`

उसुमा चार स्वर्णको टुङ्गो

काठमाडौँ, ५ वैशाख : राजधानीमा जारी १४ औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत उसु खेलमा आज चार स्वर्ण पदकको टुङ्गो लागेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित उक्त प्रतियोगितामा पुरुष थाइची छ्वान विधामा बागमतीका राजकुमार तामाङले स्वर्ण पदक जिते । आयोजक राखेपको सेमी कभर्डहलमा भएको यसै विधामा सुदूरपश्चिमका शिरिष श्रेष्ठले रजत र कर्णालीका तिलकबहादुर बुढामगरले कास्य पदक प्राप्त गरेका छन् ।

त्यसैगरी महिला थायची छ्वानमा बागमतीकै लक्ष्मी तामाङले स्वर्ण पदक जितिन् । सुदूरपश्चिमकी दीपिका साउदले रजत पदक जित्दा कोशीकी अञ्जना सरदारले कास्य पदकमा चित्त बुझाइन् ।

पुरुषकै नान छ्वानमा कोशीका एसिलस मारिकले स्वर्ण, बागमतीका जेनिश नेपालीले रजत र सुदूरपश्मिचका योगेश चौधरीले कास्य पदक जितेका छन् । यसै विधाको महिलामा बागमतीका ममता सुनुवारले स्वर्ण पदक जितिन् । कर्णालीकी सन्ध्या राना क्षेत्रीले रजत पदक र सुदूरपश्चिमकी ज्ञानु विकले कास्य पदक प्राप्त गरिन् ।

सोही प्रतियोगिताअन्तर्गत सातदोबाटोस्थित तेक्वान्दो हलमा आजै भएको तेक्वान्दो खेलको पहिलो दिन सात स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बागमती प्रदेशले सर्वाधिक ३ स्वर्ण पदक जितेको छ । कोशीले २ तथा मधेश र कर्णालीले समान १-१ स्वर्ण जिते ।

छात्रा एकल पुम्सेमा सरगम थापा, छात्रा ४२ किलो तौल समूहको प्रतिस्पर्धामा सुप्रिया बजगाईं र छात्र ५१ किलो तौल समूहमा करण धोलीले बागमतीलाई स्वर्ण दिलाए । त्यस्तै छात्र ५९ किलो तौल समूहमा सन्जल श्रेष्ठ तथा छात्रा ५३ किलो तौल समूहमा प्रज्ञा परियारले कोशीका लागि स्वर्ण जिते । छात्र एकल पुम्सेमा मधेसका निश्चल धामी थारु तथा छात्र ४९ तौल समूहमा कर्णालीका निसान प्याकुरेलले स्वर्ण जिते ।

बागेश्वरीमा जिब्रो छेड्ने भक्तजनको लर्को, प्रजापतिले १५औँ पटक जिब्रो छेडे

राँझा (बाँके), ५ वैशाख : रामनवमी पर्वका अवसरमा हिन्दू धर्मावलम्बीले यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन् ।

भारतको रुपैडिहा बागमराका ६५ वर्षीय रमेश प्रजापतिले विगत १५ वर्षदेखि निरन्तर नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा आएर जिब्रो छेडेर दर्शन गर्नुभएको छ । जिब्रो छेड्ने लाइनमा लागेका आधा दर्जन बढी युवालाई पछि पार्दै अनुभवी प्रजापतिले १५औँ पटक जिब्रो छेडेर बागेश्वरी मन्दिरको दर्शन गर्नुभयो ।

नेपाललगायत भारतका विभिन्न स्थानबाट चैतेदसैँ र विजयादशमीको रामनवमीका अवसरमा बागेश्वरी मन्दिरमा जिब्रो छेडेर दर्शन गर्ने परम्परा रहेको छ । नवरात्रको व्रत बसेका पुरुषले आफ्नो भाकल पूरा गराउन वा मागेको वर पूरा भएपछि देवी बागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि नै चल्दै आएको हिन्दू धर्मगुरु तथा बागेश्वरी मन्दिरका मूलपुरोहित चन्द्रनाथ योगीले बताउनुभयो ।

महन्थ योगीले देवीको मन्दिरमा पशुबलि चढाउने परम्परा रहे पनि केही भक्तजनले आफ्नै रगत चढाउने उद्देश्यले जिब्रो छेड्ने गरेको उल्लेख गर्नुभयो । नवरात्रको व्रत बसेका व्रतालु पुरुष नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातु (त्रिशूल)ले छेड्ने परम्परा रहेको छ । हरेक वर्ष करिब एक सय ५० भन्दाबढी धर्मावलम्बीले जिब्रो छेड्ने गरेको उहाँको भनाइ छ ।

“नेपालगञ्जको बागेश्वरी मन्दिरमा बडादसैँ र चैतेदसैँमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने चलन छ”, उहाँले भन्नुभयो, “निराहार व्रत बसेर नवमीको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख बिमार नहुने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।”

नेपालगञ्जको बागेश्वरी मन्दिरमा दर्जनौँ व्यक्तिले जिब्रो छेडेका छन् । नेपालमात्रै होइन भारतबाट आएका भक्तजनलेसमेत जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गरेका छन् । सतिदेवीको जिब्रो पतन भएको ठाउँ भएकाले बागेश्वरी मातालाई खुसी तुल्याउन जिब्रो छेड्ने गरेको जनविश्वास रहेको छ । बागेश्वरी मन्दिरमा रामनवमीमा वर्षेनी दर्जनौँले जिब्रो चढाउने गर्दछन् । मन्दिर आएर जिब्रो छेडाउँदै जाने भएकाले कतिले छेडे भन्ने मन्दिर व्यवस्थापन समितिलाई यकीन हुने गरेको छैन ।

यसैबीच रामनवमीका अवसरमा बागेश्वरी मन्दिरमा पूजा गर्न आउने भक्तजनको ठूलो भीड लागेको छ । टाढाटाढाबाट भक्तजन आएर पूजा गरेका छन् । भीडभाडमा कुनै किसिमको आपराधिक गतिविधि नहोस् भनेर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशसभाको बैठक आह्वान

गण्डकी, ५ वैशाखः गण्डकी प्रदेशसभाको बैठक आह्वान भएको छ ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफरिसमा वैशाख ७ गते शुक्रबार दिनको ३ बजेदेखि आरम्भ हुनेगरी बैठक आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

वैशाख ३१ गतेदेखि दिक्तेलमा ‘खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव’


खोटाङ, ५ वैशाख : यही वैशाख–३१ गतेदेखि दिक्तेल बजारमा ‘बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ आयोजना गरिने भएको छ । खेल संस्कृतिको विकास गर्दै विभिन्न विद्याका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पु¥याउने लक्ष्यका साथ नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आगामी वैशाख ३१ गतेदेखि जेठ १० गतेसम्म सञ्चालन हुने ‘बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ आयोजना गरेको हो ।

महोत्सवमा राष्ट्रिय कराँते प्रतियोगिता, खुला हाफ म्याराथन प्रतियोगिता, विभिन्न उमेर समूहको दौड प्रतियोगिता र साहित्यिक तथा साङ्गीतिक प्रतियोगिता समेटिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । “खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रूपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र आगामी १५ वर्षभित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने उद्देश्यका साथ जिल्लामै पहिलो पटक खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटनलाई समेटेर बृहत् महोत्सवको आयोजना गरिएको छ”, उहाँले भन्नुभयो, “एघार दिनसम्म सञ्चालन हुने महोत्सव करिब रु ५० लाख खर्चमा सम्पन्न गर्ने योजना बनाइएको छ । चन्दा सङ्कलन तथा दाताको सहयोगमा ‘बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ आयोजना गरिएको हो ।”

नेपाल कराँते महासङ्घ खोटाङको संयोजन र नेपाल सितोरियो कराँते सङ्घ खोटाङको व्यवस्थापनमा हुन लागेको महोत्सवको कार्यतालिका आयोजकले बुधबार दिक्तेलस्थित होटल इन्द्रणीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । वैशाख ३१ गतेदेखि जेठ १ गतेसम्म एथलेटिक्स, जेठ ३ गते राष्ट्रिय कविता लेखन प्रतियोगिता, जेठ ६ गते खुला गायन प्रतियोगिता र जेठ ८ गतेदेखि १० गतेसम्म खुला राष्ट्रिय कराँते प्रतियोगिता सञ्चालन गर्ने आयोजकले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।

एथलेटिक्सतर्फ आठ इभेन्टस् (विद्या)मा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । बाह्र वर्षमुनिका छात्रछात्रा र ६० वर्षमाथिका पुरुषका लागि एक÷एक माइल (१६०० मिटर) दौड, आमाहरुको लागि तीन किलोमिटर दौड, १५ वर्षमुनिका छात्रछाका लागि पाँच किलोमिटर दौड, ३५ वर्षमाथिका नेता, जनप्रतिनिधि, पत्रकार, कर्मचारी र शिक्षकका लागि पाँच किलोमिटर दौड, १५ वर्षमाथिका खुला महिला÷पुरुषका लागि दश किलोमिटर दौड र खुला महिला÷पुरुषका लागि २१ दशमलव ०९७ किलोमिटर हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।

हाफ म्याराथनमा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौँ, छैटौँ र सातौँ स्थानसम्म ओगट्न सफल महिला÷पुरुष धावकलाई समानरुपले क्रमशः रु ७५ हजार, रु ५० हजार, रु २५ हजार, रु १५ हजार, रु दश हजार, रु सात हजार र रु पाँच हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । बाह्र वर्षमुनिका छात्रछात्रा र ६० वर्षमाथिका पुरुष, आमा, १५ वर्षमुनिका छात्रछात्रा, ३५ वर्षमाथिका नेता, जनप्रतिनिधि, पत्रकार, कर्मचारी र शिक्षक तथा १५ वर्षमाथिका खुला महिला÷पुरुष दौड प्रतियोगिताका विजयीलाई समेत नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने महोत्सवको व्यवस्थापकीय भूमिकामा रहेको नेपाल सितोरियो कराँते सङ्घ खोटाङका अध्यक्ष मिलन कसजूले जानकारी दिनुभएको छ ।

हाफ म्याराथन र दौड प्रतियोगिताका लागि रु दश लाख २० हजार पाँच सय बराबरको नगद पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ । एथलेटिक्सतर्फको प्रतियोगिता एथलेटिक्स परिवार नेपाल र नेपाल एथ्लेटिक्स सङ्घसँगको समन्वय तथा सहकार्यमा सञ्चालन गरिने जनाइएको छ ।

राष्ट्रिय कविता लेखन तथा गायन प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान हासिल गर्ने प्रतियोगीलाई क्रमशः रु ४० हजार, रु २५ हजार, रु १७ हजार, रु ११ हजार र रु सात हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । यी दुई विद्याका प्रतियोगिता खोटाङ कलाकार समाज काठमाडौँ, रावा–सावा प्राज्ञिक समाज नेपाल र ट्याम्के–तुवाचुङ प्रतिष्ठान खोटाङको सहकार्यमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।

जेठ ६ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय कराँते प्रतियोगितामा सातवटै प्रदेश, सोतोकान कराँते, गोजोरियो कराँते, बादोरिया कराँते र आयोजकसहित ११ टोली सहभागी हुने प्रष्ठिानका अध्यक्ष राईले जानकारी दिनुभएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा आयोजना गरिने प्रतियोगितामा महिला÷पुरुष टोली प्रथम, द्वितीय, तृतीय र चौथोले क्रमशः रु एक लाख ११ हजार १११, रु ५५ हजार ५५५, रु ३३ हजार ३३३ र २२ हजार २२२ नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

प्रतियोगिताका उत्कष्ट महिला÷पुरुष खेलाडीलाई समान रु २२ हजार २२२ तथा उत्कृष्ट व्यवस्थापकलाई रु ११ हजार १११ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । कराँते विद्याका लागि रु दुई लाख ७७ हजार ७७६ नगद पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजना गरिएको बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ लाई निक्कै महत्वका साथ हेरिएको छ । दिक्तेल बजारमा आयोजना गरिएको महोत्सव अवधिभरमा करोडौँको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभएको छ ।

तातोपानी नाकाबारे सर्वपक्षीय छलफल


सिन्धुपाल्चोक, ५ वैशाख : पुरानै लयमा फर्केको नेपाल चीनबीचको व्यापारिक तातोपानी नाका पुग्ने अरनिको राजमार्गबारे सम्बद्ध सबैले चिन्ता व्यक्त गरेका छन् ।सिन्धुपाल्चोक क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटाको अग्रसरतामा आज तातोपानी भन्सार कार्यालयमा भएको सर्वपक्षीय छलफलमा बाह्रबिसेदेखि लिपिङसम्मको सडक मर्मत हुन नसक्दा नाका सञ्चालनको दिगोपनाबारे चिन्ता व्यक्त गरिएको छ ।

सङ्घदेखि स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, भन्सार प्रमुख, अध्यागमन, क्वारेन्टाइन, उद्योग वाणिज्य सङ्घ र स्थानीयको उपस्थितिमा तातोपानी नाका सञ्चालन तथा चुनौतीबारे छलफल भएको हो ।

लामो समय बन्द रहेर गत भदौ १५ गतेदेखि मानवसहित दोहोरो आवतजावत खुलेको नाकाको सञ्चालन र चुनौतीबारे पूर्वबजेट छलफल तथा वर्षात्को समय सुरु हुन लागेकाले छलफल राखिएको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नाका पुग्ने सडकको स्तरोन्नति चीनले गरिदिने विषयमा भएको सहमतिका सन्दर्भमा चिनियाँ पक्षसँग छलफल भएको जानकारी दिँदै सांसद सापकोटाले सडक विभागले बनाएको डिपिआरअनुसार सडक स्तरोन्नति गरिदिन आग्रह गरिएको बताउनुभयो ।

चीनले नेपालले तयार गरेको डिपिआरअनुसार काम गरेर सडक हस्तान्तरण गर्ने अवस्था नभएमा अर्थ मन्त्रालयबाट बजेट विनियोजन गरेर सडक स्तरोन्नति गरिने उहाँको भनाइ छ । सडक स्तरोन्नति, नाकामा अध्यागमनसहितको एकीकृत भवन, नेपालतर्पm स्वागतद्वारका विषयमा आफूले गम्भीरतापूर्वक अग्रसरता लिएर काम गरिरहेको सांसद सापकोटाले जानकारी दिनुभयो ।

जुरेदेखि लिपिङखण्डलाई प्राथमिकता दिएर काम गर्न सडक विभागलाई सुझाव दिँदै उहाँले कोदारीको इको पहिरो क्षेत्र, डाक्लाङ क्षेत्र, जुरे र बाह्रबिसे क्षेत्रमा सडक सञ्चालन गर्ने साधन तयारी अवस्थामा राख्न निर्देश गर्नुभयो । सांसद सापकोटाले सडक विभागका अधिकारीलाई तत्कालीन र दीर्घकालीन प्राथमिकताअनुसार काम गर्न सुझाव दिनुभयो ।

भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाले स्थानीय सरकारले नाका सञ्चालनका लागि सहजीकरण गरिरहेको बताउनुभयो । अर्बौंको राजस्व उठाउने तातोपानी नाकालाई राज्यले गाईको दूध खाएर स्याहार नगरेजस्तो भएको गुनासो गर्नुभयोे । उहाँले आगामी वर्षसम्म पनि सडक सुधार नभए नाका सञ्चालनमा कठिनाइ हुनसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

अध्यक्ष शेर्पाले राजस्व उठेअनुसार राज्यले तातोपानी नाकालाई विशेष ध्यान दिनुपर्ने माग गर्नुभयो । उहाँले भन्सार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा अप्ठ्यारो अवस्था रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले नाका क्षेत्रमा क्रमिक सुधार भए पनि धेरै काम हुन बाँकी रहेको बताउनुभयो ।

बाटोलाई प्राथमिकता दिने सवालमा सबैको एकमत रहेको बताउँदै आचार्यले सङ्घीय सरकारले बजेट निर्माण गर्दा सडक स्तरोन्नतिको विषयलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । छलफल आयोजनाका लागि सांसद सापकोटालाई धन्यवाद दिँदै उहाँले नेपालका गाडी लिएर चीनतर्फ जाने विषयमा छलफलको पहल गरिदिन र निकट भविश्यमा हुने नेपाल–चीन उच्चस्तरीय छलफलमा नाकासँग जोडिएका विषय उठाइदिन आग्रह गर्नुभयोे ।

प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले प्रहरीले सीमाक्षेत्रको सुरक्षा संवेदनशीलतालाई विशेष ख्याल गरेको जानकारी दिँदै राजस्व चुहावट र अवैध सामान नियन्त्रणका सम्बन्धमा सुरक्षा सजकता अपनाइएको बताउनुभयो । नेपाली पक्षबाट हुने सानो गल्तीले नकारात्मक सन्देश प्रवाह हुने भएकाले प्रविधिमा भएको उच्चस्तरको विकासलाई सुरक्षा क्षेत्रमा प्रयोग गर्ने वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो ।

जिल्लाका सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेश्वर पोखरेलले जनशक्ति र स्रोतसाधनको अभावकाबीच नाकाक्षेत्रमा सुरक्षा दिइरहेको जानकारी दिनुभयो । भोटेकोसी गाउँपालिकामा नौ वटा सीमा पिल्लर रहेकामा बोक्चेन क्षेत्रमा ५४ दशमलव २ नं को पिल्लरको सुरक्षा एवं २०७१ सालमा भोटेकोसी बाढीले बगाएको ५४ दशमलव ३ नं को सीमा पिल्लर राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

अनुसन्धानका प्रमुख राजन प्रजापतिले भू–राजनीतिक हिसाबले महत्वपूर्ण नाकाबारे विशेष ख्याल गरिएको बताउनुभयो । तातोपानी भन्सार प्रमुख दयानन्द केसीले भन्सारले तोकिएको लक्ष्यअनुसार रु आठ अर्ब राजस्व उठिसकेको जानकारी दिँदै यस वर्ष रु १२ अर्ब राजस्व उठ्ने विश्वास व्यक्त गर्नुभयो ।

नाका सञ्चालन भएपछि व्यापार, राजस्व, मानिसको आवतजावत बढिरहेको केसीले बताउनुभयो । आगामी साउनदेखि तातोपानी नाका देशकै अत्याधुनिक नाका बन्ने चरणमा रहेको केसीको भनाइ छ । उहाँले भन्सार पुरानै लयमा फर्किए पनि सडक र पूर्वाधारका कारण चुनौती कायम रहेको बताउनुभयो ।

विगत १९ महिनायता भन्सार प्रमुख रहेका केसीले तातोपानी नाका भएर स्थलमार्गबाट आउने चिनियाँ पर्यटकको सङ्ख्या बढिरहँदा नेपालमा झमेला रहेनछ भन्ने सन्देश दिन नहुने भन्सार प्रमुख केसीले बताउनुभयो । तातोपानी नाका उज्ज्वल भविष्य भएको नाका रहे पनि अहिले आउनेहरुले ०७२ अघिभन्दा पनि कमजोर अवस्थाको बाटो देखेर दिक्क मान्ने गरेको केसीले सुनाउनुभयो ।

कृषि मन्त्रालयअन्तर्गत प्लान्ट, पशु र खाद्य गरी तीन क्वारेन्टाइन हेरिरहेका कौशल ओझा, विकास धौभन्जर र कल्पना पाण्डेले सहजरुपमा काम भइरहेको बताउनुभयो ।डिभिजन सडक कार्यालय चरीकोटका इञ्जिनियर सुरज महर्जनले अरनिको राजमार्गको बाह्रबीसेदेखि कोदारी क्षेत्रको स्तरोन्नतिका लागि रु चार अर्ब खर्च लाग्ने देखिएको जानकारी दिँदै यसका लागि बजेट सुनिश्चित हुन नसकेको बताउनुभयो ।

उहाँले यस वर्ष बजेट अभावका कारण बिग्रेको बाटो पन्छ्याउने बाहेकका काम गर्न सकिने अवस्था नरहेको बताउनुभयो । उहाँले अलिअलि भएको बजेटले टालटुलको काम मात्रै भइरहेको जानकारी दिनुभयो ।

अध्यागमन अधिकृत दीपेन्द्र पौडेलले तातोपानी अध्यागमन कार्यालयसमेत नभएर अप्ठ्यारो झेलिरहनु परेको गुनासो गर्नुभयो । सरदरमा दैनिक सय जना चिनियाँ पर्यटकले तातोपानी नाका भएर आवतजावत गर्ने गरेको जानकारी दिँदै उहाँले नेपाललाई देख्ने पहिलो मुहार अध्यागमन कार्यालय नै नाजुक अवस्थामा रहेकाले भौतिक अवस्था सुधारका लागि पहल गरिदिन आग्रह गर्नुभयोे ।

उद्योग वाणिज्य सङ्घका महासचिव ईश्वर गुभाजुले भन्सार कार्यालयले व्यापारीलाई गरिरहेको सहजीकरणप्रति धन्यवाद ज्ञापन गर्दै नाका खुलेको आठ महिनामा पलाएको आशा कायम रहने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो । राजनीतिक दलकातर्फबाट भीम पराजुलीले नाकालाई व्यापार र पर्यटन दुवै क्षेत्रमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले बाह्रबीसे माथिको सडकको स्तरोन्नतिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

भोटेकोसी गाउँपालिका–३ का अध्यक्ष निमा सोनामा शेर्पाले खुर्सानीबारीदेखि नाकासम्म पुग्ने सडकलाई नै पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्किङ व्यवस्थापनमा पनि काम गर्न आवश्यक रहेको बताउनुभयो । छलफल पछि सांसद सापकोटासहितको टोलीले लिपिङ हुँदै मितेरी पुल तरेर चिनियाँ भूभागसम्म पुगेर स्थलगत जानकारी लिनुभएको थियो ।

पीडितको भावनाअनुरुप न्याय पाउनुपर्ने द्वन्द्वपीडितको माग


काठमाडौँ, ५ वैशाख : पीडितको भावनाअनुरुप सरकारले न्याय दिनुपर्ने द्वन्द्वपीडितको माग रहेको छ । काठमाडौँमा आज आयोजित कार्यक्रममा द्वन्द्वपीडित गीता रसाइलीले द्वन्द्वमा बलात्कार र यौनजन्य हिंसाबाट पीडितको गोपनीयता राख्दै पीडक पहिचान गर्न सरकारसमक्ष अनुरोध गर्नुभयो ।

“द्वन्द्वकालमा महिलाले भोगेको यौनजन्य गम्भीर अपराधलाई सुरक्षित र गोपनीयता अपनाइ छानबिन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सरकार पक्ष संवेदनशील नभइदिँदा धेरै पीडित पीडा लुकाएर बस्न बाध्य हुनुहुन्छ ।”

सञ्चारिका समूह र इन्टरनेशनल कमिसन अफ जुरिस्टले संयुक्तरुपमा ‘सङ्क्रमणकालीन न्याय’ का विषयमा छलफल कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा अधिवक्ता काशीराज ढुङ्गाना, लक्ष्मी पोख्रेल र सञ्चारिका समूहका सचिव दुर्गा कार्कीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

अधिवक्ता काशीराज ढुङ्गानाले १० वर्षे जनयुद्धका पीडितले अहिलेसम्म सङ्क्रमणकालीन न्याय नपाउनुमा राज्यको गैरजिम्मेवारीपन रहेको बताउनुभयो । समाजमा विभेद र असमानताको कारण द्वन्द्व सिर्जना भएको र अहिले पनि पीडितले न्याय नपाए पुनःद्वन्द्वात्मक विद्रोह हुनसक्ने उहाँको भनाइ थियो । “द्वन्द्वरहित समाज निर्माण गर्न राज्यले न्यायपूर्ण व्यवस्था ल्याउनुपर्छ”, उहाँले भन्नुभयो, “तर हामीकहाँ पीडित पीडामै छन् ।”

अधिवक्ता लक्ष्मी पोख्रेलले द्वन्द्वकालमा पीडित महिलाको अवस्था पृथक रहेको बताउनुभयो । द्वन्द्वपीडितमा महिलामाथि भएको बलात्कार र यौनजन्य अपराधलाई गम्भीर मानव अधिकार हननका रुपमा हेरिनुपर्ने उहाँको जोड थियो । पीडित महिलाको वास्तविक पीडा उजागर गर्दा सरकारले पीडितको संवेदनशीता र गोपनीयता अपनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । “खुला र सार्वजनिकस्थलमा द्वन्द्वपीडित महिलाले कुरा राख्न सक्दैनन्”, उहाँले भन्नुभयो, “सरकारले गोपनीयतासँगै सुरक्षाको ख्याल राख्नुपर्छ ।”

मिडियामा द्वन्द्वपीडितका पक्षमा समाचार लेखन कसरी गर्ने भन्ने विषयमा सञ्चारिका समूहका सचिव दुर्गा कार्कीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । “पत्रकारले पीडितका वास्तविक तर लुकेका कुरा बाहिर ल्याउन मद्दत गर्छ, यो काम सङ्क्रमणकालीन न्याय दिलाउन पुलको भूमिका निर्वाह गर्नु हो”, उहाँले भन्नुभयो, “तर मिडियाले पीडितको गोपनीयताको सम्मान भने गर्नैपर्छ ।”

सत्य र मेलमिलाप आयोगले निकालेको २०८० को तथ्याङ्कमा हालसम्म ६४ हजार द्वन्द्वपीडितले उजुरी दिएका छन् । जसमा महिलाको सङ्ख्या तीन सय १४ रहेको छ ।

सभामुख घिमिरेद्वारा पेय पदार्थ निर्यात गर्ने उद्योगको निरीक्षण


झापा, ५ वैशाख ः प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पेय पदार्थ उत्पादन गरी ३५ मुलुकमा निर्यात गर्दै आएको झापास्थित सिङ्गापुर बेभरेज प्रालिको आज निरीक्षण गर्नुभएको छ । मेचीनगर–१४ दुहागढीस्थित प्रालिको कारखानामा उहाँले हलुका पेय पदार्थ उत्पादन हुने प्रविधि, प्रक्रिया र व्यापारका बारेमा जानकारी लिनुभयो । सभामुख घिमिरेले उद्योगले आफ्ना उत्पादन विदेशमा निर्यात गरिरहेको विषयमा जिज्ञासा राख्नुभएको थियो । उद्योगले झेलिरहेका समस्या, राज्यले गर्नुपर्ने सहयोग र कानुनी व्यवस्थाको बारेमा उहाँले चासो व्यक्त गर्नुभएको प्रबन्ध निर्देशक आशिष शर्माले बताउनुभयो ।

उहाँले पहाडको लहरे आँप, तराईको आँप, अनारस, खरबुजालगायतका स्वदेशमै उत्पादन हुने फलफूलको रसलाई कच्चा पदार्थको रुपमा प्रयोग बढाउन सुझाव दिनुभयो । चर्को प्रतिस्पर्धाको आजको युगमा नेपाली उत्पादनले विश्व बजारमा लोकप्रियता हासिल गर्नु गर्वको विषय भएको सभामुख घिमिरेले बताउनुभयो ।

शर्माले छोटो अवधिमै उद्योगका उत्पादनलाई युरोप र अमेरिकालगायत विभिन्न ३५ मुलुकमा पु¥याउन सफलता प्राप्त भएको बताउनुभएको छ । उद्योगले जर्मनी मेसिनबाट विश्वस्तरीय पेय पदार्थका विभिन्न ब्रान्डहरु उत्पादन गरिरहेको जानकारी दिँदै जिरा मसलाको स्वाद रहेको जिरु हाल भारत, अस्टे«लिया र अमेरिकामा निर्यात भइरहेको उहाँको भनाइ छ ।

सन् २०१६ मा स्थापना भएको प्रालिले उत्पादन गरेका जिरु, निम्बुपानीलगायतका ब्रान्डले कोकाकोलाजस्ता बहुर्राष्ट्रिय कम्पनीबाट उत्पादित ब्रान्डसँग बजारमा प्रतिस्पर्धा गरिरहेको प्रबन्ध निर्देशक शर्माले सभामुख घिमिरेलाई अवगत गराउनुभयो ।

यसैगरी, सभामुख घिमिरेले आजै मेचीनगरको एनएमसी नमूना कृषि परियोजनाको अवलोकन गर्नुभयो । मेचीनगर–१४ मा १६ बिघा जग्गामा फैलिएको उक्त परियोजनामा झापाकै ठूलो गाई फार्म सञ्चालित छ ।

नेता महतोको ‘अधुरा क्रान्ति’ सार्वजनिक


काठमाडौँ, ५ वैशाख : राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोद्वारा लिखित ‘अधुरा क्रान्ति’ सार्वजनिक गरिएको छ । उक्त पुस्तकको आज यहाँ आयोजित कार्यक्रममा नेता महतो, विश्लेषक सिके लगायत विज्ञहरुले सामूहिकरुपमा विमोचन गर्नुभयो । नेता महतोले मधेस सङ्घर्ष र राजनीतिक जीवनमा भोगेका विभिन्न आयामलाई पुस्तकले उजागर गरेको छ । अधुरो क्रान्तिमा नेता महतोले आफ्नो राजनीतिक जीवन र मधेसमा उठेको विद्रोहको आवाजलाई बुझ्ने गरी उल्लेख गर्नुभएको छ ।

सो अवसरमा नेता महतोले अधुरो क्रान्ति उत्पीडनमा परेका जनताको पीडाको पुलिन्दा हो भन्नुभयो । “सात वर्षको मेहनतमा तयार गरिएको पुस्तकले उत्पीडनमा परेका जनताको भोगाइ, देखाइ र बुझाइका विषयवस्तुलाई समेटेको छ”, उहाँले भन्नुभयो ।

मुलुकमा परिवर्तनका लागि हालसम्म भएका सबैखाले क्रान्ति र सङ्घर्षले उत्पीडनमा परेका जनतालाई न्याय दिन नसकेकाले दाबी गर्दै नेता महतोले ती अधुरा क्रान्तिलाई सम्बोधन गर्न पुस्तक उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले एकल सोच र चिन्तनबाट राज्यसञ्चालन गरिएको जिकिर गर्दै उहाँले सबै जातजाति, भाषाभाषी, वर्गत र समुदायको भावनालाई राज्य सञ्चालनको हिस्सेदारी हुनुपर्ने धारणा राख्नुभयो ।

पुस्तकको टिप्पणी गर्दै विश्लेषक सिके लालले अधुरो क्रान्तिले करिब ६५ वर्षे नेपालको राजनीतिक घटनाक्रमलाई मधेसको आँखाबाट हेरिएको र मधेस आन्दोदलनका आयामलाई क्रमबद्ध गरिएको उल्लेख गर्नुभयो । उहाँले मधेसका मुद्दालाई अहिलेको अवस्थामा ल्याउन भूमिका खेल्ने अन्य मधेसी नेताहरुलाई पुस्तकमा नसमेटिएको टिप्पणी गर्नुभयो ।

प्रा डा बालकृष्ण माबुहाङ्ले मधेसको राजनीतिक सङ्घर्ष र मधेसी जनताको पीडालाई उजागर गरिएको पुस्तक पठनीय र सङ्ग्रहणीय रहेको बताउनुभयो । वरिष्ठ पत्रकार कनकमणि दीक्षितले मधेसी जनताको मुक्तिका लागि सङ्घर्ष गरेका नेता महतोको पुस्तक अधुरो क्रान्ति आधुनिक राजनीतिक इतिहासको साक्षीको रुपमा आएको उल्लेख गर्नुभयो । मानवअधिकारकर्मी मोहना अन्सारीले नेपालमा वैचारिक, सामाजिक न्यायको क्रान्ति अधुरो छ भन्ने पुस्तकले प्रमाण पेस गरेको छ ।

पूर्वराजदूत महेश दाहालले मधेसको समग्र समस्या बुझ्न पुस्तक उपयोगी हुने बताउनुभयो । अभियान्ताद्वय सुमन सायमी र बुद्धछिरिङ मोक्तानले मधेसका अधुरा क्रान्तिलाई पूरा गर्न पुस्तकले प्ररित गर्ने धारणा राख्नुभयो ।पुस्तकमा ‘माटो र बाटोको पहिचान’, ‘भाषिक सङ्घर्ष’, ‘पहिचानको सङ्घर्ष’, ‘उदगम र उपेक्षा’, ‘सङ्गत’, ‘विभेदको अन्त्यहीन दुष्चक्रलगायत’ लगायत शीर्षकमा लेख समावेश छन् । पाइन प्रकाशन प्रालिले प्रकाशनमा ल्याएको तीन सय ८१ पृष्ठको उक्त पुस्तकको मूल्य रु सात सय ७० रहेको छ ।

एमालेले मुलुकमा कस्तो विकास गर्छ भन्ने कुरा म प्रधानमन्त्री हुँदा देखाए – ओली


मङ्लगबारे (इलाम), ५ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं २ मा एमालेले उम्मेदवार बनाएका युवा सुहाङ नेम्वाङलाई जिताउन यहाँका मतदाताहरुलाई अपिल गर्नुभएको छ ।

इलाम क्षेत्र नं २ को देउमाई नगरपालिकास्थित मङ्गलबारे बजारमा आज आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सो अपिल गर्नुभएको हो । नेकपा (एमाले)का यस क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गएको भदौ २६ गते मृत्यु भएपछि इलाम क्षेत्र नं २ मा उपनिर्वाचन हुन लागेको हो । स्वर्गीय नेता सुवासचन्द्र नेम्वाङको सपना पूरा गर्न पनि उहाँका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइएको भन्दै अध्यक्ष ओलीले सुहाङलाई मतदान गर्न आग्रह गर्नुभयो ।

इलाम क्षेत्र नं २ को विकास र यहाँका नागरिकको समृद्धिका लागि सुहाङ नेम्वाङ विजयी हुनुपर्ने उहाँको भनाइ थियो । नेकपा (एमाले)ले घरघरमा वृद्ध भत्ता पु¥याएको, सामाजिक सुरक्षा भत्ता वितरण गरेको र सडक निर्माणलगायत धेरै काम गरेको पनि उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले एमालेले मुलुकमा कस्तो विकास गर्छ भन्ने कुरा आफू प्रधानमन्त्री हुँदा देखाएको बताउनुभयो । उहाँले भन्नुभयो, “म प्रधानमन्त्री हुँदा दुई सय १० पालिकादेखि सदरमुकाम जोड्ने सडक र तीन सय ९६ वटा पालिकामा अस्पताल बनाउन शिलान्यास गरेको थिएँ तर सरकारबाट बाहिरिएपछि ती सबै अलपत्र परेका छन् । अब अधुरा र अलपत्र कामहरुलाई आउँदो निर्वाचनसम्ममा पूरा गर्नुपर्छ ।”

एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले एकल जातीय पहिचानको कुराले जातीय सद्भावलाई खल्बल्याउने धारणा राख्नुभयो । नेकपा (माओवादी केन्द्र) को कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङले कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउने ‘एजेन्डा’ पूरा गर्नका लागि पनि वामपन्थीहरुका साझा उम्मेदवार सुहाङलाई विजयी गराउनुपर्ने बताउनुभयो ।

सो सभामा उम्मेदवार नेम्वाङले आफूले जितेको खण्डमा इलाम क्षेत्र नं २ को विकास गर्ने र यहाँका नागरिकले शिर झुकाउनुपर्ने कुनै काम नगर्ने बताउनुभयो । उहाँले यही वैशाख १५ गते हुने निर्वाचनमा आफूलाई मतदान गर्न अपिल पनि गर्नुभयो ।

यस क्षेत्रमा १२ राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । एमालेका सुहाङसँगै नेपाली कांग्रेसका इलाम सभापति डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र पहिचानवादीका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) रहेका छन् ।

चार अर्ब अमेरिकी डलरभन्दा बढी विदेशी लगानी आकर्षित गर्ने श्रीलङ्काको योजना

श्रीलङ्काली सरकारले सन् २०२४ मा चार अर्बदेखि साढे चार अर्ब अमेरिकी डलरको विदेशी लगानी आकर्षित गर्ने अपेक्षा गरेको छ । त्यहाँका लगानी प्रवर्द्धन राज्यमन्त्री दिलुम अमुनुगामाले सन् २०२३ मा श्रीलङ्काले १.५अर्ब डलरको लक्ष्य राखेकोमा १.८अर्ब डलरको विदेशी लगानी आकर्षित भएको बताउनुभयो ।

उहाँले देशले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग सम्झौता गरेपछि विदेशी लगानी उल्लेखनीय रूपमा बढेको बताउनुभयो । श्रीलङ्कामा राजनीतिक र आर्थिक अस्थिरताका कारण सन् २०२२ र २०२३ को पहिलो अर्धवार्षिकमा विदेशी लगानी घटेको उहाँले बताउनुभयो ।

सरकारलाई एक साताभित्र एक्स पुनःस्थापना गर्न पाकिस्तान उच्च अदालतको आदेश

पाकिस्तानको उच्च अदालतले बुधबार सरकारलाई एक साताभित्र सामाजिक सञ्जाल प्लेटफर्म एक्सलाई पुनःस्थापना गर्न आदेश दिएको एक वकिलले बताएका छन् । गृह मन्त्रालयको आदेशमा दुई महिनाभन्दा लामो समयदेखि उक्त प्लेटफर्मलाई अवरोध पुर्याएपछि अदालतको यस्तो आदेश आएको हो ।

पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले फेब्रुअरी १७ को निर्वाचनमा एक सरकारी अधिकारीले मतपत्र हेरफेर गरेको स्वीकार गरेको विषयमा विरोध प्रदर्शनको आह्वान गर्दा फेब्रुअरी १७ देखि यसअघि ट्विटर नामले चिनिने एक्समा सायदै पहुँच पुगेको छ ।

पाकिस्तानको सञ्चार प्राधिकरणले पछि अदालती कागजातमा आफूलाई गृह मन्त्रालयले साइट बन्द गर्न आदेश दिएको स्वीकार गरेको छ । प्रतिबन्धलाई चुनौती दिने वकिल मोइज जाफरीले भन्नुभयो, “सिन्ध उच्च अदालतले सरकारलाई पत्र फिर्ता लिन एक साताको समय दिएको छ, अन्यथा अर्को मितिमा अदालतले उचित आदेश पारित गर्नेछ ।”

गाजा युद्धविराममा इजराइल–हमास वार्ता रोकियो– मध्यस्थकर्ता कतार


गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि इजराइल र हमासबीचको वार्ता रोकिएको कतारका प्रधानमन्त्रीले बुधबार बताउनुभएको छ । प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले रोमानियाली प्रधानमन्त्री मार्सेल सियोलाकुसँगको पत्रकार सम्मेलनमा भन्नुभयो, “हामी केही अवरोधसाथ संवेदनशील चरणबाट गुज्रिरहेका छौँ र हामीले यो अवरोधलाई हटाउन हरसम्भव प्रयास गरिरहेका छौँ ।”

अमेरिका र इजिप्टसँग कतार गाजामा युद्धविराम सुनिश्चित गर्न र इजराइली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा इजराइली बन्धकको रिहाईका लागि धेरै सातादेखि पर्दापछाडिको वार्तामा संलग्न छ । प्रधानमन्त्री शेख मोहम्मदले भन्नुभयो, “अगाडि बढ्न, गाजामा मानिसहरूले भोगिरहेको पीडाको अन्त्य गर्न तथा बन्धकहरूलाई फिर्ता गर्न वार्ताकारहरूले प्रयास गरिरहेका छन् ।”

मध्यस्थकर्ताहरूले रमजानको प्रारम्भभन्दा अघि नै युद्धविराम हुने अपेक्षा गरेका थिए तर गत साता समाप्त भएको मुस्लिम पवित्र महिनामा शत्रुता अन्त्यमा बिना प्रगति बारम्बार वार्ता असफल भयो । यसको सट्टा यसै साताको अन्त्यमा आफ्नो कट्टर दुश्मन इजराइलमाथि इरानको पहिलो प्रत्यक्ष आक्रमणपछि गाजामा महिनौँदेखि जारी युद्ध क्षेत्रीय युद्धमा परिणत हुने डर बढेको छ ।

“युद्धको दायराको विस्तारविरुद्ध यो युद्धको प्रारम्भदेखि नै चेतावनी दिइएको थियो र आज हामीले विभिन्न मोर्चामा युद्ध देखिरहेका छौँ”, कतारी प्रधानमन्त्रीले भन्नुभयो, “हामी लगातार अन्तर्राष्ट्रिय समुदायसँग आफ्नो जिम्मेबारी सम्हाल्न र यो युद्धलाई रोक्न आह्वान गरिरहेका छौँ ।”

उहाँले गाजाका बासिन्दाले ‘घेराबन्दी र भोकमरी’ को सामना गर्नुपरिरहेको भन्दै मानवीय सहायतालाई ‘राजनीतिक ब्ल्याकमेलको उपकरण’ का रूपमा प्रयोग गरिएको बताउनुभयो ।

कोशी प्रदेशले मानवीय विकासलाई पहिलो प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री कार्की

मोरङ, ५ वैशाख : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशले मानवीय विकासलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । जीवन विकास लघुवित्तकोे सहकार्यमा प्रथम थ्री जिरो क्लब सदस्य सम्मेलन–२०८१ को आज मोरङको कटहरीमा शुभारम्भ गर्नुहँदै उहाँले मानवीय विकासबाट प्रदेशले समृद्धि हाँसिल गर्ने विचार व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्की यस क्षेत्रमा आवश्यक रहेको चिकित्सक, इन्जिनियर, अधिवक्ता, कृषि र पशु स्वास्थ्यकर्मीलगायतका जनशक्ति उत्पादन गर्नका निःशुल्क अध्ययनको लागि बजेटको विनियोजन गरिएको जानकारी दिनुभयो ।उहाँले युवाले नयाँनयाँ कुराको अविष्कार गरी मुलुक र प्रदेशको हितका लागि कार्य गर्नु आजको आवश्यकता भएको धारणा राख्नुभयो । प्रदेश सरकारले यस क्षेत्रमा छिमेकी मुलुकका धार्मिक पर्यटक आगमन वृद्धिका लागि विभिन्न समुदायको आस्थाको केन्द्र रहेका मठमन्दिर, भाषा, संस्कृति, खानपिनको संरक्षणमा विशेष जोड दिएको उहाँले धारणा राख्नुभयो ।

स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शङ्करमान श्रेष्ठले युवायुवतीलाई नेतृत्वदायक भूमिका प्रदान गर्ने उद्देश्यले क्लबको गठन गरिएको जानकारी दिँदै युवापुस्तालाई विदेश पलायन रोक्न वित्तीय संस्थाले विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव दिनुभयो ।
जीवन विकास लघुवित्त संस्था लिका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले क्लबका सदस्यले समाज र देशप्रतिप्रति जिम्मेवारी बोध गर्नुका साथै सामाजिक चेतनास्तरको विकासमा मद्दत पुग्ने धारणा राख्नुभयो ।

सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र बन्द हुने अवस्थामा


घोडाघोडी (कैलाली), ५ वैशाख : सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता भएको चिस्यान केन्द्र ‘कोल्डस्टोर’ ऋणको बोझले बन्द हुने अवस्थामा पुगेको छ । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको उक्त चिस्यान केन्द्र बैंकको ऋण तिर्न नसक्दा लिलामी हुने अवस्थामा छ ।

किसानको आवश्यकतालाई मध्यनजर गर्दै कैलालीको घोडाघोडी नगरपालिका–१० मा २०७७ फागुनमा तीन हजार मेट्रिकटन क्षमता भएको प्रदेशकै सबैभन्दा ठूलो चिस्यानकेन्द्र स्थापना गरिएको थियो ।

रिज्म परियोजनाको रु एक करोड ९० लाख आर्थिक सहयोगमा निर्माण कार्य सुरु गरी सञ्चालनमा ल्याइएको चिस्यान केन्द्र रु २० करोड बढी लगानीमा तयार गरिएको हो । अहिले आफ्नै ऋणसमेत तिर्न नसक्दा उक्त चिस्यान केन्द्र बन्द हुने अवस्थामा पुगेको छ ।

चिस्यान केन्द्रलाई रु २० करोड बढी ऋण रहेको सञ्चालक समितिका अध्यक्ष रामबहादुर रावतले बताउनुभयो । “बैंकमा मात्रै रु १६ करोड ४४ लाख ऋण छ अन्य सहकारी, विद्यालय, सामुदायिक वनलगायतमा गरी रु २० करोड बढी पुुग्छ”, उहॉले भन्नुुभयो, “सरकारले अनुदान पनि दिएन, अहिलेसम्म किसानकै पैसाबाट चिस्यान केन्द्र चलिरहेको छ ।”

रावतका अनुुसार सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ र २०७९÷८० मा दुई पटकसम्म रातो किताबमा चिस्यान केन्द्रका लागि भन्दै रु नौ करोड ९० लाख राखेको थियो । चिस्यान केन्द्र सुरु भएकै वर्ष यहाँ तीन हजार चार सय ५३ किसानले आफ्नो उत्पादन राखेका थिए । अहिले छ हजार बढी किसानले उत्पादन गरेका वस्तु राखेका छन् ।

कैलाली, कञ्चनपुरसहित डडेल्धुराको गन्यापधुरा गाउँपालिका, पर्शुराम नगरपालिका र रुपन्देहीको शुद्धोदन गाउँपालिकासम्मका किसान यस चिस्यान केन्द्रबाट लाभान्वित छन् । लाभान्वित किसानको सङ्ख्या बढ्दो अवस्थामा रहे पनि आर्थिक सङ्कटका कारण बन्द गर्नुपर्नेसम्मको स्थिति आउँदा उनीहरू चिन्तित छन् ।

“चिस्यान केन्द्र भएर निकै सहज भएको छ”, कैलालीको बर्दगोरिया गाउँपालिकाबाट आलुको बीउ भण्डारण गर्न आएका किसान रामु चौधरीले भन्नुुभयो, “यसपटक वर्षभरि घरमा खानलाई राखेर बेचेको पनि छुु, तर बन्द हुुने अवस्थामा स्टोर छ, हामी किसानले कसरी जीविकोपार्जन गर्ने ?”

चिस्यान केन्द्र भएपछि नै व्यावसायिक हिसाबले खेती सुरु गरेको बताउँदै भण्डारण गर्न आएका अर्का किसान प्यारेलालाल चौधरी भन्नुुहुुन्छ, “सिजन सकिएपछि आफँैले घरमा खानलाई र पछि राम्रै बजार मूल्य पाएका बेला बेच्नलाई हामीजस्ता किसानलाई फाइदा पुगेको थियो तर आर्थिक अभावका कारण चिस्यान केन्द्र बन्द हुुने अवस्थामा छ यसलाई जोगाउनुपर्छ ।”

चिस्यान केन्द्रमा आलु, स्याउ, सुन्तला, अनार, अङ्गुर र बन्दागोभी राख्न मिल्ने बनाइएको छ । विद्युत् प्राधिकरणको बिलसमेत तिर्न नसकेपछि पटकपटक यहाँ विद्युत् काट्ने गरेकोे शेयर सदस्य राजेन्द्र देवकोटाले बताउनुुभयो । यसरी विद्युत् काटिँदा किसानले राखेका उत्पादन बिग्रन सक्ने खतरासमेत हुुने गरेको उहाँ बताउनुुहुुन्छ ।

पश्मिना उद्योगको प्रवर्द्धनमा सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी


काठमाडौँ, ५ वैशाख : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योगको उत्पादन र निर्यात प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।

पश्मिना फाइबर प्रशोधनसम्बन्धी तालिमका सहभागीलाई आज ललितपुरमा प्रमाणपत्र वितरण गर्दै उहाँले पश्मिना उद्योगका क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो । नेपालबाट निर्यात हुने महत्वपूर्ण उत्पादनमध्ये च्याङ्ग्राको भुवा बाट बन्ने पश्मिना पनि रहेकाले यस क्षेत्रका लागि आवश्यक पूर्वाधार निर्माण र अन्य क्षमता विकासका कार्यमा सहयोग गर्न सरकार तयार रहेको मन्त्री भण्डारीले उल्लेख गर्नुभयो ।

उहाँले फाइबर प्रशोधन केन्द्रको निरीक्षण गरी पश्मिना फाइबर प्रशोधनको प्रक्रियाबारे जानकारी लिनुभएको थियो । पश्मिना व्यवसायी र च्याङ्ग्रा किसानको संयुक्त लगानीमा ललितपुरको हरिसिद्धिमा निर्माण भएको पश्मिना प्रशोधन केन्द्रले किसानबाट च्याङ्ग्राका भुवा सङ्कलन र प्रशोधन गरी पश्मिना उद्योगलाई आपूर्ति गर्दै आएको छ ।

पश्मिना फाइबर प्रशोधन सम्बन्धी सीप सिकाउने उद्देश्यले ललितपुर तथा काठमाडौँका स्थानीय महिलालाई उत्पादन तालिम दिएको हो । सत्र दिनसम्म सञ्चालन भएको तालिममा २० जना सहभागी थिए ।

उक्त अवसरमा नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष विजय दुगडले पश्मिना फाइबर प्रशोधन केन्द्रको स्थापनाबाट पश्मिना व्यवसायीले लाभ उठाइरहेको जनाउँदै सरकारले पश्मिना उत्पादन वृद्धि गर्न पूर्वाधार निर्माण र निर्यात अभिवृद्धिमा सहयोग गर्न आग्रह गर्नुभयो । सङ्घका उपाध्यक्ष धनप्रसाद लामिछानेले पश्मिना क्षेत्रमा देखिएका समस्याबारे चर्चा गर्नुभएको थियो ।

सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा


गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिका भर्ना गर्ने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गरेको छ ।विद्यालय भर्ना अभियान सञ्चालन भइरहेका बेला नगरपालिकाले सामुदायिक विद्यालयमा बालबालिकाको आकर्षण बढाउन परिवारका सदस्यको रु एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।

“नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा शैक्षिकसत्र २०८१ का लागि कक्षा १ मा छोराछोरीलाई भर्ना गराउने अभिभावकलाई नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको छ”, उहाँले भन्नुभयो, “यसले बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ भन्ने चेतनाको विकास पनि गर्न सकोस् भन्ने पनि चाहाना हो ।”

सामुदायिक विद्यालयमा घट्दो क्रममा रहेको विद्यार्थी संख्यालाई बढाउन नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमाको नयाँ नीति ल्याएको नगरप्रमुख रानामगरको भनाइ छ । “पछिल्लो समय कमजोर आर्थिक अवस्था भएका अभिभावकले मात्र छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने अवस्था छ”, उहाँले भन्नुभयो, “यसले आर्थिक अवस्था कमजोर भएका परिवारलाई सहयोग पनि पुग्ने र सरकारी विद्यालयमा बालबालिका पढाउनुपर्छ भन्ने भावना जागृत गराउन पनि मद्दत पुग्छ भन्ने विश्वास छ ।”

कार्यक्रम कार्यान्वयन गर्न चालु आर्थिक वर्षका लागि नगरपालिकाले रु १० लाख बजेट विनियोजन गरेको छ । विनियोजित बजेट अपुग भए थप गर्न सकिने उहाँले बताउनुभयो । विनियोजित बजेटअनुसार विद्यार्थी भर्नासँगै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम हुँदा नगरपालिकाभित्रका दुई सय ८५ परिवार लाभान्वित हुनेछन् ।

आगामी आर्थिक वर्षदेखि अन्य कक्षामा पनि सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने योजना नगरपालिकाले बनाएको नगरप्रमुख रानामगरले जानकारी दिनुभयो । यो कार्यक्रमले सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाको स्वास्थ्य र शिक्षा दुवै निःशुल्क हुने उहाँको भनाइ छ ।

नगरपालिकाभित्र सञ्चालन भइरहेको विद्यालय भर्ना अभियानमा क्रममा अहिले घरघरमा पुगेर विद्यालयका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले नगरपालिकाले ल्याएको कार्यक्रमका बारेमा अभिभावकलाई जानकारी गराइरहेको नगरप्रमुख रानामगरले जानकारी दिनुभयो ।

“कमजोर आर्थिक अवस्था भएका धेरैले स्वास्थ्य बीमा गर्न नसकेको अवस्था पनि छ”, उहाँले भन्नुभयो, “हामीले ल्याएको यस कार्यक्रमले उहाँहरुको स्वास्थ्य बीमा पनि हुने र विद्यालय भर्ना अभियान पनि प्रभावकारी हुन्छ भन्ने लागेको छ ।” नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमाका बारेमा सबै विद्यालयका प्रधानाध्यापकलाई अभिमुखीकरण गराएर अभिभावकको घरघरमा पठाएको छ ।

“नगरपालिकाले गरिदिने स्वास्थ्य बीमाले एउटा परिवारका पाँच जनासम्मले निःशुल्क स्वास्थ्य उपचार सेवा पाउने छन्”, उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा गराइसकेका अभिभावकको हकमा भने कार्यक्रम लागू हुँदैन ।” अन्य पालिकाबाट आएर गोरखा नगरपालिकामा अस्थायी बसोबास गरेकाहरुलेसमेत आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गरे निःशुल्क स्वास्थ्य बीमाको सुविधा पाउने उहाँको भनाइ छ ।

नगरपालिकाले यसअघि नगरपालिकाभित्र सार्वजनिक पद धारणा गरेका व्यक्तिले आफ्ना छोराछोरीलाई अनिवार्यरुपमा सार्वजनिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरिसकेको छ ।

अर्थमन्त्री पुन अमेरिकामा विभिन्न कार्यक्रम तथा भेटघाटमा व्यस्त


वासिङ्गटन डिसी, ५ वैशाख : अर्थमन्त्री वर्षमान पुनले नेपालमा यसै महिना हुन लागेको लगानी सम्मेलनमा सहभागी भई लगानीका अवसरहरु पहिचान गर्न अमेरिकी लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

हाल अमेरिकामा रहनुभएका अर्थमन्त्री पुनले अमेरिकी च्याम्वर अफ कमर्सद्वारा वासिङ्गटन डिसीमा आयोजना गरेको राउण्ड टेवल छलफलमा सो आग्रह गर्नुभएको हो ।

कार्यक्रममा अमेरिकी सहयोग नियोगकी उपसहायक प्रशासक अञ्नली कौर, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, अमेरिकी च्याम्वर अफ कमर्सको दक्षिण एसियाका लागि वरिष्ठ उपाध्यक्ष अतुल कश्यपलगायतले नेपालको उक्त लगानी सम्मेलनको बारेमा धारणा राख्नुभएको थियो । सो कार्यक्रममा नेपालमा लगानी गरिरहेका अमेरिकी कम्पनीहरुको समेत सहभागिता रहेको थियो ।

नेपालमा वैदेशिक लगानी भित्र्याउने अभिप्रायले गर्न लागिएको तेस्रो लगानी सम्मेलन यही वैशाख १६ र १७ गते आयोजना गरिएको छ ।

यसैबीच अर्थमन्त्री पुनले विश्व बैंकका उपाध्यक्षहरु अकिहितो निशीओ र गुन्जे चेनसँग भेटघाट गर्नुभएको छ । चेनसँगको भेटघाटमा मन्त्री पुनले उपल्लो अरुण जलविद्युत् आयोजनाका लागि बैंकको लगानीसम्बन्धी विषयमा छलफल गर्नुभएको थियो ।

यसैगरी अर्थमन्त्री पुनले अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्ष रिकार्डो पुलिटीसँग भेट गरी अर्को चरणको निगमको लगानीमा विस्तार गर्नेबारेमा समेत छलफल गर्नुभएको थियो । निगमले नेपालमा साना व्यवसायको वित्तीय साधन पहुँचका लागि महिलाहरुले सञ्चालन गरेका फर्म तथा पर्यावरणमैत्री आयोजनाका लागि ग्लोबल आइएमई बैंकमार्फत पाँच करोड ६० लाख डलर बराबरको लगानी गरेको छ ।

‘विकास निर्माणसँग जोडिएका कानुनमा परिवर्तन आवश्यक छ’ – पूर्वमन्त्री ज्वाला


काठमाडौँ, ५ वैशाखः पूर्वमन्त्री प्रकाश ज्वालाले विकास निर्माणसँग जोडिएका कानुन परम्परागत भएकाले तिनमा सामयिक परिवर्तन आवश्यक भएको बताउनुभएको छ ।

रासससँग कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव ज्वालाले विगतमा सूचना प्रविधिको उच्चतम प्रयोग नभएको अवस्थालाई ख्याल गरेर बनाइएका सार्वजनिक खरिद ऐनजस्ता कानुन अहिलेका सन्दर्भमा पुरानो भइसकेकाले त्यस्ता कानुनका आधारमा सहज रूपमा काम गर्न नकिने अनुभव सुनाउनुभयो ।

लागतभन्दा आधा दरमा बोलपत्र दिँदा पनि कम मूल्यका आधारमा स्वीकृत हुने स्थिति, विभिन्न अन्तरमन्त्रालय समन्वय, रुख कटान, जग्गा प्राप्ति, घरटहरा हटाउने झमेलाले समय बढी व्यतित हुने गरेकाले समन्वय र सहयोग बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले समग्रमा आयोजनाका लागि पर्याप्त बजेट नहुने, अनियमितता हुने, कार्यक्रमको निरन्तरता र प्राथमिकतामा हेरफेर हुने समस्या देखिएको बताउनुभयो ।

पूर्वमन्त्री ज्वालाले व्यक्तिगत स्वार्थमा नेताहरू केन्द्रित हुने प्रवृत्तिले मुलुकमा विकास, समृद्धि र सुशासनका अपेक्षा पूरा हुन नसक्ने भन्दै वामपन्थी, राष्ट्रवादी र प्रगतिशील शक्ति मिलेर काम गरेमा समाजवादको लक्ष्य पूरा गर्ने क्रममा विकास र समृद्धिको बाटोमा अग्रसर हुन सकिन्छ भन्ने आशा पुनः पलाएको स्थितिमा राजनीतिक स्थिरतामा जोड दिनुपर्ने बताउनुभयो । विकासका माध्यमबाट समाजवादको बाटोमा अग्रसर हुन वामपन्थी, प्रगतिशील शक्तिहरूको पुनः सहकार्य हुनुलाई सकारात्मक मान्दै उहाँले संविधानमा उल्लेखित समाजवादोन्मुख अर्थतन्त्रको परिकल्पनाबमोजिम आर्थिक, सामाजिक परिवर्तनको अभियानमा केन्द्रित हुुनुपर्नेमा जोड दिनुभएको हो ।

नेता ज्वालाले राजनीतिक स्थायित्व र विकासका लागि विद्यमान सङ्घीय प्रणाली र निर्वाचन प्रणालीमा पनि पुनरावलोकन गर्नुपर्छ भन्दै सरकार वा मन्त्री परिवर्तनपिच्छे सचिवहरू परिवर्तन गर्ने, आयोजनाको प्राथमिकीकरण हेरफेर गर्नेजस्ता कार्यले जनअपेक्षाअनुसार परिणाम दिन नसकिने बताउनुभयो । एकै व्यक्ति कतिपटक मन्त्री, सांसद वा जनप्रतिनिधि बन्ने भन्ने सवालमा पनि स्पष्ट भएर संविधान संशोधन गर्नुपर्ने खाँचो उहाँले औँल्याउनुभयो ।

प्रतिनिधिसभा, अर्थ समितिका पूर्वसभापति ज्वालाले बजेट निर्माण गर्दा कसरी उत्पादन क्षेत्रमा लगानी बढाउन सकिन्छ, बढीभन्दा बढी रोजगारीका अवसर कसरी सिर्जना गर्न विधि निर्माणलाई प्राथमिकतामा राखेर मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउनेगरी बजेट केन्द्रित हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

“राजस्व सङ्कलन बढाउने, स्रोतसाधन बढाउने तथा योजना आवश्यकता र प्राथमिकताका आधारमा वर्गीकरण गरिनुपर्ने आवश्यकता छ । विगतमा अगाडि बढाइएका अधुरा योजनालाई सम्पन्न गराउने, मुलुकको अर्थतन्त्रलाई थप चलायमान बनाउने, उत्पादन वृद्धि गरी रोजगारी सिर्जना गर्ने र जनतालाई सेवासुविधा दिने नयाँ योजना छनोट गरी बजेटको सुनिश्चितता गरिनुपर्छ”, उहाँले भन्नुभयो । सबै कामको आधार कानुन भएकाले सङ्घीयता कार्यन्वयनसँग सम्बन्धित सङ्घीय निजामती सेवा ऐन, सङ्घीय शिक्षा ऐनलगायत कानुनलाई संसद्बाट जतिसक्दो चाँडो पारित गर्नुपर्ने बताउनुभयो ।

रामनवमीः माडी अयोध्यास्थित राम मन्दिरमा रामायण पाठ र शास्त्रार्थ


भरतपुर (चितवन), ५ वैशाख : रामनवमीका अवसरमा माडी अयोध्यास्थित राम मन्दिरमा रामायण पाठ परायण र शास्त्रार्थको भएको छ । पण्डित आचार्य प्रकाश पाण्डेले रामायण पाठपछि प्रवचन दिनुभएको छ भने शास्त्रार्थ अयोध्या अनुसन्धाता लोकमणि पौडेलले सञ्चालन गर्नुएको छ ।

यहाँ वैशाख ३ गतेदेखि रामायण पाठ परायण यज्ञ आयोजना गरिएको पूजा व्यवस्थापन समितिका अध्यक्ष मथुराबहादुर भण्डारीले जानकारी दिनुभयो । माडीको धार्मिक पर्यटन प्रवर्द्धन एवं अयोध्याधाममा सुविधासम्पन्न धर्मशाला, उद्यान र राष्ट्रिय झण्डा निर्माणको उद्देश्य रहेको उहाँले बताउनुभयो ।

तीन दिन सञ्चालन भएको रामकथा पाठपारायणमा राष्ट्रिय कलाकारद्वारा झाँकी प्रदर्शन गरिएको थियो । यज्ञमा बिहान ७ देखि राति ११ बजेसम्म राष्ट्रिय कलाकारद्वारा भजन, दैनिक पूजाअर्चना र मूल पाठपारायण गरिएको प्रचारप्रसार संयोजक रामु भण्डारीले जानकारी दिनुभयो ।
राम मन्दिरमा शास्त्रार्थ पहिलोपटक आयोजना भएको छ । अयोध्याका विषयमा पुनःजागरण ल्याउन शास्त्रार्थ आयोजना गरिएको अनुसन्धाता पौडेलले बताउनुभयो ।

पर्वतको फेदमा रहेको माडी अयोध्या, पश्चिम बगेका नदी र तिनमा पाइने शालिग्राम चक्रका कारण यहाँ अयोध्याका प्रशस्त प्रमाण रहेका उहाँले बताउनुभयो । पाण्डव मन्दिर, द्रौपदी कुवा (भीम कुवा)लगाय प्राचीन संरचना माडीमा छन् । उहाँले माडीमा राममन्दिर निर्माणको योजना रहेको जानकारी दिनुभयो ।

सम्झौता तोडिएको नौ महिनापछि लोकमार्गको पुनः ठेक्का


गलकोट (बागलुङ) – मध्यपहाडी पुष्पलाल लोकमार्गको समस्याग्रस्त खण्डको रुपमा रहेको बागलुङको बिहुँ खण्ड कालोपत्र गर्नका लागि पुनः बोलपत्र आह्वान गरिएको छ । ठेक्का सम्झौता गरेको सात वर्षसम्म कालोपत्र नगर्ने मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बिहुँ खण्डको निर्माण व्यवसायीसँग रद्द गरिएको ठेक्का नौ महिनापछि पुनः खुलाइएको छ ।

आगमी असारभित्रै निर्माण व्यवसायीलाई काममा ल्याउनेगरी ठेक्का खोलिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गस्थित अलपत्र बागलुङको बिहुँ खण्डको १२ किमि सडक कालोपत्रका लागि पुनः ठेक्का लगाइएपछि आन्दोलनरत स्थानीयवासी खुसी भएका छन् ।

दुई वर्षमा सक्नुपर्नेकाम पाँच पटक म्याद थाप्दा समेत काम नगर्ने निर्माण व्यवसायीसँगको सम्झौता रद्द गरेर पुनः रु २४ करोडको लागतमा ठेक्का लगाउनका लागि निर्माण व्यवसायीसँग आह्वान गरिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख कल्पना अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार ७२ प्रतिशत भौतिक प्रगति गरेको निर्माण व्यवसायीसँग ठेक्का रद्द गरी पुनःमूल्याङ्कनका आधारमा नौ महिनापछि ठेक्कामा गएको हो । हालसम्म सम्पन्न भइसकेको भौतिक पूर्वाधारका आधारमा बाँकी गर्नुपर्ने काम र थप काम समेत गरी १२ किमि सडकमा रु २४ करोड लाग्ने अनुमान गरिएको सूचना अधिकारी तथा इञ्जीनीयर पवन सुवेदीले बताउनुभयो ।

बागलुङको बिहुँदेखि घोडाबाँधेसम्मको १२ किमी सडक कालोपत्रका लागि २०७२ साल माघमा दुई वर्षमा कालोपत्र सक्नेगरी सूर्य कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरिएको थियो । “पाँच पटक ठेक्का सम्झौता म्याद थप भए पनि काम नहुँदा गत असार १० गते मध्यपहाडी पुष्पलाल लोकमार्गले ठेक्का रद्द गरेको थियो”, इञ्जिनियर सुवेदीले भन्नुभयो, “ठेक्का सम्झौता रद्द गरिएको नौ महिनापछि गत चैत ३० गते ठेक्का आह्वान गरिएको छ, आगमी असारसम्म सडक निर्माणमा खटिनेगरी निर्माण व्यवसायी छनोट गरेर पठाउछौँ ।”

दुई दशक अगाडि ट्र्याक खुलेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको बिहुँ–घोडाबाँधे खण्ड अहिलेसम्म कालोपत्र हुन नसक्दा नागरिकले सास्ती खेप्नु परेको भन्दै स्थानीयवासीले सङ्घर्ष समिति निर्माण गरेरै चरणबद्ध आन्दोलन गर्दै आएका छन् । स्थानीयको माग अनुसारनै ठेक्का सम्झौता रद्द गरी पुन ठेक्का लगाइएको आयोजनाले जनाएको छ ।

पुनः ठेक्का लगाइएको सडकमा दुई वर्षभित्रै कालोपत्र सक्ने योजना मध्यपहाडी लोकमार्गको छ । विसं २०५४ मै बाटो आउँदा हर्षित बनेका बागलुङको बिहुँका स्थानीय सडक कालोपत्र नुहँदा हिउँदमा धुलो र बर्खामा धुलोले आजित बनेका छन् ।

सडक कालोपत्रमा चरम लापरबाही भएपछि स्थानीयवासीले आन्दोलनको विकल्प नभएको भन्दै पटक–पटक सडक अवरुद्ध गर्दै आएको र अहिले पुनःठेक्कामा जाँदा स्थानीयवासी केही आशावादी रहेको स्थानीयवासी डिलप्रसाद कँडेलले बताउनुभयो ।

आठ लाखभन्दा बढीलाई हात्तीपाइलेबिरुद्धको औषधि खुवाइने


बरहथवा (सर्लाही) – सर्लाहीमा आठ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । आज स्वास्थ्य कार्यालय सर्लाहीमा आयोजित हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानको जिल्लास्तरीय अन्तरक्रियामा उक्त जानकारी दिइयो ।

जिल्लाभरिबाट दुई वर्ष उमेर समूहभन्दा माथिका आठ लाख २४ हजार छ सय ७१ जनालाई हात्तीपाइलेविरुद्धको औषधि सेवन गराउन लागिएको कार्यालय प्रमुख डा नवलकिशोर झाले जानकारी दिनुभयो ।

राष्ट्रव्यापी कार्यक्रमअन्तर्गत यही वैशाख १६ गतेबाट २९ गतेसम्म अभियान सञ्चालन गरिने भएको छ । अभियानमा पाँच सय २५ जना स्वास्थ्यकर्मी र एक हजार तीन सय २६ जना महिला स्वास्थ्य स्वयमसेवीका गाउँगाउँमा परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार गतवर्ष पनि यस जिल्लामा सात लाख ६२ हजार छ सय ८४ जनालाई हात्तीपालेविरुद्धको औषधि खुवाइएको थियोे । गर्भवती, सात दिनसम्मका सुत्केरी, गम्भीर किसिमका बिमारीलगायतले भने यो औषधि सेवन गर्न नहुने डा झाको भनाइ छ । हात्तीपाइले रोगबाट बच्न अन्य सबैले अनिवार्य रुपमा औषधि सेवन गर्नुपर्ने उहाँको भनाइ छ ।

औषधि सेवनका क्रममा जिल्लामा अहिलेसम्म कुनै किसिमको गम्भीर समस्या नदेखिएकाले निर्धक्क भएर अभियानमा सहभागी भई औषधि सेवन गर्न सबैमा स्वास्थ्य कार्यलय सर्लाहीले आग्रह गरेको छ ।

जिल्लाका शतप्रतिशतलाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको हो । यो अभियानअन्तर्गत देशभरीका सात जिल्लामा औषधि खुवाउन लागिएको हो । त्यसमध्ये मधेसमा सर्लाहीसहित चार जिल्लामा यो अभियान सञ्चालन गरिएको छ ।

काठमाडौँ महानगरले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै

काठमाडौँ – काठमाडौँ महानगरपालिका (कामपा) ले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ ।

कामपाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्ने भएको हो । महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा वैशाख महिना भरी शिविर सञ्चालन हुने महानगरले जनाएको छ ।

वडा नं ३१ भीमसेनगोलामा वैशाख ५ र ६ गते, वडा नं २५ र २७, इनबहालमा ७, ९ र १० गते, वडा नं ३, महाराजगञ्जमा ११ र १२ गते, वडा नं २६, लैनचौरमा १४ गते, वडा नं २०, भीमसेनस्थानमा १६ गते, वडा नं २१, यंगालमा १७ गते, वडा नं २३, ओमबहालमा १८ गते र वडा नं १५, स्वयम्भूमा २० र २१ गते शिविर हुने मिति तोकिएको छ ।

रामघाट प्राथमिक स्वास्थ्य केन्द्रमा २३ गते, वडा नं २, लाजिम्पाटमा २४ गते, वडा नं २४, मखनमा २५ गते, वडा नं २२, टेबहालमा २६ गते, वडा नं १८, नरदेवीमा २७ गते, वडा नं १९, कङ्केश्वरीमा २८ गते, वडा नं ३२, पाल्पाकोट (छाप्रे), कोटेश्वरमा ३० र ३१ गते सर्वसाधारणले सेवा लिन पाउनेछन् ।

शिविरबाट थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क परीक्षण हुने महानगरपालिकाले जनाएको छ ।

उपनिर्वाचन : निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने


काठमाडौँ, ५ वैशाखः निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ ।

प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं (१) मा हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न गत चैत २८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा आचारसंहितामा अन्य विषयका अतिरिक्त सामाजिक सञ्जालबाट गलत, भ्रामक र द्वेषपूर्ण सूचना प्रकाशन तथा प्रसारण गर्न गराउन नहुने, निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्ञालमा एकाउन्ट सञ्चलन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले कसैलाई होच्च्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने तथा कसैको भ्रामक टीकाटिप्पणी गर्न, गराउने नहुने व्यवस्था रहेको स्मरण गराइएको छ ।

त्यसैगरी कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेण्ट वा प्रतिकमेण्ट गर्न गराउन नहुने तथा कसैको चरित्रहत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न गराउनपूर्ण रूपमा निषेध गरिएको छ । आचार संहिता उल्लङ्घनका घटनामा तत्काल आवश्यक कारबाही गर्न सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृत संयोजक रहेको जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिइएको छ ।

अवाञ्छित कार्य तत्कालै रोक्न आदेश दिने तथा आचारसंहिता उल्लङ्घनकर्तालाई आवश्यक कारबाहीको सिफारिस गर्न निर्वाचन आयोगमा एक सामाजिक सञ्जाल अनुगमन एकाइ गठन गरी कार्य हुने भएको छ । आमसञ्चारमाध्यमबाट हुने गलत, भ्रामक, झुटा सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा निर्वाचनलाई नकारात्मक प्रभाव पार्ने समाचारलाई निरुत्साहित गरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सम्बन्धित सञ्चारमाध्यमको अनुगमन तथा कानुनबमोजिम आवश्यक कारबाहीका लागि प्रेस काउन्सिल नेपालसमक्ष पत्राचार गर्ने निर्णय आयोगले गरेको छ ।

मिथिलामा रामनवमी र वासन्ती नवरात्र मनाइँदै


महोत्तरी, ५ वैशाखः हिन्दु धर्मावलम्बीले मर्यादा पुरुषोत्तम श्रीरामको जन्मोत्सव आज विशेष धार्मिक अनुष्ठान गरेर मनाउँदै छन् । राम नवमीको पावन अवसरमा यहाँका मठमन्दिर र देवालयमा विशेष उत्सव आयोजना भएका छन् ।

यस अवसरमा रामजानकी मन्दिरमा रामायण र श्रीमद्भागवत पाठ गर्नाका साथै र सुन्दरकाण्ड लीला आयोजना हुन्छ । श्रीराम चरित्र वर्णन गर्दै व्रतीहरूले दशमी तिथि लागेपछि साङ्गता गर्ने मैथिल चलन छ । चन्द्रमास गणनाको चैत शुक्ल नवमी मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन मानिन्छ ।

भगवान् विष्णुका २४ अवतारमध्ये त्रेतायुगमा भएको रामअवतार रामायणमा विशेष वर्णित छ । मिथिलामा श्रीरामको आगमन, सीता स्वयम्वरमा सरिकता, सीतासँग विवाह र विवाहपश्चात मिथिलाका विभिन्न क्षेत्रमा भएका श्रीरामको भ्रमणका कथाले रामनवमी पर्व यहाँ विशेष बन्दै आएको छ । महोत्तरीको मटिहानी–७ स्थित लक्ष्मीनारायण मठ, जलेश्वरस्थित ब्रह्मचारीकुटी र बर्दिबासस्थित रामजानकी मन्दिरसहित यहाँका बस्ती–बस्तीमा श्रीराम जन्मोत्सव मनाइँदैछ । श्रीराम भगवान् विष्णुका अवतार मानिएर मात्र नभई ज्वाइँ विशिष्ट अतिथि मानिने मैथिल परम्पराले पनि श्रीरामसम्बद्ध तिथि र उत्सव मिथिलामा सदियौँदेखि विशेष मानिदै आइएको सन्तहरू बताउँछन् ।

यसैगरी आज नै वासन्ती नवरात्रको अन्तिम दिन हो । देवी मन्दिरमा चण्डीपाठ र देवीपूजनका कार्यक्रम जारी छन् । हिन्दू परम्परामा असोज शुक्लपक्ष र चैत शुक्लपक्षका अघिल्ला नौ दिन देवी पूजनका विशेष अवसर मानिदै आइएको छ । शरद् ऋतुमा पर्ने हुँदा असोज शुक्लपक्षको नवरात्रलाई शारदीय र चैत शुक्लपक्षको लाई वासन्ती भनिन्छ । चैती दशहारा पनि भनिने यो पर्वमा देवी पूजन गरेर विसर्जन गरिने मैथिल परम्परा छ ।

प्लाइउड उद्योगमा तीन सय बढी स्थानीयलाई रोजगारी, जीविकोपार्जनमा सहजता

राँझा (बाँके), ५ वैशाखः बाँकेको कोहलपुर नगरपालिका–१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजमा तीन सय बढी मजदुरले रोजगारी पाएका छन् । विगत चार वर्षदेखि सञ्चालित उद्योगमा कोहलपुर नगरपालिका–१४ ढोरपुर र ठाडागाउँका अधिकांश स्थानीयवासीले मजदुरका रूपमा काम गर्दै आएका छन् । खटिक समुदायको बसोबास रहेको ढोरपुर र ठाडागाउँवासीलाई यो उद्योगले रोजगारी दिएको छ ।

उद्योगमा कार्यरत स्थानीय युवा राधेश्याम खटिकले प्लाइउड उद्योग स्थानीयवासीका लागि जीविकोपार्जनको प्रमुख आधार भएको बताउनुभयो । “कामको खोजीमा दैनिक भौतारिनुपथ्र्यो, अहिले गाउँमा खुलेको उद्योगले ढोरपुर र ठाडागाउँका सबैजसोलाई रोजगारी दिएको छ,” उहाँले भन्नुभयो । स्थानीय रामछविले खटिकले गाउँमा स्थापना भएको उद्योगले स्थानीयवासीलाई रोजगारीमा प्राथमिकता दिएका कारण आफूहरूले रोजगारी पाएको बताउनुभयो । उद्योग बन्द हुँदा सबैभन्दा बढी मार आफूहरूलाई पर्ने भएकाले भर्खर सञ्चालनमा आएको उद्योगमा कुनै पनि राजनीतिक आस्थाका आधारमा ट्रेड युनियन गठन गर्नभन्दा पनि उद्योगलाई स्थापित गर्न मजदुर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सोही उद्योगमा तीन वर्षदेखि कार्यरत सुर्जा कार्की भण्डारीले गाउँमै स्थापना भएको उद्योगका कारण अहिले रोजगारी पाएपछि स्थानीयवासीको जीविकोपार्जनमा सहजता भएको बताउनुभयो । देशमा काम नपाएर विदेश जानुपर्ने अवस्थामा योयो प्लाइउडले गाउँमै रोजगारी दिएर आफूहरूलाई ठूलो गुन लगाएको उहाँले बताउनुभयो । उद्योगमा ट्रेड युनियन गठनका नाममा काममा अवरोध भएको प्रति उहाँलाई चित्त बुझेको छैन । आफूलाई उद्योग नै बन्द गराउने ट्रेड युनियन नचाहिएको उहाँले बताउनुभयो । “ट्रेड युनियन गठन भएर धेरै सेवा सुविधा मागेपछि केही दिन उद्योग बन्द भयो, उद्योग बन्द हुँदा हाम्रो रोजगारी पनि बन्द हुन्छ”, उहाँले भन्नुभयो ।

उद्योगका प्रबन्ध निर्देशक राजीव श्रेष्ठले उद्योग अझै पूर्ण रूपमा सञ्चालन नभएको बताउनुभयो । अहिले तीन सय बढी मजदुरलाई रोजगारी दिएको उद्योग पूर्ण रूपमा सञ्चालन हुँदा आठ सय बढीले रोजगारी पाउने उहाँले जानकारी दिनुभयो । उद्योगको क्षमताअनुसार पूर्ण रूपमा सञ्चालन हुन नसक्दा दैनिक करिब रु पाँच लाख घाटा व्यहोर्दै आएको उद्योगले मजदुरलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउँदै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामी सरकारले तोकेको मापदण्ड पालना गर्दै मजदुरलाई पारिश्रमिक दिँदै आएका छौँ, घाटामा गएको उद्योगले अहिले तत्काल मजदुरको पारिश्रमिक वृद्धि र बोनस खुवाउन सक्ने अवस्था छैन, तर परिस्थिति सुध्रिनासाथ मजदुरको सेवा सुविधा र सङ्ख्या बढाउँदै लैजाने हाम्रो सोच छ ।” ट्रेड युनियन गठनले कर्मचारी विभाजित उद्योग पूर्ण रूपमा सञ्चालन हुन नपाउँदै मजदुर सङ्गठनका नाममा अवरोध सिर्जना गर्ने काम भएको उद्योगका प्रबन्ध निर्देशक श्रेष्ठको गुनासो छ ।

अहिले सञ्चालन हुँदा दैनिक रु पाँच लाख घाटा व्यहोर्दै आएको उद्योग बन्द हुँदा दैनिक रु १० लाखभन्दा बढी घाटा हुने भएकाले सहज रूपमा उद्योग सञ्चालनको वातावरण बनाउन उहाँले अनुरोध गर्नुभएको छ । स्थानीयवासीको बाहुल्य रहेको उक्त उद्योगमा तीन सय बढी मजदुरले काम गर्दै आएका छन् । हाल उद्योगमा नरहेका गैरमजदुरलाई सङ्गठित गरी जबर्जस्ती ट्रेड युनियन गठन गर्न खोजेपछि त्यहाँ कार्यरत मजदुर त्यसको विपक्षमा उत्रिएका छन् । उद्योगमा अखिल नेपाल औद्योगिक मजदुर सङ्घले शान्ति रानाको नेतृत्वमा मजदुर सङ्घ गठन गरेको छ । उद्योगका प्रबन्धक पूर्णबहादुर विष्टले सङ्घको नेतृत्व गरेकी रानासहितका अधिकांश सदस्य उद्योगमा कार्यरत नै नरहेको बताउनुभयो ।

उहाँले उद्योगमा कार्यरत नै नरहेका फर्जी नाम राखेर ट्रेड युनियन गठन गरेकामा आपत्ति जनाउनुभयो । ट्रेड युनियनकी अध्यक्ष रानाले आफूहरूले मजदुरको हकहितका लागि ट्रेड युनियन खोलेको बताउनुभयो । ट्रेड युनियनको पक्षमा लाग्ने मजदुरलाई उद्योगले कामबाट निकालेको उहाँको आरोप छ । ट्रेड युनियन गठनसँगै मजदुर विभाजित भएका छन् । अधिकांश मजदुर उद्योग नियमित सञ्चालन गरी आफ्नो रोजगारी सुनिश्चित हुनुपर्ने माग गर्दै ट्रेड युनियन खारेजीको पक्षमा लागेका छन् ।

बागमती प्रदेशमा युवा सम्मेलन हुँदै


मनहरी (मकवानपु्र) – बागमती प्रदेश युवा परिषद्ले तीन दिने युवा सम्मेलन गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश युवा परिषद्ले आगामी वैशाख २८, २९ र ३० गते युवा सम्मेलन आयोजना गर्न लागेको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिनुभयो ।

परिषद्का अध्यक्ष एवम् सामाजिक विकासमन्त्री कुमारी मोक्तानको अध्यक्षतामा सोमबार मन्त्रालयमा बसेको ११औँ बैठकले युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउने, नवप्रवर्तन र उद्यमशीलता विकास गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्ने निर्णय गरेको कार्यकारी उपाध्यक्ष चौलागाईले बताउनुभयो ।

परिषद्ले प्रदेश युवा नीति–२०७९ तयार पारेपछि प्रदेशमा युवाका लागि काम गर्न आवश्यक सल्लाह, सुझाव सङ्कलन गर्न र अवधारणा निर्माण गर्न पनि सम्मेलन उपयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

युवा पुस्तामा चरम निराशाबीच आशा जगाउन युवा सम्मेलन आवश्यक रहेको उहाँको भनाइ छ । युवा सम्मेलनमा दुई सयजना युवाको सहभागिता रहने बताइएको छ । सम्मेलनमा विभिन्न कार्यशाला पनि आयोजना हुनेछ । युवा सम्मेलनको अन्तिम दिन मुख्यमन्त्रीसँग युवा कार्यक्रम गरी समापन गरिने उपाध्यक्ष चौलागाईंले जानकारी दिनुभयो ।

युवा सम्मेलन पश्चात ‘युवा सीप वर्ष २०८१’ घोषणा गरिने चौलागाईंको भनाइ छ । यसवर्ष प्रदेशका पाँच हजार युवालाई १० वटा क्षेत्रमा एक सयभन्दा बढी पेसाका सीप सिकाइ सीप परीक्षण पश्चात टेवा पुँजी प्रदान गरिने उहाँले बताउनुभयो । निर्माण, कृषि, सेवा, होटल तथा पर्यटन, होजियारी तथा तयारी पोसाक र सूचना तथा सञ्चारको क्षेत्रमा तालिम दिइनेछ ।

तालिम स्थानीय तह, सामुदायिक विद्यालय, कलेज, सामाजिक संस्थाको समन्वयमा सञ्चालन हुनेछ । तालिम पश्चात सामाजिक विकास मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी) र प्रदेश युवा परिषद्को त्रिपक्षीय सम्झौतामा सीप परीक्षण हुने चौलागाईंले बताउनुभयो ।

मानव–हात्ती द्वन्द्व घटाउन ७६ किलोमिटर सौर्य तारबार


बनियानी (झापा), ५ वैशाखः मानव–हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको छ ।

झापामा पहिलोपटक बाहुनडाँगीमा २०७३ सालमा रु एक करोड २० लाखको लागतमा १८ किलोमिटर विद्युतीय तारबार निर्माण गरिएको थियो । त्यसपछि २०७६ साल चैतमा जलथल वन क्षेत्रमा पहिलो चरणमा ३५ किलोमिटर सौर्य तारबार लगाइको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो ।

हल्दिबारी, कचनकवल, बाह्रदशी र भद्रपुरसँग जोडिएको वन क्षेत्रअन्तर्गत निर्माण गरिएको सौर्य तारबारको लागत रु पाँच करोड ६५ लाख २७ हजार छ । २०७८ चैतमा जलथल वन क्षेत्रमा दोस्रो चरणमा भद्रपुरमा रु एक करोड एक लाख ४४ हजार लागतमा छ दशमलव ३९ किलोमिटर सौर्य तारबार उक्त गरिएको कार्यालयले जनाएको छ ।

मेचीनगर नगरपालिकाको चारआली–मागुरमाडी खण्डअन्तर्गत १६ दशमलव ९८ किलोमिटर सौर्य तारबार लगाइएको छ । गत असारमा रु दुई करोड ५३ लाख ९५ हजारको लागतमा उक्त खण्डमा बार लगाइएको हो । बार लगाउन राज्यकोषबाट रकम खर्च भएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषले त्यसमा प्राविधिक परामर्श प्रदान गरेको थियो । पहिले लगाइएका केही स्थानका बार जीर्ण भएकाले मर्मत गर्नुपर्ने भएको छ । बाहुनडाँगीस्थित १८ किलोमिटर तारबार मर्मत गर्न करिब रु ३० लाख र जलथल क्षेत्रका लागि रु ४४ लाख ४७ हजार आवश्यक पर्ने प्रमुख राईले जानकारी दिनुभयो ।

देशको पूर्वी नाकाबाट प्रत्येक वर्ष दुईपटक मानव बस्तीमा हात्ती प्रवेश गर्दै आएका छन् । वैशाखको दोस्रो हप्तादेखि असारको तेस्रो हप्तासम्म र कात्तिकको दोस्रो हप्तादेखि पुस–माघतिर हात्ती आउने गरेका छन् । विसं २०७५ अघि झापामा १०–१२ वटा हात्ती बस्ने गरेकामा त्यसपछि उक्त सङ्ख्या वृद्धि हुँदै हाल ३५ पुगेको छ । अहिले वर्षैभरि बस्ने गरेका डिभिजन वन कार्यालयले जनाएको छ ।

“यसै वर्ष झापाको विभिन्न स्थानमा चारवटा छावा जन्मेका छन्”, प्रमुख राईले भन्नुभयो । जिल्लामा २०६८ सालदेखि हालसम्म हात्तीको आक्रमणबाट ६७ जनाको मृत्यु भइसकेको छ भने २०६२ सालदेखि हालसम्म २० वटा हात्तीको मृत्यु भएको छ । विसं २०६८ देखि गत वर्षसम्म रु सात करोड १९ लाख ७० हजार छ सय ९७ पीडितलाई राहत रकम वितरण भएको छ ।

हात्तीको आक्रमणमा परी चालु आर्थिक वर्षमा सातजनाको मृत्यु भएको छ । चालु आवमा हात्तीको आक्रमणबाट पाँच सय ३२ घटनाका पीडितलाई रु एक करोड २६ लाख राहतस्वरुप प्रदान गर्न बाँकी छ ।

गोसाइँकुण्डमा केबुलकार बनाउन पहल गर्छु: कानुन मन्त्री गिरी

रसुवा – कानुन तथा संसदीय व्यवस्थामन्त्री पदम गिरीले नीति नियममा परिमार्जन गरेर भए पनि गोसाइँकुण्डमा केबुलकार निर्माण गर्न पहल गर्ने बताउनुभएको छ ।

गोसाइँकुण्ड गाउँपालिका र लाङटाङ राष्ट्रिय निकुञ्जको संयुक्त आयोजनामा तेस्रो गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कप भलिबलखेल, १२ औँ रेडपाण्डा ट्राफिक तथा २९ वन्यजन्तु सप्ताहको धुञ्चेमा उद्घाटन गर्दै मन्त्री गिरीले सो कुरा बताउनुभएको हो ।

मन्त्री गिरीले केबुलकारको कार्यविधि पारित गराउन आवश्यक पर्ने बुँदा समयसापेक्ष परिमार्जन गरी स्थानीयवासीको माग र आवश्यक्ता पुरा गर्न/गराउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

कुनै पनि कार्य गर्दा वा गराउँदा जैविक विविधताको संरक्षणलाई ध्यानमा राखी गरिने उहाँको भनाइ छ । कानुनमन्त्री गिरीले आजै सीमावर्ती रसुवागढी क्षेत्रको भ्रमण गरी सीमाबाट वारिपारि आउजाउका विषयमा समेत जानकारी लिनुभएको थियो ।

पत्रकारमाथि इरानले गरेको दुव्र्यवहारको निन्दा गर्न बीबीसीको आग्रह


इरानले आफ्ना केही फारसी भाषाका पत्रकारलाई राज्यविरुद्ध ‘दुष्प्रचार’ गरेको आरोपमा दोषी ठहर गरेपछि बीबीसीले मङ्गलबार संयुक्त राष्ट्रसङ्घका विज्ञहरूलाई आफ्ना केही फारसी भाषाका पत्रकारहरूलाई ‘निशाना र उत्पीडन’ गरिएकोमा निन्दा गर्न आग्रह गरेको छ ।

बीबीसीका अनुसार फेब्रुअरीमा एउटा ‘ह्याकिङ’ समूहले प्रकाशित गरेको कागजातले बीबीसी न्यूज पर्सियनका केही वर्तमान र पूर्वपत्रकारहरूलाई फेब्रुअरी २०२२ मा इरानी अदालतले ‘इस्लामिक गणतन्त्र इरान’विरुद्ध गरेको आरोपमा दोषी ठहर गरेको देखिन्छ । बीबीसीका तर्फबाट वकिलहरूले पाँच जना विशेष प्रतिवेदकलाई उजुरी दिएका छन् ।

प्रतिवेदकहरू अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकार र सारांश वा स्वेच्छाचारी मृत्युदण्डजस्ता क्षेत्रहरूमा स्वतन्त्र विशेषज्ञहरू हुन् र उनीहरूले संयुक्त राष्ट्रसङ्घका लागि बोल्दैनन् तर उनीहरूको निष्कर्षहरू रिपोर्ट गर्छन् । “हालैका घटनाक्रमहरूले हाम्रा बीबीसी न्यूज फारसी कर्मचारीहरूले दैनिक रूपमा सामना गरिरहेको गम्भीर स्थितिलाई अझ बढाएको पुष्टि गरेका छन् भने उनीहरूलाई पत्रकारिता र व्यावसायिकता अभ्यास गरेकै कारण दण्डित गरिएको छ,” ‘बीबीसी वल्र्ड सर्भिस’ का निर्देशक लिलियन ल्यान्डरले भन्नुभयो ।

उहाँले भन्नुभयो, “हामी संयुक्त राष्ट्रसङ्घका विज्ञहरूलाई इरानी अधिकारीहरूको उत्पीडनको कडा शब्दमा निन्दा गर्न र शासनलाई जवाफदेही बनाउन आग्रह गर्दछौँ ।” बीबीसीका लागि काम गरिरहेका वकिल काओइलफियोन ग्यालाघर र जेनिफर रोबिन्सनले बीबीसीविरुद्ध इरानले राष्ट्रिय सुरक्षा र आतङ्कवाद विरोधी कानूनको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

“इरानबारे ‘स्वतन्त्र रिपोर्टिङ’ गरेको र राज्यविरुद्ध ‘सङ्गठित प्रचारबाजी’ गरेको आरोपमा बीबीसी न्यूजका फारसी पत्रकारहरूलाई दोषी ठह¥याइएको छ”, विज्ञप्तिमा भनिएको छ, “यो इरानबारे बीबीसीको पत्रकारितालाई धम्काउने र चुप लगाउने उद्देश्यले गरिएको हो । “हामी संयुक्त राष्ट्रसङ्घलाई यस्ता गैरकानुनी कार्यको कडा शब्दमा भत्र्सना गर्न आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।

बीबीसीका अनुसार सन् २०२२ को सेप्टेम्बरदेखि इरानमा भएको व्यापक विरोध प्रदर्शनपछि कर्मचारीलाई लक्षित गर्ने र धम्क्याउने कार्य नाटकीय रूपमा बढेको छ । यसअघि सन् २०२० मा संयुक्त राष्ट्रसङ्घका चार जना विज्ञले संयुक्त वक्तव्य जारी गर्दै बीबीसीका पत्रकार र उनीहरूका परिवारमाथि भइरहेको व्यवहारप्रति ‘चिन्ता’ व्यक्त गरेका थिए ।

गत महिना बेलायतस्थित फारसी भाषाको इरान इन्टरनेसनलका प्रस्तोता पोरिया जेरातीको लण्डनस्थित घरबाहिर दुई जना आक्रमणकारीले छुरा प्रहार गर्दा खुट्टामा चोट लागेको थियो । प्रतिआतङ्कवाद गुप्तचरहरूले आक्रमणको अनुसन्धान गरिरहेका छन् र उहाँमाथि आक्रमण गर्ने आक्रमणकारीहरू सीधै हिथ्रो विमानस्थलमा गएको र केही घण्टाभित्रै देश छोडेको बताएका छन् ।सन् २०२४ मा बीबीसी न्यूज पर्सियनका कर्मचारीहरूले गरेको एक सर्वेक्षणमा आधा उत्तरदाताहरूले बीबीसीमा काम गरेकै कारण अनलाइन धम्की वा उत्पीडनमा परेको बताएका बीबीसीले जनाएको छ ।

आजको मौसम : देशभर मौसम सफा रहने

काठमाडौं – हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले केही स्थानमा आंशिक बदली भई बाँकी भागमा सामान्यतया मौसम सफा रहने बताएको छ ।

अहिले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

त्यसैगरी, आज राति देशका अधिकांश स्थानमा आंशिक बदली हुनेछ भने बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।

महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।

पाकिस्तानका पूर्व कप्तान मुश्ताक बङ्गलादेशको ‘नयाँ स्पिन बलिङ प्रशिक्षक’ नियुक्त


पाकिस्तानका पूर्व लिग स्पिनर तथा विश्वकप विजेता मुश्ताक अहमदलाई बङ्गलादेशले पुरुष राष्ट्रिय क्रिकेट टोलीको ‘स्पिन बलिङ प्रशिक्षक’ मा नियुक्त गरेको छ ।सम्झौता अनुसार मुश्ताक जिम्बाब्वेविरुद्धको पाँच खेलको ट्वन्टी–२० (टि–२०) अन्तर्राष्ट्रिय शृङ्खलाको तयारीअघि टोलीमा सामेल हुनसहुनेछ भने वेस्ट इन्डिज र संयुक्त राज्य अमेरिकामा हुने टी–२० विश्वकपको अन्त्यसम्म बङ्गलादेशी टोलीसँग काम गर्नुहुनेछ ।

श्रीलङ्काका रङ्गना हेराथ गत नोभेम्बरमा जिम्मेवारीबाट पछि हटेपछि बङ्गलादेश ‘स्पिन बलिङ प्रशिक्षक’को खोजीमा थियो । श्रीलङ्काविरुद्धको शृङ्खलामा स्थानीय प्रशिक्षक सोहेल इस्लामले जिम्मेवारी सम्हाल्नुभएको थियो ।

मुश्ताक सन् २००८ देखि २०१४ सम्म इङ्ग्ल्यान्ड, सन् २०१८ देखि १९ सम्म वेस्ट इन्डिज र सन् २०२० देखि २०२२ सम्म पाकिस्तानका ‘स्पिन बलिङ’ प्रशिक्षक हुनुहुन्थ्यो ।उहाँ सन् २०१४ देखि २०१६ सम्म पाकिस्तानी टोलीको सल्लाहकार पनि हुनुहुन्थ्यो ।

सम्झौतापछि ५३ वर्षीय मुश्ताकले भन्नुभयो, “स्पिन बलिङ प्रशिक्षकका रुपमा बङ्गलादेश क्रिकेट टोलीको हिस्सा बन्न पाउनु मेरो लागि ठूलो सम्मानको कुरा हो ।”“म भूमिकाको लागि उत्सुक छु र मेरो अनुभव खेलाडीहरूसँग साट्न चाहन्छु । उनीहरू धेरै प्रशिक्षित छन् र सबैभन्दा खतरनाक टोलीहरूमध्ये एक हुन् भन्ने म सँधै विश्वास गर्दछु ।”

उहाँले भन्नुभयो, “उनीहरू जोसुकैलाई पनि हराउन सक्छन् किनभने उनीहरूसँग क्षमता, स्रोत र प्रतिभा छ । म उनीहरूमा त्यो विश्वास जगाउने प्रयास गर्नेछु ।” बङ्गलादेशले जिम्बाब्वेसँग मे ३ देखि १२ सम्म पाँच वटा टी–२० शृङ्खला खेल्नेछ भने तीन वटा शृङ्खला र टी–२० विश्वकपका लागि अमेरिका जानेछ ।

देशैभर पुग्यो पाठ्यपुस्तक : जनक शिक्षा सामग्री केन्द्र


भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पु-याएको छ । २०८१ को शैक्षिक सत्रको सुरुवातमै देशभर पाठ्यपुस्तक पु-याएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिनुभयो । चैत १६ गतेदेखि केन्द्रले आफ्ना सात वटै प्रादेशिक कार्यालय, देशभरका वितरण केन्द्र एवं डिपो र एक हजार दुई सय ६७ वटा स्थानीय बिक्रेतामार्फत पुस्तक पु-याएको उहाँले बताउनुभयो ।

प्रबन्ध निर्देशक झाले भन्नुभयो, “हामीले जिम्मेवारी पाएको कक्षा ५ देखि १० सम्मका सम्पूर्ण सेटमै सतप्रतिशत पाठ्यपुस्तक छपाइ सकेर देशभर पुस्तक वितरण गरेका छौँ । नयाँ शैक्षिक सत्र सुरु हुदाँसम्म पूरै सेट सबै कक्षाका विद्यार्थीको हातहातमा पुग्ने गरी वितरण भएको छ ।”

केन्द्रले यस वर्षका लागि एक करोड २० लाख थान पुस्तक बिक्री गरेको उहाँले जानकारी दिनुभयो । गत वर्ष एक करोड ३१ लाख थान पुस्तक बिक्री गरेको थियो । यस वर्ष पुस्तकको माग कम भएकाले गत वर्षभन्दा ११ लाख थान पुस्तक कम बिक्री गरेको केन्द्रको तथ्याङ्क छ । उहाँले गत वर्षको स्टक र यस वर्षको छपाइ गरेर कूल एक करोड ७५ लाख थान पुस्तक केन्द्रसँग रहेकोमा अहिले ३० प्रतिशत पुस्तक स्टक रहेको जानकारी दिनुभयो ।

गत वर्ष नयाँ पाठ्यक्रमको पुस्तक छपाइ गरेकाले बढी बिक्री भएको र यस वर्ष पुरानै पाठ्यक्रमका पुस्तक रहेकाले कतिपय विद्यार्थीले गत वर्षकै पुस्तक चलाएकाले कम बिक्री भएको हुनसक्ने उहाँले बताउनुभयो ।

“यस वर्ष पुस्तक कम बिक्री भएपनि सबै विद्यालयमा पुस्तक पुगिसकेको जानकारी पाएका छौँ”, उहाँले भन्नुभयो, “कुनै विद्यालयमा पुस्तक पुगेन भने खबर पाउनासाथ तुरुन्तै पुस्तक पु-याउँछौँ, हाम्रो टेलिफोन नम्बर पनि पठाएका छौँ, अहिलेसम्म पुस्तक छौँ भनेर कतैबाट गुनासो आएको छैन ।”

केन्द्रले यसै शैक्षिक सत्रका लागि ५ देखि १२ कक्षासम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको थियो । गत शैक्षिक सत्रमा कक्षा ६ देखि १२ सम्मको पुस्तक समयमै पु-याउन सफल भएकाले सरकारले केन्द्रलाई कक्षा ५ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिएको थियो ।

केन्द्रका प्रबन्ध निर्देशक झाले आगामी वर्षदेखि सरकारले कक्षा १ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिए केन्द्रले समयमै वितरण गर्न सक्ने बताउनुभयो । सरकारले गत वर्ष निजी क्षेत्रका छापाखानालाई कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा दिए पनि यसवर्ष कक्षा १ देखि ४ सम्मको मात्रै दिएको थियो ।

वनलाई हात्तीमैत्री बनाउनुपर्छ – अध्यक्ष लिङ्देन

बनियानी (झापा) – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई हात्तीमैत्री बनाउनुपर्ने बताउनुभएको छ । डिभिजन वन कार्यालय झापाद्वारा यहाँ आयोजित ‘अफसेट सोलार फेन्स हस्तान्तरण समारोह’मा उहाँले वन क्षेत्रमा हात्तीलाई चाहिने आहारा, पानीलगायतको व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो ।

“हात्तीलाई छेक्नेभन्दा पनि आहारा व्यवस्थापन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “वनमा हात्तीले खाने कुरा छैन भने जति नै रोके पनि गाउँ बस्ती पस्छ ।” वन क्षेत्रमा बोटबिरुवा लगाउँदा हात्तीले खाने लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा कोशी वन निर्देशनालय धरानका वन निर्देशक इन्द्रमणि भण्डारीले मानव–हात्ती द्वन्द्वबाट मान्छे मात्र नभएर हात्ती पनि पीडित भएको बताउनुभयो । सामुदायिक वनको नाममा वन क्षेत्रमा मानिसको प्रवेश बाक्लो हुन थालेपछि मानव–हात्ती द्वन्द्व बढ्दै गएको उहाँले बताउनुभयो ।

“हात्तीले खाने र मन पराउने रुख र लहरा मान्छेले वनबाट ल्याउन थालेपछि हात्तीलाई आहार अभाव हुन थाल्यो”, उहाँले भन्नुभयो, “यसले गर्दा आहाराको खोजीमा हात्तीको प्रवेश बढ्दै गएको छ ।”

हात्ती नियन्त्रणका लागि जिल्लामा निर्माण भएका ७६ किलोमिटर सोलार फेन्स यहाँका २७ वटा समूहलाई हस्तान्तरण गरिएको छ । जिल्ला समन्वय समिति झापाका अध्यक्ष विश्वनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले झापा जिल्लामा मानव–हात्ती द्वन्द्व र सौर्य तारबारको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देन, वन अधिकृत देवेन्द्र उप्रेती, एटीएनसीका सदस्य सचिव चन्द्र अधिकारी, सामुदायिक वन प्रतिनिधि जानुका ओलीलगायतले मानव–हात्ती द्वन्द्व घटाउनुपर्ने र सौर्य तारबारलाई बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।

आज राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ, ५ वैशाख : आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ ।

देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम श्रीरामको श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरी राम नवमी पर्व मनाउँदै छन् ।

काठमाडौँ उपत्यकाको बत्तीसपुतलीस्थित राम मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । जनकपुरधाममा रहेको रामजानकी मन्दिरमा पनि पूजाअर्चना गर्न भक्तजनको घुइँचो लागेको त्यहाँबाट हाम्रा समाचारदाताले जनाएका छन् । आज जानकी मन्दिर परिसरमा मेला पनि लाग्दछ । उक्त मेलामा भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन सहभागी भई पवित्र गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गर्दछन् । आज स्नान गरी पवित्र भएर व्रत बस्ने गरिन्छ भने रामगीता र रामायण पाठ पनि गरिन्छ । रामभक्तियुक्त भजनकीर्तनका साथ राति जाग्राम बस्ने परम्परा पनि छ ।

धार्मिक शास्त्रअनुसार भगवान् श्ररिामले परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने सबै मर्यादाको कायम गरेका कारण उहाँलाई मर्यादा पुरुषोत्तम भनिएको हो । राम राज्यका नामले परिचित भगवान् रामको राज्य न्यायका लागि नमूना मानिन्छ ।

हेर्नुहोस् बैशाख ५ गते बुधवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – भुमि एवं वाहन सुख मिल्नेछ । शत्रुहरु परास्त हुनेछन । पारिवारिक स्वास्थमा समस्या उत्पन्न हुनसक्नेछ । नोकरीमा उन्नति मिल्नेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । सभा सम्मेलनमा सरीक हुने अवसर जुट्नेछ । सामाजिक कार्यमा आफु अग्रसर भएको खण्डमा भने अरुको बिश्वास जितिने छ ।

बृष राशि – मित्रजनहरुको साथ सहयोगमा सामान्य यात्राको सम्भाबना रहेकोछ । प्रतिपक्षीहरु कमजोर रहनाले कार्य सहज बन्नेछ । तपाईको कार्य सम्पादनको श्रेय अन्य ब्यत्तिहरुलाई सहजै प्राप्त हुनेछ । यात्रा झन्झट पुर्ण रहन सक्छ । काम गर्दा बिशेष साबधानि अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्नेछ ।

मीथुन राशि – स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । सामान्य चोट पटक आईपर्नेछ । खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्नेछ । समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्नेछ । आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ ।

कर्कट राशि – स्वास्थ सम्बन्धि सामान्य समस्याले सताउनेछ । आय आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ ।

सिंह राशि – अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । मानसिक चिन्ताले सताउनेछ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ । सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाई सगँ प्रतिस्पर्दा गर्ने ब्यक्तिहरुको बृद्यि हुनेछ ।

कन्या राशि – दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । आक्स्मिक धनलाभको सम्भाबना रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । सन्तान सम्बन्धि समस्याले सताउला । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ ।

तुला राशि – बिद्यार्थी बर्गको बौधिक बिकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ तथा मानसम्मान प्राप्त हुने समय रहेको छ ।सामाजिक कार्यमा आफुअग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनसक्नेछ ।

बृश्चिक राशि – ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।

धनु राशि – मानसीक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । ब्यक्तित्व बिकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ ।

मकर राशि – साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ । आटशाहसको बृद्यिहुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला ।

कुम्भ राशि – अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । मनमा चन्चलताले बास गर्नेछ । कार्यक्षेत्रमा प्रतिस्पधिहरुको बृद्यिहुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला । निर्णय गर्न नसक्नाले आफ्नो कमजोरी महसुस हुनेछ । सौदर्यका क्षेत्रमा खर्चहुने योग रहेको छ । सामाय आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ ।

मिन राशि – आम्दानिका बिभिन्न स्रोत हरु फेला पर्ने छन । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ ।

‘युक्रेनमा युद्ध सुरू भएपछि ३७ हजारभन्दा बढी व्यक्ति वेपत्ता’

युक्रेनले सन् २०२२ को फेब्रुअरीमा रूसको आक्रमण सुरु भएयता सैनिकसहित करिब ३७ हजार व्यक्ति ‘वेपत्ता’ रहेको मङ्गलबार जनाएको छ । रूसी सेना अझै पनि युक्रेनको पाँच भागको एक भागमा उपस्थित रहेकोले हराइरहेकाहरूको सही सङ्ख्या गणना गर्न कठिन छ । कुनै पनि पक्षले नियमित रूपमा सैन्य हताहतको तथ्याङ्क औपचारिक रूपमा सार्वजनिक गर्दैन । “बालबालिका, सर्वसाधारण र सेनागरी करिब ३७ हजार मानिस बेपत्ता भएका छन् ।

यो सङ्ख्या अझै धेरै हुन सक्छ,” युक्रेनका मानव अधिकार आयुक्त दिमित्रो लुबिनेट्सले भन्नुभयो । युक्रेन र रेडक्रसले सन् २०१४ मा मस्को समर्थित पृथकतावादीसँग युद्ध सुरु भएयता रूसले गैरकानुनी रूपमा हिरासतमा लिएका करिब एक हजार ७०० व्यक्तिको पहिचान गरेको उहाँले बताउनुभयो ।

मानव अधिकारवादी समूहहरूले रूसले कब्जा गरेको क्षेत्रमा बालबालिकालाई जबर्जस्ती बेपत्ता पारेको र अपहरण गरेको आरोप लगाएका छन् । युक्रेनी भूभागको ठूलो हिस्सा युद्धको सुरुवातदेखि नै रूसी कब्जामा रहेको छ । युद्धले धेरै शहर तथा वरपरका इलाकामा तहसनहस पारेको छ र हजारौंको ज्यान लिइसकेको छ ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले मार्चमा सार्वजनिक गरेको प्रतिवेदनमा रूसको आक्रमणपछि कम्तीमा १० हजार ८१० जनाको मृत्यु भएको उल्लेख छ । स्वतन्त्र पर्यवेक्षकहरूलाई कब्जा गरिएको क्षेत्रहरूमा प्रवेश गर्नबाट रोक लगाइएकाले हताहतको वास्तविक सङ्ख्या ‘धेरै’ हुनसक्ने र यसलाई पुष्टि गर्न गाह्रो छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत फेब्रुअरीमा युद्धको पहिलो दुई वर्षमा ३१ हजार युक्रेनी सैनिक मारिएको बताउनुभएको थियो ।

टोखाको पाँचदिने विस्का नखः (जात्रा) सम्पन्न


काठमाडौँ, ४ वैशाख : धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको टोखामा चैत मसान्तदेखि सुरु भएको विस्का नखः (जात्रा) आज सम्पन्न भएको छ ।

नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्षझै यस वर्ष पनि चैत मसान्तदेखि वैशाख ४ गतेसम्म पाँच दिन चल्ने विस्का नखः (जात्रा) आज सम्पन्न भएको हो ।
वैशाख १ गते सपनतीर्थ मेलासँगै सिन्दूर जात्रा गरी औपचारिक विस्का जात्रा सुरु हुने गरेको नेवा गुथिः टोखाका अध्यक्ष रमेश नापितले बताउनुभयो ।

वैशाख २ गते बिहान टोखा नगरपालिकाको वडा नं २ गणेशस्थान थलागटोलमा सिन्दूर जात्रा गरेर नगर परिक्रमा गरिने रथलाई सोही दिन माथिल्लो लाछिमा लगेर बिसाइन्छ । वैशाख ३ गते बिहान ६ बजे माथिल्लो लाछिमा सिन्दूर जात्रा गरेर उठाइएको रथ दिउँसो १ बजे वडा नं ३ स्थित हासलटोलमा लगेर बिसाउने चलन छ ।

बिहान ६ बजेदेखि सुरु भएको रथयात्रालाई गुठी, गुठीयारको घरमा लगेर बाली उठाउने गरिन्छ । दिउँसो १ बजेदेखि ३ बजेसम्म हासलटोलमा राखेर रथको पूजा गर्ने चलन छ ।

सोही दिन साँझ ३ बजे उक्त रथलाई हासलटोलबाट उठाएर सरस्वती चौरको पोखरीमा स्नान गराई इन्द्रायणी मसानकाली परिक्रमा गराई वडा नं ३ को सानो लाक्षिमा लगेर बिसाइन्छ ।

सोही दिन रातभर गुठीयार र विभिन्न खलःहरू बसेर रातभर भजनकीर्तन गर्ने तथा जाग्राम बस्ने चलन रहेको मूल नाइके हेमराज श्रेष्ठले बताउनुभयो । वैशाख ४ गतेअर्थात् जात्राको अन्तिम दिन आज बिहान ६ बजे सानोलाक्षीबाट सिन्दूर जात्रा गरी दिउँसो १ बजे वडा नं २ मा रहेको गछेटोलमा लगेर रथ बिसाइन्छ । उक्त स्थानमा बिसाएको रथलाई विधिवत्रुपमा सरकारी पूजासहित सिन्दूर जात्रा गरेर विभिन्न खलःको उपस्थितिमा नगरपरिक्रमा गराई आआफ्नो देवालयमा भित्र्याउने चलन छ ।

टोखा नगरपालिकाको ऐतिहासिक विस्का जात्राका अवसरमा आज टोखा नगरपालिकाले सार्वजनिक बिदा दिएको थियो । हिजो सोमबार वडा नं २ र ३ लाई बिदा दिइएको थियो ।

सहकारी ठगीमा मेरो संलग्नता छैन : गृहमन्त्री लामिछाने

काठमाडौँ ४ वैशाख ः उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको बताउनुभएको छ । रुपन्देहीको सुप्रिमो सहकारी ठगी प्रकरणमा सार्वजनिक समाचारका विषयमा गृहमन्त्री लामिछानेले आज सामाजिक सञ्जालमार्फत उक्त प्रकरणमा आफ्नो सहभागिता अस्वीकार गर्नुभएको हो ।

उहाँले आफ्नो नाममा नक्कली खाता खोलेर ऋण प्रावह भएको जनाउँदै आफूले ऋण नलिएको र व्यक्तिगत खातामा सहकारीको पैसा नआएको दाबी पनि गर्नुभएको छ । उहाँले अनुसन्धानले देखाएअनुसार उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फारम, तिनपुस्ते विवरणलगायतका कुनै विवरण नभएको तथा ल्याप्चे, हस्ताक्षरसमेत नभएको पनि बताउनुभएको छ ।

उहाँले के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनुपर्ने हो ? भन्दै प्रश्न पनि गर्नुभएको छ । उहाँले गोरखा मिडिया नेटवर्क प्रालिमा तत्कालीन समयमा शेयरधनी रहेकोबाहेक अरु केही नभएको जानकारी गराउँदै अभियोगपत्रमा पनि सोही कुरा उल्लेख भएको दाबी गर्नुभएको छ । उहाँले सहकारी ठगी कार्यमा कहीँकतैबाट नजोडिएको र नदेखिएको तथ्य पुष्टि हुँदाहुँदै प्रहरीको अनुसन्धान र अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने कार्यमा नलाग्न पनि अनुरोध गर्नुभएको छ ।

प्रदेश प्रमुखको आह्वानमा असहमति छ : प्रदेशसभा सदस्य चौधरी

सुदूरपश्चिम, ४ वैशाख : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुुक्तिका लागि दाबी पेश गर्नुभएका नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेश प्रमुखले आज गर्नुभएको आह्वानमा असहमति जनाउनुभएको छ ।

प्रदेश प्रमुखले यसअघि मुख्यमन्त्री नियुक्तिका लागि पेस गरिएको दुई प्रदेशसभा सदस्यको दाबीका आधारमा निष्कर्षमा पुग्न नसकिएको जनाउँदै आज पुनः दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । मुख्यमन्त्रीका दाबेदार चौधरीले प्रदेश प्रमुखको उक्त आह्वानमा असहमति जनाउनुभएको हो ।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीबाट दुई जनाको दाबी पेस भएको आधारमा निष्कर्षमा पुग्न नसकिएकाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको बहुमत सदस्यको समर्थन जुटाउन सक्नेलाई यही वैशाख ६ गते साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आज आह्वान गरिएको छ ।

यसअघि प्रदेश प्रमुखले गएको चैत २३ गते मुख्यमन्त्रीमा दाबी पेस गर्न विसं २०८१ वैशाख २ गते साँझ ५ बजेसम्मको समयसिमा तोक्नुभएको थियो । आज भएको आह्वानलगत्तै नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले साँझ संयुक्त पत्रकार सम्मेलन गरी प्रदेश प्रमुखले संविधानविपरीत कदम चालेको आरोप लगाएका छन् ।

प्रदेश सरकारका कामचलाउ मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुखले राजनीतिक पूर्वाग्रह राखेर काम गर्नुभएको आरोप लगाउनुभयो । प्रदेश प्रमुखको आह्वानअघि आजै नेकपा (एकीकृत समाजवादी) पार्टीले नागरिक उन्मुक्ति पार्टीका प्रदेश सांसद लक्ष्मणकिशोर चौधरीलाई प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि दिएको समर्थन फिर्ता लिएको थियो ।

लक्ष्मणकिशोर चौधरीले तीन दिनअघि मात्रै नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र राप्रपाका प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । सोही दिन नाउपाकै कैलाश चौधरीले केन्द्रीय गठबन्धनअनुसार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) र एक स्वतन्त्र सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।

लक्ष्मणकिशोर नाउपाका संस्थापक संरक्षक रेशमलाल चौधरी पक्षधर र कैलाश चौधरी पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता पक्षधर रहनुभएको बताइएको छ । संस्थापक संरक्षक रेशमका पक्षमा पाँच र अध्यक्ष रञ्जिताका पक्षमा दुई प्रदेशसभा सदस्य रहेको सो पार्टीका कार्यकर्ताले बताउँदै आएका छन् ।

अमेरिका र चीनका रक्षामन्त्रीबीच १८ महिनापछि पहिलो वार्ता : पेन्टागन


अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले आफ्ना चिनियाँ समकक्षी डोङ जुनसँग मङ्गलबार टेलिकन्फरेन्सको सहयोगमा आपसी चासोका बिषयमा छलफल गरेको पेन्टागनले जनाएको छ ।

संयुक्त राज्य अमेरिकाले चीनको बढ्दो प्रभावको सामना गर्न एशिया–प्रशान्त क्षेत्रमा आफ्ना सहयोगीहरूसँग सुरक्षा सहयोगलाई मजबुत बनाउन काम गरिरहेको छ तर तनावलाई नियन्त्रण बाहिर जानबाट रोक्न बेइजिङसँग सञ्चारको मार्ग पनि कायम राख्न चाहन्छ ।

“दुई अधिकारीबीच अमेरिका–चीन रक्षा सम्बन्ध र क्षेत्रीय तथा विश्वव्यापी सुरक्षामुद्दाबारे छलफल भएको छ,” पेन्टागनले जनवादी गणतन्त्र चीनलाई उद्धृत गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

“विदेशमन्त्री अस्टिनले हालैका महिनाहरूमा दुई पक्षबीच भएको वार्तापछि संयुक्त राज्य अमेरिका र चीनबीच दुवै देशका सेनाबीचको सञ्चारको मार्गहरू खोल्ने प्रयास जारी राख्नुपर्ने महत्त्वमा जोड दिनुभयो,” विज्ञप्तिमा भनिएको छ ।

अस्टिनले अन्तर्राष्ट्रिय कानूनले अनुमति दिए पनि संयुक्त राज्य अमेरिकाले सुरक्षित र जिम्मेवारीपूर्वक उडान, जलयात्रा र सञ्चालन जारी राख्ने कुरा दोहो¥याउनुभयो र ‘ विशेष गरी दक्षिण चीन सागरमा अन्तर्राष्ट्रिय कानूनअन्तर्गत ग्यारेन्टी गरिएको समुद्रको आवागमन स्वतन्त्रताको उच्च सम्मानको महत्त्वलाई जोड दिनुभयो ।

सन् २०२२ को नोभेम्बरमा कम्बोडियामा वेइ फेङ्हेसँग भेट हुँदा अस्टिनले चिनियाँ समकक्षीसँग अन्तिम पटक महत्त्वपूर्ण कुराकानी गर्नुभएको थियो ।

वेईको स्थानमा पछि ली शाङफुले चिनियाँ रक्षामन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो तर उहाँले गत जुनमा सिङ्गापुरमा भएको रक्षामन्त्री स्तरीय सम्मेलनमा अस्टिनसँग भेटी संक्षिप्त कुराकानी गर्नुभए पनि उहाँसँग औपचारिक बैठक भने गर्नुभएको थिएन ।

वासिङटन र बेइजिङबीच विशेषगरी ताइवानलाई लिएर विवादका धेरै बुँदाहरू छन् । चीनले ताइवानलाई आफ्नो भूभाग मान्दछ ।

सन् २०२२ मा तत्कालीन अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणप्रति असन्तुष्टि व्यक्त गर्न बेइजिङले दुई देशबीचको केही रक्षा वार्ता रोकेको थियो तर अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका चिनियाँ समकक्षी सी चिनफिङले नोभेम्बरमा भएको शिखर सम्मेलनमा पुनः छलफल गर्न सहमति जनाएका थिए ।

संयुक्त राज्य अमेरिकाले हालैका वर्षहरूमा चिनियाँ युद्धक विमान र जहाजहरू अमेरिकी विमान र जहाजको वरिपरि असुरक्षित तरिकाले सञ्चालन भएको घटनाहरूलाई बारम्बार उल्लेख गर्दै यसप्रति असन्तुष्टि जनाउँदै आएको छ ।