`

मुग्लिन–पोखरा सडक बिस्तारः पूर्वी खण्डमा ५५ र पश्चिममा १९ प्रतिशत भौतिक प्रगति

तनहुँ, २९ चैत: मुग्लिन–पोखरा सडक बिस्तार आयोजनाअन्तर्गत पूर्वी र पश्चिम गरी दुई खण्डमा निर्माण भइरहेको छ । आयोजनाले दिएको जानकारीअनुसार हालसम्म पूर्वी खण्डमा ५५ र पश्चिममा १९ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डको अन्तिम बिन्दुमा पर्ने तनहुँको म्याग्दे जामुनेदेखि दमौलीतर्फ कालोपत्र गर्दै आइरहेको आयोजना पूर्वी खण्डका प्रमुख श्यामकुमार यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाको आँबुखैरेनी, बन्दीपुर, व्यास र म्याग्देमा गरी एकतर्फी कूल २८ किलोमिटर र दुईतर्फी १५ किमी कालोपत्र गरिएको छ । अहिले कालोपत्रलाई प्राथमिकता दिँदै आवश्यक स्थानमा पहाड काट्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।

पूर्वी खण्डमा ४१ दशमलव सात किमी दूरी रहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डका लागि रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो । उक्त खण्डको अन्तिम म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । कोभिडको समयमा निर्माण स्थगित भएकाले नेपाल सरकारबाट छ महिना म्याद थप गर्ने प्रक्रियामा रहेको सो आयोजनाले जनाएको छ ।

त्यसैगरी पश्चिम खण्डमा दुई लेनको गरी साढे सात किमी सडक कालोपत्र भइसकेको छ । वर्षाअघि कल्भर्ड र नाला निर्माणलाई प्राथमिकता दिइएको पश्चिम खण्डका इञ्जिनियर नारायण पौडेलले जानकारी दिनुभयो ।

“पूर्वी खण्डको तुलनामा पश्चिम खण्डमा ढिलो काम सुरु गरेका कारण सोचेअनुरुप प्रगति हासिल गर्न नसकेको हो”, उहाँले भन्नुभयो, “पछिल्लो समय लक्ष्यअनुरुप निर्माण गर्न थालेपछि प्रगति बढ्न थालेको छ ।”

पहिरा खस्ने सम्भावित क्षेत्रमा वर्षाअघि कालोपत्र नगरिने आयोजनाले जनाएको छ । पहिरो खस्ने स्थानबाट करिब पाँच सय मिटर अघिपछि छाडेर अन्य क्षेत्रमा कालोपत्र भइरहेको छ । पश्चिम खण्डअन्र्तगत जिल्लाको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दूरी रहेको छ । उक्त खण्डमा चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले ठेक्का पाएको छ ।

यस खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको थियो । विसं २०७८ भदौदेखि काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ ।

‘नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्नु सरकारको दायित्व हो’ – मन्त्री तामाङ

धुलिखेल (काभ्रेपलाञ्चोक), २९ चैत : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१०, दोलालघाटमा आजदेखि सुरु भएको चौथो दोलालघाट महोत्सवको उद्घाटन गर्दै मन्त्री तामाङले यहाँको पर्यटकीय क्षेत्रको विकासमा पालिका र नागरिकले चाहना गरेको आयोजनालाई पर्यटन मन्त्रालयका साथै अन्य मन्त्रालयसँगको समन्वयमा सकेको काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले सङ्घीय सरकार सधैँ पालिकाको विकास निर्माण लगायतका अन्य सबै कार्यमा साथमा नै रहेको बताउँदै कामको प्रकृतिअनुसार प्रदेश सरकार र स्थानीय सरकारले पनि समन्वय गरेर काम गर्नेमा ध्यान दिन आग्रह गर्नुभयो ।

सांसद गोकुलप्रसाद बाँस्कोटाले भुम्लुलगायत आसपासका क्षेत्रका लागि सुनकोशी तेस्रो जलविद्युत् आयोजना सपना रहेकाले परियोजनालाई सम्पन्न गर्न सबैका तर्फबाट साथ र सहयोग हुनुपर्ने बताउनुभयो । सो कार्य अगाडि बढाउनका लागि बङ्गलादेश सरकारसँग प्रारम्भिक सहमति भइसकेका कारण अबको १६ वर्षभित्रमा उक्त परियोजना सम्पन्न हुनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो ।

“परियोजना सम्पन्न भएपछि यहाँ फेवा तालभन्दा पाँच गुणा ठूलो ताल बन्नेछ”, उहाँले भन्नुभयो, “सन् २०४० सम्ममा यो परियोजना सम्पन्न हुनेछ, त्यसपछि दोलालघाट क्षेत्र बेग्लै पर्यटकीय गन्तव्यको रुपमा विकास भएर यहाँको रुप रङ नै फेरिनेछ ।”

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतमले जथाभाबी बगरको उत्खनन्ले दोलालघाटको सुन्दरता हराउन थालेको बताउनुभयो । यहाँका नदी किनारका बगरलाई जथाभाबी उत्खनन् गरेर सुन्दरता मेटाउन खोजेको उल्लेख गर्दै उहाँले जिल्ला अनुगमन समितिले नीति बनाएर मात्रै उत्खनन् गर्ने निर्णय गरेकाले अब दोहन रोकिने विश्वास व्यक्त गर्नुभयो ।

भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले इन्द्रावती र भोटेकोशी दुई नदीको सङ्गमस्थल भएर पलाञ्चोक भगवती मन्दिर, भीमसेनस्थान र बुद्धपार्क उभिएको भन्दै जसको थप पर्यटकीय प्रवर्द्धनात्मक कार्यले मात्रै यहाँको पर्यटकीयस्थललाई थप उचाइमा पु¥याउन सकिने सम्भावना रहेको बताउनुभयो ।

महोत्सव आयोजक समितिका संयोजक एवं दुलालेश्वर वातावरणीय तथा समाजसेवा क्लवका अध्यक्ष अष्टबहादुर श्रेष्ठले पर्यटकीय गन्तव्य रहेको दोलालघाटलाई आधुनिकतामा ढाल्ने प्रयास कम भएको बताउनुभयो । यहाँको विकासको लागि तीन वटा नै सरकारको ध्यानाकर्षण हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘प्राकृतिक, सांस्कृतिक, कृषि र व्यापार, दोलालघाट पर्यटन प्रवर्द्धन विकासको आधार’ भन्ने नारासहित आजदेखि सुरु भएको महोत्सव आगामी २०८१ वैशाख ३ गते समापन हुनेछ । महोत्सवमा आउने पर्यटकलाई विविध सांस्कृतिक कार्यक्रमद्वारा स्वागत गर्ने, सुनकोशी र इन्द्रावतीका स्थानीय माछाका परिकार उपलब्ध गराउनुका साथै ¥याफटिङ (बोटिङ), स्वास्थ्य शिविर, धार्मिकस्थलको प्रचारप्रसार, कृषि प्रदर्शनीका स्टल रहने जनाएको छ । साथमा नयाँ वर्ष विशेष कार्यक्रम, निर्माणाधीन बुद्धपार्क तथा दृश्यावलोकन स्तम्भ अवलोकन, भुम्लु गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने मुख्य सोच रहेको आयोजकले जनाएको छ ।

डोल्पामा आगलागीबाट तीन बालबालिका घाइते

डोल्पा, २९ चैत : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेर तीन बालबालिका गम्भीर घाइते भएका छन् । गाउँ नजिकैको वनमा लागेको आगलागीमा परेर आज एउटै घरका दाजुभाईसहित तीन बालबालिका घाइते भएका हुन्् ।

घाइते हुनेमा कक्षा ४ मा पढ्ने १२ वर्षीय विवस बुढा, १३ वर्षीय समन्त बुढा र १० वर्षीय सुरज बुढा रहेको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो । दिउँसो वनमा गुच्ची च्याउ टिप्न गएको बेला उनीहरु आगलागीमा परेका थिए । घाइते तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । उनीहरुको डोल्पामा उपचार सम्भव नभएकाले काठमाडाँै लैजानुपर्ने जिल्ला अस्पतालले जनाएको छ ।

त्रिपुरासुन्दरी नगरपालिकाले अस्पताल लैजान हेलिकप्टरको व्यवस्थाका लागि पहल गरिरहेको प्रमुख प्रशासकिय अधिकृत जगदीशचन्द्र नेपालीले जानकरी दिनुभयो । सुर्खेतबाट उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर खराब मौसमका कारण डोल्पा आउन नसकेको उहाँले बताउनुभयो । डोल्पामै गत मङ्गलबार ठूलिभेरी नगरपालिका–४ स्थित मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु भएको थियो ।

सबै समुदायका संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई बलियो बनाउछ – अध्यक्ष नेपाल

काठमाडौँ, २९ चैत : नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा समुन्नत तथा सभ्य समाज निर्माण गर्न सबै जाति समुदायका पर्व र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनुभएको छ ।

इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) को अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष नेपालले सबै समुदायका संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकतालाई बलियो बनाउने उल्लेख गर्नुभयो । उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एंव बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको समाजमा सामाजिक एकता अभिवृद्धि गर्न प्रचलित सबै जाति समुदायका सांस्कृतिक चेतनाको प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले विविध सांस्कृतिक विशेषताका कारण नेपाली समाजलाई एकापसमा एकताबद्ध बनाउने उल्लेख गर्दै विभिन्न चाडपर्वले राष्ट्रको गौरव बढाउने हुँदा तिनको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

मुलुकमा एकापसमा पारस्पारिक सम्मान, सह अस्तित्व, सद्भाव र एकताको भावनालाई स्थापित गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष नेपालले मानव सभ्यताको विकाससँगै जोडिएका सम्पूर्ण जातजातिका चाडपर्व, भाषा, साहित्य, कला, संस्कृतिले मुलुकलाई सांस्कृतिक रूपमा सम्पन्न बनाउने विश्वास व्यक्त गर्नुभयो । आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण समाज निर्माण गर्नुपर्ने उल्लेख गर्दै उहाँले समाजमा विद्यमान सबै प्रकारका विभेद, विकृति र विसङ्गतीलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

भोजपुरको वाक्चाखामा विद्युत्को केन्द्रीय प्रसारण लाइन

भोजपुर, २९ चैतः भौगोलिकरुपमा विकट मानिने भोजपुरको रामप्रसादराई गाउँपालिका–८ खोक्सिकको वाक्चाखामा विद्युत्को केन्द्रीय प्रसारण लाइन विस्तार भएको छ । यहाँका एक सय ५० घरपरिवारमा विद्युत् विस्तार गरिएको हो । वर्षौंबाट टुकीको साहारामा रात कटाउँदै आएका स्थानीय विद्युत् विस्तारपछि खुसी भएका छन् ।

वर्षौंबाट टुकी तथा सोलारको उज्यालोमा रात कटाइरहेको अवस्थामा विद्युत्को केन्द्रीय प्रसारण लाइन बिस्तार भएपछि दैनिकीमा परिवर्तन आएको स्थानीयवासी राजेन्द्र राईले बताउनुभयो । विद्युत् विस्तारले कुटानीपिसानीसँगै दैनिक कामकाजमा सहज भएको उहाँको भनाइ छ । अहिले विद्युतीय उपकरण जडान गरेर काम गर्नसक्ने वातावरण तय भएको उहाँले जानकारी दिनुभयो ।

“भौगोलिकरुपमा विकट रहेको हाम्रो वाक्चाखा गाउँमा केन्द्रीय प्रसारण लाइन जडान भएको छ”, उहाँले भन्नुभयो, “विद्युत् बिस्तारले वर्षौंबाट अध्याँरोमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । विद्युत्ले दैनिक जीवनयापनमा सहजता भएको छौँ । ढिलै भए पनि विद्युत् उपभोग गर्न पाउँदा खुसी लागेको छ ।”

वडाको सक्रियतामा दुर्गम क्षेत्रमा केन्द्रीय प्रसारण लाइन बिस्तारले सूचनाको पहुँचमा जोडिन सहजता भएको स्थानीयवासी महेन्द्र राईले बताउनुभयो । विद्युत् विस्तारपछि नेट, इन्टरनेट, टेलिभिजन प्रयोग गर्दै गाउँमा बसेर देशविदेशको जानकारी लिने गरेको उहाँले बताउनुभयो ।

“विद्युत् नहुँदा दैनिकी निकै कष्टकर थियो”, उहाँले भन्नुभयो, “विद्युत् विस्तार भएपछि गाउँले जीवनमा सहजता थपिएको छ । घरमा बसेर देश विदेशका सूचना लिन सकेका छौँ । गाउँ झिलीमिली बनेको छ । यहाँ विद्युत् आउँछ भन्ने हामीलाई लागेको थिएन ।”

भौगोलिकरुपमा विकट रहेको भए पनि वडालाई आगामी वर्षभित्र उज्यालो वडा घोषणा गर्ने लक्ष्यका साथ केन्द्रीय प्रसारण लाइन बिस्तार भइरहेको वडाध्यक्ष वाचकुमार राईले बताउनुभयो । हालसम्म वडाको ८० प्रतिशत क्षेत्रमा विद्युत् बिस्तार गर्न सफल भएको उहाँको भनाइ छ । वडाको कुनै पनि स्थानमा विद्युत् नपुगेको अवस्थामा अहिले अधिकांश गाउँमा विद्युत् विस्तार गरिएको वडाध्यक्ष राईको भनाइ छ ।

“मैले वडाको जिम्मेवारी सम्हाल्दा हाम्रो वडाको कुनै पनि स्थानमा विद्युत् थिएन”, वडाध्यक्ष राईले भन्नुभयो, “अहिले ८० प्रतिशत क्षेत्रमा विद्युत् बिस्तार गर्न सफल भएका छौँ । आगामी वर्ष उज्यालो वडा घोषणा गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ ।” विद्युत् विस्तारका लागि वडाले रु १२ लाख बजेट विनियोजन गरेर तार खरिद गरेको वडाध्यक्ष राईले बताउनुभयो । सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै विद्युत् विस्तारमा पहिलो प्राथमिकता साथ काम गरिरहेको उहाँको भनाइ छ ।

ट्र्याक एन्ड फिल्ड ओलम्पिकमा पुरस्कार रकम प्रदान गर्ने पहिलो खेल बन्दै

ओलम्पिकमा पुरस्कार राशि प्रस्ताव गर्ने ट्र्याक एन्ड फिल्ड पहिलो खेल बन्न लागेको छ । अन्तर्राष्ट्रिय एथलेटिक्सले बुधबार पेरिसमा स्वर्ण पदक विजेतालाई ५० हजार अमेरिकी डलर प्रदान गर्ने बताएको छ ।

यो कदम ओलम्पिकमा विगतको एमेच्योर खेलको सबैभन्दा बढी हेरिने घटनामध्येको एउटा प्रतीकात्मक विराम हो । एथलेटिक्स सञ्चालन गर्ने उक्त संस्थाले यस वर्षको पेरिस ओलम्पिकका लागि ट्र्याक एन्ड फिल्ड कार्यक्रमको ४८ स्पर्धामा स्वर्ण पदक विजेताहरूलाई प्रदान गर्नका लागि २४ लाख डलर विनियोजन गरेको बताएको छ ।

रिले खेलका खेलाडीहरूले ५० हजार डलर आपसमा बाँड्ने छन् । रजत र कास्य पदक विजेताहरूका लागि लस एन्जलसमा सन् २०२८ आयोजना हुने ओलम्पिकमा भुक्तानी सुरु गरिने योजना छ ।

अन्तर्राष्ट्रिय एथलेटिक्सका अध्यक्ष सेबेस्टिएन कोएले पत्रकारहरूसँग भन्नुभयो, “यो कदम भनेको हामीले प्राप्त गर्ने राजस्व हिस्सा ठूलो हिस्सामा छ भनेर पहिचान गर्नु हो किनकी हाम्रा खेलाडीहरू प्रतियोगिताका ‘स्टार’ हुन् ।” अन्तर्राष्ट्रिय ओलम्मिक समिति (आइओसी) ले प्रदान गर्ने ओलम्पिक राजस्वको हिस्साबाट पुरस्कार राशि आउने छ ।

यद्यपि यो कदमले पेरिस खेलहरूअघि ओलम्पिक आन्दोलनमा शक्ति सन्तुलनलाई खल्बल्याउन सक्छ । अन्तर्राष्ट्रिय एथलेटिक्सले आफ्नो घोषणा प्रकाशन गर्नुभन्दा केहीअघि बुधबार बिहानमात्र आइओसीलाई आफ्नो मनसायका बारेमा ‘चेतावनी सन्देश’ दिएको कोएले बताउनुभयो ।

जवाफमा आइओसीले ओलम्पिक राजस्वको आफ्नो हिस्सा कसरी खर्च गर्ने भनेर निर्णय गर्न प्रत्येक खेलका सञ्चालक निकायमा निर्भर हुने बताएको छ । “आइओसीले आफ्नो सबै आम्दानीको ९० प्रतिशत विशेषरूपमा राष्ट्रिय ओलम्पिक समितिहरू (एनओसी) र अन्तर्राष्ट्रिय महासङ्घहरू (आइएफ) लाई पुनरवितरण गर्दछ”, आइओसीले भनेको छ, “यसको अर्थ प्रत्येक दिन ४२ लाख डलरबराबरको रकम विश्वभरका सबै स्तरमा खेलाडी र खेल सङ्गठनहरूको सहयोगका लागि जान्छ, आफ्ना खेलाडीलाई कसरी उत्कृष्ट सेवा दिने र उनीहरूको खेलको वैश्विक विकास कसरी गर्ने भन्ने कुरा प्रत्येक आइएफ र एनओसीमा निर्भर छ ।”

आधुकि ओलम्पिक प्रतियोगिताको सुरुआत एमेच्योर खेल आयोजनाका रूपमा भएको थियो र आइओसीले पुरस्कार राशि प्रदान गर्दैन । यद्यपि धेरै पदक विजेताहरूले आफ्नो मुलुकको सरकार, राष्ट्रिय खेल निकायहरू वा प्रायोजकहरूबाट भुक्तानी प्राप्त गर्दछन् ।

आइडब्लुएफ विश्व कप : भारोत्तोलन खेलाडी सागरद्वारा कीर्तिमानमा सुधार

महेन्द्रनगर (कञ्चनपुर), २९ चैत : थाइल्याण्डको फुकेटमा जारी अन्तर्राष्ट्रिय भारोत्तोलन महासङ्घ (आइडब्लुएफ) विश्व कप भारोत्तोलन प्रतियोगितामा नेपालका खेलाडी सागर भण्डारीले आफ्नो राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् ।

उक्त प्रतियोगिताअन्तर्गत आज भएको प्रतिस्पर्धाका क्रममा कञ्चनपुरको महेन्द्रनगरका भण्डारीले प्लस् १०९ किलोग्राम तौल समूहमा स्नाचमा १३४, क्लिन एण्ड जर्कमा १७२ किलोग्राम र कूलतर्फ ३०६ किलोग्राम भार उचाल्दै आफ्नो राष्ट्रिय कीर्तिमानमा सुधार गरेको थाइल्याण्डमा रहनुभएका भारोत्तोलनका प्रशिक्षक जीवन गौतमले जानकारी दिए ।

यसअघि चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा भण्डारीले स्नाचमा १३३ किलो भार उचाल्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए । यसअघि उज्वेकिस्तानमा भएको एसियाली च्याम्पियनसिप, २०२४ मा भण्डारीले क्लिन एण्ड जर्कमा १७१ किलो भार उचालेका थिए । सोही प्रतियोगितामा उनले कूलतर्फ ३०३ किलो भार उचालेका थिए । यसअघि पनि क्लिन एण्ड जर्क र कूलतर्फ पनि भण्डारीकै नाममा राष्ट्रिय कीर्तिमान रहेको थियो । ती दुवैमा पनि भण्डारीले राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् ।

“विसं २०३६ मा भारोत्तोलन सङ्घ बनेयता भण्डारी ३०६ किलोग्राम भार उचाल्ने पहिलो खेलाडी बनेका छन्”, प्रशिक्षक गौतमले भन्नुभयो–“भारोत्तोलन सङ्घले ओलम्पिक खेल्न सक्ने सम्भावित खेलाडीको रुपमा भण्डारीलाई अघि बढाएको छ ।” भारोत्तोलनमा वाइल्ड कार्ड पाएर ओलम्पिक खेल्न सक्ने सम्भावित खेलाडीको सूचीमा उनलाई राखेर नेपाल ओलम्पिक कमिटीले प्रशिक्षण तथा अन्य आवश्यक व्यवस्थान गरिरहेको प्रशिक्षक गौतमले जानकारी दिए ।

ओलम्पिक कमिटीले एक वर्षदेखि भण्डारीको प्रशिक्षकका रुपमा गौतमलाई खटाएको छ । महेन्द्रनगरबाट भारोत्तोलन खेल्न सुरुआत गरेका उनी हाल नेपाल पुलिस क्लबमा आवद्ध छन् । छोटो समयमा भण्डारी धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेका छन् । सुदूरपश्चिमबाट कैलालीको धनगढीका भरत साउद सन् १९८८ मा दक्षिण कोरियामा आयोजना गरिएको ओलम्पिक प्रतियोगितामा पहिलो पटक भारोत्तोलन खेलमा सहभागी भएका थिए ।

‘महिला हरेक कुरामा सवल तथा सशक्त हुने छन्’ – पौडेल

नारायणगढ (चितवन), २९ चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव तथा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले महिला हरेक कुरामा सवल तथा सशक्त हुने बताउनुभएको छ ।

आज चितवनको भरतपुरमा भएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय महिला विभागको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले संवेदनशीलता, जिम्मेवारी वोध र परिपक्वताको हिसाबले महिला हरेक क्षेत्रमा सशक्त हुने गरेको बताउनुभएको हो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त महिलाको नाम लिँदै महिला अधिकारको निम्ति संसारभर स्थापित भएको प्रसङ्ग उल्लेख गर्नुभयो । मुलुकको हितका लागि भएका कठिनपूर्ण आन्दोलनमा महिलाको उल्लेख्य सहभागिता रहेको र इमान्दारिता पूर्वक आफ्नो भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो ।

बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले महिला समाज रुपान्तरणका लागि नेत्तृत्व गर्न सक्ने हुनुपर्ने उल्लेख गर्नुभयो । सङ्गठनबाट नेत्तृत्व गर्दै देशकै नेत्तृत्व गर्ने उद्देश्य राखेर आम महिला अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । सङ्गठन बलियो भएमा मात्र स्थानीय तहदेखि केन्द्रीय तहसम्म बलियो हुने भन्दै उहाँले सङ्गठनमा लडेर नेत्तृत्वको विकास गर्नपर्ने बताउनुभयो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अवसर पाएमा महिला कुनै कुरामा पनि कमी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक कुरामा हामी अब्बल छौँ भन्ने कुरा हामीले पाएका अवसर र सम्पादन गरेका कार्यहरुबाट पुष्टि भएका छन् ।” महिलाले नेत्तृत्व गरेको ठाउँमा भएका काम थप राम्रो भएको उहाँको भनाइ थियो ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय महिला विभागकी संयोजक छायाँ रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्र चितवन जिल्ला इन्चार्ज घनश्याम दाहाल, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीलगायतले मन्तव्य राख्नुभएको थियो । सम्मेलनले आज नै ३५ सदस्यीय समिति चयन गर्नेछ । सम्मेलनमा देशभरबाट सात सय जना प्रतिनिधिको सहभागिता रहेको छ ।

इरान र इजराइललाई ‘संयमता’ अपनाउन क्रेमलिनको आग्रह

मध्यपूर्वमा बढ्दो तनावका बीच मस्कोले बिहीबार इरान र इजराइलसँग संयमता अपनाउन आग्रह गरेको छ । दुई इरानी जनरलको मृत्यु हुने गरी यसै महिनाको सुरुमा भएको हमलालाई लिएर तेहरानले इजराइलविरुद्ध नयाँ धम्की जारी गरेको छ । त्यसपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजराइलका लागि ‘कडा’ समर्थनको प्रतिज्ञा गर्नुभएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले पत्रकारहरूसँग भन्नुभयो, “यस क्षेत्रलाई अस्थिर हुन नदिन सबैले संयमता अपनाउन अत्यन्तै महत्त्वपूर्ण छ ।” रुसले पहिला गाजामा छ महिनाको युद्धमा इजराइलको आचरणको निन्दा गरेको थियो ।

मस्कोले परम्परागतरूपमा मध्यपूर्वका सबै प्रमुख शक्तिसँग सम्बन्ध कायम राख्ने प्रयास गरेको थियो । यद्यपि गाजा युद्धले इजराइलसँग उसको सम्बन्धलाई बिग्रिएको छ र उसले पहिलादेखि नै इरानसँग सैन्य र राजनीतिक सम्बन्धलाई सुदृढ बनाइरहेको छ ।

दुवै कट्टर प्रतिद्वन्द्वीबीच सम्भावित मध्यस्थताका रूपमा रुससँग सम्पर्क नगरिएको पेसकोभले बताउनुभयो ।

मङ्गोलियाको जीडीपी सन् २०२४ मा ४.१ प्रतिशत बढ्ने अनुमान

उलानबटोर, २९ चैत – मङ्गोलियाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२४ मा ४.१ प्रतिशतले बढ्ने अनुमान गरेको छ । एसियाली विकास बैंक (एडीबी)का अनुसार मङ्गोलियाको जीडीपी यो सन् २०२३ मा सात प्रतिशतले वृद्धि भएको थियो ।

सन् २०२४ मा खानी र उच्च सरकारी लगानीका कारण आर्थिक वृद्धिमा केही टेवा पुग्नेछ । तर मङ्गोलियामा यस वर्ष चिसोका कारण कृषि क्षेत्रमा सङ्कुचन आउने अनुमान एडीबीले गरेको छ ।

प्रतिवेदनमा, बैंकले सन् २०२५ मा मङ्गोलियाको जीडीपी वृद्धि छ प्रतिशतमा पुग्ने अनुमान गरेको छ । जुन कृषि क्षेत्रको सुधार, खानी विस्तार र सेवाहरूको वृद्धिबाट सम्भव हुनेछ ।

सन् २०२३ मा मङ्गोलियाली अर्थतन्त्र बलियो देखिएको बताउँदै यही प्रवृत्ति जारी रहने मङ्गोलियाका लागि एडीबीका निर्देशक श्यानन काउलिनले बताउनु भयो ।

“यस वर्ष, मौसम–सृजित प्रकोपबाट आर्थिक वृद्धि प्रभावित भई कृषि क्षेत्रमा उल्लेखनीय असर पारेको छ । अप्रिलको सुरुसम्ममा ६० लाखभन्दा बढी गाईवस्तु मरेका छन् भने यो सङ्ख्या बढ्ने क्रममा रहेको छ,” उहाँले उल्लेख गर्नु भएको छ ।

ठूलोखोला जलविद्युत् आयोजनाको सुरुङ र ‘सर्ज साफ्ट’ जोडियो

म्याग्दी, २९ चैत : म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको मुख्य सुरुङ र ‘सर्ज साफ्ट’ जोडिएको छ । संयुक्त ऊर्जा लिमिटेड प्रवर्द्धक रहेको ठूलोखोलाको सुरमा भन्ने ठाउँमा ४३ दशमलव ३६ मिटर गहिरो सुरुङ बनाएर मुख्य सुरुङसँग जोड्ने कार्य गएराति सम्पन्न भएको हो ।

आयोजनाको सिभिल ठेकेदार साकुरा–पावर त्रिपल एसका आयोजना व्यवस्थापक शिवलाल चालिसेले सर्ज साफ्टको ‘ब्रेक थ्रु’ भएसँगै सुरुङ खन्ने सबै काम सकिएको बताउनुभयो । “सर्च साफ्टले सुरुङमा पानीको सतह व्यवस्थापन र चापलाई नियन्त्रण गर्न मद्दत गर्छ”, उहाँले भन्नुभयो, “आकस्मिक रूपमा विद्युत्गृह बन्द गर्नुपर्दा सुरुङबाट आएको पानीको चापलाई सर्च साफ्टले नियन्त्रण र सतह व्यवस्थापन गर्छ ।” जलविद्युत् आयोजनाका लागि सर्ज साफ्टको ब्रेक थ्रु हुनुलाई एउटा महत्त्वपूर्ण उपलब्धि मानिएको चालिसेले बताउनुभयो ।

तीन महिनाअघि जोडिएको फेदीखोलाको बाँधबाट छरीको आउटलेट जोड्ने दुई हजार सात सय मिटर मुख्य सुरुङलाई फिनिसिङ गर्ने काम भइरहेको छ । एक सय चार दशमलव १६ मिटर अग्लो भर्टिकल साफ्ट र चार सय ८३ मिटर पेनस्टक टनेल निर्माण सकिएको छ ।

विद्युत्गृहबाट आउटलेटको उचाइ तीन सय ५५ मिटर छ । आउटलेटबाट विद्युत्गृह जोड्ने एक हजार छ सय ४० मिटर पेनस्टक पाइप लाइनमध्ये सात सय मिटर जडान भइसकेको छ । पचासी प्रतिशत भौतिक प्रगति भएको उक्त आयोजनाको आगामी तीन महिनाभित्र पूर्वाधार निर्माणको काम सक्ने लक्ष्य छ ।

फेदीखोलामा बाँध, पानी थिग्राउने पोखरी र छरीमा विद्युत्गृह निर्माण अन्तिम चरणमा पुगेको छ । विद्युत्गृहको छाना छाएपछि जडान गर्ने जेनेरेटर र टर्वाइनलगायत उपकरण राख्ने ठाउँ तयार बनाइएको छ ।

आयोजनाका प्रमुख इन्जिनीयर रवीन्द्र हमालले हिमाली क्षेत्रको प्रतिकूल मौसम, भूगोल र प्राकृतिक विपद्का चुनौतीबीच निर्माणलाई तीव्रता दिइएको बताउनुभयो । कुल रू तीन अर्ब ६० करोड लागत अनुमान गरिएको आयोजनाको प्रवर्द्धक कम्पनीको नेतृत्व गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अगुवा डा बद्री केसीले गर्नुभएको छ ।

नेपाल बैंक लिमिटेडको नेतृत्वमा राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक र सिटिजन्स बैंकले आयोजनामा लगानी गरेका छन् । यस आयोजनामा गत असारमा आएको बाढीले बाँध नजिकै निर्माणाधीन डिसेन्डर (पानी थिग्राउने पोखरी) मा क्षति पुर्याएपछि निर्माण अवधि केही समय धकेलिएको थियो ।

आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि आठ किलोमिटर दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माणाधीन छ । बत्तीसमध्ये १४ वटा टावरको निर्माण सुरु भइसकेको निर्माण कम्पनीले जनाएको छ । रघुगङ्गा गाउँपालिका–३ अम्बाङ निर्माण हुन लागेको एक सय ३२ केभी क्षमताको सबस्टेशनबाट केन्द्रीय प्रसारण लाइनमा ठूलोखोलाको विद्युत् जोड्ने तयारी गरिएको छ ।

म्यान्माको सेना सीमा केन्द्रबाट फिर्ता भएको जातीय विद्रोहीहरूको भनाइ

केही दिनको झडपपछि थाई सीमा नजिकैको प्रमुख व्यापारिक केन्द्रमा म्यान्माको जुन्ता सैनिक आफ्नो स्थानबाट फिर्ता भएको एउटा जातीय सशस्त्र समूहले बिहीबार बताएको छ । यो लडाइँमा सामेल सेनाका लागि अर्को झट्का हो ।

महत्त्वपूर्ण व्यापारिक सहर म्यावाडीनजिकैको सीमामा थाइल्यान्डका एएफपीका संवाददाताहरूले बिहीबार बिहान गोली चलेको आवाज सुनेका थिए । अघिल्लो रात त्यहाँ सयौँ मानिस राज्यमा सुरक्षा खोज्न लाइनमा बसेका थिए ।

बिहीबार दिउँसोसम्म थाइल्यान्डको माई सोट सहरमा मानिसहरूको प्रवाह कम भएको थियो । छब्बीस वर्षीय सादीजस्ता मानिस उत्सुकतापूर्वक आफन्तहरूको प्रतीक्षा गरिरहेका थिए । “मैले यसलाई एक साथ राख्ने विचारमा छु”, उनले भने । आफ्नो फोन पुनः निरीक्षण गर्दै उनले हुनेवाला बेहुली अझै म्यान्मामा रहेको जानकारी दिए ।

सन् २०२१ मा सेनाले लोकतान्त्रिकरूपमा निर्वाचित सरकारलाई अपदस्त गरेपछि म्यान्मा द्वन्द्वको चपेटामा परेको छ तर हालैका महिनाहरूमा व्यापक क्षतिपछि जुन्ताले अहिलेसम्मकै सबैभन्दा गम्भीर खतराको सामना गरिरहेको छ ।

करेन नेसनल युनियन (केएनयु) का लडाकू र अन्य जुन्ताविरोधी समूहहरूले यसै साता म्यावाडी सहरमा हमला गरेका थिए । जुन्ताको वाणिज्य मन्त्रालयलका अनुसार नगदको अभावमा परेको जुन्ताका लागि म्यावाडी एउटा महत्त्वपूर्ण सम्पत्ति हो । यहाँबाट अप्रिलसम्मको १२ महिनामा एक अर्ब १० करोड डलरभन्दा बढीको व्यापार भएको थियो ।

केएनयुका प्रवक्ता पडोह साव ताव नीले सहरमा बाँकी दुई सय वा त्योभन्दा धेरै जुन्ता सैनिक बुधबार राति आफ्नो स्थानबाट फिर्ता भएको एएफपीलाई बताउनुभयो । उहाँले म्यावाडीलाई थाई सीमावर्ती सहर माई सोटसँग जोड्ने एउटा पुलमा अहिले सैनिकले आश्रय लिइरहेको जानकारी दिनुभयो । उहाँले केएनयुले अहिले पूरा सहरमा नियन्त्रण गरिरहेको दाबी गर्नुभयो ।

म्यावाडीसम्म पुग्न पत्रकारहरूलाई अनुमति नभएकाले एएफपीले उक्त दाबीलाई स्वतन्त्ररूपमा पुष्टि गर्न सकेन तर एक थाई सीमा अधिकारीले सहर बुधबार रातिसम्म ‘पतन’ भएको बताएका छन् ।

बिहीबार ३७ डिग्री सेल्सियसको गर्मीमा थाई सैनिक र बख्तरबन्द गाडीहरू सीमामा अलर्ट अवस्थामा थिए । त्यहाँ एएफपीका पत्रकारहरूले स्थानीय समयानुसार बिहान १०ः३० बजे एउटा विमान म्यावाडीको दिशामा उड्दै गरेको देखेका थिए ।

म्यावाडीका बासिन्दाहरूले सेनाले सहरमा हवाई हमला गरिरहेको तर सडकमा केएनयुका लडाकूहरू नदेखेको बताएका छन् । हालैका महिनाहरूमा युद्धको मैदानमा धेरै हारको सामना गर्नुपरेको जुन्ताका लागि म्यावाडी सहरमाथि पूर्ण कब्जा अपमानजनक पराजय हुनेछ ।

यद्यपि स्वतन्त्र म्यान्मा विश्लेषक डेभिड म्याथिसनले भन्नुभयो, “वास्तवमा म्यावाडीलाई कसले नियन्त्रण गरेको छ र उपस्थितिको विपरित वास्तवमा नियन्त्रण के हो भन्नेबारे आकलन गर्न अहिले नै हतार हुनेछ ।”

थाई सीमामा ‘फ्रेन्डसिप ब्रिज नम्बर २’ मा सामान्यतया म्यान्मामा औषधि, उपभोग्य सामान र निर्माण सामग्री बोक्ने ट्रकहरू निष्क्रियरूपमा रहेको एएफपीका संवाददाताहरूले देखेका थिए । थाई सीमाका एक अधिकारीले दुवैतर्फ चेकपोस्ट खुला रहेको तर कुनै मालसामानको यातायात नचलेको बताउनुभयो ।

म्यान्माको जुन्ताले म्यावाडीतर्फ थप सेना पठाइरहेको सैन्य स्रोतले बिहीबार बताएको छ । यद्यपि सहरका केही मार्ग विरोधीहरूको नियन्त्रणमा रहेकाले सेना कहिले र कसरी पुग्नेछ भन्नेबारेमा स्पष्ट छैन ।

वन डढेलोबाट घाइते हुनेको निःशुल्क उपचार र मृतकको परिवारलाई राहतको माग

काठमाडौँ, २९ चैतः मुलुकभरका सामुदायिक वनहरुको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन)ले वन डढेलोबाट घाइते हुनेहरुको निःशुल्क उपचार र मृतकको परिवारलाई राहत उपलब्ध गराउन माग गरेको छ । फेकोफनले आज एक विज्ञप्ति जारी गर्दै फेकोफनले घाइतेहरुको उपचार समयमै र निःशुल्क हुनुपर्ने र मृतकको परिवारलाई उचित राहतको वयवस्था हुनपर्ने माग गरेको हो ।

विगत केही दिनदेखि मुलुकभर बढ्दो वन डढेलोका कारण व्यापक रुपमा हुन गएको जनधनको क्षतिप्रति सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले आफ्नो गम्भीर रुपमा ध्यानाकर्षण भएको जनाएको छ । लामो समयदेखि हिउँदे वर्षाको कमी, निरन्तर तापक्रमको वृद्धि, गर्मी मौसमको सुरुआतलगायतका प्राकृतिक कारण र सेचतनाको कमी, लापरवाहीका कारण वन डढेलो लागेको भन्दै महासङ्घले नियन्त्रणमा पहल नभएको पनि फेकोफनले गुनासो गरेको छ ।

नियन्त्रणसम्बन्धी सामुदायिक तथा सरकारी योजनाहरुको प्रभावकारी कार्यान्वयनको कमी र सम्बन्धित निकायबीच समन्वयको अभाव जस्ता मानवीय कमजोरीका कारण डढेलोका कारण क्षति हुने गरेको फोकोफनको भनाइ छ ।

फेकोफनका अध्यक्ष ठाकुर भण्डारीले हालै डोल्पाको ठूलीभेरी नगरपालिकाको मस्ता सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणका क्रममा मृत्यु हुनेको पवारलाई राहत र घाइतेलाई निःशुल्क उपचार हुनुपर्ने बताउनुभयो ।

“उक्त स्थानमा डढेलो नियन्त्रण गर्ने क्रममा तीन जना नेपाली सेनाको मृत्यु भएको छ भने कालिकोट, भोजपुर, धनकुटा, ललितपुरलगायतका जिल्लामा वन डढेलो निभाउने क्रममा सामुदायिक वनका उपभोक्ताहरुको मृत्यु भएको छ”, उहाँले भन्नुभयो, “घाइतेहरुको तत्काल निःशुल्क उपचार र आगलागीबाट मृत्यु हुने व्यक्तिका परिवारका लागि उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन सरकारी निकाय र सरोकारवालासँग सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल हार्दिक अपिल गर्दछ ।”

उहाँले वन डढेलो नियन्त्रणका लागि देशभरका सामुदायिक वन उपभोक्ता समूहले गर्दै आएको अथक प्रयासप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । वन डढेलो नियन्त्रण गर्ने जस्तो जोखिमपूर्ण र पूनित कार्यमा वन उपभोक्ता समूहले गरेको योगदानको कुनै न कुनै रुपमा उच्च मूल्याङ्कन हुने उहाँको भनाइ छ ।

पूर्वमनसुन प्रणाली सक्रिय नभएको र औषत तापक्रम निरन्तर बढ्दै गएका कारण वन डढेलोको प्रकोपमा थप वृद्धि हुनसक्ने सहजै अनुमान गर्न सकिने उहाँको भनाइ छ ।“दैनिक रुपमा वनमा जाने गोठाला, घाँस दाउरा गर्न जाने किसान समूह तथा जडीबुटी र काठ दाउरा सङ्कलन गर्न जाने व्यक्तिहरुलाई वनमा डढेलो लाग्न नदिनका लागि वन क्षेत्रमा नै गई नियमित रुपमा सचेतना अभिवृद्धि गरी निरोधात्मक उपायहरु अवलम्बन गर्नुपर्छ”, अध्यक्ष भण्डारीले भन्नुभयो, “वन क्षेत्रमा जाँदा आगलागी गराउन सक्ने वस्तु नलैजान सचेत गराउने र वनमा आगलागी गराएमा कडा कानूनी कारवाही हुने भनी सचेत गराई निषेधात्मक उपायहरु अवलम्बन गर्नुपर्छ ।”

वैशाख १ गतेदेखि भगवानबहाल बाहेक ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ने

ठमाडौँ, २९ चैत : राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलको भगवानबहाल क्षेत्रबाहेक अन्य क्षेत्र वैशाख १ गतेदेखि चौबिसै घण्टा खुल्ने भएको छ ।ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले आज पत्रकार सम्मेलन गरी ठमेलको भगवानबहाल क्षेत्रमा स्थानीय बसोबास गर्दै आइरहेकाले सो क्षेत्रलाई छाडेर अन्य क्षेत्र २४ सै घण्टा सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेलभित्र रोजगारी सृजना गर्दै व्यवसायलाई चलायमान बनाउनका लागि ठमेल र दरबारमार्गलाई २४ सै घण्टा सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । “जिल्ला प्रशासन कार्यालय काठमाडौँको आचारसंहिता बमोजिम कानुनको परिधिमा रहेर ठमेल र दरबारमार्गलाई २४ सै घण्टा सञ्चालन गर्न लागिएको हो”, उहाँले भन्नुभयो ।

अध्यक्ष शर्माले ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुलाउन स्थानीय, प्रदेश र केन्द्र सरकारका सुरक्षा निकायसँग सहकार्य गरिसकेकाले ढुक्क भएर व्यापार व्यवसाय गर्न सबै व्यवसायीलाई आग्रह गर्नुभयो । ठमेलभित्र आठ हजार पाँच सय व्यवसायी र ६० हजार बढीले रोजगार पाएको उहाँको भनाइ छ ।

दरबारमार्ग विकास बोर्डका अध्यक्ष सञ्जय अधिकारीले ठमेल र दरबारमार्ग क्षेत्रलाई स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनाउन २४ सै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले दरबारमार्गलाई लामो समयदेखि २४ सै घण्टा खुलाउन प्रयास गरे पनि उक्त प्रयासले भर्खर मात्र सार्थकता पाएको बताउनुभयो । महेन्द्र शालिकबाट नारायणहिटी दरबार सङ्ग्रहालयसम्म खुला हुने दरबारमार्गमा दुई सय व्यवसायी र छ हजार व्यक्तिले रोजगार पाएको उहाँको भनाइ छ । सहरको वातावरणलाई पर्यटकको अनुकूल बनाउँदै जानसके मात्र लगानी अनुरुप प्रतिफल प्राप्त गर्न सकिने पत्रकार सम्मेलनमा बताइएको छ । ठमेल र दरबारमार्गबाट सुरु भएको २४ घण्टा सञ्चालन गर्ने अभियानलाई विस्तारै देशका विभिन्न सहरमा लगिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

देश र जनताको हितमा लाग्न नेता कार्यकर्तालाई अध्यक्ष ओलीको सुझाव

ताप्लेजुङ, २९ चैत : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई सङ्गठित गर्दै अघि बढ्न आफ्ना नेता कार्यकर्तालाई सुझाव दिनुभएको छ । आफ्नो स्वार्थमा नभई देश र जनताको हितलाई ध्यानमा राख्दै योजनावद्ध रुपमा अघि बढ्न आफ्ना कार्यकर्तालाई उहाँले सुझाव दिनुभयो ।

आज ताप्लेजुङ सदरमुकाम फुङलिङमा निर्माण भएको मदन भण्डारी स्मृति भवन तथा एमाले पार्टी कार्यालयको उद्घाटन गर्दै उहाँले स्पष्ट विचारका साथ अनुशासित र सक्रियतापूर्वक रुपमा पार्टी सङ्गठनमा लाग्नुपर्ने बताउनुभएको हो ।

आफु र आफ्नो पार्टीलाई गन्तव्यमा पु¥याउनका लागि हरेक कार्यकर्तामा स्पष्ट विचार, अनुशासन र सक्रियता आवश्यक पर्ने उल्लेख गर्दै सोही अनुसार अघि बढेर मिसन ८४ लाई पूरा गर्नुपर्ने उहाँले बताउनुभयो । करिब रु तीन करोड २५ लाख बढीको लागतमा निर्माण भएको भवनको उद्घाटन अघि अध्यक्ष ओली चीनसँगको सीमावर्ती क्षेत्र ओलाङचुङ्गोला पुग्नुभएको थियो । हेलिकप्टरमार्फत त्यहाँ पुग्नुभएका ओलीले सीमावर्ती क्षेत्रको हवाई अवलोकन समेत गर्नुभयो ।

यस्तै उहाँले विराटनगरको रानी भन्सारबाट धनकुटा मूलघाट हुँदै ओलाङचुङ्गोला–टिपताला जोड्ने सडकको ट्र्याक खुलेसँगै बुधबार साँझ ओलाङचुङगोलामा पहिलो पटक सदरमुकाम तर्फबाट पुगेका सवारी साधनका चालकलाई सम्मान पनि गर्नुभएको थियो ।

कार्यक्रममा अध्यक्ष ओलीसँगै उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरिप्रसाद उप्रेती र पार्टी सचिव योगेशकुमार भट्टराई समेत ताप्लेजुङमा आउनुभएको थियो ।

‘कर्णालीको विकासका लागि सबै जुट्नुपर्छ’ – नवनियुक्त मुख्यमन्त्री कँडेल

कर्णाली, २९ चैत ः कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली विकास र समृद्धिको लागि आवधिक र स्थायी सरकार दुवै जुट्नुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आज बसेको तेस्रो अधिवेशनको सातौँ बैठकमा आफ्ना धारणा राख्नुहुँदै मुख्यमन्त्री कँडेलले आवधिक र स्थायी सरकारको प्रभावकारी संयोजनद्वारा मात्र जनताका आशा पुरा गर्न सकिने बताउनुभयो ।

प्रदेशवासीको जनचाहनालाई पूरा गर्न स्थायी सरकारलाई सँगसँगै लान सकिएमा अपेक्षित परिणाम आउने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हिजो प्रश्न सोध्ने ठाउँबाट आज जवाफ दिने ठाउँमा आएको छु । जनअपेक्षा अनुसार विधेयक ल्याउनुपर्ने र केही निरुपण गर्नुपर्ने अवस्था छ । विगतको तरिकाललाई सकेसम्म बदल्ने र रकमान्तर नगर्ने गरी बजेट ल्याउने कुरामा हामी सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नैै पर्दछ ।”

यस पटकको नीति तथा कार्यक्रम र बजेट जनसरोकारसँग सम्बन्धित आउने उहाँले बताउनुभयो । व्यक्ति अनुकूल भन्दा संस्थागत विकासमा सहयोग पुग्ने बजेट ल्याउने कुरामा मद्दत गर्न आग्रह गर्दै उहाँले सन्तुलित विकासको अवधारणा अनुसार आवश्यकताका आधारमा बजेट वितरण र योजना छान्ने काममा सबै प्रदेशसभा सदस्यहरुले सकरात्मक भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो । बजेट तर्जुमा योजना निर्माण र वितरण गर्ने प्रक्रियालाई व्यवस्थित बनाएर लैजाने बताउनुभएका मुख्यमन्त्री कँडेलले भन्नुभयो, “अब अलमल नगरी छिटोछरितो विकास योजना निर्माण गर्नुपर्दछ । कर्णालीमा विकासको सही संस्कृति स्थापित गर्दै लैजाने जिम्मेवारी काँधमा आएको छ । यसका लागि सबै सरोकारवालाको सहयोग समर्थन आवश्यक छ ।”

नेपाली कांग्रेस प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मत विष्टले सरकारका सकरात्मक कार्यमा सहयोग गर्ने र गलत प्रवृतिकाविरुद्ध सरकारको खबरदारी गरिरहने भन्दै मुख्यमन्त्रीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियार र एकीकृत समाजवादीका प्रदेशसभा सदस्य कल्याणी खड्का र राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री कँडेलाई बधाईसहित शुभकामना व्यक्त गर्नुभयो ।

गौश्वाराको सिद्धभूमे सामुदायिक वनमा चिया खेती

गलेश्वर (म्याग्दी), २९ चैत : म्याग्दीको बेनी नगरपालिका–२ गौश्वाराको सिद्धभूमे हरियाली सामुदायिक वनमा चियाखेती सफल भएको छ ।

सामुदायिक वनको १० रोपनी क्षेत्रफलमध्ये चार रोपनीमा परीक्षणका रुपमा गरिएको चियाखेती सफल भएको सिद्धभूमे हरियाली सामुदायिक वन उपभोक्ता समितिका सदस्य खिमबहादुर मल्लठकुरीले जानकारी दिनुभयो ।

समुद्री सतहदेखि दुई हजार दुई सय मिटरको उचाइमा रहेको गौश्वारामा सात वर्षअघि गोल्डेन जातको चियाका पाँच हजार बिरुवा परीक्षणको रुपमा लगाइएको थियो । तिनै बिरुवा हुर्केर अहिले सो क्षेत्र चियाको वनमा रुपान्तरण भएको छ । “हामीले परीक्षणको रुपमा लगाएका बिरुवाले यस वर्षदेखि उत्पादन दिएका छन्”, उहाँले भन्नुभयो, “चिया खेती निकै राम्रो भएको छ । आगामी दिनमा बिरुवा थप्ने योजनामा छौँ ।” गौश्वारा गाउँ शीतोष्ण हावापानी भएको र पूर्वतर्फ फर्किएको जौविक विविधताले सम्पन्न नमूना गाउँ हो ।

पेरिस ओलम्पिकमा नयाँ टिकट जारी

खेल प्रशंसकहरूले आगामी साता पेरिस ओलम्पिकका लागि टिकट खरिद गर्नका लागि नयाँ मौका पाउने भएका छन् । मुख्य आयोजक टोनी एस्टान्गुएटले अर्को दुई लाख ५० हजार थान टिकट जारी गर्ने बुधबार बताउनुभयो ।

“आगामी साता अप्रिल १७ को बिहान १० बजे हामी सबै खेल, सबै मूल्य श्रेणी र सबै प्रतियोगिता स्थलका लागि दुई लाख ५० हजार नयाँ टिकट बिक्रीका लागि राख्नेछौँ”, उहाँले पत्रकारहरूसँग भन्नुभयो ।

यसअघिको टिकट जारीका क्रममा उच्च मूल्यको आलोचना भएपछि उहाँले तीमध्ये आधालाई एक सय युरो (एक सय आठ अमेरिकी डलर) भन्दा कममा बिक्री गरिने बताउनुभयो ।

जिम्नास्टिकका लागि कूल १० हजार टिकट उपलब्ध गराइने छ । पौडीका लागि १५ हजार, टेनिसका लागि १२ हजार र बिच भलिबलका लागि ३५ हजार टिकट जारी गरिने छ । यी खेलहरू एफिल टावर अगाडिको अस्थायी रङ्गशालामा खेलाइने छ ।

अधिकांश टिकट समग्रमा ७९ लाख टिकट पहिला नै बिक्री भइसकेकाले एस्टान्गुएटले चेतावनी दिँदै भन्नुभयो, “तपाईं छिटो हुनुपर्छ ।” आयोजक समितिका अनुसार यसअघिका खरिदकर्ताहरूमा दुई तिहाई फ्रान्सेली थिए तर एक सय ५० विभिन्न मुलुकका मानिसले पनि टिकट सुरक्षित गरेका छन् ।

पेरिस ओलम्पिक जुलाई २६ देखि अगस्ट ११ सम्म सञ्चालन हुनेछ । यसपछि अगस्ट २८ देखि सेप्टेम्बर ८ सम्म पाराओलम्पिक हुनेछ ।

प्रविधि प्रतिद्वन्द्वीहरूलाई पछाडि पार्दै बाइटडान्सको मुनाफा ६० प्रतिशतले बढ्यो– ब्लुमबर्ग

टिकटकको मालिक बाइटडान्सको मुनाफा सन् २०२३ मा ६० प्रतिशतले बढेको र यसले अनलाइन प्रतिद्वन्द्वीहरू टेनसेन्ट र अलिबाबालाई पछाडि पारेको स्रोतहरूलाई उद्धृत गर्दै ब्लुमबर्गले बुधबार बताएको छ ।

बाह्र वर्षअघि बेइजिङ अपार्टमेन्टमा आफ्नो जन्मपछि बाइटडान्स विश्वको सबैभन्दा ठूलो प्राविधिक कम्पनीमध्येको एकमा विकसित भएको छ । बाइटडान्सलाई अधिकांश मुलुकमा भिडियो एप टिकटकको निर्माताका रूपमा चिनिन्छ ।

मार्केट इन्टेलिजेन्स फर्म सिपी इनसाइट्सका अनुसार हालैका वर्षहरूमा कम्पनी विश्वको सबैभन्दा मूल्यवान् प्राविधिक कम्पनीमध्ये एक बन्न सफल भएको छ । यसको मूल्य करिब दुई खर्ब २५ अर्ब डलर भएको छ ।

‘यस विषयमा परिचित मानिसहरू’ लाई उद्धृत गर्दै ब्लुमबर्गको रिपोर्टमा ब्याज, कर, मूल्यह्रास र ऋणमुक्तिअघि कम्पनीको आम्दानी सन् २०२२ मा करिब २५ अर्ब डलरबाट बढेर ४० अर्ब डलरभन्दा धेरै पुगेको उल्लेख छ । रिपोर्टमा बिक्री पनि ८० अर्ब डलरबाट बढेर करिब एक खर्ब २० अर्ब डलर भएको बताइएको छ ।

रिपोर्टको नतिजाअनुसार बाइटडान्सले राजस्व र आम्दानी दुवैमा प्रतिद्वन्द्वी टेनसेन्टलाई पहिलोपटक उछिनेको छ । ब्लुमबर्गले आन्तरिक आँकडाहरूको स्वतन्त्ररूपमा लेखापरीक्षण गरिएको थिएन भनेको छ । बाइटडान्ससँग सम्पर्क गर्दा उसले ‘बजारका अनुमानहरू’ माथि टिप्पणी नगर्ने बतायो ।

कम्पनीले सन् २०१७ मा टिकटक लन्च गरेको थियो र एपको सन्सारमा यसले तहलका मच्चाएको छ । चार वर्षमा यसले एक अर्ब प्रयोगकर्ताको आँकडा पार गरेको छ । एप डुइयानको अन्तर्राष्ट्रिय संस्करण थियो । यसलाई सन् २०१६ मा चीनमा जारी गरिएको थियो र अहिले यसका करोडौँ प्रयोगकर्ता छन् ।

ती एपहरूको विस्फोटक वृद्धिका कारण बाइटडान्सले इ–कमर्स र यात्रा बुकिङमा विस्तार गरेको छ र एउटा भिडियो सम्पादन एप पनि जारी गरेको छ । चिनियाँ यस कम्पनीले विश्वभरका करिब एक सय २० सहरमा उसका एक लाख ५० हजारभन्दा धेरै कर्मचारी भएको बताएको छ ।

निजी स्वामित्वमा रहेको कम्पनी बाइटडान्सले राजस्व र आम्दानीको आँकडा जारी गर्दैन तर यसको आम्दानीको मिडिया अनुमानले यसलाई विश्वको केही सबैभन्दा ठूला कम्पनीहरूको बराबरीमा राखेको छ ।

‘इद–उल–फित्रले सत्यनिष्ठ, कर्मनिष्ठ र कर्तव्यनिष्ठ बन्न सिकाउँछ’

काठमाडौँ, २९ चैत : रामसहायप्रसाद यादवले इस्लाम धर्मावलम्बीहरूको पर्व ‘इद–उल–फित्र’ का अवसरमा देश– विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, सुस्वास्थ्य, शान्ति एवं समृद्धिको कामना गर्नुभएको छ ।

इदका अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुकमा यस्ता पर्वले आपसी एकता एवं सद्भाव बढाउने बताउनुभएको छ ।

उपराष्ट्रपति यादवले सन्देशमा विविधतामा एकता हाम्रो मौलिक पहिचान र विशेषता हो भन्दै देशमा मनाइने यी र यस्ता पर्वले समुदाय, समाजमा भ्रातृत्व, मेलमिलाप तथा अपनत्वभावलाई प्रोत्साहन गर्दै यहाँको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

खुसी, भ्रातृत्व, सद्भाव, मेलमिलाप, सामूहिकतामा एकता र क्षमाको प्रतीकका रुपमा रहेको इद–उल–फित्रले सबैलाई एकापसमा मिलेर बस्न सन्देश दिएको बताउँदै उहाँले गरिब र सहयोगको आवश्यकता रहेकालाई मद्दत गर्न उत्प्रेरित गर्ने तथा जीवनमा आशा र विश्वासको सन्देश दिँदै सत्यनिष्ठ, कर्मनिष्ठ र कर्तव्यनिष्ठ बन्न सिकाउने सन्देशमा उल्लेख गर्नुभएको छ ।

“इद–उल–फित्रले राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सबल र सुदृढ गर्दै सभ्य, शान्त, समुन्नत समाज निर्माणमा प्रेरणा प्रदान गर्न सकोस् । लोकतन्त्र, सामाजिक न्याय, स्वाधीनता, राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई थप बलियो बनाउन यो पर्वले प्रेरित गर्ने विश्वासका साथ पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु”, सन्देशमा उहाँले भन्नुभएको छ ।

इस्लाम धर्मावलम्बीहरुले सूर्योदयदेखि सूर्य अस्ताएसम्म लगातार एक महिनाका दिनमा निर्जल उपवास पूरा भएको भोलिपल्ट यो पर्व धुमधामका साथ मनाउँछन् । रमजानलाई अल्लाहको रहमत महिनाको रुपमा पनि चिनिन्छ । रमजान पवित्र महिनामा मुस्लिम समुदायले आत्म–संयमको पालना गर्दै रोजा बस्ने र अल्लाहको इबादत गर्ने परम्परा छ ।

रमजानमा मुस्लिम समुदाय मन र शरीरका लागि अशुद्ध मानिएका वस्तुहरुबाट टाढा बस्ने दृढ प्रयास गर्छन् ।
नयाँ–नयाँ कपडा लगाउने, नमाज पढ्ने, एक अर्कासँग गला मिलाउँदै बधाई, शुभकामना र उपहार साटासाट गरी मनाइने ‘इद–उल–फित्र’ का दिन विशेष परिकार बनाएर खाने र खुवाउने चलन छ । इदको चन्द्रमा हेरेर सबैलाई ‘चाँद मुबारक’ वा ‘इद मुबारक’ भन्ने रीति छ । साथै मानिसहरु आफ्नो श्रद्धाअनुसार कमाएको रकममध्ये केही हिस्सा दान दिने चलन पनि छ ।

लिमीका बालबालिकाकाले ११ महिनापछि पाए नियमित खोप

सिमकोट (हुम्ला), २९ चैत : जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका बालबालिकाकाले ११ महिनापछि नियमित खोप पाएका छन् ।

लिमी जाने बाटो हिमपातले अवरुद्ध भएपछि खोप कार्यक्रम कार्यान्वयनमा विलम्ब भएको हो । हिमपातले बाटो बन्द हुँदा समयमै खोप ढुवानी नहुँदा नियमित खोप कार्यक्रम प्रभावित भएको लिमी स्वास्थ्यचौकीका प्रमुख गोरखबहादुर भण्डारीले बताउनुभयो ।

गत फागुन २५ गतेदेखि चैत ७ गतेसम्म देशभर सञ्चालन भएको नौ महिनादेखिमाथिका र पाँच वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप पनि बुधबार नै लगाइएको जानकारी उहाँले दिनुभयो । लिमी स्वास्थ्यचौकीमा यो वर्ष दुई जना स्वास्थ्यकर्मीले सेवा प्रवाह गरेका हुन् ।

एमाले नवलपरासी पूर्वको अध्यक्षमा श्रेष्ठ

मध्यविन्दु (नवलपरासी) – नेकपा (एमाले) नवलपरासी (बर्दघाट सुस्तापूर्व) को अध्यक्षमा जीवन श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । कावासोतीमा सम्पन्न एमाले नवलपुरको नवौँ अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

जिल्ला उपाध्यक्षमा यमुनाथ आचार्य, सचिवमा भीम कँडेल, उपसचिवमा षडानन्द लामिछाने र कल्पना देवकोटालाई सर्वसम्मत चयन गरिएको एमाले नवलपुर जिल्ला इञ्चार्ज मना केसी जिसीले जानकारी दिनुभयो । अधिवेशनले पदाधिकारी सर्वसम्मत घोषणा गरे पनि सदस्यको भने टुङ्गो लाग्न बाँकी छ ।

सोमबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा कूल सात सय ५१ प्रतिनिधि सहभागी भएका छन् ।

कम्युनिष्ट पार्टीहरु एक हुन एमाले उपाध्यक्ष शाक्यको आग्रह

खोटाङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेपालका कम्युनिष्ट पार्टीहरु एक हुन सकेमात्र देश विकास हुने बताउनुभएको छ । त्यसका लागि सम्पूर्ण कम्युनिष्टहरु एक हुन उहाँले आग्रह गर्नुभयो ।

एमाले खोटाङको आठौँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपाध्यक्ष शाक्यले अग्रजहरुको क्रान्तिकारी विचारबाट नेता तथा कार्यकर्ता प्रेरित भइ देश र जनताको हितमा लाग्नुपर्ने बताउनुभयो ।

अग्रजलाई सम्मान गर्दै उहाँहरुको त्याग, तपस्या र योगदानको अनुशरण गर्नुपर्ने उहाँले बताउनुभएको छ । अग्रज नेताहरुकै त्याग, तपस्या र योगदानले संविधानसभाबाट जनताको संविधान निर्माण गरेर कार्यान्वयनमा आएको उहाँले जिकिर गर्नुभयो ।

जिल्ला अधिवेशनमा पार्टीका स्थायी समिति सदस्य शेरधन राई, पोलिटब्यूरो सदस्य विशाल भट्टराई, खोटाङ इन्चार्ज एवं खानेपानी मन्त्री राजेन्द्र राई लगायतको उपस्थिति थियो ।

मुस्लिम आयोगद्वारा इद पर्वको शुभकामना

काठमाडौँ, २९ चैत : मुस्लिम आयोगले इद (इदुल फित्र) पर्वले राष्ट्रिय एकता, अखण्डता, आपसी मित्रता, सामाजिक र सांस्कृतिक तथा धार्मिक सहिष्णुता थप सुदृढ बनाउने विश्वास लिएको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले इद पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्नुहँुदै यस पर्वले राष्ट्र निर्माण तथा विकासको गति तीव्ररुपमा अघि बढोस् र समृद्ध नेपाल सुखी नेपालीको परिकम्पना साकार होस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ ।

“पवित्र रमजान महिनामा एक महिनासम्म दिनभरिको भोक तिर्खा बिर्सेर, रिस–राग र स्वार्थ त्यागेर सबै ज्ञानेन्द्रीयलाई कुकर्मबाट टाढा राखी कठोर अभ्यास पूरा गरी भोलिपल्ट इदको खुशियाली साटासाट गर्दै मनाउने यस पावन अससरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीमा इदको शुभकामना व्यक्त गर्दछौँ”, शुभकामना सन्देशमा भनिएको छ ।

इद संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड हो । इस्लाम धर्मावलम्बीको १४४५ हिजारीको रमजान महिनाको ३० दिने सौम (व्रत, उपसना) पूरा भएको भोलिपल्ट खुशियाली साटासाट गर्दै मुस्लिम समुदायले मनाउने चाड भएको आयोगले उल्लेख गरेको छ ।

पूर्वराष्ट्रपति भण्डारीद्वारा इदको शुभकामना

काठमाडौँ, २९ चैत : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले इद (इद–दुल–फित्र) जस्ता धार्मिक तथा सांस्कृतिक पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता एवं पारस्परिक सहयोगको भावनालाई प्रगाढ तुल्याउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।

इस्लाम धर्मावलम्बीको महान् पर्व, इदको अवसरमा शुभकामना सन्देश दिनुहँुदै पूर्वराष्ट्रपति भण्डारीले इद पर्वले सबै नेपालीबीच आपसी एकताको भावना सुदृढ गर्दै सभ्य, समुन्नत र समृद्ध समाज निर्माण गर्नेतर्फ अग्रसर हुन थप प्रेरणा प्रदान गरोस् भनी शुभकामना दिनुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ ।

“इदको सन्दर्भमा, मुस्लिम समुदायले जकात अल–फित्र भनिने अनिवार्य दान गर्नुपर्ने मान्यता छ । यस पर्वसँग जोडिएको यस प्रकारको असल परम्परालाई हामीले जोगाउनु पर्दछ”, पूर्वराष्ट्रपति भण्डारीको सन्देशमा उल्लेख छ ।

इद पर्वले बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस : राष्ट्रपति पौडेल

काठमाडौँ, २९ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले इद (इद–उल–फित्र) पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

इस्लाम धर्मावलम्बीको महान् चाड इद पर्वको अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति पौडेलले इद पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

“सामाजिक एवं सांस्कृतिक विविधताबीचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाएको छ । यस पर्वको माध्यमबाट भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी कामना गर्दछु”, राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा उल्लेख छ ।

राष्ट्रपति पौडेलले इद पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

इद पर्व मुस्लिम समुदायले आपसी रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुशियाली साटासाट गर्दै शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । इदमा विशेष नमाज समर्पण गरिसकेपछि आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिँदै मिष्टान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको छ ।

ईद-उल-फित्रले धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको छ : सभापति देउवा

काठमाडौँ, २९ चैत : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ईद-उल-फित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको बताउनुभएको छ ।

इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व “ईद-उल-फित्र” का अवसरमा सुख, शान्ति एवं समृद्धिको शुभकामना (इद मुवारक) प्रकट गर्दै उहाँले यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको हो ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण देश हो । यहाँ विभिन्न जातजातिका आ-आफ्नै विशिष्ट परम्परा, धर्म, संस्कृति, रितिरिवाज र चाडपर्व छन् । सभापति देउवाले यही विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान भएको उल्लेख गर्नुभएको छ ।

यी प्रत्येक पर्वहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको बताउँदै उहाँले त्यस मध्ये ईद-उल-फित्र पर्व पनि एक महत्वपूर्ण पर्व भएको उल्लेख गर्नुभएको छ ।

सभापति देउवाले ‘ईद-उल-फित्र’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्वीहरुमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डद्वारा इद पर्वको शुभकामना

काठमाडौँ, २९ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) को अवसरमा नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले आज शुभकामना सन्देश जारी गर्नुहुँदै इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आपसी सद्भावको चाडको रुपमा मनाइने इदले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने तथा राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानका साथ प्रेरणा मिल्ने विश्वाससमेत लिनुभएको छ ।

“बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति इदलगायतका पर्व कुनै समुदाय विशेषका मात्र नभएर राष्ट्रिय पर्वका रुपमा स्थापित भएका छन्”, प्रधानमन्त्री दाहालको शुभकामना सन्देशमा उल्लेख छ, “हरेक चाडपर्वको आफ्नो ऐतिहासिक र विशिष्ट महत्व हुने गर्दछ, मानव जातिले जीवन वृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्व विकसित र स्थापित हुँदै आएका छन् ।”

नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सवलीकृत तुल्याउन इद पर्वको महत्वपूर्ण भूमिका रहँदै आएको र मान्यजनबाट आशीर्वाद लिने तथा आफ्नो आम्दानीको केही अंश दान गर्नुपर्ने धार्मिक मान्यताले नेपाली समाजलाई सहयोगी तथा मानवीय बन्न उत्प्रेरित गरेको प्रधानमन्त्री दाहालको सन्देशमा उल्लेख छ ।

सभामुख घिमिरेद्वारा इद पर्वको शुभकामना

काठमाडौँ, २९ चैत : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले मुस्लिम समुदायको धार्मिक पर्व इद–उल फित्र (इद) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इस्लाम धर्मावलम्बीको सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

सभामुख घिमिरेले आज जारी गर्नुभएको शुभकामना सन्देशमा भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इद पर्वले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई सुदृढ गर्न मद्दत पुगेको उल्लेख छ ।

“विभिन्न जातजातिले आ–आफ्ना चाडपर्वमा सबै जाति र समुदायको उपस्थितिमा मनाएर धार्मिक–सांस्कृतिक एकतामा अभूतपूर्व नमूना पेस गरेका छन्”, सभामुख घिमिरेको शुभकामना सन्देशमा उल्लेख छ, “यसले एक अर्काको सद्भावलाई बढाएको छ, इतिहासदेखि कै नेपाली एकता र विश्वास आगामी दिनमा अझै उचाइमा पुग्ने विश्वास लिएको छु ।”

देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त मुलुक भएको र नेपालको संविधानले प्रत्येक व्यक्तिलाई आफ्नो धर्मको अवलम्बन र अभ्यास गर्ने अधिकारको व्यवस्था गरेको शुभकामना सन्देशमा भनिएको छ । “कुनै पनि नागरिकलाई उसको धर्म वा आस्थाका आधारमा विभेद नगर्ने र राज्यका सबै नीतिमा समानता कायम गर्ने संविधानको लक्ष्य छ”, सभामुख घिमिरेको शुभकामना सन्देशमा भनिएको छ ।

नेपाली मुस्लिम समुदायले राजनीतिक आन्दोलन र मुलुक निर्माणमा ठूलो योगदान गर्दै आउनुभएको र त्यसकै प्रतिफलस्वरुप मुस्लिम समुदायलाई अगाडि बढाउन संवैधानिक आयोगको व्यवस्था गरिएको सभामुख घिमिरेले स्मरण गराउनुभएको छ ।

मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ पूरा

म्याग्दी, २९ चैत : म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ ।

तुँदी पावर कम्पनी प्रवर्द्धक रहेको आयोजनाको बाँध बनेको रघुगङ्गा गाउँपालिका–८ बन्दीको अडिट १ र खरिबोटस्थित अडिट २ जोड्ने सुरुङको बुधबार साँझ ब्रेक थ्रु भएको हो । आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले अडिट १ र २ जोड्ने एक हजार नौ सय मिटर लामो सुरुङ छेडिएको जानकारी दिनुभयो ।

“अडिट २ र मलाङस्थित अडिट ३ जोड्ने एक हजार आठ सय मिटर लामो सुरुङ यसअघिनै जोडिएको थियो”, उहाँले भन्नुभयो, “बाँधदेखि विद्युत्गृहमा पानी लैजान पाँच हजार तीन सय २८ मिटर लामो सुरुङ निर्माण भएको छ ।”

सुरुङ छेडिएपछि प्रवद्र्धक, सिभिल ठेकेदार एसियन इन्फ्रास्ट्रक्चरका प्राविधिक र कर्मचारीहरुले खुशियाली मनाएका छन् । तीन वर्षअघि चार ठाउँबाट सुरुङ निर्माण सुरु भएको थियो ।

बाँध नजिकै पानी थिग्र्याउने पोखरी निर्माण सकिएको छ । मलाङको ‘आउटलेट’देखि चिमखोलाको बगरखोला र राहुघाटको दोभानमा निर्माणाधीन बाँध जोड्ने नौ सय मिटर पाइप लाइन जडान भइरहेको छ । तीन सय मिटर ‘पेनस्टक’ पाइप जोड्न बाँकी छ । आउटलेट र विद्युत्गृहको उचाइ तीन सय ५० मिटर छ । विद्युत्गृह निर्माणलाई अन्तिमरुप दिनुका साथै ‘इलेक्ट्रोमेकानिकल’ उपकरण जडानको ४० प्रतिशत काम पूरा भएको छ ।

तुँदीले राहुघाटमा एकै साथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । मङ्गले राहुघाटको विद्युत्गृह नजिकै बगरखोलाको पानी मिसाएर ४८ दशमलव ५ मेगावाट विद्युत् उत्पादन गर्ने अर्को अपर राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन छ ।

करिब रु १४ अर्ब लागतमा विसं २०७७ मा सुरु भएका दुईवटै आयोजनाको ८५ प्रतिशत भौतिक निर्माण पूरा भएको इञ्जिनियर तिमिल्सिनाले बताउनुभयो । बगरदेखि दग्नाम गाउँको फेदीमा निर्माणाधीन विद्युत्गृह जोड्ने अपर राहुघाटको चार हजार नौ सय मिटर लामो सुरुङ छ महिनाअघि निर्माण भएको थियो ।

अपर राहुघाटको विद्युत्गृह ७५ प्रतिशत र बाँध निर्माणको ५० प्रतिशत भौतिक प्रगति भएको छ । मङ्गले राहुघाटको सन् २०२४ को डिसेम्बर र अपर राहुघाटको जुन महिनामा विद्युत् उत्पादन गर्ने तयारी छ ।

उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा–३ अम्बाङमा बन्न लगेको राहुघाट ‘सबस्टेसन’देखि चिमखोलासम्म दुई सय केभी क्षमताको १४ किलोमिटर लामो प्रसारण लाइन बनाउन थालिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले अम्बाङमा सबस्टेसन निर्माणमा ढिलाइ गरेकाले वैकल्पिक माध्यमबाट विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने तयारी छ । राहुघाट नदीको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा प्रालिले २१ दशमलव ३ मेगावाट क्षमताको ठूलोखोला र ठूलोखोला हाइड्रोपावर लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् ।

राहुघाट नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । राहुघाटको ७५ प्रतिशत पूर्वाधार निर्माण पूरा भएको छ ।

वैशाख २ गतेदेखि भर्ना अभियान : सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइयो

काठमाडौँ, २९ चैत : नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पु¥याएको छ ।

केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौ वटा बिक्री केन्द्रमा शैक्षिकसत्र–२०८१ का लागि सबै विषयका पुस्तक छापेर पु¥याइएको राससलाई बताउनुभयो । केन्द्रले प्रकाशन गरेको कार्यतालिकाअनुसार विराटनगर, जनकपुर, सानोठिमीस्थित केन्द्रीय कार्यालय, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट यही चैत १३ देखि २८ गतेसम्म पाठ्यपुस्तक बिक्री भएका छन् । केन्द्रले चालु शैक्षिकसत्रमा पनि समयमा नै किताब पु¥याएको थियो ।

प्रबन्ध सञ्चालक झाका अनुसार आउँदो शैक्षिकसत्रका लागि जिम्मेवारी दिइएको कक्षा ५ देखि १२ सम्मका एक करोड ७५ लाख थान किताब छापेर फागुनदेखि नै बिक्री सुरु गरेको थियो । केन्द्रले २४ सैँ घण्टा पुस्तक छापेको थियो । “हामीले भरमग्दुर प्रयास गरेर समयमा जिल्ला जिल्लामा पाठ्यपुस्तक पु¥याउने जिम्मेवारी पूरा गरेका छौँ । अब बिक्रेतामार्फत विद्यार्थीका हातहातमा पुस्तक पुग्नेछन्”, उत्साहित हुँदै प्रबन्ध सञ्चालक झाले भन्नुभयो, “राज्यको भर्ना अभियान आरम्भ हुँदा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेनन् भन्ने गुनासो सम्भवतः अब सुन्नुपर्दैन । कुनै कारणवश कहीँ नपुगेको जानकारीमा आए तत्काल सम्बन्धित प्रदेश कार्यालयबाट आवश्यक व्यवस्था गरिनेछ ।”

कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी निजी क्षेत्रले पाएको छ भने यस वर्षदेखि पाठ्यक्रम विकास केन्द्रले पूर्वप्राथमिक तहमा एकीकृत पाठ्यक्रममा आधारित भएर सूचीकृत (अनुमतिप्राप्त) प्रकाशनका पाठ्य सामग्री प्रयोग गर्न निर्देशन दिएको छ ।

केन्द्रले आगामी शैक्षिकसत्रका लागि कक्षा ३ देखि १२ सम्मका पाठ्यपुस्तकको मूल्यसूची र हरेक प्रदेशका लागि सूचीकृत बिक्रेताको मूल्यसूची पनि सार्वजनिक गरेको छ । शैक्षिकसत्रअगावै बजारमा पुस्तक उपलब्ध गराउन गत वर्षदेखि नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बन्धित निकायलाई अभिप्रेरित गराउँदै आउनुभएको छ भने यस वर्ष शिक्षामन्त्री सुमना श्रेष्ठले यही चैत १ गते केन्द्रको भक्तपुरस्थित कार्यालय र प्रेस निरीक्षण गरी समयमा पुस्तक उपलब्ध गराउन निर्देशन दिनुभएको थियो ।

भर्ना अभियान सुरु हुँदै

नयाँ शैक्षिकसत्रका लागि आगामी वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु हुँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरेको छ । अभियानको पहिलो दिन वैशाख २ गते सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घ, मन्त्रालय र केन्द्रीय निकायको सहभागितामा शिक्षामन्त्री श्रेष्ठको उपस्थितिमा ‘भर्चुअल’ माध्यमबाट अन्तक्र्रिया गर्ने कार्यक्रम छ । वैशाख २ देखि २१ गतेसम्म एफएम रेडियोबाट अभियानको सन्देश प्रसारण गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गोविन्दराज पोख्रेलले जनाउनुभयो ।

सामुदायिक विद्यालयकेन्द्रित हुने यस अभियानअन्तर्गत वैशाख २ गते स्थानीय तहको निर्देशनअनुरुप विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घले विद्यालयमा भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्दै भर्ना अभियान थालिनेछ । वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम, वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व लिन समाजका उदारमना सदस्यसँग आह्वान गर्नेलगायत कार्यक्रम निर्धारण भएको छ ।

अभियानकै क्रममा वैशाख १० गते उक्त दिनसम्म भर्ना भएका विद्यार्थीलाई पोसाक र छात्रवृत्ति प्रदान गरिनेछ । वैशाख १५ देखि २० गतेसम्म शिक्षा विकास तथा समन्वय एकाइबाट प्राप्त विवरणका आधारमा विद्यार्थी विवरण तयार गरी मन्त्रालय पठाइने केन्द्रले जनाएको छ । निजी क्षेत्रका अधिकांश विद्यालयले भने वैशाखको पहिलो सातादेखि कक्षा सञ्चालन हुने गरी भर्ना प्रक्रिया सुरु गरिसकेका छन् ।

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ आदर्श वाक्य रहेको भर्ना अभियानले विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई भर्ना गराइ शिक्षासम्बन्धी नेपालको संविधानको मौलिक हक (धारा ३१) कार्यान्वयनलाई सुनिश्चित गर्ने लक्ष्य लिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ‘फ्ल््यास रिपोर्ट, २०७९’ अनुसार पूर्वप्राथमिक तहको कूल भर्नादर ९४ दशमलव ९ प्रतिशत छ । विगतको तुलनामा विद्यालय भर्नादर बढे पनि बीचमै पढाइ छाड्ने प्रवृत्ति भने अन्त्य भएको छैन ।

आज इद मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँ, २९ चैत : देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो ।

बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताउनुभयो । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । “जकात (दान) यही महिनामा दिइन्छ”, उहाँ भन्नुहुन्छ, “हामी यो महिनालाई पुण्य कमाउने महिना मान्छौँ ।”

इद–उल फित्रमा ‘सेवइ’ खाएर र सामूहिकरुपमा नमाज पढेर यो पर्व मनाइन्छ । राष्ट्रिय जनगणना–२०७८ अनुसार देशमा मुस्लिम सुमदाय कूल जनसङ्ख्याको ५ दशमलव ९ प्रतिशत छ । यो तथ्याङ्क अपूर्ण भएको आरोप लगाउँदै उहाँले मुस्लिम समुदायको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृति, शैक्षिकलगायत अवस्थाको अध्ययन अनुसन्धान गरेर वास्तविक विवरण सरकारसमक्ष पेस गर्ने आयोगको योजना रहेको बताउनुभयो । काठमाडौँमा मुस्लिम धर्मावलम्बीका लागि मस्जिद भए पनि अलि ठूलो समूहमा मिलेर नमाज पढ्ने, सांस्कृतिक गतिविधि गर्ने सभा हलको अभाव भएको उहाँ बताउनुहुन्छ । “संस्कृति बचाउन स्थान चाहिन्छ”, उहाँ भन्नुहुन्छ, “देशका मुसलमान बहुल स्थानमा ‘कल्चर सेन्टर’ स्थापनाका निम्ति हामीले सरकारसँग माग गरिरहेका छौँ ।”

हेर्नुहोस् चैत २९ गते बिहिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – नयाँ कार्य थालनिका निम्ति आटँ र साहशको कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बिश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्नेछ ।

बृष राशि – बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । दाम्पत्य शुखमा कमि आउनेछ । मान्यजन को साथ प्राप्त हुनेछ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मिथुन राशि – मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । मध्यान पश्चात कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । परीवारका सदस्यहरु बाट टाढाँ भएको महसुस रहनेछ । सामान्य आर्थीक अभाबको सामना हुन सक्नेछ ।

कर्कट राशि – सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन तुल्याउन सकिनेछ । पूराना मित्रजनहरु सगँको भेटघाटले मन हर्षित रहला ।

सिंह राशि – गैर बिश्वस्निय ब्यत्तिहरु सगँको संगतले अपजसको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । सवारि साधनको प्रयोगमा साबधान रहनु होला ।

कन्या राशि –ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तिहरुले प्राप्त गर्नेछन । सामान्य यात्राकारक दिन रहनेछ ।

तुला राशि – भोग बिलास को क्षेत्रमा समय ब्यतित हुनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि मध्यम रहनेछ ।

बृश्चिक राशि – सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

धनु राशि – सामान्य चुनौति पश्चात आम्दानि उत्तम रहनेछ । अरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मकर राशि – सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा आर्थीक क्षेत्र दिर्घकालिन तुल्याउन सकिनेछ ।

कुम्भ राशि – मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको क्षेत्रबाट आम्दानि उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । नयाँकार्यको थालनिका निम्ती समय उत्तम रहनेछ ।

मीन राशि –अरुको दबाबको कारण मानसिक समस्या आई पर्ने छन । बाणीमा मधुरता छाउनेछ । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । परीश्रमको राम्रो प्रतिफल प्राप्त होला । बल तथा पराक्रममा बृद्धि हुनेछ । मिनजनहरुको साथ सहयोमा जटिल कार्यहरु सम्पादित रहनेछन ।

शान्ति सम्झौतालाई पूर्णता दिन विधेयक आवश्यक : उपसभापति गुरुङ

दमौली (तनहुँ) – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले विस्तृत शान्ति सम्झौतालाई पूर्णता दिन सङ्क्रमणकालीन न्यायको विधेयक आवश्यक रहेको बताउनुभएको छ ।

सहिद विष्णु जमरकट्टेल स्मृति प्रतिष्ठानले २३औँ स्मृति दिवसको अवसरमा तनहुँको व्यास नगरपालिका–६ मा आज आयोजना गरेको स्वास्थ्य शिविरको उद्घाटन गर्दै उपसभापति गुरुङले उक्त विधेयक बनाउने क्रममा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “शान्ति सम्झौताको नेतृत्व कांग्रेसले गरेको हो । उक्त विधेयक बनाएर पीडितलाई न्याय दिने सवालमा कांग्रेसको भूमिका हुनुपर्छ ।”

अझै विधेयक ल्याउन नसकिएको बताउनुहुँदै उपसभापति गुरुङले विधेयक बनाउने क्रममा सत्तापक्ष र प्रतिपक्ष हुन नहुने उल्लेख गर्नुभयो । विधेयक बनाएपछि मात्रै पीडितले न्याय पाउने र शान्ति प्रक्रिया टुङ्गोमा पुग्ने उहाँको भनाइ थियो ।

सार्वजनिक पद धारणा गरेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ भनेर आवाज उठाउँदै आएको बताउनुहुँदै उहाँले भन्नुभयो, “मैले पार्टीको आन्तरिक बैठकमा धेरैपटक यो विषय उठाए, गत चैत २३ गते म आफैँ प्रस्तावक भएर संसद्मा यो विषय सार्वजनिक महत्वको प्रस्तावका लागि दर्ता गराएको छु ।”

काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने

काठमाडौँ – काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेल वैशाख १ गतेदेखि २४ सैँ घण्टा खुल्ने भएको छ । नयाँ वर्ष २०८१ बाट ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्णकालीन (२४ सैँ घण्टा) व्यवसाय सञ्चालनको घोषणा गर्ने तयारी भएको ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल र दरबारमार्ग क्षेत्र २४ सैँ घण्टा खुलाउन आवश्यक सम्पूर्ण तयारी भएको जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ वर्षको उपलक्ष्यमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैँ घण्टा व्यवसाय सञ्चालनको घोषणा गर्नुहुनेछ ।

सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय (काठमाडौँ)ले लिनेछ । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले ठमेल र दरबारमार्गको रात्रिकालीन व्यवसाय वैशाख १ गतेदेखि लागू हुने गरी सुरक्षा तयारी गरिएको बताउनुभयो । उहाँले पूर्णकालीन व्यवसाय सञ्चालनका लागि आचारसंहिता एवं सुरक्षा व्यवस्थापन मापदण्ड बनाइएको जानकारी दिनुभयो । चैत ३० गते जिल्ला सुरक्षा समितिको बैठकले उक्त मापदण्ड पारित गरेपछि लागू हुनेछ ।

सबै सरोकारवालासँगको रायसुझावका आधारमा पूर्णकालीन व्यवसाय सञ्चालनसम्बन्धी सुरक्षा व्यवस्थापन मापदण्ड बनाइएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।ठमेलमा अहिले बिहान ४ बजेसम्म क्लब खुल्छन् । रात्रिकालीन व्यवसायअन्तर्गत क्लब, डान्स, दोहोरी, डिस्कोलगायत मनोरञ्जन व्यवसाय, किराना पसल, पर्यटनसँग सरोकार भएका सबै बजार खुल्नेछन् ।

परिषद्का अध्यक्ष शर्माले सबै सरोकारवालासँग छलफल र समन्वय गरी भगवानबहाल क्षेत्रबाहेक ठमेलको सबै क्षेत्रलाई २४ सैँ घण्टा रात्रिकालीन व्यवसाय खुला गरिने बताउनुभयो । ठमेलको सातघुम्ती, चाक्सीबारी, च्याठाः सोह्रखुट्टे क्षेत्र खुला गरिनेछ । आचारसंहिताअनुरुप मापदण्ड नपुगेका व्यवसायलाई वैशाख २ गतेदेखि बन्द गरिने जनाइएको छ । मापदण्ड पूरा गर्न समय सीमा दिइने र त्यो पूरा गरेको खण्डमा खोल्न दिइने यदि पालना नभए कानुनी दायरामा ल्याइने परिषद्ले जनाएको छ ।

पूर्णकालीन व्यवसाय सञ्चालन गर्ने निर्णयले ठमेल र दरबारमार्गका व्यवसायी उत्साहित बनेको क्लब एसोसिएसन अफ नेपालका महासचिव अमित ठकुरीले बताउनुभयो ।महासचिव ठकुरीले भन्नुभयो, “ठमेल २४ सैँ घण्टा खुलेपछि पर्यटकीय चहलपहल बढ्ने र व्यवसाय फष्टाउने आशा जागेको छ, लामो समयको प्रयासपछि यो निर्णय हुँदैछ, घोषणा मात्रै हैन कार्यान्वयन पनि दीर्घकालीन हुनुपर्छ ।”

सुदूरपश्चिम प्रदेश सरकार गठन अन्योलमा

सुदूरपश्चिम, २८ चैत : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गर्नुभएको पाँच दिन बित्दा समेत प्रदेशसभामा रहेका कुनै पार्टीले दाबी पेस गर्न सकेका छैनन् ।

सरकार गठनमा निर्णायक देखिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको आन्तरिक किचलोले नयाँ सरकार गठन अन्योलग्रस्त बनेको हो । गठबन्धन दलहरुलाई नागरिक उन्मुक्ति पार्टीले एकजुट भइ सहयोग गरेमा मात्र सरकार गठन सहज हुन्छ ।

प्रदेश प्रमुख नजिर मियाँले यही चैत २३ गते प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका बहुमतको समर्थन जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई विसं २०८१ वैशाख २ गते अपराह्न ५ बजेसम्म (१० दिनको समय दिएर) मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।

केन्द्रमा फेरिएको समीकरणमा सहभागी दलका शीर्ष नेताबीच सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीलाई पालैपालो सरकारको नेतृत्व दिने समझदारी भएको बताइन्छ ।

नाउपामा बढेको किचलोसँगै प्रदेशसभा सचिवालयले सो पार्टीको केन्द्रीय कार्यालयको पत्रको आधारमा केही दिनअघि पार्टीका प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई फिर्ता बोलाइएको सूचना सार्वजनिक गरेको थियो ।

पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले नाउपा, सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलको नेताबाट घनश्याम चौधरीलाई हटाएर कैलाश चौधरीलाई संसदीय दलको नेताको जिम्मेवारी तोक्नुभएको थियो ।

केन्द्रमा फेरिएको नयाँ गठबन्धनअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा नेपाली कांग्रेसका कमलबहादुर शाह नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे पार्टीका प्रदेशसभा सदस्य पक्ष र विपक्षमा विभाजित भएका थिए ।

यसैबीच पार्टीका संस्थापक संरक्षक रेशमलाल चौधरीको उपस्थितिमा आज धनगढीमा बसेको प्रदेशसभाका सदस्यको बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्नेबारे छलफल गरेको छ ।

नाउपाकै नेतृत्वमा सरकार गठन गर्ने विषयमा समझदारी भएको नाउपाका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “बहुमत पुग्ने गरी हामी सरकारको नेतृत्व गर्ने प्रयास गर्दैछौँ, जुन पक्षसँग बहुमत जुटाउन सहज हुन्छ, उसैको सहयोगमा सरकार गठनगर्ने कुरा भएको छ ।”

नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रदेशसभा सदस्य प्रकाश रावलले केन्द्रमा बनेको समझदारीअनुसार सुदूरपश्चिम प्रदेशमा पहिलो चरणमा समाजवादी पार्टीकै नेतृत्वमा सरकार गठन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सरकार गठबन्धन दलकै नेतृत्वमा बन्छ, पहिलो नेतृत्व कसले गर्ने भन्ने कुरा मात्रै हो ।”

केन्द्रमा फेरिएको समीकरणसँगै सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले समर्थन फिर्ता लिएको थियो । प्रदेशसभाको बैठकमा विश्वासको पक्षमा बहुमत जुट्ने सम्भावना नदेखिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको थियो ।

मुख्यमन्त्री नियुक्तिका लागि २७ सदस्यको समर्थन चाहिन्छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)का सभामुखसहित ११, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।

नाउपाका सात प्रदेशसभा सदस्यमध्ये एक सदस्यलाई फिर्ता बोलाइएको सूचना सार्वजनिक गरिएको छ । रिक्त रहेको एक पदमा आगामी वैशाखमा उपचिर्वाचन हुँदैछ ।

आफ्नो भूभागमा आक्रमण गरे प्रत्यक्ष आक्रमण गर्ने इरानलाई इजराइलको धम्की

इजराइलका विदेशमन्त्रीले बुधबार इरानले इजराइलविरुद्ध आक्रमण गरे आफ्नो सेनाले सिधै इरानमाथि आक्रमण गर्ने धम्की दिनुभएको छ । सिरियामा इरानको वाणिज्य दूतावासमा भएको विस्फोटमा इरानका जनरलहरूको मृत्यु भएपछि दुवै प्रतिद्वन्द्वी शक्तिबीच तनाव बढेको छ ।

विदेशमन्त्री इजराइल काट्जले फारसी र हिब्रू दुवै भाषामा सामाजिक सञ्जाल एक्समा पोस्ट गर्नुभएको छ, “यदि इरानले हाम्रो क्षेत्रमा हमला गर्यो भने इजराइलले जवाफ दिनेछ र इरानमाथि आक्रमण गर्नेछ ।”

इरानका सर्वोच्च नेता आयातुल्लाह अली खमेनीले यसै महिनाको प्रारम्भमा दमास्कसमा आफ्नो वाणिज्य दूतावासमा भएको हमलामा इजराइलविरुद्ध जवाफी कारवाही गर्ने वाचा दोहोर्याएपछि विदेशमन्त्रीको यस्तो टिप्पणी आएको हो ।

इरानले १२ जनाको मृत्यु हुनेगरी वाणिज्य दूतावासको भवन ध्वस्त पार्ने हमलाका लागि इजराइललाई दोष दिएको छ । इजराइलले आफ्नो संलग्नतालाई अस्वीकार गरेको छ । यद्यपि इजराइलले आक्रमणका लागि इरानी प्रतिक्रियाको तयारी गरिरहेको छ । यो उनीहरूबीच लामो समयदेखि जारी छाया युद्धमा महत्त्वपूर्ण वृद्धि हो ।

खमेनीले मुसलमानहरूको पवित्र महिना रमजानको अन्त्यको उत्सव मनाउने प्रार्थना समारोहमा हवाई हमला ‘गलत’ थियो भन्दै यो इरानी क्षेत्रमा हमला गरिएको जस्तै भएको बताउनुभयो । इरानी राज्य टिभीमा प्रसारित टिप्पणीमा उहाँले भन्नुभयो, “उनीहरूले हाम्रो वाणिज्य दूतावास क्षेत्रमा हमला गर्दा हाम्रै क्षेत्रमा हमला गरेको जस्तो भएको छ, दुष्ट शासनलाई दण्डित गरिनुपर्छ र उसलाई दण्डित गरिने छ ।”

काट्ज र खमेनी दुवैले कस्तो प्रकारको जवाफी कारवाही गर्ने भन्नेबारे विस्तारमा बताउनुभएको छैन । अप्रिल १ मा भएको विस्फोटमा मारिएका १२ जनामा सात इरानी रिभोल्युसनरी गार्डका सदस्य, चार सिरियाली र एक हिज्बुल्लाह मिलिसिया सदस्य थिए ।

खमेनीले गाजामा हमासविरुद्धको युद्धमा इजराइलको समर्थन गरेकामा पश्चिम विशेषगरी अमेरिका र बेलायतको पनि आलोचना गर्नुभयो । “उनीहरूले यो प्रकोपमा इजराइललाई रोक्नेछन् भन्ने अपेक्षा गरिएको थियो, उनीहरूले त्यसो गरेनन्, पश्चिमी सरकारहरूले आफ्नो कर्तव्य पूरा गरेनन्”, उहाँले भन्नुभयो ।

इरानले प्यालेस्टिनी हमास र लेबनानी हिज्बुल्लाहजस्ता इजराइलविरोधी समूहहरूलाई समर्थन गर्दछ । उसले इजराइललाई मान्यता दिँदैन ।

आठ महिनामा ३७ करोड बराबरको अवैध सामान बरामद

वीरगञ्ज (पर्सा), २८ चैत : पर्सा प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि चैत २२ गतेसम्मको अवधिमा रु ३६ करोड ८४ लाख ८३ हजार दुई सय ६० मूल्य पर्ने सामान बरामद गरेको छ ।

प्रहरीको सक्रियताले पछिल्ला समय दिनहुँजसो भन्सार छली गरेका तथा बिलबिजकमा भन्दा धेरै सामान ल्याएको सामग्री नियन्त्रणमा लिने क्रम बढेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले भन्सार छली तथा चोरी पैठारी र बिलबिजकभन्दा धेरै सामान ल्याउनेविरुद्ध प्रहरीले कारबाही गरिरहेको बताउनुभयो ।

“नेपाल प्रहरीले एक सातामा भन्सार छली गरेर ल्याएका करिब रु एक करोड मूल्य पर्ने सामान तथा वस्तु नियन्त्रणमा लिँदै आइरहेको छ”, उहाँले भन्नुभयो, “चोरी/तस्करी गरेर भित्र्याएको सामानलाई पक्राउ गरेर वीरगञ्ज भन्सार कार्यालयलाई बुझाउने गर्छाैं, बिलबिजकअनुसारको नभए राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने गरेका छौँ ।”

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले खुला सीमाका कारण चोरी तस्करी सक्रिय भएको बताउनुभयो । “पर्सा जिल्लाको सिमाना भारतसँग एक सय ७० किलोमिटर जोडिएको छ”, उहाँले भन्नुभयो, “चोरी तस्करी नियन्त्रण गर्न सबै निकायलाई निर्देशन दिँदै आइरहेको छु” ।

चालु आवको चैत २२ गतेसम्मको अवधिमा राजस्व अनुसन्धान कार्यालय पथलैयामा रु ३१ करोड ८९ लाख ७३ हजार मूल्य पर्ने सामान बुझाएको छ । त्यस्तै भन्सार कार्यालय वीरगञ्जलाई रु चार करोड ९५ लाख नौ हजार दुई सय ७३ मूल्य पर्ने सामान बरामद गरी बुझाएको छ ।

प्रहरीले अघिल्लो आव २०७९/८० मा रु ४८ करोड नौ लाख ६४ हजार छ सय ४६ मूल्य पर्ने वस्तु तथा सामान बरामद गरेको थियो । जसमा किरानाको सामान रु आठ करोड तीन लाख पाँच हजार नौ सय ७५ मूल्य बराबरको थियो । त्यसैगरी विद्युतीय सामग्री रु एक करोड ८० लाख मूल्य बराबरको थियो ।

त्यसैगरी अघिल्लो आवमै सवारीसाधनको पार्टपुर्जा सम्बन्धि रु १५ करोड ५८ लाख ७७ हजारको बरामद गरेको जिल्ला प्रहरीको तथ्याङ्कमा उल्लेख छ । लत्ताकपडा रु २२ करोड ३५ लाख ६६ हजार मूल्य बराबरको बरामद गरेको र गत आवमा चोरी तस्करीमा संलग्न १५ अभियुक्तलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले गत आवमा ९५ वटा सवारीसाधन नियन्त्रणमा लिएको थियो ।

पर्यटन राजधानी पोखरामा ‘सावर बञ्जी’, तल झरिसकेपछि पानीको फोहरामा रमाउन पाइने

गण्डकी, २८ चैतः पर्यटन राजधानी पोखरामा नयाँ पर्यटकीय गतिविधिका रुपमा हाइग्राउण्ड एडभेन्चर्स नेपालले आजदेखि सावर बञ्जी शुभारम्भ गरेको छ । पोखरा महानगरपालिका वडा नं २५ हेम्जामा विभिन्न साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिरहेकोमा कम्पनीले सावर बञ्जी पनि सञ्चालनमा ल्याएको संस्थाका निर्देशक तथा प्रमुख सञ्चालक अधिकृत दिनेश महर्जनले जानकारी दिनुुभयो ।

“हाइग्राउण्ड एडभेन्चर्स नेपालले सन् २०१२ देखि पोखरामा साहसिक पर्यटकीय प्रडक्टका रुपमा विभिन्न गतिविधि सञ्चालन सुरु गरेको हो”, उहाँले भन्नुभयो, “सुरुमा जीपलाइनमात्रै सुरु गरिएकोमा त्यसपछि बञ्जी, स्वीङ र एटिभिलगायतका प्रडक्ट थपिएको हो ।” साहसिक पर्यटकीय क्षेत्रमा यी गतिविधिको सञ्चालनले कुनै न कुनै रुपमा योगदान पुु¥याएको उहाँले बताउनुुभयो ।

सावर बञ्जी नेपालको पहिलो र एकमात्र भएको उल्लेख गर्दै निर्देशक महर्जनले यसमा रमाउन चाहने स्वदेशी तथा विदेशी पर्यटकले पानीको फोहरामा फरक अनुभव लिन पाउने बताउनुुभयो ।

उहाँका अनुसार बञ्जीका क्रममा ८२ मिटर माथिबाट हामफालेका पर्यटक तल झरिसकेपछि पानीको फोहरामा रमाउन पाउनेछन् । यसका लागि आन्तरिक तथा बाह्य पाहुनाले प्रतिव्यक्ति रु छ हजार पाँच सय तिर्नुपर्नेछ । यो शुल्कमा भिडियो, फोटो र टिसर्ट पनि निःशुल्क उपलब्ध हुनेछ । एकदिनमा करिब ६० जना पर्यटकलाई सावर बञ्जीको अनुभव दिलाउन सकिने जनाइएको छ ।

हाइग्राउण्ड एडभेन्चर्समा शरद गोल्छा, भरत गोल्छा, अभिनव चुरिवाल र दिनेश महर्जनले संयुक्त लगानी गर्नुभएको छ । सावर बञ्जी सञ्चालन गर्नका लागि मात्र थप करिब रु ५० लाख लगानी गरेको कम्पनीले हालसम्म यहाँ करिब रु ५० करोड गरिसकेको जनाएको छ ।

पर्यटन राजधानी घोषणा भएको पोखरा साहसिक पर्यटनको पनि आकर्षक गन्तव्य रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउनुुहुन्छ । पोखरामा पर्यटकको बसाइ लम्ब्याउनका लागि नयाँ पर्यटकीय गतिविधिका रुपमा सावर बञ्जी विशेष महत्वपूर्ण बन्ने अपेक्षा लिइएको उहाँले बताउनुुभयो ।

शुभारम्भका अवसरमा पर्यटनविज्ञ वासु त्रिपाठी, टान गण्डकी प्रदेशका अध्यक्ष धर्मराज पन्थी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका बरिष्ठ अधिकृत कुन्दन मिश्र, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारी, होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीलगायतले पर्यटन राजधानी घोषित पोखरामा पर्यटकको बसाई लम्ब्याउनका लागि पर्यटकीय गतिविधि बढ्नु जरुरी रहेको धारणा राख्नुभयो । सावर बञ्जी पोखराका पर्यटकीय गतिविधिमा अर्को महत्वपूर्ण उपलब्धि भएको बताउँदै उहाँहरूले व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कालीकोटको तिलागुफा नगरपालिकाले सुरु ग-यो गाउँबाटै नुन वितरण

मान्म (कालीकोट), २८ चैत : कालीकोटको तिलागुफा नगरपालिकाले गाउँपालिकाको केन्द्रबाटै आयोडिनयुक्त नुन वितरण गर्न थालेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँगको समन्वयमा नगरपालिकाको केन्द्र गाल्जेमा वितरण केन्द्र स्थापना गरी नुन वितरण गर्न थालेको हो ।

नुनकै लागी जिल्ला सदरमुकाम मान्म पुग्नुपर्ने बाध्यताको अन्त्य भएकोमा स्थानीयवासी खुसी भएका छन् । नुन लिन सदरमुकाम जानुपर्ने बाध्यता हटेको तिलागुफा नगरपालिका-६ का सत्यबहादुर शाहीले बताउनुभयो । “एक किलो नुनका लागि एकदिन लगाएर जिल्ला सदरमुकाम मान्म पुग्नुपर्ने बाध्यता हटेको छ”, उहाँले भन्नुभयो, “गाउँमै नुन पाउँदा खुसी छौँ ।”

विगतमा नुन लिन रु दुई हजारभन्दा बढी खर्च र पूरै एक दिन समय लगाएर सदरमुकाम पुग्नुपथ्र्यो । तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले साल्ट ट्रेडिङ कर्पोरेसनसँगको सहकार्यमा नगरपालिका केन्द्रमै अस्थायी डिपो स्थापना गरेर नुन वितरण सेवा दिएको बताउनुभयो ।

“लामो प्रयासपछि स्थानीय तहबाटै नुन वितरणको हुन थालेको छ”, तिलागुफा नगरपालिकाका उपप्रमूख महेन्द्रबहादुर शाहीले भन्नुभयो, “अहिले अस्थायी कार्यालय खोलेर वितरण गर्न थालिएको छ, यसलाइ स्थायी बनाएर पछि नियमित वितरण गर्ने तयारीमा छौँ ।”यसअघि रास्कोट नगरपालिका र महाबै गाउँपालिकाले गाउँबाटै नुन वितरण सुरु गरिसकेका छन् ।