`

कर्णालीमा औद्योगिक क्षेत्रको विकास आवश्यक : मुख्यमन्त्री शर्मा

कर्णाली- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा औद्योगिक क्षेत्रको विकास आवश्यक भएको बताउनुभएको छ ।

उद्योग वाणिज्य सङ्घ सुर्खेतद्वारा वीरेन्द्रनगर सुर्खेतमा दुई सातासम्म सञ्चालन भएको ‘तेस्रो कर्णाली एक्स्पो’को समापन कार्यक्रममा मुख्यमन्त्री शर्माले औद्योगिक क्षेत्रको विकासबिना कर्णालीमा आर्थिक समृद्धि हुन नसक्ने बताउनुभयो । उहाँले तेस्रो कर्णाली एक्स्पोले यहाँको पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिमा सघाउ पुग्ने बताउनुभयो । “कर्णालीमा विकासका लागि सहकार्य आवश्यक छ,” मुख्यमन्त्री शर्माले भन्नुभयो । “हामी सबै सरोकारवालाको सहकार्यमा मात्र कर्णाली माथि उठ्छ । यसका लागि सबैमा सामूहिक भावना र सकारात्मक सोच आवश्यक छ ।

” ठूला खालका प्रदर्शनी गर्न सक्ने गरी कर्णाली सरकारले संरचना तयार गर्ने कार्यलाई पनि अगाडि बढाउने उहाँको भनाइ थियो । यही फागुन १५ गतेदेखि सञ्चालन भएको सो एक्स्पोमा ५० हजारभन्दा बढी दर्शकको सहभागिता रहेको आयोजकले जनाएको छ ।

कर्णाली पुलमा आवागमन बन्द : आगलागीबाट ‘सपोट’ डोरीमा आंशिक क्षति

लम्की (कैलाली), २९ फागुन : सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट पुलको १४ ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ ।

पुलमा तत्कालका आगि यातायात आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका इन्जिनियर नीरज शाक्यले जानकारी दिनुभयो छ । उहाँले भन्नुभयो, “हामी घटनास्थलमा राति नै पुगिसकेका छौँ । आज बिहान अर्को प्राविधिकको विशेषज्ञ टोली आउँदैछ । पुलको परीक्षण नहुँदासम्म पुलमाथि सवारी आवागमन बन्द गरेका छौँ ।”

कर्णाली पुलबाट सवारी आवागमन बन्द गरिएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट सङ्घीय राजधानी काठमाडौँ तथा अन्य प्रदेशमा जाने सवारीसाधन लम्की, टीकापुर हुँदै सत्ति पुलबाट बर्दिया तथा नेपालगञ्जको मार्ग प्रयोग गर्न सबैलाई अग्रह गरिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीले बताउनुभयो । काठमाडौँ तथा अन्य जिल्लाबाट सुदूरपश्चिम प्रदेश भित्रिने सवारीसाधनलाई नेपालगञ्ज र बर्दिया हुँदै टीकापुरको मार्ग प्रयोग गर्न उहाँले बताउनुभयो ।

कर्णालीको पुुलमा गुड्दै गरेको अवस्थामा सोमबार अपराह्न पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नम्बरको ट्रकमा पछाडिबाट एक्कासी आगलागी भएको थियो । लम्कीचुहा, टीकापुर, घोडाघोडी र बर्दियाबाट आएको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो चार घण्टापछि राति ९ बजे पूर्णरूपमा नियन्त्रणमा आएको प्रहरी निरीक्षक डाँगीले बताउनुभयो । आगो नियन्त्रणपछि जलेको ट्रकसमेत राति नै लम्कीचुहा नगरपालिकाको डोजर प्रयोग गरी हटाइएको छ ।

आइतबार अपराह्न वीरगञ्जबाट लाइटर एक हजार एक सय कार्टुन लिएर हिँडेको ट्रक सोमबार सोमबार अपराह्न कर्णाली पुलमा पुगेको कञ्चनपुर कृष्णपुरका ३६ वर्षीय ट्रकचालक जगनाथ जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी अपराह्न बर्दिया राष्ट्रिय निकुञ्जको चिसापानी चेकपोष्टमा पुगेका थियौँ । त्यहाँ चिट दिएर अगाडि बढ्याँै । गाडीमा लोड भएकाले हामी ४०–५० को गतिमा नै गाडी चलाइरहेका थियौँ । पुलको नजिक पुग्दा गाडीको गति ८ देखि १० को मात्र थियो ।”

चालक जोशीले भन्नुभयो, “चेकपोष्टबाट केही समयमा कर्णाली पुलमा पुग्दा पुलमा भिडियो बनाइरहेका एक युवकले कराउँदै अङ्कल ट्रकमा आगो भन्दै चिच्याउँदा तल झरेर हेर्दा पछाडि आगो लागेको थाहा भयो, हामी आत्तियौँ ट्रक थोरै पछाडि लिए । पछाडि बस भएकाले पुल बाहिर निकाल्न सकिएन ।”

पर्साको न्यू बागेश्वरी ढुवानी सेवाले लोड गराएको तपन इन्टरप्राइजेजको एक हजार एक सय लाइटर कञ्चनपुरको शिवओम इन्टरप्राइजेजको भएको ट्रकचालक जोशीले बताउनुभयो । आगलागी हुने क्रममा ट्रकमा चालक जोशी र सहचालक दार्चुला शैलेश्वरी–८ का २४ वर्षीय सहचालक धिरज जोशी रहेका थिए । दुवै जना सकुशल प्रहरीको नियन्त्रणमा छन् । आगलागी भएको ट्रक धनगढीका जयप्रकाश चौधरीको रहेको चालक जोशीले बताउनुभयो । आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट रु एक करोड १५ लाख ६८ हजारबराबरको ट्रकमा रहेको लाइटर जलेको छ । ट्रकसमेत पूर्णरूपमा जलेको छ । चालक जोशीले कपिलवस्तुबाट ताप्लेजुङमा सिइ हाइड्रो कन्ट्रक्सनको सामान ढुवानीबापत बुझेको नगद रु ५७ हजार पनि जलेको बताउनुभयो । नगद र सामान गरी रु एक करोड १६ लाख २५ हजारबराबरको क्षति भएको छ । क्षतिको अन्य विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

एसियाकै नमूना पुलका रूपमा रहेको कर्णाली पुल पर्यटनको गन्तव्यस्थलका रूपमा समेत रहेको थियो । एक खम्बाको सहायताले मात्र रहेको पुल हेर्ने देश तथा छिमेकी मुलुक भारतबाट पर्यटक आउने गरेका लम्कीचुहा नगरपालिका–३ का वडाध्यक्ष लवबहादुर शाहीले बताउनुभयो ।

अनेसासको विश्व साहित्य सम्मेलन पोर्चुगलमा

लिस्बन (पोर्चुगल) – अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आठौँ विश्व साहित्य सम्मेलन पोर्चुगलको राजधानी लिस्बनमा आइतबार सम्पन्न भएको छ ।

तीन दिन सञ्चालन भएको सम्मेलनले आठबुँदे लिस्बन घोषणापत्रसमेत जारी गरेको छ । सम्मेलनले विश्वभर नेपाली भाषा र साहित्यको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिएको छ । यस्तै नेपाली भाषा र साहित्यको प्रचार–प्रसार तथा प्रवासमा नेपाली भाषा पाठशाला सञ्चालनका लागि पनि पहल गरिनेबारे पनि सम्मेलनमा छलफल भएको छ ।

यस अन्तरराष्ट्रिय साहित्य सम्मेलनमा विश्वभर छरिएर रहेका नेपाली भाषा, साहित्य र संस्कृतिका अध्येता, लेखक, भाषाविद्, कलाकर्मी, संस्कृतिविद्, सर्जक, स्रष्टा र साहित्यकर्मी भेला भएका थिए । यस सम्मेलनमा नेपाल, भारतसहित विश्वभरका ४० च्याप्टर गरी एक सय बढी प्रतिनिधिको सहभागिता रहेको थियो ।

नेपालीसहित विभिन्न भाषा, कला, साहित्य र संस्कृतिका विषयमा विज्ञहरुबाट कार्यपत्र प्रस्तुति र छलफलका साथै विभिन्न विधाका २५ वटा कृतिको विमोचन गरिएको थियो ।

सो अवसरमा दुई सय ५० अमेरिकी डलर राशिको नवरत्न पुरस्कार बेलायत निवासी साहित्यकार माया गुरुङ र डा सङ्गीता स्वेच्छालाई प्रदान गरिएको थियो ।

कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष गोवद्र्धन पूजा, बिओटी सभापति पदम विश्वकर्मा, सल्लाहकार रोहिणी शर्मा, पूर्वअध्यक्षहरु मोहन सिटौला, पुरु सुवेदी, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव विमला निरौला, एनआरएनए आइसिसी सचिव भीम केसी, आइसिसी सदस्य राजकुमार थापा, अनेसास पोर्चुगलका संस्थापक अध्यक्ष केजीन राई, एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्का, समाजका केन्द्रीय सदस्य यादव देवकोटा, पोर्चुगल च्याप्टरका अध्यक्ष सवी श्रेष्ठलगायतले नेपाली भाषा र साहित्यका विविध विषयमा धारणा राख्नुभएको थियो ।

नेपाली भाषा र साहित्यलाई विश्वव्यापी बनाउन सम्मेलनले ठूलो भूमिका निर्वाह गरेको अध्यक्ष गोवद्र्धन पुजाले बताउनुभयो । सम्मेलनले नेपाली भाषा र साहित्यको थप प्रचार–प्रसारका साथै यसको संरक्षण र संवद्धर्न गर्नुपर्ने सन्देश दिएको उहाँको भनाइ थियो ।

मिटरब्याजीपीडितसँगको सहमति पूर्ण कार्यान्वयन गरिन्छ : उपप्रधानमन्त्री लामिछाने

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याजीपीडितसँगको सहमति पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच सोमबार जाँचबुझ आयोग बनाउनेसहितका चारबुँदे सहमतिपछि मिटरब्याजीपीडित बसिरहेको स्थानमा पुगेर सम्बोधन गर्दै उपप्रधानमन्त्री लामिछानेले सो कुरा बताउनुभएको हो ।

उपप्रधानमन्त्री लामिछानेले परिस्थिति कल्पना गरेभन्दा फरक आए पनि एकै ठाउँमा उभिने उल्लेख गर्दै यो सुरुआत भएको र अझै सङ्घर्ष बाँकी नै रहेको उल्लेख गर्नुभयो । हिँडेर खुट्टा पट्पटी फुट्ने अवस्था नआओस् भन्नेतर्फ सरकार सचेत रहेको उहाँले बताउनुभयो ।

असमान व्यवस्था अन्त्य होस् भनेर हामीले सहमति गरेको बताउँदै उपप्रधानमन्त्री लामिछानेल मिटरब्याजीपीडितसामु बोल्दै हामीले तपाईंहरुलाई दुःख दिएको र सुख दिन नसकेकामा क्षमा माग्छौँ भन्नुभयो । उहाँले आयोगले विभिन्न उपायसहित सरकारलाई सुझाव दिने र त्यही आधारमा सरकार अघि बढ्ने जानकारी गराउनुभयो ।

सोमबार भएको सम्झौताको विषयमा समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जानकारी गराइसकेको उपप्रधानमन्त्री लामिछानेले बताउनुभयो । “सहमतिलाई कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो काँधमा छ, अलिकति समय दिनुहोला, अन्याय पर्दा खबरदारी गर्न भने नछाड्नुहोला”, उहाँले भन्नुभयो ।

गृहमन्त्रालमया सोमबार भएको सहमतिपत्रको पहिलो बुँदामा पीडितको समस्या दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने भएकाले जाँचबुझ आयोग ऐन २०२६ बमोजिम तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी अनुचित लेनदेन (मिटरब्याज) विरुद्ध जाँचबुझ आयोग गठन गर्ने उल्लेख छ ।

यसैगरी, आयोगको कार्यादेशअनुसार जाँचबुझ गरी सरकारसमक्ष प्रस्ताव पेस गर्ने, आर्थिक समस्याका कारण मिटरब्याजी साहु, महाजनका चङ्गुलमा पर्न नदिन शोषित उत्पीडित वर्गलाई आर्थिक सहायता, राहत र क्षतिपूर्तिका लागि आगामी बजेटमा आवश्यक व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्ने र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिका तर्फबाट हाल चलिरहेको आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमतिमा उल्लेख छ ।

हेर्नुहोस् फागुन २९ गते मंगलवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – साजेदारी कार्यमा बिशेष सजग रहनु होला । नयाँ कार्यको थालनि गर्न राम्रो समय रहेको छ । आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्नाले ईष्ट मित्रको साथ मिल्नेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । कला कौशलका क्षेत्रमा खर्चिएको समय उत्तम रहनेछ ।

बृष राशि – सम्पादित कार्यहरुका क्षेत्रमा सामान्य झन्झट आई पर्नेछ । मान्यजन तथा पारिवारीक साथसहयोगमा केहि दुरताको सामना गर्नु पर्ला । भौतिक साधनको प्रयोगमा बिशेष ध्यान दिनु राम्रो रहनेछ । बिद्या तथा बौधिक क्षेत्रमा भने राम्रो समय रहेको छ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । सवारि साधनको प्रयोमा ध्यान पूर्याउनु होला ।

मीथुन राशि – कामकाजको क्षेत्रमा भने बिशेष सजग रहनु होला अपजसआईपर्ने योग रहेको छ । नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुनेछ । आटँ र शाहसमा बृद्धि भएता पनि साथिभाई हरु टाडिएको अनुभव हुन सक्ला । मनोरञ्जन मुलक यात्राको सम्भाबना रहेकोछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ ।

कर्कट राशि – बोलिको गलत अर्थ लाग्न सक्ला तसर्थ वाणीमा ध्यान दिनुहोला । संचित रकम खर्च हुन सक्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला । सामान्य चोट पटक वा स्वास्थ सम्बन्धी समस्याको सामना गनुपर्नछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ ।

सिंह राशि – ब्यापार ब्यवसायमा सामान्य समस्या देखा पर्न सक्नेछ । खुट्टा तान्ने ब्यक्ति हरुको बृद्धि हुनाले कार्यसम्पादनमा बिशेष होसियार हुनु पर्ने छ । निर्णय गर्ने क्षमतामा कमि आउने छ । खानपानमा रुचि जाग्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । तपाईको सरल मिजासले मित्रजनहरु आकर्शित हुने योग रहेको छ ।

कन्या राशि – खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पनेछ । आर्थिक अभाबको सामन गर्नु पर्ला । मनमा सामान्य चिन्ताले बास गर्नेछ । खानपानको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

तुला राशि – तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । आम्दानिका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला । आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्नाले ईष्ट मित्रको साथ मिल्नेछ ।

बृश्चिक राशि – सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु होला । सभासम्मेलनमा सहभागि हुन सक्ने योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ । आम्दानि मध्यम रहला । बिद्या तथा बौधिक क्षेत्रमा भने राम्रो समय रहेको छ । सबारी साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ ।

धनु राशि – आटँ शाहसमा बृद्यि हुनाले तपाईका बिपक्क्षीहरु कमजोर रहनेछन । सामान्य यात्रा हुनसक्ला । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ । नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुनेछ । आटँ र शाहसमा बृद्धि भएता पनि साथिभाई हरु टाडिएको अनुभव हुन सक्ला ।

मकर राशि – खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जसआउनसक्छ । सामान्य चोट पटक वा स्वास्थ सम्बन्धी समस्याको सामना गनुपर्नछ । नजिकका मित्रजनहरुको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

कुम्भ राशि – मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । पारीबारिक झोर झमेलाले सताउन सक्छ । तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्नेछन । तपाईको सरल मिजासले मित्रजनहरु आकर्शित हुने योग रहेको छ । अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

मिन राशि – अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । पारीबारिक झोर झमेलाले सताउन सक्छ । स्वास्थमा सामान्य समस्या आउन सक्छ । तात्कालिन आर्थीक अभाबको सामना गर्नुपर्नेछ । नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

बेइमानीको राजनीति धेरै समय नटिक्ने नेता कोइरालाको भनाई

मध्यविन्दु (नवलपरासी) – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले बेइमानीको राजनीति धेरै समय नटिक्ने बताउनुभएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पिठौलीमा आयोजित कार्यक्रममा उहाँले वर्तमान सरकार राजनीतिक धोकाबाट बनेको आरोप लगाउनुभयो ।

“केही मुख्यमन्त्री र मन्त्री पद गए पनि कांग्रेसको भविष्यका लागि गठबन्धन टुट्नु राम्रो हो, अब निर्वाचन अगाडि कांग्रेसले कसैसँग पनि गठबन्धन गर्दैन,” नेता कोइरालाले भन्नुभयो ।

गठबन्धनबाट मुक्त भएको कांग्रेसले अब पार्टी सङ्गठन बनाउन र पार्टीभित्रका फरक विचार समूहका साथीहरूसँग मिलेर अगाडि बढ्ने अवसर प्राप्त भएको उहाँको भनाइ थियो ।

रास्वपाले प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने

काठमाडौँ, २८ फागुन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बझाङमा हुने प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने भएको छ ।रास्वपाको केन्द्रीय समितिको आज बसेको बैठकले आगामी वैशाख १५ गते हुने बझाङको प्रदेशसभा उपनिर्वाचनमा भाग नलिने
तर इलाम जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा भने भाग लिने निर्णय गरेको पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले जानकारी दिनुभयो ।

“पार्टीले सरकारमा सहभागी हुने निर्णयलाई अनुमोदन गर्दै सरकारमा सहभागी भएका मन्त्रीहरुलाई सहयोग गर्ने, ऐतिहासिक अवसरलाई सफल बनाउन आवश्यक योगदान र समन्वय गर्ने तथा सरकारको कार्य सम्पादनको आवधिक समीक्षा गर्ने निर्णय भएको छ”, बैठकमा भएका अन्य निर्णयबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “पार्टीका विविध मोर्चा (सरकार, संसद् र सङ्गठन) मा सल्लाह–सुझावका आधारमा सहयोगी टोली गठन गर्दै पार्टीलाई हरेक मोर्चामा सफल बनाउन हरसम्भव कार्य गर्ने निर्णय भएको छ ।”

रास्वपाको केन्द्रीय समितिको बैठकले ⁠पार्टीको केन्द्रीय अनुशासन आयोगमा अधिवक्ता दीपक अधिकारी र अधिवक्ता शान्ता थापालाई मनोनयन गर्ने निर्णय गरेको छ । यसैगरी, केन्द्रीय जनसम्पर्क विभागको प्रमुखमा इश्रामुल्ला मिया र सदस्यमा कुमारबहादुर थापा क्षेत्रीलाई मनोनयन गरेको छ ।

कोशी प्रदेश ट्रफी क्रिकेट : सुदूरपश्चिम र एपिएफ क्लब विजयी

विराटनगर, २८ फागुन : मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र एपिएफ क्लब विजयी भएका छन् ।

विराटनगरको बैजनाथपुर क्रिकेट रङ्गशालामा आज भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई दुई विकेटले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय १७ रन बनायो । बागमतीका लागि शुभ कन्साकारले ३४ बलमा तीन छक्का र चार चौकाको मद्दतमा ४१ तथा रविन जोशीले ३१ रनको योगदान दिए । बलिङतर्फ सुदूरपश्चिमका नारायण जोशीले तीन तथा नरेन साउदले दुई विकेट लिए ।

एक सय सय १८ रनको लक्ष्य पाएको सुदूरपश्चिमले १९ दशमलव दुई ओभरमा आठ विकेट गुमाएर पूरा ग¥यो । सुदूरपश्चिमका लागि नरेन भट्टले ३०, दीपक बोहोराले २२, किरण ठगुन्नाले २१ तथा नारायण जोशीले १६ रनको योगदान दिए । बलिङतर्फ बागमतीका गौतम केसीले तीन तथा विपिन आचार्य र इशान पाण्डेले दुई दुई विकेट लिए ।

जितसँगै सुदूरपश्चिम समूह ‘बी’ मा चार खेलमध्ये तीनमा जित र एकमा पराजित हुँदै ६ अङ्कका साथ अङ्कतालिकाको दोस्रोे स्थानमा उक्लिेको छ । बागमती भने दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । बागमतीले बाँकी दुई खेल जिते पनि समूह चरणबाटै बाहिरिने छ । सुदूरपश्चिम सेमिफाइनल नजिक पुगेको छ ।

आज भएको दोस्रो खेलमा एपिएफ क्लबले घरेलु टोली कोशी प्रदेशलाई चार विकेटले पराजित ग¥यो । पराजित भएसँगै कोशी प्रतियोगिताबाट बाहिरिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय १७ रन बनायो । कोशीका लागि सोनु अन्सारीले ४३, अङ्कित सुवेदीले ३२ र श्रवण यादवले १९ रन बनाए । बलिङतर्फ एपिएफ क्लबका भुवन कार्की, यज्ञमान कुमाल, अमर रौटेला र इर्साद अहमदले दुई दुई विकेट लिए ।

एक सय १८ रनको लक्ष्य एपिएफ क्लबले १८ दशमलव पाँच ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । एपिएफका लागि पुरन विकले ३६, प्रनित थापा मगरले २० र अरुण ऐरीले १५ रनको योगदान दिए । बलिङतर्फ मधेसका फिर्दोस अन्सारीले तीन र दीपेश कँडेलले एक विकेट लिए । समूह ‘ए’ मा तीन खेलमा एकमा जित र दुईमा पराजित कोशी दुई अङ्कका साथ तेस्रो स्थानमा छ । कोशीले अब लिगको अन्तिम खेल मङ्गलबार आर्मीसँग खेल्ने छ । दुई खेलमध्ये एकमा जित र एकमा पराजित भएको एपिएफ क्लब दुई अङ्कका साथ चौथो स्थानमा छ ।

मङ्गलबार पहिलो खेल कोशी प्रदेश र आर्मी क्लबबीच तथा दोस्रो खेल बागमती प्रदेश र गण्डकी प्रदेशबीच हुने मोरङ क्रिकेट सङ्घका अध्यक्ष महम्मद साद बाबु कुरैसीले जानकारी दिए । गत माघदेखि अनावश्यक स्वास्थ्य परीक्षणलाई कम गर्नका लागि बोर्डले सहभुक्तानी प्रणाली लागू गरेको हो । कार्यकारी निर्देशक डा बसौलाका अनुसार सहभुक्तानीले १५ शय्यासम्मका आधारभूत अस्पतालमा भने लागू हुँदैन । सङ्घीय तथा प्रादेशिक अस्पताल, विशेषज्ञ सेवा उपलब्ध भएका आधारभूत अस्पताल, सबै निजी, सहकारी, सामुदायिक अस्पताल, मेडिकल कलेजमा भने सहभुक्तानी प्रणाली लागू हुने कार्यविधिमा उल्लेख गरिएको छ ।

बिमितले अब निजीमा उपचार गराउँदा २० प्रतिशत रकम तिर्नुपर्ने

काठमाडौं, २८ फागुन : स्वास्थ्य बिमा बोर्डले निजी अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने भएको छ ।

बोर्डले स्वास्थ्य बिमा कार्यक्रम सहभुक्तानी लागू गर्ने कार्यविधि २०८० संशोधन गरेर अबदेखि बोर्डमा आबद्ध बिमितले निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम उपचार खर्चबापत तिर्नुेपर्ने बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारी अस्पतालमा उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने हुन्छ ।

यसअघि गत माघ १ गतेदेखि सरकारी, निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्दा १० प्रतिशत रकम तिर्ने व्यवस्था गरिएको थियो । बोर्ड पनि पुनः कार्यविधि संशोधन गरेर सरकारी र निजी तथा सामुदायिक अस्पताललाई छुट्टाछुट्टै सहभुक्तानी रकम तोकेको हो ।

उहाँले सरकारी अस्पतालको क्षमतामा विकास गर्न र बिरामीको सरकारी अस्पतालप्रति आकर्षण गराउन सरकारी अस्पतालमा उपचार गर्दा १० र निजी तथा सामुदायिक अस्पतालमा २० प्रतिशत सहभुक्तानी राखिएको बताउनुभयो ।

गत माघदेखि अनावश्यक स्वास्थ्य परीक्षणलाई कम गर्नका लागि बोर्डले सहभुक्तानी प्रणाली लागू गरेको हो । कार्यकारी निर्देशक डा बसौलाका अनुसार सहभुक्तानीले १५ शय्यासम्मका आधारभूत अस्पतालमा भने लागू हुँदैन । सङ्घीय तथा प्रादेशिक अस्पताल, विशेषज्ञ सेवा उपलब्ध भएका आधारभूत अस्पताल, सबै निजी, सहकारी, सामुदायिक अस्पताल, मेडिकल कलेजमा भने सहभुक्तानी प्रणाली लागू हुने कार्यविधिमा उल्लेख गरिएको छ ।

चीन, रुस र इरानले संयुक्त नौसैनिक अभ्यास गर्ने

चीन, रुस र इरानका नौसेनाहरूले यसै साता ओमानको खाडीमा संयुक्त अभ्यास गर्ने बेइजिङले सोमबार बताएको छ ।

चीनको रक्षा मन्त्रालयद्वारा सामाजिक सञ्जाल विच्याटमा प्रकाशित विज्ञप्तिअनुसार सोमाबारदेखि शुक्रबारसम्म आयोजना हुने सैन्य गतिविधिको उद्देश्य ‘क्षेत्रीय सामुद्रिक सुरक्षालाई संयुक्तरूपमा कायम राख्ने’ रहेको छ । विज्ञप्तिमा धेरै विवरण उल्लेख नगरी भनिएको छ, “चीनले अभ्यासमा सहभागिता जनाउनका लागि निर्देशित–मिसाइल विनाशक उरुम्की, निर्देशित–मिसाइल फ्रिगेट लिनी र व्यापक आपूर्ति जहाज डोङपिङ्हु पठाउने छ ।”

यस क्षेत्रमा गत वर्ष मार्चमा यी तीनै मुलुकबीच ‘सेक्युरिटी बन्ड २०२३’ नामक अभ्यास भएको थियो । गाजामा युद्ध चर्किएको र यमनमा इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागरमा जहाजहरूमा आक्रमण सुरु गरेकाले यस वर्षको संयुक्त अभ्यासको चरण यस क्षेत्रमा बढ्दो तनावसँग मेल खाएको छ ।

मुलुकको प्रशान्त फ्लिटबाट भर्याग क्रुजरको नेतृत्वमा जहाजहरूको एउटा टुकडी अभ्यासअघि सोमबार इरानी बन्दरगाह चाह बहार आइपुगेको रुसी राज्य मिडियाले बताएको छ ।

“अभ्यासको व्यावहारिक हिस्सा अरब सागरमा ओमानको खाडीको पानीमा हुनेछ”, रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सीहरूले भनेका छन्, “युद्धाभ्यासको प्रमुख उद्देश्य भनेको सामुद्रिक अर्थिक गतिविधिको सुरक्षामा काम गर्नु हो ।”

हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन हुने क्लिङ्करको उत्पादन कार्य बन्द

बागमती, २८ फागुन : सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन हुने क्लिङ्करको उत्पादन कार्य बन्द भएको छ । उद्योगमा क्लिङ्कर उत्पादनका लागि आवश्यक रहेको कोइलाको अभाव तथा मेसिनमा आएको खराबीका कारण सो सिमेन्ट उद्योगद्वारा उत्पादन हुने क्लिङ्कर उत्पादन रोकिएको उद्योग प्रशासनले जनाएको छ ।

कोइलाका माध्यमबाट भट्टीमा पत्थर अर्थात् ढुङ्गालाई गलाएर क्लिङ्कर बनाउने गरिन्छ । आवश्यक प्राविधिक प्रक्रियाबाट क्लिङ्कर तथा जिप्सनलाई मिसाएर सिमेन्ट उत्पादन गरिन्छ । त्यसकारण आजदेखि क्लिङ्कर उत्पादन बन्द रहेको बताइएको छ ।

उद्योगमा विगतमा उत्पादन भएको क्लिङ्करको मौज्दात पूर्णरुपमा रहेकाले सिमेन्टको उत्पादन भइरहेको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले जानकारी दिनुभयो । कोइलाको समस्या हटाउनका लागि उद्योग व्यवस्थापनले कोइला खरिदका लागि प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

कोइला आपूर्ति हुनासाथ क्लिङ्कर उत्पादन हुने उहाँले बताउनुभयो । अर्कातिर सो उद्योगद्वारा उत्पादित सिमेन्टको बिक्री वितरण भइरहेको जनाइएको छ । कोइलालगायत विभिन्न कारणले गत असोजदेखि सिमेन्टको उत्पादन बन्द रहेको सो उद्योग माघको पहिलो हप्ताबाट सञ्चालनमा आएका हो । अहिले क्लिङ्करबाहेक सिमेन्ट उत्पादन भइरहेको छ ।

दैनिक सात सय ५० टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको सो उद्योगको पुरानो मेसिनरी समस्या, बजार समस्या, प्रतिस्पर्धामा कमीलगायत नयाँ प्रविधि र जनशक्तिको अभावले गर्दा उत्पादन आफ्नो क्षमताअनुसार नहुँदा उद्योग विगत चार आर्थिक वर्षदेखि घाटामा रहेको उद्योगका तथ्याङ्कले जनाएको छ ।

उद्योगले चालू आर्थिक वर्षको छ महिनामा दुई लाख ४९ हजार चार सय ५६ बोरा सिमेन्ट बिक्री गरेको छ । चालू आर्थिक वर्षको साउनमा ४८ हजार नौ सय ५५ बोरा, भदौमा ४५ हजार पाँच सय १० बोरा, असोजमा ५१ हजार चार सय ८२ बोरा, कात्तिकमा २२ हजार तीन सय ८७ बोरा, मङ्सिरमा २५ हजार तीन सय ३७ बोरा तथा पुसमा ५५ हजार सात सय ८५ बोरा सिमेन्ट उत्पादन गरेको उद्योगले जनाएको छ ।

हाल त्यहाँ प्राविधिक तथा प्रशासनिक र ज्यालादारी गरी करिब तीन सय कर्मचारी तथा कामदार कार्यरत छन् । विसं २०३३ मा एसियाली विकास बैङ्कको सहयोगमा उद्योग स्थापना गरिएको बताइएको छ । निजी क्षेत्रको लगानीमा हेटौँडामा रहेको शिवम् सिमेन्ट उद्योग तथा ऋद्धिसिद्धि सिमेन्ट उद्योग निरन्तर सञ्चालनमा रहेको ती उद्योगका प्रशासनले जनाएको छ ।

सेना दिवसमा आयोजित ‘युनिटी रन’मा सञ्जिव र तुलसी पहिलो

महेन्द्रनगर । नेपाली सेनाको सुदूरपश्चिम पृतनाद्वारा २६१औँ सेना दिवसका अवसरमा धनगढीमा आज आयोजित ‘युनिटी रन’ (एकताका लागि दौड) प्रतियोगितामा सञ्जिव नेपाली पहिलो भएका छन् । पुरुष खुल्लातर्फको १० किलोमिटर दौडमा पहिलो हुँदै उनी माउन्टेन बाइकसहित रु १५ हजार, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन् ।

नेपाली सेनाको सुदूरपश्चिम पृतनाका अनुसार उक्त दौडमा करण लोहार दोस्रो तथा दीपेन्द्र नाथ तेस्रो भए । दोस्रो भएका लोहारले रु १० हजार तथा तेस्रो भएका नाथले रु सात हजार पुरस्कार प्राप्त गरेका छन् ।

यसैगरी १० किलोमिटर दौडमा महिलातर्फ तुलसी रावत पहिलो, सुशीला महत दोस्रो तथा राधिका भण्डारी तेस्रो भए । पहिलो भएकी रावतले माउन्टेन बाइकसहित रु १५ हजार, दोस्रो भएकी महतले रु १० हजार र तेस्रो भएकी भण्डारीले रु सात हजारबाट पुरस्कृत भए ।

नेपाली सेनाले धनगढीस्थित रङ्गशालामा सेना दिवसका अवसरमा तीनदिने विविध सैनिक प्रदर्शनीका साथै ‘युनिटी रन’को आयोजना गरेको हो । यसैगरी कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजना गरेको पाँच किलोमिटर दौडमा छात्रातर्फ नेहा खड्का प्रथम, बागेश्वरी धामी द्वितीय र दिपिका जोशीले तृतीय भइन् । खड्काले माउन्टेन बाइकसहित नगद पुरस्कार प्राप्त गरिन् । सोही विधामा छात्रतर्फको पाँच किलोमिटर दौडमा विक्रम पार्की प्रथम, अमित आउजी द्वितीय र लक्ष्मण शाही तृतीय भए । पार्कीले माउन्टेन बाइकसहित नगद पुरस्कार प्राप्त गरे ।

यसैगरी कक्षा १० सम्मका विद्यार्थीका लागि आयोजना गरेको पाँच किलोमिटर दौडमा छात्रातर्फ कमला बडुवाल प्रथम, लक्ष्मी भट्ट द्वितीय र पवित्रा सार्कीले तृतीय स्थान प्राप्त गरे । उपाधि विजेता बडुवालले माउन्टेन बाइकसहित नगद पुरस्कार प्राप्त गरिन् । छात्रतर्फ पाँच किलोमिटर दौडमा मोहन विष्ट पहिलो, नन्दकिशोर विष्ट दोस्रो र लक्ष्मण महरा तेस्रो भए । उनीहरुले क्रमशः रु १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताका विजेता खेलाडीलाई सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट, नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति गणेशकुमार श्रेष्ठ, पृतनाका सहायक रथी सुरत रावल, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी मनोज थापा, सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, सैनिक श्रीमती सङ्घका पदाधिकारीलगायतले पुरस्कार प्रदान गरेका थिए ।

लुम्बिनी बौद्ध विश्वविद्यालय विश्वकै आकर्षणको शैक्षिक केन्द्र बन्नेछ : नेता पौडेल

लुम्बिनी, २८ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता विष्णुप्रसाद पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालय विश्वकै आकर्षणको शैक्षिक केन्द्र बन्ने बताउनुभएको छ । बौद्ध दर्शनको प्राध्यापन बुद्ध जन्मेको स्थानमा हुनु विश्वका अध्येताका लागि महत्वपूर्ण रहेको भन्दै उहाँले यसको प्राज्ञिक विकासमा सरकारको विशेष भूमिका हुनुपर्ने बताउनुभयो ।

रुपन्देहीको देवदहमा निर्माण भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको शैक्षिक एवं प्रशासनिक भवनको आज उद्घाटन गर्दै पूर्वमन्त्री पौडेलले पदाधिकारीले देवदहमा महत्वपूर्ण परियोजना निर्माणको प्रक्रिया सुरु भएको बताउनुभयो । उहाँले बौद्ध विश्वविद्यालयलाई सरकारी दायित्वबाट सञ्चालन गर्ने योजनासहित ऐन संशोधन गर्नमा आफ्नो प्रयत्न रहेको स्मरण गर्दै विश्वविद्यालयलाई मुलुककै नमूना उच्च शिक्षाको केन्द्र बनाएर लैजानुपर्ने बताउनुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीको देवदहमा शैक्षिक पूर्वाधार निर्माणका लागि करिब रु एक खर्बको परियोजना सञ्चालन गर्ने तयारी गरेको छ । विश्वविद्यालयको प्राज्ञिक विकासका लागि देवदहमा रु एक खर्बको परियोजना सुरु भएको जनाउँदै उहाँले परियोजना सम्पन्न गर्ने दायित्व सबैको रहेको बताउनुभयो । “यो विशाल संरचना हो, रु एक खर्ब लागतमा सम्पन्न हुनेछ,” उहाँले भन्नुभयो, “पूर्वाधार निर्माणको चरणलाई सबै पक्षले सहयोग गर्नुपर्छ ।”

पूर्वमन्त्री एवं सांसद छविलाल विश्वकर्माले देवदहको विशाल पूर्वाधारको निर्माण विश्वविद्यालयले गर्न लागेको भन्दै सबै पक्षबाट यसमा सहयोगको अपेक्षा रहेको बताउनुभयो । उहाँ देवदहबासीका लागि देवदह शैक्षिकग्रामका रुपमा स्थापित हुने भन्दै यसको निर्माण सम्पन्न हुँदा अन्तरराष्ट्रिय आकर्षणको केन्द्र बन्ने बताउनुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्णलाल बज्राचार्यले देवदहमा २० हजार विद्यार्थीले अध्ययन गर्न मिल्ने गरी सुविधा सम्पन्न संरचना निर्माण हुने जानकारी दिनुभयो । विश्वविद्यालयको देवदह शैक्षिक केन्द्रमा १६ हजार विदेशी र चार हजार नेपाली विद्यार्थीले अध्ययन गर्ने उपकुलपति बज्राचार्यले जानकारी दिनुभयो । विश्वविद्यालयको पूर्ण संरचना तयार हुँदा स्थानीयलाई प्रत्यक्ष लाभ हुने उत्पादनमुखी शैक्षिक कार्यक्रम सञ्चालन हुने उहाँले बताउनुभयो ।

विश्वविद्यालयका रजिष्टर डा तिलकराम आचार्यले लुम्बिनी, देवदह र बुटवललाई तीन शैक्षिक केन्द्रका रुपमा विकास गर्ने गरी विश्वविद्यालयले योजना बनाएको बताउनुभयो । विश्वविद्यालयले देवदहमा नौवटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भवन, अस्पताल, प्राथमिक तथा आधारभूत विद्यालय, छात्राबास, शिक्षक तथा कर्मचारी आवास केन्द्र, अनुसन्धान केन्द्र, सङ्ग्रहालय, गेष्ट हाउस भिल्लासहितका संरचना बन्नेछन् ।

रङ्गशालासहित पर्यटकीय आकर्षण गर्ने संरचना बौद्ध संस्कृति झल्किने शैलीमा बन्ने गरी ‘डिजाइन’ गरिएको छ । पूर्वाधार निर्माणका लागि स्रोत जुटाउन विश्वविद्यालयले बोर्ड अफ ट्रष्टी बनाउने जनाएको छ । रजिष्ट्रार डा आचार्यले पूर्वाधार निर्माणका लागि केही दातृ निकायले प्रतिबद्धता जनाइसकेको बताउनुभयो ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले देवदहबासीले दिएको जमिनमा पूर्वाधार निर्माण सुरु भएको भन्दै खुसी व्यक्त गर्नुभयो । विश्वविद्यालय सभाका सदस्य कपिल लामाले बौद्ध शिक्षासहितका कार्यक्रम सञ्चालन गरी विद्यार्थी सङ्ख्या बढाउँदै लैजानुपर्ने बताउनुभयो ।

देवदहमा भवन निर्माणसँगै लुम्बिनी बौद्ध विश्वविद्यालयका संरचना तीन स्थानमा विस्तार भएका छन् । लुम्बिनी, बुटवल र देवदहबाट शैक्षिक कार्यक्रम सञ्चालन गरेको विश्वविद्यालयमा हाल ३० शैक्षिक कार्यक्रम सञ्चालित छन् । विश्वविद्यालयमा दुई हजार १३ विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

महासङ्घको पहलमा देशैभरका उद्यमी व्यवसायीको सहभागिता रहने गरी लगानी कम्पनी स्थापना हुने

काठमाडौँ, २८ फागुनः नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा देशैभरका उद्यमी व्यवसायीको सहभागिता रहने गरी लगानी कम्पनी स्थापना हुने भएको छ । महासङ्घले आज एक प्रेस विज्ञप्ति जारी गर्दै लगानी कम्पनी स्थापनाको तयारी भइरहेको जानकारी दिएको हो ।

उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्नसक्ने र कम्पनीमार्फत विभिन्न परियोजनामा लगानी गरिने जनाइएको छ । कम्पनीको अधिकृत पुँजी रु १० अर्ब हुनेछ । यसमा महासङ्घका सदस्यबाहेकका व्यवसायीले पनि लगानी गर्नसक्ने महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको वार्षिक साधारणसभामा बोल्नुहुँदै अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रबाट आवश्यक पहल गरिरहेको बताउनुभयो । राजनीतिक दलको आर्थिक विषयमा समान एजेण्डा हुन नसक्दा समन्वय र सुधार नभएको बताउनुहुँदै अध्यक्ष ढकालले महासङ्घको आगामी चैत अन्तिम साता आयोजना हुने वार्षिक साधारणसभामा सबै दलहरुको ऐक्यबद्धता खोजिने पनि उहाँको भनाइ छ ।

महासङ्घले सुधारका लागि निरन्तर प्रयास गरिरहेको र गत असोजमा आयोजित बृहत् आर्थिक बहस यसको कोशेढुङ्गा सावित भएको ढकालको दाबी छ । उक्त आर्थिक बहस आयोजनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वपक्षीय भेला आयोजना गरेको स्मरण गराउनुहुँदै अध्यक्ष ढकालले त्यसपछि वित्तीय क्षेत्रमा सुधार भएको बताउनुभयो ।

एमालेलाई सुदृढ बनाउनुको विकल्प छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

बैतडी, २८ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई सुदृढ बनाउनुको विकल्प नरहेको बताउनुभएको छ । बैतडीको पाटनमा आज एमाले बैतडीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले पार्टीलाई सुदृढ बनाएर राष्ट्रिय शक्तिका रूपमा अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, “एमालेलाई सुदृढ बनाउनुपर्छ, पार्टीलाई एकताबद्ध भएर लैजानुपर्छ । एमाले जनताको बलमा बाँचेको पार्टी भएकाले राष्ट्रिय शक्तिका रूपमा अगाडि बढ्नुपर्छ । यही राष्ट्रिय शक्तिले भोलि राष्ट्रको नेतृत्व गर्नुपर्छ । जनताको स्वार्थसित सम्बन्धित रहेर पार्टी अगाडि बढ्नुपर्छ । पार्टी जनआधारित हुनुपर्छ, जनप्रिय पार्टी बनाउनुपर्छ ।”

जनताको विश्वासको मत प्राप्त गर्न एमाले ‘मिसन–८४’ मा अघि बढेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालले बहुमत ल्याए मात्रै देशमा समृद्धि आउने बताउनुभयो । “एमालेले बहुमत ल्याएर सुशासन ल्याउनुपर्छ । मिसन–८४ मा अहिलेदेखि लागौँ । नयाँ गठबन्धनले मिसन–८४ लाई सहयोग पुग्छ”, उहाँले भन्नुभयो ।

देशमा विकासका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले अघिल्लो गठबन्धन एमालेलाई सिध्याउने हिसाबले हिँडेकाले असफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो गठबन्धनको सरकारले देशमा सुशासन दिन सकेन, भ्रष्टाचार बढ्यो, युवा पलायन भए, अर्थतन्त्र धराशायी भयो ।” नयाँ गठबन्धनमाथि जनताको ठूलो भरोसा रहेकाले कृषिको आधुनिकीकरण तथा व्यावसायिकताका साथै शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । युवालाई हरेक तहको नेतृत्वमा ल्याउनुपर्ने उहाँको भनाइ थियो ।

इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो

इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा बाढी र पहिरोबाट मर्नेहरूको सङ्ख्या २६ पुगेको राष्ट्रिय विपद् न्यूनीकरण निकाय (बीएनपीबी) ले सोमबार बताएको छ । उद्धारकर्मीहरूले माटो र भग्नावशेषमा ११ जना बेपत्ता मानिसहरूको खोजी गरिरहेका छन् ।

विपद् न्यूनीकरण निकायका प्रवक्ता अब्दुल मुहारीले प्रकोपबाट कम्तिमा ३९ हजार मानिस प्रभावित भएको र एजेन्सीले स्थानीय अधिकारीहरूसँग मिलेर विपद् न्यूनीकरणलाई गति दिन र प्रभावितलाई सहायता वितरण गर्न काम गरिरहेको बताउनुभयो ।

गत बिहीबार भारी बर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण हजारौं घर र सार्वजनिक क्षेत्रहरू डुबानमा परेका थिए । उक्त प्राकृतिक विपत्तिका कारण हजारौँ नागरिक विद्युतविहिन बनेका छन् भने प्रान्तीय प्रशासनले दुई हप्ताका लागि प्राकृतिक विपत्को चेतावनी जारी गरेको छ ।

‘प्यासिफिक रिंग अफ फायर’मा अवस्थित इन्डोनेसियामा बारम्बार शक्तिशाली आँधी आउने हँुदा आकस्मिक बाढी र पहिरो जाने गर्छ । उक्त क्षेत्र भूकम्प र ज्वालामुखी विस्फोटबाट पनि निरन्तर प्रभावित हुनेगर्छ ।

युद्धविराम नहुने सङ्केतबीच गाजामा प्यालेस्टिनीहरूको रमजान सुरु

प्यालेस्टिनीहरूले सोमबार रमजानका लागि उपवास सुरु गरेका छन् । युद्धविराम वार्ता रोकिएको, गाजा क्षेत्रमा भोकमरीले स्थिति बिग्रँदै गएको तथा इजरायल र हमासबीच पाँच महिनादेखि जारी युद्धको कुनै अन्त्य नदेखिएको अवस्थामा मुसलमानहरूको पवित्र महिना रमजान सुरु भएको छ ।

आइतबार राति ध्वस्त भवनहरूको भग्नावशेषबीच बाहिर प्रार्थना गरिएको थियो । केही मानिसले खचाखच भरिएको पाल शिविरलाई बत्तीसहित सजाएका छन् । आश्रयस्थमा परिवर्तन भएको संयुक्त राष्ट्र–विद्यालयको एक भिडियोमा बालबालिकाहरू नाच्दै फोम छर्किरहेको देखाइएको थियो भने एकजना मानिसले लाउडस्पिकरमा गाइरहेका थिए ।

यद्यपि पाँच महिनाको युद्धपछि खुशीयाली मनाउनका लागि केही पनि थिएन । युद्धमा ३० हजारभन्दा धेरै प्यालेस्टिनी मारिएका छन् भने गाजाका अधिकांश हिस्सा तहसनहस भएको छ । परिवारले सामान्यतया बिदाको भोजका साथ दैनिक उपवास तोड्छन् तर भोजन उपलब्ध भएका स्थानमा डिब्बाबन्द सामानबाहेक केही पनि छैन र धेरै मानिसका लागि ती सामानको मूल्य धेरै महँगो भएको छ ।

दक्षिणी सहर रफामा आइतबार खाना किन्दै गरेका सबा अल–हेन्डीले भन्नुभयो, “तपाईं कसैको आँखामा खुशी देख्नुहुन्न, प्रत्येक परिवार दुःखी छ र हरेक परिवारमा एक जना शहीद छन् ।”

अमेरिका, कतार र इजिप्टले सामान्यतया रमाइलोसँग बिहानदेखि साँझसम्म उपवास बस्ने महिनाअघि युद्धविराम हुने आशा गरेका थिए । दर्जनौँ इजराइली बन्धक र प्यालेस्टिनी बन्दीहरूको रिहाइ तथा गाजामा ठूलो सङ्ख्यामा मानवीय सहायता प्रवेशलाई लिएर युद्धविराम वार्ता सुरु भए पनि गत साता वार्ता रोकियो ।

हमासले कुनै पनि सम्झौताले युद्धको अन्त्य गर्ने प्रत्याभूति मागिरहेको छ तर इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासविरुद्ध ‘पूर्ण विजय’ र बाँकी सबै बन्धकको रिहाइ नभएसम्म आक्रमण जारी राख्ने वाचा गर्नुभएको छ ।

अक्टोबर ७ मा हमासको नेतृत्वमा इजराइलमाथि आक्रमण भएपछि युद्ध सुरु भएको हो । हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सय मानिस मारिएका थिए भने दुई सय ५० जनालाई बन्धक बनाइएको थियो । गत वर्ष भएको आदानप्रदानपछि हमाससँग अहिले पनि करिब एक सय बन्दी र ३० जना बाँकी रहेको बताइएको छ ।

युद्धले गाजाका २३ लाख जनसङ्ख्यामध्ये करिब ८० प्रतिशतलाई आफ्नो घरबाट विस्थापित गरेको छ भने लाखौँ मानिसलाई भोकमरीमा धकेलेको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार उत्तरी गाजामा कुपोषण र निर्जलीकरण (पानीको अभाव) ले अधिकांश बालबालिकासहित कम्तीमा २० जनाको मृत्यु भएको छ ।

इजराइली सेनाले अक्टोबरपछि ठूलो मात्रामा उत्तरमा सिल गरेको छ । सहायता समूहहरूका अनुसार इजराइली प्रतिबन्ध, जारी शत्रुता र कानून तथा व्यवस्था भङ्ग हुँदा अधिकांश क्षेत्रमा अत्यावश्यक खाद्यान्न सुरक्षितरूपमा पुर्याउन करिब असम्भव भएको छ ।

यस बीचमा इजराइलले दक्षिणी सहर रफासम्म आफ्नो आक्रमणलाई विस्तार गर्ने वाचा गरेको छ । आक्रमणबाट बच्न सर्वसाधारणहरू कहाँ जान्छन् भन्नेबारेमा कुनै कुरा नगरी रफामा गाजाको आधा जनसङ्ख्याले शरण मागेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रफामा आक्रमण आफ्ना लागि ‘रातो रेखा’ हुने बताउनुभएको छ । यद्यपि उहाँले अमेरिकाले इजराइललाई सैन्य सहायता प्रदान जारी राख्ने बताउनुभएको छ । बाइडेनले रमजानका अवसरमा दिनुभएको सन्देमा पवित्र महिना ‘अत्यधिक पीडाको क्षणमा’ आउँछ भन्नुभएको छ ।

“आगामी दिन र साताहरूमा मुस्लिमहरू आफ्नो उपवास तोड्नका लागि विश्वभर एकत्रित हुँदा प्यालेस्टिनी जनताको पीडा धेरै मानिसको दिमागमा हुनेछ, यो मेरो दिमागको अगाडि छ”, उहाँले भन्नुभयो ।

अमेरिका र अन्य मुलुकले हालैका दिनमा हवाई सहायता पठाउन सुरु गरेका छन् तर मानवीय समूहहरूले यस्तो प्रयास महँगो र अपर्याप्त भएको बताएका छन् । अमेरिकी सेनाले सहायता पुर्याउनका लागि सामुद्रिक पुल बनाउन उपकरणको ढुवानी पनि सुरु गरिसकेको छ तर यो सञ्चालनमा आउन धेरै साता लाग्ने सम्भावना छ ।

दुई सय टन खाद्यान्न लिएर स्पेनी सहायता समूह ओपन आर्म्ससँग सम्बन्धित एक जहाजले नजिकैको साइप्रसबाट गाजाका लागि पाइलट यात्रा गर्ने अपेक्षा गरिएको थियो तर कहिले प्रस्थान हुनेछ भन्ने स्पष्ट छैन । इजराइलले सामुद्रिक डेलिभरीको स्वागत गर्ने र साइप्रस छाड्नुअघि गाजा जाने कार्गोको निरीक्षण गर्ने जनाएको छ ।

साइप्रसमा जहाजलाई गाजाको कुनै अज्ञात स्थलमा पुर्याउन दुईदेखि तीन दिन लाग्ने अनुमान गरिएको छ । सेलिब्रिटी सेफ जोस एन्ड्रेसले स्थापना गर्नुभएको अमेरिकी च्यारिटी वर्ल्ड सेन्ट्रल किचेनले खाना आपूर्ति गर्नेछ । उक्त संस्थाले गाजामा एउटा घाटको निर्माण आइतबारदेखि सुरु भएको बताएको छ । गाजा पुगेपछि सहायतालाई क्रेनबाट उतारेर ट्रकहरूमा राखिनेछ र उत्तरतिर लगिनेछ ।

अमेरिकाले इजराइललाई महत्त्वपूर्ण सैन्य सहायता प्रदान गरेको छ र उसलाई युद्धविरामका लागि अन्तर्राष्ट्रिय आह्वानबाट बचाएको छ । साथै अमेरिकाले इजराइललाई नागरिकहरूलाई हानि पुर्याउनबाट बच्न र मानवीय सहायताको सुविधाका लागि थप प्रयास गर्न आग्रह गरेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार युद्ध सुरु भएपछि अहिलेसम्म कम्तीमा ३१ हजार एक सय १२ प्यालेस्टिनी मारिएको जनाएको छ । मन्त्रालयले आफ्नो गणनामा सर्वसाधारण र लडाकूबीच कुनै भिन्नता गरेको छैन तर मृतकमध्ये दुई तिहाई महिला र बालबालिका रहेको बताएको छ ।

विद्रोहीहरूले घर, विद्यालय र मस्जिदहरू नजिकैका बाक्लो, आवासीय क्षेत्रमा लडाइँ, लडाकूहरू, सुरुङ र रकेट लन्चर राखेकाले इजराइलले सर्वसाधारणको मृत्युका लागि हमासलाई दोष दिएको छ । सेनाले कुनै प्रमाण पेस नगरी १३ हजार हमास लडाकू मारेको बताएको छ ।

शनिबार एमएसएनबिसीसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले इजराइललाई अक्टोबर ७ को आक्रमणको जवाफ दिने अधिकार भएको तर नेतान्याहुले ‘निर्दोष मानिसको ज्यान जाने कुरामा बढी ध्यान दिनुपर्ने’ बताउनुभयो । “तपाईंले ३० हजारभन्दा बढी प्यालेस्टिनीलाई मार्न सक्नुहुन्न”, उहाँले भन्नुभयो ।

मन्त्रिपरिषद् बैठक : तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख पठाउने निर्णय

काठमाडौँ, २८ फागुन : सरकारले गण्डकी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्तिका लागि सिफारिस गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयम आज बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त हुने प्रदेश प्रमुख पदहरुमा नियुक्तिका लागि मधेसमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँको नाम मनोनयनका लागि सिफारिस गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । यसअघि मधेसमा हरिशङ्कर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुखका रुपमा रहनुभएको थियो ।

त्यसैगरी सरकारले मन्त्रिपरिषद्का समितिहरु गठन गरी समितिको समन्वय गर्न संयोजक तोकेको छ । राजनीतिक समितिको संयोजकमा प्रधानमन्त्री, आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार र यातायातमन्त्री, विधेयक समितिको संयोजकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, प्रशासन समितिको संयोजकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री र सामाजिक समितिको संयोजकमा उपप्रधानमन्त्री तथा स्वास्थ्य र जनसङ्ख्यामन्त्रीलाई तोकिएको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री शर्माले भन्नुभयो, “राष्ट्रियसभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)ले उठाएको उम्मेदवारलाई विजयी बनाउने गठबन्धन दलका पार्टीहरु सहमत भएका छन्, सहकार्य गर्ने बेला नै माओवादी केन्द्रलाई राष्ट्रियसभाको अध्यक्ष दिने भन्ने निर्णय भएको थियो, त्यसअनुसार नै माओवादी केन्द्रले उम्मेदवार अगाडि सारेको छ ।”

रूसी राष्ट्रपतीय निर्वाचन : पुटिनसँगको प्रतिस्पर्धामा तीन नयाँ अनुहार

युक्रेनमा रूसको चुनावी अभियानका कारण उत्पन्न उथलपुथलका बावजुद रूसमा आगामी शुक्रबारदेखि आइतबारसम्म राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप छ वर्षको कार्यकालका लागि अनुमोदन गर्नेमा कुनै शङ्का छैन ।

चुनावी अभियानमा युक्रेन आक्रमणको विपक्षमा रहेका बोरिस नादेज्दिन र येकातेरिना डन्टसोभाले आफ्नो उम्मेदवारीको समर्थनमा दशौँ हजार हस्ताक्षर सङ्कलन गर्दै उम्मेदवारीको घोषणा गरेका थिए तर उनीहरूको उम्मेदवारी अस्वीकृत भएको छ ।

पुटिनबाहेक राष्ट्रवादी कन्जरभेटिभ लिओनिद स्लट्स्की, कम्युनिस्ट पार्टीका निकोलाई खारिटोनोभ र प्रसिद्ध व्यापारी भ्लादिस्लाभ दाभानकोभ गरी तीन जना पुटिनसँगको प्रतिस्पर्धामा रहेका छन् । तीनै जनाले युक्रेनविरूद्ध भइरहेको रूसको आक्रमणलाई समर्थन गरेका छन् ।

क्रेमलिनका आलोचकहरूले यी तीन उम्मेदवारको भूमिका विपक्षीहरूलाई दमन गरी पाखा लगाइएको वा देशभित्र उनीहरूको राजनीतिक भूमिका नै अन्त्य गरिएको समयमा मतदानमा बहुलवादी रङ भर्ने र पुटिनविरोधी आलोचनालाई कमजोर पार्ने रहेको औंल्याएका छन् ।

स्वतन्त्र पर्यवेक्षकहरूले पनि मतदानमा धाँधली, मतपत्रमा अनियमित रूपमा गैर–मतदाताबाट छाप हान्ने र यथास्थितिलाई समर्थन गर्न राज्यका लाखौं कर्मचारीहरूलाई प्रयोग गर्ने जस्ता कार्यहरू हुनसक्ने बताएका छन् ।

करिब एक महिना पहिले जेलमा मृत्यु भएको भनिएका विपक्षी नेता एलेक्सी नभाल्नी र उहाँकी पत्नी युलिया नाभाल्नायाले आह्वान गरेअनुसार नेता पुटिनको कार्यकाललाई लम्ब्याउन गरिने ‘तथाकथित निर्वाचन’को विरोधमा कुनै विरोध प्रदर्शन हुन सक्छ कि सक्दैन अहिले विश्वको ध्यान त्यसतर्फ गएको छ ।

गत महिना मस्कोमा नभाल्नीको अन्त्येष्टिमा हजारौं समर्थकले सरकार विरोधी नारा लगाएका थिए ।नभाल्नीकीको मृत्युका कारण शोकमा रहेकी उहाँकी पत्नीले आफ्ना समर्थकलाई आइतबार स्थानीय समयअनुसार बिहान ९ बजे मतदान केन्द्रमा आएर पुटिनबाहेक अरुलाई मतदान गरेर वा मतपत्रमा ‘नाभाल्नी’ लेखेर मतदान रद्द गर्दै विरोध गर्न आग्रह गर्नुभएको छ ।

निर्वाचनको परिणाममा कुनै शङ्का नभए पनि पुटिनको आन्तरिक र अन्तर्राष्ट्रिय वैधतालाई मजबुत बनाउन सरकारले कडा अभियान चलाइरहेको छ । युक्रेनमा रूसी आक्रमणको सफलताका र विपक्षीहरूको आवाज दमनमा परेको समय भएकोले नेता पुटिन अहिले सहज स्थितिमा रहनुभएको छ । कीएभका लागि पश्चिमी समर्थन र रूसविरूद्धको व्यापक प्रतिबन्धहरूको बावजुद रूसी अर्थव्यवस्था लचिलो साबित भएको छ ।

पुटिनले हालैका हप्ताहरूमा सञ्चारमाध्यममा उपस्थिति बढाउनुभएको छ । विद्यार्थीहरूलाई भेट्नुभएको छ । कारखानाहरूमा पुगी श्रमिकहरूको मन जित्ने कोशिश गर्दै उनीहरूको लाभका लागि व्यापक आश्वासन दिनुभएको छ । यद्यपि, रूसी राष्ट्रपतिले करिब २५अघि सत्तामा आएदेखि अहिलेसम्म चुनावी बहसमा भाग लिनुभएको छैन र अहिले पनि यो सम्भावना छैन ।

गत महिना ‘स्टेट अफ द नेसन’को भाषणमा राष्ट्रपति पुटिनले विद्यालय र पूर्वाधारको आधुनिकीकरण, गरिबी निवारण, वातावरण संरक्षण र प्रविधिको विकासका लागि अर्बौं रुबल प्रदान गर्दै बजेट प्रतिबद्धताको लामो शृङ्खलाको घोषणा गर्नुभएको थियो । कम्तीमा सन् २०३० सम्मका लागि सरकारको योजना सार्वजनिक गरिएको सम्बोधनमा पुटिनले रूसको एकता र विकासमा जोड दिनुभएको छ ।

यद्यपि युद्धपछि पनि रूसी अर्थव्यवस्था अपेक्षा गरेभन्दा सहज अवस्थामा देखिएको भएपनि धेरै रूसीहरू युक्रेनविरूद्धको अभियानले उत्पन्न अस्थिरताको बारेमा चिन्तित छन् भने विशेष गरी खाद्यान्नलगायत उपभोग्य वस्तुको बढ्दो मूल्यप्रति चिन्तित छन् ।

युक्रेन युद्धमा हजारौं युवा लडिरहेका वा मृत्यु भएका कारण श्रमको अभाव बढेको छ भने लाखौं अन्य मानिसहरू द्वन्द्वको विरोध गरेका कारण वा सैन्य सेवाबाट बच्न विदेश पलायन भएका छन् ।

आफ्ना प्रियजनलाई मोर्चाबाट फर्कन दिइयोस् भन्ने माग गर्दै आएका सैनिकका पत्नीहरूले हालैका महिनाहरूमा गरेको प्रदर्शनमा अधिकारीहरूले निकै कडाइ गरेका छन् ।देशभरि देशभक्तिका पोस्टरहरू टाँसिएको छ, जसमा रूसीहरूलाई मतदान गर्न आह्वान गरिएको छ ।चुनावी पोस्टरमा युक्रेनमा रूसी सेनाले प्रयोग गरेको ‘भी’ चिन्ह र ‘सँगै हामी बलियो छौं’ भन्ने नारा छापिएको छ र भनिएको छ, “आउनुहोस् रूसको लागि मतदान गरौं !”

पुटिनले गत डिसेम्बरमा मतदानमा सम्भावित ‘विदेशी हस्तक्षेप’ बारे चेतावनी दिँदै ‘कडा प्रतिक्रिया’ दिने प्रतिवद्धता जनाउनुभएको थियो । गत साता रूसी प्रशासनले अमेरिकी राजदूत लिन ट्रेसीलाई बोलाएर अमेरिकी आर्थिक सहयोगमा सञ्चालित गैरसरकारी संस्थाहरूले निर्वाचनबारे ‘गलत सूचना फैलाएको’ आरोप लगाएको थियो ।

जारी द्वन्द्वका बीच रूसी अधिकारीहरूले सामान्य अवस्था प्रस्तुत गर्न खोजेको विरोधाभासको सङ्केतको रूपमा युक्रेनको रूसी नियन्त्रित क्षेत्रहरूमा मतदान हुनेछ ।रूसले सन् २०२२ मा युक्रेनका चार क्षेत्रलाई एकतर्फी रूपमा आफ्नो कब्जामा लिएको घोषणा गरेको थियो ।

अहिले रूसी कब्जामा लिइएका स्थानीय बासिन्दालाई धम्की र हिंसाको सिकार बनाइँदैछ र उनीहरूलाई मतदान गर्न बाध्य पारिदै गरिएको आरोप कीएभले लगाएको छ । मस्कोले मतदानका लागि अनावश्यक दमन र हिंसाको खेल खेलिएको भन्ने युक्रेनी आरोपको खण्डन गर्दै आएको छ ।युक्रेनमा तैनाथ रुसी सैनिकले तत्काल रूसी निर्वाचनका लागि मतदान गर्ने वातावरण भने देखिएको छैन ।

अस्ट्रेलिया : विमानमा प्राविधिक समस्या आउँदा विरामी परेका १२ जना उपचारका लागि अस्पताल भर्ना

सिड्नीबाट अकल्याण्डका लागि उडेको लाटामको विमानमा प्राविधिक समस्या आएपछि एक्कासि कम्पन हुँदा विरामी परेका १२ यात्रुलाई सोमबार अस्पताल भर्ना गरिएको विमान कम्पनी र सुरक्षाकर्मीले सोमबार एएफपीलाई जानकारी दिएका छन् ।

तस्मान सागरमा एलए ८०० विमानमा समस्या आएका कारण विमानमा कम्पन आउँदा कम्तीमा एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।यात्रुहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार विमानको उचाई एक्कासी गुमेको र सिटबेल्ट नभएकाहरू सीटमा उफ्रेका थिए ।

प्रत्यक्षदर्शी यात्रुले रेडियो नेटवर्क आरएनजेडसँग भन्नुभयो, “सिटबेल्ट नलगाएका कारण मानिसहरू सीटमा उफ्रिएका थिए ।”आवाज थरथर काँपिरहेको अवस्थामा उहाँले भन्नुभयो, “केही मानिस गम्भीर घाइते भएका छन् । यात्रुहरू पनि साँच्चै डराएका थिए ।”

चिलीस्थित एयरलाइन्सका प्रवक्ताले उडानका क्रममा भएको प्राविधिक घटनाका कारण विमानमा ‘ठूलो हलचल’ भएको बताउनुभएको छ । “विमान अकल्याण्ड विमानस्थलमा निर्धारित समयमा अवतरण गरेको थियो,” उहाँले भन्नुभयो ।

घटनाको कारण खुल्न सकेको छैन ।सेन्ट जोन न्युजिल्यान्ड एम्बुलेन्स सेवाका जेरार्ड क्याम्पबेलले विमान न्युजिल्यान्डको अकल्याण्ड सहरमा ओर्लिएपछि चिकित्सकलाई समस्याबारे जानकारी गराइएको बताउनुभयो ।

घाइतेको उपचारका लागि एक दर्जनभन्दा बढी एम्बुलेन्स र अन्य मेडिकल गाडीको टोली विमानस्थलमा पुगेको थियो ।क्याम्पबेलले भन्नुभयो, “हाम्रो एम्बुलेन्स चालक दलले लगभग ५० जना बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचार गरेको थियो, जसमा एक बिरामी गम्भीर अवस्थामा थिए र बाँकी मध्यम देखि सामान्य अवस्थामा थिए ।”

विरामी सबै जनालाई अस्पताल पु¥याइएको उहाँले बताउनुभयो । लाटामका अनुसार ‘बोइङ ७८७ ड्रीमलाइनर’ विमानमा उडानका क्रममा समस्या आएको हो ।

अमेरिकी विमान निर्माता कम्पनी बोइङले हालैका वर्षहरूमा घातक लायन एयर र इथियोपियन एयरलाइन्सका ७३७ म्याक्स विमानहरूमा दुर्घटनाग्रस्त भएकालगायत सुरक्षा समस्याहरूको शृङ्खलाको सामना गर्नुपरेको छ ।एअरलाइन्सले भनेको छ, “यस परिस्थितिले निम्त्याएको असुविधाप्रति लाटाम गहिरो खेद प्रकट गर्दछ ।”

मङ्गोलियामा कठोर जाडोका कारण ३९ लाखभन्दा बढी चौपायाको मृत्यु

मङ्गोलियामा यो बर्षको अत्यधिक चिसो हिउदे मौसमका कारण मृत्यु हुने गाईवस्तुहरूको सङ्ख्या ३९ लाख २५ हजार ७३४ पुगेको यहाँको राष्ट्रिय विपत् आयोग (एसईसी) ले सोमबार जनाएको छ ।

मङ्गोलियाका २१ प्रान्तहरूमध्य पूर्वी सुखबातर प्रान्तमा स्थानीय भाषमा ‘जुड’ भनिने कडा चिसोबाट सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ११ लाखभन्दा बढी गाईवस्तुहरूको मृत्यु भएको एसईसीले जनाएको छ । चिसोका कारण हिउ पर्ने र जमिन जमेको हिउँले ढाकिएको कारण ठूलो सङ्ख्यामा प्राणीहरू मर्छन् ।

मङ्गोलियाकोे मौसम अनुगमन निकायका अनुसार मङ्गोलियाले यस बर्षको जाडोमा सामान्यभन्दा धेरै हिम बर्षा र जाडोको सामना गरेको छ । मङ्गोलियाको लगभग ८० प्रतिशत क्षेत्र हिउँले ढाकिएको छ । जीवित घुमन्तेहरूको देश मङ्गोलियाले कठोर जाडोले ठुलो पशुधनको क्षतिको कारण यसको प्रकोप तयारीलाई उच्च बनाएको छ ।

पशुपालनको प्रर्वद्धनलाई जमिनले घेरिएको देशको खानीमा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्ने सबैभन्दा व्यावहारिक तरिकाको रूपमा हेरिन्छ ।सन् २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको सङ्ख्या छ करोड ४७ लाख रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

‘आगामी साता’ स्थगित युक्रेन भ्रमणका लागि म्याक्रोन तयार

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले ‘आगामी साताहरू’ मा यसअघि स्थगित भएको युक्रेनको भ्रमण गर्दै हुनुहुन्छ । उहाँले फेब्रुअरीमा युक्रेनको भ्रमण गर्ने बताउनुभएको थियो । यसअघि उक्त भ्रमण मार्चको मध्यअघि हुने सङ्केत दिनुभएको थियो ।

सन् २०२२ फेब्रुअरीमा पूर्णस्तरको रुसी आक्रमणको सुरुआतपछि म्याक्रोनको यो दोस्रो युक्रेन भ्रमण हो । उक्त वर्ष उहाँले जर्मन चान्सलर ओलाफ सोल्स र इटालीका तत्कालीन प्रधानमन्त्री मारियो द्राघीसँग किएभको भ्रमण गर्नुभएको थियो ।

फ्रान्सेली राष्ट्रपतिले हालैका साताहरूमा युक्रेनका लागि समर्थन बढाउने आफ्नो आह्वानले रुसलाई चिढ्याउनुभएको छ । क्रेमलिनले गत साता युक्रेन युद्धमा उहाँले फ्रान्सको संलग्नता बढाइरहनुभएको चेतावनी दिएको थियो ।

राष्ट्रपति निवास एलिसीले विज्ञप्तिमा भनेको छ, “आइतबार साँझ म्याक्रोनले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग कुराकानी गर्नुभयो र दुवै जना निकट सम्पर्कमा रहन सहमत हुनुभयो, राष्ट्रपति म्याक्रोनको युक्रेन भ्रमण आगामी साताहरूमा हुनुपर्दछ ।”

आइतबार विज्ञप्तिमा युक्रेनको आगामी भ्रमणका बारेमा अन्य कुनै विवरण नदिइए पनि फ्रान्सेली सञ्चार माध्यमहरूका अनुसार म्याक्रोनको भ्रमण सुरक्षाका कारण बारम्बार स्थगित गरिएको हो । म्याक्रोनले फेब्रुअरीको मध्यमा पेरिसमा जेलेन्स्कीलाई स्वागत गर्नुभएको थियो । उक्त अवसरमा दुवै नेताले द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।

गत साता दक्षिणी युक्रेनी बन्दरगाह सहर ओडेसामा जेलेन्स्की र भ्रमणमा रहनुभएका ग्रिक प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसको मोटरकाडनजिकै घातक रुसी क्षेप्यास्त्र आक्रमण भएको देखिएको थियो ।

फ्रान्सेली अखबार ला ट्रिब्युनल दिमान्चेले म्याक्रोनको निकट स्रोतलाई उद्धृत गर्दै भनेको छ, “हामीले यसलाई एक सन्देशका रूपमा लिएका छौँ ।” अखबारका अनुसार म्याक्रोनको सुरुमा फेब्रुअरी १३ र १४ मा राजधानी किएभ र ओडेसाको भ्रमण गर्ने कार्यक्रम थियो ।

म्याक्रोनले यसपटक सम्भवतः बाल्टिक राज्यहरू, रोमानिया, बेलायत र चेक गणतन्त्रसँगै फेरि युक्रेनको भ्रमण गर्न सक्नुहुने ला ट्रिब्युन दिमान्चेले बताएको छ ।

फेब्रुअरीको अन्त्यमा म्याक्रोनले युक्रेनमा पश्चिमी सेना पठाउन अस्वीकार गरेर हङ्गामा मच्चाउनुभएको थियो । गत साता फ्रान्सेली रक्षामन्त्री सेबेस्टियन लेकोर्नुले युक्रेनमा लड्न पश्चिमी लडाकू सेनाको तैनाथी टेबलमा नभएको भए पनि ठूलो सैन्य उपस्थितिमा युक्रेनी भूमिमा माइन क्लियरेन्स र युक्रेनी सेनाको प्रशिक्षणमा समावेश हुनसक्ने बताउनुभएको थियो ।

फ्रान्सेली राष्ट्रपति र जेलेन्स्की दुवैले अन्य प्राथमिकताका बीच साइबर सुरक्षा, माइन क्लियरेन्स, युक्रेनमा हतियारको मर्मत र सह–उत्पादन तथा सीमा सुरक्षामा ‘प्रगति गर्ने इच्छा’ दोहोर्याउनुभएको म्याक्रोनको कार्यालयले जनाएको छ ।

सेना दिवसमा आयोजित ‘युनिटी रन’मा सञ्जिव र तुलसी पहिलो

महेन्द्रनगर (कञ्चनपुर), २८ फागुन : नेपाली सेनाको सुदूरपश्चिम पृतनाद्वारा २६१औँ सेना दिवसका अवसरमा धनगढीमा आज आयोजित ‘युनिटी रन’ (एकताका लागि दौड) प्रतियोगितामा सञ्जिव नेपाली पहिलो भएका छन् । पुरुष खुल्लातर्फको १० किलोमिटर दौडमा पहिलो हुँदै उनी माउन्टेनबाइकसहित रु १५ हजार, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएका छन् ।

नेपाली सेनाको सुदूरपश्चिम पृतनाका अनुसार उक्त दौडमा करण लोहार दोस्रो तथा दीपेन्द्र नाथ तेस्रो भए । दोस्रो भएका लोहारले रु १० हजार तथा तेस्रो भएका नाथले रु सात हजार पुरस्कार प्राप्त गरेका छन् ।

यसैगरी १० किलोमिटर दौडमा महिलातर्फ तुलसी रावत पहिलो, सुशीला महत दोस्रो तथा राधिका भण्डारी तेस्रो भए । पहिलो भएकी रावतले माउन्टेनबाइकसहित रु १५ हजार, दोस्रो भएकी महतले रु १० हजार र तेस्रो भएकी भण्डारीले रु सात हजारबाट पुरस्कृत भए ।

नेपाली सेनाले धनगढीस्थित रङ्गशालामा सेना दिवसका अवसरमा तीनदिने विविध सैनिक प्रदर्शनीका साथै ‘युनिटी रन’को आयोजना गरेको हो । यसैगरी कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरी आयोजना गरेको पाँच किलोमिटर दौडमा छात्रातर्फ नेहा खड्का प्रथम, बागेश्वरी धामी द्वितीय र दिपिका जोशीले तृतीय भइन् । खड्काले माउन्टेनबाइकसहित नगद पुरस्कार प्राप्त गरिन् । सोही विधामा छात्रतर्फको पाँच किलोमिटर दौडमा विक्रम पार्की प्रथम, अमित आउजी द्वितीय र लक्ष्मण शाही तृतीय भए । पार्कीले माउन्टेनबाइकसहित नगद पुरस्कार प्राप्त गरे ।

यसैगरी कक्षा १० सम्मका विद्यार्थीका लागि आयोजना गरेको पाँच किलोमिटर दौडमा छात्रातर्फ कमला बडुवाल प्रथम, लक्ष्मी भट्ट द्वितीय र पवित्रा सार्कीले तृतीय स्थान प्राप्त गरे । उपाधि विजेता बडुवालले माउन्टेनबाइकसहित नगद पुरस्कार प्राप्त गरिन् । छात्रतर्फ पाँच किलोमिटर दौडमा मोहन विष्ट पहिलो, नन्दकिशोर विष्ट दोस्रो र लक्ष्मण महरा तेस्रो भए । उनीहरुले क्रमशः रु १० हजार, रु सात हजार र रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताका विजेता खेलाडीलाई सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट, नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति गणेशकुमार श्रेष्ठ, पृतनाका सहायक रथी सुरत रावल, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी मनोज थापा, सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, सैनिक श्रीमती सङ्घका पदाधिकारीलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

जनअपेक्षा पूरा गर्न नयाँ गठबन्धन निर्माण भयो – मन्त्री भण्डारी

बैतडी, २८ फागुनः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनअपेक्षा पूरा गर्नका लागि नयाँ गठबन्धन निर्माण भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बैतडीको नवौँ जिल्ला अधिवेशनको आज पाटनमा उद्घाटन गर्दै मन्त्री भण्डारीले जनताको निराशालाई आशामा बदल्न नयाँ गठबन्धनको आवश्यकता महसुस गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय चुनौतीलाई एकतामा बदल्न एमाले सफल भएको छ । जनअपेक्षा पूरा गर्न हामी सरकारमा गएका हौँ । जनताको शिर झुक्ने गरी काम गरिने छैन । बैतडी र सिङ्गो सुदूरपश्चिमलाई केन्द्रमा राखेर काम गरिनेछ ।”

देश निर्माणका लागि अहिलेको गठबन्धन बनेको बताउँदै मन्त्री भण्डारीले चुनौतीलाई अवसरमा बदल्नु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “देश सङ्कटपूर्ण अवस्थामा छ । सरकारमा रहुञ्जेल यसलाई स्वर्णिम अवसरका रूपमा लिएका छौँ । जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउँछौँ ।”

राजनितिक शक्ति सुन्तुलनका आधारमा देशमा परिवर्तन आएको भन्दै मन्त्री भण्डारीले पार्टी ‘मिसन-८४’ मा हिँडेकाले सबैले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

रमजान मुबारक महिना भोलिदेखि सुरु हुने

विराटनगर, २८ फागुनः इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुने भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुुसलमानहरु दिनभर निराहार बस्छन् ।

सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज(मगरिब)को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ ।

रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिइन्छ । उर्दू पात्रोअनुसार हिजरी सम्बत्को रमजान नवौँ महिना हो । रमजानमै मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यस महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ ।

दान गर्न, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न आज साँझ मुसलमानहरुले चन्द्रमा हेर्ने प्रचलन छ ।

शरीरलाई शुद्ध राखेर मात्र रोज बस्नुपर्छ भन्ने मान्यता छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यस पर्वमा मुसलमानहरु रोजा बस्नुलाई गर्व गर्दछन् । नाबालक, बिरामी, जटिल रोग लागेका र गर्भवतिलाई रोजा बस्न अनिवार्य गरिएको छैन ।

४१३ स्थानीय तहमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न

काठमाडौँ, २८ फागुन : सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका चार सय १३ स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन् । देशका २४ जिल्लाका ती स्थानीय तहमा सबै बालबालिकालाई खोप लगाइएको छ ।

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार ४३ जिल्लाका एक सय ८० स्थानीय तहमा खोप अभियान जारी छ । हालसम्म करिब ६६ प्रतिशत अर्थात् ३७ लाख ९२ हजार चार सय ६८ बालबालिकाले खोप लगाइसकेका छन् ।

शाखा प्रमुख डा गौतमले हिमाली भेगका आठ जिल्लाका एक सय २२ स्थानीय तहमा हिमपातका कारण खोप अभियान सञ्चालन हुन नसकेको बताउनुभयो । यही फागुन १३ गतेदेखि दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले पश्चिम रुकुम र जाजरकोट जिल्लाबाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको हो । ती जिल्लाका कूल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।

भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाबाट अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकामा नौ महिनादेखि १५ वर्षमुनिका तथा ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई खोप लगाइँदै छ । खोप अभियानका लागि देशभरि ४८ हजार सात सय ९८ खोप केन्द्रको व्यवस्था गरिएको शाखा प्रमुख डा गौतमले जानकारी दिनुभयो । खोप अभियानका लागि ४९ हजार नौ सय ३७ स्वास्थ्यकर्मी र ५९ हजार नौ सय ६ स्वयम्सेवक परिचालन गरिएको छ ।

घूससहित प्रहरी सहायक निरीक्षक र वरिष्ठ हबल्दार पक्राउ

काठमाडौँ, २८ फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी, कान्तिबजार महोत्तरीका इञ्चार्ज र वरिष्ठ हबल्दारलाई घूस रकमसहित पक्राउ गरेको छ ।

व्यक्तिले ‘लिज’मा लिई भोगचलन गर्दै आएको जग्गामा खेतीपाती तथा व्यवसायमा बाधा–अवरोध गरेको विषयमा सेवाग्राहीसँग घूस माग्दै गरेको अवस्थामा आयोगले पक्राउ गरेको हो । महोत्तरी जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयन नगर्नका लागि छलफल गराउने भनी सेवाग्राहीसँग प्रहरी सहायक निरीक्षक शर्माप्रसाद यादव र वरिष्ठ हबल्दार मन्जितकुमार झाले रु २० हजार लिँदै गरेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको थियो ।

गौशाखा नगरपालिका–१२ गौरीटोलबाट पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

दीर्घकालीन असर गर्ने निर्णय नगर्न गण्डकी प्रदेश सरकारलाई एमालेको आग्रह

गण्डकी । नेकपा एमाले गण्डकी प्रदेशसभा संसदीय दलले दीर्घकालीन असर गर्ने निर्णय नगर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ । दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीको अध्यक्षतामा बसेको दलको बैठकले यस्तो निर्णय गरेको जानकारी दिए ।

“सरकार अल्पमतमा परेर काम चलाउको अवस्थामा परिणत भइसकेकाले दीर्घकालीन असर पर्ने खालका कुनै पनि निर्णय नगर्न सचेत गराइएको छ”, उनले भने ।

बैठकले परिवर्तित अवस्थामा दलका तर्फबाट आवश्यक संवाद र समन्वयका लागि दलका नेता खगराज अधिकारीलाई जिम्मा दिने निर्णय गरेको छ । गण्डकी प्रदेशमा नयाँ सरकार निर्माणका प्रक्रियामा सहज र स्वभाविक राजनीतिक निकासका लागि वातावरण तयार गर्न सम्बद्ध सबै पक्षलाई आह्वान गर्ने निर्णय बैठकले गरेको प्रमुख सचेतक नेपालीले बताए । नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ ।

स्थानीयवासीका सक्रियतामा जेभालेलाई नमूना पर्यटकीय गन्तव्य बनाइँदै

पाँचथर, २८ फागुन : पहाडका हरेक टाकुरा पर्यटकीय दृष्टिले महत्वका हुन्छन् । यहाँ कुनै न कुनै धार्मिक वा पुरातात्विक विशेषता पनि लुकेको हुन्छ । तिनै टाकुरामा पर्यटक भित्र्याउने उद्देश्यले कतै पूर्वाधार तयार पारिँदै छ भने कतै प्रचारप्रसारमा जोड दिइँदै छ । हुन त सबै पर्यटकीयस्थलमा बजेट पुग्न सकेको छैन भने बजेट पुगेका स्थल पनि पर्यटकको आकर्षण बनिसकेका छैनन् ।

तर फिदिम नगरपालिका–१३ को जेभाले भने स्थानीयवासीको सक्रियतामा धार्मिक र पर्यटकीयरुपमा विकास भइरहेको छ । फिदिम बजारबाट फिदिम–फालोट सडक हुँदै यहाँसम्म पुग्न सकिन्छ । फिदिम–फालोट सडकमा पर्ने फिदिम–१२ को डेरी बजारबाट कच्ची सडक हुँदै जेभालेसम्म पुग्न सकिन्छ । स–साना थुम्काको मध्यम टाकुरो, विशेष प्रकारका चट्टानहरुको सानो पहाड, खोचमा गुप्तेश्वर महादेव स्थानले सज्जित छ जेभाले ।

जेभालेबाट माथिपट्टि बूढीथाम धार्मिकस्थल छ । फिदिम–१३ को झुरुप्प घर रहेको सुन्दर बस्तीको शीरमा जेभाले सजिएर बसेको छ । जेभालेबाट फिदिम नगरपालिकाका अधिकांश वडासहित पाँचथर, तेह्रथुम र धनकुटाका सयौँ गाउँबस्तीको दृश्यावलोकन गर्न सकिन्छ । पाथीभरादेखि कुम्भकर्ण हिमालसम्म दूरदृश्यका लागि पनि जेभाले उपयुक्त छ ।

अहिले जेभाले गुराँस र चापको सुगन्धले मगमगाएको छ । हातमा गुराँस टिपेर लुङरुपाको बस्तीमाथि हल्लाउँदा कम आनन्द पक्कै हुँदैन । गुप्तेश्वर महादेव स्थान दर्शनार्थीको मनोकाङ्क्षा पूरा गर्न तम्तयार भए झैं लाग्छ यहाँ पुग्दा । तर यति आकर्षणले स्थानीयवासीलाई पुगेको छैन् । अहिले त जेभाले थुम्कैपिच्छे संरचना बनाउन भ्याइनभ्याइ छ । कच्ची सडक हुँदै गुप्तेश्वर महादेव स्थानको प्रवेशद्वारमै पुगिन्छ । माथिपट्टि केही घर रहेको पञ्चमी भञ्ज्याङ पर्यटकको स्वागतमा तम्तयार देखिन्छ । बस्तीमा सफाचट सार्वजनिक शौचालय छ ।

दुई टाकुराको बीचमा अहिले आकर्षक खेलमैदान निर्माण भइरहेको छ । खुला सभाकक्ष निर्माण भइसकेको छ भने खेल मैदानसँगै शौचालय र खेल गतिविधि सञ्चालन गर्ने सानो कार्यालय बनिरहेको छ । यही निर्माण कार्यमा धमाधम श्रम गरिरहेको भेटिनुहुन्छ, गजेन्द्र राई । जेभाले बदल्ने हुटहुटीले हरबखत पिरोलिएको कोही मान्छे यहाँ भेटिन्छ त्यो गजेन्द्र राई नै हो ।

लामो समय शिक्षण पेसामा आबद्ध भई अहिले गाउँ बदल्न कस्सिएका गजेन्द्र राईबारे जेभालेकै होमबहादुर रिमाल भन्नुहुन्छ, “गजेन्द्र सरले पढाउन छोडेपछि हाम्रो गाउँ फेरिएको छ । हिजो कोही मान्छे यहाँ आइपुग्दैन थिए । आज दैनिकजसो घुमघाम गर्ने मान्छे आउन थालेका छन् । बर्सेनि ठूलो मेला लागिरहेको छ ।”

रिमालले भनेजस्तै जेभालेमा एक व्यवस्थित खेलमैदान निर्माण भइरहेको छ । गुप्तेश्वर महादेव स्थानदेखि वनभोज खान तयार पारिएको हुक्मा डाँडासम्म आकर्षक पदमार्ग निर्माण गरिएको छ । हुक्मा डाँडामा वनभोज खान आवश्यक सबै प्रबन्ध मिलाइएको छ । गुप्तेश्वर महादेव स्थानमा प्राकृतिकरुपमा भगवान् शिव र पार्वतीसँग सम्बन्धित दर्जनौँ आकृति रहेका छन् । धार्मिक दृष्टिले यसको विशेष महत्व रहेको यस क्षेत्रको विकासमा सक्रिय गजेन्द्र राईको भनाई छ । उहाँका अनुसार गुप्तेश्वर महादेव स्थानमा जेभाले नै पुख्र्यौली घर भई हाल अमेरिका बसोबास गर्ने नारद रिमालको परिवारले रु ३५ लाख लगानीमा पूर्वाधार निर्माण गरिदिएका छन् । अब गुप्तेश्वर महादेवको महिमा प्रचारप्रसारको आवश्यकता रहेको राईको भनाइ छ ।

जेभालेमा व्यवस्थित खेल मैदान निर्माण कार्य अहिले धमाधम चलिरहेको छ । यस वर्ष कोशी प्रदेश सरकारको रु २५ लाखको लागतमा खेलमैदान व्यवस्थित गर्ने काम भइरहेको राईले वताउनुभयो । “अहिले खेलमैदान मात्रै भएर पुग्छ भन्ने सोचबाट माथि उठेर खेल मैदानसँगै पक्की शौचालय र कार्यालयको व्यवस्था गर्न लागेका छौँ”, राईले भन्नुभयो, “शौचालय नहुँदा खेलाडी समस्या पर्ने गरेको देखेर यही काम अन्यत्र पनि होस् भनेर खेलमैदानसँगै खेलाडीका लागि शौचालय र कार्यालय बनाउन लागेका हौँ ।”

विसं २०७५ मा फिदिम नगरपालिकाबाट विनियोजित रु सात लाखमा खेल मैदान विस्तार गरी खेल्न लायक बनाइएको थियो । उसो त उक्त खेल मैदान निर्माणको आफ्नै कथा रहेको राई बताउनुहुन्छ । शान्तिदीप युवा क्लब र नवआशिष युवा मञ्चले २०६५ सालमा देउसी खेलेर खेल मैदान निर्माणका लागि चार रोपनी जग्गा खरिद गरेका थिए । यहाँ रहेको सिंहसिद्ध आविका नाममा रहेको जग्गामा सोही वर्षबाट श्रमदानमार्फत खेलमैदान निर्माण थालिएको थियो ।

यस पटक भने खेल मैदानसँगै दुवैतर्फको पहाड काटेर दर्शकका लागिसमेत सुविधा हुने व्यवस्था स्थानीयवासीले गर्न लागेका छन् । खेल मैदानसँगै मेला महोत्सवमा स्टल तथा होटल स्थापना गर्ने ठाउँको व्यवस्था गरिएको छ । वनभोज खाने व्यवस्था मिलाइएको हुक्मा डाँडामा अन्यत्रजस्तो समस्या छैन । यहाँसम्म सडक पु¥याइएको छ भने वनभोज खान आउनेले खानेकुराबाहेक कुनै सामग्री नल्याए पनि वनभोज खान सक्ने प्रबन्ध स्थानीयवासीले मिलाएका छन् । ठाउँ–ठाउँमा डस्बिन राखेर कहीँकतै फोहर हुन नदिने अभियान चलाइएको छ । रु आठ लाखको लगानीमा गुप्तेश्वर महादेव स्थानबाट पदमार्ग निर्माण गरी हुक्मा डाँडासम्म पु¥याइएको छ ।

विगतमा बाघ भालु भुक्ने भएकाले राई वान्तवा भाषाबाट उक्त स्थानको नाम हुक्मा डाँडा भनिएको राई बताउनुहुन्छ । वनभोजस्थलमा शौचालय, खानेपानी र भाँडाकुँडाको व्यवस्था गरिएको छ भने जनश्रमदान र स्थानीयवासीको लगानीमा विद्युत्समेत जडान गरिएको छ । “पिकनिक खाँदा आवश्यक पर्ने चम्चादेखि मासु काट्ने सामग्रीसम्म हामीले प्रबन्ध गरिदिएका छौँ, त्यो पनि निःशुल्क”, यहाँको विकास सक्रिय गजेन्द्र राईले भन्नुभयो, “शौचालय र वनभोजका लागि आवश्यक सामग्री भण्डार गृहमा जस्तापाता लगाउन बाँकी छ ।”

नगरपालिकाले डिजेल मात्रै उपलब्ध गराइदिँदा स्थानीयवासीले स्काभेटर प्रयोग गरी एक हजार २०० मिटर सडक निर्माण गरेर हुक्मा डाँडासम्म सडक पु¥याएका छन् । दृश्यावलोकनका लागि हुक्मा डाँडा सबैभन्दा उपयुक्त छ । “सफा मौसम हुँदा चारैतिर देख्न सकिन्छ । चाप र गुराँस पाइने, चराचुरुङ्गीको आवाजले गुञ्जिने ठाउँ हो यो”, राईले भन्नुभयो ।

पञ्चमी भञ्ज्याङबाट हुक्मा डाँडा जाने पदमार्गमा निकै आकर्षक चट्टानबाटिका (रक गार्डेन) रहेको छ । यहाँ फरक–फरक आकृतिका ढुङ्गा रहेका छन् भने ढुङ्गाको चेपमा गुफा रहेका छन् । यहाँ पेनगुइन, खरायोको कान जस्ता आकृतिका ढुङ्गा, ढुङ्गामै रुख अडेकोसमेत देख्न पाइन्छ । “यस स्थानको प्रवद्र्धनका लागि तीनै तहका सरकारले लगानी गर्नुपर्छ । यसका लागि आकर्षक डिजाइन र बजेटको आवश्यकता छ”, राईले भन्नुभयो ।

प्रकृतिले सुन्दरता भरेको र स्थानीयवासी गजेन्द्र राईको अगुवाइमा सम्वद्र्धन थालिएको जेभालेमा पर्यटक आउन थालेपछि स्थानीयवासी दङ्ग छन् । स्थानीयवासी होमबहादुर रिमालले भन्नुभयो, “यहाँ मान्छेहरु घुम्न आएर बजार लाग्न थालेको छ । पहिले चिहानघारी र तर्साउनेजस्तो छ भनेर मान्छे आउन डराउँथे । गजेन्द्र सरले स्कुल छोडेर आएपछि यहाँ सबै कुराको मुहार फेरोको छ ।”

समाजका लागि अहोरात्र खटेका गजेन्द्र सिदिन माध्यमिक विद्यालय फालेलुङमा माध्यमिक तहको अङ्ग्रेजी शिक्षक हुनुहुन्थ्यो । तर समाजमा केही काम गर्न आग्रह गर्दा आफूलाई शिक्षकका रुपमा मात्रै लिने भएपछि ०७४ सालको स्थानीय तह निर्वाचनपूर्व उहाँले शिक्षण पेसाबाट राजीनामा दिनुभयो । नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बन्नुभएका राईले चुनाव जित्न त सक्नुभएन तर गाउँको विकासको अगुवाइ भने गरिरहनु भएको छ । “धेरै साथीभाइले हार्ने चुनावका लागि उम्मेदवार बन्न किन पेृसा छाडेको पनि भन्नुभयो । तर गाउँको विकास गर्ने मेरो सपनामा मेरो पेसा बाधक बनेको थियो”, उहाँले सम्झनुभयो ।

भव्य मेला लगाएर केही रकम सङ्कलन गरी सामाजिक क्षेत्रमा खर्चने, सार्वजनिक शौचालयलाई नमूना बनाउने, सार्वजनिक स्थानमा खानेपानीको व्यवस्था गर्नेजस्ता अभियान चलाउनुभएका राईको अगुवाइमा यस स्थानमा ०५६ सालमै अनिवार्यरुपमा शौचालय निर्माण र प्रयोग गर्ने अभियान चलेको स्थानीयवासी बताउँछन् । सीमित बजेटलाई समुचित प्रयोग गरेर पर्यटक तान्न थालेको जेभाले विशेषत आन्तरिक पर्यटकको रोजाइ बन्न थालेको छ ।

सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट सङ्कलन गर्न सुरु

त्रिशूली (नुवाकोट), २८ फागुन : जिल्ला प्रशासन कार्यालय नुवाकोटले सेवाग्राहीको प्रतिक्रिया ‘क्युआर कोड’बाट सङ्कलन गर्न सुरु गरेको छ । यसअघि ‘गुनासो पेटिका’ मार्फत सेवाग्राहीको प्रतिक्रिया सङ्कलन गरिँदै आएकोमा समय सान्दर्भिक र आधुनिक प्रविधिको उपयोगलाई मध्यनजर गर्दै ‘क्युआर कोड’ सेवा सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँको अनुसार प्रतिक्रिया सङ्कलनको लागि राखिएको पेटिकामा न्यून सहभागिता भएसँगै त्यसलाई परिमार्जन गर्दै कार्यालयले अनलाइन माध्यमबाट सेवाग्राहीको प्रतिक्रिया सङ्कलन गर्न सुरु गरिएको हो ।

“सेवाग्राहीको सन्तुष्टिको आधार थाहा पाउनदेखि सेवा प्रवाह सुधारको लागि राय सङ्कलन गर्न ‘क्युआर कोड’को उपयोग गरेर प्रश्नावली र खुला दुवै विधिबाट राय सङ्कलन गर्न सुरु गरेका छौँ”, उहाँ भन्नुभयो, “कागजमा लेखेर गुनासो पेटिकामा प्रतिक्रिया दिन झन्झटिलो भएको पाइएसँगै मोबाइलबाट नै प्रतिक्रिया दिन सकिने प्रविधि प्रयोगमा ल्याएका छौँ ।”

प्रशासन कार्यालयले सेवाग्राहीको प्रतिक्रिया सङ्कलनको लागि कार्यालय परिसरमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ । इन्टरनेटको माध्यमबाट कार्यालयका सबै शाखा तथा सूचना बोर्डमा टाँस गरिएका क्युआर कोड स्क्यान गरेपश्चात् देखिने प्रश्नावलीको छनोट र त्यसमा थप व्याख्यासहितको आफ्ना सुझाव राख्न सकिने गरेर सेवा सञ्चालनमा ल्याइएको प्रजिअ अधिकारीको भनाइ छ ।

“सरकारी सेवा प्रवाहको अवस्था थाहा पाउन यसअघि प्रयोगमा ल्याइएको गुनासो पेटिकामा नागरिकका प्रतिक्रिया कम पर्ने तर, सामाजिक सञ्जालका उपयोगबाट प्रतिक्रिया जनाउनेको सङ्ख्या धेरै हुन थालेसँगै प्रशासनले प्रविधिको उपयोगलाई प्रयोगमा ल्याएको हो”, उहाँले भन्नुभयो, “कार्यालयले दिने सेवा, त्यसको गुणस्तर, कर्मचारीको ब्यवहार, आगामी दिनमा गर्नुपर्ने सुधारसहितका विषयलाई ‘क्युआर कोड’ स्क्यानपश्चात् आउने प्रश्नावलीबाट प्रतिक्रिया जनाउन सकिने छ ।”

अनलाइन माध्यमबाट गरिने गुनासोकर्ताको विवरण गुनासो सम्बोधन अधिकारीबाहेकलाई थाहा नहुने गरेर गोप्य हुने प्रबन्ध मिलाइएकाले निर्धक्क भएर प्रतिक्रिया दिन सहायक प्रजिअ तुलसीराम पौडेलले आग्रह गर्नुभयो । उहाँको अनुसार प्रतिक्रिया दिने सेवाग्राहीको विवरण कार्यालयले गोप्य राख्नेछ भने प्राप्त गुनासोको सम्बोधनपश्चात् सम्बन्धित पक्षलाई त्यसको जानकारी दिइने छ ।

हाल परीक्षणको रुपमा सञ्चालनमा ल्याइएको प्रतिक्रिया सङ्कलन माध्यमलाई समयअनुसार संशोधन र प्राप्त प्रतिक्रियाको आधारमा सेवा प्रवाहलाई सुधार गर्दै जिल्लाभरका कार्यालयमा विस्तार गर्ने प्रशासनको योजना छ ।

सत्तामा हुँदा ठीक, प्रतिपक्षमा रहँदा सबै बेठीक भन्ने सोच गलत छ : सांसद चौधरी

काठमाडौँ । ‘माननीय’ भएको करिब डेढ वर्ष हुन लाग्यो । केही पक्कै गर्लान् भनी जनताले जिताएर पठाएका थिए । यस अवधिमा सत्ताको तानातान र लुँछाचुँडीमै अल्झिन परेको छ । यसबीचमा उल्लेख गर्न लायक केही नै काम भएनन् । एक वर्षमा जम्माजम्मी दुई वटा मात्र विधेयक पारित भए । सत्ताको फोहोरी खेलले केही गर्नै सकिएन । राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपति, सभामुख चयन तथा मन्त्रिपरिषद् र संसदीय समिति गठनमै धेरै समय बितिसके । प्रारम्भमा केही दिन सदन चले तापनि त्यसक्रममा केही दल र नेताबीच मन्त्री र समिति पदाधिकारी बन्ने होडबाजीले सदनको कारबाही प्रभावित तुल्यायो । कतिपय नेता पद नभई बस्नै नसक्ने भद्रगोल र बेथितिजस्तो देखियो । त्योक्रम अहिलेसम्म नै चलिरहेको छ ।

मुलुकमा भएको विकृति र विसङ्गति अन्त्य गर्दै राजनीतिक निकास दिन्छौँ भनी उच्च मनोभावकासाथ हामी सदनमा गएका थियौँ । तर डेढ वर्ष बितिसक्दा त्यो गर्न सक्ने स्थिति नै देखिएन । मौका पाइएन । संसदमा अहिले नेपाली कांग्रेस मुलुकको सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक दलका रुपमा उपस्थित छ । कांग्रेस जनआकाङ्क्षा बुझेर काम गर्ने, सदनमा प्रतिनिधित्व गर्ने, अरु दललाई अवसर दिने र मिलाएर जाने भूमिकामा थियो । तर देशको राजनीतिक उथलपुथलले त्यो भूमिका र अवसर दिएन । प्रमुख प्रतिपक्षबाट लामो समयसम्म सदन अवरुद्ध भयो । सदन नियमित चल्न सकेन । यसबीचमा दलीय राजनीति झगडाका कारण सदन लोकदोहोरी खेल्ने थलोजस्तो बन्न पुग्यो ।

निर्णायक तहमा रहेका नेताहरुको बोली र व्यवहारमा एकरुपता देखिएन । थोरै, हुने र गर्न सक्ने विषयमा मात्र बोल्ने अभ्यास पार्टीमा भएन । कतिपय दलले जनतालाई अल्मल्याउन देशको क्षमताभन्दा बाहिर गएर ठूला कुरा र एजेण्डा फ्याँकी दिने गरेको पनि देखियो । यो सर्वथा गलत थियो । बेथितिको अन्त्य गर्दै मुलुकलाई ठीक बाटोबाट अघि बढाउने प्रयास भइरहेका बेला अहिले फेरि अचानक सरकार परिवर्तनको खेलले जनतालाई निराश तुल्याएको छ । आफू सत्तामा हुँदा सबै ठीक, प्रतिपक्षमा रहँदा बेठिक भन्ने सोच र बुझाइले सदनलाई प्रभावकारी तुल्याउने वातावरण नै बन्न सकेन ।

देशका सबैखाले चुनौतीलाई पार लगाएर अघि बढ्नुपर्ने प्रमुख राजनीतिक शक्ति नेपाली कांग्रेस, नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र)का नेताले एउटा पार्टीको आन्तरिक राजनीतिक जीवनमा उठेका विषयलाई लिएर अचानक सम्बन्ध टुटाउने कार्य लोकतन्त्रमा सुहाउँदो विषय बन्न सक्दैन । नीति, नियम, नैतिकता र सिद्धान्त अनुसरणमा लोकतान्त्रिक भनिएकै राजनीतिक दलहरुचुकेका देखिन्छन् । राजनीतिक दल भएपछि सरकारभन्दा बाहिर रहेर पनि जनताका काम गर्न सकिन्छ । गर्नुपर्छ । हामीले अप्ठेरोमा परेका जनतालाई निकास दिने काम गर्न सक्नुपर्छ । रोजगारी र अध्ययनका नाममा विदेश पलायन हुन लागेका युवा र विद्यार्थीलाई स्वदेशमै असर प्रदान गर्नेतर्फ दीर्घकालीन कार्यनीति र रणनीति तयार गरिनुपर्छ ।

मुलुकमा राजनीतिक स्थिरता होस्, समृद्धि छाओस् भन्ने दृष्टिकोणले नेपाली कांग्रेस ठूलो दल भए पनि तेस्रो दलको नेतृत्वलाई स्वीकार गर्दैआएको हो । नयाँ सोच र कार्ययोजना कार्यान्वयनले गति लिनासाथ फ्याट्ट सरकार परिवर्तन हुँदा सबै लथालिङ्ग र भताभुङ्ग हुन पुग्छ । अस्थिर राजनीतिले मुलुकको भविष्य अन्धकार बनाउँछ भन्ने पक्षलाई परिवर्तनकारी शक्तिबीच गम्भीर मन्थन हुन आवश्यक छ । नेताहरुको बोलाइ एउटा गराइ अर्काे हुनुभएन । जनतालाई यो र त्यो गर्दिन्छाँै भनी ठूला–ठूला आश देखाउँछाँै, सत्तामा पुगेपछि मेरो, आफ्नो र म मै मात्र सीमित हुन्छौ ।

यसबीचमा सुन तस्करी, वाइडबडी जहाज खरिद, पशुपतिनाथ मन्दिरको जलहरी, ललिता निवास जग्गा प्रकरण र झापाको चिया बगानमा भ्रष्टाचारका कुरा जोडतोडले निस्कियो । खोइ कहाँ, कसलाई कारबाही भयो त ? सरकार हाँक्ने राजनीतिक नेतृत्व भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धनमा दृढ एवम् कठोर भएमा कसैले पनि गलत कार्य गर्न हिम्मत गर्दैन । त्यो खाले नेतृत्वको मुलुकमा अभाव छ । एकले–अर्काेलाई आरोप र प्रत्यारोपमै देशको राजनीति अल्मलिएको छ । त्यसले सुशासन प्रवद्र्धनमा चुनौती खडा गरेको छ ।

सरकारले सन्तुलितरुपमा बजेट विनियोजन नगरिदिँदा विधायकले बैठकै छाडेर विकास निर्माणका फाइल बोकेर मन्त्रालयको कोठा र चोटामा धाउन परेको छ । निर्वाचनका बेला वचनबद्ध गरेर आएकाले निर्वाचन क्षेत्रमा लथालिङ्ग अवस्थामा रहेका आयोजना सञ्चालनका लागि पहल गर्नु एउटा सांसदको जिम्मेवारी र कर्तव्य हुन आउँछ । त्यो बाध्यताले धाउन परेको हो । ‘माननीय’ले हात जोडेर मन्त्रालयका कर्मचारीलाई आयोजनाका लागि बजेट पार्न हारगुहार गर्नुपर्ने अवस्था अन्त्य गरिनुपर्छ । सुनसरीमा शिक्षामा सुधार ल्याउन विद्यालय भवन निर्माण र महिला शिक्षा प्रवद्र्धन र स्वरोजगार तुल्याउन सीपमूलक तालिमलाई प्राथमिकतामा राखिनुपर्छ भन्नेमा म लागिपरेको छु ।

महिला सांसद भएकै कारण सदनमा बोल्न नपाएको अवस्था भने छैन । बरु राष्ट्रिय मुद्दामा हुने छलफल र बहसमा तपाईँले भाग लिनै पर्छ भनी प्रमुख सचेतकले प्रोत्साहित गरेका घटना थुप्रैछन् ।

युवा विद्यार्थीको ठूलो सङ्ख्या विदेश पलायन हुने अवस्था सिर्जना हुनुमा मुुलुक हाँक्ने जिम्मेवारीमा रहेका प्रमुख दलका नेताहरु नै प्रमुख जिम्मेवार हुन् । उहाँहरुले मुलुकमा राजनीतिक स्थिरता प्रदान गर्ने सवालमा चुक्नुभएको छ । नेताहरुमा देश विकासको स्पष्ट मार्गचित्र र दुरदृष्टि नहुँदा सत्ताको तानातानमै राजनीति रुमलिन पुगेको छ । परिवार धान्नकै लागि कैयौँ युवा विदेशी भूमिमा युद्ध लडिरहेका छन् । यस्तो अवस्थामा पनि सबै दललाई सत्ता र नेतालाई कुर्सी चाहिएको छ । यो पाटोलाई नेताहरुले गम्भीरतापूर्वक सोच विचार गर्न जरुरी छ । देश छाडेर भाग्दा कसैको पनि हित हुँदैन । आफ्नो हात पाखुरा नखियायी केही हुन्न । विदेश गएका युवायुवती फर्कनुस् । भ्रष्टाचार विरुद्ध आवाज उठाऔँ । युवाले नै देशलाई निकास दिनुपर्छ । तपाईँहरु अघि बढ्नुस् हामी साथ र सहयोग दिन्छौँ ।

सांसद कल्पना चौधरीको परिचय

विसं २०४६ को जनआन्दोलनसँगै राजनीतिमा प्रवेश गर्नुभएकी नेपाली कांग्रेसकी नेत्री चौधरी सुनसरी जिल्ला इटहरी–८का स्थायी बासिन्दा हुनुहुन्छ । मुलुकमा राजनीतिक परिवर्तन र लोकतन्त्र बहालीका लागि भएका आन्दोलनमा सक्रिय सहभागिता जनाउनुभएकी उहाँसँग नेपाली कांग्रेस महिला सङ्घ जिल्ला सभापति र विसं २०७०मा संविधानसभा सदस्य भएर काम गरेको अनुभव छ । गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमा थारु समूह क्लस्टरबाट निर्वाचित सांसद कल्पना चौधरी विसं २०७५ देखि कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ ।

सांसद कल्पना चौधरीसँग नारायण न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश

चाडपर्वले विविधताभित्रको एकता हुँदै आएको छ : सभामुख घिमिरे

काठमाडौँ, २८ फागुन : सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले ल्होसार पर्वलाई कम खर्चिलो र लोप हुन लागेका परम्परा जगेर्ना गर्दै मौलिक पर्वका रुपमा मनाउन प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।

सभामुख घिमिरले आज जारी गर्नुभएको शुभकामना सन्देशमा हिमाली आदिवासी शेर्पा समुदायको नयाँ वर्ष २१५१ औँ ग्याल्पो ल्होसार (डुक ल्हो)को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उक्त शुभकामना दिनुभएको थियो ।“नेपाल विभिन्न जाति, भाषा र संस्कृतिमा धनी छ, हरेक जातजातिका आफ्नै विशेषता बोकेका फरक–फरक चाडपर्व छन्”, शुभकामना सन्देशमा भनिएको छ, “हिमाल, पहाड र तराई मिलेर बनेकाले ठाउँअनुसार फरक संस्कार र संस्कृति हुन्छन् ।” सभामुख घिमिरेले सनातनदेखि आस्थाको धरोहरको रुपमा रहेका चाडपर्वले विविधताभित्रको एकता हुँदै आएको र नेपाली चाडबाड, संस्कृति, संस्कार मनाइरहँदा नयाँ पुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी भएको बताउनुभएको छ ।“मौलिक चाडवाडको संरक्षण र संवर्द्धन गर्दै मौलिकता हस्तान्तरण गर्न नयाँपुस्तालाई प्रेरित गर्न आवश्यक छ”, सन्देशमा भनिएको छ, “ल्होसारजस्ता सांस्कृतिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग गर्ने विश्वास लिएको छु ।।”प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार आफन्त भेटघाट र पूजाआजा गर्नुका साथै गुथुक र खाप्सेजस्ता खानेकुरा खाएर तथा सांस्कृतिक कार्यक्रम गरी मनाइन्छ

टोड्केमा ढकमक्क लालीगुराँस फुलेपछि बिदा मनाउन आउनेको लर्को

म्याग्दी, २८ फागुन : प्रकृतिसँग रमाउनेको लागि गुराँस फुलेर रङ्गीएको म्याग्दीको टोड्के क्षेत्रको जङ्गल आकर्षक गन्तव्य बनेको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको अवस्थित टोड्केको उचाइ समुद्री सतहदेखि दुई हजार तीन सय मिटर हो ।

टोड्केका अनिल बुढाथोकीले गुराँस फुल्न थालेपछि म्याग्दीका साथै छिमेकी जिल्ला र देशका विभिन्न ठाउँबाट पर्यटक आउन थालेका बताउनुभयो । “पाखामा ढकमक्क गुराँस फुलेर रङ्गिएपछि बिदा मनाउन टोड्के आउनेको लर्को लागेको छ”, उहाँले भन्नुभयो, “टोड्केको दायाँ र बाँया रहेको जङ्गलमा ढकमक्क लालीगुराँस फुलेपछि मनमोहक बनेको छ ।

” मङ्गला–२ सहश्रधारादेखि नवविवाहित श्रीमतीलाई लिएर आइतबार टोड्के आएका आरुस किसानले स्वच्छ हावापानी र शान्त वातावरणले तन÷मन चङ्गा बनाएको अनुभव सुनाउनुभयो ।

“गुराँस, चराको चिरविर आवाज र हिमालको दृष्यले लठ्ठै बनायो”, उहाँले भन्नुभयो “हिमाल हेर्दै गुराँससँग रमाउँदा दिन बितेको पत्तै भएन ।” गुराँसले ढाकेको वनमा चराको आवाज सुनेर डुल्दा रमाइलो महसुस र तनावमुक्त भइने मङ्गला गाउँपालिका–१ पूर्णगाउँका ७० वर्षीय दुर्गादत्त आचार्यले बताउनुभयो । आचार्यले आइतबार टोड्केमा पुगेर गुराँसका बोटमा रमाउने र फोटो खिचाएर फर्कनुभयो । टोड्केमा गाडा रातो र रातो रङको गुराँस पाइन्छ ।

गुराँसको फूलबाट जुस बनाउनका लागि अध्ययन गर्न काठमाडौँबाट केही दिनमा प्राविधिक टोली टोड्के आउन लागेको होटल व्यवसायी भीम शेरचनले बताउनुभयो । गुर्जा, चुरेन, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे« र लमजुङ हिमालको लामो लर्कनलाई एकै ठाउँबाट अवलोकन गर्न पाउनु टोड्केको प्रमुख विशेषता हो । हिमालसँग आँखा जुधाएर योग र ध्यानमा रमाउन सकिन्छ । यहाँ उत्पादन भएको मुला, आलु र सिमिका परिकारको स्वाद लिन सकिन्छ ।

स्वर्गद्वारी महाप्रभुलगायत धेरै सन्तले तपस्या गरेका टोड्केको धार्मिक महत्व पनि छ । डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ । शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो । स्वर्गद्वारी, शिष्य पुजारी महाराज र रखाल महाराजलगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिङ्ग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा हुन् । आश्रम परिसरमा गौशाला पनि रहेको छ । टोड्के नजिकैको सिद्ध सामुदायिक वनमा उद्यान निर्माण गरिएको छ । सो ठाउँमा यस वर्ष गुराँस पार्क बनाउन रु पाँच लाख बजेट विनियोजन भएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले बताउनुभयो । टोड्केमा खान र बस्नको लागि सुविधायुक्त होटलको सुविधा छ ।

टोड्के घुमेर फर्कदा याममा मुला, बेसिजनमा अचार र धजरा कोशेली लैजान पाइन्छ । बेनीबाट गाडीमा टोड्के पुग्ने पाँच वटा सडक छन् । बेनी–अर्थुङ्गे–झिँ हुदै टोड्के (१९ किलोमिटर), बेनी–अर्थुेङ्ग–पात्लेखेत–वाखेत गाउँ हुँदै टोड्के (१५ किलोमिटर) र बेनी–अर्थुङ्गे–पुलाचौर–डडुवा–पूर्णगाउँ हुँदै टोड्के (१४ किलोमिटर) दूरीको सडक प्रयोग गर्न सकिन्छ ।

उनान्तीस किलोमिटर दूरीको बेनी–सिम–कुुहँ–पूर्णगाउँ हुदै टोड्के जोड्ने सडकबाट आवतजावत गर्ने क्रममा प्राकृतिक उपचारस्थल सिंगा तातोपानीमा स्नान गर्न र रमाउन सकिन्छ । उन्नाइस किलोमिटर दूरीको बेनी–गलेश्वर–पात्लेखेत–वाखेत–टोड्के सडकमा धार्मिकस्थल गलेश्वर धामको दर्शन गर्न सकिन्छ ।

पैदलयात्रा गर्न चाहनेका लागि बेनीदेखि अर्थुङ्गे–पछै–ढोलथान–केभहिल–जगन्नाथ–ढडेकोट दरबार–टोड्के पुगिने पुरानो घोरेटो बाटो पनि छ । टोड्केको पूर्वोत्तर दिशामा झीँ, पूर्वमा वाखेत, दक्षिण पश्चिममा पूर्णगाउँ र पश्चिममा कुहुँगाउँ छन् । धौलागिरि हिमालको सम्मुखमा मगर बाहुल्य बसोबास रहेको झिँ गाउँबाट टोड्के पुग्ने व्यवस्थित पदमार्ग पनि छ । झिँ र पूर्णगाउँबाट एक घन्टा उकालो हिँडेपछि टोड्के पुगिन्छ । यी गाउँमा होमस्टे (घरवास)को सुविधा छ ।

आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने

पाटन (ललितपुर), २८ फागुन : ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने भएको छ ।

ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले दिनुभएको जानकारी दिनुभयो । “मर्मतसम्भारका लागि काल्चेदेखि बगुवा खण्ड चैत १ गतेदेखि वैशाख १५ गतेसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुनेछ ।

यो खण्ड करिब १ दशमलव ५ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्न लागिएको हो । सडकमाथिका कडा चट्टान कटिङ गर्ने निर्णय भएको छ । यसका लागि अहिले ४५ दिन लाग्छ भन्ने हाम्रो अनुमान हो”, उहाँले भन्नुभयो । ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा यही फागुन १६ गते बसेको बैठकले काल्चे खण्डमा पर्ने चेनेज कटिङसहितको निर्माण गर्न बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सवारी आवत जावतमा रोक लगाउने निर्णय भएको हो ।

बैठकले कान्तिराजमार्ग खण्डमा एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सेवाका यातायातलाई सञ्चालन गर्न सहजीकरण गर्ने निर्णयसमेत गरेको छ । विसं २०१३ मा शिलान्यास गरिएको काठमाडौँलाई हेटौँडासँग जोड्ने सडक मार्गको करिब पाँच किलोमिटर भाग अझै कालोपत्रे हुन बाँकी रहेको ईन्जिनियर महर्जनले बताउनुभयो ।

सरकारले प्राथमिकता नदिँदा र विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गरेर काम गर्दा यो सडक निर्माण ६७ वर्षदेखि निर्माणाधीन अवस्थामै छ । कान्तिराजमार्गको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म लम्बाइ ९२ किलोमिटर हो । यसमध्ये बुद्धचोकदेखि–टीकाभैरवसम्म ७९ किमि सडक आयोजनाले निर्माण गर्ने हो ।

बाँकी खण्ड निर्माणको जिम्मा सडक डिभिजन कार्यालय ललितपुरको हो । टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा पार्ने काम पूरा गरेको भए पनि स्थानीयको संरचनाको अवरोधका कारण ठेचो सुनाकोठीको भाग चौडा हुन नसकेपछि २०७६ सालमा सरकारले निर्णय गरेर सडकको खण्ड टीकाभैरवबाट छम्पी भैँसेपाटी हुँदै नख्खुसम्म तय गरेको छ । भैँसेपाटीसम्म सडक चौडा भएपछि छम्पी टीकाभैरव खण्डमा भने चौडा हुन बाँकी नै रहेको छ ।

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, २८ फागुन : नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बागमती र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र बाँकी उच्च पहाडी भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।रातिको समयमा देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

द्वन्द्वका कारण इजरायलको बजेट घाटा २९.४ बिलियन अमेरिकी डलर पुग्यो

इजरायली सरकारको १२ वर्षको बजेट घाटा सन् २०२३ को फेब्रुअरीको अन्त्यसम्म १०५.१ अर्ब शेकेल (२९.४ बिलियन अमेरिकी डलर) पुगेको छ ।

सन् २०२३ को फेब्रुअरी र यस वर्षको जनवरी बीचको अघिल्लो १२ महिनाको घाटाको तुलनामा यस समयावधिमा करिब १८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष यसै अवधिमा ८९.१ बिलियन शेकेल (२४.९३ अर्ब अमेरिकी डलर रहेको सरकारी तथ्याङ्कले देखाएको छ। अर्थ मन्त्रालयले घाटा वृद्धिको मुख्य कारण हमाससँग जारी द्वन्द्वसँग सम्बन्धित उच्च खर्चले गर्दा भएको बताएको छ

पोखराको जानकारी दिन ‘पोखरा घर’ निर्माण गरिँदै

कास्की, २८ फागुन : पोखरामा आर्ट ग्यालरी, सार्वजनिक पुस्तकालय, घण्टाघर र एकीकृत पर्यटन सूचना केन्द्रसहितको ‘पोखरा घर’ निर्माण सुरु भएको छ ।

पोखरा महानगरपालिकाले महानगरको सातौँ स्थापना दिवस अवसर पारेर आइतबार पोखरा घरको शिलान्यास गरिएको हो । पोखरा–९ पृथ्वीचोकमा निर्माण हुने घरको महानगर प्रमुख धनराज आचार्यले शिलान्यास गर्नुभयो । पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्ने विश्वास लिइएको छ । घर पाँच तलाको निर्माण हुने भएको छ ।यसको लागत रु पाँच करोड एक लाख ४६ हजार पाँच सय ५१ रहेको महानगरका पूर्वाधार विकास महाशाखाका प्रमुख इन्जिनियर सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार घरको निर्माण आगामी डेढ वर्षभित्रमा सम्पन्न गर्ने सम्झौता गरिएको छ ।भवनको भुइँतलामा पार्किङ, पहिलो तलामा कोसेली घर र सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय र मिटिङ हल, तेस्रो तलामा आर्ट ग्यालरी तथा सोभन्दा माथि घण्टा घर रहने इन्जिनियर पाण्डेले बताउनुभयो । कार्यक्रममा महानगर प्रमुख आचार्यले पोखरा घरले समग्र पोखराको विस्तृत जानकारी दिने केन्द्र बन्ने बताउनुभयो ।उहाँका अनुसार पोखराका आउनेका लागि यो घर एउटा महत्वपूर्णस्थल बन्नेछ । “पोखरा घर परम्परागत वास्तुकला र पछिल्लो प्रविधिको प्रयोग गरेर काठको बार्दलीसमेतको मौलिक बन्ने छ । यसको सञ्चालनका लागि विगतमा महेन्द्रपुलमा भत्काइएको जीर्ण भवनमा रहेका संस्थासँगनै सहकार्य गर्नेछौँ”, महानगर प्रमुख आचार्यले भन्नुभयो ।पोखराको महेन्द्रपुलमा यसअघि रहेको आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय रहेको भवन जीर्ण भएपछि महानगरले भत्काएको थियो । सो स्थानमा अहिले अन्तर्राष्ट्रिय झण्डा पार्क र सार्वजनिक शौचालय निर्माण गरिएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले भवन निर्माणका लागि स्रोतको कमी हुन नदिइने प्रतिबद्धता जनाउनुभयो । उहाँले पोखराको विकासको समग्र विकासको खाका तयार भइरहेको उल्लेख गर्नुभयो ।उहाँले भन्नुभयो, “महानगरका प्रमुखको नेतृत्वमा पोखरामा उल्लेख्य विकास निर्माणका काम भइरहेको र त्यसको रिजल्ट क्रमशः देख्न पाइन्छ । पोखरामा धेरै काम भएका छन् र समग्र विकासको खाका बनेको छ ।” पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले लामो समयको प्रतीक्षापछि पोखरा घरको शिलान्यास गरिएको बताउँदै दीर्घकालीन विकासको सोचअनुरूप विकास निर्माणको काम अगाडि बढेको बताउनुभयो ।यसैगरी महानगरपालिकाको सातौँ स्थापना दिवसका अवसरमा आइतबार आयोजित रक्तदान कार्यक्रममा ५७ युनिट रगत सङ्कलन भएको छ । स्वास्थ्य महाशाखाको संयोजनमा सम्पन्न कार्यक्रममा ५७ जनाले रक्तदान गरेका कार्यक्रमका संयोजक एवं जनस्वास्थ्य निरीक्षक दीपेन्द्र सुनारले जानकारी दिनुभयो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी र नगर प्रहरीले रक्तदान गर्नुभयो ।

ग्याल्पो ल्होसार पर्वले पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने:उपराष्ट्रपति यादव

काठमाडौँ, २८ फागुन : उपराष्ट्रपति रामसहायप्रसाद यादवले शेर्पा समुदायको पर्व एवं नयाँ वर्ष ग्याल्पो ल्होसार–२१५१ले नेपालीबीच बन्धुत्व, मेलमिलाप, मैत्रीभाव र पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

ग्याल्पो ल्होसारको उपलक्ष्यमा देश र विदेशमा रहनुभएका शेर्पा समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उहाँले राष्ट्रिय एकतालाई थप बलियो, सुदृढ बनाउनुका साथै मुलुकमा बहुभाषा र बहुसंस्कृतिलाई जीवन्त बनाउन सहयोग गर्ने बताउनुभएको छ ।ग्याल्पो ल्होसारका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले खुसियाली साट्ने यो पर्वको अर्को महत्वपूर्ण विशेषता भनेको सामूहिक रुपमा एकअर्काको हात समाएर सुखदुःखको गीत गाउँदै स्याब्रु नृत्य गर्नु र मौलिक–परम्परागत पहिरन लगाउनुले शेर्पा समुदाय आफ्नो संस्कृति जोगाउन सचेत रहेको सन्देश अन्य समुदाय, सम्प्रदाय, धर्मावलम्बीलाई पनि दिएको उल्लेख गर्नुभएको छ ।।

प्रधानमन्त्री दाहालद्धारा ग्याल्बो ल्होसारको शुभकामना

काठमाडौँ, २८ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको सुदृढीकरण अहिलेको प्रमुख कार्यभार भएको बताउनुभएको छ ।

नेपालीको राष्ट्रिय पर्व ‘ग्याल्बो ल्होसार’ का अवसरमा आज शुभकामना दिँदै उहाँले आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्नु राष्ट्रिय कार्यभार भएको बताउनुभएको हो । उहाँले स्वदेश तथा विदेशमा रहनुभएका शेर्पा समुदायलगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईमा शुभकामना व्यक्त गर्नुभएको छ ।प्रधानमन्त्रीले ग्याल्बो ल्होसारका माध्यमबाट आन्तरिक राष्ट्रियता, आपसी सद्भाव, सहिष्णुता, सहकार्य र एकता थप सुदृढ गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले पूर्वी हिमाली क्षेत्रलगायत देशका विभिन्न भू–भागमा बसोबास गर्ने शेर्पा समुदाय लगायतले नयाँ वर्षको रूपमा मनाउने ग्याल्बो ल्होसार प्राचीन उत्पादन पद्धतिमा आधारित मौलिक एवं ऐतिहासिक पर्व भएको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।शेर्पा समुदायको मौलिक परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्षोल्लासका साथ मनाउने यस पर्वमा मान्यजनबाट आशीर्वाद लिनका साथै परिवार र आफन्तजनको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने प्रचलन छ । 

मधेस केन्द्रित तीन दलबीच कार्यगत एकता हुने

काठमाडौँ, २७ फागुन : मधेस केन्द्रित तीन दलबीच कार्यगत एकता हुने भएको छ । जनमत पार्टी, जनता प्रगतिशील पार्टी र तराई–मधेस लोकतान्त्रिक पार्टीबीच कार्यगत एकताको घोषणा गरिएको हो ।

जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेन्द्रचन्द लालले आईतबार संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै कार्यगत एकताको घोषणा गर्नुभएको हो । तीन दलले वर्तमान परिस्थितिमा छलफल तथा सहकार्यका लागि सातबुँदे सहमति गरेका हुन् ।

“वर्तमान परिस्थितिप्रति चिन्तित र सजग हुँदै समस्याको दीर्घकालीन समाधानका लागि प्रयत्नशील रहने प्रणका साथ तीन पार्टी छलफल तथा सहकार्य गर्न सहमत भएका छौँ”, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

मधेस केन्द्रित तीन दलको सहमतिअनुसार नेपालको संविधानको रक्षार्थ समसामयिक संशोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्ने, तराई मधेसका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति, विद्यमान सबै प्रकारका विभदे अन्त्य गर्ने भनिएको छ ।

त्यस्तै, उत्पादनमुखी अर्थतन्त्र स्थापित गर्न राष्ट्रिय पूँजी निर्माण गर्ने, कृषि उत्पादनमा वृद्धि तथा किसानको हितमा क्रियाशील हुने, उद्योग कलकारखाना स्थापना गरी रोजगारी सृजना गर्ने र गुणस्तरीय स्वास्थ्य शिक्षा तथा सामाजिक सुरक्षा सुनिश्चित गर्ने सहमति भएको छ । विज्ञप्तिमा अन्य दललाई पनि सहकार्यको अभियानमा सरिक हुन अनुरोध गरिएको छ ।