`

राजीनामाको तयारीमा मुख्यमन्त्री यादव!

Nepal One HD २५ कार्तिक २०८३ १५:५०
प्रमुख खबर

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

विश्वासको मतका लागि अन्य दलको समर्थन जुटाउन नसकेपछि उनी राजीनामा दिएर सरकारबाट बाहिरिने मनस्थितिमा पुगेका हुन् ।

मुख्यमन्त्री यादव नेतृत्वको सरकारले विश्वासको मत लिनुपर्ने समयसीमा अब एक सातामात्र बाँकी छ । तर, अहिलेसम्म विश्वासको मत लिने मिति नै तय हुन सकेको छैन । सत्ता टिकाउन आवश्यक समर्थनबारे अन्य दलबाट स्पष्ट प्रतिबद्धता नआएपछि सरकार दबाबमा परेको छ ।

कृषिमन्त्री श्याम पटेलका अनुसार सरकारलाई समर्थन जुटाउने विषयमा विभिन्न दलसँग छलफल भइरहेको छ । सहमति जुटे विश्वासको मत लिने र सहमति नभए अन्य विकल्पबारे निर्णय गरिने उनले बताएका छन् ।

सरकारका अर्का एक मन्त्रीका अनुसार अन्य दलले समर्थन नगरे अन्तिम समयमा विश्वासको मतको सामना गर्नुभन्दा मुख्यमन्त्री यादवले सीधै राजीनामा दिने आन्तरिक तयारी गरेका छन् ।

विश्वासको मतका लागि समयसीमा नजिकिँदै गर्दा पनि राजनीतिक सहमति जुट्न नसकेपछि मधेस प्रदेश सरकारको भविष्य अन्योलमा परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *