`

कैलालीमा ‘एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन कार्यक्रम’अन्तर्गत ३३ उद्योग छनोट

गोदावरी (कैलाली), ३ चैत : कैलालीमा ‘एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन सहयोग कार्यक्रम’अन्तर्गत ३३ उद्योग छनोट गरिएका छन् । घरेलु तथा साना उद्योग कार्यालयले जिल्लाका १० निर्वाचन क्षेत्रबाट ती उद्योगलाई अनुदानका लागि छनोट गरिएको हो ।

प्रदेशसभामा १० निर्वाचन क्षेत्र रहेको कैलालीमा ३० उद्योग छनोट गरिनुपर्ने भए पनि एक निर्वाचन क्षेत्रबाट तीनवटा गरी ३३ वटा उद्योगलाई अनुदानका लागि छनोट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका लेखा अधिकृत टिकेन्द्रप्रसाद जोशीले बताउनुभयो । लामो समयदेखि सञ्चालनमा रहेका उद्योगको स्तरोन्नति गर्न एक निर्वाचन क्षेत्र एक उद्योग प्रवद्र्धन सहयोग कार्यक्रम कार्यान्वयनमा ल्याइएको उहाँको भनाइ छ ।

सुदूरपश्चिम प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको एक निर्वाचन क्षेत्र एक उद्योग प्रवद्र्धन सहयोग कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ । घरेलु कार्यालयमा दर्ता भएर सञ्चालनमा रहेका सबै प्रकृतिका उद्योगको स्तरोन्नतिका लागि अनुदानस्वरुप रकम उपलब्ध गराइने लेखा अधिकृत जोशीले जानकारी दिनुभयो । उहाँले छनोट गरिएका प्रति उद्योगलाई रु तीन लाखदेखि रु पाँच लाखसम्म अनुदान उपलब्ध गराइने बताउनुभयो ।

छनोट भएका उद्योगका सञ्चालकले उद्योगलाई आवश्यक पर्ने औद्योगिक उपकरण, मेसिनरी सामानलगायतका सामग्री खरिद गरेको बिल कार्यालयलाई उपलब्ध गराउनुपर्ने प्रावधान छ । खरिद गरेको बिलका आधारमा रकम भुक्तानी गरिनेछ ।

लेखा अधिकृत जोशीले दिएको जानकारीअनुसार उद्योगीको २० र प्रदेश सरकारको ८० प्रतिशत लागत साझेदारीमा अनुदान दिइनेछ । अनुदानका लागि छनोट गरिएका उद्योगका सञ्चालकसँग सम्झौता गर्ने काम सम्पन्न भई कार्यान्वनको चरणमा छ । कार्यालयका अनुसार डेरी, फर्निचर, मौरीपालन, कृषिजन्यलगायत स्थानीय कच्चा पदार्थमा आधरित उद्योग अनुदानका लागि छनोट गरिएकन छन् ।

उद्योग स्थापना भएदेखि हालसम्म सरकारी निकायबाट सो कार्यक्रमका लागि औद्योगिक उपकरण तथा मेसिनरी सामानमा पछिल्लो तीन वर्षयता सहयोग तथा सहायता नलिएको हुनुपर्ने प्रावधान छ । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षमा कार्यान्वयनमा ल्याएको सो कार्यक्रम नयाँ हो । उक्त कार्यक्रम प्रदेशका नौवटै जिल्लामा घरेलु तथा साना उद्योग कार्यालयमार्फत सञ्चालन भइरहेका छन् ।

महेन्द्रनगरमा संस्कृति झल्किने चित्रकलाले बजार क्षेत्र सौन्दर्यकरण गरियो

महेन्द्रनगर (कञ्चनपुर), ३ चैत : कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रलाई सौन्दर्यकरण गर्न थालिएको छ ।भीमदत्त नगरपालिकाको सहयोग एवं पहलमा यहाँ नेपाल कमर्सियल आर्टिस्ट सङ्घले बजार क्षेत्रलाई कला संस्कृति झल्किने चित्रकलासहित सौन्दर्यकरण गरिएको छ । सङ्घमा आबद्ध दक्ष कलाकारले महेन्द्रनगर सौन्दर्यकरण गर्न श्रमदान गरेका छन् ।

हरेक वर्ष अरनिको दिवसको अवसरमा सामाजिक कार्य गर्दै आएको आर्टिस्ट सङ्घले नयाँ काम गर्ने उद्देश्यले भीमदत्त नगरपालिकाको सहयोगमा बजार सौन्दर्यकरण गरेको जनाएको छ । सङ्घले नगरपालिकालाई पेन्टिङ गर्न रङको व्यवस्थापनका लागि अनुरोध गरेको र सोहीबमोजिम नगरपालिको सामग्री उपलब्ध गराएपछि श्रमदानमा पेन्टिङ गर्न लागीएको नेपाल कमर्सियल आर्टिस्ट सङ्घ कञ्चनपुरका अध्यक्ष दिनेश विकले बताउनुभयो ।

सङ्घले कला संस्कृतिको जगेर्ना गर्नु सबैको कर्तव्य हो भन्ने उद्देश्यले भीमदत्त नगरपालिकासँगको सहकार्यमा ट्राफिक चोकदेखि दशरथ चोकसम्मका भित्तामा सुदूरपश्चिमका कला र संस्कृति झल्किने चित्रकला कोरेर नगरलाई सौन्दर्यकरण गरिरहेको उहाँले बताउनुभयो ।

त्यसैगरी भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीले भीमदत्त नगरपालिकाले बजार क्षेत्रलाई कला संस्कृति झल्किने चित्रकलासहित सौन्दर्यकरणका लागि पहल गरिएको बताउनुभयो । “भीमदत्त नगरपालिकाको बजार क्षेत्रलाई कला संस्कृति झल्किने चित्रकला बनाएर सौन्दर्यकरण गर्न बजेट विनियोजन गर्छौं”, उहाँले भन्नुभयो, “बजारका अन्य क्षेत्रमा पनि सौन्दर्यकरण गर्न पालिकाले टोली गठन गरेर अघि बढ्छ ।” आर्टिस्ट सङ्घ कञ्चनपुरले २२ कलाकारलाई परिचालन गरेको थियो ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – शनिबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित-आंशिक प्रभाव रहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

लोकसभा निर्वाचन, २०२४ : निर्वाचन आयोगले आज निर्वाचनको मिति घोषणा गर्ने

भारतको निर्वाचन आयोगले आज लोकसभा निर्वाचन, २०२४ को मिति घोषणा गर्ने भएको आयोगका प्रवक्ताले बताउनुभएको छ । आयोगले केही राज्यको विधानसभाको निर्वाचनको मिति पनि घोषणा गर्न लागेको छ ।

शनिबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी निर्वाचन मिति घोषणा गर्ने तयारी रहेको छ । “निर्वाचन आयोगले भोलि दिउँसो शनिबार, मार्च १६ मा पत्रकार सम्मेलन गरी आम निर्वाचन, २०२४ र केही विधानसभाको निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने भएको छ । पत्रकार सम्मेलनलाई निर्वाचन आयोगको सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ”, निर्वाचन आयोगका प्रवक्ताले भन्नुभयो ।

सन् २०१९ को लोकसभा निर्वाचन अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा भएको थियो । यसअघि बुधबार प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले भन्नुभयो, “निर्वाचन आयोगले सुरक्षा स्थितिबारे समीक्षा गरेर जम्मु र कास्मिरमा लोकसभा र विधानसभाको निर्वाचन एकसाथ वा बेग्लाबेग्लै गर्ने निर्णय गर्नेछ ।” भारतको निर्वाचन आयोगले एकैपटक विधानसभा र लोकसभाको चुनाव गराउने विचार गरेसँगै जम्मु र कास्मिरको निर्वाचनको लामो प्रतीक्षा अन्त्य भएको देखिन्छ ।

राजनीतिक दलहरूले आम निर्वाचनका लागि आफ्ना उम्मेदवारहरू घोषणा सुरु गरिसकेका छन् । भारतीय जनता पार्टी (बिजेपी) ले अहिलेसम्म उम्मेदवारको दुई वटा सूची सार्वजनिक गरेको छ भने कांग्रेसले पनि आफ्ना उम्मेदवारको दुईवटा सूची सार्वजनिक गरिसकेको छ ।

यसैबीच निर्वाचन आयोगले मार्च १४ मा एसबिआई (स्टेट बैंक अफ इन्डिया) बाट प्राप्त गरेअनुसार आफ्नो वेबसाइटमा चुनावी बन्डहरूको डाटा अपलोड गरेको थियो । डाटाअनुसार फ्युचर गेमिङ एण्ड होटल सर्भिस र मेघा इन्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर लिमिटेड राजनीतिक दलहरूका लागि शीर्ष दातामध्येका एक थिए ।

आर्थिक ऐन, २०१७ र आर्थिक ऐन, २०१६ मार्फत विभिन्न ऐनमा गरिएका संशोधनहरूले राजनीतिक दलहरूको असीमित र अनियन्त्रित कोषका ढोका खोलिदिएको भन्दै भन्दै सर्वोच्च अदालतमा विभिन्न मुद्दा दायर गरिएको थियो ।

चीनको अन्तरिक्ष स्टेसनद्वारा प्रारम्भिक परीक्षण पूरा

चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा प्रारम्भिकरूपमा अतिरिक्त वाहन जोखिम परीक्षण पूरा गरेको छ । प्रयोगात्मक उपकरण र भौतिक नमूनाहरूको पहिलो ब्याचका साथ परिक्रमा गर्ने अन्तरिक्ष यानलाई सुरक्षितरूपमा पुनः प्राप्त गर्दै परीक्षण पूरा गरेको चिनियाँ विज्ञान एकेडेमीको राष्ट्रिय अन्तरिक्ष विज्ञान केन्द्रले शुक्रबार जानकारी दिएको छ ।

पृथ्वीमा रहेका वैज्ञानिकहरू र जहाजमा रहेको रोबोटिकको सहयोगमा प्रयोगात्मक उपकरण र नमूनाहरू अन्तरिक्ष स्टेसनको बाहिरी भागबाट स्टेसनको एयरलक मोड्युलमा राति नौ बजेर सारिएको थियो । परिक्रमा गर्ने टेकोनट दललाई पछि प्रयोगशाला मोड्युलमा सारियो । त्यहाँ उनीहरूले नमूनालाई अलग गरेर सङ्गृहीत गरे । केन्द्रले ती नमूनालाई सेनझोउ अन्तरिक्ष यानबाट पृथ्वीमा ल्याउने र थप अनुसन्धानका लागि वैज्ञानिकहरूलाई दिइने जनाएको छ ।

अतिरिक्त वाहन एक्स्पोजर प्रयोगात्मक उपकरण सन् २०२३ मार्च ८ मा प्रक्षेपण गरिएको थियो र एक वर्षदेखि यो कक्षमा रहेको छ । स्थापना गरिएको चार सयभन्दा बढी सामग्री नमूनाको पहिलो ब्याचलाई गैर–धातु र धातु सामग्रीमा विभाजन गरिएको थियो । केन्द्रका अनुसार सन् २०२४ मेमा परिक्रमा गर्ने टेकोनटले प्रयोगात्मक उपकरणहरूमा नमूनाको नयाँ ब्याच स्थापना गर्ने र अन्तरिक्ष एक्स्पोजर परीक्षणको नयाँ चरण सुरु गर्नेछ ।

रुसलाई ब्यालेस्टिक मिसाइल पठाए इरानमाथि नयाँ प्रतिबन्ध लगाउने जि७ को चेतावनी

जी७ मुलुकहरूले युक्रेनमा प्रयोग गर्न तेहरानले रुसलाई ब्यालेस्टिक मिसाइल हस्तान्तरण गरे इरानमाथि ‘महत्त्वपूर्ण’ प्रतिबन्ध लगाउने शुक्रबार चेतावनी दिएका छन् । समूहमा अमेरिका, जापान, जर्मनी, फ्रान्स, बेलायत, इटाली र क्यानाडा रहेका छन् ।

“युक्रेनविरुद्ध रुसलाई गैरकानूनी र अनुचित आक्रामक युद्ध सामग्री सहयोग प्रदान गर्न तुरुन्त बन्द गर्न वा गम्भीर मूल्य चुकाउन तेस्रो पक्षहरूलाई हाम्रो आह्वान दोहोर्याउँछौँ”, समूहले एक विज्ञप्तिमा भनेको छ, “रुसलाई ब्यालेस्टिक मिसाइल वा सम्बन्धित प्रविधि प्रदान गर्न इरान अगाडि बढेको खण्डमा हामी इरानविरुद्ध नयाँ र महत्त्वपूर्ण उपायसहित द्रुत र समन्वितरूपमा जवाफ दिन तयार छौँ ।”

अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले पत्रकारहरूसँग इरानले रुसलाई ब्यालेस्टिक मिसाइल बिक्री गर्ने निर्णय गरे त्यसको मूल्य लाभभन्दा अत्यधिक हुने बताउनुभयो । “हस्तान्तरण भएको छैन तर हस्तान्तरण हुनसक्ने वास्तविक खतरा छ”, उहाँले भन्नुभयो ।

मस्कोको सेनाले मुलुकमा पूर्णस्तरको आक्रमणको दोस्रो वार्षिकोत्सव मनाएका बेला जि७ ले जारी गरेको एक विज्ञप्तिमा युक्रेनमा रुसको युद्धका लागि चीन र इरानको समर्थनको निन्दा गरेको थियो । समूहले इरानसँग रुसी सेनालाई सहयोग बन्द गर्न आह्वान गर्दै चिनियाँ व्यवसायहरूले हतियारका घटक र सैन्य उपकरणहरू मस्कोमा हस्तान्तरण गरेकामा चिन्ता व्यक्त गरेको छ ।

किएभलाई सैन्य सहयोगका लागि अमेरिकी कांग्रेसमा थप रकम रोकिएपछि युक्रेनी सेनाले हतियार अभावको सामना गर्नुपरेको छ । मस्कोले युक्रेनमा प्रयोग गर्नका लागि हतियार प्राप्त गर्न तेहरानका साथै प्योङयाङतिर पनि दृष्टि दिएको छ । रुसले समेत आफ्नो घरेलु हतियारको उत्पादनलाई व्यापकरूपमा बढाएको छ ।

बुढासुब्बा गोल्डकप : एनआरटी र मोरङ फुटबलबीच फाइनल हुँदै

धरान – धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा उपाधिका लागि शनिबार न्यूरोड टिम एनआरटी र मोरङ फुटबल एशोसिएसनबीच प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै एकपटक उपाधि पाइसकेको एनआरटी दोस्रोपटक उपाधि नजिक पुगेको छ भने मोरङ फुटबल एशोसिएसन पहिलोपटक फाइनल पुगेको हो । एनआरटी बुढासुब्बा गोल्डकपको १०औँ संस्करणको विजेता बनिसकेको आयोजकले जनाएको छ ।

विभागीय त्रिभुवन आर्मी र गत वर्षको उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित गर्दै फाइनलमा पुगेको एनआरटी दोस्रोपटक उपाधि जित्ने दाउमा छ । यो सिजनमा चारवटा प्रतियोगितामा फाइनल खेलको अनुभवलाई एनआरटीले मोरङसँग प्रतिस्पर्धा गर्ने टिम म्यानेजर राकेश लामाले जानकारी दिनुभयो ।

यता चारपटकको विजेता नेपाल पुलिस र आयोजक टिम धरानलाई हराउँदै पहिलोपटक फाइनलमा पुगेको मोरङ पनि उपाधि जित्ने दाउमा छ । ‘ए’ डिभिजन लिग खेलिसकेका अनुभवी खेलाडी समावेश गरेको मोरङ टिमका कोच रानु रानाले एनआरटीलाई अनुभवी र कडा प्रतिस्पर्धीको रूपमा लिएको बताउनुभयो । युवा खेलाडी आफूहरूको टिममा भएकाले उपाधि जित्न सक्ने उहाँको भनाइ छ ।

धरान फुटबल क्लबको आयोजनामा शनिबार धरान रङ्गशालामा हुने फाइनल खेलको विजेताले ट्रफीसहित नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभयो । प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज क्लबसहित आठ टिमको सहभागिता रहेको थियो ।

‘मुलुकको विकासका लागि सरकार र जनताले हातेमालो गर्नुपर्छ’ – उपप्रमुख डङ्गोल

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले मुलुकको विकासका लागि सरकार र जनता दुवै जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।

संस्कार समाज नेपालको जनचेतनामूलक सरसफाइ महाअभियानको दुई सय हप्ता पूरा भएको सन्दर्भमा यहाँ आयोजित ‘पुरस्कार तथा सम्मान’ कार्यक्रममा उहाँले मुलुकको विकासमा सरकारजत्तिकै नागरिक पनि जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले व्यक्तिलाई अनुशासित बनाउन संस्कार समाज नेपालले खेलेको भूमिका सराहनीय रहेको बताउनुभयो । संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङले असल संस्कार नै देश विकासको मुख्य आधार भएकाले असल संस्कारमा लाग्नका लागि सबैलाई आग्रह गर्नुभयो

शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्थापन नभए विकास असम्भव – उपप्रधानमन्त्री यादव

कलैया (बारा) – सङ्घीय सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले शिक्षा, स्वास्थ्य र रोजगारीको समुचित व्यवस्थापन हुन नसक्दा मुलुकको विकास सम्भव नहुने कुरामा जोड दिनुभएको छ ।

मधेसी स्वास्थ्यकर्मीको फोरम नेपाल कलैया एकाई समितिको आयोजना एवं मधेस प्रदेश समितिको सहकार्य एवं अस्पताल विकास समितिको सहयोगमा आयोजना गरिएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रोग, भोकको अभाव सँगै उपचार बिना कोई कसैलाई मृत्युवरण गर्ने अवस्थाको अन्त्य हुनुपर्ने धारणा व्यतm गर्नुभएको थियो ।

स्वास्थ्य सेवा मौलिक हकको रुपमा राज्यले स्थापित गरेको हुँदा नागरिकलाई सर्वसुलभ एवम् गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मन्त्रालय लागिपरेको उहाँले बताउनुभयो ।

मन्त्री यादवले प्रादेशिक अस्पताल कलैयालाई ५० बाट एक सय बेडको अस्पताल बनाउने भन्दै यस अस्पतालमा थप जनशतिm, विशेषज्ञ चिकित्सकको समेत व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभयो । राजनीतिक अस्थिरताका कारण देशको अर्थतन्त्र डामाडोल भएको स्वीकार गर्दै यो सरकार स्थिर रही अर्थतन्त्रलाई सुधार गर्ने उहाँले दाबी गर्नुभयो ।

मधेसी स्वास्थ्यकर्मीहरुको फोरम नेपाल कलैया एकाई समितिका अध्यक्ष फुल महम्द अन्सारीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा मधेसी स्वास्थ्यकर्मीहरुको फोरम नेपाल मधेस प्रदेशका अध्यक्ष शिवशङ्करप्रसाद यादव, प्रादेशिक अस्पताल कलैया विकास समितिका अध्यक्ष सुशील चौँलागाई, अस्पतालका प्रमुख डा अजय गुप्तालगायतले विचार व्यतm गर्नुभएको थियो ।

समृद्धि र स्थायित्वका लागि वर्तमान सरकार – उपप्रधानमन्त्री महासेठ

लुम्बिनी – उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले मुलुकको समृद्धि र राजनीतिक स्थायित्वका लागि मात्र अहिलेको सरकार बनेको बताउनुभएको छ । उहाँले बढ्दो आर्थिक सङ्कट कम गर्न र देशलाई राजनीतिक स्थायित्व दिन नयाँ गठबन्धन बनाउनुपरेको बताउनुभयो ।

बुटवलमा शुक्रबारदेखि सुरु भएको रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को १६ औँ सम्मेलनको उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री महासेठले नयाँ सरकारलाई काम गर्न चुनौती भएपनि सुशासन, समृद्धि र सेवा प्रदान गर्नका लागि स्पष्ट योजनाका साथ गठबन्धन बनेकाले सेवालाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने स्पष्ट पार्नुभयो ।

उहाँले विगतमा बजेट निर्माणदेखि कार्यान्वयनमा भएका कमजोरीका कारण अहिले देशका अधिकांश ठूला आयोजना अलपत्र परेको बताउनुभयो । “सुरु भएका ठूला योजना सबै अलपत्र छन्, न्यून बजेट राखिएपछि यस्तो भएको हो”, उहाँले भन्नुभयो, “अलपत्र र अधुरा आयोजनालाई छिटो निर्माण गराउने र सरकारको सेवालाई प्राथमिकता दिने सरकारको मुख्य जिम्मेवारी रहेको छ ।”

उपप्रधानमन्त्री महासेठले भैरहवा र पोखराका अन्तर्राष्ट्रिय विमानस्थलसहितका ठूला आयोजना निर्माण भएर पूर्ण सञ्चालनका लागि सरकारले यथाशक्य छिटो सञ्चालन र पूर्ण निर्माणको योजनाका साथ अघि बढ्ने बताउनुभयो ।

देशले निकै धेरै आर्थिक सङ्कटको सामना गर्नुपरेको अवस्थामा त्यसलाई ट्रयाकमा ल्याउन र जनतामा बढेको निराशालाई कम गर्ने सरकारको अहिलेको सरकारको मुख्य जिम्मेवारी भएको बताउँदै उहाँले सरकारले अघि सारेको समृद्धिको एकल सरोकारलाई निजी क्षेत्र र सामाजिक सङ्घसंस्थाले साथ दिनुपर्ने आग्रह गर्नुभयो ।

सम्मेलनमा नेपाल र भुटानका दुई हजार रोटरियनहरु बुटवलमा जम्मा भएको सम्मेलन आयोजक समितिका संयोजक एजाज आलमले जानकारी दिनुभयो ।

हेर्नुहोस् चैत ३ गते शनिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – नजिकका आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । संचित रकम खर्चगर्नुपर्ने सम्भाबना रहेकोछ । वाणीका कारण सामान्य बादविवादको झमेलामा फस्ने सम्भाबना रहेकोछ । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभासम्मेलनमा सहभागीताको समय रहेकोछ ।

बृष राशि – नयाँ योजनाका साथमा नयाँ कार्यको थालनि गर्ने उत्तम समय रहेकोछ । पारीवारिक साथसहयोगमा ब्यापार ब्यवसायबाट मनग्यलाभ प्राप्त गर्न सकिनेछ । प्रेम सम्बँन्धमा मधुरता छाउनेछ । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन ।

मिथुन राशि – परीवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । यात्रामा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्य क्षेत्रमा उत्पन्न तनाबका कारण सामान्य बादबिवादको झमेलामा फसिएला । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । आर्थीक झमेलाले सताउनेछ ।

कर्कट राशि- अध्यन अध्यापनमा समय उत्तम रहनेछ । रचनात्मक कला तथा कौशलका क्षेत्रमा समय ब्यतित रहनेछ । आय आर्जनका क्षेत्रमा मित्रजनहरुको साथसहयोग मनग्य प्राप्त रहनेछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहेनछ । बौधिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन ।

सिंह राशि – भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । सभासम्मेलनमा सरिकहुने अवसर प्राप्त रहनेछ । सामान्यकार्यका निम्ती अधिक श्रम खर्चनु परेतापनि कार्य सम्पादनको उत्तम श्रेय प्राप्त रहनाले मन प्रशन्न रहनेछ ।

कन्या राशि – मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । मान्यजनहरुको मार्गदर्शन निकै फाईदाजनक हुनेछ । गैर ब्यतिहरु द्वारा सम्पादित कार्यको श्रेय तपाईले सहजता पूर्वक प्राप्त गर्नाले मन प्रशन्न रहेछ ।

तुला राशि – शारिरीक आलस्यताले कार्य सम्पादनमा तनाव उत्पन्न गराउन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या देखापर्नेछ । नजिकका मित्रजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष सजगरहनु पर्ने समय रहेकोछ । यात्रामा सजग रहनुहोला ।

बृश्चिक राशि – पारिवारीक सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । साजेदारीमा नयाँ कार्यको थालनि हुन सक्नेसम्भाबना रहेकोछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ ।

धनु राशि – प्रतिश्पदा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । शुभचिन्तकहरुको साथसहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । नयाँ कार्यका निम्ती नयाँ अवसरहरु प्राप्त रहनेछन । मित्रजनरुको प्रशन्नताका निम्ती समय ब्यतित गर्नु पर्नेछ । खानपानका कारण स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ ।

मकर राशि- तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । अध्यन अध्यापनका माध्यमबाटँ आम्दानिका निम्ती दिर्घकालिन श्रोतहरु फेला पर्नेछन । बौधिक तथा बिशिष्ट ब्यत्तीहरुको रायसल्लाहाले नयाँकार्यको प्रारम्भहुन सक्ने योग रहेकोछ । पूराना मित्रजनरु सगँको भेटघाटले मन प्रशन्न रहला ।

कुम्भ राशि- सामाजिक कार्यमा जुट्ने उत्तम समय रहेता पनि आफन्तजनहरुको साथसहयोगमा भने कमि महसुस रहनेछ । भुमि तथा वाहान शुख प्राप्त रहनेछ । भौतिक साधनको प्रयोगमा बिशेष सावधानि अपनाउनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मीन राशि – तपाइ सगँ रुष्ट आफन्तजनहरु सहजै नजिक हुन खोज्नेछन । मित्रहरुको साथ सहयोग बाँट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । धार्मिक यात्राको सम्भाबना रहनेछ । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।

अर्थ मन्त्रालयद्वारा लघुवित्त क्षेत्रका समस्याबारे अध्ययन गर्न कार्यदल गठन

काठमाडौँ, २ चैत : लघुवित्त क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानको उपाय पेश गर्न अर्थ मन्त्रालयले सात सदस्यीय कार्यदल गठन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आज नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको नेतृत्वमा सात सदस्यीय समिति गठन गर्नुभएको हो । समितिमा राष्ट्र बैंकको लघुवित्त क्षेत्र हेर्ने कार्यकायरी निर्देशक, अर्थ मन्त्रालयको वित्तीय क्षेत्र हेर्ने सहसचिव र सोही क्षेत्र हेर्ने उपसचिव सदस्य हुनुहुन्छ । त्यसैगरी, कार्यदलमा लघुवित्त पीडित सङ्घर्ष समितिका तर्फबाट पुनाराम (मनिराम) ज्ञवाली, क्षेत्रबहादुर मोक्तान र लुजा राई हुनुहुन्छ । कार्यदल संयोजकको नाम भने दुई डेपुटी गभर्नर मध्येबाट राष्ट्र बैंकले तोक्ने राजस्व सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

कार्यदललाई लघुवित्तका समस्या निर्धारण गरी ६० दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश तोकिएको छ । कार्यदललाई लघुवित्त विरुद्ध आन्दोलनरत पक्षको मागबारे स्थलगत अध्ययन गरी समाधानका विकल्पसहित काम सुरू गरेको ६० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ । कार्यदलको प्रतिवेदनका आधारमा लघुवित्त वित्तीय संस्थाको नियमन तथा सुधारका लागि आवश्यक नीतिगत तथा कानूनी सुधारका प्रक्रिया अघि अघि बढाइने अर्थ मन्त्रालयले जनाएको छ ।

सरकार र आन्दोलनरत लघुवित्त पीडितबीच आज छ बुँदे सहमति भएको थियो । उक्त सहमतिपत्रको बुँदा नम्बर पाँचमा यस क्षेत्रको समस्या पहिचान गरी समाधानको उपाय दिन कार्यदल बनाउने उल्लेख थियो । उक्त सहमतिसँगै आन्दोलनरत पक्षले शुक्रबारदेखि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ ।

लघुवित्त पीडित सङ्घर्ष समितिले भूकम्प, नाकाबन्दी तथा कोभिड–१९ महामारीका कारण ऋणीलाई कर्जा तिर्न समस्या भएको र लघुवित्त संस्थाले कर्जा प्रवाह एवं असुली गर्दा पालना गर्नुपर्ने नियामक राष्ट्र बैंकले जारी गरेको कार्यविधि तथा निर्देशन विपरीत कार्य गरेको आरोप लगाउँदै आएको छ ।

विवेकशील साझा पार्टीका अध्यक्ष बाँस्कोटासहित नौजना प्रहरी नियन्त्रणमा

काठमाडौँ, २ चैत : विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्कोटा, महासचिव रञ्जु दर्शनासहित नौजना पक्राउ परेका छन् ।माइतीघरमण्डल र आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको विरोधमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “माइतीघरलाई निषेधित क्षेत्र तोकिएको विरोधमा आज प्रदर्शन गर्न पुगेका नौजनालाई नियन्त्रणमा लिइएको छ ।”

सम्पूर्ण भारतीय नागरिकलाई म्यान्मा छाड्न भारतीय विदेश मन्त्रालयको आग्रह

म्यान्माको रखाइन राज्यको बिग्रँदो सुरक्षा स्थितिका बीच भारतको विदेश मन्त्रालयले सम्पूर्ण भारतीय नागरिकलाई उक्त स्थान खाली गर्न निर्देशन दिएको छ ।

“रखाइन राज्यको अवस्था नाजुक रहेको छ । सुरक्षा स्थिति बिग्रँदो छ । हामीले त्यहाँ रहेका सम्पूर्ण भारतीय नागरिकलाई यथाशीघ्र उक्त ठाउँ छाड्न र कतैबाट त्यस क्षेत्रमा यात्रा नगर्न निर्देशन जारी गरेका छौँ”, शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भन्नुभयो ।

उहाँले रखाइन राज्यमा निरन्तर द्वन्द्व भइरहेकाले सुरक्षा स्थिति प्रतिकूल रहेको जानकारी दिनुभयो । “निरन्तर द्वन्द्वका कारण सुरक्षा स्थिति प्रतिकूल भए पनि हामी दुवै पक्षलाई शान्ति सुरक्षा कायम राख्न आह्वान गर्दछौँ”, भारतले म्यान्मामा शान्ति र सुरक्षा चाहेको भन्दै प्रवक्ता जैसवालले भन्नुभयो, “हामी म्यान्मामा शान्ति र स्थिरता चाहन्छौँ, रचनात्मक संवाद चाहन्छौँ तथा संवाद र रचनात्मक संलग्नतामार्फत हामी समावेशी लोकतन्त्रको स्थापना गर्न चाहन्छौँ ।”

गत फेब्रुअरीमा भारत सरकारले बिग्रँदो सुरक्षा स्थितिका बीच रखाइन राज्यमा यात्रा नगर्न सल्लाह दिँदै सम्पूर्ण भारतीय नागरिकमा निर्देशन जारी गरेको थियो । त्यहाँको बिग्रँदो सुरक्षा स्थिति, दूरसञ्चार साधनको अवरोध र अत्यावश्यक वस्तुहरूको चरम अभावका बारेमा प्रकाश पार्दै मन्त्रालयले रखाइन राज्यमा बसोबास गरिरहेका भारतीय नागरिकलाई तत्काल उक्त स्थान खाली गर्न सल्लाह दिएको हो ।

हाल म्यान्मामा हिंसाका घटना बढिरहेका छन् । गत अक्टोबरमा तीन जातीय अल्पसङ्ख्यक शक्तिले समन्वित आक्रमण गरेर केही सहर र सैनिक चौकीहरू कब्जामा लिएपछि हिंसाका घटना बढेका हुन् । विज्ञहरूले यस घटनालाई सन् २०२१ मा सत्ता लिएपछि जुन्ता सरकारका लागि ‘सबैभन्दा ठूलो परीक्षा’ भनेका छन् ।

उक्त घटनापश्चात म्यान्माली सेनाले सीमावर्ती क्षेत्रमा हवाई हमला गरेपछि भारत–म्यानमा सीमामा रहेको भारतीय राज्य मिजोरममा म्यानमाबाट ठूलो सङ्ख्यामा मानिसहरूको आगमन भएको थियो । तीन वर्षअघि सेनाले सत्ता कब्जा गरेको म्यानमाले फेब्रुअरी १ मा सैन्य विद्रोहको तेस्रो वार्षिकोत्सव मनाएको हो ।

कार्यसम्पादनमा ढिलासुस्ती गर्ने कर्मचारीलाई दण्डित गरिन्छ : मन्त्री बुढा

काठमाडौँ, २ चैत : सहरी विकासमन्त्री धनबहादुर बुढाले मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागको आज स्थलगत निरीक्षण गर्नुभएको छ ।

सो अवसरमा मन्त्री बुढाले चालु आर्थिक वर्षको अन्तिम चरणमा लक्ष्यअनुसार कार्ययोजनाअनुसार प्रगति हासिल गर्नुपर्ने भएकाले सबैले आ–आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । कर्मचारीलाई कार्यसम्पादनका क्रममा लोभमा नफस्न निर्देशन दिँदै उहाँले मन्त्रालय मातहत जनसरोकारका कार्यलाई छिटोछरितो सम्पन्न गर्नुपर्ने बताउनुभयो । मन्त्री बुढाले पदीय जिम्मेवारीअनुसार कार्यसम्पादनमा ढिलासुस्ती गर्ने कर्मचारीलाई दण्डित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सहरी विकास मन्त्रलायको पदभारपछि पहिलोपटक विभागको निरीक्षणका क्रममा विभागका महानिर्देशक कुमारप्रसाद घिमिरेले विभागबाट सम्पादित कार्यक्रमबारे मन्त्री बुढालाई जानकारी गराउनुभएको थियो ।

कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा आर्मी र कर्णाली

बेलबारी (मोरङ), २ चैत : मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रवेश गरेको छ ।

विराटनगरको बैजनाथपुर क्रिकेट रङ्गशालामा भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशको चुनौतीलाई पाँच विकेटले पन्छाउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको हो । आर्मीले यस सिजनमा पिएम कप र केपी ओली कप गरी दुईपटक फाइनल खेलिसकेको छ । आर्मी पिएम कपमा पुलिससँग र केपी ओली कपमा मधेस प्रदेशसँग फाइनलमा पराजित भएको हो ।

टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाई एक सय ६३ रनको योगफल तयार पारेको थियो । सुदूरपश्चिमका नारायण जोशीले आक्रमक ब्याटिङ गर्दै २२ बलमा छ छक्का र चार चौका प्रहार गर्दै ५९ रन बनाए । उनले १७ बलमा हाफ सेन्चुरी बनाएका थिए । त्यस्तै किरण ठगुन्नाले ४३ रन बनाए । आर्मीका वसिर अहमदले चार ओभरमा २३ रन दिएर चार विकेट लिँदा नितेश पटेल तीन विकेट लिए ।

जवाफमा एक सय ६४ रनको लक्ष्य पछ्याएको आर्मीले वसिर अहमदको अर्धशतकले १९ दशमलव एक बलमा पाँच विकेटको सो विजयी लक्ष्य पार गरेको थियो । आर्मीको जितमा प्लेयर अफ द म्याच वसिर अहमदले २८ बलमा दुई छक्का र पाँच चौका प्रहार गरी अविजित ५० रन बनाउँदा तृतराजथ दासले ३८ रन र सन्तोष कार्कीले ३१ रन बनाए । सुदूरका दीपक बोहोराले दुई विकेट लिँदा हेमन्त धामी र नरेन साउदले एक–एक विकेट लिए ।

दोस्रो खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरको खेलमा १८ दशमलव दुई बलमा सबै बिकेट गुमाई एक सय ५१ रनको स्कोर बनाएको थियो । लुम्बिनीका लागि आकाश त्रिपाठीले ३९ बलमा एक छक्का र १० चौका प्रहार गरी ६५ रन बनाउँदा मृनल गुरुङले २२ रन, दिलसाद अलीले १४ रन र कप्तान देव खनालले १२ रनको योगदान दिएका थिए । कर्णालीका प्लेयर अफ म्याच दीपेन्द्र रावतले चार ओभरमा ३१ रन दिएर चार विकेट लिँदा प्रकाश जैसीले तीन, दिवान पुनले दुई विकेट लिए ।

जवाफमा एक सय ५२ रनको लक्ष्य पाएको कर्णालीले १८ दशमलव पाँच बलमा पाँच बिकेटसहित विजयी लक्ष्य भेट्टाएको थियो । कर्णालीका अर्जुन घर्तीले २७ बलमा एक छक्का र पाँच चौका प्रहार गरी अविजित ४३ रनको पारी खेले भने दिनेश अधिकारीले २० बलमा तीन छक्का र दुई चौका प्रहार गर्दै अविजित ३६ रनको योगदान दिए । एक समयमा ११ दशमलव ५ बलमा ७८ रनमा पाँचौ विकेट गएको थियो । घर्ती र अधिकारीले छैटौँ बिकेटका लागि ४२ बलमा अविजित ७४ रनको सानदार साझेदारी गरे ।

त्यस्तै रवीन्द्र शाहीले २४ रन र विपिन राउतले १९ रनको योगदान दिए । लुम्बिनीका वीर मगर, निर्मल गुरुङ, देव खनाल, नर सार्की र कृष्ण कार्कीले समान एक–एक विकेट लिए । फाइनल खेल शनिबार दिउँसो १२ बजे हुने मोरङ क्रिकेट सङ्घका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिनुभयो ।

प्रदेश प्रमुख मियाँद्वारा कार्यभार ग्रहण

सुदूरपश्चिम, २ चैत :सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रमुख नजिर मियाँले आज कार्यभार सम्हाल्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा पदभार सम्हालेपछि उहाँले पदीय जिम्मेवारी इमान्दारीका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुस्लिम समुदायबाट प्रदेश प्रमुख नियुक्त हुनुभएका मियाँ पहिलो प्रदेशप्रमुख हुनुहुन्छ । सरकारले केही दिनअघि मियाँलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका पूर्वअध्यक्ष मियाँ अर्घाखाँची निवासी हुनुहुन्छ ।

सरकारले प्रभावकारी उपभोक्ता हित संरक्षण नीति ल्याउने : मन्त्री भण्डारी

जानकी (बाँके), २ चैत : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ताको हित संरक्षणसम्बन्धी प्रभावकारी नीति निर्माण गरी कार्यान्वयन गर्ने बताउनुभएको छ ।

बाँकेको नेपालगञ्जमा आज उद्योग वाणिज्य कार्यालयद्वारा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले संविधानमा उल्लेखित उपभोक्ता हित संरक्षणका लागि उपभोक्ता अदालत गठनलगायत कानुन निर्माण गर्ने जानकारी दिनुभयो ।

“उपभोक्ताबीच विगतमा भएका कार्यको समीक्षा गर्दै आगामी दिनमा रणनीति तय गरिने छ”, मन्त्री भण्डारीले भन्नुभयो, “उपभोक्ता हित संरक्षण नीति जारी गरिनेछ ।” उक्त सिलसिलामा स्वच्छ बजार र उपभोक्ता हित संरक्षण कार्यलाई प्रभावकारी बनाइने उहाँको भनाइ थियो । मन्त्रालयले अनुचित मूल्य वृद्धि नियन्त्रण कार्यलाई प्रभावकारी बनाउने मन्त्री भण्डारीले उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहभागी उपभोक्ताले सीमानाकाबाट हुने चोरी निकासी तथा पैठारी नियन्त्रण गर्न माग गरेका थिए । साथै बाँकेमा वस्तु खरिद बिल उपभोक्तालाई दिलाउन व्यापारीलाई बाध्य पार्नेगरी सरकारले काम गर्नुपर्नेमा जोड दिएका थिए ।

रु एक सयभन्दा माथिको वस्तु खरिद गर्दा भन्सार तिर्नुपर्ने राज्यको व्यवस्था हुँदाहुँदै पनि ठूला व्यापारीले त्यसको कार्यान्वयन गर्दैनन् भन्दै मन्त्री भण्डारीसमक्ष धेरै उपभोक्ताले गुनासो व्यक्त गरेका थिए । विगत १० वर्षदेखि उद्योग नवीकरण गर्न नपाएको जानकारी गराउँदै उपभोक्ताले नवीकरणका लागि मागसमेत गरेका थिए ।

यसैबीच नेपालगञ्जमा डल्फिन रुपको १४औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै मन्त्री भण्डारीले व्यावसायिक हित संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

स्थिर राजनीतिक प्रणालीले मात्र मुलुक उभो लाग्छ : महासचिव चन्द

कर्णाली, २ चैत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले स्थिर राजनीतिक प्रणालीको विकास गर्न सकिए मात्र देश उभो लाग्ने बताउनुभएको छ ।

नेकपा सुर्खेतद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा महासचिव चन्दले अस्थिर राजनीतिक प्रणालीले मुलुक सही ढङ्गले अघि नबढ्ने बताउनुभयो । “पूँजीलाई जनतातर्फ फर्काउने अर्थतन्त्रको विकास नहुन्जेलसम्म मुलुकमा परिवर्तन हुँदैन्”, उहाँले भन्नुभयो ।

नेपाली विशिष्टताको मौलिक समाजवाद आजको आवश्यकता भएको उल्लेख गर्दै महासचिव चन्दले यसबाट मात्र मुलुकमा देखिएको सङ्कटको समाधान हुने दाबी गर्नुभयो । पछिल्लो समय नेकपाले उपभोग, उत्पादन र आत्मनिर्भर समाज निर्माण गर्नतर्फ जोड दिइरहेको उहाँको भनाइ थियो ।

“मालिक बन्ने शिक्षालाई श्रम र उत्पादनसँग जोड्नु पर्छ । समृद्ध र आत्मनिर्भर मुलुकका लागि कृषि उत्पादन र उद्योगको विकासमा जोड दिनुपर्दछ”, महासचिव चन्दले भन्नुभयो । समाजवादी मोर्चाको गति अपेक्षित रुपले नबढे पनि अब रफ्तारमा जाने र सुरुमा माओवादीबीचको एकता गरी पछि कम्युनिष्ट घटकबीचको एकतामा जोड दिइने उहाँको भनाइ थियो ।

भारतमा दुर्घटनामा परी एक नेपालीको मृत्यु

झापा, २ चैत : भारतको पश्चिम बङ्गालको सिलिगुडीस्थित रेल्वे स्टेसनमा दुर्घटनामा परी एक नपाली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको भद्रपुर नगरपालिका–५ का ५० वर्षीय विष्णु शर्मा रहेका छन् ।

सिलिगुडीबाट गलगलिया जाने क्रममा ‘कटिहार–सिलगुडी इन्टरसिटी एक्सप्रेस’ रेल चढ्दा बुधबार चिप्लिएर शर्मा घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा आज निधन भएको भद्रपुर मारवाडी सङ्घका अध्यक्ष अजय साहेवालाले जानकारी दिनुभयो ।

दुर्घटनामा सख्त घाइते भएका शर्मालाई भारतीय सुरक्षाकर्मीले उपचारका लागि नर्थ बङ्गाल अस्पताल पु¥याएका उहाँले बताउनुभयो । मृतक शर्मा भद्रपुर–५ स्थित लक्ष्मीनारायण मन्दिरमा पुजारी हुनुहुन्थ्यो । उनको शव कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउन लागिएको अध्यक्ष साहेवालाले बताउनुभयो ।

केन्द्रीकृत मानसिकताले सङ्घीयता टिक्न सक्दैन : मुख्यमन्त्री पाण्डे

गण्डकी, २ चैत : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रीकृत मानसिकताले सङ्घीयता टिक्न नसक्ने बताउनुभएको छ ।१२ खरी मिडिया र गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा आज पोखरामा संयुक्त रुपमा आयोजित सम्पादक÷वरिष्ठ पत्रकारसँगको अन्तरक्रियामा उहाँले सङ्घीय व्यवस्था आएपनि केन्द्रीकृत मानसिकता अझै हट्न नसकेको बताउनुुभयो । आफू मुख्यमन्त्री भएपछि पोखरामा सातवटै प्रदेशका मुख्यमन्त्रीको भेलाका साथै राष्ट्रिय परिषद्को भेला समेत भएको बताउँदै उहाँले उक्त क्रममा सङ्घीयतालाई बलियो बनाउन प्रधानमन्त्रीसँग विभिन्न प्रस्ताव गरिएको बताउनुुभयो ।

राजनीतिक नेतृत्व सत्ताका लागि मात्रै लागेको भन्ने जनताको बुझाइ रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले हाम्रा गतिविधिले नै व्यवस्थाका विरुद्धमा लाग्नेका लागि मलजल पुगेको बताउनुुभयो । राजनीतिक अस्थिरता हामीले नै निम्त्याएको बताउँदै उहाँले हाम्रै गतिविधिले राजनीतिलाई विकृत बनाइरहेको उल्लेख गर्नुुभयो ।

गण्डकी प्रदेश दोस्रो पञ्चवर्षीय योजना तयार गर्ने क्रममा लागि रहेको उहाँले जानकारी दिनुभयो । गण्डकी प्रदेशका ८५ पालिकामध्ये मनाङको नार्पाभूमि बाहेक सबैमा बाटो पुगेको बताउँदै मुख्यमन्त्री पाण्डेले पछिल्ला समयमा बाटो, पानी लगायतका सुविधाहरू पुगेपछि वस्तीहरू उजाड बन्दै गएको बताउनुुभयो ।

जग्गाजमिन बाँझो र स्थानान्तरण उच्च गतिमा रहेको उल्लेख गर्नुहुँदै उहाँले यसलाई रोक्नु अहिलेको चुनौती रहेको धारणा राख्नुभयो । गाउँघरमा नै आर्थिक गतिविधि बढाउन सक्नुका साथै रोजगारी सृजना गर्न सकेमा स्थानान्तरण रोक्न सकिने उहाँको भनाइ छ ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्ण देवकोटाले प्रदेशमा दोस्रो पञ्चवर्षीय योजना तर्जुमाका कामहरू भइरहेको बताउनुुभयो । “आत्मनिर्भर र समुन्नत प्रदेशः सम्मानित प्रदेशवासी” भन्ने सोचका साथ उत्पादकत्व, सामाजिक न्याय र समुन्नति हासिल गर्ने लक्ष्य राख्दै प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुुभयो ।

उत्पादन र उत्पादकत्व अभिवृद्धि तथा कृषि क्षेत्रमा रुपान्तरण गर्नु, विकासका पूर्वाधारको सुदृढीकरण, पर्यटन प्रवर्द्धन, औद्योगिक विकास र रोजगारी सिर्जना गर्नु, विकासका लाभको समन्यायिक वितरण सुनिश्चित गरी सामाजिक न्याय स्थापित गर्नु जस्ता उद्देश्य यस योजनामा राखिएको उहाँले बताउनुुभयो ।

योजना निर्माणका लागि सम्बद्ध सबै निकाय र क्षेत्रसँग छलफल एवं अन्तरक्रिया गरिएको उहाँले जानकारी दिनुुभयो । कार्यक्रममा विभिन्न वरिष्ठ सञ्चारकर्मीहरूले गण्डकी प्रदेशमा बन्दै गरेको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा, प्रदेशको विद्यमान अवस्था लगायतमा जिज्ञाशा राख्नुभएको थियो ।

राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बन्दै गरेको दोस्रो पञ्चवर्षीय योजनामा प्रदेशको प्राथमिकता के हुने ?, प्रदेश सरकारले जलस्रोतको उपयोगका लागि के गर्न सक्छ ?, रोजगारी बृद्धि गर्ने योजना के छन् आदि सम्बन्धमा जिज्ञासा राख्नुभएको थियो । बाह्रखरी मिडियाका राजेश केसीले पछिल्ला समयमा मानव–वन्यजन्तु द्वन्द्व बढिरहेको बताउँदै कृषकले लगाएको बालीको ४० प्रतिशत वन्यजन्तुबाट नोक्सानी हुने गरेको बताउनुुभयो ।

विकास न्यूजका रामकृष्ण पौडेलले शासकीय प्रणाली बलियो बनाउँदै गए पनि जनतालाई बलियो बनाउने गरी संस्थागत सुधार गर्न नसकिएको धारणा राख्नुुभयो । कार्यक्रममा वरिष्ठ पत्रकार बबिता बस्नेत, आरती चटौत, पुष्प दाहाल लगायतले प्रदेशका लागि बन्दै गरेको दोस्रो पञ्चवर्षीय योजना, बढ्दो युवा पलायनको अवस्थालगायतका विषयमा विभिन्न जिज्ञासा राख्नुभएको थियो ।

आज मध्यरातपछि लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य हुँदै

तुलसीपुर (दाङ), २ चैत : लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी चालु अधिवेशन अन्त्य गर्नुभएको हो ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा जनाइएको छ । । चालु अधिवेशन तीन दिनमात्रै चलेको थियो ।

प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष पाण्डेयका अनुसार कुनै ‘बिजनेस’ नभएकाले चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो ।

टर्कीएमा डुङ्गा डुब्दा पाँच बालबालिकासहित २१ आप्रवासीको मृत्यु

टर्कीएको सामुद्रिक तटमा एउटा डुङ्गा डुब्दा पाँच बालबालिकासहित २१ आप्रवासीको मृत्यु भएको स्थानीय अधिकारीहरूले शुक्रबार बताएका छन् । पीडितहरूको राष्ट्रियता अहिलेसम्म खुल्न सकेको छैन ।

दुई जनालाई टर्कीएका तटरक्षकहरूले उद्धार गरेको र अर्का दुईलाई आफैँ पानीबाट बाहिर निकाल्न सफल भएको अधिकारीहरूले बताएका छन् । ग्रिसको लोम्नोस टापुनजिकैको उत्तरपश्चिमी प्रान्त क्यानाकलको टर्कीएको सबैभन्दा ठूलो टापू गोकसेडा वा इम्ब्रोसस्थित एजियन सागरको तटमा डुङ्गा डुबेको थियो ।

“सुरक्षा दलले पाँच बालबालिकासहित २१ जनाको शव फेला पारेको छ”, स्थानीय गभर्नरको कार्यालयले विज्ञप्तिमा भनेको छ । एउटा विमान, दुईवटा हेलिकप्टर, एउटा ड्रोन, १८ वटा डुङ्गा र पाँच सय दुई कर्मचारी खोजी तथा उद्धार अभियानमा सहभागी भएको विज्ञप्तिमा उल्लेख छ ।

टर्कीएमा अधिकांश सिरियालीसहित करिब ४० लाख शरणार्थी रहेका छन् । समृद्ध युरोपेली सङ्घ (इयु) का मुलुकहरूतिर जान धेरै आप्रवासी टर्कीएको पश्चिमी तटबाट ग्रिक टापु पुग्ने प्रयास गर्छन् । यीमध्ये धेरैजसो खतरनाक समुद्र पार गर्दा मर्ने गर्छन् ।

स्थानीय अधिकारीहरूका अनुसार रातभरमा डुङ्गा डुब्न थालेपछि शुक्रबार धेरै एम्बुलेन्स गोकसेडा नजिकैको कबातेपमा तैनाथ थिए । हालैका साताहरूमा टर्कीए र ग्रिसबीचको जल क्षेत्रमा आप्रवासीहरूको गतिविधि बढेका छन् । साताको प्रारम्भमा ग्रिस पार गर्ने प्रयास गरिरहेका बालबालिकासहित सयौँ आप्रवासीलाई बचाएको टर्कीएका तटरक्षकहरूले बताएका छन् ।

धेरै वर्षदेखि भूमध्य सागर अफ्रिका र मध्यपूर्वबाट युरोपतिर आउने आप्रवासी प्रवाहको केन्द्र बनेको छ । सिरियाली गृहयुद्धबाट भागेका धेरै आप्रवासीले युरोपमा शरण लिन खोज्दा सन् २०१५ मा तीव्र आप्रवासी सङ्कट चरम अवस्थामा पुगेको थियो । टर्कीएले आर्थिक सहायता र अन्य प्रोत्साहनको बदलामा इयुसम्म पुग्ने प्रयास गरिरहेका शरणार्थीको आगमनलाई रोक्नका लागि सन् २०१६ मा इयुसँग सम्झौता गरेको थियो ।

रिहाइपछि पहिलो सार्वजनिक टिप्पणीमा ‘राम्रो महसुस’ गरिरहेको थाक्सिनको भनाइ

भ्रष्टाचार र शक्ति दुरुपयोगको आरोपमा कारागार सजायभन्दा चाँडै रिहा भएपछि आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले शुक्रबार आफूले ‘राम्रो महसुस’ गरिरहेको बताउनुभएको छ ।

विवादास्पद अर्बपति, दुई पटकका प्रधानमन्त्री तथा सैन्य विद्रोहमा सन् २००६ मा अपदस्त हुनुभएका सिनावात्रा आफ्नो गृह नगर चियाङमाईको तीन दिवसीय यात्राको दोस्रो दिनमा हुनुहुन्छ । “मैले राम्रो महसुस गरिरहेको छु”, आफ्नो नातेदारको समाधिस्थलको भ्रमणपछि उत्तरी थाई लवजमा कुरा गर्दै उहाँले पत्रकारहरूसँग भन्नुभयो ।

पन्ध्र वर्षको स्वनिर्वासनपछि ७४ वर्षीय सिनावात्रा गत वर्षको अगस्टमा स्वदेश फर्कनुभएको थियो । स्वदेश फर्के लगत्तै उहाँ सत्तामा रहँदाको समयसँग सम्बन्धित आरोपमा आठ वर्षका लागि कारागार जानुभएको थियो । तर स्वदेश फर्केको केही दिनमै राजा महा वजिरालोङ्कोर्नले उहाँको सजाय घटाएर एक वर्ष बनाउनुभएको थियो र गत महिना सरकारले वृद्धावस्था र बिग्रँदो स्वास्थ्यका कारण उहाँ चाँडै रिहा गर्न योग्य भएको बताएको थियो ।

कारागार अस्पतालमा हिरासतमा रहँदा सिनावात्राको पाँच पटक अर्थोपेडिक शल्यक्रिया गरिएको अधिकारीहरूले अक्टोबरमा पुष्टि गरेका थिए । यद्यपि उनीहरूले थप विवरण दिएका छैनन् ।

उहाँको परम्परागत राजनीतिक आधार रहेको उत्तरको भ्रमण रिहाइपछि पहिलो सार्वजनिक भ्रमण हो । सिनावात्रासँग उहाँकी छोरी पातोङ्टार्न र उहाँका पति पनि हुनुहुन्छ । पातोङ्टार्न अहिले सिनावात्राको फेउ थाई पार्टीको प्रमुख हुनुहुन्छ ।

“खुशी परिवारमा निर्भर हुन्छ”, उहाँले पत्रकारहरूसँग भन्नुभयो, “खुशी घरमा हुन्छ ।” यसअघि उहाँले सानो सङ्ख्यामा समर्थक जम्मा भएका वररोट बजारको भ्रमण गर्नुभएको थियो ।

पूर्वप्रहरी अधिकारीबाट टेलिकम टाइकुन बनेका सिनावात्रा सन् २००० को दशकको प्रारम्भमा आफ्नो लोकप्रिय नीतिका लागि लाखौँ ग्रामीण थाईका बीच प्रिय हुनुहुन्छ तर लामो समयदेखिको मुलुकको शाहीवादी तथा सैन्य समर्थक प्रतिष्ठानले उहाँको विरोध गर्दै आएको छ ।

सत्ता प्रतिष्ठान र सिनावात्रा तथा उहाँका सहयोगीबीचको प्रभुत्वको लडाइँले पछिल्लो दुई दशकमा थाई राजनीतिलाई धेरै हदसम्म परिभाषित गरेको छ ।

रूसको राष्ट्रपतीय निर्वाचनका लागि मतदान

रूसमा सन् २०२४ को राष्ट्रपतीय निर्वाचन लागि मतदान सुरु भएको छ । रूसको सुदूरपूर्वी क्षेत्र मानिने कामचटका, चुकोटलगायतका क्षेत्रमा स्थानीय समय अनुसार शुक्रबार बिहान आठ बजे देखि मतदान सुरू भएको छ ।

शीर्ष पदका लागि चार उम्मेदवारहरू लिबरल डेमोक्रेटिक पार्टीका लियोनिद स्लुत्स्की, रूसी कम्युनिस्ट पार्टीका निकोलाई खारितोनोभ, न्यू पिपुल पार्टीका भ्लादिस्लाव दाभान्कोभ र वर्तमान राष्ट्रपति र स्वतन्त्र उम्मेदवार भ्लादिमिर पुटिन प्रतिस्पर्धा गर्ने छन् ।

रूसले मार्च १५ देखि १७ सम्म स्थानीय समयअनुसार बिहान आठ बजेदेखि बेलुका आठ बजेसम्म मतदान गर्ने व्यवस्थासहित ९० हजारभन्दा बढी मतदान केन्द्र स्थापना गरेको छ । रूसको विशाल क्षेत्रमध्ये, सुदूर पूर्वी क्षेत्रमा अवस्थित कामचटका र चुकोटका मतदान सुरु गर्ने पहिलो क्षेत्रहरू हुन् । रुसको पश्चिमी छेउमा अवस्थित कालिनिनग्रादमा मतदान केन्द्रहरू मतदानका लागि अन्तिम हुने स्रोतले बताएको छ ।

रूसी केन्द्रीय निर्वाचन आयोगले जारी गरेको तथ्याङ्क अनुसार विदेशमा बसोबास गर्ने १८ लाखभन्दा बढी नागरिकसहित करिब ११ करोड रूसी नागरिक मतदानका लागि योग्य रहेका छन् ।

रूसी संविधान अनुसार राष्ट्रपतीय निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेद्वार विजयी हुनेछ । दुईभन्दा बढी उम्मेदवार भएकाले पहिलो चरणको निर्वाचनबाट कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्ने सम्भावना न्यून छ ।

केन्द्रीय निर्वाचन आयोगले शीर्ष दुई दावेदारका लागि दोस्रो चरणको मतदानको घोषणा गर्नेछ । दोस्रो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेछ ।

रूसी केन्द्रीय निर्वाचन आयोगले मार्च २८ तारिखसम्ममा निर्वाचन परिणामको पुष्टि गर्नेछ र नतिजा पुष्टि भएको तीन दिनभित्र मत परिणामको औपचारिक घोषणा गर्नेछ ।

महिलाविरुद्ध भेदभाव उन्मूलन गर्ने महासन्धि अनुमोदन भएको तीन दशकसम्म भएन कार्यान्वयन

काठमाडौँ, २ चैत : नेपालले २०४८ सालमै महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड) अनुमोदन गरेको थियो । महासन्धि अनुमोदन भएको तीन दशक बितिसक्दा पनि कार्यान्वयन नभएकामा सांसदहरूले आपत्ति जनाउनुभएको छ ।

महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको संयुक्त राष्ट्रसङ्घको सिड समितिमा नेपालका विषयसूची विषयक छलफल कार्यक्रममा राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिका सभापति जयन्ती राईले समान नागरिक, समान अधिकारका लागि अझै लडाइँ गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । कानुन बन्ने कार्यान्वयन नहुने, महासन्धि अनुमोदन गर्ने कार्यान्वयन गर्नेतर्फ ध्यान नदिँदा समस्या बढ्न थालेको उहाँको विचार छ ।

सांसद कमला पन्तले पीडक पहुँचवाला र पीडित निमुखा हुने भएकाले समान अधिकार कार्यान्वयनमा चुनौती खडा भएको बताउनुभयो । सांसद विष्णुदेवी पुडासैनीले नागरिकता ऐनलाई कार्यविधिमा राखिएको प्रावधानले काटेर कार्यान्वयनमा समस्या भएको सुनाउनुभयो । संविधानमा महिला र पुरुषले समान नागरिकतासम्बन्धी अधिकारको व्यवस्था भए पनि कार्यान्वयनमा समस्या आएको उहाँले बताउनुभयो । सांसद भगवती न्यौपानेले सिड समितिमा झुटो प्रतिवेदन पठाउनेलाई कारबाही गरिनुपर्नेमा जोड दिनुभयो ।

मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले नेपालले महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव उन्मूलन गर्ने महासन्धि असहमति नराखी अनुमोदन गरेको तीन दशक बित्दासमेत कार्यान्वयन नभएर देशकै इज्जतमा धक्का लागेको बताउनुभयो । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका पालामा अनुमोदन भएको महासन्धि अझै कार्यान्वयन नहुनु दुखद् भएको उहाँले सुनाउनुभयो ।

महासन्धिका निश्चित बुँदामा असहमति राखेर अनुमोदन गर्न सकिने जानकारी पनि कार्यक्रममा गराइएको थियो । भारत, पाकिस्तान र बङ्गलादेशले महासन्धिको धारा १६ मा असहमति राखेर अनुमोदन गरेका थिए ।

सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनअनुसार सरकार गठन गर्न नागरिक उन्मुक्ति पार्टी निर्णायक

सुदूरपश्चिम, २ चैत : सत्ता समीकरण फेरिएसँगै सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनअनुसार सरकार गठन गर्न नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिएको छ । सो पार्टीको साथबिना सत्तापक्ष र प्रतिपक्ष दुवैलाई बहुमत पुर्याउन सक्ने अवस्था नरहँदा उक्त पार्टी निर्णायक देखिएको हो ।

गठबन्धन फेरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहलाई बहुमत कायम राख्न समस्या देखिएको छ । नयाँ गठबन्धनलाई पनि बहुमत जुटाएर सरकार गठन गर्न समस्या देखिएको छ । फेरिएको नयाँ गठबन्धनमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का १०, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सभामुख सहित ११ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का चार प्रदेशसभा सदस्यले मात्र सरकार गठनमा बहुमत पुग्दैन । प्रदेशसभा नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्तिका सात, राप्रपाका एक र एक स्वतन्त्र सदस्य हुनुहुन्छ । एक पद रिक्त छ ।

कुल ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ सदस्यको समर्थन चाहिन्छ । नयाँ गठबन्धनलाई बहुमत पुर्याउन सभामुखबाहेक थप तीन सदस्य अपुग देखिएको छ । प्रदेशसभाको यस्तो गणितमा नागरिक उन्मुक्ति निर्णायक देखिएको हो । सत्ता गठबन्धन फेरिएसँगै मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शाहलाई पनि आफ्नो नेतृत्वको सरकार जोगाउन सकस छ ।

आफ्नो पक्षमा बहुमत जुटाउन मुख्यमन्त्री शाहले केही दिनयता नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभाका थप चार सदस्यलाई समेटेर दुईपटक मन्त्रिपरिषद् पुनर्गठन गरिसक्नुभएको छ । प्रदेशसभामा रहेका एक स्वतन्त्र सदस्य र राप्रपाका एक सदस्यलेसमेत मुख्यमन्त्रीलाई समर्थन गर्ने अश्वासन दिएपछि मुख्यमन्त्रीले नागरिक उन्मुक्तिका थप सदस्यलाई मन्त्री नियुक्त गर्नुभएको बताइन्छ ।

प्रदेशसभामा एमालेका प्रमुख सचेतक सुरेन्द्रबहादुर पालले केन्द्रमा फेरिएको समीकरणअनुसार प्रदेश तहमा पनि सरकार गठन हुने बताउनुभयो । “पहिलो चरणमा प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले गर्ने भन्ने अनौपचारिक कुरा भइरहेको छ”, उहाँले भन्नुभयो, “केन्द्रमा नेताहरूबाट नागरिक उन्मुक्तिसँग कुरा भइरहेको छ, केन्द्रमा फेरिएको समीकरणका पक्षमा सो पार्टीले आफ्नो मत जाहेर गरिसकेकाले प्रदेशमा पनि उसले सहयोग गर्ने विश्वास छ ।”

मुख्यमन्त्रीलाई आफ्नो नेतृत्वको सरकार जोगाउन नागरिक उन्मुक्ति पार्टीका साथै प्रदेशसभाका स्वतन्त्र सदस्य डा तारा जोशी र राप्रपाको साथ पनि आवश्यक हुन्छ । प्रदेश तहमा नयाँ गठबन्धनको सरकार बनाउन संसद्को गणित अनुकूल नदेखिएपछि नागरिक उन्मुक्तिलाई नयाँ गठबन्धनमा ल्याउने प्रयास भइरहेको हो ।

केन्द्रमा नयाँ गठबन्धनमा उभिइसकेको नागरिक उन्मुक्ति पार्टी प्रदेश तहमा भने अहिलेसम्म नयाँ समीकरणमा गइसकेको छैन । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै मुख्यमन्त्री शाहले माओवादी केन्द्र र एकीकृत समाजवादीका मन्त्रीलाई पदमुक्त गर्नुभएको थियो ।

मुख्यमन्त्रीलाई प्रदेशसभामा कांग्रेससहितका नागरिक उन्मुक्ति, राप्रपा र एक स्वतन्त्र सांसदको समर्थन रहेमा सरकार टिकाउन बहुमत पुग्छ । नगरिक उन्मुक्ति फेरिएको नयाँ समीकरणअनुसार गएमा नयाँ समीकरणलाई सरकार गठन सहज देखिन्छ । यद्यपि नागरिक उन्मुक्ति पार्टीभित्र देखिएको विवादसँगै सत्ता र प्रतिपक्षको प्रदेशसभाको गणित यकिन हुनसकेको छैन ।

नागरिक उन्मुक्तिको विवादपछि प्रदेशसभामा रहेका स्वतन्त्र एक सदस्य र राप्रपा एक सदस्यले पनि कुनै निर्णय गरिसकेका छैनन् । प्रदेशमा सरकार गठनका विषयमा सो पार्टीका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठबीच मतभेद छ ।

सो पार्टीका संरक्षक चौधरी प्रदेश सरकारलाई समर्थन कायम राख्नुपर्ने पक्षमा र अध्यक्ष श्रेष्ठ भने केन्द्रमा बनेको नयाँ गठबन्धनमै सहभागी हुनुपर्ने अडानमा रहेको सो पार्टीका एक नेताले बताउनुभयो । संरक्षक रेशमलाल चौधरीकै सल्लाहमा मुख्यमन्त्री शाहले मन्त्रिपरिषद् पुनर्गठनमा नागरिक उन्मुक्तिका थप सदस्यलाई समावेश गराउनुभएको बताइएको छ ।

केन्द्रीय सरकारलाई समर्थन गर्ने विषयमा पनि दुई जनाबीच विवाद देखिए पनि अध्यक्ष एवं सांसद श्रेष्ठसहितले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पक्षमा विश्वासको मत जाहेर गर्नुभएको थियो । अध्यक्ष रञ्जिताले प्रदेश सरकारबाट तत्काल बाहिरिन सुदूरपश्चिम प्रदेशको संसदीय दललाई निर्देशन दिनुभएको थियो । तर प्रदेशसभामा संरक्षक पक्षधर सदस्यको बहुमत हुँदा अहिलेसम्म अध्यक्षको निर्देशन पालना भएको छैन ।

सो पार्टी संसदीय दलका नेता एवं आर्थिक मामिलामन्त्री घनश्याम चौधरीले हाल प्रदेश सरकारलाई नै समर्थन कायम राखेर जानुपर्ने मत रहेको बताउनुभयो । मुख्यमन्त्रीका प्रमुख स्वकीयसचिव धिरेन्द्र शाहीले नागरिक उन्मुक्तिको साथ प्रदेश सरकारलाई यथावत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिक उन्मुक्तिको समर्थन यथावत छ, तर पनि अहिल्यै केही भन्न सकिने अवस्था छैन ।”

स्तरीय चलचित्र बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

काठमाडौँ, २ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्तरीय चलचित्र बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को सातौँ संस्करणका अवसरमा ‘एमाले अध्यक्ष केपी ओलीसँग राजेश हमालको सिनेमा संवाद’का क्रममा उहाँले देशमा स्तरीय चलचित्र बन्नुपर्नेमा जोड दिनुभएको हो ।

पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “देशको प्रकृति, इतिहासका बारेमा चलचित्र बन्नुपर्छ भन्ने मलाई लाग्छ ।” आफूले चलचित्रको कथा र त्यसअनुसार भूमिका निर्वाह गर्ने पात्रका अभिनय हेर्ने गरेको तथा कला, साहित्य, इतिहासलाई लिएर निर्माण गरिएका चलचित्रले आफूलाई आकर्षित गरेको उहाँले बताउनुभयो ।

उच्च शिक्षा प्राप्तिको सिलसिलामा नेपाली युवामा विदेश जाने प्रवृत्ति बढीरहेको र धेरै ठूलो सङ्ख्यामा उनीहरू उतै बस्ने गरेको देखिएको उल्लेख गर्दै एमाले अध्यक्षले भन्नुभयो, “युवाहरू अध्ययनका लागि बाहिर जाने र उतै बस्ने समस्या देखिएको छ, कुनै पनि देश पैसा भएर धनी हुने होइन, विकास भएर देश धनी हो, युवा पङ्क्तिलाई आफ्नो देशको विकास गर्नुपर्छ भन्ने बुझाउन जरुरी छ ।”
अध्यक्ष ओलीले नायक हमाल सालिन अभिनयकर्ताका रूपमा परिचित रहेको उल्लेख गर्दै भन्नुभयो, “राजेश हमाल आकर्षक हुनुहुन्छ, विद्वान् एवं असल चालचलन भएको अभिनेता हुनुहुन्छ, अभिनय गर्दा आफू को थिएँ भन्ने नै बिर्सनुहुन्छ, समाजसँग घुलमिल हुन असाध्यै सिपालु हुनुहुन्छ, यिनै विशेषता र गुणहरूले राजेश हमाल मलाई मन पर्नुहुन्छ ।”

नायक राजेश हमालले पूर्वप्रधानमन्त्री ओलीको सबैसँग सहजै घुलमिल हुनसक्ने क्षमताबारेमा भन्नुभयो, “मैले तपाईँको जीवनका बारेमा जति बुझेको छु, सबै व्यक्तिसँग तपाईँको सहजरूपमा प्रस्तुत हुनसक्ने क्षमता छ, तपाईँका समकालीन नेतामा त्यो क्षमता देख्दिनँ, त्यो प्रतिभा हजुरमा छ, जुन मननयोग्य छ ।”

यही चैत ५ गतेसम्म सञ्चालन हुने महोत्सवमा ४० देशका ८८ चलचित्र छनोट भएर प्रदर्शन गरिने चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान एवं महोत्सव आयोजकका अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो । हिजो सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महोत्सवको सातौँ संस्करणको उद्घाटन गर्नुभएको हो ।

शिक्षा क्षेत्रमा गर्नुपर्ने सुधारका सवालमा सरोकार भएका पक्षसँग निरन्तर परामर्शमा शिक्षामन्त्री

काठमाडौँ, २ चैत : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा गर्नुपर्ने नीतिगत र कानुनीलगायत सुधारका सवालमा सरोकार भएका पक्षसँग निरन्तर परामर्श गर्नुभएको छ ।

विद्यालय शिक्षा विधेयक र नेपाल पूर्वाधार विश्वविद्यालय विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन रहेको र उच्च शिक्षा विधेयक सदनमा प्रस्तुत गर्ने तयारीमा रहेको स्थितिमा सरकार पुनःगठन भएपछि विषयवस्तुलाई कसरी अगाडि भन्ने सन्दर्भमा शिक्षामन्त्रीले औपचारिक र अनौपचारिकरुपमा सुझाव लिन थाल्नुभएको हो ।

मन्त्री श्रेष्ठले मन्त्रालयका उच्च अधिकारी, विभिन्न निकायका प्रमुख, स्थानीय तह, नेपाल शिक्षक महासङ्घ, विभिन्न संस्था, शिक्षा विधामा कलम चलाउने पत्रकारलगायतसँग सुझाव लिनुभएको छ । मन्त्री श्रेष्ठले आफ्नो सामाजिक सञ्जालका माध्यमबाट पनि शिक्षामा गर्नुपर्ने सुधार र कामका सन्दर्भमा सुझाव दिन आह्वान गर्नुभएको छ ।

मन्त्री श्रेष्ठले केही समय सम्बन्धित पक्षसँगको परामर्शपछि आफूले कार्ययोजनासहित गर्नुपर्ने कामबारे सार्वजनिक गर्ने जानकारी दिनुभएको छ ।

गलेश्वर आश्रम सञ्चालक समितिमा १३ सदस्य मनोनित

काठमाडौँ, २ चैत : पवित्र धार्मिकस्थल देवघाटस्थित गलेश्वर आश्रमका महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजको अध्यक्षतामा सञ्चालक समितिमा १३ जना सदस्य मनोनित भएका छन् ।

आश्रमको २९औँ साधारणसभाले आश्रमका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराज, देवघाटकै स्वामी अद्वेतानन्द गिरी, गैँडाकोट–८ नवलपुरका भोजराज पौडेल, कलङ्की काठमाडौँका एकारत्न आचार्य, विदुर नगरपालिका नुवाकोटका महेन्द्र प्याकुरेल, रामनगर चितवनका राजेन्द्रप्रसाद अर्याल, नक्साल काठमाडौँका सुशीलकुमार पन्त, बसुन्धरा काठमाडौँका सुनिलपाणि गौतम, बाँसबारी काठमाडौँका विष्णु पोख्रेल, मित्रपार्क काठमाडौँका डा वासुदेवकृष्ण शास्त्री, भरतपुर–२ चितवनका प्रा डा मनोहरलाल प्रधान, टोखा काठमाडौँका दीपक कुँवर र टाँडी चितवनका रामहरि अर्याललाई सञ्चालक समिति सदस्य मनोनित गर्ने निर्णय गरेको हो ।

उहाँहरू चार वर्षका लागि सञ्चालक समिति सदस्य मनोनित भएको गलेश्वर आश्रमले जनाएको छ । देवघाटघाम–५, तनहुँमा रहेको गलेश्वर आश्रमको स्थापना विक्रम सम्वत् १९८० मा योगनिष्ठ सिद्धयोगी ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा)ले गर्नुभएको हो । आश्रमअन्तर्गत एक सय ८५ वटा कुटी छन् । त्यसैगरी ज्योतिर्लिङ्गेश्वर महादेव, सिद्धेश्वर महादेव, गङ्गामाता मन्दिर, सङ्क्षल्पेश्वर हनुमान मन्दिर, राधाकृष्ण मन्दिर, १०८ नर्मदेश्वर शिवलिङ्ग, महाकालेश्वर शिवालय, राधाकृष्ण मन्दिर र वृद्धेश्वर महादेव मन्दिर छन् । आश्रमअन्तर्गत वेदवेदाङ्ग विद्यालय एवं संस्कृत विद्यापीठ सञ्चालित छ । उक्त विद्यालय गलेश्वर बाबाले २०२३ सालमा स्थापना गर्नुभएको हो ।

हाल आश्रमको पीठाधीशमा अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराज हुनुहुन्छ । उहाँको पदाभिषेक २०५३ सालमा शङ्कराचार्य जयन्तीका दिन भएको थियो । हालसम्म स्वामीजीको कुशल नेतृत्वमा आश्रम सञ्चालित छ । आश्रमअन्तर्गत प्रवचन हल, गोष्ठी सेमिनार हल, कीर्तन हल र करिब सय कोठाको साधक भवन रहेको छ । आश्रमअन्तर्गतको वेदवेदाङ्ग विद्यालय भवनमा १५ कोठा थियो । हाल करिब रु १५ करोड लगानीमा बनेको वेदवेदाङ्ग संस्कृत विद्यापीठ भवन सम्पन्न हुने चरणमा पुगेको छ । त्रिचालीस कोठे यो भवनमा सन्ध्या हल र कार्यक्रम हल पनि छ ।

आश्रमअन्तर्गतको धर्मशालामा पुरुष र महिला यात्रुका लागि दुईवटा हल, २२ कोठा र सुविधासम्पन्न शौचालय एवं स्नानकक्ष छन् । तीर्थयात्रीका लागि निःशुल्क बास र भोजनको व्यवस्था आश्रमले मिलाएको छ । आश्रमअन्तर्गत देवघाटवासीका लागि निःशुल्करूपमा देवघाट धर्मार्थ अस्पतालबाट स्वास्थ्य सेवा प्रदान गरिएको छ । आश्रमद्वारा सञ्चालित देवघाट एनआरएन वृद्धाश्रममा ८५ जना वृद्धवृद्धा हुनुहुन्छ ।

आश्रमको उद्देश्यअनुसार निःशुल्क भोजन, निःशुल्क संस्कृत शिक्षा, तीर्थबास र निःशुल्क स्वास्थ्य सेवा गर्दै ‘अतिथि देवो भवः’ मूलमन्त्रको साथै पञ्चशालामार्फत हरेक तीर्थयात्री र भक्तजनले सेवा लिन र दिन सक्ने व्यवस्था मिलाइएको छ ।

संरक्षित क्षेत्रलाई विदेशी पर्यटकको आकर्षक गन्तव्य बनाइने

काठमाडौँ, २ चैत : वन तथा वातारण मन्त्रालयले संरक्षित क्षेत्रहरूमा बाह्य पर्यटक वृद्धि गर्ने रणनीति लिएको छ । संरक्षित क्षेत्रलाई आकर्षक बनाएर आर्थिक वृद्धिमा टेवा पुर्याउने उद्देश्यका साथ बाह्य पर्यटक बढाउने लक्ष्य लिइएको हो ।

संरक्षित क्षेत्रमा बाह्यभन्दा आन्तरिक पर्यापर्यटन बढी भएको भन्दै विदेशी पर्यटक वृद्धि गर्ने लक्ष्य लिएको विभागले जनाएको छ । विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाले संरक्षित क्षेत्र भ्रमण गर्ने पर्यटक सीमित रहेको भन्दै संरक्षित क्षेत्रमा बाह्य पर्यटकलाई आकर्षित गर्ने तयारी भएको बताउनुभयो । “नेपाल भ्रमण गर्न आउने ६० प्रतिशत पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गर्ने गरेका छन्, तर आन्तरिक पर्यटकभन्दा बाह्य पर्यटकको सङ्ख्या कम छ, अब विदेशी पर्यटकको सङ्ख्या बढाएर संरक्षित क्षेत्रबाट आर्थिक वृद्धि गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो, “यसका लागि हामी प्रचार–प्रसारलाई जोड दिनेछौँ, संरक्षित क्षेत्रभित्र आवश्यक पर्ने भौतिक पूर्वाधार विकास गरेर पर्यटकका लागि सेवा सुविधा पनि वृद्धि गर्ने योजना बनाएका छौँ ।”

राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागद्वारा प्रकाशित वार्षिक प्रतिवेदन २०७९÷८० को प्रतिवेदनअनुसार संरक्षित क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य स्थानका रूपमा रहेका छन् । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९÷८० मा संरक्षित क्षेत्र भ्रमण गर्ने स्वदेशी एवं विदेशी पर्यटकको सङ्ख्या नौ लाख ३५ हजार छ सय आठ रहेको छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण संरक्षण क्षेत्रहरू पर्यटकको मुख्य गन्तव्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

माओवादीद्वारा विधानलाई सम्पादनसहित पूर्णता, दाहालले दिएको राजीनामा स्वीकृत

काठमाडौँ, २ चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी विधानलाई सम्पादनसहित पूर्णता दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले आवश्यक सम्पादनसहित विधानलाई पूर्णता दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकमा विधानलाई समृद्ध बनाउने सम्बन्धमा छलफल भएको थियो । माओवादीले विधान निर्माण गर्न गत फागुन १ गतेदेखि राजधानीमा प्रथम विधान सम्मेलन आयोजना गरेको थियो । बैठकले राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित हुनुभएका माओवादी स्थायी समिति सदस्य नारायण दाहालले पार्टीबाट दिनुभएको राजीनामा स्वीकृत गरेको उहाँले जानकारी दिनुभयो ।

एक हप्तामा १७ हजार ट्राफिक उल्लङ्घनका घटना

काठमाडाैँ, २ चैतः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक हप्तामा १७ हजार ट्राफिक उल्लङ्घनका घटना दर्ता भएको जनाएको छ । कार्यलयका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले गत फागुन २५ गतेदेखि यही चैत्र १ गतेसम्म १७ हजार चार सय ६४ सवारी साधन कारबाहीमा परेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ट्राफिक नियम पालना नगर्नेलाई कारबाही गरिएको छ ।

सवारी चलाउँदा कहिल्यै पनि प्रतिष्पर्धाको भावनाबाट चलाउनुहुँदैन । सडक अनुशासन पालना गरौँ ।” उहाँले ट्राफिक नियम पालना नगरेकालाई नियमित सचेतना कक्षा सञ्चालन गरिरहेको बताउनुभयो । सबैभन्दा बढी कारबाही तीव्रगतीमा सवारी साधन चलाउँदा भएको देखिन्छ । एक हप्तामा तीव्रगतीमा सवारी साधन चलाउने दुई हजार सात सय ५८ चालक कारबाहीमा परेका छन् । कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार लेन अनुशान उल्लङ्घनमा सात सय ६६, मादक पदार्थ सेवन गरेका छ सय ४०, रेडलाइट नियम पालना नगरेका पाँच सय ८० र बढी भाडा लिएका नौ चालकलाई कारबाही गरिएको छ ।

त्यसैगरी काठमाडौँ जिल्लामा मात्रै एक सय चार वटा सवारी दुर्घटना दर्ता भएका छन् । जसमा एकको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । ती दुर्घटनामा साधारण घाइतेको सङ्ख्या भने एक सय चार छ । ट्राफिक नियम पालना नगर्नेलाई कार्यालय जनचेतना तथा सचेतना कक्षा पनि सञ्चालन गर्दै आइरहेको छ । विद्यार्थी, पैदलयात्रु, व्यवसायी, चालक, परिचालक, लेन मिच्ने तथा मापसे गरी चलाएका चालक गरी सो अवधिमा चार हजार सात सय ५९ जनाले सचेतना कक्षा लिएका छन् ।

पोखरालाई ‘पर्यटकीय राजधानी सहर’ घोषणा गरिने

कास्की, २ चैत : पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को उपस्थितिमा यही चैत ४ गते पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आयोजनामा घोषणा कार्यक्रम गरिने प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार घोषणा मूल समारोह अघि वसुन्धरा उद्यानबाट विभिन्न सांस्कृतिक झाँकीसहितको ¥याली निकालिनेछ । घोषणा समारोह फेवाताल किनार बाराही घाटमा हुने आयोजकले जनाएको छ । “प्रदेशका विभिन्न जाति तथा समुदायका मौलिक झाँकीसहितको ¥यालीपछि समारोह हुनेछ । राजधानी सहरको प्रतिमा अनावरणपछि औपचारिक रुपमा घोषित हुनेछ”, उहाँले भन्नुभयो ।

घोषणा समारोहलाई भव्य बनाउका लागि पोखरा महानगरका प्रमुख धनराज आचार्यको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ । सो समितिमा प्रदेश सरकारका प्रमुख सचिवसहित सबै सचिवहरू, पोखराका छिमेकी पालिका रुपा, मादी, माछापुच्छे«, अन्नपूर्ण, स्याङ्जाको फेदीखोला, तनहुँको शुक्लागण्डकी, पर्वतको कुश्मा र मोदी गाउँपालिकाका अध्यक्ष, पर्यटन सङ्घ संस्थालगायत रहेका छन् ।

राजधानी घोषणा समारोहलाई भव्य बनाउन र यसको महत्वलाई अन्तर्राष्ट्रियस्तरमा समेत बुझाउनका लागि नेपालस्थित चीन र भारतका राजदूत र विभिन्न देशका नेपालस्थित कूटनीतिक नियोगका प्रमुखलाई आमन्त्रण गरिएको बताइन्छ ।

प्रदेश सरकारले आफ्नो राजधानी सहरलाई पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि अध्ययन समिति गठन गरेको थियो । सो समितिले गत फागुनमा प्रतिवेदन सरकारलाई बुझाएको थियो । पोखरा महानगर प्रमुख धनराज आचार्यले घोषणा समारोहलाई उत्सवका रुपमा मनाउने गरी भव्य बनाउने गरी तयारी गरिएको बताउनुभयो । पोखरा पर्यटनको पर्यावाची भएकाले धेरै लामो छलफल र अध्ययनपछि औपचारिक रुपमा राजधानी घोषणा गर्न लागिएको बताउनुभयो ।

“पोखरा के हो भन्नेमा कुनै दुविधा छैन, पोखरा पर्यटनको केन्द्र हो, गन्तव्य हो र पर्यटनको पर्यायवाची हो । सबै हो भने क्यापिटल सिटी अफ टुरिजम पनि किन न भन्ने भनेर घोषणा गर्दछौँ । यसबाट गण्डकी प्रदेशसहित समग्र देशको समृद्धिमा टेवा पुग्नेछ”, महानगर प्रमुख आचार्यले भन्नुभयो । उहाँले पर्यटकीय राजधानी घोषणपछि आवश्यक पूर्वाधार तथा मापदण्डको पहिचान, सेवाको गुणात्मकतालगायतमा सुधार गर्दै लगिने बताउनुभयो ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । व्यवसायीले लामो समयदेखि राजधानी घोषणा गर्न माग गर्दै आएका थिए ।

हाडे ओखरको बिरुवा दाँते भएपछि…

डोटी, २ चैत : कृषि ज्ञान केन्द्र डोटीले जिल्लामा पहिलोपटक परीक्षणस्वरुप ओखरमा ‘टप ओर्किङ’ गरेको छ । हाडे ओखरलाई दाँतेमा परिणत गर्न यो प्रविधि अपनाइन्छ । हाडे ओखरको बोटको माथिल्लो भाग काटेर यसको बोक्रामा दाँते ओखरको सानो हाँगा जोडिने जनाइएको छ । बिरुवाको पालुवा पलाउनुभन्दा अगाडि यस्तो कार्य गरिसक्नुपर्ने कृषि प्राविधिकले जनाएका छन् ।

दाँते भनी लगाएका ओखर हाडे निस्किएको जनाउँदै किसानले गुनासो गर्न थालेपछि केन्द्रले ‘टप ओर्किङ’ गर्न सुरुआत गरेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले जानकारी दिनुभयो ।उहाँले परीक्षण स्वरुप ५० टप ओर्किङ गरिएको निमित्त प्रमुख अवस्थीले बताउनुभयो । सुक्खा फलफूल विकास केन्द्र सतबाँझ बैतडीमा कार्यरत प्राविधिक हरिस पाण्डेको सहयोगमा ओखरमा टप ओर्किङ गरिएको हो । दिपायल सिलगढी नगरपालिका सहित आदर्श र सायल गाउँपालिकामा टप ओर्किङ कार्य गरिएको ज्ञान केन्द्रले जनाएको छ । सो कार्य सफल भएमा ज्ञान केन्द्रले आफ्नो वार्षिक कार्यक्रममा समेटी जिल्लामा यो कार्य विस्तार गरिने कार्यालय प्रमुख अवस्थीले बताउनुभएको छ ।यसरी टप ओर्किङ गरिएको सफल भएमा दुई हप्तासम्ममा जोडिएको हाँगामा पालुवा पलाउने पाण्डेको भनाइ छ । यस्तो कार्य गर्न ओखरको बिरुवाको मोटाइ दुई हातले समात्न मिल्ने हुनुपर्छ । धेरै मोटाइ भएको ओखरमा यो कार्य गर्न सम्भव हुँदैन । नब्बे एमएम सम्म मोटाइ भएको ओखरमा टप ओर्किङ गर्न सकिने कृषि प्राविधिक बताउँछन् । टप ओर्किङ परीक्षण कार्य सफल भएमा किसान लाभान्वित हुने छन् । यस्तो कार्य बैतडी, मुस्ताङलगायतका जिल्लामा सफल भएको पाइएको छ ।नेपालमा ओखरको खेती समुद्री सतहबाट ९०० मिटरदेखि तीन हजार ५०० मिटरसम्म गर्न सकिन्छ । बिजु ओखरको बिरुवाले पाँचदेखि छ वर्षबाट उत्पादन दिन सुरु गर्दछ भने कलमीले एक–दुई वर्षमै फल दिन सुरु गर्छ । प्रतिकेजी ६०० देखि ७०० पर्ने ओखरको बोटले सामान्यतया ५०–६० वर्षसम्म फल दिन्छ । लगाएपछि धेरै मिहिनेत गर्नु नपर्ने र बजार मूल्य राम्रो भएका कारण पनि ओखर खेतीप्रति किसानको आकर्षण बढ्दो छ ।

नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने तयारी

भक्तपुर, २ चैत : जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्र २०८१ सुरु हुनअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउने भएको छ । यसका लागि केन्द्रले यही चैत १५ गतेभित्र पाठ्यपुस्तक छपाइ सम्पन्न गरेर उपत्यकाबाहेक सातवटै प्रदेशमा रहेका केन्द्रको नौवटा वितरण केन्द्रबाट चैत १६ गतेदेखि पुस्तक वितरण सुरु गर्ने भएको छ ।

केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले भन्नुभयो, “हामीले जिम्मेवारी पाएको कक्षा ५ देखि १० सम्मका सम्पूर्ण सेटमै ९५ प्रतिशत पाठ्यपुस्तक छपाइ सकेका छौँ, गत चैत १५ गतेभित्र बाँकी पाँच प्रतिशत पुस्तक पनि छपाइ सक्छौँ, चैत १५ गतेदेखि नै पुस्तक वितरण सुरु गर्नेछौँ, शैक्षिक सत्र सुरु हुँदासम्म पूरै सेटमा सबै कक्षाका विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउँछौँ ।”

केन्द्रले अहिले २४ सैँ घन्टा छापाखाना सञ्चालन गरेर दैनिक एक लाख थान पुस्तक छपाइ गरिरहेको छ । आउँदो शैक्षिक सत्रका लागि केन्द्रले एक करोड ७५ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्नेमा एक करोड ५७ लाख थान पाठ्यपुस्तक छपाइ सकेको र बाँकी १८ लाख थान पुस्तक १४ दिनभित्रमा छपाइ सम्पन्न गरेर वितरण गर्न सुरु गर्ने प्रबन्ध निर्देशक झाले बताउनुभयो । उहाँले पुस्तक छपाइका लागि आवश्यक कागज, मसीलगायत कच्चा पदार्थ पर्याप्त मात्रामा खरिद गरेर राखेको र पुस्तक छपाइको काम दुई सिफ्टमा सातै दिन, २४ सैँ घन्टा चलिरहेको जानकारी दिनुभयो ।

पुस्तक वितरण भने पहिलो प्राथमिकता हिमाली क्षेत्र, दोस्रोमा पहाडी क्षेत्र र तेस्रोमा तराईमा र अन्तमा उपत्यकामा गरिने भएको छ । केन्द्रबाहेक उपत्यका बाहिरका नौवटा प्रादेशिक कार्यालय एवं वितरण केन्द्रबाट बिहानदेखि बेलुकासम्म पुस्तक वितरण गरिने प्रबन्ध निर्देशक झाले बताउनुभयो । छपाइ सकिएका पुस्तक सातैवटै प्रदेशका केन्द्रका प्रादेशिक कार्यालयको गोदाममा पु¥याउने काम भइरहेको छ । उहाँले यस वर्षको भर्ना अभियान सुरु हुन अगाडिनै विद्यालयमा पाठ्यपुस्तक पु¥याउन सक्ने बताउनुभयो । प्रबन्ध निर्देशक झाले भन्नुभयो, “गत वर्षजस्तै यस वर्ष पनि कुनै पनि कक्षाको कुनै पनि विषयको पुस्तक अभाव हुन नदिने र गत वर्षजस्तै सेटमै पुस्तक उपलब्ध गराउने छौँ, कुनै पनि पुस्तक यस वर्ष पनि अधाव हँुदैन ।

” केन्द्रले आउँदो शैक्षिक सत्रका लागि ५ देखि १२ कक्षासम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको थियो । चालु शैक्षिक सत्रका लागि गत वर्ष चैतमै कक्षा ६ देखि १२ सम्मको पुस्तक छपाइ गरेर शैक्षिक सत्र सुरु हुने बित्तिकै विद्यार्थीको हातहातमा पुस्तक पु¥याउन सफल भएपछि यस वर्ष सरकारले केन्द्रलाई कक्षा ५ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिएको थियो । केन्द्रका प्रबन्ध निर्देशक झाले भने कक्षा १ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिन सरकारसँग माग गरेको भएपनि कक्षा ५ देखिको जिम्मेवारी पाएको बताउनुभयो ।

आगामी वर्षदेखि सरकारले कक्षा १ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिएपनि केन्द्रले फागुनभित्रै पुस्तक पछाइ सम्पन्न गरेर चैतमा वितरण सम्पन्न गर्नसक्ने दाबी उहाँले गर्नुभयो । सरकारले गत वर्ष निजी क्षेत्रका छापाखानालाई कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा दिए पनि यस वर्ष त्यसलाई खुम्च्याउँदै कक्षा १ देखि ४ सम्मको मात्रै दिएको छ ।

पाठ्यक्रम विकास केन्द्रले कात्तिकमै शिक्षा मन्त्रालयमा पत्राचार गर्दै पुस्तक छपाइबारे छिटो निर्णय गर्न पत्रचार गरेको भए पनि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको गत मङ्सिर १२ मा केन्द्रमै बसेको बेठकमा प्रबन्धक निर्देशक झाले सरकारले यसबारेमा चाँडै निर्णय गरी १ देखि १२ सम्मको आवश्यक पर्ने पुस्तक छपाइको जिम्मेवारी केन्द्रलाई दिन माग गर्नुभएको थियो । केन्द्रले जिम्मेवारी पाउने आशामा कक्षा ३ कक्षा केही किताब छपाइसमेत गरिसकेका थियो ।

संसद्मा जनताका मुद्दा निरन्तर उठाउने गरेको छुः सांसद मोदी

काठमाडौँ, २ चैत : संसद्को अनुभव जति बसे पनि नयाँ भई नै रहन्छन् । संसद् एउटा खुला विश्वविद्यालय हो । संसद् एउटा सिक्ने विषय नै हो । किन भने त्यहाँ प्रत्येक कार्यकालमा फरक फरक प्रकृतिका फरक फरक दृष्टिकोण राख्ने सांसद, जनप्रतिनिधि आउनुहुन्छ । जनताका विषयवस्तु, जनताका आवाज, नीति निर्माणमा पहुँच पु¥याउन भूमिका खेल्ने सर्वोच्च ठाउँ सार्वभौम संसद् नै हो ।

संसद्मा सबैभन्दा धेरै जनताका समस्या उठाउने सांसदमध्ये म पनि पर्छुजस्तो लाग्छ । म संसद्मा, सुशासन समितिमा रहँदा सुशासनको, भ्रष्टाचारको कुरा उठाइरहेको हुन्छु । संविधान निर्माणका क्रममा जनताका विषयवस्तु कसरी सुनिश्चित गर्न सकिन्छ भनेर मैले सकारात्मक भूमिका निर्वाह गरेको थिएँ । मन्त्री हुँदा पनि मैले सकेसम्म जनताका सवाललाई सम्बोधन गरेको छु । मेरो निर्वाचन क्षेत्र मोरङ मात्रै होइन समग्र जनताका जनजीविकाका सवाललाई सक्दोरुपमा सम्बोधन गरेको छु । सङ्घीय निजामती ऐनलाई संसद्सम्म पु¥याउने काम मैले गरेको हो । म मन्त्री हुँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, समावेशी समानुपातिक प्रणालीलाई लागू गर्ने विषयमा सक्दो पहल गरेको छु ।सरकार र संसद् भनेको फरक फरक पाटो हो, तर यी एक सिक्काको दुई पाटा हुन् । संसद् नभई सरकार बन्दैन, सरकारले विधेयक नबनाई संसद् चालु हुँदैन । यी दुई एकअर्काका परिपूरक हुन् । तर सारमा सार्वभौम संस्था संसद् नै हो । सरकार कार्यकारी हो, सरकारले ऐन÷कानुन कार्यान्वयन गर्छ । संसद्ले ऐन÷कानुन बनाएर संसद्बाट पूर्णता दिने काम गरेको हुन्छ । संसद्लाई सक्रिय बनाउने सरकारले हो । सरकारले जति विधेयक संसद्लाई दियो त्यति नै संसद् क्रियाशील हुने हो । नेपालको संविधान जारी भइसकेपछि त्यस संविधानले परिकल्पना गरेका व्यवस्थाबमोजिम कानुन निर्माण गर्नुपर्ने चाप थियो । ती कानुन निर्माण गर्ने क्रममा विविधतामा एकता खोज्नुपर्ने हुन्छ । त्यो विविधतामा एकता खोज्दाखोज्दै सरकारले कानुनका लागि विधेयक बनाउन ढिला गरेको हुनसक्छ ।नेपालमा विधेयक निर्माण प्रक्रिया निकै परम्परागत र प्रक्रियामुखी छ । यी अल्झनले विधेयक निर्माणमा ढिलाइ हुन्छ, र पारित पनि ढिलो हुन्छ । विधेयक निर्माणको प्रक्रिया हेरौँ न । एउटा अधिकृतले प्रस्तावको मस्यौदामा हस्ताक्षर गर्नुपर्छ, त्यसपछि उपसचिवकोमा लैजानुप¥यो, त्यसपछि सहसचिवमा लैजानुपर्छ, त्यसपछि सचिव हुँदै मन्त्रीसमक्ष लैजानुपर्छ । त्यसपछि मन्त्रिपरिषद् हुँदै संसद्मा लैजानुपर्ने हुन्छ । संसद्भित्रको छलफल र संसदीय समितिमा अध्ययन गरेपछि बल्ल पारित भएको हुन्छ । यसक्रममा सरोकारवाला, विज्ञसँग छलफल गर्नुपर्ने हुन्छ । संविधानसँग बाझिएको छ छैन, अन्य कानुनी प्रबन्धसँग बाझिएको छ छैनलगायतका अनेक कानुनी, प्रशासनिक प्रश्नमाथि विचार गर्नुपर्ने हुन्छ । विधेयक निर्माणको यो बहुतै लामो प्रक्रिया भएको कारण विधेयक ल्याउन ढिलाइ भएको हुनसक्छ । एउटा विधेयकको विषयवस्तु अन्तर मन्त्रालयसँग सम्बन्धित भएको अवस्थामा अरु मन्त्रालयको रायसुझाव पनि लिनुपर्ने हुन्छ ।कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका शक्ति पृथकीकरणको सिद्धान्तबाट चलेका हुन्छन् । यी संस्थाले राम्रोसँग काम गरेका छन् वा छैनन् भन्ने कुरा जनताले नियालिरहेका हुन्छन् । राम्रो÷नराम्रो जनताले भन्ने हो । सरकार बनायो संसद्ले, सरकारले सर्वोेच्च अदालतका न्यायाधीश नियुक्ति गर्नुपर्ने हुन्छ । त्यसको अनुमोदन संसद्ले गर्ने हो । त्यसको संसदीय सुनुवाइ समिति हुन्छ । त्यसैले यी तीनै निकाय एकअर्काका परिपूरक छन् ।सांसद पूर्वाधार विकास कोषबारे अहिले जनतामा नकारात्मक भाष्य निर्माण गरिएको छ । यो कोषको सञ्चालन विधि, प्रक्रिया पारदर्शी छ तर सांसदले सबै खाए भन्ने किसिमको कुरा जनतामा सन्देश प्रवाह भएको छ । जनताले प्रक्रिया नबुझेको पनि हुन सक्छ । नेपाल अहिले आधुनिक वा संसारको विशिष्ट किसिमको देश भइसकेको छैन । संसद्ले कुनै न कुनैरुपमा विकास निर्माणमा कहीँ न कहिँ भूमिका निर्वाह गर्नुपर्ने हुन्छ भन्ने मेरो मान्यता छ ।सांसद अमनलाल मोदीको परिचयनेकपा (माओवादी केन्द्र) का नेता अमनलाल मोदी २८ वर्षको उमेरमै दोस्रो संविधानसभामा समानुपातिक सांसद बन्नुभएको थियो । युवा अवस्थामा सांसद बन्नुभएका मोदीले २०७४ सालमा भने प्रत्यक्ष निर्वाचनमा भाग लिनुभएको थियो । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रहनुभएका मोदी उमेरले अहिले ३८ वर्ष मात्र हुनुहुन्छ । उहाँले यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी बहन गरिसक्नुभएको छ ।

६० जनशक्ति परिचालन गरी छ वटा गैँडा स्थानान्तरण गरिँदै

चितवन, २ चैत : चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि गैँडा स्थानान्तरणको काम सुरुआत गरिँदै छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा आन्तरिक रुपमा स्थानान्तरण गर्न लागिएको हो । केही वर्षअघिनै गैँडा स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि स्थानान्तरण हुन सकेको थिएन ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार आजदेखि गैँडा स्थानान्तरणको काम सुरु गरिँदै छ । निकुञ्जका हात्ती, हात्ती सारे, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेना र अन्य कर्मचारी गरी ६० जनशक्ति परिचालन गरी गैँडा स्थानान्तरण गरिँदै छ ।

निकुञ्जले अहिले छवटा गैँडालाई आन्तरिक स्थानान्तरण गर्ने तयारी गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रतिवेदनअनुसार गैँडा स्थानान्तरण गर्न लागिएको हो ।

स्थानान्तरण गर्दा आठ वर्षदेखि माथि र २० वर्षभन्दामुनिका गैँडालाई गरिने छ । निकुञ्जको मुख्यालबाट पश्चिक क्षेत्रको दिव्यपुरी पोष्टमा वन देवीको पूजा गरी गैँडा नियन्त्रणमा लिने काम सुरु गर्न लागिएको हो । गैँडा स्थानान्तरणका लागि दुई साता लाग्ने अनुमान गरिएको छ । उहाँले भन्नुभयो, “गैँडा स्थानान्तरणसँगै पश्चिम र पूर्वका गैँडाको बीचमा संसर्ग भएर प्रजननमा समेत सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।” गैँडा स्थानान्तरणका लागि स्थानीय र मध्यवर्ती सामुदायिक वन व्यवस्थापन समितिसँग समन्वय गरिएको उहाँले बताउनुभयो ।

गैँडा स्थानान्तरणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट श्याम शाहको नेतृत्वमा प्राविधिक टोलीसमेत निकुञ्ज आइसकेको छ । तिवारीका अनुसार विश्व वन्यजन्तु कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष, जेडएसएलका प्रतिनिधिको समेत स्थानान्तरणमा सहभागिता रहेको छ । निकुञ्जमा आइसकेका छन् । गैँडा निकुञ्जको पश्चिम क्षेत्र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) क्षेत्रको भित्री भागमाबाट पूर्ब ल्याईने छ । निकुञ्ज बाहिर बस्तिमा आएर दुःख दिएका गैँडालाई स्थानान्तरणमा प्राथमिकता दिइने छ । स्थानान्तरण गर्दा भाले पोथीको रेसियो मिलाइने उहाँले जानकारी दिनुभयो ।

विभागले गैँडाको स्थानान्तरणका लागि उपमहानिर्देशक वेदकुमार ढकालको नेतृत्वमा गठन गरेको टोलीले अध्ययन गरेको थियो । पछिल्लो गणनाअनुसार नेपालमा ७५२ वटा गैँडा रहेका छन् । जसमध्ये बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा गैँडा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा छन् । पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गैँडा छन् । एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने क्रमसमेत बढ्ने गर्दछ । घाँसे मैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा पूर्व ल्याउन लागिएको हो ।

बागलुङको विकट क्षेत्रका हिलाम्मे र धुलाम्मे सडक कालोपत्रे गरिँदै

ढोरपाटन (बागलुङ), २ चैत : तमानखोला गाउँपालिका भौगोलिक विकटताका हिसाबले जिल्लामै दुर्गम मानिन्छ । बागलुङका धेरै पालिकामा थोरै भए पनि पक्की सडकले जोडिएका छन् ।

तर तमानखोलाका कुनै पनि सडक पक्की छैनन् । जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि उत्तर पश्चिममा रहेको तमानखोलाको केन्द्र बोङ्गादोभान बजारसम्मको सडक वर्षौं अगाडि ग्राभेलिङ गरे पनि अहिले हिलाम्मे र धुलाम्मे बनेको छ । विसं २०७० सालमा पहिलोपटक यस क्षेत्रमा सडक पुगेको थियो ।

बुर्तिबाङ बजारदेखि ११ किलोमिटर दूरीमा रहेको बोङ्गादोभान सिङ्गो तमानखोलाको प्रवेशद्वार नै हो । बुर्तिबाङ बजारदेखि तमानखोला–३ तमान गाउँ र वडा नम्बर ४ लाम्मेला ढोरपाटन नगरपालिकाको खुङ्गा हुँदै पुग्न सकिने भए पनि अन्य वडामा बोङ्गा दोभानबाटै पुग्नुपर्छ । दुर्गम पालिकालाई पक्की सडकले जोड्ने गरी गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २३ करोड २६ लाख २९ हजारको स्रोत सुनिश्चित गरेको छ ।

बहुवर्षे ठेक्का प्रक्रियामार्फत बुर्तिबाङ–बोङ्गादोभान सडक कालोपत्रे गरिने भएको छ । ट्रयाक खुलेको १० वर्षसम्म पनि सडक स्तरोन्नति नहुँदा जोखिम मोलेर यात्रा गर्दै आएका नागरिक कालोपत्रे हुने भएपछि हर्षित भएका छन् ।

भौगोलिक विकटतासँगै राज्यको नजरमा पर्दा अहिलेसम्म पछाडि परेको तमानखोलामा विस्तारै विकासले गति लिन थालेको छ । अग्ला–अग्ला पहाड र खोँच छिचोल्दै बस्ती पुगिने हुँदा सडक पनि साह्रै साँघुरा र अप्ठ्यारा छन् । साँघुरा सडकका कारण समय–समयमा दुर्घटना हुँदा नागरिकले अकालमा ज्यानसमेत गुमाउने गरेका छन् ।

बागलुङ क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरले अब दुर्गमका नागरिकले पनि पक्की सडकमा यात्रा गर्न पाउने बताउनुभयो । सडकसँगै अन्य विकासमा तमानखोला पछाडि परेको भन्दै अब भने यहाँका जनताले दुर्गममा भएको अनुभूति गर्न नपर्ने उहाँको भनाइ छ । प्रदेशसभा सदस्य कुँवरले लामो समयको प्रयासपछि यस वर्ष तमानखोलाको मुख्य सडक कालोपत्रेका लागि बजेट व्यवस्थापन गर्न सकेको बताउनुभयो ।

पालिकाको बजेटले नभ्याउने, केन्द्र र प्रदेशबाट बजेट नपर्दा अहिलेसम्म विकासमा पछि परेको उहाँ बताउनुहुनछ । प्रदेश सरकारमा आफूले ठूलो कसरत गरेपछि मात्रा बजेट व्यवस्थापन गर्न सफल भएको उहाँको भनाइ छ । तीन वर्षमा सक्ने गरी ठेक्का अगाडि बढ्ने भन्दै यस वर्ष पाँच करोडको काम हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेसम्म तमानखोलामा कतै पनि कालोपत्रे सडक छैन, अब तमान खोलावासीले पनि कालोपत्रे सडक देख्न र यात्रा गर्न पाउने छन्, यो बहुवर्षे योजना हो, एकै वर्षमा सकिँदैन, तीन वर्षसम्म सक्नुपर्नेछ, यस वर्ष पाँच करोड विनियोजन भएको, बजेट पनि निरन्तर आउने आउने काम पनि हुँदै जानेछ, योसँगै बोङ्गा दोभान–खुङ्खानी नर्जाखानी, थास्पुरी तमान जोड्ने २२ किलोमिटर सहरी सडक पनि स्तरोन्नतिका लागि डिपिआर गरेका छौँ भने घट्टबोट र धोमइघाटमा मोटरेबल पुल निर्माणका लागि पनि डिपीआर भएको छ ।” तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले पालिकाको सीमित स्रोत साधनले सडक कालोपत्रे गर्न नसकिएको बताउनुभयो । पुल निर्माण र सडक कालोपत्रेका लागि ठूलो बजेट चाहिने तर पालिकाको बजेटले नपुग्ने हुँदा वर्षौंदेखि यहाँका हजारौँ नागरिक कच्ची सडकमै यात्रा गर्न बाध्य भएको उहाँको भनाइ छ ।

बुर्तिबाङ बजारदेखि बोङ्गा दोभानसम्म जोड्ने सडकमा दुई वटा पुल बनेका छन् । ढोरपाटन –३ को हुँद्रा फेदी खोला र तमान खोलाको बालिबाङ खोलामा पुल नबन्दा बर्खामा यातायात ठप्प हुने स्थिति थियो ।

तीन वर्ष अगाडि हुँदा फेदी र दुई वर्ष अगाडि बालिबाङ खोलामा पक्की पुल बनेपछि बाह्रै महिना यातायात सञ्चालन हुन थालेको अध्यक्ष बुढा मगरले बताउनुभयो । अप्ठ्यारो सडकका कारण यात्रा गर्न र सामान ढुवानीमा समस्या हुने भन्दै छोटो दूरीमा पनि धेरै भाडा तिर्नुपर्ने स्थिति रहेको उहाँको भनाइ छ ।

“सडक कालेपत्रे गर्न त हामीले चाहेर पनि सकिदो रहेनछ, एक किलोमिटर सडक कालोपत्रे गर्न लाखौँ रकम चाहिँदो रैछ, यति लामो सडक कालोपत्रे गर्न त पालिकाले एक आर्थिक वर्षको सबै बजेट यहीँ खन्याउँदै पनि पुग्दो रहेनछ”, उहाँले भन्नुभयो, “विगतमा माथिल्लो सरकारबाट निकै कम बजेट आयो, त्यसले कामनै गर्न सकिएन, यस वर्ष गण्डकी प्रदेश सरकारले स्रोत सुनिश्चित गरेर काम अगाडि बढाउन थालेको छ, यसले यहाँका नागरिकलाई सहज बनाउने छ ।

” सडक कालोपत्रेको काम पूर्वाधार विकास कार्यालयमार्फत हुनेछ । गण्डकी प्रदेश अर्थ मन्त्रालयले बजेट सुनिश्चितता गरेपछि कालोपत्रेका लागि प्रक्रिया अगाडि बढाइएको पूर्वाधार विकास कार्यालय बागलुङका सूचना अधिकारी इन्जिनियर दिपेश रिगलले जानकारी दिनुभयो । अब तत्काल कार्यालयले सडकको काम अगाडि बढाउने भन्दै ठेक्का प्रक्रियामा गएर काम गर्ने उहाँको भनाइ छ ।

‘लाइसेन्स’को लिखित तथा प्रयोगात्मक परीक्षा स्थगन

दमौली (तनहुँ), २ चैत : यातायात व्यवस्था कार्यालय तनहुँले चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा बन्द गरेको छ । बन्दीपुर गाउँपालिका–४ विमलनगरमा रहेको कार्यालयले यहीे बिहीबारदेखि ती परीक्षा स्थगित गरेको हो ।

विशेष कारणवश दुई पाङ्ग्रे, चार पाङ्ग्रे, अटोरिक्सा र ट्र्याक्टरको सवारी चालक अनुमतिपत्रका लिखित तथा प्रयोगात्मक परीक्षासम्बन्धी सम्पूर्ण कार्य स्थगित गरिएको कार्यालय प्रमुख टीकाबहादुर गोदारले जानकारी दिनुभयो । सार्वजनिक जग्गा मिचेर ‘ट्रायल सेन्टर’ बनाएको जनाउँदै अख्तियार दुरुपयोग अनुन्धान आयोगमा उजुरी परेको जनाइएको छ । आयोगले यस विषयमा छानबिन गरेकाले तत्कालका लागि प्रयोगात्मक परीक्षा स्थगित गर्न कार्यालयलाई निर्देशन दिएको थियो । यातायात कार्यालय पनि भाडाको घरमा सञ्चालन हुँदै आएको छ ।

कार्यालयका सूचना अधिकारी विष्णुबहादुर क्षेत्रीले आयोगले जिल्ला प्रशासन कार्यालय तनहुँमार्फत कार्यालयलाई परिपत्र गरेको जानकारी दिनुभयो । विसं २०७८ फागुन २७ गते स्थापना भएको यातायात कार्यालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समेत समस्या हुँदै आएको छ । दरबन्दीअनुसारका कर्मचारीको अभाव, करारका कर्मचारीको भरमा कार्यालय सञ्चालन गर्नुपर्दा समस्या हुने गरेको जनाइएको छ ।

पन्ध्र स्थायी र दुई अस्थायी गरी १७ जनाको दरबन्दी रहेकामा कार्यालयमा पाँच स्थायी र छ करार गरी १३ कर्मचारी कार्यरत छन् । कार्यालयले विसं २०७९ कात्तिकबाट सवारी चालक अनुमतिपत्रको ट्रायल जिल्लाबाटै सुरु गरेको थियो । त्यसअघि ट्रायलका लागि पोखरा जानुपथ्र्यो ।

कार्यालयले सोही वर्षको साउन १५ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण सुरु गरेको थियो । कार्यालयमा सवारी साधन दर्तासमेत हुन्छ । यसले गर्दा तनहुँ मात्र नभई गोरखा, लमजुङका सर्वसाधारणलाई पनि सहज भइरहेको छ ।

विसं २०७१ देखि यातायात व्यवस्था सेवा कार्यालयको रुपमा काम गर्दै आइरहेको कार्यालय विसं २०७८ फागुन २७ गते यातायात व्यवस्था कार्यालयको रुपमा स्थापना भएको हो । सेवा कार्यालयको रुपमा रहँदा सवारी साधन कर सङ्कलन, रुट परमिट, जाँचपाससम्बन्धी काम गर्दै आएको कार्यालयले हाल सवारी चालक अनुमतिपत्र वितरण, नवीकरण र सवारी साधन दर्ता, नामसारी सेवा दिँदै आएको छ ।