`

श्रीलङ्कामा बैङ्क प्रशासन सुधारका लागि सरकारी प्रतिवद्धता

सरकारी स्वामित्वका बैङ्कहरूको प्रशासनमा सुधार गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को प्रस्तावमा सरकार प्रतिवद्ध देखिएको छ । श्रीलङ्काको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्दनाले आइएमएफसँगको एक कार्यक्रमअन्तर्गत सरकारी स्वामित्वका बैंकहरूको प्रशासनमा सुधार गर्ने प्रस्तावलाई सोमबार अनुमोदन गरेको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा गुणवर्धनाले अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैङ्क र श्रीलङ्काको केन्द्रीय बैङ्कका प्रतिनिधि सम्मिलित समितिले स्वीकृत सुधारको पहिचान गरेको बताउनुभयो । सुधार प्रस्तावले सरकारी स्वामित्वका बैङ्कहरूको सुशासन, जोखिम व्यवस्थापन र सुपरिवेक्षणमा देखिएका कमजोरीलाई सम्बोधन गर्न खोजेको उल्लेख गर्दै उहाँले ती सुधारलाई यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

उहाँले विश्व बैङ्कको बजेट सहायता (ऋण) यस पहिले तोकिएका काम पूरा भएपछि मात्र वितरण गरिने जानकारी दिनुभयो । मार्च २०२३ मा, आईएमएफले श्रीलङ्काको आर्थिक नीति र सुधारलाई समर्थन गर्न लगभग तीन अर्ब अमेरिकी डलरको आर्थिक सुधार कार्यक्रमअन्तर्गत ४८ महिनाको विस्तारित व्यवस्थालाई अनुमोदन गरेको थियो ।

नयाँ वर्षमा लेखनाथ हाफ म्याराथन, विजेतालाई ६० हजार

गण्डकी – पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी वैशाख १ गते लेखनाथ हाफ म्याराथन हुने भएको छ । कास्की जिल्ला एथ्लेटिक्स सङ्घको प्राविधिक सहयोगमा दोस्रो संस्करणको उक्त म्याराथन आयोजना हुने तालचोकमा आयोजित पत्रकार सम्मेलनमा समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताअन्तर्गत पुरुषतर्फ २१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटरको महिला/पुरुष राष्ट्रिय खुला दौड, विद्यालयतर्फ पाँच किलोमिटर छात्रछात्रा र भेट्रान्सतर्फ पाँच किलोमिटर दौड हुनेछ ।

चार वटा विधामा गरेर करिब एक हजार धावक सहभागी हुने अनुमान गरिएको खड्काले बताउनुभयो । प्रतियोगितामा हाफ म्यराथनको विजेताले रु ६० हजार पाउने आयोजकले जनाएको छ । द्वितीय, तृतीय, सान्त्वना र पाँचौँले क्रमश ः रु ३० हजार, रु २० हजार, रु १० हजार र रु पाँच हजारका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

दश किमीको महिला/पुरुष राष्ट्रिय खुला दौडको विजेताले रु ३० हजार र उपविजेताले रु २० हजार पाउने छन् । तृतीय, सान्त्वना र पाँचौँ हुनेले क्रमशः रु १० हजार, रु पाँच हजार र रु दुई हजार पाँच सयका साथमा मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिने सचिव खड्काले जानकारी दिनुभयो ।

पाँच किमी विद्यालय छात्रछात्रा दौडको विजेताले रु १५ हजार, उपविजेताले रु १० हजार, तृतीयले रु पाँच हजार, सान्त्वनाले रु तीन हजार र पाँचौँले रु दुुई हजारका साथमा मेडल र प्रमाणपत्र पाउने छन् । भेट्रान्सतर्फको विजेताले रु १० हजार, उपविजेताले रु सात हजार, तृतीयले रु पाँच हजार पाउने सदस्य सचिव खड्काले जानकारी दिनुभयो ।

दौड पूरा गर्ने सम्पूर्ण विधाका शीर्ष २० धावकलाई मेडल प्रदान गरिने समितिका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक राजेन्द्र जिसीले जानकारी दिनुभयो । दौडमा सहभागी हुन पोखरा महानगरपालिकाको शिक्षा महाशाखा वा आदर्श क्लब, भण्डारढिकको कार्यालय पुगी वा खेलकुद विकास समितिको फेसबुक पेजमार्फत गुगल फारम भरेर यही चैत २९ गतेसम्म नाम दर्ता गर्न सकिने छ ।

भण्डारढिकबाट सुरू हुने हाफ म्याराथन उत्तरसिंह चोक, भूगोलपार्क, रामबजार, सितागुफाचोक, सातमुहाने बजार, राजाकोचौतारा, झउरीचोकबाट फर्केर सातमुहाने बजार, खुदी, नहरचोक, रामबजार, लेखनाथ उद्योग वाणिज्य सङ्घको भवन हुँदै भण्डारढिक खेल मैदानमा आएर टुङ्गिने छ ।

खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । लेखनाथ पनि पोखराभित्रै पर्ने भए पनि केही पिछडिएको जस्तो महसुस भएर छुट्टै नाम दिएर म्याराथन गरिएको उहाँको भनाइ छ ।

पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरूङले लेखनाथमा राष्ट्रियस्तरका अन्य प्रतियोगितालाई निरन्तरता दिन आवश्यक रहेको बतउनुभयो । सात वटा ताल र धेरै कोट मन्दिरहरू रहेको यो क्षेत्र धार्मिक पर्यटकीय गन्तव्य भएको उहाँको भनाइ छ । भण्डारढिकमा रहेको रङ्गशालाको काम सक्न आफ्नो कार्यकालमा सक्दो प्रयास गर्ने भन्दै वडाध्यक्ष गुरूङले वडाबाट पनि बजेट लगानी गर्ने उल्लेख गर्नुभयो । उहाँले पोखरा–२९ मा रङ्गशाला बनाउने भए आफूले स्थानीयसँग कुरा गरेर जग्गाको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

विश्वविद्यालय पदाधिकारी नियुक्तिमा क्रमभङ्गता

विनोदखण्ड तिमिल्सेना/काठमाडौँ – भनिन्छ, कुनै पनि देशलाई ध्वस्त पार्नु छ भने कुनै आणविक अस्त्र वा लामो दूरीको क्षेप्यास्त्र प्रयोग गर्नु पर्दैन, बरु त्यस देशको शिक्षा क्षेत्रलाई गतिहीन र ध्वस्त बनाए पुग्छ । युरोप र जापानमा जति हतियार र क्षेप्यास्त्र इतिहासमा सायदै संसारको अरु कुनै भागमा प्रयोग भए होला । तर पनि त्यहाँको विकास र समृद्धिमा युद्धको प्रभाव कमजोर छ किनकी त्यहाँको शिक्षा प्रणाली व्यवस्थित र संस्थागत भएको छ ।

युरोपका अधिकांश मुलुकहरु आर्थिक गतिविधिहरुको केन्द्र बनेका छन् । त्यहाँ व्यवस्थित प्रणाली र प्रभावशाली संस्थागत विकास भएको छ । अमेरिका संसारको सबैभन्दा शक्तिशाली र वैश्विक आकर्षणको थलो हो । चीन, अष्ट्रेलिया, जापान, क्यानडाआदि संसारका प्रभावशाली राष्ट्रहरु हुन् ।

सिंगापुरले आर्थिक रुपमा सबलता हासिल गरेको छ । संयुक्त अरब इमिरेटस र कतार नयाँ एशियायी शक्तिका रुपमा उदाएका छन् । किनकी यी देशहरुमा शैक्षिक संस्था र विश्वविद्यालयहरुमा योग्यतामा आधारित प्रणाली (मेरिटोक्रेसी)लाई उच्च स्थान र प्राथमिकता दिइएको हुन्छ । विद्यार्थी मेरिटका आधारमा भर्ना पाउँछन्, प्राध्यापक अनुसन्धान दक्षता र शैक्षिक उपलब्धिको मेरिटकै आधारमा विश्वविद्यालय छिर्छन् ।

नेपालका शिक्षण संस्था र विश्वविद्यालयमा नेतृत्वदायी भूमिकामा नियुक्तिका लागि नेतृत्वगणलाई कस्ता मानिसहरु रुचिकर छन् भन्ने अनुभवमा आधारित रहेर मनन् गर्न सकिन्छ । विश्वविद्यालयप्रति आममानिसको भरोसा, शिक्षा मन्त्रालयले विश्वविद्यालयहरुमा दिने प्राथमिकता र उच्च शिक्षाका शैक्षिक उत्पादनहरुको विदेशतर्फ पलायनका लागि लामबद्ध लर्कोलाई अवलोकन गर्दा नेपालका संस्थाहरुको विकासमा विश्वविद्यालयबाट भरोसायोग्य नेतृत्व प्रदान नभएको सत्य हो ।

राजनीतिक नेतृत्वमा रहेर शैक्षिक प्रतिष्ठानहरुमा हस्तक्षेप र विश्वविद्यालय वा प्राज्ञिक भूमिकामा रहँदारहँदै राजनीतिक गतिविधिमा अधिक सकृयताले नेपालमा राजनीतिक व्यक्तित्व र प्राज्ञिक व्यक्तित्व पहिचानमा व्यापक चुनौती थपिएको छ । राजनीतिक भाग पाउनकै लागि विश्वविद्यालय क्याम्पसको होस्टलमा वर्षौंसम्म बसिरहेका र ‘राजनीति’ गरिरहेका अराजनीतिक व्यक्तिहरुको इशारा र पञ्जाबाट विश्वविद्यालयको नेतृत्वलाई निरपेक्ष राख्न नसक्दासम्म मेरिटोक्रेसी मृगतृष्णा मात्र हुनेछ । विशेषगरी कुनै राजनीतिक दलका नेताको फुर्को समातेर विश्वविद्यालय छिर्ने, केही समयपछि अनसनको जुस पिएर स्थायी बन्ने वा पदोन्नति लिने, बौद्धिक चोरी गरेर प्रकाशन गर्ने र सङ्घ वा सङ्गठनलाई भजाएर राजनीतिक नियुक्तिका रुपमा विश्वविद्यालयको पदाधिकारीमा आसिन हुने र निजी संस्था वा आसेपासेलाई सम्बन्धन बेचेर खाने लठैतहरुबाट विश्वविद्यालय जोगाउन शीर्षनेताहरुमा दायित्वबोधसहितको प्रतिवद्धता आवश्यक छ ।

विश्वविद्यालयहरुप्रति आमजनतामा खस्केको भरोसा जगाउने हो भने आमरुपमा कर्मप्रति प्रतिवद्ध, मेरिटोक्रेसीमा अब्बल, अनुसन्धान र अन्वेषणमा काबिल, भनाइ र गराइमा एकरुपता भएका, निडर, सादगी जीवन शैली र सदाचारी व्यवहार भएका मानिसहरु विश्वविद्यालयका नेतृत्वमा पु¥याउनु पर्छ । यस्ता जनशक्तिले संस्थागत विकासमा भरोसायोग्य परिणाम दिन सक्छन् ।
नेपालमा मेरिटोक्रेसीका जगमा यस्तै मानिसहरु विश्वविद्यालयहरुको नेतृत्वमा पु¥याउन सकेमा मात्रै विश्वका समृद्ध मुलुकमा जस्तै विश्वविद्यालयलाई आकर्षणको केन्द्र बनाउन सकिन्छ । आज विदेशका विश्वविद्यालयमा अध्ययन गर्न जानका लागि तम्तयार युवाशक्तिलाई रोक्ने मात्र हैन, विदेशी विद्यार्थीलाई नेपालमा आकर्षण पनि गर्न सकिन्छ । कतिपय विभागहरुले विदेशी विद्यार्थीसमेत भित्र्याएका दृष्टान्तहरु पनि हामीसँग छन् ।

यही आवश्यकताको महशुस गरेर र जनअपेक्षाको कुरा ह्दयङ्गम गरेर हुनुपर्छ केही महिना पहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलोपटक नेपालका विश्वविद्यालयहरुमा मेरिटोक्रेसीका आधारमा नेतृत्व चयन गरेर नेपालको शिक्षा पद्धतिमा भरोसा जगाउने उद्घोष गर्नुभयो । लामो समय लगायर सार्वजनिक प्रतिस्पर्धाका आधारमा मेरिटको मापदण्ड र मान्यताअनुसार नेपालको सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा उपकूलपति नियुक्ति गर्ने काम भयो ।

आमरुपमा राजनीतिक नेतृत्वहरुको भागवण्डा र विशेषगरी कूलपतिको विश्वास वा रोजाइमा नियुक्ति हुँदै आएको उपकूलपतिको पद यसपटक क्रमभङ्गसहित नियुक्ति भयो । पोखरा विश्वविद्यालयमा उपकूलपति रहेका बखत कामबाटै आफूलाई अब्बल प्रमाणित गरेका प्राडा केशरजङ्ग बराल त्रिभुवन विश्वविद्यालयको उपकूलपतिमा नियुक्त भएपछि समग्र नेपाली शैक्षिक जगतमा सकारात्मक सन्देश प्रवाह भयो । आफ्नो पार्टीप्रति बढी प्रतिबद्धभन्दा शैक्षिक र अनुसन्धानमा अब्बल प्राज्ञिकहरु नेतृत्व बनेर शैक्षिक प्रतिष्ठान र विश्वविद्यालयमा आउँछन् भन्ने विश्वास भयो ।
अहिले नेपालका अधिकाश विश्वविद्यालय र क्याम्पसहरुले पूर्ण क्षमतामा विद्यार्थी पाउन सकेका छैनन् । यद्यपि सेमेस्टर प्रणालीअन्तर्गतका कतिपय विषयमा भने विद्यार्थीहरुको आकर्षण अझै पनि घटेको छैन । विद्यार्थीको पलायन भयावह छ । त्रिविअन्तर्गत आकर्षक मानिएका चिकित्सा शिक्षा र इन्जिनीयरिङ्ग कार्यक्रमहरुमा समेत विद्यार्थीको आकर्षण घट्दो छ ।

खासगरी मानविकी, शिक्षा, विज्ञान संकायअन्तर्गतका जनरल विषयहरुमा विद्यार्थीहरु भर्ना नै नहुने तथा भर्ना भए पनि बीचमै छाड्ने समस्या आमरुपमा परिचित छ । विश्वविद्यालय क्याम्पसका धेरै केन्द्रीय विभागहरुमा दुई अङ्कभन्दा कम सङ्ख्यामा र अधिकांश केन्द्रीय विभागहरुमा न्यून सङ्ख्यामा विद्यार्थीहरु रहेको अवस्था छ । तर मानविकी सङ्काय अन्तरगतकै केही विभागमा विधार्थीहरुले भर्ना हुन नपाउने र मेरिटमा सफल नभई प्रवेश नै नपाउने अवस्था पनि छ । तीमध्ये एक हो– अन्तराष्ट्रिय सम्बन्ध तथा कूटनीति विभाग ।

त्रिभुवन विश्वविद्यालयले सन् २०१३ मा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विषयमा स्नात्तकोत्तर कार्यक्रम भाडामा लिएका तीनवटा कोठाबाट शुरु गरेको थियो । आदर्श नमूनाका रुपमा संचालन भएको यो कार्यक्रममा गुणस्तरीयताका लागि सम्झौताहिन तरिकाले र पूर्ण पेशागत समर्पणका साथ शैक्षिक नेतृत्वले काम गरेकै कारणले सो कार्यक्रमको प्रारम्भदेखि अहिले २०२४ सालसम्म विद्यार्थीहरुको आकर्षण कहिल्यै घटेको छैन । अहिले त्रिभुवन विश्वविद्यालयको हाताभित्र आफ्नै भवनमा स्नात्तकोत्तर, दर्शनाचार्य र विद्यावारिधि समेतमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति विषयमा पठनपाठन हुन्छ ।

नेपालबाट मात्र हैन विदेशबाट समेत विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् र मेरिटमा अब्बल हुनेहरुले मात्र भर्ना पाउँछन् । शैक्षिक नेतृत्वको भूमिका र प्रभाव कति दिगो र दीर्घकालीन हुन्छ भन्ने यो सफल उदाहरण समग्र त्रिविका शैक्षिक सरोकारवालाहरुबीच चर्चाको विषयका रुपमा रहेको छ । सो कार्यक्रमको शैक्षिक र प्राज्ञिक नेतृत्व जापानको नागासाकी विश्वविद्यालयबाट विद्यावारिधि गरेर नेपालमा फर्किएका प्राडा खड्ग केसीबाट भएको थियो, जो हालै त्रिविका उपकूलपतिबाट विश्वविद्यालयको रेक्टर पदका लागि शिफारिश हुनुभएको छ ।

रजिष्ट्रारका रुपमा सिफारिस भएका प्राडा केदारप्रसाद रिजालको गुगल स्कलर पछ्याउँदा उहाँ पनि काबिल अनुसन्धानकर्ता भएको भेटिन्छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले सफल र काविल शैक्षिक ब्यक्तित्वहरु समेतको टिम निर्माण गरेर देशमा व्याप्त शैक्षिक निराशालाई चिर्ने र राजनीतिक हस्तक्षेपमुक्त प्राज्ञिक वातावरण निर्माणको प्रयत्न गरेको देखिन्छ । यो सहहनीय छ । राजनीतिक नेतृत्वको सुझबुझपूर्ण अहस्तक्षेप आम नागरिक र सरोकारवालाहरुको अपेक्षा हो ।

त्रिविमा रेक्टर र रजिष्ट्रारको नियुक्तिमा पनि विगतको निरन्तरतामा क्रमभङ्गताको टड्कारो आवश्यकता छ । यसका लागि प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आमसञ्चार माध्यममा निकै लोकप्रिय मानिएकी र धेरैले आशा समेत गरेकी शिक्षामन्त्री एवं सहकुलपति सुमना श्रेष्ठले दबाबहरुलाई विश्वासमा लिनु पर्दछ । अन्यथा निरन्तरतामा निरन्तरित हुने हो भने विश्वविद्यालय सुधारको प्रतिवद्धता र रुपान्तरण अलपत्र पर्ने देखिन्छ ।

मेरिटोक्रेसीमा आधारित भई त्रिवि र समग्र विश्वविद्यालयहरुको सुधार गर्ने र विश्वविद्यालयको नेतृत्वलाई कुनै हस्तक्षेप नगर्ने प्रधानमन्त्री प्रचण्डको घोषित प्रतिबद्धता पछ्याएर उपकुलपति प्राडा बरालले सिफारिस गरेका ब्यक्तित्वहरुलाई विश्वविद्यालयको रेक्टर र रजिष्ट्रार पदमा नियुक्ति गर्नु तत्कालको सबैभन्दा उत्तम विकल्प हो ।
जादूको छडीका रुपमा काम भैहाल्छ भन्ने होइन तर पनि यो नै सही गन्तब्यतर्फको प्रारम्भ हुनसक्छ । यसमा सबै सत्ता साझेदार राजनीतिक पार्टीहरुको ऐक्यवद्धता आवश्यक छ । प्राध्यापक कर्मचारीहरुका पेशागत सङ्घ सङ्गठनहरुको र सकारात्मक भूमिका र परिणामका लागि समर्पित वास्तविक विद्यार्थीहरुको पनि हातेमालो आवश्यक छ ।
राजनीति सबै नीतिहरुको जननी हो । सपारेको यश र अपजश मूलतः राजनीतिले नै लिन पाउनुपर्छ र लिनुपर्छ । पछिल्लो समयमा हामी नेपालीलाई र समग्र नेपालको संस्थागत विकासलाई राजनीतिले साह्रै नराम्रोसँग बिगारेको छ भन्ने आमभनाइ छ । यो भनाइ अतिशयोक्तिपूर्ण हो जस्तो लाग्दैन । हामीले हासिल गरेका अनुभवले पनि यस भनाइलाई सहयोग नै गरेको अनुभूति छ । नेपालमा मेरिटोक्रेसीलाई स्थान दिनै पर्ने वस्तुगत आवश्यकता छ ।
मेरिटोक्रेसीलाई अपनाउने र प्रश्रय दिने प्रतिवद्धता गरेर आफ्नाहरुलाई उच्च राजनीतिक नेतृत्वले सँधै संरक्षण मात्रै गर्दैन भनी आफूलाई प्रमाणित गर्न सकेमा मात्र विरासतमा रहेका राजनीतिक नेतृत्वप्रति जनताको भरोसा क्षयीकरण हुनबाट रोकिन्छ र केही गुमेको भरोसा पुनर्जागरण हुन सक्दछ ।
(लेखक त्रिविविका उपप्राध्यापक हुनुहुन्छ)

विश्व बैंक र एसियाली विकास बैंकसँग बैठक, लगानी गरिएका आयोजनाको प्रगतिको अवस्थाबारे समीक्षा

काठमाडौँ, २७ चैत : विश्व बैंक र एसियाली विकास बैंकको लगानीमा नेपालमा सञ्चालित परियोजनाको समीक्षासम्बन्धी त्रिपक्षीय ‘पोर्टफोलियो’ समीक्षा बैठक आज अर्थमन्त्रालयमा बसेको छ ।

बैठकमा दुवै बैंकद्वारा लगानी गरिएका आयोजनाको प्रगतिको अवस्थाबारे समीक्षा भएको अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जनाएको छ । नेपालमा विश्व बैंकको करिब दुई अर्ब ३० करोड अमेरिकी डलर बराबर लागतका २३ वटा र एसियाली विकास बैंकको करिब तीन अर्ब ६० करोड अमेरिकी डलर लागतका २६ वटा आयोजना अघि बढिरहेका छन् । यी दुवै बैंकको सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा र पर्यटनलगायत क्षेत्रमा लगानी छ ।

पोर्टफोलियो समीक्षा बैठकमा दुवै बैंकले जग्गा प्राप्ति, ठेक्का प्रणाली, भुक्तानीमा ढिलाइ, वन क्षेत्रको जग्गा भोगाधिकारमा रहेको कानुनी तथा व्यवहारिक जटिलता लगायत कारण आयोजना निर्माणमा ढिलाइ भइरहेको गुनासो गरेको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

आयोजनामा भइरहेको ढिलाइबारे विश्व बैंक र एसियाली विकास बैंकको गुनासो सुनेपछि अर्थमन्त्री पुनले ती आयोजनाका प्रणालीगत समस्यालाई नीतिगत सुधारमार्फत र व्यवहारिक समस्यालाई अन्तरमन्त्रालय तथा निकायसँगको समन्वयमा समाधान गरिने प्रतिबद्धता जनाउनुभयो ।

विकास आयोजना कार्यान्वयनमा दक्षता वृद्धि जरुरी रहेको मन्त्री पुनको भनाइ थियो । उहाँले विकास आयोजनामा ठेक्का व्यवस्थापन, अन्तरमन्त्रालय तथा एजेन्सी समन्वय, सुरक्षा तथा मानव संशाधन व्यवस्थापनलगायत क्षेत्रसँग सम्बन्धित रहेको बताउनुभयो । आफूले योजना कार्यान्वयन गर्ने निकायसँग समन्वय र छलफल गरिरहेको बताउनुहुँदै अर्थमन्त्री पुनले सम्बद्ध निकायबाट कामको गति बढाउने प्रतिबद्धता आएको जानकारी दिनुभयो ।

बैठकमा मन्त्री पुनसहित अर्थसचिव कृष्णहरि पुष्कर, मन्त्रालयका सहसचिवहरु, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जेर्भोस, एसियाली विकास बैंकका दक्षिण एसिया हेर्ने महानिर्देशक ताकेओ कोनिशीलगायत सहभागी हुनुहुन्थ्यो ।

नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व

काठमाडौँ, २७ चैत : नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित हुनुभएको छ । जमलस्थित चेम्बर भवनमा आज भएको ७३ औँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन भएको हो ।

अध्यक्ष अग्रवालसहित चेम्बरको कार्यसमितिका सबै पदाधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ । चेम्बरको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपककुमार मल्होत्रा चयन हुनुभएको छ ।

त्यसैगरी, वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उद्योगतर्फ दिपक श्रेष्ठ, वस्तुगत सङ्घतर्फ सुरेन्द्रकुमार श्रेष्ठ, द्विराष्ट्रियतर्फ नीलकण्ठ चौलागाईं र जिल्लातर्फको उपाध्यक्षमा सन्तोष कुमार पाण्डे निर्विरोध निर्वाचित हुनुभएको हो ।

वार्षिक साधारणसभाले अर्जुनप्रसाद शर्मालाई मानार्थ उपाध्यक्ष चयन गरेको छ । कुल ७६ सदस्यीय चेम्बरको कार्यसमितिमा मनोनीतबाहेक ५५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित हुनुभएको हो ।

लगानी सम्मेलनः ‘सोकेस’मा १२५ आयोजना, ११ सयभन्दा बढीलाई निम्ता

काठमाडौँ, २७ चैतः सरकारले आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनको तयारी तीव्र पारेको छ ।

‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट-२०२४’ नाम दिइएको सम्मेलन काठमाडौँस्थित सोल्टी होटलमा आयोजना गर्ने तय भइसकेको छ । लगानी सम्मेलनको मिति नजिकिँदै गर्दा त्यसको पूर्व तयारीका कसरी भइरहेको छ र सम्मेलनबाट अपेक्षाकृत उपलब्धि कसरी हासिल होला भन्नेमा सबैको चासो छ ।

लगानी आकर्षित गर्न आवश्यक ठानिएका नीतिगत तथा कानुनी स्पष्टता, ‘सोकेस’का आयोजनाको पूर्वतयारी, सम्मेलनको प्रचारप्रसार तथा अतिथिलाई निम्ता गर्नेलगायतका कामहरु द्रुत गतिमा भइरहेको सरकारको भनाइ छ ।

‘सोकेस’मा एक सय २५ आयोजना
लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार लगानी सम्मेलनमा ‘सोकेस’मा लैजानका लागि एक सय २५ वटा आयोजना पहिचान भएका छन् । जसमध्ये तीनवटाको लगानी सम्मेलनका क्रममा परियोजना विकास सम्झौता (प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट–पिडिए) गर्ने तयारी छ । सम्मेलनमा नेपाल–चीनमैत्री औद्योगिक पार्क, माथिल्लो मस्र्याङ्दी–२ जलविद्युत् आयोजना, कोहलपुर तथा वाणगङ्गा सौर्य ऊर्जा आयोजनाको पिडिए सम्झौता हुँदैछ । त्यस्तै, डावर नेपाल प्राइभेट लिमिटेडसँग आयोजना लगानी सम्झौता (प्रोजेक्ट इन्भेस्टमेन्ट एग्रिमेन्ट–पिआईए) को पनि तयारी छ ।

सम्मेलनमार्फत् विभिन्न २० वटा आयोजनाका लागि लगानीकर्तासँग आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट–इओआई) माग गरिँदैछ । त्यस्तै, अगाडि बढाउन सकिने सम्भावित आयोजनाका रुपमा ‘मार्केट साउण्डिङ प्रोजेक्ट’छ वटा, पहिचानको प्रारम्भिक चरणका ३३ वटा, वित्तीय लगानी जुटाउने अवस्थाका २० वटा आयोजना सोकेसमा लगिँदैछ । त्यस्तै, निजी क्षेत्रको लगानीका १८ वटा, निजी क्षेत्रमार्फत् लगानी प्रवद्र्धन गर्न खोजिएका १२ वटा र अन्य १२ वटा आयोजना पनि ‘सोकेस’मा राखिँदैछन् । दुई दिनसम्म चल्ने सम्मेलनमा १० वटाभन्दा बढी सत्र र ५० जनाभन्दा बढी वक्ता रहने अनुमान गरिएको छ ।

एक हजार एक सयभन्दा बढीलाई निम्तो

लगानी सम्मेलनमा सहभागी हुनका लागि विभिन्न देश, दातृ निकाय तथा विकास साझेदारबाट एक हजार एक सय जनाभन्दा बढी अतिथिका रुपमा निम्ता दिइएकोमा सोमबारसम्म एक सय ३५ जना लगानीकर्ताको सहभागिता सुनिश्चित भएको बोर्डका प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालका ५६ जना, संयुक्त राज्य अमेरिकाका १५, भारतका १२, चीनका छ, कोरियाका पाँच र स्वीजरल्याण्ड, संयुक्त अधिराज्य, जापान तथा पाकिस्तानका समान तीन÷तीन जनाको सहभागिता सुनिश्चित भएको छ । त्यस्तै, नेदरल्याण्ड, बहराइन, युरोपेली सङ्घ, युनेस्को, अन्तर्राष्ट्रिय मुद्रा कोष, संयुक्त अरब इमिरेट्सका समान दुई/दुईजनाको सहभागिता सुनिश्चित भएको छ ।

साउदी अरेबिया, फिलिपिन्स, मलेसिया, जर्मनी, रुस, नर्वे, माल्दिभ्स, थाइल्याण्ड, साइप्रस, इजिप्ट, श्रीलङ्का, अष्ट्रियालगायत देशका लगानीकर्ता पनि लगानी सम्मेलनमा भाग लिने सुनिश्चितता भइसकेको लगानी बोर्डले जनाएको छ । सम्मेलनमा केही उच्चस्तरीय प्रनिनिधिमण्डल पनि आउने तय भएको प्रवक्ता उपाध्यायले बताउनुभयो ।

सम्मेलनपूर्वका कार्यक्रम
सम्मेलनका लागि पूर्व तयारीका कामसँगै लगानीकर्ता सम्मिलित ‘प्रि–इभेन्ट’ आयोजना भइरहेका छन् । भारत, चीन, बङ्गलादेशलगायत देशमा प्रि–इभेन्ट भइसकेको प्रवक्ता उपाध्यायले बताउनुभयो । लगानी बोर्डको कार्यालय र सम्बन्धित देशमा रहेको नेपाली राजदूतावासको सहकार्यमा यस्ता कार्यक्रमहरु आयोजना गरिएको हो ।

त्यस्तै, सामाजिक सञ्चालबाट पनि सम्मेलनको प्रचारप्रसार भइरहेको छ । लगानी बोर्डले केही समयअघि नेपालमा लगानी सम्भाव्यता पहिचान र आर्थिक विकासका लागि समन्वयात्मक रणनीति शीर्षकमा कार्यशाला आयोजना गरेको थियो । त्यस्तै, सबै प्रदेशका मुख्यमन्त्रीहरुसँग पनि लगानी सम्मेलन निर्देशक समितिले छलफल गरिसकेको छ । सम्मेलनको प्रचारप्रसारका लागि विदेशस्थित नेपाली दुतावास, गैरआवासीय नेपाली, निजी क्षेत्रलगायत सबै संयन्त्र परिचालन भइरहेका छन् ।

कानुन सुधारको प्रयास
लगानी सम्मेलनका लागि कानुन सुुधारका लागि सिफारिस गर्न गठिन कार्यदलले विभिन्न एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सरकारलाई सिफारिस गरिसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत आर्थिक तथा पूर्वाधार क्षेत्र हेर्ने तत्कालिन सचिव एकनारायण अर्यालको संयोजकत्वमा गठित ‘मौजुदा नीतिगत, संरचनागत एवं प्रक्रियागत सुधारका लागि सुझाव कार्यदल’ले मुलुकमा स्वदेशी एवं विदेशी लगानी आकर्षित गर्न एक दर्जन कानुन र नियमावलीमा संशोधन प्रस्तावसहित मुख्यसचिव डा बैकुण्ठ अर्याललाई सुझाव पेस गरेको थियो ।

औद्योगिक व्यवसाय ऐन २०७६, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, विशेष आर्थिक क्षेत्र ऐन २०७३, वन ऐन २०७६, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ लगायत ऐनका व्यवस्था संशोधनको सुझाव दिइएको छ । त्यस्तै, भूमिसम्बन्धी ऐन २०२१, जग्गा प्राप्ति ऐन २०३४, वातावरण संरक्षण ऐन २०७६, विद्युतीय कारोबार ऐन २०६३, नागरिक उड्ययन ऐन २०५३ का व्यवस्थामा पनि संशोधन गर्न सुझाव दिइएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ र वन नियमावली, २०७९ मा समेत संशोधनको आवश्यकता औंल्याइएको छ ।

लगानी सम्मेलनअघि यी कानुन संसदबाट पारित भएर आउने न्यून सम्भावना देखिएका कारण अध्यादेशमार्फत् भएपनि कानुन संशोधन गरिने प्रतिबद्धता अर्थमन्त्री वर्षमान पुनले विभिन्न सार्वजनिक कार्यक्रममा जनाउँदै आउनुभएको छ ।

जिम्मेवारी बाँडफाँट
लगानी सम्मेलन आयोजना गर्नका लागि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समितिगठन गरेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा लगानी सम्मेलन सचिवालय छ ।

सम्मेलनको कार्यतालिका र ढाँचा स्वीकृत गर्ने, लगानीको वातावरण बनाउनका लागि आवश्यक नीतिगत सुधारका क्षेत्र पहिचान गर्ने र सम्मेलनको समग्र पक्ष हेर्नेगरी अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति बनाइएको छ । परराष्ट्र, ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, सहरी विकास र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, अर्थ सचिव, उद्योग सचिव, निजी क्षेत्रका तीनवटा छाता संस्थाका अध्यक्षहरु निर्देशक समितिमा सदस्य हुनुहुन्छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतले निर्देशक समितिको सदस्य सचिवका रुपमा काम गरिरहनुभएको छ ।

त्यस्तै, निर्देशक समितिमा पेस गर्ने प्रस्ताव तयार गर्न, सम्बद्ध सरोकारवालासँग आवश्यक समन्वय गर्न र सम्मेलनको समग्र तयारीका लागि निर्देशक समितिलाई आवश्यक सहयोग गर्न मुख्य सचिवको संयोजकत्वमा विषयगत मन्त्रालयका सचिव, राष्ट्र बैंकका डेपुटी गभर्नर र निजी क्षेत्रका छाता संस्थाका अध्यक्ष सदस्य रहनेगरी कार्यान्वयन समिति बनाइएको छ ।

लगानी सम्मेलनमा प्रस्तुत हुने आयोजनाको स्थिति विश्लेषण गरी परियोजनाको अवधारणा बनाउन, सम्मेलनमा प्रस्ताव गर्ने आकर्षक र भरपर्दो आयोजनाको विकास गर्न र सम्मेलनमा गरिने विभिन्न समझदारीपत्र तथा सम्झौताको आवश्यक तयारीलगायतका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव संयोजक रहने गरी विभिन्न विषयगत मन्त्रालयका सहसचिवसहितको प्राविधिक समिति बनाइएको छ । तेस्रो लगानी सम्मेलनको सचिवालय लगानी बोर्डको कार्यालयमा छ ।

निजी क्षेत्र सहआयोजक
लगानी सम्मेलन आयोजना गर्नका लागि गठित निर्देशक समिति, कार्यान्वयन समिति र प्राविधिक समितिमा निजी क्षेत्रको छाता संस्थाको पनि प्रतिनिधित्व छ । निजी क्षेत्र लगानी सम्मलेनको सहआयोजकका रुपमा रहनेछ । त्यस्तै विदेशमा रहेका गैरआवासीय नेपालीलाई पनि लगानी सम्मेलनमा बढीभन्दा बढी सहभागी गराउने तयारी सरकारको छ । सम्मेलनअघि सम्भावित लगानीकर्तासँग द्विपक्षीय छलफल गरी वास्तविक लगानीकर्ता पहिचान गर्ने र आयोजनामा प्रस्ताव आह्वानदेखि लगानी स्वीकृतसम्मको प्रक्रियामा कसरी सहजीकरण गर्न सकिन्छ भनेर सरकारले काम गरिरहेको छ ।

प्रदेशका आयोजनाको छुट्टै स्टल
लगानी सम्मेलना प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने भएको छ । चैत १६ गते बसेको लगानी सम्मेलन निर्देशक समितिको बैठकले प्रदेश मुख्यमन्त्रीहरुसँग अन्तरक्रिया गरेको थियो । त्यसक्रममा प्रदेश तहबाट हुने सहभागिता र सम्मेलनमा लगानीका लागि समावेश गर्न सकिने प्रादेशिकस्तरका आयोजनाका लागि तयारी गर्न निर्देशन दिइएको छ । प्रदेशस्तरका तयारी अवस्थामा रहेका वा नयाँ योजना छनौट गरी सोकेसमा राखिनेछ ।

प्याकेज
स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न चालु आर्थिक वर्षको आर्थिक ऐनले गरेका प्रावधानबाहेक लगानीकर्तालाई के–कस्ता सहुलियत प्याकेज के–कति दिन सकिन्छ भनेर सरकारले काम गरिरहेको छ । लगानी सम्मेलनलाई लक्षित गरी उद्योग मन्त्रालयले द्विपक्षीय लगानी सम्झौता (बीआईए)सँग सम्बन्धित नयाँ प्रावधान तयार पारिरहेको छ ।

चिनियाँ राष्ट्रपति सी र रूसी विदेशमन्त्री लाभरोभबीच भेटवार्ता

चीनका राष्ट्रपति सी चिनफिङ र रूसी विदेशमन्त्री सेर्गेइ लाभरोभबीच बेइजिङमा मङ्गलबार भेटवार्ता भएको छ । चिनियाँ राष्ट्रपति सीले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वर्ष गाँठ मनाइँदै गरेको उल्लेख गर्दै चीन र रूसले विश्व समुदायसँग सुमधुर सहअस्तित्व र सबैको हितका लागि सहकार्यको नयाँ मार्गमा अघि बढेको बताउनुभयो ।

यसले दुई देश र त्यहाँका जनता लाभान्वित हुनुका साथै अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायमा बुद्धि भई शक्ति प्राप्त भएको राष्ट्रपति सीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “रूसी राष्ट्रपति पुटिन र म चीन–रूस सम्बन्धको सहज र स्थिर विकास सुनिश्चित गर्न घनिष्ठ आदानप्रदानलाई निरन्तरता दिन सहमत भएका छौं । राष्ट्रपति पुटिन र मबीच भएको महत्वपूर्ण सहमतिलाई पूर्णरुपमा कार्यान्वयन गर्न दुवै पक्षले कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्षगाँठ तथा चीन–रुस सांस्कृतिक वर्ष मनाउने अवसरलाई सदुपयोग गर्नुपर्छ ।”

राष्ट्रपति सीले रूसको राष्ट्रिय परिस्थिति सुहाउँदो विकासको मार्गमा हिँड्न, आतङ्कवादविरुद्ध लड्न तथा सामाजिक सुरक्षा र स्थायित्व कायम गर्न रूस र त्यहाँका जनतालाई सहयोग गर्ने कुरामा जोड दिनुभयोे ।

आफ्नो मुलुकले चीन–रूस सम्बन्धको विकासलाई सधैं ठूलो महत्व दिएको, रूससँग द्विपक्षीय संवादलाई मजबुत बनाउन र ब्रिक्स तथा साङ्घाई सहयोग सङ्गठनमा बहुपक्षीय रणनीतिक समन्वय बढाउन तयार रहेको सीले बताउनुभयो । दुई देशले थप जिम्मेवारी देखाउने, समानता, खुलापन, पारदर्शिता र समावेशिताको भावनामा ‘ग्लोबल साउथ’का देशहरूलाई एकताबद्ध गर्ने, विश्वव्यापी शासन प्रणालीको सुधारलाई बढावा दिने र मानवताका लागि साझा भविष्य सहितको समुदाय निर्माणको सशक्त नेतृत्व गर्ने उहाँले बताउनुभयो ।

अफगान भूकम्पको छ महिना बित्दा पनि २४ हजार बढि परिवार घरबारविहीन:राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालयले भूकम्पबाट प्रभावित २४ हजार आठ सय हेराती परिवार अस्थायी आश्रयमा बसिरहेको घोषणा गरेको खामा प्रेसले जनाएको छ । त्यहाँ सन् २०२३ अक्टोबर ७ मा छ दशमलव तीन रेक्टर स्केलकोे विनाशकारी भूकम्प गएको थियो ।

सामाजिक सञ्जाल एक्समा गरिएको एक पोष्टमा संयुक्त राष्ट्र–सम्बद्ध सङ्गठनले हेरातका प्रकोप प्रभावित परिवारहरूलाई बिर्सन नहुने जनाउँदै आधारभूत सुविधाका साथ सहयोग गर्नु पर्नेमा जोड दिएको छ ।

संयुक्त राष्टसङ्घको कार्यालयलाई उद्धृत गर्दै खामा प्रेसले रिपोर्ट हेरातमा भूकम्पले दुई लाख ७५ हजार मानिसलाई असर गरेको र ४० हजार घर ध्वस्त भएको बताएको छ । संयुक्त राष्ट्रङ्घको मानवीय सहायता समन्वय कार्यालयअनुसार यस प्रान्तमा मानवीय गतिविधिहरू जारी छन । हेरातमा विनाशकारी भूकम्पमा बालबालिका तथा महिलासहित सयौँ मानिसले ज्यान गुमाएका थिए ।

कार्यलयका अनुसार भूकम्पको गम्भीर प्रकोपबाट बचेका मानिसलाई भूकम्पको छ महिनापछि पनि सहयोगको निरन्तर आवश्यकता छ । यद्यपि तालिबानको नियन्त्रणका कारण अन्तर्राष्ट्रिय निकायहरू सक्रियरूपमा सहयोग गर्न असमर्थ भएको खामा प्रेसले रिपोर्ट गरेको छ ।

यसअघि रेडक्रस समितिले भूकम्प पीडितका लागि हेरातमा सुरक्षित र न्यानो आवासको आवश्यकतामा जोड दिएको थियो । तथापि हेरातका स्थानीयवासीहरूले तालिबान र संयुक्त राष्ट्रसङ्घका एजेन्सीहरूले हेरातमा भूकम्प पीडितहरूलाई अन्य राष्ट्रहरू र अन्तर्राष्ट्रिय संस्थाहरूले दिएको सहायताको बारेमा पर्याप्त रिपोर्ट नगरेको दाबी गरेका छन् ।

उत्तरी भारतमा सडक दुर्घटनामा परी सात नेपालीसहित आठ जनाको मृत्यु

उत्तरी भारतमा पिकअप भ्यान सडकबाट चिप्लिएर १५० मिटर गहिरो खाल्डोमा खस्दा सात नेपाली नागरिक र एक स्थानीय चालकको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ ।

दुर्घटनामा परी थप दुई नेपाली गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार विपद् व्यवस्थापन बलको एक टोली घटनास्थलमा पुगी स्थानीय र प्रहरीको सहयोगमा खाल्डोबाट मृतकहरूलाई निकालेको र उद्धार टोलीले घाइतेलाई अस्पताल पु¥याएको छ । धार्मिक पर्यटकलाई घर लैजान नेपालतर्फ जाँदै गरेको उक्त गाडी दुर्घटना भएको हो ।

दुर्घटनाको कारणबारे प्रहरी अनुसन्धान गर्न आदेश दिएको छ । भारतमा अत्यधिक भार वहन, सडकको कमजोर अवस्था र चालकको लापरबाहीका कारण हुने सडक दुर्घटनाबाट बर्षेनी हजारौँ व्यक्तिको अकालमा मृत्यु हुने गरेको छ ।। भारतमा हरेक वर्ष सरदर करिब एक लाख ५० हजार मानिसको मृत्यु हुने गरेको छ ।

पूर्वी इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

इन्डोनेसियाको पूर्वोत्तर मालुकु प्रान्तमा मङ्गलबार ६.५ म्याग्निच्युडको भूकम्प गएको छ ।

स्थानीय समयअनुसार अपरान्ह् १६ बजेर ४८ मिनेटमा भूकम्प गएको र यसको केन्द्रविन्दु उत्तरी हलमहेरा रिजेन्सीबाट ८७ किलोमिटर उत्तरपश्चिममा१० किलोमिटर गहिराइमा रहेको बताइएको छ ।भूकम्पको धक्का देशको अधिकांश भाग र छिमिकी मुलुकसमेतमा महशुस गरिएको जनाइएको छ ।

इन्डोनेसियाको राष्ट्रिय मौसम पुर्वानुमान निकायले भूकम्पपछि तटीय क्षेत्रमा सुनामी आउनसक्ने चेतावनी जारी गरेको छ । प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सुनामीबाट बच्न आवश्यक सावधानी अपनाउन निर्देशन जारी गरेको छ ।

प्रान्तीय मौसम विज्ञान एजेन्सीका प्रमुख फेहबी आल्टिङले भूकम्पको कडा धक्का महसुस गरिएको भएपनि अहिलेसम्म कुनै क्षति वा हताहत भएको खबर प्राप्त भएको छैन ।

‘प्यासिफिक रिङ अफ फायर’ भनेर चिनिने इन्डोनेसियामा भूकम्पको निकै जोखिम रहेको छ ।

हर्बल उत्पादक सङ्घको अध्यक्षमा राई निर्वाचित

काठमाडौँ, २७ चैत : नेपाल हव्र्स तथा हर्बल उत्पादक सङ्घ (नेहपा) को १८ औँ वार्षिक साधारणसभाबाट कार्यसमितिको अध्यक्षमा सरस्वती राई निर्वाचित हुनुभएको छ ।

सोमबार सम्पन्न भएको साधारणसभाले निवर्तमान अध्यक्ष प्रेमराज तिवारी, वरिष्ठ उपाध्यक्षमा लैकु लामा, प्रथम उपाध्यक्षमा प्रसुन सत्याल, द्वितीय उपाध्यक्षमा नवराज शर्मा, महासचिवमा प्रवीनकुमार वास्तोला, सचिवमा शोभाकान्त बस्याल र कोषाध्यक्षमा सकलसिंह रोकायलाई निर्वाचित गरेको छ ।

त्यस्तै सदस्यमा मिनाकुमारी लामा, फर्सुराम आचार्य, डा डिवी सुनुवार, सन्जिव पाण्डे, वसन्त पण्डित, राधा दाहाल, गङ्गा वाग्ले दाहाल, निखिल खण्डेलवाल, विन्ती गुरुङ र दिलबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त साधारणसभाले नेपाल हव्र्स तथा हर्बल उत्पादक सङ्घको योजना र कार्यक्रमको विषयमा छलफल गरेको थियो ।

विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि हुन्छ : उपप्रधानमन्त्री महासेठ

काठमाडौँ, २७ चैत : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि गर्ने गरी गृहकार्य भइरहेको बताउनुभएको छ । साझा यातायातले विद्युतीय सवारीसाधनका लागि सञ्चालनमा ल्याएको ‘चार्जिङ स्टेसन’को शुभारम्भ गर्दै उहाँले पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न विद्युतीय सवारीसाधन सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

करिब चार वर्ष अगाडि आफू मन्त्री हुँदा साझा यातायातलाई विद्युतीय बसको पूर्वाधार तथा सञ्चालनका लागि रु तीन अर्ब निकासा गरेको गर्दै मन्त्री महासेठले पछिल्लो समय कार्यसम्पादनमा ढिलासुस्ती भएको बताउनुभयो ।

भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले सहकारी ऐनअन्तर्गत रहेको साझा यातायातले विद्युतीय सवारीसाधन सञ्चालन गर्न लागेकामा खुसी व्यक्त गर्दै आवश्यक सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आफ्नो क्षेत्रमा विद्युतीय बस सञ्चालनका लागि साझा यातायातसँग सहकार्यका साथै लगानी वृद्धि गर्ने जानकारी दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङले प्राविधरणले निर्माण गरेको करिब चार सय चार्जिङ स्टेशनबाट रु दुई करोडको विद्युत् खपत हुने गरेको जानकारी दिनुभयो ।

साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले संस्थाको बिजुली बस थप्ने कार्य योजना तथा प्रगतिको जानकारी दिँदै उक्त स्थलमा १.१ मेगावाट विद्युत् खपत हुने २४ चार्जिङ पोइन्ट निर्माण गरिएको बताउनुभयो । देशभर एक हजारभन्दा बढी विद्युतीय सवारी साधन सञ्चालनमा छन् ।
 

‘मुख्यमन्त्री कार्कीले अविलम्ब राजीनामा दिनुपर्छ’

मोरङ, २७ चैत : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का कोशी प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री केदार कार्कीले अविलम्ब राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

कोशी प्रदेशसभामा एमालेका प्रमुख सचेतक रेवतीरण भण्डारीले प्रदेशसभा सचिवालयमा आज आयोजित पत्रकार सम्मेलनमा यही चैत २६ गते प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष ५२ प्रदेशसभा सदस्यले समर्थन फिर्ता लिएको पत्र बुझाएकाले मुख्यमन्त्री कार्कीले अविलम्ब राजीनामा दिनुपर्ने बताउनुभयो । नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम समर्थन फिर्ता लिएपछि चैत २६ देखि चैत ३० गतेभित्र वर्तमान कोशी सरकारले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रमुख सचेतक भण्डारीले मुख्यमन्त्री कार्कीलाई ३० दिनभन्दा अगाडि नै संसदीय प्रक्रियामार्फत राजीनामा दिनसमेत आग्रह गर्नुभयो । उहाँले मुख्यमन्त्री कार्कीलाई आजदेखि नयाँ कार्यक्रम स्वीकृत नगर्न, पुराना कार्यक्रम हटाउने वा विस्थापित नगर्न, अब बन्ने प्रदेश सरकारलाई प्रभावित गर्ने नीतिगत निर्णय नगर्न तथा सरकारी कामकारबाहीलाई प्रभावित गर्ने गरी कर्मचारी सरुवा नगर्नसमेत अपिल गर्नुभएको छ ।

माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाईले अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले नयाँ सरकार गठनका लागि राजीनामा दिनुपर्नेमा जोड दिनुभयो ।

भोटखोलामा टेलिफोन सेवा अवरुद्ध, नागरिक सञ्चार सेवाबाट वञ्चित

किमाथाङ्का (सङ्खुवासभा), २७ चैत : सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ । सोमबार रातिदेखि टेलिफोन अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित भएका छन् ।

सोमबार राति परेको चट्याङका कारण लची डाँडामा राखिएको नेपाल टेलिकमको टावरमा समस्या देखिएपछि सेवा अवरुद्ध भएको दूरसञ्चार कार्यालय खाँदबारीका प्रमुख प्रेमकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार चट्याङ परेपछि जेनेरेटरको चार्ज डाउन भएसँगै टावरमा समस्या देखिएको हो ।

प्रमुख राईले उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएकाले बेलाबेला टावरमा समस्या आउने गरेको बताउनुभयो । अवरुद्ध सेवा सञ्चालन गर्न अझै केही दिन लाग्ने भन्दै धनकुटाबाट प्राविधिक टोली माग गरिएको उहाँले जानकारी दिनुभयो ।

टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोला–२ का हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत दर्जनौँ गाउँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित हुनुपरेको गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युत् सेवा नपुगेका दुर्गम गाउँमा विटिएस टावर अझै पनि सोलार उर्जाको भरमा सञ्चालन हुने गरेको छ । विद्युत् विस्तार नहुँदा मोबाइल प्रयोग गर्ने स्थानीयले मौसमको भरमा सेवा पाउने गरेका छन् ।

सशस्त्र प्रहरी बलको केन्द्रीय भण्डारणमा भएको आगलागीबारे छानबिन गर्न समिति गठन

काठमाडौँ, २७ चैत : सोमबार साँझ चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय भण्डारणमा भएको आगलागीबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको निर्णयबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

छानबिन समितिलाई आगलागीको कारण खोज्ने, क्षतिको विवरण सङ्कलन गर्ने तथा जोखिम न्यूनीकरणका लागि गरेको पूर्वतयारी एवं आगामी दिनमा यस्तो घटना घट्न नदिनका लाग गर्नुपर्ने सुधारलगायतका विषयमा सत्यतथ्य छानबिन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

छानबिन समितिमा सशस्त्रका प्रहरी नायब महानिरीक्षक किशोर प्रधान, महालेखा नियन्त्रकको कार्यालयका उपसचिवस्तरको प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव सागरमणि पाठक र वरिष्ठ कम्प्युटर इन्जिनियर सुष्मा श्रेष्ठ सदस्य हुनुहुन्छ ।

वैदेशिक रोजगारीमा ठगिएको नौ करोड २४ लाख फिर्ता

गलकोट (बागलुङ), २७ चैत : पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा वृद्धि भएसँगै यस क्षेत्रमा आउने समस्या पनि बढ्दै गएका छन् । वैदेशिक रोजगारीमा जानेक्रम बढेसँगै दलालको लोभमा पर्ने, ठगिने, अङ्गभङ्ग हुने, शारीरिक अपाङ्गता, मानसिक समस्याका साथै घरपरिवारमा कलह सिर्जना हुने गरेका छन् ।

वैदेशिक रोजगारीमा जानेले पर्याप्त जानकारी नलिई, सीप नसिक्दैँ विदेश पुग्दा ठूलो दुःखकष्ट भोग्दै आएका छन् । वैदेशिक रोजगारीमा आउने समस्यामा बागलुङमा सामी परियोजना प्रभावकारी बन्दै आएको छ ।

विसं २०७६ मा स्थापना भएको सुरक्षित आप्रवासन (सामी) परियोजनाले जिल्लामा वैदेशिक रोजगारीका कारण आउने समस्या घटाउन, सीप सिकाउन र समस्या समाधानका लागि काम गर्दै आएको छ । दलालले प्रलोभनमा पारेर ठगेको रकम फिर्ताको पहल गर्ने, सीप सिकाउने, विदेश जानुपूर्व परामर्श दिने र विदेशबाट नेपालमा आएको रेमिट्यान्सको सदुपयोगमा प्रभावकारी भूमिका खेल्दै आएको सामी कार्यक्रमका गण्डकी प्रदेश व्यवस्थापक उमा शर्माले बताउनुभयो । उहाँका अनुसार यहाँ सामी सुरु भएको चार वर्षमा परियोजनाको सहजीकरणमा दलालले ठगेको रु नौ करोड बढी रकम फिर्ता गरिएको छ ।

सामीको सहजीकरणमा रु नौ करोड २४ लाख ६७ हजार ७८९ विभिन्न ठगी गर्ने व्यक्तिबाट पीडितलाई फिर्ता गराउन सफल भएको व्यवस्थापक शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सामीमा दर्ता भएका तीन सय १४ निवेदनमध्ये एक सय ६८ वटाको समाधान भइसकेको छ ।

“२०७६ सालबाट बागलुङमा सामी परियोजना सुरु गरेका छौँ । अहिलेसम्म वैदेशिक रोजगारीमा आइपरेका ३१४ समस्या हाम्रो कार्यालयमा दर्ता भएकामा १६८ को समाधान गर्न सफल भएका छौँ । दलालले प्रलोभनमा पारेर ठगेको रु नौ करोड बढी रकम फिर्ता गराएका छौँ”, शर्माले भन्नुभयो, “पीडितले रकमसँगै आगामी दिनमा वैदेशिक रोजगारी जाँदा कसरी ठगिनबाट बच्ने भनेर सिकेका छन् ।”

स्वदेशमै केही गर्नुपर्नेमा जोड दिइएको भन्दै उहाँले विदेश जानै परे सुरक्षितरुपमा जानका लागि सीप तथा आवश्यक परामर्श दिने गरिएको बताउनुभयो । “कामको लेनदेन गर्दा बैंकिङ कारोबार र वैदेशिक रोजगारी खुल्ने गरी कारोबार गर्दा धेरै समस्या समाधान हुन्छ”, उहाँले भन्नुभयो ।

वैदेशिक रोजगारीमा जानु नेपालीको बाध्यतालाई धेरैले ठगीको धन्दा बनाउने गरेका शर्माको भनाइ छ । नेपालमा हरेक वर्ष पाँच लाख युवा श्रम बजारमा आउने गरेका छन् । नेपालले करिब साढे एक लाख जतिलाई सामान्य रोजगारी दिने तथ्याङ्कमा उल्लेख रहेको बताउँदै शर्माले बाँकी युवाको श्रम गन्तव्य वैदेशिक रोजगार रहेकाले अहिले ठूलो समस्या वैदेशिक रोजगार क्षेत्रमा देखिएको बताउनुभयो ।

युवा वैदेशिक रोजगारी जाँदा अरुलाई विश्वास गर्ने तथा ठगी गर्नेले पनि उनीहरुको बाध्यताको फाइदा उठाउने गरेकाले पर्याप्त सूचना र ज्ञान लिएर मात्रै अघि बढ्नुपर्ने जिल्लास्थित परियोजनाका संयोजक मीन उपाध्यायले बताउनुभयो । उहाँले पछिल्लो समय सामाजिक सञ्जालबाट आकर्षक तलब सुविधा भन्दै गरिएको प्रचारप्रसारको भरमा दलाललाई रकम बुझाउने समस्यामा धेरै परेको बताउनुभयो ।

“कतिपयलाई वैदेशिक रोजगारीमा ठगिएपछि जाने निकायको विषयमा जानकारी छैन । बागलुङ नगरपालिका र वैदेशिक रोजगार विभागको समन्वयनमा सञ्चालित परियोजनाको विषयमा जानकारी छैन”, उपाध्यायले भन्नुभयो, “राम्रो सूचना र जानकारीको अभावमा ठगिने र रकम दिने गरेका छन् । वैदेशिक प्रयोजनका लागि दिएको भन्ने प्रमाण नहुँदा ठगिएको रकम फिर्ता गर्न कठिन हुने गरेको छ । त्यसैले जिल्ला प्रशासनमा पासपोर्ट बनाउने समयमै हामीले परामर्श गर्दै आएका छौँ, केही हदसम्म हाम्रो कार्यक्रमले ठगिनबाट जोगिनुभएको छ ।”

अवैधानिक बाटोबाट विदेश जाने बढी ठगिने गरेको उपाध्यायको अनुभव छ । “अहिले नेपालमा दैनिक २५ सय युवा वैदेशिक रोजगार विभागबाट श्रम अनुमति लिएर विदेश जान्छन्”, उहाँले भन्नुभयो, “जति पासपोर्ट बनेका छन् त्यसको तुलनामा अनुमति लिनेको सङ्ख्या कम छ । यसको अर्थ अनुमति नलिइकन विदेश गएको भन्ने हो, त्यसै गएका झनै बढी ठगिएको पाइन्छ ।” उहाँका अनुसार परियोजनाले पाँच वटा योजनाअन्तर्गत काम गर्दै आएको छ ।

जिल्लाका बागलुङ, जैमिनी र गलकोट नगरपालिकाका साथै काठेखोला गाउँपालिकामा परियोजना सञ्चालित छ । परियोजनाले सूचना तथा परामर्श, न्यायमा पहुँच, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श र सीप विकास तालिम कार्यक्रम सञ्चालन गरिरहेको संयोजक उपाध्यायले जानकारी दिनुभयो ।

परियोजनाले जिल्ला प्रशासन कार्यालयमा सूचना केन्द्रको स्थापना गरेर परामर्शसँगै ठगीलगायतका समस्यामा सहजीकरण गर्ने गरेको छ । वैदेशिक रोजगारीले नेपालमा ठूलो रेमिट्यान्स भित्रिए पनि त्यसको असरले समाजमा परेको सामाजिक मूल्य भने देशले चुकाउन नसक्ने अवस्थाको रहेको उहाँको भनाइ छ ।

अभिभावकको रेखदेखमा नरहेका बालबालिका, किशोर र युवावस्थामा प्रवेश गर्दा लागुऔषधलगायतका अन्य दुव्र्यसनमा जाने गरेको देखिएको छ । बागलुङबाट चालु आर्थिक वर्षमा मात्रै साढे १२ हजार बढी युवा वैदेशिक रोजगारीमा गएका छन् । परियोजनाले बागलुङका तीन सय नौ जनालाई सीपमूलक तालिम दिएको जनाएको छ ।

राष्ट्रियसभा अध्यक्षसँग इजरायली राजदूतको भेट

काठमाडौँ, २७ चैत : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग इजरायली राजदूत हनान गोदरले न्यमभच न्यमिदभचनभच शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यका विषयमा कुराकानी भएको थियो । भेटका अवसरमा अध्यक्ष दाहालले नेपाल–इजरायल कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पुगिसकेको चर्चा गर्दै आगामी दिनमा पनि दुई देशबीचको सम्बन्ध थप मजबुत र घनिष्ट हुने विश्वास व्यक्त गर्नुभयो। ।

नेपाल शान्तिको पक्षधर राष्ट्र भएको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “हामी सधैँ मध्यपूर्वमा शान्ति, अमन चयन र स्थिरताको पक्षमा छौँ, संयुक्त राष्ट्रसङ्घलगायतका बहुपक्षीय मञ्चमा नेपाल र इजरायलबीच हुने गरेका आपसी सहयोगले दुई देशको सम्बन्ध थप मजबुत बनाएको छ ।”

लामो द्वन्द्वपछि नेपालमा शान्ति प्रक्रिया टुङ्गोमा पुग्न लागेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाल अब आर्थिक समृद्धिको बाटोमा लागेको र त्यसका लागि इजरायल सरकारको महत्वपूर्ण सहयोग आवश्यक रहेको बताउनुभयो ।

‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका नेपाली नागरिकमाथि भएको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष दाहालले हालसम्म बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका लागि तीव्र पहल गरिदिन आग्रह गर्नुभयो । उहाँले अहिले पनि करिब चार हजार नेपाली श्रमिक इजरायलमा रहेको उल्लेख गर्दै उनीहरुको सुरक्षा र रोजगारीका विषयमा चासो व्यक्त गर्नुभयो ।

इजरायलबाट नेपालमा उल्लेख्य पर्यटक आउने गरेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा अझ धेरै इजरायली नागरिकलाई नेपाल भ्रमणका लागि पहल गरिदिन र नेपालको पर्यटन प्रवद्र्धन गर्नमा योगदान गरिदिन आग्रहसमेत गर्नुभयो ।

सो अवसरमा इजरायली राजदूत गोदारले इजरायल र नेपालको सम्बन्ध निकै घनिष्ट रहेको चर्चा गर्दै नेपालको कला, संस्कृति, परम्परा र पर्यटकीयस्थलका हिसाबले धनी रहेको बताउनुभयो । आफूले लामो समय नेपालमा रहेर काम गर्ने मौका पाएको उल्लेख गर्दै राजदूत गोदारले सगरमाथा, लुम्बिनी, चितवन, पोखरा, रारालगायतका नेपालका थुप्रै पर्यटकीय गन्तव्यले विश्वमै नेपालको पहिचान दिलाएको बताउनुभयो ।

‘लर्न एण्ड अर्न’ कार्यक्रम आफूले नै पहल गरेर सुरु गरेको उल्लेख गर्दै राजदूत गोदारले उक्त कार्यक्रमबाट थुप्रै नेपालीले इजरायलबाट सीप सिकेर नेपालमा राम्रो काम गरेको बताउनुभयो । दुर्भाग्यवस पछिल्लोपटक भएको घटनाबाट पीडितका घरघरमै पुगेर भेटेको उहाँले बताउनुभयो । इजरायलमा मारिएका नेपाली विद्यार्थीका परिवारलाई सानै भए पनि सहयोग गर्ने इजरायल सरकारले प्रतिबद्धता व्यक्त गरेको पनि उहाँले उल्लेख गर्नुभयो । विपिन जोशीको खोजीका लागि अहिले पनि प्रयास भइरहेको राजदूत गोदारले जानकारी दिनुभयो ।

उपनिर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुँदै

काठमाडौँ, २७ चैतः निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न यही चैत २८ गतेदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ ।

आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिससमेतका आधारमा प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा आचारसंहिता लागू गराउन जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४२ बमोजिम आचारसंहिताको पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सम्बन्धमा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्तिमार्फत आवश्यक सूचना र विवरण लिई तत्काल कारबाही गर्न निर्देशन दिइएको छ ।

यसैगरी राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचारण जुलुस, आमसभा, कोणसभा, बैठक वा भेलासम्बन्धी विषय, सवारीसाधनको प्रयोग र सञ्चारमाध्यमको प्रयोगसम्बन्धी विषय र निर्वाचन खर्चसम्बन्धी विषयमा दैनिक विवरण लिन भनिएको छ ।
आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाका सम्बन्धमा पनि तयारी समीक्षा गरेको आयोगले जनाएको छ ।

गोरखा–जितगढी पदयात्रा टोलीलाई तनहुँमा बाजागाजासहित स्वागत

दमौली (तनहुँ), २७ चैत : गोरखाबाट सुरु भएको नेपाली सेनाको गोरखा–जितगढी पदयात्राको टोलीलाई तनहुँको भानु नगरपालिकास्थित सतिघाटमा बाजागाजासहित स्वागत गरिएको छ । ऐतिहासिक महत्व बोकेका स्थानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आजदेखि सुरु भएको एकीकरण पदयात्रा टोलीलाई भानु नगरपालिकामा स्थानीयले भव्यताका साथ स्वागत गरेका हुन् ।

पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचारप्रसार गर्दै कोट, गढी, किल्लाको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यसहित आजदेखि पदयात्रा सुरु भएको हो ।

गोरखा दरबारबाट ३० किलोमिटर दूरी पार गर्दै सतिघाट आइपुगेको अवसरमा रिपुपर्दन गणले नगरपालिकास्थित रुरु भैरव दल गणलाई पदयात्राको झण्डा हस्तान्तरण गरेको छ । भानुको सतिघाटमा आयोजित कार्यक्रममा नगरप्रमुख आनन्दराज त्रिपाठीले टोलीलाई स्वागत गर्दै पदयात्राले स्थानीय र सेनाबीच सुमधुर सम्बन्ध बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गनुृभयो ।

राष्ट्रिय एकताको भावना जागृत हुने कार्य सम्पादन गर्ने उल्लेख भएअनुसार नेपाली सेनाको अगुवाइमा ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल पदमार्गलगायत धरोहरको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनका लागि यस वर्ष पनि पदयात्रा गरिएको रुरु भैरव दल गणका गणपति प्रमुख सेनानी हिमाचल जङ्ग शाहले बताउनुभयो ।

उक्त टोलीको बास आज भानुमै हुनेछ । भानुबाट भोलि प्रस्थान गर्ने टोली तनहुँको बाङ्गेरह, शेपाबगैँचा, टुहुरेपसल हुँदै तनहुँसुर पुग्नेछ । तनहुँसुर दरबारमा व्यास नगरपालिकाको समन्वयमा पदयात्रीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । तनहुँसुर पुगेर उक्त पदयात्राको झण्डा कालीभञ्जन गण (इ) लाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

तनहुँसुरबाट पदयात्रा टोली तनहुँकै धेनुङ देउराली पुग्नेछ । धेनुङ देउरालीमा श्री नम्बर ३ राजदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ । धेनुङ देउरालीबाट केलादीघाटसम्म पुगेको टोलीलाई श्री दि फेमस महेन्द्रदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ । पदयात्रा टोली चैत २९ देखि आगामी वैशाख २ गतेसम्म तनहुँ खण्डमा रहनेछ ।

केलादीघाटबाट नुवाकोटगढीसम्म पुग्ने टोलीले गरुणदल गणलाई झण्डा हस्तान्तरण गर्ने र आगामी वैशाख ७ गते पदयात्रा टोली नुवाकोटगढीबाट जीतगढीसम्म पुग्ने कार्यक्रम रहेको छ । पदयात्रामा से.मु. नफ्रिको फौज, बाजागाजा, राष्ट्रिय झण्डा तथा एकीकरणको दौरान स्थापना भएका पाँच प्रथम कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज) र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डा समावेश गरिएको नेपाली सेनाले जनाएको छ । गोरखाबाट जितगढीसम्मको दूरी दुई सय सात किलोमिटर रहेको छ । नेपाली सेनाले हरेक वर्ष गोरखा–जितगढी पदयात्रा गर्दै आएको छ ।

थोपा सिँचाइ कार्यक्रममा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौँ, २७ चैत -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको साविक थिर्पु गाविसमा सञ्चालित थोपा सिँचाइ कार्यक्रममा भ्रष्टाचार गरेको अभियोगमा पलाता गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले पलाता गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा र सव इन्जिनीयर माधवकुमार काफ्लेविरुद्ध रु १३ लाख ७४ हजार नौ सय ९१ बराबरको बिगो दाबी गरिएको छ । पलाता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, वडा नं ८ का तत्कालीन वडाध्यक्ष पटकबहादुर बम र वडा सचिव जानकीकुमारी शाही विरुद्ध पनि समान बिगो दाबी गरिएको छ । मूलखोला थोपा सिँचाइ उपभोक्ता समितिका अध्यक्ष मनराज शाही, सचिव लोकेन्द्र बम र कोषाध्यक्ष मोतिसुरा रोकाय विरुद्ध पनि बिगो बमोजिम समान बिगो माग दाबी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

आयोगले आजै कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसहित आठजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुलाई कृषि निर्देशनालय गण्डकी प्रदेशबाट प्राप्त अनुदान रकममा भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

आयोगले निमित्त कार्यालय प्रमुख खनालविरुद्ध रु २८ लाख, ३७ हजार दुई सय १७ बराबरको बिगो दाबी गरेको छ । कृषि इन्जिनीयर विश्वनाथ पौडेल, कृषि विकास अर्थविज्ञ भानुभक्त भट्टराई, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा पौडेल तिमिल्सिना, सचिव परशुराम खनाल, कोषाध्यक्ष उमा श्रेष्ठ र गल्याङ नगरपालिका–३ श्रीप्रसाद श्रेष्ठविरुद्ध पनि रु २८ लाख ३७ हजार दुई सय १७ बराबरको बिगो दाबी गरिएको छ । आरोपीलाई कैद सजायको माग गरिएको आयोगका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

आर्थिक विकास र समृद्धिको कार्यभार पूरा गर्न सरकार प्रयासरत : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, २७ चैत : उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक विकास र समृद्धिको कार्यभार पूरा गर्न सरकार प्रयासरत रहेको बताउनुभएको छ । आर्थिक उन्नतिका लागि निजी क्षेत्रको प्रवद्र्धन र सुरक्षा गर्न सरकार अत्यन्तै गम्भीर रहेको उहाँले बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सको ७३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले पुँजी निर्माण, पुँजीगत खर्चमा सुधार एवं व्यापार घाटा नियन्त्रण सरकारको प्रमुख कार्यभार रहेको बताउनुभयो । पुँजी वृद्धि र पुँजीगत खर्च कार्यान्वयन क्षमतामा वृद्धि गर्दै निर्यात प्रवद्र्धन गरेर व्यापार घाटा कम गर्नुपर्ने अहिलेको आवश्यकता भएको उहाँको भनाइ थियो । त्यसका लागि निजी क्षेत्र र सरकारबीच खुला छलफल र बहस गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

आर्थिक क्रियाकलापलाई गति दिन सरकारको नीति योजना र बजेट त्यहीअनुसार हुनुपर्ने परराष्ट्रमन्त्री श्रेष्ठले आवश्यकता आँैल्याउनुभयो । मुलुक विप्रेषण, राजस्व र विदेशी सहयोगका आधारमा राज्य चलाउने सोचको अन्त्य गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी बजेट वस्तुनिष्ठ र कार्यान्वयनमुखी हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष मल्लले भन्नुभयो, “बजेट सधैँ महत्वाकांक्षी र ठूलो आकारको बनाउने तर स्रोतको अभावमा पछि घटाउने गरिएको छ । बजेट यथार्थपरक एवं घाँटी हेरी हाड निल्न सक्ने हुनुपर्दछ ।” आर्थिक गतिविधि विस्तार गरी राजस्व लक्ष्य वृद्धि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । करको दर नभई दायरा विस्तार गरेर नागरिकतासँगै प्यानकार्ड दिने व्यवस्था गर्नुपर्ने अध्यक्ष मल्लको धारणा थियो ।

अर्थतन्त्रको बाह्य सूचकमा सुधारका केही सङ्केत देखिए पनि आन्तरिकतर्फ सुस्तता कायमै रहेको अध्यक्ष मल्लले बताउनुभयो । आयातको तुलनामा निर्यात निकै कम हुँदा यस वर्ष पनि व्यापार घाटा उच्च हुने देखिएको उहाँको भनाइ थियो । पुँजीगत खर्च हुन नसक्ने तथा उत्पादनशील क्षेत्रमा लगानी प्रवाह हुन नसक्दा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारी लक्ष्य पूरा हुनेमा चुनौती रहेको अध्यक्ष मल्लले बताउनुभयो । मुलुकलाई आत्मनिर्भर बनाउन अर्थतन्त्रका हरेक क्षेत्रमा उत्पादन र उत्पादकत्व बढ्नु अनिवार्य रहेको उहाँले उल्लेख गर्नुभयो । तुलनात्मक लाभ भएका कृषि, जलस्रोत, पर्यटन तथा सूचना प्रविधिको क्षेत्रका स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ थियो ।

चतरामा आजदेखि महाकुम्भ मेला

धरान (सुनसरी), २७ चैतः सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित चतरामा आजदेखि महाकुम्भ मेला प्रारम्भ हुँदैछ । मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको मेला आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताउनुभयो ।

आगामी वैशाख २८ गतेसम्म सञ्चालन हुने मेलामा ३० लाख भक्तजन सहभागी हुने अनुमान गरेर सोहीअनुरुप व्यवस्था मिलाइएको आयोजक समितिले जनाएको छ । मेलाको उद्घाटनका दिन दुई हजार सुरक्षाकर्मी परिचालन गरिने आयोजक समितिका सहअध्यक्ष कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बलसमेत दुई हजार सुरक्षाकर्मी परिचालन गरिनेछ । सिसीटिभीको सहायताले सहभागीहरूको सङ्ख्या गणना गरिने छ ।”

मेला व्यवस्थापनका लागि मूल समितिको मातहत रहने गरी २६ वटा समिति गठन भएका छन् । कुम्भमेला क्षेत्रमा चार सय ८० व्यापारिक स्टल राखिने भएको छ । त्यस्तै मेला क्षेत्रमा एक सय ९५ वटा अस्थायी शौचालय बनाउने काम भइरहेको छ ।

चालीस दिन मदिरा र माछामासु प्रतिबन्ध

कुम्भमेलाका क्रममा ४० दिनसम्म मदिरा र माछामासु बिक्री वितरण गर्न रोक लगाएको छ । मेला आयोजक समितिका सहअध्यक्ष कार्कीले सात्विक बराहक्षेत्रको सन्देश प्रवाह गर्ने उद्देश्यले मदिरा र माछामासु बिक्रीमा रोक लगाइएको बताउनुभयो ।

छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति सप्तरीमा

राजविराज (सप्तरी), २७ चैतः राष्ट्रपति रामचन्द्र पौडेल सप्तरी आइपुग्नुभएको छ । छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडास्थितेत्र छिन्नमस्ता मन्दिरमा विशेष पूजामा सरिक हुन उहाँ सप्तरी आउनुभएको हो ।

राष्ट्रपति पौडेलबाट छिन्नमस्तामा हुने विशेष पूजाको सम्पूर्ण तयारी पूरा भएको छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिनुभयो । उहाँको स्वागतका निम्ति सबै गाउँवासीलाई आमन्त्रण गरिएको उहाँले बताउनुभयो ।

शान्तिपूर्ण रूपमा बिस्काः मनाउन आज भक्तपुरमा सद्भाव र्‍याली

भक्तपुर, २७ चैतः तान्त्रिक विधिबाट भक्तपुरमा आठ रात, नौ दिन मनाइने बिस्काः जात्रा शान्तिपूर्ण ढङ्गले मनाउने सन्देश प्रवाह गर्दै आज भक्तपुरमा सद्भाव र्याली आयोजना गरिएको छ ।

भक्तपुरमा आजदेखि सुरु हुने बिस्का जात्रालाई ढुङ्गा हानाहान नगरी शान्तिपूर्ण रूपमा भव्यसँग मनाउने सन्देश प्रवाह गर्दै दत्तात्रयबाट सुरु भएको र्याली पाँचतले मन्दिर प्राङ्गण तौमढीमा पुगेर सद्भाव सभामा परिणत भएको थियो ।

‘बिस्केट जात्रा शान्तिपूर्ण रूपमा मनाऔँ’ नारा लगाउँदै भएको र्यालीमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, विभिन्न विद्यालय एवं क्याम्पसका विद्यार्थी, नेपाल स्काउट, स्थानीय क्लब, सहकारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि थिए ।

भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले बिस्काः जात्रा भक्तपुरको गौरव हो भन्दै जात्राबारे सबैलाई जानकारी दिन स्थानीय पाठ्यक्रम निर्माण गरी भक्तपुरका ९२ वटै विद्यालयमा यसको पढाइ भइरहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बिस्का जात्रा भक्तपुरवासी एवं नेपालकै पहिचान भएकाले यसलाई शान्तिपूर्ण बनाउन सबैले हातेमालो गर्नु आवश्यक भएको बताउनुभयो । गुठी संस्थान भक्तपुरका प्रमुख खिमा वलीले जात्राको आवश्यक तयारी सबै पूरा गरेको बताउनुभयो ।

झापामा आकर्षक आम्दानी गर्न थालेपछि व्यावसायिक मकैखेती विस्तार

झापा, २७ चैतः झापा गाउँपालिका जिल्लाको सबैभन्दा बढी मकैखेती हुने पालिकाका किसानले आकर्षक आम्दानी गर्न थालेपछि व्यावसायिक मकैखेती विस्तार गरेका छन् ।

झापा पालिकामा बर्सेनि मकैखेती गर्ने किसानको सङ्ख्या क्षेत्रमा बढिरहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतननाथ भण्डारीले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा ४४ हजार दुई सय ५० हेक्टर जमिनमा मकैको व्यावसायिक खेती गरिएको थियोभने दुई लाख २५ हजार छ सय ७५ मेट्रिक टन उत्पादन भएको थियो । गत वर्ष केन्द्रले किसानलाई ब्लक, पकेट क्षेत्रमार्फत अनुदान उपलब्ध गराएर मकैखेतीको विस्तार गरेको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पाँच सय हेक्टर जमिनमा झापा गाउँपालिका र कनकाई नगरपालिकामा मकै जोन कार्यक्रम सञ्चालन भइरहेको छ । झापा गाउँपालिकाले मकै, धान र तरकारीखेती गर्ने किसानलाई सिँचाइमा लाग्ने विद्युत् महसुलवापत ६० प्रतिशत रकम आफैँ भुक्तानी गर्दै आएको छ । यस पालिकाको सात हेक्टर जमिनमा उन्नत जातको मकैखेती हुँदै आएको पालिकाकी कार्यवाहक अध्यक्ष अञ्जु थपलियाले बताउनुभयो ।

कार्यवाहक अध्यक्ष थपलियाले मकैको पकेट, ब्लक क्षेत्र घोषणा गरेर मकैको व्यावसायिक खेतीमा पालिकाले प्रवर्द्धन गरिरहेको बताउनुभयो । उहाँले कृषि शाखामार्फत किसानलाई मकैखेतीतर्फ आकर्षित गर्न आवश्यक मल, बीउ, मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, स्प्रे ट्याङ्की, मकै सुकाउने झुल र सिँचाइका लागि मोटर अनुदानमा प्रदान गरिरहेको जानकारी दिनुभयो ।

“पालिकाभित्र बाँझो जमिन देखिन छाडेको छ”, उहाँले भन्नुभयो, “किसान उत्साहित छन् कतै मकै पाक्न थालेको छ कतै हुर्किरहेको देखिन्छ ।” ज्ञान केन्द्रका सूचना अधिकारी भण्डारीले चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा मकैखेतीको विस्तार भएको जानकारी दिनुभयो ।

चिनियाँ सहयोगमा चौतारा अस्पतालको पुनःनिर्माण सम्पन्न

चौतारा (सिन्धुपाल्चोक), २७ चैतः चीन सरकारको सहयोगमा चौतारा अस्पताल पुनःनिर्माण भएसँगै सिन्धुपाल्चोकका नागरिकले अब भरपर्दो उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । सदरमुकाम चौतारामा ३९ शय्याको सुविधासम्पन्न अस्पताल निर्माण भएपछि उपचारका निम्ति अन्यत्र जानुपर्ने बाध्यता हटेको हो ।

भूकम्पले भग्नावशेषमा परिणत भएको अस्पताल भवन छ करोड १० लाख चिनियाँ युआनमा निर्माण पूरा भएको ‘चाइना एड सिन्धुपाल्चोक हस्पिटल रिकभर प्रजेक्ट इन नेपाल’का प्रमुख गुओ बाओचेङले राससलाई बताउनुभयो । चाइना चियुयान इन्जनियर कर्पोरेसन र सियान सिफाङ कन्स्ट्रक्सन सुपरभिजन कम्पनी लिमिटेडको मुख्य व्यवस्थापनमा चिनियाँ कम्पनी हेवेई कन्स्ट्रक्सन ग्रुपले उक्त भवन तयार पारेको हो ।

अस्पताल भवनको भुइँतलामा फार्मेसी, दर्ता शाखा, परामर्श कक्ष, फिजियोथेरापी , पोषण, भान्सा, बहिरङ्ग बिरामी कक्ष, बालबालिका कक्ष, प्रयोगशाला, आकस्मिक कक्ष, नर्सिङ स्टेशन, ड्रेसिङ रुम, एक्सरे र भिडियो एक्सरे कक्ष तयार भएका छन् । त्यसैगरी, भ्याक्सिनेसन सेन्टर, पुलिस अफिस फायर कन्ट्रोल सेन्टर, क्षयरोग र एड्स उपचार कक्ष तयार भएका छन् । भुइँतलामै चार सय ५० केभीको जेनेरेटर र ‘मेडकिल वेस्ट वाटर प्रोसेसिङ’ उपकरण जडान गरिएका छन् ।

नहर भत्केपछि जुम्लामा विद्युत् आपूर्ति बन्द

जुम्ला, २७ चैतः जिल्लाकोे डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् उत्पादनका निम्ति जल प्रवाह हुने नहर पहिरोले भत्काएपछि बिजुली आपूर्ति बन्द भएको हो ।

पच्चीस मिटर नहर पहिरोले भत्काएको छ । विद्युत् सहकारीका अध्यक्ष कृष्णबहादुर बुढाले भन्नुभयो, “गत असारमा पहिरो गएपछि नहर चर्किएको थियो । त्यतिबेलादेखि नै नहर मर्मतको पहल भएको हो ।” समयमै मर्मत नभएपछि यहीँ २४ चैतदेखि पूर्ण रूपमा विद्युत् सेवा अवरुद्ध भएको उहाँले जानकारी दिनुुभयो ।

भत्केको नहर मर्मत गर्न रु छ लाख बजेट आवश्यक पर्ने प्राविधिकले बताएका अध्यक्ष बुढाले जानकारी दिनुभयो । विद्युत् अवरुद्ध हुँदा पालिकाका–४, ५ र ६ वडाका करिब आठ सय घर विद्युत् सेवाबाट वञ्चित भएका छन्भने गाउँपालिका, वडासहित अन्य सरकारी निकाय, बैंक तथा वित्तीय संस्थालाई समस्या भएको छ ।

डिल्लीचौर विद्युत् आयोजनाको नहर मर्मत गर्न पालिकाबाट रु तीन लाख बजेट विनियोजन भएको छ । तत्काल नहर मर्मत गरेर विद्युत् आपूर्तिको पहल थालिएको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले बताउनुभयो ।

कुनै समय सडक मानव छ्याप्छयाप्ती हुने तुलसीपुर अहिले सडकमानवमुक्त

तुलसीपुर, २७ चैतः तुलसीपुरमा कुनै समय सडक मानव छ्याप्छयाप्ती हुन्थे तर अहिले यो सानो सहर सहयोगापेक्षी सडक मानवबाट मुक्त भएको छ । अन्यत्रबाट आएका सडक मानवलाई पनि उद्धार गरेर मानव सेवा आश्रममा लैजाने गरिएकाले अहिले तुलसीपुरमा सडक मानव भेटिँदैनन् ।

मानव सेवा आश्रमका प्रमुख हिरु जोशीका अनुसार प्रत्येक शनिबार तुलसीपुर बजार अनुगमन हुँदै आएको र त्यस क्रममा सडक मानव भेटिएका छैनन् । सबै सडक मानवलाई उद्धार गरेर आश्रममा राख्न थालेपछि अब यहाँ त्यस्ता मानिस नभेटिका हुन् ।
हालसम्म ६० जनाभन्दा बढीलाई उपचारपछि पुनःस्थापना गरिएको छ । “हामी आश्रममा ल्याएर उपचार गर्छौँ, खाना, बास दिन्छौँ”, उहाँले भन्नुभयो, “सञ्चो भएर घर थाहा पाउने भएपछि परिवारको जिम्मा लगाउँछौँ, सोहीअनुसार अहिलेसम्म ६० जनालाई परिवारमा मिलन गरिसकेका छौँ ।” पुनःमिलनपछि स्वास्थ्यका बारेमा ‘फलोअप’ पनि हुने गरेको उहाँले जानकारी दिनुभयो ।

अहिले पनि संस्थामा ८३ जनालाई आश्रय दिइएको प्रमुख जोशीले बताउनुभयो । तीमध्ये केहीलाई छिटो सञ्चो हुने र केहीलाई दुई–तीन वर्षसम्म पनि सञ्चो नहुने अवस्था रहेको उहाँले जानकारी दिनुभयो । वडा कार्यालय, प्रहरीलगायत सर्वसाधारणले त्यस्ता व्यक्तिलाई आश्रममा ल्याइदिने गरेका छन् । मनकारी दाताको सहयोगमा आश्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

रुसी क्षेत्रहरूले दशकौँको सबैभन्दा खराब बाढीको सामना गरेसँगै स्थानीयवासीद्वारा विरोध प्रदर्शन

रुसले सोमबार आगामी ४८ घन्टामा ‘अभूतपूर्व’ बाढीको चेतावनी दिएको छ । बढ्दो पानीले आंशिकरूपमा डुबेको सहरमा स्थानीय बासिन्दाहरू सङ्कटको सामना गर्ने अधिकारीहरूको विरोधमा विरलैरूपमा सडकमा उत्रिएका छन् ।

तीव्ररूपमा पग्लिँदै गरेको बरफ र मुसलधारे वर्षाका कारण कजाकिस्तानसँग जोडिएको रुसी सीमा नजिकै मुख्य नदीहरू युराल र टोबोलमा पानीको सतह बढेको छ । अधिकारीहरूले बाढीको पानी आगामी ४८ घन्टामा खतरनाकरूपमा बढ्ने चेतावनी दिएका छन् ।

ओर्स्क सहरमा सोमबार दर्जनौँ प्रदर्शनकारीहरूले रुसी सरकारको कमजोर प्रतिक्रियाविरुद्ध असन्तुष्टिको दुर्लभ विरोध प्रदर्शन गरेका छन् । एउटा बाँध फुटेपछि साताको अन्त्यमा बाढीको पानीले उक्त सहर डुबेको थियो । स्थानीय सोसल मिडिया च्यानलहरूले पोस्ट गरेका भिडियोमा भीडले ‘लज्जाजनक’ र ‘पुटिन, सहयोग गर्नुहोस्’ भन्दै चिच्याएका थिए ।

यसअघि क्रेमलिनले सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाढीग्रस्त क्षेत्रहरूको भ्रमण गर्ने कुनै योजना नभएको बताएको थियो । रुसमा कडा विरोधी कानूनअन्तर्गत सरकारविरुद्ध सार्वजनिक प्रदर्शन अवैध छ । ओर्स्कलाई समेटेको ओरेनबर्ग क्षेत्रीय अभियोजक कार्यालयले सोमबार बासिन्दाहरूलाई ‘अनधिकृत’ प्रदर्शनमा सहभागी भए उनीहरूले गिरफ्तारीको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।

प्रदर्शनकारीहरूले थप वित्तीय सहयोगको माग गरिरहेका थिए र उनीहरू सहरको सुरक्षाका लागि निर्माण गरिएको बाँध भत्किएकामा आक्रोशित थिए । सप्ताहन्तमा प्रकाशित क्षतिपूर्ति योजनामा क्षेत्रीय सरकारले बाढीले ‘पूर्णरूपमा नष्ट’ भएका घरेलु सामानहरूका लागि प्रतिव्यक्ति एक लाख रुबल (एक हजार एक सय अमेरिकी डलर) प्रदान गर्ने बताएको छ ।

सरकारी आरआइए नोभोस्ती समाचार समितिका अनुसार ओरेनबर्गका गभर्नरले सोमबार घरको नोक्सानीको पूर्ण क्षतिपूर्ति गर्ने बताउनुभएको छ । अहिलेसम्म सबैभन्दा धेरै प्रभावित सहर ओर्स्कमा ९९ जनाको उपचार गरिएको र नौ जनालाई अस्पतालमा भर्ना गरिएको स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमले बताएको छ ।

येलेनको भ्रमणका क्रममा चीनद्वारा अमेरिकासँग प्रतिबन्ध, शुल्क र लगानी प्रतिबन्धप्रति चिन्ता व्यक्त

चीनको अर्थ मन्त्रलायका अनुसार अमेरिकी अर्थमन्त्री जेनेट येलेनको चीन भ्रमणका क्रममा चीनले चिनियाँ कम्पनीहरूमाथि अमेरिकी प्रतिबन्ध, चिनियाँ सामानमा लगाइएको शुल्क र चीनमा लगानीमाथि प्रतिबन्धबारे अमेरिकी पक्षसँग स्पष्टरूपमा आफ्नो गम्भीर चिन्ता व्यक्त गरेको छ ।

अप्रिल ४ देखि ९ सम्मको येलेनको भ्रमण सम्बन्धमा प्रेस वार्तालाई सम्बोधन गर्दै अर्थ उपमन्त्री लियाओ मिनले अमेरिकाको यस्तो कारवाहीले चिनियाँ कम्पनी र जनताको वैध अधिकार तथा हितलाई नोक्सान पुर्याउने भन्दै अमेरिकी कम्पनी र जनताको भलाईका लागि पनि यो अनुकूल नभएको बताउनुभयो ।

“चीनबाट अलग हुने प्रयास नगर्ने अमेरिकी भनाइको चीनले स्वागत गर्दछ र चिनियाँ कम्पनीहरूमाथि प्रतिबन्ध रोक्नका लागि अमेरिकाले ठोस कदम चाल्नेछ भन्ने चीनले अपेक्षा गरेको छ”, उहाँले भन्नुभयो, “हरेक मुलुकको राष्ट्रिय सुरक्षाको रक्षा गर्ने वैध आवश्यकता छ भन्नेबारेमा दुवै पक्षले विश्वास गर्छन् तर ‘राष्ट्रिय सुरक्षा’ को अवधारणालाई सामान्यीकृत गर्न हुँदैन र दुवै मुलुक र विश्वभर सामान्य व्यापार र लगानी आदानप्रदानका साथै औद्योगिक उत्पादन र आपूर्ति शृङ्खलाको स्थिरताका लागि कथित ‘विविधीकरण’ लाई कमजोर गर्ने बहानाका रूपमा प्रयोग गर्न हुँदैन भन्ने कुरामा चीनले जोड दिएको छ ।”

उहाँले यी मुद्दाका अतिरिक्त चिनियाँ उपप्रधानमन्त्री हे लिफेङ र अमेरिकी अर्थमन्त्री येलेनबीच अन्य प्रमुख विषयमा पनि छलफल भएको बताउनुभयो । उहाँका अनुसार उहाँहरूबीच दुवै मुलुकको व्यापक आर्थिक स्थिति, वैश्विक चुनौतीहरूको जवाफ र आपसी चिन्ताहरूको आदानप्रदानबारेमा छलफल भएको थियो ।

लियाओका अनुसार येलेनको भ्रमणका क्रममा चीन र अमेरिका दुई वटा नयाँ सहमतिको नतिजामा पुगेका छन् । सबैभन्दा पहिलो, दुवै मुलुकका वित्त विभागहरूले चीन–अमेरिकाको आर्थिक कार्य समूहको ढाँचामा दुई मुलुक र विश्वको सन्तुलित आर्थिक वृद्धिको मुद्दामा आदानप्रदानको नेतृत्व लिनेछन् ।

दोस्रो, पिपुल्स बैंक अफ चाइना र अमेरिकी ट्रेजरी विभागको नेतृत्वमा द्विपक्षीय वित्तीय कार्यसमूहको ढाँचाअन्तर्गत वित्तीय स्थिरता, दिगो वित्त, सम्पत्ति शुद्धीकरण र अन्य मुद्दामा निरन्तर छलफल हुनेछ । उहाँका अनुसार यी दुई कार्यदलको चौथो बैठक यसै महिनाको मध्यमा अमेरिकामा छुट्टाछुट्टै बस्नेछ ।

गण्डकीका सबै जिल्लामा पाठ्यपुस्तकको व्यवस्था

गण्डकी, २७ चैतः शैक्षिक सत्र सुरु हुनुअगावै गण्डकी प्रदेशका ११ वटै जिल्लामा पाठ्यपुस्तकको व्यवस्था भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पोखरा कार्यालयका अनुसार आउँदो शैक्षिक सत्रका लागि छ लाख आठ हजार छ सय २८ थान पुस्तक बिक्री भइसकेको छन् ।

हिमालपारिका जिल्ला मुस्ताङ, मनाङसहित सबै जिल्लामा स्थानीय विक्रेतामार्फत पाठ्यपुस्तक पु¥याइएको केन्द्रका निमित्त प्रमुख शिवविलास पौडेलले जानकारी दिनुभयो । प्रदेशका १० जिल्लामा पोखरा र नवलपुरमा भरतपुर कार्यालयबाट पुस्तक बिक्री हुँदै आएको उहाँले बताउनुभयो ।

“माग भएजति पाठ्यपुस्तक पठाइसकेका छौँ, हामीसँग पाठ्यपुस्तक पर्याप्त छन्”, निमित्त प्रमुख पौडेलले भन्नुभयो, “यस वर्ष शैक्षिक सत्र सुरु हुनुअगावै गण्डकी प्रदेशका सबै जिल्लामा पुस्तक ढुवानी भएको छ ।”

‘राजनीतिकर्मीलाई सचेत बनाउन सिस्नोपानीको महत्वपूर्ण भूमिका ’ प्रधानमन्त्री प्रचण्ड

काठमाडाँै – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजको बेथिति र विकृति अन्त्य गर्न सिस्नो पानी नेपाल सधैँ सक्रिय हुँदैआएको बताउनुभएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उहाँले राजनीतिकर्मीलाई सचेत बनाउन सिस्नोपानीजस्ता सङ्घसंस्थाको महत्वपूर्ण भूमिका रहन्छ भन्नुभयोे । “सिस्नोपानीले पोल्छ, तर नेतालाई अचेल सिस्नोपानी न्यानो लाग्न थालेको छ”, उहाँले भन्नुभयो, “यसले हाम्रा क्रियाकलाप पारदर्शी र सचेत बनाउन मद्दत गर्छ ।”

सिस्नो नेपालले राष्ट्रिय भाव जागृत गर्ने ध्येयले ‘राष्ट्र’ शीर्षकमा सो कार्यक्रम आयोजना गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सो कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा सभामुख, मन्त्री, सांसदलगायत विभिन्न पार्टीका नेता उपस्थिति हुनुहुन्थ्यो । कार्यक्रममा राष्ट्रपति पौडेलले गायिका मेनुका पौडेललाई रु एक लाख र ताम्रपत्रसहित सम्मान प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षामा सकारात्मक सोच ल्याउन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा डा भगवान कोइरालाले देशको मुटु कुशल प्रशासन तन्त्र भएको र त्यसलाई जोगाउने कर्तव्य राजनीतिको हुने सुझाव दिनुभएको थियो । “प्रशासनले प्रभावशाली काम गर्ने वातावरण राजनीतिले दिने हो”, उहाँले भन्नुभयो ।

कार्यक्रममा भजन शिरोमणि भक्तराज आचार्यको सम्झनामा सङ्गीत प्रस्तुत गरिएको थियो । उहाँकै गीत ‘जहा छन् बुद्धका आँखा…’ पाका कलाकारले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, हास्य कलाकार मनोज गजुरेल र चन्द्र दवाडीले ‘सहिद गेट’ नामक नाट्य प्रस्तुत गर्नुभएको थियो । कवि अर्जुन पराजुलीको ‘मेरो देशमा’, र लक्ष्मण गाम्नागेको ‘लेख्न बाँकी एउटा कविता’ ले समसामयिक राजनीतिक एवं सामाजिक विसङ्गति माथि व्यङ्ग्य पोखेको थियो । उक्त कार्यक्रमको परिकल्पना टङ्क आचार्यले गर्नुभएको थियो ।

म्याग्दीमा सञ्चालित नि:शुल्क स्वास्थ्य शिविरबाट एक हजार सातसभन्दा बढी लाभान्वित

म्याग्दी (बेनी), २७ चैत: जिल्लाको मङ्गला गाउँपालिकाको बाबियाचौरमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार सातसभन्दा बढी लाभान्वित भएका छन् । काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा पालिकाले सोमबार विशेषज्ञ चिकित्सक सेवासहितको स्वास्थ्य शिविर आयोजना गरेको हो ।

शिविरमा इसिजी, इको, भिडियो एक्सरे मुटु, मिर्गौला, आँखा, नाककान, घाटी, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा, मानसिक रोग परीक्षण तथा आवश्यकताअनुसार औषधि पनि वितरण गरिएको थियो । शिविरमा महिला, बालबालिका, ज्येष्ठ नागरिकका साथै विपन्न वर्गका सदस्यले स्वास्थ्य परीक्षण गराएका गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

आगामी दिनमा पनि गाउँमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविर आयोजना गरिने प्रतिबद्धता अध्यक्ष रोकाले व्यक्त गर्नुभयो । जटिल रोग लागेका बिरामीलाई आगामी वैशाख १० गते काठमाडौंस्थित मेडिकल कलेजमा निःशुल्क उपचार गरिने कलेजका कार्यकारी अध्यक्ष डा सुनिलकुमार शर्माले थप उपचार गर्ने जानकारी दिनुभयो ।

नेपाल र भारतका सुरक्षाकर्मीले सफा गरे दशजगा सीमा क्षेत्रका फोहोरमैला

गोलबजार (सिरहा – सिरहाको बरयारपट्टी र भारतको लदनियाअन्तर्गतको सीमा नाकाको दशगजा क्षेत्रमा छरिएर रहेका फोहरमैला व्यवस्थापनका लागि दुवै देशका सुरक्षाकर्मी जुटेका छन् । सिरहाको सशस्त्र प्रहरी नं ७ गणका सशस्त्र प्रहरी निरीक्षक दिनेश वोम्जनको कमान्डमा खटिएको ३५ जनाको टोली, भारतीय सीमा सुरक्षा बललगायतले नेपाल प्रहरी बरियारपट्टीको दशगजा क्षेत्रमा जथाभावी फालेको फोहर सफा गरेको छ ।

दुवै देशका सुरक्षाकर्मीले बरियारपट्टी गाउँपालिका–३ स्थित सीमा पिलर २५६ देखि २५५÷३ सम्मको दशगजा क्षेत्र सरसफाइ गरी सङ्कलित फोहरमैला आगो लगाएर व्यवस्थापन गरेका हुन् । सीमा पिलर वरिपरि पलाएको झार तथा बुट्यान पनि काटेर सफा गरिएको छ ।

सरसफाइसँगै सीमा वारपार हुने अपराध क्रियाकलाप नियन्त्रण गर्ने छलफलसँगै र स्थानीय गुनासो बुझ्न यो कार्य भएको सिरहाको सशस्त्र प्रहरी नं ७ गणका सशस्त्र प्रहरी उपरीक्षक शिवप्रसाद गैह्ररी जानकारी दिनुभयो ।

विहार लदनियाँका राजदेव यादवले दशजगा क्षेत्रमा भएको सरसफाइको यो दृश्यले दुई देशका नागरिक र सुरक्षाकर्मीबीच सम्बन्ध प्रगाढ हुने बताउनुभयो । उहाँले यस्ता गतिविधिले निरन्तरता पाएमा सीमा सुरक्षा व्यवस्थापन थप सहज हुने बताउनुभयो ।

सरसफाइ कार्यक्रममा सशस्त्र प्रहरी विओपी बरियारपट्टीका सशस्त्र प्रहरी निरीक्षक नवराज खत्री, इलाका प्रहरी कार्यालय बरियारपट्टीका प्रहरी नायब निरीक्षक सञ्जीव साह, भारतीय सुरक्षा बल (एसएसबी) ४१ बटालियन लदनियाँ कमाण्डर गान्धी राम, बजार व्यवस्थापन समितिका अम्बे यादवलगायत स्थानीय सरसफाइमा सहभागी हुनुहुन्थ्यो ।

ट्रम्पद्वारा राष्ट्रिय गर्भपतन प्रतिबन्धनलाई समर्थन गर्न अस्वीकार

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले महिनौँको मिश्रित तथा अडकलहरूपछि आफ्नो स्थितिको रूपरेखा प्रस्तुत गर्दै सोमबार बिहान जारी भिडियोमा गर्भपतनबारे निर्णय गर्न राज्यहरूलाई छाड्नुपर्ने बताउनुभएको छ ।

“धेरै मानिसले मलाई गर्भपतन र गर्भपतनको अधिकारमा मेरो स्थिति के हो भनेर सोधेका छन्”, ट्रुथ सोसल साइटमा पोस्ट गरिएको भिडियोमा ट्रम्पले भन्नुभएको छ, “मेरो विचारमा सबैले कानूनी दृष्टिकोणले गर्भपतन चाहेका छन् र यो राज्यहरूले गर्नेछन्, भोट वा कानून वा सम्भवतः दुवैबाट निर्धारण गरियोस् र तिनीहरूले जस्तो निर्णय गर्छन् त्यो यस अवस्थामा राज्यको वा भूमिको कानून हुनुपर्छ ।”

भिडियोमा उहाँले गर्भावस्थाका क्रममा गर्भपतनमाथि प्रतिबन्ध लगाउनुपर्छ भन्नेबारेमा बताउनुभएन । उहाँले नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनअघि डेमोक्रेटको आह्वानका रूपमा प्रयोग गरिएको गर्भपतनको निर्दिष्ट सीमाको समर्थन गर्न अस्वीकार गर्नुभयो ।

यद्यपि ट्रम्पको उलझनपूर्ण दृष्टिकोणको अनुमोदनले उहाँलाई सबैभन्दा कडा प्रस्तावित राज्य कानूनमा संलग्न हुन खुला छाडेको छ । यसमा राष्ट्रपति जो बाइडेन र उहाँको पुनरमिलन अभियानले पहिलादेखि नै काम गरिरहेको छ ।

भिडियोमा उहाँले रो विरुद्ध वेडको समाप्त गर्ने अमेरिकी सर्वोच्च अदालतको फैसलाको श्रेय फेरि लिनुभयो र संवैधानिक अधिकारको ‘समाप्तिका लागि जिम्मेबार व्यक्ति’ भएको र यसलाई उल्ट्याउने कन्जरभेटिभ न्यायाधीशहरूलाई धन्यवाद दिनुभयो ।

कास्कीका तीन पालिकामा आज ट्होटेँको बिदा

कास्की यहाँका तीन स्थानीय तहले तमु(गुरुङ) जातिको मौलिक एवं परम्परागत पर्व ट्होटेँका अवसरमा मङ्गलबार स्थानीय बिदा दिएका छन् ।

जिल्लाका मादी, अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकामा बिदा दिइएको हो । गाउँ कार्यपालिका कार्यालय, मातहतका वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द हुने पालिकाले जनाएका हुन् । स्थानीय तहले सूचना प्रकाशित गरी बिदा दिँदै ट्होटेँको शुभकामनासमेत दिएका छन् ।

गुरुङ समुदायले प्रत्येक वर्ष चैत र साउन महिनाको अन्तिम मङ्गलबार सडकमा निस्केर धुमधामका साथ ट्होटेँ पर्व मनाउँदै आएका छन् । गुरुङ भाषामा ‘ट्हो’ भनेको राज्य र ‘ट’े भनेको धपाउने अर्थात् राज्यबाट शत्रुलाई लखेट्ने भन्ने बुझिन्छ । विशेष गरी गण्डकी प्रदेशका कास्की, लमजुङ, तनहुँ, स्याङजा, पर्वत लगायतका जिल्लामा बस्ने गुरुङले आफ्नो ऐतिहासिक एवं ठूलो सांस्कृतिक चाडका रुपमा ट्होटेँ मनाउने गर्दछन् ।

यसैबीच तमुधिँ नेपालले पोखरामा धुमधामका साथ ट्होटेँ पर्व मनाउने तयारी गरेको छ । तमुधिँका अध्यक्ष हुमबहादुर तमुले पर्वका अवसरमा पोखरामा विगतका वर्षमा झै यस वर्ष पनि बाजागाजा, झाँकीसहित पोखरा नयाँबजारबाट ¥याली निकालिने र सभागृहमा समारोह आयोजना गरिएको जानकारी दिनुभयो ।

मटिहानीमा भरत फर्निचर उद्योगमा आगलागी हुँदा ३५ लाखभन्दा बढीको धनमाल नष्ट

महोत्तरी, २७ चैत : जिल्लाको मटिहानी–८ स्थित एक उद्योगमा गए राति आगलागी हुँदा लाखौँको क्षति भएको छ । मटिहानीबजारमा सञ्चालित दुःखमोचन ठाकुरको भरत फर्निचर उद्योगमा आगलागी हुँदा रु ३५ लाखभन्दा बढीको धनमाल नष्ट भएको हो ।

सोमबार राति १० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । आगलागीबाट फर्निचर र उद्योगका कच्चा पदार्थ क्षति भएको छ । आगो मटिहानी नगरपालिकाको वारुणयन्त्र, स्थानीय बासिन्दा, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको सहयोगमा निभाइएको थियो ।

हेर्नुहोस् चैत २७ गते मंगलवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेकोछ । नयाँकार्य थालनिको योग रहेकोछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । ब्यपार ब्यवसायमा समय उत्तम रहनेछ । दाम्पत्य सम्बन्धमा सुधार रहनेछ । प्रतिश्पर्दा जन्य कार्यमा समय उत्तम रहेकोछ । अधुराकार्यहरु सुचारु गर्न समयले बिशेष साथ दिनेछ ।

बृष राशि- खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा साबधान रहनु होला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक झमेलामा फस्न सकिने सम्भाबना रहेकोछ । सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ने दिन रहेकोछ ।

मीथुन राशि – प्रतिस्पर्दामा अबल रहीनेछ । आय मुलक कार्यको थालनि हुनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएको समय उत्तम साबित रहने योग रहेकोछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ ।

कर्कट राशि – परीश्रमको उचित मुल््याङ्कन नहुनाले मनमा खिन्नताले बास गर्नेछ । मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । पारीवारको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ ।

सिंह राशि – आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । पराक्रममा बृद्धि हुनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । धार्मिक क्षेत्रको यात्रामा समय ब्यतित रहनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ ।

कन्या राशि- वाणीका कारण सामान्य वादविवाद आईपर्न सक्नेछ । नजिकका साथी भाईहरु सगँ सामान्य मनमुटाब हुन सक्नेछ । शारिरीक अस्वस्थाको सामना गर्नु पर्ला । गरीरहेको कार्य क्षेत्र परिर्वतनको सम्भाबना रहेकोछ । मनमा चन्चलताले बास गर्नाले सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ ।

तुला राशि – मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । ब्यापार ब्यवसायमा साजेदारी नगरेकै बेशहुनेछ । शारीरिक आलस्यताले सताउनेछ ।

बृश्चिक राशि – यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । घर परिवार बाटँ टाढाँ भएको अनुभूति हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा अघिनबढ्नु होला ।

धनु राशि – प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । बिद्यार्थी बर्गका लागी दिन उत्तम रहनेछ । रचनात्मक कार्यको क्षेत्रबाट आफुलाई अब्बल तुल्याउन सकिने समय रहेकोछ ।

मकर राशि – पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । प्रतिक्षा गरीएको कार्यको उत्तम प्रतिफल प्राप्तहुनाले मन हर्षित रहनेछ ।

कुम्भ राशि – निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । मित्रजनहरुको अधिक निकटता सामान्य झन्झटीलो साबित हुन सक्नेछ ।

मिन राशि – बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । स्थीर क्षेत्रमा गरीएको लगानिको उत्तम प्रतिफल प्राप्त रहनेछ ।

क्यानाडाको ओटावामा आयोजित यात्रासम्बन्धी प्रदर्शनीमा नेपाल सहभागी

काठमाडौँ, २७ चैत : देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र २५ गते आयोजित यात्रासम्बन्धी प्रदर्शनीमा नेपाल सहभागी भएको छ ।
प्रदर्शनीमा नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी विविध सामग्री समावेश गरिएको थियो । प्रदर्शनीस्थलमा आएका जिज्ञासुहरूलाई ती सामग्री वितरण पनि गरिएको ओटावास्थित नेपालको राजदूतावासले जनाएको छ ।

प्रदर्शनीमा नेपालको पर्यटनबारे जानकारी दिने प्रवर्द्धनात्मक भिडियो प्रस्तुत गरिएको थियो भने नेपालबाट निर्यात हुने चिया, कफी, पस्मिनाका सल, हस्तकलाका सामग्री राखिएका थिए । प्रदर्शनीमा नेपालको विविधता झल्कने सांस्कृतिक एवं कलात्मक प्रस्तुति पनि समावेश गरिएको थियो ।

नेपालको प्रदर्शनीस्थलमा आएका धेरै आगन्तुकले नेपालका पर्यटकीय गन्तव्य, भ्रमण गर्ने उपयुक्त समय, नेपालको मौसम एवं तापक्रम र यहाँको भ्रमण गर्न उपयुक्त हुने यातायातका साधनबारे पनि जानकारी लिएका थिए ।

प्रदर्शनीमा यात्रा व्यवस्थापन गर्ने निकाय, होटल व्यवसायी, विमान कम्पनी, विभिन्न देशका यात्रा प्रवर्द्धक कम्पनी, ओटावास्थित विभिन्न देशका राजदूतावासले आफ्नो मुलुकका पर्यटकीय गन्तव्य एवं अन्य उत्पादनबारे सामग्री प्रस्तुत गरेका उक्त दूतावासले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

मर्स्याङ्दी नदीमा व्यावसायिक रुपमा जलविहार सुरु

दमौली (तनहुँ-तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी नदीमा व्यावसायिक रुपमा जलविहार सुरु गरिएको छ । गाउँपालिकाको सक्रियतामा यहाँ व्यावसायिक रुपमा जलविहार सुरु गरिएको हो ।

यसअघि चैत ५ गते सम्भाव्यता अध्ययनपछि जलविहारका लागि यस ठाउँ उपयुक्त देखिएकाले व्यावसायिक रुपमा जलविहार सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । गाउँपालिकाले एस्केप्याड नेपालसँगको सहकार्यमा जलविहार सुरु गरेको हो ।

पर्यटनमार्फत गाउँपालिकाको प्रचारप्रसार र समृद्धिका लागि मस्र्याङ्दीमा ¥याफ्टिङ सञ्चालन गरिएको उहाँको भनाइ छ । चुमानले भन्नुभयो, “मस्र्याङ्दीमा व्यावसायिक रुपमा ¥याफ्टिङ सञ्चालन गर्नका लागि गाइड ल्याएर सम्भाव्यता अध्ययन गर्दा सफल भयो । अब यसलाई व्यावसायिक रुपमा सञ्चालन गरेका छौँ ।”एस्केप्याड नेपालका सिनियर प्रशिक्षक सुमन थापाको नेतृत्वमा मस्र्याङ्दीमा ¥याफ्टिङको अध्ययन गरिएको थियो । प्रशिक्षक सुमन थापाले मर्स्याङ्दी नदी ¥याफ्टिङका लागि उपयुक्त रहेको बताउनुभयो । आँबुखैरेनी–४ देखि मुग्लिन पुलसम्मको दूरीमा जलविहार मात्रै गर्न रु एक हजार शुल्क तोकिएको छ ।

गाउँपालिकाले मस्र्याङ्दी जलविद्युत् आयोजनाको जलाशयमा मोटरबोट सञ्चालनको तयारी गरेको छ । वडा नम्बर १ र २ स्थित तल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाको जलाशयमा मोटरबोट तथा पर्यापर्यटन कार्य सञ्चालनमा गाउँपालिका जुटेको हो । गण्डकी प्रदेशको प्रवेशद्वारमा अवस्थित उक्त ठाउँमा पर्यटक भित्र्याउँदै पर्यटन प्रवर्द्धनका लागि यो काम गर्न लागिएको अध्यक्ष चुमानको भनाइ छ । चुमानले भन्नुभयो, “जलाशयमा मोटरबोट सञ्चालन गर्न सकिए यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्न सक्छ । पृथ्वीराजमार्ग हुँदै यात्रा गर्नेहरुलाई यस ठाउँमा रोक्न सकिन्छ ।”

मोटरबोट सञ्चालन गरी स्थानीयवासीको जीविकोपार्जनमा सहयोग पु¥याउने लक्ष्य राखिएको अध्यक्ष चुमानले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ वैशाख २ गतेदेखि मोटरबोट शुभारम्भ हुँदैछ । त्यसका लागि ऊर्जामन्त्रीलाई आमन्त्रण गरिसकिएको छ ।”