`

सिङ्गापुरको अर्थव्यवस्था२.७ प्रतिशतले बढ्यो

सिङ्गापुरको अर्थतन्त्र सन् २०२४ को पहिलो त्रैमासिकमा अघिल्लो बर्षको सोही अवधिको तुलनामा दुई दशमलव सात प्रतिशतले वृद्धि भएको यहाँको व्यापार तथा उद्योग मन्त्रालयले जनाएको छ । यो अघिल्लो त्रैमासिकको तुलनामा दुई दशमलव दुई प्रतिशतले वृद्धि हो ।

अघिल्लो त्रैमासिकको एक दशमलव चार प्रतिशत विस्तारको तुलनामा पहिलो त्रैमासिकमा उत्पादन क्षेत्रमा गत बर्षको तुलनामा शून्य दशमलव आठ प्रतिशतले बढेको छ ।

मन्त्रालयले रसायन, इलेक्ट्रिकल, सफ्टवेयर, इलेक्ट्रोनिक्स, मेकानिकल र अप्टिकल इन्जिनियरिङको उप–विषय प्रेसिजन इन्जिनियरिङ र यातायात इन्जिनियरिङ समूहमा उत्पादन विस्तारले इलेक्ट्रोनिक्स, बायोमेडिकल निर्माण र सामान्य उत्पादन समूहमा उत्पादनभन्दा बढी भएको जनाएको छ ।

सार्वजनिक निर्माण उत्पादनबाट समर्थित त्रैमासिक प्रतिवेदनमा निर्माण क्षेत्र वार्षिक चार दशमलव तीन प्रतिशतले विस्तार भएको छ । सेवा क्षेत्रमा पनि तीन दशमलव दुई प्रतिशतको वृद्धि देखिएको छ । अघिल्लो त्रैमासिकमा यो दर दुई दशमलव तीन प्रतिशत रहेको थियो ।

निर्वाचनले श्रीलङ्काको पुनरुत्थानमा असर पार्न सक्छ : एडीबी

श्रीलङ्काको अर्थतन्त्र स्थिर हुने सङ्केत देखिए पनि यस वर्षको अन्त्यमा हुने निर्वाचनपछि अचानक नीतिगत परिवर्तनका कारण श्रीलङ्काको पुनरुत्थानमा अवरोध आउन सक्ने एसियाली विकास बैंक (एडीबी)ले शुक्रबार चेतावनी दिएको छ ।

श्रीलङ्काकाले सन् २०२२ मा अभूतपूर्व वित्तीय सङ्कटको सामना गर्नुपरेको थियो । यसले श्रीलङ्कालाई विदेशी ऋण तिर्न असमर्थ बनाउनुका साथै खाद्यान्न र ईन्धनको चरम अभावलाई निम्त्याएको थियो । अभावका कारण महिनौंसम्म अशान्ति भएको र अन्त्यमा तत्कालिन राष्ट्रपति गोतबाय राजापाक्षले राजिनामा नै दिनुपरेको थियो ।

गत वर्ष अन्तर्राष्ट्रिय मुद्रा कोषबाट २.९ अर्ब अमेरिकी डलरको उद्धार ऋण प्राप्त गरेको श्रीलङ्काले राष्ट्रपति रानिल विक्रमासिङ्घेको आगमनपछि कर बढाएको र उदार अनुदान कटौती गरेको थियो ।

एडीबीले आगामी अक्टोबरमा हुने राष्ट्रपतीय निर्वाचनले मितव्ययिताप्रतिको प्रतिबद्धतालाई कमजोर पार्न सक्ने बताएको छ ।

श्रीलङ्काको अर्थतन्त्रबारे बैङ्कले गरेको पछिल्लो पूर्वानुमानमा भनिएको छ, “आउटलुकको जोखिम नकारात्मक पक्षतर्फ उन्मुख छ । तीमध्ये सबैभन्दा महत्वपूर्ण भनेको आगामी निर्वाचनसँग सम्बन्धित अनिश्चितता हो र यसमा वित्तीय नीति र सुधार कार्यान्वयनमा कुनै पनि सम्भावित प्रभाव पनि समावेश छ ।

विक्रमासिङ्घे पुनः निर्वाचित हुन चाहनुहुन्छ र उहाँका दुई प्रमुख प्रतिद्वन्द्वीहरूले आईएमएफको उद्धार कार्यक्रमअनुरूप बजेटलाई सन्तुलित गर्ने उहाँको प्रयासको विरोध गरेका छन् ।

एडीबीले श्रीलङ्काको बाह्य ऋणको पुनर्संरचनामा कुनै पनि ढिलाइ भएमा यसले नागरिक तथा व्यवसायीको बुझाइसँगै र सुधारको सम्भावनामा पनि असर पर्न सक्ने चेतावनी दिएको छ ।

“प्रमुख कानून पारित गर्न कुनै पनि अवरोधले र ऋण पुनर्संरचना सम्झौता पूरा गर्न ढिलाइ भएमा यसले भावनालाई कमजोर पार्न सक्छ र आर्थिक वृद्धिलाई रोक्न सक्छ,” एडीबीले उल्लेख गरेको छ ।

श्रीलङ्काले मार्चको अन्त्यसम्ममा चीनलगायत विदेशी ऋणदातासँग सम्झौता हुने अपेक्षा गरेको थियो तर अहिलेसम्म कुनै सम्झौताको घोषणा गरिएको छैन ।

एडीबीले सन् २०२४ मा श्रीलङ्काको आर्थिक वृद्धिदर १.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ भने सन् २०२२ मा ७.३ प्रतिशतले सङ्कुचन हुने प्रक्षेपण गरेको थियो ।

विश्व बैंकले यसै महिनाको सुरुमा सन् २०२४ मा श्रीलङ्काको आर्थिक वृद्धिले अझै पनि सङ्कटबाट गुज्रिरहेका धेरैका लागि खासै फरक नपार्ने बताएको थियो ।

श्रीलङ्काका ५५ लाखभन्दा बढी अर्थात् देशको एक चौथाइ जनसङ्ख्या दैनिक ३.६५ अमेरिकी डलर गरिबीको रेखामुनि रहेको विश्व बैंकले जनाएको छ ।

प्रदेशसभा सदस्य चौधरी निलम्बनमा

सुदूरपश्चिम, ३० चैत : नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित घनश्याम चौधरीलाई उहाँको पार्टीले निलम्बन गरेको छ । चौधरीलाई निलम्बन गरिएको सम्बन्धी पत्र प्रदेशसभा सचिवालयमा पठाइएको छ ।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीलाई सम्बोधन गरी पठाएको पत्रमा प्रदेशसभा सदस्य चौधरी बैठकमा उपस्थित नभएको र उहाँबाट अध्यक्षलाई पठाइएको स्पष्टिकरण पत्र चित्त बुझ्दो नभएकाले पार्टीको अन्तरिम विधान बमोजिम केन्द्रीय कमिटीको आज बसेको बैठकको निर्णय अनुसार निजलाई तीन महिना निलम्बन गरिएको व्यहोरा जानकारी गराइएको छ ।

चार दिनअघि मात्रै नागरिक उन्मुक्ति पार्टीका अर्का प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई फिर्ता बोलाइएको सम्बन्धी सूचना प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको थियो । गिरी समानुपातिक कोटाबाट निर्वाचित हुनुभएको थियो । प्रत्यक्ष चुनावबाट निर्वाचित चौधरी नाउपा संसदीय दलका नेता हुनुहुन्थ्यो ।

पार्टीमा उत्पन्न किचलोका बीच पार्टीका केन्द्रीय अध्यक्षद्वारा नाउपा, सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलको नेताबाट चौधरीलाई हटाएर कैलाश चौधरीलाई दलको जिम्मेवारी तोकिएको जानकारी दिइएको थियो । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले नेतृत्व गरेको सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा पार्टीका संस्थापक संरक्षक रेशमलाल चौधरी र पार्टी अध्यक्ष श्रेष्ठबीच मतभेद सृजना हुँदा पार्टीका प्रदेशसभा सदस्यहरु पनि सरकारको पक्ष र विपक्षमा विभाजित भएका थिए ।

प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीका बहुमत सदस्यले मुख्यमन्त्री शाहको नेतृत्वको सरकारलाई नै समर्थन गर्नुपर्ने मत राख्दै आउनुभएको थियो । फिर्ता बोलाइएका गिरी र निलम्बन गरिएका चौधरी पार्टीका संस्थापक संरक्षक रेशमलाल पक्षधर मानिनुहुन्छ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक संरक्षक रेशमलालको उपस्थितिमा प्रदेशसभाका सदस्यको धनगढीमा दुई दिनअघि बसेको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने गरी छलफल गरेको थियो ।

प्रदेशका मुख्यमन्त्री शाहले भने पदबाट राजीनामा दिइसक्नु भएको छ । उहाँको राजीनामापछि यही चैत २३ गते नै प्रदेश प्रमुख नजिर मियाँले (१० दिनको समय तोकेर) २०८१ वैशाख २ गते अपराह्न ५ बजेभित्र प्रदेशसभामा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्रीमा दावी पेश गर्न तीन दिन बाँकी रहँदा कसैले पनि आजसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न सकेका छैनन् । मुख्यमन्त्री नियुक्तिका लागि २७ सदस्यको समर्थन चाहिन्छ । त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र) का सभामुखसहित ११, नेकपा (एमाले) का १०, नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् । रिक्त रहेको एक पदमा आगामी वैशाख १५ गते उपचिर्वाचन हुँदैछ ।

विसं २०८० : वन मन्त्रालयमा केके काम भए ?

काठमाडौँ – वातावरण संरक्षण तथा उपयोग, जलवायु परिवर्तन, समस्या समाधान र नीतिगत क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्न २०८० साल उपलब्धिमूलक नै रह्यो ।

खासगरी जलवायु परिवर्तनका असरबाट नेपालले भोग्नुपरेका चुनौतीका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा ध्यानाकर्षण गराउन नेपाल सरकारले धेरै हदसम्म सफलता हासिल गर्यो । वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तन, वातावरण संरक्षण, वन स्रोतको दिगो उपयोग, नीतिगतलगायत क्षेत्रमा उल्लेखनीय काम गरेको जनाएको छ ।

पछिल्लो समय देशभर ठूलो चुनौतीका रुपमा देखिएको मानव वन्यजन्तु द्वन्द्वलाई व्यवस्थापन गर्न मन्त्रालयले सोसम्बन्धी निर्देशिका स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । वन्यजन्तु द्वन्द्व व्यवस्थापन तथा वन्यजन्तु पीडितलाई सर्वसुलभ तरिकाले राहत वितरण गर्ने गरी ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८०’ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ ।

कृषिबालीको हानिनोक्सानी गर्ने बँदेललाई कृषि हानिकारक प्रजाति घोषणा गरिएको मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार वन्यजन्तु अपराध नियन्त्रण र कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन तीन तहका सरकारबीच समन्वय र सहकार्य गर्ने उद्देश्यले वन्यजन्तु अपराध नियन्त्रण आदेश, २०८० स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ ।

वन्यजन्तुको व्यावसायिक पालन प्रजनन् तथा उपयोगसम्बन्धी मापदण्ड, २०८० स्वीकृत भएको मन्त्रालयका प्रवक्ता ढुङ्गानाले बताउनुभयो । यसमा भएका व्यवस्थाअनुसार वन्यजन्तु (खरायो, रतुवा, चित्तल, लगुना, नीलगाई, दुम्सी, बँदेल, सर्प, मगर गोही, कछुवा, भ्यागुता पाहा, मयुर, कालिज, लुइचे, बट्टाई, च्याखुरा, तित्रा, पिउरा, ढुकुर, मैना, सुगा) को व्यावसायिक पालन, प्रजनन्, दिगो संरक्षण तथा उपयोगबाट आर्थिक समृद्धि हासिलमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

यसैगरी वन्यजन्तु बासस्थान व्यवस्थापन कार्यविधि, २०८० हालै स्वीकृत भएदेखि निकुन्ज, आरक्ष, संरक्षण क्षेत्रमा वन्यजन्तुको बासस्थान व्यवस्थापनको लागि घाँसे मैदान तथा सिमसार क्षेत्रको व्यवस्थापनमा सहयोग पुग्ने प्रवक्ता ढुङ्गानाले जानकारी दिनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत अग्रपङ्क्तिमा रहेर वन्यजन्तु संरक्षणमा दिनरात खटिने एक हजार एक सय ६४ कर्मचारीको दुर्घटना बीमाको व्यवस्था गरी कार्यक्षेत्र (फिल्ड)का कर्मचारीको मनोबल उच्च राखिएको छ ।

वन (प्रथम संशोधन) नियमावली, २०८० जारी गरिएको र यसबाट खानी तथा खनिज पदार्थसम्बन्धी प्रचलित नियम र वन नियमावली, २०७९ मा बाझिएका विषयको हकमा खानी तथा खनिज पदार्थसम्बन्धी प्रचलित ऐन तथा नियम बमोजिम हुनेगरी संशोधन गरिएको छ । परिणामस्वरुप खानीजन्य पदार्थको उपभोगमा सहजता भएको मन्त्रालयको दाबी छ ।

यस अवधिमा मन्त्रालयले वन ऐन, २०७६ को दफा ७७ अनुसार नयाँ सूचना जारी गरिएको मन्त्रालयका प्रवक्ता ढुङ्गानाले बताउनुभयो । फलस्वरुप पुरानो सूचनाअनुसार प्रतिवन्ध लागेको झ्याउ प्रजातिको प्रतिबन्ध फुकुवा भई सङ्कलन तथा ओसारपसार खुला भएको छ । साथै निजी वनमा रहेको साल प्रजातिको व्यावसायिक प्रयोजनको लागि कटान तथा ओसारपसार खुला भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा खपत हुने जटामसीको सङ्कलन तथा व्यवस्थापनमा अवलम्बन गरिँदै आएको केन्द्रिकृत व्यवस्थापन पद्धतिलाई सुधार गरी स्थानीय जनताले सहजै सङ्कलन अनुमति लिन सक्नेगरी आवश्यक व्यवस्था गरिएको छ ।

मन्त्रालयका प्रवक्ता ढुङ्गानाका अनुसार सङ्घीय पुनसंरचनापश्चात् फाजिलमा रही हालसम्म प्रदेशहरुमा कार्यरत रहेका वन सेवाका कर्मचारीहरू (राजपत्र अनंकित द्वितीय श्रेणी (प्रा) फरेष्टरहरु ३८२ जना) को सम्बन्धित प्रदेशमा समायोजन गरिएको छ ।

विकास र वातावरणबीच समन्वय गर्ने सरकारको ध्येय नुसार ५० वटा वातावरणीय प्रभाव अध्ययन (इआइए) र २१ वटा प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) गरी ७१ वटा विकास आयोजनालाई सहमति प्रदान गरिएको प्रवक्ता ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न विकास आयोजनाका लागि यस अवधिमा ३२५ हेक्टर बढी राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न र ३२ हजार ६३८ वटा रुख हटाउन सहमति दिई राष्ट्रिय प्राथमिकताका आयोजनाहरुको कार्यान्वयनमा सहजीकरण गरिएको छ ।

जनतामा पर्न गएको जलवायु परिवर्तनको असर कम गर्न एकीकृत जलाधार संरक्षण एवं व्यवस्थापनको अवधारणाअनुसार मन्त्रालयअन्तर्गतका निकायहरुबाट मात्र ७६ स्थानमा खोला किनार संरक्षण, ६२८ वटा पानीका मुहान संरक्षण, २८९ पहिरो नियन्त्रण र २३.३ हेक्टर क्षेत्रफलमा तारवार र ४४३ हेक्टर क्षेत्रफलमा बहुउपयोगी प्रजातिका बिरुवा वृक्षरोपण गरिएका छन् ।

विभिन्न प्रजातिका सात लाख ३६ हजार जडीबुटी बिरुवा तथा करिब एक करोड ६८ लाख विभिन्न वनजन्य प्रजातिका बिरुवा नर्सरीमा उत्पादन गरी निजी क्षेत्रमा वृक्षरोपण गर्न निःशुल्क वितरण गरिएको मन्त्रालयले जनाएको छ । पन्ध्रौँ योजनाको अन्त्यसम्म तीन करोड घन फिट काठ उत्पादन लक्ष्य राखिएकामा चौथो वर्षमा तीन करोड ३३ लाख घन फिट काठ र एक हजार १३९ चट्टा दाउरा उत्पादन भएको छ । यस अवधिमा वन क्षेत्रबाट रु चार अर्ब ६२ करोड राजस्व सङ्कलन भएको छ ।स्थानीय वनस्पति प्रजातिहरु एक हजार १२३ सङ्कलन गरी वनस्पति उद्यानहरुमा संरक्षण गरिएको, एक लाख ६१ हजार हर्बेरियम नमुनाको डिजिटाइजेशन गर्ने कार्य सम्पन्न गरी अनलाइन प्रणालीमासमेत अभिलेखीकरण गरिएको मन्त्रालयका प्रवक्ता ढुङ्गानाले बताउनुभयो ।

वनको कार्बन व्यापारका सन्दर्भमा नेपालकोतर्फबाट तराईका १३ जिल्लाको वन क्षेत्रको कार्बन मापन गरी तयार गरिएको ‘मेजरमेण्ट, रिपोटिङ, र भेरिफिकेसन रिपोर्ट’ भुक्तानीका लागि विश्व बैंकसमक्ष पेश गरिएको छ । नवप्रवर्द्धनात्मक कार्यअन्तर्गत कोसी टप्पु वन्यजन्तु आरक्षमा दुई वटा गैँडा स्थानान्तरण गरी अध्ययन÷अनुसन्धान भइरहेको छ । साथै चितवन राष्ट्रिय निकुञ्ज भित्रै छ गैँडाको आन्तरिक स्थानान्तरण गरिएको छ ।

बागमती प्रदेश सरकारद्वारा छ हजारभन्दा बढीको स्वास्थ्य बीमा

बागमती, ३० चैत : बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा वाग्मती प्रदेशको १३ जिल्लाका लक्षित वर्गका छ हजार आठ सय ९५ घरपरिवारको स्वास्थ्य बीमा गरेको छ । यो अत्यन्त उदाहरणीय कार्य भएको छ ।बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले रु दुई करोड ३४ लाख १५ हजार नौ सय ५० प्रिमियम तिरेर सो बीमा गरिदिएको हो । सो मञ्त्रालयले १३ जिल्लाका सीमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित व्यक्ति, क तथा ख वर्गका अपागङ्ता भएका व्यक्ति तथा स्वास्थ्य स्वयंसेविकाको बीमावापतको प्रिमियम तिरेको हो ।

प्राप्त विवरणअनुसार काठमाडौँ जिल्लाका एक सय ५५ घरपरिवार भक्तपुरका ३५ घरपरिवार, ललितपुरका पाँच सय ५० घरपरिवार, काभ्रेपलाञ्चोकका सात सय २० घरपरिवार, नुवाकोटका पाँच सय ७३ घरपरिवार, रसुवाका एक सय ८१ घरपरिवार र रामेछापका तीन सय १९ घरपरिवार, धादिङका पाँच सय ९१ घरपरिवार, मकवानपुरका एक सय एक घरपरिवार, दोलखाका दुर्ई सय ७४ घरपरिवार, सिन्धुपाल्चोकका एक हजार तीन सय १४ घरपरिवार, सिन्धुलीका चार सय ७९ घरपरिवार परिवार तथा चितवनका एक हजार छ सय तीन घरपरिवारको स्वास्थ्य बीमा गरिएको जनाइएको छ ।

सबैभन्दा बढी चितवनमा स्वस्थ्य बीमा गरिएको बताइएको छ । एक सय चार जना महिला स्वयंसेविका, अपागङ्ता भएका तीन सय ७७ जना तथा अतिसीमान्तकृत एक हजार एक सय २२ परिवार गरी एक हजार छ सय तीन परिवारको रु ५८ लाख ३८ हजार स्वास्थ्य बीमा वापतको भुक्तानी गरिएको सो मन्त्रालयले जनाएको छ ।

विदेश गएका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाऔँ – राष्ट्रपति पौडेल

काठमाडौँ, ३० चैत : राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न कारणले विदेश गएका नेपालीहरुलाई स्वदेश फर्कने अवस्थाको सिर्जना गर्नुपर्ने धारणा राख्नुभएको छ ।

एशोसिएसन अफ नेपाली ओरिजिन ९एएनओ०का प्रतिनिधिमण्डलसँग आज राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले अध्ययन, वैदेशिक रोजगारी, व्यवसायका साथै विविध कारणले विदेशिएका नेपालीहरुलाई स्वदेश फर्कने वातावरण बन्नुपर्ने धारणा राख्नुभएको हो ।

यसप्रति आफूले चासो राख्ने गरेको उल्लेख गर्दै उहाँले आफू कार्यकारी तथा राजनीतिक भूमिकामा नभए पनि सरोकारवालालाई यस विषयमा निरन्तर सम्झाउने गरेको जानकारी पनि दिनुभएको एएनओका महासचिव चुडामणि भट्टराइले जानकारी दिनुभयो ।

अध्ययन होस् या विभिन्न प्रयोजनले विदेश जाने गरेका नेपालीहरुले आफू रहेको देशमा आर्जन गरेको सीप र ज्ञान स्वदेशमै आइ त्यसलाई प्रयोगमा ल्याउने वातावरण बनाउन मुलुकका सम्बद्ध सबै क्षेत्र र व्यक्तिहरु लाग्नुपर्नेमा उहाँले जोड दिनुभएको हो ।

उहाँले नेपाली भाषा र संस्कृतिका माध्यमबाट विश्वमा रहेका नेपाली तथा नेपालीभाषीहरुलाई एकीकृत गर्ने एएनओको अभियानको प्रशंसा गर्दै यसलाई आगामी दिनमा पनि निरन्तरता दिन सुझाउनुभयो ।

त्यसअवसरमा राष्ट्रपति पौडेलले भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई नेपाली भाषाको तीर्थस्थल बनाउने अभियानमा आफू लागेको जानकारी पनि गराउनुभयो । उहाँले विश्वका विभिन्न देशमा रहेका नेपालीभाषीहरु एक पटक यहाँ पुग्नैपर्ने धारणाको विकास गरी यसलाई जीवन्त राख्न भानु जन्मस्थललाई नेपाली भाषा र साहित्यको तीर्थस्थल बनाउनुपर्र्नेमा उहाँको जोड थियो ।

एएनओका अध्यक्ष डिल्ली अधिकारीले यस अभियानका लागि नेपाल सरकारबाट प्राप्त सहयोग र शुभेच्छाका लागि धन्यवाद व्यक्त गर्दै अभियानलाई नेपाली भाषा, कला, संस्कृतिको अभियानका रुपमा संसारमा रहेका नेपालीमाझ पु¥याउने अठोट व्यक्त गर्नुभयो ।

यस संस्थाले प्रवासमा बस्ने नेपाली जातिका लगानीकर्ताहरुलाई नेपालमै आई लगानी गर्ने वातावरणका लागि प्रोत्साहित गर्ने पनि बताउनुभयो । सो भेटमा संस्थाका उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव भट्टराई, संस्थापक सदस्यहरु केबी कार्की, ओम गुरुङ, डा दामोदर पौडेलसहित सहभागी हुनुहुन्थ्यो ।

विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको गत चैत ६ गते थाइल्याण्डको राजधानी बैंककमा भएको भेलाले नेपाली जातिलाई एकीकृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन ९एएनओ० गठन गरेको थियो ।

विश्वका २७ देशका नेपालीमूलका सामाजिक अभियन्ताको प्रतिनिधित्व रहेको सो भेलाले भुटानमा जन्मी हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका नेपालीमूलका समाजसेवी डिल्ली अधिकारीको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति गठन गरेको थियो ।

उपराष्ट्रपति यादवसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, ३० चैतः उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग पाकिस्तानका राजदूत अबरार एच हाशमीले शिष्टाचार भेट गर्नुभएको छ । राजदूत हाशमीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटमा बधाई तथा शुभकामना आदानप्रदान हुनुका साथै द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक, शैक्षिक तथा सांस्कृतिक र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल भएको थियो ।

त्यस अवसरमा उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबीच सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता निकट र सुमधुर सम्बन्ध रहेको बताउनुभएको थियो । उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानले व्यापार र आर्थिक क्षेत्रमा सहयोग विस्तार गर्नु पर्नेमा जोड दिनु भयो । उहाँले जलविद्युत्, पर्यटन, पूर्वाधार, विज्ञान प्रविधिलगायतका क्षेत्रमा लगानी गर्न पाकिस्तानका लगानीकर्ताहरूलाई आग्रह गर्नुभयो ।

राजदूत हाशमीले नेपाल र पाकिस्तानबीचको सम्बद्ध प्रगाढ रहेको उल्लेख गर्दै यसलाई अझ उचाईमा पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल र पाकिस्तानबीच अबरुद्ध हवाई सेवा पुनः सञ्चालनको आवश्यकता औल्याउनुभयो ।

नेपाली कांग्रेसका नेता खेमराज पौडेलको निधन

गण्डकी, ३० चैत : नेपाली कांग्रेसका नेता खेमराज पौडेलको निधन भएको छ ।फोक्सोको क्यान्सरबाट पीडित पौडेलको फेवासिटी अस्पतालमा उपचारको क्रममा आज ८१ वर्षको उमेरमा निधन भएको हो । उहाँ त्यागी र निष्ठावान् राजनीतिज्ञ एवं सामाजिक व्यक्तित्वका रुपमा परिचित हुनुहुन्थ्यो ।

कास्कीको तत्कालीन पुम्दीभुम्दी गाविस हाल पोखरा महानगरपालिका–२२ पुम्दीमा बस्दै आउनुभएका पौडेल विद्यार्थी कालदेखि नै प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुनुहुन्थ्यो । उहाँका पत्नी, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

पौडेलको आजै सेती नदी घाटमा अन्त्येष्टि गरिने र अन्त्येष्टि अघि पार्थिव शरीर नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिने छ । उहाँ प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला प्रधानमन्त्री रहेकै समयमा २०१७ सालमा कास्की क्षेत्र नं ९९ को अधिवेशनमा सहभागी हुनुभएको थियो । त्यस यता निरन्तर पार्टीका विभिन्न जिम्मेवारीमा रहनुभएका पौडेल कांग्रेस विभाजन हुँदा शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिकका कास्की सभापति बन्नुभएको थियो ।

लामो समय राजनीतिमा खटिए पनि लाभको पद नलिएका पौडेल तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेकपा (एमाले) की उम्मेदवार विद्या भट्टराईसँग पराजित हुनुभएको थियो ।

नेपाली कांग्रेस कास्की, नेपाली कांग्रेस पोखरा महानगरसमिति र विभिन्न एकाइले पौडेलको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै दुःख व्यक्त गरेका छन् ।

वरिष्ठ फिल्ड सहायक अधिकारीविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौँ, ३० चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण विकास बैंक टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नक्कली सदस्य बनाइ विना धितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा तथा ब्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको पाइएको छ । आयोगले अधिकारी विरुद्ध रु १९ लाख दुई हजार दुई सय ३७ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

हाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक शाखा कार्यालय चितवनमा कार्यरत अधिकारीले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

‘ठमेल र दरबारमार्गको स्थिति हेरेर नयाँ बसपार्क पनि चौबिसै घण्टा खुलाउँछौँ’


काठमाडौँ, ३० चैत : काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेल र दरबारमार्गको सुरक्षा स्थितिलाई हेरेर नयाँ बसपार्क क्षेत्रलाई पनि २४ सै घण्टा खुलाइने बताउनुभएको छ ।

मित्रनगर विकास तथा सुधार समिति आज नयाँ बसपार्कमा आयोजना गरेको ‘नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम’ मा बोल्दै ठमेल र दरबारमार्गको सुरक्षा स्थितिलाई हेरेर नयाँ बसपार्कलाई २४ सै घण्टा खुलाउने बताउनुभएको हो ।

“देशभरका मानिस आवतजावत गर्ने ठाउँ नयाँ बसपार्कलाई पनि २४ सै घण्टा सञ्चालन गर्नु जरुरी छ, वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग खुला गर्न लागिएको छ, त्यहाँको स्थितिलाई हेरेर नयाँ बसपार्क पनि २४ सै घण्टा सञ्चालन गछौँ, जसले यस क्षेत्रको अर्थतन्त्र चलायमान हुन्छ”, उहाँले भन्नुभयो । उहाँले बजार २४ सै घण्टा खुलाउँदा स्थानीयवासीलाई असर पर्न नहुने उल्लेख गर्नुभयो ।

वडाध्यक्ष तिवारीले अबको दुई महिनाभित्र नयाँ बसपार्क आसपासका सडक कालोपत्रे भइसक्ने उल्लेख गर्नुभयो । काठमाडौँ महानगरपालिकाको वडा नं २६ मा ठमेलसहित नयाँ बसपार्कसमेत पर्दछ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले ठमेल र नयाँ बसपार्कलाई एकआपसमा जोड्न सकेमात्र नयाँबसपार्क क्षेत्रको अर्थतन्त्र चलायमान हुने बताउनुभयो ।

“रातको समयमा नयाँ बसपार्कमा सवारीसाधन ओहोरदोहोर गर्ने भएकाले यस क्षेत्रको बजार २४ घण्टा खोल्नु जरुरी छ”, उहाँले भन्नुभयो । मित्रनगर विकास तथा सुधार समितिका अध्यक्ष गङ्गा पन्तले नयाँबसपार्क क्षेत्रलाई सुन्दर र व्यवस्थित बनाउन समितिले काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले नयाँबसपार्क क्षेत्रको विकृति विसङ्गति अन्त्यका लागि स्थानीय टोलबासी, तीनै तहका सरकार र प्रहरीबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । उक्त समितिले विगत वर्षमा ‘प्रथम नयाँ बसपार्क सडक महोत्सव’ समेत आयोजना गरेको थियो ।

टोखामा आजदेखि विस्का जात्रा सुरु

काठमाडौँ, ३० चैत : ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखामा विस्का नखः (जात्रा) आजदेखि सुरु भएको छ ।

नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्षझै यसवर्ष पनि आजदेखि वैशाख ४ गतेसम्म पाँच दिन विस्का नखः मनाउन लागिएको हो । टोखा नगरपालिका वडा नं २ र ३ को मुख्य आयोजना तथा नेवाः गुथि टोखाको व्यवस्थापनमा जात्रा मनाउन लागिएको हो ।

नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापितले पाँच दिनसम्म मनाइने विस्का जात्राको लिङ्गो उठाइ सकिएको र आज साँझ सपनविनायकको रथ, चण्डेश्वरीको रथ र मसानकालीको रथ ‘जाली द्यो’ को रुपमा बाजागाजासहित जात्रा गरी इन्द्रायणी दाफा खलःले मूल नाइके बहाल गरी रथ आआफ्नो मन्दिरमा लैजान लागिएको जानकारी दिनुभयो ।

विस्का जात्राका भक्तजन आज बिहान शिवपुरीस्थित बागद्वार स्नान गर्न गइसकेका छन् । बागद्वारबाट आज राती चण्डेश्वरी हुँदै सपनतीर्थ मन्दिरमा आउँछन् । सपनतीर्थ मन्दिर परिसरमा गौमुखी र बहुमुखी खोला थुनेर निर्माण गरिएको सिद्धपोखरीमा भक्तजनले नयाँ वर्ष सुरु हुँदैगर्दा वैशाख १ गते एकाबिहानै नुहाउने गर्दछन् ।

नयाँ वर्षकै दिन साँझ ६ बजे आआफ्नो मन्दिरबाट गाउँमा रथ ल्याउने र गाउँ परिक्रमा गरी सपनविनायकको रथ यलागः टोलमा, चण्डेश्वरीको रथ थलागः टोलमा र मसानकालीको रथ भूतखेलमा विसाईने मूल नाईके हेमराज श्रेष्ठले बताउनुभयो ।

वैशाख २ गते बिहान तीनवटै रथ गाउँ परिक्रमा गरेर मसानकालीको रथ भूतखेलको पाटीमा बिसाएपछि बली पूजा लिई कोठु गणेश र मसानकाली दुवै रथ एकैसाथ ल्याएर ११ बजे थलागः टोलमा लस्करै विसाइन्छ ।

सोही दिन दिउँसो ३ बजे जीवित देवी कुमारीको आगमन गराई तलेजुबाट सरकारी पूजा ल्याई सिन्दुरजात्रा गरी उठाइन्छ । सोही दिन साँझ गाउँ परिक्रमा गरी साँझ ७ बजे सबै रथ तपलाक्षीःमा बिसाइन्छ । सोही रात भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने चलन रहेको छ ।

वैशाख ३ गते बिहान ७ बजे तपलाक्षीःबाट सिन्धुरजात्रा गरी देवता उठाएर गाउँ परिक्रमा गर्न लैजाने गर्दछन् । सोही दिन बिहान ११ बजे हासल टोलमा सबै रथ बिसाइन्छ । सोही दिन दिउँसो ३ बजे तलेजु गुठीबाट जीवित देवी कुमारीसहित पूजा ल्याएर सिन्दूरजात्रा गरी सरस्वती र महादेवको रथबाहेक अन्य रथ पोखरीमा चोख्याउनका लागि लगिन्छ । मसानकालीको मन्दिर र गाउँको परिक्रममा गरी कोनेलाक्षीःमा बिसाइन्छ । सोही रात पनि भक्तजनहरु रथको अगाडी भजनकीर्तन गरी जाग्राम बस्ने चलन रहेको छ ।

जात्राको अन्तिम दिन वैशाख ४ गते विहान ६.३० बजे सिन्दुरजात्रा गरी सारा बाजागाजासहित गाउँ परिक्रमा गर्न लगिन्छ र विहान ११ बजेतिर गच्छे टोलमा बिसाईन्छ । सोही दिन दिउँसो ३ बजे तलेजु गुठीबाट जीवित देवी कुमारीसहित पूजा ल्याएर सिन्दूरजात्रा गरी सबै रथ कपडा विच्छाइ गाउँ परिक्रममा गरी आआफ्नो देवी घर–घरमा भित्र्याइन्छ । त्यसबाट जात्रा समापन हुन्छ । वैशाख ५ गते विहान ६.३० लिङ्गो ढाली जात्रा विसर्जन हुन्छ ।

सपनतीर्थ मेला भोलि
टोखामा नयाँ वर्षको पहिलो दिन वैशाख १ गते अर्थात् भोलि सपनतीर्थ स्नान मेला सुरु हुन्छ । उक्त मेला भर्न तथा स्नान गर्नका लागि काठमाडौँ उपत्यकासहित देशभरका लाखौँ भक्तजन टोखा सपनतीर्थ आउने गर्दछन् । सपनतीर्थ मेलालाई टोखा नगरपालिकाले विशेष महत्वसमेत दिँदै आएको छ ।

यसपटक सपनतीर्थ मेलामा राष्ट्रपति रामचन्द्र पौडेल जाने कार्यक्रम तय भएको छ । सपनतीर्थ मेलामा स्नान गरेपछि कोरी कुष्ठरोग पनि निको हुने जनविश्वास रहेको छ ।

परापूर्व कालदेखि सत्यवन्त राजाका छोरीहरुमध्ये कान्छी छोरी सत्यकेशरीले बुबाको वचनलाई शिरोपर गरी राजाको मुखबाट ठट्टाबस निस्केको बोलीअनुसार कुष्ठरोगबाट ग्रसित महारोगीबाट विवाह गर्न पुग्छिन् ।

ती महारोगीले हरेक दिनजस्तो अन्जान पोखरीमा स्नान गर्दा नयाँ जीवन पाएको सपनामा बारम्बार देख्ने गरेको र एक समय श्रीमतीको अनुपस्थितिमा सपनतीर्थ क्षेत्र रहेको कुण्डमा बच्चाले किरा फट्याङ्ग्रा समाउँदै मार्दैै उक्त कुण्डमा फाल्दा ती किराहरु पुनःजीवित भएर उडेको प्रत्यक्ष देखेपछि महारोगीले केटाहरुको सहयोगमा कुण्डमा स्नान गर्दा सम्पूर्ण रोगबाट मुक्त भई नयाँ जीवन पाएको किंवदन्तीअनुसार सपनतीर्थ मेला लाग्ने गरेको पाईन्छ । यस्तै, उक्त मन्दिरमा दर्शन गर्नाले आफूले चिताएको पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।

एसिसी प्रिमियर कप : मलेसियाद्वारा नेपालसामु १४४ रनको लक्ष्य

काठमाडौँ, ३० चैत : एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियाले नेपालसामु जितका लागि एक सय ४४ रनको लक्ष्य प्रस्तुत गरेकोे छ ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ४३ रनको योगफल बनायो । मलेसियाका लागि कप्तान विरनदिप सिंहले सर्वाधिक ७२ रन बनाए । उनले ५७ बल खेल्ने क्रममा चार छक्का र चार चौका हाने । यस्तै शविम मुनिआन्डीले ३३ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा ४१ रन जोडे । मुहम्मद आमिरले १८ बलमा १६ रन बनाए ।

बलिङतर्फ नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई तथा अभिनाश बोहोराले एक विकेट लिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

विकास सहायता वृद्धिको प्रयास गर्ने बेलायती सांसद्को प्रतिबद्धता

काठमाडौँ, ३० चैत : संयुक्त अधिराज्यको माथिल्लो सदन ‘हाउस अफ लर्डस्’ का सदस्य स्टीवार्ट उडले नेपालको सामाजिक रूपान्तरणका लागि बेलायती विकास सहयोग बढाउन प्रयास गर्ने बताउनुभएको छ ।

‘भिएसओ’ नेपालको निमन्त्रणामा विशिष्ट स्वयंसेवकका रुपमा आठ दिनका लागि नेपाल आउनुभएका उडले महिला शिक्षा तथा लिङ्गका आधारमा गरिने विभेदको अन्त्यका निम्ति सञ्चालित परियोजनाका गतिविधिबारे जानकारी लिनुभएको छ । विराटनगर र बाराका स्थानीयलाई भेटेर काठमाडौँ फर्कनुभएका लेबर पार्टीका नेता उहाँले त्यहाँ भइरहेको सामाजिक रुपान्तरणको प्रशंसा गर्नुभयो ।

रासससँग कुरा गर्दै उहाँले बाराका दलित समुदायमा शिक्षा र परिवर्तनप्रतिको चाहनाबाट आफू प्रभावित भएको जनाउँदै एफसिडिओको सहयोगमा भिएसओ नेपालले सीमान्तकृत समुदायका बालिका शिक्षा तथा जीवनयापनका लागि सञ्चालन गरेका कार्यक्रम अनुकरणीय पाएको बताउनुभयो ।

बेलायतका तत्कालीन प्रधानमन्त्री गोर्डेन ब्राउनका विशेष सल्लाहकार उडले नेपालमा भएका सकारात्मक परिवर्तनबारे आफ्नो मुलुकमा उल्लेख गर्ने बताउँदै विविध संस्कृतियुक्त नेपालको सामाजिक–आर्थिक विकासका लागि बेलायत सरकारको सहयोग बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अक्सोफोर्ड विश्वविदालयमा राजनीति शास्त्र अध्यापन गर्नुभएका उहाँले नेपालको शैक्षिक उन्नयनका खतिर साझेदार बढाउन र बेलायती पर्यटकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने बताउनुभयो ।

‘भिएसओ’ नेपालका देशीय प्रतिनिधि जयशङ्कर लालले उडजस्ता स्वयंसेवकले नेपालमा गरेको सेवाले आफूहरुलाई सामाजिक क्षेत्रमा गर्दै आएका काममा ऊर्जा थपिएको बताउनुभयो ।

एसिसी कप आजदेखि, नेपाल मलेसियासँग भिड्दै

काठमाडौँ, ३० चैतः एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिता आजदेखि ओमानमा हुँदैछ । प्रतियोगिताअन्तर्गत आजै नेपालले मलेसियाको सामना गर्नेछ ।

ओमानको राजधानी मस्कटस्थित अल अमिरत क्रिकेट मैदानमा दुई देशबीच हुने यो टि–२० अन्तर्राष्ट्रिय खेल दशौँपटकको हो । यसअघि नेपालले आठ खेल जित्दा मलेसियाले एकमा मात्र विजय हासिल गरेको छ ।
टि–२० ढाँचामा हुने एसिसी प्रिमियर कपमा १० टोलीको सहभागी हुनेछन् । तिनलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’मा परेको छ । यो समूहमा नेपाल, हङकङ, मलेसिया, कतार र साउदी अरब छन् ।

समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् । उक्त प्रतियोगताको उपाधि जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

खेल तालिकाअनुसार आजै अपराह्न हुने समूह ‘ए’अन्तर्गतको अर्को खेल हङकङ र कतारबीच हुनेछ । नेपाल भोलि कतारसँग र वैशाख ३ गते हङकङसँग भिड्नेछ । समूह चरणको अन्तिम खेल वैशाख ४ गते साउदी अरबसँग हुनेछ । प्रतियोगितामा वैशाख ९ गतेसम्म सञ्चालन हुनेछ ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित गुल्सन झा, करण केसी, प्रतिश जिसी, कुशल भूर्तेल, सन्दीप जोरा, विवेक यादव, अविनाश बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह छन् ।

किसानलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित कोठीखोलामा तटबन्ध निर्माण

बरहथवा (सर्लाही), ३० चैतः सर्लाहीको हरिवन नगरपालिकास्थित चुरे क्षेत्रका किसानलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित ‘रन अफ हार्वेष्टिङ ड्याम’ (तटबन्ध) निर्माण सुरु भएको छ ।

हरिवन नगरपालिका–१ भएर बग्ने कोठीखोलामा तटबन्ध निर्माण सुरु गरिएको हो । चुरेका किसानको खेतखेतमा पानी पुर्याउने लक्ष्यसहित तटबन्ध निर्माण सुरु गरेको कोठीखोला चुरे संरक्षण उपभोक्ता समितिका अध्यक्ष रामबहादुर बम्जनले जानकारी दिनुभयो । तटबन्ध निर्माणपश्चात् यस क्षेत्रको छ सय बिघा बढी खेतमा सिँचाइ सुविधा पुग्ने उहाँले बताउनुभयो ।

तटबन्ध बनेपछि हरिवन नगरपालिका–१ अन्तर्गत कोठीखोलामा सुक्खा क्षेत्रमा बाह्रैमास पानी पुग्नेछ । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन एकाइअन्तर्गतको बजेटबाट तटबन्ध निर्माण थालिएको हो ।

तटबन्ध निर्माणका लागि उपभोक्ता समितिको रु तीन लाख ९३ हजार ६१७ श्रमदान र कार्यालयको रु ३४ लाख ५६ हजार गरी कुल रु ३८ लाख ४९ हजार ६१७ खर्च हुने अनुमान छ ।
खोलामा ४५ मिटर लामो आरसिसी हार्वेष्टिङ ड्याम र ३० मिटर लामो अर्देन ड्यामको संरचना निर्माण गरिने उपभोक्ता समिति अध्यक्ष बम्जनले जानकारी दिनुभयो । योजना सम्झौताअनुसार कोठीखोला चुरे संरक्षण उपभोक्ता समितिले २०८१ असार ६ गतेभित्र काम सम्पन्न गर्नुपर्नेछ ।

नागढुङ्गा सुरुङको काम सकिन लागेको हो ?

केही साता पहिले झन्डै एक महिनासम्म अवरुद्ध भएको नागढुङ्गास्थित मूल सुरुङ छिचोल्ने काम वैशाखको पहिलो साताका लागि तय भएको अधिकारीहरूले बताएका छन्।

त्रिभुवन राजपथमा निर्माण भइरहेको नागढुङ्गा सुरुङ परियोजना अन्तर्गत मूल सुरुङ छिचोल्ने काम वैशाख ३ गतेका लागि तय भएको अधिकारीहरूले बताएका छन्।

कुल २,६८८ मिटर लामो उक्त सुरुङ छिचोल्ने लक्ष्य मार्चको पहिलो साताका लागि नै तय गरिएको थियो।तर स्थानीय समुदायले केही मागहरू राख्दै एक महिनासम्म निर्माण कार्यमा अवरोध पुर्‍याएपछि मूल सुरुङ खन्ने काममा सम्पन्न गर्ने मिति सरेको थियो।

उक्त परियोजनाका एक जना अधिकारीले मूल सुरुङ अन्तर्गत अब २ मिटर मात्रै छिचोल्न बाँकी रहेको उल्लेख गर्दै अन्तिम चरणका कामहरू भइरहेको बीबीसीलाई बताए।

कति प्रगति भयो, अब के हुन्छ?
सन् २०१६ मा जापान सरकारसँग १६.८ अर्ब रुपैयाँ ऋण लिएर नेपाल सरकारले अघि बढाएको यो परियोजना अन्तर्गत सुरुङ निर्माणसहितका काममा ११ अर्ब रुपियाँ जति खर्च भइसकेको अधिकारीहरू बताउँछन्।

नागढुङा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले वैशाख ३ गते सुरुङ छिचोल्ने लक्ष्य राखिएको बताए।

उनले भने, “ब्रेक थ्रु गर्नलाई अब २ मिटर मात्रै बाँकी रहेको छ। हामीले अन्तिम चरणका कामहरू गरिरहेका छौँ। त्यसबेलासम्म सुरुङ आरपार खन्ने काम भइसक्छ।”

कुल लागत २२ अर्ब रुपैयाँ रहेको यो परियोजना अन्तर्गत ६ अर्ब रुपैयाँ मुआब्जा वितरणमा खर्च भएको अधिकारीहरू बताउँछन्।

त्रिभुवन राजपथअन्तर्गत धादिङको सिस्ने खोलाबाट सुरु भएर काठमाण्डूको चन्द्रागिरीस्थित किसिपिडिमा निर्माण भइरहेको उक्त सुरुङ मार्गको सन् २०२४ को एप्रिलमा निर्माण कार्य सम्पन्न गर्ने संशोधित लक्ष्य तय भएको थियो।

तर नागढुङा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरुले मूल सुरुङ छिचोल्ने काम सम्पन्न भएपछि पनि बाँकी कामहरू सम्पन्न भइसक्न एकदेखि डेढ वर्षसम्म लाग्ने बताए।

उनले भने, “ब्रेक थ्रु भइसकेपछि हामीले सडक ढलान गर्ने काम गर्छौँ। सुरुङभित्र ढलान गर्ने काम हुन्छ जसलाई हामी टनल लाइनिङ भन्ने गर्छौँ। सुरक्षा उपकरण, भेन्टिलेसन र बत्तीहरू जडान गर्ने काम बाँकी रहन्छ।”

मूल सुरुङबाहेक सो सुरुङमार्गमा आपत्कालीन उद्धारमा प्रयोग हुने २५ सय ५७ मिटर लामो सहायक सुरुङ पनि रहनेछ। त्यसलाई खन्ने काम गएको वर्ष नै सम्पन्न भएको अधिकारीहरूले बताएका छन्।

यही मार्च महिनाको ६ तारिखमा २,६८८ मिटर लामो मूल सुरुङ खन्ने काम सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि स्थानीय बासिन्दाले महिना दिनसम्म गरेको आन्दोलनका कारण त्यो काम ढिलो भएको हो।

४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी सन् २०१९ मा ठेक्का लगाइएको उक्त परियोजनाको निर्माण सम्पन्न हुने मिति दुई पटक थप भइसकेको छ।बीबीसी

हेटौँडाका उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेन

बागमती, ३० चैतः हेटौँडा औद्योगिक क्षेत्रका उद्योगबाट उत्पादित सामग्री अपेक्षाकृत बिक्री नहुँदा सञ्चालनमा समस्या भएको छ । कच्चा पदार्थ अभाव, लागत वृद्धि तथा बैंकको ब्याजले ती उद्योगको उत्पादन ४० प्रतिशतमा सीमित भएको छ ।

हाल उक्त औद्योगिक क्षेत्रमा एक सय १५ उद्योग सञ्चालनमा छन् । ती उद्योग अहिले ४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । तीन ‘सिफ्ट’मा चल्ने उद्योग एक सिफ्टमा मात्र सञ्चालन भएका छन् । उद्योग क्षमताअनुसार सञ्चालन हुन नसक्दा मजदुर तथा कर्मचारी कटौतीमा परेका छन् ।

उक्त कार्यालयका प्रमुख भोजराज बिराडीका अनुसार कोरोना महामारीपछि परेकोे आर्थिक तथा व्यावसायिक मन्दीको प्रभाव यहाँका उद्योगमा परेको छ । आर्थिक मन्दीले सञ्चालन नभएका दुई दर्जन उद्योगको सम्झौता खारेज प्रक्रिया सुरु गरिएको छ ।
कार्यालयका प्रमुख बिराडीले सम्झौता गर्ने एवं जमिन ओगट्ने काममात्र भएको तर उद्योग सञ्चालन नभएकाले कारबाही प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । केही उद्योगको सम्झौता खारेज गर्दा कार्यालयविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर पनि भएका उहाँले बताउनुभयो ।

औद्योगिक क्षेत्रमा स्थापना भएका एक सय ४७ मध्ये एक सय १५ वटा विभिन्न प्रकृतिका उत्पादनमूलक उद्योग सञ्चालनमा छन् । नौवटा उद्योग बन्द भएका तथा २३ वटा निर्माणाधीन छन् ।

उद्योगको अवस्था दयनीय भएकाले भाडा तिर्न समस्या परेको उद्योगीहरूको गुनासो छ । यहाँ सञ्चालित उद्योगबाट उत्पादित सामग्रीको लागत धेरै हुनु, उत्पादित सामग्री बिक्री नहुनु तथा आर्थिक मन्दीले उद्योगहरूको अवस्था नाजुक भएको उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरू बताउँछन् ।

“अहिले मन्दी छ, पसल खाली हुँदै गएका छन्, उत्पादित सामान बिक्री हुँदैनन्, यो गम्भीर समस्या हो । उद्योगका लागि बैंकबाट लिएको ऋणको ब्याजसमेत तिर्न समस्या भएको र उद्योगमा थप लगानी गर्न बैंकले ऋण दिँदैन,” हेटौँडाका फर्निचर उद्योगी रामपुकार ठाकुरले भन्नुभयो ।

औद्योगिक क्षेत्रमा निर्माण सामाग्री उद्योग पाँच, प्लाष्टिक सामग्री उद्योग २८, विद्युतीय सामग्री उद्योग तीन, खाद्यान्न तथा पेय पदार्थ उद्योग ११, फर्निचर सामग्री उद्योग छवटा, इन्जिनीयरिङ सेवातर्फ १५, प्याकेजिङ सामग्रीतर्फ पाँच, केमिकल सामग्रीतर्फ ११, पोल्ट्री तथा दाना उद्योगतर्फ दुई, टेक्सटायल उद्योगतर्फ एक, खानीजन्य उद्योगतर्फ तीन र अन्य उद्योगतर्फ १० वटा उद्योग छन् । यी उद्योगमा पाँच हजार मजदुरले रोजगारी पाएका छन् । विसं २०२० मा स्थापना भएको औद्योगिक क्षेत्र तीन हजार दुई सय २८ रोपनीमा फैलिएको छ ।

डोल्पा डढेलोमा घाइते बालकको मृत्यु

डोल्पा, ३० चैत : जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा हुँदा घाइते भएका तीनजना बालबालिकामध्ये एकजनाको मृत्यु भएको छ ।

जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा १० वर्षीय सुलस बुढाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो । बाँकी दुईजनाको थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।

गाउँ नजिक रहेको उक्त वनमा बिहीबार बिहान गुच्ची च्याउ टिप्न गएका बालबालिका अपराह्न गम्भीर घाइते भएका हुन् । उनीहरूलाई उद्धार गरेर साँझम जिल्ला अस्पताल पुर्याइएको थियो । हरसम्भव प्रयास गर्दा पनि घाइतेलाई बचाउन नसकिएको डा अखण्ड उपाध्यायले बताउनुभयो ।

त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारका लागि काठमाडौँ लैजान हेलिकप्टरको व्यवस्थाको गरेको प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले बताउनुभयो । गत मङ्गलबार डोल्पाको ठुलीभेरी नगरपालिका–४ मा रहेको मष्टा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते भएका चारजना नेपाली सेनाका जवानमध्ये तीनजनाको मृत्यु भएको थियो ।

राष्ट्रिय गौरवको दूधकोशी आयोजना निर्माणको तयारी

खोटाङ, ३० चैतः छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ ।

खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति पनि भएको छ । त्यसका लागि सम्बन्धित निकायले आवश्यक तयारी गर्ने बताइएको छ ।

आयोजनाका प्रमुख वित्तीय व्यवस्थापक विश्व बैंक, एसियाली विकास बैंक र सरकारबीच आयोजना निर्माणको काम शीघ्र थाल्ने सहमति गत बिहीबार भएको हो ।

अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, दुवै मन्त्रालयका सचिव, अन्य सम्बद्ध निकायका पदाधिकारी तथा नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जेर्भोस तथा एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नाउड काउचियोस सहभागी बैठकमा आयोजनाको वित्तीय व्यवस्थापन चाँडो सकेर निर्माणको काम अघि बढाउने सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ ।

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा एसियाली विकास बैंक नेतृत्वको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहुलियतपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाको लगानी रहने छ । आयोजनामा ७० प्रतिशत ऋण लगानी जुटाउनका साथै ३० प्रतिशत स्वपुँजी (इक्विटी)बाट वित्तीय व्यवस्थापन गर्ने तयारी छ ।

आयोजनाको विषयमा केही दिन अगाडि तीनै जिल्लाका जनप्रतिनिधि, आयोजना र लगानीकर्ताबीच छलफल भएको थियो । लगानीकर्ता एसियाली विकास बैंकका प्रतिनिधिले आयोजनाको स्थलगत अध्ययन गरेका थिए ।

स्थानीय, जनप्रतिनिधि, सरोकारवाला निकाय सबै सकारात्मक भएकाले आयोजना चाँडै सुरु गर्नुपर्नेमा जोड दिइएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले जानकारी दिनुभएको छ । मुआब्जाका लागि बजेट सुनिश्चित गर्न सरकारलाई तीनै जिल्लाका जनप्रतिनिधिले अनुरोध गर्ने सहमति भएको छ । रभुँवाघाटमा ड्याम (बाँध) निर्माण हुने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ ।

आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत इन्जिनीयरिङ डिजाइन, वातवारणीय प्रभाव अध्ययन मूल्याङ्कनलगायत काम पूरा भएका छन् । खोटाङको रावाबेँसी गाउँपालिका–३, लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६, भदौरेको सीमामा पर्ने रभुँवाघाटबाट तीन जिल्लाको सरकारी बाहेक करिब २० हजार रोपनी जग्गा डुबानमा पर्ने अनुमान गरिएको छ ।

आयोजना प्रभावित क्षेत्रका जग्गाधनीको रायलाई संशोधन गरेर सम्बन्धित स्थानीय तहले मूल्य निर्धारण समिति र उपसमितिलाई राय दिइसकेको जनाइएको छ । तथापि जग्गाको मूल्य निर्धारण गर्न सकिएको छैन । यसका लागि तीन वा पाँच रोपनीभन्दा कम जग्गा भएका जग्गाधनीलाई दिइने मुआब्जाबारे छुट्टै मूल्याङ्कन गर्नुपर्ने देखिएकाले केही अलमल भएको रावाबेँसी गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताउनुभयो ।

आयोजनाले प्रभावित पार्ने क्षेत्रको मुआब्जा वितरणका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगरेकाले मुआब्जाको विषय टुङ्गिन नसकेको बताइएको छ । अर्थमन्त्री, ऊर्जामन्त्री र लगानीकर्ताबीच बिहीबार भएको छलफलपछि आयोजना अगाडि बढाउने सहमति भएसँगै आगामी आर्थिक वर्ष २०८१÷८२ मा सरकारले पर्याप्त बजेट विनियोजन गर्ने आशा जगाएको प्रतिनिधिसभा सदस्य एवं कोशी प्रदेशका पूर्वमन्त्री रामकुमार राई ‘पासाङ’ले जानकारी दिनुभएको छ ।

लामीडाँडाको रभुँवाबजारमा दुई सय २० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढाइएको छ । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाबाट वार्षिक तीन अर्ब ४४ करोड ३० युनिट बिजुली उत्पादन हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

करिब ४० वर्षअघिदेखि नै अध्ययन भएको उक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको जनाइएको छ ।

गोरखाको रुन्चेतगाउँ पुग्न भिर खोपेर झोलुङ्गे पुल बनाइँदै

गोरखा, ३० चैतः उत्तरी गोरखाको धार्चे गाउँपालिका–२ मा पर्ने रुन्चेतगाउँ सडक सञ्जालबाट जोडिएको छैन । गाउँपालिकाको ३ नं वडामा पर्ने लुसीकाङगाउँबाट रुन्चेतगाउँ नजिक भए पनि त्यहाँ पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ ।

बुढीगण्डकी नदीका कारण रुन्चेत र लुसीकाङ विकट भएका हुन् तर अब घण्टौँ हिँड्नुपर्ने बाध्यताबाट स्थानीय मुक्त हुँदैछन् । “रुन्चेत र लुसीकाङवासीको वर्षौँदेखिको समस्या समाधानका निम्ति भिर खोपेर कादुरी नेपाल संस्थाको सहयोगमा आगामी पाँच महिनाभित्रमा झोलुङ्गे पुल निर्माण पूरा गर्नेगरी काम सुरु भएको छ, धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भन्नुभयो, “करिब रु एक करोड ३३ लाखको लागतमा झोलुङ्गे पुल निर्माण थालिएको हो ।”

झोलुङ्गे पुल सञ्चालन भएपछि रुन्चेतवासी तीनघण्टाभन्दा समय हिँड्नुपर्ने बाध्यताबाट मmु हुने र एक घण्टामै गाउँ पुग्न सकिने अध्यक्ष गुरुङले बताउनुभयोे । पुल नहुँदा अहिले त्यस क्षेत्रका बासिन्दाले माछीखोला पारि भिरको बाटो प्रयोग गर्दै आएका छन् ।

गत फागुन १५ गतेदेखि तीव्ररूपमा निर्माणको काम अगाडि बढेको कादुरी नेपालका प्रजेक्टका प्रबन्धक प्रदीपकुमार सिलवालले बताउनुभयो । “प्राविधिक तथा स्थानीयवासी अहिले भिरको ढुङ्गा फोर्न तल्लीन छन्, आगामी असार १ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको छ”, उहाँले भन्नुभयो । निर्धारित समयमा निर्माण सम्पन्न गर्न छजना विज्ञसहितको टोली निर्माणस्थलमा खटिएको उहाँले बताउनुभयो ।

पुल निर्माण गर्न स्थानीवासीले रु एक लाख ७६ हजार बराबरको श्रमदान गर्नेछन् । पुल निर्माण भएपछि त्यस क्षेत्रका करिब तीन सयभन्दा बढी परिवार लाभान्वित हुनेछन् ।

मेक्सिकोले इक्वेडरको दूतावासमाथि छापालाई अन्तर्राष्ट्रिय अदालतमा पुर्यायो

मेक्सिकोले क्विटोमा आफ्नो दूतावासमा भएको हमलालाई लिएर हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा इक्वेडरविरुद्ध मुद्दा दायर गरेको बिहीबार बताएको छ ।

विदेशमन्त्री एलिसिया बार्सेनाले पत्रकार सम्मेलनमा भन्नुभयो, “मुद्दामा मेक्सिकोले ‘अन्तर्राष्ट्रिय कानूनका आधारभूत सिद्धान्त र मान्यताहरूको उल्लङ्घनलाई मान्यता दिँदै’ सार्वजनिकरूपमा माफी नमागेसम्म इक्वेडरलाई संयुक्त राष्ट्रसङ्घबाट निलम्बन गर्न अनुरोध गरिरहेको छ ।”

उहाँले मुद्दाको लक्ष्य ‘मेक्सिकाली राज्य र उसका नागरिकहरूलाई परेको नैतिक क्षतिको भर्पाईको प्रत्याभूति दिनु थियो’ भन्नुभयो ।

इक्वेडरको सुरक्षा बलहरूले आफ्ना पूर्वउपराष्ट्रपति जर्ज ग्लासलाई पक्रन शुक्रबार राति मेक्सिकाली दूतावासमाथि हमला गरेका थिए । घुसखोरी र भ्रष्टाचारको आरोपमा दोषी ठहराइएका ग्लास इक्वेडरमा सर्वाधिक वाञ्छित व्यक्ति हुनुहुन्छ र उहाँलाई मेक्सिकोले शरण दिएको थियो ।

अभेद्य कूटनीतिक क्षेत्रमा भएको दुर्लभ घुसपैठले अन्तर्राष्ट्रियस्तरमा आक्रोश उत्पन्न गराएको छ र मेक्सिकोलाई इक्वेडरसँग सम्बन्ध तोड्नका लागि बाध्य बनाएको छ । साथै मेक्सिकोले आफ्ना कूटनीतिज्ञहरूलाई इक्वेडरबाट बाहिर निकालेको छ ।

सोही पत्रकार सम्मेलनमा मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्रेडोरले अन्तर्राष्ट्रिय कानूनको प्रत्याभूति होस् भन्ने हिसाबले विश्वका कुनै पनि मुलुकले यस्तो नदोहोर्याउन् भन्ने लक्ष्य रहेको बताउनुभयो ।

आर्थिक वर्ष २०२४ मा बङ्गलादेशको आर्थिक वृद्धि ६.१ प्रतिशत हुने एडिबीको प्रक्षेपण

एसियाली विकास बैंक (एडिबी) को पछिल्लो प्रतिवेदनअनुसार निर्यातका आधारमा बङ्गलादेशको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) आर्थिक वर्ष २०२४ (जुलाई २०२३ देखि जुन २०२४ सम्म) छ दशमलव एक प्रतिशतले बढ्ने अपेक्षा छ ।

मनिलास्थित बैंकले बिहीबार जारी गरेको एसियाली विकास आउटलुक (एडिओ) अपडेटमा व्यापक आर्थिक प्रतिकूलताहरू भए पनि बलियो निर्यात र संरचनात्मक सुधारप्रति सरकारको समर्पणका कारण चालु र आगामी वर्षहरूमा जिडिपीको विस्तारले क्रमशः गति लिने अपेक्षा गरिएको उल्लेख छ ।

उन्नत अर्थतन्त्रमा मौद्रिक कडाइ, बाहिरी मागमा कमी र मुद्रास्फीतिमा उछालका कारण आर्थिक वर्ष २०२३ मा मुलुकको आर्थिक वृद्धि सुस्त भएर पाँच दशमलव आठ प्रतिशत भएको प्रतिवेदनमा उल्लेख छ । आगामी आर्थिक वर्षमा जिडिपी वृद्धि छ दशमलव छ प्रतिशतसम्म बढ्न सक्ने प्रतिवेदनमा बताइएको छ ।

यद्यपि प्रतिवेदनमा उच्च मुद्रास्फीति दरमा कमी आउने अनुमान गरिएको छ । मुद्रास्फीति आर्थिक वर्ष २०२४ मा औसत आठ दशमलव चार प्रतिशत र आर्थिक वर्ष २०२५ मा सात प्रतिशत हुनेछ ।

गत वर्ष अक्टोबरमा अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले आर्थिक वर्ष २०२३–२४ का लागि बङ्गलादेशको अर्थतन्त्रको विकासको अनुमानलाई घटाएर छ प्रतिशत गरेपछि एडिबीको अनुमान आएको हो । आइएमएफले यसअघि उक्त आर्थिक वर्षका लागि छ दशमलव पाँच प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको थियो ।

विश्व बैंकले यसअघि निरन्तर उच्च मुद्रास्फीति र बाहिरी भुक्तानी चुनौतीका बीच आर्थिक वर्ष २०२३–२४ का लागि बङ्गलादेशको आर्थिक विकासको अनुमानलाई घटाएर पाँच दशमलव छ प्रतिशतमा झारेको थियो ।

कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भवना

काठमाडौं – शुक्रबार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

‘लमजुङको साहित्य विकासमा राष्ट्रकवि घिमिरेको महत्वपूर्ण योगदान छ’

काठमाडौँ- लमजुङको साहित्य क्षेत्रको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको महत्वपूर्ण योगदान रहेको बताइएको छ । मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको २८औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमका वक्ताले लोक साहित्यको उद्गमस्थल लमजुङको विकासमा राष्ट्रकविको महत्वपूर्ण भूमिका रहेको बताइएको हो । कार्यक्रममा वरिष्ठ कवि भुवनहरि सिग्देलले लमजुङ भाषा, साहित्य, संस्कृति र कलाको केन्द्र भएको बताउनुभयो । उहाँले वालुन, भजन, चुड्का, घाँटु, सोरठीलगायत विविध पक्ष लमजुङमा रहेको उल्लेख गर्नुभयो ।

वरिष्ठ कवि सिग्देलले राष्ट्रकविद्वारा सिञ्चित साहित्यिक संस्थासँग आफू जोडिन पाएकोमा खुशी व्यक्त गर्नुभयो । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले लमजुङको साहित्य क्षेत्रको विकासका लागि मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले खेलेको भूमिका सराहनीय रहेको उल्लेख गर्नुभयो ।

नेपाल सरकारका पूर्वसचिव डा किरण रेग्मीले लमजुङको भाषा, कला, साहित्य, संस्कृति एवं ज्ञान विज्ञानको उन्नयनमा प्रतिष्ठानले खेलेको भूमिका सकारात्मक रहेको बताउनुभयो । प्रतिष्ठानका उपाध्यक्ष भाग्यशाली अधिकारीले लमजुङको पहिचानका रूपमा रहेको मौलिकपनलाई जोगाउन प्रतिष्ठानले काम गरिरहेको उल्लेख गर्नुभयो ।

विसं २०५३ मा स्थापना भएको प्रतिष्ठानले रु एक लाख राशिको ‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’ स्थापना गरी नेपाली साहित्य क्षेत्रमा विशेष योगदान दिएका व्यक्तिलाई सम्मान गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिष्ठानले २८औँ स्थापना दिवसका अवसरमा आज ९३ वर्षीय छविलाल पौडेल, साहित्यकार चन्द्रवदना घिमिरे, प्रा डा नन्दप्रसाद श्रेष्ठ, डा दीपबहादुर कार्की र नेत्रप्रसाद अधिकारीलाई सम्मान गरेको थियो ।

हेर्नुहोस् चैत ३० गते शुक्रवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – प्रियजनको स्वास्थमा सामान्य खराबि आउनाले मानसीक समस्या आईपर्न सक्नेछ । बाणीमा मधुरता छाउनाले कुल कुटुम्बहरुको साथ सहयोगमा बृद्यिहुने योग रहेकोछ । नयाँ लगानिका क्षेत्रमा बिशेष सजगरहनु पर्ने समय रहेकोछ । यात्रामा सजग रहनुहोला । बादबीवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेको छ ।

बृष राशि- ब्यापार ब्यवसायको निम्ति तथा नयाँ लगानिका लागी राम्रो समय रहेको छ । मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ । स्वास्थ सम्बन्धि समस्या ले सताउला । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला ।

मीथुन राशि- सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ । सामान्य यात्राको सम्भाबना रहेकोछ । खानपानका कारण स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ ।

कर्कट राशि – पुराना तथा प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । प्रतिपक्क्षीह? सबल रहनाले कार्य सम्पादनमा झन्झट ब्यर्होनु पर्ला । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला ।

सिंह राशि- परोपकारको क्षेत्रमा धेरै समय र परीश्रम खर्च हुन सक्छ । मान्यजनको अनुसरण बाट बिशेष लाभ प्राप्त हुने समय रहेको छ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । शारिरीक आलस्यताले सताउला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ ।

कन्या राशि – कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । अनावश्यक यात्राको सम्भाबना रहेकोछ । प्रतिश्पर्दीहरू कमजोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ । दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ ।

तुला राशि – कार्य सम्पादनमा अ?को दबाबको अनुभब हुन सक्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभासम्मेलनमा सहभागीताको समय रहेकोछ । तपाईको कार्यको फल अ?लाई सहजै प्राप्त हुनाले मनमा खिन्नता उत्पन्न हुनेछ ।

बृश्चिक राशि – ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यह?मा सफलता हात लाग्नेछन । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।

धनु राशि- अपरीचीत ब्यक्तिहरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । शत्रु सबल रहनेछन । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । आर्र्थीक झमेलाले सताउनेछ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ ।

मकर राशि – अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पूर्याउनेछ । आम्दानि मध्यम रहनेछ । बौधिक ब्यत्तित्वह?को अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन । आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरु दीगो फाईदा मुलक साबित हुनेछन ।

कुम्भ राशि- भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । मान्यजनह?को साथसहयोगमा जटिल कार्यह? सम्पादित रहनेछन । अरुको दबाबको अनुभब हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ ।

मिन राशि – मान सम्मान प्राप्तिको योग रहेको छ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहला । अध्यन अध्यापन मध्यम रहनेछ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । बल पराक्रममा बृद्धि हुनेछ ।

भक्सवागनले चीनमा थप दुई अर्ब ५० करोड युरो लगानी गर्ने

आफ्नो सबैभन्दा महत्त्वपूर्ण बजारमा बिक्रीमा भएको गिरावटलाई कम गर्न खोजिरहेको जर्मन कार निर्माता भक्सवागन समूहले बिहीबार चीनमा आफ्नो सञ्चालन विस्तार गर्न दुई अर्ब ५० करोड युरो (दुई अर्ब ७० करोड अमेरिकी डलर) लगानी गर्ने बताएको छ ।

घरेलु विद्युतीय सवारी निर्माता बिवाइडीसँग आफ्नो उपाधि गुमाएको भक्सवागनले सन् २०२३ सम्म विश्वको सबैभन्दा ठूलो अटो बजारमा सबैभन्दा धेरै बिक्री हुने ब्रान्डको उपाधि आफूसँग राखेको थियो ।

चीनमा गत वर्ष निर्माता एक्सपेङमा अल्पमत हिस्सेदारी लिनेसहित समूहले विश्वव्यापी स्तरमा विद्युतीय सवारीमा दसौँ अर्ब लगानी गरेको छ । समूहले एक समाचार विज्ञप्तिमा भनेको छ, “नयाँ बहु–अर्ब युरो लगानीलाई पूर्वी प्रान्त अनहुईस्थित हेफेईमा भक्सवागनको उत्पादन र नवप्रवर्तन केन्द्रलाई थप विस्तार गर्नका लागि प्रयाग गरिनेछ ।”

यसबाट आफ्नो अनुसन्धान र विकास क्षमता बढ्ने र एक्सपेङसँग विकास भइरहेको दुई कार मोडलको तयारीमा पनि सहयोग पुग्ने विज्ञप्तिमा उल्लेख छ ।

“हामीसँग ‘इन चाइना फर चाइना’ रणनीतिका साथ एउटा बलियो योजना छ र हामीले अधिक ग्राहक केन्द्रित, थप गति र स्थानीय विकासका साथ हाम्रो व्यवसायको पुनरसंरचनालाई गति दिइरहेका छौँ”, समूहका कार्यकारी राल्फ ब्रेन्डस्टेटरले विज्ञप्तिमा भन्नुभयो, “हेफेईमा यो थप लगानीले स्थानीय नयाँ शक्तिलाई द्रुत गतिमा विस्तार गर्ने हाम्रो महत्त्वाकांक्षालाई रेखाङ्कित गर्दछ ।”

विद्युतीय सवारीका लागि चीनको बजारसामु बाँकी विश्व नगन्य भएको छ । रिसर्च फर्म रिस्ट्याड एनर्जीका अनुसार गत वर्ष डिसेम्बरमा विश्वव्यापी स्तरमा बिक्री गरिएका सबै विद्युतीय सवारीमध्ये ६९ प्रतिशत चीनमा भएको थियो ।

यस्तो मूल्यवान् बजारको लडाइँमा स्थापित अन्तर्राष्ट्रिय र घरेलु कार निर्माताहरूका साथै स्मार्टफोन तथा उपकरण निर्माता जियाओमीजस्ता हालै उदीयमान कम्पनीहरू पनि सामेल छन् ।

भक्सवागनको चीनमा ४० वर्षको इतिहास छ र उसले स्वयंलाई ‘चिनियाँ औद्योगिक पारिस्थितिकीय प्रणालीको अभिन्न अङ्ग’ भन्दछ । समूहले गत महिना जारी गरेको नतिजाले गत वर्ष चीनमा उसको बिक्री सामान्यरूपमा बढेको र सन् २०२२ को तुलनामा सुस्त गतिमा बढेको देखाएको छ । सन् २०२४ का लागि उसको विश्वव्यापी दृष्टिकोण पनि सुस्त थियो ।

स्थायित्वका लागि निर्वाचन प्रणाली फेर्न आवश्यक : डा शेखर कोइराला

घोराही (दाङ) – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मुलुकमा स्थायित्व कायम गर्नका लागि निर्वाचन प्रणलीमा सुधार गर्नुपर्ने बताउनुभएको छ ।

मिश्रित निर्वाचन प्रणलीका कारण ६÷६ महिनामा सरकार परिवर्तन हुने गरेको र यसले मुलुकमा स्थायित्व कायम गर्न नसकेको भन्दै कांग्रेस नेता कोइरालाले निर्वाचन प्रणालीका बारेमा पुनःविचार गर्नुपर्ने बेला आएको बताउनुभयो ।नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनको घोराहीमा उद्घाटन गर्दै नेता कोइरालाले कांग्रेस र एमाले दुई ठूला राजनीतिक शक्तिकाबीच एकता कायम गरी निर्वाचन प्रणालीका बारेमा ठोस् कदम चाल्नुपर्ने बेला आएको बताउनुभयो ।

नेपालको संविधान २०७२ मा रहेका केही त्रुटी संशोधन गर्नुपर्ने भएकाले त्यसका लागि दुई ठूला राजनीतिक शक्ति कांग्रेस र एमाले एक भएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ । नेता कोइरालाले नयाँ संविधान जारी गर्ने बेला गरिएको निर्वाचन प्रणालीको परिकल्पना ठिक भए पनि यसको गलत प्रयोगले राजनीतिक अस्थिरता निम्त्याएको भन्दै राजनीतिक स्थिरताका लागि कांगे्रस र एमाले एकै स्थानमा उभिने समय आइसकेको बताउनुभयो ।

पटक–पटक सरकार परिवर्तन हुने परिपाटीले विकासलाई पछि पारेको भन्दै नेता कोइरालाले सरकार परिवर्तन हुँदा नीति परिवर्तन हुने, कर्मचारी फेरबदल हुने र त्यसको प्रत्यक्ष असर विकासमा हुने भएकाले अस्थिरतालाई न्यूनीकरण गर्नका लागि निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने उहाँले तर्क गर्नुभयो । अब कांग्रेसको बाटो यही हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले विवादित सत्य निरूपण तथा मेलमिलाप आयोगको विधेयक पीडितमैत्री विधेयक बन्नुपर्ने बताउनुभयो । विधेयकमा भइरहेको राजनीतिकरणका विषयलाई लिएर नेता कोइरालाले टिआरसी विधेयक राजनीतिक लेनदेनको विषय बन्न नहुने पनि बताउनुभयो ।

यसका लागि दुई
ठूला पार्टी एकै ठाउँमा उभिनुपर्छ उहाँले भन्नुभयो,“राजनीतिक अस्थिरताका कारण देशमा आर्थिक मन्दिको डरलाग्दो अवस्था आएको, आर्थिक मन्दिका कारण धेरै व्यवसायमा सटर डाउन भइसकेका र एकै व्यक्ति तथा समूहले आर्थिक जालो फिँजाएको पनि उहाँले बताउनुभयो । निर्वाचन प्रणनी पुनःविचारका लागि यो विषयमा पार्टी र सदनमा कुरा उठिसकेको भन्दै नेता कोइरालाले अब कांग्रेसले यही एजेन्डामा आफूलाई केन्द्रित राख्ने बताउनुभयो । यो समस्याबाट जनतालाई कांग्रेस न्याय दिन लागिपरेको छ, लाग्छ र गर्छ, विश्वस्त हुनुहोस् उहाँले भन्नुभयो ।

गीतकार थापा र गायिका निशा देशार सम्मानित

मनहरी,३० चैत – भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले गीतकार राजेन्द्र थापा र गायिका निशा देशारलाई सम्मान गरेको छ । गीतकार थापा रु एक लाख राशिको ‘बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’बाट थापा सम्मानित हुनुभएको हो ।

वरिष्ठ गीतकार नगेन्द्र थापा, साहित्यकार एलबी क्षेत्री,मञ्जु थापा,गायिका सुशीला मानन्धरले गीतकार थापालाई बिहीबार हेटौँडामा आयोजित कार्यक्रममा नगदसहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

यसैगरी, रु २५ हजार राशिको ‘भीम विराग युवा सङ्गीत पुरस्कार २०७९’ बाट गायिका देशार सम्मानित हुनुभयो ।

सम्मानपछि गीतकार थापाले आफूले भोगेको समाज, परिस्थितिलाई गीतका माध्यमबाट व्यक्त गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “म बन्दुक बोकेको मान्छे हुँ तर कलम मेरो प्रिय हो, भीम विरागलाई सम्झिरहनेछु, म उहाँको प्रशंसक हुँ ।”

उद्यमी–व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले २०६४ सालमा आमा बिजुलीमाया वनः श्रेष्ठको नाममा बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय पुरस्कार स्थापना गर्नुभएको हो । यसबाट गीत तथा सङ्गीत क्षेत्रका सशक्त व्यक्तित्व अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारीलगायत सम्मानित हुनुभएको छ ।

प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले थापा र देशारको योगदानको कदर गर्दै उहाँहरूलाई सम्मान गरिएको बताउनुभयो । प्रतिष्ठानले भाषा, साहित्य, कला र सङ्गीतको उन्नयनमा योगदान गर्नेलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

एमाले नवलपुर अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित

त्रिवेणी (नवलपरासी), ३० चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ निर्वाचित हुनुभएको छ । एमाले नवलपुरको नवौँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा एक सय तीन सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।

सोमबारदेखि सुरु भएको नवौँ जिल्ला अधिवेशन बिहीबार राति सर्वसम्मत रूपमा जिल्ला कमिटी चयन गर्दै टुङ्गिएको हो । नवनिर्वाचित कमिटीको उपाध्यक्षमा यमुनाथ आचार्य, सचिवमा भीमलाल कँडेल, उपसचिवमा षडानन्द लामिछाने, महिला उपसचिवमा कल्पना देवकोटा हुनुहुन्छ । कमिटीमा दुई सदस्य पछि मनोनयन गरिने निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत रमेश काफ्लेले बताउनुभयो ।

अधिवेशनले सदस्यतर्फ पालिका भूगोलमध्ये प्रत्येक नगरपालिकाबाट खुला चार, महिला दुई, युवा एक गरी चारवटा नगरपालिकाबाट २८ जना, गाउँपालिकाबाट खुला दुई, महिला दुई, युवा एक गरी चारवटा गाउँपालिकाबाट २० जना सदस्य निर्वाचित गरेको छ ।

जिल्लालाई एउटा भूगोल मानी खुला १४, महिला नौ र युवा चार गरी २७ सदस्य निर्वाचित भएका छन् । समावेशीतर्फबाट आदिवासी जनजातिबाट खुला तीन, महिला तीन, युवा पुरुष एक, युवा महिला एक, दलिततर्फ खुला चार, महिला दुई र युवा एक, थारू खुला तीन र महिला एक, अल्पसङ्ख्यक एक, मुस्लिम एक, अपाङ्ग एक गरी २२ र मजदुरबाट एक जना जिल्ला कमिटी सदस्य निर्वाचित भएका छन् ।

झापाको आठमौजा छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा आउने

दमक (झापा)- झापाको गौरीगञ्ज गाउँपालिकामा रहेको आठमौजा छोटी भन्सार कार्यालय पुनः सञ्चालनमा आउने भएको छ । मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले आज छोटी भन्सार कार्यालयको स्थलगत निरीक्षण गर्ने क्रममा सो जानकारी दिनुभएको हो ।

छोटी भन्सार कार्यालयमा कर्मचारीको व्यवस्थापन गरी सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइएको प्रमुख रेग्मीले बताउनुभयो । आगामी वैशाख महिनाभित्रै आठमौजा छोटी भन्सार कार्यालय सञ्चालनमा आाउने उहाँको भनाइ छ । कोरोना महामारीपछि कार्यालय बन्द अवस्थामा छ ।

सरकारले आठमौजा छोटी भन्सार कार्यालय नाकाको रुपमा विस्तार गर्ने निर्णय लिए पनि पछिल्लो करिब चार वर्षदेखि भन्सार कार्यालय बन्द अवस्थामा रहेको थियो । छोटी भन्सार बन्द भएपछि सिमाबाट अवैध आयातनिर्यात हुने क्रम बढ्दै गएको छ ।

उद्योग वाणिज्य सङ्घ गौरीगञ्जका अध्यक्ष मखना महतोले छोटी भन्सार कार्यालय सञ्चालनमा नआउँदा यस क्षेत्रको व्यापारिक चहलपहल खस्किदै गएको बताउनुभयो । भन्सार नहुँदा नाकाबाट अवैध गतिविधि नियन्त्रणमा आउन नसकेको उहाँको भनाइ छ ।

लामो समयदेखि भन्सार कार्यालय नहँुदा स्थानीयले सास्ती भोगिरहेका थिए । गौरीगञ्जदेखि पाँच किलोमिटर दक्षिण भारतीय बजार फत्तेपुरको मुख्य ग्राहक नेपाली नै मानिन्छन् । सीमाका भारतीय वजारबाट लत्ताकपडा, तेल, लसुन, चिनीलगायत खाद्यवस्तु ठूलो परिमाणमा आयात हुँदैआएको छ । आठमौजा छोटी भन्सार कार्यालयलाई स्तरोन्नति गरी नाकारुपमा स्थापित गर्न नेपाल सरकारको मन्त्रीस्तरीय बैठकबाट निर्णय भइसकेको छ ।

पर्यटकीय राजधानी पोखराको फेवाताल किनारमा ‘फेवा नव वर्ष’ महोत्सव हुने

कास्की-पर्यटन, संस्कृति र खाना’ को नारासहित देशको पर्यटकीय राजधानी सहर पोखराको फेवाताल किनारमा नेपाली नयाँ वर्ष २०८१ का अवसरमा १९औँं संस्करणको फेवा नव वर्ष महोत्सव हुने भएको छ ।

होटल सङ्घ पोखराले नेपाली नयाँ वर्ष धुमधामका साथ मनाउन र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नका लागि विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव गर्न लागेको हो । यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म पर्यटकीय क्षेत्र ड्यामसाइडदेखि हल्लनचोकसम्मको तीन किमी सडक क्षेत्रमा महोत्सव हुने महोत्सव संयोजक एवं होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

नव वर्ष महोत्सवलाई भव्य बनाउने गरी आवश्यक तयारी भइरहेको छ । महोत्सवको प्रमुख उद्देश्य नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली नेपाली खानाको प्रवद्र्धन रहेको अध्यक्ष सुवेदीले बताउनुभयो । विविध सांस्कृतिक झाँकी, नृत्य र खानाका कक्ष पनि महोत्सवमा समेटिएका छन् ।

अध्यक्ष सुवेदीले भन्नुभयो, “नेपालका मुख्य सहरमा अङ्ग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकामा नेपाली नयाँ वर्ष पनि उत्तिकै उल्लासका साथ मनाउन महोत्सवलाई यसवर्ष पनि निरन्तरता दिइएको हो । पर्यटनको राजधानी घोषणापछि पहिलो पटक हुन लागेको यस महोत्सवमा स्वदेशी तथा विदेशी पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने छौँ ।”

महोत्सवको आन्तरिक तथा बाह्य गरी तीन लाख पर्यटकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । महोत्सवको तयारीका लागि २१ समिति गठन गरिएको छ । महोत्सवको अवसरमा होटल सङ्घ पोखरा मातहतका होटलको प्रकाशित दररेटमा २० प्रतिशतसम्म छुट प्रदान गरिने निर्वतमान अध्यक्ष विकल तुलाचनले बताउनुभयोे । महोत्सवका आकर्षणमा परम्परागत नेपाली खानाको प्रवद्र्धन, सांस्कृतिक झाँकीका कार्यक्रम, लोकदोहोरी र प्रख्यात कलाकारबाट पप कन्सर्ट, स्थानीय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्य, हास्यव्यङ्ग्य प्रदर्शन र पर्यटक दौड प्रतियोगितालगायत छन् ।

कोभिड–१९ पछि पूर्ववत् अवस्थामा सञ्चालन हुन नसकेर होटल थला परेको होटल तथा पर्यटन व्यवसायलाई पुरानैलयमा फर्काउन महोत्सव सफल हुने विश्वास लिइएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले यसवर्ष बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक समेत नेपाली नयाँवर्ष मनाउन पोखरा आउने अपेक्षा रहेको बताउनुभयो । नववर्ष महोत्सवको नेपालका छिमेकी देश भारतसहित अन्तर्राष्ट्रियस्तमा समेत प्रचार भएकाले पर्यटक आगमन वृद्धि हुने उहाँले उल्लेख गर्नुभयो ।

होटल सङ्घ पोखराले दुई दशकअघिदेखि नेपाली नयाँ वर्षमा महोत्सव गर्दै आएको छ । कोरोनाका कारण दुई वर्ष सञ्चालन नभएको महोत्सव अन्य वर्षमा निरन्तर रहेको छ । पर्यटन बोर्ड पोखराका निमित्त प्रमुख नवीन पोखरेलले नव वर्ष महोत्सवले नेपाली संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनका माध्यमबाट आर्थिक उन्नयनमा योगदान गरेको बताउनुभयो ।

दार्चुलामा यस वर्ष शैक्षिक सत्र सुरु हुनु अघि नै पुगे पाठ्यपुस्तक

खलङ्गा (दार्चुला)-दार्चुलामा यस वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ । वर्षेनी पाठ्यपुस्तकको अभाव हुने यस जिल्लामा यस वर्ष शैक्षिक सत्र सुरु हुनुभन्दा अघि नै पाठ्यपुस्तक पुगेको हो ।

आगामी शैक्षिक सत्रका लागि जिल्लाका पुस्तक बिक्रेताहरूकहाँ पाठ्यपुस्तक पुगिसकेको शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका प्रमुख जयराज पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार निःशुल्क रुपमा उपलब्ध हुने कक्षा १ देखि कक्षा १० सम्मका २२ हजारभन्दा बढी पाठ्यपुस्तक जिल्लाका नौ वटै स्थानीय तहमा पुगिसकेका छन् । यही चैत २० गतेदेखि जिल्लामा पाठ्यपुस्तक भित्रिन थालेको हो ।

“विद्यार्थीले भर्ना हुने बित्तिकै पाठ्यपुस्तक पाउने अवस्था छ, आगामी वैशाख ५ गते पाठ्यपुस्तक दिवसका दिन विद्यार्थीको हातहातमा पुस्तक दिने तयारी छ”, एकाइ प्रमुख पन्तले भन्नुभयो । जिल्लामा कक्षा १ देखि १० सम्मका सबै विषयका पाठ्यपुस्तक उपलब्ध छन् । अहिले स्थानीय तहका सबै विद्यालयमा पाठ्यपुस्तक पठाउने काम भइरहेको छ । समयमै पाठ्यपुस्तक पुगेपछि पठनपाठनका लागि सहज हुने उहाँले बताउनुभयो ।

राजस्व चुहावट रोक्न छोटी भन्सार खुलाउने प्रयास जारी : गृहसचिव अर्याल

वीरगञ्ज, (पर्सा) – गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले राजस्व चुहावट तथा अवैध भन्सार छली लगायतका गतिविधि रोक्नका लागि छोटी भन्सार खुलाउने तयारी गरिहेको बताउनुभयो । गृह र अर्थ मन्त्रालयद्वारा वीरगञ्जमा आज आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीमा सम्बोधन गर्दै उहाँले छिमेकीमुलुक भारतसँग आवश्यक समन्वय गरेर छोटी भन्सार खुलाउन प्रयत्न गर्ने बताउनुभयो ।

गृहसचिव अर्यालले भन्सार क्षेत्रमा हुने अवैध तस्करी तथा ठगीका गतिविधिले प्रशासन संयन्त्रलाई बद्नाम गरिरहेकाले पनि सोतर्फ गम्भीर भएर काम गर्न प्रशासन प्रमुख तथा प्रहरी प्रमुखलाई निर्देशन दिनुभएको छ ।

‘‘करदाताको सङ्ख्या एक लाख २३ हजार पुगेको देखिन्छ’’ उहाँले भन्नुभयो,‘‘अझै ४९ दशमलव १ प्रतिशत करको दायरामा आएको देखिन्न । त्यसैले पनि प्रशासन संयन्त्रले करको दायरामा नआउनेलाई ल्याउन जरुरी भइसकेको छ ।’’

अर्थ मन्त्रालयका अर्थसचिव कृष्णहरि पुस्करले राजस्व चुहावट तथा चोरी तस्करी नियन्त्रण गर्नका लागि सुरक्षा निकाय र प्रशासनिक निकायबीच संयुक्त अनुगमन तथा मोनिटरिङ गर्ने प्रणालीको विकास गर्नका लागि सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ । ‘‘यहाँ भएका सबै सरकारी निकायले एकआपसमा समन्वय र सहकार्य गरेर राजस्व चुहावट नियन्त्रण गर्नका लागि संयुक्त रुपमा काम गर्नुस्,’’ उहाँले भन्नुभयो,‘‘सबैले समन्वय गरेर अघि बढेको खण्डमा राम्रो नतिजा ल्याउन सकिन्छ ।’’

अर्थसचिव पुस्करले वीरगञ्जका प्रतिष्ठित उद्योगी व्यवसायीले कारोबार गर्दा बिल लिने र दिने प्रणालीको पनि विकास गर्न सुझाव दिनुभएको छ । अर्थसचिव पुस्करले अन्तरदेशीय नाकाबाट पछिल्लो समय अवैधानिक क्रिप्टो, हुण्डी र सुनचाँदीको कारोबार बढेको तर्फ इङ्गित गर्दै सो नियन्त्रणको लागि प्रभावकारी ढङ्गले काम गर्न सरोकारवाला निकायलाई निर्देश गर्नुभयो ।

सरकारले समन्वय गरेर छोटी भन्सार खुलाउनेतर्फ आवश्यक प्रक्रिया अघि बढाइरहेको पनि जानकारी दिनुभयो । ‘‘छिमेकीमुलुकसँग आवश्यक समन्वय र सहकार्य गरेर अन्तरदेशीय व्यापारलाई अझै सुदृढ बनाउनेतर्फ पहलकदमी भइरहेको छ,’’ उहाँले भन्नुभयो, ‘‘हामीले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा सो कुरालाई राख्दै आइरहेका छौँ ।’’

गृह र अर्थ मन्त्रालयद्वारा वीरगञ्जमा आज आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीमा दुई चरणको छलफल गरिएको थियो । पहिलो चरणमा वीरगञ्जमा रहेका भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्लामा रहेका सुरक्षा निकायसँग सम्बन्धित निकायसँग राजस्व चुहावटको विषयमा छलफल गरिएको थियो । दोसो चरणमा भने वीरगञ्ज उद्योग वाणिज्य सङ्घ लगायतका निकायमा आवद्ध उद्योगी÷व्यवसायीसँग पनि छलफल गरिएको थियो ।

संविधानको कार्यान्वयन अहिलेको आवश्यकता हो : उपाध्यक्ष पौडेल

बलेवा (बागलुङ), २९ चैत : नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधानको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता भएको बताउनुभएको छ । संविधानले नागरिकलाई सबै हिसाबले सुविधा सम्पन्न बनाएको भए पनि कार्यान्वयन नहुँदासम्म नागरिकले महसुस नगर्ने उहाँले उल्लेख गर्नुभयो ।

नेकपा (एमाले) बागलुङको १०औँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले नेतृत्वदायी भूमिका निर्वाह गरेर जनआन्दोलनमार्फत व्यवस्था परिवर्तन र नयाँ संविधान ल्याएको एमालेले नै संविधानको कार्यान्वयन तथा नागरिकमा आशा जगाउनुपर्ने बताउनुभयो । गृहमन्त्री रवि लामिछानेको विषयमा अनुसन्धान गर्न संसदीय छानबिन समिति बन्छ भन्नु भ्रम मात्रै भएको उहाँको भनाइ थियो ।

वर्तमान सरकार ढाल्नकै लागि प्रतिपक्षले संसद्को समय वर्वाद गरेर अनुचित माग गरिरहेको उपाध्यक्ष पौडेलको आरोप थियो । गृहमन्त्रीलाई राजीनामा गराउने र वर्तमान समिकरणमा प्वाल पारेर आफु सत्तामा आउनकै लागि नेपाली कांग्रेसले संसदीय समितिको माग गरेको उहाँको भनाइ थियो । राज्यका निकायहरुले सहकारी ठगीका विषयमा अनुसन्धान गरिरहेकाले अहिले नै संसदीय छानबिन समितिको आवश्यकता नरहेको उहाँले बताउनुभयो ।

“छानबिन नगर्ने भन्ने होइन्, सत्ताबाट प्रतिपक्षमा पुगेको कांग्रेसको नियत ठिक छैन्, उसले सत्ता समिकरण विगार्नका लागि मात्रै यो माग गरिरहेको छ” उपाध्यक्ष पौडेलले भन्नुभयो– “संसद्को समय दुरुपयोगको काममा मात्रै कांग्रेस तल्लीन भयो ।” वर्तमान सरकार र सत्ता समिकरण लामो सयम टिक्ने भन्दै उहाँले अहिलेको समिकरण विगार्न लागेकाप्रति एमाले सचेत रहेको बताउनुभयो ।

बढ्दै वनमा डढेलोः निभाउने प्रविधि र जनशक्ति अभाव

देउखुरी (दाङ), २९ चैत : घोराही उपमहानगरपालिका–५ धर्नाको धारापानीमा रहेको पान्डवेश्वर सामुदायिक वनमा यही चैत २५ गते आगलागी भयो । अगलागी भएको देखेपछि धारापानी मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले वनमा डढेलो लागेकाले नियन्त्रणका लागि सबैजनालाई सहयोगको आह्वान गर्नुभयो ।

पहिलो दिनमा गाउँघरका नागरिकलाई साथैमा लिएर जाँदा पनि आगो निभाउन सम्भव भएन । राति भइसकेकाले उहाँसहित गाउँले घर फर्किए । भोलिपल्ट बिहान रणसिंह दल गणका नेपाली सेना, धारापानीमा रहेको चौकीका नेपाल प्रहरी, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीय आगो नियन्त्रणमा आएका सचिव आचार्यले बताउनुभयो । उहाँका अनुसार दश वर्षदेखि जोगाउँदै आएको वनमा एक्कासी आगलागी हुँदा धेरै बोटबिरुवा जलेर नष्ट भएका छन् ।

गर्मी मौसमको सुरुआतसँगै दाङमा आगलागीका घटना बढ्दै गएका छन् । वन डढेलोका कारण बर्सेनि ठूलो मात्रामा बोटविरुवा तथा वनस्पतिको क्षति हुने गरेको छ । रोकथामका लागि चाहिने पूर्वाधार निकै कमजोर छ ।

डढेलो नियन्त्रण गर्न अपनाउनुपर्ने विधि प्रक्रिया सबै अपनाए पनि बर्सेनि बढ्दै गएको भन्दै यसले जोखिम थपिँदै गएको जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठ बताउनुभयो । “वन डढेलो नियन्त्रणमा चुनौती थपिँदै गएको छ । रोकथामका प्रयास भइरहे पनि बारम्बार मानवीय कारणबाट रोकथाममा चुनौती भएको छ”, उहाँले भन्नुभयो ।

श्रेष्ठका अनुसार डिभिजन कार्यालयअन्तर्गत आठवटा सबडिभिजन छन् । जिल्लामा ८४ हजार हेक्टर वनक्षेत्र रहेको भन्दै सामुदायिक वन समूहको सङ्ख्या तीन सय ८५ वटा रहेका उहाँले जानकारी दिनुभयो ।

“समुदायस्तरमा सचेतना बढाउने कार्यक्रम बर्सेनि हुने गरेका छन् । सामुदायिक वन व्यवस्थापन कार्ययोजनाअनुसार काम भइरहेकाले जोखिम कम गर्न सहयोग पुगोस् भन्ने हाम्रो अपेक्षा हो । सोअनुसार काम हुनसकेको भने छैन”, श्रेष्ठले भन्नुभयो । दाङमा वन डढेलो नियन्त्रणका लागि तालिमप्राप्त जनशक्ति तथा प्रविधिको अभाव रहेको उहाँको भनाइ छ ।

“वनमा आगो लाग्यो भने निभाउन जाँदा ज्यान जाने खतरा छ । दमकल, ट्याङ्कर, जनशक्ति केही छैन । अहिले हामीसँग छजना सशस्त्र वन रक्षक छन् । वन डढेलो नियन्त्रण दस्ताबाट काम भइरहेको छ । उपलब्ध स्रोतसाधनबाट कोसिस जारी छ, योे पर्याप्त भने होइन”, डिभिजन वन कार्यालयका प्रमुख श्रेष्ठले भन्नुभयो ।

डिभिजन वन कार्यालयका अनुसार अहिले जिल्लामा डेढ सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । नियन्त्रण लिने काम हुँदै आए पनि सुक्खा मौसम र दमकल पुग्ने बाटाको समस्या रहेकाले जोखिम थपिएको श्रेष्ठले बताउनुभयो । गत वर्ष जिल्लामा दुई हजार दुई सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो ।

प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले विपद्जन्य घटना न्यूनीकरणका लागि जिल्लामा गठित सबै संयन्त्र जिम्मेवार रूपमा क्रियाशील हुनुपर्ने बताउनुभयो । विपद्जन्य घटनाबाट नोक्सान कम गर्नका लागि पूर्वतयारी गर्नुपर्ने उहाँले बताउनुभयो ।

अहिलेको सुक्खा समयमा वन डढेलोको जोखिम बढ्ने भएकाले स्थानीयस्तरमा गठित संयन्त्र तथा सञ्जालले आफ्नो भूमिका बढाउँदै सचेतना प्रदान गर्न लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । दाङमा १२ वटा वन डढेलो नियन्त्रण सञ्जाललाई अग्नि नियन्त्रण सामग्री हस्तान्तरण गरिएको प्रजिअ सुवेदीले जानकारी दिनुभयो ।

जिल्लास्थित डिभिजन वन कार्यालयअन्तर्गत आठवटा सबडिभिजन मातहत रहेका सञ्जालमध्ये १२ वटा सञ्जाललाई डढेलो नियन्त्रणका लागि जमसुट, ग्लोभ्स, हेलमेट, जेट सुटर विथ वाटर ब्याग, रेक, रेक हो, स्वाटर गरी छ किसिमका अग्नि नियन्त्रक सामग्री हस्तान्तरण गरिएको वन प्रमुख श्रेष्ठले बताउनुभयो ।

राजस्व चुहावट, छली, ठगी, तस्करी विरुद्ध सरकार निर्मतापूर्वक अघि बढ्ने : गृहमन्त्री लामिछाने

वीरगञ्ज (पर्सा) २९ चैत : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट, छली, ठगी, तस्करी जस्ता गैरकानुनी गतिविधि गर्ने विरुद्ध सरकार निर्मतापूर्वक अघि बढ्ने बताउनुभएको छ । गृह र अर्थ मन्त्रालयद्वारा वीरगञ्जमा आज आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उहाँले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताउनुभएको छ ।

गृहमन्त्री लामिछानेले बिलविजकको विषयमा सरकारले गम्भीरतापूर्वक लिने बताउनुभएको छ । ‘‘अन्डरबिलिङ, गलत बिलिङको जुन समस्या देखिएको छ । त्यसलाई पूर्ण रुपमा नियन्त्रण गर्ने कदम चाल्ने रणनीतिसहित अघि बढ्नेछौँ’’, उहाँले भन्नुभयो, ‘‘बिल नबनाउने, गलत बिल बनाउने । एउटा सामान ल्याउँदा अर्काे समानको बिल गराउने कार्यलाई गम्भीरतापूर्वक लिनेछौँ ।’’

गृहमन्त्री लामिछानेले राजस्व सङ्कलनमा देखिएका चुनौतीलाई समाधान गर्नका निमित्त सक्रिय भएर सरकार लागि परेको बताउनुभएको छ । ‘‘बजारमा छयाप्पछयाप्ती अखाद्य वस्तुहरु छन् । किसानले उत्पादन गरेका दूध फालिने अवस्था सृजना भएको छ । आफ्नै उत्पादनले बजार पाइरहेका छैनन् । यो कुरा देखेर पनि प्रशासनले वास्ता गरेका छैनन् भने यो कुरामा हामीलाई कुनै पनि हालतमा सह्य हुँदैन’’, उहाँले भन्नुभयो, ‘‘म आफैँले पनि राम्रो काम गर्न सकिन भने प्रधानमन्त्रीले मलाई पनि माया गरेर राख्नुहुन्न । यो कुरा मलाई मात्रै होइन, सबैलाई लागू हुन्छ ।’’

गृहमन्त्री लामिछानेले बजारमा प्रतिबन्धित वस्तुहरु पर्याप्त मात्रामा भइरहेको प्रति असन्तुष्टि जनाउँदै सो प्रतिबन्धित आयातलाई नियन्त्रण गर्नेतर्फ अग्रसर हुन सबै सरोकारवाला निकायलाई निर्र्देशन दिनुभएको छ । ‘‘यसअघि पनि सरकारले आयात प्रतिबन्ध लगाएका वस्तु तथा सेवा बजारमा छ्याप्पछयाप्ती देखिरहेको छ । जुन बजारमा प्रतिबन्धित सामग्री छयाप्पछयाप्ती पाइन्छ । यो क्षेत्रमा जिम्मेवारी लिएर बसेका प्रशासनिक तथा प्रहरी अधिकृत पनि निरन्तर रहिरहन सक्दैनन् । त्यसैले त्यस्ता खालका विकृति र विसङ्गति अन्त्य गर्नका लागि आवश्यक काम गरिहाल्नुस् ।’’

गृहमन्त्री लामिछानेले अवैध तस्करी तथा भन्सार छलीका गतिविधिलाई कडिकडाउ ढङ्गले नियन्त्रण गर्न सुरक्षा निकाय तथा अन्य प्रशासनिक निकायलाई निर्देश गर्नुभएको छ । ‘‘उद्योगी÷व्यवसायीको व्यवसायलाई सुरक्षा र सुरक्षित गर्ने काम हाम्रो हो । त्यसमा कुनै पनि चिन्ता नलिनुस् । तपाईहरुलाई कसैले पनि विभिन्न डर, धम्की र दबाब दिन सक्दैन । त्यसको ग्यारेन्टी म लिन्छु’’, उहाँले भन्नुभयो, ‘‘म वीरगञ्जमा उभिएर बहालवाला गृहमन्त्रीको हैसियतले भनिरहेको छु । नियम कानुनको अधिनमा रहँदा तपाईहरुलाई कसैले दबाब सृजना गर्न सक्दैन । न त यहाँ गुण्डागर्दी चल्छ । न त यहाँ हप्तागिरी चल्छ । न त प्रशासनकै चल्छ । न त अमुक मान्छेकै चल्छ । बस यहाँ केबल चल्छ त कानुनीराज र विधिको शासन मात्रै चल्छ ।’’

गृहमन्त्री लामिछानेले उद्योगी÷व्यवसायीलाई ढुक्क भएर उद्योगधन्दा तथा व्यापार गर्ने वातावरणको व्यवस्था गर्ने बताउनुभएको छ । ‘‘ संविधान, ऐन कानुनअनुसार चलेका उद्योगी÷व्यवसायीलाई सरकारले संरक्षण र सुरक्षा दुवै प्रदान गर्छ’’, उहाँले भन्नुभयो, ‘‘कानुन र विधिको शासन कार्यान्वयन नगर्ने जिम्मेवार निकायलाई पनि त्यसै छाड्दैनौँ ।’’ उहाँले कानुन र विधिअनुसार चलेका उद्योग व्यवसायलाई संरक्षण र सुरक्षा प्रदान गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

‘‘अब हाम्रो मुख्य प्रथामिकता भनेको नै समाजमा रहेको विकृति विसङ्गतिको अन्त्य गर्ने हो’’, उहाँले भन्नुभयो, ‘‘यदि हामी आएर पनि राम्रा काम गर्न सकिएन भने हामीले समाजलाई दिन खोजेको शान्ति, स्ुरक्षा र समाजलाई दिन खोजेको योगदान दिन सक्दैन । त्यसैले कानुनीराज स्थापित गर्नेतर्फ सबै सक्रिय भएर लागौँ ।’’ गृहमन्त्री लामिछानेले मधेस प्रदेशबाट नै मुलुकमा नियम कानुन र थिति बसाल्ने कामको सुरुवात थालेको दाबी गर्नुभयो । ‘‘अब मधेस प्रदेशमा गुण्डागर्दी र लागू औषधको तस्करी नियन्त्रण गर्दै आर्थिक नगरीको रुपमा थिति बसाल्ने छौँ ।’’,

धार्मिकस्थल गलेश्वर मन्दिरमा नौ महिनामा ४२ लाख भेटी सङ्कलन

म्याग्दी, २९ चैत : बेनी नगरपालिका–९ मा रहेको म्याग्दीको प्रमुख धार्मिकस्थल गलेश्वर मन्दिरमा नौ महिनाको अवधिमा रु ४२ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्म मेलापर्वमा रु १९ लाख ७८ हजार आठ सय १८ र मण्डपमा रु २२ लाख ७९ हजार सात सय ९२ भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका कोषाध्यक्ष कुमारी रोकाले चैत महिनाको बुधबार गणना गरिएको रु चार लाख ५९ हजार एक सय ३५ सहित चालु आवको नौ महिनामा रु ४२ लाख ५८ हजार छ सय १० भेटी सङ्कलन भएको जानकारी दिनुभयो । साउन सोमबारमा रु नौ लाख २७ हजार एक सय ७८, बाला चर्तुदशीमा रु छ लाख २१ हजार नौ सय २२ र शिवरात्रीमा रु चार लाख २९ हजार सात सय १८ भेटी सङ्कलन भएको हो । कोषको आम्दानी भेटी र बैंकको ब्याजसहित रु तीन करोड ७० लाखभन्दा बढी रहेको छ ।

मन्दिरको आम्दानी कर्मचारीको तलब, कार्यालय, मन्दिरका पुुजारी, ज्येष्ठ नागरिक आश्रमका भान्सेको तलबका साथै संस्कृत विद्यालय सञ्चालनमा परिचालन गरिएको छ । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु ११ करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, एक सय आठ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मी नारायणको मूर्ति स्थापनालगायत भौतिक संरचना निर्माण भएका हुन् ।

कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा वौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ ।

हिन्दूधर्म ग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचतुर्दशी र शिवरात्री पर्वमा विशेष मेला लाग्ने गर्छ । यहाँ दैनिक नित्य पूजाआजा हुने गर्छ । गलेश्वर दर्शन र पूजाआजा गरेमा मनोकांक्षा पूरा हुुने धार्मिक विश्वास छ ।

विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री

काठमाडौँ, २९ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताउनुभएको छ । भारतीय उद्योग परिसङ्घका प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले विदेशी लगानीकर्तालाई सहज बनाउन सरकार नीतिगत सुधार गर्न इच्छुक रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले विदेशी लगानीकर्तालाई सरकारले ‘लजिस्टिक’ सहयोग गर्ने उल्लेख गर्दै नेपालमा लगानीका लागि आग्रह गर्नुभयो । प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालका साथै अर्थमन्त्री वर्षमान पुन र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग समेत भेटवार्ता गरेको थियो । उक्त भेटमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत पदाधिकारीसमेत सहभागी हुनुहुन्थ्यो ।

सो अवसरमा अर्थमन्त्री पुनले नेपालको अर्थतन्त्रमा पनि भारतीय अर्थतन्त्रको ठूलो भूमिका रहेको उल्लेख गर्दै नेपाल र भारतबीचको व्यापार तथा लगानी प्रवद्र्धनका लागि सक्दो प्रयास गर्ने विश्वास दिलाउनुभयो । भेटमा उद्योगमन्त्री भण्डारीले नेपालमा विदेशी लगानीकर्ताले स्थापना गर्ने उद्योगलाई सहजीकरण गर्न आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिक साधारणसभामा सहभागी हुन भारतीय उद्योग परिसङ्घका अध्यक्ष सञ्जीव पुरीको नेतृत्वको प्रतिनिधिमण्डल काठमाडौँ आएको थियो । महासङ्घको वार्षिक साधारणसभामा पुरी मुख्य वक्ता हुनुहुन्थ्यो ।

मुग्लिन–पोखरा सडक बिस्तारः पूर्वी खण्डमा ५५ र पश्चिममा १९ प्रतिशत भौतिक प्रगति

तनहुँ, २९ चैत: मुग्लिन–पोखरा सडक बिस्तार आयोजनाअन्तर्गत पूर्वी र पश्चिम गरी दुई खण्डमा निर्माण भइरहेको छ । आयोजनाले दिएको जानकारीअनुसार हालसम्म पूर्वी खण्डमा ५५ र पश्चिममा १९ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डको अन्तिम बिन्दुमा पर्ने तनहुँको म्याग्दे जामुनेदेखि दमौलीतर्फ कालोपत्र गर्दै आइरहेको आयोजना पूर्वी खण्डका प्रमुख श्यामकुमार यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाको आँबुखैरेनी, बन्दीपुर, व्यास र म्याग्देमा गरी एकतर्फी कूल २८ किलोमिटर र दुईतर्फी १५ किमी कालोपत्र गरिएको छ । अहिले कालोपत्रलाई प्राथमिकता दिँदै आवश्यक स्थानमा पहाड काट्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।

पूर्वी खण्डमा ४१ दशमलव सात किमी दूरी रहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डका लागि रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो । उक्त खण्डको अन्तिम म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । कोभिडको समयमा निर्माण स्थगित भएकाले नेपाल सरकारबाट छ महिना म्याद थप गर्ने प्रक्रियामा रहेको सो आयोजनाले जनाएको छ ।

त्यसैगरी पश्चिम खण्डमा दुई लेनको गरी साढे सात किमी सडक कालोपत्र भइसकेको छ । वर्षाअघि कल्भर्ड र नाला निर्माणलाई प्राथमिकता दिइएको पश्चिम खण्डका इञ्जिनियर नारायण पौडेलले जानकारी दिनुभयो ।

“पूर्वी खण्डको तुलनामा पश्चिम खण्डमा ढिलो काम सुरु गरेका कारण सोचेअनुरुप प्रगति हासिल गर्न नसकेको हो”, उहाँले भन्नुभयो, “पछिल्लो समय लक्ष्यअनुरुप निर्माण गर्न थालेपछि प्रगति बढ्न थालेको छ ।”

पहिरा खस्ने सम्भावित क्षेत्रमा वर्षाअघि कालोपत्र नगरिने आयोजनाले जनाएको छ । पहिरो खस्ने स्थानबाट करिब पाँच सय मिटर अघिपछि छाडेर अन्य क्षेत्रमा कालोपत्र भइरहेको छ । पश्चिम खण्डअन्र्तगत जिल्लाको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दूरी रहेको छ । उक्त खण्डमा चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले ठेक्का पाएको छ ।

यस खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको थियो । विसं २०७८ भदौदेखि काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ ।

‘नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्नु सरकारको दायित्व हो’ – मन्त्री तामाङ

धुलिखेल (काभ्रेपलाञ्चोक), २९ चैत : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१०, दोलालघाटमा आजदेखि सुरु भएको चौथो दोलालघाट महोत्सवको उद्घाटन गर्दै मन्त्री तामाङले यहाँको पर्यटकीय क्षेत्रको विकासमा पालिका र नागरिकले चाहना गरेको आयोजनालाई पर्यटन मन्त्रालयका साथै अन्य मन्त्रालयसँगको समन्वयमा सकेको काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले सङ्घीय सरकार सधैँ पालिकाको विकास निर्माण लगायतका अन्य सबै कार्यमा साथमा नै रहेको बताउँदै कामको प्रकृतिअनुसार प्रदेश सरकार र स्थानीय सरकारले पनि समन्वय गरेर काम गर्नेमा ध्यान दिन आग्रह गर्नुभयो ।

सांसद गोकुलप्रसाद बाँस्कोटाले भुम्लुलगायत आसपासका क्षेत्रका लागि सुनकोशी तेस्रो जलविद्युत् आयोजना सपना रहेकाले परियोजनालाई सम्पन्न गर्न सबैका तर्फबाट साथ र सहयोग हुनुपर्ने बताउनुभयो । सो कार्य अगाडि बढाउनका लागि बङ्गलादेश सरकारसँग प्रारम्भिक सहमति भइसकेका कारण अबको १६ वर्षभित्रमा उक्त परियोजना सम्पन्न हुनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो ।

“परियोजना सम्पन्न भएपछि यहाँ फेवा तालभन्दा पाँच गुणा ठूलो ताल बन्नेछ”, उहाँले भन्नुभयो, “सन् २०४० सम्ममा यो परियोजना सम्पन्न हुनेछ, त्यसपछि दोलालघाट क्षेत्र बेग्लै पर्यटकीय गन्तव्यको रुपमा विकास भएर यहाँको रुप रङ नै फेरिनेछ ।”

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतमले जथाभाबी बगरको उत्खनन्ले दोलालघाटको सुन्दरता हराउन थालेको बताउनुभयो । यहाँका नदी किनारका बगरलाई जथाभाबी उत्खनन् गरेर सुन्दरता मेटाउन खोजेको उल्लेख गर्दै उहाँले जिल्ला अनुगमन समितिले नीति बनाएर मात्रै उत्खनन् गर्ने निर्णय गरेकाले अब दोहन रोकिने विश्वास व्यक्त गर्नुभयो ।

भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले इन्द्रावती र भोटेकोशी दुई नदीको सङ्गमस्थल भएर पलाञ्चोक भगवती मन्दिर, भीमसेनस्थान र बुद्धपार्क उभिएको भन्दै जसको थप पर्यटकीय प्रवर्द्धनात्मक कार्यले मात्रै यहाँको पर्यटकीयस्थललाई थप उचाइमा पु¥याउन सकिने सम्भावना रहेको बताउनुभयो ।

महोत्सव आयोजक समितिका संयोजक एवं दुलालेश्वर वातावरणीय तथा समाजसेवा क्लवका अध्यक्ष अष्टबहादुर श्रेष्ठले पर्यटकीय गन्तव्य रहेको दोलालघाटलाई आधुनिकतामा ढाल्ने प्रयास कम भएको बताउनुभयो । यहाँको विकासको लागि तीन वटा नै सरकारको ध्यानाकर्षण हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘प्राकृतिक, सांस्कृतिक, कृषि र व्यापार, दोलालघाट पर्यटन प्रवर्द्धन विकासको आधार’ भन्ने नारासहित आजदेखि सुरु भएको महोत्सव आगामी २०८१ वैशाख ३ गते समापन हुनेछ । महोत्सवमा आउने पर्यटकलाई विविध सांस्कृतिक कार्यक्रमद्वारा स्वागत गर्ने, सुनकोशी र इन्द्रावतीका स्थानीय माछाका परिकार उपलब्ध गराउनुका साथै ¥याफटिङ (बोटिङ), स्वास्थ्य शिविर, धार्मिकस्थलको प्रचारप्रसार, कृषि प्रदर्शनीका स्टल रहने जनाएको छ । साथमा नयाँ वर्ष विशेष कार्यक्रम, निर्माणाधीन बुद्धपार्क तथा दृश्यावलोकन स्तम्भ अवलोकन, भुम्लु गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने मुख्य सोच रहेको आयोजकले जनाएको छ ।