`

जापान एयरलाइन्सले ३२ एयरबस र १० बोइङ विमान खरिद गर्ने घोषणा

जापान एयरलाइन्सले एयरबससँग ३२ र बोइङसँग १० नयाँ विमान खरिद गर्ने बताएको छ। कम्पनीले एयरबसबाट २१ ए ३५०–९००, बोइङ कम्पनीसँग ११ वटा ए ३२१ नियो र १० वटा बोइङ ७८७–९ जहाज ल्याउने जनाएको छ ।

एयरलाइन्सका प्रवक्ताले आदेशको वित्तीय विवरणबारे टिप्पणी गर्न भने अस्वीकार गर्नुभयो । “यी नयाँ विमानहरूको खरिदले उत्तर अमेरिका, एशिया र भारतजस्ता क्षेत्रहरूमा प्राथमिक ध्यान केन्द्रित गर्दै एयरलाइन्सको अन्तर्राष्ट्रिय आवागमनको क्षमता बढाउने र विस्तार गर्ने लक्ष्य राखेको छ,” जापान एअरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

“जापान एयरलाइन्स समूह कार्बन डाइअक्साइड उत्सर्जन घटाउने लक्ष्य हासिल गर्ने प्रयासको एक भागको रूपमा ईन्धन–कुशल विमानको परिचयलाई निरन्तर अगाडि बढाउन प्रतिबद्ध छ,” विज्ञप्तिमा भनिएको छ ।

जापानले आर्थिक वर्ष २०३० सम्ममा सन् २०१९ को तुलनामा कूल उत्सर्जनमा १० प्रतिशतले कमी ल्याउने र आर्थिक वर्ष २०५० सम्ममा शून्य उत्सर्जन गर्ने लक्ष्य राखेको छ ।

डुङ्गा डुबेपछि इन्डोनेसियाको समुद्रमा फसेका ६९ रोहिङ्ग्या शरणार्थीको उद्धार

इन्डोनेसियाको समुद्रमा डुङ्गा डुबेपछि साम्द्रिक किनारामा बस्दै आएका ६९ रोहिङ्ग्या शरणार्थीको इन्डोनेसियाली अधिकारीहरूले उद्धार गरेका छन् । हप्तौँको सामुद्रिक यात्राका क्रममा इन्डोनेसियाली सामुद्रिक क्षेत्रमा पुगेका करिब १५० रोहिङ्ग्या शरणार्थी सवार रहेको अनुमान गरिएकोे काठको डुङ्गा बुधबार पल्टिएपछि उद्धारको लागि गएको अर्को डुङ्गा पनि दुर्घटना भएको बताइएको छ ।

पश्चिमी आचेह प्रान्तको तटमा रोहिङ्ग्याको समूह अफ्ठेरोमा परेको देखेपछि उद्धारकर्ताहरूले उनीहरूलाई बचाउनका लागि कठिन सङ्घर्ष गर्नुपरेको थियो ।अत्यधिक उत्पीडनमा परेका म्यान्माका अधिकांश मुस्लिम रोहिङ्ग्याहरूले हरेक वर्ष लामो र महँगो समुद्री यात्रामा आफ्नो ज्यान जोखिममा राखेर हजारौँको सङ्ख्यामा मलेशिया वा इन्डोनेसिया पुग्ने प्रयास गर्छन् ।

इन्डोनेसियाली उद्धारकर्मीले ४२ पुरुष, १८ महिला र नौ बालबालिका गरी ६९ जनाको उद्धार गरेको बान्दा आचेह खोज तथा उद्धार एजेन्सीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एएफपीलाई प्राप्त भएको फुटेजमा स्थानीय खोज तथा उद्धार निकायले पुरुष, महिला र बालबालिकालाई सुरक्षित स्थानमा लगेको देखिएको छ ।

“म १५ दिनदेखि समुद्रमा थिएँ तर यहाँ अरू त्यो भन्दा लामो (एक महिनाभन्दा बढी ) समयदेखि फसेका छन्,” इन्डोनेसियामा आफ्नो नाम ‘दोस्तगियोर’ बताउने २७ वर्षीय व्यक्तिले बताउनुभयो । आफू बङ्गलादेशको कक्स बजारबाट यात्रा सुरू गरेको बताउने उहाँसँगै धेरै रोहिङ्ग्या उत्पीडनबाट भागेर विभिन्न देशका शिविरमा गएको उहाँले बताउनुभयो ।

उहाँले एएफपीसँग भन्नुभयो, “मलाई इन्डोनेसिया लैजान सक्ने एक व्यक्तिलाई मैले बङ्गलादेशमा भेटेँ । इन्डोनेसिया पुग्नुको मेरो लक्ष्य भनेको मलाई मलेसिया लैजानका लागि कसैलाई त्यहाँ पैसा तिर्नु हो । एकपटक मलेसिया पुगेपछि म अरू कसैलाई पैसा तिरेर मलेसिया प्रवेश गराउने योजना त्यो व्यक्ति (दलाल) ले मलाई सुनाएको थियो ।”

पश्चिम आसेह मछुवा समुदायका महासचिव पवन्गा अमिरुद्दिनले बुधबार एएफपीसँग भने, “अन्य शरणार्थीले आफू म्यानमारबाट आएको र थाइल्याण्ड पुग्ने प्रयास गरेको तर अस्वीकार गरिएको बताएका छन् ।”संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकायका सुरक्षा सहयोगी फैजल रहमानले उद्धार गरिएका हरूको ‘स्पष्ट र ठोस तथ्याङ्क’ प्राप्त गर्न उद्धार टोली बस्तीमा फर्किने प्रतिक्षामा रहेको बताउनुभयो ।

बुधबार पल्टेको सोही डुङ्गाबाट छ जना रोहिङ्ग्यालाई मछुवाले तत्काल उद्धार गरेका थिए ।तीमध्ये एक पिडितले दर्जनौं शरणार्थीलाई बाढीले बगाएको र बेपत्ता भएको वा मृत्यु भएको आशङ्का गरिएको घटनामा परेका जीवित शरणार्थीलाई उद्धृत गर्दै उद्धारकर्मीले बताए ।डुङ्गाले १५१ जनालाई लगेको बताउने एक शरणार्थीको भनाइलाई आधार मान्दै रहमानले भन्नुभयो, “डुङ्गा दुर्घटनापछि करिब ५० जना हराइरहेका छन् र उनीको मृत्यु भएको हुन सक्छ,” रहमानले भन्नुभयो ।

उहाँले थप्नुभयो, “धेरै मानिसहरूको जीवन बचाउन सक्दो प्रयास गर्न सकियोस् भनी हामी अझै पनि सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरिरहेका छौं ।” स्थानीय प्रहरी र क्षेत्रीय सरकारले टिप्पणीका लागि गरिएको अनुरोधमा आफूहरू यसका लागि तोकिएको आधिकारिक अधिकारी नभएकाले केही बताउन नसक्ने बताए ।

युएनएचसीआरका अनुसार नोभेम्बरको मध्यदेखि जनवरीको अन्त्यसम्म एक हजार ७५२ शरणार्थी इन्डोनेसियाको आचेह र उत्तरी सुमात्रा प्रान्तमा पुगेका छन् । सयौं मानिस आश्रयस्थलमा बसिरहेका छन् ।संयुक्त राष्ट्रसङ्घीय निकायका अनुसार सन् २०१५ यता मुस्लिम बहुल इन्डोनेसियामा पुगेका आप्रबासीको सबैभन्दा ठूलो सङ्ख्या हो ।हालैका महिनाहरूमा आचेहमा अवतरण गर्ने केही रोहिङ्ग्या समुदायप्रतिको समवेदना घटेको र डुङ्गाहरूलाई समुद्रमा फिर्ता पठाउन थालिएको छ ।

अनधिकृतरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा शाखा अधिकृत कार्कीविरुद्ध मुद्दा दायर

काठमाडौँ, ८ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा काठमाडौँ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौँका शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

वाग्मती नगर जग्गा एकीकरण आयोजनाको कार्यालय बौद्ध तथा अतिरिक्त जिम्मेवारीका रुपमा कागेश्वरी, गोकर्णेश्वर तथा शङ्करापुर नगरपालिकाद्वारा सञ्चालित पूर्वी काठमाडौँ नयाँ सहरी विकास आयोजनामा कार्यरत शाखा अधिकृत कार्कीले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार, कार्की विसं २०५८ साउन १६ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए । आयोगले विसं २०७९ चैत ३० गतेसम्मको सम्पत्तिका बारेमा अनुसन्धान गरेको छ । सो अवधिमा कार्कीको कूल आम्दानी रू तीन करोड ७७ लाख १३ हजार छ सय ४६ बराबर छ । यस्तै सो अवधिमा शाखा अधिकृत कार्कीले रू छ करोड ९८ लाख ४६ हजार छ सय तीन बराबर खर्च गरेको पाइएको छ ।

आम्दानीभन्दा खर्चको मात्रा बढी भएको र त्यसको स्रोत खुलाउन नसकेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार आयोगले रू तीन करोड २१ लाख ३२ हजार नौ सय ५६ बराबरको रकमको स्रोत खुलाउन नसकेको ठहर गरेको छ ।

आयोगले शाखा अधिकृत कार्कीको श्रीमती देवका अधिकारीको नाममा राखेको सम्पत्तिसमेत जफत गर्ने माग दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

उदयपुर र हेटौँडा सिमेन्ट उद्योगमा भएको घाटा न्यूनीकरण गर्छौँ : मन्त्री भण्डारी

काठमाडौँ, ८ चैत : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उदयपुर र हेटौँडा सिमेन्ट उद्योगमा भएको घाटा न्यूनीकरण गर्नेगरी जतिसक्दो चाँडो निर्णय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभा, उद्योथ तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उहाँले उदयपुर र हेटौँडा सिमेन्टको गुणस्तर तथा बजारीकरणमा कुनै कमी नभए पनि त्यसले व्यहोर्नुपरेको घाटाका बारेमा अध्ययन गरेर एउटा निर्णयमा पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “गुणस्तर, बजारीकरण र प्रविधिमा कुनै समस्या छैन, तर पनि यी दुई सिमेन्ट उद्योगको वर्तमान अवस्था निराशाजनक नै छ, यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ, यथास्थितिमै यी उद्योगलाई राखिराख्नु हुँदैन, सरकारले छिट्टै निर्णय गर्ने छ ।”

सरकारले सञ्चालन गरेका उद्योगलाई थप बलियो बनाउँदै विदेशिएको जनशक्तिलाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने मन्त्री भण्डरीको भनाइ छ । उहाँले सरकारले समृद्ध नेपालको आकाङ्क्षालाई पूरा गर्ने गरी दु्रतगतिमा काम गरिरहेको बताउनुभयो ।

बैठकमा समितिका सदस्य लालप्रसाद साँवा लिम्बूले सरकारले राम्रोसँग सिमेन्ट उद्योग सञ्चालन गर्ने हो भने नयाँ सोच र योजनाका साथ अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । सांसद रमा कोइराला पौड्यालले भन्नुभयो, “निजी क्षेत्रले सञ्चालन गरेका सिमेन्ट उद्योग फस्टाउँदै जाने, तर सरकारले सञ्चालन गरेका सिमेन्ट उद्योग घाटामा जाने, यस्तो कसरी हुन्छ ?, यसबारेमा सरकारले गम्भीर समीक्षा गर्नुपर्छ, सरकारले सञ्चालन गरेका उद्योग बन्द हुनु हुँदैन ।”

सांसद रणेन्द्र बरालीले राजनीतिक हस्तक्षेप र राज्यको उदासिनताका कारण सरकारी उद्योग धरासायी बन्दै गएको टिप्पणी गर्नुभयो । सांसद सूर्यमान तामाङ दोङले उदयपुर र हेटौँडा सिमेन्ट उद्योगलाई उत्कृष्ट उद्योगका रूपमा विकास गर्न उद्योग र अर्थ मन्त्रालयबीच गम्भीर छलफल हुनुपर्नेमा जोड दिनुभयो ।

‘उदयपुर र हेटौँडा सिमेन्ट उद्योगको वर्तमान अवस्थाको विश्लेषण र भावी कार्यदिशा’ विषयमा अध्ययन गर्न गठित समितिले सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योग दुवैलाई गाभेर नयाँ रुपमा सञ्चालन गर्न सकिने विषयमा विगतको बजेट वक्तव्यमा पनि उल्लेख भएको जनाउँदै त्यस सम्बन्धमा अध्ययन कार्य अघि बढाउन सुझाव दिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट पूर्वी क्षेत्रमा पाँच गैँडा स्थानान्तरण

चितवन, ८ चैत : चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन भाले र दुई पोथी गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएका छन् । पश्चिममा गैँडाको सङ्ख्या धेरै भएपछि पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दिव्यपुरी क्षेत्रबाट दुई गैँडालाई पूर्वी क्षेत्रमा ल्याइएको छ । अन्दाजी आठ र १७ वर्षका भाले गैँडालाई नियन्त्रणमा लिई पूर्वी चितवनको खैरहनी नगरपालिकाअन्तर्गत कुचकुचे मध्यवर्ती सामुदायिक वन नजिक निकुञ्जको भित्री भागमा छाडिएको छ ।

यस्तै कावासोती क्षेत्रबाट एउटा गैँडा नियन्त्रणमा लिई पूर्वी क्षेत्रमा ल्याइएको छ । अन्दाजी २८ वर्षको सो भाले गैँडालाई कसराबाट पूर्वी क्षेत्रमा छोडिएको हो । दुई पोथी गैँडा सुखीभार क्षेत्रबाट पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ । निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार बुधबार १० वर्षको पोथी गैँडा ल्याइएको हो । आज आठ वर्षको पोथी गैँडालाई ल्याइएको छ । यी सबै गैँडा एकै क्षेत्रमा छोडिएको उहाँले बताउनुभयो ।

निकुञ्जका हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएका नेपाली सेना र अन्य कर्मचारी गरी ६० जनाको जनशक्ति गैँडा स्थानान्तरणमा खटाइएको छ । निकुञ्जले छ गैँडालाई आन्तरिक स्थानान्तरणको तयारी गरेको छ ।

पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ गैँडा छन् । एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने गर्छन् । पूर्वी क्षेत्रमा घाँसेमैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा स्थानान्तरण गरिएको हो । त्यसमध्ये एउटा भाले गैँडालाई कोशीटप्पुमा स्थानान्तरण गरिने भएको छ । गत असोज १० गते त्यहाँ दुई पोथी गैँडा लगिएको थियो । प्रजनन प्रक्रिया सहज बनाउन भाले गैँडा स्थानान्तरण गर्न लागिएको हो ।

पूर्वप्राथमिक तहमा एकीकृत पाठ्यसामग्री कार्यान्वयनमा

काठमाडौँ, ८ चैत: पाठ्यक्रम विकास केन्द्रले पूर्वप्राथमिक र प्रारम्भिक बालविकास तहमा पहिलो पटक स्वीकृत मापदण्डमा आधारित एकीकृत पाठ््यसामग्री कार्यान्वयन गरेको छ ।

केन्द्रले ‘प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम, २०७७’ अन्तर्गत पूर्वप्राथमिक र प्रारम्भिक बालविकास तथा शिक्षाका सिकाइसम्बन्धी पाठ्यसामग्री विकास गरेको हो । शैक्षिकसत्र २०८१, २०८२ र २०८३ का लागि स्वीकृति प्राप्त पूर्वप्राथमिक तहको सिकाइ सामग्रीको सूची केन्द्रले वेबसाइटमार्फत सार्वजनिक गरेको छ ।

उक्त सूचीमा सिकाइ सामग्रीको नाम, बालबालिकाको उमेर समूह, प्रकाशकको नाम र ठेगानासमेतको विवरण समेटिएको छ । यी उमेर समूहमा नर्सरी, एलकेजी, एसकेजी पर्दछन् । आगामी शैक्षिकसत्रका लागि मापदण्डअनुसार स्वीकृत १५ पब्लिकेसन्सले ‘इन्ट्रिगेटेड एड्भान्स्ड किड्स’ लगायतका पाठ्यसामग्री प्रकाशन गर्न थालेका छन् ।

केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालले ‘प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रम–२०७७’ अनुसार पाठ्यसामग्री नयाँ शैक्षिकसत्रदेखि लागू हुने जानकारी दिनुभयो । उहाँले यसबारे सम्बन्धित निकायलाई सूचित गर्न बेग्लै सूचना प्रकाशन गर्ने जनाउँदै स्वीकृत नभएका र विगतमा आफूखुसी प्रकाशन भएका सामग्री बिक्रीवितरण नगर्न आग्रह गर्नुभयो ।

अनधिकृत पाठ्यसामग्री प्रयोग भए नभएको विषयमा शैक्षिकसत्र सुरु भएपछि अनुगमन गरी सम्बन्धित जिल्ला प्रशासन र स्थानीय तहको सहयोगमा कारवाही गरिने बताउनुभयो । त्यस्ता अनधिकृत सामग्रीलाई केन्द्रले जफत गरी प्रकाशन बन्द, जरिवानालगायतका कारबाही गराउन सक्नेछ ।

महानिर्देशक अर्यालले भन्नुभयो, “स्वीकृत मापदण्डमा कुनै फरक पर्न गएमा पाठ्यसामग्री तथा मूल्याङ्कन समितिको सिफारिस तथा केन्द्रको आधिकारिक निर्णयअनुसार सुधार गरिनेछ । अनधिकृत सामग्री प्रयोग गर्न÷गराउन पाइँदैन ।” पूर्वप्राथमिक शिक्षामा खासगरी निजी क्षेत्रका कतिपय विद्यालय बिनादर्ता सञ्चालनमा आएका सन्दर्भमा पाठ्यसामग्रीको प्रयोगले एकरुपता कायम भई बालबालिकाको सर्वाङ्गीण विकासमा मद्दत पुग्ने ठानिएको छ ।

हाल मुलुकभर सञ्चालित सरकारी बालविकास केन्द्रको सङ्ख्या ३३ हजार छ । निजी क्षेत्रबाट सञ्चालित कतिपय संस्थाले आफूलाई ‘मन्टेश्वरी’का रुपमा परिचित गराउँदै आएका छन् ।

केन्द्रले तय गरेको पूर्वप्राथमिक र प्रारम्भिक बालविकास तथा शिक्षाका सिकाइसम्बन्धी पाठ्यसामग्री विकासका आधारमा सिकाइ सामग्रीले समेट्नुपर्ने समकक्षता, विषयवस्तु र क्षेत्र, आधारभूत सीप, विस्तृतीकरण, भाषिक तथा विधागत सीप, पृष्ठ सङ्ख्या आदि निर्धारण गरिएको छ । पाठ्यसामाग्रीमा बालबालिकालाई पढाएरभन्दा खेलाउने र पढाइ कम सिकाइ बढी रहेको छ ।

समकक्षता निर्धारण गर्दा अभिव्यक्ति तथा सञ्चारका लागि भाषाको उपयोग, पोषणयुक्त खाद्यपरिकारको पहिचान र दैनिक उपयोग, स्वास्थ्यकर बानी तथा असल सामाजिक व्यवहारको अनुशरण गरिएको छ । यसैगरी आवश्यकतानुसार नमुना प्रदर्शन, वैयक्तिक सुरक्षाका उपायको अवलम्बन, दैनिक व्यवहारका कार्य, सर्वाङ्गीण विकासका क्रियाकलापमा संलग्नता र तिनको आधारभूत सीपको प्रयोग गर्न भनिएको छ ।

अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले बोझिला पुस्तक लागू नगरी स्वीकृत र सरल पाठ्यसामग्री लागू हुनु सकारात्मक भएको बताउनुभयो ।काठमाडौँको ‘अङ्कुर प्रिस्कुल’ का प्रिन्सिपल सिर्जना पोखरेलले केन्द्रले यसअघि नै कक्षा १, २ र ३ मा एकीकृत पाठ्यक्रम लागू गरेकाले तल्ला तहमा पनि सोही प्रबन्ध गर्दा बालबालिकाको सिकाइ निरन्तरता र बहुआयामिक सिकाइमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।

आगामी आवको नीति तथा कार्यक्रमका विषयमा छलफल तथा सुझाव सङ्कलन

काठमाडौँ, ८ चैत : सरकारको नीति तथा कार्यक्रममा विभिन्न क्षेत्रका विषय समेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छलफल थालेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रमको तयारीका क्रममा सबै क्षेत्रको स्वामित्व हुनेगरी विभिन्न क्षेत्रसँग सुझाव सङ्कलन थालिएको हो ।

प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट प्रणाली तथा नीति तथा कार्यक्रमको ढाँचामा परिवर्तन गरी समावेशी र सबैको अपनत्व हुनेगरी निर्माण गर्ने घोषणा गरेबमोजिम प्रधानमन्त्री कार्यालयमा गठित समितिले विभिन्न क्षेत्रसँग आगामी आवको नीति तथा कार्यक्रमका विषयमा छलफल तथा सुझाव सङ्कलन गरिरहेको छ । समितिले आज आर्थिक, उद्योग, व्यापार, पर्यटन, कृषि, वन तथा वातावरण र बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा सम्बन्धित क्षेत्रका प्रतिनिधि तथा विज्ञसँग छलफल तथा सुझाव संकलन गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, सामुदायिक वन उपभोक्ता महासङ्घ, राष्ट्रिय सहकारी महासङ्घ, गैरआवासीय नेपाली सङ्घ, नेपाली महिला चेम्बर, नेपाल युवा उद्यमी परिषद्लगायत निजी क्षेत्रसँग सम्बन्धित संस्थाका प्रतिनिधिले आगामी नीति तथा कार्यक्रममा समेट्नुपर्ने विभिन्न सुझाव प्रस्तुत गर्नुभएको थियो ।

अधिकांश प्रतिनिधिहरुले अर्थतन्त्रमा देखिएका समस्या हल गर्न उद्योगी व्यवसायीहरुको मनोवल उच्च हुने किसिमले निति तथा कार्यक्रम तर्जुमा हुनुपर्ने बताए। सो कार्यक्रममा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल कृषि अनुसन्धान परिषद्, चेम्बर अफ कमर्स, उद्योग वाणिज्य महासंघ, सामुदायिक वन उपभोक्ता महासंघ, युवा उद्यमी, महिला उद्यमी तथा कृषि सामाग्री कम्पनी लगायतका निकायका प्रतिनिधिहरूले आफ्नो विचार राख्नुभएको थियो ।

उहाँहरुले नयाँ नीति तथा कार्यक्रममा उद्योग दर्ता तथा नवीकरणमा सहजीकरण गर्ने व्यवस्था गरिनुपर्ने, महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने नीति ल्याइनुपर्ने, विश्वविद्यालयहरुलाई अध्ययन अनुसन्धानको जिम्मा दिई सो बमोजिम मन्त्रालयहरुलाई कार्यान्वयन गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने, वनको उपयोगलाई समृद्धिसँग जोड्नेगरी कार्यक्रम ल्याइनुपर्ने, कृषि क्षेत्रको अनुसन्धानमा पर्याप्त बजेट छुट्टाइनुपर्ने लगायतका सुझाव दिनुभएको थियो ।

यसघि समितिले सूचना प्रविधि तथा सामाजिक क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरेको थियो । कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोखरेललगायत विभिन्न विषयगत मन्त्रालयका अधिकारीहरुको पनि उपस्थिति थियो ।

जातीय विभेदमुक्त वातावरणको सुनिश्चित गर्न तीनै तहका सरकारलाई आग्रह

काठमाडौँ, ८ चैत : राष्ट्रिय मानवअधिकार आयोगले जातीय विभेद तथा छुवाछूतसम्बन्धी घटनालाई निवारण गरी जातीय विभेदमुक्त वातावरणको सुनिश्चित गर्न तीनै तहका सरकारलाई आग्रह गरेको छ ।उनान्साठीआँै अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसका अवसरमा आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा जातीय विभेदका सबै घटनाको सुक्ष्म अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सम्बन्धीत पक्षको ध्यानाकर्षण गराएको छ ।

विज्ञप्तिमा समाजमा कायम रहेको विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी सङ्घसंस्था तथा नागरिकलाई अनुरोध गरिएको छ ।आयोगले नेपालपक्ष भएको संयुक्त राष्ट्र सङ्घद्वारा जारी जातीय भेदभाव उन्मूलन गर्नेसम्बन्धी महासन्धिमा भेदभावका कारण पीडित व्यक्ति वा समूहका अधिकारको संरक्षण र संवद्र्धन भनिएको छ । नेपालको संविधानको धारा २४ मा छुवाछूत तथा भेदभावविरुद्धको हक, धारा ४० मा दलितको हकको व्यवस्था छ । यसका साथै जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन २०६८, मुलुकी अपराधसंहिता, २०७४ र विद्युतीय कारोबार ऐन, २०६३ मा समेत छुवाछूत तथा जातीय भेदभाव जन्य कसूरलाई दण्डनीय अपराधको रुपमा उल्लेख गरिएको छ ।

संवैधानिक तथा कानुनी व्यवस्था भए तापनि प्रत्यक्षरुपमा छुवाछूत तथा भेदभावजन्य कार्य भइरहेको र सामाजिक सञ्जालबाट समेत भेदभाव तथा घृणाजन्य शब्दहरुको प्रयोग गरी मानव मर्यादामा समेत आँच पु¥याउने प्रवृत्ति बढ्दै गएको आयोगको अनुगमनबाट पाइएको छ ।

सन् १९६० मार्च २१ मा दक्षिण अफ्रिकाको सार्पभिल्लेमा रङ्गभेदविरुद्ध प्रदर्शन दबाउन खोज्दा ठूलो सङ्ख्यामा प्रदर्शनकारीको मृत्यु भएको थियो । यस विषयमा विश्वभर आवाज उठेपश्चात संयुक्त राष्ट्र सङ्घबाट २१ मार्च १९६५ मा सबै किसिमका जातीय भेदभाव उन्मूलन गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि जारी भयो । यसै सन्दर्भमा २१ मार्चलाई अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको रुपमा मनाउन सुरु गरेको पाइन्छ । नेपालमा पनि छुवाछूत तथा जातीय भेदभावविरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आइएको छ ।

सभामुख घिमिरेको नेतृत्वमा दश सदस्यीय प्रतिनिधिमण्डल स्वीट्जरल्याण्ड प्रस्थान

काठमाडौँ, ८ चैत : सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घको एक सय ४८औँ महासभामा सहभागी हुन दश सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड प्रस्थान गर्नुभएको छ ।

यही चैत १० देखि १४ गतेसम्म अन्तर व्यवस्थापिका सङ्घको प्रधान कार्यालय रहेको जेनेभामा सञ्चालन हुने महासभामा सहभागी हुन सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल आज कतार एयरलान्सको उडानबाट दोहा हँुदै जेनेभातर्फ प्रस्थान गर्नुभएको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।

उक्त महासभामा सभामुख घिमिरेसहित संसदीय दलका प्रमुख सचेतक नेपाली कांग्रेसका रमेश लेखक, नेकपा (एमाले) का महेशकुमार बर्तौला, नेकपा(माओवादी केन्द्र) का हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार सहभागी हुनुहुन्छ । यस्तै राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेलबासे, सङ्घीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाई र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईसमेत सहभागी हुनुभएको छ ।
सभमुख घिमिरेले “संसदीय कूटनीति ः शान्ति र समझदारीको लागि सेतु निर्माण” विषयमा सङ्घीय संसद्कोतर्फबाट आफनो वक्तव्य प्रस्तुत गर्नुहुने जनाइएको छ । सभामुख नेतृत्वको टोली चैत १६ गते बिहान स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

बैतडीमा कोदालो प्रहार : एक जनाको मृत्यु, दुई कर्मचारीको हेलिकप्टरबाट उद्धार

बैतडी, ८ चैत : बैतडीमा कोदालो प्रहारबाट गम्भीर घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ । दुई घाइतेको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका– ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीको कोदालो प्रहारबाट उनकी ५६ वर्षीया श्रीमती पार्वती धामीको मृत्युु भएको हो । कोदालो प्रहारबाट गम्भीर घाइते भएकी पार्वतीको उपचारको लागि स्थानीय स्वास्थ्यचौकीमा पु¥याउँदा मृत्यु भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक गिरीले राससलाई जानकारी दिनुभयो ।

यस्तै गम्भीर घाइते भएका दशरथचन्द नगरपालिका– ९ घर भएर डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ वर्षीय सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्टलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । कलौनी र भट्टलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी थप उपचारको लागि कोहलपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ ।

आज बिहान ९ बजे किसनले आफ्नी श्रीमतीलाई कोदालो प्रहार गरेको र त्यसपछि उनकै घरमा डेरा गरी बसेका कलौनी र भट्टमाथि पनि कोदालो प्रहार गरेको जनाइएको छ । किसनले कोदालो प्रहार किन गरे भन्नेबारे खुल्न सकेको छैन । कोदालो प्रहार गर्ने किसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसी नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरासँग आज पनि बयान लिइँदै

काठमाडौँ, ८ चैत : सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ ।

यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि मात्रै बयान लिन सुुरु भएकोे जिल्ला सरकारी वकील कार्यालय काठमाडौँले जनाएको छ । उक्त कार्यालयका प्रमुख सन्देश श्रेष्ठले उहाँसँग बयान शुरु भएको र आज पनि बयान लिइने जानकारी दिनुभयो ।

उहाँलाई काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुमति दिएको छ । अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि उहाँलाई नर्भिक अस्पतालमा राखिएको छ । निजलाई सिआइबीको नियन्त्रणमा राखेर अनुसन्धान गर्न दिइएको म्याद आज समाप्त हुने भएकाले बयान र अनुसन्धान नसकिए पुन म्याद थप गरिने सिआइबीका प्रवक्ता होबिन्द्र बोगटीले बताउनुभयो ।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग उहाँको नाम जोडिएको छ । त्यसबेला सिआइबीले उहाँसँग बयान कागज गरेर मात्रै छाडेको थियो । यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन् । राहुल हाल पुर्पक्षमा थुनामा छन् ।

काठमाडौँमा मध्याह्नपछि पानी पर्ने सम्भावना

काठमाडौँ, ८ चैत ः पश्चिमी न्यूनचापीय प्रणाली तथा विहार राज्यको आसपासको न्यूनचापीय प्रणालीको प्रभावले आज पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् चिरञ्जीवी भेटुवालका अनुसार अहिले काठमाडौँ उपत्यकासहित देशभर आंशिक बदली भएको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना छ । काठमाडौँमा मध्याह्नपछि वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका केही स्थानमा अहिले छिटपुट वर्षा भइरहेको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव भोलि शुक्रबारसम्म सक्रिय रहने भएकाले देशका धेरैजसो स्थानमा यसको प्रभाव पर्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्सहित सामान्य वर्षा हुने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुने विभागको अनुमान छ ।

विभागका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित छिटपुट वर्षाको सम्भावना छ ।

आन्तरिक पर्यटन पवर्द्धन गर्न बागलुङ र लुम्बिनी सांस्कृतिक नगरबीच भगिनी सम्बन्ध

गलकोट (बागलुङ) ८ चैतः आन्त्रिक पर्यटन प्रवर्द्धन गर्न बागलुङ नगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । बुधबार दुई स्थानीय तहका प्रमुखहरूले भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

विश्व सम्पदामा सूचीकृत विश्व शान्तिक्षेत्र, धार्मिक एवं पर्यटकीय नगरी लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी प्रदेश र धार्मिक एवं पर्यटकीय नगर बागलुङ नगरपालिकाबीच पर्यटन प्रवद्र्धन, असल अभ्यास र अनुभव आदानप्रदानका लागि भगिनी सम्बन्ध कायम गरिएको समझदारीपत्रमा उल्लेख छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान र बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बागलुङ नगरपालिकामा आयोजित एक कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । भगिनी सम्बन्ध स्थापना गर्न नगरप्रमुख मुसलमान, उपप्रमुख कल्पना हरिजनसहितका जनप्रतिनिधि र कर्मचारी बागलुङ नगरपालिका आउनुभएको थियो ।

भगिनी सम्बन्ध स्थापनाबाट दुई नगरपालिकाबीच कला तथा संस्कृतिको आदानप्रदान गर्न सहयोग पुग्ने बताउँदै बागलुङ नगरपालिकाका प्रमुख श्रेष्ठले असल अभ्यासको आदान प्रदान र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान हुने उल्लेख गर्नुभयो ।

नगरप्रमुख मुसलमानले भगवान् गौतमबुद्धको जन्मभूमि नगरपालिका र धार्मिक हिसाबले पवित्र तपोभूमिका रुपमा रहेको बागलुङ नगरपालिकाको कलासंस्कृति, भाषा, वेशभूषासँगै अनुभव आदानप्रदान गर्न समझदारीबाट योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवालीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । दुवै स्थानीय तहका नगरप्रमुखको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलको स्वागत तथा प्रशासन शाखाप्रमुख भीमसेन पन्तको सञ्चालनमा भएको थियो ।

सूर्योदय नगरपालिकामा प्राङ्गारिक चियाखेती अभियान, दैनिक ८० किलो उत्पादन

इलाम, ८ चैतः सूर्योदय नगरपालिका–९ ढोडेका रामप्रसाद राईले चियाको प्राङ्गारिक खेती सुरु गर्नुभएको ६ वर्ष भयो । उहाँको १६ रोपनी क्षेत्रफलमा फैलिएको चिया बगानबाट दैनिक ८० किलो उत्पादन हुन्छ । “प्रतिकेजी रु एक सय एकका दरले सुन्दरपानी कृषि सहकारी संस्थालाई दिन्छौँ, उसले रु एक नाफा राखेर गोर्खा टी स्टेटलाई बेच्छ,” राईले भन्नुभयो, “नगरपालिकाले तोकेको चियाको न्यूनतम समर्थन मूल्य प्रतिकिलो रु ४० हो तर हाम्रो चिया प्राङ्गारिक भएकाले रु एक सयभन्दा बढी मूल्य पाएका छौँ ।”

राईमात्र होइन साङपाङ टोल ढोडेका सबै किसानले रासायनिक मलको प्रयोग छाडेर गाई–बाख्राको मल प्रयोग गरिरहेका छन् । “चियामा लहलह मुना पलाउँछ, खाँदा स्वास्थ्यलाई हानि गर्दैन, बिक्री मूल्य पनि राम्रो पाइन्छ,” किसान मनबहादुर राईले भन्नुभयो, “गाईको मल एकपटक र गहुँतबाट बनाएको ‘रक्षिन’ वर्षमा दुईपटक लगाई दिनुपर्छ, अन्य गोडमेल र सिँचाइ पुग्यो भने विषादी हालेकोभन्दा राम्रो उत्पादन पनि हुन्छ ।” यो टोलका विनोद मोक्तान, विमल, सुशीला, रामप्रसाद, आरवलक्षि, पूर्ण र तारा राईका परिवार बिहानसाँझ चियाको गोडमेल, मलजल, सिँचाइ र टिपाइमा व्यस्त हुन्छन् । बेलामा पानी नपरेकाले केही ढिलो भए पनि यस वर्षको टिपाइ अब सुरु हुन लागेको मन बहादुरले बताउनुभयो ।

उहाँका अनुसार चैत दोस्रो साताबाट चियाको पहिलो टिपाइ सुरु हुन्छ । हरियो चिया उत्पादनको उर्वर समय चैतदेखि असोजसम्मको ६ महिना हो । उत्पादन गुणस्तरीय नहुँदा विश्व बजारमा निर्यात नहुने भएपछि नगरपालिकाले प्राङ्गारिक चिया उत्पादनको अभियान चलाइरहेको छ । ६ वर्षअघि नै चियाको कार्यविधि बनाएर न्यूनतम समर्थन मूल्य तोकेको सूर्योदयमा चियाको टिपाइ सुधार हुन नसक्दा भारतलगायत मुलुकमा नेपाली चिया बिक्रीमा समस्या छ ।

“पहिले भारतले यहाँको चिया किन्दा सिएफएल परीक्षण गथ्र्यो तर अब त्यसको अलावा फसाइ परीक्षण गरेर मात्र चिया लिने भएको छ,” नगरप्रमुख रणबहादुर राईले भन्नुभयो, “यसले गर्दा हाम्रो चिया भारतमा सजिलै बिक्री हुने अवस्था छैन । यदि चिया प्राङ्गारिक भएन भने सबै चिया नबिक्ने अवस्था हुन्छ । यो समस्या बुझेर किसानले उत्पादनलाई विषादीरहित र टिपाइ गुणस्तरको बनाउनुपर्छ ।

” चियाको टिपाइ सुधार गर्न नगरपालिकाले तीन सय किसानलाई चिया टिप्ने हाते मेसिन वितरण गरिरहेको नगरप्रमुख राईले बताउनुभयो । “टिपाइमा सुधार भइसकेपछि न्यूनतम समर्थन मूल्य कार्यान्वयन हुन्छ । करिब तीन सय ओटा चिया टिप्ने हाते मेसिन वितरण भइरहेको छ । चियालाई ‘ब्रान्डिङ’ गर्नुपर्छ, ‘टी’ परीक्षण गर्नुपर्छ भनेर निर्माण गरिएको ‘टी टेस्टिङ एन्ड रिसर्चिङ सेन्टर’ पनि अबको केही महिनाभित्रै सञ्चालन हुँदैछ ।”

नगरपालिकाको दीर्घकालीन सोचको नारा नै ‘सूर्योदय नगरपालिकाको समृद्धि, प्राङ्गारिक कृषि पर्यापर्यटन र आर्थिक समानता’ भन्ने रहेको छ । २०७५ साउन १ गते नै निषेधित विषादी मुक्त पालिका घोषणा गरी सबै १४ वडाका दुई सय ५२ टोलमा सचेतना कार्यक्रम भइसकेको नगर आर्थिक विकास समितिका संयोजक देवेन्द्र आचार्यले बताउनुभयो । “गोठ सुधार, भकारो सुधार, माटो परीक्षणजस्ता कार्यक्रममार्फत प्राङ्गारिक उन्मुख अभियान चलाइरहेका छौँ,” उहाँले भन्नुभयो ।

नगरपालिकाले तोकेको न्यूनतम समर्थन मूल्यमा भने किसानलाई अन्योलता अझै छ । “कार्यविधिमा न्यूनतम समर्थन मूल्य भनेर रु ४० तोकेका छौँ । त्यो भनेको ४० प्रतिशत मुना भएको चियाको मूल्य रु ४० हो भनिएको हो,” नगरप्र्रमुख राईले भन्नुभयो, “यसमा चियाको मुना कति प्रतिशत छ भनेर मापन गर्ने कुरामा किसानमा द्विविधा देखियो । यसको मापन यहीँ फिक्कलमा रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गर्छ । यो बोर्डको दायित्व हो ।” आफूले टिपेको चियामा कति प्रतिशत मुना छ भन्ने कुराको जानकारी चिया तथा कफी विकास बोर्डबाट लिनुपर्ने नगरप्रमुख राईको भनाइ छ ।

आफ्नो चियाको मुनाको प्रतिशत बराबर रकम उद्योगबाट नपाएको खण्डमा नगरपालिकामा अथवा बोर्डमा किसानले गुनासो गर्नुपर्ने बताउँदै उहाँले किसानलाई न्यूनतम समर्थन मूल्य दिलाउने कर्तब्य नगरपालिकाको भएको बताउनुभयो । “हाम्रो उत्पादन चैँ अग्र्यानिक हुनुपर्छ । हामी अग्र्यानिक चिया उत्पादनको अभियानमा छौँ ।

सूर्योदयले ०७४÷७५ मा कार्यविधि बनाउँदादेखि हालसम्म भनेको कुरा एउटै हो कि उत्पादनलाई विषादीमुक्त गरौँ, अग्र्यानिक बनाऔँ, टिपाइ सुधारौँ । यो भयो भने विश्व बजारमा यहाँको चियाले प्रतिस्पर्धा गर्न सक्छ । उत्पादन नै विषादीयुक्त हुँदा चिया खेतीको बजार छैन । किसान व्यावसायिक बन्न सक्दैनन् । विषादीका कारण मानव स्वास्थ्यमा पारेको असरका बारेमा हामी संवेदनशील बन्नुपर्छ,” नगरप्रमुख राईले भन्नुभयो । नगरपालिकाले चियाबाट नै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।

कार्यविधि बनाएर गुणस्तर सुधार गर्न लागिपरेको सूर्योदयले चियामा विषादीको प्रयोग रोक्न सकेको छैन । अर्कातिर किसानलाई प्राङ्गारिक खेतीमा आकर्षित गर्न अनुदानको कार्यक्रम छैन । “८० प्रतिशतभन्दा धेरैको आयस्रोत बनेको चियामा प्रतिकिलो रु एक अनुदान दिँदा पनि करोडौँ लगानी चाहिन्छ । स्थानीय सरकारको एक्लो प्रयासले सहजै किसानको समस्या समाधान हुने देखिँदैन ।

प्रदेश र सङ्घले चिया सुधार गर्न लगानी नगर्दा स्थानीय सरकार मर्कामा परेको छ,” किसान रबिन सापकोटाले भन्नुभयो । नेपाली चियाको अन्तरराष्ट्रिय ‘ब्रान्डिङ’ प्रवद्र्धनका लागि सहयोग, साना किसानका लागि हरियो पत्ती उत्पादनका आधारमा उखुमा जस्तै अनुदान दिनुपर्ने माग उद्योगीले गरेका छन् । उद्योगी उदय चापागाईंले कृषिका अन्य क्षेत्रमा जस्तै चियामा अनुदान दिन सरकारले कञ्जुस्याइँ गर्ने गरेको बताउनुभयो ।

“चिया क्षेत्रको समस्यामा दिगो समाधान खोज्न किसानलाई सहुलियत दिनुपर्छ,” उहाँले भन्नुभयो, “किसानलाई मल, सिँचाइ र अनुदानमा सरकारले सहयोग गर्नसक्छ । अझ चियाको अन्तरराष्ट्रिय बजार दिगो बनाउन अग्र्यानिक उत्पादन मात्रै विकल्प हो ।” नेपालमा उत्पादित ५५ लाख तयारी अर्थोडक्स चियामध्ये तीन लाख किलोमात्र अग्र्यानिक रहेको तथ्याङ्क छ । सूर्योदय नगरपालिकामा ६२ भन्दा बढी चिया प्रशोधन उद्योग छन् । तीमध्ये सूर्योदय टी एसोसिएसनमा ५२ वटा उद्योग आबद्ध छन् । यहाँ तीन हजार हाराहारी किसानको हरियो चियापत्ती प्रशोधन गरिन्छ । यहाँका उद्योगमा सूर्योदय नगरपालिकाको मात्र होइन माइजोगमाई, रोङलगायत किसानले उत्पादन गरेको हरियो पत्ती प्रशोधनका लागि पुग्ने गरेको छ ।

यहाँको तयारी चिया भारतसहितका तेस्रो मुलुकसम्म पुग्ने गरेको छ । नगरपालिकाले किसानलाई हरियो चियापत्तीको मूल्य प्रतिकिलो ४० दिने व्यवस्थासहित ‘हरियो चियाको गुणस्तर मापदण्ड कार्यान्वयन कार्यविधि’ पारित गरेको ५ वर्ष भयो । चिया उद्योगी र किसानको सहभागितामा कार्यविधि पारित गरिएको थियो । किसानले उद्योगलाई बेच्ने हरियोपत्तीमा अनिवार्य दुई पात एक सुइरोसहित निश्चित गुणस्तर कायम हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

कार्यविधिले किसानदेखि हरियो चिया सङ्कलक, उद्योगी, बिक्रेतालगायत सबैले चियामा निश्चित गुणस्तर कायम राख्नुपर्ने व्यवस्था गरेको छ । गुणस्तर कायम भए वा नभएको अनुगमन नगरपालिकाले नै गर्ने व्यवस्था कार्यविधिमा गरिएको छ । नेपालमा १२ हजार ६६ हेक्टरमा चियाखेती हुँदै आएको छ । देशभरमै बढी चिया उत्पादन हुने जिल्ला इलाम हो ।

यहाँ ६ हजार नौ सय ९५ बगान रहेका छन् । सूर्योदय नगरपालिका चियाको राजधानीका रूपमा पनि परिचित छ । देशभरका ११ हजार ४१ बगानबाट १० करोड ८० हजार किलो हरियो पत्ती उत्पादन हुनेगरेको बगान सञ्चालकहरूले बताएका छन् ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

मध्यविन्दु (नवलपरासी), ८ चैतः मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् ।

मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु७६प १६२१ नंको मोटरसाइकल दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–११ का ३० वर्षीय अनिल विकको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

त्यसैगरी, दुर्घटनामा परी गम्भीर घाइते भएका मध्यविन्दु–११ निवासी २५ वर्षीय अजय ठकुरीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छभने मोटरसाइकल चालक २८ वर्षीय कृष्णबहादुर विक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो । मध्यविन्दु नगरपालिका–११ दमारमा नै बुधबार अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियोभने दुईजना घाइते भएका थिए ।

इन्डोनेसियाको राष्ट्रपतिमा प्रबोवो सुबियान्तो विजयी

इन्डोनेसियाका प्रबोवो सुबियान्तो विश्वको तेस्रो सबैभन्दा ठूलो लोकतन्त्रको राष्ट्रपतिमा निर्वाचित हुनुभएको निर्वाचन आयोगले बुधबार बताएको छ । मतदानका बारेमा कानूनी उजुरी गर्ने वाचा गरेका दुई प्रतिद्वन्द्वीलाई उहाँले निर्णायकरूपमा हराउनुभएको छ ।

रक्षामन्त्री प्रबोवो र उहाँका उपराष्ट्रपतिका उम्मेदवार जिब्रान राकाबुमिङ राकालाई नौ करोड ६० लाखभन्दा बढी मत प्राप्त भएको निर्वाचन आयोगका अध्यक्ष हसिम अस्यारीले जानकारी दिनुभयो । उक्त मत कूल गणनाको ५८ दशमलव छ प्रतिशत हो र पहिलो चरणमा बहुमत हासिल गर्नका लागि पर्याप्त हो ।

एनिस बास्वेदनले करिब चार करोड १० लाख मत अर्थात कूल गणनाको २४ दशमलव नौ प्रतिशत प्राप्त गर्नुभयो भने गञ्जर प्रणोवोलाई १६ प्रतिशत अर्थात दुई करोड ७० लाख मत प्राप्त भयो ।

प्रबोवो र जिब्रान (निवर्तमान राष्ट्रपति जोको विडोडोका जेठा छोरा) ले अनौपचारिक गणनामा बहुमत हासिल गरेको देखिएपछि गत महिना पहिला नै जीतको घोषणा गर्नुभएको थियो ।

तेस्रो प्रयासमा ७२ वर्षीय प्रबोवोले राष्ट्रपति पदमा विजयी हुने भविष्यवाणी गरिएको थियो । उहाँले अक्टोबरमा राष्ट्रपतिको जिम्मेबारी सम्हाल्नुहुनेछ । आफ्नो लोकप्रिया भाषणमा राष्ट्रवादी भावना, रक्षामन्त्रीका रूपमा बलियो साख र जोकोवीको नामले लोकप्रिय विडोडोको समर्थनका कारण प्रबोवोको लोकप्रियता बढेको विशेषज्ञहरूले बताएका छन् ।

उहाँका प्रतिद्वन्द्वीहरू एनिस र गञ्जरले निर्वाचनका क्रममा अनियमितता र धाँधलीको आरोपका बारेमा संवैधानिक अदालतमा उजुरी गर्ने वाचा गर्नुभएको छ । यद्यपि आफ्नो बहुमत र फराकिलो मतान्तरको जितका कारण चुनावी नतिजालाई सफलतापूर्वक चुनौती दिइने छैन भन्नेमा प्रबोवोको टिम विश्वस्त रहेको स्थानीय मिडियाले मङ्गलबार बताएका छन् ।

सिंहदरबारभित्र डिडिसीको सहुलियत बिक्री केन्द्र स्थापना

काठमाडौँ – दुग्ध विकास संस्थान ९डिडिसी० ले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सहुलियत बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । डिडिसीले स्थापना गरेको उक्त सहुलियत केन्द्रको बुधबार मुख्यसचिव डा वैकुण्ठ अर्यालले शुभारम्भ गर्नुहुँदै डिडिसीको बिक्री केन्द्र बढ्दै जाँदा उपभोक्तालाई सहजता आउने उल्लेख गर्नुभयो ।

उहाँले दुग्धजन्य वस्तुको बिक्रीवितरण कमी भइरहेको समयमा सिंहदरबारभित्र स्थापना गरिएको बिक्री केन्द्रले बिक्रीवितरणमा थप सहयोग हुने बताउनुभयो । “डिडिसीले सिंहदरबारभित्र बिक्री केन्द्र खोलेरभन्दा पनि मुलुकभर बिक्री विस्तार गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेलले पछिल्लो समय डिडिसीले दुग्धजन्य पदार्थ बिक्रीवितरणबाट नाफा कमाएको बताउनुभयो । “पछिल्लो समय दुग्धजन्य पदार्थमा आएको कमीलाई सिंहदरबार बिक्री केन्द्रले राहत पुग्ने विश्वास मन्त्रालयले लिएको छ”, उहाँले भन्नुभयो ।

बिक्री केन्द्र स्थापना भएसँगै दुग्धजन्य पदार्थको बिक्रीवितरण बढ्ने लक्ष्यका साथ सिंहदरबारभित्र डिडिसीले बिक्री केन्द्र स्थापना गरेको डिडिसीका सूचना अधिकारी एवं निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबाभित्र हाल दुई हजार पाँच सयभन्दा बढी कर्मचारी कार्यरत रहेको बताइएको छ ।

धरान–इटहरी सडक कालोपत्र गर्न थालियो

धरान- कोशी राजमार्गको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाअन्तर्गत इटहरी–धरान सडकमा पर्ने सेउती–पानीपिया खण्डमा कालोपत्र गर्न थालिएको छ । लामो समयदेखि सडक निर्माण कार्य सुस्त बन्दा चौतर्फी आलोचना भइरहेका बेला ‘हिमदुङ थोकर एन्ड प्यासिफिक जेभी’ले सडक कालोपत्र गर्न थालेको हो ।

कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले चार लेन सडकमध्ये दुई लेन कालोपत्र भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नियमित निगरानीपछि कालोपत्र सुरु भएको छ । बाँकी भागमा पनि कालोपत्र गर्ने काम चाँडै सकिन्छ ।”

धरान–इटहरी खण्डको अन्य सडक बनिसके पनि सेउतीपुलदेखि तरहरास्थित पानीपियासम्मको पाँच दशमलव तीन किमी सडक निर्माणमा ढिलाइ हुँदा यात्रु कष्टकर यात्रा गर्न बाध्य छन् । उक्त सडक अस्तव्यस्त हुँदा शारीरिक कष्टसँगै धुलो धुवाँको प्रदूषण भोग्नुपरेको भन्दै हालै अधिवक्ता रविन्द्रकुमार भगतले उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गराउनुभएको थियो । उक्त रिटको सुनुवाइ गर्दै यही चैत ५ गते उच्च अदालत विराटनगरका न्यायाधीश राजेन्द्र अधिकारीको एकल इजलासले १५ दिनभित्र कारणसहित छलफलका लागि उपस्थित हुन आदेश जारी गरेको छ ।उक्त सडकखण्ड भत्काएर समयमा निर्माण नगर्दा सवारीसाधन दुर्घटना बढिरहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको तथ्याङ्कअनुसार उक्त सडकमा दुर्घटनामा परेर तीन वर्षयता १० जनाको ज्यान गइसकेको छ । आर्थिक वर्ष २०७८÷७९ मा उक्त सडकखण्डमा ५३ वटा दुर्घटनामा भएकामा ६ जनाको ज्यान गएको थियो । दुर्घटनामा ८८ जना घाइते भएका थिए । त्यस्तै आर्थिक वर्ष २०७९÷८० मा भएका २३ दुर्घटनामा तीन जनाको ज्यान गएको थियो भने ४३ जना घाइते भएका थिए । चालु आर्थिक वर्ष २०८०÷८१ को हालसम्म ६ वटा दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

विसं २०७७ असार मसान्तदेखि २०८० असार मसान्तभित्र काम सक्ने गरी उक्त सडकखण्ड निर्माणको ठेक्का पाएको हिमदुङ थोकर एन्ड प्यासिफिक जेभीले तोकिएको समयमा काम सम्पन्न गर्न सकेको छैन । सम्झौता सकिएपछि म्याद थप्ने प्रक्रिया चलिरहेको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजना इटहरीका इञ्जिनियर अस्मिता सुवेदीले बताउनुभयो । बाँकी काम चाँडै सकिने उहाँको भनाइ छ ।

म्याग्दीमा मानवीय लापरबाहीका कारण डढेलोले वनजङ्गल उजाडिए

म्याग्दी (बेनी) : म्याग्दीमा डढेलोले वनजङ्गल उजाड बन्न थालेका छन् । मानवीय लापरबाहीका कारण वनजङ्गलमा डढेलो बढेसँगै जङ्गल उजाड बनेका छन् भने वातावरण प्रदूषण र मानवीय क्षतिको जोखिम बढेको छ । वसन्त ऋतुको आगमनसँगै जिल्लाका विभिन्न वनक्षेत्रमा आगलागीका घटना बढेको डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । यस वर्ष हिउँद याममा वर्षा कम भएको र सुक्खा ठाउँमा प्रज्वलनशील वस्तुको लापरबाहीले दिनहुँ डढेलो लाग्न थालेको छ ।

“पछिल्लो साता दिनहुँ वनजङ्गलमा आगलागीका घटना घटेका छन्, हामीले स्थानीयवासीलाई सजकता र सतर्कता अपनाउन अनुरोध गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो । पछिल्ला केही दिनमा विभिन्न जङ्गलमा डढेलो लागेको छ । वनजङ्गलमा लागेको आगो बस्तीतर्फ आउन थालेपछि मात्रै सर्वसाधारणले प्रहरी र डिभिजन वन कार्यालयमा खबर गर्ने गरेको वन अधिकृत अधिकारीले बताउनुभयो ।

कार्यालयले वन डढेलो नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि घाँस राम्रो हुने भन्दै वनजङ्गलमा आगो लगाउने चलन बढेको पाइएको छ । गत सोमबार सदरमुकाम बेनीबजार नजिकै रहेको बराहपाखो सामुदायिक वन क्षेत्रमा लागेको भिषण डढेलो बजारमै पस्ने जोखिम बढेपछि सुरक्षाकर्मी, जनप्रतिनिधि, सर्वसाधारण र दमकल परिचालन गरेर नियन्त्रण गरिएको थियो । आगलागीले बराहपाखो सामुदायिक वनको अधिकांश क्षेत्र उजाड र नाङ्गो भएको छ ।

अन्नपूर्ण गाउँपालिकाका वन क्षेत्रमा डढेलोका घटना बढेका छन् । उक्त गाउँपालिकाको पोखरेबगर, घार, महभिर, आरुबोट डिम्मरे पानी, साल्जाको वन, दोवा, भुरुङ तातोपानी, दाना, नारच्याङ, हिस्तानलगायत ठाउँका वनक्षेत्रमा डढेलो लागेको छ । विगतका वर्षको तुलनामा यस वर्ष वन क्षेत्रमा आगजनीका घटना बढेको अन्नपूर्ण गाउँपालिका–६ घारका वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

जिल्लाको मङ्गला, मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिकाका विभिन्न वन क्षेत्रमा दिनहुँ आगजनी भइरहेको छ । आगलागीले वनजङ्गल उजाड र पहाडका पाखा डढेलोका कारण कालो र नाङ्गो देखिन थालेका छन् । आगजनीबाट वनस्पति, वन्यजन्तु र वन्यतन्तुको बासस्थानलाई नष्ट गर्ने र मानव स्वास्थ्य र वातावरणमा असर पर्ने भएकाले डढेलो लगाउने कार्यलाई रोक्नुपर्ने वन अधिकृत अधिकारी बताउनुहुन्छ ।

वन ऐन, २०७६ को दफा ५० को उपदसफा ४ बमोजिम वनजङ्गलमा आगलागी गर्ने कार्यलाई फौजदारी अभियोग मानिने र यस्तो कार्य गर्नेलाई तीन वर्ष कैद, ६० हजार जरिवाना र दुवै सजायसमेत हुनसक्ने कानुनी व्यवस्था छ । जिल्लामा दिनहुँ वन क्षेत्रमा मानवीय हेलचेत्रयाइँका कारण डढेला लाग्ने गरेको भए पनि यस्ता घटनामा संलग्नको स्थानीयस्तरबाट वास्तविक सूचनान आउँदा अनुसन्धान र कारबाही गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताउनुभयो ।

डढेलो लागेको सूचना पाए पनि आगलागीलाई नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन हुने गरेको र आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाउने गरेको उहाँले जानकारी दिनुभयो । वन डढेलो रोकथामका लागि स्थानीय तहले आवश्यक पहल गर्न सकेका छैनन् । डढेलो लगाउने व्यक्तिको पहिचान र आवश्यक कानुनी कारबाही गर्नसकेमा यस्ता कार्यलाई निरुत्साहित गर्न सकिने र वन डढेलो रोकथाम तथा नियन्त्रणमा सघाउ पु¥याउने सरोकारवाला बताउँछन् ।

मलेसियामा नेपालको पर्यटन प्रवद्र्धन गरिने

काठमाडौँ – मलेसियाबाट नेपालमा बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने उद्देश्यले क्वालालम्पुरमा नेपालको पर्यटन प्रवद्र्धन गरिने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नेतृत्वमा पर्यटन व्यवसायीको टोली त्यसतर्फ प्रस्थान गरेको छ । मलेशियन एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (माट्टा) ले यही मार्च २२ देखि २४ सम्म सञ्चालन गर्ने अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला ‘माट्टा फेयर २०२४’ मा सहभागी हुन नेपाली पर्यटन व्यवसायी क्लालाम्पुर गएका हुन् । नाट्टाको संयोजकत्वमा १४ पर्यटन व्यवासयी कम्पनीसहितको टोली मलेशिया गएको संस्थाले विज्ञप्तिमार्फत जनाएको छ ।

मेलामा नाट्टाका अध्यक्ष रमेश थापा, वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल, कोषाध्यक्ष राजकुमार देवकोटा तथा कार्यकारी सदस्य एवं माटा फेयरका संयोजक सुरेश अंगाइलगायत १४ पर्यटन व्यवसायी कम्पनीका प्रतिनिधि सहभागी रहेको नाट्टाले जनाएको छ ।

विगतमा नेपाल पर्यटन बोर्ड तथा नाट्टाको संयुक्त संयोजकत्वमा नेपाली पर्यटन व्यवसायीले यस्ता अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेलामा सहभागिता जनाउने गरेका थिए । नाट्टाले अघिल्लो महिना स्पेनको मेड्रिड र बङ्गलादेशको ढाकामा सम्पन्न व्यापार मेलामा सहभागिता जनाइसकेको छ ।

मलेशिया नेपालका लागि आन्तरिक तथा बाह्य पर्यटनको उदयमान पर्यटन बजारको रुपमा परिचित छ । विशेषतः बिदा पर्यटन, सांस्कृतिक तथा धार्मिक पर्यटनका लागि मलेशियन पर्यटक नेपाल आउने गरेका छन् । पछिल्लो समयमा कैलाश मानसरोवर यात्राका लागि हिन्दू धर्मावलम्बी मलेशियाबाट नेपाल आउनेक्रम बढिरहेको नाट्टाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

नाट्टाका अध्यक्ष थापाले संस्थाको पहलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको प्रतिनिधित्व गरिरहेको र व्यवसायीलाई प्रोत्साहन गरी पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो ।

प्रदेश सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा राप्रपा अनिर्णित

सुदूरपश्चिम – राष्ट्रिय प्रजातन्त्र पार्टी( राप्रपा) सुदूरपश्चिम प्रदेश समिति कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले प्रदेश सरकारका विषयमा कुनै निर्णय गर्न सकेन । सो पार्टीका प्रदेश अध्यक्ष धर्मराज जोशीको अध्यक्षतामा धनगढीमा बसेको बैठकमा प्रदेश सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा कुरा उठे पनि कुनै निर्णय नगरी सकिएको समितिका सदस्य सचिव छत्र शाहीले जानकारी दिनुभयो ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि प्रदेश सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)र नेकपा (एकीकृत समाजवादी)का मन्त्रीलाई मुख्यमन्त्री कमलबहादुर शाहले पदमुक्त गर्नुभएको थियो ।प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहले सरकारलाई विश्वासको मतका लागि राप्रपासँग सहयोग माग्नुभएका सन्दर्भमा राप्रपाको आजको बैठक अनिर्णित भएको हो ।

राप्रपासँग नयाँ गठबन्धन दलहरुले पनि सरकार गठनमा अनौपचारिकरुपमा सहयोग मागेको सदस्य सचिव शाहीले बताउनुभयो । “बैठकमा प्रदेश सरकारका विषयमा कुरा उठे, कसैले सरकारमा सहभागी भएर जानुपर्ने मत राख्नुभयो, कतिपयले पार्टी आन्दोलनमा जाने भएकाले तत्काल सरकारमा जान अनुपयुक्त हुने राय दिनुभयो”, शाहीले भन्नुभयो, “जिल्ला अध्यक्षसँग समन्वय गरेर थप छलफल गरी केन्द्रीय कार्यसम्पादन समितिको निर्णयबमोजिम जाने कुरा भएको छ ।”

नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन यथावत राख्ने निर्णय यसअघि नै गरेको थियो । राप्रपाको प्रदेशसभा एक सदस्य छन् । नागरिक उन्मुक्ति पार्टीका सात सदस्य रहेको प्रदेशसभामा एक सदस्यले भने प्रदेश सरकारलाई समर्थन गर्ने संसदीय दलको निर्णयमा आपत्ति जनाउनुभएको छ ।

प्रदेशसभाका कूल ५३ सदस्यमध्ये कांग्रेस र नागरिक उन्मुक्तिसँग २५ सदस्य छन् । नयाँ गठबन्धन दलसँग सभामुखबाहेक २४ सदस्य छन् । सरकार गठनका लागि २७ सदस्य आवश्यक हुन्छ । प्रदेशसभाको एक पद रिक्त छ । एक जना स्वतन्त्र सदस्य हुनुहुन्छ । फेरिएको सत्ता समीकरणसँगै मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा पर्नुभएको छ । उहाँले यो महिनामा विश्वासको मत लिनुपर्नेछ । नागरिक उन्मुक्ति पार्टीको सहयोगविना नयाँ गठबन्धनलाई पनि सरकार गठनका लागि बहुमत सदस्य जुटाउन समस्या छ ।

सांसद चौधरीबारे छानबिन भइरहेको छ – सिआइबी

काठमाडौँ – केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले प्रतिनिधिसभा सदस्य विनोद चौधरीबारे बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा छानबिन गरिरहेको सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ ।

सिआइबीका प्रहरी उपरीक्षक एवं प्रवक्ता होविन्द्र बोगटीले बुधबार सभामुख घिमिरेलाई जानकारी गराउन पत्र लेखेको जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिका– ३ को कार्यालय र नवराज शर्मा समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी अजितनारायण सिंह थापा भएको बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको १० रोपनी जग्गा प्रकरणबारे सांसद चौधरीसँग पनि अनुसन्धान भइरहेको सभामुखलाई जानकारी गराइएको हो ।

“बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम रहेको दश रोपनी जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेर सरकारी जग्गा कीर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लिमिटेडका संस्थापक शेयरधनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य सङ्घीय संसद्का सदस्य विनोदकुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीका लागि सादर अनुरोध गरिएको छ”, उक्त पत्रमा उल्लेख भनिएको छ ।

रुसमा नेपालीको मुत्यु प्रकरण : शव पहिचान गर्न आफन्तको ‘डिएनए’ परिक्षण गरिँदै

काठमाडौँ- रुस सरकारले नेपाली नागरिकको शव पहिचानका लागि उहाँहरुका निकटस्थ पारिवारिक सदस्यको ‘डिएनए’ नमुना पठाइनदिन आग्रह गरेपछि सम्पर्कमा आएका व्यक्तिको ‘जेनेटिक टेस्ट’ गर्न पठाइएको छ ।

परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुरलर सेवा विभागले सम्पर्कमा आएका सम्बन्धित व्यक्तिमध्ये मङ्गलबार सात जनाको र बुधबार एक जनाको ‘जेनेटिक टेस्ट’ गर्न नेपाल प्रहरी केन्द्रीय कार्यालयमा पठाएको जनाएको छ । विभागले खोमबहादुर भुजेल, विमलकुमार गजमेर, प्रेमप्रकाश न्यौपाने, भीमबहादुर विक, क्षितिज बस्नेत, सोमेश सुनुवार, विजयबहादुर थोकर र जीतेन्द्रबहादुर घिसिङका आफन्तको ‘डिएनए’ परीक्षणका लागि पठाएको हो ।

रुसी सेनामा भर्ना भएका नेपालीमध्ये पछिल्लो समय थप १५ जनाको मृत्यु भएको आशङ्का गरिएको छ । मृत्यु भएकामध्ये नेपालीको शव पहिचान र ‘जेनेटिक टेस्ट’ का लागि उहाँहरुका निकटस्थ पारिवारिक सदस्यको डिएनए नमुना पठाइन दिन रुस सरकारले मस्कोस्थित नेपाली राजदूतवासमार्फत आग्रह गरेको थियो ।

नेपाल प्रहरीबाट डिएनएको रिपोर्ट आएलगत्तै उक्त विवरण मस्को पठाइने विभागका महानिर्देशक प्रकाशमणि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार विभागमा हालसम्म रुसी सेनामा भर्ना भएकामध्ये दुई सय ७१ नेपाली नागरिकका आफन्तले उद्धार तथा खोज यकीन गरिपाउँ भनेर आवेदन दिएका छन् । परराष्ट्र मन्त्रालयले यसअघि पटकपटक गरी रुसी सेनामा भर्ना भएकामध्ये १७ नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरिसकेको छ ।

कञ्चनपुरमा अतिक्रमित सार्वजनिक जग्गा खाली गरिँदै

महेन्द्रनगर (कञ्चनपुर) – कञ्चनपुरमा अतिक्रमित सार्वजनिक जग्गा खाली गरेर संरक्षणका लागि स्थानीय प्रशासनले सक्रियता बढाएको छ । नौवटा स्थानीय तह रहेको कञ्चनपुरमा सार्वजनिक जग्गा संरक्षण एवं अतिक्रमति जग्गा लिन जिल्ला प्रशासन कार्यालयले स्थानीय तहका नगरप्रमुख, उपप्रमुखका साथै विभिन्न राजनीतिक दलसँग छलफल अघि बढाएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जिल्लामा अतिक्रमित सार्वजनिक जग्गा संरक्षणका लागि राजनीतिक दल र स्थानीय तहले प्रतिबद्धता जनाएका जानकारी दिनुभयो । सो सम्बन्धी जिल्ला प्रशासन कार्यालयमा भएको छलफलका क्रममा राजनीतिक दल, स्थानीय प्रशासन र स्थानीय तहका जनप्रतिनिधिले सबै स्थानीय तह तथा आफ्नो नाममा वा आफ्नो जिम्मेवारीका क्षेत्रमा अतिक्रमणसम्बन्धी १५ दिनभित्र अद्यावधिक गरी एकीकृत विवरण तयार गरी जिल्ला प्रशासनमा पठाउने निर्णय गरिएको छ ।

आगामी दिनमा स्थानीय तह तथा आफ्नो जिम्मेवारी क्षेत्रमा सार्वजनिक जग्गा एवं सम्पत्ति थप अतिक्रमण हुन नदिने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अतिक्रमण हटाउन स्थानीय तह र कार्यालय निकायले यथाशीघ्र कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउने, अतिक्रमण हटाउने क्रममा शान्ति सुरक्षा माग भएमा जिल्ला प्रशासनले आवश्यक प्रबन्ध मिलाउने निर्णय गरिएको छ ।

त्यसैगरी हाल अतिक्रमण हटाउन सहयोग माग भएका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपाल बाल सङ्गठन कञ्चनपुर, घरेलु तथा साना उद्योग कार्यालय, कृष्णपुर नगरपालिका र सङ्घीय योजना कार्यान्वयन इकाइको अतिक्रमित जग्गा खाली गराउन सोही निकायको संयोजनमा स्थानीय तहसित समेत समन्वय गरी हटाउने निर्णय भएको छ ।

प्रशासनद्वारा आयोजित कार्यक्रममा भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले सदरमुकाम रहेको भीमदत्तपालिका नै सबैभन्दा बढी सार्वजनिक जग्गा अतिक्रमणको चपेटामा परेको बताउनुभयो । “सडक स्तरोन्नतिका क्रममा भर्खरै नगरपालिकाले मदनचोकमा २२ सटर खाली गरेको छ,” उहाँले भन्नुभयो, “नगरविकास समितिको जग्गा अतिक्रमण र लिजको विषय अदालतबाट टुङ्गोमा पुगेपछि व्यवस्थापनतर्फ लाग्छौँ ।”

त्यसैगरी, भीमदत्त नगरपालिका–१८ सालघारी पर्यावरणीय उद्यानमा समेत लामो समयदेखि सुकुम्वासी भूमिहीनका नाममा जग्गा अतिक्रमण भएको उल्लेख गर्दै नगरप्रमुख बोगटीले वास्तविक पीडितलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । “तत्कालीन महेन्द्रनगर नगर विकास समिति भीमदत्त नगरपालिका मातहत आए पनि जग्गा लिज र अतिक्रमणको विषय अदालतमा विचाराधीन रहेकाले अहिले अगाडि बढ्न सकेका छैनौँ,” उहाँले भन्नुभयो, “यो विषयमा सरोकारवाला निकायसित नगरपालिकाका तर्फबाट आवश्यक छलफल र समन्वय भएको छ ।” उहाँले आगामी तीन वर्षभित्र नगरभित्रको सार्वजनिक सम्पत्ति र जग्गाको अतिक्रमण हटाएरै छाड्ने बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले दल र स्थानीय तहका जनप्रतिनिधिले सार्वजनिक जग्गा अतिक्रमण हटाउने विषयमा प्रतिबद्धता जनाउनु स्वागतयोग्य विषय भएको बताउनुभयो । उहाँले सार्वजनिक जग्गाको अतिक्रमण हटाउन प्रशासनले तत्काल पदम चाल्नुपर्नेमा जोड दिनुभयो । “अब यो काममा ढिलाइ गर्न हुन्न,” प्रमुख बोहराले भन्नुभयो, “यसमा जति ढिला ग¥यो, त्यति नै समस्या आउँछ ।”

कार्यक्रममा बेलौरी, बेल्डाँडी, लालझाडी, दोधारा चाँदनी, बेदकोट, कृष्णपुर, शुक्लाफाँटा लगायतका पालिकाका जनप्रतिनिधिले अतिmक्रमण हटाउन स्थानीय तहले सक्रियता बढाएको जानकारी दिएका थिए । दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बूले अतिक्रमण हटाउनका लागि प्रहरी प्रशासनको सहयोग आवश्यक भएको बताउनुभयो ।

“अतिक्रमण हटाउँदा धाकधम्कीको सामना गर्नुप¥यो,” उहाँले भन्नुभयो । जनप्रतिनिधिले सार्वजनिक जग्गामा नदीनालाका किनार, सडकका साथै विद्यालयका जग्गा अतिक्रमणमा परेको जानकारी दिएका छन् ।

विभिन्न आयोजनामा भइरहेका ढिलासुस्तीप्रति सरकार गम्भीर रहेको छ : उपप्रधानमन्त्री महासेठ

राँझा (बाँके) – उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जनताले अनुभूति गर्नेगरी काम गरिने बताउनुभएको छ । नेपालगञ्जमा बुधबार आयोजित मन्त्रालय मातहतका विभिन्न कार्यालयको वार्षिक गोष्ठीमा उहाँले तोकिएको समयमा काम सम्पन्न गर्ने र निर्माण कार्यमा अटेर गर्ने निर्माण कम्पनीसँगको ठेक्का तोड्न निर्देशन दिनुभयो ।

कानुनविपरीतको कामलाई जोसुकैबाट प्रस्ताव आए पनि अस्वीकार गर्न आग्रह गर्दै उपप्रधानमन्त्री महासेठले विभिन्न आयोजनामा भइरहेका ढिलासुस्तीप्रति सरकार गम्भीर रहेको र अब त्यस्तो ढिलासुस्ती नहुने बताउनुभयो ।

“सरकारले आर्थिक विकासलाई प्राथमिकतामा राखेकाले निर्माण कार्यमा ढिलाइ नहोस् भन्ने चाहेको छ”, उपप्रधानमन्त्री महासेठले भन्नुभयो, “आर्थिक विकास र समृद्धिका लागि केही व्यक्ति धनी हुँदैमा देशको समग्र विकास हुँदैन । त्यसैले आर्थिक विकासमा सबैको योगदान आवश्यक छ ।”

लुम्बिनीको प्यूठान, दाङ, बाँके र कर्णाली तथा सुदूरपश्चिम प्रदेशस्थित मन्त्रालय मातहतका विभिन्न आयोजना र कार्यालयका प्रमुखको सहभागिता रहेको उक्त कार्यक्रममा उपप्रधानमन्त्री महासेठले निर्धक्कसँग काम गर्न कर्मचारीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नीरज शाक्यले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि सडक मर्मतसम्भारको बजेटको योजना तयारी र हालसम्मको प्रगति विवरण प्रस्तुत गरिएको बताउनुभयो ।

यसैबीच उपप्रधानमन्त्री महासेठसँग बाँकेमा अधेरै रहेका सडकको निर्माण थाल्न नेकपा (एमाले) बाँकेले माग गरेको छ । बाँकेको खजुरामा करिब दुई किलोमिटर लामो चार लेन सडक ६ वर्षमा पनि निर्माण पूरा नभएको र परस्पुर–गौघाट सडकखण्डको समयावधि सम्पन्न हुने अवस्थामा निर्माणको काम सुस्त रहेकाले उपप्रधानमन्त्री महासेठको ध्यानाकर्षण गराएको एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।

हेर्नुहोस् चैत ८ गते बिहिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । कार्यक्षेत्रमा लगाईएको लगन सिलताको कदर हुनेछ । भुमि तथा वाहान शुख प्राप्त रहनेछ । पूराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । महत्वपूर्णकार्य सम्पादन गर्न पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

बृष राशि – तपाईको कार्य सम्पादनको श्रेय अन्य ब्यत्तिहरुलाई सहजै प्राप्त हुनेछ । प्रतिपक्षीहरु कमजोर रहनाले कार्य सहज बन्नेछ । मित्रजनहरुको साथ सहयोगमा सामान्य यात्राको सम्भाबना रहेता पनि यात्रा झन्झट पुर्ण रहन सक्नेछ । काम गर्दा बिशेष साबधानि अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्नेछ ।

मीथुन राशि – सामान्य चोट पटक आईपर्नेछ । खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्नेछ । समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्नेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ ।

कर्कट राशि – स्वास्थ सम्बन्धि सामान्य समस्याले सताउनेछ । आय आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ ।

सिंह राशि – अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । मानसिक चिन्ताले सताउनेछ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ । सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाई सगँ प्रतिस्पर्दा गर्ने ब्यक्तिहरुको बृद्यि हुनेछ ।

कन्या राशि – दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । आक्स्मिक धनलाभको सम्भाबना रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । सन्तान सम्बन्धि समस्याले सताउला । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ ।

तुला राशि – बिद्यार्थी बर्गको बौधिक बिकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ तथा मानसम्मान प्राप्त हुने समय रहेको छ ।सामाजिक कार्यमा आफुअग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनसक्नेछ ।

बृश्चिक राशि – ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ ।

धनु राशि – मानसीक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । ब्यक्तित्व बिकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ ।

मकर राशि – साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ । आटशाहसको बृद्यिहुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला ।

कुम्भ राशि – अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । मनमा चन्चलताले बास गर्नेछ । कार्यक्षेत्रमा प्रतिस्पधिहरुको बृद्यिहुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला । निर्णय गर्न नसक्नाले आफ्नो कमजोरी महसुस हुनेछ । सौदर्यका क्षेत्रमा खर्चहुने योग रहेको छ । सामाय आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ ।

मिन राशि – आम्दानिका बिभिन्न स्रोत हरु फेला पर्ने छन । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ ।

आगामी बजेटमा नवीनतम् कार्यमा युवालक्षित बजेट ल्याइनेछ – मन्त्री श्रेष्ठ

काभ्रेपलाञ्चोक – युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आगामी बजेटमा नवीनतम् कार्यमा युवालक्षित बजेट ल्याइने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आयोजित ‘बे्रन ड्रेन भरर्सेज गेन’ ः नेपालमा युवा लागि शिल्प अवधारणाका रणनीतिहरु’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बजेटमा ‘वातावरण र आर्ट’को योजनामार्फत युवालाई ‘इनोभेटिभ’ कार्यमा लगाइने छ भन्नुभयो ।

“आउँदो बजेटमा इनोभेटिभ कार्यमा युवालक्षित बजेट ल्याइनेछ,” मन्त्री श्रेष्ठले भन्नुभयो, “यसका लागि बजेटमा वातावरण र आर्टको योजनामा छलफलको आवश्यकता छ ।” आगामी बजेटमा वातावरण र आर्ट विषयक योजनाका लागि युवा वर्गले ‘प्रपोजल’ बनाउन उहाँले आग्रह गर्नुभयो । “अहिलेको युवा सर्कल टेक्नोलोजिकल्ली क्रियटिभ हुनुपर्छ,” उहाँले थप्नुभयो ।

मन्त्री श्रेष्ठले जलवायु परिवर्तन र वातावरण वर्तमान युवा पुस्ताको चुनौती भएकाले यसलाई मूल मुद्दाका रुपमा लिइनुपर्ने बताउनुभयो । “जलवायु परिवर्तन र वातावरण हाम्रो मूल मुद्दा हो, यसलाई चुनौती र अवसरका रुपमा लिनुपर्छ,” उहाँले भन्नुभयो । नयाँ प्रविधि मात्र हैन, इनोभेसनका समस्यालाई नयाँ तरिकाले समाधान गर्ने प्रविधिमा लाग्न युवा वर्गप्रति उहाँको आग्रह थियो ।

मन्त्री श्रेष्ठले फरक प्रसङ्गमा नेपालको नयाँ व्यवस्थामा धेरै काम गर्न बाँकी रहेकाले सकारात्मक सोचपूर्वक धैर्यताको खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो, “देशको वर्तमान परिस्थिति र राजनीतिक गर्दा तेस्रो मुलुकमा बसाइँ सर्नुपरेको कारण हो भने यसलाई गम्भीरतापूर्वक सोच्नुपर्छ र युवा वर्गलाई आत्मनिर्भरतासँगै आत्मसम्मान दिनुपर्छ ।”

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिव रामकुमारी झाँक्रीले विदेशिने अर्थात् तेस्रो मुलुकमा बसाइँसराइ विश्वको समस्या भएकाले आत्तिइहाल्नुपर्ने विषय नभएको दाबी गर्नुभयो । “गुणस्तरीय शिक्षाका नाममा श्रमशक्ति बाहिरिने गर्दछन्, विश्वको यो समस्याको कारकतत्व भनेको हाइस्ट्यान्डर्ड जीवनशैलीमा परिवर्तननै हो,” पूर्वमन्त्रीसमेत रहनुभएका झाँक्रीले भन्नुभयो ।

केयूका उपकुलपति प्राडा भोला थापाले विदेशमा पढेर आएकाको समूह बटुलेर नै काठमाडौँ विश्वविद्यालय सञ्चालनमा आएको स्मरण गर्दै विदेशिएकाले नेपाल फर्केर योगदान गर्नुपर्ने तर्क राख्नुभयो । उहाँले भन्नुभयो, “त्यसरी फर्केर आएकाले नेपालमा क्रमशः योगदान पु¥याउँदै जाँदा नयाँ पुस्तामा नेपालप्रति आशा जाग्नेछ ।”

सो अवसरमा श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयका सहसचिव राजीव पोखरेलले नेपाली श्रम बजारमा प्रतिवर्ष सरदर पाँच लाख जनशक्ति आउने गरेकाले नागरिकको रोजगारीको हकअनुसार आन्तरिक रोजगारी सृजना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपालमा विषयगतरुपमा उत्पादित जनशक्तिलाई आफ्नो श्रम उपयोग गर्न सरकारलाई सुझाव दिनुभयो ।

नेपाल पत्रकार महासङ्घको केन्द्रीय महाधिवेशन लुम्बिनीमा

काठमाडौँ – नेपाल पत्रकार महासङ्घले केन्द्रीय महाधिवेशन आगामी वैशाख २१ र २२ गते लुम्बिनीमा गर्ने निर्णय गरेको छ । महासङ्घको बुधबार बसेको केन्द्रीय समिति बैठकले महासङ्घका सबै प्रदेशको अधिवेशन आगामी वैशाख १ देखि १२ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको केन्द्रीय सदस्य एवं पत्रकारिता तथा आमसञ्चार प्राज्ञिक समन्वय विभाग प्रमुख शन्तराम बिडारीले राससलाई जानकारी दिनुभयो ।

महासङ्घका सबै शाखा समिति, प्रतिष्ठान शाखा तथा एशोसिएट संस्थाको अधिवेशन गर्न निर्देशन दिएको बैठकले अधिवेशन सम्पन्न गर्दा महासङ्घबाट केन्द्रीय प्रतिनिधिको अनिवार्य सहभागिता हुनुपर्ने व्यवस्था गरेको छ ।

बैठकले महाधिवेशन तयारीका लागि अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी रहेको स्टेरिङ समिति गठन गरेको छ । सो समितिले महाधिवेशनको सम्पूर्ण तयारीलगायत प्रदेश तथा शाखा समितिको अधिवेशन सम्पन्न गर्न आवश्यक समन्वय गर्नेछ ।

सोअनुसार बैठकले समन्वय गर्न १० वटै प्रदेशमा केन्द्रीय पदाधिकारीलाई प्रदेश संयोजकको जिम्मेवारी तोकेको छ । कोशी प्रदेशमा उपाध्यक्ष बाला अधिकारी, मधेस प्रदेशमा सचिव दीपेन्द्र चौहान, बागमती प्रदेशमा सचिव सिर्जना अर्याल, गण्डकी प्रदेशमा लेखा संयोजक लेखनाथ न्यौपाने, लुम्बिनी प्रदेशमा उपाध्यक्ष उदय जिएम, कर्णाली प्रदेशमा कोषाध्यक्ष कलेन्द्र सेजुवाल, सुदूरपश्चिम प्रदेशमा सचिव हेमकर्ण विक, एसोसिएट प्रदेशमा सचिव पवन आचार्य, प्रतिष्ठान प्रदेशमा सचिव नारायण किलम्बु र उपत्यका प्रदेशमा सचिव गोविन्दप्रसाद चौलागाईंलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको हो ।

प्रदेश तथा शाखा समितिको अधिवेशन र केन्द्रीय महाधिवेशनमा साङ्गठनिक, आर्थिक प्रतिवेदन र समसामयिक प्रस्तावमा छलफल गरेको बैठकले यस वर्षको महाधिवेशनलाई विश्वव्यापीरुपमा पत्रकार तथा सञ्चार क्षेत्रमा देखिएको सङ्कटका विषयमा छलफल गर्ने र त्यो निष्कर्षलाई लागू गर्न केन्द्रित गर्ने प्रस्ताव गरेको छ । केन्द्रीय साधारणसभामा सहभागी भएका राष्ट्रिय परिषद् सदस्य नै महाधिवेशनमा सहभागी हुने महासङ्घको विधानले व्यवस्था गरेको छ ।

राजमार्गका पसल र होटलमा म्याद नाघेका पेयपदार्थ भेटियो

म्याग्दी, ७ चैत : राष्ट्रिय राजमार्ग कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा रहेका पसल र होटलमा म्याद नाघेका मदिरा र पेयपदार्थ भेटिएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले आज गरेको बजार अनुगमनका क्रममा तिप्ल्याङका होटल तथा पसलमा एक वर्षअघि नै म्याद नाघेका पेयपदार्थ र मदिरा बिक्रीका लागि राखेको पाइएको हो ।

अनुगमन टोलीको नेतृत्व गर्नुभएका पर्यटन तथा उद्योग कार्यालयका प्रमुख पोषानाथ शर्माले १७ वटा होटल तथा पसलमा अनुगमन गर्दा रु ३० हजार मूल्य बराबरको म्याद नाघेका पेयपदार्थ र मदिरा भेटिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बिक्रीका लागि राखिएका बियर, कोक, फेन्टा, भुजा र फुरनदानाको म्याद नाघेको पाइएको थियो । सबैभन्दा बढी म्याद नाघेका सामान नमस्ते होटलमा भेटिएको थियो । “एक वर्षअघि नै म्याद नाघेका सामान बिक्रीका लागि राखेको भेटियो”, कार्यालयका कर्मचारी सन्तोष ढुङ्गानाले भन्नुभयो, “पहिलो पटक भएकाले व्यवसायीलाई सचेत बनाएर म्याद नाघेका सामान डिलर कहाँ फिर्ता पठाउन लगाएका छौँ ।”

सो ठाउँमा अर्को पटक बजार अनुगमनका क्रममा म्याद नाघेका सामान बिक्रीका लागि राखेको जफत र नष्ट गर्नुका साथै जरिवाना तिराउने कार्यालयले चेतावनी दिएको छ । तिप्ल्याङ म्याग्दी हुँदै मुस्ताङ जाने आउने पर्यटक, तीर्थयात्री र पाहुनाले खाजा खाना खाने व्यापारिक केन्द्र हो ।

जिल्ला प्रशासन कार्यालय, वडा कार्यालय, अस्थायी प्रहरी बिट तिप्ल्याङका प्रतिनिधि र पत्रकारको टोलीले अनुगमन गरेको थियो । चालु आर्थिक वर्षको हालसम्म नौ पटक एक सय ६० वटा उद्योग, व्यवसायको अनुगमन गरेको कार्यालयले जनाएको छ ।

गृहमन्त्री लामिछानेको निर्देशनमा ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी

काठमाडौँ, ७ चैत : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी गरिएको छ । सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी भने जिल्ला प्रशासन कार्यालय काठमाडौँले गर्ने गरी उक्त क्षेत्र चौबिसै घण्टा खुलाउन लागिएको गृह मन्त्रालयले जनाएको छ ।

ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः चौबिसै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ । सोही अनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ । गृहको निर्देशनअनुसार आवश्यक तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

“आन्तरिक तयारी सुरु भइसक्यो । ढिलोमा नयाँ वर्ष (वैशाख १) भित्रै खुला हुन्छ,” काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भन्नुभयो, “सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ । बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौं ।” हाल दुवै क्षेत्रमा प्रकृतिअनुसार चार समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गरिएको पनि काठमाडौँ प्रशासनले जनाएको छ ।

‘सेल्फी’ खिच्न गोदावरीको पुल रोजाइमा

सुदूरपश्चिम, ७ चैत ः कैलालीको चुरे पहाडको फेदमा रहेको गोदावरी नदी माथिको पुरानो पुलमा आइतबार ‘सेल्फी’ खिच्नेको भीड थियो । साथीहरुसँगै सेल्फी लिँदै गर्नुभएका कञ्चनपुरका युवा सन्तोष रानाले भन्नुभयो, “घुम्न आउनेहरुका लागि यो पुल पहिलो रोजाइमा पर्छ, वनभोजका लागि पनि यो ठाउँको वातावरण पनि रमाइलो छ ।”

घुम्नकै लागि पुलमा पुग्नु भएका कञ्चनपुर कृष्णपुरकै युवा कपिल भट्ट वरिपरि चुरे पहाड, नदीको सतहदेखि ३०÷४० मिटरको उचाइमा रहेको पुलको दृष्य निकै रमाइलो लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “घुम्न आउनेहरुका लागि यो पुल पछिल्ला वर्षमा आकर्षणको केन्द्र बन्न थालेको देखिन्छ ।”

पुलमा सेल्फी लिने र वरिपरिको प्राकृतिक वातावरणको दृष्यावलोकन गर्नेको दैनिक भीड लाग्ने गर्दछ । अन्य दिनभन्दा सार्वजनिक बिदाको दिन धेरै घुइँचो हुने गरेको स्थानीयले बताएका छन् । सडक सञ्जालका दृष्टिमा सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाको प्रवेशद्वारका रुपमा रहेको गोदावरी प्रदेशको मुख्य तीर्थस्थल पनि हो ।

काठ, फलाम र स्टिल प्रयोग गरी झण्डै छ दशकअघि बनेको यो पुल जीर्ण भएपछि एक दशकअघिदेखि पुलमा सवारीसाधान आवागमन बन्द गरिएको थियो । धनगढी–डडेलधुरा राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ को सडकखण्डमा पर्ने यो पुल जीर्ण भएपछि विकल्पमा सोही ठाउँमा पक्की पुल निर्माण गरिएको छ ।

पुरानो पुलबाट यातायात आवागमन बन्द गरिएपछि यसलाई रङरोगन र ध्वजापाताकाले सिँगारिएको मात्र नभई ठाउँठाउँमा राष्ट्रिय झण्डा पनि फहराएर आकर्षक बनाइएको छ । घुम्ने पर्यटकको सुरक्षाका लागि पुलको दुवैतर्फको भागमा जाली लगाइएको छ । पुलको अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटक पनि आउने गरेको स्थानीयवासीको भनाइ छ ।

यो क्षेत्रमा रहेको ५१ फिट अग्लो हनुमानको मूर्ति विषेश आकर्षक मानिन्छ । गोदावरीलाई सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी निर्माण स्थल पनि तोकिएको छ । तर राजधानी निर्माणका लागि हालसम्म ठोस कुनै काम भने अघि बढ्न सकेको छैन । वडाध्यक्ष हेमप्रकाश मल्लले सडक विभागअन्तर्गत पुल पर्ने भएकोले यो पुरानो पुल मर्मत र अन्य क्रियाकलापका लागि वडा तहबाट पहल गरिने बताउनुभयो ।

मल्लले भन्नुभयो, “पुरानो पुल पर्यटकको आकर्षण स्थल बन्न थालेको यसलाई पर्यटकीय क्षेत्रका रुपमा थप विकास गर्न पहल गरिनेछ ।” यस क्षेत्रमा हरेक वर्ष मकरसङ्क्रान्तिको समयमा बाह्र राशि दर्शन मकर मेलाजस्ता धार्मिक गतिविधि गर्न सुरु गरिएसँगै बढेको भक्तजनको चहलपहलले यो धार्मिक पर्यटनको गन्तव्य क्षेत्र पनि बन्ने देखिएको छ । पर्यटकलाई लक्षित गरी उक्त क्षेत्रमा पछिल्लो समयमा आधुनिक होटेल रिसोर्टलगायतका संरचना पनि निर्माण हुन थालेका छन् । धनगढीदेखि २२ किलोमिटर उत्तरतर्फ रहेको यो गोदावरी धाम क्षेत्रमा गोदावरी नदी, छेउमा मठमन्दिर, धर्मशाला, बौद्ध गुम्बा रहेको छन् । मकरसङ्क्रान्तिका दिन यो क्षेत्रमा सदियौँदेखि मेला पनि लाग्ने गरेको छ ।

यो क्षेत्रलाई सप्त गोदावरीमध्येको प्राचीन गोदावरीका रुपमा लिने गरिन्छ । बृद्ध गौतमका नामलेसमेत चिनिने यो क्षेत्रमा भगवान् श्रीकृष्णले स्नान गरेको हो भन्ने स्कन्दपुराणमा उल्लेख गरिएकाले पनि यसको धार्मिक महत्व ठूलो रहेको छ । यसका साथै गोदावरीमा भगवान् राम भीष्मपितामह र पाण्डवले पनि स्नान गरेको किंवदन्ती छ ।

शिक्षा, स्वास्थ्य समितिको सभापतिमा थापा निर्वाचित

काठमाडौँ, ७ चैत ः शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति पदमा अम्मरबहादुर थापा निर्वाचित हुनुभएको छ । समितिको सभापतिमा आज निर्वाचित भएलगत्तै उहाँले आजै बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गर्नुभयो ।

नव निर्वाचित सभापति थापाले शिक्षालाई विशेष सुधार गरेर लग्न आफ्नो प्रयत्न हुने बताउनुभयो । “म पाएको जिम्मेवारी राम्ररी फत्ते गर्नेमा विश्वास राख्छु”, उहाँले भन्नुभयो, “स्वास्थ्य र शिक्षा संवेदनशील विषय हुन् । शिक्षा क्षेत्रको बृहत् सुधारका लागि ऐन बन्दैछ । शिक्षाको गुणस्तरमा वृद्धि र शिक्षकलाई कर्मचारीसरह बनाउनेदेखि सबै जनताको पहुँचमा कसरी पुर्याउन सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राखेर समितिमा काम गर्नेछु ।”

नवनिर्वाचित सभापति थापाले बिहीबार पदबहाली गर्ने कार्यक्रम रहेको छ । दोलखा जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको उहाँ नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०बाट प्रतिनिधित्व गर्नुहुन्छ ।

पेरिसले निःशुल्क कन्डम वितरण गरेर ओलम्पिक रोमान्स पूरा गर्ने

पेरिस ओलम्पिक आयोजकहरूले यस वर्ष प्रेमको सहरमा हुने खेलहरूमा रोमान्टिक हुन चाहने खेलाडीहरूलाई दुई लाख २० हजार कन्डम वितरण गर्ने भएका छन् । खेलाडीहरूले आफ्नो खेलमा ध्यान केन्द्रित गर्न सक्ने भए पनि उनीहरू चाहे भने शारीरिक सम्पर्क गर्न स्वतन्त्र हुनेछन् । टोक्योमा कोभिड महामारीको समयमा भएको पछिल्लो ओलम्पिकमा यसको विपरीत खेलाडीहरूलाई ‘शारीरिक सम्पर्कबाट अनावश्यकरूपमा बच्न’ आग्रह गरिएको थियो ।

जुलाई २६ देखि अगस्ट ११ सम्म हुने खेलमा पुरुषका लागि दुई लाख र महिलाका लागि २० हजार कन्डम खेलग्राममा उपलब्ध गराइने पेरिस २०२४ मा प्राथमिक चिकित्सा तथा स्वास्थ्य सेवाका इन्चार्ज लरेन्ट डालार्डले बताउनुभयो । “कति मानिसले कन्डमको प्रयोग गर्ने सम्भावना छ भन्ने हामीलाई थाहा छैन र स्पष्टरूपमा आवश्यक परेको खण्डमा हामी आवश्यकताअनुरूप हुनेछौँ”, उहाँले मङ्गलबार पत्रकारहरूसँग भन्नुभयो ।

सुरक्षित यौन सम्बन्धलाई प्रोत्साहित गर्न र तत्कालीन समयमा विश्वभर फैलिएको एचआइभी–एड्स महामारीका बारेमा चेतना जगाउन सन् १९८८ को सोल ओलम्पिकमा खेलाडीहरूलाई केही हजार कन्डम पहिलोपटक निःशुल्क वितरण गरिएको थियो ।

त्यस बेलादेखि यो प्रत्येक ओलम्पिक आयोजनाका लागि एउटा परम्परा बनिसकेको छ । पछिल्ला दशकहरूमा वितरित कन्डमको सङ्ख्या नाटकीयरूपमा बढेको छ । सन् १९९२ को बार्सिलोना ओलम्पिकमा ५० हजार, सन् २००८ मा बेइजिङमा एक लाख र सन् २०१२ मा लन्डनमा एक लाख ५० हजार कन्डम वितरण गरिएको थियो ।

सन् २०१६ मा रियो ओलम्पिक खेललाई अहिलेसम्मको सबैभन्दा कामोत्तेजक खेल मानिएको छ । उक्त प्रतियोगितामा चार लाख ५० हजार कन्डम वितरण गरिएको थियो । यो प्रत्येक खेलाडीका लागि ४२ बराबर थियो ।

डालार्डले फ्रान्समा यौन सञ्चारित रोगहरू बढ्दै गएको उल्लेख गर्दै गाउँमा पोस्टरहरूले खेलाडीहरूलाई खतराका साथै सहमतिको मुद्दाबारे शिक्षित गर्न खोज्ने बताउनुभयो ।

युरोपेली सङ्घ (इयु) को स्वास्थ्य एजेन्सीले गत वर्षको तुलनामा सम्पूर्ण महादेशमा यौन सञ्चारित सङ्क्रमण (एसटिआई) मा ‘समस्याजनक वृद्धि’ का बारेमा मार्च ७ मा चेतावनी दिएको थियो । युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल (इसिडिसी) का अनुसार सन् २०२२ मा इयुमा गोनोरियाको मामिला ४८ प्रतिशत, सिफलिसमा ३४ प्रतिशत र क्ल्यामिडियामा १६ प्रतिशतले वृद्धि भएको थियो ।

पेरिस खेलमा ओछ्यानहरू सबै एकल रहेको, कार्डबोर्डले बनेको र सामान्यतया एउटा कोठामा दुईवटा भएकाले पनि ती ओछ्यान अनाकर्षक हुन सक्छन् ।

पेरिसको उत्तरी उपनगरमा रहेको ओलम्पिक गाउँमा ओलम्पिक खेलका क्रममा करिब १४ हजार मानिस रहनेछन् । त्यसपछि पाराओलम्पिकमा नौ हजार मानिस बस्नेछन् । साइटमा खेलाडीहरूका लागि सामान्य खानपान क्षेत्र, दिनको २४सै घन्टा खाना सेवा गर्नेका साथै खेलकुद बार र खेल क्षेत्र पनि समावेश हुनेछन् । यद्यपि त्यहाँ कुनै मदिरा दिइने छैन ।

आयोजक समितिका ग्रामीण सञ्चालनका निर्देशक लरेन्ट मिचाउडले गाउँको भ्रमणका क्रममा पत्रकारहरूसँग भन्नुभयो, “यो पार्टीका लागि ठाउँ होइन, यदि उनीहरू पार्टी गर्न चाहन्छन् भने पेरिस जान सक्छन् ।”पेरिसका एक वरिष्ठ आयोजकले अधिकांश कन्डम स्मृति चिह्नका रूपमा वा निःशुल्क उपहारका रूपमा घर लगिने अपेक्षा गर्नुभयो ।

गरिबी रेखालाई घटाएर शून्यमा झार्नु छ : अध्यक्ष ओली

काठमाडौँ, ७ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरिबी रेखालाई घटाएर शून्यमा झार्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँ जिल्ला कमिटीको बृहत् कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले सरकारले गरिबी शून्यमा झार्ने गरी काम गर्ने बताउनुभयो । उहाँले अहिले गरिबीको रेखामुनि १७ प्रतिशतबाट बढेर २०.२६ प्रतिशतमा पुगेको उल्लेख गर्दै त्यसलाई शून्यमा झार्नुपर्ने बताउनुभयो ।

“हामीले सरकारमा रहँदा निरपेक्ष गरिबीको रेखालाई १७ प्रतिशतमा झारेका थियौँ । तर अहिले त्यो बढेर फेरि २०.२६ प्रतिशतमा पुगेको छ । त्यसलाई घटाउनु छ । शून्यमा झार्नु छ,” उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले एमाले देश बनाउने सङ्कल्प बोकेर हिँडेको पार्टी भएको धारणा राख्नुभयो । उहाँले आगामी निर्वाचनमा काठमाडौँमा गएको निर्वाचनको जस्तो हार अस्वीकार्य भएको बताउनुभयो । “पछिल्लो निर्वाचनमा १० प्रतिशतको हैसियतमा झ¥यो । काठमाडौँका १० क्षेत्रमध्ये एउटा मुस्किलले जित्यौँ यो स्थितिलाई अनिवार्य बदल्नै पर्छ”, उहाँले भन्नुभयो, “एमालेलाई काठमाडौँमा यो अवस्था कुनै हालतमा स्वीकार्य छैन । एमालेले काम गरेर देखाएको हिसाबले पनि जुन परिमाण आएको छ । त्यो पीडादायी रहेको छ ।”

उहाँले आगामी निर्वाचनमा काठमाडौँमा एमालेले ९० प्रतिशत मत ल्याउनुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले पार्टीका पक्षमा सामाजिक सञ्जालमार्फत बोल्न कार्यकर्तालाई आग्रह गर्नुभयो । “पार्टीका पक्षमा बोल्नुप¥यो । विपक्षीले लगाएका झुठो आरोपको खण्डन गर्नुप¥यो । यो झुठो हो भनेर सामाजिक सञ्जालमा किन टिप्पणी लेख्दैनाँै”, उहाँले भन्नुभयो । अध्यक्ष ओलीले नेपाललाई समृद्ध र सुशासनयुक्त बनाउन खोजेको बताउनुभयो ।

पत्रकारले बदलिँदो समयलाई आत्मसात् गर्दै सूचना प्रविधिमैत्री बन्न जरुरी – सञ्चार सचिव सुवेदी

काठमाडौँ, ७ चैत: सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले पत्रकारले बदलिँदो समय र परिवेशलाई आत्मसात् गर्दै सूचना प्रविधिमैत्री बन्न जरुरी रहेको खाँचो औँल्याउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको कर्मचारी सेवा प्रवेश अभिमुखीकरणको आज समापनका अवसरमा उहाँले आधुनिक सूचना प्रविधिको तीव्र विकासले सञ्चारमाध्यमलाई पनि रुपान्तरण गरेको छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “राससको समाचार सेवालाई पनि आधुनिक सूचना प्रविधिमैत्री बनाउन जरुरी छ, मिडियामा पनि प्रविधि र काम गर्ने तौरतरिका परिवर्तन भएको छ । प्रविधि मात्रै नभएर अहिले सबै क्षेत्रमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रभाव छ । यो ‘मेनुअल’ काम गर्नेलाई चुनौती हो, अब, मेनुअल काम गर्नेले टेक्नोलोजीसँगै नहिँडे सुख छैन, त्यसैले तपाईंहरुले पनि आफूलाई सोही अनुरुप रुपान्तरण गर्नुपर्छ ।”

सचिव सुवेदीले समाचार अत्यन्तै संवेदनशील विषय भएकाले आम पाठक एवं सरोकारवालाको सर्वोपरि हितलाई ध्यानमा राखेर सचेत भई सत्यतथ्य, वस्तुनिष्ठ र सन्तुलित ढङ्गले समाचार सम्प्रेषण गरिनुपर्नेमा जोड दिनुभयो । “सूचना प्रवाह गर्दा ध्यान पु¥याइएन भने देश, समाज र जनतालाई हानि गर्छ । त्यसैले अत्यन्त संवेदनशील हुनुपर्छ । झुटा समाचारबाट बच्नुपर्छ । प्रतिस्पर्धाको अहिलेको समयमा समाचार प्रमाणीकरण गरी संवेदनशील भएर समाचार सम्प्रेषण गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो ।

सचिव सुवेदीले ज्ञान र सीपलाई मनोवृत्तिसँग परिणत गरेर सकारात्मक रुपमा पेसागत उच्च व्यावसायिकता र संस्थागत सुदृढीकरणमा समेत जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले सीमित स्रोत, साधन र विविध चुनौतीबीच पनि राससले पछिल्लो चरणमा राम्रा र नतिजामुखी काम गरिरहेकामा प्रशंसा गर्दै आगामी दिनमा राससले गर्ने कामप्रति समन्वय र सहजीकरणका लागि मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । सचिव सुवेदीले अभिमुखीकरणमा सिकेका ज्ञानलाई सकारात्मक सोचका साथ व्यवहारमा उतारेर संस्थागत विकासमा योगदान गर्न पनि आग्रह गर्नुभयो ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दक्ष जनशक्ति र स्रोतसाधनको भरपुर उपयोग गर्दै राससको सेवालाई थप चुस्त र प्रभावकारी बनाउन सबै जिम्मेवार भएर लाग्नुपर्छ भन्नुभयो । उहाँले सञ्चारजगत्मा अनेकाँै चुनौतीसँगै प्रशस्त सम्भावना पनि रहेको जनाउँद आधुनिक सूचना प्रविधिको उच्चतम् प्रयोग गर्दै राससको सेवालाई सोही अनुरुप समयसापेक्ष बनाएर लैजाने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पछिल्लो दिनमा राससको महत्व र सान्दर्भिकता दिनानुदिन बढ्दै गइरहेको छ, राससको सेवालाई पनि सोही अनुरुप थप प्रभावकारी बनाउन विभिन्न प्रयास गरिएको छ ।”

दुईदिने अभिमुखीकरणमा विभिन्न विषयमा विज्ञ एवं सरोकारवालाले प्रशिक्षण दिनुभएको थियो । सरकारी सञ्चारमाध्यममा अवसर र चुनौती विषयमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागार्इं, सार्वजनिक प्रशासन र सञ्चार विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव रमेश पाण्डेयले प्रस्तुति दिनुभयो ।

त्यसैगरी, राससका कार्यकारी अध्यक्ष झाले राससको समग्र अवस्था र गरिएका कामबारे अवगत गराउनुभएको थियो । महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धकत्रय राजु शाक्य, श्यामप्रसाद रिमाल र सोमनाथ लामिछाने, रासस सञ्चालक समिति सदस्यद्वय कृष्ण अधिकारी र डिल्लीराम भट्टराई, राससका प्रमुख समाचारदाता उत्तम सिलवाल, राससका प्रशासन प्रमुख शीतलप्रसाद महतो र लेखाप्रमुख रुद्रमणि अधिकारीले सेवाबारे प्रस्तुतिसहित प्रशिक्षित गर्नुभएको थियो ।

सामाजिक रुपान्तरणमा मधेसी आयोगले भूमिका महत्वपूर्ण : उपराष्ट्रपति

काठमाडौँ, ७ चैत : उपराष्ट्रपति रामसहायप्रसाद यादवले मधेसी आयोगले मधेसी समुदायको सामाजिक, शैक्षिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । मधेसी आयोगको पाँचौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो “नेपालमा उल्लेख्य जनसङ्ख्या रहेको मधेसी समुदायको इतिहास र पहिचान, हकहितको संरक्षण र संवद्र्धन तथा सशक्तीकरण गर्ने उद्देश्यले स्थापना गरिएको मधेसी आयोगले बिना विषयान्तरको आफ्नो कार्यादेश र संवैधानिक व्यवस्थाअनुसार मधेसी जनअपेक्षाअनुरुप सक्रियता बढाउन जरुरी छ । आयोगले यस वार्षिकोत्सवलाई विगतमा गरेका काम र गतिविधिहरुको समीक्षा गर्ने अवसरका रुपमा लिँदै आफूलाई परिष्कृत र परिमार्जित गर्न आवश्यक छ ।”

उहाँले मधेसी समुदायका लागि आयोगले सचेतना र सशक्तीकरण कार्यक्रमका साथै मधेसी समुदायको हकहित संरक्षण गर्दै मधेस र मधेसीको इतिहास तथा मधेस जनविद्रोहका उपलब्धिलाई दस्ताबेजीकरण र मधेसीको अधिकारको पृष्ठपोषण गर्नमा क्रियाशील हुनुपर्छ भन्नुभयो ।

“मधेसमा विद्यमान बेथितिहरुप्रति आयोगको ध्यानाकर्षणले मात्र अब पुग्दैन । उसको क्षेत्राधिकारले निर्धारण गरेका विषयमा संवैधानिक व्यवस्थाअनुसार सशक्त रुपमा आफ्नो उपस्थिति दर्ज गराउँदै अघि बढ्न पनि जरुरी छ”, उहाँले भन्नुभयो, “विगतमा केही संवैधानिक आयोग र मधेसी आयोगको क्षेत्राधिकार परस्पर बाझिएको जस्तो देखियो । खासगरी मधेसी समुदायको जाति वा थर सूचीकरणमा देखिएको विरोधाभाषपूर्ण अवस्थाहरुलाई कानुनी व्यवस्थाअनुसार ‘ओभरल्याप’ नहुने गरी अघि बढ्न आवश्यक छ ।”

उपराष्ट्रपतिले संवैधानिक आयोगहरुबीच परस्पर बाझिने कानुनी क्षेत्राधिकारलाई संशोधन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले मधेसी आयोगका दस्तावेजहरु कुनै दल वा व्यक्ति केन्द्रित भन्दा पनि सिङ्गो देश र मधेसी समुदाय केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

“आयोग आरक्षणका सवालमा संविधानमा व्यवस्था भएअनुरुपको ‘क्लस्टर’ लाई आत्मसात् गर्दै विवादास्पद निर्णयहरु आफ्नो दस्तावेजमार्फत सार्वजनिक गर्नबाट जोगिनु पर्दछ,” उपराष्ट्रपति यादवले भन्नुभयो, “संविधानको मूल मर्मअनुसार बहुलता र समानतामा आधारित समतामूलक समाज तथा समावेशी प्रतिनिधित्व र पहिचानको संरक्षणमा मधेसी आयोग कोसेढुङ्गा बन्ने गरी नेतृत्व लिन सक्नुपर्दछ ।” उहाँले आयोगमार्फत संविधान र कानुनको मर्मअनुसार मधेसी समुदायका सबै खाले समस्या समाधान गर्न आयोगले अभिभावकत्वको भूमिका निर्वाह सक्नुपर्ने सुझाव दिनुभयो ।

ओलम्पिक प्रमुखहरूविरुद्ध रुस आक्रोशित, लगायो ‘नव–नाजीवाद’ को आरोप

रुसले बुधबार अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) माथि रुसी खेलाडीहरूमाथि लगाएको प्रतिबन्ध र मस्कोले आयोजना गरेको फ्रेन्डसिप गेम्सको आलोचनालाई ‘नव–नाजीवाद’ समान भएको भन्दै तीव्र आक्रोश व्यक्त गरेको छ ।

आइओसीले मङ्गलबार रुसी खेलाडीहरूलाई जुलाई २६ मा पेरिस ओलम्पिक, २०२४ को उद्घाटन समारोहमा भाग लिन रोक लगायो र फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने ओलम्पिक खेलहरूको प्रतिद्वन्द्वीका रूपमा आफ्नै ‘फ्रेन्डसिप गेम्स’ आयोजना गर्ने योजना बनाएकामा क्रेमलिनको आलोचना गर्यो ।

रुसी विदेश मन्त्रालयलका प्रवक्ता मारिया जखारोभाले एक ब्रिफिङमा भन्नुभयो, “यी निर्णयले आइओसी आफ्नो घोषित सिद्धान्तहरूबाट कति टाढा गएको छ र नस्लवाद तथा नव–नाजीवादमा फसेको छ भन्ने कुरा देखाउँछ ।”

आइओसीले गत वर्ष रुसलाई २०२४ खेलहरूबाट निलम्बन गरेको थियो तर युक्रेनमाथि क्रेमलिनको आक्रमणलाई सक्रिय समर्थन नगरेसम्म रुसका खेलाडीहरूलाई तटस्थरूपमा प्रतिस्पर्धा गर्न अनुमति दिएको थियो ।

उक्त तटस्थ स्थितिले रुसी खेलाडीहरूलाई ‘आफ्नो मातृभूमि, आफ्नो नागरिकता, आफ्नो इतिहास, संस्कृति र मानिसहरूको कुनै पनि सम्बन्ध त्याग्न बाध्य बनाउने’ तर्क प्रवक्ता जखारोभाले दिनुभएको छ । “आइओसीको निर्णय गलत, अन्यायपूर्ण र अस्वीकार्य छ”, उहाँले भन्नुभयो, “हामी रुसी खेलाडीहरूमाथि अन्तर्राष्ट्रिय ओलम्पिक समितिले लगाएको अभूतपूर्व भेदभावपूर्ण सर्तहरूबाट आक्रोशित छौँ ।”

रुसको क्रोध आइओसीले कडा शब्दमा विज्ञप्ति जारी गरेको एक दिनपछि आएको हो । आइओसीले क्रेमलिनमाथि आफ्नो फ्रेन्डसिप गेम्स आयोजना गर्ने योजना बनाएर ‘खेलमा राजनीति’ गरेको आरोप लगाएको थियो ।

आइओसीले खेल जगत् र मस्कोले आमन्त्रण गरेका सरकारहरूसँग उक्त आयोजनामा ‘कुनै पनि सहभागिता र समर्थनलाई अस्वीकार गर्न’ आह्वान गरेको छ तर भाग लिनेहरूलाई अनुमति दिन अस्वीकार गरेको छ ।

क्रेमलिनले बुधबार आइओसीको यस्ता प्रतिबन्धविरुद्ध चेतावनी दिएको छ । “यो खेलाडीहरूलाई डर देखाउने काम हो, यसले आइओसीको विश्वसनीयतालाई पूरै कमजोर बनाउँछ”, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भन्नुभयो ।

लामो समयदेखिको डोपिङ घोटालालाई लिएर मस्को र ओलम्पिक निकायबीचको तनाव वर्षौंदेखि चलिरहेको थियो । डोपिङ घोटालालाई लिएर रुसी खेलाडीहरूलाई सन् २०२० को टोक्यो खेलहरूमा आफ्नो मुलुकको झन्डामुनि प्रतिस्पर्धा गर्न रोक लगाइएको थियो ।

सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमाथि आक्रमण सुरु गरेपछि रुस र बेलारुसका खेलाडीहरूले धेरै खेलमा प्रतिबन्धको सामना गर्नुपरेको छ । गत वर्ष धेरै ओलम्पिक खेलहरूले प्रतिबन्धलाई खुकुलो बनाएका छन् । यसअन्तर्गत दुवै मुलुकका खेलाडीहरूलाई केही शर्तअन्तर्गत प्रतिस्पर्धामा फर्किन अनुमति प्राप्त भएको छ । रुस र बेलारुसका खेलाडीहरूले ‘व्यक्तिगत तटस्थ खेलाडी’ का रूपमा पेरिसमा प्रतिस्पर्धा गर्नेछन् तर दुवै मुलुकका प्रतिस्पर्धीहरूलाई एथलेटिक्समा प्रतिबन्ध लगाइएको छ ।

रफा दबाब बढ्दै जाँदा इजराइली रक्षामन्त्रीले अमेरिकाको भ्रमण गर्ने

गाजाको रफामा योजनाबद्ध आक्रमण रोक्न दबाब बढिरहेका बेला इजराइली रक्षमन्त्री योभ ग्यालान्टले आगामी साता अमेरिकाको भ्रमण गर्न लाग्नुभएको सरकारले बुधबार बताएको छ ।

अमेरिकाले समेत विरोध गरेको नियोजित आक्रमणका बारेमा छलफल गर्न ‘अमेरिकी राष्ट्रपति जो बाइडेनको अनुरोधमा’ एउटा प्रतिनिधिमण्डल अमेरिका जाने इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले घोषणा गरेको छ ।

अक्टोबर ७ मा हमासको अभूतपूर्व आक्रमणको जवाफमा युद्ध सुरु भएपछि वासिङ्टनको आफ्नो पहिलो भ्रमणका क्रममा ग्यालान्टले अमेरिकी रक्षामन्त्री लोयड अस्टिनसँग भेट गर्नुहुनेछ तर भ्रमणको मिति घोषणा गरिएको छैन ।

“उहाँले हमासले बन्धक बनाएका सबै बन्धकको रिहाई सुनिश्चित गर्ने प्रयास, प्यालेस्टिनी नागरिकसम्म पुग्नका लागि थप मानवीय सहायताको आवश्यकता र रफामा शरण लिएका १० लाखभन्दा धेरै मानिसको सुरक्षा सुनिश्चित गर्ने योजनाहरूबारे कुराकानी गर्नुहुनेछ”, एक अमेरिकी रक्षा अधिकारीले भन्नुभयो ।

प्रधानमन्त्री नेतान्याहुले गाजामा हमासलाई समाप्त पार्न रफामा अपरेसन आवश्यक रहेको बताउनुभएको छ तर गाजाका अन्य भागबाट विस्थापित भएका सहित रफामा १५ लाख मानिसको उपस्थितिले ठूलो मानवीय हताहत हुने चिन्ता बढाएको र यस क्षेत्रमा मानवीय सङ्कट थप गहिरो बनाएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले सोमबार आफूले नेतान्याहुलाई रफामा पूर्णस्तरको सैन्य अभियानबाट बच्ने तरिकाबारे छलफल गर्न एउटा टिमलाई वासिङ्टन पठाउन भनेको बताउनुभएको थियो ।

नेतान्याहुको कार्यालयले रणनीतिक मामिलामन्त्री रोन डर्मर र राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले अनुरोध गरिएको वार्ता गर्नुहुने बताएको छ । यद्यपि कार्यालयले वासिङ्टनका लागि प्रतिनिधिमण्डल कहिले प्रस्थान गर्नेछ भन्नेबारे केही बताएको छैन ।

अमेरिकी रक्षामन्त्री अस्टिनसँगको इजराइली रक्षामन्त्री ग्यालान्टको निर्धारित बैठक बाइडेनले अनुरोध गर्नुभएको प्रतिनिधिमण्डलको भ्रमणसँग अलग भएको अमेरिकी रक्षा अधिकारीले बताउनुभएको छ ।

भियतनामी राष्ट्रपति थुओङद्वारा राजीनामा

भियतनामका राष्ट्रपति भो भान थुओङले ‘उल्लङ्घन र कमी कमजोरी’का लागि आफू दोषी रहेको भन्दै राजीनामा दिनुभएको छ ।

भियतनाम समाचार एजेन्सीका अनुसार राष्ट्रपति थुओङले पार्टी, राज्य र जनताप्रतिको आफ्नो जिम्मेवारीप्रति पूर्ण सजग रहेर राष्ट्रपतिको पदबाट राजीनामा दिएको बताउनुभएको छ । भियतनामको सत्तारुढ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले राष्ट्रपति थुओङले पार्टीमा पेश गरेको राजीनामा दलबाट स्वीकृत भएको पुष्टि गरेको छ ।

अफगानी किशोरीका लागि अनलाइन शिक्षा सिकाइको निर्विकल्प छनोट

अफगानिस्तानको एक दुर्गम शहरमा आफ्नो घरभित्र थुनिएको महशुस गर्ने १८ वर्षीया शेकिबा अक्सर इन्टरनेट सङ्केतको खोजीमा घरवरिपरि घुमिरहनुहुन्छ । इन्टरनेट उहाँको शिक्षाको अन्तिम कडी हो ।

सन् २०२१ मा तालिवान सत्तामा फर्किएपछि कक्षा कोठामा अध्ययन गर्ने आफ्नो अधिकारबाट बञ्चित बनेकी शेकिबाले अनलाइन शिक्षामा ध्यान केन्द्रित गर्दै एन्ड्रोइड मोबाइल सेटको स्क्रिनमा अर्थशास्त्र बिषयको अनलाइन अध्ययनका लागि ‘साइन अप’ गर्नुभएको थियो ।

उहाँ ल्यापटपको लागि बचत गरी यसबाट सुविधासहितको अनलाइन अध्ययन गर्ने आशा राख्नुहुन्छ तर अझै पनि मोबाइल फोनको लागि राम्रो सङ्केतको सुनिश्चितता नभएको अफगानिस्तानको पहाडी बदख्शान प्रान्तको उच्च स्थानमा रहेको इश्काशिम शहरमा महँगा मोबाइल ‘डाटा प्याकेज’हरू किन्न बाध्य छिन् ।

उहाँले एएफपीसँगको कुराकानीमा फोनमा भन्नुभयो, “यदि इन्टरनेटको समस्या नभएको भए धेरै सजिलो हुने थियो । तर केही पनि नगर्नु र बस्नुभन्दा अगाडि बढ्नु बेस भनेर उहाँ अनलाइन कक्षामा जोडिनुभएको छ ।”

उहाँले भन्नुभयो, “मैले केबल अध्ययन गर्ने, सफल हुने र प्रगति गर्ने आशा गर्दछु । समाजको एउटा परिवारको एक मात्र व्यक्तिले प्रगति ग¥यो भने उक्त समुदायको सम्पूर्ण परिवारको प्रगति हुन्छ ।”

अफगानिस्तानमा नयाँ वर्ष सुरु भएसँगै केटा, युवा पुरुष र कतिपय वयस्क पुरूषसमेत कक्षामा फर्केका छन्, तर संयुक्त राष्ट्रसङ्घले ‘लैङ्गिक रङ्गभेद’ को संज्ञा दिएको तालिवान सरकारको शैक्षिक नाकावन्दीका कारण किशोरी र यसवा महिलाहरू फेरि पछि परेका छन् र यसले अफगानिस्तानका महिलालाई लामो समयसम्म पछौटे जीवन बिताउन बाध्य पार्नेछ ।

परम्परागत विद्यालयको विकल्पमा अनलाइन कक्षाको विकास भए पनि कम्प्युटर र इन्टरनेटको अभावका साथै स्क्रिनको माध्यमबाट हुने सिकाइको एक्लोपनले व्यक्तिगत सिकाइको कमजोर विकल्प पाएजस्तो बोध भएको यसमा जोडिएका विद्यार्थी र उनीहरूका शिक्षकले बताउँछन् ।

सुलभ खर्चमा दिइने अनलाइन विकल्पहरूमध्ये धेरैले स्नातक तह पनि प्रदान गर्न सक्दैनन् ।

– भविष्यका लागि निदिष्ट लक्ष्यको अभाव –

अनलाइन शिक्षामा कति बालिका र किशोरीसम्लग्न छन् भन्ने स्पस्ट छैन, तर दुई उच्च शिक्षा प्लेटफर्महरूले तालिबानले कब्जा गरेदेखि हजारौंको सङ्ख्यामा अफगानीहरूले आवेदन दिएका वा अनलाइन सञ्चालकहरूले आवेदन दर्ता गरेको बताएका छन् ।

बेगम एकेडेमीको नामबाट सञ्चालित अनलाइन विद्यालय उनीहरूको शिक्षाका लागि एउटा प्लेटफर्म हो जसमा दारी र पश्तोमा करिब आठ हजार ५०० निःशुल्क भिडियोहरू छन् ।
भिडियोले अफगानी माध्यमिक विद्यालयको पाठ्यक्रमलाई समेट्छ । अनलाइन कक्षा सन् २०२३ डिसेम्बरमा सुरू भएको थियो र छिट्टै नै यसमा तीन हजारभन्दा बढी प्रयोगकर्ता (विद्यार्थीहरू) जोडिएका थिए ।

निर्देशक हमिदा अमनले यो सुविधाबाट आमाबाबु आभारी छन् तर केटीहरूलाई प्रत्यक्ष कक्षामा जस्तो सुविधाको अनुभभूति नभएको बताउनुभयो ।

–भविष्यका लागि कुनै दृष्टिकोण छैन–

अमनले फ्रान्सबाट एएफपीसँग भन्नुभयो, “जब हाम्रा लागि सबै कुरा बन्द हुन्छ र भविष्यको कुनै दृष्टिकोण हुँदैन तब त्यसप्रति प्रेरित हुन गाह्रो हुन्छ ।”

“यी केटीहरूसँग प्रमाणपत्रहरू हुन सक्दैनन् वा उनीहरूसँग विश्वविद्यालय जाने वा पछि कुनै काम गर्ने महत्वाकाङ्क्षा हुन सक्दैन,” उहाँले अनलाइन शिक्षा र यसबाट प्राप्त हुने योग्यताप्रति निराशा व्यक्त गर्दै भन्नुभयो ।

इन्टरनेसनल क्राइसिस ग्रुपकाअनुसार महिलाका लागि शिक्षा अमेरिका समर्थित सरकारको प्रमुख लक्ष्य थियो तर यो उपलब्धि पनि धेरै हदसम्म शहरहरूमा मात्र सीमित थियो । उक्त समय पनि देशभरिका विद्यालयमा १३ देखि १८ वर्ष उमेर समूहका २३ प्रतिशत किशोरीहरू मात्र पढ्ने गर्थे ।

तालिबान सरकारले सन् २०२२ मा महिला शिक्षामा प्रतिबन्ध लगाउने आदेश जारी गरेपछि यो सङ्ख्या घटेर १३ प्रतिशतमा झरेको अमेरिकी प्रवुद्ध समूहले जनाएको छ ।

महिला शिक्षामा प्रतिबन्ध लगाउने आदेश लागू भएपछि जैनबले तत्काल अनलाइनबाट माध्यमिक विद्यालयको पठनपाठन सुरु गर्नु भएको थियो । उहाँको दुई पटकसम्मको अनलाइन विद्यालयद्वारा पठनपाठन गर्ने प्रयास सुरूमा अस्वीकार गरिएको थियो तर विदालयका लागि एउटा सुरक्षित स्थान पाएपछि यसलाई सञ्चालनमा ल्याइएको थियो ।

प्रतिशोधको डरले आफ्नो पूरा नाम प्रयोग नगर्न आग्रह गरेकी जैनबले भन्नुभयो, “अनलाइन कक्षा लिनुअघि हामी घरमा खाली भयौँ । हामी प्रायजसो सुत्थ्यौँ । जसले गर्दा हामी निराश बन्यौँ र भविष्यप्रति चिन्तित पनि भयौँ ।”

उहाँले एएफपीसँग भन्नुभयो, “अनलाइन कक्षाले हामीलाई व्यस्त बनाएको छ तर यसले विद्यालयहरू प्रतिस्थापन गर्न सक्दैन ।”

आफ्नो विश्वविद्यालयको शिक्षालाई पनि भर्चुअल रूपमा निरन्तरता दिने प्रयास गरेकी अनलाइनमा अङ्ग्रेजी अध्यापन गराउने २२ वर्षीया रूहिलाले सयौँ अफगानी महिलालाई खुशी बाँड्ने प्रयास गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “अहिलेको परिस्थितिमा मलाई ऊर्जा दिने एउटा मात्र कुरा भनेको यी किशोरीहरूलाई सिकाउनु हो ।”

“सधैंको लागि अनलाइन शिक्षा हुनुले विद्यार्थी र शिक्षक सबैको उत्साह गुम्छ र उही प्रयत्न निरन्तर रहन्न भन्ने कुरा हामीलाई महशुस भइसकेको छ,” उहाँले भन्नुभयो ।
उहाँले थप्नुभयो, “मानसिक रूपमा, अनलाइन कक्षाहरू धेरै कठिन हुन्छन् । तिनीहरू तनावपूर्ण र पट्टयारलाग्दा हुन्छन् ।”
तालिबाना अधिकारीले किशोरीहरूलाई माध्यमिक विद्यालय जानबाट प्रतिबन्धित गरिएदेखि नै उनीहरूले इस्लामी कानूनको व्याख्यासँग मेल खाने प्रणाली स्थापना गर्न काम गरिरहेको बताउँदै आएका छन् ।

–कम्प्युटरको अभाव, इन्टरनेटको समस्या –
युनेस्कोको एक प्रतिवेदनअनुसार कोभिड–१९ महामारीको समयमा व्यापक ‘भर्चुअल शिक्षण विधि’ले यो ‘व्यक्तिगत शिक्षाको लागि आंशिक विकल्प’ भएको देखाएको छ ।

अफगानी विद्यार्थीहरूले इन्टरनेट प्रायः डाउन भएको वा अत्यन्त्ये ढिलो हुने भएको र बिजुली कटौती सामान्य भएको देशमा पटक पटक ‘लग इन’ गर्ने प्रयासको बोझको सामना गर्नुपरेको छ।

अनलाइनबारे अनुसनधान गर्ने कम्पनी डाटा रिपोर्टलका अनुसार एक चौथाइभन्दा कम जनसङ्ख्याले इन्टरनेट प्रयोग गर्छन् । अफगानिस्तानमा गरिबीको दर निकै कम भएकाले कम्प्युटर पनि धेरैले धान्न नसक्ने विलासिता हो ।

अमनका अनुसार बेगम एकेडेमीका करिब ९० प्रतिशत विद्यार्थीले सिक्नका लागि फोनको प्रयोग गर्छन् । तर १८ वर्षीया आइशाल ती निराशाहरूभन्दा पनि विद्यालयको सामाजिक पक्षलाई बिर्सनुभएको छैन । उहाँले भन्नुभयो, “अनलाइन कक्षा भौतिक कक्षा जत्तिकै प्रभावकारी हुन सक्दैन, जहाँ हामी हाम्रा साथीहरू र हाम्रा शिक्षकहरूलाई भेट्छौं र हाम्रा विचारहरू आदानप्रदान गर्छौं।

“अनलाइन पाठ्यक्रमले हामीलाई आशा मात्र दिन सक्छ”, उहाँले भन्नुभयो, तर हामी कहिल्यै भन्न सक्दैनौं, ‘मैले अनलाइन पढेको छु र स्नातक गरेको छु’ ।”