`

कुवेतद्वारा ग्यास आपूर्तिका लागि कतारसँग १५ वर्षे सम्झौता

Nepal One HD ११ भदौ २०८१ ६:३९
विश्व

कुवेतको सरकारी तेल कम्पनीले सोमबार कतारबाट प्राकृतिक ग्यासको आपूर्तिका लागि १५ वर्षको सम्झौताको घोषणा गरेको छ । यद्यपि कम्पनीले सम्झौताको लागत खुलासा गरेको छैन । कतारइनर्जीले सम्झौताअन्तर्गत प्रतिवर्ष ३० लाख टन तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आपूर्ति गर्ने कुवेत पेट्रोलियम कर्पोरेसन (केपिसी) ले विज्ञप्तिमार्फत बताएको छ ।

केपिसीका प्रमुख कार्यकारी शेख नवाफ साउद अल–सबाले भन्नुभयो, “छोटो समयमै कतारइनर्जीसँगको यो दोस्रो दीर्घकालीन सम्झौताले हाम्रो दीर्घकालीन सहयोगलाई पुष्टि गर्दछ ।”

कुवेतले सन् २०२० मा राज्यको स्वामित्वमा रहेको कतारी ऊर्जा फर्मसँग यस्तै प्रकारको सम्झौता गरेको थियो ।   शेख नवाफले सम्झौताले ऊर्जा सङ्क्रमणका लागि कुवेतको दीर्घकालीन रणनीति अनुरूप ‘ऊर्जाको स्वच्छ स्रोत उपलब्ध गराउने’ बताउनुभयो । 

जुनको मध्यदेखि तेल समृद्ध कुवेतले गर्मीमा बढ्दो विद्युत् खपतलाई सम्बोधन गर्न आवासीय र औद्योगिक क्षेत्रहरूमा बिजुली राशन लागु गरेको छ । 

नयाँ सम्झौताअन्तर्गत कुवेतको अल–जौर रिफाइनरीमा एलएनजी डेलिभरी सन् २०२५ देखि सुरु हुने तालिका रहेको केपिसीले बताएको छ । कतारइनर्जीका प्रमुख कार्यकारीसमेत रहनुभएका कतारका ऊर्जामन्त्री साद अल–काबीले भन्नुभयो, “यो नयाँ दीर्घकालीन साझेदारी हो, यो कुवेतको दिगोपन लक्ष्यहरू विशेषगरी विद्युत् उत्पादन क्षेत्रमा समर्थन गर्ने एक केन्द्रीय तत्व हो ।”

कतार अमेरिका, अस्ट्रेलिया र रुससँगै विश्वको शीर्ष तरलीकृत प्राकृतिक ग्यास उत्पादकमध्ये एक हो । 
फेब्रुअरीमा कतारले उसको नर्थ फिल्ड प्रोजेक्टबाट उत्पादन विस्तार गर्ने योजना घोषणा गर्दै सन् २०३० भन्दाअघि क्षमतालाई प्रतिवर्ष १४ करोड २० लाख टनसम्म बढाउने बताएको थियो । 

प्रतिक्रिया