`

पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण,गलेश्वरमा आउने भक्तजनलाई सहज

म्याग्दी, २ चैत : म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको सडक निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र उपभोक्ताको लागत साझेदारीमा फुटपाथ (पदमार्ग) सहितको अपाङ्गमैत्री पक्की सडक निर्माण भएको हो ।

सडक र पैदलमार्ग निर्माण भएपछि स्थानीयवासीका साथै गलेश्वरमा आउने भक्तजनलाई कालीगण्डकी नदीमा पुगेर स्नान गर्न सहज भएको छ । गलेश्वर मन्दिरदेखि कालीगण्डकी नदी जाने बाटो निर्माण समितिका अध्यक्ष बमबहादुर पुनले पाँच मिटर चौडाइ भएको १२५ मिटर लामो सडक ढलान गरेको जानकारी दिनुभयो ।

“सडकको डिलतर्फ रेलिङ र स्लेट ढुङ्गा बिछ्याएर पैदलमार्ग बनाइएको छ”, उहाँले भन्नुभयो, “साँघुरो र उकालो ग्रेड नमिलेको सडकलाई भित्ता काट्ने, पर्खाल बनाएर फराकिलो र ग्रेड मिलाइएको छ ।” सडक बनेपछि गलेश्वरको खेलमैदान र सभाहलसम्म सवारी साधन लैजान सकिने भएको छ ।

गलेश्वर मन्दिरदेखि राममन्दिर जोड्ने झोलुङ्गे पुल नजिकै सडक पुगेको हो । झोलुङ्गे पुलदेखि कालीगण्डकी नदीको किनारसम्म पुग्ने करिब ७० मिटर ढलान गरेको पैदलमार्ग गलेश्वर ज्येष्ठ नागरिक आश्रममा बस्ने हिदीका बमबहादुर शेरपुञ्जाले व्यक्तिगत लगानीमा बनाउनुभएको छ ।

रु ४२ लाख ६७ हजार २३९ को लागतमा सडक र पदमार्ग निर्माण भएको उपभोक्ता समितिका समितिका सचिव रामबहादुर बानियाँले बताउनुभयो । “सो योजनाका लागि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट रु ४० लाख बजेट विनियोजन भएको थियो”, उहाँले भन्नुभयो, “उपभोक्ताको तर्फबाट रु चार लाख २७ हजार २३९ बराबरको लागत साझेदारी भएको छ ।” विस २०८१ ज्ेठ २५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित गत पुष २५ गते सम्झौता भएको थियो ।

उपभोक्ता समितिको सक्रीयताका कारण लक्ष्यभन्दा तीन महिनाअघिनै योजना निर्माण सकिएको पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख विष्णु पौडेलले बताउनुभयो । कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वर मन्दिर मुक्तिनाथ प्रवेशद्वारको रुपमा परिचित छ ।

साउन महिनाको सोमबार, बालाचर्तुदर्शी र शिवरात्रि पर्वमा बिशेष मेला लाग्ने गलेश्वरमा दैनिक पूजा र दर्शन गर्न सकिन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

झापाबाट काठमाडौं जाने रात्रि बसमा एकद्वार प्रणाली, यात्रुलाई टिकट काट्न सहज हुने

झापा, २ चैत : पूर्वी नेपालको यातायात प्रस्थानविन्दु काँकडभिट्टालगायत झापाका विभिन्न स्थानबाट काठमाडौँ यात्रु बोक्ने रात्रि बसका सञ्चालकले बिहीबारदेखि ‘संयुक्त बुकिङ काउन्टर’ राखेर एकद्वार प्रणाली सुरु गरेका छन् । एक दशकअघि सरकारले ‘सिन्डिकेट प्रथा’ खारेजी गरेसँगै यातायात कम्पनीको अलगअलग बुकिङ काउन्टर सञ्चालन हुँदै आएको थियो । कम्पनीपिच्छे बुकिङ काउन्टर हुँदा यात्रु तानातान र व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेको थियो । यस्तो अवस्थालाई अन्त्य गर्न यातायात व्यवसायीले लगानी सुरक्षा र यात्रु व्यवस्थापनमा सहजता ल्याउन आपसी सहमतिमा एकद्वार प्रणाली सुरु गरेको पूर्वमेची बस व्यवसायी प्रालिका अध्यक्ष राजेन्द्र रिजालले जानकारीदिनुभयो ।

उहाँका अनुसार झापाका मुख्य चार यातायात कम्पनीले गठन गरेको मेची संयुक्त यातायात व्यवस्थापन समितिमार्फत बिहीबारदेखि काठमाडौँ जाने रात्रि बस सेवामा एकद्वार प्रणाली लागू गरिएको हो । पहिलो दिन काँकडभिट्टा, भद्रपुर, गौरीगञ्ज, बुधबारे र विर्तामोडका २० यात्रुबाहक रात्रिबस संयुक्त बुकिङ काउन्टरमार्फत यात्रु बोकेर काठमाडौँ गएका छन् ।

संयुक्त व्यवस्थापन समितिमा आबद्ध भएका कम्पनीमा पूर्वी मेची बस व्यवसायी प्रालि, पूर्वी हिमाल यातायात प्रालि, मेची यातायात एन्ड अटो प्रालि र मेची सुपर यातायात प्रालि रहेका छन् । काठमाडौँमा रहेका अन्य कम्पनीसमेत एकद्वार प्रणालीमा आउने तयारीमा रहेको उहाँले दाबी गर्नुभयो ।

यो प्रणाली लागू भएपछि यात्रुले जुनसुकै बसको पनि एउटै काउन्टरबाट टिकट काट्न पाउने छन् भने यातायात व्यवसायीले आफ्ना गाडी पूर्वनिर्धारित आलोपालो मिलाएबमोजिम सञ्चालन गर्नुपर्नेछ । आलोपालोका लागि गाडी संयुक्त व्यवस्थापन समितिमा आबद्ध भएको हुनुपर्ने छ । मेचीनगर यातायात व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम घिमिरेले एकद्वार प्रणालीमार्फत एउटै बुकिङ काउन्टरबाट यात्रुले बिना झञ्झट सेवा पाउने सुरुआतले यातायात क्षेत्रमा व्याप्त बिचौलिया विकृति र बेथितिको अन्त्य हुने बताउनुभयो ।

“हामी यात्रुको तानातान नहोस् र अस्वस्थ प्रतिस्पर्धाको अन्त्य होस् भन्ने चाहन्छौँ”, उहाँ भन्नुहुन्छ, “हिजो सिन्डिकेट प्रथा भनेर संयुक्त समिति नै खारेज गराइयो । यो सिन्डिकेट होइन, यातायातलाई सही ढङ्गले व्यवस्थापन गर्ने आलोपालो पद्धति हो । यसबाट यात्रुलाई झन सुविधा हुन्छ ।” दर्जनौँ सङ्ख्यामा खुलेका बुकिङ काउन्टरका प्रतिनिधिले बसपार्कमै गएर यात्रु तानातान गर्ने विकृतिका कारण पूर्वीनाका नै बदनाम भइरहेको जनाउँदै यातायातलाई चुस्त र मर्यादित आफैँ बनाउँछौँ भनेर व्यवसायी लाग्नु स्वागतयोग्य कार्य भएको उहाँको भनाइ छ ।

जिल्लाको सबैभन्दा धेरै व्यवसायी र सवारी साधन भएको पूर्व मेची बस व्यवसायी प्रालिका पूर्वअध्यक्ष विष्णुकुमार श्रेष्ठले संयुक्त व्यवस्थापन गरेर आलोपालो प्रणालीमा जाने व्यवसायीको कदमलाई सरकार, स्थानीय प्रशासन र नागरिक तहबाट सहयोग हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । “पहिलो चरणमा रात्रि बसबाट यो प्रणालीको प्रयोग गरिएको हो”, संयुक्त यातायात व्यवस्थापन समितिको रुट निर्धारण संयोजकसमेत रहनुभएको श्रेष्ठले भन्नुभयो “चारैवटा यातायात कम्पनीका साझा बुकिङ काउन्टर सञ्चालन भइसकेका छन् । काउन्टर रहने स्थान र कर्मचारीसमेत निश्चित गरिसकेका छौं । यात्रु र गाडीको चाप हेरेर वैज्ञानिक ढङ्गले आलोपालो मिलाउँछौँ ।”

यातायात क्षेत्रमा निजी क्षेत्रको पहलमा एकद्वार प्रणाली लागू गरिएकोमा सरोकारवाला अन्य व्यवसायीले मिश्रित प्रतिक्रिया जनाएका छन् । होटल व्यवसायी सङ्घ मेचीनगरका अध्यक्ष गोपाल श्रेष्ठले यात्रु र सवारी साधन बढ्दै गए पनि उचित व्यवस्थापन हुन नसकिरहेको अवस्थामा एकद्वार प्रणाली आउनु सराहनीय भएको बताउनुभयो ।

पर्यटन व्यवसायी नीरबहादुर कार्कीले यात्रुलाई गाडी छान्ने स्वतन्त्रता हनन गरिन नहुने जनाउँदै पुरानै गाडीमा जबर्जस्ती टिकट काट्न बाध्य पार्ने अवस्था ल्याउन नहुने बताउनुभयो । मुलुककै ठूलो यातायात सञ्जाल भएको तत्कालीन मेची बस व्यवसायी सङ्घले दश वर्षअघिसम्म राजधानी जाने रात्रि बसको एकद्वार प्रणाली सञ्चालन गर्दै आएको थियो । तर, त्यसको चर्को विरोध भएपछि एकद्वार प्रणाली सरकारले खारेज गरेको थियो । तर, अहिले व्यवसायी नै एकद्वार प्रणालीको आवश्यकतामा जोड दिइरहेका छन् ।

बङ्गलादेश सरकार र युनिसेफ बालअधिकारका विषयमा सहकार्य गर्दै

बङ्गलादेश सरकारले संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) सँगको सहकार्यमा १ हजार २०० भन्दा बढी सामाजिक कार्यकर्ताहरूलाई विभिन्न बाल संरक्षण सेवामा नियुक्त गरेको छ। सरकारको यस कदमबाट देशभरका बालबालिकाका साथै परिवारको सहयोग र कल्याणको सुनिश्चितता गर्ने सरकारको प्रयासलाई महत्त्व दिएको युनिसेफले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

बाल संरक्षण सामाजिक सेवाहरूमा उनीहरूको एकीकरणका लागि पहिलो चरणको रूपमा बङ्गलादेशको सामाजिक सेवा विभाग र युनिसेफले संयुक्त रूपमा ढाकामा बिहीबार सामाजिक कार्यकर्ता लक्ष्यित प्रशिक्षकहरूको तीन दिने प्रशिक्षण सम्पन्न गरेका छन् ।

सरकार र युनिसेफले बाल संरक्षणका क्षेत्रमा सहकार्य गर्दै बालबालिका र परिवार बीचको खाडल कम गर्न, आपत्कालीन अवस्थामा र समस्या परेका बालबालिकालाई आवश्यक सहयोग पुर्याउनुका साथै उनीहरूको बालअधिकारका विषयमा सजग गराउने प्रयासमा पनि यो कदम महत्त्वपूर्ण हुने अपेक्षा गरेका छन् ।

बालअधिकार संरक्षण र प्रवर्धन गर्ने कार्यमा प्रशिक्षित कार्यकर्ताहरूले रचनात्मक भूमिका खेल्ने र सरकार र युनिसेफको लक्ष्यलाई सहयोग पुर्याउने विश्वास गरिएको छ ।

दक्षिण चीन सागर मुद्दामा अन्तरराष्ट्रिय समुदायलाई भ्रमित नपार्न फिलिपिन्सलाई चीनको आग्रह

फिलिपिन्सले दक्षिण चीन सागरको मुद्दालाई थप विवादित बनाउने र अन्तरराष्ट्रिय समुदायलाई भ्रमित पार्ने कार्य बन्द गर्नुपर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बिहीबार बताउनु भएको छ ।फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले मार्च १२ मा बर्लिनमा जर्मन चान्सलर ओलाफ स्कोल्जसँग भेट गरेपछि फिलिपिन्सले “चीनले हामीलाई गरेको कुनै पनि प्रस्ताव र आफ्नो ‘१०-ड्यास लाइन’ मा जुन विस्तृत दावीलाई आधार बनाएको छ त्यो कुनै पनि देश, कुनै पनि अन्तरराष्ट्रिय निकायद्वारा मान्यता प्राप्त छैन।” भन्ने विषयमा नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफमा प्रवक्ता वाङले सो टिप्पणी गर्नु भएको हो ।

प्रवक्ता वाङले नान्हाइ झुडाओ र सान्दर्भिक जलको खोज, नामकरण र अन्वेषण गर्ने चीन पहिलो राष्ट्र भएको भन्दै नान्हाइ झुदाओ र सम्बन्धित जलमाथि निरन्तर, शान्तिपूर्ण र प्रभावकारी रूपमा सार्वभौम अधिकार र क्षेत्राधिकार प्रयोग गर्ने पनि पहिलो राष्ट्र भएको स्पष्ट पार्नुभएको छ ।

दोस्रो विश्वयुद्धपछि चिनियाँ सरकारले क्यारो घोषणा र चीन विरुद्धको आक्रामक युद्धका क्रममा जापानले अवैध रूपमा कब्जा गरेको नानहाइ झुदाओमा सार्वभौमसत्ताको अभ्यासलाई पुन: प्राप्त गरेको दाबी गरेको छ ।’चीनको ‘साउथ चाइना सी’ मा क्षेत्रीय सार्वभौमसत्ता र सामुद्रिक अधिकार र चासो छ र नानहाइ झुडाओमा चीनको सार्वभौमसत्ता छ; चीनको आन्तरिक जल, प्रादेशिक समुद्र र नान्हाइ झुडाओमा आधारित क्षेत्र छ; चीनसँग विशेष आर्थिक क्षेत्र र महाद्वीपीय शेल्फ छ । दक्षिण चीन सागरमा चीनको ऐतिहासिक अधिकार छ र उपर्युक्त विषय र सन्दर्भ अन्तरराष्ट्रिय कानुन र अभ्याससँग सुसङ्गत छन्, वाङले पत्रकार सम्मेलनमा स्पष्ट पार्नु भएको छ ।

“फिलिपिन्स पक्षले अन्तरराष्ट्रिय समुदायलाई भ्रममा पार्ने, दक्षिण चीन सागरको मुद्दालाई विवाद बढाउन उक्साउने र यस क्षेत्रमा शान्ति र स्थिरतालाई कमजोर पार्न बाह्य शक्तिको चलखेल गरादने खेल बन्द गर्नुपर्छ,” वाङले भन्नुभयो ।प्रवक्ता वाङले भन्नुभयो- दक्षिण चीन सागर मुद्दालाई सम्बोधन गर्न चीन आफ्नो क्षेत्रीय सार्वभौमसत्ता र सामुद्रिक अधिकार र हितको रक्षा गर्न दृढ छ र ऐतिहासिक तथ्यलाई सम्मान गर्दै प्रत्यक्ष सरोकारवाला देशहरूसँग वार्ता र परामर्शद्वारा समुद्री मतभेदहरू समाधान गर्न तयार छ।

साथै वाङले दक्षिण चीन सागरमा देखिएका मतभेदको समाधानका लागि विचाराधीन विषयलाई गम्भीरतापूर्वक लिदै समुद्रको स्थिति व्यवस्थापन गर्न शान्ति र स्थायित्वको रक्षा गर्न प्रत्यक्ष सरोकारवाला देशहरूसँग मिलेर काम गर्न तयार रहेको उल्लेख गर्नु भएको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – शुक्रबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती लुम्बिनी र बाग्मती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने मिसन ८४ – अध्यक्ष ओली

महेन्द्रनगर (कञ्चनपुर), २ चैत ः नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने लक्ष्य ‘मिसन ८४’ को रहेको बताउनुभएको छ । एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनलाई बिहीबार महेन्द्रनगरमा सम्बोधन गर्नुहुँदै उहाँले निर्वाचन र यसको परिणामले कस्को शक्ति कस्तो छ भन्ने कुरा स्पष्ट पार्ने बताउनुभयो । “ हामी नेपालको राष्ट्रिय शक्तिलाई निर्णायक रुपमा सुदृढ र बलियो बनाउन चाहन्छौँ”, अध्यक्ष ओलीले भन्नुभयो, “यसको मापन निर्वाचन परिणामबाट हुन्छ यसै कारण हामीले मिसन ८४ भनेका छौँ ।”

उहाँले वर्तमान संयुक्त सरकारले लिएको नीतिले मुलुकमा समृद्धि हासिल हुने बताउनुभयो । उहाँले भन्नुभयो, “मेची–महाकालीबाट गएका मिटरब्याज पीडितसित सरकारले सहमति गरेको छ, र समस्या समाधानको सुरुआत सरकारले गरेको छ ।”

लघुवित्त पीडितसँगको वार्ता सहमति नजिक, आज फेरि बस्ने

काठमाडौँ- आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिसँगको वार्ता सहमति नजिक पुगेको छ । अर्थ मन्त्रालयका सहसहसचिव नारायणप्रसाद रिसालको नेतृत्वमा गठित वार्ता समितिले लघुवित्त पीडितहरुसँग बिहीबार साँझ छलफल गरेको र आज फेरि बस्नेगरी सकिएको अर्थमन्त्री वर्षमान पुनको निजी सचिवालयले जनाएको छ ।

‘‘आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित सङ्घर्ष समितिले उठाएका मागहरुका सम्बन्धमा छलफल भएको छ । पीडितका माग सम्बोधनका लागि नेपाल राष्ट्र बैंकलगायत निकायबाट हालसम्म भएका पहल र सम्बोधन गर्न सकिने जायज मागबारे छलफल पछि दुवैपक्ष सहमति नजिक पुगेका छन्’’, अर्थमन्त्रीको निजी सचिवालयले भनेको छ ।

मन्त्रालयद्वारा गठित वार्ता समितिले बिहीबार नै सहमतिका लागि प्रयास गरेको भए पनि लघुवित्त पीडितहरुले आजसम्मको समय मागेपछि बिहीबारको छलफल सकिएको हो । द्विपक्षीय छलफलमा लघुवित्त पीडितका समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकबाट भएको प्रयास बारे जानकारी गराईको थियो । त्यस्तै, राष्ट्र बैंकको नियमनभित्र रहेका लघुवित्त संस्थाहरुले तोकिएको भन्दा बढी ब्याज र सेवाशूल्क नपाउने व्यवस्था कडाईका साथ लागु भइरहेको जानकारी पनि राष्ट्र बैंकले गराएको छ । कर्जाको पुनर्संरचना, पुनर्तालिकीकरणलगायतका विषयमा पनि छलफल भएको जनाइएको छ । नियामक नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशन विपरीत कार्य गर्ने लघुवित्त वित्तिय संस्थाहरुमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने माग पीडितहरुले उठाउँदै आएका छन् ।

सरकारबाट गठित वार्ता समितिमा गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, कानून मन्त्रालयका उपसचिव झइन्द्र गुरागाईं र नेपाल राष्ट्र बैंकका प्रतिनिधि हुनुहुन्थ्यो । अर्थमन्त्री वर्षमान पुनले हिजो सङ्घर्ष समितिसँग वार्ता गरी उनीहरुका माग सम्बोधन गर्ने उपायसहित प्रतिवेदन बुझाउन निर्देशन दिनुभएको थियो । त्यसैगरी, मन्त्रालयले यसअघि नै समस्याको टुङ्गो नलाग्दासम्म लघुवित्तका ऋणिलाई घरघरमा गएर गैरकानूनी रुपमा बलजफ्ती नगर्न लघुवित्त सञ्चालकलाई निर्देशन पनि दिएको थियो ।

डाइलासिस मेसिन नहुँदा एक लाख बढी तिर्न बाध्य

चितवन -सरकारले मिर्गाैलाका बिरामीलाई निःशुल्क डाइलासिसको व्यवस्था गरेपनि मेसिन पर्याप्त नहुँदा बिरामीले मासिक रु एक लाखसम्म तिर्न बाध्य भएका छन् । चितवनसहित छिमेकी जिल्लाबाट यहाँ आउने बिरामीले निःशुल्क सेवा दिने मेसिन अभावमा निजी अस्पतालमा महँगो शुल्क तिर्न बाध्य भएका हुन् ।

भरतपुर, बकुलहर रत्ननगर अस्पताल र चितवन मेडिकल कलेजमा निःशुल्क डाइलासिस सेवा भए पनि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा भने बिरामीले महँगो शुल्क तिर्न बाध्य भएका मिर्गाैला पीडित सरोकार समाज चितवनका अध्यक्ष जीवनाथ पराजुलीले बताउनुभयो । निःशुल्कमा पालो नपाउँदा चर्काे मूल्यमा डाइलासिस गराउन बाध्य भएका उहाँको भनाइ छ ।

पराजुलीका अनुसार कलेज अफ मेडिकल साइन्सेसमा सुरुमा गएका बिरामीले एक पटकमा रू आठ हजार तिर्नुपर्ने हुन्छ । हप्ताको तीन पटकसम्म डाइलासिस गराउनुपर्नेले मासिक रू एक लाखभन्दा बढी तिर्नुपर्ने उहाँले बताउनुभयो । यसका अतिरिक्त अन्य परीक्षण गर्नुपर्दा, आउजाउ तथा बसाइँ खर्चलगायत लगायत सबै बिरामीले बेहोर्नु परेको उहाँको भनाइ छ ।

पुराना बिरामीले आवश्यक कागजात पेस गरेपछि एक पटकको रू पाँच हजार तिर्ने गरेका मिर्गाैला पीडित सरोकार समाजका अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । “धेरै पुराना तीन जना बिरामीले भने एक पटकमा रू तीन हजार तिर्ने गरेका छन्”, उहाँले भन्नुभयो ।

पराजुलीले डाइलासिस मेसिन थपेर सबैलाई निःशुल्क हुनुपर्नेमा जोड दिनुभयो । सो मेडिकल कलेजमा विसं २०७८ असोज अघिसम्म डाइलासिस निःशुल्क हुने गरेकामा अहिले शुल्क तिर्नुपरेको उहाँको भनाइ छ । अस्पतालमा १२ मेसिनमध्ये अहिले आठ वटा मात्र सञ्चालनमा रहेको अस्पताल प्रशासनले जनाएको छ ।

जिल्लामा सबैभन्दा बढी भरतपुर अस्पतालमा १७ मेसिन सञ्चालनमा छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीले २४सै घण्टा र बिदाको दिनमा डाइलासिस सेवा प्रदान गरिँदै आइएको जानकारी दिनुभयो ।

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा चार वटा सञ्चालनमा छन् भने थप पाँच मेसिन सञ्चालनको तयारीमा छन् । बकुलहर रत्ननगर अस्पतालमा १० वटा मेसिन सञ्चालनमा छन् ।भरतपुर महानगरपालिका–१२ की हिरामती लामाले दुई दिन बिराएर अस्पताल जानुपर्दा पीडा हुने गरेको बताउनुभयो । अस्पतालमा आलोपालो गरिने हुँदा रातिको समयमा कुरेर डाइलासिस गराउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

कुबेतमा मृत्यु भएका तीन नेपाली श्रमिकको शव नेपाल फर्काउने तयारी भइरहेको छ – मन्त्री अर्याल

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कुवेतमा सडक दुर्घटनामा परी मृत्यु भएका तीन नेपाली श्रमिकको शव यथाशिघ्र नेपाल फर्काउने तयारी भइरहेको बताउनुभएको छ ।

उहाँले मृतकका शोक सन्तप्त परिवारजनमा गहिरो सम्वेदना व्यक्त गर्दै मृतक श्रमिकको परिवारलाई पाउने राहत प्रक्रियाअघि बढाउन निर्देशन दिनुभएको हो । मृतक श्रमिकको शव नेपाल फर्काउनका लागि कुवेतस्थित नेपाली दूतावास तथा वैदेशिक रोजगार बोर्डलाई आवश्यक पहल गर्न निर्देशन दिनुभएको मन्त्री अर्यालले राससलाई जानकारी दिनुभयो । उहाँले कुबेतस्थित नेपाली दूतावासमा सम्पर्क गरी मृतक श्रमिक र परिवारको विषयमा जानकारी लिनुभएको थियो ।

गत मङ्गलबार बिहान कुबेतको महाबुल्ला क्षेत्रको सी साइड सडकमा भएको दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपाली श्रमिकको मृत्यु भएको थियो । मृत्यु हुनेमा काठमाडौँ सानो भ¥याङका सुजन कार्की, अछामका सुरतबहादुर कडायत र धनुषाका धीरज गुर्मछान मगर रहेका छन् ।

मन्त्री अर्यालले कुबेतस्थित दूतावासले मृतक श्रमिकले पाउने क्षतिपूर्तिको निमित्त घटनाको प्रकृतिको सम्बन्धमा थप बुझ्न स्थानीय कानुन व्यवसायी परिचालन गरिएको बताउनुभयो ।

हेर्नुहोस् चैत २ गते शुक्रवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – प्रियजनको स्वास्थमा सामान्य खराबि आउनाले मानसीक समस्या आईपर्न सक्नेछ । बाणीमा मधुरता छाउनाले कुल कुटुम्बह?को साथ सहयोगमा बृद्यिहुने योग रहेकोछ । नयाँ लगानिका क्षेत्रमा बिशेष सजगरहनु पर्ने समय रहेकोछ । यात्रामा सजग रहनुहोला । बादबीवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेको छ ।

बृष राशि – ब्यापार ब्यवसायको निम्ति तथा नयाँ लगानिका लागी राम्रो समय रहेको छ । मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ । स्वास्थ सम्बन्धि समस्या ले सताउला । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला ।

मीथुन राशि – सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ने छ । मेहेनत अनु?पको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ । सामान्य यात्राको सम्भाबना रहेकोछ । खानपानका कारण स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । अ?को छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ ।

कर्कट राशि- पुराना तथा प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । प्रतिपक्क्षीह? सबल रहनाले कार्य सम्पादनमा झन्झट ब्यर्होनु पर्ला । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला ।

सिंह राशि- परोपकारको क्षेत्रमा धेरै समय र परीश्रम खर्च हुन सक्छ । मान्यजनको अनुसरण बाट बिशेष लाभ प्राप्त हुने समय रहेको छ । मान्यजनह? सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । शारिरीक आलस्यताले सताउला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ ।

कन्या राशि- कार्य सम्पादनमा भएका सामाय त्?टिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । अनावश्यक यात्राको सम्भाबना रहेकोछ । प्रतिश्पर्दीहरू कमजोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ । जटिल कार्यह? सम्पादन गर्न उत्तम समय रहेकोछ । दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ ।

तुला राशि- कार्य सम्पादनमा अ?को दबाबको अनुभब हुन सक्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभासम्मेलनमा सहभागीताको समय रहेकोछ । तपाईको कार्यको फल अ?लाई सहजै प्राप्त हुनाले मनमा खिन्नता उत्पन्न हुनेछ ।

बृश्चिक राशि – ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यह?मा सफलता हात लाग्नेछन । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यह? सम्पादित रहनेछन । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।

धनु राशि- अपरीचीत ब्यक्तिह?को बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । शत्? सबल रहनेछन । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । आर्र्थीक झमेलाले सताउनेछ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ ।

मकर राशि – अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पूर्याउनेछ । आम्दानि मध्यम रहनेछ । बौधिक ब्यत्तित्वह?को अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन । आफु भन्दा सानोको सहयोगमा गरिएका कामह? दीगो फाईदा मुलक साबित हुनेछन ।

कुम्भ राशि – भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला । कार्य सम्पादनमा भएका सामाय त्?टिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । मान्यजनह?को साथसहयोगमा जटिल कार्यह? सम्पादित रहनेछन । अ?को दबाबको अनुभब हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ ।

मिन राशि – मान सम्मान प्राप्तिको योग रहेको छ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहला । अध्यन अध्यापन मध्यम रहनेछ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । बल पराक्रममा बृद्धि हुनेछ ।

कानुनमन्त्रीद्वारा उपभोक्ता अदालत स्थापनाको प्रतिबद्धता

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले उपभोक्ता अदालत स्थापनाका लागि पहल गर्ने बताउनुभएको छ । राष्ट्रिय उपभोक्ता मञ्च नेपाल, उपभोक्ता अधिकार अनुसन्धान मञ्च र उपभोक्ता संरक्षण मञ्चले यहाँ आयोजना गरेको ‘उपभोक्ताको चाहना ः सुलभ र शीघ्र न्यायका लागि उपभोक्ता अदालतको स्थापना’ विषयक कार्यक्रममा उहाँले उपभोक्ता अदालत स्थापनाका लागि पहल गर्ने बताउनुभएको हो ।

“उपभोक्ता अदालत स्थापना गर्नसके उपभोक्ताका अधिकारलाई संरक्षण गर्न सकिन्छ, उपभोक्ता अदालत अनिवार्य कुरा हो,”– उहाँले भन्नुभयो – सर्वोच्च अदालतले सातै प्रदेशमा उपभोक्ता अदालत स्थापनाका लागि आदेश दिइसकेको र कानुन मन्त्रालयअन्तर्गत नै बनेको कार्यदलले पनि उपभोक्ता अदालतको आवश्यकता औँल्याएकाले उपभोक्ता अदालत शीघ्र स्थापनाका लागि आफूले पहल गर्ने बताउनुभयो ।

सोमालियाको २ अर्ब अमेरिकी डलरभन्दा बढी ऋण रद्द गर्न पेरिस क्लब सहमत

ऋणदाता राष्ट्रहरूको अनौपचारिक समूह पेरिस क्लबले सोमालियाको २ अर्ब अमेरिकी डलरभन्दा बढी ऋण रद्द गर्न सहमत भएको छ। यस समूहको उद्देश्य ऋणी राष्ट्रहरूले सामना गर्ने भुक्तानी समस्याहरूको व्यावहारिक समाधान खोज्नु रहेको छ । सोही अनुरूप सोमालियाको समस्यालाई दृष्टिगत गरी सो निर्णय लिइएको हो ।

सन् २०२३ डिसेम्बरमा अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) समेतको पहलबाट गरीब देशहरू (एन्हान्स्ड एचआईपीसी) को ऋण अनुमोदन अन्तर्गत ऋणदाता राष्ट्र र ऋणी राष्ट्रको आपसी समन्वयपछि निष्कर्षमा पुग्न सकिने सहमति अनुकूल पेरिस क्लब ऋणदाता देशहरू र सोमाली सरकारका प्रतिनिधिहरू बीच बुधबार भएको बैठकपछि उक्त ऋण रद्ध गर्ने निर्णय लिइएको हो।

‘वायु प्रदूषण न्यूनीकरणमा तीन तहका सरकारको सहकार्य आवश्यक’

पाटन (ललितपुर), १ चैत : वन तथा वातावरण मन्त्रालयका सचिव डा दीपककुमार खरालले वायु प्रदूषण न्यूनीकरणमा तीन तहका सरकारको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

काठमाडौँ उपत्यकाको वायु प्रदूषण न्यूनीकरण गर्ने सम्बन्धमा क्लिन इनर्जी नेपाल र नागरिक सञ्जालका प्रतिनिधिले दिएको ज्ञापनपत्र पत्र बुझ्दै सचिव डा खरालले वायु प्रदूषण न्यूनीकरणमा नागरिककातर्फबाट राखेको चासो र चिन्ता प्रशंसनीय रहेको बताउनुभयो ।

“वातावरण संरक्षण ऐन, २०७६ र नियमावली कार्यान्वयन गर्न ठूलो लागत लाग्ने अवस्था छ । यसका लागि तीन तहका सरकारका साथै सरोकारवाला सङ्घ संस्थाकोसमेत सहकार्य र समन्वय आवश्यक छ । मन्त्रालय सहयोगी सङ्घसंस्थाको साथ लिएर अगाडि बढ्नेछ”, सचिव डा खरालले भन्नुभयो । सचेत नागरिकको तर्फबाट भएको पहलको प्रशंसा गर्दै उहाँले निर्देशक समितिको बैठक राखेर आवश्यक कार्य अगाडि बढाउने बताउनुभयो ।

ज्ञापनपत्र बुझाउँदै क्लिन इनर्जीका कार्यक्रम संयोजक वर्षा पराजुलीले संविधानको धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चितता गरेको बताउँदै वायू प्रदूषण न्यूनीकरण गर्ने विषयमा सरकारी निकायबाट प्रभावकारी कदम चाल्नुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराइएको बताउनुभयो ।

नागरिकको नैसर्गिक अधिकार सुनिश्चित गर्न वातावरण संरक्षण ऐन र नियमावली, स्थानीय सरकार सञ्चालन ऐन तथा वातावरणीय स्वास्थ्य जोखिम न्यूनीकरणका लागि तयार गरिएका कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा तीनै तहका सरकारको भूमिका अनुसार भएगरेका प्रगतिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको पराजुलीले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकालगायत सहरी तथा कतिपय ग्रामीण क्षेत्र समेत वायु प्रदूषणको न्यूनतम मापदण्ड भन्दा कयौँ गुणा बढी प्रदूषित भई मानव स्वास्थ्य, शिक्षा, अर्थ, सम्पदालमा गम्भीर असर पारेको, स्वास्थ्य जोखिमका कारण अस्पतालमा बिरामीको सङ्ख्या बढेकोलगायत विषय ज्ञापनपत्रमा समावेश गरिएको छ । वायु प्रदूषणका कारण रुघाखोकी, दम, आँखा पोल्ने, श्वासप्रश्वासमा समस्या बढ्दै गएको भन्दै ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराइएको छ ।

वायु प्रदूषण वातावरणीय स्वास्थ्य जोखिमको प्रमुख कारण बन्दै गएको कार्यक्रम संयोजक पराजुलीले बताउनुभयो । मुलुकभरी बर्सेनि ४२ हजार एक सयको र काठमाडाैँ उपत्यकामा मात्र पाँच हजार ८० जनाको मृत्युको कारण वायु प्रदूषण भएको तथ्यलाई ज्ञापनपत्रमा समेटिएको उहाँले बताउनुभयो ।

काठमाडाैँ उपत्यकाको वायु गुणस्तर व्यवस्थापन कार्ययोजना लागू भएको चार वर्ष बितिसकेको अवस्थामा हालसम्म भएको प्रगतिको समीक्षा गरी तत्काल प्रतिवेदन सार्वजनिक गर्न ज्ञापनपत्रमा माग गरिएको छ । वायु प्रदूषणको नियन्त्रण र व्यवस्थापनका लागि नयाँ राष्ट्रिय कार्ययोजना निर्माण गर्न माग गरिएको छ ।

वन डढेलो तथा फोहरजन्य वस्तु खुला जलाउने कार्यले स्वास्थ्य जोखिम बढेकोतर्फ ध्यानाकर्षण गराउँदै यस्ता विषयमा स्थानीय सङ्घसंस्थाको सहकार्यमा प्रदूषण न्यूनीकरणमा ठोस् कदम चाल्न माग गरिएको पराजुलीले जानकारी दिनुभयो ।

दैजी छेला औद्योगिक क्षेत्र उच्च प्राथमिकतामा छ : मन्त्री भण्डारी

महेन्द्रनगर (कञ्चनपुर) १ चैत : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज यहाँ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको समापन समारोहमा मन्त्री भण्डारीले दोधारा चादँनी सुक्खा बन्दरगाह र दैजी छेला औद्योगिक क्षेत्र निर्माणमा आफू लागिपर्ने बताउनुभयो । महाकाली करिडोरलाई त्रिदेशीय नाकाका रुपमा विकास गर्ने सरकारको योजना छ ।” उहाँले भन्नुभयो–“कञ्चनपुरलाई आद्यौगिक केन्द्रका रुपमा विकास गर्न म दत्तचित्त भएर लाग्नेछु ।”

सुदूरपश्चिमको विकासका संवाहक जडीबुटी र खानीजन्य उद्योग प्रवद्र्धनमा उद्योग मन्त्रालयका तर्फबाट भरमग्दुर प्रयत्न हुने तथा उच्चस्तरीय अध्ययन टोली परिचालन गरिने उहाँले बताउनुभयो ।

मुलुकमा लगानीमैत्री वातावरण बनाउन हरसम्भव प्रयास भइरहेको बताउँदै उहाँले सरकार लगानी सम्मेलनको तयारीमा लागेको जानकारी दिनुभयो ।“निजी क्षेत्रसित निकट रहेर सरकार अघि बढ्न चाहन्छ ।” उहाँले भन्नुभयो–“त्यसका लागि थुप्रै ऐन÷कानुन संशोधन गर्नुपर्नेछ, लगानीमैत्री वातावरण बनाउन बाधक ऐनकानुन संशोधन गरिने छन् ।”

‘लिभिङ टुगेदर’लाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै रिट

काठमाडौं, १ चैतस् सर्वोच्च अदालतमा ‘लिभिङ टुगेदर’लाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै रिट निवेदन दायर गरिएको छ । अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदरमा बस्नेहरुको सङ्ख्या बढ्दै जाँदा विभिन्न समस्या देखिएको उल्लेख गर्दै यसलाई व्यवस्थित गर्न कानुन बनाउनुपर्ने माग गर्दै रिट दायर गर्नुभएको हो ।

रिट निवेदनमा कानुनबमोजिम सक्षम र योग्य व्यक्तिहरु लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न परमादेश माग गरिएको छ । लिभिङ टुगेदरमा बसेकाहरुमाथि जबर्जस्ती करणी, नाता कायमको मुद्दा लगायत समस्यामा कमी ल्याउन र यौनिक विषयलाई अनैतिक तथा चरित्र हत्याको विषयमा लिने प्रचलनको अन्त्य गर्न कानुन आवश्यक पर्ने रिट निवेदनमा उल्लेख गरिएको छ ।

रिट निवेदनमा लिभिङ टुगेदरसम्बन्धी कानुनमा कुन उमेर समूहका व्यक्ति यस्तो सम्बन्धमा रहन पाउने भन्ने निर्धारण गर्नुपर्ने, विवाहित महिला वा पुरुष यस्तो सम्बन्धमा रहन पाउने वा नपाउने कुरा कानुनमै उल्लेख हुनुपर्ने उल्लेख गरिएको छ ।
यस्तै, १८ वर्षमाथिका जुनसुकै उमेर समूहका तर अविवाहित, पारपाचुके गरेका, विधवा र अन्य जुनसुकै कारणले एकल जीवन व्यतित गरिरहेका महिला तथा पुरुषलाई मात्र यो सम्बन्धमा बस्न कानुनी रुपमा योग्य ठहर गर्नुपर्ने माग गरिएको छ ।

रिट निवेदनमा जोडीको रुपमा बसेपछि छुट्टीभिन्न हुँदाका बखतमा कायम गर्नुपर्ने वैयक्तिक गोपनीयताको विषयमा प्रष्ट कानुनमा उल्लेख गर्नुपर्ने र आपसी सहमतिबाट वा पारिवारिक दबाब वा व्यक्तिगत कारणले छुट्टी भिन्न हुन चाहेमा छुट्टिएर भिन्न हुनका लागि चाहिने आधार र कारण स्पष्ट हुनुपर्ने माग पनि गरिएको छ । उक्त रिटको सुनुवाइका लागि यही चैत ४ गते पेशी तोकिएको छ ।

क्रिकेटर लामिछानेविरुद्ध मुद्दाः सरकारी पक्षद्वार पुनरावेदन

काठमाडौँ, १ चैत : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसला बदर हुनुपर्ने मागसहित सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गरेको छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते पीडित ‘गौशाला २६’ बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्तिस्वरुप रु पाँच लाख भराउने फैसला सुनाएको थियो ।

लामिछानेविरुद्ध २०७९ भदौ २१ गते बालिका बलात्कार गरेको उजुरी परेपछि असोज २० गते अन्तरराष्ट्रिय त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो ।

एक महिनामा पाथीभरामा १८ हजार तीर्थयात्री पाथीभरा पुगेर पूजापाठ गरे

फुङ्लिङ (ताप्लेजुङ), १ चैत : ताप्लेजुङको पाथीभरामा फागुनमा रु ५५ लाख ७० हजार आठ सय ८० भेटी रकम सङ्कलन भएको छ । सङ्कलन भएको नगद समितिको नाममा रहेका विभिन्न बैंकमा जम्मा गरेर विवरण सार्वजनिक गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । गत महिनामा मन्दिरमा करिब १८ हजार भक्तजनले पूजापाठ गरेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार फागुनमा आन्तरिक तथा बाह्य गरी १७ हजार नौ सय १२ तीर्थयात्री पाथीभरा पुगेर पूजापाठ गरेका छन् । समितिको तथ्याङ्कअनुसार गत साउनदेखि माघसम्ममा ९८ हजार तीन सय भक्तजनले पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेका थिए । फागुनसमेत गरी एक लाख १६ हजार दुई सय १२ भक्तजनले पाथीभरामा पुगेर पूजापाठ गरेको समितिले जनाएको छ ।

बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेषगरी बडादसैँ र वसन्त ऋतुको समयमा भक्तजनको चाप बढ्ने गरेको छ । बडादसैँपछि चैतेदसैँ (रामनवमी)का समयमा धेरै तीर्थयात्री यहाँ आउने गर्दछन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन् । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको बिर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ ।

मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की सडक छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ । वर्षाको समयमा कच्ची बाटोमा सामान्यतया समस्या हुने भए पनि हिउँदमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ । काफ्लेपाटीसम्म यातायातका साधन सहज पुग्ने गर्दछन् । काफ्लेपाटीबाट पाँच किलोमिटर पदर्मागको प्रयोग गरेर पाथीभरा पुग्न सकिन्छ । पाथीभरामा हेलिकप्टरमार्फत मन्दिर परिसरमै पुगिन्छ ।

तेह्र वर्षीय बालकको कला : दिनमा विद्यालय, बिदामा दोहोरी साँझ

तनहुँ, १ चैत : माध्यमिक तहमा पढ्ने विद्यार्थीले आफूलाई आवश्यक कापी, कलमलगायत अतिरिक्त शुल्कको व्यवस्था गर्न अभिभावकको भर पर्ने कुरा सामान्य नै हो ।

व्यास नगरपालिका–२ दमौलीस्थित बालमन्दिर माध्यमिक विद्यालयको कक्षा ६ मा पढ्ने १३ वर्षीय शिवशङ्कर बुढाले भने अतिरिक्त समयमा दोहोरी साँझमा मादल बजाएरै शिक्षण सामग्रीमात्र नभई घरखर्चको प्रबन्धसमेत गर्दै आउनुभएको छ । आफ्ना बुवा कलाकार ४२ वर्षीय विश्व बुढामार्फत दुई वर्षअघि मादल बजाउने सीप सिकेपछि हिजोआज शिवशङ्करको अतिरिक्त समय व्यास–२ दमौलीस्थित मादिसेती दोहोरीसाँझमा मादल बजाएर बित्ने गर्दछ ।

व्यास–१४ केशवटार घर भई हाल व्यास–३ देउरालीनगरमा बस्दै आउनुभएका शिवशङ्करले पढाइका अलावा अतिरिक्त समयमा मनोरञ्जनका लागि आफूले दोहोरी साँझमा दैनिक करिब एक घण्टा मादल बजाएर पढाइ र घरखर्चको जोहो गर्दै आएको बताउनुभयो ।

“विद्यालयको गृहकार्य सकिएपछि घरमा त्यसै बस्नुभन्दा थप सीप आर्जन गर्न कहिलेकाहीँ दोहोरी साँझमा मादल बजाउनसमेत जाने गर्दछु, बिदाको समय मिलाएर बुवासँग दैनिक एक घण्टा जति मादल बजाएर थप सीप आर्जन गरेको छु”, शिवशङ्करले भन्नुभयो, “बुवासँगै मादल बजाउने गर्दा थप सीप निखार्न मात्र नभई महिनाको रु १२–१४ हजार कमाउने गर्दै आएको छु ।”

दोहोरी साँझमा आउने ग्राहकले समेत आफ्नो प्रतिभा देखेपछि पुरस्कारस्वरुप हातमा रकम थमाउने गर्दा झनै हौसला मिल्ने गरेको शिवशङ्करको भनाइ छ । भविष्यमा आफू मादललगायत गीतसङ्गीतको क्षेत्रमा सक्रियरूपमा लाग्ने सोच बनाएको शिवशङ्करले बताउनुभयो ।

उक्त दोहोरी साँझमा सांस्कृतिक संयोजकसमेत रहनुभएका कलाकार विश्व बुढासँग बिदा र अतिरिक्त समयमा छोरा शिवशङ्करले बजाएको मादल दोहोरी साँझका ग्राहकले निकै मन पराउने गरेको दोहोरी साँझका सञ्चालक शुुभद्रा श्रेष्ठले बताउनुभयो ।

“बिदाको समयमा बुवासँगै साथ लागेर आउनुहुने शिवशङ्करले मादल बजाएको देख्दा सबै चकित पर्नुहुन्छ, थप सीप सिक्ने अवसरका रूपमा शिवशङ्करलाई सकारात्मक वातावरण बनाएको छ”, उहाँले भन्नुभयो, “शिवशङ्करले बजाएको देख्दा परिपक्व मादल बादकले बजाएको जस्तो महसुस हुने गर्छ ।

” आफूले मादल बजाएको देखेर छोराले समेत सिक्ने इच्छा व्यक्त गरेपछि बिदाको समय पारेर आफूसँगै दोहोरी साँझ र मेला महोत्सवमा समेत प्रयोगात्मक सीप सिकाउन लैजाने गरेको शिवशङ्करका बुवा विश्वले बताउनुभयो ।

दमौलीमा फागुन २५ गतेदेखि तीन दिनसम्म जारी महिला उद्यमी व्यापार प्रदर्शन एवं प्रवर्द्धन मेलामा बिदाको समय पारेर शिवशङ्करले मादल बजाएर सबैको मन जितेको उहाँ बताउनुहुन्छ । शिवशङ्करले ख्याली, झ्याउरे, टप्पा, रोइला, कौराह, सालैजो, सवला, मारुनी, सुगम सङ्गीत र अविलम विलम तालमा मादल बजाउन सिकेको बुवा विश्वको भनाइ छ ।

बालअधिकार हनन नहोस् भन्नेतर्फ आफू सचेत रहेकाले बिदाको भन्दा अन्य समयमा छोरा शिवशङ्करलाई पढाइमा नै केन्द्रित गराएको बुवा विश्वले बताउनुभयो ।

“यो तालमा यसरी बजाउने भनेपछि छोराले सजिलै टिप्छ, उनको मादल बजाउने र सिक्ने क्षमता देखेर म पनि छक्क परेको छु”, मादलबादक विश्वले भन्नुभयो, “बिदाको दिन पारेर मादल बजाउन छोरालाई मसँगै दोहोरी साँझमा लैजाने गरेको छु, त्यसले गर्दा छोराको सीप विकाससँगै केही गर्न सक्छु भन्ने आत्मविश्वाससमेत बढेको मैले पाएको छु ।” पढाइमा समेत अभिरुचि राख्ने शिवशङ्करले विद्यालयमा आयोजना हुने हरेक सांस्कृतिक कार्यक्रममा निकै राम्रो मादल बजाएर सबैको मन जित्ने गर्दै आएको विद्यालयका प्रधानाध्यापक राजेन्द्रप्रसाद खनालले जानकारी दिनुभयो ।

बुवा विश्व उक्त विद्यालयको कक्षा १२ का र छोरा शिवशङ्कर कक्षा ७ का विद्यार्थी भए पनि बाबु र छोराबीच साथीको जस्तो सम्बन्ध रहेको प्रधानाध्यापक खनालले बताउनुभयो । “विद्यालयका हरेक सांस्कृतिक कार्यक्रममा शिवशङ्करले निकै राम्रो मादल बजाउने गर्छन्”, प्रधानाध्यापक खनालले भन्नुभयो, “सैद्धान्तिक मात्र नभई व्यवहारिक शिक्षा अहिलेको आवश्यकता हो भन्ने कुरा अहिले सबैतिर उठेको पाइन्छ, तर यसको ज्वलन्त उदाहरणका रूपमा शिवशङ्करको मादल बजाउने सीपलाई लिन सकिन्छ ।”

कोशी प्रदेश ट्रफी क्रिकेटः मधेस र बागमती सेमिफाइनलमा प्रवेश

बेलबारी (मोरङ), १ चैत : कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणको आजको पहिलो खेलमा मधेस प्रदेशले एपिएफ र बागमती प्रदेशले नेपाल पुलिसलाई पराजित गर्दै सेमिफाइनलको समिकरण पूरा गरेका छन् ।

मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी प्रतियोगितामा मधेस र बागमती प्रदेश विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् । खेल अगावै समूह ‘ए’ बाट आर्मी ८ अङ्कका साथ शीर्ष स्थानमा रहदैँ समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

आर्मीसँगै समूह ‘ए’ बाट कर्णाली समूह उपविजेता भएको छ । त्यस्तै समूह ‘बि’ बाट लुम्बिनीले ४ मा ३ खेल जित्दै ६ अङ्कका साथ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने सुदूरपश्चिमले पनि ४ मा ३ खेल जित्दै ६ अङ्कका साथ उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । लुम्बिनीको नेट रन रेटको आधारमा समूह विजेता बनेको हो । विराटनगरको बैजनाथपुर क्रिकेट रङ्गशालामा भएको पहिलो खेलमा मधेस प्रदेशले एपिएफलाई २१ ले पराजित गरेको छ ।

टस हारेर ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ १ सय ४३ रनको योगफल बनाएको थियो । मधेसका लागि प्लेयर अफ द म्याच विशाल सुस्लिङले ३३ बलमा ४ छक्का र ४ चौका प्रहार गरी अविजित ५४ रन बनाउँदा पवन सराफले २५ रन र अविजित तिवारीले १९ रनको योगदान दिए । एपिएफका कप्तान भुवन कार्की र पुरन विकले समान ३÷३ विकेट लिए । जवाफमा १ सय ४४ रनको लक्ष्य पछ्याएको एपिएफले पूरै ओभर खैल्दैँ ८ विकेटको क्षतिमा १ सय २२ रनमा सीमित भयो ।

एपिएफका सुमित महर्जनले २९ बलमा १ छक्का र ९ चौका प्रहार गरी ५२ रन बनाउँदा कप्तान भुवन कार्कीले अविजित १२ रन र आयुमान बमले पनि १२ रन बनाए । मधेसका राजेश यादवले ३ विके लिँदा अरनिको यादवले २ विकेट लिए । दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिसलाई बागमती प्रदेशले ३३ रनले पराजित गरेको छ । हारपछि पुलिस प्रतियोगिताबाट बाहिरिएको छ ।

पुलिसले १२ दशमलव ५ बलमा बागमतीलाई पराजित गरेको भए नेट रन रेटमा समूह उपविजेता हुँदै सेमिफाइनको यात्रा तय गर्ने थियो । टस हारेर ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ १ सय ७३ रन बनायो । बागमतीका लागि प्लेयर अफ द म्याच इसान पाण्डेले ५० बलमा २ छक्का र ७ चौका प्रहार गरी अविजित ७४ रन बनाउँदा रवीन जोशीले २७ रन, शुभ कन्साकरले २६ रनको योगदान दिए ।

पुलिसका अविशेक कार्की र दीपक सेरलाले समान २÷२ विकेट लिए । जवाफमा १ सय ७४ रनको लक्ष्य पाएको पुलिसले १२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४० रनमा सिमित भयो । पुलिसका रोहन विकले २४ बलमा १ छक्का र ७ चौका प्रहार गरी ४३ रन बनाए भने शङ्कर रानाले २७ रन बनाउँदा सुनिल दौल्यारले अविजित २६ बनाए ।

बागमतीका कृजन गुरुङले ४ विकेट लिँदा तिलक भण्डारी र इसान पाण्डेले समान २–२ विकेट लिए । भोलि पहिलो सेमिफाइनल खेल आर्मी र सुदूरपश्चिम तथा दोस्रो लुम्बिनी र कर्णाली प्रदेशबीच हुने मोरङ क्रिकेट सङ्घका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिनुभयो ।

चार देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ, १ चैत : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि थाइल्याण्डका आवासीय राजदूत तथा पोर्चुगल, भेनेजुएला र मङ्गोलियाका गैर आवासीय राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्न, पोर्चुगलका जोआओ म्यानुएल मेन्डेस रिबेरो डे अल्मेडा, भेनेजुएलाका कापाया रोडरिजगुज गोन्जालेज र मङ्गोलियाका गैरआवासीय राजदूत गानबोल्ड डम्बजाभले राष्ट्रपति पौडेलसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो ।

उक्त समारोहमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

मोबाइल खोसेर भाग्ने चार जना पक्राउ

भैरहवा (रुपन्देही), १ चैत : गत माघ २९ गते मायादेवी गाउँपालिका–३ बरेवा बस्ने १९ वर्षीय राजु भरलाई पल्सर मोटरसाइकलमा आएका दुई युवाले अति आवश्यक परेको भन्दै मोबाइल प्रयोग गर्न दिन आग्रह गरेपछि उहाँले निजहरुलाई आफ्नो मोबाइल दिनुभयो । मोबाइल पाउने वित्तिकै पल्सर मोटरसाइकलमा रहेका ती युवा मोटरसाइकल कुदाएर भागे ।

जिल्ल पर्नुभएका राजु तत्काल नजिकैको प्रहरीलाई मोटरसाइकलको विवरण र ती युवाको हुलियासहित आफूलाई परेको समस्याको बारेमा जानकारी गराउनुभयो । प्रहरीलाई भने यो घटना पहिलो थिएन । यसअघि गत माघ ४ गते रोहिणी गाउँपालिकाका दीपेन्द्र चौधरी, माघ १६ गते ओमसतिया गाउँपालिकाका सन्दिपकुमार पासी र माघ १७ गते भैरहवाकै सावित्रा कान्दुको मोबाइल पनि मोटरसाइकलमा आएका युवाले खोसेर भागेका उजुरी प्रहरीलाई आएको थियो । विभिन्न बहानामा मोबाइल चोरी गरेर भाग्ने युवाको खोजीमा प्रहरी पहिलेदेखि थियो ।

“यसको लागि विशेष टोली गठन गरी प्रहरी अनुसन्धानमा थियो । सिसीटिभी लगायतबाट अनुसन्धान गरिरहेका थियाँै”, रुपन्देही प्रहरी प्रवक्ता मनोहरप्रसाद भट्टले भन्नुभयो, “बुधबार यस घटनाबारे थप खबरसँगै मोटरसाइकल विवरण पायौँ ।” भट्टले मोबाइल खोसेर भाग्ने गिरोह पक्राउ गरेको बताउँदै आज उनीहरुलाई सार्वजनिक गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सिद्धार्थनगर नगरपालिका–७ का २५ वर्षीय मनिष हरिजन, वडा नं ३ का २४ वर्षीय देवान गुरुङ, वडा नं १३ का २४ वर्षीय रोमन घर्ती र चोरीको मोबाइल खरिद गर्ने सियारी गाउँपालिका–३ बस्ने ३१ वर्षीय मोहम्मद रसिद मुसलमान पक्राउ परेका छन् । यही समूहले रुपन्देही जिल्लाका विभिन्न भागमा केही समयदेखि मोबाइल चोरी गरेको प्रहरीको आरोप छ ।

“एक्लै देखेका व्यक्तिको नजिक गएर एक्कासि मोबाइल खोसेर भाग्ने गरेका थिए वा अति आवश्यक परेको बताउँदै मोबाइल लिएर फरार हुने गरेका थिए”, प्रनाउ भट्टले भन्नुभयो, “प्रारम्भिक अनुसन्धानमा निजहरुले लागूऔषध खरिद गर्ने र सेवन प्रयोजनका लागि चोरी गरेको देखिएको छ ।” पक्राउ परेकाहरु यसअघि पनि लागुऔषध र चोरीलगायत मुद्दामा सजाय पाएका युवाहरु रहेको भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार आरोपितबाट प्रहरीले विभिन्न कम्पनीका आठ थान मोबाइल र लु ५६ प ७१७ नं को मोटरसाइकलसमेत बरामद गरेको छ । सबैलाई जिल्ला अदालतबाट थप अनुसन्धानका लागि प्रहरीले सात दिनको म्याद थप गरेको प्रनाउ भट्टले बताउनुभयो । “गिरोहका अन्य सदस्य पनि छन् कि भन्ने विषयमा सुक्ष्म अनुसन्धान गरिरहेका छाैँ”, उहाँले भन्नुभयो मुलुकी अपराधसंहिता २०७४ अनुसार कसूरको अवस्था हेरी चोरी प्रमाणित भए दुई वर्षदेखि सात वर्षसम्म कैद र रू बीस हजारदेखि रू ७० हजारसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

रुसी सेनामा भर्ना भएका सात नेपालीको मृत्यु

काठमाडौँ, १ चैत : रुसी सेनामा भर्ना भएका सात जना नेपाली नागरिकले ज्यान गुमाएका छन् । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर उक्त जानकारी दिएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गङ्गाराम अधिकारी, बागलुङका जीतबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको छ ।उक्त मन्त्रालयले परम्परागत रुपमा भएको सम्झौताअन्तर्गत केही मित्र राष्ट्रहरुको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको स्पष्ट गरेको छ ।सरकारले गत पुस ४ गते सार्वजनिक सूचना जारी गरेर सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुस यात्रा गर्नुपरेमा ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिएर मात्र यात्रा गर्ने प्रावधान मिलाइए सम्बद्ध सबैलाई पुनः स्मरण गराएको छ ।“रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गर्न नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको छ”, विज्ञप्तिमा उल्लेख छ, “रुसी सेनामा ज्यान गुमाएका नेपालीका परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनःअनुरोध गरिएको छ ।”परराष्ट्र मन्त्रालयले दिवङ्गत नेपालीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

राष्ट्रिय हितका लागि सबै दल एक ठाउँमा हुनुपर्छ : अध्यक्ष ओली

दोधारा चाँदनी (कञ्चनपुर), १ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका लागि सबै दलहरू एक ठाउँमा हुनुपर्ने बताउनुभएको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–६ नं वडा कार्यालय भवनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले स्वाधिनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामलामा सबै दल एक ठाउँमा हुनुपर्ने बताउनुभयो । “सुशासनका लागि भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टलाई कारबाही गर्ने मामलामा सबैले मिलेर काम गर्न जरुरी छ”, उहाँले भन्नुभयो–“विकास निर्माणका काम अगाडि बढाउन देशमा सबैले शान्ति उपभोग गर्न सबै मिल्न जरुरी छ ।

” अध्यक्ष ओलीले नवनिर्मित वडा कार्यालय भवनबाट जनताले सहजरूपमा सेवा पाउनुपर्ने बताउनुभयो । “यस वडा कार्यालयबाट यहाँका जनताले सेवा सुविधा र विभिन्न सहयोग प्राप्त गर्नेछन् भन्ने मलाई विश्वास छ”, उहाँले भन्नुभयो, “यहाँका जनताका समस्या समाधानका लागि म पहल गर्छु ।”

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर लिम्बूले दोधारा चाँदनीका जनताका समस्या समाधानका लागि पहल गरिदिन अध्यक्ष ओलीसँग आग्रह गर्नुभयो । “यहाँ महाकाली नदी कटानको समस्या छ, विकास निमार्णका काम अगाडि बढाउन शुक्लाफाँटा निकुञ्जबाट बाधा पुग्छ”, उहाँले भन्नुभयो, “दोधारा चाँदनी सुक्खा बन्दरगाह यथाशीघ्र अगाडि बढाइदिन आग्रह गर्छु ।” आजै अध्यक्ष ओलीले महाकाली नदीमा निर्मित चार लेनको पक्की पुल र दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाहको स्थलगत अवलोकन गर्नुभयो ।

चिनियाँ विदेशमन्त्री वाङले आगामी हप्ता अस्ट्रेलिया भ्रमण गर्ने

चीनका विदेशमन्त्री वाङ यीले अर्को हप्ता अस्ट्रेलियाको भ्रमण गर्नुहुने भएको छ । सन् २०१७ पछि चिनियाँ विदेशमन्त्री वाङ उच्चपदस्थ अधिकारीका रूपमा अस्ट्रेलिया भ्रमण गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । मानव अधिकार र प्रशान्त क्षेत्रमा चीनको बढ्दो कूटनीतिक तथा सैन्य प्रभाव भए पनि उहाँको भ्रमण दुई देशबीच सहज व्यापारिक सम्बन्ध स्थापनाका लागि हुन लागेको हो ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले व्यापार अवरोध हटाउन ‘उल्लेखनीय प्रगति’ भएको उल्लेख गर्दै बिहीबार पत्रकारहरूसँग भन्नुभयो, “मलाई लाग्छ वाङ यीले अस्ट्रेलिया भ्रमणलाई महत्त्व दिनु राम्रो कुरा हो ।” चिनियाँ विदेशमन्त्रीले मार्च २० मा क्यानबेरामा विदेशमन्त्री पेनी वोङसँग ‘रणनीतिक वार्ता’ गर्ने कार्यक्रम छ । “हामी चीनसँग जहाँ सक्छौं, त्यहाँ सहकार्य गर्न चाहन्छौं, जहाँ आवश्यक छ त्यहाँ असहमत हुन चाहन्छौँ र हाम्रो राष्ट्रिय हितमा संलग्न हुन चाहन्छौं,” वोङले एक विज्ञप्तिमार्फत जानकारी गराउनुभयो । “यदि हामीले हाम्रा मतभेदहरूलाई बुद्धिमानीपूर्वक मार्गनिर्देश गर्यौं भने स्थिर द्विपक्षीय सम्बन्धले दुवै देशलाई आ–आफ्नो राष्ट्रिय हितलाई अगाडि बढाउन सक्षम बनाउँछ भन्ने अस्ट्रेलियाको धारणा हो ।

” सन् २०२२ मा अल्बानिजको मध्य–वामपन्थी लेबर पार्टीले सरकारको नेतृत्व गरेपछि अस्ट्रेलियाको चीनसँगको व्यापार सम्बन्धमा सुधार आएको छ । क्यानबेराले हुवावेलाई फाइभजी सम्झौतामा प्रतिबन्ध लगाएपछि चीनले सन् २०२० मा अस्ट्रेलियाका प्रमुख निर्यातमा थप कर लगाउँदै सहज व्यापारको वातावरणमा अवरोध ल्याएको थियो ।

बेइजिङले यसअघि नै अष्ट्रेलियाली कोइला, काठ र जौमा कर र प्रतिबन्धहरू हटाइसकेको छ र यसले अस्ट्रेलियाली वाइनमा लगाएको प्रतिबन्ध पनि हटाउने अपेक्षा गरिएको छ । मेलबर्नस्थित ट्रेजरी वाइन एस्टेट्सले यसै साता चिनियाँ र अस्ट्रेलियाली अधिकारीहरूले पाँच महिनाको समीक्षापछि वाइनको शुल्क हटाउने बेइजिङको ‘अन्तरिम मस्यौदा सङ्कल्प’ बारे सुझाव दिएको बताएको छ । यसले ‘आगामी हप्ताहरूमा’ अन्तिम निर्णयको अपेक्षा गरेको छ ।

सन् २०२३ को नोभेम्बरमा अल्बानिजले बेइजिङको सफल भ्रमण गर्नुभएको थियो र दुई देशबीचको सम्बन्धमा भएको प्रगतिलाई ‘धेरै सकारात्मक’ भन्नुभएको थियो । तर रणनीतिक क्षेत्रमा भने दुई देशबीच मतभेद कायमै छ । गत महिना अस्ट्रेलिया सरकारले चिनियाँ मूलका अस्ट्रेलियाली विद्रोही लेखक याङ जुनलाई मृत्युदण्डको सजाय सुनाएपछि आक्रोश व्यक्त गरेको थियो । यस सन्दर्भमा वोङले भन्नुभएको थियो, “यस्ता निर्णयहरूले सम्बन्धमा ‘प्रभाव पार्नेछ’ ।”

अस्ट्रेलिया र उसका सहयोगीहरूले दक्षिण प्रशान्त क्षेत्रमा चीनको विस्तारित पहुँचलाई रोक्न खोजिरहेका छन् । बेइजिङले सन् २०२२ मा सोलोमन आइल्यान्ड्ससँग गोप्य सुरक्षा सम्झौता गरेपछि क्यानबेरा र वासिङ्टनले चीनविरूद्ध तीव्र आलोचना गरेका थिए । अस्ट्रेलियाले दक्षिण चीन सागरमा बेइजिङको सार्वभौमिकताको दाबीको विरोध गर्न अमेरिका र यस क्षेत्रका एसियाली देशहरूलाई पनि समर्थन गर्दछ । यदि वाइनको शुल्क हटाइयो भने अस्ट्रेलियाली पराल र गाइको मासुमा मात्र चिनियाँ प्रतिबन्ध कायम रहनेछ ।

मुलुकका लागि ‘कठिन’ समयमा मतदान गर्न पुटिनको रुसी जनतासँग आग्रह

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मुलुकका लागि ‘कठिन’ समयमा आएको साताको अन्त्यमा हुने निर्वाचनमा मतदान गर्न रुसी जनतासँग बिहीबार आग्रह गर्नुभएको छ ।

लामो समयसम्म सेवारत पुटिनले एक पटक पुनः सत्तामा आफ्नो पकड बलियो बनाउन चाहनुभएको छ । क्रेमलिनले पुटिन यसै साताको अन्त्यमा हुने निर्वाचनबाट अर्को छ वर्षको कार्यकाल सुरक्षित गर्न तयार हुनुभएको भन्दै निर्वाचनले युक्रेनमा रुसको आक्रमणपछाडि समाजको हात रहेको देखाउने बताएको छ ।

“म आश्वस्त छु : हाम्रो मुलुक कस्तो कठिन अवस्थाबाट गुज्रिरहेको छ र हामी करिब सबै क्षेत्रमा कति जटिल चुनौतीहरूको सामना गरिरहेका छौँ भन्नेबारे तपाईंहरूले बुझ्नुभएको छ”, मतदानको पूर्वसन्ध्यामा रुसी जनतालाई सम्बोधन गर्दै पुटिनले भन्नुभयो, “उनीहरूलाई गरिमापूर्वक जवाफ दिन र कठिनाइहरू सफलतापूर्वक पार गर्न हामीले एकताबद्ध र आत्मविश्वासी बन्न जारी राख्नुपर्छ ।”

मार्च १५ देखि १७ सम्म हुने निर्वाचनमा हुने जितले उहाँलाई कम्तीमा सन् २०३० सम्म क्रेमलिनमा बस्न अनुमति दिनेछ । यो १८औँ शताब्दीमा क्याथरिन दि ग्रेटपछि कुनै पनि रुसी नेताको तुलनामा उहाँको शासन अवधि लामो हो । “म स्पष्टरूपमा भन्छु : आजको निर्वाचनमा भाग लिनु भनेको देशभक्ति भावनाको अभिव्यक्ति हो”, पुटिनले भन्नुभयो । उहाँले युक्रेनबाट हालै कब्जा गरिएका चार क्षेत्रका साथै सन् २०१४ मा मस्कोले कब्जा गरेको क्रिमिया प्रायद्वीपमा पनि मतदान हुने बताउनुभयो । रुसी नेताले भन्नुभयो, “मोर्चामा हाम्रा लडाकूहरूले पनि मतदान गर्नेछन्, उनीहरूले साहस र वीरता प्रदर्शन गर्दै मातृभूमिको रक्षा गर्नेछन् र निर्वाचनमा भाग लिएर हामी सबैका लागि उदाहरण स्थापित गर्नेछन् ।

” निर्वाचन पूर्वकेजिबीका एजेन्ट (पुटिन) का लागि अत्यधिक आत्मविश्वासको समयमा आएको छ । युक्रेनमा रुसी सेनाले महिनौँमा पहिलो पटक युद्धक्षेत्रमा बढत हासिल गरेको छ र पुटिनका सबैभन्दा कट्टर आलोचक एलेक्सी नभाल्नीको गत महिना आर्कटिक कारागार कोलोनीमा मृत्यु भएको छ ।

चीनद्वारा अमेरिकालाई टिकटक नियन्त्रण रोक्न आग्रह

टिकटकलाई लक्ष्यित गर्दै अमेरिकाले बुधबार विधेयक अगाडि बढाएपछि चीनले बिहीबार अमेरिकालाई अन्य देशका कम्पनीहरूको अनुचित दमन रोक्न आह्वान गरेको छ।

अमेरिकाले बजार अर्थतन्त्र र निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्तलाई इमान्दारीपूर्वक सम्मान गर्नुपर्ने र सबै देशका उद्यमहरूलाई खुला, निष्पक्ष, न्यायपूर्ण र भेदभावरहित तरिकाले विकसित हुने वातावरण उपलब्ध गराउनुपर्ने वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङले बताउनु भएको छ ।

‘सम्बन्धित पक्षहरूले चिनियाँ कानून र नियमहरूको कडाइका साथ पालना गर्नुपर्ने र साथै चीनले आफ्नो वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्न आवश्यक सबै उपायहरू अवलम्बन गर्ने, उहाँले पत्रकार सम्मेलनमा उल्लेख गर्नु भएको छ। यसै हप्ता युएस हाउस अफ रिप्रिजेन्टेटिभ्सले टिकटक सम्बन्धी बिललाई अनुमोदन गरेको छ जसमा टिकटकलाई या त यसले मूल कम्पनी, चिनियाँ टेक विशाल बाइटडान्सबाट अलग हुनुपर्ने या राष्ट्रव्यापी प्रतिबन्धको सामना गर्नुपर्ने बताएको थियो ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार राई कुवेतबाट पक्राउ

काठमाडौँ, १ चैत: लागुऔषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एकजना फरार प्रतिवादी कुवेतबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम नगरपालिका–१२ घर भएका २९ वर्षीय रोशन राई रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार निजलाई एनसिबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ गरी सम्बन्धित मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको हो । इलाम नगरपालिका–९ ठेगाना भएका २५ वर्षीय विकास बसेलसमेत तीनजनालाई अवैध लागुऔषध खैरो हेरोइन ३७ ग्राम पाँच सय मिलीग्राम र डिजिटल तराजु एक थानसहित गत साउन २६ गते काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान एवं सोधपुछका क्रममा उक्त लागुऔषधको कारोबारमा रोशन राईसमेतको संलग्नता रहेको खुल्न आएपछि अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत पुस २५ गते उनीविरुद्ध रेड नोटिस जारी भएको प्रवक्ता ढकालले बताउनुभयो । पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाइएको प्रहरीले जनाएको छ । खाजाघर सञ्चालक पक्राउ बालिकालाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जना खाजा घरका सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका–५ शिवचोकस्थित कालिञ्चोक स्टाफ होटल तथा खाजाघरका सञ्चालक उदयपुर बेलका नगरपालिका–५ ठेगाना भएका ३८ वर्षीय हिरन राई रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार खाजाघरमा बालिकालाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न राईलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

उक्त स्थानबाट नाबालिकासहित दुई जनालाई प्रहरीले उद्धारसमेत गरेको र पक्राउ परेका राईउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट सात दिन म्याद थप अनुमति लिइएको प्रवक्ता ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त विषयमा थप आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तको समेत प्रहरीले खोजी गरिरहेको छ ।”

भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन शिक्षामन्त्रीको निर्देशन

भक्तपुर, १ चैत : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन निर्देशन दिनुभएको छ ।

भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आज अनुगमन गर्दै मन्त्री श्रेष्ठले कुनै पनि कक्षामा कुनै पनि विषयको पाठ्यपुस्तक अभाव हुन नहुने बताउनुभयो । उहाँले जनक शिक्षा सामग्री केन्द्रमा पुगेर पुस्तक छपाइको अवस्थाबारे जानकारी लिनुका साथै पुस्तक छपाइ भइरहेका स्थानको अनुगमन एवं अवलोकन गर्नुभएको थियो । मन्त्री श्रेष्ठलाई केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले पुस्तक छपाइको अवस्था र वितरणको प्रक्रियाबारे जानकारी गराउनुभएको थियो ।

मन्त्री श्रेष्ठले भन्नुभयो, “पाठ्यपुस्तक छपाई समयमै सम्पन्न हुनुपर्यो, पाठ्यपुस्तक समयमै विद्यार्थीको हातहातमा पुर्याउनु होला ।” केन्द्रका प्रबन्ध निर्देशक झाले मन्त्री श्रेष्ठलाई भर्ना अभियान सुरु हुनुअगावै विद्यार्थीको हातहातमा पाड्यपुस्तक पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “९५ प्रतिशत पाठ्यपुस्तक छपाइ सम्पन्न गरिसकेका छौँ, यही चैत १५ गतेभित्र बाँकी पाँच प्रतिशत पुस्तक पनि छपाइ सम्पन्न गर्छौँ, चैत १५ गतेदेखि नै पुस्तक वितरण थाल्छौँ, शैक्षिकसत्र सुरु हुदाँसम्म पूरै सेटमा सबै कक्षाका पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुर्याउँछौँ ।”

आउँदो शैक्षिकसत्रका लागि केन्द्रले एक करोड ७५ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्नेमा एक करोड ५७ लाख थान छापिसकेको र बाँकी १८ लाख थान पुस्तक १५ दिनभित्रमा छपाइ सम्पन्न गरेर वितरण गर्न सुरु गर्ने प्रबन्ध निर्देशक झाले बताउनुभयो ।

केन्द्रले आउँदो शैक्षिकसत्रका लागि कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको थियो । चालु शैक्षिकसत्रका लागि गत वर्ष चैतमै कक्षा ६ देखि १२ सम्मको पुस्तक छपाइ गरेर शैक्षिकसत्र सुरु हुनेबित्तिकै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन सफल भएपछि यस वर्ष सरकारले केन्द्रलाई कक्षा ५ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिएको हो ।

प्रबन्ध निर्देशक झाले यस वर्ष कुनै पनि कक्षाको कुनै पनि विषयको पुस्तक अभाव हुन नदिने र गत वर्षजस्तै सेटमै पुस्तक उपलबध गराउने बताउनुभयो । उहाँले पुस्तक छपाइका लागि आवश्यक कागज, मसीलगायत कच्चा पदार्थ पर्याप्त मात्रामा खरिद गरेर राखेको र पुस्तक छपाइको काम दुई सिफ्टमा सातै दिन, २४सैँ घण्टा चलिरहेको जानकारी दिनुभयो । पहिलो प्राथमिकता हिमाली क्षेत्र, दोस्रोमा पहाडी क्षेत्र र तेस्रोमा तराईमा तथा अनि मात्र उपत्यकामा पुस्तक वितरण गरिने छ ।

केन्द्रबाहेक उपत्यका बाहिरका नौवटा आउटलेटबाट पुस्तक वितरण गरिने प्रबन्ध निर्देशक झाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अहिले २४सै घण्टा दैनिक एक लाख थान पुस्तक छपाइ गरिरहेका छौँ, २४सै घण्टा पुस्तक पछाइको काम भइरहेको छ ।

छपाइ सकिएका पुस्तक सातैवटै प्रदेशका केन्द्रका प्रादेशिक कार्यालयको गोदाममा पुर्याउने काम भइरहेको छ । गत वर्षजस्तै यस वर्ष पनि हामी चैतदेखि पुस्तक वितरणको काम सुरु गर्छौँ र समयमै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउँछौँ ।” शिक्षा मन्त्रालयले यस वर्षको पुस्तक छपाइका लागि कक्षा १ देखि ४ सम्म निजी क्षेत्रका छापाखानालाई छपाइ तथा वितरणको जिम्मेवारी दिएको छ । प्रबन्ध निर्देशक झाले कक्षा १ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिन सरकारसँग माग गरेको भए पनि कक्षा ५ देखिको जिम्मेवारी पाएको बताउनुभयो ।

आगामी वर्षदेखि सरकारले कक्षा १ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिए पनि केन्द्रले फागुनभित्रै पुस्तक पछाइ सम्पन्न गरेर चैतमा वितरण सम्पन्न गर्न सक्ने उहाँको भनाइ छ । सरकारले गत वर्ष निजी क्षेत्रका छापाखानालाई कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा दिए पनि यस वर्ष त्यसलाई खुम्च्याउँदै कक्षा ५ को पुस्तक छपाइको जिम्मेवारी निजी क्षेत्रलाई नदिई केन्द्रलाई दिएको हो ।

सुन तस्करी नियन्त्रणका लागि कानुनी र संरचनात्मक सुधार गर्न सुझाव

काठमाडौँ, १ चैत : सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सुन तस्करी नियन्त्रणका लागि कानुनी तथा संरचनात्मक सुधार गर्न सरकारलाई सुझाव दिएको छ ।

आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउँदै सुनको आयात तथा उपयोगमा अवलम्बन गर्नुपर्ने नीति तथा विगतमा भएका सुन तस्करीको घटनामा अनुसन्धान र अभियोजनमा देखिएका कमीकमजोरी सुधार्न सिफारिस गरेको हो ।

गत असोज १५ गते गठित आयोगले साढे पाँच महिना लगाएर प्रतिवेदन बुझाएको हो । तस्करी नियन्त्रणसँग सम्बन्धित विभिन्न नीति, कानुनी व्यवस्था र कार्यान्वयनको जिम्मेवारी लिएका निकायको संरचना र क्षमता तथा कार्यप्रणालीको अवस्थाको अध्ययन, अवलोकन, छलफल, अन्तक्र्रियालगायत माध्यमबाट सुझाव लिइ सुधारका लागि सिफारिससहितको प्रतिवेदन पेस गरिएको आयोगका अध्यक्ष डिल्लीराज आचार्यले जानकारी दिनुभयो । आयोगले विद्युतीय चुरोट (भेप) र ब्रेकप्याडमा राखी सुन तस्करी भएको मुद्दामा ३३ प्रतिवादीको पुनः बयान लिने, केन्द्रीय अनुसन्धान ब्युरोबाट बुझिएका तर प्रतिवादी नबनाइएका विभिन्न २१ जनाको बयान कागज गराउने तथा अनुसन्धानका क्रममा थप १४ जनासँग सोधपुछ गरेको थियो ।

आयोगले कार्यसम्पादनका क्रममा त्रिभुवन विमानस्थल तथा रसुवागढीसहितका विभिन्न सात भन्सार नाकाको स्थलगत अवलोकन, राज्यव्यवस्था तथा सुशासन समिति र अर्थसमितिका सभापति तथा संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त दलका प्रमुख सचेतक तथा सचेतक, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहितका पदाधिकारीसहित ६१ विषय विज्ञसँग छलफल गरेको थियो । आयोगले विभिन्न चार संस्थाका १८ प्रतिनिधि, नियमनकारी निकायका प्रमुख वा प्रतिनिधिसमेतसँग परामर्श तथा छलफल गरेको थियो ।

अध्ययनका क्रममा आयोगले पूर्वप्रतिवेदन, विभिन्न भन्सार कार्यालय, राजस्व न्यायाधीकरण एवं सर्वोच्च अदालतबाट भएका फैसला, विभिन्न मन्त्रालय, विभाग र कार्यालयबाट प्राप्त तथ्याङ्क एवं सुझाव र अध्ययन सामग्री समेतको विश्लेषण गरेको थियो । आयोगको सिफारिस कार्यान्वयनमा आएर सुन तस्करी नियन्त्रणमा सहयोग पुग्ने विश्वास आयोगले लिएको छ ।

आयोगलाई तस्करीजन्य कार्यको पूर्णरुपमा नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटकपटकको सुन तस्करी सम्बन्धमा नेपाल सरकारका विभिन्न निकायबाट भएका छानबिन र अनुसन्धानको अध्ययन गरी कानुनबमोजिम कारबाहीको लागि सिफारिस गर्ने कार्य क्षेत्र तोकिएको थियो ।

विदेशबाट इलेक्ट्रिक चुरोट (भेप) मा सुन राखी तस्करी गरिएको र गत साउन २ गते ब्रेक सु÷ब्रेक प्याडमा सुन राखी तस्करी गरिएका विषयमा स्वतन्त्र तथा निष्पक्ष छानबिनका लागि सरकारले गत असोज १५ गते जाँचबुझ आयोग ऐनबमोजिम सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । पूर्वन्यायाधीश आचार्यको अध्यक्षतामा गठित आयोगमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा, पूर्वसहसचिवद्वय किशोरजङ्ग कार्की र प्रेमराज जोशी सदस्य हुनुहुन्थ्यो । आयोगले गत असोज १६ गतेदेखि कार्य प्रारम्भ गरेको थियो ।

मृत्युपछि अङ्गदान गर्न स्वास्थ्यमन्त्री यादवको सुझाव

काठमाडौँ, १ चैत : उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मृत्युपछि अङ्गदान गर्न सबैलाई सुझाव दिनुभएको छ । विश्व मिर्गौला दिवसका अवसरमा वीर अस्प्ताल, त्रिवि शिक्षण अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलगायतले आज गरेको प्रभातफेरि कार्यक्रममा उहाँले मरेर जाने शरीरका अङ्ग अरुलाई काम लाग्यो भने यसले जीवन बचाउन सक्ने बताउनुभयो । उपप्रधानमन्त्री यादवले आफूले पनि यसअघि नै अङ्गदान गरिसकेको उल्लेख गर्दै अङ्गदानले जीवनलाई सार्थक बनाउने र यस्तो पुण्य काममा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

“मरेर जाने अङ्ग अरुलाई दान गर्दा केही बिग्रँदैन”, उहाँले भन्नुभयो, “मृत मस्तिष्क (ब्रेनडेथ) भएको अवस्थामा निकालिएको अङ्गले धेरैको जीवन बचाउन सक्छ ।” मिर्गौला दानबारे जनचेतना जगाउनुपर्नेमा कुरामा समेत उपप्रधानमन्त्री यादवले जोड दिनुभयो । रत्नपार्कको शान्ति बाटिकाबाट सुरु भएको प्रभातफेरि भृकुटीमण्डप, सहिदगेट हुँदै त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पुगेर समापन गरिएको थियो । प्रभातफेरिमा अङ्गदाता, अङ्ग प्रत्यारोपित, चिकित्सकलगायतको सहभागिता रहेको थियो । यसैबीच दिवसकै अवसरमा आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको छ ।

अङ्ग प्रत्यारोपितको समूह र चिकित्सक, स्वास्थ्यकर्मीको समूहबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको हो । सो खेलमा अङ्ग प्रत्यारोपितको समूह ४–१ गोलअन्तरले विजयी भयो ।

आज विश्वसहित नेपालमा ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नाराका साथ विश्व मिर्गौला दिवस मनाइँदैछ । मिर्गौला मधुमेह, मोटोपन, खानपानमा असन्तुलन, उच्च रक्तचाप, मुटुरोगका कारणले खराब हुने गर्दछ । विश्वमा कुल जनसङ्ख्याको १० प्रतिशत नागरिक मिर्गौला रोगबाट पीडित रहेको तथ्याङ्क छ ।

उपप्रधानमन्त्री श्रेष्ठसँग तीन देशका राजदूतको भेट

काठमाडौँ, १ चैत : नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने तथा आपसी द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो । भेटका अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नर्वेले गर्ने सहयोग अभिवृद्धिका सन्दर्भमा समेत कुराकानी गर्नुभएको थियो ।

यसैगरी आजै उपप्रधानमन्त्री श्रेष्ठसँग नेपालका लागि पाकिस्तानी राजदूत अब्रर एच हस्मी र नेपालका लागि साउदी अरबका राजदूत साद अबुहैमेदले समेत शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा राजदूतद्वयले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पुनःलेखन गर्न एमालेको आग्रह

काठमाडौँ, १ चैत: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारका तर्फबाट प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले समाजवाद र समृद्धिको बाटो पहिल्याउन नसक्ने खालको भएकाले पुनर्लेखन गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाई आर्थिक मन्दीबाट मुलुकलाई मुक्त गरी रोजगारी र उत्पादन बढाउने ढङ्गले पुनःलेखन गर्न आग्रह गर्नुभएको हो ।

यसअघिको सत्ता गठबन्धनका तत्कालीन अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त प्राथमिकता पेस गर्नुभएकामा हाल नयाँ अर्थमन्त्री नियुक्त भएको स्थितिमा पनि यसलाई तदअनुरुप बनाउन उहाँको आग्रह रहेको छ । “सिद्धान्त र प्राथमिकताले संविधानको प्रस्तावनाबमोजिमको समाजवादोन्मुख अवधारणालाई महत्व दिन सकेको छैन ।

समाजवाद शब्दलाई नै जानबुझेर प्रयोग नगरी पुँजीवाद सोचमा लाने खालको देखिन्छ”, नेता पौडेलले भन्नुभयो । उहाँले अर्थतन्त्रका सूचकहरू पनि सहीरूपमा नआएको भन्दै लक्ष्यको आधाभन्दा कम आर्थिक वृद्धि हुने स्थिति हुँदा अर्थतन्त्र सुधारमा छ भनिएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

विनियोजन विधेयकले समाजवाद निर्माणको लक्ष्य समेट्नुपर्छ : पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ, १ चैत: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले सामाजिक न्यायमा आधारित समाजवाद निर्माणको आधार तय हुने गरी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतालाई संशोधन गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले सरकार पुनःगठन भएको अवस्थामा उठेका विषय र अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन आग्रह गर्नुभयो । संविधानको मर्म र भावनाअनुसार समाजवादोन्मुख अवधारणामा बजेट आउनुपर्ने र त्यसले अर्थतन्त्रलाई बलियो बनाउँदै विदेशमा रहेका श्रमिक नेपाली दाजुभाइलाई समेत सचेततापूर्वक समेट्नुपर्नेमा उहाँको जोड थियो ।

चलचित्र समाजलाई रुपान्तरण गर्ने सशक्त र प्रभावशाली माध्यम होः मन्त्री शर्मा

काठमाडौँ, १ चैत (रासस) : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मौलिक विषयमा निर्माण गरिने चलचित्रको सङ्ख्या बढाउँदै अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन आवश्यक रहेको बताउनुभएको छ ।

आजदेखि सुन्धारास्थित सिभिल मलमा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सुरु भएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को सातौँ संस्करणको उद्घाटन समारोहमा मन्त्री शर्माले यस्ता महोत्सवले संस्कृतिसँगै चलचित्रकर्मीको विचारलाई आदानप्रदान गर्ने बताउनुभयो । “चलचित्र मनोरञ्जन मात्र नभई समाजलाई रुपान्तरण गर्ने सशक्त र प्रभावशाली आमसञ्चारको माध्यम हो ।

यसले पार्ने प्रभाव र दिने सन्देशका विषयमा हामी ज्ञात हुनुपर्छ”, उहाँले भन्नुभयो, “सिङ्गो नेपाली चलचित्रकर्मी हाम्रा लागि खुला स्टुडियो हुन् । हिमाल, पहाड र तराईका सुन्दरतासँगै कला र संस्कृतिको विविधताले चलचित्रलाई झन् सुन्दर बनाउँछ ।” मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय बजेटका सन्दर्भमा छलफलको प्रक्रियामा रहेकाले आवश्यक कार्यक्रमका लागि चलचित्र विकास बोर्डलाई आफ्नो योजनामा राखेर ल्याउन आग्रह गर्नुभयो ।

उहाँले चलचित्रसम्बन्धी ऐन बन्ने प्रक्रियामा रहेको भन्दै सुझाव प्राप्त भइरहेकाले विद्यमान समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । “अहिले २०२६ सालको ऐनमा नै चलचित्र क्षेत्र सञ्चालित रहेकामा ‘चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन’ प्रस्ताव गरिएको छ”, मन्त्री शर्माले भन्नुभयो, “यसका लागि आवश्यक सुझाव, विद्यमान समस्यालगायत सुझावसहित योजना ल्याउन सरकारकातर्फबाट आग्रह गर्दछु ।” यही चैत ५ गतेसम्म काठमाडौँमा सञ्चालन हुने महोत्सवमा ४० देशका ८८ चलचित्र छनोट भएर प्रदर्शन गरिने चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान एवं महोत्सव आयोजकका अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो । “कान्स, लोकार्नो, बर्लिनलगायत प्रतिष्ठित चलचित्र महोत्सवमा समावेश हुनु सुखद पक्ष हो ।

हामी यसलाई अझैँ भव्य बनाउन अग्रसर छौँ । यसले विश्वभरका चलचित्रकर्मीलाई एकैस्थानमा छलफल र सहकार्य गर्ने वातावरण बनाएको छ ।” महोत्सवमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रसम्बन्धी आवश्यक नीति नहुँदा चाहेर पनि यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्न बोर्ड अगाडि बढ्न नसकेको बताउनुभयो । आजको कार्यक्रममा निर्देशक प्रकाशबहादुर बस्नेत, अभिनेता मदनकृष्ण श्रेष्ठ, नीर शाह, अभिनेत्री चैत्य देवी, दीया मास्केलगायत उपस्थित हुनुहुन्थ्यो ।

महोत्सवमा चलचित्र प्रदर्शनसँगै निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तरक्रियाका कार्यक्रम गरिने आयोजकले जनाएकाे छ ।

कानुन क्षेत्रमा योगदान गर्नेलाई बुद्ध एयरको सम्मान

काठमाडौँ, ३० फागुन : निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्ना संस्थापक अध्यक्षको स्मृतिमा पुरस्कार स्थापना गरेको छ । कम्पनीले कानुन तथा न्यायका क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई ‘स्व सुरेन्द्रबहादुर बस्नेत पुरस्कार’ प्रदान गर्ने भएको छ । हरेक दुई वर्षमा नेपालमा कानुन तथा न्यायका क्षेत्रमा सुधार, अन्वेषणलगायत विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई पुरस्कार प्रदान गरिने बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ ।

उक्त प्रयोजनका निम्ति बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत तथा सर्वोच्च अदालत बार एशोसिएसनका सचिव अधिवक्ता श्यामकुमार खत्रीले आज सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । पुरस्कारका लागि बुद्ध एयरले रु २५ लाखको अक्षय कोष स्थापना गरेको छ । कोषबाट प्राप्त हुने ब्याजबाट हरेक दुई वर्षमा एक जनालाई सम्मान गरिने कम्पनीले जनाएको छ । बुद्ध एयरले पहिलो वर्षका लागि थप रु पाँच लाख रकम पनि प्रदान गरेको छ ।

सुरेन्द्रबहादुर बस्नेत बुद्ध एयरका संस्थापक अध्यक्षका साथै सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुनुहुन्थ्यो । उहाँ निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त तथा नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । उहाँले विभिन्न समयमा नेपाल सरकारको मन्त्री तथा विभिन्न आयोगको अध्यक्ष भएर पनि सेवा पु¥याउनुभएको थियो ।

नेपाल–भारत सीमा समन्वय बैठक महेन्द्रनगरमा सम्पन्न

दोधारा चाँदनी (कञ्चनपुर), ३० फागुन : नेपाल–भारत सीमा समन्वय बैठक बुधबार महेन्द्रनगरमा सम्पन्न भएको छ । बैठकमा भारतमा हुने लोकसभा निर्वाचनको सुरक्षा, नेपाल– भारत सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा दुवै देशका सुरक्षा अधिकारीहरु सहमत भएका छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बैठकमा भारतमा हुन लागेको लोकसभा निर्वाचन र स्थानीयस्तरमा रहेका चासोका विषयमा छलफल भएको जानकारी दिनुभयो । “स्थानीयस्तरमा भएका चासोका विषय, लागुऔषध नियन्त्रण गर्नेलगायत विषयमा दुवै पक्ष प्रतिबद्ध छौँ”, उहाँले भन्नुभयो, “लगत्तै हुने पूर्णगिरि मेलालाई व्यवस्थित बनाउने विषयमा पनि छलफल भएको छ”, उहाँले बैठकमा सीमामा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि दुवै देशका सुरक्षा अधिकारीहरु सहमत भएको बताउनुभयो ।

भारतको चम्पावत जिल्लाका प्रमुख नवनित पाण्डेयले भारतमा हुन लागेको लोकसभा निर्वाचन र स्थानीयस्तरमा देखिएका समस्या समाधानका लागि छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “२०२५ सम्म उत्तराखण्डलाई नशामुक्त गर्ने अभियान छ त्यसमा नेपालको तर्फबाट पनि प्रतिबद्धता छ”, उहाँले लागुऔषध नियन्त्रण गर्नका लागि दुवै देश प्रतिबद्ध रहेका बताउनुभयो ।

बैठकमा नेपालका तर्फबाट कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी बलका उपरीक्षक खगेन्द्रबहादुर चन्द सहभागी हुनुहुन्थ्यो ।

अध्यक्ष नेपालसँग राजदूत थम्सनको भेट


काठमाडौँ, ३० फागुन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग नेपालका लागि अमेरिकी राजदूत डिन थम्सनले शिष्टाचार भेट गर्नुभएको छ।

कोटेश्वस्थित अध्यक्ष नेपालको निवासमा भएको भेटमा नेपाल अमेरिका सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले राससलाई जानकारी दिनुभयो ।

राष्ट्रपतिले गराए नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ

काठमाडौं, ३० फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

राष्ट्रपति पौडेलले यही फागुन २८ गते मन्त्रिपरिषद्को निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) अनुसार आजै उहाँहरूलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभभएको हो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति थियो ।

शक्ति राष्ट्रबीचको टकरावले साना मुलुकको अस्तित्वको चुनौती : प्रधानसेनापति शर्मा

काठमाडौँ, ३० फागुन : प्रधानसेनापति प्रभुराम शर्माले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, सीमा सुरक्षा, आर्थिक समुन्नति र समृद्धिका लागि साझा प्रयास र प्रतिबद्धताको खाँचो रहेको बताउनुभएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित सिसं ९ उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम उद्घाटन गर्दै उहाँले त्यसका लागि समान धारणा, बुझाइ, एकता र समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रधानसेनापति शर्माले भन्नुभयो, “बाह्य तथा आन्तरिक सुरक्षा वातावरणको अध्ययन र विश्लेषण गर्दै राष्ट्रिय हित तथा स्वार्थको संरक्षणका लागि महत्वपूर्ण नीति तर्जुमा र कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ ।” प्रत्येक राष्ट्र आफ्ना आधारभूत मूल्यमान्यताको संरक्षणसहित राष्ट्रिय पहिचान, सार्वभौमसत्ता र अखण्डता कायम गर्दै जनतालाई सुरक्षित, भयरहित एवं आत्मसम्मानपूर्ण जीवन जिउन दिनेतर्फ सचेत रहनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।

“राष्ट्रले पनि जनतालाई भौगोलिक, सामाजिक, आर्थिक एवं राजनीतिक रुपमा पूर्ण सुरक्षित राख्न विभिन्न नीति तथा रणनीति अख्तियार गर्दै आइरहेको छ”, प्रधानसेनापति शर्माले भन्नुभयो । अन्तर्राष्ट्रिय मञ्चमा हाल भइरहेको द्वन्द्व एवं युद्धका घटनाले शक्ति राष्ट्रबीचको ध्रुवीकरण बढ्दै गएको आभाष भएको उल्लेख गर्दै उहाँले विश्वका शक्ति राष्ट्रबीचको प्रत्यक्ष÷परोक्ष टकरावले साना मुलुकलाई आफ्नो अस्तित्वलाई अक्षुण्ण राख्न चुनौती थपिएको बताउनुभयो ।

 प्रधानसेनापति शर्माले नेपालको सन्दर्भमा, संवेदनशील भूराजनीति, खुला सिमाना र विभिन्न शक्ति राष्ट्रको स्वार्थ पनि राष्ट्रिय सुरक्षा चुनौतीको रुपमा हेरिने गरिएको बताउनुभयो । आन्तरिकरुपमा बढ्दै गइरहेको धार्मिक तथा साम्प्रदायिक विवादका साथै सुषुप्त अवस्थामा रहेका केही विखण्डनवादी वा पृथकतावादी समूहका गतिविधिले राष्ट्रिय सुरक्षामा प्रभाव पारिरहेको उहाँको भनाइ थियो । 

प्रभावकारी सुरक्षा वातावरण निर्माण गर्न परम्परागत एवं अपरम्परागत सुरक्षाका विविध पक्ष एवं आर्थिक, सामाजिक विकासको नक्सालाई राम्रोसँग बुझी सबै संयन्त्रले राष्ट्रियरुपमा तर्जुमा गरिएका नीति नियमलाई इमानदारीपूर्वक कार्यान्वयन गर्नु आजको प्रमुख आवश्यकता रहेको प्रधानसेनापति शर्माले उल्लेख गर्नुभयोे । उहाँले भन्नुभयो, “विश्वको बदलिँदो सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रिय सुरक्षा नीति तथा रणनीतिलगायत योजना तर्जुमा र परिमार्जन गर्न अपरिहार्य छ ।”

रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले सुरक्षा बहुआयामिक, अन्तर सम्बन्धित र बहुनिकायसँग सरोकार राख्ने विषय भएकाले सुदृढ सुरक्षाका लागि राज्यका निकायबीच संवाद, समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले देशको सुरक्षामा खलल पु¥याउन सक्ने विभिन्न आन्तरिक तथा बाह्य चुनौतीलाई एकीकृतरूपमा समन्वयात्मक ढङ्गबाट सामना गरिएमा मात्र समग्रमा देशको प्रतिरक्षा क्षमता, सीमा व्यवस्थापन, प्रकोप नियन्त्रण, राष्ट्रिय एकता, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिसमेत प्रभावकारी हुने बताउनुभयो ।

कलेजका शिक्षाध्यक्ष बाबुराम श्रेष्ठले २०७२ सालदेखि सुरु भएको सुरक्षासम्बन्धी उच्चस्तरीय तालिममा हालसम्म १९३ जना प्रशिक्षित भइसकेका जानकारी गराउनुभयो । आजदेखि सुरु भएको नवौँ संस्करणको तालिम आगामी चैत १६ गतेसम्म सञ्चालन हुनेछ । तालिममा विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सरकारी तथा गैरसरकारी संस्था, सञ्चार जगत्, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका गरी ३० जनाको सहभागिता रहेको छ ।

संसद्लाई गतिशील तुल्याउन सत्तापक्ष र प्रतिपक्ष दुवैले अग्रसरता देखाउनुपर्छ – सांसद विक (अन्तर्वार्ता)

काठमाडौँ, ३० फागुनः दोस्रो संविधानसभाको सदस्यका रूपमा क्रियाशील रहेर अहिलेको जिम्मेवारीमा आइपुग्दा धेरै नै फरक महसुस भइरहेको छ । हिजो र आजको जनताको चेतनास्तरमा पनि धेरै परिवर्तन आएको छ । संसद्मा के बोल्यो, बोलेन, जनताको पक्षमा आवाज उठायो कि उठाएन भन्ने विषयलाई जनताले नजिकबाट नियालिरहेका छन् । संसद्को भूमिका प्रभावकारी हुँदै गएको छ । सांसदले सदनमा उठाएका जनताका सवाल सबै कार्यान्वयन भएका छैनन् । यद्यपि संसद्मा उठेका विषय सम्बोधन गर्न राजनीतिक नेतृत्व तथा सरकारको नेतृत्वलाई दबाब सिर्जना भएको छ ।

कानुन निर्माणका साथै जनताका समस्या सरकारसम्म पुर्याएर समाधान गर्न सांसदको भूमिका रहन्छ । जनताले अनुभूत गर्नेगरी काम हुनसकेका छैनन् । जनतालाई कसरी आशा देखाउने, राजनीतिक दलप्रति विश्वसनीयता बढाउने तथा जनताका मुद्दालाई संसद्मा कसरी प्रस्तुत गर्ने भन्ने मुख्य विषय हो । संसद्मा जनचासो र जनभावनालाई उठाइएको छ, तर त्यसको सम्बोधन नहुँदा जनतामा नैराश्य उत्पन्न भएको अवस्था छ । राजनीतिक दलले पनि कहिलेकाहीँ बाटो बिराएका छन् । दलहरूले आफूमा परिपक्वपन देखाउन नसक्दा आलोचना हुने गरेको छ । संसद्मा एक वर्षको उलपब्धिलाई हेरेर चित्त बुझाउने ठाउँ त छैन । सरकारले जनतालाई सेवा दिन सकिरहेको छैन । सेवाप्रवाहमा झण्झट कायमै छ । हामीले पनि सरकारमाथि संसद्बाट पर्याप्त दबाब सिर्जना गर्न सकेका छैनौँ ।

संविधानसभाबाट संविधान बनेपछि पाँच वर्ष एउटै सरकार टिक्छ भन्ने अपेक्षा गरिएको थियो । त्यस्तो सरकारले जनतालाई ‘डेलिभरी’ दिन सकोस् भन्ने हो । तर कम्युनिष्ट पार्टीहरूको अग्रसरतामा बनेको स्पष्ट बहुमतको सरकारले पनि प्रभावकारी काम गर्न सकेन । संसद् विघटनपछि कांग्रेसको नेतृत्वमा बनेको सरकारले पनि कानुन निर्माणमा प्रभावकारी भूमिका खेल्न सकेन । पछिल्लो निर्वाचनपछि सरकार बनेको पनि एक वर्ष पूरा भएको छ । यो एक वर्षको अवधिमा एक–दुई विधेयकमात्र पारित भएका छन् । यद्यपि, केही विधेयक संसद्मा छलफलकै क्रममा छन् ।

कानुन निर्माणमा जुन गति हुनुपथ्र्यो, त्यसो हुनसकेको छैन । संसद् कानुन निर्माण गर्ने प्रमुख थलो हो र सांसद कानुन निर्माणका प्रमुख हिस्सेदार हुन भनिन्छ, तर हामी अन्यन्त्रै अल्झेका छौँ । सांसदले जनताको विकास निर्माणसँग पनि प्रत्यक्ष जोडिएर काम गर्नुपर्छ । कानुन निर्माणसँगै सांसदले आफ्नो क्षेत्रका खानेपानी, स्वास्थ्य, सडक, विद्यालय, सिँचाइलगायत जनताका आवश्यकताका विषयमा पनि ध्यान दिनुपर्ने अवस्था छ । विकासे आयोजनाको फाइल बोकेर मन्त्रालय धाउनुपर्ने सांसदको पनि बाध्यता छ । संसद्ले कानुन निर्माण गरेर दिने, सरकारले कार्यान्वयन गरेर जनतालाई अनुभूत गराउन सकियो भनेमात्र जनताले बुझ्ने अवस्था रहन्छ ।

संविधानले तीन तहको सरकारको परिकल्पना गरेको छ । संविधानअनुसार मुलुकमा तीन तहका सरकार क्रियाशील रहेका छन् । सङ्घीय सरकारले नीति निर्माण गर्ने, प्रदेश सरकारले विकास निर्माण गर्ने र स्थानीय तहले सेवाप्रवाह गर्ने संविधानको मर्म हो । कानुन निर्माणमात्रै होइन, सांसदले विकास पनि गर्नुपर्छ भन्ने सोचाइ परिवर्तन हुन जरुरी छ । यसका लागि समय लाग्न सक्छ । निर्वाचनमा होमिदै गर्दा सांसदले पनि कानुन बनाउनेमात्रै भनेर भनेनौँ, जनताका आवश्यकता पूरा गर्छौँ, सडक, पुल, खानेपानीलगायत विकास निर्माणका काम गर्छौँ भन्यौँ, त्यो विषय पूरा गर्नुपर्ने बाध्यता छ । जनताले सांसद कानुन निर्माण गर्न गएका हुन्, कानुन निर्माण गरेर मात्रै बस्नु त भन्दैनन् । जनताले सम्पूर्ण समस्याको समाधान सांसदले गर्नुपर्छ भन्ने ठान्नुहुन्छ । कानुन निर्माण गरेर मात्रै पनि हुँदैन, यसको प्रभावकारी कार्यान्वयनसमेत हुनुपर्छ ।

सत्तामा रहँदा सबै ठिक, प्रतिपक्षमा पुगेपछि सबै बेठिक भन्ने प्रवृत्ति सबैले त्याग्नुपर्छ । एकल पार्टी बहुमतको सरकार नहुँदा पनि समस्या देखिएको छ । निर्वाचनबाट जनताले सबैलाई मिलेर जाऊ भनेर ‘म्याण्डेड’ दिएका छन् । जनताले सोचेका कुरा पूरा नहुनुमा पनि केही हदसम्म यसले काम गरेको छ । सेवाप्रवाहलाई सहज बनाउने उद्देश्यले मुलुक सङ्घीयतामा गएको हो । सिंहदरबारको अधिकार गाउँगाउँमा भनियो तर स्थानीय तहले पनि प्रभावकारी ढङ्गबाट कार्यसम्पादन गर्न नसकेको अवस्था देखियो । अधिकारसँगै भ्रष्टाचार पनि गाउँगाउँ पुग्यो । जनताका स–साना समस्या घरदैलोमा नै समाधान होउन्, सेवाप्रवाहमा सहज होस् भन्ने उद्देश्यले सङ्घीयता कार्यान्वयनमा ल्याइएको हो । समयमै कानुन निर्माण गरेर दिन सकेको भए सङ्घीयताले प्रभावकारी काम गर्न सक्थ्यो । प्रदेश र स्थानीय तहलाई कानुन निर्माण गरेर दिन सकिएको छैन, कर्मचारीको व्यवस्था हुनसकेको छैन । कानुन र कर्मचारी नहुँदा प्रदेश र स्थानीय तहले प्रभावकारी काम गर्न सकेनन् । जसको अपजस सिङ्गो मुलुक र व्यवस्थाले भोग्नु परिरहेको छ ।

राजनीतिक दलहरू जिम्मेवार भएर अघि बढ्नुपर्छ । मुलुकलाई समृद्ध बनाउन, जनतामा आशा जगाउन सम्पूर्ण दल एकताबद्ध हुनुपर्छ । सत्ता पक्ष होस् वा प्रतिपक्ष, दलहरूले सङ्घीयता कार्यान्वयनसम्बन्धी कानुन निर्माणमा ढिलाइ गर्न हुँदैन । राजनीतिक दलका नेताले यस संवेदनशीलतालाई नजिकबाट बुझ्नुपर्छ । प्रतिपक्षमा रहेको नेपाली कांग्रेस कानुन निर्माणमा सक्दो सहयोग गर्न प्रतिबद्ध छ । विरोधका लागि विरोधमात्रै गर्ने कांग्रेसको संस्कार होइन । सरकारमा सहभागी राजनीतिक दल यस विषयमा बढ्ता जिम्मेवार बन्नुपर्छ । आशा छ, सरकारले त्यसतर्फ कदम चाल्नेछ । वामपन्थी राजनीतिक दल सरकारमा छन्, कांग्रेस प्रतिपक्षमा छ, सरकारले कानुन निर्माणमा अग्रसरता देखाउनुपर्छ, कांग्रेस रचनात्मक भूमिका खेल्न तयार छ । अब सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित कानुन निर्माणमा ढिलाइ गर्नहुन्न भन्ने सबै सांसदको एकमत छ । अहिले संसद्को हिउँदे अधिवेशन चलिरहेको छ । यस अधिवेशनमा बन्न बाँकी कानुन निर्माणमा संसद्ले ध्यान दिनुपर्छ ।

संसदीय समितिले सरकारलाई विभिन्न सन्दर्भमा निर्देशन दिँदै आएका छन् । समितिले दिएको सबै निर्देशन सरकारले मानेको जस्तो लाग्दैन । समितिले पनि निर्देशन दिँदै गर्दा धेरै विषयमा विचार पुर्याउनुपर्छ । नेताहरूले धेरै बोल्ने तर पूरा नगर्ने परिपाटीले गर्दा धेरै नै आलोचना खेप्नुपरेको छ । विरोध गर्न पाउनु प्रजातन्त्रको सुन्दर पक्ष हो । आफूलाई लागेको विषय निर्धक्कका साथ राख्न पाउनु नै प्रजातन्त्र हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्र विरोधीले यही व्यवस्थाभित्र रहेर आफ्ना कुरा खुलस्त राख्न पाएका छन् । धेरै ठूलो बलिदानीबाट राष्ट्र आज यो ठाउँमा आइपुगेको हो । यही व्यवस्थाका कारण निर्धक्कसँग अभिव्यक्ति राख्न पाइएको छ । शान्ति सम्झौता भएका दुई दशक पुग्न लागिसक्यो, तर अझै शान्ति प्रक्रिया टुङ्गोमा पुग्न सकेको छैन । सबै राजनीतिक दल पटकपटक सरकारमा पुगेका छन्, पीडितलाई न्याय हुने गरी यसलाई टुङ्ग्याइनुपर्छ । शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने सबै राजनीतिक दलको घोषणापत्रमा उल्लेख छ । अझै पनि उक्त विषय टुङ्गोमा पुर्याउन नसक्दा जनतालाई ढाँटेको भएन र ? यसलाई अड्काएर राखेर कुनै पनि राजनीतिक दललाई फाइदा हुँदैन । सत्तापक्षमा भएका वा प्रतिपक्षमा भएका राजनीतिक दलले कुनै पनि अर्थमा यसलाई टुङ्गोमा पुर्याउनुपर्छ ।

सांसद आशा विकको परिचय

विसं २०४७ देखि राजनीतिमा सक्रिय हुनुभएकी नेपाली कांग्रेसकी सांसद आशा विक २०५४ सालसम्म नेपाल विद्यार्थी सङ्घको इकाइ सदस्य रहनुभएको थियो । उहाँ जिल्ला सदस्य, क्षेत्रीय सदस्य हुँदै दलित सङ्घ बाँकेको सभापति बन्नुभएको थियो । सांसद विकले २०४८ सालमा कांग्रेसको क्रियाशील सदस्यता लिनुभएको थियो । नेपाली कांग्रेसको १२औँ महाधिवशेनमा केन्द्रीय सदस्य उम्मेदवार रहनुभएकी उहाँ विसं २०६४ र २०७० मा संविधानसभा सदस्य हुनुहुन्थ्यो ।