`

विद्यालय शिक्षा विधेयकमाथि संशोधनकर्तासँग छलफल

काठमाडौँ, ९ चैत ः विद्यालय शिक्षा विधेयक, २०८० लाई संशोधन गर्दा शिक्षक–कर्मचारीसँग भएका सहमतिको पालनाका साथै गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न सांसदहरूले माग गर्नुभएको छ ।

प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विधेयका संशोधनकर्ता सांसदहरूले धेरै थरिका शिक्षक कायम गरी उनीहरूलाई निजामती सेवासरह सुविधा दिन आग्रह गर्नुभएको छ ।

बैठकमा संशोधनकर्ता सांसद दीलेन्द्रप्रसाद बडू, शेरबहादुर केसी, चित्रबहादुर केसी, सूर्यमान दोङ, मुक्ताकुमारी यादव, राजेन्द्रप्रसाद पाण्डेलगायतले लामो समयको अन्तरालपछि शिक्षा विधेयक आएकाले यसलाई अधिकतम्रूपमा कामयाबी बनाउन सुझाव दिनुभयो ।समितिको सभापितमा अमरबहादुर थापाको चयन र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा सुमना श्रेष्ठको नियुक्तिपछि विधेयकमाथि पहिलोपटक छलफल भएको हो ।

प्रधानमन्त्रीलाई ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षणबारे जानकारी

काठमाडौँ, ९ चैत : यातायात व्यवस्था विभागको ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षण (टेक्निकल अडिट) बारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जानकारी गराइएको छ । प्रधानमन्त्री कार्यालयको संयोजकत्वमा सूचना प्रविधि विभागले गठन गरेको प्राविधिक परीक्षण समितिले आज प्रधानमन्त्रीलाई भेटगरेर ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स’ प्रणालीको प्राविधिक परीक्षण प्रतिवेदन बुझाउँदै विभागको प्राविधिक अवस्थाबारे जानकारी गराएको हो ।

प्रतिवेदनमा तत्काल गर्नुपर्ने सुधार र दीर्घकालीनरूपमा गर्नुपर्ने प्राविधिक सुधारका विषयमा सुझाव दिइएको छ । प्रतिवेदन बुझेसँगै प्रधानमन्त्री दाहालले प्राप्त प्रतिवेदन अध्ययन गरेर कार्यान्वयनमा लैजाने उल्लेख गर्दै प्रणालीमा देखिएका समस्या समाधान गरी जनतालाई सहज सेवा उपलब्ध गराउन निर्देशन दिनुभयो ।

यातायात व्यवस्था कार्यालयबाट सञ्चालित सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रियामा ठूलो सङ्ख्यामा नक्कली लाइसेन्स जारी भएको घटनामा त्यहाँ प्रयोगमा रहेको प्राविधिक प्रणालीमा देखिएको समस्या रहेको उल्लेख गरिएको सन्दर्भमा मन्त्रिपरिषद् कार्यालयको समन्वयमा सूचना प्रविधि विभागद्वारा सो प्राविधिक प्रणालीको परीक्षण सम्पन्न गरिएको हो ।

सरकारले ‘मेक इन नेपाल, मेड इन नेपाल’को अवधारणालाई कार्यान्वयनमा ल्याउन २० प्रतिशत महँगो भए पनि स्वदेशमै उत्पादित वस्तु प्रयोग गर्नुपर्ने प्रावधान रहेको र सूचना प्रविधिमा देशलाई आत्मनिर्भर बनाउँदै ‘आइसिटी’ परियोजनामा स्थानीय सहभागीलाई प्रोत्साहित गर्न समेत प्राविधिक परीक्षणलाई अगाडि बढाइएको हो ।

सार्वजनिक निकायको सूचना प्रविधि प्रणालीमा बारम्बार समस्या आउँदा सेवा प्रवाहमा कठिनाइ भएकाले समिति नै बनाएर अध्ययन गरिएको समितिका संयोजक एवं सूचना तथा प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार हाललाई यातायात व्यवस्था विभागको अध्ययन गरिएको र आगामी दिनमा सार्वजनिक निकायमा जहाँ समस्या आउँछ त्यहाँ प्राविधिक परीक्षण गरिनेछ ।

प्रधानमन्त्री कार्यालयले गत माघ १० गते सरकारका विभिन्न निकायमा रहेको सूचना प्रविधि प्रणालीको प्राविधिक परीक्षण गर्न १३ सदस्यीय समिति गठन गरेको थियो । समितिमा सूचना प्रविधि विभागका महानिर्देशक, प्रधानमन्त्री कार्यालयका सहसचिव विपिन आचार्य, सूचना प्रविधि निर्देशक मनिष भट्टराई, प्रधानमन्त्रीका स्वकीय सूचना प्रविधिविज्ञ प्रकाश रायमाझी, सूचना प्रविधि विभागका निर्देशकसहित विज्ञ सहभागी हुनुहुन्थ्यो ।

हाल नेपालको सूचना प्रविधि क्षेत्रले भोगिरहेका विविध समस्या र यसका पछाडिका कारणको अध्ययन गर्न प्रधानमन्त्री कार्यालयले प्राविधिक परीक्षण समिति बनाएको र सो समितिले तयार पारेको यातायात व्यवस्था विभागको प्राविधिक परीक्षण प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको प्रधानमन्त्रीका स्वकीय सूचना प्रविधि विज्ञ रायमाझीले जानकारी दिनुभयो ।

सरकारले आर्थिक वर्ष २०६९÷७० देखि २०७९÷८० सम्मको दश वर्षीय अवधिमा सूचना, सञ्चार तथा प्रविधि क्षेत्रमा विनियोजित बजेट र भएको खर्चको विश्लेषणबाट उक्त क्षेत्रमा अनावश्यक एवं गैरमितव्ययी खर्च भएको र यसले राज्यमाथि ठूलो आर्थिक भार पारेको तथ्य उजागर भएको उहाँको दाबी छ ।

सरकारी बजेटबाट खरिद र निर्माण गरिएका डिजिटल प्रणाली र तिनीहरूबाट प्रवाह हुने सेवा–सुविधामा निरन्तर समस्या देखापर्ने, जसले गर्दा सेवा वितरणमा नै बाधा पुग्ने गरेको साथै, प्रणालीहरूबीच पर्याप्त अन्तरआबद्धता नभएका कारण नागरिकले प्रत्येक निकायमा एउटै विवरण पटक–पटक उपलब्ध गराउनुपर्ने बाध्यता रहेको बताउँदै यी प्रणालीगत त्रुटिहरूका कारण सरकारको कार्यसम्पादन र सुशासनमाथि नै प्रश्न उठ्ने गरेको हुँदा सार्वजनिक सेवा प्रदायक निकायहरूमा प्राविधिक परीक्षण गर्नुपर्ने आवश्यकता महसुस गरिएको उहाँले बताउनुभयो ।

एकीकृत समाजवादीको सचिवालय बैठक आइतबार

काठमाडौँ, ९ चैत : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही चैत ११ गते आइतबार महाधिवेशन दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त बैठक आह्वान गरेको छ ।
बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवदेनलाई सचिवालयले अनुमोदन गरेपछि दस्तावेजमा समावेश गरिने पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा २७ सदस्यीय दस्तावेज लेखन समिति गठन भएको छ । बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि मूल व्यवस्थापन कमिटी तथा अन्य कमिटीबाट भएका कामको समीक्षा हुनेछ ।

सचिवालय बैठकले आगामी वैशाखमा इलाम र बझाङमा हुने उपनिर्वाचनमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीबाट सिफारिस भएका नाममा छलफल पनि गर्ने प्रचारविभाग प्रमुख खतिवडाले बताउनुभयो ।

आगामी जेठ देखि ७ गतेसम्म काठमाडौँमा आयोजना हुने राष्ट्रिय महाधिवेशनका लागि पार्टीले अध्यक्ष नेपालको संयोजकत्वमा १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटी तथा अन्य १२ कमिटी गठन गरिसकेको छ ।

रकम अभावले सिक्टा सिँचाइ आयोजनाको काम प्रभावित

राँझा (बाँके),९ चैत : निर्माणाधिन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा मुआब्जाका निम्ति पर्याप्त रकम नहुँदा शाखा नहर निर्माणको काम प्रभावित भएको छ ।

बजेट अभावले किसानलाई मुआब्जा वितरण गर्न नसकिएको तथा आयोजनाको कामलाई दु्रत गतिमा अगाडि बढाउन कठिनाइ भएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक देवराज निरौलाले बताउनुभयो ।

“शाखा नहर निर्माण क्षेत्रका किसानलाई दिनुपर्ने मुआब्जावापतको रकम रु ५८ करोड ८९ लाख आवश्यक छ, तर चालु वर्षमा १३ करोड ४० लाख मात्रै बजेट प्राप्त भएको छ”, निर्देशक निरौलाले भन्नुभयो ।

अहिले आयोजनाको पश्चिम मूल नहरअन्तर्गत पर्ने गुरुवा गाउँ, पर्सेनीपुर, अकलघरुवा, गोहवालगायत स्थानमा धमाधम शाखा नहर निर्माण भइरहेको छ । शाखा नहर निर्माण क्षेत्रका किसानलाई करिब रु.५८ करोड ८९ लाख मुआब्जा रकम बाँड्नुपर्ने भएको छ । “सबै कागजी प्रक्रिया पूरा भए पनि पर्याप्त बजेट नहुँदा किसानलाई मुआब्जा रकम वितरण गर्न सकिएको छैन”,निर्देशक निरौलाले भन्नुभयो ।

चालु आर्थिक वर्ष २०८०÷२०८१ का लागि सरकारले आयोजनालाई रु.७५ करोड ४८ लाख विनियोजन गरेको छ । यसमध्ये मुआब्जाका लागि रु. १३ करोड ४० लाख मात्र छुट्याइएको आयोजनाका सूचना अधिकारी इञ्जिनियर सन्देश पौडेलले बताउनुभयो ।

“आयोजनाको निर्माणाधिन पश्चिमी मूल नहरले बाँके जिल्लाको राप्ती नदी पश्चिम भेगको तेत्तीस हजार सात सय ६६ हेक्टर र पूर्वी मूल नहरले राप्ती नदी पूर्वी भेगको करिव नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ”,सूचना अधिकारी पौडेलले भन्नुभयो,“आयोजनाको सुरु अवधिदेखि हालसम्म समष्टिगत भौतिक प्रगति ४० दशमलव २२ प्रतिशत र वित्तीय प्रगति ३९ दशमलव ३८ प्रतिशत भएको छ ।”

बाँकेको राप्ती सोनारी गाउँपालिका –२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी बाँकेको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन आयोजना निर्माण गरिएको हो । २०६२÷०६३ मा सुरु भएको आयोजना पछिल्लो संशोधित गुरुयोजना अनुसार आर्थिक वर्ष २०८९÷९० मा सम्पन्न गर्ने लक्ष्य छ । संशोधित गुरुयोजना अनुसार आयोजनाको लागत रु. ५२ अर्ब ८९ करोड हो ।

भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने बढे

जानकी (बाँके), ९ चैत : नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा २९ हजार छ सय ८० जनाले बीमा कार्यक्रमअन्तर्गत सेवा लिएका छन् ।

गत आवको यही समय अवधिमा २६ हजार ९८७ जना सेवाग्राहीले अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिएका थिए । अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या बढ्दै गर्दा एकाइबाट सेवा लिने सेवाग्राहीको सङ्ख्या घट्दै गएको छ ।

अस्पतालका अनुसार चालु आवको साउनदेखि फागुनसम्म सामाजिक सेवा एकाइबाट पाँच हजार छ सय ७६ जना जना गरिब तथा असहाय र ज्येष्ठ नागरिकले सेवा लिएका थिए । कार्यक्रमअन्तर्गत तीन हजार नौ सय ९७ जना शारीरिक अपाङ्गता भएका व्यक्ति, गरिब असहाय, महिला, लैङ्गिक हिंसा पीडित, महिला स्वास्थ्य स्वयंसेविका, थुनुवा तथा भूकम्पपीडितलाई उक्त सेवा प्रदान गरिएको हो ।

त्यसैगरी यो आठ महिनामा एक हजार छ सय ७९ जना ज्येष्ठ नागरिकले सो सेवा लिएका छन् । गत वर्षको साउनदेखि फागुनसम्मको अवधिमा उक्त एकाइबाट सेवा लिनेको सङ्ख्या छ हजार छ सय ८७ थियो । यसैगरी , चार हजार पाँच सय ३३ जना शारीरिक अपाङ्गता भएका व्यक्ति, गरिब असहाय, महिला, लैङ्गिक हिंसा पीडित, महिला स्वास्थ्य स्वयंसेविका, थुनुवा तथा भूकम्पपीडितलाई उक्त सेवा प्रदान गरिएको थियो ।

अस्पतालले विपन्न नागरिक उपचार कोषमार्फत पनि बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । सिकलसेल, मुटुरोग, स्पाइनल कर्ड इन्जुरी, हेड इन्जुरी तथा हेमोडायलासिसका बिरामीलाई सरकारले तोकेको मापदण्डअनुसार एक जना बिरामीलाई एकपटकमा रु एक लाखसम्मको निःशुल्क सेवा प्रदान गर्दै आएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सकबाट मिर्गौलाको सफल प्रत्यारोपण

कास्की,९ चैत : पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । अस्पतालले आफ्नै जनशक्तिबाट बिहीबार सफल प्रत्यारोपण गरिएको हो ।

तनहुँको व्यास नगरपालिका–१० की ३५ वर्षीया सम्झना गुरुङको सफल प्रत्यारोपण गरिएको हो । उहाँलाई लमजुङ सुन्दरबजार नगरपालिका बस्ने बहिनी सुमिना गुरुङले मिर्गौला दान दिनुभएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको सो अस्पतालमा प्रत्यारोपण सेवा सुरु भएको २० महिनापछि पहिलोपटक आफ्नै जनशक्तिबाट प्रत्यारोपण गरिएको हो । यसअघि २०७९ असारमा पहिलोपटक सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले मिर्गौला प्रत्यारोपण गरेको थियो ।

पोखरामा प्रत्यारोपणका लागि केन्द्रले सहयोग गर्दै आएकामा पछिल्लो पटक अरुको सहयोग बिनानै यहीँकै चिकित्सकको टोलीले सो कार्य सफलतापूर्वक सम्पन्न गरेका हुन् । बिहीबार अस्पतालका युरो सर्जनद्धय डा प्रकाश क्षेत्री र डा अनुप चापागाई, नेफ्रोलोष्टि डा जुजुराम श्रेष्ठ र डा अमृत केसी, जनरल सर्जन डा डेभिड श्रेष्ठको टोलीले प्रत्यारोपण गरेको अस्पतालका सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिनुभयो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आठ वटा प्रत्यारोपणमा प्रत्यारोपण केन्द्रका चिकित्सकबाट गरिएकामा हिजो नवौँ प्रत्यारोपण पहिलो पटक प्रतिष्ठानका आफ्नै चिकित्सक र स्वास्थ्यकर्मीबाट गरिएको प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीले बताउनुभयो । अस्पतालकै जनशक्तिबाट सो कार्य सम्भव भएपछि प्रत्यारोपणका लागि पालो कुर्नुपर्ने अवस्था पनि कम हुँदै जाने उहाँले बताउनुभयो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मिर्गाैला प्रत्यारोपण गर्दा बिरामीले रु चार लाख सम्म सहुलियत पाउने गरेका छन् । विपन्न नागरिकको औषधोपचार कार्यक्रमअन्तर्गत अस्पताल सूचीकृत भएसँगै यहाँ प्रत्यारोपण गर्नेले सो सहयोग पाउने जनाइएको छ ।

लुम्बिनी बुद्ध जन्मस्थल मात्र नभई बौद्ध दर्शनको उद्गमस्थल हो: उपप्रधानमन्त्री श्रेष्ठ

लुम्बिनी, ९ चैत :उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लुम्बिनी बुद्ध जन्मस्थल मात्र नभई बौद्ध दर्शनको उद्गमस्थल भएको बताउनुभएको छ ।

अवैतनिक वाणिज्य दूतहरूको संस्था (एचसिसीएन) ले यहाँ आयोजना गरेको समृद्धिका लागि विश्व शान्ति सम्मेलनको बिहीबार उद्घाटन गर्नुहँुदै परराष्ट्रमन्त्री श्रेष्ठले बुद्ध र लुम्बिनीलाई बुद्धका शिक्षाले विश्वमा शान्ति स्थापनाका निम्ति सन्देश प्रवाह गरेका बताउनुभयो । उहाँले विश्वशान्ति स्थापनामा जोड दिँदै संसारका विभिन्न देशमा बढेका द्वन्द्वले आर्थिक सङ्कटसँगै अन्य समस्या पनि बढाइरहेको बताउनुभयो ।

शान्ति र समृद्धिका विषयमा बहस गर्ने सबैभन्दा उत्तम स्थान लुम्बिनी भएको बताउँदै एचसिसीएनले यहाँ सम्मेलन आयोजना गरेकामा त्यसको सराहना गर्नुभयो । परराष्ट्रमन्त्री श्रेष्ठले चार महिनाअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले लुम्बिनी भ्रमण गरेको स्मरण गर्दै भगवान् बुद्धका शिक्षाको पालनाबाट विश्वशान्ति स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनमा नेपालका लागि अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मङ्गोलिया, इन्डोनेसिया, सेसेल्स्, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लाद्भिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूत सहभागी छन् । सम्मेलनमा नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायत विषयमा छलफल हुनेछ ।

पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनसहित वर्षा

काठमाडौं – शुक्रबार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणाली (Induced Low pressure system) को प्रभाव रहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

घलेगाउँको पर्यटन प्रवर्द्धन गर्न फुटबल प्रतियोगिता

लमजुङ, ९ चैत : फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै नमूना क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा आगामी वैशाख १ गतेदेखि ‘सातौँ स्मार्ट भिलेज आमन्त्रण गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ ।

समुद्र सतहबाट दुई हजार एक सय मिटर उचाइमा रहेको करिब आठ सय वर्ष पुरानो घलेगाउँस्थित घलेगाउँको स्वर्र्गभूमि रङ्गशालामा उक्त प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता आयोजक पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले बिहीबार बेँसीसहरमा पत्रकार सम्मेलन गरेर देशका प्रतिष्ठित १२ फुटबल क्लबीच प्रतिस्पर्धा हुने जनाएको छ । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु पाँच लाख ५० हजार पाँच सय ५५, गोल्डकप र पदक, दोस्रो स्थान हासिल गर्नेलाई रु तीन लाख ५० हजार तीन सय ५५ सहित पदक प्रदान गरिने भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले जानकारी दिनुभयो ।

प्रतियोगितामा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई जनही नगद रु १० हजारसहित पदक प्रदान गरिने छ । छ दिनसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत नकआउट आधारमा खेल हुनेछन् । प्रतियोगिता सञ्चालन गर्न रु ३१ लाख ८० हजार लाग्ने अनुमान गरिएको अध्यक्ष घलेले बताउनुभयो ।

दलितका हकअधिकारको रक्षाका निम्ति प्रतिबद्ध रहेको प्रदेशका प्रमुखको भनाई

कैलाली, ९ चैत: सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले दलितका हकअधिकारको रक्षाका निम्ति आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा धनगढी बिहीबार अपराह्न आयोजित कार्यक्रममा उहाँले दलितका अधिकार स्थापित गर्न आफ्नो पूर्ण सहयोग हुने बताउनुभयो ।

समाजका सबै वर्ग मिलेर संविधान कार्यान्वयनमा जानसके मात्र दलितको अधिकार सुनिश्चितता हुने विचार व्यक्त गर्दै प्रदेशका प्रमुख मियाँले दलित आन्दोलनमा सबै नेपालीको ऐक्यबद्धता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “छुवाछुत तथा जातीय भेदभावविरुद्ध नेपालको संविधानले गरेको व्यवस्थालाई बेवास्ता गर्न हुँदैन, त्यसको पूर्ण कार्यान्वयन हुनपर्छ भन्ने मेरो मान्यता छ ।”

त्यस अवसरमा सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनार, लक्ष्मी विक, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी र भजनी नगरपालिकाका उपप्रमुख राजु तिरुवाले जातीय भेदभाव एवं छुवाछुत दण्डनीय भएकाले कानुनले वर्जित गरेका गतिविधि कसैले पनि गर्न नहुनेमा जोड दिनुभएको थियो ।

दक्ष चिकित्सक उत्पादन गर्न तीन प्रतिष्ठानबीच सम्झौता

कर्णाली, ९ चैत : चिकित्सा शिक्षाका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ( बिपिकेआईएचएस ) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच त्रिपक्षीय सम्झौता भएको छ । दक्ष चिकित्सक एवं स्वास्थ्य जनशक्ति उत्पादन गर्न यो सम्झौता भएको हो ।

तीनवटै प्रतिष्ठानका सहकुलपति उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिपिकेआईएचएस र न्याम्ससँग, बिपिकेआईएचएसले कर्णाली र न्याम्ससँग, न्याम्सले कर्णाली र बिपिकेआईएचएससँग सम्झौता गरेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मङ्गल रावलले राससलाई बताउनुभयो ।

अब तीनवटै प्रतिष्ठानबीच विद्यार्थी तथा अध्यापक आदानप्रदान हुने बताउँदै उहाँले भन्नुभयो, “शैक्षिक कार्यक्रम सञ्चालनका लागि सुगमको तुलनामा दुर्गममा गाह्रो हुन्छ तर काठमाडौँको न्याम्स, धरानको बिपिकेआईएचएसमा जस्तै जुम्लामा पनि अण्डर ग्र्याजुएट्स र पोष्ट ग्र्याजुएट्सका कार्यक्रमहरु सञ्चालन गरेका छौं ।”

स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारी शैक्षिक प्रतिष्ठानलाई प्रभावकारी रुपमा अघि बढाउन आपसी सहयोग र सहकार्य फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानले स्वास्थ्य शिक्षा र सेवामा पु¥याएको योगदानको उहाँले सराहना गर्नुभयो ।

फिफा विश्वकप छनोट : नेपाल बहराइनसँग पराजित

काठमाडौँ, ९ चैत : बहराइनमा भएको फिफा ‘विश्वकप २०२६’ छनोट र ‘एएफसी एशियन कप २०२७’ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग फराकिलो गोल अन्तरले पराजित भएको छ ।

बहराइनको रिफास्थित बहराइन राष्ट्रिय फुटबल मैदानमा आज बिहान भएको खेलमा बहराइनसँग नेपाल ५–० गोल अन्तरले पराजित भएको हो । यो जितसँगै बहराइनले प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । बहराइन ६ अङ्कका साथ दोस्रो स्थानमा छ । यस हारसँगै नेपालले प्रतियोगितामा तेस्रो हार बेहोरेको छ । समूह ‘एच’ मा रहेको नेपाल पहिलो खेलमा युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो । नेपाल अङ्क विहीन छ । बहराइनको जितमा माहदी अल हुमाइदान, सायद बाकर, अली मादन, इब्राहिम अल खातल र इस्मील अब्दुलातिजले समान एक एक गोल गरे ।

खेलको दोस्रो मिनेटमै माहदी अल हुमाइदानले बहराइनका लागि पहिलो गोल गरे । त्यस्तै खेलको नवौँ मिनेटमा सायद बाकरले गोल गर्दै बहराइनको अग्रता दोब्बर बनाए । खेलको पहिलो हाफको अतिरिक्त समयमा अली मादनको हेडर गोल गरे । यससँगै बहराइनले खेलको पहिलो हाफमा नै तीन गोलको अग्रता बनाएको थियो ।

त्यसपछि खेलको ८७औँ मिनेटमा इब्राहिमले गोल गरे । खेलको दोस्रो हाफको अतिरिक्त समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै इस्मीलले बहराइनका लागि पाँचौ गोल गरे । बहराइनका खेलाडीलाई नेपालका लाकेन लिम्बूले बक्सभित्र लडाएपछि अस्ट्रेलियन रेफ्री एलेक्जान्डर किङले बहराइनलाई पेनाल्टी दिएको थियो ।

समूह ‘एच’ मा नेपालसहित बहराइन, यमन र संयुक्त अरब इमिरेट्स (युएई) छन् । युएई तीन खेलमा तीन जितसहित ९ अङ्कका साथ पहिलो स्थानमा छ । त्यस्तै यमन तीन खेलमा एक जितसहित तीन अङ्कका साथ तेस्रो स्थानमा छ ।

रूसको भुक्तानीलाई लिएर चिनियाँ बैँकहरूमा पश्चिमी ‘दबाब’ को क्रेमलिनद्वारा निन्दा

क्रेमलिनले सीमापार लेनदेनमा केही ‘समस्या’ रहेको स्वीकार गर्दै बिहीबार रुसबाट भुक्तानी स्वीकार गर्ने चिनियाँ बैँकहरूमा ‘अभूतपूर्व दबाब’ सिर्जना गरेकोमा पश्चिमको आलोचना गरेको छ । रूसी वित्तीय स्रोतहरूलाई उद्धृत गर्दै क्रेमलिन समर्थक इज्भेस्टिया पत्रिकाले बिहीबार चिनियाँ ऋणदाताहरूले रूसी कम्पनीहरूबाट चिनियाँ युआनमा भुक्तानी अस्वीकर गरेको रिपोर्ट गरेको छ ।

“चीनमाथि अमेरिका र युरोपेली सङ्घको अभूतपूर्व दबाब जारी छ, यसले निश्चित समस्याहरू सिर्जना गर्न सक्छ”, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले पत्रकारहरूलाई भन्नुभयो । वासिङ्टन र ब्रसेल्सका अधिकारीहरूले तेस्रो मुलुकका कम्पनी र बैंकहरूलाई निशाना बनाएका छन् । उनीहरूका अनुसार ती कम्पनी र बैंकले व्यापार र भुक्तानी कार्यान्वयन गरेर रुसलाई पश्चिमी प्रतिबन्धहरूबाट बच्न सहयोग गरिरहेका छन् ।

इज्भस्टियाको रिपोर्टअनुसार चिनियाँ ऋणदाता पिङ एन बैँक र बैँक अफ निङ्बोले रुस र अन्य साना बैँकहरूबाट चिनियाँ युआनमा भुक्तानी स्वीकार गर्न बन्द गरेका छन् ।गत महिना रूसी निर्यातकर्ताहरूको प्रमुख बैँकमध्येको एक झेजियाङ चोझोउ कमर्शियल बैँकले ग्राहकहरूलाई रूससँग सबै लेनदेन निलम्बन गरेको सूचित गरेको रूसी मिडियाले रिपोर्ट गरेको थियो ।

रूसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि बेइजिङ मस्कोको सबैभन्दा महत्त्वपूर्ण आर्थिक सहयोगी बनेको छ र दुई देशबीचको व्यापार बढेको छ। चिनियाँ भन्सार तथ्याङ्कअनुसार सन् २०२३ मा द्विपक्षीय व्यापार वार्षिकरूपमा २६ प्रतिशतले बढेर दुई खर्ब ४० अर्ब १० करोड डलर पुगेको थियो ।

“पश्चिमी दबाब हाम्रो व्यापार सम्बन्धको थप विकासमा बाधा बन्न सक्तैन”, पेसकोभले भन्नुभयो ।उहाँले बेइजिङ र मस्कोबीच विशेष प्रकृतिको सम्बन्ध रहेको र दुई देशले यस्ता अवरोधहरू पार गर्ने बताउनुभयो ।

रूसी केन्द्रीय बैँकका प्रमुख एल्भिरा नाबिउलिनाका अनुसार रुसी निर्यातमा एक तिहाईभन्दा बढी चिनियाँ युआनमा कारोबार गरिन्छ । यो युक्रेनमा रूसले आक्रमण गर्नुअघि युआनमा भएको कारोबारको तुलनामा शून्य दशमलव ४ प्रतिशतले बढी हो ।पश्चिमी प्रतिबन्धले मस्कोका बैँक र वित्तीय संस्थाहरूमा डलर र युरोमा अन्तर्राष्ट्रिय व्यापार गर्न रूसी कम्पनीहरूको क्षमतामा बाधा पुर्याएको छ ।

सुदूरपश्चिममा कोरोना भाइरस सङ्क्रमणदर उकालो लाग्दै

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस सङ्क्रमित फेला परेका छन् । यसअघि गत फागुन १२ देखि ३० गते सम्मको १८ दिन २६ जनामा कोरोनाको सङ्क्रमण देखिएको थियो ।

कोरोना सङ्क्रमित बढ्दै गएपनि यो रोगको रोकथाम र निगरानीका लागि त्यति चासो देखिएको पाइदैन । कोरोना भाइरसको सङ्क्रमण बढेको भए पनि यसको रोकथाममा त्यति चासो नदेखाइएको गौरीफन्टा सीमानास्थित ‘हेल्थ डेस्क’का अहेब गणेश साउदले बताउनुभयो ।

हेल्थ डेस्कमा एन्टिजेन विधिबाट कोरानाको नमुना जाँच हुने गरेको छ ।“देशका अरु नाकामा यो रोगका सङ्क्रमित देखिएका छैनन्, सुदूरपश्चिमका नाकामा कोरोनाका बिरामी फेला परेका छन्”उहाँले भन्नुभयो । कोरोनालाई नागरिकले सामान्य रुपमा लिँदा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनमा चासो नदिने गरेको पाइएको पनि छ ।

धनगढीका स्थानीयवासी लेखराज ओझाले भन्नुभयो “कुनै समयमा गाउँमा हैजा, झाडापखाला लाग्दा रोगी नजिक जानु नहुने र रोगबाट जोगिन स्वस्थ्य व्यक्ति गाउँनै छोडेर सुरक्षित भएर बस्नुपर्ने अवस्था थियो, नागरिकले अहिले कोरोनालाई पनि सामान्य रोगजस्तै लिन थालेको हुनसक्छ ।”

पछिल्लो हप्तामा सुदूरपश्चिमका सीमा नाकाहुँदै भित्रिने नागरिकमध्ये शङ्कास्पद छ सय २० को एन्टिजेन विधिबाट को नमुना जाँच गरिएको छ ।“सिकिस्त अवस्थाका कोरोना सङ्क्रमित फेला परेका छैनन्” अहेब साउदले भन्नुभयो“कोरोनाको लक्षण देखिएकालाई घरमै छुट्टै आइसोलेशनमा बस्न सल्लाह दिएर पठाउने गरेका छौँ ।”

हेल्थ डेस्कमा कोरोनाको नमुना जाँच गर्ने कीट, लगायतका सामग्रीको अपर्याप्तता देखिएको छ । प्रदेशमा विगतमा कोरोना सङ्क्रमितको उपचार व्यवस्थापनका लागि बनाइएका क्वारेन्टाइन,र होल्डिङ सेन्टर प्रयोगविहीन अवस्थामा छन् । गौरीफन्टा, गड्डाचौकी, लगायतका सीमा नाका हुँदै भित्रिने नागरिकमा कोरोना सङ्क्रमण देखिने गरेको हो ।

गएको पुस अघिको आठ÷दश महिना शून्य रहेको कोरोना सङ्क्रमण गत पुस महिनादेखि पुनःदेखिन थालेको हो ।“हेल्थ डेस्कका कर्मचारीलाई गत साउन देखिको तलब परिश्रमिकसमेत खान पाएका छैनन्,”साउदले भन्नुभयो “तलब नपाउँदा कर्मचारीले पीडाबोध गरिरहेका छन्,हेल्थ डेस्कमा एन्टिजेन कीट, मास्क लगायतका सामग्री पनि पर्याप्त नहुँदा काम गर्ने मनोबल पनि घटेको छ ।”

सेती प्रादेशिक अस्पताल धनगढीका मेडिकल सुपरिटेन्डेन्ट डा शेरबहादुर कमरले कोरोना सङ्क्रमण रोकथामका लागि निरन्तर निगरानी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“यो मौसममा भाइरलको समस्या बढ्ने भएकोले सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ सचेतता अपनाउन जरुरी छ ”

‘लाइसेन्स’ लिएर मात्र पर्यटकलाई घुमाउन आग्रह

काठमाडौँ – पछिल्लो समय टुरिष्ट गाइड एशोसियशन अफ नेपाल (टुर्गान)ले टुरिष्ट गाईडको अनुमति पत्र ‘लाइसेन्स’ बिना विदेशी पर्यटकलाई विश्वसम्पदा सूचीमा घुमाउने गाईडलाई कारबाही अगाडि बढाएको छ ।

टुर्गानले पर्यटक प्रहरी इकाईसँगको सहकार्यमा गत मङ्गलबारदेखि सुरु गरेको अभियानमा हालसम्म नौ जना अवैध पथप्रदर्शक (गाईड)लाई कारबाही गरिसकेको टुर्गानका अध्यक्ष थानेश्वर देवकोटाले जानकारी दिनुभयो ।“टुरिष्ट गाईडको लाइसेन्स नलिएका तथा लाईसेन्स लिएर पनि नवीकरण नगरेका गाईडलाई कारबाही गरेका हौँ,” उहाँले भन्नुभयो ।

जाँचका क्रममा मङ्गलबार चार र बुधबार पाँच जनालाई कारबाही गरिएको अध्यक्ष देवकोटाले बताउनुभयो । मङ्गलबार बौद्ध क्षेत्रमा लाइसेन्स जाँच गरिएकोमा बुधबार हनुमानढोका बसन्तपुर क्षेत्रमा अनुगमन गरिएको थियो । आगामी दिनमा उक्त अभियानलाई पशुपतिनाथ, स्वयम्भू, पाटन, भक्तपुर दरबारक्षेत्रमा जाँच गरिने टुर्गानले जनाएको छ । उक्त टोलीले लाइसेन्स नलिएका तथा नवीकरण नगरेका टुरिष्ट गाईडलाई दुई घण्टा होल्ड गर्ने र सचेत गराउने गरेको छ ।
पर्यटक प्रहरी इकाई भृकुटीमण्डपका प्रमुख, प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले टुरिष्ट गाईडको लाइसेन्स बिना भाषिक ज्ञान भएका जोकोही व्यक्तिले पर्यटकलाई घुमाएकाले गाईडको लाइसेन्स जाँचलाई पर्यटक प्रहरीले तीव्रता दिएको बताउनुभयो ।“होटलका कार्यरत कर्मचारी, ट्रेकिङ तथा ट्राभलमा कार्यरत कर्मचारीले बिना लाइसेन्स पर्यटक घुमाउँदा पर्यटक गाईडको लाईसेन्स भएका व्यक्तिलाई समेत समस्या परेको छ, त्यसैले बेलाबेलामा पर्यटक प्रहरीले टुरिष्ट गाईडको लाइसेन्स जाँच गर्दै आएको छ,” उहाँले भन्नुभयो ।

हाल देशभर चार हजार आठ सय २० व्यक्तिले टुरिष्ट गाईडको लाइसेन्स लिएका छन् । नेपाल भ्रमणका लागि आएका विदेशी पर्यटकलाई नेपालको सकारात्मक सन्देश दिने दुतको कामसमेत टुरिष्ट गाईडको रहेकाले अनुशासित र मर्यादित भएर आफ्नो व्यापार व्यवसाय गर्न टुर्गानले सम्पूर्ण गाईडलाई अनुरोध समेत गरेको छ ।

राजमार्गको स्तरोन्नतिमा देखिएका समस्या समाधान गर्दै काम अगाडि बढाइने

दमौली (तनहुँ) – मुग्लिन पोखरा सडक विस्तारका क्रममा देखिएका समस्या समाधान गर्दै निर्माणलाई अगाडि बढाउने यहाँका सरोकारवालाले निर्णय गरेका छन् । तनहुँको व्यास नगरपालिकाको संयोजनमा नगरपालिकाको सभाहलमा बसेको सरोकारवालाको बैठकले विविध पक्षका बारेमा छलफल गरी सडक निर्माणका क्रममा देखा परेका अप्ठ्यारालाई समाधान गर्दै निर्माण अगाडि बढाउने निर्णय गरेको हो ।

मुग्लिन पोखरा सडक विस्तार आयोजना अन्तर्गत दमौली बजार खण्डमा यथाशीघ्र सडक अधिकारक्षेत्र रहेका घर भत्काउने, बिजुलीका पोल, खानेपानीका पाइपसमेत स्थानान्तरण गरी वर्षाभन्दा अगाडि कालोपत्र सम्पन्न गर्नुपर्ने भएकाले सम्बन्धित घरधनीलाई सहयोग गर्न अनुरोध गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँका अन्य खण्डमा काम धेरै अगाडि बढेपनि दमौली बजार क्षेत्रमा काममा ढिलाइ भएको छ । सडक क्षेत्रभित्र रहेका घरटहरा नहटाउँदा काममा ढिलाइ भएकाले त्यस्ता संरचना हटाई सहयोग गर्न सम्बन्धित घरधनीलाई आग्रह गरेका छौँ ।”

सरोकारवालाको बैठकले राजमार्ग विस्तार गर्न निर्माण भइरहेकामा कतिपय स्थानमा नालाको निकास, स्थानीय घरधनीलाई आवतजावतमा हुने कठिनाई, चालु खानेपानी लाइनको पुनःस्थापना लगायतका विषयमा आयोजनाबाट व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णय गरेको प्रमुख न्यौपानेले बताउनुभयो ।

बैठकमा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले राजमार्ग स्तरोन्नतिका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, नगरप्रमुख न्यौपाने, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनीयर विष्णुप्रसाद पाण्डे, परामर्शदाता चिन्तामणि शर्मा, सडक डिभिजन दमौलीका इञ्जीनीयर कल्पना मिश्रलगायत सहभागी हुनुहुन्थ्यो ।

मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत पूर्वी खण्डमा ५० र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीदेखि पोखरासम्म सडक विस्तारका लागि काम भइरहेकामा पूर्वी खण्डमा ५० र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति हासिल भएको हो ।

आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा ५० प्रतिशत काम सकिएको छ । आयोजनाका अनुसार पूर्वी खण्डमा २० किलोमिटर खण्ड कालोपत्र भइसकेको छ । आँबुखैरेनी, बन्दीपुर र व्यास नगरपालिकाका विभिन्न भागमा गरी १२ किलोमिटर दुईतर्फी र आठ किलोमिटर एकतर्फी खण्ड कालोपत्र सकिएको छ ।

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।

पश्चिम खण्ड अन्तर्गत जामुनेदेखि पोखरासम्म पनि कालोपत्रको काम अगाडि बढेको छ । तनहुँको म्याग्दे गाउँपालिकास्थित जामुने, शुक्लागण्डकी नगरपालिकास्थित हलेदली र कोत्रेमा कालोपत्रको काम भइरहेको छ । पोखरा खण्डमा पनि केही दूरीमा कालोपत्र भएको छ । पश्चिम खण्डमा हालसम्म ६ किलोमिटर एकतर्फी सडक कालोपत्र भएको छ ।

पश्चिम खण्ड अन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । यो खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको थियो ।

विश्व खुसी प्रतिवेदनमा नेपाल ९३औँ स्थानमा

काठमाडौँ – विश्व खुसी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३औँ स्थानमा रहेको देखाएको छ । विश्व खुसी प्रतिवेदन, २०२४ अनुसार एक सय ४३ देशहरुमध्ये खुुसीको सूचाङ्कमा नेपालले ९३औँ स्थान प्राप्त गरेको हो ।

उक्त प्रतिवेदनअनुसार उक्त सूचीको पहिलो स्थानमा फिनल्याण्ड छ । फिनल्याण्ड लगातार सात वर्षदेखि शीर्ष स्थानमा रहँदै आएको छ । फिनल्याण्डपछि प्रमुख दशमा डेनमार्क, आइसल्याण्ड, स्वीडेन, इजरायल, नेदरल्याण्ड, नर्वे, लक्जमवर्ग, स्वीजरल्याण्ड र अस्टे«लिया छन् । प्रतिवेदनले ३० वर्षमुनि उमेर समूहमा खुसी हुने स्थानमा भने नेपाल ९२औँ स्थानमा छ ।

उक्त प्रतिवेदन गलुप, अक्सफोर्ड विश्वविद्यालय, वेलबिइङ रिसर्च सेन्टर, संयुक्त राष्ट्रसङ्घ दिगो विकास सोलुसन नेटवर्क र डब्लुएचआर्स एडिटोरियल बोर्डले प्रकाशन गरेको हो । मुख्यत जीवन मूल्याङ्कनका प्रश्न उत्तरलाई आधार मानी प्रतिवेदन तयार पारिएको जनाइएको छ । उत्तरदाताहरुलाई आफ्नो जीवनशैलीलाई राम्रोदेखि खराबसम्मको शून्यदेखि १० नम्बरबीच अङ्क दिने गरी प्रश्न सोधिएको थियो ।

जलसङ्कट समाधान गर्न जलाधार क्षेत्रको संरक्षण गरौँ : राष्ट्रपति पौडेल

काठमाडौँ, ९ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउनसक्ने जलसङ्कटको चुनौतीलाई मध्यनजर गर्दै भूमिगत जलस्रोतको पुनःभरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । विश्व पानी दिवस, २०२४ का अवसरमा आज शुभकामना दिँदै उहाँले ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैया निर्माण गर्नेजस्ता परम्परागत विधिको सम्वद्र्धन गर्नुपर्ने बताउनुभयो ।

सहरी क्षेत्रमा वर्षात्को पानीमार्फत पुनःभरणको विकल्पसहितका पूर्वाधार निर्माण गर्न सम्बद्ध सबैले अग्रसरता लिनुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले प्राचिन एवं आधुनिक प्रविधिको मिश्रण गरेर जलाशययुक्त योजनाको तर्जुमा पनि गर्न आवश्यक रहेको बताउनुभयो । भूमिगत जलस्रोतको अतिदोहन र सहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाका कारण पुनःभरणमा अवरोध उत्पन्न भएका कारण जमिनमुनिको पानीको सतह निरन्तर घटिरहेको जनाउँदै उहाँले अव्यवस्थित मानवबस्ती र बढ्दो औद्योगीकरणका कारण भूमिगत जलस्रोत प्रदूषित हुँदै गएका बताउनुभएको छ ।

“भूमिगत जलस्रोत महत्वपूर्ण प्राकृतिक सम्पदा हो, जसले पारिस्थितिक प्रणालीलाई दिगो राख्न, नदीहरूको बहावलाई व्यवस्थित गर्न, जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत गर्दछ”, राष्ट्रपति पौडेलले सन्देशमा भन्नुभएको छ, “बढ्दो सहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनाश, जलवायु परिवर्तन एवं प्रदूषणका कारण यस्ता स्रोतहरू नष्ट भइरहेका छन् ।”

पानी र प्रकृतिसँग प्राणी जगतको अस्तित्व गाँसिएको उल्लेख गर्दै उहाँले पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भएको दृष्टान्त प्रस्तुत गर्नुभएको छ । प्राचीन मानव सभ्यता नदीकिनारमा विकास भएका उहाँको भनाइ छ । राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्नु मानव सभ्यताकै निमित्त चुनौतीपूर्ण भएको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले दिवसका अवसरमा पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान गर्न प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ । समस्त जीवन र जगत्को अस्तित्व रक्षा गर्ने प्रकृतिप्रदत्त वरदानका रूपमा रहेको पानीको महत्व, संरक्षण र दिगो प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई विश्वसमुदायले पानी दिवसका रूपमा मनाउँदै आएका छन् । नेपालमा यसवर्ष ‘शान्ति र समृद्धिका लागि पानी’ भन्ने नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व पानी दिवस मनाइँदैछ ।

पार्टीको परीक्षामा उत्तीर्ण हुनेलाई मात्रै टिकट दिइनेछ : अध्यक्ष ओली

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय व्यक्तिलाई मात्र पार्टीले उम्मेदवार बनाउने बताउनुभएको छ ।

एमाले बागमती प्रदेशले मध्यपुरथिमि बोडेस्थित कृषि विकास बैंकको तालिम हलमा आयोजना गरेको बागमति प्रदेशस्तरीय जनप्रतिनिधिहरुको प्रशिक्षणमा उहाँले अब पार्टी सदयताकै आधार बनाएर टिकट नदिइने बताउनुभयो ।

पार्टी सदस्यता लिएको यति वर्ष भयो भनेर सदस्यता लिएको वर्ष गनेर टिकट वितरण नहुने बताउँदै उहाँले देश, जनता र पार्टीका काममा निरन्तर लाग्नेलाई मूल्याङ्कनका आधारमा पार्टी र चुनाबमा टिकट दिने बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “देश र जनताका काममा सक्रिय भएर लाग्नुस् । समाजको बिकासमा लाग्नुस् । पार्टीको काममा सक्रिय भए मात्रै टिकट पाइन्छ । अब आउने पार्टीको अधिवेशनमा होस वा स्थानीय तहदेखि संसदीय निर्वाचनमा होस पार्टीको परीक्षामा उत्तीर्ण हुनेले मात्रै टिकट पाउँछन् ।”

विगतमा पार्टी अधिवेशन एवं महाधिवेशनमा होस कि स्थानीय तहदेखि संसदीय तहसम्म पार्टी सदस्यता लिएको यति वर्ष भयो, उति वर्ष भयो, मैले केही पाइन भनेर टिकट माग्न आउने गरेको स्मरण गर्नुभयो । पार्टीले जिल्लामा भेला र प्रशिक्षणको आयोजना गर्ने र ती भेला र प्रशिक्षण पार्टीको परीक्षाका रुपमा अगाडि बढ्ने भन्दै उहाँले देश र पार्टी बनाउन एमालेको नेता तथा कार्यकर्ता एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले तीन दिनसम्म चल्ने प्रशिक्षणमा पार्टीलाई अझै कसरी बलियो बनाएर लैजाने भन्नेबारेमा बृहत छलफल हुने बताउनुभयो ।प्रशिक्षणमा बागमती प्रदेशभित्रका पालिका प्रमुख, उपप्रमुख, पार्टी अध्यक्षलगायतका एक सयभन्दा बढी नेता तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको एमाले बागमती प्रदेश कमिटीका सहसचिव भक्तकुमारी लामाले जानकारी दिनुभयो ।

श्रीलङ्कालाई ऋणदाताहरूसँग ऋण पुनःसंरचनालाई तीव्रता दिन आइएमएफको आग्रह

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले बिहीबार श्रीलङ्काले आफ्नो सबैभन्दा खराब आर्थिक सङ्कटबाट पुनःप्राप्तिलाई निरन्तरता दिन प्रमुख द्विपक्षीय ऋणदाता चीन र अन्य ऋणदाताहरूसँग ऋण पुनःसंरचनालाई तीव्रता दिनुपर्ने बताएको छ ।

मुलुकमा खाद्यान्न, इन्धन र औषधिजस्ता आवश्यक वस्तु आयात गर्न विदेशी मुद्रा समाप्त भएकाले सन् २०२२ अप्रिलमा श्रीलङ्काले आफ्नो ४६ अर्ब डलरको विदेशी ऋण भुक्तानी गर्न सकेको थिएन । महिनौँसम्म चलेको विरोध प्रदर्शनका कारण तत्कालीन राष्ट्रपति गोटबाया राजपक्षेले भ्रष्टाचार र खराब व्यवस्थापनको आरोप लागेपछि राजीनामा दिन बाध्य हुनुपरेको थियो ।

आइएमएफले चार वर्षको दुई अर्ब ९० करोड डलरको जमानत राशिमा ३३ करोड ७० लाख डलरको तेस्रो किस्ता रिलिजका लागि मार्ग प्रशस्त गर्न कोलम्बोसँग कर्मचारीस्तरीय सम्झौतामा पुगेको बताएको छ । आइएमएफले ‘महत्त्वपूर्ण’ अर्को कदम भनेको ऋणदाताहरूसँगको सम्झौताहरूलाई अन्तिम रूप दिनु रहेको बताएको छ ।

श्रीलङ्काको कूल विदेशी ऋणको करिब १० प्रतिशत हिस्सा बेइजिङको रहेको छ । चीनले डिसेम्बरमा श्रीलङ्काको ऋण पुनःसंरचनाका लागि ‘सैद्धान्तिकरूपमा’ सहमति व्यक्त गरेको थियो तर कोलम्बो र बेइजिङले विवरण दिएका छैनन् र दुवैले अहिलेसम्म सम्झौतालाई अन्तिम रूप दिन सकेका छैनन् ।

राष्ट्रपति रनिल विक्रमासिङ्घेले बिक्री तथा व्यक्तिगत आयकर बढाउनुभएको छ, ऊर्जा अनुदानमा कटौती गर्नुभएको छ र आइएमएफ उद्धार सम्झौताअनुरूप सुधार र मितव्ययिता उपायहरूलाई अगाडि बढाउनुभएको छ ।

“आर्थिक स्थितिमा विस्तारै सुधार भइरहेको छ, सुधारको गतिलाई कायमै राख्नु महत्त्वपूर्ण छ”, आइएमएफले विज्ञप्तिमा भनेको छ । श्रीलङ्काले सन् २०२२ को पहिलो त्रैमासिकदेखि सङ्कुचन भएपछि गत वर्षको तेस्रो र चौथो त्रैमासिकमा वार्षिक आधारमा एक दशमलव छ प्रतिशत र चार दशमलव पाँच प्रतिशतको सामान्य वृद्धि हासिल गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति विक्रमासिङ्घेले बुधबार राति जुनपछि अर्थतन्त्र पूर्णरूपमा ठिक हुने अपेक्षा गरिएको घोषणा गर्नुभयो । उहाँले श्रीलङ्काली मुद्रा (रुपैयाँ) अमेरिकी डलरको तुलनामा २८० रुपैयाँमा बलियो हुने अपेक्षा गरिएको बताउनुभयो । सङ्कटको समयमा यो ३६० रुपैयाँ थियो ।

आफूले सन् २०२८ सम्ममा विदेशी ऋण भुक्तानीमा रोक लगाउने अपेक्षा गरेको उहाँले यसै महिनाको प्रारम्भमा राष्ट्रपति विक्रमासिङ्घेले बताउनुभएको थियो । श्रीलङ्काको वार्षिक ऋण भुक्तानी आधिकारिकरूपमा छ अर्ब डलर भएको अनुमान गरिएको छ । केन्द्रीय बैंकका आँकडाअनुसार सन् २०२३ सेप्टेम्बरको अन्त्यमा मुलुकको विदेशी ऋण ५२ अर्ब ६५ करोड डलर थियो ।

हेर्नुहोस् चैत ९ गते शुक्रवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – आम्दानि क्षेत्र मध्यमनै रहेता पनि इष्टमित्रका निम्ती सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । शारिरीक आलस्यताको सामना भने गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ ।

बृष राशि- आय मुलक कार्यको थालनि हुनेछ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

मिथुन राशि – नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ ।सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ ।

कर्कट राशि – सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । आजको कार्यले भोलिलाई फाइदा रहनेछ ।

सिंह राशि – निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ ।

कन्या राशि – एकान्त वाताबरणमा मन रम्नेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । जिबन साथीको सहयोग द्वारा गरीएका काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

तुला राशि – पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दा मुलक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ ।

बृश्चिक राशि – नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । अप्रिय खवरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेकोछ ।

धनु राशि – साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मानसम्मानमा आधात पर्नसक्ने सम्भाबना रहेकोछ ।

मकर राशि- मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।

कुम्भ राशि – प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । आम्दानि मध्यम रहला ।

मीन राशि- बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ ।

विपद् व्यवस्थापन समितिको बैठक हवाईजहाजभित्र

धनकुटा – विपद् व्यवस्थापनका लागि ध्यानाकर्षण गराउन जिल्ला विपद् व्यवस्थापन समितिको बैठक हवाईजहाजभित्र बसेको छ । पाख्रिबास नगरपालिकाको वनभोजस्थलमा निर्मित हवाईजहाज बैठक सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी तथा समितिका संयोजक पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

उहाँले खडेरी र वर्षात्को मौसमसँगै सुरु हुने विपद् र क्षतिप्रति सबैलाई सजग गर्न समितिको बैठक प्रमुख पर्यटकीयस्थल सनसारीमाई सिमसार क्षेत्रमा सम्पन्न भएको बताउनुभयो । आम नागरिक र सरोकारवालालाई दैवी प्रकोप तथा विपद्का विषयमा जागरुक बनाएर यसको न्यूनीकरण गर्न नयाँ तरिकाले बैठक राखिएको उहाँको भनाइ छ ।

चालक बस्ने हवाईजहाजको अघिल्लो भागमा स्थानीय तहका प्रमुख र यात्रु बस्ने सिटमा विपद्सम्बन्धी काम गर्ने जिल्ला तथा अन्तर्गतका सात वटै स्थानीय तहका प्रतिनिधिको उपस्थिति रहेको थियो । बैठकमा भएको छलफलका सहभागीले सडक दुर्घटना, आगलागी, बाढीपहिरो, विद्युतीय सुरक्षा लगायतका विषयमा सरोकारवालालाई कार्ययोजना बनाएर कार्यान्वयनको लागि सुझाव दिएका थिए ।

विभिन्न विषयमा भएको छलफलपछि समितिले मनसुन प्रतिरक्षा योजना र विपद् प्रतिरक्षा योजना बनाउने जिम्मा नेपाल रेडक्रस सोसाइटी धनकुटालाई दिइएको छ ।बैठकमा चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बू, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जीतेन्द्र रुम्दाली राई र पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले आफ्नो स्थानीय तहमा विपद न्यूनीकरणका लागि भइरहेको प्रगतिका बारेमा जानकारी दिनुभएको थियो ।

काठमाडौँ उपत्यकाको सभ्यता र वातावरण जोगाउन जल सतह बचाउनुपर्ने आवश्यकता

काठमाडौँ – काठमाडौँ उपत्यकाको सभ्यता र वातावरण जोगाउन जल सतह बचाउनुपर्ने आवश्यकता औल्याइएको छ । ‘विश्व पानी दिवस’को सन्दर्भमा सम्पदा तथा पर्यटन विभागद्वारा एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा यहाँ आयोजित ‘हिटी प्रणाली’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले सो कुरा औँल्याउनुभएको हो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले काठमाडौको हिटी (ढुङ्गेधारा) प्रणालीलाई बचाउनुपर्छ भन्नुभयो ।

उहाँले हिटी प्रणाली भूमिगत र वर्षातको पानी सतहको उपयोग गरेर पानीको वहावलाई नियमित गराएर सहरी विकासको पूर्वाधार आवश्यकता परिपूर्ति गर्ने प्रणालीका रुपमा स्थापित भएको बताउनुभयो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै हिटी संरक्षणविद् पद्मसुन्दर जोशीले भन्नुभयो,“नेपाल भाषामा सफालाई ‘यचु’ भनिन्छ । यही यचुबाट ‘यि’ वा ‘इ’ र ‘झोल’को अर्थमा ‘ती’ मिलेर ‘चयुति’ भएको देखिन्छ । कथ्य भाषामा ‘यचुति’, ‘यिति’ हुँदै ‘हिति’ भएको हो । हितिहरुमा पाइने शिलालेखहरुमा यसको उपयोगका विषयमा नियम लेखिएको पाइन्छ । मलमूत्र लिएर, छालाको जुत्ता लगाएर जान नहुने नियम उल्लेख छ ।”

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको तथ्याङ्क उद्धृत गर्दै संरक्षविद् जोशीले उपत्यकामा पाँच सय ७३ हिटी प्रणाली भएको बताउनुभयो ।ती मध्ये ३५ प्रतिशतमा अहिले पनि पानी आउँछ । ४९ प्रतिशत सुख्खा भएका छन् । ४ प्रतिशत हराइसकेका छन् । महानगरपालिकाले अस्तित्वमा रहेका ढुङ्गेधाराको अस्तित्व बचाउन महानगर गौरव योजनाअन्तर्गत ‘सबैको चाहना, ढुङ्गेधारा, हिटी र पोखरीको पुनःस्थापना’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । जल सम्पदासँग जोडिएका महानगरभित्रका ढुङ्गेधारा, हिटी र पोखरी जस्ता ५० वटा सम्पदा पुनःस्थापना गर्ने यसको लक्ष्य हो । चालु आर्थिक वर्षमा यसका लागि रु बीस करोड विनियोजन गरिएको छ ।

कामपाको सहयोगमा अलान फाउन्डेसनले यसैवर्ष हिटीको विद्यमान अवस्थाका बारेमा अध्ययन गरेको थियो । अध्ययन गएको मङ्सिर महिनामा सार्वजनिक भएको थियो । यो अध्यायनले महानगरपालिकाभित्र एक सय ५४ वटा ढुङ्गेधारा रहेको, त्यसमध्ये ६१ वटा (४०%) पानी आउने, ५० वटा (३२%) पानी नआउने, सङ्कटमा परेका (लोप हुन लागेको अवस्थामा) १० वटा (६%), हराएका २१ वटा (१४%) र फेला नपरेका (नभेटिएका) १२ वटा (८%) रहेको उल्लेख गरेको छ ।

राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्छ – अध्यक्ष ओली

काठमाडौँ, ८ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा नेपाल उत्पीडित जातिय मुक्ति समाजले ५९आँै अन्तर्राष्ट्रिय जातिभेद तथा रङ्गभेद उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले राजनीतिको लागि लोकतान्त्रिक गणतन्त्र साधन मात्र रहेको उल्लेख गर्दै राजनीतिको गन्तव्य मानवजातिको सुख र समृद्धि भएको बताउनुभयो ।

अध्यक्ष ओलीले राजनीति सुदृढ अर्थतन्त्र र समृद्धिको माध्यम भएको धारणा राख्नुभयो । समाजको उन्नतिका लागि, प्रगतिका लागि, समानाता, शान्ति सुव्यवस्थाका लागि, स्वच्छताका लागि, पारदर्शिताका लागि र सम्मानका लागि राजनीति केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयोे ।

उहाँले मानिस रङ्ग, जात र सम्पति, धर्म वा कुलिनको हिसाबले कोही जन्मँदै श्रेष्ठ वा नीच भन्ने नहुने बताउनुभयो । उहाँले सबै मानिस जन्मँदा बराबर जन्मिन्छन् र स्वतन्त्र हुने बताउनुभयो । “जातका आधारमा, रङ्गका आधारमा, वर्ण तथा लिङ्गका आधारमा वा कुनै आधारमा मानिस ठूलो र सानो भन्ने हँुदैन । कर्मबाट जिम्मेवारीमा तलमाथि हुन सक्दछ । तर कोही ठूलो सानो भन्ने हँुदैन । छुतअछूत भन्ने कुरा हुँदैन”, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले एमाले कुनै एउटा भूगोल, धर्म, जात वा समुदाय विशेषको पार्टी नभएको स्पष्ट पार्नुभयो । उहाँले कम्युनिष्ट आन्दोलन समानता र मानव स्वतन्त्रताको आन्दोलन भएको बताउनुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टीले दलित समुदायलाई नै सङ्गठित गरेर अघि बढाउँदा जातीय विभेद् अन्त्य गर्न सकिन्छ भनेर विसं २०४५ मा नै उत्पीडित जाति उत्थान मञ्च गठन गरेर जातीय विभेद् विरुद्धको आन्दोलन चलाएको बताउनुभयो ।हरेक समुदायको क्षमता अभिवृद्धि र सहभागिताको विषयमा एमाले गम्भीर रहेको उहाँको भनाई रहेको छ ।

धोनीद्वारा चेन्नाई फ्रेन्चाइजीको कप्तानबाट राजीनामा

पाँच पटकको इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन चेन्नाई सुपर किङ्ग्स (सिएसके) ले आइपिएल २०२४ को आगामी सिजनअघि बिहीबार स्टार ओपनर ऋतुराज गायकवाडलाई टिमको नयाँ कप्तान घोषणा गरेको छ ।

यो निर्णयले सिएसकेको नेतृत्वमा रहेको एमएस धोनीको लामो शासनको अन्त्यको सङ्केत गर्दछ । आफ्नो नेतृत्वमा धोनीले पाँच वटा आइपिएल दिलाउनुभएको छ ।

“एमएस धोनीले आइपिएल २०२४ सुरु हुनुअघि सिएसकेको कप्तानी ब्याट्सम्यान ऋतुराज गायकवाडलाई हस्तान्तरण गर्नुभयो, ऋतुराज सन् २०१९ देखि सिएसकेका अभिन्न अङ्ग हुनुहुन्छ र उहाँले यस अवधिमा आइपिएलमा ५२ खेल खेल्नुभएको छ”, सिएसकेले बिहीबार आधिकारिक विज्ञप्तिमार्फत भनेको छ ।

धोनीले २१२ आइपिएल खेलमा सिएसकेको नेतृत्व गर्नुभयो । यसमा १२८ खेलमा जित र ८२ मा पराजित हुनुभयो । सन् २००७ को टि–२० विश्वकप, सन् २०११ को एकदिवसीय विश्वकप र सन् २०१३ मा च्याम्पियन्स ट्रफीमा टिमलाई उपाधि दिलाएपछि धोनीले सन् २०२० अगस्ट १५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्नुभयो ।

गत वर्ष धोनीको नेतृत्वमा अहमदाबादमा गुजरात टाइटन्सविरुद्ध चेन्नाई फ्रेन्चाइजीले कीर्तिमानी पाँचौँ आइपिएल उपाधि जितेको थियो । बयालिस वर्षीय धोनी भारतीय क्रिकेटका सबैभन्दा प्रशंसित अनुहारमध्ये एक हुनुहुन्छ र वर्तमान केही क्रिकेट स्टारका तुलनामा प्रशंसकहरूबाट आनन्द लिइरहनुभएको छ । सन् २००८ मा आइपिएलको उद्घाटन सत्रदेखि नै उहाँले चेन्नाईको कप्तानी गर्नुभएको छ ।

उहाँले सन् २०२२ सिजनको प्रारम्भमा स्टार अलराउन्डर रवीन्द्र जडेजालाई कप्तानी हस्तान्तरण गर्नुभएको थियो तर सिजनको मात्र आठ खेलपछि पुनः फ्रेन्चाइजीको नेतृत्व गर्नुभयो ।

‘प्रशिक्षकबिना खेलकुदको विकास असम्भव’

गण्डकी, ८ चैत : गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री महेन्द्रध्वज जिसीले प्रशिक्षक बिना खेलकुदको विकास असम्भव नहुने बताउनुभएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आठौँं बोर्ड बैठकलाई सम्बोधन गदै उहाँले नयाँ प्राविधिक कर्मचारी व्यवस्थापन गर्न ऐनमा देखिएका समस्या हटाउन सरकारले गृहकार्य थालेको जानकारी दिनुभयो । खेलकुदभित्र बजेटमा देखिएका समस्या समाधान गर्न आफू प्रयत्नशील रहने प्रदेश खेलकुुद परिषद्को अध्यक्षसमेत रहनुभएका मन्त्री जिसीले बताउनुुभयो ।

सरकार आफ्नो उद्देश्य प्राप्तिका लागि अघि बढिरहेको बताउँदै उहाँले भन्नुुभयो, “हाम्रा माग असिमित छन् । बजेट न्यून छ । तर हामी न्यून बजेटबाटै प्रतिफल प्राप्त गर्नुछ ।”सरकार राजनीतिक निकासका लागि पहल गरिरहेको उल्लेख गर्दै उहाँले नीतिगत समस्या पन्छ्याउँदै नयाँ गतिमा अघि बढ्ने दाबी गर्नुुभयो ।

परिषद्का सदस्य सचिव श्रीधर शर्माले परिषद्को गतिबिधिबारेमा जानकारी दिनुभएको थियो । बैठकले १०आँैं राष्ट्रिय खेलकुदको तयारीमा जुट्ने गरी बजेटको बाँडफाँड गरेको छ । पहिलो पटक आयोजना हुन लागेको बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिताको तयारीलाई समेत तीव्र बनाउने निर्णय गरिएको छ ।

यसैगरी यू–१५ राष्ट्रिय जुनियर राष्ट्रिय प्रतियोगिता पोखरामा सञ्चालन गर्नका लागि राष्ट्रिय खेलकुद परिषदमा प्रस्ताव पेस गर्ने जनाएको छ । उक्त प्रतियोगिता आगामी २०८० जेठमा हुने तय भएको छ । बैठकले परिषद्का पूर्व अध्यक्ष एवं पूर्वमन्त्री सुशीला सिम्खडालाई आफ्नो कार्यअवधिभर खेलकुद, खेलाडी र प्रदेश खेलकुद परिषद्को विकासमा पु¥याएको योगदानको कदर गर्दै आभार व्यक्त गरेको छ ।

लुम्बिनीमा समृद्धिका लागि विश्व शान्ति अन्तर्राष्ट्रिय सम्मेलन

लुम्बिनी, ८ चैत : गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ । सम्मेलनमा विभिन्न देशका गैरआवासीय राजदूत, नेपालका लागि अवैतनिक वाणिज्यदूत, उच्च सरकारी अधिकारी, पर्यटन क्षेत्रका विज्ञको सहभागिता रहेको छ ।

सम्मेलनमा भाग लिन अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मङ्गोलिया, इन्डोनेसिया, सेय्चेल्लेस, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूत आज लुम्बिनी क्षेत्रमा आइपुगेका छन् ।
लुम्बिनीको प्रचारप्रसार र पर्यटन प्रवद्र्धन तथा विश्व शान्ति सन्देशका लागि सम्मेलन गरिएको जनाइएको छ । सम्मेलन परराष्ट्र मन्त्रालय र अन्तर कन्सुलर कर्पस नेपालको संयुक्त आयोजनामा भएको हो । लुम्बिनी क्षेत्रमा आज आइपुगेका प्रतिनिधि बुटवलदेखि केवलकारबाट पाल्पास्थित वसन्तपुर पुगेका थिए ।

बसन्पुरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रतिनिधिलाई स्वागत गर्दै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने गरी विभिन्न देशका गैरआवासीय राजदूत र नेपालका लागि अवैतनिक वाणिज्य दूतहरूलाई आग्रह गर्नुभएको छ । ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा लुम्बिनी केबलकारको माथिल्लो स्टेशन बसन्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले वैदेशिक लगानीका लागि नेपालमा अवसर बढिरहेको भन्दै राजदूतहरूको ध्यानाकर्षण गराउनुभएको हो ।

अवैतनिक कन्सुलर कप्र्स नेपाल (एचसिसिएन) का भाइस डीनसमेत रहनुभएका अध्यक्ष ढकालले पर्यटन, जलविद्युत, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, कृषि, पूर्वाधार विकास जस्ता क्षेत्रमा नेपालले बाह्य लगानी प्रवद्र्धन गरिरहेकाले लगानीकर्ता जुटाउन सामूहिक पहल गर्नुपर्ने समय आएको बताउनुभयो ।

कानुन परिमार्जन र नीतिगत सुधारका माध्यमबाट लगानीमैत्री वातावरण निर्माणमा सरकारले पहल गरिरहेकाले बाह्य लगानीकर्ताका लागि थप अवसरहरू सिर्जना भएको पनि अध्यक्ष ढकालको भनाइ थियो । विश्वको जनसङ्ख्याको एक तिहाई बौद्ध धर्मावलम्बी रहेकाले उनीहरुलाई लुम्बिनी ल्याउन सरकारले विशेष योजना बनाउनुपर्ने ढकालले बताउनुभयो ।

त्यस अवसरमा अवैतनिक कन्सुलर कप्र्स नेपालका डीन विष्णु अग्रवालले निजी क्षेत्रको लगानीबाट हुने आम्दानीले सरकारलाई पनि प्रतिफल दिने भएकाले निजी क्षेत्रमैत्री नीति र कानुन बन्नुपर्ने बताउनुभयो ।

विश्व क्षयरोग दिवस: सन् २०५० सम्म नेपाललाई क्षयरोग मुक्त बनाइने

काठमाडौँ, ८ चैत ः सरकारले सन् २०५० सम्ममा मुलुकलाई क्षयरोग मुक्त घोषणा गर्ने लक्ष्य लिएको छ ।विश्व क्षयरोग दिवसका अवसरमा आज भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्ज्वल श्रेष्ठले क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत अहिले एक सय २५ स्थानीय तहमा क्षयरोगको पहिचान, निदान र उपचार सेवामा सुधार गरिएको जानकारी दिनुभयो ।

अभियान क्रमशः सात सय ५३ वटै स्थानीय तहमा लागू गरिने उहाँको भनाइ छ । उहाँका अनुसार गत आर्थिक वर्षमा २५ वटा स्थानीय तहबाट सुरु गरिएको सो अभियान चालु आवमा थप एक सय स्थानीय तहमा सुरु गरिएको हो ।निर्देशक श्रेष्ठ समुदायको सक्रियतामा सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने र क्षयरोगको निदान उपचारमा लाग्ने आर्थिक व्ययभारलाई शून्यमा झार्ने लक्ष्य लिएको बताउनुभयो ।

सरकराले सन् २०३५ सम्म क्षयरोगको महामारी अन्त्य गर्ने लक्ष्य लिएको छ । हाल प्रति एक लाखमा दुई २९ जना क्षयरोगी छन् । निर्देशक डा श्रेष्ठका अनुसार आव २०७९÷८० मा नेपालमा ७० हजार नयाँ क्षयरोगका बिरामी थपिएको र करिब १८ हजारको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

नयाँ बिरामीमध्ये ३७ हजार चार सय ४७ जना मात्र उपचारमा आएको उहाँको भनाइ छ । तीमध्ये तीन हजार छ सय ५८ बालबालिका उपचाररत छन् । क्षयरोगका बिरामीमध्ये ७२ प्रतिशत फोक्सोका बिरामी र २८ प्रतिशत अन्य अङ्गका बिरामी हुने गरेका छन् । अन्य अङ्ग फोक्सोको पानी, हड्डी र दिमागमा पनि क्षयरोग लाग्ने गरेको उहाँले बताउनुभयो ।

विश्वमा औषधि प्रतिरोधी क्षयरोगको उच्च भार भएका ३० देशमध्ये नेपाल पनि छ । आव २०७९÷८० मा दुई हजार नौ सय जनामा औषधि प्रतिरोधि क्षयरोग विकास हुने अनुमान गरिएकोमा छ सय ९३ बिरामी मात्र निदान गरिएको र पाँच सय ४६ बिरामीको उपचारको दायरामा आएको कार्यकारी निर्देशक डा श्रेष्ठले बताउनुभयो । औषधि प्रतिरोधी क्षयरोगका बिरामीको उपचार सफलता ८२ प्रतिशत रहेको उहाँले बताउनुभयो ।

क्षयरोगका ६८ प्रतिशत विरामी मधेस, बागमती र लुम्बिनी प्रदेशका रहेका छन् । क्षयरोगको मृत्युको दर तीन प्रतिशत छ । क्षयरोग माइक्रो ब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो । एक जनाबाट १० जनासम्म क्षयरोग सर्न सक्दछ । फोक्सोमा क्षयरोग लागेमा सर्ने र अन्य अङ्गमा लागेमा नसर्ने निर्देशक श्रेष्ठले बताउनुभयो ।

क्षयरोग भएका बिरामीले खोक्दा, हाछ्युँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ । क्षयरोगबाट ७२ प्रतिशत फोक्सोलाई सङ्क्रमण गर्छ । यस्तै मुटुको बाहिरी झिल्ली, मासु, जोर्नी, मस्तिष्कमा पनि क्षयरोगले असर गर्दछ ।

केन्द्रका निर्देशक डा श्रेष्ठले क्षयरोगका बिरामीले कम्तीमा ६ देखि बढीमा १२ महिनासम्म चिकित्सकको निगरानीमा बसेर औषधि सेवन गरेमा ९० प्रतिशत रोग निको हुने बताउनुभयो । उहाँका अनुसार क्षयरोगको जोखिम १५ देखि ४४ वर्ष उमेर समूहका छन् । पछिल्लो वर्षमा ६५ वर्षभन्दा माथिका वृद्धवृद्धामा पनि क्षयरोग देखिने गरेको पाइएको छ ।

केन्द्रले छिटो र छरितो तरिकाले रोग पहिचान गर्न १५ केन्द्रबाट एक सय १३ स्वास्थ्य संस्थाबाट एक सय ३१ वटा मेसिन जडान गरी रोगी पत्ता लगाउने गरेको उहाँको भनाइ छ । हाल नेपालभर छ हजारभन्दा बढी स्वास्थ्य संस्थामा क्षयरोगविरुद्धको औषधि निःशुल्क उपलब्ध छन् ।

कुपोषण भएका, धुमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादकपदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस क्षयरोगको उच्च जोखिम पर्ने गर्दछन । तौल कम हुनु, खानामा रुचि कम हुनु, दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, राति ज्वरो आउनु क्षयरोगका प्रमुख लक्षण हुन् । यही चैत ११ गते ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाइँदै छ ।

रुसद्वारा किएभमा ३१ क्षेप्यास्त्र प्रहार, १३ जना घाइते

रुसले ४४ दिनपछि युक्रेनको राजधानी किएभमा बिहीबार बिहान ३१ ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्र प्रहार गरेको अधिकारीहरूले बताएका छन् । वायु सेनाले मिसाइलहरू खसाए पनि घटनामा एक बालिकासहित १३ जना घाइते भएका छन् ।

“विभिन्न दिशाबाट एकै समयमा क्षेप्यास्त्रहरू आइरहेका थिए, किएभका बासिन्दाहरू बिहान ५ बजेतिर ठूलो विस्फोटका कारण ब्युँझिएका थिए”, किएभ सहरका प्रशासन प्रमुख सेर्ही पोप्कोले भन्नुभयो ।

रुसले राजधानीमा दुई ब्यालिस्टिक र २९ क्रुज क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी वायुसेनाले जनाएको छ । किएभसँग देशका अधिकांश क्षेत्रमा भन्दा राम्रो वायु सुरक्षा छ । मिसाइल अवरोध दर बारम्बार उच्च छ, युद्धको प्रारम्भिक दिनहरूको तुलनामा राजधानीमा रुसी आक्रमणहरू उल्लेखनीयरूपमा कम गर्न सफल भए पनि रुसको आक्रमणमाथि विजय हासिल गर्न उनीहरूलाई थप पश्चिमी हतियार आवश्यक रहेको युक्रेनी अधिकारीहरूले चेतावनी दिएका छन् ।

सहरी प्रशासनका अनुसार आक्रमणमा परेका एक ११ वर्षिया बालिका र एक ३८ वर्षिय पुरुषलाई अस्पताल भर्ना गरिएको छ । आठ जनालाई सामान्य चोटपटक लागेको मेयर भटाली क्लिट्स्कोले बताउनुभयो । युक्रेन आपत्कालीन सेवाले करिब ८० जनालाई सुरक्षाका लागि आफ्नो घरबाट निकालिएको बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनका शीर्ष विदेश नीति सल्लाहकार ज्याक सुलिभानको किएभ भ्रमणको केही घण्टापछि यो आक्रमण भएको थियो । युक्रेनको सीमा नजिकै रहेको रुसको बेल्गोरोड क्षेत्रमा युक्रेनले बारम्बार गरेको हवाई हमलाको परिणामस्वरूप भएको हो ।

“बेल्गोरोड क्षेत्रमा बिहीबार भएको पछिल्लो आक्रमणमा पाँच जना घाइते भएका थिए, आक्रमणमा घरहरू र खेलकुद रङ्गशालामा क्षति पुर्याएको छ” गभर्नर व्याचेस्लाभ ग्लाडकोभले भन्नुभयो ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार आक्रमणको ‘जवाफमा जवाफ दिने’ धम्की दिनुभएको थियो । “रुसले नागरिक पूर्वाधार र यस प्रकारका अन्य सबै वस्तुहरूमा शत्रुले आक्रमण गरेजस्तै प्रतिक्रिया दिन सक्छ, यस विषयमा हाम्रा आफ्नै विचार र योजनाहरु छन् । हामीले रेखाङ्कित गरेको कुराको हामी पालना गर्छौं”, क्रेमलिनमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पुटिनले भन्नुभयो ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले क्षेप्यास्त्र हमला सामान्य भएका क्षेत्रहरूमा वितरण गर्नका लागि देशका पश्चिमी साझेदारहरूलाई थप वायु रक्षा प्रणाली पठाउन आग्रह गर्नुभएको छ । “हरेक दिन र हरेक रात आक्रमण हुन्छ, विश्व एकता हामीलाई थप वायु प्रणालीहरु पठाएर यसलाई रोक्नमा मद्दत गर्न सक्षम छ”, किएभमा बिहीबार भएको आक्रमणपछि राष्ट्रपति जेलेन्स्कीले टेलिग्राममा भन्नुभयो ।

युरोपेली सङ्घका नेताहरूले बिहीबार ब्रसेल्समा आयोजित शिखर सम्मेलनमा युक्रेनका लागि हतियार र गोलाबारुद उत्पादन बढाउन मद्दत गर्ने नयाँ तरिकाहरूबारे विचार गरेका थिए ।

सुन तस्करी प्रकरण : उपाध्यक्ष महरासँगको बयान सकियो

काठमाडौँ, ८ चैतः सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिने काम आज सकिएको छ ।

बुधबारदेखि सुरु भएको बयान लिने कार्य आज सम्पन्न भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिनुभयो । बयान सकिएसँगै उहाँलाई पुनःनर्भिक अस्पतालमै भर्ना गरिएको प्रहरीको केन्दीय अनुसन्धान ब्यूरो सिआइबीले जानकारी दिएको छ । कमजोर स्वास्थ्य अवस्थाका कारण उहाँलाई अदालतले नै अस्पतालमा राख्न भनेको थियो ।

यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ पर्नुभएका उहाँमाथि चार दिनको म्याद लिएर सिआइबीले अनुसन्धान गरिरहेको छ । आज थपिएको म्याद सकिने अन्तिम दिन हो । उहाँमाथि भोलि थप आवश्यक प्रक्रिया अघि बढाइने सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

गत साउन २ गते ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको नौ किलो सुन तस्करीमा सङ्लग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएकाले अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

अघिल्लो पटक सिआइबीले उहाँमाथि बयान कागज गराएर छाडेको थियो । सोही प्रकरणमा महराका छोरा राहुल हाल पुर्पक्षका लागि थुनामा छन् । यसैबीच बाँसबारीको जग्गा हिनामिना प्रकरणमा आजै सिआइबीले जिल्ला सरकारी वकीलको रोहबरमा बयान लिइएको छ । बयान दिएपछि उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै यो प्रक्रिया स्टन्टमात्रै भएको जिकिर गर्नुभएको छ ।

पिपिपिको उत्कृष्ट मोडललाई राजनीतिकरण गरिएको भन्दै उहाँले १० रोपनी जग्गामा कुदृष्टि राख्छ भन्ने विचार नै विकृत मानसिकताको सोच भएको बताउनुभयो । उहाँमाथि अनुसन्धान भइरहेको विषयमा सिआइबीले हिजोमात्रै सभामुख देवराज घिमिरेलाई संसद् सचिवायलमार्फत जानकारी गराएको थियो ।

चाइनिज दुबोमा भविष्य देख्दै तुलसीराम, गर्छन् मनग्य आम्दानी

नारायणगढ (चितवन), ८ चैतः वरिपरी गहुँ, मकै र तरकारी लगाएको ढकमक्क परेको बारी । बारीका बीचमा पातलो दुबो देखिने खाली चौर । त्यही चौरमा रहेको पातलो दुबोमा पानी हाली फैलाएर बिक्री गरी आम्दानी गर्ने योजनाका साथ बारीमा खटिरहनुभएको छ चितवनका तुलसीराम अर्याल । उहाँले भन्नुभयो, “चैतको खडेरीमा यसलाई जोगाउनै गाह्रो छ पानी हालिरहन पर्छ ।” दिनको २ बजेको घाममा उहाँसँगै दुबो बारीमा अन्य कामदार पनि काममा तल्लिन देखिन्थ्ये ।

कोही दुबो लगाउने बारी मिलाउँदै थिए भने कोही दुबो रोप्दै र गोड्दै थिए । कसैले माग भएका दुबोका चाक्लालाई जमिनबाट निकाल्दै थिए । सबै आ–आफ्नो काममा व्यस्थ रहँदा व्यवसायी अर्यालले भन्नुभयो “यो समय ग्राहकहरुले दुबो लगाउने र हाम्रो व्यापार हुने समय हो । काममा भ्याइनभ्याइ छ ।” भरतपुर महानगरपालिका–२३ मदिपुरमा अर्यालले विगत चार वर्षयता व्यावसायिक रुपमा चिनियाँ दुबो खेती गर्दै आउनुभएको छ । अहिले उहाँसँग १५ जना मजदुरले काम गर्दै आएका छन् । कोही स्थानीय हुन भने कोही मधेस तथा छिमेकी देसबाटसमेत आएका मजदुर रहेका छन् ।

घरको वरिपरि, होटल, बगैँचा, सडक पेटी, खेल मैदानमा प्रयोग हुने यो दुबो भएकाले वर्षातको समयमा खासै काम नहुने उहाँले बताउनुभयो । अर्यालले दुबो बिघा १० कठ्ठा जग्गा भाडामा लिएर दुबोको खेती गर्नुभएको हो । उहाँले भन्नुभयो “विगतमा तरकारी खेती गर्दै आएको थिए । त्यसको विकल्पको रुपमा दुबो खेती गरेको हुँ ।” उहाँले थप्नुभयो “यो व्यवसाय नयाँ भएकाले कस्तो हुन्छ भनेर गरेको हुँ । अहिले राम्रौ छ ।”

सबैले बुझ्ने भाषामा चाइनिज दुबो भनिय तापनि उहाँले बारीमा अहिले मेक्सिकन, र्बमुडा र जर्मन जातका दुबो लगाउँदै आएको बताउनुभयो । भारत गएर यी दुबोको बारेमा बुझेर आएर यहाँ व्यावसायिक रुपमा खेती गर्न थालेको भन्दै उहाँले भन्नुभयो, “बुटवलमा आफन्तले पनि यही व्यवसाय गर्दै आउनुभएको छ । यस काम गर्ने देन उहाँमा पनि जान्छ । उहाँकै सल्लाहामा दुबो लगाएको हो ।”
दुबो तयार गर्नका लागि झार नभएको मलिलो माटो आवश्यक पर्ने उहाँले बताउनुभयो । यसको लागि आवश्यक पर्नेे बीउ भारतबाट र कतिपय बीउको व्यवस्था आँफै पनि गर्ने गरेको अर्यालको भनाइ छ । संस्था तथा व्यक्तिसँगको सम्पर्कका कारण यसको बजारीकरण हुने भन्दै उहाँले अहिले चितवनसहित पोखरा, स्याङ्जा, धनगढी लगायतका जिल्लामा दुबो पठाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो “भरतपुर भ्रमण वर्ष उद्घाटन भएको स्थान नारायणी किनारमा पनि दुबो हामीलै लगाएको हो र अहिले पुल्चोक गोन्द्राङ सडक किनारामा पनि लगाउने कुरा भइरहेको छ ।”

दुई दशमबल पाँच बाइ चार वर्गफिटको एक पिसलाई होलसेल मूल्य रु तीन सय ५० र खुद्रा मूल्य रु चार सयमा बेच्दै आएको उहाँले बताउनुभयो । अहिले यही दुबोको कमाइले दुईवटा छोराछोरी र घर परिवार राम्रोसँग चलेको उहाँले सुनाउनुभयो । व्यवसायीअर्यालले भन्नुभयो “विदेश जाने योजना थियो तर यही केही गरौँ भनेर लागियो ।” बाह्ैमहिना बारीमा खटिनुपर्ने र तयार भएको दुबो कहिलेकाहीँ बिक्री गर्न समस्या हुने भन्दै उहाँले हरेक पेसामा रहेको समस्या समाधान गर्दै अघि बढ्न सके यही केही गर्न सकिने बताउनुभयो । यसै प्रकारको व्यवसाय वा खेती कसैले गर्न चाहन्छ भने बुझेर मात्र गर्न र यसको बजार सीमित रहेको उहाँको भनाइ थियो ।

संसद्को बाँकी अवधिसम्मै गठबन्धनले मिलेर काम गर्छः उपप्रधानमन्त्री महासेठ

जनकपुरधाम, ८ चैतः उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले संसद्को बाँकी अवधिसम्म वर्तमान गठबन्धनले मिलेरै काम गर्ने बताउनुभएको छ ।

जनकपुधाम विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री महासेठले प्रतिपक्षमा रहेका दलहरूसहितको सहकार्यमा वर्तमान गठबन्धन सरकारले देश विकासका लागि प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो । नेपाल कम्यनिष्ट (एमाले)ले चार वर्ष तीन महिनापछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्व गर्न पाएको भन्दै उहाँले प्रधानमन्त्री दाहालले भौतिक पूर्वाधारको विकासलाई उच्च प्राथमिकतामा राखेर काम गर्नु निर्देशन दिनुभएकाले आफू त्यसमा कटिबद्ध भएर लाग्नेसमेत बताउनुभयो ।

“भौतिक पूर्वाधारको विकासविना देश समृद्धितर्फ जानसक्दैन । त्यसैले सरकारको पहिलो लक्ष्य नै भौतिक पूर्वाधारसँग सम्बन्धित विषयहरूमा काम गर्नु हो । त्यसर्थ हुलाकी सडकदेखि पूर्वपश्चिम महेन्द्र राजमार्गको स्तरोन्नति र अन्य मार्ग, पुलपुलेसा तथा सडक समयमै बनाउन हामी लाग्छौँ”, उपप्रधानमन्त्री महासेठले भन्नुभयो ।

त्यसैगरी धनुषामा अधुरा रहेका सडक, पुल पुलेसा र अन्य विकास निर्माणका काम आफ्नै पालामा सम्पन्न गर्नेगरी काम गर्ने पनि महासेठको भनाइ थियो ।

एमाले—कांग्रेसबीच सहकार्यका विषयमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा महासेठले वर्तमान सरकारले बाँकी अवधिसम्म सहकार्य गर्ने र प्रतिपक्षमा रहेको नेपाली कांग्रेससँग पनि सहकार्यको भावनाका साथ अगाडि बढ्ने बताउनुभयो । “यो सरकार बाँकी अवधिसम्म चल्छ । प्रमुख प्रतिपक्षी भन्नुको अर्थ कांग्रेस ‘वेटिङ गभर्मेन्ट’ समेत भएकाले उसँग प्रतिपक्षमा होस् वा सरकारमा जहाँ भए पनि सहकार्य त हुन्छ नै, जो अहिले भइरहेको छ”, महासेठले भन्नुभयो ।

उहाँले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका विषयमा कांग्रेसले उठाएको प्रश्न आफ्नो कित्तामा नउभिएपछिको अवस्था भएको प्रतिक्रिया दिनुभयो । महासेठले सो विषय छलफल र अनुसन्धानकै अवस्थामा रहेकाले दोषी देखिए कसैले पनि सरकारमा बस्न नसक्ने धारणा राख्नुभयो ।

त्यस्तै, मधेस सरकारसहित सातवटै प्रदेश सरकार पुनःगठनका विषयमा गठबन्धन दलबीच छलफल चलिरहेकाले चाँडै निष्कर्षमा पुग्ने बताउनुभयो । नेकपा (एमाले) को तर्फबाट नेतृत्व गर्दै सरकारमा गएपछि पहिलोपटक गृहजिल्ला धनुषा आउनेक्रममा महासेठलाई नेता तथा कार्यकर्ताले जनकपुरधाम विमानस्थलमा भव्य स्वागत गरेका थिए ।

समर्थक, नेता तथा कार्यकर्ताहरूले मैथिली परम्परामा शुभ मानिने माछा र दहीको भारसहित स्वागत गरेका थिए । नेकपा (एमाले) जनकपुरधाम उपमहानगर कमिटीले उहाँलाई तीन सय ११ किलो माला लगाएर सम्मानसमेत गरेको थियो ।

महिला न्यायाधीशको पहिलो राष्ट्रिय सम्मेलन शुक्रबारदेखि

काठमाडौँ, ८ चैत : नेपालमा पहिलो पटक महिला न्यायाधीशको राष्ट्रिय सम्मेलन शुक्रबारदेखि सुरु हुने भएको छ ।राष्ट्रिय न्यायिक प्रतिष्ठान र न्यायाधीश समाज नेपालको संयुक्त आयोजनामा हुने ‘न्यायिक प्रणालीमा लैङ्गिक समानताको अभिवृद्धि ः हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ हुने सम्मेलनको प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तथा समाज नेपालमा अध्यक्ष सपना प्रधान मल्लले महिला न्यायाधीशको समस्या, चुनौती पहिचान गरी व्यावसायिक दक्षता वृद्धि गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिनुभयो । सर्वोच्च अदालतमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले न्याय क्षेत्रमा महिलाको प्रभावकारी सहभागिता वृद्धिलगायत समग्र विषयमा छलफल गर्न जानकारी दिनुभयो ।

शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने सम्मेलनमा न्यायिक समुदायभित्र सहयोग, सशक्तीकरण र वकालतको अनुभव, विचार आदानप्रदान गर्नुका साथै न्यायिक क्षेत्रमा काम गर्ने महिलाबीच एकता र सञ्जाल निर्माण, नेतृत्व विकास र सशक्तीकरणलगायतको विषयमा छुट्टाछुट्टै कार्यशाला हुनेछ ।

नेपालमा सर्वोच्च अदालतसहित ४३ महिला न्यायाधीश रहेका छन् । तीमध्ये सर्वोच्च अदालतमा तीन, उच्च अदालतमा मुख्य न्यायाधीश एक र न्यायाधीश २१, जिल्ला न्यायाधीश १८ गरी ४३ रहनुभएको छ । सम्मेलनमा महिला न्यायाधीशसहित न्याय सेवा, कानुन सेवा र सरकारी वकिल महिलाको सहभागिता हुनेछ । सम्मेलनले समापनमा घोषणापत्र समेत जारी गर्नेछ ।

छ महिनाभित्र विधान र एक वर्षमा महाधिवेशन गर्ने लोसपाको निर्णय

धनुषा, ८ चैत : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी छ महिनाभित्र विधान अधिवेशन र एक वर्षभित्र पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ ।महोत्तरीको बर्दिवासमा बसेको लोसपाको केन्द्रीय कमिटी बैठकपछि निर्णय सार्वजनिक गर्न आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा लोसपा अध्यक्ष महन्त ठाकुरले जिल्लादेखि वडासम्म पार्टीको पुनःगठन गरी सुदृढीकरण अभियान चलाउने बताउनुभयो ।

लोसपा वर्तमान सत्ता गठबन्धनमा छैन । सरकारमा रहँदा लोसपा संविधान संशोधन, नागरिकता समस्या, मधेश आन्दोलनकारीमाथि चलाइएको मुद्दाबारे मौन थियो । तर वर्तमान सरकार तथा गठबन्धनमा सहभागी नभएको लोसपाले पुनः ती मुद्दा उठाउने निर्णय गरेको छ ।

अध्यक्ष ठाकुरले वर्तमानमा अपुरो संविधान संशोधन, आमाको नामबाट नागरिकता प्रदान सहितका नागरिकता समस्या समाधान गर्न र मधेश आन्दोलनकारीमाथि लगाइएको झुठा मुद्दा फिर्ता लिनुपर्ने माग सरकारसँग गर्ने निर्णय केन्द्रीय कमिटीको बैठकले गरेको उहाँले बताउनुभयो ।

अध्यक्ष ठाकुरले राजेन्द्र महतोले पार्टी छोडेपछि पार्टीलाई हित नै भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीभित्र बसेर पार्टीको विना कुनै अनुमति लिएर कार्यक्रम गर्छ कोही भने त्यो गए के हुन्छ ?”

महतोको अभियानले मधेसमा कस्तो प्रभाव पार्छ त्यो पछि देखिने उहाँले बताउनुभयो । सङ्घीय गठबन्धनमा नरहे पनि मधेस सरकारमा रहेको प्रश्नमा अध्यक्ष ठाकुरले प्रदेश र सङ्घ फरक–फरक व्यवस्था रहेकाले सङ्घकै नजरले सबै ठाउँमा हेर्न नहुने बताउनुभयो । उहाँले प्रदेशमा अहिले अवस्था फरक रहेको बताउनुभयो । विगतदेखि अहिलेसम्म लाभको पदमा बसेका राजनीतिकर्मी र उच्च पदस्थ अधिकारीको सम्पत्ति छानबिन गर्न पनि लोसपाले माग गरेको छ ।

प्रतिद्वन्द्वी समुदायबीचको झडपमा चाडमा ४२ को मृत्यु

पूर्वी चाडमा दुई समुदायबीचको झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको सार्वजनिक सुरक्षा मन्त्रालयले बिहीबार बताएको छ । यस मुलुकको मरुभूमि क्षेत्र प्राय जमिन विवादले ग्रस्त छ ।

मन्त्रालयले झडपमा को सामेल थियो वा कति समयसम्म झडप भयो भन्नेबारै ठ्याक्कै बताएन तर यस क्षेत्रमा नियमितरूपमा बसेका किसानहरू र फिरन्ते गोठाला वा अन्य समूहबीच जमिनलाई लिएर झडप भएको देखिन्छ ।

झडपका कारण घटनास्थलबाट एक सय ७५ जनालाई पक्राउ गरिएको एक विज्ञप्तिमा जनाइएको छ । झडपका क्रममा ओउद्दाई प्रान्तको टिलेगुए गाउँको ‘ठूलो भाग’ लाई हतियारधारी मानिसहरूले आगो लगाएका थिए ।

सार्वजनिक सुरक्षामन्त्री जनरल महामत चारफडाइन मार्गुईले टेलिफोनमा भन्नुभयो, “स्थिति नियन्त्रणमा छ तर विभिन्न पक्षबीच मेलमिलाप गराउने प्रयास गरिरहेको छु ।” घटनाबारे ‘प्रकाश पार्ने’ उद्देश्यले सरकार र सेनाका सदस्यहरूको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री घटनास्थलमा हुनुहुन्थ्यो ।

किसानहरूले गोठालाहरूमाथि आफ्नो जमिनमा पशुवस्तुलाई चराउन वा बाली कुल्चन दिन अनुमति दिएको आरोप लगाउँदा अधिकांश बासिन्दा सशस्त्र रहेको पूर्वी र दक्षिणी चाडमा प्राय झडपहरू भइरहन्छन् ।

जापान एयरलाइन्सले ३२ एयरबस र १० बोइङ विमान खरिद गर्ने घोषणा

जापान एयरलाइन्सले एयरबससँग ३२ र बोइङसँग १० नयाँ विमान खरिद गर्ने बताएको छ। कम्पनीले एयरबसबाट २१ ए ३५०–९००, बोइङ कम्पनीसँग ११ वटा ए ३२१ नियो र १० वटा बोइङ ७८७–९ जहाज ल्याउने जनाएको छ ।

एयरलाइन्सका प्रवक्ताले आदेशको वित्तीय विवरणबारे टिप्पणी गर्न भने अस्वीकार गर्नुभयो । “यी नयाँ विमानहरूको खरिदले उत्तर अमेरिका, एशिया र भारतजस्ता क्षेत्रहरूमा प्राथमिक ध्यान केन्द्रित गर्दै एयरलाइन्सको अन्तर्राष्ट्रिय आवागमनको क्षमता बढाउने र विस्तार गर्ने लक्ष्य राखेको छ,” जापान एअरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

“जापान एयरलाइन्स समूह कार्बन डाइअक्साइड उत्सर्जन घटाउने लक्ष्य हासिल गर्ने प्रयासको एक भागको रूपमा ईन्धन–कुशल विमानको परिचयलाई निरन्तर अगाडि बढाउन प्रतिबद्ध छ,” विज्ञप्तिमा भनिएको छ ।

जापानले आर्थिक वर्ष २०३० सम्ममा सन् २०१९ को तुलनामा कूल उत्सर्जनमा १० प्रतिशतले कमी ल्याउने र आर्थिक वर्ष २०५० सम्ममा शून्य उत्सर्जन गर्ने लक्ष्य राखेको छ ।

डुङ्गा डुबेपछि इन्डोनेसियाको समुद्रमा फसेका ६९ रोहिङ्ग्या शरणार्थीको उद्धार

इन्डोनेसियाको समुद्रमा डुङ्गा डुबेपछि साम्द्रिक किनारामा बस्दै आएका ६९ रोहिङ्ग्या शरणार्थीको इन्डोनेसियाली अधिकारीहरूले उद्धार गरेका छन् । हप्तौँको सामुद्रिक यात्राका क्रममा इन्डोनेसियाली सामुद्रिक क्षेत्रमा पुगेका करिब १५० रोहिङ्ग्या शरणार्थी सवार रहेको अनुमान गरिएकोे काठको डुङ्गा बुधबार पल्टिएपछि उद्धारको लागि गएको अर्को डुङ्गा पनि दुर्घटना भएको बताइएको छ ।

पश्चिमी आचेह प्रान्तको तटमा रोहिङ्ग्याको समूह अफ्ठेरोमा परेको देखेपछि उद्धारकर्ताहरूले उनीहरूलाई बचाउनका लागि कठिन सङ्घर्ष गर्नुपरेको थियो ।अत्यधिक उत्पीडनमा परेका म्यान्माका अधिकांश मुस्लिम रोहिङ्ग्याहरूले हरेक वर्ष लामो र महँगो समुद्री यात्रामा आफ्नो ज्यान जोखिममा राखेर हजारौँको सङ्ख्यामा मलेशिया वा इन्डोनेसिया पुग्ने प्रयास गर्छन् ।

इन्डोनेसियाली उद्धारकर्मीले ४२ पुरुष, १८ महिला र नौ बालबालिका गरी ६९ जनाको उद्धार गरेको बान्दा आचेह खोज तथा उद्धार एजेन्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एएफपीलाई प्राप्त भएको फुटेजमा स्थानीय खोज तथा उद्धार निकायले पुरुष, महिला र बालबालिकालाई सुरक्षित स्थानमा लगेको देखिएको छ ।

“म १५ दिनदेखि समुद्रमा थिएँ तर यहाँ अरू त्यो भन्दा लामो (एक महिनाभन्दा बढी ) समयदेखि फसेका छन्,” इन्डोनेसियामा आफ्नो नाम ‘दोस्तगियोर’ बताउने २७ वर्षीय व्यक्तिले बताउनुभयो । आफू बङ्गलादेशको कक्स बजारबाट यात्रा सुरू गरेको बताउने उहाँसँगै धेरै रोहिङ्ग्या उत्पीडनबाट भागेर विभिन्न देशका शिविरमा गएको उहाँले बताउनुभयो ।

उहाँले एएफपीसँग भन्नुभयो, “मलाई इन्डोनेसिया लैजान सक्ने एक व्यक्तिलाई मैले बङ्गलादेशमा भेटेँ । इन्डोनेसिया पुग्नुको मेरो लक्ष्य भनेको मलाई मलेसिया लैजानका लागि कसैलाई त्यहाँ पैसा तिर्नु हो । एकपटक मलेसिया पुगेपछि म अरू कसैलाई पैसा तिरेर मलेसिया प्रवेश गराउने योजना त्यो व्यक्ति (दलाल) ले मलाई सुनाएको थियो ।”

पश्चिम आसेह मछुवा समुदायका महासचिव पवन्गा अमिरुद्दिनले बुधबार एएफपीसँग भने, “अन्य शरणार्थीले आफू म्यानमारबाट आएको र थाइल्याण्ड पुग्ने प्रयास गरेको तर अस्वीकार गरिएको बताएका छन् ।”संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायका सुरक्षा सहयोगी फैजल रहमानले उद्धार गरिएका हरूको ‘स्पष्ट र ठोस तथ्याङ्क’ प्राप्त गर्न उद्धार टोली बस्तीमा फर्किने प्रतिक्षामा रहेको बताउनुभयो ।

बुधबार पल्टेको सोही डुङ्गाबाट छ जना रोहिङ्ग्यालाई मछुवाले तत्काल उद्धार गरेका थिए ।तीमध्ये एक पिडितले दर्जनौं शरणार्थीलाई बाढीले बगाएको र बेपत्ता भएको वा मृत्यु भएको आशङ्का गरिएको घटनामा परेका जीवित शरणार्थीलाई उद्धृत गर्दै उद्धारकर्मीले बताए ।डुङ्गाले १५१ जनालाई लगेको बताउने एक शरणार्थीको भनाइलाई आधार मान्दै रहमानले भन्नुभयो, “डुङ्गा दुर्घटनापछि करिब ५० जना हराइरहेका छन् र उनीको मृत्यु भएको हुन सक्छ,” रहमानले भन्नुभयो ।

उहाँले थप्नुभयो, “धेरै मानिसहरूको जीवन बचाउन सक्दो प्रयास गर्न सकियोस् भनी हामी अझै पनि सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरिरहेका छौं ।” स्थानीय प्रहरी र क्षेत्रीय सरकारले टिप्पणीका लागि गरिएको अनुरोधमा आफूहरू यसका लागि तोकिएको आधिकारिक अधिकारी नभएकाले केही बताउन नसक्ने बताए ।

युएनएचसीआरका अनुसार नोभेम्बरको मध्यदेखि जनवरीको अन्त्यसम्म एक हजार ७५२ शरणार्थी इन्डोनेसियाको आचेह र उत्तरी सुमात्रा प्रान्तमा पुगेका छन् । सयौं मानिस आश्रयस्थलमा बसिरहेका छन् ।संयुक्त राष्ट्रसङ्घीय निकायका अनुसार सन् २०१५ यता मुस्लिम बहुल इन्डोनेसियामा पुगेका आप्रबासीको सबैभन्दा ठूलो सङ्ख्या हो ।हालैका महिनाहरूमा आचेहमा अवतरण गर्ने केही रोहिङ्ग्या समुदायप्रतिको समवेदना घटेको र डुङ्गाहरूलाई समुद्रमा फिर्ता पठाउन थालिएको छ ।

अनधिकृतरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा शाखा अधिकृत कार्कीविरुद्ध मुद्दा दायर

काठमाडौँ, ८ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा काठमाडौँ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौँका शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

वाग्मती नगर जग्गा एकीकरण आयोजनाको कार्यालय बौद्ध तथा अतिरिक्त जिम्मेवारीका रुपमा कागेश्वरी, गोकर्णेश्वर तथा शङ्करापुर नगरपालिकाद्वारा सञ्चालित पूर्वी काठमाडौँ नयाँ सहरी विकास आयोजनामा कार्यरत शाखा अधिकृत कार्कीले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार, कार्की विसं २०५८ साउन १६ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए । आयोगले विसं २०७९ चैत ३० गतेसम्मको सम्पत्तिका बारेमा अनुसन्धान गरेको छ । सो अवधिमा कार्कीको कूल आम्दानी रू तीन करोड ७७ लाख १३ हजार छ सय ४६ बराबर छ । यस्तै सो अवधिमा शाखा अधिकृत कार्कीले रू छ करोड ९८ लाख ४६ हजार छ सय तीन बराबर खर्च गरेको पाइएको छ ।

आम्दानीभन्दा खर्चको मात्रा बढी भएको र त्यसको स्रोत खुलाउन नसकेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार आयोगले रू तीन करोड २१ लाख ३२ हजार नौ सय ५६ बराबरको रकमको स्रोत खुलाउन नसकेको ठहर गरेको छ ।

आयोगले शाखा अधिकृत कार्कीको श्रीमती देवका अधिकारीको नाममा राखेको सम्पत्तिसमेत जफत गर्ने माग दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

उदयपुर र हेटौँडा सिमेन्ट उद्योगमा भएको घाटा न्यूनीकरण गर्छौँ : मन्त्री भण्डारी

काठमाडौँ, ८ चैत : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उदयपुर र हेटौँडा सिमेन्ट उद्योगमा भएको घाटा न्यूनीकरण गर्नेगरी जतिसक्दो चाँडो निर्णय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभा, उद्योथ तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उहाँले उदयपुर र हेटौँडा सिमेन्टको गुणस्तर तथा बजारीकरणमा कुनै कमी नभए पनि त्यसले व्यहोर्नुपरेको घाटाका बारेमा अध्ययन गरेर एउटा निर्णयमा पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “गुणस्तर, बजारीकरण र प्रविधिमा कुनै समस्या छैन, तर पनि यी दुई सिमेन्ट उद्योगको वर्तमान अवस्था निराशाजनक नै छ, यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ, यथास्थितिमै यी उद्योगलाई राखिराख्नु हुँदैन, सरकारले छिट्टै निर्णय गर्ने छ ।”

सरकारले सञ्चालन गरेका उद्योगलाई थप बलियो बनाउँदै विदेशिएको जनशक्तिलाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने मन्त्री भण्डरीको भनाइ छ । उहाँले सरकारले समृद्ध नेपालको आकाङ्क्षालाई पूरा गर्ने गरी दु्रतगतिमा काम गरिरहेको बताउनुभयो ।

बैठकमा समितिका सदस्य लालप्रसाद साँवा लिम्बूले सरकारले राम्रोसँग सिमेन्ट उद्योग सञ्चालन गर्ने हो भने नयाँ सोच र योजनाका साथ अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । सांसद रमा कोइराला पौड्यालले भन्नुभयो, “निजी क्षेत्रले सञ्चालन गरेका सिमेन्ट उद्योग फस्टाउँदै जाने, तर सरकारले सञ्चालन गरेका सिमेन्ट उद्योग घाटामा जाने, यस्तो कसरी हुन्छ ?, यसबारेमा सरकारले गम्भीर समीक्षा गर्नुपर्छ, सरकारले सञ्चालन गरेका उद्योग बन्द हुनु हुँदैन ।”

सांसद रणेन्द्र बरालीले राजनीतिक हस्तक्षेप र राज्यको उदासिनताका कारण सरकारी उद्योग धरासायी बन्दै गएको टिप्पणी गर्नुभयो । सांसद सूर्यमान तामाङ दोङले उदयपुर र हेटौँडा सिमेन्ट उद्योगलाई उत्कृष्ट उद्योगका रूपमा विकास गर्न उद्योग र अर्थ मन्त्रालयबीच गम्भीर छलफल हुनुपर्नेमा जोड दिनुभयो ।

‘उदयपुर र हेटौँडा सिमेन्ट उद्योगको वर्तमान अवस्थाको विश्लेषण र भावी कार्यदिशा’ विषयमा अध्ययन गर्न गठित समितिले सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योग दुवैलाई गाभेर नयाँ रुपमा सञ्चालन गर्न सकिने विषयमा विगतको बजेट वक्तव्यमा पनि उल्लेख भएको जनाउँदै त्यस सम्बन्धमा अध्ययन कार्य अघि बढाउन सुझाव दिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट पूर्वी क्षेत्रमा पाँच गैँडा स्थानान्तरण

चितवन, ८ चैत : चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन भाले र दुई पोथी गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएका छन् । पश्चिममा गैँडाको सङ्ख्या धेरै भएपछि पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दिव्यपुरी क्षेत्रबाट दुई गैँडालाई पूर्वी क्षेत्रमा ल्याइएको छ । अन्दाजी आठ र १७ वर्षका भाले गैँडालाई नियन्त्रणमा लिई पूर्वी चितवनको खैरहनी नगरपालिकाअन्तर्गत कुचकुचे मध्यवर्ती सामुदायिक वन नजिक निकुञ्जको भित्री भागमा छाडिएको छ ।

यस्तै कावासोती क्षेत्रबाट एउटा गैँडा नियन्त्रणमा लिई पूर्वी क्षेत्रमा ल्याइएको छ । अन्दाजी २८ वर्षको सो भाले गैँडालाई कसराबाट पूर्वी क्षेत्रमा छोडिएको हो । दुई पोथी गैँडा सुखीभार क्षेत्रबाट पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ । निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार बुधबार १० वर्षको पोथी गैँडा ल्याइएको हो । आज आठ वर्षको पोथी गैँडालाई ल्याइएको छ । यी सबै गैँडा एकै क्षेत्रमा छोडिएको उहाँले बताउनुभयो ।

निकुञ्जका हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएका नेपाली सेना र अन्य कर्मचारी गरी ६० जनाको जनशक्ति गैँडा स्थानान्तरणमा खटाइएको छ । निकुञ्जले छ गैँडालाई आन्तरिक स्थानान्तरणको तयारी गरेको छ ।

पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा छन् । एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने गर्छन् । पूर्वी क्षेत्रमा घाँसेमैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा स्थानान्तरण गरिएको हो । त्यसमध्ये एउटा भाले गैँडालाई कोशीटप्पुमा स्थानान्तरण गरिने भएको छ । गत असोज १० गते त्यहाँ दुई पोथी गैँडा लगिएको थियो । प्रजनन प्रक्रिया सहज बनाउन भाले गैँडा स्थानान्तरण गर्न लागिएको हो ।