कोप–३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन
काठमाडौँ । टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) स्थलमा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन गरिएको छ ।
कोप–३१ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका परराष्ट्रमन्त्री शिशिर खनालले गएराति पेभिलियन उद्घाटन गरेका हुन् । नेपालको जलवायु महत्वाकाङ्क्षा प्रतिबिम्बित गर्ने पेभिलियनमा जैविक विविधता संरक्षणका उपलब्धि तथा समुदायस्तरमा सञ्चालित जलवायु अनुकूलनका पहल प्रदर्शन गरिएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले संवेदनशील हिमाली पारिस्थितिकीय प्रणालीले सामना गरिरहेको जोखिमबारे विश्वको ध्यानाकर्षण गराए । उनले हिमनदी तथा हिममण्डलसँग सम्बन्धित विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै हालैको भोटेकोशी विपद्लाई ‘हिमालयन सुनामी’को संज्ञा दिए । नेपालजस्ता जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेका मुलुकले असमानुपातिक रूपमा बढी जोखिम वहन गर्नुपरेको उनको भनाइ थियो ।
मन्त्री खनालले जलवायु न्याय सुनिश्चित गर्न, हानि तथा नोक्सानीसम्बन्धी वित्तीय सहयोग सहज र सुलभ बनाउन तथा हिमाली क्षेत्रमा उत्थानशीलता निर्माण र तल्लो तटीय क्षेत्रको संरक्षणका लागि विश्वव्यापी सहकार्य आवश्यक रहेको बताए । उनले यस विषयमा नेपालको प्रतिबद्धता दोहोर्याए ।
उद्घाटन समारोहमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री नीशा मेहता, सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्य सागर ढकाललगायत विशिष्ट प्रतिनिधिले पनि सम्बोधन गरेका थिए ।
यसैबीच, परराष्ट्रमन्त्री खनाल कोप–३१ को उद्घाटन पूर्ण सत्रमा सहभागी भए । सो अवसरमा टर्किएका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तनमन्त्री मुरात कुरुमले सम्मेलनको अध्यक्षता तथा अस्ट्रेलियाका जलवायु परिवर्तन तथा ऊर्जामन्त्री क्रिस बोवेनले वार्ता प्रक्रियाको अध्यक्षता सम्हालेका छन् ।
सम्मेलनकै अवसरमा परराष्ट्रमन्त्री खनालले इथियोपियाका परराष्ट्रमन्त्री गेडियन टिमोथियोससँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
भेटमा मन्त्री खनालले हालैका विनाशकारी जलवायुजन्य विपद्पछिको कठिन परिस्थितिमा इथियोपिया सरकार र जनताले व्यक्त गरेको सहानुभूति तथा ऐक्यबद्धताप्रति आभार व्यक्त गरे ।
उनले कोप–३१ र इथियोपियाको आगामी कोप अध्यक्षताअन्तर्गत समानता, साझा वातावरणीय जिम्मेवारी तथा बहुपक्षीय साझेदारीमा आधारित विश्वव्यापी जलवायु कार्यलाई अघि बढाउन नेपाल प्रतिबद्ध रहेको बताए ।
भेटवार्तामा दुवै मन्त्रीले जलवायु परिवर्तन, अतिकम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नतिको दिगोपन, व्यापार, हवाई सम्पर्क, पर्यटन तथा जनस्तरको सम्बन्धलगायत आपसी हितका विषयमा विचार आदानप्रदान गरे । साथै, नेपाल र इथियोपियाबीचको मैत्रीपूर्ण तथा सहयोगात्मक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरे ।
