`

तटस्थ र निष्पक्ष भएर काम गर्छु : नवनिर्वाचित उपाध्यक्ष घिमिरे

काठमाडौँ, २८ चैत : राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले उपाध्यक्ष साझा पद भएकाले सबैलाई मिलाएर तटस्थ र निष्पक्ष भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकबाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपाध्यक्ष घिमिरेले उपाध्यक्षको भूमिकालाई लिएर हुँदै आएका टिक्काटिप्पणी र मनोविज्ञानलाई चिर्दै क्रियाशीलताका आधारमा पदको गरिमा स्थापित गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान र नियमावलीले दिएको भूमिकाभित्र रही थप क्रियाशील हुनेछु । राष्ट्रियसभामा महिला सदस्य सशक्तिकरणका विषयमा पनि मेरो भूमिका रहनेछ ।”

उपाध्यक्ष घिमिरेले आफूले प्राप्त गरको उपाध्यक्ष पदलाई सानो वा ठूलो भनी मूल्याङ्कन गर्न नहुने तर्क गर्दै आफूले गर्ने कार्य सम्पादनबाट उदाहरण प्रस्तुत गरी उठेका विभिन्न प्रश्न र मनोविज्ञान बदल्न प्रयास गर्ने अठोट गर्नुभयो । प्राप्त अधिकारको अधिकतम सदुपयोग गर्ने पक्षमा आफू रहेकाले थप अधिकारका लागि चर्चा परिचर्चा गर्न आवश्यक नरहेको उल्लेख गर्दै उहाँले आवश्यकताका आधारमा नियमावली संशोधन हुने विश्वास व्यक्त गर्नुभयो ।

वामपन्थी खेमामा रही महिला सशक्तिकरणको अभियानमा तीन दशकभन्दा बढी समयदेखि क्रियाशील घिमिरे हाल नेकपा (एमाले) को पोलिटब्यूरो सदस्य हुनुहुन्छ । उहाँ चार वर्षदेखि राष्ट्रियसभा सदस्यको जिम्मेवारीमा रहनुभएको छ ।

दबाब र प्रभावमा नपरी प्रभावकारी काम गर्नुस् – गृहमन्त्री लामिछाने

जनकपुरधाम, २८ चैत : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले स्थानीय प्रशासनले दबाब तथा प्रभावमा नपरी कानुन कार्यान्वयनमा दक्षतापूर्ण र प्रभावकारीरूपमा काम गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।

नेपाल सरकार, गृह मन्त्रालय र मधेस प्रदेश, गृह, सञ्चार तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा आज जनकपुरधाममा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीपछि सञ्चारकर्मीसँग कुरागर्दै गृहमन्त्री लामिछानेले वर्तमान सरकारले राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्ने उल्लेख गर्दै सोहीअनुसार जनहितमा काम गर्न निर्देशन दिनुभयो ।

गृहमन्त्री लामिछानेले मधेश प्रदेशको सुरक्षा संवेदनशीलता, खुला सीमा, लागुऔषध दुव्र्यसनी, मिटरब्याज, विपद् व्यवस्थापनलगायतका समस्या समाधान गर्न समन्वयात्मक ढङ्गले काम गर्नेसमेत निर्देशन दिनुभयो । “मधेस प्रदेशका सुरक्षा संवेदनशीलता, यहाँका मूलभूत समस्या र चुनौतीको पहिचान गर्न यो गोष्ठीलाई महत्वपूर्ण ठानेको छु । अब प्रदेश तथा जिल्लास्तरीय सुरक्षा नेतृत्वले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरेर पहिचान भएका समस्या, लागुऔषध दुव्र्यसन नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण, अनुमति नलिइकन सञ्चालन गरेका र एउटा उद्देश्य लिएर अर्को काम गरेका सङ्घ, संस्था वा व्यवसाय तत्काल बन्द गराउन निर्देशन दिएको छु”, उहाँले भन्नुभयो ।

मधेस प्रदेश धार्मिक पर्यटनका लागि महत्वपूर्ण स्थान भएकाले पर्यटन प्रवद्र्धनका लागि सहजीकरण, अनुचित लेनदेन (मिटरब्याज) समस्याको समाधानका लागि पीडितको पक्षमा काम गर्ने तर व्यवहारिक लेनदेन र वैधानिक कारोबारलाई समेत मिटरब्याजको रुपमा स्थापित गर्ने कार्य हुन, सीमा सुरक्षा र सीमापार अपराध नियन्त्रण गर्न, कारागारलाई सुधारगृहको रूपमा विकास गर्न, विपद्का कारणले कुनै पनि नागरिकको ज्यान गुमाउन नपर्ने स्थिति सृजनाका लागि प्रभावकारी रुपमा काम गर्न समेत निर्देशन दिएको गृहमन्त्री लामिछानेले बताउनुभयो ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशभित्र शान्ति सुरक्षाको अवस्थामा थप सुधार गर्न आवश्यक रहेको र त्यसका लागि सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग आवश्यक सहयोग तथा समन्वय गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेस प्रदेशलाई शान्ति, सुरक्षा तथा अपराध नियन्त्रणका हिसाबले अब्बल प्रदेशको रुपमा विकास गर्नु आफूहरू क्रियाशील रहेको बताउनुभयो । गृहसचिव एकनारायण अर्यालले स्थानीय प्रशासनले सेवाप्रदायक मात्र नभएर कानुनबमोजिम काम भए नभएको नियमन गर्ने नियामकको भूमिकामा समेत प्रस्तुत हुनुपर्ने भन्दै सोहीअनुसार काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा अर्थसचिव कृष्णहरि पुस्कर, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारीलगायत मधेस प्रदेशका आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

तीन दिनदेखि त्रिपालमुनि रात कटाउँदै आगलागी पीडित

कटारी, २८ चैत : उदयपुरको कटारी नगरपालिका-१०, थुम्की गाउँका दुईघर आगलागी पीडित परिवार तीन दिनदेखि त्रिपालमुनि रात कटाउँदै आएका छन् । सोमबार दिउँसो आगलागीबाट घरगोठ जलेर नष्ट भएपछि ७४ वर्षीय गुमानसिंह थापा मगर र ७२ वर्षीय नारायणबहादुर थापा मगर परिवारको बिचल्ली भएको हो ।

आगलागीले घरविहीन भएपछि कटारी नगरपालिकाले मङ्गलबार त्रिपाल पठाएको थियो । “अहिले उहाँहरु त्यही त्रिपालमुनि रात कटाइरहनुभएको छ”, स्थानीय ककनी टोल विकास संस्थाका सचिव धर्म खनालले भन्नुभयो, “हावाहुरी आयो र पानी प-यो भने विचल्ली हुने अवस्था छ ।”

अर्का बेचन थापा मगरको भने मतान जलेको थियो । उहाँको मतानमा रहेको सरसामानसँगै १८ वटा खसीबाख्रा मरेका थिए । आगलागीबाट अन्नपात, नगद, भाँडाकुँडा, लत्ताकपडा गरी झण्डै रु ६५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष राईले बताउनुभयो ।

आगलागीबाट ठूलो क्षति भएको र उनीहरुको अवस्था दयनीय भएको कटारी-१० का वडाध्यक्ष क्षेत्रबहादुर खड्काले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएकाले आगलागी पीडितलाई त्रिपालको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

स्थानीयवासीका अनुसार लत्ताकपडा र दैनिक उपभोग्य वस्तु विभिन्न संस्थाले सहयोग गरेका छन् । पीडित परिवारमा वृद्धवृद्धा भएकाले त्रिपालमुनिको बास कष्टप्रद बनेको छ ।

आगलागीमा परी घाइते हुनुभएका स्थानीय शङ्कर भुजेल उपचारपछि घर फर्किनुभएको छ । आगोले उहाँको आँखामा चोट लागेको थियो । घटनास्थल उदयपुरको पश्चिम-उत्तर भेगमा पर्छ ।

ईयूले आफ्नो आप्रबासन प्रणालीमा ल्याउन खोजेको सुधार

युरोपेली संसद्ले शरणार्थी र अनियमित आप्रवासीका लागि युरोपेली सङ्घ (ईयू) को कानुनमा सुधारका लागि बुधबार मतदान गरेको छ ।

नयाँ ईयू शरणार्थी तथा आप्रवासन सम्झौतामा अनियमित रूपमा ईयूमा प्रवेश गर्ने आप्रवासीहरूको पहिचान, स्वास्थ्य तथा सुरक्षा जाँच गरिनेछ र उनीहरूको अनुहार र औँठाको छापको ‘बायोमेट्रिक’ प्रमाण रेकर्ड गरिनेछ । यो प्रक्रियाको लागि सात दिनसम्म लाग्नसक्ने नयाँ प्रस्तावमा उल्लेख छ ।

यसमा बालबालिकाले विशेष उपचार पाउनेछन् र उनीहरूका अधिकार सुनिश्चित गर्न सदस्य राष्ट्रहरूमा स्वतन्त्र अनुगमन संयन्त्रहरू हुनेछन् । यस प्रक्रियाको उद्देश्य कुन आप्रवासीहरूले द्रूत वा सामान्य शरण आवेदन प्रक्रिया प्राप्त गर्नु पर्दछ, र कुन आप्रवासीहरूलाई उनीहरूको मूल देश वा ‘ट्रान्जिट’मा फिर्ता पठाउनु पर्दछ भनेर निर्धारण गर्नु हो ।

सुव्यवस्थित जाँच

सुरक्षाको स्थिति प्राप्त गर्ने कम सम्भावनासँग शरण चाहनेहरूलाई छिटो प्रक्रियामार्फत् आवेदन प्रक्रियालाई अगाडी बढाइने छ । ट्युनिसिया, मोरक्को र बङ्गलादेशजस्ता देशका नागरिकहरू यस श्रेणीमा पर्दछन् । यी मुलुकबाट आउने नागरिकलाई कम से कम ८० प्रतिशत मामलाहरूमा नागरिकहरूको शरण आवेदन अस्वीकार गरिएको देशका नागरिकको रूपमा परिभाषित गरिएको छ ।

उनीहरूको सुव्यवस्थित अनुप्रयोगहरू विमानस्थलसहित प्रायः भूमि सीमा र बन्दरगाहजस्ता ईयूको ‘बाह्य सीमा’ बाट टाढाका केन्द्रहरूबाट प्रक्रिया अगाडी बढाइने छ । त्यसैले यदि उनीहरूको अनुरोधलाई निराधार वा अस्वीकार्य ठह¥्याइयो भने उनीहरूलाई तुरुन्तै फिर्ता पठाउन सकिन्छ ।

यसको लागि हिरासतहरू प्रयोग गर्नु आवश्यक छ यद्यपि घर वा आवासमा नै नजरबन्द वैकल्पिक उपायहरू प्रयोग गर्न सकिनेछ ।

कुनै पनि समयमा ३० हजारसम्म मानिसहरूलाई हिरासत केन्द्रहरूमा राख्न सकिन्छ । वार्षिक रूपमा एक लाख २० हजार आप्रवासीहरू ईयू सदस्य राष्ट्र भएर शरणार्थीका लागि यूरोप छिर्ने गरेको ईयूको अनुमान रहेको छ ।

अभिभावक साथमा नभएका नाबालिकहरूले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै उनीहरूलाई परिवारको साथमा राखिनेछ ।

प्रतिवद्धता संयन्त्र

नयाँ प्रणालीले ईयूको तथाकथित डबलिन तेस्रो संयन्त्रमा सुधार ल्याउनेछ, जसअन्तर्गत सामान्यतया, अनियमित आप्रवासी युरोप प्रवेश गरेको पहिलो विन्दु रहेको देश उनीहरूको मुद्दा सम्हाल्न जिम्मेवार हुनेछ । नयाँ नियमले हालैका वर्षहरूमा भूमि र समुद्री आगमनको ठूलो हिस्सा प्राप्त गरेका इटाली, ग्रीस र माल्टालाई थप तनाव दिनसक्ने अनुमान गरिएको छ ।

नयाँ नियमअनुसार पहिलो देशको जिम्मेवारीसम्बन्धी ‘डबलिन तेस्रो सिद्धान्त’ कायम राखिनेछ, तर थप मापदण्डका साथ पहिलो देशले शरण खोज्नेको फाइल अर्को ईयू देशमा सार्न सक्नेछ ।

अनिवार्य ऐक्यबद्धता संयन्त्रले सदस्य राष्ट्रहरूलाई ईयूको बाह्य किनारा देशहरूमा आउने शरणार्थी निवेदकहरूको निश्चित सङ्ख्यामा मात्र शरण दिन बाध्य पार्नेछ ।

यदि तिनीहरूले त्यसो गर्न चाहेनन् भने, ती अन्य देशहरूले यसको सट्टा आर्थिक सहयोग वा अन्य सामग्री वा कर्मचारीको सहयोग योगदान प्रदान गर्न सक्दछन् ।

प्रतिवर्ष कम्तीमा ३० हजार शरणार्थीहरूलाई नयाँ स्थानान्तरण प्रणालीअन्तर्गत प्रवेश नियन्त्रण गर्न सकिनेछ ।

आतिथ्यताको सट्टा भुक्तानी गर्न रुचाउनेहरूका लागि वार्षिक ६० करोड युरो (करिब ६५ करोड अमेरिकी डलर) को वित्तीय क्षतिपूर्ति निर्धारण गरिनेछ ।

शरणार्थीको वृद्धिपछिको प्रतिक्रिया

सन् २०१५÷१६ मा २० लाखभन्दा बढी शरणार्थीहरू युरोपेली सङ्घमा प्रवेश गर्दा ईयूले सामना गर्नुपरेको सङ्कटको सामना गर्नुपरेको थियो । उक्त समय यूरोप पुग्ने अधिकांश शरणार्थी युद्धग्रस्त सिरिया र अफगानिस्तानबाट यूरोप पसेका थिए ।

सन् २०२३ मा ११ लाख ४० हजार शरणार्थीले शरणका लागि निवेदन दिएका छन् र यो सन् २०१६ यताकै उच्च हो ।

अत्यधिक शरणार्थीको प्रवेशले सदस्य राष्ट्रहरूलाई शरण खोज्नेहरूका लागि आवश्य सुरक्षा प्रवन्ध गर्न समस्या हुनेछ । यही कारण उनीहरू ईयूको बाह्य सीमामा रहेका हिरासत केन्द्रमा सामान्यतया अनुमति दिइएको भन्दा लामो समयसम्म राख्न सम्भव हुनेछ ।

ईयूका सदस्यहरू पनि बाह्य देशहरूद्वारा आप्रवासी प्रवाहको ‘उपकरणीकरण’ लाई सम्बोधन गर्न चाहन्छन् । उदाहरणका लागि बेलारूस र रूसले आप्रवासीहरूलाई युरोपेली सङ्घलाई अस्थिर तुल्याउन युरोपेली सङ्घमा प्रवेश गर्न प्रोत्साहन गरेको आरोप लाग्दै आएको छ।

सुरक्षित तेस्रो देश

शरण खोज्नेहरूको जाँच गर्दा ‘सुरक्षित तेस्रो देश’ को अवधारणालाई अनुमति दिइनेछ ।

सुरक्षाको लागि अनुरोध गर्न पर्याप्त मानिएको ‘सुरक्षित’ मानिएको देशमार्फत् ईयूमा आएकाहरूको ईयू आवेदन अस्वीकृत हुन सक्ने ‘सुरक्षित तेस्रो देश’ को अवधारणाको उद्देश्य हो तर यसलाई लागू गर्नका लागि, शरण खोज्ने व्यक्ति र ट्रान्जिट देशबीच पर्याप्त सम्पर्क स्थापित गर्नु पर्दछ ।

वन ढडेलो सङ्कट घोषणा गर्न सरकार समक्ष माग

काठमाडौँ, २८ चैत : नेपाल वन प्राविधिक सङ्घ (एनएफए) ले वन ढडेलो सङ्कट घोषणा गर्न सरकार समक्ष माग गरेको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै बढ्दो वन डढेलो नियन्त्रणका लागि सङ्कटकाल घोषणा गर्न माग गरेको हो । महासङ्घका अध्यक्ष राकेश कर्णले वन डढेलोका कारण देशव्यापी रुपमा प्रभाव परेको, वातावरणीय प्रदूषण बढिरहेकोले वनलाई डढेलोबाट जोगाउन आवश्यक रहेको बताउनुभएको छ ।

“वन डढेलोको कारण वनविनास भएको छ, बस्ती जोगाउनै मुस्किल भएको छ”, उहाँले भन्नुभयो, “वन डढेलो नियन्त्रणका लागि आधुनिक प्रविधि जुटाउन र सङ्कट घोषण गर्न आवश्यक छ ।” उहाँले वन डढेलो नियन्त्रणको क्रममा मृत्यु हुने नेपाली सेनाका जवान प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

प्राकृतिक स्रोत संरक्षण कार्य चुनौतीपूर्ण रहेको डोल्पाको घटनाले प्रष्ट पारेको उहाँको भनाइ छ । कर्णाली प्रदेशको डोल्पा जिल्ला ठूलीभेरि नगरपालिका बडा नं ३ र ४, तिन्नाको मस्टा भवानी सामुदायिक वनमा लागेको वन डढेलो नियन्त्रण गर्ने क्रममा मंगलबार डोल्पास्थित देवीदत्त गुल्ममा कार्यरत ३८ वर्षिय जमदार केशवबहादुर जागा मगर, सिपाहीहरु २२ वर्षिय हेमन्त रावत र ३८ वर्षिय आशिष बुढाको मृत्यु भएको थियो । विजय कोइराला गम्भीर घाइते भई काठमाडौँमा उपचारत हुनुहुन्छ ।

वन डढेलो नियन्त्रण गर्ने क्रममा नेपाली सेनाका जवानलाई संरक्षण सहिद घोषणा गर्न र घाइतेको निःशुल्क उपचार गर्न एनएफएले माग गरेको छ । मृतकको परिवारजनलाई राहत उपलब्ध गराउन माग गरिएको छ ।

राष्ट्रियसभा उपाध्यक्ष घिमिरेद्वारा शपथ

काठमाडौँ, २८ चैत : राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहकाबीच राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उपाध्यक्ष घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । राष्ट्रियसभा नियमावली, २०७५ को नियम २१७ ‘क’को अनुसूची २ बमोजिम उपाध्यक्ष घिमिरेले राष्ट्रियसभाको उपाध्यक्ष पदको शपथ लिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, उच्च सरकारी अधिकारीलगायतको उपस्थिति थियो । राष्ट्रियसभाको आजको बैठकमा उपाध्यक्ष पदको मत विभाजनका माध्यमबाट सम्पन्न निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद विमला घिमिरे निर्वाचित हुनुभएको थियो ।

सिङ्गापुरमा अनलाइन ठगीमा दोब्बर वृद्धि

सिङ्गापुरमा इन्टरनेटको माध्यमबाट हुने व्यवसायमा ठग्ने र ठगिने क्रम बढेको छ । सन् २०२३ मा ‘ई–कमर्स’ बाट गरिने खरिद् बिक्रीमा हुने छलीका घटनामा दोब्बरले वृद्घि भएको ‘ई–कमर्स मार्केटप्लेस लेनदेन सुरक्षा मूल्याङ्कन प्रतिवेदनले देखाएको छ ।

प्रशासनका अनुसार करिब ५० प्रतिशत ई–कमर्ससम्बन्धी ठगी फेसबुक र अन्य सामाजिक सञ्जालको माध्यमबाट हुने गरेको छ ।

सन् २०२२ मा अनलाइन छलीका घटनाहरूमा एक हजार १३८ रहेकोमा सन् २०२३ मा यो सङ्ख्या चार हजार ५५० मा पुगेको उल्लेख गरिएको छ ।

मूल्याङ्कन प्रयोगकर्ता प्रामाणिकता, लेनदेन सुरक्षा, हानि समाधानका स्रोत र अनलाइन किनमेलका लागि बनाइएका वेबसाइटहरू गरी चार तहमा आधार भएर गरिएको हो ।

मूल्याङ्कन प्रतिवेदनमा फेसबुकलाई सबैभन्दा कम अङ्क दिएको छ भने अमेजन, लाजादा, शोपीलगायतका अनलाइन किनमेलका लागि प्रसिद्ध वेवसाइटलाई पूर्ण अङ्क दिइएको छ ।

गृह राज्यमन्त्री सन जुएलिङले संसद्मा गरेको सम्वोधनमा सामाजिक सञ्जाल मेटालाई फेसबुकमा छलीविरुद्ध सुरक्षा उपायहरू अङ्गीकार गर्न अस्वीकार गरेकोमा आलोचना गर्नुभयो ।

गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश : ‘दीर्घकालीन असर पर्ने काम नगर्नु’

काठमाडौँ, २८ चैत : सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ ।न्यायाधीश विनोद शर्माको एकल इजलासले आज निवेदनको टुङ्गो नलाग्दासम्म दीर्घकालीन असरपर्ने प्रकृतिका निर्णय नगर्न अन्तरिम आदेश गरेको हो ।

“नेपालको संविधानको धारा १८६ को अवस्थामा मात्र निर्णायक मत दिन सक्नेमा निजको सङ्ख्यासमेत गणना गरी मुख्यमन्त्री पदमा गरिएको दावीको आधारमा प्रत्यर्थी खगराज अधिकारीलाई नियुक्त गरिएको छ”, आदेशमा भनिएको छ, “संवैधानिक व्याख्याको प्रश्न, संसदीय अभ्यास, यस अदालतबाट स्थापित सिद्धान्तलगायतका विषयमा निरुपण हुन आवश्यक देखिएकाले तर सरकारको शून्यताको अवस्था सिर्जना हुन दिनसमेत नमिल्ने हुँदा प्रदेश सरकारका नियमित कार्य सञ्चालनबाहेक प्रत्यर्थी खगराज अधिकारीको नेतृत्वमा गठित प्रदेश सरकारबाट प्रस्तुत निवेदन पत्र टुङ्गो नलाग्दासम्म दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्नु नगराउनु ।”

अदालतले उक्त विवादको छिटो निरुपण गर्न आगामी वैशाख १० गतेका लागि अग्राधिकार दिएर सुनुवाइ गर्न मिति समेत तय गरेको छ । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मङ्गलबार मुख्यमन्त्री अधिकारीले सभामुखलाई समेत जोडेर बहुमत बनाउनु असंवैधानिक भएको भन्दै रिट निवेदन दायर गर्नुभएको थियो ।

रिट निवेदनमा यही चैत २५ गते अधिकारीले जालझेल गरी दूषित तवरले दाबी पत्र पेश गर्नुभएको र अधिकारीलाई मुख्यमन्त्रीका रुपमा कामकारबाही गर्न नदिने आदेशको माग गरिएको थियो । रिट निवेदनमा सभामुख तटस्थ व्यक्ति भएकाले कुनै पनि दलका लागि बहुमत पु¥याउन नमिल्ने जिकिर गरिएको थियो ।
यसअघि, कोशी प्रदेशमा नेकपा (एमाले) ले नेपाली कांग्रेसविरुद्ध सोही आधारको रिट निवेदनमा सर्वोच्च अदालतले सभामुखको मत जोड्न नपाउने आदेश गरेको थियो ।

दक्षिण कोरियामा संसदीय निर्वाचन

राष्ट्रिय निर्वाचन आयोगका अनुसार स्थानीय समय अनुसार बिहान छ बजे देखि मतदान सुरु भएको हो । देशभरी १४ हजार २५९ मतदान केन्द्रहरूमा साँझ छ वजेसम्म चल्नेछ । तीन करोडभन्दा बढी व्यक्ति मतदान गर्न योग्य छन् ।

राष्ट्रिय सभाको ३०० सदस्यका लागि हुने निर्वाचनमा २५४ सदस्यहरू प्रत्यक्ष निर्वाचित हुनेछन भने अन्य ४६ सदस्य समानुपातिक निर्वाचनबाट चयन हुनेछन् ।

प्रारम्भिक मतदानको आधारमा ७० प्रतिशतभन्दा बढी मतदान हुने आँकलन गरिएको छ । यसअघि सन् २०२० मा सम्पन्न आम निर्वाचनमा ६६.२ प्रतिशत मतदान भएको थियो ।

ग्रिसमा आप्रवासी सवार डुङ्गा पल्टिँदा तीन बालिकाको मृत्यु

ग्रिसको चियोस टापुको चट्टानी उत्तरपश्चिमी तटमा आप्रवासी डुङ्गा पल्टिँदा त्यसमा सवार कम्तीमा तीन बालिकाको मृत्यु भएको तटरक्षकहरूले बुधबार बताएका छन् । खोज र उद्धार कार्य जारी रहेको बताइएको छ ।

मृतक बालिकाहरूकी आमाले पाँच, सात र १० वर्षका छोरीहरू बेपत्ता भएको पुष्टि गर्नुभएको ग्रिक तटरक्षकले बताएका छन् । टर्कीबाट रातारात उडेका नौसेनाका तीन जहाजले डुङ्गामा सवार आठ नाबालिग र डुबेका बालिकाहरूकी आमासहित १९ आप्रवासीलाई उद्धार गरेका छन् ।

डुङ्गामा कति सवार थिए भन्नेबारे अधिकारीहरूले स्पष्ट नभएको बताएका छन् । यद्यपि सार्वजनिक प्रसारक इआरटीले डुङ्गामा मुख्यरूपमा अफगानसहित २७ जना सवार रहेको बताएको छ । रातको समयमा चियोस तटमा पौडन सफल तीन अफगानले अधिकारीहरूलाई सतर्क गराएको इआरटीले जनाएको छ ।

युरोपेली सङ्घ (इयु) सम्म पुग्न खोज्ने आप्रवासीहरूका उत्तरपूर्वी एजियन सागरमा रहेको चियोस टापु एउटा प्रवेशद्वार हो । शरणार्थीहरूका लागि उच्चायुक्त कार्यालयका अनुसार यस वर्षको प्रारम्भदेखि ग्रिक टापुहरूमा ११ हजार तीन सयभन्दा बढी आगमन रेकर्ड गरिएको छ ।

सन् २०२३ मा करिब ४५ हजार शरण खोज्नेहरू ग्रिस पुगेका थिए । यीमध्ये अधिकांश टर्कीएबाट नजिकका टापुहरूमा आएका थिए । संयुक्त राष्ट्रसङ्घका अनुसार यो चार वर्षमा सबैभन्दा धेरै सङ्ख्या थियो । सन् २०२३ जुनमा पाइलोसको तटमा डुङ्गा डुब्दा त्यसमा सवार ८२ मानिस डुबेका थिए भने सयौँ बेपत्ता भएका थिए ।

उक्त त्रासदीको धेरै अनुसन्धान अहिले पनि भइरहेको छ । केही गैरसरकारी संस्थाहरूले ग्रिक तटरक्षकहरूमाथि उनीहरूको सहायताका लागि आउन ढिलाइ गरेको आरोप लगाएका छन् ।

चीनमा मालवाहक जहाज डुङ्गासँग ठोक्किँदा आठको मृत्यु

एक साताअघि दक्षिणी चिनियाँ टापु हेनान नजिकै एउटा मालवाहक जहाज र माछा मार्ने डुङ्गा ठोक्किएपछि बुधबार आठ जनाको मृत्यु पुष्टि भएको सरकारी सञ्चारमाध्मले बताएको छ ।

सिन्ह्वा समाचार समितिका अनुसार पनामाको ध्वजाअन्तर्गत सञ्चालनमा रहेको एसआइटिसी दनाङ कन्टेनर जहाज अप्रिल ३ को मध्यरातलगत्तै माछा मार्ने डुङ्गासँग ठोक्किएको थियो । त्यसको असरले माछा मार्ने डुङ्गा डुबेको थियो र त्यसमा सवार आठ जना पानीमा खसेका थिए ।

बुधबार दिउँसो बेपत्ता सबै आठ जनाको शव बरामद गरिएको छ र धेरै जहाज र विमान सामेल भएको उद्धार कार्य समाप्त भएको छ । सरकारी प्रसारक सिसिटिभीले गत साता प्रकाशन गरेको तस्बिरमा दुर्घटना भएको स्थानमा एउटा उज्यालो सुन्तला रङको आपत्कालीन जीवन बेडालाई समुद्री क्षेत्रमा तैरिरहेको देखाइएको थियो । यद्यपि त्यहाँ कुनै पनि व्यक्तिलाई देखिएको थिएन ।

समाचारअनुसार हेनानको सुदूर दक्षिणपश्चिमी तटमा रहेको यिङ्गेहाई सहरबाट करिब ४० किलोमिटर टाढा दुर्घटना भएको थियो । पनामाको कन्टेनर जहाजलाई हेनानको सान्या बन्दरगाहमा राखिएको छ र दुर्घटनाको अनुसन्धान भइरहेको छ ।

भारतबाट भित्र्याइएको दश करोड बढीको अवैध सामान बरामद

राँझा (बाँके), २८ चैत : बाँकेमा भन्सार छली गरी भारतबाट भित्र्याइएको रु दश करोड बढीको अवैध सामान सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि चैतको २७ गतेसम्म रु दश करोड दश लाख बराबरको भन्सार छली गरी भित्रिएका अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर ३० बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार साउनमा रु एक करोड ४५ लाख, भदौमा रु एक करोड १९ लाख, असोजमा रु एक करोड छ लाख, कात्तिकमा रु एक करोड ४१ लाख, मङ्सिरमा रु एक करोड ३८ लाख, पुसमा रु एक करोड एक लाख, माघमा ९१ लाख, फागुनमा रु ९१ लाख र चैतको हालसम्म रु ७४ लाख बराबरको अवैध सामान बरामद भएको छ ।

अवैधरुपमा हुने चोरी निकासी कारोबारीमा कडाइ गरेपछि भन्सार राजस्वमासमेत वृद्धि भएको उहाँको भनाइ छ । नेपालगञ्जस्थित जमुनाह नाकासहित बाँकेमा सीमावर्ती ६५ किलोमिटर क्षेत्रमा मानिस सामानसहित ओहोरदोहोर गर्ने ३० नाका पहिचान भएका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक डाँगीले जानकारी दिनुभयो ।

बाँकेमा सीमा सुरक्षाको लागि सशस्त्र प्रहरी बल नम्बर ३० बागेश्वरी गण अन्तर्गत १० वटा बोर्डर आउट पोष्ट (बीओपी) रहेका छन् । दशगजा क्षेत्रको सुरक्षा, सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण, सीमा अतिक्रमणको अनुगमन तथा रोकथाम, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण तथा गैरकानुनी गतिविधि नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरीले सीमा पैदलगस्ती परिचालन भएको सशस्त्र प्रहरी उपरीक्षक डाँगीले जानकारी दिनुभयो ।

राष्ट्रिय हित संरक्षणमा नेपाली सेनाको योगदान महत्वपूर्ण छ – प्रधानमन्त्री प्रचण्ड

भक्तपुर, २८ चैतः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि सङ्कटको बेलामा राष्ट्रिय स्वार्थ र राष्ट्रिय हितहरूको संरक्षणमा नेपाली सेनाले महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभएको छ ।

आज नेपाल सैनिक प्रतिष्ठान खरिपाटीमा आयोजित स्नातक अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रममा उहाँले देशभित्र विपद् व्यवस्थापन, पर्यावरण संरक्षण, विकास निर्माणका कामदेखि सङ्कटका बेलामा राष्ट्रिय स्वार्थ र हितको संरक्षणमा नेपाली सेनाले महत्वपूर्ण योगदान पुर्‍याएको बाउनुभयो ।

विश्वमाझ शान्ति सैनिकको देशका रूपमा नेपाललाई परिचित गराउन नेपाली सेनाले ठूलो योगदान रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “विशिष्ट साङ्गठनिक क्षमताका आधारमा नेपाली शान्ति सैनिकले विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्तिदूतका रूपमा खटिएर विश्वशान्ति स्थापनार्थ महत्वपूर्ण योगदान गरेका छन् ।”

विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा नेपाली सेनाले शान्तिदूतका रूपमा खटिएर विश्वशान्ति स्थापनार्थ पु¥याएको योगदानले नेपाललाई ‘शान्ति सैनिकको देश’ को रूपमा विश्वसामु परिचित गराएको उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सन् २०२२ नोभेम्बर ३० बाट शान्ति सैनिक खटाउने राष्ट्रको सूचीमा नेपालले पहिलो स्थान हासिल गर्न सफल हुनुलाई शान्ति स्थापना कार्यमा थप महत्वपूर्ण कोशेढुङ्गाको रूपमा लिएका छाँै ।”

आफ्नो जिम्मेवारीलाई उत्कृष्ट र व्यावसायिक ढङ्गबाट पूरा गर्न सफल हुँदै बहुआयामिक, सबल तथा सक्षम सङ्गठनको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत स्थापित नेपाली सेनाको योगदानलाई सदैव स्मरण गर्नुपर्ने उहाँले बताउनुभयो ।

नेपालका सामु बहुआयामिक द्वन्द्व, जलवायु परिवर्तनका असर तथा विभिन्न महामारी जस्ता जटिल सुरक्षा चुनौती र विपद्का जोखिम रहेको चर्चा गर्दै प्रधानमन्त्री दाहालले राष्ट्र र नागरिकको सुरक्षामा सम्भावित चुनौतीको पूर्वानुमान गर्न सक्ने तथा राष्ट्रिय चुनौतीको सही आकलन गरी सम्भावित खतराबाट देशलाई सुरक्षित राख्ने कार्यको नेतृत्व सेनाले गर्दै आएको बताउनुभयो ।

सुरक्षा र विकास एकअर्काका परिपूरक भएको भन्दै उहाँले समुन्नतिको राष्ट्रिय अभिलाषा पूरा गर्न प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्ने अपरिहार्यतालाई नेपाली सेनाले पूरा गर्दै आएको उहाँले चर्चा गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “बहुध्रुवमा विभक्त अन्तर्राष्ट्रिय परिवेशको प्रत्यक्ष वा अप्रत्यक्ष असर राष्ट्रिय सुरक्षामा समेत परिरहेको परिस्थितिमा नेपाली सेनाले राष्ट्रिय हित तथा स्वार्थहरूको संरक्षण र सम्वद्र्धन गर्न समयसापेक्ष सुरक्षा नीतिका आधारमा अर्थपूर्ण परिणाम हासिल गर्न सक्ने विश्वास लिएको छु ।”

उहाँले अहिले विक्षार्थीको सङ्ख्या बढ्दै गए पनि तालिम इलाका सीमित रहेकाले पनौतीमा यसको उपकेन्द्र निर्माण गर्ने सङ्गठनको प्रस्तावमा सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । सङ्गठनको अधिकृतको रूपमा आयुक्त भई राष्ट्र र राष्ट्रवासीको सेवामा तल्लीन रहन नवआयुक्त अधिकृतलाई सदासर्वदा ऊर्जा र हौसला प्राप्त होस् भन्दै उहाँले शुभकामना व्यक्त गर्नुभयो ।

अधिकृत क्याडेट तालिममा सर्वोत्कृष्ठ हुने सिस ६१ का दीपेन्द्र कडायत, महिलातर्फ दीपा घिमिरे, उत्कृष्ट हुनेहरु सिंस. ५१ का विवेक अधिकारी र मिनिष खड्का, अन्तराष्ट्रियतर्फ बङ्गलादेशका सेपुर रहमान खानलाई प्रधानमन्त्री दाहालले पुरस्कार प्रदान गर्नुभयो ।

अहिलेसम्म २४ जना विदेशीले अधिकृत क्याडेट तालिम लिइसकेकोमा बङ्गलादेश, माल्दिभ्स र जाम्भियाका एक एक जनाले तालिम पूरा गर्नुभएको छ । कार्यक्रममा नेपाली सेनाले कवाज प्रदर्शन गर्नुका साथै युद्धकला प्रदर्शन गरेका थिए । कार्यक्रममा रक्षामन्त्री हरिप्रसाद उप्रेती, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा विभिन्न निकायका विशिष्ट व्यक्तिको सहभागिता रहेको थियो ।

सुनाखरीको राजधानीमा ‘प्रथम पञ्चासे जैविक विविधता सम्मेलन’

गण्डकी, २८ चैत : सुनाखरीको राजधानीको उपमा पाएको पञ्चासेस्थित कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरे देउरालीमा आगामी वैशाख १ गतेदेखि ३ गतेसम्म प्रथम पञ्चासे जैविक विविधता सम्मेलन हुने भएको छ ।

‘पञ्चासेको सान जैविक विविधता र पर्यापर्यटन’ भन्ने मूल नाराका साथ पञ्चासे ईको टुरिजम प्रालिको आयोजनामा पञ्चासे पर्यापर्यटन महोत्सव तथा प्रथम पञ्चासे जैविक विविधता सम्मेलन गर्न लागिएको हो ।

शान्त पर्यापर्यटन र जङ्गल परिभ्रमणकसँगै ग्रामीण क्षेत्रको पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ शान्त पर्यावरणीय मेलाका रुपमा कार्यक्रमलाई अघि बढाइको पञ्चासे ईको टुरिजमका अध्यक्ष नवराज पौडेलले जानकारी दिनुुभयो । उहाँका अनुसार वैशाख १ गते विशेष पर्यावरणीय पदयात्रा गरी उद्घाटन गरिने छ भने वैशाख २ गते विशेष सत्रका रुपमा कार्यपत्र प्रस्तुति सँगसँगै सुनाखरी, चरा र जैविक विविधता अवलोकनको कार्यमूलक सत्र सञ्चालन गरिनेछ ।

तेस्रो दिन योगा, आध्यात्म शिविर र जङ्गल परिभ्रमण पदयात्रा गरी जङ्गलकै बीचमा सुनाखरी सत्र सञ्चालन गरी कार्यमूलक अवलोकन गरिनेछ । सम्मेलनमा जैविक विविधता विज्ञ डा हुम गुरुङ, सुनाखरी वैज्ञानिक भक्तबहादुर रस्कोटी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकीका सचिव डा रामचन्द्र कँडेल, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) गण्डकीका प्रमुख डा रवीन कडरिया, पर्यटन विज्ञ डा रामजी शर्मा, पर्यटन विज्ञ डम्बर पुन, चरा विज्ञ मनसान्त घिमिरे, वुद्धिजीवी डा अमर नागिलालगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।

स्थानीय सांस्कृतिक कार्यक्रम, ट्होटें र गुरुङ संस्कृतिमा आधारित रोधीसमेत सम्मेलनमा प्रस्तुत गरिने छ । सम्मेलनलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्नका लागि आवधिक रुपमा सञ्चालन गर्दै लैजाने तयारी गरिएको छ ।

आगामी वर्षदेखि पञ्चासे ईको टुरिजम प्रालिले पञ्चासे सांस्कृतिक कार्यक्रम, पञ्चासे पर्यापर्यटन महोत्सव र पञ्चासे जैविक विविधता सम्मेलन गरी वार्षिक तीनवटा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

देश बन्नका लागि मुलुकभित्रै रोजगारी सृजना हुनुपर्नेमा मन्त्री अर्यालको जोड

काठमाडौँ, २८ चैत : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सुरक्षित आन्तरिक रोजगारीलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।

‘डेमोक्रेसी मिडिया नेटवर्क’ले आज काठमाडौँमा आयोजना गरेको ‘श्रम बजार, आप्रवास र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री अर्यालले देश बन्नका लागि मुलुकभित्रै रोजगारी सृजना हुनुपर्नेमा जोड दिनुभयो । उहाँले रोजगारी सृजना गर्न निजी क्षेत्रलाई संरक्षणसहित प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

“सरकारले अनुमति दिएर सञ्चालन भएका निजी क्षेत्रलाई सरकारले नै संरक्षण गरी प्रोत्साहित गर्नुपर्छ । निजी क्षेत्र बलियो भएपछि नै आन्तरिक रोजगारी वृद्धि हुन्छ”, मन्त्री अर्यालले भन्नुभयो, “त्यसैले निजी क्षेत्रसँग सहकार्य गरी अगाडी बढ्न मन्त्रालय सधैँ तयार छ ।”

आन्तरिक रोजगारीका लागि मन्त्रालयले तालिमलाई जोड दिएको उहाँको भनाइ थियो । “मन्त्रालय अन्तर्गत भैँसेपाटीमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान छ । त्यहाँ हामीले ६ महिनाभन्दा कम अवधिको तालिम प्रदान गर्ने योजना बनाएका छौँ । त्यस्तै, शिक्षा मन्त्रालयअन्तर्गत रहेको सिटिइभिटीसँग पनि समन्वय गरी हरेकलाई सीप सिकाउनुपर्छ भन्नेमा हामी छौँ”, उहाँले भन्नुभयो ।

आगामी दिनमा कोही वैदेशिक रोजगारीमा जान चाहे पनि सीप सिकेर मात्रै जानुपर्ने अवस्थाको सृजना गर्ने कार्यमा बहस चलाउन मन्त्री अर्यालले सबैलाई आग्रह गर्नुभयो ।

सोह्रौँ योजनाको मस्यौदामाथि गठबन्धन दलसँग छलफल

काठमाडौँ, २८ चैत : मस्यौदा निर्माणको अन्तिम चरणमा रहेको सोह्रौँ पञ्चवर्षीय आवधिक योजनाबारे राष्ट्रिय योजना आयोगले सत्ता साझेदार दलहरुसँग छलफल गरेको छ । प्रधानमन्त्री एवं आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा सत्तारुढ दलका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरेको हो ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री दाहालसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, जनता समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेलगायत नेताको सहभागिता थियो ।

छलफलमा आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले १६औँ योजनाको तयारीका बारेमा जानकारी गराउनुभएको थियो । आयोगका सहसचिव महेश भट्टराईले योजनाको तयारी बारे प्रस्तुति राख्नुभएको थियो । उपाध्यक्ष डा श्रेष्ठका अनुसार राजनीतिक दलहरुबाट प्राप्त सुझावहरु समेटेर मस्यौदालाई अन्तिम रुप दिइनेछ । आयोगले यसअघि विज्ञहरुसँग सुझाव लिइसकेको छ ।

आयोगले आवधिक योजनाका लागि सबै प्रदेशमा पुगेर प्रदेश सरकार र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुसँग सुझाव लिइसकेको छ । सुशासन, सामाजिक न्याय र समृद्धिसहितको आर्थिक विकासको मुख्य लक्ष्यसहित सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/८२-२०८५/८६) को मस्यौदा निर्माण अन्तिम चरणमा छ । आगामी आर्थिक वर्ष २०८१/८२ बाट कार्यान्वयनमा जाने यो आवधिक योजनालाई गत माघ मसान्तभित्र ल्याइसक्ने गरी आयोगले कार्यसूची बनाएपनि अन्तिम स्वीकृतिका लागि केहि समय लागेको छ ।

योजना आयोगका अनुसार विभिन्न क्षेत्रगत रणनीतिसहितका हस्तक्षेपकारी कार्यक्रम राखेर आवधिक योजनाको मस्यौदा तयार पारिएको छ । मुख्य १४ वटा शीर्षकमा रुपान्तरणकारी रणनीति, प्रमुख हस्तक्षेपकारी कार्यक्रम र परिमाणात्मक लक्ष्यसहितको खाका आवधिक योजनामा राखिएको छ । समष्टिगत आर्थिक आधारहरुको सबलीकरण र तीव्रतर आर्थिक वृद्धि, उत्पादन, उत्पादकत्व तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, उत्पादनशील रोजगारी, मर्यादित श्रम र दिगो सामाजिक सुरक्षालगायतका क्षेत्रगत रुपमा शीर्षक राखिएका छन् ।

गुणस्तरीय पूर्वाधार एवं एकीकृत यातायात व्यवस्था प्रणाली, आधुनिक, दिगो र व्यवस्थित शहरीकरण तथा बस्ती विकास, लैङ्गिक सशक्तीकरण, सामाजिक समावेशीकरण र परिचालन, प्रादेशिक तथा स्थानीय अर्थतन्त्रको सुदृढीकरण र सन्तुलित विकास, गरिबी तथा असमानता न्यूनीकरण र समतामूलक समाज निर्माण शीर्षकमा परिच्छेद छुट्याइएका छन् ।

प्रभावकारी वित्त व्यवस्थापन तथा पुँजीगत खर्च क्षमता अभिवृद्धि, अतिकम विकसितबाट विकासशील राष्ट्रमा स्तरोन्नती पश्चात्को सहजीकरण र दिगो विकास लक्ष्य र हरित अर्थतन्त्रलगायतका विषय आवधिक योजनामा राखिएका छन् ।

स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर्न आग्रह

काठमाडौँ, २८ चैत : राष्ट्रिय मानवअधिकार आयोगले नागरिकको स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर्न तीनै तहका सरकारसँग आग्रह गरेको छ ।

आयोगले स्वच्छ र स्वस्थ वातावरणको सम्बन्धमा नेपालको संविधान तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनले प्रत्याभूत गरेका प्रावधानको कार्यान्वयन गर्न तीनै तहका सरकारलाई अपिल गरेको हो । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा विगत केही वर्षदेखि नेपाल वायु प्रदूषित हुने देशको विश्वव्यापी सूचीको अग्रस्थानमा परिरहेको र यस वर्ष पनि उक्त सूची दोहोरिन गएकाले नागरिकको स्वास्थ्यमा पर्नसक्ने असरप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।

“वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ मा वायु प्रदूषणबाट हुने असर न्यूनीकरण वा निराकरण गर्न आवश्यक मापदण्ड निर्धारण गर्न सक्ने उल्लेख छ”, विज्ञप्तिमा भनएिको छ, “तर गुणस्तरीय वायुसहित नागरिकको स्वच्छ तथा स्वस्थ वातावरणको हकको सुनिश्चिताका लागि तीनै तहका सरकारको प्रयासका बावजुद नागरिकको जीवनको अधिकार प्रत्याभूत हुन नसकेको उल्लिखित तथ्याङ्कबाट देखिन्छ ।”

पछिल्लो समय बढ्दै गइरहेको वायु प्रदूषण र यसबाट नागरिकको स्वास्थ्यमा परिरहेको असरबारे आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो । वन डढेलो, ग्रामीण क्षेत्रमा इन्धनको रुपमा काठ दाउरा तथा गुइँठाको प्रयोग, पेट्रोल तथा डिजेलजन्य सवारी साधनको प्रयोग, पुराना सवारीसाधन, उद्योगधन्दा, अन्तरदेशीय वायु प्रदूषणलगायत आदिका कारण काठमाडौँ उपत्यकालगायत देशभरिका अधिकांश स्थानमा वायु गुणस्तरको पीएम २.५ र पीएम १० को तह राष्ट्रिय तथा विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डभन्दा निकै बढी रहेको तथ्याङ्क आज पनि सार्वजनिक भएको छ ।

प्रारम्भिक अनुगमनका क्रममा नेपालमा स्थापित वायु गुणस्तर मापन गर्ने २७ संयन्त्रमध्ये १५ संयन्त्रले काम नगरेको जानकारी प्राप्त भएको छ । तोकिएको मापदण्डभन्दा उच्च वायु प्रदूषणले विशेष गरी दीर्घरोगी, ज्येष्ठ नागरिक, बालबालिका, नवजात शिशु, गर्भवती, अपाङ्गता भएका व्यक्तिलगायतको स्वास्थ्यको अधिकारमा गम्भीर असर परेको छ ।

वायु प्रदूषणका कारण विश्वमा प्रतिवर्ष ७० लाख नागरिकको मृत्यु भइ जीवनको अधिकारबाटै वञ्चित भएको अध्ययनबाट देखिएको छ । नेपालमा प्रतिवर्ष ४२ हजारभन्दा बढी नागरिकले वायु प्रदूषणका कारण मृत्युवरण गर्नुपर्ने बाध्यता रहेको आयोगले जनाएको छ ।

काठमाडौँ उपत्यकामा मात्रै प्रतिवर्ष पाँच हजार बढीको मृत्यु वायु प्रदूषणका कारण भइरहेको पाइएको छ । मुख्यगरी दीर्घकालीन फोक्सोको रोग, मुटुको रोग, मस्तिष्कघात, श्वासप्रश्वास प्रणालीमा सङ्क्रमण आदि स्वास्थ्य समस्या हुने गरेको अनुगमनका क्रममा देखिएको छ ।

नेपालको संविधानको धारा ३० मा स्वच्छ वातावरणको हकलाई मौलिक हकको रुपमा उल्लेख गर्दै प्रत्येक नागरिकलाई स्वस्थ र स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको व्यवस्था गरिएको छ ।

उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

काठमाडौँ, २८ चैत : निर्वाचन आयोगले आगामी वैशाख १५ मा हुने इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरेको छ ।

इलाममा मा १२ राजनीतिक दलका १२ जना र आठ स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएकामा स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईंले उम्मेदवारी फिर्ता लिनुभएको छ । बाँकी १९ जनाको अन्तिम नामावली प्रकाशन भई चुनाव चिह्न प्रदान गरिएको हो ।

बझाङमा १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएकामा नेपाली जनतादलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिनुभएकाले बाँकी ११ जनाको अन्तिम नामावली प्रकाशन भई चुनाव चिह्न प्रदान गरिएको आयोगले जनाएको छ ।

देश र जनताका लागि काम गर्ने क्रममा सहादत प्राप्त गरेका सहिदहरुको सम्मान हुन सकेन : सभापति देउवा

लुम्बिनी, २८ चैत : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनताका लागि काम गर्ने क्रममा सहादत प्राप्त गरेका सहिदहरुको सम्मान हुन नसकेको बताउनुभएको छ । सभापति देउवाले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ टिकुलीगढमा निर्माण गरिएको सहिद यादवनाथ आलोकको पूर्णकदको सालिकको आज हाँ अनावरण गर्दै सहिदहरु कुनै पार्टीको नभई देश र जनताको हुने भएकाले उहाँहरुको सबैले सम्मान गर्नुपर्ने बताउनुभयो ।

अपराधीको जति नै निन्दा गरे पनि नपुग्ने उल्लेख गर्दै सभापति देउवाले सहिदको सपना पूरा गर्नु पनि दलहरुको कर्तव्य भएको उल्लेख गर्नुभयो । उहाँले यादवनाथ आलोकको सपना पूरा गरेरै छाडने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले यादवनाथ आलोकले पु¥याएको योगदानको चर्चा गर्नुभयो ।

सहिद यादवनाथ आलोक स्मृति अध्ययन केन्द्रका अध्यक्ष हेमराज अर्यालको अध्यक्षतामा भएको सो कार्यक्रममा सहिद पत्नी सीतालक्ष्मी न्यौपानेले आलोकले अगाडि सार्नुभएका चाहना र आङ्काक्षा पूरा गर्न नेपाली कांग्रेसलाई आग्रह गर्नुभयो । यसअघि सभापति देउवा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ क्षेत्रीय कार्यसमितिद्वारा भैरहवामा आयोजित नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा सहभागी हुनुभएको थियो ।

नवलपरासीका यस वर्ष दुई हजार नौ सय ७१ मेट्रिक टन तोरी उत्पादन

मध्यविन्दु (नवलपरासी), २८ चैतः नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष दुई हजार नौ सय ७१ मेट्रिक टन तोरी उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार जिल्लामा यस वर्ष दुई हजार चार सय ४३ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिँदा सो उत्पादन भएको हो ।

जिल्लामा गत वर्षदेखि तोरीखेतीतर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा सुधार आएको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । उत्पादन भएको तेलहन बालीमध्ये तोरी एक हजार दुई सय ८३ मेट्रिक टन रहेको छ भने सर्सिउँ एक हजार छ सय ८८ मेट्रिक टन रहेको प्रमुख तिवारीले बताउनुभयो ।

“गत वर्ष जिल्लामा दुई हजार चार सय ३३ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिँदा दुई हजार नौ सय २० मेट्रिक टन तोरी उत्पादन भएको छ”, उहाँले भन्नुभयो, “यसमध्ये तोरी एक हजार दुई सय ८५ मेट्रिक टन र सर्सिउँ एक हजार छ सय ३५ मेट्रिक टन रहेको छ ।”

बर्दघाट सुस्तापूर्वमा गत आवर्ष २०७९÷८० मा भन्दा यस वर्ष तोरीखेती गर्ने क्षेत्रफल १० हेक्टर र उत्पादन ५१ मेट्रिक टनले वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरका कृषि बालीविज्ञ सञ्जय ढकालले बताउनुभयो । “दुई वर्षको तथ्याङ्कलाई हेर्दा तोरीखेतीको क्षेत्रफलसँगै उत्पादन पनि बढेको देखिन्छ”, उहाँले भन्नुभयो, “जिल्लामा तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको छ ।”

अन्य बालीको तुलनामा तोरीखेतीबाट बढी फाइदा हुने भएकाले जिल्लाका किसान तोरीखेतीमा आकर्षित भएको कृषि बालीविज्ञ ढकालले बताउनुभयो । “तोरी लगाउन पनि सजिलो भएकाले जिल्लामा तोरीखेती फस्टाएको हो”, उहाँले भन्नुभयो, “ किसानले उत्पादनको उचित मूल्य पनि पाएका छन् ।”नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा तोरीखेती हुँदै आएको छ ।

गण्डकी प्रदेश सरकारको बजेटबाट तनहुँमा सातवटा पक्की पुल तयार

दमौली (तनहुँ), २८ चैतः गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएर तनहुँमा गत र चालु आर्थिक वर्षमा गरी सातवटा पक्की पुल निर्माण सम्पन्न भएका छन् । गत आवमा पाँच र चालु आवमा दुई गरी सातवटा मोटरेबल पुल बनेका हुन् ।

त्यस्तै ११ वटा पक्की पुल निर्माणाधीन रहेका पूर्वाधार विकास कार्यालय तनहुँका इन्जिनियर धनमाया मिश्रले जानकारी दिनुभयो । निर्माणाधीन पुलका लागि रु २२ करोड ७५ लाख बजेट विनियोजन भएकामा रु तीन करोड २६ लाख २१ हजार खर्च भएको छ । चालु आवमा ऋषिङ गाउँपालिका–५ रुपाटारस्थित लुम्दीखोलामा रु ३० लाखको लागतमा पुल निर्माण सम्पन्न भएको छ । त्यस्तै म्याग्दे गाउँपालिकास्थित बेलसोती मार्गको म्याग्दे खोलामा रु ३० लाखको लागतमा अर्को पुल बनाइएको छ ।

गत आवमा रु ५० लाखको लागतमा भिमाद नगरपालिका–८ र शुक्लागण्डकी नगरपालिका–८ र शुक्लागण्डकी नगरपालिका–८ जोड्ने क्याङ्दीखोलामा रु ५० लाख, ऋषिङ–४ र ५ जोड्ने रुपाटार जोड्ने ज्वालाखोलामा रु ३० लाखमा, घिरिङ गाउँपालिका–४ नयाँटारमा तिरम्दीखोलामा रु ३० लाख, घिरिङ गाउँपालिका–१ द्रुपद खोलामा रु ३० लाख र आँबुखैरेनी गाउँपालिका–३ र ४ सिउदीखोलामा रु ५० लाखमा पुल बनेका हुन् ।

इन्जिनियर मिश्रका अनुसार चालु आवमा निर्माणाधीनमध्ये आँबुखैरेनी गाउँपालिका–२ र ३ जोड्ने खहरेखोलामा रु ७५ लाख विनियोजन गरिएको छ । दमौली बिसेघरे झापुटारस्थित सेती नदीमा रु चार करोडको लागतमा पुल निर्माणाधीन छ । शुक्लागण्डकी नगरपालिका–५ र ८ जोड्ने सेती नदीमा रु तीन करोड, बन्दीपुरस्थित खुदीखोलामा रु एक करोड, व्यास नगरपालिका–११ स्थित बुल्दीखोलामा रु एक करोड ५० लाख, शुक्लागण्डकी नगरपालिका–१० र भिमाद नगरपालिका–८ जोड्ने क्याङ्दीखोलामा रु एक करोड ५० लाख, म्याग्दे गाउँपालिका–४ मिन मावि पछाडि म्याग्देखोलामा रु एक करोड ७० लाखको लागतमा पुल निर्माणाधीन छ ।

यसैगरी, भिमाद नगरपालिका–३ बुडुवाखोलामा रु ४० लाख, भिमाद नगरपालिका–५ स्थित बुडुवाखोलामा रु एक करोड, भिमाद नगरपालिका–१ डुम्रीवेँसीमा रु एक करोड ४० लाख र बन्दीपुर गाउँपालिका–१ र भानु नगरपालिका–१ जोड्ने तल्लो डुम्रेमा रु ५० लाखको लागतमा पुल बनिरहेको छ ।

हामी बढी व्यक्ति र दल केन्द्रित भयौँ: डिगबहादुर लिम्बू

काठमाडौँ, २८ चैतः हामीले अवलम्बन गरेको संसदीय शासन प्रणाली लामो समयदेखि देशमा अभ्यास भइरहेको छ । यसको मूल्य, मान्यतालाई जुन आधारमा अघि बढाउनुपर्ने थियो, त्यो नभई हाम्रा अभ्यासले दलीय स्वार्थमा बढी केन्द्रित भयो कि भन्ने बुझाइ पर्न गएको छ । जनसरोकारका विषयलाई घनिभूत ढङ्गबाट सदनमा उठाउन सकिएको छैन । अहिले हामीले आत्मसात् गरेको शासन प्रणाली मध्यमार्गी बाटो हो । यसलाई थप सुदृढ गरी अघि बढ्दा मात्र जनताको भावनालाई सम्बोधन गर्दै देश विकास गर्न सकिन्छ । पछिल्लो समय हामी बढी व्यक्ति र दल केन्द्रित भयौँ कि भन्ने लागिरहेको छ ।

केही दिनयताको संसद्को गतिविधिले प्रतिपक्षले उठाएका कुरा सुन्न सरकारले नचाहेको भान भइरहेको छ । लोकतान्त्रिक अभ्यासमा सरकार र प्रमुख प्रतिपक्षबीच संवाद र प्रतिवाद निरन्तर हुन्छ । सरकार अभिभावक भएकाले प्रतिपक्षले उठाएका विषय गम्भीरताका साथ सुन्नुपर्छ । त्यो अहिले देखिन्न । विगतमा प्रतिपक्षले उठाएका माग सम्बोधन गर्न छानबिन समिति बनाइएका, दोषीलाई कारबाही भएका र मन्त्री फेरबदलसम्म गरिएका घटना छन् । त्यो नजिर कसैले बिर्सिनुभएन । यी मुद्दा कसैप्रति लक्षित नभई पद्धति र प्रणाली स्थापित गराउने विषय हुन् । विगतको नजिरका आधारमा समस्या सम्बोधन हुनुपर्छ भन्ने नेपाली कांग्रेसको अडान हो ।

विधायकको मुख्य काम कानुन निर्माण गर्नु नै हो । तथापि, सांसदलाई संवैधानिक र कानुनी हिसाबले जुन जिम्मेवारी तोकिएको छ, त्योमात्रै हो भनेर उन्मुक्ति पाउने अवस्था छैन । हामीसँग बग्रेल्ती समस्या छन् । बाटो, पुल, सिँचाइ, विद्यालय, सुकुम्बासी, बेरोजगारीजस्ता अनेक समस्या समाधान गर्छु भनेर चुनावका बेला प्रत्येक सांसदले जनतासँग प्रतिबद्धता गरेका हुन्छन् ।

दश महिना सरकारमा रहँदाको मेरो अनुभव के रह्यो भने हामी राजनीतिबाट आएका व्यक्ति छोटो मार्गबाट छिटो गरौँ भन्ने हुँदोरहेछ । तर कर्मचारीतन्त्रमा प्रक्रियाको कुरा उठाएर एउटा कामलाई लम्बेतान बनाएर यता मिलेन, उता मिलेन भनेर अल्झाउने गरेको अनुभूति भयो । सङ्घीय निजामती, शिक्षा र प्रहरी समायोजन विधेयक छलफल गर्दै जाँदा कर्मचारीतन्त्रबाट आवश्यक सहयोग नभएको मात्र नभई सेवानिवृत्त भएपछि पनि आफू केन्द्रित भएर नियम, कानुन बनाउने माखेसाङ्लोको जस्तो कोसिस देखियो । कतिपय संवैधानिक पदमा यति वर्षको अनुभव र काम गरेको भन्ने मापदण्ड तोक्दै जाँदा अरुले त अवसर नै नपाउने स्पष्ट देखियो । यो गलत छ, त्यसमा सुधार आवश्यक छ । यो प्रवृत्तिले आमरूपमा विधेयक अघि बढाउन ठूलो समस्या खडा गरिरहेको छ ।

वर्तमान सरकारले सदनलाई ‘बिजनेस’ दिन सकेको छैन । कानुन निर्माणमा विषयगत समितिमा तदारुकता र घनिभूत छलफल हुनुपर्ने थियो, त्यो भएन । कानुन निर्माणमा कसले भनेको लागू हुने र जस लिने भन्ने पनि देखिन्छ । समग्रमा देश र जनतालाई केन्द्रविन्दुमा राखेर छिटो कानुन निर्माण गरी तल्लो तहसमेतले लाभ लिनेगरी कार्यान्वयन गर्नुपर्छ भन्ने नै हो । मुलुकको प्राथमिकतामा परेको र धेरैको चासो रहेको सङ्क्रमणकालीन न्याय अर्थात् सत्य निरुपण एवं मेलमिलापसम्बन्धी कानुन १७ वर्षदेखि थाँती नै रहेको अवस्था छ । दलहरूबीच स्वार्थ बाँझिएर ऐन बन्न सकेको छैन ।

पछिल्लो आवधिक निर्वाचनपछि कसैको पनि एकल बहुमत नआएपछि ठूला राजनीतिक दलहरू मिलेर अघि बढ्नुपथ्र्याे, त्यो भएन । यसले मुलुकमा राजनीतिक अस्थिरता निम्त्यायो । पटकपटक सरकारको फेरबदल भइ नै रह्यो । नयाँ जनादेशपछि सबैखाले राजनीतिक मुद्दा समाप्त गरी भकाभक विकास निर्माणको कामलाई अघि बढाउनुपर्ने बेलामा उही पुरानो सत्ताको अङ्कगणित चलिनै रहेको छ । अहिलेको अवस्थालाई अन्त्य गर्न मुख्यतः दुई ठूला दल, नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले), बीच न्यूनतम साझा सहमति हुनुपर्छ । अन्योलको अवस्थाबाट निकास दिनुपर्छ । विकासको गतिलाई दू्रतगति दिने र आर्थिक मन्दी अन्त्य गर्दै बेरोजगारी समस्या समाधानमा हाम्रा पहल केन्द्रित हुनुपर्छ । उद्योग स्थापना गर्ने र सुकुम्बासी समस्या अन्त्य गर्ने कार्यलाई पनि उच्च प्राथमिकतामा राखिनुपर्छ । अघिल्लो सरकारले अघि बढाएको भ्रष्टाचार न्यूनीकरणको अभियानलाई कमजोर बनाउने कार्य भएको छ । गहिरो अनुसन्धानको जिम्मेवारीमा रहेकालाई हटाउने र सरुवा गर्ने कार्यमा दलका नेता र सरकारको नेतृत्वबाटै पनि कमजोरी भएको देखिन्छ । अनुसन्धानलाई सबैबाट सहयोग पुर्याउनुपर्छ । नेतृत्व तहमा बसेका इमान्दार हुनुपर्छ । राजनीतिक प्रतिशोधबाट नभई अपराध कर्मका आधारमा सजायको भागिदार बनाउनुपर्छ ।

मुलुकमा स्थायित्व कायम गर्न हालको मिश्रित निर्वाचन प्रणाली खारेज गर्नुपर्छ । यो प्रणाली रहेसम्म भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न सकिन्न । कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि अहिलेकै जस्तो खिचडी सरकार बन्छ, बनिरहन्छ । राष्ट्रियसभालाई जातीय जनसङ्ख्याका आधारमा पूर्ण समानुपातिक र प्रतिनिधिसभालाई प्रत्यक्षमा मात्र सीमित तुल्याउनुपर्छ । अहिलेको निर्वाचन प्रणालीबाट अघि बढ्न सकिन्न । राजनीतिक अस्थिरताले समयमा काम नहुने र नतिजा प्राप्त गर्न नसकिने भएपछि युवा विद्यार्थीको विदेश पलायनको सङ्ख्या बढेको हो भन्ने लाग्छ । अभिभावक पनि घरजग्गा धितो राखेर सन्तानलाई विदेश पठाउन बाध्य छन् । यो हुनुमा राजनीतिक अस्थिरता नै मुख्य कारक हो ।

निर्वाचनमा पाँच वर्ष स्थिर सरकार दिन्छौँ भनेर आयौँ तर डेढ वर्ष नपुग्दै तीनवटा सरकार फेरबदल गरिसकियो । निर्वाचन प्रणाली संशोधन गर्ने र पूर्णबहुमतको सरकारले शासन सञ्चालन गर्ने संस्कार बसाएपछि राजनीतिक स्थायित्व हुन्छ । राजनीतिक स्थायित्व भएमा छोटो समयमा पनि प्रगति गर्न सकिन्छ । अनि विदेश पलायन रोकिन सक्छ । विदेशमा सीप सिकेर फर्केकालाई सहुलियतपूर्ण ऋण सुविधा र अनुदान दिने कार्यक्रम बनाउनुपर्छ । हरेक व्यक्ति सरकारको अङ्ग हुने भएकाले धैर्यसाथ देशलाई अघि बढाउन वातावरण सिर्जना गर्न सम्पूर्ण जनता लाग्नैपर्छ । अत्तालिनुपर्ने परिस्थिति छैन । संसारभर नै कोभिडलगायतले मन्दीको अवस्था सिर्जना गरेको छ । मन्दी अन्त्य भएपछि अर्थतन्त्र पुरानै अवस्थामा फर्केर देशलाई माथि उठाउन सकिन्छ । हतोत्साही नभई पाखुरा बजार्न नछोडौँ । देशलाई माया गरेर अघि बढ्ने परिस्थिति निर्माण गरौँ । सन्तानलाई विदेश होइन, स्वदेशकै सेवामा रहन प्रेरित गरौँ । हलोमात्रै जोत्ने होइन, नयाँ प्रविधिसँग जोडिनुपर्छ । कृषि उत्पादन बढाउनुपर्छ ।

सांसद लिम्बूको परिचय

मोरङ जिल्ला लेटाङ–१ का स्थायी बासिन्दा सांसद डिगबहादुर लिम्बू विसं २०३७ को जनमत सङ्ग्रहदेखि बहुदलको पक्षमा प्रचारप्रसार गरी राजनीतिमा प्रवेश गर्नुभएको हो । विसं २०४२ मा नेपाली कांग्रेसमा आबद्ध भएर प्रजातन्त्रको पक्षमा निरन्तर लाग्नुभएका उहाँ नेपाल विद्यार्थी सङ्घ मोरङको सदस्य, पार्टी क्षेत्रीय सदस्य, नेपाली कांग्रेस प्रजातान्त्रिकको जिल्ला सभापति तथा १३औँ र १४औँ अधिवेशनबाट जिल्ला सभापति हुनुभयो । विसं २०७९ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ–१ बाट प्रत्यक्ष निर्वाचित लिम्बू यसअघि करिब १० महिना युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो ।

विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ, २८ चैतः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सोसरहका कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका ४९ संस्थाको सूची सार्वजनिक गर्दै ती बाहेकका संस्थामा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको हो ।

इन्टरनेशन एजुकेसन प्रोभाइडर्स अफ नेपाल (आइप्यान)ले भने नेपालमा ८९ संस्था सञ्चालनमा रहेका जनाएको छ । अनुमति नलिई सञ्चालन हुने संस्थालाई कारबाही गर्र्ने चेतावनी मन्त्रालयले दिएको छ ।

काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थको उत्खननबारे अध्ययन गर्न कार्यदल गठन

काभ्रेपलाञ्चोक, २८ चैतः काभ्रेपलाञ्चोकमा सञ्चालित नदीजन्य सामग्री उत्खनन तथा ढुवानीबारे अध्ययन गर्न जिल्लास्तरीय कार्यदल गठन भएको छ । कार्यदलले जिल्लास्थित नदीजन्य र खानीजन्य उद्योगमा उत्खननदेखि बिक्रीसम्मका गतिविधिको सूक्ष्म अध्ययन गर्नेछ ।

जिल्ला समन्वय अधिकारीको संयोजकत्वमा गठन भएको कार्यदलमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल १५ नम्बर गणका अधिकृत, डिभिजन वन कार्यालय, पूर्वाधार विकास कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय र जिल्ला समन्वय समितिका अधिकृत सदस्य रहेको कार्यदलले एक महिना अध्ययन गरी प्रतिवेदन पेस गर्नेछ । समितिलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिसमक्ष प्रस्तुत गर्ने कार्यादेश दिइएको जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले राससलाई बताउनुभयो ।

नदीजन्य पदार्थको सङ्कलन, उत्खनन वा ढुवानीकर्ताले सङ्कलन वा उत्खनन गरिने स्थानको लम्बाइ, चौडाइ तथा गहिराइसहितको चारकिल्ला तोकिनुपर्ने, उत्खनन गर्ने अवधि,गुनासो सुन्ने अधिकारीको नाम, पद र सम्पर्क नम्बर उत्खनन वा सङ्कलनस्थलमा राख्ने व्यवस्था मिलाउने निर्णय जिल्लास्थित सरोकारवालाको बैठकले गरेको छ ।

यसैबीच, क्षमताभन्दा अधिक सामान बोक्ने टिपर र सामग्री लोड गर्ने क्रसर तथा खानी दुवैलाई कारबाही गरिने भएको छ । बैठकले ‘ओभर लोड’ बोक्ने टिपरलाई प्रतिटिप रु २५ हजार जरिवाना निर्धारण गरेको छ । मङ्गलबार भक्तपुर र काभ्रेपलाञ्चोकको सीमानाका साँगामा ओभरलोड बोक्ने २६ टिपरलाई कारबाही गरिएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार एक महिनाको अवधिमा ओभर लोड बोक्ने एक सय ४० टिपरलाई कारबाही गरिएको छ ।

हेलम्बु राजमार्ग, अरनिको राजमार्ग, बिपी राजमार्ग र सहायक मार्ग हुँदै काभ्रपलाञ्चोकबाट दैनिक दुई हजार पाँच सय टिपरबाट काठमाडौँ उपत्यकामा निर्माण सामग्री ढुवानी हुँदै आएको छ ।

नेकपा (एस)को महाधिवेशन केन्द्रित अभियान सम्पन्न

काठमाडौँ, २८ चैतः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशन केन्द्रित अभियानअन्तर्गत देशका सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मका सदस्यको भेला प्रशिक्षणसहित सम्पन्न गरेको छ ।

सङ्गठन सुदृढीकरण गर्न पार्टीका सबै तहका कमिटीहरू परिचालन गरिएका थिए । गत फागुन २५ गतेदेखि दुई महिनासम्म सञ्चालित अभियान मङ्गबार पूरा भएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

दुई महिनामा वडा, क्षेत्र, जिल्ला अधिवेशन गरी कमिटी गठन, महाधिवेशनमा सहभागी हुन पार्टीले तल्लो कमिटीका सुझावअनुसार केन्द्रीय अध्यक्षदेखि, केन्द्रीय निकायका सदस्य पनि चुनिएर आउनुपर्ने व्यवस्थासहितको विधान संशोधन, महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेज तयार भएका उहाँले जानकारी दिनुभयो ।

पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म राष्ट्रिय महाधिवेशन काठमाडौँमा आयोजना गर्न पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन कमिटी तथा अन्य १३ कमिटी गठन गरेको छ ।

महोत्तरीको मुस्लिम बस्तीमा ‘ईद’को चहलपहल सुरु

महोत्तरी, २८ चैतः हिजरी संवत्को रमदान (रमजान) महिना समापन भइरहँदा देशका अन्य भागका साथै महोत्तरीका मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’को चहलपहल सुरु भएको छ । रमदानभरि रोजा (व्रत, उपवास) बसेका मुस्लिम धर्मावलम्बी शव्वाल महिनाको पहिलो तारिखमै मनाइने ईद–उल–फित्र (बोलीचालीमा ईद)को तयारीमा लागेपछि आज मुस्लिम बाहुल्य बस्तीमा रौनक बढेको हो । हिजरी संवत्को पात्रोअनुसार रमदान आज सकिएर भोलि बिहीबार शव्वाल महिना सुरु हुँदैछ । शव्वालको पहिलो दिन ईद मनाइन्छ ।

इस्लाम (मुस्लिम) परम्पराको मुख्य पर्व ईद मनाउन टाढाटाढा रहेका परिवारजन घर आएका छन् । भोलि मनाइने ईदका लागि सर्दाम जुटाउन लागिएको मटिहानी–८ नुरी बस्तीका २५ वर्षीय मोहम्मद इसराफिल राइन बताउनुहुन्छ । हिजरी संवत्को पात्रोले आज रमदान सकिने उल्लेख गरे पनि इस्लाम परम्परामा सम्बन्धित क्षेत्रका अधिकारप्राप्त इमाम (धर्मगुरु)ले भरे साँझ द्वितीयाको चन्द्रमा देखिएको घोषणा गरेपछिमात्र भोलि ईद मनाउन बाटो खुल्ने भङ्गाहा–४ रामनगरका ५० वर्षीय सहबुल अन्सारीले राससलाई बताउनुभयो ।

इस्लाम परम्परामा चन्द्रमास (इस्लामिक पात्रोअनुसार) तालिकाअनुसार पात्रो बन्ने चलन छ । यसैले हिजरी संवत्का महिना सामान्यतया चन्द्रमा देखिने शुक्लपक्षको द्वितीया तिथिबाट सुरु हुन्छन् ।

इमामहरूका अनुसार हिजरी संवत् परम्परामा रमदान नवौँ महिना हो । इस्लाम परम्परामा यसै महिनामा पवित्र कुरान पृथ्वीमा अवतरित भएको मानिन्छ । त्यसैले मुस्लिमहरू रमदान महिनामा दिनभरि केही नखाइ उपवास बसेर सद्विचार, सद्आचरण र सत्कर्ममा लागि रहन अल्लाह (ईश्वर) सँग पुकारा गर्छन् ।

रमदान महिनाभरिको रोजा (उपवास)को उत्सवमय समापन नै ईद भएको पाका इस्लाम धर्मावलम्बी बताउँछन् । ईदमा हुनेखानेले गरिबका लागि दान गर्छन् । दान जसलाई इस्लाम परम्पराले ‘जकात’ भन्छ, यो इस्लाम हुनुको कर्तव्य मानिने रामगोपालपुर–२ का महम्मद कादिर हुसैन बताउनुहुन्छ ।

“इस्लामका पाँच आधारस्तम्भ सहादा (मुस्लिमपन्थको स्वीकारोक्ति), नमाज (प्रार्थना), रोजा (रमदान महिनाको उपवास), जकात (आफ्नो कमाइबाट गरिबलाई दिन छुट्याइने रकम) र हज (मक्काको तीर्थयात्रा) हुन्”, हुसैन भन्नुहुन्छ, “मक्का जाने कुरा आर्थिक अवस्थासँग जोडिने हुँदा स्वेच्छिक देखिन्छ, तर अन्य चार सबै मुसलमानका लागि अनिवार्य छन् ।”

अहिले रमदान समापन हुन लागेका बेला प्रत्येक बस्तीमा कुरान वाचन भइरहको छ । महोत्तरीका सबैजसो बस्तीमा धेरथोर इस्लाम धर्मावलम्बी छन् । जिल्लाका सम्सी, जलेश्वर, मटिहानी, लोहारपट्टी, भङ्गाहा र बलवासहितका स्थानीय तहका धेरै बस्ती मुस्लिम बसोबास बाहुल्य छन् । ईदको चहलपहल सबैतिर भए पनि इस्लाम धर्मावलम्बी बसोबास बाहुल्यताका बस्ती अहिले ईदमय बनेका देखिदा छन् ।

काठमाडौँ उपत्यकाको आकाश खुलेपनि तुवाँलो पूर्णरूपमा नहट्ने

काठमाडौँ, २८ चैतः हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभावले पहाडी भूभागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार आज देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

काठमाडौँ उपत्यकाको आजको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस तथा अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने मौसमविद् झाले बताउनुभयो । उहाँले भन्नुभयो, “आज काठमाडौँमा तुवाँलो लागेको छ, केही समय आकाश खुलेपनि तुवाँलो पूर्णरूपमा हट्ने सम्भवा छैन ।”

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम सफा रहने छ । यसैगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ, २८ चैतः संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव गोलाम सरवारले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेससँग राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा शिष्टाचार भेट गर्नुभएको छ ।

सार्कका महसचिवलाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै महासचिव गुटेरेसले विश्व जनसङ्ख्याको ठूलो हिस्सा ओगटेको सार्क क्षेत्रसँग संयुक्त राष्ट्रसङ्घले सहकार्य गर्न चाहेको बताउनुभयो । उहाँले सार्कसँग साझेदारी गर्न आफू तयार रहेको बताउँदै निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सार्क सचिवालयका अनुसार महासचिव सरवारले राष्ट्रसङ्घबाट सार्कलाई निरन्तर सहयोग एवं समर्थनप्रति प्राप्त भएकामा कृतज्ञता व्यक्त गर्नुभएको थियो । सार्क संयुक्त राष्ट्रसङ्घको पर्यवेक्षक संस्था हो । सन् २००४ मा राष्ट्रसङ्घले सार्कलाई उक्त दर्जा प्रदान गरेको हो ।

राष्ट्रसङ्घका महासचिव गुटेरेससँगको भेटमा महासचिव सरवारले दुवै संस्थाबीच सम्बन्ध विस्तारका साथै जलवायु परिवर्तन, खाद्य सुरक्षा, नवीकरणीय ऊर्जाका क्षेत्रमा सहयोग बढाउनेबारेमा छलफल गर्नुभएको सार्क सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

सार्कले राष्ट्रसङ्घीय विकास कार्यक्रम, खाद्य सङ्गठन, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को), स्वास्थ्य सङ्गठन, जनसङ्ख्या कोषलगायत १२ वटा राष्ट्रसङ्घीय निकायसँग समझदारीपत्रमा हस्ताक्षर गरेको जानकारी दिँदै महासचिव सरवारले बदलिँदो परिवेशमा ती निकायसँग गरिएका समझदारीलाई अद्यावधिक गर्न आवश्यक भएको बताउनुभयो ।

राष्ट्रसङ्घ र सार्कबीचको साझेदारीलाई परियोजनामा आधारित गराउन काठमाडौँस्थित सार्क सचिवालयमा राष्ट्रसङ्घ र सार्कले संयुक्त बैठक गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पारस्परिक सहयोगका नयाँ परियोजना पहिचान गर्नुपर्ने बताउनुभयो । उहाँले सचिवालयका पदाधिकारीलाई क्षमता अभिवृद्धिलगायत अवसरको व्यवस्थाका लागि महासचिव गुटेरेससँग अनुरोध पनि गर्नुभयो ।

महासचिव गुटेरेसले सार्क महासचिवको प्रस्तावको स्वागत गर्दै राष्ट्रसङ्घ र सार्कबीचको सहकार्य अभिवृद्धिमा जोड दिनुभयो । सार्कसँगको क्षेत्रगत साझेदारीका लागि उहाँले सम्बद्ध निकायका अधिकारीलाई सार्क सचिवालयका पदाधिकारीसँग तत्काल सम्पर्क एवं समन्वय गर्न निर्देशन दिनुभयो । साथै उहाँले दुई संस्थाबीचको विद्यमान सम्बन्धलाई अझ सुदृढ बनाउन र निकट सम्पर्कमा रहेर काम गर्दै सार्कलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘जैविक विविधताको संरक्षण सरकारको प्राथमिकतामा रहेको छ’ – मन्त्री सुडी

गण्डकी – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधताको संरक्षण नेपालको प्राथमिकतामा रहेको बताउनुभएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा मंगलबारदेखि सुरु कृषि जैविक विविधता विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा मन्त्री सुडीले जैविक विविधताका क्षेत्रमा देखिएका समस्याको चुनौती सामना गर्दै विभिन्न कार्यक्रमका साथ अघि बढेको बताउनुुभयो । जैविक विविधताको संरक्षणका लागि सरोकारवालाबीचको समन्वय जरुरी रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि जैविक विविधता अभिवृद्धि गर्न नेपाल सरकारले विभिन्न तवरले प्रयास गरिरहेको बताउनुुभयो । स्वदेशी बाली संरक्षण, दिगो खेती प्रवद्र्धन र परम्परागत कृषि ज्ञानको संरक्षण गर्न स्थानीय समुदाय लक्षित कार्यक्रममा जोड दिइएको उहाँले बताउनुुभयो ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्घठनका नेपाल तथा भुटानका प्रतिनिधि केन शिमिजुले कृषि जैविक विविधतामा सङ्घठनको समर्पण र कृषि विविधतालाई प्रवर्द्धन गर्न नेपालजस्ता राष्ट्रलाई सहयोग गर्ने कुरामा जोड दिनुुभयो । कृषि जैविक विविधता संरक्षण र उपयोगलाई बढावा दिनेलगायतका काममा भइरहेका प्रयासबारे उहाँले प्रकाश पार्नुुभयो । स्थानीय र विश्वव्यापी रूपमा कृषि जैविक विविधता बढाउन साना किसान, आदिवासी समूह र स्थानीय समुदायलाई दिगो वन र खेत व्यवस्थापनमा सशक्त बनाउन साझेदारसँगको सहकार्यबारे उहाँले चर्चा गर्नुुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष ठाकुर भण्डारीले समुदायमा आधारित संरक्षण पहलमार्फत कृषि जैविक विविधता प्रवद्र्धन गर्न महासङ्घ क्रियाशील रहेको बताउनुुभयो । महासङ्घले किसानसँग नजिकबाट काम गरेको उहाँको भनाइ छ । सम्मेलनमा कृषि जैविक विविधता एवं यसको महत्व, कृषि जैविक विविधतालाई राम्रो वा नराम्रोको लागि संरक्षण र व्यवस्थापन गर्न नीति पारेको सहयोग, कृषि वन प्रणालीको परम्परागत ज्ञान र कृषि जैविक विविधता कायम राख्ने ज्ञान र असल अभ्यास आदानप्रदान, बीउ र खेती व्यवस्थापन प्रविधि, उद्यमी आविष्कारलगायतका विषयमा छलफल गरिने जनाइएको छ ।

विभिन्न छवटा सत्रमा हुने छलफल एवं अन्तक्र्रियामा सहभागीले कृषि जैविक विविधतालाई दिगो बनाउनका लागि देखिएका चुनौती, उत्कृष्ट अभ्यास आदिबारे छलफल गर्नेछन् । स्थानीयदेखि विश्वव्यापी वन तथा कृषि उत्पादक संस्थाका प्रतिनिधि, सरकारी प्रतिनिधि, अन्वेषक आदि सहभागी सम्मेलनमा विभिन्न २० देशका ७३ विदेशी र एक सयभन्दा बढी नेपाली प्रतिनिधिको सहभागिता रहेको आयोजकले जनाएको छ ।

साना वन र कृषि उत्पादकको कृषि जैविक विविधतामा योगदानका साथै उनीहरूले कसरी आफ्ना स्रोतहरू दिगोरूपमा व्यवस्थापन र व्यावसायिक उपयोग गरिरहेका सम्बन्धमा पनि सम्मेलनमा छलफल गरिने छ । कार्यक्रमकै क्रममा पोखरामा कृषि जैविक विविधता व्यवस्थापनका नवीन उदाहरण खोज्दै क्षेत्र सहभागीलाई अध्ययन भ्रमण गराइने आयोजकले जनाएको छ ।

सम्मेलनको क्रममा प्रारम्भ गरिएका सहयोगी प्रयासले दिगो भविष्यको लागि मार्ग प्रशस्त गर्ने र कृषि जैविक विविधता संरक्षणले प्रकृति संरक्षण, जीविकोपार्जन र विश्वव्यापी खाद्य सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

पत्रकार महासङ्घ र प्रेस युनियनबीच निर्वाचनको सम्बन्धमा तीन बुँदे सम्झौता

काठमाडौँ – नेपाल पत्रकार महासङ्घ र नेपाल प्रेस युुनियनबीच पत्रकार महासङ्घको निर्वाचनको सम्बन्धमा तीन बुँदे सम्झौता भएको छ ।

नेपाल प्रेस युनियन केन्द्रीय समितिले राखेका मागबारे छलफल गरी महासङ्घलाई अगाडि बढाउनका लागि तीन बुँदे सम्झौता भएको हो । सम्झौतापत्रमा महासङ्घको तर्फबाट अध्यक्ष विपुल पोखरेल र युनियनका तर्फबाट अध्यक्ष शिव लम्सालले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौतामा नेपाल पत्रकार महासङ्घको सुर्खेत साधारणसभाको मर्मअनुसार सदस्यता शुद्धिकरण अभियानलाई तार्किक निष्कर्षमा पु¥याउने, महासङ्घको विधानको प्रचलित व्यवस्थाअनुसार नियमित प्रक्रिया अगाडि बढाउने, महासङ्घको विधानमा देखिएका कतिपय अव्यावहारिक प्रावधानहरु महाधिवेशनमार्फत संशोधन गर्न पहल गर्ने तथा सदस्यता टुङ्गो नलाग्दासम्म निर्वाचनका कुनै पनि तालिका सार्वजनिक नगर्ने उल्लेख छ ।

दमकमा धिमालको घरबाट सल्केको आगो तीन घरमा फैलिँदा दुई करोडको क्षति

दमक (झापा),२८ चैत: दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको छ । अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्केको आगो अन्य तीन घरमा फैलिँदा उक्त क्षति भएको हो ।

प्रहरी कार्यालय झापाका अनुसार धिमालको घरबाट सुरु भएको आगो अस्पतालको डाइलिसिस गराउने भवनमा फैलदा अस्पतालका उपकरण र अन्य सामाग्री नष्ट भएका छन् । अस्पतालका अध्यक्ष डा. मुक्तिनाथ भट्टराईले डाइलिसिस मेसिन कामनलाग्ने भएकाले अस्पतालको डाइलिसिस सेवा पूर्ण बन्द भएको बताउनुभयो ।

दमक नगरपालिका, कमल गाउँपालिका, पथरीशनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिकालगायत स्थानीय निकायका छ वटा वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा आगो निभाइएको थियो । लामखुट्टे भगाउन बालिएको अण्डा राख्ने ‘क्यारेट’बाट आगो सल्किएको स्थानीय एक महिलाले राससलाई बताउनुभयो ।

सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न माग

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिनका लागि माग गरेको छ ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “विगतदेखि हामीले माग गर्दै आएको २०४७ सालयता सार्वजनिक पद धारण गर्ने व्यक्तिको सम्पत्तिउपर उच्चस्तरीय छानबिन समिति गठन गरौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा)ले अहिले यही माग अघि सारेको छ, त्यो उपयुक्त छ ।” सहकारी ठगीका साथै विसं २०४७ यता भएका सम्पूर्ण ठगीको छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने उहाँले बताउनुभयो ।

यसअघि नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियारले सार्वजनिक पद धारण गरेका व्यक्ति र उनीहरुका परिवारको सम्पत्ति छानबिन गर्नुपर्ने सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता गराउनुभएको थियो ।

पाँच वर्षअघि निर्माण सुरु भएको १३२ केभी बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा

ढोरपाटन (बागलुङ), २८ चैत पाँच वर्षअघि निर्माण सुरु भएको बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा पुगेको छ । पश्चिम बागलुङलाई केन्द्रीय प्रसारण लाइनसँग जोड्न कपिलवस्तुको मोतिपुर– अर्घाखाँचीको सन्धिखर्क– गुल्मीको तम्घास–पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभीको सबस्टेशनको काम अन्तिम चरणमा पुगेको हो ।

ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा निर्माणाधीन सबस्टेशनको काम ८० प्रतिशत सम्पन्न भएको ‘१३२ किलोभोल्ट बुर्तिबाङ सबस्टेशन आयोजना’ प्रमुख मनोज चौधरीले बताउनुभयो । निर्माण पू्रा हुनासाथ गुल्मीको तम्घासको सवस्टेशन आगामी वैशाख १९ गते तथा सोही जिल्लाको पौँदीअमराई र बागलुङको बुर्तिबाङ सबस्टेशन अगामी असारमा परीक्षण गर्नेगरी द्रुत गतिमा काम भइरहेको उहाँले बताउनुभयो ।

आयोजना प्रमुख चौधरीले भन्नुभयो – “सबस्टेशन बनाउने र लाइन तान्ने काम निर्माण कम्पनीहरुले धमाधम काम गरीरहेका छन्, असारसम्म कुनै प्राविधिक अवरोध नभए परीक्षण गर्ने योजना छ, निर्माण कम्पनीलाई पनि असारभित्रमा काम सम्पन्न गर्ने ठेक्का दिइएको हो । अब फिल्डको काम मात्रै बाँकी छ, पौँदीअमराई र बुर्तिबाङमा एकैपटक परीक्षण हुन्छ ।”

सदरमुकाम बागलुङ बजार र आसपासका क्षेत्र केन्द्रीय प्रसारण लाइनले जोडिए पनि पश्चिम बागलुङमा केन्द्रीय प्रसारण लाइन पुगेको थिएन । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाको पश्चिम क्षेत्रलाई प्राथमिकता दिएर लाइन विस्तार गर्दै आएको छ । अहिलेसम्म निसीखोला र तमानखोला भेग केन्द्रीय लाइनबाट जोडिएका छैनन तर प्राधिकरणले निसीखोला, तमानखोला र ढोरपाटन नगरपालिका धेरै स्थानमा पोल गाड्ने र तार तान्ने काम गरिरहेको छ ।

वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन सुझाव

चितवन – डढेलो, पूर्वाधार निर्माण, सवारीसाधन र कलकारखानाबाट धुलो र धुँवा उड्दा यति बेला यहाँको वातावरण अस्वस्थकर बनेको छ । वायु प्रदूषणका कारण आँखा पोल्ने लगायतका समस्या प्रत्यक्ष देखिन थालेका छन् ।

सुक्खा मौसमसँगै वन क्षेत्रमा डढेलो लाग्ने÷लगाउनेलगाउने क्रम तीव्र भएको छ । कतिपय क्षेत्रमा घाँसेमैदान व्यवस्थापनका लागि डढेलो लगाएउने गरेको पाइन्छ ।

भरतपुर अस्पतालका फिजिसियन डा प्रतीक न्यौपानेले डढेलोका कारण वायुमण्डलमा परेको असरले श्वासप्रस्वासमा समस्या हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “दमका बिरामीलाई अस्पतालमा राखेर भर्ना गर्नुपर्ने, अक्सिजनको मात्रा कम हुनेलगायत समस्या देखिन थालेको छ ।” वायुमण्डलमा हुने ‘एयर क्वालिटी इन्डेक्स’ को मात्रा बढ्दा मानव स्वास्थ्य नराम्रोसँग प्रभावित भइरहेको उहाँको भनाइ छ ।

वायु प्रदूषणका कारण बालबालिकामा दमको समस्या देखापर्न सक्ने डा प्रतीक न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “बालबालिकामा झिज्झिन्ने, रुघाखोकी लाग्ने समस्या हुन सक्छ ।” वायुमण्डलमा भएको प्रदूषणका कारण मुख तथा नाक सुक्खा हुने हुँदा नियमित पानीको सेवन गर्ने, झोलिलो पदार्थ सेवन गर्ने, माक्स लगाएर मात्रै घरबाहिर निस्कनेलगायत उपाय अपनाउन सकिने उहाँको सुझाव छ ।

त्यस्तै अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर ननिस्कने, थकान लाग्ने काम नगर्नेलगायत उपाय अपनाउँदा वायुमण्डलमा भएको प्रदूषणका कारण हुने समस्याबाट बाँच्न सकिने डा न्यौपानेको भनाइ छ । भरतपुरका अस्पतालमा वायुमण्डको प्रभावका बिरामीको सङ्ख्या बढ्न थालेको उहाँले जानकारी दिनुभयो ।

भरतपुर आखाँ अस्पतालका नेत्र रोग विशेषज्ञ प्रा डा सुनु दुलालले वायुमण्डलमा भएको प्रदूषणका कारण टाउकोदेखि माथिका भागलाई असर गर्ने बताउनुभयो । उहाँका अनुसार आँखा पोल्ने, बिझाउने, सुक्खा हुने, पाक्नेलगायत समस्या देखिने गर्दछ ।

आँखा पोल्ने तथा बिझाउने हुँदा आँखा मिच्न नहुने डा दुलालले बताउनुभयो । आँखा मिच्दा आँखामा घाउ हुन सक्ने र अन्धोपन समेत देखिने हुँदा त्यस्तो गर्न नहुने उहाँको भनाइ छ । वायुमण्डलमा डढेलोका कारण अहिले देखिएको असरको दीर्घकालीन समस्या नहुने भए पनि यसबाट जोगिन जरुरी रहेको उहाँले बताउनुभयो ।

डा दुलालले भन्नुभयो, “यसले दीर्घकालीन समस्या नपरे पनि यसबाट बाँच्नुपर्छ ।” यसबाट बाँच्नका लागि चस्मा लगाउने, आँखा बेलाबेलामा सफा पानीले धोई रहने, चिसो कपडाले आँखाको बाहिरी भाग पुच्छ्ने जस्ता काम गर्नुपर्ने उहाँको सुझाव छ ।

जिल्लामा रहेका सामुदायिक वन क्षेत्र, डिभिजन वन कार्यालयका वन क्षेत्र र निकुञ्ज क्षेत्रमा अहिले डढेलो लगाउने क्रम जारी छ । यसले गर्दा वायुमण्डल मात्रै प्रदूषण नभई आसपास बसोबास गर्ने बासिन्दाको धनकोसमेत क्षति हुन सक्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जले सावधानी अपनाउन आग्रह गरेको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार डढेलो नियन्त्रणका लागि काम भइरहेको छ । समुदायमा सचेतना जगाउने र नियन्त्रणका लागि अग्नी रेखा कोर्ने, अग्नी नियन्त्रक सामान तयारी अवस्थामा राख्ने काम गरिएको उहाँले बताउनुभयो ।

‘सरकार युवालाई हरेक क्षेत्रबाट सक्षम बनाउन प्रयासरत’ – परराष्ट्रमन्त्री श्रेष्ठ

भक्तपुर – उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकार युवा जनशक्तिलाई उद्यमशील, आत्मनिर्भर र स्वरोजगारमूलक दिशामा अघि बढाउन प्रयासरत रहेको बताउनुभएको छ ।

राष्ट्रिय युवा परिषद्ले भक्तपुरको सानोठिमीस्थित एसओएसमा आयोजना गरेको चारदिने नमूना संयुक्त राष्ट्र सङ्घीय अभ्यास‐२०२४ को उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाली युवालाई हरेक क्षेत्रबाट सक्षम बनाउन सरकार लागिरहेको बताउनुभयो । उहाँले संविधानले नागरिकको मौलिक हकको रुपमा ग्यारेन्टी गरेको शिक्षा, स्वास्थ्य र रोजगारीलाई कार्यान्वयन गर्न सरकार मिहिनेतपूर्वक लागिरहेको उल्लेख गर्दै नेपाली युवालाई अन्तर्राष्ट्रिय कूटनीति र नेतृत्व विकासमा नमूना संयुक्त राष्ट्र सङ्घको अभ्यासले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले देशभरबाट अनलाइन प्रतिस्पर्धाबाट छनोटमा परेका १६ देखि २४ वर्ष उमेर समूहका दुई सय युवा सहभागी रहेको अभ्यास कार्यक्रम युवाको क्षमता विकासका लागि महत्वपूर्ण रहने बताउनुभयो । उहाँले युवालाई राष्ट्र सङ्घीय अभ्यास, दिगो विकास लक्ष्य, अन्तर्राष्ट्रिय कूटनीतिक, जलवायु परिवर्तन, मानव अधिकार, सुरक्षा परिषद्लगायतका विषयमा प्रशिक्षण दिइने बताउनुभयो ।

कार्यक्रममा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) का आवासीय प्रतिनिधि आइसाने मेडागान्गोडा लबेले युवालाई नेतृत्वदायी र प्रतिस्पर्धी भूमिकामा स्थापित गराउन यस्ता कार्यक्रम अत्यावश्यक रहेको चर्चा गर्दै युवाले राष्ट्र सङ्घीय अभ्यास बुझ्नु अत्यन्तै जरुरी रहेको बताउनुभयो ।

भारतको बेतालघाट दुर्घटना अपडेट : मृतक ६ जना बाँकेको एउटै वडाका

महेन्द्रनगर (कञ्चनपुर) – सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाट सडक दुर्घटनामा परी मृत्यु भएका सातमध्ये ६ जना एउटै वडाका नागरिक भएको खुलेको छ । मृतक ६ जना बाँकेको वैजनाथ गाउँपालिका–८ का बासिन्दा रहेका छन् ।

उक्त सवारी दुर्घटनामा परी मृत्यु हुनेमा वैजनाथ–८ का धीरज थारु, उदयराम थारु, विश्राम थारु, तिलकराम थारु, अन्तराम थारु र विनोद थारु रहेको वैजनाथ गाउँपालिका–८ का वडाध्यक्ष भगन थारुले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार कामका सिलसिलामा नैनीताल क्षेत्र पुगेका उनीहरु नजिकिँदै गरेको नयाँ वर्ष मनाउन घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।

“सबै जना नयाँ वर्ष मनाउन घर आउँदै थिए, बाटोमै दुर्घटनामा परी ६ जनाको ज्यान गयो, दुई जना घाइते भएका छन्”, वडाध्यक्ष थारुले भन्नुभयो, “मृतकका आफन्तजन दुर्घटनाको खबर पाउनासाथ आज भारततर्फ गएका छन् ।” मृतकमध्ये कोही ६ महिना अघि त केही एक वर्ष अघि मजदुरीका लागि भारत गएका थिए । मृतकमध्ये तीन जना फत्तेपुर, एक जना रिहारपुर र दुई जना थपुवा गाउँका रहेको वडाध्यक्ष थारुले जानकारी दिनुभयो ।

वडाध्यक्ष थारुका अनुसार दुर्घटनामा परी सोही वडाका दशरथ थारु र एक महिला घाइते भएकी छिन् । “महिलाको नाम थाहा हुन सकेको छैन”, उहाँले भन्नुभयो, “घटनाको खबरले पुरै वडाका बासिन्दा शोकमा छन् ।”

उक्त दुर्घटनामा परी मृत्यु भएका अर्का नेपाली मजदुर बर्दियाको बाँसगढी नगरपालिकाका रहेको बताइएको छ । सो दुर्घटनामा परी सात नेपाली नागरिकसहित जीप चालक भारतीय नागरिकको मृत्यु भएको थियो ।

बेतालघाटस्थित पुलिस थानाका सव–इन्सपेक्टर अनिस अन्सारीले मृतक सबैको शव नैनीताल सरकारी अस्पताल हल्द्धानीमा राखिएको जानकारी दिनुभयो । उनीहरु सबै घटनास्थल वरपरको सडक छेउमा खानेपानीको पाइप बिछ्याउने काम गर्दैआएका थिए । सोमबार काम सकिएपछि जीप भाडामा लिएर सबैजना भारतको टकनपुर हुँदै हुँदै महेन्द्रनगर आउँदै थिए । जीप चढेको केही बेरमै उनीहरु दुर्घटनामा परेका थिए ।

बेतालघाट नजिक गाडी सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । सोमबार राति नै भारतीय प्रहरी, स्थानीयलगायत उनीहरुको उद्धारमा खटिएका थिए ।

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाइने छ : उपाध्यक्ष पौडेल

पर्वत : नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकसित गरिने बताउनुभएको छ ।

एमाले पर्वतको १०औँ जिल्ला अधिवेशनलाई कुश्मामा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले २०७९ सालको निर्वाचनमा लोकप्रिय मतको हिसाबले मुलुककै पहिलो दल एमाले भएको उल्लेख गर्दै २०८४ सालको निर्वाचनमा एकल बहुमत ल्याउने गरी पार्टीलाई विस्तार गरिने बताउनुभयो । उहाँले एमालेलाई किनारा लगाएर मुलुकको समृद्धि हासिल हुन नसक्ने भन्दै मुलुकको विकास र समृद्धि एमालेको नेतृत्वमा मात्रै सम्भव भएको बताउनुभयो ।

उपाध्यक्ष पौडेलले एमालेको विचारबाट मात्र मुलुकको विकास सम्भव भन्नुभयो । “अन्य दलहरु मुलुक निर्माणका लागि असफल भइसकेका छन्”, उहाँले भन्नुभयो । विसं २०८४ मा सहयात्री खोजेर सरकार बनाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने उहाँको भनाइ थियो । एमालेले बहुमत ल्याए पनि सहयात्री वामपन्थी दललाई समेत समटेर सरकार बनाइने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सचिव गोकर्ण विष्ट, पद्मा अर्याल, सङ्गठन विभाग प्रमुख खगराज अधिकारी, केन्द्रीय सदस्य कल्पना चापागाईलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

हेर्नुहोस् चैत २८ गते बुधवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । पारीवारिक कलहको सामना गर्नु पर्ला । सबारी साधनको प्रयोमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेको छ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ ।

बृष राशि- जिबन साथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहनेछ । अनावश्यक खर्च तथा लगानिका क्षेत्रमा सजग रहनु पर्ने योग रहेकोछ । नजिकका मित्र तथा दाजु भाई हरु सगँको सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्नेछ ।स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ ।

मिथुन राशि – प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । नयाँकार्यको प्रारम्भले मन प्रशन्न सहनेछ । शारीरिक आलस्यताले अध्यन अध्यापन को क्षेत्रमा प्रभाब पार्ने समय रहेकोछ । शत्रु परास्त्र हुनेछन तथा शुभ चिन्तकको बृद्यि हुनेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ ।

कर्कट राशि – मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फसिनेछ । पारीवारिक साथ सहयोग बाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्नेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ ।

सिंह राशि – मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भाबना रहेको छ । प्रत्येक कार्यमा तपाँईको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारीक झोर झमेलाको सम्भाबना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।

कन्या राशि- खान पानको क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । सामान्य चोट पटकको सम्भाबना रहेता पनि मित्रजनहरुको साथ सहयोग द्वारा ब्यत्तित्व बिकासमा सहयोग मिल्नेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानि क्षेत्रमा बृद्यि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ सजग रहनु होला ।

तुला राशि – भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

बृश्चिक राशि- स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाईको सामना गनुपर्नेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

धनु राशि- प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । बौधिक ब्यक्तित्व सगँको भेटघाटको अवशर जुट्नेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना हुन सक्छ ।

मकर राशि- नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ ।

कुम्भ राशि – निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

मीन राशि – सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

बङ्गलादेशी कलाकारको ४४ कला प्रदर्शन

काठमाडौँ – काठमाडौँको ठमेलमा बङ्गलादेशी दुई कलाकारको ४४ कला प्रदर्शनी गरिएको छ ।गिरिजाप्रसाद कोइराला फाउण्डेशन, कला तथा संस्कृत विभागको आयोजनामा बङ्गलादेशी दुई कलाकार जबेर अहमद चौधरी र सञ्जयकुमार दासको कला प्रदर्शनी गरिएको हो ।

चौधरीद्वारा बनाइएका बङ्गलादेशका वरिष्ठ मूर्तिकार नोबेरा अहमेदका सन् १९६० मा प्रदर्शनी भएका मूर्तीहरुको फोटोग्राफी उक्त प्रदर्शनीमा राखिएको फाउण्डेशन कला तथा संस्कृत विभाग प्रमुख श्यामसुन्दर यादवले जानकारी दिनुभयो ।

प्रदर्शनीमा कलाकार दासको समसाययिक कलाहरु राखिएका छन् । बङ्गलादेशको जनजीवन, कला, संस्कृति, रहनसहनलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । यही चैत २५ गतेदेखि सुरु भएको प्रदर्शनी भोलिसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । विभागले यसअघि विभिन्न देशका कलाकारको कला प्रदर्शन गर्दै आइरहेको छ ।

ट्राफिकका सास्ती : पानीदेखि शौचालय मागेरै, कसरी बन्ने ट्राफिक प्रहरीको सहयोगी ?

काठमाडौँ – ट्राफिक प्रहरी गोविन्दराज पन्तको मास्क अधिक समय चिउँडोमुनि हुन्छ । धुलो र धुवाँदेखि जोगाउने मास्क उहाँका लागि सदुपयोग छैन । ट्राफिक व्यवस्थापन गर्न सिट्ठी बजाउनुपर्छ । मुख छोपेरै बस्न सम्भव छैन । त्यसैले स्वास्थ्य सुरक्षाको लागि दिइएको सामग्री समेत उचित तरिकाले लगाउन नपाइएको उहाँ बताउनुहुन्छ । “देख्नका लागि मात्रै सुरक्षित छौँ”, उहाँ भन्नुहुन्छ ।

नायँबानेश्वरको व्यस्त चोकमा ट्राफिक व्यवस्थापन गर्न ‘पिक आवर’ समयमा हम्मेहम्मे छ । गोविन्दका अनुसार बिहान र बेलुका सवारीको चापले पानी खाने समेत फुर्सद हुँदैन । तिर्खाएर रन्थनिँदा कहिलेकाहीँ पानीकै अभाव हुन्छ । आँखामा चस्मा त छ, छिनछिनमै धुलोले भरिन्छ । उहाँ ट्राफिक व्यवस्थापन गर्दा घरी चस्माको धुलो पुछ्नुहुन्छ त घरी धुलाम्मे लुगा टक्टक्याउनुहुन्छ । बिहान सफा लगाएको कपडा बेलुका मैलो हुन्छ ।

उपत्यकाभित्रका मुख्य चोकमा खटिएका प्रहरी ट्राफिकका आ–आफ्नै कथा र व्यथा छन् । धुलो, धुँवासित जुध्नुका साथै सर्वसाधारणका दुव्र्यवहार पनि खेप्नुपर्छ । थापाथलीमा खटिएकी ट्राफिक प्रहरी अन्जु नेपालीका अनुसार सिट्ठी, हात दुवैको सहायताले नियम विपरीत चलेका सवारी साधन रोक्दा चालकले अटेर गर्ने गरेको अनुभव सुनाउनुहुन्छ । “सवारी रोकिहाले पनि दोहोरोतेहोरो कुरा गरेर झगडा गर्न खोज्छन्”, मञ्जु थप्नुहुन्छ, “तर पुरुष ट्राफिकसँग यस्तो अटेरी कम हुन्छ ।” ट्राफिक महिला भएकै कारण उहाँले पेसागत रुपमा सहनुपर्ने पीडा थुप्रै छन् ।

घन्टौँ उभिएर ड्युटीमा खटिइरहेको बेला शौचालय गर्न पनि सजिलो छैन । कपिलवस्तु घर भएकी प्रमिला थारू महिनावारीको समय अत्यन्त कठिन महसुस भएको बताउनुहुन्छ । थापाथली चोकमा कार्यरत उहाँले सेनिटरी प्याड फेर्न शौचालय नहुँदा सास्ती खेप्नु परेको अनुभव छ । “कुनै होटल वा ग्यारेजमा गएर शौचालय प्रयोग गर्नुपर्छ”, उहाँले बताउनुभयो, “सधैँभरि अरूको शौचालयमा जाँदा निकै असजिलो महसुस हुन्छ ।” सेनिटरी प्याड फेरेर कहाँ फाल्ने ? उहाँले यस्ता स–साना तर स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने महिला ट्राफिकका समस्या रहेको सुनाउनुभयो । शौचालयकै झन्झटले पानी पर्याप्त खान नसकिने उहाँ बताउनुहुन्छ ।

थापाथलीमै कार्यरत ट्राफिक वर्षा थारु गर्भवती हुनुहुन्छ । उहाँ तीन महिनाको गर्भसहित उत्साहका साथ ट्राफिक सेवा दिइरहनु भएको छ । गर्भ बढ्दै गएपछि उहाँलाई काममा खटिन अलिक चुनौती थपिँदै गएको बताउनुहुन्छ । केही साताअघि मात्रै चोकमा ड्युटीमा कार्यरत वर्षालाई रिङ्गटा लाग्यो । उभिएर चर्को घाममा काम गर्दा उनको शरीर थामिएन । “रिङ्गटा लागेर भुईंमा थचक्कै बसेछु,” उहाँ भन्नुहुन्छ, “केहीबेरमा होस आयो, अनि कामतिर लागेँ ।” ट्राफिकको दायित्वमा फुर्सद भन्ने शब्द नै नरहेको उहाँ बताउनुहुन्छ ।

खाने पानी बोकेर ल्याउने सवारीसँग पानी माग्नुपर्ने बाध्यता रहेको ट्राफिक प्रहरी बताउनुहुन्छ । सार्वजनिक शौचालय नहुँदा शौच गर्न झन्झट खेप्नुपर्ने उहाँहरुको अर्को समस्या हो । शौचालयको अभावले पेटभरि पानी खान नसकिने ट्राफिक प्रहरी बताउँछन् । “चर्को घामले तिर्खा लाग्छ, पानी खाए शौचालय खोज्ने सास्ती”, थारु भन्नुहुन्छ ।

ट्राफिक प्रहरीको सहयोगी कसरी बन्ने ?
यातायात व्यवस्थापनमा सेवा दिइरहेका प्रहरीले सर्वसाधारणबाटै सहयोग अपेक्षा गर्छन् । सर्वसाधारण र सवारी चालकले ट्राफिक नियम पालना गरिदिए शत्प्रतिशत कठिनाइ हट्ने ट्राफिक प्रहरी गोविन्दराज पन्त बताउनुहुन्छ । उहाँका अनुसार सर्वसाधारणले सकेसम्म आकासेपुल, जेब्राक्रसिङ् प्रयोग गर्नु भए, सवारी चालकले सचेत भएर सवारी चलाए ट्राफिकको आधै झन्झट सुल्झिन्छ ।

त्यस्तै, धुवाँ र धुलो उड्ने औद्योगिक क्षेत्र व्यवस्थित गर्नु, जीर्ण सडक मर्मत गर्नु, ट्राफिक लाइटको व्यापक प्रयोग गर्न सकिए ट्राफिक प्रहरीका दुःख निकै कम हुने एसपी विश्वराज खड्काले बताउनुभयो । “ट्राफिक व्यवस्थापन प्रविधिमैत्री बनाउन जरुरी छ”, उहाँ भन्नुहुन्छ, “ट्राफिक लाइटको प्रयोग गर्ने, पुराना सवारी थन्काउने र ट्राफिक चेतना दिनसके हामी यति धेरै जोखिम उठाउनु पर्दैन ।”

संविधानको धारा, ३० मा मौलिक हकका रुपमा ‘प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने हक’ को व्यवस्था छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१८ मा वायु प्रदूषणका कारण नेपालमा ३७ हजार मानिसको मृत्यु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्न २०१५ मा उपत्यकामा गरेको अध्ययनमा यहाँको धुलोमा हानिकारक कण रहेको फेला पारेको थियो । ट्राफिकको स्वास्थ्य परीक्षणमा पछिल्लो समय प्रदूषणकै कारण ट्राफिक प्रहरीमा छाला चिलाउने र उच्च रक्तचापको समस्या बढ्दै गएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार हाल उपत्यकाभित्र एक हजार सात सय ९७ जना ट्राफिक प्रहरी कार्यरत छन् । तीमध्ये पुरुष एक हजार पाँच सय ८४ र महिला दुई सय १३ छन् । ट्राफिक महिला सङ्ख्यामध्ये पाँचजना गर्भवती अवस्थामा छन् । गर्भवती ट्राफिक महिलाको स्वास्थ्यमा कार्यालय सचेत रहेको एसपी खड्काले जानकारी दिनुभयो ।

प्रहरीको नियमित जाँच गर्न सक्ने अवस्था नभए पनि आवश्यकताका आधारमा स्वास्थ्य जाँच हुन्छ । सामान्य जाँच गर्दा सामान्य असर देखिन्छ तर ट्राफिकको स्वास्थ्य प्रभाव दीर्घकालीन रुपमा पर्ने एसपी खड्क बताउनुहुन्छ । उहाँका अनुसार ट्राफिक महिलाप्रति अझै संवेदनशील क्षेत्र रहेको छ । गर्भवती ट्राफिक महिलाले सेवा प्रदान गर्दै स्वास्थ्य सन्तान जन्माउने वातावरण दिन चुनौती छ । भएको स्रोत र साधनबाट गर्भवती ट्राफिक महिलामैत्री परीक्षण गर्ने व्यवस्था मिलाएको उहाँ बताउनुहुन्छ । “गर्भवती महिला ट्राफिकको प्रसूतिसम्बन्धी जाँच गर्ने व्यवस्था मिलाएका छौँ”, उहाँ भन्नुहुन्छ ।

चर्को प्रदूषणले ट्राफिक प्रहरीको स्वास्थ्यमा समस्या आइरहेको उहाँ सुनाउनुहुन्छ । धुलो र धुवाँका कारण ट्राफिक प्रहरीको आँखा पाक्ने, चिलाउने र छाती दुख्नेजस्ता समस्या उत्पन्न भएका छन् । पछिल्लो समय छालाको एलर्जी र उच्च रक्तचाप समेत देखिने गरेको उहाँले सुनाउनुभयो । सरकारले मास्क, चस्मा, पञ्जाजस्ता स्वास्थ्य सुरक्षाका साधन उपलब्ध गराए पनि ट्राफिक प्रहरीलाई प्रदूषणबाट बच्न कठिन छ ।

कार्यालय स्थानमा अझै पनि पूर्णरुपमा सकरात्मक विभेदको सिद्धान्त लागू नभएको अधिकारर्मी बताउँछन् । अधिकारकर्मी मोहना अन्सारी गर्भवती हुनु सामान्य कुरा नभएको सुनाउनुभयो । कुनै जीवनलाई जन्म दिने हो । यस्तो बेला मानसिक र शारीरिक रुपमा असर पर्छ । जुनसुकै काम कागजको महिला जो गर्भवती हुनुहुन्छ उहाँप्रति कार्यालयले सहज बनाउनुपर्ने उहाँले सुनाउनुभयो । “उहाँ प्रहरी मात्रै होइन, गर्भवती महिला पनि हुन भनेर संवेदनशीलता अपनाउनु पर्छ”, अन्सारी भन्नुहुन्छ,“कहिलेकाहीँ मानवीय दृष्टिकोणले संरक्षण गर्न नीति नै हुनुपर्छ ।” अन्सारीले गर्भवती प्रहरीको स्वास्थ्य ख्याल गर्दै लैङ्गिक नीति बनाउनुपर्ने बताउनुभयो ।