`

देशको समृद्धिमा लेखा व्यवसायीको महत्वपूर्ण भूमिका हुन्छ – उद्योगमन्त्री भण्डारी

काठमाडौँ, ६ वैशाख : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आर्थिक विकास र देशको समृद्धिका लागि लेखा व्यवसायीको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।चार्टर्ड एकाउन्टेन्ट्सहरुको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आइक्यान)को आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको लेखा व्यवसायीहरुको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री भण्डारीले राम्रो लेखाङ्कन नहुँदा कतिपय क्षेत्र नै बन्द भएकाले यो पेसामा आचारसंहिताको परिपालना अनिवार्य हुने बताउनुभयो ।

“यस पेसामा रहनुहुने व्यक्तिले आचारसंहिताको अनुभूति र सिद्धान्तअनुसार अगाडि बढिरहनुभएको कुरामा म विश्वस्त छु”, मन्त्री भण्डारीले भन्नुभयो ।अर्थतन्त्रमा पछिल्लो समय केही सुधार देखिएको र स्वदेशी उत्पादनमार्फत आर्थिक वृद्धि गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । उद्योगमन्त्री भण्डारीले सम्मेलनबाट प्राप्त हुने निष्कर्ष तथा सुझावअनुसार कारबाही अगाडि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेर मन्त्रिपरिषद्मा पेस गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको दिगो विकासका लागि लेखा व्यवसायीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । चार्टर्ड एकाउन्टेन्ट्स (सीए)ले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको उहाँको भनाइ थियो ।

“अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले यस वर्ष नेपालले आर्थिक वृद्धिदर तीन दशमलव दुई प्रतिशत हुने प्रक्षेपण गरेको छ । मुलुकको अर्थतन्त्र पनि सुधार हुँदै जाने देखिएको छ”, उहाँले भन्नुभयो, “अहिलेको यस्तो अवस्थामा पनि पारदर्शीतासहित यो पेसा अगाडि बढिरहेको अवस्था छ ।”

सम्मेलनको प्रमुख वक्ता इन्टरनेश्नल फेडेरेशन अफ एकाउन्टेन्ट्स (आइफ्याक)की अध्यक्ष आस्मा रेस्मौकीले दिगो लेखा अभ्यासका लागि सार्वजनिक चासोका मुद्दालाई अघि बढाउन आवश्यक रहेको बताउनुभयो । लेखा अभ्यास र व्यावसायिक लेखाको क्षेत्रमा धेरै अवसर रहेकाले त्यसलाई प्राप्त गर्न दु्रत गतिमा अगाडि बढ्न उहाँको सुझाव थियो ।

आइक्यानका अध्यक्ष सिए सुजनकुमार काफ्लेले तेस्रो सम्मेलनले विश्वभर हुँदै आएको लेखा अभ्यासको अध्ययन र यस क्षेत्रको प्रवद्र्धन तथा विस्तारमा सहयोग पुग्ने बताउनुभयो । सम्मेलनले वर्तमान अवस्थामा लेखा व्यवसायका क्षेत्रमा देखिएको चुनौती र त्यसको दीगो समाधानका लागि हुनुपर्ने प्रयास सम्बन्धमा नयाँ दिशा दिने पनि उहाँले बताउनुभयो ।

नेपाल अडिटर एसोसिएसन (अडान)का वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद भट्टराईले दिगो लेखा अभ्यास केन्द्रित यस सम्मेलनले आगामी दिनमा मुलुकमा सुशासन र आर्थिक वृद्धिमा टेवा पुग्ने बताउनुभयो ।

चार्टर्ड एकाउन्टेन्ट सङ्घ (एक्यान) का अध्यक्ष सिए दीपक पाण्डेले डिजिटल अर्थतन्त्र बिस्तार हुँदै जाने क्रममा सोहीअनुसार सीप र दक्षता विस्तार हुन नसके पेसागत चुनौती पनि देखापर्नसक्ने बताउनुभयो । शुक्रबारसम्म चल्ने सम्मेलनमा देशभरबाट करिब एक हजार लेखा व्यवसायीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

उपनिर्वाचनमा सहयोग पु-याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ, ६ वैशाख : निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न गराउन नेपाल सरकारलाई सहयोगको आग्रह गरेको छ ।

उपनिर्वाचन हुने जिल्लामा विद्युत्, खानेपानी, यातायात, सञ्चार, स्वास्थ्य, दमकल जस्ता सेवा तन्दुरुस्त राख्न र निर्वाचन क्षेत्रमा खटाइएका सुरक्षाकर्मी, कर्मचारीलाई सुरक्षित कार्य सम्पादन गराउने वातावरण बनाउन सरकारलाई आग्रह गरेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी विज्ञप्तिमा सम्बद्ध निकायबाट कार्यान्वयन गर्ने गराउने गरी आवश्यक सहयोग तथा निर्देशन गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखी पठाउने निर्णय गरेको आयोगले जनाएको छ ।

प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा हुने उपनिर्वाचन सम्पन्न गर्न गत चैत २८ गतेदेखि आचारसंहिता लागू भएको छ ।

को हुन् सुदूरपश्चिको मुख्यमन्त्री पदमा नियुक्त भएका सोडारी ?

सुदूरपश्चिम, ६ वैशाख ः सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (एकीकृत समाजवादी) का नेता दीर्घबहादुर सोडारीलाई आज नियुक्त गर्नुभएको छ । प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशसभा, एकीकृत समाजवादी पार्टीकोसंसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

उहाँ नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षका सदस्य र स्वतन्त्र सांसद डा तारा जोशीका समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

यसअघि आजै उहाँले प्रदेशसभामा प्रतिनिधित्व गर्ने एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी (अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर) र स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको नियुक्तको लागि दाबी पेश गर्नुभएको थियो । प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गर्न गत चैत २३ गते (१० दिनको समय दिएर) प्रदेश गर्नुभएको आह्वानअनुसार नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले छुट्टाछुट्टै रुपमा यही वैशाख २ गते दाबी पेश गर्नुभएको थियो ।

दुवैको दाबीको आधारमा निष्कर्षमा पुग्न नसकिएको कारणसहित यही वैशाख ४ गते (दुई दिनको समय तोकेर) संविधानको धारा १६८ को उपधार (२) बमोजिम नै मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखले पुनःआह्वान गर्नुभएको थियो ।

नाउपाका प्रदेशसभा सदस्य दुई समूहमा विभाजित हुँदा चार प्रदेशसभा सदस्य रहेको एकीकृत समाजवादी सरकार गठनमा निर्णायक बन्न पुगेको छ । फलस्वरुप समाजवादीका नेता सोडारीलाई प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । मुख्यमन्त्रीमा दाबी पेश गरिएपछि नाउपाका रेशम पक्षधर पक्षका प्रदेशसभा सदस्य घनश्याम चौधरीले प्रदेश प्रमुखलाई भेटेर सोडारीलाई मुख्यमन्त्रीमा दलको समर्थन नरहेको जानकारीसहितको ध्यानाकर्षण पत्र बुझाएको र नाउपा दलको नाममा दिइएको पत्र किर्ते भएको जनाकारी दिनुभयो ।

प्रदेशसभामा चौथो ठूलो शक्ति नाउपामा उत्पन्न आन्तरिक किचलो साम्य हुने सङ्केत देखिएको छैन । किचलोकै कारण थारु समुदायको नेता प्रदेशको मुख्यमन्त्री हुने अवसर आउँदा पनि वञ्चित हुनु परेको सो पार्टीका नेता कार्यकर्ताको भनाइ छ । अध्यक्ष रञ्जिता श्रेष्ट पक्षधरले अहिलेको केन्द्रीय गठबन्धनअनुसार जानुपर्ने अडानमा रहँदा संस्थापक संरक्षक रेशमलाल चौधरी पक्षधरले कांग्रेससहितको गठबन्धनमा जानुपर्ने अडान राख्दै आएका छन् ।

त्रिपन्न सदस्यीय प्रदेशसभामाको ठूलो दल नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र) का सभामुखबाहेक १०, नएमाले का १०, नाउपाका सात, एकीकृत समाजवादीका चार, राप्रपा एक र एक स्वतन्त्र सांसदको प्रतिनिधित्व छ । रिक्त एक पद(बझाङ, प्रदेशसभा ‘क’) का लागि यही वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । मुख्यमन्त्री नियुक्तका लागि २७ सदस्यको समर्थन आवश्यक पर्दछ ।

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा आयो

किमाथाङ्का (सङ्खुवासभा) ६ वैशाख : सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका-९ सतिघाटस्थित अरुण नदीको फेरी पुनः सञ्चालनमा आएको छ ।

अरुण नदीमा चार वर्षअघि निर्माण गरिएको फेरीको लठ्ठा घुमाउने पुुल्लीमा समस्या देखिएपछि १५ दिनदेखि फेरी सञ्चालन हुन सकेको थिएन । फेरी नचल्दा भोजपुरको उत्तरी क्षेत्रको यात्रुहरु आवतजावतमा समस्या भएको थियो ।

लठ्ठा घुमाउने पुल्ली खिएर तारमा समस्या देखिएपछि फेरी बन्द गरिएको थियो । काठमाडौँबाट आएको प्राविधिकको टोलीले मर्मत गरेपछि फेरी सञ्चालनमा आएको षडानन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईंले बताउनुभयो । फेरी मर्मतपछि उत्तरी क्षेत्रबाट चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन आजदेखि सञ्चालनमा आएको उहाँले बताउनुभयो ।

अरुण नदीको सतिघाटमा फेरी सञ्चालन भएपछि षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिकाका ७० हजारभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । तत्कालका लागि ठूला तथा मालवाहक सवारीसाधन ओसारपसारमा भने रोक लगाइएको छ । नदी किनारका बालुवा नहटाउँदासम्म ठूला मालवाहक सवारीसाधन ओसारपसारमा कठिनाइ हुने भएकाले तत्काल समाधानका लागि ठेकदारलाई निर्देशन दिइसकेको षडानन्द नगरपालिकाले जनाएको छ ।

अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरको उत्तरी क्षेत्रका लागि सवारी साधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एक मात्र माध्यम फेरी बनेको हो । उक्त फेरीले एकै पटकमा चार वटासम्म सवारीसाधन तार्ने गरेको छ ।

संघीय सांसद् क्षेत्र विकास कोषबाट ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट ७५ लाख र षडानन्द नगरपालिकाको रु ५५ लाख लागतमा फेरी निर्माण गरिएको हो । फेरीबाट दैनिक एक सय वटा सानाठूला सवारीसाधन तार्ने गरिएको छ ।

ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित

इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित मानिसलाई सुरक्षित स्थानमा सारिएको अल जजिराले बिहीबार जनाएको छ ।

माउन्ट रुआङमा मङ्लबार एक पटक तथा त्यसपछि बुधबार चार पटक विस्फोट भएको थियो । इन्डोनेसियाको ज्वालामुखी विज्ञान एजेन्सीले पर्वतको सतर्कता स्तर बढाएर चार पुरÞ्याएको छ, जुन मापनमा सबैभन्दा उच्च सात सय मिटर अग्लो छ ।

एजेन्सीले क्रेटर वरपरको बहिष्करण क्षेत्रको आकार चारदेखि छ किलोमिटरसम्म विस्तार गरेको छ । सुरुमा रुआङका आठ सयभन्दा बढी बासिन्दाहरूलाई टागुलान्डाङ टापुमा सारिएको थियो ।अधिकारीहरूले बढ्दो बहिष्करण क्षेत्रका कारण थप मानिसहरूलाई बाहिर निकाल्न र मनाडोमा ल्याउनुपर्ने बताएका छन् ।

“जोखिम क्षेत्रका कम्तिमा ११ हजार छ सय १५ बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्नुपर्छ’’, विपद् एजेन्सीको विपद् डाटा, सञ्चार र सूचना केन्द्रका प्रमुख अब्दुल मुहारीलाई कोम्पास अखबारले उद्धृत गरेको अल जजिराले जनाएको छ ।
अधिकारीहरू सन् १८७१ मा भएको विस्फोटमा जस्तै, ज्वालामुखीको एक भाग समुद्रमा खसेको हुन सक्ने र सुनामी निम्त्याउन सक्ने कुरामा चिन्तित छन् ।

मनाडोको साम रतुलाङ्गी अन्तर्राष्ट्रिय विमानस्थल कम्तिमा बिहीबार साँझसम्म बन्द रहनेछ । उड्डयन अधिकारीहरूका अनुसार ज्वालामुखीको खरानी फैलिएको कारण, जसले उडान सुरक्षालाई खतरामा पार्न सक्ने छ ।

विमानस्थलले दक्षिण कोरिया, चीन र सिङ्गापुर लगायत अन्य राष्ट्रहरूका लागि उडानहरू प्रदान गर्दछ । नजिकैको मलेसियाको कोटा किनाबालु अन्तर्राष्ट्रिय विमानस्थल जाने र जाने उडानहरूमा पनि गम्भीर अवरोध आएको छ । चालु हप्तामा दुईवटा भूकम्पपछि, देशको ज्वालामुखी विज्ञान सेवाका अनुसार माउन्ट रुआङको गतिविधिमा वृद्धि देखिएको छ ।

युक्रेनको चेर्निहिभमा रुसी हमलामा : १७ को मृत्यु

युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार भएपछि किभ र मस्कोबीच चलिरहेको द्वन्द्वमा कम्तिमा १७ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका छन् ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको अभियोजक जनरलको कार्यालयले मृतकको सङ्ख्या बढ्न सक्ने बताएको छ । राष्ट्रपति जेलेन्स्कीले युक्रेनको हवाई रक्षाको कमीका कारण ज्यान गुमाएको जिकिर गर्नुभयो भने युक्रेनका अभियोजक जनरलले ६१ जना घाइते भएको बताउनुभएको छ ।

एक बयानमा, जेलेन्स्कीले “युक्रेनले पर्याप्त हवाई रक्षा उपकरणहरूका लागि विश्वको दृढताबमोजिम पर्याप्तता नभएकाले रूसी आतंकको सामना गर्न नसकिने बताएको न्युयोर्क टाइम्सले जनाएको छ ।उहाँले आतङ्ककारीहरूले आतङ्क रोक्न र जीवन रक्षा गर्न सक्षमहरूलाई डराउन अवस्था आएपछि जीवन नष्ट गर्न सक्ने बताउनुभयो ।

फोनमा कुरा गर्दै चेर्निहिभ सहर सरकारका प्रमुख ओलेक्सान्डर लोमाकोले सडकमा हिँडिरहेका व्यक्तिहरूलाई गोलीले मारिएको र रगतले ढाकिएका कारहरू टुक्रिएको देखेको बताउनुभयो । उद्धारकर्मीहरूले अझै पनि भग्नावशेषमा पीडितहरूको खोजी गरिरहेको बताउदै उहाँले आक्रमण युक्रेनलाई तत्काल हवाई रक्षा प्रणाली र गोलाबारुद चाहिने कुराको पुष्टि गरेको न्युयोर्क टाइम्सले रिपोर्ट गरेको छ ।

युद्धको सुरुमा रुसी सेनाले चेर्निहिभलाई घेरी आक्रमण गरेपछि यसले ठुलो विनाश भोग्यो । यद्यपि, रुसीहरूलाई बाहिर निकालिए पछि र युक्रेनको हवाई सुरक्षामा सुधार भई मानिसहरू यस क्षेत्रमा फर्केको प्रतिवेदनमा उल्ल्ेख छ ।आकाशमा मिसाइलहरू उडिरहँदा, रुस र युक्रेनबिचको भीषण लडाइँ जारी रह्यो । रुसले पहाडी किल्लामाथि नियन्त्रण लिन र युक्रेनी नियन्त्रणमा रहेका अन्तिम प्रमुख सहरहरूमा निरन्तर आक्रमण गर्ने बाटो खोल्ने आशामा चार्सिभ यारको बाहिरी इलाकामाधकेलिरहेको छ । चार्सिभ यारबाट करिब ३५ माइल दक्षिणमा, युक्रेनीहरूले वर्षको सुरुमा अभ्डिव्कालाई चलाएपछि नयाँ लाइनहरू समात्ने प्रयास गरिरहेका छन् ।
यस वर्षको सुरुदेखि नै अमेरिकी सैन्य सहायता धेरै हदसम्म स्थगित गरिएको छ । निकट–रूसी मिसाइल आक्रमणहरूलाई आवश्यक पर्ने पश्चिमी–आपूर्ति गरिएको हवाई रक्षा प्रणालीहरू लगभग गोला बारुदबाट बाहिर छन् । यसले रुसमा रूसी हतियारहरूको
स्रोतमा आक्रमण गर्ने र युक्रेनका केही भागहरू कब्जा गर्ने युक्रेनको प्रयासको जरुरतालाई बढाएको छ ।
पिबीएससँगको अन्तर्वार्तामा, जेलेन्स्कीले अमेरिकी समर्थनमा भएको ढिलाइले मोर्चामा हालैको नोक्सान निम्त्याएको बताएको द न्यूयोर्क टाइम्सले रिपोर्ट गरेको छ । उहाँले स्पष्ट रूपमा यो समर्थन बिना जित्ने कुनै सम्भावना नहुने बताउनुभयो ।

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि उच्च पदस्थ अधिकारीका रूपमा आफ्नो कार्यकालमा ठूलो घुस लिएको आरोप लगाइएको सरकारी सञ्चारमाध्यमले बिहीबार बताएको छ ।

फ्यान यिफेई पहिलो पटक सन् २०२२ नोभेम्बरमा ‘अनुशासन र कानूनको संदिग्ध उल्लङ्घन’ का लागि अनुसन्धानको दायरामा आउनुभएको थियो । उक्त शब्द सामान्यतया कथित भ्रष्टाचारका घटनाहरूमा प्रयोग गरिन्छ । एक दशकअघि सत्तामा आएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले सरकारी भ्रष्टाचारविरुद्ध व्यापक कारवाही अभियान सुरु गर्नुभएको छ ।

चिनियाँ राज्य प्रसारक सिसिटिभीले फ्यानमाथि अहिले गैरकानूनीरूपमा ‘३८ करोड ६० लाख युआन (पाँच करोड ३० लाख अमेरिकी डलर) भन्दा बढीको सम्पत्ति’ प्राप्त गरेको आरोप लगाइएको बताएको छ । यी गैरकानूनी गतिविधिहरू कथितरूपमा सन् १९९३ देखि सन् २०२२ को बीचमा भएको समाचारमा उल्लेख छ ।

बिहीबार मध्य प्रान्त हुबेईमा घुसखोरी मामिलमा प्रारम्भिक सार्वजनिक सुनुवाइपछि अदालत स्थगित गरिएको र फैसलाको घोषणा पछि गरिने सिसिटिभीले बताएको छ ।

सत्तारूढ कम्युनिष्ट पार्टीको आन्तरिक भ्रष्टाचारविरोधी एजेन्सीले सन् २०२३ जुनमा ‘व्यावसायिक कर्तव्यको गम्भीर उल्लङ्घन’ गरेको भन्दै फ्यानले घुस लिएको आशङ्का गरिएको बताएको थियो । केन्द्रीय अनुशासन निरीक्षण आयोगले सो बेला फ्यानलाई सार्वजनिक पदबाट बर्खास्त गरिएको, उनको गैरकानूनी आम्दानी जफत गरिएको र फौजदारी मुद्दा चलाइएको बताएको थियो ।

समर्थकहरूले राष्ट्रपति सीको भ्रष्टाचारविरोधी अभियानले स्वच्छ शासनलाई बढावा दिने बताए पनि आलोचकहरूले उक्त अभियान सीका लागि राजनीतिक प्रतिद्वन्द्वीहरूलाई हटाउने माध्यम भएको बताएका छन् ।

भ्रष्टाचार नियन्त्रण अभियान हाल चीनको वित्तीय र बैंकिङ क्षेत्रमा हावी भएको छ । सरकारी स्वामित्वको चाइना डेभलपमेन्ट बैंकका पूर्वउपप्रमुख ली जिपिङ गत महिना अनुसन्धानको दायरामा आउनुभएको थियो भने सरकार समर्थित चाइना मर्चेन्ट्स बैंकका पूर्वप्रमुख तियान हुइयुलाई फेब्रुअरीमा घुस लिएको आरोपमा निलम्बित मृत्युदण्डको सजाय दिइएको थियो ।

अफगानिस्तानमा बाढीका कारण ७० जनाको मृत्यु, ५० घाइते

अफगानिस्तानमा हालै आएको बाढीका कारण ७० जनाको मृत्यु भएको भने ५० जनाभन्दा बढी घाइते भएको पुष्टि भएसँगै बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या बढेको राष्ट्रिय विपद् अधिकारी मुल्लाह जानान स्याकले बताउनुभएको छ ।

“विगत छ दिनमा बाढीबाट प्रभावित भई मृत्युवरण गर्नेको सङ्ख्या ७० पुग्नुका साथै अन्य ५६ जना घाइते भएको स्याकले मिडियालाई बताउनुभयो ।यसअघि ती अधिकारीले ३३ जनाको मृत्यु भएको तथा २७ जना घाइते भएको पुष्टि गरेका थिए ।गत हप्तामा वर्षा र बाढीका कारण दुई हजार पाँच सयभन्दा बढी घर क्षतिग्रस्त हँुदा दुई हजारभन्दा बढी गाईवस्तुको मृत्यु भएको छ ।

अफगानिस्तानका ३४ वटा प्रान्तका प्रमुख भागमा शुक्रबारदेखि वर्षा र छिटपुट हिमपात भइरहेको छ, भने देशको मौसम निर्देशालयले आगामी चार दिनमा थप वर्षाको पूर्वानुमान गरेको छ ।

सुदूरपश्चिम विश्वविद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुने

महेन्द्रनगर (कञ्चनपुर) ६ वैशाख : सुदूरपश्चिम विश्वविद्यालयमा आगामी आइतबार तीन सय ७६ जना विद्यार्थी दीक्षित हुने भएका छन् ।विश्वविद्यालयले आज कञ्चनपुरको महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी वैशाख ९ गते हुने चौथो दीक्षान्त समारोहको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा नियन्त्रक अनुराधा रोकायाले कूल एक हजार तीन सय ३७ विद्यार्थीमध्ये तीन सय ७६ जना प्रत्यक्ष दीक्षित हुने जानकारी दिनुभयो ।उहाँले यो पटक अनलाइनबाट पनि फारम सङ्कलन गरेको बताउनुभयो । “विद्यार्थीको सहजताका लागि अनलाइन फारम भर्ने व्यवस्था गरेका थियौँ ।” उहाँले भन्नुभयो, “अहिले आवश्यक तयारी भइरहेको छ ।”

सुदूरपश्चिम विश्वविद्यालयका एवं प्रधानमन्त्री कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा हुने दीक्षान्त समारोहमा भारतको कुमाउ विश्वविद्यालयका कुलपति दिवानसिंह रावतको प्रमुख आतिथ्यता रहने विश्वविद्यालयले जनाएको छ ।

दीक्षान्त समारोहमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलगायत विशिष्ट व्यक्तिहरुको सहभागिता रहनेछ । सुदूरपश्चिम विश्वविद्यालयका निमित्त उपकुलपति कर्णबहादुर थापाले समयमै दीक्षान्त समारोह हुने गइरहेको बताउनुभयो ।

व्यवस्थापन सङ्काय केन्द्रीय क्याम्पस स्नाकोत्तर तहका विद्यार्थी हेमन्त भट्टलाई चान्सलर र केन्द्रीय क्याम्पस इन्जिनियर सङ्काय स्नातक तहका नवीनप्रसाद भट्टलाई भाइस चान्सलर पदक पाउने भएको विश्वविद्यालयले जनाएको छ ।

राजेश जैनले सञ्चालन गरेको बाहुबली जडीबुटी प्रशोधन उद्योगमा आगलागी

खजुरा (बाँके), ६ वैशाख : बाँकेको जानकी गाउँपालिका–६ पिपरहवास्थित राजेश जैनले सञ्चालन गरेको बाहुबली जडीबुटी प्रशोधन उद्योगमा आगलागी भएको छ । विद्युत् चुहावट ‘सर्ट’ भएर आज बिहान भएको आगलागी दिउँसो नियन्त्रणमा आएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार आगलागी घटनाको जानकारी आउनै बित्तिकै प्रहरीको टोली परिचालन गरिएको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय र बाँके र बर्दिया जिल्लाबाट मगाइएको जम्मा नौवटा वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । उद्योगमा रहेको जडीबुटी, बोरालगायत सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ तर क्षतिको पूर्ण विवरण अझै आउन बाँकी रहेको छ ।

कोशी प्रदेशसभा बैठकमा सङ्कल्प प्रस्ताव पेस

विराटनगर, ६ वैशाखः कोशी प्रदेशसभाको आजकोे बैठकमा सङ्कल्प प्रस्ताव पेस भएको गरिइएको छ । प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन) समेतको नियम ७० को उपनियम (१) को खण्ड (ग) बमोजिम नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सो प्रस्ताव पेस गर्नुभएको हो ।

प्रस्ताव पेस गर्दै उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले मुख्यमन्त्री केदार कार्कीलाई दिएको विश्वासको मत गत चैत २६ गते फिर्ता लिइसकेका अवस्थामा उहाँ अल्पमतमा पर्नु भएकाले राजीनामा दिइ मार्गप्रशस्त गर्न आग्रह गर्नुभयो । प्रमुख सचेतक भण्डारीले भन्नुभयो, “अल्पमतमा परेपछि शासन गर्ने अधिकार रहँदैन ।”

प्रदेशसभा सदस्यद्वय गणेश उप्रेती र किशोरचन्द्र दुलालले प्रस्तावमा समर्थन जनाउँदै माओवादी केन्द्रको समर्थनबाट मुख्यमन्त्री पदमा निर्वाचित कार्कीले सोही दलले विश्वासको मत फिर्ता लिइसकेपछि राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्नुभयो । प्रदेशसभामा यो पहिलोपटक सङ्कल्प प्रस्ताव प्रस्तुत भएको हो । प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने सभामुख अम्बरबहादुर विष्टले जानकारी दिनुभयो ।

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौँ, ६ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा दूरसञ्चार सेवाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकमको पाँचौँ केन्द्रीय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले दूसञ्चार सेवाको अभावमा मुलुकको सर्वाङ्गीण विकास असम्भव छ भन्नुभयो । “दूरसञ्चार सेवा गुणस्तरीय भएन, सबै नागरिकको पहुँचमा गुणस्तरीय सेवा नपुग्दा मुलुकको विकासमा बाधा पुग्छ”, मन्त्री शर्माले भन्नुभयो, “सरकारी शेयर भएका कारण पनि टेलिकमले मुनाफा नभए पनि दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्ने दायित्व अगाडि छ ।” दूरसञ्चार सेवालाई गुणस्तरीय बनाएर लैजानुपर्नेमा जोड दिँदै मन्त्री शर्माले ‘डिजिटल डिभाइड’ न्यूनीकरण गर्न विशेष योजना ल्याउन टेलिकम व्यवस्थापनलाई निर्देशन दिनुभयो ।

“आजका दिनमा पनि ‘डिजिटल डिभाइड’ कायमै छ, सबै वडामा दूरसञ्चार सेवा पु¥याउनु आजको आवश्यकता हो”, उहाँले भन्नुभयो, “मुलुकका सबै भूभागमा गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्य हासिल गर्न कम्पनीले गम्भीर भएर सोच्नुपर्छ, यसका लागि मन्त्रालयले सहजीकरण गर्छ ।”

टेलिकमलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन उच्च व्यवस्थापनको ध्यानाकर्षण गराउँदै उहाँले कम्पनीलाई मुनाफामा लैजाने व्यावसायिक योजना ल्याउन आग्रह गर्नुभयो । मन्त्री शर्माले पेसागत हकहित र संस्थाको श्रीवृद्धिमा अनवरतरुपमा क्रियाशील हुन सम्पूर्ण कर्मचारीलाई आह्वान गर्दै तालिममा सिकेका ज्ञानलाई कार्यक्षेत्रमा लगाउन सुझाव दिनुभयो । “कर्मचारीको सेवा सुविधालाई समयानुकूल परिमार्जनका लागि मन्त्रालयले समन्वय र सहजीकरण गरिरहेको छ”, उहाँले भन्नुभयो, “कर्मचारीले भोग्दै आएको अप्ठ्यारा विषयलाई मन्त्रालयले ध्यान दिएको छ, मन्त्रालयले अभिभावकीय भूमिका निर्वाह गर्नुभयो ।”

कार्यक्रममा टेलिकममा क्रियाशील पेसागत सङ्घसङ्गठनका प्रतिनिधिले टेलिकम क्षेत्रमा देखिएका चुनौती समाधान गर्न, नयाँ परियोजना सञ्चालन गर्न, कर्मचारीको सेवा सुविधा समयानुकूल परिमार्जनका लागि व्यवस्थापनको ध्यानाकर्षण गराउनुभएको थियो ।

‘जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ’ – अर्थमन्त्री

काठमाडौँ, ६ वैशाख : अर्थमन्त्री वर्षमान पुनले नेपालजस्ता जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका देशलाई विकसित राष्ट्रले क्षतिपूर्ति दिनुपर्ने बताउनुभएको छ ।

जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका मुलुकहरुको समूह (भी–२०) का अर्थमन्त्रीहरुको बुधबार वासिङ्टनमा भएको बैठकमा उहाँले नेपालजस्ता हिमाली देशलाई जैविक विविधता संरक्षणका निम्ति अनुकूलन कोषबाट सहयोग हुनुपर्ने बताउनुभयो ।

अर्थमन्त्रीले जलवायु परिवर्तनका प्रभावको जोखिम घटाउन तथा त्यसबाट भएको क्षति परिपूर्ति गर्न अनुकूलन कोष, विकसित राष्ट्र र अन्य अन्तर्राष्ट्रिय निकायले नेपाललगायत जलवायु परिवर्तनमा कुनै योगदान नगरेका देशलाई क्षतिपूर्ति दिनुपर्नेमा जोड दिनुभएको वासिङ्टनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

अर्थमन्त्रीले विकसित देशहरुलाई जोखिममा रहेका मुलुकको संरक्षण गर्ने प्रतिबद्धताबाट पछि नहट्न आग्रह गर्नुभयो । उहाँले नेपालजस्ता देशले सामना गर्नुपरेका जलवायु प्रभावजन्य जोखिम घटाउन विश्वसमुदायको साथ र सहयोग अपरिहार्य भएको बताउनुभयो ।

अर्थमन्त्रीले जलवायु परिवर्तनका प्रभावका कारण नेपालका निर्धन एवं सीमान्तकृत वर्गले भोग्नुपरेका समस्याबारे जानकारी दिँदै जलवायु परिवर्तनका प्रभाव वृद्धिमा नेपालको कुनै योगदान नरहेको दोहो¥याउनुभयो । उहाँले जलवायु परिवर्तन प्रभावका कारण अनपेक्षित रुपमा नेपालमा वर्षा, बाढी, पहिरो र खडेरी बढिरहेको जानकारी पनि दिनुभयो । त्यसबाट प्रकृतिक विपत्ति थपिएका र दिगो विकासका प्रयास, मानव स्वास्थ्य एवं जनजीविकामा असर परेको उहाँले बताउनुभयो ।

व्यापार र रोजगारीका लागि चीनको ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

सिमकोट (हुम्ला), ६ वैशाख : रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या बढ्दै गएको छ ।

ताक्लाकोटमा व्यापार र रोजगारीका निम्ति जान तीन सय २८ जनाले नयाँ पास लिएका तथा आठ सय ७८ जनाले पुराना पास नवीकरण गरेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

ताक्लाकोटमा व्यापार र रोजगारीका लागि जाने हुम्लीलाई एक वर्षसम्म मान्य हुने पास स्थानीय प्रशासनले प्रदान गर्दै आएको छ । नेपाल र चीन सरकारको सहमतिमा उक्त व्यवस्था भएको हो । चीनले गत वैशाख १८ गते हिल्साबाट आवागमनको अनुमति दिएपछि बर्सेनि पास बनाउने सेवाग्राहीको भीड जिल्ला प्रशासन कार्यालयमा बढ्ने गरेको प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले बताउनुभयो । जिल्लाको उत्तरी नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाबाट धेरै सेवाग्राही आउने गरेका छन् । केही दिनयता दक्षिण भेगका सर्केगाड, ताँजकोट, चङ्खेली र अदानचुली गाउँपालिकाबाट पनि सर्वसाधारण ‘सीमा पास’ बनाउन आउने गरेका उहाँले बताउनुभयो ।

नेपालीले फुरु, गुच्चीच्याउ, थाक्ना, जडीबुटीलगायत सामान ताक्लाकोटमा बेच्ने गरेका छन्भने उताबाट दैनिक उपभोग्य सामान, लत्ताकपडा, इन्धन, विकास निर्माणका सामग्री आयात हुने गरेको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन कक्षा एकमा अङ्ग्रेजी

टीकापुर, ६ वैशाख : कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो शैक्षिक वर्षमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गर्ने भएको छ ।
पालिकाले सबै सामुदायिक विद्यालयमा कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यममा अध्यापन गर्ने व्यवस्था गरेको हो । सामुदायिक विद्यालयमा अभिभावकको आकर्षण घटेपछि सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउन र शैक्षिक गुणस्तर वृद्धिका लागि सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइने पालिकाले जनाएको छ ।

जानकी गाउँपालिकाका तीन वटा बाल विकास कक्षा र ३० वटा सामुदायिक विद्यालयमा अब अङ्ग्रेजी माध्यमको पढाइ हुनेछ । गाउँपालिकाका शिक्षा अधिकृत धर्मानन्द कपाडीले शैक्षिक गुणस्तर वृद्धि र विद्यालय उमेर समूहका बालबालिकाको विद्यालयमा उपस्थिति बढाउन अङ्ग्रेजी माध्यमबाट अध्यापन सुरु गर्ने निर्णय भएको बताउनुभयो ।
पालिकाका ३३ वटै विद्यालयमा गाउँपालिकाले भर्ना अभियानसँगै अङ्ग्रेजी माध्यममा पढाइ हुनेगरी व्यवस्थापन थालेको छ । अङ्ग्रेजी माध्यमबाट अध्यापनका लागि गाउँपालिकाले शिक्षकको क्षमता अभिवृद्धि गर्न ‘मन्टेश्वरी’ तालिमसमेत सञ्चालन गरिसकेको छ ।

गाउँपालिका र विद्यालयको तयारीसँगै गाउँपालिकामा शैक्षिक गुणस्तरको लागि अभिभावक सकरात्मक भई बालबालिकालाई विद्यालयको पहँुचमा पु¥याउन आवश्यक रहेको अभिभावक बताउँछन् । अभिभावक तेतरानी चौधरी सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा भएमा सबै विद्यार्थी सामुदायिकमै जाने बताउनुभयो । “निजी विद्यालयमा महँगो शुल्क तिर्नुपर्छ, सामुदायिक त्यो शिक्षा पाए किन अभिभावकले बालबालिकालाई निजीमा भर्ना गर्ने ?”, उहाँले प्रश्न गर्नुभयो, “अब कक्षा १० सम्म नै अङ्ग्रेजी माध्यममा पढाउनुपर्छ । यसो गरेमा सामुदायिक विद्यालयप्रति आकर्षण बढ्छ ।”

पाँच पालिकाको निर्णयः सार्वजनिक पदमा रहेकाले सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने

गोरखा, ६ वैशाख : गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ । जिल्लाका ११ पालिकामध्ये पाँच वटा पालिकाले पालिकाभित्र सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने निर्णय गरेका हुन् । गोरखाको भीमसेन थापा गाउँपालिका, अजिरकोट गाउँपालिका, गोरखा नगरपालिका, धार्चे गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाले सूचना जारी गरेर सार्वजनिक पदमा रहेका सबैले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिइसकेका छन् ।

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारसँगै अभिभावक र बालबालिकाको आर्कषण बढाउन जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्यलगायत सबै सार्वजनिक पदमा रहेका व्यक्तिले बालबालिका सामुदायिक विद्यालयमा पढाउनै पर्ने निर्णय भएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।

“सामुदायिक विद्यालयलाई व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चिता गर्न सहयोग पु¥याउने उद्देश्यले यस्तो निर्णय गरिएको हो”, अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले भन्नुभयो, “सार्वजनिक पदमा रहेका व्यक्तिले बालबालिका बाहिर नपठाएपछि अरुलाई पनि सामुदायिक विद्यालयमा पढाउन हौसला पुग्छ ।”

बारपाक सुलिकोट गाउँपालिकाले पनि गाउँसभाको निर्णयबमोजिम सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति लागू गरेको बारपाक सुलिकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोदराज भट्टले जानकारी दिनुभयो ।

बारपाक सुलिकोटले चालु शैक्षिकसत्र २०८१ देखि यस्तो नीति लागू गरेको हो । गाउँपालिकाको यो निर्णयले शिक्षालाई बालमैत्री, गुणस्तरीय, प्रतिस्पर्धी र नजितामुखी बनाउन सहयोग पुग्ने विश्वास भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले व्यक्त गर्नुभयो । भीमसेन थापा गाउँपालिकाले सवै वडामा सार्वजनिक पदमा रहेका व्यक्तिका बालबालिका कुन–कुन विद्यालयमा अध्ययनरत छन् भन्ने विवरणसमेत पठाउन सबैलाई निर्देशन दिएको उहाँको भनाइ छ । भीमसेन थापा गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न ‘विद्यार्थी खोजौँ र विद्यालय बचाऔँ’ अभियानसमेत सम्पन्न गरिसकेको छ ।

अर्नाकोट र सिँडेरीबासीलाई सधैँ पानीकै पिरालो, घण्टौको यात्रा गरेर पानी बोक्न बाध्य

ढोरपाटन (बागलुङ) – गाउँ वरपर खानेपानीका पर्याप्त मुहान छैनन् । धारा र कुवा सुक्दै गए । भएको मुहानमा पानी छैन । एक गाग्री पानी भर्नका लागि बागलुङको निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीयलाई घण्टौँ हिँड्नुपर्छ । गाउँको धारामा पानी आउन छाडेको दशक बढी भयो ।

दिनप्रति दिन खानेपानी अभाव हुँदै गएपछि अर्नाकोटसँगै सिँडेरी र घम्पुका करिब पाँच सय घर परिवार समस्यामा छन् । गाउँ नजिक खानेपानीको मुहान नहुँदा अर्नाकोटका सयौँ नागरिक घण्टौको यात्रा गरेर पानी बोक्न बाध्य छन् ।

पछिल्लो समय उनीहरु घण्टौँको समय एक गाग्री पानी भोक्दैमा बित्ने गरेको गर्छ । खानेपानीको हाहाकार हुँदै गएपछि एउटा धाराबाट ५० घरका नागरिकले पानी उपभोग गर्नु पर्ने बाध्यता छ । खानेपानी भर्नका लागि मध्यरातमै उठेर धारामा पुग्नुपर्छ । विहान को छिटो धारामा पुगेर पहिला पानी भर्ने भन्ने होडबाजी स्थानीयबीच हुने गरेको छ ।

छिटो पुग्न नसके लामो समय लाइन बसेर पालो कुर्नुपर्ने स्थिती छ । करिब एक दशक अगाडि गाउँमा खानेपानीको चरम अभाव बढ्दै गएपछि गाउँमा थुप्रै सिमेन्टका घ्याम्पाहरू निर्माण गरेर आकाशे पानी सङ्कलन गरेर प्रयोग गर्नु पथ्र्यो । घ्याम्पोमा सङ्कलन भएको पानी करिब डेढ महिना पु¥याउनु पर्ने बाध्यता छ ।

यहाँका अधिकांश स्थानीयहरू पानी बोक्नका लागि ढोरपाटन नगरपालिका वडा नम्बर ५ को बसुन्धरा, बाँसखोला र बराहथान जान बाध्य छन् । तर उनीहरुको समस्या अहिलेसम्म पनि सम्बोधन भएको छैन । अर्नाकोट उच्च पडाडी क्षेत्रमा भएको हुँदा खानेपानीको मुहान त्यस वरपर छैन । सानोतिनो भएको मुहान पनि सक्दै गएका छन् ।

खानेपानी अभाव हुँदा दैनिकी नै कष्टकर बनेको स्थानीय प्रेमबहादुर विकले बताउनुभयो । बर्खामा सङ्कलन गरेको पानी महिनौसम्म पु¥याउनु पर्ने बाध्यता रहेको उहाँको भनाइ छ । उहाँले लामो समय खडेरी परेपछि गाउँमा खानेपानीको हाहाकार मच्चिने बताउनुहुन्छ । प्लास्टिकका ड्रमहरूको प्रचलन नआउँदा घ्याम्पोमै पानी सङ्कलन गरेर प्रयोग गरेको भन्दै अहिले धेरै घर–घरमा ठूला प्लास्टिकका ड्रमहरू राखेको विकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले सफा र शुद्ध पानीको नारा लगाउँछ, तर हामीहरूले धमिलो पनि पानी देख्न पाउँदैनौँ, एक गाग्री पानीका लागि दिन बिताउनु पर्छ, हामीहरूले कस्तो नियती भोगिरहेका छौँ, यस क्षेत्रको समस्याबारेमा धेरै पटक नेताहरूलाई सुनायौँ तर कुनै सुनुवाईनै भएन, दुर्गम ठाउँ भए पनि अहिले अरु विकास विस्तारै हुँदैछ, तर खानेपानीको सुविधा भने अझैसम्म आउन सकेन, काम नगरेपछि मान्छेहरूलाई खान लाउन पनि गाह्रो हुन्छ, पानीको दुःखले गर्दा दैनिकी चलाउन पनि सकस भइरहेको छ ।”

गाउँमा पहिला सानो मुहान भए पनि अहिले पानी सुक्दै गएपछि खानेपानी आपूर्तिमा समस्या भएको स्थानीय मनकुमारी सुनार बताउनुहुन्छ । केही वर्ष अगाडि गाउँमा पानीको हाहाकार मच्चिएपछि युनिका फाउण्डेसनको सहयोगमा निसीखोला गाउँपालिका वडा नम्बर २ बाँसखोलाबाट ती सय ३५ मिटर दुरीमा लिफ्टिङमार्फत् खानेपानी आयोजना निर्माण गरिएको थियो ।

यसबाट पनि अहिले पिउने पानी अपर्याप्त भएको उहाँको भनाइ छ । गाउँभन्दा धेरै टाढा खानेपानीको धारो भएको हुँदा आउजाउ गर्दा तीन÷चार घण्टा बित्ने सुनारले बताउनुभयो । पानीको अभावले गर्दा सरसफाई गर्नदेखि पशुचौपायालाई खुवाउनसमेत निकै गाह्रो भएको दुखेसो पोख्नुभयो ।

“यो ठाउँमा निकै खानेपानीको समस्या छ, हामीहरू निकै सस्यामा छौँ, सधैँ खानेपानीकै पिरलो हुन्छ, बारीमा तरकारी लगाउँ, केही खेती गरौँ भने पनि पानीको कारण गर्न पाएका छैनौँ, चामल, नुन त बरु गाडीले बजारबाट ल्याउँछ, पानी भने घण्टौँ लगाएर बोक्नु पर्छ”, उहाँले भन्नुभयो, “यसले गर्दा हामीहरू निकै मर्कामा परेका छौँ, यो ठाउँ खेतीपातीका लागि उर्वर भूमि हो, जुनसुकै खाद्यबाली उत्पादन हुन्छ, तर के गर्ने पानी छैन, कसरी उत्पादन गर्न सकिन्छ र ?”

अर्नाकोट क्षेत्रमा खानेपानीको व्यवस्थापनका लागि धेरै प्रयासहरू भए पनि सफल हुन सकेको छैन । निसीखोला गाउँपालिका–२ का अध्यक्ष कुविर विश्वकर्माले अर्नाकोटदेखि करिब २७ किलोमिटर पश्चिममा रहेको हाँचदह मुहानबाट पाइपमार्फत पानी ल्याउने भने पनि स्थानीयको अवरोधका कारण काम गर्न नसकिएको बताउनुभयो ।

वडा नम्बर ६ को हाँचदहमा पानी पर्याप्त हुँदा धेरै पटक स्थानीयसँग छलफल गरे पनि पानी ल्याउन नसकेको उहाँको भनाइ छ । दुई वर्ष अगाडि ढोरपाटन नगरपालिकासँग सहकार्य गरेर फुर्तुङबाट पाइपमार्फत पानी पु¥याए पनि त्यो पर्याप्त नभएको बताउनुभयो ।

“यहाँ खानेपानीको समस्या वर्षौदेखिको हो, हामीहरूले यो समस्यालाई समाधान गर्न धेरै प्रयासहरू गरिरहेका छौँ, खासगरी अर्नाकोट, सिँडेरी, घम्पु गाउँका पाँच सय घर परिवारले खानेपानीको अभाव भोगिराख्नु भएको छ”, अध्यक्ष विश्वकर्माले भन्नुभयो, “यहाँका स्थानीयले प्यास मेटाउने गरी पानी पिउन नपाएको धेरै भयो ।” उहाँले अब वडा नम्बर २ बाँसखोलाबाट खानेपानीको व्यवस्थाप गर्ने गरी काम अगाडि बढाएको बताउनुभयो । यो योजना सफल भयो भने थोरै भए पनि यस ठाउँका नागरिकलाई राहत मिल्ने उहाँको भनाइ छ ।

२९औँ वन्यजन्तु सप्ताह : बूढीराप्ती सरसफाइ

नारायणगढ (चितवन), ६ वैशाख : चितवनमा जारीे २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी क्षेत्र सरसफाइ गरिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा नदीको चित्रसारी पुलदेखि डुङ्गाघाटसम्म सरसफाइ गरिएको हो ।

नदी सफा गरेपछि बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जीतु तामाङले नदीमा मानवीय चाप घटाउनुपर्ने बताउनुभयो । वातावरण र प्रकृति संरक्षण हामी सबैको दायित्व हो भन्दै उहाँले नदी प्रदूषण रोक्न एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले संरक्षणका दृष्टिले महत्वपूर्ण मानिएको वन्यजन्तु सप्ताहमा सरोकारवालाको उल्लेख्य सहभागिता नहुनु दुःखद भएको बताउनुभयो ।

वर्ड एजुकेसन सोसाइटीका अध्यक्ष टीकाराम गिरीले निकुञ्ज आसपासका नदीमा मानव बस्ती वृद्धिका कारण जलचर सङ्कटमा परेका बताउनुभयो । सफाइका निम्ति चित्रसेन मध्यवर्ती सामुदायिक वन, सौराहा लेडी जेसीज, लियो क्लब अफ चितवन सौराहा, मैनहा युवा क्लबलले सहयोग गरेका थिए ।

सप्ताहअन्तर्गत आज वन, वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना ¥याली, सप्ताहको अन्तिम दिन भोलि वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती विषयमा छलफल र संरक्षणमा योगदान गरेकालाई सम्मान गर्ने कार्यक्रम छ ।

मृगकुञ्जको अगुवाइमा जारी वन्यजन्तु सप्ताहमा स्थानीय सरकार, राष्ट्रिय प्रकृति संरक्षण कोषसहित सामुदायिक वन, सौराहाको पर्यटनसँग सम्बन्धित सङ्घसंस्था गरी २६ वटा सङ्घसंस्था संलग्न छन् ।

‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई

गुल्मी, ६ वैशाख : विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ ।

‘जानकी प्रतिष्ठान’ द्वारा स्थापना गरिएको उक्त पुरस्कार गुल्मीमा जन्मेर निरन्तर सृजनामा लाग्नुभएका स्रष्टा भण्डारीलाई पुरस्कृत गर्ने निर्णय भएको पुरस्कार छनोट समितिका संयोजक दीन पन्थीले बताउनुभयो ।

गुल्मीको सत्यबती गाउँपालिकाको जोहाङ् खैरेनीमा २०१० भदौ २५ गते जन्मनुभएका भण्डारी समालोचक, कवि र निबन्धकारका रुपमा परिचित हुनुहुन्छ । उहाँका २८ वटा पुस्तक भएका छन् ।

विसं २०३३ मा रुरुक्षेत्र गाउँपालिका–४ अन्तर्गत बलेटक्सारमा जन्मनुभएकी जानकी ज्ञवाली साहित्य र मानव अधिकारको क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । उहाँको नौ वर्ष अघि ३९ वर्षको उमेरमा निधन भएपछि उहाँका श्रीमान् शङ्करप्रसाद गौतमले उहाँको स्मृतिमा किरण पुस्तकालय तम्घासमा रु एक लाख ५१ हजार एक सय ५१ को अक्षय कोष स्थापना गर्नुभएको थियो । कोषको ब्याजबाट हरेक पुरस्कार प्रदान हुँदै आएको छ । उक्त पुरस्कारबाट साहित्यकार सूव सेन (सूर्यबहादुर सेन) भागरिथी श्रेष्ठ, रामप्रसाद पन्त र नारद गौतम र रुद्र ज्ञवाली पुरस्कृत भइसक्नुभएको छ ।

स्ट्रबेरी खेतीमा रमाउँदै काभ्रेका मुक्ति, खर्च काट्दा पनि ४० लाख मुनाफा

काभ्रेपलाञ्चोक – बनेपा नगरपालिका–१० का मुक्ति विष्टले तीन वर्षअघि सुरु गर्नुभएको व्यायसायिक स्ट्रबेरी (भूईंकाफल) खेतीमा विस्तार गर्दै लैजानुभएको छ । कोरोना महामारीका समयमा धेरैले रोजगारी गुमाइरहेका बेला विष्टदे भने स्वरोजगार बन्ने जुक्ति निकाले स्ट्रबेरी खेती सुरु गर्नुभक्एो थियो । उहाँ उक्त काममा कत्तिपनि विचलित नभइ निरन्तरको मेहनतले व्यवसायको दायरा बढाउँदै रमाइरहनुभएको छ ।

दैनिक हजाराैँ युवा रोजगारीका लागि विदेश पलायन भइरहँदा स्वदेशमै केही गरौँ भन्ने लाग्नलाई विष्टको स्ट्रबरी खेती उदाहरणीय बन्ने गरेको छ । अहिले विष्टले यही खेतीबाट नाम र दाम पनि कमाउँदै आउनुभएको छ । उहाँले आफ्नै माटोमा बगाउनुभएको पसिनाले प्रत्येक वर्ष मुनाफा बढाइरहेको बताउनुभयो ।

विष्टले आफ्नो १० रोपनी जग्गामा स्ट्रबेरी रोपेर युवालाई स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सन्देश दिने अभियानमा लागेको बताउनुभयो । बयालीस वर्षीय विष्टले स्ट्रबेरी रोप्ने सीप सिकेर व्यवसाय थाल्नुभएको होइन । रुले रोपेको देखेर र भनेको सुनेको भरमा काम थालेको उहाँको भनाइ छ ।

गतवर्ष स्ट्रबेरी बेचर सबै खर्च काट्दा पनि रु ४० लाख मुनाफा भएको विष्टले जानकारी दिनुभयो । उहाँले यसवर्ष ५० हजार केजी उत्पादन गर्ने लक्ष्य लिएको भन्दै यसबाट गत वर्षभन्दा बढी आम्दानी हुने बताउनुभयो ।

उहाँले स्ट्रबेरी खेतीका लागि बनेपा र ककनीमा गरी एक लाख बिरुवा रोप्नुभएको छ । विष्टले भन्नुभयो, “बिरुवा र उत्पादनका लागि अब बजारको समस्या छैन, आफैँ बिरुवा उत्पादन गर्न थालेको छु ।” उहाँले चितवन, नवलपरासी र बारामा स्ट्रबेरी खेतीका लागि अध्ययन भइरहेको भन्दै गत वर्ष ४० हजार बिरुवा उत्पादन गरी केही बिक्री गरेको जानकारी दिनुभयो ।

दुई महिनामा हुर्केको स्टेबरीले उत्पादन दिन थाल्छ । हाल स्ट्रबेरीको बजारमा प्रतिकेजी रु तीन सयदेखि रु सात सयसम्ममा बिक्री हुने गरेको विष्टले बताउनुभयो । बनेपा र आसपासका किसानले खेतमै आएर हेर्ने र किनेर लैजाने गर्न थालेका उहाँको भनाइ छ ।

“आजभोलि दैनिक बेरी खेती हेर्न आउने क्रम बढ्दैछ । उहाँहरु आएर हेर्नुहुन्छ अनि फर्किँदा किनेर लैजानुहुन्छ । बजारको भन्दा यहाँ केही सस्तो पर्ने भएकाले पनि उहाँहरुले लैजाने गर्नुभएको छ”, विष्टले भन्नुभयो । उहाँका अनुसार उत्पादित स्ट्रबेरी जिल्लाको मुख्य बजार बनेपालगायत धुलिखेल, पाँचखाल र पनौती तथा काठमाडाँै, पोखरा तथा चितवनसम्म जाने गरेको छ ।

उहाँले भन्नुभयो, “देशका प्रमुख सहरमा मेरा उत्पादन पु¥याउने लक्ष्य लिएको छु, स्ट्रबेरीका बिरुवा छिमेकी जिल्ला भक्तपुर, सिन्धुपाल्चोक र सिन्धुलीबाट माग हुन थालेको छ । त्यसमा पनि विशेष ध्यान दिइरहेको छु ।” प्रतिबिरुवा रु २५ देखि रु ३० सम्ममा बिक्री हुने गरेको विष्टले जानकारी दिनुभयो ।

करिब रु ४० लाख लगानीबाट थालिएको व्यवसायमा अहिले उहाँको रु दुई करोड लगानी पनि थपिएको छ । अमर भूमण्डलीय बहुउद्देश्यीय कृषि फर्म दर्ता गरी नयाँनयाँ काम सुरु गरिएकाले लगानीमा पनि वृद्धि हुँदै गएको हो ।

“सुरुआतका बेला कृषि तथा अन्य उत्पादनमा लाग्ने क्रममा केही घाटा व्यहोर्नुप¥यो, अहिले त्यस्तो छैन”, विष्टले भन्नुभयो । उत्पादनका लागि रासायनिक मलको अभावले कठिनाइ भएको उहाँले अनुभव सुनाउनुभयो ।

विष्टको व्यवसायमा अहिले स्ट्रबेरी मात्र छैन, करिब दुई सय बोट ड्रागनफ्रुट पनि उत्पादन हुने क्रममा रहेका छन् । परीक्षणका रुपमा रोपिएका ड्रागनफ्रुटको उत्पादनलाई हेरी व्यवसायिकता दिने सोचमा उहाँ हुनुहुन्छ । फार्ममा स्थानीयवासीले रोजगारी पाएका छन् । तीन जनालाई नियमित तथा दैनिक आवश्यकता अनुसार कामदार लगाउने गरेको विष्टको भनाइ छ ।

हाल मुक्तिको व्यवसायमा कुखुरापालन र बाख्रापालन पनि देख्न सकिन्छ । उहाँको फार्ममा पाँच सयदेखि एक हजारसम्म कडकनाथ जातका काला कुखुरा छन् । जसबाट उत्पादन भइरहेको अण्डा र मासु बिक्री भइरहेको छ ।

व्यवसायका लागि विष्टले वित्तीय संस्थाबाट ऋण लिएको बताउनुभयो । “अहिलेसम्म सरकारी अनुदानमा ऋण पाएको छैन, प्रयास गर्दैछु । सरकारले पौरखी किसानलाई सहुलियत ऋण दिए व्यावसायिक कृषि उत्पादनमा लाग्नेको सङ्ख्या बढ्नसक्छ र युवा विदेशिने क्रम घट्ला कि !”, उहाँले भन्नुभयो ।

गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक

काठमाडौँ गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द रहेको गीतमा गायिका सुम्निमाकै सङ्गीत रहेको छ । गीतको भिडियोलाई अभि सम्पाङ राईले निर्देशन गर्नुभएको छ । भिडियोमा विराज घिमिरेको सहनिर्देशन रहेको छ । विकेश मगर र समन महर्जनको संयुक्तरूपमा छायाङ्कन गरेको भिडियोको सम्पादन विकेश, समन र सुम्निमाले गरेका हुन् । भिडियोमा रङ संयोजन विकेश मगरले गर्नुभएको छ ।

गीतमा सुमित तामाङ, रजीन तामाङ, दीपेन्द्र तामाङ, राजाराम तामाङ र सम्राट तामाङको नृत्य रहेको छ । सार्वजनिक भिडियोलाई सुम्निमाकै आधिकारिक युट्युब च्यानलमार्फत प्रस्तुत गरिएको छ । सुम्निमाको यसअघि मन्नतलगायतका विभिन्न गीतहरू सार्वजनिक भइसकेका छन् ।

अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन

बेइजिङले जहाज निर्माण, सामुद्रिक तथा रसद क्षेत्रमा चीनको व्यापार अभ्यासमाथि अमेरिकी अनुसन्धानको कडा विरोध गरेको बुधबार बताएको छ । उसले अमेरिकी अनुसन्धान ‘झुटो आरोपले भरिएको’ आरोप लगाएको छ ।

अमेरिकी ट्रेड रिप्रेजेन्टेटिभ (युएसटिआर) ले पाँच युनियनको हालैको निवेदनको जवाफमा अनुसन्धान सुरु गरेको घोषणा गरेको थियो । चीनको वाणिज्य मन्त्रालयले घोषणाको जवाफ दिँदै भनेको छ, “अनुसन्धान झुटा आरोपहरूले भरिएको छ, यसमा सामान्य व्यापार र लगाानी गतिविधिलाई अमेरिकी राष्ट्रिय सुरक्षा तथा कर्पोरेट हितलाई नोक्सान पुर्याउने भनेर गलत व्याख्या गरिएको छ र आफ्नो औद्योगिक समस्याका लागि चीनलाई दोष दिइएको छ ।”

मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “चीन यसबाट पूरै असन्तुष्ट र यसको कडा विरोध गर्दछ ।” अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘अनुचित प्रतिस्पर्धा’ लाई उद्धृत गर्दै व्यापार ऐनको धारा ३०१ अन्तर्गत हाल विद्यमान चिनियाँ स्टिल तथा आलुमिनियममा तीन गुणा कर बढाउन आग्रह गर्नुभएको छ । कथित धारा ३०१ अनुसन्धान ट्रम्प प्रशासनद्वारा चीनसँगको व्यापार युद्धमा करको औचित्य प्रमाणित गर्नका लागि प्रयोग गरिएको प्राथमिक उपकरण थियो ।

“अमेरिकाले आफ्नै उद्योगहरूलाई खर्बौं डलर भेदभावपूर्ण तरिकाले अनुदान प्रदान गर्दछ तर चीनमाथि कथितरूपमा ‘गैर–बजार अभ्यास’ अपनाएको आरोप लगाउँछ”, बेइजिङको वाणिज्य मन्त्रालयले भनेको छ, “वास्तवमा चीनको उद्योगहरूको विकास उद्यमहरूको प्राविधिक आविष्कार र बजार प्रतिस्पर्धामा सक्रिय सहभागिताको परिणाम हो, अमेरिकी आरोपसँग टिक्ने कुनै आधार छैन ।”

“चीनले अनुसन्धानको प्रगतिमाथि सम्पूर्ण ध्यान दिनेछ र आफ्नो अधिकार तथा हितहरूको दृढतापूर्वक रक्षाका लागि सबै आवश्यक उपाय गर्नेछ”, विज्ञप्तिमा भनिएको छ ।

ढुङ्गाका आकृतिले तान्दै पर्यटक, दैनिक दुई सय भन्दा बढी पर्यटक घुम्न आउदै

दमौली (तनहुँ) – नुवाकोटको विदुर नगरपालिका–११ वासुदेव अवस्थीलाई पहिलोपटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो । मुक्तिनाथ जान हिँडेका ४० जनाको टोलीले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहराको एक घण्टा अवलोकन गरेको थियो ।

अवस्थीले भन्नुभयो, “ढुङ्गामा आकृति बनाएर पर्यटकीयस्थल बनाउने गाउँपालिकाको योजना निकै राम्रो लाग्यो । ढुङ्गामा खोपिएका आकृति हेर्दा मान्छेसँग बोल्लान् झै लाग्ने खालको रहेछ ।”पहिलो पटक आउँदा नै यस ठाउँले मोहित बनाएको भन्दै उहाँले घर फर्किसकेपछि आफन्त तथा साथीभाइलाई यस ठाउँको बारेमा जानकारी गराउने बताउनुभयो ।

“राजमार्गमा यात्रा गर्दा थकाइ मार्ने स्थानको रुपमा विकास भइरहेको रहेछ”, अवस्थीले भन्नुभयो, “यस ठाउँको अझ प्रचारप्रसार गर्नका लागि सबैले सहयोग गर्नुपर्छ ।” प्राकृतिक रुपमा रहेका ढुङ्गालाई कालीगढले मेहनत गरेर आकृति बनाउँदा यस ठाउँकोस्वरुप नै बदलिएको उहाँको भनाइ छ ।

ऐनापहरामा स्वदेशीका अतिरिक्त विदेशी पर्यटकको समेत आवागमन हुन थालेको छ । फ्रान्सबाट आएकी एक पर्यटकले ऐनापहरा निकै आकर्षक बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “एकैछिन घुम्दा यहाँको वातावरणले लोभ्यायो । यहाँ बनाइएका संरचना मनमोहक छन् ।”

ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृतिक खोपेपछि पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुन थालेको हो । यहाँ दैनिक दुई सय भन्दा बढी पर्यटक घुम्न आउने गरेका छन् ।

पृथ्वीराजमार्ग नजिकै पर्ने ऐनापहरामा रहेको झरनामा घुम्न आउने पर्यटक बढेसँगै गाउँपालिका यसको प्रवर्द्धनमा जुटेको अध्यक्ष शुक्र चुमानले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार गत माघदेखि यहाँका ढुङ्गामा विभिन्न आकृति खोप्ने काम सुरु भएको थियो ।

“यसै रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाएका हौँ”, चुमानले भन्नुभयो, “यसले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्नुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएका छौँ ।” झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ऐनापहरामा उद्यान निर्माणलाई अगाडि बढाइएको चुमानले जानकारी दिनुभयो । उहाँका अनुसार उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा रु एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ । उहाँले भन्नुभयो, “ऐनापहरालाई तनहुँको मात्र नभइ गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखेका छौँ ।”

गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको ऐनापहरामा मनमोहक झरना छ । कलकल बगेको पानी, हरियाली जङ्गल । खोँचबाट झरेको पानीले ऐनापहरा झरना पुग्ने जो कसैको पनि मन लोभ्याउँछ । थकित मुद्रामा यहाँ पुग्नेहरु आनन्दित भएर फर्किन्छन् ।

पृथ्वीराजमार्गबाट एक मिनेटको दुरीमा पुगिने ऐनापहरा झरना आकर्षक पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको छ । राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्रामस्थलको रुपमा पनि ऐनापहरा झरना विकास भइरहेको छ । काठमाडौँ, चितवनबाट पोखरातर्फ आउने र पोखरातर्फ यात्रा गर्ने सर्वसाधारण सवारीसाधन रोकेरै ऐनापहरा झरनामा रमाउने गरेका स्थानीय बताउँछन् ।

गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिकिङ, सिसाको पुल बनाउने योजना अगाडि सारेको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन सर्वसाधारणको घुइँचो लाग्ने गर्दछ ।

तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिँउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न डिपिआर अनुसार रु दश करोड बजेट आवश्यक पर्छ । डिपिआर अनुसार यहाँ बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ ।

लुम्बिनी र सुदूरपश्चिमको तराईका केही स्थानमा हुरीबतासको चेतावनी

काठमाडौँ, ६ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले केही स्थानमा आंशिक बदली भई बाँकी भागमा सामान्यतया मौसम सफा रहने बताएको छ ।

अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य बदली भएको तथा अन्य स्थानमा मौसम सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदू्रपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने र बाँकी भेगमा मौसम सफा रहने छ । कोशी प्रदेशका पहाडै क्षेत्रका एक–दुई स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति देशका अधिकांश स्थानमा आंशिक बदली हुनेछ भने बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनमा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै यी तीन प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।

फ्रान्सद्वारा ओलम्पिकअघि पेरिस स्क्वाटबाट सयौँ आप्रवासी निष्कासित

फ्रान्सेली अधिकारीहरूले ओलम्पिक सुरु हुनुअघि मात्र एक सय दिनअघि बुधबार पेरिसको दक्षिणी उपनगरमा बस्ने सयौँ आप्रवासीहरूलाई निष्कासन गरेका छन् । उनीहरूलाई फ्रान्सका अन्य स्थानमा जानका लागि बसमा चढ्नका लागि प्रोत्साहित गरिएको छ ।

च्यारिटी संस्थाहरूले अधिकारीहरूमाथि जुलाई २६ देखि अगस्ट ११ सम्म हुने ओलम्पिक खेललाई राम्रो देखाउन फ्रान्सेली राजधानीबाट घरबारविहीन मानिसलाई हटाउने कोसिस गरेको आरोप लगाएका छन् । उनीहरूको सहयोगका लागि आएका गैर–सरकारी सङ्गठनहरूका अनुसार भिट्री–सुर–सिनमा परित्याग गरिएको कार्यालय भवन चार सय ५० आप्रवासीहरूको घर थियो । उनीहरूमध्ये अधिकांशले दस्तावेजीकरण गरेको भए पनि सामाजिक आवासको प्रतीक्षा गरिरहेका थिए ।

अधिकारीहरूले आगामी निष्कासनको घोषणा गरेपछि साताको प्रारम्भमा धेरै मानिसले उक्त भवन छाडेका थिए । आफ्नो सामान ब्याग, सुटकेस तथा ट्रलीमा भरेर बुधबार बिहान दङ्गा गियरमा प्रहरीको निगरानीमा आगामी कदमबारे चिन्तित देखिएका करिब तीन सय मानिस शान्तपूर्वक बसेका थिए । अधिकांश युवा पुरुषहरू थिए तर बच्चाहरूसहित धेरै जवान आमा पनि भीडमा थिए ।

एक–एक गरेर प्लास्टिक फोल्डरमा कागजात समातेर उनीहरू टेबल पछाडि बसेका अध्यागमन अधिकारीहरूसमक्ष टुटे फुटेको फ्रेन्च तथा अङ्ग्रेजी भाषामा आफ्नो अवस्था बुझाउन पुगेका थिए । उनीहरूलाई केन्द्रीय सहर अर्लियन्स वा दक्षिणपश्चिमी सहर बोर्डोसम्म लैजानका लागि बाहिर बसहरू प्रतीक्षामा थिए ।

यद्यपि धेरै मानिसले पेरिस छाड्न नचाहेको बताएका छन् । सुडानका २९ वर्षीय अबाकरले भन्नुभयो, “म यहीँ बस्न चाहन्छु ।” उहाँले लजिस्टिक कोर्स गर्नका लागि आफू पेरिसमा रहेको र एउटा सुपरमार्केटमा आफूलाई नोकरी दिने वाचा गरिएको बताउनुभयो ।

एउटा टेबलमा एक महिला अधिकारीले अर्का युवकलाई बोर्डोमा आफ्नो भाग्य कोर्नका लागि मनाउने प्रयास गरिरहनुभएको थियो । “तपाईंलाई थाहा छ फ्रान्समा पेरिस मात्र छैन, बोर्डो राम्रो छ, यो यहाँभन्दा तातो छ”, उहाँले भन्नुभयो ।

पश्चिम जापानमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

दक्षिणपश्चिमी जापानमा बुधबार राति छ दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले बताएको छ । यद्यपि भूकम्पबाट कुनै सुनामी वा क्षतिको रिपोर्ट आएको छैन ।

युएसजिएसले भूकम्पको केन्द्र उवाजिमाबाट करिब १८ किलोमिटर पश्चिममा क्युशु र शिकोकु टापुलाई विभाजन गर्ने च्यानलमा करिब २५ किलोमिटर गहिराइमा रहेको गएको बताएको छ ।

जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) ले सामाजिक सञ्जाल एक्समा भनेको छ, “कृपया भूकम्पको झट्का बलियो भएका क्षेत्रहरूमा नजानुहोस्, भूकम्पका कारण सुनामीको कुनै खतरा छैन ।”

जापानको आणविक नियमन प्राधिकरणले भूकम्प गएको क्षेत्रमा इकाता आणविक ऊर्जा केन्द्र सामान्यरूपमा सञ्चालन भएको जनाएको छ । “इकाता ऊर्जा केन्द्रमा कुनै असामान्यता पाइएको छैन र अपरेसन जारी छ”, प्राधिकरणले भनेको छ ।

सरकारका प्रवक्ता योशिमासा हयाशीले कुनै पनि विद्युत् संयन्त्रमा सुनामीको कुनै चेतावनी वा असामान्यता नभएको पुष्टि गर्दै भूकम्पबाट कति क्षति भयो भन्नेबारे अधिकारीहरूले जाँच गरिरहेको बताउनुभयो । “हामी जवाफ दिनका लागि हरसम्भव प्रयास गर्नेछौँ”, उहाँले भन्नुभयो । उहाँले जनतासँग भूकम्पको झट्काप्रति सर्तक रहन आग्रह गर्नुभयो ।

प्रशान्त ‘रिङ अफ फायर’ को पश्चिमी किनारमा चार प्रमुख टेक्टोनिक प्लेटहरूको शीर्षमा बसेको जापान टेक्टोनिकरूपमा संसारको सबैभन्दा सक्रिय मुलुकमध्येको एक हो । करिब १२ करोड ५० लाख जनसङ्ख्या भएको जापानमा हरेक वर्ष करिब एक हजार पाँच सय भूकम्पको झट्का महसुस हुन्छ । अधिकांश भूकम्प साना हुन्छन् र ठूलो भूकम्पले पनि सामान्यतया थोरै क्षति पुर्याउँछ ।

सबैले प्रयत्न गरेमा भयावह स्थितिलाई सन्तुलनमा ल्याउन सकिन्छ – प्रवक्ता सापकोटा

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले काठमाडौँमा जारी ‘हिमालयको रहस्य कला प्रदर्शनी’ले विश्वलाई हिमाल जोगाउन आव्हान गरेको बताउनुभएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा जारी कला प्रदर्शनी अवलोकनको क्रममा प्रतिक्रिया दिँदै उहाँले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेको असरले विश्व चिन्तित भएको बेला कलाको माध्यमबाट वास्तविक समस्या उजागर गरी हिमाल बचाउन नयाँ सन्देश प्रवाह गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले सहजै महसुस गर्नसक्ने गरी छिनमै जाडो र छिनमै गर्मी भइरहेको छ । हिमालका हिउँ पग्लिरहेका छन् । पछिल्लो समयमा देखिइरहेको जलवायु परिवर्तनको यो असरलाई कम गर्न सचेतना फैलाउन जरुरी छ, यस्ता प्रदर्शनीले विश्वलाई सचेत गराउन मद्दत गर्छ ।”

सबैले प्रयत्न गरेमा भयावह स्थितिलाई सन्तुलनमा ल्याउन सकिने उल्लेख गर्दै उहाँले खासगरी शक्ति राष्ट्रहरुले धेरै क्षति पु¥याइरहेको बताउनुभयो । “त्यसका बारेमा नेपाल सरकारले प्रयत्न पनि गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि कोप–२८ मा राम्रोसँग विषय उठाउनुभएको छ”, उहाँले भन्नुभयो, “संयुक्त राष्ट्र सङघका महासचिव एन्टेनियो गेटेरेसले सगरमाथा र अन्नपूर्ण बेसक्याम्पमा पुगेरै विश्वलाई शक्तिशाली सन्देश र अपिल गर्नुभएको छ । मलाई लाग्छ उहाँको अपिलले पनि प्रभाव पारेको छ ।”

उहाँले सबै कलाकारले मेहनत गरेको र यसले महत्वपूर्ण सन्देश दिएको आफूले महसुस गरेको प्रतिक्रिया दिनुभयो ।

सो क्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष तथा प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले हिमालसँग सम्बन्धित चित्र सिर्जना गरेर जलवायु परिवर्तनको असरलाई कलामा उतार्नु महत्वपूर्ण काम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कला प्रदर्शनीले विश्वलाई नयाँ सन्देश दिन सफल भएको र हिमाल बचाउन आह्वान गरेको छ ।”

इतिहासलाई आजको पुस्ताले कसरी बुझ्छ भन्ने कुरा चित्रकलाले देखाउने हुँदा नेपालको परिस्थिति, संस्कृति र इतिहासलाई चित्रमा उतारेर शिक्षा दिन कला सिर्जना उत्तम माध्यम हुने उहाँले बताउनुभयो । कला सिर्जना र संस्कृतिका विषयमा राज्यले ठीक ढङ्गले ध्यान केन्द्रित गर्न नसकेको उहाँले टिप्पणी गर्नुभयो ।

हिमालयको रहस्य र सिर्जनावृत्ति कला प्रदर्शनीका बारेमा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र काफ्ले थुम्केली, प्राज्ञ परिषद् सदस्य दिनेश्वर महत्तो र सौरगङ्गा दर्शनधारीले उहाँहरुलाई जानकारी गराउनुभएको थियो । सो क्रममा कला क्षेत्रको विकास, राज्यको प्राथमिकता र महत्वका विषयमा छलफल समेत भएको थियो ।

पाटनमा आज प्रतिस्थापन कला प्रदर्शनी हुँदै

काठमाडौ – कलाकार मनिषलाल श्रेष्ठले विश्वसम्पदा दिवसका सन्दर्भमा आज प्रतिस्थापन कला प्रदर्शनी गर्दै हुनुहुन्छ । ललितपुरस्थित पाटन दरबार परिसर वरिपरि उहाँले १३ सय ३६ मिटरको धागो प्रदर्शनी गर्न लाग्नुभएको हो । उहाँले सन् २०१७ मै तयार पार्नुभएको ‘प्रोजेक्ट १३३६’ शीर्षकको प्रतिस्थापन कला पुनःप्रदर्शनी गर्न लाग्नुभएको हो ।

दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रम लतिलपुर चेम्बर अफ कमर्शको सहकार्यमा हुँदैछ । लामो रङ धागो प्रदर्शनी गर्नुको पछाडि काठमाडौँको बहुसांस्कृतिक सभ्यता पस्किन खोजेको उहाँले बताउनुभयो ।

“काठमाडौँ विभिन्न कला संस्कृतिका रङले जोडिएको लामो धागो जस्तै हो”, उहाँले भन्नुभयो, “आत्मियता र मित्रवत् समाजको परिकल्पनामा प्रतिस्थापन कला बनाएको छु ।”

कञ्चनपुरमा सरकारी जग्गाको अतिक्रमण हटाउने अभियान


बेदकोट (कञ्चनपुर) – जिल्ला प्रशासन कार्यालय कञ्चनपुर ले सरकारी जग्गामा भएको अतिक्रमण हटाउने अभियान थालेको छ । स्थानीय तहसँगको सहकार्यमा जिल्ला प्रशासन कार्यालयले सरकारी, सार्वजनिक जग्गा र सम्पत्तिमा भएको अतिक्रमण हटाउने अभियान थालेको हो ।

सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउने अभियानअन्तर्गत हाल पहिलो चरणमा सरकारी कार्यालय अगाडि अतिक्रमण गरी बनाइएका संरचना हटाइएको सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो ।

“हामी अतिक्रमण हटाउने अभियानमा छौँ, अतिक्रमणको तथ्याङ्क सङ्कलन गरिएको छ, कसैले यदि अतिक्रमणको सूचना उपलब्ध गराउनुभयो भने हामी त्यसमा पनि लाग्छौँ”, उहाँले भन्नुभयो, “यस अभियानमा राजनीतिक दल, प्रदेशसभा सदस्य तथा निर्वाचित जनप्रतिनिधिको महत्वपूर्ण साथ छ ।”

अभियानअन्तर्गत पहिलो चरणमा राजमार्ग छेउ र सरकारी कार्यालय अगाडि जमिन अतिक्रमण गरेर निर्माण गरिएका अनधिकृत संरचना हटाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित नापी, मालपोत र यातायात कार्यालय भएर जाने सडक दुवैतिर छेउमा रहेका ३२ वटा अनधिकृत खोकाछाप्रा, टहरा र सटर हटाइएको छ ।

यस्तै आन्तरिक राजस्व कार्यालय अगाडि र ट्राफिक चोकबाट दक्षिण आउने सडकका चार÷चार अनधिकृत संरचना पनि खाली गराइएको छ । “महेन्द्रनगरस्थित सरकार कार्यालय अगाडिका ४० मध्ये ३८ संरचना हटाइएको छ”, सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भन्नुभयो, “दुई वटा पक्की संरचना भीमदत्त नगर विकासको स्वामित्व भएकाले ताल्चा लगाएर नियन्त्रणमा लिएको अवस्था छ ।”

वैशाख ३ गते कृषि ज्ञानकेन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अगाडिका तीन संरचना पनि हटाइएको उहाँले बताउनुभयो । बेलडाँडी गाउँपालिकाले बसपार्क, अस्पताललगायतका लागि छुट्याएको सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना हटाएको छ ।

दोस्रो चरणमा महेन्द्रनगर बजार क्षेत्रमै रहेको बालसङ्गठनको एक बिघाभन्दा बढी जमिनमा निर्माण गरिएका संरचना हटाइनेछ । बालउद्यान निर्माणका लागि छुट्याइएको उक्त जमिन अहिले घरटहरा निर्माण गरिएका छन् ।

यसैगरी महेन्द्रनगर बजारमै रहेको खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जमिनमा पनि पक्की संरचना निर्माण गरिएका छन् । बालसङ्गठन र खाद्यव्यवस्था तथा व्यापार कम्पनीको जमिन यही वैशाख १५ गतेसम्म खाली गराउन सूचना जारी गरिएको छ ।

हेर्नुहोस् बैशाख ६ गते बिहिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि- पारीवरिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । कार्य प्रतिको लगनसिलताको कदर हुने समय रहेकोछ । भौतिक श्रोत साधनको प्रयोगमा अधिक समय बित्नेछ । ब्यपार ब्यवसायमा समय उत्तम रहनेछ । प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । मानसम्मान प्राप्तीको समेत योग रहेकोछ ।

बृष राशि- मित्रजनहरुको अधिक सामिप्यता कष्टकर साबित रहनेछ । सामान्य पारीवारिक झोरझमेलाको सामना गर्नुपर्नेछ । यात्रामा पनि साबधानि पूर्वक अधिबढ्नुहोला । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । ब्यापार ब्यवसायमा साजेदारी नगर्नुनै उत्तम रहनेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ ।

मीथुन राशि वाणी मधुरता छाउनेछ । कलाकौशलको क्षेत्रमा समय ब्यतित रहला । स्वास्थका क्षेत्रमा पनि सामान्य सुधारको योग बन्नेछ । पारीवारिक साथसहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । अध्यन अध्यापनमा भने समय त्यति उत्तम रहेकोछैन । नयाँ लगानिमा भने सजग रहनु होला ।

कर्कट राशि – आय आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ ।

सिंह राशि – अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । फजुल खर्चको योग रहेको छ । मानसिक चिन्ताले सताउनेछ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ ।तपाईको द्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरुको बृद्यिहुनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

कन्या राशि – दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । आक्स्मिक धनलाभको सम्भाबना रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । सन्तान सम्बन्धि समस्याले सताउला । रचनात्मक तथा कला क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ । स्वास्थका निम्ती सामान्य खर्चको सम्भाबना समेत रहेकोछ ।

तुला राशि – बिद्यार्थी बर्गको बौधिक बिकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहने योग रहेकोछ । गरीरहेको कार्यका श्रेत्रमा सामान्य ढिलाईको सम्भावना रहेकोछ ।

बृश्चिक राशि – ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । आय आर्जनका निम्ती अधिक श्रम गर्नु पर्ने समय रहेकोछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ ।

धनु राशि – मानसीक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ ।

मकर राशि – साजेदारी कार्यमा हात नहालेकै बेश रहनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ । मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ ।

कुम्भ राशि – अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । कार्य सम्पादन प्रति अरुको दबावको महसुस हुनाले दिन तनाब पूर्ण ब्यतित रहला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ । परीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नु होला ।

मिन राशि – बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । आय आर्जनका बिभिन्न श्रोत साधनहरु फेला परेतापनि मानसिक चन्चलताले कार्य श्रेत्रमा ब्यवधान आई पर्नेछ ।

पर्सा राष्ट्रिय निकुञ्ज हुँदै प्रतिबन्धित लागुऔषध गाँजा तस्करी गरिरहेको आरोपमा सात जना पक्राउ

बागमती – पर्सा राष्ट्रिय निकुञ्ज हुँदै प्रतिबन्धित लागुऔषध गाँजा तस्करी गरिरहेको आरोपमा पक्राउ परेका सात जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको छ । पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–४ माथिल्लो मसिने भनिने स्थानबाट लागुऔषध गाँजा एक क्विन्टल ३० किलो एक सय ५० ग्रामसहित मंगलबार पक्राउ गरेका सात जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

निकुञ्जअन्तर्गत पदमपोखरी सेक्टर लामिटारबाट खटिएको नेपाली सेनाको टोली र निकुञ्ज प्रशासनको संयुक्त टोलीले गाँजासहित मकवानपुरको कैलाश गाउँपालिका–४ निवासी २८ वर्षीय बमबहादुर चेपाङ, २७ वर्षीय वीरमान प्रजा, २७ वर्षीय हरिकुमार प्रजा, राक्सिराङ गाउँपालिका–७ निवासी १९ वर्षीय टीकाराम प्रजा, मनहरी गाउँपालिका–५ निवासी ३६ वर्षीय दीपक थापा मगर, मनहरी गाउँपालिका–३ निवासी ४४ वर्षीय रामहरि लुइँटेल र एक नाबालकलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकालाई आज सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । सबैमाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।

सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द

बैतडी, ५ वैशाख : भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका छन् । बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका बन्द गरिएका हुन् ।

भारतमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गर्दै सीमानाका बन्द गरिएका बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । “यही वैशाख ७ गते उत्तराखण्ड र चम्पावतमा हुने लोकसभा सामान्य निर्वाचन हुँदैछ”, उहाँले भन्नुभयो, “उक्त निर्वाचनलाई दृष्टिगत गर्दै मङ्गलबार साँझ ६ बजेदेखि वैशाख ७ गते शुक्रबार साँझ ७ बजेसम्म नाका बन्द गरिएका हुन् ।”

उक्त अवधिमा सीमानाकामा पूर्ण रुपमा आवतजावत बन्द रहेको प्रजिअ शर्माले बताउनुभयो । सुरक्षा संवेदनशीलताका कारण नाका बन्द गरिएको उहाँको भनाइ छ ।

सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ । भारतीय अधिकारीहरुसँग यसअघि नै समन्वय गरेर नाका बन्द गरिएका हुन् । कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा बन्द गरिन्छ ।

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन असारमा

काठमाडौँ, ५ वैशाख : नेकपा (एकीकृत समाजवादी)ले आगामी असार १६ देखि २० गते काठमाडौँमा १० औँ राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।आगामी जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन आन्तरिक तयारी अपुग भएकाले असारमा सार्न लागिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि पार्टीले दीर्घ सोडारीलाई उम्मेदवार बनाउने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालय आलोकनगरमा आज सम्पन्न सचिवालय बैठकले पार्टीको सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि उम्मेदवारका रुपमा अगाडि सार्ने निर्णय गरेको हो । नयाँ गठबन्धन निर्माणका क्रममा कुनै एक प्रदेशको मुख्यमन्त्री पद एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो ।

म्यान्माकी नेत्री सु कीलाई कारागारबाट सारेर घरमा नजरबन्द

जुन्ता सरकारले कैदीहरूलाई लुको लहरबाट बचाउने कदम चालेको घोषणा गरेसँगै कारागारमा रहेकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सु कीलाई कारागारबाट घरमा नजरबन्द गरिएको एक सैन्य अधिकारीले बुधबार बताएका छन् ।

भ्रष्टाचारदेखि कोभिड–१९ नियमहरूको उल्लङ्घनसम्म धेरै आपराधिक अभियोगमा ७८ वर्षीय नोबेल पुरस्कार विजेता सु कीले २७ वर्षको कारागार सजाय काटिरहनुभएको छ । सन् २०२१ को सैन्य विद्रोहमा सत्ता कब्जा गरेर सेनाले हिरासतमा लिएपछि सु कीलाई धेरै हदसम्म नजरबाट लुकाइएको थियो र उहाँ स्वास्थ्य समस्याले ग्रस्त हुनुभएको बताइएको छ ।

नाम उल्लेख नगर्ने शर्तमा एक सैन्य अधिकारीले सु की र पूर्वराष्ट्रपति विन मिन्टलाई कारागारबाट घरमा नजरबन्द गरिएको बताउनुभयो । जुन्ताका प्रवक्ता जाव मिन टुनले गर्मी मौसमका कारण अधिकारीहरूलाई कमजोर बन्दीहरूको सुरक्षा उपाय अपनाउन प्रेरित गरेको बताउनुभयो ।

“डा आङ सान सु की र यु विन मिन्टलाई मात्र नभएर केही पुराना कैदीहरूलाई पनि तातो मौसमका कारण आवश्यक हेरचाह गरिएको थियो”, उहाँले भन्नुभयो । राजधानी नेपिडाउमा तापक्रम बुधबार ४१ डिग्री सेल्सियस पुग्ने अपेक्षा गरिएको छ र आगामी सातामा मौसम अझ तातो हुने अनुमान छ । नेपिडाउमा सु कीलाई विशेषरूपमा निर्मित परिसरमा हिरासतमा राखिएको मानिन्छ ।

मुलुकको नयाँ वर्षको उत्सव मनाउन नियमित आममाफीको एक भागका रूपमा तीन हजार तीन सय केदीलाई रिहा गरिने जुन्ताले बुधबार घोषणा गरेको छ । याङ्गुनको इनसेन कारागारबाहिर करिब दुई सयदेखि तीन सय आफन्त र साथीहरू कैदीहरूको स्वागतका लागि प्रतीक्षा गरिरहेका थिए ।

आर्थिक र सामाजिक परिवर्तन आवश्यक छ : नेता सिंह

काठमाडौँ, ५ वैशाख ः नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा आर्थिक र सामाजिक परिवर्तन आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१५ वडा एकाइले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसको नेतृत्वमा आर्थिक र सामाजिक परिवर्तन जरुरी छ भन्नुभयो । “कांग्रेसले विभिन्न समयमा मुलुकमा भएका राजनीतिक आन्दोलनको नेतृत्व गरेको छ, अब राजनीतिक र आर्थिक विकासको नेतृत्व कांग्रेसले गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

भारी वर्षापछि दुबई बाढीको चपेटामा


कीर्तिमानी वर्षाले प्रभावित हुँदा वित्तीय केन्द्र दुबईका विशाल राजमार्गहरू बाढीले अवरुद्ध भएका छन् भने विमानस्थलका यात्रीहरूलाई बुधबार टाढा रहन आग्रह गरिएको छ । संयुक्त अरब इमिरेट्सको मरुभूमिमा मङ्गलबार करिब दुई वर्षको बराबर दुई सय ५४ मिलिमिटरसम्म वर्षा भएपछि छ लेन भएको एक्सप्रेसवेमा जाममा फसेका गाडीहरूको विशाल लाइन देखिएको थियो ।

प्रहरीका अनुसार मुलुकका सात इमिरेटमध्येको एक रास अल–खैमामा बाढीमा बगेर कारमा सवार ७० वर्षीय व्यक्तिको मृत्यु भएको छ । एक अधिकारीले यात्रीहरूलाई ‘अत्यावश्यक’ नभएसम्म अन्तर्राष्ट्रिय यातायातको दृष्टिले विश्वको सबैभन्दा व्यस्त दुबई विमानस्थलमा नआउन चेतावनी दिएका छन् ।

दुबई विमानस्थलका प्रवक्ताले भन्नुभयो, “उडानहरूमा ढिलाइ र मार्ग परिवर्तन जारी छ, हामी अत्यन्त चुनौतीपूर्ण अवस्थामा सकेसम्म चाँडो उडानहरू सञ्चालन गर्न अथक प्रयास गरिरहेका छौँ ।”पहुँच मार्गहरू पानीले भरिएको र केही मेट्रो सेवा निलम्बन भएपछि कर्मचारी र यात्रीहरूले आउन र जान सङ्घर्ष गर्नुपरेका कारण दुबईको प्रमुख इमिरेट्स एयरलाइनले बुधबारको सबै ‘चेक–इन’ रद्द गरेको छ ।

विमानस्थलमा ट्याक्सीहरूको लामो लाइन लागेको छ र ढिलाइले यात्रीहरू यताउता गरिरहेका छन् । मङ्गलबारको मुसलधारे वर्षाले धेरै उडान ढिलाइ, रद्द वा डाइभर्ट भएका छन् ।

ओमानमा वितण्डा मच्चाएपछि सोमबार र मङ्गलबार संयुक्त अरब इमिरेट्स र बहराइनमा आँधी आएको थियो । ओमानमा बालबालिकासहित १८ जनाको मृत्यु भएको छ । चरम मौसमी घटनाहरूमा जलवायु परिवर्तनको भूमिकाको आकलन गर्ने विशेषज्ञ क्लाइमेटोलोजिस्ट फ्रेडरिक ओट्टोले विश्वव्यापी तापक्रमले आँधीलाई अझ खराब बनाएको हुनसक्ने अत्यन्त सम्भावना रहेको बताउनुभयो ।

आधिकारिक सञ्चारमाध्यमका अनुसार सन् १९७१ मा संयुक्त अरब इमिरेट्सको स्थापनाअघि सन् १९४९ मा रेकर्ड वर्षा सुरु गरिएयता यो सबैभन्दा ठूलो वर्षा थियो ।

उसुमा चार स्वर्णको टुङ्गो

काठमाडौँ, ५ वैशाख : राजधानीमा जारी १४ औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत उसु खेलमा आज चार स्वर्ण पदकको टुङ्गो लागेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित उक्त प्रतियोगितामा पुरुष थाइची छ्वान विधामा बागमतीका राजकुमार तामाङले स्वर्ण पदक जिते । आयोजक राखेपको सेमी कभर्डहलमा भएको यसै विधामा सुदूरपश्चिमका शिरिष श्रेष्ठले रजत र कर्णालीका तिलकबहादुर बुढामगरले कास्य पदक प्राप्त गरेका छन् ।

त्यसैगरी महिला थायची छ्वानमा बागमतीकै लक्ष्मी तामाङले स्वर्ण पदक जितिन् । सुदूरपश्चिमकी दीपिका साउदले रजत पदक जित्दा कोशीकी अञ्जना सरदारले कास्य पदकमा चित्त बुझाइन् ।

पुरुषकै नान छ्वानमा कोशीका एसिलस मारिकले स्वर्ण, बागमतीका जेनिश नेपालीले रजत र सुदूरपश्मिचका योगेश चौधरीले कास्य पदक जितेका छन् । यसै विधाको महिलामा बागमतीका ममता सुनुवारले स्वर्ण पदक जितिन् । कर्णालीकी सन्ध्या राना क्षेत्रीले रजत पदक र सुदूरपश्चिमकी ज्ञानु विकले कास्य पदक प्राप्त गरिन् ।

सोही प्रतियोगिताअन्तर्गत सातदोबाटोस्थित तेक्वान्दो हलमा आजै भएको तेक्वान्दो खेलको पहिलो दिन सात स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बागमती प्रदेशले सर्वाधिक ३ स्वर्ण पदक जितेको छ । कोशीले २ तथा मधेश र कर्णालीले समान १-१ स्वर्ण जिते ।

छात्रा एकल पुम्सेमा सरगम थापा, छात्रा ४२ किलो तौल समूहको प्रतिस्पर्धामा सुप्रिया बजगाईं र छात्र ५१ किलो तौल समूहमा करण धोलीले बागमतीलाई स्वर्ण दिलाए । त्यस्तै छात्र ५९ किलो तौल समूहमा सन्जल श्रेष्ठ तथा छात्रा ५३ किलो तौल समूहमा प्रज्ञा परियारले कोशीका लागि स्वर्ण जिते । छात्र एकल पुम्सेमा मधेसका निश्चल धामी थारु तथा छात्र ४९ तौल समूहमा कर्णालीका निसान प्याकुरेलले स्वर्ण जिते ।

बागेश्वरीमा जिब्रो छेड्ने भक्तजनको लर्को, प्रजापतिले १५औँ पटक जिब्रो छेडे

राँझा (बाँके), ५ वैशाख : रामनवमी पर्वका अवसरमा हिन्दू धर्मावलम्बीले यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन् ।

भारतको रुपैडिहा बागमराका ६५ वर्षीय रमेश प्रजापतिले विगत १५ वर्षदेखि निरन्तर नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा आएर जिब्रो छेडेर दर्शन गर्नुभएको छ । जिब्रो छेड्ने लाइनमा लागेका आधा दर्जन बढी युवालाई पछि पार्दै अनुभवी प्रजापतिले १५औँ पटक जिब्रो छेडेर बागेश्वरी मन्दिरको दर्शन गर्नुभयो ।

नेपाललगायत भारतका विभिन्न स्थानबाट चैतेदसैँ र विजयादशमीको रामनवमीका अवसरमा बागेश्वरी मन्दिरमा जिब्रो छेडेर दर्शन गर्ने परम्परा रहेको छ । नवरात्रको व्रत बसेका पुरुषले आफ्नो भाकल पूरा गराउन वा मागेको वर पूरा भएपछि देवी बागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि नै चल्दै आएको हिन्दू धर्मगुरु तथा बागेश्वरी मन्दिरका मूलपुरोहित चन्द्रनाथ योगीले बताउनुभयो ।

महन्थ योगीले देवीको मन्दिरमा पशुबलि चढाउने परम्परा रहे पनि केही भक्तजनले आफ्नै रगत चढाउने उद्देश्यले जिब्रो छेड्ने गरेको उल्लेख गर्नुभयो । नवरात्रको व्रत बसेका व्रतालु पुरुष नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातु (त्रिशूल)ले छेड्ने परम्परा रहेको छ । हरेक वर्ष करिब एक सय ५० भन्दाबढी धर्मावलम्बीले जिब्रो छेड्ने गरेको उहाँको भनाइ छ ।

“नेपालगञ्जको बागेश्वरी मन्दिरमा बडादसैँ र चैतेदसैँमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने चलन छ”, उहाँले भन्नुभयो, “निराहार व्रत बसेर नवमीको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख बिमार नहुने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।”

नेपालगञ्जको बागेश्वरी मन्दिरमा दर्जनौँ व्यक्तिले जिब्रो छेडेका छन् । नेपालमात्रै होइन भारतबाट आएका भक्तजनलेसमेत जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गरेका छन् । सतिदेवीको जिब्रो पतन भएको ठाउँ भएकाले बागेश्वरी मातालाई खुसी तुल्याउन जिब्रो छेड्ने गरेको जनविश्वास रहेको छ । बागेश्वरी मन्दिरमा रामनवमीमा वर्षेनी दर्जनौँले जिब्रो चढाउने गर्दछन् । मन्दिर आएर जिब्रो छेडाउँदै जाने भएकाले कतिले छेडे भन्ने मन्दिर व्यवस्थापन समितिलाई यकीन हुने गरेको छैन ।

यसैबीच रामनवमीका अवसरमा बागेश्वरी मन्दिरमा पूजा गर्न आउने भक्तजनको ठूलो भीड लागेको छ । टाढाटाढाबाट भक्तजन आएर पूजा गरेका छन् । भीडभाडमा कुनै किसिमको आपराधिक गतिविधि नहोस् भनेर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशसभाको बैठक आह्वान

गण्डकी, ५ वैशाखः गण्डकी प्रदेशसभाको बैठक आह्वान भएको छ ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफरिसमा वैशाख ७ गते शुक्रबार दिनको ३ बजेदेखि आरम्भ हुनेगरी बैठक आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

वैशाख ३१ गतेदेखि दिक्तेलमा ‘खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव’


खोटाङ, ५ वैशाख : यही वैशाख–३१ गतेदेखि दिक्तेल बजारमा ‘बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ आयोजना गरिने भएको छ । खेल संस्कृतिको विकास गर्दै विभिन्न विद्याका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पु¥याउने लक्ष्यका साथ नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आगामी वैशाख ३१ गतेदेखि जेठ १० गतेसम्म सञ्चालन हुने ‘बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ आयोजना गरेको हो ।

महोत्सवमा राष्ट्रिय कराँते प्रतियोगिता, खुला हाफ म्याराथन प्रतियोगिता, विभिन्न उमेर समूहको दौड प्रतियोगिता र साहित्यिक तथा साङ्गीतिक प्रतियोगिता समेटिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । “खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रूपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र आगामी १५ वर्षभित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने उद्देश्यका साथ जिल्लामै पहिलो पटक खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटनलाई समेटेर बृहत् महोत्सवको आयोजना गरिएको छ”, उहाँले भन्नुभयो, “एघार दिनसम्म सञ्चालन हुने महोत्सव करिब रु ५० लाख खर्चमा सम्पन्न गर्ने योजना बनाइएको छ । चन्दा सङ्कलन तथा दाताको सहयोगमा ‘बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ आयोजना गरिएको हो ।”

नेपाल कराँते महासङ्घ खोटाङको संयोजन र नेपाल सितोरियो कराँते सङ्घ खोटाङको व्यवस्थापनमा हुन लागेको महोत्सवको कार्यतालिका आयोजकले बुधबार दिक्तेलस्थित होटल इन्द्रणीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । वैशाख ३१ गतेदेखि जेठ १ गतेसम्म एथलेटिक्स, जेठ ३ गते राष्ट्रिय कविता लेखन प्रतियोगिता, जेठ ६ गते खुला गायन प्रतियोगिता र जेठ ८ गतेदेखि १० गतेसम्म खुला राष्ट्रिय कराँते प्रतियोगिता सञ्चालन गर्ने आयोजकले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।

एथलेटिक्सतर्फ आठ इभेन्टस् (विद्या)मा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । बाह्र वर्षमुनिका छात्रछात्रा र ६० वर्षमाथिका पुरुषका लागि एक÷एक माइल (१६०० मिटर) दौड, आमाहरुको लागि तीन किलोमिटर दौड, १५ वर्षमुनिका छात्रछाका लागि पाँच किलोमिटर दौड, ३५ वर्षमाथिका नेता, जनप्रतिनिधि, पत्रकार, कर्मचारी र शिक्षकका लागि पाँच किलोमिटर दौड, १५ वर्षमाथिका खुला महिला÷पुरुषका लागि दश किलोमिटर दौड र खुला महिला÷पुरुषका लागि २१ दशमलव ०९७ किलोमिटर हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।

हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौँ, छैटौँ र सातौँ स्थानसम्म ओगट्न सफल महिला÷पुरुष धावकलाई समानरुपले क्रमशः रु ७५ हजार, रु ५० हजार, रु २५ हजार, रु १५ हजार, रु दश हजार, रु सात हजार र रु पाँच हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । बाह्र वर्षमुनिका छात्रछात्रा र ६० वर्षमाथिका पुरुष, आमा, १५ वर्षमुनिका छात्रछात्रा, ३५ वर्षमाथिका नेता, जनप्रतिनिधि, पत्रकार, कर्मचारी र शिक्षक तथा १५ वर्षमाथिका खुला महिला÷पुरुष दौड प्रतियोगिताका विजयीलाई समेत नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने महोत्सवको व्यवस्थापकीय भूमिकामा रहेको नेपाल सितोरियो कराँते सङ्घ खोटाङका अध्यक्ष मिलन कसजूले जानकारी दिनुभएको छ ।

हाफ म्याराथन र दौड प्रतियोगिताका लागि रु दश लाख २० हजार पाँच सय बराबरको नगद पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ । एथलेटिक्सतर्फको प्रतियोगिता एथलेटिक्स परिवार नेपाल र नेपाल एथ्लेटिक्स सङ्घसँगको समन्वय तथा सहकार्यमा सञ्चालन गरिने जनाइएको छ ।

राष्ट्रिय कविता लेखन तथा गायन प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान हासिल गर्ने प्रतियोगीलाई क्रमशः रु ४० हजार, रु २५ हजार, रु १७ हजार, रु ११ हजार र रु सात हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । यी दुई विद्याका प्रतियोगिता खोटाङ कलाकार समाज काठमाडौँ, रावा–सावा प्राज्ञिक समाज नेपाल र ट्याम्के–तुवाचुङ प्रतिष्ठान खोटाङको सहकार्यमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।

जेठ ६ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय कराँते प्रतियोगितामा सातवटै प्रदेश, सोतोकान कराँते, गोजोरियो कराँते, बादोरिया कराँते र आयोजकसहित ११ टोली सहभागी हुने प्रष्ठिानका अध्यक्ष राईले जानकारी दिनुभएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा आयोजना गरिने प्रतियोगितामा महिला÷पुरुष टोली प्रथम, द्वितीय, तृतीय र चौथोले क्रमशः रु एक लाख ११ हजार १११, रु ५५ हजार ५५५, रु ३३ हजार ३३३ र २२ हजार २२२ नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

प्रतियोगिताका उत्कष्ट महिला÷पुरुष खेलाडीलाई समान रु २२ हजार २२२ तथा उत्कृष्ट व्यवस्थापकलाई रु ११ हजार १११ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । कराँते विद्याका लागि रु दुई लाख ७७ हजार ७७६ नगद पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजना गरिएको बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ लाई निक्कै महत्वका साथ हेरिएको छ । दिक्तेल बजारमा आयोजना गरिएको महोत्सव अवधिभरमा करोडौँको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभएको छ ।