`

उपनिर्वाचनलाई लक्षित गरी इलाममा मदिरा बिक्री–वितरणमा रोक

मङ्गलबारे – इलाम–२ मा वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरणमा प्रतिबन्ध गरिएको हो । जिल्ला प्रशासन कार्यालय इलामले यही वैशाख २ गतेदेखि वैशाख १५ पछिको मतगणना नसकुञ्जेलसम्म मदिरा बिक्री–वितरणमा प्रतिबन्ध लगाएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

निर्वाचनपूर्व, निर्वाचन र निर्वाचनपछिको समयमा शान्ति–सुरक्षामा असर पर्ने भन्दै मदिराजन्य पदार्थ बिक्री–वितरण एवं सेवन गर्न रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै यदि मदिरा प्रयोग एवं बिक्री वितरण गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने बताइएको छ ।

शान्ति सुरक्षालाई मध्यनजर गरेर गरिएको यस कार्यलाई सहयोग गर्न जिल्ला प्रशासन कार्यालय इलामले सम्पूर्णमा आग्रह गरेको छ ।

जर्मनीले युक्रेनलाई थप प्याट्रियट सिस्टम पठाउने

जर्मनीले युक्रेनको कडा दबाबमा परेको सेनालाई बलियो बनाउन र बढ्दो रुसी हवाई आक्रमणलाई रोक्न मद्दत गर्न युक्रेनमा थप ‘प्याट्रियट एयर डिफेन्स सिस्टम’ पठाउने शनिबार बताएको छ ।

“युक्रेनी सहरहरू र मुलुकको पूर्वाधारविरुद्धको रुसी आतङ्कले असह्य पीडा निम्त्याइरहेको छ”, जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियसले उक्त कदमको घोषणा गर्दै भन्नुभयो, “यसले जनताको ऊर्जा आपूर्तिलाई खतरा पुर्याइरहेको छ र युक्रेनी सशस्त्र बलहरूको परिचालन तयारीलाई नष्ट गरिरहेको छ ।”

जर्मनीले युक्रेनलाई आपूर्ति गरेको यो तेस्रो प्याट्रियट सिस्टम हुनेछ । रक्षा मन्त्रालयले युक्रेनी सरकारको अनुरोध र सहयोगीहरूँगको समन्वयमा यस्तो निर्णय लिइएको बताएको छ ।

जर्मन चान्सलर ओलाफ सोल्सले शनिबार युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग फोनवार्तामा ‘ठूलो मात्रामा र विशेषगरी नागरिक ऊर्जा पूर्वाधारमा जारी रुसी हवाई हमलाको सामना गर्दै युक्रेनसँग आफ्नो अटुट ऐक्यबद्धता’ को पुष्टि गर्नुभएको जर्मन सरकारका एक प्रवक्ताले बताएका छन् ।

जर्मनीले नयाँ प्याट्रियट सिस्टमको डेलिभरीमाथि छलफल गर्नुका साथै सोल्स र जेलेन्स्की युक्रेनको हवाई रक्षाको प्रवर्द्धन गर्नका लागि ‘साझेदारहरूबाट थप प्रयासहरू पनि आवश्यकता छ’ भन्ने कुरामा सहमत भएको प्रवक्ताले बताए ।

विदेशी सहयोगको कमीका साथै पुरुष र गोलाबारुदको अभावका कारण मस्कोको सेनाविरुद्ध युद्ध मैदानमा किएभले सङ्घर्ष गरिरहेको बेला जर्मनीको यस्तो घोषणा आएको हो । रुसले युक्रेनमाथि हवाई हमला बढाइरहेको छ । बिहीबार मस्कोले युक्रेनको ऊर्जा संयन्त्रहरूमा हमला गरेर किएभ क्षेत्रमा एउटा विद्युत् स्टेसनलाई नष्ट गरेको थियो ।

सन् २०२२ मा युक्रेनमा युद्ध सुरु भएपछि जर्मनीले परम्परागतरूमा शान्तिवादी अडान त्यागेको छ र अमेरिकापछि युक्रेनलाई सैन्य सहायताका लागि दोस्रो सबैभन्दा ठूलो आपूर्तिकर्ता बनेको छ । यद्यपि अमेरिकी कांग्रेसमा राजनीतिक खिचातानीका कारण किएभका लागि अमेरिकी सहायताको महत्त्वपूर्ण प्याकेज रोकिएको छ ।

प्याट्रियटका साथै बर्लिनले तोपखानादेखि लिएर बख्तरबन्द लडाकू सवारीसम्म अन्य हतियारको एउटा विस्तृत शृङ्खला आपूर्ति गरेको छ । रक्षा मन्त्रालयका अनुसार जर्मन सैन्य भण्डारबाट नयाँ प्याट्रियट सिस्टम हस्तान्तरण तुरुन्त सुरु हुनेछ ।

जर्मनीले युक्रेनलाई अर्बौं युरोको सैन्य आपूर्ति गरे पनि लामो दूरीको टोरस मिसाइलहरूको आपूर्तिलाई अनुमति दिन अस्वीकार गरेका कारण हालैका महिनामा चान्सलर सोल्स आलोचनामा पर्नुभएको छ । ती मिसाइलहरूको रुसभित्र गहन लक्ष्यमा प्रहार गर्न प्रयोग हुनसक्ने जर्मनीलाई डर छ ।

उत्तर कोरियाली नेता किम र शीर्ष चिनियाँ अधिकारीद्वारा सम्बन्धको ‘नयाँ अध्याय’ को स्वागत

धेरै वर्षपछि सहयोगीहरूबीचको सबैभन्दा उच्चस्तरीय बैठकमा उत्तर कोरियाली नेता किम जोङ उन र चीनका शीर्ष विधायकले शनिबार बेइजिङ–प्योङयाङबीचको सम्बन्धमा एउटा ‘नयाँ अध्याय’ को स्वागत गर्नुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोको शक्तिशाली स्थायी समितिका सदस्य तथा बेइजिङका तेस्रो उच्चपदस्थ अधिकारी झाओ लेजी दुई मुलुकबीचको कूटनीतिक सम्बन्धको ७५औँ वार्षिकोत्वसवका अवसरमा आणविक हतियार सम्पन्न उत्तर कोरियाको सद्भावना भ्रमणमा हुनुहुन्छ ।

चीन उत्तर कोरियाको सबैभन्दा महत्त्वपूर्ण आर्थिक हितैषी र कूटनीतिक सहयोगी हो । उत्तर कोरियाली नेता किम जोङ उनको बढ्दो हतियार परीक्षणको जवाफमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा उहाँको शासनमाथि कडा प्रतिबन्ध लगाउने अमेरिकी नेतृत्वको प्रयासलाई रुससँग मिलेर चीनले अवरोध पुर्याइरहेको छ ।

बेइजिङको सरकारी समाचार समिति सिन्ह्वाका अनुसार झाओले शुक्रबार प्योङयाङमा ‘चीन–लोकतान्त्रिक जनवादी गणतन्त्र कोरिया मित्रता वर्ष’ को उद्घाटन समारोहमा सहभागी भएपछि किमसँग भेट गर्नुभयो । सिन्ह्वाका अनुसार झाओले किमसँग ‘उत्तर कोरियासँगको विकास सम्बन्धलाई बलियो बनाउन र द्विपक्षीय सहयोगलाई गहिरो बनाउन’ चीन इच्छुक रहेको बताउनुभयो ।

झाओले किमसँग भन्नुभयो, “चीन नयाँ परिणाम प्राप्त गर्न, बलियो आपसी समर्थन जारी राख्न र दुवै पक्षका साझा हितहरूको रक्षा गर्नका लागि द्विपक्षीय व्यावहारिक तथा पारस्परिकरूपमा लाभदायक सहयोगलाई बढाउन इच्छुक छ ।”

सिन्ह्वाका अनुसार जवाफमा किमले झाओसँग उत्तर कोरिया ‘परम्परागत मित्रतालाई गहिरो बनाउन र कोरिया–चीन सम्बन्धमा नयाँ अध्याय लेख्न’ इच्छुक रहेको बताउनुभयो । सिन्ह्वाले प्रकाशित गरेको एक तस्बिरमा झाओ र किम मुस्कुराउँदै हात मिलाएको देखिनुभएको छ । राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लि कियाङपछि झाओ चीनको तेस्रो उच्चपदस्थ अधिकारी हुनुहुन्छ ।

मुलुकको स्वास्थ्यको स्थिति विगतको भन्दा केही सुध्रिएको छः अध्यक्ष ओली

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले विकास गति लिएको बताउनुभएको छ । बुढानीलकण्ठ नगरपालिकाले निर्माण गरेको नगर अस्पतालको उद्घाटन समारोहलाई शनिवार यहाँ सम्बोधन गर्दै उहाँले मुलुकको स्वास्थ्यको स्थिति विगतको भन्दा केही सुध्रिएको बताउनुभयो । उहाँले हिजो ओरोलो लागेको अर्थतन्त्रको स्थितिलाई रोकेर विकासको सकारात्मक बाटोमा मुलुकलाई लैजान वर्तमान सरकार लागेको बताउनुभयो ।

उहाँले कोरोना भाइरसले स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्छ भन्ने आँखा खोलिदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले स्वास्थ्यको स्थिति नेपालमा सुध्रिएको छ, अलि राम्रो भएको छ ।” उहाँले जनताले लामो सङ्घर्षपछि प्राप्त भएको उपलब्धि र संविधान नमान्ने समूह विकास र देश विरोधी शक्ति भएको बताउनुभयो ।

संवैधानिक दायराभित्र आएर संविधानले दिएको अधिकारभित्र रहेर आफ्ना माग राख्न आग्रह गर्दै उहाँले संवैधानिक प्रक्रिया र लोकतान्त्रिक माध्यमबाट नै कुनै पनि समस्या सम्बोधन हुने बताउनुभयो ।

“संवैधानिक र लोकतान्त्रिक विधिबाट कुनै पनि माग पूरा गर्न कतै प्रतिबन्ध छैन”, उहाँले भन्नुभयो, “राजतन्त्र भएको बेला जनताका अधिकार पटक-पटक खोसिएको थियो । यो राजतन्त्र नभई गणतन्त्रको समय हो । जनताका अधिकार खोस्न मिल्दैन । जनताका अधिकार सुरक्षित छन् ।”

उहाँले सबै कुरा माग्न पाइने भन्दै ती माग संविधानभित्रबाट मात्र हुनुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले अहिले नेपालमा केही हुँदैन भन्दै गलत प्रचार भइरहेको भन्दै नेपालमा धेरै कुरा भइरहेको र गर्न सकिने बताउनुभयो । “केही हुँदैन, केही भएको छैन भन्ने होइन, नेपालमा काम भइरहेका छन्”, उहाँले भन्नुभयो ।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले अस्पतालले अहिले बहिरङ्ग सेवा (ओपिडी) सेवा प्रदान गर्ने र चाँडै नै १५ शय्या सञ्चालनमा आउने बताउनुभयो ।

सौराहाका होटलमा शतप्रतिशत अकुपेन्सी

भरतपुर (चितवन) – देशकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक चितवनस्थित सौराहा नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ छ । सौराहाका सबै होटल शतप्रतिशत बुकिङ भएको व्यवसायीले बताएका छन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीका अनुसार सौराहामा ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत बाह्य पर्यटक छन् । सौराहाका होटल भरिएपछि रत्ननगर, भरतपुरलगायतका बजार क्षेत्रका होटलमा समेत पर्यटक बसेका छन् । सात हजार पर्यटकको क्षमता रहेको सौराहामा शुक्रबार झण्डै नौ हजार पर्यटक आएको गिरीले बताउनुभयो ।

“यतिबेला दैनिक पाँच सय चिनियाँ पर्यटक सौराहा घुम्न आएका छन्, भारतीय र युरोपका देशबाट आउने पर्यटकको सङ्ख्या पनि उत्तिकै छ”, उहाँले भन्नुभयो । तीन महिनायता चिनियाँ पर्यटकको सङ्ख्या उल्लेख्य रहेको उहाँले बताउनुभयो ।

उहाँले चितवनसँग देशका प्रमुख सहर जोड्ने सडक सुधार गर्न सके पर्यटकको झन् बढ्ने बताउनुभयो । विसं २०८१ मा घुमौँ सौराहा अभियान चलाउने योजना रहेको भन्दै उहाँले अब पर्यटन व्यवसायमा उत्साह जाग्दै जान थालेको बताउनुभयो ।

क्षेत्रीय होटल सङ्घ सौराहाका निवर्तमान अध्यक्ष दीपक भट्टराईले नयाँ वर्षले सौराहाको पर्यटन व्यवसाय पुरानै लयमा फर्केको अनुभूति भएको बताउनुभयो । उहाँले पछिल्लो तीन महिनामा पर्यटकको आवागमन उल्लेख्य रहेको भन्दै नयाँ वर्षमा झन् धेरै पर्यटक आउने अपेक्षा गरिएको बताउनुभयो । शुक्रबार सौराहामा दुई–तीन ठाउँमा साङ्गीतिक कार्यक्रम आयोजना गरिएको थियो ।

सौराहाका रेष्टुराँमा विभिन्न खानाका परिकारको स्वाद लिन आउने पर्यटकको चाप पनि उत्तिकै रहेको रेवान सौराहाका अध्यक्ष धु्रव गिरीले बताउनुभयो । राप्ती किनार पर्यटकले भरिएको छ । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका सौराहा, पटिहानी, जगतपुर, मेघौलीलगायतका स्थानमा समेत पर्यटकको आगमन बढेको व्यवसायीले बताएका छन् । शुक्रबार नारायणी नदी किनार र भरतपुरका विभिन्न ठाउँमा समेत साङ्गीतिक कार्यक्रम भएका छन् ।

सौराहामा मात्र साना-ठूला गरी एक सय ४६ होटल छन् भने जगतपुर र मेघौलीमा समेत सुविधायुक्त होटल छन् । दैनिक सात हजार बढी पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ । सयभन्दा बढी रेस्टुराँ र सोही सङ्ख्यामा साना पर्यटन व्यवसाय सञ्चालित छ । यहाँ वार्षिक दुई लाख हाराहारी पर्यटक आउँछन् ।

चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउँछन् । हात्ती चढेर जङ्गल सफारी गर्ने, नदीमा डुङ्गा सयर गर्ने र निकुञ्जमा पदयात्रा गर्ने पर्यटकको मुख्य उद्देश्य रहन्छ ।

अन्तर प्रदेश खेलकुदः पुरुष क्रिकेटको उपाधि गण्डकीलाई

भरतपुर – प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको उपाधि गण्डकीले जितेको छ ।

गण्डकीले दिएको दुई सय दुई रनको लक्ष्य पछयाएको मधेस प्रदेश १८ दशमलव एक ओभरमा एक सय ६० रनमै अलआउट भयो । मधेसका लागि पवन सर्राफले ३५, विशाल सुस्लिङले २७ रन बनाए भने अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

गण्डकीलाई जित दिलाउन अमृत गुरुङले तीन दशमलव एक ओभर बलिङ गर्दै जम्मा छ विकेट लिँदै १८ रन खर्चिए । साथै अङ्कित न्यौपानेले दुई र कमल परियारले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेश सन्दीप क्षेत्रीको विष्फोटक ४७ रनको पारीमा आठ विकेटको क्षतिमा दुई सय एक रन बनाएको थियो । करन पङ्गेनीले ४३, दिनेश बुढामगरले ३३ रन बनाए । मधेसका लागि विशाल पटेलले तीन, रुपेश सिंह र रञ्जित कुमारले समान दुई÷दुई विकेट लिए ।

लेखनाथ हाफ म्याराथनः सेनाका सञ्जयलाई उपाधि

कास्की – नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर पोखरा महानगरपालिका खेलकुद विकास समितिले शनिवार पोखराको साविक लेखनाथमा ‘लेखनाथ हाफ म्याराथन’ सम्पन्न गरेको छ ।

दोस्रो संस्करणका रूपमा आयोजना गरिएको लेखनाथ हाफ म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले जित्नुभयो । श्रेष्ठले निर्धारित २१ किमी दूरीको दौड एक घण्टा चार मिनेट ४७ सेकेण्डमा पूरा गरी उपाधिसहित नगद रु ६० हजार, मेडल र प्रमाणपत्र पुरस्कार पाउनुभयो ।

यसैगरी सशस्त्र प्रहरी बलका किरण बोगटी दोस्रो हुनुभयो । उहाँले एक घण्टा छ मिनेट ३३ सेकेण्डमा दौड पूरा गर्नुभयो । उपविजेता बोगटीले नगद रु ३० हजारसहित मेडल र प्रमाणपत्र पुरस्कार पाउनुभयो ।

पहिलो संस्करणका विजेता त्रिभुवन आर्मी क्लबका रामजी बस्नेतले एक घण्टा नौ मिनेट २९ सेकेण्डमा दौड सकेर यसपटक तेस्रो हुनुभयो । उहाँले रु २० हजार पुरस्कार पाउनुभयो । सशस्त्रका खिमबहादुर खत्रीले एक घण्टा नौ मिनेट ४९ सेकेण्डमा दूरी पूरा गरेर चौथो र आर्मीका प्रताप खड्काले एक घण्टा १० मिनेट ४१ सेकेण्डमा दौड सकेर पाँचौँ हुनुभयो । उहाँहरूले क्रमशः रु १० हजार रु पाँच हजार पुरस्कार पाउनुभएको खेलकुद विकास समितिका सदस्यसचिव सुवास खड्काले जानकारी दिनुभयो ।

म्याराथनमा सहभागी पोखराका खेलाडीमध्ये सबैभन्दा पहिला निर्धारित दूरी पूरा गर्नुभएका चेतनाथ चालिसे पोखरा च्याम्पियन बन्नुभयो । चालिसेले २१ किलोमिटर दौड एक घण्टा ३४ मिनेटमा पूरा गरेका गर्नुभयो । चालिसे पोखरा–१७ बिरौटा निवासी हुनुहुन्छ । उहाँले उपाधिसहित रु १० हजार पुरस्कार पाउनुभयो ।

यस्तै १० किमी खुला राष्ट्रिय पुरूष दौडमा नेपाली सेनाका श्रीकश राई विजेता र सुवास कार्की उपविजेता बन्नुभयो । गण्डकी मेडिकल कलेजका अजितकुमार यादव तेस्रो र सोही कलेजका दिनेश बोगटी चौथो र एपिएफका राजेन्द्र तामाङ पाँचौँ हुनुभयो ।

यसैगरी १० किमी महिला दौडमा सेनाका पूर्णलक्ष्मी न्यौपाने पहिलो, नेपाल पुलिसका राममाया बुढा दोस्रो र सेनाका सृजना पाण्डे तृतीय भएको आयोजकले जनाएको छ । एपिएफका पुष्पा भण्डारी चौथो र एपिएफकै आशा राउत पाँचौँ हुनुभयो ।

महिला–पुरुष १० किमी राष्ट्रिय खुला दौडको विजेताले रु ३० हजार र उपविजेताले रु २० हजार पाउनुभयो । तेस्रो, चौथो र पाँचौँ हुनेले क्रमशः रु १० हजार, पाँच हजार र रु दुई हजार पाँच सयको साथमा मेडल र प्रमाणपत्रबाट पुरस्कृत हुनुभयो ।

यसैगरी भेट्रान्स पाँच किमी दौडमा काठमाडौँका धर्म महर्जन पहिलो, धादिङका रैवतबहादुर दाहाल दोस्रो र पोखराका विश्वलाल श्रेष्ठ तेस्रो हुनुभयो । उहाँहरूले क्रमशः रु १० हजार, सात र पाँच हजार पुरस्कार पाउनुभयो । विद्यालय छात्रतर्फ पाँच किमी दौडमा कास्की मोडनाइज्ड एकेडेमीका बादल कार्की पहिलो, कुमुदिनी होम्सका कृष्ण परियार दोस्रो र भद्रकाली माविका गङ्गा गुरूङ तेस्रो हुनुभयो ।

छात्रातर्फ रेन्बो एकेडेमीकी शर्मिला विक पहिलो, कालिका माविकी स्वीकृति कार्की दोस्रो, छोरेपाटन माविकी नारायणी भण्डारी तेस्रो हुनुभएको आयोजकले जनाएको छ । विद्यालय छात्रछात्रा दौडको विजेताले रु १५ हजार, उपविजेताले रु १० हजार, र तृतीयले रु पाँच हजार पुरस्कार पाउनुभयो ।

विजेता खेलाडीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा–१७ का वडाध्यक्ष राधिका शाही योगी, पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरूङ, खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर गोदारलगायतले पुरस्कार वितरण गर्नुएको थियो । प्रतियोगितामा छ विधामा गरेर चार सयभन्दा बढी खेलाडी सहभागी भएको अध्यक्ष गोदारले जानकारी दिनुभयो ।

देशको अर्थतन्त्र सुदृढ बनाउन अहिलेको सरकार लागिपरेको छ – उपमहासचिव ज्ञवाली

दमौली (तनहुँ) – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले जनताका मुद्दा सम्बोधन गर्ने बताउनुभएको छ । एमाले व्यास नगर कमिटीले नयाँ वर्षको अवसरमा शनिवार यहाँ आयोजना गरेको शुभकामना आदानप्रदानमा उपमहासचिव ज्ञवालीले एमाले सधैँ जनताको पक्षमा रहेको र जनताका मुद्दालाई प्राथमिकता दिँदै आएको बताउनुभएको हो ।

उपमहासचिव ज्ञवालीले देशमा एमाले नै सकियो कि भन्ने भाष्य बनाइएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “विगतमा सरकारमा रहेर विपक्षी दल एमालेलाई देशमा नै एमालेको अस्तित्व सकियो भन्ने प्रोपोगोण्डा चलाइएको थियो, तर त्यो सम्भव थिएन र भएन ।”

एमाले जनताको प्रिय पार्टी भएकाले सिध्याउन सम्भव नभएको भन्दै उहाँले वर्तमान राजनीतिक कोर्षलाई सही दिशामा ल्याउन एमालेको भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारको मुख्य उद्देश्य भनेको राजनीतिक स्थिरता हो । जसले सुशासन र विश्वास सिर्जना गर्दछ । देशको अर्थतन्त्र सुदृढ बनाउन अहिलेको सरकार लागिपरेको छ ।”

घेराबन्दीको बाबजुद पनि एमाले देशको प्रमुख शक्ति भएको हुँदा एमालेले मात्र देशको विकास र समृद्धि ल्याउने उहाँको भनाइ थियो । भ्रष्टाचारविरुद्धको लडाइँमा कुनै पक्षपात नगरिने हुँदा अब देश निर्माणमा सम्पूर्ण राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा ज्ञवालीले जोड दिनुभयो ।

एमालेले सचिवालय बैठक आज, उपनिर्वाचनलगायतका बिषयमा छलफल

काठमाडौँ – नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा उक्त बैठक आज बस्ने गरी बोलाइएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा राखिएको छ ।

कांग्रेस संसदीय दलको बैठक आज

काठमाडौँ -नेपाली कांग्रेस संसदीय दलको बैठक आज आइतबार बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

सरकारले संसद्को चालु अधिवेशन आजदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो ।

बिस्केटको ५५ हात लामो लिङ्गो ढालियो, भैरब भद्रकालीको रथ जुधाइयो

भक्तपुर – भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो शनिवार साँझ ढालिएको छ । तान्त्रिक विधिअनुरूप पूजा अर्चना गरी शनिवार साँझ लिङ्गो ढालेपछिे जात्रा सम्पन्न गरिएको हो । बिस्केट जात्राको चौथो दिन साँझ भेलुखेलस्थित ल्यासिंखेलमा उठाइएको लिङ्गो शनिवार दिनभर जात्रा, पूजा एवं बली दिएर ढालिएको हो ।

कूल ५५ हात लामो, नाङ्लो जत्रो फराकिलो लिङ्गो तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ढालिएको हो । लिङ्गो ठड्याउनु अघि लिङ्गोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीकस्वरूप दुईवटा ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर उक्त लिङ्गो ठड्याइने प्रचलन रहेको छ । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिङ्गो ढालिएको थियो ।

लिङ्गोको कोखामा झु ण्ड्या इएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिने ईतिहाासविद् एवं संस्कृतिकर्मी डा पुरुषोत्तम लोचन श्रेष्ठले जानकारी दिनुभयो । भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।

लिङ्गो उभ्याइने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा हो । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ ।

लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटी ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको छ । भैरव र भद्रकाली देवदेवीको समागम जात्रा भनेर चिनिने सो रथ जुधाउने कार्यलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ ।

हेर्नुहोस् बैशाख २ गते आइतवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – बल तथा प्रराक्रममा बृद्धि हुनेयोग रहेकोछ । मित्रजनहरु सगँको सम्बन्धमा प्रगाढता छाउनेछ । स्वास्थमा सामान्य सुधारको योग रहनेछ । आम्दानिको क्षेत्र मध्यम रहनेछ । धार्र्मीक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोले सजग भइ यात्रा गर्नुहोला ।

बृष राशि – स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । सभासम्मेलन जन्य कार्यमा सहभागीताको योग बन्नेछ । स्वास्थमा सामान्य तनाबको योग बन्नेछ । आम्दानिको क्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । कार्य सम्पादनमा गोपनियताको आवश्यकता रहनेछ । मित्रजनहरु सगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मिथुन राशि – नयाँ कार्य थालनिको निम्ती उत्तम समय रहेकोछ । मनमा सामन्य चिन्ता ले सताउने छ । साजेदारी काममा हात नहाले कै बेस रहने छ । शारिरिक आलस्यता ले सताउने छ । साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट आई पर्ला ।

कर्कट राशि – मित्रजनहरुको लागी साधारण खर्चहुन सक्ने सम्भाबना रहेको छ । खराब संंगतको कारणले सामान्य झन्जट ब्यर्होनु पर्ला । ब्यापार ब्यवसायमा सामान्यतय हानि रहन सक्ने छ । कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । नयाँ कार्य थालनिका निम्ति आट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ ।

सिंह राशि – हरकोहिको पुर्ण बिश्वास नगर्नु होला धोका हुन सक्छ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ ।

कन्या राशि – मान्यजनको साथ सहयोग प्राप्त नहुनाले मनमा चन्चलताको बास रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्राको कारणले शारिरिक आलस्यता ले सताउला । पठनपाठनको क्षेत्र भने त्यति राम्रो नरहला । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

तुला राशि – यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन ।

बृश्चिक राशि – शारीरिक अस्वस्थाका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । माल सामान को क्षति ब्यहोर्नू पर्ला सजग रहनु होला । निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक परिश्रम खर्चीनुपर्नेछ ।

धनु राशि- प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय को क्षेत्रमा मध्यम दिन रहेको छ । तपाईले कसैमाथी गरेको बिश्वासमा बिश्वसघात हुन सक्छ । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछन । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला ।

मकर राशि- तपाईका शुभ चिन्तक हरुको सङख्या बढ्नेछ भने शत्रुपक्क्ष कमजोर हुनाले बिघ्नबाधाहरु हट्नेछन । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ ।

कुम्भ राशि- पारीवारिक झोर झमेलाले सताउन सक्छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । आँट र शाहासको बृद्यि हुनेछ पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँकार्य थालनिका अवसरहरु प्राप्त रहनेछन ।

मिन राशि – परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । प्रतिस्ठीत ब्यक्तिहरुको सहयोग प्राप्त हुनाले मन प्रशन्न रहेतापनि अरुको अनुशरण गर्दा प्रिय ब्यक्तिहरु टाढीन सक्ने सम्भाबना रहेको छ । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । सामाजिक कार्यको क्षेत्रमा जुट्ने समय रहेकोछ ।

झुलाघाट नाका मङ्गलबारदेखि बन्द हुने

बैतडी, १ वैशाखः भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका मङ्गलबारदेखि बन्द हुने भएको छ । भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।

अप्रिल १९ तारिख (वैशाख ७ गते) उत्तराखण्ड राज्यमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ७ देखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने प्रजिअ शर्माले बताउनुभयो ।

सुरक्षा संवेदनशीलताको कारण नाका बन्द हुन लागेको हो । सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ । भारतीय अधिकारीहरूसँग यसअघि नै समन्वय गरेर नाका बन्द गरिने भएको हो । कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमानुसार नै सीमा बन्द गर्ने चलन छ ।

खोटाङका पर्यटकीयस्थालमा नयाँ वर्षको दिन पर्यटकको घुइँचो

खोटाङ, १ वैशाख : नयाँ वर्षको अवसरमा खोटाङका पर्यटकीयस्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ ।

पूर्वीपहाडी जिल्ला खोटाङमा केही वर्षयता नयाँ वर्षको स्वागतमा पर्यटकीयस्थल गएर सामूहिक रूपमा वनभोज (पिकनिक) खाँदै रमाइलो गर्ने र आपसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन सुरु भएसँगै पर्यटकको सङ्ख्या बढ्न थालेको हो ।

आज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रुपाकोट, मझुवागढी, भुलभुले, बगरेभञ्ज्याङ, काङसाहोप ताल, बाँझोबारी, हलेसी नगरपालिकाको तुवाचुङ–जायजुम, भुम्जुडाँडा, जन्तेढुङ्गा गाउँपालिकाको जन्तेढुङ्गा, होङ्मा पोखरी, बराहपोखरी गाउँपालिकाको बराहपोखरी, केपिलासगढी गाउँपालिकाको केपिलासगढी, मैयुङ, चिलिमढुङ्गा, खोटेहाङ गाउँपालिकाको, रोक्सिमभञ्ज्याङ, कपासेभञ्ज्याङ, साकेला गाउँपालिकाको तावाभञ्ज्याङ, ट्याम्केलगायत जिल्लाका विभिन्न पर्यटकीयस्थलमा नयाँ वर्ष मनाउने आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।

वर्षको सुरुका दिन रमाइलो गर्दा वर्षभरि हर्ष र खुसी मिल्ने विश्वासमा जिल्लाका स्थानीयले नयाँ वर्षलाई विशेष महत्व दिने गरेका छन् ।

गाउँगाउँका स्थानीय घण्टौँ पैदलयात्रापछि पर्यटकीयस्थल पुगेर सामूहिक रूपमा वनभोज खाँदै, नाचगान र रमाइलोका साथ नयाँ वर्ष मनाइरहेका छन् । राँगा, खसी, सुँगुर, भाले, पेय पदार्थसहित पर्यटकीयस्थल पुगेका स्थानीयले सुख, शान्ति, समृद्धिको कामना गर्दै एकापसमा शुभकामना आदानप्रदान गरिरहेका छन् ।

आज स्थानीयबाहेक कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी, युवायुवती, वृद्धवृद्धा, युगल जोडीसमेतको बाक्लो उपस्थिति देखिएको थियो । सडक सञ्जालमा जोडिएका कतिपय स्थानीय तहका बासिन्दा गाडी नै भाडामा लिएर वनभोजका लागि यहाँ पुगेका खार्मीका स्थानीय एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता हर्कराज राईले बताउनुभयो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई कर्मथलो तथा अध्ययन÷अध्यापनका लागि बसोबास गर्दै आएकाहरू नयाँ वर्ष मनाउन पर्यटकीयस्थलमा गएपछि होटल तथा पसल कम खुलेका उहाँको भनाइ छ । दैनिक हजारौँको सङ्ख्यामा मानिसको आवतजावत हुने दिक्तेल बजार सुनसानजस्तै बनेको छ ।

पछिल्लो समय पर्यटकीयस्थलबाहेक अग्ला–अग्ला थुम र डाँडामा समेत नयाँ वर्ष मनाउने स्थानीयको घुइँचो भीड लाग्न थालेको राईले बताउनुभयो । दिक्तेल बजारको नजिक रहेको रुपाकोट र मझुवागढीमा शुक्रबारदेखि नै सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

रुपाकोटमा दिक्तेल, खार्मी, नुनथला, जालपा, पाथेका, नेर्पा, लफ्याङलगायत स्थानमा बूढापाका, युवायुवती र केटाकेटीको घुइँचो देखिन्थ्यो । मासु, चामल र पेय पदार्थलगायतका बन्दोबस्तीका सामानसहित रुपाकोटमा पुगेका नजिकका स्थानीय रुपाकोटडाँडामा दुई–तीन दिन बाससमेत बस्ने गरेका राईले जानकारी दिनुभयो ।

रुपाकोटबाट सर्वोच्च शिखर सगरमाथा, उच्च हिमशृङ्खला, तराईका फाँट, घाँसेमैदान, सूर्योदय तथा सूर्यअस्तको दृश्यसमेत अवलोकन गर्न सकिन्छ । समुद्री सतहबाट करिब दुई हजार छ सय मिटर उचाइमा रहेको रुपाकोटमा नयाँ वर्षबाहेक अन्य समयमा समेत आन्तरिक तथा बाह्य पर्यटक जाने गरेका छन् ।

आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको रुपाकोटमा ३० फिट अग्लो भ्यूटावर निर्माण गरिएको छ । सरकारले निर्धारण गरेको एक सय पदमार्गमा पर्ने ‘मुन्धुम ट्रेल’ पदमार्गमा निर्माण गरिएको सो टावरका लागि नगरपालिकाले रु २७ लाख बजेट उपलब्ध गराएको थियो ।

परिवारका सदस्य, साथीभाइ र आफन्तसहित पर्यटकीयस्थल पुगेका सर्वसाधारण साउण्ड सिस्टममा बजाइएका गीतको सुरमा रमाइलो गरिरहेका देखिएका स्थानीय बताउँछन् । नयाँ वर्षकै अवसरमा खोटाङ र भोजपुरको सिमानामा पर्ने चखेवाभञ्ज्याङमा तीनदिने ‘कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव २०८१’ आयोजना गरिएको छ ।

पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने थालेपछि जिल्ला सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थलको प्रवर्द्धन गर्न स्तरोन्नतिको काम सुरु गरेका छन् । पर्यटनलाई आम्दानीको स्रोतका रुपमा विकास गर्ने उद्देश्यसहित जिल्लाका सबै स्थानीय तहले पर्यटन प्रवर्द्धन गर्न स्तरोन्नतिका साथै प्रचारप्रसारको काम सुरु गरेका राईको भनाइ छ ।

साथै खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरीमा पनि नयाँ वर्षको अवसर पारेर विशेष कार्यक्रम आयोजना गरिएको छ । सालपा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले किरात ऐतिहासिकस्थल सिलिचुङमा सुम्निमा र पारुहाङ तथा सालपा पोखरीमा नछुङ (धामी)को प्रतिमा स्थापना गर्न लागेको हो ।

यही वैशाख ६ र ७ गते विशेष कार्यक्रमसहित प्रतिमा अनावरण गर्ने तयारी गरिएको समितिका प्रवर्द्धक सरिता राईले जानकारी दिनुभयो । पर्यटकीयस्थल सालपा–सिलिचुङमा किराती पुर्खा सुम्निमा र पारुहाङ तथा धामी (नछुङ) प्रतिमा स्थापना गर्न देशविदेशमा रहेका किरात समुदायले सहयोग गरेका छन् ।

लुम्बिनीः नयाँ वर्षमा भ्रमणको आकर्षक गन्तव्य

भैरहवा (रुपन्देही), १ वैशाखः नयाँ वर्षको पहिलो दिन लुम्बिनीमा आन्तरिक पर्यटकको ओइरो लागेको छ । गौतमबुद्धको जन्मस्थल मायादेवी मन्दिरलगायत कोषको हाताभित्र रहेका सबै गुम्बामा दर्शनार्थीको घुइँचो लागेको हो ।

मायादेवी परिसर, केन्द्रीय नहर, गुम्बाहरूमा आन्तरिक एवं भारतीय पर्यटकको भरिभराउ थियो । आन्तरिक पर्यटक र भारतीय पर्यटक भ्रमणको केन्द्रका रूपमा लुम्बिनी रहेको छ । लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार वर्षको पहिलो दिउँसो ३ बजेसम्म १० हजारभन्दा बढी दर्शनार्थीले मायादेवी मन्दिरको अवलोकन गरेका छन् ।

विश्व शान्तिको केन्द्रका रूपमा रहेको लुम्बिनी भगवान् गौतमबुद्धको जन्मस्थल हो । आफ्नो नयाँ वर्षको सुरुआत यहीबाट गर्ने धेरै नेपालीको चाहना हुन्छ । यसले पनि नयाँ वर्षमा लुम्बिनीमा आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढाएको छ ।

“लुम्बिनीको परिचय नै पर्याप्त छ, नेपालीको पहिचान विश्वमा नै चिनाएको कारण यहीँबाट नयाँ वर्षको सुरुआत गर्ने सोच बनाएँ”, पश्चिम नवलपरासी बर्दघाटका कमलकिशोर रायमाझीले भन्नुभयो, “अहिले यहाँ मजस्ता पर्यटकको घुइँचो देखेर निकै रमाइलो लागेको छ ।”

विसं २०७० को दशकमा नेपाल भूकम्पको त्रासदीदेखि कोभिड र आर्थिक मन्दीको मार खेपेकाले नेपालमा शान्ति र खुसी छाओस् भन्दै नेपालीहरूले कामना गरेका छन् । यससँगै नेपालमा राजनीतिक स्थिरता र पर्यटन क्षेत्रको विकासका लागि पनि दर्शनार्थीले लुम्बिनीबाट कामना गरेका छन् ।

गुल्मी हर्मिचौरका तुलासिंह पाण्डे भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा एकपटकको भ्रमणले मात्र चित्तै नबुझ्ने बताउनुहुन्छ । उहाँले पहिलेको तुलनामा लुम्बिनीमा धेरै विकास भएको बताउँदै पटकैपिच्छे आउँदा लुम्बिनीमा परिवर्तन आउने गरेको सुनाउनुभयो । सरसफाइलगायत अन्य व्यस्थापन राम्रो रहेको उहाँले प्रतिक्रिया दिनुभयो ।

लुम्बिनी विकास कोषले लागू गरेको ई–टिकटका कारण भने कतिपय पर्यटकले भने सास्ती खेपेको बताउनुभएको छ । बर्दिया बढैयाताल गाउँपालिका–७ का चुडामणि अर्यालले अर्घाखाँचीको सुपादेउराली हँुदै लुम्बिनी आएको बताउनुभयो । उहाँ पछिल्लोपटक २०५६ मा लुम्बिनीमा आउनुभएको थियो । त्यसयता लुम्बिनीमा धेरै परिवर्तन भइसकेको अर्यालले बताउनुभयो । “ई–टिकटको व्यवस्था रहेको जानकारी पायौँ, तर मोबाइलबाट टिकट लिन खोज्दा भएन”, उहाँले गुनासो गर्नुभयो, “टिकटकै लागि धेरै बेर भौतारिनुपर्यो, कोषले यसमा सुधार गर्नुपर्छ ।”

लुम्बिनी विकास कोषले रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) र कपिलवस्तुका नागरिकबाहेक अन्यलाई मायादेवी मन्दिर दर्शनका लागि शुल्क तोक्दै टिकटको व्यवस्था गरेको छ ।

सिड्नीको सपिङ सेन्टरमा भएको आक्रमणमा ६ को मृत्यु

सिड्नीको एउटा व्यस्त सपिङ सेन्टरमा चक्कु बोकेको एक हमलाकारीले आक्रमण गर्दा नौ महिनाको शिशुसहित छ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।

अज्ञात हमलाकारीले धेरै मानिसमाथि छुरा प्रहार गरेको र उसलाई पत्ता लगाएर एक महिला प्रहरीले गोली हानी उसको हत्या गरेको अस्ट्रेलियाली प्रहरीले बताएको छ । ती महिलालाई राष्ट्रिय नायकका रूपमा प्रशंसा गरिएको छ ।

घटना विशाल वेस्टफिल्ड बन्डी जङ्क्सन मल परिसरमा भएको थियो । उक्त मल शनिबार दिउँसो हजारौँ खरिदकर्ताहरूको भीडले भरिएको थियो । न्यु साउथ वेल्सका प्रहरी आयुक्त क्यारेन वेबले पाँच महिला र एक पुरुषको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार एक बालकको आपत्कालीन शल्यक्रिया भइरहेको थियो ।

प्रहरीले हमलाकारी ४० वर्षीय व्यक्ति रहेको बताएको छ । यद्यपि अहिलेसम्म उसको औपचारिकरूपमा पहिचान गर्न सकिएको छैन । हमला आतङ्कवादी कार्य थियो भन्ने कुरालाई वेबले अस्वीकार गर्दै हमलाकारी एक्लैले यस्तो कार्य गरेको मान्न सकिने बताउनुभयो । “यदि यो हामीले विश्वास गर्ने व्यक्ति हो भने यो आतङ्कवादी घटना होइन”, उहाँले भन्नुभयो ।

न्यु साउथ वेल्स एम्बुलेन्सका प्रवक्ताले आठ घाइतेलाई सिड्नीका विभिन्न अस्पतालमा पुर्याइएको जानकारी दिनुभयो । तीमध्ये एक बालकलाई सहरको बाल अस्पतालमा लगिएको थियो । प्रवक्ताले भन्नुभयो, “सबैलाई गम्भीर चोट लागेको छ ।”

सुरक्षा क्यामेराको फुटेजमा अस्ट्रेलियाली रग्बी लिगको जर्सी लगाएका एक व्यक्तिलाई चक्कु लिएर सपिङ सेन्टरको चारैतिर दौडिरहेको देखाइएको छ । रगतले लतपतिएका घाइतेहरू भुइँमा लडिरहेका थिए ।

प्रत्यक्षदर्शीहरूले आतङ्कको दृश्य वर्णन गरेका छन् । उनीहरूका अनुसार पसलहरू सुरक्षाका लागि दौडिरहेका थिए भने प्रहरीले उक्त क्षेत्रलाई सुरक्षित पार्ने प्रयास गरिरहेको थियो । केही मानिसले स्वयंलाई र आफ्ना परिवारलाई डरलाग्दो अपरिचितबाट बचाउन पसलहरूमा शरण लिइरहेका थिए ।

विदेशिए भलिबलका चम्किला रवि

गण्डकी, १ वैशाखः नेपाल भलिबल सङ्घद्वारा गत चैत पहिलो साता काठमाडौँमा आयोजित आठौँ ‘एनभिए भलिबल च्याम्पिएनसिप’का तीन स्पर्धामा रवि केसी उत्कृष्ट खेलाडी घोषित भएका थिए । गण्डकी प्रदेश टिमबाट खेलेका रविका लागि सम्भवतः उक्त प्रतियोगिता नै उनको भलिबल करिअरको अन्तिम प्रतियोगिता हुनेछ ।

भलिबलका उदीयमान प्रतिभा रवि टिम र देशका लागि उत्कृष्ट खेल्दाखेल्दै भलिबलबाट हात धुन विवश बनेका छन् । देशभित्रका कैयन प्रतियोगितादेखि गत वर्ष बङ्गलादेशमा भएको ‘बङ्गबन्धु एसियन यु–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा राष्ट्रिय टिमबाट खेलेका उनी केही दिनअघि रोजगारीका लागि जापान पुगेका हुन् ।

तीन वर्षअघि ‘एनभिए भलिबल च्याम्पिएनसिप’ खेल्दै राष्ट्रियस्तरको प्रतियोगितामा डेब्यु गरेका प्रभावशाली ओपन स्पाइकर रविले भलिबल करिअरलाई बिट मार्दै विदेशिएका हुन् । राष्ट्रिय टिमबाट भलिबल खेल्ने सपना पूरा नभएपछि भविष्य सोचेर नयाँ बाटो तय गरेको उनले सुनाए ।

“भलिबलमा राम्रै भइरहेको थियो, प्रतियोगिता पनि खेलिरहेको थिएँ”, २४ वर्षीय रविले भने, “राष्ट्रिय टिमबाट खेल्न पाएको भए अझै केही वर्षसम्म भलिबल खेलिन्थ्यो होला, त्यो अवस्था नभएपछि भविष्य सोचेर विदेश जाने निर्णय लिएँ ।”

उनले राष्ट्रिय टिममा पर्न सके पुनः भलिबलमा फर्कने सोच बनाएको बताए । “केही महिनामा राष्ट्रिय टिमको छनोट हुन्छ, हेरौँ खेलाडीको सूची कसरी आउँछ”, रविले भने । गत वर्ष भलिबलको क्लोज क्याम्पमा परे पनि उनी राष्ट्रिय टिममा छनोट हुनसकेका थिएनन् । छोटो अवधिमै भलिबलमा चम्मेका रवि फेरि कोर्टमा फर्केलान्÷नफर्केलान् तर खेलप्रेमीले भने उनलाई पछिसम्म सम्झनेछन् ।

बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मेका रवि कुनै औपचारिक प्रशिक्षणबिनै भलिबलमा उदाएका प्रतिभा हुन् । चौध–पन्ध्र वर्षको उमेरदेखि गाउँका कुनाकन्दरामा भलिबल खेल्दै, सिक्दै अगाडि बढेका रविले देशको जर्सीमा अन्तर्राष्ट्रिय प्रतियोगितासमेत खेल्न भ्याए । गाउँठाउँमा लोकप्रिय पनि रहेको र सानैदेखि अरुले खलेको देख्दा भलिबलतिर रुचि जागेको उनले सुनाए ।

दुई वर्षअघि बङ्गलादेशको राजधानी ढाकामा भएको ‘बङ्गबन्धु एसियन यु–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’का खेल्न पाउनुलाई उनले करिअरकै महत्त्वपूर्ण अवसरका रुपमा सम्झन्छन् । त्यो उनले देशका लागि खेलेको एकमात्र प्रतियोगिता हो । अन्य प्रतियोगिताका सिलसिलामा भने रवि मलेसिया र हङकङ पनि पुगेका थिए । “राष्ट्रिय टिमबाट देशका लागि खेल्ने ठूलो सपना थियो, तर पूरा हुनसकेन, क्लोज क्याम्पमा परेर पनि छनोटमा परिनँ”, उनले भने, “नेपाल भलिबल सङ्घले नयाँ खेलाडीलाई पनि स्थान दिनुपर्छ ।”

रविले नेपालमा हुने राष्ट्रियस्तरका प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएका थिए । अधिकांश खेलमा उनी उत्कृष्ट खेलाडी घोषित हुन्थे । गत वर्ष पोखरामा भएको तेस्रो संस्करणको टाइगर कपमा सर्वोत्कृष्ट खेलाडीका रुपमा उनले रु २५ हजार र ट्रफी हात पारेका थिए । त्यसयताका प्रतियोगितामा पनि उनले सफलता जारी राखे ।

यसै वर्ष वीरगञ्ज स्मृति कप, लामाचौर कप र प्रदेशी हातेमालो सोसाइटीले हङकङमा आयोजना गरेको प्रतियोगितामा पनि उनी उत्कृष्ट खेलाडी घोषित भएका थिए । रविले हालै सुर्खेतमा भएको ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिता र पोखरामा आयोजित चौँथो टाइगर कपमा गण्डकी प्रदेश टिमबाट खेलेका थिए । उनले गलकोट भलिबल टिमबाट पनि दर्जनौँ प्रतियोगिता खेल्दै टिमलाई जित दिलाएका थिए ।

गण्डकी प्रदेश भलिबल टिमका प्रशिक्षक रमेश केसीले हरेक प्रतियोगितामा रविले उत्कृष्ट प्रदर्शन गर्ने गरेको स्मरण गरे । उमेरले जुनियर खेलाडी भए पनि उचाइ र जम्पले केसीलाई साथ दिएको उनको भनाइ छ । “विपक्षी खेलाडीभन्दा धेरै माथिबाट रविले शक्तिबाली स्पाइक गर्न सक्छन्, उनको बलियो पक्ष भनेको हाइट र जम्प गर्न सक्ने क्षमता हो”, केसीले भने । रवि राष्ट्रिय टिममा पर्न योग्य खेलाडी रहेको उनको भनाइ छ ।

छोटो समयमै रविले भलिबलमा आफूलाई प्रमाणित गरेका थिए । व्यावसायिक सुरक्षा र अवसरको सुनिश्चितता भए भलिबलमै समर्पित भएर लाग्ने बताउँदै आएका रविले बाध्यतावश बाटो मोड्नु परेको सुनाए । “नेपालको अवस्था पनि यस्तै छ, खेलाडीको भविष्य सुरक्षित छैन, बाध्यता र भविष्य हेरेर मैले बिदेसिनुपरेको हो”, उनले भने ।

अवसर पाएमा जापानमा पनि भलिबललाई निरन्तरता दिने सोचमा उनी छन् । खेल कौशल सँगसँगै अनुशासनमा पनि उनी अब्बल मानिन्छन् । भलिबलमा चम्किएका रविको बर्हिगमनलाई लिएर खेलप्रेमी भने चिन्तित छन् । उनीहरुले उदाउँदो खेल प्रतिभालाई राज्यले चिन्न नसकेको टिप्पणी गरेका छन् ।

खेल टिप्पणीकार हेमराज हमालले उत्कृष्ट स्पाइकर रविलाई देशमा टिकाउन नसकिएकामा दुःख व्यक्त गरे । “रवि नेपालकै लागि लामो समय उत्कृष्ट स्पाइकर बन्न सक्थे, बिडम्वना राम्रा खेलाडी प्रतिभाहरु नै विदेश पलायन हुनुपर्ने अवस्था छ”, उनले भने ।

जिल्ला भलिबल सङ्घ, बागलुङका अध्यक्ष योगेश भण्डारीले रवि नेपाली भलिबलको प्रतिभावान खेलाडी रहेको बताए । भलिबलमा करिअर बनाएका धेरै नेपाली खेलाडीहरु विदेश पलायन भइरहेको उनको भनाइ छ ।

“विभागीय टिममा पर्न सके खेलाडीलाई राम्रै छ, नत्र केही समय खेलेर बीचमै छोड्नुपर्ने अवस्था छ”, उनले भने “राज्यका निकायले पनि खेलाडी संरक्षणको नीति र योजना ल्याउन सकेका छैनन् ।” राज्यले मात्रै सबै खेलाडीको व्यावसायिक सुरक्षाको सुनिश्चितता गर्न नसक्ने हुँदा कर्पोरेट क्षेत्रले पनि लगानी बढाउनुपर्ने अध्यक्ष भण्डारीले बताए ।

समाजवादको आधार तयार पार्न समाजवादी संस्कृति आधारभूत शर्त : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तयार पार्न सांस्कृतिक रुपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभूत शर्त भएका बताउनुभएको छ ।

नयाँ वर्ष २०८१ का अवसरमा सांस्कृतिक संस्थानले आज यहाँ आयोजना गरेको ‘शुभारम्भ सांस्कृतिक साँझ–२०८१’लाई सम्बोधन गर्दै उहाँले समाजवादीको संस्कृति निर्माणको पक्षमा सम्पूर्ण देशभक्त एवं प्रगतिशील समुदायले योगदान गर्न सक्नुपर्ने बताउनुभयो ।

“नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त भएको संविधानले समाजवादउन्मुख राज्य निर्माणको सङ्कल्प गरेको छ, देशको अग्रभागमा रहेर विशाल राष्ट्रिय जागरण पैदा गर्न सांस्कृतिक संस्थानलगायतले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

सांस्कृतिक नीति, साधनस्रोत, पूर्वाधार, स्रष्टा र कलाकारको प्रोत्साहनलगायत विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्दै उहाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा सांस्कृतिक संस्थानका चासोलाई सम्बोधन गरिने विश्वास दिलाउनुभयो ।

प्रधानमन्त्री दाहालले संस्थानद्वारा आयोजित सांस्कृतिक साँझले आफूलाई छुट्टै ऊर्जा र प्रेरणा दिएकोसमेत बताउनुभयो । उहाँले भन्नुभयो, “यस कार्यक्रममा प्रस्तुत भएका प्रस्तुतिहरूले मलाई छुट्टै ऊर्जा र प्रेरणा प्रदान भएको छ । कार्यक्रममा विभिन्न भाषाभाषी, सांस्कृतिक विविधता, प्रदेशगत सांस्कृतिक प्रस्तुति, देशभक्तिपूर्ण भावनाले ओतप्रोत प्रस्तुतिले देशको राष्ट्रिय एकता र सांस्कृतिक विविधताको आत्मसातीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण प्रेरणा प्रदान गरेको ठानेको छु ।”

सो अवसरमा संस्थानका महाप्रबन्धक किरणबाबु पुनले लोपोन्मुख अवस्थामा रहेका लोकगीत, लोकसङ्गीत, लोकवाद्य, लोकनृत्य, लोकनाटकको संरक्षण र प्रवर्द्धन गर्न क्रियाशील रहेको बताउनुभयो । उहाँले ‘सांस्कृतिक संस्थानको हर्ष, मनाऔँ नेपाली नयाँ वर्ष’ भन्ने नाराका साथ प्रत्येक साताको शुक्रबार साँझ सांस्कृतिक कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो ।

“संस्कृतिलाई पर्यटनसँग जोडेर उत्पादनतर्फ अग्रसर गर्न विदेशी पर्यटक लक्षित सो कार्यक्रममा सात प्रदेशमा लोपोन्मुख अवस्थामा रहेका लोकगीत, नृत्य, धुन, नाटक तथा सबै जातजातिको जन्मदेखि मृत्यु पर्यन्तसम्मका लोक संस्कृतिलाई प्रदर्शन गरिनेछ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा कलाकारहरूले राष्ट्रिय गीत, भुओ, घोडचढी, धिमे र भूमेनाच तथा कौरा र भोजपुरी नृत्य एवं लोक नाटक र प्रसहन प्रस्तुत गरेका थिए । समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलगायतको उपस्थिति थियो ।

सुपा देउरालीमा धार्मिक पर्यटकको घुइँचो

अर्घाखाँची, १ वैशाख : नयाँ वर्षको दिन धार्मिक तथा पर्यटकीयस्थल सुपा देउरालीमा धार्मिक पर्यटकको घुइँचो लागेको छ । मनले मागेको मनोकामना पूरा हुने विश्वासका साथ नेपाल तथा भारतका विभिन्न भागबाट दर्शनार्थीको घुइँचो लागेको सुपा देउराली मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताउनुभयो ।

समितिका अध्यक्ष फर्सबहादुर केसीका अनुसार सन्धिखर्क नगरपालिका र शीतगङ्गा नगरपालिकाको दोसाध सुपामा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिरलाई आस्थाको केन्द्र मानिन्छ । अन्य दिन दैनिक दुई हजारको हाराहारीमा भक्तजन आउने यस मन्दिरमा नयाँ वर्षको दिन १० हजारभन्दा बढीले दर्शन गरेका उहाँले जानकारी दिनुभयो ।

उक्त मन्दिर समुद्र सतहबाट करिब चार हजार पाँच सय फिटको उचाइमा रहेको छ । सुपा देउरालीमा जे माग्यो त्यही पूरा हुने धार्मिक विश्वास रहँदै आएको अध्यक्ष केसीले बताउनुभयो । उहाँका अनुसार आजको दिन तराईका विभिन्न जिल्लाबाट गर्मी छल्न तथा नयाँ वर्षमा सपरिवार रमाइलो गर्न मन्दिर र नरपानी क्षेत्रमा आएका हुन् ।

यो मन्दिर प्राचीन निर्माण सामग्री प्रयोग गरी बनाइएको समितिले जनाएको छ । भाकल गर्नेले इच्छा पूरा भएको भन्दै बोका, पाठी, परेवा र भेटी चढाउने गर्छन् । आजभोलि नेपाल तथा भारतका विभिन्न क्षेत्रबाट मानिस बढी आउने गरेका छन् ।

शक्तिपीठका रूपमा परिचित सुपा देउराली मन्दिर वरपरको मनोरम प्राकृतिक दृश्य र विभिन्न संरचना निर्माणले पर्यटकीय गतिविधि बढ्न थालेको सन्धिखर्क–८ का वडाध्यक्ष चुराबहादुर केसीले बताउनुभयो । वरिपरि चट्टानले बनेको पहाडको बीचमा अवस्थित मन्दिरबाट प्राकृतिक वातावरण र हरियाली मनोरम दृश्यावलोकन गर्न पाइन्छ । जे भाकल ग¥यो त्यो पुग्ने जनविश्वासले गर्दा पनि यस तीर्थस्थलको महिमा र गरिमा बढ्दै गएको उहाँको भनाइ छ ।

पूर्व–पश्चिम राजमार्गबाट अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत ४७ किलोमिटर दूरीमा महाभारत पर्वत शृङ्खलाको ठूला–ठूला पहाडको खोचमा प्राचीन शैलीमा उक्त मन्दिर निर्माण गरिएको छ ।

मन्दिर क्षेत्रमा निर्माण भएका भवनहरूको स्वरूप एकै खालको कायम गर्ने, मन्दिर क्षेत्रमा पार्किङ, पार्क तथा धर्मशाला निर्माण, खाँचीकोटको विकास, मसिनाको लेकमा पर्यटक पु¥याउन आवश्यक पूर्वाधार विकासलगायत विषयमा गुरुयोजना बनाएर काम अघि बढेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले जानकारी दिनुभयो ।

सुपा देउराली मन्दिरमा सङ्कलन हुने भेटीले जिल्लाका चारवटा विद्यालयमा निजी शिक्षकहरूका लागि तलब प्रदान गर्दै आइएको मन्दिर संरक्षण समितिका कोषाध्यक्ष चेतलाल पुरीले बताउनुभयो ।

मनको इच्छा पूरा हुने विश्वासले मन्दिरको दर्शन गर्न आउने भक्तजनले पूजा गरेपछि भेटी चढाउँछन् । त्यही भेटीबाट सन्धिखर्क–७, खाँचीकोटको आदर्श मावि, शीतगङ्गा–२, सीतापुरको शान्ति आधारभूत विद्यालय, सीता आधारभूत विद्यालय र देउराली आधारभूत विद्यालयका १० जना शिक्षकले तलब पाइरहेका उहाँले जानकारी दिनुभयो ।भेटीको रकम सडक, खानेपानी, बिजुली, भवन निर्माणलगायत काममा खर्च भइरहेको समितिका सचिव खनालको भनाइ छ । मन्दिरमा आउने धार्मिक दर्शनार्थीको सुविधाका लागि धर्मशाला पनि निर्माण भइरहेको सन्धिखर्कका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । पार्किङ निर्माणका लागि पनि पहल भइरहेको उहाँको भनाइ छ ।

तेस्रो त्रैमाससम्म पुँजीगत खर्च ३२ प्रतिशतमात्रै

काठमाडौँ, १ वैशाख : चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमास अवधिसम्ममा पुँजीगत खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत मसान्तसम्ममा ३२ दशमलव २४ प्रतिशतमात्रै पुँजीगत खर्च भएको छ ।

चालु आवका लागि पुँजीगत शीर्षकमा रु तीन खर्ब दुई अर्ब सात करोड ४४ विनियोजन भएकामा चैत मसान्तसम्मको नौ महिनामा रु ९७ अर्ब ३७ करोड ७४ लाख बराबर खर्च भएको छ ।

चालु आवका लागि सरकारले कुल रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट विनियोजन गरेको थियो । हालसम्मको कुल बजेट खर्च वार्षिक विनियोजनको ५१ दशमलव ९३ प्रतिशत अर्थात् रु नौ खर्ब नौ अर्ब ३९ करोड १४ लाख बराबर रहेको छ ।

चालुगत शीर्षकमा रु ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख बराबर विनियोजन भएकामा हालसम्म ५६ दशमलव ४१ प्रतिशत अर्थात् रु छ खर्ब ४४ अर्ब दुई करोड ५४ लाख बराबर खर्च भएको छ । त्यसैगरी वित्तीय व्यवस्था शीर्षकका रु तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर विनियोजन भएकामा ५४ दशमलव ६४ अर्थात् रु एक खर्ब ६७ अर्ब ९८ करोड ८६ लाख खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

बजेट खर्चमा मात्र नभई राजस्व सङ्कलनको अवस्था पनि कमजोर देखिएको छ । चालु आवका लागि कुल रु १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख बराबर राजस्व सङ्कलन गर्ने सरकारी लक्ष्य छ ।

चैत मसान्तसम्ममा वार्षिक लक्ष्यको ५२ दशमलव पाँच प्रतिशत अर्थात् रु सात खर्ब ७३ अर्ब तीन करोड ६६ लाख असुली भएको छ । जसमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको ५१ दशमलव ४१ प्रतिशत अर्थात् रु छ खर्ब ७१ अर्ब ११ करोड ५६ लाख र गैरकरतर्फ ६५ दशमलव ७१ प्रतिशत अर्थात् रु ७६ अर्ब ९२ करोड ५६ लाख बराबर सङ्कलन भएको छ ।

चालु आवका लागि सरकारले रु ४९ अर्ब ९४ करोड ३० लाख बराबरको वैदेशिक अनुदान लिने लक्ष्य राखेकामा हालसम्म लक्ष्यको पाँच दशमलव ५२ प्रतिशत अर्थात् रु दुई अर्ब ७५ करोड ८० लाख बराबर अनुदान लिइएको छ ।

इरानी गार्डद्वारा खाडीमा इजराइलसँग सम्बन्धित जहाज कब्जा

इरानको रिभोल्युसनरी गार्डले शनिबार ‘खाडीमा यहुदी शासन (इजराइल) सँग सम्बन्धित’ एउटा कन्टेनर जहाजलाई नियन्त्रणमा लिएको राज्य मिडियाले बताएको छ ।

आइआरएनए राज्य समाचार समितिले भनेको छ, “‘एमसिएस एराइज’ नामक कन्टेनर जहाजलाई सेपाह (गार्डहरू) नौसेनाको विशेष बलले हेलिबोर्न अपरेसनमार्फत नियन्त्रणमा लिएको छ ।” उक्त अपरेसन विश्व व्यापारका लागि महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ नजिकै भएको हो । उक्त जहाजलाई अहिले इरानको क्षेत्रीय जलतर्फ निर्देशित गरिएको छ ।

‘क्षेत्रीय अधिकारीरू’ ले संयुक्त अरब इमिरेट्सको तटबाट एउटा जहाजलाई नियन्त्रणमा लिएको दुई सामुद्रिक सुरक्षा एजेन्सीले बताएपछि इरानको उक्त भनाइ आएको हो । रोयल नेभीको युनाइटेड किङडम सामुद्रिक व्यापार अपरेसन एजेन्सीले थप विवरण नदिई भनेको छ, “जहाजलाई क्षेत्रीय अधिकारीहरूले फुजैराहको तटबाट नियन्त्रणमा लिएको सूचना प्राप्त भएको छ ।”

कम्तीमा तीन व्यक्ति एउटा हेलिकप्टरबाट कन्टेनर जहाजतिर द्रुत गतिमा दौडिरहेको स्थिर फुटेजमा देखिएको सुरक्षा फर्म एम्ब्रेले बताएको छ । “इरानको रिभोल्युसनरी गार्डले पहिला पनि स्ट्रेट अफ हर्मुजमा जहाजहरूलाई नियन्त्रणमा लिने बेलामा बोर्डिङको यो पद्धतिलाई प्रयोग गरेको थियो ।”

भेसल ट्र्याकिङ वेबसाइट भेसलफाइन्डर डट कम र मेरिनट्राफिक डट कमका अनुसार एमसिएस एराइज पोर्चुगाली ध्वजा भएको कन्टेनर जहाज हो । दुवै साइटले खाडीमा यसको अन्तिम रिपोर्ट गरिएको अवस्था बताएका छन् । करिब दुई साताअघि सिरियामा आफ्नो दमास्कास दूतावासको कन्सुलर खण्डमा घातक हमलाका लागि इरानले प्रतिशोध लिने वाचा गरेपछि अमेरिकाले शुक्रबार मध्यपूर्व क्षेत्रमा सैन्य सुदृढीकरण पठाउने बताएको थियो ।

अमेरिकाका राष्ट्रपति जो बाइडेनले शुक्रबार इरानले कट्टर दुश्मन इजराइलमाथि हमला गर्ने अपेक्षा गरिएको बताउनुभयो । इरानले कन्सुलर खण्डमा इजराइलले हमला गरेको आरोप लगाएको छ । अप्रिल १ मा भएको हमलामा दुई जनरलसहित इरानको रिभोल्युसनरी गार्डका कम्तीमा सात सदस्य मारिएका थिए ।

उपनिर्वाचनः इलाम-२ मा मतदाता फकाउँदै उम्मेद्वार

फिक्कल (इलाम), १ वैशाखः इलाम-२ मा आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यका हुन लागेको उपनिर्वाचनमा उम्मेदवारहरुले सक्रियता बढाएका छन् । उम्मेदवारहरु विभिन्न मुद्धा लिएर मतदाताका घरघरसम्म पुगेका छन् । उपनिर्वाचन नजिकिएसँगै उम्मेदवार प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

यस निर्वाचन क्षेत्रमा १२ राजनीतिक दल र सात स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी मैदानमा छन् । उनीहरु विभिन्न आश्वासन बाँड्दै मतदातामाझ पुगिरहेका छन् । उनीहरुले मतदाता तान्न विभिन्न भेला, गोष्ठी, सभा र घरदैलो गरिरहेका छन् । भौगोलिक रुपमा विकटभएपनि उम्मेदवारहरु घरघरमा आइपुगेको देख्दा मतदाताहरु मख्ख छन् । उम्मेदवार टोलटोलमा आफ्नो घोषणापत्र र प्रतिबद्धतापत्र बाँडिरहेका छन् ।

विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदावर सुवासचन्द्र नेम्वाङ विजयी हुनुभएको थियो । उहाँको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

एकमात्र क्षेत्रमा निर्वाचन हुन लागेपनि देशभरका राजनीतिक सरोकारवालाहरुको ध्यान यतिबेला इलाम–२ मा खिचिएको छ । यो उपनिर्वाचन पुराना र नयाँ दलहरुको शक्ति परीक्षणको प्रयोगशाला बन्ने भएकाले निकै चासोका साथ हेरिएको छ ।

इलाम–२ मा ठूलासाना दल र स्वतन्त्रबाट १९ को उम्मेदवार रहे पनि एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बू र स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिमको चर्चा चुलिएको छ ।

एमालेका नेम्बाङलाई सत्ता गठबन्धनमा रहेका दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सहित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा र नेपाल परिवार दलको समर्थन छ । राम्रो सङ्गठन र जनाधार भएकाले एमाले निकै बलियो मानिन्छ ।

उम्मेदवार नेम्बाङले आफू एमालेको मात्र नभई चार दलको साझा उम्मेदवार भएकाले विजय निश्चित रहेको दाबी गर्नुहुन्छ । “म एक्लै चुनाव लडिरहेको छैन, चार दल र साथमा यहाँका जनताको पनि साथ छ”, उहाँले भन्नुभयो, “मेरो बाबु स्वर्गीय सुवासचन्द्र नेम्वाङको अधुरो कामलाई पूरा गराउनका लागि पनि यहाँका जनताले जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु ।” उहाँले गाउँगाउँका मतदातामाझ पुगेर आफ्ना आवश्यकता, समस्या, चाहनालाई आफू र पार्टीले पूरा गर्नुपर्ने जिम्मेवारी कागजमा टिपाइदिन अपिल समेत गर्दै आउनुभएको छ ।

सो क्षेत्रमा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्बाङ एक्लैले ३० हजार २० मत ल्याएर निर्वाचित हुनुभएको थियो । सो निर्वाचनमा समानुपातिकमा एमालेले २६ हजार पाँच सय ६२ र माओवादी केन्द्रले पाँच हजार एक सय ५३ मत प्राप्त गरेका थिए ।

विसं २०७९ को निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग एक सय १४ मतको झिनो अन्तरले पराजित कांग्रेस जिल्ला सभापति समेत रहनुभएका खड्का यसपटक जितको खोजीमा हुनुहुन्छ । उहाँ कार्यकर्ता भेटघाट, अन्तरक्रिया तथा घरदैलोमा व्यस्त हुनुहुन्छ । “विगत लामो समयदेखि यस क्षेत्रमा एकैजनाले मात्र जित्नुभयो । यस क्षेत्रको विकास गर्न मैले जित्नैपर्छ”, खड्काले भन्नुभयो, ‘म यहाँको प्रतिनिधि नभएपनि यस क्षेत्रका गरिब, असहाय, वृद्धवृद्धा तथा युवाहरुका लागि थुप्रै राम्रा कामहरु गरेको छु, त्यसैले यहाँका मतदातासँग मेरो पनि गठबन्धन छ, यसपटक यहाँका जनताले चुनाव जिताउनुहुन्छ भन्नेमा म ढुक्क छु ।”

नेम्वाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार नौ सय मत प्राप्त गर्नुभएको थियो । तर सो मत कांग्रेस एक्लैको नभएर तत्कालीन गठबन्धन दल माओवादी केन्द्र र एकीकृत समाजवादीको समेत थियो । कांग्रेसले त्यतिबेला समानुपातिकमा २२ हजार तीन सय ३३ मत पाएको थियो ।

त्यसैगरी पत्रकारिता छाडेर राजनीतिक दलमा आवद्ध भइ निर्वाचनमा होमिनुभएका रास्वपाका उम्मेद्वार लिम्बूले पनि चुनावी प्रचारप्रसार तीव्र बनाउनुभएको छ । आफूलाई इलामको अग्र्यानिक उम्मेदवारका रुपमा प्रचारप्रचार गर्दै आउनुभएका लिम्बूले यसपटक चामत्कारिक रुपमा मत परिवर्तन गर्ने दाबी गर्नुहुन्छ ।

“अधिकतर मतादाता हाम्रो अभियानमा जोडिरहनुभएको छ”, उहाँले भन्नुभयो, “यस पटकको उपनिर्वाचनमा इलामेली मतदाताले चमत्कार गर्दैछन्, धेरैलाई विश्वास छैन तर हाम्रो झण्डा फहरिनेछ ।” रास्वपाले अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट प्रत्यक्षमा एक हजार तीन सय ८० मत र समानुपातिकमा चार हजार छ सय ८६ मत पाएको थियो ।

पहिचानवादी ४१ घटकका उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिमले समेत आफ्नो प्रचारप्रसार तीव्र बनाउनुभएको छ । थेगिमले सङ्घीयतालाई बलियो बनाउँदै पहिचान, समान अधिकार, शान्ति र दीगो विकासको अजेण्डा लिएर मतदातामाझ पुगिरहनुभएको छ । “पहिचान पक्षधर उम्मेदवार पनि भएकाले यसपटक मतदाताहरु उत्साही भएको पाइएको छ”, उहाँले भन्नुभयो, “विगतमा पहिचान पक्षधरलाई दलहरुले धोका दिएका छन्, यसपटक आफ्नै उम्मेदावर भएपछि उहाँहरु खुसी हुनुहुन्छ ।”

‘मुढा’ चुनाव चिन्ह पाउनुभएका उहाँलाई सत्ता साझेदारी दल जनता समाजवादी पार्टीसहित पहिचानवादी दलहरु राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा किरात याक्थुङ चम्लुङ, किरात राई यायोख्खालगायत सामाजिक संघसंस्था र किरात धर्मगुरु आत्मानन्द लिङदेनको समेत समर्थन छ ।

बलिया मानिएका यी चारैजना उम्मेदवारहरु एक अर्कालाई रोकेर आफू प्रतिनिधिसभामा प्रवेश गर्ने रणनीतिमा हुनुहुन्छ । यी बाहेक सो क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली समेत चुनावी प्रचारमा लाग्नुभएको छ ।

त्यस्तै स्वतन्त्र उम्मेदवारहरु डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल र उहाँहरुको टोलि अहिले मत माग्दै गाउँगाउँमा पुगिरहेका छन् । यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् ।

निर्वाचन आयोगले उम्मेदवारहरुलाई गत चैत २८ देखि वैशाख १२ गते सम्मका लागि चुनावी प्रचारप्रसारका अवधि तोकिदिएको छ । यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाता छन् ।

मनै लोभ्याउने गोरखाको न्याउली झरना

गोरखा, १ वैशाख : उत्तरी गोरखाको नयाँ पर्यटकीय गन्तव्यका रुपमा ‘न्याउली झरना’को विकास हुँदै गएको छ । न्याउली झरना आफँैमा मनमोहक र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । मनास्लु पदमार्गमा जाने जो कोहीले पनि न्याउली झरनामा पुगेर एकपटक अवलोकनसँगै अनिवार्य तस्बिर खिचाउने गरेका छन् ।

धार्चे गाउँपालिका–७ मा पर्ने लापुबँसीस्थित तम्पु पहाड र धार्चे चिङ्गार पहाडको बीचमा अवस्थित न्याउली झरनाप्रतिको आकर्षण पछिल्लो समय स्वदेशी मात्र होइन विदेशी पर्यटकमा पनि उत्तिकै छ । बूढीगण्डकी नदीको काखैमा करिब ५५ मिटर उचाइ रहेको न्याउली झरनाको सौन्दर्यताले प्रचुर पर्यटकीय सम्भावनाले भरिपूर्ण धार्चे गाउँपालिकालाई थप लोकप्रिय बनाउँदै लगेको छ ।

मनास्लु पदमार्गमा पैदल यात्रा क्रममा होस् सवारी साधन चढेरै गएको अवस्थामा होस् पर्यटक एकपटक न्याउली झरनामा पुगेर तस्बिर नखिचाई प्रायः अगाडि कोही बढद्ैनन् । धार्चेको प्रचारसँगै न्याउली झरनाको प्रचारका लागि निर्माण गरिएका फोटो खिच्ने आकर्षक फ्रेममा पर्यटक टक्क अडिन्छन्, तस्बिर खिचाउँछन् रमाउँछन्, अनिमात्र गन्तव्यतर्फ अगाडि बढ्छन् ।

“झरनाको फेदीमा फोटो खिच्नका लागि बनाइएको आकर्षक संरचनाले न्याउली झरना झनै सिङ्गारिएको रहेछ, झरना नजिकै भेटिनुभएका आन्तरिक पर्यटक गुर्जमान तामाङले भन्नुभयो, “पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको न्याउली झरनाको सुन्दर फोटोहरुले मन लोभ्याएपछि सदरमुकामदेखि घुम्न आएको हुँ ।”

माथिबाट नै फिँजारिएर झरिरहने निश्चल झरनाले पर्यटकलाई त्यत्तिकै अल्मल्याइदिने गरेको छ । “छेउमा पुगेपछि झरनासँगै आएको पानी फोहोराले शरीर नै भिजाइदेला जस्तो, साँच्चै यहाँ आएपछि बेग्लै अनुभूति हुने रहेछ”, उहाँले भन्नुभयो, “यसैको मज्जा लिन पनि एकपटक त आउनै पर्नेरहेछ भन्ने लाग्यो ।”

गोरखा सदरमुकामबाट आरुघाट, आर्खेत, सोतीबजार हुँदै बूढीगण्डकी नदीको तिरतिरै भएर न्याउली झरना पुग्न सकिन्छ । प्राकृतिक सुन्दरताकै उपहारका रुपमा लिन सकिने यस झरनाले पर्यटकको मनमात्र भुलाई दिँदैन मनभित्रका बहलाई पनि बिर्साइदिन्छ । दायाँबायाँ अग्ला पहाड, फेदीमा बूढीगण्डकी नदीको कञ्चन पानीको बहावसँगै पहाडबाट खसेको न्याउली झरनाको फोहोरा मोबाइल र क्यामरामा कैद गर्न पाउँदा छुट्टै आनन्द आउने पर्यटक बताउँछन् ।

न्याउली झरनाको चर्चाले आन्तरिक पर्यटकसमेत घुम्नका लागि आजभोलि दिनुहँजसो त्यहाँ पुग्ने गर्दछन् । विशाल पहाड फोरेर निर्माण गरिएको कच्ची सडकमा जीप, मोटरसाइल र बस नै चढेर पनि पुग्न सकिने भएकाले युवायुवतीको रोजाइमा न्याउली झरना पर्ने गरेको छ । “न्याउली झरना हेर्नकै लागि युवायुवती समूह–समूहमा दिनहुँ आउने जाने गर्दछन्”, स्थानीयवासी मानबहादुर गुरुङले भन्नुभयो, “यसको व्यापक प्रचारप्रसार गर्न धार्चेले प्रशस्त लाभ लिनसक्छ ।”

न्याउली झरना वरपर थप आकर्षक संरचना निर्माणका लागि गाउँपालिकाले योजना बनाइरहेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो । “अहिले झरनामुनि मोटरेवल पुल निर्माणको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “उक्त पुल निर्माण सम्पन्न भएपछि झरनासम्म पुग्नका लागि थप आकर्षक संरचना बनाउन डिपिआरको तयारी गरिरहेका छौँ ।”

न्याउली झरनालाई धार्चे गाउँपालिकाले पछिल्लो समय धार्चेको एउटा प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै लगेको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । यसको प्रचारप्रसार गर्नसके आन्तरिक तथा बाह्य पर्यटनमार्फत समग्र धार्चेको विकास र समृद्धिमा टेवा पुग्ने गाउँपालिकाले विश्वास लिएको उहाँले बताउनुभयो ।

“यो झरनालाई देश तथा विदेशमा चिनाउन अझै सकिएको छैन”, अध्यक्ष गुरुङले भन्नुभयो, “प्रकृतिले दिएको मनोरम उपहारको प्रचारप्रसार गर्नसके यहाँका स्थानीयवासीको जीविकोपार्जनमा समेत परिवर्तन ल्याउन सकिन्छ ।” अध्यक्ष गुरुङले पर्यापर्यटनमार्फत पनि धार्चे गाउँपालिकाको विकास र समृद्धिलाई अगाडि बढाउन सकिने भएकाले स्थानीय सरकारले योजनाबद्ध ढङ्गले काम सुरु गरेको बताउनुभयो ।–––

एमाले पर्वत अध्यक्षमा पहाडी

पर्वत, १ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित हुनुभएको छ । पहाडीले निकटतम् प्रतिद्वन्द्धी पदमपाणि शर्मा भन्दा एक सय २१ मत बढी प्राप्त गर्नुभएको हो ।

पहाडीले दुई सय ४८ मत प्राप्त गर्नुभयो भने शर्माले एक सय २७ मत मात्र प्राप्त गर्नुभएको छ । त्यसैगरी, उपाध्यक्षमा विमल लामिछाने, सचिवमा सुवाचन्द्र पौडेल, उपसचिवमा चण्डीप्रसाद भुर्तेल र महिला उपसचिवमा विन्दु अधिकारी निर्वाचित हुनुभएको छ ।

सदस्यहरुमा अधिकांश पहाडी समूहका उम्मेदवार विजयी भएका छन् । पहाडीलाई कानुन, न्याय, तथा संसदीय मामिलामन्त्री पदम गिरीको समर्थन थियो । अन्य पदमा सर्वसम्मत भए पनि २७ पदमा निर्वाचन भएको थियो । सहमतिको प्रयास असफल भएपछि अन्ततः मतदान प्रक्रियामार्फत नेतृत्व चयन गरिएको हो ।

नेपाल भारतबीचको सम्बन्ध अतुलनीय : मुख्यमन्त्री यादव

महेन्द्रनगर (धनुषा), १ वैशाख : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल र भारतबीचको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ ।

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र भारतीय दूतावास काठमाडौँद्वारा नयाँ वर्षको अवसरमा आज जनकपुरधाममा आयोजित ‘द्वितीय जनकपुरधाम सांस्कृतिक महोत्सव’को उद्घाटन गर्दै उहाँले नेपाल–भारतबीचको सम्बन्ध हिमालभन्दा पनि उचो र समुद्रभन्दा पनि गहिरो रहेको बताउनुभयो ।

नेपाल–भारतबीचको सम्बन्ध दुई देशको सरकारभन्दा पनि जनता–जनताबीच रहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री यादवले भन्नुभयो, “यो कुराको पुष्टि रामलालाको प्राणप्रतिष्ठाको बेला दुवै देशमा देखिएको हर्षोत्सवले गरिसकेको छ ।”

सीमा क्षेत्रमा सुरक्षा र राजस्वको क्षेत्रमा हुनसक्ने समस्या समाधानका लागि दुवै देशका सरकारले छलफल गरी दुवै देशलाई हित हुनेगरि कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा मुख्यमन्त्री यादवले जोड दिनुभयो ।

भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मीना र भारतीय राजदूतावास काठमाडौँका प्रथम सचिव गीताञ्जलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जनकपुरधाम उपमहानगरका प्रमुख मनोजकुमार साहसहितका वक्ताले सांस्कृतिक कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा संस्कृति एवं अर्थविद् डा हरिवंश झाले माता जानकी लीला प्रसङ्गबारे चर्चा गर्नुभएको थियो । महोत्सवमा दुई देशका नारीहरूको साझा पहिरन ‘साडी’को प्रदर्शनीका साथै विभिन्न किल्लाहरूको फोटो प्रदर्शनी गरिएको थियो ।

महोत्सवअन्तर्गत आज साँझ सांस्कृतिक कार्यक्रमको आयोजनासमेत गरिने छ । कार्यक्रममा मधेस प्रदेशसभाका सदस्यलगायत विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति थियो ।

पर्यटन राजधानी पोखरामा नयाँ वर्षको भव्य स्वागत

कास्की, १ वैशाख : देशको पर्यटकीय राजधानी पोखरामा नेपाली नयाँ वर्षको भव्य स्वागत गरिएको छ । यहाँस्थित प्रमुख पर्यटकीय गन्तव्य फेवाताल किनारबाट शुक्रबार मध्यरातमा नयाँ वर्षको स्वागत गरिएको हो ।

नयाँ वर्ष विसं २०८१ को स्वागत तथा विसं २०८० को बिदाइका लागि लेकसाइडमा आन्तरिक तथा बाह्य पर्यटकको ठूलो भीड लागेको थियो । आतशबाजीसहित विभिन्न सांस्कृतिक कार्यक्रम गरेर सडकबाटै नयाँ वर्षलाई स्वागत गरिएको थियो ।

होटल सङ्घ पोखराले नेपाली नयाँ वर्ष मनाउनका लागि लेकसाइडको साढे तीन किलोमिटर सडकमा नववर्ष महोत्सव आयोजना गरेको थियो । महोत्सवमा रमाउँदै स्वदेशी तथा विदेशी पर्यटकले नयाँ वर्षलाई भव्य स्वागत गरेका हुन् ।

नयाँ वर्षको स्वागतका लागि राति अबेरसम्म पर्यटक लेकसाइडमा भरिभराउ थिए । नयाँ वर्ष मनाउन पोखरामा केही दिनदेखि पर्यटकको बाक्लो चहलपहल बढेको थियो । गत चैत २९ गतेदेखि सुरु नववर्ष महोत्सव आज सकिँदैछ ।

होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले फेवाताल किनारबाट नेपाली नयाँ वर्षको भव्य स्वागत गरिएको बताउनुभयो । नेपाली नयाँ वर्षलाई धुमधामका साथ मनाउने उद्देश्यले आयोजित महोत्सवबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित भएका उहाँको भनाइ छ ।

अध्यक्ष सुवेदीले भन्नुभयो, “देशको पर्यटकीय राजधानी पोखरामा भव्य रूपमा नयाँ वर्षको स्वागत गरेका छौँ । हजारौँ स्वदेशी तथा विदेशी पर्यटकले खुसी साट्नुभएको छ । अहिले नयाँ वर्ष मनाउने प्रमुख गन्तव्य पोखरा बनेको छ ।” नयाँ वर्ष तथा विभिन्न बिदाका कारण पनि पोखरा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि भएको र भारतीय पर्यटकको आगमन पनि बढेकाले उहाँले बताउनुभयो ।

पर्यटन चहलपहल बढेसँगै व्यापार व्यवसाय पनि वृद्धि भएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । पोखरामा तेस्रो मुलुकका पर्यटक पनि उल्लेख्य बढेका छन् । नववर्ष महोत्सवकै कारण पर्यटक आगमन बढेको उहाँको भनाइ छ ।

नेपाली नयाँ वर्षलाई उत्लासमय बनाउँदै पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवमा परम्परागत नेपाली खानाको प्रवर्द्धन, सांस्कृतिक झाँकीका कार्यक्रम, लोकदोहोरी र प्रख्यात कलाकारबाट पप कन्सर्ट, स्थानीय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्य, हाँस्यव्यङ्ग्य प्रहसन र पर्यटक दौड प्रतियोगितालगायत रहेका छन्

राष्ट्रसङ्घीय मानवीय सहायताकर्मीद्वारा कङ्गोमा विस्थापितको बारेमा चिन्ता व्यक्त

संयुक्त राष्ट्रसङ्घका मानवीय सहायताकर्मीहरूले पूर्वी लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) हिंसाबाट गोमा तथा वरपर शरण लिइरहेका पाँच लाखभन्दा बढी विस्थापित व्यक्तिहरूको सुरक्षाका बिषयमा चिन्ता व्यक्त गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) ले गोमा र वरपर विस्थापित मानिसहरूले सामना गर्ने अनिश्चित अवस्था र बढ्दो खतराहरूले चिन्ता बढाएको बताएको छ ।

उत्तरी किएभको मासिसी र रूत्सुरू क्षेत्रमा कङ्गोली सेना र सशस्त्र समूहबीचको झडपबाट भागेर पाँच लाखभन्दा बढी मानिसहरू वरपरका स्थानमा विस्थापितका रूपमा रहेको ओसिएचएले जनाएको छ । गत मार्चको सुरुदेखि गोमालगायतका स्थानमा गोलाबारी र आकस्मिक विस्फोटका घटनामा आठ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।

पूर्णरूपमा विस्थापित मानिसहरूलाई बढ्दो जोखिममा पार्दै शिविरभित्र हतियारको उपस्थिति प्रयोगसमेत बढेको ओसिएचएले जनाएको छ ।

नयाँ वर्षको अवसरमा सयौं कैदीबन्दी रिहा

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले परम्परागत सिंहली र तमिल नयाँ वर्षको उपलक्ष्यमा शनिबार करिब ८०० दोषीलाई आममाफी दिनुभएको छ ।

यसअघि क्रिसमसको उपलक्ष्यमा श्रीलङ्कामा आचरणमा सुधार आएका एक हजार कैदीलाई रिहा गरिएको थियो भने नयाँ बर्षको उपलक्ष्यमा ७७९ कैदीबन्दीलाई आममाफी दिइएको हो ।

कारागारका एक अधिकारीले एएफपीलाई बताएअनुसार हालसालै भएको हिंसात्मक गतिविधिका कारण श्रीलङ्काकोे कारागारमा भीडभाड रहेकोमा सयौँको सजाय माफी भएपछि कारगारभित्रको भीड कम भएको छ ।

शुक्रबारसम्म करिब ११ हजार कैदीबन्दी राख्न सक्ने गरी डिजाइन गरिएको श्रीलङ्काका कारागारमा करिब ३० हजार कैदीबन्दी रहेका थिए ।

श्रीलङ्काले नयाँ वर्षको अवसरमा लामो बिदा घोषणा गर्नुका साथै मङ्गलबारसम्म मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

आवास सङ्कट समाधान गर्ने योजनामा क्यानाडा

क्यानाडा सरकारले राष्ट्रिय आवास सङ्कट समाधान गर्न आफ्नो नयाँ दृष्टिकोणसहितको योजनाको घोषणा गरेको छ ।

यस योजनाले क्यानडा ‘मोर्टगेज एण्ड हाउजिङ कर्पोरेसन’ को प्रक्षेपणमा सन् २०३१ सम्ममा ३८ लाख ७० घरहरू आवासका लागि तयार गर्ने महत्वाकाङ्क्षी रणनीति तय गरेको छ । यो योजनामा २० लाख नयाँ घर निर्माण गर्ने लक्ष्य समावेश छ ।

सरकारले सन् २०२३ र सन् २०२४ मा लिइएको उद्देश्य अनुप १२ लाख नयाँ घरहरू निर्माणमा सहयोग गर्ने र सन् २०३१ सम्ममा कम्तिमा आठ लाख थप घरहरू निर्माण गर्ने प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ योजनाअनुसार आवासलाई किफायती बनाउने प्रतिबद्धता गरिएको छ । यसले कुनै पनि कडा परिश्रम गर्ने क्यानाडालीले आफ्नो आम्दानीको ३० प्रतिशतभन्दा बढी आवास खर्चमा खर्च गर्नुपर्दैन ।“कुनै पनि नागरिकले बस्नको लागि सुरक्षित ठाउँ छैन भन्ने चिन्ता गर्नुपर्ने अवस्था आउनु ठीक होइन,” विज्ञप्तिमा उल्लेख गरिएको छ ।

क्यानाडालीले नागरिकमा अहिले सबैभन्दा ठूलो तनाव आवासको रहेको र परिवारलाई बस्नको लागि राम्रो ठाउँ पाउन गाह्रो भइरहेको छ । घरहरू बनाउनको लागि धेरै उच्च लागत रहेको र परियोजनाहरू पूरा गर्न धेरै लामो समय लाग्ने अधिकारीहरूले बताएका छन् ।

काठमाडौँमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौँ, १ वैशाखः काठमाडौँमा आज भएको स्कुटर दुर्घटनमा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर मुनिभरैव बस पकेट नजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो ।

दुर्घटनामा स्कुटर चालक काठमाडौँ पेप्सीकोला बस्ने ५२ वर्षीय रामशरण केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भाटभटेनी सुपर मार्केटमा करेन्ट सर्ट भई आगलागी हुँदा १ करोड ७० लाखको क्षति

काठमाडौँ – काठमाडौँ महानगरपालिका १४ कलंकीस्थित भाटभटेनी सुपर मार्केटमा करेन्ट सर्ट भई आगलागी हुँदा एक करोड ७० लाखको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

हिजो साँझ त्यहाँको जेनेरेटर २ थान, ट्रान्सफर्मर १ थान, प्यानल बोड १ थान, बिसिटी १ थान, फ्रिज कम्प्रेशर १ थानलगायत जलेर करिब १ करोड ७० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले आज जानकारी दिएकोछ ।

वामपन्थी शक्तिबीच एकताको खाँचो छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ, १ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा अस्थिरता, दिशाहीनता र अकर्मण्यताको अन्त्य गर्न वामपन्थी शक्तिबीच एकताको खाँचो रहेको बताउनुभएको छ ।

नयाँ वर्षको अवसरमा देश तथा प्रवासमा रहेका सम्पूर्ण नेपालीको अग्रगति र प्रगतिका लागि शुभकामना सन्देश जारी गर्दै शान्ति, विकास, स्वतन्त्रता, समाजवाद र समृद्धिका निम्ति समाजवादी क्रान्ति र रूपान्तरणको युगबाट मुलुकलाई अगाडि लैजान वामपन्थी शक्तिहरू एकापसमा समन्वय गरी देशको परिस्थितिलाई दृष्टिगत गर्दै कम्युनिष्ट आन्दोलनलाई सकारात्मक दिशामा अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र राष्ट्रियताको क्षेत्र सङ¬्कटग्रस्त बन्दै गएको अवस्थामा जनता र राष्ट्रका साझा सवालमा सबै एकताबद्ध भएर वर्तमान गठबन्धनको संयुक्त सरकारमा सहभागिता जनाउनु राजनीतिक विकासक्रमको एउटा सकारात्मक पक्षका रूपमा हुने उल्लेख गर्नुभयो ।

“जनता र राष्ट्रका ज्वलन्त सवालहरूको समाधानका लागि भूमि सुधार र कृषि क्रान्तिलाई अघि बढाउनुपर्ने, मुलुकलाई औद्योगीकरणको दिशामा अघि बढाउन सक्नुपर्छ, भ्रष्टाचारलाई अन्त्य गर्नुपर्छ”, नेता खनालले उहाँले भन्नुभयो, “सबै वामपन्थी समूहहरूमा ‘म ठूलो, म बलियो र मैले सबै कुरा पाउनुपर्छ’ भन्ने दम्भ र घमण्डबाट मुक्त हुनुपर्छ । सबैका बीच समानता र सम्मानका साथ साझा आधारमा एकताबद्ध बन्न र बनाउन सक्नुपर्छ ।”

उहाँले मूल्यवृद्धि र महँगी नियन्त्रण, देशभित्रै रोजगारीका अवसर सर्जना गर्दै युवाको विदेश पलायनलाई रोक्ने, शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गरी मुलुकको विकास निर्माणको प्रक्रियालाई तीव्र बनाउन समाजवादको आधारलाई फराकिलो बनाएर जनतामा आशावादको सञ्चार गर्नुपर्नेमा जोड दिनुभयो ।

समाजवादी क्रान्तिका सही कार्यदिशा, नीति र सिद्धान्तहरू अवलम्बन गरी कम्युनिष्ट आन्दोलनको एकता, पुनर्गठन, अग्रगति र प्रगतिको दशक बनाउनुपर्नेमा जोड दिँदै नेता खनालले राष्ट्रिय स्वाभिमानलाई बलियो बनाएर विश्वभर फैलिँदै गएका नेपालीको प्रतिष्ठा उच्च बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

‘संस्कार शिक्षा’ मा विद्यालय र बालबालिकाको आकर्षण बढ्दो


काठमाडौँ, १ वैशाखः भविष्यका कर्णधार बालबालिकाको समुज्ज्वल जीवनका लागि शास्त्रीय आधार दिने उद्देश्यले डा स्वामी केशवानन्दले लेख्नुभएको ‘संस्कार शिक्षा’ पुस्तकलाई विद्यालयले पाठ्यपुस्तकका रुपमा समावेश गर्न थालेका छन् ।

स्वामी केशवानन्दले लेख्नुभएको पुस्तक गत भदौमा सार्वजनिक भएको थियो । हालसम्म करिब ५० विद्यालयले पाठ्यक्रममै राखेर आगामी शैक्षिक सत्रदेखि ‘संस्कार शिक्षा’ को अध्यापन सुरु गरेका छन् । स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाअन्तर्गतका सबै विद्यालयमा ‘संस्कार शिक्षा’ को पठनपाठन गर्ने भएको छ । आधारभूत तहका कक्षा ४, ५, ६ र ७ का विद्यार्थीलाई यो पुस्तक पढाइने जनाइएको छ ।

बुटवल, नवलपुर, पोखरा र राजधानी काठमाडौँका विद्यालयले पनि ‘संस्कार शिक्षा’ को पठनपाठनमा रुचि देखाएका छन् । सनातन संस्कृति र मानवीय मूल्यको यात्राका लागि पुस्तक तयार पारिएको स्वामी केशवानन्द बताउनुहुन्छ । पुर्खाले जीवनयापनमा आवश्यक सम्पूर्ण कामलाई संस्कारसँग जोड्ने गरी पुस्तक तयार पारिएको हो । जीवनयापनमा आवश्यक काम संस्कारसँग जोडिएको र त्यो अहिलेका बालबालिमा हराउन थालेकाले पुस्तककै रुपमा प्रकाशन गरेर विद्यालयमा पठनपाठनको वातावरण बनाइएको हो ।

संस्कारहीन व्यक्ति चरित्रहीन हुने, धनहीन हुँदा समस्या नहुने तर चरित्रहीन हुँदा पछि कमाउन नसकिने भएकाले भावी पुस्ताका लागि पुस्तकको आवश्यकता रहेको स्वामी केशवानन्द बताउनुहुन्छ । यसैले विद्यालयले पनि यसको आवश्यकता महसुस गर्न थालेको उहाँको भनाइ छ ।

पुस्तकमा अक्षरारम्भदेखि नै बालबालिकालाई संस्कार सिकाउने गरी पाठ राखिएको छ । साना बालबालिकालाई पढ्नमा रुचि जगाउन ‘आफ्नो नाममा आउने अक्षरमा रङ भर’ जस्ता अभ्यास पनि राखेर पढ्न आकर्षित गरिएको छ । आधुनिक बालबालिकाले ह्रस्व, दीर्घ र प्लुत भनेको नै नबुझ्ने अवस्था आउन थालेकाले पुस्तकमा त्यससम्बन्धी पाठ समावेश गरिएको छ ।

व्यञ्जनसँग जोडिने स्वरका मात्रा, व्यञ्जनसँग संयुक्त स्वर, संयुक्त व्यञ्जन, विसर्ग, अनुस्वार, चन्द्रविन्दुजस्ता विशेष वर्णबारे पनि पुस्तकमा जानकारी गराइएको छ । पाठसँगै अभ्यास पनि समावेश गरेर बालबालिकालाई सिकाउन सजिलो बनाइएको छ । देवनागरी लिपिका बारेमा पनि पुस्तकमा प्रकाश पारिएको छ ।

गणेशवन्दना पाठमा वन्दनासहित शब्दको अर्थ एवं गणेशका विषयमा जानकारी गराइएको छ । कुन ग्रहबाट कुन बारको नाम भयो ? जस्ता पाठले बालबालिकालाई पूर्वीय संस्कृतिका विषयमा सानैदेखि जानकार बनाउन खोजिएको जनाइएको छ । बालबालिकालाई ब्रह्ममुहूर्तमा उठ्न, ईश्वरको वन्दना गर्न, सकारात्मक सोचको विकास गर्न प्रेरित गर्ने पाठ पुस्तकमा राखिएको छ ।

सुत्दा सिरानी कता गर्ने ? आकर्षक चित्रका माध्यमबाट १० दिशाको ज्ञान जस्ता विषयले पनि बालबालिकाको ध्यान आकर्षण गर्छ । ‘सधैँ अभिवादन ग¥यो भने आयु बढ्छ, विद्या बढ्छ, सबैले सम्मान गर्छन्, शक्ति पनि बढ्छ’, ‘फलेका रूखहरू झुक्छन् । नझुक्ने त ठुटो हो, सुकेको रूख हो । नझुक्ने मूर्ख हो ।’ जस्ता पाठले बालबालिकालाई सानैदेखि संस्कारमा डो¥याउँछ ।

पुस्तकमा गणेश चतुर्थीका बारेमा जानकारीमूलक सामग्री राखिएको छ । गणेशको प्रथम पूजासँग जोडिएको कथाले बालबालिकालाई आकर्षक रुपमा संस्कारको जानकारी दिएको छ । चन्द्रमाको गतिअनुसार महिनामा हुने शुक्ल र कृष्ण पक्ष, तिथिका नाम जस्ता विषयले बालबालिकालाई वैदिक संस्कृतिको ज्ञान दिन्छ । वर्ण शिक्षा अन्तर्गत दुई वा दुईभन्दा बढी वर्ण जोडिएका विशिष्ट वर्णको जानकारी पनि पुस्तकमा समावेश गरिएको छ ।

पाठ दुईमा सरस्वतीवन्दना छ । सरस्वती वन्दनाको शब्दार्थ, सरस्वतीका १२ नाम समावेश गरिएको संस्कृत श्लोक, कोठामा अक्षर दिएर सरस्वतीका १२ नाम बनाउने अभ्यास पनि दिइएको छ । यस्ता अभ्यासले बालबालिकालाई पढेका पाठ याद गर्न सहयोग गर्छ । वेदको सङ्ख्या र शाखाको नामसहितको जानकारीले बालबालिकालाई वैदिक ज्ञानप्रति आकर्षित गर्न खोजेको छ ।

‘सधैँ स्नान गर्छु’ पाठले सफाइका साथै नदी सभ्यताका बारेमा बालबालिकाको ध्यानाकर्षण गरेको छ । नेपालका प्रमुख पाँच नदी कोसी, वाग्मती, त्रिशूली, कालीगण्डकी र महाकालीबारे बालबालिकालाई सामान्य ज्ञान पनि यस पाठमा दिइएको छ । पक्ष, महिना र ऋतुको ज्ञान पनि बालबालिकाले पुस्तकबाट पाउँछन् । ‘सत्य बोल’, ‘बाटो खोज’, ‘ज्ञानका कुरा, राम्रो म’ जस्ता पाठले पनि बालबालिकालाई उत्सुकतापूर्वक यो पुस्तक पढ्न प्रेरित गर्छ ।

श्रीपञ्चमी, कालिदासको कथा, १२ राशिका नाम, शिवस्तुति, शिवका अस्त्र, वाहन एवं अन्य, जपध्यान, प्राणायाम, मेरा बाबा मेरा भगवान्, महाशिवरात्रि, पशुपति, भस्मासुरको कथा, वेदका छ अङ्ग जस्ता विषयले बालबालिकालाई सनातन संस्कृतिका बारेमा ज्ञान दिन्छ ।

गुरुवन्दना, ऋषि दत्तात्रेयले २४ गुरुबाट सिकेका ज्ञान, भगवान्को भजन, हिन्दु कालगणना सूक्ष्मतादेखि विराटसम्म, गुरु भगवान्, पञ्चामृत, गुरु पूर्णिमा, श्रीगुरुयन्त्र, गुरुभक्तिको कथा, महाभारतसम्बन्धी सामान्य जानकारी पनि पुस्तकमा दिइएको छ । यसले हाम्रो मौलिक संस्कारको जानकारी बालबालिकालाई हुन्छ ।

देवीवन्दना पाठमा देवीको एक श्लोकको स्तोत्रसहित नेपालका मुख्य १२ वटा देवी मन्दिरको जानकारी बालबालिकालाई गराइएको छ । स्वाध्याय पाठमा वैदिक दर्शनको महत्वलाई सूक्ष्म तरिकाले सहज रुपमा बुझाउन खोजिएको छ । वेद, गीता, पुराण, उपनिषद्, धर्मशास्त्र, दर्शन, इतिहास र आयुर्वेदको चक्रीय तालिका बनाएर तिमीले के के पढेका छौँ रङ भर भनी ज्ञानका यी स्रोतप्रति बालबालिकाको इच्छा जागृत गराउने खालका सामग्री पनि पुस्तकमा समावेश गरिएको छ । विभिन्न मुद्राको जानकारी पनि पुस्तकमा दिइएको छ ।

नारी सम्मानको महत्व, नारी वेषभूषाका पाठसँगै लक्ष्मी, सरस्वती, दुर्गा, गायत्री, भैरवी र कुमारीबारे जिज्ञासु बन्न पनि पुस्तकले प्रेरणा दिएको छ । अक्षय तृतीया, नदीको जल, व्यापारीको कथा, इनार, धारो, कुवा र पोखरीजस्ता मौलिक ज्ञान पनि पुस्तकमा दिइएको छ ।

विष्णस्तुतिसँगै शङ्खको ज्ञान, भोजन, भोजनको नियम, भोजन संस्कृति, नैवेद्य, ऋतुफल, नवग्रह, बुढानीलकण्ठ मूर्तिको सामान्य जानकारी, त्यागका मूर्ति मुद्गल ऋषिको कथा, सात प्रमुख ऋषिको जानकारी पनि पुस्तकमा दिइएको छ ।

लक्ष्मीवन्दना, शक्तिपीठ, दिनचर्या, जपमाला, कवि शिरोमणि लेखनाथ पौडेलको नैतिक दृष्टान्त कविता, अयन, लक्ष्मीपूजा, द्यौसी, भैलो, धनपति कुबेरको कथा, मूर्तिका विषयमा सामान्य जानकारी पनि ‘संस्कार शिक्षा’ले दिएको छ ।

सूर्यवन्दना, सूर्यका रङहरु, सूर्यनमस्कार र सूर्योपस्थान, गायत्री मन्त्रसम्बन्धी संक्षिप्त जानकारी, दानमहिमा, चौतारो, कार्तिकदान, ३३ कोटि देवता, दधीचिको कथा, राजा जनकका पाठ दिएर बालबालिकालाई नेपाली मौलिक संस्कार हुर्कने वातावरणको निर्माण गर्न खोजिएको छ ।

कृष्णस्तुति, शालग्राम, ब्रह्मचर्य, नक्षत्रसम्बन्धी सामान्य जानकारी, विद्यार्थीको लक्षण, याज्ञवल्क्य, जन्मोत्सव कसरी मनाउने ?, अष्टचिरञ्जीवीसम्बन्धी संक्षिप्त जानकारी, मार्कण्डेयको कथा, पिपलसम्बन्धी जानकारी पनि पुस्तकमा पढ्न पाइन्छ ।

रामवन्दना, आदिमहाकाव्य रामायणका रचनाकार वाल्मीकि, पञ्चदेवपूजनको महत्व, धूप र धुपौरोसम्बन्धी जानकारी, नीतिपद्य, अष्टदल, रामनवमी, पञ्चेबाजा, जननी र जन्मभूमिको कथा, नेपालको झन्डासम्बन्धी छोटो जानकारी पनि ‘संस्कार शिक्षा’ मा दिइएको छ । हनुमद्वन्दना, अठार पुराणका नाम, पञ्चोपचारको पूजनपद्धति, कलश, नीतिशिक्षा, कुश, शतबीजरोपण, ॐकार र हनुमानको कथा पनि पुस्तकमा समावेश गरी बालबालिकालाई पढौँ पढौँ लाग्ने गरी पुस्तकको निर्माण गरिएको छ ।

बालबालिकालाई संस्कारमा फर्काउने उद्देश्यले तयार पारिएको १२० पृष्ठको पुस्तकको अन्तिममा नेपालका चारधाम वराहक्षेत्र, पशुपतिक्षेत्र, मुक्तिक्षेत्र र रुरुक्षेत्रका बारेमा सामान्य परिचय उल्लेख गरिएको छ ।

चैतमा पाथीभरामा ७५ लाखभन्दा बढी भेटी सङ्कलन

फुङ्लिङ (ताप्लेजुङ), १ वैशाखः ताप्लेजुङको पाथीभरा मन्दिरमा चैत महिनामा रु ७५ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद सङ्कलन गरिएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार चैतमा रु ७५ लाख सात हजार एक सय ५० भेटी सङ्कलन भएको छ । सङ्कलित भेटी गणना गरी बैंकमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी रकम पाथीभरा क्षेत्र विकास समितिले सङ्कलन तथा गणना गरी हरेक महिना सार्वजनिक गर्दै आएको छ ।

पाथीभरा (मुकुमलुङ)मा चैतमा ५२ हजारभन्दा बढीले पूजापाठ गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार ५२ हजार चार सय ५५ भक्तजनले पाथीभरा पूजा थाममा पुगेर पूजापाठ गरेका छन् ।

चालु आर्थिक वर्षको नौ महिनामा सबैभन्दा धेरै चैतमा पाथीभरामा भक्तजनले पूजापाठ गरेका छन् । गत साउनदेखि चैत मसान्तसम्म एक लाख ६८ हजार चार सय ६८ भक्तजनले पाथीभरामा पुगेर पूजापाठ गरेको समितिले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।भदौमा पाँच हजार, असोजमा १० हजार तीन सय ४३, कात्तिकमा ४९ हजार एक सय ६३ भक्तजन पाथीभरा आएको समितिले जनाएको छ । यस्तै मङ्सिरमा २० हजार चार सय १६, पुसमा पाँच हजार छ सय ५५, माघमा छ हजार चार सय एक, फागुनमा १७ हजार नौ सय १२ जना तीर्थयात्री आएका हुन् ।

महाकुम्भ मेलामा शाहीस्नान

धरान (सुनसरी), १ वैशाख : सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराधाममा लागिरहेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा शाहीस्नान गरिएको छ ।

आज नयाँ वर्षको शुभसाइतमा यस वर्षको कुम्भ मेलाको पहिलो शाहीस्नान गरिएको हो । जगदगुरु बालसन्त मोहनशरण देवाचार्यसहित साधुसन्तहरूले बराहक्षेत्रस्थित सप्तकोशी नदीमा शाहीस्नान गरेका हुन् । एक महिनासम्म लाग्ने कुम्भमेलामा जम्मा चारवटा स्नान कार्यक्रम राखिएका छन् । यही वैशाख ११, १६ र २६ गते शाहीस्नानका कार्यक्रम राखिएको छ ।

हिन्दू धर्मशास्त्रीय मान्यताअनुसार विश्वका चारधाममध्येको एक पवित्र तीर्थ वराहक्षेत्रस्थित सप्तकोशी नदीमा सन्त, महन्तलगायतले शाहीस्नान गरेको जगदगुरु देवाचार्यले बताउनुभयो । धर्मशास्त्रअनुसार सन्त, महन्तले गर्ने स्नानलाई शाहीस्नान भनिन्छ ।

शुभ मुहुर्तमा शाहीस्नान गरेमा अमरताको वरदान प्राप्त गर्ने धार्मिक विश्वास रहेको देवाचार्यले बताउनुभयो । वराहक्षेत्रस्थित चतराधाममा गत चैत २७ देखि सुरु भएको महाकुम्भ मेला यही वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ ।

कुम्भमेलाकै अवसरमा चतरास्थित रामानन्दाचार्य सेवा पीठले पनि आजदेखि सङ्कटमोचन श्रीहनुमद महायज्ञ सुरु गरेको छ । महायज्ञमा वैशाख ५ गते पीठको निमन्त्रणमा भारतको बागेश्वरधामका कथावाचक धीरेन्द्र शास्त्री (बागेश्वर सरकार) सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ । शास्त्रीले चतरामा वैशाख ९ गतेसम्म हनुमान कथावाचन गर्ने आयोजकले जनाएको छ ।

एमाले बागलुङको अध्यक्षमा केसी

गलकोट (बागलुङ), १ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको अध्यक्षमा हीराबहादुर केसी सर्वसम्मत निर्वाचित हुनुभएको छ । शुक्रबारदेखि बागलुङ बजारमा सुरु भएको १०औँ जिल्ला अधिवेशनबाट केसी दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन हुनुभएको छ ।

निर्वाचन संयोजक डा डिल्लीराज गौतमका अनुसार एमाले गण्डकी प्रदेश कमिटीका पूर्वसदस्य हरिनारायण गौतमले उम्मेदवारी फिर्ता लिएपछि केसी सर्वसम्मत अध्यक्ष हुनुभएको हो । साथै उपाध्यक्षमा विष्णु भुसाल सर्वसम्मत हुनुभएको छ । यसअघि सचिव रहनुभएका भुसाल नवौँ जिल्ला अधिवेशनमा समेत सर्वसम्मत हुनुभएको थियो ।

सचिवमा भने तीन जनाको उम्मेदवारी परेको छ । एमाले जिल्ला सचिवमा गणेश थापा, कुमार खड्का र चन्द्र प्रकाश शर्माको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ । सचिवमा सर्वसम्मतको प्रयास भइरहेको छ । उपसचिवमा पनि सर्वसम्मत रूपमा धनबहादुर परियार र करमती पुन चयन हुनुभएको छ ।

“निर्वाचनको कार्यतालिकामै छौँ, एकल उम्मेदवारी कायम भएपछि अध्यक्ष, उपाध्यक्ष र उपसचिवमा सर्वसम्मत भइसकेको छ”, संयोजक गौतमले भन्नुभयो, “सचिवको विषयमा पार्टीले छलफल गरिरहेको होला, निर्वाचन कार्यतालिकाअनुसार हामी अगाडि बढिरहेका छौँ, एकल उम्मेदवारी पर्नु भनेको निर्वाचन जित्नु हो, निर्वाचन कार्यतालिकाअनुसार सबैको नतिजा आएपछि मात्रै घोषणा हुन्छ ।”

राष्ट्रपति पौडेलद्वारा सपनतीर्थमा पूजार्चना

काठमाडौँ, १ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिकास्थित सपनतीर्थमा पूजा अर्चना गर्नुभएको छ । राष्ट्रपतिले प्रथम महिला सविता पौडेलसहित सपनतीर्थमा पूजार्चना गर्नुभएको हो ।

राष्ट्रपति पौडेललाई काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसी, सपनातीर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डङ्गोललगायतले स्वागत गर्नुभएको थियो ।

आज सपनतीर्थमा स्नान मेला पनि सुरु भएको छ । यहाँ स्नान गर्न काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागबाट भक्तजन आएका छन् । सपनतीर्थमा स्नान गरेपछि कुष्ठरोग निको हुने जनविश्वास छ । सपनतीर्थमा मेलासँगै टोखामा विस्का नखः (जात्रा) पनि सुरु भएको नेवा गुथिः टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिनुभयो । जात्रा वैशाख ४ गतेसम्म सञ्चालन हुनेछ ।

कर छलेर ल्याइएका छ लाखका सामान बरामद

गाईघाट, (उदयपुर) १ वैशाखः उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ४ सालघारीमा जलजले हुँदै कर छलेर ल्याइएका रु छ लाख मूल्य बराबरका सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शुक्रबार दिउँसो त्रियुगा नगरपालिकाको जलजले क्षेत्रमा सार्वजानिक यातायातका साधनमा जाँच गर्दा ती सामग्री बरामद गरिएको हो ।

बरामद गरिएका सामानमा २० कार्टुन तेल,१० बोरा भुजिया, छ बोरा हरियो मटर, सात बोरा मसुरो दाल आठ बोरा चिनीलगायत छन् । ती सामग्री सुनसरीस्थित आन्तरिक राजस्व कार्यलय पठाइएको जिल्ला प्रहरी कार्यलयका प्रमुख रमेश थापाले बताउनुभयो ।

२०८० : न्यायालय सुधारमा प्रगति, उपलब्धि सन्तोषप्रद

काठमाडौँ, १ वैशाख : वर्ष २०८० मा भएका न्यायालय सुधारका प्रयासले गति लिएको तथा मुद्दा फछ्र्यौटलाई आधार बनाउँदा उपलब्धि सन्तोषजनक मान्न सकिन्छ ।

सर्वोच्च अदालतले पाँच वर्ष नाघेका मुद्दालाई आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्ममा शून्यमा झार्ने लक्ष्यका साथ मुद्दा फछ्र्यौटको कामलाई तीव्रता दिएको छ । पाँच वर्ष नाघेका मुद्दाको सङ्ख्या बढ्दै गएपछि मुद्दा किनारा लगाउन ‘विचाराधीन पुराना वक्यौता मुद्दा न्यूनीकरण कार्ययोजना, २०७९ कार्यान्वयन ल्याएपछि मुद्दा फछ्र्यौटमा तीव्रता आएको हो । यो २०७९ साउन १ गतेदेखि लागू भएको थियो ।

“अदालतमा थुप्रिएका पुराना र नयाँ मुद्दालाई चाँडो छिनाफाना गर्न अतिरिक्त समय काम गर्ने, समयमा इजलास बस्ने गरेको छ”, सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले भन्नुभयो, “अब दैनिक १० वटा इजलास बस्दा योजनाअनुरुप मुद्दा फछ्र्यौटमा सहयोग पुग्छ, रिक्त न्यायाधीश पूर्तिसँगै मुद्दा फछ्र्यौटमा तीव्ररुपमा भइरहेको छ ।” सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहने संवैधानिक व्यवस्था छ । हाल प्रधानन्यायाधीशसहित १९ जना न्यायाधीश कार्यरत हुनुहुन्छ ।

न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाको लक्ष्यअनुसार मुद्दा शीघ्र फछ्र्र्यौटका गर्न तत्कालीन प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पुराना मुद्दालाई चाँडो फछ्र्यौट गर्न न्यायाधीश तीलप्रसाद श्रेष्ठको संयोजकत्वमा एउटा समिति गठन गर्नुभएको थियो । उक्त समितिमा तत्कालीन नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेय, नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे र सर्वोच्च बार एशोसिएसनका तत्कालीन अध्यक्ष पूर्णमान शाक्य हुनुहुन्थ्यो । त्यो समितिले कार्ययोजना बनाई लागू गरेको थियो ।

उक्त कार्ययोजनामा निर्धारित समय ११ बजे इजलास बस्ने र पूरा समय बस्ने परिपाटी अपनाउने तथा सम्बन्धित सरकारी वकिल र कानुन व्यवसायी पनि निर्धारित समयमा इजलासमा उपस्थित हुनुपर्ने उल्लेख गरिएको थियो । उक्त कार्ययोजनाअनुसार सर्वोच्च अदालत, उच्च र जिल्ला अदालतमा काम भइरहेको छ ।

कार्ययोजना लागू भएपछि मुद्दा फछ्र्यौटमा राम्रो सफलता प्राप्त भएको छ । विसं २०८० मा पाँच वर्ष नाघेका मुद्दा दुई हजार आठ सय ८१ थान फछ्र्यौट भएको छ । कूल छ हजार छ सय ६२ मुद्दामा तीन हजार सात सय ८१ मुद्दा फछ्र्यौट गर्न बाँकी छ ।

पुराना मुद्दालाई चाँडो छिनाफाना गर्ने कार्ययोजनाअनुसार सर्वोच्चदेखि उच्च र जिल्ला अदालतमा न्यायाधीशहरु रिक्त हुँदा सोचेअनुरुप मुद्दा हुन सकेको थिएन । यस वर्ष तीनै तहका अदालतमा न्यायाधीश नियुक्ति भएपछि न्यायसम्पादनमा गति आएको छ । उच्च अदालतममा एक सय ६० दरबन्दी रहेकामा एक सय ५२ न्यायाधीश हुनुहुन्छ । एक मुख्य न्यायाधीशसहित सात न्यायाधीशको पद रिक्त छ । जिल्ला अदालतमा दुई सय ८७ दरबन्दीमध्ये दुई सय ४२ न्यायाधीश कार्यरत हुनुहुन्छ । त्रिचालिस जिल्ला अदालतमा पदपूर्ति हुन बाँकी छ ।

न्यायपरिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीका अनुसार परिषद्ले उजुरीउपर उल्लेख्य सुधार गरेको छ । उजुरीउपर छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाएको छ । “परिषद्मा परेका २०७९ सम्मको उजुरी छानबिन सकिएको छ, तीन सय ३७ उजुरीमा यो वर्ष एक सय १७ उजुरीको छानबिन भएको छ”, प्रवक्ता क्षेत्रीले भन्नुभयो, “न्यायिक सुधारका लागि परिषद्ले निरन्तर काम गरिरहेको छ ।”

न्यायालयमा लामो समय न्यायाधीश नियुक्ति हुन नसक्दा मुद्दा फछ्र्यौटमा ढिलाइ भएको थियो । पदपूर्तिसँगै न्यायलयले मुद्दा फछ्र्यौटमा राम्रो लय लिएको छ । “मुद्दा फछ्र्यौटमा न्यायालयले सम्पूर्ण ध्यान दिएको छ”, रजिष्ट्रार पौडेलले भन्नुभयो, “कानुनको शासनको प्रवद्र्धन तथा नागरिकको हकको संरक्षक न्यायालयले प्रभावकारी भूमिका निर्वाह गरिरहेको छ ।”

सर्वोच्च अदालतमा २०८० साल चैत ३० गते सम्मको लगत फछ्र्यौटलाई विश्लेषण गर्दा ११ हजार आठ मुद्दा फछ्र्यौट भएका छन् । जिम्मेवारी सरेका २८ हजार एक सय २९ र सोही वर्ष परेको गरी नौ हजार दुई सय ६६ गरी ३७ हजार तीन सय ५९ छन्भने सर्वोच्च अदालतमा २६ हजार तीन सय ७८ मुद्दा बाँकी छन् । सर्वोच्च अदालतमा दुई वर्ष नाघेका मुद्दा १८ हजार सात सय ८१ मध्ये पाँच हजार तीन सय १९ फछ्र्यौट भएका छन् ।

न्यायालय सुधारको कार्की प्रतिवेदन फूलकोर्टले पारित गर्नुपर्ने

नेपाल कानुन व्यवसायी परिषद्का पार्षद् तथा वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीलाई न्यायापालिकाका विकृति पूर्णरुपमा अन्त्य गर्नुपर्छ भन्ने लाग्छ । नेपाल बार एशोसिसन र सर्वोच्च बार एशोसिएसनले न्यायालयको सुधारका लागि लामो समय आन्दोलन गरेको थियो । “न्यायालयको सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्कीले बनाएको प्रतिवेदन सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) ले पारित गर्नुपर्छ, त्यसपछि विसङ्गति हट्छ भन्ने सम्पूर्ण कानुन व्यवसायीको माग हो”, उहाँले भन्नुभयो, “त्यही मागबमोजिम तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद्मा महाअभियोग लाग्यो, हाल अहिले न्यायालयमा धेरै सुधार भएको छ ।”

वरिष्ठ अधिवक्ता ज्ञवालीका अनुसार वर्तमान अवस्थामा न्यायालयले लिएको गति सकारात्मक छ । मुद्दा फछ्र्यौटमा पनि प्रगति भएको छ । वर्तमान प्रधानन्यायाधीशले कार्यभार सम्हालेपछि मुद्दा व्यवस्थापनमा स्वचालित प्रणाली लागू भयो । यो सकारात्मक पक्ष हो । उहाँकै नेतृत्वमा न्याय परिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) भयो । त्यो संशोधन अविलम्ब खारेज गर्न माग भइरहेको छ । “न्याय परिषद्बाट नियमावली पारित भयो, त्यहीअनुसार लागू भयो र न्यायपालिकामा विचलन आयो, वरिष्ठ अधिवक्ता ज्ञवालीले भन्नुभयो, “१०औँ वर्ष काम गरेका न्यायाधीशभन्दा रजिष्ट्रार, मुख्य रजिष्ट्रारबाट न्यायाधीश नियुक्ति गर्दा ज्येष्ठता वा वरिष्ठता हुने व्यवस्था गरियो, त्यो गलत हो । त्यो अविलम्ब खारेज गर्नुपर्छ ।” न्यायापालिकाले नै संविधानको कार्यान्वयन गराउने भएको हुनाले संविधानसँग बाझिएका मुद्दाहरु अदालतमा आउँदा जतिसक्दो छिटो फैसला हुनुपर्ने उहाँको ठहर छ ।

परिषद्को संशोधित नियमावली खारेज हुनुपर्नेे

नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपरिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) तत्काल खारेज गर्नुपर्ने माग गर्नुभएको छ ।

“न्यायालय विचौलियाबाट प्रभावित भएको छैन, जुन सकारात्मक हो, अध्यक्ष घिमिरेले भन्नुभयो, “वर्तमान प्रधानन्यायाधीश आएपछि न्यायपरिषद्ले नियमावली जारी ग¥यो, यसले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशमा विभाजन भएको छ, निरासा बढेको छ, त्यो अविलम्ब खारेज होस्, मैले पटकपटक न्यायालयको नेतृत्वलाई भनेको छु, तर सुनुवाइ भएको छैन ।” न्यायाधीशको मर्यादाक्रम, सेवासर्त संविधानमा भएको व्यवस्थालाई न्याय परिषद् आफैले नियमावली परिवर्तन गरेको र छलफलका लागि बारले बोलाउँदा नआएकोप्रति उहाँको गम्भीर आपत्ति छ ।

निष्पक्ष न्यायपालिकाको संस्थागत विकासमा प्रधानन्यायाधीशको जोड

काठमाडौँ, १ वैशाख: प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले निष्पक्ष न्यायपालिकाको संस्थागत विकासमा जोड दिनुभएको छ ।नववर्ष २०८१ का अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले न्यायपालिकाबाट भएका सुधारका प्रयासलाई सार्थक र परिणाममुखी बनाएर यसलाई सक्षम, सुदृढ र भरोसायोग्य न्यायप्रणालीका रूपकम स्थापना गर्न नयाँ वर्षमा सबैलाई सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ ।

प्रधानन्यायाशधीले परापूर्वकालदेखि नेपाली समाजमा रहिआएको आपसी सद्भाव र सहिष्णुता कायम राख्दै सामाजिक ऐक्यबद्धता प्रवद्र्धन गर्न नयाँ वर्षको विशेष दिनले सबैमा थप ऊर्जा, हौसला र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा भनिएको छ, “नेपालको संविधानले आत्मसात् गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानूनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्दै मुलुकमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको सुनिश्चितता गर्न विक्रम संवत् २०८१ मा विशेष योगदान पुग्न सकोस् भन्ने कामना गर्दछु ।”

“जनताको आस्था एवं विश्वासको धरोहरका रूपमा रहिरहन न्यायपालिकाले जनतालाई गुणस्तरीय न्याय प्रवाह गर्ने कार्यमा दत्तचित्त भएर लागिपरेको छ, ढिलो न्याय दिनु न्याय दिन इन्कार गर्नु हो भन्ने मान्यतालाई आत्मसात् गर्दै न्यायमा सहज पहुँच, छिटोछरितो एवं प्रभावकारी न्याय सम्पादनको माध्यमबाट सबैलाई न्यायको सुनिश्चतता हुनुपर्छ” शुभकामना सन्देशमा भनिएको छ ।

न्यायिक सुशासन, गुणस्तरीय सेवा प्रवाहलगायत न्यायपालिकाले अगाडि सारेका सुधारका कार्यक्रमहरूले नयाँ वर्षमा थप गति प्राप्त गर्दै जाने विश्वास सन्देशमा व्यक्त गरिएको छ ।
प्रधानन्यायाधीशले न्यायिक क्षेत्रमा क्रियाशील न्यायाधीश, कानुन व्यवसायी, न्यायपालिकामा कार्यरत कर्मचारी, सेवाग्राहीका साथै स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीप्रति शुभकामना व्यक्त गर्नुभएको छ ।