`

महाधिवेशन प्रतिनिधि परिषद्को तयारीमा एमाले

काठमाडौँ- यही वैशाख ८ र ९ गते लतिपुरको गोदावरीमा हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी तीव्ररुपमा भएको छ ।नेकपाको ७५औँ स्थापना दिवसका अवसरमा विशेष कार्यक्रमसहित महाधिवेशन प्रतिनिधि परिषद् बैठक हुन लागेको हो ।

सो कार्यक्रमका लागि उपमहासचिव विष्णु रिमालका संयोजकत्वमा गठित व्यवस्था समितिले बैठक र छलफल गरेर व्यवस्थापकीय तयारी गरेको छभने पार्टीको सचिवालयले बैठकले सोका लागि साङ्गठनिक, विधान र राजनीतिक प्रतिवेदनसँग सम्बन्धित काम गरिरहेको छ ।

समितिको पहिलो बैठकमा पार्टीका महासचिव शङ्कर पोखरेलले तयारीका काम चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको एमालेको केन्द्रीय प्रचारप्रसार विभागले जनाएको छ ।व्यवस्थापन समितिमा नेताहरु लालबाबु पण्डित, काशिनाथ अधिकारी, डा राजन भट्टराई, राजेन्द्र गौतम, विनोद श्रेष्ठ, माधव ढुङ्गेल, डा भीष्म अधिकारी, गगन विष्ट, विनोद पाण्डे, लोकबहादुर भण्डारी, अश्गर अली, महेन्द्र श्रेष्ठ र राजेन्द्र श्रेष्ठ सदस्य रहनुभएको छ ।

शिक्षा मन्त्रालयद्वारा कर्मचारी पदस्थापन र सरुवासम्बन्धी मापदण्ड कार्यान्वयनमा

काठमाडौँ, ३ वैशाख : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारी पदस्थापन, सरुवा तथा कामकाज गर्न खटाउनेसम्बन्धी मापदण्ड, २०८० कार्यान्वयनमा ल्याएको छ ।

मन्त्रालय र अन्तर्गतका निकायको कार्यसम्पादनलाई चुस्त तथा व्यवस्थित बनाई सेवा प्रवाहलाई प्रभावकारी बनाउन र नेतृत्व क्षमता, कार्यानुभव, रुचि र दक्षताका आधारमा पारदर्शी एवं अनुगमनयोग्य रुपमा पदस्थापन, सरुवा तथा कामकाजमा खटाउन सो मापदण्ड ल्याइएको हो ।

गत चैत २२ गते शिक्षामन्त्री सुमना श्रेष्ठको निर्णयबाट स्वीकृत सो मापदण्डलाई मन्त्रालयको वेबसाइतमार्फत सार्वजनिक पनि गरिएको छ ।माण्दण्डमा जिल्लास्तरमा रहेका कर्मचारीलाई तोकिएको अवधि नपुगी केन्द्रस्तरमा सरुवा वा काजमा नखटाउने, कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट देखिएका कर्मचारीलाई सुगम वा रुचिअनुसार सरुवा गर्ने, नयाँ कर्मचारीको पदस्थापन गर्दा लोकसेवा आयोगको सिफारिसको योग्यताक्रमअनुसार गर्नेलगायत व्यवस्था छन् ।

कांग्रेस गोरखाका पूर्वउपसभापति न्यौपानेको निधन, कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ, ३ वैशाख : नेपाली कांग्रेसले पार्टी गोरखाका पूर्वउपसभापति एवं जिल्ला विकास समितिका पूर्वसभापति चन्द्रप्रसाद न्यौपानेको निधनमा दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी ८१ वर्षीय न्यौपानको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । स्वर्गीय न्यौपाने विस २०४९ मा जिल्ला विकास समितिको गोरखाको सभापति हुनुभएको थियो । २०६४ सालको संविधानसभाको निर्वाचनमा गोरखा जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाट नेपाली कांग्रेसको उम्मेदवार बन्नुभएका न्यौपाने पटक–पटक नेपाली कांग्रेसको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि बन्नुभएको थियो ।

विस १९९९ वैशाख १३ गते गोरखाको सिरानचोक गाउँपालिका–४ मा जन्मनुभएका न्यौपानेले प्रजातन्त्र स्थापना र पुनस्र्थापनाका क्रममा पटक–पटक हिरासत र जेलजीवन बिताउनुभएको कांग्रेसले जनाएको छ । विसं २०१७ मा प्रजातन्त्रको अपदस्थ गरिएदेखि नेपाली कांग्रेसद्वारा सञ्चालित हरेक आन्दोलन र सङ्घर्षहरुमा निरन्तर सक्रिय रहँदै आउनुभएका न्यौपानेको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

न्यौपानेको निधनमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ । देउवाले स्व न्यौपानेले पार्टीका विभिन्न पदमा रहेर पार्टी सङ्गठन र लोकतन्त्रको पक्षमा निर्वाह गर्नुभएको भूमिका अविस्मरणीय रहेको बताउनुभएको छ । सभापति देउवाले स्व न्यौपानेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
–––

जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संवादको तयारी


काठमाडौँ, ३ वैशाख ः नेपाल सरकारले ‘हिमाल, मानव र जलवायु परिवर्तन’ विषयमा आयोजना गर्ने अन्तर्राष्ट्रिय संवादको तयारी सुरु गरेको छ । आगामी जेठ ९ र १० गते काठमाडौँमा सम्बन्धित विषयका विशेषज्ञहरुलाई आमन्त्रण गरेर अन्तर्राष्ट्रिय संवाद आयोजना गर्न लागेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

संवादको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने मन्त्रालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रममा वनमन्त्री नवलकिशोर साह सुडीले संवादमा सबैको सरोकारको विषय भएकाले सबैको सहयोगको अपेक्षा गर्नुभयो । उहाँले पर्वतीय राष्ट्रहरुमा जलवायु परिवर्तनको समस्या समाधानका लागि जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा सरकार, निजी क्षेत्र, नागरिक समाज र स्थानीय सरोकारवालाहरूले गरेका उल्लेखनीय कामको प्रस्तुतिका लागि महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा अरनिको पाण्डेले यस संवादले स्थानीय मुद्दाहरुलाई अन्तर्राष्ट्रियकरण गर्न सहयोग पुग्ने बताउनुभयो । प्रधानमन्त्री दाहालका जलवायु सल्लाहकार डा पपुलर जेन्टलले हिमालका मुद्दामा साझा धारणा तय गर्न संवाद गर्न लागेको बताउँदै यसमा हिमालका साथै सम्पूर्ण पारिस्थितिकीय प्रणालीका बारेमा समेत छलफल हुने उल्लेख गर्नुभयो ।

मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जलवायु परिवर्तनसम्बन्धी यो संवादको उद्देश्य जलवायु परिवर्तनको सन्दर्भमा पर्वतीय पारिस्थितिकीय प्रणालीमा आधारित जलवायु उत्थानशील कार्यहरुलाई सुदृढ, समन्वय र प्राथमिकता दिने रहेको बताउनुभयो । साथै उहाँले पर्वतीय देशहरू र सम्बद्ध सरोकारवालाहरूलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धिअन्तर्गत कार्यक्रमहरूमा सहकार्य गर्न वातावरण बनाउने संवादको लक्ष्य राखिएको जानकारी दिनुभयो ।

मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव डा बुद्धिसागर पौडेलले संवादका क्रममा पर्वतीय क्षेत्रमा साझेदारलगायत सबै पर्वतीय देशहरूका प्रतिनिधिहरूले संयुक्त रूपमा संवादबाट साझा निष्कर्षहरू निकाल्ने बताउनुभयो । साथै उहाँले अन्तर्राष्ट्रिय संवादलाई सफल बनाउन समग्र रणनीतिक मार्गदर्शन प्रदान गर्न सरकारले विभिन्न समिति गठन गरेको बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता डा बद्रीराज ढुङ्गानाले तीनवटा प्रमुख विषयगत क्षेत्रमा आधारित रहेर दुईवटा प्लेनरी र सातवटा संवाद सञ्चालन गर्ने गरी तयारी गरिएको जानकारी दिनुभयो ।

पहिलो सत्रमा ‘जलवायु विज्ञान र पर्वतीय तथ्य र तथ्याङ्क’को विषयवस्तुमा जलवायु परिवर्तनको प्रभाव, सङ्कटसन्नता र जोखिम, हिमाली क्षेत्रमा भइरहेको वातावरणीय सङ्कटको विषयमा आवश्यक प्रमाणहरू समेट्ने समावेश गरिने उहाँको भनाइ छ ।

दोस्रो सत्रमा ‘पहाड र प्रकृतिमा आधारित भएर समाधानका उपायहरुमा’ केन्द्रित भएर छलफल गरिनेछ र तेस्रो सत्रमा पर्वतीय क्षेत्रको संरक्षणका लागि आवश्यक पर्ने सम्भावित स्रोत र अवसरहरूको खोजी गर्ने विषयहरु समावेश गरिएको छ ।

यस संवादले पर्वतीय राष्ट्रहरूका सरकार, सरोकारवालाहरू र सहयोगीहरूलाई हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर र समाधानहरू अझ गहन रूपमा बुझ्न, विशेषज्ञता र अनुभवलाई एकीकृत गर्न र साझा सङ्कल्पसहित पर्वतीय जलवायु उत्थानशील रणनीति विकास गर्न मद्दत गर्ने अपेक्षा लिइएको छ ।

जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको जोखिमका बारेमा सचेतना जगाउने, पर्वतीय देशहरूको साझा मुद्दा र समस्या पहिचान गरी सहयोग आदानप्रदान गर्ने र हिमाली क्षेत्रमा बसोबास गर्न वा आश्रित समुदायहरूलाई अन्तर्राष्ट्रिय र क्षेत्रीय प्रक्रियाहरूमा उनीहरूको हकअधिकार प्रदान गर्न साझा मञ्चको विकास गर्ने लक्ष्य रहेको छ ।

यसैगरी, जलवायु परिवर्तनको असरसँग अनुकूलन हुन पर्वतीय क्षेत्रका जनता र उनीहरूको जीविकोपार्जनमा हुने हानि–नोक्सानीलाई न्यूनीकरण गर्न, स्वच्छ ऊर्जा सङ्क्रमणलाई प्रवद्र्धन गर्ने, अब पर्वतीय ज्ञान, अनुसन्धान र नवीन समाधानहरू तथा अन्वेषणहरु एकापसमा आदानप्रदान गर्ने पनि लक्ष्य छ ।

पर्वतीय राष्ट्रहरू र यस क्षेत्रमा बसोबास गर्ने वा आश्रित बासिन्दाका लागि प्रविधि हस्तान्तरण, क्षमता विकास र जलवायु वित्तसम्बन्धी बहुपक्षीयता, सहयोग तथा साझेदारीलाई बढावा दिने पनि संवादको लक्ष्य छ । उक्त विशेषज्ञ संवाद कार्यक्रममा नेपाललगायत पर्वतीय देशहरू, अन्तर्राष्ट्रिय समुदायहरू, विकास साझेदारहरू, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, निजी क्षेत्रहरू र नागरिक समाजका प्रतिनिधि गरी दुई सयभन्दा बढीको सहभागी हुने अपेक्षा गरिएको छ ।

पाकिस्तानमा चट्याङ र वर्षाका कारण ४१ जनाको मृत्यु


पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र बर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । मृतकमध्ये २८ जनालाई चट्याङ लागेको थियो ।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले आगामी दिनमा थप वर्षा हुने भएकाले पहिरो र आकस्मिक बाढीको चेतावनी दिएको छ ।

पाकिस्तानको सबैभन्दा ठूलो र बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा शुक्रबारदेखि आइतबारसम्म चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ ।

’मैले एनडीएमएलाई प्रान्तहरूसँग समन्वय गर्न भनेको छु। र एनडीएमएले क्षति भएका क्षेत्रहरूमा राहत सामग्री हरू प्रदान गर्न,“ प्रधानमन्त्री शहबाज शरिफले सोमबार भने।
हावाहुरीका बेला चट्याङ पर्ने जोखिम खुला, ग्रामीण क्षेत्रमा बस्नेमानिस बढी हुने गरेका छन् ।

बलुचिस्तान प्रान्तमा चट्याङ लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ । प्रान्तका २५ जिल्ला वर्षाका कारण प्रभावित भएका छन् भने केही क्षेत्र डुबानमा परेका छन् ।

रमजानको पवित्र महिना इद उल फित्रको बिदापछि विद्यार्थीहरू फर्कन ढिलाइ गर्दै सोमबार र मङ्गलबार प्रान्तका विद्यालयहरू बन्द गर्न आदेश दिइएको थियो ।

दक्षिणी सिन्ध प्रान्तमा बाढीका कारण सडक दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।
उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा भारी वर्षाका कारण घर भत्किँदा चार बालबालिकासहित आठ जनाको मृत्यु भएको छ ।

पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जरदारीले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै चट्याङका घटनामा वृद्धि हुनुमा जलवायु परिवर्तनसम्बन्धी घटनालाई जिम्मेवार मान्न सकिने बताउनुभएको छ ।

पाकिस्तान अप्रत्याशित मौसमी ढाँचाका साथै प्रायः विनाशकारी मनसुनी वर्षाको जोखिममा रहेको छ । पाकिस्तानमा सामान्यतया जुलाईमा मनसुनी बर्षा हुनेगर्छ ।

टोखा बिस्का जात्रा : सिन्दूरजात्रासहित रथलाई टोल परिक्रमा


काठमाडौँ, ३ वैशाख ः ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का नखः ९जात्रा०को चौथो दिन आज सिन्दूरजात्रासहित रथलाई परिक्रमा गरिएको छ । गत चैत मसान्तदेखि सुरु भएको जात्राको आज चौथो दिन आज बिहान ७ बजे तपलाक्षीःबाट देवतासहितको रथलाई सिन्दूरजात्रा गरी टोल परिक्रमा गरिएको र बिहान ११ बजे हासल टोलमा सबै रथ बिसाइएको छ ।

आजै दिउँसोे तलेजु गुथीबाट जीवित गणेश, कुमारीसहित पूजा ल्याएर सिन्दूरजात्रा गरी सरस्वती र महादेवको रथबाहेक अन्य रथ पोखरीमा चोख्याउनका लागि लगिएको नेवा गुथीः टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिनुभयो । यस्तै, उक्त रथलाई मसानकालीको मन्दिर र गाउँको परिक्रममा गरी आजै साँझ कोनेलाक्षीःमा बिसाइएको छ । आज रातभर भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने चलन रहेको छ ।

बिस्का जात्राको चौथो दिन आज नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का नेता एवम् पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेल, कांग्रेस नेता एवम् काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलगायत व्यक्तिहरु जात्रामा पुग्नुभएको थियो । टोखा नगरपालिकाले जात्राका अवसरमा आज टोखाको वडा नं २ र ३ मा र भोलि अर्थात् जात्राको अन्तिम दिन टोखा नगरपालिकाभर सार्वजनिक बिदा दिएको छ ।

राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै विकासको मूलधारमा जोडिन सञ्चारजगत्लाई मन्त्री शर्माको आग्रह


देउखुरी (दाङ), ३ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा आएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै विकासको मूलधारमा जोडिन सञ्चारजगत्ले अभियान चलाउनुपर्ने बेला आएको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ दाङ शाखाको २२औँ साधारणसभा, १२औँ अधिवेशन एवम् मिडिया महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले संविधानको कार्यभार र कानुनमा उल्लेख भएअनुसारको जिम्मेवारी पूरा गर्न अब सञ्चारजगत् र राजनीतिक क्षेत्रबाट अभियान चलाउनुपर्ने बेला आएको छ भन्नुभयो ।

उहाँले अहिले पनि महिला उत्पीडन, सीमान्तकृत समुदायका मुद्दा, अधिकार कार्यान्वयनको विषयमा चुनौती देखिएको हुँदा संविधानमा लेखिएका कुरा व्यवहारमा उतार्न र अक्षरस पालना गर्नका लागि सञ्चारको सशक्त भूमिका हुनुपर्छ भन्नुभयो ।

“संविधानमा लेखिएको मौलिक हकलाई अभियानात्मक रुपमा जिम्मेवार सञ्चारजगत्ले भूमिका खेल्न सक्छ भन्नेमा म विश्वस्त छु,” उहाँले भन्नुभयो ।

समाजमा नकारात्मक धारणाले स्थान पाउने अवस्था बन्दै जानु मुलुकको हित नगर्ने भएको जनाउँदै आशाको दियो बाल्न थोरै सही समाचार र सकारात्मक समाचारमा जोड दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले समाजको धारणा नकारात्मक रुपमा आउने गरेको छ । समाजमा नकारात्मक मात्रै छ भन्ने भाष्य गलत छ । के यहाँ कुनै कुरा सकारात्मक कुरा भएको छैन ? समाजको हितमा लागेकाहरुको भूमिका सकारात्मक छैन र ?” उहाँले भन्नुभयो, “अब आशाको दियो बाल्न थोरै भए पनि कोसिस गरौँ । समाजका सफलताका कथा बाहिर ल्याउनु लागौँ ।”

अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक स्वतन्त्रता एकअर्काका परिपूरक रहेको उहाँको भनाइ थियो । देशलाई अग्रगतिमा लैजान दुवै पक्ष गम्भीरतापूर्वक जनउत्तरदायी हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “पत्रकारिता र राजनीति परिवर्तनको यात्रामासँगसँगै छन् । अहिले ‘एजेन्डा’ फेरिएको छ । राजनीतिक स्थायित्व भयो तर राजनीतिक अभिभारा पूरा गर्दै अघि बढ्दा अहिले धेरै अभिभारा थपिएको छ,” उहाँले भन्नुभयो, “हामी संविधानको मौलिक हक कार्यान्वयन गर्नुपर्ने अवस्थामा छौँ । परिवर्तन ल्याउन गर्नुपर्ने कुरामा ध्यान दिनुपर्ने छ । तीन तहका सरकारको काम, उत्पीडितलाई मूल प्रवाहमा ल्याउन जुन काम हुनुपथ्र्याे त्यो व्यावहारिक रुपमा हुन सकेको छैन । अबको ध्यान यता हुनुपर्छ ।” उहाँले देशमा व्यवस्था परिवर्तनका लागि जसले निरङ्कुशता व्यहोर्नुपरेको थियोे आज त्यही पुस्ता गणतन्त्र र व्यवस्थाबारे नकारात्मक कुरा फैलाइरहेकोप्रति चासो व्यक्त गर्नुभयो ।

गणतन्त्रमाथिको गलत लाञ्छना लगाउने विरुद्ध बलियो आवाज उठाउन मिडियाको मूल मुद्दा बनाउन आग्रह गर्नुभयो । “जसले निरङ्कुशता व्यहोरेन आज त्यही पुस्ता गणतन्त्र र व्यवस्थाबारे नकारात्मक कुरा फैलाइरहेको छ । गणतन्त्रमाथिका गलत लाञ्छना लगाउने विरुद्ध बलियो आवाज उठाउन मिडिया खबरदारी जरुरी छ । किनभने गणतन्त्र व्यवस्था गलत होइन, कोही व्यक्तिविशेषले कमजोरी गर्दा व्यवस्थामाथि आरोप लगाइनु ठीक होइन,” उहाँले भन्नुभयो, “लोकतन्त्र राम्रो र परिस्कृत काम गर्ने व्यवस्था हो । यसमा देखापरेका कमीकमजोरी हटाउँदै समृद्ध मुलुक बनाउने काममा पत्रकारको भूमिका थप सशक्त हुनुपर्छ ।”

उहाँले आमसञ्चारको क्षेत्रमा आएको परिवर्तनलाई व्यवस्थित गर्न पुनःसंरचना जरुरी रहेको औँल्याउनुभयो । जिम्मेवार आमसञ्चार नीति बनाउनका लागि आवश्यक सुझावको अपेक्षामा सरकार रहेको उहाँले बताउनुभयो ।पत्रकार महासङ्घ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

पत्रकार महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, अकोराबका अध्यक्ष अर्जुन गिरी, केन्द्रीय उपाध्यक्ष उदय जिएम, प्रेस काउन्सिल सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुशील पोखरेल, महासङ्घ प्रदेश उपाध्यक्ष शुक्र ऋषि चौलागाईं, जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, महासङ्घका सल्लाहकार सुदीप गौतम, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कँुवेर कडायतलगायतले बोल्नुभएको थियो ।

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ, ३ वैशाख : सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले ‘राष्ट्रिय भिटामिन ‘ए’ को सबै तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ ।

उहाँले भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने बताउनुभयो । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।

उहाँले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १० हजार स्वास्थ्यकर्मी खटिने बताउनुभयो । पोषण शाखा प्रमुख थापाले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमसँगै सोही दिन खोप लगाउन छुटेका बालबालिका खोप पनि लगाइने बताउनुभयो । “भिटामिन ए र जुकाको औषधि खुवाउन आएका अभिभावकलाई तपाईंको बच्चाले कुनै खोप लगाउन छुटेको छ कि छैन भनेर महिला स्वयंसेविकाले सोध्ने गर्दछन,” उहाँले भन्नुभयो, “यदि खोप लगाउन छुटेको हो भने नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउन महिला स्वयंसेविकाले अनुरोध गर्दछन् ।” सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।

शिक्षा समितिमा नेपाल विश्वविद्यालय विधेयकमाथि छलफल


काठमाडौँ, ३ वैशाख : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९’ माथि छलफल भएको छ । समितिको आज सिंहदरबारमा भएको बैठकमा उक्त विधेयकमाथि संशोधन राख्ने सांसदहरुले बोल्नुभएको थियो । संशोधनकर्ता सांसदले नेपाल विश्वविद्यालयको आवश्यकता र भौतिक पूर्वाधारआदिबारे स्पष्ट हुनुपर्ने माग गर्नुभयो ।

सांसद प्रदीप पौडेलले डेढ दर्जनभन्दा बढी विश्वविद्यालय रहेको अवस्थामा नेपाल विश्वविद्यालय किन आवश्यक प¥यो भनी प्रश्न गर्नुभयो । अरू विश्वविद्यालयले भन्दा फरक अध्ययन गर्ने के विषय हुन् त्यो पुष्टि हुन नसकेको भन्दै उहाँले व्यावहारिक सीप र दक्षता हासिल गर्ने विश्वविद्यालय आवश्यक भएको बताउनुभयो । सांसद पौडेलले विश्वविद्यालयसम्बन्धी छाता ऐन बनाएर सोही मातहतमा सम्बन्धन दिने व्यवस्था गर्न पनि माग गर्नुभयो ।

सांसद दामोदर पौडेल बैरागीले नेपालमा हाल १७ वटा विश्वविद्यालय रहेको र ती विश्वविद्यालयभन्दा फरक अध्ययन अध्यापन हुने विश्वविद्यालयका रुपमा यसलाई अगाडि बढाउनुपर्ने खाँचो औँल्याउनुभयो ।

सांसद प्रेम सुवालले नेपालमा धेरै सङ्ख्यामा विश्वविद्यालय रहेकाले अर्को विश्वविद्यालय किन आवश्यक प¥यो र यसको भौतिक पूर्वाधारको अवस्थाबारे पनि स्पष्ट पार्न माग गर्नुभयो । समितिका सभापति अम्मरबहादुर थापाले विधेयकमाथि उठेका विषयमा पुनः छलफल गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उच्च शिक्षाको अध्ययन, अध्यापन तथा अनुसन्धान, गुणस्तरीय, जीवनोपयोगी, नवप्रवर्तनकारी शिक्षामार्फत दक्ष, सृजनशील तथा उद्यमशील मानवस्रोत उत्पादन गर्ने विधेयकको उद्देश्य रहेको छ । तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले सो विधेयक सङ्घीय संसद्मा पेस गर्नुभएको थियो ।

गुल्मीका ३४ हजार परिवार स्वास्थ्य बीमाको पहुँचमा


तम्घास (गुल्मी), ३ वैशाख : गुल्मीका झण्डै ३४ हजार परिवार स्वास्थ्य बीमाको पहुँचमा रहेका छन् । जिल्लास्थित स्वास्थ्य बीमा बोर्डले दिएको जानकारीअनुसार जिल्लामा हालसम्म ३३ हजार आठ सय १२ परिवारले स्वास्थ्य बीमा गराएका हुन् ।

गुल्मीमा विसं २०७६ माघ १९ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो । जसमा आर्थिक वर्ष २०७६/७७ मा एक हजार तीन सय ९४, आव २०७७/७८ मा आठ हजार चार सय १६, आव २०७८/७९ मा पाँच हजार तीन सय ९७ परिवारले स्वास्थ्य बीमा गराएका तथ्याङ्क छ ।

आव २०७९/८० मा एक हजार नौ सय ६४ र चालु आर्थिक वर्षको छ महिनामा एक हजार ८६ परिवारले स्वास्थ्य बीमा गराएका बीमा बोर्डका प्रमुख सुवास घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार एक परिवारले वार्षिक रु तीन हजार पाँच सयमा पाँच जनाको रु एक लाखसम्मको स्वास्थ्य बीमा गर्न पाउँछन् ।

औषतमा एक परिवारको चार जनाको मात्रै स्वास्थ्य बीमा हुने गरेको उहाँको भनाइ छ । यसरी हेर्दा जिल्लामा पारिवारको मात्रै गणना गर्दा ७३ हजार २८ जना स्वास्थ्य बीमाको पहुँचमा रहेका प्रमुख घिमिरेले जानकारी दिनुभयो । सोही अवधिमा १५ हजार पाँच सय ५५ ज्येष्ठ नागरिकको पनि स्वास्थ्य बीमा गराइएको छ । ज्येष्ठ नागरिकको हकमा भने एक नागरिक बराबर एक परिवार गणना हुने उहाँले बताउनुभयो । उहाँका अनुसार यसरी हेर्दा जिल्लामा कूल ८८ हजार पाँच सय ८३ नागरिक स्वास्थ्य बीमाको पहुँचमा छन् ।

विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा

जिल्लाको चन्द्रकोट गाउँपालिकाले अतिविपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गराइदिने कार्यक्रम सञ्चालनमा ल्याएको छ । यो कार्यक्रमअन्तर्गत गत वर्ष दुई लाखमा एक सय अतिविपन्न परिवारको निःशुल्क बीमा भएको थियो । उक्त कार्यक्रमलाई यो वर्ष परिमार्जन गरिएको छ ।

यो वर्ष अतिविपन्न परिवारका लागि निःशुल्क र विपन्न परिवारका लागि ५० प्रतिशत सहुलियत प्रदान गर्ने योजना बनाइएको गाउँपालिकाका अध्यक्ष युवराज केसीले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य बीमा कार्यक्रमका लागि यो वर्ष पनि चन्द्रकोटमा तीन लाख बजेट विनियोजन गरिएको छ ।

“स्वास्थ्य बीमामा सहुलियत दिनाले धेरै नागरिक बीमाको पहुँचमा आउन सक्छन्”, अध्यक्ष केसीले भन्नुभयो, “यो कार्यक्रमले विपन्न नागरिकलाई धेरै राहत मिलेको छ ।”

गत वर्ष रेसुङ्गा नगरपालिका–४ ले वडाकै बजेटबाट २९ परिवारको निःशुल्क स्वास्थ्य बीमा गराइदिएको थियो । सोही कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिइएको वडाध्यक्ष लीलाधर आचार्यले जानकारी दिनुभयो । निःशुल्क स्वास्थ्य बीमामा सुकुम्बासी र अतिविपन्न परिवार प्राथमिकतामा परेका उहाँले बताउनुभयो । गत वर्ष रेसुङ्गा–३ कार्यालयले पनि २८ परिवारको निःशुल्क स्वास्थ्य बीमा गराइदिएको थियो ।

जिल्लाभर ९३ स्वास्थ्य बीमा अभिकर्ता

गुल्मीमा प्रत्येक वडामा एक÷एक जनाका दरले ९३ जना स्वास्थ्य बीमा अभिकर्ता छन् । उनीहरुलाई स्वास्थ्य बीमा बोर्डले आवश्यक तालिमसमेत प्रदान गरेको छ । समयमै स्वास्थ्य बीमा गर्नाले बिरामी परेको समयमा आर्थिक भार वा जोखिम न्यूनीकरण गर्न सहयोग पुग्छ । यसभन्दा पहिले धेरै सरकारी वा निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएकामा पछिल्लो समयमा त्यो कार्यक्रम कतिपय अस्पतालमा कटौती गरिएको छ ।

सरकारी अस्पतालमा गत माघ १ गतेदेदेखि उपचार गर्दा लागेको कूल लागतको १० प्रतिशत बीमित आफैँले व्यहोर्नुपर्ने स्वास्थ्य बीमा बोर्डले जनाएको छ । त्यसैगरी निजी र सामुदायिक अस्पतालमा भने यही वैशाख १ गतेदेखि २० प्रतिशत रकम बीमितले तिर्नुपर्नेछ ।

नेपालमा पन्ध्रौँ योजनाको अन्त्यसम्म ६० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने लक्ष्य राखिएकामा गुल्मीमा हालसम्म ४४.३० प्रतिशतमा पहुँच पुगेको बीमा बोर्ड गुल्मीले जनाएको छ ।

प्रक्रियागत अलमलले विपद् प्रभावित अधिकारबाट वञ्चित नहुन् : गृहमन्त्री


काठमाडौँ, ३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रक्रियाको अलमल र ढिलासुस्तीका कारण विपद् प्रभावितहरु आफ्नो अधिकार प्राप्त गर्नबाट वञ्चित नहोऊन् भन्ने विषयमा गम्भीर हुन सम्बद्ध क्षेत्रका अधिकारीहरुसँग आग्रह गर्नुभएको छ ।

सिंहदरबारमा आज भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २१औँ बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले विपद् न्यूनीकरण, विपद्मा परेकाहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कुनै पनि कारणले ढिला हुन नहुनेमा ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा गृहमन्त्री लामिछानेले भन्नुभयो, “प्रक्रियामा सहजताका लागि ध्यान दिन जरुरी छ, निर्णय प्रक्रिया ढिला हुँदा र झन्झटिलो हुने गरेका गुनासाहरु आइरहेकाले कसरी छरितो बनाउने भन्नेमा ध्यान पुगोस् । समयमै कार्यसम्पादन गर्न प्रक्रियागत अलमल र कानुनी जटिलताका कारण प्रभावित नागरिक अधिकारबाट वञ्चित नहोस् ।”

उहाँले आउँदो वर्षाअघि नै विपद् पीडितहरु घरभित्र बस्न पाउन भन्ने चाहना आफ्नो रहेको जानकारी गराउँदै छरितो ढङ्गले काम अघि बढाउन मातहतका अधिकारीहरुलाई निर्देशन पनि दिनुभयो ।

पछिल्लो समयमा आगलागीका कारण सैनिक र बालबालिकाको निधन भएकामा दुःख व्यक्त गर्दै गृहमन्त्री लामिछानेले कानुनमा रहने लुप होलका कारण प्रभावितलाई थप पीडा हुनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

बैठकमा गृहमन्त्री लामिछानेले पेस गर्नुभएको ‘विपद् प्रभावितको निजी आवास प्रबलीकरण, पुनः निर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०८१’ परिमार्जनसहित स्वीकृत भएको छ । बैठकमा उहाँले कार्यविधिमा हिमपहिरो र खडेरीलाई समेत समावेश गर्ने गरी रानुभएको पारित भएको हो ।

बैठकमा सहभागी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले प्रभावितहरुको राहत, उद्धार तथा पुनःस्थापनमा समस्या देखिँदै आएको उल्लेख गर्दै त्यसतर्फ चुस्त काम गर्न जरुरी रहेको औँल्याउनुभयो । उहाँले विपन्नताका कारण जग्गा जमिन नभएकाहरुको हकमा पनि सरकारबाट उचित व्यवस्थापन गर्न सकिने गरी नीतिनियम बनाउनुपर्नेमा जोड दिनुभयो ।

सो क्रममा गृहसचिव एकनारायण अर्यालले पहिलेकै कार्यविधिमा टेकेर अहिले नयाँ कार्यविधि तयार पारिएको जानकारी दिँदै यसले स्थानीय पालिकामा रिसोर्स नभएको खण्डमा सङ्घीय सरकारले गर्न सक्ने गरी बनाइएको बताउनुभयो । उहाँले त्यसको नियमावली कानुन मन्त्रालयमा परामर्शका लागि पुगेकाले एक–दुई दिनभित्रैमा मन्त्रिपरिषद्मा पठाउने जानकारी गराउँदै उक्त नियमावली र कार्यविधिहरु बजेटअघि नै स्वीकृत भएमा तीनवटा सरकारलाई बजेट व्यवस्थापनमा सहज हुने बताउनुभयो ।

बैठकले पेस गरिएको पश्चिम नेपालमा गएको भूकम्पबाट क्षतिको अवस्थाका बारेमा अध्ययन प्रतिवेदन, खोज उद्धारका लागि हवाई उद्धारमा लागेको खर्च, मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन साझेदार संस्था परिचालनसम्बन्धी कार्यविधि २०८१ लगायत प्रस्तावहरु स्वीकृत गरेको छ । केही प्रस्ताव भने आवश्यक छलफलपछि अर्काे बैठकले स्वीकृत गर्ने गरी बैठक स्थगित गरिएको जनाइएको छ ।

तान्जानियामा बाढीका कारण ५८ व्यक्तिको मृत्यु


पूर्वी अफ्रिकी देश तान्जानियामा भारी वर्षा जारी रहँदा गत दुई हप्तामा बाढीका कारण ५८ जनाको मृत्यु भएको सरकारले जनाएको छ ।

तान्जानिया सरकारका अनुसार तटीय क्षेत्र सबैभन्दा बढी प्रभावित भएको र उक्त क्षेत्रमा बाढीले एक लाख २६ हजार ८३१ जना विस्थापित भएका छन् । सरकारका प्रवक्ता मोभरे माटिनीले प्रभावितहरूलाई खाद्यान्नसहित आवश्यक आपूर्ति वितरण गरिएको बताउनुभयो ।

तान्जानियाले भविष्यमा बाढी रोक्न आवाश्यक बाँध निर्माण गर्ने योजना बनाएको उहाँले बताउनुभयो । केन्यामा पनि अहिलेसम्म कम्तिमा १३ जनाको मृत्यु भएको जनाइएको छ ।

बाढीका कारण पूर्वाधार पनि क्षतिग्रस्त हुनुका साथै प्रवावित क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ ।यस महिनाको अन्त्य सम्ममा वर्षा चरम सीमामा पुग्ने अनुमान गरिएको छ ।

चिनियाँ अदालतद्वारा सम्बन्धविच्छेद मुद्दामा बाल संरक्षणलाई जोड

चीनको सर्वोच्च अदालतले सोमबार देशभरका अदालतहरूलाई सम्बन्धविच्छेदको सुनुवाइका क्रममा नाबालिग बालबालिकाको संरक्षणमा जोड दिन निर्देशन दिएको छ ।

न्यायाधीशले सम्बन्ध विच्छेद गर्ने आमाबाबुलाई आफ्ना छोराछोरीप्रतिको कानुनी दायित्वहरू सम्झाउन र उनीहरूलाई सम्बन्धित कानूनको उल्लङ्घनका परिणामहरूबारे चेतावनी दिन आवश्यक रहेको सर्वोच्च अदालतले विज्ञप्तिमार्फत जनाएको छ ।

सम्बन्धविच्छेद गर्ने आमाबाबुलाई हिरासतमा प्राप्त गर्ने मनसायले बालबालिकालाई जबरजस्ती कब्जा गर्ने वा लुकाउने कानुनी परिणामहरूबारे पूर्ण जानकारी दिइने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्थानीय अदालतहरूलाई सम्बन्धविच्छेद मुद्दाको प्रत्येक चरणमा बाल सुरक्षालाई संरक्षण गर्न विभिन्न सञ्चारमाध्यम प्रयोग गर्न प्रोत्साहित गरिएको छ ।

यस्तै उपाय नाबालिगहरूसँग संलग्न अन्य परीक्षणहरूमा पनि पेश गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ

काठमाडौँ, ३ वैशाख : डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय आयोगका अध्यक्ष एवम् पूर्वन्यायाधीश गिरिशचन्द्र लालले आज नवनियुक्त दुई सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा जलस्रोत तथा सिँचाइ सचिव सरिता दुवाडी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव दिनेशकुमार घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

गत पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश लालको नेतृत्वमा तीन सदस्यीय छानबिन आयोग गठन गरेको थियो । आयोगका सदस्य भने पटकपटक परिवर्तन गरिएका छन् । यसअघि आयोगका सदस्य रहनुभएका जलस्रोत तथा सिँचाइ सचिव सुशीलचन्द्र तिवारी ऊर्जा सचिवमा सरुवा हुनुभएपछि उहाँको स्थानमा जलस्रोत तथा सिँचाइ सचिव दुवाडीलाई सदस्य बनाइएको छ ।

यसैगरी, वाणिज्य सचिव नारायणप्रसाद शर्मा दुवाडीको स्थानमा दिनेशकुमार घिमिरेलाई आयोगको सदस्य बनाइएको छ । मन्त्रिपरिषद्को गत चैत ३० को बैठकले आयोगको म्याद एक महिना थप गरेको छ । आयोगले आफ्नो कामलाई अन्तिम चरणमा पु¥याएकाले थपिएको समयभित्रै प्रतिवेदन बुझाउने तयारी गरेको आयोगका अध्यक्ष लालले मन्त्री बस्नेतलाई जानकारी गराउनुभयो । मन्त्री बस्नेतले आयोगलाई कार्यादेशअनुसार काम गर्न आग्रह गर्नुहुँदै मन्त्रालयका तर्फबाट थप सहयोग चाहिए निश्चिन्त भन्न आग्रह गर्नुभयो । लामो समयदेखि विवादित रहँदै आएको डेडिकेटेड र ट्रङ्क लाइन महसुलसम्बन्धी विवाद समाधानका लागि सरकारले आयोग गठन गरेको हो ।

बसाइँसराइको प्रभावले वन डढेलो बढ्दो


बलेवा (बागलुङ), ३ वैशाख : डोकोभरि स्याउला बोकेर जङ्गल हुँदै घर हिँडेका गोठाला आजभोलि गाउँघरमा देखिँदैनन् । कुनै समय गोठमुनि खात लाग्ने मलखात स्याउला आजभोलि गाउँ छेउको पाखोबारीमै खात लागेको छ । नजिकैको जङ्गलबाट झरेर आउने स्याउला कसैले टिप्दैनन् । गाउँघरमा पशुचौपाय पाल्नेको सङ्ख्या घट्दै जाँदा बाँझो बारीको घाँस सुकेको छ । चैत÷वैशाखकको घामले सुकेका स्याउला, झाडी र घाँसकै कारण आगलागीका घटना बढिरहेका छन् ।

यो वर्षको सुक्खायाम सुरु भएपछि बागलुङका वनक्षेत्रमध्ये ५० प्रतिशतमा आगलागी भइसकेको छ । पाखोबारी, घरछेउका जङ्गल र झाडीबाट सुरु भएको आगो घना वनक्षेत्रसम्म फैलिएका घटना डिभिजन वन कार्यालयमा सूचीकृत छन् । आगलागी हुने प्राकृतिक विपत्ति हो तर आगलागी भइसकेपछि नियन्त्रणमा लिने जनशक्ति गाउँघरमा छैनन् ।

“हिजो मल बन्ने पातपतिङ्गर आज आगलागीका कारण भएरहेका छन्, खेती हुने जमिनमा घाँस र झाडी फैलिँदै जङ्गलमा लागेको आगो घरसम्मै आइपुग्छ”, डिभिजन वन कार्यालयका अधिकृत सरोज पन्थीले भन्नुभयो, “बसाइँसराइका कारण गाउँ खाली हुँदा आगलागीका घटना बढे, आगो समयमा निभाउनसक्ने जनशक्ति पनि छैन् गाउँमा ।”

पातपतिङ्गरको उपयोग बढाउने, समयसमयमा झाडी फँडानी गर्ने र पानीका स्रोत बढाउने हो भने आगलागीका घटनामा कमी आउनेमा सामुदायिक वनका उपभोक्ता सहमत छन् । “जङ्गलमा लागेको आगो निभाउन सकिन्थ्यो तर हामीसँग पर्याप्त पानीका स्रोत तथा आगो निभाउने औजार छैनन्”, रामरेखा सामुदायिक वनका उपभोक्ता कृष्ण शर्माले भन्नुभयो, “नियम बनाएर तीन÷तीन महिनामा झाडी फँडानी गरौँ, पातपतिङ्गरलाई मलको रुपमा विकास गरौँ । यसमा राज्यले सहयोग गर्नुपर्दछ ।”

कतिपय आगो मानवीय क्रियाकलापमा हुने त्रुटिबाट डढेलो बन्छ भने कतिपय ठाउँमा नियतबस् आगो लगाइन्छ । नियतबस आगो लगाउनेलाई कारबाही गर्ने कानूनी व्यवस्था भए पनि सूचनाको अभावमा आगलागी जस्तो आपराधिक घटनामा संलग्न कानुनको दायरामा नआउने प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो ।

“घर छेउको जङ्गलमा आगो लाग्दा सबै रमिते हुन्छन् । प्रहरी आएन भनेर आलोचना गर्छन् तर समयमा सूचना दिँदैनन्”, उहाँले भन्नुभयो, “आगलागी गर्ने व्यक्तिका विषयमा सूचना पाए कारबाही हुन्छ । यो कुरा अरुका लागि पनि सिकाइ हुन्छ ।” आगो निभाउनका लागि सूचना ढिलागरी आउँदा जोखिमपूर्ण अवस्थामा बिना बजेट र औजार आगोसँग प्रहरी खेल्नु परेको गुनासो कँडेलले गर्नुभयो ।

घाँस राम्रो पलाउने, जङ्गली जनावर तथा पन्छीहरुको सहजै सिकार गर्न पाइने लोभका कारण मानव सिर्जित आगलागी बढेको राष्ट्रिय प्रकृति संरक्षण कोष गण्डकी जलाधार, जलवायु उत्थानशिल आयोजना पोखराका अधिकृत सुनिल सापकोटाले बताउनुभयो । पश्चिमाहरुको सिको गरेर झाडीमा आगो लगाउँदा वन मासिएको उहाँको भनाइ छ ।

वनजङ्गल, जडीबुटी र वातावरण संरक्षणका विषयमा जनचेतनाको अभावले आगलागीका घटना बढेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । पोखरी, कुवालगायत पानीका स्रोत मासिनु, झाडी तथा बुट्यान क्षेत्र बढ्नु र मानिसमा चेतनाको अभाव हुनुलगायत कारणले प्रत्येक वर्ष घटना दोहोरिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गल बरालले बताउनुभयो । उहाँका अनुसार जिल्लामा ढोरपाटन शिकार आरक्ष, तीन राष्ट्रिय वन क्षेत्र र पाँच सय ४० सामुदायिक वन तथा दुई वटा निजी वन छन्भने कयौँ हेक्टरमा सूचीकृत भइनसकेको निजी वन क्षेत्र छ ।

उपभोक्ता र सरोकारवालालाई तालिम
डिभिजन वन कार्यालय आयोजना र राष्ट्रिय प्रकृति संरक्षण कोष गण्डकी जलाधार, जलवायु उत्थानशील आयोजनाको सहयोगमा वन डढेलो व्यवस्थापनसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ ।

बढ्दो डढेको नियन्त्रणका लागि सामुदायिक वनका उपभोक्ता तथा सरोकारवालाका लागि डढेकोका कारण मानव जीवन र वातावरणमा परिरहेको प्रभाव तथा डढेको नियन्त्रका लागि अपनाउनु पर्ने सतर्कताका विषय तालिममा जानकारी गराइएको थियो । साथै कार्यालय परिसरमा आगो नियन्त्रणको अभ्यास पनि गराइएको थियो ।

आयोजना बैंकबाट योजना छनोट गरी बजेट विनियोजन गर्छौंः मुख्यमन्त्री जम्कट्टेल

मनहरी (मकवानपुर), ३ वैशाखः बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा आयोजना बैंकमा रहेका योजना छनोट गरी बजेट विनियोजन गरिने बताउनुभएको छ ।

आज रासससँग कुराकानी गर्दै मुख्यमन्त्री जम्कट्टेलले आगामी आर्थिक वर्षको बजेट परम्परागत प्रणालीको नहुने स्पष्ट पार्नुभयो । प्रदेश सरकारले चालु आर्थिक वर्षबाटै आयोजना बैंकमार्फत योजना छनोट गरी बजेट विनियोजन गर्ने तयारी गरे पनि विभिन्न परिस्थितिका कारण सम्भव हुन नसकेको उहाँले बताउनुभयो ।

आन्तरिक तयारी र व्यवस्थापनसहित आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीमार्फत सार्वजनिक गर्न, बजेट तर्जुमा गर्दा प्राप्त सिलिङभित्र प्राथमिकताका आधारमा बजेट प्रस्ताव गरिने उहाँको भनाइ छ । ठूला योजनाहरु प्रदेशका गौरवका आयोजनाहरुको विस्तृत अध्ययन गरी आयोजना बैंकको सूचना प्रणालीमा प्रविष्ट गराई प्राथमिकता क्रमका आधारमा बजेट बिनियोजन गरिने उहाँको भनाइ छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि ‘आयोजना बैंक’ निर्माण गरेर कार्यक्रम छनोट तथा बजेट विनियोजन गर्ने तयारीलाई तीव्र बनाएको हो । प्रदेश सरकार स्थापना भएदेखि आयोजना बैंक निर्माणको बहस चलिरहे पनि कार्यान्वयनमा भने आउन सकेको थिएन ।

प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेटमाथि दलहरु बीचको विवादले आयोजना बैंकको औचित्यलाई थप पुष्टी गरेको थियो । प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘आयोजना बैंक’ निर्माण गरी योजना तथा कार्यक्रममा बजेट विनियोजन गर्न सुझाव समेत दिएको थियो ।

त्यस्तै आयोजना बैंकको अपरिहार्यतालाई प्रदेशको पहिलो आवधिक योजनाको समीक्षाले समेत देखाएको छ । प्रदेश नीति तथा योजना आयोगमार्फत आयोजना बैंक सञ्चालनमा ल्याउनुपर्ने सुझाव सो समीक्षामा उल्लेख छ । राष्ट्रिय सूचना आयोगबाट हस्तान्तरित प्रदेश आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीलाई सञ्चालनमा लयाएर योजना छनोट प्रणाली व्यवस्थित, पारदर्शी र सन्तुलित बनाउन आवश्यकता रहेको औँल्याइएको छ ।

प्रदेश सरकार स्थापनादेखि नै बागमती सरकारले आयोजना बैंक निर्माणको चर्चा सुरु गरेको थियो । सरकारले विगतदेखि नै नीति तथा कार्यक्रममै समावेश गरी आयोजना बैंक निर्माणको विषय अघि सार्दै आएको थियो । तर, कार्यान्वयन भने हुन सकेको थिएन ।

प्रदेश सरकारले २०७५ र २०७९ मा गरी दुई पटक आयोजना बैंक निर्माण गरेको थियो । सरकारको लगानीलाई व्यवस्थित गर्नुको साथै वास्तविक क्षेत्रको लगानी र उत्पादन कस्तो छ, त्यसको फाइदा र बेफाइदाबारेमा विश्लेषण गर्ने गरी आयोजना बैंक निर्माण गरिएको हो ।

नियमावली संशोधन हुँदा अधिकांश न्यायाधीश चिन्तामाः अध्यक्ष घिमिरे


काठमाडौँ, ३ वैशाखः नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपरिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) का कारण अधिकांश न्यायाधीश चिन्तामा परेको बताउनुभएको छ ।

बारमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त नियमावली संशोधनपछि ९० प्रतिशत न्यायाधीश चिन्तामा परेको भन्दै बार चुप लागेर बस्ने अवस्था नभएको उल्लेख गर्नुभयो ।

“न्याय परिषद् नियमावली संशोेधनका कारण ९० प्रतिशत न्यायाधीशहरु चिन्तामा पर्नुभएको अवस्था छ”, अध्यक्ष घिमिरेले भन्नुभयो, “यस्तो अवस्थामा बार टुलुटुलु हेरेर बस्ने अवस्था रहेन, न्यायाधीशको मर्यादाक्रम, सेवासर्त संविधानमा भएको व्यवस्थाविरुद्ध छ ।”

बारले सर्वोच्च अदालतका न्यायाधीशको कार्यकाल सातवर्षको रहने गरी व्यवस्था गर्नुपर्ने, न्यायपालिकामा हुनसक्ने विसङ्गति, अनियमितता र भ्रष्टाचार एवम् विचौलियाबाट हुनसक्ने क्रियाकलाप र त्यसको रोकथामसम्बन्धी हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।

साथै, अन्य प्रतिवेदन कार्यान्वयनका लागि न्यायपालिकाको पुनसंरचनालगायतका विषयमा आगामी राष्ट्रिय सम्मेलनमा प्रस्ताव लागि छलफल गरी निर्णय गर्ने उद्देश्यका लागि बरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको संयोजकत्वमा नौ सदस्यीय अध्ययन तथा सुझाव समिति गठन गरी कार्य प्रारम्भ गरेको जनाइएको छ ।

उक्त समितिको सदस्यमा बरिष्ठ अधिवक्ताहरूमा मुक्ति प्रधान, सविता भण्डारी बराल, डा चन्द्रकान्त ज्ञवाली, रमेश वडाल, अधिवक्ताहरू खम्मबहादुर खाती, पंकज कर्ण, अधिवक्ता दीपेन्द्र झा र यज्ञमणि न्यौपाने रहनुभएको छ ।

सञ्चारमाध्यमले सकारात्मक पक्षलाई स्थापित गर्न लाग्नुपर्छ : मन्त्री शर्मा


दाङ, ३ वैशाख ः सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमले सकारात्मक पक्षलाई जोड दिएर समाचार लेख्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङले आजदेखि आयोजना गरेको ‘मिडिया महोत्सव’को उद्घाटन गर्दै उहाँले सञ्चारमाध्यमले समाजमा रहेका नकारात्मक पक्षलाई प्राथमिकता दिनुभन्दा सकारात्मक पक्षलाई समेट्नुपर्नेमा जोड दिनुभयो ।

नकारात्मक भूमिका निर्वाह गरिरहेका व्यक्ति तथा विषय प्राथमिकतासहित आउँदा त्यसले समाजलाई नकारात्मकतातर्फ लैजाने मन्त्री शर्माले बताउनुभयो । सञ्चारमाध्याममा निराशाभन्दा आशाका कुरा बढी आउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

“समाजमा केही नकारात्मक भूमिका निर्वाह गरिरहेका व्यक्ति पनि हुन्छन् । उनीहरुका विषय प्राथमिकतामा आउँदा समाज नकारात्मकतातर्फ जाने सम्भावना बढी हुन्छ”, मन्त्री शर्माले भन्नुभयो, “यसले प्रशासन, पत्रकारितालगायत जुनसुकै क्षेत्रमा राम्रा मान्छे छैनन् भन्ने सन्देश जान्छ । त्यसैले हामीले सकारात्मक विषयवस्तुलाई समाचारमार्फत उजागर गर्न आवश्यक छ ।”

सञ्चारमाध्यामले विदेश जान लाइन लागेका व्यक्तिलाई समावेश गरिरहँदा विदेशबाट स्वदेश फर्किएर स्वरोजगार बनिरहेका, कृषि, व्यापार व्यवसाय तथा अन्य पेसाका माध्यमबाट समाजमा उदाहरणीय बनेका व्यक्तिका विषय समावेश नगर्दा युवापुस्तामा विदेश जान प्रेरणा मिल्ने गरेको मन्त्री शर्माको भनाइ छ ।

पत्रकार महासङ्घले मुलुकमा गणतन्त्र स्थापनाका लागि सुरुमा आवाज उठाएको भन्दै यसबाट प्राप्त उपलब्धि जोगाउन महासङ्को भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।“सञ्चारमाध्यम तथा महासङ्घले गणतन्त्र स्थापनामा अहोरात्र कलम चलाउँदा आज हामी लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा परिचित भएका हौँ”, मन्त्री शर्माले भन्नुभयो, “सञ्चारमाध्यमले हाम्रो सङ्घर्ष र उपलब्धिका बारेमा नयाँ पुस्तालाई बुझाउन आश्यक छ ।”

गणतन्त्र स्थापनाका साथै मुलुकमा अल्पसङ्ख्यक, दलित, महिला, जनजाति, पिछडिएको वर्ग सत्ता सञ्चालन गर्ने ठाउँमा पुगेको भन्दै यसलाई जोगाउन सञ्चारमाध्यामले भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “अहिले गलत गर्नेहरु दण्डित भइरहेका छन्”, उहाँले भन्नुभयो, “यो गणतन्त्रकै उपलब्धि हो ।”

मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनको चरणमा रहे पनि पूर्ण कार्यान्वयन हुन नसकेको भन्दै यसमा सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने मन्त्री शर्माको भनाइ छ । पत्रकारिता क्षेत्रलाई पुनःसंरचना गर्नु आजको आवश्यकता रहेको भन्दै उहाँले यसका लागि कानुन निर्माण अघि बढिरहेको जानकारी दिनुभयो ।

अहिलेसम्म सञ्चारमाध्यम परम्परागत कानुनहरुबाट सञ्चालन भइरहेका भन्दै मन्त्री शर्माले यसलाई पुनःसंरचना गर्नु अहिलेको अपरिहार्य आवश्यकता भएको बताउनुभयो । प्रेस काउन्सिललाई ‘मिडिया काउन्सिल’ बनाएर सबै किसिमका सञ्चारमाध्यमलाई व्यवस्थित गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

“आमसञ्चार प्राधिकरणको कानुन पनि अन्तिम चरणमा छ । त्यो गठन भएपछि सञ्चारमाध्यम तथा पत्रकारको क्षमता विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ । साथै सरकारी सञ्चारमाध्यमको पनि पुनःसंरचना हुन आवश्यक छ”, सूचना तथा सञ्चार प्रविधिमन्त्री शर्माले भन्नुभयो । नेपाल टेलिभिजन, रेडियो नेपाललाई एकै ठाउँबाट सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।

सामाजिक सञ्जाल विधेयक मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको भन्दै साइबर सुरक्षा, दूरसञ्चार ऐन संशोधनका लागि अन्तिम तयारीमा रहेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

फरक शारीरिक क्षमता भएका सागरको सगरमाथा चढ्ने तयारी


काठमाडौँ, ३ वैशाख : फरक शारीरिक क्षमता भएका (होचापुड्का) सागर सुनार (विश्वकर्मा) ले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारी गर्नुभएको छ । केवल तीन फुट सात इञ्च मात्र उचाइ भएका कास्कीको मादी गाउँपालिका–११ का ३० वर्षीय सुनारले सगरमाथा आरोहण गर्न लाग्नुभएको हो ।

सगरमाथा आरोहण तयारीबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सगरमाथा आरोहण गरेर विश्वमा फरक क्षमता भएका व्यक्तिहरुले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन चाहेको बताउनुभयो । उहाँले सगरमाथा आरोहणको अनुमति लिएर एक साताभित्र सगरमाथाको आधार शिविर जाने बताउनुभयो । सगरमाथाको आरोहण गर्नुअघि लोबुछे पिकको आरोहण गर्ने उहाँको योजना छ ।

बुकिङ ओन प्रालिमार्फत सगरमाथा आरोहणमा जान लाग्नुभएका उहाँले अहिले आर्थिक जोहोलगायत तयारी गरिरहेको जानकारी दिनुभयो । “सगरमाथा आरोहण गर्ने मेरो सानैदेखिको सपना थियो, सन् २०२२ मा प्रयास पनि गरे तर प्रतिकूल मौसमका कारण सगरमाथाको चौथो शिविरबाट फर्कनु प¥यो । अहिले पुनः आरोहणको तयारीमा छु, सगरमाथाको चुचुरोमा पुगेर आफूजस्ता व्यक्तिले पनि केही गर्न सक्छन् भन्ने सन्देश विश्वभर प्रवाह गर्ने उद्देश्यले सगरमाथाको चुचुरोतर्फ पाइला अगाडि बढाएको हुँ,” आरोही सुनारले भन्नुभयो ।

दिदी उर्मिला सुनारको प्रेरणाले सगरमाथा चढ्ने आँट आएको सागर बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीजस्ता फरक क्षमता भएका व्यक्तिहरुलाई समाजले हेर्ने दृष्टिकोण नराम्रो छ । उनीहरुको प्रतिनिधित्व गर्दै म सगरमाथाको चुचुरोमा पाइला टेक्न चाहन्छु ।”

भाइ सागरको आरोहणलाई आर्थिक जोहो गरिरहनुभएको दिदी उर्मिलाले आर्थिक सहयोगका लागि ‘सागर शिखर संस्था’ स्थापना गरेर आर्थिक सहयोग जुटाउने अभियान चलाइरहेको बताउनुभयो । सागरको सगरमाथा चढेर देशको झन्डा फहराउँदै विश्व रेकर्ड राख्ने चाहना छ । सागरले यसअघि दोलखाको रामदुङ पिक (पाँच हजार नौ सय २५ मिटर)को आरोहण गर्नुभएको थियो । सगरमाथासहित सातवटा महादेशका चुचुरोहरु आरोहण गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

नेपाल वायुसेवा निगमले बुझायो किस्तावापतको ५३ करोड

काठमाडौँ, ३ वैशाख – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न लिएको ऋणवापतको चैत मसान्तसम्मको रु ५३ करोड, नौ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारो बडी जहाजको २०८० चैत महिनाको किस्तावापत पूरा र दुई वाइड बडी जहाजकोे आंशिक गरी उक्त रकम भुक्तानी गरेको हो ।

निगमले २०८० चैतसम्मको अवधिमा रु पाँच अर्ब ३६ करोड ६६ लाख ८६ हजार नौसय ६८ किस्ता रकम भुक्तानी गरेको छ । साथै, निगमले कोभिड–१९ का कारण निगमको व्यापारमा असर रहेकाले सो अवधिको ब्याजको ब्याज, हर्जना र पेनल छुट गरी सहयोग गर्न एवं किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन दुवै कोषलाई अनुरोध गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालका बारेमा सकारात्मक प्रचार गर्न सभामुखको आग्रह

काठमाडौँ, ३ वैशाख : सभामुख देवराज घिमिरेले राष्ट्रियता फरक भए पनि मातृ तथा पितृभूमि एउटै भएका कारण नेपालीमूलका सबै नागरिकलाई नेपाली भाषा र संस्कृतिका माध्यमबाट जोड्नुपर्ने बताउनुभएको छ ।

एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को प्रतिनिधिमण्डलसँग आज सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा भेट गर्दै सभामुख घिमिरेले नेपालीमूलका नागरिकहरु कैयौँ पुस्तादेखि नै संसारमा छरिएका रहेकाले उनीहरुले आर्जन गरेको सीप, ज्ञान र पुँजी मातृ तथा पितृभूमि नेपालका लागि खर्च गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले विदेशमा रहेका नेपाली तथा नेपालीमूलका नागरिकहरु अवैतनिक राजदूत भएको उल्लेख गर्दै नेपालका बारेमा सकारात्मक सन्देश प्रवाह गर्न पनि आग्रह गर्नुभएको एएनओका महासचिव चुडामणि भट्टराईले जानकारी दिनुभयो ।

एएनओले भाषा तथा संस्कृतिका माध्यमबाट विश्वभर रहेका नेपालीमूलका नागरिकलाई जोड्न गरेको पहल कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै सभामुख घिमिरेले विश्वभर रहेका नेपालीमूलका नागरिकहरुको तथ्याङ्क सङ्कलन गरी उनीहरु कहाँ र कसरी रहेका छन् भन्ने बारेमा पनि खोजी गर्न एएनओलाई आग्रह गर्नुभयो ।

विश्वका २७ देशमा बसोबास गरिरहेका नेपालीभाषीहरुको थाइल्याण्डको बैंककमा गत चैत ६ मा सम्पन्न भेलाले नेपाली जातिलाई एकीकृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेको थियो ।

त्यस भेटका अवसरमा एएनओका अध्यक्ष डिल्लीराम अधिकारीले यस अभियानलाई नेपाली भाषा, कला, संस्कृतिको दूतका रुपमा संसारभर पु¥याउने र यसमार्फत भावी पुस्तालाई नेपालसँग जोड्दै नेपालीपनको जगेर्ना र प्रचारप्रसार गर्ने जानकारी दिनुभयो ।

यसका साथै प्रवासमा बस्ने नेपाली जातिका लगानीकर्तालाई नेपालमै आई लगानी गर्न र आफ्ना पुर्खाको पहिचान जोडिएको देशको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगाउन पनि प्रेरित जानकारी दिनुभयो । भेटमा अध्यक्ष अधिकारीसहित उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव चुडामणि भट्टराई र संस्थापक सदस्यहरु बाबुकृष्ण कार्की, केबी कार्की, ओम गुरुङसहितका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री समक्ष कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेस

काठमाडाँै, ३ वैशाख : प्रधानमन्त्री तथा राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेस भएको छ ।

सङ्घीयता कार्यान्वयनमा देखिएका दोहोरोपना र अस्पष्टता हटाउन तथा तीन तहको अधिकारमा स्पष्टता ल्याउन विद्यमान कार्यविस्तृतीकरण परिमार्जनका लागि गठित कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिका संयोजक एवम् प्रधानमन्त्री कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलले प्रधानमन्त्रीलाई सो प्रतिवेदन पेस गर्नुभयो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित उक्त कार्यक्रममा मुख्यसचिव डा वैकुण्ठ अर्याल, कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिका संयोजक तथा सदस्यका साथै विषयगत समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिवेदन ग्रहणपश्चात् प्रधानमन्त्री दाहालले प्रतिवेदनमाथि यथाशीघ्र उच्चस्तरीय समितिमा थप छलफल गरी राष्ट्रिय समन्वय परिषद्बाट निष्कर्षमा पु¥याउन निर्देशन दिनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्राज्ञिकहरूको प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद : ‘मेरिटोक्रेसी लागू गर्नुभयो, खुसी छौँ’


काठमाडौँ, ३ वैशाख ः त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकोमा खुसी व्यक्त गर्दै प्राध्यापक एवं प्राज्ञिकहरूले सामूहिकरूपमा धन्यवाद व्यक्त गर्नुभएको छ ।

सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा भेट गर्दै उहाँहरूले खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति गरेसँगै विश्वविद्यालयको प्राज्ञिक छविमा सकारात्मक सन्देश गएको बताउनुभयो ।

भेटमा प्रधानमन्त्री दाहालले आफू विश्वविद्यालय र शिक्षा क्षेत्र सुधारमा गम्भीर भएको जानकारी दिँदै मेरिटोक्रेसीको अवधारणा थप दृढताका साथ बाँकी ठाउँमा पनि अवलम्बन गरिने बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विश्वविद्यालय सुधार्ने हो भने मेरिटोक्रेसीको कुनै बिकल्प छैन भन्ने कुरा गम्भीररूपमा सोच्दै आएको थिएँ । तर, कहाँबाट सुरू गर्ने, कसरी सुरू गर्ने भन्ने थियो । मैले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा खुला प्रतिस्पर्धाको घोषणा गरेको थिएँ । त्यसपछि यसको पक्षमा वातावरण बनाउन म लगातार लागिरहेँ र सफल पनि भयौँ । यसले प्राज्ञिक क्षेत्रलाई सकारात्मक दिशा दिएको छ ।”

देशमा सुशासन, विकास र समृद्धिको नयाँ जग बसाल्न सबै क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा जरूरी रहेको प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीमा आबद्ध हुने स्वतन्त्रता सबैलाई छ । तर, अब कुन पार्टी भनेर नहेरौँ । जो सक्षम छ, इमान्दार छ, जो निष्ठाका साथ काम गर्छ, त्यो नै आफ्नो हो । राम्रो हेरौँ, मेरिट हेरौँ । यसले मात्रै देशमा नयाँ परिस्थिति बन्छ । यसमा म पूर्ण प्रतिबद्ध छु ।”

भेटमा प्राज्ञिकहरूको तर्फबाट केदारभक्त माथेमाले प्रधानमन्त्री दाहालको सोच र अडानका कारण विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति हुनु आफैँमा महत्वपूर्ण कुरा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको सोच र अडानबाट खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त भएको छ । यो आफैँमा राम्रो नजिर हो । यसले नयाँ लिगेसीको प्रारम्भ हुन्छ । यसले उच्च शिक्षाको गुणस्तरमा ठूलो सुधार ल्याउने हाम्रो विश्वास छ । यसका सकारात्मक परिणाम आउँदै जानेछन् । हामी खुसी छौँ । तपाईलाई हार्दिक धन्यवाद छ ।”

छलफलमा माथेमाले सबै राजनीतिक दलहरू एक ठाउँ बसेर भागबण्डाको संस्कारको अन्त्य र खुला प्रतिस्पर्धाका निम्ति प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताउनुभयो ।

सार्वजनिक रूपमा अहस्तक्षेपको सङ्कल्प घोषणा गर्न दलहरूलाई अनुरोध गर्दै उहाँले शैक्षिक–प्राज्ञिक संस्थाको स्वायत्ततालाई अक्षुण्ण राख्न कुनै पनि प्रकारका अस्वस्थ, अनावश्यक हस्तक्षेप नगर्ने सङ्कल्प एवं प्रतिबद्धता राजनीतिक दलहरूको तर्फबाट आउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीलाई धन्यवाद दिँदै राजनीतिक दलहरूलाई अहस्तक्षेपको नीतिमा प्रतिबद्धता व्यक्त गर्न अनुरोध गर्नेमा डा गौरीशङ्करलाल दास, डा गोविन्द पोखरेल, डा सन्दुक रूइत, डा अर्जुन कार्की, डा जेपी अग्रवाल, डा नरेशमान बज्राचार्य, डा असीम ढकाल, डा भगवान कोइराला, डा विष्णु उप्रेती, डा धर्मकान्त बास्कोटा, डा देवेन्द्रराज पाण्डे, डा लवदेव अवस्थी, डा मदन उपाध्याय, डा महेश मास्के, केदारभक्त माथेमालगायत ६६ प्राज्ञिक हुनुहुन्छ ।

रामेछापमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

मन्थली (रामेछाप), ३ वैशाख : रामेछापको मन्थली नगरपालिका–७ मन्थलीघाट नजिक आज टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । उनको घटनास्थलमै ज्यान गएको हो ।

मृत्यु हुनेमा रामेछापको गोकुलगङ्गा गाउँपालिका–३ रस्नालुका २३ वर्षीय पवित्र बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो । दुर्घटनामा परी दोलखाको तामाकोशी गाउँपालिका–६ का २१ वर्षीय सहचालक मनोज फुयाँल घाइते भएका छन् । उनको मन्थली नगर अस्पतालमा उपचार भइरहेको छ ।

बालुवा लिएर भटौलीबाट मन्थलीतर्फ जाँदै गरेको बा प्र ०१–००६–३८३९ नं को टिपर सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ

बोधिचित्तको रुख काटेको आरोपमा चारजना पक्राउ

काभ्रेपलाञ्चोक, ३ वैशाख : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त समूहले गत बिहीबार राति विस्फोटक पदार्थसहित नागबेलीस्थित ठाकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बोधिचित्तको एउटा रुख काटेको थियो ।

फूल फुल्दै गरेको बोधिचित्तको रुख काटिएको थियो । उक्त रुखमा फल्ने बोधिचित्त दाना यस वर्ष रु तीन करोडमा बिक्री गर्न बैना गरिएको तामाङले बताउनुभयो । उहाँका अनुसार बिहीबार राति करिब १ बजे हातहतियारसहित आएका झण्डै २० जनाको समूहले डरत्रास देखाउँदै बोधिचित्तको रुख काटेको थियो ।

मैनाली र दुर्गालाललाई काभ्रेपलाञ्चोकको बनेपाबाट आइतबार पक्राउ गरेको हो भने प्रभातलाई शनिबार काठमाडौँको वनस्थलीबाट र मानबहादुरलाई रुख काटेकै दिन पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । प्रभात र मानबहादुरको म्याद थप गरी अनुसन्धान थालिएको छ । अन्य दुई जनाको म्याद थप गरी थप अनुसन्धान थालिने छ ।

प्रहरीका अनुसार रुखधनी तामाङको रुख काटेपछि घरका ढोका र आँगनमा चार सकेट बम राखिएको थियो । उक्त बमलाई धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणले निस्क्रिय पारेको थियो । घटनामा संलग्न भएका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच पीडित ठाकुरानीले पक्राउ परेका चारसहित आठ जनाविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गर्नुभएको छ । उक्त रुखमा फलेको फल चार वर्षअघि पनि लुटिएको थियो । रुख काट्ने समूहले नै उक्त समयमा फल लुटेको हुनसक्ने प्रहरीको अनुमान छ । बोधिचित्त मालाको तामाङ समुदाय र विशेष गरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक महत्व छ ।

कञ्चनपुरमा लागुऔषध मुद्दामा २१६ जना पक्राउ


महेन्द्रनगर (कञ्चनपुर), ३ वैशाख : बिगत नौ महिनामा कञ्चनपुर प्रहरीले लागुऔषध दुव्र्यसन र ओसारअपासर मुद्दामा १२ महिलासहित २१६ जनालाई कारबाहीको दायरामा ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार चालु आर्थिक वर्ष २०८०÷९१ को चैत मसान्तसम्म लागुऔषध चरेश र खैरो हिरोइनसहित यहाँ १२ महिला र दुई सय चार पुरुष पक्राउ परेका छन् । उहाँका अनुसार पक्राउ गरिएका अभियुक्तबाट झण्डै तीन सय ग्राम खैरो हिरोइन र सात किलोग्राम चरेशसमेत बरामद गरिएको छ ।

“अभिभावकले छोराछोरीमाथि निगरानी नराख्दा सङ्गतमा परेर लागुऔषध प्रयोग र कारोबारमा लागेको पाइएको छ”, प्रहरी उपरीक्षक जोशीले भन्नुभयो, “प्रहरी सक्रियताले लागुऔषध कारोबारको जालो भत्किँदै छ । स्वयम् नागरिक र अभिभावक पनि यो गम्भीर विषयमा चनाखो हुनुपर्छ ।”

जिल्लाका लागुऔषधको कारोबार हुने ठाउँ र भारतबाट लुकीछिपी ल्याइने सीमानाकामा प्रहरीले सक्रियता बढाएको प्रहरी उपरीक्षक जोशीले बताउनुभयो । “सीमा बस्तीदेखि सदरमुकामसम्म लागुऔषधको कारोबार देखियो”, उहाँले भन्नुभयो, “हामीले चेतनामूलक कार्यक्रम पनि गरिरहेका छाँै ।” लागुऔषध मुद्दामा पक्राउ गरेका अधिकांश युवा छन् ।

“कारागारमा ३८ प्रतिशत कैदीबन्दी लागुऔषध मुद्दाका छन्”, प्रहरी उपरीक्षक जोशीले भन्नुभयो, “यसको नियन्त्रणका लागि प्रहरीसँगै सामूहिक प्रयास आवश्यक छ ।” लागुऔषध ओसारपसार नियन्त्रण गर्न भारतीय सुरक्षा निकायसित पनि समन्वय गरिरहरेको उहाँले बताउनुभयो ।

त्यसैगरी बिगत नौ महिनामा प्रहरीले कञ्चनपुरबाट एक सय ६० फरार अभियुक्तलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ । यहाँका विभिन्न स्थानबाट भारतबाट अवैधरुपमा भन्सार छली ल्याएको रु चार करोड ४२ लाख ८४ हजार मूल्य बराबरको सरसामान प्रहरीले बरामद गरी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको जिम्मा लगाएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिनुभयो ।

एमाले हुम्ला अध्यक्षमा बुमी निर्वाचित

सिमकोट, (हुम्ला), ३ वैशाख : नेकपा (एमाले) हुम्लाको अध्यक्षमा अध्यक्षमा ज्ञामी बुमी निर्वाचित हुनुभएको छ । पार्टीको १०औँ जिल्ला अधिवेशनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

अध्यक्षसहित विभिन्न पदका लागि आइतबार साँझ मतदान भएको थियो । गए राति नै मतगणना गरिएको थियो । अध्यक्षमा बुमीका निकटतम प्रतिद्वन्द्वी डबल रावत रहनुभएको थियो । उपाध्यक्ष, सचिव, महिला उपसचिव र खुला उपसचिवमा पनि बुमीको प्यानल विजयी भएको छ ।

प्रकाशबहादुर शाही उपाध्यक्षमा, तीर्थराज बोहरा सचिवमा, प्रदीप लामा खुला उपसचिवमा तथा मञ्जु रावल महिला उपसचिवमा निर्वाचित हुनुभएको छ । अन्य खुला सदस्य, महिला सदस्य र दलित सदस्यको मत गणना भइरहेको निर्वाचन समितिका संयोजक अमरबहादुर शाहीले जानकारी दिनुभयो ।

भुलभुला मन्दिरलाई पर्यटकीय गन्तव्य बनाइने, पुजारी आवाससहितको ट्रष्ट भवन निर्माण

गण्डकी, ३ वैशाख : कास्कीको पोखरा महानगरपालिका–३३ भरतपोखरीको पुडिटारमा रहेको भुलभुला मन्दिर यहाँको प्रमुख तीर्थस्थलमध्येको एक हो ।

पूजाआजा गरेमा मनले चिताएको पुुग्ने तीर्थस्थलका रुपमा चासो र चर्चा कमाएको यस स्थलमा कास्कीका साथै तनहुँ, स्याङ्जालगायतका स्थानबाट दर्शनार्थी आउने गर्दछन् । मन्दिरको धार्मिक महत्वलाई दृष्टिगत गर्दै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय सङ्घ संस्थाका साथै वडा कार्यालयले सक्रियता देखाएको छ ।

विगतमा सामान्य कुुण्ड मात्रै रहेको यहाँ मन्दिर, ट्रष्ट भवनलगायतका पूर्वाधार निर्माण गरिएका स्थानीयवासी एवं पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिनुुभयो । उहाँका अनुसार वडा कार्यालयले यस आर्थिक वर्षमा रु आठ लाख ५० हजारको लागतमा पुजारी आवाससहितको ट्रष्ट भवन निर्माण गरिसकेको छ ।

अघिल्लो आवमा मन्दिर परिसरमा रु १० लाख लागतमा शौचालय निर्माण गरिएको वडाध्यक्ष अधिकारीले जानकारी दिनुुभयो । पूर्वाधार विकासकै क्रममा मन्दिर र त्यहाँस्थित जलकुण्ड (पोखरी)लाई व्यवस्थित गर्न वडा कार्यालयले रु आठ लाख उपलब्ध गराई निर्माण सम्पन्न भएको भुलभुला मन्दिर संरक्षण समितिका सदस्य शङ्कर अधिकारीले बताउनुुभयो ।

प्राचीनकालदेखि नै भुुलभुला देवीको महिमा र गरिमा आफूहरूले सुन्ने गरेको उल्लेख गर्दै वडाध्यक्ष अधिकारीले यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यका साथ अघि बढाएको बताउनुुभयो । प्राचीन किंवदन्तीअनुसार भुलभुला देवीलाई ढोर बाराही र छाब्दी बाराहीकी कान्छी बहिनीका रुपमा मान्दै पूजाआजा गर्ने गरिएको यहाँका बूढापाका बताउँछन् ।

प्रत्येक वर्ष वैशाख सङ्क्रान्तिका दिनमा र चैते दसैँमा विशेष पूजाआजा हुने यस मन्दिरमा वर्षको एक पटक स्थानीयले सामूहिक पञ्चबलि दिने गरेका छन् । मन्दिरको पूजाआजाका लागि स्थायी स्रोत नभए पनि माथिल्लो पुडिटार र तल्लो पुडिटारमा स्थानीय मिलेर सामूहिक पञ्चबलि दिने गरेका छन् ।

मन्दिर परिसरको जलकुण्डमा बाह्रै महिना पानी आइरहने स्थानीय समाजसेवी ८७ वर्षीय सम्मरलाल श्रेष्ठले बताउनुुभयो । जलकुण्डमा तलबाट निरन्तर पानी भुलभुल गरेर आउने भएकोले नै प्राचीनकालदेखि नै भुलभुला देवीका रुपमा लिने गरिएको उहाँको तर्क छ ।

स्थानीयवासीका अनुसार जलकुण्ड नजिकै पहिले खनियाँको रुख थियो । रुखको नजिकै सानो ढुङ्गे मन्दिर थियो । १८÷१९ वर्षअघि उक्त रुख ओइल्याउँदै मरेको र सँगै ढुङ्गाको मन्दिर पनि दब्नुलाई धार्मिक महत्वसँग जोडेर हेर्ने गरिएको स्थानीयको भनाइ छ । प्रत्येक वर्षको वैशाख सङ्क्रान्तिमा प्राचीनकालदेखि मन्दिर परिसरमा मेला लाग्ने गरेकोमा विगत केही वर्ष अघिसम्म भैझगडाका कारण रोकिए पनि स्थानीय युवाले ११ वर्षयता त्यसलाई व्यवस्थित गर्दै आएका छन् ।

मन्दिरको संरक्षण र विकासलाई स्थानीय सामुदायिक बनसँगै नमूना युवा क्लब, भुुलभुुला युवा क्लबलगायतका सङ्घ संस्थाले सक्रियता देखाएका छन् । मन्दिरसँगै नजिकै रहेको डुुडेको रहलाई पनि पर्यटकीयरुपमा विकास गर्ने प्रयास थालिएको भुलभुला युवा क्लबका सचिव शिव अधिकारीले बताउनुुभयो । उहाँका अनुसार प्राकृतिक झरनाका रुपमा रहेको डुडेको रहको संरक्षण एवं पूर्वाधार निर्माणका लागि पोखरा महानगरपालिका–३३ को कार्यालयबाट रु चार लाख ५० हजार प्राप्त भई केही पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् ।

“धार्मिक महत्वको भुलभुला मन्दिरसँगै डुडेको रहलाई समेटेर यहाँको पर्यटकीय विकास गर्न सकिने देखिएको छ”, उहाँले भन्नुुभयो, “यहाँको प्रवद्र्धन र विकासका लागि स्थानीय सरकार, युवा क्लब एवं सरोकारवाला सबैको सहकार्य आवश्यक छ ।”

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज ‘ब्रेक थ्रू’ हुँदै, प्रधानमन्त्री प्रचण्ड सहभागी हुने

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज छेडिने (ब्रेक थ्रू) भएको छ । नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले राससलाई दिनुभएको जानकारीअनुसार सोमबार एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न लागिएको हो । सुरुङ ‘ब्रेक थ्रू’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुने जनाइएको छ ।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ ।

आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । आयोजना निर्माणको सुरुआती सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपथ्र्यो । आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ ।

त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन)लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ ।¬

जालपादेवी केबलकार निर्माण कार्य सुरु

सुदूरपश्चिम, ३ वैशाख : कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण हुन लागेको जालपादेवी केबलकारको पहिलो चरणको निर्माण कार्र्य सुरु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयोजनाको निर्माणस्थलमा आइतबार पूजा गरेर रूख कटान सुरू गरी आयोजनाको पहिलो चरणको निर्माण कार्यको शुभारम्भ गर्नुभएको हो ।

रु पाँच अर्बको लगानीमा निर्माण हुन लागेको यस केबलकारको कूल लम्बाइ तीन दशमलब एक किलोमिटरको हुनेछ । केबलुकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहनेछन् । सो यात्रा करिब १० मिनेट हुने जनाइएको छ । केबलकार दैनिक छ हजार जना यात्रुलाई सेवा दिने क्षमताको निर्माण हुनेछ ।

शुभारम्भको अवसरमा अध्यक्ष ढकालले प्राकृतिक स्रोत एवं पर्यटकीय सम्भावनाले भरिपूर्ण रहेको सुदूरपश्चिम क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि यहाँ लगानी गर्ने उद्देश्यले केबलकार निर्माण सुरु गरिएको बताउनुभयो ।

कर्णाली नदीको चिसापानी पुल नजिकै रहेको आयोजनास्थलबाट सुरु हुने केबलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरब, कालिकादेवी, कैलाशधामलगायतका धार्मिकस्थल, हात्ती ढुङ्गालगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिनेछ ।

आठ वर्षको निरन्तर प्रयासपछि आयोजना निर्माण सुरु भएको जानकारी दिँदै अध्यक्ष ढकालले आगामी दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको बताउनुभयो । आइएमई ग्रुपले प्रत्येक प्रदेशमा कम्तीमा एउटा पर्यटकीय पूर्वाधार निर्माण गर्ने लक्ष्यका साथ सुदूरपश्चिम प्रदेशको प्रदेशद्वारका रुपमा रहेको कर्णाली चिसापानीमा पनि केबलकार निर्माण सुरु गर्न लागेको जनाइएको छ ।

केबलकारबाट हुने कूल आम्दानीको दुई प्रतिशत स्थानीय सरकारलाई उपलब्ध गराउने बताइएको छ । केबलकार निर्माणपछि पर्यटन प्रवद्र्धन र रोजगारीका अवसर सिर्जना भई स्थानीय लाभान्वित हुने अपेक्षा गरिएको छ ।

केबलकार निर्माणका लागि आवश्यक उपकरण अष्ट्रेलियाको डोप्लन मेयर कम्पनीबाट ल्याइनेछ । केबुलकारको निर्माणसँगै चिसापानीमा ५० बेड र राजकाँडामा एक सय बेड क्षमताका होटेल र सभाहल निर्माण गरिनेछ । आयोजनाको ‘राइट अफ वे’ मा पर्ने रुख कटान कार्य पनि सुरु गरिएको हो । आयोजनास्थलमा एक हजार आठ सय ६६ वटा रुख छन् । केबलकार सञ्चालनका लागि एक सय विगाहा क्षेत्रफल कम्पनीको नाममा नामसारी भइसकेको बताइएको ।

चिसापानी–राजकाँडा केबलकार निर्माणसँगै पर्यटकका लागि होमस्टे र रिसोर्ट पनि निर्माण गरिनेछ । आयोजनामा कैलालीका उद्यमी सूर्यबहादुर थापासहित स्थानीय व्यवसायीको सहभागिता रहेको जानकारी दिइएको छ ।

अर्थमन्त्री पुन अमेरिका प्रस्थान, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुने

काठमाडौँ, ३ वैशाख ः अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गर्नुभएको छ ।

चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसीका लागि प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहनुभएका अर्का उपसचिव भुपालराज शाक्य हुनुहुन्छ ।

तीन दिने अमेरिका बसाइँका क्रममा मन्त्री पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त (डिएफआई) परिचालन हेर्ने उपाध्यक्ष आकिहिको निसिओ, विश्व बैंककै पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेन, अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का सहायक प्रबन्ध निर्देशक बो–लीसँग भेट्ने मन्त्री पुनको सचिवालयले जनाएको छ ।

यस्तै मन्त्री पुनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआइडी) का उच्च पदाधिकारी, अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डिएफपी) का पदाधिकारी, अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष अतुल कास्यपसहित निजी क्षेत्रका प्रतिनिधि र त्यहाँस्थित गैरआवासीय नेपालीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तालिका छ ।

मन्त्री पुनले जलवायु परिवर्तको प्रभावले खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नुहुँनेछ । भी–२० जलवायु परिवर्तनको जोखिम न्यूनीकरण तथा विश्वव्यापी अर्थतन्त्रमा उत्पन्न सङ्क्रमणकालीन अवस्थामा वित्तीय सहयोग अभिवृद्धिका लागि विश्व समुदायमा आवाज उठाउने फोरम हो ।

मन्त्री पुन हाइलेभल क्लाइमेट नेक्सससम्बन्धी साइडलाइन बैठक तथा दक्षिण एसियामा स्वच्छ ऊर्जा सङ्क्रमणसम्बन्धी सत्रका साथै विभिन्न द्विपक्षीय र बहुपक्षीय बैठकमा सहभागी हुनुहुनेछ । ती बैठकमा मन्त्री पुनले आगामी जुनमा काठमाडौँमा हुने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए)–२१ बैठकको तयारी, विश्व बैंकले आगामी पाँच वर्षका लागि नेपालमा गर्ने लगानी साझेदारीको प्राथमिकता निर्धारण, सङ्खुवासभामा निर्माण हुने एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनासहित पाइपलाइनमा रहेका अन्य आयोजनाको वित्तीय व्यवस्थापनलगायत विषयमा छलफल गर्नुहुनेछ । यसबारे मन्त्री पुनले केही दिनअघि ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा विश्व बैंक र एसियाली विकास बैंकका काठमाडौँस्थित आवासीय प्रमुखहरुसँग छलफल गर्नुभएको थियो । उक्त बैठकमा माथिल्लो अरुण आयोजनाको वित्तीय व्यवस्थापन सक्दो छिटो गर्ने सहमति भएको थियो । ‘गेम चेन्जर’ आयोजनाका रुपमा रहेको माथिल्लो अरुणको वित्तीय व्यवस्थापनको नेतृत्व विश्व बैंकले गर्दैछ ।

विश्व बैंक र आइएमएफको बैठकमा मन्त्री पुनले आगामी १६ र १७ वैशाखमा काठमाडौँमा हुने तेस्रो लगानी सम्मेलन तथा नेपालमा लगानी अनुकूल वातावरण निर्माणमा सरकारका तर्फबाट भएका सुधार प्रयासबारे विश्व बैंकसहित विकास साझेदार र निजी क्षेत्रलाई अवगत गराउनुहुनेछ ।

ती बैठक तथा भेटमा भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, जाजरकोट, रुकुम र बझाङमा भूकम्पका कारण भत्किएका निजी आवास तथा शैक्षिक संस्थाका भवन पुनःनिर्माण एवं दिगो विकास लक्ष्य हासिल गर्ने नेपालको प्रयासमा सहायता बढाउन विकास साझेदारलाई आग्रह गरिने मन्त्री पुनले बताउनुभयो ।

उहाँका अनुसार अन्तर्राष्ट्रिय विकास साझेदारबाट नीतिगत सुधारका लागि प्राप्त हुँदै आएको सहायता कार्यान्वयन प्रभावकारी बनाउने तथा सहायताका थप क्षेत्र र सम्भावना पहिल्याउने विषयमा समेत छलफल हुनेछ ।

बागलुङका चार स्थानीय तहमा अन्तरपालिका नगर बस सञ्चालन

ढोरपाटन (बागलुङ)- पश्चिम बागलुङका चार पालिकाले संयुक्त रूपमा नगर बस सञ्चालन गर्ने भएका छन् । जिल्लाको गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले नगर बस सञ्चालन गर्ने भएका हुन् ।

गलकोट नगरपालिकाको घोडाबाँधेदेखि निसीखोला गाउँपालिकाको पातिहाल्नेसम्म अन्तरपालिका साझेदारीमा नगर बस सञ्चालन गरिने बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । नागरिकको सहजताको लागि करिब ६५ किलोमिटर मध्यपहाडी लोकमार्ग क्षेत्रमा नगर बस सञ्चालन गर्ने गरी तयारी गरेको अध्यक्ष थापाले बताउनुभयो । आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने गरी पहिलो चरणमा दुई वटा बस खदिर गरेर सञ्चालन गरिने उहाँको भनाइ छ ।

अध्यक्ष थापाले भन्नुभयो, “चार वटा पालिकाका जनप्रतिनिधि बसेर छलफल गरी सकेका छौँ, अब छिट्टै बसको लागत स्टिमेट तयार गरी खरिद प्रक्रियामा अगाडि बढ्ने छौँ, चार वटै पालिकाको निर्णयअनुसार नै नगर बस सञ्चालन गरिने भएको हो, पहिलो चरणको छलफल गरेर एउटा निचोड निकाल्ने गरि तयारी थालेका छौँ, सबै पालिकाका जनप्रतिनिधि सकारात्मक हुनु भएको छ ।”

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले अन्तरपालिका नगर बस सञ्चालन गर्नका लागि एक महिनाभित्रमा प्रारम्भिक प्रतिवेदन तयार गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको बताउनुभयो । कार्यदलको प्रतिवेदनअनुसार नगर बस सञ्चालनको कामलाई अगाडि बढाइने प्रमुख गरैको भनाइ छ । नगर बस सञ्चालनमा आए सार्वजनिक सवारी साधानको भन्दा भाडा दर कम हुने र नागरिकलाई सहज हुने प्रमुख गैरे बताउनुहुन्छ ।

बस सेवा सञ्चालनमा आए विद्यार्थी, ज्येष्ठ नागरिक, कर्मचारीलाई विशेष छुटको व्यवस्था हुने बताइएको छ । नगर बस सञ्चालन बागलुङमा पहिलो पटक हुने भएको हो । नगर बस सेवाले बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमानादेखि घोडाबाँधेसम्मका नागरिकले सेवा लिन पाउने छन् ।

तीन पुस्तादेखिको कटुवाल पेसा धान्दै मनबहादुर


गोरखा, ३ वैशाख : नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पु¥याउन कटुवाल राख्ने चलन थियो । मेला पर्व होस् वा गाउँभरि पूजाआजाका लागि सूचना दिनुपरे सबैले सुन्न सक्ने गरी गाउँको बीचमा पर्ने अलि अग्लो डाँडामा गएर कटुवाल कराएपछि त्यसैलाई गाउँलेले आधिकारिक सूचना मान्ने चलन थियो । उक्त चलन अब भने केही ठाउँमा मात्र कायम छ ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ स्थित माइकोट कोर्थोकका मनबहादुर दर्जीले कटुवाल पेसा गर्दै आउनुभएको करिब तीन दशकभन्दा बढी भइसक्यो । हजुरबुबा र बुबाले गरेको पेसालाई पछ्याउँदै उहाँ पनि उमेरमै कटुवाल पेसामा जोडिनुभयो ।

माइकोट मन्दिरमा गरिने विशेष पूजा र मेला पर्व परेपछि मनबहादुर एकदुई दिनअघि नै हातमा माइक बोकेर गाउँका डाँडाडाँडामा पुगेर कराउनुहुन्छ । गाउँको खबर गाउँलेका घरघरमा पु¥याउनुहुन्छ । उहाँलाई कटुवाल कराउने दिन जहिले बिहानै हतार भइसकेको हुन्छ । पूरै गाउँ डुलेर कटुवाल कराएर घर फर्कदा साँझ पर्ने भएकाले पनि बिहान सकभर ६ बजे नै निस्किने गरेको मनबहादुर बताउनुहुन्छ ।

“गाउँको उल्टे, बाँकोट, मैलुम हुँदै भालुस्वाँरसम्म एकैदिन हिँडेरै ११ ठाउँमा पुगेर कटुवाल कराउनुपर्छ”, उहाँले भन्नुभयो, “बिहान चाँडै उठेन भने भ्याउन मुस्किल पर्छ ।”

मनबहादुरको कटुवाल पेसा मात्रै पुरानो होइन । उहाँले पाउने पारिश्रमिक पनि अझैसम्म पहिलाकै छ । “हाम्रो परिवारको म मात्र होइन, तीन पुस्तादेखि नै कटुवाल पेसा गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “बाजेले गरे, बाउले गरे अहिले मैले पनि गर्दैछु ।” कटुवाल कराएबापत मनबहादुरले गाउँका सबै घरबाट गरेर वर्षमा करिब–करिब चार मुरी जति कोदो र दसैँमा प्रत्येक घरबाट एक भाग खानेकुरा पाउनुहुन्छ ।

“गाउँलेले घरैपिच्छे वार्षिक चार मानाका दरले कोदो दिन्छन्”, मनबहादुरले भन्नुभयो, “त्यहीँ खायो, काम ग¥यो ।” चैतेपूजा, कात्तिके पूजालगायतका पूजा पर्वमा कटुवाल प्रथासँगै राँगो बोका खोज्ने जिम्मा पनि आफ्नै हुने उहाँको भनाइ छ ।

“मूल्य निर्धारण समितिले मूल्य तय गरेर पैसा दिनुहुन्छ”, मनबहादुरले भन्नुभयो, “त्यसैअनुसारले गाउँ डुलेर राँगा, बोका खोज्ने काम पनि मेरै हुन्छ ।”

पुरानो कटुवाल पेसाले आफ्नो परिवारको गुजारा जसोतसो चलेको मनबहादुर बताउनुहुन्छ । “अन्त गएर जागिर खाएको भए त पेन्सन भइसक्थ्यो”, उहाँले भन्नुभयो, “यही पेसाले नै परिवार पालेको छु ।” लामो समयदेखि कटुवाल गर्दै आउनुभएका उहाँलाई आजभोलि भने अन्न बालीभन्दा पनि काम गरेबापत नगद पाउन पाए हुन्थ्यो भन्ने लागेको छ ।

“वर्षमा अन्नबापत जति आउँछ बरु त्यही अनुसारको पैसा दिए राम्रो हुन्थ्यो”, मनबहादुरले भन्नुभयो, “अहिले त वर्षमा करिब चार मुरी जति कोदो कटुवाल गरेर सङ्कलन गर्ने गरेको छु ।” कटुवाल पेसा गरेरै गाउँलेको सेवा गर्न पाएकामा उहाँ गर्व गर्नुहुन्छ । गाउँलेले आफ्नो कुरा सुन्ने र मान्ने गरेकामा पनि खुसी लाग्ने गरेको मनबहादुर बताउनुहुन्छ ।

“पूजाआजाका दिन मैले कटुवाल कराएपछि गाउँलेले घरमा पूजाका लागि घूप, अक्षेता उठाएर मन्दिरमा ल्याउँछन्,” उहाँले भन्नुभयो, “त्यो दिन खनजोत, गोडमेलको काम छ भने पनि थाँती राखेर आउँछन् ।” पछिल्लो समय भने गाउँलेले उपलब्ध गराएको माइक लगाएर बोल्न पाएपछि अलि सजिलो हुन थालेको मनबहादुरको भनाइ छ ।

गाउँपालिकाको तालकोटस्थित प्रसिद्ध माइकोट मन्दिरमा विभिन्न समयमा सञ्चालन हुने पूजाआजाका लागि गाउँलेलाई जानकारी दिन त्यहाँ कटुवाल राख्ने चलन रहँदै आएको बारपाक सुलिकोट गाउँपालिकाका प्रवक्ता जीतबहादुर नेपाली बताउनुहुन्छ ।

“माइकोट मन्दिरमा विशेष पूजाआजा गर्दा गाउँका सबैले पूजा बार्ने चलन अहिले पनि छ”, उहाँले भन्नुभयो, “उक्त मन्दिरमा कात्तिके पूजा, चैते पूजा, दसैँको पूजालगायतका मेला पर्वलाई लक्षित गरी दुई कटुवाल राख्ने यहाँको पुुरानो परम्परा हो ।” मन्दिरमा पूजाआजाको सूचना दिन अहिले पनि कटुवाललाई जिम्मेवारी दिइँदै आएको नेपाली बताउनुहुन्छ ।

एसिसी प्रिमियर कप : नेपालले आज हङकङसँग खेल्ने

काठमाडौँ, ३ वैशाख : एसिसी पुरुष प्रिमियर कपअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल हङकङसँग खेल्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ । आजको खेल जितेमा नेपालले सेमिफाइनलको यात्रा तय गर्ने छ ।

नेपाल समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा साउदी अरब, मलेसिया, हङकङ र कतारसमेत छन् । नेपाल चार अङ्कका साथ समूह ‘ए’को शीर्ष स्थानमा छ । नेपालले हालसम्म खेलेका दुवै खेलमा जित हासिल गरेको छ । नेपाल पहिलो खेलमा मलेसियासँग पाँच विकेटले तथा दोस्रो खेलमा कतारसँग ३२ रनले विजयी भएको थियो ।

समूह ‘ए’ मा हङकङ दुई अङ्कका साथ चौथो स्थानमा छ । हङकङ पहिलो खेलमा कतारसँग २६ रनले विजयी भएको थियो भने दोस्रो खेलमा साउदी अरबसँग ५५ रनले पराजित भएको थियो । समूह ‘ए’मा साउदी अरब दोस्रो तथा मलेसिया तेस्रो स्थानमा छन् ।

यस्तै समूह ‘बी’मा ओमान, युनाइटेड अरब इमिरेट्स (युएई), कुवेत, बहराइन र कम्बोडिया छन् । समूह ‘बी’मा ओमान चार अङ्कका साथ शीर्ष स्थानमा तथा युएई चार अङ्ककै साथ दोस्रो स्थानमा छ । सो समूहमा कुवेत तेस्रो स्थानमा छ ।

अमेरिका मध्यपूर्वमा सङ्कट ‘बढेको’ हेर्न चाहँदैन

इजराइलले इरानको ठूलो मात्रामा मिसाइल र ड्रोन आक्रमणलाई विफल बनाएपछि अमेरिकाले मध्यपूर्वमा सङ्कट बढेको हेर्न नचाहेको ह्वाइट हाउसका एक शीर्ष अधिकारीले आइतबार बताउनुभएको छ ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले एनबिसीको ‘मिट द प्रेस’ मा भन्नुभयो, “हामी यो सङ्कट बढ्दै गएको हेर्न चाहन्नौँ, हामीले इरानसँग व्यापक युद्धको अपेक्षा गरेका छैनौँ ।”

इरानको अभूतपूर्व आक्रमणपछि व्यापक द्वन्द्वको आशङ्काहरूबीच इजराइल आइतबार उच्च सतर्क अवस्थामा थियो । अप्रिल १ मा सिरियाको राजधानी दमास्कसमा तेहरानको वाणिज्य दूतावासमा भएको इजराइली हमलाको जवाफमा इरानले शनिबार राति इजराइली क्षेत्रमा पहिलो पटक प्रत्यक्ष आक्रमण गरेको थियो ।

इरानको जवाफी कारवाहीले क्षेत्रीय दुश्मनहरूबीच लामो समयदेखि चलिरहेको गुप्त युद्धको ठूलो वृद्धिलाई देखाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजराइलका लागि वासिङ्टनको ‘बलियो’ समर्थनको पुष्टि गर्नुभए पनि आफ्नो कट्टर सहयोगी इजराइललाई सैन्य प्रतिक्रियाबाट टाढा राख्न मार्गदर्शन गरिरहनुभएको देखिएको छ । समाचार आउटलेट एक्सियोसका अनुसार राष्ट्रपति बाइडेनले इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग इरानविरुद्ध इजराइलको जवाफी आक्रमणको विरोध गर्ने बताउनुभएको थियो भने नेतान्याहुले ‘जित हासिल गर्नुपर्ने’ बताउनुभएको थियो ।

अमेरिकी सैनिकहरूका लागि कुनै पनि इरानी खतराप्रति अमेरिका ‘सतर्क’ रहेको किर्बीले अन्तरवार्तामा बताउनुभयो । “हामी के गर्नेछौँ र आफ्ना कर्मचारीहरूका लागि कुनै पनि सम्भावित खतरालाई कति गम्भीरतापूर्वक लिन्छौँ भनेर हामीले इरानसहित सबै पक्षलाई स्पष्ट गरेका छौँ”, उहाँले भन्नुभयो ।

इरानले शनिबार राति इजराइलतर्फ तीन सयभन्दा धेरै ड्रोन र मिसाइल प्रहार गर्दा १२ जना घाइते भएको इजराइली सेनाले बताएको छ । यद्यपि सेनाले अमेरिका, जोर्डन, बेलायत र अन्य सहयोगीहरूको मद्दतमा करिब सबै ड्रोन र मिसाइल इजराइली क्षेत्रमा पुग्नुभन्दा अघि नै रोकेको बताएको छ ।

मकै खेती विस्तारले जटिल बन्दै झापामा हात्ती समस्या

झापा – सरकारले मकै खेतीको प्रवर्द्धन र क्षेत्र विस्तारका लागि किसानलाई प्रोत्साहन गर्न मकै जोन सुरु गरेसँगै जिल्लामा हात्तीको समस्या बढेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । कार्यालयका प्रमुख मेघराज राईले हात्तीलाई मनपर्ने खानामध्ये मकै पनि भएका कारण जिल्लामा जनधनको क्षति बढेको बताउनुभयो । उहाँले विगत पाँच वर्षयता जिल्लामा कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विभिन्न स्थानमा मकैको पकेट, ब्लक र जोन क्षेत्र नै घोषणा गरी किसानलाई अनुदान उपलब्ध गराएर मकैको व्यावसायिक खेती गरिरहेको बताउनुभयो ।

“जति क्षेत्र विस्तार भयो उति नै हात्तीको समस्या बढिरहेको छ”, उहाँले भन्नुभयो, “मकै हात्तीको मनपर्ने खाना हो । जति यसको खेती बढ्यो उति हात्तीको सङ्ख्या र क्षति बढिरहको हाम्रो अनुसन्धानले देखाएको छ ।” उहाँले सोबारेमा सरकारको ध्यानाकर्षण गरिसकेको बताउनुभयो । जिल्लामा बढिरहेको हात्ती समस्या न्यूनीकरणका लागि बाली परिवर्तन अनिवार्य देखिएको उहाँले बताउनुभयो । उहाँले विगतमा पनि मकै खेतीकै कारण वैशाख पहिलो सातादेखि असारको तेस्रो हप्तासम्म जिल्लामा भारतबाट आउने जंगली हात्ती समेत थपिएर आतंक मच्चाउने गरेको जानकारी दिनुभयो । उहाँले जिल्लामा ३० भन्दा बढी रैथाने हात्ती रहेको बताउनुभयो ।

प्रमुख राईले हाल दैनिक सातदेखि आठ वटा राहतका लागि निवेदन लिएर कार्यालयमा हात्ती पीडित किसान आउने गरेको बताउनुभयो । उहाँले विसं २०८० असार ८ गतेदेखि हालसम्म जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका छ जना, घर र बालीनालीमा क्षति पुर्याएको पाँच सय ३३ र घाइते गरी रु एक करोड ३० लाखभन्दा बढी रकम जिल्लामा राहत स्वरुप बाँड्न बाँकी रहेको जानकारी दिनुभयो ।

यसैगरी बुद्धशान्ति गाउँपालिकाका किसान जङ्गली हात्तीले दैनिक जसो पुर्याउने क्षतिबारे राज्य बेखर बनेको भन्दै आक्रोषित बनेका छन् । स्थानीय सीताराम बाँस्तोलाले सरकारले हात्ती न्यूनीकरणमा देखाएको उदासिनताका कारण आफूहरु मारमा परेको बताउनुभयो । उहाँले सो पालिकामा मात्र दैनिक जसो साँझ परेपछि आउने जंगली हात्तीले १० बिघाभन्दा बढी क्षेत्रको मकै खेती खाएर र कुल्चेर नष्ट गरेको बताउनुभयो ।

स्थानीय आदर्श सामुदायिक वनमा बस्ने हात्तीले साँझ परेपछि गाउँबस्तीमा पसेर बालीनाली नष्ट गर्ने गरेको उहाँको गुनासो छ । उहाँले मकै खान आएको हात्तीलाई लेख्टन खोज्यो भने उल्टै मानिसलाई नै आक्रणम गर्न आउने गरेको बताउनुभयो । “हात्ती थेतरो भइ सकेछ”, उहाँले भन्नुभयो, “पहिला पहिला त हो होल्ला गर्दा भाग्थ्यो । अहिले त उल्टै हामीलाई नै आक्रमण गर्न फर्कन्छ ।”

उहाँले सरकारले हात्ती प्रभावित क्षेत्रमा साइसनसहितको गाडीले गस्ती गर्ने हो भने पनि स्थानीयलाई राहत हुने बताउनुभयो । उहाँले समस्या बारे पटकपटक स्थानीय सरकार र डिभिजन वन कार्यालयको ध्यानाकर्षण गराउँदा अटेर गरेका कारण हात्ती पीडित मिलेर आन्दोलन गर्ने तयारी गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “शान्तपूर्वकको मागलाई कसैले सुन्दोरहेनछ । सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आन्दोलन नै रोज्नुपर्ने परिस्थितिको सृजना भइसक्यो ।”

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठ सम्पन्न

महोत्तरी, ३ वैशाख : मिथिला क्षेत्रमा वासन्ती (चैती) छठ आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य (अर्घ) दिँदै सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत रहेका व्रतालुुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै यसपालिको चैती छठ पर्व सम्पन्न गरेका हुन् ।

वासन्ती छठ षष्टी तिथिमा निराहार व्रत र सप्तमीको सूर्योदयसँगै पारन (समापन) गरिन्छ । शरद र वसन्त ऋतु गरी वर्षमा दुई पटक मनाइने परम्पराको छठ पर्व यस वर्ष (२०८०) को अब (आज) सम्पन्न भएको छ । यो छठ २०८० को भए पनि यसपालि सौरमास गणनाले २०८१ मा परेको हो । गत साउन महिनाको अधिकमास प्रभावले चन्द्रमास गणनाका तिथि पछि धकेलिँदा वासन्ती छठले २०८१ वैैशाख टेकेको मैथिल कर्मकाण्डका ज्ञाता बताउँछन् ।

मिथिला क्षेत्रमा आजको सूर्योदय बिहान ५ बजेर ४१ मिनट समयको हाराहारीमा भएको हो । यसअघि व्रतालु सूर्योदय हुनु एक घडिपूर्वदेखि नै कम्मरसम्म डुब्ने पानीमा तीन पटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरिरहेका थिए । यसअघि गत कात्तिकमा शरद ऋतुको छठ कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइएको थियो ।

गत शनिबार पञ्चमीका दिन पनि दिनभरि निराहार उपवास बसेका व्रतालुले राति १० बजेतिर सख्खरमा पकाइएको खिरमात्र खाएका थिए । व्रतालुले पञ्चमीको ‘खरना’ विधियता लगातार करिब ३२ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै ‘भोरका अरख’ सम्पन्न गरेका हुन् । ‘भोरका अरख’ गरिएसँगै छठ पर्व समापन भएको छ । छठमा उदाउँदो सूर्यलाई दिइने अघ्र्य विधिलाई बोलीचालीमा ‘भोरका अरख’ भनिन्छ ।

व्रर्तालुले यसपालि वासन्ती छठ पर्व गत शुक्रबार चैत शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट व्रत सङ्कल्प गर्दै सुरु गरेका थिए । यसैगरी छठमा व्रतालुले गत शनिबार पञ्चमीका दिन ‘खरना’ र षष्ठी तिथिका दिन हिजो आइतबार निराहार व्रतकै बीच साँझपख अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिँदै ‘सझुका अरख’ सम्पन्न गरेका थिए । अस्ताउँदो सूर्यलाई दिइने पहिलो अघ्र्य विधिलाई ‘सझुका अरख’ भनिन्छ ।

आज बिहान अघ्र्य दिएसँगै सूर्य उपासनाको महापर्व सम्पन्न गरी व्रतालु इष्टजनसहित छठी घाटबाट घर फर्केका छन् । पर्व सकिएसँगै घरघरै प्रसाद खाने÷खुवाउने क्रम सुरु भएको छ । मिथिलामा छठको प्रसाद मानिने ठकुवा (गहुँको पिठो सख्खरमा मुछेर घ्यूमा पकाइएको मिष्टान्न परिकार) विवाहित छोरी÷चेली (छोरी, दिदीबहिनी, फुपू), मित÷मितिनी र अन्य इष्टजनको घर पठाउने मैथिल परम्परा छ ।

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ । मिथिला क्षेत्रमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ । यद्यपि शारदीय छठ जति यो पर्व मनाउने भने देखिँदैनन् । छठ व्रतको प्रभावले दुःख, दारिद्र अन्त्य भई सुख, शान्ति र प्रत्येक मनोकाङ्क्षा पूरा हुने मैथिल जनविश्वास छ ।

धवलागिरि र अन्नपूर्ण आरोहणका लागि ४० जनालाई अनुमति


म्याग्दी – चालु वसन्तयाममा म्याग्दीमा रहेका धवलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४० जनाले अनुमति लिएका छन् । धवलागिरि गाउँपालिका–४ मा रहेको विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल चढ्न १५ र अन्नपूर्ण गाउँपालिका–४ मा रहेको (८०९१ मिटर) अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि २५ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

विभागका वरिष्ठ अधिकृत दिलीपकुमार मर्हजनका अनुसार धवलागिरि आरोहणका लागि एक वटा समूहका १० जना पुरुष र पाँच जना महिला तथा अन्नपूर्ण आरोहणका लागि तीन वटा समूहका १४ जना पुरुष र ११ जना महिलाले अनुमति लिएका हुन् ।

धवलागिरि आरोहण अनुमतिवापत रु ३५ लाख ७० हजार आठ सय ४० र अन्नपूर्ण आरोहण अनुमति वापत रु ५९ लाख ६१ हजार सात सय ८० रोयल्टी (सलामी दस्तुर) सङ्कलन भएको विभागले जनाएको छ । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका धवलागिरि गाउँपालिका–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा आरोही र पर्यटकको चहलपहल बढेको बताउनुभयो ।

गत शरदयाममा चार वटा समूहका १२ जना पुरुष र ११ जना महिला पर्वतारोहीले धवलागिरि हिमाल आरोहणका लागि अनुमति लिएका थिए । शरदयाममा अन्नपूर्ण हिमाल आरोहण गर्न कसैले पनि अनुमति लिएका थिएनन् ।

यसैबीच अस्ट्रेलीयाकी ४७ वर्षीया पर्वतारोही एली पेपरले आइतबार दिउँसो १२ बजेर ७ मिनेटमा अक्सिजन बिना अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्नुभएको छ । पेपरले सेभन समिट टे«कका पथप्रर्दशक मिकेल शेर्पा र निमा शेर्पाको सहयोगमा अक्सिजन विना अन्नपूर्ण आरोहण गर्नुभएको सभेन समिट टे«क्सका अध्यक्ष मिङ्मा शेर्पाले बताउनुभयो ।

शेर्पाका अनुसार नेपाली पर्वतारोही १७ वर्षीय निमा रिन्जी शेर्पाले ४ दिनअघि अक्सिजन बिनै अन्नपूर्णको सफल आरोहण गर्नुभएको थियो । पेपरले दुई वर्षभित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राख्नुभएको छ ।

पर्यटन विभागको पछिल्लो विवरण अनुसार चालु यामका लागि नेपालका १९ वटा हिमाल आरोहण गर्न ४० देशका पाँच सय १२ जनाले अनुमति लिएका छन् । उनीहरुबाट रु ३४ करोड ४३ लाख ९९ हजार छ सय ५६ रोयल्टी सङ्कलन भएको विभागले जनाएको छ ।

बन्दीपुर केबलकार आंशिक सञ्चालनमा

दमौली (तनहुँ), २ वैशाख : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार आंशिक रुपमा सञ्चालनमा आएको छ । विगत पाँच वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको केबलकार नयाँवर्षसँगै आंशिक रुपमा सञ्चालनमा आएको हो ।

बन्दीपुर गाउँपालिका–४ स्थित केबलकार चोकमा रहेको बटम स्टेशनको ५६ रोपनी क्षेत्रफलमा फैलिएको ‘टुरिष्ट पाकर्’ र अन्तर्राष्ट्रियस्तरको अत्यधुनिक रेष्टुरेण्ट सर्वसाधारणका लागि व्यावसायिक रुपमा खुल्ला गरिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।

सोही अवसरमा बन्दीपुर केबलकारको विधिवत पूजापाठ गरी शुभारम्भ गरिएको छ । हालका लागि केबलकार आन्तरिक प्रयोजनका लागि प्रयोग गर्ने गरी मात्र सञ्चालन गरिने उहाँले बताउनुभयो । सर्वसाधारणका लागि चाँडै नै मिति घोषणा हुने कम्पनीका इन्जिनियर सुप्रियो मण्डलले जानकारी दिनुभयो ।

परियोजनाअन्तर्गत टुरिष्ट पार्क र रेष्टुरेण्ट भने पूर्ण रुपमा खुला गरिएको छ । मनमोहक टुरिष्ट पार्कमा आकर्षक गेटसँगै चट्टानमा नै बनेको शिव मन्दिर, गणेश स्वरुप छ भने फुटपाथ माथि ३३ देवी देवताको मूर्ति बनाइएको कम्पनीका उपाध्यक्ष किरण पोखरेलले जानकारी दिनुभयो ।

आकर्षक उल्लुको मूर्ति, भगवान बुद्धको मूर्ति, सूर्यनारायण भगवानको वायुयान, विशाल कैलाश पर्वत र भगवान शिवजीको प्रकट रुप, भगवान विश्वकर्माको मूर्ति साथै जङ्गली जनावरहरुको म्युजियम, हात्ती, गैँडा, जिराफ, जेब्रा, जरायो, बाघ लगायतका आकर्षक मूर्ति, स्थानीय घर र दैनिक प्रयोग हुने सामग्रीहरुको म्युजियम रहेको छ ।

अत्यन्तै आकर्षक दाबी गरिएको यो टुरिष्ट पार्क रु ८६ करोडको लागतमा तयार भएको वित्तीय निर्देशक शिवप्रसाद शर्माले जानकारी दिनुभयो । यस पार्कमा प्रवेश गर्नका लागि प्रतिव्यक्ति रु दुई सय, मोटरसाइकल रु तीन सय, ट्याक्सी रु पाँचसय, माइक्रो रु एक हजार र ठूला बसका लागि रु एक हजार पाँच सय मूल्य तोकिएको छ । तर कम्पनीले अफरको रुपमा जतिको टिकट छ त्यो बराबरको नै रेष्टुरेण्टमा सेवा लिन सक्ने गरी गिफ्ट भौचर दिने रेष्टुरेष्ट म्यानेजर प्रकाश श्रेष्ठले बताउनुभयो ।

परियोजनाअन्तर्गत पाँचतारे होटल, नवीन टावर, स्काई डाइनिङ, फ्लाई डाइनिङ, स्काई वार, हेल्थ क्लव, ग्राउण्ड डाइनिङ, एक हजार क्षमताको हल, स्काइ वाल्क, एज वाल्क, ग्लास वाक थु्र, जीप लाइन लगायतका पूर्वाधार अगाडि बढाएको छ । जसको कूल लागत रु छ अर्ब २९ करोड पुग्ने जनाइएको छ । सबै पूर्वाधार आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने दाबी गरिएको छ ।

हेर्नुहोस् बैशाख ३ गते सोमवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । कठिनाइजनक यात्राको योग रहेको छ । आटेका कार्यमा कडा परिश्रम गर्नुपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला ।

बृष राशि- निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ ।

मीथुन राशि- अरुको बिश्वास गर्नाले दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

कर्कट राशि -टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ । हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । बोल्दा बिचार पुर्याउनु होला । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्यक्षेत्र सहज बन्नेछ । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला ।

सिंह राशि- खोज तथा अनुसन्धानमुलक क्षेत्रमा बौदिकताका् खर्च हुनेछ । बाकपटुताको कारण कुरा काट्नेहरु चुप भइ प्रशंसा गर्न थाल्नेछन । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । प्रतिस्पर्दीहरु कमजोर रहनेछन । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।

कन्या राशि – मनमा चन्चलता बढ्नाले निर्णय लिने क्षमतामा ह्राँस आउनेछन । सफल कार्यसम्पादनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला ।

तुला राशि – धार्र्मीक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोछ । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिनेछैन । नयाँकार्यको थालनिका निम्ती उत्तम समय रहेकोछ । कार्यकुशलताले मान्यजनहरुको मन जित्न सफल रहिनेछ ।

बृश्चिक राशि- मान्यजनको स्वास्थ्यमा नकारात्मक असरले मनमा खिन्नता छाउनेछ । कार्यमा बिश्लेषणको अभावले पारिवारिक सम्बन्धमा बैमनश्यता उत्पन्न हुनेछ । अपरीचीत ब्यक्तिहरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । भोजभतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ ।

धनु राशि -प्रतिश्पर्दि हरु कमजोर रहनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट आई पर्ला । तपाईको कार्यले अन्य ब्यक्ति हरुलाई मनग्य लाभ दिलाउने छ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।

मकर राशि -सामान्य क्षती ब्यर्होनु पर्ला । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । नयाँ कार्य थालनिका निम्ति आट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ ।

कुम्भ राशि – पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

मिन राशि -प्रेम सम्बन्धमा सुधार आउनेछ । सामान्य आम्दानि हुने योग रहेको छ । कार्य सम्पादनमा बिभिन्न समस्याका कारण ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।