कृषि क्षेत्रको प्रवर्द्धनबाटै देश विकास हुन्छ : अध्यक्ष दाहाल
मोरङ, २९ भदौः पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृषि क्षेत्रको प्रवर्द्धनबाटै देशको विकास हुने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशले मोरङको कटहरीमा आयोजना गरेको ‘कृषि एक्स्पो’ को आज अवलोकन गर्दै उहाँले कृषिमा निजी क्षेत्रको लगानीबाट मुलुक आत्मनिर्भर निर्यात हुनाका साथै निर्यात गर्न सक्षम हुने धारणा राख्नुभयो ।
पूर्वप्रधानमन्त्री दाहालले यस किसिमका आयोजनाले कृषि क्षेत्रको उन्नयनका लागि सहयोग पुग्ने बताउनुभयो । उहाँले कृषिमा आश्रित किसानको जीवनस्तर सुधार गर्न यान्त्रिकीकरण र आधुनिक प्रविधि अपनाउन आवश्यक रहेको विचार राख्नुभयो । उहाँले भन्नुभयो, “हामी सरकारमा छँदा कृषि क्षेत्रको समग्र विकासका लागि प्रयास गरेका हौँ र अब पनि प्रयास गरिरहने छौँ ।”
सो अवसरमा अध्यक्ष दाहालले एक्स्पोमा राखिएका स्टलका बारेमा जानकारी लिँदै महासङ्घ प्रतिनिधिहरूसँग कृषि क्षेत्रको उत्पादन वृद्धि गर्ने सम्बन्धमा छलफल गर्नुभएको थियो ।
महासङ्घका कोशी अध्यक्ष राजेन्द्र राउतले प्रदेशका किसान, उद्यमी र लगानीकर्तालाई एकै थलोमा एक्स्पोमार्फत भेला पारिएको बताउनुभयो । उहाँले कृषि क्षेत्रका समस्या पहिचान गरी समाधानका उपाय खोज्न र अबका योजना पहिल्याउन एक्स्पो सहयोगी धारणा राख्नुभयो ।
