`

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौँ, ४ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीयस्तरबाट नै खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिन जरुरी रहेको बताउनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज यहाँ आयोजित १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकुद विकासका लागि आवश्यक स्रोत, साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले विशेष जोड दिनुपर्छ भन्नुभयो ।

“ गाउँगाउँमा विकासका विभिन्न पूर्वाधार निर्माण गरेजस्तै खेलकुदको पनि विकास गर्नुपर्छ । शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा हुन् । कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउँछ भने खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील तथा अनुशासित बनाउँछ”, राष्ट्रपति पौडेलले भन्नुभयो, “विशेषत खेलाडी गाउँ, जिल्ला र प्रदेशमै टिक्न र भविष्य बनाउन सक्छन् भन्ने सुनिश्चितता दिन स्थानीय तह र प्रदेश सरकारको विशेष ध्यान पुग्न जरुरी छ, खेलाडीको भविष्य सुनिश्चित गर्न निजी क्षेत्रले पनि उत्तिकै हातेमालो गर्नुपर्छ भन्ने लाग्छ ।”

विद्यार्थीको खेलकुदमा संलग्नता समृद्धि, सफलता र समाज निर्माणको आधार भएको जनाउँदै उहाँले विद्यार्थी खेलकुदमा निरन्तर अग्रसर हुँदा उनीहरूमा नयाँ विचार र नवप्रवर्तन क्षमता पनि विकास हुन्छ भन्नुभयो ।

राष्ट्रपति पौडेलले खेलको विकास, खेलाडीलाई हौसला, प्रोत्साहन र पुरस्कार तथा आवश्यक प्रशिक्षणसहितको रोजगारीको व्यवस्था गरी खेलको विकासमा सरकार र सरोकारवालाले पर्याप्त ध्यान दिनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

उहाँले विद्यालय तहमा केन्द्रित रहेर खेल प्रतिभाको खोजी गरी भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी भई राष्ट्रको छवि उच्च बनाउन योगदान पु¥याउन सक्ने खेलाडी तयार गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना हुनु प्रशंसनीय कार्य हो भन्नुभयो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले यस प्रतियोगितामा उत्साहजनक सहभागिता रहेको जनाउँदै आफूले मन्त्रालय सम्हालेदेखि दशरथ रङ्गशालाको मैदानलगायतको क्षेत्रमा सुधार भएको दाबी गर्नुभयो ।

राष्ट्रपति पौडेलले पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्धनले ओलम्पिक टर्च प्रदान गरेसँगै पलेशाले दीप प्रज्ज्वलन गर्नुभयो । दीप प्रज्ज्वलन गर्नुअघि ओलम्पिक टर्चलाई ट्रयाकमा परिक्रमा गराएको थियो । टर्च परिक्रमा ओलम्पियन देबु थापा, कमलबहादुर अधिकारी र हरि रिमाल पनि सहभागी हनुहुन्थ्यो ।

चीनको ताइयाङमा भएको एसियाली छनोट प्रतियोगिताअन्तर्गत के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले स्वर्ण पदक जित्दै पेरिस पारा ओलम्पिकमा स्थान सुरक्षित गरिसक्नुभएको छ ।

पलेशा एसियाली पारा खेलकुदमा पदक जित्ने पहिलो र एक्लो नेपाली खेलाडी हुनुहुन्छ । पलेशाले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा ऐतिहासिक कास्य पदक जित्नुभएको थियो ।

तीनदिने उक्त प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी छ खेलका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सातै प्रदेशबाट छ सय ८६ खेलाडीको सहभागिता रहेको छ । एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला, भलिबल राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा अवस्थित कराते हल, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुनेछ ।

प्रतियोगितामा ५६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । एथलेटिक्सको छात्र÷छात्रामा समान १३–१३ गरी २६ स्वर्णपदक, कराते, तेक्वान्दो र उसुको छात्र÷छात्रामा समान ६–६ गरी ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्रछात्रमा समान १÷१ गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै उद्घाटन कार्यक्रममा मार्च पास, अक्सिडेन्टल पब्लिक स्कुलका विद्यार्थीको नृत्य, उसु खेलाडीको प्रस्तुति, डान्स स्पोर्ट्स सङ्घको प्रस्तुति, नाइटिङगेल स्कुलका विद्यार्थीको सातै प्रदेशको संस्कृति झल्कने नृत्य प्रस्तुति रहेको थियो ।

मधेस प्रदेशका मुख्यमन्त्री यादवको विश्वासको मतसम्बन्धी प्रस्ताव पेस


जनकपुरधाम, ४ वैशाख : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीको विरोधकाबीच विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको छ ।

आज दिउँसो सुरु भएको प्रदेशसभा बैठकमा जनमत पार्टीको विरोधका बीच सभामुख रामचन्द्र मण्डलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने समय दिनुभएपछि मुख्यमन्त्री यादवले सो प्रस्ताव पेस गर्नुभएको हो ।

गत माघ आठ गते सप्तरीको राजविराजस्थित मधेस कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा भएको झडपका विषयमा संसदीय छानबिन समितिको माग गर्दै जनमत पार्टीका प्रदेशसभासदस्यले प्रदेशसभाभित्रै वेल घेराउ गरी विरोध जनाएको छ ।

सभामुख मण्डलले सहमतिका लागि दुई पटक बैठक स्थगित गरे पनि जनमत पार्टीले सो घटनाबारे सत्यतथ्य छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने र मुख्यमन्त्री यादवले राजीनामा दिनुपर्ने माग राख्दै आएको छ । जनमत पार्टीका प्रदेशसभा सदस्यले नाराबाजी गर्दै विरोध गरिरहेको बेला नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले व्यक्तिगत घटनालाई लिएर प्रदेशसभा अवरोध गर्न नमिल्ने भनी प्रतिवाद गरेपछि माहोल थप तनावग्रस्त बनेको थियो ।

बैठकको सुरुमै जनमत पार्टीका प्रदेशसभा सदस्य चन्दनकुमार सिंहले आफनो पार्टीका संसदीय दलका नेता एवं तत्कालीन शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादवलगायतका नेताहरूमाथि भएको आक्रमणको विषयमा पटकपटक ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएकोले बैठक नचल्ने बताउनुभएको थियो ।

केन्द्रमा सत्तासमीकरण फेरिएसँगै तत्कालीन सत्तासाझेदार दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नुभएको हो । उहाँले मुख्यमन्त्री नियुक्त भएयता यो चौथो पटक विश्वासको मत लिन लाग्नु भएको हो ।

यसैबीच मधेस प्रदेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट मन्त्री बन्नुभएका वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले आजै राजीनामा दिनुभएको छ । लोसपाले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने भएपछि सरकारबाट फिर्ता बोलाइएको हो ।

पोखरामा वृक्षरोपण क्षेत्रको पहिचान, दुई लाखभन्दा बढी बिरुवा रोपिने


कास्की, ४ वैशाखः पोखरा महानगरपालिकालाई ‘स्वच्छ सहरः हरित सहर’ का रूपमा विकास गर्न सम्भावित वृक्षरोपण क्षेत्र पहिचान तथा रणनीति तय गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उपप्राध्यापक डा शेषकान्त भण्डारीको संयोजकत्वमा गठन गरिएको कार्यदलले सो कार्य अन्तिम चरणमा पुगेको जनाएको हो ।

पोखरा महानगरको सहरी वन कार्यक्रमलाई सुदृढ गर्न र स्वच्छ सहर हरित सहरको लक्ष्य हासिल गर्न सम्भावित वृक्षरोपणस्थल पहिचान गर्ने, सहरी वन कार्यक्रम प्रवद्र्धन गर्न उपयुक्त वनस्पति प्रजाति पहिचान गर्ने र महानगर क्षेत्रमा वृक्षरोपण सम्भाव्यताको योजना तयार गर्ने उद्देश्यले उपप्राध्यापक डा भण्डारीसहित उप प्राध्यापक सुमन भट्टराई र उपप्राध्यापक विकास अधिकारी रहनुभएको अध्ययन टोली गठन गरेको थियो ।

कार्यदलले रैथाने, स्थानीय बासिन्दाको रोजाइ, सौन्दर्य बढाउने, सदाबहार, धार्मिक महत्व बोकेका, पोखरा महानगरभित्र राम्रोसँग हुर्किरहेका र हावाहुरीबाट सजिलै नभाँचिनेलगायतका वर्गमा विभाजन गरी प्रजाति छनोट गरेको छ । अध्ययन अनुसार महानगर क्षेत्रको सात सय किमी सडक तथा राजमार्ग, झन्डै ६७ किमी नदी तथा खोला किनार, २९ सार्वजनिक स्थलको एक २५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका बिरुवा लगाउन सकिनेछ ।

महानगर क्षेत्रमा पहिचान गरिएको सम्भावित क्षेत्रमा लगाउन सकिने बिरुवामा बर, पिपल, शमी, पैयूँ, कोइरालो, टाँकी, लालीगुराँस, असारे, आँप, अमला, अशोका, कल्की फुल, राइखन्यु, गुलमोहर, बैँस, लालुपाते, कागज पाते, पालम, धूपी, बाँस, खयर, सिसौँ, पाखुरी, राजवृक्ष, रातो पाते, सिना एक्साटाविलिस, टिकोमा, कपुर, लिची, किम्बू, बेल, अम्बा, निमारो, कदम, रुद्राक्ष, बेडुला, नारेश्वर, जङ्गली केरालगायत छन् ।

महानगर क्षेत्रको सम्भावित क्षेत्रमा दुई लाख १८ हजार बढी बिरुवा रोप्न सकिने बताइएको छ । जस अन्तर्गत सार्वजनिक खुला क्षेत्रमा ७३ हजार तीन सय ९९ र सडक, नदी तथा खोला किनारमा एक लाख ४४ हजार छ सय चार वटा बिरुवा रोप्न सकिने सम्भावना रहेको कार्यदलका संयोजक डा भण्डारीले बताउनुभयो ।

सहरी वन व्यवस्थापनमा पूर्वाधारको अभाव, मानवीय अतिक्रमण, जनचेतनाको कमी, कानुनी जटिलता, जनशक्ति अभाव, प्राविधिक उपकरणको अभाव, अन्तर निकाय समन्वयको अभाव र मौजुदा व्यवस्था कार्यान्वयनको कमजोर अवस्थालगायत चुनौती रहेको कार्यदलले औँल्याएको छ ।

कार्यदलले अध्ययनका क्रममा वृक्षरोपण व्यवस्थापन तथा संरक्षण रणनीति अन्तर्गत बिरुवा रोप्ने खाडलको आकार, बिरुवाको आकार, माटो, बिरुवा रोप्ने समय, वृक्षरोपण अभियानमा सिर्जनात्मक तरिका तथा प्रोत्साहनजनक कार्य, मल्चिङ, बिरुवाको नामलगायतको विवरण अभिलेखीकरण, ट्रि गार्ड, सरोकारवालाको निक्र्यौल, सहरी वनलाई सबल बनाउने उपायको अवलम्बन, जनचेतना अभिवृद्धि, दण्ड, जरिवाना र क्षतिपूर्ति लगायतको व्यवस्था गर्न आवश्यक रहेको जनाएको छ ।

महानगर क्षेत्रमा सहरी वनको व्यवस्थापन आवश्यक रहेको र खाली तथा खुला स्थानहरूमा वृक्षरोपण गर्नुपर्ने भएकाले विज्ञहरूको कार्यदल बनाइ सम्भावित सम्भावनाको पहिचान गर्न लागिएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । हरित सहरको निर्माण केवल हरियालीसँग मात्र नजोडिने भन्दै प्रमुख आचार्यले यो वातावरणीय स्वच्छताप्रति स्थानीय सरकारको प्रतिबद्धतासमेत भएको बताउनुभयो ।

विज्ञहरूको कार्यदलले गरेको अध्ययनले पोखरालाई ‘स्वच्छ सहरः हरित सहरको रूपमा विकास गर्न कोसेढुङ्गाका रूपमा काम गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । महानगर क्षेत्रमा दुई लाखभन्दा बढी बिरुवा रोप्ने कार्य महत्वकांक्षी भए पनि आफूहरूले योजनाका साथ काम गर्ने उहाँले बताउनुभयो । सरोकारवालाले भने बिरुवाको छनोट गर्दा आवश्यकता, प्राथमिकता र वातावरणसँग बिरुवाको मिलनका महत्वपूर्ण विषयवस्तुलाई गहन रूपमा विश्लेषण गरिनुपर्ने सुझाव दिएका छन् ।

अध्ययनको कार्य अन्तिम चरणमा पुगेको र प्रतिवेदन छिट्टै महानगरपालिकालाई हस्तान्तरण गरिने संयोजक प्रा डा भण्डारीले बताउनुभयो ।

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री


काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको २१ औँ वार्षिकोत्सव समारोहका अवसरमा उहाँले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । “अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ भन्नेमा म स्पष्ट पनि छु । अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको छ, गरिरहन्छ ।”

उहाँले निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र परिणाममुखी कामका लागि प्रोत्साहित गर्ने काममा सरकार जिम्मेवार भएर लागिरहेको स्पष्ट पार्नुभयो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट सरकारले सुधार गर्न खोजेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले अर्थतन्त्रको सवलीकरण मात्रै नभई देखिने गरी नयाँ उत्साह र सन्देश प्रवाह गर्ने तयारीमा सरकार लागिपरेको बताउनुभयो ।

“दबाबका बीचमा पनि उत्पादन र रोजगारीमा केन्द्रित हुने र जनतामा आत्मविश्वास पैदा गर्ने सोच र तयारीमा सरकार छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “सोहीअनुरूप मौद्रिक नीतिलाई समेत अगाडि बढाउने छौँ । अर्थतन्त्रमा सुधार मात्र नभएर केही गुणात्मक परिणाम ल्याउन जरूरी छ, त्यसो गरिन्छ ।”

निजी क्षेत्रको समस्या अर्थतन्त्रको समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “निजी क्षेको समस्या भनेको अर्थतन्त्रको समस्या हो । अर्थतन्त्रमा रहेको समस्या समाधान गर्नसक्ने पूर्ण क्षमता यो सरकारमा छ र समाधान गर्नेछ ।” पछिल्लो समय अर्थतन्त्रमा सुधारका महत्वपूर्ण सूचकहरू देखा पर्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चालु आर्थिक वर्ष अर्थतन्त्रका लागि आशालाग्दो वर्ष हुने विश्वास व्यक्त गर्नुभयो ।

“नयाँ वर्षको सुरुआतमा नै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्दैछौँ । विदेशी लगानी भित्र्याउन सोहीअनुरूप वातावरण निर्माणका लागि दर्जन बढी कानुन संशोधनको प्रक्रियामा छन्”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “यस अर्थमा २०८१ लाई एउटा आशलाग्दो वर्षका रूपमा लिन सकिन्छ ।”

वस्तु तथा सेवा निर्यातमा आशालाग्दो अवस्था देखिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विद्युत्, जस्तापाता, सिमेन्टजस्ता वस्तु निर्यातले देशको अर्थतन्त्रलाई सबल तुल्याउने विश्वास व्यक्त गर्नुभयो । पर्यटन आगमनमा उल्लेख सुधार आएको र सूचना प्रविधिको क्षेत्रले पनि आशा जगाएको बताउँदै उहाँले यस्ता गतिविधिले राष्ट्रिय आम्दानी र पुँजी निर्माणमा ठूलो योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगी व्यवसायीको माग सम्बोधन गर्दै औद्योगिक वातावरण बनाउन सरकार तयार रहेको बताउनुभयो । सो अवसरमा निजी क्षेत्रमा उद्योगी व्यवसायीका छाता सङ्गठनका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता थियो ।

ठमेलमा ५० कलाकारका ६० कला प्रदर्शनी

काठमाडौँ, ४ वैशाख : सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ५० कलाकारका ६० कला प्रदर्शनी गरिएको छ ।सरोङ आर्ट गुप्रले सोन्जा आर्ट ग्यालरीसँग सहकार्य गरी होटल आर्ट ठमेलमा तीनदिने कार्यशाला तथा कला प्रदर्शनी गरेको हो । उक्त प्रदर्शनीमा नेपाल, भारत र बङ्गलादेशका ५० कलाकारको कलाकृति राखिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं काठमाडौँ क्षेत्र नं ७ का प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले उक्त प्रदर्शनीको शुभारम्भ गर्नुभयो । नेता पराजुलीले कला प्रदर्शनीको माध्यमबाट विभिन्न देशबीचको सम्बन्ध थप प्रगाढ भएको बताउनुभयो । उहाँले यस्ता कला प्रदर्शनीले नेपालको कला क्षेत्रको विकासमा समेत सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

सोन्जा आर्ट ग्यालरीका अध्यक्ष एवम् होटल आर्ट ठमेलका सञ्चालक चिरञ्जीवी भट्टले नेपालको कला क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । सन् २००४ देखि सोन्जा आर्ट ग्यालरीले नेपाली कलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गरिरहेको उहाँको भनाइ छ ।

बङ्गलादेशका वरिष्ठ फोटोग्राफर डा इमरान विन युनुसले संस्कृति र प्रकृतिले सुन्दर नेपालमा कला प्रदर्शन गर्नु भारत र बङ्गलादेशी कलाकारका लागि खुसीको कुरा भएको प्रतिक्रिया दिनुभयो । तीन दिनसम्म चल्ने कला प्रदर्शनीमा बङ्गलादेशका वरिष्ठ कलाकार सफिक अहमद सजिव, अजिजुल कादिर, रफिया अख्तर, भारतीय वरिष्ठ कलाकार रेहेमान पटेल, डा सुवया याम निला, नारायण सुकम्बरलगायतका चित्र राखिएका छन् ।

पाँच देशका छ स्थानमा कला प्रदर्शन गरिसकेको सरोङ आर्ट गुप्रले सातौँ कला प्रदर्शन नेपालमा गरेको गुप्रका अध्यक्ष नारगिस सोमाले जानकारी दिनुभयो । उक्त गुप्रले यसअघि जापान, श्रीलङ्का, बङ्गलादेश र भारतमा कला प्रदर्शन गरिसकेको छ ।

लुम्बिनी प्रदेशसभा संसदीय समितिमा सर्वसम्मत नेतृत्व


लुम्बिनी, ४ वैशाख : लुम्बिनी प्रदेशसभामा दोस्रो कार्यकालका लागि संसदीय निर्वाचन भएको १७ महिनापछि संसदीय समितिमा नेतृत्व चयन भएको छ ।

प्रदेशसभामा छवटा विषयगत समिति र एक विशेषाधिकार समितिको आज सर्वसम्मत नेतृत्व चयन भएको हो । प्रदेशसभा सचिवालयले जारी गरेको निर्वाचन कार्य तालिकाअनुसार आज ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरेअनुसार सातवटै समितिमा एकल उम्मेदवारी परेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।

दलहरुका बीच विषयगत समितिमा सहमति कायम गरी सर्वसम्मत नेतृत्व चयन गरिएको नेकपा एमालेका प्रमुख सचेतक तुल्सीप्रसाद चौधरीले बताउनुभयो । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश मामिला तथा कानुन समिति सभापतिमा रुकुम पूर्वकी दिलकुमारी बुढा, सामाजिक विकास समितिको सभापतिमा यमबहादुर नेपाली, कृषि, वन तथा वातावरण समितिको सभापतिमा विश्वप्रेम पाठक र भौतिक पूर्वाधार विकास समितिको सभापतिमा रामजीप्रसाद घिमिरेको एकल उम्मेदवारी परेकाले सर्वसम्मत हुनुभएको छ ।

यस्तै अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा पाल्पा निर्वाचन क्षेत्र नं १ ‘क’ का राजुप्रसाद श्रेष्ठ, सार्वजनिक लेखा समितिको सभापतिमा बाँकेकी माया पुन र विशेष अधिकार समितिको सभापतिमा कपिलवस्तुका गिरीधारीलाल न्यौपानेको एकल उम्मेदवारी परेको थियो । उहाँहरु सबै सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

लामो समयदेखि चयन हुन नसकेको लुम्बिनी प्रदेशका विषयगत समितिका बारेमा दलहरुबीच एमालेले विशेष अधिकारसहित तीनवटा समिति, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दुईवटा समिति र माओवादी केन्द्रले दुईवटा समितिको नेतृत्व गर्ने सहमति भएको थियो । गत ३० असारको लुम्बिनी प्रदेशसभा बैठकले समितिमा रहने सदस्यको टुङ्गो लगाए पनि समिति नेतृत्वका विषयमा दलहरुबीच सहमति बन्न नसक्दा १७ महिना संसदीय समिति नेतृत्वविहीन थियो ।

२०७९ मङ्सिर ४ गते भएको संसदीय निर्वाचनपछि लुम्बिनी प्रदेशमा तीनवटा सरकार फेरिँदा पनि मिनी संसद्को रुपमा हेरिने विषयगत समितिको नेतृत्व चयन हुन नसक्दा प्रदेशसभा विजिनेसविहीन जस्तै बनेको थियो ।

कोशी : ५ देशमा छुर्पी निर्यात, प्रदेशलाई खोरेतमुक्त बनाइँदै


विराटनगर, ४ वैशाखः कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले आगामी तीन वर्षभित्रमा कोशी प्रदेशलाई खोरेतमुक्त प्रदेश बनाउने घोषणा गर्नुभएको छ ।

झापाको भद्रपुरमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको भवनको उद्घाटन समारोहमा मन्त्री खत्रीले सो घोषणा गर्नुभएको हो । उहाँले प्रदेशका १४ जिल्लामध्ये छ जिल्लामा अझै पशुसम्बन्धी भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र नरहेको जानकारी दिँदै ती जिल्लामा भवन निर्माणका लागि आफूले पहल गर्ने बताउनुभयो ।

कृषि मन्त्रालयले अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै ‘पढ्दै कमाउँदै गर्ने’ कार्यक्रम पनि ल्याउने, घरेलु मदिरा ब्राण्डिङ गर्ने र टुक्रे योजना नल्याउने घोषणा गर्दैै उहाँले प्रदेश सरकारको लगानीमा झापाको भद्रपुरमा रु एक करोड ७१ लाख ८७३ को भवन निर्माण भएको बताउनुभयो ।

पशुमा लाग्ने भाइरसजन्य खोरेत रोगका कारण दूधजन्य वस्तु निर्यातमा अवरोध भइरहेको बेला कोशी प्रदेश सरकारले भने यसको नियन्त्रणका लागि ‘महाअभियान’ सञ्चालन गर्ने तयारी गरेको थियो । सोही योजनाअनुसार तीन वर्षमा प्रदेशलाई खोरेत मुक्त गर्ने मन्त्री खत्रीले घोषणा गर्नुभएको हो ।

२५ देशमा छुर्पी निर्यात
मन्त्री खत्रीले हाल कोशी प्रदेशबाट विश्वका २५ मुलुकमा छुर्पी निर्यात भइरहेको जानकारी दिनुभयो । “कोशी प्रदेशबाट वार्षिक रु सात अर्बभन्दा बढीको छुर्पी र रु सात अर्ब बराबरको चिज विदेश निर्यात भएकोले यो क्षेत्रलाई सुरक्षित गर्नु अनिवार्य देखिएको छ,’ मन्त्री खत्रीले भन्नुभयो, “यसले कृषि र पशुपालन क्षेत्रमा धेरै ठूलो क्रान्ति गर्न सकिन्छ ।”

खोरेत नियन्त्रणको लागि सञ्चालन गर्ने तीन वर्षे अभियानका लागि रु ६० करोड खर्च हुने कृषि मन्त्रालयले अनुमान गरेको छ ।

मानविकी अध्ययन गर्नेलाई सिनास वृत्ति


कीर्तिपुर (काठमाडौँ), ४ वैशाख : त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसअन्तर्गत मानविकी सङ्कायमा अध्ययनरत विद्यार्थीले शोधकार्यका लागि नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) बाट सिनास वृत्ति (छात्रवृत्ति) पाउने भएका छन् ।

विश्वविद्यालयको स्ववियु र सिनासबीच आज सम्पन्न सम्झौतामा हरेक विभागका कम्तीमा एक जना विद्यार्थीलाई प्रतिवर्ष जनही रु २५ हजार प्रदान गर्ने सहमति भएको छ । यसलाई कार्यविधि बनाएर तत्काल लागू गर्न सिनास र स्ववियुबीच सहकार्य गर्ने सहमति भएको छ ।

यसै विषयमा कीर्तिपुरस्थित सिनास भवनमा स्ववियु र सिनासबीच सम्झौता पत्र आदानप्रदान भएको थियो । त्यसमा स्ववियुको तर्फबाट सभापति श्यामराज ओझा र सिनासका तर्फबाट कार्यकारी निर्देशक डा मृगेन्द्रबहादुर कार्कीले हस्ताक्षर गर्नुभएको छ ।

मानविकी संकायप्रति आकर्षण बढाउन तथा अनुसन्धानात्मक पढाइलाई प्रोत्साहन गर्न यस्तो छात्रवृत्ति लागू गरिएको जानकारी सभापति ओझाले दिनुभयो । सिनासका कार्यकारी निर्देशक कार्कीले विगतमा ठूलाठूला अनुसन्धान परियोजना सञ्चालन गरेको र राज्यबाट रु १० करोड प्राप्त गर्ने गरेकोमा सिनास अहिले अत्यन्त कमजोर अवस्थामा रहेको बताउनुभयो ।

सानातिना घटनाले सत्ता समीकरणलाई असर पार्दैन : एमाले अध्यक्ष ओली


झापा, ४ वैशाख : पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले )का अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा कुनै परिवर्तन नआउने बताउनुभएको छ । झापाको कनकाईमा आयोजित एमाले झापाको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले अहिले मुलुकमा देशभक्त राजनीतिक शक्तिहरुको समीकरण बनेको हुँदा यसलाई टिकाएर लैजान आफ्नो पार्टी प्रतिबद्धता रहेको छ भन्नुभयो ।

“हामीले पुरानो गठबन्धन भत्काउनै पथ्र्यो, भत्कायौँ”, अध्यक्ष ओलीले भन्नुभयो, “नयाँ समीकरण बनाउनै पथ्र्यो, बनायौँ । धेरैले अर्थ मन्त्रालय छाडिदियो, गृह मन्त्रालय पनि छाडिदियो भने । कुन मन्त्रालय लियो र कुन लिएन भन्ने महत्वको विषय होइन, हाम्रो सरकार छ भन्ने कुरा महत्वपूर्ण हो । अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो ।”

उहाँले देशभक्तहरुको समीकरण भत्काउनका लागि विभिन्न शक्तिहरुले निरन्तर षड्यन्त्र गरिरहेको दावी गर्नुभयो । लामो राजनीतिक अनुभव र जिम्मेवार अभिभावक शक्तिको कारण एमालेले अहिलेको सत्ता समीकरणलाई देश र जनताको हितमा अघि बढाउने उहाँको भनाइ छ ।

उहाँले अहिलेको सत्ता समीकरण बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहसिक निर्णय लिएको बताउनुभयो । एमालेले घोषणा गरेको ‘मिसन–८४’ राजनीतिक सुझबुझपूर्ण गन्तव्य भएको जनाउँदै उहाँले देश र जनताको हितका लागि पार्टीले चुनावमा विजय हासिल गर्न जरुरी भएको धारणासमेत व्यक्त गर्नुभयो ।

‘महिला हिंसा अन्त्य र सामाजिक न्याय कायम गर्न कानुन कार्यान्वयन आवश्यक’


मोरङ, ४ वैशाख : समाजमा महिला हिंसाको अन्त्य र सामाजिक न्याय कायम गर्न कानुनको कार्यान्वयन आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

राष्ट्रिय महिला आयोगद्वारा आज विराटनगरमा आयोजित महिलाको हकहित र अधिकार विषयमा विद्यमान कानुनी व्यवस्था र कार्यान्वयनसम्बन्धी अन्तरक्रियाका सहभागीले तीनै तहको सरकारले महिलासम्बन्धी कानुन कार्यान्वयनको आवश्यक अनुगमन गरे मात्र हिंसा न्यूनीकरण हुने धारणा राखेका हुन् ।

कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले अन्तरक्रियाको उद्घाटन गर्दै समुन्नत समाज निर्माण गर्न महिला र पुरुष दुवैलाई समान व्यवहार हुनुपर्ने बताउनुभयो । उहाँले महिलालाई राज्यले प्रदान गरेको उपलब्धि प्राप्त गर्न थप आन्दोलन जरुरी रहेको धारणा राख्नुभयो ।

आयोगकी केन्द्रीय अध्यक्ष कमलाकुमारी पराजुलीले महिलाको क्षमता विकासका लागि तीन तहको सरकारले आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । प्रदेशका कायममुकाम प्रमुख सचिव केदारनाथ शर्माले महिला हकहितका लागि प्रदेश मन्त्रालय उत्तरदायी रहेको जानकारी दिँदै महिला हिंसा न्यूनीकरणमा कानुन कार्यान्वयन पक्ष कमजोर रहेको स्वीकार गर्नुभयो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालका सचिव लक्ष्मीप्रसाद पौडेल, जिल्ला समन्वय समिति मोरङकी उपसंयोजक उषा झा, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले महिलालाई आत्मनिर्भर बनाउन आवश्यक बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

सामाजिक विकास मन्त्रालय महिला विभाग प्रमुख दुर्गा भण्डारीले लैङ्गिक समानता, महिला सशक्तिकरण र लैङ्गिक हिंसाको अवस्था विषयमा कोशी प्रदेश सरकारको प्रयास विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सुदूरपश्चिम प्रदेश प्रमुखबाट मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रो पटक आह्वान


सुदूरपश्चिम, ४ वैशाख : सुदूरपश्चिम प्रदेशका प्रमुख निजर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गर्न आज पुनःआह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा प्रदेश प्रमुखले गत चैत २३ गते मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको आह्वानअनुसार नागरिक उन्मुक्ति पार्टीका दुई जना प्रदेशसभा सदस्यबाट दाबी पेश हुँदा दुवैको दाबीको आधारमा निष्कर्षमा पुग्न नसकिएको उल्लेख छ । विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई प्रदेशको मुख्यमन्त्रीमा नियुक्ति गर्नका लागि स्पष्ट दाबीसहित विसं २०८१ वैशाख ६ गते अपराह्न ५ बजेभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको उल्लेख छ ।

प्रदेश प्रमुखको आह्वान गर्नुअघि आजै नेकपा (एकीकृत समाजवादी) पार्टीले नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीलाई प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि दिएको समर्थन फिर्ता लिएको थियो । तीन दिनअघि मात्रै एकीकृत समाजवादी, नेपाली कांग्रेस र राप्रपाका प्रदेशसभा सदस्यको समर्थनमा नाउपाका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो ।

सोही दिन नाउपाकै कैलाश चौधरीले केन्द्रीय गठबन्धन अनुसार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) र एक स्वतन्त्र सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । लक्ष्मणकिशोर नाउपाका संस्थापक संरक्षक रेशमलाल चौधरी पक्षधर र कैलाश चौधरी अध्यक्ष रञ्जिता पक्षधर मानिनुहुने बताइएको छ । संस्थापक संरक्षक रेशमका पक्षमा पाँच र अध्यक्ष रञ्जिताका पक्षमा दुई प्रदेशसभा सदस्य रहेको सो पार्टीका कार्यकर्ताले बताउँदै आएका छन् ।

मुख्यमन्त्री नियुक्तिका लागि एउटै पार्टीबाट दुई जनाको छुट्टाछुट्टै दाबी पेश भएपछि प्रदेश प्रमुख नजिर मियाँले कानुनी परामर्श गरिरहनुभएको थियो । गत चैत २३ गते प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधार (२) बमोजिम विसं २०८१ वैशाख २ गते अपराह्न ५ बजे सम्मको समय सीमा तोकेर दुई वा दुई भन्दाबढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।

नाउपाका प्रदेशसभा सदस्य दुई समूहमा विभाजित हुँदा चार प्रदेशसभा सदस्य रहेको एकीकृत समाजवादी सरकार गठनमा निर्णायक बनेको छ । फलस्वरुप समाजवादीले केन्द्रीय गठबन्धन विपरीत प्रदेश तहमा नेपाली कांग्रेस, नाउपाको रेशम पक्ष र राप्रपासँग मिलेर सत्ता समीकरणको प्रयास थालेको थियो ।

सुदूरपश्चिम प्रदेशसभामा चौथो ठूलो शक्ति नाउपामा उत्पन्न आन्तरिक किचलो साम्य हुने सङ्केत नदेखिएको सो पार्टीका कार्यकर्ता बतउँछन् । आन्तरिक किचलोका बीच अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी प्रदेशसभा नाउपा संसदीय दलका नेता घनश्याम चौधरीलाई दलको नेताबाट हटाएर कैलाश चौधरीलाई जिम्मेवारी तोक्नुभएको थियो ।

अध्यक्ष श्रेष्ठले सोही पार्टीको समानुपातिक कोटाबाट निर्वाचित सदस्य ईन्दिरा गिरीलाई फिर्ता बोलाइएको पत्र प्रदेशसभा सचिवालयमा पठाउनुभएको थियो । अदालतले इन्दिरा गिरीलाई पुनरवहाली गरेको थियो । मुख्यमन्त्री नियुक्तिका लागि २७ सदस्यको समर्थन चाहिन्छ । त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र) का सभामुखसहित ११, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् । रिक्त रहेको एक पदमा यही वैशाख १५ गते उपचिर्वाचन हुँदैछ ।

जरिवाना तिर्न ट्राफिक कार्यालय जानुपर्ने बाध्यता हट्दै


काठमाडौँ ४ वैशाख : ट्राफिक नियम उल्लङ्घनबापत जरिवाना तिर्न सेवाग्राहीलाई ट्राफिक कार्यालयसम्म पुग्नुपर्ने बाध्यता विस्तारै हट्दै गएको छ । ट्राफिक प्रहरीले प्रविधियुक्त प्रणाली प्रयोगमा ल्याएसँगै अभिलेख सङ्कलन गरी कारबाही गर्न सहज भएको जनाएको छ ।

ट्राफिक नियम उल्लङ्घन र ट्राफिक जरिवाना भुक्तानीसम्बन्धी प्रणाली प्रयोगमा आएपछि उक्त झन्झटबाट सेवाग्राही मुक्त हुँदै गएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताउनुभयो ।

“उक्त प्रणालीमार्फत ट्राफिक प्रहरीले विभिन्न ट्राफिक नियम उल्लङ्घन गरेबापत जारी गर्ने चिट र कारबाहीको विवरण अभिलेखमा राख्दछ । कति जरिवाना तिर्नुपर्ने हो यस प्रणालीले स्वचालित रूपमा निर्धारण गर्छ । पटके कसूरको विवरण पनि यस प्रणालीले आफैँ हिसाब राख्नछ”, उहाँले भन्नुभयो ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले भन्नुभयो, “नेपाल प्रहरी कार्ययोजना, २०८० ले व्यवस्था गरेको प्रविधिमैत्री सेवाको संस्थागत विकास गर्ने लक्ष्य अनुरूप आधुनिक प्रविधिको प्रयोगमार्फत प्रहरी सेवालाई थप चुस्त बनाउन उक्त प्रणाली महत्वपूर्ण बनेको छ ।” उहाँका अनुसार हालसम्म ४५ जिल्लामा यो प्रणाली कार्यान्वयनमा आएको छ ।

प्रणालीले ट्राफिक जरिवाना असूल गर्न र सेवाग्राहीलाई झन्झटमुक्त सेवा प्रदान गर्न सहजीकरण गर्ने अपेक्षा प्रहरीले गरेको छ । धेरै अघिदेखि सुरु गरिएको टिभिआरएस प्रणाली समयानुकूल परिमार्जन गर्दै आर्थिक वर्ष २०७६÷७७ देखि हालको अवस्थामा काठमाडौँ उपत्यकामा उक्त प्रणाली सञ्चालनमा आएको हो ।

आर्थिक वर्ष २०७६÷७७ देखि हालसम्म ३१ लाख ४७ हजार नौ सय ५३ वटा ट्राफिक नियम उल्लङ्घनका घटना यस प्रणालीमा दर्ता भएका छन् । जसबाट कूल रु दुई अर्ब ३३ करोड दुई लाख २८ हजार नौ सय ६४ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ । प्रणाली सञ्चालनसँगै सर्वसाधारणले ट्राफिक जरिवाना पारदर्शी रूपमा सहजै तिर्न पाएका छन् ।

टिभिआरएस प्रणालीको विकास र अनुगमन नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयले गर्दै आएको छ । निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरूणकुमार भण्डारीले सेवाग्राहीको सहजताका लागि यो प्रणालीको विकास गरिएको भन्दै यसको सफ्टवयरले ट्राफिक नियम उल्लङघन गर्नेको नाम, सवारी साधनको नम्बर र कसूरको प्रकार ट्र्याक राख्ने जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था नियमावली अनुसार विभिन्न नियम उल्लङ्घन गर्ने व्यक्तिलाई जरिवाना तथा कारबाही गर्छ । कारबाहीमा परेका व्यक्तिको चिट नम्बर र लाइसेन्स नम्बर, ब्ल्यु बुक, नाम र अन्य विवरण इन्ट्री गरिन्छ । कारबाहीमा परेका व्यक्तिले अनलाइनमार्फत वा सम्बन्धित राजस्व खाता भएको बैंकको शाखामा गई जरिवाना बापतको राजस्व रकम भुक्तान गर्न सक्नेछन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले यस प्रणालीले ट्राफिक कारबाही गर्न पटके हो वा होइन हेर्न सजिलो बनाएको बताउनुभयो । उहाँका अनुसार सेवाग्राहीलाई पनि आफ्नो अभिलेख कहाँ छ र कसरी लिने भन्ने सजिलै थाहा पाउन सकिने बनाएको छ ।

अर्घौ मौलाकालिका मन्दिरमा मूर्ति समर्पण


गण्डकी, ४ वैशाख : पोखरा महानगरपालिका-२८ स्थित अर्घौ मौलाकालिका भगवती मन्दिरमा धार्मिक अनुष्ठान सञ्चालन एवं रथयात्रासहित महाकालीको मूर्ति समर्पण गरिएको छ ।अर्घौ मौलाकालिका भगवती मन्दिर संरक्षण समितिले श्रीराम जयन्ती समेतको अवसर पारी आज मूर्ति समर्पण गरेको हो ।

समर्पण पूर्व मूर्तिलाई रथमा सजाएर भजनकीर्तनसहित कालिका, लेखनाथ र माझठाना लगायतका स्थानमा रथयात्रा गरिएको समितिका कोषाध्यक्ष एवम् कार्यक्रम संयोजक सरोज भण्डारीले जानकारी दिनुुभयो ।

रथयात्रा मैदानहुँदै नरेशपुर, जलधारे, सिलिंगे, विजयपुर, कालिकाचोक, बुढीबजार, खरानेफाँट खोलाको डिल, बहिरा स्कुल, लेखनाथचोक, रिठ्ठेपानी कुमाल गाउँ, तालचोक, खुदी, बेगनासताल, शिशुवा शिवमन्दिर, आरुपाटा, सैरे, ठूलाकोट हुँदै कालिका मन्दिरसम्म पुगेको थियो ।

पोखरा महानगरपालिका वडा नं. २८ को संंरक्षकत्वमा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, सामाजिक अगुवा, धार्मिक व्यक्तित्व, उद्योगी व्यवसायी, सञ्चारकर्मी लगायतको उपस्थिति थियो । विसंं १७७२ मा स्थापना भएको यो मन्दिर बेलाबेलामा जीर्णोद्धार गरिँदै आएको छ ।

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त

इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा तनाव बढाएको र गाजा युद्ध जारी रहँदा इजरायल र इरानबीच खतराको सङ्केत देखिएको छ ।

इजरायलका सेना प्रमुख लेफ्टिनेन्ट जनरल हर्जी हालेभीले इरान र उसका सहयोगीराष्ट्रले इजरायलमाथि ३०० भन्दा बढी क्षेप्यास्त्र, ड्रोन र रकेट प्रहार गरेपछि सोमबार ‘जवाफी कारबाही’ गर्ने प्रतिबद्धता जनाएका छन् ।

इरानले सिरियामा रहेको आफ्नो वाणिज्य दूतावासमा इजरायलले गरेको घातक हवाई आक्रमणपछि आत्मरक्षाका लागि गरिएको ठूलो आक्रमण भएको र इजरायलले जवाफ नदिएसम्म यो विषय ‘निष्कर्षमा’ पुगेको मान्न सकिने बताएको छ ।

तर इरानका राष्ट्रपति इब्राहिम राइसीले इरानको हितविरुद्ध सानोतिनो कदमको पनि कडा र व्यापक जवाफ दिइनेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलको सुरक्षाका लागि अमेरिका प्रतिबद्ध रहेको तर द्वन्द्व फैलन नदिन चाहेको बताउनुभएको छ ।

अमेरिकी अधिकारीका अनुसार इजरायलको शीर्ष सहयोगी तथा हतियार आपूर्तिकर्ता वासिङ्टनले आफ्नो साझा प्रतिद्वन्द्वी इरानमाथि हुने कुनै पनि आक्रमणमा इजरायललाई साथ नदिने बताएको छ ।

इरानले इजरायलमाथि गरेको आक्रमणपछि विश्वका नेताहरूले संयमित हुन आग्रह गरेका छन्, जसले सङ्कट कूटनीतिको हलचल मच्चाएको, तेलको मूल्य बढाएको र शेयर बजारलाई निराश बनाएको छ ।

गाजाबारे बाइडेनले भन्नुभयो, “हामी युद्धविरामका लागि प्रतिबद्ध छौं । बन्धकहरूलाई घर फर्काउने र द्वन्द्वलाई पहिलेदेखि नै रहेकोभन्दा बाहिर फैलनबाट रोक्ने एक मात्र उपाय युद्धविराम र शान्तिवार्ता हो ।”

छ महिनाभन्दा बढी समयदेखि चलेको युद्ध र २४ लाख मानिसमाथिको घेराबन्दीका कारण ठूलो मात्रामा तहसनहस भएको तटीय क्षेत्र गाजामा आफ्नो इजरायलले लक्ष्यमा बमबारी जारी राखेको छ ।

सप्ताहन्त हमलामा ‘उपेक्षापूर्ण’ प्रतिक्रियाविरुद्ध इरानको इजराइललाई चेतावनी


इरानका राष्ट्रपति रायसी इब्राहिमले इजराइललाई सप्ताहन्तमा इरानको अभूतपूर्व ड्रोन र मिसाइल आक्रमणप्रति ‘सानो पनि कदम’ चाले ‘पीडादायी प्रतिक्रिया’ को सामना गर्नुपर्ने चेतावनी दिनुभएको छ ।

सिरियास्थित दमास्कस वाणिज्य दूतावासमा अप्रिल १ मा भएको हवाई आक्रमणको जवाफमा शनिबार इरानले इजराइलमाथि पहिलो प्रत्यक्ष आक्रमण गरेको थियो । दूतावासमा भएको आक्रमण इजराइलले गरेको आरोप इरानले लगाएको छ ।

उक्त आक्रमणमा इरानी दूतावासको पाँच तले कन्सुलर खण्ड ध्वस्त भएको थियो भने दुई जनरलसहित रिभोल्युसनरी गार्डका सात सदस्य मारिएका थिए । “इरानको हितविरुद्ध थोरै पनि कारवाहीप्रति निश्चितरूपमा गम्भीर, व्यापक र पीडादायी जवाफ दिइने छ भन्ने हामी दृढतापूर्वक घोषणा गर्दछौँ”, राष्ट्रपति रायसीले सोमबार राति कतारका अमिर शेख तमिम बिन हमद अल थानीसँगको टेलिफोन वार्तामा भन्नुभयो ।

उहाँले इरानले ‘आत्मरक्षा’ का लागि काम गरेको दोहोर्याउनुभयो । उहाँको कार्यालयको विज्ञप्तिमा अपरेसनले वाणिज्य दूतावासमा आक्रमण गर्न प्रयोग हुने इजराइली आधारहरूलाई लक्षित गरिएको उल्लेख छ । उहाँले इजराइलका लागि केही पश्चिमी सरकारको समर्थनको आलोचना गर्नुभयो ।

व्यापक क्षेत्रीय द्वन्द्वको आशङ्काका कारण विश्वका नेताहरूले संयमता अपनाउन आग्रह गरेको भए पनि इजराइली सशस्त्र बलका प्रमुख लेफ्टिनेन्ट जनरल हर्जी हलेवीले सोमबार अभूतपूर्व आक्रमणको जवाफ दिइने वाचा गर्नुभयो । “इजराइली क्षेत्रमा यति धेरै मिसाइल, क्रुज मिसाइल र युएभीको प्रक्षेपणको जवाफ दिइने छ”, हलेवीले नेवातिम एयरबेसमा सैनिकहरूलाई भन्नुभयो ।

अमेरिका र अन्य सहयोगीको मद्दतमा अधिकांश इरानी हतियारलाई खसाइएको र आक्रमणमा न्यूनतम क्षति मात्र भएको इजराइली सेनाले बताएको छ । इरानले इजराइलमा आफ्नो ‘सीमित’ आक्रमण गर्नुअघि अमेरिकालाई सूचित गरेको र छिमेकी मुलुकहरूलाई ७२ घन्टाको चेतावनी दिएको बताएको छ ।

मङ्गोलियाको जङ्गलमा आगलागी हुँदा ७० हजार हेक्टरभन्दा बढी जमिन नष्ट


यस वर्षको सुरुदेखि मङ्गोलियामा २९ वटा वन तथा घाँसे मैदान क्षेत्रमा आगलागी भएको समाचार छ । आगलागीबाट ७० हजार एक सय ७२ वन तथा घाँसे मैदान नष्ट भएकोे मङ्गोलियाको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी (नेमा) ले मङ्गलबार जनाएको छ ।

एजेन्सीका अनुसार जनताको लापरवाही नै जङ्गली आगोको प्रमुख कारण थियो । वसन्त ऋतुको हावाहुरी र सुक्खा अवस्थाको बीचमा जनतालाई खुला आगो नलगाउन वा चुरोटको ठुटाहरू ननिभाई जमिनमा नफ्याँक्न नेमाले आग्रह गरेको छ ।

मङ्गोलियामा कठोर प्रकृतिको महाद्वीपीय जलवायु भएकाले यसको मौसम सामान्यतया वसन्त ऋतुको समयमा सुक्खा र हावाहुरी चल्ने खालको हुन्छ ।

काश्मिरमा डुङ्गा डुब्दा स्कुले बालबालिकासहित छ जनाको मृत्यु, कयौँ बेपत्ता

काश्मिरमा मङ्गलबार डुङ्गा पल्टिँदा डुङ्गामा सवार चारजना स्कुले बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य धेरै बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार काश्मिरको ग्रीष्मकालीन राजधानी श्रीनगरको बाहिरी भागमा रहेको झेलम नदीमा २० जनाभन्दा बढी मानिस बोकेको डुङ्गा दुर्घटना ग्रस्त भई पल्टिएको थियो ।

एक प्रहरी अधिकारीका अनुसार आज बिहान गान्दबल क्षेत्रको झेलम नदीमा उक्त डुङ्गा पल्टिँदा नदी पार गर्न प्रयोग गरिएको डोरी अचानक खसेको थियो । दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ भने अन्य धेरै बेपत्ता भएका छन् । दुर्घटनामा परी बाँच्न सफल भएका केही व्यक्तिहरूको उद्धारपछि अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि स्थानीयले अधिकारीहरूलाई सूचना गरेपछि बेपत्ताहरूको खोजी गर्न प्रहरी र विपद् प्रतिक्रिया बलका कर्मचारीहरूको उद्धार टोली पठाइएको थियो । केही स्थानीय मिडिया रिपोर्टहरूले बेपत्ता हुनेहरूको सङ्ख्या १० जना भन्दा माथि रहेको जनाएका छन् । पछिल्ला केही दिनदेखि यस क्षेत्रमा परेको भारी वर्षाले गर्दा नदीको जलस्तर बढेको छ ।

विधेयक बनाउँदा आदिवासी जनजाति महिलाका विषय समेट्न माग

काठमाडौँ, ४ वैशाखः सरोकारवालाहरुले विधेयक निर्माण गर्दा आदिवासी जनजाति महिलाका विषय प्राथमिकतामा साथ राख्न सरोकारवालाले माग गर्नुभएको छ । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिले आज आयोजना गरेको छलफलमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चकी उपाध्यक्ष यशो कान्ति भट्टचन(गौचन)ले आदिवासी जानजाति महिलाका विषय प्राथमिकतामा राख्न सुझाव दिनुभयो ।

आदिवासी महिला तथा किशोरीको अधिकार सम्बन्धमा संयुक्त राष्ट्र सङ्घीय महिलाविरुद्ध हुने भेद्भाव उन्मुलन समिति(युएन सिड कमिटी) आधारभूत सिफारिस नं ३९ सम्बन्धमा धारणा राख्ने क्रममा उहाँले महिलाविरुद्धका सबै प्रकारका भेदभाव उन्मुलन गर्ने सम्बन्धी महासन्धी (सिड) सिफारिस राज्यपक्षीय विधायिका, नीति निर्माण गर्ने तह तथा सम्बन्धित सबैलाई मार्ग निर्देशनको रुपमा रहेको बताउनुभयो ।

नयाँ विधेयक बनाउँदा वा मस्यौदा विधेयकमा संशोधन गर्दा सिडको सिफारिसँग मिल्ने गरी बनाउने आधार वा मार्गनिर्देशनको रुपमा प्रयोग गर्न उहाँले सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “आदिवासी अधिकारसम्बन्धी संयुक्त राष्ट्र सङ्घको घोषणापत्रअनुरुप आदिवासी महिलाको अधिकार, विशेषगरी उनीहरुको आत्मनिर्णयको अधिकार स्पष्ट रुपमा पहिचान गर्न संविधान संशोधन गर्ने भनी गरेको सिफारिसलाई विधायिकाहरुले प्राथमिकता दिनुपर्छ ।”

मञ्चकी अध्यक्ष सुनी लामाले आदिवासी जनजाति महिला हरेक क्षेत्रमा पहुँचभन्दा बाहिर रहेको र उनीहरुको अधिकारको सुनिश्चितता हुनुपर्ने धारणा राख्नुभयो । उहाँले आदिवासी महिलाको अधिकार दाबी गर्न सिडको सिफारिस कार्यान्वयनको सम्बन्धमा सांसदहरुको दायित्व रहेको बताउनुभयो ।

सांसद रोशन कार्कीले प्रवासमा जाने महिला कामदार बढी शोषित भइरहेका र उनीहरुको विषयमा पनि आवाज उठाउनुपर्ने बताउनुभयो । उहाँले अन्तरजातीय विवाहले संस्कृति हराउँदै गएको हो की भन्ने चिन्ता प्रकट गर्नुभयो । सांसद शान्ति विकले आदिवासी जनजाति महिला मात्र होइन सबै महिला पीडित रहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “आदिवासी जनजाति महिला बढी एकतामा बाँधिएका हुन्छन् जुन अरु समुदायमा त्यति पाइँदैन । सीमान्तकृत महिलाहरुको हक अधिकारको सुनिश्चितता हुनु जरुरी छ ।”

राजनीतिक परिस्थितिको प्रभाव कानुन निर्माणमा छः अध्यक्ष दाहाल

काठमाडौँ, ४ वैशाखः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थितिले कानुन निर्माणमा समेत केही प्रभाव परेको बताउनुभएको छ । उहाँले राष्ट्रियसभालाई गरिमामय ढङ्गबाट अघि बढाउन सूचना प्रवाहमा सहज पहुँच स्थापित गर्न आफू सजग र सचेत गरेको विश्वास दिलाउनुभयो ।

सङ्घीय संसद्का विषयमा कार्यरत पत्रकारसँगको भेटघाटमा अध्यक्ष दाहालले भन्नुभयो, “सभालाई कति राम्रो गर्न सक्छु त्यो मेरो खुबी हो, नराम्रो गर्दिन, देश र जनताका निम्ति सबैले केही गरौँ ।राष्ट्रियसभामा कुनै पनि विधेयक र प्रस्ताव थाती नरहेको जनाउँदै उहाँले सभाका गतिविधिलाई सञ्चारमाध्यमले आवश्यक स्थान दिनेमा विश्वस्त रहेको बताउनुभयो ।

सभाका कामकारबाही र गतिविधि गतिशील र चुस्त भएमा सञ्चारमाध्यम स्वयम्ले पर्याप्त स्थान दिनेमा ढुक्क हुन सकिन्छ भन्दै अध्यक्ष दाहालले सभालाई कामकाजी, अर्थपूर्ण र व्यवस्थित गर्नका लागि हुने प्रयासमा सञ्चारजगत्को सहयोगको अपेक्षा गर्नुभयो ।

अघिल्लो अधिवेशनसम्म कार्य जिम्मेवारी पूरा गर्ने हिसाबले राष्ट्रियसभा सफल भएको बताउँदै अध्यक्ष दाहालले हरेक बैठक, अधिवेशन र कार्यक्रममा सफल हुनेमा दृढताका साथ काम गर्ने विश्वास दिलाउनुभयो ।सो कार्यक्रममा सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेय र प्रवक्ता एकराम गिरीलगायत सहभागी हुनुहुन्थ्यो ।

अध्यक्ष दाहालसँग गणतन्त्र कोरियाको संसदीय टोलीको भेट


काठमाडौँ, ४ वैशाख : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको गणतन्त्र कोरियाको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा आज गणतन्त्र कोरियाको राष्ट्रियसभाको संस्कृति, खेलकुद तथा पर्यटन समितिका अध्यक्ष एवं कोरिया–नेपाल संसदीयमैत्री समूहका अध्यक्ष साङ–हेओन ली नेतृत्वको भ्रमण टोलीले भेट गरेको हो ।

भेटमा नेपाल–कोरिया कूटनीतिक सम्बन्ध, संसदीय अनुभव आदानप्रदान र आपसी सहयोगका विषयमा छलफल भएको अध्यक्षको सचिवालयले जनाएको छ । सो अवसरमा अध्यक्ष दाहालले नेपाल–कोरिया कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भइसकेको चर्चा गर्दै अहिलेसम्मको सौहार्द र मैत्री सम्बन्धलाई अझै उँचाइमा पु¥याउन आगामी दिनमा संसदीय अनुभव आदानप्रदान, आपसी सहयोग र सहकार्य विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

“संसद् जनताको सरोकारसँग जोडिने संस्था भएकाले संसदहरुको सम्बन्ध सुदृढ गर्न जनताबीचको सम्बन्ध सुदृढ गर्न जरुरी छ”, अध्यक्ष दाहालले भन्नुभयो, “तपाईंहरुको नेपाल भ्रमणले हाम्रो सम्बन्ध थप घनिष्ट र सुदृढ भएको मैले महसुस गरेको छु ।”

कोइकामार्फत कोरियन सरकारले नेपालको जलविद्युत्, कृषि, अटोमोबाइल्सलगायतका विभिन्न क्षेत्रमा लगानी गरेको चर्चा गर्दै उहाँले कृषि उत्पादनलाई वृद्धि गर्न रासायनिक मल उद्योगको स्थापना, प्राविधिक शिक्षामा दक्ष जनशक्ति उत्पादन गर्न सकिने क्षेत्रमा लगानी गर्न पनि आग्रह गर्नुभयो ।

नेपालमा तेस्रो लगानी सम्मेलन हुन लागेको भन्दै अध्यक्ष दाहालले गणतन्त्र कोरिया सरकार र निजी क्षेत्रबाट समेत नेपालमा लगानी गर्न पनि उक्त प्रतिनिधि मण्डलमार्फत आग्रह गर्नुभयो । भेटका क्रममा कोरिया–नेपाल संसदीयमैत्री समूहका अध्यक्ष लीले दुई देशको सम्बन्ध थप प्रगाढ बनाउन यो भेटघाटले मद्दत गरेको बताउनुभयो । उहाँले नेपालको आर्थिक विकास र समृद्धिका लागि कोरिया सरकार सदैव तत्पर रहेको चर्चा गर्दै वैदेशिक लगानीलाई प्रोत्साहित गर्न र छिटोछरितो काम गर्ने वातावरण बनाउन सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा आफू यसअघि पनि धेरै पटक आइसकेको चर्चा गर्दै हरेक पटक आउँदा केही न केही नयाँ विकास भएको पाएको उहाँले बताउनुभएको थियो ।

पूर्वीनाकामा अवैध व्यापारलाई निरुत्साहित गर्न सभामुख घिमिरेको आग्रह


झापा, ४ वैशाख : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पूर्वीनाका काँकरभिट्टाबाट हुने अवैध व्यापारलाई निरुत्साहित गर्न व्यवसायीलाई आग्रह गर्नुभएको छ । मेचीनगर नगरपालिकाद्वारा सीमा सुरक्षालगायत समसामयिक विषयमा आज आयोजना गरेको सर्वपक्षीय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खुला सिमानाको फाइदा उठाएर अवैध व्यापार नगर्न आग्रह गर्नुभएको हो । उहाँले अवैध व्यापारको बढोत्तरीका कारण राज्यले राजस्व गुमाइरहेको विषयमा चिन्ता प्रकट गर्नुभयो ।

उहाँले नेपालमा उत्पादित कृषिजन्य सामग्रीको बजारीकरणको लागि उद्योग वाणिज्य सङ्घ, अन्य सङ्घसंस्था र जनप्रतिनिधिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले कोभिड महामारीपछि पूर्वी नाकाबाट ठप्प भएको तेस्रो देशको पर्यटक आवागमन खुलाउन नेपाल सरकारसमक्ष अनुरोध गर्ने बताउनुभयो ।

“मन्त्री फेरबदल भइरहे पनि नेपालको तर्फबाट पर्यटन आगमनलाई सहज बनाउन भारत सरकारसँग कुराको उठान भइरहेको छ”, उहाँले भन्नुभयो, “तर भारतीय तर्फबाट सन्तोषजक जवाफ आएको छैन । कूटनीतिक ढङ्गले समस्या समाधान गर्न सरकार लागेको छ ।” कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द बुढाथोकीले पूर्वी नाका काँकरभिट्टा हुने कारोबार, पर्यटकलाई सहज नेपाल प्रवेश गराउन गर्नुपर्ने पहल, भन्सारभित्रै अन्तर्राष्ट्रिय मापदण्डको गुणस्तरीय ल्याब, बङ्गलादेशका पर्यटकलाई काँकरभिट्टाबाट एराइभल भिसाको व्यवस्थालगायतका १५ बुँदे माग राखेर ध्यानाकर्षण पत्रसमेत सभामुख घिमिरेलाई बुझाउनुभएको छ ।

कार्यक्रममा मेची भन्सार प्रमुख रामप्रसाद रेग्मीले आसामबाट पूर्वी नाका भएर आउने कोइला विहार हुँदै अन्य नाकाबाट नेपाल प्रवेश हुँदा यहाँको राजस्व घटेको बताउनुभयो । उहाँले बङ्गलादेशसँगको व्यापार र पर्यटक आगमन बढाउनका लागि पहल गर्न सभामुखसमक्ष आग्रह गर्नुभयो ।

कार्यक्रममा सहकारीकर्मी रामचन्द्र उप्रेती, नगरपालिकाका पूर्वप्रमुख विमल आचार्य, उद्योग वाणिज्य सङ्घका पूर्वकेन्द्रीय सदस्य केशव पाण्डे, कोशी प्रदेशका पूर्वसांसद श्रीप्रसाद मैनाली, सुपारी व्यवसायी नीलकण्ठ तिवारी, मेची उद्योग वाणिज्य सङ्घका महासचिव दिनेश शाक्यलगायतले कोभिडपछि पूर्वी नाकाबाट आउने पर्यटक आगमन रोकिएको, कृषिजन्य वस्तुको निकासीको समस्यालगायतका विषयमा सभामुख घिमिरेको ध्यानाकर्षण गराउनुभएको थियो ।

कार्यान्वयनमुखी बजेट ल्याउन विज्ञहरुको सुझाव


काठमाडौँ, ४ वैशाख : विज्ञहरुले आगामी आर्थिक वर्षका लागि कार्यान्वयनमुखी बजेट ल्याउन सुझाव दिएका छन् । राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आज सिंहदरबारमा भएको बैठकमा विज्ञहरुले सामाजिक क्षेत्रको विकास र सामाजिक न्यायमा आधारित भई लैङ्गिक उत्तरदायी बजेट ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

आव २०८१/८२ को सम्बन्धमा पूर्वबजेट छलफलमा विज्ञहरुको सुझाव लिइएको थियो । उहाँहरुले दिगो कृषि विकास, ऊर्जा, पर्यटन क्षेत्रको विकासका साथै वातावरणमैत्री बजेट ल्याउन समितिमार्फत सरकारलाई सुझाव दिनुभएको हो ।

अर्थविद् डा गोविन्द नेपालले ठूलो बजेट ल्याउने र कार्यान्वयनमुखी नहुदाँ वित्तीय असन्तुलन बढेको भन्दै कार्यान्वयनमुखी बजेट ल्याइनुपर्ने खाँचो औँल्याउनुभयो । उहाँले कृषि आधुनिकीकरण, सूचना प्रविधि, ऊर्जा, पर्यटनलगायतका विषयलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सुझाव दिनुभयो ।

डा नेपालले सार्वजनिक खर्चको वित्तीय असन्तुलन न्यूनीकरण गर्न सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन पूर्णरुपमा कार्यान्वयन गरेर बजेट ल्याइनुपर्ने धारणा राख्नुभयो ।
काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार प्रा डा अच्युत वाग्लेले नेपालको अर्थतन्त्रको संरचनालाई वातावरणमैत्री बनाउन जरुरी भएको उल्लेख गर्नुभयो । उहाँले बजेटमा दिगो कृषिको विकास, दिगो उत्पादन र वातावरणमैत्री विषयलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

सामाजिक अभियन्ता एवं विज्ञ भारती सिलवाल गिरीले लैङ्गिक समानता र महिला सशक्तीकरणका मुद्दालाई आगामी बजेटले समेट्नुपर्ने सुझाउनुभयो । “लैङ्गिकमैत्री बजेट ल्याइनुपर्छ, यसले सामाजिक न्यायसहितको सुशासन प्रवद्र्धन हुने भएकाले सरकारलाई पनि सहयोग पुग्छ”, उहाँले भन्नुभयो ।

बैठकमा राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले विज्ञहरुको राय सुझावले आगामी बजेटलाई समृद्ध बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । समितिका सभापति कमलादेवी पन्तले आगामी बजेट महिलामैत्री, वातावरणमैत्री, सुशासनमैत्री तथा सामाजिक न्यायमा आधारित दलित, पिछडिएका, सीमान्तकृत समुदायलाई सम्बोधन गर्ने हुनुपर्ने धारणा राख्नुभयो ।

समितिका सचिव डा रोजनाथ पाण्डेले विज्ञहरुबाट आएका राय सुझावको मस्यौदालाई समितिले पारित गरेर अर्थमन्त्रालयमा पठाउने जानकारी दिनुभयो ।

बैठकमा सांसद घनश्याम रिजाल, झक्कुप्रसाद सुवेदी, उर्मिला अर्याल, तारामान स्वार, तुलप्रसाद विश्वकर्मा, भुवनबहादुर सुनार, सावित्री मल्ललगायतले विज्ञको सुझाव समितिका लागि महत्वपूर्ण रहेको र यसलाई बजेटमा समावेश गर्न समितिले पहल गर्नुपर्नेमा जोड दिए ।

प्रस्तावित महालेखा परीक्षक रायालाई सांसदको प्रश्नः बेरुजु कम गर्ने योजना के छ ?


काठमाडौँ, ४ वैशाख ः “बेरुजु प्रत्येक वर्ष बढ्दै गएको छ, छ वर्षमा बेरुजु न्यूनीकरण गर्ने योजना के छ ?”, भन्ने सांसदको जिज्ञासामा प्रस्तावित महालेखापरीक्षक तोयम रायाले भन्नुभयो, “बेजुरु प्रक्रिया हो, पछिल्लो समय सम्परीक्षण नभएर बढी देखिएको हो, नियमित, असुरउपर र पेस्की सबै गरेर बेरुजु बढी देखिएको हो ।”

रायाको संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा समितिका सदस्य जनार्दन शर्माले प्रश्न गर्नुभयो , “बेरुजु प्रत्येक वर्ष बढ्दै गएको छ ? छ वर्षमा सुधारको ठोस योजना के छ ? त्यस्तै, समितिका सदस्य महेश बर्तौलाले थप्नुभयो, “बेरुजुको समस्या बढेर गएको छ, सरकारी निकायमा यसरी बेरुजु बढ्दा सुशासनलाई गिज्याइरहेको देखिन्छ, यस्तो अवस्थामा स्वतन्त्र, निश्पक्ष पारदर्शी तरिकाले काम गर्न सक्नुहुन्छ ?” समितिका सदस्य रमेश लेखकले जिज्ञासा पनि उस्तै थियो, “बेरुजु कम गर्ने योजना के छ ?” समितिका अर्का सदस्य ज्ञानेन्द्रबहादुर कार्कीको प्रश्न थियो, “बेरुजु, अनियमितता र भ्रष्टाचार एकआपसमा कसरी अन्तरसम्बन्धित छन ?”

समितिका सदस्य सुनिता बरालले सरकारी कार्यालयहरुमा राज्यको सूचना दुरुपयोग भइरहेको विषयलाई व्यवस्थापन गर्ने योजनाका बारेमा जिज्ञासा राख्नुभएको थियो । त्यस्तै, सदस्य ईश्वरी घर्ती र प्रकाश अधिकारीको प्रश्न पनि एउटै थियो, “चाङका चाङ बेरुजु घटाउने योजना के छ ?” समितिका अधिकांश सदस्यको प्रश्न बेरुजु बढेको र घटाउने योजनाकै विषयमा थियो ।

महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन २०७९ अनुसार आर्थिक वर्ष २०७८÷०७९ का अनुसार रु पाँच खर्ब ८७ अर्ब रहेको छ । प्रस्तावित महालेखा परीक्षक रायाले समितिका सबै सदस्यहरुको जिज्ञासाको उत्तर दिँदै भन्नुभयोे, “बेरुजु न्यूनीकरण गर्नमा मुख्य प्राथमिकता रहनेछ, त्यसका लागि तीन तहबाटै लेखा परीक्षण गर्ने संयन्त्र चाहिन्छ, त्यसका लागि सबै सरोकारवाला निकायको सहयोग चाहिन्छ ।”

प्रस्तावित महालेखा परीक्षक रायाले समितिमा १५ पेजको आगामी छ वर्षका कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । कार्ययोजनामा स्वतन्त्रता र संस्थागत सुदृढीकरण परिवर्तित सङ्घीय शासन प्रणालीअनुरूप महालेखा परीक्षकको कार्यालयको सङ्गठन पुनःसंरचना गरिने रहेको छ ।

त्यस्तै, सार्वजनिक लेखापरीक्षणलाई गुणस्तरीय, जवाफदेही र विश्वसनीय बनाउन नैतिक सङ्गठनका पूर्वाधारहरू तयार गरिने, लेखा परीक्षणका लागि विद्यमान रणनीतिक योजनाको कार्यान्वयन, भावी रणनीतिक योजनाको तयारी, निर्माण र कार्यान्वयन गरिने, वित्तीय अनुशासन पालना गर्न, गराउन सरोकारवाला सबै पक्षसँग अन्तक्र्रिया, समन्वय, सहकार्य र सम्बन्ध विस्तार गरिने कार्ययोजना रहेको छ ।

त्यस्तै, पूर्वमहालेखा परीक्षक एवं पूर्वकर्मचारीसँग अनुभवको आदानप्रदान तथा सुधारका विभिन्न पक्षहरूमाथि निरन्तर छलफल चलाइने र सुधारका लागि सुझाव लिइने, आन्तरिक संस्थागत सम्बन्ध सुदृढ गर्न सार्वजनिक लेखा समिति, संवैधानिक निकाय, नागरिक समाज, निजी क्षेत्र, तिनै तहका सरकार, संसद्÷सभा र नेतृत्व, तथा आन्तरिक लेखापरीक्षण गर्ने निकायसँग समन्वय र सहकार्य गरिने रहेको छ ।

लेखापरीक्षणसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सम्बन्ध विस्तार, विकासका साझेदारसँग समन्वय र सहकार्य गरिनुका साथै संस्थागत समन्वयमार्फत सरोकारवालाबीच सहकार्य गरी लेखापरीक्षणको गुणस्तर र प्रभाव अभिवृद्धि गरिने रहेको छ ।

लेखा परीक्षणमा व्यावसायिकताको विकासमा आधुनिक लेखापरीक्षण प्रविधि, डाटा एनालिटिक्स र सूचना प्रविधिसम्बन्धी सीपहरूमा ध्यान केन्द्रित गर्दै लेखापरीक्षकहरूका लागि व्यापक प्रशिक्षण कार्यक्रममार्फत मानव संशाधन विकास गर्दै लगिने रहेको छ ।

उच्च कार्यक्षमता प्रदर्शन गर्ने कर्मचारीहरुलाई उत्प्रेरित र पुरस्कृत गर्न प्रोत्साहन प्रणालीको विकास गर्न नीतिगत व्यवस्थाका लागि सम्बद्ध पक्षसँग सहकार्य गरी अघि बढाइने र लेखापरीक्षणमा कार्यरत कर्मचारीहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि विशिष्टीकृत तालीम नीति (सेवाकालीन, अल्पकालीन र मामिलामा आधारित) तर्जुमा गरी कार्यान्वयनमा ल्याइने उल्लेख छ ।

लेखापरीक्षण कार्यको प्रभावकारिता अभिवृद्धि गर्न प्रविधिमैत्री भौतिक पूर्वाधार तथा बहुआयामिक जनशक्तिको विकास गर्दै लगिने र लेखापरीक्षणको समकक्षी पुनरावलोकन गराई विद्यमान लेखापरीक्षण प्रक्रियाका सुधारका क्षेत्रहरू पहिचान गरी कार्यान्वयन गरिने रहेको छ ।

समितिले महालेखापरीक्षकमा सिफारिस हुनुभएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताउनुभयो संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखापरीक्षक पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

काठमाडौँ महानगरले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै


काठमाडौँ, ४ वैशाख : काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार) देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ ।

कामपाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्ने भएको हो । महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा वैशाख महिना भरी शिविर सञ्चालन हुने महानगरले जनाएको छ ।

वडा नं ३१ भीमसेनगोलामा वैशाख ५ र ६ गते, वडा नं २५ र २७, इनबहालमा ७, ९ र १० गते, वडा नं ३, महाराजगञ्जमा ११ र १२ गते, वडा नं २६, लैनचौरमा १४ गते, वडा नं २०, भीमसेनस्थानमा १६ गते, वडा नं २१, यंगालमा १७ गते, वडा नं २३, ओमबहालमा १८ गते र वडा नं १५, स्वयम्भूमा २० र २१ गते शिविर हुने मिति तोकिएको छ ।

रामघाट प्राथमिक स्वास्थ्य केन्द्रमा २३ गते, वडा नं २, लाजिम्पाटमा २४ गते, वडा नं २४, मखनमा २५ गते, वडा नं २२, टेबहालमा २६ गते, वडा नं १८, नरदेवीमा २७ गते, वडा नं १९, कङ्केश्वरीमा २८ गते, वडा नं ३२, पाल्पाकोट (छाप्रे), कोटेश्वरमा ३० र ३१ गते सर्वसाधारणले सेवा लिन पाउनेछन् ।

शिविरबाट थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क परीक्षण हुने महानगरपालिकाले जनाएको छ ।

देश र जनहितका काममा विलम्ब नगरौँः जुलीकुमारी महतो

काठमाडौँ । यथार्थमा देशको अर्थतन्त्र अपेक्षाकृत गतिशील हुनसकेको छैन । आर्थिक क्षेत्रमा एउटा पक्ष बिग्रिनेबित्तिकै त्यसले सबैतिर असर पार्छ । अर्थतन्त्रले उद्योगी– व्यवसायीदेखि गृहिणीसम्मलाई असर पारेको छ । महँगी नियन्त्रण गर्ने, सुशासन कायम, भौतिक पूर्वाधार निर्माणलगायत महत्त्वपूर्ण काम प्रभावकारी रूपमा हुनसकेका छैनन् । सरकार परिवर्तन भएपछि जनताले यस दिशामा केही सकारात्मक परिणाम प्राप्त हुन्छ भन्ने आशाचाहिँ गरेका छन् ।

अहिले दिनहुँजसो मिटरब्याजपीडित, सहकारीपीडितका समस्या, किसानका समस्या, उद्योगी–व्यवसायीका समस्या सार्वजनिक भइरहेका छन् । सुशासनको प्रत्याभूति हुनसकेको छैन । सरकारले सेवाप्रवाह सहज रूपमा गराउन नसकेको जनताले गुनासो गरिरहेका छन् ।

मुलुकका लागि अत्यावश्यक कानुन शीघ्र पारित गरेर कार्यान्वयनमा जानुपर्छजस्तो लाग्छ । कतिपय नियमावली पनि संसद्ले नै बनाउने हो तर संसद्भित्रको प्रक्रिया लामो हुने भएकाले एउटा विधेयक पारित गर्न पनि धेरै समय लागेको देखिन्छ । हाम्रो संसद्मा दलीय प्रभाव ठूलो छ । सांसदहरू पनि स्वतन्त्र हुनसकेका छैनन् । जति भूमिका सांसदको हुनुपर्ने हो त्यति हुन पाएको छैन ।

संसद्मा कुनै पनि दलको अहिले एकल बहुमत छैन । यस्तो अवस्थामा गठबन्धन सरकार बन्नु स्वाभाविक हो । तर एकल बहुमतसहितको सरकार भए त्यो पाँच वर्ष चल्थ्यो, र त्यसले मुलुकको विकास, समृद्धि र स्थायित्व दिन सक्थ्यो । छिटोछिटो सरकार परिवर्तन हुने भएपछि धेरै काममा बाधा उत्पन्न हुन्छ । अघिल्लो सरकारले ल्याएका कतिपय विधेयक अलपत्र पर्ने र नयाँ विधेयक ल्याउन पनि समय लाग्ने अवस्थाले समग्र कानुन निर्माणमा नकारात्मक प्रभाव पारेको स्पष्टै छ । अझ सानातिना विषयमा पनि सदन अवरुद्ध गर्ने परिपाटी मौलाएको छ । जनताका सुखदुःखको कुरा उठाउने सम्मानित सदनलाई दलभन्दा माथि उठेर सोच्न र व्यवहार गर्नुपर्छ । संसद् अवरोध नगरी आफ्ना विषयवस्तु राख्ने, सरकारको ध्यानाकर्षण गराउने, दबाब दिने अरु उपायतर्फ विचार गर्नुपर्ने बेला आइसकेको छ ।

अहिले कामको खोजीमा होस् वा अध्ययनका लागि युवाको विदेश पलायन तीव्रगतिमा भइरहेको छ । देशमा केही नै छैन र यहाँ केही पनि हुँदैन भन्ने सोच हाबी भइरहेको छ । सरकारले हाल बन्द भएका उद्योग पुनः सञ्चालन गर्न र नयाँ उद्योगको अवधारणा ल्याएर देशभित्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्छ ।

शिक्षामा पनि व्यापक सुधारको खाँचो छ । देशभित्रै सुलभ र सहज रूपमा उच्च अध्ययन गर्न पाउने वातावरण मिलाउन ढिला भइसक्यो । अहिले आफूले रोजेको विषय पढ्न चाहना राख्ने मेधावी विद्यार्थीले पनि भर्ना नै हुन पाउँदैनन् । कतिपय शैक्षिक संस्थामा शुल्क निकै महँगो छ । विश्वविद्यालयमा छिटो काम नहुने, परीक्षाफल ढिलो प्रकाशित गर्ने आदि समस्या वर्षौँदेखि देखिएका छन् । नेपाललाई शिक्षाको हब बनाउन सकिने सम्भावना प्रशस्त छ । विदेशी विद्यार्थीले पनि नेपाली शिक्षण संस्थाबाट शिक्षा लिनसक्ने वातावरण बनाउन सकिन्छ । तर जति कार्यान्वयन हुनुपर्ने हो, त्यो पाटोमा भने ध्यान दिन सकिएको छैन ।

मुलुक सङ्घीयतामा गइसकेपछि अहिले तीन तहको सरकार छ । मेरो जोड भनेकै तीनै तहका सरकारले सेवाप्रवाहलाई केन्द्रमा राखेर काम गर्नुपर्छ भन्ने हो । म मधेस प्रदेशबाट प्रतिनिधित्व गर्छु । त्यहाँ अहिले धेरैजसो खेत बाँझो हुन थालेको छ । कृषिप्रधान देश भन्छौँ नेपाललाई । कृषिमा हामी आत्मनिर्भर कसरी गराउन सक्छौँ भन्ने महत्त्वपूर्ण पाटो हो । हरेक उत्पादनमा रोजगारी जोडिन्छ । बेरोजगारीको समस्या समाधान मुखले भनेर हुँदैन । जबसम्म देशमा चाहिने कुरा पूरा हँुदैनन्, पानीबिनाको माछाजस्तै हुन्छ । जस्तै, रोजगारी र खानेकुरा नभई नहुने हुन् । अहिले हामीले ठूला कुरा सोच्नुभन्दा पनि हाम्रो जग कसरी बलियो बनाउने भन्नेमा सोच्नुपर्छ । उत्पादनतिर जोडेनौँ भने हाम्रो जग बलियो हुन सक्दैन ।

दुःखका साथ भन्नुपर्छ, अहिले हाम्रो मुलुकमा भ्रष्टाचार व्याप्त छ । चुहावट छ । किसानले समस्या भोगेकै छन् । समयमा मलखाद पाउँदैनन् । पूर्वाधार धेरै बन्न बाँकी छन् । पूर्वाधार नभई त विकास नै हुँदैन । कैयौँ उद्योग बन्द छन् । खुलेका पनि राम्ररी चल्न सकेका छैनन् । सरकारी अस्पतालमा चाप बढी छ । निजी अस्पतालमा शुल्क महँगो छ । विद्यालयमा पनि त्यही समस्या छ । खेलकुदका लागि मैदान छैन ।

अहिले विश्वभर नै आर्थिक मन्दी छ । जनताले भोग्नुपरेका महँगी, बेरोजगारीलगायत समस्या समाधानतर्फ वर्तमान सरकारले विशेष ध्यान दिनेमा म आशावादी छु । सबैले साझा सङ्कल्पका साथ मिलेर देश विकासका निम्ति आ–आफ्नो क्षेत्रबाट इमानदार प्रयास गर्नुपर्छ । हामी सबैले जे जानेका छौँ त्यो गरौँ । प्राकृतिक स्रोतले धनी देश हो नेपाल । अहिले नै सोच्यौँ भने भोलिका पुस्ताका लागि काम लाग्छ । हाम्रो एकमात्र उद्देश्य उन्नत राष्ट्र निर्माण हो । जनतालाई महसुस हुनेगरी हामी सबैले काम गर्नुपर्छ । निजी र सहकारी क्षेत्र दुवैले हातेमालो गरेर अघि बढ्नुपर्छ । देश र जनहितका काम गर्न अब किञ्चित् विलम्ब गर्नु हुँदैन ।

(सांसद जुलीकुमारी महतोसँग बुनु थारूले गरेको कुराकानीको सम्पादित अंश)

भोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय

भोजपुर, ४ वैशाखः जिल्लाको पौवादुङमा गाउँपालिका–५ सुप्लाको दोस्रो हलेसी मानिएको चारढुङ्गे सन्तानेश्वर महादेवको मन्दिर संरक्षणमा स्थानीय जुटेका छन् । प्रचारप्रसार अभावमा ओझेलमा परेको मन्दिरको प्रवद्र्धनमा पनि उनीहरू लागेका छन् ।

यहाँ महारुद्र, हिमालय, शिवलिङ्ग, गुप्तेश्वर महादेव, कालीनाग, सेतीनाग, सहस्र नाग, जलपा, पञ्चकोटी, झाँक्री, सिद्धसिकारी, महारानी, ठकुरारी, सिंहदेवी, शीलतादेवी, किरातेश्वर महादेव, रक्तकन्याको मूर्ति रहेका पुजारी प्रेमबहादुर खड्काले बताउनुभयो । रामनवमी, तिज, शिवरात्रि, बालाचतुर्दशीलगायत पावन दिनमा मेला लाग्ने गरेको छ ।

मन्दिरको प्रचारप्रसारसँगै यसको विकास तथा जग्गा व्यवस्थापनमा पनि स्थानीय जुटेका छन् । यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन भोलिदेखि १३ गतेसम्म महायज्ञ आयोजना गरिएको आयोजक समितिका अध्यक्ष बलबहादुर कार्कीले जानकारी दिनुभयो । यो देवस्थलको विकास तथा प्रवर्द्धन गर्न यहाँ महायज्ञ सञ्चालनको तयारी गरिएको सन्तानेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष ज्ञानेन्द्र राईले बताउनुभयो । महायज्ञबाट यहाँको प्रचारप्रसारसँगै आन्तरिक पर्यटक आकर्षित गर्न टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

गरुयोजना निर्माण गरेर गाउँपालिकाभित्रका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रूपमा काम भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । गाउँपालिकाले वडा नं १ तिलाहारमा रहेको त्रिपुरेश्वर महादेव, धार्मिक तथा पर्यटकीय क्षेत्र अरुण डाँडा, सन्तानेश्वर महादेव, च्याङग्रे पोखरी, कोटगढीलगायत क्षेत्रको विकासका निम्ति का गरिरहेको उहाँले दोहो¥याउनुभयो ।

“सन्तानेश्वर महादेव मन्दिर संरक्षणको विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको तदनुरुप काम भइरहेको छ । गाउँपालिका तथा प्रदेश सरकारको लगानीमा मन्दिर तथा भौतिक संरचना निर्माण गरेका छौँ । गाउँपालिकाभित्रका धार्मिक र पर्यटकीय क्षेत्रको विकास गरेर तिनलाई आर्थिक पक्षसँग जोड्ने हाम्रो लक्ष्य छ”, अध्यक्ष राईले भन्नुभयो । वडा कार्यालयले पनि यो स्थानको विकासको लागि बजेट विनियोजन गरेर संरक्षण गरिरहेको वडाध्यक्ष बोमप्रसाद राईले बताउनुभयो ।

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान ४ बजेदेखि नै कालिकामा पूजाअर्चना गर्ने नेपाली तथा भारतीय पर्यटकको घुइँचो लागेको हो । हरेक वर्ष बागलुङमा चैतेदसैँलाई भव्य रूपमा बनाउने गरिन्छ । हरेक वर्ष चैतेदसैँका दिन हजारौँ दर्शनार्थीले कालिकाको दर्शन गर्दै आएका छन् ।

भक्तजनको घुइँचो बढेपछि बागलुङ भगवती गुठी व्यवस्थापन समितिले सुरक्षाकर्मी परिचालन गरेर पूजाआजा गर्ने व्यवस्था मिलाएको छ । मन्दिरमा आज विशेष पूजाआराधना हुने भएकाले टाढाटाढाबाट भक्तजन आउने गरेका छन् । बागलुङ कालिकाको पूजाआराधना गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

धवलागिरि क्षेत्रको प्रसिद्ध शक्तिपीठ कालिका मन्दिरमा चैतेदसैँमा हजारौँ भक्तजन आउने भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का बताउनुभयो । नवरात्र सुरु भएदेखि नै दैनिक हजारौँ भक्तजन आएका उहाँले बताउनुभयो ।
मन्दिरमा बोका, राँगा, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ । चैतेदसैँका अवसरमा लाग्ने तीन सय वर्ष पुरानो मेला पनि चैत ३० गतेदेखि सुरु भएको छ । मेला वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ । ‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवर्द्धन– स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवर्द्धन’ नाराका साथ यस वर्षको चैतेदसैँ मेला आयोजना गरिएको हो ।

चैतेदसैँका अवसरमा खुला राष्ट्रिय लोकदोहोरी प्रतियोगिता, खुला राष्ट्रिय भलिबल प्रतियोगितालगायतका प्रतियोगितात्मक र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । आयोजकहरूका अनुसार लोकदोहोरी प्रतियोगितामा प्रथम हुनेलाई रु दुई लाख, द्वितीयलाई रु एक लाख र तृतीय हुनेलाई रु ५० हजार पुरस्कार प्रदान गरिने छ । दोस्रो आकर्षणका रूपमा कालिका कप खुला भलिबल प्रतियोगिता आयोजना गरिएको छ । तीन लाख पुरस्कार राशिको उक्त प्रतियोगितामा द्वितीय हुनेले रु एक लाख ५० हजार र तृतीय हुनेले रु एक लाख पाउनेछन् ।

टेस्लाले १० प्रतिशत कर्मचारी कटौती गर्ने

टेस्लाले लागत घटाउन र उत्पादकत्व बढाउन आफ्नो विश्वव्यापी जनशक्तिको ‘१० प्रतिशतभन्दा बढी’ कटौती गर्न लागेको टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्क, इलेक्ट्रेक र ब्लुमबर्ग न्यूजले आफ्ना कर्मचारीलाई पठाएको आन्तरिक इमेलमा उल्लेख छ ।

“हामी कम्पनीलाई हाम्रो विकासको अर्को चरणका लागि तयार गर्ने हो भने लागत कटौती र उत्पादकत्व बढाउनका लागि कम्पनीको हरेक पक्षलाई हेर्नु अत्यन्त महत्त्वपूर्ण छ,” मस्कले उक्त इमेलमा लेख्नुभएको छ ।

“टेस्लाको वृद्धिले ‘केही क्षेत्रहरूमा भूमिका र कार्य कार्यहरूको डुप्लिकेसन’ निम्त्याएको छ । यस प्रयासको एक भागको रूपमा, हामीले सङ्गठनको गहन समीक्षा गरेका छौं र विश्वव्यापी रूपमा हाम्रो जनशक्तिलाई १० प्रतिशतभन्दा बढी घटाउने कठिन निर्णय गरेका छौँ । मलाई योभन्दा बढी घृणा गर्ने कुनै कुरा छैन, तर यो गर्नैपर्छ ।”

उहाँले भन्नुभयो, “यसले हामीलाई अर्को विकास चरणको चक्रमा जान, परिवर्तित हुन सक्षम बनाउनेछ,” मस्कले भन्नुभयो ।
चौध हजारभन्दा बढी रोजगारदाताहरूलाई असर पार्न सक्ने कटौती (समायोजन) को योजना विद्युतीय सवारी साधन उत्पादनका लागि ख्यातिप्राप्त टेस्ला कम्पनीले तीन वर्षमा बिक्रीमा पहिलो वर्ष बार्षिक बिक्री दरमा गिरावट आएको बताएको दुई हप्तापछि सार्वजनिक भएको हो । कम्पनीले सन् २०२४ मा हरेक वर्ष ५० प्रतिशतको वृद्धि दर हासिल गर्ने लक्ष्य राखेकोमा सन् २०२४ मा बिक्री वृद्धि दर ‘उल्लेखनीयरूपमा कम’ हुने चेतावनी दिएको छ ।

मध्यपूर्वमा तनाव बढेपछि बाइडेनले इराकी प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने

इरानले इजरायलमाथि गरेको आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इराकका प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीसँग सोमबार ह्वाइट हाउसमा भेटवार्ता गर्नुहुनेभएको छ । सन् २०२२ को अक्टोबरमा पदभार ग्रहण गरेपछि सुडानीको पहिलो वासिङ्टन भ्रमण मूलतः जिहादविरोधी गठबन्धनअन्तर्गत इराकमा अमेरिकी सेनाको उपस्थितिमा केन्द्रित हुने अपेक्षा गरिएको थियो । तर इराकको छिमेकी इरानले शनिबार इजरायलमाथि व्यापक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेपछि यस क्षेत्रको तनावपूर्ण स्थितिले अब यो बैठकलाई प्रभावित पार्नेछ ।

उत्तरी इराकी शहर एर्बिल नजिकै रहेको अमेरिकी सेनाले इरानले इजरायलमाथि गरेको आक्रमणको प्रतिकार गर्न प्याट्रियट क्षेप्यास्त्रको प्रयोग गरी इरानी ब्यालेस्टिक क्षेप्यास्त्र खसालेको थियो । “यो औपचारिक भ्रमण संयुक्त राज्य अमेरिकासँगको सम्बन्धका साथै क्षेत्रीय परिस्थितिको सन्दर्भमा नाजुक र संवेदनशील समयमा भएको छ,” सुडानीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ह्वाइट हाउसले गत मार्चमा बाइडेन र सुडानीबीच ‘आइएसआइएसको दीर्घकालीन पराजय र सैन्य अभियानको वृद्धिप्रति आफुहरूको साझा प्रतिबद्धता’ बारे छलफल हुने बताएको थियो । गत अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजामा प्यालेस्टिनी हमास लडाकुविरुद्ध इजरायलले चलाएको छ महिना लामो युद्धका बीच इराकले क्षेत्रीय तनावबाट टाढा रहने प्रयास गरिरहेको छ ।

इराकमा आ।यस्थल बनाउँदै आएका केही इरानसँग सम्बन्धित सशस्त्र समूहहरूले इजरायलको मुख्य सहयोगी संयुक्त राज्य अमेरिकासँग सम्बन्धित सुविधाहरूमा शृङ्खलाबद्ध आक्रमणहरू गरेका छन् । अमेरिका र इरानबीचको शत्रुताबाट विचलित नहुने आशामा इराकले फेब्रुअरीमा जोर्डनमा तीन अमेरिकी सैनिकको ज्यान जाने गरी भएको आक्रमणको प्रतिशोधस्वरूप इराकी लडाकू नेताको ज्यान जाने गरी गरिएको अमेरिकी ड्रोन आक्रमणको कडा विरोध गरेको थियो ।

तर यसबीचमा वासिङ्टन र बग्दादबीच तनाव कम भएको छ र उनीहरूले अमेरिकी नेतृत्वको गठबन्धनको भविष्यका बारेमा वार्ता पुनः सुरु गरेका छन् । इराकी अधिकारीहरूले अमेरिकी सेनाको उपस्थिति कम गर्न समयसीमा तय गर्ने आशा गरेका छन् ।

सन् २००३ मा इराकमा अमेरिकी नेतृत्वमा भएको आक्रमणले इराकका तत्कालिन शक्तिशाली नेता सद्दाम हुसेनलाई सत्ताच्यूत गरेको थियो र वासिङ्टनले सन् २०११ सम्ममा आफ्ना अधिकांश सैनिक फिर्ता बोलाएको थियो । तर सन् २०१४ मा इराक र सिरियाको ठूलो भूभाग कब्जा गरेको इस्लामिक स्टेट (आइएस) चरमपन्थी समूहलाई परास्त गर्ने अभियानअन्तर्गत अमेरिकी सेनालाई पुनः तैनाथ गरिएको थियो ।हालसंयुक्त राज्य अमेरिकासँग इराकमा तैनाथ करिब २५ हजार र छिमेकी सिरियामा ९०० सैनिक छन् ।

भद्रपुर–इलाम– सलकपुर सडक कालोपत्र गरिँदै

झापा, ४ वैशाख: भद्रपुर नगरपालिकाबाट इलामको सलकपुर जोड्ने सडक धमाधम कालोपत्र भइरहेको छ । उक्त सडकखण्ड अन्तर्गत पाँच किलोमिटर कालोपत्र भइसकेको छ । झापा जिल्ला पूर्वाधार विकास कार्यालयका इन्जिनियर कुलानन्द चौधरीका अनुसार हालसम्म सडकको भौतिक प्रगति ४० प्रतिशत भएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु २६ करोड ६९ लाख ३३ हजार आठ सय २८ मा निर्माण कम्पनी कनकाई मोती जेभीले ठेक्का सकारेको हो ।

इन्जिनियर चौधरीले भद्रपुर–फडानी पुलबाट इँटाभट्टासम्मको १० किलोमिटर सडक निर्माणमा कुनै समस्या नभएको बताउनुभयो । दुई महिनाभित्रमा सडक निर्माण पूरा हुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । इँटाभट्टा बजारबाट उत्तरतर्फको १० किलोमिटर खण्डमा स्थानीयको अवरोधका कारण ढिलो भएको बताउनुभयो ।

सडकमा निर्माण सामग्री छाड्नेलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

काठमाडौँ, ४ वैशाखः काठमाडौँ महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाई छाड्नेउपर कारबाही गर्ने चेतावनी दिएको छ ।

निर्माणको काम सकेपछि पूर्ववत अवस्था नभई छाड्ने, निर्माण सामग्री छाड्नाले आवागमन, सहरी सौन्दर्य र विकास व्यवस्थापनमा समस्या भएपछि महानगरले कारबाहीको कठोर निर्णय लिएको महानगरका उपप्रमुख सुनिता डङ्गोलले बताउनुभयो ।

सडक, फुटपाथ तथा सार्वजनिक स्थानमा जुनसुकै प्रकृतिको निर्माणकार्य सुरु गर्नुअघि नै निर्माणकार्य गर्ने व्यक्ति, निजी क्षेत्र, सङ्घसंस्था, कम्पनी, जुनसुकै निकाय वा ठेक्का प्राप्त गर्ने व्यक्तिले अनिवार्य रूपमा महानगरबाट स्वीकृति लिनुपर्ने उहाँले बताउनुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा वातावरण संरक्षण ऐन, २०७६ तथा निर्माणसम्बद्ध कानुन र मापदण्डबमोजिम कारबाही हुने महानगरले शनिबार जारी गरेको सार्वजनिक सूचनामा जनाइएको छ । “यही वैशाख ५ गतेदेखि तोकिएबमोजिमको काम नगर्नेलाई प्रचलित कानुनी व्यवस्थाअनुसार कडा कारबाही गर्नेछौँ”, उपप्रमुख डङ्गोलले भन्नुभयो ।

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने बताएको छ ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी स्थानमा मौसम सफा रहने छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत मुलुकका पहाडी क्षेत्रका केही स्थानका साथै बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदू्रपश्चिम प्रदेशका केही स्थान तथा अन्य बाँकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ । ती प्रदेशका हिमाली उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिउँपर्ने महाशाखाको पूर्वानुमान छ ।

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी प्रदशेका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सफा रहने छ । कोशी प्रदेशको पहाडी क्षेत्रका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

दैजी–जोगबुढा सडक निर्माण कछुवा गतिमा

महेन्द्रनगर (कञ्चनपुर), ४ वैशाखः विसं २०७४ मा ठेक्का सम्झौता भई सुरु भएको दैजी–जोगबुढा सडकखण्डको काम कछुवा गतिमा अघि बढेको छ । बेदकोट नगरपालिकाको छेलाबाट १३ किलोमिटर सडक निर्माणमा विलम्ब भएको जिल्लास्थित भौतिक पूर्वाधार विकास कार्यालयले पनि स्वीकार गरेको छ ।

कञ्चनपुरबाट डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दूरीका हिसाबले नजिक पर्ने उक्त खण्ड निर्माण विगत दुई वर्षयता कछुवा गतिमा छ । यहाँस्थित नार्गाजुन कन्स्ट्रक्सनले रु २१ करोडमा निर्माणको जिम्मेवारी पाए पनि काम भने कछुवा गतिमा भइरहेको उक्त कार्यालयका प्रमुख योगेन्द्रबहादुर अधिकारीले जानकारी दिनुभयो ।

“काम बन्द नै छैन, तर गति भने निकै सुस्त छ”, प्रमुख अधिकारीले भन्नुभयो, “१३ किलोमिटरमध्ये चार–पाँच किलोमिटर सडक निर्माण अझै उस्तै छ । केही वर्षअघि सडकसँगै पहिरोले नाली, तारजालीलगायत संरचना भत्काएपछि सडकको यो अवस्था भएको हो । ” उहाँले सात–आठ किलोमिटर सडक कालोपत्र भए पनि पहिरोले धेरै ठाउँमा क्षति पुर्याएको बताउनुभयो । दैजीबाट कञ्चनपुरको सिमाना पर्ने लिप्नासम्म २१ किलोमिटर सडकखण्डको निर्माणमा सरोकारवाला निकायले चासो नदेखाएको बेदकोट नगरपालिका–३ का स्थानीय बताउँछन् ।

बेदकोट नगरपालिका–३ का वडाध्यक्ष मोहनबहादुर गुर्धामीले सडक स्तरोन्नतिका लागि पटक–पटक पालिकास्तरबाट ताकेता हँुदै आएको बताउनुभयो । “प्रदेश सरकारको पनि ध्यानाकर्षण गराएका थियौँ”, वडाध्यक्ष गुर्धामीले भन्नुभयो, “काम अघि बढाउँछौँ भनेर ठेकेदारका मान्छे भन्छन् मात्रै, गर्दैनन् ।”कञ्चनपुरको महेन्द्रनगर, अत्तरिया हुँदै डडेल्धुरा पुग्न एक सय ६५ किलोमिटर दूरी पार गर्नुपर्छ भने महेन्द्रनगरबाट दैजी–जोगबुढा हुँदै त्यहाँ ६५ किलोमिटर पार गरेपछि पुगिन्छ ।

शिवपुरीमा कमान्ड तथा स्टाफ तालिम शुभारम्भ

काठमाडौँ- शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा ३१औँ समूहको कमान्ड तथा स्टाफ तालिम सुरु भएको छ । तालिम उद्घाटन गर्दै सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकालले प्रविधिको विकाससँगै विविध क्षेत्रमा भइरहेको तीव्र एवं व्यापक परिवर्तनले सुरक्षा चुनौती भएकाले त्यसको सामना गर्न तयार रहनुपर्ने बताउनुभयो । उहाँले भविष्यमा आइपर्न सक्ने जस्तोसुकै चुनौती सामना गर्न सक्ने ढङ्गले आफूलाई तयार पार्ने गरी तालिमलाई सदुपयोग गर्न प्रशिक्षार्थीलाई सुझाव दिनुभयो ।

शिक्षाधिकृत उपरथी बाबुराम श्रेष्ठले सेनाले निर्वाह गर्नुपर्ने बहुआयामिक जिम्मेवारीका लागि योजना तथा कार्यान्वयन गर्न सक्षम स्टाफ अधिकृत तयार गर्ने तालिमको मुख्य उद्देश्य रहेको बताउनुभयो । मध्यम तहका अधिकृतको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण उक्त तालिममा नेपाली सेनाका महिला दुईजनासहित ५४ अधिकृत सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक÷एक अधिकृत तथा बङ्गलादेश, चीन, भारत, केन्या, माल्दिभ्स, म्यान्मा, नाइजेरिया, पाकिस्तान, संयुक्त अधिराज्य बेलायत र संयुक्त राज्य अमेरिकाका एक÷एकजना सैनिक तालिममा सहभागी छन् । विसं २०४९ पुस १४ गते स्थापना भएको कलेजले विसं २०५० भदौ २० गते १२ जना शिक्षार्थी अधिकृत समावेश गरी पहिलोपटक कमान्ड तथा स्टाफ तालिम थालनी भएको थियो ।

सन् २०१० बाट विदेशी शिक्षार्थी सहभागिता सुरु भएको तालिममा नेपाली सेनाका एक हजार सय ७३, नेपाल प्रहरीका १५, सशस्त्र प्रहरी बल र नेपालका २७ जना सहभागी भइसक्नुभएको छ । राष्ट्रिय अनुसन्धान विभागका १८, रक्षा मन्त्रालयका एक र विभिन्न राष्ट्रका एक सय १४ गरी जम्मा एक हजार तीन सय ४८ जना शिक्षार्थी प्रशिक्षित भइसकेका छन् ।

‘दल र नेताको विकास देशको विकास होइन’:पूर्वउपराष्ट्रपति झा

काठमाडौँ-पूर्वउपराष्ट्रपति परमानन्द झाले दल र नेताको विकासलाई देशको प्रगति ठान्ने गलत प्रवृत्ति भएको बताउनुभएको छ । दिशानिर्देश प्रेस क्लबद्वारा आयोजित कार्यक्रम उहाँले देश विकासका लागि राजनीति सहकार्य र एकताको खाँचो औल्याउनुभयो ।कार्यक्रममा ‘सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर’ र ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान रक्षा गर’ विषयमा छलफल गरिएको थियो ।

उपत्यका राष्ट्रिय दैनिक, दिशानिर्देशक राष्ट्रिय साप्ताहिक, दिशानिर्देशक प्रेस क्लबको २१औँ वार्षिकोत्सवमा आयोजित सो कार्यक्रमका सहभागीले प्रेसको पक्षमा सर्वोच्च अदालतले दिएको फैसला कार्यान्वयन गर्न माग गरेका थिए । कार्यक्रममा वरिष्ठ अधिवक्ता सुरेशकुमार पौडेल, प्रेमबहादुर खड्का र गोपालकृष्ण घिमिरेले न्यायपालिकाको फैसला सरकारले कार्यान्वयन गर्नुपर्छ भन्नुभयो ।

तीन दिन गड्डाचौकी नाका बन्द हुने

महेन्द्रनगर -कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका तीन दिन बन्द हुनेभएको छ । जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गरी भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका बन्द हुने जानकारी दिएको छ ।

“उत्तराखण्ड चम्पावत जिल्लासग जोडिए दुई नाका मङ्गलबार साँझ सवा पाँच बजेदेखि बन्द हुने भएको छ ।” कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भन्नुभयो, “भारतमा लोकसभा निर्वाचन हुने भएकाले चम्पावत जिल्लाअन्तर्गत प्रथम चरणको मतदान हुने भएकाले नाका गरिँदै छ ।”

मङ्गलबार साँझ ५ः१५ बजेदेखि मतदान समाप्ति हुँदासम्म नेपाल–भारत सीमा नाका पूर्ण बन्द हुनेछन् । “स्वास्थ्य सेवाबाहेक अन्य पूर्ण रुपमा बन्द रहनेछन् ।” उहाँले भन्नुभयो, “त्यसका लागि भारतको चम्पावतमा रहेको मजिष्टे«टले प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।”

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

कास्की- गण्डकी प्रदेश सरकारले यही वैशाख ४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ । चैत्र शुक्ल अष्टमी (चैते दसैँ) का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो ।

मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले गरेको बिदाको निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकालले जानकारी दिनुभयो ।

अर्थमन्त्री पुन वासिङ्टन डिसीमा

वासिङ्टन, ४ वैशाख: अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुने सिलसिलामा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आइपुग्नु भएको छ ।

मन्त्री पुनलाई अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री तथा दूतावासका उपप्रमुख कुमार खरेल लगायत दूतावासका उच्च अधिकारीहरुले स्वागत गर्नुभयो । भ्रमण दलमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल, सोही महाशाखाका उपसचिव कञ्चन बस्नेतलगायत हुनुहुन्छ ।

यहाँ रहँदा अर्थमन्त्री पुनले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन तथा अन्तर्राष्ट्रिय वित्त निगमका वरिष्ठ अधिकारीका साथै अमेरिका चेम्बर अफ कमर्सका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।मन्त्री पुनले जलवायु परिवर्तनको प्रभावले जोखिममा परेका मुलुकहरूको मन्त्रीस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

पूर्वाधार निर्माणमै ‘ब्रेक थ्रू’

कीर्तिपुर-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्गको सोमबार ‘ब्रेक थ्रू’ गर्नुभएपछि मुलुक पूर्वाधार निर्माणको नयाँ चरणमा प्रवेश गरेको धारणा सम्बद्ध विज्ञहरुले गरेका छन् ।

यद्यपि सोमबार छिचोलिएको यो सुरुङमार्ग प्रयोगमा आउन भने एक वर्षभन्दा बढी समय लाग्नेछ । यस अगाडिसम्म राज्यको आम जनतासम्म सडक सुविधाको पहुँच पुर्याउने लक्ष्य रहने गरेकामा अब आवागमनलाई छिटो र सहज बनाउने चरणमा प्रवेश गरेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल बताउनुहुन्छ । “करिब ९० जनता आफू बसेको ठाउँबाट बढीमा एक घन्टाको दूरीमा सडक भेटछन् भन्ने अध्ययनले देखाएको छ । त्यसैले अब बनेका सडकलाई बलियो र छरितो बनाउने काम सुरु गर्ने समय आइसक्यो”, उहाँको भनाइ छ ।

नागढुङ्गा सुरुङमार्ग त्यही कामको सुरुआत भएको पनि उहाँ बताउनुहुन्छ किनकि यससँगै अब निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग कुनै बाधा नपरे अबको एक वर्षभित्र छिचोलिन जानकारी पनि उहाँ दिनुहुन्छ । यसपछि बागलुङस्थित भिरकोटको सुरुङ मार्ग पनि निर्माणका लागि तयारी भइरहेको छ । निर्माणाधीन काठमाडौँ तराई दु्रत मार्गमा चार स्थानमा गरी झन्डै ६ किलोमिटर सुरुङमार्ग निर्माण हुँदैछ ।

त्यसैगरी, बिपी कोइराला राजमार्गको चियाबारी सुरुङ मार्ग पनि छिचोलिने तयारीमा छ । यसरी क्रमशः देशका विभिन्न ठाउँमा सुरुङ मार्गको आवश्यकता महसुस हुन थालेको महानिर्देशक ढकाल बताउनुहुन्छ । यद्यपि दुई सय मिटरसम्मका सुरुङ मार्ग सहजै सञ्चालन गर्न सकिने भए पनि त्यसभन्दा लामा सुरुङ मार्ग भने सुरक्षा, अक्सिजन र वातानुकूलन जस्ता धेरै विषय वस्तुको प्रबन्ध मिलाउनुपर्ने भएकाले खर्चिला हुने जानकारी पनि उहाँले दिनुभयो ।

नागढुङ्गा सुरुङ मार्गले पनि करिब यस्तै संवेदनशीलता बोकेको छ । आजको ब्रेक थ्रूपछि खनेर माटो आदि निकाल्ने काम सकिए पनि सवारी साधन पूर्ण रुपमा चल्न झन्डै एक सय जनाको जनशक्तिले निरन्तर काम गर्नुपर्ने परियोजनाको परामर्शदातृ संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइराला बताउनुहुन्छ ।

बीचमा अन्य कारणले अवरोध नआएमा आगामी वर्षभित्र यो मार्ग पूर्ण रुपमा सञ्चालन हुने छ । यो सुरुङ मार्ग सञ्चालनमा आएपछि त्रिभुवन राजपथ सिस्नेखोलादेखि बलम्बुसम्मको दूरी तीन किलोमिटरले कम हुनेछ । सडकको दूरी तीन किलोमिटरले मात्र कम भए पनि सुरुङ मार्गको पश्चिमी प्रवेश विन्दुदेखि नागढुङ्गासम्मको उकालो र त्यहाँ हुने ट्राफिक जामलाई समेत हिसाब गर्दा एक व्यक्तिको झन्डै आधा घन्टा समय बचत हुने देखिएको कोइराला बताउनुहुन्छ । साथै यसले यसअघि अनुभव नभएको यातायातका लागि सुरुङ मार्ग बनाउने राष्ट्रिय क्षमता वृद्धि गर्नाका साथै प्रविधि हस्तान्तरणमा समेत सहयोग पुर्याउने कोइराला बताउनुहुन्छ । “अब नेपालीले पनि यस्ता सुरुङमार्ग बनाउन सक्छन् भन्ने स्थापित भएको छ”, उहाँले भन्नुभयो । हाम्रोजस्तो ८५ प्रतिशत पहाडी भूभाग भएको र नदीनालाका कारण कहीँबाट कतै जान उकाली ओराली गर्नुपर्ने र अनगिन्ती घुम्तीबाट गुज्रनुपर्ने बाध्यतालाई सुरुङमार्गले कम गर्न सक्ने उहाँ बताउनुहुन्छ । “कुनै पनि एक प्रस्थान विन्दुबाट गन्तव्यसम्म सिधा जोड्ने अवसर सुरुङ मार्गले दिन्छ”, उहाँ थप्नुहुन्छ । यसबाट बचत हुने समय र इन्धनको हिसाबले त सुरुङ मार्गको फाइदा बहुआयामिक देखिने पनि उहाँले बताउनुभयो ।

चार वर्षअघि सुरुङ गर्दा कसरी गर्ने भन्ने अन्योल भए पनि त्यसको अनुभवका आधारमा भविष्यमा नेपालमा थुप्रै सुरुङ बन्ने देखिएको धारणाको उहाँको छ । सुरुङ मार्गको डिजाइनमा संलग्न वरिष्ठ इन्जिनियर डा भोला घिमिरेका अनुुसार समग्र देशकै आत्मविश्वास उत्पन्न भएको छ । नेपालीमा अब सुरुङ खनेर विकास गर्ने आँट आएको बताउनुहुन्छ ।

अनुमानित समयबाट निश्चित समयतर्फ

ब्रेक थ्रू नहुँदासम्म दिनमा कति मिटर खनिन्छ र कहिले सकिन्छ भन्ने अनुमानमा चल्नुपर्ने अवस्थाबाट आजदेखि सुनिश्चितातर्फ लागेको कोइराला बताउनुहुन्छ । यातायातका लागि अत्याधुनिक यो सुरुङ मार्गमा अक्सिजनको निरन्तर आपूर्ति सबैभन्दा संवेदनशील विषय हो । यसका लागि १५ वटा जेट फ्यान आवश्यक हुने कोइराला बताउनुहुन्छ । यसका साथै कूल दुई हजार ६ सय ८८ मिटर दूरीमा चौबिसै घन्टा उज्यालो आवश्यक हुन्छ । बत्ती र अन्य संयन्त्रको सञ्चालनका लागि कूल दुई मेगावाट विद्युत् चाहिने भएकाले विद्युत् प्राधिकरणको मातातीर्थ स्टेसनबाट ११ केभिएको २४ घन्टे डेडिकेटेड लाइन ल्याउने व्यवस्था गरिएको जानकारी उहाँले दिनुभयो । साथै जेनेरेटरलाई पनि तयारी हालतमा राख्ने व्यवस्था समेत गरिएको उहाँले बताउनुभयो ।

यसबाहेक निरन्तर सञ्चार संयन्त्र तथा अग्नि नियन्त्रक यन्त्र र सुरुङभित्र जडान भएका अन्य संयन्त्र (टनेल फ्यासिटी) हरहमेसा तयारी हालतमा राख्नुपर्छ । आगलागी सुरुङ मार्गको सर्वाधिक जोखिमको विषय भएका कारण त्यसका लागि सर्वाधिक संवेदनशील निरन्तर सतर्क हुनुपर्छ । आगलागी भइहालेको अवस्थामा सुरुङभित्र जडित अग्निसमन यन्त्रको तत्काल प्रयोग गर्ने कन्ट्रोल रुमलाई तत्काल परिचालन गर्ने र आगलागीको अवस्थाको जानकारी सुरुङ मार्गमा रहेका र पस्दै गरेका सवारी साधनहरुलाई माइक र एफएम रडियोमार्फत तत्काल दिनेजस्ता कार्य हुनेछन् । त्यसपछि ट्राफिक व्यवस्थापन र डाइभर्सन तत्काल गराउने, सुरुङ मार्गमा राखिने भिजुअल बोर्डमा तत्काल आगलागी र सुरक्षासम्बन्धी सूचनाहरु डिस्प्ले गराउने र सबै सञ्चारमाध्यमम समेत कन्ट्रोल रुममार्फत यसबारेको जानकारी प्रेषित पठाउने व्यवस्था गरिने जानकारी दिनुहुन्छ ।

सुरुङको सुरक्षाका लागि सिसिटिभी क्यामेरा तथा सबै संयन्त्रको सञ्चालन गर्न एक कन्ट्रोल रुमसमेत सुरुङ मार्गको पूर्वी पोर्टल नजिक बन्दै छ । सामान्यतया सुरुङ मार्गभित्र एफएम रेडियोको तरङ्ग पुग्न नसक्ने भएकाले त्यहाँबाट गुज्रने यातायातका साधनहरुमा निर्बाध रेडियो बजून् भन्नका लागि रेडियो सिग्नल पु¥याउने सञ्जाल त्यहाँ स्थापना गरिनेछ । उल्लिखित सबै कार्यका लागि पर्याप्त जनशक्तिको व्यवस्थापन हुने उहाँले बताउनुभयो ।

रक्षामन्त्री उप्रेतीद्वारा निर्माणाधीन काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग निरीक्षण

काठमाडौँ, ३ वैशाख- रक्षामन्त्री हरिप्रसाद उप्रेतीले निर्माणाधीन काठमाडौँ–तराई÷मधेस द्रुत मार्ग सडक आयोजनाअन्तर्गत विभिन्न स्थानको स्थलगत निरीक्षण भ्रमण गर्नुभएको छ ।त्यस क्रममा महादेवटार, धेत्रे, लेनडाँडा र निजगढ इलाकामा निर्माणाधीन सुरुङ, सडक तथा पुलको निरीक्षण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

रक्षामन्त्रीसहितको निरीक्षण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह, सार्वजनिक लेखा समितिका सदस्य अच्युतप्रसाद मैनाली, पूर्वाधार विकास समितिका सदस्य राजकुमार गुप्ता सहभागी हुनुहुन्थ्यो ।टोलीमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्य कृष्णकुमार श्रेष्ठ, विभिन्न मन्त्रालयका सचिव, बलाधिकृत रथीलगायत सहभागी रहेको निर्देशनालयले जनाएको छ ।