`

छेडेदहतालमा डुङ्गा पल्टिँदा ३२ वर्षीय वीरेन्द्र बेपत्ता,६ जना पौडेी खेलेर बच्न सफल

बाजुरा, ११ चैतः जिल्लाको खप्तड छेडेदहगाउँपालिका–४ र ७ मा पर्ने छेडेहदतालमा डुङ्गा पल्टिँदा आज एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खप्तड छेडेदह–७ लम्गाउँका अन्दाजी ३२ वर्षीय वीरेन्द्र रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

अचानक तालमा डुङ्गा पल्टिँदा रावत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराकाप्रहरी नायवनिरीक्षक सुरेश भण्डारीले जानकारी दिनुभयो । डुङ्गामा सवार अन्य ६ जना पौडेी खेलेर सकुशल बच्न सफल भएको उहाँले बताउनुभयो । बेपत्ता रावतको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अतिक्रमित सरकारी जग्गाको लगत सङ्कलन गर्दै प्रशासन

दोधारा चाँदनी (कञ्चनपुर), ११ चैत : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अतिक्रमणमा परेको सरकारी जग्गाको विवरण सङ्कलन सुरु गरेको छ ।

प्रशासनले पहिलो चरणमा सार्वजनिक जग्गाको अतिक्रमणको अवस्था र जालसाजीपूर्ण रुपमा व्यक्तिको नाममा भएको सरकारी जग्गाको लगत सङ्कलन गरिरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले राससलाई जानकारी दिनुभयो । “विभिन्न सरकारी कार्यालयलाई अतिक्रमणमा परेको जग्गाको विवरण दिन भनेका छाँै ।” प्रजिअ अधिकारीले भन्नुभयो, “हामीले अहिले अतिक्रमण भएको जग्गाको विवरण सङ्कलन गरिराखेका छाँै ।” उहाँका अनुसार यहाँका केही स्थानीय तहले अतिक्रमणमा परेको जग्गा हटाउन प्रशासनसँग सहयोग मागेका छन ।

अतिक्रमण भएको सार्वजनिक जग्गाको विवरण सङ्कलन गरेर अनुसन्धान तथा अभियोजन गरी गराई त्यस्ता जग्गा साविककै अवस्थामा फिर्ता ल्याउने निर्णय गरिसकेको प्रशासनले जनाएको छ । प्रशासनले अतिक्रमणमा परेको यथार्थ विवरणको सूचना सम्बन्धित स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमा ३० दिनभित्र उपलब्ध गराउन सार्वजनिक सूचना आह्वान गरेको छ ।

प्रशासनले अतिक्रमणमा परेको जग्गाको लगत सङ्कलन गर्न थालेपछि यहाँका स्थानीयले अतिक्रमित सरकारी जग्गा फिर्ता हुने आशा गरेका छन् । “यहाँ नगर विकासको धेरै बिघा जग्गा अतिक्रमण भएको छ ।” स्थानीय रमेश कलौनीले भन्नुभयो–“प्रशासनको पहलले सरकारी जग्गा पुरानै अवस्थामा आउने अपेक्षा गरेका छौँ ।” उहाँले सरकारी जग्गा गैरकानुनी रुपमा लिजमा लिएर उपयोग भइरहेकाले प्रशासनले उक्त जग्गा खाली गराउनुपर्ने बताउनुभयो ।

सडक डिभिजन, महाकाली सिँचाइ आयोजना र राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको जग्गा अतिक्रमणमा परेकाले खाली गराउन स्थानीय तहले प्रशासनसँग सहयोग मागेका छन् । “सरकारी जग्गाको अतिक्रमण जताततै देखिन्छ सरकारले विवरण सङ्कलन गरेर यथाशीघ्र फिर्ता ल्याउने पक्रिया सुरु गर्नुपर्छ ।” स्थानीय योगेश भट्टले भन्नुभयो ।

अतिक्रमण हटाउन जिल्ला प्रशासन कार्यालयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपाल बाल सङ्गठन कञ्चनपुर, घरेलु तथा साना उद्योग कार्यालय, कृष्णपुर नगरपालिका र सङ्घीय आयोजना कार्यान्वयन एकाइ, धनगढी कैलालीले पत्र पठाएका छन् । प्रशासनले स्थानीय तहसँग समन्वय गरी यथाशीघ्र अतिक्रमण हटाउने निर्णय गरिसकेको छ ।

विश्व क्षयरोग दिवस : उपचारका दायरामा आउने न्यून

काठमाडौँ, ११ चैत : ‘हो! हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नारासहित आज विश्व क्षयरोग दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइयो । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार आर्थिक वर्ष २०७९÷८० मा नेपालमा ७० हजार क्षयरोगका नयाँ बिरामी थपिएका छन् । ती मध्ये ३७ हजार चार सय ४७ जना मात्र उपचारमा दायरामा आएको देखिन्छ । यसैगरी क्षयरोगकै कारण वर्षेनी १८ हजारको मृत्यु हुने तथ्याङ्कले देखाउँछ ।

क्षयरोग ‘माइको ब्याक्टेरियम ट्युबरक्लोसिस’ नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । क्षयरोग भएका बिरामीले खोक्दा, हाछ्युँ गर्दा किटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ ।

केन्द्रका निर्देशक डा प्रज्ज्वल श्रेष्ठले भन्नुभयो, “क्षयरोगको जोखिम १५ देखि ४४ वर्ष उमेर समूहका छन् । पछिल्लो वर्षमा ६५ वर्षभन्दा माथिका वृद्धवृद्धामा पनि क्षयरोग देखिने गरेको पाइएको छ ।” हाल नेपालभर छ हजारभन्दा बढी स्वास्थ्य संस्थामा क्षयरोग विरुद्धको औषधि निःशुल्क उपलब्ध छन् । क्षयरोगको जोखिममा कुपोषण भएका, धुमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादकपदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस उच्च जोखिम गर्दछन् ।

उहाँले ‘क्षयरोग मुक्त नेपाल अभियान’ अन्तर्गत हाल एक सय २५ स्थानीय तहमा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गरिएको जानकारी दिँदै क्रमश ः सात सय ५३ वटै स्थानीय तहमा लागू गरिने बताउनुभयो । नेपालले सन् २०५० सम्ममा क्षयरोगमुक्त बनाउने लक्ष्य लिएको छ ।

डोटीमा माटोको ढिस्कामा पुरिएर थप एक महिलाको निधन

डोटी, ११ चैत : डोटीमा नयाँ वर्षका लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा ढिस्कोले पुरिएर थप एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले आदर्श गाउँपालिका–२ का ६० वर्षीया भागादेवी ओझाको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर आज मृत्यु भएको बताउनुभयो ।

ओझासँगै ढिस्कोमा पुरिएका ५० वर्षीया पार्वती खड्काको उद्धार गरिएको प्रनाउ श्रीवास्तवले जानकारी दिनुभयो । खड्काको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । शनिबार मात्रै माटो खन्ने क्रममा ढिस्कोले पुरिएर शिखर नगरपालिका–९ का २१ वर्षीया निर्मला रोस्याराको मृत्यु भएको थियो । रोस्यारासँगै माटो लिन गएका अन्य तीन महिलालाई उद्धार गरिएको बताइएको छ । स्थानीयवासी नयाँ वर्ष नजिकिएसँगै घर लिपपोतका लागि रातो तथा कमेरो माटो वढी मात्रामा प्रयोग गर्दछन्

विश्वकै दुर्लभ बगाले बगेडी चरा शुक्लाफाटाँमा

कञ्चनपुर, ११ चैत : विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ । निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलोपटक देखापरेको हो । शुक्लाफाँटा नगरपालिका–२ ढकनियास्थित स्थानीय किसानको खेतमा बगाले बगेडी चरा फेला परेको संरक्षणकर्मी सुवन चौधरीले बताउनुभयो । भँगेरा जस्तै तर रङ्गीन ३२ वटा बगाले बगेडी चरा आफूले देखेको उहाँले राससलाई बताउनुभयो ।

धेरै वर्षपछि विश्वमै दुर्लभ मानिएको चरा देखापरेपछि नियमित निरीक्षण गर्दै आएको संरक्षणकर्मी चौधरीले बताउनुभयो । “फरक प्रजातिको चरा देखेपछि तस्वीर खिचेर नेपाल पक्षी संरक्षण सङ्घलाई पठाएँ”, उहाँले भन्नुभयो, “यो दुर्लभ प्रजातिको चरा भएको जानकारी प्राप्त भएको छ ।”

नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यस चरालाई पहिलोपटक सन् १९८० मा अभिलेखीकरण गरिएको थियो । त्यसपछि यस चराको तथ्याङ्क राखिएको नपाइएको उहाँले बताउनुभयो । अभिलेखीकरण गरिएको ४४ वर्षपछि बगाले बगेडी चरा देखापरेको उहाँले बताउनुभयो ।

चराविज्ञ डगौराका अनुसार नेपालमा बगेडी चराका १५ प्रजाति नेपालमा पाइने गरेका छन् । तीमध्ये तीन प्रजाति रैथाने हुन् । बाँकी १२ आकर्षक साना प्रजातिका चरा रुस, मङ्गोलिया, चीनलगायतका क्षेत्रबाट बसाइँ सरेर आउने गर्दछन् । बसाइँ सरेर आउनेमध्ये बगाले बगेडी चरा पनि पर्ने गर्दछ ।

उत्तरी ध्रुवमा अत्यधिकरूपमा बढेको चिसो छल्नका प्रत्येक वर्ष यहाँ पुग्ने गर्दछन् । मासुका लागि अत्यधिकरूपमा सिकार हुन थालेपछि यो चरा विश्वबाटै लोप हुने अवस्थामा पुगेको छ । “अत्यन्तै सुन्दर शारीरिक बनावट र रङ भएका बगेड चराको सङ्ख्या पछिल्लो दशकमा ९० प्रतिशतले घटेको पाइएको छ”, चराविज्ञ डगौराले भन्नुभयो, “घट्नुको मुख्य कारणका रूपमा चोरी सिकारी नै हो ।” चीनमा सबैभन्दा बढी यस चराको सिकार हुने गरेको उहाँको भनाइ छ ।

नेपालकै मधेस प्रदेशको धनुषा र महोत्तरी क्षेत्रमा यस चराको सिकार हुने गरेको पाइएको चौधरीले बताउनुभयो । “उखुबारीमा भएका बेला यस चराको सिकार भएको पाएका छौँ”, उहाँले भन्नुभयो, “होटलमा समेत यस चराको मासु बिक्री भएको पाइएको छ ।”

“छातीमा पहेँलो रङ हुने बगाले बगेडी (एल्लो ब्रेस्टेड बन्टिङ) चरा नेपालमा पनि केही वर्ष पहिला हजारौँका सङ्ख्यामा देखिने गरेका थिए, अहिले २० देखि ३० को सङ्ख्यामा मात्रै देखिने गरेका छन्”, डगौराले भन्नुभयो, “पछिल्लो वर्षमा यस चरालाई देख्न पनि दुलर्भ भएको छ, सन् १९८० पछि पहिलोपटक देखिएका छन् ।” यो चरा अतिसङ्कटापन्न अवस्थामा रहेको उहाँले बताउनुभयो ।

चोरी सिकारीसँगै सिमसार क्षेत्र विनाश हुन थालेपछि बसाइँ सारेर आउने बगाले बगेडीसँगै अन्य चरा सङ्कटमा परेका छन् । बसाइँ सार्ने क्रममा हिमाल छिचोल्दै कयौँ फिटको उचाइ भएर आउने बगाले बगेडी चरा मर्ने गर्दछन् भने सिकारी चराको सिकार पनि हुने गर्दछन् । सिमसार क्षेत्र अतिक्रमणको चपेटामा पर्नु र कृषिमा अयिनन्त्रित तरिकाले विषादिको प्रयोग गर्दा पाहुना चरा यसबाट प्रभावित हुने गरेका छन् ।

नेपाल पक्षी संरक्षण सङ्घले बगाले बगेडी चराको सन् २००४ देखि सन् २०१७ सम्म गरेको तथ्याङ्क विश्लेषणमा पनि सङ्कटापन्न अवस्थमा देखिएको छ । चराविज्ञ डगौराका अनुसार बगाले बगेडी चरा सन् २००० देखि २०१५ सम्म संवेदनशील अवस्थामा थियो । सन् २०१३ देखि २०१६ सम्म सङ्कटापन्न अवस्थामा थियो । त्यसपछि यसको सङ्ख्या निकै घटेको पाइएपछि सन् २०१७ देखि हालसम्म यो चरा अतिसङ्कटापन्न अवस्थामा छ ।

यो चरा खेतबारी र घाँसेमैदानमा पाइन्छ । साउनदेखि जेठमा प्रजनन गर्ने यो प्रजातिको पोथीले घाँसको प्रयोग गरी भुइँमा गुँड लगाउने गर्छ । यसको औषत आयु सात वर्ष हुने गरेको बताइएको छ । प्रजननका बेला पहेँलो रङमा देखिने बगाले बगेडी अरु बेला भँगेराजस्तै देखिने भएकाले चिन्न नै गाह्रो हुने गरेको छ । कैलाली, कञ्चनपुरसँगै बर्दिया, चितवन, झापा, कोशीटप्पु र मधेस प्रदेशका केही जिल्लामा बगाले बगेडी चरा पाइने गरेका जिल्लाका चरासम्बन्धी अन्य जानकारहरूले बताएका छन् ।

फागुको मौलिकता मासिदै गएकामा बुढापाका चिन्तित

गलेश्वर (म्याग्दी), ११ चैतः गाउँघरमा साथीभाइ, आफन्त भेला भएर गामबेँसीका मौलिक गीत गाउँदै नाच्दै फागु खेल्ने चलन क्रमशः लोभ भएसँगै अध्यात्म, मनोरञ्जन, रङ र आत्मीयताको पर्व होलीको महत्व पनि हराउँदै गएको बुढापाकाले बताएका छन् । साथै उनीहरूल फाुगुको मौलिकता मासिएकामा पनि चिन्ता व्यक्त गरेका छन् ।

सहरबजारमा मात्र होइन, गाउँघरमा पनि फागुको महत्व हराउँदै गएको ज्येष्ठ नागरिकहरू बताउँछन् । “फागुमा गाइने गीत अब एकादेशको कथामा परिणत भएका छन् । भाका हालेर होरी गाउने, हातेमालो गरेर नाँच्ने, केशरी र अबिर लगाइदिने प्रचलन हराउँदै गएको छ”, मालिका गाउँपालिका–६ का ७४ वर्षीय दलसिंह सिउथानी भन्नुहुन्छ ।

“पहिले–पहिले फागुपूर्णिमा आउनुभन्दा दुई–तीन दिनअघिदेखि नै मादल, झ्याली, मुर्चुङ्गा, खैँजडीलगायत विभिन्न परम्परागत वाद्यवादनका तालमा होली गीत गाउने र नाच्ने गरिन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले दुई–चार दिनअघिदेखि नै लोला हान्ने र होलीको नाममा पानी र के–के भरेर बन्दुक जस्तो पिचकारीबाट पानी छ्याप्न गर्छन् ।”

“गाउँघरमा पनि पाश्चात्य संस्कृतिको प्रभाव परिसकेको छ, सहरबजारको हावा गाउँमा छिरिसकेको छ”, पण्डित नीलकण्ठ आचार्यले भन्नुभयो, “अब भक्त प्रह्लाद र फूपू होलिकाको जीवन चरित्र कसले गाओस्, अग्निमा फालिदिँदा पनि प्रह्लादलाई आगोले जलाउन नसकेको प्रसङ्ग कसले पत्याओस् ।”

फागु ‘होली’मा परिणत भएपछि यो युवापुस्तामा मात्रै सीमित रहेको छ । उमेर ढल्केका र वृद्धवृद्धामा फागुको कुनै रौनक देखिँदैन । यस पर्वलाई विशेषगरी सहरबजारमा साथीभाइ, आफन्तबीच रङ खेलेर धुमधामका साथ मनाइन्छ । त्यसैको प्रभाव गाउँघरमा पर्न थालेपछि होलीको विशेष मौलिकता नै हराउन पुगेकामा वृद्धवृद्धाले चिन्ता व्यक्त गरेका छन् ।

फागु रङ दलेर आत्मीयता साट्ने प्रचलन ‘होली’ खेल्ने भनेर जथाभावी लोला हान्ने र मनपरी गर्ने पर्वमा रुपान्तरण भएपछि नेपाली परम्परागत प्रचलन र संस्कृतिले नै गोली खाएको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ । आफ्नो मौलिक परम्परा, प्रचलित संस्कार र संस्कृतिभन्दा विपरीत किसिमल भड्किलो ढङ्गले यो पर्व मनाउने प्रचलन बढेकामा उनीहरू खिन्न छन् ।
विगतमा मनाइने ‘फागु’ र अहिले मनाइने ‘होली’ मा निकै फरक रहेको स्थानीय वृद्धवृद्धाहरूको भनाइ छ । “पहिले पहिले गाउँघरमा साथीभाइ जम्मा भएर कसैले फागु गीत झिक्ने, कसैले भट्याउने, कसैले मादल, झ्यालीलगायत वाद्यवादनका सामग्री बजाउने, कोही नाचेर रमाइलोसँग होली खेलिन्थ्यो”, सिङ्गाका ७२ वर्षीय गणनाथ पौडेलले भन्नुभयो, “अहिले मोबाइलमा हिन्दी र अङ्ग्रेजी गीत घन्काउने, अण्डादेखि लिएर बन्दा र आलु प्रहार गर्ने, फोहर पानी खन्याइदिने, होलीको नाममा जे गरेपनि हुने जमाना आयो ।”

“अहिले होली संस्कार, संस्कृति जोगाउनेभन्दा पनि रमाइलो गर्ने, साथीभाइ भेट भएर वनभोज खाने पर्वका रूपमा मनाइने गरिन्छ”, २१ वर्षीय युवा प्रदीप पुनले भन्नुहुन्छ, “जे गर्दा रमाइलो हुन्छ, आनन्द आउँछ अहिलेका युवा त्यसैगर्न चाहन्छन् ।”

समय परिवर्तनसँगै भएको मौलिक संस्कृतिको क्षयीकरण रोक्न बेलैमा सचेत नहुने हो भने मौलाउँदै गएको विकृतिले एक दिन भयानक अवस्था सृजना गर्ने बताउँदै स्थानीय बुद्धिजीवीले समाजका सबै वर्ग मिलेर संस्कति संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

चाडपर्वले आपसी सद्भाव कायम गर्न सघाउँछन् : अध्यक्ष नेपाल

काठमाडौँ, ११ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा परम्परागत रूपमा मनाइने चाडपर्वले मौलिक संस्कृति संरक्षणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह भएको बताउनुभएको छ ।

अध्यक्ष नेपालले फागुपूर्णिमाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण नेपाली समाजमा सबै जाति, समुदायका मौलिक विशेषता बोकेका पर्व, संस्कृतिको जगेर्नाबाट समुन्नत समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ ।

सामाजिक एकता अभिवृद्धि, राष्ट्रिय एकतालाई बलियो बनाउने यस्ता पर्वले परम्परागत मौलिक पक्षका साथै राष्ट्रको गौरव बढाउने भन्दै उहाँले सबै समुदायका सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले हाम्रा पहिचान निर्माणका लागि चाडपर्वको उल्लेखनीय भूमिका रहेकाले तिनको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै विविध विशेषताका कारण विश्वमा हाम्रो छुट्टै पहिचान बनेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

नेपाली समाजलाई यस्ता चाडले एकताबद्ध गरी पारस्परिक सम्मान, सहअस्तित्व, सद्भाव स्थापित गर्ने विश्वास व्यक्त गर्दै उहाँले मानव सभ्यताको विकाससँगै जोडिएका सम्पूर्ण जातजातिका पर्व, भाषा, साहित्य, कला, संस्कृतिले मुलुकलाई सांस्कृतिक रूपमा सम्पन्न बनाउने बताउनुभएको छ ।

अध्यक्ष नेपालले समाजमा विद्यमान सबै प्रकारका विभेद अन्त्य गरी समतामूलक एवं सुसंस्कृत समाजको निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

बेलारुसकी पहिलो महिला अन्तरिक्ष यात्री बोकेको अन्तरिक्ष यानले उडान भर्यो

बेलारुसकी प्रथम महिला अन्तरिक्ष यात्री मारिना भासिलिभस्काया बोकेको रसियाली सोयुज अन्तरिक्ष यान शनिबार अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस)का लागि सफलतापूर्वक प्रस्थान गरेको मस्कोको रोस्कोसमोस अन्तरिक्ष एजेन्सीले जनाएको छ ।

सोयुजले काजकिस्तानको बायकोनुरबाट १२ः३६ जिएमटी मा उडान भरेको र योजनाअनुसार कक्षमा पुगेको रोस्कोसमोसको विज्ञप्तिमा जनाइएको छ ।

अनुभवी रुसी अन्तरिक्ष यात्री ओलेग नोभित्स्की, संयुक्त राज्य अमेरिकाका ट्रेसी डाइसन र ३३ वर्षीया मारिना भासिलिभस्काया बोकेको सोयुज एमएस–२५ यान शनिबार बिना कुनै समस्या बायकोनुर अन्तरिक्ष बन्दरगाहबाट उडान भरेको थियो । “बोर्डमा सबै ठीक छ”, नोभित्स्कीले रोस्कोस्मोसद्वारा प्रसारित भिडियोमार्फत भन्नुभयो ।

पछिल्लो दुई वर्षमा मस्को र वासिङ्टनबीचको सम्बन्ध पूर्णरूपले बिग्रिएपछि अन्तरिक्ष अमेरिका–रुस साभेदारीको अन्तिम क्षेत्र हो । यद्यपि रुसले आफ्नो छुट्टै अन्तरिक्ष स्टेसन बनाउने योजना रहेको बताएको छ ।

रुसले सन् २०२४ पछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन छोड्ने भने पनि हालको अवस्थामा सन् २०२८ सम्म सहभागी रहने भएको छ ।

नासाले आफ्नो ‘स्पेश शटल प्रोग्राम’ रोकेपछि लगभग एक दशकका लागि पृथ्वी र आइएसएस बीच अन्तरिक्ष यात्रीहरूलाई लैजान रुसी सोयुज एक मात्र तरिका थियो । तर संयुक्त राज्य अमेरिकाले रुसको एकाधिकारको अन्त्य गर्दै हाल निजीपमा निर्मित स्पेसएक्स रकेट र क्याप्सुलहरु प्रयोग गर्न थालेको छ ।

कन्सर्ट हल आक्रमणको बदला लिने पुटिनको वाचा, मृत्यु हुनेको सङ्ख्या १३३ पुग्यो

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार मस्को कन्सर्ट हलमा कम्तीमा एक सय ३३ जनाको ज्यान जाने गरी भएको ‘बर्बर आतङ्कवादी आक्रमण’ मा संलग्नलाई सजाय दिने वाचा गर्नुभएको छ । उक्त आक्रमण सम्बन्धमा रुसले युक्रेन भाग्न प्रयास गरिरहेका चार बन्दुकधारीलाई पक्राउ गरेको बताएको छ ।

किएभले कुनै पनि सम्बन्धलाई दृढतापूर्वक अस्वीकार गरको छ र पुटिनले आक्रमणबारे आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा इस्लामिक स्टेटले लिएको जिम्मेबारीको दाबीको सन्दर्भलाई जोड्नुभएन ।

शुक्रबार साँझ मस्कोको उत्तरी उपनगर क्रास्नोगोर्स्कमा रहेको क्रोकस सिटी हलमा छद्मवेशी बन्दुकधारीहरूले आक्रमण गरी भवनमा आगो लगाएका थिए । आक्रमणमा कम्तीमा एक सय ३३ जनाको मृत्यु भएको छ ।

जिहादी समूहले आक्रमणको दाबी गर्दै शनिबार एक टेलिग्राम च्यानलमा लेखेको छ, “‘इस्लामसँग लड्ने मुलुकहरू’ सँग ‘भयानक युद्ध’ को हिस्साका रूपमा ‘मसिनगन, एउनटा पेस्तोल, चक्कु र फायरबमले सुसज्जित चार आइएस लडाकूद्वारा गरिएको थियो’ ।”

यो करिब दुई दशकमा रुसमाथि सबैभन्दा घातक आक्रमण हो र इस्लामिक स्टेटले दाबी गरेको युरोपमा सबैभन्दा घातक हमला हो । रुसी अधिकारीहरूले मृतकको सङ्ख्या अझ बढ्ने अनुमान गर्दै एक सयभन्दा धेरै घाइते अस्पतालमा रहेको बताएका छन् ।

राष्ट्रपति पुटिनले शनिबार टेलिभिजनमा राष्ट्रका नाममा एक सम्बोधनमा भन्नुभयो, “आतङ्कवादी, हत्यारा, गैर–मानवहरूको दुर्भाग्यशाली भाग्य मात्र हुन्छ ः प्रतिशोध र विस्मृति ।”

“सबै चार प्रत्यक्ष अपराधी… गोली हानी मानिसहरूको हत्या गर्ने सबैलाई फेला पारिएको छ र उनीहरूलाई पक्राउ गरिएको छ”, आक्रमणलाई ‘बर्बर आतङ्कवादी काम’ उल्लेख गर्दै उहाँले भन्नुभयो, “उनीहरू भाग्ने प्रयासमा युक्रेनतर्फ गइरहेका थिए, प्रारम्भिक आँकडाअनुसार राज्यको सीमा पार गर्न उनीहरूका लागि युक्रेनतिरबाट एउटा झ्याल तयार गरिएको थियो ।”

पुटिनले हमलाकारीको तुलना ‘नाजीहरू’ सँग गर्दै आक्रमण ‘अत्याचार, रुस र हाम्रा मानिसविरुद्धको हमला’ थियो भन्नुभयो । उहाँले आइतबार राष्ट्रिय शोक दिवस हुने बताउनुभयो ।

एफएसबी सुरक्षा सेवाले शनिबार आक्रमणका सिलसिलामा ११ जनालाई पक्राउ गरेको बताएको छ । “सबै अपराधी, आयोजक र यो अपराधको आदेश दिनेलाई उचित र अनिवार्यरूपमा सजाय दिइने छ”, पुटिनले भन्नुभयो ।

यसअघि एफएसबीले शनिबार थप विवरण नदिई आक्रमणकारीहरूको युक्रेनमा ‘सम्पर्क’ भएको बताएको थियो । विगत दुई वर्षदेखि रुसी सैन्य हमलाको सामना गर्दै आएको किएभले आक्रमणमा उसको सरोकार नभएको राष्ट्रपतिका सहयोगी मिखाइलो पोडोल्याकले एक विज्ञप्तिमा बताउनुभयो ।

ठूला अपराधहरूको अनुसन्धान गर्ने रुसको अनुसन्धान समितिले उद्धारकर्मीहरूले शनिबार घटनास्थलमा काम गरिरहेको र जलेका भवनबाट शव निकालिरहेको बताएको छ । “आपत्कालीन सेवाहरूलाई भग्नावशेष हटाउँदा शव प्राप्त भएको छ”, टेलिग्राममा एक विज्ञप्तिमा भनिएको छ, “आतङ्कवादी आक्रमणमा मारिएका मानिसको सङ्ख्या बढेर एक सय ३३ पुगेको छ, खोजी अभियान जारी छ ।”

मस्को क्षेत्रका गभर्नरले उद्धारकर्मीले ‘धेरै दिन’ सम्म घटनास्थलको खोजबिन जारी राख्ने बताउनुभयो । रुसको आपत्कालीन स्थिति मन्त्रालयका अनुसार करिब एक सय सात मानिस अस्पतालमा छन् र तीमध्ये धेरैको अवस्था चिन्ताजनक छ ।

इस्लामिक स्टेट समूहले शुक्रबार जिम्मेबारी लिँदै आफ्ना लडाकूहरूले मस्कोको बाहिरी क्षेत्रमा ‘एउटा ठूलो सभा’ मा आक्रमण गरेको र ‘सुरक्षितरूपमा आफ्नो ठेगानामा फर्केको’ बताएको छ । सामाजिक सञ्जालमा साझा गरिएको फुटेजमा केही प्रत्यक्षदर्शीहरूले माथिल्लो तलाबाट बन्दुकधारीहरूलाई गोली हानेर स्टलहरूबाट जाँदै गरेको खिचेका थिए ।

अनुसन्धान समितिले भनेको छ, “त्यसपछि आतङ्कवादीहरूले दर्शक रहेको कन्सर्ट हलको परिसरमा आगो लगाउन ज्वलनशील तरल पदार्थको प्रयोग गरे, त्यहाँ घाइतेहरू पनि थिए ।” छ हजार सिट क्षमताको आयोजना स्थलमा आगो लागेपछि मानिसहरूको मृत्यु बन्दुकको गोली र धुवाँका कारण भएको अनुसन्धान समितिले बताएको छ ।

शुक्रबार तीव्रताका साथ आयोजना स्थलमा आगो फैलियो र कन्सर्टमा आएका मानिस चिच्याउँदै आपत्कालीन निकासतर्फ भागे । आक्रमण भएको १८ घन्टाभन्दा बढी समयपछि राष्ट्रपति पुटिनले शनिबार आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा इस्लामिक स्टेटको जिम्मेबारीको दाबीलाई सम्बोधन गर्नुभएन । आक्रमणपछि मुलुकभरका प्रमुख कार्यक्रम रद्द गरिएका छन् । यसमा रुस र पाराग्वेबीच सोमबार मस्कोमा हुने मैत्रिपूर्ण फुटबल प्रतियोगिता पनि थियो ।

महिला चिकित्सकसँग खुल्न थाले आङ खस्ने समस्याबाट पीडित बझाङका महिला

चैनपुर (बझाङ), ११ चैतः बाउन्न वर्षीया दूधकला सार्कीले आफ्नो जीवनको अध्याय नै समाप्त हुन लागेको ठान्नुभएको थियो । यद्यपि उहाँलाई ‘समयमा उपचार नभए बाँचुञ्जेल नछोड्ने’ रोगले आफूलाई सताएको जानकारी थियो । उहाँ दशकभन्दा लामो समयदेखि आङ खस्ने समस्याबाट पीडित हुनुहुन्थ्यो ।

रोग र गरिबीसँग लड्दै आउनुभएकी दूधकलाको परिवारमा दैनिक जीवनयापनका निम्ति अन्नको जोहो नै चुनौतीको पहाड थियो भने उपचार कोरा कल्पनामात्र । सुरुमा रोगको बेवास्ता गर्नुभएकी उहाँले स्वास्थ्यमा जटिल समस्या भएपछि स्त्रीरोग विशषेज्ञ डा कविता साहसँग सम्पर्क गर्नुभयो । आङ खस्ने समस्याले पीडित उहाँले यसअघि पुरुष चिकित्सकलाई आफ्नो समस्या सुनाउन नसकेर ज्यान नै जोखिममा पार्नुभएको थियो ।

रोगको निदानका निम्ति पटक–पटक जिल्ला अस्पताल पुग्ने तर पुरुष चिकित्सकलाई सोध्न नसकेर फर्कँदा रोगले च्याप्दै गएको थियो । “धेरै पटक अस्पताल आएँ तर, आफ्नो समस्या डाक्टरलाई सुनाउन नसकेर फिर्ता भए”, उहाँ भन्नुहुन्छ, “पुरूषै पुरूष भएपछि निकै अप्ठेरो लाग्ने रहेछ । महिला डाक्टरसँग पनि बल्ल समस्या राख्न सकेँ ।”

जयपृथ्वी नगरपालिका–९ की दूधकलाको पाठेघर र मूत्रथैलीमा समस्या थियो । गत साता डा साहको टिमले शल्यक्रिया गरेर रोग निर्मूल पारेपछि भने सार्कीले पुनर्जीवन पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “दश वर्षदेखिको समस्याले अब बाँचुञ्जेल छोड्दैन कि भन्ने लागेको थियो । खुसीको कुरा, भगवान् नै फेला परेजस्तो भयो ।” लामो समयदेखि हिँड्न, बस्न र पिसाब गर्दा हुने समस्या अहिले समाधान भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो समस्या सुनेर घरपरिवारमात्रै होइन, आफन्तसमेत हैरान भएका थिए । अहिले भने बिराम काटिएको भन्दै सबैको मुहारमा उज्यालो छाएको छ ।”

दूधकलाको जस्तै रोग लुकाएर बसेकी केदारस्यूँकी सुनिता विकको पनि गत महिना शल्यक्रिया गरिएको थियो । तल्लो पेट दुख्ने, महिनाबारी गडबडी हुने, महिनाबारी हुँदा रगत धेरै बग्नेलगायत समस्याबाट ग्रसित उहाँको शल्यक्रिया गरेपछि उहाँले पनि समस्याबाट मुक्ति पाउनुभएको छ ।

जिल्लामा अधिकांश महिलाले आफ्नो रोग लुकाएर बसेको डा साहको बुझाइ छ । “महिलाले आफ्नो समस्या नखोलेरै कतिपयको ज्यान पनि गइसकेको पनि हुनसक्छ । सदरमुकाममा बस्ने महिला नै आफ्नो समस्या लुकाएका देखिए भने गाउँघरमा कति होलान् !” उहाँले भन्नुभयो ।

डा साहका अनुसार अस्पतालमा आउने महिलाले महिलासँगै मात्रै आफ्नो समस्या सुनाउने रहेछन् । “म आएको दुई महिना हुन लाग्यो । दिदीबहिनीहरू मसँग समेत आफ्नो समस्या सुनाउन अप्ठेरो मान्नुहुन्छ । पुरुषको त झनै नजरमै पर्न चाहनुहुन्न ।” यसरी नै धेरै महिलाले रोग पालेको हुनसक्ने उहाँको अनुमान छ ।

दुई महिनाको बीचमा डा साह आएदेखि दुईजना महिलाको सफल शल्यक्रिया भइसकेको छ । “म आएदेखि दुई जनाको शल्यक्रिया सफल भयो । एक जनाको अर्को साता गर्ने तयारी छ”, उहाँले भन्नुभयो ।

डा साह गाउँघरमा चेतनाको अभावमा महिलाले रोग पालेका बताउनुहुन्छ । “जिल्ला अस्पतालमा आउने ८० प्रतिशत महिलाले आफ्नो समस्या कसैलाई नसुनाएका देखियो । आफ्नो समस्या कसैलाई सुनाउँदा बेइज्जत हुने डरले कसैलाई नभन्ने रहेछन् । आजभोलि भने महिला स्वास्थ्यकर्मीसँग खुल्ने भएका छन् ।”

डा साह बझाङ आएपछि भने बिरामीहरूले केही आशा पलाएको छ । आफ्नो समस्या सुन्ने र समाधान गरिदिने भन्दै बिरामी महिलाहरू तथा उहाँहरुका आफन्तहरूले प्रशंसा गर्ने गरेको अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा धिरज विशङ्खले बताउनुभयो । उहाँले भन्नुभयो, “महिलाको शल्यक्रिया निकै जटिल प्रकृतिको भए पनि अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीको टोलीले सफल पारेको उहाँले सुनाउनुभयो ।” उहाँका अनुसार जिल्लामा नै पाठेघर र मूत्रथैलीको शल्यक्रिया पहिलोपटक भएको हो । जुनसुकै शल्यक्रियाका लागि अन्यत्र सिफारिस गर्नुपर्ने अवस्था रहेको जिल्ला अस्पतालमा अब शल्यक्रिया सेवा प्राप्त हुन बझाङबासीकै लागि खुसीको कुरा भएको उहाँले बताउनुभयो ।

डा विशङ्खका अनुसार जिल्लामा यसअगाडि महिला विशेषज्ञ डाक्टर आए पनि पाठेघरसम्बन्धी शल्यक्रिया हुन सकेको थिएन । डा साह आइसकेपछि भने दुईवटाको शल्यक्रिया भइसकेको उहाँले बताउनुभयो ।

विश्व क्षयरोग दिवस, सङ्क्रमण र मृत्युदरमा वृद्धि

मध्यविन्दु (नवलपरासी), ११ चैतः नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुई सय ८४ जना नयाँ क्षयरोगी भेटिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउनदेखि माघसम्म जिल्लामा एक सय ९७ पुरुष र ८७ महिला गरी दुई सय ८४ जना नयाँ क्षयरोगी पहिचान भएका छन् । नयाँ क्षयरोगीमध्ये दुई दशमलव आठ प्रतिशत बालबालिका छन् ।

साउनदेखि माघसम्म जिल्लामा भेटिएका क्षयरोगीमध्ये १० जनाको मृत्यु भएको छ । क्षय रोग लागेर मृत्यु हुनेमध्ये सात पुरुष र तीन महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख मुक्ति भट्टाराईले बताउनुभयो । “जिल्लामा अहिले दुई सय ८४ जना क्षयरोगीले औषधि सेवन गरिरहनुभएको छ”, उहाँले भन्नुभयो, “औषधि सेवन गरिरहेका क्षयरोगीमध्ये १० जनाको मध्यविन्दु जिल्ला अस्पतालको क्षयरोग उपचार केन्द्रमा आवासीयरूपमा उपचार भइरहेको छ ।”

जिल्लामा भेटिएका क्षयरोगीमध्ये सबैभन्दा बढी कावासोती नगरपालिकामा ६४, गैँडाकोट नगरपालिकामा ६२, देवचुली नगरपालिकामा ५१, मध्यविन्दु नगरपालिकामा ३९ र विनयी त्रिवेणी गाउँपालिकामा २९ जना रहेका छन् । यसैगरी हुप्सेकोट गाउँपालिकामा २८, बुलिङटार गाउँपालिकामा सात र सबैभन्दा कम बौदीकाली गाउँपालिकामा चारजना क्षयरोगी रहेको प्रमुख भट्टराईले बताउनुभयो ।

जिल्लामा भेटिएका क्षयरोगीमध्ये ९४ दशमलव चार प्रतिशत रोगीको सफल उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका क्षयरोग ‘फोकल पर्सन’ डिल्लीराम तिवारीले बताउनुभयो । “जिल्लामा गत आव २०७९÷८० मा पाँच सय ४६ मा क्षयरोग भेटिदा २१ जनाको मृत्यु भएको थियो भने आव २०७८÷७९ मा पाँच सय २९ क्षयरोगी भेटिदा १९ जनाको मृत्यु भएको थियो”, उहाँले भन्नुभयो, “आव २०७७÷७८ मा जिल्लामा चार सय १६ जनामा क्षयरोग देखिएकामा १८ जनाको मृत्यु भएको थियो ।”

क्षयरोगको उपचारका लागि जिल्लामा ६६ डट्स केन्द्र रहेको फोकल पर्सन तिवारीले बताउनुभयो । मध्यविन्दु जिल्ला अस्पताल डण्डामा डिआर (ड्रक रेसिस्टेन्ट) होस्टल रहेको छ । चितवन जिल्लाका सात, नवलपरासी (बर्दघाट सुस्तापूर्व) र तनहुँका एक–एक गरी १० जना डिआर क्षयरोगीको आवासीयरुपमा उपचार भइरहेको छ । “चालु आवको माघसम्म १७ जनामा डिआर क्षयरोगी भेटिएका छन् । चितवनका ११, नवलपरासी (बर्दघाट सुस्तापूर्व)का चार, तनहुँ र पाल्पाका एक–एक जना डिआर क्षयरोगी परीक्षणबाट पुष्टि भएका छन्”, उहाँले भन्नुभयो ।

गण्डकी प्रदेशमा डिआर होस्टल नवलपरासी (बर्दघाट सुस्तापूर्व)सँगै बागलुङ र कास्की जिल्लामा रहेका छन् । क्षयरोगको उपचारका लागि गण्डकी प्रदेशमा नौ सय ४५ डट्स केन्द्र रहेको छ । “जिल्लामा प्रत्येक वर्ष क्षयरोगीको सङख्या बढ्दै गइरहेको छ”, फोकल पर्सन तिवारीले भन्नुभयो, “समयमै उपचार गराएमा पूर्णरूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराउँदै रोगीको पहिचान कार्यलाई तीव्रता दिइएको छ ।”

क्षयरोग एक सरुवा रोग हो । जुन माइक्रोव्याक्टेरियम ट्युवरकुलोसिसले सुक्ष्म कीटाणुबाट लाग्दछ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्दछ । एकजना क्षयरोगीले वर्ष दिनमा १५ जनालाई सार्ने तिवारीले बताउनुभयो । बहुऔषधि प्रतिरोध बिरामीको सङ्ख्या बढ्नु क्षयरोग न्यूनीकरणका लागि चुनौती थपिएको समेत उहाँले बताउनुभयो ।

विश्वका आठवटा देशमा मात्र क्षयरोगका दुईतिहाइ बिरामी रहेका छन् । ती रोगीमध्ये २८ प्रतिशत भारत, नौ दशमलव दुई प्रतिशत इण्डोनेसिया, सात दशमलव चार प्रतिशत चीन, सात प्रतिशत फिलिपिन्समा रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई क्षयरोग जोखिमको ३० देशभित्र राखेको छ ।

नेपालमा गत आव २०७९÷८० मा ३७ हजार चार सय ४७ जना क्षयरोगी भेटिएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा रहेको छ । सरकारले क्षयरोग निवारणका लागि आव २०७७÷७८ मा दुई सय ३८ प्रतिलाख जनसङ्ख्यामा नयाँ क्षयरोग हुने दर भएकामा आव २०८२÷८३ सम्ममा एक सय ८१ प्रतिलाख जनसङ्ख्यामा झार्ने लक्ष्य निर्धारण गरेको छ ।

हाम्रोतर्फबाट सरकार अस्थिर बनाउने काम हुँदैन : उपमहासचिव खतिवडा

महोत्तरी – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव जगन्नाथ खतिवडाले अहिलेको संसद्भित्र आफ्नो दल एकीकृत समाजवादी निर्णायक नभई सहयोगीमात्र भएको हुँदा आफ्नातर्फबाट सरकार अस्थिर बनाउने खेल नहुने बताउनुभएको छ ।

शनिवार महोत्तरीको बर्दिबासमा समाजवादी पे्रस सङ्गठन नेपाल, महोत्तरीको प्रथम जिल्ला अधिवेशनमा उद्घाटन मन्तव्य दिनुहुँदै खतिवडाले मुख्य भनिने ठूला दलका कारण सरकार स्थायी नभएको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “जनताले सरकार स्थायी भएन भनेर चित्त दुखाउने ठाउँ छैन, जनादेश नै त्यस्तै छ ।” उहाँले संसद्भित्र हुने गणितको खेलले सरकार स्थिर हुन नसकेको बताउनुभयो । खतिवडाले पत्रकारलाई निर्भिक भएर भ्रष्टाचारविरुद्ध, सुशासन प्रवर्द्धनका पक्षमा कलम चलाउन अपिल गर्नुभयो ।

समाजवादी प्रेस सङ्गठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी, महासचिव रामकुमार एलन, मधेस अध्यक्ष प्रवीण साहसहितले आपूmहरू सङ्गठन विस्तारको अभियानमा लागेको उल्लेख गर्नुभयो ।

सङ्गठनका जिल्ला अध्यक्ष शर्मिला घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका कार्यवाहक अध्यक्ष सुनिता बराल र नेकपा (एमाले) नेता शङ्कर महतोसहितले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

संस्कृतिका असल पक्षलाई प्रवर्द्धन गर्नुपर्छः पूर्वराष्ट्रपति विद्यादेवी

काठमाडौँ, ११ चैतः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमा (होलीपर्व)मा मौलितकतालाई जोगाउन आह्वान गर्नुभएको छ । उहाँले होलीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गर्दै संस्कृतिका असल पक्षलाई प्रवर्द्धन गर्न चाडपर्वलाई मितव्ययी र विकृतिरहित राख्नपर्नेमा जोड दिनुभएको हो ।

उहाँले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न यस पर्वबाट सबैमा प्रेरणा शुभकामना व्यक्त गर्नुभएको छ ।

“होलीपर्व मनाउने सन्दर्भमा देखिने जोरजबर्जस्ती, मादक पदार्थ सेवन र फोहर पानी भरिएको लोलाको प्रयोगजस्ता उत्ताउलोपनले हाम्रा चाडपर्वको मौलिकतालाई नष्ट गर्नुका साथै यसको महत्वलाई नै घटाउँदछ”, उहाँद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ, “तसर्थ हाम्रो संस्कृतिका असल पक्षलाई प्रवर्द्धन गर्न चाडपर्वलाई मितव्ययी र विकृतिरहित राख्नुपर्दछ । हरेक पर्वसँग गाँसिएको इतिहास, सभ्यता र पौराणिकताको गहिराइ आत्मसात् गर्न सकेमात्र हाम्रो अद्वितीय संस्कृतिको मौलिकता जोगाउन सकिन्छ ।”

शुभकामना सन्देशमार्फत उहाँले समाजमा विद्यमान दुष्प्रवृत्तिलाई पराजित गर्दै सत्य र न्यायको पक्षमा अविचलितरूपले क्रियाशील रहन यस सांस्कृतिक पर्वले प्रेरणा प्रदान गर्ने बताउनुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले होलीमा प्रयोग गरिने रङमा स्वास्थ्यका लागि हानिकारक रसायनको समेत मिश्रण हुनसक्ने खतरा भएको भन्दै यस्ता रङहरूको प्रयोगमा सावधानी अपनाउन सुझावसमेत दिनुभएको छ ।

चाडबाडलाई समृद्ध बनाउँदै जीवित राख्ने दायित्व हाम्रो हो : सभामुख घिमिरे

काठमाडौँ, ११ चैत : सभामुख देवराज घिमिरले हामीसँग परम्परागत तथा मौलिक चाडबाडलाई थप समृद्ध बनाउँदै भावी पुस्तासम्म जीवित राख्ने दायित्व भएकाले चाडबाडका नाममा हुने गलत प्रवृत्तिहरूलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

फागु पूर्णिमा (होलीपर्व)का अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले भन्नुभयो, “पछिल्लो समय होलीमा विभिन्न खालका सामाजिक विकृति र विसङ्गति भित्र्याएको सार्वजनिक टिप्पणी हुने गरेको सन्दर्भमा म सबैलाई एकापसमा साथीहरू र परिवारसँग मात्र अनुशासित भएर रमाइलोसँग होली खेल्न प्रेरित गर्दछु ।”

उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै होलीपर्वले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना गर्नुभएको छ । “होलीपर्वले आपसी वैमनस्य, असमझदारी बिर्सेर सुखी र समृद्ध समाज निर्माणको मार्गमा सबैलाई प्रेरणा प्रदान गरोस्”, शुभकामना सन्देशमा भनिएको छ ।

सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो समाजमा होलीपर्वले खराब प्रवृत्तिमाथि असल र सत्यको विजय हुने सन्देश प्रवाह गर्नुका साथै हिमाल, पहाड र तराईमा फरक–फरक दिनमा मनाइने यस पर्वले नेपाली समाजलाई अन्तरघुलन गर्दै आपसी सद्भाव र एकता अभिवृद्धि गर्न सहयोग गरेको सन्देशमा उल्लेख छ ।

यस पर्वले विभिन्न जातजाति, भाषा र क्षेत्रका नेपाली नागरिकलाई एकसूत्रमा बाँध्दै आपसी सद्भाव, प्रेम र भाइचारा सम्बन्ध अभिवृद्धि गर्दै आएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होलीपर्वलाई रङहरूको पर्वका रूपमा मनाइन्छ । होलीमा असत्यमाथि सत्यको विजयको खुसीयालीमा हर्ष र उल्लासका साथ एकापसमा अबिर, रङ लगाउने चलन छ ।

होलीपर्वले विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्छ : प्रधानमन्त्री

काठमाडौँ, ११ चैतः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

होलीपर्वका अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले यस पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तरघूलनलाई प्रतिनिधित्व गर्नेसमेत बताउनुभएको हो ।

“पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा दोस्रो दिन तराई–मधेसमा हर्षोल्लासका साथ मनाइने फागुपूर्णिमा (होलीपर्व)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “होलीपर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न सम्पूर्ण नेपालीहरूमा प्रेरणा प्रदान गर्ने विश्वासका साथ शुभकामना व्यक्त गर्दछु ।”

असत्यमाथि सत्य र खराबमाथि असल पक्षको विजयका रूपमा लिइने र उल्लासपूर्वक मनाइने फागु अर्थात् होलीपर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्ने उहाँको भनाइ छ ।

“नेपाली समाजमा विद्यमान बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरूले हाम्रो राष्ट्रिय स्वाभिमान र गौरवलाई मात्रै स्थापित गरेका छैनन्, एकले अर्काको पहिचान, स्वाभिमान र संस्कृतिलाई सम्मान र आत्मसात् गर्ने राष्ट्रिय संस्कृतिको विकाससमेत गरेका छन् । रङहरूको पर्वका रूपमा स्थापित होलीपर्व पनि त्यस्तो पर्व हो, जसले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तर्घुलनलाई प्रतिनिधित्व गर्दछ”, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ ।

प्रधानमन्त्री दाहालले भौगोलिक दृष्टिले सानो भएर पनि दर्शन, सभ्यता, संस्कृति, पर्वहरू एवं विशिष्ट पहिचानका कारण नेपाल विश्व मानचित्रमा वैभवशाली देशका रूपमा स्थापित भएको बताउनुभएको छ । उहाँले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान नेपलीको साझा पहिचान भएको बताउनुहँुदै प्रत्येक जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्वहरू रहेको समेत उल्लेख गर्नुभएको छ ।

“हाम्रा चाडपर्वहरूले समुदायबीच सद्भाव बढाउँछन् । समुदायलाई एकताबद्ध गर्न सघाउँछन् । विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवर्द्धन एवं फरक जाति र समुदायको संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्दछन्”, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ ।

होली शालिनता, मेलमिलाप र आत्मीयता अभिवृद्धिको पर्व – उपराष्ट्रपति

काठमाडौँ, ११ चैत : उपराष्ट्रपति रामसहायप्रसाद यादवले फागु पूर्णिमा (होली)को अवसरमा राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता, सामाजिक सम्बन्ध र बन्धनहरूलाई बलियो बनाउने महान् अवसरका रूपमा सबैले यसलाई उपयोग गर्न आह्वान गर्नुभएको छ ।

स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै उहाँले आपसी समझदारी, सद्भाव, समरसता, मैत्रीभाव, अपनत्वभाव र समानताको प्रतीकका रूपमा रहेको होलीपर्व शालिनता, परस्पर मेलमिलाप र आत्मीयता अभिवृद्धि गर्ने अवसर भएको समेत बताउनुभयो ।

“सबैले आपसी मनोमालिन्यता, रिस, राग, द्वेष, क्लेश, मतभेद बिर्सेर एकअर्कालाई रङ अबिर लगाउँदै फागु पूर्णिमा (होलीपर्व) मनाउनुले हामीबीच बन्धुत्व, मेलमिलाप, मैत्रीभाव, सौहार्दता र पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै होलीपर्वको हार्दिक शुभकामना व्यक्त गर्दछु”, उपराष्ट्रपति यादवले शुभकामना सन्देशमा भन्नुभएको छ ।

बहुआयामिक महत्व बोकेको यस पर्वका ऐतिहासिक, धार्मिक, सामाजिक र सांस्कृतिक पक्षलाई नयाँ पिँढीमा हस्तान्तरण गर्ने र यसका सकारात्मकतालाई अङ्गीकार गर्दै यसलाई जीवन्त बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

उपराष्ट्रपति यादवले होलीको सांस्कृतिक महत्वबारे उल्लेख गर्दै पछिल्लो समय यो परम्पराले विकृत स्वरुप ग्रहण गर्नु चिन्ताको विषय भएको बताउनुभएको छ । “अपरिचित, जोसुकै बटुवा, आफूभन्दा जेठो, ज्येष्ठ नागरिकलगायतमाथि फोहर पानी छ्याप्ने, लोला हान्ने र हुलहुज्जत गर्नेजस्ता कुसंस्कृतिले होलीलाई अमर्यादित बनाउनु हुँदैन । यसप्रति सम्बन्धित सबै सचेत र सावधान हुन अतिआवश्यक छ”, शुुभकामना सन्देशमा उहाँले भन्नुभएको छ ।

हेर्नुहोस् चैत ११ गते आइतवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – अनावश्यक खर्चको सम्भाबना रहेकोछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछन । हरकोहीको बिश्वासमा नपर्नु उत्तम रहनेछ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ ।

बृष राशि – आफुभन्दा सानाको साथ सहयोगमा गरीएका कार्य सहजता पुर्ण सम्पादन हुनेछन । अध्यनअध्यापनमा समय उत्तम रहनेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । आर्र्थीक क्षेत्र सबल रहनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ ।

मिथुन राशि – पारीवारिक साथ सहयोगमा बृद्धिहुनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

कर्कट राशि- बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ ।तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिह?ले प्राप्त गर्नेछन । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

सिंह राशि – थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

कन्या राशि – स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिह?बाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ ।

तुला राशि – गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने हुनेनैछ । ब्यापार ब्यवसायमा समय उत्तम रहेकोछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

बृश्चिक राशि – मित्रजनह?को साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

धनु राशि- सामाजिक कार्यमा जुट्नेसमय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनह?को स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

मकर राशि – धार्मीक क्षेत्रको यात्राको सम्भाबना रहेकोछ । मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरीएको कार्य त्?टिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अ?ले उठाउन सक्नेछन ।

कुम्भ राशि – बिश्वासिला ब्यत्तित्वह?बाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनह? सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।

मिन राशि – बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ – राष्ट्रपति

काठमाडौँ, ११ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गर्नुभएको छ ।

होलीपर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने उल्लेख गर्नुभयो । उहाँले यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गर्नुभएको छ ।

“नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भन्नुभएको छ, “होलीपर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुसीयालीमा मनाइने हुँदा समस्त नेपालीबीच रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास मैले लिएको छु ।”

राष्ट्रपति पौडेलले हिमाली, पहाडी तथा भित्री मधेस, काठमाडौँ उपत्यका तथा तराईका जिल्लामा विभिन्न रङ र अबिर खेल्दै खुसीयालीसाथ मनाउने यस पर्वको परम्पराबारे उल्लेख गर्दै होलीमा खेलिने विविध रङजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले यस पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्नेमा जोड दिनुभएको छ ।

पहाडी क्षेत्रमा आज होली पर्व मनाइँदै

काठमाडौँ, ११ चैतः सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।

काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ । नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन् । पर्यटकका पथप्रदर्शक राजन मिश्रले होली खेल्न पर्यटक उत्साहित हुने गरेका बताउनुहुन्छ । “हरेक वर्ष विदेशीलाई होली खेलाउन वसन्तपुर जाने गरेको छु”, उहाँ भन्नुहुन्छ, “यो पर्व मन नपराउने कमै छन् ।”

फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिदैन नाचगान पनि गरिन्छ । बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन् । पाल्पाका किसन भट्टराईका अनुसार होलीमा टेम्को (परम्परागत बाजा) बजाउने अनि समूहमा आबद्ध भई नाच्ने पुरानो परम्परा हो । “गाउँमा अहिले पनि फागु खेल्ने चलन छ”, उहाँ भन्नुहुन्छ, “काठमाडौँमा पानी र रङ छ्यापेर चित्त बुझाउनुपर्छ ।”

हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होलीपर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ ।

नेपालको संस्कृतिका जानकार धिरेन्द्र प्रेमर्षिले होलीपर्वले समाजमा असमानता र विभेद मेटाउन सांस्कृतिक भूमिका खेलेको बताउनुभयो । “होली खेल्दा न जात हेरिन्छ, न धनी–गरिब”, उहाँ भन्नुहुन्छ, “सद्भावको प्रतिविम्ब यो पर्व सभ्य र भव्य छ ।”

होलीपर्व सभ्य र व्यवस्थित बनाउन जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा संयन्त्रलाई बलियो बनाएको बताएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार सुरक्षाका लागि चार सयभन्दा बढी कर्मचारी खटाइएको छ । अनुमतिबिना कसैलाई पनि रङ लगाउन नपाइने, लोला हान्न नहुने, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउन नपाइने मैनालीले नियम सुनाउनुभयो । यदि कसैले नियम विपरीत गरेमा तत्काल कारबाही गरिने चेतावनी उहाँले दिनुभयो ।

कोशीटप्पुमा भाले गैँडा छाडियो

राजविराज (सप्तरी) – चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको भाले गैँडालाई शनिवार कोशीटप्पु वन्यजन्तु आरक्षमा छाडिएको छ ।

सप्तरीको कञ्चनरूप नगरपालिका–५ स्थित कोशीटप्पु वन्यजन्तु आरक्ष पथरी सेक्टरमा वन तथा वातावरणमन्त्री नवलकिशोर साहको उपस्थितिमा चितवनबाट ल्याइएको मेघौली नामको भाले गैँडा छाडिएको हो ।

यहाँ यसअघि दुईवटा पोथी गैँडा छाडिएको थियोे । गत असोज १० गते चितवनबाटै पुष्पा र अञ्जली नामका दुई पोथी गैँडा ल्याएको थियो ।

होलीले राष्ट्रिय एकता मजबुत बनाउन सहयोग पुग्छ : अध्यक्ष ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले होली पर्वले समाजलाई एकताबद्ध बनाउने बताउनुभएको छ । ललितपुर, च्यालसस्थित पार्टी मुख्यालयमा शनिवार मधेस प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको होली मिलन कार्यक्रममा उहाँले होलीले राष्ट्रिय एकता मजबुत बनाउन सहयोग पुग्ने बताउनुभयो ।

“होलीले हामीलाई एउटा सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न प्रेरणा दिन्छ । राष्ट्र एकताबद्ध बनाउन योगदान गर्न सक्छ । हामी सबैलाई यस्तै प्रेरणा मिलोस”, उहाँले भन्नुभयो, “हामी जहाँ भएपनि जुन भूगोलमा बसे पनि सबैको उद्देश्य भनेको नेपाल समृद्ध हुनुपर्छ । होलीको सन्देशले यो कुरामा बल थपोस । त्यसका लागि राष्ट्रिय एकता मजबुत बनाओस् ।”

अध्यक्ष ओलीले होलीलाई विकृत बनाउन नहुने र होलीका नाममा देखिएको अनुचित पक्षलार्ई रोक्नुपर्ने बताउनुभयो । उहाँले होलीलाई सामाजिक मर्यादाभित्र रहेर खेल्नुपर्ने भन्दै कसैलाई जबरजस्ती रङ्ग दल्न नहुने उल्लेख गर्नुभयो । “अरुमाथि आघात नपर्ने, सामाजिक सुसम्बन्धमा खलल नपर्ने कुरामा ध्यान दिनुपर्दछ । अरुको स्वतन्त्रमा खलल नपर्ने गरी आफ्नो स्वतन्त्रताको प्रयोग गर्नुपर्दछ । इच्छा विपरीत रमाइलो हुँदैन”, उहाँले भन्नुभयो ।

सो अवसरमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपप्रधानमन्त्री एवं भौतिक तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरि उप्रेतीलगायतको उपस्थिति थियो । कार्यक्रममा पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताले होली खोल्नुभएको थियो ।

समृद्धि र विकासका लागि जस्तोसुकै त्याग गर्न तयार छौँ: महासचिव पोखरेल

लेखनाथ (कास्की) – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि एमाले जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताउनुभएको छ । एमाले कास्कीको ११औँ जिल्ला अधिवेशनको पोखरामा उद्घाटन गर्दै उहाँले भन्नुभयो, “माओवादी केन्द्रलगायतसँगकाे नयाँ समीकरण र सहकार्य देशको समृद्धि र विकासका लागि हो । हामी जनतालाई राज्यसँग जोड्दै अगाडि बढ्छौँ ।”

कमजोर राज्य व्यवस्थाले जनतालाई आशा जगाउन नसक्ने भएकाले जनतामा आशा जगाउन एमाले त्यसतर्फ अघि बढेको उहाँकाे भनाइ थियाे । नेपालमा लामो समयदेखि कायम राजनीतिक अस्थिरता हटाउँदै जनताको बहुदलीय जनवादलाई अगालेर अगाडि बढ्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो । केही हप्ताअघि माओवादी केन्द्रसँग भएको समीकरण देशलाई अग्रगमनतर्फ लैजाने उद्देश्यले भएको दाबी उहाँको छ ।

नेपाली युवाले विदेशबाट पठाएको रेमिट्यान्स घरायसी खर्च नगरी बचत गर्ने प्रवृत्तिको विकास गर्न जरुरी भएको उहाँले बताउनुभयो । नेपाली युवाले विदेशबाट पठाएको पैसा घरखर्चमा प्रयोग हुँदा पुँजी निर्माण हुन नसकेकोप्रति पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

शिक्षा पद्धतिमा परिवर्तन ल्याएर नेपालको शैक्षिक जनशक्तिलाई नेपालमा नै रोक्ने कार्यको थालनी गर्न जरुरी रहेको बताउँदै उहाँले यसका लागि सरकारले योजना ल्याउने उल्लेख गर्नुभयो ।

विसं २०४७ को संविधान केही कमजोरी भएकाले पूर्वराजा ज्ञानेन्द्रले चलखेल गर्ने बाटो पाएको बताउँदै महासचिव पोखरेलले अहिले पनि पुराना पार्टीलाई कमजोर बनाउन अनेकौँ षड्यन्त्र भइरहेको दाबी गर्नुभयो ।

एमाले सचिव गोकर्ण विष्टले देशलाई समृद्धिको बाटोतर्फ अगाडि बढाउन राजनीतिक दल एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । जबसम्म देशलाई समृद्धितर्फ लैजान सक्दैनाँै तबसम्म नेपालको शैक्षिक जनशक्ति रोजगारीका लागि विदेश जाने क्रम नरोकिने विष्टको भनाइ छ ।

सो अवसरमा नेता पद्मा अर्याल, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, संसद् विद्या भट्टराईलगायतले ११औँ अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । महाधिवेश दुई दिनसम्म चल्ने छ । अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने छ ।

विश्व मौसम दिवस- मौसमजन्य घटना प्रतिकार्यमा पूर्वसूचना प्रभावकारी

काठमाडौँ – परापूर्वकालमा मौसमसम्बन्धी पूर्वजानकारी लिने माध्यम थिए, जमिनमुनी बस्ने सर्प, भ्याकुता र गड्यौला जस्ता जीवजन्तु । उनीहरुका गतिविधिका आधारमा मौसमको पूर्वानुमान गरिन्थ्यो । जीवजन्तुहरु जमिन बाहिर निस्केर गर्ने गतिविधिका आधारमा पानी पर्ने र नपर्ने अनुमान गरिन्थ्यो । यस्तो अनुमान कहिलेकाँही मिल्थ्यो पनि ।

समय परिवर्तनसँगै बाढीको पूर्वानुमानका लागि टावरहरु बनाइयो । टावरबाट मानिसहरु टाढा–टाढासम्म के भइरहेको छ देख्न सक्थे । र, पूर्वतयारीका लागि समय मिल्थ्यो । नदीमा पानीको सतह बढ्यो भने मान्छेलाई चिच्चाएर खबर पठाउने प्रयास गरिन्थ्यो । त्यो पनि भरपर्दो हुन सकेन । बाढी आएपछि तल्लो भेगका मानिसहरुलाई सूचना पु¥याउन समय लाग्थ्यो । अनि सर्वसाधरणहरु भाग्न भ्याउदैनथे ।

मौसमसम्बन्धी पूर्वसूचना दिन छिटो र स्वचालित प्रविधिका रुपमा सन् २००० मै विश्वका विकसित देशले राडार र प्रेसर बम्बल सेन्सरको प्रयोग सुरु गरिसकेका थिए । सन् २००५ मा जापानमा भएको संयूक्त राष्ट्रसङ्घको सम्मेलनले बाढी प्रभावित देशलाई बाढीको पूर्वसूचनाको प्रक्रियालाई छिटो र सहज तरिकाले सम्प्रेषण गर्न ती प्रविधिको प्रयोग गर्न सुझाव दिएपछि सन् २००८ देखि नेपालमा पनि यो प्रविधिको प्रयोग सुरु भएको थियो ।

सन् २००८ देखि मानव स्वचालित स्टाफगेज (जल सतह मापन यन्त्र) को प्रयोग गर्न थालियो । त्यसपछि स्टाफगेजको प्रयोग गरी नदीमा पानीको सतहबारे जानकारी लिन थालियो । बाढी आउने सम्भावनाबारे पनि यसैबाट अनुमान गरिन्थ्यो । बाढी आउने जानकारी स्थानीयलाई आवासेट प्रविधिमार्फत खवर पुर्‍याइन्थ्यो । बाढीको जोखिममा भएका मानिसका लागि यो प्रविधि पनि छिटो र छरितो बन्न सकेन ।

त्यसपछि नेपालमा राडार सेन्सर र बम्बल सेन्सर प्रविधिको प्रयोग सुरु गरियो । र, आजका दिनमा मौसमी विपद्सम्बन्धी पूर्वसूचनाका लागि सबैभन्दा प्रभावकारी प्रविधिका रुपमा स्थापित भएको छ ।

यसैप्रविधिबाट प्राप्त पूर्वसूचना प्रत्येक वर्ष करिब ९० लाखलाई एसएमएसमार्फत पठाउने गरिएको विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यको भनाइ छ । “हामीले प्रत्येक दिन बिहान ६ बजे र बेलुकी ६ बजे मौसमी बुलेटिन प्रकाशन गछौँ, यसले आगामी तीन दिनको मौसमसम्बन्धी जानकारी दिन सहयोग गरेको छ”, उहाँले भन्नुभयो, “बाढी र बर्षासम्बन्धी जानकारीका लागि टोल फ्री नम्बर ११५५ र उद्धारका लागि ११४९ को व्यवस्था गरेका छौँ ।”

विभागले वेवसाइटमार्फत पनि विपद्सम्बन्धी पूर्वजानकारी सम्प्रेषण गरिरहेको छ । विगतमा बाढीको पूर्वसूचना दिने गरिए पनि अन्य विपद्जन्य घटनाको पूर्वसूचना दिन नसकिएको भन्दै आगामी दिनमा त्यसको पनि तयारी भइरहेको उहाँको भनाइ छ ।

“बिषेशगरी हामीले बाढीसम्बन्धी मात्रै पूर्वसूचना उपलब्ध गराउँदै आएका छौँ । तर अबदेखि पहिरो, हिमपहिरोको, लु, वन डडेलो, हावाहुरी, भारी बर्षा, चट्याङ, शीतलहरलगायतका १२ किसिमका विपद्को पूर्वानुमान गरी एसएमएसमार्फत सन्देश प्रवाहको तयारी गरिरहेका छौँ”, कर्मचार्यले भन्नुभयो । उहाँका अनुसार टेलिकम कम्पनी एनसेलले विभागसँगको सहकार्यमा सन् २०१६ देखि बाढीको पूर्वसूचना प्रवाह गर्न निःशुल्क एसएमएस सेवा दिँदै आएको छ ।

उहाँका अनुसार यसअघि एनसेलसँग मात्रै यसप्रकारको सम्झौता भएकोमा अब नेपाल टेलिकमसँग पनि सोसम्बन्धी सम्झौताको तयारी भइरहेको छ । “पूर्वसूचना प्रवाहकै कारण मनसनजन्य विपद्बाट हजारौं मानिसको ज्यान जोगिएको छ, आर्थिक क्षति पनि कम भएको छ”, कर्माचार्यले थप्नुभयो, “पूर्वसूचना अझ प्रणालीलाई भरपर्दो र विश्वासनीय बनाउँदै लैजाने छौँ ।”

उहाँले मौसममा आधारित जोखिमबाट हुने धनजनको क्षति कम गराउन पूर्वसूचना प्रणाली तथा प्रवाहका लागि तीन वटै तहका सरकार, विभिन्न सरोकारवाला निकायबीच सहकार्य गरी अगाडि बढ्न आवश्यक भएको बताउनुभयो । स्थानीय तहसम्म विभागको संरचागत विकास हुन नसकेको भन्दै प्रभावकारी रुपमा पूर्वसूचना प्रवाह गर्न नसकिएको उहाँको भनाइ छ । “विभागले सात सय ५३ वटै स्थानीय तहमा संरचनागत विकास तत्काल नसके पनि प्रत्येक जिल्लासम्म पुग्ने योजना बनाएका छौँ”, कर्मचार्यले भन्नुभयो । यसका लागि थप मनसुनी राडार आवश्यक पर्ने उहाँको भनाइ छ ।

राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मनसनुजन्य घटनाका कारण जलविद्युत् आयोजनालगायतका पूर्वाधारमा क्षति पुग्दा मुलुकको अर्थतन्त्रमा असर पुगेको बताउनुभयो । उहाँले यसप्रकारको क्षति कम गर्नका लागि योजना बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“मनसुनजन्य जोखिम उच्च भएका क्षेत्रमा पनि पूर्वसूचना प्रणालीको विकास आवश्यक भइसकेको छ । हामी सबै सरोकारवाला निकायसँग यस विषयमा छलफल सुरु गरिसकेका छौँ”, उहाँले भन्नुभयो ।

विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले पछिल्लो समय पूर्वसूचना प्रणाली विपद् व्यवस्थापनको भरपर्दो माध्यम बन्दै गएको भन्दै थप विस्तार गर्नका आवश्यक रहेको बताउनुभयो । “सूचना प्रविधिको विकाससँगै भू–उपग्रहका माध्यमबाट सूचना लिने र दिन थालिएसँगै विपद्सम्बन्धी पूर्वसूचना प्रणाली भरपर्दो र विश्वसनीय बनेको छ”, उहाँले भन्नुभयो, “यति हुँदाहँदै पनि विपद्का घटनाबाट हुने क्षति भने रोक्न नसकिए पनि न्यूनिकरण भने भएको छ ।”

उहाँले बढ्दो जलवायु परिवर्तनको असरसँगै विपद्का घटना पनि बढिरहेको भन्दै अनुकुलनका प्रभावकारी कार्यक्रमहरु सञ्चालन जरुरी रहेको बताउनुभयो । “हामीसँग विपद् ऐन, विपद् नियमवाली, विपद् व्यवस्थापन तथा न्यूनीकरण नीति, विपद् व्यवस्थापन न्यूनिकरणका लागि विभिन्न संरचना छन्, जलवायु परिवर्तन नीति छ”, उहाँले भन्नुभयो, “ प्रत्येक वर्ष गृहमन्त्रालयले विपद् प्रतिकार्य योजना नै ल्याउँछ । स्थानीय तहमा स्थानीय सरकार सञ्चालन ऐन पनि छ । सरकारले नीतिगत व्यवस्था धेरै राम्रो गरेको छ तर प्रभावकारी कार्यन्वयन हुन भने सकेको छैन ।”

जलविद् इञ्जिनियर बिनोद पराजुलीले हाल प्रयोग भइरहेका राडार सेन्सर र बम्लर सेन्सर स्वचालित रुपमा सञ्चालन हुने र समयमै बाढीको पूर्वसूचनाका लागि प्रभावकारी बनेको बताउनुहुन्छ । “संकटापन्न समुदायलाई बाढी आउँदै छ भनेर छ घण्टा अगाडि पूर्वसूचना त दिन सकेका छौँ”, उहाँले भन्नुभयो, “पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाएर कस्तो विपद्मा कसरी बच्न सकिन्छ ? के–के गर्ने ? वा के–के नगर्ने भन्ने बिषयमा पनि व्यापक प्रचारप्रसारको जरुरी छ ।”

कारागारबाट मुख्यमन्त्रीको कर्तव्यपालन गर्ने केजरीवालको निर्णयप्रति कानूनीविद्हरूको आपत्ति

आम आदमी पार्टी (आप) ले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो गिरफ्तारीपछि कारागारबाट सरकार चलाउने कुरा स्पष्ट गरेपछि कानूनी विशेषज्ञहरूले आपत्ति व्यक्त गरेका छन् ।

कानूनले कसैलाई पनि कारागारबाट सरकारको नेतृत्व गर्न निषेध नगरेको भए पनि केजरीवालले कारागारबाट आफ्नो कर्तव्य निर्वाह गर्न विभिन्न कठिनाइको सामना गर्नुपर्ने कानूनका विद्वानहरूले बताएका छन् ।

अनुसन्धान एजेन्सीबाट जारी भएको नौ वटा समाह्वानलाई गैरकानूनी भनी बेवास्ता गरेपछि बिहीबार साँझ प्रवर्तन निर्देशनालय (इडी)ले मुख्यमन्त्री केजरीवालालाई गिरफ्तार गरेको थियो ।

कारागारभित्र सबै समान हुने र कारागारको नियम सबैलाई समानरूपमा लागू हुने कानूनी विशेषज्ञहरूले बताएका छन् । संवैधानिक विज्ञ पीडीटी आचार्यले मुख्यमन्त्री केजरीवालले कारागारबाट आफ्नो कर्तव्य निर्वाह गर्दा सामना गर्नुपर्ने व्यावहारिक कठिनाइ बारे बताउनुभयो । उहाँले तिहाड कारागारभित्र कैदीका रूपमा विभिन्न प्रतिबन्धहरूको सामना गर्नुपर्ने बताउनुभयो ।

“केजरीवालको गिरफ्तारीले उहाँको हैसियतमा परिवर्तन गर्दैन, उहाँले मुख्यमन्त्रीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्नुहुन्छ वा सक्नुहुन्न भन्ने कुरा नितान्त कारागार नियमको अधीनमा छ । कारागार नियमले त्यस्तो कुरालाई अनुमति दिएको भए ठिक छ नत्र भने उहाँले अदालतबाट अनुमति लिनुपर्छ र अदालतले कारागारका अधिकारीहरूलाई विशेष निर्देशन दिनुपर्छ”, आचार्यले भन्नुभयो ।

केजरीवाललाई सांसदका रूपमा अयोग्य घोषित नगरेकाले गिरफ्तारीपछि पनि मुख्यमन्त्री रहन सक्ने आचार्यको भनाइ थियो । निर्वाचित मुख्यमन्त्रीको भूमिकाबारे प्रष्ट पार्दै उहाँले मुख्यमन्त्रीले मन्त्रिपरिषद्को बैठको अध्यक्षता गर्नुपर्ने र विभिन्न विषयमा निर्णय गर्नुपर्ने बताउनुभयो । आचार्यले भिडियो कन्फरेन्समार्फत बैठक गर्न सकिने भए पनि त्यस्ता अभ्यासले मन्त्रिपरिषद् बैठकको गोपनीयता हनन हुनसक्ने समस्या रहेको तर्क गर्नुभयो ।

वरिष्ठ अधिवक्ता रमेश गुप्ताले मुख्यमन्त्री केजरीवालले कुनै निवेदन पेस गर्नुभयो भने कारागार नियम र अदालतले दिएको छुटमा निर्भर हुने यो अनौठो अवस्था भएको बताउनुभयो । उहाँका अनुसार केजरीवालले कुनै आवेदन पेस गर्दा इडीको अदालतमा पेस गर्नुपर्ने कुरामा निर्भर हुनेछ ।

वरिष्ठ अधिवक्ता विकास सिंहले गिरफ्तारीपछि पनि दिल्लीको मुख्यमन्त्री रहने केजरीवालको निर्णयलाई गलत भन्दै यो एक राजनीतिक दाबी हुनसक्ने तर वास्तविक दाबी नहुने बताउनुभयो ।

अधिवक्ता नलिन कोहलीले यसलाई रोचक प्रश्नका रूपमा उल्लेख गर्दै यस्तो अनौठो कुरा भारतको संवैधानिक योजनामा कहिल्यै विचार नगरिएको बताउनुभयो । “यो संवैधानिक विरोधाभास जस्तै हो, भ्रष्टाचारको आरोप लागेको व्यक्तिले सरकार चलाउन र जनताको सेवा गर्न चाहन्छ”, कोहलीले भन्नुभयो, “भ्रष्टाचारको आरोप लागेको व्यक्तिले सरकार चलाउन र कारागारबाट जनताको सेवा गर्न चाहनु अकल्पनीय हो ।”

उहाँका अनुसार संविधानको सपथ लिएकाहरूलाई जनताको सेवा गर्न सक्षम पार्ने स्थान कारागार होइन । कारागार भनेको अभियोग लागेकाहरूलाई टाढा राखेर जनताको सुरक्षा गर्नु हो ।

कारागारबाट सरकार सञ्चालनमा आउने कठिनाइबारे प्रकाश पार्दै तिहाड कारागारका पूर्वअधिकारी सुनील गुप्ताले कारागारमा विभिन्न प्रतिबन्धले मुख्यमन्त्रीलाई आफ्नो कर्तव्य पालनमा समस्या सिर्जना हुने बताउनुभयो । उहाँका अनुसार यस्तो अवस्थाले सुरक्षामा सम्झौता हुनेछ ।

मुख्यमन्त्री केजरीवालालाई मार्च २८ सम्म इडीको हिरासतमा पठाइएको छ । यो मुद्दा दिल्ली अन्तःशुल्क नीति, २०२२ को तर्जुमा र कार्यान्वयनमा भएको अनियमितता र मनी लन्ड्रिङसँग सम्बन्धित छ । यो नीतिलाई पछि खारेज गरिएको थियो ।

प्रधानमन्त्रीको यस्तै सहयोग रहे धेरै काम हुन्छः गृहमन्त्री लामिछाने


काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको जस्तै सहयोग दिनुभएमा धेरै काम हुने बताउनुभएको छ ।

काठमाडौँमा आयोजित वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री दाहालको कार्यकालमा आफूले विधि जोगाउने सहमति गरेको दाबी समेत गर्नुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई स्वास्थ्य अवस्थाका कारण हाजिर जमानतमा छाडिएकाले त्यसमा शङ्का गर्न नहुने स्पष्ट पानुभयो । उहाँले महरामाथि अनुसन्धान भइरहेको समेत जानकारी गराउनुभयो ।

कांग्रेसले आफ्नो राजीनामा र संसदीय समिति बनाउन माग गरिरहेको सन्दर्भमा उहाँले सदनमा जवाफ दिन पाए राम्रो हुने बताउनुभयो । सहकारीका ठगीका विषयमा प्रतिवादी नभएको मान्छे कसरी दोषी भयो भन्दै उहाँले जिवी राई जहाँ भए पनि समातिने प्रतिबद्धता दोहोर्याउनुभयो । उहाँले सहकारीपीडितको बचत ब्याजसहित फिर्ता गराउने पनि बताउनुभयो ।

थोरै दिन सरकारमा बसेर गरिने कामका आधारमा इलाम-२ को उपनिर्वाचन आफ्नो पार्टीले जित्ने दाबी गर्दै गृहमन्त्री लामिछानेले सरकारमा बसेर अनैतिक काम नगर्ने पनि स्पष्ट पार्नुभयो । भ्रष्टाचारको सन्दर्भ उप्काउँदै उहाँले भन्नुभयो, “कतिपय माछा चिप्ला हुन्छन्, बाठा हुन्छन् । तिनीहरू फुत्किन खोज्छन् तर, तिनलाई होसियारीपूर्वक समाइन्छ ।”

नेपाली कांग्रेसका नेतालाई गृहमन्त्री लामिछानेको अनुरोध – “एक बहस तो बन्ता है”

गृहमन्त्री रवी लामिछाने । प्रिय नेपाली कांग्रेसका नेताज्युहरुमा मेरो नमस्कार । आज म सिङ्गो देशलाई साक्षी राखेर नेपाली कांग्रेसलाई मेरो सानो अनुरोध सार्वजनिक गर्दैछु। तपाईंको पार्टीले म माथी कयौं प्रश्नहरु सदनमा निरन्तर उठाइरहेको छ। म तीनको जवाफ सदनमा उभिएर दिन चाहन्थें। तर तपाईहरुले प्रधानमन्त्रीको जवाफ माग्नु भो। प्रधानमन्त्रीको जवाफ पाए पछि अब फेरि तपाईलाई संसदीय समिति चाहिएको छ।

सम्मानित अदालतमा सुर्यदर्शन सहकारीको मुद्दा चलिरहेको छ भन्ने सुनेको छु तर मुद्दामा म प्रतिवादी भएको जानकारी छैन, कसैको बयानमा समेत मेरो नाम संलग्न भएको जानकारी छैन, न मलाई प्रहरी वा अदालतले कुनै पत्र काटेको छ, न म त्यसको सदस्य वा पदाधिकारी हु, न त्यहाको पैसा मैले निकाल्न वा कतै लान सक्ने अधिकार राख्छु। अदालतले हेरिरहेको सुर्यदर्शन सहकारीको यो मुद्दामा संसदमा नन् स्ट्प बहस हुनु र अझ संसदीय समिति माग्नु कानुनी हिसाबले के कति जायज होला??

तपाईंहरु आफै सरकारमा हामी प्रतिपक्षमा हुदा तपाईंहरुले चरम दवाब दिदा समेत प्रहरीले दर्ता गर्न समेत योग्य नठानेको तर बुझिलिएर बिना दर्ता कतै राखिछाडेको ठाडो उजुरी बाहेक केहि हैसियत नभएको चिर्कटो बोकेर सदन नै अबरुद्ध गर्नु पर्ने कारण बारे “एक बहस तो बन्ता है” !!

प्रमाण भेटिदा बालकृष्ण खाँडलाई घरबाट टिपेर लानु हुने तपाईहरुले प्रमाण पाएको भए मलाई यत्तिका समय, के माया लागेर छोड्नु भएको हो र ? म त प्रतिपक्षमा थिएं। सक्दो गर्नु भो, केही नलागे पछि Conflict of Interest भए पनि Create गरौ भनेर यो सब प्रपंच गर्नु भो। त्यसैको आडमा सारा हर्कत गर्दै हुनु हुन्छ। This is not CONFLICT OF INTEREST, This is A PRINCIPLE OF CREATING CONFLICT OF INTEREST. नेपाली कांग्रेसका निष्ठावान साथीहरूलाई यो कुरा थाहा होस् भनेर सप्रेम यति वर्णन गरेको हुँ। यस्तो स्तरहिन राजनीतिले नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक दललाई कहाँ पुर्याउला??

आफू माथी निरन्तर प्रश्न उठ्दा म कहाँ गएर बोलौं? मेरो जवाफ सुन्न नचाहने/नसक्ने तपाईहरुलाई मेरो विनम्र अनुरोध सहितको अफर सार्वजनिक गर्दैछु।

तपाईंहरुले भनेको दिन,स्थान र समयमा तपाईंहरु र म सार्वजनिक बहस गरौं। त्यो बहस काठमाडौ-४ मा भए राम्रो। म एक्लै आउछु, तपाईं आफ्ना विज्ञ,पार्टीका सम्पुर्ण प्रभावशाली नेता र तपाईंले म माथि लगाएका सारा आरोप पुष्टि गर्ने सम्पुर्ण प्रमाण बोकेर आउनु होला। यो बहस LIVE गरौं ताकी सिङो देशले हेरोस्। सारा देशका अगाडी तपाइहरुले मलाई सुर्यदर्शन सहकारीको ठग प्रमाणित गर्नु होला। तपाईंका कुरा तपाईं जान्नुहोस् मैले त मेरा मतदाता माथी न्याय गर्नै पर्छ। जवाफ दिनै पर्छ।

मेरो यो प्रस्तावको जवाफमा तपाईंहरुले कहिँ,कतै,केही लेख्न बोल्न पर्दैन।दायाँ बायाँ केही कुरा नगर्नु होला। वस्, तपाईं मलाई यत्ती मात्र भन्नुस्,म कहिले कहाँ तपाईका आरोपहरुको जवाफ दिन आँउ?

हैन भने, छोढ्दिनुस् यो बाल हठ। मेरो यो चुनौतीलाई प्रतिशोधका रुपमा लिनपनि आवश्यक छैन। सशक्त प्रतिपक्षी बनेर जनताको मन जित्नुस्। हामी माथी रचनात्मक दवाब बढाउनुस्। भर्खर जन्मेको दल भएपनि एक वर्षमा शायद हामीले राम्रो प्रतिपक्ष बनेर देखायौं। त्यो भन्दा प्रभावशाली बनेर हामीलाई पाठ सिकाइदिनुस्। यस्तो स्तरहिन हर्कतले कुनै नेताको कुण्ठा शान्ता होला तर कांग्रेस जस्तो लोकतान्त्रिक दलको इतिहास र प्रतिष्ठा लाई शोभा दिदैन।
सुर्यदर्शन सहकारीका पीडितहरुलाई भेट्न सार्वजनिक अपिल गरिसकेको छु। संघर्ष समिति सँग त आफ्ना कुरा राखिसकेको छु। प्रष्ट हुनुस् : सहकारी पीडितले न्याय पाउछन्। जय नेपाल (पार्टी वाला होइन, देश वाला)

उद्योगमन्त्री भण्डारीसँग बङ्गलादेशका शिपिङ राज्यमन्त्रीको भेट

काठमाडौँ, १० चैतः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग बङ्गलादेशका शिपिङ राज्यमन्त्री खालीद महमुद चौधरीबीच आज यहाँ द्विपक्षीय हितका विषयमा भेटवार्ता भएको छ ।

भेटका क्रममा मन्त्री भण्डारीले पछिल्ला वर्षमा बङ्गलादेशबाट नेपालमा हुने आयातको परिमाण उल्लेख्य वृद्धि भए पनि नेपालबाट बङ्गलादेश हुने निर्यातको मात्रा भने न्यून नै रहिआएको भन्दै दुई मुलुकबीचको व्यापारको हिस्सालाई वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

बङ्गलादेश नेपालको महत्त्वपूर्ण व्यापार साझेदारका रूपमा रहिआएको स्मरण गराउँदै मन्त्री भण्डारीले द्विपक्षीय व्यापार सम्बन्धलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

दूध तथा दुग्धजन्य उत्पादन, तरकारी, फलफूल, जडीबुटी तथा वनस्पतिजन्य उत्पादन, धागो र औषधिजन्य उत्पादनलगायत विभिन्न वस्तुका लागि बङ्गलादेश नेपालको सम्भाव्य बजारका रूपमा रहेकाले उच्च भन्सार महसुल तथा गैर भन्सारजन्य अवरोधका कारणले नेपाली उत्पादनले बङ्गलादेशी बजारमा पर्याप्त पहुँच प्राप्त गर्न नसकेकाले त्यसको पहलकदमीका लागि उद्योगमन्त्री भण्डारीले आग्रह गर्नुभयो ।

सन् २०१० देखि दुई देशबीचको सौविध्यपूर्ण व्यापार सम्झौता सम्बन्धमा वार्ता भइरहेको स्मरण गराउँदै मन्त्री भण्डारीले दुवै देशको आर्थिक हितलाई प्रवर्द्धन गर्नेगरी सम्झौतालाई अन्तिम रूप दिन दुवै पक्षले आफ्नो प्रयास केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपालको तेस्रो देशसँगको व्यापारका लागि चटगाउँ र मोङ्गलापोर्ट प्रयोग गर्ने पारवहन सुविधा प्रदान गरेकामा बङ्गलादेश सरकारलाई धन्यवाद दिँदै उहाँले सामुन्द्रिक बन्दरगाहको उपयोगमार्फत पारवहन सम्बन्धलाई सुदृढ बनाउन रोहनपुर–सिंहवाद रेलवे र अन्य पारवहन रुट सञ्चालनका लागि राज्यमन्त्री चौधरीसँग उहाँले आग्रह गर्नुभयो ।

उद्योगमन्त्री भण्डारीले नेपाल–बङ्गलादेश व्यापारका लागि काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्ध रूट प्रयोग हुँदै आइरहेका र नेपाली ट्रकले भारतको फूलबारी भन्सार विन्दुबाट मात्र बङ्गलादेशबाट आयात भएका वस्तु ल्याइरहेकाले त्यसले पारवहन लागत बढ्न गएको पनि उल्लेख गर्नुभयो ।

विगतमा भएका वाणिज्य सचिवस्तरीय बैठकमा नेपालले बङ्गलादेशका जलमार्ग उपयोग गर्नेसम्बन्धी अवधारणापत्र प्रस्तुत गरेको स्मरण गराउँदै मन्त्री भण्डारी भन्नुभयो, “नेपाल र भारतबीचको पारवहन सन्धिले अन्तरदेशीय जलमार्गमा पहुँचको व्यवस्था गरेको छ, जलमार्ग सम्बन्धमा नेपालको प्रस्तावउपर भएको प्रगति र यसलाई नेपालले उपयोग गर्ने सम्भावना सम्बन्धमा बङ्गलादेशको धारणाको अपेक्षा गरेको छु ।”

भारतीय प्रसारण लाइनमार्फत नेपाल र बङ्गलादेशबीचको ऊर्जा व्यापारका लागि भारतीय पक्ष सहमत भएको विषय दुवै पक्षका लागि सुखद् रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले ऊर्जा क्षेत्रमा बङ्गलादेशको लगानी सुनिश्चित गर्न आग्रह गर्नुभयो ।

साथै उहाँले राज्यमन्त्री चौधरीलाई प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक क्रियाकलाप, जैविक विविधताका दृष्टिले नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा रहेको बताउँदै बङ्गलादेशी पर्यटक नेपाल आउनेमा आशा व्यक्त गर्नुभयो ।

अति कम विकसित मुलुकका रूपमा समेत सहयोगको विस्तार गर्दै संयुक्तरूपमा आवाज उठाउने एवं संयुक्त राष्ट्रसङ्घलगायतका अन्तर्राष्ट्रिय मञ्चमा उम्मेदवारीलगायतका विषयमा समेत दुई देशबीच सहयोग आदानप्रदान हुँदै आएको स्मरण गराउँदै मन्त्री भण्डारीले यस किसिमको सहयोग अझ विस्तार हुनेमा जोड दिनुभयो ।

भेटका क्रममा बङ्गलादेशका राज्यमन्त्री चौधरीले मन्त्री भण्डारीले राखेका कुरा अत्यन्त सकारात्मक र सान्दर्भिक रहेको उल्लेख गर्दै आफू बङ्गलादेश फर्केर सो विषयमा प्रधामन्त्रीको ध्यानाकर्षण गराउने बताउनुभयो ।

उहाँले नेपाल र बङ्गलादेशको निजी क्षेत्रलाई जोड्नुपर्नेमा जोड दिनुभयो । राज्यमन्त्री चौधरीले आगामी अप्रिलमा हुने दुई देशका सचिव र सहसचिवस्तरीय बैठकमा व्यापारमा देखापरेका समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

मिथिलामा होली : सद्भावसँगै जोडिएको संस्कृति

काठमाडौँ, १० चैत : फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै होली मनाउने गरिन्छ । यद्यपि तराई भेगमा भने पूर्णिमाको दिन होलिका दहन गरे पनि भोलिपल्ट (प्रतिपदाको दिन) मात्र होली मनाउने गरिएको छ ।

बराह पुराणअनुसार पाटवास–विलासिनी अर्थात् पाउडर मिलेर बनेको खेलका रूपमा रहेको फागु पूर्णिमा सामाजिक सद्भाव र माधुर्यता झल्काउने असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाउने पर्व हो । असत्यको पक्षमा लागेकी होलिकाको दहन भएको स्मरणमा यो पर्व मनाउने गरिन्छ ।

मिथिला संस्कृतिमा पूर्णिमाका दिन जनकपुरलगायत देवालयमा विशेष मेला लाग्ने गर्छ । पूर्णिमाको दिन जनकपुरधामको परिक्रमा गरिने भएकाले मदिरा र मासु सेवन वर्जित हुन्छ । पूर्णिमाका दिन १५ दिने परिक्रमाको समापन गरिने हुँदा मिथिलावासी भोलिपल्ट होली मनाउने गर्छन् ।

मिथिला संस्कृतिमा वसन्त पञ्चमीको दिनदेखि डम्फ र मजिराका साथ होलीका गीत गाउने होलैता तयार हुन्छन् । यो क्रम फागु पूर्णिमाको भोलिसम्म चल्छ । पूर्णिमाको राति होलीका गीत (फागु) गाउँदै होलिका दहन गरिन्छ र भोलिपल्ट फागु मनाइन्छ । फागुका दिन रङ्ग तथा अबिर खेलेर बेलुका होलिका दहन गरिएको स्थानमा गएर खरानी उडाउँदै ‘जे जीवे से खेले फागु’ भन्दै त्यहाँबाट ‘चैतावर’ गीत (चैत महिनाको गीत) गाउँदै फर्किने गरिन्छ ।

पहिले पहिले गाउँघरमा दूध र मसलामिश्रित भाङ तयार हुन्थ्यो । होलैता समूहमा प्रत्येक टोलको मानिसहरू सहभागी हुन्थे र उनीहरू घरघरमा पुगेर होली गीत गाउने गर्थे । होलैतालाई भाङ, अबिर, पान र मसालेदार सुपारी प्रदान गरी बिदा गरिन्थ्यो । यद्यपि पछिल्लो समय यो संस्कृति बिस्तारै लोपोन्मुख छ । ‘परदेशीया ल धोतिया रङ्गावे गोरिया’, ‘हो रङ्गावे गोरिया..’, ‘जमुना तट श्याम खेलैय होरी’, ‘किनकर हाथ अबिर झोरी..’ लगायत गीत अहिले विरलै सुनिन्छन् ।

सामाजिक सद्भाव, सांस्कृतिक एवम् ऐतिहासिक पर्व फागुको मौलिकतालाई गम्भीरतापूर्वक नलिएकाले अहिलेको होलीमा सङ्कीर्णता छाएको आभाष हुन्छ । होलीको मिथिला संस्कृति लोप हुनुमा सहरिया र आयात संस्कृति हाबी भएको धीरेन्द्र प्रेमर्षिको साहित्यिक नामले परिचित धीरेन्द्र झाले बताउनुभयो । रमझम मात्रमा सीमित हुँदा युवाले मिथिलामा मौलिक संस्कृतिलाई विस्तारै भुलिरहेको उहाँको बुझाइ छ ।

“पहिला गाउँमा रातपरेपछि गाउँ बुढापाका एकत्रित भई झ्याल, मृदङ्ग, ढोल लिएर समूहगत रुपमा होली गीत गाउने गर्नुहुन्थ्यो, अहिले त्यो समय कहाँ रह्यो र ?, गाउँका अधिकांश युवा कामका लागि विदेशमा गएका छन्, बाँकी रहेका बुढापाकाले कहिलेकाहीँ मात्र जोगिरा गाउने गरेका छन्, सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होली पर्वले सबै जातजातिलाई प्रभाव पारेको छ तर यसको रौनकता नै समाप्त भएर जान लागेको भान भइरहेको छ”, साहित्यकार झाले भन्नुभयो ।

मिथिला संस्कृतिमा वसन्त पञ्चमीको दिनदेखि डम्फ र मजीराका साथ होलैताले होलीका गीत गाउने क्रम फागुन पूर्णिमाको भोलिसम्म चल्छ । “यो संस्कृति पुस्तान्तरण भएन, किनकि माओवादी युद्धको समयमा रातमा होलैताले गीत गाउन सकेनन्”, साहित्यकार झाले भन्नुभयो, “होलीमा गाइने गीतसँगै संस्कृति नयाँ पुस्तामा नआउँदा अहिले होलौता भेटिँदैनन्, नयाँ पुस्ता संस्कृतिसँग बेखबर छन्, गाइने गीत पनि कहाँ सुरु हुन्छन्, कहाँ अन्त्य हुन्छन् ? बुझ्न मुस्किल छ ।”

मिथिला नाट्यकला परिषद्ले होलीको अवसरमा पूर्वसन्ध्यामा आयोजना गर्ने दुईदिने होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ । महामूर्ख हुनेलाई समाजमा उच्च व्यक्तित्व मानिन्छ । विभूषित गरिने उपाधि महामूर्ख, पटमूर्ख, चौपटट्मूर्ख, मूर्खानन्द र मूर्खाधीशलगायत छन् । विभूषित हुनेलाई काउली, फर्सी, खुर्सानी, आलुलगायत विभिन्न तरकारीको माला लगाइने गरिन्छ । अन्य बेला महामूर्खभन्दा रिसाउने होलीका अवसरमा त्यस्ता विभूषण पाएर दङ्ग पर्छन् ।

अझै पनि मिथिलाका पुराना मानिस संस्कृतिलाई अगाडि बढाउन तत्पर छन् । यद्यपि नयाँ पुस्ताले गाउँ छोड्ने, सहरिया संस्कृतिमा रमाउने प्रचलन बढ्दै जाँदा पछिल्लो समय होलैताको सङ्ख्या त घटेको छ नै यो संस्कृति पुस्तान्तरण हुन् पनि सकेको छैन । यो संस्कृतिलाई अगाडि बढाउन सङ्घसंस्थाले गरेको प्रयास युवा अग्रसर नभए विफल नै रहन्छ । मिथिलामा होली भनेपछि रङ्ग लगाउने मात्र नभई यसको छुट्टै संस्कृति छ भन्ने नयाँ पुस्तालाई बुझाउन जरुरी छ ।

पाकिस्तानले मनायो ८४औँ गणतन्त्र दिवस

पाकिस्तानले शनिबार ८४औँ पाकिस्तान दिवस मनाएको छ । यसलाई पाकिस्तान सङ्कल्प दिवस वा गणतन्त्र दिवस पनि भनिन्छ । स्वतन्त्र राज्य स्थापनाका लागि सङ्घर्षको प्रमुख कोसेढुङ्गामध्येको एक सन् १९४० मार्च २३ मा पारित लाहोर सङ्कल्पको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ ।

पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले मुलुकका पूर्वजहरूको सङ्घर्ष, दृष्टिकोण र दृढ सङ्कल्पप्रति श्रद्धाञ्जलि अर्पण गर्दै भन्नुभयो, “आउनुहोस् हामी हाम्रो यात्रालाई प्रतिविम्बित गरौँ, आफ्ना उपलब्धिहरूप्रति खुशियाली मनाऔँ र एउटा समृद्ध तथा एकताबद्ध पाकिस्तानका लागि हाम्रो प्रतिबद्धता पुष्टि गरौँ ।”

एक छुट्टै सन्देशमा प्रधानमन्त्री शाहबाज शरिफले मुलुकबासीसँग ‘पाकिस्तानलाई शान्ति, प्रगति र स्थिरताको केन्द्र बनाउन हाम्रा संस्थापक पिताहरूको पाइला पछ्याउनका लागि दृढ सङ्कल्पलाई नवीकरण गर्न’ आग्रह गर्नुभयो ।

एक आधिकारिक विज्ञप्तिमा राष्ट्रपति जर्दारीले पाकिस्तान दिवसका साथै आगामी ईद–उल–फितर पर्वका अवसरमा कैदीहरूलाई ९० दिनको छुट दिनुभएको बताइएको छ ।

राजधानी इस्लामाबादमा ३१ तोपको सलामी र प्रान्तीय राजधानीहरूमा २१ तोपको सलामीका साथ दिवसको सुरुआत भएको थियो । इस्लामाबादको शकरपारियन परेड एभेन्युमा एउटा सैन्य परेडसमेत आयोजना गरियो । उक्त अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सशस्त्र बलहरूका प्रमुख र साउदी रक्षामन्त्री प्रिन्स खालिद बिन सलमान बिन अब्दुलअजिज अल साउदको सहभागिता थियो ।

दिवसका अवसरमा मुलुकभर सबै आधिकारिक भवनहरूमा राष्ट्रिय झन्डा फहराइएको छ भने मानिसहरूले पाकिस्तानको निर्माणमा लाहोर प्रस्तावको महत्त्वलाई उजागर गर्न र्याली र गोष्ठी आयोजना गरेका थिए ।

पुनः जनताको मन जितेर विचारको विकास गर्न लाग्नुपर्ने आवश्यकता छ – पूर्वसभामुख सापकोटा

धुलिखेल, १० चैतः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले शिक्षकहरूले आफ्नो व्यावसायिक दक्षतामा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिले आज बनेपामा आयोजना गरेको ‘प्रथम जिल्ला परिषद् तथा शिक्षक सम्मान’ कार्यक्रममा उहाँले विद्यार्थीको व्यक्तित्व विकासका लागि उसको मनोविज्ञान, सर्वाङ्गीण विकास र परिवारको अवस्था बुझेर ज्ञान दिन आवश्यक रहेको बताउनुभयो ।

अहिले विश्वभर नै नैतिक शिक्षाको खडेरी भएर अर्थ र व्यापारमा केन्द्रित भएको बेलामा शिक्षकहरू उद्देश्यतिर केन्द्रित हुँदै भविष्यतिर अगाडि बढ्दै नैतिकतामा सच्चा र वैज्ञानिक विचारधाराको विकास गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो । “पाठ्यपुस्तकमा भएको विषय विद्यार्थी आफैँले अध्ययन गर्ने भएकाले शिक्षकहरूले नैतिक शिक्षा र मनोवैज्ञानिक ज्ञान दिलाउन सक्नुपर्छ”, उहाँले भन्नुभयो ।

न्याय र स्वतन्त्रताका लागि हाँसी हाँसी मर्न हिँडेका माओवादीले पछिल्लो समयमा वास्तविक पहिचान गुमाउन खोजेको त होइन ? भन्ने अवस्थामा पार्टीलाई पुर्याएको भन्दै पुनः जनताको मन जितेर विचारको विकास गर्न लाग्नुपर्ने आवश्यकता रहेकामा उहाँले जोड दिनुभयो । अब पार्टीले अभावभन्दा पनि असमानताविरुद्धमा लड्नुपर्ने बेला आएको उहाँको भनाइ थियो ।

उपाध्यक्ष सापकोटाले अहिलेका राजनीतिक दलहरूबीचमा भएको साझा सहयात्रा गठबन्धन नभएर समीकरण भएको बताउनुभयो । अहिलेको राजनीतिक समीकरणले नागरिकमा पहिलाको भन्दा अझ बढी खुसी र आशा पलाएको पाएको उहाँको दाबी थियो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं काभ्रेपलाञ्चोक जिल्ला इन्चार्ज तेजबहादुर मिजारले सङ्गठनलाई मजबुद बनाउने काममा केन्द्रित हुन शिक्षकहरूलाई आग्रह गर्नुभयो । प्रथम जिल्ला परिषद्ले अब नयाँ ढङ्गले शिक्षकहरू अगाडि बढ्ने खालको कार्यदिशा र कार्ययोजना ल्याउन आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

माओवादी केन्द्र बागमती प्रदेश कमिटीका सचिव तथा खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले राष्ट्रिय उत्पादनमा केन्द्रित हुनका निम्ति र नेपालीको भविष्य नेपालमा नै छ भनेर दिशानिर्देश गर्नका लागि शिक्षकहरूले भूमिका खुल्नुपर्नेमा जोड दिनुभयो ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष चेतबहादुर लामाले पालिकास्तरमा त्यहाँका नेतृत्वले शिक्षकहरूमाथि राजनीतिक दृष्टिकोणले हेर्ने र विभेद गर्ने अवस्था भोग्नुपरेको भन्दै त्यसबाट मुक्त हुन आवश्यक रहेको बताउनुभयो । जुन पालिकामा जुन पार्टीको नेतृत्व छ, त्यही पार्टीको शिक्षकलाई मात्रै नियुक्ति गरिदिने प्रवृत्ति देखिएकाले त्यसखालको अवस्थाले शिक्षामा विकास र गुणस्तरमा वृद्धि गर्न नसक्ने अवस्था सिर्जना हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा सङ्गठनमा आबद्ध भई शिक्षण पेसामा लागेर सेवा निवृत्त हुनुभएका र दीर्घसेवा प्रदान गरिरहनुभएका एक सय सात शिक्षकलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको छ ।

बलेवा विमानस्थलमा हवाईसेवा सञ्चालनको माग

बागलुङ (ढोरपाटन), १० चैत : विसं २०४८ सम्म बागलुङ सडक सञ्जालसँग जोडिएको थिएन । त्यतिबेला बागलुङसँगै म्याग्दी, मुस्ताङ लगायतका जिल्ला यातायात सुविधाबाट वञ्चित थिए । मोटरबाटो नभए पनि बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल भने सञ्चालनमा थियो । त्यो बेला यहाँ नियमितरुपमा हवाईसेवा सञ्चालनमा थियो । स्थानीयवासीले २०२२ सालमा श्रमदान गरी उक्त विमानस्थल निर्माण गरेका हुन् । बलेवा विमानस्थल २०४८ सम्म सञ्चालनमा थियो ।

विसं २०४८ मा बागलुङ सडक सञ्जालसँग जोडिएको हो । त्यसलगत्तै बलेवा विमानस्थलमा जहाड उड्न छाडे । विगत २६ वर्षदेखि बन्द विमानस्थल बागलुङ पालिकाको पहलमा २०७४ चैत ९ गतेदेखि पुनः सञ्चालनमा आयो । तर त्यसले निरन्तरता भने पाउन सकेन । नौ महिनापछि धावनमार्ग कच्ची भएको कारण देखाएर विमानस्थलमा जहाड उडान बन्द भयो ।

विसं २०७८ चैतमा नागरिक उड्डयन प्राधिकरणको रु सात करोडको लागतमा विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको छ । कालोपत्र गरिए पनि विमानस्थलमा जहाज भने उड्न सकेका छैनन् । बागलुङ नगरपालिका–१४ का सुरेन्द्र थापाले विमानस्थल सञ्चालनका लागि सरोकारवालाले ध्यान नदिएको गुनासो गर्नुभयो ।

“हाम्रो बाउबाजेले विमानस्थल बनाउन जग्गा दिए । पसिना बगाएर विमानस्थल निर्माण गरे । तर हवाईसेवा ठप्प छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर छेउमै रहेको विमानस्थल सञ्चालनका लागि पहल भइरहेको बागलुङ नगरपालिका–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताउनुभयो । विमानस्थल सञ्चालनमा ल्याउन सके यस क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरी स्थानीयलाई आयआर्जनसँग जोड्न सकिने उहाँले बताउनुभयो ।

बागलुङ बजारदेखि बलेवा विमानस्थल पुग्न १२ किलोमिटर कच्ची सडकको यात्रा गर्नुपर्छ । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले विमानस्थल सञ्चालन गर्न कालीगण्डकी करिडोर कालोपत्र हुनुपर्ने बताउनुभयो । विमानस्थल सञ्चालनमा आए बागलुङ, पर्वत, म्याग्दी लगायतका स्थानीयलाई सहज हुने र धौलागिरी क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने छ ।

झापामा १४ वर्षमुनिका २५ बालबालिकामा क्षयरोग

बनियानी (झापा), १० चैत : झापामा १४ वर्षमुनिका २५ बालबालिकामा क्षयरोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा फेला परेका नयाँ क्षयरोगीमध्ये २५ जना बालबालिका रहेका छन् ।

साउनदेखि पुसमसान्तसम्म पाँच सय ७० जना नयाँ क्षयरोगी फेला परेका भन्दै तीमध्ये २५ जना बालबालिका रहेका जिल्लास्थित स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ क्षयरोगीमा एक सय ८२ महिला र तीन सय ८८ पुरुष रहेका छन् ।

चार सय ३१ जनामा फोक्सोसम्बन्धी क्षयरोग देखापरेको छभने एक सय ३९ मा अन्य क्षयरोग देखिएको फोकल पर्सन दासले बताउनुभयो । उहाँका अनुसार एचआइभी सङ्क्रमित नौजनामा क्षयरोग देखिएको छ । औषधि प्रतिरोधी क्षयरोगका बिरामी सातजना रहेका स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

जिल्लामा आर्थिक वर्ष २०७७/७८ मा नौ सय ९२, आव २०७८/७९ मा एक हजार एक सय ८६ र आव २०७९/८० मा एक हजार एक सय ६५ जना क्षयरोगी फेला परेका थिए । झापामा भोलि ‘हो, हामी क्षयरोग अन्त्य गर्छौं’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस–२०८० मनाइँदैछ ।

“चालु आवमा क्षयरोगका बिरामीको अनुपात हेर्दा ५५ प्रतिशत पत्ता लागेको देखिन्छ”, फोकल पर्सन दासले भन्नुभयो, “अझै ४५ प्रतिशत थप क्षयरोगी पत्ता लगाउनु चुनौती देखिन्छ ।” उहाँका अनुसार गत आव २०७९/८० क्षयरोगबाट २० जनाको मृत्यु भएको थियो । “क्षयरोग माइक्रो ब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । श्वाप्रश्वासको माध्यमबाट सर्ने भएकाले क्षयरोगीले खोक्दा, हाच्छ्यू गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुने गर्दछ”, दासले भन्नुभयो । उहाँका अनुसार राष्ट्रिय क्षयरोग केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालमा ३७ हजार चार सय ४७ क्षयरोगका बिरामी पत्ता लागेका छन् ।

फोकल पर्सन दासले सङ्क्रमण पत्ता लागेका तीन प्रतिशत बिरामीको मृत्यु भएको भन्दै मृत्युु हुनेमा ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष रहेका जानकारी दिनुभयो । सङ्क्रमित बिरामीमध्ये आठ प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेका छन् । करिब ७२ प्रतिशत बिरामी फोक्सो सङ्क्रमित छन् भने २८ प्रतिशत बिरामी फोक्सोबाहेक अन्य अङ्गहरुको सङ्क्रमित छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले नेपालमा आर्थिक वर्ष २०७९/८० मा ७० हजार नयाँ क्षयरोगका बिरामी थपिनाका साथै १८ हजार क्षयरोगीको मृत्यु हुने अनुमान गरेको थियो । नेपालमा अझै ४५ प्रतिशत क्षयरोगका बिरामी पत्ता लगाउन नसक्दा यो रोग उन्मूलन गर्ने लक्ष्य भेट्टाउन चुनौती थपिएको स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन दासले बताउनुभयो ।

नेपाल विश्वमा औषधि प्रतिरोधी क्षयरोगको उच्च भार भएको देशमा पर्ने भन्दै छ सय ९३ जना औषधि प्रतिरोधी क्षयरोगका बिरामी पत्ता लाएकामा पाँच सय ४६ उपचारको दायरामा आएका छन् । पत्ता लागेका क्षयरोगका बिरामीको उपचार सफलता दर ९२ दशमलव चार र औषधि प्रतिरोधी क्षयरोगका बिरामीको उपचार सफलता दर ८२ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो ।

दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, खोक्दा खकारमा रगत देखिनु, साँझपख ज्वरो तथा पसिना आउनु, खानामा रुचि कम हुनु, तौल कम हुनु क्षयरोगका प्रमुख लक्षण हुन् ।

दाङमा करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु

घोराही (दाङ), १० चैतः करेन्ट लागेर एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–३ घण्टदेव चोकका ५५ वर्षीया दिलसरा केसी र उहाँका श्रीमान् ६० वर्षीय गोरखबहादुर केसी र चार वर्षीय नाति कृष्ण केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार आज दिउँसो हाइटेन्सन लाइनको विद्युत्को तार चुडिएर करेन्ट लाग्दा दिलसरा र नाति कृष्णको घटनास्थलमै मृत्यु भएको हो भने घाइते ६० वर्षीय गोरखबहादुरको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनको तार एक्कासी चुँडिएर घरको आँगनमा पुग्दा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

इजरायलको रफाह आक्रमणसम्बन्धी प्रतिवद्धतापछि संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा गाजा भ्रमण गर्ने

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले शनिबार गाजासँगको इजिप्टको सिमानाको भ्रमण गर्ने अपेक्षा गरिएको छ । महासचिव गुटेरेसको यो योजना इजरायलले अमेरिकाको समर्थन बिना पनि नजिकैको शहर रफाहमा हमाससँग लड्न आफ्नो सेना पठाउने बताएपछि बनेको हो ।

भ्रमणको क्रममा, गुटेर्रेसको मानवीय युद्धविरामको आह्वान दोहो¥याउने योजना छ । नयाँ अन्तर्राष्ट्रिय दबाबले गाजाको अधिकांश जनसङ्ख्याले शरण लिएको रफाहमा अहिलेसम्म इजरायललाई नियोजित स्थल आक्रमणबाट रोक्न सफल भएको छ ।

यस्तो कारबाहीले व्यापक नागरिक हताहत हुने र क्षेत्रमा व्याप्त मानवीय सङ्कटलाई अझ बिगार्ने चेतावनीको बावजुद, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आक्रमणलाई अगाडि बढाउने बताउनुभएको छ ।

संयुक्त राज्य अमेरिकाको समर्थनमा त्यसो गर्ने आशा ब्यक्त गर्दे आवश्यकताको आधारमा एक्लै लडार्इं गर्ने शुक्रबार इजरायल भ्रमणमा रहनुभएका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनसँग नेतान्याहूले बताउनुभयो ।

लगभग पाँच महिनाको लडाइँ रोक्न अन्तर्राष्ट्रिय प्रयासहरू तीव्र भएका छन् । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले शुक्रबारसम्म प्यालेस्टिनी क्षेत्रमा ३२ हजार ७० जनाको मृत्यु भएको र संयुक्त राष्ट्र सङ्घले आसन्न अनिकालको चेतावनी दिएको छ ।

“यो मानव निर्मित प्रकोप भएको प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सी (युएनआरडब्लुए) का प्रमुख फिलिप लजारिनीले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ । उहाँले युद्धविराम र गाजामा खाद्यान्न आपूर्ति जीवन बचाउने सामानको एक मात्र समाधान भएको बताउनुभयो ।

“तत्काल युद्धविराममा सुरक्षा परिषद्को प्रस्तावको लागि पछिल्लो प्रयास शुक्रबार असफल भयो । चीन र रूसले अमेरिकी प्रस्तावलाई भिटो गरेका छन् भने यस सन्दर्भमा अरब सरकारहरूले असन्तुष्टि जनाएका छन् ।

कूटनीतिक स्रोतहरूले सुरुमा शनिबारका लागि मतदानको योजना गरिएको कडा युद्धविराम प्रस्तावमा मतदान गर्न थप छलफलको लागिसोमबारसम्म स्थगित गरिनेछ ।

इन्डोनेसियाले खोजी कार्य स्थगित गरेपछि समुद्रमा दुई रोहिङ्ग्या शरणार्थीको शव फेला

करिब एक सय ५० व्यक्ति बोकेको काठको डुङ्गा पल्टिएको केही दिनपछि शनिबार फेला परेका दुई रोहिङ्ग्या शरणार्थीको शव निकालिएको छ । शवहरू अझै समुद्रमा रहेको स्थानीय उद्धारकर्ताहरूले बताएका छन् ।

घटनाका जीवितहरूले आफ्नो र आफूहरूलाई उद्धार गर्न आएको डुङ्गा पल्टिँदा बुधबार दर्जनौँ मानिस डुबेको खबर दिए पनि इन्डोनेसियाका उद्धारकर्ताहरूले शुक्रबार बाँकी रोहिङ्ग्या शरणार्थीको खोजी कार्य स्थगित गरेका थिए ।

म्यान्मामा उत्पीडनमा परेका धेरैजसो मुस्लिम समुदायका रोहिङ्ग्याहरू प्रत्येक वर्ष आफ्नो ज्यान जोखिममा राखेर कमजोर डुङ्गामा लामो र महँगो सामुिद्रक यात्रा गरेर मलेसिया वा इन्डिनेसिया पुग्ने प्रयास गर्छन् ।

माझीहरूले शनिबार समुद्रमा आधा दर्जनभन्दा बढी शव देखेका थिए तर तीमध्ये दुई जनाको मात्र शव निकालिएको अधिकारीहरूले बताएका छन् ।

“हामीले दुईजनाको मात्र शव निकाल्यौँ । दुवै महिला थिए । उनीहरू रोहिङ्ग्या भएको पुष्टि भएको छ । माझीहरूका अनुसार डुबेर ज्यान गुमाउनेहरू अझै धेरै छन्”, आचे जया खोज तथा उद्धार कार्यका प्रमुख मिर्जा सफ्रिनादीले पत्रकारहरूलाई भन्नुभयो ।

“दुई शव बाहिर निकालिसकियो, बाँकी अझै प्रक्रियामा छन्”, संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसिआर) का संरक्षण सहयोगी फैसल रहमानले भन्नुभयो ।

डुङ्गा पल्टिनुअघि हप्तादिनसम्म समुद्रमा अलपत्र परेकाहरूको अधिकारीहरूले बिहीबार नाटकीय उद्धार गरेका थिए । तीमध्ये धेरैजसो पल्टिएको डुङ्गामा टाँसिएको भेटिएका थिए । अन्य छ जनाको बुधबार माझीहरूले उद्धार गरेका हुन् ।

युएनएचसिआरका अनुसार नोभेम्बरको मध्यदेखि जनवरीको अन्त्यसम्म एक हजार सात सय ५२ रोहिङ्ग्या शरणार्थी इन्डोनेसियाको आचे र उत्तरी सुमात्रा प्रान्तमा प्रवेश गरेका थिए । तीमध्ये धेरै महिला र बालबालिका थिए ।

संयुक्त राष्ट्रसङ्घले सन् २०१५ यता मुस्लिम बाहुल्य देशमा बङ्गलादेशको बिगँ्रदो स्थिति र रोहिङ्ग्याको जन्मभूमि म्यान्मामा हिंसाको निरन्तर खतराका कारण यो सबैभन्दा ठूलो आगमन भएको बताएको छ ।

शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार आवश्यकः उपमहासचिव शर्मा

खोटाङ, १० चैत ः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले नेपालको शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा सुधार आवश्यक रहेको बताउनुभएको छ ।

पार्टी कार्यकर्ता प्रशिक्षण तथा ‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’को भवन उद्घाटनका लागि खोटाङ आउनुभएका नेता शर्माले समाज परिवर्तनका लागि देशका तीनवटै सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

“देशमा राजनीतिक अस्थिरता छ । राजनीतिक अस्थितरताले जनतामा निराशा छाएको छ । यसलाई निराकरण गर्न राष्ट्रिय सहमति आवश्वक छ”, उहाँले भन्नुभयो, “राजनीतिक दलहरूले एजेण्डामा सहमति गर्नुपर्यो । राजनीतिक दलले सहमति नगरी देशले निकास पाउँदैन ।”

देशमा पछिल्लो समय नेताको लहडमा विकास गर्ने प्रवृत्ति मौलाएको प्रति इङ्गित गर्नुहुँदै उहाँले विकासको मोडालिटी परिवर्तन गर्न आवश्यक रहेको पनि बताउनुभयो । “नेताहरूले केलाई प्राथमिकीकरण गर्ने हो त्यो स्पष्ट हुनुपर्यो । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गर्नुभएको सरकार भ्रष्टाचार नियन्त्रण अभियानमा छ । योसँगै परराष्ट्र नीतिलाई समेत सन्तुलित बनाउनुपर्यो”, उहाँले भन्नुभयो, “सन्तुलित परराष्ट्र नीति भएमा मात्र देशले केही निकास पाउँछ ।”

नेता शर्माले देशमा प्राप्त उपलब्धि समाप्त पार्ने खतरा रहेको पनि बताउनुभयो । “संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशिताजस्ता उपलब्धि माओवादीको दशवर्षे जनयुद्धको बलमा स्थापना गरिएको हो । यसलाई समाप्त पार्न केही शक्ति लागिपरेका छन् । यो खतराको विषय हो”, उहाँले भन्नुभयो, “यसलाई संरक्षण गर्दै कार्यान्वयन गर्न सबै जागरुक हुन आवश्यक छ । जनतामा छिटो परिणाम चाहिएको छ । परिणाम खोज्ने चाहनामा प्राप्त उपलब्धि गुम्ने खतरा छ । यसलाई सांस्कृतिक रुपान्तरण अभियानका रूपमा जनतालाई सुसूचित गर्न आवश्यक छ ।”

नेता शर्माले जनप्रतिनिधिले सामाजिक न्याय, न्याय सम्पादन, निष्पक्षता र जनमुखी काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

दिक्तेलस्थित भवनगैरामा निर्माण गरिएको प्रतिष्ठानको भवन उद्घाटन गर्दै नेता शर्माले सहिदहरूको सपना पूरा गर्न हरेक नेतृत्वले पहलकदमी लिनुपर्ने बताउनुभयो ।

उहाँले प्रतिष्ठानको भवनसँगै सोही भवनमा स्थापना गरिएको पुस्तकालयसमेत उद्घाटन गर्नुभयो । प्रतिष्ठानको छ आना जग्गामा निर्माण गरिएको चारतले पक्की भवनमा नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति खोटाङको कार्यालयसमेत राखिएको छ ।

भवन निर्माणका लागि कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा रु २० लाख, आव २०७६÷७७ मा रु एक करोड २० लाख, आव २०७८÷७९ मा रु १० लाख गरी रु एक करोड ५० लाखमा बजेट बिनियोजन गरेको थियो । प्रतिष्ठानका अध्यक्ष सुरश राईले भवनका लागि आव २०८९÷८० मा कोशी प्रदेश सरकारबाट प्राप्त रु ७५ लाख र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट आव २०७९÷८० मा रु १० लाख प्राप्त भएको बताउनुभयो ।

प्रदेशबाट प्राप्त रु ७५ लाखबाट वृत्तचित्र निर्माण, दुईवटा ल्यापटप, एउटा क्यामेरा र एक प्रोजेक्टर खरिद गरिएको प्रतिष्ठानले जनाएको छ । सोही रकमबाट भवनको माथिल्लो तलामा ट्रस निर्माण, कुर्सी र टेबल खरिद, भवन कलरिङ, रु तीन लाखको पुस्तक, रु दुई ५० हजार पुस्तक छपाइमा खर्च भएको थियो र साथै द्वन्द्वपीडितको सामाजिक, आर्थिक अवस्था सर्वेक्षण तथा प्रतिष्ठानको वेबसाइट निर्माण पनि सोही रकमबाट गरिएको थियो ।

नगरपालिकाबाट प्राप्त रु १० लाख रकमबाट नगरपालिकाभित्र रहेका २५ जना द्वन्द्वपीडितलाई रु १५ हजारका दरले उपलब्ध गराइएको जनाइएको छ । विसं २०७५ पुस २७ गते तत्कालीन प्रदेशसभा सदस्य (वर्तमान प्रतिनिधिसभा सदस्य) रामकुमार राई ‘पासाङ’, सहिद माता जयन्तादेवी कार्की र सहिद पत्नी शान्ति श्रेष्ठले संयुक्तरूपमा भवनको शिलान्यास गर्नुभएको थियो ।

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

धनुषा, १० चैत: मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेस प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन भएको हो ।

नवनियुक्त मन्त्रीहरूमा राजकुमार लेखी गृह, सञ्चार तथा कानुन मन्त्रालय, शत्रुधन सिंह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र प्रमोदकुमार जयसवालले शिक्षा तथा संस्कृति मन्त्रालयका जिम्मेवारी प्राप्त गर्नुभएको छ । साथै केशव रायले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको छ ।

नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख भण्डारीबाट आजै पद तथा गोपनीयताको शपथ लिनुभएको छ भने राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट सपथ लिनुभएको छ ।

होलीमा सेतो टी–सर्ट र कुर्थामा युवा पुस्ता, कहाबाट आयो मनोविज्ञान ?

काठमाडौँ, १० चैत : ‘होलीले मेरो रङ्गायो नयाँ चोली…’
तीन दशकअघि नेपाली चलचित्र ‘अधिकार’ मा यो गीत समयसन्दर्भ सुहाउँदो थियो । अहिलेको परिवेश र समयले यसको सन्दर्भ केही फेरिएको छ । अहिले चोली लगाउने चलन हराउँदै गएको छ । होलीमा सेतो टी–सर्ट र कुर्थामा युवा पुस्ता रमाउन थालेका छन् ।

बानेश्वरस्थित खुला बजारमा ‘हेप्पी होली’ लेखिएका सेता टिसर्ट खरिद गर्ने ग्राहकको घुइँचो छ । यही चैत ११ गते आइतबार परेको होली पर्वका लागि टिसर्ट किन्न बानेश्वर आउनुभएकी विमला कोइरालाले घरका सानादेखि ठूलालाई मिल्ने टिसर्ट रोज्नुभयो । उहाँले भर्खरै छ महिना भएकी काखे छोरीका लागि मिल्ने होली टिसर्ट खोज्दै हुनुहुन्थ्यो । “सबैलाई हुने किसिमका पाए पनि सानी छोरीलाई हुने भेटाइन”, कोइरालाले भन्नुभयो, “टिसर्ट लाएपछि मात्रै होली आएको अनुभूति हुन्छ ।”

भृकुटीमण्डलको कपडा बजार होलीका पहिरनले भरिभराउँछ । युवा पुस्ताले टिसर्ट नै मन पराउँछन् भने बुढापाकाले कुर्था रोज्ने गरेका व्यापारी अशोक भट्टराईले बताउनुभयो । प्रत्येक होली पर्वमा सेता पहिरन बेचेर प्रशस्त आम्दानी गर्न सकिने उहाँको भनाइ छ ।

कक्षा ११ मा पढ्दै गरेकी कोटेश्वरकी ममता चाम्लिङको मन पर्ने पर्व हो, होली । हाफ जिन्समा टिसर्ट लगाएर साथीसङ्गीहरुसँग रङ्गीन, रङ दल्न र नाचगान गर्न उहाँ निकै रुचाउनुहुन्छ । अरू बेला बोल्दै नबोल्ने साथी होलीमा खुसी हुँदै रङ लगाउन आउने भएकाले यो पर्व विशेष र रमाइलो लाग्ने चाम्लिङले बताउनुभयो । उहाँले भन्नुभयो, “रङ खेल्दा नयाँ साथी बनाउने मौका पनि मिल्छ ।”

बबरमहल बस्ने २४ वर्षीया आयुष्मा साहको स्थायी घर सिराह हो । तराईमा होली सोमबार परेकाले उहाँले यो पर्व मनाउन घर जान लागेको सुनाउनुभयो । घरमा सकेसम्म छोरीले कुर्था नै लगाउने चलन रहेकाले टिसर्टको विकल्पमा सेतो कुर्था किन्ने उहाँले बताउनुभयो । “काठमाडौँमा टिसर्ट बढी किन्छन् । हामी कुर्था रोज्छौँ । उता अलि सस्तो पर्ने भएकाले घरबाटै किनिदिनुहुन्छ”, उहाँले भन्नुभयो ।

बागबजारका कपडा व्यापारी भुवन क्षेत्रीले होली लक्षित टिसर्ट प्रिन्टको माग अत्यधिक बढेको बताउनुभयो । एक सातामा दैनिक तीनदेखि चार हजार होली लेखिएका टिसर्ट प्रिन्ट गर्ने गरिएको उहाँको भनाइ छ । “माग अनुसारको अझै उत्पादन गर्न सकेका छैनौँ”, भुवनले भन्नुभयो, “होलीको दिनसम्म यस्ता सेता टिसर्टको मागसँगै व्यापार हुन्छ ।” नेवारी, तामाङ, अङ्ग्रेजी, नेपालीलगायत भाषामा अक्षर तथा सङ्केत टिसर्टमा प्रिन्ट गर्ने गरेको उहाँले बताउनुभयो । “नेवार संस्कृति झल्किने र ‘हेप्पी होली’ लेखिएका टिसर्ट खोज्दै धेरै आउनुहुन्छ”, उहाँले भन्नुभयो, “सकेसम्म सबैको चित्त बुझाएर बजारमा सामान पठाउने गरेका छौँ ।”

होली र पहिरनको मनोविज्ञान कहाबाट आयो ?

होली र पहिरनको मनोविज्ञान कहाँबाट आयो भन्ने ठ्याक्कै भन्न नसकिए पनि पछिल्लो पुस्ता सेतो कपडामा रङ्गीविरङ्गी रङ पोख्न रुची राख्छन् । संस्कृतिविद् धिरेन्द्र प्रेमर्षिले होलीमा सेतो कपडा खोज्नु भनेको चित्र र क्यानभाससँगको भाव समेटिएको बताउनुभयो । “जसरी कुनै सेतो क्यानभासमा अनेक रङका आकृति खुल्छन्, उसैगरि होलीमा सेतो पहिरनले रङ भर्न सहज हुन्छ । यसका लागि नयाँ टिसर्ट वा कुर्था नै चाहिन्छ भन्ने चाहि छैन”, उहाँले भन्नुभयो ।

नयाँ नै खोज्नु भनेको पूँजीवाद समाजको प्रभाव रहेको प्रेमर्षिको बुझाइ छ । बाल्यकालको सम्झना गर्दै उहाँले भन्नुभयो, “हामी सानो छँदा नयाँ लुगामा रङ्ग लाग्छ भनेर होलीमा फाटेका र पुराना लुगा लगाउथ्यौँ ।” अहिले समाज चाहिनेभन्दा बढी देखासिखीमा रमोलिएको उहाँको भनाइ छ ।

सेतो रङको लुगामा होली खेलिनु ठिकै हो भन्दै नयाँ खरिद गर्नैपर्ने बाध्यकारी संस्कृति हुन नहुने प्रेमर्षिले बताउनुभयो । पछिल्लो समय चलचित्रहरुले होलीमा सेतो पहिरन नै लगाउनुपर्छ भन्नेतर्फ प्रोत्साहन दिएको उहाँको धारणा छ । होली पर्व अर्को अर्थमा रङहरुको समानता र एकताको प्रतीक समेत रहेको प्रेमर्षिले बताउनुभयो । “होली पर्वले रङमा समानता महसुस गराउँछ”, उहाँले भन्नुभयो ।

होली पर्वका बारेमा थुप्रै मिथक छन् । हिन्दु धार्मिक कथनअनुसार युवा अवस्थाका चुलबुली कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् । रङ लगाउँदा भागादौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होली पर्व मनाउन थालिएको किंवदन्त छ । अर्को कथन विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रुपमा होली पर्व मनाइने गरिएको आम विश्वास छ ।

दूधकोशी, बूढीगण्डकी र नलगाड प्राथमिकतामा छः मन्त्री बस्नेत

काठमाडौँ, १० चैतः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा आवश्यकतालाई सम्बोधन गर्न जलाशयुक्त आयोजना निर्माण गर्नुको विकल्प नभएको बताउनुभएको छ ।

गोरखाको धार्चे, आरुघाट र चुमनुब्री गाउँपालिकाद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले ऊर्जा सन्तुलनका लागि भए पनि जलाशयुक्त आयोजना निर्माण गर्नैपर्ने बताउनुभयो । मुलुकको ऊर्जा आवश्यकता पूरा गर्न सरकारले पूर्वी क्षेत्रमा दूधकोशी, मध्य क्षेत्रमा बूढीगण्डकी र पश्चिममा नलगाढ जलाशयुक्त आयोजनालाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको उहाँको भनाइ छ ।

“अहिले बूढीगण्डकी परियोजनाको काम धेरै अघि बढेको छ, नलगाड पनि कार्यान्वयनका लागि तयारी अवस्था छ”, मन्त्री बस्नेतले भन्नुभयो । उहाँले मुलुकको विद्युत् उत्पादनको इतिहास एक शताब्दी नाघेको भए पनि पछिल्लो समय विद्युत् उत्पादनमा ठूलो फड्को मारिएको बताउनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य छमबहादुर गुरुङ, गोरखामा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाका प्रवर्द्धकहरू सहभागी हुनुहुन्थ्यो ।

बुढीगण्डकी जलविद्युत्ः आठ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य, यस्तो छ लगानीको ढाँचा

काठमाडौँ, १० चैतः लामो प्रतीक्षापछि अन्ततः बुढीगण्डकी जलविद्युत् आयोजनाको लगानी ढाँचा टुङ्गो लाग्ने भएको छ । आर्थिक वर्ष २०८८/८९ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना स्वदेशी लगानीमा नै निर्माण हुने गरी सरकारले लगानी ढाँचा समेत सुनिश्चित गरेको छ ।

बुढीगण्डकी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठका अनुसार सञ्चालक समितिको बैठकले दुई वटा विकल्प स्वीकृत गरी थप निर्णयका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेश भएको जानकारी दिनुभयो ।

यहि चैत १ गते बसेको बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको सञ्चालक समितिको १८औँ बैठकले आयोजनाको लगानी ढाँचा र वित्तीय योजनासम्बन्धी दुईवटा विकल्पसहितको प्रस्ताव स्वीकृत गरेको छ । आयोजना निर्माणका लागि दुईवटा विकल्पसहितको लगानीको ढाँचा र वित्तीय प्रवाह योजना अब ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अन्तिम टुङ्गो लगाएर सहमतिका लागि अर्थ मन्त्रालय पठाउने तयारी भइरहेको छ ।

अर्थ मन्त्रालयको स्वीकृतिसँगै मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरिनेछ । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि आयोजना एउटा नयाँ चरणमा प्रवेश गर्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीघ्र आयोजनाको शिलान्यास गर्ने बताउँदै आउनुभएको छ ।

चालु आर्थिक वर्षको बजेटमा सुक्खायामको विद्युत् माग सम्बोधन गर्न र जलविद्युत् निर्यात गर्न एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचा तय गरी निर्माण अघि बढाइने उल्लेख छ । बजेटको उक्त व्यवस्था कार्यान्वयनका लागि मन्त्रिपरिषद्को गत कात्तिक २३ गतेको निर्णयबाट आयोजनाको लगानी ढाँचा निर्धारण गर्न निर्देशन भएको थियो ।

आयोजनामा सरकारले न्यून सम्भाव्यता कोष (भायबिलिटी ग्याप फन्डिङ–भिजिएफ) उपलब्ध गराएको अवस्था र नगराएको दुईवटा अवस्थालाई हेरेर अनुमानित कूल लागत, वित्तीय योजनाको ढाँचा र प्रतिफलको योजना बनाइएको छ । भिजिएफ उपलब्ध नगराउँदा र आयोजनाको जग्गा प्राप्तिलगायतमा नेपाल सरकारबाट हालसम्म भएको खर्चलाई स्वपुँजीमा समावेश गरी थप सहूलियतपूर्ण ऋण लगानी उपलब्ध गराउँदा आयोजनाको कुल लागत रु तीन खर्ब ९८ अर्ब दुई करोबर बराबर रहने अनुमान गरिएको छ ।

आयोजना विकास गर्न बुढीगण्डकी जलविद्युत् कम्पनीलाई सरकारबाट जग्गा प्राप्ति, सार्वजनिक पूर्वाधारहरुको पुनःस्थापना, वातावरण संरक्षण र वन क्षेत्र प्रयोगको लागि खर्च वापत आवश्यक पर्ने रु ७३ अर्ब दुई करोड बराबरको भिजिएफ उपलब्ध गराउँदा आयोजनाको लागत रु तीन खर्ब १० अर्ब ४७ करोड बराबर पुग्ने अनुमान गरिएको छ ।

आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सन् २०१४ मा नै फ्रान्सेली कम्पनी ट्याक्टबेलले तयार पारेको हो । सो डिपिआरलाई नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीबाट भएको थप अध्ययन गरी समसामयिक बनाएको छ ।

मौजुदा वन नियमावली, २०७९ तथा राष्ट्रिय प्राथमिकता प्राप्त योजनाका लागि वन क्षेत्र प्रयोग गर्नेसम्बन्धी मापदण्डसहितको कार्यविधि–२०७६ बमोजिमको लागतसमेतलाई विश्लेषण गरी यस्तो अनुमान गरिएको कम्पनीले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पनि आवश्यक तयारीलाई अन्तिम चरणमा पु¥याउन कम्पनीलाई निर्देशन दिनुभएको छ । उहाँले राष्ट्रिय गौरवको आयोजना भएकाले कुनै पनि कमजोरी नहुने गरी तयारी पूरा गर्न र स्थानीयको माग सम्बोधन गर्न कम्पनीलाई पटक–पटक ध्यानाकर्षण गराउनुभएको छ ।

भिजिएफ नहुँदाको लागत अनुमान र ढाँचा
आयोजना विकास गर्न बुढीगण्डकी जलविद्युत् कम्पनीलाई सरकारले भिजिएफ उपलब्ध नगराउने र जग्गा प्राप्तिलगायतका काममा नेपाल सरकारबाट भएको खर्चलाई स्वपूँजीमा समावेश गरी थप सहुलियतपूर्ण ऋण लगानीका रुपमा उपलब्ध भएमा आयोजनाको कूल निर्माण लागत रु तीन खर्ब ९८ अर्ब दुई करोड रहने अनुमान गरिएको छ ।

निर्माण अवधिको ब्याज समेत जोडिएको उक्त लागतमा ७५ प्रतिशत कर्जा र २५ प्रतिशत स्वपुँजीबाट जुटाइने गरी विकल्प अघि सारिएको छ । यो विकल्पमा जाँदा आयोजनाका लागि कुल रु दुई खर्ब ९८ अर्ब दुई करोड कर्जा र रु एक खर्ब स्वपुँजी जुटाउनुपर्नेछ । कूल कर्जामध्ये नेपालसरकारको एक प्रतिशत सहुलियतपूर्ण कर्जा रु दुई खर्ब छ करोड र व्यवसायिक कर्जा रु ९७ अर्ब ९७ करोड बराबर हुनेछ ।

यो विकल्पमा कुल स्वपुँजी लगानीमा नेपाल सरकारको स्वपुँजी लगानी ५१ प्रतिशत अर्थात् रु ५१ अर्ब रहनेछ । स्वपुँजीको बाँकी ४९ प्रतिशतमध्ये नेपाल विद्युत् प्राधिकरणको २० प्रतिशत अर्थात् रु २० अर्ब, अन्य सरकारी एवम् सार्वजनिक निकायको नौ प्रतिशत अर्थात् रु नौ अर्ब र सर्वसाधारणको १० प्रतिशत अर्थात् रु १० अर्ब र आयोजना प्रभावित बासिन्दाको १० प्रतिशत अर्थात् रु १० अर्ब स्वपुँजीका रुपमा उठाइनेछ । यो विकल्पमा लगानी गर्दा ‘इक्विटी इन्टर्नल रेट अफ रिटर्न’ (इआईआरआर) ११ दशमलव २५ प्रतिशत र रिटर्न अन इक्विटी (आरओई) १७ दशमलव ५४ प्रतिशत अनुमान गरिएको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ बाट निर्माण शुरु गरेर आठ वर्षभित्र अर्थात् आर्थिक वर्ष २०८८/८९ मा आयोजना सम्पन्न गर्दा हरेक वर्ष हुने खर्चका लागत र व्यहोर्नुपर्ने दायित्वको विश्लेषण पनि गरिएको छ । आयोजना शुरु भएको सुरुआती वर्ष अर्थात् २०८१/८२ मा सहुलियतपूर्ण कर्जाको रु नौ अर्ब ३९ करोड र स्वपुँजी लगानीको रु ५१ अर्ब गरी रु ६० अर्ब ३७ करोड खर्च हुनेछ । त्यस्तै दोस्रो वर्ष सहुलियतपूर्ण कर्जाको रु १९ अर्ब एक करोड र स्वपुँजीको चार अर्ब गरी रु २३ अर्ब एक करोड खर्च हुने अनुमान गरिएको छ ।

आयोजना निर्माण सुरु भएको तेस्रो वर्ष अर्थात् आव २०८३/८४ मा सहुलियतपूर्ण कर्जाको रु २३ अर्ब ८१ करोड र स्वपुँजीको चार अर्ब गरी रु २७ अर्ब ८१ करोड बजेट आवश्यक पर्नेछ । आव २०८४/८५ मा रु २१ अर्ब ७९ करोड सहुलियतपूर्ण कर्जा र रु १० अर्ब स्वपुँजीबाट गरी कुल रु ३१ अर्ब ७९ करोड खर्च हुने अनुमान गरिएको छ ।

आव २०८५/८६ मा रु २३ अर्ब ९७ करोड सहुलियतपूर्ण कर्जा, रु आठ अर्ब ७३ करोड व्यवसायिक कर्जा र रु ३० अर्ब स्वपुँजी लगानी गरी कुल रु ६२ अर्ब ७१ करोड बराबर रकम चाहिने अनुमान गरिएको छ । त्यसैगरी, आव २०८६/८७ मा रु २६ अर्ब ३७ करोड सहुलियतपूर्ण कर्जा, रु ६७ अर्ब १४ करोड व्यवसायिक कर्जा र रु एक अर्ब स्वपुँजीको गरी कुल रु ९४ अर्ब ५० करोड खर्च गरिने अनुमान गरिएको छ ।

आव २०८७/८७ मा सहुलियतपूर्ण कर्जाको रु ३७ अर्ब र व्यवसायिक कर्जाको रु १३ अर्ब १८ करोड गरी कुल रु ५० अर्ब १८ करोड खर्च अनुमान गरिएको छ । आयोजना निर्माण सम्पन्न हुने अन्तिम वर्ष अर्थात् आव २०८८/८९ मा रु ३८ अर्ब ७४ करोड सहुलियतपूर्ण कर्जा र रु आठ अर्ब ९० करोड व्यवसायिक कर्जा गरी कुल रु ४७ अर्ब ६५ करोड खर्च गर्ने अनुमान गरिएको छ ।

आयोजनाको हालसम्म जग्गा प्राप्ति, मुआब्जा, क्षतिपूर्ति वितरणलगायतमा खर्च भइसकेको रु ४२ अर्ब ५७ करोड बराबर रकम नेपाल सरकारको स्वपुँजी लगानी रु ५१ अर्बमा समावेश गरिएको छ ।

भिजिएफ हुँदाको लागत अनुमान र ढाँचा

आयोजना विकास गर्न बुढीगण्डकी जलविद्युत् कम्पनीलाई नेपाल सरकारले जग्गा प्राप्ति, सार्वजनिक पूर्वाधारको पुनःस्थापना, वातावरण संरक्षण र वन क्षेत्रको प्रयोगका लागि खर्च वापतको आवश्यक रु ७३ अर्ब दुई करोड रकम भिजिएफ्का रुपमा उपलब्ध गराउँदा आयोजनाको कूल निर्माण लागत रु तीन खर्ब १० अर्ब ४७ करोड बराबर अनुमान गरिएको छ ।

निर्माण अवधिको ब्याजसमेत जोडिएको यो लागत अनुमानमा कर्जा र स्वपूँजीको अनुपात ७०ः३० प्रस्ताव गरिएको छ । जसमा कर्जाका रुपमा रु दुई खर्ब १८ अर्ब २६ करोड र स्वपूँजीका रुपमा रु ९२ अर्ब २१ करोड हुने अनुमान गरिएको छ । कूल कर्जामध्ये एक प्रतिशत ब्याजदरको नेपाल सरकारको सहुलियतपूर्ण कर्जा रु एक खर्ब ३९ अर्ब ९१ करोड र व्यवसायिक कर्जा रु ७८ अर्ब ३५ करोड छ ।

यस लगानी ढाँचामा रु ९२ अर्ब २१ करोड बराबर स्वपुँजीबाट लगानी प्रस्ताव गरिएको छ । जसमध्ये नेपाल सरकारको स्वपुँजी लगानी ५१ प्रतिशत अर्थात् रु ४७ अर्ब तीन करोड बराबर रहनेछ । बाँकी ४९ प्रतिशतमध्ये २० प्रतिशत अर्थात् रु १८ अर्ब ४४ करोड नेपाल विद्युत् प्राधिकरणले, अन्य सरकारी एवम् सार्वजनिक निकायको नौ प्रतिशत अर्थात् रु आठ अर्ब ३० करोड, सर्वसाधारणको स्वपुँजी लगानी १० प्रतिशत अर्थात् रु नौ अर्ब २२ करोड र आयोजना प्रभावित क्षेत्रको बासिन्दाको १० प्रतिशत अर्थात् रु नौ अर्ब २२ करोड बराबर स्वपुँजी लगानी जुटाउन सकिने प्रस्ताव गरिएको छ । यो ढाँचामा इआईआरआर १३ दशमलव ४६ प्रतिशत र आरओई २१ दशमलव ७० प्रतिशत बराबर रहने अनुमान गरिएको छ ।

आयोजना निर्माण सुरु भएको वर्ष अर्थात् आव २०८१/८२ मा रु १७ अर्ब ३७ करोड, आव २०८२/८३ मा रु १९ अर्ब एक करोड, आव २०८३/८४ मा रु २३ अर्ब ८१ करोड र आव २०८४/८५ मा रु ४१ अर्ब ६७ करोड बराबर खर्च आवश्यक पर्ने अनुमान गरिएको छ । त्यसैगरी, आव २०८५/८६ मा रु ४४ अर्ब ९५ करोड, आव २०८६/८७ मा रु ८२ अर्ब ४९ करोड, आव २०८७/८८ मा रु ४२ अर्ब ४३ करोड र आव २०८८/८९ मा रु ३८ अर्ब ७४ करोड बराबर खर्च हुने अनुमान गरिएको छ ।

आयोजना निर्माण अवधि र निर्माण लागतमा बढोत्तरी भएमा न्यूनतम स्वपुँजी अनुपात, शेयर लगानीको स्वीकारयोग्य प्रतिफल र व्यावसायिक कर्जाको साँवा ब्याजसहितको किस्ता कर्जा अवधिभित्र चुक्ता गर्न आवश्यक नगद प्रवाह सुनिश्चित गरी वित्तीय ढाँचा पुनरावलोकनका लागि सिफारिस गर्ने निर्णय पनि कम्पनीको सञ्चालक समितिले गरेको छ । आयोजनालाई वित्तीय रुपले लगानीका लागि आकर्षक बनाउन ५० वर्षका लागि विद्युत् अनुमतिपत्र उपलब्ध गराउने गराउनका लागि सिफारिस गर्ने निर्णय पनि सञ्चालक समितिले गरेको छ ।

स्वदेशी लगानीमा आयोजना निर्माण गर्ने उद्देश्यका साथ २०७९ असार १४ को मन्त्रिपरिषद्ले कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार २०७९ असार २१ गते सरकारको अधिकांश शेयर स्वामित्व रहने गरी कम्पनी स्थापना भएकोे हो । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन फ्रान्सेली कम्पनी ट्याक्टबेलले सन् २०१४ मा नै तयार पारी सरकारलाई बुझाएको थियो ।

आयोजना निर्माणका निम्ति वर्तमान सरकारले आयोजनाको फिल्ड कार्यालय स्थापना गरेर मुआब्जा वितरण अन्तिम चरणमा पु¥याएको छ । प्रधानमन्त्रीले निकट भविष्यमा नै शिलान्यास गर्ने बताउँदै आउनुभएको छ । आगामी आर्थिक वर्षदेखि पूर्वाधार कर वापतको रकम आयोजनाको खातामा नै जम्मा हुने गरी व्यवस्था भएको छ । यसबाट स्रोतको ठूलो जोहो हुनेछ । जलाशययुक्त आयोजना निर्माण गरी ऊर्जा सुरक्षालाई विशेष ध्यान दिन लागेको सरकारले बुढीगण्डकीलाई राष्ट्रिय गौरवका परियोजनामा सूचीकृत गरेको छ ।

आयोजनाबाट हिउँदमा एक हजार चार सय आठ गिगावाट घण्टा बराबर ऊर्जा उत्पादन हुनेछ । यसैगरी बर्खामा एक हजार नौ सय ७५ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । हिउँदको विद्युत् बिक्री दर प्रतियुनिट रु १२ दशमलव ४० पैसा र वर्षायामको प्रतियुनिट रु छ दशमलव ५० पैसा बरारबर हुनेछ । आयोजनाको अनुमतिपत्रको अवधिभरमा सरकारलाई ‘रोयल्टी’, संस्थागत आयकर, मूल्य अभिवृद्धिकर तथा भन्सार महसुल गरी रु दुई खर्ब ८४ अर्ब ८२ करोड आय हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले धादिङ र गोरखाका जनप्रतिनिधिसँगको भेटमा आयोजनाको कामलाई तीव्रता दिन आफूले हरसम्भव प्रयास गरिरहेको बताउनुभएको थियो । गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाका अनुसार राष्ट्रिय गौरवको योजना निर्माण प्रक्रियालाई तत्काल गति दिन स्थानीय सरकारकातर्फबाट पहल भइरहेको छ । आयोजनाका लागि आर्थिक स्रोत सुनिश्चितता र निर्माण प्रक्रिया अगाडि बढाउन यथाशीघ्र पहल गर्न पटक–पटक प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उहाँको भनाइ छ ।

आयोजनाको निर्माण प्रक्रिया अगाडि नबढ्दा प्रभावित क्षेत्रका जनतामा थप समस्या पैदा भएको र उनीहरुले पाउनुपर्ने सामान्य सुविधा समेत बञ्चित भएका छन् । कम्पनीको फिल्ड कार्यालय राम्रोसँग सञ्चालनमा आउन नसक्दा स्थानीयबासी असन्तुष्ट छन् । त्यसलाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता बढेर गएको जनाइएको छ ।