`

एमाले बागलुङको अध्यक्षमा केसी

गलकोट (बागलुङ), १ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको अध्यक्षमा हीराबहादुर केसी सर्वसम्मत निर्वाचित हुनुभएको छ । शुक्रबारदेखि बागलुङ बजारमा सुरु भएको १०औँ जिल्ला अधिवेशनबाट केसी दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन हुनुभएको छ ।

निर्वाचन संयोजक डा डिल्लीराज गौतमका अनुसार एमाले गण्डकी प्रदेश कमिटीका पूर्वसदस्य हरिनारायण गौतमले उम्मेदवारी फिर्ता लिएपछि केसी सर्वसम्मत अध्यक्ष हुनुभएको हो । साथै उपाध्यक्षमा विष्णु भुसाल सर्वसम्मत हुनुभएको छ । यसअघि सचिव रहनुभएका भुसाल नवौँ जिल्ला अधिवेशनमा समेत सर्वसम्मत हुनुभएको थियो ।

सचिवमा भने तीन जनाको उम्मेदवारी परेको छ । एमाले जिल्ला सचिवमा गणेश थापा, कुमार खड्का र चन्द्र प्रकाश शर्माको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ । सचिवमा सर्वसम्मतको प्रयास भइरहेको छ । उपसचिवमा पनि सर्वसम्मत रूपमा धनबहादुर परियार र करमती पुन चयन हुनुभएको छ ।

“निर्वाचनको कार्यतालिकामै छौँ, एकल उम्मेदवारी कायम भएपछि अध्यक्ष, उपाध्यक्ष र उपसचिवमा सर्वसम्मत भइसकेको छ”, संयोजक गौतमले भन्नुभयो, “सचिवको विषयमा पार्टीले छलफल गरिरहेको होला, निर्वाचन कार्यतालिकाअनुसार हामी अगाडि बढिरहेका छौँ, एकल उम्मेदवारी पर्नु भनेको निर्वाचन जित्नु हो, निर्वाचन कार्यतालिकाअनुसार सबैको नतिजा आएपछि मात्रै घोषणा हुन्छ ।”

राष्ट्रपति पौडेलद्वारा सपनतीर्थमा पूजार्चना

काठमाडौँ, १ वैशाख: राष्ट्रपति रामचन्द्र पौडेलले टोखा नगरपालिकास्थित सपनतीर्थमा पूजा अर्चना गर्नुभएको छ । राष्ट्रपतिले प्रथम महिला सविता पौडेलसहित सपनतीर्थमा पूजार्चना गर्नुभएको हो ।

राष्ट्रपति पौडेललाई काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसी, सपनातीर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डङ्गोललगायतले स्वागत गर्नुभएको थियो ।

आज सपनतीर्थमा स्नान मेला पनि सुरु भएको छ । यहाँ स्नान गर्न काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागबाट भक्तजन आएका छन् । सपनतीर्थमा स्नान गरेपछि कुष्ठरोग निको हुने जनविश्वास छ । सपनतीर्थमा मेलासँगै टोखामा विस्का नखः (जात्रा) पनि सुरु भएको नेवा गुथिः टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिनुभयो । जात्रा वैशाख ४ गतेसम्म सञ्चालन हुनेछ ।

कर छलेर ल्याइएका छ लाखका सामान बरामद

गाईघाट, (उदयपुर) १ वैशाखः उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ४ सालघारीमा जलजले हुँदै कर छलेर ल्याइएका रु छ लाख मूल्य बराबरका सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शुक्रबार दिउँसो त्रियुगा नगरपालिकाको जलजले क्षेत्रमा सार्वजानिक यातायातका साधनमा जाँच गर्दा ती सामग्री बरामद गरिएको हो ।

बरामद गरिएका सामानमा २० कार्टुन तेल,१० बोरा भुजिया, छ बोरा हरियो मटर, सात बोरा मसुरो दाल आठ बोरा चिनीलगायत छन् । ती सामग्री सुनसरीस्थित आन्तरिक राजस्व कार्यलय पठाइएको जिल्ला प्रहरी कार्यलयका प्रमुख रमेश थापाले बताउनुभयो ।

२०८० : न्यायालय सुधारमा प्रगति, उपलब्धि सन्तोषप्रद

काठमाडौँ, १ वैशाख : वर्ष २०८० मा भएका न्यायालय सुधारका प्रयासले गति लिएको तथा मुद्दा फछ्र्यौटलाई आधार बनाउँदा उपलब्धि सन्तोषजनक मान्न सकिन्छ ।

सर्वोच्च अदालतले पाँच वर्ष नाघेका मुद्दालाई आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्ममा शून्यमा झार्ने लक्ष्यका साथ मुद्दा फछ्र्यौटको कामलाई तीव्रता दिएको छ । पाँच वर्ष नाघेका मुद्दाको सङ्ख्या बढ्दै गएपछि मुद्दा किनारा लगाउन ‘विचाराधीन पुराना वक्यौता मुद्दा न्यूनीकरण कार्ययोजना, २०७९ कार्यान्वयन ल्याएपछि मुद्दा फछ्र्यौटमा तीव्रता आएको हो । यो २०७९ साउन १ गतेदेखि लागू भएको थियो ।

“अदालतमा थुप्रिएका पुराना र नयाँ मुद्दालाई चाँडो छिनाफाना गर्न अतिरिक्त समय काम गर्ने, समयमा इजलास बस्ने गरेको छ”, सर्वोच्च अदालतका रजिष्ट्रार विमल पौडेलले भन्नुभयो, “अब दैनिक १० वटा इजलास बस्दा योजनाअनुरुप मुद्दा फछ्र्यौटमा सहयोग पुग्छ, रिक्त न्यायाधीश पूर्तिसँगै मुद्दा फछ्र्यौटमा तीव्ररुपमा भइरहेको छ ।” सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश रहने संवैधानिक व्यवस्था छ । हाल प्रधानन्यायाधीशसहित १९ जना न्यायाधीश कार्यरत हुनुहुन्छ ।

न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाको लक्ष्यअनुसार मुद्दा शीघ्र फछ्र्र्यौटका गर्न तत्कालीन प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पुराना मुद्दालाई चाँडो फछ्र्यौट गर्न न्यायाधीश तीलप्रसाद श्रेष्ठको संयोजकत्वमा एउटा समिति गठन गर्नुभएको थियो । उक्त समितिमा तत्कालीन नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेय, नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे र सर्वोच्च बार एशोसिएसनका तत्कालीन अध्यक्ष पूर्णमान शाक्य हुनुहुन्थ्यो । त्यो समितिले कार्ययोजना बनाई लागू गरेको थियो ।

उक्त कार्ययोजनामा निर्धारित समय ११ बजे इजलास बस्ने र पूरा समय बस्ने परिपाटी अपनाउने तथा सम्बन्धित सरकारी वकिल र कानुन व्यवसायी पनि निर्धारित समयमा इजलासमा उपस्थित हुनुपर्ने उल्लेख गरिएको थियो । उक्त कार्ययोजनाअनुसार सर्वोच्च अदालत, उच्च र जिल्ला अदालतमा काम भइरहेको छ ।

कार्ययोजना लागू भएपछि मुद्दा फछ्र्यौटमा राम्रो सफलता प्राप्त भएको छ । विसं २०८० मा पाँच वर्ष नाघेका मुद्दा दुई हजार आठ सय ८१ थान फछ्र्यौट भएको छ । कूल छ हजार छ सय ६२ मुद्दामा तीन हजार सात सय ८१ मुद्दा फछ्र्यौट गर्न बाँकी छ ।

पुराना मुद्दालाई चाँडो छिनाफाना गर्ने कार्ययोजनाअनुसार सर्वोच्चदेखि उच्च र जिल्ला अदालतमा न्यायाधीशहरु रिक्त हुँदा सोचेअनुरुप मुद्दा हुन सकेको थिएन । यस वर्ष तीनै तहका अदालतमा न्यायाधीश नियुक्ति भएपछि न्यायसम्पादनमा गति आएको छ । उच्च अदालतममा एक सय ६० दरबन्दी रहेकामा एक सय ५२ न्यायाधीश हुनुहुन्छ । एक मुख्य न्यायाधीशसहित सात न्यायाधीशको पद रिक्त छ । जिल्ला अदालतमा दुई सय ८७ दरबन्दीमध्ये दुई सय ४२ न्यायाधीश कार्यरत हुनुहुन्छ । त्रिचालिस जिल्ला अदालतमा पदपूर्ति हुन बाँकी छ ।

न्यायपरिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीका अनुसार परिषद्ले उजुरीउपर उल्लेख्य सुधार गरेको छ । उजुरीउपर छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाएको छ । “परिषद्मा परेका २०७९ सम्मको उजुरी छानबिन सकिएको छ, तीन सय ३७ उजुरीमा यो वर्ष एक सय १७ उजुरीको छानबिन भएको छ”, प्रवक्ता क्षेत्रीले भन्नुभयो, “न्यायिक सुधारका लागि परिषद्ले निरन्तर काम गरिरहेको छ ।”

न्यायालयमा लामो समय न्यायाधीश नियुक्ति हुन नसक्दा मुद्दा फछ्र्यौटमा ढिलाइ भएको थियो । पदपूर्तिसँगै न्यायलयले मुद्दा फछ्र्यौटमा राम्रो लय लिएको छ । “मुद्दा फछ्र्यौटमा न्यायालयले सम्पूर्ण ध्यान दिएको छ”, रजिष्ट्रार पौडेलले भन्नुभयो, “कानुनको शासनको प्रवद्र्धन तथा नागरिकको हकको संरक्षक न्यायालयले प्रभावकारी भूमिका निर्वाह गरिरहेको छ ।”

सर्वोच्च अदालतमा २०८० साल चैत ३० गते सम्मको लगत फछ्र्यौटलाई विश्लेषण गर्दा ११ हजार आठ मुद्दा फछ्र्यौट भएका छन् । जिम्मेवारी सरेका २८ हजार एक सय २९ र सोही वर्ष परेको गरी नौ हजार दुई सय ६६ गरी ३७ हजार तीन सय ५९ छन्भने सर्वोच्च अदालतमा २६ हजार तीन सय ७८ मुद्दा बाँकी छन् । सर्वोच्च अदालतमा दुई वर्ष नाघेका मुद्दा १८ हजार सात सय ८१ मध्ये पाँच हजार तीन सय १९ फछ्र्यौट भएका छन् ।

न्यायालय सुधारको कार्की प्रतिवेदन फूलकोर्टले पारित गर्नुपर्ने

नेपाल कानुन व्यवसायी परिषद्का पार्षद् तथा वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीलाई न्यायापालिकाका विकृति पूर्णरुपमा अन्त्य गर्नुपर्छ भन्ने लाग्छ । नेपाल बार एशोसिसन र सर्वोच्च बार एशोसिएसनले न्यायालयको सुधारका लागि लामो समय आन्दोलन गरेको थियो । “न्यायालयको सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्कीले बनाएको प्रतिवेदन सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) ले पारित गर्नुपर्छ, त्यसपछि विसङ्गति हट्छ भन्ने सम्पूर्ण कानुन व्यवसायीको माग हो”, उहाँले भन्नुभयो, “त्यही मागबमोजिम तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद्मा महाअभियोग लाग्यो, हाल अहिले न्यायालयमा धेरै सुधार भएको छ ।”

वरिष्ठ अधिवक्ता ज्ञवालीका अनुसार वर्तमान अवस्थामा न्यायालयले लिएको गति सकारात्मक छ । मुद्दा फछ्र्यौटमा पनि प्रगति भएको छ । वर्तमान प्रधानन्यायाधीशले कार्यभार सम्हालेपछि मुद्दा व्यवस्थापनमा स्वचालित प्रणाली लागू भयो । यो सकारात्मक पक्ष हो । उहाँकै नेतृत्वमा न्याय परिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) भयो । त्यो संशोधन अविलम्ब खारेज गर्न माग भइरहेको छ । “न्याय परिषद्बाट नियमावली पारित भयो, त्यहीअनुसार लागू भयो र न्यायपालिकामा विचलन आयो, वरिष्ठ अधिवक्ता ज्ञवालीले भन्नुभयो, “१०औँ वर्ष काम गरेका न्यायाधीशभन्दा रजिष्ट्रार, मुख्य रजिष्ट्रारबाट न्यायाधीश नियुक्ति गर्दा ज्येष्ठता वा वरिष्ठता हुने व्यवस्था गरियो, त्यो गलत हो । त्यो अविलम्ब खारेज गर्नुपर्छ ।” न्यायापालिकाले नै संविधानको कार्यान्वयन गराउने भएको हुनाले संविधानसँग बाझिएका मुद्दाहरु अदालतमा आउँदा जतिसक्दो छिटो फैसला हुनुपर्ने उहाँको ठहर छ ।

परिषद्को संशोधित नियमावली खारेज हुनुपर्नेे

नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपरिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) तत्काल खारेज गर्नुपर्ने माग गर्नुभएको छ ।

“न्यायालय विचौलियाबाट प्रभावित भएको छैन, जुन सकारात्मक हो, अध्यक्ष घिमिरेले भन्नुभयो, “वर्तमान प्रधानन्यायाधीश आएपछि न्यायपरिषद्ले नियमावली जारी ग¥यो, यसले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशमा विभाजन भएको छ, निरासा बढेको छ, त्यो अविलम्ब खारेज होस्, मैले पटकपटक न्यायालयको नेतृत्वलाई भनेको छु, तर सुनुवाइ भएको छैन ।” न्यायाधीशको मर्यादाक्रम, सेवासर्त संविधानमा भएको व्यवस्थालाई न्याय परिषद् आफैले नियमावली परिवर्तन गरेको र छलफलका लागि बारले बोलाउँदा नआएकोप्रति उहाँको गम्भीर आपत्ति छ ।

निष्पक्ष न्यायपालिकाको संस्थागत विकासमा प्रधानन्यायाधीशको जोड

काठमाडौँ, १ वैशाख: प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले निष्पक्ष न्यायपालिकाको संस्थागत विकासमा जोड दिनुभएको छ ।नववर्ष २०८१ का अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले न्यायपालिकाबाट भएका सुधारका प्रयासलाई सार्थक र परिणाममुखी बनाएर यसलाई सक्षम, सुदृढ र भरोसायोग्य न्यायप्रणालीका रूपकम स्थापना गर्न नयाँ वर्षमा सबैलाई सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ ।

प्रधानन्यायाशधीले परापूर्वकालदेखि नेपाली समाजमा रहिआएको आपसी सद्भाव र सहिष्णुता कायम राख्दै सामाजिक ऐक्यबद्धता प्रवद्र्धन गर्न नयाँ वर्षको विशेष दिनले सबैमा थप ऊर्जा, हौसला र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा भनिएको छ, “नेपालको संविधानले आत्मसात् गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानूनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्दै मुलुकमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको सुनिश्चितता गर्न विक्रम संवत् २०८१ मा विशेष योगदान पुग्न सकोस् भन्ने कामना गर्दछु ।”

“जनताको आस्था एवं विश्वासको धरोहरका रूपमा रहिरहन न्यायपालिकाले जनतालाई गुणस्तरीय न्याय प्रवाह गर्ने कार्यमा दत्तचित्त भएर लागिपरेको छ, ढिलो न्याय दिनु न्याय दिन इन्कार गर्नु हो भन्ने मान्यतालाई आत्मसात् गर्दै न्यायमा सहज पहुँच, छिटोछरितो एवं प्रभावकारी न्याय सम्पादनको माध्यमबाट सबैलाई न्यायको सुनिश्चतता हुनुपर्छ” शुभकामना सन्देशमा भनिएको छ ।

न्यायिक सुशासन, गुणस्तरीय सेवा प्रवाहलगायत न्यायपालिकाले अगाडि सारेका सुधारका कार्यक्रमहरूले नयाँ वर्षमा थप गति प्राप्त गर्दै जाने विश्वास सन्देशमा व्यक्त गरिएको छ ।
प्रधानन्यायाधीशले न्यायिक क्षेत्रमा क्रियाशील न्यायाधीश, कानुन व्यवसायी, न्यायपालिकामा कार्यरत कर्मचारी, सेवाग्राहीका साथै स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीप्रति शुभकामना व्यक्त गर्नुभएको छ ।

पचास लाखको लागतमा तनहुँको खड्गकालिका मन्दिर पुनर्निर्माण

दमौली (तनहुँ), १ वैशाख : तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर रु ५० लाखको लागतमा पुनर्निर्माण सम्पन्न भएको छ । पुरातत्व विभागको आर्थिक सहयोगमा पुनर्निर्माण पूरा भएको हो ।

यही वैशाख ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले पुननिर्मित मन्दिर उद्घाटन गर्ने कार्यक्रम रहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । मन्दिरको मौलिकता कायम गरेर पुनर्निर्माण पूरा भएको उहाँले जानकारी दिनुभयो ।

तनहुँसुर धार्मिक पर्यटकीयस्थलका रुपमा क्रमशः विकास भइरहेको स्थानीयवासी सञ्जय श्रेष्ठ बताउनुहुन्छ । यहाँ सामुदायिक घरबास पनि सञ्चालनमा छन् ।

पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य गर्न पठाएको र उहाँपछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको जनश्रुति छ । तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिँढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा र भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् ।
 

एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई

खोटाङ, १ वैशाख: नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी हुनुभएको छ । शुक्रबार साँझ सम्पन्न आठौँ जिल्ला अधिवेशनले उहाँलाई चयन गरेको हो । अध्यक्षमा विजयी राईले तीन सय ३९ मत प्राप्त गर्नुभएको थियोभने उहाँका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद दङ्गालले एक सय ८७ मत पाउनुभएको प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरेले बताउनुभएको छ । दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका–१४ बुइपा निवासी राई सातौँ जिल्ला अधिवेशनमा उपाध्याक्ष निर्वाचित हुनुभएको थियो ।

पार्टीको जिल्ला उपाध्यक्षमा कुमार आचार्य तीन सय ५८ मतसहित विजयी हुनुभएको छ । पाँच पदाधिकारीसहित ९० जनाको कार्यसमिति सचिवमा सुरेन्द्रकुमार राई यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो ।

एक उपसचिवका लागि सातजनाबीच भएको प्रतिस्पर्धामा राजन बञ्जरा विजयी हुनुभएको छ । समावेशी उपसचिवमा कविता राई विजयी हुनुभएको छ । आदिवासी जनजाति कोटामा जुद्धबहादुर पुलामीमगर चुनिनु भएको छ ।

यसैगरी, एकजना दलित कोटाका लागि भएको निर्वाचनमा रमेश परियार ‘प्यासी’ दुई सय ११ मतसहित विजयी हुनुभएको छ । दलित कोटामा चारजनाको प्रतिस्पर्धा भएको थियो । दलित महिला कोटामामा रेखा रम्तेल एक सय ५० मत ल्याएर विजयी हुनुभएको छ । उक्त कोटामा तीनजनाको प्रतिस्पर्धा भएको थियो ।

खुला महिला कोटामा कुसुम राई, प्रतिमा बिष्ट (पौडेल), पुण्यकुमारी मगर र हीराकुमारी वन (गिरी) विजयी हुनुभएको छ । खुला कोटामा अनिश कार्की, अषिश राई, जगत राई, लोकेन्द्र राई र सनमान खड्का विजयी हुनुभएको छ । पाँच जनाको कोटामा १७ जनाको प्रतिस्पर्धा भएको निर्वाचन समितिले जनाएको छ ।

त्रिहत्तर मेगावाट क्षमताको मध्य तमोरको बिजुली कोशी करिडोरमा जोडियो

ताप्लेजुङ, १ वैशाख: त्रिहत्तर मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको उपस्थितिमा शुक्रबार आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर प्रसारण लाइनमा सफलतापूर्वक प्रवाह गरिएको हो ।

सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेडद्वारा निर्मित आयोजनाले अबका १५ दिन परीक्षण उत्पादन र त्यसपछि व्यावसायिक उत्पादन गर्ने जनाएको छ । आयोजनाका प्रबन्धक मणिराज पोखरेलका अनुसार आयोजनाका चारवटा टर्बाइनमध्ये एउटाबाट उत्पादित विद्युत् तेह्रथुमको वसन्तपुरस्थित कोशी करिडोरको प्रसारण लाइनमा जोडिएको हो ।

अब केही दिनमै पूर्णरुपले मध्य तमोर जलविद्युत् आयोजनाद्वारा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समाहित हुने प्रबन्धक पोखरेलले बताउनुभयो ।

प्रबन्ध निर्देशक घिसिङले यो सँगै देशमा विद्युत् जडित क्षमता तीन हजार तीन सय मेगावाट पुगेको बताउँदै यसले विद्युत् आपूर्तिमा ठूलो राहत पुग्ने बताउनुभयो । देशको अर्थतन्त्रको मेरुदण्ड भनेकै जलविद्युत् हो भन्दै उहाँले विद्युत् आयोजनामा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

आयोजनाबाट सुक्खा याममा २५ देखि ३० मेगावाटसम्म विद्युत् उत्पादन हुने बताइएको छ । फुङलिङ नगरपालिकास्थित फुरुम्बूको मित्लुङ नजिक ५० मिटर लामो र ११ अग्लो बाँध निर्माण गरी तीन हजार चार सय मिटर लामो सुरुङबाट खोक्लिङको थुम्बाबेँसीमा निर्मित विद्युत्गृहमा जल प्रवाह गरेर बिजुली निकालिएको हो ।

हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित नेपाल विद्युत् प्राधिकरणको टोली परीक्षण प्रसारण अवलोकनका लागि यहाँ आएको थियो ।

पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला

काठमाडौँ, १ वैशाख: सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ ।उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई आज नयाँ वर्ष वैशाख १ गतेदेखि २४ सै घण्टा सञ्चालन गर्न लागेको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको राससलाई बताउनुभयो ।
उहाँले आजदेखि ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने तयारी गरेकाले सोहीअनुसारको सुरक्षा व्यवस्था सुदृढ बनाइएको बताउनुभयो ।

“जिल्ला सुरक्षा समितिले रात्रिकालीन समयमा मनोरञ्जनात्मक व्यवसायको लागि विभिन्न समय तोकेर खुला राखेको अवस्था रहेपनि अब सबै किसिमका व्यवसाय सञ्चालन गर्नेगरी बजार खुला रहन्छ,”– उहाँले भन्नुभयो । ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी ‘आचारसंहिता तथा मापदण्ड–२०८० स्वीकृत गरेको उहाँको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी बस्नेतले आचारसंहितामा व्यवसायीले पालना गर्नुपर्ने आचारसंंहिता, उपभोक्ताले पालना गर्नुपर्ने आचारसंहिता, स्थानीय बासिन्दाको अधिकार, दायित्व र सुरक्षा संयन्त्रले सुरक्षा प्रदान गर्नका लागि अवलम्बन गर्नुपर्ने विधि, प्रक्रिया उल्लेख गरिएको छ ।

ठमेल र दरबारमार्ग क्षेत्रलाई सञ्चालन गर्नका लागि तयार गरिएको विशेष सुरक्षा योजना भित्र पर्यटक प्रहरीलाई अझै व्यवस्थित र प्रभावकारी बनाइनेछ । ठमेलभित्र व्यवसायी मात्रै नभई स्थानीय बासिन्दाको पनि बसोबासको क्षेत्र भएकाले स्थानीयलाई कुनै असर नपर्नेगरी व्यवस्था मिलाइएको छ ।

रात्रिकालिन मनोरञ्जनात्मक व्यवसायका क्रममा हुने ध्वनि प्रदुषणलाई नियन्त्रण गर्नेलगायत आचारसंहिता तयार गरिएकोछ । उहाँले भगवान्वहाल क्षेत्रमा स्थानीयको बसोबास भएकाले सो स्थानमा यस्ता कार्यक्रम गर्न रोक लगाइएको बताउनुभयो ।

ठमेल र दरबारमार्ग क्षेत्रमा २४ सै घण्टा व्यवसाय सञ्चालन स्थानका शौचालयलाई निश्चित संकेत दिएर प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ । यातायातका साधनको अभाव हुन नदिन नगरबस, ट्याक्सी, अनलाईन सवारी साधानको व्यवस्थापनमा लागिएको प्रजिअ बस्नेतले बताउनुभयो । यसैगरी, पार्किङ व्यवस्थापन, आन्तरिक सुरक्षालगायतको व्यवस्था मिलाइएको छ ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्गको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उक्त बजारलाई २४ सै घण्टा खुला गर्न लागिएको बताउनुभयो । उहाँले व्यवसायको पाटोबाट गर्नुपर्ने आन्तरिक तयारी पुरा भएको उल्लेख गर्नुभयो ।

दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले २४ सै घण्टा बजार खुल्ने कुराले अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्नुभयो ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेको प्रमुख आतिथ्यतामा विभिन्न सुरक्षा निकायका प्रमुख तथा विशिष्ट व्यक्तिको उपस्थितिमा आज अपराह्न एक कार्यक्रम आयोजना गरी उक्त क्षेत्र चौबिसै घण्टा खुला राख्ने घोषणा हुनेछ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा हुरीबतासको सम्भाावना,सचेत रहन आग्रह

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी, कोशी, बागमती र मधेस प्रदेशलगायत राष्ट्रका पहाडी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने बताएको छ ।

साथै महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मध्याह्नपछि हुरीबतासको सम्भाावना रहेको बताउँदै ती भूभागका सबैलाई सचेत रहन आग्रह गरेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी स्थानमा मौसम सफा रहने छ । कोशी, बागमती र मधेस प्रदेशलगायत म्ल्कका पहाडी क्षेत्रका केही स्थानका साथै बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । सुदूरपश्चिम प्रदेशलगायत देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

त्यसैगरी, आज राति गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । कोशी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।
महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनमा कोशी र कर्णाली प्रदेशलगायत देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

कालीगण्डकी करिडोर: बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र

म्याग्दी, १ वैशाख: दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ ।

भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने चार सय ३५ किमी लामो कालीगण्डकी करिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो । गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्वपूर्ण मानिएको छ ।

पर्वतको मालढुङ्गादेखि म्याग्दी हँुदै मुस्ताङको कोरला नाकासम्मको दुई सय दुई किमी सडक स्तरोन्नति र त्यसमा पर्ने खोलामा पुल निर्माण गर्न २०७४ देखि आयोजना सुरु भएको हो । चौध वटा खण्डमध्ये हालसम्म आठ खण्डमा निर्माण सकिएको योजनाको २०८० चैत मसान्तसम्मको भौतिक प्रगति ७८ प्रतिशत पुगेको आयोजना प्रमुख धु्रवकुमार झाले बताउनुभयो ।

“छ वटा खण्डमा ८५ किमी ग्राभेल र ४८ किमी सडक कालोपत्र भएको छ”, उहाँले भन्नुभयो, “यस सडकमा १३ वटा पक्की पुल र तीन वटा बेलिब्रिज निर्माण भएको छ । छ ठाउँमा मोटरेबल पुल निर्माणाधीन छन् ।”

मुस्ताङको कैकु–खन्ती खण्डमा १६ किमी, खन्ती–टुकुचे–मार्फा खण्डमा नौ किमी आक्सफाल्ट प्रविधिको कालोपत्र भएको छ । मुस्ताङको घाँसा–कैकुखोला खण्डमा दुई किमी, म्याग्दीको तिप्ल्याङ–तातोपानी खण्डमा छ किमी, बेनी–गलेश्वर खण्डमा चार किमी र गलेश्वर–बेगखोला खण्डमा तीन किमी डिबिएसडी प्रविधिको कालोपत्र भएको हो ।

मुस्ताङको जोमसोम बजार, काभ्रेभिर र मालढुङ्गा–बेनी खण्डको विभिन्न ठाउँमा तीन किमी बढी सडक ढलान भएको छ । मालढुङ्गा–बेनी सडकको मालढुङ्गा–लस्ती खण्डमा छ किमी, बेगखोला–तिप्ल्याङ खण्डमा दुई किमी र पोखरेबगर–तातोपानी खण्डमा एक किमी कालोपत्रको तयारी भएको छ । तेह्र किमी दूरीको जोमसोम–कागबेनी, तातोपानी–घाँसा खण्डमा छ किमी, मार्फा–जोमसोम खण्डमा छ किमी सडक पनि चालु आर्थिक वर्षभित्र नै कालोपत्र गर्न निर्माण व्यवसायीलाई ताकेता गरिएको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले बताउनुभयो । कूल रु १० अर्ब लागत अनुमान गरिएको आयोजनाको हालसम्म करिब रु सात अर्ब खर्च भएको जनाइएको छ ।

सन् २०५० सम्ममा जापानको २० प्रतिशत घरमा वृद्धवृद्धा मात्र रहने : अध्ययन

जापानले सन् २०५० सम्ममा हरेक पाँच घरधुरीमध्ये एक घरमा वृद्धवृद्धा एक्लै बस्नुपर्ने एक नयाँ अध्ययनले देखाएको छ ।
सन् २०५० सम्ममा जापानमा एक करोड आठ लाख वृद्धवृद्धा एक्लै बस्नेछन् । यो कुल परिवार सङ्ख्याको २०.६ प्रतिशत हुने नेसनल इन्स्टिच्युट अफ पपुलेसन एन्ड सोसियल सेक्युरिटी रिसर्चले हरेक पाँच वर्षमा जारी गर्ने प्रक्षेपणमा उल्लेख गरेको छ ।

सन् २०२० मा ७३ लाख ७० हजार वृद्धवृद्धा अर्थात् कुल घरधुरीको १३.२ प्रतिशत मानिस एक्लै बसिरहेका थिए ।जापानी युवाहरूले विवाहमा ढिलाई गर्ने र यसका कारण बच्चा जन्माउन नसक्ने भएकाले उनीहरूले बच्चा नजन्माउने निर्णय गर्ने चलन बढेकाले यो प्रक्षेपण गरिएको हो ।

जापानले बढ्दो जनसङ्ख्या सङ्कटको सामना गरिरहेको छ । बढ्दो वृद्ध जनसङ्ख्याले चिकित्सा र कल्याणकारी लागत बढाउँछ र यसको लागि भुक्तानी गर्ने श्रम शक्ति घट्दै जान्छ ।

अहिले धेरै वृद्धवृद्धा एक्ले बसिरहेको भए पनि भाइबहिनीे वा उनीहरूका सन्तानले रेखदेख गरिरहेका छन् तर, अबको ३० वर्षपछि, विवाहित, शोकसन्तप्त वा अलग्गिएका कुनै पनि सन्तान नभएका वृद्ध एकल परिवारका सदस्यहरूको अनुपात बढ्ने अपेक्षा गरिएको छ र त्यस्ता व्यक्तिका भाइबहिनीहरूको सङ्ख्या पनि घट्ने अध्ययनले देखाएको छ ।

जापानको कुल जनसङ्ख्या सन् २०२३ मा पाँच लाख ९५ हजारले घटेर १२ करोड ४० लाखमा झरेको सरकारी तथ्याङ्कले देखाएको छ ।तथ्याङ्कले देखाएअनुसार विदेशीहरूको आगमनले यो कमीको मात्रालाई हालसम्म परिपूरण गरेको थियो । जापानी जनसङ्ख्या आठ लाख ३७ हजारले घटेर १२ करोड १० लाखमा झरेको छ ।जापान सरकारले घट्दो जनसङ्ख्या र वृद्ध जनसङ्ख्याको समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको देखिन्छ ।

‘शिक्षा गुणस्तरीय बनाउन आधारभूत शिक्षा सुधार्नुपर्छ’: मन्त्री चौधरी

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले भावी शिक्षा गुणस्तरीय बनाउन आधारभूत शिक्षा सुधार जरुरी रहेको बताउनुभएको छ । काठमाडौँमा आयोजित दुर्गा दाहालको ७२औँ जन्मजन्ती समारोहमा मन्त्री चौधरीले बालमैत्री पाठ्यक्रम र योग्य शिक्षकबाट शिक्षामा परिवर्तन ल्याउन सकिने धारणा राख्नुभयो ।

धनकुटाको चौबिसे गाउँपालिका–३ का दुर्गा दाहाल शिक्षक, समाजसेवी र सहकारी अभियानकर्मी भएको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा मन्त्री चौधरीले दाहालले समाजमा दिएको योगदानको चर्चा गर्नुभयो । “दाहाल जस्ता थुप्रै सकारात्मक सोच भएका व्यक्तिको जीवनीबाट समाजमा थप असल काम गर्न हौसला मिल्छ”, उहाँले भन्नुभयो ।

दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समितिले सो कार्यक्रममा मानवशास्त्री एवं प्रा डा डम्बर चेम्जोङलाई सम्मान गरेको थियो । मन्त्री चौधरीले उहाँलाई ताम्रपत्र, दोसल्ला र रु १० हजार नगदसहित सम्मान गर्नुभयो । सम्मानित व्यक्तित्व चेम्जोङले २०३५ सालदेखि शिक्षा सेवामा लागेको र दुर्गा दाहालको अभिभावकत्वमा काम गर्न पाएको सो अवसरमा आफ्नो अनुभव सुनाउनुभयो ।

“त्यतिबेला शिक्षाको स्थिति अत्यन्त नाजुक थियो”, उहाँले बाल्यकालको शिक्षा स्मरण गर्दै भन्नुभयो, “शिक्षा नीति सुधार्ने आधारभूत विद्यालयबाटै हो ।” उहाँले दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समितिलाई सहयोग स्वरुप रु ५० हजार प्रदान गर्ने बताउनुभयो ।

राससका महाप्रबन्धक सिद्धराज राईले मित्रवत व्यवहार र उद्देश्यप्रतिको लगाव कस्तो हुनुपर्छ भन्ने कुरा दुर्गा दाहालको जीवनीले सिकाएको बताउनुभयो । “मान्छे हारेपछि थाक्छ”, उहाँले भन्नुभयो, “तर, दुर्गा दाहाल सरबाट हरेस खाने र थाक्ने शब्दै थिएन ।” सहकारीलाई व्यवस्थित गर्न धनकुटामा बैठक गरिरहेका बेला उहाँको हृदयघातबाट निधन भएको थियो । दाहालले पढाएका विद्यार्थी लोकेन्द्र याख्खाले किताबी ज्ञानसँगै नैतिक शिक्षा समेत उहाँबाट प्राप्त गरेको स्मरण गर्नुभयो ।

श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिकलाई दोब्बर बनाउन माग

काठमाडौँ-नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले श्रमजीवी पत्रकारको हाल कायम न्यूनतम पारिश्रमिकलाई दोब्बर बनाउन सरकारसँग माग गरेको छ ।शुक्रबार आयोजित १२ औँ अधिवेशनले पत्रकारहरुको पेसागत सुरक्षाका लागि प्रभावकारी कदम चाल्न, श्रमजीवी पत्रकारहरुले पाउने सेवासुविधा नियमित रुपमा उपलब्ध गर्न गराउन शाखा सरोकारवाला निकायसँग माग गरेको हो ।

लोकल्याणकारी विज्ञापनको रकम दोब्बर वृद्धि गर्न, समानुपातिक विज्ञापन प्रणाली तत्काल लागू गर्न, साथै अनलाइन सञ्चारमाध्यमका लागि समेत प्रदान गर्ने गरी वार्षिक बजेटबाट विनियोजित रकम तत्काल कार्यविधि बनाएर उपलब्ध गराउन माग गर्दै लोककल्याणकारी विज्ञापनबापतको रकम नियमित भुक्तानीका लागि सहजीकरण गर्न विज्ञापन बोर्डसमक्ष आग्रह गरेको छ ।

पत्रकारहरुका लागि उपचार गर्न सरकारी तथा निजी अस्पतालहरुमा कम्तीमा दुई शय्या छुट्याई निःशुल्क उपचारको व्यवस्था गर्न आग्रह गरेको बैठकले पत्रकारहरुका लागि सरकारले घोषणा गरेको निःशुल्क उपचारको व्यवस्था तत्काल कार्यान्वयन गर्न, उनीहरूको स्वास्थ्य संवेदनशीलताका लागि काठमाडौँ शाखाबाट उपलब्ध हुनेगरी आपत्कालीन कोष स्थापना गर्न सरकारसँग माग गरेको छ ।

पत्रकारहरुका लागि सुरु गरिएकोे दुर्घटना बीमालाई स्वास्थ्य बीमामा रुपान्तरण गर्नका लागि सरकार पत्रकार महासङ्घ केन्द्रीय समितिसँग माग गरेको छ । साना तथा स्वरोजगारमूलक आमसञ्चारमाध्यम तथा पत्रकार र कर्मचारीहरुलाई प्रदान गरिँदै आएको सहुलियतपूर्ण ऋण रकम रु १० लाखबाट बढाई रु २५ लाख पु¥याउन माग गरेको बैठकले आमसञ्चारमाध्यम तथा पत्रकारहरुका लागि निःशुल्क रुपमा इन्टरनेट, पत्रकारिता तथा आमसञ्चार विषयमा उच्च शिक्षा हासिल गर्न चाहने पत्रकारहरुका लागि छात्रवृत्तिको व्यवस्था गर्न, ज्येष्ठ पत्रकार वृत्ति सम्पूर्ण ज्येष्ठ पत्रकारहरुलाई उपलब्ध गराउने गरी तथ्याङ्क सङ्कलन गर्नेलगायतका सुविधा उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ ।

श्रमजीवी पत्रकार ऐन तथा नियमावली कार्यान्वयन नगर्ने तथा विभिन्न बहानामा नियमित पारिश्रमिक उपलब्ध नगराउने, दबाबपूर्ण बिदामा राख्ने, अनुचित सरुवा गर्ने तथा निष्कासन गर्ने सञ्चारगृहलाई सहुलियतपूर्ण ऋण तथा अनुदान उपलब्ध नगराउन माग बैठकले गरेको सचिव महेश्वर गौतमले जानकारी दिनुभयो ।

सो अवसरमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले मुलुकमा लोकतन्त्रको स्थापनाका लागि सञ्चारमाध्यमले उल्लेखनीय भूमिका निर्वाह गरेको बताउँदै पत्रकारको हक, हित र अधिकारका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

महासङ्घका केन्द्रीय सचिव गोविन्द चौलागाईंले श्रमजीवी पत्रकार ऐन तथा नियमावली कार्यान्वयन गर्न सरोकार पक्षलाई आग्रह गर्नुभयो । महासङ्घका केन्द्रीय सदस्य शान्तराम बिडारीले पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउनुपर्ने खाँचो औँल्याउनुभयो । सो अवसरमा पत्रकारिताको विकासमा योगदान गरेका राष्ट्रिय समाचार समितिका पूर्णबहादुर कार्कीलगायतलाई सम्मान गरिएको थियो ।

स्वास्थ्यमन्त्रीद्वारा स्वास्थ्य क्षेत्रको अनुसन्धानमा जोड

काठमाडौँ,- उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रको अनुसन्धानमा जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भएको १०औँ स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रका वैज्ञानिकको शिखर सम्मेलनको शुक्रबार समापन गर्दै स्वास्थ्यमन्त्री यादवले स्वास्थ्यका क्षेत्रमा कम अनुसन्धान भएकाले त्यसमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्रको धेरै जोड उपचार र शिक्षामा दिएको उल्लेख गर्दै आजको विज्ञान र प्रविधिको युगमा हाम्रोजस्तो आर्थिक रुपपले पछाडि परेको मुलुकका लागि अनुसन्धानको महत्व रहेको बताउनुभयो ।

परिषद्लाई अझ जनशक्ति र स्रोतको आवश्यकतालाई ध्यान दिने भन्दै स्वास्थ्यमन्त्री यादवले परिषद्लाई प्रादेशिक तहमा विस्तार गरिने बताउनुभयो । उहाँले सम्मेलनबाट निस्केका निष्कर्षलाई सरकारले पृष्ठपोषकका रुपमा लिएर स्वास्थ्यसम्बन्धी नीतिनिर्माण प्रक्रियामा स्थान दिने र अनुसन्धानलाई टेकेर अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले स्वास्थ्य क्षेत्रको अनुसन्धान गर्न बजेट बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले परिषद् आफैले अनुसन्धान गर्ने नभई नियमनकारीका रुपमा हुनुपर्ने भन्दै शिक्षण अस्पताललाई संस्थागत रुपमा अनुसन्धानमा ल्याउनुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य सेवाको पहुँचमा ठीक भए पनि गुणस्तरमा चुकेको उल्लेख गर्दै सचिव पोखरेलले आगामी दिनमा गुणस्तरीय स्वास्थ्य सेवाका बारेमा काम गर्नु आवश्यक रहेको बताउनुभयो ।

परिषद्का अध्यक्ष डा गेहनाथ बरालले स्वास्थ्य क्षेत्रको खाली रहेको ठाउँमा अध्ययन अनुसन्धान हुनुपर्ने बताउनुभयो । परिषद्का सदस्य सचिव डा प्रमोद जोशीले सम्मेलनले स्वास्थ्य क्षेत्रको नीति निर्माणमा सहयोग मिल्ने छ भन्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न अध्ययन अनुसन्धानकर्ताका ७६ मौखिक र दुई सय ७३ पोस्टर प्रस्तुतीकरण गरिएको थियो ।

सम्मेलनमा विभिन्न १० विधामा अवार्ड समेत प्रदान गरिनेछ । सम्मेलनमा प्रस्तुत भएका मौखिक प्रस्तुतीकरणतर्फ किरण आचार्य र पोस्टर प्रस्तुतीकरणमा प्रतीक्षा पौडेलले उत्कृष्ट अवार्ड पाउनुभयो । सम्मेलनमा एक हजारभन्दा बढी अनुसन्धानकर्ता, चिकित्सक, जनस्वास्थ्यविद्लगायतको सहभागिता थियो ।

अन्तर प्रदेश राष्ट्रिय खेलकुद : पुरुष भलिबलको उपाधि गण्डकी र महिलातर्फको उपाधि बागमतीलाई

भरतपुर-अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलको उपाधि गण्डकी प्रदेशले उचालेको छ । भरतपुर गेष्टहाउस चौरमा शुक्रबार
भएको फाइनल खेलमा कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै गण्डकीले उपाधि उचाल्दै स्वर्ण पदक हात पारेको हो । गण्डकीले २५–१८, २५–२२ र २५–१८ को सोझो सेटमा कोशीलाई पराजित गरेको हो । कोशीले रजत पदकमा चित्त बुझायो भने सुदूरपश्चिम प्रदेशले कास्य पदक हात पा¥यो ।

प्रतियोगितामा गण्डकीका हिमाल सुनारी सर्वोत्कृष्ट खेलाडी हुनुभयो भने बेस्ट स्पाइकर गण्डकीकै सरोज बर्देवा, बेस्ट सेटर गण्डकीकै सुजन चोखाल, बेस्ट डिफेन्डर गण्डकीकै कुञ्जन शाही ठकरी, बेस्ट ब्लकर कोशीका पुकार तामाङ र बेस्ट सेभर सुदूरपश्चिमका बलदेव सिंह धामी हुनुभयो ।

यसैगरी, महिलातर्फको उपाधि बागमती प्रदेशले उचालेको छ । फाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै बागमतीले स्वर्ण पदक हात पारेको हो । बागमतीले पहिलो सेट २५–२१, दोस्रो सेट २५–१२ मा जित्यो भने तेस्रो सेट २५–८ को फराकिलो अन्तरले पराजित ग¥यो ।

उपविजेता बनेको गण्डकी रजत पदक जित्यो भने लुम्बिनी प्रदेशले कास्य पदक हात पा¥यो । प्रतियोगितामा उत्कृष्ट स्पाइकर बागमतीकी सलिना बुढामगर, उत्कृष्ट ब्लकर लुम्बिनीकी आरती चौधरी, उत्कृष्ट सेटर बागमतीकी प्रगति नाथ, उत्कृष्ट सरभर गण्डकीकी अरुणा शाही, उत्कृष्ट डिफेन्डर बागमतीकी एन्जिला प्रधान र उत्कृष्ट खेलाडी बागमतीकै सुमित्रा रेग्मी हुनुभयो । उत्कृष्ट प्रशिक्षकको अवार्ड बागमतीका कुमार राईले प्राप्त गर्नुभयो । विजेताहरुलाई बागमती प्रदेशका पूर्वमन्त्री घनश्याम दाहालले पुरस्कार वितरण गर्नुभयो ।

रसिया र युक्रेनमा जाने नेपाली कामदारको श्रम स्वीकृति स्थगन गरिने

काठमाडौँ- रसिया र युक्रेनमा वैदेशिक रोजगारीमा जाने कामदारका लागि श्रम स्वीकृति तत्काललाई स्थगन गरिने भएको छ ।

श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले रसिया र युक्रेनमा श्रम स्वीकृति, व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिने कार्य स्थगन गरेको जानकारी दिएको हो ।  मन्त्रालयद्वारा जारी विज्ञप्तिमा युद्धरत यी दुई देशमा सेनामा सहभागी हुनसक्ने सम्भावना रहेको भन्दै अर्को व्यवस्था नभएसम्म श्रम स्वीकृति स्थगन गरेको उल्लेख छ ।

“रोजगारीका लागि जान चाहने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दा सेनामा सहभागी हुनसक्ने सम्भावना रहेको र सोबाट सृजना हुन सक्ने मानवीय जोखिम समेतलाई दृष्टिगत गर्दै अर्को व्यवस्था नभएसम्म यी दुई देश जाने नेपाली कामदारका लागि श्रम स्वीकृति, व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिने कार्य स्थगन गरिएको छ”, विज्ञप्तीमा उल्लेख छ ।

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा नयाँ वर्षको स्वागत

काठमाडौँ-सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा नयाँ वर्षको स्वागत गरिएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा शुक्रबार साँझ ‘न्यू इयर इभ’ कार्यक्रम आयोजना गरी नयाँ वर्ष २०८१ को स्वागत गरिएको हो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का वडाअध्यक्ष ख्यामराज तिवारीले ठमेलको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि भोलिदेखि ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले अर्बौं लगानी रहेको ठमेल क्षेत्रको व्यापार– व्यवसायलाई अगाडि बढाउनका लागि स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आचारसंहितामा रहेर व्यापार–व्यवसाय सञ्चालन गर्न व्यवसायीलाई आग्रहसमेत गर्नुभयो ।परिषद्का अध्यक्ष भविश्वर शर्माले कोरोनाका कारण थलिएको नेपालको पर्यटन क्षेत्रलाई उकास्नका लागि ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुला गर्दा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका संयोजक एवम् परिषद्का उपाध्यक्ष प्रश्रय राजभण्डारीले नेपाल घुम्न आएका ८० प्रतिशत विदेशी पर्यटक ठमेल घुम्न आउने भएकाले उक्त क्षेत्रको विकासका लागि परिषद्ले काम गरिरहेको बताउनुभयो ।

नेपाल एसोसिएसन टुर एन्ड ट्राभल एजेन्ट (नाटा)का अध्यक्ष रमेश थापा, नेपाल पर्वतारोहण सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुर पाण्डे, परिषद्का पूर्वअध्यक्ष डा रामशरण थपलिया, तेजेन्द्र श्रेष्ठलगायतले ठमेल क्षेत्रलाई चलायमान बनाउनका लागि घरधनी तथा व्यवसायी लाग्नुपर्ने बताउनुभएको थियो ।

समृद्धिका लागि कृषि र पर्यटनमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री महासेठ

सिरहा- उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले देश समृद्ध बनाउन कृषि र पर्यटनको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।

सिरहाको लहानमा जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहाको आयोजनामा सुरु भएको ‘लहान एक्पो ः मधेस प्रदेश अन्तर्राष्ट्रिय महोत्सव २०८०’ को उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री महासेठले देशको सबलता भनेकै कृषि र पर्यटन भएकाले सरकारले सो क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

“देशको आर्थिक वृद्धिदर कमजोर रहेको छ । त्यसको लागि नेपाली जनशक्तिलाई कृषिमा आकर्षित गरी उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्नु आजको आवश्यकता हो । यसलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ”, उहाँले भन्नुभयो ।

सिराहा र मधेस प्रदेशमा रहेका धार्मिक तथा पर्यटकीयस्थलको विकासमार्फत् पर्यटन प्रवद्र्धन गर्न आवश्यक रहेको भन्दै महासेठले धार्मिक, व्यापारिक मेला तथा महोत्सवले त्यस कार्यमा सहयोग पुग्नेसमेत बताउनुभयो ।
‘समृद्धिको आधार, कृषि, पर्यटन उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ आजदेखि सुरू भएको महोत्सव १० दिनसम्म चल्ने छ । महोत्सवमा नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताका एक सय २१ भन्दा बढी कक्ष राखिएका छन् ।

उपराष्ट्रपति यावदद्वारा नयाँ वर्षको शुभकामना

काठमाडौँ, १ वैशाख : उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रदेशलाई संविधानसम्मत अधिकार सम्पन्न बनाउन आह्वान गर्नुभएको छ । नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना दिनुहुँदै उहाँले सङ्घीय प्रणालीलाई थप संस्थागत गर्दै प्रदेशलाई अधिकारसम्पन्न बनाउन सबै एकढिक्का भई अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति यादवले संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख आर्थिक–सामाजिक प्रणाली तथा गणतन्त्रात्मक लोकतान्त्रिक सङ्घीयता र समावेशीतालाई सबैले पालना गर्न सक्ने शक्ति र सामथ्र्य नयाँ वर्ष २०८१ ले प्रदान गर्नेमा विश्वास समेत व्यक्त गर्नुभएको छ ।

“नव वर्ष, २०८१ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, सुदीर्घ र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले भन्नुभएको छ, “सङ्घ, प्रदेश र स्थानीय तहलाई शक्ति र स्रोतको बाँडफाँटमा केही ढिलाइ भएकाले नयाँ वर्षमा सङ्घीय प्रणालीलाई थप संस्थागत गर्दै प्रदेशलाई संविधान सम्मत अधिकार सम्पन्न बनाउन सबै एक ढिक्का भई अघि बढ्ने विश्वास पनि व्यक्त गर्दछु ।”

उपराष्ट्रपति यादवले देशलाई सबल र समुन्नत मुलुक बनाउन सबैलाई प्रतिबद्ध र कटिबद्ध हुनका लागि आह्वान गर्नुभएको छ । मुलुकमा वर्षौंदेखि अक्षुण्ण रहेको विविधता र एकतालाई सम्बोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने सङ्कल्प र प्रण लिने अवसरका रुपमा नयाँ वर्षलाई लिन उहाँको सुझाव छ ।

“मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्व–शासनको अधिकारलाई आत्मसात् गर्दै सङ्घीयतालाई थप सुदृढ र बलियो बनाउन संविधानमा भएका कमीकमजोरीलाई संशोधन गर्दै नयाँ कानुनको आवश्यकता भए वा संविधानको परिमार्जन गर्न पनि सम्बन्धित निकाय किञ्चित विचलित हुन नहुने प्रतिबद्धताका साथ अघि बढन नयाँ वर्षले सबैलाई उत्प्रेरित गर्न सकोस्,” उपराष्ट्रपति यादवले शुभकामना सन्देशमा भन्नुभएको छ ।

शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले नेपालमा बसोबास गर्ने सबै समुदाय, समाज र भूगोलले आ–आफ्नै मौलिक संस्कृति, परम्परा र रीतिरिवाजअनुसार नव वर्ष मनाउनुले हाम्रो मुलुकको मौलिक विशेषता ‘विविधतामा एकता’ लाई सबल र सुदृढ बनाउनमा पनि सहयोग पुग्ने बताउनुभएको छ ।

विक्रम संवत्को नयाँ वर्ष शुभारम्भलाई कतै ‘सतुवाइन’, ‘सिरुवा पावनी’, ‘जुडशीतल’, ‘विश्वध्वजपातन’ (विस्काः जात्रा), ‘खायु संन्हु’ आदिका रुपमा पनि मनाउनुले एउटै तिथि र पवित्र पर्वभित्र रहेका हाम्रा ऐतिहासिक, सांस्कृतिक र धार्मिकलगायत विविध आयाम र मौलिक पहिचानको महत्वलाई पुष्टि गर्ने उहाँको भनाइ छ ।

“संविधानअनुरुप जनताको प्रतिस्पर्धात्मक सङ्घीय बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्य, समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माणका लागि प्रतिबद्धता र दृढता व्यक्त गर्ने अवसरका रुपमा पनि नयाँ वर्षलाई लिनुपर्दछ”, उहाँको भनाइ छ ।

यस्तै, शुभकामना सन्देशमार्फत उपराष्ट्रपति यादवले वैदेशिक रोजगारीका लागि निरन्तर रुपमा विभिन्न मुलुकमा विदेशिनुले नेपाली नागरिकले गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा हुन कठिन हुने चिन्ता समेत व्यक्त गर्नुभएको छ । उहाँले विदेश पलायनको समस्या समाधान उन्मुख हुनुपर्नेमा जोड दिनुभएको छ ।

सभामुखद्वारा समस्त नेपालीमा नयाँ वर्षको शुभकामना

काठमाडौँ, १ वैशाख : सभामुख देवराज घिमिरेले नयाँ वर्ष २०८१ ले समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु नेपालीबीच एकता, पारस्पारिक मेलमिलाप तथा भाइचारा सम्बन्ध विकासमा प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

सभामुख घिमिरेले आज जारी गर्नुभएको शुभकामना सन्देशमा नयाँ वर्ष २०८१ प्रारम्भ भएको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । सभामुख घिमिरले नयाँ वर्षमा नयाँ जोस, जाँगर, उमङ्ग र उत्साहका साथ समृद्धि, सुशासन तथा मुलुकको नवनिर्माणमा जुट्न हार्दिक अपिल गर्नुभएको छ ।

“जबसम्म मुलुकमा आर्थिक, सामाजिक, भौतिकसँगै नागरिकको जीवनस्तर उकासिँदैन तबसम्म देश समृद्ध भएको मानिँदैन,” शुभकामना सन्देशमा उल्लेख छ, “व्यक्तिगत सुख, समृद्धि र रोजगारीका लागि ठूलो सङ्ख्यामा युवाहरू प्रवासी जीवन रोज्न बाध्य बनिरहेको विद्यमान अवस्थामा राजनीतिक नेतृत्वले जनतालाई केन्द्र बनाएर नीति र योजना बनाउन जरुरी छ ।”

लोकतन्त्रको प्रवद्र्धन र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्न नेपालले प्राप्त गरेका सफलता विश्वमा नै उदाहरणीय रहको र अब मुलुकलाई विकास र समृद्धिको युगतर्फ अगाडि बढाउन राजनीतिक दलहरूबीच उच्चस्तरीय समझदारी, आवश्यक विवेक र क्षमता प्रदर्शनको प्रयत्न अपेक्षित रहेको सभामुख घिमिरेको सन्देशमा उल्लेख छ । विकास, समृद्धि र सुशासनका पक्षमा नेपालको सङ्घीय संसद् गुणस्तरीय कानुन निर्माणमा सदैव प्रयत्नशील रहेको सन्देशमा उल्लेख छ ।

“हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधतायुक्त मुलुक हो, हामी पारस्परिक एकता, सहिष्णुता र मेलमिलापका साथ संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनको चरणमा छौँ,” सभामुख घिमिरेको सन्देशमा उल्लेख छ, “संविधान जारी भएपछि दुईपटक तीनै तहका निर्वाचन सम्पन्न भए पनि विकास, स्थायित्व र दिगो शान्तिको पक्षमा प्रकट भएको जनताको चाहनालाई मूर्तरूप दिन अझै उच्चस्तरको प्रयास गर्नुपर्ने देखिएको छ ।”

विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्ष २०८१ सालको मूल जिम्मेवारी : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको सुधारमार्फत समृद्धिको बलियो जग बसाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्ष २०८१ सालको मूल जिम्मेवारी भएको बताउनुभएको छ ।

नव वर्ष २०८१ का अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री दाहालले सत्ता समीकरणमा आबद्ध दलको सम्बन्धलाई सुदृढ तुल्याउँदै सहमति र सहकार्यको संस्कृति एवं राजनीतिक स्थिरता सुदृढ बनाउनु तथा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउनु अहिलेको मुख्य प्राथमिकता भएको बताउनुभयो । उहाँले यी प्राथमिकता तथा प्रयासमार्फत देश र जनतामा आशाको नयाँ रक्तसञ्चार पुनःजागृत हुने विश्वास व्यक्त गर्नुभएको छ । मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु सबैको सर्वोपरि लक्ष्य रहेको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभएको छ ।

“यस साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबै नेपालीबीच एकता, पारस्परिक मेलमिलाप, आत्मीयता र सौहार्दपूर्ण भावनालाई अभिवृद्धि गर्दै नयाँ वर्षलाई उपलब्धि र समृद्धिको ऐतिहासिक मानकका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै फेरि एकपटक समस्त नेपालीमा शुभकामना व्यक्त गर्दछु”, प्रधानमन्त्री दाहालले सन्देशमा भन्नुभएको छ ।

सङ्घीयताको प्रभावकारी कार्यान्वयन, सुशासनका निम्ति चालिएका दूरगामी कदम र प्राप्त उपलब्धि, सेवा प्रवाहमा सरलता, समस्याग्रस्त आर्थिक क्षेत्रको सुधारमा अग्रसरता, जनताका समस्याको प्रत्यक्ष सम्बोधन, देशको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रमा प्राप्त सफलता २०८० सालका आशालाग्दा राष्ट्रिय उपलब्धिका रुपमा रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

प्रधानमन्त्री दाहालले २०८० साल पूरा भई नयाँ वर्ष २०८१ साल प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । नयाँ वर्षको सुरूआतसँगै सबै नेपालीमा नयाँ जोश, नयाँ उमङ्ग र नयाँ उत्साहका साथ आ–आफ्नो कर्मक्षेत्रमा जुट्नेछौँ भन्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । विगत वर्षका अनुभवबाट शिक्षा लिई नयाँ वर्षमा अझ बढी मेहनतका साथ आ–आफ्ना कार्यक्षेत्रमा खटिई सुशासन, समृद्धि र सामाजिक न्यायका निम्ति समर्पित हुन प्रधानमन्त्री दाहालले आह्वान गर्नुभएको छ ।

राष्ट्रपति पौडेलद्वारा नयाँ वर्ष २०८१ सालको सम्पूर्ण नेपालीलाई शुभकामना

काठमाडौँ, १ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिनुभएको छ । नयाँ वर्ष २०८१ सालको अवसरमा राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिनुहुँदै देशको अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गर्न आन्तरिक स्रोतलाई सदुपयोग गर्न सकिने बताउनुभयो ।

“नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो । हामीले यस अघि थाती राखेका योजनालाई कार्यान्वयनमा ल्याई देश निर्माणका गतिविधिमा जुट्न म सबैलाई अनुरोध गर्दछु”, शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भन्नुभएको छ, “मुलुकको समृद्धि र समुन्नतिका लागि स्वदेशी उत्पादनलाई बढावा दिनाका साथै उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नेतर्फ अबका हाम्रा प्रयास केन्द्रित हुनुपर्छ ।”

राष्ट्रपति पौडेलले देश निर्माणमा एकजुट हुन आग्रह गर्नुभएको छ । विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न रोजगारी र अवसरको सृजना गर्ने नीति कार्यान्वयन गर्नुपर्ने उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा‚ स्वास्थ्य, कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर सोही अनुसारका नीतिहरू अवलम्बन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन म सङ्घीय, प्रदेश र स्थानीय सरकारका साथै सम्बद्ध सबैमा आह्वान गर्दछु ।”

यस्तै राष्ट्रपति पौडेलले देशमा सम्पन्नता र सभ्यताको निर्माणको शुभकामना दिनुभएको छ । “द्वन्द मच्चाउने र बाहुबलीयतातिर धकेल्ने होइन, निमुखालाई न्याय र विपन्नलाई आय दिलाउने तथा नेपालीलाई नेपाल नै रमाइलो लाग्ने सम्पन्नता र सभ्यताको निर्माण गर्न सफलता मिलोस् । यसका लागि नव वर्ष २०८१ ले हामी सबैलाई प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु”, राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।

राष्ट्रपति पौडेलले विकाससहितको विज्ञान र प्रविधिसँगैको स्वच्छ–सफा पृथ्वी बनाउन आह्वान गर्नुभएको छ । “नयाँ वर्षमा भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिको सामना गर्न नपरोस् भन्ने पनि म कामना गर्दछु”, शुभकामना सन्देशमा उल्लेख छ ।

आइफोन प्रयोगकर्तालाई स्पाइवेयर आक्रमणको चेतावनी

एप्पलले विश्वका ९२ देशका प्रयोगकर्तालाई पैसाका लागि स्पाइवेयर आक्रमणको निशाना बन्न सक्ने चेतावनी दिँदै सूचना पठाएको टेकक्रन्चले जनाएको छ ।

“तपाईंलाई स्पाइवेयरले पैसाका लागि आक्रमण गरिएको एप्पलले पत्ता लगाएको छ, यसले तपाईंको एप्पल आइडीसँग सम्बन्धित आइफोनलाई टाढाबाट सहयोग गर्न प्रयास गरिरहेको छ,” सन्देशमा भनिएको छ ।

घटनाका बारेमा थप जानकारी साझा गर्नका लागि एप्पललाई ‘सावधान’ गराइएको छ ।

चेतावनी सन्देशमा भनिएको छ, “तपाईंको हुनुहुन्छ वा तपाईं के गर्नुहुन्छ भन्ने कारणले यो आक्रमणले तपाईंलाई विशेषरूपमा लक्षित गरिरहेको हुन्छ । यद्यपि यस्ता आक्रमण पत्ता लगाउँदा पूर्ण निश्चितता प्राप्त गर्न कहिल्यै सम्भव हुँदैन तर एप्पललाई यो चेतावनीमाथि पूरा भरोसा छ, त्यसैले कृपया यसलाई गम्भीरतापूर्वक लिनुहोस ।”

दक्षिण कोरियाद्वारा दशौँ पटक नीतिगत दर स्थिर

दक्षिण कोरियाको केन्द्रीय बैंकले शुक्रबार मुद्रास्फीति र घरेलु ऋणको अनिश्चितताका बीच लगातार दशौँ पटक नीतिगत दरलाई स्थिर बनाएको छ ।

बैंक अफ कोरिया (बिओके) का गभर्नर री चाङ–योङ र अन्य मौद्रिक नीति निर्माताहरूले सात दिवसीय पुनरखरिद दरलाई तीन दशमलव पाँच प्रतिशतमा अपरिवर्तित राख्ने सर्वसम्मतिले निर्णय गर्नुभएको छ । यो बजारको अपेक्षाअनुरूप थियो ।

कोरिया फाइनान्सियल इन्भेस्टमेन्ट एसोसिएसनका एक सय निश्चित आय विशेषज्ञको सर्वेक्षणअनुसार ९८ प्रतिशतले यो महिना दर स्थिर हुने भविष्यवाणी गरिएको छ ।

बिओकेले सन् २०२१ अगस्ट र सन् २०२३ जनवरीको बीचमा नीतिगत दरमा तीन प्रतिशत अङ्कको बढोत्तरीपछि यस वर्षको जनवरी र फेब्रुअरीमा तथा गत वर्ष सात पटक दरलाई रोकेको थियो । अझै पनि उच्च मुद्रास्फीति र ठूलो मात्रामा घरेलु ऋणजस्ता बाँकी अनिश्चितताबीच दरमा लगातार गिरावट आएको छ ।

गभर्नर रीले पत्रकार सम्मेलनमा उपभोक्ता मूल्य मुद्रास्फीति यस वर्षको अन्त्यसम्ममा दुई दशमलव तीन पुग्न सक्छ वा सक्तैन भन्ने महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले मुद्रास्फीति दुई दशमलव तीन प्रतिशतभन्दा माथि रह्यो भने यस वर्षको दोस्रो छ महिनामा ब्याज दरहरूमा कटौती गर्न कठिन हुनसक्ने बताउनुभयो ।

मार्चमा उपभोक्ता मूल्य एक वर्षअघिको तुलनामा तीन दशमलव एक प्रतिशतले बढेको छ । यो लगातार दोस्रो महिना तीन प्रतिशतभन्दा माथि छ । यो बिओकेको दुई प्रतिशतको मध्यावधि मुद्रास्फीति लक्ष्यमा उच्च अवस्थामा रहेको छ ।

सन् २०२२ जुलाईमा छ दशमलव तीन प्रतिशतको उच्च अवस्थामा पुगेपछि कूल मुद्रास्फीतिमा गिरावट आइरहेको थियो र गत वर्ष जुलाईमा यो दुई दशमलव चार प्रतिशतको तल्लो स्तरमा झरेको थियो ।

हालैका महिनाहरूमा कृषि उत्पादनको मूल्यमा भएको वृद्धिले मुद्रास्फीतिको दबाब बढेको छ । यो मार्चदेखि लगातार दोस्रो महिनामा २० प्रतिशतभन्दा धेरै भएको छ । कृषि उत्पादनको मूल्य र विश्वव्यापी तेलको मूल्यमा भएको वृद्धिका कारण फेब्रुअरी र मार्चमा उपभोक्ता मूल्य मुद्रास्फीति तीन दशमलव एक प्रतिशतमा रहेको बिओकेले जनाएको छ ।

उपभोक्ता मूल्य मुद्रास्फीति बिस्तारै मध्यम हुने अपेक्षा गरिए पनि भूराजनीतिक जोखिम, विश्वव्यापी तेलको मूल्य र कृषि उत्पादनको मूल्यका कारण मुद्रास्फीति दृष्टिकोणमा अनिश्चितता बढेको बैंकले उल्लेख गरेको छ ।

सुनकोसी मरिण डाइभर्सनः वैशाख २६ गते ब्रेक थ्रुको तयारी

काठमाडौँ – सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङको निर्माणको काम अब पाँच सय १० मिटर मात्रै बाँकी रहेको छ । आयोजनाले आगामी वैशाख २६ गते ‘ब्रेक थ्रु’ गर्ने तयारी गरेको छ ।तराई–मधेसमा १२ महिना नै सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल गरेको छ । कुनै भौगोलिक जटिलता उत्पन्न नभएको खण्डमा आगामी वैशाख २६ गते विशेष समारोहको आयोजना गरी सुरुङ ब्रेक थ्रु गर्ने तयारी गरिएको आयोजनाले जनाएको छ ।

सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये हालसम्म १२ दशमलव सात सय ९० किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ । “सुरुङ निर्माणका क्रममा सामान्य भौगोलिक जटिलता पुनःउत्पन्न भयो, हामीले त्यसलाई समाधान गरेर अगाडि बढ्यौँ”, आयोजना प्रमुख बरालले भन्नुभयो, “ग्राउटिङलगायतका विधि प्रयोग गरेर समस्याको समाधान भएको छ । सुरुङ निर्माण निरन्तररुपमा अगाडि बढिरहेको छ ।”

सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएको छ । भेरी बबई डाइभर्सन आयोजनापछि सुनकोसी मरिणमा पनि टिबिएम मेसिन प्रयोग गरिएको हो । उपकरणको प्रयोग गरी सुरुङ निर्माण गर्दा त्यसले सकारात्मक प्रभाव पारेको छ । अन्य आयोजना पनि त्यस्तै उपकरणको प्रयोग गर्न सकारात्मक वातावरण बनेको बताइएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजना प्रमुख लगायतका अधिकारीलाई आयोजना स्थल नछाड्न, स्थानीयस्तरमा नै समस्या समाधान गर्न तथा आयोजनाको काममा कुनै पनि गत्यावरोध आउन नदिन स्पष्ट शब्दमा निर्देशन दिनुभएको छ । सोही कारण पनि आयोजनाले अपेक्षित सफलता हासिल गरेको छ । निर्माण व्यवसायी परिचालनमा विशेष ध्यान दिन तथा आवश्यक सहजीकरण गरी हरेक १५ दिनमा जलस्रोत तथा सिँचाइ विभाग र हरेक एक महिनामा आयोजनाको समग्र प्रगति विवरण प्रस्तुत गर्न मन्त्रालयले निर्देशन दिएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियमितरुपमा आयोजनाका सन्दर्भमा चासो राख्दै आउनुभएकाले पनि आफूहरुलाई काम गर्न सहज भएको आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख बरालका अनुसार २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । नेपालका विद्युत् तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरेर खनिएको भने दोस्रो पटक हो । यसअघि भेरी–बबई डाइभर्सन आयोजनामा पनि टिबिएमको प्रयोग गरिएको थियो । पहाडी भूभाग बढी भएको नेपालमा सुरुङ खन्न अब टिबिएम प्रभावकारी उपकरणका रुपमा स्थापित भएको छ ।

सुनकोसी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको सो आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काममा भने सोहीअनुसार भएको छैन । बाँध तथा विद्युत् गृह निर्माणमा संलग्न निर्माण व्यवसायीले तोकिएअनुसार काम गर्न सकेको छैन ।

निर्माण व्यवसायीले काम गरिरहेको भए पनि बाँध निर्माणमा अपेक्षित प्रगति भएको छैन । विद्युत् गृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ । प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेको छ ।

सुनकोसी मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ । बाँध तथा विद्युत् गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इञ्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ । आगामी वैशाखसम्म बाँध निर्माणलाई एउटा स्तरमा पु¥याउने लक्ष्य राखिएको छ । वैशाखपछि नदीमा जलसतह बढ्ने भएकाले काम गर्न समस्या हुनेछ ।

यस्तै, विद्युत् गृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ । सो आयोजनाबाट तराई–मधेसका कूल एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । राष्ट्रिय गौरवका आयोजना भएकाले स्रोतको कुनै अभाव नहुने प्रधानमन्त्री र ऊर्जामन्त्रीको प्रतिबद्धता भएकाले आफूहरुलाई काम गर्न सहज भएको आयोजना प्रमुख बरालको टिप्पणी छ ।

यसअघि सुरुङ निर्माणमा भौगर्भिकरुपमा रहेको जटिलताका कारण तीन पटक समस्या देखिएको थियो । सुनकोसी गाउँपालिका–७ कानढुङ्ग्रीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोसी नदीलाई मरिण खोलामा पथान्तरण गरिनेछ । सुनकोसीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यसपछि बाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । त्यस्तै सो आयोजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुनेछ ।

आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले गरिरहेको छ । बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । विसं २०८४ को असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भेरी बबई डाइभर्सन आयोजनामा सुरुङ निर्माण सम्पन्न भएको लामो समय भए पनि बाँध र विद्युत् गृह निर्माणले गति नलिँदा देखिएको व्यवधान सुनकोसी मरिणमा आउन नदिन सरकार उत्तिकै चनाखो देखिएको छ ।

सो आयोजना सम्पन्न भएपछि अन्न भण्डारका रुपमा रहेको मध्यतराईका पाँच जिल्लामा वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध हुनेछ । त्यसले खाद्यउपज उत्पादनमा गुणात्मक परिवर्तन आउनेछ । सो आयोजनामा प्रयोग भएको टिबीएम उपकरण प्रयोग गरी फुर्कोट–फूलबारी सुरुङ निर्माण गर्ने प्रारम्भिक तयारी गरिएको छ । टिबिएमलाई केही परिवर्तन गरी सडक पूर्वाधारमा प्रयोग हुने सुरुङ निर्माण गर्न सकिने बताइन्छ ।

शिक्षा गुणस्तरीय बनाउन आधारभूत शिक्षा सुधार्नुपर्छ’ – मन्त्री चौधरी

काठमाडौँ, ३० चैत : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले भावी शिक्षा गुणस्तरीय बनाउन आधारभूत शिक्षा सुधार जरुरी रहेको बताउनुभएको छ ।

काठमाडौँमा आज आयोजित दुर्गा दाहाल ७२औँ जन्मजन्ती समारोहमा मन्त्री चौधरीले बालमैत्री पाठ्यक्रम र योग्य शिक्षकबाट शिक्षामा परिवर्तन ल्याउन सकिने धारणा राख्नुभयो । धनकुटा जिल्ला चौबिसे गाउँपालिका–३ का दुर्गा दाहाल शिक्षक, समाजसेवी र सहकारी अभियानकर्मी हुनुहुन्थ्यो । स्मृति कार्यक्रममा उहाँले समाजमा दिएको योगदानको चर्चा गरिएको थियो । यसै सन्दर्भमा मन्त्री चौधरीले दिवङ्गत श्रीमान् दिनेश चौधरीको स्मरण गर्नुभएको थियो । श्रीमान्ले समाजमा छोटो समयमा गरेका सकारात्मक कार्यको प्रशंसा गर्दै उहाँको सपना आफूले साकार पार्दै गरेको बताउनुभयो ।

“दिनेशजी सारै ऊर्जावान हुनुहुन्थ्यो”, मन्त्री चौधरी सम्झनुहुन्छ, “उहाँले देखेका सपना पूरा गर्न दिनेश स्मृति प्रतिष्ठानबाट समाज सेवाका काम निरन्तर गरिरहेका छौँ ।” उहाँले दिनेश र दाहाल जस्ता थुप्रै सकारात्मक सोच भएका व्यक्तिको स्मृति समाजमा थप असल काम गर्न हौसला प्रदान हुने बताउनुभयो ।

दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समितिले कार्यक्रममा मानवशास्त्री एवं प्रा डा डम्बर चेम्जोङलाई सम्मान गरेको थियो ।

मन्त्री चौधरीद्वारा उहाँलाई ताम्रपत्र, दोसल्ला र १० हजार नगद हस्तान्तरण गरिएको थियो । चेम्जोङले २०३५ सालदेखि शिक्षा सेवामा लागेको र दुर्गा दाहालको अभिभावकत्वमा काम गर्न पाएको अनुभव सुनाउनुभयो । “त्यतिबेला शिक्षाको स्थिति अत्यन्त नाजुक थियो”, उहाँले बाल्यकालको शिक्षा स्मरण गर्दै भन्नुभयो, “शिक्षा नीति सुधार्ने आधारभूत विद्यालयबाटै हो ।” डा डम्बरले दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समितिलाई सहयोगस्वरुप रु ५० हजार प्रदान गर्ने वचन दिनुभयो ।

राससका महाप्रबन्धक सिद्धराज राईले मित्रवत् व्यवहार र उद्देश्यप्रतिको लगाव कस्तो हुनुपर्छ भन्ने कुरा दुर्गा दाहालको जीवनीले सिकाएको बताउनुभयो । “मान्छे हारेपछि थाक्छ”, महाप्रबन्धक राईले भन्नुभयो, “तर दुर्गा दाहाल सरबाट हरेस खाने र थाक्ने शब्दै थिएन ।” सहकारीलाई व्यवस्थित गर्न धनकुटामा बैठक गरिरहेका बेला उहाँको हृदयाघातबाट मृत्यु भएको थियो । दुर्गाले पढाएका विद्यार्थी लोकेन्द्र याख्खाले किताबी ज्ञानसँगै नैतिक शिक्षा समेत उहाँबाट प्राप्त गरेको स्मरण गर्नुभयो ।

स्थिरता र समृद्धिमा लाग्न प्रेरणा आओस्ः अध्यक्ष रेग्मी

काठमाडौँ, ३० चैतः मन्त्रिपरिषद्का पूर्वाध्यक्ष खिलराज रेग्मीले परिवर्तनकारी शक्ति सबैले गम्भीर बहस र विमर्श गर्दै आगामी लक्षित मार्ग तय गर्नु जरुरी भइसकेको बताउनुभएको छ । नव वर्ष २०८१ का पूर्वसन्ध्यामा आज शुभकामना सन्देश दिँदै उहाँले नेपालीका बीच शान्ति, सद्भाव र एकता कायम गर्दै स्थिरता र समृद्धिको यात्रामा लाग्न सबैलाई प्रेरणा प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।

नयाँ संविधान निर्माणपछि दुई पटक निर्वाचन भइसक्दा पनि मुलुकको स्थायित्व र समृद्धिको यात्रा धर्मराउँदो रहेको भनी चिन्ता व्यक्त गर्दै उहाँले अब पनि नभए कहिले हुने’ भन्ने प्रश्न सबैकासामु खडा भएको जनाउनुभएको छ ।

पूर्वप्रधानन्यायाधीश रेग्मीको सन्देशमा भनिएको छ, “केन्द्रमा सत्ता समीकरण फेरिइरहँदा प्रदेश सरकारहरू तासका घर झैँ ढलिरहेका छन् । यस अवस्थामा स्थायित्व र समृद्धि कसरी ? ‘के सोचँें मैले के हुँदैछ अहिले’ भन्ने जस्तो भएको छ ।”

लामो समयदेखि आर्थिक, सामाजिक रूपान्तरण र परिवर्तनका लागि हामी आजपर्यन्त सङ्घर्षरत रहेको जनाउँदै उहाँले समय र श्रम राजनीति व्यवस्थापनमै बढी खर्च गर्नुपर्दा अन्य गतिविधि सुस्त र कामचलाउ प्रकृतिका मात्र भएको विचार प्रकट गर्नुभएको छ ।

उहाँले यस अवसरमा देशविदेशमा रहनुभएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा नयाँ वर्षको शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

विसं २०८० : मेलम्ची पर्खंदै बित्यो आधा वर्ष

काठमाडौँ : पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उत्पत्यकावासीलाई मेलम्चीको पानी ल्याएर पिलाउँछु भन्दै सपना बाँड्दा आकाशको फल भनेर कसैैले पत्याएनन् । उल्टो उहाँलाई पागलको सङ्ज्ञा दिँदै यस्तो असम्भव कुरा बोल्ने भनेर भनिन्थ्यो । उहाँको दीर्घकालीन सोच असम्भव रहेनछ भन्ने कुरा पुष्टि गर्न तीन दशकभन्दा बढी समय लाग्यो ।लामो समयमको प्रतिक्षापछि उपत्यकावासीको धाराधारामा मेलम्ची खानेपानी आयो । बढ्दो जनङ्ख्यासँगै पानी आवश्यकता पनि बढ्न थाल्यो । काकाकुल काठमाडौँको तिर्खा मेटाउन आएको मेलम्चीले उपत्यकावासीमा खुसी ल्यायो । पानीको अभाव बढेपछि रातभरि निन्द्राको माया मारेर पानीका लागि लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएकामा उपत्यकावासीमा खुसी छाएको थियो ।

मेलम्ची खानेपानी आयोजनाको पहिलो उद्घाटन तत्कालीन खानेपानी मन्त्री बिना मगरले विसं २०७७ असार २१ गते गर्नुभएको थियो । आयोजना सुरु भएको २२ वर्षपछि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७७ चैत २० गते काठमाडौँको भृकृटीमण्डपमा निर्माण गरिएको ढुङ्गेधारा खोलेर आयोजनाको औपचारिकरुपमा उद्घाटन गर्नुभएको थियो ।

दुई वर्षअघि मेलम्चीमा बाढी नआएको भए यहाँका उपभोक्ताको धारामा निरन्तर खानेपानी आउने थियो । दुई र्वअघि मेलम्चीमा आएको बाढीसँगै उपत्यकाबासीको खुसी पनि बगायो । गृह मन्त्रालयको तथ्याङ्कअनुसार मेलम्चीको बाढीका कारण आयोजनामा करिब रु दुई अर्बको क्षति भएको थियो । बाढीका कारण आयोजना नै अनिश्चित बन्यो ।

खानेपानी तथा सरसफाई मन्त्रालयले मनसुनजन्य विपद्बाट आयोजनालाई जोगाउन मनसुन सुरु हुनुअगावै आयोजना बन्द गर्दै आएको छ । सरकारलाई हिउँदमा खोल्नुपर्ने र बर्खामा बन्द गर्नुपर्ने बाध्यता जस्तै भएको छ । यो अवस्थाले उपत्यकाबासीमा फेरि निरासा पैदा भएको छ । गत साउन २८ र २९ गते आएको बाढीले आयोजनाको संरचनामा पुनःक्षति पु¥यायो ।

उक्त बाढीसँगै पानी वितरण रोकिएकामा खानेपानी मन्त्रालयले मनसुन सकिएपछि पुनःवितरण गरिने बताउँदै आएको थियो । मनसुन सकि पनि उपत्यकावासीका धारामा भने मेलम्चीको पानी आएन । मौसम पूर्वानुमान माहाशाखाकाअनुसार जुन १० देखि नेपालमा मनसुन अवधि सुरु भई चार महिनासम्म रहन्छ ।

मन्त्रालयका तत्कालीन सचिव रामआधार साहले आयोजना सुधारका लागि ठेक्का सम्झौता गर्ने निर्माण कम्पनीसँग कहिले संरचनाको विषय, कहिले भुक्तानी तथा मुआब्जाको विरोधलगायत कारण सुधारको काममा ढिलाइ हुँदा मनसुन सकिएलगत्तै खानेपानी उपत्याकामा ल्याउन नसकिएको बताउनुभयो ।

मन्त्रालयका अनुसार पहिरोले आयोजनाको हेडवक्र्समा क्षति पुगेको थियो । उक्त पहिरो पन्छाएर हेडवक्र्स सुधारको काम अगाडि बढाउनका लागि मन्त्रालयले चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोसँग आग्रह गरेको थियो ।

‘फास्ट ट्र्याक’मा आयोजना पुनःनिर्माण अगाडि बढाउन सरकारले यस सिनो हाइड्रोसँग गरेको सम्झौताको समयावधि नसकिएकाले मन्त्रालयले उक्त कम्पनीलाई पुनःनिर्माण अगाडि बढाउन आग्रह गरेको साहले बताउनुभयो । सम्झौता अवधि नसकिएकाले प्रक्रियागत सहजतासँगै निर्माण कम्पनीले आयोजना सुधारको कामका लागि बाटो खोलिदियो ।

आयोजनाको अस्थायी सुधारपछि गत माघ १ गते उपत्यकामा पुनःमेलम्ची खानेपानी वितरण भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि रहेको ‘ढुङ्गेधारा’ खोलेर खानेपानीको पुनःवितरण शुभारम्भ गर्नुभएको थियो ।

दिगो समाधानका लागि रु साढे चार अर्ब लागत
मेलम्ची खानेपानी आयोजनाको दिगो समाधानका लागि करिब रु चार अर्ब ५० करोड लाग्ने अध्ययनले प्रारम्भिक अनुमान गरेको छ । उक्त लागत सरकारको आन्तरिक स्रोतले नपुग्ने मन्त्रालयको भनाइ छ । कार्यकारी निर्देशक अन्सारीले लागत व्यवस्थापनका लागि दातृ निकायसँग अनुरोध गर्ने तयारी भइरहेको बताउनुभयो ।

कार्यकारी निर्देशक अन्सारीका अनुसार नयाँ हेडवक्र्स निर्माणका लागि करिब पाँच वर्ष लाग्नेछ । उहाँले ग्रावेल र सेडिमेन्ट हटाउने प्रणाली सुरुङभित्रै निर्माण गर्ने, बाढीका कारणले निर्मित संरचनामा कुनै असर नपर्ने, प्रस्तावित नयाँ इन्टेकसम्म पुग्न सुरुङभित्रै मार्ग निर्माण गरिने जानकारी दिनुभयो ।

वर्षात्का समयमा रेखदेख, मर्मत र सम्भारमा समस्या नपर्ने, याङ्ग्रीबाट आउने सुरुङलाई हालको मेलम्ची सुरुङमा सिधै जोडिने भन्दै यसले एउटा नदीमा समस्या भए पनि अरु दुई वटा नदीबाट निरन्तर उपत्यकामा पानी प्रवाह गर्न सकिने बताउनुभयो ।

मेलम्चीको वैकल्पिक व्यवस्था जरुरी
गत साता मन्त्रालयले आयोजना गरेको खानेपानीको दिगो व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा धारणा राख्दै प्रतिनिधिसभा सदस्य तथा अन्य सरोकारवालाले खानेपानीका लागि मेलम्चीबाहेक अन्य विकल्प पनि खोजी गरिनुपर्नेमा जोड दिनुभएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव सुरेश आचार्यले काठमाडौँमा बढ्दो जनसङ्ख्यासँगै मेलम्ची खानेपानीले आवश्कता अनुसारको माग पूरा गर्न नसक्ने भन्दै अन्य वैकल्पिक स्रोतको विषयमा छलफल भइरहेको जनाकारी दिनुभयो ।

मेलम्ची आयोजना पनि अनिश्चित भइरहेकाले खानेपानीको वैकल्पिक व्यवस्थापनका लागि अन्य स्रोतको खोजी हुनुपर्नेमा सहभागीले जोड दिएका हुन् । सिस्नेरी, कुलेखानीको ड्यामको पानी प्रयोग गर्न सकिने, त्रिशूलीको पानी लिफ्टिङ गरेर, बागमती, शिवपुरी कोड्कुको खानेपानी पनि विकल्प हुनसक्ने विज्ञले सुझाएका छन् ।

यस्तो छ आयोजनाको बेलिविस्तार
मेलम्ची खानेपानी आयोजना नेपालको राष्ट्रिय गौरवको आयोजना हो । बहुप्रतिक्षित आयोजना भएकाले यसप्रति सबैको सरोकार रहेको छ । सिएमसी कम्पनीसँग ठेक्का सम्झौता तोडेपछि मेलम्चीको पानी काठमाडौँ आउला त? भन्ने प्रश्न जन्मिएको छ ।

काठमाडौँको खानेपानी व्यवस्थापनका लागि विश्व बैंकको सहयोगमा सन् १९७२ मा आयोजनाको अध्ययन भएको थियो । सन् १९९२ मा स्नो माउण्टेन इञ्जिनियरिङ एण्ड कन्सल्ट्यान्टद्वारा सम्भाव्यता अध्ययन भई मेलम्ची नदी डाइभर्सन उत्तम विकल्पका रुपमा पहिचान भएको थियो । आयोजना कार्यान्वयनका लागि सन् १९९८ मा मेलम्ची खानेपानी विकास समिति गठन भएको थियो ।

सन् १९९९–२००० मा आयोजनाको विस्तृत डिजाइन प्रतिवेदन (डिपीआर) तयार भएको आयोजनमा विद्युत् उत्पादन तथा रिबर्मा सुन्दरीजल प्रसारण लाइनसहितको प्रस्ताव राखिएका थियो भने तत्कालीन लागत ४६४ मिलियन अमेरिकन डलर रहेको थियो ।दातृ निकायबीच भएका ुहमतिका आधारमा विद्युत् तथा प्रसारण लाइन हटाइएको थियो । सन् २००१ मा एसियाली विकास बैंकद्वारा १२० मिलियन अमेरिकी डलर बराबरको लगानी गर्नेगरी ऋण स्वीकृत भएपछि मेलम्ची खानेपानी आयोजना सुरु भएका हो ।

सन् २००५ मा नोराड, सिडा र विश्व बैंकले ऋण लगानीको प्रतिवद्धता फिर्ता लिएपछि लगानीको अभाव भएसँगै आयोजना कार्यान्वयनमा समस्या हुन थालेको आयोजना कार्यालयको भनाइ छ ।सन् २००८ सम्म आयोजनाका सहायक कामअन्तर्गत जग्गा अधिग्रहण, पहुँच मार्गको निर्माण, क्याम्प साइट निर्माणलगायत सम्पन्न भएसँगै हेडवक्र्स र सुरुङ्ग निर्माण सुरु भएको थियो । सन् २००५ मा एसियाली विकास बैंकको ऋण सम्झौताका सर्त अनुसार काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, खानेपानी महसुल निर्धारण आयोग तथा काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड अध्यादेशमार्फत् खडा गरिएको आयोजना हो ।

सन् २००७ मा एसियाली विकास बैंकको ऋण सम्झौताको अवधि समाप्त भएपछि पुनःसम्झौता हुन नसक्ने अवस्थामा आयोजनालाई सन् २००८ मा पुनःसंरचना गरी दुई भागमा विभाजन गरिएको थियो । साथै लागत अनुमान ३१७ मिलियन अमेरिकी डलर कायम गरिएको थियो ।

सन् २००८ देखि सुरुङ निर्माणको खरिद प्रक्रिया सुरु गरी जनवरी २००९ मा चिनियाँ निर्माण व्यवसायीसँग सम्झौता भएको थियो । तत्कालीन समयमा आयोजना सम्पन्न गरिने म्याद सेप्टेम्बर २०१३ रहेको थियो ।

नागरिकले कहिले पाउलान् मौलिक हक प्रत्याभूति गर्न ?

नेपालको संविधानिक व्यवस्था अनुसार प्रत्येक नागरिकको खानेपानीको सहज पहुँचलाई मौलिक हकका रुपमा व्याख्या गरेको छ । अहिलेको अवस्थामा नागरिकहरुले कहिले पाउँलान् आफ्नो मौलिक हकको प्रत्याभूति गर्न ? हरेक दलका नेताले चुनावी एजेन्डामा प्रथामिकताका साथ राख्ने गरेका खानेपानीको सहज आपूर्तिको व्यवस्थापन चुनाव पछि अन्योल बन्ने गरेको उपभोक्ताको भनाइ छ ।

गुणस्तरीय पानी कहिले ?

खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घले सरकारले गुणस्तरीय खानेपानी वितरणका कार्यक्रमलाई प्राथमिकतामा राख्न नसकेको आरोप लगाएको छ । मन्त्रालयका उपसचिव मधु तिमल्सिनाका अनुसार हाल २७ प्रतिशतले मात्रै गुणस्तरीय खानेपानी पाएका छन् ।

सन् २०२५ सम्ममा दुई अर्ब मानिसले पानीको चर्को अभाव झेल्नुपर्ने संयुक्त राष्ट्रसङ्घले बताएको छ । नेपालमा पनि खानेपानीका भावी समस्या समाधान गर्ने बाटो खोज्न जरुरी रहेको विज्ञहरु बताउँछन् ।

‘दुई सातामा दुई सय हेक्टर वनमा डढेलो


गुल्मी – एक महिनाको अवधिमा गुल्मी जिल्लाका सामुदायिक वनमा आगलागीका घटनामा वृद्धि हुँदै गएको छ । आगलागीका कारण जङ्गल वरिपरि क्षेत्रका बासिन्दामा दिनहँु त्रसित बन्दै गएका छन् । यही त्रासका कारण स्थानीय रातमा पनि चैनसँग निदाउन सक्दैनन् ।

डिभिजन वन कार्यालय गुल्मीले दिएको जानकारीअनुसार जिल्लामा आजसम्म दुई सयभन्दा बढी हेक्टर क्षेत्रफलमा डढेलो लागिसकेको छ । दिनहुँजसो हुने आगलागीका घटनाले मानिसलाई आतङ्कित बनाउन थालेको छ । कहिले दिनमा त कहिले रातमा हुने गरेका आगलागीका घटनाले जङ्गल छेउछाउका स्थानीय बासिन्दा रातको समयमा पालो गरी सुत्नुपर्ने बाध्यता छ । रातमा सुतिरहेको अवस्थामा कहीँ कतैबाट गाउँमा आगो आउँछ कि भनेर मानिसमा त्रासैत्रासमा रात गुजार्ने गर्दछन् ।

जब गर्मी मौसम सुरु हुन्छ तब यस्ता आगलागीका घटना बढ्दै जाने गर्दछन् । गत दुई साताको अवधिमा गुल्मीको रेसुङ्गा, गुल्मीदरबार, सत्यवती, चन्द्रकोट, इस्मा, कालीगण्डकीलगायत पालिकामा बढी मात्रामा डढेलो लागेको छ । निजी जङ्गलमध्ये ६० हेक्टरमा डढेलो लागेको छ । निजी जङ्लको तुलनामा सामुदायिक वन क्षेत्रमा आगलागीको घटना बढ्दै गएको डिभिजन वन कार्यालय गुल्मीका अधिकृत राजन कुँवरले जानकारी दिनुभएको छ ।

जङ्गलमा आगो लगाएपछि राम्रोसँग घाँस पलाउने, आगोले जङ्गलमा रहेका काठदाउरा सुक्ने हुँदा घाँस तथा दाउराको लोभमा वनमा डढेलो लगाउने बताइएको छ । मानिसमा चेतनाकै अभावका कारण गुल्मी जिल्लामा दिनहुँ आगलागीका घटना बढेको डिभिजन वन कार्यालय गुल्मीका अधिकृत पङ्कजकुमार ठाकुरले बताउनुभयो ।

उहाँका अनुसार आगो लागाउने व्यक्तिलाई कडा सजायको व्यवस्था छ तर आगो कसले लगाएको हो भन्ने बारेमा कुनै जानकारी प्राप्त नभएका कारण कतिपय घटनामा आवश्यक कानुनी कारबाही प्रक्रियाअघि बढाउन नसकिएको बताउनुभयो ।

आगलागीका कारण स्थानीयवासीलाई मात्र नभई जिल्लास्थित सुरक्षाकर्मीलाई हैरानी थपिएको छ । आगलागीको जानकारी पाएपछि प्रहरी र नेपाली सेना आगो नियन्त्रणका लागि घटनास्थलमा पुगेर आगो निभाउने काममा सक्रिय बनेका हुन्छन् । यसले स्थानीयवासीलाई जोखिमबाट जोगाउनेमा थप मद्दत मिलेको छ ।

गत १४ वर्षअघि इस्मा गाउँपालिकाअन्तर्गत हस्तिचौर सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका क्रममा एउटै गाउँका रामलाल घिमिरे, अमरबहादुर कुँवर, देवकला खत्री, सीता कुँवर र धनकला खत्रीको अकालमै ज्यान गयो । त्यसैगरी, गत आठ वर्षअघि मदाने गाउँपालिकाअन्तर्गत मलायगिरीको धैरेनी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका क्रममा स्थानीय कमल खड्का र इस्मा गाउँपालिकास्थित दोहलीका तुल्सी लामा गुरुङ, लोकबहादुर गुरुङ र गोपाल सुनारको पनि डढेलो नियन्त्रणको क्रममा आगोमा परेर ज्यान गएको थियोे ।

जिल्लाका विभिन्न जङ्गलमा अहिले पनि डढेलो लागिरहेको छ । डढेलो नियन्त्रणमा सुरक्षाकर्मीबाहेक स्थानीयको खासै चासो देखिँदैन । आगलागी नियन्त्रणकै क्रममा पछिल्लो पाँच वर्षको अवधिमा ११ जनाको ज्यान गइसकेको छ तर राहतको प्रतीक्षामा बसिरहेका पीडित परिवाले भने अझैसम्म पनि राहत पाउन नसकेको मृत लोकबहादुर गुरुङका छोरा तेजेन्द्र गुरुङले बताउनुभयो । उहाँले राहतका लागि कार्यालय, जिल्ला प्रशासनदेखि नेतालाई भने पनि पीडित परिवारले अझैसम्म राहत नपाएको गुनासो गर्नुभयो ।

एसिसी प्रिमियर कप : पहिलो खेलमा नेपाल विजयी

काठमाडौँ, ३० चैत : एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको हो ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै नेपालसामु जितका लागि एक सय ४४ रनको लक्ष्य प्रस्तुत गरेकोे थियो । सो विजयी लक्ष्य नेपालले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पुरा ग¥यो ।

नेपालका लागि आशिफ शेखले ३२, कप्तान रोहितकुमार पौडेलले २८, कुशल भुर्तेलले २४, दीपेन्द्रसिंह ऐरीले २०, गुल्सन झाले अविजित १९ तथा सन्दीप जोराले अविजित १२ रन बनाए ।

बलिङतर्फ मलेसियाका कप्तान विरनदीप सिंहले तीन तथा पवनदीप सिंह र मोहमद वाफिकले एक एक विकेट लिए ।

यसअघि एक सय ४३ रनको योगफल बनाउने क्रममा मलेसियाका लागि कप्तान विरनदीप सिंहले सर्वाधिक ७२ रन बनाए । उनले ५७ बल खेल्ने क्रममा चार छक्का र चार चौका हाने । यस्तै शविम मुनिआन्डीले ३३ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा ४१ रन जोडे । मुहम्मद आमिरले १८ बलमा १६ रन बनाए ।

बलिङतर्फ नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई तथा अभिनाश बोहोराले एक विकेट लिए । नेपालले अब आफ्नो दोस्रो खेल आगामी वैशाख १ गते कतारसँग खेल्ने छ ।

रुसमा उच्च बाढीको जोखिम

रुसकोे ओरेनबर्ग सहरमा शुक्रबार युराल नदीको सतह नयाँ रेकर्ड उचाइमा पुगेपछि बाढीका कारण रुस र कजाकिस्तानका दशौँ हजार मानिसलाई स्थानान्तरण गरिएको अधिकारीहरूले बताएका छन् ।

तीव्र गतिमा बढिरहेको तापक्रमले हिउँ र बरफ पग्लिँदा तथा भारी वर्षाका कारण रूस र कजाकिस्तान पार गर्ने धेरै जसो नदीहरूले खतराको सतह पार गरेका छन् । टियूमेन क्षेत्रका अधिकारीहरूका अनुसार पश्चिमी साइबेरियामा इशिम नदी पनि खतरनाक स्तरमा पुगेको छ । अधिकारीहरूले इशिम र टोबोल नदी अप्रिल २३–२५ मा उच्चस्तरमा पुग्ने अनुमान गरेका छन् ।

अधिकारीहरूका अनुसार ओरनबर्गमा युराल नदी ११ दशशमलव २९ मिटर (३७ फिट) पुगेको छ । यो निर्धारित खतराको स्तरभन्दा दुई मिटर माथि हो । सहरका केही भागमा पानीमाथि घरहरूको छत मात्र देख्न सकिन्छ ।

क्षेत्रीय अधिकारी सर्गेई बालिकिनले आरआइए नोभोस्ती राज्य समाचार एजेन्सीलाई ओरेनबर्गमा शुक्रबार वा शनिबार मात्र बाढी आउने जानकारी दिनुभयो । अधिकारीहरूका अनुसार चार लाखभन्दा बढी जनसङ्ख्यामध्ये १० हजार सात सयभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीले करिब ११ हजार सात सय घर डुबेका छन् ।

बाढीको जोखिमका करण पूर्वमा कुर्गान र तोम्स्क क्षेत्रका धेरै गाउँलाई पनि खाली गरिएको छ । रुस र कजाकिस्तानमा करिब एक लाख मानिसले बाढीका कारण घर छाडेको अनुमान गरिएको छ ।बाँध फुटेपछि समस्याग्रस्त ओर्स्कमा अधिकारीहरूले सुधार भएको बताएका छन् । सहरका आक्रोशित बासिन्दाहरूले सङ्कटको व्यवस्थापनप्रति चिन्ता व्यक्त गर्दै दुर्लभ प्रदर्शन गरेको बताइएको छ ।

बाढी र जलवायु परिवर्तनको कुनै प्रत्यक्ष सम्बन्ध भएको नपाइए पनि विज्ञहरूले उच्च तापक्रमले भएको भीषण वर्षाले बाढी निम्त्याएको बताएका छन् ।

मध्यपूर्वमा ‘रचनात्मक भूमिका’ निर्वाह गर्न चीनको अमेरिकालाई आग्रह

चीनले शुक्रबार संयुक्त राज्य अमेरिकालाई मध्यपूर्वमा ‘रचनात्मक भूमिका’ निर्वाह गर्न आग्रह गरेको छ । चीनका विदेशमन्त्री वाङ यीले आफ्ना अमेरिकी समकक्षी एन्टोनी ब्लिेङ्केनसँग टेलिफोन वार्तामा उक्त आग्रह गर्नुभएको हो ।

ब्लिङ्केनले बेइजिङसँग इरानलाई इजराइलमा हमला रोक्नका लागि आफ्नो प्रभाव प्रयोग गर्न आग्रह गर्नका लागि फोन गर्नुभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अप्रिल १ मा भएको इजराइली हमलामा दमास्कसमा इरानी कूटनीतिक भवन ध्वस्त भएपछि तेहरानको प्रतिशोधले चिन्ता बढाएको छ ।

शुक्रबार टेलिफोन वार्ता भएको चीनले पुष्टि गरेको छ । चिनियाँ विदेशमन्त्री वाङले कूटनीतिक संस्थाहरूको सुरक्षाको ‘अल्लङ्घनीय’ अधिकार र इरान तथा सिरियाको सार्वभौमिकताको सम्मान गर्ने आवश्यकतामाथि जोड दिँदै ‘हमलाप्रति चीनको कडा निन्दा व्यक्त’ गर्नुभयो ।

“चीनले मध्यपूर्व मुद्दाको समाधानमा रचनात्मक भूमिका निर्वाहलाई जारी राख्नेछ र स्थितिलाई शान्त बनाउन योगदान गर्नेछ”, चीनका विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भन्नुभयो, “विशेषगरी संयुक्त राज्य अमेरिकाले रचनात्मक भूमिका निर्वाह गर्नुपर्छ ।”

इरानको मौलवी नेतृत्वले हमलाको जवाफी हमला गर्ने वाचा गरेको छ । दूतावासमा भएको हमलामा दुई जनरलसहित इरानको रिभोल्युसनरी गार्डका सात सदस्य मारिएका थिए ।

अमेरिकाले चीनसँग हमासको समर्थन गर्ने इरानमाथि दबाबसहित सङ्कट समाधानका लागि थप प्रयास गर्न बारम्बार सार्वजनिक अपिल गरेको छ । बदलामा बेइजिङले इजराइलप्रति पक्षपाती भएको भन्दै अमेरिकाको आलोचना गरेको छ ।

प्रवक्ता माओले शुक्रबार भन्नुभयो, “बढाइको यो क्रम गाजा सङ्घर्षबाट फैलिएको पछिल्लो अभिव्यक्ति हो र गाजा सङ्घर्ष चाँडोभन्दा चाँडो समाप्त गर्न जरुरी छ ।” उहाँले बेइजिङले तत्काल युद्धविरामको आह्वान गरिरहेको बताउनुभयो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार गाजा युद्ध सञ्चालनका लागि इजराइली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको आलोचना गरे पनि इजराइलको सुरक्षाका लागि अमेरिकी समर्थन ‘दृढ’ रहेको बताउनुभएको थियो ।

चीनमा बाक्लो कुहिरोको नयाँ चेतावनी जारी

चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शुक्रबार देशका केही भागमा घना कुहिरोको चेतावनी नवीकरण गरेको छ । केन्द्रका अनुसार शुक्रबार बाक्लो कुहिरोले पीत सागरका केही भाग र सान्डोङ प्रायद्वीपको तटीय पानी, साथै हेनान, हुबेई, हुनान र चोङकिङलगायत प्रान्तीयस्तरका क्षेत्रका केही भाग ढाक्ने अनुमान गरिएको छ ।

केन्द्रका अनुसार केही प्रभावित क्षेत्रमा दृश्यता एक किलोमिटरभन्दा कममा झर्नेछ । डुङ्गा चलाउने र अन्य सञ्चालनमा संलग्न जहाजहरूलाई सुरक्षित नेभिगेसन सुनिश्चित गर्न तिनीहरूको निगरानीलाई बलियो बनाउन र आफ्नो गतिलाई नियन्त्रित गर्न तथा उचित दूरी कायम गर्न सुझाव दिइएको छ ।
\
चीनमा बाक्लो कुहिरोका लागि तीनस्तरको रङ–कोड गरिएको चेतावनी प्रणाली रहेको छ । यसमा रातो सबैभन्दा गम्भीर चेतावनी हो । त्यसपछि सुन्तला र पहेँलो चेतावनी रहेको छ ।

सिङ्गापुरको अर्थव्यवस्था२.७ प्रतिशतले बढ्यो

सिङ्गापुरको अर्थतन्त्र सन् २०२४ को पहिलो त्रैमासिकमा अघिल्लो बर्षको सोही अवधिको तुलनामा दुई दशमलव सात प्रतिशतले वृद्धि भएको यहाँको व्यापार तथा उद्योग मन्त्रालयले जनाएको छ । यो अघिल्लो त्रैमासिकको तुलनामा दुई दशमलव दुई प्रतिशतले वृद्धि हो ।

अघिल्लो त्रैमासिकको एक दशमलव चार प्रतिशत विस्तारको तुलनामा पहिलो त्रैमासिकमा उत्पादन क्षेत्रमा गत बर्षको तुलनामा शून्य दशमलव आठ प्रतिशतले बढेको छ ।

मन्त्रालयले रसायन, इलेक्ट्रिकल, सफ्टवेयर, इलेक्ट्रोनिक्स, मेकानिकल र अप्टिकल इन्जिनियरिङको उप–विषय प्रेसिजन इन्जिनियरिङ र यातायात इन्जिनियरिङ समूहमा उत्पादन विस्तारले इलेक्ट्रोनिक्स, बायोमेडिकल निर्माण र सामान्य उत्पादन समूहमा उत्पादनभन्दा बढी भएको जनाएको छ ।

सार्वजनिक निर्माण उत्पादनबाट समर्थित त्रैमासिक प्रतिवेदनमा निर्माण क्षेत्र वार्षिक चार दशमलव तीन प्रतिशतले विस्तार भएको छ । सेवा क्षेत्रमा पनि तीन दशमलव दुई प्रतिशतको वृद्धि देखिएको छ । अघिल्लो त्रैमासिकमा यो दर दुई दशमलव तीन प्रतिशत रहेको थियो ।

निर्वाचनले श्रीलङ्काको पुनरुत्थानमा असर पार्न सक्छ : एडीबी

श्रीलङ्काको अर्थतन्त्र स्थिर हुने सङ्केत देखिए पनि यस वर्षको अन्त्यमा हुने निर्वाचनपछि अचानक नीतिगत परिवर्तनका कारण श्रीलङ्काको पुनरुत्थानमा अवरोध आउन सक्ने एसियाली विकास बैंक (एडीबी)ले शुक्रबार चेतावनी दिएको छ ।

श्रीलङ्काकाले सन् २०२२ मा अभूतपूर्व वित्तीय सङ्कटको सामना गर्नुपरेको थियो । यसले श्रीलङ्कालाई विदेशी ऋण तिर्न असमर्थ बनाउनुका साथै खाद्यान्न र ईन्धनको चरम अभावलाई निम्त्याएको थियो । अभावका कारण महिनौंसम्म अशान्ति भएको र अन्त्यमा तत्कालिन राष्ट्रपति गोतबाय राजापाक्षले राजिनामा नै दिनुपरेको थियो ।

गत वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोषबाट २.९ अर्ब अमेरिकी डलरको उद्धार ऋण प्राप्त गरेको श्रीलङ्काले राष्ट्रपति रानिल विक्रमासिङ्घेको आगमनपछि कर बढाएको र उदार अनुदान कटौती गरेको थियो ।

एडीबीले आगामी अक्टोबरमा हुने राष्ट्रपतीय निर्वाचनले मितव्ययिताप्रतिको प्रतिबद्धतालाई कमजोर पार्न सक्ने बताएको छ ।

श्रीलङ्काको अर्थतन्त्रबारे बैङ्कले गरेको पछिल्लो पूर्वानुमानमा भनिएको छ, “आउटलुकको जोखिम नकारात्मक पक्षतर्फ उन्मुख छ । तीमध्ये सबैभन्दा महत्वपूर्ण भनेको आगामी निर्वाचनसँग सम्बन्धित अनिश्चितता हो र यसमा वित्तीय नीति र सुधार कार्यान्वयनमा कुनै पनि सम्भावित प्रभाव पनि समावेश छ ।

विक्रमासिङ्घे पुनः निर्वाचित हुन चाहनुहुन्छ र उहाँका दुई प्रमुख प्रतिद्वन्द्वीहरूले आईएमएफको उद्धार कार्यक्रमअनुरूप बजेटलाई सन्तुलित गर्ने उहाँको प्रयासको विरोध गरेका छन् ।

एडीबीले श्रीलङ्काको बाह्य ऋणको पुनर्संरचनामा कुनै पनि ढिलाइ भएमा यसले नागरिक तथा व्यवसायीको बुझाइसँगै र सुधारको सम्भावनामा पनि असर पर्न सक्ने चेतावनी दिएको छ ।

“प्रमुख कानून पारित गर्न कुनै पनि अवरोधले र ऋण पुनर्संरचना सम्झौता पूरा गर्न ढिलाइ भएमा यसले भावनालाई कमजोर पार्न सक्छ र आर्थिक वृद्धिलाई रोक्न सक्छ,” एडीबीले उल्लेख गरेको छ ।

श्रीलङ्काले मार्चको अन्त्यसम्ममा चीनलगायत विदेशी ऋणदातासँग सम्झौता हुने अपेक्षा गरेको थियो तर अहिलेसम्म कुनै सम्झौताको घोषणा गरिएको छैन ।

एडीबीले सन् २०२४ मा श्रीलङ्काको आर्थिक वृद्धिदर १.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ भने सन् २०२२ मा ७.३ प्रतिशतले सङ्कुचन हुने प्रक्षेपण गरेको थियो ।

विश्व बैंकले यसै महिनाको सुरुमा सन् २०२४ मा श्रीलङ्काको आर्थिक वृद्धिले अझै पनि सङ्कटबाट गुज्रिरहेका धेरैका लागि खासै फरक नपार्ने बताएको थियो ।

श्रीलङ्काका ५५ लाखभन्दा बढी अर्थात् देशको एक चौथाइ जनसङ्ख्या दैनिक ३.६५ अमेरिकी डलर गरिबीको रेखामुनि रहेको विश्व बैंकले जनाएको छ ।

प्रदेशसभा सदस्य चौधरी निलम्बनमा

सुदूरपश्चिम, ३० चैत : नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित घनश्याम चौधरीलाई उहाँको पार्टीले निलम्बन गरेको छ । चौधरीलाई निलम्बन गरिएको सम्बन्धी पत्र प्रदेशसभा सचिवालयमा पठाइएको छ ।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीलाई सम्बोधन गरी पठाएको पत्रमा प्रदेशसभा सदस्य चौधरी बैठकमा उपस्थित नभएको र उहाँबाट अध्यक्षलाई पठाइएको स्पष्टिकरण पत्र चित्त बुझ्दो नभएकाले पार्टीको अन्तरिम विधान बमोजिम केन्द्रीय कमिटीको आज बसेको बैठकको निर्णय अनुसार निजलाई तीन महिना निलम्बन गरिएको व्यहोरा जानकारी गराइएको छ ।

चार दिनअघि मात्रै नागरिक उन्मुक्ति पार्टीका अर्का प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई फिर्ता बोलाइएको सम्बन्धी सूचना प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको थियो । गिरी समानुपातिक कोटाबाट निर्वाचित हुनुभएको थियो । प्रत्यक्ष चुनावबाट निर्वाचित चौधरी नाउपा संसदीय दलका नेता हुनुहुन्थ्यो ।

पार्टीमा उत्पन्न किचलोका बीच पार्टीका केन्द्रीय अध्यक्षद्वारा नाउपा, सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलको नेताबाट चौधरीलाई हटाएर कैलाश चौधरीलाई दलको जिम्मेवारी तोकिएको जानकारी दिइएको थियो । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले नेतृत्व गरेको सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा पार्टीका संस्थापक संरक्षक रेशमलाल चौधरी र पार्टी अध्यक्ष श्रेष्ठबीच मतभेद सृजना हुँदा पार्टीका प्रदेशसभा सदस्यहरु पनि सरकारको पक्ष र विपक्षमा विभाजित भएका थिए ।

प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीका बहुमत सदस्यले मुख्यमन्त्री शाहको नेतृत्वको सरकारलाई नै समर्थन गर्नुपर्ने मत राख्दै आउनुभएको थियो । फिर्ता बोलाइएका गिरी र निलम्बन गरिएका चौधरी पार्टीका संस्थापक संरक्षक रेशमलाल पक्षधर मानिनुहुन्छ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक संरक्षक रेशमलालको उपस्थितिमा प्रदेशसभाका सदस्यको धनगढीमा दुई दिनअघि बसेको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने गरी छलफल गरेको थियो ।

प्रदेशका मुख्यमन्त्री शाहले भने पदबाट राजीनामा दिइसक्नु भएको छ । उहाँको राजीनामापछि यही चैत २३ गते नै प्रदेश प्रमुख नजिर मियाँले (१० दिनको समय तोकेर) २०८१ वैशाख २ गते अपराह्न ५ बजेभित्र प्रदेशसभामा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्रीमा दावी पेश गर्न तीन दिन बाँकी रहँदा कसैले पनि आजसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न सकेका छैनन् । मुख्यमन्त्री नियुक्तिका लागि २७ सदस्यको समर्थन चाहिन्छ । त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र) का सभामुखसहित ११, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् । रिक्त रहेको एक पदमा आगामी वैशाख १५ गते उपचिर्वाचन हुँदैछ ।

विसं २०८० : वन मन्त्रालयमा केके काम भए ?

काठमाडौँ – वातावरण संरक्षण तथा उपयोग, जलवायु परिवर्तन, समस्या समाधान र नीतिगत क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्न २०८० साल उपलब्धिमूलक नै रह्यो ।

खासगरी जलवायु परिवर्तनका असरबाट नेपालले भोग्नुपरेका चुनौतीका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा ध्यानाकर्षण गराउन नेपाल सरकारले धेरै हदसम्म सफलता हासिल गर्यो । वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तन, वातावरण संरक्षण, वन स्रोतको दिगो उपयोग, नीतिगतलगायत क्षेत्रमा उल्लेखनीय काम गरेको जनाएको छ ।

पछिल्लो समय देशभर ठूलो चुनौतीका रुपमा देखिएको मानव वन्यजन्तु द्वन्द्वलाई व्यवस्थापन गर्न मन्त्रालयले सोसम्बन्धी निर्देशिका स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा वन्यजन्तु पीडितलाई सर्वसुलभ तरिकाले राहत वितरण गर्ने गरी ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८०’ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ ।

कृषिबालीको हानिनोक्सानी गर्ने बँदेललाई कृषि हानिकारक प्रजाति घोषणा गरिएको मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार वन्यजन्तु अपराध नियन्त्रण र कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन तीन तहका सरकारबीच समन्वय र सहकार्य गर्ने उद्देश्यले वन्यजन्तु अपराध नियन्त्रण आदेश, २०८० स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ ।

वन्यजन्तुको व्यावसायिक पालन प्रजनन् तथा उपयोगसम्बन्धी मापदण्ड, २०८० स्वीकृत भएको मन्त्रालयका प्रवक्ता ढुङ्गानाले बताउनुभयो । यसमा भएका व्यवस्थाअनुसार वन्यजन्तु (खरायो, रतुवा, चित्तल, लगुना, नीलगाई, दुम्सी, बँदेल, सर्प, मगर गोही, कछुवा, भ्यागुता पाहा, मयुर, कालिज, लुइचे, बट्टाई, च्याखुरा, तित्रा, पिउरा, ढुकुर, मैना, सुगा) को व्यावसायिक पालन, प्रजनन्, दिगो संरक्षण तथा उपयोगबाट आर्थिक समृद्धि हासिलमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

यसैगरी वन्यजन्तु बासस्थान व्यवस्थापन कार्यविधि, २०८० हालै स्वीकृत भएदेखि निकुन्ज, आरक्ष, संरक्षण क्षेत्रमा वन्यजन्तुको बासस्थान व्यवस्थापनको लागि घाँसे मैदान तथा सिमसार क्षेत्रको व्यवस्थापनमा सहयोग पुग्ने प्रवक्ता ढुङ्गानाले जानकारी दिनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत अग्रपङ्क्तिमा रहेर वन्यजन्तु संरक्षणमा दिनरात खटिने एक हजार एक सय ६४ कर्मचारीको दुर्घटना बीमाको व्यवस्था गरी कार्यक्षेत्र (फिल्ड)का कर्मचारीको मनोबल उच्च राखिएको छ ।

वन (प्रथम संशोधन) नियमावली, २०८० जारी गरिएको र यसबाट खानी तथा खनिज पदार्थसम्बन्धी प्रचलित नियम र वन नियमावली, २०७९ मा बाझिएका विषयको हकमा खानी तथा खनिज पदार्थसम्बन्धी प्रचलित ऐन तथा नियम बमोजिम हुनेगरी संशोधन गरिएको छ । परिणामस्वरुप खानीजन्य पदार्थको उपभोगमा सहजता भएको मन्त्रालयको दाबी छ ।

यस अवधिमा मन्त्रालयले वन ऐन, २०७६ को दफा ७७ अनुसार नयाँ सूचना जारी गरिएको मन्त्रालयका प्रवक्ता ढुङ्गानाले बताउनुभयो । फलस्वरुप पुरानो सूचनाअनुसार प्रतिवन्ध लागेको झ्याउ प्रजातिको प्रतिबन्ध फुकुवा भई सङ्कलन तथा ओसारपसार खुला भएको छ । साथै निजी वनमा रहेको साल प्रजातिको व्यावसायिक प्रयोजनको लागि कटान तथा ओसारपसार खुला भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा खपत हुने जटामसीको सङ्कलन तथा व्यवस्थापनमा अवलम्बन गरिँदै आएको केन्द्रिकृत व्यवस्थापन पद्धतिलाई सुधार गरी स्थानीय जनताले सहजै सङ्कलन अनुमति लिन सक्नेगरी आवश्यक व्यवस्था गरिएको छ ।

मन्त्रालयका प्रवक्ता ढुङ्गानाका अनुसार सङ्घीय पुनसंरचनापश्चात् फाजिलमा रही हालसम्म प्रदेशहरुमा कार्यरत रहेका वन सेवाका कर्मचारीहरू (राजपत्र अनंकित द्वितीय श्रेणी (प्रा) फरेष्टरहरु ३८२ जना) को सम्बन्धित प्रदेशमा समायोजन गरिएको छ ।

विकास र वातावरणबीच समन्वय गर्ने सरकारको ध्येय नुसार ५० वटा वातावरणीय प्रभाव अध्ययन (इआइए) र २१ वटा प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) गरी ७१ वटा विकास आयोजनालाई सहमति प्रदान गरिएको प्रवक्ता ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न विकास आयोजनाका लागि यस अवधिमा ३२५ हेक्टर बढी राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र ३२ हजार ६३८ वटा रुख हटाउन सहमति दिई राष्ट्रिय प्राथमिकताका आयोजनाहरुको कार्यान्वयनमा सहजीकरण गरिएको छ ।

जनतामा पर्न गएको जलवायु परिवर्तनको असर कम गर्न एकीकृत जलाधार संरक्षण एवं व्यवस्थापनको अवधारणाअनुसार मन्त्रालयअन्तर्गतका निकायहरुबाट मात्र ७६ स्थानमा खोला किनार संरक्षण, ६२८ वटा पानीका मुहान संरक्षण, २८९ पहिरो नियन्त्रण र २३.३ हेक्टर क्षेत्रफलमा तारवार र ४४३ हेक्टर क्षेत्रफलमा बहुउपयोगी प्रजातिका बिरुवा वृक्षरोपण गरिएका छन् ।

विभिन्न प्रजातिका सात लाख ३६ हजार जडीबुटी बिरुवा तथा करिब एक करोड ६८ लाख विभिन्न वनजन्य प्रजातिका बिरुवा नर्सरीमा उत्पादन गरी निजी क्षेत्रमा वृक्षरोपण गर्न निःशुल्क वितरण गरिएको मन्त्रालयले जनाएको छ । पन्ध्रौँ योजनाको अन्त्यसम्म तीन करोड घन फिट काठ उत्पादन लक्ष्य राखिएकामा चौथो वर्षमा तीन करोड ३३ लाख घन फिट काठ र एक हजार १३९ चट्टा दाउरा उत्पादन भएको छ । यस अवधिमा वन क्षेत्रबाट रु चार अर्ब ६२ करोड राजस्व सङ्कलन भएको छ ।स्थानीय वनस्पति प्रजातिहरु एक हजार १२३ सङ्कलन गरी वनस्पति उद्यानहरुमा संरक्षण गरिएको, एक लाख ६१ हजार हर्बेरियम नमुनाको डिजिटाइजेशन गर्ने कार्य सम्पन्न गरी अनलाइन प्रणालीमासमेत अभिलेखीकरण गरिएको मन्त्रालयका प्रवक्ता ढुङ्गानाले बताउनुभयो ।

वनको कार्बन व्यापारका सन्दर्भमा नेपालकोतर्फबाट तराईका १३ जिल्लाको वन क्षेत्रको कार्बन मापन गरी तयार गरिएको ‘मेजरमेण्ट, रिपोटिङ, र भेरिफिकेसन रिपोर्ट’ भुक्तानीका लागि विश्व बैंकसमक्ष पेश गरिएको छ । नवप्रवर्द्धनात्मक कार्यअन्तर्गत कोसी टप्पु वन्यजन्तु आरक्षमा दुई वटा गैँडा स्थानान्तरण गरी अध्ययन÷अनुसन्धान भइरहेको छ । साथै चितवन राष्ट्रिय निकुञ्ज भित्रै छ गैँडाको आन्तरिक स्थानान्तरण गरिएको छ ।

बागमती प्रदेश सरकारद्वारा छ हजारभन्दा बढीको स्वास्थ्य बीमा

बागमती, ३० चैत : बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा वाग्मती प्रदेशको १३ जिल्लाका लक्षित वर्गका छ हजार आठ सय ९५ घरपरिवारको स्वास्थ्य बीमा गरेको छ । यो अत्यन्त उदाहरणीय कार्य भएको छ ।बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले रु दुई करोड ३४ लाख १५ हजार नौ सय ५० प्रिमियम तिरेर सो बीमा गरिदिएको हो । सो मञ्त्रालयले १३ जिल्लाका सीमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित व्यक्ति, क तथा ख वर्गका अपागङ्ता भएका व्यक्ति तथा स्वास्थ्य स्वयंसेविकाको बीमावापतको प्रिमियम तिरेको हो ।

प्राप्त विवरणअनुसार काठमाडौँ जिल्लाका एक सय ५५ घरपरिवार भक्तपुरका ३५ घरपरिवार, ललितपुरका पाँच सय ५० घरपरिवार, काभ्रेपलाञ्चोकका सात सय २० घरपरिवार, नुवाकोटका पाँच सय ७३ घरपरिवार, रसुवाका एक सय ८१ घरपरिवार र रामेछापका तीन सय १९ घरपरिवार, धादिङका पाँच सय ९१ घरपरिवार, मकवानपुरका एक सय एक घरपरिवार, दोलखाका दुर्ई सय ७४ घरपरिवार, सिन्धुपाल्चोकका एक हजार तीन सय १४ घरपरिवार, सिन्धुलीका चार सय ७९ घरपरिवार परिवार तथा चितवनका एक हजार छ सय तीन घरपरिवारको स्वास्थ्य बीमा गरिएको जनाइएको छ ।

सबैभन्दा बढी चितवनमा स्वस्थ्य बीमा गरिएको बताइएको छ । एक सय चार जना महिला स्वयंसेविका, अपागङ्ता भएका तीन सय ७७ जना तथा अतिसीमान्तकृत एक हजार एक सय २२ परिवार गरी एक हजार छ सय तीन परिवारको रु ५८ लाख ३८ हजार स्वास्थ्य बीमा वापतको भुक्तानी गरिएको सो मन्त्रालयले जनाएको छ ।

विदेश गएका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाऔँ – राष्ट्रपति पौडेल

काठमाडौँ, ३० चैत : राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न कारणले विदेश गएका नेपालीहरुलाई स्वदेश फर्कने अवस्थाको सिर्जना गर्नुपर्ने धारणा राख्नुभएको छ ।

एशोसिएसन अफ नेपाली ओरिजिन ९एएनओ०का प्रतिनिधिमण्डलसँग आज राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले अध्ययन, वैदेशिक रोजगारी, व्यवसायका साथै विविध कारणले विदेशिएका नेपालीहरुलाई स्वदेश फर्कने वातावरण बन्नुपर्ने धारणा राख्नुभएको हो ।

यसप्रति आफूले चासो राख्ने गरेको उल्लेख गर्दै उहाँले आफू कार्यकारी तथा राजनीतिक भूमिकामा नभए पनि सरोकारवालालाई यस विषयमा निरन्तर सम्झाउने गरेको जानकारी पनि दिनुभएको एएनओका महासचिव चुडामणि भट्टराइले जानकारी दिनुभयो ।

अध्ययन होस् या विभिन्न प्रयोजनले विदेश जाने गरेका नेपालीहरुले आफू रहेको देशमा आर्जन गरेको सीप र ज्ञान स्वदेशमै आइ त्यसलाई प्रयोगमा ल्याउने वातावरण बनाउन मुलुकका सम्बद्ध सबै क्षेत्र र व्यक्तिहरु लाग्नुपर्नेमा उहाँले जोड दिनुभएको हो ।

उहाँले नेपाली भाषा र संस्कृतिका माध्यमबाट विश्वमा रहेका नेपाली तथा नेपालीभाषीहरुलाई एकीकृत गर्ने एएनओको अभियानको प्रशंसा गर्दै यसलाई आगामी दिनमा पनि निरन्तरता दिन सुझाउनुभयो ।

त्यसअवसरमा राष्ट्रपति पौडेलले भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई नेपाली भाषाको तीर्थस्थल बनाउने अभियानमा आफू लागेको जानकारी पनि गराउनुभयो । उहाँले विश्वका विभिन्न देशमा रहेका नेपालीभाषीहरु एक पटक यहाँ पुग्नैपर्ने धारणाको विकास गरी यसलाई जीवन्त राख्न भानु जन्मस्थललाई नेपाली भाषा र साहित्यको तीर्थस्थल बनाउनुपर्र्नेमा उहाँको जोड थियो ।

एएनओका अध्यक्ष डिल्ली अधिकारीले यस अभियानका लागि नेपाल सरकारबाट प्राप्त सहयोग र शुभेच्छाका लागि धन्यवाद व्यक्त गर्दै अभियानलाई नेपाली भाषा, कला, संस्कृतिको अभियानका रुपमा संसारमा रहेका नेपालीमाझ पु¥याउने अठोट व्यक्त गर्नुभयो ।

यस संस्थाले प्रवासमा बस्ने नेपाली जातिका लगानीकर्ताहरुलाई नेपालमै आई लगानी गर्ने वातावरणका लागि प्रोत्साहित गर्ने पनि बताउनुभयो । सो भेटमा संस्थाका उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव भट्टराई, संस्थापक सदस्यहरु केबी कार्की, ओम गुरुङ, डा दामोदर पौडेलसहित सहभागी हुनुहुन्थ्यो ।

विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको गत चैत ६ गते थाइल्याण्डको राजधानी बैंककमा भएको भेलाले नेपाली जातिलाई एकीकृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन ९एएनओ० गठन गरेको थियो ।

विश्वका २७ देशका नेपालीमूलका सामाजिक अभियन्ताको प्रतिनिधित्व रहेको सो भेलाले भुटानमा जन्मी हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका नेपालीमूलका समाजसेवी डिल्ली अधिकारीको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति गठन गरेको थियो ।