`

भेनेजुएलाकोे राजनीतिक सङ्कटप्रति ईयूद्वारा चासो व्यक्त

Nepal One HD ९ भदौ २०८१ २०:१४
विश्व

युरोपेली सङ्घ (इयू) का विदेश नीति प्रमुख जोसेप बोरेलले भेनेजुएलामा गहिरिँदै गएको राजनीतिक सङ्कटप्रति आफूहरु ‘अत्यन्त चिन्तित’ रहेको बताउनुभएको छ ।

बोरेलले भन्नुभयो “काराकासले अझै पनि चुनावी प्रक्रियाको मूल्याङ्कन गर्न आवश्यक प्रमाण उपलब्ध गराएको छैन । विपक्षीले आफ्नो उम्मेदवारले जित हासिल गरेको दाबी गर्दै आएका छन् ।

ईयूका उच्च कूटनीतिज्ञले भन्नुभयो “पूर्ण र स्वतन्त्र रूपमा प्रमाणित गर्न सकिने नतिजालाई मात्र स्वीकार र मान्यता दिइनेछ ।”

बोरेलका अनुसार मतदान केन्द्रको केही रेकर्डअनुसार विपक्षी नेता एडमण्डो गोन्जालेज उरुटिया राष्ट्रपति चुनावमा महत्वपूर्ण बहुमतका साथ विजयी भएको देखिन्छ ।

उहाँले भेनेजुएलाका जनताको इच्छाको सम्मान सुनिश्चित गर्न मतदान केन्द्रको रेकर्ड पूर्ण रूपमा प्रकाशन गर्न आग्रह गर्नुभयो ।

यसैबीच, देशका शक्तिशाली नेता निकोलस मडुरोले गोन्जालेज उरुटियालाई पक्राउ गर्न निर्देशन गर्नुभएको छ । जुलाई ३० मा विपक्षी समूहले भब्य जुलुश निकालेपछि उरूटिया सार्वजनिक रूपमा देखिनुभएको छैन । अभियोजकहरूले उहाँलाई शनिबार सोधपुछका लागि बोलाएका थिए ।

जुलाई २८ मा भएको मतदान विवादित भएपछि भएको प्रदर्शनमा २७ जनाको मृत्यु भएको थियो भने १९२ जना घाइते भएका थिए । मतदानका क्रममा भएका झडपका क्रममा करिब दुई हजार ४०० व्यक्ति पक्राउ परेका थिए ।


प्रतिक्रिया