`

सन् २०३० सम्ममा भारतले ३० प्रतिशत विद्युतीय सवारी साधन बजारमा ल्याउने

भारतले सन् २०३० सम्ममा सवारी साधन बिक्रीको ३० प्रतिशत हिस्सा विद्युतीय सवारी साधनको लागि प्रत्याभूत गर्ने लक्ष्य राखेको ‘केयर एज रेटिङ्स’ले जनाएको छ । भारत सरकारले वैकल्पिक इन्धन पूर्वाधारको विकासलाई प्रोत्साहन गर्न योजनाहरू सुरु गरिसकेको र सन् २०३० सम्ममा यसको उत्कृष्ट प्रभाव देखिने जनाइएको छ । सवारी साधनहरूको माग वैकल्पिक इन्धन प्रयोगतिर गइरहेको समयमा भारतले विद्युतीय सवारी साधनको मागलाई सम्बोधन गर्ने नीति लिएको उक्त संस्थाले गरेको अध्ययनले देखाएको हो ।

कुल सवारी साधन बिक्रीमध्ये पेट्रोलबाट चल्ने सवारी साधनको बिक्रीको हिस्सामा उल्लेखनीय गिरावट मापन गरिएको छ । सवारी बिक्रीको तथ्याङ्कले पेट्रोलबाट चल्ने सवारी साधनको बिक्रीको हिस्सा सन् २०२० मा ८६ प्रतिशत रहेकोमा सन् २०२३ मा १० प्रतिशत कमी अर्थात् ७६ प्रतिशतमा घटेको देखाएको छ । डिजेलबाट चल्ने सवारी साधनहरूको अंश सन् २०२० मा १२ प्रतिशत रहेकोमा सन् २०२३ मा ११ प्रतिशतमा सीमित भएको छ ।

वैकल्पिक इन्धनबाट चल्ने सवारी साधनहरूको बिक्री सन् २०२० को तुलनामा गत वर्ष ४०० प्रतिशतभन्दा बढीले वृद्धि भएको तथ्याङ्कबाट देखिन्छ । भारतलाई वैकल्पिक इन्धनतर्फ अगाडि बढाउन सरकारले ‘फेम¬–२’ योजनाको दोस्रो चरण स्वीकृत गरेको छ । यसका लागि एक खर्ब ५० अर्ब भारतीय रूपैयाँ विनियोजन गरेको छ ।

अटोमोबाइल बजारमा पेट्रोल र डिजेल इन्धन–सञ्चालित सवारी साधनहरूको परम्परागत प्रभुत्वलाई चुनौती दिन बलियो दावेदारको रूपमा विद्युतीय सवारीसाधन उभिएको छ । केयरएज रेटिङ्सका एसोसिएट निर्देशक आरती रोयले विद्युतीय साधनको बजार प्रवद्र्धनको उद्देश्य पूरा हुन सरकारी नीति, प्राविधिक विकास र उपभोक्ता प्राथमिकताजस्ता कारकमा निर्भर हुने बताउनुभयो ।

पाँच महिनापछि महाकाली पुल निर्माण सुरु

महेन्द्रनगर (कञ्चनपुर), १३ चैत : कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पुल निर्माण योजनाको काम प्रभावित भएको पाँच महिनापछि पुनः सञ्चालन भएको छ । पुल योजनामा काम गरेबापतको करोडौँ रकम भुक्तानी नपाएपछि गत असोजको तेस्रो साता निर्माण कम्पनीले पुल निर्माणको काम रोकेको थियो । केही दिनअघि गत वर्ष काम गरेको रकम सरकारले उपलब्ध गराएपछि निर्माण कम्पनीले निर्माणको बाँकी काम छ महिनाभित्र सक्ने गरी सञ्चालन गरेको जनाएको छ ।

विसं २०७४ मा निर्माण सुरु भएको चार लेनको पक्की पुलसँगै ८ दशमलव ६ किलोमिटर छ लेनको निर्माणको कामको ९० दशमलव १९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । निर्माण कम्पनी कुमार–सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले गत वर्षको काम गरेबापतका रु साढे आठ करोड रकम हालै कम्पनीलाई उपलब्ध भएको जानकारी दिनुभयो ।

उहाँले पुलसँगै निर्माण हुन गइरहेको पोखरीको तटबन्ध डिजाइन स्वीकृत भएर ‘भेरिएसन’का लागि सडक विभागका पु¥याउने प्रक्रियामा रहेको जानकारी दिनुभयो । “भेरिएसनका कारण अझै रु १५ करोड बक्यौता छ ।” उहाँले भन्नुभयो, “गत वर्षको रकम पाएपछि हामीले बाँकी निर्माणको काम थालिसकेका छौँ ।”

उहाँले ८ दशमव ६ किलोमिटर छ लेनको पहुँच मार्गमध्ये एक हजार पाँच सय मिटर सडक कालोपत्रे गर्न बाँकी रहेको बताउनुभयो । “रकम अभावलगायतको कारण नभए छ महिनाभित्र पुलको सबै काम सकिन्छ”, इन्जिनियर पाण्डेयले भन्नुभयो, “कोरोना कहर, रकम अभाव र भेरियसन, डिजाइन स्वीकृतिलगायतका कारणले पुल निर्माणमा ढिलाइ भयो ।”

रु तीन अर्ब ६६ करोड लागतमा बनिरहेको पुलसँगै सुदूरपश्चिमको व्यापारिक नाकाका रुपमा विकास गर्न खोजिएको छ । पुलसँगै महाकाली नदीपारिको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माणको काम पनि प्रक्रियामा छ ।

पुलको दुवैतर्फ बाँध बाधेर पर्यटकीयस्थल हुने गरी पोखरी निर्माण गरिएको छ । पसलको उत्तरतर्फ एक वर्गकिलोमिटर भन्दा ठूला दुई वटा पोखरी र दक्षिणतर्फ ० दशमलव ३ वर्गकिलोमिटरका दुई वटा पोखरी निर्माण भएका छन् । गएको बर्सातपछि पोखरीको डिजाइनीमै समस्या आएपछि यहाँ ‘भेरिएसन’को काम धकेलिएको छ ।

कांग्रेसको गैरसरकारी संस्था समन्वय विभागमा सदस्य मनोनीत

काठमाडौँ, १३ चैत : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको गैरसरकारी संस्था समन्वय विभागको सदस्यमा व्यक्तिलाई मनोनयन गर्नुभएको छ । उहाँले पार्टीको विधान, २०१७(संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा रणबहादुर रावल प्रमुख रहनुभएको उक्त विभागमा आज सदस्य मनोनीत गर्नुभएको हो ।

विभागमा डिल्लीराम गिरी, परमेश्वर महासेठ, सकुन्दराज आर्याल, प्रह्लादबाबु पन्त, यज्ञश्वर पौडेल, चूर्णबहादुर चौधरी, भैरवबहादुर विष्ट, तिलकबहादुर मल्ल, अम्बिकुमारी थापा र उत्तमराज जोशी मनोनयन हुनुभएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रजातन्त्रलाई संस्थागत गर्न जोशीको योगदान महत्वपूर्ण छ : नेता सिंह

काठमाडौँ, १३ चैत : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रलाई संस्थागत गर्नका लागि नवीन्द्रराज जोशीको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् पूर्वमन्त्री जोशीको आज तेस्रो वार्षिक स्मृति दिवसका अवसरमा नेता सिंहले २०१७ सालमा गुमेको प्रजातन्त्रलाई पुनःबहाली गर्नका लागि जोशीले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

“पार्टी प्रतिबन्धित अवस्थामा रहेका बेला प्रजातन्त्रलाई पुनःबहाली गर्नका लागि नेपाल विद्यार्थी सङ्घमा रहेर जोशीले गरेको योगदान महत्वपूर्ण छ, उहाँ नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय ढङ्गले लाग्ने व्यक्ति हुनुहुन्थ्यो,” नेता सिंहले भन्नुभयो ।

जोशीले उद्योगमन्त्री भएको बेलामा आफ्नो क्षेत्र र देशको हितमा गरेको काम सदा स्मरणीय रहने नेता सिंहले उल्लेख गर्नुभयो । “जोशी कांग्रेसमा रहेर विचार प्रदान गर्नुहुन्थ्यो, उहाँ कांग्रेसको इतिहासलाई जीवन्त राख्ने व्यक्ति हुनुहुन्थ्यो,” नेता सिंहले भन्नुभयो । जोशी लौहपुरुष गणेशमान सिंहको सच्चा अनुयायी भएको उहाँको भनाइ थियो ।

बजेट थप नहुँदा कर्णालीमा योजना कार्यान्वनमा समस्या

काँक्रेविहार (सुर्खेत), १३ चैत : कर्णालीमा प्रदेशसभाबाट पारित भई कार्यान्वनमा जानुपर्ने पाँच सय ७४ वटा योजना कार्यान्वनमा समस्या देखिएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयसँग र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयसँग सम्बन्धित योजना कार्यान्वनमा समस्या भएको हो । रातो किताबमा आएका ती योजनालाई सरकारले तत्कालीन प्रमुख प्रतिपक्ष दल एमालेसँगको सहमतिअनुसार बजेट थप गरेर कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

गत पुस २९ गतेको मन्त्रिपरिषद् बैठकले सदनमा सहमति भएका टुक्रे योजनालाई रु १५ लाखसम्म पु¥याउने र सडक तथा भवनतर्फका योजनालाई ३० लाख पु¥याई कार्यान्वयन गर्ने निर्णय गरेको थियो । निर्णय भएको तीन महिना बित्दासमेत सम्बन्धित योजनाका बारेमा विषयगत मन्त्रालयले काम गर्न सकेको छैन ।

जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विकले जिल्ला कार्यालयलाई धेरै पहिला नै योजनाका बारेमा निर्णय गरेर ल्याउनु भने पनि अझैसम्म जिल्ला कार्यालयले निर्णय गरेर प्रदेश मन्त्रालयमा नबुझाउँदा समस्या भएको बताउनुभयो । योजना थपघट गर्दा जिल्लास्थित कार्यालयको पनि सहमति चाहिने गर्दछ । पाँच सय ७४ वटा योजनामा रु ६४ करोड बराबरको बजेट विनियोजन भएको छ ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा मात्रै उक्त प्रकृतिका रु १६ करोड बराबरको ९२ वटा योजना छन् । ऊर्जा तथा जलस्रोत मन्त्रालयमा ४८ करोड बराबरका चार सय ८२ वटा योजना छन् । सिँचाइतर्फ १५ लाखभन्दा कम बजेटका र सडक तथा भवनतर्फ ३० लाखभन्दा कम बजेटका यी योजनालाई पूर्वसहमतिअनुसार परिमार्जन गरी अघि बढाउनुपर्ने हो ।

पूर्वअर्थमन्त्री एवं कांग्रेस सांसद वेदराज सिंहले पुस २९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अर्थले १५ लाखभन्दा कम बजेटका योजनालाई १५ लाख पु¥याउने र ३० लाख कम बजेटका सडक तथा भवनका योजनामा ३० लाख पु¥याई कार्यान्वयन गर्न मन्त्रालयलाई पत्राचार गरेको बताउनुभयो । भौतिक र जलस्रोतले ती योजनामा काट्नुपर्ने योजना काटेर आवश्यक योजनामा बजेट थप गरी कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा पठाउनुपर्ने हुन्छ । अर्थ मन्त्रालयले बजेटको अख्तियारी दिएपछि सोही अनुसार मन्त्रालयले कार्यान्वयन गर्नुपर्नेमा अर्थ मन्त्रालयमा मन्त्री नियुक्त नभएको र मन्त्रालयहरूले योजनाको ठोस विवरण सङ्कलन गर्न सकेका छैनन् ।

जलस्रोतको तुलनामा भौतिक पूर्वाधारमा थोरै योजना छन् तर उक्त मन्त्रालयले अहिलेसम्म योजना संशोधन गर्न सकेको छैन । उक्त मन्त्रालयका प्रवक्ता, वरिष्ठ सिडिई रमेश सुवेदीले अहिलेसम्म कुनै ठोस विवरण तयार नभएको बताउनुभयो । “यो विषय जस्ताको त्यस्तै छ”, उहाँले भन्नुभयो, “योजना कम्पाइल गरेर जिल्लाबाट अहिलेसम्म आएको छैन । मन्त्रालयमा सबैको विवरण फाइल बनाउने काम भएको छैन ।”

शुक्रबारको प्रदेशसभा बैठकमा पूर्वअर्थमन्त्री सिंहले पूर्वसहमतिअनुसार कार्यान्वयन नभए भोलिका दिनमा सदनमा उत्पन्न हुने समस्याको भागिदार सरकार स्वयं हुनुपर्ने बताउनुभयो ।

मानवीय विकास गरेपछि अन्य भौतिक विकासमा सहज हुने हाम्रो ठहर छ – मुख्यमन्त्री कार्की

धनकुटा, १३ चैत स् कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले स्वयंसेविकाको वृत्तिविकासका लागि कोशी प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याउने तयारी गरेको जानकारी दिनुभएको छ । मन्त्रिपरिषद् बैठकका लागि धनकुटा आइपुग्नुुभएका कार्कीले आज धनकुटा नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकासँगको भेटघाट कार्यक्रममा यस्तो जानकारी दिनुभएको हो ।

नेपाल पत्रकार महासङ्घ धनकुटाको समन्वयनमा भएको कार्यक्रममा स्वयंसेविकाले राखेको मागलाई सम्बोधन गर्दै कार्कीले समाजको तल्लो तहसम्म पुग्ने स्वयंसेविकाको समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले स्वयंसेविकाको सम्मान र प्रोत्साहनका लागि प्रदेशअन्तर्गत १४ जिल्लाका स्वयंसेविकालाई जनही पाँच÷पाँच हजारका दरले रकम वितरण कार्यक्रम भइरहेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले सबै जिल्लाका स्वास्थ्य क्षेत्रसँगको छलफल गरेर स्वयंसेविकाका लागि क्षमता विकास, बीमा कार्यक्रम, सेवा सुविधालगायत कार्यक्रम तय गरिने जानकारी दिनुभयो । “अहिले प्रदेश सरकारको पहिलो लक्ष्यमा विकास गर्ने छ”, कार्कीले भन्नुभयो, “मानवीय विकास गरेपछि अन्य भौतिक विकासमा सहज हुने हाम्रो ठहर छ ।”

महिला स्वास्थ्य स्वयंसेविकाको वृत्तिविकास पनि यसै मानवीय विकासअन्तर्गत रहेकाले स्वयंसेविकाको सेवासुविधाका लागि छलफल भइरहेको कार्कीले बताउनुभयो । डाक्टर, कर्मचारी सबै एक प्रकारको स्वयंसेवक भएकाले आफ्ना परिवार र बालबच्चा छोडेर अरूको सेवा गर्ने स्वयंसेविकाका लागि उचित सेवासुविधाको कार्यक्रम ल्याइने कार्कीले प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री कार्कीलाई स्वयंसेविकाले क्षमता विकास कार्यक्रम, उचित सेवासुविधा थप, अक्षयकोष निर्माणमा सहयोग, सेवानिवृत्त पछिको आर्थिक सहयोगमा वृद्धिलगायत माग राखेका थिए । कार्कीसहित कार्यक्रममा स्वास्थ्यमन्त्री प्रदीप सुनवार, उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्री, योजना तथा आर्थिक मामिला राज्यमन्त्री इन्दिरा थापाको उपस्थिति थियो ।

मन्त्रीको टोलीलाई नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष नगेन्द्र राई र राससका महाप्रबन्धक सिद्धराज राईले सम्मान गर्नुभएको थियो ।

बाँदर नियन्त्रण गर्ने कानुन बनाउन कानुनमन्त्री गिरीसँग माग

पर्वत, १३ चैत : कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी केही दिनयता जनसंवाद कार्यक्रम गर्दै गृह जिल्ला पर्वतका गाउँबस्तीमा हुनुहुन्छ । उहाँ आइतबारदेखि जिल्लाको पैंयूँ, विहादी, महाशिला हुँदै फलेवासका विभिन्न बस्तीमा भेटघाट गरिरहनुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्रमा पुग्दा गिरीलाई त्यहाँका स्थानीयले बाँदरले दिएको हैरानीको विषयमा ध्यानाकर्षण गराएका छन् । मन्त्री गिरीसँग जनप्रतिनिधि र किसानले बाँदर नियन्त्रणको कानुन अहिलेको आवश्यकता रहेकोले उचित कानुन बनाउन माग गरेका छन् । पर्वतको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी भुषाल, पूर्वअध्यक्ष राजु पौडेल र कार्यक्रमका सहभागीको एउटै गुनासो बाँदरले दिएको हैरानीबारे थियो । बाली खाइदिने भएकाले गाउँमा खेती किसानी गर्नेको सङ्ख्या घटेकोले तत्काल बाँदर नियन्त्रण गर्ने कानुन बनाउनुपर्ने उनीहरुको माग छ ।

बाँदरको सङ्ख्या बढ्दै गएको र बाली लगाउने जमिन साँघुरिँदै गएकाले तत्काल आवश्यक कानुन बनाउन स्थानीयले माग राखेका हुन् । “कि त छोपेर मा¥र्नुप¥यो”, स्थानीय एकबहादुर हमालले भन्नुभयो, “कि राज्यले नै बाँदर व्यवस्थापनको कुनै कार्यक्रम ल्याउनुप¥यो ।” विदेशीले बनाएको कानुनका कारण जनताले दुःख पाएको प्रदेशसभा सदस्य मित्रलाल बस्यालको भनाइ छ । कानुन संशोधन गरेर भए बाँदर नियन्त्रण नगर्ने हो भने किसान विस्थापित हुने उहाँले बताउनुभयो ।

कानुनी अड्चनका कारण स्थानीय तहले बाँदर नियन्त्रणको ठोस योजना बनाउन नसकेको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी भुसालले बताउनुभयो । केही वर्षअघि महाशिला गाउँपालिकाले बाँदर नियन्त्रण भन्दै बाँदर छोप्ने र खोरमा थुन्ने काम गरेको थियो । रु २५ लाख रकम विनियोजन गरेर बाँदर नियन्त्रणको कार्ययोजना बनाए पनि गाउँपालिको उक्त योजना सफल हुन सकेन । अहिले जिल्लाको पैँयू गाउँपालिकाले बाँदर धपाउने कर्मचारी नियुक्ति गर्ने गाउँ सभाबाट निर्णय गरेको छ । रु सात लाख विनियोजन गरेर बाली लगाउने र पाक्ने बेलाका लागि छोटो अवधिलाई ३५ जना कर्मचारी नियुक्त गर्ने तयारी गाउँपालिकाको छ । जिल्लाका सातवटै स्थानीय तहमा बाँदरको आतङ्क मच्चिएको छ ।

स्थानीय जनप्रतिधि र किसानको आवाज सुनेपछि मन्त्री गिरीले अहिले देशभर बाँदरको आतङ्क भएको बताउनुभयो । उहाँले कानुनमा भएका समस्यालाई समाधान गरेर बाँदर नियन्त्रणको कार्य योजना बनाउन सरकारको तर्फबाट पहल गर्ने प्रतिबद्ता व्यक्त गर्नुभयो । बाँदरले किसानलाई ठूलो समस्या पारिरहेकोबारे आफू जानकार रहेको बताउनुहुँदै उचित नीति बनाएर नियन्त्रण नगर्ने हो भने पूरै खेतबारी बाँझो रहने उहाँको भनाइ थियो । उहाँले यस विषयमा पहिले पनि संसद्मा आवाज उठाएको र मन्त्रालय पुगेर नीति बनाउनेबारे छलफल गर्ने बताउनुभयो ।

पटके सवारी रुट इजाजतपत्र अब अनलाइनबाट

भक्तपुर, १३ चैत : बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले पटके सवारी रुट इजाजतपत्र अनलाइनबाटै लिने कार्यको शुभारम्भ गर्नुभएको छ । यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीमा उहाँले आज सो कार्यको शुभारम्भ गर्नुभएको हो ।

मन्त्री लम्सालले सङ्घीय सरकारका मन्त्रालयले सङ्घीयताको मर्मअनुरुप काम नगर्दा प्रदेश सरकारलाई काम गर्न बाधा पुगेको गुनासो गर्नुभयो । प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने कतिपय अधिकार सङ्घीय सरकारले आफैसँग राख्दा सेवाग्राहीले समयमै स्मार्ट लाइसेन्स पाउन नसकेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो– “सङ्घीय सरकारले प्रदेशलाई अधिकार हस्तान्तरण गरे सेवाग्राहीलाई तत्कालै लाइसेन्स उपलव्ध गराउन सकिन्छ ।” मन्त्री लम्सालले नयाँ प्रविधिको प्रयोगले समयको बचत हुनुका साथै राजस्व पनि अनलाइन मार्फतनै प्राप्त हुँदा काम छिटोछरितो हुने बताउनुभयो । आगामी एक वर्षभित्रमा प्रदेश सरकारले प्रदेश यातायात कार्यालयलाई प्रविधिमैत्री बनाउने उहाँको भनाइ थियो ।

कार्यक्रममा मन्त्रालयका सचिव बलराम निरौलाले नयाँ प्रविधिमार्फत काम हुन थालेपछि कर्मचारीको भार घटेको र बिचौलियाको प्रवेश समेत अन्त्य हुने बताउनुभयो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक पोशराज पोखरेलले बागमती प्रदेशबाट सुरु भएको यो कार्य सातै प्रदेशमा विस्तार गर्नुपर्ने बताउनुभयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी श्रेष्ठले अब सेवाग्राहीले जुनसुकै समयमा घरमै बसेर काम लिन सकिने भएकाले कार्यालय धाउनुपर्ने बाध्यता हटेको बताउनुभयो । कार्यक्रममा यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीका प्रमुख हरिहर पोख्रेलले अब पटके सवारी रुट इजाजतपत्र अनलाइनबाटै लिन सकिने बताउनुभयो ।

हजुरआमा र आमाहरु छोराछोरीसँगै एसइई दिँदै, करिष्मा आँटले साहास दियो

भक्तपुर, १३ चैतः सुमित्रा अधिकारी उमेरले ६० वर्ष पुग्नुभयो । रामेछाप जन्मेर काभ्रेपलाञ्चोक दाप्चा कर्म घर बनाउँदै लामो समयदेखि भक्तपुरको चाँगुनारायण नगरपालिका‐२ दुवाकोट बस्दै आउनुभएकी उहाँ यतिबेला नाती उमेरका किशोरकिशोरीसँगै यही चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुँदैहुनुहुन्छ ।

श्रीमान् पण्डित्याई गर्ने, छोराबुहारी र नातिनातिनी लामो समयदेखि अस्ट्रेलियामै बसोबास गर्न थालेपछि २०७४ सालमा विद्यालयको अधूरो शिक्षा पूरा गर्न उहाँ मध्यपुरथिमि नगरपालिका‐३ गठ्ठाघरमा सञ्चालित आस्था महिला विद्यालयमा भर्ना हुनुभएको थियो । सुरुमा अङ्ग्रेजी र गणित विषय अलि गाह्रो लागे पनि एसइई परीक्षा उत्तीर्ण गर्ने सपना पूरा गर्ने अठोटले उहाँ यहाँसम्म आइपुग्नुभएको हो ।

“सानैदेखि पढ्ने इच्छा थियो । रामेछापमै भाइलाई विद्यालय पु¥याउन जाँदा कक्षा ३ सम्म त पढेँ”, उहाँले भन्नुभयो, “त्यसपछि छोरी मान्छेले पढ्नुहुदैन भनेर छुटाइदिनु भयो । अठार वर्षमै विवाह भयो । त्यसपछि पढ्ने रहर त्यत्तिकै छुट्यो ।” उहाँका छोराबुहारी र नातिनातिनी अहिले अष्ट्रेलियामा हुनुहुन्छ ।

उहाँ त एउटा उदाहरणीय पात्र मात्रै हुनुहुन्छ । विगतका वर्ष जस्तै यसवर्ष पनि आस्था महिला विद्यालयबाट उहाँ जस्ता १२ जना हजुरआमा एसइई दिँदै हुनुहुन्छ । बिहान र साँझ घरको काम सकाएर उहाँहरु बाँकी समय पढाइमा बिताउनुहुन्छ । त्यसैमध्येकी एक हुनुहुन्छ, ३८ वर्षे अम्बिका अधिकारी । उहाँ घरको सबैकाम सकेर दिनभर पढाइमा व्यस्त हुनुहुन्छ ।

करिष्मा आँटले साहास दियो

सूर्यविनायक नगरपालिका‐८ सिपाडोलस्थित आशापुरीकी ३८ वर्षीया कुमारी तामाङलाई नायिका करिष्मा मानन्धरले एसइई दिएको समाचारले उत्साहित बनायो । सिन्धुपाल्चोकमा जन्मिएर विवाह गरी आशापुरी आउनुभएकी उहाँको विवाहपछिको पढाइ छुटेपनि पढ्ने रहर भने छुटेको थिएन ।

तामाङ भन्नुहुन्छ, “पढ्ने रहर मरेकै थिएन, कक्षा पाँचसम्म त पढेकै हो, दैनिक समाचार हेर्ने पढ्नेृ गर्थे, एकदिन पत्रिकामा हिरोइन करिष्मा मानन्धरले एसइई दिएको फोटो समाचार देखेँ, त्यसपछि गुगलमा कहाँ–कहाँ महिला पढ्ने स्कुल छन् भनेर सर्च गर्दै गएँ, यो विद्यालय देखेँ । भोलिपल्टै विद्यालय आएँ र पढ्न सुरु गरेँ ।”

उहाँ विहान घरको सबै काम सकाएर छोरीलाई प्ले ग्रुपमा राखेर १० बजेको विद्यालय भेट्याउन पुग्नुहुन्छ । साँझ घरमा छोराछोरीसँगै गृहकार्य गर्नुहुन्छ । सुरुमा गाई र बाख्रा पालेर बस्न सुझाव दिनेहरु अहिले उहाँको आँट देखेर प्रशंसा गर्ने गरेको उहाँले सुनाउनुभयो । “देवर र देउरानीले पनि पढ्नका लागि ऊर्जा थप्नुभएको छ । परिवारको साथ र सहयोगले पढ्ने रहर पूरा हुँदैछ”, उहाँले भन्नुभयो ।

आमा र छोरीसँगै एसइईको तयारीमा

जिरी दोलखा घरभई हाल सूर्यविनायक नगरपालिका‐४ हर्षचोक बस्दै आउनुभएकी ३० वर्षीया राधिका खत्री १६ वर्षीया छोरी जेनिशासँगै एसइई परीक्षा दिने तयारीमा हुनुहुन्छ । कक्षा ५ सम्म माइतीमै पढेकी उहाँले विवाहपछि छुटेको पढाइलाई आस्था महिला विद्यालयले जोडिदिएपछि एसइईामा आफ्नै छोरीसँगै सहभागी हुने अवसर जुटेको छ ।

एसइई परीक्षा उत्तीर्ण गरी जेटिए पढ्ने लक्ष्य लिएको बताउँदै उहाँले सुरुमा घरबाट पढ्न नजाउ भन्दा भागी भागी विद्यालय आउने गरेको र अहिले परिवारले सहयोग गर्दा अगाडि बढ्न सहज भएको अनुभव सुनाउनुभयो । आफूलाई नआएको छोरीले सिकाउने गरेको बताउँदै उहाँले भन्नुभयो, “परीक्षा नजिक आयो, हामी आमाछोरीसँगै पढ्छौँ, नआएको कुरा छोरीले सिकाउछिन्, एसइई पास गरेपछि मेरो कृषि पढेर जेटिए बन्ने लक्ष्य छ, छोरीको नर्स पढ्ने लक्ष्य छ ।”

खोटाङ घरभई हाल सूर्यविनायक‐३ बालकोट बस्दै आउनुभएकी ५२ वर्षकी शोभा राईले माइतीमा कक्षा २ बाट छुटेको पढाइलाई यसै विद्यालयमार्फत अघि बढाउनुभएको छ । श्रीमान् र विदेशमा रहेका छोराछोरीले पढाइमा साथ दिएपछि उमेरको पर्वाह नगरी विद्यालय आएको सुनाउँदै उहाँ पहिला कुरा काट्नेहरु अहिले प्रशंसा गर्न थालेको बताउनुहुन्छ ।

जेठानीले यसै विद्यालयबाट एसइई दिएपछि श्रीमान् आफैले यही स्कुलमा भर्ना गरिदिएर कक्षा ५ बाट छुटेको पढाइ पूरा गर्ने अवसर जुरेको रामेछाप घरभई बालकोट आइपुग्नुभएकी ४० वर्षीया जुनकिरी थापामगरले सुनाउनुभयो ।

त्यस्तै कथा ४२ वर्षे भवानी भुजेलको पनि छ । उमेरले चार दशक कटेपनि उहाँमा पढ्ने जाँगर भने मरेको छैन । साँखु जन्मेर हाल सिपाडोल हुँदै सल्लाघारी बस्दै आउनुभएकी उहाँलाई बैंकबाट अवकाश प्राप्त श्रीमान्, स्नातकोत्तर तह पढ्दै गरेको छोरा र स्नातक तहकी छोरीले पढ्न सहयोग गरेकाले एसइईसम्म आइपुगेको बताउनुहुन्छ ।

विसं २०७२ को भूकम्पले दोलखाबाट नयाँठिमी बसाइँ सर्नुभएकी ३८ वर्षीय अम्बिका अधिकारी यहाँ आएर जागिर गर्ने क्रममा आफ्नै नामसम्म चिन्न नसक्दा पढाइको वास्तविक महत्व बुझेर यही स्कुलबाट पढाइ सुरु गरेको बताउनुहुन्छ । नेपाली सेनामा कार्यरत श्रीमान्को सहयोग, १२ कक्षा पढ्दै गरेको छोराछोरीले सिकाउँदा पनि दिमागले टपक्क टिप्न नसक्ने गरेको बताउँदै एसइई उत्तीर्ण गर्ने आँट भने रहेको बताउनुहुन्छ ।

दोलखा हुदै बालकोट बस्ने २७ वर्षीया कल्पना विक अरुसँग हेपिएर बस्नु हुँदैन, अपूरो शिक्षा पूरा गर्नुपर्छ, पढ्ने रहरलाई मार्नुहुदैन भन्ने लागेर यहाँ आउनेबाटै विद्यालय आएर भर्ना भएको बताउनुहुन्छ । कक्षा ९ देखि स्नातकसम्म पढ्दै गरेको छोराछोरीले पढ्न सघाउने गरेको बताउदै उहाँले एसइईको नतिजा आएपछि भावी लक्ष्य निर्धारण गर्ने बताउनुहुन्छ ।

इच्छालाई उमेरले छेक्दैन भन्ने ४४ वर्षीया विष्णु बर्मेलाई छोराले स्कुल भर्ना गरिदिएपछि एसइईको सङ्घारमा आइपुगेको बताउनुहुन्छ । ओखलढुङ्गाबाट मध्यपुरथिमि चारदोबाटो बस्दै आउनुभएकी उहाँलाई श्रीमान् र छोराछोरीको सहयोगले परीक्षामा उत्साह थपेको बताउनुहुन्छ ।

सिङ्गो परिवार तरकारी खेतीमा लाग्दै आउनुभएकी मध्यपुरथिमिकी स्थानीयवासी ४५ वर्षीया कृष्णमाया तकोको कक्षा १२ सम्म पढ्ने इच्छा आउँदो एसइईपछि पूरा हुने बताउनुहुन्छ । छोराछोरी स्नातक तहसम्म पढाउनुभएकी उहाँले विवाहअघि ५ कक्षाको पढाइ पूरा गरेपनि थप पढ्ने इच्छा भने अब पूरा हुने भएको छ ।

यही विद्यालयबाट एसइई परीक्षाको तयारीमा रहनुभएका राधिका आचार्य, सरला भण्डारीलगायतले पढ्ने महिलाहरुलेनै आफू पढ्न आउँदा कुरा काट्ने गरेको बताउँदै जसले कुरा काटेपनि एसइई परीक्षा उत्र्तीण हुने अठोट राख्नुभएको छ । विसं २०६९ देखि एसइई परीक्षामा सहभागी हुदै आएका यस विद्यालयका हजुरआमाहरुले अहिलेसम्म १२आँै समूहसम्म आइपुग्दा एक सय ६२ जनाले एसएलसी तथा एसइई परीक्षा दिइसकेको आस्था महिला विद्यालयकी प्रधानाध्यापक बिना देउजाले बताउनुभयो ।

अहिलेसम्म यहाँ पढ्नेमध्ये ५० प्रतिशत आमाहरुले कक्षा १० माथिको उपल्लो कक्षामा पढ्ने अवसर जुराएको बताउनुभयो । यस वर्षबाट ग्रेडिङ सिस्टम हटाउँदा भने परीक्षार्थी आमा र हजुरआमाहरुको मन अलि खस्किए पनि परीक्षा पास गर्ने आँट भने उत्तिकै रहेको बताउनुभयो । बिहानी र दिउँसो गरेर सञ्चालन हुँदै आएको विद्यालयमा पढ्न नपाएका र पढ्ने रहर भएका आमा र हजुरआमालाई पढाउने १४ जना शिक्षिकाहरुको मेहनत निकै ठूलो छ । विद्यालयमा धेरै महिला आउने गरे पनि भाडाको भवनमा बस्नु पर्दा समस्या आएको र आफ्नै भवन नहुँदा धेरै समस्या भोग्नु परेको विद्यालयकी संस्थापक रविना कार्कीले बताउनुभयो ।

स्थापनाकालदेखि विद्यालयमा शिक्षिकाको रुपमा कार्यरत कविता श्रेष्ठले विद्यालयमा आउने महिला एकदमै पढ्न इच्छा बोकेर आउने र धेरै मेहनत गर्ने गरेको बताउनुभयो । बच्चालाई पढाउनभन्दा धेरै मेहनत आमाहरुलाई पढाउनु भएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालको निर्देशनपछि भुम्लुवासी लालपुर्जा पाउने आशमा

काभ्रेपलाञ्चोक, १३ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४९ वर्षदेखि लालपुर्जाविहीन अवस्थामा रहँदै आएका काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडामा लालपुर्जा दिन निर्देशन दिएपछि यहाँका नागरिक आशावादी देखिएका छन् ।

विविध कारण उक्त गाउँपालिकाको वडा नं ७ र ८ का करिव एक हजार दुई सय परिवार ४९ वर्षदेखि लालपुर्जाका पर्खाइमा रहेका हुन् । विसं २०३२ को नापीअनुसारको नक्सा र हालको जमिनको वास्तविक अवस्था फरक भएकाले तत् समयमा नाप, नक्सा भएको फिल्डको व्यहोरा, जमिनमा परिवर्तन भएको अवस्थाका कारण स्थानीयलाई लालपुर्जा दिने पटकपटकका प्रयास असफल हुँदै आएका छन् । “प्रधानमन्त्रीले हामीलाई लालपुर्जा दिनु भन्ने निर्देशन दिनुभएको सुनियो, हामी आशा गरेर बसेका छौँ”, ८ नं वडाका वृद्ध चित्रबहादुर श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार विसं २०३२ देखि यहाँका बासिन्दाले जग्गा धितो राखेर केही काम गर्ने, नामसारी गरेर बिक्री गर्नसमेत पाएका छैनन् ।

उहाँले भन्नुभयो, “सरकारलाई तिरो तिरेका केहीले बिक्री गरेका छन्, त्यो पनि तिरोको रसिदका आधारमा मात्रै, तर उनीहरुसँग जमिनको लालपुर्जा छैन । ” २०३२ सालमा विवाद भएपछि पुनः स्थानीय र केही अग्रजको नेतृत्वमा भएको प्रयासले विसं २०३५ मा पुनः नापी टोली उक्त गाविसमा नापीका लागि जाँदा सिमानाको विषयमा दुई गाविसबीच झै–झगडा भएपछि थप काम नभएको र लालपुर्जा वितरणको काम रोकिएको थियो ।

यही चैत ६ गते प्रम दाहालले प्रतिनिधिसभामा काभ्रेपलाञ्चोकको सांसद गोकुल बाँस्कोटाले सोध्नुभएको प्रश्नको जवाफ दिँदै भुम्लु गाउँपालिकामा विभिन्न कारणले जग्गाधनी प्रमाणपत्र नपाएका नागरिकलाई लालपुर्जा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनुभएको थियो । “काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको वडा नं ७ र ८ का जनताले नापीको समस्याका कारणले करिव ५० वर्षदेखि जग्गाधनी प्रमाणपत्र पाउन नसकेको विषयमा छ जानकार छु, “त्यस क्षेत्रमा २०३२÷३३ सालतिर नापी हुँदा फिल्डबुकमा ९० प्रतिशतसम्म दर्ता भइसक्दा पनि सिमाना विवादलगायत कारणले स्थानीयबाट विरोध हुँदा प्रमाणपत्र दिने काम हुन सकेको थिएन, त्यहाँ बाँकी काम शीघ्र सम्पन्न गरी जग्गाधनी प्रमाणपत्र वितरण गर्न निर्देशन दिइसकेको छ”, प्रम दाहलले जवाफमा भन्नुभएको थियो ।

भुम्लु ७ का रामप्रसाद खरेलले केही समयमा आफ्नो जमिनको लालपुर्जा पाउनेमा खुसी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रम प्रचण्डले नै चासो दिएपछि अब पुर्जा पाउनेमा ढुक्क भएका छौँ ।” उहाँले भुम्लुको समस्यालाई यसअघि कसैले पनि गम्भीररुपमा नलिएकाले आधा शतकसम्म लालपुर्जाविहीन अवस्थामा रहनुपरेको दुखेसो पोख्नुभयो । सोही वडाका रमेश खरेलले लामो समयपछि लालपुर्जा पाउने आशमा बसेका भुम्लुवासीमा आशा पलाएको बताउनुभयो ।

साविकको पिपलटार गाविस विभाजन हुँदा भुम्लुटार र फलाँटे गाविस दुवैमा ‘टार’ भन्ने स्थानको खेतीयोग्य जमिन परेपछि त्यो जमिन कुन गाविसले लिने भन्ने विषयको विवादले विसं २०३२ मा नापी गर्न गएको टोली र दुई गाविसका तत्कालीन नेतृत्वको विवादका कारण तत्कालीन नापी टोली फर्किएको थियो । गाउँमा झगडा भई नापी टोली फर्किएको करिब ३५ वर्षपछि २०७१ माघमा नापी कार्यालयले गाउँमै स्थानीयको निवेदन सङ्कलन र जग्गाको फिल्ड निरीक्षण, कित्ताकाट, जग्गाको फिल्ड–बुक कायम गर्दै लालपुर्जा तयार पार्ने काम सुरु गरे पनि विविध कारणले त्यति बेला पनि समस्या समाधान गर्न भने सकेको थिएन । लामो समयदेखिको समस्या सुल्झाउने उपायस्वरुप २०७९ चैत महिनामा भुम्लुका नागरिकको तत्कालीन अवस्थाको जग्गाको लिखत उतारिएको थियो । त्यसयता पनि सरोकारवाला निकायले कुनै पहल गरेका थिएनन् ।

तत्कालीन नक्साङ्कनको अवस्थामा सीमा विवादका कारण आफ्नै जमिन आफ्नो नाममा नभएपछि करिब एक हजार दुई सय लालपुर्जाविहीन परिवारले फिल्डका नापी र मालपोतको दुवै कार्यालयमा २०७७ माघ महिनासम्म लालपुर्जा प्राप्तिका लागि ७ नम्बर वडास्थित कार्यालयमा ९३२ र ८ नम्बरमा ३१७ निवेदनसमेत दर्ता गरेका थिए । यसअघि लालपुर्जा अभावमा रसिदका आधारमा किनबेच हुँदै आएकाले मालपोत कार्यालयको फिल्डबुक र हालको रसिदवाहक जग्गाधनीबीच मेल नहुँदा छानबिनमा सकस भएको जनाइँदै आइएको थियो ।

‘शताब्दी घर’को संरक्षणका लागि ‘गो फन्ड मी’


गण्डकी, १३ चैत : बहुसांस्कृतिक सङ्ग्रहालयका रुपमा विकास गर्न लागिएको पर्वतको कुश्मा नगरपालिका–६ माझगाउँस्थित ‘शताब्दी घर’को जीर्णोद्धार र संरक्षणका लागि क्राउड फन्डिङ ‘गो फन्ड मी’मार्फत सहयोग गर्न सकिने भएको छ । कुश्मा कला परियोजनाले तीन सय वर्ष पुरानो ऐतिहासिक महत्वको उक्त घर संरक्षणका लागि ‘गो फन्ड मी’ खातामा आर्थिक सहयोग गर्न सार्वजनिक आह्वान गरेको हो ।

सबै जातजाति तथा भाषाभाषीको अपनत्व हुने गरी बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने लक्ष्यसहित ‘गो फन्ड मी’ अभियान चलाइएको परियोजनाका अध्यक्ष आरके अदिप्त गिरीले बताउनुभयो । “गो फन्ड मीमार्फत सहयोग जुट्ने क्रम सुरु भएको छ, विभिन्न देशका ११ जना दाताबाट झण्डै पाँच सय डर खातामा जम्मा भइसकेको छ”, उहाँले भन्नुभयो, “शताब्दी घर संरक्षणका लागि रु ५० लाख सङ्कलन गर्ने लक्ष्य संस्थाले लिएको छ ।”

शताब्दी घरलाई अनुसन्धान, साहित्य, कला, संस्कृति र पर्यटन केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले परियोजनाले काम गरिरहेको छ । कलाको माध्यमबाट संस्कृति संरक्षण र समाज विकासमा भूमिका खेल्ने ध्येयले परियोजना स्थापना गरिएको अध्यक्ष गिरीको भनाइ छ । पहाडे वास्तुकला झल्काउने उक्त शताब्दी घरको आँगनलाई ‘नृत्य आँगन’, भुइँ तलामा पुस्तकालय र खुला स्टुडियो, पहिलो तलामा सङ्ग्र्रहालय र सिरानको तला बुइँगल (सिरानतला)लाई पुराना भाँडावर्तन, भेषभूषा, अस्त्रसस्त्र र विभिन्न जातजाति र समुदायका लोपोन्मुख वाद्यवादनका सामग्री राखेर सङ्ग्रहालयका रुपमा रुपान्तरण गरिँदैछ ।

सोही तलाको बाँकी ठाउँलाई सामुदायिक सिकाइ केन्द्रका रुपमा विकास गरिने भएको हो । शताब्दी घरको आँगनमा ढुङ्गा बिछ्याउने र काठको फल्चा बनाउने योजना रहेको अध्यक्ष गिरीले सुनाउनुभयो । आँगनलाई ‘डबली’ कला प्रदर्शनी, कथावाचनस्थल आदिका लागि प्रयोग गरिने उहाँले बताउनुभयो ।

“भुइँ तलाको खुला स्टुडियोमा ललितकलाका सबै आयाममाथि चर्चा र चिन्तन गर्न मिल्ने गरी संरचना बन्दैछ”, अध्यक्ष गिरीले भन्नुभयो, “पहिलो तलामा रहने सङ्ग्रहालयमा परम्परागत काष्ठकला, मूर्तिकलाका सामग्री, घरायसी हस्तकला, हातहतियार, औजार, उपकरण, वाद्ययन्त्रलगायत सामग्री राखिनेछ ।”

कला, अनुसन्धान, खोज आदि गर्न खोज्नेका लागि अतिथि आवास गृह पनि निर्माण गरिने परियोजनाले जनाएको छ । कलाको आवासीय कक्षासमेत सञ्चालन गर्ने उद्देश्य संस्थाले लिएको अध्यक्ष गिरीले बताउनुभयो । “समाजका लागि उपयोगी कला, सीपका सिर्जनात्मक गतिविधि सञ्चालन हुने छन्, शताब्दी घरलाई कला र ज्ञानको मन्दिरका रुपमा विकास योजना छ”, उहाँले भन्नुभयो ।

तीनतले शताब्दी घरको बार्दलीलाई ग्यालरीका रुपमा प्रयोग गरिने उहाँले बताउनुभयो । उक्त ग्यालरीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारका चित्र, संस्कृति र सम्पदाका तस्बिर, श्रव्यदृश्य सामग्रीलगायत राखिनेछ । सामुदायिक सिकाइ केन्द्रका रुपमा रहने सिरानको तलामा ‘कखरा स्कुल पाठशाला’, सिर्जनात्मक कला कार्यशाला, कथावाचन शृङ्खला सञ्चालनमा गरिने अध्यक्ष गिरीले बताउनुभयो ।

“परिवर्तन र विकासको नाममा हामीले हाम्रो मौलिक परम्परा, संस्कार, संस्कृति र रीतितिथि बिर्सिरहेका छौँ”, उहाँले भन्नुभयो, “मानिसले भुल्दै, बिसिँदै गएको आफ्नोपनको आभासलाई जोगाउन कुश्मा कला परियोजना स्थापना गरिएको हो ।”

अध्यक्ष गिरीले सांस्कृतिक धरोहर, सम्पदा बचाउनेभन्दा पनि मास्ने प्रवृत्ति बढिरहेको भन्दै उहाँले संस्कृति संरक्षणका लागि देशभर अभियान चलाउनुपर्ने बताउनुभयो । “हाम्रो कला, संस्कृति दिनप्रतिदिन सङ्कटमा परिरहेको छ, संस्कृति म¥यो भने हाम्रो क्षमता पनि मर्छ, त्यसैले संस्कृति, सभ्यता र कला बचाउनुपर्छ”, उहाँले भन्नुभयो ।
पुरानो संस्कृति र सम्पदाको महत्व आम मानिसलाई बुझाउने कोसेढुङ्गाका रुपमा ‘शताब्दी घर’लाई विकास गर्नुपर्ने परियोजनाको शुभेच्छुक संस्था ‘लियो डिस्ट्रिक काउन्सिल–३२५ एफ नेपाल’का अध्यक्ष युवराज पराजुलीले बताउनुभयो । कुश्मा कला परियोजना र शताब्दी घरको संस्थागत विकासका लागि सबैको सहयोगको हातेमालो चाहिने उहाँको भनाइ छ । “क्राउड फन्डिङ सोही उद्देश्यका लागि आह्वान गरिएको छ”, अध्यक्ष पराजुलीले भन्नुभयो, “एक व्यक्तिले सुत्रधार गरेको यस अभियानमा हामी सबै जोडिऔँ ।”

मौलिक संस्कृतिको संरक्षण र पुस्तान्तरणका लागि शताब्दी घरको अवधारणा अगाडि सारिएको परियोजनाले जनाएको छ । वर्षौंदेखि संरक्षणविहीन बनेको उक्त घरलाई ‘शताब्दी घर’ नाम दिएर परियोजनाले बहुसांस्कृतिक सङ्ग्रहालय बनाउने योजना बनाएको हो । स्थानीय राम गिरीको उक्त घर अहिले शताब्दी घरका रुपमा परिचित छ ।
मर्मत र रङरोगनपछि घरको मुहार फेरिएको छ । तीन सय वर्षभन्दा अगाडि गिरीका जिजुहजुरबुबा धनराजले उक्त घर बनाएको बताइन्छ । गिरी परिवारका सात पुस्ता सोही घरमा हुर्के बढेको परियोजनाका अध्यक्ष आरेके अदिप्त गिरीले बताउनुभयो ।

औद्योगिकग्राम पूर्णरुपमा सञ्चालनमा ल्याउन मुख्यमन्त्री कार्कीद्वारा निर्देशन


विराटनगर, १३ चैत : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले धनकुटास्थित औद्योगिक ग्राम सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिनुभयो । औद्योगिक ग्रामको आज निरीक्षण एवं अवलोकन गर्दै मुख्यमन्त्री कार्कीले आगामी छ महिनाभित्र औद्योगिक ग्राम पूर्णरुपमा सञ्चालनमा आउने गरीे काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री कार्कीले ग्रामलाई पूर्णरुपमा सञ्चालन गरेमा पूर्वी पहाडी क्षेत्रको जनजीविकामा सहजता हुने जनाउँदै उहाँले भन्नुभयो, “यस क्षेत्रको स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना भएपछि मात्रै यो क्षेत्रका बासिन्दा लाभान्वित हुन सक्छन् ।” उहाँले सो अवसरमा औद्योगिक ग्रामका अध्यक्ष तिलक महतलाई औद्योगिक ग्रामभित्र उद्योग सञ्चालनको खाका १५ दिनभित्र तयार पारेर प्रस्तुत गर्न निर्देशन समेत दिनुभएको थियो ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाले औद्योगिक ग्राम परिसरमा निर्मित २७ मध्ये नौ वटा भवनमा लघु उद्योग सञ्चालनमा रहेको जानकारी दिनभयो । सञ्चालित उद्योगमा ‘स्यानिटरी प्याड’ र खाद्यान्न सामग्री रहेका छन् ।

औद्योगिक ग्राम स्थापनाको पाँच वर्ष बितिसक्दासमेत पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । बाउन्न रोपनी क्षेत्रफलमा फैलिएको सो ग्राम सञ्चालनमा आएपछि पूर्वी पहाडको घरेलु तथा साना उद्योगको प्रवद्र्धनमा टेवा पुग्ने बताइएको छ ।

टोखा नगरपालिकाले उच्च रक्तचाप र मधुमेहका बिरामीलाई आर्थिक सहयोग गर्ने

काठमाडौँ, १३ चैत : टोखा नगरपालिकाले क्षेत्रका उच्च रक्तचाप र मधुमेहका बिरामीलाई रु पाँच हजार नगद सहयोग गर्ने घोषणा गरेको छ ।नगरपालिकाले सोमबार सूचना निकालेर टोखा नगरपालिकाभित्र स्थायी बसोबास गर्ने ५० वर्षभन्दा माथिका नागरिकमध्ये विपन्न, एकल महिला, जनआन्दोलनका घाइते, दलित, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, सीमान्तकृत र लोपोन्मुख वर्गका बिरामीलाई आर्थिक सहयोग गर्ने जनाएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले उच्च रक्तचाप र मधुमेहका बिरामीलाई जनही रु पाँच हजार नगद सहयोग गर्न लागिएको जानकारी दिनुभयो । औषधि सेवन गरेका बिरामीले नागरिकता, टोखा नगरपालिकाको स्थायी बासिन्दा भएको खुल्ने कागजात, चिकित्सकको ‘प्रेस्किप्सन’, औषधि खरिद गरेको बिल पेस गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत बिसीले बताउनुभयो ।

टोखा नगरपालिकाले ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’ कार्यक्रम पनि सुरु गरेको छ । नगरभित्रका ६० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गर्ने उद्देश्यले उक्त कार्यक्रम थालिएको प्रमुख प्रशासकीय अधिकृत बिसीले बताउनुभयो ।

इटहरी गोल्डकपः त्रिभुवन आर्मी सेमिफाइनलमा

धरान (सुनसरी), १३ चैतः इटहरीमा जारी इटहरी गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड युनाइटेड झापालाई ३–२ गोलअन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

राष्टिय जागृति क्लबको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत गए राति इटहरी रङ्गशालामा भएको खेलमा एक–एक गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटका आधारमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । पेनाल्टी सुटआउटमा त्रिभुवन आर्मीका जितेन्द्र कार्की, नवयुग श्रेष्ठ र फत्तेमान घलेले गोल गरे भने कमल थापाको प्रहार बिर्तामोडका गोलकिपर विवेक मगरले रोकेका थिए ।

बिर्तामोडका विशाल दर्जी र मौसम सुब्बाको प्रहार गोलमा परिणत भयो भने विवेक पौडेल, आशिष चापागाईँ र देवेन्द्र तामाङको प्रहार विफल भएको थियो ।

निर्धारित समयको ८१औँ मिनेटमा बिर्तामोडका आशिष चापागाईँले पेनाल्टीमार्फत गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा आर्मीका नवयुग श्रेष्ठले पेनाल्टीमार्फत गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।

सोमबारको खेलको म्यान अफ द म्याच आर्मीका गोलकिपर बिकेश कुथु घोषित भएर रु १० हजार नगद हात पारेका थिए । आजको अन्तिम क्वाटरफाइनल खेल चर्च ब्वाइज युनाइटेड काठमाडौँ र न्युरोड टिम (एनआरटी)बीच हुनेछ । आगामी शनिबार हुने फाइनलमा विजेताले नगद रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार पाउनेछन् ।

नेकपा एस महाधिवेशन तयारीः राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन

काठमाडौँ, १३ चैतः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन गरेको छ ।

पार्टीले उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा गठन गरेको उक्त कमिटीमा अर्का उपाध्यक्ष जयन्ती राईलाई उपसंयोजकको जिम्मेवारी तोकिएको छ । कमिटीमा केही पूर्वसुरक्षाकर्मी, राजनीतिक व्यक्तित्वलाई आवश्यकतानुसार सदस्यका रूपमा थप गरी जिम्मेवारी प्रदान गरिने पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

महाधिवेशनका लागि पार्टीले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन कमिटी महाधिवेशन तयारीका आवश्यक कार्यलाई तीव्र रूपमा अगाडि बढाइएको सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

देशभर महाधिवेशन केन्द्रित सङ्गठन सुदृढीकरण गरिरहेको पार्टीले सदस्यता विस्तार, प्रशिक्षण, राजनीतिक गतिविधि, जनवर्गीय सङ्गठनका अधिवेशनलगायत कार्यक्रम सञ्चालन गरेको छ । महाधिवेशन दस्तावेज लेखन समितिले केन्द्रमा राजनीतिक प्रतिवेदनमा छलफल केन्द्रित गरेको छ । पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ ।

चोभार सुक्खा बन्दरगाहमा व्यावासायिक गतिविधि बढ्दै

कीर्तिपुर (काठमाडौँ), १३ चैतः राजधानीको चोभारस्थित सुक्खा बन्दरगाह निर्माण सम्पन्न भएको दुई वर्षपछि केही चहलपहल देखिन थालेको छ । हालै आयात गरिएका दुई सयवटा कार भन्सार जाँचपासको प्रतीक्षामा छन् ।

व्यवसायी विभोरकुमार अग्रवाल इटालीबाट आयातित कस्मेटिक्स सामानका लागि भन्सार प्रक्रिया अघि बढाउँन बन्दरगाह आइरहनुहुन्छ । सवारीसाधन व्यवसायीको छाता संस्था नाडासँगको समझदारीपछि नयाँ सवारीसाधनको भन्सार जाँचपास चोभार बन्दरगाहबाटै गर्न थालिएको छ । यसले गर्दा पनि यहाँ केही चहलपहल बढेको हो ।

समुद्रसँग सम्पर्क नभएको हाम्रो देशमा यसअघि बनेका १४ वटा सुक्खा बन्दरगाहमध्ये चोभार बन्दगाह सबैभन्दा कान्छो, अत्याधुनिक र सुविधायुक्त छ । प्रायः सबै बन्दरगाह भारत वा चीनको सीमामा बनेका र अध्यागमनसहितका भए पनि यो भने देशको प्रमुख बजार नजिक र विशुद्ध मालसामान आयात निर्यातसँग मात्र सम्बन्धित छ । यतिमात्र नभई बन्दरगाहको एक भागलाई व्यवसायीले आफ्ना सामान भण्डारण गरेर राख्न सक्नेगरी आन्तरिक गोदामका रूपमा सञ्चालन गरिएको छ ।

आयात–निर्यातका लागि अत्यावश्यक मानिएका ‘लोड–अनलोड’ गर्ने यन्त्र, तिनलाई राख्ने गोदाम र र्याक व्यवस्था गरेर यसअघि भन्सारमा सामानको सुरक्षा सम्बन्धमा उठ्ने गरेका गुनासोलाई सम्बोधन गर्न खोजिएको छ । साथै सिसिटिभी क्यामेरा, सुरक्षाकर्मी तथा कन्टेनरको व्यवस्थापन आधुनिक तवरले गरिएको छ । सामानको भन्सार जाँचपास प्रक्रियाका लागि सबै संयन्त्रका साथै बैंक सुविधा पनि यहीँ उपलब्ध छ । विगतमा हिमाल सिमेन्ट कारखाना रहेको सुक्खा बन्दरगाहमा पाँच सयवटा कन्टेनर राख्न सकिन्छ ।
द्रुतमार्गको प्रतीक्षा

बन्दरगाहका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार सुक्खा बन्दरगाहलाई पूर्ण क्षमतामा चलाउने हो भने देशमा भित्रिएका सामान वा निर्यात गरिने सामान अन्तर्राष्ट्रिय सीमाबाट बन्दरगाहसम्म सोझै आउने स्थिति तयार हुनुपर्छ । त्यसैगरी निर्यात गरिने सामान पनि बन्दरगाहको जाँचपछि सोझै देशबाट बाहिरिने अवस्था हुनुपर्छ । “अहिले त्यसो हुन सकिरहेको छैन”, उहाँ भन्नुहुन्छ “अहिले देशमा आयातित सामान सर्वप्रथम वीरगञ्जलगायत सीमा कार्यालयमा रहेका भन्सार कार्यालयमा जाँचपास हुन्छन् र काठमाडौँ आइपुग्छन् । त्यसरी काठमाडौँ आइपुगेका सामानयुक्त कन्टेनरलाई चोभार पुग्नु र पुनः त्यहाँबाट फर्काएर बल्खु हुँदै विभिन्न गन्तव्यतर्फ लैजानु एउटा झैझन्झटको काम भएको छ ।”

“द्रुतमार्ग सञ्चालनमा आएपछि अहिले आयात र निर्यातकर्ताले भोग्नुपरिरहेका झन्झटिया प्रक्रिया खारेज हुन्छन्”, कार्यकारी निर्देशक गजुरेल बताउनुहुन्छ, “काठमाडौँबाट तराईलाई जोड्ने ७२ किलोमिटर लामो द्रुतमार्ग निर्माणाधीन छ । यो मार्ग सञ्चालनमा आएपछि सुक्खा बन्दरगाह नजिकबाट तराई (बारा जिल्लाको निजगढ) एक घण्टामा पुग्न सकिन्छ । यसले मालसामान ढुवानीका अधिकांश समस्याको समाधान गर्छ ।”

दु्रतमार्गको निर्माण एकातर्फ भइरहँदा बन्दगाहको प्रयोगलाई बढाउन निजी क्षेत्रसँग सगकार्य गरेर व्यवसायीमैत्री ढङ्गले चलाउन थालिएको कार्यकारी निर्देशक गजुरेल बताउनुहुन्छ । यसका लागि गत वर्षसम्म बन्दरगाहलाई कार्यालय आफैँले व्यवस्थापन गरेकामा यस वर्षदेखि बोलपत्र आह्वान गरेर त्यसको व्यवस्थापन निजी क्षेत्रबाट हुन थालेको छ । ट्रान्स नेपाल टिआरएस लोजीपार्कले बन्दरगाह व्यवस्थापनको जिम्मा पाएको छ । उक्त कम्पनीका प्रतिनिधि हरिश जोशीका अनुसार बन्दगाहको प्रयोगका लागि निजी क्षेत्र क्रमशः उत्साहित बन्दै जान थालेका छन् । वार्षिक रु तीन करोड बुझाउने गरी बन्दगाहको व्यवस्थापन गरिरहेको छ । कार्यकारी निर्देशक गजुरेल यसलाई समृद्धिका लागि निजी क्षेत्रसँग गरिएको वास्तविक हातेमालो भन्न रुचाउनुहुन्छ ।

व्यवसायी उत्साहित
पहिलोपटक चोभार बन्दगाह प्रयोग गरेका व्यवसायी पनि उत्साहित भएका छन् । इटालीबाट आयातित सामानको भन्सार जाँचपासका लागि त्यहाँ पुगेका एभेन्यु ट्रेड कन्र्सनका सञ्चालक विभोरकुमार अग्रवाल मुख्य कारोबार थलो (काठमाडौँ उपत्यका) नजिकै भन्सार जाँचपास गर्न पाउँदा सहज भएको बताउनुहुन्छ । “यसअघि हामीलाई भन्सार जाँच प्रक्रिया सम्पन्न गराउन यहाँबाट वीरगञ्ज गइरहनुपर्ने र सम्बन्धित ठाउँमा आफ्नो सामानबारे प्रष्ट पार्न नपाउने समस्या हुन्थ्यो । चोभारबाटै भन्सार पास हुने भएपछि धेरै सजिलो भएको छ”, उहाँले भन्नुभयो । भन्सारसम्बन्धी सबै प्रक्रिया अपनाउँदा सीमानाकाको भन्दा करिब १२ दिन चाँडो भन्सार जाँच भइसक्ने अनुभव उहाँले सुनाउनुभयो ।

कर्णालीका पाँच जिल्लामा पोषणयुक्त चामल बिक्री सुरु, छ वर्षपछि उपल्लो डोल्पामा पुग्यो

काँक्रेविहार (सुर्खेत), १३ चैतः खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ ।

हालसम्म हुम्लामा एक हजार नौ सय २० क्विन्टल, मुगुमा एक हजार एक सय ७३ दशमलव ५० क्विन्टल, जुम्लामा एक सय ३०, डोल्पामा पाँच सय ३५, कालीकोटमा एक सय ५० क्विन्टल गरी तीन हजार नौ सय आठ दशमलव पाँच क्विन्टल पोषणयुक्त चामल बिक्रीका लागि पठाइएको कम्पनीका कर्णाली प्रदेश निमित्त प्रमुख माधव मिश्रले जानकारी दिनुभयो ।
आठवटा पौष्टिक तत्व मिलाएर राजापुर मिलबाट चामल उत्पादन भइरहेको छ । हाल सम्म आठ हजार चार सय ७६ दशमलव ९० क्विन्टल चामल उत्पादन भएको छ । ७३ हजार क्विन्टल चामलमा पौष्टिक तत्व मिलाएर उत्पादन गरिने उहाँले बताउनुभयो । । हुम्लामा विमानबाट चामल ढुवानी हुँदै आएको छ ।

निमित्त प्रमुख मिश्रका अनुसार साविकको कर्णालीमा मात्र पहिलो चरणमा भए पनि आउँदो आर्थिक वर्षमा कर्णालीका सबै जिल्लामा उक्त चामल बिक्री गरिने छ । दैनिक रूपमा खाइने चामलमा सामान्य विधिबाट भिटामिन तथा खनिज तत्व मिसाएर बनाइन्छ । हाल एक्स्टुजन विधिबाट चामलमा पौष्टिक तत्व स्तरोन्नति भइरहेको छ । यस विधिमा भिटामिन र खनिजको मिश्रणलाई चामलको पिठोमा मिलाइ एक्स्टुुजन मेसिनबाट चामलको जस्तै आकार र रङ हुनेगरी उत्पादन गरिन्छ । स्तरोन्नति गरिएको चामलमा आइरन, जिङ्क, भिटामिन ‘ए’, फोलिक एसिड, भिटामिन बी–१२, थायमिन, नियासिन, पाइरिडक्सिन मिसाएर तयार गरिन्छ ।

दोस्रो चरणमा अन्य जिल्लामा पनि वितरण गरिने भएको छ । खाद्यविज्ञका अनुसार पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल साथसाथै दाल, तरकारी र फलफूल, माछा, मासुु, दूधजन्य परिकार आदि मिलाएर उपयोग गरेमा शरीरलाई आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ ।

चामलको गुणस्तरसम्बन्धी मापदण्डअनुसार स्तरोन्नति गरिएको प्रतिकिलो चामलमा आइरनको मात्रा ३९ देखि ७२ मिलीग्राम, जिङ्क ३२ देखि ५९ मिलीग्राम, भिटामिन ‘ए’ शून्य दशमलव ८९ देखि दुई दशमलव २१, फोलिक एसिड शून्य दशमलव २४ देखि शून्य दशमलव ५९ र भिटामिन बी–१२ भने शून्य दशमलव ००७ देखि शून्य दशमलव ०२० मिलीग्राम हुनुपर्ने छ । पौष्टिक तत्व स्तरोन्नति गर्दा आइरनको स्रोतका लागि फेरिक पाइरोफोस्फेट, जिङ्क स्रोतका लागि जिङ्क अक्साइड, भिटामिन ‘ए’ को स्रोतका लागि रेटिनाइल पाल्मिटेट वा रेटिनाइल एसिटेट, फोलिक एसिड, भिटामिन बी–१२ को स्रोतका लागि साइनोकोबलामाइनजस्ता स्वरूपका यौगिकहरू थप गर्न सकिने मापदण्डमा उल्लेख छ ।

निकट भविष्यमा निजी क्षेत्रबाट पौष्टिक तत्व स्तरोन्नति गरिएको चामलको दाना नेपालमै उत्पादन गर्ने व्यवस्था मिलाइने बताइएको छ । नेपाल जनसङ्ख्याकी तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ४३ प्रतिशत पाँच वर्षमुुनिका बालबालिका, ३४ प्रतिशत रक्तअल्पताले गम्भीर जनस्वास्थ्य समस्याको सिकार भइरहेका छन् । नेपालमा विभिन्न प्रकारका कुुपोषणको दरमा सुधार आइरहेको भए पनि सुक्ष्म पोषक तत्वको कमीका कारण हुने कुुपोषणको दर उच्च रहेको अध्ययनले देखाएको छ ।

अन्य चामल कहाँ कति पठाइयो

कर्णालीका ३६ वटा डिपोमा प्रदेश कार्यालयबाट स्टिम जिरा चामल १६ हजार आठ सय २० दशमलव २५ क्विन्टल चामल पठाइएको छ । त्यस्तै अरुवा मोटो चामल पाँच सय ९० क्विन्टल, अरुवा सोना चामल १५ क्विन्टल, मोटा चामल चार सय ३३ क्विन्टल, मकवानपुर चामल नौ सय १२ क्विन्टल, स्टिम जिरा चामल नौ सय ४३ दशमलव ५० क्विन्टल कर्णालीका जिल्लामा पठाएको छ । लहान, थापाथली, वीरगञ्ज, विराटनगर, राजापुर, धनगढी, विर्तामोड, महेन्द्रनगरबाट कर्णालीमा खाद्यान्न आउने गर्दछ । यसमध्ये अघिल्लो वर्षको एक हजार एक दशमलव २५ क्विन्टल चामल मौज्दात थियो । दुई सय ५० क्विन्टल गहुँ दैलेख शाखामा पठाएको कम्पनीले जनाएको छ ।

एक हजार एक सय लिटर सूर्यमुखी तेल, दुई हजार लिटर तोरी तेल, पाँच सय लिटर सोयविन तेल कालिकोटमा पठाएको छ । पाँच दशमलव १० क्विन्टल मल्का ताल कालिकोट पठाएको छ । कर्णालीबाट थापाथलीमा ३४ दशमलव ७९ क्विन्टल सिमी, एक क्न्विन्ट चिनो चामल, १० क्विन्टल उवा र २० किलो फापर पठाएको छ । आठ सय ५० लिटर तोरी तेल मुगुमा पठाएको कम्पनीले जनाएको छ । कर्णालीमा खाद्यान्न आयातमात्र होइन, निर्यात पनि गरिन्छ भन्ने सन्देश गएको निमित्त प्रमुख मिश्रले बताउनुभयो ।

एक लाख ७३ हजार क्विन्टल चामल कर्णालीमा आवश्यक पर्ने गरेको उहाँले जानकारी दिँदै २५ हजार क्विन्टल केही दिनमै प्राप्त हुने बताउनुभयो ।

छ वर्षपछि उपल्लो डोल्पामा पुग्यो चामल

कोभिडको महामारीदेखि चामल ढुवानी बन्द भएको उपल्लो डोल्पामा चालु आवदेखि चामल पठाउन सुरु गरिएको छ । शे–फोक्सुण्डो गाउँपालिकाको साल्दाङ र डोल्पोबुद्ध गाउँपालिकाको धो मा खाद्यान्न ढुवानी भएको छ । साल्दाङमा पाँच सय क्विन्टल र धो मा एक सय पाँच क्विन्टल चामल सुर्खेतबाट उपल्लो डोल्पामा पुर्याएको छ । साल्दाङमा प्रतिकेजी रु ९५ र धो मा ९४ मा बिक्री हुने गरेको प्रदेश कार्यालयले जनाएको छ । डोल्पाको जुफाल, सहरतारा र दुनै शाखामा पनि चामल पठाइएको छ ।

निःशुल्क स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी लाभान्वित

गलेश्वर (म्याग्दी), १३ चैतः म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्थाको ११औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी लाभान्वित भएका छन् ।

सहकारीका शेयर सदस्यलाई लक्ष्य गरी आयोजित निःशुल्क मधुमेह, उच्च रक्तचाप र दाँत जाँच शिविरमा दुई सय नौ जनाले सेवा लिएका छन् । शिविर उद्घाटन गर्दै सहकारी सङ्घ म्याग्दीका अध्यक्ष दीपक कार्कीले वित्तीय सेवामात्रै नभई सहकारीले शेयर सदस्य लक्षित स्वास्थ्यलगायतका सामाजिक कार्यमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

स्थापना दिवसका अवसरमा प्रमुख अतिथि सहकारी सङ्घका अध्यक्ष कार्की र सहकारीका सल्लाहकार पुष्कलबहादुर जोशी, तेजबहादुर भण्डारी र चन्द्रबहादुर क्षेत्रीले संयुक्त रूपमा कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।

शिविरमा मधुमेह, उच्च रक्तचाप र दाँतको जाँच तथा अन्य स्वास्थ्य समस्याका बारेमा जानकारी गराइएको थियो । शिविरमा बेनी अस्पतालका मेडिकल अधिकृत डा गोविन्द पोख्रेल, कोर स्माइल डेन्टल क्लिनिकका डा मोचन श्रेष्ठ र बेनी अस्पतालमा प्रयोगशाला प्राविधिक सहयोगी सीताराम श्रेष्ठले परीक्षण गर्नुभएको थियो ।

सहकारीले स्थापना दिवसमा बेनी अस्पतालमा रक्तदान, बालगृहका बालबालिकालाई सहयोगसहित सहकारी सदस्य केन्द्रित विभिन्न कार्यक्रम सञ्चालन गर्ने सहकारीका प्रबन्धक नेत्रराज सुवेदीले बताउनुभयो ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – मंगलबार हाल कोशी र मधेश प्रदेशमा साधारणतया बदली तथा बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

हाल कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भैरहेको छ । जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।

आज दिउँसो कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती देशभर आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू

गलकोट (बागलुङ)- बागलुङका आमाहरूले नौमती बाजा बजाउन तालिम लिइरहेका छन् । यहाँका १२ जना महिलाले नौमती बाजा बजाउन एकमहिने तालिम लिएका हुन् ।हिजोआज पुरुषले नै बाजा बजाउन छाडेकाले बागलुङ नगरपालिकाको सहयोग र देउरालीचोक आमा समूहको अग्रसरतामा उनीहरू बाजा बजाउन सिकिरहेका उक्त आमा समूहका अध्यक्ष सरिता थापामगरले बताउनुभयो ।

विवाह, व्रतबन्धलागयत अन्य समाजिक कार्यक्रममा मौलिक बाजाको माग आइरहेको र युवापुस्तामा बाजा बजाउने इच्छा नभएकाले पनि परम्परा संरक्षणका निम्ति आमाहरूलाई नै तालिम लिन प्रेरित गरिएको उहाँले बताउनुभयो। “आमा समूह आयआर्जनसँग जोडिन आवश्यक छ, अहिले देउरालीचोक आमा समूहअन्तर्गत अधिकांश आदिवासी, जनजाति समूहका ५० महिला सङ्गठित छौँ, पहिलो चरणमा १२ जना महिला नौमती बाजा बजाउन सिकिरहनुभएको छ”, अध्यक्ष थापाले भन्नुभयो, “बागलुङ नगरपालिकाले प्रदान गरेको रु एक लाख ५० हजारबाट नौमती बाजा खरिद गरी बाजा बजाउन सिकिरहेका छौँ, रु ५० हजार सिक्ने खर्च हो भने रु एक लाखमा बाजा खरिद गरेका छौँ ।”चैत महिनाभर सिकेको बाजा बजाउने सीप वैशाखदेखि उपयोग हुने उहाँ बताउनुहुन्छ । कला प्रदर्शन गर्न लाज मान्न नहुने भन्दै आमा समूहका सदस्यहरूले बाजा कुनै जात, समुदायको मात्रै नभई यो कला भएको जुनसुकै जातिले बजाउन सक्ने बताएका छन् ।बागलुङ नगरपालिकाको पहिचान झल्काउने बाजा समूह निर्माण गर्न नगरपालिकाले सहयोग गरेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । “बागलुङ बजारमा बाजा बजाउनेको अभाव रहेको पाइयो, सानो सहयोगले एउटा नमुना बाजा समूह निर्माण गर्ने नगरपालिकाको लक्ष्य हो”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “आमा समूहको आयआर्जनको माध्यम बन्ने तथा संस्कृतिको संरक्षण हुने नगरपालिकाको अपेक्षा छ, यसलाई व्यवस्थित गर्न लाग्छौँ, उहाँहरूलाई सक्रिय बनाउन नगरपालिकाले निरन्तर सहयोग गर्नेछ ।”

सिँचाइको व्यवस्थासँगै भरतपुरका जमिन चैते धानले हराभरा

चितवन, १३ चैत : केही वर्षअघिसम्म पश्चिम चितवनका जमिन आकासे खेतीमा निर्भर थिए । कतिपय क्षेत्रमा सिँचाइ नहुँदा ती स्थान बाँझै हुन्थे जुन ‘लाखु टाँडी’ भनेर चिनिन्थे ।

भरतपुर–२५ का छविलाल न्यौपाने उहिलेको लाखु टाँडीमा अहिले चैते धान रोप्न थालेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिले यहाँ तीन बिघा जमिन हुने, एक कठ्ठा घोल खेत हुनेभन्दा गरिब गनिन्थे ।” कतिपयले त विवाह गरेर छोरी दिनुपर्दा टाँडी जमिन हुनेलाई दिनसमेत हिच्किचाउने गरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कुनै बेला सिँचाइ अभावमा खेती नहुने पश्चिम चितवनका टाँडीमा बोरिङसँगै खेती हराभरा हुन थालेको छ ।”

भरतपुर महानगरपालिका–२७ नयाँपटिहानीका जीवन महतो आइतबार मध्याह्न खेतमा पानी पटाउन तल्लीन हुनुहुन्थ्यो । उहाँले करिब दुई बिघा क्षेत्रफलमा लगाउनुभएको धानखेतीलाई सिँचाइका लागि बोरिङ सञ्चालन गरेर पानी पटाउँदै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “सिँचाइका कारण अहिले हाम्रो जीवनमा नै परिवर्तन आएको महसुस गरेका छौँ ।” सिँचाइ भएसँगै यस क्षेत्रमा बिगौँबिघा धानखेती गर्न किसान आकर्षित भएको उहाँले बताउनुभयो ।

स्थानीय किसान हठन महतो पहिला दुई बाली मात्रै लगाइने आफ्नो जमिनमा तीन बाली खेती गर्न थालेको बताउनुहुन्छ । सिँचाइको समस्या हुँदा आकासे पानीको भरमा धान, मकै, तोरीजस्ता बाली लगाउँदै आएको बताउने उहाँ अहिले आफ्नो १० कठ्ठा जग्गामा चैते धानखेती गरिरहनुभएको छ ।

विगत केही वर्षदेखि सिँचाइको व्यवस्था गरेर चैते धान लगाउन थालेको उहाँले बताउनुभयो । सिँचाइ सुविधा भएपछि यस क्षेत्रका किसानले धानसँगै तरकारीखेती गर्न थालेको उहाँले बताउनुभयो । उहाँले भन्ननुभयो, “सिँचाइले गर्दा हाम्रो आयआर्जनमा सहयोग पुगेको छ ।”

स्थानीय किसान महतो अहिले दुई बाली धान र एक बाली तोरी र फापर लगाउने गरेको बताउनुहुन्छ । सुक्खा क्षेत्रका रूपमा रहेको यस क्षेत्रमा सिँचाइको व्यवस्थासँगै पश्चिम चितवनको भरतपुर महानगरपालिकाका बासिन्दामा उत्साह थपिएको उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिका, चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालगायतले सिँचाइको व्यवस्था गरेपछि यहाँको खेती प्रणाली नै फेरिएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आफू पहिलोपटक प्रमुख भएपछि थालिएको पहिलो महत्त्वपूर्ण काम सिँचाइ भएको बताउनुहुन्छ । पश्चिम चितवनका कतिपय टाँडी भूभागमा किसानलाई सिँचाइ अभाव भएको गुनासो आएपछि निरन्तर सिँचाइ अभियानमा जुटेसँगै यहाँको कृषि प्रणालीमा परिवर्तन ल्याउन सकेको उहाँ बताउनुहुन्छ ।

आफू प्रमुख भएर आएपछि सात हजार बिघामा थप सिँचाइ भएको उहाँको दाबी छ । भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना आफ्नै पहलबाट भरतपुरमा आएको भन्दै उहाँले तत्कालीन समयमा चितवन र झापाबाट सो कार्यालयले काम सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “म पहिलोपटक निर्वाचनमा उम्मेदवार हुँदा पश्चिम चितवनका सुक्खा क्षेत्रका मतदाताले सिँचाइ माग गर्नुभएको थियो । त्यो क्रमशः पूरा हुँदै गएको छ ।”

यकिन तथ्याङ्क नभए पनि नेपालमा छोटो समयमा धेरै क्षेत्रमा भूमिगत सिँचाइ भरतपुरमै भएको महानगरप्रमुख दाहालले बताउनुभयो । हिउँदमा पनि सिँचाइ गर्न नारायणी लिफ्ट आयोजनामा रु २९ करोडभन्दा बढी खर्च गरेर पम्प थप्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

महानगरले विगत तीन आर्थिक वर्षमा साना सिँचाइका लागि चार सय ७८ वटा बोरिङ र मझौला सिँचाइका लागि ५५ वटा बोरिङ किसानलाई वितरण गरेको छ । यसबाट किसान प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले जिल्लामा दुई हजार तीन सय ९१ हेक्टर क्षेत्रफल सिँचाइ गरेको छ । कार्यालयका सूचना अधिकारी अमरसिंह राईका अनुसार भरतपुर महानगरपालिकामा मात्रै एक हजार पाँच सय ८७ हेक्टर क्षेत्रफल सिञ्चित हुने आयोजना सञ्चालनमा आइसकेका छन् ।

कालीगण्डकी कोरिडोरः १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति

म्याग्दी, १३ चैत : म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ ।गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित आयोजनाले गति लिएको हो ।बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–मालढुङ्गा खण्डका इन्जिनियर अच्युतविलास पन्तले चालु आर्थिक वर्षभित्र नै पाँच किलोमिटरमा अक्सफाल्ट प्रविधिको कालोपत्र र थप पाँच किलोमिटरमा ग्राभेल गरी आगामी २०८१ असोजसम्म पूरै १३ किलोमिटर कालोपत्र गरिसक्ने समय तालिका बनाएर निर्माणलाई तीव्रता दिएको जानकारी दिनुभयो ।

“नदीजन्य निर्माण सामग्रीको अभावले २०७९ कात्तिकदेखि करिब १५ महिना निर्माण सुस्ताएको थियो”, उहाँले भन्नुभयो, “निर्माण व्यवसायीलाई ताकेता र वैकल्पिक स्रोतबाट नदीजन्य सामग्रीको व्यवस्थापन गर्न सहजीकरण भएपछि निर्माणले तीव्रता पाएको छ ।”

सडक फराकिलो, पानीको निकासका लागि नाली र पर्खाल निर्माण धमाधम भइरहेको तथा मालढुङ्गाबाट फर्सेसम्मको पाँच किलोमिटर दूरीमा कालोपत्र गर्न सबबेस बिछ्याउन थालिएको इन्जिनियर पन्तले बताउनुभयो । यो खण्डमा चालु आर्थिक वर्षभित्र नै कालोपत्र गरिसक्ने लक्ष्य छ । विभिन्न ठाउँमा करिब एक किलोमिटर ढलान र खोल्सामा कल्भर्ट निर्माण गरिएको छ ।

सडक फराकिलो बनाउने, नाली र पर्खाल निर्माण भइरहेको फर्सेबाट लामाखेत खण्डमा पनि यस वर्ष ग्राभेल गर्ने तयारी भएको निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् । सडकको छेउछाउमा रहेका घरटहरा भत्काउनका लागि केही दिनमा सूचना निकालेर क्षतिपूर्ति वितरण गरिने आयोजनाका प्रमुख ध्रुव झाले बताउनुभयो ।

तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । एपेक्स–खड्का–कृष्णको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले ढुङ्गा, गिट्टी, बालुवा र रोडा अभाव भएको जनाउँदै २०७९ कात्तिकदेखि सुस्त गतिमा काम गरेको थियो । कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन गर्न २०७८ असारमा सर्वोच्च अदालतले रोक लगाएको थियो ।

विसं २०८० असोजमा म्याद सकिएको यस सडक योजनाको हालसम्मको भौतिक प्रगति २५ प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आगामी २०८१ असोजसम्मका लागि ठेक्काको म्याद थपिएको छ ।

सडक निर्माणमा ढिलाइ हुँदा यातायातका साधन सञ्चालन र यात्रुलाई आवतजावतमा समस्या भएको छ । खाल्डाखुल्डी, धुलो, हिलोका कारण यात्रा गर्न सास्ती भएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।

“सामान्य अवस्थामा २० मिनेटमा बेनीबाट मालढुङ्गा पुगिन्थ्यो, अहिले एक घण्टा लाग्छ”, उहाँले भन्नुभयो “धुलो, हिलो र साँघुरो भएकाले बेनी–बागलुङ–मालढुङ्गाको वैकल्पिक सडक प्रयोग गर्नुपर्दा गाडी र ढुवानी भाडा बढेको छ ।” यो सडकबाट म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् ।

बेनी–मालढुङ्गा, बेनी–जोमसोमलगायत म्याग्दीका दूरगामी महत्वका सडक र विकास आयोजना निर्माणमा देखिएको समस्याका विषयमा सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, निजी क्षेत्र, नागरिक समाजले सहजीकरण र माथिल्लो निकायमा समन्वय गरेका छन् ।‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा खुलेको मालढुङ्गा–बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । मुस्ताङको कोरलानाकाबाट दक्षिणको सुनौलीसम्म जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत यो सडकलाई ११ मिटर फराकिलो पारेर कालोपत्र गर्न लागिएको हो ।

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनका अध्यक्ष हुनिनबीच भेटवार्ता

बेइजिङ (चीन)- जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्य एवं चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का केन्द्रीय अध्यक्ष वान हुनिनबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

बेइजिङस्थित स्टेट गेस्ट हाउसमा सोमबार अपराह्न भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय हितका साथै आर्थिक र सामाजिक विकासका विविध आयामबारे छलफल भएको थियो । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले चीन र नेपाल सदियौँदेखि असल मित्रका रुपमा रहिआएको उल्लेख गर्दै नेपाल एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको दोहोर्याउनुभयो ।नेपाल राजनीतिक परिवर्तन पछाडि आर्थिक विकासमा केन्द्रित भएको जनाउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेपालको आर्थिक समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण हुने बताउनुभयो । चीनले नेपालको विकासमा पु¥याउँदै आएको सहयोगको सरहाना गर्दै उपप्रधानमन्त्री श्रेष्ठले आगामी दिन चिनियाँ सहयोग अभिवृद्धि हुने अपेक्षा गर्नुभयो । “अबको एक मात्रै एजेण्डा आर्थिक विकास हो, यसमा चिनियाँ सहयोग महत्वपूर्ण हुनसक्छ”, उहाँले भन्नुभयो ।उपप्रधानमन्त्री श्रेष्ठले नेपाल–चीन सीमामा रहेका १४ वटा परम्परागत नाकालाई पुनः सञ्चालनका लागि सहयोग गर्न आग्रह गर्दै उहाँले पोखरा विमानस्थलमा चीनका विभिन्न सहरबाट नियमित हवाई उडान गर्न अनुरोध गर्नुभयो । नेपालले चिनियाँ पर्यटकलाई प्रवेशाज्ञा (भिसा)मा सहजीकरण गरेको स्मरण गराउँदै उहाँले नेपाली नागरिकलाई पनि चीन प्रवेशमा सहज व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।सो अवसरमा स्थायी समिति सदस्य हुनिनले चीन र नेपाल हिमालय र नदीले जोडिएको मुलुक मात्र नभई एउटै परिवारका सदस्यका रुपमा रहेको बताउनुभयो । उहाँले दुवै देशका तर्फबाट भएका उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको बताउनुभयो ।चीनले नेपालको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्दै सिपिपिसिसीका अध्यक्ष हुनिनले नेपालले आफ्नो मुलुकको समृद्धिका लागि लिने निर्णयप्रति चीनको दृढ समर्थन रहनेछ बताउनुभयो । चीन र नेपाल दुवै आर्थिक समृद्धिको दिशामा सँगसँगै अघि बढ्नुपर्छ भन्दै उहाँले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकका रुपमा लैजान चिनियाँ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।नेपाल सन् २०२६ मा अतिकम विकसिकत मुलुकबाट स्तरोन्नति हुने चरणमा रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि सहयोग गर्न चीन तयार रहेको बताउनुभयो । भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलमा उपप्रधानमन्त्री श्रेष्ठ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण ढकाल, उपप्रधानमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, नायब शिष्टाचार महापाल उत्तमकुमार शाही, बेइजिङस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन सुरेन्द्र यादवलगायत सहभागी हुनुहुन्थ्यो । चिनियाँ प्रतिनिधिमण्डलमा स्थायी समिति सदस्य हुनिनसहित चिनियाँ कम्युनिष्ट पार्टीका उच्च तहका पदाधिकारीको सहभागिता थियो ।

धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै तनहुँको छिम्केश्वरी

दमौली (तनहुँ), १३ चैत : समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित तनहँुको छिम्केश्वरी मन्दिर क्रमशः धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेको छ । आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा रहेको प्रसिद्ध धार्मिकस्थल छिम्केश्वरी माइ गाउँपालिकाकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल हो । पृथ्वीराजमार्गको आँबुखैरेनीदेखि लाब्दीसम्म १५ किलोमिटर जीप यात्रा र छोटो पदयात्रापछि छिम्केश्वरी पुगिन्छ । यहाँबाट देखिने अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमालका मनोरम दृ्श्यले जोकोहीलाई मोहित बनाउँछ ।

पछिल्लो समय छिम्केश्वरीमा पूजाआजा र दर्शनका लागि दैनिक भक्तजन तथा आन्तरिक पर्यटक आउने क्रम बढेको छ । छिम्केश्वरीमा दैनिक ५० देखि एक सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन् । यहाँ विशेषगरी नयाँवर्ष र होलीका बेला भक्तजनको घुइँचो लाग्ने गरेको छ । यस वर्षको होलीमा गत आइतबार पाँच हजार भक्तजनले पूजाआजा गरेको छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्ण तामाङले राससलाई जानकारी दिनुभयो ।

यो मन्दिरमा तनहुँका अतिरिक्त छिमेकी जिल्ला लमजुङ, गोरखा, चितवनबाट पनि भक्तजन आउने गरेका मन्दिरका पुजारी धनराज गुरुङ बताउनुहुन्छ । उहाँका अनुसार एकादशी र औँसी बाहेकका दिनमा पूजाआजा हुने यस मन्दिरमा पशुवली दिने परम्परा पनि छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाईमा पूजा गरेपछि मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

गण्डकी प्रदेश सरकारले घोषणा गरेको एक सय दश पर्यटकीय गन्तव्यमा सूचीकृत छिम्केश्वरीमा रु ४५ लाखको लागतमा छिम्केश्वरी मन्दिर पुनर्निर्माण हालै पूरा भएको छ । प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । आर्थिक वर्ष ०७५÷७६ मा रु ४१ लाख ६३ हजार सात सयको लागतमा चार सय ८६ मिटर ढुङ्गाको सिढी निर्माण सम्पन्न भएको छ भने आर्थिक वर्ष ०७६÷७७ मा रु ३५ लाख ९९ हजार एक सय ४१ को लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकाले छिम्केश्वरीलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाकै सक्रियतामा मन्दिर पुनर्निर्माण भएको छ । यसको थप विकासका लागि योजना बनाउँदैछौ ।”

छिम्केश्वरीसम्म पुग्ने सडकमा कालोपत्र सुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा यस खण्डमा कालोपत्र गर्न लागिएको हो । सडक कालोपत्रका लागि प्रदेश सरकारबाट रु आठ करोड ४७ लाख र सङ्घ सरकारबाट समपुरक कोष अन्तर्गत रु ८ करोड ४७ लाख बजेट विनियोजन भएको छ । सडक कालोपत्रको काम काठमाडौस्थित शर्मा एण्ड काष्टमण्डप जेभीले ठेक्का पाएको छ ।

छिम्केश्वरी पुग्ने भक्तजनको सहजताका लागि छिम्केश्वरीको काखमा घरबास समेत सञ्चालन भएका छन् । । आँबुखैरेनी गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ हिलेखर्कमा स्थानीयवासीले घरबास सञ्चालन गरेका हुन् । गुरुङ समुदायको बाहुल्य रहेको यहाँका घरबासमा आउनेलाई कोदो तथा फापरको ढिँडो, फापर र कोदोको सेलरोटी, भुटेको भटमास, गुन्द्रुकको अचार दिइने गरेको घरबास व्यवस्थापन समितिका अध्यक्ष बाटुमाया गुरुङले जानकारी दिनुभयो । हिलेखर्कमा रहेका दुई वटा घुमाउने घरले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउने गरेको छ ।

मन्दिर संरक्षण गर्न चन्दा सङ्कलन

छिम्केश्वरी पर्यटन विकास समितिले भक्तजनबाट चन्दा सङ्कलन गरी छिम्केश्वरी मन्दिर संरक्षण गर्ने भएको छ । मन्दिरको समग्र विकासका लागि भक्तजनबाट चन्दा सङ्कलन गरिने समितिले जनाएको छ । समितिले मन्दिर संरक्षण, पुजारी व्यवस्थापन, भक्तजन विश्रामस्थल एवं उनीहरूको सुरक्षा , सार्वजनिक शौचालय निर्माणलगायत अधिकभन्दा अधिक पर्यटक आकर्षित गर्न मन्दिर क्षेत्रमा आधारभूत भौतिक पूर्वाधार निर्माणको योजना बनाएको पालिका अध्यक्ष चुमानले बताउनुभयो ।

गण्डकीमा ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमः गोरखाको चुमनुब्रीलाई जोड्न ‘डिपीआर’ तयार

गण्डकी, १३ चैत : गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत ३३ सडक आयोजना निर्माणाधीन छन् । ती आयोजनाको दुई सय ७९ किमि सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता भई कार्यान्वयनमा गएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

प्र्रदेश निर्वाचन क्षेत्रमा नमुना सडक निर्माण गर्ने लक्ष्यसहित सरकारले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा बजेटमा उक्त कार्यक्रमलाई समावेश गरेको थियो । त्यसयता हरेक आवको बजेट र कार्यक्रममा ‘एक निर्वाचन क्षेत्र, एक सडक’ले प्राथमिकता पाउँदै आएको छ । बहुवर्षीय आयोजनाअन्तर्गत सडक स्तरोन्नति र कालोपत्रको काम भइरहेको मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले बताउनुभयो ।

निर्माण व्यवसायीको ढिलासुस्तीका कारण कतिपय सडक आयोजनाको प्रगति न्यून देखिएको उहाँको भनाइ छ । “प्रदेश सरकारको प्राथमिकताप्राप्त कार्यक्रम भएकाले स्रोतको समस्या छैन”, प्रवक्ता पौडेलले भन्नुभयो, “एघार वटै जिल्लाका प्रदेश निर्वाचन क्षेत्रमा नमुना सडक निर्माण भइरहेको छ ।” सम्बन्धित निर्वाचन क्षेत्रका प्रदेशसभा सदस्यको सिफारिसका आधारमा सडक आयोजना छनोट गरिएको उहाँले बताउनुभयो । मन्त्रालयले प्रदेश गौरवको आयोजनाका रुपमा स्थानीय तहको केन्द्र जोड्ने सडक निर्माणलाई पनि गति दिएको छ । उक्त कार्यक्रमअन्तर्गत ११ सडक आयोजनाको ८९ किलोमिटर स्तरोन्नति भइरहेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

प्रदेशका ८५ वटै स्थानीय तहका केन्द्रलाई सडक सञ्जालले जोड्ने प्रदेश सरकारको लक्ष्य छ । मन्त्रालयले अहिलेसम्म सडक नपुगेको गोरखाको चुमनुब्री र मनाङको नार्पाभूमि गाउँपालिका केन्द्रमा सडक पु¥याउन विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ । मार्ग खोलिएका सडकको स्तरोन्नति र कालोपत्र गर्ने योजनालाई अगाडि बढाइएको उक्त मन्त्रालयले जनाएको छ ।

‘क’ वर्गका १६ प्रादेशिक सडक आयोजनाको एक सय २२ किलोमिटर सडक स्तरोन्नति भइरहेको प्रदेशको पूर्वाधार विकास निर्देशनालयका निमित्त प्रमुख डा महेन्द्रबहादुर बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश स्थापना भएयता छ सय ७४ किमी पक्की र पाँच सय ६६ कच्ची सडक बनेको छ । आगामी दुई वर्षभित्रमा थप पाँच सय १५ किमी कालोपत्र र ६७ किमी ग्राभेल गर्ने लक्ष्य छ ।

“प्रदेशभित्रका एक सय ६२ सडक बहुवर्षीय आयोजनाका रुपमा निर्माणाधीन अवस्थामा छन्”, उहाँले भन्नुभयो, “पूर्वाधारतर्फ प्रदेश सरकारको सबैभन्दा ठूलो बजेट सडकमा खर्च हुँदै आएको छ ।” सडक सँगसँगै पुल निर्माणलाई पनि प्राथमिकता दिइएको डा बानियाँले बताउनुभयो । प्रदेश सरकारको लगानीमा पछिल्लो छ वर्षमा ८५ पक्की पुल बनेका छन्भने ५३ वटा निर्माणाधीन छन् । थप २३ पुलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारीको प्रक्रियामा रहेको उक्त मन्त्रालयले जनाएको छ । पुल निर्माणले प्रदेशस्तरका सडकमा बाह्रैमास यातायात सञ्चालनका लागि सहज हुनेछ । पुलका लागि चालु आवमा रु. ३४ करोड १५ लाख विनियोजन गरिएको छ ।

केही महिनामै जनताले परिवर्तनको महसुस गर्नेछन् : मन्त्री गिरी

पर्वत – कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले अबको केही महिनामै नेपाली जनताले मुलुक परिवर्तन भएको महसुस गर्ने बताउनुभएको छ । पर्वतको लुंखुदेउरालीमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गिरीले अघिल्लो गठबन्धन भत्किएर पुनःगठित सरकार मुलुकका तमाम समस्या समाधानका लागि बनेको बताउनुभयो ।

उहाँले अर्थतन्त्रलाई लयमा फर्काउनेदेखि लिएर मुलुकमा सुशासन कायम गराउन सरकारलाई मुख्य चुनौती रहेको भन्दै अबको आठ÷दश महिनामा धेरै कुरा परिवर्तन हुने बताउनुभयो । उहाँले सरकारले भ्रष्टाचार न्यूनीकरण र सुशासनको प्रवर्द्धनका लागि कामअघि बढाइ सकिएको बताउँदै न्यूनतम् साझा कार्यक्रमको सफल कार्यान्वयन गर्नतर्फ अग्रसर भएको दाबी गर्नुभयो । मन्त्री गिरीले बढ्दो युवा पलायन रोक्नका लागि उचित युवामैत्री नीति ल्याउनतर्फ आफू लागेको बताउनुभयो ।

गरिबमैत्री, युवामैत्री, लगानीमैत्री कानुन र नीतिकै अभावमा तमाम समस्या पैदा भएको भन्दै अब नागरिकमैत्री ऐन कानुन यो सरकारले ल्याउने दाबी गर्नुभयो । अहिलेको सरकारलाई काम नगरी दिन कटाउने छुट नभएको उहाँले बताउनुभयो । विगतका सरकारले सत्ता टिकाउने खेल मात्र खेलेका कारणमुलुक आज यो अवस्थामा पुगेको भन्दै अब आर्थिक समृद्धि र विकासका लागि सरकारले चार वर्षसम्मै काम गर्ने उहाँको भनाइ छ । मन्त्री गिरीले यो सरकार पूरै कार्यकालसम्म रहने दाबी गर्नुभयो । उहाँले लामो समयदेखि विचाराधीन रहेका विधेयक यो सरकारले आवश्यक प्रक्रिया पूरा गरी धमाधम संसद्मा पेश गर्ने र पारित गर्ने बताउनुभयो ।

मन्त्री गिरीले विकास निर्माणमा तीनै तहका सरकारबीच समझदारी आवश्यक रहेको बताउनुभयो । ठूलो योजना सङ्घीय सरकारबाट, मझौला खालका योजना प्रदेश र साना योजना स्थानीय तहबाट कार्यान्वयन गर्न सकेमा मात्र एकीकृत विकास हुने उहाँको भनाइ छ ।

आफूलाई दुई÷दुई पटकसम्म प्रतिनिधिसभामा विजयी गराएर पठाउने पर्वतवासी नागरिकका चाहना र आवश्यकता पूरा गर्नका लागि हरदम प्रयासमा लागेको उहाँको भनाइ छ । उहाँले योजनालाई प्राथमिकीकरण गरेर बजेट माग गर्न पनि आग्रह गर्नुभयो । सबैभन्दा बढी आवश्यक र धेरै जनताको माग भएका योजनालाई पहिलो प्राथमिकतामा र कम आवश्यकता भएका योजनालाई पछि बनाउने गरी बजेट माग गर्न उहाँले आग्रह गर्नुभयो ।

हेर्नुहोस् चैत १३ गते मंगलवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । सहि निर्णय गर्न नसक्नाले सामान्य अप्जस सहनु पर्ला । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ ।

बृष राशि- सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

मीथुन राशि – प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

कर्कट राशि- यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

सिंह राशि – बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । खानपानको कारण स्वास्थ सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

कन्या राशि – पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

तुला राशि – खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि – बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्याले सताउनेछ ।

धनु राशि- कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मकर राशि – मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।

कुम्भ राशि – स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्नेछ । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मिन राशि – मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

प्रधानमन्त्री सहित मन्त्रीलाई म्याग्दीका समस्याका विषयमा ध्यानाकर्षण

म्याग्दी – म्याग्दीका जनप्रतिनिधिको टोलीले जिल्लाका दुरगामी महत्वका विकास आयोजनामा बजेट व्यवस्थापनका लागि सोमबार प्रधानमन्त्री र विभागीय मन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), अर्थमन्त्री वर्षमान पुन, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठसँगको भेटमा सङ्घीय सरकारमार्फत म्याग्दीमा सञ्चालित आयोजना निर्माणलाई गति दिने विषयमा पनि छलफल भएको छ । सो अवसरमा गण्डकी प्रदेशसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र)का म्याग्दी जिल्ला संयोजक रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, माओवादी केन्द्रका युवा नेता नगेन्द्र केसी सहभागी हुनुभएको थियो ।

माओवादी केन्द्रका केन्द्रिय सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज दिननाथ शर्मा र गण्डकी प्रदेशसभाको संसददीय दलका नेता हरिबहादुर चुमानसमेत सहभागी प्रधानमन्त्री दाहालसँगको भेटघाटमा गण्डकी प्रदेशमा नयाँ सरकार गठनका विषयमा पनि छलफल भएका प्रदेशसभा सदस्य भण्डारीले बताउनुभयो ।

“भेटघाटका क्रममा म्याग्दीका विकास आयोजना कार्यान्वयनको अवस्था, थप आयोजना, नीति निर्माण र राजनीतिक विषयमा छलफल भयो,” उहाँले भन्नुभयो “बेनी अस्पतालको भवन, मालढुङगा–बेनी, बेनी–जोमसोम सडक, बृहत पिप्ले–भगवती, घोप्टेखोला खानेपानीलगायत सङ्घीय सरकारमार्फत सञ्चालित योजनामा भएको ढिलाइका विषयमा ध्यानाकर्षण गराएका छौँ ।”

बृहत पिप्ले–भगवती खानेपानी आयोजनाका लागि खानेपानी मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको प्रस्ताव स्विकृत गर्न अर्थमन्त्री पुनलाई अनुरोध गरिएको प्रदेशसभा सदस्य भण्डारीले बताउनुभयो । प्रधानमन्त्री, अर्थमन्त्री र योजना आयोगका उपाध्यक्ष डा श्रेष्ठलाई बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन– रुकुम पूर्व जोड्ने सडकलाई मध्य पहाडी लोकमार्गको बैकल्पिक मार्ग बनाउन प्रस्ताव गरिएको उहाँले बताउनुभयो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डमा पहिरो नियन्त्रणका लागि बजेट व्यवस्था मिलाउन पनि अर्थमन्त्रीलाई टोलीले अनुरोध गरेको टोलीले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसँग बेनी बजार संरक्षण आयोजनालाई पूर्णता दिन थप बजेट व्यवस्थापन, बगरफाँट, सिङ्गा, तातोपानी, बाबियाचौर, दरवाङ, गलेश्वर, तिप्ल्याङ, भुरुङ्ग–तातोपानी, पोखरेबगरलगायत तटीय बस्ती संरक्षणका लागि नयाँ आयोजना माग, निर्माणाधिन राहुघाटलगायत जलविद्युत, विद्युतिकरण र प्रशारण लाइन आयोजनालाई गति दिने विषयमा छलफल भएको थियो ।

टोलीले सहरी विकास मन्त्री धनबहादुर बुढा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुबिर महासेठ, खानेपानी मन्त्री राजेन्द्र राई, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङसँग पनि भेटघाट गरेर विकास आयोजनामा बजेट व्यवस्थापनका विषयमा छलफल गर्ने कार्यक्रम रहेको जनाएको छ ।

माग्दीमा असिनापानीले हिउँदे बालीमा क्षति

बेनी (म्याग्दी) १२ चैत : म्याग्दीमा आज साँझ परेको भीषण असिना पानीले हिउँदे बालीलाई क्षति पु¥याएको छ । लामो खडेरीपछि परेको असिना पानीले जिल्लाको रघुगङ्गा गाउँपालिका र बेनीनगरपालिका क्षेत्रका हिउँदे खेतीबालीमा क्षति पु¥याएको हो ।

रघुगङ्गामा दिउँसो करिब २ बजेदेखि सुरु भएको असिना करिब तीन घण्टासम्म परेको थियो भने बेनी नगरपालिका क्षेत्रमा साँझ ५ बजेपछि असिना परेको थियो । असिनाले खेतवारीमा भित्र्याउने अवस्थामा पुगेको गहुँ, जौ, केराउलगायतका खाद्यबाली सबै नष्ट गरेको छ । त्यसैगरि खेतमा भर्खर उम्रिएका मकै बालीसमेत अनिसाले पूर्ण रुपमा क्षतविक्षत बनाएको कृषकले बताएका छन् ।
असिनाले सुन्तला, कागतीलगायतका फलफूलमा लागेको फूल झारेको छ ।

रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, कलेजाबाङ, मौवाफाँट, बेग, दग्नाम, झिँ, पाखापानी, बेनीनगरपालिकाको पात्लेखेत, घतान, पुलौचार, अर्थुङ्गे, बगरफाँट, बेनीबजार लगायतका स्थानमा भारी असिना पानी भएको थियो ।

असिनाले गौ, जौ, तोरी लगायतका खाद्यवालीसँगै तरकारी खेतीमा ठूलो क्षति पु¥याएको बेनी नगरपालिका–९ तोरीपानीका कृषक भद्रबहादुर बानियाँले जानकारी दिनुभयो । ‘‘हिउँदभर सिँचाइ गर्न पानी आएन, अहिले एकैपटक अनिसा पानी खस्यो, भित्र्याउने तयारी गरेको हिउँदेबाली सबै पूर्ण रुपमा नष्ट गरेको छ’’, कृषक बानियाँले भन्नुभयो ।

असिना पानीले हिउँदेबालीमा क्षति पु¥याएपछि स्थानीय तह र कृषि ज्ञान केन्द्रले क्षतिको विवरण सङ्कलन गर्ने काम सुरु गरेको जनाएका छन् । अनिसा पानीले पु¥याएको क्षतिको वडास्तरबाट विवरण सङ्कलन गर्न थालिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

इन्डोनेसियामा डुङ्गा पल्टिँदा ११ रोहिङ्ग्या मृत फेला

इन्डोनेसियाको पश्चिमी तटमा गत साता करिब एक सय ५० व्यक्ति सवार डुङ्गा डुबेपछि कम्तीमा ११ रोहिङ्ग्या शरणार्थीको शव फेला परेको अधिकारीहरूले सोमबार बताएका छन् ।

म्यान्मामा उत्पीडनमा परेका धेरैजसो मुस्लिम समुदायका रोहिङ्ग्याहरू प्रत्येक वर्ष आफ्नो ज्यान जोखिममा राखेर कमजोर डुङ्गामा लामो र महँगो सामुिद्रक यात्रा गरेर मलेसिया वा इन्डिनेसिया पुग्ने प्रयास गर्छन् ।

इन्डोनेसियाली उद्धारकर्मीहरूले ७५ जनाको उद्धार गरिसकेपछि शुक्रबार बाँकी रोहिङ्ग्या शरणार्थीको खोजी कार्य बन्द गरेका थिए । यद्यपि बचेका केही मानिसले केही दिनअघि उनीहरूको डुङ्गा र उद्धार गर्न आएको डुङ्गा पल्टिँदा दर्जनौँ मानिस डुबेको बताएका थिए ।

स्थानीय खोज तथा उद्धार अभियानका प्रमुख मुहम्मद फत्तुर रचमनले करिब आधा दर्जन रोहिङ्ग्यालाई समुद्री किनारबाट २६ किलोमिटर टाढा समुद्रमा मृत फेला पारेको बताउनुभयो । “अहिले थप छ जनाको शव निकाल्ने काम भइरहेको छ”, उहाँले सोमबार भन्नुभयो, “ती सबै महिला थिए, हामीले एक माझीबाट शवहरूबारे सुनेका थियौँ, शवहरूलाई अस्पताल लगिने छ ।”

यसअघि संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसिआर) का अधिकारीहरूले हालैका दिनहरूमा पाँच जनाको शव फेला परेको बताएका थिए । डुङ्गा पल्टिनुअघि हप्तादिनसम्म समुद्रमा अलपत्र परेकाहरूको अधिकारीहरूले बिहीबार नाटकीय उद्धार गरेका थिए । तीमध्ये धेरैजसो पल्टिएको डुङ्गामा टाँसिएको भेटिएका थिए । अन्य छ जनाको बुधबार माझीहरूले उद्धार गरेका हुन् ।

युएनएचसिआरका अनुसार नोभेम्बरको मध्यदेखि जनवरीको अन्त्यसम्म एक हजार सात सय ५२ रोहिङ्ग्या शरणार्थी इन्डोनेसियाको आचे र उत्तरी सुमात्रा प्रान्तमा प्रवेश गरेका थिए । तीमध्ये धेरै महिला र बालबालिका थिए । संयुक्त राष्ट्रसङ्घले सन् २०१५ यता मुस्लिम बाहुल्य देशमा बङ्गलादेशको बिगँ्रदो स्थिति र रोहिङ्ग्याको जन्मभूमि म्यान्मामा हिंसाको निरन्तर खतराका कारण यो सबैभन्दा ठूलो आगमन भएको बताएको छ ।

उपप्रधान एवम् गृहमन्त्री लामिछाने र राजदूत गोदरबीच भेट

काठमाडौँ, १२ चैत : उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र नेपालका लागि इजरायलका राजदूत हनान गोदरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आज गृह मन्त्रालयमा भएको भेटवार्तामा राजदूत हनान गोदरले गृहमन्त्री नियुक्त हुनुभएकोमा लामिछानेलाई बधाई ज्ञापन गर्नुभएकोलामिछानेको सचिवालयले जनाएको छ । उहाँहरुबीच नेपाली नागरिकको इजरायलमा हालको अवस्था, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति, विपिन जोशीको सुरक्षित नेपाल फिर्तालगायतका विविध विषयमा छलफल भएको थियो ।

जोशीको अवस्थाबारे इजरायल सरकार पनि चिन्तित रहेको बताउँदै राजदूत गोदरले उनीसहित ज्यान गुमाउने १० जना नेपालीको परिवारलाई इजरायल सरकारका तर्फबाट राहत स्वरुप भत्ता उपलब्ध गराउन थालेको जानकारी दिनुभयो ।

गृहमन्त्री लामिछानेले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वको शान्तिपूर्ण समाधान होस् भन्ने कामना गर्नुभयो । राजदूतले त्यहाँको अवस्थाको मूल्याङ्कनका आधारमा परिवारको पुनःमिलन र भ्रमणका लागि सहजीकरण गरिने विषयमा छलफल गरी ठोस कदम चालिने कुरा व्यक्त गर्नुभयो ।

उहाँहरुबीच कृषि, सूचना प्रविधि, रोजगारी सिर्जनालगायत क्षेत्रमा सहकार्य र नेपाल–इजरायलको सम्बन्ध विस्तार एवं सुदृढीकरणका लागि थप सहकार्यबारे पनि छलफल भएको थियो ।

सात वर्षपछि धाप्लाङघाट पुलको ‘डिजाइन’ परिवर्तन

खोटाङ, १२ चैत : खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीस्थित धाप्लाङघाटमा मोटरेबल पुल निर्माण थालिएको सात वर्ष भयो । विसं २०७६ मै सम्पन्न भइसक्ने गरी निर्माण कम्पनीले सुनकोशीस्थित सो पक्की पुल निर्माण जिम्मा लिएको हो । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाट पुलको डिजाइन अहिले आएर फेरिएको छ । मोटरेबल पुलको करीब १५ प्रतिशत काम भएपछि सडक विभागले मोटरेबल पुलको डिजाइन परिवर्तन गरेको हो ।

ठेक्का लागेर निर्माण सुरु गरिएको सात वर्षपछि धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पक्की पुलको डिजाइन परिवर्तन गरेपछि स्थानीय बासिन्दा अचम्मित भएका छन् । खोटाङ र उदयपुरतर्फ वर्षौँअघि सडक बनिसकेको भए पनि हालसम्म धाप्लाङघाटमा मोटरेबल पुल नहुँदा झोलुङ्गे पुल प्रयोग हुँदै आएको छ ।

धाप्लाङघाटमा मोटरेबल पुल नहुँदा सबैभन्दा बढी कृषि तथा नगदे बाली निर्यातका क्रममा लोडअनलोड गर्दा किसानले थप व्यायभार खेपिरहेका छन् । “नदीमा सवारीसाधन वारपार गर्ने अवस्था छैन । पुल तार्न पैसा तिरेर सामान लोड अनलोड गर्नुपर्ने बाध्यता छ”, बराहपोखरी गाउँपालिकाका प्रमुख शालिकराम वञ्जराले भन्नुभयो, “बनेर सञ्चालन हुनुपर्ने समय बितेको चार वर्ष भयो । बल्ल डिजाइन परिवर्तन भएको छ । अब कहिले निर्माण सम्पन्न हुन्छ टुङ्गो छैन ।”

डिजाइन ‘रिभ्यू’ स्वीकृत भएसँगै निर्माण व्यवसायीले गत फागुन–२८ गतेदेखि धाप्लाङघाटमा मोटरेबल पक्की पुल निर्माणको काम सुरु गरेको पाइएको छ । डिजाइन परिवर्तनसँगै निर्माणाधीन मोटरेबल पुलको चार वटा ‘वेल’ फाउण्डेशनको सट्टामा चार वटा ‘पाइल’ फाउण्डेशन ठड्याइनेछ ।

ठेकेदारले प्राविधिक रुपमा ‘वेल’ फाउण्डेशन बनाउन कठिन भएको भन्दै ‘पाइल’ फाउण्डेशन प्रविधिको पुल निर्माण गर्ने गरी डिजाइन ‘रिभ्यु’ का लागि गत साउन–१५ गते सडक विभागसँग माग गरेको थियो । ठेकेदार कम्पनीले विसं २०७६ असार–२९ गतेभित्र सम्पन्न गर्ने गरी विसं २०७३ असार–३० धाप्लाङघाटको मोटरेबल पुल निर्माणको सम्झौता गरेको थियो ।

म्याद नाघेको चार वर्ष बित्दा ठेकेदारले नदीको दुई किनारमा पिलर मात्र ठड्याएको देखिन्छ । पुल निर्माणमा चरम ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीको रु चार करोड ४२ लाख अग्रिम भुक्तानी जमानत भने विभागले तानिसकेको छ ।

विसं २०७४ भदौ–३१ गते तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धाप्लाङघाटमा निर्माणाधीन दुई सय मिटर लामो मोटरेबल पुल शिलान्यास गर्नुभएको थियो । भ्याटबाहेक रु २२ करोड ५० लाखमा विसं २०७६ असार–२९ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

गलत डिजाइनका कारण लामो समयदेखि अलपत्र धाप्लाङघाट पुल डिजाइन परिवर्तनसँगै ठेकेदार कम्पनीले निर्माणको काम पुनःसुरु गरेको खोटाङ प्रदेशसभा ‘ख’ का प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बताउनुभयो । “धाप्लाङघाटमा पहिलेको डिजाइन अनुसार मोटरेबल पुल निर्माण हुने सम्भावना थिएन । ठेकेदार कम्पनीले किन निर्माणको काम अगाडि बढाएन भनेर खोजी गर्दा गलत डिजाइन भन्ने बुझियो”, उहाँले भन्नुभयो, “विज्ञहरुको सुझावअनुसार अहिले धाप्लाङघाटमा मोटरेबल पुल निर्माणको डिजाइन परिवर्तन गरिएको छ । डिजाइन परिवर्तनसँगै ठेकेदार कम्पनीले निर्माणको कामसमेत सुरु गरेको छ । अब भने धाप्लाङघाटमा मोटरेबल पुल निर्माण हुने निश्चित भएको छ ।”

पूर्वी तराईका विभिन्न सहरसँग जोडिन धाप्लाङघाटमा मोटरेबल पुल निर्माण भएपछि खोटाङको बराहपोखरी, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिका तथा भोजपुरका केही स्थानीयको जीवनशैली फेरिने आशा गरिएको थियो ।

सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको हो : प्रधानमन्त्री

काठमाडौँ, १२ चैत : प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको वाग्मती प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय आवश्यकता र जनचाहनालाई ख्याल गरेर नयाँ गठबन्धन बनाइएको स्पष्ट पार्नुभयो । उहाँले हालको सत्तागठबन्धनलाई लामो समयसम्म लैजाने सोच र लक्ष्यका साथ पार्टीले निर्णय गरेकाले त्यसलाई अक्षरश ः लागू गरिने स्पष्ट पार्नुभयो ।

गठबन्धन परिवर्तन गर्ने निर्णय एकाएक नभएको उल्लेख गर्दै उहाँले वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने लक्ष्य राखिएको बताउनुभयो । पछिल्लो एक वर्षको अनुभवका आधारमा नयाँ निर्णय लिनु नै सुरक्षित उपाय भएको प्रधानमन्त्रीको भनाइ रहेको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले जानकारी दिनुभयो ।

प्रदेश सरकारको विषयमा केही समयभित्रै आवश्यक निर्णय लिइने उहाँको भनाइ छ । सङ्घीय सरकारमा परिवर्तन भएलगत्तै प्रदेश सरकारको बारेमा पनि निर्णय लिनुपर्ने अवस्था आएको भन्दै उहाँले गठबन्धनमा आवश्यक छलफल गरेर उपयुक्त निर्णय लिइने प्रधानमन्त्रीको कथन छ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले काठमाडौँ उपत्यकामा कमजोर रहेको पार्टीलाई नयाँपन दिएर अगाडि बढाउन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । उपत्यकाको आवश्यकता र चाहनालाई ख्याल गरेर जनतासँग जोडिन, सङ्गठन सुदृढ गर्न रचनात्मक उपाय अवलम्बन गर्नुपर्नेमा उहाँको जोड थियो । सरकारले गरेका जनपक्षीय काम कारवाहीको बारेमा जनतालाई बुझाउनसमेत प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।

बैठकमा बागमती प्रदेशका इञ्चार्ज अग्निप्रसाद सापकोटा, अध्यक्ष सरल सहयात्री पौडेललगायतको उपस्थिति थियो ।

साठी लाख अफगानीलाई सहायता वितरण

फेब्रुअरीमा अफगानिस्तानमा ६० लाख मानिसहरूले खाद्य सहायता प्राप्त गरेको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) लाई उद्धृत गर्दै अफगानी समाचार संस्था खामा प्रेसले जनाएको छ ।

डब्लुएफपीले शनिबार अफगानिस्तानमा ६० लाखभन्दा बढी मानिसलाई नगद र खाद्यान्न सहायता उपलब्ध गराएको छ ।प्रेस विज्ञप्तिअनुसार अफगानी बालबालिकालाई खाना तथा पोषण उपलब्ध गराउने आवश्यकता पुरा गर्न यो सहायता प्रदान गरिएको हो ।

केही निजी दाता र सहयोगी देशहरूको आर्थिक सहयोगमा अफगानिस्तानमा खाद्य सहायता प्रदान गरिएको समाचारमा जनाइएको छ ।

अफगानिस्तानमा आर्थिक चुनौती र मानवीय सङ्कटले खाद्य सहायताको माग बढेको सरकारी तथा गैर–सरकारी स्रोतहरूले जानकारी गराएपछि युएनडब्ल्युएफपीको सहकार्यमा सहायता प्रदान गरिएको हो ।पछिल्लो समयमा गम्भीर मानवीय सङ्कटबीच अफगान शरणार्थीहरू पाकिस्तानबाट ठूलो सङ्ख््यामा स्वदेश फर्किरहेका छन् ।

मुलुकमा जारी द्वन्द्व र आर्थिक अस्थिरतासहित अफगानिस्तानको बिग्रँदै गएको मानवीय सङ्कटले धेरै शरणार्थीहरूलाई अनिश्चित अवस्थाको बाबजुद स्वदेश फिर्ता गर्न प्रेरित गरेको खामा प्रेसले जनाएको छ ।

शरणर्थीहरू स्वदेश फर्केसँगै उनीहरूले खाना, आश्रय र स्वास्थ्य सेवाजस्ता आधारभूत आवश्यकताहरूमा सीमित पहुँचसहित विशाल चुनौतीहरूको सामना गरिरहेका छन् ।शरणर्थीहरूले अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो मातृभूमिमा चलिरहेको सङ्कटबीचमा अफगान शरणार्थीहरूको सुरक्षा र कल्याण सुनिश्चित गरी पुन : वास र एकीकरण प्रयासहरूलाई सहयोग पु¥याउन तत्काल सहयोग प्रदान गर्न आग्रह गरिरहेका छन् ।

आँखाको साथसाथै कानको उपचार सेवा विस्तार गर्दै नेपाल नेत्रज्योति सङ्घ

काठमाडौँ, १२ चैत : नेपाल नेत्रज्योति सङ्घले आफ्ना देशैभर रहेका आफ्ना आँखा अस्पताल र आँखा उपचार केन्द्रमार्फत वार्षिक ३० लाखभन्दा बढी मानिसलाई आँखा जाँच सेवा प्रदान गरिरहेको छ ।

सन् २०२३ मा सङ्घले आफ्नो मातहतका आँखा अस्पताल, उपचार केन्द्रहरुका साथै विभिन्न बाह्य कार्यक्रमका माध्यमबाट कूल ३३ लाख छ हजार २६ जनाको आँखा जाँच तथा उपचार गर्नुका साथै दुई लाख ६५ हजार आठ सय ८५ जनाको आँखाका शल्यक्रिया गरेको थियो । सङ्घको सञ्जालमार्फत आठ लाख पाँच हजार तीन सय १६ विदेशी नागरिकले आँखा उपचार सेवा प्राप्त गरेका थिए ।

सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले स्थापनादेखि हालसम्म सङ्घले आफ्ना सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल चार करोड ३६ लाख २६ आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको र ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया भइसकेको जानकारी दिनुभयो ।

उहाँले सङ्घले आँखा उपचारको साथ साथै कानको उपचार सेवालाई विसं २०६९ देखि विस्तार गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घद्वारा सञ्चालित अस्पतालबाट कानसम्बन्धी उपचार सेवा विस्तार गरेको हो । विसं २०७७ देखि सिबिएमको आर्थिक सहयोगमा कर्णाली प्रदेशमा एकीकृत कान तथा आँखा परियोजना प्रारम्भ समेत गरेको छ ।

दृष्टिविहीनलाई निःशुल्क ज्योति

सङ्घका महासचिव भरतबहादुर चन्दले सङ्घले वर्षेनी हजारौँ दृष्टिविहीनलाई निः शुुल्क ज्योति प्रदान गर्दै आइरहेको बताउनुभयो । उहाँका अनुसार सरदरमा सङ्घले वार्षिक २० हजारभन्दा बढी बिरामीको आँखाको शल्यक्रिया निःशुल्क गर्दै आइरहेको छ । सङ्घले सङ्घीय सरकार, प्रदेश सरकार, विभिन्न स्थानीय निकाय तथा विकास साझेदारसँगको सहकार्य तथा सङ्घद्वारा सञ्चालित अस्पतालले आफ्नै स्रोतमा निःशुल्क शल्यक्रिया सेवा प्रदान गर्दै आइरहेको हो ।

उहाँले भन्नुभयो, “सङ्घले आर्थिक अभावका कारण कोही पनि नागरिकले दृष्टिविहीन जीवनयापन गर्न बाध्य नहुन भन्ने हेतुले जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवा प्रदान गरिरहेको छ र सोका लागि विभिन्न निकायसँगको साझेदारीमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसबाट धेरै गरिबीको रेखामुनी नेपाली नागरिकले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सेवा पाइरहेका छन् ।”

आर्थिक अभाव र जानकारीको अभावमा वर्षौदेखि दृष्टिविहीन जीवन बिताइरहेका उनीहरुलाई नेत्रज्योतिको यो कार्यक्रमले नयाँ जीवन नै प्रदान गरेको बताइएको छ । उहाँले सङ्घले मोतिविन्दुका बिरामीको शल्यक्रियाका लागि उच्चतम प्रविधि भित्रायायको छ यसले गर्दा सल्यक्रिया गरेको केही घण्टामै बिरामी आफ्नो सामान्य दैनिकीमा फर्किन सक्ने जानकारी दिनुभयो ।

सबै नागरिकलाई समतामूलक तथा बृहत आँखा स्वास्थ्य सेवा दिनका लागि मोतिविन्दुका अलावा दृष्टिदोष, बालदृष्टि विहिनता, जलबिन्दु, कोर्नियल अल्सर, डाइवेटिक रेटिनोपेथी, न्यूनदृष्टि, पुर्नस्थापकिय सेवासम्बन्धी राष्ट्रिय सेवा प्रदान गर्दै आइरहेको उहाँले बताउनुभयो ।

सङ्घले हाल देशभरिमा २८ आँखा अस्पताल स्थापना गरिसकेको छ । सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले सङ्घद्वारा सञ्चालित २७ आँखा अस्पतालले अहिले दशैभरि जनताको घरदैलोमा सहज, सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवा प्रदान गरिरहेकोे बताउनुभयो ।

उहाँका अनुसार सङ्घले आँखा अस्पतालको अलावा एक सय ५६ आँखा उपचार केन्द्रहरुको स्थापना गरेको छ । जहाँबाट प्राथमिक तहको आँखा उपचार सेवा प्रवाह हुन्छ । उहाँका अनुसार मानिसमा देखिने आँखासम्बन्धी करिब ८० प्रतिशत समस्याको समाधान आँखा उपचार केन्द्रबाट नै हुने गर्दछ । सङ्घको अहिले सात वटै प्रदेश र ४३ जिल्लामा जिल्ला शाखाको स्थापना भइसकेको छ ।

सङ्घमा आबद्ध करिब १० हजार स्वयं सेवकको अथक प्रयास र मिहिनतबाट सङ्घले उपलब्धि हासिल गर्न सफल भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक अभाव र भौगोलिक विकटताका कारण कोही पनि मानिस आँखा उपचारबाट वञ्चित नहुन् भनेर सङ्घले विभिन्न समयमा देशका विकट क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ ।”

सन् १९८१ म गरिएको राष्ट्रिय सर्वेक्षणले नेपालमा अन्धोपनको स्थिति ०.८४ प्रतिशत रहेको देखाएको थियो । यसको ठीक ३० वर्षपछि सन् २०२१ मा गरिएको अध्ययनले नेपालमा अन्धोपनको स्थिति घटेर ०.२८ प्रतिशतमा झरेको थियो । नेपालको अन्धोपन न्यूनीकरण कार्यमा प्राप्त यो सफलतामा सङ्घको भूमिका महत्वपूर्ण रहेको बताइएको छ ।

आँखा उपचार र दृष्टिविहीनता न्यूनीकरणमा कोशेढुङ्गाा बन्न सफल सङ्घले सन् २०३० सम्ममा नेपालका हरेक स्थानीय तहसम्म नियमित आँखा उपचार सेवालाई विस्तार गर्ने लक्ष्य लिएको कार्यकारी निर्देशक डा मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको विज्ञान र प्रविधिको आधुनिक युगमा कोही पनि आँखा उपचार सेवाको पहुँच टाढा नहोस् भन्ने हेतुले अहिले सङ्घले आफ्ना योजना एवं कार्यक्रम अगाडि बढाएको छ । सङ्घले हालै मात्र आफ्नो पाँच वर्षे रणनीतिक योजना तयार पारेको छ । उक्त योजनाले नेपालमा बढीभन्दा बढी मानिसलाई आँखा उपचार सेवा प्रवाह गर्दै नेपाललाई आँखा उपचारका लागि पर्यटन गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।” नेत्र रोग विशेषज्ञ डा रामप्रसाद पोखरेलको सक्रियतामा विसं २०३५ चैत १३ गते सङ्घको स्थापना भएको थियो ।

फेवा नव वर्ष महोत्सव : पर्यटकीय राजधानीको महिमा र गरिमा बढ्नुपर्नेमा जोड

गण्डकी, १२ चैत : पोखरामा यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म होटेल सङ्घ पोखरा नेपालले गर्न लागेको १९औँ फेवा नव वर्ष महोत्सव पर्यटकीय राजधानीको गरिमा र महत्व बढाउने किसिमको हुनुपर्नेमा पर्यटन सम्बद्ध क्षेत्रका अगुवाले जोड दिएका छन् ।

महोत्सवका सन्दर्भमा आज सङ्घले आयोजना गरेको छलफल एवम् अन्तरक्रियामा सहभागीले यही चैत ४ गते पर्यटकीय राजधानी घोषणा भएको पोखरामा हुनलागेको महोत्सवमा यसको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्नुपर्ने बताए ।

पोखराको फिस्टेल गेटदेखि हल्लनचोकसम्म हुने महोत्सवमा नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै पछिल्लो पुस्ताको इच्छा र रुचिसमेतलाई दृष्टिगत गरी कार्यक्रमको तयारी गरिएको सङ्घका अध्यक्ष एवम् महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिनुुभयो ।

महोत्सवलाई भव्य र सभ्य बनाउन गठित विभिन्न २१ वटा उपसमितिले आआफ्नो तयारी तीव्र बनाएको बताउँदै उहाँले यसैका सन्दर्भमा पोखराका विभिन्न पर्यटकीय सङ्घसंस्थाका तर्फबाट भारी छुट प्रदान गरिएको जानकारी गराउनुुभयो ।

महोत्सवमा सांस्कृतिक कार्यक्रम, पञ्चेबाजा, नाचगानका कार्यक्रम, दोहोरी र कन्सर्ट समेटिने उल्लेख गर्दै सुवेदीले यसपटक ड्यामसाइड क्षेत्रसमेतमा विविध गतिविधि सञ्चालन गरिने बताउनुुभयो । महोत्सवमा पर्यटक दौड र सम्भव भएसम्म डुङ्गा दौडसमेत समेटिने उहाँको भनाइ छ । पर्यटन, संस्कृति र खानालाई जोड दिएर गरिएको महोत्सवले कोरोना महामारीलगायतका कारण प्रभावित पर्यटनलाई चलायमान बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।

अन्तरक्रियामा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले महोत्सवको प्रचारका लागि डिजिटल मार्केटिङलाई जोड दिन र भारतीय सञ्चारकर्मीसमेतलाई आमन्त्रण गर्न सुझाव दिनुुभयो । पोखरालाई पर्यटनको राजधानीको रुपमा घोषणा गरिएपछि यसलाई एउटा ब्राण्डको रुपमा प्रचारप्रसार गर्न उहाँले सुझाव दिनुुभयो ।

कार्यक्रममा सङ्घका निवर्तमान अध्यक्ष विकल तुलाचन, महासचिव राजेन्द्र ढकाल, पोखरा उद्योग वाणिज्य सङ्घ, पर्यटनसम्बद्ध संस्था टान गण्डकी, नाट्टा गण्डकी, महिला पर्यटन व्यवसायी मञ्च, पोखरा पंक्षी समाज, नेपाल हवाई खेलकूद संस्थालगायतका तर्फबाट अध्यक्ष तथा प्रतिनिधिले फेवा नव वर्ष महोत्सव पोखराको पहिचान बनिसकेको बताउँदै पर्यटकीय राजधानी घोषणासँगै हुनलागेको महोत्सव भव्य र सभ्य बन्नुपर्नेमा जोड दिनुुभएको थियो । उक्त अवसरमा महोत्सवलाई सफल पार्न आफ्ना संस्थाकातर्फबाट साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरिएको थियो ।

नागरिकबीचको प्रेम, एकता र भाइचाराको पर्व होली : राष्ट्रपति मुर्मू

होली पर्वले मानिसमा प्रेम, एकता र भाइचाराको भावनालाई बढावा दिने भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले बताउनुभएको छ । हर्षोल्लासका साथ रङ खेलेर मनाइने होली पर्व भारतमा यो बर्ष मार्च २५ (सोमबार) परेको छ । पर्वको सुरूवात ‘होलिका दहन’ भनिने आगो जलाउने अनुष्ठानसहित गरिन्छ जसले राक्षस होलिकालाई जलाएको सन्दर्भलाई सङ्केत गर्दछ ।

यो पर्व भगवान कृष्ण प्रति समर्पित छ जसले उत्तर प्रदेशको ब्रज नामक क्षेत्रमा धेरै समय बिताएको विश्वास गरिन्छ । यसले होलीको भावनालाई मात्र नक्कल नगरी राधा र कृष्णको कालातीत प्रेमको प्रतिरूप पनि झल्काउँछ ।

राष्ट्रपति मुर्मूले होली पर्वको पूर्वसन्ध्यामा आइतबार एक सन्देश जारी गरी देश विदेशमा रहेका सम्पूर्ण भारतीय नागरिकलाई शुभकामना दिनुभएको छ । सन्देशमा उहाँले रङहरू खेलेर मनाइने यो पर्वले आपसी एकता र भाइचाराको भावनालाई जागृत गर्ने बताउनुभएको छ ।

राष्ट्रपति मुर्मूले आफ्नो सन्देशमा होली पर्व एउटा जीवन्त र उल्लासपूर्ण पर्व भएकाले यसले मानव जीवनमा आशा र उत्साह जगाउने बताउनुभयो । होलीका विभिन्न रङहरू देशको विविधताको प्रतीक भएको बताउँदै होली पर्वले जनतामा प्रेम, एकता र भाइचाराको भावनालाई बढावा दिई सांस्कृतिक मूल्य मान्यतालाई सुदृढ बनाउन नागरिकलाई प्रेरणा दिने उल्लेख गर्नुृभयो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आइतबार होलीको अवसरमा एक सन्देश जारी गर्दै देश विदेशमा रहेका सम्पूर्ण नागरिकहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ । सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री मोदीले देशका सबै नागरिकहरूलाई होलीको शुभकामना दिनु भएको हो । उहाँले भन्नुभयो, “स्नेह र सद्भावका रङहरूले सजाइएको परम्परागत पर्वले सबैको जीवनमा नयाँ ऊर्जा र उत्साह ल्याओस् ।” रङको यो पर्वले सबैको जीवनमा खुशी ल्याउने र सबैलाई नयाँ जोशका साथ राष्ट्र निर्माणका लागि प्रेरित गर्ने उहाँले बताउनुभयो ।

त्यसैगरी, भारतका संघीय गृहमन्त्री अमित शाहले जनताको जीवनमा सुख, समृद्धि, सद्भाव र नयाँ ऊर्जाको कामना गर्दै रङको पर्व होलीको शुभकामना दिनुभएको छ ।

रक्षामन्त्री राजनाथ सिंहले पनि होलीको अवसरमा देशवासीलाई शुभकामना दिनुभएको छ । “होलीले जीवनमा आनन्द, उत्साह र नयाँ ऊर्जाको संचार गरोस्,” सिंहद्वारा एक्समार्फत सम्प्रेषित शुभकामना सन्देशमा उल्लेख छ ।

श्रीलङ्काकाको बेरोजगारी दरमा सामान्य कमी

श्रीलङ्काको आधिकारिक बेरोजगारी दर सन् २०२३ को अन्तिम त्रैमासिकमा ४.३ प्रतिशतमा झरेको श्रीलङ्काको तथ्याङ्क विभागले जानकारी गराएको छ । अघिल्लो त्रैमासिकमा उक्त दर ४.७ प्रतिशत रहेको थियो ।विभागले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तेस्रो त्रैमासिकमा १.६ प्रतिशत र २०२३ को चौथो त्रैमासिकमा ४.५ प्रतिशतले विस्तार भएको उल्लेख गरेको छ ।

अर्थतन्त्रको सबैभन्दा खराब सङ्कटलाई व्यवस्थापन गरिएसँगै अहिले श्रम बजारमा मानिसले अवसर खोज्न थालेको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ । सङ्कटको प्रभावका कारण हालसम्म धेरै कम्पनीहरूले आफ्ना पूराना कामदारलाई सेवा निवृत्त गर्नुका साथै नयाँ रोजगारीका अवसरलाई रोकेका थिए ।

अहिले देशको अर्थतन्त्रले सुधारको सङ्केत देखाउँदै पुन ः लयमा फर्किन थालेको छ । विगत दुई वर्षमा श्रीलङ्कामा सामूहिक बसाइँसराइ देखेको र कम्पनीहरूले रोजगारीमा पुनः नयाँ भर्ना गर्न थालेका तर नयाँ भर्नामा योग्य कामदारको कमी देखिन सक्ने विभागले जानकारी गराएको छ ।

विभागले ४.३ प्रतिशतको आधिकारिक बेरोजगारी दरले पूर्ण रोजगारीको नजिक प्रतिबिम्बित गरेको र यसले श्रम बजार अवस्थालाई कसिलो भएको पनि सङ्केत गरेको विभागले उल्लेख गरेको छ ।

सोमालियाको जेलमा रहेका ३३ इरानी रिहा

सोमालियाले इरानमा थुनामा रहेका ३३ जना इरानी मछुवा र डुङ्गा चालकलाई रिहा गरेको सरकारी समाचार संस्था इरनाले आइतबार जनाएको छ ।

केन्याका लागि इरानका राजदूत अली घोलमपुरले रिहा भएका इरानीहरूलाई आफ्नो देशमा स्थानान्तरण गर्न लागिएको जानकारी दिँदै सोमालियाका अधिकारीहरूले वर्षौंको कूटनीतिक गतिरोधपछि इरानसँगको सम्बन्धलाई पुनर्जीवित गर्ने प्रक्रियामा अघि बढ्न तत्परता व्यक्त गरेको बताउनुभयो ।

घोलमपुरले सोमालियाले इरानी नाविक र मछुवाहरूको रिहाइले द्विपक्षीय सम्बन्ध पुनः सुरु गर्न सकारात्मक वातावरण सिर्जना गर्न र इरान र सोमालियाबीच रचनात्मक अन्तरक्रिया र संवादका लागि मार्ग प्रशस्त गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “दुबै पक्षको एजेन्डामा प्राथमिकताहरू मध्ये एक मत्स्य सहयोग सम्झौताको मस्यौदा गर्नु हो जसले द्विपक्षीय हितको रक्षा गर्न सक्छ र सोमालियाद्वारा इरानी माछा मार्ने जहाजहरूको कब्जाको पुनरावृत्ति रोक्न सक्छ ।”

इरानका अनुसार सन् २०२३ को ग्रीष्मऋतुमा सोमालियाले इरानीहरूलाई वैध अनुमतिबिना हिन्द महासागरमा काम गरेको आरोपमा पक्राउ गरेको थियो र पछि उनीहरूलाई ६ वर्षको जेल सजाय र लाखौं अमेरिकी डलर जरिवानाको सजाय सुनाएको थियो ।
सन् २०१६ मा ‘सोमालियाको आन्तरिक मामिलामा इरानको निरन्तर हस्तक्षेप’ को कारण देखाउँदै सोमालियाले इरानसँग सम्बन्ध तोडेको थियो ।

पाकिस्तानद्वारा दोस्रो चरणको अफगानी शरणार्थी फिर्ता सुरु गर्ने

पाकिस्तानले कागजातसहितका करिब १० लाख अफगानी शरणार्थीलाई फिर्ता पठाउने अभियानको दोस्रो चरणको कार्यक्रम अघि बढाउने तयारी सुरु गरेको छ । यसका लागि पाकिस्तानका जिल्ला अधिकारीहरू तथा प्रहरीलाई उनीहरूको तथ्याङ्क सङ्कलन गर्न आदेश दिइएको पाकिस्तानी पत्रिका ‘डन’ ले अधिकारीहरूलाई उद्धृत गरी समाचारमा जनाएको छ ।

अफगान सिटिजन कार्ड (एसीसी) धारी शरणार्थीको प्रमाणीकरण द्रूत बनाउन जिल्ला प्रशासन र प्रहरीलार्ई निर्देशन जारी गरिएको एक अधिकारीले बताएका छन् । अहिलेसम्म कुनै मिति भने घोषणा नगरिएको यद्यपि अधिकारीले पाकिस्तानको संघीय सरकारबाट अनुमति प्राप्त भएपछि कागजात प्राप्त अफगानहरूलाई फिर्ता गर्ने अभियान गर्मी यामको सुरुदेखि मध्यसम्म सुरु हुनसक्ने ती अधिकारीले बताए ।

डन पत्रिकासँग कुरा गर्दै खैबर पख्तुनख्वाका अतिरिक्त मुख्य सचिव आबिद मजीदले प्रमाणीकरण प्रक्रिया सुरु गरिसकेको बताउँदै रमजान पछि यसले गति लिने तथा अप्रिल ३० अघि सर्वेक्षण पूरा हुँने विश्वास ब्यक्त गर्नुृभयो । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर) का अनुसार अफगानिस्तानमा वैधरूपमा २१ लाख ८० हजार अफगान शरणार्थीहरू छन् । योमध्ये २००६/७ मा गरिएको जनगणना अनुसार १३ लाख शरणार्थीहरूको दर्ता प्रमाण (पीओआर) कार्डहरू छन् भने थप ८८ हजार शरणार्थीहरूले २०१७ पछि नागरिकता पेश गरेका छन् ।

अगस्ट २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि अफगानहरू सुरक्षाको खोजीमा पाकिस्तान आइपुगेका थिए । अधिकारीहरूका अनुसार पाकिस्तान पुगेका अफगानहरूको सङ्ख्या छदेखि आठ लाखको बीचमा थियो । योमध्ये केहीसँग वैध यात्रा कागजातहरू रहेको जनाइएको छ । यसअघि नोभेम्बरमा, पाकिस्तानले ‘कागजात विहीन विदेशीहरू’ भनेर वर्णन गरेको पहिलो चरणको स्वदेश फिर्ती सुरु गरेको थियो ।

पाकिस्तानी अधिकारीहरूले नोभेम्बर २०२३ देखि अनुमानित १७ लाख कागजात विहीन अफगानीमध्ये कतिजना पाकिस्तान छोडेर गएका छन् भन्नेबारेमा कुनै आधिकारिक तथ्याङ्क जारी गरेका छैनन् । पाकिस्तानको स्वदेश फिर्ती अभियानको पहिलो चरणमा खैबर पख्तुनख्वा र बलुचिस्तान हुँदै अफगानिस्तान फर्केका कागजात विहीन अफगानहरूको कुल सङ्ख्या करिब पाँच लाख पुगेको डनले जनाएको छ । आठ लााख ८० हजार नागरिकता धारी अफगानी शरणार्थीमध्ये कतिजना पाकिस्तानमा छन् वा तीमध्ये कतिजनाले स्वेच्छाले अफगानिस्तान फर्कने निर्णय गरेका छन् भन्ने थाहा छैन ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पहिले कागजात विहीन अफगानहरूको फिर्तीलाई ‘अस्वीकार्य’ भन्नु भएको थियो भने हाल पाकिस्तानबाट उदारताका साथ थप शरणार्थी स्वीकार गर्नुभएको छ ।