`

प्रधानसेनापतिसँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरलको भेटवार्ता


काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर एके सिंहले शिष्टचार भेटवार्ता गर्नुभएको छ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा भएको शिष्टाचार भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्नेलगायत विषयमा छलफल भएको थियो ।

साथै लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले भारतीय राजदूतावासमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्नुभएको थियो । उहाँ नेपालको औपचारिक भ्रमणका लागि गत चैत २६ गते काठमाडौँ आउनुभएको थियो ।

भ्रमणका दौरान उहाँले भारतीय गोर्खा सैनिक निवास, पेन्सन भुक्तानी कार्यालय, पोखरा र पेन्सन भुक्तानी कार्यालय, धरानको भ्रमण गर्नुभएको यहाँस्थित भारतीय दूतवासले जनाएको छ । साथै उहाँले काठमाडौँ, पोखरा र धरानमा नेपालमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिक सम्मिलित ¥यालीलाई सम्बोधन गर्नुभएको थियो । लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले गोर्खा सैनिकको बहादुरीको प्रशंसा गर्दै उनीहरुको साहस र राष्ट्रप्रति देखाएको समर्पित भावको कदर गर्नुभएको थियो । भूतपूर्व वीर गोर्खा सैनिकको अमूल्य त्याग एवम् बलिदानीको स्मरण गर्दै लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले गोर्खा सैनिकको कल्याणका लागि असम राइफल्स, भारतीय सेना तथा भारत सरकार सदैव प्रतिबद्घ रहने बताउनुभएको थियो ।

बिस्का नखः (जात्रा)का अवसरमा वैशाख ४ गते टोखामा सार्वजनिक बिदा

काठमाडौँ- काठमाडौँको टोखा नगरपालिकाले बिस्का जात्राका अवसरमा वैशाख ४ गते सार्वजनिक बिदा दिएको छ । टोखाको गत चैत २९ गते बसेको नगर कार्यपालिकाको बैठकले वैशाख १ देखि ५ गतेसम्म मनाइने बिस्का जात्राका अवसरमा वैशाख ३ गते टोखा नगरपालिकाको वडा नं २ र ३ साथै वैशाख ४ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले वैशाख ३ गते दुईवटा वडा र वैशाख ४ गते टोखा नगरपालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्था बन्द हुने जानकारी दिनुभयो । टोखामा वैशाख २ गते आज बिहान तीनवटै रथ गाउँ परिक्रमा गरेर मसानकालीको रथ भूतखेलको पाटीमा बिसाएर बली पूजा लिई कोठु गणेश र मसानकाली दुवै रथ एकैसाथ ल्याएर बिहान ११ बजे थलागः टोलमा लस्करै बिसाइएको थियो ।

आईतबार दिउँसो ३ बजे गणेश कुमारीको आगमन गराई तलेजुबाट सरकारी पुजा ल्याई सिन्दूरजात्रा गरी रथ उठाएको छ भने  साँझ गाउँ परिक्रमा गरी बेलुका ७ बजे सबै रथ तपलाक्षीःमा बिसाइएको नेवा गुथीः टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिनुभयो । आज रातभर भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने अध्यक्ष नापितले बताउनुभयो ।
 

ठूूलाकोटस्थित काल भैरवमा वैशाख ४ गते रोट पकाउने पर्व मनाइने

गण्डकीp-कास्कीको पोखरा महानगरपालिका–२८ ठूलाकोटस्थित काल भैरव मन्दिरमा यस वर्षको चैते दसैँका अवसरमा यही वैशाख ४ गते रोट पकाउने पर्व मनाइने भएको छ ।

वर्षको दुुई पटक आश्विन शुक्ल पक्षको दसैँ र चैते दसैँमा भैरवको पूजापाठ गर्ने प्राचीन परम्परालाई निरन्तरता दिँदै यस वर्ष चैत्राष्टमीका अवसरमा विशेष पूजाआजा गर्न लागिएको पीठाधिश वसन्तनाथ योगीले जानकारी दिनुुभयो ।

विसं २०८१ मा तीन दसैँ पर्ने भएकाले यस वर्षमा भैरवले पृथ्वीको भ्रमण गर्ने प्राचीन किंवदन्तीसमेत रहेको बताउँदै उहाँले भैरवलाई खुसी पार्न विशेष प्रकारको रोट पकाउने र चढाउने प्रचलनअनुसार विभिन्न सामग्री मिसाएर तयार पारिएको एक पाथि पिठो बराबरको रोट पकाउने योजना रहेको उहाँको भनाइ छ ।

भैरवका नाममा बनाएकोे रोट प्रसाद खाँदा नयाँ वर्ष फलदायी बन्ने, अन्नबाली राम्रो हुने, रोगब्याधी नलाग्ने प्राचिन मान्यता रहेको छ । चामल, आटाको पिठो, नरिवल, छोडा, ल्वाङ, सुकुमेल, दालचिनी, मिठासुप, चिनी, काजु, अलैँची, मरिच, ध्यू, गाईको दूध लगायतका सामग्री प्रसादको रूपमा जम्मा गरी वैदिक विधिपूर्वक यज्ञ मण्डपमा रोट पकाएर भैरवलाई चडाउने प्रचलन छ ।

अष्टमीकै दिनमा ठूूलाकोट काल भैरव मन्दिरमा चण्डी पाठसहित भैरवको कार्य क्षेत्रभित्र कलश यात्रा निकालिने कार्यक्रम रहेको मन्दिर संरक्षण समितिका अध्यक्ष तिलकशाली अधिकारीले जानकारी दिनुुभयो ।

वान एक्स बेटमार्फत सन्ताउन्न करोड बढी कारोबार, तीन पक्राउ

काठमाडौँ-नेपाल प्रहरीले वान एक्स बेटमार्फत विभिन्न खेलमा सट्टेबाजी खेलाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विश्वमा सञ्चालन हुने विभिन्न खेलहरूमा सट्टेबाजी गर्न प्रयोग हुने वान एक्स बेटमार्फत सट्टेबाजी गराउन रकम सङ्कलन गर्ने तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाही मलंगवाका ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र ३० वर्षीय राकेश चौधरी रहेका छन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले विभिन्न खेलमा वान एक्स बेटमार्फत सट्टेबाजी गराएको आरोपमा पक्राउ गरिएको जानकारी दिनुभयो ।

“पक्राउ परेकाले विभिन्न मोबाइल नम्बरबाट २१ वटा कनेक्ट आइपिएस खाता खोलेर ९८ वटा बैंकका खाता खोलेको अनुसन्धानमा भेटिएको छ”, प्रवक्ता रेग्मीले भन्नुभयो । पक्राउ परेकाले ती खाताबाट रु ५७ करोड ४१ लाख ५७ हजार एक सय ४७ बराबरको कारोबार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनैजनामाथि मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद–५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसुरअन्तर्गत दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको प्रवक्ता रेग्मीले बताउनुभयो ।

प्रहरीले उनीहरूसँग नौ थान मोबाइल, २१ थान सिमकार्ड, ल्यापटप दुई थान, सिपियु एक थान, नगद रु ६२ हजार र विभिन्न सहकारीका पासबुक तथा बैंकका चेकबुक बरामद गरेको छ । पक्राउ परेकालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

खेलकुदका माध्यमबाट दक्ष जनशक्ति उत्पादन : मुख्यमन्त्री अधिकारी


कास्की, २ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सरकारले सक्षम, दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादनलाई प्राथमिकता दिएको बताउनुभएको छ । त्यसका लागि मानव जीवनका लागि महत्वपूर्ण पक्ष रहेको खेलकुद विकास पहिलो सर्तका रुपमा रहेको उहाँले बताउनुभयो ।

काठमाडौँमा यही वैशाख ४ गतेदेखि सुरु हुने १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने गण्डकी प्रदेशका खेलाडीलाई आज पोखरामा बिदाइ गर्दै उहाँले खेलाडीलाई उच्च मनोबलका साथ अनुशासित भएर प्रदेशको शान माथि उठाउने गरी खेल्न र सफलता प्राप्तिको शुभकामना दिनुभयो ।

मुख्यमन्त्री अधिकारीले भन्नुभयो, “गण्डकी प्रदेशको शान माथि उठाउने गरी मैदानमा अनुशासित बनेर खेल्नुहुनेछ भन्ने विश्वास लिएको छु, गण्डकी प्रदेशको इज्जतका लागिसमेत यहाँहरुलाई सफलता प्राप्त होस् ।” प्रदेश सरकार सक्षम जनशक्ति उत्पादनको अभियानमा लागेको मुख्यमन्त्री अधिकारीले बताउनुभयो ।

“मान्छेलाई रोग लाग्नु दिनु हुँदैन, रोग लाग्न दिनुभन्दा अघि नै ‘प्रिभेन्सन’ आवश्यक छ, स्वस्थ नागरिकबाट उत्पादकत्व वृद्धि हुन्छ, सरकार सक्षम जनशक्ति उत्पादनमा लागेको छ, त्यसका लागि खेलकुदको विकास पहिलो सर्त हो”, मुख्यन्त्री अधिकारीले भन्नुभयो ।

कार्यक्रममा मुख्यमन्त्री अधिकारीले राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने खेलाडीलाई टीका लगाएर बिदाइ गर्दैै प्रदेश खेलकुद परिषद् गण्डकीको लोगो अङ्कित झन्डा हस्तान्तरण गर्नुभएको थियो । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सञ्चालन हुने केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा गण्डकी प्रदेशबाट ९८ खेलाडीसहित प्रशिक्षक र ‘टिम म्यानेजर’ गरी एक सय १५ जनाको सहभागिता रहने प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिनुभयो ।रनिङ शिल्ड प्रतियोगितामा छात्र÷छात्रा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, उसु र करातेतर्फका खेलमा प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय खेलकुद परिषद्का अनुसार प्रतियोगितामा सात प्रदेशबाट छ सय ८६ खेलाडीले प्रतिस्पर्धा गर्नेे भएका छन् । विभिन्न छ खेलमा ६६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण ३३ को मृत्यु


अफगानिस्तानमा तीन दिनदेखिको भारी वर्षा र बाढीबाट कम्तीमा ३३ जनाको मृत्यु भएको सरकारको प्रकोप व्यवस्थापन विभागले आइतबार बताएको छ ।

“शुक्रबारदेखि परेको पानीका कारण अचानक बाढी आउँदा ठूलो मानवीय तथा वित्तीय क्षति भएको छ”, विभागका प्रवक्ता जनान सायेकले भन्नुभयो, “दुर्भाग्यवश ३३ जनाको मृत्यु र २७ जना घाइते भएको प्रारम्भिक जानकारीबाट थाहा भएको छ ।”

सायेकका अनुसार अधिकांश मृत्यु घरको छत खसेर भएका छन् । करिब छ सय घर क्षतिग्रस्त वा नष्ट भएका छन् भने करिब छ सय किलोमटर सडक भत्किएको छ र करिब दुई हजार एकड कृषि भूमिमा बाढी पसेको छ ।

मुलुकका ३४ प्रान्तमध्ये करिब २० प्रान्तमा भारी वर्षा भएको छ । यसपछि असामान्यरूपमा आएको सुक्खा जाडो मौसमले जमिन सुक्खा भएको छ र किसानहरूलाई बाली लगाउने काममा ढिलाइ गर्न बाध्य पारेको छ ।

सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि गरिब अफगानिस्तानमा विदेशी सहयोगको प्रवाह अत्यन्त कम भएको छ । यसबाट प्राकृतिक प्रकोपहरूमा राहत प्रतिक्रियामा अवरोध भइरहेको छ ।

फेब्रुअरीमा पूर्वी अफगानिस्तानमा व्यापक हिमापातपछि गएको पहिरोमा परी कम्तीमा २५ जनाको मृत्यु भएको थियो भने मार्चमा समाप्त भएको तेस्रो साताको वर्षामा करिब ६० जनाको मृत्यु भएको थियो । संयुक्त राष्ट्रसङ्घले गत वर्ष अफगानिस्तानले चरम मौसमको स्थितिमा ठूलो परिवर्तनको अनुभव गरिरहेको चेतावनी दिएको थियो ।

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण मौसमी ढाँचा बिग्रिरहेको छ र चार दशकको युद्धबाट प्रभावित अफगानिस्तान यस्तो घटनाको सामना गर्नका लागि सबैभन्दा कम तयार मुलुकमध्ये एक भएको छ ।

नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान थालेको एमालेको निष्कर्ष

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठकले नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान थालेको निष्कर्ष निकालेको छ ।

लतिलपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले नयाँ सत्ता समीकरणले सकारात्मक रहेको मुलुकलाई सही दिशामा ल्याउन सफल भएको जनाएको छ ।

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले जनतालाई अझ विश्वास जगाउने काममा गति ल्याउनुपर्ने बताए । बैठकले यही वैशाख ८ र ९ गते हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको कार्यसूचीसमेत तय गरेको छ । परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुनेछ ।

परिषद्को बैठकमा दुई हजार एक सय ५३ महाधिवेशन प्रतिनिधिसहित करिब दुई हजार पाँच जना सहभागी हुने उपमहासचिव ज्ञवालीले बताए ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र सल्लाहकार परिषद्ले आआफ्नो प्रतिवेदन पेश गर्ने छन् । बैठकमा आगामी निर्वाचनमा एमालेलाई निर्णायक शक्ति बनाउनेबारेमा छलफल हुने उपमहासचिव ज्ञवालीले बताए ।

यस्तै बैठकले नेकपाको ७५औँ स्थापना दिवसमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । स्थापना दिवसको दिन वृत्तचित्र, झुलाघाट चिवाभञ्जाङ पदयात्रा तथा साङ्गतिक कार्यक्रम गर्ने उनले बताए ।

स्थापना दिवसको दिन प्रमुख राजनीतिक दलका नेतालाई सम्बोधन गर्ने र पार्टीमा योगदान गर्नेलाई विशेष सम्मान गर्ने उनले बताए ।

उनले कम्युनिष्ट पार्टी स्थापना भएको सय वर्षमा मुलुकलाई समुन्नत, समृद्ध र विश्वको अन्य देशको हाराहारी मुलुकलाई पुर्याउने सङ्कल्प पार्टीले लिएको बताए ।

उपमहासचिव ज्ञवालीले केन्द्र सरकारमा जुन जुन राजनीतिक दलबीच सहकार्य भएको छ, प्रदेश तहमा पनि त्यही राजनीतिक दलबीच सहकार्य हुने जनाउँदै सुदूरपश्चिम प्रदेशमा पनि सत्ता गठबन्धन दलबीच नै सहकार्य हुने जानकारी दिए ।

सगरमाथाको अङ्ग्रेजी नामकरण पनि सगरमाथा नै राख्न सुझाव


काठमाडौँ, २ वैशाख : विश्वको सर्वाेच्च शिखर सगरमाथाको नाम अङ्ग्रेजीमा पनि ‘SAGARMATHA’ नै राख्न सरोकारवाला विज्ञहरुले सुझाव दिनुभएको छ । सगरमाथालाई अङ्ग्रेजीमा ‘माउन्ट एभरेष्ट’ उल्लेख गर्ने गरिएकोप्रति विज्ञहरुले सो सुझाव दिनुभएको हो ।

इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँहरुले नेपालका अन्य हिमालको नाम नेपालीकरण मात्र रहेको जस्तै सगरमाथाको नाम पनि एउटै हुनुपर्ने तर्क गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं इतिहासविद् प्राडा त्रिरत्न मानन्धरले इतिहास शिरोमणि आचार्यले सगरमाथाको नाम चिनाउनुभएको ऐतिहासिक तथ्यबारे जानकारी गराउनुभएको थियो । इतिहास शिरोमणि आचार्यले सर्वप्रथम विसं १९९५ मा लेखमार्फत सर्वाेच्च शिखरको नाम सगरमाथा हो भनी उल्लेख गर्नुभएको थियो ।

प्राडा मानन्धरले भन्नुभयो, “सगरमाथाको नाम अङ्गे्रजीमा पनि सगरमाथा नै उल्लेख गर्दा सुरुमा केही अफ्ठ्यारो हुने अवस्था आएमा सगरमाथासँगै कोष्ठभित्र ‘माउन्ट एभरेष्ट’ राख्न सकिन्छ तर मौलिक नाम सगरमाथा भने छुटाउनु हुँदैन ।” यस सम्बन्धमा निकट भविष्यमै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएर सुझाव दिने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रा सुरेन्द्र केसीले राष्ट्रियताअनुसार शाब्दिक फेरबदल हुने गरेको बताउनुभयो । साथै उहाँले यस्तो फेरबदल गर्दा शुद्धता र सही सूचना पनि आवश्यक पर्ने बारेमा जानकारी गराउनुभयो । यसैगरी, प्रतिष्ठानका महासचिव बाबुराम आचार्य, कोषाध्यक्ष कञ्चन शर्मालगायतले इतिहास शिरोमणि आचार्यले नेपालको इतिहास र सगरमाथाको मौलिक पहिचानमा गर्नुभएको योगदानबारे चर्चा गर्नुुभएको थियो ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि ‘ब्रेक थ्रू’ हुँदै

काठमाडौँ, २ वैशाख : नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ भोलि (सोमबार) छेडिने (ब्रेक थ्रू) भएको छ । नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले राससलाई दिनुभएको जानकारीअनुसार सोमबार एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रू’ गर्न लागिएको हो । सुरुङ ‘ब्रेक थ्रू’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुने जनाइएको छ ।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ ।

आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । आयोजना निर्माणको सुरुआती सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपथ्र्यो । आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ ।

त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन)लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ ।¬

इरान र रुसको ‘आतङ्कवाद’ विरुद्ध संयुक्तरूपमा विश्वव्यापी प्रतिक्रिया दिन आग्रह


युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार इजराइलमाथि तेहरानको आक्रमणको निन्दा गर्नुभएको छ । उहाँले रुस र इरानको ‘आतङ्कवादी’ हमलाका लागि संयुक्तरूपमा विश्वव्यापी प्रतिक्रिया दिन आग्रह गर्नुभएको छ ।

“इरानको कारवाहीहरू पूरै क्षेत्र र संसारलाई खतरा हो, जस्तो रुसको कारवाहीबाट ठूलो सङ्घर्षको खतरा छ”, सामाजिक सञ्जाल एक्समा उहाँले भन्नुभएको छ, “आतङ्कवाद फैलाउनमा दुवै शासनबीचको स्पष्ट सहयोगले संसारबाट दृढ र एकजुट प्रतिक्रियाको सामना गर्नुपर्छ, युक्रेन शाहिद ड्रोन र मिसाइलमार्फत इजराइलमाथि इरानको आक्रमणको निन्दा गर्दछ ।”

रुसले युक्रेनविरुद्ध युद्धमा ठूलो सङ्ख्यामा इरानी ड्रोनको प्रयोग गरेको छ तथा जेलेन्स्कीले युक्रेन र इजराइलको अनुभवलाई जोड्नुभएको छ । “हामीले युक्रेनमा रुसले गरेको यस्तै प्रकारको आक्रमणहरूको भयावहतालाई राम्रोसँग जानेका छौँ, रुसले पनि उस्तै हवाई हमलाको रणनीतिमार्फत समान ‘शाहिद’ ड्रोन र रुसी मिसाइलहरूको ठूलो मात्रामा प्रयोग गर्दछ ।”

युक्रेनमा धेरै मानिसले मिसाइल र ड्रोन हमलालाई रोक्ने अन्तर्राष्ट्रिय प्रयासहरूलाई उद्धृत गर्दै शनिबार इजराइलका लागि आएको पश्चिमी समर्थन युक्रेनका लागि आएको समर्थनभन्दा धेरै भएको गुनासो गरेका छन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ‘ठोस सहायता’ ले मात्र मिसाइल र ड्रोन हमलालाई रोक्न सक्ने बताउनुभयो । साथै उहाँले युक्रेनका लागि अमेरिकी युद्ध सहायता जारी राख्न अपिल गर्नुभयो । अमेरिकी कांग्रेसमा लामो समयदेखि उक्त सहायता प्याकेज रोएिको छ ।

“अमेरिकी कांग्रेसले यो महत्त्वपूर्ण समयमा अमेरिकाका सहयोगीहरूलाई बलियो बनाउनका लागि आवश्यक निर्णय लिनेछ भन्ने महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो ।

भारतमा निर्वाचनअघि सामाजिक खर्च बढाउने र मुलुकलाई उत्पादनको केन्द्र बनाउने मोदीको वाचा


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आफ्नो भारतीय जनता पार्टी (भाजपा) को चुनावी रणनीति सार्वजनिक गर्दै सामाजिक खर्च बढाउने, पूर्वाधार विकास र भारतलाई विश्वव्यापी उत्पादन केन्द्र बनाउने वाचा गर्नुभएको छ ।

मोदी तेस्रो पाँच वर्षको कार्यकालका लागि सत्तामा फर्कने आशामा हुनुहुन्छ । उहाँ तथा भाजपाका अन्य नेताहरूले बहुचरणको आम निर्वाचन सुरु हुनु केही दिनअघि विश्वको सबैभन्दा ठूलो लोकतन्त्रमा आफ्ना वाचाहरू सार्वजनिक गर्नुभयो ।

मोदीले आफ्नो पार्टीको १० वर्षको शासनमा सुरु गरिएका सामाजिक कार्यक्रमहरूलाई विस्तार गर्ने वाचा गर्नुभयो । यसमा स्वास्थ्य सेवा, खाना पकाउने ग्यास र निःशुल्क अन्नका साथै गरिबहरूका लागि लाखौँ निःशुल्क घरहरू समावेश छन् । उहाँको सरकारले गरिब किसानहरूलाई प्रतिवर्ष छ हजार भारतीय रुपैयाँ (७३ अमेरिकी डलर) प्रदान गरिरहेको छ ।

प्रधानमन्त्री मोदीले सन् २०१४ मा सत्तामा आएपछि आफ्नो सरकारको नीतिहरूले २५ करोड मानिसलाई गरिबीबाट बाहिर निकालेको बताउनुभयो । एक अर्ब ४० करोडभन्दा धेरै जनसङ्ख्या भएको भारत विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक हो । भाजपाका अध्यक्ष जे. पी. नड्डाले एक प्रतिशतभन्दा कम भारतीय जनता अहिले चरम गरिबीमा बाँचिरहेको बताउनुभयो ।

भारतमा मुलुकका भिन्नाभिन्नै हिस्सामा भिन्नाभिन्नै मितिमा निर्वाचन हुन्छ । निर्वाचन धेरै सातासम्म जारी रहन्छ । मुलुकको संसद्का लागि मतदान अप्रिल १९ देखि सुरु भएर जुन १ सम्म हुनेछ र नतिजा जुन ४ मा घोषणा गरिनेछ ।

अधिकांश सर्वेक्षणहरूले मोदी र भाजपाको जितको भविष्यवाणी गरेका छन् । यद्यपि विपक्षी कांग्रेस पार्टीले मोदीले भारतको लोकतन्त्रलाई कमजोर बनाएको र धनीहरूको हितलाई समर्थन गरेको तर्क दिएको छ ।

मोदीले मुलुकभर व्यापक प्रचार गरिरहनुभएको छ र सन् २०२७ सम्ममा मुलुकको अर्थतन्त्रलाई करिब २७ खर्ब डलरबाट बढाएर ५० खर्ब डलरसम्म पुर्याउने वाचा गर्नुभएको छ । उहाँले बेलायती उपनिवेशबाट स्वतन्त्र भएको एक सय वर्षको खुशीयाली मनाउँदै गर्दा सन् २०४७ सम्ममा भारतलाई विकसित मुलुक बन्ने मार्गमा लैजाने पनि वाचा गर्नुभएको छ ।

उहाँले आइतबार आफ्नो पार्टीले भारतलाई औषधि, ऊर्जा, सेमीकन्डक्टर र पर्यटन उद्योगहरूको केन्द्रका रूपमा विकास गर्ने बताउनुभयो । भारतले आफ्नो रेलवे, हवाईमार्ग र जलमार्गसहित पूर्वाधारको आधुनिकीकरण गर्ने पनि उहाँले बताउनुभयो । साथै उहाँले युवाहरूका लागि नोकरी बढाउने र युवा उद्यमीहरूका लागि सस्तो ऋणमा पहुँच पुर्याउने उल्लेख गर्नुभयो । हिन्दूवादी नेताका रूपमा मोदी भारतमा अत्यन्त लोकप्रिय हुनुहुन्छ र उहाँले द्रुत गतिमा आर्थिक विकास गर्नुभएको छ ।

कञ्चनपुरमा गहुँ चुट्ने क्रममा थ्रेसर मेसिनमा च्यापिएर महिलाको मृत्यु


महेन्द्रनगर (कञ्चनपुर), २ वैशाखः कञ्चनपुरको भीमदत्त नगरपालिकामा आज गहुँ चुट्ने क्रममा थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले गहुँ चुट्ने क्रममा थ्रेसरमा च्यापिएर भीमदत्त–९ का ४२ वर्षीया कौशादेवी जोशीको मृत्यु भएको जानकारी दिनुभयो । घटनापछि प्रहरीले ट्र्याक्टर र चालक पारस कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

“महिलाको शव शवपरीक्षणका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पु¥याइएको छ”, प्रवक्ता जोशीले भन्नुभयो, “घटनाको थप अनुसन्धान भइरहेको छ ।”

मुलुकको आर्थिक समृद्धिका लागि मुनाफा दिने चीज हेर्नुपर्नेमा पूर्वप्रम भट्टराईको जोड


काठमाडौँ, २ वैशाख : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले लगानी सम्मेलनले साना र मध्यमस्तरका व्यवसायलाई पनि समेटेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाजले आज राजधानीमा आयोजना गरेको ‘नेपालको आर्थिक सामाजिक क्षेत्रमा वैदेशिक लगानीको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले योलगायत आगामी लगानी सम्मेलनमा मुलुकको प्राथमिकताको आधारमा विषयवस्तु समावेश गर्नुपर्ने बताउनुभएको हो ।

“पछिल्लो समय साना उद्योगी पनि विदेश पलायन भइरहेको अवस्था छ,” उहाँले भन्नुभयो, “लगानीमैत्री वातावरण तय गरेर उहाँहरुलाई स्वदेशमा नै बस्ने वातावरण तय गर्नका लागि यस्ता लगानी सम्मेलनमा साना तथा मध्यमस्तरका व्यवसायलाई पनि समावेश गरेर लगानी जुटाउने वातावरण तय गरिनुपर्छ ।”

मुलुकको आर्थिक समृद्धिका लागि मुनाफा दिने चीज हेर्नुपर्नेमा उहाँको जोड रहेको छ । मुलुक कृषि प्रधानबाट औद्योगिक अर्थतन्त्रमा रुपान्तरण भइरहेको भन्दै उहाँले औद्योगिक क्षेत्रको विकासका लागि पनि मानव स्रोत र प्रविधिको विकास हुन जरुरी रहेको बताउनुभयो । “यतिबेला मुलुकको आर्थिक क्षेत्रमा शिथिलता निरन्तर देखिएको छ, कसरी अर्थतन्त्र सुधार गर्नुपर्छ भन्नेमा गम्भीर किसिमको छलफल हुनुपर्छ र मुलुक कसरी समृद्धिको बाटोमा लैजाने भन्ने विषयको बुझाइमा एकरुपता आउन जरुरी छ”, उहाँले भन्नुभयो, “हाम्रो जस्तो औद्योगिकीकरण हुँदै गएको अवस्थामा पूँजी, श्रम बजारको सुनिश्चितता जरुरी रहेको छ, पूँजीवादी बजार चलायमान हुनु पनि उत्तिकै जरुरी रहेको छ ।”

मुलुकको समग्र विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रको पनि विकास जरुरी रहेकामा उहाँले जोड दिनुभएको छ । उहाँले स्वदेशी उत्पादनको ठूलो बजार भारत र चीन रहेकाले कसरी उत्पादित वस्तुको बजार प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । “आजभोलि आकर्षक श्रम र प्रविधिका कारण युवा शक्ति विदेश पलायन भइरहेका छन्, १२ कक्षा पढ्ने बित्तिकै सबै विदेश पलायन हुन थालेका छन्”, उहाँले भन्नुभयो, “कसरी शैक्षिकस्तर सुधार गरेर स्वदेशमा नै प्रशस्त रोजगारीका माध्यमको विकास गरिनुपर्छ ।”

भट्टराईले नेपालको आन्तरिक बजार भारत र चीन भए पनि मुलुक भूराजनीतिक भूमरीमा फसिरहेकाले समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि कृषि क्षेत्रको नै सुधार गरेर उत्पादन शक्तिको विकास गर्नुपर्नेमा जोड दिनुभयो । “कृषि क्षेत्रको सुधारका लागि हामीले अपनाउनुपर्ने मुख्य नीति भूमिसुधारको कुरा नै गर्दैनाँै”, उहाँले भन्नुभयो, “खाद्य सुरक्षाको क्षेत्रमा लगानी सुरक्षित गर्नुपर्छ ।”

उहाँले मुलुकको अर्थतन्त्र सुधारका निम्ति हरित उर्जाको विकासमा जोड दिन उत्तिकै आवश्यक रहेकामा जोड दिनुभयो । आगामी लगानी सम्मेलनमा मुलुकको खास क्षेत्रमा लगानी गर्नुपर्ने उहाँको भनाइ छ । जिडिपीको ४० प्रतिशत विकासमा लगानी गर्नुपर्नेमा उहाँको जोड छ । प्राथमिकताको क्षेत्र पहिचान गरी त्यसमा लगानी बढाउनुपर्ने र अनावश्यक क्षेत्रमा लगानी बढाउन नहुने पनि उहाँको भनाइ छ ।

भ्रष्टाचार गरेको अभियोगमा कार्यालय प्रमुख रिमालसहित पाँच जना विरुद्ध मुद्दा दायर

काठमाडौँ, २ वैशाख ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ऊर्जा विकास कार्यालय मुगुका कार्यालय प्रमुख राजिव रिमालसमेत पाँच जना विरुद्ध गैरकानुनी लाभ हासिल गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७८÷७९ मा मुगुको सोरु गाउँपालिका–५ को नेर सिँचाइ आयोजनाको पाइपलाइन कार्य एक हजार सात सय मिटर हुनुपर्नेमा आधा मात्रै काम गरी रु पाँच लाख ६१ हजार चार सय ८१ बराबरको रकम बढी भुक्तानी गरेको पाइएको छ ।

आयोगले कार्यालय प्रमुख रिमाल, सवइञ्जिनीयर नरबहादुर लावड, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर शाही विरुद्ध रु पाँच लाख ६१ हजार चार सय ८१ बराबरको बिगो माग दाबी गरेको छ । आरोपीलाई बिगो बमोजिम कारबाहीको माग गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

हर्षोल्लास साथ मनाइयो सिरुवा पर्व


झापा, २ वैशाख : आदिवासी कोच समुदायको मुख्य चाड सिरुवा झापालगायत कोशी प्रदेशका तराईका जिल्लामा हर्षोल्लास साथ मनाइएको छ । उनीहरुले आज सामूहिक रुपमा काद (हिलो) खेलेर सिरुवा पर्व मनाएका छन् ।

नयाँ वर्ष सुरु भएसँगै पूर्वका आदिवासी कोच समुदायले मुख्य चाड सिरुवा मनाउने गर्दछन् । तीन दिनसम्म मनाइने यस पर्वमा पहिलो दिन जल सिरुवा र आज कादो (हिलो) सिरुवा मनाइएको छ । सिरुवाको अन्तिम दिन सोमबार रङ दलेर मनाइने राजवंशी समाज विकास समितिका जिल्ला अध्यक्ष पुकार राजवंशीले बताउनुभयो ।

उहाँले जिल्लाका १५ वटा पालिकामा बसोबास गर्ने राजवंशी, थारू, गनगाई, ताजपुरिया, माझीलगायत समुदायले यो पर्व मनाइरहेको बताउनुभयो । उनीहरुले वैशाख १ देखि ३ गतेसम्म एकअर्कामा पानी छ्यापेर, हिलो खेलेर र रङ दलेर पर्व मनाउने गरेका छन् ।

वैशाख १ गते उनीहरुले एकापसमा भ्रातृत्व र बन्धुत्वको सम्बन्धलाई अझ प्रगाढ बनाउन शुभकामना आदानप्रदान गर्दै जिल्लाका विभिन्न स्थानमा पर्व मनाउने गरेको उहाँको भनाइ छ । उनीहरुले आ–आफ्ना घरमा घाटोसरी थान बनाएर पूजा गर्ने, ग्रामथानमा गएर कुल देउताको पूजापाठ गर्नेलगायत कार्य गरेका छन् ।

उहाँका अनुसार भद्रपुर नगरपालिका र विर्तामोड नगरपालिका तथा झापा, गौरीगञ्ज र कचनकवल गाउँपालिकाले सिरुवा पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएका छन् । उहाँका अनुसार नयाँ वर्षको आगमनसँगै वर्षभरि शीतलता प्राप्त होस् भन्ने उद्देश्यले पानी सिरुवा, प्रकृति पूजक भूमिपुत्र भएका हिसाबले कादो सिरुवा र वर्षभरि नै सुख भ्रातृत्व प्राप्ति गर्ने उद्देश्यले रङ सिरुवा मनाइने गरिएको छ ।

गणतन्त्रलाई संस्थागत विकास गर्ने तर्फ लाग्न सहमहामन्त्री परियारको आग्रह

भरतपुर, २ वैशाख ः नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सबै राजनीतिक दलहरु मिलेर गणतन्त्रलाई संस्थागत विकास गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ । नेपाली कांग्रेस चितवनले आज भरतपुरमा आयोजना गरेको नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेस सबै राजनीतिक दलको अभिभावक भएको दाबी गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “पार्टीप्रति आमनागरिकले देखाएको विश्वासलाई मर्न दिइने छैन । जनताको भावना अनुसारका समसामयिक मुद्दालाई पार्टीले सधैँ प्राथमिकतामा राखेर समाधान गर्दै आएको छ । यही कारण अहिलेसम्म कांग्रेसप्रति जनताका आस्था नटुटेको हो । ” सो कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ र दिनेश कोइरालालगायतले पार्टीलाई बलियो बनाउँदै लैजान आन्तरिक एकतामा जोड दिनुपर्ने बताउनुभयो ।

इन्डोनेसियामा पहिरोमा १५ को मृत्यु, दुई बेपत्ता


मध्य इन्डोनेसियामा पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु तथा दुई जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन् । स्थानीय प्रकोप एजेन्सीका प्रमुख सुलेमान मैलाले शनिबार साँझ दक्षिणी सुलावेसी प्रान्तको ताना तोराजामा पहिरोमा परी मृत्यु भएका र बाँचेका दुई जनाको उद्धार गरिएको बताउनुभयो । “तीमध्ये दुई जना बाँचेका छन् भने अन्य १५ जनाको दुःखद मृत्यु भएको छ”, उहाँले भन्नुभयो, “बासिन्दाहरूले बताएअनुसार अहिले पनि दुई जना बेपत्ता भएका छन्, सम्भवतः उनीहरू पहिरोको भग्नावशेषमुनि रहेका हुनसक्छन् ।”

ताना तोराजा र यसका वरपरका क्षेत्रहरूमा विशेषगरी गत सातादेखि लगातार भीषण वर्षा भइरहेको र वर्षा नरोकिएको मैलाले बताउनुभयो । भीषण वर्षाका कारण पहाडी भेगमा रहेका आवासीय क्षेत्रका माटो नष्ट हुँदा पहिरो गएको र बासिन्दाहरू घरमै पुरिएको उहाँले बताउनुभयो ।

राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीले एउटा लिखित विज्ञप्तिमा पहिरोले दुई गाउँलाई प्रभावित बनाउँदा चार घर पहिरोमा पुरिएको बताएको छ । इन्डोनेसियामा वर्षाको मौसममा पहिरोको जोखिम देखिन्छ र केही स्थानमा वन फडानीका कारण समस्या थपिएको छ । लामो समयसम्म मुसलधारे वर्षाका कारण मुलुकका केही क्षेत्रमा बाढी आएको छ ।

गत महिना सुमात्रा टापुमा अचानक आएको बाढी र पहिरोबाट कम्तीमा ३० जनाको मृत्यु भएको थियो भने धेरै मानिस अहिले पनि बेपत्ता भएका छन् । डिसेम्बरमा सुमात्रामा टोबा तलाउ नजिकै पहिरो र बाढीबाट दर्जनौँ घर बगेका थिए र एउटा होटल क्षतिग्रस्त भएको थियो । उक्त प्रकोपमा कम्तीमा दुई जनाको मृत्यु भएको थियो ।

जापानमा जनावरमाथिको दुर्व्यवहारका घटनामा वृद्धि

‘पशु कल्याण र व्यवस्थापन ऐन’ उल्लङ्घन गरेको आरोपमा सन् २०२३ मा त्यहाँ १८१ मुद्दा दर्ता भएका थिए । उक्त ऐनले जनावरलाई क्रूर र अनुपयुक्त व्यवहार गर्नबाट प्रतिबन्ध लगाएको छ ।

सन् २०१० देखि सङ्कलन गर्न थालिएको तथ्याङ्क अनुसार यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा उच्च होे ।दुर्व्यवहारका घटनाहरूमध्ये ९७ वटा बिरालो र ६५ वटा कुकुरहरू रहेका थिए भने कुखुरा, लोखर्के, खरायो, गाई, घोडा, कछुवालगायत रहेका उल्लेख गरिएको छ ।

बिरालो र कुकुरका १६२ घटनामा जनावरलाई वेवारिसे छाडेको ६४ वटा घटना, मृत्यु वा चोटपटकको कारण ४१ र जनावरलाई राम्ररी खुवाउन नसकेका वा स्वच्छ वातावरणमा नराखेको ५७ घटना रहेका छन् ।

कोभिड महामारीको समयमा घरपालुवा जनावरहरू राख्ने मानिसहरू जनसङ्ख्या बढेको तर पछि सामान्य जनजीवनका कारण उनीहरू व्यस्त हुन थालेपछि पशु दुर्व्यवहारका घटनामा वृद्धि भएको प्रहरीले जनाएको छ ।

इरानले इजरायलमाथि गरेको आक्रमणप्रति अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया

इरानले शनिबार राति इजरायलमाथि गरेको आक्रमणको विश्वका विभिन्न देशले निन्दा गर्दै उक्त आक्रमणले मध्यपूर्वलाई थप अस्थिर बनाउने चिन्ता प्रकट गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इस्लामिक गणतन्त्र इरानले इजरायलमाथि गरेको व्यापक आक्रमणको निन्दा गर्दै यसले गम्भीर तनाव निम्त्याएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “म यस क्षेत्रव्यापी तनावको वास्तविक खतराबारे निकै चिन्तित छु । मध्यपूर्वमा विभिन्न मोर्चामा ठूलो सैन्य मुठभेड निम्त्याउन सक्ने कुनै पनि कार्यबाट जोगिन सबै पक्षलाई आह्वान गर्दछु ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले उच्च सुरक्षा अधिकारीहरूसँगको आपतकालीन बैठकपछि इजरायललाई ‘आइरनक्लाड’ समर्थन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले भन्नुभयो, “इरानले इजरायलविरुद्ध गरेको आक्रमणबारे जानकारी लिन मैले आफ्नो राष्ट्रिय सुरक्षा टोलीलाई भेटेको छु । इरान र उसका सहयोगीहरूको खतराविरुद्ध इजरायलको सुरक्षाप्रतिको हाम्रो चट्टानी प्रतिवद्धता छ,” ह्वाइट हाउसमा भएको बैठकको तस्वीर पोस्ट गर्दै बाइडनले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले एक वक्तव्य जारी गर्दै ‘लापरबाहीपूर्ण’ आक्रमणको निन्दा गर्दै यसले तनाव बढाउने र यस क्षेत्रलाई अस्थिर बनाउने खतरा रहेको बताउनुभएको छ । इरानले फेरि एकपटक आफ्नो घरआँगनमा अराजकता छर्न खोजेको देखाएको छ ।

युरोपेली सङ्घका विदेश मामिला प्रमुख जोसेप बोरेलले एक्समा जारी गरेको सन्देशमा आक्रमणलाई ‘अकल्पनीय जोखिम वृद्धि र क्षेत्रीय सुरक्षाका लागि गम्भीर खतरा’ भन्दै निन्दा गर्नुभएको छ ।

चीनको विदेश मन्त्रालयले आक्रमणलाई ‘गाजा द्वन्द्वको पछिल्लो बाछिटाको रूपमा चित्रण गर्दै संयमित हुन आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले गाजामा युद्धविरामको माग गर्दै हालै पारित गरेको प्रस्तावको कार्यान्वयनको लागि चीनले आह्वान गरेको छ । “अन्तर्राष्ट्रिय समुदाय, विशेषगरी प्रभाव भएका देशहरूलाई यस क्षेत्रको शान्ति र स्थिरताका लागि रचनात्मक भूमिका निर्वाह गर्न चीन आह्वान गर्दछ,” विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सबै पक्षलाई संयमता अपनाउन, हिंसाबाट जोगिन र कूटनीतिक वार्तामा फर्कन आग्रह गर्दै तत्काल तनाव कम गर्न आह्वान गरेको छ ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इजरायल र इरानबीच बढ्दो शत्रुताले यस क्षेत्रको शान्ति र सुरक्षालाई खतरामा पारेकोमा हामी गम्भीर रुपमा चिन्तित छौं । हामी तत्काल तनाव कम गर्न, संयमता अपनाउन, हिंसाबाट पछि हट्न र कूटनीतिको मार्गमा फर्कन इजरायल र इरानलाई आह्वान गर्दछौं । यसबाहेक, विदेश मन्त्रालयले इरान–इजरायल द्वन्द्वको स्थितिलाई नजिकबाट नियालिरहेको बताएको छ ।

फ्रान्सका विदेशमन्त्री स्टेफन सेजोर्नले भन्नुभयो, “यो अभूतपूर्व कदम चाल्ने निर्णय गरेर इरान आफ्नो अस्थिरताको कार्यहरूमा नयाँ स्तरमा पुगेको छ र सैन्य वृद्धिको जोखिम उठाइरहेको छ ।”

बर्लिनका उच्च कूटनीतिज्ञले पनि आक्रमणले अस्थिरता निम्त्याउने चेतावनी दिँदै तेहरानलाई आक्रमण रोक्न आग्रह गरेका छन् । विदेशमन्त्री एनालेना बेर्बोकले भन्नुभएको छ, “हामी जारी आक्रमणको भत्र्सना गर्दछौं, यसले पूरै क्षेत्रलाई अराजकतामा धकेल्न सक्छ । “इरान र उसका सहयोगीहरूले यसलाई तत्काल रोक्नुपर्छ”, उहाँले भन्नुभयो, “बर्लिन इजरायलको साथमा दृढतापूर्वक उभिएको छ ।”

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ओटावामा पत्रकारसँग कुरा गर्दै क्यानडाले इरानले इजरायलमाथि गरेको हवाई आक्रमणको निन्दा गर्दै आफु र आफ्नो देश इजरायलको साथमा रहेको बताउनुभएको छ ।

“अक्टोबर ७ मा हमासको नृशंस आक्रमणलाई समर्थन गरेको इरानको पछिल्लो कदमले यस क्षेत्रलाई थप अस्थिर बनाउनेछ र स्थायी शान्तिलाई थप कठिन बनाउनेछ,” उहाँले भन्नुभयो ।

कायरोको विदेश मन्त्रालयले शत्रुता बढ्दै गएकोमा गहिरो चिन्ता व्यक्त गर्दै अधिकतम संयम अपनाउन आग्रह गरेको छ । मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “‘द्वन्द्वको क्षेत्रीय विस्तारको जोखिम’बारे पनि चेतावनी दिइएको छ र इजिप्टले ‘स्थितिलाई नियन्त्रण गर्न द्वन्द्वका सबै पक्षहरूसँग प्रत्यक्ष सम्पर्कमा रहने छ ।”

साउदी अरबको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी ‘सैन्य गतिविधि वृद्धि’ प्रति चिन्ता व्यक्त गरेको छ । साउदी अरबले सबै पक्षलाई पूर्ण संयम अपनाउन र यस क्षेत्र र त्यहाँका जनतालाई युद्धको खतराबाट जोगाउन’ आह्वान गरेको छ । उसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्लाई ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने दिशामा आफ्नो जिम्मेवारी वहन गर्न’ आग्रह गरेको छ ।

अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलेइको कार्यालयले एक विज्ञप्ति जारी गर्दै आक्रमणको सामना गर्न इजरायली पक्षसँग आफ्नो ‘ऐक्यबद्धता’ व्यक्त गरेको छ ।


तेमाल खानेपानी आयोजना : पाँच करोड भुक्तानी नपाएको भन्दै महिनौँदेखि आलटाल, निर्माण अझै लम्बिने

काभ्रेपलाञ्चोक, २ वैशाखः काभ्रेपलाञ्चोकको तेमालमा निर्माणाधीन वृहत खानेपानी आयोजनामा सडक निर्माणका कारण क्षति पुगेको छ । सो आयोजनामा करिब रु ५० लाख बराबरको क्षति पुगेको उपभोक्ता समितिले जनाएको छ ।

विसं २०७९ को चैत महिनाभित्र उक्त क्षेत्रका ५५ हजार स्थानीयलाई लक्षित गरी आयोजना सुरु गरिएको थियो । स्थानीयका घरघरमा स्वच्छ खानेपानी पु¥याउन उद्देश्यले सुरु भएको आयोजनाको गति कोरोना महामारी र प्राकृतिक प्रकोपका कारणले सुस्त भएको थियो ।

नमोबुद्धको भकुण्डेदेखि तेमालहुँदै मेच्छे जोड्ने सडक निर्माणका कारण आयोजनाको विस्तारित पाइपलगायत केही भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ । विभिन्न सडक निर्माण आयोजनाका कारण विभिन्न स्थानमा पाइपलगायत सामग्रीमा क्षति पुगेको उपभोक्ता समितिको अध्यक्ष सङ्ग्रामजित लामाले बताउनुभयो ।

“सडक निर्माणका कारण केही स्थानमा जिआई पाइपसमेत गरी करिब रु ५० लाखको खानेपानीका सामग्रीमा क्षति पु¥याइएको प्रारम्भिक अनुमान गरिएको छ, प्राविधिकले क्षतिको विवरण सङ्कलन गर्दै हुनुहुन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार खानेपानी आयोजना सञ्चालन भएको तेमाल गाउँपालिका र केही क्षेत्र समेटिएको नमोबुद्ध नगरपालिकामा समितिले पत्रद्वारा क्षतिको जानकारी गराइएको छ ।

समयसीमाभित्र उपभोक्ताको घरघरमा खानेपानी उपलब्ध गराउन नसकिएको अवस्थामा ठेकेदार कम्पनीले भुक्तानी नपाएको भन्दै यसवर्ष पनि आयोजना लम्ब्याएको छ । उक्त आयोजना आठ वर्षअघि कालिका–सिएबी जेभी निर्माण कम्पनीले ठेक्का लिएको थियो । खानेपानी मन्त्रालयबाट करिब रु पाँच करोड भुक्तानी नपाएको जनाउँदै कम्पनीले महिनौँदेखि निर्माणमा आलटाल गरेको उपभोक्ता समितिले जनाएको छ ।

भुक्तानी नपाएपछि आयोजनाका जिम्मेवार व्यक्तिले सम्पन्न गर्नेतर्फ आलटाल गर्दा समय लम्बिएकाले मन्त्रालयमा ताकेता भइरहेको लामाले बताउनुभयो । उहाँका अनुसार तेमालको वडा नं २ र ३ मा केही धारा जडान तथा पानी कन्ट्रोलका सामग्री जडानको काम बाँकी छ ।

समितिले गत कात्तिक मसान्त्सम्मा काम सक्न आयोजनालाई भने पनि आलटाल गरिएको हो । आयोजनालाई कोरोनाको दुई लहर र गत साल साउनमा सुनकोशी नदीमा आएको बाढीले मुहान क्षेत्रमा क्षति पु¥याउँदा उक्त आयोजना करिब एकवर्ष धकेलिएको थियो । लामाले आयोजनाको काम अन्तिम चरणमा पुगेको अर्थात् करिब ९८ प्रतिशत काम सकिएको बताउनुभयो ।

आयोजनाको पानी प्रशोधनको काम भएको छ, भने करिब तीन हजार पाँच सय उपभोक्तालाई घरमा पानी पु¥याइसकिएको लामाले बताउनुभयो । उहाँका अनुसार २३ वट ट्याङ्कीमा पानी परीक्षण भइसकेको छ भने मुख्यलाइन र शाखा लाइनमा पाइप विछ्याउने तथा घरघरमा धाराका सामग्री वितरण भइरहेको छ । साथै, प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमासमेत पानी परीक्षण भइसकेको जनाइएको छ ।

उक्त आयोजनाले नमोबुद्ध नगरपालिका–५ कोटतेमाल र कालीमाटीका करिव नौ सय घर तथा रोशी गाउँपालिका–७ कटुञ्जेस्थित एक सय दश घरपरिवार समेटेको छ । तेमाल क्षेत्रका नौ हजार तीन सय दश परिवारका करिब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो । पाइपको मुख्य लाइनअन्तर्गत ५० किलोमिटर उपभोक्ताले खाल्डो .खनेर विच्छ््याउनुपर्ने सम्झौता अनुसार काम भएको छ । आयोजनाका लागि रु पाँच करोड बराबरको जनश्रमदान भएको लामाले बताउनुभयो ।

याङ्बेल डाँडामा चार लाख लिटर क्षमताका दुई मुख्य ट्याङ्की निर्माण गरिएको छ । आयोजनाको छुट भएका केही निर्माणको काम गर्न सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट गत पुसमा रु १० करोड ३४ लाख ४१ हजार उपलब्ध भएपछि थप निर्माण काम भएको छ । उक्त आयोजना सम्पन्न भएपछि तेमाल क्षेत्रका ५५ हजार स्थानीयमा खानेपानी उपलब्ध हुनेछ । लिफ्टििङ प्रविधिको उक्त आयोजनाको मुहान सुनकोशी नदी किनारमा छ । गत वर्षको पहिलो बाढीले तेमाल खानेपानीको मुहान रहेको स्थान तेमाल गाउँपालिका–२ र ३ को सिमाना सुनकोशी नदी किनार चुखाबेँसीका कटान गरेको थियो ।

त्यससँगै गत साउन १७ र १९ गतेको बाढीले क्षति पु¥याएपछि आयोजनाको मुहान क्षेत्रमा निर्माण लिफ्टिङ ट्याङ्कको जोखिमलाई सुरक्षित गरिएको छ । लामाका अनुसार बाढीले त्यतिबेला आयोजनाको रु ६० लाखभन्दा बढी क्षति पु¥याएको थियो भने करोडाँैका संरचनालाई जोखिम पु¥याएको थियो । तेमाल क्षेत्रअन्तर्गत तेमाल गाउँपालकाको नौ वटा वडा, नमोबुद्धको तीन वटा वडा तथा रोशी गाउँपालिकाको सात नम्बर वडाका बासिन्दाले उक्त खानेपानी उपभोग गर्न पाउने भएका हुन् ।

विसं २०७२ असार महिनामा सम्झौता भएको आयोजनाको काम २०७८ मङ्सिरमा सक्ने लक्ष्य राखिएको थियो । नेपाल सरकार, खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनिसकेका छन् ।

इरानी आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ दिइनुपर्ने : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलविरुद्ध इरानले गरेको आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’ का लागि आइतबार जी–७ राष्ट्रका नेताहरूसँग छलफल गरिने बताउनुभएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको भेटपछि बाइडेनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इरानको निर्लज्ज आक्रमणको ‘संयुक्त कूटनीतिक प्रतिक्रिया’का लागि समन्वय गर्न म आफ्ना सहकर्मी जी–७ नेताहरूलाई सोमबार छलफलमा सहभागी हुन आग्रह गर्दछु ।”

नेतन्याहूसँग फोनमा बाइडेनले इजरायलको सुरक्षाका लागि अमेरिकाको प्रतिबद्धता दोहो¥याउनुभएको थियो । उहाँले भन्नुभयो, “आक्रमणको सामना गर्न र परास्त गर्न उल्लेखनीय क्षमता प्रदर्शन गरेको छ र यसले आफ्ना शत्रुहरूलाई स्पष्ट सन्देश दिएको छ । उनीहरूले इजरायलको सुरक्षालाई प्रभावकारी रूपमा खतरामा पार्न सक्दैनन् भन्नेकुरा मैले प्रधानमन्त्री नेतन्याहूसँगको टेलिफोन वार्तामा पनि भनेको छु ।”

बाइडेनले यमन, सिरिया र इराकबाट सञ्चालित इरानका सहयोगीहरूले हवाई मार्गबाट आक्रमण गरेको भन्दै ती आक्रमणको कडा शब्दमा निन्दा गर्नुभएको छ । उक्त क्षेत्रमा रहेका अमेरिकी सेनाले इजरायललाई भित्रिने सबै ड्रोन र क्षेप्यास्त्र खसाल्न सहयोग गरेको राष्ट्रपति बाइडेनले बताउनुभयो ।

बाइडेनका अनुसार शनिबारको आक्रमण अमेरिकी सेना र सुविधाहरूलाई लक्षित गरिएको थिएन । उहाँले भन्नुभयो, “अमेरिकी सेना ‘सबै खतराहरूको लागि सतर्क रहनेछ र आफ्ना जनताको सुरक्षाको लागि सबै आवश्यक कदम चाल्न हिचकिचाउने छैन ।”

गत अप्रिल १ मा दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा इजरायली क्षेप्यास्त्र आक्रमणको बदलामा इरानले इजरायलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको होे ।

फिरौती तिरी पानीजहाज फिर्ता

सोमालियाली समुद्री डाकुहरूले बङ्गलादेशको ध्वजाबाहक मालवाहक पानीजहाज र त्यसका चालक दलका २३ सदस्यलाई आइतबार बिहानै उद्धार गरेको कम्पनीले जनाएको छ ।

एमभी अब्दुल्लाह नामक सामान बोक्ने उक्त पानीजहाजलाई सोमालियाको मापुतोबाट संयुक्त अरब इमिरेट्स (युएई) तर्फ ५५ हजार टनभन्दा बढी कोइला बोकी जाँदै गर्दा दर्जनौं समुद्री डाकूहरूको एक समूहले मार्चमा सोमाली तटबाट करिब एक हजार किलोमिटर टाढाको क्षेत्रबाट कब्जा गरेको थियो ।

यमनको इरान समर्थित हुथी विद्रोहीले पानीजहाजमा गरेको आक्रमणबाट जोगिन अदनको खाडीबाट अन्तर्राष्ट्रिय नौसैनिक बल रेड सीमा परिचालन गरिएसँगै सोमालियाली समुद्री डाकूको गतिविधिमा वृद्धि भइरहेका बेला जहाज नियन्त्रणमा लिइएको थियो ।

एमभी अब्दुल्लाहका मालिक केएसआरएम समूहले कार्गो जहाजका अपहरणकारीहरूसँग वार्ता गरी फिरौती तिरेपछि जहाज बङ्गलादेशको समयअनुसार आइतबार बिहान दुबईका लागि छुटेको थियो ।

“हामीले समुद्री डाकूहरूसँग सम्झौता गरेका छौं,” समूहको समुद्री शाखा एसआर शिपिंगका मिजानुल इस्लामले भन्नुभयो ।

“चालक दलका सबै सदस्य सुरक्षित छन् । पैसाको बारेमा हामी थप केही भन्न सक्दैनौं,” उहाँले भन्नुभयो ।

वीरगञ्जमा एक करोड ६६ लाखबढी राजस्व सङ्कलन

वीरगञ्ज, २ वैशाख : राजस्व अनुसन्धान कार्यालय पथलैया बाराले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा रु एक करोड ६६ लाख भन्दाबढी राजस्व सङ्कलन गरेको छ । राजस्व छलिको आशङ्कामा विभिन्न जिल्लाका प्रहरी कार्यालय तथा निकायबाट नियन्त्रणमा लिई बुझाइएका सवारीसाधन तथा फार्ममाथि कारबाही गरी कार्यालयले चालु अवको फागुन मसान्तसम्ममा सो बराबरको राजस्व सङ्कलन गरेको हो ।

कार्यालयका सूचना अधिकारी प्रमोदकुमार चौधरीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीअन्तर्गतका विभिन्न कार्यालयबाट नियन्त्रणमा लिई कारबाहीका लागि सो अवधिमा बुझाइएका तीन सय चार फार्म तथा सवारीसाधनमाथि कारबाही गरी राजस्व सङ्कलन गरिएको छ ।

उक्त अवधिमा जिल्ला प्रहरी कार्यालय बारा वा अन्तर्गतका कार्यालयबाट बुझाइएका एक सय ७२ फार्म तथा सवारीसाधनमाथि गरिएको कारबाहीबाट सबै भन्दा बढी रु ५९ लाख १६ हजार ५० राजस्व सङ्कलन भएको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्सा वा अन्तर्गतका कार्यालयबाट कारबाहीका लागि आएका फार्म तथा सवारीसाधनबाट रु २९ लाख ५६ हजार पाँच सय ६०, मकवानपुर वा अन्तर्गतका कार्यालयबाट रु १८ लाख ७९ हजार आठ सय ४८, जिल्ला प्रहरी कार्यालय धनुषा र सर्लाहीबाट नियन्त्रणमा लिइएको दुई/दुईवटा सवारी साधनबाट रु ७५ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल पर्सा वा अन्तर्गतबाट आएको १९ वटा सवारी साधनबाट रु ३७ लाख ८० हजार, बारा वा अन्तर्गतले नियन्त्रणमा लिएको ११ सवारीसाधनबाट रु १५ लाख सात हजार छ सय ७२, मकवानपुरबाट आएका १५ वटा सवारीसाधन तथा फार्मबाट रु दुई लाख र सशस्त्र प्रहरी बल धनुषा वा अन्तर्गतबाट प्राप्त दुई सवारीसाधनबाट रु ५० हजार राजस्व सङ्कलन भएको उहाँको भनाइ छ ।

निजी स्वास्थ्य संस्थामा उपचार गराउँदा २० प्रतिशत रकम बीमित आफैले तिर्नुपर्ने

काठमाडौँ, २ वैशाखः स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिमितले २० प्रतिशत रकम आफैले तिर्नुपर्ने भएको छ । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने विमितले उपचार खर्चको २० प्रतिशत रकम आफैले तिर्नुपर्ने (सहभुक्तानी) लागू गरिएको बताउनुभयो ।

“अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्न हामीले आजदेखि उपचार खर्चको २० प्रतिशत तिर्नुपर्ने नियम लागू गरेका छौँ”, उहाँले भन्नुभयो, “जसले गर्दा विमितले अनावश्यक स्वास्थ्यपरीक्षण नगराउने र बिरामी भएका विमित मात्र स्वास्थ्य बीमाबाट लाभान्वित हुनेछन् ।”

स्वास्थ्य बीमा कार्यक्रम सहभुक्तानी लागू गर्ने कार्यविधि २०८० संशोधन गरी बोर्डमा आबद्ध बिमितले निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम उपचार खर्चबापत तिर्नुेपर्ने व्यवस्था लागू गरेको हो ।

बोर्डले यसअघि माघ १ गतेबाट सरकारी अस्पतालमा उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने नियम लागू गरेको थियो । उहाँले सरकारी अस्पतालको सक्षमता विकास गर्न र बिरामीलाइ सरकारी अस्पतालप्रति आकर्षित गराउन सहभुक्तानीको व्यवस्था लागु गरिएको बताउनुभयो ।

कार्यकारी निर्देशक डा बसौलाका अनुसार सहभुक्तानी १५ शय्यासम्मका आधारभूत अस्पतालमा लागू हुँदैन । सङ्घीय तथा प्रादेशिक अस्पताल, विशेषज्ञ सेवा उपलब्ध भएका आधारभूत अस्पताल, निजी, सहकारी, सामुदायिक अस्पताल, मेडिकल कलेजमा सहभुक्तानी प्रणााली लागू हुने कार्यविधिमा उल्लेख छ ।

बीमा कार्यक्रममा कूल विमित सङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ जना र कूल विमितमध्ये सेवा लिनेको सङ्ख्या ३६ लाख ५२ हजार चार सय ३२ जना छन् । नवीकरण गर्ने बिमित ४८ लाख आठ हजार सात सय ६० रहेको छ ।

बजेट खर्च गर्न नसकेका आयोजनाबाट रकमान्तरले खर्च बढ्ने अपेक्षा

काठमाडौँ, २ वैशाखः अर्थ मन्त्रालयले खर्च हुन नसकेको आयोजनाबाट रकमान्तर गर्ने, कार्यक्रम संशोधन गर्ने र विविध शीर्षकबाट खर्च बढाउने नीति लिएको छ ।

अर्थमन्त्री वर्षमान पुनको सचिवालयका अनुसार पछिल्लो एक महिनामा मात्र सरकारी निकायबाट रु एक अर्ब ६३ करोड रकमान्तर गरी खर्च भएको छ । यस्तै रु दुई अर्ब ६३ करोड बराबरको कार्यक्रम संशोधन गरिएको छ भने विविध शीर्षकमा राखिएको तर हालसम्म खर्च नभएको बजेटबाट रु ३६ अर्ब ५० करोड खर्च गरिएको छ ।

बजेटको एउटा शीर्षकबाट अर्को शीर्षकमा पैसा पठाएर खर्च गर्ने काम रकमान्तर हो । एउटै शीर्षकभित्र बजेट परेका एउटा निकायबाट अर्को निकाय वा एउटा कार्यक्रमबाट अर्को कार्यक्रममा पैसा पठाएर खर्च गर्ने कामलाई कार्यक्रम संशोधन भनिन्छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐनमा रकमान्तर, स्रोतान्तर र थप निकासाबाट खर्च गर्न पाउने व्यवस्था राखिएको छ । ऐनको उक्त व्यवस्थाभित्रै रहेर खर्च बढाउने प्रयास मन्त्रालयले गरेको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

पछिल्लो एक महिना अवधिमा कुल रकमान्तर भएको रु एक अर्ब ६३ करोडमध्ये सबैभन्दा बढी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट भएको छ । स्वास्थ्य मन्त्रालयमातहतका सरकारी निकायले रु ६४ करोड ४१ लाख बराबर रकमान्तर गरेका छन् । त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु ४८ करोड ८६ लाखको रकमान्तर गरेको छ ।

विभिन्न २८ स्थानीय तहका लागि पालिकाअन्तर्गत निर्माणाधीन आधारभूत अस्पतालको कार्यप्रगति तथा ‘मोबिलाइजेसन’ भुक्तानीको रकमान्तर गरिएको छ । उक्त शीर्षकमा रु ४९ करोड २४ लाख ३१ हजार खर्च भएको जनाइएको छ ।

छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको पारिश्रमिक र भत्ता भुक्तानी गर्न स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमका लागि रु ३२ लाख रकमान्तर भएको छ । यस्तै मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यानसर रोगी र मेरूदण्ड पक्षघातका विरामीका लागि औषधि उपचार खर्चबापत मासिक रु पाँच हजारका दरले उपलब्ध गराइने रकम भुक्तानी गर्न रु १४ करोड ८५ लाख निकासा भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत महाकाली कोरिडोर (ब्रम्हदेव–झुलाघाट–दार्चुला–टिङकर) अन्तर्गत विकास निर्माण निर्देशनालयका लागि रु ७० लाख रकमान्तर गरी खर्च भएको छ । सडक निर्माणको दायित्व प्राथमिकताको आधारमा भुक्तानी गर्न सडक डिभिजन, घोराही (दाङ) लाई रु ९ करोड ४ लाख रकम निकासा दिइएको छ ।

उत्तर दक्षिण राजमार्ग (कर्णाली, कालीगण्डकी र कोशी) का लागि करार सेवा शुल्क स्वीकृत दरबन्दीको करार कर्मचारीमा नपुग रकम रहेको रु दुई लाख ९६ हजार बराबर रकम पठाइएको छ ।

रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेसा संरक्षणअन्तर्गतका कार्यालयहरूमा रु २५ करोड ९ लाख रकमान्तर भएको छ । तमोर कोरिडोर चतरा–मुलघाट–सुभाडखोला सडक योजना मुलघाट (सुनसरी) का लागि रु १४ करोड निकासा गरिएको छ ।

मन्त्रालयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई ऋण लगानी गर्नका लागि औद्योगिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ऋण लगानी गर्न रु दुई करोड २४ लाख दिइएको छ ।
रक्षा मन्त्रालयमातहत जङ्गी अड्डा, सैनिक हवाई महा–निर्देशनालय, वीरेन्द्र अस्पताल (पोष्ट एक्सीडेन्ट सेन्टर समेत) र राष्ट्रिय सेवा दलअन्तर्गतका कार्यक्रममा थपघट र रकमान्तर गरिएका छन् ।

स्थानीय तहहरूबाट खर्च हुने गरी स्वास्थ्य मन्त्रालयअन्तर्गतको एकीकृत स्वास्थ्य पुर्वाधार विकास कार्यक्रम अन्तर्गतको रु ५५ करोड ७२ लाखको कार्यक्रम संशोधन गरी रकम पठाइएको छ । कृषि विकास मन्त्रालयअन्तर्गतको पेशु सेवा विभागको आग्रहमा रु ४८ करोड बराबरको कार्यक्रम संशोधन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

सहरी विकास मन्त्रालयअन्तर्गतका रु ४५ करोड ४५ लाख तथा प्रदेशअन्तर्गतका रु एक करोड ८१ लाखका कार्यक्रम संशोधन भएका छन् । नेपाल विद्युत् प्राधिकरणमा सरकारको ऋण लगानी रहने गरी रु एक अर्ब ६३ करोड १७ लाख निकासा गरिएको जनाइएको छ ।
 

दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

दाङ, २ वैशाख : यहाँ माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आषिश चौधरी र सोही ठाउँकै १२ वर्षीय माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

आन्द्राभरैयाका चार बालक घरदेखि करिब पाँच सय मिटर टाढा रहेको कर्मटे भन्ने स्थानमा बबई नदीको किनारमा खेल्न गएका बेलामा उनीहरु माटोको ढिस्कोमा पुरिएको प्रहरीको भनाइ छ । आज दिउँसो खेल्न गएकामध्येबाट तीन खाल्डोमा परेपछि एकजना बालकको उद्धार गरिए पनि अन्य दुईजना गहिरो खाल्डोमा गएर पुरिएका थिए ।

पुरिएकालाई गाउँलेले उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान घोराहीमा उपचारका लागि लगिएकामा अस्पतालले मृत घोषणा गरेको प्रहरी प्रमुख केसीले जानकारी दिनुभयो । उनीहरुको शव अहिले शवपरीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ । खाल्डो किन खनिएको थियो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

इजरायलमा नेपालीलाई अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन दूतावासको आग्रह

काठमाडौँ, २ वैशाखः इजरायलमाथि इरानी हमलापछि इजरायलको तेलअभिवस्थित नेपाली राजदूतावासले आज अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन त्यहाँ रहेका नेपालीहरुलाई आग्रह गरेको छ ।

आवश्यक सुरक्षाका लागि नेपालीलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाबारेमा जानकार रहन पनि आग्रह गरिएको छ । यसैगरी आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत दूताबासले अनुरोध गरेको छ ।

दूतावासमा सम्पर्कका लागि द्वितीय सचिव कुमारबहादुर श्रेष्ठ, ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साह ०५४५५८२०७७ तोकिएको छ ।

इजरायलमाथि इरानी हमला सुरु भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरु जारी भएका छन् । उक्त आक्रमणपछि सोमबार राति ११ बजेसम्म लागू हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा÷भेला नगर्ने भनी निर्देशन जारी भएको छ ।
 

अष्ट्रेलियन आरोहीद्वारा बिना अक्सिजन अन्नपूर्ण हिमालको आरोहण

काठमाडौँ, २ वैशाख : अष्ट्रेलियन पर्वतारोही एली पेपरले बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गर्नुभएको छ । वसन्त ऋतुको जारी आरोहणमा आरोही पेपरले विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्णको सफल आरोहण गर्नुभएको हो । सेभेन समिट ट्रेक्स कम्पनीका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार ४७ वर्षीया महिला पेपरले शेर्पा पथप्रदर्शक मिकेल शेर्पा र निमा शेर्पाका साथमा आज मध्याह्न १२ बजेर ७ मिनेटमा अन्नपूर्णको चुचुरो पुग्न सफल भएको जनाइएको छ । आफ्नो कम्पनीबाट गएका लगभग सबैले यो सिजनमा अन्नपूर्ण आरोहण गरेको अध्यक्ष शेर्पाले बताउनुभयो ।

यसअघि १७ वर्षीय नेपाली आरोही निमा रिन्जी शेर्पाले पनि बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गर्नुभएको जनाइएको छ । उहाँले अप्रिल १२ तारिखका दिन अपराह्न अन्नपूर्ण हिमालको आरोहण गर्नुभएको थियो । दुवै आरोही सेभेन समिट ट्रेक्स कम्पनीमार्फत आरोहणमा गएका थिए ।

दुई आरोहीले बिना अक्सिजन अन्नपूर्ण हिमाल आरोहण गरेको जानकारी आएको पर्यटन विभागका निर्देशक राकेश गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्नपूर्ण–१ हिमालमा ‘रोपफिक्सिङ’को काम सफल भएसँगै धमाधम आरोहण भइरहेको छ । दुई दिनको अवधिमा दुई जनाले बिना अक्सिजन आरोहण गरेको जानकारी आएको छ, यसलाई हामी (विभाग) अफिसियली प्रमाणीकरण गर्न बाँकीछ ।”

दुई वर्षभित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य लिएकी अष्ट्रेलियन आरोही पेपरले अन्नपूर्ण आरोहणसँगै तीनवटा आठ हजार मिटर अग्ला हिमाल सफलतापूर्वक आरोहण गर्न सफल हुनुभएको छ । उहाँले यसपछि कञ्चनजङ्घा र मकालु हिमालको आरोहण गर्ने लक्ष्य रहेको छ ।

सन् २००७ मा माउन्ट चोयु हिमाल तिब्बत तर्फाबाट बिना अक्सिजन हिमाल आरोहण गर्न थाल्नुभएको थियो । सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) र विश्वको पाँचौँ अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) को सन् २०२३ को सेप्टेम्बर २८ तारिखका अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरेको जनाइएको छ ।

सिड्नीकी पर्वतारोही पेपरले सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) को बिना अक्सिजन सफल आरोहण गरी पहिलो अष्ट्रेलियाली महिला बन्नुभएको थियो । हालसम्म छजनाले मात्र अक्सिजन बिना विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गरेको जनाइन्छ । पर्यटन विभागका अनुसार यो याममा अन्नपूर्ण–१ हिमाल आरोहणका लागि तीन आरोही समूहका ११ महिला र १४ पुरुष गरी कूल २५ ले आरोहण अनुमति लिएका थिए ।

पूर्वप्रधानमन्त्री खनाल र सचिव शाहलाई निर्वाचनको जिम्मेवारी

काठमाडौँ, २ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई दृष्टिगत गरी पार्टीका उम्मेदवारलाई सघाउन निर्वाचन ‘कमाण्डर’ तोकेको छ ।

प्रतिनिधिसभा निर्वाचन इलाम क्षेत्र नं – २ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सुदूरपश्चिम प्रदेशको बझाङ १ मा प्रदेशसभा सदस्यको निर्वाचका लागि पार्टी सचिव गरिमा शाहलाई जिम्मेवारी जिम्मेवारी तोकिएको हो ।

चुनावमा सम्बन्धित जिल्ला तथा प्रदेशका नेता तथा कार्यकर्तालाई परिचालन गर्ने जिम्मेवारीसहित उहाँहरूलाई खटाइएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिनुभयो । पार्टीले निर्वाचन क्षेत्रमा आवश्यक सहजीकरण गर्न पार्टीका उपाध्यक्ष प्रमेश हमालको संयोजकत्वमा महासचिव घनश्याम भुसाल र सचिव जीवनराम श्रेष्ठ रहेको कार्यदल पनि गठन गरेको छ ।

राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ : डा चन्द्र भण्डारी

नेपालगञ्ज, २ वैशाख : हाल अभ्यासमा रहेका राजनीतिक व्यवस्थामध्ये सबैभन्दा उत्कृष्ट व्यवस्था नै संसदीय शासन प्रणाली हो । यो व्यवस्थालाई समावेशी बनाउन देशको निर्वाचन प्रणालीमा समानुपातिक व्यवस्था थपिएको हो । समानुपातिक निर्वाचन पद्धतिले नेपाली समाजको प्रतिनिधित्वलाई उचाइमा लगेको छ । तर यसको सञ्चालन विधिका बारेमा नेताहरु इमान्दार र विवेकशील हुन जरुरी छ । निर्वाचनको यो मिश्रित व्यवस्था अल्पसङ्ख्यकहरूको संरक्षणका लागि गरिएको हो ।

अहिले के देखिएको छ भने हाम्रो निर्वाचन प्रणालीले सरकारको स्थायित्व भने दिँदैन । संविधान संशोधन गरेर निर्वाचन प्रणालीमा फेरबदल गर्नुपर्ने समय आइसक्यो । मेरो विचारमा समानुपातिक प्रतिनिधित्व माथिल्लो सदनअर्थात् राष्ट्रियसभामा मात्र हुनुपर्छ । प्रतिनिधिसभालाई एक सय हाराहारीको बनाउने र प्रदेशमा १५ जना निर्वाचित गर्ने व्यवस्था राख्नुपर्ने देखिन्छ । प्रदेशको ठूलो सङ्ख्या पनि आवश्यक छैन । स्थानीय तह जे छ राम्रो छ, कमीकमजोरी भए सुधार गरेर लैजानुपर्छ । यस्तो गर्दा जनप्रतिनिधिहरुको सङ्ख्या घटेर १८ हजार हुन्छ । यस्तो हुने बित्तिकै सरकारले स्थायित्व पाउँछ । यत्रो कर्मचारीतन्त्र यो डिजिटल युगमा जरुरी छैन । इन्जिनियर, चिकित्सकको विज्ञापन खोलेर गाउँगाउँ पठाइदिन सकिन्छ । यस्तो भयो भने मुलुकले एउटा कोर्स लिन्छ । समावेशी, समानुपातिक निर्वाचन प्रणाली मात्रै भनेर पनि हुँदैन, यो त सुधार गर्नैपर्छ ।

समानुपातिक निर्वाचन प्रणालीबाट विज्ञ व्यक्तिलाई सदनमा ल्याउनुपर्ने थियो । उनीहरुलाई विभिन्न संसदीय समितिमा राखेर काम गर्न पाएको भए प्रभावकारी हुन्थ्यो । यसमा अरुले खेल्ने मौका पाउने थिएनन् । हामीले सुरुमा बिरुवा रोप्दा नै हाम्रो आवश्यकताका बारेमा ख्याल गरेनौँ । असन्तुष्टिलाई मात्र ध्यान दिने हो भने अझ अराजकता हुन्छ । जे छ राम्रो गराउने प्रयास गराउनुप¥र्यो । अब आउने पुस्ताले राम्रो गर्नुपर्छ । संसदीय समितिलाई प्रभावकारी बनाउन सबै पार्टीले समानुपातिक प्रणालीबाट विज्ञहरुलाई ल्याउनुपर्छ ।

संसद््मा आफ्ना विचार प्रस्तुत गर्ने क्रममा जुन तर्कहरु आएका हुन्छन् ती निःसन्देह जनताप्रति केन्द्रित र जवाफदेही नै हुने गरेका पाइन्छन् । संसद््लाई अझ बढी चलायमान बनाउन संसद््भित्र विभिन्न समिति क्रियाशील छन् र ती पनि निकै शक्तिशाली छन् । यसलाई ‘मिनी संसद्’ पनि भनिन्छ । संसद् र संसदीय समितिले सरकारलाई सचेत गर्न र जनताप्रति जवाफदेही तुल्याउन भूमिका निर्वाह गरिरहेका हुन्छन् । शक्तिपृथकीकरणको मूल मान्यताका आधारमा संसद्ले काम गरिरहेको हुन्छ । तथापि, संसद्को सञ्चालन र प्रभावकारिता अभिवृद्धिका लागि राजनीतिक नेतृत्वका अघिल्तिर ठूलो जिम्मेवारी हुने गर्दछ । राजनीतिक नेतृत्व गम्भीर नभई आफ्नो मात्रै स्वार्थमा लाग्ने, आफ्ना सन्तानलाई गलत काममा लगाउने, आफ्नो परिवारलाई बढावा दिने, आफ्नो गुटलाई प्रश्रय दिने गरेमा मुलुकभित्र नैराश्यता बढ्नुका साथै देशभित्र अनेक समस्या सिर्जना हुने गर्दछ ।

वास्तवमा दलका नेतृत्ववर्गले यस वस्तुतथ्यलाई आत्मसात् गर्न जरुरी छ । म कुन घरमा बसिरहेको छु र मेरो घरको लक्ष्य के हो भन्ने कुरा घरको नेतृत्व गर्नेलाई थाहा हुन जरुरी छ । घरलाई सबल बनाउन अरुभन्दा भिन्न तरिकाले मिलाएर लैजाने हुनुपर्छ । अहिले न्यायपालिकामा हुने नियुक्तिमा भागबण्डा गर्नेजस्तो गलत अभ्यास थालिएको छ । अन्य निकायमा पनि आफ्नै मान्छेलाई लैजान खोज्यौँ, संवैधानिक नियुक्तिमा पनि आफ्नै नियुक्ति खोज्यौँ । यस अभ्यासले राम्रोसँग काम गर्न सकेन, ‘डेलिभरी’ दिन सकेन । सदनमा कुखुरा पाल्ने, गाई पाल्ने, हलो जोत्ने, कोदालो खन्ने, श्रमिक वा कुनै किसान होस् उनीहरुको पक्षमा जनप्रतिनिधिले के बोल्छन् भन्ने कुरा चासो दिने विषय प्राथमिकतामा पर्नुपर्छ । हामीले जनतालाई पनि पार्टीगत रुपमा विभाजित गरिरहेका छौँ ।

मेरो निर्वाचन क्षेत्र गुल्मी क्षेत्र नं १ मा सबैभन्दा बढी प्राथमिकताको विषय शिक्षा र स्वास्थ्य नै हो । शिक्षालाई राम्रो बनाउन शिक्षकलाई अपग्रेड गर्नुप¥यो । विद्यार्थी, अभिभावकलाई स्कुल ल्याउन आकर्षण बढाउनुपर्छ । जनताको स्वास्थ्यलाई ख्याल गरेर विशेषज्ञ चिकित्सक, ल्याब हुनुपर्छ । विकास भनेका सडक, खानेपानी विद्युत् पनि हो तर यो निरन्तर हुने प्रक्रिया हो । अर्गानिक खेतीका लागि यहाँ अत्यन्त अनुकूल अवस्था छ । त्यसका लागि किसानलाई अनुदान दिनुपर्छ । यहाँ बेलायती सेना, नेपाली सेना, प्रहरीमा काम गरेका विज्ञहरु थुप्रै हुनुहुन्छ । लामो अनुभव प्राप्त गरेका हुनुहुन्छ । यहाँका युवालाई जिल्लामै विभिन्न अवसर दिनसके विदेश जानै पर्दैन ।

अर्को, कालीगण्डकी कोरिडोरले गर्दा सालझण्डी बजार नजिकै पर्न सक्छ । त्यहाँबाट बुटवल बजारसम्म आफ्ना उत्पादन लैजान सक्छौँ । कालीगण्डकी जलविद्युत्ले गर्दा पोखरासम्म पनि हाम्रा उत्पादन जान सक्छन् । यसबाट किसानले प्रशस्त लाभ लिन सक्छन् । यस्तो अवस्थामा बीउ, मल, सिँचाइको अभाव किसानलाई हुनुहुँदैन । कफी, किबी, कोदोको उत्पादन बढाउन सकिन्छ । हामीले यी उत्पादनको ब्रान्डिङ गर्नु जरुरी छ । यसबाहेक कालीगण्डकीको रिडीमा शालिग्राम छ । त्यो शालिग्राममा जलधारा गराएर त्यहाँ एउटा टावरजस्तो बनाइयो भने धार्मिक पर्यटनका रुपमा विकास हुन सक्छ । धार्मिक पर्यटनसँग रुरु क्षेत्र, रेसुङ्गा क्षेत्र जोडिन्छ । यसबाहेक अन्यन्त मनमोहक दृश्यहरु छन् जसले पर्यटनको प्रचुर सम्भावनालाई पनि देखाउँछ । अर्गानिक आलुको उत्पादन भइरहेको छ । त्यस्तै सुन्तला उत्पादन हुन्छ । यसै वर्ष रु १३ करोड बराबरको सुन्तला गुल्मीबाट निकासी भयो । यसलाई अझै व्यवस्थित गर्ने हो भने रु ४० करोडसम्मको सुन्तला निकासी हुन सक्छ ।

वैदेशिक रोजगारीको कुरा त पहिलेको विकृतिको हो । पहिलेका व्यक्तिको अदूरदर्शिता । राजनीति मात्रै गर्ने राष्ट्रनीतिका विषयमा कुनै छलफल नगर्ने प्रवृत्ति रह्यो । उहाँहरुको विकृत मानसिकताबाट हाम्रो पुस्ताले भारी बोक्नुपर्ने अवस्था देखिएको छ । यसलाई रोक्नका लागि वा न्यूनीकरण गर्न स्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य, सूचना प्रविधि, रोजगारीको ग्यारेन्टी हुनुपर्छ । विदेशमा रहेका नेपालीले कमाएको पैसा सरकारले ऋण लिएर देशमा लगानी गर्न सक्छ । उहाँहरुको लगानी नेपालमा नै भएपछि उहाँहरु फर्केर आउनुहुन्छ । त्यसैले हाम्रो देशलाई शिक्षा, स्वास्थ्य, आइटी र जलस्रोतको केन्द्रका रुपमा विकास गर्नुपर्छ । हामी भारत र चीनको बीचमा छौँ, दुवै देशले धेरै प्रगति गरेका छन् । हामीले ठूलो मात्रामा उद्योग स्थापना गर्न सक्दैनौँ । अहिलेको सोच र चिन्तनबाट म त्यो सम्भव देख्दिनँ । नेपालभित्र नेपाली खोज्न सक्नुपर्छ ।

सांसद भण्डारीको परिचय

विसं २०१८ जेठ २७ गते जन्मनुभएका गुल्मी क्षेत्र नं १ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारी लोकतन्त्र प्राप्तिका लागि भएका आन्दोलनका क्रममा गुल्मीको तम्घास, पाल्पाको तानसेन र काठमाडौँको केन्द्रीय र भद्रगोल जेलमा पाँच वर्ष बिताएका कठिन दिन बिर्सनुहुन्न । भूमण्डलीकरणमा विद्यावारिधि गर्नुभएका उहाँ अन्तरराष्ट्रिय सम्बन्धका जानकार मानिनुहुन्छ ।

इलामको माइजोगमाईमा साना सिँचाइ कार्यक्रम

फिक्कल (इलाम), २ वैशाख : जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पु¥याउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ । माईजोगमाईका किसानलाई सिँचाइ सुविधा पु¥याउने उद्देश्यसहित सञ्चालित कार्यक्रमअन्तर्गत एकैपटक छवटा सिँचाइ आयोजना सुरु भएको हो ।

चालु आर्षिक वर्षमा सम्पन्न हुने गरी रु तीन करोड ८३ लाख १५ हजार छ सय साठीको लागतमा छवटा सिँचाइ आयोजनाको काम धमाधम भइरहेको साना सिँचाइ कार्यक्रम वरिष्ठ प्राविधिक मन्दिल राईले जानकारी दिनुभयो । उहाँका अनुसार ड्याम र पक्की कुलो धमाधम निर्माण भइरहेको छ ।

माईजोगमाई गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत वडा नं १ मा दुईवटा, वडा नं २ मा एउटा र वडा नं ५ मा तीनवटा सिँचाइ योजना निर्माण भइरहेका छन् । वडा नं १ स्थित लप्सीबोटे फलाटेगाउँमा रु ८९ लाख ९७ हजारको लागतमा ६३ घरका किसान लाभान्वित हुने गरी लक्ष्मीखोलाबाट लप्सीबोटे फलाटेगाउँ सिँचाइ कुलो निर्माणाधीन छ ।

त्यस्तै सोही वडाको ठूलोबेँसीमा रु ४२ लाख ७८ हजार तीन सय ४३ को लागतमा २६ घरधुरीका किसान प्रत्यक्ष लाभान्वित हुने गरी हिलेखोलाबाट ठूलोबेँसी सिँचाइ कुलो निर्माण भइरहेको छ । वडा नं २ को राईगाउँ–लाप्चागाउँ–निगालेगाउँमा रु ५० लाख ५५ हजार आठ सय ८३ को लागतमा ५८ घरका किसान लाभान्वित हुने गरी बजुर खोलाबाट सिँचाइ कुलो निर्माण सुरु भएको छ । वडा नं ५ को साठीमुरे बेँसीमा रु ३९ लाख ५८ हजार तीन सय ६६ को लागतमा २६ परिवार लाभान्वित हुनेगरी ठोट्नी खोलाबाट र काफ्ले टोलमा रु ८२ लाख ६४ हजार दुई सय ८२ को लागतमा ३७ घरधुरीका किसान प्रत्यक्ष लाभान्वित हुने गरी सिँचाइ कुलो निर्माणाधीन छ ।

यसैगरी, रु ७७ लाख ६१ हजार सात सय ७७ को लागतमा एक सय ४८ किसान प्रत्यक्ष लाभान्वित हुने गरी सोही वडाको भुट्टेखोला थापा चावा खोला सिँचाइ कुलो निर्माणको काम तीव्र पारिएको प्राविधिक राईले बताउनुभयो । आयोजना सम्पन्न भएपछि माईजोगमाईका तीनवटा वडामा बाह्रैमास पानी पुग्नेछ । आयोजनाले तीन सय ५८ किसानका तीन हजार तीन सय साठी रोपनी क्षेत्रमा सिँचाइ पुग्ने बताउनुभयो । “वर्षौंदेखि परम्परागत कुलोबाट सिँचाइ गरिरहेका माईजोगमाईका किसान सिँचाइ आयोजना सुरु भएपछि उत्साहित भएका छन्, आयोजना सम्पन्न भएपछि यहाँका तीन हजार तीन सय साठी रोपनी क्षेत्रमा सिँचाइ सुविधा पुग्नेछ”, राईले रासससँग भन्नुभयो, “यहाँका तीन सय ५८ घरधुरीका किसान प्रत्यक्ष लाभान्वित हुनेछन् ।”

साना सिँचाइ आयोजनामा स्वीस सरकारको रु एक करोड १४ लाख ९४ हजार छ सय ९८, सङ्घीय सरकार, प्रदेश सरकार र माईजोगमाई गाउँपालिकाको रु ७६ लाख ६३ हजार एक सय ३२ का र स्थानीय उपभोक्ताको रु ३८ लाख ३१ हजार पाँच सय ६६ लागत साझेदारी छ ।

यसअघिमाईजोगमाई गाउँपालिकामा रु चार करोड ७० लाख ८२ हजार आठ सय २५ को लागतमा नौवटा सिँचाइ कुलो निर्माण भएका छन् । ति कुलोबाट चार सय आठ हजार नौ सय ४० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ ।

सिँचाइ सुविधा पुगेपछि अन्नबाली, नगदेबाली तथा तरकारी बाली उत्पादन र उत्पादकत्वमा वृद्धि हुने स्थानीयको अपेक्षा छ । माईजोगमाईमा धान, मकै, गुहँलगायत अन्नबाली, अलैँची, अदुवा, आलु, अम्रिसोजस्ता नगदेबाली तथा अकबरे, मूला, काउली, काबी, बन्दा, सिमीजस्ता तरकारीको व्यावसायिक खेती हुँदै आएको छ । छ ।

सिरिया आक्रमणको जवाफबाट इजराइल पूर्णरूपमा आतङ्कित भएको छ– इरान


सिरियामा भएको हमलामा आफ्नो रिभोल्युसनरी गार्डका सदस्यहरू मारिएपछि इरानका तर्फबाट सम्भावित प्रतिशोधको प्रतिक्रियाले इजराइल आतङ्कित बनेको इरानका सर्वोच्च नेताका एक सल्लाहकारले शनिबार बताएका छन् ।

“यहुदीहरू पूर्णरूपमा आतङ्कित बनेको र सतर्क अवस्थामा रहेको एक साता भएको छ”, सर्वोच्च नेता आयातुल्लाह अली खमेनीका वरिष्ठ सल्लाहकार याह्या रहिम सफवीको भनाइ उद्धृत गर्दै आइएसएनएले भनेको छ, “इरानले के गर्न खोजेको छ भन्नेबारे उनीहरूलाई थाहा छैन, त्यसैले उनीहरू र उनीहरूका समर्थक भयभीत भएका छन् ।”

इरानले अप्रिल १ मा दुई जनरलसहित इस्लामिक रिभोल्युसनरी गार्डका सात सदस्यको मृत्यु हुनेगरी सिरियाको राजधानी दमास्कसमा वाणिज्य दूतावासको भवन ध्वस्त पार्ने हमलाका लागि इजराइललाई दोष दिँदै हमलाको बदला लिने वाचा गरेको छ ।

यस घटनामा कुनै टिप्पणी नगरेको इजराइलले हमलापछि आफ्ना सेनाले बिदा निलम्बनको घोषणा गरेको बताएको छ । अधिकारीहरूले हवाई सुरक्षा सञ्चालन गर्नका लागि जनशक्ति बढाउन र जगेडा सैनिकहरू तयार गर्ने फैसला गरेको सेनाले बताएको छ ।

सफवीले भन्नुभयो, “यो मनोवैज्ञानिक सञ्चारमाध्यम र राजनीतिक युद्धका लागि युद्धभन्दा पनि भयानक छ किनकी इजराइल प्रत्येक रात हमलाको प्रतीक्षा गरिरहेको छ, तीमध्ये धेरै भागेका छन् र आश्रयमा गएका छन् ।”

बेलायतस्थित युद्ध निगरानीकर्ता सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले अप्रिल १ मा भएको हमलामा १६ जना मारिएको बताएको छ । मृतकहरूमा जनरल मोहम्मद रजा जाहेदी र मोहम्मद हाजी हाजी रहिमी पनि थिए । उनीहरू आइआरजिसीका विदेशी अपरेसन शाखा कुद्स फोर्सका वरिष्ठ कमान्डर थिए ।

सन् २०२० मा बगदाद विमानस्थलमा अमेरिकाको मिसाइल हमलामा कुद्स फोर्सका प्रमुख जनरल कासिम सुलेमानी मारिएपछि मारिएका ६३ वर्षीय जाहेदी सबैभन्दा वरिष्ठ इरानी सैनिक थिए ।

दमास्कसमा भएको हमला गाजा युद्धको पृष्ठभूमिमा भएको थियो । अक्टोबर ७ मा इजराइलमाथि हमासबाट सुरु भएको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ७० जनाको ज्यान गएको थियो ।

तेहरानले हमासलाई समर्थन गर्दछ तर उसले हमलामा कुनै पनि प्रत्यक्ष संलग्नतालाई अस्वीकार गरेको छ । हमासको हमलापछि गाजा क्षेत्रमा हमासविरुद्ध ठूलो मात्रामा इजराइली जवाफी कारवाहीलाई जन्म दिएको छ । इरानले इजराइललाई मान्यता दिँदैन र दुवै मुलुकले वर्षौंसम्म छायाँ युद्ध लडेका छन् ।

इरानले इजराइलमाथि उसको आणविक कार्यक्रमलाई निशाना बनाउँदै तोडफोड र हत्याहरूको शृङ्खला चलाएको आरोप लगाएको

पर्सा निकुञ्ज वरिपरि पर्यटकीय संरचना बढ्दै

वीरगञ्ज (पर्सा), २ वैशाख : पर्सा राष्ट्रिय निकुञ्ज वरिपरि होटल– रिसोर्टजस्ता पर्यटकीय संरचना निर्माणको क्रम बढ्दै गएको छ ।

मधेस प्रदेशको एकमात्र सो निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटक आउनेक्रम बढेसँगै निकुञ्ज वरिपरि रिसोर्ट तथा होटल खुल्ने क्रम बढेको हो । आरक्षबाट निकुञ्जमा स्तरोन्नति भएपछि स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न होटल व्यवसायीले ठूलो लगानीमा होटल तथा रिसोर्ट खोल्न थालेका हुन् ।

केही समयअघिसम्म दुई÷तीन वटा मात्र होटल देखिने निकुञ्ज वरिपरि अहिले दुई दर्जनभन्दा बढी होटल तथा रिसोर्ट खुलेका होटल व्यवसायी सुमन श्रेष्ठले बताउनुभयो । “निकुञ्जभित्र र बाहिर थुप्रै होटल तथा रिसोर्ट खुलेका छन्”, श्रेष्ठले भन्नुभयो, “अझै खुल्ने क्रम जारी छ ।” पर्सा निकुञ्जमा घुम्न आउने पर्यटकलाई लक्ष्य गरेर होटल खुलेका हुन् तर निकुञ्जमा पर्यटक नआउँदा समस्या भएको उहाँले बताउनुभयो ।

निकुञ्ज नजिक रु दुई करोड ५० लाखको लगानीमा रिसोर्ट निर्माण भएको छभने मध्यवर्ती क्षेत्रको बफर जोनमा सामुदायिक होमस्टे सञ्चालन गरिएको छ । हात्तीको प्रमुख बासस्थान मानिएको निकुञ्जमा आउने आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्या पनि बढ्दै गएको छ ।

पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले यसलाई २०७४ सालमा नेपालको १२ औँ निकुञ्जको रुपमा घोषणा गरिएको थियो । पर्सासहित बारा र मकवानपुर गरी तीन जिल्लासँग जोडिएको निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकको लागि खुला गरिएको छ ।

प्राकृतिक सुन्दरतासँगै वन्यजन्तुको गर्न सकिने जैविक विविधताको धनि मानिएको सो निकुञ्जमा आन्तरिकसँगै छिमेकी मुलुक भारतका पर्यटक आउने क्रम क्रमशस् बढेको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले बताउनुभयो । चालु आर्थिक वर्षको आठ महिनामा छ १३ जना पर्यटक आएका छन् । निकुञ्ज घुम्न आउने पर्यटकमा सार्क मुलुकका १४ जना, र सार्क बाहिरका एक जना विदेशी पर्यटक रहेको सूचना अधिकारी भगतले बताउनुभयो । अघिल्लो आवको सोही अवधिमा एक सय ४० जना पर्यटकले मात्र निकुञ्ज भ्रमण गरेका थिए ।

कूल ६२७ दशमलव ३९ वर्गकिलोमिटर क्षेत्रफमा फैलिएको सो निकुञ्जभित्र दुर्लभ पाटे बाघ, भालु, गैँडा, हात्ती, चित्तल, जरायो, चितुवा, जङ्गली कुकुर, नीलगाई र गौरीगाईजस्ता ३७ प्रजातिका स्तनधारी जनावर, चार सय ९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रजातिका पुतली पाइन्छन् ।

नवलपरासीमा चैते धानको उत्पादन क्षेत्र र उत्पादन बर्सेनि वृद्धि हुँदै

मध्यविन्दु (नवलपरासी), २ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चैते धानको उत्पादन क्षेत्र बर्सेनि वृद्धि हुँदै गएको पाइएको छ । सिँचाइ व्यवस्था तथा सरकारी तहबाट अनुदान बढाउँदा चैते धानको उत्पादन क्षेत्र बढेको हो ।

जिल्लामा आर्थिक वर्ष २०७७÷७८ मा सात सय हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकामा चालु आवसम्म आइपुग्दा झन्डै दोब्बरले त्यो वृद्धि भएको छ । यो यामको चैते धान रोपाइँ सकिँदा जिल्लामा कूल एक हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा खेती भएको छ । यस वर्ष चैते धान रोपाइँ गरिएको क्षेत्रफल गत वर्षको भन्दा एक सय पाँच हेक्टरले बढी रहेको कृषि ज्ञान केन्द्रका बालीविज्ञ सञ्जय ढकालले बताउनुभयो ।

“चालु आवमा जिल्लामा एक हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको छ, गत आवमा एक हजार दुई सय १० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो”, उहाँले भन्नुभयो, “जिल्लामा पछिल्लो दुई÷तीन वर्षयता चैते धान उत्पादन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ ।”

आव २०७७÷७८ मा सात सय हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ भएकोमा जम्मा तीन हजार तीन सय ६० मेट्रिक टन उत्पादन भएको थियो । पहिला–पहिला खोलाबाट कुलोमार्फत सिँचाइ पुगेको स्थानमा मात्र चैते धान खेती गरिन्थ्यो भने अहिले डिप ट्युबवेलबाट सिँचाइ सुविधा पुगेको ठाउँमा पनि यो खेती गर्न थालिएकाले क्षेत्र विस्तार भएको ढकालले बताउनुभयो । सिँचाइका सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसानले चैते धानलाई प्राथमिकता दिन थालेका छन् । चैते धान खेतीको क्षेत्र विस्तार भएसँगै उत्पादन पनि बढ्न थालेको छ ।

बालीविज्ञ ढकालले भन्नुभयो, “जिल्लामा गत आवमा चैते धानको उत्पादन छ हजार एक सय २३ मेट्रिक टन भएको थियो भने यो सिजनमा क्षेत्र बढेकाले छ हजार सात सय ५० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ ।” वर्षे धानको तुलनामा धेरै फल्ने, रोग र किरा कम लाग्ने भएकाले किसानले चैते धान बालीलाई प्राथमिकता दिन थालेको उहाँको बुझाइ छ । कतिपय स्थानमा किसानले एउटै धानको बीउ धेरै वर्षसम्म लगाउँदा उत्पादनमा वृद्धि हुन नसकेको ढकालले बताउनुभयो ।

जिल्लाको कावासोती, गैँडाकोट, देवचुली, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकामा चैते धान खेती हुने गरेको छ । यहाँ चैते धानका रूपमा चैत ५, हर्दिनाथ–१ सहित स्थानीय जातको धान रोप्ने गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो ।

“धान ब्लक कार्यक्रममा कृषि ज्ञान केन्द्रले सिँचाइ सुविधाका साथै कृषिमा यान्त्रिकीकरणका लागि अन्य उपकरणमा अनुदान प्रदान गरेको छ”, उहाँले भन्नुभयो, “जिल्लाभित्र उत्पादन हुने चैते धान कृषक आफैँले बिक्री गर्ने गरेका छन् ।”

जिल्लाको भौगोलिक अवस्थाअनुसार माघ अन्तिम हप्तादेखि सुरु भएको चैते धान रोपाइँ चैत अन्तिम हप्तामा सकिएको प्रमुख तिवारीले बताउनुभयो । जिल्लामा चैते धानको उत्पादन हुने क्षेत्र प्रशस्त रहेको जनाउँदै उहाँले क्षेत्रफल र उत्पादन बढाउन सकिएको खण्डमा जिल्लाबाट अन्यत्र धान निर्यात गर्न सकिने बताउनुभयो ।

मिथिला क्षेत्रमा श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै

महोत्तरी, २ वैशाख : मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ ।

चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी) का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी तिथिमा ‘खरना’ विधि सम्पन्न गरी सकेका छन् । ‘खरना’ का दिन दिनभरि निराहार व्रत रही राति सख्खरमा पकाइएको खिर इष्टदेवलाई चढाएर व्रर्तालुले खान्छन् । ‘नहाय–खाय’ विधिकै दिन व्रतालुले व्रत सङ्कल्प गर्ने चलन छ ।

व्रतालुले षष्टी तिथिका दिन निराहार व्रत रही साँझ पवित्र जलाशयमा बनाइएको घाटमा अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य (अर्घ) दिने परम्परा छ । यस क्रममा फलफूल र ठकुवा (गहुँको पिठोबाट बनाइएको मिष्टान्न परिकार), भुसुवा (कसार) र अन्य परिकार राखिएको डाला उठाई सूर्यदेवलाई देखाइन्छ । कम्मरसम्म पानीमा चोबलिएर सूर्यलाई अघ्र्य दिने यो विधिलाई मिथिलामा ‘सझुका अरख’ भनिन्छ । अब भोलि सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई यिनै प्रसाद सामग्री देखाएर अघ्र्य दिई व्रतालुले व्रत समापन गर्नेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘भोरका अरख’ भनिन्छ ।

शरद् र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद् ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा छठ जनजन परिचालन हुने महापर्व मानिन्छ । यद्यपि शारदीय छठ जति यो पर्व मनाउने भने देखिँदैनन् । भोलि सप्तमीका दिन बिहान घाटमै उदाउँदा सूर्यलाई अघ्र्य (भोरका अरख) दिएपछि यो पर्व समापन हुन्छ ।

छठ पर्वमा ठकुवा, भुसुवा (कसार¬)सहितका मिष्टान्न परिकारसहित पाकेका केराको घरी र अन्य फलफूल तथा दहीलगायत सामग्री व्रतालुुले अघ्र्यका बेला सूर्यतर्फ देखाउने गर्छन् । छठ सूर्य र सूर्यपत्नी षष्टीको उपासनाको पर्व हो । यो व्रतको प्रभावले मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । मिथिलामा यो पर्व द्वापर युगमा जाम्बवतीका गर्भबाट उत्पन्न कृष्णका पुत्र साम्बले कुष्ठरोग निवारणका लागि गरेका र त्यसै बेलादेखि यो प्रारम्भ भएको मानिन्छ । यस्तै महाभारतकालमै पाण्डवले गुप्तवास सफलताको कामना गरेर सूर्यदेवको आराधना गरेका जनश्रुति पनि छ । यो व्रत प्रभावले छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास छ ।

चैती छठसँगै मिथिलामा आज नयाँवर्ष प्रारम्भमा जुडशीतल र वासन्ती नवरात्र (चैते दसैँ) पनि मनाइँदैछ । मिथिलामा वैशाख सङ्क्रान्ति र त्यसको भोलिपल्ट गरी दुई दिन जुडशीतल मनाइन्छ । पहिलो दिनलाई ‘सतुवाइन’ र दोस्रो दिन (आज, वैशाख २ गते) लाई ‘जुडशीतल’ भनिन्छ । पर्वका अवसरमा आज हिलो खेलेर वर्षौंभरि सहकालको कामना गरिन्छ । पर्वमा दहीकरी, बरीकरी, काँचो केरा, लौका र परवलका तरुवा, सजिउनको तरकारी पनि खाने परम्परा छ ।

आज जुडशीतल मनाइँदै, मधेस प्रदेशमा सार्वजनिक बिदा

गोदार (धनुषा), २ वैशाख : तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् । विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गरिन्छ ।

सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन् । आज मीठा परिकार भोजन गर्ने परम्परा पनि छ । यसै अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किए उपकरण

हेटौँडा, २ वैशाख : अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किका छन् । मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएका अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताउनुभयो ।

बिरामीको अत्यधिक चाप रहने अस्पतालमा चिकित्सक नभएर उपकरण थन्काउन बाध्य भएको बताउँदै सञ्चालक सदस्य चौलागाईंलेचाँडोभन्दा चाडो चिकित्सक नियुक्तिका निम्ति सम्बन्धित निकायलाई घच्घच्चयाइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मुटुरोग विशेषज्ञको नियुक्तिका लागि गरिएको विज्ञापनमा एक जना चिकित्सकको आवेदन प¥यो तर उमेरका कारण उहाँलाई नियुक्ति दिन मिलेन । विज्ञापन भएका बेला निवेदन पर्दैनन् र परेका निवेदनमा पनि उमेर नपुग्ने, मापदण्ड पूरा नहुनेलगायत विविध समस्या आइलाग्छन्”, अन्य उपकरण अन्य विशेषज्ञबाट पनि चलाउन सकिने तर मुटुरोगका उपकरण मुटुरोग विशेषज्ञबाहेकले चलाउन नसक्ने भएकाले चिकित्सक नियुक्तिबिना उपकरण प्रयोगमा ल्याउन कठिन भएको उहाँको भनाइ छ ।

अस्पतालले स्त्रीरोग विशेषज्ञ सेवा सञ्चालन गरेपछि मधेस प्रदेशबाट सुत्केरी हुन आउनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । हाडजोर्नी, छालारोग, सघन उपचार कक्षलगायत सेवा पनि उपलब्ध भएकाले अस्पतालमा बिरामीको चाप बढेको सदस्य चौलागाईंले बताउनुभयो ।

रोटरी क्लब अफ मकवानपुरको सहयोगमा आठ महिनाअघि ल्याइएको रु एक करोडको उपकरण प्रयोगविहीन छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीधर अर्यालले विशेषज्ञ चिकित्सकको शीघ्र व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यी पाँच प्रदेशमा मध्याह्नपछि हुरीबतासको चेतावनी

काठमाडौँ, २ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग ले कोसी, कोसी, बागमती र मधेस प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने बताएको छ ।

साथै महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मध्याह्नपछि हुरीबतासको सम्भाावना रहेको बताउँदै ती भूभागका सबैलाई सचेत रहन आग्रह गरेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी स्थानमा मौसम सफा रहने छ । कोसी, गण्डकी र कर्णाली प्रदेशलगायत मुलुकका पहाडी क्षेत्रका केही स्थानका साथै बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।

त्यसैगरी, आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सफा रहने छ । कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनमा कोसी र कर्णाली प्रदेशलगायत देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

झ्याङगाउँका बासिन्दा लसुनबाटै आत्मनिर्भर, एक लाख १० हजार आम्दानी

त्रिवेणी (रुकुम पश्चिम) – रुकुम पश्चिमको सदरमुकाम खलङ्गाबाट केही टाढाको दूरीमा छ मुसीकोट नगरपालिका–१० को झ्याङगाउँ । सडक सञ्जालबाट यो गाउँ अझै जोडिन सकेको छैन । यहाँका स्थानीय सडकको पर्खाइमा छन् । गाउँमै सडक नपुगे पनि केही तल खोलामा भने सडक पुगेको छ । अन्य समयमा सडकको त्यति धेरै महत्व नभए पनि जब गाउँमा उत्पादन भएको कृषिजन्य वस्तु बजार पु¥याउने समय आउँछ त्यो बेला भने किसानलाई सडक आवश्यकता महसुस धेरै हुने गरेको छ ।

सडकको समस्या भए पनि गाउँमा उत्पादन भएको कृषिजन्य बस्तु बिक्री गर्न भने बजारको समस्या छैन । यो गाउँमा अन्य कृृषिजन्य वस्तुभन्दा पनि लसुन खेती राम्रो उत्पादन हुने गरेको छ । झ्याङ गाउँमा पछिल्लो केही वर्षयता लसुन खेतीतर्फ किसानको आकर्षण बढेको छ । सिङ्गो झ्याङ गाउँका बासिन्दाले लुसुन खेती गरिरहेका छन् । बाइस परिवार रहेको यो गाउँमा सबैले लसुन खेती गरिरहेका छन् । लसुन खेतीले यहाँका स्थानीयको आर्थिक अवस्थामा समेत सुधार ल्याएको छ ।

गाउँमा पहिलो पटक २०६२÷६३ सालदेखि लसुन खेती सुरु गर्नभएका स्थानीय ७१ वर्र्षीय झुपलाल खड्काले लसुन खेतीबाट पर्याप्त आम्दानी हुने गरेको बताउनुभयो । “गाउँमा पहिलो पटक लसुन खेती गर्ने कुषक म नै हुँ, पछिल्लो सयम लसुन राम्रो उत्पादन हुने र आम्दानी पनि राम्रै हुने भएकाले गाउँका सबै किसान लसुन खेतीमा लाग्नुभएको छ,” खड्काले भन्नुयभो । गहँुबाट भन्दा लसुनबाट राम्रो आम्दानी हुने भएकाले लसुन खेतीलाई जोड दिएको उहाँ बताउनुहुछ । “गहुँबाट ६ महिनासम्म राम्रोसँग खान नपुग्ने अवस्था हुन्थ्यो, अहिले लसुनबाट वार्षिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म कमाई हुन्छ, अन्य घरखर्च पनि व्यवस्थापन गर्न सहज भएको छ ।”

गत वर्ष १४ क्विन्टल लसुन बिक्रीबाट रु एक लाख १० हजार आम्दानी भएको खड्काले बताउनुभयो । एक दशकअघिको कुरा स्मरण गर्दै खड्काले भन्नुभयो, “पहिले डोकामा बोकेर चार घण्टा हिँडेर सदरमुकाम खलङ्गा पुगेर लसुन बिक्री गरेको हुँ, अहिले त गाउँ नजिकै सडक पुगेको छ । त्यही लगेर गाडीमा सजिलै बजार पु¥याउन सकिन्छ । धैरै कुरामा सहज भएको छ ।” लसुनबाट मनग्य आम्दानी हुने भएकाले गहुँ लगाएको बारीमा आगामी वर्षदेखि लसुन खेती गर्ने सोच उहाँको छ ।

स्थानीय ६१ वर्षीय कर्णबहादुर खड्का पनि यतिबेला लसुनले फल लगाउने (गाना) समय भएकाले लसुन खेतीको रेखदेख तथा गोडमेलनमा व्यस्त हुनुन्छ । घर नजिकैको केही जग्गामा गहँुँ खेती गरे पनि धेरै जग्गामा लसुन खेती गर्नुभएको छ । गत वर्षको भन्दा यसपटक अलि धेरै लसुन खेती गरेको खड्काले बताउनुभयो । विंस २०६८ देखि व्यावसायिक लसुन खेतीमा लाग्नुभएका खड्का लसुन खेतीबाट सन्तुष्ट हुनुहन्छ । “गहुँ खेतीभन्दा लसुन खेतीलाई जोड दिएको छु, गहँु खेतीबाट परिवारको खर्च व्यवस्थानप गर्न समस्या हुन्थ्यो, व्यावसायिक लसुन खेती गर्न थाले पनि आर्थिक रुपमा सहज भएको छ,” उहाँले भन्नुभयो ।

“पहिले बजारको समस्या हुँदा व्यावसायिक रुपमा खेती गर्न सकिएको थिएन, अहिले त जति उत्पादन भए पनि लसुन खरिद गर्न ठेकेदार किसानकै बारीमा आउने गरेका छन्, यसले गर्दा पनि हामीलाई व्यावसायिक रुपमा लसुन खेती गर्न थप हौसला मिलेको छ”, खड्काले भन्नुभयो । उहाँले गत वर्ष लसुन बिक्रीबाट बीउबाहेक रु ८३ हजार आम्दानी गरेको सुनाउनुभयो ।

खड्काहरुको बसोबास रहेको यो गाउँमा पछिल्लो सयम लसुन खेतीप्रतिको आकर्षण बढ्दै गएको छ । उत्पादन र आम्दानी दुवै राम्रो पाउने भएपछि लसुन खेतीमा आकर्षण बढ्दै गएको स्थानीय समेत रहनुभएका मालिका मावि चुनका शिक्षक गोपाल खड्काले बताउनुभयो । उहाँ पनि शिक्षक पेसासँगसँगै साँझ बिहानको समयम लसुन खेती गर्दै आउनुभएको छ । शिक्षण पेसामा २५ वर्ष खर्चिनुभएका खड्का कृषि पेसालाई पनि सगँसँगै अँगाल्दै आउनुभएको छ । लसुनबाट मनग्य आम्दानी देखेपछि २०६८ सालदेखि व्यावसायिक लसुन खेती गर्न सुरु गरेको उहाँले बताउनुभयो ।

“बारीमा अहिले एक सय २० किलो लसुन लगाएको छु, गत वर्ष बीउबाहेक रु ९० हजार आम्दानी भयो, यो वर्ष लसुनबट राम्रै आम्दानी हुने विश्वास छ । वडामा उत्पादन भएको लसुन बिक्रीमा समस्या छैन्, कृषकले उत्पादन गरेको लसुन बारीमै पुगेर व्यापारीले कृषकसँगै मूल्य निर्धारण गरेर खरिद गर्ने गरेका छन्,” शिक्षक खड्काले भन्नुभयो । प्रचारप्रसार, अनुदानमा बीउ वितरण, बजार व्यस्थापनको सहजीकरण वडाले गरेको छ । लसुन उत्पादन गर्ने किसानलाई प्राविधिक ज्ञान पर्याप्त नभएकाले प्राविधिक ज्ञानको आवश्यक रहेको शिक्षक खड्काले बताउनुभयो । कुन बेला गोडमेल गर्ने, कुन औषधि प्रयोग गर्ने, बीउ कसरी लगाउने, प्राङ्गारिक मल व्यवस्थापनलगायत विषयमा प्राविधिकले किसानको खेतबारीमै पुगेर सिकाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

लसुन खेतीलाई व्यवस्थित गर्न वडाको प्रयास
वडामा लसुन खेतीलाई व्यवस्थित गर्न वडा कार्यालय योजना बनाएर अगाडि बढेको वडाअध्यक्ष धनबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार किसानले उत्पादन गरेको कृषिजन्य वस्तु मूल्य नपाएर त्यतिकै खेर जाले अवस्था आउन नदिन वडाले उत्पादनसँगै बजार व्यवस्थापनलाई पहिलो प्राथमिकता राखेको छ । कृषकलाई प्रोत्साहन गर्न अनुदानमा बीउ वितरण, राम्रो उत्पादन गर्ने किसानलाई सम्मान तथा पुरस्कृत समेत गर्दै आएको छ । वडामा उत्पादन भएको कृषिजन्य बस्तु व्यापारीसँग वडाले समन्वय गरेर सल्यान, दाङ, काठमाडाँैसम्म पठाउने गरेको छ ।

झ्याङगाउँमा प्रत्येक कृषकले एक क्विन्टलदेखि माथि लसुन खेती गरिरहेका छन् । झ्याङगाउँमा लसुन खेतीलाई थप व्यवस्थित गर्न आउँदो वर्षदेखि अन्यबाली लगाएका ठाउँमा पनि लसुन खती गर्ने योजना वडाले बनाएको छ । झ्याङगाउँमा पूरै जग्गामा लसुन खेती गर्न करिब दुई सय ५० क्विन्टल बीउ लाग्ने अनुमान गरिएको छ । अहिले झ्याङगाउँबाट वार्षिक दुई सय ५० क्विन्टल लसुन जिल्लाबाहिर जाने गरेको छ । बजार व्यवस्थापनको सहजीकरण वडाले गरिदिएकाले उत्पादन भएको कृषिजन्य वस्तु बिक्री गर्न कुनै समस्या नरहेको वडाध्यक्ष खड्काले बताउनुभयो ।

गाउँ नजिकै सडक पुगे पनि किसानको सजहताका लागि भूगोल अध्ययन गरेर गाउँमै सडक सञ्जाल पु¥याउने वडाको योजना छ । गाउँमै सडक जोडिएमा भने उत्पादन भएका कृषिजन्य वस्तुलाई बोकेर खोलासम्म पु¥याउने समस्या हुने छैन । वडाका किसानलाई व्यावसायिक रूपमा लसुन खेतीमा आकर्षित गर्न तथा आर्थिक रूपमा वडालााई सम्पन्न बनाउन वडाले २०७५ सालमा पहिलो पटक अनुदानमा ४१ क्विन्टल लसुन वितरण गरेको थियो । त्यसयता वडामा व्यावसायिक रूपमा किसानले लसुन खेती गर्न थालेका छन् । झ्याङ गाउँ रहेको वडाका तीन सय ६० किसानले लसुन खेती गर्ने गरेको वडाअध्यक्ष खड्काले जानकारी दिनुभयो । चालू आर्थिक वर्ष २०८०÷८१ मा वडाले दुई सय ४५ परिवारलाई २० किलोका दरले ५० प्रतिशत अनुदानमा ४८ क्विन्टल लसुन वितरण गरेको थियो ।

गत वर्ष सो वडाबाट पाँच सय क्विन्टल लसुन जिल्लाबाहिर बिक्रीका लागि पठाइएको थियो । उक्त लसुनबाट वडामा रु ५० लाख भित्रिएको छ । लसुन खेतीको सुरुआत भएको झ्याङगाउँमा रु १० लाख खर्चेर गाउँको बीच भागमा लसुनको प्रतिमा सहितको ‘लसुन उद्यान’ निर्माण गरिएको वडाअध्यक्ष खड्काले बताउनुभयो । गाउँमा लसुन उत्पादन भएर जिल्लाबाहिर जाने भएपछि जिल्ला बाहिरबाट बीउको माग बढेको छ । चालू आर्थिक वर्षमा वडालाई लसुन पकेट क्षेत्र घोषणा गरिएको छ । प्राङ्गारिक मल प्रयोग गरेर अग्र्यानिक उत्पादन गर्ने र वडालाई अग्र्यानिक उत्पादनका रुपमा घोषणा गर्ने वडाको लक्ष्य छ । वडामा लसुन खेतीसँगै सुन्तता खेतीको पनि राम्रो सम्भावना रहेकाले वडालाई आर्थिक रुपमा सम्पन्न बनाउन वडामा उत्पादन हुने कृषिजन्य वस्तुलाई पहिलो प्राथमिकतामा राखेर व्यावसायिकीकरणमा जोड दिइएको वडाअध्यक्ष खड्काले बताउनुभयो ।

चित्रकलाको माध्यमबाट सुन्दरता अभिवृद्धि गर्दै काठमाडौँ महानगर


काठमाडौँ – काठमाडौँ महानगरपालिकाले चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने काम सुरु गरेको छ । ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा कामपाले सार्वजनिक स्थानका पर्खालमा कलात्मक चित्र लेखनको काम थालेको हो । उक्त कार्यका लागि कामपा र प्रतिष्ठानबीच २०८० फागुन १७ गते सम्झौता भएको थियो ।

सम्झौताबमोजिम चित्र लेखनका लागि कलाकार र यससँग सम्बन्धित सङ्घसंस्थाको छनोट प्रतिष्ठान आफैँले गरेको हो । अहिले सुन्धारा क्षेत्रमा चित्र बनाउने काम भइरहेको छ । यसपछि त्रिपुरेश्वर रङ्गशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, प्रदर्शनी मार्गका भित्तो, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर, बानेश्वर, मीनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्ता चित्र कोरिने कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।

उहाँका अनुसार चित्र लेखन गर्दा स्थानअनुसारका आकृतिलाई प्राथमिकता दिइनेछ । रङ्गशाला क्षेत्रमा खेलकुदसँग सम्बन्धित, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर नेपालका जातजाति तथा वेशभूषा विम्बित हुने चित्र कोरिनेछन् ।

मौलिकताका लागि कोरिने चित्रहरूमा इन्द्रजात्राका अवसरका प्रदर्शन गरिने परम्परागत नृत्य, वेशभूषा, बादन, काठमाडौँ चिनिने भौतिक सम्पदा हुने उहाँले भन्नुभयो । यसरी कोरिएका चित्र जोगाउन नागरिक तहबाट दायित्व निर्वाह हुने महानगरपालिकाले अपेक्षा गरेको छ ।

चित्र भएका भित्तामा नछुने, कुनै रङ नछर्किने, पोष्टर वा कागज नटाँस्ने, चित्रसँग तस्वीर खिच्दा नटाँसिइ अलग्गै खिच्न, अन्य कुनै वस्तुले नलेख्ने जस्ता काम महानगरपालिकाले नागरिकबाट अपेक्षा गरेको उहाँले बताउनुभयो ।

यसरी कोरिएका चित्रसँग सम्बन्धित जीवन्त संस्कार, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महानगरपालिकाले काम गरिरहेको छ । यी चित्रले काठमाडौँलाई चिनाउँछन् । यसले काठमाडौँका सम्पदाको भव्यता प्रदर्शन गर्ने कामपाको विश्वास छ ।