`

पर्यटनमन्त्रीले दिए लुम्बिनी गुरुयोजना पूरा गर्न निर्देशन

लुम्बिनी, १० चैत : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । कोषका पछिल्ला गतिविधि र अवस्थाबारे आज यहाँ जानकारी लिनुहँुदै उहाँले बुद्धजन्मस्थल लुम्बिनी गुरुयोजनाका बाँकी काम पूरा गर्ने गरी बजेट सुनिश्चिताका लागि आफूले पहल गर्ने बताउनुभयो ।

मन्त्री तामाङले गुरुयोजना विपरीत संरचना बनेको, युनेस्कोको असहमति रहेकाजस्ता विषय आइरहेकाले यसबारे आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले लुम्बिनी विश्वका एक अर्ब बौद्ध समुदायको आस्थाको केन्द्र भएकाले पर्यटनमैत्री व्यवहारका लागि आफू लागिपर्ने बताउनुभयो ।

त्यस अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले लुम्बिनी गुरुयोजनाका बाँकी काम पूरा गर्न पर्याप्त बजेटको आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि पहल गरिदिन मन्त्री तामाङसँग आग्रह गर्नुभयो । छलफलमा सदस्यसचिव सानुराजा शाक्यले कोषका हालसम्मका गतिविधि, यसको कार्यक्षेत्रलगायत विषयमा जानकारी गराउनुभयो । छलफलमा कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, योजना प्रमुख स्मिता भट्ट, कार्यकारिणी सदस्य रामनरेश कोहार, श्याम रोक्का, विश्वराज पौडेल, परिषद्का सदस्य गोपिकृष्ण शर्मालगायतको उपस्थित थियो ।

लुम्बिनीमा अनलाइन टिकट प्रणाली आरम्भ

लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमणमा आउने पर्यटकका लागि आजदेखि अनलाइन टिकट प्रणालीको शुभारम्भ गरेको छ । लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तामाङले आज सो कार्यको शुभारम्भ गर्नुभयो ।

त्यस अवसरमा मन्त्री तामाङले सूचना प्रविधिको विकासमा अनलाइनमार्फत टिकट काट्ने कार्यले पर्यटकलाई सहजता थप्ने विश्वास गर्नुभयो । उहाँले यस कार्यले कुनै पनि प्रकारको अनियमितता रोक्दै संस्थालाई पारदर्शी र पर्यटकलाई सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले अनलाइनमार्फत टिकट काट्ने कार्यले लुम्बिनीमा आउने पर्यटकको सङ्ख्या समेत वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले लामो लाइन लागेर टिकट लिनुपर्ने बाध्यता अन्त्य गरी पर्यटकलाई सजिलो बनाउने काम गरिएको बताउनुभयो ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले पर्यटकहरु लाइन लागेर टिकट काट्नुपर्ने समस्यालाई अन्त्य गरिएको बताउनुभयो । लुम्बिनी विकास कोषको वेबसाइट ‘डब्लुडब्लुडब्लु डट लुम्बिनीडेभट्रस्ट डट जीओभी डट एनपी’ लगइन गरेर इटिकेट्समा गएपछि टिकट काट्न सकिन्छ । इटिकेस्मा गएपछि नेस्नालिटी, व्यक्तिको सङ्ख्या, गाडी वा ट्याक्सी, क्यामेरा र फिल्म सुटिङका लागि भए त्यो अप्सन छनोट गरेपछि तोकिएको मूल्य भिसा कार्ड, बैङ्क, इसेवा र खल्ती एपबाट तिर्न सकिने व्यवस्था मिलाइएको कोषका लेखा प्रमुख भीम बस्नेतले जानकारी दिनुभयो

झापा कांग्रेसको राजनीतिलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री शर्मा


काठमाडौं, १० चैतः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा जिल्लाका कांग्रेसको राजनीतिलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ४५औँ पुण्यतिथिमा नेपाली कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ‘श्रद्धाञ्जलि सभा’मा उहाँले झापा कांग्रेसको सङ्गठन निर्माणमा बुढाथोकीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै झापा कांग्रेसलाई अब नयाँ शिराबाट अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“झापामा बुढाथोकीको जनस्तरमा राम्रो सम्बन्ध थियो, उहाँमा सबैलाई समेटेर लैजाने क्षमता थियो, जसका कारण विस २०६४ सालको संविधानसभा निर्वाचनमा झापाका सबै क्षेत्रमा कांग्रेस पराजित हुँदा पनि उहाँ विजयी हुनुभएको थियो”, उहाँले भन्नुभयो ।

महामन्त्री शर्माले आफ्नो पिता नहिँडेको राजनीतिक बाटोमा हिँड्नुभएका स्वर्गीय बुढाथोकीले समाजलाई सङ्गठित रुपमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुभयो । “स्वर्गीय बुढाथोकीमा खुला सम्बन्ध, कार्यकर्ताको काम गर्न रुचाउने, मनमा जे लाग्यो त्यही गर्ने, हक्की र आँटिलोपन थियो, जसका कारण उहाँ झापा कांग्रेस र सिङ्गो पार्टीभित्र सबैले रुचाइएको व्यक्ति हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो ।

फरक प्रसङ्मा उहाँले नेपाली राजनीतिमा गठबन्धन परिवर्तन हुँदा राजनीतिक सङ्कट निम्तियो भनेर आत्तिन नहुने धारणा राख्नुभयो । महामन्त्री शर्माले संसद्मा उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको राजीनामा माग्ने पार्टीको संस्थागत निर्णय नभएको भन्दै राजनीति सुधार गर्छु भन्ने दलका आरोपित व्यक्ति नै अनुसन्धान गर्ने निकायमा पठाउँदा आम जनतामा शङ्का उत्पन्न भएको उल्लेख गर्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य महेन्द्र सुब्बा लिम्बुले स्वर्गीय बुढाथोकी झापामात्र नभई सिङ्गो मुलुकको नेता भएको बताउनुभयो । उहाँले बुढाथोकीको योगदानलाई अगाडि बढाउन झापा कांग्रेस र सिङ्गो पार्टी लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले बुढाथोकी विकासप्रेमी र निडर नेता भएको बताउनुभयो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पङ्कज विक्रम नेम्वाङले बुढाथोकीमा कसैलाई अन्याय भएको देख्न नसक्ने विशेषता भएको व्यक्तिका रुपमा स्मरण गर्नुभयो ।

नेपाली कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिका सभापति दीपक उप्रेतीले बुढाथोकी झापामात्र नभई मुलुककै अभिभावक भएको बताउनुभयो । विस २००१ मा जन्मनुभएका बुढाथोकीको विस २०८० माघ २२ गते ७९ वर्षको उमेरमा निधन भएको थियो ।

अदानचुलीको पाम्समा गाडी दुर्घटना दुईको मृत्यु, पाँच घाइते

सिमकोट (हुम्ला), १० चैतः हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका-४ मा आज भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले पाम्सा भन्ने स्थानमा भएको दुर्घटनामा पाँच जना घाइते भएको जानकारी दिनुभयो ।

सु प ०१००१ नम्बरको गाडी आज दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो । उहाँका अनुसार मृतक र घाइतेको उद्धार भइरहेको छ । दुर्घटनाबारे विस्तृत जानकारी प्राप्त नभइसकेको प्रहरीको भनाइ छ । दुर्घटनामा पर्ने सावरी स्थानीय धनमल महताराको रहेको बताइएको छ ।

घर जलेर विस्थापित भएका खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

खोटाङ, १० चैत : खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले जिल्लाका आठ अग्निपीडित परिवारलाई राहत रकम प्रदान गरेको छ । आगलागीबाट विस्थापित भएका हरेक परिवारलाई कोषले प्रतिपरिवार रु दश हजारका दरले राहत रकम प्रदान गरेको हो ।

कोषले घर जलेर विस्थापित भएका जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयका धनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका भगतबहादुर राई र भीमबहादुर राई, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ज्ञानमाया राई र टेकबहादुर राई, ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका खुतप्रसाद फुयाँल र बुद्धिनाथ लम्साल तथा जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका इन्द्रबहादुर राईलाई राहत रकम प्रदान गरिएको कोषका कोषाध्यक्ष युगसन किरातले राससलाई जानकारी दिनुभयो ।

प्राकृतिक विपत्तिमा परेका जिल्लावासीको सहयोगार्थ हङकङमा रहेका खोटाङ्गेको अगुवाइमा २०७२ सालमा कोष स्थापना भएको हो । प्रारम्भमा रु २० लाख जम्मा गरेर स्थापना भएको कोषमा अहिले रु ३० लाख सङ्कलन भएको र ब्याजवापत प्राप्त हुने रकम जिल्लाका विपत्तिमा परेका जिल्लाका नागरिकलाई राहतस्वरुप प्रदान हुँदै आएको कोषाध्यक्ष किरातले बतउनुभयो ।

कोषले घरमा आंशिक क्षति भएका पीडित परिवारलाई प्रतिपरिवार रु पाँच हजार र पूर्ण क्षति भएकालाई रु दश हजारका दरले राहत रकम उपलब्ध गराउँदै आएको छ । दश स्थानीय तह रहेको खोटाङमा गत फागुन ११ गतेदेखि हालसम्म १६ वटा घर र १९ वटा गोठ जलेका छन् । गोठमा बाँधिएका ७१ वटा चौपाया मरेका छन् । आगलागीका यी घटनाबाट रु एक करोड ६३ लाख ७७ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताउनुभयो ।

फुटबलको विकासका लागि ‘एन्फा कम्युनिटी कोचिङ’

जानकी (बाँके), १० चैत : फुटबलको विकासमा सघाउने उद्देश्यले बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा यहाँ सञ्चालित एन्फा कम्युनिटी कोचिङ सम्पन्न भएको छ ।

चार दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाल, डोटी, कालीकोटका ४३ जनालाई बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवं एन्फा केन्द्रीय सदस्य भोजराज शाही, नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काले फुटबल खेलका विविध पक्षबारे जानकारी दिनुभएको थियो । एन्फाले पाँच वर्षअघिदेखि यस्तो तालिम आयोजना गर्दै आएको छ ।

समापन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले फुटबलको विकासका निम्ति नगरपालिका सकारात्मक रहेको बताउँदै यो खेलको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पूर्वकप्तान खड्काले दक्ष प्रशिक्षक बिना फुटबलमा सफलता हासिल गर्न असम्भव भएको भन्दै प्रशिक्षणका क्रममा सिकेका सीपलाई व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष शाहीले आगामी दिनमा फुटबलको विकासका लागि नियमित रूपमा कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयोभने सङ्घका उपाध्यक्ष निर्मल चन्दले विविध चुनौतीका बीच सङ्घले फुटबलको विकासका लागि हरसम्भव प्रयास गरिरहेको बताउनुभयो ।

शान्ति र समृद्धिका लागि योगदान गर्न राजदूतहरूको आह्वान

लुम्बिनी, १० चैत: विश्वका १९ मुलुकका राजदूत र नेपालका लागि ४५ देशका अवैतनिक वाणिज्यदूतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धि र शान्तिको लागि योगदान गर्न आह्वान गरेका छन् ।

परराष्ट्र मन्त्रालय र अवैतनिक वाणिज्यदूतहरुको संस्था अनररी कन्सुलर कप्र्स नेपाल(एचसिसीएन)द्वारा संयुक्त रुपमा यहाँ आयोजित सम्मेलनमा शान्ति बिना समृद्धि सम्भव नहुने भन्दै विश्वका सबैलाई समाजमा शान्ति कायम गर्नेतर्फ केन्द्रित हुन राजदूत र अवैतनिक वाणिज्यदूतले आह्वान गरेका हुन् ।

मायादेवी मन्दिर परिसरमा विश्व शान्तिका लागि प्रार्थना गरेका गर्दै उनीहरूले बुद्धजन्मस्थल लुम्बिनीबाट समृद्धिका लागि विश्वशान्ति अपरिहार्य भएको सन्देश दिएका छन् । नेपालमा वैदेशिक लगानी भित्र्याउन सरकारले वातावरण बनाएको सन्देश पनि उनीहरूले विश्वभर प्रवाह गरेका एचसिसीएनका पदाधिकारीले बताएका छन् ।

नेपाललाई लगानी गन्तव्यका रुपमा चिनाउन आगामी महिना लगानी सम्मेलन आयोजना हुँदैछ । नेपालमा विदेशी लगानी भित्र्याउने अवसरको रुपमा शुक्रबार सम्पन्न समृद्धिका लागि विश्व शान्ति सम्मेलन फलदायी हुने अपेक्षा उनीहरूको छ ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्नुभएको उक्त सम्मेलनमा शान्ति, समृद्धि र आर्थिक विकासका विषयमा घनीभूत छलफल भएको थियो । त्यस क्रममा लगानी बोर्डका अधिकारीले नेपालमा लगानीका अवसर र आसन्न लगानी सम्मेलनका बारेमा जानकारी दिएका थिए । कृषि, ऊर्जा, पर्यटन पूर्वाधार, उद्योगलगायत क्षेत्रमा गरिने लगानीबाट मनग्ये प्रतिफल प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न आह्वान गरिएको थियो ।

एचसिसीएनका प्रमुख विष्णुकुमार अग्रवाल, उपप्रमुख चन्द्रप्रसाद ढकालले शान्ति र समृद्धिबीचको सम्बन्धलाई आत्मसात् गर्दै नेपालमा लगानी बढाउन आग्रह गर्नुभएको थियो । उहाँहरूले विश्व शान्तिको केन्द्र भगवान्को बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित सम्मेलन शान्तिपूर्ण र समृद्ध विश्व बनाउने आधारशिला निर्माणमा उपयोगी भएको विश्वास व्यक्त गर्दै आफ्नो देशका लगानीकर्तालाई नेपाल आकर्षक गन्तव्य भएको जानकारी दिन आग्रह गर्नुभएको थियो ।

सम्मेलनमा अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मङ्गोलिया, इन्डोनेसिया, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लात्भिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिकका गैरआवासीय राजदूत सहभागी थिए ।

मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना

काठमाडौं – शनिबार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ।कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भईरहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणाली (Induced Low pressure system) को प्रभाव रहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहने छ।कोशी प्रदेशका केही स्थानहरूमा, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।कोशी प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती देशभर आंशिक बदली रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बन्धक बनाइएका चार बङ्गलादेशीको उद्धार, चार आरोपी पक्राउ

काठमाडौँ – बङ्गलादेशी नागरिकलाई वैदेशिक रोजगारको लागि क्यानडा, इटालीलगायतका देशमा पठाइदिने विश्वासमा पारी नेपालमा ल्याएर बन्धक बनाइएका चार जनाको उद्धार गरिएको छ । विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गए राति उनीहरूलाई उद्धार गरी उक्त अपराधमा संलग्न चार जनालाई पक्राउ गरेको कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो ।

काठमाडौँ महानगपालिका–१६ पकनाजोलस्थित निभाना ग्रीन पिस होम नामक होटलको कोठामा बन्धक बनाएर राखेको अवस्थामा उनीहरूको उद्धार गरिएको हो । उहाँका अनुसार उक्त कार्यमा संलग्न रहेका बङ्गलादेशी नागरिक नुरूल हुडा, सामिम अहमद, एमडी मासुम बिल्लाह र प्रणय कुमारलाई पक्राउ गरिएको हो ।

गिरोहले पीडितहरूको पासपोर्ट नियन्त्रणमा लिई विभिन्न किसिमका धाकधम्की, कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न नदिई साथमा रहेको नगदसमेत लगेर जबर्जस्ती बन्धक बनाइराखेको पीडितहरूले प्रहरीमा बयान दिएका छन् ।

उनीहरूमाथि अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको पोखरेलले बताउनुभयो । पीडितहरूलाई नेपालस्थित बङ्गलादेशी राजदूतावासमार्फत पठाइने जनाइएको छ ।

मेरो जीवन राष्ट्रका लागि समर्पित छ– मुख्यमन्त्री केजरीवाल

दिल्लीको राउज एभेन्यु अदालतले शुक्रबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्च २८ सम्मका लागि प्रवर्तन निर्देशनालय (इडी)को हिरासतमा पठाएको छ । दिल्लीको अन्तःशुल्क नीति मुद्दाको आरोपमा मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेपछि जाँच एजेन्सीले पुर्पक्षका लागि १० दिन न्यायिक हिरासतमा राख्न माग गरेको हो ।

अदालतमा शुक्रबार पेश गरिएका मुख्यमन्त्री केजरीवालले आफ्नो अडान जारी राख्नुभएको छ । “म जेलभित्र वा बाहिर जहाँ भए पनि मेरो जीवन देशका लागि समर्पित छ”, पुर्पक्षका लागि हिरासतमा राख्ने म्यादको सुनिवाइका लागि अदालत परिसरमा प्रवेश गर्ने क्रममा उहाँले पत्रकारहरूसँग भन्नुभयो ।

इडीले अदालतमा मुख्यमन्त्री केजरीवाल व्यापारीहरूबाट घुस माग्ने मुख्य षड्यन्त्रकारी भएको आरोप लगाउनुका साथै अन्तःशुल्क नीति निर्माणमा उहाँको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेको थियो ।

इडीका वकिलले आम आदमी पार्टी (आप) का मिडिया इन्चार्ज विजय नायरले मुख्यमन्त्री केजरीवालका लागि काम गरिरहेको दाबी गरेका थिए । एजेन्सीले केजरीवालको घर नजिकै बस्ने नायरले आप र दक्षिण समूहबीच बिचौलियाका रूपमा काम गरिरहेको बताएको छ ।

अपराधको कमाइ एक सय करोड (भारतीय रुपैयाँ) मात्र नभई घुस दिनेहरूले गरेको नाफा पनि अपराधको कमाइ भएको इडीका वकिलले थप दावी गरेका थिए । एजेन्सीले गोवा चुनावमा प्रयोग भएको ४५ करोडको हवाला ट्रेलहरु पत्ता लगाएको वकिलले बताएका छन् ।

केजरीवालका तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता अभिषेक मनु सिङ्घवीले रिमाण्डको निवेदनको विरोध गर्दै एजेन्सीले पक्राउ गर्न आवश्यक कारणहरु देखाउनुपर्ने बताउनुभयो । उहाँले पक्राउको शक्ति र पक्राउको आवश्यकता दुई फरक कुरा भएको तर्क गर्दै स्वतन्त्रताको ७५ वर्षको इतिहासमा बहालवाला मुख्यमन्त्री पक्राउ परेको यो पहिलो पटक भएको बताउनुभयो ।

अन्तःशुल्क नीति मामिला विषयको मुद्दामा दिल्ली उच्च अदालतले जबरजस्ती कारबाहीबाट आन्तरिम सुरक्षा दिन अस्वीकार गरेपछि बिहीबार इडीले मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरेको थियो । यो मुद्दा दिल्ली अन्तःशुल्क नीति मुद्दा २०२२ को गठन र कार्यान्वयनमा भएको अनियमितताको र मनी लन्ड्रिङसँग (कालो धनलाई सेतो बनाउने) सम्बन्धित मुद्दा हो । यसलाई पछि खारेज गरिएको थियो ।

आपका दुई वरिष्ठ नेता मनिष सिसोदिया र सञ्जय सिंह अन्तःशुल्क नीति मुद्दामा न्यायिक हिरासतमा छन् । सिबिआईले फेब्रुअरी २६ मा कैयौँ चरणको सोधपुछपछि दिल्लीका तत्कालीन उपमुख्यमन्त्री सिसोदियालाई पक्राउ गरेको थियो । इडीले अक्टोबर ५ मा राज्यसभा सदस्य सञ्जय सिंहलाई पक्राउ गरेको हो ।

एक करोडको लागतमा म्याग्दीमा खानेपानी आयोजना निर्माण

म्याग्दी, १० चैत : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङमा ‘एक घर, एक धारा’खानेपानी आयोजना निर्माण भएको छ । श्रमदानसहित रु एक करोड चार लाखको लागतमा आयोजना सम्पन्न भएको हो ।

आयोजना निर्माण भएपछि एक सय ३६ घरका परिवारलाई एक घन्टा बढी समय लगाएर पानी ओसार्नुपर्ने बाध्यता हटेको छ । खिवाङकी रिना बुद्धुजाले आँगनको धारामा २४ सैँ घन्टा नियमित पानी आउन थालेपछि पानीको समस्या समाधान भएको बताउनुभयो ।

गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक सहयोगमा निर्माण भएको खिवाङ खानेपानी तथा सरसफाइ आयोजना काम सुरु भएको ९१ दिनमा पू्रा भएको हो । उपभोक्ता समितिका अध्यक्ष जयराम विकका अनुसार ट्रष्टको रु ७३ लाख बराबरको निर्माण सामग्री र प्राविधिक सहयोग तथा उपभोक्ताको रु ३१ लाख बराबरको श्रमदानमा खानेपानी आयोजना निर्माण भएको हो ।

आयोजनाको दिगो सञ्चालन र पानीको मितव्ययी प्रयोग गर्न धारामा मिटर जडान गरिएको छ । ट्रष्टका कन्ट्रक्सन इञ्जिनियर लिला पुन शेरचनले यस वर्ष खिवाङ वडा नम्बर ३ को काभ्रे र वडा नम्बर ४ को छेम्दीमा पनि खानेपानी आयोजना निर्माण पूरा भएको जानकारी दिनुभयो ।

कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणको विकल्प छैन : मुख्यमन्त्री कार्की

बेलबारी (मोरङ) – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सङ्घीयतालाई स्थापित र संस्थागत गर्न कोशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणको विकल्प नभएको बताउनुभएको छ ।

नेपाल क्षयरोग निवारण संस्थाको ४४औँ केन्द्रीय सभाको वार्षिक अधिवेशनमा शुक्रबार मुख्यमन्त्री कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा कोशी सरकार तलमाथि नहुने बताउनुभएको हो । “पूर्व मुख्यमन्त्री हिक्मत कार्कीलगायत एमाले सांसदको समर्थनमा म मुख्यमन्त्री बनेकाले उहाँको नै भावनाअनुसार सर्वदलीय सरकार बनाउन लागिपरेको छु”, उहाँले भन्नुभयो, “त्यसैले पूर्वमुख्यमन्त्रीले दिनुभएकै मन्त्रअनुसार सर्वदलीय सरकारलगायत विकास निर्माणको बजेटसमेत कार्यान्वयनमा लागेको छु ।”

मुख्यमन्त्री कार्कीले संविधानअनुसार सरकार चल्ने बताउनुभएको हो । “संविधानअनुसार बनेको सरकार हो । सरकार बन्दा पनि माथिको गठबन्धनसँग टेकिएर बनेको थिएन”, उहाँले भन्नुभयो, “त्यसैले माथिको गठबन्धन तलमाथि हुँदैमा यो सरकार केही हुँदैन ।”

कम्युनिष्ट एकताका लागि एकीकृत समाजवादी बाधक बन्दैन – अध्यक्ष नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट एकताका लागि बाधक नबन्ने बताउनुभएको छ ।उपत्यका विशेष प्रदेश कमिटीद्वारा शुक्रबार आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा उहाँले अहिले कम्युनिष्ट एकताका लागि विभिन्न कम्युनिष्ट पार्टीबीच चरणबद्ध छलफल चलिरहेको बताउँदै कम्युनिष्ट सिद्धान्त र आदर्शलाई छोडेर एकता गर्न नहुनेमा आफूहरु प्रतिबद्ध रहेको प्रष्ट पार्नुभयो ।

कम्युनिष्ट शक्तिहरु एकीकृत हुनुपर्नेमा अधिकांश कम्युनिष्ट विचारका दलहरु सहमत रहेको बताउँदै उहाँले भन्नुभयो, “हामीसँग कुन ढङ्गको व्यवहार हुन्छ त्यसमा भर पर्छ, हामी छलफल गर्दै जानेछौँ ।”पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले कम्युनिष्ट आदर्शलाई मार्गदर्शक सिद्धान्तका रुपमा अवलम्बन गर्ने सबै दललाई मिलाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले मुलुकको बृहत्तर हितका साथै जनताको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सबै कम्युनिष्टलाई गोलबद्ध गराएर राष्ट्र निर्माण गर्नुपर्नेमा जोड दिँदै त्यसको लागि विभिन्न रूपमा छरिएका कम्युनिष्टलाई मिलाएर बलियो पार्टी निर्माण गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

अध्यक्ष नेपालले मुलुकमा जनताको सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिका रूपमा प्राप्त वर्तमान राजनीतिक प्रणाली समाप्त पार्न केही समूह क्रियाशील रहेकाले संविधान, गणतन्त्र र सङ्घीयताको रक्षा गर्न प्रजातान्त्रिक शक्तिसँग पनि सहकार्य जरुरी रहेको विचार व्यक्त गर्नुभयो ।निर्धारित समयमै पार्टीको महाधिवेशन सम्पन्न हुने जानकारी दिँदै उहाँले सङ्गठन निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

खेल नीति परिमार्जन गर्न आवश्यक छ – मन्त्री श्रेष्ठ

काठमाडौँ – युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद नीति परिमार्जनका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले शुक्रबार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उहाँले पुरानो नीतिका कारण खेलकुद क्षेत्रको विकास सोचजस्तो हुन नसकेकाले नीति परिमार्जनका लागि मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो । “नीतिलाई माथि राखेर काम गर्नसके खेलाडीको अधिकार संरक्षण हुन्छ”, उहाँले भन्नुभयो ।

व्यक्ति केन्द्रित नीतिभन्दा पनि खेलकुद केन्द्रित नीतिको विकास अहिलेको आवश्यकता रहेको उहाँको भनाई थियो ।

उहाँले अन्तर्राष्ट्रिय मूल्य मान्यताअनुरुप काम गर्नसके ओलम्पिक कमटीको जिम्मेवारी धेरै रहेको उल्लेख गर्नुभयो । ओलम्पिक कमिटीले खेलमार्फत कुटनीतिक विकासका क्षेत्रमा काम गर्नुपर्ने उहाँको भनाई थियो । मन्त्री श्रेष्ठले खेलकुदमार्फत युवाको निराशालाई कम गर्दै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं पूर्वमन्त्री जीवनराम श्रेष्ठले अस्थिरताका कारण नेपालको खेलकुद क्षेत्रलाई परिणाममुखी बनाउन नसकेको बताउनुभयो । उहाँले ओलम्पिक कमिटीले खेलकुदमार्फत नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्दै आएको उल्लेख गर्नुभयो ।

एक अर्काको धर्म संस्कृतिलाई मर्यादित रुपले हेर्नुपर्छ – प्रमुख शेरचन

मुग्लिन, (चितवन) – लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले एक अर्काको धर्म संस्कृतिलाई मर्यादित रुपले हेर्ने एवं महसुस गर्नुपर्ने बताउनुभएको छ । चितवनको नारायणी नदी किनारमा शुक्रबारदेखि सुरु भएको आदिवासी जनजाति सांस्कृतिक एवं व्यापारिक महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शेरचनले हामी आदिवासी जनजाति मात्रै हौँ भनेर एकाङ्की दृष्टिकोणमा जान थाल्यौँ भने हिजो संविधानभन्दा माथि रहेका व्यक्तिले सञ्चालन गरेको पवृति दोहोरिने भन्दै मर्यादित रुपले एक अर्काको धर्म संस्कृतिलाई हेर्ने र महसुस गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “नेपालमा बसोबास गर्ने जो सुकै हौँ जुनसुकै धर्म संस्कार संस्कृति मान्ने समुदाय छौँ । एकअर्काको धर्म संस्कृतिलाई मर्यादित रुपले हेर्ने र महसुस गर्ने कुराको विकास गर्न आवश्यक छ, देश सबै जातजातिको साझा हो ।”

देश निर्माणको लागि सबैको एकता र सहकार्य आवश्यक रहेको प्रमुख शेरचनको भनाइ छ । साथै प्रमुख शेरचनले आदिवासी जनजाति समुदायले आफ्नो अधिकारको लागि लडाइँ जारी राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयोे, “म २०१५ सालमा चितवन झरेको मान्छे हुँ । मैले अधिकार प्राप्तिका लागि आजसम्म पनि लडिरहेको छु, किनकि अधिकारको लडाइँ कहिल्यै नसकिने रहेछ, अधिकारकै लागि आवाज उठाउँदा पटकपटक अङ्गभङ्ग बन्नुपरेको छु ।” उहाँले यो महोत्सवले पहिचानको आवाज बोकेर गाउँगाउँ पुग्न मद्दत गर्ने विश्वास गर्नुभयो ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षलाई सहयोग पु¥याउन यो महोत्सवले ठूलो भूमिका खेल्ने विश्वास लिनुभयो । महोत्सव परिसरमा बनाइएको आदिवासी जनजातिको गाउँले महोत्सवको रौनक नै फरक तुल्याएको महानगर प्रमुख दाहालको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँको गाउँ देख्दै गर्दा महानगरको पर्यटन विकासको लागि कुनै एक ठाउँमा आदिवासी जनजातिका गाउँ निर्माण गर्नुपर्ने सोच आएको छ, “भावी पुस्ताका लागि पनि अध्ययन गर्ने र सिक्ने थलो बनोस् आदिवासी जनजातिको गाउँले महोत्सवको रौनक नै फरक तुल्याएको छ ।”

महोत्सवले आदिवासी जनजाति समुदायको भाषा, कला र संस्कृति संरक्षण र सम्वर्द्धनमा टेवा पुग्ने आयोजक मूल समारोह समितिका संयोजक महेन्द्र दुराले बताउनुभयो । महोत्सवस्थलमा चितवनका ११ वटा आदिवासी जनजाति समुदायको जातीय पहिचान देखिएकाले घर निर्माण गरिएको संयोजक दुराले बताउनुभयो । नेपाल आदिवासी जनजाति महासङ्घ चितवनले आयोजना गरेको महोत्सव चैत १८ गतेसम्म चल्ने छ ।

नयाँ सत्ता समीकरणको ध्येय समाजवादी मोर्चा बनाउनु होइन : महासचिव पोखरेल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिले नयाँ सत्ता समीकरण समाजवादी मोर्चा बनाउने उद्देश्यले नबनेको स्पष्ट पार्नुभएको छ । एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको बागमतीका पार्टी अध्यक्ष र पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेको नयाँ सत्ता समीकरण मुलुकलाई नयाँ उचाइमा लैजानका लागि मात्र बनेको बताउनुभयो ।

उहाँले नयाँ सत्ता समीकरण समाजवादी मोर्चा वा वामपन्थी गठबन्धन बनाउने उद्देश्यले नबनेकोसमेत स्पष्ट पार्नुभयो । “समाजवादी मोर्चा र वामपन्थी गठबन्धन निर्माण गर्ने भन्ने उद्देश्यका लागि अहिलेको सत्ता समीकरण बनेको होइन”, उहाँले भन्नुभयो, “अहिले संसद्मा रहेको वामपन्थी दलहरूमात्रै मिलेर वैकल्पिक सरकार बनाउने अवस्था पनि छैन, मुलुकलाई नयाँ ढङ्गबाट चलाउनका लागि नयाँ समीकरण बनेको हो ।” महासचिव पोखरेलले स्थानीय तहले जनतामा आशा जगाउने काम गर्नुपर्ने जनाउँदै पूर्वाधार निर्माणमा स्थानीय तहले ध्यान दिनुपर्ने बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठ चीनको औपचारिक भ्रमणमा जादै

काठमाडौँ – उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ । उहाँले यही चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमण गर्नुहुने मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । साथै भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।उपप्रधानमन्त्री श्रेष्ठ भ्रमण सम्पन्न गरी चैत १९ गते स्वदेश फर्कनुहुने छ ।

आइपीएलको उद्घाटन खेलमा चेन्नई विजयी

काठमाडौँ, १० चैतः सत्रौँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) शुक्रबारदेखि भारतमा सुरु भएको छ । उद्घाटन समारोहमा भारतीय सेलिब्रेटीहरु अक्षय कुमार, एआर रहमान, सोनू निगम, मोहित चौहान, नीति मोहनलगायतले प्रस्तुति दिए ।

उद्घाटन समारोहपछि सुरु संस्करणको पहिलो खेलमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ । चेन्नईले रोयल च्यालेञ्जर बैंग्लोरलाई छ विकेटले पराजित गरेको इन्डियन प्रिमियर लिगको वेवसाइटमा उल्लेख छ ।एक सय ७४ रनको लक्ष्य पछ्याएको चेन्नइले १८ दशमलव चार ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

चेन्नईको जितमा ओपनरद्वय रितुराज गायक्वाडले १५ र रचिन रवीन्द्रले ३७ रन बनाए । त्यसपछि आएका अजिङ्क्य रहाणेले २७ रन बनाउँदा डेरेल मिचेलले २२ रनको योगदान दिए । त्यसैगरी शिवम दुवेले ३४ र रविन्द्र जडेजाले २५ रन बनाए ।

बैंग्लोरका लागि क्यामरुन ग्रीनले दुई तथा यश दयाल र कर्ण शर्माले एक/एक विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय ७३ रन बनायो । बैंग्लोरका लागि ओपनर फ्याप डु प्लेसिसले ३५ रन बनाए भने विराट कोहलीले २१ रन बनाए । रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा आउट भए पनि त्यसपछि आएर क्यामरुन ग्रीनले १८ रन बनाए । उसका लागि सबैभन्दा धेरै अनुज रावतले ४८ रन बनाउँदा दिनेश कार्तिक २८ रनमा अविजित रहे ।

चेन्नईका लागि मुस्तफिजुर रहमान एक्लैले चार विकेट लिँदा दीपक चहरले एक विकेट लिए । जारी प्रतियोगिता अन्तर्गत शनिबार दुई वटा खेल हुँदैछन् । नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे हुने पहिलो खेल पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्सबीच हुनेछ भने राति ७ः४५ बजे सुरु हुने दोस्रो खेल कोलकता नाइट राइडर्स र सनराइज हैदराबादबीच हुनेछ ।

हेर्नुहोस् चैत १० गते शनिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । नयाँ लगानिका लागि मित्रजनहरुको साजेदारी दाभदायक रहनेछ । सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।

बृष राशि – पारीबारीक झोर झमेला सताउन सक्नेछ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगन सिलताका कारण मानसम्मान प्राप्तीको योग बन्नेछ ।

मिथुन राशि – एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला । सबारी साधनको प्रयोगमा बिशेष ध्यान पूर्याउनु होला । मानसम्मानमा आचँ आउन सक्नेछ । कार्य क्षेत्रमा उत्पन्न लापरवाहिले सरसामान हराउन सक्ने सम्भाबना रहेकोछ ।

कर्कट राशि- बोलिको प्रभाबको कारण मान्यजनको साथ पाईनेछ । स्बास्थ सम्बन्धि समस्यामा सुधार आउनेछ । मित्रजनको साथ सहयोले आक्स्मिक धनलाभ हुन सक्नेछ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । परीवारका सदस्यहरु सगँ सामान्य बादबिवादको सामना गर्नु पर्नेछ ।

सिंह राशि – हराएका धनमाल प्राप्ति योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । संगित तर्फ रुचिजाग्नेछ । बिश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा भने समय उत्तम रहनेछ ।

कन्या राशि – साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ । सामान्य चोट पटकको सम्भाबना रहेको छ । ब्यपार ब्यवसायमा पारिवारिक साथ सहयोग मनग्य प्राप्त रहनेछ । भोजभतेर जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ ।

तुला राशि – धनमालमा सामान्य क्षति हुने योग रहेको छ सजग रहनु होला । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । प्रेम सम्बन्धमा सामान्य मनमुटाब आउन सक्नेछ । सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । नयाँ लगानिका लागि मित्रजनहरुको साजेदारी दाभदायक रहनेछ ।

बृश्चिक राशि- नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको साथ सहयोग प्राप्त हुने समय रहेको छ । रचानात्मक कार्यमा जुट्ने उत्तम समय रहेकोछ । अध्यन अध्यापनमा समय राम्रो रहेकोछ ।

धनु राशि- कार्य क्षेत्रमा यत्पन्न झन्झट पश्चात सभा सम्मेलनमा सम्लग्न भईनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुनेछ । कार्यक्षेत्रको प्रतिफल सोच अनुरुप नरहनाले मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

मकर राशि – कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ । नजिकका ब्यक्ति बाट धोका हुन सक्नेछ । सामान्य कार्यमा धेरै समय ब्यतित हुन सब्छ । दाजु भाई बिच सामान्य मनमुटाब रहन सक्नेछ । प्रतिपक्षीहरु सबल रहेता पनि तपाईको कार्य क्षेत्रको प्रभाबताले कार्यहरु सहजता पूर्ण सम्पादित रहनेछन ।

कुम्भ राशि – अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ । खानपानमा बिशेष ध्यान दिनु होला । आटँ शाहसमा कमि आउनाले कार्य सम्पादनमा झन्झट आउन सक्नेछ । मनमा अस्थिरताले बास गर्नाले कार्य क्षेत्रमा सामान्य ढिलाईको योग रहनेछ ।

मीन राशि – सामान्य खर्च हुने योग रहेको छ । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । कार्य क्षेत्रमा साजेदारी उत्तम रहनेछैन । मान्यजनहरुको साथसहयोगमा आम्दानिका श्रोतहरु सबल तुल्याउन सकिनेछ । ब्यपार ब्यवसायमा जिबन साथीको सहयोग उत्तम रहनेछ ।

कांग्रेसद्वारा मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

धनुषा, ९ चैत : नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई आज पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभएको हो ।

पत्रमा भनिएको छ, “मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ अनुसार नेपाली कांग्रेस संसदीय दलको समर्थन रहेकोमा आजकै मितिदेखि सो समर्थन फिर्ता लिइएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।” केन्द्रमा समीकरण फेरिएसँगै गत सोमबार मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गर्दै एमालेलाई सरकारमा सहभागी गराउनुभएको थियो ।

नदीमा माछा मार्न गएका १५ वर्षीय किशोर बेपत्ता

मान्म (कालीकोट), ९ चैत : कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–६ मा तिला नदीमा माछा मार्न गएका किशोर बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका–६ स्थित तिला नदीमा माछा मार्ने क्रममा सोही ठाउँका अन्दाजी १५ वर्षीय गणेश शाही नदीमा बेपत्ता भएका हुन् ।

उनीसँगै नदीमा माछा मार्न गएका साथीका अनुसार ढुङ्गामा चिप्लिएर गणेश बेपत्ता भएको खबर आएको तिलागुफा नगरपालिकाका प्रमुख शङ्कर उपाध्यायले बताउनुभयो । “तीर्थबहादुर शाहीका छोरा बेपत्ता भएको, उनको प्रहरी र स्थानीयले खोजी गरिरहेका छन्”, उहाँले भन्नुभयो, “घटना आज दिउँसो २ बजेतिर भएको हो ।”

तिला नदीमा प्रहरी चौकी खल्ला र गाल्जेको टोली खटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । बेपत्ता किशोर कालिका माध्यामिक विद्यालय खल्लामा कक्षा–९ मा अध्ययनरत रहेको नगरप्रमुख उपाध्यायले जानकारी दिनुभयो ।

म्याग्दीमा तातोपानीको नयाँ मुहान भेटियो

म्याग्दी, ९ चैत : म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा तातोपानीको नयाँ मुहान भेटिएको छ । बगरगाउँमुनिको लपचिस महजरा भन्ने ठाउँमा प्राकृतिकरूपमा तातोपानी निस्कने मुहान भेटिएको हो । नाउरा–बगर जोड्ने सडक निर्माणका क्रममा बाफ उडेको देखेपछि छाम्ने क्रममा तातोपानीको मुहान पत्ता लागेको धवलागिरि गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरले राससलाई जानकारी दिनुभयो ।

“म्याग्दी नदीको किनारमा बाफ उडेको र बिरेनुनको गन्ध आएपछि त्यहाँ पुग्दा तातोपानीको मुहान भेटियो”, उहाँले भन्नुभयो, “म्याग्दी नदीलाई डाइभर्सन र मुहानलाई संरक्षण गरेर स्नानस्थलका रूपमा विकास गर्ने योजना बनाएका छौँ ।”

जमिनभित्रबाट करिब ५० डिग्री सेल्सिएस तापक्रममा निस्कने पानीको मुहानमा पुग्न बगरगाउँबाट करिब ३० मिनेट हिँड्नुपर्छ । यसअघि सो तातोपानीको मुहानसम्म पुग्ने बाटो थिएन । म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाले बगरगाउँबाट महजरासम्म सडक निर्माण गरिसकेका छन् । नाउराबाट महजरा हँुदै बगर जाने सडक निर्माणाधीन छ ।

जलविद्युत् आयोजनाका कर्मचारी, मजदुर र स्थानीय बासिन्दाहरू सोही तातोपानीमा स्नान गर्न जान थालेका छन् । पानीमा बिरेनुन र अण्डा उमालेको जस्तो गन्ध आउने बगरका बासिन्दासमेत रहेका वडासदस्य हरिप्रसाद तिलिजाले बताउनुभयो । “सानो हुँदा त्यहाँ तातोपानीको मुहान भएको सुनेको थिएँ”, उहाँले भन्नुभयो, “५५–६० वर्षपछि मुहान भेटियो । यसलाई संरक्षण र व्यवस्थित गर्नुपर्छ ।” तातोपानीको पोखरीमा स्नान गरेमा चोटपटक लागेको, सुन्निएको, बज्रिएको, ग्यास्ट्रिकलगायत स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।

तातोपानीको स्रोत मध्यम किसिमको छ । व्यवस्थित पोखरी बनाउन सकेमा २० देखि २५ जनासम्मले स्नान गर्न सक्छन् । धवलागिरि हिमाल आरोहण गर्न जाने पदमार्गमा पर्ने बगरगाउँ नजिकै रहेको अर्को तातोपानी कुण्ड छ । त्यहाँ स्थानीयवासीले स्नान गरेर स्वास्थ्यलाभ लिने गर्दछन् ।

म्याग्दीमा अन्नपूर्ण गाउँपालिकाको दोवा सेकार्कु, भुरुङ्ग, पाउद्वार, रातोपानी र कटुञ्जेमा यसअघि पहिचान भएका तातोपानीका मुहानको संरक्षण र व्यवस्थापन हुँदै आएको छ । यसैगरी बेनी नगरपालिका–४ को सिङ्गा, रघुगङ्गा गाउँपालिका–४ को दर्मीजा, धवलागिरि गाउँपालिका–१ गुर्जा र वडा नं ४ बगरमा रहेका तातोपानी कुण्ड प्राकृतिक उपचारस्थलको रूपमा प्रयोग भएका छन् ।

‘ब्रान्ड भुटान’ र ‘भुटान बिलिभ’ लाई भारतको समर्थन छ – भारतीय प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भुटान भ्रमणका क्रममा भारत र भुटानको लक्ष्य समान रहेको बताउनुभएको छ । उहाँले ‘ब्रान्ड भुटान’ र ‘भुटान बिलिभ’ (बिबी) दुवैलाई सफल पार्न भारतले हरेक पाइलामा सहयोग गर्ने आश्वासन दिनुभयो ।

तासिछो जोङ दरबारमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले सन् २०१४ मा भारतको प्रधानमन्त्रीका रूपमा भुटानको पहिलो भ्रमणको स्मरण गर्नुभयो । “भुटान र भारतको सम्बन्ध जति पुरानो छ, त्यति नै नयाँ पनि छ । सन् २०१४ मा प्रधानमन्त्री भएपछि भुटान मैले भ्रमण गरेको पहिलो विदेश थियो । दश वर्ष पहिले म यस देशमा आउँदा पाएको न्यानो स्वागतलाई सम्झन्छु”, उहाँले भन्नुभयो ।

भुटानलाई भारतको समर्थन रहेको पुष्टि गर्दै उहाँले भन्नुभयो, “भारत र भुटानका युवाहरूको आकाङ्क्षा र लक्ष्यहरू समान छन् । भारतले सन् २०४७ सम्ममा विकसित देश बन्ने लक्ष्य राखेको छ भने भुटानले २०२४ सम्ममा उच्च आय भएको देश बन्ने लक्ष्य राखेको छ । यहाँहरूको यो लक्ष्य पूरा गर्न बिबी अर्थात ब्रान्ड भुटान र भुटान बिलिभ दुवैलाई सफल बनाउन भारतले हरेक पाइलामा सहयोग गर्नेछ ।”

“एक अर्ब ४० करोड भारतीयलाई भुटानका मानिस आफ्ना देशका परिवारका सदस्य हुन् भन्ने थाहा छ । भुटानका मानिसहरूलाई पनि थाहा छ कि भारत उनीहको परिवार हो । भारत र भुटानबीचको सम्बन्ध अटुट छ । हाम्रो मित्रता, सम्बन्ध र विश्वास अटुट छ”, दुई राष्ट्रका जनताबीचको सम्बन्धलाई जोड दिँदै प्रधानमन्त्री मोदीले भन्नुभयो ।

आफूलाई हिमाली देशको सर्वोच्च सम्मान ’अर्डर अफ द ड्रुक’ प्रदान गरेकामा प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकलाई धन्यवाद दिनुभयो । उहाँ यो सम्मान प्राप्त गर्ने प्रथम विदेशी सरकार प्रमुख हुनुहुन्छ ।

“आज मेरा लागि एक भारतीयका रूपमा ठूलो दिन हो । यहाँले मलाई भुटानको सर्वोच्च राष्ट्रिय अवार्डले सम्मान गर्नुभयो । हरेक अवार्ड आफैँमा विशेष हुन्छ, तर जब अर्को देशबाट अवार्ड प्राप्त हुन्छ त्यसले दुवै देशबीचको सम्बन्ध सही दिशामा बढिरहेका छ भन्ने आत्मविश्वासलाई बलियो बनाउँछ । यो मेरो व्यक्तिगत उपलब्धि होइन, यो भारत र एक अर्ब ४० करोड भारतीयको उपलब्धि हो । म भुटानको यस महान भूमिमा सबै भारतीयको तर्फबाट यो सम्मानलाई विनम्रतापूर्वक स्वीकार गर्दछु र यस सम्मानका लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु”, उहाँले भन्नुभयो ।

यसअघि प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकसँग थिम्पुस्थित तासिछो जोङ दरबारमा भेटवार्ता गर्नुभएको थियो । उहाँ भुटानी राजाको उपस्थितिमा तेन्द्रेलथाङ महोत्सव मैदानमा आयोजित सांस्कृतिक कार्यक्रममा पनि सहभागी हुनुभएको थियो ।

प्रधानमन्त्री मोदीले आफ्ना भुटानी समकक्षी छिरिङ तोब्गेसँग पनि भेट गरी द्विपक्षीय सम्बन्धको समीक्षा गर्नुभएको थियो । दुई नेताले भारत र भुटानबीचको बहुआयामिक साझेदारीलाई अझ सुदृढ पार्ने प्रतिबद्धता गर्नुभयो । विदेश मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार प्रधानमन्त्री मोदी र तोब्गेले भेटमा बहुआयामिक द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरुमा छलफल र नवीकरणीय ऊर्जा, कृषि, वन, वातावरण र पर्यटनजस्ता क्षेत्रमा सहकार्य बढाउने समझदारी गर्नुभयो । प्रधानमन्त्री मोदीले थिम्पुको होटलबाहिर उहाँलाई स्वागत गर्न बसेका भुटानमा रहेका भारतीय मूलका नागरिक र भुटानका स्थानीय जनतासँग पनि कुराकानी गर्नुभयो ।

चिनियाँ व्यवसायीद्वारा एक लाख किलो चिया अर्डर

मङ्गलबारे (इलाम), ९ चैतः अनुगमन तथा भ्रमणका लागि यहाँ आएका चिनियाँ चिया व्यवसायीले इलामका विभिन्न चिया उद्योगमा एक लाख किलोग्रामभन्दा बढी चिया अर्डर गरेका छन् । चिया बगान र उद्योगको भ्रमणपछि उनीहरुले सो बराबरको चिया अर्डर गरेका हुन् ।

इलाम नगरपालिका र इलाम उद्योग वाणिज्य सङ्घसँगको पहलमा केही दिनअघि चिनियाँ चिया व्यवसायी यहाँ आएका थिए । उनीहरुलाई यहाँ ल्याउनका लागि चिया व्यवसायी चिरन दाहालले समन्वय गर्नुभएको थियो । सो अवसरमा चिनियाँ व्यवसायी र यहाँका चिया व्यवसायी तथा किसानबीच चिया खरिद, चीनमा चिया निर्यातको सम्भावनालगायतका विषयमा छलफल भएको दाहालको भनाइ छ ।

चिनियाँ व्यवसायीले चियाबारी र उद्योगकोसमेत स्थलगत अनुगमन गरेका छन् । सो अवसरमा चिनियाँ व्यवसायीले देउमाई र इलाम नगरपालिकाका विभिन्न चिया उद्योग र चिया किसान भेटघाट गरेका थिए ।

उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष चेतनाथ पौडेल कृष्णले एक महिनाअघि पाँच जना चिनियाँ व्यवसायीले यहाँ आएर अनुगमन गरेको र अहिलेसो परिमाणमा चिया अर्डर गरेको बताउनुभयो । चियाको पहिलो टिपाइ सुरु हुनै लाग्दा चीनबाट आएको व्यवसायीको टोलीले अवलोकनपछि चिया अर्डर गरेपछि नयाँ उत्साह प्राप्त भएको उहाँको भनाइ छ ।

इलाम नगरपालिकाले यसअघिदेखि नै यसका लागि पहल गरिरहेको नगरपालिकाका प्रमुख केदार थापाले बताउनुभयो । चिनियाँ व्यवसायीहरुले नेपाली चियाको गुणस्तर निकै राम्रो भएको प्रतिक्रिया दिएका थिए । नेपालमा उत्पादन भएको चिया ८० प्रतिशत भारतमा निर्यात हुने गरेकोमा अब चीनमा पनि निर्यात हुने आशा पलाएको छ ।

जनकपुरधाममा महामुर्खको खोजी हुँदै, यसरी छनोट गरिन्छ महामूर्ख ?

धनुषा, ९ चैतः जनकपुरधाममा महामुर्खको खोजी सुरु भएको छ । होली पर्वको अवसरमा आयोजना गरिने होली महोत्सवमा महामुर्ख पदवी प्रदान गर्ने यहाँको चलन छ । मिथिला नाटयकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी(होली) महोत्सवमा आयोजना गरिने महामुर्ख सम्मेलनका लागि महामुर्खको खोजी सुरु गरिएको मिनापका महासचिव शैलेन्द्र मल्लिकले बताउनुभयो ।

महामुर्ख सम्मेलन देशैभरि प्रसिद्ध छ । मिथिला नाटय कलापरिषद् (मिनाप)ले प्रत्येक वर्ष सम्मेलन आयोजना गर्दै आएको छ । मिनापले प्रत्येक वर्ष मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्ने एक जनालाई महामुर्खसहित विभिन्न व्यङ्ग्यात्मक पदवीबाट सामाजिक सम्मान गर्ने चलन छ ।

आपसी भाइचाराका रुपमा लिइएको होली पर्व जनकपुरधाममा हिन्दूसँगै विभिन्न धर्ममा आस्था राख्नेहरुले सँगै मनाउँछन् । मिथिलामा वसन्त पञ्चमीको आगमनसँगै होली गीत गाउन सुरु गरिन्छ । तर अहिले आएर ग्रामीण इलाकामा फागु गीत गाउनेमा कमी हुन थालेपछि लोपोन्मुख फागु गीतलाई जगेर्ना गर्ने मिनापले करिब तीन दशकदेखि होरी महोत्सवको आयोजन गर्दै आएको छ ।

फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुईदिने होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ । मिनापका महासचिव मल्लिकले मैथिली भाषा, साहित्य, कला, संस्कृति तथा लोकगीतको संरक्षण गर्न होली महोत्सव आयोजना गरिएको बताउनुभयो ।

फागु गीत प्रतियोगितामा धनुषा, महोत्तरी, सिरहा, सप्तरी र सर्लाहीका ग्रामीण समूह सहभागी हुने मिनापका महासचिव मल्लिकले बताउनुभयो । महोत्सवको दोस्रो दिन आयोजन हुने महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ । सोअन्तर्गत महत्वपूर्ण व्यक्तिलाई महामुर्खको उपाधि प्रदान गरिन्छ । सोअन्तर्गत महामुर्ख तथा अन्य उपाधिकर्तालाई मिथिलामा उत्पादित तरकारीको माला लगाइदिने चलन छ ।

सम्मेलनको इतिहास

महामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुँदै आए पनि जनकपुरमा यसले निकै उचाइ पाएको छ । तर यसको प्रारम्भ वीरगञ्जबाट भएको हो । मैथिली साहित्य परिषद् वीरगञ्जे पहिलो पटक २०५० सालमा सम्मेलनको आयोजना गरेको थियो । पहिलो पटकको महामूर्ख लाला माधवेन्द्रजीलाई प्रदान गरिएको थियो ।

सम्मेलनको परिकल्पनाकारमध्ये एक रहनुभएका मैथिली साहित्य परिषद्का पूर्वमहासचिव एवं चर्चित पत्रकार चन्द्र किशोर झा भन्नुहुन्छ, “विसं २०४६ सालमा बहुदल आएपछि राजनीतिकरुपमा परिवर्तन भयो । यस परिवर्तनमा समाजिक तथा साहित्यिक क्षेत्रका व्यक्तिहरुको योगदानको आवश्यकता थियो, यस्तो अवस्थामा सम्मेलनको अवधारणा आएको हो ।”

समाजमा रहेको विकृति विसङ्गतिलाई समाप्त गर्न व्यङ्ग्यले निकै ठूलो भूमिका खेल्ने उहाँको भनाइ छ । वीरगञ्जमा अहिले होरी मिलन समारोह महामूर्ख सम्मेलन आयोजना गर्दै आएको छ । यसप्रकारको सम्मेलन भारतमा पहिले देखिनै हुँदै आएको छ ।

विसं २०६१ देखि जनकपुरधाममा महामूर्ख सम्मेलनको आरम्भ गरिएको थियो । विसं २०६१ मा महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, विसं २०६२ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(एमाले) का नेता शीतल झा, २०६३ मा तत्कालीन जनकपुर नगरपालिकाका प्रमुख हरिबहादुर विसी, २०६४ मा तत्कालीन सद्भावना पार्टीका नेता ओमकुमार झा प्रदान गरिएको थियो । साथै २०६५ सालमा वरिष्ठ साहित्यकार डा राजेन्द्र विमल, २०६६ मा पूर्वमन्त्री रामचन्द्र झा, २०६७ मा नेपालका चर्चित राजनीतिक विश्लेषक सिके लाल, २०६८ मा साहित्यकार रामभरोष कापडी भ्रमर, २०६९ मा नेपाली कांग्रेसका नेता रामसरोज यादव, २०७० मा तमलोपाका वरिष्ठ नेता डा विजयकुमार सिंह, २०७१ मा नेता शत्रुधन महतो, २०७२ मा श्मशानघाटको स्वरूप परिवर्तन गरी आधुनिक स्वर्गद्वार बनाएर चर्चा बटुलेका पवन सिँघानीयालाई प्रदान गरिएको थियो ।

विसं २०७३ मा सप्तरीको मलेठमा एमालेले गरेको मेची–महाकाली अभियानका क्रममा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएपछि अन्तिम समयमा मिनापले सो कार्यक्रम स्थगित गरेको थियो । विसं २०७४ मा महामूर्खको उपाधि तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल र विसं २०७५ मा जसपाका नेता लालकिशोर साहलाई प्रदान गरिएको थियो ।

त्यस्तै विसं २०७६ मा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, २०७७ सालमा महजोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य एवं २०७८ सालमा अर्थविद् डा भोगेन्द्र झालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो भने २०८० को महामुर्खको उपाधि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहलाई प्रदान गरिएको थियो ।

यसरी छनोट गरिन्छ महामूर्ख ?

महामूर्खको छनोट कसरी हुन्छ धेरैको उत्सुकताको विषय हुनसक्छ । महामूर्ख सम्मेलनको आयोजक मिथिला नाट्यकला परिषद्का पूर्वअध्यक्ष मदन ठाकुर भन्नुहुन्छ, “महामूर्खको छनोटका लागि एक समिति गठन गरिन्छ । सोही समितिले महामुर्ख छनोट गर्छ ।”
जनकपुरधामका स्थानीय पत्रिकामा एक हप्ता पहिलादेखि यसबारे चर्चा सुरु हुन्छ । नेपाल पत्रकार महासङ्घ पूर्वकेन्द्रीय सदस्य शैलेन्द्र झा भन्नुहुन्छ, “महामूर्ख जनकपुरधामको एउटा लोकप्रिय कार्यक्रम हो । यसलाई सञ्चारमाध्यमले महत्वका साथ स्थान दिएको पाइन्छ ।” महामुर्ख बन्नका लागि मानिसहरु कामना गर्ने उहाँको भनाइ छ ।

विसं २०६५ का महामूर्खको उपाधि प्राप्तकर्ता एवं मैथिलीका वरिष्ठ साहित्यकार डा राजेन्द्रप्रसाद विमल भन्नुहुन्छ, “उपाधि प्राप्त गर्नु आफैँमा ठूलो उपलब्धि हो ।”

मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष महामूर्खसहित १५ जनालाई १५ वटा पदवी प्रदान गर्दै आइरहेको छ । त्यसमध्ये सबभन्दा बढी चासोका साथ महामूर्खको उपाधिलाई हेरिन्छ । सोहीअनुरूप यस वर्ष पनि यस पदवीका लागि विभिन्न आकाङ्क्षीको नाम चर्चामा छ ।

कसले लेख्ने सीमान्तकृतको इतिहास ?

राजकुमार दिक्पाल/काठमाडौँ – सामाजिक र भौगोलिक विविधताले नेपालको सौन्दर्य भरिपूर्ण छ तर यहीँ विविधताभित्र अनेकौँ असमानता पनि छन् । ती असमानतालाई विभिन्न कोणबाट निरुपण गर्न प्राज्ञिक माध्यमबाट पनि प्रयास थाल्नुपर्ने ठूलो आवश्यकता छ । विकास र शान्तिका लागि सामाजिक असमानता ठूलो बाधक हो ।

समतामूलक समाज निर्माणका लागि विगतमा भएका कमजोरीको इतिहास बटुलेर त्यसलाई निफल्न जरुरी छ । विगतमा राज्यबाटै ऐन निर्माणका क्रमबाट भएका कमीकमजोरीले कतिपय जातिगत र सामाजिक समूह अहिले पनि सीमान्तकृत अवस्थामा गुज्रिएका छन् । त्यसैले सीमान्तकृतको छुट्टै इतिहास लेखनको क्षेत्रले पनि यथोचित प्रोत्साहन पाउन सकेन । नेपालको इतिहास भनेकै राजा महाराजाको गाथा हो भन्ने धारणालाई चिर्न पनि अब सीमान्तकृतको इतिहास लेखनले उचित वातावरणको खोजी गरिरहेको यस प्रसङ्गमा स्मरणीय छ ।

नेपालको इतिहास लेखन

तत्कालीन इष्ट इन्डिया कम्पनीका कर्णेल विलियम कर्कप्याट्रिकले सन् १८११ (विसं १८६८) मा प्रकाशित गरेको ‘एन एकाउन्ट अफ द किङडम अफ नेपाउल’ नेपालका बारेमा लेखिएको पहिलो इतिहासको पुस्तक हो । उनी १८४९ सालमा नेपाल आएका थिए । एक महिना जति नेपाल बस्दा उनले जे जति टिपोट गर्न भ्याए, त्यसैलाई उनले पुस्तकका रुपमा प्रकाशित गरे । त्यसको आठ वर्षपछि फ्रान्सिस ह्यामिल्टनले ‘एक एकाउन्ट अफ द किङ्डम अफ नेपाल’ (सन् १८१९) प्रकाशित गरे । नेपालको इतिहास लेखिएको यो दोस्रो पुस्तक हो ।

नेपालमा इस्ट इन्डिया कम्पनीको रेजिडेन्स खुलेपछि ह्यामिल्टन एक चिकित्सकका रुपमा नेपाल आएका थिए । त्यही मौकामा उनले नेपालको इतिहास बटुलेर पुस्तकको आकार दिए । विदेशी लेखकले नेपालको इतिहास प्रकाशित गरेको एक सय तीन वर्षपछि १९७९ सालमा बल्ल एक नेपाली लेखक अम्बिकाप्रसाद उपाध्ययले ‘नेपालको इतिहास’ प्रकाशित गरे । भारतमा रहेर कानुनविद्का रुपमा काम गरिरहेको बेला उनले यो पुस्तक प्रकाशित गर्दा चन्द्रशमशेरले नेपालको शासन चलाइरहेका थिए । ‘नेपाल देशका अधिपति’, ‘विष्णुको अंश’ आदि विशेषणका साथ चन्द्रशमशेरलाई नै समर्पण गरिएको यो पुस्तक राणाहरुको प्रशंसाले भरिएको छ ।

राणाकालजस्तो त्यो अन्धकार युगमा पुस्तक प्रकाशित गर्नु एक जोखिमपूर्ण काम थियो । त्यस्तो जोखिमपूर्ण समयमा प्रा तोत्रराज पाण्डे र पं नयराज पन्त मिलेर २००४ साल ‘नेपालको सङ्क्षिप्त इतिहास’को प्रकाशन भयो । त्यहीँ बेला भारतमा आएको नवजागरणले त्यहाँ रहेका नेपालीलाई पनि प्रभाव पारेको थियो । त्यसैबेला दार्जिलिङमा सूर्यविक्रम ज्ञवालीले द्रव्य शाह र पृथ्वीनारायण शाहको इतिहास लेखेका ज्ञवालीले ‘भानुभक्तको जीवनी’, ‘अमरसिंह थापा’, ‘वीर बलभद्र’ जस्ता इतिहास पनि लेखे । भानुभक्त आचार्य, अमरसिंह थापा, बलभद्र कुँवरहरु कुनै राजा महाराजा होइनन् । भुइँबाट उठेर देशको सेवा गर्ने यी व्यक्तित्वहरुको इतिहासको लेखनले त्यसबेलै इतिहास राजा महाराजाहरुको मात्रै हुँदैनन् भन्ने मान्यता स्थापित हुन पुगेको थियो । राणाशासनकै समयमा सिक्किमको गान्तोकमा रहेर इमानसिंह चेम्जोङले ‘किरात इतिहास’ लेखेर इतिहास लेखनको क्षेत्रमा अर्को आयाम थपे । उनले जातिगत र सामाजिक समूहको पनि छुट्टै इतिहास लेख्न सकिन्छ भन्ने अवधारणा त्यसबेलै प्रस्तुत गरेका थिए तर त्यसपछि लेखिएका इतिहासहरु राजा महाराजाकै सेरोफेरोबाट खासै मुक्त हुन सकेको देखिँदैन ।

सीमान्तकृत समूह

राजा जयस्थिति मल्लको थितिलाई नेपालको प्रारम्भिक कानुनको प्रारुप मानिएको छ । विसं १९१० मा जङ्गबहादुरले बनाएको मुलुकी ऐन नै नेपालको पहिलो लिखित कानुन हो । यो ऐनले नेपालका जाति र सामाजिक समूहलाई विभेदयुक्त ढङ्गले विभाजित गरेर एउटै अपराधमा जातिअनुसार कसैलाई धेरै र कसैलाई कम सजाय दिने व्यवस्था गर्‍यो ।

‘छोइछिटो हाल्नु पर्ने अछूत’ र ‘छोइछिटो हाल्नु नपर्ने अछूत’ भनी कानुनी रुपमा तोकेरै छुवाछूतलाई मुलुकी ऐनले मान्यता दियो भने ‘मासिन्या मतुवाली’ र ‘नमासिन्या मतुवाली’ भनेर समुदायमा अर्को विभेदको पर्खाल पनि मुलुकी ऐनले नै खडा गर्‍यो । आज यिनै जाति तथा समुदाय सीमान्तकृत अवस्थामा छन् । विगतमा गरिएका यस्ता कमीकमजोरीले कतिपय जाति तथा समुदाय सीमान्तकृत अवस्थामा छन् । उनीहरु आर्थिक, सामाजिक, शैक्षिकजस्ता सबै क्षेत्रमा पछौटेपन र अवसरविहीनताको सिकार बनेका छन् । उनीहरुको इतिहास पनि न्यायोचित ढङ्गले लेख्नु त कता हो कता, अग्रज इतिहासकारले यसप्रति गम्भीर भएर विचार गर्ने चेष्टासमेत गरेको पाइँदैन । त्यसैले पनि इतिहास भनेकै राजा महाराजाको गाथा भन्ने धारणा बलियो रुपमा स्थापित हुन पुगेको हो । यसले इतिहास विधालाई नै न्याय गरेको ठहर हुँदैन ।

इतिहासको स्रोत

लिखित दस्तावेज नै इतिहासको मूल स्रोत हो । इतिहास भनेको विगतको घटनाको प्रामाणिक लेखन र प्रस्तुति हो । विगतमा लेखिएर सुरक्षित रुपमा राखिएका दस्तावेजहरुका आधारमा प्रामाणिक इतिहास लेखिन्छ । यसैगरी, सम्बन्धित घटनाका साक्षीले व्यक्त गरेको धारणाहरु पनि इतिहासका प्रमाणहरु हुन् ।

सीमान्तकृत समुदायको इतिहास लेखनको मूल समस्या भनेकै उनीहरुसँग सम्बन्धित लिखित दस्तावेजको अभाव हो । सीमान्तकृत समुदायमा अहिले पनि लेखन तथा दस्तावेजीकरणको अभाव छभने विगतमा लेखन र दस्तावेजीकरणको परम्परा नै थिएन । इतिहासको महत्वपूर्ण स्रोतका रुपमा रहेका शिलालेख, भोजपत्र, लालमोहर, इस्तिहार, मुद्रा आदि विगतमा राजा, मुख्तियार वा भारदारहरुबाट प्रसारित हुने गर्थे । यस्ता सामग्रीमा तत्कालीन समाजका कुलीन र अधिकारसम्पन्न वर्गका सवालले मूलरुपमा प्राथमिकता पाउने गर्दा पनि सीमान्तकृत समुदायको इतिहास लेखनमा समस्या आएको हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

नेपाली लेखकको कलमबाट इतिहास लेखनको परम्परा सुरु हुँदा सम्बन्धित लेखकले तत्कालीन समयका शासकको गुणगानका प्रशस्त कलमको मसी खर्च गरेको प्रसङ्ग माथि उल्लेख गरिसकिएको छ । नेपालमा राजतन्त्र सक्रिय रहँदासम्म पुराना ऐतिहासिक सामग्रीहरुको अध्ययनको पहुँच सहज पनि थिएन । यस्तो अहसज परिस्थितिमा राजदरबारको प्रतिकूल हुने गरी इतिहास लेख्नु जोखिमपूर्ण पनि थियो । त्यसैले नेपाली इतिहासकारहरुले सकेसम्म राजदरबारप्रति नरम भाषा प्रयोग गर्दै इतिहास लेख्दै जाँदा इतिहास भनेकै राजा महाराजाको गुणगान हो भन्ने प्रतीत हुन पुग्यो । यिनै कारणहरुले इतिहासकारहरुले सीमान्तकृतहरुको सवाललाई सीमान्तमा मात्र पारेनन्, यसप्रति उनीहरुको खासै ध्यानाकर्षण हुन सकेन । परिणाममा सीमान्तकृतहरुको इतिहास लेखिएन ।

हिजो सीमान्तकृतहरुको इतिहास लेखिएन भनेर अब लेखकहरुले कलम थन्क्याएर बस्न पनि भएन । सीमान्तकृतहरुको इतिहास लेखनको क्षेत्र व्यापक छ तर यसमा लेखन प्रयासहरु भने नगण्य छ । त्यसो त राजा महाराजाहरुबाट प्रसारित शिलालेख, लालमोहर, इस्तिहार, सनद आदिबाटै सीमान्तकृतहरुको ऐतिहासिक सवाल खोज्न नसकिने होइन । उदाहरणका लागि, तत्कालीन श्री ३ महाराज तथा प्रधानमन्त्री भीमशमशेरले १९८९ भदौ ६ मा जारी गरेको इस्तिहारलाई लिन सकिन्छ । यो इस्तिहारमा विगतमा तामाङ लेख्न नपाइने अवस्था रहेकामा अबदेखि भोटे नभनी तामाङ भनी लेख्ने बोलाउने गर्नू भन्ने उल्लेख छ । यसबाट विगतमा तामाङहरुले भोग्न परेको जातीय पहिचानकै इतिहासलाई खोतलखातल गर्न ठूलो सहयोग मिल्छ ।

यस्तै १८८८ कात्तिक सुदी १४ मा तत्कालीन राजाले दूधकोशी र बहादुरा खोला पूर्व र अरुण पश्चिम माझकिरातका तालुकदारहरुको नाममा जारी गरेको एक रुक्कामा राई, मझिया, किराती, मुर्मी आदिका प्रत्येक घरबाट हरेक वर्ष जनावरको छाला अनिवार्य सङ्कलन गरी सरकारले सञ्चालन गरेको मेगेजिन अड्डामा दाखिल गर्न आदेश दिइएको छ । जनावरको छाला बुझाउन नसक्ने प्रत्येक घरबाट हरेक वर्ष दुई–दुई आनाको दरले दस्तुर उठाउन उल्लेख गरेकामा कामी र सार्कीको घरबाट आठ–आठ आना दस्तुर उठाउन आदेश दिइएको छ । यो आदेशबाट अहिले पनि दलित उत्पीडित अवस्थामा रहेका कामी र सार्कीहरुलाई राज्यबाट कस्तो आर्थिक उत्पीडन र शोषण परेको थियो भन्ने इतिहासको खोजी गर्न ठूलो सहयोग मिल्छ ।

कसले लेख्ने इतिहास ?

इतिहास अनुसन्धानमा हात बसिसकेका इतिहासकारहरुले सीमान्तकृतहरुको इतिहास लेखी दिए अत्युत्तम हुने थियो । अझ इतिहास लेखनमा नाम चलेका र स्थापित इतिहासकारहरुले नै सीमान्तकृतहरुको इतिहास लेखिदिए त उनीहरुको नामसँगै सीमान्तकृतहरुको ऐतिहासिक सवालहरु सहज रुपमा स्थापित हुने थियो तर स्थापित इतिहासकारहरुले सीमान्तकृतहरुको इतिहासलाई आजसम्म त्यति महत्व दिएनन् । त्यसैले अब सीमान्तकृतहरु आफैँ आफ्नो इतिहास लेखनका लागि तयार हुनु नै एक उत्तम विकल्प हुन सक्छ । गौतम बुद्धको भनाइ छ, ‘अप्पो दीपो भव:’ अर्थात् आफ्नो दीपक आफैँ बन । आफ्नो इतिहासप्रति चिन्ता हुनेहरुले आफ्नो इतिहासको अन्वेषण र लेखन आफँै गर्न तत्पर हुनुपर्छ । अरूको भर परेर हुँदैन ।
(लेखक इतिहास अध्ययनमा रुचि राख्ने पत्रकार हुनुहुन्छ)

अर्थमन्त्रीसँग कोरियाली राजदूतको शिष्टाचार भेट

काठमाडौँ, ९ चैतः नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गर्नुभएको छ । भेटका क्रममा द्विपक्षीय हित र आपसी सहकार्यका सम्बन्धमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री पुनले नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा कोरियाले निरन्तर लगानी गर्दै आएको उल्लेख गर्नुहुँदै कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को लगानीमा हाल विभिन्न ११ वटा आयोजनामा लगानी भएको र ती आयोजनाको प्रगति सन्तोषजनक रहेको बताउनुभयो ।

नेपालले आगामी वैशाखमा आयोजना गर्न लागेको लगानी सम्मेलनमा कोरियाली लगानीकर्ताको उल्लेख्य सहभागिताका लागि पहल गरिदिन पनि अर्थमन्त्री पुनले राजदूत थेयङलाई आग्रह गर्नुभयो । अन्तर्राष्ट्रिय लगानी आकर्षित नगरी मुलुकको विकास सम्भव नहुनेमा नेपाल स्पष्ट रहेकाले त्यसको वातावरण बनाउनका लागि आवश्यक नीतिगत र कानुनी अड्चन हटाउन सरकार लागिरहेको पनि उहाँको भनाइ छ । नेपालको कृषि, ऊर्जा, पर्यटन र प्रविधिको क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेको चर्चा गर्नुहुँदै अर्थमन्त्री पुनले दक्षिण कोरियाको विकास मोडलबाट नेपालले धेरै कुरा सिक्न बाँकी रहेको बताउनुभयो ।

यसअघिका विकास साझेदारी कार्यक्रम र रोगजारी प्रणाली (इपिएस) लाई निरन्तरता गर्दै लगिने राजदूत थेयङले बताउनुभयो । नेपाल–कोरिया दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पुग्न लागेको अवसरमा कोरियाले नेपालमा थप लगानी गर्न चाहेको जानकारी पनि उहाँले दिनुभयो ।

कोइकाले नेपाललाई विगत १५ वर्षदेखि नै प्राथमिकतामा राखेको तथा इपिएस सम्झौता भएका १६ देशमध्ये नेपाल सबैभन्दा अगाडि रहेको उल्लेख गर्नुहुँदै राजदूत थेयङले विकास साझेदारीका लागि नेपालको कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई कोरियाले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । हाल गण्डकीमा सञ्चालित ‘कोरियन भोकेसनल सेन्टर’लाई सातवटा प्रदेशमा विस्तार गर्ने नीति रहेको पनि उहाँले जानकारी गराउनुभयो ।

नेपालले आगामी सन् २०२६ भित्र अतिकम विकसित मुलुकबाट स्तरोन्नति गरिसक्नुपर्ने भएकाले त्यसलाई सघाउ पुग्ने गरी कोरियाले विकास साझेदारीको आयातन बढाउन चाहेको राजदूत थेयङको भनाइ छ । आगामी मे महिनाबाट कोरियन कम्पनी हुण्डाईले नेपालमै गाडी उत्पादनको काम थालेर वार्षिक चार हजार पाँच सय गाडी उत्पादन गर्ने लक्ष्य राखिएकामा त्यसका लागि केही कानुनी र प्रक्रियागत जटिलता देखिएकाले समाधान गरिदिन राजदूत थेयङले आग्रह गर्नुभयो ।

कोरियाले नेपालमा धेरै विदेशी लगानी भित्रियोस् र रोजगारीका अवसर सृजना होओस् भन्ने चाहना राखेकाले लगानी सम्मेलन सफल पार्न सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो । “धेरै देशले नेपालमा लगानीको चाहना राखेको मैले पाएको छु । धेरै देशबाट ठूलो सङ्ख्यामा वैदेशिक लगानी भित्रियोस् र नेपालको समृद्धिमा योगदान गरोस् । हामी अन्तर्राष्ट्रिय समुदायलाई त्यसका लागि सहजीकरण गर्छौं”, राजदूत थेयङले भन्नुभयो ।

नेपालले दोहोरो कर मुक्ति सम्झौता र लगानी संरक्षण ‘ग्यारेन्टी’ गर्नुपर्नेमा उहाँको चासो थियो । राजदूत थेयङले रोजगार प्रणालीअन्तर्गत कोरियामा काम गरेर फर्किएका नेपालीका लागि व्यवसायमा सहयोग गर्ने नीति रहेको जानकारी दिनुभयो ।

भक्तपुरमा आठौँ औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव

भक्तपुर, ९ चैत : नव वर्ष २०८१ को अवसरमा ‘आठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०८०/८१’ आयोजना गरिएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महोत्सव यही चैत २२ गतेदेखि आगामी वैशाख २ गतेसम्म सञ्चालन हुने जानकारी दिइयो ।

औद्योगिक शान्ति नेपाल र मध्यपुर ब्वाइज ब्याण्डले संयुक्तरुपमा महोत्सवको आयोजना गरेको आयोजक संस्था औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले बताउनुभयो । महोत्सव भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

महोत्सवमा दुई सयभन्दा बढी स्टल रहने आयोजक संस्थाका अध्यक्ष महतले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, अटोमोबाइल, खानाका परिकार, विभिन्न ब्राण्डका मोबाइल, इलेकट्रोनिक्स लगायतका स्टल रहनेछन् ।

औद्योगिक प्रदर्शनीमा विज्ञान प्रविधिको प्रदर्शनी, प्रविधिसम्बन्धी गतिविधि, कृषि तथा हस्तकलाका सामग्री, अटोमोबाइल प्रदर्शनी, विद्युतीय मेशिन, कृषि औजार लगायतको प्रदर्शनी हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार मेलामा बिक्री गरिने सामानमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । महोत्सवमा विद्यार्थी र ज्येष्ठ नागरिकलाई विशेष छुटको व्यवस्था गरिएको अध्यक्ष महतले जानकारी दिनुभयो ।

सातै प्रदेशमा निर्यात गृह खोल्न उद्योगमन्त्रीलाई चेम्बरको आग्रह

काठमाडौँ, ९ चैत : निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा स्थानीय उत्पादनको प्रवद्र्धन हुनेगरी निर्यात गृह खोल्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग आग्रह गरेको छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको टोलीले आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीलाई भेटेर स्थानीय उत्पादनको एकीकृत प्रवद्र्धन, बजारीकरण एवं गुणस्तर मापनपछि एकद्वार प्रणालीमार्फत निर्यात गर्न सातै प्रदेशमा निर्यात गृह खोल्न आग्रह गरेको हो । चेम्बरले विप्रेषणबाट भित्रिने रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी नीतिगत व्यवस्था गर्न पनि मन्त्री भण्डारीलाई आग्रह गरेको छ ।

विप्रेषणको झन्डै ९० प्रतिशत हिस्सा उपभोगमै खर्च भइरहेको सन्दर्भमा चेम्बरले अर्थतन्त्रको विस्तारमा योगदान गर्नेगरी उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण बनाउन माग गरेको छ । चेम्बरले अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेकाले संसद्मा विचाराधीन आर्थिक विधेयकलाई तत्काल पारित गर्नका लागि भूमिका खेल्न आग्रह गरेको छ ।

“सरकारले आगामी वैशाख तेस्रो साता अन्तरराष्ट्रिय लगानी सम्मेलनको तयारी गरिरहँदा विदेशी लगानीका लागि कतिपय ऐननियमहरु बाधक रहेकाले समयमै समस्या हल गर्नुपर्छ,” अध्यक्ष मल्लले भन्नुभयो । वर्तमान समयमा कालोबजार ऐन, २०३२ का कतिपय प्रावधान असान्दर्भिक भएकाले समयसापेक्ष सुधार गर्नुपर्ने उहाँको भनाइ छ ।

चेम्बरले स्थानीय स्रोतमा आधारित खनिजजन्य रत्नपत्थर, जडीबुटी एवं वनजन्य उद्योगमा आवश्यक कानुन बनाई निर्यात प्रवद्र्धन गरिनुपर्ने जनाएको छ । बजार अनुगमनका नाममा व्यवसायीलाई अनावश्यक दुःख नदिन चेम्बरले मन्त्रीसमक्ष आग्रह गरेको छ ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको भेटवार्तामा के भयो ?

काठमाडौँ, ९ चैत ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज उहाँहरूबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग समसामयिक विषयमा कुराकानी भएको सङ्क्षिप्त प्रतिक्रिया दिनुभयो ।

कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु

झापा, ९ चैत : कोशी प्रदेशमा क्षयरोगबाट मृत्यु हुनेको दर गत वर्षको तुलनामा बढेको छ । प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय धनकुटा कार्यालयका क्षयरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाईंले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा कोशीका १४ जिल्लामा ७९ जनाको क्षयरोगबाट मृत्यु भएको जानकारी दिनुभयो । कोशीमा एक हजार एक सय १४ उपचार केन्द्र, एक सय ३२ स्थानमा खकार परीक्षण गर्ने ल्याब, १९ जिन एक्सपर्ट मेसिन, चार क्षयरोग प्रतिरोधी उपचार केन्द्र र एउटा आवासीय गृह रहेको उहाँले बताउनुभयो ।

सरकारले प्रदेशभरिका क्षयरोगका बिरामीलाई प्रादेशिक अस्पताल भद्रपुर, ओखलढुङ्गा सामुदायिक अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरस्थित नेपाल क्षयरोग निवारण संस्थामार्फत निःशुल्क उपचार गर्दै आएको छ । चालु आर्थिक वर्षको ६ महिनामा दुई हजार २३ जनामा क्षयरोग देखिएको छ । जसमध्ये आफैँ स्वास्थ्य जाँच गराएर पत्ता लगाउने ३७ दशमल नौ प्रतिशत, निजी अस्पतालमा जाँच गर्दा ३९ दशमलव तीन प्रतिशत र सरकारी अस्पतालमा परीक्षण गर्दा क्षयरोग पत्ता लागेका १८ दशमलव चार प्रतिशत रहेका फोकल पर्सन गुरागार्इंले बताउनुभयो ।

कोशीका १४ जिल्लामध्ये सबैभन्दा बढी क्षयरोगी झापा, मोरङ र सुनसरीमा रहेका छन् । झापामा पाँच सय ७९, मोरङमा पाँच सय २३ र सुनसरीमा चार सय ७९ क्षयरोगी रहेका छन् । यस्तै उदयपुरमा एक सय ४५, इलाममा ८२, पाँचथरमा २२, तेह्रथुममा २१, धनकुटामा २३, भोजपुरमा २८, खोटाङमा १६, ओखलढुङ्गामा ५३, सोलुखम्बुमा १६, सङ्खुवासभामा २२ र ताप्लेजुङमा २३ क्षयरोगका बिरामी रहेका छन् ।

जिल्लास्थित स्वास्थ्य कार्यालय, पालिकामा रहेका स्वास्थ्य संस्थालगायतले स्वयम्सेवक नै खटाएर क्षयरोगीको पहिचान गरिरहेको फोकल पर्सन गुरागार्इंले बताउनुभयो । बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा कीटाणु निरोगी व्यक्तिको सम्पर्कमा आएमा रोग सर्ने जोखिम बढी हुन्छ । झापा, मोरङ र सुनसरीमा जनधनत्व बढी भएका कारण पनि क्षयरोगका बिरामी बढी भएको उहाँको भनाइ छ । सरकारले सन् २०३५ सम्ममा क्षयरोगबाट मुक्त गर्ने लक्ष्य लिएको छ ।

जातीय विभेद हटाउन संविधानको पूर्ण कार्यान्वयन जरूरी

कञ्चनपुर, ९ चैतः जातीयरुपमा गरिने विभेद हटन नसकेकामा शुक्लाफाँटा नगरपालिका–१० झलारीकी अनिता नेपाली निकै चिन्तित हुनुहुन्छ । तीन महिनादेखि उहाँले दलित समुदायको न्यायका लागि थालिएको रुपान्तरण अभियानको नेतृत्व गर्दै आउनुभएको छ । पुरातनवादी सोचका कारण समाजमा परिवर्तन आउन नसकेको उहाँको भनाइ छ ।

“चिन्तनमा परिवर्तन आउन आवश्यक छ”, उहाँले भन्नुभयो, “जबसम्म चिन्तनमा परिवर्तन आउँदैन, मानव समाजको कलङ्कका रुपमा रहेको जातीय विभेद र छुवाछूतको भावना हट्न सक्दैन ।” त्यसका लागि जागरण ल्याउनुपर्ने उहाँले बताउनुभयो ।

“दलित समुदायका व्यक्तिले मन्दिर बनाउँछन्, मन्दिरमा राखेर पूजा गर्ने मूर्ति निर्माण गर्छन, त्यही मन्दिरमा पूजाका लागि प्रवेश पाउँदैनन्”, उहाँले भन्नुभयो, “त्यतिमात्रै होइन दलित समुदायले सिउने कपडा, जुत्ता लगाउछन्, मन्दिरमा भजनकीर्तन गर्दा बजाइने वाद्ययन्त्र बनाउँछन्, मन्दिरमा बजाइन्छ, मन्दिरमा चढाइने घण्टलगायतका अन्य बाजा दलितले नै बनाउछन् तर पनि दलितलाई अर्कै दर्जाको व्यक्तिका रुपमा चित्रण गरी विभेद गरिन्छ ।”

सार्वजनिकस्थल र सहरी क्षेत्रमा जातीयरुपमा गरिने विभेदका घटनामा कमी आए पनि ग्रामीण क्षेत्रमा पुरातन सोच हाबी हुँदा छुवाछूतको भावना अझै पनि विद्यमान रहेको उहाँले उल्लेख गर्नुभयो । दलित समुदायका व्यक्तिलाई छोएमा छोइछिटो हाल्ने, घरको पानीको धारा छुन नदिनेलगायत गतिविधि हुँदै आएको दलित अधिकारकर्मी रामबहादुर चुनाराले बताउनुभयो ।

“दलित समुदायका व्यक्तिले उत्पादन गरेको दूध डेरीमा बिक्री गर्न लैजाँदा खरिद नै गरिँदैन”, उहाँले भन्नुभयो, “अनेकौँ बहाना गरी फर्काउने गरिन्छ, यो पनि विभेद नै नै हो ।” संस्कृति र सम्पत्तिका आधारमा जाती रुपमा विभेद हुने गरेको उहाँले बताउनुभयो । जबसम्म दलित समुदाय आर्थिकरुपमा सम्पन्न हुन सक्दैन तबसम्म विभेदको सामना गरिरहनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

समतामूलक सामाज निर्माणका लागि दलित आन्दोलनलाई उचाइमा पु¥याउन अगुवा अगाडि बढ्नुपर्ने आजको आवश्यक रहेको उहाँ बताउनुहुन्छ । लोकगायिका डिक्रादेवी वादी दलित समुदायभित्र पनि विभेद रहेको बताउनुहुन्छ । वादी समुदायलाई दलित समुदायभित्रै तल्लोस्तरका रुपमा हेरिने गरेको चर्चा गर्नुहुँदै उहाँले पानी नचल्ने गरेको बताउनुभयो । “आफैँभित्रका विभेद पहिला हटाऔँ”, उहाँले भन्नुभयो, “त्यसपछि समाजमा विद्यमान विभेद हटाउनका लागि लागौँ ।”

दलित समुदायको अधिकारका लागि लामो समयदेखि वकालत गर्दै आउनुभएका वेदकोट नगरपालिका राजुराम सार्की हिन्दू धार्मिक ग्रन्थमा जातीयरुपमा विभेद गर्न नहुने कुरा उल्लेख गरिएको बताउनुहुन्छ ।

जातीय विभेद मानवताविरुद्धको कलङ्कका रुपमा रहेकाले यसलाई जरैबाट उखेलेर फाल्नका लागि समाजको अगुवाई गर्ने व्यक्तिहरुले जनचेतनाको पक्षलाई सशक्तरुपमा अगाडि बढाउनुपर्ने उहाँ बताउनुहुन्छ ।

राजनीतिज्ञ गणेश विक समाजमा विद्यमान रहेका देउकी, झुमा र सतिलगायतका प्रथाको अन्त्य भए पनि दलित समुदायमाथिको छुवाछूतको प्रथा हटान नसक्नु चिन्ताको विषय भएको बताउनुहुन्छ ।

संविधानलाई अक्षरशः कार्यान्वयनमा ल्याउन सके जातीय विभेद हट्दै जाने उहाँको बुझाइ छ । “समाजमा सम्मानित तरिकाले बाँच्नका लागि शिक्षा आवश्यक छ”, उहाँले भन्नुभयो, “शिक्षामा दलित समुदायको पहुँच अभिवृद्धि गरिए जातीय विभेद हटाउन मद्दत पुग्छ ।”

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य गोविन्द विक दलित आन्दोलनकै प्रभावले संविधानमा दलित समुदायका हकअधिकारको ग्यारेन्टी गरिएको बताउनुहुन्छ । “दलित समुदायभित्रै विभेद नभई बाहुनभित्र पनि विभेद छ”, उहाँले भन्नुभयो, “घिउ खाने र घिउ पोल्ने बाहुनबीच मेल छैन, एकअर्काबीच विवाहवारी चल्दैन, भात पनि चल्दैन, त्यो पनि विभेद नै हो ।”

मनोवादी सोच संस्कृति र जातीय व्यवस्थाका लागि गरिने राजनीति छँदासम्म विभेद कायम रहने उहाँले बताउनुभयो । जातका रुपमा गरिने विभेद समाजका लागि अभिषापका रुपमा रहेको धारणा उहाँ व्यक्त गर्नुहुन्छ ।

“संविधानमै जातीयरुपमा विभेद गरिनु हुँदैन भनेको छ”, राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले भन्नुभयो, “विभेद र छुवाछूत गरे कानुनीरुपमा दण्डीत गर्ने प्रावधान छ, त्यही कुरा जातीय विभेद कसुर सजाय ऐन २०६८ मा पनि उल्लेख छ, सो कानुन व्यवहारिकरुपमा कार्यान्वयन नहुँदा जातीय विभेदका घटनाले प्रश्रय पाउँदै आएका छन् ।”

“दलित र गैरदलित समुदायका युवायुवतीले गर्ने अन्तरजातीय विवाह स्वीकार नहुने अवस्था छ”, दलित अगुवा ईश्वर सुनारले भन्नुभयो, “अन्तरजातीय विवाह गरेकै कारणले दलित समुदायले ज्यान गुमाउनुपर्ने अवस्था छ ।” जातीय विभेद कसुर सजाय ऐन, २०६८ जारी भएयता जातीय विभेदकै कारण २० जना बढी दलित समुदायका व्यक्तिले ज्याउन गुमाइसकेको उहाँका भनाइ छ । संविधानमा दलित समुदायका लागि आवास, भूमि, रोजगारीको ग्यारेन्टी गरिएको छ त्यसलाई उपलब्धिका रुपमा हेरिनुपर्ने उहाँले बताउनुभयो । दलित अधिकारलाई मौलिक हकका रुपमा राख्नु ठूलो उपलब्धि भएको उहाँले उल्लेख गर्नुभयो ।

नेपाल ट्रष्टको दियालो बङ्गला सञ्चालनको जिम्मा भरतपुर महानगरलाई, के छ दियालो बङ्गलामा ?

चितवन, ९ चैत : भरतपुर महानगरपालिका–१ मा रहेको दियालो बङ्गला सञ्चालन र व्यवस्थापनको जिम्मेवारी भरतपुर महानगरले लिएको छ । नेपाल ट्रष्ट र महानगरबीच आज एक सम्झौता गरी सञ्चालन र व्यवस्थापनको जिम्मा महानगरले लिएको हो ।

सम्झौतापत्रमा ट्रष्टका तर्फबाट सदस्यसचिव झलकराम अधिकारी र महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार महानगरले यही चैत ९ गतेदेखि विसं २०८२ असार मसान्तसम्म उक्त बङ्गाल सञ्चालन गर्नेछ ।

यो अवधिमा नेपाल ट्रष्टको भरतपुरस्थित दियालो बङ्गलाको भवन तथा परिसर संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै उपभोग महानगरले गर्ने, ट्रष्टको स्वामित्वमा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदा अवलोकन तथा सञ्चालन कार्यविधि, २०८० को अधीनमा रही सञ्चालन गर्नुपर्ने सम्झौतामा उल्लेख छ । यसैगरी, महानगरले यसलाई निरन्तरता दिने भए सम्झौता समाप्त हुनुअघि नै नवीकरणका लागि ट्रष्टलाई अनुरोध गर्नुपर्ने र सम्झौता नवीकरण गर्ने/नगर्ने निर्णय एक महिनाभित्र गरिने सम्झौतापत्रमा उल्लेख छ ।

महानगरले सञ्चालन तथा व्यवस्थापन अन्त्य गर्न चाहेमा कम्तीमा एक महिनाअघि जानकारी गराउनुपर्ने सम्झौतामा उल्लेख छ ।भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रशेन अधिकारीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । हस्ताक्षर कार्यक्रममा महानगर प्रमुख दाहालले महानगरले ऐतिहासिकस्थलको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । औपचारिक रुपमा प्रयास गरेको तीन महिनामा जिम्मेवारी स्थानीय तहमा आएको उहाँले बताउनुभयो ।

सङ्घीय र स्थानीय सरकारबीचको समझदारीमा बङ्गला सञ्चालनको जिम्मेवारी महानगरमा आएको बताउँदै प्रमुख दाहालले यसले भरतपुर भ्रमण गर्न आउने पर्यटकका लागि नयाँ गन्तव्य थपिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो स्थल पर्यटकका लागि आकर्षणको केन्द्र बन्नेछ ।” ऐतिहासिकस्थलको अध्ययन केन्द्रका रुपमा यसको विकास हुने उहाँको भनाइ थियो ।

यसलाई महानगरले नमूना र उदाहरणीय समझदारी परियोजनाका रुपमा अघि बढाउने दाहालले बताउनुभयो । भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई लक्षित गरी दियालो बङ्गला आगामी वैशाख महिनाभित्रै सर्वसाधारणका लागि खुल्ला गर्ने गरी काम गरिने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मर्मतसम्भारका लागि रू ९२ लाखमा दिदीबहिनी निर्माण सेवाले ठेक्का सम्झौता गरेको छ ।

उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर भ्रमण वर्षसँगै सञ्चालनमा ल्याउन लागिएको उक्त बङ्गला सञ्चालनको जिम्मेवारी महानगरले पाएसँगै पर्यटकका लागि नयाँ गन्तव्य थपिएको बताउनुभयो । नारायणी नदी किनार र देवघाटधाम नजिकै रहेको यस क्षेत्रमा पहिला राजपरिवार, सुरक्षा निकाय र केही कर्मचारीले मात्रै प्रवेश गर्न पाउने भए पनि अब छिट्टै सर्वसाधारणका लागि खुल्ला गरिने उहाँले बताउनुभयो ।

विसं २०२८ सालमा राजा महेन्द्रको निधन यही भएकाले पनि यस क्षेत्रको महत्व रहेको उपप्रमुख अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “ऐतिहासिकस्थलका रुपमा रहेको यस ठाउँलाई संरक्षण र संवर्द्धन गर्दै यसका बारेमा जानकारी गराउने अवसर महानगरले पाएको छ ।”

नेपाल ट्रष्टका सदस्यसचिव अधिकारीले ट्रष्ट सञ्चालक समितिको ८२औँ बैठकको निर्णयअनुसार संरक्षण, संवर्द्धन र प्रवर्द्धनको जिम्मेवारी महानगरलाई दिइएको बताउनुभयो । ट्रष्टका तर्फबाट पहिलोपटक जिम्मेवारी स्थानीय सरकारलाई दिइएको उहाँको भनाइ छ ।

ट्रष्टका ऐतिहासिकस्थलहरु संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि दिइँदै जाने भन्दै पोखराको रत्न मन्दिर र मकवानपुरको कान्ति गृह स्थानीय सरकारलाई जिम्मेवारी दिने गरी प्रक्रिया अघि बढिरहेको सदस्यसचिव अधिकारीले जानकारी दिनुभयो ।

ट्रष्टले पूर्वराजा र राजपरिवारका नाममा रहेको २२ हजार रोपनीभन्दा बढी सम्पत्ति संरक्षण गरेको सो अवसरमा जानकारी दिइएको थियो । उहाँले भन्नुभयो, “आपसी सहमतिका आधारमा हस्तान्तरण गरेका हाँै । यो प्रक्रिया दुई सरकारबीचको सहकार्य मात्रै हो ।” संरक्षण गर्दै जाँदा क्रमशः ऐतिहासिकस्थलहरु स्थानीयका लागि खुल्ला गर्दै जाने योजनामा ट्रष्ट रहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना र ट्रष्ट सञ्चालक समिति सदस्य सुनिताकुमारी गौतमले दियालो बङ्गलाको ऐतिहासिक महत्वका बारेमा आ–आफ्नो भनाइ राख्नुभएको थियो ।

के छ दियालो बङ्गलामा ?

बङ्गला (दरबार) भित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा पूर्वराजारानी महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ । भ¥याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको स्ताको तस्तै अवस्थामा राखिएको छ ।

दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । १ नं खोपी मुमा रत्नराज्यको हो भने २ नं राजा र ३ नं रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा शौचालयसँगै छन् । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छन् ।

दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वाटर छ । केही पर सवारीसाधन राख्नका लागि ग्यारेज छ । त्यसको छेउमा रहेको पौडी पोखरीमा अहिले पानी छैन । कपडा फेर्नका लागि बनाइएको आडैको घरमा ट्रष्टको इकाइ चलेको छ ।

ऐतिहासिक सुन्दर ठाउँ भएर पनि यो सर्वसाधारणको पहुँचभन्दा बाहिर थियो । ५७ बिघा १३ कट्ठा सात धुरमा फैलिएको यो ठाउँ शान्त र रमणीय पनि छ । बङ्गलाको पश्चिमतर्फ नारायणी नदीले पनि दरबारक्षेत्रको सौन्दर्य बढाएको छ ।

कक्षा ४ र ६ को प्रश्नपत्र एउटै !

पथरी (मोरङ), ९ चैत्र : मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरमा सञ्चालन भएको कक्षा ६ को परीक्षा रद्द गरेको छ । कक्षा ४ र ६ को प्रश्नपत्र एउटै भएकाले परीक्षा रद्द गरेको नगरपालिकाले जनाएको छ । नगरभित्रका २८ सामुदायिक विद्यालयले सामूहिक परीक्षा गराउँदै आएका थिए ।

कक्षा ६ को स्वास्थ्य शारीरिक तथा सिर्जनात्मक कला विषयको प्रश्नपत्र कक्षा ४ को रहेको थियो । बिहान कक्षा ४ को परीक्षा भएको र सोही प्रश्नपत्र कक्षा ६ मा पनि दोहोरिएको विद्यार्थीको भनाइ छ । परीक्षार्थीलाई प्रश्नपत्र वितरण गरेपछि विषयसूची भन्दा बाहिरको भएपछि प्रश्नपत्र फिर्ता गरिएको विद्यार्थीको भनाइ छ ।

रद्द भएको परीक्षा यही चैत १० गते शनिबार हुने नगर शिक्षा शाखा अधिकृत नवीन खुलाल बुढाथोकीले बताउनुभयो । उहाँले कक्षा ५ र ८ को परीक्षा नगरपालिकाले सञ्चालन गरे पनि अन्य कक्षाको परीक्षा समितिले गरेको बताउनुभयो । उहाँले भन्नुभयो “प्रश्नपत्र त्रुटि भएको विषयमा समितिलाई राय पेस गर्न भनेका छौँ । ” तयार भएको प्रश्नपत्र छपाइमा प्राविधिक त्रुटि भएको समितिका सदस्य नरेन्द्र घिसिङले बताउनुभयो ।

जलवायु परिवर्तनका कारण आल्प्सको पर्यावरणीय अवस्थामा असर

जलवायु परिवर्तनका कारण मध्य युरोपमा रहेको हिम शृङ्खला आल्प्समा हिउँको सतह घट्नु र वनस्पतिको ढाँचामा आएको परिवर्तनले उच्च पर्वतीय क्षेत्रको जैविक विविधता र पर्यावरणीय अवस्थामा चिन्ताजनक प्रभाव पारिरहेको एक नयाँ अध्ययनले देखाएको छ ।

पृथ्वीको विस्तृत भागलाई ढाक्ने पर्वत शृङ्खलाहरू छेउछाउका तराई क्षेत्रहरूको तुलनामा छिटो तातो हुँदै गएका छन् । फलस्वरूप हिउँको आवरणमा भारी कमी आएको छ र क्रमिकरूपमा पृथ्वीको तल्लो सतहमा पाइने सदाबहार होचा वनस्पतिहरू माथिल्लो सतहमा भेटिन थालेका छन् ।

म्यानचेस्टर विश्वविद्यालयका वैज्ञानिकले वनस्पतिमा देखिएको परिवर्तनबाट के निष्कर्ष निकालेका छन् भने बोटबिरुवा र माटोका सूक्ष्मजीवहरूबाट प्रदर्शन गरिएको महत्त्वपूर्ण अल्पाइन पारिस्थितिकीय कार्यहरूले अल्पाइन पर्यावरणीय प्रणालीलाई प्रभावित गरिरहेको छ ।

‘ग्लोबल चेन्ज बायोलोजी’ नामक जर्नलमा शुक्रबार प्रकाशित अनुसन्धानले उच्च पर्वतीय पारिस्थितिक प्रणालीले बोटबिरुवाको वृद्धिलाई कायम राख्न र जैविक विविधता कायम राख्न आवश्यक महत्वपूर्ण पोषक तत्वहरू संरक्षण गर्न कम सक्षम हुन सक्ने देखाएको छ ।

अनुसन्धानका प्रतिवेदनका प्रमुख लेखक आर्थर ब्रोडबेन्टले भन्नुभयो, “हाम्रो शोधपत्रले मौसमी पारिस्थितिक प्रणालीमा बोटबिरुवाको समय र माटोको विधि कति महत्त्वपूर्ण छ भन्ने देखाएको छ ।”

मानिसहरू बोटबिरुवाको फूल फुल्ने र माटोको प्रक्रियाबीचको बेमेलसँग परिचित हुन सक्छन् जसले आकर्षक मौसमी गतिशीलता देखाउँदछ र यी प्रक्रियाहरूको समयमा पनि जलवायु परिवर्तनले बाधा पु¥याउन सक्छ । अग्ला पहाडहरू कोइलाखानीको ‘क्यानरी’ जस्तै छन् किनभने तिनीहरू विश्वव्यापीरूपमा औसतभन्दा धेरै छिटो तातो भइरहेका छन् । यसले हाम्रो निष्कर्षलाई थप चिन्ताजनक बनाउँछ ।

प्रत्येक वर्ष, पर्वतीय पारिस्थितिक प्रणालीमा आएको मौसमी परिवर्तनले अल्पाइन माटोमा बोटबिरुवा र सुक्ष्मजीवका समुदायहरूबीच पोषक तत्वहरूको ठूलो परिवर्तनलाई सङ्केत गर्छ ।

वसन्त ऋतुमा हिउँ पग्लेपछि, बोटबिरुवाहरू बढ्न थाल्छन् र पोषक तत्वहरूको लागि माटोमा पाइने सूक्ष्मजीवसँग सङ्घर्ष गर्न थाल्छन्, जसले गर्दा माटोबाट बोटबिरुवाहरूमा पोषक तत्वहरूको भण्डारणमा परिवर्तन हुन्छ । यो स्थानान्तरण शरद ऋतुमा उल्टो हुन्छ, यो समयमा बिरुवा फेरि मर्छन् र पोषक तत्व, मृत पातहरू र जराहरू पुनः माटोमा परिवर्तन हुन्छन् ।

जाडोको समयमा अल्पाइन क्षेत्रमा हिउँले ढकमक्क माटोलाई ढाकिदिन्छ जसले माटोका सूक्ष्म जीवाणुहरूलाई काम गर्न र उनीहरूको बायोमासमा पोषक तत्वहरू भण्डारण गर्न दिन्छ र बिरुवाहरूलाई चिसो अल्पाइन जाडोमा बाँच्न सम्भव बनाउँछ ।

जलवायु परिवर्तनले युरोपेली आल्प्सका केही भागहरूमा शताब्दीको अन्त्यसम्ममा ८०–९० प्रतिशत हिउँको आवरण घटाउने र हिउँ पग्लने समयलाई पाँचदेखि १० हप्तासम्म अगाडि बढाउने अनुमान गरिएको छ ।

युनिभर्सिटी अफ इन्सब्रुकका प्राध्यापक माइकल बानले भन्नुभयो, “हिउँदमा हिउँको सतह घट्नु आल्प्समा जलवायु परिवर्तनको सबैभन्दा स्पष्ट प्रभाव हो ।” वैज्ञानिकहरूका लागि पारिस्थितिकीय प्रणालीले जलवायु परिवर्तनको प्रभावलाई कसरी प्रतिक्रिया दिन्छ भन्ने कुरा बुझ्नु एउटा ठूलो चुनौती हो ।

हिउँ आवरण परिवर्तन वा हिमाली क्षेत्रमा पाइने होचा झाडी विस्तारजस्ता कार्यबीचको अन्तरक्रियाले प्रत्यक्ष र अप्रत्यक्ष जलवायु परिवर्तन कारकहरू पारिस्थितिक तन्त्रको कार्यप्रणालीमा अचानक र अनपेक्षित परिवर्तनहरू निम्त्याउन सक्छ । म्यानचेस्टर विश्वविद्यालय,इन्सब्रुक विश्वविद्यालय, हेल्महोल्ट्ज जेन्ट्रम मुनचेन र इकोलोजी र हाइड्रोलोजी केन्द्रको सहयोगमा गरिएको यो अध्ययनको निष्कर्षहरूले मौसमी स्थानान्तरण, बोटबिरुवा र माटोका जीवाणुहरूबीच पोषक तत्वहरूको अवधारणमा जलवायु परिवर्तनको हानिकारक प्रभावलाई उजागर गरेको छ ।

युनिभर्सिटी अफ म्यानचेस्टरको डिपार्टमेन्ट अफ अर्थ एन्ड इन्भाइरोमेन्टल साइन्सेजका प्रिन्सिपल इन्भेस्टिगेटर तथा इकोलोजीका प्राध्यापक रिचार्ड बर्डगेटले भन्नुभयो, “हाम्रो कामले जलवायु परिवर्तनका विभिन्न पक्षहरूको संयोजनले बोटबिरुवाको वृद्धिलाई आधार दिने जमिनमुनिको पारिस्थितिकीय प्रक्रियालाई कसरी गम्भीर रूपमा अवरोध गर्न सक्छ भन्ने देखाउँछ ।” यी प्रभावहरूलाई भिन्न राखेर जलवायु परिवर्तन कारकहरूको अध्ययन र भविष्यवाणी गर्न असम्भव छ ।

राष्ट्रसङ्घद्वारा सिरिया सङ्कटका लागि चार अर्ब डलर सहयोगको आह्वान

संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले शुक्रबार सिरियाका लागि करिब चार अर्ब डलरको मानवीय सहयोगको अपिल गर्नुभएको छ । उहाँले कोष करिब अस्तित्वमा नभएको भन्दै सहयोगको कमीले थप सिरियालीहरूको पलायनलाई प्रेरित गर्ने चेतावनी दिनुभयो ।

तेर्ह वर्षअघि सरकारविरोधी प्रदर्शनको दमनका साथ सुरु भएको सिरिया युद्धबाट पाँच लाख सात हजारभन्दा बढीको मृत्यु भएको छ, लाखौँ मानिस विस्थापित भएका छन् र मुलुकको अर्थतन्त्र, पूर्वाधार उद्योग तहसनहस भएको छ ।

“सन् २०२४ मा हामीले सहायताको आवश्यकता भएका एक करोड ६७ लाख सिरियाली नागरिकमध्ये एक करोड आठ लाखको जीवन बचाउन सहयोग प्रदान गर्नका लागि चार अर्ब सात करोड डलरको अपिल गर्दैछौँ”, सिरियाका लागि संयुक्त राष्ट्रसङ्घका निवासी एवं मानवीय समन्वयक एडम अब्देलमौलाले भन्नुभयो, “मुलुकभरमा कम्तीमा एक करोड २९ लाख मानिस खाद्य असुरक्षामा छन् ।”

मार्च १ मा यस वर्षको मानवीय प्रतिक्रिया योजना आवश्यकताहरूको ‘केवल शून्य दशमलव ०२ प्रतिशत’ कोषको व्यवस्था गरिएको भन्दै उहाँले यसको अर्थ ‘जीवन बचाउने कार्यक्रम र सेवाहरू’ मा कटौती गरिएको वा कम गर्दै गइरहेको छ भन्नुभयो ।

निष्क्रियताले कम्तीमा २५ लाख बालबालिकाले विद्यालयमा फर्कने अवसर गुमाउने छन् भन्दै अब्देलमौलाले प्रजनन उमेरका करिब २३ लाख महिलाले ‘महत्त्वपूर्ण प्रजनन र मातृ स्वास्थ्य सेवामा पहुँच गुमाउन सक्ने’ बताउनुभयो ।

उहाँका अनुसार गाजा क्षेत्रमा प्यालेस्टिनी लडाकू समूह हमाससँग इजराइलको युद्धका कारण वैश्विक ढुवानी अवरोधले सिरियामा वस्तुको मूल्यमा वृद्धि र मुलुकमा लक्ष्यहरूविरुद्ध इजराइली हवाई आक्रमणमा ‘उल्लेखनीय वृद्धि’ भएको छ ।

सन् २०११ मा गृहयुद्ध सुरु भएदेखि नै इजराइलले सिरियामा सयौँ हवाई आक्रमण गरेको छ । यसमा हिजबुल्लाहसहित इरान समर्थित बलहरूका साथै सिरियाली सेनाका स्थानहरूमा पनि निशाना बनाइएको छ । यद्यपि अक्टोबर ७ मा हिजबुल्लाहको सहयोगी हमाससँग इजराइलको युद्ध सुरु भएपछि आक्रमण बढेको छ ।

“सिरियामा विमानस्थालहरूमा निशाना बनाउँदा मानवीय हवाई सेवाहरूमा पनि असर परेको छ, गत वर्ष हामीले ४९ वटा मानवीय उडानहरू रद्द गर्नुपर्यो”, अब्देलमौलाले भन्नुभयो । उहाँले सिरिया सङ्कटलाई बेवास्ता गर्दा ‘आतङ्कवादको पुनरुत्थान’ र ‘शरणर्थी फिर्तीका लागि अनुकूल परिस्थिति सिर्जना नगर्दा’ लेबनान र जोर्डनजस्ता छिमेकी मुलुकलाई थप अस्थिर बनाउने जस्ता ‘विनाशकारी’ परिणामको सम्भावनाबारे चेतावनी दिनुभयो ।

उहाँले युरोपमा बसाइँ सर्ने सम्भावनाको वृद्धिबारे पनि चेतावनी दिनुभयो । उहाँका अनुसार सन् २०२३ मा अघिल्लो वर्षको तुलनामा सिरियाबाट शरणका लागि दिइएको निवेदनमा ‘३८ प्रतिशतले’ वृद्धि भएको छ ।

नेपालमा लगानी गर्न विदेशी व्यवसायीलाई मन्त्री भण्डारीको आग्रह

काठमाडौँ, ९ चैत : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले लगानीमैत्री वातावरण बनाउन उच्च प्राथमिकता दिएको बताउनुभएको छ । न्यूज बिजनेस एज प्रालिद्वारा आज यहाँ आयोजित आठौँ संस्करणको ‘न्यूबिज बिजनेस कनक्लेभ एण्ड अवार्ड’ वितरण कार्यक्रममा उहाँले लगानीमैत्री वातावरण बनाउन द्रूतगतिमा आवश्यक कानुन संशोधनको तयारीमा सरकार जुटेको छ भन्नुभयो ।

आगामी वैशाख १५ र १६ गते सरकारले लगानी सम्मेलनको आयोजना गर्न लागेको जानकारी गराउँदै मन्त्री भण्डारीले नेपालमा लगानी गर्न स्वदेशी तथा विदेशी व्यवसायीलाई आग्रह गर्नुभयो । साना तथा मझौला उद्योगको प्रवर्द्धनमा सरकार अग्रसर भइरहेको जनाउँदै उहाँले रुग्ण अवस्थामा पुगेका उद्योग सञ्चालनका लागि अध्ययन गरिने बताउनुभयो ।

‘कठिन समयमा व्यापार अवसर’ विषय कार्यक्रममा उहाँले छिट्टै सरकारले वाणिज्य नीति समयानुकूल परिमार्जन गर्ने जानकारी दिनुभयो । उद्योगी तथा व्यवसायीका समस्या समाधानका लागि सरकार संवेदनशील रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले निजी क्षेत्र समृद्ध नभएसम्म देशको अर्थतन्त्र माथि उठ्न सक्दैन भन्नुभयो ।

कार्यक्रममा भारतको उद्योग वाणिज्य महासङ्घका वरिष्ठ सल्लाहकार मानव मजुमदार, युनिलिभरका प्रबन्ध निर्देशक अमलान मुखर्जी, निम्बुस होल्डिङ प्रालिका प्रबन्ध निर्देशक आनन्द बगरिया र भाइनेट कम्युनिकेशनका प्रमुख कार्यकारी अधिकृत सेवा पाठकले कठिन समयमा व्यापार अवसर विषयमा आ आफ्नो धारणा राख्नुभएको थियो ।

इलाम–२ उपनिर्वाचनमा उम्मेदवार बन्नेको लर्को, स्वतन्त्र उम्मेदवार घोषणाको लहर

फिक्कल (इलाम), ९ चैत : आउँदो वैशाख १५ गते हुन लागिरहेको इलाम क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि चुनावी चहलपहल बढेको छ । उपनिर्वाचनमा उम्मेदवार बन्नेको लर्को लागेको छ । उम्मेदवार टुङ्गो लागेका स्वतन्त्रहरू जनताको घर पुग्न थालेका छन् भने उम्मेदवार टुङ्गिन बाँकी राजनीतिक दलका नेताहरूसमेत निर्वाचन क्षेत्र केन्द्रित हुन थालेका छन् ।

स्वतन्त्र उम्मेदवारहरू औपचारिक चुनावी अभियान सुरुआत गरी जनताको घर–घर पुग्न थालेका हुन् । दलका नेताहरू भने टिकट प्राप्त गर्नका लागि लबिङ गरिरहेका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम, मिलन लिम्बू र अर्जुनविक्रम शाहीले यसअघि काठमाडौँमा पत्रकार सम्मेलन गरी स्वतन्त्र उम्मेदवार घोषणा गर्दै चुनावी अभियानमा होमिएका छन् ।

पहिचानको प्रमुख मुद्दा बोकेर निर्वाचनमा होमिनुभएका थेगिम प्रदेश नामाङ्कनको विषयलाई लिएर कोशीमा आन्दोलनरत ‘प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’को तर्फबाट साझा उम्मेदवार खडा हुनुभएको छ । उहाँलाई पहिचान पक्षधर पार्टीहरु राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नागरिक उन्मुक्ति पार्टी, जातीय संस्थाहरू किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खालगायत किरात धर्मगुरु आत्मानन्द लिङदेनको समर्थन छ ।

त्यस्तै युवाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउने मुख्य मुद्दासहित पत्रकार लिम्बू चुनावी मैदानमा होमिनुभएको छ । उहाँ नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का महसचिव र दृष्टि न्यूज डटकमका सम्पादक हुनुहुन्छ । उता युवाकै मुद्दा लिएर इलाम आउनुभएका पाहुना उम्मेदवार शाहीसमेत भेटघाटमा व्यस्त हुनुहुन्छ ।

यस्तै ‘किरात लिम्बूवान प्रदेश नामाङ्कन अभियान’का केन्द्रीय अध्यक्ष प्रेमदीप लिम्बू स्वतन्त्र उम्मेदवारी घोषणा गरी चुनावी अभियान थाल्नुभएको छ । शुक्रबार इलाम सदरमुकाममा पत्रकार सम्मेलन गरी अभियानका अध्यक्ष लिम्बूले पहिचानवादी स्वतन्त्र उम्मेदारी घोषणा गर्नुभएको हो । उहाँले पहिचानको आन्दोलनलाई सार्थक रुप दिन तथा कोशी प्रदेशको नाम परिवर्तन गरी ‘किरात लिम्बूवान’ बनाउन केन्द्रीय तहदेखि नै पहल गर्न उम्मेदवारी रहेको बताउनुभयो । उहाँले इलाम–२ को विकास निर्माणलाई गति दिनसमेत आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

उता जिल्लाका कुनै पनि राजनीतिक दलहरूले अहिलेसम्म उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् । उम्मेदवार चयनमा सर्वसम्मत हुन नसकेपछि नेपाली कांग्रेसले सात, नेकपा (एमाले)ले छ र जनता समाजवादी पार्टीले तीनजना आकाङ्क्षीको नाम केन्द्रीय समितिमा सिफारिस गरी पठाएका छन् । सिफारिसमा परेका सबै नेताहरू आफूले टिकट पाउने विश्वस्त हुँदै निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् ।

कांग्रेसले महासमिति सदस्य भेषराज आचार्य, पूर्वराज्यमन्त्री केशव थापा, जिल्ला सभापति डम्बरबहादुर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल, नेता रमेश लिङ्देन, पूर्व जिल्ला उपसभापति शान्तिकला तामाङ (राई) र महासमिति सदस्य चन्द्रमाया लिम्बूको नाम केन्द्रमा सिफारिस गरी पठाएको छ । तर केन्द्रले नाम टुङ्गो लगाउन बाँकी रहेको सभापति खड्काले जानकारी दिनुभयो । खड्का गत वर्षको निर्वाचनमा एमाले नेता एवं संविधानसभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङसँग एक सय १४ मतले मात्र पराजित हुनुभएको थियो ।

एमालेले पनि स्वर्गीय नेम्वाङपुत्र सुहाङ नेम्वाङसहित छ जनाको नाम यसअघि नै केन्द्रीय समितिमा पठाइसकेको छ । तर, उम्मेदवार टुङ्गो लगाउन सकेको छैन । एमालेले नेम्वाङसहित उपसचिव रवीन्द्र सुवेदी, जिल्ला सदस्य डा देवीक्षेत्री दुलाल, इलाम–२ क्षेत्रीय अध्यक्ष बुद्धिप्रसाद खनाल, नेता नरेन्द्रनाथ भट्टराई र पार्टी कोशी प्रदेश सदस्य रिपल राईको नाम सिफारिस गरी पठाइएको जिल्ला सचिव उमेश गुरुङले जानकारी दिनुभयो ।

जनता समाजवादी पार्टीले केन्द्रीय सल्लाहकार डा महेन्द्र लावती, केन्द्रीय सदस्य लोकसागर साम्बा र जिल्ला उपाध्यक्ष यामप्रसाद लिम्बूको नाम पठाए पनि टुङ्गो लाग्न सकेको छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी चयनका लागि प्रारम्भिक निर्वाचन गरी उम्मेदवार छनोट गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । रास्वपाले उपनिर्वाचनमा उम्मेदवार बन्न प्रारम्भिक निर्वाचनका लागि १४ गते दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता, साँझ ८ बजेसम्म प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन, १५ गते दिउँसो १ बजेसम्म प्रारम्भिक उम्मेदवारउपर दाबीविरोध, साँझ ५ बजेसम्म उम्मेदवारहरूसँग छलफल, साँझ ८ बजे अन्तिम उम्मेदवार नामावली प्रकाशन, १६ गते साँझ ७ बजेसम्म मतदान र निर्णय गरी १७ गते दिउँसो १ बजे नतिजा प्रकाशन गरी उम्मेदवार सार्वजनिक गर्नेछ । रास्वपाको उम्मेदवार सार्वजनिक गर्न गृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने इलाम आउने कार्यक्रम रहेको रास्वपा इलामले जनाएको छ ।

उता नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य साना दलहरूले उम्मेदवार सिफारिस नै गरेका छैनन् । एकीकृत समाजवादीका तर्फबाट सम्मानित नेता झलनाथ खनालले इलाम–२ मा उम्मेदवार बन्ने चर्चा रहे पनि आधिकारिक निर्णय नभएको समाजवादी इलाम अध्यक्ष भक्त केसीले बताउनुभयो ।

इलाम–२ मा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । विसं २०७९ को निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि आयोगले चैत २४ गते उम्मेदवारी दर्ताको मिति तोकेको छ । उपनिर्वाचनका लागि इलाममा २० वटा राजनीतिक दलले दल दर्ता गराएका छन् ।

नयाँ सत्ता समीकरणले एमालेलाई सहज

गत वर्षको निर्वाचनमा पार्टीले पाएको समानुपातिक मत विश्लेषण गर्दा यसपटकको इलाम–२ उपनिर्वाचनमा जितका लागि नयाँ सत्ता समीकरणले एमालेलाई सहज भएको छ । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा सदर मतमध्ये सबैभन्दा धेरै नेकपा (एमाले)ले २६ हजार पाँच सय ६२ मत पाएको थियो । त्यसपछि नेपाली कांग्रेसले २२ हजार तीन सय ३३, माओवादी केन्द्रले पाँच हजार एक सय ५३, राष्ट्रिय स्वतन्त्र पार्टीले चार हजार छ सय ६८, मङ्गोल नेशनल अर्गनाइजेशनले एक हजार छ सय ६१, राष्ट्रिय जनमुक्ति पार्टीले एक हजार चार सय १३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक हजार तीन सय २९, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार एक सय ९१ र जनता समाजवादी पार्टीले नौ सय छ मत प्राप्त गरेको थियो । अन्य साना पार्टीहरूले नौ सय मत कटाएनन् ।

निर्वाचनमा माओवादी केन्द्रले समर्थनमा कांग्रेसका उम्मेदवार खड्का एमालेका उम्मेदवार स्वर्गीय नेम्वाङसँग एक सय चार मतले मात्र पराजित हुनुभएको थियो । नेम्वाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार नौ सय छ मत पाउनुभएको थियो । नयाँ सत्ता समीकरणसँगै यसपटक माओवादीको मत एमालेले पाउने भएपछि जितमा सहज हुने एमालेको विश्वास छ । तर कोशी प्रदेश नामकरणसहित एमालेलाई पहिचान विरोधीको ट्याग लागेको छ । पछिल्लो समय उदाएका नयाँ पार्टी, पहिचानको आन्दोलन तथा उनीहरुको साझा उम्मेदवार र अन्य स्वतन्त्र उम्मेदवारका कारण एमालेलाई पनि यो निर्वाचन जित्न त्यति सहज भने छैन ।

गत वर्षको निर्वाचनमा इलाम–२ को मतदाता एक लाख १५ हजार तीन सय ४२ रहेकामा ६९ हजार चार सय ८१ मत खसेको थियो । खसेको मतमध्ये ६६ हजार आठ सय ८५ मत सदर र दुई हजार पाच सय ९६ मत बदर भएको थियो ।

सरकार सबै नेपालीलाई शुद्ध खानेपानी उपलब्ध गराउन प्रतिबद्ध छ – मन्त्री राई

राँझा (बाँके), ९ चैत ः खानेपानीमन्त्री राजेन्द्रकुमार राईले सरकार सबै नेपालीलाई शुद्ध खानेपानी उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेको जिल्ला कमिटी बैठकलाई आज नेपालगञ्जमा सम्बोधन गर्नुहुँदै उहाँले विगतमा अलपत्र परेका खानेपानी योजनालाई सम्पन्न गरेर जनताको घरघरमा खानेपानी पुर्याउने योजनाका साथ आफू अगाडि बढेको उल्लेख गर्नुभयो ।

“विगतमा योजना धेरै बनेका छन् तर सम्पन्न हुनसकेका छैनन्, त्यस्ता योजनालाई सम्पन्न गर्न मैले चासो दिएको छु”, मन्त्री राईले भन्नुभयो, “जनतालाई पर्याप्तरूपमा खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध भएर लागेको छ ।”

मन्त्री राईले पानी व्यक्ति–व्यक्तिको खुसी र समृद्धिसँग जोडिएको बताउँदै जनतालाई पर्याप्त पानी पुर्याउन स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर काम गरिने उल्लेख गर्नुभयो । उहाँले पानी गुणस्तरीय, पर्याप्त र पहुँचयोग्य हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा बाँकेमा अलपत्र परेका खानेपानी आयोजनालाई बेलैमा सम्पन्न गरी नेपालगञ्ज, कोहलपुर सहरलगायतका ग्रामीण क्षेत्रमा पर्याप्त खानेपानीको पहुँचका लागि मन्त्री राईको ध्यानाकर्षण गरिएको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।

यसैबीच एमाले बाँकेको नवौँ जिल्ला अधिवेशन आगामी २०८१ जेठ २ र ३ गते नेपालगञ्जमा हुने भएको छ । जिल्ला कमिटीको बिहीबार बसेको बैठकले अधिवेशन मिति तय गरेको अध्यक्ष कक्षपतिले बताउनुभयो ।

विद्यालय शिक्षा विधेयकमाथि संशोधनकर्तासँग छलफल

काठमाडौँ, ९ चैत ः विद्यालय शिक्षा विधेयक, २०८० लाई संशोधन गर्दा शिक्षक–कर्मचारीसँग भएका सहमतिको पालनाका साथै गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न सांसदहरूले माग गर्नुभएको छ ।

प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विधेयका संशोधनकर्ता सांसदहरूले धेरै थरिका शिक्षक कायम गरी उनीहरूलाई निजामती सेवासरह सुविधा दिन आग्रह गर्नुभएको छ ।

बैठकमा संशोधनकर्ता सांसद दीलेन्द्रप्रसाद बडू, शेरबहादुर केसी, चित्रबहादुर केसी, सूर्यमान दोङ, मुक्ताकुमारी यादव, राजेन्द्रप्रसाद पाण्डेलगायतले लामो समयको अन्तरालपछि शिक्षा विधेयक आएकाले यसलाई अधिकतम्रूपमा कामयाबी बनाउन सुझाव दिनुभयो ।समितिको सभापितमा अमरबहादुर थापाको चयन र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा सुमना श्रेष्ठको नियुक्तिपछि विधेयकमाथि पहिलोपटक छलफल भएको हो ।

प्रधानमन्त्रीलाई ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षणबारे जानकारी

काठमाडौँ, ९ चैत : यातायात व्यवस्था विभागको ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षण (टेक्निकल अडिट) बारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जानकारी गराइएको छ । प्रधानमन्त्री कार्यालयको संयोजकत्वमा सूचना प्रविधि विभागले गठन गरेको प्राविधिक परीक्षण समितिले आज प्रधानमन्त्रीलाई भेटगरेर ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षण प्रतिवेदन बुझाउँदै विभागको प्राविधिक अवस्थाबारे जानकारी गराएको हो ।

प्रतिवेदनमा तत्काल गर्नुपर्ने सुधार र दीर्घकालीनरूपमा गर्नुपर्ने प्राविधिक सुधारका विषयमा सुझाव दिइएको छ । प्रतिवेदन बुझेसँगै प्रधानमन्त्री दाहालले प्राप्त प्रतिवेदन अध्ययन गरेर कार्यान्वयनमा लैजाने उल्लेख गर्दै प्रणालीमा देखिएका समस्या समाधान गरी जनतालाई सहज सेवा उपलब्ध गराउन निर्देशन दिनुभयो ।

यातायात व्यवस्था कार्यालयबाट सञ्चालित सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रियामा ठूलो सङ्ख्यामा नक्कली लाइसेन्स जारी भएको घटनामा त्यहाँ प्रयोगमा रहेको प्राविधिक प्रणालीमा देखिएको समस्या रहेको उल्लेख गरिएको सन्दर्भमा मन्त्रिपरिषद् कार्यालयको समन्वयमा सूचना प्रविधि विभागद्वारा सो प्राविधिक प्रणालीको परीक्षण सम्पन्न गरिएको हो ।

सरकारले ‘मेक इन नेपाल, मेड इन नेपाल’को अवधारणालाई कार्यान्वयनमा ल्याउन २० प्रतिशत महँगो भए पनि स्वदेशमै उत्पादित वस्तु प्रयोग गर्नुपर्ने प्रावधान रहेको र सूचना प्रविधिमा देशलाई आत्मनिर्भर बनाउँदै ‘आइसिटी’ परियोजनामा स्थानीय सहभागीलाई प्रोत्साहित गर्न समेत प्राविधिक परीक्षणलाई अगाडि बढाइएको हो ।

सार्वजनिक निकायको सूचना प्रविधि प्रणालीमा बारम्बार समस्या आउँदा सेवा प्रवाहमा कठिनाइ भएकाले समिति नै बनाएर अध्ययन गरिएको समितिका संयोजक एवं सूचना तथा प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार हाललाई यातायात व्यवस्था विभागको अध्ययन गरिएको र आगामी दिनमा सार्वजनिक निकायमा जहाँ समस्या आउँछ त्यहाँ प्राविधिक परीक्षण गरिनेछ ।

प्रधानमन्त्री कार्यालयले गत माघ १० गते सरकारका विभिन्न निकायमा रहेको सूचना प्रविधि प्रणालीको प्राविधिक परीक्षण गर्न १३ सदस्यीय समिति गठन गरेको थियो । समितिमा सूचना प्रविधि विभागका महानिर्देशक, प्रधानमन्त्री कार्यालयका सहसचिव विपिन आचार्य, सूचना प्रविधि निर्देशक मनिष भट्टराई, प्रधानमन्त्रीका स्वकीय सूचना प्रविधिविज्ञ प्रकाश रायमाझी, सूचना प्रविधि विभागका निर्देशकसहित विज्ञ सहभागी हुनुहुन्थ्यो ।

हाल नेपालको सूचना प्रविधि क्षेत्रले भोगिरहेका विविध समस्या र यसका पछाडिका कारणको अध्ययन गर्न प्रधानमन्त्री कार्यालयले प्राविधिक परीक्षण समिति बनाएको र सो समितिले तयार पारेको यातायात व्यवस्था विभागको प्राविधिक परीक्षण प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको प्रधानमन्त्रीका स्वकीय सूचना प्रविधि विज्ञ रायमाझीले जानकारी दिनुभयो ।

सरकारले आर्थिक वर्ष २०६९÷७० देखि २०७९÷८० सम्मको दश वर्षीय अवधिमा सूचना, सञ्चार तथा प्रविधि क्षेत्रमा विनियोजित बजेट र भएको खर्चको विश्लेषणबाट उक्त क्षेत्रमा अनावश्यक एवं गैरमितव्ययी खर्च भएको र यसले राज्यमाथि ठूलो आर्थिक भार पारेको तथ्य उजागर भएको उहाँको दाबी छ ।

सरकारी बजेटबाट खरिद र निर्माण गरिएका डिजिटल प्रणाली र तिनीहरूबाट प्रवाह हुने सेवा–सुविधामा निरन्तर समस्या देखापर्ने, जसले गर्दा सेवा वितरणमा नै बाधा पुग्ने गरेको साथै, प्रणालीहरूबीच पर्याप्त अन्तरआबद्धता नभएका कारण नागरिकले प्रत्येक निकायमा एउटै विवरण पटक–पटक उपलब्ध गराउनुपर्ने बाध्यता रहेको बताउँदै यी प्रणालीगत त्रुटिहरूका कारण सरकारको कार्यसम्पादन र सुशासनमाथि नै प्रश्न उठ्ने गरेको हुँदा सार्वजनिक सेवा प्रदायक निकायहरूमा प्राविधिक परीक्षण गर्नुपर्ने आवश्यकता महसुस गरिएको उहाँले बताउनुभयो ।