`

रुस हमलामा आइएसको हात छ, फ्रान्सलाई पनि निशाना बनाएको छ– म्याक्रोन

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमबार फ्रान्ससँग इस्लामिक स्टेट (आइएस) ले शुक्रबार मस्को कन्सर्ट हलमा हमला गरेको जानकारी रहेको बताउनुभएको छ । उहाँले युक्रेनमाथि हमलाको आरोप लगाएर यसको फाइदा नउठाउन रुसलाई चेतावनी दिनुभएको छ ।

“इस्लामिक स्टेटको एउटा एकाइले हमलाको योजना बनाएर कार्यान्वयन गरेको फ्रान्ससँग जासुसी जानकारी छ”, फ्रान्सेली दक्षिण अमेरिकी क्षेत्र फ्रेन्च गुयानाको भ्रमणमा आइपुगेपछि म्याक्रोनले पत्रकारहरूसँग भन्नुभयो, “यो विशेष समूहले हाम्रो मुलुकमा हमलाका धेरै प्रयास गरेको छ ।”

यद्यपि उहाँले रुसलाई आक्रमणको कुनै पनि ‘शोषण’ विरुद्ध चेतावनी दिँदै भन्नुभयो, “यस सन्दर्भलाई युक्रेनविरुद्ध प्रयोग गर्ने प्रयास गर्नु निन्दनीय र प्रत्युत्पादक हुनेछ ।”

आइएसले मस्कोमा शुक्रबार साँझ भएको हमलाको जिम्मेबारी लिएको छ । आक्रमणमा एक सय ३७ जनाको ज्यान गएको थियो । यद्यपि मस्कोले आइएसको दाबीप्रति टिप्पणी गर्न अस्वीकार गरेको छ । सुरक्षा सेवा र राष्ट्रपति भ्लादिमिर पुटिनले अपराधीहरू आफ्नो प्रतिद्वन्द्वी किएभसँग जोडिएको हुनसक्ने बताउनुभएको छ ।

रुसी सेवाहरूलाई पेरिसले ‘बढाएको सहयोग’ को प्रस्ताव गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार पुटिनसँग प्रत्यक्ष वार्ताको सट्टा ‘प्राविधिक तथा मन्त्रिस्तरीय स्तर’ मा सम्पर्क हुनेछ ।

सन् २०२२ मा युक्रेनमाथि आक्रमणबारे पुटिनसँग कुराकानी गर्नका लागि सिलसिलेवार फोन गर्ने प्रयासयता फ्रान्सेली राष्ट्रपति म्याक्रोनले पुटिनसँग कुराकानी गर्नुभएको छैन । “सन्दर्भ कसरी विकसित हुनेछ र आउने दिन वा सातामा यसलाई उचित ठहर्याइन्छ वा ठहर्याइँदैन, हामी हेर्नेछौँ”, म्याक्रोनले व्यक्तिगत कुराकानीमा भन्नुभयो ।

ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुलाउन सुरक्षा योजनाबारे छलफल

काठमाडौं, १२ चैत : मुलुकको सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुलाउनका लागि आवश्यक सुरक्षा योजनाबारे छलफल भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारीबारे सम्बन्धित निकाय तथा व्यवसायीसँग छलफल गरिएको हो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउन निर्देशन दिएसँगै काठमाडौँका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले छलफल सुरु गर्नुभएको हो । ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुला राख्नका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाइसकेको जनाइएको छ ।

छलफलमा बोल्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारी भइरहेको बताउनुभयो । “सुरक्षाको पूर्ण प्रत्याभूति दिने र बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप एकीकृत योजना बनाएर कार्यान्वयन गर्छाैँ,” उहाँले भन्नुभयो ।

उहाँले व्यापार व्यवसाय सञ्चालनका लागि व्यवसायी र स्थानीयबासी सम्मिलित बजार व्यवस्थापन समिति बनाउने वा भएका समितिलाई जिम्मेवारी दिने बताउनुभयो । व्यवसायीले वस्तु तथा सेवामा दिउँसो र रातिको मूल्य फरक बनाउन नपाउने उहाँको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले अहिलेको भन्दा आपराधिक क्रियाकलाप बढ्नसक्ने अनुमानका आधारमा सोहीअनुसारको सुरक्षा प्रणाली विकास गरिने उल्लेख गर्नुभयो । व्यवसायीले आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन् हुनेगरी ध्वनि प्रदूषण गर्न नपाउने उहाँको भनाइ थियो ।

छलफलमा ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले लामो समयदेखि ठमेलमा २४ सै घण्टा व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग परिषद्ले राख्दै आएको बताउनुभयो । “परिषद्ले ठमेललाई कसरी व्यवस्थित र अपराधमुक्त बनाएर सञ्चालन गर्न सकिन्छ भन्ने बारेमा पटकपटक सम्बन्धित निकायसँग छलफल गर्दै आएको छ,” उहाँले भन्नुभयो ।

दरबारमार्ग विकास बोर्डका कोषाध्यक्ष सञ्जय अधिकारीले दरबार मार्गलाई २४ सै घण्टा खुला गर्न हरेक हिसावले उपयुक्त भएको बताउनुभयो । दरबार मार्गलाई २४ सै घण्टा खुला गरी ‘नाइट वाक’ क्षेत्र बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

चितवनमा एक लाख ९३ हजार बालबालिकाले लगाए दादुरा–रुवेला खोप

चितवन १२ चैत : जिल्लाका एक लाख ९३ हजार तीन सय ७४ बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लामा दिएको लक्ष्यभन्दा ३३ हजार बढी बालबालिकाले खोप लगाएका हुन् ।

जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी इन्द्रमणि भण्डारीका अनुसार केन्द्रले जिल्लामा रहेका १ लाख ६० हजार ४९४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य दिईएको थियो । उहाँका अनुसार केन्द्रको लक्ष्यभन्दा २० दशमलब ५ प्रतिशत बढी बालबालिकाले खोप लगाएका हुन । गत फागुन १३ गतेदेखि चैत ७ गतेसम्म सञ्चालित खोप अभिायनका क्रममा जिल्लाका सात पालिकामा नौ महिना देखि १५ वर्षसम्मका बालबालिकाहरुलाई खोप लगाइएको थियो ।

उहाँका अनुसार छ सय ४६ खोप केन्द्रबाट उनीहरुलाई खोप दिइएको हो । अभियानकै क्रममा नियमित खोप छुटेका २ सय हाराहारी बालबालिकालाई छुट खोप दिइएको छ । अभियानमा एक हजार छ सय स्वास्थ्यकर्मी र दुई हजार दुई सय स्वंयसेवक परिचालन गरिएको थियो । अभियानलाई दुई चरणमा विभाजन गरेर सञ्चालन गरिएको थियो । जिल्लामा विसं २०७९ मङ्सिर ३ गतेदेखि २०८० पुस १५ गतेसम्म ५२ जनामा दादुरा रुवेला रोगको सङ्क्रमण देखिएको थियो ।

सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढेको छ : अध्यक्ष नेपाल

धुलिखेल, १२ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढिरहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेपलाञ्चोकको १०औँ अधिवेशनबाट नवनिर्वाचित कमिटीको पदस्थापना कार्यक्रममा बोल्दै उहाँले स्वच्छ छवि भएर भ्रष्टाचारमुक्त भएर जनताको सेवामा कसरी काम गर्ने भन्ने विषयमा केन्द्रित भएर अगाडि बढेको उहाँले बताउनुभयो ।

नेपालको कम्युनिष्ट पार्टी एकताबद्ध हुन आवश्यक रहेको बताउँदै उहाँले परिस्थिति अनुकुल र सबैमा त्यही ढङ्गको सोच र विकास हुन आवश्यक रहेको बताउनुभयो । आज विहान मात्रै एमाले अध्यक्ष केपी ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी) बाट आपूmबीच भेट भएर आपसी सम्बन्धको बारेमा छलफल भएको र त्यसले उपनिर्वाचनको विषयसमेतमा छलफल गरी कसरी अगाडि बढ्ने भन्ने विषयमा सल्लाह भएको उहाँले बताउनुभयो ।

पार्टीका केन्द्रीय उपमहासचिव डा गङ्गालाल तुलाधरले जनताको घर–घरमा पुगेर पार्टीको बारेमा प्रचार गर्न र पार्टी निर्माणको काममा जुट्न निर्देशन दिनुभयो । त्यसका लागि जिल्लाका सबै पालिकामा सन्देश सभाको आयोजना गरेर अगाडि बढ्न निर्देशन दिनुभयो ।

पार्टीका बागमती प्रदेश कमिटीका अध्यक्ष सावित्रा भुसालले निर्वाचित पदाधिकारी र सदस्यले आफुले प्राप्त गरेको जिम्मेवारीलाई पूर्णरुपमा निर्वाह गर्दै पार्टी कमिटी मजबुद बनाउने अभियानमा लाग्न आग्रह गर्नुभयो ।

पार्टीको १०औँ जिल्ला अधिवेशनबाट बसुन्धरा हुमागाईंको अध्यक्षतामा उपाध्यक्षद्वय रघुवर चौप्रधान र पासाङ डोल्मो लामा, सचिवमा गोकुल गौतम र उपसचिवमा हरिगोपाल प्रधानाङ्ग, कृष्णबहादुर तामाङ र भेषराज शाहलगायत भूगोल, खुला, अल्प सङ्ख्यक, दलित र अपाङ्गतातर्फ गरी ५७ सदस्यीय समिति निर्वाचित भएको थियो ।

भ्रष्टाचार अभियोगमा कार्यालय प्रमुखलगायतका व्यक्ति विरुद्ध मुद्दा दायर

काठमाडौँ, १२ चैत ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा सुनिलकुमार यादवलगायतका व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका–९ गोइयाहीमा सञ्चालित आम्रपाली सहकारी संस्थालाई भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मलङ्गवा सर्लाहीबाट आर्थिक वर्ष २०७५÷०७६ मा कृषि सेड निर्माणका लागि उपलब्ध सरकारी बजेटमा भ्रष्टाचार भएको पाइएको छ ।

फिल्डमा भएको कार्यभन्दा बढीको मूल्यांकन गराई रु नौ लाख ७७ हजार १६ बराबरको भ्रष्टाचार भएको अभियोगमा निमित्त कार्यालय प्रमुख यादवलाई बिगो बमोजिमको कारवाहीको माग गरिएको छ । यस्तै तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्र महत्तो कोइरी विरुद्ध पनि समान बिगो दावी गरिएको छ । चक्रघट्टा गाउँपालिका–९ का तत्कालीन वडा अध्यक्ष रामईश्वर ठाकुर, आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष मृगेन्द्रप्रसाद यादव, उपाध्यक्ष जयनारायण राय, व्यवस्थापक जयनन्दन राय यादव विरुद्ध पनि रु नौ लाख ७७ हजार १६ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

पोर्चुगलमा राहदानी सेवा सुरु

लिस्बन (पोर्चुगल), १२ चैतः राहदानी सेवा प्रदान गर्नका लागि फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आइपुगेको छ ।विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न दूतावासका नियोग उपप्रमुख सीता बस्नेत नेतृत्वको टोली राजधानी लिस्बन आइपुगेको हो । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा दूतावासको टोलीले लिस्बनमा इनरोलमेन्ट सेन्टरको स्थापना गरी आइतबारबाटै राहदानी सेवा दिन शुरुआत गरेको छ ।आइतबार पहिलो दिन राहदानीको म्याद सकिसकेका, क्षति भएका, राहदानी हराएका, पोर्चुगलको अध्यागमन निकाय (आइमा) मा बायोमेट्रिकका लागि समय लिइसकेका र पोर्चुगलमा जन्मेका बालबालिकाका गरी ५४ जनाको विद्युतीय राहदानीका लागि जैविक तथ्याङ्क संकलन गरिएको टोलीले जनाएको छ ।

टोलीले राहदानी हराएका, क्षति भएका, २०२३ डिसेम्बर ३१ सम्म म्याद सकिएका, पोर्चुगलको अध्यागमन निकाय (आइमा) मा २०२४ अप्रिल ३० सम्म बायोमेट्रिकका लागि समय लिइसकेका तथा पोर्चुगलमा जन्मेका बालबालिकाको प्राथमिकताका आधारमा विद्युतीय राहदानीका लागि जैविक तथ्यांक संकलन गर्ने टोली प्रमुख एवं नेपाली दूतावास, फ्रान्सका नियोग उपप्रमुख बस्नेतले जानकारी दिनुभयो ।
शिविर अवधिभर दैनिक एक सय जनाका दरले सात सय जनाको विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलनको लक्ष्य रहेको बस्नेतले बताउनुभयो । टोलीले प्राथमिकताका आधारमा जैविक तथ्याङ्क सङ्कलनका लागि आवेदकको नामावली प्रकाशित गर्ने जनाउँदै उहाँले सोही बमोजिम इनरोलमेन्ट सेन्टरमा उपस्थित हुन सेवाग्राही आवेदकलाई आग्रह समेत गर्नुभएको छ ।

पोर्चुगलमा राहदानीबिहीन बनेका, राहदानी नभएकै कारण समस्यामा परेका र पोर्चुगलको अध्यागमन निकाय (आइमा) मा बायोमेट्रिकको समय लिएका लगायत राहदानीको अत्यावश्यक परेकाका लागि तत्कालको राहतका लागि दूतावासले शिविरको ब्यबस्था गरेको हो । एक सातासम्म सञ्चालन हुने राहदानी सेवा शिविरमा गैर आवासीय नेपाली सङ्घ पोर्चुगलसहित यहाँ क्रियाशील नेपाली संघ–संस्थाले समन्वय र सहजीकरण गरेका छन् ।
टोलीले आगामी मार्च ३१ सम्म राजधानी लिस्बनमा रहेर राहदानी सेवा प्रवाह गर्ने जनाएको छ । गत वर्ष पनि फ्रान्सस्थित नेपाली दूतावास र राहदानी विभाग काठमाडौँको टोली आएर राजधानी लिस्बनमा करिब एक महिनासम्म राहदानीसम्बन्धी सेवा प्रदान गरेको थियो ।

राना थारु होलीको मौलिकता हराउँदै

कञ्चनपुर, १२ चैत : राना थारु समुदायका अगुवा शुक्लाफाँटा नगरपाालिका–४ असैनाका सुग्रीव राना होलीको मौलिकता हराउँदै जान थालेकोमा निकै चिन्तित छन् । राना थारु समुदायको महत्वपूर्ण पर्व नै होली भएकाले यस पर्वलाई आधुनिक तरिकाले पस्किने चलनको अन्त्य हुनुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

“होलीको परम्परागत शैलीलाई जीवन्त राख्नका लागि राना थारु समुदायका अगुवाले अगाडि सर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “पहिला जुन विधिमा होलीको संस्कृति चल्थ्यो, त्यसलाई बचाइ राख्न सके मात्रै संस्कृति जोगिन्छ, राना थारु भएको कुरा चिनाउने नै फरक संस्कृति र संस्कार हो, त्यो भएन भने पहिचान नै गुम्छ ।”

उहाँका अनुसार पहिला होली गाउँमा मात्रै सीमित रहने गरेको थियो । प्रत्येकको घरमा परम्परागत चलनअनुसार खेलिन्थ्यो । जसको घरमा होली खेलिन्थ्यो, रमाउँदै त्यही घरमा पाकेको खानेकुरा खाएर चित्त बुझाउनु पर्दथ्यो ।

होलीमा सगुनका रुपमा गुड भेली दिने चलन थियो । केहीले फगुवाका रुपमा पैसा पनि दिन्थे । हुनेखाने परिवारले दाल, भातसँगै मासु पनि खुवाउँथे । आर्थिक अवस्था कमजोर हुनेले गच्छेअनुसार दाल भात खुवाएर पठाउँथे । “हाल होली खेल्न गाउँमा मात्रै सीमित नभएर बजार क्षेत्रमा पुगेर खेल्ने गरिन्छ”, उहाँले भन्नुभयो, “त्यो राना थारु समुदायको चलनभित्र पर्दैन, पैसा कमाउने धन्दाका रुपमा होलीलाई लिन थालिएको छ, त्यसले होलीको मौलिकता पनि खस्कँदै गएको छ, पुराना गीतको ठाउँमा नयाँ गीतले स्थान लिएको छ, कम्मर मर्काउँदै नाच्ने कार्य पहिला हुँदैनथ्यो, अहिले देखासिखिमै होलीलाई विकृत पार्न खोजिएको छ ।”

पहिलेको र अहिलेको होलीमा धेरै फरक आएको शुक्लाफाँटा नगरपालिका–६ का पूर्व वडाध्यक्ष जगता रानाले बताउनुभयो । “पहिला सादा होली खेलिन्थ्यो” उहाँले भन्नुभयो, “हाल आधुनिक (कलाकार) होली खेल्न थालिएको छ, यस कार्यले संस्कृतिलाई धमिल्याउन थालेको छ ।” परम्परागत पहिरन लगाएर पहिला गाउँमा होली खेलेको सम्झना ५५ वर्षीय सवादा रानालाई छ ।

घघँरिया, अँगिया, फतुई, उढनीया लगायतका आकर्षक तरिकाले घरमै हातले बुनेका कपडा पहिरन लगाएसँगै शिरदेखि पाउसम्म छपक्कै ढाकिने गहना लगाउने चलन रहेको उहाँले बताउनुभयो । होलीमा सहभागी हुने महिलाले कपालमा चाँदीको चाँपी, कानमा वीर, नक्बेसर, नाकमा नथुनी, घाँटीमा चाँदीको पैसाले बेरेको कालो धागो, त्यसको तल, कठुला, त्यसपछि हसुला, सकरगरेला र हाल लगाउने गर्दथे । पाखुरामा लगौरा, नाडीमा पहुँची, औंँलामा कलात्मक औंँठी, कम्मरमा सिक्रीवाला कैँधनी, पैंतलामाथि ढुन्नी, ढुन्नीको तल पैँडा र पायल लगाउने गर्दथे । गर्धनमा कण्ठ, गरिया र घिच्ची लगाउने गर्दथे ।

“टाउकामा उढनिया, गलामा हार र कण्ठसिरीमाला, छातीमा फतुई, करेहाओमा घँघरिया र खुट्टामा पैणा लगाएको महिलालाई त्यति बेलाको समाजमा उच्च सम्मान गरिन्थ्यो”, उहाँले भन्नुभयो, “त्यस्तो पहिरन र गहना लगाउने महिलालाई सभ्य र संस्कारयुक्त भएको महिलाका रुपमा चित्रण गरिन्थ्यो ।”

हाल ती गहना थोरै महिलासँग मात्रै रहेका छन् । धेरैले आधुनिक बजारमा चलनचल्तीमा रहेका गहना लगाउने कार्यले पुराना गहनाको महत्व घट्दै गएको उहाँको भनाइ छ । पुराना गहना बनाउने कारिगर पाउन मुस्किल छ । राना थारु समुदायका पुरुषले झगिया, फेटा र हातमा बिल्ला लिएर होली खेल्ने गर्दथे । हाल पुराना पहिरन, गहना हराउँदै गएको रतनला रानाले बताउनुभयो । “पुरुषले लगाउने पुरानो पहिरन लगाउँनै छाडेका छन्”, उहाँले भन्नुभयो, “जनचेतनामा जोड दिन थालिएपछि विगतमा हराउँदै जान थालेको महिलाका पहिरन जोगाउन भने हालसम्म सकिएको छ ।”

कसरौला गाउँका ७० वर्षीय चन्द्रसेन रानाका अनुसार माघ शुक्लपूर्णिका दिनदेखि होलीको प्रतीक राखेर होली प्रारम्भ गर्ने गरिन्छ । प्रतीक स्थापना गरेको एक महिनासम्म रातिका बेला महिला पुरुषले भगवान्का कथालाई होली गीतमा ढाल्दै गाउने गरिन्छ । त्यो क्रम फागुन शुक्ल पक्षको पूर्णिमासम्म रहन्छ ।

गाउँको दक्षिणी पूर्वतर्फ स्थापना गरिएको होलीका पूर्णिमाको दिन दहन गरिन्छ । एक महिनासम्म रातिका बेला खेलिनेलाई जीउँदो होली भन्ने गरिन्छ । होलिका जलाएको भोलिपल्ट खरानीको टिका लगाउने गरिन्छ । त्योभन्दा अगाडि टिका नलाग्ने चलन राना थारु समुदायमा रहेको चन्द्रसेनले बताउनुभयो । त्यसै दिनदेखि सात दिनसम्म मरेकी होली खेलिन्छ । आठौं दिनको बेलुका खखडेहरा खेलिन्छ ।

“यस क्रममा होलीलाई बृन्दावन, मथुरामा पठाउने कार्य गरिन्छ”, उहाँले भन्नुभयो, “खप्टा, घल्ला, घोडाको माटोका प्रतिमालाई फोडने कार्य गरिन्छ ।” फोड्ने कार्यमा गाउँका अगुवा भलमन्सा, गुरुवालगायत मात्रै जाने चलन रहेको छ । यसो गरेपछि दुष्ट आत्मा गाउँमा प्रवेश नगर्ने भनाइ थारु समुदायका बुढापाकाको छ । फोड्ने कार्य गरेर घर फर्कँदा पछाडि फर्केर भने हेर्नुहँुदैन । हेरे दुष्टात्मा पुनः गाउँ फर्कने विश्वास छ ।

पुरुषको होली त्यसै बेलादेखि सकिन्छ भने महिलाको होली चैत चराईमा पठाइने गरिन्छ । होली प्रारम्भ गर्दा, होली जलाउने बेला, साँझ, राति, दिउँसो गरी फरकफरक समयमा फरकफरक होलीका गीतहरु गाइने गरिन्छ । होलीमा गीतको सुरुवात गर्ने (अगुवाई गर्ने) महिलालाई मोढी भन्ने गरिन्छ ।

मोढीको सिको गर्दै गीत गाउनेलाई पिछडिया भन्ने गरिन्छ । होलीमा ढोलक बनाउनेलाई ढोलिया भनिन्छ । पुराना होलीका गीतलाई लिपिबद्ध गर्ने कार्य नहुँदा हराउँदै जान थालेकोप्रति राना थारु समुदायका बुढापाकाले चिन्ता जाहेर गरेका छन् ।

वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति सुरु

काठमाडौँ, १२ चैत : पर्यटन विभागले वसन्त ऋतुको हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरेको छ । यसवर्ष सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको विभागले जनाएको छ ।

विमागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार आजसम्म विभिन्न चार हिमाल आरोहणका लागि ३३ जनाले आरोहण अनुमति लिएका छन् । जसमध्ये अमादब्लङमा तीन, हिमलुङका लागि पाँच, जुगलमा एक र अन्नपूर्ण हिमालमा २४ आरोही छन् । सगरमाथा आरोहणको पनि आरोहण अनुमतिका लागि प्रक्रियामा रहेको र भोलिदेखि अनुमति दिन सुरु गरिने विभागले जनाएको छ ।

वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आउँछन् । विभागका अनुसार अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि चार सय ७८ ले अनुमति लिएका थिए । यो वर्ष पनि सोही सङ्ख्यामा आरोही आउने विभागको विश्वास छ ।

सेभेन समिट ट्रेकका अध्यक्ष मिङमा शेर्पाले सगरमाथा आरोहणका लागि हालसम्म ३० भन्दा बढी विदेशी आरोहीले बुकिङ्ग गरेको जानकारी दिनुभयो । यस्तै इमाजिन ट्रेकमार्फत पनि चिनियाँ र युरोपका आरोहीले बुकिङ गराएको कम्पनीले उल्लेख गरेको छ । हिमाल आरोहणका लागि आरोहीले अनलाईन बुकिङ गर्नसक्ने व्यवस्था मिलाईएको विभागले जनाएको छ । यसले आरोहीलाई सहज हुने विभागको विश्वास छ ।

प्रेमी विष्णुसँग विवाह गर्दै गायिका एलिना चौहान

काठमाडौं चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाधिँने भएकी छिन् । उनले प्रेमी विष्णु सापकोटासँग विवाह गर्न लागेकी हुन् । गायिका चौहान र सापकोटाबीच आगामी बैशाख ५ गते विवाह हुने भएको हो । उनीहरुको विवाह झापामा हुने भएको जनाइएको छ ।

उनीहरु दुवैले निकटका साथीहरूलाई बिवाहको जानकारी दिँदै निम्तो पनि गरिसकेका छन् । सापकोटा अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन् । गीतकार समेत रहेका उनी बागलुङ निवासी हुन् ।

अध्यक्ष ओली आदित्य मोक्षधाम–काव्य गोष्ठीमा सहभागी

काभ्रेपलाञ्चोक, १२ चैत : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ दारिमबोटमा निर्माणाधीन आदित्य मोक्षधामको अवलोकन गर्नुभएको छ । धामको अवलोकनपछि उहाँले तेस्रो मोक्षधाम काव्य–गोष्ठीमा सहभागिता जनाउनुभयो ।

गोष्ठीमा एमालेका उपमहासचिव एवम् साहित्यकार प्रदीप ज्ञवालीले ‘काष्ठमण्डपमा एक्लो परेवा’ शीर्षकमा कविता वाचन गर्नुभएको थियो । यस्तै गोष्ठीमा डा बुनु दाहाल, मुराहरि सिग्देल, रामप्रसाद पन्त, ममता मिर्दुला, विजयध्वज थापा, सुष्मा आचार्यलगायत १ं७ जना कवि एवं कवयित्रीले आ–आफ्ना कविता वाचन गर्नुभएको थियो । प्रस्तुत कविता विशेषगरी आध्यात्मिक ज्ञान एवम् चैतन्य आदित्य (बाल योगी) को विचार–दर्शनसँग मिल्दाजुल्दा थिए ।

केही वर्षअघि ‘गुगल ब्वाई’ का रुपमा चर्चामा आउनुभएका आदित्य दाहाल हाल १४ वर्षको हुनुभयो । चार वर्षको उमेरदेखि ध्यान–साधनाको अभ्यास गर्न थाल्नुभएका आदित्यको सोही समयदेखि केही शारीरिक दुर्बलता रहेपछि परिवारद्वारा देशविदेशमा उपचारको प्रयास गरेपनि हुन सकेको थिएन । आदित्यकै नाममा गत वर्षदेखि पनौतीको दारिमबोटमा उक्त धाम निर्माण सुरु गरिएको थियो ।

उक्त कार्यक्रममा अध्यक्ष ओलीले संक्षिप्त मन्तव्य राख्दै चैतन्य आदित्यको दर्शन र विचार एवं गुरु विनाको सिकाईले विज्ञानलाई चुनौति दिएको बताउनुभयो । “आदित्यसँग अध्ययन एवं गुरु विना विभिन्न भाषामा ज्ञान, विचार, दर्शन लेख्नसक्ने अलौकिक क्षमता देखिन्छ, उहाँका सत्य विचार, सत्मार्ग, शान्ति र सुखका हितकारी चिन्तन् ममनयोग्य पनि छन्” उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले निर्माणाधीन उक्त मोक्ष धाममा हाल भइरहेको धार्मिक गतिविधिको जानकारीसमेत लिनुभयो । कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलको उपस्थिति रहेको थियो ।सो अवसरमा मोक्षधाम निर्माण समितिका संयोजक रामेश्वर थापाले हाल आदित्य स्तम्भको निर्माण भइरहेको जानकारी गराउँदै धाम क्षेत्रमा एक सय आठ धार्मिक (अनौठो र विलक्षण तथा कलात्मक र दिव्यताले भरिपूर्ण) संरचना निर्माण हुने बताउनुभयो ।

उहाँका अनुसार ऋषिभूमि–यज्ञभूमि नेपाललाई विश्वभर चिनाउने अलौकिक गन्तव्य बनाउने उद्देश्यका साथ आदित्य मोक्षधाम निर्माण सुरु गरिएको हो । मोक्षधामलाई भविष्यमा योग, ध्यान, साधना, संस्कार र संस्कृतिका विशाल ज्ञान केन्द्रका रुपमा परिचित गरी एक धार्मिक गन्तव्य बनाइने परियोजना तयार गरिएको छ ।

जाजरकोट भूकम्पमा भत्किएका सात सय विद्यालय भवन पुनःनिर्माण गर्न बजेट सुनिश्चित

काठमाडौँ, १२ चैत : अर्थ मन्त्रालयले जाजरकोट भूकम्पका कारण भत्किएका विद्यालय भवन पुनःनिर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेटलाई शैक्षिक संस्थाका भवन पुनःनिर्माणका लागि अर्थले रकमान्तर गर्न लागेको हो ।

अर्थमन्त्री वर्षमान पुन र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसहित दुवै मन्त्रालयका प्रशासनिक नेतृत्वबीच आज अर्थ मन्त्रालयमा भएको छलफलपछि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट विद्यालय भवन निर्माणका लागि खर्चिने सहमति भएको अर्थमन्त्री पुनलेको सचिवालयले जनाएको छ । छलफललगत्तै अर्थमन्त्री पुनले चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विनियोजन भएर खर्च हुन बाँकी रहेको रकम विद्यालय भवन पुनःनिर्माणमा खर्च गर्न निर्देशन दिनुभएको छ ।

यस्तै, दुई मन्त्रालयबीच आगामी आर्थिक वर्ष २०८१÷८१ देखि राष्ट्रपति शैक्षिक सुधार शीर्षकमा बजेट बिनियोजन नगर्ने सहमति भएको छ । आगामी आर्थिक वर्षमा नवप्रवर्तन शीर्षकमा भने बजेट वृद्धि गरिने अर्थमन्त्री पुनले बताउनुभयो । “परिणाम नदिने खालका कार्यक्रम हटाएर नवप्रवर्तनलगायत नयाँ कार्यक्रममा बजेट बढाउने नीति लिइनेछ”, उहाँले भन्नुभयो ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ लामिडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते छ दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो । सो भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम, बझाङलगायत जिल्ला सात सयभन्दा बढी विद्यालय भवन भत्किएका थिए ।

तराई मधेसमा आज होली मनाइँदै

मध्यविन्दु (नवलपरासी), १२ चैत : रङहरूको पर्व होली आज तराई मधेसमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागु पूर्णिमा) मनाइएको भोलिपल्ट आज तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो । तराई मधेसमा होली पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी(बर्दघाट सुस्ता पश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदै छ । मगर, थारु समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पनि आज होली पर्व मनाइँदै छ । सबै प्रकारका भेदभावलाई भस्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वको रूपमा लिने गरिन्छ ।

सबैलाई एउटै रङमा रङ्ग्याउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको पण्डित बुद्धिसागर भण्डारीले बताउनुभयो । “असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ”, उहाँले भन्नुभयो, “धार्मिक महत्व सँगसँगै सामाजिक सद्भाव र उमङ्ग प्रदान गर्न होलीको विशेष भूमिका रहेको छ ।”

प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको भण्डारीले बताउनुभयो । रस रङ, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु, मृदङ बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा रहेको छ ।

तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको हो : अध्यक्ष दाहाल

चितवन, १२ चैत : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको भएको बताउनुभएको हो । यहाँ आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले स्थानीय तह र प्रदेशसभाको सेतुको रुपमा राष्ट्रियसभाले काम गर्ने उल्लेख गर्नुभयो ।

प्रदेश र स्थानीय तहका भावना, समस्या, जटिलता र सम्भावना राष्ट्रियसभामा विषयवस्तु बनाएर छलफल सुरु गरिसकिएको अध्यक्ष दाहालको भनाइ छ । त्यहाँ छलफल भएका विषयवस्तु प्रतिनिधिसभा हुँदै सरकारसम्म पुग्ने उहाँले बताउनुभयो । हरेक महिनाको अन्तिम साता सातै प्रदेशका समस्या र ती समस्या समाधानका विषयमा राष्ट्रियसभामा छलफल सुरु गरिएको अध्यक्ष दाहालले बताउनुभयो

उहाँले भन्नुभयो, “प्रदेशका सबै काम कारबाहीका बारेमा सातै प्रदेशबाट प्रतिनिधित्व गर्ने माननीयले कुरा उठाउने व्यवस्था गरेको छु ।” तीनै तहका सरकारलाई जोड्ने काममा राष्ट्रियसभाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने अध्यक्ष दाहालले बताउनुभयो ।

राष्ट्रिय सभाको महत्व स्थापित गर्न आफू लागि पर्ने उल्लेख गर्दै उहाँले अझै पनि राष्ट्रियसभाको महत्व धेरैले बुझ्न नसकेको बताउनुभयो । राष्ट्रियसभामा अधिकांश विधयेक सर्वसम्मत पारित हुने गरेको भन्दै उहाँले भन्नुभयो, “राष्ट्रियसभामा राजनीतिक दृष्टिकोणले नभई राष्ट्र र जनताको दृष्टिले हेरेर छलफल हुन्छ”, राष्ट्रियसभामा आउने विधेयक लामो समय नरोकिने पनि उहाँले स्पष्ट पार्नुभयो ।

विगत ६ वर्षको अवधिमा राष्ट्रियसभामा चार विधेयक उत्पत्ति भएको उल्लेख गर्दै अध्यक्ष दाहालले ती सबै सर्वसम्मत रुपमा पारित गरी पठाएको बताउनुभयो । राष्ट्रियसभामा राजनीतिकभन्दा पनि आवश्यकताका आधारमा छलफल हुने गरेको अध्यक्ष दाहालको भनाइ थियो । राष्ट्रियसभाले राष्ट्रिय महत्व र सार्वजनिक महत्वका विषयलाई प्राथमिकता दिने गरेको उहाँले बताउनुभयो ।

नेपालले आज आयरल्याण्ड ‘ए’ सँग खेल्दै

काठमाडौँ, १२ चैत : नेपालले आज आयरल्याण्ड ‘ए’सँग अभ्यास खेल खेल्दै छ । आइसिसी टी–२० विश्वकपको तयारीस्वरुप नेपालले आयरल्याण्ड ‘ए’सँग उक्त अभ्यास खेल खेल्न लागेको हो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपालले आयरल्याण्ड ‘ए’सँग दिउँसो १ बजे खेल खेल्ने छ । यस्तै नेपालको सिनियर टोलीले आयरल्याण्ड ‘ए’सँग मङ्गलबार टी–२० खेल खेल्ने तय भएको छ । यसैगरी आयरल्याण्ड ‘ए’सँग नेपाल ‘ए’ टोलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तीनवटा टी–२० खेल तथा तीन एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

आयरल्याण्ड ‘ए’सँग अभ्यास खेलका लागि नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, गुलशन झा, करण केसी, सोमपाल कामी, विवेक यादव, सन्दीप जोरा, अनिल साह, प्रतिश जिसी, आकाश चन्द र अभिनाश बोहरा रहेका छन् ।

किमाथाङ्का–खाँदबारी सडक बनाउन बजेटको अभाव छैन : उपप्रधानमन्त्री महासेठ

किमाथाङ्का (सङ्खुवासभा), १२ चैत : उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले आगामी आर्थिक वर्ष २०८१÷८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्ने बताउनुभएको छ ।

सङ्खुवासभाको भोटखोला गाउँपालिकामा आयोजित प्रथम भोटखोला महोत्सवको आइतबार समापन समारोहमा सहभागी हुँदै उपप्रधानमन्त्री महासेठले उक्त आयोजनाका लागि बजेट अभाव नभएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा रक्षामन्त्री हरि उप्रेतीले किमाथाङ्का नाका चाँडै खोल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री महासेठ र मन्त्री उप्रेतीले किमाथाङ्का नाका र राजमार्गको अवलोकन समेत गर्नुभयो । मन्त्रीद्वयसमक्ष भोटखोलाका अध्यक्ष वाङ छेदर लामाले गाउँपालिकाको विकासका लागि मागपत्र पेस गर्नुभएको थियो ।

राष्ट्रिय गौरवको किमाथाङ्का–खाँदबारी सडकखण्डको १४ किलोमिटर क्षेत्रमा ट्र्याक खोल्न नेपाली सेनालाई जिम्मा दिइएको थियो । भौगोलिक हिसाबले किमाथाङ्का–खाँदबारी सडकको ट्रयाक खोल्न सकस भएको हो । खाँदबारी–किमाथाङ्का एक सय ६२ किलोमिटर खण्डमा आव २०६५÷६६ मा ट्र्याक खोल्न सुरु गरिएको थियो । भोटखोला गाउँपालिकाको च्याम्ताङ–घोङगोप्पाको थप १४ किलोमिटर सडक ट्र्याक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ । सो सडक निर्माण सम्पन्न भए कोशी प्रदेशका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् ।

मूल्य बढेसँगै ताप्लेजुङका किसान पुनः चिराइतो खेतीतर्फ

फुङ्लिङ (ताप्लेजुङ), १२ चैत : ताप्लेजुङका किसान चिराइतो खेतीतर्फ आकर्षित भएका छन् । चिराइतोको बजार मूल्य बढेसँगै उनीहरु यसतर्फ आकर्षिक भएका हुन् । फक्ताङलुङ गाउँपालिका–६ का केरसी लिम्बू पाँच वर्षपछि पुनः चिराइतो खेती गर्न थाल्नुभएको छ । उहाँसँग चिराइतो खेतीको लामो अनुभव छ । विगतका वर्षमा चिराइतो खेती नै मुख्य पेसा बनाउनुभएका लिम्बूले कोभिड–१९ को समयमा यसको बजार मूल्यमा ह्रास आएपछि खेती गर्न छोडेर अन्य पेसामा लाग्नुभएको थियो ।

फक्ताङलुङ गाउँपालिकाभित्र नै धेरै चिराइतो उत्पादन गर्ने लिम्बूले वर्षमा ६५ मन (४० किलो) सम्म चिराइतो उत्पादन गर्नुहुन्थ्यो । लामो समय चिराइतोको बजार मूल्यामा ह्रास आएसँगै बिक्री गर्न समस्या भएपछि अलैँची बगान विस्तार गर्न लागेको उहाँले बताउनुभयो । लिम्बूले अहिले १२ रोपनी क्षेत्रफलमा चिराइतो खेती गर्नका लागि तयारी गरिरहनुभएको छ ।

फक्ताङलुङ–६ लुङथुङका तीर्थ राई पनि अहिले हाल चिराइतोको बीउ छर्नमा व्यस्त हुनुहुन्छ । उहाँले खेताला खोजेर ३० रोपनी क्षेत्रफल झाडी फाँडेर चिराइतोका लागि जग्गा तयार गर्नुभएको छ । फाँडेको झाडीमा आगो लगाएर चिराइतो छर्नका लागि उपयुक्त जग्गा तयार गरेको राईले बताउनुभयो ।

“चिराइतोको बीउ तयार गरेको छु । अब एक हप्तापछि छर्ने योजना बनाउँदै छु”, राईले भन्नुभयो, “एक वर्ष त चिराइतो बिक्री नै भएन । त्यसपछि सबैले खेती गर्न छोडेका थिए । यस वर्ष गाउँमा नै प्रतिमन रु ४२ हजारसम्ममा खरिद गर्ने व्यापारी आउनुभयो । तर गाउँमा उत्पादन न्यून थियो ।”

चिराइतोको उचित मूल्य आउने आशमा राईले दुई वर्ष अगाडि २० रोपनी क्षेत्रफलमा चिराइतो खेती गर्नुभएको थियो । आउँदो कात्तिकसम्ममा बिक्री गर्न योग्य हुने राईले बताउनुभयो । गत वर्ष उहाँले १६ रोपनी क्षेत्रफलमा चिराइतो खेती गर्नुभएको थियो । अहिले राईले ३० रोपनी क्षेत्रफलमा चिराइतो खेती गर्न लाग्नुभएको छ ।

राईले भन्नुभयो, “अहिले लगाएको चिराइतो अबको २७ महिनामा उत्पादन हुने आशा छ ।”

केही समय किसानले चिराइतो खेती गर्न छोडेपछि अहिले बीउ पाउनसमेत मुस्किल परेको किसान बताउँछन् । विगत प्रशस्त मात्रमा पाईने चिरातोको बीउ अहिले प्रतिमाना रु दुई हजार ५०० मा खरिद बिक्री हुने गरेको छ ।

फक्ताङलुङ–५ हेल्लोक गाउँका रविन आङबोहाङले चिराइतो खेती गर्न छोड्नुभएको चार वर्ष भएको थियो । तर अहिले चिराइतो खेती गर्नका लागि उहाँ आठ रोपनी जग्गा तयार गर्नुभएको छ । “दुई वर्षयता चिराइतोको उचित बजार मूल्य पाइन थालेको छ । गाउँमा अहिले सबै चिराइतो खेती गर्ने तयारीमा छन् ।” आङबोहाङले भन्नुभयो, “अहिले बजार मूल्य राम्रो पाइने आशले गाउँका प्रायः सबै किसान खेती गर्न लागेका छन् ।”

चिराइतो छर्ने समय सुरु भएको छ । चिराइतोका लागि वनजङ्गल तथा झाडी फाँडेर १५ देखि २० दिन राख्नुपर्दछ । त्यसपछि सुकेको झाडीमा आगो लगाउनुपर्दछ । आगो लगाएको ठाउँमा केही दिनको अन्तरमा चिराइतो छर्नुपर्दछ । चिराइतोसँगै अन्य बालीसमेत किसानले लगाउने गर्दछन् । उनीहरुले मकै, घैया, कागुनी, लटेजस्ता रैथाने बाली लगाउने गर्छन ।

ताप्लेजुङको हिमाली क्षेत्रमा बसोबास गर्ने किसानले चिराइतो खेती गर्दै आएका छन् । फक्ताङलुङ गाउँपालिका, सिरिजङ्गा, सिदिङवा र मिक्वाखोला गाउँपालिका विशेष रुपमा चिराइतो उत्पादन हुन्छ ।

डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार विगत दुई वर्षको तुलनामा यस वर्ष चिराइतो निकासीमा वृद्धि भएको छ । जिल्लामा चिराइतो उत्पादनमा कमी आएको भए पनि पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार यस वर्ष निकासीमा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ मा पाँच हजार आठ सय २० किलो चिराइतो निकासी भएको छ । आव २०७८÷७९ मा तीन हजार दुई सय ८० किलो चिराइतो निकासी भएको थियो ।

यस्तै आव २०७९÷८० मा पाँच हजार आठ सय किलो चिराइतो निकासी भएको डिभिजनल वन अधिकृत बद्रीप्रसाद साहले जानकारी दिनुभयो । विसं २०७० यता ताप्लेजुङमा ३८ हजार किलो चिराइतो सङ्कलन भएको तथ्याङ्क छ । सो अवधिमा चिराइतोबाट रु सात लाख ९६ हजार राजस्व सङ्कलन भएको थियो ।

यसवर्षको मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदै

महोत्तरी, १२ चैत – यसवर्षको मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदैछ । मिथिलाको महाकुम्भ पनि भनिने १५ रात १६ दिनको यो यात्रा आज जनकपुरधामको अन्तर्गृह परिक्रमा गरिएसँगै समापन हुन लागेको हो ।

मधेसको प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्र (माझ) मा पारेर १३३ किलोमिटरको वृत्तमा नाङ्गा खुट्टाले हिँडेर गरिने यो यात्राको अन्तिम कडी अन्तर्गृह परिक्रमा हो । अन्तिमअर्थात् १५ औँ दिनको रात जनकपुरधामको रङ्गभूमि मैदानमा कटाएर १६ औँ दिन बिहान अन्तर्गृहअर्थात् पञ्चकोशी परिक्रमा गरिने परम्परा छ । मध्यमा यात्रामा यात्रीले नेपाल भारतका विभिन्न तीर्थस्थलमा १५ रात्रि बास गरेका छन् । जसमा नेपालतर्फ धनुषामा छ, महोत्तरीमा पाँच र भारतको मधुवनी जिल्लामा चार रातको बास परम्परा छ । फागुन औँसीका दिन सुरु भएको मध्यमा यात्रा आज टुङ्गिँदै छ ।

जनकपुरधामस्थित श्री राम जानकी मन्दिर, धार्मिक महत्वका तलाउ, विभिन्न मठमन्दिर र रङ्गभूमिलाई माझमा पारेर जनकपुरधामको पाँच कोश दूरीको वृत्तमा गरिने परिक्रमालाई अन्तर्गृहअर्थात् पञ्चकोशी परिक्रमा भनिन्छ । मध्यमा (माध्यमिकी) परिक्रमाका यात्रीले १६ औँ दिन बिहान यो यात्रा पुरा गर्छन् । घरव्यवहारको कामले समय निकाल्न नसकेर मध्यमा परिक्रमामा सहभागी हुन नसकेका श्रद्धालु पनि अन्तर्र्गृहमा सहभागी हुन्छन् । त्यसैले यस यात्रामा लाखौँको सहभागी हुँदै आएको छ । करिब आज मध्याह्नपूर्व सम्पन्न गरिने यस यात्रामा आज एक लाखभन्दा बढीको सहभागिता रहेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् (कोष) ले जनाएको छ ।

अन्तर्गृह परिक्रमाले आत्मशुद्धि हुने, परमार्थ सुध्रने र पारिवारिक कल्याण भई अन्त्यमा मोक्ष प्राप्त हुने हिन्दू मैथिल जनविश्वास छ । अघि त्रेता युगमा श्रीराम जानकी जनकपुरधाम ओरीपरी विहार गर्नुभएको सम्झनामा यो यात्रा परम्परा सुरु भएको मानिन्छ । मध्यमा र आजको अन्तर्गृह परिक्रमाका सहभागीले आज बिहानको यात्राकै क्रममा गए राति होलीका दहन गरिएको खरानी उडाउँदै फागु खेल्छन् । मिथिलामा परिक्रमाको १५ औँ दिनको रात ठाउँठाउँमा राक्षसी होलिकाको आकृति बनाइ त्यसलाई दहन गर्ने (आगो लगाउने) र भोलिपल्ट त्यो डढेको आकृतिको खरानी उडाउने चलन छ । यसमा आकृति दहन गर्नुलाई ‘होलिका दहन’ र खरानीको धुलो उडाउनुलाई ‘धुरा उडाउनु’ भनिन्छ । मिथिलामा धुरा उडाएपछि फागु खेल्ने परम्परा छ ।

धुरा उडाउने परम्पराभित्र दुई चलन छन् । एकथरि धुरा उडाएपछि फागु खेल्न थाल्छन् भने मिथिलाको मध्यमा परिक्रमा वृत्तभित्र भने धुरा उडाएको अर्थात् अन्तर्गृह परिक्रमा गरिएको भोलिपल्ट फागु खेल्ने चलन छ । यसअनुसार मिथिलामा आज र भोलि दुवै दिन होरी (होली, फागु) खेलिने तयारी छ ।

मिथिलामा परिक्रमाको परम्परा त्रेता युगकालीन श्रीराम जानकीसँग जोडिएर गरिएको भनिन्छ । यद्यपि यसको समापनमा सत्ययुगकालीन भक्त प्रह्लाद, उनका राक्षस पिता हिरड्ण्कशिपु र राक्षसी फुपू होलीका दहनको कथा पनि जोडिन्छ । हिरड्यण्कशिपुले विष्णुभक्त छोरा प्रह्लादलाई मार्न आगोले नजल्ने वरदान पाएकी बहिनी होलिकाको काखमा प्रह्लादलाई राखेर आगो लगाउँदा प्रह्लाद ध्यान मुद्रामा रहेका र होलिका डढेर भष्म भएकी कथा यहाँ जोडिएको प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ ।

रामायण वा सत्ययुगकालीन सबै घटना जोडिएर यी कथाले मान्छेलाई सत्कर्ममा लाग्न अभिप्रेरित गरेको पाका मैथिलको मत छ । तसर्थ राक्षसी वा दुष्ट प्रवृत्तिविरुद्ध सत्य र न्याय स्थापित भएको खुसियालीमा फागु पर्व परम्परा चलेको मैथिल परम्पराका जानकार बलवा–१० धमौराका कामेश्वर झा बताउनुहुन्छ ।

साँगा–धुलिखेल सडक : खानेपानी र ढल व्यवस्थापनमा कठिनाइ

काभ्रेपलाञ्चोक, १२ चैत : अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको हो ।

सडक विस्तारका क्रममा बनेपा नगर र धुलिखेल नगरमा बिछ्याइएका खानेपानीका पाइप र ढल व्यवस्थापनमा कठिनाइ भएको छ । सूर्यविनायक–धुलिखेल–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार यी दुई नगरमा सडकमुनि विभिन्न खानेपानी आयोजनाका पाइप र पुराना अव्यवस्थित ढलका पाइप बिछ्याइएकाले यसको व्यवस्थापनमा समस्या भएको छ । सूर्यविनायक–धुलिखेल कूल १५ दशमलव पाँच किलोमिटर लामो सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेलसम्म आठ दशमलव चार किमी सडकखण्ड विस्तार कार्यका एक वर्षअघि सुरु गरिएको थियो ।

आयोजनाअन्तर्गत सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमी रहेको छ । विशेष गरी बनेपा नगरको मुख्य बजार क्षेत्र पुल बजारदेखि बुडोलस्थित चण्डेश्वरी खोलासम्मको तीन दशमलव दुई किलोमिटर सडक दायँबायाँ पुरिएका खानेपानी र ढल व्यवस्थापनमा चुनौती देखिएको इन्जिनियर खनालले बताउनुभयो । धुलिखेल नगरमा एक किलोमिटर ढलको व्यवस्थापनमा बढी समस्या देखिएको छ ।

खानेपानी र ढलको व्यवस्थापन गर्नुपर्ने देखिएपछि धुलिखेल, बनेपा नगर तथा काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनालाई अनुरोध गरी हाल धुलिखेल नगर क्षेत्रभित्रका खानेपानी र ढल व्यवस्थापनको काम गरिरहेको इन्जिनियर खनालले बताउनुभयो । धुलिखेलमा खानेपानीको व्यवस्थापनमा रु एक करोड तथा ढल व्यवस्थापनमा रु चार करोड खर्च हुने अनुमान गरिएको छ । सडक मापदण्डमा परेका खानेपानीका पाइप तथा घर स्थानान्तरण र भत्काउन सरोकारवालासँग विभिन्न चरणमा छलफल भएको छ । आयोजना कार्यालयका अनुसार उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार थालिएको हो ।

आयोजनाको सुरुआतबाट सूर्यविनायकदेखि धुलिखेलसम्मनै सडक छेउमा पर्खाल निर्माणको काम भइरहेको छ भने विभिन्न स्थानमा हाल कल्भर्ट निर्माणको काम थालिएको छ । उक्त सडकखण्डको भैँसेपाटीमा संरचना निर्माणार्थ खन्दा पुरातात्विक वस्तु फेला परेपछि पुरातत्व विभागको निर्देशनअनुसार केही भागको काम रोकिएको छ ।

पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तार कार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाख तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड रु तीन अर्ब ८८ करोड ९३ लाखको सम्झौता भएको इन्जिनियर खनालले बताउनुभयो । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको हो । चीनसँगको छोटो दूरीको सिन्धुपाल्चोकको तातोपानी नाका केही महिनाअघि खुला भएपछि यस राजमार्गमा सवारी चाप बढेको छ ।

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

भेरीगङ्गा (सुर्खेत), १२ चैत : नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित हुनुभएको छ ।नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

यस्तै उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव (खुला) मा टिकाराम सोमै निर्वाचित हुनुभएको नेकपा (एमाले) सुर्खेतले जनाएको छ ।

यसैगरी महिला (सचिव) मा सुशीला विश्वकर्मा निर्वाचित हुनुभएको छ । सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

इलाम कारागारका कैदीबन्दीले सामूहिक मनाए होली

फिक्कल (इलाम) – इलाम सदरमुकामस्थित इलाम कारागारका कैदीबन्दीले होली पर्व मनाएका छन् । कारागारभित्र रहेका एक सय ५० कैदीबन्दीले एकले अर्कालाई रङ्ग दलेर सामूहिक रुपमा होली पर्व मनाएका हुन् ।

कारागार कार्यालयका प्रमुख प्रमुख गौरव ढुङ्गेल, चौकीदार र नाइकेहरुले कारागारभित्र रहेका कैदीबन्दीलाई रङ्ग तथा अबिर लगाइदिएका थिए । मानसिक अस्वस्थताबाट मुक्तिका लागि कारगारभित्र होली पर्व मनाइएको कारागार प्रमुख ढुङ्गेलले बताउनुभयो । “जेलजीवन बिताइरहेका कैदीबन्दीका साथ रङ्ग अबिर साटासाट गरी होली पर्व मनाइएको छ,” उहाँले भन्नुभयो, “आफूले पाएको सजायकै कारण मानसिक रुपमा अस्वस्थ भएकालाई सहभागी गराएर होली पर्व मनाएका हौँ ।”

बजार समर्थक सुधारमार्फत आर्थिक वृद्धि गर्न चीनलाई आइएमएफको आग्रह

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का प्रमुख क्रिस्टालिना जर्जिएभाले आइतबार सुस्त अर्थतन्त्रलाई बढावा दिन बजार समर्थक सुधारका विस्तृत प्याकेज लागु गर्न चीनलाई आह्वान गर्नुभएको छ ।

“उच्च दरबाट उच्च गुणस्तर वृद्धिमा रूपान्तरण हुनु नै अर्थतन्त्र वृद्धिका लागि उचित बाटो पहिल्याउनु हो र चीन त्यसो गर्न कटिबद्ध छ”, बेइजिङमा आइतबार आयोजित चीन डेभलपमेन्ट फोरममा आइएमएफका प्रबन्ध निर्देशक जर्जिएभाले भन्नुभयो ।

बुल्गेरियाका अर्थशास्त्रीले यो रूपान्तरण सहज नभएको चेतावनी दिँदै बजार समर्थक सुधारको व्यापक प्याकेजका साथ चीन यथास्थितिभन्दा धेरै छिटो अगाडि बढ्न सक्ने कुरामा जोड दिनुभयो ।

जर्जिएभाले चीनमा सञ्चालित विदेशी व्यापार समूहहरूको लामो समयदेखिको मागअनुसार व्यावसायिक वातावरणलाई सुदृढ बनाउने र निजी तथा राज्य–स्वामित्व भएका उद्यमहरूबीच समान अवसर सुनिश्चित गर्न चीनलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ली छियाङले आइतबारको फोरममा विश्वव्यापी आर्थिक सुधारका लागि चीनले उच्च गुणस्तरको विकासलाई प्रवर्द्धन गर्न प्रभावकारी कदम चाल्ने बताउनुभयो ।

चीनको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि दर वर्षौँदेखि तल झर्दै आएको छ । बेइजिङले यस महिनादेखि करिब पाँच प्रतिशतको वार्षिक लक्ष्य राखेको छ । यो देशलाई छिटो समृद्धितर्फ लैजानका लागि आवश्यक वृद्धि दरभन्दा उल्लेखनीयरूपमा कम हो ।

पोखरा आएकी विदेशी पर्यटक लुकाले भनिन्- ‘जर्मनी पुगेर साथीलाई होलीको बारेमा सुनाउँछु’

अन्नपूर्ण (कास्की)- जर्मनीबाट पोखरा आउनुभएकी लुका लेकसाइडमा होली खेल्न पाउँदा निकै खुसी हुनुहुन्थ्यो । उहाँको अनुहारभरि रङ्ग दलिएको थियो । सेतो पहिरनमा सजिनुभएकी लुकाको कपडा पनि रङ्गले पोतिएको थियो । नेपालमा मनाइने रङ्गको पर्व निकै राम्रो लागेको उहाँको प्रतिक्रिया थियो । “कसैको अनुहार रङ्गविहीन देखेको छैन । यो निकै रमाइलो पल हो,” लुकाले भन्नुभयो, “नेपालमा आएको मैले पहिलोपटक होली खेलेँ । यस्तो माहोलमा रमाइलो गर्न पाउँदा म निकै खुसी छु ।”

लुकासँगै उहाँका साथी पनि रङ्ग खेलिरहनुभएको थियो । नेपालको यो पर्वका बारेमा जर्मनी फर्किएपछि अरू साथीहरुलाई सुनाउने लुकाले बताउनुभयो । “जर्मनी गएपछि रङ्ग खेलेको, नाचेको, रमाएको बारेमा अरू साथीहरुलाई भन्नेछु । सबै सुनेपछि उनीहरु पनि पक्का खुसी हुनेछन्,” लुकाले भन्नुभयो, “समयले साथ दिएसम्म अर्को वर्ष परिवार वा अरू साथीहरुलाई लिएर होली खेल्न नेपाल आउनेछु ।”

उनीसँगै धेरै पर्यटक पोखरा लेकसाइड क्षेत्रमा रङ्गसँग रमाउँदै थिए । लेकसाइड अम्बोटबाट नाचगान गर्दै र रङ्ग दल्दै लेकसाइड परिक्रमा गर्दा विदेशी पर्यटक निकै रमाएका देखिन्थे । पहिलोपटक होलीमा सहभागी भएका कतिपय विदेशी पर्यटकले विशेष रुचिका साथ नेपालीसँगै रमाइलो गरेका थिए । पोखरा घुम्न आएका पर्यटकलाई रङ्गीन बनाउने मेसो रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले जुराइदिएको हो । पर्यटक मात्रै होइन, आज पोखरा लेकसाइड पुगेका सबैको अनुहार रङ्गीन थियो । लेकसाइडका सडकदेखि फेवाताल किनारका पार्क, होली मनाउनेहरुले भरिभराउ थियो ।

रेवान पोखराले होली खेल्नुअघि अम्बोटदेखि खहरचोकसम्म पञ्चेबाजाको धुनमा पैदलयात्रा गरेको थियो । त्यस्तै तीन स्थानमा कन्सर्टसँगै डिजे सेसन गरिएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताउनुभयो । “हामीले बर्सेनि होलीलाई उत्सवमय बनाउन कार्यक्रम गरिरहेका छौँ । यो पटक ¥यालीसहित अन्य कार्यक्रम गरियो,” अध्यक्ष भट्टराईले भन्नुभयो, “हामीले तीन स्थानमा कन्सर्टसँगै डिजे सेसन राखेका थियौँभने होलीका लागि रङ्गको पनि व्यवस्था गरेका थियौँ ।”

सधैँको जस्तै यो पटकको होली कार्यक्रम पनि भव्य रुपमा सम्पन्न भएको अध्यक्ष भट्टराईले बताउनुभयो । “अब बिस्तारै पर्यटकको सिजन पनि सुरु हुँदैछ । पर्यटक धेरै हुने समयमा भएकाले विदेशी पर्यटकहरुले यसलाई बडो गज्जबले मनाए,” अध्यक्ष भट्टराइले भन्नुभयो, “यसले पोखरा पर्यटन क्षेत्रमा थप टेवा पुग्ने विश्वास छ । अब यसलाई ‘ब्रान्डिङ’ गर्न सरकारले पनि सोच्नुपर्छ ।”

होलीमा पर्यटकको उल्लेख्य सहभागिताले उत्साह बढेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो । “पोखरा होलीका लागि पनि उत्कृष्ट गन्तव्य बनेको छ । यसले पर्यटन प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान दिएको छ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो, “अर्को वर्षमा योभन्दा व्यवस्थित तरिकाले लैजान आवश्यक छ । यसका लागि प्रचारप्रसार गर्न जरुरी छ ।”

होलीलाई व्यस्थित गरी ब्रान्डिङ गर्न आगामी वर्ष योजना बनाएर अघि बढ्ने पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले बताउनुभयो । “आज पोखराका हरेक क्षेत्रमा होलीको रौनक देखियो यसले पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ,” प्रवक्ता तिम्सिनाले भन्नुभयो, “होली मनाउन पोखरा जानुपर्छ है भन्ने सन्देश दिनका लागि आगामी वर्षबाट केही योजना बनाउँछौँ ।” होलीलाई थप व्यवस्थित बनाउन पर्यटन क्षेत्रका सङ्घसंस्थासँग छलफल गरेर आगामी वर्षको योजना तय गरिने उहाँको भनाइ थियो ।

घोडा दौड प्रतियोगिताको उपाधि दीपेन्द्रलाई

म्याग्दी, १२ चैत : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानीमा आइतबार भएको चौथो घोडा दौड प्रतियोगिताको उपाधि कास्कीको समरुङका दीपेन्द्र गुरुङले जितेका छन् । अन्नपूर्ण गाउँपालिका–६ खिवाङदेखि घोडेपानीसम्मको ६ दशमलव पाँच किलोमिटर दूरी उनले २८ मिनेट ४१ सेकेण्डमा पुरा गरे ।

यस्तै २८ मिनेट ४६ सेकेण्डमा दूरी पार गरेका घान्द्रुकका कृष्ण मगर दोस्रो र कास्कीको घान्द्रुककै दीपेन्द्र श्रीपालीले २९ मिनेट ५० सेकेण्डमा निर्धारित दूरी पार गरेर तेस्रो भए । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ५५ हजार, रु ३५ हजार र रु २५ हजार पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरियो । घोडेपानी घोडा व्यवसायी समितिले आयोजना गरेको सो प्रतियोगितामा शिख, घोडेपानी, घान्द्रुक, समरुङ, उल्लेरी, फलातेलगायत ठाउँका २५ जना सहभागी भएका थिए ।

घोडा दौडका लागि खिवाङदेखि कुटुका–ठुलाखर्क– पेरिभारानी ताल– भलखरा –लरेनी, कालिसार हुँदै घोडेपानी जोड्ने परम्परागत मार्ग प्रयोग गरिएको प्रतियोगिताका संयोजक वीरेन गर्बुजा पुनले बताए । पर्यटन प्रवद्र्धन र घोडाको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।

“घोडेपानीको पर्यटन विकासमा घोडाको योगदान छ”, घोडेपानीका घोडा व्यवसायी याम पुनले भने, “सौखिन पर्यटक घोडा चढेर यात्रा गर्न रुचाउँछन् । हिँड्न नसक्ने पर्यटक घोडा चढेर गन्तब्यमा पुग्न पाएका छन् । घोडापालनबाट ढुवानीमा सहजताका साथै रोजगारी र आयआर्जनमा पनि सहयोग पुगेको छ । ”

घोडेपानी युवा क्लब, आमा समूह, पर्यटन व्यवस्थापन उपसमिति र टोल सुधार समितिसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो । फागु पूर्णिमा पर्वको अवसरमा आयोजित घोडा दौड प्रतियोगिताले अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानीमा पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताए । घोडा दौड अवलोकनका लागि उल्लेख्य सङ्ख्यामा पर्यटकको उपस्थिति थियो ।

पुनहिल र घोडेपानीबाट सुर्योदय, हिमाल, पहाडी भूगोल, जङ्गलको मनमोहक दृष्य अवलोकन गर्न पर्यटक आउने गर्छन् । म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य घोडेपानी विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको छ । घोडेपानी र घोडाको ऐतिहासिक सम्बन्ध छ । परापूर्वकालमा घोडेपानी भोटमा नुन लिन जाने, दामोदरकुण्डको तीर्थयात्रा गर्ने र चिनियाँ नागरिकलाई भारतीय बजार जाने आउने माध्यम घोडा नै थिए ।

आजको मौसम : देशभर बदली

काठमाडौँ, १२ चैत : देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

बागमती र गण्डकी प्रदेशको केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ । चारवटै प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी, बागमती, मधेस र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बाँकी पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

बेगनास तालमा राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिता सुरु

गण्डकी – पर्यटन राजधानी पोखराको बेगनास तालमा प्रथम राष्ट्रिय बेगनास ड्रागन बोट रेस प्रतियोगिता सुरु भएको छ ।पोखरा महानगरपालिका–३१ स्थित तालमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा महानगरपालिकाको आयोजना एवं नेपाल ड्रागन बोट सङ्घ गण्डकी प्रदेश र होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको सहआयोजनामा प्रथम राष्ट्रिय बेगनास ड्रागन बोट रेस आयोजना गरिएको हो । देशका विभिन्न स्थानबाट १४ वटा समूहको सहभागिता रहेको प्रतियोगिता भोलिसम्म चल्नेछ ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै खेल क्षेत्रलाई पर्यटनसँग जोड्दै अघि बढ्नुपर्ने बताउनुुभयो । खेलकुदमा राजनीति हुन नहुने उल्लेख गर्दै उहाँले त्यसलाई रोक्ने प्रतिबद्धता व्यक्त गर्नुुभयो । खेलकुद पछिल्लो समय कूटनीतिक सम्बन्ध विस्तारको माध्यमसमेत बनेको उहाँको भनाइ छ ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले बेगनास तालमा गरिएको यस प्रतियोगिताले यहाँको पर्यटकीय विकासका लागि विशिष्ट योगदान पुु¥याउने बताउनुुभयो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नवीन पोखरेलले बेगनास ताललाई पर्यटकीय रुपमा उपयोग, पर्यटकीय गतिविधि विस्तारका साथै स्थानको विविधीकरणका लागि प्रतियोगिता महत्वपूर्ण बन्ने विश्वास लिइएको बताउनुुभयो ।

होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलले पोखरा महानगरपलिका तथा गण्डकी प्रदेशमा पर्यटन प्रवद्र्धन गर्न प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो । प्रतियोगिताअन्तर्गत पाँच सय र दुई सय मिटर गरी दुई समूहका खेल आयोजना गरिएको छ । प्रतियोगिताको दुई सय मिटरमा प्रथम हुँदै नारा पोखराले एक लाख, दोस्रो बन्दै वाटर स्पोटर्स एसोसिएसनले ५० हजार र तेस्रो बन्दै हर्पन मत्स्य समूहले २५ हजार नगद जितेका छन् । पाँच सय मिटरतर्फ प्रथम हुनेले दुई लाख, दोस्रोले एक लाख ५० हजार र तेस्रो बन्नेले ७५ हजार नगद पाउने आयोजकले जनाएको छ । पाँच सय मिटरका खेल भोलि हुने जनाइएको छ ।

एकीकृत समाजवादीद्वारा पाँच सदस्यीय संयन्त्र समिति गठन

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी ९ एकीकृत समाजवादी० ले सरकार र पार्टीबीच समन्वय गर्न उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालय आलोकनगरमा आइतबार बसेको सचिवालय बैठकले गठन गरेको संयन्त्रमा उपमहासचिव प्रकाश ज्वाला, सचिव जीवनराम श्रेष्ठ, मन्त्रीद्वय भानुभक्त जोशी र धनबहादुर बुढालाई सदस्यको जिम्मेवारी तोकेको छ ।

महाधिवेशनका लागि राजनीति तथा सुरक्षा समन्वय कमिटी थप गर्ने निर्णय गरेको सचिवालय बैठकले आगामी वैशाखमा इलाम र बझाङमा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नामावली तय गर्ने निर्णय गरेको छ ।

मातहतका प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीबाट उम्मेदवारको योगदानका आधारमा नाम सिफारिसका लागि निर्देशन दिएको बैठकले महाधिवेशन तयारीका आवश्यक कार्यलाई तीव्र रुपमा अगाडि बढाउने निर्णय गरेको सचिव श्रेष्ठले जानकारी दिनुभयो । पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तरराष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरिएको बैठकमा पार्टीको जनवर्गीय सङ्गठन सुदृढीकरणबारे छलफल गरेको बैठकले महाधिवेशनका लागि विभिन्न कमिटीबाट गरेका तयारीबारे समीक्षा गरेको छ ।

आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय महाधिवेशनका लागि पार्टीले अध्यक्ष नेपालको नेतृत्वमा १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटी तथा अन्य १२ कमिटी गठन गरिसकेको छ । साथै अध्यक्ष नेपालको नेतृत्वमा २७ सदस्यीय दस्तावेज लेखन समिति गठन गरिएको जनाइएको छ । महाधिवेशन दस्तावेज लेखन समितिले राजनीतिक प्रतिवेदनमा छलफल केन्द्रित गरेको छ ।

करेन्ट लागेर मृत्यु भएका परिवारलाई सरकारद्वारा आर्थिक सहयोग

तुलसीपुर – दाङमा करेन्ट लागेर एकै घरका तीनजनाको मृत्यु भएपछि सरकारले आर्थिक सहयोग गर्ने भएको छ । लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयबाट प्रत्येकलाई रु एक÷एक लाख, जिल्ला विपद् व्यवस्थापन समितिबाट प्रत्येकलाई रु दुई÷दुई लाख, नेपाल विद्युत् प्राधिकरण लमहीद्वारा जनही रु पाँच÷पाँच लाख सहयोग गर्ने सहमति भएको छ । पीडित र पीडक पक्षबीच आज भएको सहमतिअनुसार मृतक परिवारका सदस्य राप्ती गाउँपालिका–३ मसुरिया निवासी लालबहादुर केसीलाई योग्यताबमोजिम नेपाल विद्युत् प्राधिकरणमा रोजगारको व्यवस्थापन गर्ने सहमति भएको छ ।

पीडित पक्षका घाइतेको उपचारमा लागेको खर्च, दाहसंस्कार तथा किरिया खर्चका लागि ६० हजार तथा थप राहतका लागि पालिकाको सिफारिसमा नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समितिसमक्ष पेस गर्ने सहमति भएको छ ।

त्यसैगरी, पीडित परिवारलाई नगद राहत उपलब्ध गराउने तथा पीडित परिवारकी मृतक दिलसरा केसीको छोरी ईश्वरी सुनारलाई कक्षा १० सम्म राप्ती गाउँपालिकाले निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । पीडित पक्षले आज पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । विद्युत्को लाइन चँुडिएर करेन्ट लाग्दा शनिबार एकै घरका तीनजनाको मृत्यु भएको थियो ।

हाइटेन्सन लाइनको विद्युत्को तार चुँडिएर करेन्ट लाग्दा राप्ती गाउँपालिका–३ घण्टदेव चोकका ५५ वर्षीया दिलसरा केसी र उनका श्रीमान् ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाति कृष्ण केसीको मृत्यु भएको हो । दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको हो । घाइते ६० वर्षीय गोरखबहादुरको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो ।

ललितपुर महानगरपालिका प्रमुख महर्जन र न्यूयोर्कका पर्यटन प्रवर्द्धक श्रेष्ठबीच भेटवार्ता

काठमाडौँ – ललितपुरमा विदेशी पर्यटकहरुको सङ्ख्या बढाउने र पर्यटकमैत्री वातवरण निर्माण गर्ने विषयमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र न्युयोर्कका नवनियुक्त पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठबीच छलफल भएको छ ।

अमेरिकाको न्युयोर्कमा भएको भेटमा महानगर प्रमुख महर्जन र पर्यटन प्रवद्र्धक श्रेष्ठले पर्यटन क्षेत्रमा गर्न सकिने सहकार्यबारे छलफल भएको श्रेष्ठले जानकारी दिनुभयो ।

भेटवार्तामा महानगर प्रमुख महर्जनले ललितपुर महानगरपालिकालाई पर्यटक मैत्री सहरका रुपमा विकास गरिएको र थप गन्तव्यहरु पहिल्याउने काम तीव्र बनाइएको बताउनुभएको थियो । दुई पक्षीय भेटमा प्रवद्र्धक श्रेष्ठले पर्यटकका लागि आवश्यक सूचना र सडक सुरक्षाका विषयमा चासो राख्नुभएको थियो ।

महानगरपालिकाले नेपाल अवतरण गर्ने हरेक विमानमा ललितपुर महानगरपालिकाका पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिने पुस्तिका राख्ने प्रक्रिया थालिएको उहाँले जानकारी दिनुभयो । उहाँले सडकलाई सुरक्षित बनाउनका लागि महानगरले विभिन्न योजना अघि बढाएको समेत बताउनुभयो ।

पुरातात्विक क्षेत्र, कला र संस्कृतिका धरोहरहरुको पुनः निर्माण र संरक्षणमा शून्य सहनशीलता अपनाइएको भन्दै अन्तरराष्ट्रिय क्षेत्रमा व्यापक प्रचारप्रसारको खाँचो रहेको उहाँको भनाइ थियो । भेटवार्तामा पर्यटन प्रवद्र्धक श्रेष्ठले यसका लागि आफूले सक्दो प्रयास गर्ने आश्वासन दिनुभयो । प्रमुख महर्जन विश्व बैङ्कले आयोजना गरेको यातायात व्यवस्थापनसम्बन्धी कार्यक्रममा सहभागी हुन अमेरिका पुग्नुभएको हो ।

हेर्नुहोस् चैत १२ गते सोमवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि -देश प्रदेशको यात्राको योग रहनेछ । मध्यान पश्चात भने जिवन साथीको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका माध्यम बाट आम्दानीका श्रोत सुदृण बन्नेछ । भाग्योदयका निम्ती मित्रजनको साथ सहयोग आवश्यक रहनेछ । सभा सम्मेलन जन्य कार्य सहभागीता मिल्नेछ ।

बृष राशि-कला कौशलको प्रयोगलमा समय ब्यतित रहने योग रहनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । नयाँ कार्य थालनिका निम्ति आँट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ ।

मीथुन राशि- प्रतिश्पर्दा जन्य कार्यमा उत्तम स्थान प्राप्त रहनेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । बिद्या प्राप्ति योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । यात्रामा साबधानि अपनाउनु होला ।

कर्कट राशि- निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ । मित्रजनहरुको अधिक निकटता उत्तम रहनेछैन । अपरान्ह पश्चात पारीवरिक साथ सहयोग प्राप्त रहनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ ।

सिंह राशि -कुरा काट्ने ब्यक्तिको कमि नरहला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । यात्रा झन्झट पुर्ण रहनेछ । भोज भतेरमा सरीक हुने समय रहेको छ । सञ्चित रकम खर्च हुने योग रहेको छ । अपरान्ह पश्चात निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन ।

कन्या राशि- नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । बिद्या प्राप्ति योग रहेको रहेतापनि सन्तान सम्बन्धि समस्याले भने सताउने छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ ।मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्नेछ ।

तुला राशि -नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शारीरिक आलस्यले कार्य ढिलाई हुन सक्छ । सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु पर्ने छ । कार्यक्षेत्रमा प्रतिस्पधिहरुको बृद्यिहुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्ने सम्भाबना रहेकोछ ।

बृश्चिक राशि -अरुको छिटो बिश्वास गर्नाले धोकाहुन सक्छ । नयाँ कार्यको थालनि नगनू होला । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । नयाँ कार्यको थालनिले आम्दानि सबल तुल्याउनेछ ।

धनु राशि -सामान्य कार्यका निम्ती अधिक परीश्रम खर्चनु पर्नेछ । मानसम्मानमा आचँ आउन सक्नेछ अपरान्ह पश्चात भने दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन ।

मकर राशि -मित्रजनहरु सगँको यात्रा स्मरणीय साबित रहनेछ । मान्य जनको साथ सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र परीश्रमको कदर हुने वा मानसम्मान प्राप्त हुने समय रहेको छ । मनमा सामान्य चिन्ताले बास गर्नाले कार्य क्षेत्रमा झन्झट आई पर्नेछ ।

कुम्भ राशि – स्वास्थमा रहेको समस्या क्रमिक रुपमा सुधार रहनेछ । बिशेष जिम्मेबारी बहन गनुपर्ने समय रहेको छ । ईष्ट मित्रजनको साथ सहयोग प्राप्तहुनाले कार्य सहज रहला । भाग्योदयका निम्ति खट्नुपर्ने समय रहेको छ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ ।

मिन राशि – ब्यपार ब्यवसायमा सामान्य घाटाको सम्भाबना रहनेछ । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । सामान्य चोटपटकको सिकार भईन सक्छ । मान्यजन संगको सम्बन्धमा खराबी आउन सक्नेछ । मित्र हरुको साथ सहयोग प्राप्त हुनेछ ।

गाजामा इजराइली आक्रमणमा हालसम्म ३२ हजार प्यालेस्टिनीको मृत्यु

गाजा क्षेत्रमा जारी युद्धमा इजराइली आक्रमणबाट हालसम्म ३२ हजार दुई सय २६ प्यालेस्टिनीको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा इजराइली सेनाबाट ८४ प्यालेस्टिनी मारिएको र अन्य एक सय चार जना घाइते भएका छन् । इजराइली सेनाको उक्त आक्रमणसँगै कूल मृत्यु हुनेको सङ्ख्या ३२ हजार दुई सय २६ पुगेको र ७४ हजार पाँच सय १८ जना घाइते भएको मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।

स्थानीय घाइते र प्रत्यक्षदर्शीहरूका अनुसार इजराइली सेनाले पछिल्लो २४ घन्टामा गाजा क्षेत्रका विभिन्न स्थानमा हवाई र जमिन आक्रमण गरेको थियो । “मध्य गाजा क्षेत्रको देर अल–बालाह सहरमा एउटा घरलाई लक्षित गरी गरिएको आक्रमणमा आठ प्यालेस्टिनीको मृत्यु भएको छ र दर्जनौँ घाइते भएका छन्”, स्रोतले भनेको छ, “घाइतेहरूलाई सोही सहरको अल–अक्सा अस्पतालमा सारिएको छ, इजराइली तोपखानाले गाजा क्षेत्रको दक्षिणमा रहेको ‘खान युनिस सहरको’ दक्षिणपूर्वी क्षेत्रहरूमा पनि बमबारी गरेको छ र धेरै मानिस घाइते भएका छन् ।”

शिफा कम्प्लेक्समा चलिरहेको लडाइँमा २१ वर्षीय सैनिकको मृत्यु भएको इजराइली सेनाले विज्ञप्तिमा जनाएको छ । गाजामा भूमिगत अपरेशनमा मर्ने इजराइली सैनिकको सङ्ख्या दुई सय ५१ पुगेको छ ।

होलीमा जथाभावी रङ्ग दल्ने दुई सय ७७ जना पक्राउ

काठमाडौँ, ११ चैत : प्रहरीले होली पर्व मनाउने क्रममा आज जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा दुई सय ७७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पुरुष दुई सय ६२ जना तथा १५ जना महिला रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आज कानुन विपरीत काम गर्ने दुई सय ७७ जनालाई हामीले नियन्त्रणमा लिएका छौँ, पक्राउ परेकाहरुको अवस्था हेरेर केहीलाई आजै परिवारको जिम्मा लगाइने र केहीको हकमा मुद्दासमेत दायर हुनेछ ।

” यसैगरी, जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज छ सय ६४ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको जनाएको छ यसमा चारपाङ्ग्रे छ सय ४९ तथा दुई पाङ्ग्रे १५ वटा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । लापसे, मापसे गरी सवारी साधन चलाउने तथा सवारी साधनका कागजपत्र नबोक्ने, हेल्मेट नलगाई सवारी चलाउनेका सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

फागु पूर्णिमा अर्थात् होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको थियो । ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कूल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट निगरानी गरिएको थियो ।

जलवायु परिवर्तनको खतराबाट प्रभावित राष्ट्रहरूले अन्तरराष्ट्रिय मञ्चहरूमा स्वर उठाउन आह्वान : सभामुख घिमिरे

काठमाडौँ, ११ चैत : सभामुख देवराज घिमिरेले विश्वव्यापी उष्णता बढाउन बढी योगदान गर्ने मुलुकले यसको प्रभाव बढी भोग्ने मुलुकप्रति गरेका प्रतिबद्धता कार्यान्वयन गर्र्न ध्यानाकर्षण गराउनुभएको छ ।

स्विजरल्यान्डको जेनेभामा आयोजित अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को एक सय ४८औँ महासभालाई आज सम्बोधन गर्नुहुँदै उहाँले जलवायु परिवर्तनको गम्भीर खतराबाट प्रभावित सबै राष्ट्रहरूले अन्तरराष्ट्रिय मञ्चहरूमा एउटै स्वर उठाउन आह्वानसमेत गर्नुभयो

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अक्टोबर २०२३ को नेपाल भ्रमणका क्रममा नेपालको संसद्बाटै जलवायु परिवर्तनले निम्त्याएका समस्याप्रति निकै जोडका साथ विश्व समुदायको ध्यानाकर्षण गराउनुभएकोप्रति सभामुख घिमिरेले जानकारी गराउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

उहाँले आफ्नो राष्ट्रले गरेका वाचा इमान्दारीका साथ पूरा गर्न सरकारलाई झक्झक्याउनु सबै सांसदहरूको कर्तव्य भएको बताउनुभयो । “नेपाल आफैँमा अत्यन्त न्यून कार्बन उत्सर्जन गर्ने मुलुक हो तर नेपालले जलवायु परिवर्तनको धेरै ठूलो मार सहन गर्नु परिरहेको छ । नेपालमा रहेका उच्च हिमालहरूको हिउँ पग्लिने क्रम तीव्र हुँदा त्यसमुनिका पर्यावरण चरम जोखिममा परेका छन् । यसले समुद्री सतहको नजिक रहेका खासगरी टापु राष्ट्रहरूलाई पनि जोखिममा पारेको छ ।

यो गम्भीर खतराबाट प्रभावित सबै राष्ट्रले अन्तरराष्ट्रिय मञ्चहरूमा एउटै स्वर उठाउनुपर्छ,” उहाँले भन्नुभयो, “विश्वव्यापी उष्णता बढाउन बढी योगदान गर्ने मुलुकहरूले यसको प्रभाव बढी भोग्ने मुलुकहरूप्रति गरेका प्रतिबद्धताहरू कार्यान्वयन हुनुपर्छ । म यहाँ उपस्थित सबै सांसदलाई हामी सबै राष्ट्रका सांसदहरू निष्ठापूर्वक यो कर्तव्य निर्वाह गरौँ भनी आह्वान गर्दछु ।

” उहाँले उक्त महासभामार्फत नेपाल सदैव शान्ति र सहअस्तित्वको पक्षधर रहँदै आएको सन्देश दिनुभयो । “ठूला र शक्तिशाली राष्ट्रले साना र कमजोर राष्ट्रको अस्तित्वलाई स्वीकार र सहन गर्न नचाहँदाका दुष्परिणाम हामीले इतिहासका अनेक कालखण्डमा भोगिसकेका छौँ । असंलग्न आन्दोलनको संस्थापक सदस्य रहेको नेपाल सबै राष्ट्रले एकअर्काको अस्तित्वको सम्मान गर्नुपर्छ भन्नेमा सधैँ अडिग छ,” उहाँले भन्नुभयो, “नेपालको संविधानले नै संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलको सिद्धान्त, अन्तरराष्ट्रिय कानुन र विश्व शान्तिका मूल्यमान्यतामा आधारित अन्तरराष्ट्रिय सम्बन्ध नीति निर्दिष्ट गरेको छ ।

संविधानले अङ्गीकार गरेको यो नीतिलाई नेपालको सङ्घीय संसद्ले पनि आत्मसात् गरेको छ । समग्रमा हाम्रा संसदीय कूटनीतिका प्रयासहरू सोही नीतिबाटै प्रेरित छन् ।” सम्बोधनमा क्रममा सभामुख घिमिरेले कूटनीतिक कार्यको पुरातन र परम्परागत अवधारणामा परिवर्तन आइसकेको बताउनुभयो । उहाँले यसको दायरा फराकिलो भइसकेको जनाउँदै वैकल्पिक कूटनीतिका औजारमध्ये संसदीय कूटनीति निकै महत्वपूर्ण औजारका रूपमा विकसित भएको बताउनुभयो । “संसदीय कूटनीति परम्परागत कूटनीतिको पूरक हो ।

संसद् आफैँमा लोकतन्त्र र जनमतको उपज हो, तसर्थ संसदीय कूटनीतिले अन्तरराष्ट्रिय सम्बन्धहरूमा लोकतान्त्रिक आयाम र वैधता थप गर्दछ । यसले जनस्तरमै विश्वास र सद्भाव निर्माण गर्छ,” सभामुख घिमिरेले भन्नुभयो, “जनतासँग नजिकको सम्पर्कमा रहिरहने सांसदहरूको कूटनीतिक क्रिया जनताको हित केन्द्रित र जनताबाट समर्थित हुने भएकाले यसले क्षणिक नभई दिगो नतिजा हासिल गर्छ । अन्तरराष्ट्रिय मामिलाका निर्णय प्रक्रियामा नागरिकका आवाज र आकाङ्क्षा प्रतिबिम्बित हुने सुनिश्चितताका लागि कूटनीतिमा संसद्को संलग्नता अपरिहार्य हुन्छ ।”

उहाँले संसारका विभिन्न भागमा राष्ट्रहरूबीच तनाव र द्वन्द्वको स्थिति सृजना भएको भन्दै राज्यको नेतृत्वले संसद् र आम नागरिकको भावना नबुझी आफूखुसी चालेका कदमबाट धेरैजसो तनावको उत्पत्ति भएको बताउनुभयो । “सरकारका गतिविधिहरूको निगरानी गर्ने भूमिकामा रहेको संसद्ले यस्ता स्वेच्छाचारी कदममा रोक लगाएर अन्तरराष्ट्रिय समुदायमा शान्ति र समझदारी कायम गर्नुपर्छ,” उहाँले भन्नुभयो । उहाँले विवादको समयमै निरुपण गर्दै सहकार्य प्रवद्र्धन र साझा हितको बढावा गर्ने कूटनीतिमार्फत मात्रै राष्ट्रबीच संवाद, सहकार्य र सम्मानका माध्यमबाट सम्पूर्ण मानवजातिकै अधिकतम कल्याणका लागि अघि बढ्ने सिङ्गो विश्वको सामूहिक प्रयास सफल हुन सक्ने धारणा व्यक्त गर्नुभयो ।

सभामुख घिमिरेले कूटनीतिको कार्यक्षेत्र युद्धको रोकथाम गर्ने वा भइरहेका युद्धको अन्त्य गर्नेमा मात्रै सीमित नभएर विश्वका ज्वलन्त चुनौतीको सामना गर्न समान चासो भएका मुलुकको सहकार्य र सामूहिक प्रयास अपरिहार्य भएकामा जोड दिनुभयो । आइपियु विश्व शान्तिका लागि संसदीय कूटनीतिको अभ्यास गर्दै आएको संस्था हो । यसले शान्ति, अन्तरराष्ट्रिय सुरक्षा, लोकतन्त्र, मानव अधिकार, दिगो विकासजस्ता समसामयिक विषयमा विश्वभरका सांसदबीच छलफल, मन्थन र सहकार्यको मञ्च प्रदान गर्दै आएको छ । नोबेल शान्ति पुरस्कार प्रदान गर्न थालिएको पहिलो र तेस्रो वर्षमै यसका दुई सहसंस्थापक पेसी र क्रेमरले उक्त पुरस्कार पाएबाट उच्च रहँदै आएको गरिमालाई आइपियुले कायम राख्न सफल भएको छ ।

सभामुख घिमिरेले आइपियुलाई आगामी दिनमा यही मनोबलका साथ अघि बढ्न शुभकामना दिँदै नेपालको सङ्घीय संसद्का तर्फबाट पूर्ण सहयोग र ऐक्यबद्धता रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

फुटवल खेलाडी र सहायक प्रशिक्षक नगदसहित सम्मानित

इनरुवा (सुनसरी), ११ चैत : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य रेखा पौडेल र सहायक प्रशिक्षक श्याम मानन्धर नगदसहित गृहनगरमा सम्मानित हुनुभएको छ । साउदी अरबमा भएको वाफ च्याम्पियनशिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य पौडेल र मानन्धरलाई इटहरी उपमहानगरपालिका र राष्टिय जागृति क्लबले नगदसहित सम्मान गरेको हो ।

उपमहानगरले पौडेललाई नगद रु एक लाख एक हजार र मानन्धरलाई रु ५१ हजारसहित सम्मान गरेको इटहरी उपमहानगरका नगरप्रमुख हेमकर्ण पौडेलले बताउनुभयो । फुटबल खेलको माध्यमबाट इटहरीको मात्र नभई समग्र देशको शिर उच्च राख्न योगदान पु¥याएको भन्दै दुवै जनालाई नगदसहित सम्मान गरिएको प्रमुख पौडेलले बताउनुभयो ।

जागृति क्लबले पनि पौडेल र मानन्धरलाई नगद रु २५ हजारसहित सम्मान गरेको क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले बताउनुभयो । वाफ च्याम्पियनशिपको फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित हुँदै उपविजेता भएको थियो ।

मस्को आक्रमणपछि मृत्युदण्डको प्रावधान फर्काउन पुटिन समर्थकहरूको माग

मस्को कन्सर्ट हलमा शुक्रबार भएको आक्रमणपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शासनका वरिष्ठ सदस्यहरूले मृत्युदण्डको सजाय फिर्ता ल्याउन देशलाई आह्वान गरेका छन् ।रुसले सन् १९९० को दशकदेखि मृत्युदण्डको सजायमा रोक लगाएको थियो तर दुई दशकयता देशमा भएको सबैभन्दा घातक हमलापश्चात यो प्रावधानलाई हटाउन माग बढिरहेको छ ।

“हाल मृत्युदण्डको प्रावधानबारे अनेक प्रश्नहरू आइरहेका छन्”, संसदको तल्लो सदन ड्युमामा सत्तारूढ युनाइटेड रसियन पार्टीका प्रमुख भ्लादिमिर भासिलिभले एक भिडियोमार्फत भन्नुभयो, “यो विषयमा निश्चितरूपमा गहिरो, व्यावसायिक र ठोस छलफल गरिनेछ । हाम्रो समाजको अपेक्षाहरू पूरा गर्ने गरी निर्णय लिइनेछ ।”

क्रोकस सिटी कन्सर्ट हलमा शुक्रबार भएको आक्रमणमा एक सय ३० जनाभन्दा बढीको मृत्यु भएको थियो । “आतङ्कवाद र हत्याको सन्दर्भमा मृत्युदण्डको सजाय फिर्ता ल्याउन आवश्यक छ”, ड्युमाका सुरक्षा समितिका उपप्रमुख युरी अफोनिनले शनिबार भन्नुभयो ।

पुटिनका दुई घनिष्ठ सहयोगी पूर्व राष्ट्रपति एवं हाल सुरक्षा परिषद्का उपप्रमुख दिमित्री मेदभेदेव र ड्युमाका सभामुख व्याचेस्लाभ भोलोदिनले पनि आक्रमणपछि आतङ्कवादीलाई नष्ट गर्न आह्वान गर्नुभएको थियो । रुसी संसद्मा पुटिनका समर्थक अन्य दुई पार्टीका प्रमुखहरूले पनि यस विषयमा समर्थन जनाएका थिए । स्वतन्त्र मिडियाजोना समाचार साइटका अनुसार सन् २०२३ मा अधिकारीहरुले १ सय ४३ आतङ्कसँग सम्बन्धित फौजदारी मुद्दा रेकर्ड गरेका थिए ।

रुसको वित्तीय अनुगमन निगरानी संस्थाले यो महिनाको सुरुमा अन्तर्राष्ट्रिय लैङ्गिक अल्पसङ्ख्यक (एलजिबिटी) अभियानलाई “आतङ्कवादी र चरमपन्थी“ कालोसूचीमा थपेको थियो । पुटिनको पछिल्लो दशकको सबैभन्दा कडा आलोचक एलेक्सी नभाल्नी ‘अतिवाद’ को आरोपमा वर्षौँ जेल सजाय भोग्नेहरुमध्ये हुनुहुन्थ्यो । उहाँको गत महिना आर्कटिक जेल कोलोनीमा मृत्यु भएको हो ।

रुसले क्रेमलिन विरोधी र युक्रेनका समर्थकहरूलाई लक्षित गर्न आतङ्कवाद तथा चरमपन्थी विरोधी कानूनको व्यापक प्रयोग गरेकाले आलोचकहरूले मृत्युदण्डको सजाय फिर्ता ल्याउने मागलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

“यदि आतङ्कवादका लागि मृत्युदण्डको सजायलाई अनुमति दिने हो भने यो प्रावधानले कति मानिसहरूलाई मार्नेछ भन्ने अनुमान गर्न सकिन्छ, कुनै हिसाबले आतङ्कवादी नरहेका पनि हाल धेरै जेलमा छन्”, महिला अधिकारकर्मी एलोना पोपोभाले शनिबार टेलिग्राममार्फत भन्नुभयो, “त्रासदीसँग खेल्नु कुनै हिसाबले उचित हुँदैन ।”

खेल क्षेत्रमा राजनीतिकरण बन्द गरौँ : खेलकुदमन्त्री श्रेष्ठ

कास्की, ११ चैत : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेल क्षेत्रमा राजनीतिकरण बन्द हुनुपर्ने बताउनुभएको छ । सहकार्यबाट खेलकुद विकास सम्भव रहेकाले सबैसँग सहकार्य गरेर अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो । पोखरा रङ्गशालाको आज निरीक्षणपछि सञ्चारकर्मीहरुसँगको भेटघाटमा उहाँले राजनीतिक नियुक्ति लिएर जनैमा साँचो हाले जसरी बसेर खेलाडी र खेल क्षेत्रलाई बन्धक बनाउने राजनीति अब बन्द गर्नुपर्ने जिकिर गर्नुभयो ।

“खेल क्षेत्रमा राजनीति बन्द गरौँ । खेलकुद संरचना बनाउने, खेलाडीको भविष्य उज्ज्वल बनाउने राजनीति मात्र गरौँ ।” उहाँले भन्नुभयो । खेलकुदमन्त्री श्रेष्ठले पोखरा रङ्गशालाभित्रका खेल पूर्वाधारको अवलोकनपछि आफू उत्साहितसँगै पूर्वाधार संरक्षणलाई लिएर भने चिन्तित बनेको बताउनुभयो ।

राज्य र जनताको करबाट निर्मित संरचना अधिकतम टिकाउनुपर्ने चुनौती रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारबाहेक पनि कतिपय संरचना खेलाडी, प्रशिक्षक र खेलाडीका परिवारबाट समेत बनेका रहेछन् । खेल पूर्वाधार संरक्षण भएन भने छिट्टै बिग्रन्छ । राम्रा संरचना संरक्षण नुहुन चिन्ताको विषय रहेको छ ।”

मन्त्रालयले आगामी वर्ष खेल पूर्वाधार संरक्षणका लागि बजेट विनियोजन गर्ने तयारी गरेको जानकारी दिनुभयो । खेलकुदमा लगायनी गर्नका लागि पछिल्लो समय नीजि क्षेत्र उत्साहित रहेकाले सार्वजनिक तथा निजी क्षेत्रको सहकार्यबाट खेलकुद विकास गरिने उहाँले बताउनुभयो । खेलकूदमन्त्री श्रेष्ठले पोखरा रङ्गशालाभित्र रहेका अन्तर्राष्ट्रिय फुटबल स्टेडियम, क्रिकेट मैदान, टेनिस कोर्ट, भलिबल कोर्ट, स्क्वास लगायतका खेलका पूर्वाधारको अवलोकन गर्नुभएको थियो ।

खेलकुदमन्त्री श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँ, प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतले खेल पूर्वाधार र खेलकुद क्षेत्रका समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।

गाजामा सहयोगका लागि इजराइलले अवरोध हटाउन आवश्यक छ– गुटेरेस


संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कायरोमा आइतबार भोकमरीको खतरामा रहेको गाजामा आवश्यक सहायता पुर्याउन ‘इजराइलले राहतका लागि बाँकी अवरोध र चेकपोइन्टहरू हटाउन आवश्यक रहेको’ बताउनुभएको छ ।

इजिप्टका विदेशमन्त्री सामेह शौकरीसँगको संयुक्त पत्रकार सम्मेलनमा उहाँले ‘गाजामा दुःस्वप्नबाट बच्न सङ्घर्ष गरिरहेका प्यालेस्टिनी बालबालिका, महिला र पुरुषहरूको दुर्दशा’ कम गर्नका लागि ‘तत्काल मानवीय युद्धविराम’ को आफ्नो आह्वानलाई दोहोर्याउनुभयो ।

उहाँले शनिबार गाजासँगको रफा सीमाको भ्रमण गर्नुभएको थियो । रफामा छ महिनाको युद्ध र घेराबन्दीले गाजा क्षेत्रका २४ लाख मानिसमध्ये अधिकांशलाई विस्थापित गरेको छ र गाजाको नागरिक पूर्वाधारलाई ध्वस्त बनाएको छ ।“गाजालाई हेर्दा युद्ध, अनिकाल, विजय र मृत्युका चार घोडचढीले यसलाई पार गर्दैछन् भन्ने प्रतीत हुन्छ”, महासचिव गुटेरेसले भन्नुभयो, “बन्दुकलाई शान्त पार्ने र तत्काल मानवीय युद्धविराम सुनिश्चित गर्ने समय आएको सम्पूर्ण विश्वले बुझेको छ ।”

इजराइली सरकारमाथि गाजामा बमबारी र स्थल आक्रमणलाई कम गर्न अन्तर्राष्ट्रिय दबाब बढिरहेको छ । इजराइलले आफ्नो जवाफी सैन्य अभियानलाई गाजाको सबैभन्दा दक्षिणी सहर रफासम्म जारी राख्ने वाचा गरेको छ । इजिप्टको सीमासँग जोडिएको रफामा १५ लाख प्यालेस्टिनीले शरण मागेका छन् ।

इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसीसँग पनि भेटवार्ता गर्नुभएका महासचिव गुटेरेसले रफा सीमा नाका र इजिप्टको एल–अरिश विमानस्थललाई ‘गाजामा जीवन रक्षक सहायताका लागि आवश्यक धमनीहरू’ भएको बताउनुभयो ।

“तर ती धमनीहरू अवरुद्ध भएका छन्”, उहाँले भन्नुभयो, “इजिप्टतिर ट्रकहरूको लाइन लागेको छ, मानवीय स्थिति खराब भएका कारण मात्र ट्रकहरूको आवागमन बढिरहेको छ ।”

इजराइलसँग सहायतामाथिको प्रतिबन्ध कम गर्न र गाजामा थप क्रसिङ खोल्नका लागि मागहरू बढेका छन् । “गाजामा प्यालेस्टिनीहरूलाई वाचा गरिएको सहायताको थोपा होइन, बाढी नै आवश्यक छ”, गुटेरेसले भन्नुभयो ।

संयुक्त राष्ट्रसङ्घले बारम्बार प्यालेस्टिनी क्षेत्र विशेषगरी उत्तरी क्षेत्रमा अनिकालको चेतावनी दिएको छ । प्यालेस्टिनको उत्तरी क्षेत्र ठूलो मात्रामा सहायता वितरणबाट विच्छेद भएको छ ।

क्यान्सरको खुलासापश्चात पाएको साथले वेल्सका राजकुमार र राजकुमारी ‘अत्यन्तै उत्प्रेरित’


वेल्सकी राजकुमारी केट र प्रिन्स विलियम राजकुमारीलाई क्यान्सर भएको घोषणा पश्चात जनताबाट पाएको न्यानोपन र समर्थनबाट अत्यन्तै उत्प्रेरित हुनुभएको बताइएको छ ।

आफ्नो स्वास्थ्यबारे समाजिक सञ्जालमा गरिएको उन्मादपूर्ण अनुमानहरूको हप्ता दिनपछि राजकुमारी केटले शुक्रबार एक भिडियोमार्फत पेटको ठूलो शल्यक्रियापछि हाल किमोथेरापी गराइरहेको बताउनुभएको थियो ।

बयालीस वर्षीया राजकुमारीले क्यान्सर आफ्ना लागि एक ठूलो झट्का रहेको र सोको रोकथामका लागि किमोथेरापीको प्रारम्भिक चरणमा रहेको बताउनुभएको थियो ।

“राजकुमार र राजकुमारी संयुक्त अधिराज्य र विश्वभरका जनताबाट आएका सन्देशले उत्प्रेरित हुनुभएको छ, उहाँहरू जनताको न्यानोपन र समर्थन तथा यस समयमा गोपनीयताका लागि गरिएको अनुरोधलाई बुझिदिएकामा कृतज्ञ हुनुहुन्छ”, केन्सिङ्टन दरबारका प्रवक्ताले भन्नुभयो ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन, क्यान्सरको उपचार गराइरहनुभएका राजा चार्ल्स तृतीयलगायत विश्वभरबाट राजकुमारी केटका लागि समर्थनका सन्देश आइरहेका छन् । केट वा अरु कसैले पनि उहाँलाई कस्तो प्रकारको क्यान्सर भएको हो वा कुन चरणमा उपचार भइरहेको छ भन्ने खुलासा गर्नुभएको छैन । राजकुमारीप्रति सहानुभूति प्रकट गर्दै मानिसहरू केन्सिङ्टन दरबारका साथै विन्डसर क्यासलमा भेला भएका छन् ।

अधिकारीहरूले शुक्रबारसम्म जनवरीमा केटको शल्यक्रिया सफल भएको र स्वास्थ्य सुधारका लागि उहाँ अप्रिलसम्म सार्वजनिक कर्तव्यबाट टाढा बस्ने बताएका थिए । यसले भावी रानी ‘हराइरहेको’ अफवाह फैलायो र केटले यो महिनाको सुरुमा संयुक्त अधिराज्यमा मदर्स डे मनाउन जारी गरिएको आधिकारिक तस्बिर परिवर्तन गरेको स्वीकार गरेपछि अवस्था थप जटिल बनेको थियो ।

द सन र टिएमजेडले गत हप्ता केट र विलियम उहाँहरूको घर नजिकै किनमेल गरिरहेको भिडियो प्रकाशन गरे पनि नकारात्मक कभरेजलाई हटाउन सकेन । “राजकुमारी केटले भिडियोमार्फत जानकारी गराउनुअघि उहाँको स्वास्थ्य अवस्था र ठेगानाबारे अनुमान र दबाब मैले अहिलेसम्म देखेको सबैभन्दा खराब थियो”, केट र प्रिन्स अफ वेल्सका पूर्व आधिकारिक प्रवक्ता प्याडी हार्भरसनले भन्नुभयो ।

यद्यपि जस्तोसुकै अनुमान गरिए पनि केटले आफ्नो स्वास्थ्यस्थितिबारे जानकारी दिनुहुनेछ भन्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रतिबद्धता

गण्डकी, ११ चैत : सामुदायिक विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण बढाउन पोखरा महानगरपालिका–९ वडा कार्यालयले नौबुँदे प्रतिबद्धता जारी गरेको छ । सामुदायिक विद्यालय प्रदान गरेको शिक्षाका सम्बन्धमा वडा कार्यालयलले चासो देखाउँदै विद्यालयलाई अब्बल बनाउन के गर्न सकिन्छ भन्ने विषयमा गुनासा, सुझाव र अपेक्षा सङ्कलनसहित प्रतिबद्धता जारी गरेको हो ।

विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अभिभावक, टोल विकास संस्था र वडा कार्यालयको भूमिकामा समूहगत छलफल गर्दै गोष्ठी प्रस्तुतिमा आएका सुझावलाई नयाँ शैक्षिक सत्रदेखि कार्यान्वयन गर्न÷गराउन सहमत भई प्रतिबद्धतामा हस्ताक्षर गरिएको हो ।

प्रतिबद्धतापत्रमा वडाअध्यक्ष दीपेन्द्र मर्सानी, सदस्यहरू गीता चर्माकार, नन्दराम गिरी, भावना श्रेष्ठ र लक्ष्मी पहारीको रोहवरमा वडाभित्रका सामुदायिक विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकले हस्ताक्षर गर्नुुभएको छ ।

प्रतिबद्धतामा वडा कार्यालयले आगामी शैक्षिक सत्रदेखि शिक्षा क्षेत्रमा न्यायोचित बजेट विनियोजन गर्ने, अभिभावकलाई वडा शिक्षा समितिमार्फत अभिभावक शिक्षा सञ्चालन गर्ने, पोखरा महानगरपालिकाको शिक्षा महाशाखाको समन्वयमा विद्यालय व्यवस्थापन समिति र शिक्षकलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्ने उल्लेख छ । त्यसैगरी, प्रधानाध्यापकहरूले वार्षिक शैक्षिक कार्ययोजना निर्माण गरी लागू गर्ने, कार्यसम्पादनका आधारमा उत्कृष्ट शिक्षकलाई सम्मान गर्ने, विद्यार्थीले कठिन ठानेका विषयमा आवश्यकताअनुसार अतिरिक्त कक्षा सञ्चालन गर्ने, विपन्न विद्यार्थी पहिचान गरी आयआर्जनका लागि सीपमूलक र उद्यमशीलता तालिम सञ्चालन गर्ने, अतिरिक्त सृजनात्मक क्रियाकलाप सञ्चालन गर्न शिक्षकको व्यवस्थापन गर्ने, वडाभित्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई एकरूपताका लागि एकै प्रकारको ‘ब्याच’को व्यवस्थापन गर्ने उल्लेख गरिएको छ ।

समाजवादमा पुगेर मात्र देशलाई समृद्ध बनाउन सकिन्छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ, ११ चैत : पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादमा पुगेर मात्र देशलाई समृद्ध बनाउन सकिने बताउनुभएको छ ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिचन्द्र क्याम्पस कमिटीले आज आयोजना गरेको ‘बृहद् होली मिलन कार्यक्रम’मा उहाँले समाजवादमा पुगेर मात्रै देशलाई समृद्ध बनाउन सकिने बताउनुभएको हो ।

“देशको विकास गर्न र विकृति विसङ्गतिलाई अन्त्य गर्न समाजवाद आवश्यक छ, समाजवाद प्राप्त गरेर मात्रै देशमा शान्ति र समृद्धि ल्याउन सकिन्छ,” उहाँले भन्नुभयो । समाजवादको भविष्यमा पुगेर मात्रै देशलाई समृद्ध मुलुकका रुपमा रुपान्तरण गर्न सकिने उहाँको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता खनालले सुखी नेपाली, समृद्ध मुलुकको सपना समाजवादबाट मात्र पूरा हुनसक्ने बताउनुभयो । देशका युवा साम्राज्यवादी, प्रभुत्ववादी र हस्तक्षेपकारी शक्तिका विरुद्ध एकताबद्ध भएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री खनालले देशभित्रै शोषण, दमन र अत्याचार गर्ने दलाल पूँजीवादी शक्तिका विरुद्ध पनि आम जनता एकताबद्ध हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले विद्यार्थीलाई उपल्लो निकायसम्म पुगे पनि भ्रष्टाचारमा नलाग्न अनुरोध गर्नुभयो ।

पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकले मनाए होली

कास्की, ११ चैत : देशको पर्यटकीय राजधानी सहर पोखरामा विदेशी पर्यटक होलीमा रमाएका छन् । पर्यटकीय गन्तव्य लेकसाइडका सडकमा पर्यटक एकापसमा रङ्ग दलेर होली पर्व मनाएका हुन् । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेवाताल किनारमा होली महोत्सव आयोजना गरेको थियो । महोत्सवमा पर्यटक बाजागाजासहित नाचगान र विभिन्न रङ्गहरु अनुहारमा दलेर रमाएका हुन् ।

विभिन्न देशका पर्यटकहरुले एकापसमा रङ्ग दलेर होलीमा रमाइलो गरे । होली महोत्सवअन्तर्गत अम्मट चौतारामा आन्तरिक तथा बाह्य पर्यटकलाई सहभागी गराई सामूहिक रुपमा होली खेलिएको थियो । पञ्चेबाजा र गीत–सङ्गीतका साथमा होली मनाइएको रेवान पोखराका अध्यक्ष नरेशबहादुर भट्टराईले बताउनुभयो । पर्यटक होली खेल्दै गौरीघाट, बाराहीचोक–हल्लनचोक हुँदै खहरेचोकसम्म पुगेका थिए । पोखरामा पाँच सय विदेशी पर्यटक होलीमा रमाएको रेवानले जनाएको छ ।

रेवानका अध्यक्ष भट्टराईले विगतदेखि नै होली पर्वमा विदेशी पर्यटकले रमाइलो मानेर सहभागी हुने गरेको बताउनुभयो । रेवानले एक दशकअघि देखि होली महोत्सव आयोजना गर्दै आएको छ । होलीमा रमाइलो गर्नका लागि भनेर कतिपय पर्यटकले पोखराको बसाइ लम्ब्याउने गरेको भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वदेशी मात्र होइन विदेशी पर्यटक होलीमा रमाउने गरेका छन् । कतिपय पर्यटकले आफ्नो देश फर्कने तालिका पछि सारेर होलीका लागि बस्ने गरेका छन् ।”

चीन, अमेरिका, बेलायत, अष्ट्रेलियालगायत देशका पर्यटक होलीमा रमाएका हुन् । पर्यटकलाई रमाइलो गराउनका लागि लेकसाइडको सडकमा पञ्चेबाजा, विभिन्न अङ्ग्रेजी गीत–सङ्गित तथा नृत्य प्रस्तुत गरिएको थियो । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले फागू पूर्णिमा मनाउनका लागि स्वदेशी पर्यटकको  गन्तव्य पोखरा बनेको बताउनुभयो ।  होलीका लागि देशका विभिन्न भागबाट पर्यटक यहाँ आएको उहाँले जानकारी दिनुभयो । होली मनाउने उपयुक्त गन्तव्य पोखरा बन्दै गएको छ । यहाँ भएका विदेशी मात्र होइन, स्वदेशी आउने गरेका छन् ।