`

सहकारीपीडितको माग सम्बोधन गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ, ६ चैत : राष्ट्रिय मानवअधिकार आयोगले सहकारीपीडित बचतकर्ताको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । शान्तिपूर्ण प्रदर्शन तथा सभा सम्मेलन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकारको संरक्षण गर्न र अध्ययन समितिले गत भदौमा प्रधानमन्त्रीलाई पेस गरेको प्रतिवेदनको शीघ्र कार्यान्वयन गरी पीडित बचतकर्ताको माग सम्बोधन गर्न आयोगले आग्रह गरेको हो ।

सहकारीपीडित बचतकर्ताले काठमाडौँमा यही चैत १ गते आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीबाट भएको बल प्रयोगबाट प्रदर्शनकारी घाइते भएको अवस्थाप्रति आयोगले ध्यानाकर्षण भएकोसमेत जनाएको छ । सहकारीपीडितले शान्तिपूर्ण प्रदर्शन, सुन्धारामा भएको ¥याली तथा भृकुटीमण्डपमा गरिएको कोणसभाको आयोगले अनुगमन गरेको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले राससलाई जानकारी दिनुभयो ।

यही चैत १ गते साँझ करिब ७ बजेपश्चात् सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीलगायतका अन्य केही व्यक्तिलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको भनी आयोगमा ज्ञापनपत्र प्राप्त भएकोसमेत आयोगले जनाएको छ । आयोगका अनुसार यस सम्बन्धमा आयोगमा उजुरीसमेत दर्ता भएको छ । प्रहरीको कुटपिटबाट घाइते भएका अभियानका अध्यक्ष केसी यही चैत १ गतेदेखि अनशनमा रहनुभएको छ ।

अध्यक्ष केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको आयोगलाई जानकारी प्राप्त भएको जनाइएको छ । पीडित बचतकर्ताले हालसम्म ३०२ सहकारीका पीडित अभियानमा जोडिन आएको आयोगको टोलीलाई बताएका छन् । आयोगले अनशनरत केसीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको समस्याको समाधान गर्न माग गरेको छ ।

गाजाको ‘शतप्रतिशत’ जनसङ्ख्या ‘गम्भीर खाद्य असुरक्षाको अवस्थामा’ : ब्लिन्केन

गाजाको सम्पूर्ण जनसङ्ख्याले ‘गम्भीर स्तरको खाद्य असुरक्षा’ को सामना गरिरहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलबार बताउनुभएको छ ।

समस्याको समाधानका लागि गाजामा सहायता सामग्रीको बढीभन्दा बढी ढुवानी आवश्यक रहेको उहाँले बताउनुभयो ।

फिलिपिन्सको औपचारिक भ्रमणमा रहेका ब्लिन्केनले फिलिपिन्समा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “खाद्य असुरक्षाको मापन गर्ने सबैभन्दा मान्य उपाय अपनाएर गरिएको अध्ययनले गाजामा शत प्रतिशत जनसङ्ख्या तीव्र खाद्य असुरक्षाको गम्भीर स्तरमा रहेको देखाएको छ । यो गाजाको इतिहासमा नै सम्भवतः पहिलो जटिल खाद्य सङ्कट हो ।”

ब्लिन्केनको यो भनाइ मध्यपूर्वका साउदी अरब र इजिप्टमा गाजा युद्धविरामको लागि प्रयास र सहायता वितरण बढाउने प्रयासको बारेमा छलफल गर्न फर्कने तयारी भइरहँदा आएको हो ।

संयुक्त राष्ट्रसङ्घ समर्थित खाद्य सुरक्षा मूल्याङ्कनले सोमबार सार्वजनिक प्रतिवेदनमा आधा गाजावासीले ‘खतरनाक’ भोकमरीको सामना गरिरहेका र तत्काल हस्तक्षेप नगरे सन् २०२४ मे महिना सम्ममा यस क्षेत्रको उत्तरी क्षेत्रमा नागरिकहरूले अनिकाल र भाकमरीको सामना गर्नुपर्ने अनुमान गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले घेराबन्दीमा परेको प्यालेस्टाइनी क्षेत्रमा निर्वाध रूपमा सहयोग गर्न दिन इजरायललाई आग्रह गर्नुभएको छ ।

गत अक्टोबर ७ मा हमासले इजरायलमाथि अकल्पनीय आक्रमण गरेपछि बदलामा इजरायलले गाजामा हमासविरूद्धको कारबाही सुरू गरेपछि गाजामा अहिलेसम्मकै सबैभन्दा रक्तपातपूर्ण युद्ध सुरु भएको थियो ।

इजरायलले हमासद्वारा सञ्चालित प्यालेस्टाइनी क्षेत्रमा निरन्तर बमबारी अभियान र जमीनी आक्रमणबाट आफूविरूद्ध हमासले गरेको आक्रमणको बदला लिइरहेको छ ।

सहायता निकायहरूले गाजा र विशेष गरी यसको उत्तरमा पहुँच प्राप्त गर्न ठूलो कठिनाइ भइरहेको बताएपछि संयुक्त राष्ट्रसङ्घले हप्तौँदेखि गाजामा अनिकाल पर्न सक्ने चेतावनी दिँदै आएको छ ।

“अनिकालको लागि प्राविधिक मापदण्ड अझै पूरा भएको छैन तर सबै प्रमाणले मृत्यु र कुपोषणको ठूलो वृद्धितर्फ सङ्केत गर्दछन्,” गाजाका लागि एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) साझेदारीसँग सम्बन्धित अधिकारीहरूले बताएका छन् ।

‘विल्ड अन’ले सीमा बस्तीमा विद्यालय निर्माण थाल्यो

महेन्द्रनगर (कञ्चनपुर), ६ चैत : गैर सरकारी संस्था ‘विल्ड अन’ले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको सीमा बस्तीमा आधारभूत विद्यालय भवन निर्माण थालेको छ । दोधारा चाँदनी–३ बडुवाल टोलस्थित गणेश आधाभूत विद्यालयको तीन कोठे पक्की भवन र दुई कोठे शौचालय निर्माण थालेको हो ।

दोधारा चाँदनी नगरपालिकाका उपप्रमुख गङ्गादेवी जोशीले उक्त विद्यालय भवनको शिलान्यास गर्नुभयो । विद्यालय भवन निर्माणका लागि ‘विल्ड अन’मा आवद्ध विभिन्न मुलुकका सहयोगी दाता श्रमदानका लागि दोधारा चाँदनी पुगेका छन् ।

“विदेशी दाताहरुले स्वयम् संस्थामार्फत विद्यालय भवन निर्माण गर्न श्रमदान गर्नेछन्”, विल्ड अन धनगढीका सहायक निर्देशक झरना बमले भन्नुभयो । उहाँका अनुसार संस्थाले कैलाली, कञ्चनपुरका साथै बाँके र बर्दियामा आर्थिक अवस्था कमजोर भएका, भवन अभावको समस्या भोगिरहेका विद्यालय छनोट गरी भवन बनाउन सहयोग गर्दै आएको छ ।

“दोधारा चाँदनी नगरपालिकासँगको संयुक्त साझेदारीमा बन्ने विद्यालय भवनको निर्माण अवभि एक सय ६ दिन रहेको छ”, बमले भन्नुभयो–“दाताहरुका साथै स्थानीयको पनि श्रमदान रहनेछ ।” भवन निर्माणका लागि अमेरिका, फ्रान्स, बेलायतलगायत मुलुकका १९ जना यहाँ आउनुभएको छ । स्थानीय तहले निर्माण सामग्री उपलब्ध गराउने गरी सहकार्य गरेको छ । भवन निर्मण सम्पन्न भएपछि संस्थाले फर्निचरलगायत सामग्री उपलब्ध गराउने छ ।

सरकारको साझा सङ्कल्प : निराशा चिर्दै, भरोसा जगाउँदै ! (पूर्णपाठसहित)

काठमाडौँ, ६ चैत : सरकारमा सहभागी पाँच राजनीतिक दलहरुले राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दृढताका साथ ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गरेका छन् ।

सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित विशेष समारोहकाबीच सार्वजनिक उक्त साझा सङ्कल्पमा विद्यमान आर्थिक शिथिलता अन्त्य गर्ने, वित्तीय संस्थालाई विसङ्गति मुक्त बनाउने, सङ्घीयता कार्यान्वयन र सार्वजनिक संरचनागत सुधार गर्ने, भौतिक पूर्वाधार विकासमा अन्तर निकाय समन्वय मिलाउने, सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याइ मुलुकमा दिगो शान्ति कायम गर्ने, राष्ट्रियहितको रक्षा र स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीति अङ्गीकार गर्ने उल्लेख छ ।

सङ्कल्पपत्रमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको छ । न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पको पूर्णपाठ यसप्रकार छ ः

पाँच राजनीतिक दलको
न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प

प्रस्तावना

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अमूल्य जीवन उत्सर्ग गर्नुहुने प्रातः स्मरणीय महान् सहिदहरूप्रति श्रद्धासुमन, आन्दोलनको नेतृत्व गर्नुहुने अग्रजहरूप्रति उच्च सम्मान र बेपत्ता परिवार, घाइते, अपाङ्गता भएका र आन्दोलनमा अमूल्य योगदान दिनुहुने आमजनसमुदायप्रति हार्दिक आदरभाव प्रकट गर्दै संविधानको मर्म र भावनाविपरीत राज्यसञ्चालनमा प्रकट विचलन रोकी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहिनता एवं व्यावसायिक निराशालाई चिर्दै जनतामा राज्यप्रति आशा र भरोसा पैदा गर्न, समाजमा, विशेषतः युवाहरुमा प्रकट नैराश्यता, आक्रोस र नकारात्मक सोंचमा परिवर्तन गरी सबै सङ्घर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धिको रक्षा गर्न, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता तथा भौगोलिक अखण्डता र नेपाल राष्ट्र तथा नेपाली जनताको सर्वोपरी हितलाई केन्द्रमा राखी सुदृढ र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न, प्रत्येक नेपालीलाई आफ्नो इतिहास र स्वाभिमान, सङ्घर्ष र बलिदान, परिवर्तन र उपलब्धिप्रति गौरव बोध गराउन, राष्ट्रिय आवश्यकता तथा जनचाहनाअनुरूप समाजवादोन्मुख आर्थिक–सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने सङ्कल्पका साथ, वर्तमान सरकारमा सहभागी हामी नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) देहायबमोजिमको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक गर्दछौँ ः

आर्थिक शिथिलता अन्त्य गर्ने

अर्थतन्त्रमा उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तीव्रता दिने । सुस्त कर्जा प्रवाह र पुँजीगत सार्वजनिक खर्चको न्यूनताजस्ता समस्याको समाधान गर्ने, वित्तीय र मौद्रिक नीतिबीच समन्वय गर्दै, तात्कालिक र मध्यकालीन लगानी र रोजगार–मैत्री नीतिगत सुधारमा बाधा पु¥याउने विभिन्न कानुनहरु संशोधन गर्ने, सार्वजनिक वित्तको दिगो व्यवस्थापनमा चुनौतीका रूपमा रहेको राजस्व र खर्चबीच बढिरहेकोे अन्तरलाई कम गर्न राजस्व सुधार, सरकारी खर्चमा मितव्ययिता, वैदेशिक सहयोगका नवीन स्रोतहरूको पहिचान र परिचालन गर्ने, विप्रेषण आप्रवाहलाई उत्पादनशील गतिविधिमा लगाउने र सेयर बजारलाई नीतिगत सुधारमार्फत चलायमान बनाउने, सहुलियतमा रहेको हरित वित्त, अन्तर्राष्ट्रिय बजारमा पहुँच र प्रविधि हस्तान्तरणलाई केन्द्रबिन्दुमा राखी अतिकम विकसित राष्ट्रको दर्जाबाट स्तरोन्नति भएपछिको सङ्क्रमणकालीन रणनीति कार्यान्वयन गर्ने, पन्ध्रौँ योजनाको कार्यान्वयन अवस्थाको वस्तुनिष्ठ समीक्षासहित सोह्रौँ राष्ट्रिय योजना प्रारम्भ गर्ने । यस आवधिक योजना आरम्भ गर्दा डिजिटलाइजेसन, पर्यटन, कृषि, ऊर्जा र हरित औद्योगिकीकरणलाई रोजगारमूलक आर्थिक वृद्धि एवं संरचनात्मक रूपान्तरणका नयाँ आधारका रूपमा परिभाषित गर्दै सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गरी ‘सम्मानजनक मध्यम आय भएको अर्थतन्त्र’ निर्माण गर्ने ।

वित्तीय संस्थालाई विसंगति मुक्त बनाउने

वित्तीय संस्थाहरूमा उत्पन्न समस्या समाधान गर्न विभिन्न समयमा गठित आयोगहरूका सुझावलाई क्रमशः कार्यान्वयन गर्दै सहकारी, लघुवित्त संस्था एवं अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्ने । सहकारी कर्जा असुली न्यायाधिकरणको गठन गर्ने र सहकारी बचत तथा कर्जा सुरक्षण कोष सुरुआत गर्ने, ठूलो कारोबार गर्ने सहकारीलाई केही समय राष्ट्र बैंकको नियमन र सुपरीवेक्षणमा राख्न कानुनी प्रबन्ध गर्ने, वचत तथा ऋण सहकारी संस्थाका नाममा रहेका सम्पत्तिको धितोमा नेपाल राष्ट्र बैंकबाट छोटो अवधिको पुनर्कर्जा उपलव्ध गराउने, हाललाई बचत तथा ऋण कारोबार गर्ने संस्थाको दर्ता र कार्यक्षेत्र विस्तार अनुमति तथा सेवा केन्द्र स्वीकृति बन्द गर्ने, लघुवित्तका ऋणीहरूको कर्जा पुनर्तालिकीकरण तथा पुनःसंरचनाको व्यवस्था गर्ने ।

सङ्घीयता कार्यान्वयन र सार्वजनिक संरचनागत सुधार

सङ्घीयता कार्यान्वयनका समस्या समाधान गर्ने । सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न, सुशासन प्रवद्र्धन गर्न, व्यावसायिक वातावरण निर्माणमा असहज र असान्दर्भिक नीति तथा कानुनमा परिमार्जन गर्ने । सङ्गठन संरचनामा कायम रहेको दोहोरोपना हटाइ चुस्त र मितव्ययी संरचना निर्माण गर्ने । राज्यका निकायबीच अन्तर–समन्वय कायम गरी प्रविधि–आधारित, सुधार–निर्देशित अनुगमन प्रणाली स्थापना गर्ने । समावेशिता, धर्मनिरपेक्षता सहित सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने । आमनागरिकलाई सहज र छरितो ढङ्गबाट निष्पक्ष न्यायको सुनिश्चितता गर्न न्यायपालिकाको संरचनागत सुधारका लागि सुझाव तथा सिफारिस गर्न उच्चस्तरीय आयोग गठन गर्ने, नागरिक प्रशासन, सुरक्षा निकाय, सार्वजनिक संस्थानलाई सक्षम र जनउत्तरदायी बनाउन नीति, संरचना र प्रणालीमा सुधार गर्नका लागि विज्ञ सम्मिलित कार्यदल गठन गर्ने ।

छरितो सेवा प्रवाहसँगै सुशासन

‘सार्वजनिक पदमा रहेका सबै भ्रष्ट, सबै निकम्मा’का रूपमा व्याप्त भावनालाई बदल्न ‘बेइमानी गर्नेले कानुनीरूपमा सजाय पाउँछ’ भन्ने उदाहरण प्रस्तुत हुनेगरी सार्वजनिक प्रशासन, न्यायालय र सम्बद्ध नियामक निकायहरूमा जवाफदेहिता सुनिश्चित गर्ने । ‘लाइनमा रहेका सबैको पालो आउँछ’ भन्ने मान्यतालाई बल पु¥याउने दिगो प्रणाली विकास गरी जनतामा राज्यप्रतिको भरोसा जगाउने । कार्यसम्पादन करारसम्बन्धी विद्यमान निर्देशिकालाई परिमार्जन गरी प्रमुख पदमा बहाल कर्मचारीहरूसँग वस्तुनिष्ठ मूल्याङ्कन र मापनयोग्य परिसूचकहरूका आधारमा कार्यसम्पादन सम्झौता गर्ने, राष्ट्रिय परिचयपत्रलाई प्रचलनमा ल्याउने । फरकफरक कार्यालयमा नागरिकतालगायत कागजात पटकपटक बुझाउनुपर्ने झन्झटलाई हटाउन नागरिक एपलाई सुदृढ गरी त्यसैमार्फत सबै प्रकारको सेवा उपलब्ध गराउने । सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागू गर्ने, सार्वजनिक खरिद प्रक्रियामा उच्चतम दक्षता र सदाचार सुनिश्चित गर्न आवश्यक कानुनी र संस्थागत सुधार गर्ने । सार्वजनिक खरिद अनुगमन कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रलाई परिणाममुखी र प्रभावकारी बनाउन आवश्यक सुधार गर्ने ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनसहित अधिकारसम्पन्न बनाई भ्रष्टाचार नियन्त्रण र सदाचारको प्रत्याभूति गर्ने । भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाउने । भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाली समाजमा स्थापित गर्ने ।

काम–रोजगारी–उद्यमशीलता र स्वदेशी उत्पादन

स्वदेशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गर्दै राष्ट्रिय पुँजीको विकास गर्ने । कृषिलाई आर्थिक वृद्धि, रोजगारी सिर्जना, गरिबी निवारण, औद्योगिकरण, निर्यात व्यापार र आपूर्ती व्यवस्था अभिवृद्धिको प्रमुख क्षेत्रका रूपमा विकास गर्ने । भन्सार नियमनका माध्यमबाट समेत स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्ने । ज्याला रोजगारी र स्वरोजगार दुवै क्षेत्रमा कामको अवसर सिर्जना गर्ने गरी ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने । स्वदेशको रोजगारीलाई आकर्षक र मर्यादित बनाउने । वैदेशिक रोजगारीलाई सुरक्षित र सीप सिक्ने (स्कील गेन) माध्यम बनाउने ।

रोजगार बैंक, स्टार्टअप कोष र व्यवसाय तयारी केन्द्र (बिजनेश इन्कुवेसन सेन्टर) को स्थापना गरी मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई प्रवद्र्धन गर्ने, रोजगारी सिर्जना हुने क्षेत्रमा राज्यको लगानी बढाउने, ‘गिग’ अर्थतन्त्रमा युवाहरुको पार्ट–टाइम आबद्धतालाई प्रोत्साहित गर्ने, उद्योग–व्यापार र सेवालगायतका सबै क्षेत्रमा व्यावसायिक वातावरण सिर्जना गरी उद्यमी–व्यवसायीहरूको टुटेको मनोवललाई उठाउने । निजी क्षेत्रका सङ्घहरूकै साझेदारीमा हरेक पालिकाहरूमा ‘बजार मिल्दो, युवा केन्द्रित’ सीपमूलक कार्यक्रम सञ्चालन गर्ने, कृषिमा आधारित उद्योगमा संलग्न हुने नेपालीहरूलाई ऋण तथा सहुलियतका स्किमहरू ल्याउने । पालिकास्तरमा ‘भूमि बैंक’ जस्ता उपायबाट जमिनको व्यवस्था गर्ने । स्थानीय बैंक वित्तीय संस्थामार्फत पुँजीको व्यवस्था गर्ने । सिँचाइ, मल, औजार–उपकरण आदिको प्रबन्ध गर्ने । कृषिउपजको बीमा गर्ने, त्यसको समर्थन मूल्य तोक्ने र व्यावसायिक उत्पादनकर्तासँग अग्रिम खरिद सम्झौतासहितको प्रणाली विकास गर्ने, व्यवसाय, लगानी र व्यापारसँग सम्बन्धित अन्तर्राष्ट्रिय ‘बेञ्चमार्किङ’का सूचकाङ्कहरूमा सुधार गर्ने, उद्योग, कृषि तथा पशुपालन क्षेत्रमा आयात प्रतिस्थापनसँगै निर्यातको सम्भावना भएका उत्पादनमा आत्मनिर्भरता बढाउने योजना अघि बढाउन तरकारी, फलफूल र माछालगायतका खाद्यवस्तु, जुत्ता, सिमेन्ट, आँखाको इन्ट्राओक्युलर लेन्सलगायतका औषधि आदिको उत्पादन र उपयोगलाई प्राथमिकता दिने, आर्थिक सम्भाव्यताका रुग्ण उद्योगहरूलाई सार्वजनिक निजी साझेदारीको अवधारणाअनुरूप पुनःसञ्चलनमा ल्याउने । काम, रोजगारी र सामाजिक सुरक्षाका प्रबन्धबाट सबैका लागि नियमित कमाइ हुने वाताबरण बनाउने ।

शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा

सबैको समान पहुँच भएको, राष्ट्र, समाज तथा जीवनसँग जोडिएको र समय अनुरुप अनुमोदित हुने गुणस्तरीय शिक्षा नीति अवलम्बन गर्दै ‘उद्यमशील शिक्षित युवा’को नीति कार्यान्वयन गर्ने । मौलिक हकका रूपमा रहेको स्वास्थ्य, खाद्य, आवास र खानेपानीको अधिकार सुनिश्चित गर्ने । श्रमको सम्मान, मर्यादित काम, न्यायोचित ज्याला, सामाजिक सुरक्षा एवं असल औद्योगिक श्रम सम्बन्धलाई श्रम नीतिका आधारभूत मान्यताका रूपमा स्थापित गर्ने । मजदुर, किसान, श्रमजीवी र विपन्न वर्गलाई समृद्धिको केन्द्रमा राख्ने । निःशुल्क तथा अनिवार्य शिक्षासम्बन्धी ऐन तथा नियमावलीको मर्म र भावना कार्यान्वयन गरी जनताको शिक्षा पाउने अधिकार सुनिश्चित गर्ने, विश्वविद्यालयहरूमा विद्यमान समस्याको तत्काल समाधान गरी उच्च शिक्षाका निम्ति विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने । शिक्षा र रोजगारीकाबीचमा सन्तुलन कायम गर्ने, सरकारी र निजी क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा रहेको अन्तरलाई न्यूनीकरण गर्ने । डिजिटल माध्यम (इ–लर्निङ)को प्रयोग गरी शिक्षालाई आधुनिकीकरण गर्ने, अवकाश प्राप्त सरकारी कर्मचारी र इच्छुक बुद्धिजीवीलाई शैक्षिक क्षेत्र सुधारका लागि स्वयंसेवक शिक्षक बन्ने अवसरहरु सिर्जना गर्ने, नेपाल बाहिर दक्षता हासिल गरेको जनशक्तिले नेपालको शिक्षा क्षेत्रमा योगदान दिने वातावरण सिर्जना गर्ने । सबै जनतामा निरोगी रहने उपायबारे सचेतना अभिवृद्धि गर्ने । सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पु¥याउने । दायरा बढाउँदै किफायती स्वास्थ्य बीमा कार्यक्रममार्फत नागरिकको स्वास्थ्योपचार सहज बनाउने, सरकारी, सामुदायिक र निजी क्षेत्रबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चितताका लागि अधिकारसम्पन्न नियमनकारी निकाय राष्ट्रिय प्रत्यायन प्राधिकरण (नेशनल अक्रिडिटेसन अथोरिटी), रोग नियन्त्रण केन्द्र र खाद्य तथा औषधि नियमन प्राधिकरण बनाई स्वास्थ्य सेवाको नियमन गर्ने, आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने, भत्ताका रूपमा सुरु गरिएको सामाजिक संरक्षणका कार्यक्रम (जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका हितका कार्यक्रम आदि)लाई रूपान्तरण गर्न स्वदेश तथा विदेशमा, ज्याला रोजगारी तथा स्वरोजगारीमा रहेका सबैलाई समेट्ने गरी सुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम (स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष आदिले दिइरहेको सेवा) सुदृढ गर्ने, रोजगारीको उमेर भएका हरेक व्यक्तिलाई ‘काम अघि सामाजिक सुरक्षा नम्बर’को अनिवार्य व्यवस्था गरी नयाँ प्रणालीलाई प्रभावकारी र दिगो बनाउने । पालिकाहरूमा रहेको रोजगार सूचना केन्द्रमार्फत श्रमिक पञ्जीकरणको प्रणाली सुरु गरी श्रमजीवीहरूको तथ्याङ्क व्यवस्थित गर्ने ।

भौतिक पूर्वाधार विकास र अन्तर–निकाय समन्वय

राष्ट्रिय पूर्वाधारमा अन्तर निकाय समन्वय सुनिश्चित गर्ने । यातायात र सडकलाई आर्थिक विकासका पूर्वाधार, आपूर्ति व्यवस्थाको मेरुदण्ड, नागरिकले पाउने सुविधा एवं समुदाय–समुदायबीचको अन्तरसम्बन्धको माध्यमका रूपमा विकास गर्ने । पूर्वाधार विकासमा रहेको दोहोरोपन र भौगोलिक तथा प्रादेशिक असन्तुलन हटाउने । पूर्वाधार विकाससम्बन्धी आयोजनाहरू नीति, कार्यक्रम तथा बजेटमा पर्ने तर वर्षौंसम्म कार्यान्वयन नहुने अवस्थाको अन्त्य गर्ने ।

निर्माणाधीन पूर्वाधार आयोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिने । सम्पन्न भइसकेका आयोजनाहरूको तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाउने र समयमै कार्यसम्पन्न नगर्ने निर्माण कम्पनीहरूको लाइसेन्स खारेज गरी क्षतिपूर्ति असूल गर्ने । आयोजना प्रमुखहरूसँग कार्यसम्पादन करार गरी वृत्तिविकासको आधार अर्धवार्षिक मूल्याङ्कनको नतिजालाई बनाउने । अधुरा आयोजनाको निर्माणमा स्रोत सुनिश्चित गर्ने, वातावरणीय प्रभाव मूल्याङ्नसहित ‘साइट क्लिरेन्स’ जस्ता पूर्वतयारी गरेर मात्र नयाँ आयोजना सुरु गर्ने, परियोजनाको छनोट, खरिद, मोडालिटी र कार्यान्वयनलाई प्रभावकारी बनाउन राष्ट्रिय पूर्वाधार योजनासँगै ‘राष्ट्रिय प्राथमिकता प्राप्त केही आयोजनाको द्रूततर निर्माणसम्बन्धी ऐन (सनसेट–ल)’ संसद्को यसै अधिवेशनबाट पारित गरी कार्यान्वयन गर्ने । एकीकृत राष्ट्रिय यातायात गुरुयोजना तयार गरी सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण गठन गर्ने । यातायात व्यवस्थापनमा डिजिटल प्रणाली लागू गर्ने । पूर्वाधार विकासका लागि आवश्यकपर्ने वित्तीय न्यूनता परिपूर्तिका निम्ति सार्वजनिक निजी साझेदारी, सह वित्तीय लगानी, पूर्वाधार बण्ड, हरित वित्त, समिश्रित वित्त (ब्लेण्डेड फाइनान्स), भिजिएफ, एस्सेट मोनिटाइजेसन, हाइब्रिड अन्न्युटिजस्ता वित्तीय उपकरणहरू प्रयोगमा ल्याउन कानुनी प्रबन्ध मिलाउने, पूर्वाधार निर्माण र सञ्चालनमा लगानी गर्ने उद्देश्यबाट स्थापना भएका वित्तिय संस्थालाई एकीकरण गर्ने । प्रत्यक्ष वैदेशिक लगानी तथा वैकल्पिक लगानीहरूको परिचालनका निम्ति आवश्यक कानुनी प्रबन्ध गर्नुका साथै विदेशी लगानी आकर्षित गर्न ‘कन्ट्री रेटिङ’ गर्ने र स्वचालित डिजिटल एकीकृत एकद्वार सेवा प्रणाली प्रयोगमा ल्याउने, सम्पूर्ण पूर्वाधार क्षेत्रहरूको अन्तरआवद्धतालाई दृष्टिगत गर्दै ‘राष्ट्रिय पूर्वाधार विकास योजना’ कार्यन्वयनमा ल्याउने । विशेष आर्थिक क्षेत्र प्राधिकरण र औद्योगिक विकास तथा व्यवस्थापन लिमिटेडलाई गाभी ‘औद्योगिक पूर्वाधार विकास प्राधिकरण’ बनाउने ।

ऊर्जा विकास, सूचना र सञ्चार

विद्युत् उत्पादन विस्तारमार्फत आर्थिक वृद्धिदर बढाउने, विद्युतीकरणमार्फत आमनागरिकको जीवन सहज तुल्याउने, इन्धनमाथिको परनिर्भरता न्यून गर्ने, मुलुकको औद्योगीकरणमा टेवा पु¥याउने र नवीकरणीय ऊर्जाको प्रयोगमार्फत वातावरणमा सुधार ल्याउने । आधुनिक सञ्चारमार्फत जनताको सुसूचित हुने अधिकारको प्रत्याभूति गर्ने, प्रविधिमार्फत शिक्षा, स्वास्थ्य, उत्पादनलगायत जीवनका सबै क्षेत्रलाई सहज तुल्याउने र रोजगारीका अवसर सिर्जना गर्ने । एकीकृत ऊर्जा नीति बनाउने । स्थानीय अवरोध र वन–जग्गा प्राप्ति, मुआब्जा वितरण लगायत विद्युत आयोजना निर्माणका क्रममा आउने समस्या समाधान गर्न सम्बन्धित निकायहरुलाई नै स्रोत उपलब्ध गराई जिम्मेवार बनाउने । संसद्मा विचाराधीन विद्युत् विधेयक २०८० लाई समयानुकूल बनाई पारित गर्ने । वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने । हाइड्रोजन इनर्जी जस्ता उर्जाका नयाँ क्षेत्रको प्रवद्र्धन गर्ने । विद्युत् प्रसारण तथा वितरणमा सहज पहुँचको नीति अवलम्बन गर्ने । आवासीय क्षेत्रमा विद्युत् खपत बढाउन ‘गतिशिलताको सिद्धान्त’का आधारमा महशुल दर निर्धारण गर्ने । विद्युतीय सवारी साधनको प्रयोगमा प्रोत्साहन गर्दै सार्वजनिक निजी साझेदारीमा चार्जिङ स्टेसनहरूको विस्तार गर्ने, प्रसारण एवं वितरण लाइन तथा सव–स्टेशनलगायतका पूर्वाधार निर्माणमा तीव्रता दिई गुणस्तरीय र निर्वाध ऊर्जा आपूर्ति सुनिश्चित गर्ने । इन्टरनेटलगायतका सूचना प्रविधिका अत्याधुनिक पूर्वाधारहरू तयार गर्ने । डिजिटल नेपाल फ्रेमवर्कलाई आवश्यक परिमार्जनसहित कार्यान्वयन गर्ने । सार्वजनिक सेवा र उत्पादनका क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढाउने, डाटा सर्भरमा आत्मनिर्भरता कायम गर्ने र साइबर सुरक्षा सुनिश्चित गर्ने ।

भूमि व्यवस्था, वन–वातावरण, जलवायु अनुकूलन र विपद् व्यवस्थापन

भूमिमा किसानहरूको सहज पहुँच उपलब्ध गराउन, भूमिको वैज्ञानिक व्यवस्थापनमार्फत यसको सही सदुपयोग गर्न र आवाससम्बन्धी मौलिक हक कार्यान्वयनको सुनिश्चित गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने । जलवायु परिवर्तनले उत्पन्न गरेको जोखिम न्यूनीकरण गर्ने, वातावरणको सुरक्षा गर्ने र हरित अर्थतन्त्रको विकास गर्ने । भूमिको डिजिटल नापी पूरा गर्ने । भूमिको प्रकृति, स्वरूप र सम्भावनाका आधारमा भूउपयोग गर्ने । निर्माण भइसकेका संरचनाको सम्भव सुधार र उपयुक्त विकल्पको योजनासहित भूउपयोग नीति र कानुनको कार्यान्वयन गर्ने, पहाडी क्षेत्रको कृषिमा क्षति पु¥याइरहेका जनावरहरूको व्यवस्थापनका लागि वन तथा राष्ट्रिय निकुञ्ज सम्बन्धि कानुनहरुमा परिवर्तन गर्ने । खोला–नदीका किनारमा उपयोगहीन रहेका बाँझो जग्गाको वैज्ञानिक भू–उपयोग गर्ने । दुई वर्षभित्र सुकुम्बासी, मुक्त हलिया, मुक्त कमैया र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने । जलवायु परिवर्तनका मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न, जलवायु सङ्कटले अल्पविकसित तथा हिमाली देशहरूमा उत्पन्न गरेको जोखिमबारे संवेदनशीलता जगाउन, सरोकारवाला मुलुकहरूको सञ्जाल निर्माणको पहल गर्न र जलवायु वित्त परिचालन गर्न ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयमा सगरमाथा संवाद आयोजना गर्ने, चुरेको संरक्षणमा जोड दिँदै ‘वातावरण नबिग्रिने, विकास पनि नरोकिने’ विधि अपनाउने । विपद् जोखिम न्यूनिकरण तथा विपद् पूर्वसूचना प्रणालीलाई सुदृढ बनाई जनधनको क्षति हुनबाट जोगाउने ।जाजरकोट, रुकुम, बझाङलगायतका स्थानमा भूकम्पपछिको पुनःनिर्माण कार्य यथाशीघ्र सम्पन्न गर्ने ।

युवा र खेलकुद, पर्यटन, संस्कृति तथा सामाजिक सद्भाव

युवाहरूलाई सामाजिक जीवनका सबै क्षेत्रमा महत्वपूर्ण साझेदार र संवाहकका रूपमा अगाडि बढाउँदै उनीहरूको सर्वतोमुखी विकासका लागि वातावरण निर्माण गर्ने । बहुलता, विविधता र बहुसांस्कृतिक सामाजिक विशेषतालाई नेपालको पहिचान, गौरव र सम्पदाको रूपमा स्थापित गर्ने । पर्यटनको समग्र विकासमार्फत आर्थिक विकासमा टेवा पु¥याउने ।

युवालाई राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणको अभियन्ता र संवाहकका रूपमा विकास गर्ने । युवापङ्क्तिलाई राष्ट्रिय जीवनका सबै आयाममा परिचालन गर्ने ।
खेलकुद विकासका गुरुयोजनासहित क्रिकेट लगायतका खेलका लागि आधुनिक पूर्वाधार निर्माण गर्ने, खेलाडीहरूको सम्मान र वृत्तिविकासका कार्यक्रमहरू ल्याउने । पर्यटकीय पूर्वाधारको विकास गर्दै पर्यापर्यटन, सांस्कृतिक पर्यटन र साहसिक पर्यटनको प्रवद्र्धन गरी दिगो पर्यटनको आधार तयार गर्ने । गुणस्तरीय पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्न पर्यटकीय सेवाको विस्तार गर्ने । नेपाली सभ्यता, भाषा, धर्म, संस्कृति र जातजातिको संरक्षण एवं विकास गर्ने । विविधता र बहुलतालाई नेपालको सम्पदाका रूपमा विकास गर्ने । अन्धविश्वास, रुढी, सामाजिक÷जातीय विभेद, विकृति–विसङ्गति एवं शोषण अन्त्य गर्ने । अधिकारको सम्मान, सामाजिक न्यायको प्रत्याभूति र सामाजिक सौहाद्र्रता, जातीय सद्भाव र सांस्कृतिक सहचार्यका माध्यमबाट समुन्नत समाज निर्माण गर्ने ।

महिला सहभागिता, सशक्तीकरण र सामाजिक समावेशिता

लैङ्गिक समानता, सामाजिक समावेशिता र समानता प्रत्याभूत गर्ने एवम् महिला सहभागिता र लैङ्गिक समानता सम्बन्धमा आजसम्म हासिल उपलब्धीहरूलाई अझ दिगो, परिणाममुखी र सार्थक तुल्याउने । राष्ट्रिय जीवनका सबै आयाममा महिलाहरूको न्यायोचित सहभागिता सुनिश्चित गर्ने । शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षालगायत महिलाका संविधानप्रदत्त हकको कार्यान्वयनका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, बालबालिकामाथिको दुव्र्यवहार, महिला हिंसा, मानव बेचविखन, बलात्कार, बँधुवा श्रम, छुवाछूत, गुण्डागर्दी, लागुपदार्थ दुव्र्यसन, छाउपडी, दाइजो तथा तिलक प्रथाजस्ता सामाजिक विकृति र शोषण सारभूतरूपमा अन्त्य गरी सभ्य समाजको निर्माण गर्ने । बलात्कारसम्बन्धी मुद्दाको दू्रत छिनोफानो गर्न अदालतमा तदनुरूपको व्यवस्था गर्ने, दलित, मुसहर, पिछडा वर्ग, वादी, लोपोन्मुख तथा सिमान्तकृत अल्पसङ्ख्यक जातिलगायतको यौनिक र लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकार सुरक्षित गर्ने ।

सङ्क्रमणकालीन न्याय र दिगो शान्ति

शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्याउन तत्काल कानुनी प्रबन्ध गर्ने । पीडितलाई केन्द्रमा राखी तथ्यका आधारमा सत्य स्थापित गर्ने । सत्यको आधारमा न्याय, क्षतिपूर्ति, परिपूरण, माफी र मेलमिलापका माध्यमबाट द्वन्द्व–सिर्जित पीडाको सम्बोधन गर्ने । द्वन्द्वकालमा घाइते तथा अङ्गभङ्ग भएका व्यक्तिहरूलाई उपचार, रोजगारी, स्वरोजगारका अवसर र पुनःस्थापनासम्बन्धी कार्य गर्ने, द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, पुनःस्थापना र परिपूरणको कार्य सम्पन्न गर्ने, तराई–मधेसलगायतका आन्दोलनका क्रममा अन्यायपूर्ण ढङ्गले बन्दी बनाइकाहरुलाई सरकार र आन्दोलनकारीबीच भएका सम्झौताअनुरूप कानुनसम्मत ढङ्गले रिहाइ गर्ने ।

राष्ट्रिय हितको रक्षा र स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीति

नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र राष्ट्रिय हितको रक्षालाई केन्द्रबिन्दूमा राख्ने । संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त, विश्व शान्तिका मान्यता, अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा न्यायमा आधारित स्वतन्त्र, तटस्थ र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने । विदेश सम्बन्ध सञ्चालनमा सार्वभौम समानता, पारस्परिक हित र सम्मानलाई केन्द्रबिन्दुमा राखी दुवै छिमेकीहरू लगायत सबै मित्रराष्ट्रहरूसँग सन्तुलित, विश्वसनीय र मैत्रीपूर्ण सम्बन्ध सञ्चालन गर्ने, नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, स्वाधीनता र स्वतन्त्रतालाई थप सुदृढ बनाउने । लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतका नेपाली भूमि फिर्ता लिन प्रभावकारी कुटनीतिक प्रयास अगाडि बढाउने । सीमाको प्रभावकारी व्यवस्थापन गर्ने,
नेपालको हित संरक्षण र प्रवद्र्धन हुनेगरी विद्यमान सन्धि–सम्झौताहरूको पुनरावलोकन गर्ने, आवश्यकताअनुसार नयाँ सन्धि–सम्झौताहरू गर्ने, द्विपक्षीय तथा बहुपक्षीय संस्थामा आबद्धता वृद्धि गर्ने, राष्ट्रियता, राष्ट्रिय सुरक्षा, परराष्ट्र सम्बन्ध, प्रमुख आर्थिक विषय एवं रणनीतिक पूर्वाधारलगायतका राष्ट्रका आधारभूत विषयहरूमा राष्ट्रिय सहमति निर्माणको लागि प्रयास गर्ने, नागरिकता वितरणको कार्यलाई सहज बनाउने । गैरआवासीय नेपाली (डायस्पोरा)हरुको शीप, पुँजी राष्ट्रहितमा प्रयोग गर्दै उनीहरुको जायज चासोको सम्बोधन गर्ने ।

आइसिसी अध्यक्ष नेपालमा, क्रिकेट विकासमा सहयोग गर्ने प्रतिबद्धता

काठमाडौँ, ६ चैत : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का अध्यक्ष ग्रेग बारक्लेले नेपाल एसोसिएट राष्ट्रमा फेरि एक नम्बर बन्ने सम्भावना रहेको बताउनुभएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङसँग आज भेटवार्ता गर्नुहुँदै आइसिसी अध्यक्ष बारक्लेले सीमित स्रोत र साधानका बाबजुद नेपाली क्रिकेटले गरेको प्रगति प्रशंसनीय रहेको उल्लेख गर्दै नेपाली क्रिकेटको विकास र विस्तारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राखेप सदस्य–सचिव घिसिङले अध्यक्ष बारक्लेसँगको भेटवार्तामा खेल पूर्वाधारका विषयमा चासो व्यक्त गर्नुभयो । भेटका अवसरमा उहाँहरुबीच नेपालको क्रिकेटको अवस्था, सम्भावना र आइसीसीले नेपालको क्रिकेट विकासका लागि गर्न सक्ने सहयोगलगायत विषयमा छलफल भएको थियो । सो अवसरमा सदस्य–सचिव घिसिङले एसोसिएट राष्ट्रमा टी–२० क्रिकेटमा नेपालले विगतमा कायम गरेको शीर्ष स्थानलाई आगामी दिनमा पनि कायम राखी राख्न प्रयासरत रहेको उल्लेख गर्दै पूर्वाधार विकासमा सरकारले चासो दिएर लगानी गरिरहेको बताउनुभयो ।

सदस्य सचिव घिसिङले नेपाल सरकारले मूलपानी क्रिकेट रङ्गशाला, चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र मोरङको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको आइसिसी अध्यक्ष बारक्लेलाई अवगत गराउनुभयो । उहाँले नेपाल र बङ्गलादेशले सन् २०२७ मा संयुक्त रुपमा आयोजना गर्ने यु–१९ महिला टी–२० विश्वकपका लागि आइसिसीबाट सहयोगका लागि आग्रह गर्दै विश्वकप आयोजनाका लागि स्वीकृति दिएकामा अध्यक्ष बारक्लेमार्फत आइसिसीलाई धन्यवाद दिनुभयो ।

सदस्य सचिव घिसिङले ‘अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्ने विश्वकप पुरुष टी–२० प्रतियोगिताका लागि आइसिसीले राम्रै सहयोग गरेको आफुले जानकारी पाएको उल्लेख गर्दै नेपालले पनि आइसिसीबाट यु–१९ विश्वकपका लागि त्यस्तै सहयोगको अपेक्षा गरेको बताउनुभयो । नेपलको तर्फबाट प्रतियोगिता आयोजनाको तयारीमा कुनै कसर बाँकी नराख्ने सदस्य–सचिव घिसिङको भनाइ थियो ।

सदस्य–सचिव घिसिङले नेपालमा क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा दर्शकको उपस्थिति उत्साहजनक रहने गरेको स्मरण गराउँदै धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने वातावरण बनाइ दिन आइसिसी अध्यक्ष बारक्लेसँग आग्रह गर्दै नेपाललाई प्राविधिक पक्ष, खेल सामग्री, हाइ पर्फमेन्स तालिम केन्द्र स्थापनालगायत विषयमा सहयोगका लागि पनि आग्रह गर्नुभयो ।

भेटका अवसरमा नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशनबहादुर सिंह, सचिव पारस खड्कालगायत सहभागी हुनुहुन्थ्यो ।

साझा सङ्कल्प : हरित अर्थतन्त्रको विकास गर्ने

काठमाडौँ, ६ चैत : सरकारले जलवायु परिवर्तनले उत्पन्न गरेको जोखिम न्यूनीकरण गरी हरित अर्थतन्त्रको विकास गर्ने भएको छ । सरकारमा सहभागी पाँच राजनीतिक दलले आज प्रधानमन्त्री कार्यालयमा सार्वजनिक गरेको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’मा वातावरणको सुरक्षा गर्ने र हरित अर्थतन्त्रको विकास गर्ने उल्लेख गरिएको छ ।

सरकारको योजनामा भूमिको डिजिटल नापी पूरा गर्ने, भूमिको प्रकृति, स्वरूप र सम्भावनाका आधारमा भू–उपयोग गर्नेसमेत रहेको छ । साथै, जलवायु परिवर्तनले उत्पन्न गरेको जोखिम न्यूनीकरण गर्ने रहेको छ ।

“भूमिमा किसानको सहज पहुँच उपलब्ध गराउन, भूमिको वैज्ञानिक व्यवस्थापनमार्फत यसको सही सदुपयोग गर्नुपर्नेछ”, सरकारको योनजामा भनएिको छ, “आवाससम्बन्धी मौलिक हक कार्यान्वयनको सुनिश्चित गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनेछ ।”

सरकारले निर्माण भइसकेका संरचनाको सम्भव सुधार र उपयुक्त विकल्पको योजनासहित भू–उपयोग नीति र कानुनको कार्यान्वयन गर्ने भएको छ भने पहाडी क्षेत्रको कृषिमा क्षति पु¥याइरहेका जनावरको व्यवस्थापनका लागि वन तथा राष्ट्रिय निकुञ्जसम्बन्धी कानुनमा परिवर्तन गर्ने रहेको छ ।

सरकारको योजनामा खोला–नदीका किनारमा उपयोगहीन रहेका बाँझो जग्गाको वैज्ञानिक भू–उपयोग गर्ने र दुई वर्षभित्र सुकुम्बासी, मुक्त हलिया, मुक्त कमैया तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने रहेको छ ।

“जलवायु परिवर्तनका मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न, जलवायु सङ्कटले अल्पविकसित तथा हिमाली देशमा उत्पन्न गरेको जोखिमबारे संवेदनशीलता जगाउनेछ”, सरकारको योजनामा भनिएको छ, “सरोकारवाला मुलुकको सञ्जाल निर्माणको पहल गर्न र जलवायु वित्त परिचालन गर्न ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयमा सगरमाथा संवाद आयोजना गर्ने, चुरेको संरक्षणमा जोड दिँदै ‘वातावरण नबिग्रिँने, विकास पनि नरोकिने’ विधि अपनाउनेछ ।”

सरकारले विपद् जोखिम न्यूनीकरण तथा विपद् पूर्वसूचना प्रणालीलाई सुदृढ बनाई जनधनको क्षति हुनबाट जोगाउने र जाजरकोट, रुकुम, बझाङलगायत स्थानमा भूकम्पपछिको पुनःनिर्माण कार्य यथाशीघ्र सम्पन्न गर्ने रहेको छ ।
इन्धनमाथिको परनिर्भरता न्यून
सरकारले विद्युतीकरणमार्फत आमनागरिकको जीवन सहज तुल्याउन इन्धनमाथिको परनिर्भरता न्यून गर्ने भएको छ । सङ्कल्प’मा मुलुकको औद्योगीकरणमा टेवा पु¥याउने र नवीकरणीय ऊर्जाको प्रयोगमार्फत वातावरणमा सुधार ल्याउने उल्लेख गरिएको छ ।

आधुनिक सञ्चारमार्फत जनताको सुसूचित हुने अधिकारको प्रत्याभूति गर्ने, प्रविधिमार्फत शिक्षा, स्वास्थ्य, उत्पादनलगायत जीवनका सबै क्षेत्रलाई सहज तुल्याउने र रोजगारीका अवसर सिर्जना गर्ने सरकारको योजना रहेको छ ।

सरकारले एकीकृत ऊर्जा नीति बनाउने र स्थानीय अवरोध तथा वन–जग्गा प्राप्ति, मुआब्जा वितरणलगायत विद्युत् आयोजना निर्माणका क्रममा आउने समस्या समाधान गर्न सम्बन्धित निकायलाई नै स्रोत उपलब्ध गराई जिम्मेवार बनाउने रहेको छ ।

सरकारको योजनामा भनिएको छ, “संसद्मा विचाराधीन विद्युत् विधेयक २०८० लाई समयानुकूल बनाइ पारित गर्ने, वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने र हाइड्रोजन इनर्जीजस्ता उर्जाका नयाँ क्षेत्रको प्रवद्र्धन गरिनेछ ।”

विद्युत् प्रसारण तथा वितरणमा सहज पहुँचको नीति अवलम्बन गर्ने र आवासीय क्षेत्रमा विद्युत् खपत बढाउन ‘गतिशीलताको सिद्धान्त’का आधारमा महसुल दर निर्धारण गर्ने सरकारको योजना रहेको छ ।

“विद्युतीय सवारीसाधनको प्रयोगमा प्रोत्साहन गर्दै सार्वजनिक निजी साझेदारीमा चार्जिङ स्टेसनको विस्तार गर्ने, प्रसारण एवं वितरण लाइन तथा सवस्टेशनलगायतका पूर्वाधार निर्माणमा तीव्रता दिइ गुणस्तरीय र निर्वाध ऊर्जा आपूर्ति सुनिश्चित गरिनेछ”, न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पमा भनिएको छ ।

इन्टरनेटलगायत सूचना प्रविधिका अत्याधुनिक पूर्वाधार तयार गर्ने, डिजिटल नेपाल फ्रेमवर्कलाई आवश्यक परिमार्जनसहित कार्यान्वयन गर्ने, सार्वजनिक सेवा र उत्पादनका क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढाउने र डाटा सर्भरमा आत्मनिर्भरता कायम गर्ने र साइबर सुरक्षा सुनिश्चित गर्नेसमेत सरकारको योजना छ ।

सरकारले क्रिकेटलगायतका खेलमा पूर्वाधार निर्माण गर्ने

काठमाडौँ, ६ चैत : सरकारले खेलकुद विकासका गुरुयोजनासहित क्रिकेटलगायत खेलका लागि आधुनिक पूर्वाधार निर्माण गर्ने भएको छ । सरकारमा सहभागी पाँच राजनीतिक दलले आज प्रधानमन्त्री कार्यालयमा सार्वजनिक गरेको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ मा खेलाडीको सम्मान र वृत्तिविकासका लागि विभिन्न कार्यक्रम ल्याउने उल्लेख छ ।

त्यसैगरी युवालाई सामाजिक जीवनका सबै क्षेत्रमा महत्वपूर्ण साझेदार र संवाहकका रूपमा अगाडि बढाउँदै उनीहरूको विकासका लागि वातावरण निर्माण गर्ने, बहुलता, विविधता र बहुसांस्कृतिक सामाजिक विशेषतालाई नेपालको पहिचान गराउने तथा पर्यटनको समग्र विकासमार्फत आर्थिक विकासमा टेवा पु¥याउने न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पमा उल्लेख गरिएको छ ।

युवालाई राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणको अभियन्ता र संवाहकका रूपमा विकास गर्ने, सांस्कृतिक पर्यटन र साहसिक पर्यटनको प्रवद्र्धन गरी दिगो पर्यटनको आधार तयार गर्नेलगायत कार्यक्रम ल्याउनेसमेत साझा सङ्कल्पमा उल्लेख छ । गुणस्तरीय पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्न पर्यटकीय सेवाको विस्तार गर्ने, अन्धविश्वास, रुढीवादी, सामाजिक÷जातीय विभेद, विकृति–विसङ्गति एवं शोषण अन्त्य गर्ने, अधिकारको सम्मान, सामाजिक न्यायको प्रत्याभूति र सांस्कृतिक सहकार्यका माध्यमबाट समुन्नत समाज निर्माण गर्ने कार्यक्रममा उल्लेख छ ।

एस्ट्राजेनेकाले फ्युजनलाई दुई अर्ब ४० करोड डलरमा खरिद गर्ने

क्यान्सर उपचार सेवाका लागि एस्ट्राजेनेका समूहले कम्पनीको महत्त्वपूर्ण बिस्तारस्वरूप अमेरिकी बायोफर्मा कम्पनी फ्युजनलाई दुई अर्ब ४० करोड अमेरिकी डलरमा खरिद गर्ने भएको छ ।

एङ्लो–स्वीडिस औषधि कम्पनी एस्ट्राजेनेकाको बिस्तारले केमोथेरापी र रेडियोथेरापीजस्ता परम्परागत पद्धतिलाई थप लक्षित उपचारको साथ प्रतिस्थापन गरेर क्यान्सरको उपचार र बिरामीहरूको लागि परिणामहरू रूपान्तरण गर्ने महत्वाकाङ्क्षालाई पूरा गर्ने उद्देश्यसहित यो बिस्तार सुरू गरेको हो ।

“फ्युजनको स्वामित्व खरिद गर्ने सम्झौता एस्ट्राजेनेकाको लागि एक प्रमुख कदम हो र यो बिस्तारले केमोथेरापी र रेडियोथेरापीजस्ता परम्परागत पद्धतिलाई प्रतिस्थापन गर्दै क्यान्सरको उपचार र बिरामीहरूको सेवालाई सहज बनाउने महत्वाकाङ्क्षालाई पूरा गर्नेछ,” कम्पनीद्वारा जारी एक विज्ञप्तिमा भनेको छ ।

साउथ चाइना सी’ मा हस्तक्षेप गर्ने अधिकार अमेरिकालाई नभएको चीनको भनाइ


‘साउथ चाइना सी’मा हस्तक्षेप गर्ने अधिकार अमेरिकालाई नभएको चीनले मङ्गलबार बताएको छ ।अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विवादित जलमार्गमा भएको सशस्त्र आक्रमणविरुद्ध फिलिपिन्सको रक्षा गर्ने आफ्नो प्रतिबद्धतामा वासिङ्टन अडिग रहेको बताएपछि चीनको उक्त भनाई आएको हो ।

“संयुक्त राज्य अमेरिका ‘साउथ चाइना सी’ को मुद्दाको पक्ष राष्ट्र होइन र चीन र फिलिपिन्सबीचको सामुद्रिक मामिलामा हस्तक्षेप गर्ने कुनै अधिकार छैन,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा भन्नुभयो ।

सन् २०२२ मा राष्ट्रपति फर्डिनान्ड मार्कोसले कार्यभार सम्हालेपछि दोस्रो पटक फिलिपिन्सको राजधानी मनिला पुगेका ब्लिन्केनले मित्रराष्ट्रका लागि चीनविरुद्धको अमेरिकी समर्थनलाई मजबुत बनाउन संक्षिप्त एसिया भ्रमण गर्नुभएको हो ।

ब्लिन्केनको टिप्पणीबारे सोधिएको प्रश्नको जवाफमा लिनले भन्नुभयो, “अमेरिका र फिलिपिन्सबीचको सैन्य सहकार्यले ‘साउथ चाइना सी’मा चीनको सार्वभौमिकता, सामुद्रिक अधिकार र हितलाई हानि पु¥याउनु हुँदैन र फिलिपिन्सको अवैध दाबीका लागि प्लेटफर्म प्रदान गर्न अझै कम अवसर प्रयोग गर्नुपर्छ ।”

“चीनले आफ्नो क्षेत्रीय सम्प्रभुता र सामुद्रिक अधिकार र हितको दृढतापूर्वक रक्षा गर्न र ‘साउथ चाइना सी’ मा शान्ति र स्थिरता कायम गर्न आवश्यक कदम चालिरहनेछ,” उहाँले भन्नुभयो ।

बेइजिङले फिलिपिन्सलगायत दक्षिणपूर्वी एसियाका धेरै राष्ट्रहरूको प्रतिस्पर्धात्मक दाबीलाई बेवास्ता गर्दै विश्व व्यापारका लागि महत्वपूर्ण मार्गका रूपमा रहेको ‘साउथ चाइना सी’ को करिब सम्पूर्ण भूभागमाथि दाबी गर्दै आएको छ ।

ऋणात्मक ब्याजदर अन्त्य गरिएको ‘बैङ्क अफ जापान’ को घोषणा

‘बैङ्क अफ जापान’ले ऐतिहासिक नीतिगत सुधारमा ऋणात्मक ब्याजदर अन्त्य गरेको छ ।

बैङ्कले मङ्गलबार १७ वर्षमा पहिलो पटक ब्याजदर वृद्धिमा आफ्नो नकारात्मक ब्याजदर नीति अन्त्य गर्ने निर्णय गरेको हो ।

केन्द्रीय बैंकको नीति बोर्डले नीति निर्धारणका लागि बसेको दुई दिने बैठकपछि अल्पकालीन दरलाई एक तहमाथि लग्दै माइनस ०.१ देखि ० प्रतिशतबाट बढाएर ० देखि ०.१ प्रतिशतको दायरामा लाने निर्णय गरेको छ । बैङ्कले स्थिर २ प्रतिशत मुद्रास्फीति प्राप्त गर्ने लक्ष्यलाई मध्यनजर गर्दै उक्त निर्णय लिएको बताएको छ ।

बैठकपछि बैङ्कले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मूल्य स्थिरताको लक्ष्य दिगो र स्थिर रूपमा दुई प्रतिशत हासिल हुने देखिएको छ । सकारात्मक दरहरूलाई परिपक्व दायरामा ल्याउने क्रममा बैङ्कले अत्यधिक व्याजदर नियन्त्रण नीतिलाई खारेज गर्ने निर्णय गरेको छ । यस अन्तर्गत केन्द्रीय बैङ्कले दीर्घकालीन ब्याज दरहरू लगभग शून्य प्रतिशतमा राख्न सकियोस् भनी जापानी सरकारी ऋणपत्रको ठूलो मात्रा खरीद गरेको थियो ।”

यसैबीच, बैङ्कले घरायसी उपभोग सुस्त रहेकाले अर्थतन्त्रमा निरन्तर कमजोरी रहेको औँल्याएको छ भने ब्याजदरमा तीव्र वृद्धि हुन नदिन सरकारको ऋणपत्र आवश्यकताअनुसार खरिद जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

बैङ्कले सन् २०१६ मा ऋणात्मक दर र प्रतिफल वक्र नियन्त्रण सुरु गरेको थियो । यो बैङ्कको दशकभन्दा लामो ‘अल्ट्रालुज’ (अत्यधिक कम अर्थात् ऋणात्मक ब्याजदर) मौद्रिक नीति प्रोत्साहनको प्रतीक थियो ।

बैङ्कद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नकारात्मक दर र उत्पादन वक्र नियन्त्रण कार्यक्रममा मौद्रिक सहजता ढाँचा समावेश हुन्छ र यसमा बैङ्कले आफ्नो भूमिका ‘पूरा’ गरेको छ ।”

प्रमुख जापानी फर्महरूले यस महिना प्रमुख श्रमिक सङ्घसङ्गठनहरूसँग ज्यालामा ५.२८ प्रतिशत वृद्धि गर्न सहमत भएपछि मङ्गलबार अपेक्षित कदम आएको छ, जसले ३३ वर्षमा सबैभन्दा ठूलो वेतन वृद्धिलाई सङ्केत गरेको छ भने केन्द्रीय बैङ्कको विश्वासलाई बढाएको छ ।

जापानमा स्वस्थ ज्याला–मूल्य चक्रले जरा गाडेको छ र हल्का मुद्रास्फीति जारी रहनेछ ।

विश्लेषकहरूले भनेका छन्, “प्रमुख नीतिगत सुधारको बावजुद, ब्याज दरहरू निकट भविष्यका लागि धेरै कम रहने सम्भावना छ । बैङ्कका अधिकारीहरूले पहिलो वृद्धिलाई सङ्केतको रूपमा मानेका छैनन् तर चाँडै नै अनुसरण हुनेछ ।”

युक्रेनलाई असफल हुन नदिने अमेरिकी रक्षामन्त्रीको वाचा

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले मङ्गलबार कांग्रेसमा थप सहायता रोकिएर किएभको सेनाले हतियारको अभाव सामना गर्नुपरे पनि अमेरिकाले युक्रेनलाई रुससँगको युद्धमा असफल हुन नदिने वाचा गर्नुभएको छ ।

रिपब्लिकन नेतृत्वको हाउस अफ रिप्रेजेन्टेटिभ्सले युक्रेनका लागि ६० अर्ब डलरको सहायता प्याकेज रोकेको छ । अमेरिकाले हालैको ३० करोड डलरको प्याकेज केही सातासम्म मात्र रहने चेतावनी दिएको छ ।

“संयुक्त राज्य अमेरिका युक्रेनलाई असफल हुन दिने छैन”, अस्टिनले जर्मनीमा युक्रेनका अन्तर्राष्ट्रिय समर्थकहरूको बैठकमा भन्नुभयो, “हामी युक्रेनलाई क्रेमलिनको आक्रमणको विरोध गर्नका लागि आवश्यक संसाधन उपलब्ध गराउन प्रतिबद्ध छौँ ।” समर्थकहरूले किएभका लागि थप सहायता सुनिश्चित गर्न माग गरिरहेका छन् ।

वासिङ्टनले गत साता युक्रेनका लागि ३० करोड डलरको सहायता घोषणा गरेको थियो तर अस्टिनले भर्खरैको खरिदमा बचतका कारण उक्त सहायता उपलब्ध गराउन सम्भव हुन सकेको बताउनुभयो । “हामीले केही अप्रत्याशित सम्झौता बचत पहिचान गरेर यसलाई अत्यावश्यक प्याकेजको समर्थन गर्न सक्षम भयौँ”, उहाँले भन्नुभयो ।

एक दिनअघि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले एक विज्ञप्तिमा भन्नुभयो, “कांग्रेसले चाँडै आवश्यक प्रक्रियाहरू पूरा गरी किएभका लागि सहायताबारे अन्तिम निर्णय लिनु हाम्रा लागि अत्यन्त महत्त्वपूर्ण छ ।”

“रुसले (भ्लादिमिर पुटिन) पुटिनको शासनको सपनाहरूका लागि अचम्मको मूल्य चुकाएको छ, युक्रेनविरुद्ध आफ्नो आक्रामणलाई सुसज्जित गर्न, तैनाथ गर्न, मर्मत र कायम राख्नका लागि दुई खर्ब ११ अर्ब डलरसम्म प्रयोग गरेको छ”, रक्षामन्त्री अस्टिनले मङ्गलबार आफ्नो टिप्पणीमा भन्नुभयो, “सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता कम्तीमा तीन लाख १५ हजार रुसी सैनिक मारिए वा घाइते भए र युक्रेनले करिब २० वटा मध्यमदेखि ठूला रुसी नौसैनिक जहाजहरूलाई डुबाइदिएको, नष्ट गरेको वा क्षतिग्रस्त बनाएको छ ।”

अस्टिन र अमेरिकी अधिकारीहरूले युक्रेनका लागि अन्तर्राष्ट्रिय समर्थनको नेतृत्व गर्नुभएको छ । उहाँहरूले रुसको आक्रमणपछि किएभलाई समर्थन गर्नका लागि तुरुन्तै एउटा गठबन्धन बनाएर दर्जनौँ मुलुकबाट सहायताको समन्वय गर्नुभएको छ ।

रामस्टेन अमेरिकी बेसमा जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियसले बर्लिनले युक्रेनलाई पाँच लाख युरोको थप सैन्य सहायता प्रस्ताव गरेको बताउनुभयो । “यसमा हाम्रा सशस्त्र बलहरूको भण्डारबाट १० हजार राउन्ड गोलाबारुद समावेश छ”, उहाँले भन्नुभयो ।

वासिङ्टनपछि जर्मनी युक्रेनलाई सैन्य सहायता दिने दोस्रो सबैभन्दा ठूलो दाता हो । जर्मनीले सन् २०२२ फेब्रुअरीमा किएभलाई सहयोग दिनका लागि दशौँ अर्ब डलरको प्रतिबद्धता व्यक्त गरेको छ ।

साझा सङ्कल्प : ‘उद्यमशील शिक्षित युवा’को नीति कार्यान्वयन गर्ने

काठमाडौँ, ६ चैत : सरकारले सबैको समान पहुँच भएको, राष्ट्र, समाज तथा जीवनसँग जोडिएको र समयअनुरुप अनुमोदित हुने गुणस्तरीय शिक्षा नीति अवलम्बन गर्दै ‘उद्यमशील शिक्षित युवा’को नीति कार्यान्वयन गर्ने भएको छ । सरकारमा सहभागी पाँच राजनीतिक दलद्वारा आज सार्वजनिक ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’मा मौलिक हकका रूपमा रहेको स्वास्थ्य, खाद्य, आवास र खानेपानीको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

श्रमको सम्मान, मर्यादित काम, न्यायोचित ज्याला, सामाजिक सुरक्षा एवं असल औद्योगिक श्रम सम्बन्धलाई श्रम नीतिका आधारभूत मान्यताका रूपमा स्थापित गर्ने, मजदुर, किसान, श्रमजीवी र विपन्न वर्गलाई समृद्धिको केन्द्रमा राख्ने साझा सङ्कल्पमा उल्लेख छ ।

निःशुल्क तथा अनिवार्य शिक्षासम्बन्धी ऐन तथा नियमावलीको मर्म र भावना कार्यान्वयन गरी जनताको शिक्षा पाउने अधिकार सुनिश्चित गर्ने, विश्वविद्यालयमा विद्यमान समस्याको तत्काल समाधान गरी उच्च शिक्षाका निम्ति विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने, शिक्षा र रोजगारीका बीचमा सन्तुलन कायम गर्ने, सरकारी र निजी क्षेत्रको शैक्षिक गुणस्तर र उत्पादनमा रहेको अन्तरलाई न्यूनीकरण गर्ने, डिजिटल माध्यम (इ–लर्निङ)को प्रयोग गरी शिक्षालाई आधुनिकीकरण गर्ने सरकारको योजना छ ।

अवकाश प्राप्त सरकारी कर्मचारी र इच्छुक बुद्धिजीवीलाई शैक्षिक क्षेत्र सुधारका लागि स्वयंसेवक शिक्षक बन्ने अवसर सिर्जना गर्ने, नेपाल बाहिर दक्षता हासिल गरेको जनशक्तिले नेपालको शिक्षा क्षेत्रमा योगदान दिने वातावरण सिर्जना गर्ने सङ्कल्प गरिएको छ । सबै जनतामा निरोगी रहने उपायबारे सचेतना अभिवृद्धि गर्ने, सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पु¥याउने, दायरा बढाउँदै किफायती स्वास्थ्य बीमा कार्यक्रममार्फत नागरिकको स्वास्थोपचार सहज बनाउने सरकारको नीति ।

सरकारी, सामुदायिक र निजी क्षेत्रबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चितताका लागि अधिकारसम्पन्न नियमनकारी निकाय राष्ट्रिय प्रत्यायन प्राधिकरण (नेशनल अक्रिडिटेसन अथोरिटी), रोग नियन्त्रण केन्द्र र खाद्य तथा औषधि नियमन प्राधिकरण बनाई स्वास्थ्य सेवाको नियमन गर्ने, आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने साझा सङ्कल्पमा उल्लेख छ ।

भत्ताका रूपमा सुरु गरिएको सामाजिक संरक्षणका कार्यक्रम (ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका हितका कार्यक्रम आदि)लाई रूपान्तरण गर्न स्वदेश तथा विदेशमा, ज्याला रोजगारी तथा स्वरोजगारीमा रहेका सबैलाई समेट्ने गरी सुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम (स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष आदिले दिइरहेको सेवा) सुदृढ गर्ने सरकारको योजना छ ।

रोजगारीको उमेर भएका हरेक व्यक्तिलाई ‘काम अघि सामाजिक सुरक्षा नम्बर’को अनिवार्य व्यवस्था गरी नयाँ प्रणालीलाई प्रभावकारी र दिगो बनाउने तथा पालिकामा रहेको रोजगार सूचना केन्द्रमार्फत श्रमिक पञ्जीकरणको प्रणाली सुरु गरी श्रमजीवीको तथ्याङ्क व्यवस्थित गर्ने साझा सङ्कल्पमा उल्लेख छ ।

राष्ट्रिय पूर्वाधारमा अन्तर–निकाय समन्वय सुनिश्चित

साझा सङ्कल्पमा यातायात र सडकलाई आर्थिक विकासका पूर्वाधार, आपूर्ति व्यवस्थाको मेरुदण्ड, नागरिकले पाउने सुविधा एवं समुदाय–समुदायबीचको अन्तरसम्बन्धको माध्यमका रूपमा विकास गर्ने उल्लेख छ । पूर्वाधार विकासमा रहेको दोहोरोपन र भौगोलिक तथा प्रादेशिक असन्तुलन हटाउने, पूर्वाधार विकाससम्बन्धी आयोजनाहरू नीति, कार्यक्रम तथा बजेटमा पर्ने तर वर्षांैसम्म कार्यान्वयन नहुने अवस्थाको अन्त्य गर्ने, निर्माणाधीन पूर्वाधार आयोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिने साझा सङ्कल्पमा उल्लेख छ ।

सम्पन्न भइसकेका आयोजनाको तत्काल भुक्तानी गर्ने व्यवस्था मिलाउने र समयमै कार्यसम्पन्न नगर्ने निर्माण कम्पनीको लाइसेन्स खारेज गरी क्षतिपूर्ति असुल गर्ने, आयोजना प्रमुखसँग कार्यसम्पादन करार गरी वृत्तिविकासको आधार अर्धवार्षिक मूल्याङ्कनको नतिजालाई बनाइने सरकारको योजना छ ।

अधुरा आयोजनाको निर्माणमा स्रोत सुनिश्चित गर्ने, वातावरणीय प्रभाव मूल्याङ्कनसहित ‘साइट क्लिरेन्स’ जस्ता पूर्वतयारी गरेर मात्र नयाँ आयोजना सुरु गर्ने, परियोजनाको छनोट, खरिद, मोडालिटी र कार्यान्वयनलाई प्रभावकारी बनाउन राष्ट्रिय पूर्वाधार योजनासँगै ‘राष्ट्रिय प्राथमिकता प्राप्त केही आयोजनाको द्रुततर निर्माणसम्बन्धी ऐन (सनसेट–ल)’ संसद्को यसै अधिवेशनबाट पारित गरी कार्यान्वयन गर्ने उल्लेख छ ।

एकीकृत राष्ट्रिय यातायात गुरुयोजना तयार गरी सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण गठन गर्ने, यातायात व्यवस्थापनमा डिजिटल प्रणाली लागू गर्ने, पूर्वाधार विकासका लागि आवश्यकपर्ने वित्तीय न्यूनता परिपूर्तिका निम्ति सार्वजनिक निजी साझेदारी, सह वित्तीय लगानी, पूर्वाधार बण्ड, हरित वित्त, समिश्रित वित्त (ब्लेण्डेड फाइनान्स), भिजिएफ, एस्सेट मोनिटाइजेसन, हाइब्रिड अन्युटिजस्ता वित्तीय उपकरण प्रयोगमा ल्याउन कानुनी प्रबन्ध मिलाउने साझा सङ्कल्पमा उल्लेख गरिएको छ ।

पूर्वाधार निर्माण र सञ्चालनमा लगानी गर्ने उद्देश्यबाट स्थापना भएका वित्तिय संस्थालाई एकीकरण गर्ने, प्रत्यक्ष वैदेशिक लगानी तथा वैकल्पिक लगानीको परिचालनका निम्ति आवश्यक कानुनी प्रबन्ध गर्नुका साथै विदेशी लगानी आकर्षित गर्न ‘कन्ट्री रेटिङ’ गर्ने र स्वचालित डिजिटल एकीकृत एकद्वार सेवा प्रणाली प्रयोगमा ल्याइने सरकारको योजना छ ।

सम्पूर्ण पूर्वाधार क्षेत्रको अन्तरआबद्धतालाई दृष्टिगत गर्दै ‘राष्ट्रिय पूर्वाधार विकास योजना’ कार्यन्वयनमा ल्याइने, विशेष आर्थिक क्षेत्र प्राधिकरण र औद्योगिक विकास तथा व्यवस्थापन लिमिटेडलाई गाभी ‘औद्योगिक पूर्वाधार विकास प्राधिकरण’ बनाइने विषयलाई प्राथमिकता दिइएको छ ।

साझा सङ्कल्प : राष्ट्रिय पुँजीको विकास

काठमाडौँ, ६ चैत : सरकारले स्वदेशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गर्दै राष्ट्रिय पुँजीको विकास गर्ने सङ्कल्प लिएको छ । सरकारमा सहभागी पाँच राजनीतिक दलद्वारा आज सार्वजनिक ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’मा कृषिलाई आर्थिक वृद्धि, रोजगारी सिर्जना, गरिबी निवारण, औद्योगीकरण, निर्यात व्यापार र आपूर्ति व्यवस्था अभिवृद्धिको प्रमुख क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।

भन्सार नियमनका माध्यमबाट समेत स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गर्ने, ज्याला रोजगारी र स्वरोजगार दुवै क्षेत्रमा कामको अवसर सिर्जना गर्ने गरी ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने सरकारको घोषणा छ । स्वदेशको रोजगारीलाई आकर्षक र मर्यादित बनाइने तथा वैदेशिक रोजगारीलाई सुरक्षित र सीप सिक्ने (स्कील गेन) माध्यम बनाइने साझा सङ्कल्पमा उल्लेख छ ।

रोजगार बैंक, स्टार्टअप कोष र व्यवसाय तयारी केन्द्र (बिजनेश इन्कुवेसन सेन्टर) को स्थापना गरी मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई प्रवद्र्धन गर्ने, रोजगारी सिर्जना हुने क्षेत्रमा राज्यको लगानी बढाउने, ‘गिग’ अर्थतन्त्रमा युवाको ‘पार्ट–टाइम’ आबद्धतालाई प्रोत्साहित गर्ने सरकारको योजना छ ।

उद्योग, व्यापार र सेवालगायत सबै क्षेत्रमा व्यावसायिक वातावरण सिर्जना गरी उद्यमी–व्यवसायीको टुटेको मनोबललाई उठाउने, निजी क्षेत्रका सङ्घकै साझेदारीमा हरेक पालिकामा ‘बजार मिल्दो, युवा केन्द्रित’ सीपमूलक कार्यक्रम सञ्चालन गर्ने, कृषिमा आधारित उद्योगमा संलग्न हुने नेपालीलाई ऋण तथा सहुलियतका ‘स्किम’ ल्याइने साझा सङ्कल्पमा उल्लेख छ ।

पालिकास्तरमा ‘भूमि बैंक’ जस्ता उपायबाट जमिनको व्यवस्था गर्ने, स्थानीय बैंक÷वित्तिय संस्थामार्फत पुँजीको व्यवस्था गर्ने, सिँचाइ, मल, औजार–उपकरण आदिको प्रबन्ध गर्ने, कृषिउपजको बीमा गर्ने, त्यसको समर्थन मूल्य तोक्ने र व्यावसायिक उत्पादनकर्तासँग अग्रिम खरिद सम्झौतासहितको प्रणाली विकास गर्ने सरकारको योजना छ ।

व्यवसाय, लगानी र व्यापारसँग सम्बन्धित अन्तर्राष्ट्रिय ‘बेञ्चमार्किङ’का सूचकाङ्कमा सुधार गर्ने, उद्योग, कृषि तथा पशुपालन क्षेत्रमा आयात प्रतिस्थापनसँगै निर्यातको सम्भावना भएका उत्पादनमा आत्मनिर्भरता बढाउने योजना अघि बढाउन तरकारी, फलफूल र माछालगायत खाद्यवस्तु, जुत्ता, सिमेन्ट, आँखाको इन्ट्राओक्युलर लेन्सलगायतका औषधि आदिको उत्पादन र उपयोगलाई प्राथमिकता दिने उल्लेख छ ।

आर्थिक सम्भाव्यताका रुग्ण उद्योगलाई सार्वजनिक निजी साझेदारीको अवधारणाअनुरूप पुनःसञ्चलनमा ल्याउने, काम, रोजगारी र सामाजिक सुरक्षाका प्रबन्धबाट सबैका लागि नियमित कमाइ हुने वातावरण बनाउने साझा सङ्कल्पमा उल्लेख छ ।

मधेस प्रदेशमा एसइई परीक्षामा ८१ हजार सात सय ६८ परीक्षार्थी सहभागी हुँदै

धनुषा, ६ चैत ः मधेस प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा धनुषाबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी हुँदैछन् । यही चैत १५ गतेदेखि सुरु हुने एसइई मा मधेस प्रदेशबाट कूल ८१ हजार सात सय ६८ परीक्षार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालय जनकपुरले जनाएको छ ।

परीक्षामा मधेस प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा बढी विद्यार्थी धनुषाबाट र सबैभन्दा कम सङ्ख्या सप्तरीबाट रहेका छन् । धनुषाबाट चार सय ८९ जना प्राविधिकतर्फका गरी १२ हजार दुई सय १४, सिराहाबाट १० हजार नौ सय २३, महोत्तरीबाट नौ हजार चार सय ३१, सर्लाहीबाट १० हजार आठ सय ९६, रौतहटबाट नौ हजार चार सय ६९, बाराबाट नौ हजार चार सय ४४, पर्साबाट १० हजार ६८ र सप्तरीबाट नौ हजार तीन सय २३ परीक्षार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

शिक्षा विकास निर्देशनालय जनकपुरका निर्देशक दिलीपकुमार ठाकुरले परीक्षाका लागि आवश्यक तयारी द्रुत गतिमा भइरहेको बताउनुभयो । निर्देशक ठाकुरले आठ जिल्लामा गरी दुई सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको छभने दुई सय ९५ केन्द्राध्यक्ष, पाँच सय ३० सहायक केन्द्राध्यक्ष, चार हजार ९२ निरीक्षक, आठ सय सात परीक्षा सहायक, एक हजार छ सय ३९ जना कार्यालय सहयोगी गरी जम्मा सात हजार छ सय ५८ जना कर्मचारी खटाइने बताउनुभयो ।

आवश्यक तयारी करिब पूरा भएका बताउँदै निर्देशक ठाकुरले मधेस प्रदेशका सबै जिल्लामा शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयमा उत्तरपुस्तिका र प्रश्नपत्र जिल्लास्थित जिल्ला प्रहरी कार्यालयमा पठाइसकेको जानकारी दिनुभयो ।

उहाँले यस प्रदेशमा एसइई परीक्षालाई मर्यादित, अनुशासित र व्यवस्थित रुपमा सम्पन्न गराउन आठवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला परीक्षा समन्वय समितिले निरीक्षण तथा अनुगमन गरिने बताउनुभयो । त्यसैगरी, मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालय, शिक्षा विकास निर्देशनालय, शिक्षा तालिम केन्द्रलगायत निकायलाई समेटेर प्रदेशस्तरीय अनुगमन टोली बनाएर अनुगमन गरिने निर्देशक ठाकुरले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकामा ७३ प्रतिशत बालबालिकामा दाँँत किराले खाने समस्या

काठमाडौँ, ६ चैतः काठमाडौँ उपत्यकाभित्र गरिएको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकाको दाँत किराले खाने समस्या देखिएको पाइएको छ । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले गरेको ६८ वटा विद्यालयमा गरेको अनुसन्धानका क्रममा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको हो ।

विश्व मुख स्वास्थ्य दिवसको पूर्वसन्ध्यानमा आज कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालले पत्रकार सम्मेलन आयोजना गरी पछिल्लो समय नेपालका बालबालिकामा दाँत किराले खाने अत्यधिक रहेको बताएको छ ।

पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा बुद्धिमान श्रेष्ठले बालबालिकाले राम्रोसँग ब्रस नगर्ने, बजारमा पाइने तयारी खाना खाने, चक्लेट, विष्कुटलगायत गुलियो खानेकुरा खाँदा अधिकांश बालबालिकाको दाँत किराले खाने समस्या देखिएको बताउनुभयो ।

अस्पतालले बिएम फाउन्डेसन र रोटरी क्लब अफ काठमाडौँ नर्थसँगको सहकार्यमा उपत्यकाभित्रका ६८ विद्यालयमा अध्ययन गरेको थियो । कूल २४ हजार एक सय ५४ विद्यार्थीसँग गरेको अनुसन्धानका क्रममा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको हो । अस्पतालले विभिन्न समुदायमा गएर गरेको दन्त शिविरका क्रममा वयस्कहरुमा ४५ प्रतिशत गिजाको समस्या पाइएको डा श्रेष्ठले बताउनुभयो ।

हालसालै उक्त अस्पतालले झापा, स्याङ्जा, काभ्रेपलाञ्चोक, कैलाली, सिन्धुली र नुवाकोटमा दन्तशि विर सञ्चालन गरेको थियो । तीनदिने निःशुल्क दन्त परीक्षण गरिने कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले विश्व मुख स्वास्थ्य दिवसका अवसरमा बुधबारदेखि शुक्रबारसम्म तीन दिने निःशुल्क दन्त परीक्षण गर्ने भएको छ ।

अस्पतालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मार्च २० अर्थात् विश्व मुख स्वास्थ्य दिवसका अवसरमा निःशुल्क दन्त परीक्षण गर्न लागेको हो । यस्तै, विश्व मुख स्वास्थ्य दिवसका अवसरमा सो अस्पतालले भोलि जनचेतनामूलक ¥याली आयोजना गर्ने, निबन्ध प्रतियोगिता र कला प्रतियोगिता आयोजना गर्ने भएको हो ।

साझा सङ्कल्प : आर्थिक शिथिलता अन्त्य , बैंक वित्तीय संस्थालाई विसङ्गति मुक्त’

काठमाडौँ, ६ चैत : पाँच दलको न्यूनतम साझा कार्यक्रमले आर्थिक शिथिलता अन्त्य गर्ने, वित्तीय संस्थालाई विसङ्गति मुक्त बनाउने, सङ्घीयता कार्यान्वयन र सार्वजनिक संरचनागत सुधार गर्ने, छरितो सेवा प्रवाहसँगै सुशासन कायम गर्ने, स्वरोगार उद्यमशीलता र स्वदेशी उत्पादनको प्रवद्र्धन गर्नेलगायत विषयलाई प्राथमिकतामा राखेको छ ।

सत्तारुढ पाँच राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पमा अर्थतन्त्रमा उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तीव्रता दिने उल्लेख छ ।

“सुस्त कर्जा प्रवाह र पुँजीगत खर्चको न्यूनताजस्ता समस्याको समाधान गर्ने, वित्तीय तथा मौद्रिक नीतिबीच समन्वय गर्दै तात्कालीक र मध्यकालीन लगानी र रोजगारमैत्री नीतिगत सुधारमा बाधा पु¥याउने बिभिन्न कानुनहरु संशोधन गरिनेछन् । सार्वजनिक वित्तको दिगो व्यवस्थापनमा चुनौतीका रूपमा रहेको राजस्व र खर्चबीच बढिरहेकोे अन्तरलाई कम गर्न राजस्व सुधार, सरकारी खर्चमा मितव्ययिता, वैदेशिक सहयोगका नवीन स्रोतहरूको पहिचान र परिचालन गरिनेछ”, न्यूनतम साझा कार्यक्रममा भनिएको छ ।

विप्रेषण आप्रवाहलाई उत्पादनशील गतिविधिमा लगाउने र सेयर बजारलाई नीतिगत सुधारमार्फत चलायमान बनाउने नीति सरकारले लिने प्रतिबद्धता पाँच दलले जनाएका छन् । त्यस्तै, सहुलियतमा रहेको हरित वित्त, अन्तर्राष्ट्रिय बजारमा पहुँच र प्रविधि हस्तान्तरणलाई केन्द्रबिन्दुमा राखी अतिकम विकसित राष्ट्रको दर्जाबाट स्तरोन्नति भएपछिको सङ्क्रमणकालीन रणनीति कार्यान्वयन गर्ने सङ्कल्प पाँच दलको छ ।

पन्ध्रौँ योजनाको कार्यान्वयन अवस्थाको वस्तुनिष्ठ समीक्षासहित सोह्रौँ राष्ट्रिय योजना प्रारम्भ गर्ने पनि न्यूनतम साझा कार्यक्रममा उल्लेख छ । सोह्रौँ आवधिक योजनामार्फत डिजिटलाइजेसन, पर्यटन, कृषि, ऊर्जा र हरित औद्योगिकीकरणलाई रोजगारमूलक आर्थिक वृद्धि एवं संरचनात्मक रूपान्तरणका नयाँ आधारका रूपमा परिभाषित गर्दै सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गरी ‘सम्मानजनक मध्यम आय भएको अर्थतन्त्र’ निर्माण गर्ने उल्लेख छ ।

वित्तीय संस्थामा उत्पन्न समस्या समाधान गर्न विभिन्न समयमा गठित आयोगका सुझावलाई क्रमशः कार्यान्वयन गर्दै सहकारी, लघुवित्त संस्था एवं अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्ने पनि सत्तारुढ दलको साझा सङ्कल्प छ । “सहकारी कर्जा असुली न्यायाधीकरणको गठन गर्ने र सहकारी बचत तथा कर्जा सुरक्षण कोष सुरुआत गर्ने, ठूलो कारोबार गर्ने सहकारीलाई केही समय राष्ट्र बैंकको नियमन र सुपरीवेक्षणमा राख्न कानुनी प्रबन्ध गर्ने, बचत तथा ऋण सहकारी संस्थाका नाममा रहेका सम्पत्तिको धितोमा नेपाल राष्ट्र बैंकबाट छोटो अवधिको पुनःकर्जा उपलब्ध गराउने व्यवस्था गरिनेछ”, सरकारमा रहेका दलको न्यूनतम साझा कार्यक्रममा भनिएको छ, “हाललाई बचत तथा ऋण कारोबार गर्ने संस्थाको दर्ता र कार्यक्षेत्र विस्तार अनुमति तथा सेवा केन्द्र स्वीकृति बन्द गर्ने र लघुवित्तका ऋणीहरूको कर्जा पुर्नतालिकीकरण तथा पुनःसंरचनाको व्यवस्था गर्ने नीति लिइनेछ ।”

सङ्घीयता कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने विषयमा सत्तारुढ दलको साझा सङ्कल्पमा परेको छ । सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न, सुशासन प्रवद्र्धन गर्न, व्यावसायिक वातावरण निर्माणमा असहज एवं असान्दर्भिक नीति तथा कानुनमा परिमार्जन गरिने जनाइएको छ ।
“सङ्गठन संरचनामा कायम रहेको दोहोरोपना हटाइ चुस्त र मितव्ययी संरचना निर्माण गरिनेछ । राज्यका निकायबीच अन्तर–समन्वय कायम गरी प्रविधिमा आधारित, सुधार–निर्देशित अनुगमन प्रणाली स्थापना गरिनेछ”, न्यूनतम साझा कार्यक्रममा भनिएको छ, “समावेशिता, धर्मनिरपेक्षतासहित सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाइनेछ ।”

आमनागरिकलाई सहज र छरितो ढङ्गबाट निष्पक्ष न्यायको सुनिश्चितता गर्न न्यायपालिकाको संरचनागत सुधारका लागि सुझाव तथा सिफारिस गर्न उच्चस्तरीय आयोग गठन गर्ने योजना पाँच दलको साझा सङ्कल्पमा छ । त्यस्तै नागरिक प्रशासन, सुरक्षा निकाय, सार्वजनिक संस्थानलाई सक्षम र जनउत्तरदायी बनाउन नीति, संरचना र प्रणालीमा सुधार गर्नका लागि विज्ञ सम्मिलित कार्यदल गठन गर्ने पनि जनाइएको छ ।

‘सार्वजनिक पदमा रहेका सबै भ्रष्ट, सबै निकम्मा’ का रूपमा व्याप्त भावनालाई बदल्न ‘बेइमानी गर्नेले कानुनीरूपमा सजाय पाउँछ’ भन्ने उदाहरण प्रस्तुत हुनेगरी सार्वजनिक प्रशासन, न्यायालय र सम्बद्ध नियामक निकायमा जवाफदेहिता सुनिश्चित गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ । ‘लाइनमा रहेका सबैको पालो आउँछ’ भन्ने मान्यतालाई बल पु¥याउने दिगो प्रणाली विकास गरी जनतामा राज्यप्रतिको भरोसा जगाउने नीति लिइने जनाइको छ ।

“कार्यसम्पादन करारसम्बन्धी विद्यमान निर्देशिकालाई परिमार्जन गरी प्रमुख पदमा बहाल कर्मचारीसँग वस्तुनिष्ठ मूल्याङ्कन र मापनयोग्य परिसूचकका आधारमा कार्यसम्पादन सम्झौता गरिनेछ”, न्यूनतम नीतिगत प्राथमिकतामा भनिएको छ, “राष्ट्रिय परिचयपत्रलाई प्रचलनमा ल्याइनेछ । फरकफरक कार्यालयमा नागरिकतालगायत कागजात पटकपटक बुझाउनुपर्ने झन्झटलाई हटाउन नागरिक एपलाई सुदृढ गरी त्यसैमार्फत सबै प्रकारको सेवा उपलब्ध गराइनेछ । सरकारी सेवा तोकिएको समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागू गरिनेछ ।”

सार्वजनिक खरिद प्रक्रियामा उच्चतम दक्षता र सदाचार सुनिश्चित गर्न आवश्यक कानुनी र संस्थागत सुधार गरिने जनाइएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रलाई परिणाममुखी र प्रभावकारी बनाउन आवश्यक सुधार गर्ने पाँच दलको साझा सङ्कल्पमा उल्लेख छ । त्यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनसहित अधिकारसम्पन्न बनाई भ्रष्टाचार नियन्त्रण र सदाचारको प्रत्याभूति गरिने जनाइएको छ ।

भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन तथा अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाउन पाँच दलले प्रतिबद्धता जनाएका छन् । भ्रष्टाचारी एक दिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाली समाजमा स्थापित गर्ने दाबी पनि उनीहरुको छ ।
 

सङ्क्रमणकालीन न्यायको बाँकी कामलाई टुङ्याउन तत्काल कानुनी प्रबन्ध गरिने

काठमाडौँ, ६ चैत : सरकारले मुलुकमा दिगो शान्ति स्थापना गर्नका लागि सङ्क्रमणकालीन न्यायको बाँकी कामलाई टुङ्याउन तत्काल कानुनी प्रबन्ध गर्ने भएको छ । सरकारमा सहभागी पाँच राजनीतिक दलले आज प्रधानमन्त्री कार्यालयमा सार्वजनिक गरेको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ मा सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन कानुनी व्यवस्था गर्ने उल्लेख छ ।

“दिगो शान्ति प्रक्रियाका पीडितलाई केन्द्रमा राखी तथ्यका आधारमा सत्य स्थापित गर्नुपर्छ”, न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पमा भनिएको छ, “सत्यका आधारमा न्याय, क्षतिपूर्ति, परिपूरण, माफी र मेलमिलापका माध्यमबाट द्वन्द्व सिर्जित पीडाको सम्बोधन गर्नुपर्छ ।”

सरकाले द्वन्द्वकालमा घाइते तथा अङ्गभङ्ग भएका व्यक्तिहरूलाई उपचार, रोजगारी, स्वरोजगारका अवसर र पुनःस्थापनासम्बन्धी कार्य गर्ने जनाएको छ । साथै, द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, पुनःस्थापना र परिपूरणको कार्य सम्पन्न गर्नेसमेत सरकारले जनाएको छ । सरकारको उक्त योजनामा तराई–मधेसलगायतका आन्दोलनका क्रममा अन्यायपूर्ण ढङ्गले बन्दी बनाइकालाई सरकार र आन्दोलनकारीबीच भएका सम्झौताअनुरूप कानुनसम्मत ढङ्गले रिहाइ गर्नेसमेत योजना अघि सारेको छ ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा वित्तीय साक्षरता अभियान सञ्चालन

काठमाडौँ, ६ चैत : राष्ट्रिय वाणिज्य बैंकले ‘ग्लोबल मनी विक’का उपलक्ष्यमा देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने भएको छ । बैंकले आफ्ना सातै प्रादेशिक र शाखा कार्यालयमार्फत यही चैत ६ गतेदेखि ११ गतेसम्म वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यस वर्षको ‘ग्लोबल मनी विक २०२४’ नारा ‘प्रोटेक्ट योर मनी, सेक्युर योर मनी’ भन्ने रहेको छ । ग्लोबल मनी विक वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिकरुपमा मनाउँदै आएको साप्ताहिक अन्तर्राष्ट्रिय अभियान हो ।नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन, २०७८ अनुसार बंैकको देशैभरिका शाखा कार्यालयले विद्यार्थी, युवा, मजदुर, कृषक, साना उद्यमी, महिला विप्रेषण प्रापक ग्राहकलाई लक्षित गरी एक सप्ताहसम्म ज्ञान, सीप तथा बैंकिङ आदत सिकाउन उद्देश्यले वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा दुई सय ८७ वटा शाखा कार्यालय, तीन सय पाँच एटिएम र ९८ वटा शाखारहित बैंकिङ, ७१ एक्स्टेन्सन काउन्टर रहेको छ ।

नयाँ समीकरण मेरो प्रधानमन्त्री पदका कारणले बनेको होइन : प्रधानमन्त्री दाहाल

काठमाडौँ, ६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा आफ्नो पदका कारणले नबनेको स्पष्ट पार्नुभएको छ । सरकारमा सहभागी पाँच राजनीतिक दलको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले समृद्धिको यात्रामा जानुपर्छ भन्ने उद्देश्यका साथ नयाँ समीकरण बनेको स्पष्ट पार्नुभयो ।

“जनतामा सुशासन र समृद्धिको आकाङ्क्षालाई तीव्रताका साथ गुणात्मक तवरले सम्बोधन गर्ने ऐतिहासिक आवश्यकतासँग यो समीकरण बनेको छ”, उहाँले भन्नुभयो, “नयाँ काम सुरु भएका छन्, जनताको आवाजलाई सम्बोधन गर्नेगरी काम गर्नुपर्छ ।”

उहाँले जनतामा नयाँ आशा जगाउने र राष्ट्रको बृहत्तर हितलाई केन्द्रमा राखेर नयाँ समीकरण बनेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री दाहालले सबै मन्त्री, सचिव एवं कर्मचारीलाई पछिल्लो परिस्थितिअनुसार काम गर्न दिर्नेशन दिनुभयो ।

“जनतामा नयाँ आशा र भरोसा जगाउने कुराको कुनै विकल्प छैन”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “यो सङ्कल्प र समीकरणबाट पनि जनतामा सेवा प्रवाह भएन, जनतामा आशा जगाउन सकिएन र विकासमा गति दिन सकिएन भने देश अप्ठ्यारोमा जाने खतरा छ, जनताका पक्षमा काम गर्नुहोला ।”

निवर्तमान अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेटका प्राथमिकतालाई निरन्तरता दिइनुपर्छ : पूर्वअर्थमन्त्री कार्की

काठमाडौँ, ६ चैत : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग सांसद ज्ञानेन्द्रबहादुर कार्कीले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले संसद्मा पेस गर्नुभएको बजेटका सिद्धान्त र प्राथमिकतालाई स्वामित्व लिएर सरकार अघि बढ्नुपर्ने बताउनुभएको छ ।

उहाँले निवर्तमान अर्थमन्त्रीले पेस गर्नुभएको आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकताले अर्थतन्त्रको विद्यमान अवस्थालाई वास्तविक चित्रण एवं आगामी दिनमा तय गर्नुपर्ने बाटो अवलम्बन गरेको छ भन्नुभयो । ठूला पूर्वाधार आयोजना निर्माण तथा उत्पादन क्षेत्रलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता तयार पारिएको उल्लेख गर्नुहुँदै पूर्व अर्थमन्त्री कार्कीले अर्थतन्त्रलाई ठीक ढङ्गले अघि बढाउन सकिएन भने थप समस्यामा पर्ने बताउनुभयो ।

अहिले सार्वजनिक ऋणको दायित्व भुक्तानी र सामाजिक सुरक्षामा ठूलो रकम खर्च भइरहेको उहाँले बताउनुभयो । पुँजी निर्माण र उत्पादन तथा उत्पादकत्व बढ्ने गरी बजेटको सिद्धान्त तथा प्राथमिकता तय गरिनुपर्ने उहाँको भनाइ छ । प्रतिनिधिसभाको आजको बैठकले अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत ग¥यो । उक्त विधेयक माथि संशोधन पेस गर्न चाहने सांसदलाई ७२ घण्टाभित्र विधेयक शाखामा संशोधन पेस गर्न भनिएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही चैत ७ गते बुधबार बिहान ११ बजे बस्नेछ ।

पर्वतको पैंयुँ पालिकामा बाँदर धपाउन कर्मचारी !

पर्वत, ६ चैत : जिल्लाका केही भागमा बाँदर आतङ्क बढेपछि दक्षिण पर्वतको पैंयँु गाउँपालिकाले बाँदर धपाउन कर्मचारी नियुक्त गर्ने भएको छ । गाउँपालिकाका सातवटै वडामा बाँदरको आतङ्क बढेपछि कर्मचारी नै नियुक्त गरेर बाली जोगाउन प्रयास थालिएको हो ।

पैंयुँ गाउँपालिकाको सोमबार सम्पन्न १३औँ गाउँसभाले सातवटै वडामा बाँदर हेरालु कर्मचारी नियुक्त गर्ने निर्णय पारित गरेको प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेलाई यति नै सङ्ख्यामा कर्मचारी नियुक्त गर्ने भन्ने निर्णय नभए पनि न्यूनतम पाँच–पाँच जनाका दरले कर्मचारी राख्ने तयारी भएको छ । हरेक वडामा पाँच जनाका दरले ३५ कर्मचारी नियुक्त गर्ने, उनीहरूलाई सेवासुविधा के–कति निर्धारण गर्ने भन्ने विषयमा कार्यपालिकाको बैठकले निर्णय गर्नेछ ।केही वर्षअघिदेखि बाँदर नियन्त्रणका लागि सबै वडाका खेतीयोग्य जमिन र बस्ती वरिपरिका रुख कटान अभियान थालिएको भए पनि नियन्त्रण हुन नसकेपछि कर्मचारी नै नियुक्त गरेर बाँदर धपाइने गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले राससलाई जानकारी दिनुभयो । बाँदर नियन्त्रण योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा पालिकाले रु सात लाख विनियोजन गरेको छ ।तेह्रौँ गाउँसभाले बाँदर नियन्त्रणसँगै राँगा पाल्ने किसानलाई जनही रु २० लाख अनुदान दिने निर्णय गरेको छ । पछिल्लो समय रैथाने जातका लिमे र पाराकोटे भैँसी लोप हुँदै गएपछि राँगा पाल्न प्रेरित गर्ने उद्देश्यले अनुदान दिने निर्णय भएको अध्यक्ष ठकुरीले बताउनुभयो ।यसैगरी सरकारले कक्षा ५ सम्म दिने दिवाखाजा कार्यक्रमलाई पैंयुँ गाउँपालिकाले कक्षा ६ सम्म विस्तार गर्ने निर्णय गरेको छभने पालिकास्तरीय चिस्यान केन्द्र सञ्चालन गरिने भएको छ । कक्षा ८ को पालिकास्तरीय परीक्षालाई ‘एसइई’ ढाँचामा सञ्चालन गर्ने निर्णय भएको छ ।

महाधिवेशन तयारीमा जुट्न अध्यक्ष नेपालको निर्देशन

काठमाडौँ, ६ चैतः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिनुभएको छ ।

अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै गत फागुन २१ गते गठबन्धन फेरिएर विकसित नयाँ राजनीतिक घटनाक्रमबाट अन्योलमा नपरी महाधिवेशनमा जुट्न कार्यकर्तापङ्क्तिलाई निर्देशन दिनुभएको हो ।

जनतामा रहेको निराशालाई सम्बोधन गर्न हामीले प्रयास गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “हामीले आवश्यक राजनीतिक पहलकदमी लिँदै अगाडि बढ्नुपर्छ । तर कुनै पनि अन्योलमा नपरी पार्टीको मुख्य ध्यान सङ्गठन तथा सदस्यता विस्तार अभियान र महाधिवेशनमा केन्द्रित गर्नुपर्छ ।”

बदलिएको परिस्थितिमा पार्टी अर्को गठबन्धनमा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मन्त्रीहरूबाट परिणाममुखी काम होउन्, सरकारले राम्रो काम गरोस् ।” पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा गर्न लागेको महाधिवेशनको तयारी सुरु गरेको छ ।

अध्यक्ष नेपालको नेतृत्वमा १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटीका साथै विभिन्न १३ वटा कमिटी गठन गरिएको छ । केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्यलाई कमिटीको सदस्यमा राखिएको छ ।

महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको पार्टीले सङ्गठन सुदृढीकरण तथा विस्तारकार्य जारी राखेको छ । पार्टीले राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवदेन लेखन कार्य ९० प्रतिशत सम्पन्न गरेको जनाएको छ । महाधिवेशन केन्द्रित अभियान दुई महिनासम्म सञ्चालन गरेकामा यही चैत २५ गतेसम्म चल्ने छ ।

पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तर्राष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरी ती प्रतिवेदनका आधारमा एउटै दस्तावेज तयार गरिने सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । पार्टीभित्रको सबै वैचारिक पक्षलाई समेटेर महाधिवेशनमा एउटै दस्तावेज प्रस्तुत गरिने जनाइएको छ ।

एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत

महेन्द्रनगर (कञ्चनपुर), ६ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको छ ।

यसअघि कार्यवाहक अध्यक्ष रहनुभएका बुढालाई नवौँ अधिवेशले सर्वसम्मत अध्यक्ष बनाएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अध्यक्षसहित पदाधिकारीहरूले सोमबार राति पद तथा गोपनियताको शपथ लिएका छन् ।

निर्वाचनका बेला बनाइएको अध्यक्षमण्डलले पदाधिकारीमा आकाङ्क्षी सबै उम्मेदरवारसित छलफल गरेर जिल्ला नेतृत्वसहित पदाधिकारी सर्वसम्मत निर्वाचित गरेको हो ।

त्यस अवसरमा अध्यक्ष ओलीले पार्टीको ‘मिसन–८४’ का लागि जिल्ला नेतृत्वलाई केन्द्रित गर्न निर्देशन दिनुभयो । सबैले पार्टीलाई बलियो बनाउन जोड दिनुपर्ने बताउँदै उहाँले गुटबन्दीबाट मुक्तभएरक काम गर्न आग्रह गर्नुभयो । गत बिहीबार नवौँ जिल्ला अधिवेशन अध्यक्ष ओलीले नै उद्घाटन गर्नुभएको थियो ।

‘दोलखाका जनताको जीवनस्तर उकास्न लाग्नेछु’ – सांसद रिजाल (अन्तर्वार्ता)

काठमाडौँ, ६ चैत : राष्ट्रियसभा सदस्य भएर देशको सेवा गर्ने अवसर भर्खरै प्राप्त भएको छ । खुसी लागेको छ । जिम्मेवारीवोध पनि भएको छ । दोलखा प्राकृतिक हिसाबले निकै सुन्दर जिल्ला हो । त्यस ठाउँको विकास गर्नुपर्ने मुख्य जिम्मेवारी छ । बागमती प्रदेशको दोलखा जिल्लाबाट प्रतिनिधित्व गर्दै राष्ट्रियसभा सदस्य पुग्न पाउँदा गर्व लागेको छ ।

प्राकृतिक र जातीय हिसाबले पनि लोपोन्मुख थामी, जिरेल, सुरेल जाति दोलखामा बासोबास गर्दछन् । उनीहरूको संस्कृतिका साथै शिक्षा, स्वास्थ्यदेखि आधारभूत आवश्यकताका बारेमा पनि ध्यान दिनुपर्ने जरुरी छ । समग्र दोलखाली जनताको जीवनस्तर उकास्न काम गर्नुपर्ने छ । दोलखाबाट निर्वाचित जनप्रतिनिधि र दोलखामा सक्रिय राजनीतिक दलहरू सबै मिलेर विकास निर्माणका काममा एकताबद्ध हुनुपर्ने जरुरी छ । बौद्धिक व्यक्तित्व र सरोकारवाला पक्षको एकमत हुन जरुरी छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणको चरणमा जिल्लाका राजनीतिक दलहरू एक हुँदा राम्रो सन्देश गएको म यहाँ स्मरण गर्न चाहन्छु । यो आयोजना निर्माणबाट दोलखालाई मात्र नभएर सिङ्गो नेपालको अर्थतन्त्रलाई सहयोग पुग्यो । लोडसेडिङको मारमा परेका जनतालाई उज्यालोतर्फ लैजाने काम भयो । तामाकोशी जलविद्युत् आयोजना तेस्रोलगायत यस जिल्लामा विभिन्न सुन्दर प्राकृतिक तालहरू छन् । पर्यटन क्षेत्र, कृषि उत्पादन वृद्धि गर्न सकेमा जिल्लावासीको जीवनस्तरमा सुधार आउँछ । मेरो ध्यान दोलखाली जनताको जीवनस्तर उकास्नमा हुनेछ । जनता दिगो शान्ति, सुशासन, विकास निर्माण चाहन्छन् ।

संविधान जारी भएको लामो समय बितिसक्दा पनि संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बन्न सकेका छैनन् । यो अस्वस्थ राजनीतिक प्रतिस्पर्धा र अस्थिरताले गर्दा नै हो भन्ने मेरो बुझाइ छ । सर्वप्रथमतः राजनीतिक दलहरू नै संविधानप्रति इमान्दार हुनुपर्छ । संविधान कार्यान्वयनका सन्दर्भमा दलहरू एकै ठाउँमा उभिन सक्नुपर्छ । समयको पदचापलाई दलहरूले बुझ्न सकेमा मात्र देशको भविष्य सुन्दर हुन्छ । परिपक्वता र सामूहिकताको भावना जरुरी भइसकेको छ ।

संसद्मा विधायकको काम कानुन बनाउने भनिए पनि नेपालमा त्यो खालको परिपाटी अझै राम्रोसँग स्थापित हुनसकेको छैन । सांसद भन्नेबित्तिकै विकास गर्ने हो भन्ने जनमत छ । त्यो कुरा जनतालाई बुझाउन पनि सकिएको छैन । पहुँच भएका नेताहरूले आफ्नो गाउँ, जिल्लामा विकास निर्माणका लागि बजेट धेरै लगेको पनि देखिन्छ ।

म राष्ट्रियसभाअन्तर्गत आर्थिक व्यवस्था तथा सुशासन समितिमा आबद्ध छु । संसदीय मर्यादाको पालना गरेर आफ्ना कुराहरू राख्ने, अध्ययन गर्ने, विज्ञहरूसँग छलफल गरेर कानुन बनाउने काम गर्ने मुख्य भूमिका रहने छ । सांसदको रूपमा जति दिन काम गर्न पाउँछु, पूरै निष्ठाका साथ गर्नेछु ।

सांसद घनश्याम रिजालकोे परिचय

सांसद घनश्याम रिजाल दोलखा जिल्लाबाट नेकपा ९एमाले०का तर्फबाट राष्ट्रियसभा सदस्य हुनुहुन्छ । उहाँले गत फागुन २१ गतेबाट काम प्रारम्भ गर्नुभएको हो । बाबु धनबहादुर विश्वकर्मा र आमा रुद्रमाया विश्वकर्माको जेठो सन्तानको रुपमा विसं २०३७ पुस ८ गते जन्मिनुभएको हो । उहाँ २०४९ सालदेखि सक्रिय राजनीतिमा आबद्ध हुनुहुन्छ । तत्कालीन नेकपा ९एमाले० निकट युवासङ्घको जिल्ला समिति सदस्य, उपसचिव, पार्टीको जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य रहेर काम गर्नुभयो । अहिले पार्टी उपसचिव, उपाध्यक्ष हुँदै बागमती प्रदेश कमिटी सदस्य रहनुभएको छ । नेपाल दलित मुक्ति सङ्गठनको केन्द्रीय महासचिव हुनुुहुन्छ ।

सभामुख घिमिरेद्वारा दुःख व्यक्त

काठमाडौँ, ६ चैत : सभामुख देवराज घिमिरेले कथाकार परशु प्रधानको निधनको खबरले आफू मर्माहत भएको उल्लेख गर्दै उहाँको असमयिक निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

“कथाकार परशु प्रधानको निधनको खबरले मर्माहत भएको छु”, सभामुखले भन्नुभएको छ, “नेपाली साहित्य क्षेत्रमा कथाकार प्रधानले पुर्याउनुभएको योगदानको उच्च सम्मान गर्दछु, स्वर्गीय प्रधानप्रति श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दछु ।”

महिलाका मुद्दालाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको छ – मन्त्री चौधरी

न्युयोर्क, ६ चैत : महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला र बालबालिकाको मुद्दालाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको बताउनुभएको छ ।

महिलाको अवस्थासम्बन्धी राष्ट्रसङ्घीय आयोगको आज यहाँ भएको ६८औँ बैठकमा मन्त्री चौधरीले नेपालको संविधानले महिला र बालबालिकाको मौलिक अधिकार सुनिश्चित गरेको, पारिवारिक र सम्पत्तिको अधिकार सुनिश्चित गरेको, महिलाहरूका लागि सङ्घ, प्रदेशमा ३३ प्रतिशत र स्थानीय निकायमा ४० प्रतिशत प्रतिनिधित्वलाई सुनिश्चित गरेको जानकारी दिँदै महिला र बालबालिकाको मुद्दालाई उच्च प्राथमिकता दिइएको बताउनुभयो ।

मन्त्री चौधरीले नेपाल सरकारकाले समान वेतन, स्रोतको पहुँचमा समानता सुनिश्चित गर्न ध्यान दिएको बताउनुभयो । उहाँले विश्वव्यापीरूपमा महिला र बालबालिकालाई वित्तीय साधनमा पहुँच बढाउनुपर्नेमा जोड दिनुभयो ।

संसारभर पुरुषको तुलनामा महिला गरिबीको रेखामुनि अधिक रहेकामा चिन्ता व्यक्त गर्नुहुँदै मन्त्री चौधरीले राष्ट्रसङ्घका महासचिवको प्रतिवेदनमा पनि महिला र पुरुषबीच रोजगारी, वित्तीय समावेशिता, वित्तीय साधनमा पहुँच नपुगेको उल्लेख गरिएको बताउनुभयो । उहाँले लैङ्गिक समानता र महिला सशक्तीकरणमा ध्यान दिन विश्व समुदायलाई अपिल गर्नुभयो ।

आगामी शुक्रबार समापन हुने उक्त बैठकमा राष्ट्रिय महिला आयोगका पदाधिकारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव सुमनराज अर्याल, राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी हुनुहुन्छ ।

प्रजनन उपचारका लागि आयात गरिएको मानव अण्डामा हेमोफिलिया बी रोग

महिलाको इन भिट्रो फर्टिलाइजेसन (आइभीएफ) उद्देश्यका लागि आयात गरिएको निषेचित अण्डा आनुवंशिक हेमोफिलिया रोग लागेका दाताबाट आएको पाइएको छ ।इजराइली स्वास्थ्य मन्त्रालयका अनुसार अण्डा जर्जियाको बर्थ नामक क्लिनिकबाट आयात गरिएको हो ।

रगत जम्ने कारक तत्व आइएक्सको कमीका कारणले लाग्ने हेमोफिलिया बी रोगलाई क्रिसमस रोग पनि भनिन्छ । आइएक्स रगतमा रहेको प्रोटिन हो । यसले रगत जम्न मद्दत गर्दछ । यसको अभावमा हेमोफिलिया बी भएका मानिसमा चोटपटक वा शल्यक्रियापछि सामान्यभन्दा लामो समयसम्म रगत बग्छ ।

यी आनुवंशिक वाहकहरू भएका अण्डाबारे जानकारी दुवै विदेशी र इजराइली क्लिनिकका कर्मचारीलाई उपलब्ध रहेको आशङ्का गरिएको छ । यद्यपि भ्रूणहरू इजराइल भित्र्याइयो । निषेचित अण्डा इजराइली बिरामीहरूमा प्रत्यारोपण गरिएको थियो ।

यस विषय निर्क्योल गर्न सार्वजनिक सहायता आयुक्तले वकिल कार्यालय र इजराइली प्रहरीको सहकार्यमा एक निरीक्षण समितिको गठन गर्न आदेश दिनुभएको छ । स्वास्थ्य मन्त्रालयले हाल यस एकाइबाट अण्डा र उर्वर अण्डाहरूको आयातमा तत्काल रोक लगाएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले इजराइलका सबै आइभिएफ एकाइका प्रबन्धकलाई त्यस्ता अण्डा प्रयोग गर्ने महिला खोजी गरी उनीहरूलाई ती अण्डाको प्रयोगमा हुने जोखिमबारे जानकारी दिन आदेश दिएको छ ।

शुक्लाफाँटाका बेरोजगारलाई सय दिनको रोजगारी

कञ्चनपुर, ६ चैत : प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा ५९ जनालाई सय दिनको रोजगारी उपलब्ध गराइएको छ । कार्यक्रमअन्र्तगत रोजगारीका लागि तीन सय ९० महिला र ७३ पुरुष गरी चार सय ६३ जना सूचीकृत भएका छन् । सूचीकृत भएकामध्ये ५९ जनालाई रोजगारीमा संलग्न गराइएको हो ।

नगरपालिकाको रोजगार शाखाका प्रमुख कृष्ण भट्टका अनुसार युवा रोजगारीका लागि रुपान्तरण पहलअन्तर्गत ३४ र कामका लागि परिश्रममा आधारित सामुदायिक आयोजनाअन्तर्गत २५ जनालाई रोजगारी उपलब्ध गराइएको छ । रोजगारीमा संलग्न ५९ जनामा ९५ प्रतिशत महिला छन् । चालु आर्थिक वर्षका स्वीकृत ६० वटा आयोजनामध्ये १८ आयोजनालाई कार्यान्वयनमा ल्याई नगरपालिकाका बेरोजगारहरूलाई रोजगारीमा संलग्न गराइएको शाखा प्रमुख भट्टले बताउनुभयो ।

“कार्यक्रमको मापदण्डअनुरुप दैनिक रु छ सय २८ न्यूनतम पारिश्रमिक दिनेगरी सय दिनको रोजगारी उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “रोजगारीका लागि सूचीकृत भएकामध्ये दलित, आदिवासी जनजाति, गरिबीको रेखामुनि रहेका व्यक्तिलाई छनोट गरी रोजगारीमा संलग्न गराएका छौँ ।”

रोजगारीमा संलग्नलाई सम्बन्धित वडा कार्यालयको साझेदारीमा भू क्षय हुँदै गरेका क्षेत्रमा जैविक तटबन्ध निर्माण, बगैँचा निर्माण तथा वृक्षरोपण, नाली सरसफाइ तथा खोदान र नयाँ सडकको ट्रयाक खोल्ने कार्यमा लगाइएको नगरपालिकाको रोजगार शाखाका प्राविधिक सहायक धिरज ऐरले बताउनुभयो ।

“आर्थिक अवस्था कमजोर हँुदा मजदुरी खोज्दै हिँडनुपर्ने अवस्था थियो”, नगरपालिकाको वडा नं ९ का दुर्गादेवी तिरुवाले भन्नुभयो, “नगरपालिकाका बेरोजगारलाई सूचीकृत गर्न सूचना टाँस गरिएको देखेपछि निवेदन दियौँ, सूचीकृत भएको जानकारी पायौँ, त्यसको केही महिनामा रोजगारीमा छनोट भएको जानकारी पाइयो ।”

अहिले सय दिनको रोजगारीमा संलग्न भई काम गर्दै आएकाले अरु क्षेत्रमा मजदुरी खोज्न जानु नपरेको उहाँले बताउनुभयो । “बाह्य क्षेत्रमा कामदारलाई दैनिक ज्यालाबापत रु पाँच सयमात्रै उपलब्ध हुने गरेको छ”, उहाँले भन्नुभयो, “महिला भएपछि सबैले मजदुरी दिँदैनन्, सहजरूपमा कार्यक्रमअन्तर्गत दैनिक ज्याला रु छ सय २८ पाइन थालेको छ, रोजगारी पाउँदा घरखर्च सहजरूपमा चल्न थालेपछि निकै खुसी छौँ ।”

गत आर्थिक वर्षमा नगरपालिकामा पाँच सय ७७ जना प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएकामा ८९ जनालाई छनोट गरी रोजगारीमा संलग्न गराइएको थियो ।

सहकारीको यकिन तथ्याङ्क निकाल्न मन्त्रालयले पहल गर्छः मन्त्री अधिकारी

काठमाडौँ -भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले अर्थतन्त्रको विकासका लागि सहकारी महत्वपूर्ण पाटो भए पनि पछिल्लो समय सहकारी क्षेत्रलाई बदनाम गर्ने काम भएको बताउनुभएको छ ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) का प्रतिनिधिसँग मन्त्रालयमा छलफल गर्दै उहाँले एकाध सहकारीले गलत गरेको भए पनि सबै सहकारी त्यस्तै हुन् भन्ने मानसिकताको विकास भएर जानु गलत भएको औँल्याउनुभयो । “जबसम्म यो मान्यताबाट अलग रहन सकिँदैन, तबसम्म सहकारी अभियान माथि जान सक्दैन,” मन्त्री अधिकारीले भन्नुभयो । सहकारीमाथिको विश्वसनीयता घट्दै गएकोप्रति चासो देखाउँदै मन्त्री अधिकारीले त्यसतर्फ मन्त्रालयको ध्यानाकर्षण भएको बताउनुभयो ।

सहकारीको सङ्ख्या ३१ हजार भने पनि मन्त्रालयसँग समेत यकिन तथ्याङ्क नरहेको भन्दै मन्त्री अधिकारीले वास्तविक तथ्याङ्क निकाल्न प्रयास गर्ने बताउनुभयो । उहाँले सहकारी सङ्घ, प्रदेश र स्थानीय तहबाट दर्ता तथा अनुगमन हुने भन्दै उहाँले जुन निकायले उत्पत्ति गराएको हो, त्यही निकायले प्रभावकारी नियमन गर्नुपर्नेमा जोड दिनुभयो ।

“सहकारी सङ्ख्या धेरै भएको र दर्ता भएका सहकारी संस्थाले समेत कारोबार गर्न नसकिरहेको अवस्थामा नयाँ संस्था दर्ता बन्द गरेर जानुपर्ने छ, आवश्यकता, जनसङ्ख्या र भूगोलका आधारमा सहकारी दर्ता गर्न सकिए व्यवस्थित गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।

कर्जा सूचना केन्द्र, बचत तथा ऋण असुली न्यायाधीकरण र दोस्रो तहको नियामक निकाय गठनको सैद्धान्तिक अनुमतिका लागि अर्थ मन्त्रालयमा पठाइसकेको मन्त्री अधिकारीले जानकारी दिनुभयो । “अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि प्रक्रिया अगाडि बढाइने छ, गलत गर्ने सहकारीलाई कारबाही हुन्छ भन्ने सन्देश दिन र राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहित गर्न आवश्यक छ,” उहाँले भन्नुभयो । सहकारी पीडितको समस्या समाधान गर्न सरकारले वार्ता टोली बनाइसकेको र उनीहरुको मागप्रति राज्य गम्भीर भएको उहाँको भनाइ छ ।

बझाङ ‘क’ उपनिर्वाचन : कांग्रेसद्वारा १० जना सिफारिस

चैनपुर (बझाङ)-आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट १० जनाको नाम सिफारिस गरिएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सोमबार बसेको बैठकले निर्वाचनमा उम्मेदवारका लागि आकाङ्क्षी देखिएकाको नाम सिफारिस गरेको हो ।

कांग्रेस केन्द्रीय समितिको परिपत्रअनुसार तीनजनाको नाम सिफारिस गर्न भने पनि आकाङ्क्षीबीच सहमति जुट्न नसकेपछि जिल्ला कार्य समितिले १० जना आकाङ्क्षीको नाम सिफारिस गरेको कांग्रेस प्रवक्ता रमानन्द जोशीले जानकारी दिनुभयो ।

प्रवक्ता जोशीका अनुसार सिफारिस हुनेमा जगतप्रसाद जोशी, सत्यराज भण्डारी, शान्ति बोहरा (पुजारा), अभिषेकबहादुर सिंह, नन्दकृष्ण जोशी, ध्रुवराज उपाध्याय, विष्णुकुमार सिंह (जगत), लोकेन्द्रबहादुर रोकाया, नारायण हमाल र अर्जुन स्याडा रहेका छन् । बझाङ ‘क’ बाट निर्वाचित सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको गत असार ५ गते दुर्घटनामा निधन भएपछि उक्त क्षेत्र रिक्त छ ।

रहेनन् कथाकार परशु प्रधान

काठमाडौँ, ६ चैत : कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उहाँको हिजो राति आफ्नै निवासमा निधन भएको उहाँका छोरा प्रतीक प्रधानले राससलाई जानकारी दिनुभयो ।

स्वर्गीय प्रधानका दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गर्नुभएको थियो ।

उहाँका ‘वक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तराद्र्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया’कथा सङ्ग्रह प्रकाशित कृति हुन् ।

कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली

काठमाडौं – मंगलबार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

आज दिउँसो मधेश प्रदेश र कोशी प्रदेश लगाएत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली, मधेश प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

डेङ्गुविरुद्ध सचेतनाः ‘खोज र नष्ट गर’ अभियान

दमौली (तनहुँ), ६ चैत : तनहुँको व्यास नगरपालिकाले डेङ्गुबारेमा स्थानीयलाई सचेत तुल्याउँदै लागि ‘खोज र नष्ट गर’ अभियान थालनी गर्न लागेको छ । गर्मी याम सुरु भएसँगै डेङ्गुको फैलने भएकाले नगरपालिकाले खोज र नष्ट गर अभियान सुरु गर्न लागेको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाले १४ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालय, टोल विकास संस्थालाई परिपत्र गर्दै अभियान सञ्चालनका लागि निर्देशन दिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले राससलाई जानकारी दिनुभयो । गत वर्ष नगरभित्रका सबै वडाका क्षेत्रमा डेङ्गु ज्वरोको सङ्क्रमण फैली जनस्वास्थ्य समस्याको रूपमा रहेको विदितै रहेकाले यस वर्ष पूर्वतयारी अपनाउन आवश्यक रहेको सोतीले बताउनुभयो । जनधनको समेत क्षति भयो ।”

वर्षायाम सुरु हुनु अगावै सजगता अपनाउनुपर्ने भएकाले डेङ्गु ज्वरो लाग्न नदिन पूर्वतयारी, रोकथाम तथा लामखुट्टे नियन्त्रणमा प्रभावकारी कार्य समयमा सञ्चालन गरी नागरिकको स्वास्थ्य सुरक्षाका लागि प्राथमिकतामा राख्नुपर्ने अहिलेको आवश्यकता रहेको सोतीको भनाइ छ । सोतीले भन्नुभयो, “यस रोगको रोकथाम, नियन्त्रण र न्यूनीकरणका लागि सरोकारवालासँग समन्वय गरी जनस्तरसम्म सचेतनाका क्रियाकलाप गरी लामखुट्टेको बासस्थान र फूल पार्ने ठाउँ खोजी गरी लार्भा नष्ट गर्न खोज र नष्ट गर अभियान सञ्चालन गरिनेछ ।” अभियानका क्रममा आ–आफ्नो घर वरपर सरसफाइ गरी पानी जम्न नदिने, खाडल पुर्ने र टिनका डब्बा, टायर, गमला, फूलदानी, बाल्टीमा पानी जम्न नदिने अभियान सञ्चालन गरिने सोतीले जानकारी दिनुभयो । त्यस्तै बिहान र साँझपख यो रोगको लामखुट्टे बढी सक्रिय हुने र टोक्ने हुँदा सकेसम्म घरबाहिर खेतबारी, हाँस, सुङ्गुर, बङ्गुर फार्ममा ननिस्कन आग्रह गरिएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले गत गर्मी महिनाको डेङ्क्रमणको अवस्थालाई ध्यानमा राखेर सबै स्थानीय तहले पूर्वतयारी थाल्नुपर्ने बताउनुभयो । एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसको साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेसी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण हुन् ।

शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोक्का

काठमाडौँ, ६ चैत : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ ।

हालैको मन्त्रीस्तरीय निर्णयबाट शिक्षक सरुवालाई व्यवस्थित, प्रभावकारी र वैज्ञानिक बनाउन मापदण्ड तयार गरी र आयोगका हाल जारी परीक्षा सम्पन्न भएपछि मात्रै अन्तरजिल्ला सरुवा फुकुवा गर्ने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी राससलाई बताउनुभयो ।

सरकारकाे साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौँ, ६ चैत : सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान १० बजे सत्ता साझेदार दलहरूले तयार पारेका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दुई–दुई जना नेता सदस्य रहेको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रममा शीर्षनेताले अध्ययनपछि आज सार्वजनिक हुन लागेको हो ।

गत फागुन २१ सत्ता साझेदार दलहरूले सरकारका साझा न्यूनतम कार्यक्रम तयार गर्न १० सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, नेकपा (माओवादी केन्द्र)बाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल सहभागी हुनुहुन्थ्यो ।

कार्यदलमा जनता समाजवादी पार्टी नेपालबाट केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ र मनिष सुमन तथा नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल हुनुहुन्थ्यो । कार्यदलले शुक्रबार साझा न्यूनतम कार्यक्रमलाई पूर्णता दिएर शनिबार बिहान प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेको थियो ।

२७ देशमा बसोबास गर्ने नेपालीभाषीको भेलाद्वारा बैङ्ककमा एएनओ गठन

बैङ्कक (थाइल्याण्ड), ६ चैत : विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैङ्ककमा भएको भेलाले नेपाली जातिलाई एकतृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेको छ ।

विश्वका कम्तीमा २७ देशका नेपालीमूलका सामाजिक अभियन्ताहरूको प्रतिनिधित्व रहेको सोमबारको भेलालाई पहिलो महाधिवेशनको स्वरुप दिएर भुटानमा जन्मी हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका नेपालीमूलका समाजसेवी डिल्ली अधिकारीको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

अधिकारी इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष हुनुहुन्छ । सो फाउण्डेसनको सहयोग र समन्वयमा बैङ्ककमा नेपालीभाषीहरूको यो पहिलो महाधिवेशनको आयोजना गरिएको हो ।

विश्वका २७ देशमा रहेका एक सय जनाभन्दा बढी नेपालीभाषीको सहभागिता रहेको सो भेलाले उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव चुडामणि भट्टराई, सचिव चिरनजङ्ग थापा, सहसचिव अर्जुनकुमार पौडेल, कोषाध्यक्ष उदयनारायण मिश्र र सहकोषाध्यक्षमा गोपी कार्की तथा सदस्यहरू चयन गरेको छ ।

यसैगरी संस्थाको बोर्ड अफ ट्रष्टीमा अध्यक्ष डिल्ली अधिकारीसहित सदस्यहरूमा सुशीलकुमार पन्त, चुडामणि भट्टराई, साधना घिमिरे, बाबुकृष्ण कार्की, सुनिता गुरुङ, ओमराज गुरुङ, वात्सना राई, टिबी गुरुङ, बिरास अधिकारी र करिष्मा सुब्बालाई चयन गरेको छ ।

विश्वका विभिन्न मुलुकमा स्थायी बसोबास गर्दै आएका सम्पूर्ण नेपाली जातिको चाहना भावनात्मकरूपमा आफ्नो मातृ तथा पितृ भूमिप्रति समर्पित भई नेपालका लागि योगदान गर्न आपसी भाइचारा, सद्भाव एवं सहयोग कायम गर्न तथा नेपाली जातीय, सांस्कृतिक पहिचानलाई समेत जीवन्त राख्न एएनओको गठन गरिएको सो महाधिवेशनको उद्घाटनका क्रममा जानकारी दिइयो ।

महाधिवेशनको उद्घाटन गर्दै थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीले एएनओ विश्वमा रहेका नेपालीभाषीहरूलाई एकताको सूत्रमा बाँध्न र एकापसमा सहयोग र सद्भाव कायम राख्नसक्ने संस्थाका रूपमा विकास होस् भनी कामना गर्नुभयो ।

नेपाल र नेपालीका नाममा जेजस्ता संस्था स्थापना भए पनि तथा नेपालीहरू सङ्गठित भए पनि नेपाली भाषा, साहित्य, संस्कार र संस्कृतिको संरक्षण र संवर्द्धन एवं नेपालीबीचको सहयोग र समन्वयमा लाग्न उहाँले सुझाव दिनुभयो । उहाँले नेपालीमूलका र नेपालीभाषी नागरिकहरू जो जुन देशमा छन् त्यहाँ उनीहरू इज्जतसाथ बस्न पाउनुपर्ने धारणा पनि राख्नुभयो ।

एएनओका अध्यक्ष अधिकारीले यो अभियान विशुद्धरूपमा संसारमा छरिएर रहेका नेपालीभाषी दाजुभाइ तथा दिदीबहिनीलाई एकताको एउटै मालामा गाँस्ने भावना र उद्देश्यले सुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो सबै नेपालीभाषीहरूको साझा संस्था भएकाले गैरराजनीतिक र गैरपक्षधर अभियान पनि हो । यो अभियान नेपाल, नेपाली, नेपाली मातृ तथा पितृभूमि, नेपाली संस्कार र संस्कृति एवं नेपाली दाजुभाइ तथा दिदीबहिनीको साझा र आफ्नै संस्था हो ।”

उहाँले संसारमा रहेका नेपाली नागरिकका छोराछोरीलाई पनि नेपाली भाषा, संस्कार, संस्कृतिको ज्ञान दिलाइ उनीहरूमा पनि नेपाली पहिचानको जगेर्ना गरिराख्न तथा विदेशमा रहेका भावी सन्ततिहरूलाई आफ्नो मातृ तथा पितृभूमिका बारेमा सदैव जानकार बनाइराख्न यो संस्थाले काम गर्ने जानकारी दिनुभयो ।

सो संस्थाका उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले संस्थाको कानुनी व्यवस्थाका बारेमा जानकारी दिँदै जो जहाँ रहे पनि भाषा र संस्कृतिका माध्यमबाट यस संस्थाले विश्वका नेपालीभाषी समुदायलाई जोड्ने धारणा राख्नुभयो । संस्थाका महासचिव चुडामणि भट्टराईले संस्था गठनको उद्देश्यका बारेमा जानकारी गराउँदै विभिन्न ४५ भन्दा बढी मुलुकका नेपालीभाषी अभियानमा जोडिएको बताउनुभयो ।

कार्यक्रममा साउदी अरेबियास्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख डा डम्मरुबल्लभ पौडेलले नेपालमा लगानीका क्षेत्र र अवसरहरूका बारेमा जानकारी दिँदै यसका लागि एएनओमा आबद्ध रहेका विश्वका नेपालीभाषीहरूले पनि पहल गर्नुपर्ने बताउनुभयो ।

सो कार्यक्रममा विभिन्न देशबाट आएका प्रतिनिधिले भूगोलको भन्दा भावनाको सीमा फराकिलो हुने भन्दै आफ्नो मातृ तथा पितृभूमिसँग यस संस्थामार्फत जोडिन पाएकामा खुसी व्यक्त गरेका थिए ।

पहिलो महाधिवेशन भनिएको सो भेलामा नेपालसहित भारत, थाइल्याण्ड, म्यानमार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, संयुक्त राज्य अमेरिका, बेलायत, पोर्चुगल, जर्मनी, दक्षिण कोरिया, इटाली, न्युजिल्याण्ड, भियतनाम, कम्बोडिया, बहराइनलगायतका २७ देशमा बसोबास गरिरहेका नेपालीहरूको सहभागिता रहेको थियो ।

बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ पुग्यो

ढोरपाटन (बागलुङ), ६ चैत : बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस मङ्गलरबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।

दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट–१ का २७ वर्षीया बिनिता केसी, रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका सवारी धनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह विक, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको मृत्यु भएको सूचना अधिकारी केसीले बताउनुभयो ।

बस सडकबाट एक सय ५० मिटर तल खसेको थियो । सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा ज्यान गुमाएका अधिकांश रुकुमका हुन् । घटनास्थलमै मृत्यु भएका सात जनाको शव सोमबार राति नै रुकुम पठाएको उहाँले बताउनुभयो । दुई जनाको शव भने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ । बुर्तिबाङमा सबै घाइतेको उपचार सम्भव नभएपछि धवलागिरि अस्पताल बागलुङमा ‘रेफर’ गरिएको थियो ।

दुर्घटनामा रुकुमपश्चिम मुसिकोट नगरपालिका–१ का ५२ वर्षीय दशरथ नेपाली, सोही ठाउँका ३० वर्षीय छकेन्द्रजङ्ग सेन, आठबिसकोट नगरपालिका–१ का २६ वर्षीय पुष्कर बुढा, गुल्मी मदाने गाउँपालिका–१ का २४ वर्षीय गोविन्द बोहरा, रुकुमपश्चिम मुसिकोट नपा–३ का ६५ वर्षीय हर्कबहादुर केसी, बोतलिवाङ–७ का ३५ वर्षीय हिमबहादुर पाण्डे, गुल्मी मालिका गाउँपालिका–१ का ५० वर्षीय बलबहादुर पुन, सुर्खेत पञ्चपुरी नगरपालिका–८ का २६ वर्षीय लक्ष्मण बोगटी, रुकुमपश्चिमका २२ वर्षीय टीकाराम विक, सोही ठाउँकी लक्ष्मी पुनमगर, बोतलिवाङ–११ की २२ वर्षीया सविना पुनमगर, रुकुमपश्चिमका ३८ वर्षीय हेमराज केसी घाइते भएका छन् ।

यसैगरी, रुकुमपश्चिमको मुसिकोट नगरपालिका–३ का २४ वर्षीय गणेश खड्का, काठमाडौँ टोखा नगरपालिका–३ की २३ वर्षीय सृष्टि गैरे, डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–३ का २८ वर्षीय आविष्कार धराला, रुकुमपश्चिम मुसिकोट–३ का २७ वर्षीया सरिता खड्का, सोही ठाउँकी ज्ञानु ढकाल, ललितपुर महानगरपालिका–१४ का २४ वर्षीया अनुज्ञा भट्टराई, मुसिकोट–४ की ४६ वर्षीया बिना शर्मा, सोही ठाउँकी ४४ वर्षीया कमला केसी, २० वर्षीया लक्ष्मी पुनमगर, ५५ वर्षीया लीला केसी, ३० वर्षीय सशिराम खड्का, १८ वर्षीया सपना वली, मुसिकोट नगरपालिका–३ का ६० वर्षीय हर्कबहादुर जिसी, सानोभेरी गाउँपालिका–१ का २६ वर्षीय दिनेश खड्का, त्रिवेणी गाउँपालिका–१ का २८ वर्षीय हेमराज केसी र सिन्धुपाल्चोकको जुगाल गाउँपालिका–२ का २६ वर्षीय देवेन्द्र रिजाल घाइते भएका प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो ।

सरकारलाई सफल बनाउनुपर्छ : महासचिव पोखरेल

काठमाडौंँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सरकारलाई सफल बनाउन लाग्नुपर्ने बताउनुभएको छ । ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा जनसङ्गठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उहाँले सरकारलाई राष्ट्रिय हित, विकास, सुशासन र सामाजिक न्यायका पक्षमा प्रभावकारी बनाउने ढङ्गले लाग्नुपर्ने बताउनुभयो ।

उहाँले देशको विकास र जनतामा देखिएको निराशालाई आशामा बदल्नका लागि नयाँ सत्तासमीकरण बनाइएको बताउनुभयो । नयाँ सत्ता साझेदारीसँगै देशलाई नयाँ गति दिनुपर्छ भन्ने नीतिका साथ सबैलाई विश्वासमा लिएर अगाडि बढ्न चाहेको उल्लेख गर्दै उहाँले पार्टीका जनवर्गीय सङ्गठनले पनि सरकारलाई जनतासँग जोड्ने काममा योजनाबद्ध रुपमा काम गर्नुपर्ने बताउनुभयो ।

महासचिव पोखरेलले सत्ता समीकरण, सत्ता गठबन्धन नभई दलहरुबीचको सहकार्य भएको उल्लेख गर्नुभयो । “देश परिवर्तनका लागि काम गर्न चाहने पाँच राजनीतिक दलबीच सत्ता साझेदारीको सहयात्रा भएको हो,” उहाँले भन्नुभयो, “हामीले यसलाई गठबन्धन भन्दा पनि नयाँ सत्ता समीकरण भनेका छौँ ।”

बैठकमा पार्टीका स्थायी समिति सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जनसङ्गठनलाई नयाँ ढङ्गबाट लैजानुपर्नेमा जोड दिनुभयो । बैठकमा पार्टीका सबै जनसङ्गठनका इञ्चार्ज तथा अध्यक्षको सहभागिता रहेको थियो ।

मुलुकमा वैदेशिक हस्तक्षेप समाप्त भएको छैन : महासचिव गुरुङ

मुग्लिन (चितवन) – नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले नेपालमा अझै वैदेशिक हस्तक्षेप समाप्त नभएको बताउनुभएको छ । गोरखाको गण्डकी गाउँपालिका–१ बुटारमा जनसांस्कृतिक महासङ्घको केन्द्रीय समितिले आयोजना गरेको सांस्कृतिक प्रतिरोध दिवस तथा सम्मान कार्यक्रमलार्ई सम्बोधन गर्नुहँुदै महासचिव गुरुङले सबैको त्याग र बलिदानपश्चात् सामन्तवादको अन्त्य भए पनि देशमा अझै वैदेशिक उत्पीडन, वैदेशिक शोषण र हस्तक्षेपको अन्त्य नभएको बताउनुभएको हो ।

महासचिव गुरुङले भन्नुभयो, “मुलुकमा १० वर्षे जनयुद्धपछि जुन परिवर्तन भएको छ सबैको त्याग र बलिदानका कारण भएको हो, सहिदहरुले लिएको सपना, सहिदहरुले लिएको उद्देश्य सामन्तवादलाई विस्थापित गर्नु मात्र होइन, वैदेशिक उत्पीडनलाई पनि विस्थापित गर्नु र जनताको बास, गाँस र कपासको ‘ग्यारेन्टी’ गर्नु हो, जसका लागि समाजवादी क्रान्ति आवश्यक छ, एउटै मात्र उद्देश्य पूरा भएको छ सामन्तवादको नेतृत्व गरेको राजतन्त्र विस्थापित भएको छ तर वैदेशिक हस्तक्षेप विस्थापित भएको छैन ।” देशमा अझै बहुराष्ट्रिय कम्पनीकोे प्रभुत्व कायम रहेको र देश आत्मनिर्भरताको दिशातर्फ जान नसकेको उहाँको भनाइ छ ।

जनसांस्कृतिक महासङ्घका इन्चार्ज ईश्वरचन्द्र ज्ञवालीले सर्वहारा, श्रमिक–उत्पीडित वर्ग र देशको मुक्तिका लागि सर्वहारा, श्रमिक–उत्पीडित वर्ग र देशको मुक्तिका लागि हातमा सारङ्गी, मादल, गितार र हार्मोनियम लिएर जनताका बस्तीलाई जगाउँदै हिँड्दा सहिद बन्नुभएका संस्कृतिकर्मीहरूको सपना पूरा गर्न सङ्कल्प गर्न यो दिवस मनाउने गरिएको उहाँले बताउनुभयो । सहिदको सपना पूरा नभएसम्म अभियान जारी रहने उहाँको भनाइ छ । कार्यक्रममा जनयुद्धका सहिद परिवार तथा स्रष्टालाई सम्मान गरिएको थियो ।

हेर्नुहोस् चैत ६ गते मंगलवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि- अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । कठिनाइजनक यात्राको योग रहेको छ । आटेका कार्यमा कडा परिश्रम गर्नुपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला ।

बृष राशि – निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको
मीथुन राशि- अरुको बिश्वास गर्नाले दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछ । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

कर्कट राशि – टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ । हतारमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुनेछ । बोल्दा बिचार पुर्याउनु होला । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्यक्षेत्र सहज बन्नेछ । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला ।

सिंह राशि – खोज तथा अनुसन्धानमुलक क्षेत्रमा बौदिकताका् खर्च हुनेछ । बाकपटुताको कारण कुरा काट्नेहरु चुप भइ प्रशंसा गर्न थाल्नेछन । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । प्रतिस्पर्दीहरु कमजोर रहनेछन । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।

कन्या राशि – मनमा चन्चलता बढ्नाले निर्णय लिने क्षमतामा ह्राँस आउनेछन । सफल कार्यसम्पादनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला ।

तुला राशि- धार्र्मीक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोछ । साथीसँग सामिप्यता बढे पनि लाभ भने ग्रहण गर्न सकिनेछैन । नयाँकार्यको थालनिका निम्ती उत्तम समय रहेकोछ । कार्यकुशलताले मान्यजनहरुको मन जित्न सफल रहिनेछ ।

बृश्चिक राशि – मान्यजनको स्वास्थ्यमा नकारात्मक असरले मनमा खिन्नता छाउनेछ । कार्यमा बिश्लेषणको अभावले पारिवारिक सम्बन्धमा बैमनश्यता उत्पन्न हुनेछ । अपरीचीत ब्यक्तिहरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । भोजभतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ ।

धनु राशि- प्रतिश्पर्दि हरु कमजोर रहनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट आई पर्ला । तपाईको कार्यले अन्य ब्यक्ति हरुलाई मनग्य लाभ दिलाउने छ । मनमा सामान्य चिन्ताले बास गर्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला ।

मकर राशि- सामान्य क्षती ब्यर्होनु पर्ला । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । नयाँ कार्य थालनिका निम्ति आट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ ।

कुम्भ राशि- पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

मिन राशि – प्रेम सम्बन्धमा सुधार आउनेछ । सामान्य आम्दानि हुने योग रहेको छ । कार्य सम्पादनमा बिभिन्न समस्याका कारण ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ ।