`

गणतन्त्र स्थापनापछि महिला सशक्तीकरण बढेको छ : मन्त्री सुडी

Nepal One HD ११ भदौ २०८१ २०:३६
राजनीति

काठमाडौँ, ११ भदौः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर सुडीले गणतन्त्र स्थापना भएपछि महिला सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउनुभएको छ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजना गरेको दोस्रो महिला नेतृत्व कन्क्लेभमा उहाँले गणतन्त्र स्थापनापछि महिलाको सहभागिता र सशक्तीकरणमा उल्लेख्य उपलब्धि हासिल भएको बताउनुभयो ।

उहाँले गणतन्त्रपछि नै स्थानीय तहमा महिलाको प्रतिनिधित्व ४० प्रतिशत सम्भव भएको उल्लेख गर्नुभयो । “संविधानमार्फत हामीले महिलाका लागि ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेका छौँ, तर त्यो पर्याप्त छैन, आजका दिनसम्म जेजति उपलब्धि हासिल भएका छन् । त्यसलाई संस्थागत गर्दै ५० प्रतिशत सहभागिता बढाउनु आवश्यक छ”, उहाँले भन्नुभयो ।

पछिल्लो समय दूरदराजमा महिलामा पछिल्लो समय जागरुकता बढेको र त्यसलाई थप प्रोत्साहन गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्री सुडीले आफूलाई मतदान गर्ने कूल मतदातामध्ये ५६ प्रतिशत महिला रहेको उल्लेख गर्दै भन्नुभयो, “मलाई महिलाले विजयी बनाउने र उनीहरुको हकहितका लागि काम नगर्ने भन्ने हुँदैन, यो मेरो जिम्मेवारी पनि हो । म सरकारको प्रतिनिधिका हैसियतमा महिलाको अर्थपूर्ण सहमगिता बढाउनका लागि पहल गर्ने प्रतिबद्धता जनाउँछु ।”

आफू पाँच वर्ष प्रदेशमा मन्त्री रहँदा प्रदेश लोकसेवा आयोगको परीक्षामा ५० प्रतिशत कोटा महिलाका लागि छुट्याइनुपर्ने विषयमा कानुन निर्माण गरेको उहाँले स्मरण गर्नुभयो । मन्त्री सुडीले आगामी असोज ६ गतेसम्म देशभरमा विभिन्न क्षेत्रमा क्रियाशील एक हजार महिलालाई राजधानी काठमाडौँमा जम्मा गरेर नेतृत्व विकास र संविधान तथा कानुनबारे जानकारी दिनेगरी मन्त्रालयले तयारी गरिरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा इक्यानका अध्यक्ष शेषराज भट्टराईले महिलाको उपस्थितिले कुनै पनि क्षेत्रलाई बलियो बनाउनसक्ने विषय शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील महिलाले प्रमाणित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “महिला र पुरुष सबै उत्तिकै क्षमतावान् छौँ, अवसर प्राप्त भएका बखतमा विभिन्न क्षेत्रमा महिलालाई आफूलाई प्रमाणित गरिसक्नुभएको छ, इक्यानको यो कार्यक्रम यही यथार्थलाई थप प्रमाणित गर्नु हो ।”

उहाँले कुनै पनि क्षेत्रमा महिलाको सहभागिता मात्रै नभई अर्थपूर्ण सहभागिताले मात्रै वास्तविक प्रतिनिधित्व हुने उल्लेख गर्दै राज्यका नीति निर्माणका तहमा पनि उहाँहरुको उपस्थिति बलियो हुनुपर्छ भन्ने इक्यानको मत रहेको बताउनुभयो । उहाँले महिलाको उपस्थितिले व्यवसायलाई थप बलियो बनाउनेमा आफू विश्वस्त रहेकोसमेत उल्लेख गर्नुभयो ।

त्यस अवसरमा शैक्षिक परामर्श क्षेत्रमा लामो समयदेखि क्रियाशील भई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा महत्त्वपूर्ण योगदान दिने विभिन्न उद्यमी महिलालाई सम्मान गरिएको थियो । मन्त्री सुडीले उनीहरुलाई प्रमाणपत्र र अध्यक्ष भट्टराईले खादा ओढाएर सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा डा नम्रता पाण्डेले सहभागीलाई काम र व्यक्तिगत जीवनलाई कसरी सन्तुलित राख्ने भन्ने विषयमा ‘मोटिभेसन’ दिनुभएको थियो । उहाँले महिलाका लागि निजी जीवन, परिवार र व्यावसायिक जीवनबीचको सन्तुलन कायम गर्न चुनौतीपूर्ण भए पनि आध्यात्मिकताका माध्यमबाट त्यसलाई सन्तुलनमा राख्न सकिनेमा जोड दिनुभयो । सम्मानित हुनेमा डा सन्तोष अग्रवाल, रश्मी भण्डारी, विजया चापागाईं, सन्ध्या भण्डारी, सफला ताम्रकार, उषा श्रेष्ठ, कविता पाण्डे पौडेल, सलिना थापा र सुष्मा आचार्य थिए ।

महिलालाई नेतृत्व तहमा ल्याउन नीतिगत तहमै सुधार आवश्यक

सरोकारवालाले महिलालाई नेतृत्व तहमा ल्याउनका लागि नीतिगत तहबाटै सम्बोधन हुनुपर्नेमा जोड दिनुभएको छ । आजै आयोजित ‘महिला नेतृत्वमा सशक्तीकरण’ विषयक अन्तरक्रियामा उहाँहरूले नेतृत्व तहमा महिलाको प्रतिनिधित्व मात्रै नभई अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिनुभयो ।

महिला उद्यमी महासङ्घका अध्यक्ष शोभा ज्ञवालीले महिलालाई अवसर दिनसके नेतृत्व तहमा रहेर धेरै काम गर्नसक्ने धारणा व्यक्त गर्नुभयो । उहाँले नीतिगत तहदेखि कार्यान्वयन तहसम्म महिलामैत्री वातावरण बनाउनसक्ने हो भने महिलालाई नेतृत्व तहमा स्थापित गर्न सकिने बताउनुभयो । यसका लागि महासङ्घले पनि काम गरिरहेको उहाँको भनाइ थियो । उहाँले पछिल्लो समय उद्यममा लाग्ने महिलाका लागि कर्जा प्रवाहदेखि क्षमता अभिवृद्धि र सञ्जाल विस्तारका लागि महासङ्घले काम गरिरहेको उल्लेख गर्नुभयो ।

“महिलालाई स्थानीय तहदेखि नै प्राविधिक जानकारीसहितको तालिम, डिजिटल साक्षरता, नेटवर्क स्थापना तथा राष्ट्रिय र अन्तर्राष्ट्रियसम्मको पहुँच स्थापित हुनेगरी सहजता प्रदान गर्नु आवश्यक छ, त्यसो हुन सकेको अवस्थामा महिलालाई नेतृत्व तहमा पनि स्थापित गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

नेपाल पुँजीबजार लगानी सङ्घकी अध्यक्ष राधा पोखरेलले सरकारले घरजग्गामा कारोबारमा जस्तै पुँजीबजारमा पनि महिलाका लागि छुटको व्यवस्था जरुरी रहेको बताउनुभयो । “पुँजी बजारका ६२ लाख लगानीकर्तामा महिलाको सङ्ख्या २० प्रतिशत मात्रै छ”, उहाँले भन्नुभयो, “घरजग्गा कारोबारमा राजस्वमा छुट दिँदा महिलाका नाममा सम्पत्ति राख्ने चलन बढेको छ, पुँजीबजारमा पनि सोही प्रकारको व्यवस्था भए सहभागिता बढाउन सकिन्छ ।” उहाँले शेयर बजारका कारण सम्पत्तिमाथि महिलाको पहुँच र उनीहरुको निर्णय गर्ने क्षमता बढाएको बताउनुभयो ।

ब्रिटिस काउन्सिल नेपालकी शैक्षिक तथा परीक्षा प्रमुख प्रतीशा थापा रायमाझीले ग्रामीण तहदेखि नै महिलालाई शिक्षाको सहज पहुँच सुनिश्चित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले महिलालाई नेतृत्व तहमा आफूलाई स्थापित गर्नका लागि सपना देख्न र त्यसलाई दृढताका साथ कार्यान्वयन गर्न सुझाव दिनुभयो । हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागितामा जोड दिँदै महिलाले नेतृत्व गरेका क्षेत्रमा तुलनात्मक रुपमा राम्रो काम भइरहेको आफूले पाएको अनुभव उहाँको अनुभव थियो ।

हस्पिटालिटी क्षेत्रकी उद्यमी सुनिता अधिकारीले महिला नेतृत्व तहमा आउनका लागि सबैभन्दा पहिले आत्मविश्वास र लगनशीलता जरुरी रहेको बताउनुभयो । उहाँले अहिले विभिन्न क्षेत्रमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित भए पनि त्यो अर्थपूर्ण हुनुपर्नेमा जोड दिनुभयो ।


प्रतिक्रिया