`

सभापति देउवाद्वारा ग्याल्पो ल्होसारको शुभकामना

काठमाडौँ, २८ फागुन : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्पो ल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समुन्नतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आज दिनुभएको शुभकामना सन्देशमौ नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पो ल्होसार एक महत्वपूर्ण पर्व भएको बताउनुभएको छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो । यहाँ विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्वहरु छन् । यी प्रत्येक पर्वहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको सभापति देउवाले सन्देशमा उल्लेख गर्नुभएको छ ।

लोकतन्त्रमा मात्र सबै जात–जाति, भाषा–भाषी तथा धर्म र संस्कृतिले समान अवसर पाउने उल्लेख गर्दै उहाँले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्दै भावी पुस्ताहरुका लागि पनि जीवन्त राख्नु सबैको दायित्व र जिम्मेवारी भएको बताउनुभएको छ ।
 

आज ग्याल्पो ल्होसार ,राष्ट्रपतिद्वारा शुभकामना

काठमाडौँ, २८ फागुनः राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दछु ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो । ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास राष्ट्रपति पौडेलले आज जारी गर्नुभएको शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।नेपालको हिमालीसहित विभिन्न क्षेत्रमा बसोबास गर्ने आदिवासी शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा विविध कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार मनाइन्छ ।ल्होसार पर्वका अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से सबैजना मिलीजुली खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा छ ।ग्याल्पो ल्होसार पर्वले हामी सबै नेपालीबीचको एकतालाई अझ सदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना राष्ट्रपतिले गर्नुभएको छ ।

चीन-युरोप मालवाहक रेल सेवा समृद्ध बन्दै

चीन-युरोप मालवाहक रेल सेवाल समृद्ध बन्दै गएको छ । यस वर्षको जनवरी र फेब्रुअरी दुई महिनामा चीन-युरोप रेल यातायात सञ्चालनले नयाँ रेकर्ड कायम गरेको छ।

चाइना स्टेट रेलवे ग्रुप कम्पनी लिमिटेड (चाइना रेलवे) का अनुसार सन् २०२४ को पहिलो २ महिनामा चीन-युरोप मालवाहक रेल यात्राको सङ्ख्या २ हजार ९२८ पुगेको छ जुन गत वर्षको तुलनामा ९ प्रतिशतले बढेको देखिएको छ ।

चाइना रेलवेका अनुसार फेब्रुअरीको अन्त्यसम्ममा यसले २५ युरोपेली देशका २१९ शहरमा सेवा विस्तार गरिसकेको छ। बढ्दो रेल यातायातबाट युरोपेली देशहरूमा चिनियाँ सामग्रीको ढुवानी निकै बढेको छ ।

उच्च अदालत दिपायलका रजिष्ट्रार भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ, २७ फागुन : विशेष अदालत काठमाडौँले उच्च अदालत दिपायल राजपुरका रजिष्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतले आज उहाँलाई रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्दै कैद तथा जरिवाना हुने सजाय सुनाएको विशेष अदालतका उपरजिष्ट्रार तथा प्रवक्ता धनबहादुर कार्कीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “रकम हिनामिना गरी भ्रष्टाचार गरेको भेटिएकाले कटवाललाई नौ महिना कैद र रु चार लाख ९८ हजार नौ सय ९५ जरिवाना तथा बिगो बमोजिम रकम असुलउपरसमेत हुने फैसला भएको छ ।”

विशेष अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारु र रामबहादुर थापाको इजालसले कटवाललाई दोषी ठहर गरेको हो । कटवालले विभिन्न शीर्षकमा अदालतबाट करिब रु पाँच लाख हिनामिना गरेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौ १६ गते मुद्दा दायर गरेको उपरजिष्ट्रार तथा प्रवक्ता कार्कील बताउनुभयो ।

साउदी लगानीकर्तालाई नेपालमा पूँजी परिचालन गर्न अध्यक्ष ढकालको आह्वान

काठमाडौँ, २७ फागुन : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले साउदी अरबका लगानीकर्ताहरुलाई नेपालमा लगानी बढाउन तथा लगानी साझेदारीका लागि आह्वान गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, लगानी बोर्ड नेपाल, साउदी अरबको लगानी मन्त्रालय, साउदी चेम्बर र यहाँस्थित साउदी अरब राजदूतावासले संयुक्त रूपमा आज आयोजना गरेको लगानी वेबिनारमा अध्यक्ष ढकालले नेपालमा लगानी बढाउन साउदी लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको हो ।

लगानी सम्मेलनको सन्दर्भ जोड्दै अध्यक्ष ढकालले नेपालमा लगानीकर्ताहरुलाई सहज वातावरण बनाउन नेपाल सरकारले नीजि क्षेत्रलेसँग मिलेर काम गरिरहेकाले बाह्य लगानीकर्ताहरूका लागि नेपालमा लगानी बढाउन उपयुक्त समय आएको बताउनुभयो ।

नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि र व्यावसायिक कृषिमा थप लगानीका सम्भावनाहरू सृजना भएकाले लगानीकर्ताहरूका लागि थप अवसरहरू सृजना भएकोतर्फ अध्यक्ष ढकालले साउदी लगानीकर्ताहरूको ध्यानाकर्षण गराउनु भयो ।

नेपाल सरकारले आगामी १० वर्षमा २५ हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । जलविद्युत् उत्पादनको लक्ष्य हासिल गर्न वैदेशिक लगानी आवश्यक पर्ने भएकाले जलविद्युत्मा क्षेत्रमा संयुक्त लगानी परियोजना विकास गर्न साझेदारीका लागि समेत अध्यक्ष ढकालले आग्रह गर्नुभयो ।

पर्यटन क्षेत्रमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालको आफ्नै मौलिक विशेषताहरु भएकाले होटेल रिसोर्ट तथा केबलकार परियोजनाहरूमा आफूले लगानी बढाएको उदाहरण दिँदै अध्यक्ष ढकालले बाह्य लगानीकर्ताहरूका लागि पर्यटन बजार पनि आकर्षण रहेको बताउनुभयो ।

सूचना प्रविधि र व्यावसायिक कृर्षिमा बढ्दो बजार मागले पनि लगानीकर्ताहरुलाई थप अवसरहरु सृजना गरी रहेकोले यसतर्फ ध्यान पु¥याउन उहाँले आग्रह गर्नुभयो ।बाह्य लगानीलाई सहज बनाउन महासङ्घले लगानी र व्यापार नीतिको मस्यौदामा सरकारसँग नजिक रहेर काम गरिरहेकाले नीतिगत समस्याहरूमा अप्ठ्यारो महसुस नगर्न उहाँले साउदीका लगानीकर्ताहरुलाई आश्वस्त पार्नुभयो ।

महासङ्घले वैदेशिक लगानी सहायता कक्षमार्फत लगानीकर्ताहरूलाई सेवाहरू प्रदान गरिरहेको जानकारी गराउँदै अध्यक्ष ढकालले यसले लगानीकर्ताहरुलाई थप सहज बनाएको बताउनुभयो ।आगामी वैशाखमा हुने नेपाल लगानी सम्मेलनमा लगानीका प्रतिबद्धतासहित सहभागी हुन उहाँले साउदीका लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो ।

लगानी वेबिनारमा लगानी बोर्डका प्रमुख कार्यकारी सहित साउदी अरबको लगानी मन्त्रालय, साउदी चेम्बर र नेपाल स्थित साउदी अरब राजदूत सहित साउदी अरब तथा नेपालका लगानीकर्ताहरूको सहभागिता रहेको थियो ।

श्रीलकाको नौसेनाद्वारा २२ जना भारतीय मछुवा नियन्त्रणमा

श्रीलङ्काको नौसेनाले उत्तरी श्रीलङ्काको करेइनगरबाट आफ्नो जलक्षेत्रमा अवैध ढङ्गले माछा मारिरहेका २२ जना भारतीय मछुवा सहित ३ वटा डुङ्गा नियन्त्रणमा लिएको छ । नौसेनाले आइतबार जारी गरेको विज्ञप्ति अनुसार शनिबार राति र आइतबार बिहान गरेका विभिन्न कारबाहीका क्रममा ती डुङ्गाहरू नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ट्रलर र भारतीय माछा मार्ने व्यक्तिलाई कनकेसन्थुराई बन्दरगाहमा ल्याएर कानुनी कारबाहीका लागि स्थानीय अधिकारीलाई बुझाइएको नौसेनाले जनाएको छ।

नौसेनाले सन् २०२४ मा श्रीलङ्काको जलक्षेत्रबाट १५ वटा भारतीय डुङ्गाहरू कब्जा गरेको छ भने ११० जना माछा मार्ने भारतीय व्यक्तिहरूलाई पक्राउ गरेको छ । यसैगरी श्रीलङ्काको नौसेनाले सन् २०२३ मा जलक्षेत्रमा अवैध गतिविधिमा संलग्न रहेका ३४३ जनालाई पक्राउ गरेको छ ।

महाशिवरात्रिमा पशुपतिनाथ दर्शनका लागि आएका साधुसन्तको बिदाइ

काठमाडौँ, २७ फागुन : महाशिवरात्रि पर्वमा पशुपतिनाथ दर्शनका लागि आएका स्वदेश तथा विदेशका गरी तीन हजार दुई सय ८९ साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिएको छ ।

आज बिहान ११ बजेदेखि सबै साधुसन्तलाई दान दक्षिणासहित बिदाइ गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘क’ वर्गका आठ, ‘ख’ वर्गका २५, ‘ग’ वर्गका २८, ‘घ’ वर्गका ४०, ‘ङ’ वर्गका ४५, ‘च’ वर्गका ८२, ‘छ’ वर्गका एक सय ४३, ‘ज’ वर्गका दुई सय ५२, ‘झ’ वर्गका तीन सय ५७, ‘ञ’ वर्गका दुई सय ५५, ‘ट’ वर्गका आठ सय २२ तथा अन्य मगन्तनारायण एक हजार दुई सय ३२ गरी कूल तीन हजार दुई सय ८९ साधुसन्त महाशिवरात्रिमा पशुपतिनाथमा आएका थिए ।

महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिएर बिदाइ गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो । उहाँका अनुसार कोषले स्वदेश तथा विदेशबाट आएका साधुसन्त बाबालाई पाशुपत क्षेत्रमा खिर खुवाएर, दानभेटी, मिष्ठान्न प्रसाद दिएर बिदाइ गरेको हो । बिदाइ गर्दा गुठी संस्थानले बाबाहरुलाई दक्षिणा दिने प्रचलन छ ।

नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी उनीहरुलाई दक्षिणा दिने प्रचलन रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । गुठी संस्थान र कोषले साधुसन्तलाई बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गर्ने विधि रहेको छ ।

तनहुँ जलविद्युत्मा एक हजार बढी स्थानीयले पाए रोजगारी, ५१ प्रतिशत भौतिक प्रगति

दमौली (तनहुँ), २७ फागुन : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा तनहुँभित्रका एक हजार सात सयभन्दा बढीले रोजगारी पाएका छन् । नेपाल विद्युत् प्राधिकरणको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडमार्फत निर्माण भइरहेको आयोजनाको विभिन्न प्याकेजमा तनहुँभित्रका एक हजार सात सय ७० जनाले रोजगारी पाएका हुन् ।

प्रभावित स्थानीय तह र जिल्लाभित्रका बासिन्दालाई रोजगारी दिने उद्देश्यसहित प्याकेज एक, प्याकेज दुई र प्याकेज तीन मै स्थानीयलाई रोजगारीको व्यवस्था मिलाइएको तनहँु हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले भन्नुभयो, “तनहुँकै सबैभन्दा ठूलो आयोजनाको काममा स्थानीयलाई नै प्राथमिकता दिएका हौँ ।”

उहाँका अनुसार आयोजनाबाट प्रभावित घरधुरीमध्येबाट ३२, प्रभावित वडाबाट एक हजार पाँच सय ७७ र प्रभावित क्षेत्रबाट एक सय ६१ गरी तनहुँभित्रका एक हजार सात सय ७० जनाले रोजगारी पाएका छन् । त्यसमध्ये प्याकेज १ मा एक सय ३०, प्याकेज २ मा एक सय ९७, प्याकेज ३ मा २० जनाले रोजगारी पाएका छन् । त्यस्तै तनहुँ हाइड्रोपावर लिमिटेडमा ४१, पिएससीतर्फ नौ र सिडिपीमा एक हजार तीन सय ६६ जनाले रोजगारी पाएका छन् । सबै प्याकेजमा तनहुँ बाहिरका एक हजार ४१ र विदेशी एक सय ४५ जनाले रोजगारी पाएको आयोजनाले जनाएको छ ।

सबैमा गरी कूल दुई हजार नौ सय ५६ जनाले रोजगारी पाएका छन् । त्यसमध्ये दुई हजार छ सय ६३ पुरुष छन् भने दुई सय ९३ महिला छन् ।

५१ दशमलव ४४ भौतिक, ४६ दशमलव ३४ प्रतिशत आर्थिक प्रगति

निर्माण सुरु भएको पाँच वर्षको अवधिमा आयोजनाले ५१ दशमलव ४४ प्रतिशत भौतिक प्रगति गरेको छ । यस्तै ४६ दशमलव ३४ प्रतिशत आर्थिक प्रगति हासिल भएको छ । आयोजनाले तीन प्याकेजमा ठेक्कामार्फत काम गरिरहेको छ ।

श्रेष्ठका अनुसार प्याकेज १ मा २७ दशमलव ७५ प्रतिशत भौतिक र २३ दशमलव ८८ प्रतिशत आर्थिक प्रगति भएको छ । प्याकेज २ मा ५१ दशमलव १४ प्रतिशत भौतिक र ४४ दशमलव शून्य नौ प्रतिशत आर्थिक प्रगति भएको छ भने प्याकेज ३ मा ७६ दशमलव पाँच प्रतिशत भौतिक र ७२ दशमलव छ प्रतिशत आर्थिक प्रगति हासिल भएको श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “तीनवटै प्याकेजको काम तीव्र गतिमा भइरहेको छ, आयोजनाको प्रगति सन्तोषजनक रहेको छ ।” आयोजनाको कामलाई निर्धारित मिति सन् २०२६ मै सम्पन्न गर्ने लक्ष्यसहित कामलाई अगाडि बढाइएको उहाँले बताउनुभयो ।

आयोजनाको महत्वपूर्ण काम रहेको बाँध निर्माण केही महिना अघिदेखि जारी छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई एक सय ४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट छ सय २६ दशमलव ९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको छ ।

डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको छ । बाँध निर्माणका लागि नदी फर्काउने कामलाई महत्वपूर्ण मानिन्छ । सन् २०२१ बाट निर्माण सुरु भएको डाइभर्सन टनेल हालै निर्माण सम्पन्न भएपछि नदी फर्काउने काम गरिएको हो ।

अब मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका करिब ४० मिटर अग्लो अस्थायी कङ्क्रिट बाँध (कफर ड्याम) निर्माण गरिने छ । उक्त बाँध आगामी मनसुन सुरु हुनुभन्दा पहिले नै निर्माण सक्ने गरी काम भइरहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले बताउनुभयो ।

आयोजनाको मुख्य निर्माण कार्यलाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि. नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेबाट कार्यान्वयनमा आएको थियो ।

आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२ को निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गतेखरिद सम्झौता भएको थियो । निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौता बमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात सिनो हाइड्रोले विसं २०७५ माघ ६ गतेबाट आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ ।

भूमिगत विद्युत् गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ तथा टर्वाइनलगायतका उपकरणहरु जडान भइरहेको छ । टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ भने मुख्य सुरुङ खन्ने काम भइरहेको छ । प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेशनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते भएको खरिद सम्झौता विसं २०७५ फागुन १० मा कार्यान्वयनमा आएको थियो ।

३४ दशमलव सात किमि प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये ७४ टावरहरुको जग हालिएको छ । सोह्र टावरको जग संरक्षण गर्ने कार्य सम्पन्न भएको छ भने तीन स्थानमा जारी छ । यस अवधिमा निर्माण व्यवसायीले टावरका विभिन्न उपकरण छिर्कनेमा रहेको स्टोरमा आपूर्ति गरेको जनाइएको छ ।

आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ ।

यसअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि घिरिङ–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३÷११ केभीका दुई सवस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सवस्टेसनसम्म विद्युत् पु¥याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँहरुमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

अनलाइन हिंसाको मारमा महिला र बालबालिका

अमृता अनमोल/काठमाडौँ – नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क भन्छ, ‘पछिल्लो पाँच वर्षमा साइबर हिंसा अर्थात अनलाइन अपराधका घटना छ गुणाले वृद्धि भएको छ ।’ हुन पनि प्रहरीमा दैनिक डेढ सयका हाराहारीमा अनलाइन हिंसाका उजुरी पुगेका छन् । आर्थिक वर्ष २०७६÷७७ मा प्रहरीको साइबर ब्युरोमा दुई हजार तीन सय एक निवेदन आएका थिए । यो सङ्ख्या बढेर गत आर्थिक वर्ष २०७९/८० मा नौ हजार १३ निवेदन परे । सबैभन्दा धेरै अनलाइन हिंसामा महिला र बालबालिकामाथि भएका उजुरी छन् । महिला बालबालिकाका धेरै उजुरीमा जिस्काउने, प्रेम प्रस्ताव वा यौन प्रस्ताव नमान्दा धम्काउने, नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी अनलाइनमा राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम र तस्बिर प्रयोग गरेर प्रोफाइल पेज खोलेर बेइज्जत गर्ने तथा दुःख दिनेलगायत छन् । सामाजिक सञ्जालको दुरुपयोग गरी हुने चरित्र हत्या, गालीगलौज, डरधम्की जस्ता गतिविधिले महिला तथा बालबालिकाको मानसिकता र जीवनयापनमा ठूलो असर पारेको देखिन्छ ।

अनलाइन उपकरणको दुरुपयोगबाट सर्वसाधारण मात्र होइन, सार्वजनिक छवि भएका, प्रशासक, राजनीतिज्ञ, मानवअधिकार रक्षक, पत्रकार र सामाजिक अभियन्ता महिलासमेत हिंसाको जोखिममा छन् । त्यस्ता महिलाले कुनै विषयमा आफ्नो विचार वा टिप्पणी व्यक्त गरेकै कारण उनीमाथि सामाजिक सञ्जालमार्फत चारित्रिक दोष लगाउने, धम्काउने र नङ्ग्याउने क्रम सुरु हुन्छ । सामाजिक सञ्जालमा अश्लील गालीगलौज मात्र होइन, बलात्कार गर्ने र ज्यान मार्नेसम्मको धम्की आउने उनीहरुको अनुभव छ ।

इन्टरनेटको बढ्दो प्रयोगले मानिसका धेरै क्रियाकलाप अनलाइनमा रुपान्तरण भएका छन् । अनलाइनबाट जतिजति क्रियाकलापहरु बढ्दैछन् त्यति नै त्यसबाट हिंसा बढ्दै गएको छ । सामान्य रुपमा पनि कसैको प्रेम प्रस्ताव स्वीकार नगरे बेइज्जत गर्ने, कुनै शब्द वा भनाइको ट्रोल बनाउने क्रम असाध्यै बढेको छ । अनलाइनका प्लेटफर्महरुको प्रयोग गरेर डरत्रास देखाउने, धाकधम्कीका सन्देश पठाउने, सहमतिबना निजी पहिचान र यौनजन्य सामग्री पठाउनेलगायतका गतिविधिले महिलामाथि अनलाइन हिंसा बढाइरहेको छ । अनलाइन अपराध गर्नु गलत मानसिकताको उपज हो । हिंसामा परेका व्यक्तिको नजरबाट हेर्दा विद्युतीय साक्षरता नहुँदा अर्थात अनलाइन कसरी प्रयोग गर्ने भन्ने नजान्दा पनि भएका देखिन्छन् । कतिपयलाई सामाजिक सञ्जालमा मैले के लेख्दैछु, के च्याट गर्दैछु, यसलाई मैले मेट्दैमा सबै प्रमाण मेटिंदैन भन्ने थाहा हुँदैन । लेखिएका कुराले भोलि कानुनी झमेलामा फस्छु कि भन्ने जानकारी पनि छैन । यसले झन् समस्यामा धकेलेको छ ।

अनलाइन हिंसाका स्वरुप एकै प्रकारका छैनन् । फरकफरक छन् । यसले जो जतिबेला पनि हिंसामा पर्ने देखिन्छ । तर विद्यमान शक्ति संरचना र परम्परागत धारणाका कारण धेरै र सहजै हिंसा महिला र बालबालिकामाथि भएको पाइन्छ । सङ्ख्यात्मक रुपमा पिडा दिने धेरै पुरुष भेटिन्छन् । पितृसत्तात्मक सोचका कारण पुरुष पीडक बनेका हुन् । अपेक्षाकृत व्यवहार नमिलेमा महिलामाथि अनलाइन हिंसा सुरु गरिहाल्ने एकखाले जमात छ । त्यो जमातले फरकफरक तरिकाले महिला तथा बालबालिका हिंसा गरिहेको हुन्छ ।

अनलाइन माध्ययमको दुरुपयोगले मानव बेचबिखनको जोखिम पनि बढाएको छ । सामाजिक सञ्जालबाट साथी बनेर प्रेमको नाटक गर्ने, घुम्न लैजाने, पढाइदिने, मोबाइल तथा लुगा किनीदिने, रोजगारीमा लगाइदिनेजस्ता प्रलोभन देखाएर वयस्कहरुले बालबालिका तथा किशोरीको अवैध ओरासारपसार र बेचबिखन गर्ने पाइएको मानवअधिकार आयोगको प्रतिवेदन २०७९ मा उल्लेख छ । प्रहरीकै तथ्याङ्क हेर्ने हो भने पनि अवैध ओरासारपसार र बेचबिखनमा पर्ने महिला र बालिका धेरै छन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा आर्थिक वर्ष २०७९÷८० मा मानव बेचबिखन तथा अवैध ओसारपसारका एक सय ५७ उजुरी आएका थिए । त्यसमा २१० महिला थिए । धेरैले अनलाइन प्लेटफर्मका माध्ययमबाट चिनेको वा योजना बनाएको बताएका थिए ।

डिजिटल अधिकारमा काम गर्ने अन्तरराष्ट्रिय संस्था ‘बडी एन्ड डाटा’ले सन् २०२३ मा अनलाइन हिंसा सम्बन्धी सर्वेक्षण गरेको थियो । त्यसमा ८६ प्रतिशत महिला तथा सीमान्तकृत समुदायले आफूले कुनै न कुनै प्रकारको अनलाइन हिंसा भोगेको बताएका थिए । महिला त्यसमा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र सिमान्तकृत समुदायमाथि धेरै हिंसा भएको छ । उनीहरुले आफूमाथि भएका हिंसा तत्काल बताउन नसक्दा भयावह रुप लिएको बताइएको छ । अनलाइन हिंसा व्यक्त भन्दा अव्यक्त धेरै छन् । प्रहरीमा पुग्ने भन्दा नपुग्ने धेरै छन् । युएन वुमनको प्रतिवेदन अनुसार विश्वमा तीन महिलामध्ये एक जनाले शारीरिक तथा यौनजन्य हिंसा भोगिरहेका छन् । सामाजिक सञ्जालको पहुँचमा रहेका सबैजसो महिला र युवतीले अनलाइन हिंसाको सामना गर्छन् । यसले महिलामाथि हुने हिंसाको स्वरुप र ढाँचा अझ बढ्न सक्ने देखिने बताइएको छ ।

हुन पनि सामाजिक सञ्जालमा अनावश्यक भावना र कुण्ठा यति बेसुर पोखेका भेटिन्छन् कि साथीसङ्गतीकै महिला बालबालिका पनि त्यसमा पर्छन् । आफूमा रहेको यौन उन्माद र कुण्ठा उनीहरुमाथि खन्याएका हुन्छन् । यसबाट वयस्क युवती मात्र होइन, किशोरी र पाका महिलासमेत प्रताडित भएका छन् । प्रताडना व्यक्तभन्दा अव्यक्त धेरै छन् । सक्नेले प्रतिकार गरेका छन् । नसक्ने कतिपय सामाजिक सञ्जालबाटै बाहिरिएका छन् । हिंसाका कारण मानसिक समस्या बढ्ने र आत्महत्या समेत बढेका छन् । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को प्रतिवेदनमा नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका २३ प्रतिशत महिलाले १५ वर्षकै उमेरदेखि शारीरिक हिंसा भोगेको बताएको उल्लेख छ भने छ प्रतिशत महिलाले गर्भावस्थामा हिंसा महसुस गरेका छन् । अनलाइन दुरुपयोग बढिरहे यो सङ्ख्या अझ बढ्ने देखिन्छ ।

कहिल्यै नदेखे नजानेको व्यक्तिले पनि सामाजिक सञ्जालमार्फत साथी बनौं भन्ने र साथी बनीहाल्ने परिपाटीले पनि अनलाइन हिंसा निम्त्याएको छ । यस्तो हिंसा विद्युतीय साक्षरता नभएका महिला, बालबालिका, किशोरी त्यसमा पनि अपांगता भएका, सिमान्तकृत र यौनिक अल्पसङ्ख्यक धेरै पर्छन् । धेरैको अनुभवमा अनलाइन माध्ययमबाट साथी बनेपछि बोलचाल सुरु हुन्छ । व्यक्तिगत कुरा गर्छन् । मलाई तिमी मन प¥यो । तिम्रो फोटो मन प¥यो । तिम्रो शरीर मन प¥यो । बोली मन प¥यो भनेर हिंसाको सिलसिला सुरु हुन्छ । कालु, काली, सानी, कान्छी जस्ता शब्दको प्रयोग अनि प्रेम प्रस्ताव राखिन्छ । ती महिला एवं बालबालिकाले प्रेषकको झुटो प्रस्ताव विश्वास गर्छन् । अनि मायाको साँच्चै अनुभूति गरेर उनीहरुको प्रस्ताव अनुसारका क्रियाकलाप गर्छन् । यसले मानसिक हिंसादेखि यौन हिंसा हुँदै बेचबिखन तथा ओसारपसारको शिकार बनाएको छ ।

नेपालमा इन्टरनेट र प्रविधि बढ्दै गएको छ । सर्वसाधारण समेत इन्टरनेटको पहुँमा छन् तर तिनलाई प्रयोग गर्ने र सुरक्षित हुने कसरी विद्युतीय साक्षरता छैन । यसले महिला, बालबालिका र किशोरीहरु त्यसमा पनि सिमान्तकृत समुदायका व्यक्ति हिंसाको जोखिममा परिरहेका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ७३ प्रतिशत परिवारमा स्मार्टफोन पुगेको छ । कुल जनसङ्ख्याको ३७.८ प्रतिशतले इन्टरनेट चलाउँछन् । ल्याबटप वा कम्प्युटर प्रयोग गर्नेको सङ्ख्या १५ प्रतिशत छ । जतिजति विद्युतीय अनलाइन उपकरणको पहँुच पुगेको छ, त्यसअनुसार अनलाइन सुरक्षाका बारेमा सिकाइएको छैन । कसरी अनलाइन प्लेटफर्महरुमा संलग्न हुने, कसरी सुरक्षित रुपमा चलाउने भन्नेबारेमा बहस भएको छैन । यसले महिला, बालिका, किशोरी, अपाङ्गता भएका तथा यौनिक तथा लैंगिक अल्पसङ्ख्यक समुदायलाई अनलाइन हिंसाको शिकार बनाएको हो । सामाजिक सञ्जाललाई असामाजिक बनाएको हो ।

कति बेला लाग्न सक्छ यसले सामाजिक होइन असामाजिक गतिविधि बढाएको छ । प्रयोग नै नगरौं तर अनलाइन प्रविधिको प्रयोगबिना अबको जीवन सम्भव छैन । विद्यार्थीदेखि व्यवसायी, जागिरे, राजनीतिक व्यक्ति सबैका लागि अनलाइन माध्यम अत्यावश्यक भएको छ । यसर्थ, अनलाइनका चुनौतीबाट बच्न आफूलाई प्रविधि र साक्षरमैत्री बनाउनुपर्छ । व्यक्ति व्यक्तिमा चेतना नपुग्दासम्म सामाजिक सञ्जालका माध्ययमबाट हुने अनलाइन हिंसा र दुर्व्यवहार अझ बढ्नेछ । यसर्थ राज्यस्तरबाटै सामाजिक सञ्जालको दुरुपयोग गरी हुने हिंसा रोक्न सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्छ । अनलाइनमार्फत हुने चरित्र हत्या, गालीगलौजजस्ता गतिविधिले व्यक्तिको मानसिकतामा ठूलो असर पारेको देखिन्छ । बालबालिकाका लागि साइबर सुरक्षाबारे पाठ्यक्रममै समावेश गरेर विद्यालय तहबाटै सिकाउनुपर्छ ।

विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ ले अनलाइनमार्फत अरुलाई मानसिक यातना दिने वा जिस्काउने व्यवहारलाई गलत मानेको छ । कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुबाट महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । ऐन अन्तर्गत बनेको नियमको उल्लंघन भएमा उल्लङ्घनकर्तालाई पचास हजार रुपैयाँसम्म जरिबाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुने उल्लेख छ । कसूरबाट पीडित व्यक्तिलाई हुन गएको हानिनोक्सानी कसूरदारबाट मनासिव क्षतिपूर्ति भराई दिने समेत व्यवस्था छ । यसर्थ सामाजिक सञ्जाललाई असामाजिक रुपमा प्रयोग गर्ने र अनलाइन हिंसा गर्नेको बेवास्ता गर्नु हुँदैन । समस्या समस्या नै हो हिंसा हिंसा नै हो । भयावह नहुँदै समाधानका उपाय खोज्नुपर्छ । सामाजिक सञ्जाललाई असामाजिक बनाउने, साथी, सहकर्मी र सम्बन्धमा यौन वासना खोज्नेलाई रोक्नुपर्छ ।

पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति जरदारीद्वारा शपथ ग्रहण

पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति आसिफ अली जरदारीले आइतबार शपथ ग्रहण गर्नु भएको छ ।राष्ट्रपति भवनमा आइतबार आयोजित विशेष समारोहमा उहाँले पाकिस्तानको १४ औँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुभएको हो ।

पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले नवनिर्वाचित राष्ट्रपतिलाई पद तथा गोपनीयताको शपथ गराउँनु भएको हो । उक्त समारोहमा निवर्तमान राष्ट्रपति आरिफ अल्वी, प्रधानमन्त्री शाहबाज शरीफ, सशस्त्र सेनाका प्रमुख, राजनीतिज्ञ र सुरक्षा निकायका प्रमुख लगायत विशिष्ट महानुभावहरू उपस्थित हुनुहुन्थ्यो ।

पाकिस्तान पिपुल्स पार्टी संसदीय दलका सह-अध्यक्ष जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै इलेक्टोरल कलेजबाट ४११ मत ल्याएर शनिबार विजयी हुनु भएको थियो ।

यातायात सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न माग

काठमाडौँ, २६ फागुन : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यातायात सुधार कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबिर महासेठ समक्ष माग गरेको छ ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर नेतृत्वको टोलीले आज नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठलाई भेटेर देशभरको यातायात क्षेत्रको सुधारका लागि कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयनको माग गरेको हो ।

महासङ्घको टोलीले सार्वजनिक यातायात क्षेत्रको लगानी संरक्षणका साथै व्यवस्थित ढङ्गले यातायात सेवा सञ्चालन गर्न मन्त्रीसमक्ष अनुरोध गरेको छ ।

मन्त्री महासेठले सरोकारवाला निकायसँग समन्वय गरेर यातायात क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

आजै महासङ्घको टोलीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनलाई भेटेर यातायात क्षेत्रका समस्या समाधानका निम्ति गम्भीर हुन आग्रह गरेको थियो ।

राष्ट्रियसभा अध्यक्षमा शर्मालाई उम्मेदवार बनाउँदै कांग्रेस

काठमाडौँ, २७ फागुन : नेपाली कांग्रेसले यही फागुन २९ गते हुने राष्ट्रियसभा अध्यक्ष पदमा पार्टीका तर्फबाट युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा आज उहाँको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट शर्माको उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।

बैठकले शर्माको पक्षमा मतदान गर्न राष्ट्रियसभामा रहेका अन्य राजनीतिक दल तथा सदस्यहरुसँग अनुरोध गर्ने निर्णय गरेको संसदीय दलका नेताको सचिवालयले जनाएको छ ।

हरेक नागरिकले सुरक्षाको अनुभूति हुने गरी सेवा प्रवाह गर्नुपर्छ – गृहमन्त्री लामिछाने

काठमाडौँ, २७ फागुनः उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीका कर्मचारीले आफूलाई सुम्पिएको जिम्मेवारी कानुनी परिधिमा रहेर निर्वाह गर्नुपर्ने बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयको आज निरीक्षण गर्दै उहाँले प्रहरी कर्मचारीको वृत्तिविकासको सुनिश्चितता सङ्गठनले गर्नुपर्नेमा जोड दिनुभयो । गृहमन्त्री लामिछानेले भन्नुभयो, “कर्मचारीहरूको सरुवा, बढुवा तथा वृत्तिविकासका लागि आवश्यक पर्ने नीति र योजना बनाएर ल्याउनुहोस् । त्यसको कार्यान्वयनका लागि के कसरी गर्नुपर्ने हो सहजीकरण गर्न तयार छु ।” निर्धक्क भएर नीति र विधिको परिधिमा रहेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ठूलो जनशक्ति तल्लो तहका कर्मचारीहरूको भएको र उनीहरूको गुनासो सम्बोधन गर्न प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।

हरेक नागरिकले सुरक्षाको अनुभूति हुने गरी सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले भन्नुभयो, “कुनै पनि घटना तथा अपराधको छानबिन र अनुसन्धान भइरहँदा को प्रतिवादी हुने वा नहुने निर्धारण आदेशले होइन प्रमाणले गर्नुस् । अनुसन्धान प्रमाणमुखी हुनुपर्छ र कानुनको नजरमा सबै बराबर हुनुपर्छ ।” कानुनको नजरमा अनुहार, पद, प्रतिष्ठा हरेर होइन प्रमाणका आधारमा निष्पक्ष भएर अनुसन्धान तथा कारबाही गर्न आग्रह गर्दै त्यसबाट उब्जने चुनौतीको डटेर सामना गर्दा र सुरक्षा कवच भएर आफैँ उभिने उहाँले बताउनुभयो ।

गृहमन्त्री लामिछानेले वैज्ञानिक प्रविधिको प्रयोगबाट हुने अपराधको अनुसन्धानमा प्रविधिको प्रयोग सँगसँगै लिएर वैज्ञानिक उपकरण र दक्ष जनशक्तिको विकास आवश्यक रहेको उल्लेख गर्नुभयो । पीडित महिला तथा बालबालिका, वृद्धवृद्धा, असहाय, गरिब, फरक क्षमता भएका वर्गको न्यायका लागि अझ बढी सचेत भई विशेष प्राथमिकताका साथ सम्बोधन गर्न उहाँले निर्देशन दिनुभयो । मिटरब्याजपीडित, सहकारीपीडितहरूको समस्या ठूलो चुनौतीका रूपमा रहेको उल्लेख गर्दै गृहमन्त्रीले आर्थिक अपराध, ठगी, ‘साइबर क्राइम’ लागूऔषध कारोबारलगायत आपराधिक गतिविधि नियन्त्रण तथा अनुसन्धानमा चेतना अभिवृद्धिका साथै मन, वचन र कर्मले सेवाभावका साथ जनअपेक्षाअनुरूप काम गर्न निर्देशन दिनुभयो ।

गृहमन्त्री लामिछानेलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गर्नुभएको थियो । त्यस क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभयो । साथै उहाँले नेपाल प्रहरी प्रधानकार्यालय तथा कार्यालयस्थित सङ्ग्रहालयको निरीक्षण गर्नाका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले गृहमन्त्रीबाट प्राप्त निर्देशन कार्यान्वयनका लागि प्रहरी सङ्गठन पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले समयको गतिशीलता र परिवर्तनमुखी सामाजिक परिवेशसँगै सृजित चुनौतीलाई निस्तेज तुल्याउँदै, समाजको परिवर्तनको गति र दिशा अनि आमनागरिकको चाहनाबमोजिम प्रहरी सेवालाई समयसापेक्ष बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राज्यले अङ्गीकार गरेको नीति र दिएको निर्देशन, कुनै गुनासो र स्वार्थबिना कार्यान्वयन गर्ने आफ्नो मूलभूत दायित्वबाट कहिल्यै विमुख नभएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “नेपाल प्रहरीको संस्थागत विकास, यसमा आबद्ध सकल दर्जाका प्रहरी कर्मचारीहरूको व्यावसायिक मनोबल र समग्र साङ्गठनिक हितका लागि तालुक गृह मन्त्रालयबाट अभिभावकीय भूमिका निर्वाह हुनेमा नेपाल प्रहरी विश्वस्त छ ।” कानुनले प्रदान गरेको पद र त्यसमा निहित अधिकारको दुरूपयोग गरी गैरव्यावसायिक क्रियाकलाप र आर्थिक अनियमिततामा संलग्न रहने प्रवृत्तिउपर नेपाल प्रहरीले निर्मम प्रहार गर्ने उहाँले बताउनुभयो ।

त्यस अवसरमा गृहसचिव दिनेश भट्टराई, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायब महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरुलगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवं सातवटै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, विभिन्न प्रहरी गण, तालिम केन्द्र, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय एवं सबै जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको ‘भर्चुअल’ सहभागिता थियो ।

महिला साफ च्याम्पियनशिपको उपाधि बङ्गलादेशलाई

काठमाडौँ । बङ्गलादेशले भारतलाई ‘पेनाल्टी सुटआउट’मा पराजित गर्दै दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१६ महिला च्याम्पियनशिपको उपाधि जितेको छ । 

सातदोबाटोस्थित एन्फा कप्लेक्समा आइतबार भएको फाइनल खेलमा बङ्गलादेशले पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । खेलको निर्धारित समयसम्म दुवै टोलीबाट १–१ गोल बराबरीमा खेलेपछि खेल पेनाल्टी सुटआउट गएको हो । 

पेनाल्टीमा बङ्गलादेशका लागि मारियम बिन्ता हन्ना, थुनी मर्मा र साथी मुन्डाले गोल गरे । त्यसैगरी, सौभरभी अखण्ड प्रीति र अल्पी अख्तर भने गोल गर्नबाट चुके । 

भारतका लागि स्वेता रानी र अन्विता रघुरमानले गोल गर्दा एलिनादेवी सारङ्गथेम, बोनिफिलिया शुल्लई र दिव्यारानी लिन्डाले गोल गर्न सकेनन् ।

त्यसअघि, खेलको चौथो मिनेटमै अनुष्का कुमारीको गोलमार्फत भारतले अग्रता लिएको थियो । खेलको ७१औँ मिनेटमा बङ्गलादेशकी मरियम बिन्ता हन्नाले एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्याएकी थिइन् । सङ्घर्षपूर्ण खेलमा गोल हुन सकेन र खेलको निर्णय पेनाल्टी सुटआउटमा गएको थियो । प्रतियोगितामा नेपालसहित, भारत, बङ्गलादेश र भूटानको सहभागिता थियो ।

दुई लाख राशिको भलिबलको उपाधि गलकोट नगरपालिकालाई

पर्वत, २७ फागुन : तेस्रो राष्ट्रिय मगर महोत्सवअन्तर्गत यहाँ आयोजित खुल्ला पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि बागलुङको गलकोट नगरपालिकाले हात पारेको छ ।

४२औँ राष्ट्रिय मगर दिवसको अवसरमा जिल्लाको पुन क्लबको आयोजनामा ‘खेल खेलाडीका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने नाराका साथ आयोजना गरिएको भलिबल प्रतियोगितामा पर्वतको कुश्मा नगरपालिकालाई पराजित गर्दै गलकोट विजयी बनेको हो ।

यससँगै गलकोटले रु दुई लाख दुई हजार दुई सय २२ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेतामा चित्त बुझाएको कुश्माले रु एक लाख एक हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।

‘वेस्ट अफ फाइभ’ को आधारमा भएको ‘फाइनल’ खेलमा चार ‘सेट’ खेलिसक्दा तीन ‘सेट’ गलकोटले जितेपछि पाँचौँ सेट नखेल्दै गलकोट विजेता बनेको हो । पहिलो, तेस्रो र चौथो ‘सेट’ क्रमश ः २५–१५, २५–१७ र २५–१८ मा गलकोटको पक्षमा पर्दा दोस्रो ‘सेट’ ३१–२९ को नतिजासहित कुश्माले हात पारेको थियो ।

प्रतियोगितामा पर्वतकै फलेवास नगरपालिकाले तेस्रो स्थान बनाएको छ । यससँगै उसले रु ५० हजार एक सय ११ हात पारेको छ । फलेवासलाई पर्वतकै बिहादी गाउँपालिकाले ‘वाक ओभर’ दिएको थियो ।

यस्तै रु ७७ हजार पुरस्कार राशि रहेको खुल्ला पालिकास्तरीय पुरुष प्रौढ भलिबल प्रतियोगिताको उपाधि पोखरा महानगरपालिकाले जितेको छ । शनिबार नै भएको फाइनल खेलमा पर्वतको कुश्मालाई पराजित गर्दै पोखरा भेट्रान्सले रु ७७ हजार सात सय ७७ प्राप्त गरेको छ ।

‘वेस्ट अफ फाइभ’ मा भएको प्रतिस्पर्धामा पहिलो, तेस्रो र पाँचौँ सेट पोखराले जित्दा दोस्रो र चौथो सेट मात्रै कुश्मा नगरपालिकाले जितेको हो । पोखराले पहिलो सेट २५–१६ मा, तेस्रो सेट २५–१९ र पाँचौँ सेट १५–१० जित्यो भने कुश्माले दोस्रो सेटमा २५–१७ मा र चौथो सेट २५–१९ मा जितेको हो । उपविजेता बनेको कुश्माले पुरस्कारका रूपमा रु ४४ हजार चार सय ४४ पाएको छ ।

खुला महिला भलिबल प्रतियोगितातर्फ कुश्माको टोली विजेता बनेको छ । फाइनलमा पुन ट्रेनिङ सेन्टरलाई पराजित गर्दै कुश्माले उपाधि जितेको हो । जीतसँगै कुश्माले पुरस्कार स्वरूप रु ५५ हजार पाँच सय ५५ पाएको छ भने उपविजेता बनेको पुन ट्रेनिङ सेन्टरले रु ३३ हजार तीन सय ३३ पाएको छ ।

बुढासुब्बा गोल्डकप : एनआरटी सेमिफाइनलमा

धरान, २७ फागुन :धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको आज ¬¬दोस्रो दिनको खेलमा काठमाडौँको न्युरोड टिम (एनआरटी) ले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गरेको छ । जितसँगै एनआरटीले सेमिफाइनलको यात्रा तय गरेको छ ।

आज धरान रङशालामा भएको दोस्रो क्वाटरफाइनल खेलको चौथो मिनेटमा त्रिभुवन आर्मीका खेलाडी मानबहादुर आलेमगरले गोल गरेपछि खेला रोमाञ्चक बनेको थियो । त्यसपछि खेलको १४औँ मिनेटमा एनआरटीका खेलाडी शिशिर लेखीले पहिलो गोल गरेका थिए । एनआरटीकै अफिज ओलावालेले ६०औँ मिनेटमा गोल गरेर जित सुनिश्चित गरेका थिए ।

आजको खेलको ‘प्येयर अफ द म्याच’ एनआरटीका शिशिर लेखी घोषित हुँदै रु १० हजार पुरस्कार पाए । सोमबारको तेस्रो क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब र मोरङ फुटबल सङ्घबीच हुने आयोजकले जनाएको छ ।

गठबन्धन गरेर चुनावमा जाने परम्पराले राजनीति दूषित भयो : महामन्त्री थापा

पाटन (ललितपुर), २७ फागुन : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावभन्दा अगाडि नेताहरु मिलेर चुनावमा जाने परम्पराले नेपालको राजनीतिलाई दूषित बनाएको बताउनुभएको छ । ललितपुरको गोदावरी नगरपालिकाको आठौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा महामन्त्री थापाले पछिल्लो सत्ता गठबन्धनको उद्देश्य पनि आगामी चुनावमा गठबन्धन गर्न नै हो भन्नुभयो । उहाँले चुनावी गठबन्धनले राजनीतिलाई दूषित बनाएको तर्क गर्नुभयो ।

“अहिले पनि संसद्मा कुनै दलको बहुमत छैन, यही प्रणाली हुँदा भोलि पनि कुनै दलको बहुमत हुँदैन । यसले नेताहरुको स्वार्थमा संसद् र सरकार बन्धक बनाउँछ । जनताको आवश्यकता र अपेक्षाको सम्बोधन हुनुपर्छ । राजनीतिलाई दूषित हुनबाट बचाउन निर्वाचन प्रणालीलाई बदल्नुपर्छ,” महामन्त्री थापाले भन्नुभयो ।

मिश्रित निर्वाचन प्रणाली विकृत भएको र त्यसबाट नेताहरूलाई सत्तामा पुग्न सहज हुँदा शक्तिको दुरुपयोग हुने गरेका आरोप महामन्त्री थापाले लगाउनुभयो । प्रणाली ठीक नहुँदा देश विकासको गति ठप्प प्रायः भएको बताउँदै उहाँले सङ्घीय प्रणालीलाई ठीक ढङ्गले उपयोग गर्दै नागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तहलाई दिइएको जिम्मेवारीअनुसार सेवा प्रवाह हुनुपर्ने बताउनुभयो ।

बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनले गोदावरी नगरपालिकाका प्रमुखमा नगरपालिकाको विकास र समृद्धिको लक्ष्य, दृष्टिकोण र मार्गचित्र स्पष्ट रहेको बताउनुभयो ।

बागमती प्रदेशसभा सदस्य उर्मिला लामाले मुलुक सङ्घीय संरचनामा गएपछि बनेको गोदावरी नगरपालिकाले आठौँ स्थापना दिवससम्म आइपुग्दा महत्वपूर्ण कार्यसम्पादन गरेको बताउनुभयो । उहाँले यस नगरपालिकालाई शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र पर्यटनको क्षेत्रमा नमूना नगरपालिकाका रुपमा विकास गर्न स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

त्यस्तै, बागमती प्रदेशसभा सदस्य रघुनाथ महर्जनले सरकारले लिएको दिगो विकास लक्ष्यलाई पूरा गर्नेतर्फ विशेष महत्व दिएर मानव विकास, सामाजिक विकास र पूर्वाधार विकासमा लाग्न आग्रह गर्नुभयो । जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले गोदावरी नगरपालिकाले नगरबासीको चाहना पूरा गर्न महत्वपूर्ण काम गरेको बताउनुभयो । उहाँले विकास निर्माणका सन्दर्भमा स्थानीय तहले चाहना गरेबमोजिम सङ्घ र प्रदेशले बजेट प्रवाह गर्न नसकेको बताउनुभयो ।

नगरप्रमुख गजेन्द्र महर्जनले भूगोलका हिसाबले उपत्यकाको सबैभन्दा ठूलो नगरपालिकाका जनप्रतिनिधिहरुको गुनासोलाई सुझावका रुपमा लिएर काम गरिरहेको बताउनुभयो । उहाँले सीमित स्रोत र साधनका बावजुद शिक्षा, स्वास्थ्यसँगै सम्पदा संरक्षणमा पनि ध्यान दिएको बताउनुभयो ।उपप्रमुख मुना अधिकारीले नयाँ नगरपालिका भएकोले आन्तरिक स्रोतको अभावका कारण सबै वडा कार्यालय भवन बनिनसकेका बताउनुभयो ।

प्रधानसेनापतिसँग जनमुक्ति सेनाका उपप्रमुखको भेट

काठमाडौँ, २७ फागुन : प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालको भ्रमणमा रहनुभएका चिनियाँ जनमुक्ति सेनाका उपप्रमुख मेजर जनरल झाङ पाकुनले जङ्गी अड्डामा शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरुले दुई छिमेकी देशका साथै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच रहिआएको सम्बन्धका विविध पक्ष एवं आपसी चासोका विषयमा छलफल गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

शनिबारदेखि नेपाल भ्रमणमा रहेको उपप्रमुख पाकुन नेतृत्वको छसदस्यीय टोलीले काठमाडौँ, लुम्बिनी तथा पोखराका विभिन्न सांस्कृतिक र पर्यटकीयस्थलको भ्रमण गर्ने कार्यक्रम छ । चारदिवसीय भ्रमणका लागि नेपाल आएको उक्त टोली यही फागुन २९ गते स्वदेश फर्कनेछ ।

राष्ट्रपति पौडेलद्धारा धार्मिकस्थल लड्केश्वरमा आयोजित कोटीहोममा आज पूजा–अर्चना

काभ्रेपलाञ्चोक, २७ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वल्थलीस्थित धार्मिकस्थल लड्केश्वरमा आयोजित कोटीहोममा आज पूजा–अर्चना गर्नुभएको छ ।

दिउँसो उक्त तीर्थस्थल लड्केश्वर पुग्नुभएका पौडेलले कोटीहोमको फूलप्रसाद ग्रहण गरी आफ्ना सङ्क्षिप्त मन्तव्य व्यक्त गर्नुभएको छ । उहाँले यस पवित्र भूमिमा आयोजना गरिएको कोटीहोमबाट देश र जनताको कल्याण होस् भन्ने कामना गर्नुभयो । “यस्तो पुण्य र पवित्र कार्यक्रममा सहभागी हुन पाउँदा निकै खुसी लागेको छ, यसबाट समाज, देश र जनताको कल्याण हुने विश्वास व्यक्त गर्दछु”, उहाँले भन्नुभयो ।

ओमकार फाउन्डेसनले कोटीहोम आयोजना गरेको हो । विश्वकै अग्लो एक सय आठ फिटको त्रिशूल निर्माण भएको उक्त क्षेत्रमा यही फागुन २ गतेदेखि आउँदो चैत २ गतेसम्म कोटीहोम आयोजना गरिएको हो ।

गाजा युद्धप्रति नेतन्याहूको दृष्टिकोणले इजरायललाई सहयोगभन्दा बढी चोट पुर्याएको बाइडेनको दाबी

इजरायली राष्ट्रपति बेन्यामिन नेतन्याहूले गाजामा जारी युद्धप्रति देखाएको दृष्टिकोणले इजरायललाई सहयोग गर्नुको सट्टा बढी क्षति पु¥याइरहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताउनुभएको छ ।

गाजाको मानवीय सङ्कट झनै विकराल बन्दै गएको र यसले अमेरिकी संसद्मा राष्ट्रपतिको विपक्षमा कडा विरोध भइरहेको समय वाइडेनले दक्षिणी गाजाको रफामा इजरायलको आक्रमणको चेतावनीबारे विरोधाभासी टिप्पणी आएको होे । “नेतन्याहूलाई इजरायलको रक्षा गर्ने अधिकार छ, हमासलाई पछ्याइरहने अधिकार छ”, बाइडेनले भन्नुभयो, “तर उहाँ (नेतन्याहू) ले चालेका कदमका कारण निर्दोष मानिसको ज्यान जानेतर्फ बढी ध्यान दिनुपर्छ ।”

“मेरो विचारमा उहाँले इजरायललाई सहयोग गर्नुभन्दा पनि बढी चोट पु¥याइरहनुभएको छ,” उहाँले थप्नुभयो । रफाको २४ लाख बासिन्दामध्ये करिब १५ लाख अहिले गाजामा सुरक्षाका लागि पुगेका विस्थापित प्यालेष्टिनी नागरिक रहेका छन् । यस क्षेत्रमा हुने आक्रमणले ठूलो मानवीय जोखिम निम्त्याउन सक्ने भन्दै रफामा इजरायलको सम्भावित आक्रमणको बारेमा बाइडेनको अस्पष्ट देखिँदै आउनुभएको छ । “यो खतराको रेखा हो”, ८१ वर्षीय डेमोक्र्याट नेताले भन्नुभयो, “म इजरायलको पक्ष कहिल्यै छोड्ने छैन । इजरायलको प्रतिरक्षा अझै पनि महत्वपूर्ण छ ।”

बाइडेनले बिहीबार स्टेट अफ द युनियनको सम्बोधनपछि नेतन्याहूलाई गाजा युद्धबारे छलफल गरेर अघि बढ्नुपर्ने भन्दै इजरायली प्रधानमन्त्री नेतन्याहूलाई वासिङ्टन भ्रमणका लागि निमन्त्रणा दिनुभएको छ । अक्टोबर ७ मा हमासले सीमापार गरेको आक्रमणमा करिब एक हजार १६० जनाको मृत्यु भएको थियो भने करिब २५० जनालाई बन्धक बनाइएको थियो ।

बदलामा इजरायलले गाजामा निरन्तर हवाई आक्रमण गरिरहेको छ । हमास नियन्त्रित गाजामा इजरायलले गरेको जवाफी कारबाहीमा ३१ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको र मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका प्यालेष्टिनी स्रोतले जनाएको छ ।

गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३१ हजार नाघ्यो

इजरायली आक्रमणबाट गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या ३१ हजार नाघेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ ।

विगत २४ घण्टाको अवधिमा इजरायली सेनाले द्वन्द्वग्रस्त तटीय क्षेत्रका विभिन्न स्थानमा गरेको आक्रमणबाट ८५ जना प्यालेस्टाइनीको मृत्यु भएको छ भने १३० जना घाइते भएका छन् । सो द्वन्द्वमा परी मृत्यु हुनेको कुल सङ्ख्या ३१ हजार ४५ पुगेको छ भने घाइतेको सङ्ख्या ७२ हजार ६५४ पुगेको छ ।

छनोट प्रतियोगितामा सहभागी हुन तेक्वान्दोका दुई टोली चीन जाँदै

काठमाडौं, २७ फागुन : फ्रान्सको पेरिसमा आगामी जुलाई २६ देखि अगष्ट ११ सम्म हुने ग्रीष्मकालीन ओलिम्पक तथा अगष्ट २८ मा आयोजना गरिने पारालिम्पिक गेम्सका लागि हुने एसियाली तेक्वान्दो छनोट प्रतियोगितामा सहभागी हुन तेक्वान्दोका दुई टोली चीन जाने भएका छन् । छनोट प्रतियोगिता आगामी चैत २ देखि ४ गतेसम्म चीनको ताइयाङमा हुँदैछ ।

पेरिस ओलम्पिकको छनोटअन्तर्गत पुरुष ५८ केजीमुनि राहुल कुमाल र ६८ केजीमुनि वीरबहादुर महरा तथा महिला समूहमा ४९ केजीमुनि अन्जली तामाङ र ६७ केजीमुनि इन्दिरा बस्नेतले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रत्येक तौल समूहमा पहिलो र दोस्रो हुने खेलाडी पेरिस ओलम्पिकका लागि छनोट हुनेछन् । उक्त छनोट खेल भने चैत २ र ३ गते हुनेछ । त्यसका लागि टोली भोलि चीन प्रस्थान गर्दैछ ।

त्यसैगरी, पेरिस पारालिम्पिक छनोटअन्तर्गत पुरुष ५८ केजीमुनि भरतसिंह महता र ६३ केजीमुनि अमिर ब्लोन तथा महिला ५७ केजीमुनि पलेसा गोवद्र्धनले नेपालको प्रतिनिधित्व गर्दैछन् । पलेसा चौथो एसियाली पारा खेलकुदकी कास्य पदक विजेता हुन् । उक्त खेल चैत ४ गते हुनेछ । प्रतियोगितामा सहभागी हुने उक्त टोली भने चैत १ गते चीन प्रस्थान गर्नेछ । हरेक स्पर्धामा पहिलो हुने खेलाडी पेरिस पारालिम्पिकमा छनोट हुने प्रावधान छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले टोलीलाई सफलताको शुभकामना दिँदै आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गर्नुभयो । “छनोट प्रतियोगिता तपाईंहरुका लागि चुनौतीसँगै इतिहास दोहो¥याउने अवसर पनि हो । नेपाली ओलम्पिकको इतिहासमा अहिलेसम्म तेक्वान्दोबाहेक कुनै पनि खेलका खेलाडीले छनोट चरण पार गरी ओलम्पिक खेलेको इतिहास छैन । सङ्गीना वैद्य र दीपक विष्टले त्यो उपलब्धि हासिल गर्नुभएको छ । उहाँहरुपछि तपाईंहरुलाई इतिहास रच्ने मौका छ,” सदस्य–सचिव घिसिङले भन्नुभयो ।

कांग्रेससँग गठबन्धन टुट्नु सकारात्मक : वरिष्ठ उपाध्यक्ष पोखरेल

गोदावरी (कैलाली), २७ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कांग्रेससँग गठबन्धन टुट्नु सकारात्मक भएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले आज धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उहाँले अहिले नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सहितको गठबन्धन विधिसम्मत भएको टिप्पणी गर्नुभयो । उहाँले विगतमा गरिएको गठबन्धन एमालेलाई सिध्याउने योजनाबाट निर्देशित भएको दाबी गर्दै निश्चित कार्यक्रम र उद्देश्य नभएको गठबन्धन टुट्नु सकारात्मक भएको बताउनुभयो ।उपाध्यक्ष पोखरेलले अहिलेको नयाँ गठबन्धन अगामी २०८४ को निर्वाचनसम्मै कायम रहने दाबी पनि गर्नुभयो । संरचनागत ढङ्गले अघि बढे भविष्यमा वामपन्थीबीच एकता पनि हुनसक्ने र नयाँ गठबन्धनलाई सबैले सकारात्मक रूपमा लिनुपर्ने बताउँदै उहाँले नयाँ गठबन्धनलाई कायम राख्न वामपन्थी समूह एकताबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।उहाँले २०७९ पुसमा बनेको गठबन्धन टुटेर अहिले फेरि नयाँ शिराबाट सम्बन्ध कायम भएको स्पष्ट गर्नुभयो । सुदूरपश्चिम सहितका केही प्रदेशमा नयाँ गठबन्धनसँग सरकार गठनका लागि बहुमत नरहेकाले सबै पक्षसँग संवाद भइरहेको उहाँले जानकारी दिनुभयो ।

दक्षिणासहित बिदा भए महाशिवरात्रिमा डोलेश्वर आएका साधुसन्त

भक्तपुर, २७ फागुन: महाशिवरात्रि पर्वका लागि केदारनाथको शिर मानिने डोलेश्वर महादेवको मन्दिरमा नेपाल र भारतका विभिन्न ठाउँबाट आएका साधुसन्त एवं नागाबाबालाई दक्षिणासहित बिदाई गरिएको छ ।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथ विकास समितिले साधुसन्तलाई ‘क’ र ‘ख’ वर्गमा विभाजन गरी दक्षिणा दिएर आज बिदाई गरेको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो ।समितिले ‘क वर्गका १३० जना साधुसन्त एवं बाबाहरुलाई दक्षिणस्वरुप जनही रु एक हजार दुई सय पाँच र ‘ख’ वर्गका साधुसन्त एवं बाबाहरुलाई रु आठ सय पाँचका साथै एक-एक थान धोती र कम्बल पनि दिइएको जनाएको छ ।महाशिवरात्रिका लागि एक साता अगाडिदेखि डोलेश्वर मन्दिर आएका साधुसन्त र बाबाहरुलाई मन्दिर परिसरमै खाने, बस्ने र धुनी जगाउने व्यवस्था गरिएको थियो । महाशिवरात्रिका दिन सो मन्दिरमा ६० हजार दर्शनार्थीले दर्शन गरेको जानकारी दिँदै उहाँले मन्दिरमा जम्मा भएको भेटी भने केही दिनमा सार्वजनिक गरिने बताउनुभयो ।

पर्यटन प्रवर्द्धनमा सक्रिय हुन प्रवर्द्धकलाई पर्यटनमन्त्रीको आग्रह

काठमाडौँ, २७ फागुन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ्ले मुलुकको हित र पर्यटन प्रवद्र्धनका निम्ति सक्रियरुपमा काम गर्न पर्यटन प्रवद्र्धकलाई निर्देशन दिनुभएको छ ।

नवनियुक्त पर्यटन प्रवद्र्धकलाई आज मन्त्रालयमा नियुक्तिपत्र, परिचयपत्र र राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुहुँदै मन्त्री तामाङ्ले पर्यटन प्रवद्र्धनका साथै विदेशबाट बढी भन्दाबढी लगानी भित्र्याउने कार्यमा भूमिका खेल्न आग्रह गर्नुभयो । मुलुकको पर्यटन प्रवद्र्धनका निम्ति प्रवद्र्धकको महत्वपूर्ण भूमिका र जिम्मेवारी रहेको उल्लेख गर्दैै उहाँले देश र जनताको पक्षमा काम गर्न आग्रह गर्नुभयो ।

यही फागुन १३ गतेको मन्त्रिस्तरको निर्णयबाट विभिन्न मुलुकमा नेपालको पर्यटन प्रवद्र्धन गर्न २९ प्रवद्र्धक नियुक्त गरेको थियो । प्रवद्र्धकको तर्फबाट बेलायतका लागि नियुक्त सोमनाथ सापकोटाले देशको सर्वोपरी हितलाई केन्द्रमा राखेर पाएको जिम्मेवारीलाई कुशलतापूर्व निर्वाह गर्ने बताउनुभयो । नेपालको पर्यटन प्रबद्र्धनका लागि विगतमा विभिन्न मुलुकमा नियुक्ति गरिने पर्यटन दूतलाई मन्त्रालयले यसपटकबाट पर्यटक पवद्र्धक नियुक्ति गरेको हो ।

सुशासन व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०६४ को पर्यटन प्रवद्र्धक कार्यविधि २०७९ को पहिलो संशोधनअन्तर्गत मन्त्रीस्तरिय निणर्य गर्दै नियुक्त गरिएको मन्त्रालयले जनाइएको छ ।

एमाले बैतडीको अधिवेशन सोमबारदेखि हुँदै,उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गर्ने

बैतडी, २७ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जिल्ला अधिवेशन सोमबारदेखि हुँदैछ । पाटनमा आयोजना हुने नवौँ अधिवेशनका लागि तयारी अन्तिम चरणमा छ ।

अधिवेशनको उद्घाटन पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्ने एमालेका जिल्ला उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो । अधिवेशनका लागि पार्टीले जिल्लाका १० वटा पालिकाबाट प्रतिनिधि छनोट गरेको छ । अधिवेशनका लागि सबै पालिकाबाट सर्वसम्मत प्रतिनिधि छनोट गरिएको जनाइएको छ ।

अधिवेशनमा सबै वडाबाट छ सयभन्दा बढी प्रतिनिधि छनोट भएका उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ७५ सङ्गठित सदस्य बराबर एक महिलासहित तीन प्रतिनिधि छनोट भएका र दलित सङ्गठित सदस्यबाट ४० बराबर एक महिलासहित तीन प्रतिनिधि छनोट भएका छन् ।

आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका र अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको जनाइएको छ । अधिवेशनबाट नेतृत्व लिनका लागि नेताले तयारी थालिसकेका बताइएको छ । अधिवशेनबाट सर्वसम्मत नेतृत्व चयन हुने एमालेले जनाएको छ ।

पार्टीको नवौँ अधिवेशनमा नेतृत्व लिन नयाँ र पुराना नेता कस्सिएका छन् । अध्यक्षका लागि नरेश विक, हालै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) छाडेर एमालेमा फर्किनुभएका नरेन्द्र विष्ट र पार्टी उपसचिव लोकेन्द्र भण्डारीको नाम चर्चामा छ । निर्वाचन नै हुने स्थिति नआउने नेताहरु बताउँछन् । एमालेका निवर्तमान सुदूरपश्चिम अध्यक्ष तथा केन्द्रीय सदस्य दामोदर भण्डारीको गृह जिल्ला बैतडीमा उहाँको निर्देशन विपरीत नहुने भएका कारण सकेसम्म सहमतिबाटै नेतृत्व टुङ्गिने नेताहरु बताउँछन् ।

गण्डकी प्रदेशमा बालबालिकाका लागि टेनिस प्रशिक्षण सञ्चालन

कास्की, २७ फागुन : गण्डकी प्रदेशमा बालबालिकाका लागि टेनिस प्रशिक्षण सञ्चालन गरिएको छ । यसबाट युवा प्रतिभाको पहिचान गर्न थप सहज हुने अपेक्षा गरिएको छ ।प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत बालबालिकाका लागि टेनिस प्रशिक्षण ‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’ नाराका साथ प्रशिक्षण सुरु भएको हो । पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा गण्डकी प्रदेश टेनिस सङ्घको समन्वय तथा कास्की जिल्ला टेनिस सङ्घको प्राविधिक सहयोगमा शनिबारदेखि कार्यक्रम सुरु भएको हो ।बालबालिकाका लागि आयोजना गरिएको यो कार्यक्रम दुई महिना सञ्चालन हुनेछ ।

मोबाइलमा रमाउने बालबालिकालाई खेलमैदानसम्म ल्याएर प्रतिस्पर्धी खेलाडी उत्पादनको लक्ष्य राखिएको गण्डकी प्रदेश टेनिस सङ्घका सचिव नवीन चालिले जानकारी दिनुभयो । प्रशिक्षण कार्यक्रममा छदेखि १६ वर्ष सम्मका २५ बालबालिकालाई सहभागिता गराइएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव श्रीधर शर्माले ‘खेल्छ गण्डकी’ कार्यक्रम प्रदेशको खेलकुद विकासका लागि एक अभियान रहेको बताउनुभयो ।

बालबालिकाका लागि टेनिस प्रशिक्षणले देशका लागि आवश्यक दक्ष टेनिस खेलाडी उत्पादन गर्न कार्यक्रमले सहयोग पुग्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “खेल्छ गण्डकी’ कार्यक्रम खेलकुदको क्षेत्रमा अविरल बगिरहने पवित्र अभियान रहेको नदीजस्तै हो । टेनिसले खेलकुदबाट टाढा रहेकालाई मैदानमा ल्याएर उल्लेखनीय कार्य गरेको छ । कार्यक्रमले खेल संस्कृति र खेलकुद विकास अभियानमा समेत महत्त्वपूर्ण छ ।”

गण्डकी प्रदेश टेनिस सङ्घका अध्यक्ष विनोद कायस्थले गण्डकीको टेनिस खेलमा विगतको इतिहासले विपन्न वर्गका बालबालिकाबाटै सुरु भएकाले यस कार्यक्रममार्फत पहिलोपटक सोही वर्गका बालबालिकालाई समेटिएको बताउनुभयो । “खेल्छ गण्डकी कार्यक्रम एक महत्त्वपूर्ण कार्यक्रम हो । यो कार्यक्रममार्फत समाजमा पछि परेका बालबालिकालाई टेनिस मैदानसम्म ल्याएर राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिएका छौँ”, उहाँले भन्नुभयो ।

नक्साङ्कनको त्रुटिले खानेपानी आयोजना निर्माण रोकियो

म्याग्दी, २७ फागुन : नक्साङ्कनमा भएको त्रुटिका कारण म्याग्दीको बेनी नगरपालिका–१ को रत्नेचौर ‘लिफ्ट’ खानेपानी आयोजना निर्माण रोकिएको छ । कालीगण्डकीको पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा दुई सय ४३ घरधुरीमा निजी धारामार्फत वितरण गर्ने लक्ष्यअनुसार करिब रु तीन करोडको लागतमा चार वर्षअघि सुरु भएको आयोजना निर्माण प्रभावित बनेको हो ।

नक्साङ्कनअनुसार सिमस्थित कालीगण्डकी किनारमा इनार खन्ने क्रममा ढुङ्गा भेटिएको र मागअनुसार पानीको स्रोत नभएपछि निर्माण कम्पनीले खानेपानी आयोजना निर्माणको काम रोकेको वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो । “यो आयोजनाको काम सुरुदेखि नै अपेक्षाकृत गतिमा हुनसकेको थिएन”, उहाँले भन्नुभयो, “पछिल्लो समय मुहानको डिजाइन असफल हुँदा निर्माण प्रभावित बनेको हो ।”

बगरको सतहबाट तीन मिटर गहिरो इनार खन्ने क्रममा ढुङ्गा भेटिएपछि वैकल्पिक ठाउँमा मुहान बनाएर आयोजनालाई पूर्णता दिन पहल गरेको वडाध्यक्ष थापाले बताउनुभयो । कुल रु छ करोड ७६ लाख लागत अनुमान गरिएको योजनाको मुहानमा इनार, मुख्य लाइन, सङ्कलन, रिजर्भ र वितरण ट्याङ्कीलगायत संरचना निर्माण गर्न प्राकृतिक–प्रदीप–जुम्ली जेभीबीच २०७७ असार २४ गते रु दुई करोड ७५ लाख ३६ हजार पाँच सय छमा ठेक्का सम्झौता भएको थियो ।

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीका अनुसार २०७९ असार २३ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने योजनाको हालसम्म ४० प्रतिशतमात्र भौतिक प्रगति भएको छ । रत्नेचौरका बासिन्दा ईश्वर बरुवालले धारा निर्माण भएको डेढ वर्षसम्म पनि पानी वितरण नभएको गुनासो गर्नुभयो । “श्रमदानबापत प्रतिघर रु तीन हजारका दरले नगद पनि बुझाएका छौँ”, उहाँले भन्नुभयो, “खान, गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि आवश्यक पानी सार्वजनिक धाराबाट पाइपमा जोडेर आपूर्ति गर्नुपरेको छ ।” रत्नेचौरमा विसं २०३५ मा निर्माण भएको खानेपानी आयोजना जीर्ण र अव्यवस्थित छ ।

जीर्ण संरचना र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपूर्ति हुनसकेको छैन । आयोजना निर्माणमा भएको ढिलाइले घरघरमा धाराबाट शुद्ध खानेपानी उपभोग गर्न पाउने आशा गरेका नागरिक निराश बनेका स्थानीय ओमबहादुर रोकाले बताउनुभयो । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीका प्रमुख झलकमोहन ओझाले लामगरास्थित कालीगण्डकी किनारमा मुहान बनाउनका लागि डिजाइन परिवर्तनका लागि मन्त्रालयमा पेस गर्ने प्रस्ताव तयार पारेको बताउनुभयो ।

“नयाँ ठाउँमा मुहान बनाउन भेरिएसन अर्डरको प्रस्ताव मन्त्रालयमा पेस गर्न पोखरा आएको छु”, उहाँले भन्नुभयो, “सचिवको नेतृत्वमा आयोजना अनुगमनका लागि आउँदै हुनुहुन्छ ।” हालसम्म एकवटा रिजर्भ फेरो ट्याङ्की निर्माण सकिएको छ । दुईवटा ट्याङ्की र इनार निर्माणलाई पूर्णता दिन बाँकी छ । मुख्य पाइप लाइन जडान र गाड्ने, शाखा लाइन खन्ने गाड्ने काम बाँकी छ । तीस हर्सपावर क्षमताको सम्पवयलको सहायताले प्रतिसेकेण्ड चार दशमलव सात लिटर पानी चार सय ५० मिटरमाथि सालघारीमा निर्माण हुने एक सय १५ क्यूबिक क्षमताको ट्याङ्कीमा खसालेर घरघरमा धारा जडान गरेर वितरण गर्ने लक्ष्य रहेको छ । आयोजनाको वितरण लाइनको कुल दूरी १८ दशमलव सात किलोमिटर छ ।

छ वर्षपछि सुनवालुवा पक्की पुल निर्माण पुनः थालियो

भोजपुर, २७ फागुन : अलपत्र अवस्थामा रहेको भोजपुर र धनकुटा जोड्ने अरुण नदीको सुनवालुवा पक्की पुल निर्माण पुनः सुरु भएको छ । करिब साढे छ वर्षदेखि सो पुल निर्माण रोकिएको थियो ।
यहाँ पक्की पुल निर्माणका लागि विसं २०७३ मा सम्झौता भएर २०७६ सालबाट काम सुरु भएको थियो । यहाँ पिलर उठाएपछि कामले गति लिन सकेको थिएन । तीन ‘इस्पान’मा निर्माण भइरहेको पुलको अहिले भने धनकुटातर्फको इस्पानको ढलानको तयारी गरिएको छ ।

पहिलो इस्पानको ढलानको तयारीका साथ आवश्यक काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । यो इस्पानको रड बिछ्याउने तथा फर्मा राख्ने काम अन्तिम चरणमा पुगेको ‘साइट इन्चार्ज’ नारायण चौधरीले जानकारी दिनुभयो ।

निर्माणस्थलमा प्रायः सम्पूर्ण सामग्री आइपुगेको उहाँको भनाइ छ । व्यारिङ, केवल पाइपलगायत सामान भारतबाट ल्याउनुपर्ने भएकाले त्यो सामग्रीमात्र आउन बाँकी रहेको उहाँको भनाइ छ । “हामीले यहाँ पुनः मङ्सिरबाट काम थालनी गरेका छौँ”, उहाँले भन्नुभयो, “अहिले धनकुटातर्फको पहिलो इस्पानको ढलानको तयारी गरेका छौँ । विगतमा कोभिडलगायत कारणले काममा बाधा पुगेको थियो । यो ढलानको काम चाँडै सक्ने लक्ष्य छ ।”

फुटपाथसहित ११ मिटर चौडाइ रहेको पुलको कुल लम्बाइ एक सय ८० मिटर रहेको छ । यहाँ भ्याटसहित रु २२ करोड ७५ लाख २८ हजार सात सय लागतमा पुल निर्माण थालिएको हो । पुलको पहिलो इस्पानको लम्बाइ ३७ दशमलव ५५, दोस्रो इस्पानको लम्बाइ ८० मिटर र तेस्रो इस्पानको लम्बाइ ५८ दशमलव ३८ मिटर रहेको छ । हालसम्म रु १० करोड २९ लाख ११ हजार छ सय ४२ भुक्तानी भएको छ ।

सुनवालुवामा पुल नहुँदा स्थानीयलाई समस्या रहेको हतुवागढी गाउँपालिकाले जनाएको छ । यो पुललाई समयमा सम्पन्न गराउन गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । विगतमा सोचेअनुसार प्रगति नदेखिए पनि हाल भने कामले निरन्तरता पाएको उहाँको भनाइ छ ।

“यो स्थानमा पक्की पुल नहुँदा स्थानीयलाई समस्या छ”, अध्यक्ष राईले भन्नुभयो, “यो पुललाई समयमा सम्पन्न गराउन गाउँपालिकाले आवश्यक सहयोगसँगै पहलकदमी गरिरहेको छ । पुलले हाम्रो गाउँपालिकाको विकासमा टेवा पुग्ने छ ।”

बीचमा धेरैपटक काम रोकिएर अलपत्र अवस्थामा रहेको पुल निर्माण पुनः सुरु भएपछि उत्साह थपिएको स्थानीयवासी समाजसेवी धनहर्क राईले बताउनुभयो । निर्माणको कामलाई चाँडो सम्पन्न गराउन सरकार पनि गम्भीर बन्नुपर्ने उहाँको भनाइ छ ।

“सुनवालुवा पुल हाम्रो बहुप्रतिक्षित योजना हो”, उहाँले भन्नुभयो, “सुुरुमा २६ महिनामा सम्पन्न गर्ने भनिएको थियो । तर काम भने अलपत्र बनेको थियो । हाल आएर काम सुरु भएको छ । अब भने पुल बन्छ भन्ने आशा जागेको छ । पुललाई समयमा सम्पन्न गराउन राज्य गम्भीर बन्न आवश्यक छ ।”

यो पुलले भोजपुरको हतुवागढी–६ होम्ताङ र धनकुटाको पाख्रीबास नगरपालिका–८ मुगालाई जोड्ने छ । यो पुल सुरुमा २६ महिनामा सम्पन्न गर्ने सम्झौता भएको थियो । सो समयमा सम्पन्न नभएपछि चारपटक म्याद थपिएको थियो । यसको पछिल्लो थप भएको म्याद २०८० असार २२ गतेसम्म रहेको थियो । यो थपिएको म्याद पनि सकिएको छ ।

हाल कामलाई निरन्तरता दिएर म्याद थपको प्रक्रिया भइरहेको निर्माण कम्पनीका इन्जिनियर सुमित ठाकुरले जानकारी दिनुभयो । हालसम्म यो पुल निर्माणको भौतिक प्रगति ७० प्रतिशत रहेको उहाँको भनाइ छ । भौगोलिक विगटताका कारण काम गर्न समस्या रहेको उहाँले बताउनुभयो । यो पुल पूर्णरूपमा सम्पन्न हुनका लागि अझै साढे दुई वर्ष समय लाग्ने उहाँको भनाइ छ ।

“हामीले पुल निर्माणको कामलाई निरन्तरता दिएका छौँँ”, उहाँले भन्नुभयो, “भौगोलिक विकटताका कारण काम गर्न कनिठाइ छ । एक वर्षमा चार महिनामात्र राम्ररी काम गर्न सकिन्छ । यसरी हेर्दा पुललाई पूर्णरूपमा सम्पन्न गराउन अझै साढे दुई वर्ष समय लाग्ने देखिन्छ । पुललाई चाँडो सम्पन्न गराउन हामीले कामको गति बढाएका छौँ ।”

आलुको ‘ब्राण्डिङ’ गर्दै गण्डकी प्रदेश : बीउदेखि बजारीकरणसम्म किसानलाई अनुदान

गलकोट (बागलुङ), २७ फागुन : चालु आर्थिक वर्षमा बागलुङमा आलुको व्यावसायिक खेती प्रवर्द्धनका लागि बीउदेखि बजारीकरणसम्म किसानलाई अनुदान दिन थालिएको छ ।

बागलुङका १० वटै पालिका समेट्नेगरी समूह र सहकारीमार्फत आलुखेतीको व्यावसायीकरण गर्न थालिएको छ । एक सय ५० हेक्टर जग्गामा आलुखेती विस्तार गर्न रैथाने र उन्नतजातको आलुको बीउ प्रदान गर्ने, आलु गोडमेलमा यान्त्रिकीकरणको प्रयोग गर्ने, सिँचाइको व्यवस्था गर्ने, आलु खन्ने औजार वितरण गर्नेदेखि उत्पादनका आधारमा अनुदान र बजारीकरणमा सहयोग पुर्याउने गरी कृषि ज्ञान केन्द्रले धमाधम आलुखेती विस्तारका लागि किसानलाई प्रेरित गरेको छ ।

ज्ञान केन्द्र बागलुङले गण्डकी प्रदेश सरकारको आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत बागलुङको उच्च पहाडी क्षेत्रको एक सय ५० हेक्टर जग्गमा आलु लगाउन बीउदेखि उत्पादन भएको आलुको बजारीकरणको व्यवस्था मिलाएको छ । चालु आवमा खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम गर्न रु तीन करोड ६० लाख बजेट विनियोजन भएको थियो ।

जिल्लामा आलुको प्रवर्द्धन गर्नका लागि हालसम्मकै धेरै बजेट विनियोजन भएपछि किसान हर्षित भएर योजना कार्यान्वयनमा लागेका छन् । कृषि ज्ञान केन्द्र बागलुङका बाली विकास अधिकृत कुमार पुनका अनुसार आलुको व्यावसायिक उत्पादनसँगै आलु निर्यात गर्ने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले आलु किसानलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

“ढोरपाटन, तमान, निसीलगायतका उच्च पहाडी क्षेत्रमा आलुखेती भइरहेकै छ, तर बजारीकरणमा भइरहेको समस्यालाई समेत अहिले यही योजनामार्फत कार्यान्वयन गर्न थालेका छौँ, एक वर्ष किसानले लगाउने आलुको बीउ, आलु लगाउन यान्त्रिकीकरण दिनेदेखि आलुको उत्पादनका आधारमा अनुदान दिएर बजारसम्म लैजाने काम गर्नेछौँ”, उहाँले भन्नुभयो, “आलुको क्षेत्रमा आएको हालसम्मकै उच्च बजेट भएकाले एक सय ५० हेक्टर जमिनका आलु किसान उत्साहित हुने र आगामी दिनमा आलु उत्पादन बढाउने हाम्रो लक्ष्य हो ।”

आलुको बीउदेखि बजारीकरणसम्मको कामका लागि जिल्लाभरका ६४ समूह र सहकारीसँग सम्झौता भइसकेको अधिकृत पुनले बताउनुभयो । उक्त कार्यक्रम सामूह र सहकारीमार्फत गर्दा धेरै किसान लाभान्वित हुने उहाँको भनाइ छ । उक्त कार्यक्रममा समावेश हुनका लागि न्यूनतम ३० रोपनी जग्गामा आलुखेती गर्न आवश्यक हुन्छ । अधिकांश सम्झौता भइसकेका किसानलाई बीउ दिन थालिएको उहाँको भनाइ छ ।

जिल्लाको ढोरपाटन, निसेलढोर, तमानखोलाको लाममेला, नर्जाखानी, निसीखोलाको भल्कोट, सिप, गलकोटको पाण्डखानी, बडिगाडा रणसिंह कटेनी, ताराखोला, बरेङको सल्यान र सुखौरालगायतको क्षेत्रमा आलुको उत्पादन बढाउन उक्त कार्यक्रम सञ्चालन गरिएको छ ।

कार्यक्रममा समावेश भएका सहकारी र कृषिक समूहलाई आलुको बीउ, औजार, सिँचाइ, आलु खन्ने मेसिन, बजारीकरणका लागि क्यारेट, विषादिसम्मको सहयोग ज्ञान केन्दले गर्ने गर्दछ । बागलुङको उच्च भागमा पाइने आलु निकै स्वादिष्ट मानिन्छ ।

चालु आवमा खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रमका लागि मात्रै ज्ञान केन्द्रले रु तीन करोड ६० लाख बजेट विनियोजन गरेकोे छ । यो कृषि ज्ञान केन्द्रको लागि छुट्याइएको कुल बजेटको झण्डै आधा बजेट हो । बागलुङको आलुको ब्राण्डिङ गर्न अहिलेको कार्यक्रमले सहयोग गर्ने छ ।

स्थानीय आलु कहिएर जाने, बाहिरका आलु बजारमा भित्रिने किसानको गुनासो आएपछि एकैपटक धेरै आलु उत्पादन हुने भण्डारण गरेर राख्दा कुहिने भएकाले किसानले भनेजस्तो मूल्य नपाउने आवस्थामा गण्डकी प्रदेश सरकारको प्राथमिकता आलु प्रवर्द्धनात्मक कार्यक्रम पर्नु किसानका लागि सुखद् रहेको छ । रैथाने आलु र उन्नतजातका आलुको उत्पादन बढी हुने भएकाले यसपटक खायन आलुको उत्पादन बढ्ने भएको हो ।

गण्डकी प्रदेशलाई आलुमा आत्मनिर्भर गराउने, आलुको ब्राण्ड गर्ने र पहाडी जिल्लामा खायन आलुको प्रवर्द्धन गर्ने उद्देश्य राखेर यस वर्ष आलुलाई छुट्टै बजेट विनियोजन गरेको गण्डकी प्रदेश सरकारले जनाएको छ । अघिल्लो वर्ष बागलुङमा तीन हजार छ सय ५५ हेक्टर जमिनमा आलु लगाइएको थियो । त्यसबाट ५९ हजार छ सय ५० मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यस वर्ष आलु उत्पादन १० प्रतिशतले बढ्ने देखिएको छ । उत्पादित आलुमध्ये ३० प्रतिशत घर खान प्रयोग हुने र ७० प्रतिशत आलु किसानले बिक्री गर्ने गर्दछन् । आलुबाट किसानलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेल्न खायन आलु कार्यक्रमले सहज हुनेछ ।

विद्यालय परिसरमै च्याउ र तरकारीखेती : पढ्दै कमाउँदै विद्यार्थी

गलेश्वर (म्याग्दी), २७ फागुन : विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् । पश्चिम म्याग्दीको मङ्गला –२ स्थित मङ्गला माध्यमिक विद्यालय र मालिका –७ बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीले तरकारी, फलफूल र च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेका हुन् ।

मङ्गला माध्यमिक विद्यालयमा प्राविधिक धार कक्षा (९–१२)मा बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थी कक्षाकोठाबाहेक खेतबारीमा समेत पुगेर च्याउ उत्पादन गरी बाबियाचौरमा बिक्री गर्दै आएका विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्रीले जानकारी दिनुभयो । बजारमा विद्यार्थीले उत्पादन गरेको च्याउलाई विद्यार्थी च्याउले चिनिने गरेको छ ।विद्यालयले प्राविधिक धारका विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि जग्गा भाडामा लिएर च्याउखेती सुरु गरेको छ । प्रधानाध्यापक खत्रीका अनुसार विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा प्रतिकेजी रु एक सय २५ मा बिक्री वितरण हुँदै आएको छ । “विद्यार्थीले उत्पादन गरेको च्याउ अहिले बाबियाचौर बजारमै खपत हुने गरेको छ, विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बीउबिजन सबै उपलब्ध गराउँछौँ, विद्यार्थीले लगाएको च्याउको बजार खोज्नसमेत सघाउँछौँ”, उहाँले भन्नुभयो ।विद्यालयमा आधुनिक कृषि प्रणाली र उत्पादनका बारेमा सिकेको ज्ञान परम्परागत खेती गर्दै आएका अभिभावकलाई समेत सिकाउने गरेको प्रअ खत्रीको भनाइ छ । माघदेखि च्याउ उत्पादनमा लागेका विद्यार्थीले फागुनको पहिलो सातादेखि बिक्री गर्न थालेका छन् । बाली विज्ञान अध्ययनरत ४४ जना विद्यार्थीले सामूहिकरूपमा च्याउखेती गरेका छन् । विद्यार्थीको समय कक्षाकोठा र खेतबारीमा धेरै बित्ने गरेको छ । गाउँमै बाली विज्ञान पढ्न पाएकामा विद्यार्थी खुसी छन् ।एक महिनामै उत्पादन गरी बजारमा लैजान सकिने र थोरै लगानीमा प्रशस्तै आम्दानी गर्न सकिने भएकाले च्याउखेतीका लागि समुदायलाई समेत सन्देश प्रवाह गरेको विद्यार्थी दिपेश थापाले बताउनुभयो । आइतबारसम्म बारीबाटै १७ केजीभन्दा बढी च्याउ बिक्री गरिएको उहाँको भनाइ छ ।विद्यालय उमेरमै पाठ्यपुस्तकसँगै व्यवहारिक ज्ञानसमेत आर्जन गर्न पाएकामा भविष्यमा प्राविधिक विषय पढेपछि बेरोजगार हुन पर्दैन भन्नेमा विश्वस्त रहेको विद्यार्थी बताउँछन् । नेपाल सरकारको नमूना विद्यालय मङ्गला माविले भाडामा लिएको दुई रोपनी जग्गामा यहाँ अध्ययनरत विद्यार्थीले च्याउ, बैमौसमी तरकारी, टमाटर, प्याजको बीउलगायतका उपज फलाउने गरेका छन् । विद्यालयमा विसं २०७६ मा नेपाल सरकारबाट कृषि विज्ञान सञ्चालनको अनुमति पाई नियमित पढाइ भइरहेको छ । उक्त धारमा प्रयोगशाला सहायक सहित नौजना दरबन्दी छ ।

पन्ध्र दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि सुरु

महेन्द्रनगर (धनुषा), फागुन २७ : पन्ध्र दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत सुरुआत भएको छ । नेपाल र भारतका हजारौँ सङ्ख्याका श्रद्धालु भक्तजनहरुको सहभागीता हुने सो परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गरिन्छ । सोही यात्राका लागि आज विहान धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी कीर्तनसहित श्रद्धालुहरू प्रस्थान गर्नुभएको छ ।

कौचरीको मिथिला विहारी, जनकपुरको सुन्दर सदन मन्दिरबाट किशोरीजी र रामजानकीसहित जनकपुरको अन्य डोला हनुमानगढीमा आज जम्मा हुने मिथिला विहारी मन्दिरका महन्त रामनरेश शरणले जानकारी दिनुभयो ।आज सबै तीर्थालु हनुमाँगढमा जम्मा हुनेछन् । फागुन २८ गते बिहानै कल्याणेश्वरको लागि यात्रुहरू प्रस्थान गर्नेछन् भने २९ गते भारतकै फुलहरस्थित गिरिजा स्थानमा पुगेर परिक्रमाका यात्रीहरूले विश्राम गर्ने जनाइएको छ । उहाँका अनुसार फागुन ३० गते ऐतिहासिक स्थान महोत्तरीको मटिहानी पुग्ने छन् ।

त्यसैगरी आगामी चैत १ गते जलेश्वरनाथ महादेवस्थानमा विश्राम गर्नेछन् भने २ गते मडै, ३ गते ध्रुवकुण्ड पुगेर विश्राम गरिने कार्यक्रम रहेको सुन्दर सदनका महन्त नबलकिशोर दासले बताउनुभयो । चैत ४ गते कञ्चनवन पुगेर त्रेतायुगमा राम र सीताले होली मनाएको लोकमान्यताअनुसार त्यहाँ यात्रीहरूले होली महोत्सव मनाउने गरेको मिथिला विहारी मन्दिरका महन्त रामनरेश शरणले जानकारी दिनुभयो ।

चैत ५ गते धनुषाको पर्वता अर्थात् क्षीरेश्वरनाथ महादेव स्थानमा विश्राम गर्नेछन् भने चैत ६ गते धनुषाधाममा धनुषमन्दिरमा पुगेर विश्राम गर्नेछन् । चैत ७ गते सतोखर, ८ गते औरही र ९ गते पुनः भारतको बिहारस्थित करुणास्थानमा विश्राम तथा १० गते बिसौलमा पुगेर विधिवतरूपमा मध्यमा परिक्रमा समापन हुनेछ । अन्तिम दिन जनकपुर नगरको पाँचकोसे अन्तरगृह परिक्रमा गरी समाप्त हुने जनाइएको छ ।

परिक्रममा सहभागी श्रद्धालुहरू परम्परागत बाजागाजा, झाँकी कीर्तनसहितका मौलिक पहिरनमा सहभागी हुनुभएको छ । उनीहरू नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थलमा राति बास बस्छन् ।

अठारौँ शताब्दीदेखि धार्मिकयात्रालाई माध्यमिकी परिक्रमाको रूपमा मनाइँदै आइएको छ । धार्मिकयात्रा १५ दिनभित्र जनकपुर पुगी होली खेलेर फागु पूर्णिमा तिथि पारी समापन गर्ने परम्परा छ । यस परिक्रमामा सहभागी भएमा मन, वचन र कर्मले भएका अनेकन पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने एवं मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ ।

कैलाली र कञ्चनपुरमा नदी कटान नियन्त्रण गर्न बजेट अभाव

गोदावरी (कैलाली), २७ फागुन : कैलाली र कञ्चनपुरमा नदी कटान रोकथाम तथा नियन्त्रण गर्न बजेट अभाव भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसक्दा नदी कटान नियन्त्रण गर्न तटबन्धको काम प्रभावकारी बन्न नसकेको भू–तथा जलाधार व्यवस्थापन कार्यालय धनगढीले जनाएको छ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ का लागि कैलाली र कञ्चनपुरमा गरी ४० योजना कार्यान्वनको चरणमा छन् । कैलालीमा ३२ र कञ्चनपुरमा आठ गरी ४० नदी कटानका योजना कार्यान्वयनको चरणमा रहेको कार्यालयका सूचना अधिकारी गणेश त्रिपाठीले बताउनुभयो । प्रदेश सरकारले रातो किताबमा ४० योजनाका लागि मात्र बजेट विनियोजन गरी पठाएको उहाँले बताउनुभयो ।

सुदूरपश्चिमका दुई तराईका जिल्लामा नदी कटान निणन्त्रणका लागि विनियोजन गरेको बजेट पर्याप्त नभएको उहाँको भनाइ छ । कैलाली र कञ्चनपुरमा ४० वटा नदी कटान नियन्त्रणका लागि चालु आवमा कुल बजेट रु चार करोड रहेको भू–तथा जलाधार व्यवस्थापन कार्यालयले जनाएको छ । प्रत्येक योजनामा रु १० लाख बजेट रहेको सूचना अधिकारी त्रिपाठीले जानकारी दिनुभयो । कैलाली र कञ्चनपुर गरी दुई जिल्लामा कार्यक्षेत्र रहेको सो कार्यालयले उपभोक्ता समिति मार्फत तटबन्धको काम गर्दै आएको जनाएको छ ।

४० योजनामध्ये अधिकांश तटबन्धका योजना सम्झौता भई सञ्चालनमा रहेका छन् भने कतिपय योजनाको सम्झौता भइरहेको जनाइएको छ । कार्यालयले दिएको जानकारीअनुसार कैलालीको मोहन्याल गाउँपालिकाका वडा नं ३, ५, ६, गोदावरी नगरपालिका–४ हाटखोली, वडा नं ७ को बगरटोल, भजनी नगरपालिका वडा नं ४, ५, ६ कान्द्रा नदीमा तटबन्धको काम भइरहेको छ ।

धनगढी उपमहानगरपालिका वडा नं ५ सुकुटीखोला, वडा नं ३, १९, १२ स्थित मोहना नदी, वडा नं १७, १६ तथा घोडाघोडी नगरपालिका–५ र ९ स्थित कान्द्रा नदीमा तटबन्धको काम भइरहेको जनाइएको छ । यस्तै कञ्चनपुरको भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिका नदी तथा खोलामा तटबन्धको काम भइरहेको सूचना अधिकारी त्रिपाठीले जानकारी दिनुभयो ।

भू–तथा जलाधार व्यवस्थापन कार्यालयलले नदी खोला कटान संरक्षण, क्षतिग्रस्त पुनर्उत्थान, पोखरी निर्माण, सिँचाइ कुलो, मुहान संरक्षण, सिमसार क्षेत्र संरक्षणलगायतका क्षेत्रमा काम गर्दै आएको जनाइएको छ । कैलाली र कञ्चनपुरमा चुरे पहाड भएर बग्दै आएका नदीनाला र खहरे खोलाले बर्सेनि हजारौँ खेतीयोग्य जमिन कटान गर्दै आएको छ ।

नदी कटान रोकथाम तथा नियन्त्रणका लागि तटबन्ध निर्माण गर्न हरेक आर्थिक वर्षमा जनस्तरबाट माग बढ्दै आए पनि सम्बोधन हुन नसकेको जनाइएको छ । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयको आर्थिक सर्वेक्षण २०७९/८० को तथ्याङ्कानुसार भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका कार्यालयहरूले प्रदेशका नौवटै जिल्लामा एक सय ५७ किलोमिटर तटबन्ध गरेको छ ।

कैलालीमा खुटिया, मोहना, कान्द्रा, कर्णाली नदी र कञ्चनपुरमा दोदा, स्याली, महाकालीलगायतका नदीले सबैभन्दा बढी खेतीयोग्य जमिन कटान गर्दै आएको छ । ती नदी तथा खोलामा सङ्घीय सरकारअन्तर्गतका कार्यालयले तटबन्ध गर्दै आएका छन् ।

पनौतीमा बालश्रममुक्त अभियान : ‘एक घर–एक मिनेट जनप्रतिनिधि’

काभ्रेपलाञ्चोक, २७ फागुन : पनौती नगरपालिकामा बिहीबार एकै दिन दुईवटा वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको छ । यसअघि तीनवटा वडालाई बालश्रममुक्त घोषणा गरिएको थियो । घोषित २ नं वडा भने जिल्लामै पहिलो बालश्रममुक्त घोषणा गरिएको वडा हो ।

‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने मूल नारासहित नगरको १२ वडामध्ये २, ५, ६, ८ र ११ गरी पाँचवटा वडामा बालश्रम नभएको घोषणा गर्दै बालश्रममुक्त वडा घोषणा गरिएको छ । बालमैत्री नगर घोषणा गरेको समयमा बालबालिकासम्बन्धी बालमैत्री स्थानीय शासन कार्यविधि, २०६८ ले ३९ वटा सूचक पूरा गरेको अवस्थामा बालश्रम घटेको हुनुपर्ने उल्लेख छ । हाल उक्त पनौती नगरले बालश्रम निवारणका सन्दर्भमा छलफल तथा अन्तक्र्रिया कार्यक्रमसँगै ‘एक घर–एक मिनेट जनप्रतिनिधि’ अभियान सञ्चालन गर्दै आएको छ ।

अभियानअन्तर्गत स्थानीय प्रत्येक घर, होटल, पसल, विद्यालय, व्यापारिक संस्था एवं अन्य क्षेत्रमा बालबालिकालाई श्रममा लगाइएकोबारे सोध्ने र नपाउने तथा बालश्रम प्रयोग नगर्ने प्रतिबद्धता गराई योजनासहित केही दिनमै उक्त क्षेत्रबाट बालश्रममुक्त गराउँदै आइएको जनाइएको छ । साथै वडास्तरमा बाल समूह गठन गरी बालश्रमविरुद्धको अभियानसमेत सञ्चालन गर्दै आइएको छ ।

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले बालमैत्री नगरका लागि थप १२ वटा बुँदा थपेर पहिला भएका बालश्रमलगायतका बुँदाहरू संशोधन गरी बालमैत्री नगरका लागि बालबालिका श्रममा भएको भए व्यवस्थितरूपले पुनःस्थापना भएको हुनुपर्ने उल्लेख भएपछि पनौती नगरपालिकाले चालु आर्थिक वर्षभित्रै सबै वडालाई बालश्रममुक्त घोषणा गर्ने तयारी गरेको नगर उपप्रमुख गीता बञ्जाराले बताउनुभयो । उहाँका अनुसार हाल वडा नं ४, ७ र ९ मा श्रममा भएका केही बालबालिकालाई पुनःस्थापनाको तयारी गरिएको छ ।

युके एडले आर्थिक सहयोगमा सञ्चालित अभियानअन्तर्गत वडा नं ३ मा आज, १० मा आउँदो बुधबार, ६ मा शुक्रबार बालश्रममुक्त घोषणा गर्ने कार्यक्रम तय भएको नगरको बालबालिका हेर्ने शाखा अधिकृत केशव बञ्जाराले जानकारी दिनुभयो । उहाँले बालश्रममुक्त अभियानमा जुटेको नगरले चालु आवभित्र श्रममा भएका सबै बालबालिकालाई पुनःस्थापनाको योजना बनाएको बताउनुभयो ।

पनौतीलाई बालश्रममुक्त नगरपालिका घोषणा गर्न युके एडले आर्थिक सहयोग गरेको छ । युके एडको रु ५५ लाख तथा अन्तर्राष्ट्रिय श्रम सङ्गठन ९आइएलओ० प्राविधिक सहयोगमा यो अभियान सञ्चालनमा ल्याइएको हो । स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लबलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले बालबालिकालाई कानुनविपरीतको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर अभियान सञ्चालन गरिएको थियो ।

पनौती नगरको तथ्याङ्कानुसार स्थानीय चार बालबालिका श्रमका लागि अन्यत्र गएका छन् भने अन्यत्रका १७ जना श्रमका लागि पनौती आएका छन् । तथ्याङ्कानुसार विद्यालय जान छाडेका ४२ जना बालश्रमको जोखिममा हुनसक्ने बञ्जाराले जानकारी दिनुभयो ।

बालमैत्री स्थानीय तह घोषणा कार्यविधि, २०७८ अनुसार पूरा गर्नुपर्ने ५१ सूचक पूरा गर्ने सन्दर्भमा पनौतीलाई बालश्रममुक्त नगर घोषणाका लागि पूर्वाधारलगायत तयारी थालिएको जनाइएको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि, २०६८ अनुसारका ३९ सूचक पूरा गरेर २०७८ असार ३० गते पनौतीलाई बालमैत्री स्थानीय तह घोषणा गरिएको थियो ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनका ९आइएलओ०को प्रतिवेदनअनुसार नेपालमा पाँचदेखि १७ वर्ष उमेर समूहका ७० लाख बालबालिकामध्ये ११ लाख बालश्रममा संलग्न छन् । आइएलओका प्रतिनिधि उद्धवराज पौड्यालका अनुसार १३ वर्ष उमेर समूहसम्मका बालबालिकाको संलग्नता १८ प्रतिशत रहेको छ भने १४ देखि १७ वर्ष उमेर समूहका १० प्रतिशत बालबालिका श्रममा छन् । बालकभन्दा बालिका श्रममा बढी रहेको जनाइएको छ । चौध प्रतिशत बालक र १७ प्रतिशत बालिका श्रममा रहेका हुन्् ।

पाकिस्तानको राष्ट्रपतिमा जरदारी विजयी

पाकिस्तानको राष्ट्रपतीय निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी भारी मतका साथ विजयी हुनु भएको छ । पाकिस्तानको निर्वाचन आयोगले जनाए अनुसार जरदारीले संसद् र चार प्रान्तीय सभा लगायत सबै निर्वाचक मण्डलबाट ४११ मत ल्याएर विजयी हुनु भएको हो ।

जरदारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको संयुक्त सत्रमा २५५ मत प्राप्त गर्नु भएको छ भने पूर्वी पञ्जाब प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट ८ मत, दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत र दक्षिणी सिन्ध प्रान्तबाट ५८ मत प्राप्त गर्नु भएको हो ।

जरदारीका प्रतिद्वन्द्वी विपक्षी दलका संयुक्त गठबन्धनका उम्मेदवार महमुद खान अचकजाईले कुल १८१ मत प्राप्त गर्नु भएको छ । ६८ वर्षीय जरदारीले शुक्रबार विदाइ हुनु भएका निवर्तमान राष्ट्रपति आरिफ अल्वीको स्थान लिँदै हुनुहुन्छ ।
सन् २००८ देखि २०१३ सम्म ११ औं राष्ट्रपति रहनु भएका जरदारीको उक्त पदमा यो दोस्रो विजयी हो ।

जरदारी सन् २०२४ फेब्रुअरी ८ मा भएको आम निर्वाचनमा राष्ट्रिय सभा सदस्य निर्वाचित हुनु भएको थियो। राष्ट्रपतिको शपथ लिनुअघि उहाँले राष्ट्रिय सभाबाट राजीनामा दिनुपर्नेछ।

नवौँ राष्ट्रिय हेटौँडा भेट्रान्सको उपाधि बानेश्वरलाई

मनहरी – हेटौँडामा सम्पन्न नवौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप–८ ए साइड रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको उपाधि बानेश्वर फ्रेण्डसिप भेट्रान्स क्लबले जितेको छ । शनिवार सम्पन्न फाइनलमा किङ्गकम भेट्रान्स क्लब काठमाडौँलाई १–० गोलअन्तरले पराजित गर्दै बानेश्वरले उपाधि हात पारेको हो ।

खेलको १३औँ मिनेटमा बानेश्वरका लागि हरिहर थापा ‘झलक’ ले गोल निर्णायक बन्यो । त्यसपछि दुवै टोलीले गोल गर्न नसकेपछि खेल बानेश्वरले जित्यो । उपाधिसहित बानेश्वरले रु एक लाख ११ हजार एक सय ११ तथा रनिङ्ग शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता किङ्गकमले रु ५५ हजार पाँच सय ५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

फाइनल खेलको प्लेयर अफ द म्याच हरिहर थापा ‘झलक’ घोषित भए । उनलाई प्रतियोगिताको उत्कृष्ट फरवार्ड उपाधिसँगै नगद रु पाँच हजार र शिल्ड प्रदान गरिएको थियो ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक बानेश्वरका प्रदीप तण्डुकार, उत्कृष्ट डिफेन्स महेन्द्र विश्वास खवास, उत्कृष्ट कोच आर्दश मल्ल घोषित भए भने उत्कृष्ट मिडफिल्डर किङ्गकमका विपीन शाह घोषित भए । विधागत तर्फबाट उत्कृष्ट घोषित हुनुभएको खेलाडीलाई नगद रु पाँच हजारसहित शिल्ड प्रदान गरिएको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी किङ्गकमका जगतमान लामा घोषित भइ नगद रु १० हजार र शिल्ड प्राप्त गरे । पुरस्कार प्रदान गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले खेलकुद प्रतियोगिता स्वास्थ्य र राष्ट्रका लागि महत्वपूर्ण भएको बताउनुभयो । उपमहानगरपालिकाले खेलकुद क्षेत्रको विकास र खेलाडी उत्पादनका लागि फुटबल एकेडेमी स्पापनाको प्रक्रिया अघि बढाएको उहाँको भनाइ थियो ।

हेटौंडा भेट्रान्स क्लबको आयोजनामा यही फागुन २२ गतेदेखि सञ्चालित प्रतियोगितामा देशभरका १९ वटा टीमको सहभागिता थियो । पैतालिस वर्ष उमेर समूहभन्दा माथिका खेलाडी सम्मिलित उक्त टीममा ५० वर्ष उमेरका दुई जना खेलाडी अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको थियो ।

थप दुई हजार छ सय ७४ सहिदमा सूचीकृत

काठमाडौँ – सरकारले थप दुई हजार छ सय ७४ जना सहिदको नाम सूचीकृत गरेको छ । गृह मन्त्रालयले ती सहिदको नामावली राजपत्रमा प्रकाशितसमेत गरेको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

विभिन्न आन्दोलन, सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा ज्यान गुमाएकाहरूलाई सम्मानस्वरुप गत पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो । उक्त नामावली भने गृह मन्त्रालयले बिहीबारमात्रै राजपत्रमा प्रकाशित गरेको हो ।

अघिल्लो वर्ष फागुन २९ गते विभिन्न आन्दोलनमा ज्यान गुमाएका र विभिन्न मितिमा सहिद घोषणा भएका आठ हजार चार सय ६७ जनाको नामावली पनि राजपत्रमा प्रकाशित गरेको थियो । सहिद परिवारलाई राज्यले रु १० लाख सहयोग उपलब्ध गराउँदै आएको छ ।

किन सक्रिय छैनन् पुराना चलचित्रकर्मी

काठमाडौँ – अहिले चलचित्र निर्माण र छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेको छ । डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज र व्यवस्थित भएको छ । यसले प्रिन्ट लिएर चलचित्र भवन पुग्नुपर्ने प्रावधान हटाएर एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्न सक्नेगरी नयाँ युगमा प्रवेश गरेको हो । नेपालमात्र नभई विश्वभर एकसाथ चलचित्र प्रदर्शन हुन थालेका छन् ।

प्रविधिले सहज बनाएता पनि पुराना चलचित्रकर्मीको उपस्थिति भने कम देखिएको छ । निर्देशक तुलसी घिमिरे, दयाराम दाहाल, दीपक श्रेष्ठ, मदन घिमिरे, प्रदीप श्रेष्ठ, ज्ञानेन्द्र देउजालगायतका प्रसिद्ध निर्देशकले कामलाई निरन्तरता दिन असहजता भइरहेको छ । डिजिटल प्रविधिमा चलचित्रको निर्माण सुरु भएपछि उहाँहरूको काम सङ्ख्यात्मक हिसाबमा निकै कम छ ।

गत पुसमा दर्शकमाझ चलचित्र ‘पर्खी बसेँ तिमीलाई’ ल्याउनुभएका निर्देशक दीपक श्रेष्ठले केही समय विविध कारणले विश्राम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले चलचित्रमा काम गरेँ, तर ती काम दर्शकले थाहा पाउनुभएन, अहिले चलचित्र भवनले गर्दा पनि प्रदर्शनमा सहज छैन ।”

उहाँले देशभरका आधुनिक चलचित्र भवन (मल्टिप्लेक्स)मा प्रकाशित हुने शो सङ्ख्याले चलचित्र राम्रो कि नराम्रो भन्ने धारणा बन्ने गरेको बताउनुभयो । उहाँले चलचित्र प्रदर्शन अगाडि शो सङ्ख्याले नेपाली चलचित्रलाई असर गरिरहेका बताउनुभयो ।

निर्देशक देउजाले निर्देशन गर्नुभएको ‘उपहार’ चलचित्र भवनमा प्रदर्शनरत छ । उहाँले एकदशकपछि ‘झिङ्गेदाउँ’ मार्फत निर्देशनमा पुनरागमन गर्नुभएको थियो । त्यसपछि उहाँले निरन्तरता दिने सोच बनाउनुभएको छ । उहाँका समकक्षी चलचित्रकर्मीको सक्रियता घटिरहेको छ । निर्देशक देउजाले आफू पनि डिजिटल प्रविधिमा ‘अपग्रेड’ भएर आएको बताउनुभयो ।

“अहिलेको प्रविधिअनुसार चलचित्र निर्माण गर्नुका साथै दर्शक सुहाउँदो प्रस्तुति चाहिन्छ, हामीले दशक आगाडिको शैलीमै काम गर्यौँ भने अहिले दर्शकले बेवास्ता गर्नुहुन्छ, म अन्य चलचित्रकर्मीलाई पनि आफूलाई रुपान्तरण गरेर नयाँ सोचका साथ चलचित्रकर्ममा फर्किन आग्रह गर्छु”, निर्देशक देउजाले भन्नुभयो ।

‘अजम्बरी नाता’, ‘डर’, ‘दुई पल’ लगायतका चलचित्र निर्देशन गर्नुभएका निर्देशक प्रदीप श्रेष्ठले भने अहिले निर्माण लागत बढेका कारण पनि असहजता थपिएको बताउनुभयो । “अहिले चलचित्रको लागत बढेको छ, बजारभन्दा बढी लागत गरेर चलचित्र निर्माण गर्न सहज छैन, सोही कारण पनि पुराना चलचित्रकर्मीले निनान्तरता दिन सहज नभएको हो”, निर्देशक श्रेष्ठले भन्नुभयो, “अहिले कलाकारको पारिश्रमिक नै कुल बजेटको पचास प्रतिशतभन्दा बढी हुन्छ, मैले केही वर्षदेखि तयारी गरिरहेको छु, तर निर्णय लिन विविध कारणले ढिलाइ भइरहेको छ ।”

उहाँले महँगो लागतमा चलचित्र निर्माणले घाटाको सम्भावना बढी हुनेमा जोड दिनुभयो । डिजिटल प्रविधिसँगै प्राप्त सहजतासँगै प्रचारप्रसारमा परिवर्तन भएको शैली, नयाँ पुस्ताका कलाकारले गर्ने अविश्वास, बढ्दो लागतलगायतका समस्याले अहिले लगानी असुरक्षित हुने गरेको उहाँहरूको निष्कर्ष छ ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

बैठक आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

शनिवार बसेको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गर्नुभएको विभिन्न एजेण्डामा कार्यसम्पादन समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको उहाँले बताउनुभयो ।

नेपाल प्रहरीको पोलिग्राफ शाखाबाट पाँच हजारभन्दा बढीको पोलिग्राफ परीक्षण

काठमाडौँ- नेपाल प्रहरीको पोलिग्राफ शाखामा हालसम्म दुई हजार सात सय ७८ मुद्दाका पाँच हजार चार सय १७ जनाको पोलिग्राफ परीक्षण गरिएको छ । स्थापना भएयता १० वर्षमा सो बराबर परीक्षण गरिएको हो ।

आर्थिक वर्ष २०७०/७१ मा दुई सय २५, आव २०७१/७२ मा चार सय ६८, आव २०७२/७३ मा तीन सय ९१, आव २०७३/७४ मा पाँच सय ४३, आव २०७४/७५ मा पाँच सय ८५, आव २०७५/७६ मा पाँच सय ८८, आव २०७६/७७ मा सात सय ५९, आव २०७७/७८ मा छ सय पाँच, आव २०७८/७९ मा तीन सय ८१, आव २०७९/८० मा चार सय ८२ र चालु आवमा दुई सय ९० जनाको पोलिग्राफ परीक्षण गरिएको जनाइएको छ ।

परीक्षण गरिएकामध्ये नेपाल प्रहरीका दुई सय ४१, पूर्वप्रहरी कर्मचारी छजना, नेपाली सेनाका ४०, राष्ट्रिय अनुसन्धान विभागका पाँच र सशस्त्र प्रहरी बलका २९ गरी जम्मा तीन सय २१ जना रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार व्यक्तिले बोलेका कुराको सत्यता जाँच गर्ने प्रविधि पोलिग्राफ भएको र यसलाई वैज्ञानिक भाषामा झुठो बोलेको पत्ता लगाउने मनोशारीरिक प्रविधि पनि भनिन्छ । पोलिग्राफ आधुनिक विधिविज्ञानको सबभन्दा पुरानो प्रविधि हो ।

नेपाल प्रहरीमा विसं २०७० माघ २२ गतेबाट ‘नेपाल प्रहरी पोलिग्राफ निर्देशिका, २०७०’ लागू भएपश्चात विधिवत पोलिग्राफ परीक्षण थालनी भएको प्रवक्ता ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “पोलिग्राफ परीक्षणबाट अपराध अनुसन्धानलगायत अन्य विभिन्न अनुसन्धानमा महत्त्वपूर्ण टेवा पुगेको छ । हालसम्म परीक्षण गरिएकामध्ये करिब ५० प्रतिशत परीक्षणले अनुसन्धानलाई निर्देशित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथ्याङ्कले देखाएको छ ।”

यस प्रविधिलाई अझ प्रभावकारी बनाउन कर्मचारीलाई तालिम तथा आधुनिक उपकरणको प्रयोगलाई विशेष ध्यान दिने गरिएको र समयानुकूल पोलिग्राफ परीक्षण प्रभावकारिताको मूल्याङ्कनसमेत गर्ने गरिएको प्रवक्ता ढकालको भनाइ छ । पोलिग्राफ प्रि–टेष्ट, टेष्ट र पोष्टटेष्ट गरी तीन चरणमा परीक्षण गरिने गरिएको प्रहरीले जनाएको छ । पोलिग्राफ परीक्षण सञ्चालन गर्दा परीक्षण गरिने व्यक्तिको स्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था रहेको र आशङ्कित व्यक्तिले झुठ बोले/नबोलेको परीक्षणले सङ्केत गर्ने गर्दछ ।

चालु आर्थिक वर्षको माघसम्मको सात महिनामा एक सय ४३ वटा मुद्दाका दुई ९० जनाको पोलिग्राफ परीक्षण गरिएको प्रवक्ता ढकालले बताउनुभयो । तीमध्ये दुई सय ६३ पुरुष र २७ महिला छन् । उनीहरूमध्ये झुठ बोलेको सङ्केत एक सय छजना, झुठ नबोलेको सङ्केत एक सय ७० जना, राय दिन नसकेको अवस्था दुईजना, परीक्षण स्वीकृति नदिएको ११ जना र विश्लेषणका लागि अपर्याप्त सङ्केत एकजनामा देखिएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका व्याक्ति वा शङ्कित वा पीडित वा साक्षीहरूले बोलेको कुराको सत्यता परीक्षण गर्नका लागि पोलिग्राफको प्रयोग गरिने तथा पोलिग्राफको माध्यमबाट अनुसन्धानलाई परिणाममुखी बनाउने, अनुसन्धानको दायरालई साँघुरो बनाउने, निर्दोष व्यक्तिको निर्दोषिता पुष्टि गर्ने, प्रमाणको पहिचान तथा अन्य घटनासँग सम्बन्धित विविध कुरा पहिचान गर्न सकिने प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक नवीनराज राईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पोलिग्राफ परीक्षणलाई प्रभावकारी बनाउन यसका मापदण्ड र अन्तर्राष्ट्रिय मान्यताअनुरुप परीक्षण गर्ने गरिएको र कार्यरत कर्मचारीको दक्षता अभिवृद्धि र आधुनिक साधनस्रोत व्यवस्थापनका लागि समन्वय गर्ने गरिएको छ ।”

हाल केन्द्रीय पोलिग्राफमातहत रही अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टङ्गाल, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीलगायत सातवटै प्रदेश प्रहरी कार्यालयमा पोलिग्राफ परीक्षण हुँदै आएको प्रहरीले जनाएको छ ।