`

परराष्ट्रमन्त्री श्रेष्ठलाई भारतीय र चिनियाँ समकक्षीद्वारा बधाई

काठमाडौँ, ३० फागुन : उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भारतीय र चिनियाँ समकक्षीले बधाई ज्ञापन गरेका छन् । भारतीय विदेशमन्त्री सुव्रमण्यम जयशङ्कर र चिनियाँ विदेशमन्त्री वाङ यीले छुट्टाछुट्टै बधाई सन्देश पठाउँदै परराष्ट्रमन्त्री श्रेष्ठको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो ।

परराष्ट्रमन्त्री श्रेष्ठले बधाई तथा सफल कार्यकालको शुभकामनाका लागि उहाँहरूप्रति आभार प्रकट गर्नुभएको उपप्रधानमन्त्री श्रेष्ठका स्वकीयसचिव सुरेशकाजी श्रेष्ठले राससलाई जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष श्रेष्ठ यही फागुन २३ गते उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

नेपाल रेडक्रसको विधान संशोधन गर्न वैशाखमा महाधिवेशन

काठमाडौँ, ३० फागुन : नेपाल रेडक्रस सोसाइटीले विधान संशोधनका लागि आगामी वैशाखमा महाधिवेशन आयोजना गर्ने भएको छ । यही फागुन २७ देखि २९ सम्म बनेपामा सञ्चालित केन्द्रीय कार्यसमिति बैठकले मौजुदा विधानमा समसामयिक संशोधन गर्न महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले संस्थागत र सेवामूलक गतिविधिलाई प्रभावकारी बनाउनाका साथै रेडक्रसको रूपान्तरण गर्ने निर्णय गरेको अध्यक्ष प्रा सुदर्शनप्रसाद नेपालले जानकारी दिनुभयो । रेडक्रसले सरकारसँगको समन्वयमा सेवामूलक तथा विकासका गतिविधिहरूमार्फत मानवीय कार्यमा आफूलाई केन्द्रित गर्दै आएको छ । लामो समयसम्म दर्ता नवीकरण हुन नसकेको रेडक्रसलाई नयाँ कार्यसमितिले नवीकरण गरी अद्यावधिक गरेको अध्यक्ष नेपालले जानकारी दिनुभयो ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी) को आर्थिक एवं प्राविविधक सहयोगमा डोटी र कर्णाली भूकम्प प्रतिकार्यलगायतमा सेवामूलक गतिविधिहरू रेडक्रसले निरन्तर सञ्चालन गरिरहेका उहाँको भनाइ छ ।

कास्कीमा १७ हजार बढी भूमिहीन र अव्यवस्थित बसोबासीलाई निस्सा

कास्की- कास्कीमा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासी १७ हजार बढीलाई निस्सा वितरण गरिएको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीका समस्या समाधान गर्नका लागि सरकारद्वारा गठित राष्ट्रिय भूमि आयोगको कास्की जिल्ला समितिले दुई वर्षको अवधिमा लगत सङ्कलन गरी उनीहरुलाई निस्सा प्रदान गरेको हो ।

जिल्लामा पाँच पालिकामा रहेकामा पोखरा महानगरपालिकामा १६ हजार चार सय र अन्नपूर्ण गाउँपालिकामा छ सय ७८ गरी १७ हजार ७८ जना भूमिहीन दलित÷सुकुम्वासी र अव्यस्थित बसोवासीलाई निस्सा प्रदान गरिएको आयोगका जिल्ला अध्यक्ष गङ्गाप्रसाद पोखरेलले बताउनुभयो । उहाँका अनुसार रुपा, मादी र माछापुच्छ«ेमा निस्सा वितरणको काम बाँकी छ ।

जिल्लामा भूमिहीन दलित÷सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनमा २० हजार छ सय ३५ जनाको निवेदन दर्ता भएको छ । पोखरामा १८ हजार चार सय ६०, अन्नपूर्णमा छ सय ७८, रुपामा छ सय १३, मादीमा एक सय ९० र माछापुच्छ«ेमा छ सय ९४ जनाको निवदेन आयोगको जिल्ला कार्यालयमा परेको छ ।

निस्सा वितरण बाँकी रहेका पालिकाहरुमा समेत सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत सङ्कलन, प्रमाणीकरण तथा नाप नक्साको काम भइरहेकाले छिट्टै वितरण गरिने पोखरेलले बताउनुभयो । “जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अवव्यवस्थित बसोबासीका समस्या समाधान गर्ने गरी काम गरिरहेका छौँ । कार्यविधि ऐन, कानुन नबाझिने गरी सरोकारवाला निकायसँग छलफल र राय सल्लाहबाट अघि बढेका छौँ । भूमिहीनको समस्या समाधानका लागि स्थानीय पालिकाको महत्वपूर्ण भूमिका रहन्छ । पालिकाको अग्रसरता बढेमा छिटो काम सम्पन्न हुन्छ”, पोखरेलले भन्नुभयो ।

आयोगले हालसम्म जिल्लामा अन्नपूर्णमा दुई र पोखरामा एक सय ३६ जनालाई जग्गाधनी पूर्जा वितरण गरेको छ । अन्नपूर्णका दुई भूमिहीन दलित र सुकुम्बासी तथा पोखरामा विगतका आयोग, समिति र कार्यदलका बाँकी काम सम्पन्न गर्ने सम्बन्धी कार्यविधिअनुसार लालपुर्जा प्रदान गरिएको समितिका प्रवक्ता आशबहादुर गुरुङले जानकारी दिनुभयो ।

सोही कार्यविधि अनुसार हालसम्म एक सय १२ रोपनी जमिन अव्यवस्थित बसोबासी तर्फ र भूमिहीन दलित÷सुकुम्वासीलाई सात रोपनी क्षेत्रफल जमिन वितरण गरिएको छ । तीन सय २० जनाको जमिन भोगसम्बन्धी पुष्टिका लागि स्थलगत सर्जमिन गरिएको समितिले जनाएको छ । भूमिहीन र व्यवस्थित बसोबासीलाई जमिन प्रदान गरेबापत जिल्लामा हालसम्म रु पाँच करोड ८० लाख ६८ हजार ५५ जम्मा भएको सो रकम राष्ट्रिय भूमि आयोगलाई पठाइएको अध्यक्ष पोखरेलले बताउनुभयो ।

मिथिला माध्यमिकी यात्राका सहभागी चौथो दिन महोत्तरीमा

महोत्तरी, ३० फागुन : मिथिला माध्यमिकी यात्राका सहभागी आज महोत्तरी जिल्ला प्रवेश गरेका छन् । गत शुक्रबार धनुषाको मिथिलाविहारी–८ ठेराकचुरीस्थित मिथिलाविहारी कुटी मन्दिर)बाट थालिएको सो यात्राका सहभागी चौथो दिन महोत्तरी प्रवेश गरेका हुन् । सहभागीलाई नेपाल–भारत सीमा दशगजा क्षेत्रवारि नेपाल प्रवेशद्वारमा मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलसहित नगरवासीले स्वागत गरेका थिए ।

गत शुक्रबार ठेराकचुरीबाट श्रीरामको प्रतिमा राखिएको डोला अघि लगाउँदै यात्रा सुरु भएको थियो । सोही दिन जनकपुर पुगेपछि अग्निकुण्ड मठबाट सीताको प्रतिमा राखिएको डोला मिसिएपछि सीताराम सङ्कीर्तन गाउँदै पहिलो दिन परम्पराअनुसार धनुषाको हनुमानगढीमा सहभागी बास बसेका थिए । यसैगरी दोस्रो दिन भारतको कल्याणेश्वर र तेस्रो दिन भारतकै गिरिजास्थान बास बसेका सहभागी आज चौथो दिनको विश्रामका लागि मटिहानी आइपुगेका हुन् ।आरोग्यता, कल्याण र मोक्ष कामनाका साथ गरिने मिथिला माध्यमिकी परिक्रमा यात्राका सहभागी अब पाँच रात महोत्तरीमा बिताउनेछन् ।डोला आगमनसँगै प्रत्येक विश्रामस्थलमा भजन, कीर्तनसहित धार्मिक मेला आयोजना हुँदै आएको परम्परा छ । यात्रीहरूको भोजन, आवास, खानेपानी र प्राथमिक उपचार र आइपर्ने अन्य कामका लागि स्वयंसेवकसहितको आवश्यक प्रबन्ध स्थानीय (रात्रिबासको थलो)ले विभिन्न सङ्घसंस्थाको समन्वयमा गर्दै आएका छन् । यसैअनुसार आज मटिहानीमा यात्रीको सुविधाका लागि खानेपानी, प्राथमिक उपचार र बाससहितका प्रबन्ध मिलाइएको मटिहानी नगरप्रमुख मण्डलले बताउनुभयो । डोला आफ्नो ठाउँ आइपुगेको अवसरमा दर्शन, आराधना र सहभागीको स्वागतका लागि आज मटिहानी नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।यात्राको चौथो दिन मटिहानी आइपुगेका सहभागी अब आठौँ दिनसम्म महोत्तरी रहनेछन् । चौथो दिन मटिहानी, पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको रात्रि विश्रामपछि यात्री फेरि धनुषा जिल्ला प्रवेश गर्नेछन् । नेपाल र भारतको गरी जम्मा एक सय ३३ किलोमिटरको यो यात्रामा महोत्तरीमा २५ किलोमिटरको यात्रा गरिन्छ । यसमध्ये भारततर्फ २६ किमी र बाँकी धनुषाका क्षेत्र पर्छन् ।अघि त्रेतायुगमा श्रीराम र सीताले विवाहपश्चात मिथिलाका विभिन्न ठाउँमा घुम्दै विहार गरेका सम्झनामा मिथिला माध्यमिकी परिक्रमाको परम्परा १८औँ शताव्दीमा सुुरु भएको बताइएको छ । रामसीताका पदचाप पछ्याउँदै उहाँहरूकै प्रतिमा राखिएका डोली अगाडि लगाएर गरिने यो यात्रा दैहिक नभएर पारलौकिक (अलौकिक) भएको साधुसन्तको भनाइ छ । सामलखाजा र एकसरो फेरफारका लुगाको पोको आफैँ बोकेर नाङ्गो खुट्टाले गरिने यो यात्राले सांसारिक दुःखकष्टबाट मुक्ति दिने हिन्दू मैथिल जनविश्वास रहेको मटिहानी–७ का ९० वर्षीय विन्देश्वरीप्रसाद मण्डल बताउनुहुन्छ ।यात्रामा नेपाल र भारतका विभिन्न मठका साधुसन्त र आम श्रद्धालु सर्वसाधारणको सहभागिता रहँदै आएको छ । यात्राको बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, मार्गमा पर्ने स्थानीय तह र धार्मिक मठहरूले संयोजन, समन्वय गर्दै आएका छन् ।फागुन औँसीबाट सुुरु भई फागुन पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी यो यात्रा सम्पन्न गरिन्छ । यस यात्रामा धनुषामा छ, महोत्तरीमा पाँच र भारतको मधुवनी जिल्लामा चार रात्रि विश्रामस्थलको परम्परा रहँदै आएको छ ।

शिलान्यासको चार वर्षपछि नमूना सदरमुकामस्थलमा भवन निर्माण सुरु गरिँदै

मध्यविन्दु (नवलपरासी), ३० फागुन – शिलान्यास गरिएको चार वर्षपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीस्थित नमूना सदरमुकामस्थलमा भवन निर्माण सुरु हुने भएको छ । जिल्लाको नमूना सदरमुकाममा संरचना निर्माणका लागि संघीय सरकारले चालु आर्थिक वर्षका लागि रु ५० करोड स्रोत सुनिश्चित गरेपछि संरचना निर्माणको प्रक्रिया सुरु भएको हो ।

पहिलो चरणमा सदरमुकामस्थलमा जिल्ला प्रशासन कार्यालयको भवन र अन्य दुईवटा एकीकृत प्रशासनिक भवन निर्माण गर्ने सरोकारवालाको बैठकबाट निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो ।“पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयको भवन निर्माणका लागि सघन सहरी तथा भवन निर्माण विभाग चितवन कार्यालयमार्फत खरिद प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो, “दोस्रो चरणमा जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला अदालत र जिल्ला सरकारी वकिलको कार्यालय, जिल्ला कारागार, सुधारगृह, यातायात सेवा कार्यालय, पूर्वाधार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी कार्यालय र अन्य कार्यालयको प्राथमिकताका आधारमा कार्यालय निर्माण गर्ने निर्णय भएको छ ।”भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी निर्माणकार्य अगाडि बढाउन आवश्यक सम्पूर्ण कार्य तत्काल सुरु गर्ने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयसहित दुईवटा एकीकृत सेवा कार्यालय भवन निर्माणका लागि १०–१५ दिनमा बोलपत्र प्रकाशन हुने र त्यसको दुई–अढाई महिनामा भवन निर्माणकार्य सुरु हुने सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनका प्रमुख झपटबहादुर थापाले बताउनुभयो ।उहाँका अनुसार बहुवर्षीय योजनाअन्तर्गत तीन वर्षभित्र जिल्ला प्रशासन कार्यालयसहितको तीनवटा कार्यालय निर्माण सक्नेगरी काम अगाडि बढाइने छ । “दुईवटा एकीकृत सेवा कार्यालयमा तत्कालका लागि चारवटा कार्यालय रहन सक्नेछन्”, उहाँले भन्नुभयो, “सरकारले हालै सुनिश्चित गरेको रु ५० करोडबाट जिल्ला प्रशासन कार्यालयसहितको तीनवटा कार्यालय बनाइने छ ।”विसं २०७६ वैशाख ७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको नमूना सदरमुकाममा अहिलेसम्म बाटो संरचना निर्माण गरी गिट्टी बिछ्याउनेबाहेकका काम हुनसकेको छैन । रकम थोरै भएको र प्रक्रिया अगाडि बढाउनसमेत समस्या भएको भन्दै सघन सहरी तथा भवन निमार्ण विभागले अहिलेसम्म भवन निर्माणको कार्य सुरु गरेको थिएन ।जिल्लाको सदरमुकाम कावासोती नगरपालिका–३ मा रहेको एक सय ८७ बिघा जग्गामा सङ्घ र प्रदेश मातहतका सबै कार्यालय एकै स्थानमा निर्माण गर्नेगरी नमूना सदरमुकामको रूपमा प्रक्रिया अगाडि बढाइएको हो । नमूना सदरमुकाम निर्माणस्थलमा सङ्घमातहतका १६, प्रदेशमातहतका ११ कार्यालय निर्माण गर्नेगरी प्रारम्भिक गुरुयोजना तयार पारिएको छ । साथै पुस्तकालय, सभाहल, बैंक, अतिथिगृह, आवासगृह, रङ्गशाला, सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, उद्यानलगायतका संरचनासमेत निर्माण गर्ने योजना रहेको छ ।नमूना सदरमुकाम निर्माणकार्य अलपत्र हुँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा रहेका सङ्घ र प्रदेशमातहतका सरकारी कार्यालयले वार्षिक रु एक करोडभन्दा बढी रकम भाडा तिरेर कार्यालय राख्न बाध्य भएका छन् ।

कर्णाली प्रदेशसभाको बैठक आज

कर्णाली – कर्णाली प्रदेशसभाको बैठक आज बस्ने भएको छ । कर्णाली प्रदेश प्रमुख प्रमुख तिलक परियारले प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गर्नुभएसँगै आज पहिलो बैठक बस्ने भएको हो ।

प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश प्रमुखसमक्ष सिफारिस भएको थियो । जसअनुसार प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) तथा प्रदेश सरकारका (कार्यसम्पादन) नियमावली, २०७४ को नियम २४ बमोजिम आज फागुन ३० गते दिउँसो ३ बजे बस्ने गरी तेस्रो अधिवेशन आह्वान गर्नुभएको थियो ।

आज बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकका लागि कर्णाली प्रदेशसभा सचिवालय वीरेन्द्रनगर सुर्खेतले सभाका सम्पूर्ण सदस्यहरुलाई जानकारी गराएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशसभा नियमावली २०७९, को नियम (३) को उपनियम (३) बमोजिम सदस्यहरुलाई उपस्थितिका लागि सूचना गरिएको छ ।

हेर्नुहोस् फागुन ३० गते बुधवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । पारीवारिक कलहको सामना गर्नु पर्ला । सबारी साधनको प्रयोमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेको छ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ ।

बृष राशि – जिबन साथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहनेछ । अनावश्यक खर्च तथा लगानिका क्षेत्रमा सजग रहनु पर्ने योग रहेकोछ । नजिकका मित्र तथा दाजु भाई हरु सगँको सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्नेछ ।स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ ।

मिथुन राशि – प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । नयाँकार्यको प्रारम्भले मन प्रशन्न सहनेछ । शारीरिक आलस्यताले अध्यन अध्यापन को क्षेत्रमा प्रभाब पार्ने समय रहेकोछ । शत्रु परास्त्र हुनेछन तथा शुभ चिन्तकको बृद्यि हुनेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ ।

कर्कट राशि – मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फसिनेछ । पारीवारिक साथ सहयोग बाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्नेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ ।

सिंह राशि – मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भाबना रहेको छ । प्रत्येक कार्यमा तपाँईको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारीक झोर झमेलाको सम्भाबना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।

कन्या राशि – खान पानको क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । सामान्य चोट पटकको सम्भाबना रहेता पनि मित्रजनहरुको साथ सहयोग द्वारा ब्यत्तित्व बिकासमा सहयोग मिल्नेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानि क्षेत्रमा बृद्यि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ सजग रहनु होला ।

तुला राशि – भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

बृश्चिक राशि – स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाईको सामना गनुपर्नेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

धनु राशि – प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । बौधिक ब्यक्तित्व सगँको भेटघाटको अवशर जुट्नेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना हुन सक्छ ।

मकर राशि- नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ ।

कुम्भ राशि – निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

मीन राशि – सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

आगलागी पछि प्राविधिक टोलीद्वारा कर्णाली पुलको प्रारम्भिक अध्ययन

लम्की (कैलाली)-सडक डिभिजन कार्यालय नेपालगञ्ज र पुल महाशाखा काठमाडौँको सात सदस्यीय प्राविधिक कर्णाली पुलमा आगलागीबाट भएको क्षतिबारे प्रारम्भिक अध्ययन थालेको छ । टोलीले कर्णाली पुलको अवलोकन तथा परीक्षण थालेको हो ।

पुलमा आगलागी भएर क्षति भएको जानकारी प्राप्त भएपछि प्रारम्भिक अध्ययन थालिएको पुल महाशाखाका सिनियर डिभिजनल इञ्जिनियर कृष्णराज अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “आगलागीबाट भएको क्षतिका साथै पुलको मर्मत सम्भारबारे पनि अध्ययन गर्दैछौँ ।” प्रारम्भिक विवरण आएपछि विज्ञलगायतसँग छलफल र सल्लाह गरी पुलको अवस्था, पुलको क्षतिको विवरण, मर्मत सम्भार गर्नुपर्ने वा के गर्ने भन्नेबारे थाहा हुने उहाँले बताउनुभयो ।पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नं को ट्रकमा सोमबार एक्कासी आगलागी भएको थियोे । ट्रकमा लागेको आगो नियन्त्रणमा लिन चार घण्टा बढी समय लागेको थियो । एक हजार एक सय कार्टुन लाइटर बोकेको ट्रक जलेर नष्ट भएको थियो । आगलागीबाट कर्णाली पुलका १४ वटा डोरीमा आंशिक क्षति पुगेको थियो । सन् १९९३ मा कर्णाली पुल निर्माण गरिएको थियो । उक्त पुलको तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५० मङ्सिर २८ गते उद्घाटन गर्नुभएको थियो ।गुडिरहेको ट्रकमा लागेको आगोबाट क्षतिपुगेपछि कर्णाली पुलमा हाल सवारी आवागमन बन्द गरिएको छ ।

पुरातन शैलीमा काम गर्ने छुट कसैलाई छैन : उपप्रधानमन्त्री लामिछाने

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुशासन कायम गर्न र सहज सेवा प्रवाहमा गृह मन्त्रालय प्रत्यक्ष जोडिने भएकाले पुरातन शैलीमा काम गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ ।

सिंहदरबारमा मंगलबार गृह मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा अर्धवार्षिक समीक्षालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “म पनि विशेष टिओआर लिएर आएको छु । यहाँहरुसँग त परिभाषित जिम्मेवारी छँदै छ । त्यसैले आपसी सहकार्यमा नागरिकले तत्काल महसुस हुने गरी सुधारका काम गरौँ ।”उपप्रधानमन्त्री लामिछानेले पद सुरक्षित हुँदाहुँदै पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दल परिवर्तन गर्नुको मूल कारण नै ‘डेलिभरी’ दिनका लागि भएको उल्लेख गर्नुभयो । गृह मन्त्रालयसँग स्रोत–साधनको अभाव रहेको भन्दै उहाँले प्रहरीका दुवै सङ्गठनसँग आधारभूत वस्तुको खाँचो रहेको औँल्याउनुभयो ।उपप्रधानमन्त्री लामिछानेले सवारी साधन, हातहतियार, उपकरण र प्रविधिमा पनि लगानी गर्नुपर्ने भएकाले त्यसतर्फ पर्याप्त ध्यान दिने बताउनुभयो । नयाँ आर्थिक वर्षका लागि बजेट बन्ने प्रक्रिया सुरु भएकाले प्राथमिकता निर्धारणसहित तयारी गर्न र बजेटको सिलिङ बढाउन नभई ‘रिभ्यू’ गर्न उहाँले आग्रह गर्नुभयो ।राजस्व सङ्कलन र चुहावट नियन्त्रणमा गृह प्रशासनको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै उपप्रधानमन्त्री लामिछानेले राजस्व बढाउन सक्यौँ भने गृहको बजेट क्रमशः ‘रिभ्यू’ हुने बताउनुभयो । उहाँले देशको ढुकुटी बलियो बनाउन इमान्दार प्रयास गर्न अनुरोध गर्नुभयो ।बैठकपछि उपप्रधानमन्त्री लामिछानेले गृह मन्त्रालयबाट सरुवा हुनुभएका सचिव दिनेश भट्टराईलाई बिदाइ गर्नुभएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको थियो । उहाँको स्थानमा एकनारायण अर्याल आउनुभएको छ ।

आजको प्रतिनिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिनुहुने

काठमाडौँ, ३० फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि तय भएको प्रतिनधिसभाको बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । सङ्घीय संसद् सचिवालयले यसका लागि आवश्यक तयारी गरिसकेको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची छ ।

यही फागुन २१ गते सत्ता गठबन्धनमा परिवर्तन भएसँगै नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आज पुनः प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हो ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका दाहाल २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन हुनुभएको थियो । उहाँले २०७९ पुस २६ गते विश्वासको मत लिनुभएको थियो ।नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको समर्थनमा प्रधानमन्त्री बन्नुभएका प्रचण्डले पहिलोपटक प्रतिनिधिसभामा रहेका अधिकांश दल र सांसदको विश्वासको मत प्राप्त गर्नुभएको थियो ।संसद्मा उपस्थित दुई सय ७० सांसदमध्ये दुई सय ६८ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनुभएको थियो । नेपालको इतिहासमै सबैभन्दा बढी मत प्राप्त गर्ने प्रधानमन्त्रीका रूपमा उहाँको नाम लेखिएको छ । त्यसबेला नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायतका सबै दलले उहाँलाई विश्वासको मत दिएका थिए ।राष्ट्रपति निर्वाचनका क्रममा पुनः सत्ता गठबन्धन फेरियो । नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए । सत्ता गठबन्धन फेरिएपछि २०७९ चैत ६ गते पुनः प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुभएको थियो । सो दिन प्रतिनिधिसभामा भएको मतदानमा उहाँले एक सय ७२ मत प्राप्त गर्नुभएको थियो । उहाँको विपक्षमा ८९ मत परेको थियो ।यही फागुन २१ गते गठबन्धन परिवर्तन भएपछि साविकको सत्ता सहयात्री नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ । सो दलले विश्वासको मत फिर्ता लिएको छ ।नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)सहितको पाँच दलले नयाँ गठबन्धन बनाएका छन् । सरकार विस्तारसमेत भइसकेको छ । नयाँ गठबन्धनको समर्थन प्राप्त गर्नुभएका प्रधानमन्त्री दाहालले आज प्रतिनिधिसभामा विश्वासको मत लिन लाग्नुभएको हो । गठबन्धनमा आबद्ध दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्वीपसमेत जारी गरिसकेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।प्रतिनिधिसभामा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, जनता समाजवादी पार्टी नेपालका १२, एकीकृत समाजवादीका १० सांसद छन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता रञ्जिता श्रेष्ठले पनि ह्वीप जारी गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिनुभएको छ ।सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलले ह्वीप जारी गरिसकेको, नागरिक उन्मुक्ति पार्टीलगायतका दल र सांसदले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् । यस आधारमा प्रधानमन्त्रीले सहजै विश्वासको मत प्राप्त गर्नुहुनेछ । प्रधानमन्त्रीलाई विश्वासका लागि एक सय ३८ मत आवश्यक पर्दछ ।सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आजको बैठकका लागि सम्भावित कार्यसूचीका रूपमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने विषय समावेश गरेको छ । “प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधिसभामा विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने र उक्त प्रस्तावमाथि छलफलपश्चात निणयार्थ प्रस्तुत गरिने” कार्यसूची तय गरिएको छ ।

यातायात मन्त्रीलाई बालेनको कडा प्रश्न

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह– चक्रपथ सुधारको दोस्रो फेज (कलङ्की – महाराजगन्ज) को कामका लागि सन् २०१२ डिसेम्बर १८ मा नेपाल सरकार र चीन सरकारकातर्फबाट निर्माण पक्षले गरेको सम्झौतामा नेपाल सरकारले १ महिना भित्र साइट क्लियर गर्ने, निर्माण पक्षले त्यसको २ महिना भित्र निर्माणका लागि सबै पूर्व तयारीको काम सिद्ध्याउने र तेस्रो महिनाबाट काम थाल्ने उल्लेख छ । ४० (३ वर्ष ४ महिना) महिना भित्र आयोजनालाई पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको योजना १४४ (१२ वर्ष) महिना बितिसक्दा थालनी हुनेसम्मको पनि सङ्केत देखिँदैन ।

यो अवस्था भोगेका हामी नेपालीले, चीनले २४ घण्टामा ठूला ठूला भौतिक संरचना निर्माण गर्छ भन्ने समाचार कसरी पत्याउनु? संघीय नेपालको केन्द्रीय राजधानी सहरकै हालत यस्तो छ, नेपालका दूर दराजको विकास पद्धतिले फड्को मार्छ, भनेर कसरी विश्वाश गर्नु?

सहरी व्यवस्थापनसँग प्रत्यक्ष जोडिएको आयोजना कहिले सुरु हुन्छ? कुन प्रक्रियाबाट काम हुन्छ र कहिले सकिन्छ भन्ने आधारभूत विषयमा हामी (काठमाडौँ महानगरपालिका, प्रत्यक्ष सरोकार राख्ने पक्ष) अनभिज्ञ छौँ । स्थानीयबासी अन्योलपूर्ण अवस्थामा छन्, अनि तीब्र विकासको सपना कसरी पत्याउनु?

काठमाडौँका सडकलाई धुँवा धुलोमुक्त बनाउन सडक बढार्ने, टिपनटापन गर्ने, ब्रुमर लगाउने र पानीले पखाल्ने गरेका छौँ । यति गर्दा पनि सडकको सफाइमा अपेक्षित सफाइ प्राप्त गर्न सकेका छैनौँ । यसका कारणमध्येको प्रमुख, चक्रपथ सुधार आयोजनाको बर्षौँसम्म नसकिने काम हो । चक्रपथबाट सहर प्रवेश गर्ने सवारी साधनले चक्रपथको धुलो सहरका कुनाकुना सम्म पुर्‍याउने गरेका छन् । यसकारण नियमित प्रयत्न गरे पनि भित्री सहरी क्षेत्रको सडक अव्यवस्थित र फोहोर देखिने गरेको छ ।
नेपाल सरकार र चीन सरकारले चक्रपथ सुधार (विकास र विस्तार)का लागि तर्जुमा गरेको योजनाअन्तर्गत दोस्रो चरणको काम थालनी नभएपछि सहरी व्यवस्थापनको काम मात्र होइन, यातायात प्राधिकरण र परिषद पनि प्रभावित हुने भएको छ । सुधारका लागि हामीले गर्ने लगानी र प्रयास निरर्थक हुने भएको छ ।

‘सङ्घीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्’ र ‘सङ्घीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण’ गठन भएपछि हामी सहरी क्षेत्रको यातायात सुधार (सवारी आवागमन, ट्राफिक ब्यवस्थापन, सडक पूर्वाधारसहित) का अन्तर पक्षमा काम गरिरहेका छौँ ।

सन् २००७ को डिसेम्बर, सन् २००८ को डिसेम्बर र सन् २००९ को डिसेम्बरमा ‘इकोनोमिकल एन्ड टेक्निकल कर्पाेरेसन’ सम्झौता कार्यान्वयनमा नजानुको कारण अब सार्वजनिक हुनुपर्छ । यसको कारण सबैलाई थाहा दिनुपर्छ । यसपछिका प्रक्रियाका बारेमा जानकारी गराउनुपर्छ ।

चीनकै अनुदानमा १९७७ मा २७ किलोमिटर लामो चक्रपथ निर्माण गरिएको थियो । अहिले चीनकै आर्थिक तथा प्राविधिक सहयोगमा चक्रपथको विस्तार गर्न आयोजना अघि बढाएको हो ।
सम्झौतामा दुई तर्फी ४ लेन सडक, सर्भिस रोड, साइकल लेन, फुटपाथ सहितको सडक र बस बिसौनी, पार्किङ लट लगायतका पूर्वाधार निर्माण सम्बन्धी बुँदा छन् । पुराना पुल तथा सर्भिस रोडहरूमा नयाँ पुल साथै ‘अन्डर पास’ र ३ वटा ‘ओभर हेड पास’ बनाउने गरी भएको सहमति कार्यान्वयनसँग स्थानीय सहभागिता र अपनत्व, जनजीवनको यथावत् सञ्चालनजस्ता आयाम जोडिएका छन् । यसका लागि अहिलेसम्ममा के प्रयास भयो? प्रगति के भएको छ? कसैले केही बोलेको छैन । न सरकार पक्ष, न निर्माण पक्ष ।

निर्वाचित भएर आइसकेपछि चक्रपथ सुधार (दोस्रो चरण) का लागि हामीले २२ स्थानका संरचना (मन्दिरसहित) हटाएर साइट क्लियर गरेका छौँ । तर समयमा नै काम सुरु नहुँदा एकातिर विकास योजनाको भविष्य अनिश्चित भएको छ भने अर्कोतिर भत्किएका सडक बर्सातको समयमा हिलाम्य र हिउँदमा धुलाम्य हुने गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट प्राप्त जानकारीअनुसार निर्माण पक्ष (सांघाइ कन्स्ट्रक्सनले) विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बुझाएको छैन । यो अवस्थालाई कसरी बुझ्ने? नेपाल सरकार र निर्माण पक्षबाट प्रक्रिया र काम तथा परिमार्जित समय तालिकाका बारेमा भएका सहमतिका बारेमा महानगरपालिकालाई कुनै जानकारी छैन ।’ यातायात परिषद्’ र ’यातायात प्राधिकरण’ सँग कुनै संवाद छैन ।
जेठ २३, २०८० मा भौतिक पूर्वाधार तथा यातायात मन्त्री (तत्कालीन) प्रकाश ज्वालाले दोस्रो चरणको चक्रपथ सडक विस्तार आयोजनाको निर्माण छिट्टै सुरु हुने सार्वजनिक अभिव्यक्ति दिनुभएको थियो ।
पूर्व मन्त्रीज्यू!, पदमा रहँदा अभिव्यक्त हुन नसकेको समस्या पदमुक्त भइसकेपछि भन्न सकिन्छ कि,
नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यूू!,
‘राइट अफ वे’ बमोजिम जग्गा अधिग्रहण गर्ने सम्झौता कार्यान्वयनमा किन ढिलाइ? अहिले निजी घर, पर्खाल, रुख, धार्मिक मठमन्दिर, खानेपानी, बिजुलीको लाइन, सडक बत्ती, फाइबर तथा अन्य केबलको स्थानान्तरणको धमाधम हुनुपर्ने हो । काम सुरु हुनु भन्दा पहिले नै आयोजना प्रभावितहरूलाई मुआब्जा समेत दिनु पर्ने थियो । यसका लागि तपाईँ के गर्नुहुन्छ?

अहिलेसम्म गरिएका प्रयास र थालिएका प्रक्रिया बारेमा हामीलाई कसरी जानकारी दिनुहुन्छ?
निर्माणका लागि चीनबाट जुनसुकै मेसिन औजार र सामान ल्याउँदा भन्सार छुट दिने सम्झौता लेखिएको छ । यसबाट के कति सामान तथा उपकरण आएका छन्? नेपालमा पाइने निर्माण सामग्री (इट्टा, ढुङ्गा, गिट्टी) खरिदका लागि नेपाल सरकारले सहजीकरण गरिदिने भनिएको छ, यसका लागि कुन कुन प्रक्रिया अवलम्बन गर्नुहुन्छ?

आयोजनाको लागत ३१ करोड २० लाख आइमबी (नेपाली ५ अर्ब ८५ करोड ५ लाख ३८ हजार ७७७ रुपैयाँ आजको दरमा) हो । यसको ५० प्रतिशत आयोजना सुरु भएको एक महिना भित्र, २० प्रतिशत काम सुरु भएको १ महिना भित्र, २० प्रतिशत मुख्य काम (सडक निर्माण, पाइलिङ वर्कलगायत) भएपछि र १० प्रतिशत काम सम्पन्न गरी हस्तान्तरण भएको एक महिना भित्र दिने सम्झौतामा लेखिएको छ । यसबमोजिम खर्च निकासा भएको छ कि छैन? यो जान्न पाउने हाम्रो हक कसरी प्राप्त गर्ने, केही सुझाउनुहुन्छ?

सम्झौताभित्रको अचम्म लाग्दो कुरा काम थाल्दा थाल्दै ७० प्रतिशत भुक्तानी गर्ने सहमतिको कानुनी आधार जनताले बुझ्न चाहेका छन् । यसको अन्तर्य भनिदिनुहुन्छ?

सन् २०१३ डिसेम्बरमा फेज २ को प्रोजेक्ट डिजाइन र सम्भाव्यता अध्ययन लागि भएको सम्झौता, २०१८ को जनवरीमा भएको डिजाइन एन्ड कन्स्ट्रक्सन सम्झौता, त्यसै वर्षको जुन महिनाको ३० तारिखमा भएको आर्थिक सम्झौताबमोजिम ५ महिनामा भित्र विस्तारका लागि भत्काउनु पर्ने (डिमोलिसन वर्क) संरचना भत्काइसक्नु पर्ने हो । यसको लक्षित समयको ५ वर्ष पछिसम्म कुनै प्रगति देखिँदैन । यसका बारेमा कसरी थाहा दिनुहुन्छ?

हामी महानगरमा आइसके पछि यो कामको लागि नेपाल सरकारलाई पटक पटक समन्वयका लागि आग्रह र दबाब दियौँ । तर काम नहुने देखे पछि हामी आफै डिमोलिस कार्यमा उत्रियौँ । आजसम्ममा लगभग साइट क्लियर भएको छ । गत असारमा नै सडक विभागले महाराजगञ्ज क्षेत्रको २४४ मिटर छोडेर निर्माण थाल्न पत्राचार गरेको भए पनि चिनियाँ निर्माण कम्पनीले पूरै साइट क्लियर गरे पछि मात्रै आफू अगाडि बढ्ने अड्डी कसेको थियो । कलङ्कीदेखि वसुन्धरा कल्भर्टसम्म चिनियाँ पक्षले र बाँकी खण्ड नेपाल सरकारले नै विस्तार गर्ने योजनाको कार्ययोजना कसरी जानकारी पाउने?

२०७९ को फागुनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री (तत्कालीन) नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छनसङ सोङ, मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र हामीसहितको टीमले स्थलगत अवलोकन गरेका थियौं । त्यसैका आधारमा हामीले चक्रपथ विस्तारमा देखिएका वाधा–अवरोधका बारेमा जानकारी लिएर हटाउने काम ग¥यौं । स्थलगत भ्रमणका क्रममा महामहिम राजदूत छन सोङले आगामी ६ महिनामा आयोजना विस्तारका लागि जनशक्ति परिचालन हुने बताउनु भएको थियो । तर खै जनशक्ति परिचालन भएको?

आयोजना सकिए पछिका सवालहरू पनि छन् । आयोजना समापन पछि सो आयोजनाका लागि भन्सार छुटमा ल्याइएका सबै उपकरण तथा साधन चीनकोतर्फबाट आएको ठेकेदार कम्पनीको नै हुने उल्लेख छ । ती सामानहरू फेरि फिर्ता हुने हुन् कि या अन्य कुनै आयोजनाका लागि प्रयोगमा आउँछन् । जसमा करोडौंको कर (भन्सार) छुटको सुविधा लिएर अर्बौका सामानहरु सार्वजनिक प्रयोगमा आउँछन् या व्यक्तिगत लाभमा जान्छन्, थाहा पाउन आवश्यक छ ।
आयोजना कार्यान्वयन पूर्व, आयोजना कार्यान्वयन अवधि र आयोजना समापन पश्चात् पनि हामीसँग सरोकार राख्ने धेरै विषय छन् । यस्ता विषयमा सरोकार राख्ने कार्यालयहरूका बिचमा आपसी समन्वय, आन्तरिक तथा सार्वजनिक सूचना प्रवाह र लाभग्राही तथा उपभोक्ताको सहभागिताको हामीले अपेक्षा गरेका छौँ । धन्यवाद!

‘चलचित्र ‘गोर्खा वारियर’मा पुर्खाले भोगेका वास्तविक घटना चित्रण भएको छ’

खोटाङ, २९ फागुन : ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य कथामा आधारित नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’को विशेष च्यारिटी शो दिक्तेलमा सुरु गरिएको छ ।

खोटाङकै भूमिमा जन्मिएर ब्रिटिस आर्मी (बेलायती सेना)को विमान चालक क्याप्टेन रितेश चाम्सको मुख्य भूमिकामा निर्माण गरिएको चलचित्र ‘गोर्खा वारियर’ यही फागुन २८ गतेदेखि चैत १ गतेसम्म दिक्तेलस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा विशेष च्यारिटी शोको व्यवस्था गरिएको हो ।

दिक्तेलमा प्रदर्शन गरिएको चलचित्र गोर्खा वारियरको च्यारिटी शोको पहिलो दिन हल भरिएको आयोजक नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्का अध्यक्ष फुर्वा शेर्पाले जानकारी दिनुभयो । चार दिनसम्म सञ्चालन हुने विशेष च्यारिटी शोअन्तर्गत हरेक दिन बिहान ११, अपराह्न २ र बेलुका ५ बजे गरी तीन शो राखिएको आयोजकले जनाएको छ ।

खोटाङकै निर्माता र खोटाङकै नायकले तयार पार्नुभएको चलचित्र गोर्खा वारियरको विशेष च्यारिटी शोअन्तर्गत पहिलो दिनको शोमा जिल्लास्थित उच्चपदस्थ व्यक्त सहभागी थिए । संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, जिल्लास्थित स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिलगायतले अवलोकन गरेका छन् ।

चलचित्र गोर्खा वारियरले पुर्खाहरुले भोगेका वास्तविक घटनालाई चित्रण गरेको पाइएको संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य राईले बताउनुभयो । चलचित्र गोर्खा वारियर पुर्खाका इतिहास बुझ्न भावी पुस्ताका लागि सजिलो भएको दर्शकले प्रतिक्रिया दिएका छन् ।

चलचित्र गोर्खा वारियर पुर्खाहरुको वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर निर्माण गरिएको नायक क्याप्टेन रितेशले बताउनुभयो । “चलचित्र गोर्खा वारियरमा ७० वर्षअघिको इतिहासलाई देखाउन खोजिएको छ, युद्धमा गोर्खाली सेनाले भोगेका वास्तविक कथावस्तुमा आधारित भएर चलचित्र निर्माण गरिएको हो”, उहाँले भन्नुभयो, “चलचित्रमा गोर्खाली सेनामा आबद्ध रहेकाहरुको जीवनको भोगाइ र पीडालाई समावेश गरिएको छ, चलचित्रमार्फत मौलिकपना देखाउन खोजिएको छ ।”

चलचित्र गोर्खा वारियरका लागि सोलुखुम्बुका पहाडी क्षेत्र, सर्वोच्च शिखर सगरमाथा, सिन्धुलीको दरबार क्षेत्रका साथै मलेसियामा छायाङ्कन गरिएको छ । चलचित्र निर्देशक मिलन चाम्सले निर्देशन गर्नुभएको चलचित्र गोर्खा वारियर नेपालीले हेर्नैपर्ने चलचित्र बनेको निर्माता सुमन राईले दाबी गर्नुभयो ।

चलचित्रमा नायक क्याप्टेन रितेशसँगै नायिका रेविका गरुङ, विजय लामा, कविता आले, रिअर राई, सुरज तमु, भुवनसिं राई, त्रिछु राई, दिग्गज खत्रीलगायत कलाकारको अभिनय छ । चलचित्र गोर्खा वारियर ब्रिटिस एकेडेमी फिल्म एन्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलो चरणमा छनोट भएको चलचित्र हो ।

गोर्खालीको इतिहास, बहादुरी, हाम्रा पुर्खाले भोगेको दुःख कष्ट र त्यसबेलाको नेपालको परिवेश झल्किने गरी चलचित्र गोर्खा वारियर निर्माण गरिएको निर्देशक मिलनले बताउनुभयो । “विगतमा नेपालीहरुले गोर्खा लाहुरे हुनुपर्ने बाध्यतालाई चलचित्रको विषयवस्तु बनाइएको छ, चलचित्र गोर्खा वारियरमा अभिनय, कला र मार्सलआर्टसमेत समेटिएको छ”, उहाँले भन्नुभयो, “चलचित्र गोर्खा वारियर नेपाली चलचित्र इतिहासमै सबैभन्दा बढी लगानीमा तयार भएको चलचित्र हो, चलचित्र गोर्खा वारियरमा लगानी गरेअनुसार दर्शकको मन जित्न पनि उत्तिकै सफल भएको छ ।”

लन्डनको आइम्याक्स सिनेमा घरमा प्रिमियर शो गरिएको चलचित्र गोर्खा वारियर फागुन ११ गतेदेखि देशभर प्रदर्शन भइरहेको जनाइएको छ । चलचित्र गोर्खा वारियर हङकङ, अमेरिका, दक्षिण कोरियालगायत ठाउँमा विशेष प्रिमियर शो गर्ने तयारी गरिएको निर्माता राईले जानकारी दिनुभयो ।

जर्मनीद्वारा हरित उद्योगका लागि प्रमुख अनुदान योजना सुरु

जर्मनीले मङ्गलबार ‘नवप्रवर्तनशील’ मल्टी–बिलियन–युरो अनुदान योजना सुरु गरेको छ । यसको उद्देश्य युरोपको शीर्ष अर्थतन्त्रमा औद्योगिक उत्पादनलाई थप जलवायु अनुकूल बनाउने टर्बोचार्जिङ लगानी गर्नु हो ।

ऊर्जामन्त्री रोबर्ट ह्याबेकले कार्यक्रमको पहिलो चरणमा चार अर्ब युरो (चार अर्ब ४० करोड अमेरिकी डलर) को लगानी गरिने जानकारी दिनुभयो । यसमा ग्लास, स्टिल र कागज बनाउनेजस्ता ऊर्जा–गहन क्षेत्रका कम्पनीहरूलाई उत्सर्जन कटौती गर्न हरित प्रविधि परियोजनाको प्रस्ताव प्रस्तुत गर्न आमन्त्रण गरिनेछ ।

“हामी यसलाई प्रस्तुत गर्ने पहिलो औद्योगिक मुलुक हौँ”, ह्याबेकले पत्रकार सम्मेलनमा भन्नुभयो । उहाँले उक्त योजनालाई ‘अभिनव र नयाँ उपकरण’ भन्नुभयो । उहाँका अनुसार यसले निष्क्रियतालाई कम गर्छ, प्राविधिक आविष्कारलाई प्रवर्द्धन गर्छ र जर्मनीलाई आफ्नो जलवायु लक्ष्यहरूमा पुग्न सहयोग गर्छ ।

उहाँले ‘जलवायु संरक्षण सम्झौता’ १५ वर्षसम्म चल्ने जानकारी दिँदै सबैभन्दा कम लागतमा आफ्नो उत्पादन प्रक्रियालाई डिकार्बोनाइज गर्नसक्ने कम्पनीहरूलाई सरकारले अनुदान दिने बताउनुभयो । मन्त्री ह्याबेकले समग्र कार्यक्रमका लागि ‘मध्य–दुई अङ्क’ अर्ब युरोको राशि छुट्याइएको बताउनुभयो । उन्नाइस अर्ब युरोको अनुदानका लागि बिडिङको अर्को चरण शरद ऋतुमा खुल्नेछ ।

जर्मनीको महत्त्वपूर्ण उत्पादन उद्योगले मन्दीको सामना गर्नुपरिरहेको, मुद्रास्फीति, कमजोर वैश्विक माग र युक्रेनमा रुसको युद्धले सस्तो ग्यासको आयातमा पहुँच बन्द गरेपछि ऊर्जाको बढ्दो लागतको सामना गर्नुपरेको अवस्थामा यो योजना आएको हो ।

“अर्थतन्त्र र निश्चितरूपमा जलवायु संरक्षणका लागि प्रोत्साहनका रूपमा हामीलाई यसको आवश्यकता छ”, मन्त्री ह्याबेकले भन्नुभयो । अर्थ मन्त्रालयका अनुसार यो योजनाबाट सन् २०४५ सम्म उद्योगबाट कार्बन उत्सर्जनलाई ३५ करोड टनसम्म घटाउने अपेक्षा गरिएको छ । जर्मनीको लक्ष्य सन् २०४५ सम्म कार्बन तटस्थ बन्नु हो ।

आफ्नै अधिकारबारे सचेत छैनन् उपभोक्ता, आफै सचेत हुनुपर्नेमा जोड

काठमाडौँ, २९ फागुन : हरेक नागरिकलाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार विद्यमान कानूनले प्रत्याभूत गरिदिएको भएपनि उपभोक्ता आफै आफ्ना अधिकारबारे सचेत नरहेका पाइएको छ ।

नेपालको संविधान, २०७२ र उपभोक्ता संरक्षण ऐन २०७५ ले हरेक नेपाली नागरिकका उपभोक्ताको हकलाई प्रत्याभूत गरेको छ । तर नागरिकले उक्त अधिकारको कार्यान्वयनको अनुभूति गर्न नसकेको धारणा बजार नियामक, उपभोक्ता अधिकारकर्मी तथा सञ्चारकर्मीहरुबाट व्यक्त भएको हो ।

आगामी चैत २ गते पर्ने विश्व उपभोक्ता दिवसलाई लक्षित गरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज यहाँ आयोजना गरेको उपभोक्ता अधिकारकर्मी र सञ्चारकर्मीसँगको अन्तरक्रियाका वक्ताहरुले उपभोक्ता अधिकारबारे आफै सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

वस्तु तथा सेवाको मूल्यसूची नराख्ने, अद्यावधिक नगर्ने, उपभोक्ताले प्रष्ट देखिने र बुझ्ने गरी नराख्ने, बिक्री बिजक नदिने, कारोबार रकमभन्दा कमको बिजक दिने, म्याद गुज्रेका वस्तुको व्यवस्था नगर्नेलगायत समस्या बजारमा छन् । त्यस्तै, खाद्य र अखाद्य वस्तु एकै ठाउँमा राख्ने, कतिपय वस्तुमा उल्लेख गरेभन्दा बढी रकम लिइ बिक्री गर्ने, मूल्यसूची केरमेट गर्ने, सस्तोमा खरिद गरी जम्माखोरी गर्ने र केही समयपछि महङ्गोमा बिक्री गर्नेलगायतक खराब काम केही व्यापारीबाट हुने गरेको छ । यी समस्याको निराकरणका लागि कानुनी प्रबन्ध गरिएको भएपनि नियामकबाट त्यसको कार्यान्वयनमा देखिएको सुस्तता र उपभोक्ता आफै सचेत नहुँदा समस्या हुने गरेको छ ।

वस्तु तथा सेवाको उपयोग गर्दा उपभोक्ता आफै यी विषयमा सचेत हुनुपर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवाल बताउनुहुन्छ । स्वच्छ र प्रतिस्पधात्मक बजार कसरी बनाउने भनेर विभिन्न निकाय तथा सरोकारवालाबीच समन्वय हुनुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो ।

यसपटकको उपभोक्ता दिवसमा सचेतनाका कार्यक्रमलाई बढी प्राथमिकतामा राखिएको महानिर्देशक चिलुवालले जानकारी दिनुभयो । “उपभोक्ता अधिकार र सचेतनाका विषयमा सरोकारवालासँग अन्तरक्रिया गर्ने, विद्यालयलक्षित उपभोक्ता शिक्षा कार्यक्रम चलाउनेलगायतका कार्यक्रम रहेका छन् । आयातकर्ता, ढुवानीकर्ता र व्यापार व्यवसायीसँग पनि विभागले अन्तरक्रिया गर्नेछ”, महानिर्देशक चिलवालले भन्नुभयो । उपभोक्ता हकहितका लागि गर्नुपर्ने आगामी कार्यदिशाबारे विभागले काम गरिरहेको पनि उहाँले बताउनुयो । विभागले वस्तु तथा सेवाको स्रोत तहमा नै अनुगमन गरिरहेको उहाँले बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरलेल उपभोक्ताको अधिकारबारे सबैलाई सचेत गराउने र यसको प्रवद्र्धन गर्ने जिम्मेवारी नियामक निकाय, निजी क्षेत्र, उपभोक्ता अधिकारकर्मी, सञ्चारकर्मीलगायत सबैको रहेको बताउनुभयो । “विभाग र मन्त्रालयको एक्लो प्रयासले मात्र सम्भव हुँदैन । अन्तर मन्त्रालय, अन्तर विभाग तथा विभिन्न निकाय र संघसंस्थाबीचको सहकार्यमा उपभोक्ता अधिकारबारे सचेतना फैलाउन आवश्यक छ”, ठाकुरले भन्नुभयो । बजार निगरानी गर्न चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले उद्योग मन्त्रालयले उपभोक्ता अदालत स्थापनाका लागि काम गरिरहेको समेत जानकारी दिनुभयो ।

उपभोक्ता हित संरक्षण मञ्च–नेपालका अध्यक्ष ज्योति बानियाँले व्यापारीबाट उपभोक्ता ठगिएमा क्षतिपूर्ति पाउने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । ठगिमा पर्दा वा गैरकानुनी रुपमा वस्तु तथा सेवा बिक्री भएको जानकारी पाउँदा उपभोक्ता आफैले पनि त्यसको क्षतिपूर्तिका लागि पहल गर्नुपर्ने बानियाँ बताउनुहुन्छ । प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन, २०६३ को प्रभावकारी कार्यान्वयन हुन नसकेको पनि उहाँले उल्लेख गर्नुभयो । त्यस्तै, नियामकीय भूमिका कमजोर भएको अहिलेको अवस्थामा उपभोक्ता अदालत स्थापनाका लागि विलम्ब गर्न नहुनेमा उहाँले जोड दिनुभयो ।

त्यसैगरी, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सबै स्थानीय तह र प्रदेश सरकारले नियमित रुपमा बजार अनुगमन गर्नुपर्ने बताउनुभयो । बजारमा माग र आपूर्तिको यकिन र वैज्ञानिक तथ्याङ्क उपलब्ध नहुँदा समस्या हुने गरेको पनि बताउनुभयो । हालको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट उपभोक्ता हित संरक्षण हेर्ने छुट्टै निकाय स्थापना गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो ।

कन्जुमर आई नेपालका महासचिव रञ्जन खनालले उपभोक्ताको हित संरक्षणका लागि स्थापना भएको विभागबाट नै उपभोक्ताले न्याय पाउँछन् भन्नेमा विश्वस्त हुनसक्ने आधार नरहेको गुनासो गर्नुभयो । उपभोक्ताको अधिकारप्रति उत्तरदायी हुनुपर्ने वाणिज्य विभाग व्यापारीप्रति उत्तरदायी हुने गरेको आरोप पनि उहाँले लगाउनुभयो ।

विश्व उपभोक्ता अधिकार दिवसका सन्दर्भमा आजदेखि चारदिनसम्म चेतनामूलक विविध कार्यक्रम आयोजनाने विभागले जनाएको छ । यसवर्षको उपभोक्ता दिवसको नारा ‘स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार’ छ ।

लुम्बिनीका विहार तथा गुम्बामा व्यावसायिक रुपमा पर्यटक राख्ने गरेको गुनासो

लुम्बिनी, २९ फागुन : लुम्बिनी विकास कोष क्षेत्रका विहार तथा गुम्बामा पर्यटक राख्ने व्यवस्था रोक्न लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीले माग गरेका छन् ।

विकास कोषभित्र सञ्चालित विहार तथा गुम्बामा पर्यटक राख्ने कार्यले लुम्बिनी क्षेत्रको होटल व्यवसाय धरासायी बन्दै गएको र यसले पर्यटन व्यवसाय प्रभावित बनेको भन्दै व्यावसायिक रुपमा पर्यटक राख्ने व्यवस्था स्थायीरुपमा रोक लगाउन व्यवसायीले माग गरेका छन् ।

लुम्बिनी होटल सङ्घ, नेपालले आज लुम्बिनी विकास कोषलाई ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र स्थायीरुपमा समाधान गर्न ठोस कार्य अगाडि बढाउन आग्रह गरेको छ । सङ्घका अध्यक्ष गोविन्दप्रसाद ज्ञवालीले विहार तथा गुम्बा गुरुयोजना क्षेत्र बाहिर रहेका होटलसँग व्यावसायिक प्रतिस्पर्धा गर्दै पर्यटक राख्ने ठाउँमा फेरिएको बताउनुभयो ।

“विहार र गुम्बा भनिने ठाउँ बौद्ध आध्यात्मिकता र बौद्ध भावनाको नमूना होइन, व्यापारको थलो बनेका छन्”, उहाँले भन्नुभयो, “यस खालको अनियमितता र गुरुयोजनाको मर्मविपरीतको कार्य नरोकिँदा निजी क्षेत्रको लगानी र व्यवसायलाई सङ्कटमा पु¥याएको छ ।”

अध्यक्ष ज्ञवालीले विगतमा राम्रो व्यवसाय सञ्चालनमा रहेका लुम्बिनी क्षेत्रका होटलमध्ये गत वर्ष खोलिएका १० भन्दा बढी स्थायीरुपमा बन्द भएको र यस वर्ष थप होटल बन्द हुने अवस्थामा पुगेका बताउनुभयो । सङ्घका महासचिव पुरुषोत्तम अर्यालले विहार तथा गुम्बालाई होटलको रुपमा सञ्चालन गरेर होटल व्यवसायलाई धरासायी बनाइएको बताउनुभयो ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई मार्फत सङ्घले बुझाएको ज्ञापनपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् कोषका अध्यक्ष हितमान तामाङलाई बोधार्थ पठाइएको महासचिव अर्यालले जानकारी दिनुभयो । ज्ञापनपत्र बुझ्दै कोषाध्यक्ष भट्टराईले व्यवसायीको माग जायज भएको र कुनै न कुनैरुपमा सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

सीमामा आकस्मिक हमलापछि रुसले गर्यो कुर्स्क सहरमा विद्यालय बन्द

किएभ समर्थक मिलिसियाले गरेको हमला र युक्रेनी ड्रोन हमलामा वृद्धि भएपछि रुसले युक्रेनको सीमा नजिकैको कुर्स्क सहरमा मङ्गलबार विद्यालयहरू अस्थायीरूपमा बन्द गरेको छ ।

युक्रेनबाट आफ्नो क्षेत्रमा भएको हमलालाई रोक्न युद्धक विमान, रकेट र तोपखाना तैनाथ गरेको मस्कोको घोषणापछि साताको अन्त्यसम्म विद्यालय बन्द हुने समाचार आएको हो ।

“हालका घटनाका सम्बन्धमा मैले विद्यालयहरूलाई दूर शिक्षामा राख्ने निर्णय लिएको छु”, कुर्स्कका मेयर इगोर कुत्साकले सामाजिक सञ्जालमा भन्नुभयो । उहाँले शुक्रबारसम्म विद्यालय बन्द रहने जानकारी दिनुभयो ।

मस्कोले लडाइँ भएको भनेको कुर्स्क क्षेत्रको ट्योटकिनो गाउँलाई कब्जा गरेको किएभका एक समर्थक मिलिसियाले मङ्गलबार दाबी गरेका छन् । करिब चार लाख ४० हजार जनसङ्ख्या भएको सहर र यस क्षेत्रको राजधानी कुर्स्कबाट करिब एक सय ४० किलोमिटर टाढा अवस्थित ट्योटकिनो युक्रेनको सीमा नजिक छ ।

युक्रेनको सीमा नजिकै रहेको रुसी सहर बेलगोरोडले भोगेको जस्तो आक्रमणबाट कुर्स्क सहर अहिलेसम्म बचेको छ तर हालका दिनहरूमा यो सहरले ड्रोन हमलाहरूको सामना गर्नुपरेको छ ।

रुसी सेनाले मङ्गलबार एक घन्टाको फरकमा कुर्स्क क्षेत्रमा चार युक्रेनी ड्रोनलाई नष्ट गरेको बताएको छ । सप्ताहन्तमा एक युक्रेनी ड्रोनले कुर्स्क सहरमा एउटा भवन क्षतिग्रस्त बनाएको थियो ।

एमाले बैतडी अध्यक्षमा विक चयन

बैतडी, २९ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) बैतडीको जिल्ला कमिटीको अध्यक्षमा नरेशकुमार विक चयन हुनुभएको छ । जिल्लाको पाटनमा आज सम्पन्न नवौँ अधिवेशनबाट उहाँ अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।

यसैगरी जिल्ला कमिटीको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद तथा उपसचिवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन हुनुभएको नेकपा (एमाले) बैतडीले जनाएको छ ।

अमेरिका पठाइदिन्छु भन्दै साठी लाख ठगी, एक पक्राउ

काठमाडौँ, २९ फागुन : नेपाल प्रहरीले अमेरिका पठाइदिन्छु भनी रु ६० लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने उदयपुर त्रियुगा नगरपालिका वडा नं ७ घर भई हाल गोँगबु बस्ने ३६ वर्षीय लोकबहादुर राउतलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले अमेरिकामा रु सात लाख ५० हजारसम्म तलब हुने प्रलोभनमा पारी खिमा डाँगीसमेत दुई जनालाई ठगी गर्ने राउतलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका राउतले अमेरिका जानका लागि प्रतिव्यक्ति रु ८० लाखसम्म लाग्छ भनी दुई जनासँग रु ६० लाख लिएर फरार भएका थिए । राउतलाई गोँगबुबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।

स्वैच्छिक अभियान अन्तर्गत मङ्गोलियामा ११ करोड रूख रोपिए

विगत एक दशकमा उत्तरी चीनको ’भित्री मङ्गोलिया स्वायत्त क्षेत्र’मा स्थानीयद्वारा सञ्चालित स्वेच्छिक वृक्षरोपण अभियान अन्तर्गत करिब ११ करोड रूख रोपिएका छन् । योसँगै हालसम्म स्थानीय र बाह्य अभियान अन्तर्गत यहाँ ५० करोडभन्दा बढी रूख रोपिएको स्थानीय अधिकारीले बताएका छन् ।

यो क्षेत्र चीनको सबैभन्दा ठूलोका साथै सबैभन्दा व्यापक पारिस्थितिक कार्यात्मक क्षेत्र हो । देशको चार प्रमुख मरुभूमि, चार प्रमुख बालुवायुक्त क्षेत्र मानिने भित्री मङ्गोलिया लामो समयदेखि मरुभूमि र बलौटे जमिनले छोपेको थियो तर पछिल्ला वर्षमा यस क्षेत्रमा हरियाली प्रवर्धन गरिँदै छ ।

राष्ट्रिय सभाका अध्यक्ष दाहालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं – राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा मङ्‌गलबार आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

समारोहमा सहभागी उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।

गाजा युद्धविराममा इजराइल र हमास ‘सम्झौता नजिक नरहेको’ कतारको भनाइ

इजराइल र हमास गाजामा शत्रुता अन्त्य गर्ने र बन्धकहरू रिहा गर्ने सम्झौताको नजिक नभएको मध्यस्थकर्ता कतारले मङ्गलबार बताएको छ । उसले स्थिति ‘अत्यन्त जटिल’ बनेको चेतावनीसमेत दिएको छ ।

अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा धेरै साता वार्ता भए पनि मुसलमानहरूको पवित्र महिना रमजान सोमबार व्यापकरूपमा अपेक्षित युद्धविराम र बन्धक आदानप्रदानबिना सुरु भयो ।

“हामी कुनै सम्झौताको नजिक छैनौँ, यसको अर्थ सम्झौताको कार्यान्वयनमा विद्यमान असहमतिको समाधान गर्न सकियोस् भन्ने भाषामा दुवै पक्षले बोलेको हामीले देखिरहेका छैनौँ”, कतारी विदेश मन्त्रालयलका प्रवक्ता माजिद अल–अन्सारीले पत्रकार सम्मेलनमा भन्नुभयो, “सबै पक्षले रमजानको सीमिततामा आशावादीरूपमा कुनै सम्झौतामा पुग्नका लागि वार्ता जारी राखेका थिए ।” यद्यपि उहाँले कुनै पनि सम्झौतामा ‘कुनै समयसीमा प्रस्ताव’ गर्न नसकिने बताउनुभयो ।

इजराइली आधिकारिक आँकडाअनुसार अक्टोबर ७ मा हमासले इजराइलमाथि गरेको आक्रमणमा इजराइलमा करिब एक हजार एक सय ६० जनाको मृत्यु भएको थियो र तिनीहरूमा अधिकांश सर्वसाधारण रहेका थिए । हमासका लडाकूले करिब दुई सय ५० जनालाई बन्धकसमेत बनाएका थिए । तीमध्ये दर्जनौँलाई नोभेम्बरमा एक साताको युद्धविराममा रिहा गरिएको थियो । इजराइलका अनुसार गाजामा ३१ शवसँगै ९९ बन्धक जीवित छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजराइलको जवाफी बमबारी र स्थल आक्रमणमा ३१ हजार एक सय १२ प्यालेस्टिनी मारिएका छन् । मारिनेमा अधिकांश महिला तथा बालबालिका छन् ।

यसअघि कतारले नोभेम्बरको अन्त्यमा युद्धमा एक साताको विरामको मध्यस्थता गरेको थियो । युद्धविरामसँगै ठूलो सङ्ख्यामा इजराइली र विदेशी बन्धकलाई रिहा गरिएको थियो भने घेरामा परेको प्यालेस्टिनी क्षेत्रमा प्रवेश गर्न सहयोग प्राप्त भएको थियो ।

स्रोत साधनको अधिकतम उपयोगमा विशेष ध्यान दिन्छु : मन्त्री भण्डारी

कैलाली, २९ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम प्रदेशमा रहेका स्रोत साधनको अधिकतम उपयोग गर्ने कुरामा आफ्नो विशेष ध्यान जाने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले उद्योग तथा खानीसँग सम्बन्धित स्रोत साधनको अधिकतम उपयोगमा विशेष ध्यान जाने बताउनुभयो ।

सुदूरपश्चिममा सुक्खा बन्दरगाह प्राथमिकताका साथ निर्माण गर्ने उहाँको प्रतिबद्धता छ । त्यस्तै छेला औद्योगिक क्षेत्रको काम अगाडि बढाउन दु्रत गतिमा काम गरिने मन्त्री भण्डारीको भनाइ छ ।

आफ्नो यो कार्यकाललाई एउटा विशेष अवसरको रुपमा लिएको बताउँदै उहाँले यहाँका उद्योग व्यवसाय आपूर्तिसँग जोडिएका सुदूरपश्चिमका थुप्रै सम्भावनालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताउनुभयो ।

लगानी सम्मेलनमार्फत अहिले लगानीमैत्री वातावरण किन बन्न सकेन त्यसको एथेष्ट मात्रामा खोजी गरिने उहाँको भनाइ थियो । उहाँले बाह्य लगानी भित्र्याउन कानुन तथा नीतिमा रहेका अस्पष्टतालाई हटाएर स्पष्ट नीति तथा कानुन निर्माण गरिने उल्लेख गर्नुभयो ।

छ महिनाको परिक्रमापछि चार अन्तरिक्ष यात्री फर्किए पृथ्वीमा

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आधा वर्षको मिसन समाप्त गरेर चार मुलुकका चार अन्तरिक्ष यात्री मङ्गलबार स्पेसएक्ससँग पृथ्वी फर्किएनुभएको छ । उहाँहरूको क्याप्सुल बिहानको अँध्यारोमा सम्पूर्ण अमेरिकाभर फैलियो र फ्लोरिडाको पेनह्यान्डल नजिकै मेक्सिको खाडीमा खस्यो ।

नासाका सामुद्रिक हेलिकप्टर पाइलट ज्यास्मिन मोघबेलीले डेनमार्कका एन्ड्रियास मोगेन्सन, जापानका सातोशी फुरुकावा र रुसका कन्स्टेन्टिन बोरिसोभको फिर्ती टोलीको नेतृत्व गर्नुभएको थियो । उहाँहरू गत अगस्टमा अन्तरिक्ष स्टेसनमा जानुभएको थियो । उहाँहरूलाई प्रतिस्थापन गर्नेहरू गत साता उहाँँहरूकै आफ्नो स्पेसएक्स क्याप्सुलमा आउनुभएको छ ।

मोघबेलीले सोमबार परिक्रमा परिसरबाट प्रस्थान गरेपछि रेडियोमा भन्नुभयो, “हामीले तपाईंहरूका लागि बदामको केही बटर र टर्टिला छाडेका छौँ ।” नासाका लोरल ओ’हाराले जवाफ दिनुभयो, “म तपाईंलाई पहिलादेखि नै सम्झन्छु र उदार उपहारका लागि धन्यवाद ।”

रुसी सोयुज क्याप्सुलमा सवार हुनुअघि ओ’हारासँग अन्तरिक्ष स्टेसनमा अझै केही साता छन् । अन्तरिक्ष स्टेसन छाड्नुअघि मोगेन्सनले सामाजिक सञ्जाल एक्समा भन्नुभयो, “रुखहरूमा चराहरूको गीत सुन्नका लागि प्रतीक्षा गर्न सक्तिनँ र कुरकुरे भोजन खाने पनि इच्छा छ ।”

रकेटमा गडबडीको अवस्थामा नासाले धेरै विकल्पलाई प्राथमिकता दिन्छ । बोइङले मेको प्रारम्भमा दुई–पाइलट परीक्षण उडानसहित अन्तरिक्ष यात्री ट्याक्सी प्रदान गर्न सुरु गर्नुपर्छ ।

पर्व बिदा विवादरहित बनाइने

काठमाडौँ, २९ फागुन : सरकारले हरेक वर्ष फागुन–चैत महिनामा सार्वजनिक बिदा घोषणा गरी सोहीअनुसारको वार्षिक क्यालेन्डर प्रकाशन गरेर बिदा व्यवस्थापन गर्दै आएको छ ।

यही फागुन २८ गते सोमबारका दिन ग्याल्पो ल्होसारका दिन सार्वजनिक बिदा दिएको सन्दर्भमा राससको जिज्ञासामा गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी वर्षको क्यालेन्डर सार्वजनिक हुनुअघि विवादरहित ढङ्गबाट समस्या सम्बोधन गर्ने पक्षमा सरकार रहेको र त्यसका लागि सहयोग गर्न सम्बद्ध सबैसँग अनुरोध गर्नुभयो ।

बहुजातीय एवं बहुधार्मिक देश नेपालमा सबैको धर्म, संस्कृति र भावनालाई समेटेर अघि बढ्नुपर्ने दायित्व सरकारको रहेको उल्लेख गर्दै प्रवक्ता भट्टराईले भन्नुभयो, “एक वर्षअघि प्रकाशित क्यालेन्डर हामी सबैको घरघरमा झुन्डिएकै छ, कुनै धार्मिक पर्व विशेषको बिदाका दिन गल्ती भएको जानकारी प्राप्त भएको भए तत्क्षणमै सच्याउन सकिन्थ्यो, आगामी वर्षको बिदाको हकमा सम्बन्धित समुदायसँग छलफल गरेर मात्र क्यालेन्डर प्रकाशित गरिने छ ।”

करिब एक महिनाअघि ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीसँग सम्बन्धित समुदायका प्रतिनिधिले यस विषयमा कुरा राख्दै पञ्चाङ्ग निर्णायक समितिमा सबै धर्म समुदायको प्रतिनिधित्व हुनुपर्ने भनी माग राख्नुभएको भन्ने जानकारी प्राप्त हुनासाथ केन्द्रमा गृह सचिवबाट सोधखोज हुँदा स्पष्ट एवं ठोस जवाफ नआएपछि क्यालेन्डरअनुसार बिदा दिएको उहाँले स्पष्ट पार्नुभयो ।

प्रवक्ता भट्टराईले यस वर्षको अनुभवबाट पाठ सिक्दै सम्बन्धित धार्मिक समुदायका प्रतिनिधिसँग समेत छलफल गरी आगामी वर्षको पर्व बिदा निर्धारण गरिने जानकारी दिनुभयो ।

लोकतन्त्रको विशेषतालाई अगाडि बढाउनुपर्छ : नेता डा कोइराला

मोरङ, २९ फागुन : मुलुकमा प्रजातन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेको गुराँस पुस्तकालय बरगाछी विराटनगरले आफ्नो ५४औँ स्थापाना दिवसको उपलक्ष्यमा सामाजिक तथा राजनीतिक क्षेत्रका दुई जना व्यक्तित्वलाई आज यहाँ सम्मान गरेको छ ।

‘स्व. मुक्तिप्रसाद यदुनाथ चापागार्इं’ सम्मानबाट राजनीतिक क्षेत्रमा पीताम्बर दाहाल र सामाजिक क्षेत्रमा उद्योगपति दीनबन्धु गोयललाई नगद र सम्मानपत्रद्वारा पुरस्कृत गरिएको हो ।

यस्तै साहित्यकार दधिराज सुवेदीलाई कदरपत्र र कक्षा आठमा उत्कृष्ट अङ्क ल्याउने द्रोण डाँगी र सलिना राजवंशीलाई नगद पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सम्मानपत्र वितरण गर्दै लोकतन्त्रको विशेषतालाई अगाडि बढाउने जिम्मेवारीका साथ लाग्नु आवश्यक रहेको बताउनुभयो । उहाँले विकृति, विसङ्गतिलाई चिरेर अगाडि बढी लोकतन्त्रलाई सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले राजनीतिमा संस्कार र नैतिकता आवश्यक रहेको चर्चा गर्दै वर्तमान अवस्थामा यसमा खडेरी परेको गुनासो गर्नुभयो । सम्मानित व्यक्तित्वहरु गोयल, दाहाल, सुवेदी, कांग्रेस नगर सभापति दीपक चापागाईं, पुस्तकालयका अध्यक्ष सुनिल पाण्डे, लक्ष्मी पोखरेलले प्रजातन्त्र, लोकतन्त्र एवं सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेलाई पुस्तकालयले सम्मान गर्ने गरेको जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् निर्णय : प्रधानमन्त्री कार्यालयका सचिव अर्याललाई गृह मन्त्रालयमा सरुवा

काठमाडौँ, २९ फागुन : सरकारले २०८१ वैशाख २० देखि २३ गतेसम्म जर्जियाको तिबिलिसीमा आयोजना हुने एसियाली विकास बैंकको ५७औँ वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई अनुमति दिने निर्णय गरेको छ ।

यही फागुन २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले कालीगण्डकी रिडी १३२ केभी प्रसारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्न क्षतिपूर्ति निर्धारण समितिको अध्यक्ष र सदस्य तोक्ने निर्णय भएको जानकारी दिनुभयो ।

प्रवक्ता शर्माले भन्नुभयो, “गणतन्त्र कोरियामा आगामी चैत २८ गते हुन गइरहेको २२औँ नेशनल एसेम्बली इलेक्सनको पर्यवेक्षकमा निर्वाचन आयोग, नेपालका निर्वाचन आयुक्त सगनु शमशेर जबरालाई सहभागी हुन अनमुति प्रदान गर्ने निर्णय भएको छ ।”

सरकारले संयुक्त राष्ट्र सङ्घ मानवअधिकार परिषद्को सन् २०१७–२०२९ तथा सामाजिक तथा आर्थिक परिषद्को सन् २०२९–२०३१ अवधिका लागि सदस्य पदमा नेपालको उम्मेदवारी पेश गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिने र नेपाल सरकारको नाममा दर्ता रहेको हुम्लाको जग्गा नाम्खा गाउँपालिकाको १५ शैयाको आधारभूत अस्पताल भवन निर्माण तथा प्रशासकीय भवन निर्माणका लागि उपभोग गर्न स्वीकृति दिने समेत निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

यस्तै अपर मादी जिरो खोला जलविद्युत् आयोजना (४२ मेवा) निर्माणका लागि अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको मादी गाउँपालिकामा रहेको राष्ट्रिय वनको कूल १६ दशमलव ९३ हेक्टर जग्गा प्रयोग गर्न दिने र खानी खोला–१ जलविद्युत् आयोजनाले प्रयोग गरेको सरकारी वनक्षेत्र बराबरको जग्गा गौरीशङ्कर संरक्षण क्षेत्रको आसपासमा खरिद गरी विभागको नाममा रजिष्टे«शन पास गर्ने प्रयोगका लागि सट्टा भर्ना गर्ने समयावधि ६ महिना थप गर्न समेत स्वीकृति दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा व्यवस्थापन गर्ने विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, विभिन्न सेवा समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका तीन कर्मचारीलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गर्ने तथा दुई सहसचिवको सरुवा गर्ने पनि निर्णय गरेको सरकारका प्रवक्ता शर्माले बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एकनारायण अर्याललाई गृह मन्त्रालयको सचिव पदमा र गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा सरुवा गर्ने निर्णय गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो ।

बाल सुधार गृहलाई व्यवस्थित गर्न नीतिगत सुधार आवश्यक छ : महिलामन्त्री चौधरी

काठमाडौँ, २९ फागुन : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बाल सुधार गृहलाई व्यवस्थित गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा मन्त्री चौधरीले बाल सुधार गृहको मौजुदा अवस्था अवलोकन गरी नीतिगत परिमार्जनलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

“मन्त्रालयले नीतिगत परिमार्जनलाई पहिलो प्राथमिकतामा राखेको छ । मन्त्रालयले बाल सुधार गृहको मौजुदा व्यवस्था अवलोकन गरी यस क्षेत्रका समस्या निराकरण गर्न नीतिगत सुधार गर्न पहल गर्छौं नीतिगतरुपमा स्पष्टता ल्याउँछौँ”, उहाँले भन्नुभयो, “बाल सुधार गृहमा देखिएका समस्या संवेदनशील, गम्भीर छन् । स्थानीय तहसँगको समन्वयनमा यस क्षेत्रका शिक्षा, खानेपानी, स्वास्थ्यलगायतका समस्या समाधानलाई प्रभावकारिता बनाउनेतर्फ मन्त्रालय सजग छ ।”

बाल सुधार गृृहको व्यवस्थापन र सुधारसँग सम्बन्धित विषयमा विभिन्न मन्त्रालयले गरिरहेका काम कारबाहीका सन्दर्भमा समितिले महिला, कानुन, न्याय तथा संसदीय र शिक्षा, विज्ञान तथा प्रविधिलगायतका मन्त्रालयलाई आमन्त्रण गरेको थियो ।

समिति सभापति किरणकुमार साहले बाल सुधार गृहमा भएका तोडफोड, झडपका घटनाप्रति समितिले चासो देखाउँदै अवलोकन गरेको बताउनुभयो । अवलोकनका क्रममा सुधार गृहले न्यूनतम मापदण्ड पूरा नगरी सञ्चालन गरिरहेकाले बालबालिकाका संवेदनशील विषयमा सम्बन्धित पक्ष समस्या समाधानतर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो ।

समितिका सदस्य शोभा ज्ञवालीले बाल सुधार गृह विषयमा समितिले गरेका निर्णय, निर्देशनको कार्यान्वयन फितलो रहेको बताउँदै बाल सुधार गृहका बालबालिकाको उमेर समूह छुट्याएर राख्नुपर्नेमा जोड दिनुभयो । सांसद सिताकुमारी रानाले बाल सुधार गृहमा रहेको बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्था नाजुक रहेकाले मन्त्रालय तत्काल समाधान गर्न पहल गर्नुपर्ने बताउनुभयो ।

बैठकमा मन्त्रालयले निर्देशिका तयार पारी स्थानीय तहसँग समन्वयन गर्नसकेमा बाल सुधार गृहका समस्या न्यूनीकरण गर्न सकिने, स्वच्छ खानेपानी तथा पोषणलाई प्राथमिकतामा राख्नुपर्ने, उमेर समूह छुट्याई बालबालिकाको संरक्षण गर्नुपर्ने, स्वच्छ खानेपानी, पठनपाठनको व्यवस्था, जिम्मेवार पक्षलाई उत्तरदायी बनाउनुपर्नेलगायतका विषय उठान गर्नुभएको थियो ।

बैठकमा महिला मन्त्रालयका प्रवक्ता तथा सहसचिव इन्दु घिमिरेले बाल सुधार गृहका समस्या समाधान गर्न मन्त्रालय योजनाबद्ध ढङ्गले अगाडि बढेको बताउनुभयो । “बाल सुधार गृह सुधारोन्मुख अवस्थामा रहेको छ । यसलाई अझ प्रभावकारी बनाउन मन्त्रालय प्रतिबद्ध छ”, उहाँले भन्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठसँग स्वीस राजदूत मेउलीको भेट

काठमाडौँ, २९ फागुन : नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डेनिएल मेउलीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषय र सहयोग विस्तार सम्बन्धमा छलफल भएको मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो । भेटमा राजदूत गोडेरले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिनुभएको मन्त्रालयले जनाएको छ ।

एसियाली विकास बैंकका देशीय निर्देशकद्वारा अर्थमन्त्री पुनसँग शिष्टाचार भेट

काठमाडौँ, २९ फागुन : एसियाली विकास बैंक (एडिबी) को नेपालका लागि देशीय निर्देशक आर्नो कोशवाले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गर्नुभएको छ ।

अर्थ मन्त्रालयमा आज भएको भेटमा द्विपक्षीय साझेदारी मजबुत बनाउने र सम्भावित आयोजनामा लगानीका लागि थप सहकार्य गर्ने विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । भेटका क्रममा निर्देशक कोशवाले एडिबीको लगानीमा निर्माण भएर पहिरोका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको सुरुङको पुन ः डिजाइनको काम अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । विश्व बैंकसँगको वित्तीय साझेदारीमा एडिबीले निर्माण गर्न चाहेको जलासययुक्त दूधकोशी जलविद्युत् आयोजना र माथिल्लो अरुण जलविद्युत् आयोजनाको काम चाँडै सुरु हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

जवाफमा अर्थमन्त्री पुनले प्रमुख विकास साझेदार एडिबीले नेपालका महत्वपूर्ण विकास आयोजनामा गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुहुँदै आगामी दिनमा समेत समझदारीपूर्ण सहकार्य हुने आशा व्यक्त गर्नुभयो । दूधकोशी र माथिल्लो अरुण जलविद्युत् आयोजनाको काम सकेसम्म छिटो अघि बढाउने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।

नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंकले एकै आयोजनामा लगानी साझेदारी गर्न गइरहेकोमा पनि अर्थमन्त्री पुनले खुसी व्यक्त गर्नुभयो । “दूधकोशी जलाशययुक्त र माथिल्लो अरुण नदी प्रवाहमा आधारित ठूला आयोजनामध्येका हुन् । म ऊर्जामन्त्री छँदा सुरु भएका यी आयोजनालाई प्राथमिकतामा राखेकामा एडिबीलाई धन्यवाद दिन चाहन्छु”, अर्थमन्त्री पुनले भन्नुभयो ।

नेपालमा विकास बजेट कम खर्च हुने समस्या रहेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पुनले त्यसमा सुधार गर्न क्षमता अभिवृद्धि र जनशक्ति विकासमा कार्ययोजना बनाएर काम गर्न लागेको जानकारी दिनुभयो । युवा वर्ग लक्षित रोजगारीका कार्यक्रम ल्याउने तथा निजी क्षेत्र र आमजनतामा आशा जगाउने गरी काम गर्ने आशा पनि उहाँले व्यक्त गर्नुभयो । अर्थमन्त्री पुनले नेपालमा लगानी बढाउन पनि एडिबीलाई आग्रह गर्नुभएको छ ।

परराष्ट्रमन्त्री श्रेष्ठसँग विपिनको खोजी तथा रिहाइको प्रयास गरिदिन आग्रह

काठमाडौँ, २९ फागुन : नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि इजरायली राजदूत हनान गोडेरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषय र सहयोग विस्तार सम्बन्धमा छलफल भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो ।

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले बिद्रोही हमासको आक्रमणका क्रममा हालसम्म पनि अज्ञात रहनुभएका नेपाली विद्यार्थी विपिन जोशीको खोजी तथा रिहाइका लागि आवश्यक प्रयास गरिदिन आग्रह गर्नुभएको थियो । भेटमा राजदूत गोडेरले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिनुभएको मन्त्रालयले जनाएको छ ।

धुलिखेलमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको ‘नमूना रोजगार कार्यक्रम’ सुरु

काभ्रेपलाञ्चोक, २९ फागुन : धुलिखेल नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको ‘नमूना रोजगार कार्यक्रम’ सुरुआत गरिएको छ । कार्यक्रममा स्थानीय बेरोजगार नागरिकलाई रोजगार उपलब्ध गराउने जनाइएको छ ।

नगरले नमूना कार्यक्रमअन्र्तगत प्रारम्भिक चरणमा बेरोजगार तथा रोजगारदाताको तथ्याङ्क अद्यावधिक गरी जनप्रतिनिधि र कर्मचारी तथा सरोकारवालासँग अन्तक्र्रिया एवं निजी क्षेत्र तथा सरोकारवालासँग अन्तक्र्रियालगायत तालिमका कार्यहरू गरिने जनाएको छ । नगर रोजगार संयोजक सम्झना शर्माका अनुसार आउँदो आर्थिक वर्षमा धुलिखेलले रोजगारसम्बन्धी नमूना कार्यक्रम के–कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत बृहत छलफल गरिएको छ ।धुलिखेलमा चालु आर्थिक वर्षका लागि चार सय ३८ जना रोजगारका लागि नगरमा सूचीकृत भएका छन् । नमूना रोजगार कार्यक्रमका लागि नगरमा नगरप्रमुख अशोक ब्याञ्जूको अध्यक्षतामा उपप्रमुख उपाध्यक्ष, दुई वडाध्यक्ष सदस्य, प्रमुख प्रशाशकीय अधिकृत र रोजगार संयोजक सदस्य सचिव रहेका छन् ।सरकारले सात सय ५३ स्थानीय तहमध्ये १७ तहलाई नमूना रोजगार कार्यक्रममार्फत बेरोजगारलाई रोजगार उपलब्ध गराउने उद्देश्यले काभ्रेपलाञ्चोकको धुलिखेलबाट कार्यक्रम सुरु गरेको हो । कार्यक्रम बागमती प्रदेशअन्तर्गत धुलिखेल र सङ्घीय राजधानी काठमाडौँलगायतका स्थानीय तहहरू पहिलो चरणमा छनोट भएको जनाइएको छ ।प्रधानमन्त्री रोजगार कार्यक्रम र त्यसका अलावा अन्य सङ्घसंस्था तथा निजी क्षेत्रका विभिन्न पेसा व्यवसाय, स्वरोजगारका लागि सीप प्रदान एवं रोजगारी बनाउने उद्देश्यले नगरका विभिन्न योजना कार्यान्वयन भइरहेको नगरप्रमुख ब्याञ्जूले बताउनुभयो । उहाँका अनुसार नगरले सबै परिवारलाई आयआर्जन कार्यक्रममार्फत सीप प्रदान गरी रोजगारको वातावरण बनाई गरिबी अन्त्य गर्ने प्रमुख लक्ष्य लिएको छ ।सरकारले पाँच वर्षअघि नै देशका सबै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी बेरोजगारको तथ्याङ्क सङ्कलनसँगै रोजगारी व्यवस्थापन थाल्ने निर्णय गरेको थियो । रोजगार सेवा केन्द्र स्थापनापछि केन्द्रबाट बेरोजगारको विवरण सङ्कलन गर्ने, अभिमुखीकरणलगायतका तालिम सञ्चालन गर्ने, स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र सरकारलाई आवश्यक जनशक्ति केन्द्रबाट उपलब्ध गराउने योजना बनाइएको छ ।कार्यक्रमबाट आगामी केही समयभित्रै न्यूनतम रोजगारीको प्रत्याभूतिका अतिरिक्त नागरिकले आफ्नो थाकथलोमै सबै प्रकृतिको श्रम तथा रोजगारमूलक सेवा प्राप्त गर्ने एवं संविधानले परिकल्पना गरेझैँ स्वदेशमै रोजगारी, मुलुकको विकासमा प्रत्यक्ष योगदान, सामाजिक संरक्षणको प्रत्याभूति र व्यावसायिक र दक्ष जनशक्तिको विकास गर्ने अपेक्षा लिइएको छ ।

जोरायलको रैथाने बासमती चामलको माग बढ्दै

डोटी, २९ फागुन : डोटीको जोरायल गाउँपालिकामा ‘जोरायली बासमती धान’को व्यवसायीक खेती हुन थालेको छ । ‘जोरायली बासमती धान’को चामल भात खानामा स्वादिलो, नरम र बास्नादार रुपमा चर्चा कमाउन थालेपछि धानको व्यवसायीक खेती हुन थालेको हो ।

बासमती धान विक्री गर्नका लागि बजारको समस्या छैन । उत्पादित भएको धान सबै बिक्री हुन्छ । बासमती धान रोप्ने किसानले मात्रै नभएर धान खरिद गरी बिक्री गर्ने व्यवसायीले पनि राम्रो आम्दानी गर्न थालेका छन् । स्थानीय मिलले किसानबाट धान खरिद गरी चामल बनाई प्याकिङ गरेर बिक्री गर्ने गरेका छन् । एउटै मिलले वर्षमा लाखौँको कारोबार गर्दछन् ।जोरायल –४ सिलङ्गीबागमा रहेको पिनाकेश्वर कुटानी पिसानी मिलले वर्षमा रु ३० देखि ३५ लाखको कारोबार गर्छ । विसं २०६९ मा स्थापना भएको यो मिलले बाह्रै महिना बासमती धानको खरिद तथा चामल बिक्री गर्दै आएको मिल सञ्चालक टेकबहादुर मडैले जानकारी दिनुभयो । किसानबाट खरिद गरेको धान मिलमा कुटेर ग्रेडिङ गरी प्याकिङ गरेर बिक्री गर्दै आएको उहाँले बताउनुभयो । “हामी किसानबाट बासमती धान प्रतिकिलो रु ६५ देखि ७० मा खरिद गर्छौँ र चामल प्रतिकिलो रु एक सय २५ देखि एक सय ३० मा बिक्री गर्छौँ”, व्यवसायी मडैले भन्नुभयो ।मडैजस्तै बासमती चामलको व्यापार गर्दै आउनुभएका ग्वासी समैजी मिलका सञ्चालक भरत बोहरा पनि वर्षमा करिब रु १० लाखबराबरको कारोबार गर्नुहुन्छ । उहाँ दुई वर्षयता जोरायली बासमती चामलको व्यापार गरिरहनुभएको छ । यो चामलको माग बर्सेनि बढ्दै जान थालेपछि माग भए जति मागकर्तालाई उपलब्ध गराउन सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चामलको माग धेरै हुन्छ, ग्राहकले माग गरेभन्दा आधा घटाएर दिनुपर्छ, जस्तै एक सय किलो माग भएमा ५० किलो उपलब्ध गराउँछौँ ।”मडै र बोहराजस्तै यहाँका अन्यले बासमती चामलको व्यापार गरिरहेका छन् । व्यापारीहरू पाँच, दश, २५ र ५० किलोको प्याकेटमा प्याकिङ गरेर चामल बिक्री गर्छन् । जोरायलमा उत्पादन भएको बासमती चामलको मुख्य बजार फल्टुडे, सहजपुर, बुडर, अत्तरिया, धनगढी, महेन्द्रनगरलगायतका बजार हुन् । मिलमा प्याकिङ भएको चामल प्रायः थोकमा बिक्री हुन्छ ।यो धान वर्षमा रु एक करोडभन्दा बढी गाउँपालिकाबाट बिक्री हुने गरेको जोरायल गाउँपालिकाको अनुमान छ । गाउँपालिकाले ‘जोरायली बासमती धान’लाई अग्र्यानिक ब्राण्ड बनाउन लागेको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । हालसम्म बासमती धानको बीउ संरक्षण, खेती विस्तारजस्ता काम गरिरहेको गाउँपालिका अब अग्र्यानिक ब्राण्ड बनाउन लागेको उहाँले बताउनुभयो । अध्यक्ष ओझाले भन्नुभयो, “बासमती धानको लागि बजारको अभाव छैन, यसलाई अग्र्यानिक ब्राण्डका रूपमा विस्तार गर्न खोजिरहेका छौँ, सम्भवतः एक महिनाभित्रै यो कामले सफलता पाउनेछ ।”जोरायलको समथर जग्गाको नदी छेउका फाँटको हावापानीमा बासमती जातको धान उत्पादनका लागि उर्वर भूमि मानिन्छ । जोरायल क्षेत्रको धन्नास, बगडीगाउँ, जिजिकोट, सिलङ्गीबाग, सुगाँल, राउतकट्टे, चनकट्टे, थापाली, स्यालालगायतका ठाउँमा यो धानको खेती गरिन्छ । पछिल्लो समय यो धानको बीउ हराउने डरमा गाउँपालिका र किसान बीउ संरक्षणमा लागेका छन् ।

भोट माग्दा गरेको वाचा पूरा गर्न सकेको छैन – सांसद देवी (अन्तर्वार्ता)

काठमाडौँ, २९ फागुन – राज्य सञ्चालनको मुख्य औजारका रूपमा रहेका कानुनहरू बनाउने सर्वोच्च ठाउँ संसद्मा पुग्न पाउँदा खुसी लागेको छ । आफूलाई सांसद बनाउने नेपाल कम्युनिष्ट पार्टी (एमाले) र आफूले प्रतिनिधित्व गरेको ठाउँ रौतहटमा केही राम्रो काम गरेर देखाउने तीव्र इच्छा छ । तर सांसद भएको डेढ वर्ष बितिसक्यो, कानुन बनाउनेतर्फ खासै काम गर्न सकिएको छैन । बनाउनुपर्ने कानुन धेरै छन् । संविधान अनुकूलका कानुन पनि बनाउन धेरै बाँकी छ । कानुनको अभावमा धेरै काम प्रभावकारी तरिकाले हुनसकेका छैनन् ।संसद्मा विधेयक सरकारले ल्याउने हो । सरकारले कानुन बनाउने कुरामा बढी ध्यान दिनुपर्ने हो । विगतमा एमाले प्रतिपक्षमा रहेका कारण पनि धेरै कानुन बनाउने कुरामा निर्णायक भूमिका थिएन । अब पार्टी सरकारमा गएको छ । अब संविधानअनुकूलका बनाउनुपर्ने कानुन छिट्टै बन्छन् भन्ने मलाई विश्वास छ । तराईमा अहिले पनि दाइजोका कारण महिलाको हत्या भइरहेको छ, प्रताडित भइरहेका छन् । विभिन्न कुसंस्कार र कुरीति छन् । त्यो पनि कानुनले नै नियन्त्रण गर्नुपर्छ । मिटरब्याज पीडितका समस्या छन् । उखु किसानले उखुको भुक्तानी नपाएर दुःख पाइरहेका छन् । सिँचाइको अभावमा किसानले राम्रोसँग खेतीबाली लगाउन सकेका छैनन् । यस्ता अनेक समस्याबाट रौतहटसहित तराईका जिल्लाहरू ग्रसित छन् ।विगतमा तराई¬–मधेसमा महिलालाई राजनीतिमा सहभागी र सक्रिय हुन निकै कठिन थियो । अहिले केही सहज भएको छ । केही प्रगति मधेसमा महिलाको पनि भएको छ । बुझेको मान्छेलाई बुझाउन निकै गाह्रो रहेछ । बरु केही नबुझेको मान्छेलाई बुझाउन सकिन्छ । मधेसमा महिलालाई सशक्तीकरण गर्नैपर्ने जरुरी छ । केही ठाउँमा, केही समुदायमा धार्मिक, सांस्कृतिक रुढीवादी परम्परा पनि हाबी छ । यद्यपि छोरीलाई पढाउन, बुहारीलाई काममा पठाउनेतर्फ केही सुधार आएको छ । तर सोचेअनुरुप सुधार आउन सकेको छैन । त्यसका लागि बुझाउने र सचेतना जगाउने काम गरिरहेकी छु ।सांसद भनेको जनताको प्रतिनिधि हो । जनप्रतिनिधिमाथि संसद्मा राष्ट्रिय विषयमा छलफल गर्ने र आफ्ना निर्वाचन क्षेत्रमा विकास निर्माणका कार्यमा सहभागिता जनाउने दुवै दायित्व हुन्छ । जनताको अपेक्षा पनि यही हुन्छ । स–साना विकासका कार्यहरू र बजेट व्यवस्था खासमा स्थानीय सरकारले गर्नुपर्ने हो, तर हामीले पनि हेर्नुपर्छ । मधेस प्रदेशमा शिक्षा, स्वास्थ्य र खानेपानीको निकै ठूलो समस्या छ । मलाई धेरै हिसाबले रौतहट जिल्ला पछि परेको जस्तो लाग्छ । शिक्षामा धेरै पछाडि छ । स्वास्थ्यमा पनि उपचार गर्नका लागि एउटा ठूलो अस्पताल छैन । एउटा राम्रो अस्पताल भएमा केही राहत हुने थियो । पहल गरिरहेकी छु । स्वच्छ खानेपानी नहुँदा धरै मानिस रोगको सिकार भएका छन् । त्यसका लागि सरकारले पनि ध्यान दिनुपर्ने हो । मेरो जिल्ला रौतहटमा शिक्षा, स्वास्थ्य र खानेपानीकै विषयमा के गर्न सकिन्छ भन्ने सोचिरहेको छु ।पार्टीले मलाई सांसद बनाएपछि जनताले के गर्छ भनेर हेरिरहेका छन् । हामीले भोट माग्दा शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा देखिनेगरी परिवर्तन ल्याउँछौँ भनेर वचन दिएको थिएँ । जनतासँग गरेको वाचा पूरा गर्न सकिएको छैन । धेरै काम गर्न बाँकी छ । अहिले त जनतामा जान पनि अप्ठ्यारो लाग्छ । जनतालाई यो–यो काम गर्छु भनेर दिएको वचन पूरा गर्न सकेको छैन । तर म प्रयासरत छु । सांसद हुँदा र नहुँदा सधैँ जनताकै साथमा हुनेछु ।सांसद बिना देवीको परिचय

विसं २०३० साल चैत १९ गते रौतहटमा जन्मनुभएकी सांसद बिना देवी नेकपा (एमाले)बाट समानुपातिकतर्फबाट सांसद हुनुुहुन्छ । विसं २०४६ बाट एमालेमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गर्नुभएकी उहाँले पार्टीको वडा, जिल्ला कमिटी सदस्य हुँदै अखिल नेपाल महिला सङ्घको जिल्ला अध्यक्ष भएर काम गर्नुभयो । अहिले प्रदेश कमिटी सदस्य हुनुहुन्छ । रौतहट निर्वाचन क्षेत्र नं ४ बाट समानुपातिक सदस्य भएर काम गरिरहनुभएको छ ।

कफीखेतीबाट वार्षिक १३ लाख आम्दानी गर्दै इलामका याम कार्की

फिक्कल (इलाम), २९ फागुन – इलामको माङसेबुङ गाउँपालिका–१ जगरमुखीका याम कार्की ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’ भन्ने प्रेरणाका स्रोत बन्नुभएको छ ।

उहाँ बिहानदेखि बेलुकासम्म नै कृषि काममा व्यस्त देखिनुहुन्छ । उहाँले ६० रोपनी क्षेत्रमा कफीको बिरुवा लगाउनुभएको छ । विगत छ वर्षदेखि व्यावसायिक कफीखेती सुरु गर्नुभएका व्यवसायी कार्कीले सबै जग्गामा कफीखेती विस्तार गर्नुभएको छ । उहाँको बगानमा अहिले छ हजार कफीका बोट छन् । कफीका अधिकांश बोटले आम्दानी दिन थालेको छ । उहाँले कफीखेतीबाट वार्षिकरूपमा रु १३ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । कफीको चेरी र बिरुवा बिक्रीबाट छुट्टाछुट्टैरूपमा आम्दानी लिँदै आएको उहाँको अनुभव छ ।

विसं २०७४ देखि ‘इलाम एग्रो फार्म’ दर्ता गरी उहाँले व्यावसायिक कफीखेती गर्दै आउनुभएको छ । “विगत छ वर्षदेखि मैले आफ्नै निजी जग्गामा व्यावसायिक कफीखेती गर्दै आएको छु, अहिले अधिकांश बोटले आम्दानीसमेत दिन थालिसकेको छ”, कार्कीले रासससँग भन्नुभयो, “फ्रेस चेरी ए ग्रेड कफी प्रतिकिलो रु एक सय पाँच सम्ममा बिक्ने गरेको छ, सरदरमा वार्षिक रु सात लाखसम्म आम्दानी भइरहेको छ ।”

‘अरविका’ नामक कफीखेती विस्तार गर्नभएका कार्कीले बिरुवाबाट समेत मनग्य आम्दानी गरिरहनुभएको छ । उहाँले सिजनमा बिरुवा बिक्रीबाट रु छ लाखसम्म आम्दानी हुने गरेको सुनाउनुभयो । “मेरो नर्सरीमा वर्षमा १५ देखि २० हजार बिरुवा उत्पादन हुन्छ, प्रतिबिरुवा रु ३० कार दरले नर्सरीबाटै बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “बिरुवाबाट मात्र करिब रु छ लाख हात पार्ने गरेको छु ।” बिरुवा विभिन्न पालिका, वडा कार्यालय एवं फार्मले खरिद गरी लैजाने गरेको उहाँले बताउनुभयो ।

कफीखेतीका लागि प्रशस्त जमिन र उपयुक्त वातावरण भएकाले यसतर्फ किसानको मोह बढेको स्थानीय कार्कीले बताउनुभयो । “वनजङ्गलको आडैमा प्रशस्त खाली जमिनमा लगाइएका कफीका बिरुवाले हरभरा देखिन थालेका छन्”, उहाँले भन्नुभयो, “यसलाई हामी सामुदायिक अवधारणामा विभिन्न सङ्घसंस्था र वडा कार्यालयसँग समन्वय गरी गाउँपालिकाभरि विस्तार गर्ने योजना छ ।”

कफीको मूल्य राम्रो पाइने र बिक्रीका लागि समस्या पनि नभएकाले किसानले अन्य पेसा छाडेर कफीखेतीतर्फ लागेको उहाँले बताउनुभयो । उहाँले कफीसँगै व्यावसायिकरूपमा बाख्रापालन गर्दै आउनुभएको छ । कफीखेतीका लागि चाहिने मल बाख्रापालनबाटै उपलब्ध हुने भएकाले दुवै व्यवसाय सँगसँगै लगेको उहाँको भनाइ छ ।

माङसेबुङ गाउँपालिका–२ इभाङका किसान गणेश लिम्बूले पनि राम्रै अन्नबाली उत्पादन हुने जग्गामा व्यावसायिक कफीखेती विस्तार गर्नुभएको छ । उहाँले २५ रोपनी जग्गामा दुई हजार पाँच सय बोट कफी लगाउनुभएको छ । लगानी धेरै नपर्ने र मेहनत पनि खासै नपर्ने भएकाले चार वर्षदेखि व्यावसायिक कफीखेती सुरु गरेको उहाँले बताउनुभयो ।

“चार वर्षदेखि कफीखेती सुरु गरेको मेरो बगानमा अहिले दुई हजार पाँच सय बोट पुगेको छ, यसलाई अझ विस्तार गरी १० हजार पुर्याउने लक्ष्य छ”, उहाँले भन्नुभयो, “पहिलो लटको बिरुवाले उत्पादन सुरु गरेको छ, यो वर्ष चार क्विन्टल उत्पादन भयो, आउँदो सालदेखि आम्दानी राम्रै हुने आशा बढेको छ ।” केटाकेटीले समेत काम गर्न सक्ने तथा दक्ष कामदार नचाहिने भएकाले अन्य खेतीभन्दा कफीखेती गर्न सहज हुने उहाँको अनुभव छ ।

माङसेबुङ गाउँपालिका–१ तोभाङका छत्र कार्कीले चार वर्षदेखि कफीखेती गर्दै आउनुभएको छ । व्यावसायिकरूपमा आफ्नै पाखा पखेरामा करिब पाँच सय कफीका बिरुवा लगाउनुभएका उहाँले राम्रो आम्दानी गरेको बताउनुहुन्छ । “मलजल र स्याहारसुसार पुग्यो भने रोपेको दुई वर्षदेखि नै आम्दानी दिन थाल्दोरहेछ, यो वर्ष रु ७० हजारजति आम्दनी भयो”, उहाँले भन्नुभयो, “यो सालदेखि अझ विस्तार गर्ने योजनामा छु ।” पहाडी क्षेत्रमा विगतमा भन्दा यो वर्ष कफीखेती राम्रो रहेको र किसान यस खेतीबाट सन्तुष्ट भएको उहाँको भनाइ छ ।

माङसेबुङ गाउँपालिका–२ काब्राबोटेका पृथीमान जवेगूले पनि पाँच सय कफीका बिरुवा रोपेर व्यावसायिक कफीखेती सुरु गर्नुभएको छ । पहाडी क्षेत्रको चिसो ठाउँमा कफी लगाउन सकिने र कफीबाट किसानले मनग्य आम्दानी लिन सफल भएपछि आगामी वर्ष आफूले कफीखेती विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ ।

माङसेबुङ गाउँपालिका–१ का गजुरमुखी, नाङरुङ, तोभाङ र वडा नं २ का इभाङ, डाँडागाउँ, काब्राबोटे गाउँका तीन सय ५० जना किसानले व्यावसायिक कफीखेती गर्दै आएका छन् । पहाडी भेगका गाउँमा कफीखेती गर्ने किसान बढ्दै गएका छन् । उनीहरूले खेतबारीमा अन्नबाली लगाउन छाडेर कफी रोपेका छन् । सामान्य कफीखेतीबाट सुरु गरेका किसानले अहिले व्यावसायिक कफीखेती सुरु गर्न थालेका छन् । उत्पादन राम्रो हुँदै गएकाले किसान कफीखेतीतर्फ दिनप्रतिदिन आकर्षित बन्दै गएका हुन् । माङेबुङ गाउँपालिकाभर छ हजार क्षेत्रमा ६० हजार कफीको बिरुवा रोपिएको गाउँपालिकाको तथ्याङ्क छ ।

कम मेहनत र थोरै लगानीमा नै मनग्य आम्दानी हुन थालेपछि किसान व्यावसायिक कफीखेतीमा आकर्षित भएका हुन् । खेतबारीमा अन्नबाली लगाउने जनशक्ति अभाव र लगाएको अन्नबाली पनि बाँदरले खाइदिने समस्याले अधिकांश किसानले व्यावसायिक कफीखेती सुरु गरेका छन् । बाँझो पाखा पखेरामा समेत हुने भएपछि किसानले व्यावसायिक कफीखेती सुरु गरेका हुन् । उनीहरूले व्यावसायिक कफीखेती गरी लाखौँ आम्दानी लिइरहेका छन् । उनीहरूले खेतीयोग्य जमिन मासेरसमेत व्यावसायिक कफीखेती गर्दै आएका हुन् । यहाँका किसानले ‘अरविका’ जातका कफीखेती गर्दै आएका छन् ।

किसानलाई अहिले बजार र यातायातको पनि कुनै समस्या छैन । घरैबाट सहजैरूपमा बिक्री गर्न पाउँछन् । घरघरमा गएर व्यापारीले कफी किन्ने गरेका छन् । बगानमै मोलतोल गरेर व्यापारीले किन्ने गरेकाले किसानलाई उत्पादन बजारसम्म पुर्याउने झन्झट छैन । स्थानीयस्तरमा नै कफी प्रशोधन उद्योग स्थापना भएपछि किसानले कफीको मूल्य राम्रै पाएका छन् । त्यस क्षेत्रका किसानले उत्पादन गरेको कफी व्यापारीमार्फत काठमाडौँमा जाने गरेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – मंगलबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

दाङको कटुवा खोला पुलमा कार दुर्घटना

दाङको घोराही उपमहानगरपालिका–१५ स्थित कटुवा खोला पुलबाट सोमबार राती ९ः३० बजे अनियन्त्रित भएर खोलामा खसेको बागमती प्रदेश ०२८ च ९८५६ नम्बरको निजी कार ।

कारमा एकजना मात्रै सवार उज्ज्वल केसीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । तस्बिर रासस

प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

दमौली (तनहुँ), २९ फागुन : तनहुँको आँबुखैरेनी गाउँपालिकाअन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन् ।

गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापकको बैठकले आगामी शैक्षिकसत्रदेखि प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको हो । गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयको शैक्षिकस्तर वृद्धि र सकारात्मक सन्देश दिनका लागि सो निर्णय भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ नयाँ शैक्षिकसत्रदेखि यो निर्णय लागू हुनेछ ।” गाउँपालिकाका जनप्रतिनिधिले विसं २०७९ को शैक्षिकसत्रदेखि सामुदायिक विद्यालयमा भर्ना गर्ने अभियान सुरु गरेका थिए । जनप्रतिनिधिको अभियानलाई साथ दिन प्रधानाध्यापक तथा शिक्षकहरूले उक्त निर्णय गरेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले सुरु गरेको शैक्षिक सुधार अभियानमा शिक्षकहरूले सहयोग गरेर आफूलाई थप हौसला मिलेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । उहाँले भन्नुभयो, “जनप्रतिनिधिले अघिल्लो शैक्षिकसत्रमै छोराछोरी सामुदायिक विद्यालयमा पढाइसकेका छन् । शिक्षकहरूले पनि यो कदमलाई साथ दिनुभएको छ ।

यो ऐतिहासिक काम हो ।” गाउँपालिकाले विसं २०८० लाई सामुदायिक विद्यालयको शिक्षा रुपान्तरणको अभियानका रूपमा अगाडि बढाएको छ । सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधासम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको व्यवस्थापन, सिकाइ गुणस्तर अभिवृद्धिलगायतका कार्यक्रम सञ्चालन गरिने अध्यक्ष चुमानको भनाइ छ ।

आँबुखैरेनी गाउँपालिकाका छवटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब चार सय विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीतिसमेत ल्याएको छ । त्यस्तै सामुदायिक विद्यालयमा छोराछोरी पढाउने वडा नं ४, ५ र ६ का परिवारका लागि पालिकाले निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने उहाँले बताउनुभयो ।

“सामुदायिक विद्यालयमा आकर्षण वृद्धि गर्ने उद्देश्यसहित कर छुट, स्वास्थ्य बीमाको योजना ल्याइएको हो”, अध्यक्ष चुमानले भन्नुभयो । गाउँपालिकाले सामुदायिक विद्यालयमा अनुदानमा बस वितरणको तयारीसमेत थालेको छ । पहिलो चरणमा तीनदेखि पाँचवटा विद्यालयलाई बस हस्तान्तरण गरिने जनाइएकोे । गाउँपालिकाले आमा समूह भवनका लागि बजेट विनियोजन गर्नुभन्दा उक्त बजेट विद्यालयको सुधारमा खर्च गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री मोदीद्वारा मिसन दिव्यास्त्रको प्रशंसा, अग्नि–५ मिसाइलको पहिलो उडान परीक्षण

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार मल्टिपल इन्डिपेन्डेन्ट्ली टारगेटेबल रि–इन्ट्री भेहिकल (एमआइआरभी) प्रविधिले सुसज्जित स्वदेशीरूपमा विकसित अग्नि–५ मिसाइलको पहिलो उडान परीक्षण मिसन दिव्यास्त्रको प्रंशसा गर्नुभएको छ ।

उहाँले मिसन दिव्यास्त्रको सफल कार्यान्वयनका लागि रक्षा अनुसन्धान एवं विकास सङ्गठन (डिआरडिओ) वैज्ञानिकहरूको उपलब्धिको प्रशंसा गर्नुभयो । प्रधानमन्त्री मोदीले माइक्रो–ब्लगिङ साइट एक्समा पोस्ट गर्नुभयो, “मिसन दिव्यास्त्रका लागि हाम्रा डिआरडिओ वैज्ञानिकहरूमाथि गर्व छ, एमआइआरभी प्रविधिका साथ स्वदेशीरूपमा विकसित अग्नि–५ मिसाइलको पहिलो उडान परीक्षण ।”

अग्नि–५ मिसाइलमा एमआइआरभी प्रविधिको समावेशले विभिन्न लक्ष्यमा सटीकताका साथ धेरै हतियार पुर्याउने यसको प्रभावकारिता बढ्नेछ । यसबाट भारतको प्रतिरोध क्षमतामा वृद्धि हुनेछ र राष्ट्रिय सुरक्षा सुदृढ हुनेछ । एउटा एमआइआरभी पेलोडमा चारदेखि छ वटा आणविक हतियार बोक्ने एउटा मिसाइल समावेश हुन्छ । प्रत्येकलाई अलग अलग लक्ष्यमा हमला गर्नका लागि प्रोग्राम गरिएको छ ।

यसले एउटै मिसाइलमा विभिन्न स्थानमा धेरै हतियार तैनाथ गर्न सकिन्छ भन्ने सुनिश्चित गर्दछ । सरकारी स्रोतका अनुसार यस परियोजनाका निर्देशक एक महिला हुन् र यसमा महिलाहरूको महत्त्वपूर्ण योगदान छ । मिसन दिव्यास्त्रको परीक्षणसँगै भारत एमआइआरभी क्षमता भएका मुलुकहरूको समूहमा सामेल भएको छ ।

रमजान सुरु हुनासाथ इजराइलले भन्यो– ‘हामीमाथि प्रयास नगर’

इजराइलका रक्षामन्त्रीले सोमबार अधिकारीहरूले रमजानको समयमा उपासनाको स्वतन्त्रताको सम्मान गर्ने बताउनुभएको छ । यद्यपि उहाँले जसले ‘हामीमाथि प्रयास गर्नेछ’ त्यसका लागि ‘तयार’ रहेको बताउनुभएको छ ।

“इजराइल राज्य अल–अक्सा र सबै पवित्र स्थानहरूमा उपासनाको स्वतन्त्रताको सम्मान गर्दछ”, इजराइली क्षेत्रको पूर्वी जेरुसेलममा रहेको इस्लामको तेस्रो सबैभन्दा पवित्र स्थललाई उल्लेख गर्दै रक्षामन्त्री योभ गलान्टले एक भिडियो सन्देशमा भन्नुभयो । उहाँले आफ्नो टेलिग्राम च्यानलमा पोस्ट गरिएको क्लिपमा भन्नुभएको छ, “रमजानको महिना जिहादको महिना हुनसक्छ, हामीमाथि प्रयोग नगर्नुहोस् भनेर सबैलाई भन्छौँ, हामी तयार छौँ, गल्ती नगर्नुहोस् ।

” उहाँका टिप्पणीहरू अल–अक्सा मस्जिद परिसरमा रमजानका क्रममा तनावको चिन्ताहरूबीच आएको हो । अघिल्ला वर्षहरूमा मुस्लिम उपवासको महिनाको बेला उक्त मस्जिद हिंसाको केन्द्र बनेको थियो । उक्त परिसर यहुदी धर्मको सबैभन्दा पवित्र स्थल पनि हो । यसलाई यहुदी टेम्पल माउन्ट भनिन्छ । रमजानको समयमा दसौँ र हजारौँको सङ्ख्यामा मुस्लिमहरूले परिसरमा प्रार्थना गर्छन् ।

शुक्रबार हमास लडाकू समूहको सशस्त्र शाखाका एक प्रवक्ताले ‘हाम्रा मानिस’ लाई सङ्गठित हुन र अल–अक्सातर्फ बढ्न आह्वान गरेका थिए । अक्टोबर ७ मा दक्षिणी इजराइलमा हमासको अभूतपूर्व आक्रमणले गाजामा जारी युद्ध सुरु गर्यो । युद्ध अहिले छ महिनामा पुगेको छ । मध्यस्थकर्ताहरूले रमजान सुरु हुनुअघि नयाँ युद्धविराम सुनिश्चित गर्ने आशा गरेका थिए तर अहिलेसम्म कुनै सफलता प्राप्त भएको छैन ।

बागलुङमा ऐतिहासिक चैत्राष्टमी मेला चैत ३० गतेदेखि हुँदै

गलकोट- बागलुङ्मा ऐतिहासिक चैत्राष्टमी मेला आगामी चैत ३० गतेदेखि आयोजना गरिने भएको छ । चैत दसैँका अवसर पारेर बागलुङमा चैते दसैँ मेला आयोजना गर्न थालिएकोे छ ।

कालिका भगवती गुठी व्यवस्थापन समितिले बागलुङ सदरमुकाममा आगामी चैत ३० देखि वैशाख ६ गतेसम्म कालिका मन्दिर परिसरमा मेलाको आयोजना गर्न लागेकोे हो । गण्डकी प्रदेशकै एक प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरमा यसपक चैत्राष्टमी मेला आयोजना गरिएको कालिका गुठी ब्यवस्थापन समिति अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवद्र्धन–स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ चैत्राष्टमी मेला आयोजना गर्न थालिएको हो । मेलाको अवसरमा कालिका कप खुला भलिबल प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, छेलो प्रतियोगिता, रथ यात्रा, रमाइलो मेला, बाल उद्यानलगायत कार्यक्रम समावेश गरिएको छ ।

बागलुङको सदरमुकाम बागलुङ बजारमा तीन सय वर्षदेखि आयोजना हँुदै आएको यो मेला यो वर्ष जिल्लामा क्रियाशील सङ्घसंस्था, स्थानीय तह, बैङ्क तथा वित्तीय संस्था, उद्योग व्यवसायीलगायत सरोकारवालासँग सहकार्य गरेर मनाउन लागिएको हो ।