ट्रिय क्रिकेट : मधेसमाथि गण्डकीको जित

काठमाडौँ, ६ वैशाख ः राजधानीमा जारी वीर गणेशमान सिंह टि ट्वान्टी राष्ट्रिय क्रिकेटमा गण्डकी प्रदेशले मधेस प्रदेशलाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा गण्डकीले मधेस प्रदेशलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यस जितसँगै गण्डकीले तीन खेलमा दुई अङ्क बटुलेको छ । यसअघि गण्डकी लुम्बिनीसँग सात विकेट र बागमती प्रदेशसँग ६७ रनले पराजित भएको थियो ।

त्यस्तै पहिलो खेलमा पराजित भएको मधेसको समान तीन खेलबाट चार अंक रहेको छ । मधेशले बागमतीलाई ६ विकेट र लुम्बिनीलाई २७ रनले हराएको थियो । आजको खेलमा मधेसले गण्डकीलाई जितको लागि एक सय तीन रनको लक्ष्य दिएको थियो । जवाफमा गण्डकीले १६ दशमलव ३ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो ।

गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ५१ बलमा तीन चौका र एक छक्काको मद्दतले अविजित ४९ रन बनाएका हुन् । यसैगरी ईश्वर क्षेत्रीले ३२ रन बनाए भने दीपक डुम्रेले ११ रन जोडे । मधेसका लागि विशाल पटेलले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मधेसले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १०२ रनको योगफल बनाएको थियो । उसका लागि विशाल शुस्लिंगले २४ रन बनाए भने विशाल पटेलले २२ रन जोडे । त्यसैगरी मायन यादवले १८, प्रदीप पासवानले १४ तथा अर्निको यादवले १३ रन बनाए ।

गण्डकीका लागि कप्तान विपीन खत्रीले चार विकेट लिँदा सुवास भण्डारीले दुई विकेट झारे । त्यस्तै कमल परियार र सन्दीप क्षेत्रीले समान एक एक विकेट लिए ।

मनकामना केबलकार भोलि बन्द हुने

नारायणगढ (चितवन), ६ वैशाख : मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ ।

केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।

चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारबाट गोरखाको सहिदलखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिर जाने भक्तजनको सहजताका लागि विसं २०५५ मा उक्त केबलकार सञ्चालनमा ल्याइएको हो ।

देशको समृद्धिमा लेखा व्यवसायीको महत्वपूर्ण भूमिका हुन्छ – उद्योगमन्त्री भण्डारी

काठमाडौँ, ६ वैशाख : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आर्थिक विकास र देशको समृद्धिका लागि लेखा व्यवसायीको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।चार्टर्ड एकाउन्टेन्ट्सहरुको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आइक्यान)को आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको लेखा व्यवसायीहरुको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री भण्डारीले राम्रो लेखाङ्कन नहुँदा कतिपय क्षेत्र नै बन्द भएकाले यो पेसामा आचारसंहिताको परिपालना अनिवार्य हुने बताउनुभयो ।

“यस पेसामा रहनुहुने व्यक्तिले आचारसंहिताको अनुभूति र सिद्धान्तअनुसार अगाडि बढिरहनुभएको कुरामा म विश्वस्त छु”, मन्त्री भण्डारीले भन्नुभयो ।अर्थतन्त्रमा पछिल्लो समय केही सुधार देखिएको र स्वदेशी उत्पादनमार्फत आर्थिक वृद्धि गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । उद्योगमन्त्री भण्डारीले सम्मेलनबाट प्राप्त हुने निष्कर्ष तथा सुझावअनुसार कारबाही अगाडि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेर मन्त्रिपरिषद्मा पेस गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको दिगो विकासका लागि लेखा व्यवसायीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । चार्टर्ड एकाउन्टेन्ट्स (सीए)ले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको उहाँको भनाइ थियो ।

“अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले यस वर्ष नेपालले आर्थिक वृद्धिदर तीन दशमलव दुई प्रतिशत हुने प्रक्षेपण गरेको छ । मुलुकको अर्थतन्त्र पनि सुधार हुँदै जाने देखिएको छ”, उहाँले भन्नुभयो, “अहिलेको यस्तो अवस्थामा पनि पारदर्शीतासहित यो पेसा अगाडि बढिरहेको अवस्था छ ।”

सम्मेलनको प्रमुख वक्ता इन्टरनेश्नल फेडेरेशन अफ एकाउन्टेन्ट्स (आइफ्याक)की अध्यक्ष आस्मा रेस्मौकीले दिगो लेखा अभ्यासका लागि सार्वजनिक चासोका मुद्दालाई अघि बढाउन आवश्यक रहेको बताउनुभयो । लेखा अभ्यास र व्यावसायिक लेखाको क्षेत्रमा धेरै अवसर रहेकाले त्यसलाई प्राप्त गर्न दु्रत गतिमा अगाडि बढ्न उहाँको सुझाव थियो ।

आइक्यानका अध्यक्ष सिए सुजनकुमार काफ्लेले तेस्रो सम्मेलनले विश्वभर हुँदै आएको लेखा अभ्यासको अध्ययन र यस क्षेत्रको प्रवद्र्धन तथा विस्तारमा सहयोग पुग्ने बताउनुभयो । सम्मेलनले वर्तमान अवस्थामा लेखा व्यवसायका क्षेत्रमा देखिएको चुनौती र त्यसको दीगो समाधानका लागि हुनुपर्ने प्रयास सम्बन्धमा नयाँ दिशा दिने पनि उहाँले बताउनुभयो ।

नेपाल अडिटर एसोसिएसन (अडान)का वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद भट्टराईले दिगो लेखा अभ्यास केन्द्रित यस सम्मेलनले आगामी दिनमा मुलुकमा सुशासन र आर्थिक वृद्धिमा टेवा पुग्ने बताउनुभयो ।

चार्टर्ड एकाउन्टेन्ट सङ्घ (एक्यान) का अध्यक्ष सिए दीपक पाण्डेले डिजिटल अर्थतन्त्र बिस्तार हुँदै जाने क्रममा सोहीअनुसार सीप र दक्षता विस्तार हुन नसके पेसागत चुनौती पनि देखापर्नसक्ने बताउनुभयो । शुक्रबारसम्म चल्ने सम्मेलनमा देशभरबाट करिब एक हजार लेखा व्यवसायीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

उपनिर्वाचनमा सहयोग पु-याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ, ६ वैशाख : निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न गराउन नेपाल सरकारलाई सहयोगको आग्रह गरेको छ ।

उपनिर्वाचन हुने जिल्लामा विद्युत्, खानेपानी, यातायात, सञ्चार, स्वास्थ्य, दमकल जस्ता सेवा तन्दुरुस्त राख्न र निर्वाचन क्षेत्रमा खटाइएका सुरक्षाकर्मी, कर्मचारीलाई सुरक्षित कार्य सम्पादन गराउने वातावरण बनाउन सरकारलाई आग्रह गरेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी विज्ञप्तिमा सम्बद्ध निकायबाट कार्यान्वयन गर्ने गराउने गरी आवश्यक सहयोग तथा निर्देशन गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखी पठाउने निर्णय गरेको आयोगले जनाएको छ ।

प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा हुने उपनिर्वाचन सम्पन्न गर्न गत चैत २८ गतेदेखि आचारसंहिता लागू भएको छ ।

को हुन् सुदूरपश्चिको मुख्यमन्त्री पदमा नियुक्त भएका सोडारी ?

सुदूरपश्चिम, ६ वैशाख ः सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (एकीकृत समाजवादी) का नेता दीर्घबहादुर सोडारीलाई आज नियुक्त गर्नुभएको छ । प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशसभा, एकीकृत समाजवादी पार्टीकोसंसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

उहाँ नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षका सदस्य र स्वतन्त्र सांसद डा तारा जोशीका समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

यसअघि आजै उहाँले प्रदेशसभामा प्रतिनिधित्व गर्ने एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी (अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर) र स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको नियुक्तको लागि दाबी पेश गर्नुभएको थियो । प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गर्न गत चैत २३ गते (१० दिनको समय दिएर) प्रदेश गर्नुभएको आह्वानअनुसार नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले छुट्टाछुट्टै रुपमा यही वैशाख २ गते दाबी पेश गर्नुभएको थियो ।

दुवैको दाबीको आधारमा निष्कर्षमा पुग्न नसकिएको कारणसहित यही वैशाख ४ गते (दुई दिनको समय तोकेर) संविधानको धारा १६८ को उपधार (२) बमोजिम नै मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखले पुनःआह्वान गर्नुभएको थियो ।

नाउपाका प्रदेशसभा सदस्य दुई समूहमा विभाजित हुँदा चार प्रदेशसभा सदस्य रहेको एकीकृत समाजवादी सरकार गठनमा निर्णायक बन्न पुगेको छ । फलस्वरुप समाजवादीका नेता सोडारीलाई प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । मुख्यमन्त्रीमा दाबी पेश गरिएपछि नाउपाका रेशम पक्षधर पक्षका प्रदेशसभा सदस्य घनश्याम चौधरीले प्रदेश प्रमुखलाई भेटेर सोडारीलाई मुख्यमन्त्रीमा दलको समर्थन नरहेको जानकारीसहितको ध्यानाकर्षण पत्र बुझाएको र नाउपा दलको नाममा दिइएको पत्र किर्ते भएको जनाकारी दिनुभयो ।

प्रदेशसभामा चौथो ठूलो शक्ति नाउपामा उत्पन्न आन्तरिक किचलो साम्य हुने सङ्केत देखिएको छैन । किचलोकै कारण थारु समुदायको नेता प्रदेशको मुख्यमन्त्री हुने अवसर आउँदा पनि वञ्चित हुनु परेको सो पार्टीका नेता कार्यकर्ताको भनाइ छ । अध्यक्ष रञ्जिता श्रेष्ट पक्षधरले अहिलेको केन्द्रीय गठबन्धनअनुसार जानुपर्ने अडानमा रहँदा संस्थापक संरक्षक रेशमलाल चौधरी पक्षधरले कांग्रेससहितको गठबन्धनमा जानुपर्ने अडान राख्दै आएका छन् ।

त्रिपन्न सदस्यीय प्रदेशसभामाको ठूलो दल नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र) का सभामुखबाहेक १०, नएमाले का १०, नाउपाका सात, एकीकृत समाजवादीका चार, राप्रपा एक र एक स्वतन्त्र सांसदको प्रतिनिधित्व छ । रिक्त एक पद(बझाङ, प्रदेशसभा ‘क’) का लागि यही वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । मुख्यमन्त्री नियुक्तका लागि २७ सदस्यको समर्थन आवश्यक पर्दछ ।

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा आयो

किमाथाङ्का (सङ्खुवासभा) ६ वैशाख : सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका-९ सतिघाटस्थित अरुण नदीको फेरी पुनः सञ्चालनमा आएको छ ।

अरुण नदीमा चार वर्षअघि निर्माण गरिएको फेरीको लठ्ठा घुमाउने पुुल्लीमा समस्या देखिएपछि १५ दिनदेखि फेरी सञ्चालन हुन सकेको थिएन । फेरी नचल्दा भोजपुरको उत्तरी क्षेत्रको यात्रुहरु आवतजावतमा समस्या भएको थियो ।

लठ्ठा घुमाउने पुल्ली खिएर तारमा समस्या देखिएपछि फेरी बन्द गरिएको थियो । काठमाडौँबाट आएको प्राविधिकको टोलीले मर्मत गरेपछि फेरी सञ्चालनमा आएको षडानन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईंले बताउनुभयो । फेरी मर्मतपछि उत्तरी क्षेत्रबाट चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन आजदेखि सञ्चालनमा आएको उहाँले बताउनुभयो ।

अरुण नदीको सतिघाटमा फेरी सञ्चालन भएपछि षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिकाका ७० हजारभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । तत्कालका लागि ठूला तथा मालवाहक सवारीसाधन ओसारपसारमा भने रोक लगाइएको छ । नदी किनारका बालुवा नहटाउँदासम्म ठूला मालवाहक सवारीसाधन ओसारपसारमा कठिनाइ हुने भएकाले तत्काल समाधानका लागि ठेकदारलाई निर्देशन दिइसकेको षडानन्द नगरपालिकाले जनाएको छ ।

अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरको उत्तरी क्षेत्रका लागि सवारी साधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एक मात्र माध्यम फेरी बनेको हो । उक्त फेरीले एकै पटकमा चार वटासम्म सवारीसाधन तार्ने गरेको छ ।

संघीय सांसद् क्षेत्र विकास कोषबाट ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट ७५ लाख र षडानन्द नगरपालिकाको रु ५५ लाख लागतमा फेरी निर्माण गरिएको हो । फेरीबाट दैनिक एक सय वटा सानाठूला सवारीसाधन तार्ने गरिएको छ ।