`

भावी सन्ततिका निम्ति जमिनमुनिको जल जोगाउन विज्ञहरूको सुझाव

काठमाडौँ, ४ चैत : खानेपानीको क्षेत्रमा काम गर्ने विज्ञहरूले खानेपानीको सङ्कट समाधानका लागि जमिनमुनिको पानी तानेर अहिलेको पुस्ताले सन्ततिको भागको पानी पनि सकिदिन लागेको आरोप लगाएका छन् । उनीहरूले भावी सन्ततिको भागको पानी जोगाउन सुझाव दिएका छन् । यही चैत ५ र ६ गते राजधानीमा हुन लागेको ‘वर्षात्को पानी सङ्कलन र व्यवस्थापन’ विषयक क्षेत्रीय सम्मेलनको पूर्वसन्ध्यामा शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा खानेपानी विज्ञहरूले यस्तो सुझाव दिएका हुन् ।

पूर्वमन्त्री तथा सम्मेलन आयोजक समितिका सल्लाहकार गणेश साहले भन्नुभयो, “हामीले हाम्रा सन्ततिको भागको जमिनमुनिको पानी पनि तानेर खाइसक्याँै । खोला नदी प्रदूषित गर्यौँ । ताल पोखरी पुरिँदै गए । हाम्रा सन्ततिले उनका भागको पानी खै भनेर सोध्दा यो पुस्ता नाजवाफ हुनुपर्ने अवस्था छ । त्यसैले अब पानी बचत गरौँ ।”

आयोजक समितिका अध्यक्ष तथा स्मार्ट वास सोलुसन्स प्रालिका अध्यक्ष इन्जिनियर रामदीप साहले वर्षात्को पानीको महत्व, आसन्न सम्मेलनको उद्देश्य, सहभागिता र अपेक्षित उपलब्धिबारे जानकारी दिनुभएको थियो ।

उहाँले मानिसका हरेक क्रियाकलाप र विकास गतिविधि पानीसँग अभिन्नरूपमा जोडिएको उल्लेख गर्दै भन्नुभयो, “पानी बहुउपयोगी पनि छ तर यस्तो अत्यावश्यक पानी संसारभर समान रूपमा उपलब्ध छैन । जलवायु परिवर्तनका कारण वर्षाको प्रवृत्तिमा आएको परिवर्तनले भइरहेका पानीका स्रोतमा पनि प्रतिकूल असर परिरहेको छ । पानीका मूल सुक्दै गएका छन् । पानीको अभाव हुन नदिन हामीले आफूलाई वर्षभरि चाहिने पानीको जोहो गर्न व्यक्तिगत र सामूहिकरूपमा सोच्नुपरेको छ । पारिवारिक, सामुदायिक, पालिकास्तरीय, प्रदेशस्तरीय र राष्ट्रिय योजना बनाएर जमिनमुनिको पानी बचाउ अभियान कार्यान्वयन गर्नुपर्ने खाँचो छ ।”

बढ्दै गएको पानीको अभाव र अधिक वर्षाका कारण हुने क्षतिलाई दृष्टिगत गरी तिनको समाधान खोज्न स्मार्टवास सोलुसन्स् प्रालिले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँगको सहयोगमा सम्मेलन आयोजना हुन लागेको हो ।

सम्मेलनमा यस क्षेत्रमा पानी आपूर्तिका क्षेत्रमा काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, विज्ञ र वैज्ञानिक, विश्वविद्यालयका प्राज्ञ तथा खानेपानीका क्षेत्रमा अध्ययन र अनुसन्धान गरिरहेका विद्यार्थी, पानी आपूर्तिका उद्योग सञ्चालन गरेका उद्योगी हुनेछन् ।

प्राविधिक समितिका अध्यक्ष सुनिलबाबु श्रेष्ठले सम्मेलनको प्राविधिक पक्षमा प्रकाश पार्नुभएको थियो । सम्मेलनमा विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विज्ञहरूबाट ३१ वटा कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलन अवधिमा यस क्षेत्रमा आएका नवीनतम् प्रविधिको प्रदर्शनी पनि हुनेछ । इन्टरनेशनल रेन वाटर हार्भेष्टिङ एलायन्सका अध्यक्ष हान हाइजनले वर्षात्को पानीलाई उपयुक्त समयमा उपयुक्त स्थानमा सङ्कलन गरेर मानवीय आवश्यकता पूरा गर्न सकिने बताउनुभएको थियो । स्मार्ट वास सोलुसन र नेदरल्याण्ड विकास संस्थाले खानेपानी तथा ढल व्यवस्थापन विभाग र नेपाल रेनवाटर हार्भेस्टिङ एलायन्सको समन्वयमा सम्मेलन हुन लागेको हो ।

काभ्रेका पाँच सामुदायिक विद्यालयलाई ‘थ्री स्टार’

काभ्रेपलाञ्चोक, ४ चैत : खानेपानी, सरसफाइ एवं पर्यावरणीय स्वच्छता मापदण्डका दश सूचक पूरा गरेका काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकाको पाँच सामुदायिक विद्यालयलाई ‘थ्री स्टार’ विद्यालयका रूपमा परिचित भएका छन् । गाउँपालिकाका ३३ सामुदायिक विद्यालयमा सञ्चालित ‘भविष्यको लागि आधार’ परियोजनाअन्तर्गत सूचक पूरा गर्ने ती विद्यालयलाई ‘थ्री स्टार’ घोषणा गरिएको छ ।

‘थ्री स्टार’द्वारा परिचित विद्यालय माध्यमिकस्तरका हुन् । ती विद्यालयमा गाउँपालिकाको ५ नं वडास्थित अरनिको मावि र जागृति मावि, वडा नं ३ को बुद्ध हिमालय मावि, वडा नं ५ को सिर्जनाशील जनता मावि, वडा नं ६ को प्रभा मावि रहेका छन् । यी विद्यालयलाई थ्री स्टार बनाउन वाटरएड र सिविक फोरम नामका संस्थाले सघाएका थिए ।

पाँचै विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छताका १० मापदण्डअन्तर्गत स्वच्छ खानेपानी, व्यवस्थित शौचालय, स्वच्छ र हरियाली वातावरण, खानाको स्वच्छता, स्वास्थ्य स्वच्छताको सुविधा, छात्रा–महिनावारी स्वच्छता व्यवस्थापन सुविधा, संस्थागत व्यवस्था र दिगोपना, विपद् जोखिम व्यवस्थापन र अनुगमन तथा जवाफदेहिता पूरा गरेका हुन् । यी १० सूचक पूरा गरेपछि तीनतारा घोषणा गरिएको फोरमका प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवरले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै विद्यालयमा खानेपानी र सरसफाइको सुविधा एवं स्वच्छ वातावरणको विकास तथा प्रवर्द्धन गरी विद्यार्थीको स्वास्थ्य स्थितिमा सुधार ल्याई सिकाइ उपलब्धि तथा शैक्षिक गुणस्तरमा सुधार्न आवश्यक छ । नेपालको संविधानमा मौलिक हकको धारा ३५ को उपधारा ४ ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक सुनिश्चित, दिगो विकास लक्ष्य (एसडिजी)को ४ र ६ नं अन्तर्गत सबै विद्यालयमा सुरक्षित र व्यवस्थित खानेपानी, सरसफाइ र स्वच्छताको प्रावधान हुनुपर्ने गरी सूचकहरू तोकिएको छ ।

यस्तै विद्यालय क्षेत्र विकास योजना (२०७३–२०८०)ले पनि गुणस्तरीय शिक्षाका लागि स्वास्थ्य तथा पोषण ‘अवयव’अन्तर्गत विद्यालयमा स्वच्छ खानेपानी व्यवस्थापन, सरसफाइको सुविधा र स्वच्छ वातावरणको आवश्यकतालाई महत्त्वपूर्ण पक्षका रूपमा उल्लेख गरेको छ ।

मिथिला परिक्रमाका यात्रीको मुसलमान सुमदायद्वारा बिदाइ

महोत्तरी, ४ चैत : मिथिला मध्यमा परिक्रमाका यात्री आज बिहान आठौँ दिनको यात्रामा निस्केका छन् । साताँै दिनको रात्रि विश्राम बलवा–१० ध्रुवकुण्डमा गरेका यात्रीलाई आज बिहान मुस्लिम समुदायले बिदाइ गरेका छन् ।

हिन्दू –मैथिल परम्पराको मिथिला माध्यमिकी यात्रामा वर्षौँदेखि ध्रुवकुण्डमा मुस्लिमले यात्रीको स्वागत र बिदाइ गर्ने परम्पराजस्तै बनेको छ । मुस्लिम समुदायका अगुवाले आज बिहान अबको यात्रा सुखद् होस् भन्ने कामना गर्दै यात्रीको बिदाइ गरेका हुन् । विश्रामस्थल ध्रुवकुण्ड वरिपरि मुस्लिम बसोबास बाहुल्य छ । आफ्नो ठाउँमा बसेका यात्री आज बिहान अघिल्लो यात्रामा निस्कनअघि मुस्लिम अगुवाले धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावको स्थानीय परम्परा अनुशरण गर्दै यात्रीको बिदाइ गरेका हुन् ।“हामी वर्षौँवर्षदेखि मिलेर बसेका छौँ, आफ्ना ठाउँमा आएका अतिथिको स्वागत र बिदाइ मिथिलाको स्थापित परम्परा हो”, ध्रुवकुण्ड नजिकैको अधियानपुर बस्तीका शेष अमानुल्ला भन्नुहुन्छ । यसले फरक धर्म परम्परा र संस्कृतिबीच आपसी प्रेम र सद्भावको सकारात्मक सन्देश प्रवाह गर्ने शिक्षण पेसाबाट अवकाश लिनुभएका अमानुल्लाको भनाइ छ ।जिल्लामा मुस्लिम समुदाय (इस्लाम धर्मावलम्बी) को सघन बसोबास रहेको धमौरामा मिथिला मध्यमा परिक्रमाको सातौँ दिनको विश्रामस्थल ध्रुवकुण्ड छ । सत्ययुगमा राजकुमार ध्रुवले तपस्या गरेका ठाउँ मानिने ध्रुवकुण्डलाई हिन्दूले पवित्र धार्मिकस्थल मान्ने गरेका छन् । मध्यमा परिक्रमाका यात्रीको स्वागत र बिदाइको अवसर आपूmहरूले पाउनु गौरवको कुरा भएको मुस्लिम धर्मावलम्बी बताउँछन् ।यात्री आइपुग्दा स्थानीय संस्कृतिअनुसार गम्छा ओढाएर र बिदाइ गरिँदा सुपारीका टुक्रा हातमा दिने चलन छ । प्रतीकात्मकरूपमा केही यात्रीको स्वागत र बिदाइ हुने गरे पनि बासस्थलमा बस्ने ठाउँको प्रबन्ध, आकस्मिक उपचार सेवा र अन्य भइपरि आउने काममा मुस्लिम सबैका लागि उपलब्ध रहँदै आएका देखिन्छन् । मिथिलामा सुपारीको टुक्रा बिदाइका बेला दिने गरिएको परम्परा अघिल्लो निम्ता पनि मानिन्छ । यसको भाव आइरहनोस् है भन्ने हुने धमौराका बासिन्दा अवकाशप्राप्त शिक्षक सुशील यादव बताउनुहुन्छ ।धमौैराका धमौराबजार, रौजाबजार र अधियानपुरको माझमा ध्रुवकुण्ड छ । यी वरपरका बस्ती मुस्लिम बाहुल्य भए पनि आपूmहरूको वास्तामा कुनै कमी महसुस नहुने गरेको यात्री बताउँछन् । यहाँ आइपुग्दा र निस्कँदा स्थानीय मुस्लिमले गर्ने स्वागत र बिदाइ परम्परा सामाजिक, सांस्कृतिक तथा धार्मिक सद्भावको खास नमूना भएको अग्निकुण्ड मठका महन्थ नवलकिशोर दास शरण बताउनुहुन्छ ।धमौरा हिन्दू र मुस्लिम परम्पराको आस्थाको स्थल हो । यहाँ हिन्दू परम्पराको ध्रुवकुण्ड र इस्लाम परम्पराको रौजामजार छन् । रौजामजार इस्लाम धर्म परम्पराका सुफी सन्त गदालीबाबा, बहारअलीबाबा र रहमतअलीबाबाको पवित्र मजार (समाधिस्थल) रहेको ठाउँ हो । हिन्दूहरु मजारस्थलमा श्रद्धा जनाउँदै मन्नत (आशिष) माग्न पुग्छन् । रौजामजार र ध्रुवकुण्ड आफ्नो ठाउँ चिनाउने पवित्रस्थल भएकाले आपूmहरूको समान चासोमा पर्ने यस ठाउँका हिन्दूमुस्लिम बताउँछन् ।माध्यमिकी परिक्रमाका यात्री ध्रुवकुण्ड आएपछि उनीहरूको आवास, भोजन, उपचार र अन्य आवश्यक प्रबन्धमा हिन्दू र इस्लाम धर्मावलम्बी नबाँडिएझै रौजामजारको व्यवस्थापन, आवश्यक प्रबन्ध र प्रचारप्रसारमा पनि हिन्दू र इस्लाम धर्मावलम्बी सँगसँगै लागिपर्ने गरिएको धमौराबजारका बासिन्दा ८० वर्षीय हासिम कवारी बताउनुहुन्छ ।मिथिलामा १५ दिने यो परिक्रमाका यात्रीले पाँच रात महोत्तरीमा बिताउने परम्परा छ । चौथो दिनको विश्रामका लागि मटिहानीबाट सुरु भएको महोत्तरीको यात्रामा यात्री पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनमा बास बस्ने गर्छन् । आज मध्याह्न कञ्चनवनमा यात्रीले एकापसमा रङअबिर खेलेपछि फागु पर्वमा रङअबिरको प्रयोग खुल्ने मैथिल मान्यता छ । कञ्चनवनपछि परिक्रमा धनुषा प्रवेश गर्नेछ ।

सुरक्षाकर्मीद्वारा स्थानीय बासिन्दालाई सहभागी गराएर आगो निभाउने संयुक्त अभ्यास

खोटाङ, ४ चैत : जिल्लास्थित तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीले शनिबार आगलागी नियन्त्रणसम्बन्धी चेतनामूलक अभ्यास प्रस्तुत गरेका छन् । डिभिजन वन कार्यालय खोटाङले सुरु गरेको अग्नि नियन्त्रणसम्बन्धी साताव्यापी कार्यक्रमअन्तर्गत सुरक्षाकर्मीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित चन्द्रमान सामुदायिक वनमा संयुक्त अभ्यास गरेका हुन् ।

गोरखनाथ गण मुडे ब्यारेकका नेपाली सेना, जिल्ला प्रहरी कार्यालय खोटाङका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल ७ नं गुल्म खोटाङका सशस्त्र प्रहरीले संयुक्तरूपमा आगलागी नियन्त्रणसम्बन्धी अभ्यास गरेका हुन् । उनीहरूले अग्निरेखा निर्माण, आगलागी नियन्त्रण तथा आगलागीका घटनाबाट बच्ने उपायबारे स्थानीय बासिन्दालाई सहभागी गराएर अभ्यास गरेका थिए ।

आगो निभाउन सबैको सहयोग तथा सहकार्य आवश्यक हुने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताउनुभएको छ । “आगलागी फायर, फ्युल र अक्सिजन एकैसाथ मिलेपछि हुन्छ । आगलागी नियन्त्रण गर्न हामीले फ्युल हटाउन सक्छौँ । जङ्गलमा पाइने पत्कर, सुकेका झाडीलगायत ज्वलनशील वस्तु फ्युल हुन् । त्यसलाई हटाएर अग्निरेखा निर्माण गरेमा आगलागी नियन्त्रण गर्न सकिन्छ”, उहाँले भन्नुभयो । वनमा जानाजान आगो लगाउनेलाई कानुनले १२ वर्षसम्म कैदको सजाय तोकेको जानकारी दिँदै यदि त्यसो गरेको पाइएमा प्रहरीले कानुनबमोजिम कारबाही गर्ने चेतावनी उहाँले दिनुभयो ।

हिउँदमा हुनसक्ने वन डढेलो तथा आगलागीका घटनालाई नियन्त्रण गर्न सप्ताहव्यापी अग्नि नियन्त्रण अभियान सुरु गरिएको वन कार्यालयका प्रमुख पशुपति दाहालले जानकारी दिनुभयो । “खोटाङ आगलागीका घटना हुने उच्च जोखिममा रहेको जिल्लामा पर्दछ । वन डढेलोका कारण हरेक वर्ष ठूलो क्षति हुने गरेको छ । यसलाई नियन्त्रण गर्न सप्ताहव्यापी कार्यक्रम सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “आगलागीका घटना नियन्त्रण गर्न सबै नागरिक सचेत हुन जरुरी छ । अभियानका क्रममा विशेषगरी स्थानीय बासिन्दालाई लक्षित गरेर चेनामूलक कार्यक्रम सञ्चालन गर्छौँ ।”

अभ्यासमा सामुदायिक वन उपभोक्ता महासङ्घ, स्थानीय वन उपभोक्ता समिति, स्थानीय बासिन्दालगायतको उपस्थिति रहेको थियो । त्यस अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले आगलागी नियन्त्रणमा सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो

यसैबीच १० स्थानीय तह रहेको जिल्लाका विभिन्न सामुदायिक वनमा डढेलो सल्केको छ ।हलेसी तुवाचुङ नगरपालिका–९ धितुङमा शनिबार दिउँसो लागेको डढेलो गाउँवस्तीमा सल्किदा दुई घर जलेका प्रहरीले जनाएको छ । चौतारा सामुदायिक वनमा लागेको डढेलोले स्थानीय गजेन्द्र राई र ज्ञानीमाया राईको घर पूर्णरूपमा क्षति भएको जनाइएको छ ।

ऐसेलुखर्क गाउँपालिका–६ ज्यामीरेस्थित सामुदायिक वनमा लागेको डढेलोले खुतप्रसाद फुँयाल, युवराज राई र बुद्धिनाथ लम्सालको घर जलेको प्रहरीले जनाएको छ । डढेलोले बुद्धिनाथका ६० वटा बाख्रासमेत मरेका छन् । जिल्लामा भएका आगलागीका घटनाबाट अहिलेसम्म मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख खड्काले राससलाई जानकारी दिनुभयो ।

बेसार प्रवर्द्धन गर्दै इलामको माङसेबुङ गाउँपालिका

फिक्कल (इलाम), ४ चैत : इलामको माङसेबुङ गाउँपालिका–१ वडा कार्यालयले बेसार प्रवर्द्धन सुरु गरेको छ । स्थानीय एग्रो इलाम प्रालि, महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्था र वडा कार्यालयबीच १३ बुँदे सम्झौता गरी वडाले बेसार उत्पादन र प्रवर्द्धन सुरु भएको हो ।

“कृषिको व्यावसायीकरण तथा बजारीकरणका माध्यमबाट रोजगारी सिर्जना गरी गरिबी घटाउने प्रयासस्वरुप कृषि उद्यम प्रवर्द्धनका लागि एग्रो इलाम प्रालि र महिला गजुरमुखी बहुउद्देश्यीय सहकारी संस्थासँग सम्झौता गरेका छौँ”, वडाध्यक्ष भूपाल योङहाङले रासससँग भन्नुभयो, “तीन वर्ष अवधिको सम्झौतापत्रमा बेसारको उत्पादन र बजारीकरणको सुनिश्चित गरेका छौँ ।”

पहिलो चरणमा वडा कार्यालयले एग्रो इलामसँगको समन्वयमा कृषि उद्यमशीलता तथा बेसारखेती अभिमुखीकरण तालिम दिएर किसानलाई बेसारको बीउ वितरण गरेको छ । सहकारी संस्थामार्फत साझेदारी मोडेलमा बेसारको बीउ वितरण गरिएको वडाध्यक्ष योङहाङले जानकारी दिनुभयो । उहाँका अनुसार वडाभित्रका २८ किसानलाई अनुदानमा १५ क्विन्टल बेसारको बीउ उपलब्ध गराएको छ ।

उत्पादन भएको बेसार सहकारी संस्थामार्फत एग्रो इलामले नै खरिद गर्नेछ । सुरुमा २८ किसानलाई दिइएको बीउबाट उत्पादन भएको बेसार अन्य किसानलाई समेत उपलब्ध गराइनेछ र पर्याप्त उत्पादनपछि बाहिर निकासी थालिने वडाध्यक्ष योङहाङले बताउनुभयो ।

उत्पादन सुरु भएपछि बेसारलाई ‘ब्राण्डिङ’ गरेर बाहिर निकासी गरिने सम्झौतापत्रमा उल्लेख छ । “उत्पादित बेसार प्रशोधन गरी प्याकेजिङमा तीनै नाम र लोगो समावेश हुनेछ । साथै समग्र माङसेबुङ गाउँपालिका वा १ नं वडाको पहिचान÷अपनत्व झल्कने गरी ब्राण्डिङ गरिनेछ”, वडाध्यक्ष योङहाङले भन्नुभयो । बेसार गाउँपालिका र जिल्ला बाहिर निर्यात गरी किसानलाई आत्मनिर्भर बनाउन कार्यक्रम ल्याइएको वडाध्यक्ष योङहाङले जानकारी दिनुभयो ।

इलाममा बेसारको राम्रो उत्पादन हुँदै आएको छ । यस वर्ष इलाममा एक हजार नौ सय सात मेट्रिक टन बेसार उत्पादन भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामजुगल यादवले जानकारी दिनुभयो । बेसार १० गुणा बढी फल्ने किसान बताउँछन् । एक किलोग्राम बेसारबाट १० किलोग्रामसम्म उत्पादन हुने किसानको भनाइ छ ।

बेसार विभिन्न जाताका हुन्छन् । मसलाका रुपमा बेसारलाई तरकारीमा प्रयोग गरिन्छ । यसलाई औषधीय गुणका रूपमा लिने गरिन्छ । बेसारको नियमित प्रयोगले चिसोबाट बच्न सकिने आयुर्वेदका जानकार बताउँछन् । उनीहरूका अनुसार शरीरका हरेक अङ्गलाई फाइदा पुर्याउने स्वास्थ्यवद्र्धक मानिएको जडीबुटीमा बेसार बहुउपयोगी औषधि हो । ‘एन्टिबायोटिक’ बनाउँदा बेसारको प्रयोग हुने गरेको छ । बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नका साथै ‘इन्फेक्सन’बाट पनि बचाउँछ ।

बेसार मुख्यतया उष्ण हावापानीमा हुने बाली हो । समुद्र सतहदेखि करिब एक हजार दुई सय मिटर उचाइसम्म बेसारखेती गर्न सकिन्छ । यसको खेती सिञ्चित र असिञ्चित हल्का कालोदेखि दोमट र रातो माटफमा गर्न सकिने भए पनि पानी नजम्ने बलौटे दोमट माटो यसको लागि उपयुक्त मानिन्छ ।

इलाममा एक सय २३ हेक्टर क्षेत्रमा बेसारखेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । बेसारखेती नगदे बाली भएकाले यसप्रति किसानको आकर्षण बढेको केन्द्रका निमित्त प्रमुख यादव बताउनुहुन्छ ।

चिच्च्याएर वर माग्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको सत्यवती मन्दिर थपिए पर्यटन पूर्वधार

ढोरपाटन (बागलुङ), ४ चैत: एक दशकअघिसम्म बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौर साग्दीमा रहेको सत्यवती मन्दिर जीर्ण र अव्यवस्थित थियो । देशका विभिन्न भागबाट भक्तजन आउँदा पूजा गर्न सहज थिएन । भौतिक पूर्वाधार निर्माण भएका थिएनन् । पछिल्लो समय बरेङ गाउँपालिकाले लगानी गर्दै गएपछि व्यवस्थित बनेको छ । धार्मिक महत्व बोकेको यस मन्दिरमा परम्परादेखि नै पूजाआज गर्दै आएको पाइन्छ । यहाँ ठूलो स्वरले चिच्च्याएर वर माग्ने गरिन्छ । यसरी चिच्च्याएर वर माग्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । वर्षौँ पहिलेदेखि यस मन्दिरमा भक्तजनको भीड लाग्ने गरे पनि पूर्वाधार अभावमा पूजाआजा गर्न समस्या थियो ।

पाँच वर्षयता बरेङ गाउँपालिकासँगै गण्डकी प्रदेश सरकारले पनि बजेट विनियोजन गरेर पूर्वाधार निर्माणमा जोड दिएको छ । गाउँपालिकाले मन्दिर व्यवस्थापन, खानेपानी, शौचालय, भक्तजन बस्ने भवन, फनपार्क निर्माण गरेको छ भने मन्दिरसम्म आउने सडक बाह्रै महिना सञ्चालन हुने गरी व्यवस्थित बनाएको छ । धान्य पूर्णिममा यस मन्दिरमा ठूलो मेला लाग्ने गर्छ भने हरेक महिना करिब दुई हजार धार्मिक पर्यटक यहाँ आउने गर्छन् । धार्मिक पर्यटकका लागि महत्त्वपूर्ण तीर्थस्थल मानिने सत्यवतीमा भौतिक पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश पर्यटन मन्त्रलायले चालु आर्थिक वर्षमा रु १० लाख र बरेङ गाउँपालिकाले रु १३ लाख बजेट विनियोजन गरेका छन् ।विनियोजित बजेटबाट पदमार्ग र मन्दिर परिसरमा भवन निर्माण गर्न थालिएको छ । दक्षिण बागलुङको मुख्य धार्मिकस्थल भएको हुँदा यहाँ हालसम्म पालिकाले रु एक करोड बढी लगानी गरिसकेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । पहिले मन्दिर परिसर निकै साँघुरो हुँदा भक्ताजनले सास्ती खेप्नुपरेको भन्दै अहिले चारैतिर फराकिलो र व्यवस्थित बनाएको उहाँको भनाइ छ । देशभरबाट भक्तजन आउने तर यहाँको सडक अव्यवस्थित हुँदा दुःख पाएकाले अहिले सडकलाई कच्ची भए पनि बाह्रै महिना सञ्चालन हुने बनाएको अध्यक्ष शर्माले बताउनुभयो ।“यस मन्दिर यस क्षेत्रकै ऐतिहासिक धरोहर हो, पहिले सामान्य मन्दिर थियो, यद्यपि भक्तजनको उपस्थिति भने निकै बाक्लो हुन्थ्यो, पछि हामीहरू निर्वाचित भएर आएपछि अघिल्लो कार्यकालदेखि निरन्तर लगानी गर्दै आएका छौँ, भक्तजनलाई लक्ष्य गरी बस्ने भवन, खानेपानी, शौचालयको व्यवस्थापन गर्नुका साथै मन्दिरलाई केही व्यवस्थित गर्यौँ”, अध्यक्ष शर्माले भन्नुभयो ।गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रकमबाट चालु आर्थिक वर्षमा मन्दिरबाट मैदानसम्मको करिब एक सय १२ मिटर पक्की पदमार्ग निर्माण गरेको निर्माण समितिका अध्यक्ष होमबहादुर श्रीसले बताउनुभयो । उद्योग तथा पर्यटन कार्यालय बागलुङसँग सम्झौता गरेर मङ्सिर अन्तिम साता नै पदमार्ग निर्माण गरिसकेको उहाँको भनाइ छ । भौतिक संरचना थपिएपछि सत्यवती मन्दिरको मुहार नै फेरिएको श्रीस बताउनुहुन्छ । मन्दिर व्यवस्थित भएपछि भक्तजन आगमनमा वृद्धि भएको उहाँको भनाइ छ ।विषेशगरी गैँडाकोट, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बुटवल, म्याग्दी, काठमाडौँ, धनकुटा, नेपालगञ्ज र बागलुङका विभिन्न स्थानलगायतका ठाउँबाट तिर्थयात्री आउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले मन्दिरसँगै यस क्षेत्रमा धेरै सुधार आएको छ, पहिले मन्दिरमा पूजाआज गर्न आउने मान्छे साँघुरो ठाउँ हुँदा लड्ने, लामो लाइन बस्नुपर्ने बाध्यता थियो, तर अहिले ठाउँ फराकिलो, पहिलेजस्तो लाइन बस्नु नपर्ने भएको छ, बाहिरबाट आउने मान्छेले गाउँको अवलोकन गर्ने गर्छन्, बाटोघाटो अप्ठ्यारो थियो, एकपटक आएको मान्छे अर्कोपटक आउँदैनथे, अहिले भने पटक–पटक आएर पूजा गर्ने बढेका छन् ।”–––

सुदूरपश्चिम प्रदेशमा ‘एक जिल्ला एक उद्योग’ कार्यक्रम सञ्चालनका लागि बजेट अपुग

गोदावरी (कैलाली), ४ चैत : सुदूरपश्चिम प्रदेशमा ‘एक जिल्ला एक उद्योग’ कार्यक्रम सञ्चालनका लागि बजेट अपुग भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले ‘एक जिल्ला एक उद्योग’ सञ्चालनका लागि पर्याप्त बजेट विनियोजन नगरेका कारण उक्त कार्यक्रम कार्यान्वयनमा कठिन भएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्ने उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशालयले जनाएको छ ।

निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि प्रदेशका नौवटै जिल्लामा सो कार्यक्रमका लागि रु पाँच लाखमात्र बजेट विनियोजन गरेको छ । उक्त बजेट अत्यन्तै न्यून रहेको जनाइएको छ ।

प्रदेश सरकारले उद्योग कार्यक्रममा लागि न्यून बजेट विनियोजन गरेका कारण कार्यान्वयनमा कठिनाइ भएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका सूचना अधिकारी यशोदा बोहराले बताउनुभयो । उहाँले उद्योग दर्ता गरी उद्योग सञ्चालन गरिरहेका उद्योगीहरूलाई कार्यक्रमका लागि कार्यालयले सूचना जारी गरी प्रदेशका सबै जिल्लाबाट आवेदन सङ्कलनको काम गरिरहेको बताउनुभयो । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले सो कार्यक्रम कार्यान्वयनका लागि सङ्कलन भएका आवेदनबाट अनुदानका लागि छनोट गर्ने जनाएको छ ।

‘एक जिल्ला एक उद्योग’ कार्यक्रमअन्तर्गत अहिले प्रस्ताव आह्वान गरी निवेदन सङ्कलनको काम भइरहेकाले छनोटमा परेका उद्योगका लागि चाहिने आवश्यक सामग्री खरिदमा अनुदान दिइने सूचना अधिकारी बोहराको भनाइ छ ।

विगत तीन आर्थिक वर्षमा उद्योगीले प्रविधि तथा अन्य अनुदानप्राप्त नगरेका उद्योगीलाई प्रविधि खरिदमा अनुदान दिइने कार्यालयले जनाएको छ । रु पाँच लाखलाई नौ भागमा बाँड्नुपर्ने भएकाले छनोट भएका उद्योगीलाई दामासाहीले रकम बाँडफाँट गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

उद्योगीले प्रविधि खरिदमा २० र प्रदेश सरकारको ८० प्रतिशत लागत साझेदारीमा अनुदान दिइनेछ । अनुदानका लागि छनोट भएका उद्योगका सञ्चालकसँग सम्झौता गर्ने काम अघि बढाई कार्यान्वनमा ल्याइनेछ । निर्देशनालयमा अनुदानका लागि पेस भएका प्रस्तावमा ६० प्रतिशतभन्दा कम आएमा छनोट नहुने र छनोटका लागि ६० प्रतिशत अङ्क ल्याउनुपर्ने प्रावधान छ ।

निर्देशनालयको कार्यविधिअनुसार ‘एक जिल्ला एक उद्योग’ कार्यक्रमका लागि अनुदान प्राप्त गर्न कार्यालयमा कम्तीमा तीनवटा प्रस्ताव पेस हुनुपर्नेछ । कार्यक्रमका लागि बढी प्रस्ताव पेस भएमा निर्देशनालयले छनोट गरी प्रतिउद्योगीलाई सो रकमबाट बाँडफाँट गरेर अनुदान दिइने कार्यालयको कार्यविधिमा उल्लेख गरिएको छ । घरेलु कार्यालयमा दर्ता भएर सञ्चालनमा रहेका सबै प्रकृतिका उद्योगलाई प्रविधि खरिदका लागि अनुदानस्वरुप रकम उपलब्ध गराइने निर्देशनालयले जनाएको छ ।

यसैगरी, निर्देशनालयले प्रदेशमा प्रशोधन तथा उद्योग स्थापनाका लागि प्रोत्साहन कार्यक्रम पनि कार्यान्वयनमा ल्याएको जनाएको छ । उक्त कार्यक्रमका लागि निर्देशनालयले रु १५ लाख बजेट विनियोजन गरेको जनाएको छ । प्रदेशमा सञ्चालित ठूला तथा मझौला उद्योग प्रोत्साहन कार्यक्रमका लागि रु तीन करोड बजेट विनयोजन गरिएको छ । सो कार्यक्रमका लागि प्रदेशमा सञ्चालित ३० वटा उद्योगलाई छनोट गरी अनुदान दिइने सूचना अधिकारी बोहराले जानकारी दिनुभयो ।

उक्त कार्यक्रम सञ्चालनका लागि रु ५० लाख पुँजी भएका ठूला तथा रु १० देखि २५ लाख पुँजी भएका मझौला उद्योगले प्रस्ताव पेस गर्ने प्रावधान छ । प्रदेश सरकारले निर्देशनालयका लागि चालु आव २०८०÷८१ मा कार्यक्रम कार्यान्वयन गर्न जम्मा रु छ करोड बजेट विनियोज गरेको जनाइएको छ ।

राष्ट्रपति बाइडेन र सभामुख जोनसनद्वारा युक्रेन सहायता पारित गर्न कांग्रेस सांसदहरूसँग आग्रह

अमेरिकी राष्ट्रपति जो बाइडेन र तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सका सभामुख माइक जोनसनले एउटा संयुक्त उपस्थितिमा सदनमा अड्किएको युक्रेनका लागि सहायता प्याकेज पारित गर्न सांसदहरूलाई आग्रह गर्नुभएको दि हिलले बताएको छ ।

सेन्ट प्याट्रिक दिवस मनाउन वार्षिक फ्रेन्ड्स अफ आयरल्यान्ड कार्यक्रममा बाइडेनले रुससँगको युद्धमा युक्रेन तथा इजराइल–हमास युद्धमा गाजाबासीलाई मानवीय सहायता प्रदान गर्ने आयरल्यान्डको प्रतिबद्धताको प्रशंसा गर्नुभयो ।

“म आफ्नो काम जारी राख्न प्रतिबद्ध छु”, सभामुख जोनसनसमेत उपस्थित डेमोक्रेट र रिपब्लिकन सांसदहरूको कक्षमा बाइडेनले भन्नुभयो, “मलाई व्यापक बहुमतमा भरोसा छ, कांग्रेसका अधिकांश सदस्य आफ्नो कामका लागि तयार हुनुहुन्छ भन्ने मलाई लागेको छ । म यो कक्षमा प्रत्येक सदस्यसँग भ्लादिमिर पुटिन (रुसका राष्ट्रपति) का लागि खडा हुन आग्रह गर्दछु, उनी ठग हुन् ।” राष्ट्रपतिको भनाइ सुनिसकेपछि कक्षमा रहेका सभामुखसहित सबैले ताली बजाएका थिए ।

बाइडेनले गत महिना सिनेटमा ६७–३२ मतले पारित भएको राष्ट्रिय सुरक्षा पूरक पठाउन आग्रह गर्नुभयो । उक्त विधेयकमा युक्रेनका लागि ६० अर्ब डलर र इजराइललाई गाजामा मानवीय सहायताका लागि सहायता कोषसहितको रकम समावेश गरिएको थियो ।

यद्यपि दि हिलका अनुसार सभामुख जोनसनले उक्त विधेयकलाई मतदानका लागि सदनमा ल्याउनुभएको छैन । “यसले हामी कसैसँग झुक्ने छैन र अमेरिका स्वतन्त्रताको पक्षमा खडा छ भन्ने स्पष्ट सन्देश दिन्छ”, राष्ट्रपति बाइडेनले भन्नुभयो ।

आयरल्यान्डका प्रधानमन्त्री लियो भराडकरले सन् २०२२ फेब्रुअरीमा सुरु भएको रुसी आक्रमणको प्रयासका लागि स्वयंलाई राम्रो तरिकाले तयार गर्न युक्रेनलाई सहायता प्रदान गर्ने बाइडेनको आग्रहलाई दोहोर्याउनुभयो । “युक्रेन पतन हुनुहुँदैन र आवश्यकता भएसम्म हामी युक्रेनको पक्षमा उभिनुपर्छ”, उहाँले भन्नुभयो । सभामुख जोनसनले युक्रेनका लागि सहायतामा अघि बढ्ने सङ्केत दिएपछि शुक्रबार सार्वजनिक आग्रह आएको हो । य

द्यपि उहाँले सहायता प्याकेज कस्तो हुनेछ भन्नेबारेमा कुनै विवरण दिनुभएन । सदनले सबैभन्दा पहिला सरकारी कोषको प्रक्रिया पूरा गर्न ध्यान केन्द्रीत गरेको उहाँले बताउनुभयो । यसै साता वेस्ट भर्जिनियामा रिपब्लिकन पार्टीको रिट्रिटमा जोनसनले भन्नुभयो, “म समयतालिका र कोषको आवश्यकता बुझ्छु ।

” यद्यपि उहाँले एक पटक विरोध गर्दा सिनेटको पूरकमाथि सन्देह प्रकट गर्नुभयो । उहाँले तल्लो सदनले ‘सदनको इच्छामा काम गर्ने’ र ‘अहिले नै विभिन्न विकल्पमार्फत प्रशोधन गरिरहेको’ जानकारी दिनुभयो । उहाँले अन्तिम निर्णय ‘सिनेटको जस्तो पूरक नहुन सक्ने’ चेतावनी दिनुभयो ।

प्रधानमन्त्री मोदीद्वारा भुटानी समकक्षीको निमन्त्रणा स्वीकार, आगामी साता भ्रमण गर्दै

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना भुटानी समकक्षी दासो छिरिङ तोग्वेको निमन्त्रणा स्वीकार गर्दै आगामी साता भुटान भ्रमण गर्ने तयारी गर्नुभएको छ । भ्रमणको अन्तिम तालिका भने सार्वजनिक हुन बाँकी छ । भुटानी प्रधानमन्त्री तोग्वेले बिहीबार नयाँदिल्लीमा प्रधानमन्त्री मोदीसँग भेट गर्नुभएको थियो ।

“भुटानका प्रधानमन्त्रीले हाम्रा प्रधानमन्त्री मोदीसँग भेट गर्नुभयो । प्रधानमन्त्री तोग्वेले उहाँलाई भुटान भ्रमणको निम्तो दिनुभयो”, प्रधानमन्त्रीले भुटानी समकक्षी तोग्वेको निमन्त्रणा स्वीकार गरेपछि आयोजित पत्रकार सम्मेलनमा भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भन्नुभयो ।

भ्रमणको विस्तृत विवरण थप निर्णय भएपछि सार्वजनिक गरिने उहाँले बताउनुभयो । भुटानका राजाका तर्फबाट प्रधानमन्त्री छिरिङ तोग्वेले प्रधानमन्त्री मोदीलाई भुटान भ्रमणका लागि आमन्त्रणा गर्नुभएको हो । प्रधानमन्त्री मोदीले आगामी साता भुटानको भ्रमण गर्नुहुने मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रधानममन्त्री तोग्वे भारतको औपचारिक भ्रमणमा हुनुहुन्छ । सन् २०२४ फेब्रुअरी २०२४ मा पदभार ग्रहण गरेपछि उहाँको यो पहिलो विदेश भ्रमण हो । दुवै प्रधानमन्त्रीले भेटमा पूर्वाधार विकास, ऊर्जा, जलविद्युत् सहयोग, विकास सहयोगलगायत विभिन्न द्विपक्षीय साझेदारीमा भएको प्रगतिबारे समीक्षा गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । उहाँहरूले विशेष र अद्वितीय भारत–भुटान मित्रतालाई अझै सुदृढ पार्ने प्रतिबद्धता जनाउनुभयो ।

भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले सन् २०२३ नोभेम्बरमा भारतको औपचारिक भ्रमण गर्नुभएको थियो । भ्रमणका क्रममा उहाँ आसाम, नयाँदिल्ली र महाराष्ट्र पुग्नुभएको थियो । उक्त भ्रमणमा भुटानका राजा वाङ्चुक र प्रधानमन्त्री मोदीबीच द्विपक्षीय सहयोग र पारस्परिक हितका क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूमा छलफल भएको थियो ।

इजराइल र हमाससँग पुनः युद्धविराम वार्ता हुने अपेक्षा

इजराइल र हमासबीच युद्धविराम सुनिश्चित गर्ने उद्देश्यले रोकिएको वार्ता आइतबार कतारमा पुनः सुरु हुने अपेक्षा गरिएको इजिप्टका अधिकारीहरूले बताएका छन् । मुसलमानहरूको पवित्र महिना रमजानको सुरुआतपछि पहिलो पटक इजराइली अधिकारी र हमासका नेताहरूलाई अप्रत्यक्ष वार्तामा सहभागी गराउने छ ।

मध्यस्थकर्ताहरूले यसै साताको प्रारम्भमा रमजान सुरु हुनुअघि छ साताको युद्धविराम सुरक्षित गर्ने आशा गरेका थिए तर हमासले गाजामा स्थायी युद्धविराम नहुने कुनै पनि सम्झौतालाई अस्वीकार गर्यो भने इजराइलले हमासको उक्त मागलाई खारेज गर्यो । यद्यपि हालैका दिनहरूमा सम्पूर्णरूपमा नटुटेको वार्तालाई दुवै पक्षले ट्र्याकमा ल्याउने उद्देश्यले कदम चालेका छन् ।

इजिप्टका दुई अधिकारीका अनुसार हमासले युद्ध समाप्त गर्ने तीन चरणको योजनाको नयाँ प्रस्ताव मध्यस्थकर्ताहरूलाई दिएको छ । पहिलो चरणमा छ साताको युद्धविराम हुनेछ । यसमा इजराइलले राखेका तीन सय ५० प्यालेस्टिनी कैदीको बदलामा गाजामा हमास लडाकूहरूले बन्धक बनाएका महिला, बिरामी र वृद्धसहित ३५ बन्धकको रिहाइ समावेश हुनेछ ।

हमासले ५० कैदीको बदलामा कम्तीमा पाँच महिला सैनिकलाई पनि रिहा गर्नेछ । यिनीहरूमा प्रत्येक सैनिकका लागि आतङ्ककारी आरोपमा लामो सजाय काटिरहेका केही महिला पनि रहेका छन् । अधिकारीहरूका अनुसार इजराइली सेना गाजामा दुई मुख्य सडकबाट हट्नेछ, विस्थापित प्यालेस्टिनीहरूलाई युद्धले विनाश भएको उत्तरी गाजामा फर्कन अनुमति दिनेछ र यस क्षेत्रमा सहायताको स्वतन्त्र प्रवाहलाई अनुमति दिनेछ ।

राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफले तहसनहस भएको उत्तरमा दुई वर्षभन्दा पनि कम उमेरका तीन बालकमध्ये एक जना गम्भीर कुपोषणबाट पीडित भएको शुक्रबार बताएको छ । अधिकारीहरूका अनुसार दोस्रो चरणमा दुवै पक्षले स्थायी युद्धविरामको घोषणा गर्नेछन् र हमासले थप कैदीको बदलामा बन्धक बनाइएका बाँकी इजराइली सैनिकहरूलाई मुक्त गर्नेछ ।

तेस्रो चरणमा इजराइलले गाजाको नाकाबन्दी हटाएर पुनर्निर्माण सुरु गर्न अनुमति दिएको बदलामा हमासले आफूसँग रहेका शवहरू हस्तान्तरण गर्नेछ । इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्रस्तावलाई ‘अवास्तविक’ भन्नुभयो । यद्यपि उहाँ थप वार्ताका लागि इजराइली वार्ताकारहरूलाई कतार पठाउन सहमत हुनुभएको छ । वार्ताहरू आइतबार दिउँसो पुनः सुरु हुने अपेक्षा गरिए पनि सोमबारसम्ममा वार्ता सुरु गर्न सकिने अधिकारीहरूले बताएका छन् ।

नेतान्याहु सरकारले स्थायी युद्धविरामको आह्वानलाई अस्वीकार गर्दै युद्धविरामअघि ‘हमासलाई समाप्त गर्ने’ आफ्नो घोषित लक्ष्य पूरा गर्नुपर्नेमा जोड दिएको छ । नेतान्याहुको कार्यालयले गाजाको सबैभन्दा दक्षिणी सहर रफामा आक्रमण गर्ने सैन्य योजनालाई अनुमति दिएको शुक्रबार बताएको छ । रफामा १४ लाख विस्थापित प्यालेस्टिनीले शरण लिएका छन् । अमेरिका र अन्य मुलुकले यस्तो कारवाही विनाशकारी हुनसक्ने चेतावनी दिएका छन् तर इजराइलले त्यहाँ तैनाथ हमास बटालियनहरूलाई समाप्त पार्नका लागि अगाडि बढ्ने योजना बनाइरहेको बताएको छ ।

नेतान्याहु कार्यालयले रफा कारवाहीमा नागरिको विस्थापन समावेश हुने बताएको छ तर उसले विवरण वा समयतालिका भने दिएको छैन । सेनाले बुधबार नागरिकहरूलाई मध्य गाजामा ‘मानवीय टापूहरू’ मा निर्देशित गर्ने योजना बनाएको बताएको थियो ।

“रफामा निर्दोष मानिसहरूलाई इजराइली आक्रमणबाट बचाउनका लागि हामीले स्पष्ट र कार्यान्वयनयोग्य योजना देख्नुपर्छ”, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले शुक्रबार भन्नुभयो, “हामीले त्यस्तो कुनै योजना देखेका छैनौँ ।” इजराइलको आक्रमणले गाजाका २३ लाख मानिसमध्ये अधिकांशलाई उनीहरूको घरबाट विस्थापित गरेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार गाजाका एक चौथाई जनसङ्ख्या भोकमरीमा परेको छ ।

बुढासुब्बा गोल्डकपः चौध वर्षपछि एनआरटीले जित्यो उपाधि

धरान- चौबीसौँ बुढासुब्बा गोल्डकपको उपाधि काठमाडौँको न्युरोड टिम (एनआरटी)ले जितेको छ । सनिबार धरान रङ्गशालामा भएको फाइनलमा मोरङ फुटबल सङ्घलाई २–१ गोलले पराजित गर्दै एनआरटीले उपाधि हात पारेको हो ।

विसं २०६४ मा आयोजित १०औँ संस्करणको बुढासुब्बा गोल्डकपको विजेता एनआरटीले १४ वर्षपछि दोस्रोपटक उपाधि जितेको हो । जितसँगै एनआरटीले रु १० लाख, ट्रफी तथा मेडल पायो भने मोरङले उपविजेतामा चित्त बुझायो । उसले रु पाँच लाख पायो ।फाइनलमा एनआरटीका अफिज ओलावालेले खेलको सातौँ मिनेटमै गोल गरेका थिए । साथै ४४औँ मिनेटमा मोरङका लागि उमेश कार्कीले गोल गर्दै खेल बराबरीमा पुर्याए । खेलको ५१औँ मिनेटमा एनआरटीका सरोज तामाङले गरेको गोल निर्णायक बन्यो ।प्रतियोगीताभरको सर्वोत्कृष्ट खेलाडी एनआरटीका सनम लिम्बू घोषित हुँदै रु एक लाख प्राप्त पारे । एनआरटी ओफिज ओलावा र सरोज तामाङसँगै मोरङका उमेश कार्की होइस्कोरर घोषित भए । उनीहरूले जनही रु १२ हजार प्राप्त गरे ।यस्तै उत्कृष्ट डिफेन्डर मोरङका महेन्द्र कार्की, उत्कृष्ट स्टाइकर एनआरटीका शिशिर लेखी, उत्कृष्ट मिडफिल्डर एनआरटीका जय गुरुङ, उत्कृष्ट गोलकिपर एनआरटीका पुजन होना, उत्कृष्ट प्रशिक्षक एनआरटीका जीवन सिन्खेमना घोषित हुँदै जनही रु २५ हजार प्राप्त गरे । खेलको प्लेयर अफ दी म्याच एनआरटीका पदम भट्टराई घोषित भए । उनले रु १० हजार प्राप्त गरे ।धरान फुटबल क्लबको आयोजनामा फागुन २६ गते सुरु भएको प्रतियोगिताको समापनका अवसरमा कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री राजेन्द्र कार्कीले खेलकुदको विकासका लागि ऐन, नीति बनाएर कार्यान्वयन गर्ने बताउनुभयो । कार्यक्रममा पत्रकार वसन्त बान्तवालाई उत्कृष्ट पत्रकारको रूपमा नगद रु १० हजारसहित सम्मान गरियो ।

शिक्षामा राज्यको लगानी परिणाममुखी बनाउनका साझा प्रयत्न आवश्यक: पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले शिक्षा क्षेत्रमा राज्यले गरेको लगानी परिणाममुखी हुन नसकेको बताउनुभएको छ । शिक्षाको लगानीलाई परिणाममुखी बनाउन सबै पक्षको साझा प्रयत्न गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

“अहिले राज्यले शिक्षामा थोरै लगानी त गरेको छ तर त्यो पनि बालुवामा पानी हालेजस्तै खेर गइसकेको छ”, सनिबार बालाजुस्थित बालबाटिका इन्टरनेशनल स्कुलको १९औँ अभिभावक दिवस कार्यक्रममा पौडेलले भन्नुभयो, “शिक्षाको लगानीलाई परिणाममुखी बनाउन हामीले साझा प्रयत्न गर्न आवश्यक छ ।” प्रज्ञा प्रतिष्ठानमा आयोजित उक्त कार्यक्रममा पौडेलले शैक्षिक क्षेत्रमा काम गरेकाहरूको अनुभवलाई समेटेर प्रभावकारी नीति निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।

अहिलेको शिक्षा विधेयकले समेत धेरै कुरालाई समेट्न नसकिरहेको उल्लेख गर्दै उहाँले त्यसमा पनि छलफल अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । देशमा बालबाटिकाजस्ता निजी स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्ने सन्दर्भमा महत्त्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो । व्यक्तिभित्र आत्मविश्वास भर्न शिक्षाकै भूमिका हुने उल्लेख गर्दै पौडेलले सोहीअनुसार विद्यालयले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । यस्तै व्यवस्थित व्यक्तिले मात्रै देशको नेतृत्व गर्न सक्ने भन्दै पौडेलले भन्नुभयो, “अव्यवस्थापनबाट नेतृत्व सम्भव छैन । मान्छेले नेतृत्व प्रदान गर्न त्यतिबेला सक्छ जति बेला ऊ आफैँ व्यवस्थित हुन्छ ।

समयको सदुपयोग गर्ने सवालमा व्यवस्थित मान्छेले मात्रै प्रगति गर्न सक्छ ।” यो विषयलाई विद्यालय तहबाटै विद्यार्थीलाई बुझाउने र त्यस ढङ्गबाट उसलाई अभ्यस्त गर्ने स्थिति बन्नुपर्ने उहाँको धारणा थियो । सँगसँगै विद्यार्थीलाई विद्यालयको अतिरिक्त अभिभावकले पनि समय र सोहीअनुसार तयार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा पूर्वसचिव रामप्रसाद थपलियाले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको आफूले पाएको भन्दै आगामी दिनमा थप सफलताको कामना गर्नुभयो । नेशनल मोडल स्कुलका प्रधानाध्यापक डीएन अधिकारी, नेपाल राष्ट्रिय विद्यालयका प्रधानाध्यापक निर्मला शाक्य, एनआर कलेजका अध्यक्ष त्रिचवरध्वज थापालगायतले पनि आ–आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रधानाध्यापक राजेश खकुरेलले अभिभावकलगायत सबै पक्षको साथ तथा सहयोगले विद्यालय अहिलेको अवस्थामा आइपुगेको भन्दै आभार प्रकट गर्नुभयो ।

उहाँले विद्यालय थप स्तरीय बनाउन अभिभावकबाट निरन्तर सल्लाह सुझावको अपेक्षा पनि गर्नुभयो । अध्यक्ष रमेश प्रसाईँले सुविधा सम्पन्न भवनबाट विद्यालयले अनुभवी शिक्षक शिक्षिकाबाट गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो । अभिभावक दिवसका अवसरमा बालबालिकाले विभिन्न गीत, नृत्य, तेक्वान्दोलगायतका प्रतिभा देखाएर उपस्थितलाई मनोरञ्जन दिलाएका थिए । राजधानीको बालाजु–नेपालटारमा रहेको बालबाटिका स्कुलमा कक्षा १ देखि १० सम्म पठनपाठन गराउँदै आएको छ ।

विद्यालयले सर्वसुलभ शुल्कमा स्तरीय पठनपाठन गराउँदै आएको जनाएको छ । सोही कार्यक्रममा स्कुलको पहिलो स्मारिका ‘द मिरर’ समेत बिमोचन गरिएको थियो ।

कार्यशालामा कानूनविद्को गुनासो: सर्वोच्च अदालत अझै परिवर्तन हुन सकेन

भक्तपुर, ३ चैत: देशमा राजतन्त्र ढलेर गणतन्त्र आउँदासमेत सर्वोच्च अदालत अझै परिवर्तन हुन नसकेको भन्दै कानुनविद्हरूले नेपालको न्याय प्रक्रिया लथालिङ्ग, भताभुङ्ग भएको धारणा राखेका छन् ।

सनिबार सामाजिक न्याय प्राज्ञिक निकेतनले भक्तपुरको दधिकोटस्थित काठमाडौँ स्कुल अफ लमा आयोजना गरेको ‘वर्तमान न्याय प्रणालीमा सामाजिक न्याय र कानुन व्यवसायीहरूको भूमिका’ विषयक एक दिवसीय कार्यशालामा सहभागी कानुनविद्ले यस्तो गुनासो गर्नुभएको हो ।

त्यस अवसरमा वरिष्ठ अधिवक्ता तथा काठमाडौँ स्कुल अफ लका कार्यकारी निर्देशक प्राध्यापक प्रा डा युवराज सङ्ग्रौलाले अदालतको पुनःसंरचना जरुरी रहेको उल्लेख गर्दै अदालतले छिटो र अपवादबाहेक निष्पक्ष न्याय दिन नसकेको बताउनुभयो । अदालतको पुनःसंरचनाको खाका प्रस्तुत गर्दै पूर्वमहान्यायाधिवक्ता समेत रहनुभएका सङ्ग्रौलाले भन्नुभयो, “छिट्टो र निष्पक्ष न्याय निरुपणका लागि अदालतको पुनःसंरचना जरुरी छ । केन्द्रमा संवैधानिक इजलास, सातवटा प्रदेशमा सर्वोच्च अदालतका इजलास, जिल्ला अदालत र सात सय ५३ वटा स्थानीय तहमा देवानी इलाका र फौजदारी इलाका अदालत हुनुपर्छ ।

अधिवक्ताहरूको स्तर वृद्धि जानु पर्छ ।” नेपाल बार एशोसिएसनको निर्वाचन महङ्गो र भ्रष्ट भइसकेको भन्दै उहाँले नेपाल बारको संरचनासमेत बदल्न जरुरी रहेको औँल्याउनुभयो ।

अहिले सर्वोच्च अदालतका महङ्गा मुद्दाका मात्र नजिर लेखिने गरेको भन्दै उहाँले प्रत्येक मुद्दाका नजिर लेखिनुपर्ने बताउनुभयो । गाउँगाउँमा वास्तविक पीडित र निमुखाहरू न्यायबाट बञ्चित रहेको भन्दै न्यायकर्मी र न्यायमूर्तिहरू स्थानीय तहसम्म पुगेर न्याय दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यशालामा विशेष अदालतका पूर्वअध्यक्ष प्रेमराज कार्की, वरिष्ठ अधिवक्ता बालकृष्ण देवकोटा, अधिवक्ताहरू धनञ्जय खनाल, रवीन्द्र भट्टराई, डा जयमङ्गल प्रसाद, वीरेन्द्र यादव, कृष्ण राई, भोजमान लाम्गादे, रत्न श्रेष्ठ, अमृत खरेल, विषव अधिकारीलगायतले अदालत र कानुन जनताको सुविधाका लागि भन्दा न्यायाधीश र कानुन व्यवसायी अनुकूल भएका भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो ।

नेविसङ्घ केन्द्रीय तदर्थ कार्यसमितिमा ४१ सदस्य थप

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को केन्द्रीय तदर्थ कार्यसमितिमा ४१ सदस्य थप गरेको छ । पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले   दुजाङ शेर्पाको अध्यक्षतामा रहेको नेविसङ्घ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा ४१ सदस्य मनोनयन गर्नुभएको हो ।

नयाँ थपिएका सदस्यमा दीपकराज ओझा (कैलाली), अशोकसिंह विष्ट (कञ्चनपुर), विनोदकुमार शाही (दैलेख), किरण नेपाली (नुवाकोट), गणेशबहादुर शाही (अछाम), सोमराज मल्ल (डोल्पा), एरिका ढकाल (मोरङ), कविराज शाही (मुगु), बलराम खड्का (बारा), इन्जिनियर सुदीप अधिकारी (लमजुङ), भावना रिजाल (पाँचथर), अमृत उप्रेती (काभ्रे), प्रवीण कैनी (तनहुँ) रहनुभएको छ ।यस्तै आशीष बर्मा (बाँके), सिद्धराज जोशी (अछाम), प्रज्ज्वल महत (जुम्ला), कविता वन (खोटाङ), रामजी बस्नेत (रामेछाप), देउमान लोङ्वा (ताप्लेजुङ), अमितकुमार साह (सिरहा), संस्कार कोइराला (कास्की), प्रदीप शर्मा (पर्वत), प्रवीनराज कँडेल (लमजुङ), निश्चल घिमिरे (मोरङ), करुणासागर सिग्देल (सिन्धुपाल्चोक), रवि योगी (सुर्खेत), डम्मर साउद (बाजुरा) र डण्डीराज जोशी (कैलाली) रहनुभएको छ ।यसैगरी निराजन बटला (अछाम), असितमान श्रेष्ठ (काठमाडौँ), खेम राउत (उदयपुर), अनिता सापकोटा (काभ्रे), झिमलाल चापागाईँ (स्याङ्जा), आशिषचन्द्र न्यौपाने (भोजपुर), आकाश उप्रेती (चितवन), सुमित बोहरा (कैलाली), दीप जैसी (अछाम), मङ्गल रावत (बाजुरा), दिलीप आचार्य (दाङ), रामचन्द्र महरा (बैतडी) र लोकेन्द्र बडैला (कैलाली)लाई मनोनयन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

हेर्नुहोस् चैत ४ गते आइतवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – प्रियजनको स्वास्थमा सामान्य खराबि आउनाले मानसीक समस्या आईपर्न सक्नेछ । बाणीमा मधुरता छाउनाले कुल कुटुम्बहरुको साथ सहयोगमा बृद्यिहुने योग रहेकोछ । नयाँ लगानिका क्षेत्रमा बिशेष सजगरहनु पर्ने समय रहेकोछ । यात्रामा सजग रहनुहोला । बादबीवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेको छ ।

बृष राशि – ब्यापार ब्यवसायको निम्ति तथा नयाँ लगानिका लागी राम्रो समय रहेको छ । मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ । स्वास्थ सम्बन्धि समस्या ले सताउला । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला ।

मीथुन राशि – सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ने छ । मेहेनत अनु?पको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ । सामान्य यात्राको सम्भाबना रहेकोछ । खानपानका कारण स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । अ?को छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ ।

कर्कट राशि – पुराना तथा प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । प्रतिपक्क्षीह? सबल रहनाले कार्य सम्पादनमा झन्झट ब्यर्होनु पर्ला । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला ।

सिंह राशि – परोपकारको क्षेत्रमा धेरै समय र परीश्रम खर्च हुन सक्छ । मान्यजनको अनुसरण बाट बिशेष लाभ प्राप्त हुने समय रहेको छ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । शारिरीक आलस्यताले सताउला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ ।

कन्या राशि – कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । अनावश्यक यात्राको सम्भाबना रहेकोछ । प्रतिश्पर्दीहरू कमजोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ । दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ ।

तुला राशि – कार्य सम्पादनमा अरूको दबाबको अनुभब हुन सक्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभासम्मेलनमा सहभागीताको समय रहेकोछ । तपाईको कार्यको फल अ?लाई सहजै प्राप्त हुनाले मनमा खिन्नता उत्पन्न हुनेछ ।

बृश्चिक राशि – ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यह?मा सफलता हात लाग्नेछन । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।

धनु राशि – अपरीचीत ब्यक्तिहरूको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । शत्रु सबल रहनेछन । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । आर्र्थीक झमेलाले सताउनेछ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ ।

मकर राशि – अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पूर्याउनेछ । आम्दानि मध्यम रहनेछ । बौधिक ब्यत्तित्वहरूको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन । आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरु दीगो फाईदा मुलक साबित हुनेछन ।

कुम्भ राशि – भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । मान्यजनह?को साथसहयोगमा जटिल कार्यह? सम्पादित रहनेछन । अरुको दबाबको अनुभब हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ ।

मिन राशि – मान सम्मान प्राप्तिको योग रहेको छ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहला । अध्यन अध्यापन मध्यम रहनेछ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । बल पराक्रममा बृद्धि हुनेछ ।

मोरङको पथरीमा आगलागी, एक करोड ५० लाखको क्षति

पथरी (मोरङ), ४ चैत : मोरङको पथरी शनिश्चरे वडा नं १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा रु एक करोड ५० लाखको क्षति भएको छ । राति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको छ ।

मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए । स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो । मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन । आगो निभाउन पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो । आगलागीको कारणबारे यकिन जानकारी प्राप्त नभएको प्रहरी कार्यालय पथरीले जनाएको छ ।

रङ्गेलीमा आगलागी हुँदा १९ घर जले, २५ परिवार विस्थापित

बेलबारी (मोरङ), ३ चैतः रङ्गेली-३ बाबुसाहेव टोलको सन्थाल बस्तीमा आगलागी हुँदा १९ घर जलेको इलाका प्रहरी प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ । आज दिउँसो २ः३० बजेतिर सुरु भएको आगलागी नियन्त्रणमा आइसकेको प्रहरी प्रमुख प्रहरी निरीक्षक बुद्धि चौलागााईँले जानकारी दिनुभयो ।

बाक्लो बस्ती रहेकाले आगलागीका कारण धेरै घरमा क्षति पुगेको उहाँको भनाइ छ । उन्नाइस घरधुरीका २५ परिवार आगलागीबाट विस्थापित भएको रङ्गेली नगरपालिका उपप्रमुख गोमा पराजुलीले बताउनुभयो ।

विस्थापित परिवारलाई स्थानीय सरकारले राहत उपलब्ध गराउन थालिसकेको उपप्रमुख पराजुलीले बताउनुभयो । कानेपोखरी गाउँपालिका, रङ्गेली, बेलबारी, पथरीशनिश्चरे र सुन्दरहरँैचा नगरपालिका र विराटनगर महानगरका बारुणयन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा करिब तीन घण्टापछि आगो निभाउने काम भएको छ । घटनाबाट भएको क्षतिको विवरण भने आइ नसकेको उपप्रमुख पराजुलीले बताउनुभयो ।

सुन चाँदी व्यवसायलाई आधुनिकीकरण गर्नु जरुरी छः मुख्यमन्त्री शाह

गोदावरी (कैलाली), ३ चैतः सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले समयानुसार सुन चाँदी व्यवसायलाई आधुनिकीकरण गर्दै लैजानुपर्ने बताउनुभएको छ ।

आज नेपाल सुनचाँदी व्यवसायी महासङ्घ सुदूरपश्चिम प्रदेश समितिद्वारा आयोजित चौथो प्रदेशसभा तथा दोस्रो अधिवेशन कार्यक्रममा उहाँले अग्रजले परम्परागतरूपमा गर्दै आएको व्यवसायलाई समयानुसार परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री शाहले सुन चाँदी व्यवसायको कला र सीपलाई समाजले सम्मान गर्न आवश्यक रहेको बताउँदै सो व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

पछिल्लो समय विदेशी गहनाहरूले बजार लिइरहेको अवस्थामा नेपाली गहना ओझेलमा पर्न सक्ने खतरा रहेको उहाँको भनाइ थियो । उहाँले परम्परागत मौलिक संस्कृति झल्किने गरगहना लोपोन्मुख अवस्थामा रहेकाले त्यसको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।

“सुन चाँदी व्यवसायीका थुप्रै समस्या छन् तर समस्याका बाबजुद पनि तपाईँहरू अगाडि बढ्नुभएको छ, प्रदेश सरकार तपाईँहरूको पेसामा आँच आउन दिन्न”, उहाँले भन्नुभयो ।

मुलुकको अर्थतन्त्रमा मात्र नभइ राष्ट्रको समृद्धिका लागि सुन चाँदी व्यवसायीको भूमिका अपरिहार्य भएको उहाँले बताउनुभयो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका सुदूरपश्चिम प्रदेश अध्यक्ष सन्तोष लामिछानेले नेपालका मौलिक गहनालाई राष्ट्रिय गहना घोषणा गर्न सरकारको ध्यान जानुपर्ने बताउनुभयो । सरकारले परम्परागत गहनालाई मान्यता प्रदान गर्नुपर्ने बताउँदै उहाँले यसका लागि आवश्यक कानुनसमेत बनाउनुपर्ने बताउनुभयो ।

‘ढुवानी सेवासम्बन्धी छुट्टै ऐनको आवश्यकता छ’ – मन्त्री गिरी

काठमाडौँ, ३ चैत : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पद्म गिरीले ढुवानी सेवासम्बन्धी छुट्टै ऐनको आवश्यकता रहेको बताउनुभएको छ ।

राजधानीमा आयोजित ढुवानी व्यवसायी महासङ्घ नेपालको छैटाँै महाधिवेशन तथा १५औँ वार्षिक साधारणसभामा उहाँले विज्ञहरुसँग छलफल गरेर उक्त ऐन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “ढुवानी व्यवसाय क्षेत्रका विधेयक छलफलमा छन् । सबै नसमेटिन सक्छन् । त्यसैले छुट्टै ऐनको आवश्यकता छ जस्तो लाग्छ ।” उहाँले ढुवानी व्यवसायले अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याए पनि भूकम्प, कोभिड तथा आर्थिक मन्दीको मारमा परेको बताउनुभयो ।

त्यसैगरी महासङ्घका महासचिव अरूणकुमार श्रेष्ठले महामारीका बेला सामानको नियमित आपूर्ति गरेका ढुवानी व्यवसायीहरू आर्थिक मन्दीको भार खेपिरहेको दुखेसो पोख्नुभयो । श्रेष्ठले भन्नुभयो, “सरकारले ढुवानी सेवामा समेत मूल्य अभिवृद्धि कर लगाउनाले पीडा थपिदिएको छ जसले गर्दा आम नागरिकले मूल्य वृद्धिको मार खेप्नुपरेको छ ।” उहाँले करसम्बन्धी व्यवस्था खारेजीको माग गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्रता पार्टीका सांसद शिव नेपालीले यातायात व्यवसायीको हकहितका लागि आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसैगरी नेपाली कांगे्रसका सांसद रामहरि खतिवडाले निजी क्षेत्र महत्वपूर्ण खम्बा रहेकोले यातायात तथा ढुवानी व्यवसायीका समस्या समाधानमा सहयोग गर्ने जनाउनुभयो ।

ढुवानी व्यवसायका अग्रज व्यक्तित्व सरदार प्रितम सिंहलाई सम्मान गरिएको थियो । साथै गण्डकी विश्वविद्यालयले ढुवानी व्यवसायसँग सम्बन्धित नीति अनुसन्धान गरी आवश्यक प्रतिवेदन तयार पार्ने विषयमा विश्वविद्यालयका रजिस्ट्रार डा कैलाश तिमिल्सिना र ढुवानी व्यवसायी महासङ्घबीच सम्झौता गरेको छ ।

काठमाडौँ उपत्यकामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौँ, ३ चैत : काठमाडौँको गोकर्णेश्र नगरपालिका–५ नयाँबस्ती क्लब नजिक सडकमा आज भएको दुर्घटनामा एकको मृत्यु भएको छ ।

सडकमा बा३३प १४९६ नम्बरको मोटरसाइकल आफँै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बस्ने ३० वर्षीय गोपाल सुनारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सुनारको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो ।

यता ललितपुर महानगरपालिका–२८ हरिसिद्धि कर्मनाशा खोलास्थित खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर अर्का एक जनाको ज्यान गएको छ ।

करेन्ट लाग्दा सोही ठाउँ बस्ने सल्यान कपुरकोट गाउँपालिका–४ घर भएका ४६ वर्षीय चन्दबहादुर एरीको करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ठगी र कृत्रिम अभाव हुन नदिने उद्योगमन्त्री भण्डारीको प्रतिबद्धता

काठमाडौँ, ३ चैत : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ता ठगी र कृत्रिम अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँले उपभोक्ता ठगी, कृत्रिम अभाव, अनुचित मूल्यवृद्धि र अनुचित व्यापारिक कामलाई नियन्त्रण गर्न जोखिम तथा सूचना प्रणालीमा आधारित अनुगमन प्रणालीलाई व्यवस्थित र नतिजामुखी बनाइने बताउनुभयो ।

मन्त्री भण्डारीले उपभोक्ताको हित संरक्षणका विषयमा काम गरिरहेका सरोकारवालालाई साथमा लिएर स्वच्छ बजार तथा उपभोक्ता हितसम्बन्धी कामलाई परिणाममुखी बनाइने बताउनुभयो । उहाँले उपभोक्ता हित संरक्षणका लागि सरकारले तीनै तहका सरकारको जिम्मेवारी र जवाफदेहितासहितको आपूर्ति तथा उपभोक्ता हित संरक्षण नीति जारी गर्ने तयारीसमेत गरिएको दोहोर्याउनुभयो ।

उहाँका अनुसार तीनै तहका सरकारबाट नियमित बजार अनुगमन, उपभोक्ता शिक्षा, उपभोक्ताको उजुरी तथा गुनासो व्यवस्थापन गरिने छ । मन्त्री भण्डारीले व्यावसायिक नैतिकतासहितको उत्पादन तथा बिक्री वितरणको वातावरण निर्माण गरी आर्थिक गतिविधिलाई तीव्रता दिनु अहिलेको प्राथमिकता रहेको बताउनुभयो ।

कार्यक्रममा विभागका प्रमुख जितु गौतमले तरकारीमा विषादिको परीक्षणबिना भारतबाट तरकारी आयात भइरहेको उल्लेख गर्दै विषादीको परीक्षण नगरी तरकारी तथा फलफूलजन्य वस्तुको आयात पूर्णरूपले प्रतिबन्ध लगाइनुपर्ने बताउनुभयो । उहाँले बजारमा विभिन्न वस्तु र सेवामा भइरहेको कृत्रिम अभाव, कृत्रिम मूल्यवृद्धि, एकाधिकार, मिलेमतो, गुणस्तरहीन वस्तुको बिक्री, भ्रमपूर्ण विज्ञापन र नापतौल ठगीको कडाइका साथ नियन्त्रण गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामथ्र्य प्रयोग गर्नुपर्छ : राष्ट्रपति

लहान (सिरहा), ३ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले विश्वपरिवेश अनुरूपको प्रतिस्पर्धी तथा गुणस्तरीय शिक्षाका लागि उपलब्ध शक्ति र सामथ्र्य प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

पशुपति आदर्श माध्यमिक विद्यालय लहान मटियर्वा सिरहाको हीरक जयन्ती समारोहको आज उद्घाटन गर्दै उहाँले शिक्षा व्यक्ति, समाज र देशको सर्वाङ्गीण विकासमात्र होइन चेतना, ज्ञान, अनुशासन, संस्कार र सभ्यता निर्माणको आधार पनि भएकाले सोहीअनुसार नीति, पाठ्यक्रम तथा पठनपाठन पद्धति विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

“सरकारको नीति, बजेट र योजना समयअनुसारको शिक्षा दिने तथा राष्ट्र निर्माण र राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएर मुलुकलाई आर्थिकरूपमा समृद्ध बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ”, उहाँले भन्नुभयो ।

त्यस्तै रोजगारी र शिक्षाका लागि सहर पस्ने तथा सहर हुँदै विदेशिने प्रवृत्ति बढिरहेका बेला स्थानीयस्तरमै विद्यालय तहमा सहज, सरल र सर्वसुलभ ढङ्गले गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ विशेष ध्यान जानु आवश्यक देखिएको पनि उहाँले बताउनुभयो ।

“यहाँका विद्यालयले स्थानीय निकाय र सरोकारवालालाई आकर्षित गरी बालबालिकालाई युग सुहाउँदो शिक्षा प्रदान गर्न अझै मेहनत र क्रियाशीलता देखाउने मैले विश्वास लिएको छु”, उहाँले भन्नुभयो, “विद्यालय हामी सबैको भएको र यसको संरक्षण तथा सवर्द्धनमा सामूहिक भावनाको विकास हुनु अपरिहार्य छ, जहाँ हाम्रा सन्तति र कर्णाधारको भविष्य सुरक्षित हुनेछ ।”

उहाँले शिक्षाको विकासका लागि सबैको सहकार्य र समन्वय जरुरी रहेको समेत बताउनुभयो । “त्यसैले विद्यालयप्रति स्थानीय निकाय, अभिभावक र समुदायको अविच्छिन्न अभिभावकत्व र निगरानी अपेक्षित छ, श्रम गर्ने संस्कृतिको सम्मान, रोजगारी, उत्पादन र आर्थिक क्रियाकलापसँगै राष्ट्रिय एकता र अनुशासनको भावना जागृत गर्ने शिक्षालाई प्राथमिकता दिन आवश्यक पाठयक्रम र पठनपाठन विधि अपनाउन पनि म यहाँहरूलाई आग्रह गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले त्यसका लागि तीनै तहका सरकार र सरोकारवालाको सहयोग लिएर आवश्यक उपकरण, भौतिक पूर्वाधार र दक्ष जनशक्तिको विकास गर्न आवश्यक मात्र होइन अपरिहार्य पनि रहेको बताउनुभयो ।

सात दशकभन्दा बढी लामो समयसम्म स्थानीयस्तरमा सहज र सरलरूपले गुणस्तरीय शिक्षा दिएर विद्यालयले यस क्षेत्रको शैक्षिक, आर्थिक, सांस्कृतिक तथा सामाजिकलगायतका क्षेत्रमा पुर्याएको योगदानको राष्ट्रपति पौडेलले सराहना गर्नुभयो । साथै भविष्यमा पनि सो विद्यालयले दक्ष जनशक्ति, आवश्यक प्राविधिक एवं भौतिक पूर्वाधार तथा विद्यार्थी एवं अभिभावकको चाहनाअनुसारको पठनपाठनमा अझै प्रगति गरोस् र देश विदेशमा विद्यालयबाट शिक्षित भएका विद्यार्थीले देशको शान तथा गौरव उँंचो बनाउन योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

हीरक जयन्तीका अवसरमा प्रतिनिधिसभा सदस्य तेजुलाल चैधरी, मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका गोविन्द न्यौपाने र पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता पदमनारायण चौधरीले शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँहरूले विद्यालयको अझै उत्तरोत्तर प्रगति कामना गर्दै आफ्नो विद्यालय समयको स्मरण गर्नुभयो । उहाँहरु तीनै जना यही विद्यालयका पूर्वविद्यार्थी तथा दाता परिवारका सदस्यसमेत हुनुहुन्छ । त्यस अवसरमा राष्ट्रपति पौडेलले दुई दर्जनजति जग्गादाता र पूर्वविद्यार्थीलाई समान गर्नुभएको थियो ।

भ्रष्टाचारमुक्त समाज निर्माणमा सबै एकजुट हुनुपर्छ – अध्यक्ष नेपाल

काभ्रेपलाञ्चोक, ३ चैतः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारमुक्त समाज निर्माणमा सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । आज पार्टीको काभ्रेपलाञ्चोक जिल्ला कमिटीको १०औँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उहाँले देशलाई भ्रष्टाचारमुक्त बनाउन तथा बेथितिसँग मिलेर जान सबै राजनीतिक दललाई आग्रह गर्नुभएको हो ।

“आज प्रधानमन्त्री, गृहमन्त्रीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेतासँगको छलफलमा हामीले भ्रष्टाचार नियन्त्रण गर्न र बढ्दो बेथितिसँग जुध्न सामूहिक सङ्कल्प गरेका छौँ”, उहाँले भन्नुभयो, “यसमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ । यसका लागि सम्पूर्ण वामपन्थी र लोकतान्त्रिक शक्ति एकजुट हुन आवश्यक छ ।”

अध्यक्ष नेपालले जनतामा नेता र दलप्रति नकारात्मक प्रभाव परिरहेकाले जनताका आधारभूत समस्यालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनतामा पछिल्लो समय बढेको निराशालाई घटाउने र घटेको भरोसालाई बढाउनुपर्ने दायित्व हाम्रै हो, हामीले भरोसालाई चिर्दै नागरिकमा भरोसा जगाउने सङ्कल्प लिएर अघि बढेका छौँ ।” उहाँले मुलुक समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेकाले यहीमार्फत देशलाई समृद्ध बनाउनुपर्ने तर्क गर्नुभयो ।

“देशलाई पश्चगामी दिशातर्फ लैजाने सोच कसैले बनाएको छ भने, त्यो दिवासपना मात्रै हो, अग्रगामीको एकताले मुलुकलाई अग्रदिशातर्फ लम्काइरहेको छ”, उहाँले भन्नुभयो । वामपन्थी विचारधार मिलेकाले वर्तमान गठबन्धन सरकारमा सामेल भएकोसमेत उहाँले प्रष्ट्याउनुभयो । अध्यक्ष नेपालले फरक प्रसङ्गमा अन्य दलसँग आफ्नो पार्टी एकता हुने भ्रम नफैलाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय उपमहासचिव गङ्गालाल तुलाधार, केन्द्रीय सदस्यद्वय टोकबहादुर वाइबा र लक्ष्मण लम्साल तथा नेकपा (माओवादी)का जिल्ला संयोजक भोला अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्लाध्यक्ष प्रविण धिताल, नेपाली कांग्रेसका जिल्ला उपसभापति रमेशप्रसाद हुमागाईंलगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

मालबाँसेमा आगलागीका कारण छ घर जलेर नष्ट

टक्सार (भोजपुर), ३ चैत : भोजपुर नगरपालिका–१२ टक्सारको मालबाँसेमा आगलागी भइरहेको छ । आज दिउँसोबाट लागेको आगलागीले स्थानीय बासिन्दाका घरसमेत जलेर नष्ट भएका छन् । वनमा लागेको डढेलोका कारण बस्तीमा रहेका घरसमेत जलेर नष्ट भएका हुन् ।

आगलागीबाट स्थानीय विशाल कार्कीका दुई, नरबहादुर कार्कीका दुई र पदम कार्कीको एक घर जलेर नष्ट भएको छ । बसोबास नभएको एक घर पनि जलेर नष्ट भएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जङ्गलबाट सुरु भएको आगलागीका कारण स्थानीयका घरमा क्षति पुगेको जानकारी दिनुभयो ।

आगलागीबाट बसोबास गर्दै आइरहेका पाँच र खाली एक परिवारको घर जलेर नष्ट भएको सूचना अधिकारी राईले जानकारी दिनुभयो । हावाहुरीका कारण आगो बस्तीमा फैलिएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणको प्रयासमा सेना, प्रहरी र सशस्त्र प्रहरीसहित स्थानीय जुटिरहेका प्रहरी निरीक्षक राईले बताउनुभयो । यो समाचार तयार पारुञ्जेलसम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

आगलागीबाट कायरोमा प्रतिष्ठित अरब फिल्म स्टुडियो ध्वस्त

कायरोमा भीषण आगलागीले ८० वर्षअघि स्थापना भएको अरब संसारको सबैभन्दा प्रतिष्ठित तथा पुरानो फिल्म प्रोडक्सन हाउस ध्वस्त भएको एएफपीका एक पत्रकारले बताएका छन् ।

आगोले कायरोको गिजा जिल्लामा अल–अहराम स्टुडियोलाई आफ्नो चपेटामा पार्दा भित्रका सबै कुरा जलेको थियो । नजिकैका तीन भवनमा आगो फैलिनुअघि भवनहरू खाली गराइएको थियो । छिमेकी घरका बासिन्दाहरू शनिबार बिहान सडकका भुइँमा सुतिरहेको एएफपीका पत्रकारले बताएका छन् ।

इजिप्टमा घातक आगलागी सामान्य खतरा हो । यहाँ अग्नि संहिता विरलै लागु हुन्छन् र आपत्कालीन सेवाहरू प्राय सुस्त गतिमा पुग्छन् । सुरक्षा स्रोतहरूले आगलागीबाट कसैको पनि मृत्यु नभएको तर धुवाँबाट पीडित केही मानिसलाई घटनास्थलमै उपचार गरिएको बताएका छन् ।

स्थानीय मिडियाका अनुसार रमजान टेलिभिजन शृङ्खलाका लागि छायाँकन सकिएको २४ घन्टापछि आगो लागेको हो । गत सोमबारदेखि सुरु भएको मुसलमानहरूको पवित्र उपवास महिना रमजानमा इजिप्ट र बाँकी अरब संसारमा दर्शकहरूको सङ्ख्या उच्च हुन्छ ।

सुरक्षा स्रोतहरूका अनुसार आगलागीको कारण अझै थाहा भएको छैन । आगो निभाउन अग्निशमनकर्ताहरूलाई छ घन्टाभन्दा बढी समय लागेको थियो । आगलागी देखेका छिमेकी युसुफ मोहम्मदले दमकलहरू आइपुग्नुअघि नै वरपरका घरहरूमा आगो फैलिसकेको बताउनुभयो ।

अल–अहराम स्टुडियोको स्थापना सन् १९४४ मा भएको थियो र यसलाई २७ हजार वर्गमिटरमा बनाइएको थियो । यसमा तीन उत्पादन चरण, एक स्क्रिनिङ कक्ष र एक सम्पादन सुइट समावेश थिए । स्टुडियोमा इजिप्टका अनगिन्ती फिल्म र टेलिभिजन शृङ्खला बनाइएको छ ।

सन् १९५० को दशकमा इजिप्ट विश्वको तेस्रो सबैभन्दा ठूलो फिल्म निर्माता थियो । अहिले आफ्नो इतिहासको सबैभन्दा खराब आर्थिक सङ्कटमा परेको इजिप्टले अरब संसारको सिनेमा उत्पादनको तीन चौथाई हिस्सा ओगटेको छ ।

श्रमिक अस्पताल निर्माणमा सरकार लाग्नुपर्छ – कांग्रेसका नेता पौडेल

काठमाडौँ, ३ चैत : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले श्रमिक अस्पताल निर्माणमा सरकार लाग्नुपर्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेस आबद्ध नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घ र इनोभा अस्पतालबीच आज यहाँ आयोजित ‘स्वास्थ्य उपचार शुल्कसम्बन्धी दुईपक्षीय सम्झौता’ कार्यक्रममा उहाँले श्रमिकलाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

“सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरीलगायत लक्षित वर्गका लागि अस्पताल निर्माण भए पनि श्रमिकका लागि अस्पताल नहुँदा श्रमिक समस्यामा परेका छन्, सरकारले श्रमिक अस्पताल निर्माणमा विशेष प्रयास गर्नुपर्छ,” उहाँले भन्नुभयो । योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट श्रमिक अस्पताल निर्माण गर्न सकिने उहाँले बताउनुभयो ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले सम्झौतालाई संयुक्त संयन्त्र बनाएर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले श्रमिकको सहजताका लागि ट्रेड युनियन कांग्रेसले राष्ट्रिय कोष खडा गरी श्रमिकको स्वास्थ्य उपचारमा सहयोग गर्दै आएको जानकारी दिनुभयोे ।

इनोभा अस्पतालमा उपचार गर्न जाने निर्माण तथा सम्बद्ध श्रमिक सङ्घका सदस्य र सङ्घमा आबद्ध श्रमिक परिवारका सदस्यलाई ४० प्रतिशत सहुलियत दिइनेछ ।नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घले यसअघि ‘निर्माण श्रमिक कल्याणकारी काष’ स्थापना गरी उक्त कोषबाट निर्माण क्षेत्रमा कार्यरत श्रमिकलाई उपचारमा आर्थिक सहयोग गर्दै आएको छ ।

प्रजातन्त्र, पञ्चायत हुँदै गणतन्त्रसम्मका दृश्य

चेतन अधिकारी/काठमाडौँ – हिजोआज बसाँइसराइले गाउँ रित्तिएका, सहर भरिएका, हिमाल पहाड बिराना बनेका, तरार्ईमा घना बस्ती बसेका विषयहरु जताततै सुन्न र हेर्न पाइन्छ । मानिस किन यसरी चलायमान भएका हुन् ? उनीहरुलाई के नपुगेर बसिरहेको ठाउँबाट हिँडेका हुन् वा के पाइन्छ भनेर नयाँ नयाँ ठाउँ खोज्दै भौँतारिएका हुन् ? यस्ता प्रश्नहरुलाई यतिबेला मञ्चको अवस्था हेरी फरक फरक तरिकाले प्रस्तुत गरिने गरेको छ । पहिला पहिला सुनिने जन्मदर घटाऔँ, दुई मात्र सन्तान जन्माऔँँ भन्ने नारा सुनिन छाडेका छन् । सुनिन्छन् त केवल मानिस उता सरे, यता सरे । यताको गाउँ रित्तियो, उताको सहर भरियो मात्र । सरसर्ती हेरौँ नेपालीहरु कसरी बसाइँसराइको परम्परागत मार्ग पछ्याउँदै हिमाल पहाडबाट ओरालो झरिरहेका छन् ।

प्रजातन्त्र, पञ्चायत हुँदै गणतन्त्रसम्मका दृश्य

राणाशासन अन्त्य भएर नेपालमा प्रजातन्त्रको उदय भइसकेपछिको पहिलो जनगणना अर्थात् जनगणनाको पाँचौँ शृङ्खला २००९÷११ सालको जनगणनामा नेपालको हिमाल र पहाडी भूभागमा कूल जनसङ्ख्याको ६४.८ र तरार्ईमा ३५.२ प्रतिशत मानिसहरु बस्दथे । प्रजातन्त्रलाई राजा महेन्द्रले जफत गरेर पञ्चायती व्यवस्था सुरु गरेको अर्को वर्ष गरिएको २०१८ सालको जनगणनामा हिमाल र पहाडमा बस्ने जनसङ्ख्या घटेर तरार्ईमा बस्ने जनसङ्ख्या बढ्न थाल्यो । यसअनुसार हिमाल र पहाडमा ६३.६ र तरार्ईमा ३६.४ प्रतिशत मानिस बसोबास गरेको देखिन्छ ।

विसं २०२८ देखि हिमाल र पहाडको जनसङ्ख्यालाई अलगअलग रुपमा प्रस्तुत गर्न थालियो । यसअनुसार पहाडमा कूल जनसङ्ख्याको आधाभन्दा बढी मानिसको बसोबास देखिन्छ । त्यसबेला ५२.६ प्रतिशत मानिस पहाडी भूगोलमा बसेका थिए । तरार्ईमा ३७.६ प्रतिशत मानिसको बसोबास थियो । २०३८ सालको जनगणनाले पहाडी क्षेत्रलाई पहिलोपटक अल्पमतमा रहेको देखायो । यसबेला पहाडको जनसङ्ख्या अघिल्लो दशकमा भन्दा करिब छ प्रतिशत घटेर ४७.७ प्रतिशतमा सीमित हुनपुग्यो । यसको ठीक विपरीत तराईको जनसङ्ख्याको हिस्सा अघिल्लो दशकभन्दा छ प्रतिशत नै बढ्यो । अर्थात् २०३८ को दशकमा नेपालको तराई क्षेत्रमा ४३.६ प्रतिशत मानिस बसोबास गर्न थाले । यो दशकमा हिमाली क्षेत्रको जनसङ्ख्या पनि उसैगरी ओरालो लाग्ने क्रममा देखियो । अघिल्लो दशकमा ९.९ प्रतिशत जनसङ्ख्या ओगटेको यो भूगोलमा ८.७ प्रतिशत मात्र मानिस देखिए ।

प्रजातन्त्रको पुनस्र्थापनापछि पनि अवस्था उस्तै

नेपालमा बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि अर्थात् २०४८ जेठ–असारमा नयाँ जनगणना भयो । यसले पनि जनसङ्ख्या वितरणको पुरानो प्रवृति अर्थात् तराई उन्मुख जनसङ्ख्याको वृद्धिदर उच्च नै देखायो । पहाडको हिस्सा घट्दै गएको तस्बिर यसले सार्वजनिक ग¥यो । २०४८ सालमा पहिलोपटक तराईमा पहाडमा भन्दा बढी जनसङ्ख्या देखियो । यो वर्ष पहाडमा जनसङ्ख्याको ४५.५ प्रतिशत र तराईमा ४६.७ प्रतिशत जनसङ्ख्याको बसोबास देखियो । माओवादीको सशस्त्र द्वन्द्वको चरम उत्कर्ष समय अर्थात् २०५८ सालमा भएको जनगणनामा पहाडको जनसङ्ख्याको हिस्सा घटेर ४४.३ प्रतिशतमा झ¥यो भने तराईको ४८.४ मा पुग्यो ।

यसै वर्षदेखि पहाडका केही जिल्ला अब ऋणात्मक वृद्धिदरतर्फ जाँदैछन् भन्ने सङ्केत मिलिसकेको थियो । देशको औसत जनसङ्ख्या वृद्धिदर २.२५ प्रतिशत भएको यो समयमा तेह्रथुम, खोटाङ, पर्वतजस्ता जिल्लाको जनसङ्ख्या वृद्धिदर एक प्रतिशतभन्दा न्यून देखियो ।

गणतन्त्र स्थापनापछि झन् ठूलो लर्को

नेपालमा गणतन्त्र आइसकेपछि पहिलोपटक २०६८ सालमा जनगणना भयो । नेपालमा जनगणना सुरु भएको एक शताब्दी पुगेको अवसरमा यो जनगणना भएको थियो । यस जनगणना हिमाली र पहाडी क्षेत्रका लागि सुखद् देखिएन । यस पटक एकैचोटि २७ वटा जिल्लाको जनसङ्ख्या वृद्धिदर ऋणात्मक देखियो । यसरी जनसङ्ख्या क्षति व्यहोर्ने जिल्लाहरु मध्यपहाडी क्षेत्रका धेरै थिए । यसपटक पूर्वमा पाँचथरदेखि पश्चिममा धौलागिरि पूर्वका जिल्लामा ठूलो मात्रामा जनसङ्ख्या कमी भएको देखियो ।

यस जनगणनामा तराईमा पहिलोपटक नेपालको आधाभन्दा बढी जनसङ्ख्या रहेको तथ्याङ्क सार्वजनिक भयो । यहाँ पहाडमा ४३ प्रतिशत जनसङ्ख्या हुँदा तराईमा ५०.३ प्रतिशत जनसङ्ख्या देखियो । यो तथ्याङ्कले एकैचोटि दुईवटा प्रश्न जन्मायो । राजतन्त्रको अन्त्यसँगै मानिस राजनीतिक अधिकार पाए । नेपालीको स्वतन्त्रताको सीमा पनि बढ्यो । यसमा खुसी हुनुपर्ने कारण पनि थियो । तर किन मानिस पहाडी र हिमाली क्षेत्रको परम्परागत थातथलोलाई छोडेर नयाँ गन्तव्यतिर लागेका हुन् ? अर्कोतिर तराईको उर्वर भूमिमा मानिसहरुको चाप बढ्दै गएपछि त्यहाँको अन्न भण्डारमा घरैघर हुने भए ।

पहाडमा मानिस नबसेर खेतबारी बाँझा भए । यसले खाद्यान्नको परनिर्भरतालाई थप मलजल हुने स्थिति देखियो । दोस्रो यही रितले मानिसहरुले पहाडबाट बसाइँ सर्दै तराईतिर झर्ने हो भने पहाडको भविष्य के हुन्छ ? हिजो कुनै बेला औलो र जङ्गली जनवारका कारणले तराई क्षेत्र बस्न अयोग्य भए जस्तै मानिसहरु छोड्दै गएपछि जङ्गल र जङ्गली जनावरको बिगबिगीका कारणले मानिस बस्न योग्य होला त ? यसै समयदेखि पहाडमा बाँदर आतङ्कका समाचारहरु आउन थाले । यो विषय अहिले संसद्मा पनि पटकपटक उठ्ने गरेको छ । विसं २०७८ मा नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र अवलम्बन गरेपछि पहिलो जनगणना थियो । यसले जनसङ्ख्या वितरणको भौगोलिक परिवेशलाई झनै विकराल देखायो । यसपटक तराईको जनसङ्ख्याको हिस्सा बढेर ५३.६१ देखायो भने पहाडको घटेर ४०.३१ मा सीमित भयो । त्यति मात्र होइन, अघिल्लो दशकमा ऋणात्मक जनसङ्ख्या भएका २७ वटा जिल्ला रहेकामा यस दशकमा हिमाल र पहाडका अरू सातवटा जिल्ला थपिएर ३४ वटा जिल्लाको जनसङ्ख्या ऋणात्मक वृद्धितर्फ गए ।

अघिल्लो दशकमा धौलागिरि पूर्वको पहाडले भोगेको जनसङ्ख्या क्षति यस पटक लुम्बिनीका रोल्पा, रुकुम र कर्णालीका जाजरकोटबाहेक सुदूरश्चिम पहाडसम्म नै यो प्रवृत्ति फैलियो । अघिल्लो दशकमा दुई लाख ६१ हजार सात सय ७० जनसङ्ख्या र १.५० प्रतिशत वार्षिक जनसङ्ख्या वृद्धिदर भएको दैलेख २०७८ मा आइपुग्दा दुई लाख ५२ हजार तीन सय १३ जनसङ्ख्या र ०.३५ प्रतिशतको वृद्धिदरमा झ¥यो । २०६८ को दशकसम्म बाह्य बसाइँसराइको रोगले नछोएको सुुदूरपश्चिम पहाड २०७८ सालमा आइपुग्दा यही रोगबाट आक्रान्त भयो । त्यसबेलाको पहाडी क्षेत्रको गुल्जार कस्तो थियो भन्ने कुरा डोटी जिल्लाको एउटा तथ्याङ्कबाट अनुमान लगाउन सकिन्छ । त्यहाँ २०५८ सालमा दुई लाख सात हजार ६६ जनसङ्ख्या थियो भने जनसङ्ख्या वृद्धिदर २.२ प्रतिशत थियो । २०६८ सालमा यो जनसङ्ख्या दुई लाख ११ हजार सात सय ४६ पुग्यो भने जनसङ्ख्या वृद्धिदर ०.२२ प्रतिशतमा सीमित भयो । २०७८ सालमा त यो जनसङ्ख्या घटेर दुई लाख ४२ हजार एक सय ५७ मात्र भएन वृद्धिदर पनि घटेर –०.३२ प्रतिशतमा झ¥यो ।

लुम्बिनीबाट भिक्षुहरुको धम्मयात्रा सुरु

लुम्बिनी, ३ चैतः बुद्धजन्मस्थल लुम्बिनीबाट एक हजार दुई सय ५० जना श्रामणेर (अल्पकालीन) भिक्षुहरुको धम्मयात्रा आजदेखि सुरु भएको छ । मायादेवी मन्दिरबाट श्रामणेरहरुले धम्मयात्रा सुरु गरेका हुन् । यात्रा दुइ दिनपछि पूरा हुनेछ ।

श्रामणेरलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य विश्वराज पौडेल, वरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डा हरिध्वज राईले मायादेवी मन्दिर परिसरमा पुष्प अर्पण गरी यात्रा सुरु गराउनुभएको हो । लुम्बिनीबाट सुरु भएको धम्मयात्रा आज भैरहवा र आइतबार नवलपरासीको रामग्राम पुग्नेछ ।

लुम्बिनीमा बुद्धशिक्षालाई प्रवद्र्धन गर्ने कोषका कोषाध्यक्ष भट्टराईले बताउनुभयो । धम्मयात्राले समुदायतहसम्म बौद्धशिक्षालाई अघि बढाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना, लुम्बिनी विकास कोषसहितका संस्थाहरूको सहआयोजनामा फागुन १६ गतेदेखि एक हजार दुई सय ५० जनालाई कुलपुत्र प्रव्रज्या (अल्पकालीन भिक्षु) गराइएको हो । भिक्षुहरुको जीवनमा धम्मयात्रालाई महत्वपूर्ण मानिने सदस्यसचिव सानुराजा शाक्यले बताउनुभयो ।

अल्पकालीन भिक्षुहरूले पहेँलो चिवर लगाएर बुद्ध धर्मका १० नियम पालना गर्ने गर्दछन् । सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नुपर्नेछ । भिक्षु बन्न दुई सय २७ वटा नियम पालना गर्नुपर्ने हुन्छ ।

धम्मयात्रा शब्द ‘धम्म’ र ‘यात्रा’ मिलेर बनेको हो । ‘धम्म’ को अर्थ कुशल कर्म हो भने ‘यात्रा’ को अर्थ लाग्नु हो । धम्मयात्राको अर्थ कुशल कर्मतिर लाग्नु वा कुशल कर्ममा प्रस्थान गर्नु हो । फागुन २६ गते अल्पकालीन भिक्षुहरूलाई प्रव्रज्या गराई पहेँलो चिवर प्रदान गरिएको थियो ।

लुम्बिनीमा भएको एक हजार दुई सय ५० जनाको प्रव्रज्याले बुद्धधर्मको शिक्षा र बौद्ध गतिविधिलाई जोडेको लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले बताउनुभयो । उहाँले धम्मयात्राले बुद्धजन्मस्थलको प्रचार–प्रसारसँगै बौद्ध गतिविधिलाई प्रवद्र्धन गर्ने बताउनुभयो । फागुन १६ गतेदेखि सुरु भएको प्रव्रज्या यही चैत ८ गते समापन हुनेछ ।

तल्लो तहका जनताको उत्थान नै वर्तमान व्यवस्थाको उद्देश्य हो – राष्ट्रपति पौडेल

जनकपुरधाम, ३ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत तल्लो तहका जनताको उत्थान नै वर्तमान व्यवस्थाको उद्देश्य भएकाले त्यसलाई प्राथमिकतामा राखेर काम गर्नु सरकारको कर्तव्य भएको बताउनुभएको छ ।

आज मटिहानीमा सहिद केशव कोइरालाको प्रतिमाको अनावरण गरेपछि सहीद केशव कोइराला स्मृति प्रतिष्ठान र मटिहानी नगरपालिकाद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले निमुखा र विपन्न वर्गको उत्थानसहित लोकतन्त्र, गणतन्त्र र समानतासहितको राज्य व्यवस्था कायम गर्ने सहिदको त्यो सपनालाई रक्षा गर्नु अहिलेको आवश्यकता हो भन्नुभयो । “हामीले जनताका अधिकार स्थापित गरेको संविधान पाएका छौँ । यसअनुसार दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत तल्लो तहका जनताको उत्थान गर्नुछ । यही नै हो लोकतन्त्र, यही नै हो गणतन्त्र, यही नै हो समानता,” उहाँले भन्नुभयो ।

मधेसलाई प्रजातन्त्रको भूमिका रुपमा चित्रण गर्दै राष्ट्रपति पौडेलले नागरिक अधिकार स्थापनाका लागि सङ्घर्ष गर्ने क्रान्तिको केन्द्रमा मटिहानी रहेको स्मरण गर्नुभयो । नेपालको संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयआर्जनका अवसरबाट वञ्चित नगरिने लक्ष्य लिएको उहाँले बताउनुभयो ।

राष्ट्रपतिले राजनीतिक रुपमा जनताको सर्वोत्तम उपलब्धि ‘गणतन्त्र’ प्राप्त भएको तर त्यसको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै छजस्तो आफूलाई लागेको बताउनुभयो । “गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तनमात्र होइन यो त जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो । यो संस्कार, संस्कृति, आनीबानी र व्यवहार मात्रै होइन आचरणमा परिवर्तन पनि हो भनेर हामीले बुझ्न बाँकी छ,” उहाँले भन्नुभयो ।

नेपाली जनताको ठूलो सङ्घर्षबाट आज मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको तथा अहिले हामीले लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण चरण पार गरेका छौँ भन्दै राष्ट्रपति पौडेलले वर्तमान संविधानले निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेको मात्र नभई वास्तविक अर्थमा नेपाली जनतालाई राजकीय शक्तिको मालिक बनाएको उल्लेख गर्नुभयो ।

राष्ट्रपतिले प्रशासनिकरूपमा राज्यको पुनः संरचनासँगै तल्लो तहका जनताको पहुँचमा राज्यसत्ता पुगेको र अब राज्यको चरित्रको पुनः संरचना हुन र केन्द्रीकृत अधिकार तल्लो तहमा प्रत्यायोजन गर्न अझै बाँंकी रहेको बताउनुभयो । “अब यसका लागि हामीले विलम्ब गर्न हुँदैन भन्ने मलाई लाग्छ । संविधानबमोजिम प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउने कानुन चाँडो निर्माण गर्न सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई आग्रह गरेको म यहाँंहरूसमक्ष स्मरण गर्न चाहन्छु”, उहाँले भन्नुभयो ।

एकदलीय शासन व्यवस्थालाई जरैसँंग उखेल्ने कठिन र दुरुह सङ्घर्ष अनि त्याग र बलिदानका कैयाँै कष्टकर दिनहरूमा आफ्नो प्राणको आहूति दिएर प्रजातान्त्रिक सिद्धान्त, मूल्य, मान्यता र सङ्गठनलाई नेपाली भूमिमा सुदृढ र व्यवस्थित बनाउन जीवनपर्यन्त अविराम खटेको एक योद्धाको नाम केशव कोइराला भएको उहाँले उल्लेख गर्नुभयो । “ओखलढुङ्गाको पूर्वी गाउँ छहरे कोइराला गाउँमा जन्मनुभएका सहिद कोइराला आफ्नो धन–सम्पत्ति, नाता–कुटुम्ब सबैलाई त्यागेर प्रजातान्त्रिक आन्दोलनको मूलधारामा सहभागी हुनुभएका कुशल सङ्गठनकर्ता तथा लोकप्रिय नेता हुनुहुन्थ्यो भन्नुभयो ।

त्यसअघि प्रजातान्त्रिक योद्धा गणेश नेपालीको सालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले सुशासन, विकास, उत्पादन र रोजगारी बढाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई साकार पार्ने अभियानमा सबै एकजुट भएर लाग्न आह्वान गर्नुभयो । उहाँले जनता आफैँले बनाएको नेपालको संविधान कार्यान्वयन गरेर नेपाली जनताले चाहेको सुशासन, विकास, उत्पादन र रोजागरीका माध्यमबाट समृद्धिको यात्रामा अघि बढ्न जरुरी भएको बताउनुभयो ।

लोकतन्त्रलाई राज्यसञ्चालनको एउटा माध्यममात्र होइन जीवन दर्शन र संस्कार बनाए मात्रै आज केशव कोइरालाजस्ता सहिदहरू र गणेश नेपालीजस्ता प्रजातन्त्रका योद्धाप्रति सच्चा श्रद्धाञ्जलि हुने राष्ट्रपतिले बताउनुभयो । केशव कोइराला र गणेश नेपालीका सालिक देशमा लोकतन्त्र स्थापना र पुनः स्थापनाका लागिभएका सङ्घर्षबारे बुझ्ने चाहनेहरुका लागि एउटा जीवन्त इतिहास भएर रहने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सुशासन कायम गर्दै नीतिगत सुधारका पक्षमा सरकारले काम गर्नुपर्ने

काठमाडौँ, ३ चैत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा स्वर्णिम वाग्लेले सुशासन कायम गर्ने र नीतिगत सुधारको प्रयासमा सरकारले काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज यहाँ आयोजना भएको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स–२०२४’ मा उहाँले सुशासन कायम गर्ने र नीतिगत सुधारको प्रयाससहित सत्तारुढ दलले न्यूनतम साझा सङ्कल्प ल्याएर जनतालाई शुसासनको अनुभूति दिलाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद वाग्लेले अर्थतन्त्रको सुधारलाई मुख्य केन्द्रमा राखेर जनतामा भरोसा जगाउने गरी सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउनुपर्ने भन्दै यसले सुशासनका साथै आर्थिक नीति सुधारमा नयाँ प्रस्थान बिन्दु तय गर्ने बताउनुभयो । सुधारको प्रयास गर्ने भनेर प्रधानमन्त्रीका तर्फबाट प्रतिबद्धता आएकाले आफ्नो दल सरकारमा गएको दाबी गर्दै उहाँले सरकारमा बसेर काम गर्न नसकेको अवस्थामा रास्वपाले सरकार छोड्ने बताउनुभयो ।

“सुशासनको प्रत्याभूतिसहित नयाँ आशा जगाउने तथा दण्डहिनताको अन्त्य गर्नुपर्छ । विभिन्न भ्रष्टाचार र आर्थिक अनियमिततामा जोडिएका व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने गरी सरकारमा रहेका सबैले काम गर्नुपर्छ”, सांसद वाग्लेले भन्नुभयो ।

“लघुवित्त, मिटरब्याज, सहकारीलगायत विभिन्न क्षेत्रका समस्या अहिले देखिएका छन् । यी समस्या समाधानको पहल सुरु भइसकेको छ । रास्वपा सामाजिक न्यायसहितको उदार अर्थतन्त्रका पक्षमा सधैँ वकालत गरिरहन्छ । सरकारले पनि दण्डहिनताको अन्त्य गरी विद्यमान समस्या समाधानका पक्षमा काम गर्नुपर्ने अवस्था छ”, सांसद वाग्लेले भन्नुभयो । अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सार्वजनिक वित्त व्यवस्थापनका क्षेत्रमा देखिएका चुनौतीलाई सम्बोधन गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।

पछिल्लो समय बजार माग र खपतमा (मार्केट डिमाण्ड एण्ड कन्जम्सन) कमी आएको वाग्लेको भनाइ छ । नेपालको युवा जनशक्ति विदेशिएका कारण खपतमा कमी आएको उहाँको दाबी छ । पछिल्लो समय साना र मझौला व्यवसायी पलायन भइरहेको पनि उहाँले बताउनुभयो ।

अहिलेको सरकारले संरचनागत सुधारका लागि प्रयास गर्नुपर्ने उहाँको भनाइ छ । अहिले चालु खर्च र सार्वजनिक ऋणको साँवाब्याज भुक्तानीमा ठूलो रकम खर्च भइरहेको बताउँदै सांसद वाग्लेले पुँजी निर्माण गर्ने विकास खर्च भने निकै कम रहेको बताउनुभयो । उपभोक्ता मागको सङ्कुचन र विकास खर्चमा देखिएको न्यूनताका कारण निजी क्षेत्रको लगानी पनि बढ्न नसकेको उहाँको भनाइ छ ।

भारतसँगको स्थिर विनिमयदरलाई परिमार्जन गर्न आवश्यक रहेको वाग्लेले बताउनुभयो । नेपाली मुद्राको अधिमूल्यन भएका कारण आयात बढिरहेको उहाँले दाबी गर्नुभयो । ठूलो कारोबार रहेका सहकारी संस्थालाई नेपाल राष्ट्र बैंकको नियामकीय अधिकार क्षेत्रभित्र लैजान आवश्यक रहेको उहाँले बताउनुभयो । विप्रेषणबाट आएको रकमलाई दूरगामी प्रकृतिका पूर्वाधार निर्माणमा लगाइनुपर्नेमा उहाँले जोड दिनुभयो । विदेशी मुद्रा सञ्चिती बढिरहेकामा त्यसको अर्थपूर्ण नतिजामुखी प्रयोग आवश्यक रहेको वाग्लेले बताउनुभयो ।

“स्वस्थ अर्थतन्त्र भएको भए निर्यात, पर्यटन र वैदेशिक लगानीबाट विदेशी मुद्रा भित्रिनु पथ्र्यो । जनशक्ति निर्यात गरेर रेमिट्यान्समार्फत विदेशी मुद्रा भित्र्याइरहेका छौँ”, वाग्लेले भन्नुभयो, “सरकारी विकास खर्च बढ्न नसकेको र निजी क्षेत्रबाट पनि लगानी नभएको अवस्थामा विप्रेषणबाट भित्रिएको रकमलाई दिगो प्रकृतिका पूर्वाधार आयोजनामा लगाउन सक्नुपर्छ ।” पछिल्लो समय सूचना प्रविधि क्षेत्रबाट निर्यातको राम्रो सम्भावना देखिएको उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षको आठ महिना अवधिमा करिब रु एक खर्ब ६० अर्ब बराबर बजेट घाटा देखिएको उल्लेख गर्नुहुँदै वाग्लेले सार्वजनिक वित्तका क्षेत्रमा देखिएका समस्याकै कारण अर्थतन्त्रमा अरु समस्या पनि थपिएको बताउनुभयो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा नेपालको कूल गार्हस्थ्य उत्पादनको हाराहारीमा पुगिसकेको उहाँले बताउनुभयो ।

देशको आर्थिक सुधार पहिलो प्राथमिकता हाे: मन्त्री राई

काठमाडौँ, ३ चैत : खानेपानीमन्त्री राजेन्द्रकुमार राईले देशको आर्थिक अवस्था सुधार गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनकुटा सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले विकास निर्माणका कामलाई तीव्र गतिमा अगाडि बढाउन आर्थिक अवस्था सुधार हुनुपर्ने बताउनुभयो ।

“मैले धनकुटाका जनताको मेहनत, परिश्रम र सहयोगबाट चुनाव जितको हुँ । म सेवक भएर जनताका पक्षमा काम गर्नेछु । यसमा जिल्लावासीका साथै आमनागरिकको सुझाव आवश्यक छ”, मन्त्री राईले भन्नुभयो । उहाँले प्रभावकारी कार्यसम्पादनका लागि सबैको सुझाव आवश्यक रहेको भन्दै सकारात्मक सुझाव दिन सबैलाई आग्रह गर्नुभयो ।

कोशी प्रदेशसभाका सांसद निरन राईले आफ्नो क्षेत्रबाट मन्त्री हुनुभएका खानेपानी मन्त्री राईलाई धनकुटाको समृद्धिमा योगदान हुनेगरी काम गर्न अनुरोध गर्नुभयो । सोही अवसरमा मन्त्री राईले विसं २०८१ को भित्तेपात्रो लोकार्पण गर्नुभएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जबाट लगिएका घडियाल चौधरी नदीमा छाडियो

महेन्द्रनगर (कञ्चनपुर), ३ चैत : कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चार दशकपछि घडियाल पुनःस्थापन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्रबाट ल्याइएका तीन भाले र २२ पोथी घडियाल आज एक कार्यक्रमकाबीच शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको चौधरी नदीमा छाडिएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले सन् १९९० अघि चौधर नदीमा घडियाल रहे पनि त्यसपछि लोप भएका बताउनुभयो । सङ्कटापन अवस्थामा रहेको घडियाल गोहीको वैकल्पिक बासस्थानका रुपमा पहिचान भएकाले चितवनबाट यहाँ ल्याएर पहिलो चरणमा पुनःस्थापन गरिएको जानकारी दिनुभयो ।

“बासस्थापनको पहिचान भएकाले विस्तृत अध्ययनका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कात्तिकमा निर्णय गर्दै वरिष्ठ इकोलोष्टि श्यामकुमार साहको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेर चौधर नदी क्षेत्रको १९.०३ किलोमिटर क्षेत्र सर्वेक्षण गरेको थियो”, प्रमुख संरक्षण अधिकृत भट्टराईले भन्नुभयो, “सो प्रतिवेदनका आधारमा वन मन्त्रालयले यहाँ गोही चरणबद्धरुपमा छाडने निर्णय गरेको हो ।”

घडियाल गोही स्वच्छ बगेको पानीमा पाइने, आहाराका रुपमा साना माछा मात्र खाने र सामान्यतया मानिसलाई असर नगर्ने संरक्षित लोपोन्मुख घस्रिने प्रजाति हो । यसअघि चितवन राष्ट्रिय निकुञ्जबाट यहाँ एकसिङ्गे गैँडासमेत स्थानान्तरण गरिएको थियो भने चितवनबाट एक हात्ती पनि यहाँ ल्याइएको निकुञ्जले जनाएको छ ।

आज बिहान चौधरी नदीमा गोही पुनःस्थापन कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी, बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहरा, बेल्डाँडी गाउँपालिकाका अध्यक्ष हरिषचन्द्र राना, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापा र कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी लगायतको सहभागिता थियो ।

तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ, गैँडा, बाह्रसिङ्गालगायतका वन्जयन्तुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।

“घडियाल गोही संरक्षण कार्यका लागि चौधर नदी क्षेत्र एवं आसपासका मध्यवर्ती क्षेत्र र स्थानीय सरोकारवालासँग यिनको बासस्थान व्यवस्थापनसम्बन्धी प्रचारप्रसार गरी सङ्ख्या वृद्धि र पर्या–पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य हो”, प्रमुख संरक्षण अधिकृत भट्टराईले भन्नुभयो, “गोही पुनःस्थापनमा सहयोग गर्ने सबै दातृ निकाय एवं सरोकारवाला निकायप्रति आभारी छौँ ।”

उहाँले घडियाल गोही पुनःस्थापनमा राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ, जेड एसएल नेपाललगायतका संस्थाको सहयोग रहेको जानकारी दिनुभयो । गोही पुनःस्थापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बोहराले शुक्लाफाँटा प्रचुर पर्यटकीय सम्भावना बोकेको निकुञ्ज भएको बताउनुभयो । “वन्यजन्तुको संरक्षणमा सबैको हातेमालो हुन जरुरी छ”, उहाँले भन्नुभयो, “आज एउटा असल कार्यको थालनी भएको छ ।”

इतिहासको साक्षी : चार सय वर्ष पुरानो भद्रिवम शिवालय

गलेश्वर (म्याग्दी), ३ चैत : म्याग्दीको सदरमुकाम बेनी बजारमा चार सय वर्ष पुरानो भद्रीबम शिवालय तत्कालीन पर्वत राज्यको इतिहासको साक्षी बनेर रहेको छ ।

विसं १७५० मा निर्माण गरिएको यो शिवालय तत्कालीन अवस्थाको इतिहास नियाल्ने आँखीझ्याल बनेको छ । शिवालय अहिले धार्मिक पर्यटकको मुख्य आकर्षणको केन्द्रसमेत बनेको छ । शिवालयको छानोमा रहेको वरको ठूलो रुख र वरका जराले शिवालयको पर्खाल घेरिएको छ । देख्दै अनौठो लाग्ने यो शिवालयको इतिहास भाइभाइबीचको आपसी वैमनश्यता र त्यसपछि उत्पन्न परिणामसँग सम्बन्धित छ ।

तत्कालीन पर्वत राज्यका राजा बलेबम मल्ल र भाइ भद्रीबम मल्लको आन्तरिक कलह तथा षड्यन्त्रका कारण कमजोर बनेको पर्वत राज्य र भद्रीबम मल्लको हत्यासँग यो शिवालयको गहिरो सम्बन्ध रहेको छ ।

शिवालयको इतिहास

पर्वत राज्यको इतिहासमा उल्लेख भएअनुसार समाल शाही वंशी जुम्लाका राजा आनन्द देवका नाति डिम्बबम (दिलीप बम) मल्लले विसं १५४५ मा ताकम राज्यमाथि विजय गरेपछि राज्य विस्तार गर्दै क्रममा क्रमशः पुला, ढोलठान र ज्यामरुकमा पनि विजय प्राप्त गरेको इतिहास छ । राजा डिम्बपछि छोरानाति नाग मल्ल, प्रतापीनारायण मल्ल, राज मल्ल, नर्सिङ मल्ल, नागवी मल्ल, नारायण मल्ल, कुँवर मल्ल, घनश्याम मल्ल र मलेबम मल्ल राजा भएको इतिहास छ ।

नलैबमले आफ्ना भाइ भर्तिबमलाई ज्यामरुककोटको शासनभार (कजाइ खान) सुम्पेको बताइन्छ । पछि मलेबम र भर्तिबमबीच मनोमालिन्य उत्पन्न भई राजा मलेबमले भाइ भर्तीबमलाई ज्यामरुकबाट हटाउन खोज्दा भर्तिबमले “दियाँ पनि खान्न, धपाया पनि जान्न, ज्यामरुककोट छाड्दिन”, भनी अड्डी लिएपछि मलेबमले गुप्त षड्यन्त्र गरी भर्तिबमलाई पक्रन पठाएको बताइन्छ ।

भर्तिबम उहाँका मित डिल्ली भुजेलसहित भागेर लामगरा (लुङ्दी) मा पुगेको इतिहासमा उल्लेख छ । भर्तिबमलाई दाजु मलेबमका सेनाले लामगरामा पक्राउ गरी शिरोच्छेदन गरी मारियो । यसरी उहाँलाई मारिएपछि शिर कालीगण्डकीमा बगाउँदा माथितर्फ बग्दै गलेश्वर नजिक पुग्यो भन्ने किंवदन्ती रहेको छ ।

राजा मलेबम मल्ललाई गोत्र हत्याको पाप लागि दूध र भात खान लाग्दा रगत तथा किरा बग्ने भई खान नभएपछि गोत्र हत्याको प्रायश्चित्त गर्न भाइ भद्रीबमको शिर ल्याई बेनीमा शिवालय मन्दिर स्थापना गरी राजा मलेबमले पूजाआजा गरेको इतिहास छ ।

उक्त शिवालय मन्दिरमा अद्यापि पूजाआजा गर्ने गरिन्छ । साथै मलेबमले आफ्ना गुरु प्रेमनिधि पन्तलाई ‘प्रायश्चित्त प्रदीप’ भन्ने पुस्तक लेख्न लगाउनुभएको थियो । त्यसपछि बल्ल राजा मलेबमलाई शान्ति मिलेको थियो भन्ने मान्यता रहेको छ ।

भर्तिबम मल्लपछि राजा मलेबम मल्लका माइला छोरा अरिमर्दन मल्ल ज्यामरुककोटका राजा भएको मल्ल वंशावलीमा उल्लेख छ । उहाँको शासनकाल अर्थात् १८४३ मा बहादुर शाहले आठ हजार पर्वतका राजा कीर्तिबम मल्ललाई जितेपछि पर्वत राज्य पनि विशाल नेपालमा गाभिन पुग्यो । विसं १८४३ देखि जिम्मुवाल र नौ मुखियाद्वारा यहाँका राजनीतिक एव प्रशासनिक कार्य सञ्चालन भयो ।

यसरी भयो भर्तिबम मल्लको हत्या

भर्तिबम मल्ल जिउँदो रहेसम्म ज्यामरुककोटको राज्य नछाड्ने भयो भनी चिन्तामा परेका राजा मलैबम मल्लले भाइ भर्तीबम मल्लको हत्या गर्ने षडयन्त्र रच्न थालेको इतिहास छ । सोअनुसार जयन्ती मङ्गलाकालीको कालीगण्डकी दोभानमा सबेरै नुहाउने समयमा भर्तीबम मल्लको शिर छेदन गर्ने योजना बनाइ उहाँ नुहाउन आउने र जाने समयको चियो गर्न मलैबमले गुप्तचर खटाउनुभयो ।

सोही योजना मुताविक केही समयपछि राजा भर्तिबम मल्लको कालीगण्डकी किनारमा हत्या गर्न दाजु मलैबम मल्ल सफल भएको किंवदन्ती छ । भाइ भर्तीबम मल्लको शिर छेदन गरी गण्डकीमा फाल्दा गिड उधाँे तिर र शिर माथितिर बग्न थाल्यो ।

भाइको हत्यापछि पश्चातापमा परेका मलैबम मल्ललाई मुखबिनाको भाइको शरीरको गिडले “दाजु ! मेरो हत्या गर्नुभयो, म निर्दोषी भाइलाई शिर छेदन गरेर मारेकामा प्रायश्चित्त गर्न चाहनुहुन्छ भने मेरो शिर मङ्गला र कालीगण्डकी नदीको दोभानमा राखी शिवजीको स्थापना गर्नु र गिड लामाखेतमा लगि त्यस ठाउँमा उघौली र उभौली गरी पूजा चलाउनु, शिवजी स्थापना गरेको ठाउँमा मन्दिर निर्माण गरी चौकुनामा गणेश, भगवती, नारायण आदि देवताको स्थापनागरी नित्य पूजा सञ्चालन गराइदिनु र नित्य पूजाका लागि गुठीसमेतको व्यवस्था मिलाइ दिनु”, भाइले भनेको भनाइ छ ।

भाइको इच्छाअनुसार राजा मलैबमले (हालको बेनी शिवालयको गुठी) बागलुङको बागलुङ नगरपालिका–६ लहरेपीपलमा गुठीको व्यवस्था गरिदिनुभयो । सो गुठी अझैसम्म पनि रहेको छ । भर्तीबम मल्लकै इच्छाअनुसार दाजु मलैबम मल्लले विसं १७५० मा बेनी शिवालय मन्दिरको निर्माण गरेको इतिहास छ । त्यसपछि विसं १७७२ मा मलैबम मल्लले ढलोटको घण्टी मन्दिरमा चढाउनूका साथै मन्दिरको पश्चिमतर्फबाट मन्दिरको मूल ढोकातर्फ फर्केको राजा मलैबम र रानीमहल वसन्तको दुई हात जोडिएको मूर्ति राखेको बताइन्छ । त्यो आजसम्म पनि देख्न सकिन्छ ।

राजा मलैबम मल्लले भाइको बिना कसुर हत्या गरेको हुँदा गोत्र हत्याको पाप लाग्ने डरले ‘पाञ्चायत प्रायश्चित्त प्रदीप’ नामक ग्रन्थ लेख्न लगाउनुभएको इतिहास छ । मलैबम मल्लको शासनकाल १७४३ देखि १७८९ सम्म रहेको थियो ।

आफ्ना पति राजा भर्तीबम मल्लको हत्याको खबर पाएपछि रानी विश्वमता, महारानी श्यामसुन्दरी देवी स्वरुपिणी मल्ल, पुत्र गोरे मल्ल र भान्छे बाहुनीका साथ हालको मङ्गलाघाट बजारदेखि माथि कुरिलाखर्क भन्ने ठाउँमा आफ्नो राज्य (ज्यामरुककोट) देखिने ठाउँमा गई तीन जना नै अल्पिएको र हालसम्म उनै श्यामसुन्दरी देवी स्वरुपिणी महारानीको पूजा गर्ने गरेको पाइन्छ । उहाँहरुले राज्य गरेको ठाउँ ज्यामरुकोटमा भने उहाँको कुनै वास्ता गरेको पाइँदैन ।

राजा मलैबमले भाइ भर्तीबमको हत्या गरेपछि शिवलिङ्ग माथि मन्दिर निर्माण गर्दा भाइ भर्तीबमले सपनामा मेरो शिर राखिएको ठाउँमा जबसम्म हरियो रुख रहन्छ तबसम्म भर्तीबम जिवित छ र उ ज्यामरुककोटमा रहिरहन्छ भनेको भन्ने किंवदन्ती अझै पनि सुन्न पाइन्छ ।

ऐतिहासिक शिवालयको संरक्षणमा समुदायको चासो

ऐतिहासिक महत्वको यो शिवालयको संरक्षणका लागि स्थानीयले सक्रियता देखाएका छन् । शिवालयको संरक्षण र मन्दिर व्यवस्थापन गर्न २०५८ मा बेनी शिवालय संरक्षण समिति दर्ता गरेर व्यवस्थापनको काम गर्दै आएको समितिका अध्यक्ष विक्रम श्रेष्ठले बताउनुभयो ।

मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्नका लागि समितिले मन्दिर परिसरमा पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवद्र्धनमूलक कार्य गर्दै आएको समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

मन्दिर परिसरमा एक सय आठ शिवलिङ्ग स्थापना र यज्ञमण्डप निर्माण गरिएको छ । यस मन्दिरमा साउनको सोमबार, मङ्गलचौठी, जनैपूर्णिमा, ग्रहदशा पूजा, सत्यनारायणको पूजा, बालाचर्तुदर्शी, शिवरात्रिमा विशेष पूजाआजा हुने गर्छ । साथै नियमित पूजाआजका लागि मन्दिरमा पुजारीको पनि व्यवस्था गरिएको छ ।

भरतपुर भ्रमण वर्ष सफल पार्न प्रमुख दाहालको आग्रह

काठमाडौँ, ३ चैतः भरतपुर भ्रमण वर्ष प्रचार–प्रसार गर्ने उद्देश्यका साथ युरोप भ्रमणमा रहनुभएका भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विभिन्न देशमा रहेका राजदूतसँग भेटघाट गरी भ्रमण वर्षलाई सफल बनाउन आग्रह गर्नुभएको छ ।

प्रमुख दाहालले फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराई, बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारी र स्पेनका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीसँग आज छुट्टाछुट्टै भेट गरी भ्रमण वर्षलाई सफल बनाउनका लागि आवश्यक सहजीकरण गरिदिन आग्रह गर्नुभयो ।

सो अवसरमा नेपाली राजदूतहरुले आफ्नोतर्फबाट भ्रमण वर्षलाई सफल बनाउन आवश्यक साथ र सहयोग रहने बताउनुभएको थियो । नेपालको मध्यभागमा रहेको चितवन र भरतपुरको आफ्नै विशेषता एवं महत्व रहेको भन्दै राजदूतहरूले युरोपका पर्यटकलाई भ्रमणका लागि अनुरोध गर्ने विश्वास दिलाउनुभयो ।

प्रमुख दाहालले बेल्जियम, स्पेन र फ्रान्सका विभिन्न सहरमा भएका विभिन्न कार्यक्रममा सहभागी भई भरतपुर भ्रमणका लागि निमन्त्रण गर्नुभएको भरतपुर भ्रमण वर्ष २०२४ मूल समारोह समितिका सदस्य एवं बेल्जियममा रहनुभएका व्यवसायी लोकप्रसाद दाहालले राससलाई जानकारी दिनुभयो ।

प्रमुख दाहालले युरोपका विभिन्न देशमा भरतपुर भ्रमण वर्षको प्रचार–प्रसार गर्न र भरतपुरको महत्त्वपूर्ण घुम्ने स्थानबारे जानकारी गराउन आग्रह गर्नुभएको थियो ।

भरतपुर महानगरपालिकाले भ्रमण वर्षमा दुई लाख विदेशी र पाँच लाख नेपाली नागरिकलाई भरतपुर भित्र्याउने उद्देश्यसहित लक्ष्य लिएको छ ।

व्यवसायी दाहालका अनुसार प्रमुख दाहालले युरोपका विभिन्न देशका विभिन्न सहरका नगरपालिकाका प्रमुखसँग भेट गरी भरतपुर भ्रमण वर्ष २०२४ को निमन्त्रण गर्नुभएको छ । उत्कृष्ट मेयर अवार्ड ग्रहण गर्न बेलायत जानुभएका मेयर दाहाल अवार्ड लिएर युरोप प्रस्थान गर्नुभएको हो ।

प्रमुख दाहालले भरतपुरमा भएका विकास निर्माणका साथै घुम्नलायक धेरै स्थानको भ्रमण गर्न आग्रह गर्नुभएको छ । महानगरले कृषि, सहकारी, उद्योग, पर्यटनजस्ता क्षेत्रलाई आर्थिक विकासको आधार बनाएको छ ।

महानगरपालिकामा उद्यान, सङ्ग्राहालय, विमानस्थल, चक्रपथ, लिङ्करोड, हुलाकीमार्ग, पूर्व–पश्चिम राजमार्ग, होटल, रिसोर्टजस्ता पर्यटनका प्रशस्त पूर्वाधार रहेको भन्दै एकपटक भरतपुर भ्रमणमा आउन प्रमुख दाहालले अनुरोध गर्नुभएको थियो ।

प्रमुख दाहालले फ्रान्समा रहेका नेपाली समुदायलाई पनि आजै भेट गरी भ्रमण वर्षलाई सफल बनाउन आग्रह गर्नुभएको थियो । उहाँले विभिन्न देशमा रहेका नेपाली समुदायलगायत युरोपमा यही आइतबार र सोमबार आयोजित जनप्रगतिशील मञ्चको युरोप भेलालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले स्पेनको बार्सिलोनाका प्रमुखसँग सोमबार भेटवार्ता गर्ने कार्यक्रम छ ।

त्यसअघि प्रमुख दाहालले बेलायती संसद् हाउस अफ कमन्सका उपसभामुख नाइजेल इभान्स तथा सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद डिन रसेल र लेबर पार्टीका सांसद वीरेन्द्र शर्मासँग भेटवार्ता गरी दुई देशबीचको सम्बन्ध, द्विपक्षीय भ्रमण आदानप्रदानलगायतका विषयमा छलफल गर्नुभएको थियो ।

प्रमुख दाहालले हाउस अफ कमन्सको टेरेस पेभिलियनमा लण्डनका मेयर सादिक खानले प्रमुख दाहाललाई इन्टरनेशनल मेयर अवार्ड प्रदान गर्नुभएको थियो ।

सहिद स्मृति विद्यालयलाई अनुदान बढाइन्छ : प्रधानमन्त्री

गण्डकी, ३ चैतः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदका स्मृतिमा स्थापना भएका विद्यालयलाई सरकारले अनुदान बढाउने बताउनुभएको छ ।

कास्कीको पोखरा महानगरपालिका–१४ स्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको अवलोकनपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले आगामी आर्थिक वर्षदेखि अनुदान थप्ने प्रतिबद्धता जनाउनुभयो । “सहिद स्मृति प्रतिष्ठानको नेतृत्वमा सञ्चालित देशका पाँचवटै सहिद स्मृति विद्यालय सञ्चालन राज्यले नै गर्नेगरी नयाँ मोडलको खोजी भइरहेको छ”, प्रधानमन्त्रीले भन्नुभयो, “अनुदान दयही वर्षदेखि बढ्ने विश्वास तपाईंहरूलाई दिलाउन चाहन्छु ।

उहाँले सहिद स्मृति विद्यालयहरू नमूनाका रूपमा स्थापित भएकामा खÞुसी व्यक्त गर्नुभयो । सो अवसरमा प्रधानमन्त्रीले विद्यालयको अवस्थाबारे जानकारी लिनुभएको थियो । विभिन्न कार्यक्रममा सहभागी हुन आज पोखरा आउनुभएका उहाँ बाह्रखरी गल्फ प्रतियोगिताको समापन समारोहमा पनि सरिक हुनुभयो । उहाँले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

अन्तरराष्ट्रिय सगरमाथा दिवस कोशी प्रदेशले मनाउँछः मुख्यमन्त्री कार्की

काठमाडौँ, ३ चैत : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अन्तरराष्ट्रिय सगरमाथा दिवस कोशी प्रदेशले मनाउने बताउनुभएको छ । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले आज काठमाडौँमा आयोजना गरेको ‘अन्तरक्रिया कार्यक्रम’मा उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथा भएको प्रदेशले कोशीले अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाउने बताउनुभयो ।

“कोशी प्रदेशको पर्यटन क्षेत्रको विकास गर्न तथा भारतीय पर्यटकलाई जोड्नका लागि प्रदेशले काम गरिरहेको छ । दरभङ्गा, सिक्किम, पटनालगायत क्षेत्रका पर्यटकलाई कोशीमा भित्र्याउन हामी लागिरेहका छौँ,” मुख्यमन्त्री कार्कीले भन्नुभयो ।

उहाँले सरकार र व्यवसायी एक सिक्काका दुई पाटो भएकाले व्यवसायीको समस्यामा सहजीकरण गर्न प्रदेश सरकारले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । “व्यवसायीलाई संरक्षण गरेमात्र उनीहरुले तिरेको करबाट सरकार सञ्चालन हुन सक्छ”, उहाँले भन्नुभयो ।

कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले प्रदेशको पर्यटन विकासका लागि सरकारले काम गरिरहेको बताउनुभयो । “हामीले प्रदेशमा भएका पर्यटकीय सम्भावनाको खोजी गरिरहेका छौँ । यसको संरक्षण र प्रवद्र्धनमा प्रदेश सरकार योजनासहित काम गर्नेछ”, उहाँले भन्नुभयो ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का उपाध्यक्ष रोजिना प्रधान राईले सगरमाथा दिवसलाई विश्वभर चिनाउनका लागि एनआरएनएले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक मणिराज लामिछानेले अन्तरराष्ट्रियस्तरमा नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि बोर्डले काम गरिरहेको उल्लेख गर्नुभयो ।

टानका अध्यक्ष नीलहरि बास्तोलाले स्थानीय सरकारले जथाभावी मोटरबाटो खन्दा पदमार्गहरु मासिँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । विदेशी पर्यटकलाई सही सूचना दिनका लागि पदयात्रा सूचना प्रणाली (टिम्स) लाई कार्यान्वयन गर्न सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

टानका पूर्वअध्यक्ष दीपक महतले अन्तरराष्ट्रिय आरोहीलाई नेपालमा निमन्त्रणा गरेर सगरमाथा दिवस भव्य रुपमा मनाउनुपर्ने बताउनुभयो । कोशी प्रदेशमा भएको पर्यटकीय सम्भावनालाई अध्ययन गरेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।

टानका पूर्वअध्यक्ष ज्योति अधिकारीले सगरमाथा दिवस मनाउनु पर्छ भन्ने कुरा राज्यलाई बुझाउनका लागि १५ वर्ष लागेको बताउनुभयो । उहाँले नेपाललाई सस्तो गन्तव्य बनाउन नहुने उल्लेख गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका पूर्वउपाध्यक्ष चन्द्रप्रसाद रिजालले सरकारले बोलेको कुरालाई पूरा गर्न र नीतिगत सुधार गर्न सकेमात्र मुलुकको पर्यटन क्षेत्रको विकास हुने बताउनुभयो । नेपाल पर्वतारोहण सङ्घका पूर्वमहासचिव कुलबहादुर गुरुङले सरकारलाई पर्यटकले तिरेको कर आरोहीको हकहितको पक्षमा काम गर्न छुट्टै खाता बनाएर राख्नुपर्ने बताउनुभयो ।

टानका महासचिव विनोद सापकोटाले पर्यटन प्रवद्र्धन तथा पर्यटकीय क्षेत्रको संरक्षणका लागि टानले कोशी प्रदेशसँग सहकार्य गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो । मुलुकको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको विकासमा सरकारसँग टान हातेमालो गर्दै अगाडि बढ्ने उहाँको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका पूर्वसञ्चालक समितिका सदस्य राजेन्द्रप्रसाद सापकोटा, टानका पूर्वअध्यक्ष नवराज दाहाल, सगरमाथा आरोही सङ्घका महासचिव शिव सापकोटा, हिमालय उद्धार सङ्घका अध्यक्ष डम्बर पराजुली, नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)का अध्यक्ष शिव अधिकारी, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)का अध्यक्ष गोपाल थापालगायतले सगरमाथा दिवस मनाउनका लागि समिति बनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको थियो ।

जाजरकोट भूकम्पः रुकुमपश्चिममा ३० हजार अस्थायी आवास निर्माण

त्रिवेणी (रुकुम पश्चिम), ३ चैत : गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पु¥याएको रुकुमपश्चिममा अस्थायी आवास निर्माण भइरहेका छन् ।

भूकम्प गएको पाँच महिनामा भूकम्पपीडितको अस्थायी आवास निर्माणको काम अन्तिम चरण पुगेको छ । सो अवधिमा जिल्लाभर २९ हजार सात सय ६४ अस्थायी आवास निर्माण सम्पन्न भएका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभर दुई हजार एक सय ९२ अस्थायी आवास निर्माणको चरणमा रहेका छन् ।

जिल्लामा हालसम्म सबैभन्दा बढी आठबीसकोट नगरपालिकामा नौ हजार ८३ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा नौ सय ६६ अस्थायी आवास निर्माण भएका सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी दिनुभयो ।

चौरजहारी नगरपालिकामा छ हजार छ सय ६८, सानीभेरी गाउँपालिकामा पाँच हजार सात सय २१, त्रिवेणीमा चार हजार तीन सय ३३ र बाँफीकोट गाउँपालिकामा लाभग्राही पहिचान भएका सबै दुई हजार नौ सय ९३ अस्थायी आवास निर्माण सम्पन्न भएको सहायक प्रजिअ बढुवालले जानकारी दिनुभयो ।

हालसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट ३१ हजार तीन सय लाभग्राहीका लागि स्थानीय विपद् न्यूनीकरण कोषमा रु २५ हजारका दरले रु ७८ करोड २५ लाख रकम पठाइएको छ ।

स्थानीय विपद् कोषबाट भने ३० हजार आठ सय ४१ लाभग्राहीले रु २५ हजारका दरले रु ७७ करोड १० लाख २५ हजार रकम प्राप्त गरेका छन् । अब जिल्लामा पहिचान भएका तीन सय ५९ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाको कर्जा उत्पादनमूलक क्षेत्रमा प्रवाह हुनुपर्नेमा जोड

काठमाडौँ, ३ चैत: नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)कै हाराहारीमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह हुँदासमेत आर्थिक वृद्धिमा त्यसको उल्लेख्य योगदान देखिन नसकेको धारणा यस क्षेत्रका जानकारहरूले राख्नुभएको छ ।

आज यहाँ आयोजना भएको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’ का वक्ताहरूले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा उत्पादनमूलक क्षेत्रमा जानुपर्ने र अर्थतन्त्रको वृद्धिमा योगदान पुर्याउनुपर्ने धारणा राख्नुभएको हो ।

राजस्व सचिव डा रामप्रसाद घिमिरेले उत्पादन तथा उत्पादकत्व बढाउनुपर्ने र रोजगारी सिर्जना गर्नुपर्ने मुख्य दुईवटा चुनौती मुलुकले भोगिरहेको बताउनुभयो । पुँजी निर्माणमा हुने खर्च घटेका कारण लक्ष्यअनुसार आर्थिक विकास हुन नसकेको उहाँको भनाइ छ । बैंक तथा वित्तीय संस्थाले उत्पादन र रोजगारी बढाउने गरी कर्जा विस्तार गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

मुलुकको कुल गार्हस्थ्य उत्पादनको तुलनामा राजस्व सङ्कलन सन्तोषजनक रहे पनि नेपालको विकास आवश्यकता धेरै भएका कारण बढी स्रोत आवश्यक पर्ने सचिव घिमिरेले बताउनुभयो । आर्थिक गतिविधि चलायमान भएमात्र राजस्व बढ्ने पनि उहाँको भनाइ छ ।

व्यापारमा आधारित अर्थतन्त्रलाई उत्पादनमा आधारित अर्थतन्त्रका रूपमा विकास गर्दै लैजानुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो । नेपालको आन्तरिक उत्पादन बढ्ने र प्रतिस्पर्धी हुने गरी सरकारले निजी क्षेत्रलाई विश्वासको वातावरण बनाइदिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा प्रकाशकुमार श्रेष्ठले मुलुक सङ्घीय संरचनामा गइसकेपछि सरकारी वित्त बुझ्न थप कठिन भएको बताउनुभयो । अहिले सरकारी कोषमा ठूलो रकम थुप्रिएको र यसले बजार मागमा सङ्कुचन ल्याउन भूमिका खेलेको उहाँको भनाइ छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाप्रति नकारात्मकता बढ्दै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । सहकारी क्षेत्रमा समस्या देखिँदा त्यसको असर बैंक तथा वित्तीय संस्थामा परेको पनि निर्देशक श्रेष्ठले बताउनुभयो । विदेशी वस्तु प्रयोग गर्दा गर्व गर्ने संस्कृति विकास हुँदै गएकामा अब विस्तारै स्वदेशी वस्तु प्रवर्द्धन र प्रयोगलाई बढावा दिनुपर्ने बताउनुभयो ।

हाल तरलताको अवस्था सकारात्मक रहेको, विदेशी मुद्राको सञ्चिति राम्रो रहेको, ब्याजदर न्यून रहेकोलगायतका सकारात्मक अवस्था हुँदाहुँदै पनि निजी क्षेत्र आशावादी हुन नसकेको धारणा उहाँले राख्नुभयो । आन्तरिक मागमा कमी आएको, श्रमको अभाव भएको, उत्पादनशीलता बढ्न नसकेकोलगायत कारण अर्थतन्त्रमा आशातित गतिशीलता आउन नसकेको श्रेष्ठले बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले नेपालको कृषि, पर्यटन, जडीबुटी, जलविद्युत्लगायतका क्षेत्रमा लगानी बढाइनुपर्ने बताउनुभयो । मूल्य अभिवृद्धि हुने वस्तु तथा सेवामा लगानी गर्दा त्यसले रोजगारी सँगै अर्थतन्त्र विकासमा पनि मद्दत पुग्ने राणाले बताउनुभयो । सरकारको नीति निजी क्षेत्रमैत्री हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

आगामी आर्थिक वर्षको बजेटमार्फत कुन क्षेत्रमा कस्ता योजना ल्याउने भनेर सरकारले निजी क्षेत्रसँग पर्याप्त छलफल गरिनुपर्ने धारणा राणाको छ । बैंकिङ क्षेत्रमा पर्याप्त स्रोत हुँदाहुँदै पनि कर्जा लगानी हुन नसक्नुका कारण पत्ता लगाउन पहल गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

पूर्वबैंकर परशुराम कुँवरले बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा बढ्दा व्यावसायिक हुन सघाएको बताउनुभयो । ग्राहकलाई सेवाको गुणस्तर बढाउनेबारे थप सोच्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । बैंकिङ क्षेत्रका चुनौती कसरी समाधान गर्ने भनेर स्वदेश र विदेशका असल अभ्यासलाई अवलम्बन गर्नुपर्ने कुँवरको भनाइ छ । बैंकिङ क्षेत्रमा सूचना प्रविधिको प्रयोग र नवप्रवर्तनको क्षेत्रमा लगानी विस्तारलाई प्राथमिकताका साथ हेरिनुपर्ने उहाँको भनाइ छ ।

वित्तीय क्षेत्रसँग सम्बन्धित सूचना प्रविधि (फिनटेक) विज्ञ सञ्जीव सुब्बा बैंकिङ क्षेत्रमा साइबर सुरक्षा चुनौती बढ्दै गएको बताउनुभयो । बैंक वित्तीय संस्थाले साइबर सुरक्षाका क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको उहाँको भनाइ छ । त्यस्तै प्रविधि बुझेका कर्मचारीको सङ्ख्या बैंकिङ क्षेत्रमा निकै कम रहेको पनि उहाँले बताउनुभयो । अन्तरदेशीय कारोबार सुरु भइसकेपछि बैंक तथा वित्तीय संस्थामा साइबर चुनौती थप बढेको पनि सुब्बाको भनाइ छ । सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगका लागि पूर्वाधार तयार पारिनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।

हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ क्षेत्रमा देखिएका समस्या तथा चुनौतीका बारेमा अर्थविद्, बैंकिङविज्ञ तथा उद्यमीका बीचमा छलफल गरी त्यस्ता समस्या र चुनौतीलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ विकासका लागि दिशानिर्देश गर्न यो सम्मेलन आयोजना गरेको आयोजक राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ ।

सिमकोटमा दैनिक ११ घण्टा विद्युत् भार कटौतीले एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा

सिमकोट (हुम्ला), ३ चैत : हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक दिन ११ घण्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा एसइईको तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन् । एसइईको परीक्षा नजिकिँदै गएको अवस्थामा विद्युत् भार कटौतीले उनीहरु मारमा परेका हुन् । विद्यार्थीले साँझको समयमा पढ्न नपाएको गुनासो गरेका छन् ।

एसइई दिने विद्यार्थीलाई मात्रै नभएर अन्यलाई पनि घरमा गृहकार्य तथा लेख पढ गर्न समस्या भएको छ । यही चैत १५ गतेदेखि एसइईको परीक्षा सुरु हुँदैछ । विद्यार्थीलाई रातिको समयमा पढ्न समस्या भएको छ । ट्युसनको भरमा एसइईको तयारी गरिरहेका विद्यार्थी दैनिक ११ घण्टा विद्युत् भार कटौतीबाट निरास छन् । “दैनिक ११ घण्टा विद्युत् भार कटौती हुन्छ, पढ्नै नपाएपछि कसरी पास हुनु ?”, खार्पुनाथ गाउँपालिका–३ स्थित हुम्ला मावि रायाका विद्यार्थी रेलबहादुर बुढाले गुनासो गर्नुभयो ।

गाउँबाट सदरमुकाम आएर एसइईको तयारी गरिरहेको भए पनि रातिको समयमा पढाइमा बाधा पुगेको उहाँको भनाइ छ । दैनिक ११ घण्टा विद्युत् भार कटौतीले विद्यार्थी मात्र होइन अन्यलाई पनि सास्ती भएको छ । जिल्लाका सरकारी कार्यालयको प्रशासनिक काम तथा सदरमुकामस्थित व्यापार–व्यवसाय पनि प्रभावित बनेको छ । कुन समय कतिबेला र कति पटक विद्युत् भार कटौती हुन्छ भन्ने समय तालिका नभएका कारण पनि सेवाग्राही बढी समस्यामा छन् ।

विद्युत् भार कटौतीपछि सिमकोटमा दाउराको माग बढेको छ । एक भारी दाउराको सिमकोटमा रु एक हजार तिर्नुपर्ने अवस्था छ । नेपाल विद्युत् प्राधिकरण हुम्लाका निमित्त प्रमुख सुशील थारुले प्राधिकरणले ‘लोडसेडिङ’को तालिका नबनाएको स्विकार्नुभयो । तालिका बनाउँदा सेवाग्राहीलाई थप असर पर्ने उहाँको भनाइ छ । हिल्दूस्थित साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत घटबढ भइरहने भएकाले विद्युत् उत्पादन पनि कहिले कम कहिले बढी भइरहने कारणले विद्युत् भार कटौतीको तालिका बनाउन समस्या भएको निमित्त प्रमुख थारुले बताउनुभयो ।

शक्ति र पहुँचका आधारमा नभई आवश्यकता हेरेर बजेट छुट्याइनुपर्छ : सांसद शाह

काठमाडौँ । संसदमा  विधायिकी भूमिका कमजोर भएको भनेर पछिल्लो समय आलोचना भइरहेको छ । यसमा एक हदसम्म सत्यता छ । कानुन निर्माणमा हामी ढिला भइरहेका छौँ । सङ्घीयता कार्यान्वयनसँग जोडिएका थुप्रै सङ्घीय कानुन निर्माणमा विलम्ब भएकै हो । संसदमा  आएका विधेयकमाथि पर्याप्त छलफल हुन सकेका छैनन् ।

संसदीय समितिले पनि कार्यतालिका मिलाउन नसक्दा विधेयकमाथि सुझाव दिने प्रक्रिया सुस्त छ । तर पछिल्लो सयम संसद र विषयगत समितिलाई पर्याप्त समय छुट्याउने गरी कार्यतालिका बनाइएको छ । समितिमा पनि समय दिन सकियोस् र संसदमा पनि समय दिन सकियोस् भनेर कार्यतालिका आएको हो । अबका दिनमा कानुन निर्माणका काम द्रुत गतिमा अघि बढ्छन् भन्नेमा म आशावादी छु ।

संसदमा प्रतिपक्षले अवरोध मात्रै गर्ने परिपाटी र सरकारले बिजनेस दिन नसकेका कारण पनि कानुन निर्माणमा विलम्ब भएको भनेर आलोचना हुने गरेको छ । केही समयअघि नेपाली कांग्रेस सरकारमा थियो, तर अहिले प्रमुख प्रतिपक्ष भएको छ । प्रतिपक्षले रचनात्मक ढङ्गले आफ्नो भूमिका निर्वाह गर्छ । सरकारले पनि सिर्जनात्मक काम गर्नुपर्यो । विरोधकै लागि विरोध गर्ने पक्षमा नेपाली कांग्रेस छैन ।

सरकारले गरेका राम्रा काममा हामी समर्थन जनाउँदै गल्ती कमजोरी गरेका विषयमा सशक्त प्रतिपक्षका रुपमा आफ्नो भूमिका निर्वाह गर्नेछौँ ।  कांग्रेसले सदन अवरुद्ध गर्ने र संसदलाई काम गर्न नदिने भन्ने कहिल्यै चाहँदैन । तर प्रतिपक्षले उठाएका विषय सरकारले पनि सुनुवाइ गर्नुपर्यो । एकपक्षीय रुपमा काम गर्ने, संसदमा उठेका विषयको जवाफ नदिएर टार्ने, सरकार संसदप्रति जवाफदेही नभएको अवस्थामा कांग्रेसले खबरदारी गर्छ । सरकारले गरेका राम्रा कामको समर्थन रहन्छ ।

सरकारले राम्रो कामको थालनी गरोस् । विभिन्न आर्थिक अनियमितता, अधिकारको दुरुपयोग, स्वार्थको टकराव हुने गरी मन्त्री नियुक्तिलगायत विषय संसदमा  उठिरहेका छन् । यी विषयलाई सरकारले गम्भीरताका साथ लिएर कारबाही प्रक्रिया अगाडि बढाउँछ भने त्यसमा प्रतिपक्षको पूर्ण साथ र सहयोग रहन्छ । प्रतिपक्षमा बस्दै गर्दा कांग्रेसले रचनात्मक ढङ्गले नागरिकको पक्षमा हुने गरी आवाज बुलन्द गर्छौं ।

संसद कानुन निर्माणसँगै नागरिकका गुनासो तथा आकाङ्क्षा उठाउने थलो पनि हो । जनप्रतिनिधिले संसदमा नागरिकका समस्या उठाउने र त्यसलाई सम्बोधन गर्नका लागि संसद्मार्फत सरकार मातहतका निकायको ध्यानाकर्षण गराउने हो । संसदमा उठेका विषयलाई सरकारका तर्फबाट पर्याप्तरुपमा सम्बोधन भएन र सरकार संसद््प्रति जवाफदेही हुन सकेन भनेर सत्तापक्षकै सांसदले पनि पटक पटक भनिरहेका छन् । कांग्रेस सरकारमा हुँदा पनि हामीले यी विषय उठाइरहेकै थियौं । अहिले पनि उठाइरहेका छौँ । आकस्मिक समय, शून्य समय, विशेष समयमा संसदमा उठेका विषयबारे पटक–पटक ध्यानाकर्षण गराएका छौँ ।

शून्य समय सुन्नका लागि होइन, कार्यान्वयनका लागि र सरकारको तर्फबाट जवाफदेहिताका लागि पनि हो भनेर हामीले संसद््मा आवाज उठाइरहेका छौँ । सांसदले आफ्नो निर्वाचन क्षेत्रमा देखिएका समस्या, त्यहाँका नागरिकका आकांक्षा, कानुन निर्माणसँग जोडिएका विषय, समसामयिक विषयलगायत संसदमा उठाउनुहुन्छ । तर सरकार पक्षबाट त्यसको जवाफ नआउने तितो सत्य हामीले भोगिरहेका छौँ । संसदमा उठेका कुरामा सम्बन्धित मन्त्रालयको मन्त्रीले सरकारको तर्फबाट जवाफ दिनुपर्छ । कांग्रेसले उठाएको विषय पनि यहि हो ।

सरकारबाट जवाफ माग्ने भनेर सभामुखबाट रुलिङ भइसकेपछि संसद सचिवालयले पनि त्यसको निरन्तर फलोअप गर्नुपर्छ । आगामी दिनमा संसदमा उठेका विषयलाई सरकारले गम्भीरताका साथ लिँदै आफ्नो जिम्मेवारी पूरा गर्नेछ भन्नेमा आशावादी छु । हामी संसदमा बोल्ने तर त्यसको जवाफ नै नआउने र कुनै पक्षबाट सुनुवाइ नै नहुने हो भने संसद्को गरिमा पनि रहँदैन र बोलेको औचित्य हुँदैन ।

अहिले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल चलिरहेको छ । बजेट विनियोजन गर्दा शक्ति र पहुँचका आधारमा गरियो भनेर आलोचना हुने गरेको छ । यो विषय संसद्मा पनि उठेको छ । निवर्तमान अर्थमन्त्री डा प्रकासशरण महतले पेस गरेको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि संसद्मा छलफल गर्दा बजेट कुशलताको विषय पनि त्यहाँ आउला । नीति निर्माण र कानुन बनाउन लाग्नुपर्ने सांसद विभिन्न योजना कार्यक्रमका फाइल बोकेर मन्त्रालय र विभाग धाउने अवस्था अन्त्य होस् भनेर हामीले पटक पटक भनेका छौँ ।

निर्वाचनका क्रममा मत माग्न जाँदा सबै राजनीतिक दल र उम्मेदवारले आफ्नो घोषणापत्र लगेर नागरिकसामु वचनबद्धता गरेका हुन्छन् । आफ्नो निर्वाचन क्षेत्रको आवश्यकता के हो भनेर त्यहाँको प्रतिनिधिलाई थाहा हुन्छ । तर केन्द्र सरकारले बजेट बाँड्दा ती विषयलाई गम्भीरताका साथ नलिएपछि सांसदले फाइल बोकेर विभिन्न निकायमा धाउनुपर्ने अवस्था देखिएको हो । बजेट विनियोजन पारदर्शी र समतामूलक हुने हो भने सबैको निर्वाचन क्षेत्रको आवश्यकता पहिचानसहित बजेट जान्छ । आगामी आर्थिक वर्षको बजेट कस्तो हुने भन्ने विषयमा पनि हामी संसद्मा कुरा उठाउँछौँ । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दा नै अहिले हामीले भोग्नु परेको यावत् समस्या समाधानका लागि कसरी पहल गर्न सकिन्छ भनेर हामी लाग्नुपर्छ ।

कुनै जिल्ला वा निर्वाचन क्षेत्रका नागरिकले  के विकास खोजिरहेका छन् भन्ने कुरा त्यहाँको जनप्रतिनिधिका हैसियतले सांसदलाई थाहा हुन्छ । यसअर्थमा पनि सांसदहरु नीति तथा कार्यक्रम, योजना तथा बजेट निर्माणसँग प्रत्यक्षरुपमा जोडिनुपरेको हो । नागरिकका आकाङ्क्षाअनुसारको विकास आवश्यकता पूर्ति गर्न सकियोस् भन्ने उद्देश्यले चालु आवको बजेटमा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम राखिएको थियो । जसमा प्रत्येक सांसदले रु पाँच करोड बराबरको योजना कार्यान्वनयका लागि पाउने भनिएको थियो । तर यो कार्यान्वयन हुन सकेन । त्यसमा पारदर्शिताको प्रश्न पनि उठाइयो ।

हामीले बुझ्नुपर्ने कुरा के हो भने सांसदलाई आफूखुसी खर्च गर्नका लागि त्यो रकम दिइएको होइन । हामीलाई रकम आवश्यक पनि छैन । तर आफ्नो निर्वाचन क्षेत्रका पूर्वाधार आवश्यकता पूर्ति गर्नका लागि योजना सिफारिस गर्ने र त्यसको कार्यान्वयनको प्रत्याभूति सरकारले गर्न सक्नुपर्छ । हामीलाई पाँच करोड रकमसँग सरोकार होइन, आफ्नो निर्वाचन क्षेत्रका लागि मतदातासँग गरेको वचनबद्धता र त्यहाँको आवश्यकता पहिचान गरेर त्यसलाई पूर्ति गर्नका लागि सरकारले सहजीकरण गरिदिए पुग्छ ।

चुनाव लढ्दै गर्दा हामीले विकास निर्माणको विषयमा बोलेका हुन्छौँ, यो त्यो काम गर्ने भनेर बचन दिएका हुन्छौँ । त्यसकारण योजना छनौट र सिफारिस गर्दा जनप्रतिनिधिबाटै जाने र त्यसको कार्यान्वयनको प्रत्याभूति सरकारबाट हुने स्थिति बनाइनुपर्छ । शक्ति र पहुँचका आधारमा आयोजना बाँड्ने परिपाटीको अन्त्य हुनैपर्छ । त्यसो हुन सकेन भने समतामूलक रुपमा बजेट विनियोजन हुँदैन र नागरिकका सबै आकांक्षा पूरा हुन पनि सक्दैनन् । विकासमा विभेदको स्थिति आउन हुँदैन ।

हामीले निर्वाचनका क्रममा नागरिकसमक्ष गरेका प्रतिबद्धताअनुसारको नतिजा दिन सकेका छैनौं । गतवर्ष मङ्सिर ४ गतेको प्रतिनिधिसभा निर्वाचन पछिको अवधिको समीक्षा गर्दा हाम्रो उपलब्धि सन्तोषजनक छैन । निर्वाचनमा जाँदै गर्दा हामीले जनताका आधारभूत आवश्यकता परिपूर्तिका लागि र भौतिक पूर्वाधार विकासका लागि जे कुरा बोलेका थियौँ, त्यसको पूर्ति गर्नसकेनौँ । यो स्वीकार्नै पर्छ । गतवर्षको बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारलगायतका अत्यावश्यक र नागरिकको मौलिक हक कार्यान्वयनसँग जोडिएका योजनामा पनि निकै कम बजेट विनियोजन भयो । कतिमा बजेट नै परेन । स्रोतको सुनिश्चितता बिना बजेट विनियोजन नहुने भएपछि धेरैवटा योजनामा रकम गएन ।

मेरो निर्वाचन क्षेत्र अछाम जिल्ला अहिले पनि विकास निर्माणका हिसाबले पछाडि छ । त्यहाँका विकास निर्माणका कामलाई कसरी अघि बढाउने र जनताका आवश्यकता पूरा गर्ने भनेर सधैँ लागिपरेको छु । जनतालाई जे वाचा गरेर आएको थिएँ, त्यसैअनुरुप काम गर्नेछु । यद्यपि, सोचेअनुरुप काम गर्न नसकेको स्वीकार्नै पर्छ । तर जनताको पक्षमा आवाज उठाउने र विकास आवश्यकता पूर्ति गर्नका लागि निरन्तर सङ्घीय सरकारलाई घच्घचाउने काम मैले गर्दैआएको छु ।

(सांसद पुष्पबहादुर शाहसँग हेमन्त जोशीले गरेको कुराकानीको सम्पादित अंश)