`

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ, ५ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुम पश्चिमबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस बाग्लुङको निसीखोलामा दुर्घटना भई सातजनाको मृत्यु र २५ जना यात्रु घाइते भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत दुर्घटनामा ज्यान गुमाउनुहुने सम्पूर्ण यात्रुहरूमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै परिवारमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्धार र उपचारलाई प्रभावकारी बनाउन प्रशासन संयन्त्रलाई निर्देशन समेत दिनुभएको छ । साथै प्रधानन्त्री दाहालले बारम्बार भइरहेका सवारी दुर्घटनाबाट शिक्षा लिँदै दुर्घटना कम गर्न सकिने उपायहरूसहित आवश्यक योजना निर्माण गर्न अनुरोध गर्नुभएको छ ।

उत्तर कोरियाले रूसलाई सात हजार हतियार पठाएको सियोलको दावी

युक्रेनसँगको युद्धमा प्रयोग गर्न उत्तर कोरियाले रूसलाई करिब सात हजार कन्टेनर हतियार पठाएको दक्षिण कोरियाका रक्षामन्त्रीले सोमबार बताउनुभएको छ । युक्रेनमाथि आक्रमण गरेको भन्दै रूस र उत्तर कोरियामाथि विश्वव्यापी प्रतिबन्ध लगाइएको छ भने प्योङयाङले आणविक हतियार परीक्षण गरेको भन्दै प्रतिबन्ध लगाएको छ ।

रूसी नेता भ्लादिमिर पुटिन र किम जोङ उनबीच गत सेप्टेम्बरमा रूसको सुदूर पूर्वमा शिखर वार्ता भएको र त्यसपछि प्योङयाङले मस्कोलाई हतियार उपलब्ध गराउन थालेको यसअघि संयुक्त राज्य अमेरिकाले पनि दाबी गरेको थियो ।

रक्षामन्त्री शिन वोन सिकले सोमबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “उत्तर कोरियाबाट रूसतर्फ सेप्टेम्बरदेखि अहिलेसम्म थप ३०० कन्टेनर हतियार पठाइएको र यसद्ध सुरू भएदेखि अहिलेसम्म करिब सात हजार कन्टेनर त्यहाँ पुगेका छन् ।”

संयुक्त राज्य अमेरिकाले सन् २०२३ अक्टोबरमा प्योङयाङबाट मस्कोमा हतियार ढुवानी भइरहेको बताएको थियो र उत्तर कोरियाले त्यस समयमा रूसलाई एक हजार भन्दा बढी कन्टेनर सैन्य उपकरण र युद्धसामग्री पठाएको दावी गरेको थियो ।

उत्तर कोरियाले मस्कोबाट सैन्य टोही उपग्रह प्रक्षेपण गर्ने प्रयासबारे प्राविधिक सल्लाह प्राप्त गरेको बदलामा नोभेम्बरमा प्योङयाङले रूसमा १० लाखभन्दा बढी तोपगोला पठाएको सियोलले बताएको थियो । गत सेप्टेम्बरमा रूस भ्रमणका क्रममा किमले मस्कोसँगको द्विपक्षीय सम्बन्ध आफ्नो देशको ‘पहिलो प्राथमिकता’ भएको घोषणा गर्नुभएको थियो ।

यसैबीच, उत्तर कोरियाको सरकारी सञ्चार माध्यमका अनुसार किमले रूसी राष्ट्रपति पुटिन पाँचौँ कार्यकालका लागि पुनः निर्वाचित भएकामा बधाई सन्देश पठाएका छन् ।सन्देशमा भनिएको छ, “म तपाईंसँग दृढताका साथ हातेमालो गर्नेछु र आगामी समय उत्तर कोरिया–रूस मित्रताको नयाँ युग बन्नेछ ।

पुटिन ८७ प्रतिशत मतसहित अर्को कार्यकालका लागि अनुमोदित : रूसी सञ्चारमाध्यम

रूसी नेता भ्लादिमिर पुटिन राष्ट्रपतिको छ बर्षको नयाँ कार्यकालका लागि निर्बाचित हुनुभएको रूसी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रायः विपक्षी नेता सहभागी नभएको निर्वाचनमा राष्ट्रपति पुटिनसँग प्रतिस्पर्धा गरेका अन्य तीन जना प्रतिस्पर्धीहरू क्रेमलिनले खडा गरेका देखावटी उम्मेदवारहरू मात्र भएको उहाँका आलोचकहरूले आरोप लगाएका छन् ।

रूसी निर्वाचन अधिकारीहरूले सार्वजनिक गरेको चुनावी नतिजा अनुसार पुटिनले ८७ प्रतिशत मत पाउनुभएको छ भने उहाँका प्रतिस्पर्धी निकोलाई खारितोनोभले ४.१ प्रतिशत, भ्लादिस्लाभ दाभान्कोले ३.८ प्रतिशत र लियोनिद स्लट्स्काईले ३.१५ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन अधिकारीले चुनावमा ७४ प्रतिशत मतदाता सहभागी भएको बताएका छन् ।आलोचकहरूले यो निर्वाचनमा खासमा कुनै भरपर्दा विपक्षी नेतालाई निर्वाचनमा उम्मेदवार बन्नबाट रोक लगाइएको यो निवाचनमा राष्ट्रपति पुटिनले सन् २०१८ को निर्वाचनमा ल्याएकोभन्दा झण्डै १२ प्रतिशत मत बढी ल्याउनुभएको देखिन्छ ।

रूसको राजनीतिमा सशक्त विपक्षीको भूमिका खेल्दै आएका एलेक्सी नभाल्नीको निर्बाचनभन्दा करिब एक महिना जेलमा मृत्यु भएको थियो । मृत्युलाई पुटिनका आलोचक तथा विपक्षी नेताहरूले ‘रहस्य’का रूपमा हेर्दै आएका छन् । यो समय पुटिनको आलोचक मानिने प्राय नेता कित विदेशमा निर्वासित जीवन विताइरहेका छन् कि रूसी जेलमा छन् ।

निगरानी समूह ओभीडी–इन्फोका अनुसार निर्वाचनका समय विपक्षी नेताहको अभियानलाई सघाएका कम्तीमा ८० जना रूसी नेता पक्राउ परेका छन् ।यसैबीच, रूसका पूर्वव्यवसायी तथा क्रेमलिनका आलोचक मिखाइल खोदोर्कोभ्स्कीले रूसी शासकविरुद्ध विपक्षी एकजुट रहेको पुष्टि गर्दै सोमबार पश्चिमा सरकारलाई भ्लादिमिर पुटिनको विजयलाई मान्यता नदिन आग्रह गर्नुभएको छ ।

सेन्टर फर लिबरल मोडर्निटीथिङ्क ट्याङ्कमा आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, “हामीले पश्चिमा समाजप्रति ठूलो अपेक्षा राखेका छौँ र हामी पुटिनलाई वैध नमान्न आग्रह गर्छौं ।”

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचनबाट चुनिएकोमा रूसी राष्ट्रपति पुटिनलाई बधाई ज्ञापन गर्दै उहाँसँग आगामी दिनमा थप सहकबार्य गर्ने बताउनुभएको छ । कैयौँ पश्चिमा देशहरूले पनि रूसको चुनाव स्वतन्त्र र निष्पक्ष नभएको भन्दै आलोचना गरेका छन् ।

वाशिङटनले ‘स्वाभाविक रूपमा चुनाव स्वतन्त्र र निष्पक्ष नरहेको’ जनाएको छ । अमेरिकाले जस क्रममा पुटिनले राजनीतिक विपक्षीहरूलाई जेल हालेको र अन्यलाई उनीविरुद्ध चुनाव लड्न रोक लगाएको कुरा उल्लेख गरेको छ ।जर्मनीले त्यसलाई नियन्त्रण, दमन र हिंसाका भरमा एक अधिनायकवादी शासकले गराएको ‘छद्म निर्वाचन’ को संज्ञा दिएको छ ।

यूकेका विदेशमन्त्री डेभिड क्यामरूनले ‘युक्रेनी भूभागमा गराइएका गैर कानुनी निर्वाचन’ को निन्दा गर्नुभएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘रुसी शासकले थप एक चुनावको नाटक गरेको’ टिप्पणी गर्नुभएको छ । उहाँले जीवनभर शासन गर्नका लागि पुटिनले जे पनि गर्ने जिकिर गर्नुभयो ।

पोल्यान्डले मतदान निकै दमनको अवस्थाबीच भएको र त्यस्तो अवस्थामा स्वतन्त्र र लोकतान्त्रिक विकल्प छान्नु असम्भव भएको बताएको छ ।निर्वाचनको नतिजा सार्वजनिक भएपछि नेता पुटिनले रूसी सामाजिक सञ्जाल टेलीग्राममार्फत सन्देश जारी गर्दै आगामी दिनमा देशको सेनालाई थप बलियो बनाउने र ‘युक्रेनमा रूसको विशेष सैन्य कारबाही’लाई प्राथमिकतामा राख्ने बताउनुभएको छ ।

उहाँले प्राप्त नतिजाले रूसको हालको कदमप्रति जनताले विश्वास प्रस्तुत गरेको बताउनुभएको छ । उहाँले रुसीहरू एकताबद्ध हुँदासम्म उनीहरूलाई कसैले भयभित पार्न वा दबाउन नसक्ने बताउनुभयो ।

लोकतन्त्र, गणतन्त्रको मर्मअनुसार समाजमा हुने भेदभाव, छुवाछूत हटाउनुपर्नेमा मुख्यमन्त्री कार्कीको जोड

मोरङ, ५ चैत : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजमा रहेका सामाजिक विभेद हटाउन सबै लाग्नुपर्ने बताउनुभएको छ ।मानव अधिकारका लागि स्रोत विकास मञ्च नेपाल (रिडेप)द्वारा आज विराटनगरमा ५९औँ अन्तर्राष्ट्रिय जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवसका अवसरमा आयोजित दुईदिने दलित जनप्रतिनिधिको तेस्रो प्रदेश सम्मेलनको उद्घाटन गर्दै उहाँले मुलुकमा आएको लोकतन्त्र, गणतन्त्रको मर्मअनुसार समाजमा हुने भेदभाव, छुवाछूत हटाउनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री कार्कीले कानुन भनेको समाजमा पछाडि परेका समुदायको उत्थानका लागि बनाइएको नियम र आचारसंहिता भएको चर्चा गर्दै आगामी प्रदेशसभाको वर्षे बैठकमा दलित सशक्तीकरण विधेयक ल्याउने जानकारी दिनुभयो । परिवारका सदस्यको व्यावहारिक मिलन गराउनु नै दलित आन्दोलनको मुख्य उद्देश्य रहेको विचार राख्दै जनप्रतिनिधिहरुले सबै जात एवं समुदायको प्रतिनिधित्व गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री कार्कीले श्रमको सम्मानबाट मुलुकमा समृद्धि आउने चर्चा गर्दै कामका आधारमा कोही कसैलाई हेयको दृष्टिले हेर्न एवं सम्बोधन गर्न नहुने बताउनुभयो । सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले समाजमा रहेका विदेभ एवं छुवाछूतको अन्त्य गरी मुलुकको सम्पूर्ण विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले जातीय, शैक्षिक, सामाजिक विभेदको अन्त्य गरी एकताको सन्देश दिन सबैलाई आग्रह गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश अध्यक्ष घनश्याम खतिवडाले सबैको रगत रातो हुनाले सबै नेपालीबीच एकता कायम गरी समाजमा रहेका विकृति, विसङ्गति, विभेद एवं छुवाछूतको अन्त्य गरी मुलुकको समृद्धिमा लाग्न आग्रह गर्नुभयो ।

मञ्चका अध्यक्ष उमेश विश्वकर्मा, गैरसरकारी संस्था महासङ्घ मोरङ अध्यक्ष विष्णु शर्मा पन्त र नेपाल पत्रकार महासङ्घ मोरङका सचिव नेत्र पी अधिकारीले मुलुकको समृद्धिका लागि हामी सबै भेदभाव, छुवाछूत अन्त्य गरी एकता कायम गर्नुपर्ने सुझाव दिनुभयो ।

सोही अवसरमा मुख्यमन्त्री कार्कीले दलित अभियानकर्मी एवं सुनसरी इटहरी उपमहानगरपालिका कार्यपालिकाका सदस्य दिनेश रसाइलीलाई सम्मान गर्नुभएको थियो । सम्मेलनमा प्रदेशमा दलित समुदायबाट निर्वाचित पाँच सय जनप्रतिनिधिको सहभागिता रहेको छ ।

निसीखोला बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या आठ पुग्यो

ढोरपाटन (बागलुङ), ५ चैत : बागलुङको निसीखोलामा आज साँझ भएको बस दुर्घटनाको घाइते २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार दुर्घटनामा मृत्यु भएका सातजनाको शव सङ्कलन भइरहेको छ । मृतकमध्ये चारजना पुरुष र चार महिला रहेको बताइएको छ ।

मृतकको सनाखत हुन नसकेको उहाँको भनाइ छ । रुकुम पूर्वबाट काठमाडौँका जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको थियो ।

घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर रहेको जनाउँदै दुईजनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक विकले जानकारी दिनुभयो । बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ । प्रहरी निरीक्षक विकले भन्नुभयो, “घाइते र मृत्यु भएकामध्ये कसैको पनि पहिचान हुन सकेको छैन, घाइतेकोे उद्धार गरेर अस्पताल पठाइएका छाँै, अहिले हामीहरु घटनास्थलमै छौँ, शव सङ्कलन गर्ने क्रममा छौँ, घाइतेमध्ये अधिकांश अवस्था ‘क्रिटिकल’ छ ।”

पूर्वसभामुख महरालाई अस्पतालमै राखिने

काठमाडौँ, ५ चैत : स्वास्थ्य अवस्थाको कारण देखाउँदै काठमाडौँ जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष, पूर्वसभामुख कृष्णबहादुर महरालाई अस्पतालमा राखेर अनुसन्धान गर्न भएको छ ।

चार दिन हिरासतमा राख्न अनुमति दिएको अदालतले म्याद थपेसँगै बिरामीका कारण उल्लेख गर्दै अस्पतालमा राख्न आदेश गरेकाले सोही अनुसार अस्पतालको व्यवस्थापन गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार नेता महरालाई नर्भिक अस्पताल राखिने छ ।

महराले आफूले आठ प्रकारका औषधि खाइरहेकाले अस्पतालमा बस्न दिन माग गर्नुभएको र सोही आधारमा अस्पतालमा राखेर अनुसन्धान गर्न भनेको हो । आजै सुन प्रकरणको अनुसन्धानका लागि नेता महरामाथि अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले चार दिनको म्याद पाएको थियो । अब महरा चारै दिन अस्पताल बस्न पाउने हुनुभएको छ । उहाँलाई आजै कपिलवस्तुबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो ।

गत साउन २ मा ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएपछि उहाँलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पनि उहाँमाथि अनुसन्धान गर्ने सिफारिस गरेको थियो । यसअघि नै सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ ।

भारतमा अप्रिलदेखि जुनसम्म निर्वाचन हुने, स्वतन्त्रतापछिको दोस्रो लामो निर्वाचन

अप्रिल १९ देखि जुन १ सम्म हुन लागेको भारतको आमनिर्वाचनमा करिब सन्तानब्बे करोड भारतीय नागरिक मतदान गर्न योग्य देखिएका छन् । यो सङ्ख्या विश्वव्यापी जनसङ्ख्याको १० प्रतिशतभन्दा बढी हो यसको नतिजा घोषणा ४४ दिनपछि जुन ४ मा मात्र सार्वजनिक हुनेछ ।

विशाल आकार र विश्वको सबैभन्दा धेरै जनसङ्या भएकाले गर्दा भारतको निर्वाचन चरणवद्धरूपमा लामो समयको अन्तरालमा सम्पन्न हुन्छ । बेलायती शासनबाट स्वतन्त्र भएपछि सन् १९५१–५२ मा भएको भारतको पहिलो निर्वाचनमा मतदान गर्न करिब चार महिना लागेको थियो ।

सन् १९८० मा भने जम्मा चार दिनमा निर्वाचन गरिएको थियो । सन् २०१९ को निर्वाचनमा मतदान गर्न उनन्चालीस दिन लागेको थियो । यो वर्ष हुने भारतको आमनिर्वाचन हालसम्मको दोस्रो लामो निर्वाचन हो । मतदाता सङ्ख्या ९६ करोड ९० लाख दर्ता भएसँगै भारतको मतदाताको आकार युरोपेली सङ्घको जनसङ्ख्याभन्दा ठूलो भएको छ । संसदको तल्लो सदनका लागि ५४३ सांसद चयनका लागि सात चरणमा मतदान हुने भएको छ ।

भारतको २८ राज्य र आठ सङ्घीय क्षेत्रले फरक–फरक समयमा मतदान गर्नेछन् । अप्रिल १९ मा सुरु भएर जुन १ मा अन्त्य हुने निर्वाचनको प्रत्येक चरण एक दिनको हुनेछ । “निर्वाचन अधिकारीहरूले लामो यात्रा गरेर भएपनि हरेक मतदाताको मताधिकार सुनिश्चित गर्नुपर्छ,” ‘पिआरएस लेजिस्लेटिभ रिसर्च’ का चक्षु रोयले भन्नुभयो । निर्वाचनमा खटिएका लगभग एक करोड ५० लाख मतदान अधिकारी र सुरक्षाकर्मीले देशको कुना–कुनामा पुगेर हरेक नागरिकको मताधिकार सुनिश्चित गर्ने व्यवस्था मिलाइएको भारत सरकारले जनाएको छ ।

सन् २०१९ मा भएको चुनावमा एक मतदाताको लागि मतदान अधिकारीको टोली चार दिनसम्म ४८० किलोमिटर यात्रा गरेर भारतको दुर्गम अरुणाचल प्रदेश पुगेका थिए । उक्त निर्वाचनमा मतदान अधिकारीहरूले हिमालयको अग्लो स्थानमा रहेको एक गाउँमा पन्ध्र हजार २५६ फिट अग्लो बुथ स्थापना गरेका थिए, जुन विश्वको सबैभन्दा अग्लो मतदान केन्द्र हो ।

यसपटकको निर्वाचनमा पनि दक्षिणी केरला राज्यको वन्यजन्तु आरक्ष भित्र र अर्को पश्चिमी गुजरात राज्यको ढुवानी कन्टेनरजस्ता दुर्गम स्थानहरूमा मतदान केन्द्रहरू स्थापना गरिने छ । विज्ञहरूका अनुसार सुरक्षाको दृष्टिकोणले पनि भारतमा धेरै–चरणमा निर्वाचन हुन लागेको हो ।

कडा सुरक्षाका कारण वर्षौदेखि मतदान शान्तिपूर्ण र सम्मानजनक रूपमा हुँदै आएको छ । सिमानाको रक्षामा खटिएका दशौँ हजार सङ्घीय सुरक्षा बलहरू राज्य प्रहरीसँगै हिंसा रोक्न र मतदान मेसिनहरूको ढुवानीमा खट्ने भएका छन् । “देशको भूगोल ठूलो छ । सुरक्षा बलहरूले देशको खोला, पहाड, जङ्गल, लम्बाई तथा चौडाई घुम्नुपर्ने हुन्छ । मतदातालाई मतदान गर्न सहज बनाउँन हामी सक्दो कोसिस गर्नेछौँ,” प्रमुख निर्वाचन आयुक्तले भन्नुभयो ।

जुम्ला‐रारा अल्ट्रा म्याराथन वैशाख १ गतेदेखि सञ्चालन हुने

जुम्ला, ५ चैत : पाँचौ संस्करणकोे जुम्ला‐रारा अल्ट्रा म्याराथन प्रतियोगिता आगामी वैशाख १ गतेहुने भएको छ । कर्णाली स्पोर्टस् क्लब जुम्लाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सरोज शाहीले जुम्ला सदरमुकाम खलङ्गा बजारदेखि मुगुको रारातालसम्मको म्याराथन प्रतियोगिता आगामी वैशाख १ गतेदेखि सञ्चालन हुने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ ४९ किलोमिटर लामो सो प्रतियोगितामा स्वदेशी तथा विदेशी खेलाडीको सहभागी हुने छन् ।” अनलाइनबाट खेलाडीले सहभागीका लागि आवेदन दिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । जुम्लादेखि मुगुको राराताल जाने पदमार्गको प्रवद्र्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने उद्देश्यले म्याराथन आयोजना गरिएको हो ।

यसअघि २०७५ मा पहिलो र २०७६ मा दोस्रो संस्करणको प्रतियोगिता आयोजना गरिएको थियो । कोरोना महामारीका कारण ०७७ मा सञ्चालन हुन सकेनन् । समुद्री सतहबाट दुई हजार तीन सय मिटरको उचाइमा रहेको जुम्ला सदरमुकाम खलङ्गाबाट सुरु हुने म्याराथन जिल्लाको डाँफे लेक, चुच्चेमारा लेक हुँदै दुई हजार आठ सय ९० मिटरको उचाइमा रहेको रारातालको छेउमा पुगेर खेल समाप्त हुने क्लबका अध्यक्ष शाहीको भनाइ छ ।

जुम्लादेखि दुई दिनको पदयात्रा रहेको सो रुट व्यावसायिक खेलाडीले पाँचदेखि सात घण्टामा पार गर्छन् । अनुमानित एक हजार बढी खेलाडीले सहभागिता जनाउने अपेक्षा राखिएको छ । ४९ किमीतर्फ प्रथम हुने धावकलाई एक लाख, दोस्रो हुने धावकलाई ७५ हजार, तेस्रो हुने धावकलाई ५० हजार, चौथो हुनेलाई २० हजार र पाँचौँ हुने धावकलाई २० हजार पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष शाहीले जानकारी दिनुभयो । प्रतियोगिताका उत्कृष्ट १० खेलाडी थप पुरस्कृत गरिनेछ । म्याराथन सम्पन्न गर्न ३५ लाख खर्च हुने अनुमान गरिएको छ ।

म्याराथनमा सहभागी हुने सार्कका धावकहरुले १४ हजार पाँच सय, अन्य देशका धावकलाई १६ हजार र नेपाली धावकलाई सात हजार आवेदन शुल्क तोकिएको क्लबले जनाएको छ । जुम्ला‐रारा अल्ट्रा म्याराथनतर्फ खुला ४९ किमी, खुला पाँच किमी, बालबालिकास्तरीय एक किमी, विद्यालयस्तरीय पाँच किमी ,ज्येष्ठ नागरिक, बुबाआमा दौड एक किमी, कर्मचारीस्तरीय पाँच किमी र उद्योग तथा व्यापारीस्तरीय पाँच किमी दौड प्रतियोगिता हुने क्लबले जनाएको छ ।

बजेटमा आर्थिक विकासका ठोस योजना हुनुपर्छ : सांसद

काठमाडौँ, ५ चैत ः सांसदहरूले आगामी बजेट र कार्यक्रममा केवल आश्वासन नभइ विद्यमान आर्थिक समस्या समाधानको ठोस योजना हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलका क्रममा सांसदले बेरोजगारी समस्याको समाधान र किसानलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउन आग्रह गरेका हुन् ।

सांसद गोकुलप्रसाद बाँस्कोटाले अघिल्लो अर्थमन्त्रीबाट उक्त प्रस्ताव आएकाले अहिले स्वामित्व लिन नसकिने भएकाले पुनःलेखन गर्न माग गर्नुभयो । “मैले यसमा छलफल गर्न त्यति आवश्यक ठानेको छैन । अहिले जे आएको यसले मुलुकको समस्या सम्बोधन गर्न सक्दैन । पुनःलेखन गरेर अर्को आउँछ भने छलफलको आवश्यकता नै पर्दैन ।”, उहाँले भन्नुभयो, “दुई चार वर्षदेखि नै त्यही कुरा छ । एउटा मलकारखाना भनिएको छ ।

मल दिन त सक्या छैन कारखाना कहिले हो ? खोक्रो आश्वासन बाँड्ने गरी सिद्धान्त नबनाऔँ । काम गर्न, पढन र स्वास्थ्य उपचारका निम्ति बाहिर जानुपर्ने अवस्था छ यस्तो कहिले अन्त्य हुन्छ ? मुख्य प्रश्न यही छ ।” सांसद सोबिता गौतमले दिगो विकास लक्षित विकास नीति, पर्यटन नीति र कृषि शैक्षिक हबका रुपमा विकास गर्न सुझाव दिनुभयो । सांसद विनोद चौधरीले विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सक्नुपर्ने बताउँदै भन्नुभयो, “रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा पुनःलगानी गर्न नसक्नु अत्यन्त दुःखद अवस्था हो । पर्यटनमा नयाँ गन्तव्य खोल्न नसक्नु, निर्माण सम्पन्न भएका भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसक्नु र लुम्बिनीमा पर्यटन प्रर्वद्धन गर्न नसक्नुजस्ता समस्या यथावत छन् ।

तिनको समाधान खोजिनुपर्छ ।” सांसद जुलीकुमारी महतोले देशको अर्थतन्त्रलाई लयमा अघि बढाउन सिद्धान्त र प्राथमिकतामा ठोस कुरा नभएको बताउनुभयो । उहाँले अर्थतन्त्रको समस्या र चुनौती पहिचान प्रस्तुत प्रस्तावले गर्न नसकेकाले पुर्नलेखनको माग गर्नुभयो ।

सांसद महेन्द्रबहादुर शाहीले देशको अर्थतन्त्रलाई उत्पादनमा बढी केन्द्रित हुनुपर्ने जनाउँदै भन्नुभयो, “हामीसँग अथाह साधन स्रोत छ तर अहिले हामी मानव विकासको सूचाङ्कमा सबैमा पछाडि छाँै । त्यसकारण सरकारले बृहत् गुरुयोजना पेश गर्न जरुरत छ ।”

मधेस प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, प्रदेश प्रमुखले लिइन् शपथ

महेन्द्रनगर ९धनुषा०, ५ चैत : मधेस प्रदेश सरकारमा सोमबार मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । मधेश प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० संसदीय दलका नेता सरोज यादव आज मन्त्री नियुक्त हुनुभएको छ । यादवलाई मुख्यमन्त्री सरोजकुमार यादवले भौतिक तथा पूर्वाधार मन्त्रीमा नियुक्त गरेसँगै आजै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट शपथ लिनुभएको छ ।

मुख्यमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरेर एमालेलाई सत्तामा प्रवेश गराएसँगै कांग्रेस सरकारबाट औपचारिकरुपमा बाहिरिएको छ । नयाँ समीकरण बनेपनि मधेस प्रदेश सरकारमा कांग्रेस सरकारमै थियो । कांग्रेसबाट प्रदेश सरकारमा रहेका कुनै पनि मन्त्रीले राजीनामा नदिएपछि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । एमालेमा को मन्त्री बन्ने भन्नेबारे विवाद बढेपछि पहिलो चरणमा यादवलाई मात्रै मन्त्री बनाइएको एमाले मधेस प्रदेशले जनाएको छ ।

मुख्यमन्त्री यादवले केन्द्रीय सत्ता गठबन्धनमा भएको फेरबदल अनुसार नै प्रदेश सरकार पनि चल्ने भएकाले तत्काल एमाले संसदीय दलका नेता यादवलाई मन्त्रीका रुपमा सपथ ग्रहण गराएको र बाँकी मन्त्री भने सहमतिपछि नियुक्त गरिने मुख्यमन्त्री यादवले बताउनुभयो ।

एमालेले कति र कुन मन्त्रालय लिने विषयमा हालसम्म सहमति नभएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री यादवले एमालेसहितका दलको बैठक बसेर छिट्टै निष्कर्ष निकालिने बताउनुभयो । नवनियुक्त मन्त्री यादवले मुख्यमन्त्रीसँग एमालेलाई चार मन्त्री र एक राज्यमन्त्री दिने सहितको सहमति भइसकेको बताउनुभयो ।

कांग्रेसबाट संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधार विकास मन्त्री, गृह तथा सञ्चार मन्त्री मोहम्मद समिम र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्र सिंह सरकारमा सहभागी हुनुभएको थियो ।

पुँजीगत खर्च वृद्धि गर्न अर्थमन्त्रीलाई चेम्बरको आग्रह

काठमाडौँ, ५ चैत : नेपाल चेम्बर अफ कमर्सले पुँजीगत खर्चमा वृद्धि गरी उत्पादन तथा रोजगारी सृजना गर्नेगरी नीतिगत व्यवस्था गर्न अर्थमन्त्री वर्षमान पुनसमक्ष आग्रह गरेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वको टोलीले आज अर्थमन्त्रीलाई भेटेर शिथिलताबाट गुज्रिएको अर्थतन्त्रलाई लयमा फर्काउनका लागि पुँजीगत खर्चमा वृद्धि गरी उत्पादन तथा रोजगारी सृजना गर्नेगरी नीतिगत व्यवस्था गर्न आग्रह गरेको हो ।

चेम्बरले नेपालमा आयात हुने वस्तुको भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्ने, नेपाली वस्तुको निर्यात प्रवद्र्धन गर्नका लागि भन्सार नाकामा उच्चस्तरीय ‘क्वारेन्टिन’ ल्याब स्थापनासमेत आग्रह गरेको छ । “बजारमा लगानीयोग्य रकम अधिक तरलता भएर पनि लगानी आकर्षण हुन सकेको छैन, पुँजी चलायमान एवं आर्थिक गतिविधि विस्तार गर्ने खालको आगामी बजेट ल्याउन आवश्यक छ, उत्पादन वृद्धिमार्फत निर्यात प्रवद्र्धन एवं रोजगारी सृजना गर्ने बजेट अबको प्राथमिकतामा हुनुपर्छ,” चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।भेटमा अध्यक्ष मल्लले नेपालमा सूचना प्रविधिसँग सम्बन्धित बहुराष्ट्रिय कम्पनीलाई आकर्षण गर्न सकिए युवाले रोजगारी प्राप्त गर्न सक्ने र यसले अर्थतन्त्रमा पनि टेवा पुग्ने बताउनुभयो । मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागू गरी आम उपभोग्य वस्तु र बिलासिताका वस्तुमा फरक दर कायम गर्न चेम्बरले अर्थमन्त्रीसमक्ष आग्रह गरेको छ ।भेटका क्रममा अर्थमन्त्री पुनले निजी क्षेत्रको मनोबल खस्किन नदिने गरी काम गर्ने सरकारको नीति रहेको बताउनुभयो । “अर्थतन्त्र शिथिलताबाट गुज्रिरहेको छ, यस्तो अवस्थामा निजी क्षेत्रलाई सँगै लिएर जान प्रधानमनन्त्रीको पनि निर्देशन छ, सोही अनुसार वातावरण बनाउने मेरो प्रयत्न रहनेछ,” उहाँले भन्नुभयो ।निजी क्षेत्रलाई आतङ्कित गर्ने गरी सरकारबाट कुनै पनि काम नहुने उहाँको भनाइ थियो । आर्थिक अपराधलाई छुट्टै कानुन बनाएर सम्बोधन गर्ने तयारी भइरहेको अर्थमन्त्री पुनले जानकारी दिनुभएको विज्ञप्तिमा जनाइएको छ ।

बागलुङको निसीखोला बस दुर्घटना: सात जनाको मृत्यु, २० घाइते

ढोरपाटन (बागलुङ), ५ चैतः बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो ।

बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

गण्डकी प्रदेश : नवनियुक्त मन्त्री गुुरुङद्वारा शपथ

गण्डकी, ५ चैत : गण्डकी प्रदेशका नवनियुक्त मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ लिनुुभएको छ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश प्रमुखको निवासमा आज आयोजित एक कार्यक्रमबीच मन्त्री गुुरुङलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुुभएको हो । शपथग्रहण समारोहमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, सरकारका मन्त्री तथा उच्चपदस्थ अधिकारी उपस्थिति थियो ।

मुख्यमन्त्री पाण्डेले गुरुङलाई आज नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित मन्त्री नियुक्त गर्नुभएको थियो । मनाङबाट प्रदेशसभा सदस्यमा स्वतन्त्र चुनाव निर्वाचित भएपछि नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्नुुभएको गुरुङले आइतबार सो पार्टी परित्याग गरेको प्रदेशसभा सचिवालयमा जानकारी गराउनुुभएको थियो ।शपथपछि पत्रकारसँगको कुराकानीमा मन्त्री गुरुङले चुनावपछिको एक वर्षसम्म आफू आराम गरेर बसेको जनाउँदै अबको चार वर्ष राजनीति गर्ने बताउनुुभयो । केन्द्रमा जे समस्या आएर गठबन्धन फेरिए पनि त्यसको असर प्रदेशमा पर्न नहुने उल्लेख गर्दै उहाँले आफू अहिले सरकारमा नजाँदा गण्डकी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना रहेको र चुनावमा जाँदा खर्च धेरै हुने बताउनुुभयो । आफूले मध्यावधिमा जान नदिने र गएछ भने चुनाव पनि नलड्ने उहाँको भनाइ छ ।सरकारको ७० प्रतिशतभन्दा बढी बजेट भौतिक पूर्वाधार मन्त्रालयमा हुने र भ्रष्टाचार पनि धेरै हुने भएकाले त्यसको नियन्त्रणका लागि आफूले उक्त मन्त्रालय रोजेको उहाँको भनाइ छ । विकास त्यतिकै भइहाल्ने जनाउँदै उहाँले भ्रष्टाचार रोक्नुुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सुन तस्करी प्रकरण : उपाध्यक्ष महरामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

काठमाडौँ, ५ चैत : नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष, पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चार दिनको म्याद पाएको छ । काठमाडौँ जिल्ला अदालतले सुन प्रकरणको अनुसन्धान गरिरहेको सिआइबीलाई आज नेता महरामाथि अनुसन्धान गर्न चार दिनको म्याद दिएको हो ।

म्याद थपका लागि उहाँलाई आजै जिल्ला अदालतमा पेश गरिएको थियो । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले म्याद थप भएसँगै थप अनुसन्धानका काम अघि बढाइएको राससलाई जानकारी दिनुभयो । यसअघि सुन प्रकरणमा अनुसन्धान गरेको सिआइबीले महरालाई बयान कागज गराएर छाडेको थियो ।

नेता महरालाई कपिलवस्तुबाट आज विहान नियन्त्रणमा लिएर काठमाडौँ ल्याइएको थियो । सर्वाेच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पूर्वसभामुख महरामाथि छानबिन गर्न सिफारिस गरेसँगै थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका र जाँचबुझ आयोगले कारबाहीको सिफारिस गरेका सबैमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई आइतबार नै निर्देशन दिनुभएको थियो ।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएको थियो

उक्त प्रकरणमा उहाँका छोरा राहुल र पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन यसअघि नै पक्राउ परिसकेका छन् । यसअघि उक्त प्रकरणको अनुसन्धानमा त्रुटी भएको सुनको अबैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले औँल्याएपछि तत्कालिन सिआइबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यलाई केही अघिको मन्त्रिपरिषद्को निर्णयले प्रहरी मुख्यालयमा सरुवा गरिसकिएको छ । त्यहाँ प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीलाई पठाइएको छ । तत्कालीन समयमा सुन प्रकरणको अनुसन्धान टोली संयोजक प्रहरी उपरीक्षक सञ्जयसिंह थापा तथा प्रहरी नायव उपरीक्षकद्वय रुगम कुँवर र दुर्गा दाहाललाई हेडक्वाटर तानिएको छ । उक्त प्रकरणमा अहिले सिआइबीका नयाँ प्रहरी टोलीले अनुसन्धान गर्दैछन् ।

मन्त्रिपरिषद्ले उक्त आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय पनि गरिसकेको छ । सोही आधारमा प्रहरीले अनुसन्धान तीव्र पारेको छ । गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप)मा ल्याइएको नौ किलो सुन तस्करीमा सङ्लग्न चिनिया नागरिकसँग नाम जोडिएका केही व्यक्तिलाई त्यसबेला सिआइबीले बयान कागज गरेर मात्रै छाडेको थियो । त्यसमध्ये महरा पनि एक हुनुहुन्थ्यो ।

एडिबीद्वारा श्रीलङ्कालाई १० करोड डलर ऋण स्वीकृत

एसियाली विकास बैंक (एडिबी) ले सोमबार श्रीलङ्काका साना तथा मझौला उद्यमहरू (एसएमई) लाई वित्तमा थप पहुँच प्राप्त गर्न र आर्थिक सङ्कट तथा जलवायु परिवर्तनजस्ता बाह्य झट्काहरूसँग लचिलोपन बनाउन १० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । एडिबीका अनुसार श्रीलङ्काका साना तथा मझौला उद्योगहरूले ४५ प्रतिशत रोजगारी प्रदान गर्छन् र कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा ५२ प्रतिशत योगदान गर्छन् ।

“त्यसैले एसमई, विशेषरूपमा महिला नेतृत्वको उद्यमहरूलाई अर्थतन्त्रमा यस क्षेत्रको योगदानलाई कायम राख्न र प्रवर्द्धन गर्नका लागि आवश्यक सहयोग प्रदान गर्नु महत्त्वपूर्ण छ”, एडिबीले विज्ञप्तिमा भनेको छ ।

सहभागी वित्तीय संस्थाहरूमार्फत एडिबीले निर्यात, पर्यटन, प्रविधि, कृषि र उत्पादन क्षेत्रमा कम सेवा भएका एसएमईहरूका लागि पाँच करोड डलर लाइन अफ क्रेडिट खोल्नेछ । यसले महिला नेतृत्वका एसएमईका लागि ग्यारेन्टी अनुदान समेट्न पाँच लाख अमेरिकी डलरको विशेष सुविधा स्थापना गर्नेछ ।

उपनिर्वाचन : २० दललाई निर्वाचन चिह्न प्रदान

काठमाडौँ, ५ चैत : निर्वाचन आयोगले आगामी वैशाख १५ गते इलाम प्रतिनिधिसभा क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा भाग लिन दर्ता भएका १९ दललाई दर्ता गरी निर्वाचन चिह्न प्रदान गरेको छ ।

निर्वाचनमा राजनीतिक दलका रुपमा मान्यता प्राप्त गर्न राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १६ बमोजिम दल दर्ताको निवेदन दिने प्रयोजनका लागि राजनीतिक दलसम्बन्धी नियमावली, २०७४को नियम १५ मा भएको कानुनी व्यवस्था बमोजिम इलाममा २० र १९ राजनीतिक दललाई दर्ता गरिएको छ ।

महसुल नबुझाएपछि कुश्मा नगरपालिका क्षेत्रका सडकबत्तीको लाइन काटियो

पर्वत ५ चैत- लामो समयदेखि बक्यौता रकम नतिरेपछि पर्वतको कुश्मा नगरपालिका क्षेत्रका सडकबत्तीको ‘लाइन’ काटिएको छ । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले कुश्मा नगरपालिकाअन्तर्गतका सवै सडकबत्ती आज काटिदिएको हो । नगरपालिकाले २०७५ सालदेखि सडकबत्ती, नगरपालिकाअन्तर्गत रहेको प्रहरी बिट, स्वास्थ्य इकाइजस्ता ठाउँको महसुल नबुझाएपछि बताइएको छ ।

नगरपालिका ग्राहक भएर जोडिएका सडकबत्तीलगायत महसुल रकम पटक पटक माग गर्दा पनि भुक्तानी नपाएपछि लाइन नै काट्नुपर्ने बाध्यता भएको नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रका लेखा प्रमुख गोविन्द सुवेदीले जानकारी दिनुभयो । कुश्मा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिसँग पटक–पटक छलफल गरेर भुक्तानीका लागि ताकेता गरे पनि भुक्तानी नभएपछि अन्तिम विकल्पका रुपमा लाइन काट्न थालेको उहाँले बताउनुभयो ।

जनप्रतिनिधि र नगरका कर्मचारी प्रशासनसँग छलफल गर्दा जनप्रतिनिधिहरु सकारात्मक भए पनि कर्मचारी प्रशासन भुक्तानी गर्न तयार नभएको उहाँले बताउनुभयो । विद्युत् प्राधिकरणका अनुसार सडकमा जडान गरिएको बिजुलीबापत कुश्माले रु ७४ लाखभन्दा बढी भुक्तानी दिन बाँकी रहेको छ ।

कुश्मा नगरपालिका र विद्युत् प्राधिकरणबीच चार वर्षअघि सडकबत्ती राख्ने सम्झौता भएको थियो । सम्झौताअनुसार सडकबत्तीबापतको रकम नगरपालिकाले भुक्तानी गर्ने उल्लेख गरिएको छ । कुश्मा –४, ५, ६, ७, ८ र ९ तथा वडा नं २ का केही भागमा सडकबत्ती विस्तार गरिएको छ । झन्डै एक सय ५० भन्दा बढी ठाउँमा सडकबत्ती विस्तार गरिएको थियो ।

गत असोज १० गते सम्पन्न दशौँ नगरसभाले विद्युत् महसुल भुक्तानीका लागि रु ६५ लाख विनियोजन गरेको भए पनि प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखाले भुक्तानी नदिएको वितरण केन्द्रको आरोप रहेको छ । प्राधिकरणले लाइन काटेका सडकबत्ती बक्यौता रकम भुक्तानी र नयाँ सम्झौता भएपछि पुनः जडान गरिने लेखा प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु तिवारीले बजेट अभाव भएका कारण महसुल भुक्तानी रोकिएको बताउनुभयो । उहाँले अहिले आधार रकम भुक्तानी गरिने र आधा रकम अर्को आर्थिक वर्षमा भुक्तानी गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । एक साताभित्र महसुल भुक्तानी गर्ने उहाँको भनाइ छ ।

यति लामो समयसम्म बक्यौता रहेको रकम एक साताभित्र भुक्तानी गर्छौं लाइन नकाटिदिनुहोस् भनेर वितरण केन्द्र र नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयमा पनि अनुरोध गरेको उहाँको भनाइ छ । उहाँका अनुसार नगरकार्यपालिकाको कार्यालयको विद्युत् महसुल रकम भने नियमित भुक्तानी भइरहेको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका जीवन गुरुङलाई १५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ, ५ चैत : काठमाडौँ जिल्ला अदालतले सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका जीवन गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई रु १५ लाख धरौटीमा छाड्न आज आदेश दिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिनुभयो । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गुरुङलाई गत फागुन १४ गते पक्राउ गरेको थियो ।

मधेसका नवनियुक्त प्रदेश प्रमुख भण्डारीद्वारा पदभार ग्रहण

महेन्द्रनगर (धनुषा), ५ चैत : मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेशको प्रदेश प्रमुखको पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले आज प्रदेश प्रमुख सुवेदीलाई कार्यालयमा स्वागत गर्नुभएको हो ।

नवनियुक्त प्रदेश प्रमुख सुवेदी भण्डारीले मधेस प्रदेशको विकास तथा समृद्धिको अभियानमा आफ्नो पूर्ण साथ र सहयोग रहने बताउनुभएको छ । संविधान, कानुन तथा विधिअनुसार प्रदेश प्रमुखले गर्नुपर्ने जिम्मेवारी आफूले निष्पक्ष तथा तटस्थ रुपमा पूरा गर्ने नवनियुक्त प्रदेश प्रमुख सुवेदी भण्डारीको प्रतिबद्धता छ । नवनियुक्त प्रदेश प्रमुख सुवेदी भण्डारीले माता जानकीको जन्मभूमिमा आएर सेवा गर्न पाउनु सौभाग्य भएको पनि बताउनुभएको छ ।

नवनियुक्त प्रदेश प्रमुख सुवेदी भण्डारीलाई प्रदेशसभाका सदस्य, कार्यालयका कर्मचारी, विभिन्न राजनीतिक दलका नेता, समाजसेवीले स्वागत गर्नुभएको छ । मधेसका प्रदेश प्रमुख भण्डारीले पदभार ग्रहण गर्नुअघि जानकी मन्दिरमा पूजापाठ गर्नुभएको थियो । यसअघि प्रदेश प्रमुख सुवेदीलाई कार्यालय परिसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

धौवादी गाउँमा पहिलो पटक बिजुली बल्दा स्थानीय खुसी

मध्यविन्दु (नवलपरासी), ५ चैत : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ धौवादीमा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ ।

जिल्लाको पुरानो गाउँ भए पनि सो क्षेत्रमा अहिलेसम्म विद्युत् सेवा नपुग्दा स्थानीयले वैकल्पिक माध्यमबाट बिजुली बत्ती बाल्दै आएका थिए । जिल्लाको पहाडी क्षेत्रमा विद्युत् सेवा विस्तार गर्ने गरी बुलिङटार गाउँपालिका–४ बोझा पोखरीमा निर्माण गरिएको विद्युत् सबस्टेसनबाट विद्युत् प्रवाह सुरु गरिएपछि धौवादी क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको हो ।

केही घरमा सोलर र अधिकांश घरमा टुकी बत्तीमार्फत दैनिकी चलाउँदै आएका स्थानीय राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुगेपछि अहिले सहज महसुस गरेका छन् । आफ्नो घरमा विद्युत् सेवा उपलब्ध भए पछि गाउँका सर्वसाधारण खुसी भएका छन् । बिजुली नहुँदा कुटानी–पिसानीदेखि पढाइ–लेखाइमा निकै कष्ट बेहोर्दै आएका स्थानीयले अब स्वर्गको अनुभूति पाएकोजस्तो भएको वडाअध्यक्ष पदमबहादुर रानाले बताउनुभयो ।

“यस क्षेत्रमा ऐतिहासिक रुद्रपुर गढीलगायतको पर्यटकीय क्षेत्र रहेका छन्, अहिलेसम्म विद्युत् सेवा नहुँदा पर्यटकको आकर्षण बढाउन सकिएको थिएन, अब गाउँको विकास र आर्थिक गतिविधि चलायमान बनाउन विद्युतीकरणले बाटो खोलिदिएको छ,” उहाँले भन्नुभयो ।

बोझा पोखरीमा सात वर्षअघि निर्माण सुरु गरिएको विद्युत् सबस्टेसनको यसै वर्ष निर्माण कार्य पूरा भएपछि जिल्लाको पहाडी गाउँमा विद्युत् विस्तारका लागि सहज भएको नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले बताउनुभयो । “जिल्लाको प्रगतिनगरबाट ११ हजार केभीको करेन्ट प्रवाह गरी सबस्टेसन चार्ज गरी स्थानीयस्तरमा वितरणको काम सुरु गरेका छौँ,” उहाँले भन्नुभयो, “आयोजनामार्फत पोखरीबाट डेढगाउँ जाने बाटोको धौवादीसम्म र बुलिङटार गाउँपालिका क्षेत्रमा ११ हजार केभीको लाइन वितरण हुनेछ ।

” जिल्लाका कतिपय पहाडी क्षेत्र अझै पनि विद्युत् सेवा पुगेको छैन । तनहुँ तर्फबाट लाइन तानेर बुलिङटार क्षेत्रमा विद्युतीकरण गरिएकामा अब यही सबस्टेसनको प्रसारण लाइन जोडिने प्रमुख मण्डलले जानकारी दिनुभयो । कतिपय स्थानमा लघु जलविद्युतबाट विद्युतीकरण गरिएको भए पनि आवश्यक मागअनुसार आपूर्ति हुन सकेको थिएन ।

साथै लामो दूरीबाट लाइन ल्याएर विद्युतीकरण गर्दा बेलाबेलामा समस्या उत्पन्न हुने गरेको छ । बोझा पोखरीको सबस्टेसनबाट विद्युत् प्रवाह सञ्चालन हुँदा जिल्लाको पहाडी क्षेत्रमा विद्युतीकरणमा सहजता भएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो ।

हुप्सेकोट गाउँपालिकाले उज्यालो हुप्सेकोट कार्यक्रमअन्तर्गत १६ करोडको बहुवर्षीय आयोजना सञ्चालन गरी पहाडी गाउँहरूमा राष्ट्रिय प्रसारण लाइन लैजाने कार्यक्रम सुरु गरेको हो जसअन्तर्गत गाउँपालिकाभित्रका सबै गाउँ बस्तीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको उहाँले बताउनुभयो ।

“हुप्सेकोट गाउँपालिका–४, ५ र ६ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सेकेको थिएन अहिले गाउँपालिका, प्रदेश र सङ्घ सरकारको संयुक्त लगानीमा सबै गाउँमा विद्युत् पु¥याउन सफल भएका छौँ,” उहाँले भन्नुभयो । जिल्लाको पहाडी क्षेत्र बौदिकाली, बुलिङटार र हुप्सेकोट गाउँपालिका विद्युतीकरण गर्ने गरी आयोजना सुरु गरिएको थियो । ठेकेदारले काम नगर्दा लामो समयसम्म अलपत्र बनेको सबस्टेसन निर्माणको काम सकिएपछि अब जिल्लाको पहाडी क्षेत्रमा विद्युतीकरणको बाटो खुलेको छ ।

सात वर्षअगाडि निर्माण सुरु भएको सबस्टेसन निर्माणको काम अलपत्र पर्दा लामो समयदेखि अन्धकारमा बस्न बाध्य पहाडी क्षेत्रका बासिन्दा उज्यालोमा बस्न पाउँदा खुसी भएका छन् । बोझा पोखरी सबस्टेसन भारतीय एटुजेड इन्फ्रा इन्जिनियरिङ कम्पनीमार्फत सब कन्ट्याक्टर त्रिपुरेश्वर र जयदुर्गे इन्जिनियरिङले करिब रु १२ करोडको लागतमा निर्माण सम्पन्न गरिएको हो ।

गुम्बा र विहारमा व्यवसाय नगर्न लुम्बिनी विकास कोषको निर्देशन

लुम्बिनी, ५ चैत : लुम्बिनी विकास कोषले यहाँका गुम्बा तथा विहारमा व्यावसायिक गतिविधि नगर्न सम्बद्ध सबैलाई निर्देशन दिएको छ । कोषले लुम्बिनीका विहारलाई विहार क्षेत्र विनियमावली, २०५८ अनुसार त्यहाँ बस्ने विदेशी नागरिकको विवरण बुझाउन पनि निर्देशन दिएको छ ।

लुम्बिनी विकास कोषको क्षेत्राधिकारका विहार क्षेत्र भगवान् बुद्धको शिक्षा र उपदेशको पूर्णरुपमा पालना गर्नुपर्ने स्थान रहेको स्मरण गराउँदै विहार क्षेत्रलाई बौद्ध धार्मिक, आध्यात्मिक एवं शान्ति क्षेत्रको रुपमा स्थापित गर्न अनुरोध कोषले सबै गुम्बा र विहारलाई पत्र पठाएको छ । विहारमा आउने विदेशी तथा उनीहरूको फर्कने मिति उल्लेख गरी सम्पूर्ण विवरण नियमित रूपमा कोषमा प्रस्तुत गर्न आग्रह गरिएको छ ।साथै कोषले विहार क्षेत्रमा व्यावसायिक प्रयोजनले कु पनि कार्य नगर्न÷नगराउन अनुरोध गरिएको छ । व्यावसायिक गतिविधि गरिएको पाइएमा कारबाही हुने चेतावनी पनि दिएको छ ।लुम्बिनी गुरुयोजना क्षेत्रलाई बौद्ध धार्मिक, आध्यामिक एवं शान्ति केन्द्रको रुपमा विकास गर्ने अभिप्रायले लुम्बिनी गुरुयोजना क्षेत्रभित्रको विहार क्षेत्रलाई सानो बौद्ध संसारको रुपमा परिकल्पना गरी यहाँ विभिन्न राष्ट्र र बौद्ध सम्प्रदायलाई विहार निर्माणका लागि जग्गा उपलब्ध गराइएबमोजिम हाल बौद्ध विहार, गुम्बा, ध्यान केन्द्र निर्माण भई सञ्चालनमा रहेको कोषले जनाएको छ । गुम्बा र विहारमा पाँच जना भिक्षु÷भिक्षुणी र उनीहरुका सहयोगीको रुपमा थप पाँच जना गरी जम्मा १० जना विदेशी नागरिक बस्न सक्ने व्यवस्था रहेको स्मरण गराइएको छ ।लुम्बिनीका विहार र गुम्बामा बौद्ध आध्यात्मिकता र बौद्ध भावनाको विकास गर्नुपर्नेमा त्यस विपरीत होटललेझै कोठा तयार गरी पर्यटक राखिएकामा आपत्ति जनाउँदै लुम्बिनी होटल सङ्घले गत फागुन २९ गते कोषलाई ज्ञापनपत्र बुझाएको थियो ।

बागलुङमा ‘स्वस्थ प्रहरी, अध्ययनशील प्रहरी’ अभियान

गलकोट (बागलुङ), ५ चैत : जिल्ला प्रहरी कार्यालय बागलुङले ‘स्वस्थ प्रहरी, अध्ययनशील प्रहरी’ अभियान थालेको छ । उक्त कार्यालयले प्रहरीलाई नियमित रूपमा व्यायाम र अध्ययन गर्ने व्यवस्था मिलाएको छ ।

प्रहरीलाई अध्ययनशील बनाउन अनिवार्य कानुन र प्रहरीसँग सम्बन्धित विषयको अध्ययन गर्नुपर्ने व्यवस्थासहित सम्बन्धित विधाका पुस्तक प्रत्येक प्रहरी एकाइमा पठाउन थालिएको छ ।

नेपाल प्रहरीलाई ‘स्वस्थ प्रहरी, अध्ययनशील प्रहरी बनाउने अभियान बागलुङमा थालिएको बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो । उहाँका अनुसार प्रहरी कर्मचारीले खानपान र ऐसआरामको जीवनशैली अपनाउन थालेका कारण उनीहरू अस्वस्थ बन्दै गएका र कार्यसम्पादन अपेक्षित रूपमा हुन नसकेकाले प्रहरीलाई अनिवार्य शारीरिक व्यायाम गर्नुपर्ने नियम बनाइएको छ ।

जिल्ला मातहतमा रहेका प्रहरी एकाइले व्यायाम गरेनगरेको ‘भिडियो’ दैनिक जिल्ला प्रहरी कार्यालयको ‘कन्ट्रोल रुम’लाई पठाउनुपर्ने छ । उहाँले भन्नुभयो, “प्रहरी शारीरिक रूपमा फुर्तिलो हुनैपर्छ तर पछिल्लो समय खानपान र जीवनशैलीका कारण प्रहरी आवश्यकताभन्दा बढी मोटाउन थालेपछि व्यायामलाई अनियवार्य गरिएको हो । ”

जिल्ला प्रहरी कार्यालयले प्रविधिमा पनि प्रहरीलाई जोड्न थालेको छ । कार्यालयले तीन अभियानलाई एकसाथ अगाडि बढाएको प्रहरी उपरीक्षक कँडेलले बताउनुभयो । उहाँका अनुसार शारीरिक र मानसिकरुपमा स्वस्थ्य प्रहरी, अध्ययनशील प्रहरी र प्रविधिमैत्री प्रहरी अभियानलाई सञ्चालनमा ल्याइएको हो । उहाँले भन्नुभयो,“ हाल सम्मको अनुभवले प्रहरीबाट भएका त्रुटि अज्ञानताका कारण भएको पाइएको छ, प्रहरी अधिकृत सबै स्थानमा पुग्दैन फरक–फरक रहन–सहन र सामाजिक सद्भावबाट आएका हुन्छन्, कम्तीमा प्रहरीले कुन अवस्थामा के गर्नुपर्छ भन्ने ज्ञान हुनुपर्दछ, नागरिकमैत्री प्रहरीको आवश्यकता छ ।”

जिल्ला प्रहरी कार्यालय बागलुङमा खटिएका सबै प्रहरीलाई प्रविधिमा जोड्ने र घटना भएको स्थान तत्कालै पत्ता लगाउने ‘लोकेसन ट्रयाप’को व्यवस्था मिलाइएको छभने प्रहरी कार्यालयका सबै संरचनालाई ‘डिजिटल’ बनाउने अभियान थालिएको छ । जिल्लामा ५८१ प्रहरी दरबन्दी रहेकामा ४३८ कार्यरत रहेका छन् ।

डडेल्धुराको जोगबुडा अस्पतालको नयाँ भवनबाट शीघ्र सेवा प्रवाह गर्दै

गोदावरी(कैलाली), ५ चैत : डडेल्धुराको परशुराम नगरपालिकास्थित जोगबुडा अस्पताल भवनको निर्माण अन्तिम चरणमा पुगेसँगै नयाँ भवनबाट सेवा प्रवाहको तयारी अस्पताल प्रशासनले थालेको छ । शहरी विकास तथा भवन निर्माण कार्यालयका अनुसार पुनःम्याद थप नहुने भएकाले निर्माण कम्पनीले दिनरात काम गरिरहेको छ । पन्ध्र श्ययाको उक्त अस्पताललाई स्तरोन्नति गर्ने तयारी पनि भइरहेको छ ।

अहिले भवनमा रङगरोगनको काम धमधम भइरहेको छ । कैलाश निर्माण कम्पनीसँग चारवर्षभित्र निर्माण सम्पन्न गर्नेगरी भ्याटबाहेक रु. १३ करोड ६८ लाख ३० हजारमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार अस्पताल भवन २०७९ वैशाख १४ मा निर्माण पूरा गरी हस्तान्तरण गर्नुपर्ने थियो तर निर्धारित समयमा काम पू्रा नभएपछि निर्माण कम्पनीलाई २०८० साउन २४गतेसम्मको म्याद दिइएको थियो ।

यसै महिनाभित्र काम पू्रा गर्न अन्तिमपटक म्याद थप भएकाले निर्माण कम्पनी रातदिन काममा जुटेको हो । उक्त अस्पतालबाट जोगबुडाको परशुराम नगरपालिका, भागेश्वर र आलितालगाउँपालिकाका साथै आसपासका क्षेत्रका सर्वसाधारण लाभान्वित हुनेछन् । यसैबीच, महाकाली अस्पतालको भवन निर्माण पनि तीव्र गतिमा भइरहेको छ । आगामी दुईवर्षभित्र निर्माण सम्पन्न गर्नेगरी रु. १४ करोड ३८ लाख २६ हजारमा जीके ओआई जेभीसँग ठेक्का सम्झौता भएको छ ।

मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु

जलेश्वर (महोत्तरी), ५ चैत : महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता जानकीले प्रतिकात्मक रूपमा होली खेलेसँगै सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको छ ।

संसारकै लामो यात्रा मानिएको १५ दिने माध्यमिकी परिक्रमाअन्तर्गत आज बिहान महोत्तरीको कञ्चनवनमा साधु, सन्त, महात्माले भगवान् रामचन्द्र र सीता माताको प्रतिमामा रङ, अबिर हालेपछि सम्पूर्ण मिथिलाञ्चलमा विधिवत् रूपमा होली प्रारम्भ भएको हो ।

पन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिनको बासस्थानका लागि भङ्गहा नगरपालिका–९ कञ्चनवनमा पुगेका साधु, सन्त, महात्मासहित सम्पूर्ण परिक्रमा यात्रीले आज बिहान भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिमा रङ र अबिर लगाइयो भने परिक्रमामा सहभागी सयौँ साधुसन्त र परिक्रमा यात्रीले एकापसमा रङ अबिर दलेका थिए ।

होलीको विधिवत् प्रारम्भसँगै प्रत्येक वर्षझै यस वर्ष पनि आजै बेलुकादेखि मिथिलाञ्चलको गाउँगाउँमा होलीका गीत गाउँने, नाचगान गर्ने, हाँसो ठट्टा र व्यङ्गात्मक कविता वाचन तथा चुटकिला भन्ने तथा नाटक देखाइनेछ ।

फागुनमा मात्रै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरमा ३५ लाख भेटी सङ्कलन

गलकोट (बागलुङ)-नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरमा गत फागुनमा रु ३५ लाख भेटी सङ्कलन भएको छ । मन्दिर व्यवस्थापन समितिले हरेक महिनाको पहिलो साता मन्दिरमा भएको हिसाबकिताब सार्वजनिक गर्दै आएको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले फागुनमा रु ३५ लाख ११ हजार पाँच सय ३५ भेटी सङ्कलन भएको बताउनुभयो । जसमध्ये नगद, सहयोग रसिद र बिक्री गर्न मिल्ने जिन्सी सामान र वस्तुबापत उक्त रकम सङ्कलन भएको हो ।

फागुनमा कालिका मन्दिरबाट भेटीबापत नगद रु १९ लाख ८१ हजार एक सय, चामल बिक्रीबाट रु ५४ हजार नौ सय, बोकाबाट रु एक लाख ३० हजार छ सय, कुखुराबाट रु सात हजार दुई सय प्राप्त भएको छ । साथै राँगाबाट दुई हजार, भाडा रु तीन लाख १४ हजार चार सय, विवाहबाट रु १० हजार पाँच सय आर्थिक सहयोग रु तीन लाख ४२ हजार चार सय ८५, परेवा बिक्रीबाट रु छ लाख ५५ हजार दुई सय ५०, व्रतबन्ध रु नौ सय, पण्डितबाट रु १२ हजार दुई सय सङ्कलन भएको कोषाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

यस्तै फागुनमा रु २७ लाख ३६ हजार आठ सय ९० खर्च भएको छ । फागुनमा रु सात लाख ७४ हजार छ सय ४५ बचत भएको समितिले जनाएको छ । यस्तै तलब रु तीन लाख ९७ हजार आठ सय, विद्युत् महसुल रु ५२ हजार आठ सय, अतिथि सत्कारमा रु ६७ हजार खर्च भएको छ । साथै आर्थिक सहयोग रु १५ हजार, पूर्वाधार विकास तथा निर्माणमा रु २१ लाख छ हजार, पोशाक तथा छपाइमा रु २१ हजार, खाद्यान्न तथा आवासमा रु ५४ हजार, विज्ञापनमा रु तीन हजार र सांस्कृतिक कार्यक्रम तथा भजनमा रु १६ हजार नौ सय खर्च भएको समितिको भनाइ छ । सङ्कलन भएको भेटी मन्दिर परिसरमा पूर्वाधार निर्माणमा खर्च हुने गरेको छ ।

समितिले हरेक वर्ष चैत्राष्टमी पर्वको अवसरमा ऐतिहासिक चैते दसैँै मेला आयोजना गर्दै आएको छ । यसपटक यहीँ चैत ३० गतेदेखि वैशाख ६ गतेसम्म मेला सञ्चालन हुन लागेको समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

ए सुन माया भन्दै आए समिक्षा र डिल्लीराम

काठमाडौं । गायिका समिक्षा अधिकारी र डिल्लीराम अधिकारीको स्वर रहेको रहेको ए सुन मायाको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

भोजपुरको अरुण गाउँपालिका – ७ का पूर्ववडाअध्यक्ष तथा गत स्थानीय चुनावमा पालिका अध्यक्षमा माओवादीबाट उम्मेदवार बनेका अधिकारीको यो तेस्रो सांगीतिक कोसेली हो । ए सुन माया मा अधिकारीले अन्तरजातीय प्रेमको पक्षमा वकालत गरेका छन् ।

अझै पनि विद्यमान प्रेम र विवाहमा जातभात तगारोविरुद्ध आफूले गीतमार्फत् सन्देश दिन खोजेको उनले बताए । लोक दोहोरीको रूपमा प्रस्तुत नयाँ गीतमा अर्जुन खड्का र जुना कार्कीको मोडलिङ छ । मनिपाल राईको संगीत रहेको गीतको कोरियो तथा निर्देशन सुरेश पाण्डेले गरेका छन् भने एरेन्ज राजु कार्कीको छ । कालुपाँडे समाधीस्थल नजिकै छायांकन गरिएको उक्त म्युजिक भिडिओ एनपी म्युजिक मिडिया युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

‘खाडीको लाहुरे’ मार्फत् गायनमा डेब्यू गरेका अधिकारीले दोस्रो प्रस्तुतिका रूपमा नर्कको मलामी ल्याउँदै पूर्वराजाको सक्रियता, राजनीतिक दल र नेताको गलत कार्यशैलीको कटाक्ष गरेका थिए ।

महाधिवेशनका लागि नेकपा एसले बनायो १३ कमिटी

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले महाधिवेशनका लागि विभिन्न १३ कमिटी गरेको छ । पार्टीले मूल व्यवस्थापन कमिटीलाई पूर्णता दिने क्रममा गठन गरेको कमिटीमा संयोजक तथा सदस्यको जिम्मेवारी तोकिएको हो । महाधिवेशन मूल व्यवस्थापन कमिटीको संयोजकमा अध्यक्ष माधवकुमार नेपाल र अतिथि सत्कार कमिटीको संयोजकमा झलनाथ खनाललाई जिम्मेवारी दिइएको छ ।

प्रतिनिधि व्यवस्थापन कमिटीमा बेदुराम भुसाल, अर्थ परिचालन कमिटीमा प्रमेश हमाल, संस्कृति तथा कला साहित्य कमिटीमा रामचन्द्र झा, जनपरिचालन तथा यातायात कमिटीमा विजय पौडेल, प्रचार–प्रसार कमिटीमा जगन्नाथ खतिवडा, स्वास्थ्य व्यवस्था कमिटीमा नागेन्द्र चौधरीलाई जिम्मेवारी तोकिएको केन्द्रीय सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी, आवास व्यवस्थापन कमिटीमा सावित्रा भुसाल, खाद्य व्यवस्थापन कमिटीमा केदार सञ्जेल, मञ्च तथा हल व्यवस्थापन कमिटीमा गङ्गालाल तुलाधर, स्वयंसेवक परिचालन कमिटीमा केशवबहादुर विष्ट र सचिवालय कमिटीमा घनश्याम भुसाललाई संयोजक तोकिएको छ ।

पार्टी अध्यक्ष नेपालको कमिटीमा केन्द्रीय समिति र आयोगका सबै पदाधिकारी रहने व्यवस्था गरिएको छ । समाजवादी मोर्चा तथा विभिन्न कम्युनिष्ट शक्तिसँगको कार्यगत एकताको प्रक्रिया अगाडि बढाउन लागेको पार्टीले महाधिवेशनका कुनै पनि कार्यतालिकामा प्रभाव नपर्ने जनाएको छ । पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म महाधिवेशन काठमाडौँमा गर्न लागेको छ ।

अस्पताल निर्माणमा चरम ढिलासुस्ती, चार वर्ष पहिलै सकिनुपर्ने काम अझै अलपत्र

म्याग्दी, ५ चैत : कार्ययोजना र लक्ष्यअनुसार काम भएको भए बेनी अस्पतालको भवन चार वर्षअघिनै निर्माण भइसक्थ्यो तर काम सुरु गरेको ७ वर्ष बितिसक्दा पनि ७५ प्रतिशतभन्दा बढी काम भएको छैन । पचास श्ययाको अस्पताल भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदी बताउनुहुन्छ ।

“पचास श्यया क्षमता भएपनि १५ श्ययाको संरचना र पूर्वाधारबाट सेवा दिनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ”, म्याग्दीका साथै पर्वत, बागलुङ र मुस्ताङका सर्वसाधारणले सेवा लिने अस्पतालले छ वर्षयता अस्थायी संरचनाबाट सेवा सञ्चालन गर्दै आएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले २०७३ मङ्सिर २१ गते भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग रु १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो । भवन २०७६ मङ्सिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । चौथो पटक थपिएको म्याद यही महिना समाप्त हुँदैछ । दैनिक पाँच–छ जना मजदुरले मात्र काम गर्दा निर्माणले गति लिन नसकेको हो ।

आयोजनाका प्रमुख सुनिता श्रेष्ठका अनुसार चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा निर्माणाधीन चारतले तीन वटा भवन ढलान भएका छन् तर अन्य काम झ्यालढोका राख्नेलगायत काम बाँकी छ । “ठेकेदारले कार्यस्थल पनि छाडेका छैनन्, कामलाई गति पनि दिएका छैनन्”, उहाँले भन्नुभयो, “पछिल्लो पटक पेस गरेको कार्ययोजनाअनुसार निर्माणलाई गति नदिए ठेक्का तोडेर कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएका छाँै ।”

हालम्म रु १४ करोड भुक्तानी भइसकेको भवनको भौतिक प्रगति ७५ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षमा रु ६८ लाख बजेट विनियोजन भएको छ । थप बजेट व्यवस्थापनका लागि रकमान्तर गर्न मन्त्रालयमा प्रस्ताव पठाएको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो ।

पन्ध्र श्ययाको अस्पताललाई २०७२ सालमा ५० श्ययामा स्तरोन्नति गरिएको हो । नयाँ भवन बनाउन अस्पतालको पुरानो भवन भत्काइएको थियो । बहिरङ्ग कक्षको सेवा अस्थायी भवनबाट सञ्चालन गरिएको छ । आकस्मिक र अन्तरङ्ग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ ।

अस्पतालका प्रमुख चिकित्सक डा अञ्जु थापा भवन अभावमा विशेषज्ञ चिकित्सक आउन नमान्ने, म्याग्दीले पाउनुपर्ने ‘हब’ अस्पतालको कार्यक्रम अन्यत्र जिल्लामा गएको बताउनुहुन्छ । सघन उपचार कक्ष र डाइलासिस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना भएको छ ।

भवन निर्माणमा भएको ढिलासुस्तीलाई लिएर पालिका, जिल्ला, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधिले सम्बद्ध आयोजना कार्यालय, सहरी विकास मन्त्रालय, राष्ट्रिय योजना आयोग र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराउँदै आएका छन् ।

बागलुङमा किसानलाई आलु खेतीतर्फ आकिर्षत गर्न क्षेत्र विस्तार

ढोरपाटन (बागलुङ), ५ चैत : जिल्लाका निसीखोला, ढोरपाटन र ताराखोला क्षेत्र आलु उत्पादनमा प्रसिद्ध छन् । यी ठाउँबाहेक बागलुङका अन्य क्षेत्रमा पनि आलु खेती हुँदै आएको छ । बागलुङ आलु खेतीका लागि उर्वर भएकाले कृषि ज्ञान केन्द्रले यस वर्षदेखि क्षेत्र विस्तार गर्न थालेको छ । ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा रु तीन करोड ५० लाख विनियोजन गरेर किसानलाई आलुको बिउ वितरण गरि रहेको छ । आलु खेतीतर्फ कृषकलाई आकर्षित गर्न यसबाटै आत्मनिर्भर बनाउनेतर्फ कृषि ज्ञान केन्द्र सक्रिय बनेको छ ।

पछिल्लो समय बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन् । आलु खेती गर्दा बाँझो जमिन प्रयोगमा आउने हुँदा आलु खेतीको क्षेत्र विस्तार थालिएको हो । निर्वाहमुखी खेती गर्दै आएकोमा अब व्यावसायिक रुपमा गरिने भएको हो । कृषक समूह र कृषि सहकारीमार्फत किसानलाई उन्नत जातका आलुको बिउ उपलब्ध गराउन थालिएको छ । खाएन (खानका लागि) र बिउका लागि गरी दुई थरि आलु कृषि ज्ञान केन्द्रले किसानलाई वितरण गरि रहेको छ ।

बागलुङलाई आलुमा आत्मनिर्भर बनाई किसानलाई आयआर्जनसँग जोड्न यस वर्ष आलु खेतीको क्षेत्र विस्तार गरिएको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार मगरले जानकारी दिनुभयो । उहाँका अनुसार १५० हेक्टर क्षेत्रफलमा खाएन र बिउ आलु लगाइने छ । बिउका लागि ढोरपाटन र ताराखोलाको आलु तथा खाएनका लागि काभ्रेबाट आलु लिएर वितरण गरिएको पुन मगरको भनाइ छ । १३९ हेक्टरमा खाएन र १० हेक्टरमा ‘बिउ आलु’ लागाइने उहाँले बताउनुभयो । जिल्ला भरका किसानलाई दुई लाख २२ हजार २०० किलो आलु वितरण गर्ने तयारी रहेको पुन मगर बताउनुहुनछ । हालसम्म ७४ वटा कृषि समुह तथा सहकारीले सम्झौता गरेका छन् ।

सूचना अधिकारी पुन मगरले भन्नुभयो – “बागलुङको धेरै जसो ठाउँमा आलु उत्पादन राम्रो हुन्छ, अहिलेसम्म सीमित क्षेत्रमा कृषकहरुले आलु खेती गर्दै आउनु भएको छ, हामीहरुले क्षेत्र विस्तार गर्ने गरि काम गरि रहेका छौँ, सोही अनुसार कृषि ज्ञान केन्द्रले कृषक समुह र कृषि सहकारीलाई आलुको बिउ उपलब्ध गराउन थालेको छ, उन्नत जातको आलुको बिउ काभ्रेबाट ल्याइएको छ भने बिउका लागि स्थानीय जात ढोरपाटन र ताराखोलाबाट ल्याइने छ ।”

उद्यमशील कृषक समूह काठेखोला गाउँपालिका– ३ धम्जा ज्ञानकुमार छन्त्यालले कृषि ज्ञान केन्द्रबाट ३६ क्न्टिल आलुको बिउ लगेको बताउनुभयो । ७५ प्रतिशत अनुदानमा लगेको आलुको बिउ गाउँका किसान र कृषि समुहमा आबद्ध सदस्यलाई उपलब्ध गराएको बताउनुभयो । यसले धम्जा गाउँका किसानलाई आलुखेतीतर्फ आकर्षित गरेको उहाँको भनाइ छ । यस वर्ष धेरै किसानहरु आलु खेती गर्न तर्फ लागेको सुनाउँदै अब उत्पादनमा वृद्धि आउने छन्त्याल बताउनुहुनछ ।

“अहिलेसम्म गाउँमा परम्परागत शैलीमा आलुखेती गर्दै आएका थियौँ, आलुको बिउ पनि पुरानै प्रयोग गथ्र्यौँ, जसले गर्दा उत्पादनमा त्यत्ति धेरै वृद्धि भएको थिएन, अब नयाँ प्रविधिबाट आलुखेती गर्न थालेका छौँ” उहाँले भन्नुभयो– “कृषि ज्ञान केन्द्रले आलुको बिउ मात्रै नभई हामीलाई आवश्यक परामर्श र खेती कसरी गर्ने भन्ने बारेमा जानकारी पनि पाइयो, अब नयाँ तरीकाबाट आलु खेती गरिनेछ, धेरै आवद्ध पनि भएका छन्, त्यसले गर्दा अब आलु उत्पादन बढ्ने छ ।”हाल बागलुङमा तीन हजार छ सय ५५ हेक्टरमा आलुखेती हुँदै आएको छ । यस वर्ष खेती गर्ने क्षेत्रफल बढ्ने छ । वर्सेनि ५९ हजार ६५० टन आलु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

माइली राईलाई नुवाकोट–काठमाडौं पत्रकार समाजको पहलमा ३ लाख आर्थिक सहयोग

काठमाडौँ- नुवाकोट काठमाडौँ पत्रकार समाजले नुवाकोट, लिखु–४ रानीभार निवासी रिक्सा चालक पाण्डव राईको परिवारको सहयोगार्थ सङ्कलित रु तीन लाख एक सय पाँच आज हस्तान्तरण गरेको छ ।

हाल कामपा खुसीबुँ बस्ने रिक्सा चालक राईको गत फागुन २६ गते ५६ वर्षका उमेरमा निधन भएको थियो । उहाँको परिवार शव परिवहन, शवदहन र किरिया खर्चका अभावले बिलखबन्दमा परेकोे देखेर समाजले देशविदेशबाट रकम सङ्कलन गरेको थियो भने प्रेषित समाचारबाट थाहा पाएका अन्यले पनि सहयोग गरेका थिए ।

सोअनुसार राजधानीका पत्रकार, व्यवसायी, साहित्यकार, चिकित्सक, समाजसेवीबाट रु ३० हजार एक सय पाँच र पत्रकार रामचन्द्र भट्टका संयोजनमा अमेरिका, टेक्सास नुवाकोट समुदायबाट रु दुई लाख ७० हजार सङ्कलन भएको थियो । अन्य समाजसेवीबाट पनि करिब रु १५ लाख गरी हालसम्म रु १८ लाख उठिसकेको स्व पाण्डवका छोरा सरोजले जानकारी दिनुभयो ।

किरियामा उहाँकी आमा माइली पनि रहनुभएको छ । पत्रकार समाजका अध्यक्ष रमेश जमकट्टेलका नेतृत्वमा पशुपति क्षेत्र विकास कोष, किरियापुत्री भवन (कोठा नं १०७) मा गएका सहसंयोजक नवराज घिमिरे र अन्य सदस्य तथा अमेरिका, टेक्सासबाट आउनुभएका नुवाकोटका प्रतिनिधि देवेन्द्र गजुरेल (लिखु–१, ढिकुरे बजार) ले आज सो रकम हस्तान्तरण गर्दै दाताले दिएको रकम सदुपयोग गर्न पीडितलाई आग्रह गर्नुभयो ।

पूर्वप्रदेशसभा सदस्य नरोत्तम वैद्यले स्व राईको दाहसंस्कारका साथै पीडितलाई अन्य सहयोग गर्नुभएको थियो । राईको शव उनकै रिक्सामा राखेर परिवारका सदस्यले चलाउँदै, घचेट्दै पशुपति, विद्युतीय शवदाहगृहमा पु¥याएका थिए ।

आरतीको मृत्यु प्रकरणमा सासू रेणुदेवी पक्राउ

धनुषा-माइती पक्षले हत्याको आरोप लगाउँदै आएको आरती साहको मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनकी सासू रेणुदेवी साहलाई पक्राउ गरेको छ ।जनकपुरधाम उपमहानगरपालिका–७ थापाचोक बस्ने ५५ वर्षीया साहलाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले राससलाई जानकारी दिनुभयो । साहको हत्या मुद्दामा सासू रेणु फरार प्रतिवादी थिइन् । यसअघि प्रहरीले यही मुद्दामा आरतीका देवर रवि साहलाई पनि २३ फागुनमा पक्राउ गरेको थियो । आरतीका पति मोतिबाबु भने हाल पुर्पक्षका लागि थुनामा छन् ।

जनकपुरधाम उपमहानगरपालिका–९, थापाचोककी आरती गत ७ जेठमा घरमै मृत अवस्थामा फेला परेकी थिइन् । आरतीका बाबुआमाले भने दाइजोका कारण परिवारकै सदस्यको संलग्नतामा उहाँको हत्या भएको दाबी गर्दै सासू, ससुरा, श्रीमान्, देवरलगायतविरुद्ध जाहेरी दिएको थियो । सुरुमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत धनुषामा पति मोतिबाबु र ससुरा मदनमोहनमाथि कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो ।जिल्ला अदालतले उनीहरुलाई ५ असारमा पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर जिल्ला अदालतको थुनछेक आदेश नमिलेको भन्दै उच्च अदालत जनकपुरले उनीहरुलाई तारेखमा छाड्न आदेश दिएको थियो । आरती साहको बाबु, आमा र भाइबहिनीले काठमाडौँमा लामो समयसम्म यो घटनाको अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलन गर्दै आएका थिए । पछि सर्वोच्च अदालतले भने श्रीमान् मोतिबाबुलाई थुनामा राख्न र ससुरालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।रवि लामिछाने गृहमन्त्री भएपछि आन्दोलनरत साहका माइतपक्षसँग केही दिनअघि गृह मन्त्रालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मार्फत घटनाको पुनःअनुसन्धान गर्नेलगायत पाँचबुँदे सहमति गरेको थियो ।

सर्लाहीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सर्लाही- सर्लाहीको बसबरिया गाउँपालिका–३ मा भएको ट्र्याक्टर दुर्घटनामा एकजनाको ज्यान गएको छ । बसबरिया गाउँपालिका–३ का दिनकर रायको प्रदेश २–०२–००१ त ०४३५ नम्बरको ट्र्याक्टर खेतमा काम गरेर फर्किंदा बसबरिया गाउँपालिका–३ कोठिहारस्थित नहरमा आईतबार ७ बजे पल्टिँदा ट्र्याक्टरका चालक बसबरिया गाउँपालिका–३ का १९ वर्षीय पुजेरी माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार बसबरिया गाउँपालिका–३ कोठिहारस्थित नहरमा ट्र्याक्टर पल्टिँदा ट्र्याक्टरका चालक माझीको ज्यान गएको र ट्र्याक्टरमा सवार ट्र्याक्टर धनी बसबरिया गाउँपालिका–३ का अन्दाजी ५० वर्षीय सञ्जीवकुमार यादव सकुशल रहेका छन् ।

ट्र्याक्टर धनी यादव फरार रहेका छन् । दुर्घटनामा संलग्न ट्र्याक्टर इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा रहेको र शवलाई शवपरीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा, सर्लाही पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक थारूले जानकारी दिनुभयो ।

हिजबुल्लाह–इजराइल द्वन्द्वले दक्षिण लेबनानमा ३५ करोड डलरको क्षति

लेबनानको दक्षिणी सीमामा हिजबुल्लाह–इजराइल द्वन्द्वले ३५ करोड अमेरिकी डलरको अप्रत्यक्ष लागत निम्त्याएको स्थानीय समाचार सेवा लेबनान न्युजले आइतबार बताएको छ । घर र पूर्वाधारको आंशिक र पूर्ण क्षतिका साथै कृषि भूमि जलेर क्षति भएको उक्त न्युजले जनाएको छ ।

“करिब एक करोड वर्गमिटर कृषि भूमि र जङ्गल जलाइएको छ”, रिपोर्टमा भनिएको छ । अघिल्लो दिन इजराइलमाथि हमासको आक्रमणको समर्थनमा लेबनानी सशस्त्र समूह हिजबुल्लाहले इजराइलतर्फ दर्जनौँ रकेट हमला गरेपछि लेबनान–इजराइल सीमामा सन् २०२३ अक्टोबर ८ देखि तनाव बढेको छ ।

हिजबुल्लाहको आक्रमणको जवाफमा इजराइलले लेबनानको दक्षिणपूर्वतर्फ व्यापक तोप प्रहार गरेको थियो । लेबनानी सुरक्षा स्रोतहरूका अनुसार हिजबुल्लाह र इजराइलबीचको टकरावमा लेबनानी पक्षका तीन सय ६२ मानिस मारिएका छन् । तीमध्ये दुई सय ३८ हिजबुल्लाहका सदस्य र ७२ सर्वसाधारण रहेको बताइएको छ ।

तेल उत्पादन बढाउन इरानले गर्‍यो पछिल्लो दशकयताकै ठूलो सम्झौता

पश्चिमी प्रतिबन्धको सामना गरिरहेको इरानले आफ्नो तेल उत्पादन बढाउन आइतबार घरेलु कम्पनीहरूसँग अर्बौं डलरको सम्झौतामा हस्ताक्षर गरेको छ ।सरकारी टिभीमा प्रसारित एक समारोहमा तेल मन्त्रालय र इरानी व्यवसायीहरूले छवटा प्रमुख क्षेत्रमा दैनिक तेल उत्पादन बढाउनका लागि १३ अर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

तेल उद्योगको आधिकारिक समाचार एजेन्सी सानाले उक्त सम्झौतालाई इरानको ‘पछिल्लो दशकमा सबैभन्दा ठूलो तेल सम्झौता’ भनेको छ । एजेन्सीका अनुसार उनीहरूले मुलुकको दैनिक उत्पादनमा तीन लाख ५० हजार ब्यारेल थप्ने लक्ष्य राखेका छन् ।

अक्टोबरमा इरानी तेलमन्त्री जवाद ओवजीले मार्च १९ को फारसी वर्षको अन्त्यसम्म मुलुकको तेल उत्पादन प्रतिदिन ३६ लाख ब्यारेलसम्म पुग्ने वाचा गर्नुभएको थियो । “फारसी क्यालेन्डरअनुसार नयाँ वर्षमा तेल उत्पादन प्रतिदिन ४० लाख ब्यारेलसम्म पुग्नेछ”, उहाँले भन्नुभएको थियो ।

तेहरानको आणविक कार्यक्रमलाई रोक्न बनाइएको ऐतिहासिक सम्झौताबाट अमेरिका पछि हटेपछि पश्चिमी प्रतिबन्ध पुनः लागु भएसँगै सन् २०१८ मा इरानको तेल क्षेत्रलाई झट्का लागेको थियो । पश्चिमी प्रतिबन्धका कारण विदेशी कम्पनीहरू इरान छाड्न बाध्य भएका थिए । तेल मन्त्रालयका अनुसार इरान इराकको सीमामा रहेको खुजेस्तान प्रान्तमा अजादेगनसहित आफ्नो पश्चिमी तथा दक्षिणपश्चिमी क्षेत्रमा तेल उत्पादनलाई बढाउन सहयोग गर्न ‘घरेलु विशेषज्ञतामा भरोसा गर्नेछ ।’

इरानको सबैभन्दा पुरानो तेल क्षेत्र खुजेस्तानमा मस्जेद सोलेमनको विकास सम्झौतामा पनि हस्ताक्षर गरिएको छ । सन् १९०८ मा पहिलो पटक खनिएको मस्जेद सोलेमनमा कुवा नम्बर १ मध्यपूर्वमा सबैभन्दा पुरानो हो ।
 

पोखरा पर्यटकीय राजधानी घोषणा : हिमाल आरोहणदेखि हिप्पी पर्यटकको आगमनको जग

गण्डकी – सन् १९५० मा गरिएको विश्वकै पहिलो अन्नपूर्ण हिमाल आरोहण होस् वा सन् १९६० देखि हुन थालेको हिप्पी पर्यटकको आगमन यिनै जगमा फस्टाएको हो पोखराको पर्यटन । प्रकृतिको वरदान पाएको पोखराले यिनै जगबाट उठ्दै पर्यटकीय राजधानीका रुपमा अर्को पहिचान थपेको छ ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाद्वारा संयुक्त रुपमा आयोजित विशेष समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आईतबार पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुभएको हो ।पोखराका कुनाकुनाबाट उत्साहका साथ सहभागी स्थानीयको ठूलो उपस्थितिका बीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै प्रधानमन्त्री दाहालले “प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय सङ्गम पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्दछु”, भन्नुभयो ।

पोखरावासीले गडगडाहट तालिका साथ वर्षौंदेखिको पोखरालाई पर्यटकीय राजधानी घोषणा गराउने सपना–विपनामा परिणत भएको अनुुभूति गरिरहेका थिए । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नका लागि लामो समयदेखि प्रयास हुँदै आएकामा धेरै समयको प्रयासपछि औपचारिक घोषणाको समय आज मिलेको हो । घोषणाको तयारीका लागि गण्डकी प्रदेश सरकारले प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा अध्ययन समिति बनाएको थियो । उक्त समितिले विभिन्न सुझावसहित सरकारलाई आफ्नो प्रतिवेदन पेस गरेको थियो ।

पर्यटकीय राजधानी बनाउन आवश्यक न्यूनतम आधार उल्लेख गर्दै सो समितिले पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न सुझाव दिएको थियो । आवश्यक पूर्वाधार विकाससँगै दीर्घकालमा निरन्तर पर्यटक आइराख्ने वातावरण बनाउनका लागि सुझाएको समितिले पोखरा अन्तरराष्ट्रिय विमानस्थलको व्यावसायिक उडान, त्यहाँबाट सार्वजनिक बस सञ्चालन गर्न, प्रदूषण कम गर्न विद्युतीय गाडीको प्रोत्साहन, पोखराका पर्यटकीय गन्तव्यको नाम र ठाउँबारे नेपाली र अङ्ग्रेजी भाषामा वृत्तचित्र बनाउन तथा पोखरालाई छाडा चौपायामुक्त बनाउनुपर्नेलगायत विभिन्न सुझाव दिएको थियो ।

पर्यटकीय राजधानी घोषणासँगै पूर्वाधार निर्माणलगायत कामलाई प्राथमिकताका साथ अघि बढाउँदै लैजाने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बताउनुहुन्छ । पर्यटन राजधानी घोषणाले यहाँको पर्यटकीय पहिचानलाई अझै उँचो बनाएको उहाँले बताउनुुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरेली जनताको सपना र अनवरत प्रयासबाट पोखरासहित समग्र गण्डकी प्रदेशको पहिचान थपिएको बताउनुुभयो । प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनका दृष्टिले अनुपम गन्तव्य पोखरा मुलुककै पर्यटन राजधानी घोषणा हुनु आफूहरूका लागि गौरवको विषय भएको उहाँले बताउनुुभयो । यसले गण्डकी प्रदेशसहित मुलुककै श्रीवृद्धिमा नयाँ आयाम थपेको उहाँको भनाइ छ ।

पोखरा पर्यटन राजधानी घोषणालाई अर्थपूर्ण रुपमा हेरिएको पोखराका पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुुभयो । यो घोषणासँगै पोखराको पर्यटकीय गरिमा र महत्वलाई थप उजागर गरेको बताउँदै उहाँले आगामी दिनमा यहाँको प्रवर्द्धनसँगै पर्यटकीय राजधानीस्तरीय पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुुभयो । पोखराको पर्यटन क्षेत्रमा निजी क्षेत्रबाट छ खर्बभन्दा बढी लगानी भइसकेको बताउँदै उहाँले यसको विश्वव्यापी प्रवद्र्धनका लागि तीनवटै तहका सरकार र निजी क्षेत्र सहकार्य गर्दै अघि बढ्नुुपर्ने आवश्यकता औँल्याउनुुभयो ।

पोखरामा लगभग वार्षिक १० लाख पर्यटक भित्रने गरेको बताउँदै उहाँले २० लाख पर्यटक भित्र्याउने गरी लाग्नुपर्नेमा जोड दिनुुभयो । “हामी छिमेकी भारत तथा चीनबाट अधिकतम् पर्यटक भित्र्याउने गरी लाग्नुु जरुरी छ”, उहाँले भन्नुुभयो, “यसका लागि प्रवर्द्धनलाई नै प्राथमिकतामा राखेर अघि बढ्नुुपर्छ ।”

हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोली आरोहणमा जाँदा र आउँदा त्यस टोलीका सदस्यले पोखरा बास बसेसँगै पोखरा क्रमश ः पर्यटकीय गन्तव्यका रूपमा स्थापित बनेको पाइन्छ । इतिहासअनुसार सन् १९६६ मा विश्व पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरमा पदयात्रा गर्दा पनि उनीहरूले आउँदाजाँदा बस्ने ठाउँ पोखरा नै रोजेका थिए । सन् १९६० को दशकमा हिप्पी पर्यटकको आगमनपछि थालिएको पोखराको पर्यटकीय पूर्वाधार विकास सन् १९८० को दशकदेखि सुरु हुँदै यहाँको पर्यटन बिस्तारै फस्टाउन थालेको पाइन्छ । हिमाल आरोहणदेखि हिप्पी पर्यटकको आगमनका जगमा फस्टाउँदै गएको यहाँको पर्यटनमा त्यस यता व्यवसायीहरूले लगानी थप्दै गएको व्यवसायी बताउँछन् ।

माछापुच्छ«े फेवातालमा पौडने, तालै तालको सहर, आदि उपमा पाएको पोखरामा पछिल्ला समयमा विभिन्न पर्यटकीय पूर्वाधार पनि निर्माण भइरहेका छन् । विभिन्न राष्ट्रबाट आउने पर्यटकका साथै अतिविशिष्ट व्यक्तिले पनि यहाँको मुक्तकण्ठले प्रशंसा गरेको पाइन्छ । समय समयमा विदेशी अतिविशिष्ट व्यक्तिले भगवान्ले फुुर्सदमा बनाएको सहरजस्ता उपमा दिनुले पनि यहाँको महिमा र गरिमा अझै चुलिएको छ ।

इतिहासमा उल्लेख भएअनुसार यसअघि सन् १९६१ मा बेलायती महारानी एलिजावेथ द्वितीय र सन् १९६३ मा भारतीय राष्ट्रपति राधाकृष्णन्ले पनि पोखराको भ्रमण गर्नुभएको थियो ।

त्यसयता पोखरामा विसं २०७२ चैतमा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) मा सार्क राष्ट्रका विशिष्ट पाहुनाहरूले पोखराको भ्रमण गर्नुुभएको थियो । त्यसलगत्तै भएको बेलायती राजकुमार ह्यारीको भ्रमणदेखि विसं २०७३ कात्तिकमा भएको भारतीय राष्ट्रपति मुखर्जीसम्मका औपचारिक भ्रमणले यहाँको सौन्दर्यता विश्वमाझ पुुगेको थियो ।

पोखरामा विसं २०७६ कात्तिकमा बङ्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद फेवातालमा डुङ्गा सयरदेखि हिमाल अवलोकन आदि गतिविधिमा सरिक बन्नुुभएको थियोभने यही वर्ष कात्तिक १३ गते पोखरा आउनुुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिए गुटेरेस यहाँ आएर नौका विहारदेखि पुम्दीकोटमा हिमालको दृश्यावलोकन गर्दै यहाँको सुन्दरताको प्रशंसा गर्नुुभएको थियो ।पोखरा आउने पर्यटकले फेवातालमा डुबुल्की मारेजस्तै देखिने माछापुच्छ«े हिमालसहितको दृश्य अवलोकनसँगै आसपासका लेखनाथ क्षेत्रका बेगनास, रुपालगायत तालतलैयाको अवलोकन गर्ने गरेका छन् ।

त्यस्तै, सराङकोटबाट सूर्योदयको अवलोकनसँगै प्यारग्लाइडिङ, जिपलाइन आदि गर्ने गर्दछन् । पोखराका प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल विन्दुवासिनी, तालबाराही, भद्रकाली आदिको दर्शनसँगै हालै पुम्दीकोटमा बनेको विशाल महादेव मूर्ति, विश्व शान्ति स्तुपसँगै काहुँ धरहरा आदिको अवलोकन गर्दछन् । पोखराका पातले छाँगो, गुप्तेश्वर महादेव गुफा, महेन्द्र गुफा, चमेरे गुफा आदि यहाँका प्रमुख पर्यटकीय स्थल हुन् । यिनै विधितालाई देखेर नै कवि मुकुन्दशरण उपाध्यायले आफ्नो वर्णनात्मक काव्य प्राकृत पोखराको ‘पोखरा’ शीर्षकको कवितामा भन्नुभएको छ,

“कहीँ हिमाल मात्रै छन् कहीँ ता ताल मात्र छन् ।
कहीँ पहाड मात्रै छन् कहीँ मैदान मात्र छन् ।।
कहीँ छन् छहरा मात्रै पहरा कहीँ केवल
नदी मात्रै कहीँ बग्छन् कहीँ छन् खाली जङ्गल ।।
सम्पूर्ण दिव्य शोभाले पूर्ण छैनन् कहीँ धरा
तर सम्पूर्ण शोभाले परिपूर्ण छ पोखरा ।।”

सुन्दर प्राकृतिक विविधताले सजिएको पोखरा पर्यटकीय राजधानी घोषणा हुनुु यहाँको मात्र नभै गण्डकी प्रदेश र समग्र नेपालकै पर्यटनको लागि महत्वपूर्ण उपलब्धि भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठको भनाइ छ ।

आवश्यकता र औचित्य पुष्टि हुनेगरी राजस्वका दर हेरफेर हुन्छन् : अर्थमन्त्री पुन

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत करका दर हेरफेर गर्दा त्यसको आवश्यकता र औचित्यको तथ्यपूर्ण विश्लेषण गरिने बताउनुभएको छ ।

आईतबार अर्थमन्त्रालयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको भेटघाटका क्रममा उहाँले राजस्वका दर हेरफेर गर्दा के–कति कारणले त्यस्तो गर्नुपरेको हो भनेर स्पष्ट रूपमा खुलाइने छ भन्नुभयो । बजेट निर्माण तथा कर प्रणाली निर्धारण गर्दा सर्वसाधारण समेतको सहभागिता रहने गरी सार्वजनिक छलफलमा ल्याइनुपर्ने धारणा पनि उहाँले राख्नुभयो ।

“करका दरमा हेरफेर गर्दा तीन महले नै तयार पारेर के कति कारणले थपघट गर्नुपर्ने हो भनेर स्पष्ट पारिनुपर्छ भन्ने मलाई लागेको छ । यसो हुन सके कसैको नियतबाट करका दर परिवर्तन भएको भन्ने अवस्था रहँदैन । तथ्यमै आधारित भएर कर निर्धारण गर्दा पारदर्शिता कायम हुन्छ,” अर्थमन्त्री पुनले भन्नुभयो । सरकारले विभिन्न क्षेत्रमा दिँदै आएको कर छुटको औचित्यबारे तथ्यपरक विश्लेषण गरिनुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो । त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) मा बहुदर आवश्यक हो वा होइन भनेर बहस चलाइनुपर्ने पनि अर्थमन्त्री पुनको भनाइ छ ।

पछिल्लो समय माग र खपत घट्दा समग्र बजार नै शिथिल अवस्थामा पुगेकामा त्यसलाई चलायनमान बनाउन अर्थ मन्त्रालयले केही रकम बजारमा पठाउने निर्णय गरेको पनि अर्थमन्त्री पुनले जानकारी दिनुभयो । उपभोक्ता बजारसँगै पुँजीबजारलाई कसरी चलायमान बनाउन सकिन्छ भनेर आफूले अध्ययन गरिरहेको उहाँको भनाइ छ ।

“सामाजिक सुरक्षा, पेन्सनलगायतको भुक्तानी गर्नुपर्ने करिब रु ३० अर्ब रकम निकासा गर्ने निर्णय अर्थ मन्त्रालयले गरेको छ । दुग्ध किसानको बक्यौताको करिब रु ३० करोड भुक्तानी गर्ने निर्णय भइसकेको छ । त्यस्तै, निर्माण व्यवसायीको करिब रु ४० अर्ब बराबर भुक्तानी बाँकी रहेको भनेर आएको छ । त्यसमा प्रक्रिया पु¥याएर आफ्नो दाबी ल्याउनुहोस्, अर्थ मन्त्रालयले भुक्तानी दिन्छ भनेर सम्बन्धित मन्त्रालयलाई भनिसकेको छु,” अर्थमन्त्री पुनले भन्नुभयो । बजारमा पैसा पठाउँदा मागमा देखिएको शिथिलता हट्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

सार्वजनिक संस्थानको उपादेयताबारे सोच्नुपर्ने बेला आएको पनि अर्थमन्त्री पुनले बताउनुभयो । “सार्वजनिक संस्थानमा लगानी भएपछि त्यसको प्रतिफल पनि चाहिन्छ । यदि आर्थिक रूपमा उपयुक्त छैनन् भने अर्को क्षेत्रमा जान सकिन्छ । आजका लागि आवश्यक कुन क्षेत्र हो भनेर पहिचान गरी सार्वजनिक संस्थानको लगानी ती क्षेत्रमा केन्द्रित गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।

विगतमा मुलुकको अर्थतन्त्र केही समस्यामा हुँदा अवलम्बन गरिएका कडा खालका आर्थिक तथा मौद्रिक नीति अहिले सहज अवस्थामा बिस्तारै खुकुलो गर्दै गएको पनि उहाँले स्पष्ट पार्नुभयो । “अर्थतन्त्र अफ्ठ्यारो हुँदा हाम्रा नीति केही कडा गरेका थियौँ तर अहिले सहज अवस्थामा तिनलाई सहज बनाऔँ । घरजग्गा र शेयर धितो कर्जाको सीमा संशोधन गर्न सकिनेबारे पनि छलफल भइरहेको छ,” उहाँले भन्नुभयो, “कुनै बेला विदेशी मुद्रा सञ्चिति कम भनियो तर अहिले खर्च गर्न सकेका छैनौँ । यसमा पनि के गर्न सकिन्छ भनेर अध्ययन भइरहेको छ ।”

सरकारले चालेको सुशासनको पहलले अवैध हुण्डी कारोबार रोकिएको र त्यसले ‘रेमिट्यान्स’ बढेपछि भुक्तानी सन्तुलन राम्रो अवस्थामा पुगेको दाबी अर्थमन्त्री पुनको छ । केही समयअघि अर्थतन्त्रमा बाह्य क्षेत्र व्यवस्थापनमा समस्या रहेकामा अहिले सार्वजनिक वित्त व्यवस्थापन सकसपूर्ण रहेको उहाँले बताउनुभयो । बजेटको स्रोत अनुमान गर्दा अर्थमन्त्रालयको भूमिका नखोजिने विद्यमान परिस्थितिमा मन्त्रालय र राष्ट्रिय योजना आयोगले समन्वय गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।

निवर्तमान अर्थमन्त्री र प्रधानमन्त्रीबीच कुरा नमिल्दा सत्ता गठबन्धनमा नै समस्या देखिएको भन्ने विषयमा सत्यता नरहेको उहाँले स्पष्ट पार्नुभयो । विगतका सरकारका राम्रा अभ्यासलाई आफूले निरन्तरता दिने पनि उहाँको भनाइ छ । “प्रधानमन्त्री र अर्थमन्त्रीबीच विमति भएको जस्तो पारियो । तर त्यस्तो होइन,” उहाँले भन्नुभयो, “अहिले पनि एउटा दलले बजेटका सिद्धान्त र प्राथमिकता ल्याउने, अर्को दलले नीति कार्यक्रम र बजेट ल्याउने र मौद्रिक नीति अर्को दलको भन्ने भान परेको छ । एउटै राज्य संयन्त्रभित्र अलग्गै काम गरेको भन्ने हुँदैन । जसले गरेको भए पनि राज्यको एउटै नीति हुन्छ ।”

विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता, वार्षिक नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिको अन्तरसम्बन्ध स्थापित गरी समन्वयात्मक रूपमा काम गर्ने पनि उहाँले जानकारी दिनुभयो । विगतका असल अभ्यासमा टेकेर थप राम्रो गरौँ भन्ने पक्षमा आफू रहेको उहाँको भनाइ छ ।

विदेश पलायन भइरहेको युवाशक्तिलाई मुलुकभित्रै काम गर्ने आशा जगाउन के गर्न सकिन्छ भनेर पनि आफूले सोचिरहेको उहाँले बताउनुभयो । सूचना प्रविधि क्षेत्रमा निर्यातको सम्भावना देखिएकाले त्यस क्षेत्रको पूर्वाधार स्थापना पनि सरकारको प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।

अर्थ मन्त्रालयका कर्मचारीमा ठूलो परिवर्तन गर्ने पक्षमा आफू नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो । कर्मचारीको कामको नतिजा हेरेर कसलाई कुन जिम्मेवारी दिने वा नदिने भन्ने निर्णय लिइने उहाँले बताउनुभयो ।

कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु पर्दैन : गृहमन्त्री लामिछाने

काठमाडौँ,-उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु नपर्ने बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको आईतबार निरीक्षण भ्रमण तथा वरिष्ठ अधिकृत सम्मेलन कार्यक्रममा उहाँले कानुन कार्यान्वयनमा ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको हो । उपप्रधान एवं गृहमन्त्री लामिछानेले भन्नुभयो, “कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु पर्दैन । कार्य सम्पादनपछि प्रतिवेदन पेस गरे हुन्छ । कानुन कार्यान्वयनमा ढिलासुस्ती, जिम्मेवारी बहनमा आलटाल र नागरिकलाई दुःख–हैरानी दिनेलाई पनि कानुन लाग्छ भन्ने ख्याल गर्नुहोला ।”

उहाँले सशस्त्र प्रहरी बललाई पाँचबुँदे निर्देशन दिँदै गैरव्यावसायिक आचरण कुनै पनि हालतमा क्षम्य नहुने स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, “सङ्गठनभित्र त्यस्ता आचरण गर्नेलाई बचाउने प्रयास गर्नेलाई कारबाहीको भागिदार बनाइएन भने कमान्डरविरुद्ध नै ‘एक्सन’ हुनेछ । गैरव्यावसायिक आचरण गर्ने साना–ठूला सबै प्रहरीलाई समान व्यवहार गरिने छ ।”

उपप्रधान एवं गृहमन्त्री लामिछानेले कार्यक्षमता मूल्याङ्कनका आधारमा पदोन्नति र जिम्मेवारी निर्धारण गरिने बताउँदै सरुवा–बढुवा वा जिम्मेवारी निर्धारणमा कतैबाट दबाब वा प्रभाव पार्ने, अनुचित चलखेल गर्ने र व्यावसायिक प्रतिस्पर्धाभन्दा अन्य उपायको खोजी गर्नेलाई कडा कारबाही गरिने चेतावनी दिनुभयो ।

“सशस्त्र प्रहरी बल हिजोसम्म कसरी चलेको थियो थाहा छैन, अब हिजोको जसरी चाहिँ चल्दैन । चलाउन नसक्ने रहँदैन । कानुन पालना गराउने पूर्णअधिकार तपाईंहरुसँग छ, गराउनूस् । कानुनभन्दा माथि निर्देशन हुन सक्दैन, गम्भीरतापूर्वक ख्याल गर्नुहोला”, उहाँले भन्नुभयो । उहाँले सङ्गठनको भौतिक र प्राविधिक स्तरोन्नतिसहित जनशक्तिको मनोबल उच्च राख्न सरकारको गच्छअनुसार नीति, योजना र कार्यक्रम तय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै, संयुक्त राष्ट्रसङ्घको साझा छातामा रहेर कार्य सम्पादन गर्ने सशस्त्र प्रहरी बललाई अन्तरराष्ट्रिय परिदृश्य र मापदण्डअनुसारको बनाउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।

“नेपालको खुला सीमा विशिष्ट प्रकृतिको छ । त्यसैले सशस्त्र प्रहरी बल नेपाललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाउन अन्तरराष्ट्रिय मापदण्डसहितको ‘बिओपी’हरुको स्थापना, मौजुदा ‘बिओपी’ को स्तरवृद्धि गर्दै समग्र सङ्गठनलाई नै प्रविधिमैत्री एवं चलायमान बनाउनेतर्फ मेरो प्रयास केन्द्रित रहनेछ,” उहाँले भन्नुभयो, “सीमा सुरक्षा तथा व्यवस्थापनजस्तो संवेदनशील विषयमा विशेष कानुन नहुँदा परेका कठिनाइ समाधानमा पनि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

पार्टीलाई बलियो बनाउन सबै एक ढिक्का हुन आवश्यक : नेता गच्छदार

इनरुवा-नेपाली कांग्रेसलाई बलियो बनाउनका लागि सबै एक ढिक्का हुन आवश्यक रहेको पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले बताउनुभएको छ ।

नेपाली कांग्रेस सुनसरीले आईतबार सदरमुकाम इनरुवामा आयोजना गरेको अगुवा कार्यकर्तासँगको अन्तरक्रिया कार्यक्रममा नेता गच्छदारले कांग्रेस बलियो भएन भने लोकतन्त्र नै कमजोर हुने भएकाले लोकतन्त्रलाई जोगाउन र अहिलेको व्यवस्थालाई ठीक ढङ्गले अगाडि बढाउनका लागि कांग्रेसलाई बलियो बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

पछिल्लो समय देशको राजनीतिक गतिविधि सही ‘ट्र्याक’मा अगाडि नबढेको उहाँले सुनाउनुभयो । देशको राजनीतिलाई सही ट्र्याकमा अगाडि बढाउनका लागि कांग्रेसलाई मजबुत पार्टीका रुपमा स्थापित गर्न आवश्यक रहेको नेता गच्छदारले बताउनुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका सदस्य राजीव कोइराला, पूर्वराज्यमन्त्री सीताराम मेहता, पार्टी सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, इनरुवा नगरपालिकाका उपप्रमुख विनिता मेहता, दुहबी नगरपालिकाका प्रमुख बेद गच्छदार, पार्टीका सुनसरी उपसभापति पङ्कज महतो, सुनसरी सचिव वीरेन्द्रकुमार साहलगायतको सहभागिता थियो ।

डढेलो र आगलागी जोखिमप्रति सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, ४ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पूर्वी क्षेत्रमा भएको आगलागीबाट ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आगलागीका कारण मोरङ, भोजपुरलगायत जिल्लामा शनिबार धनजनको क्षति भएकामा आफू मर्माहत भएको बताउँदै घटनालगत्तै गए राति नै सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश प्रवाह गर्दै सचेतना अपनाउन आम नागरिकमा अनुरोध गर्नुभएको छ ।

“भोजपुरलगायत पूर्वी नेपालका पहाडी जिल्लाहरूमा आगलागीबाट धनजनको क्षति भएको घटनाले मर्माहत तुल्याएको छ । घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आगलागीबाट हुनसक्ने सम्भावित जोखिमप्रति पूर्वसचेतता अपनाउन सम्पूर्ण जनसमुदायमा अनुरोध गर्दछु”, उहाँले भन्नुभएको छ ।

भोजपुरको हतुवागडी गाउँपालिका–७ मा शनिबार आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । पछिल्लो दुई दिनमा उदयपुर, काठमाडौँ, महोत्तरी, सुर्खेत, तेह्रथुम, सप्तरी, ताप्लेजुङलगायत जिल्लामा आगलागी र डढेलोका घटना भएका छन् । केही ठाउँमा मानव बस्ती नै विस्थापित भएको छ ।

प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने सत्यलाई आत्मसात् गरौँ : प्रधानमन्त्री

काठमाडौँ, ४ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने वर्तमान सत्यलाई आत्मसात् गर्नुपर्ने बताउनुभएको छ ।

आज पोखरामा आयोजित प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान युग विज्ञान–प्रविधि र मुख्यतः सूचना प्रविधिको युग भएको बताउनुभयो । “आज दुनियाँमा त्यस्तो कुनै क्षेत्र छैन, जहाँ सूचना–प्रविधिको निर्णायक भूमिका नहोस्”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “हिजो सूचना सम्प्रेषणको माध्यमका रूपमा विकसित प्रविधिको क्षेत्र ज्ञान–विज्ञान, उत्पादन, निर्माण, ज्ञान उत्पादन, सम्प्रेषणसहित अर्थतन्त्रको निर्णायक क्षेत्रका रूपमा उपस्थित छ ।”

सूचना–प्रविधिको विकास र यसबाट सिङ्गो विश्व र राष्ट्रिय जीवनमा पारेको प्रभाव एवं राष्ट्रको बृहत्तर विकास तथा समृद्धिका लागि यसको सर्वव्यापी र निर्णायक भूमिका रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “चौथो औद्योगिक क्रान्तिका रूपमा विकसित सूचना प्रविधिले मानव जाति र सामाजिक जीवनका सम्पूर्ण अवयवहरूमा सकारात्मक प्रभाव मात्र पारेको छैन, अपितु सूचना–प्रविधिभन्दा बाहिरबाट मानव जातिको अस्तित्वको कल्पना नै गर्न नसकिने ठाउँमा सिङ्गो विश्व आइपुगेको छ ।”