`

नयाँ सरकारबाट विकास र समृद्धिको यात्रा अघि बढ्छ: उपाध्यक्ष थापा

गुल्मी- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाले वर्तमान सरकारबाट विकास र समृद्धिको यात्रा अघि बढ्ने बताउनुभएको छ । सनिबारदेखि गुल्मीको सदरमुकाम तम्घासमा सुरु भएको लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनमा उहाँले नयाँ गठबन्धन सरकारले वडा तहदेखि नै समृद्धिको अभियान अघि जिकिर दाबी गर्नुभयो ।

मुलुक यतिबेला राजनीतिक, आर्थिक, सामाजिकलगायतका सङ्कटको भूमरीबाट अघि बढिरहेको भन्दै उपाध्यक्ष थापाले आर्थिक सङ्कटबाट मुक्त गर्न अब विकासको आन्दोलन चलाउनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि वर्तमान गठबन्धन अनुकूल समय बनेको उहाँको भनाइ थियो ।

एमाललेले तय गरेको मिसन-८४ को अभियानलाई सफल बनाउन आदिवासी जनजातिको निर्णायक भूमिका रहेको उहाँले बताउनुभयो । त्यसका लागि एमालेलाई एकल बहुमत दिलाइ प्रमुख राष्ट्रिय शक्तिको रूपमा स्थापित गरेर सत्तामा पुर्याउन अहिलेदेखि नै महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उपाध्यक्ष थापाले एमालेले नयाँ खालको संस्कार र शैली स्थापित गर्नका लागि नयाँ गठबन्धनमा महत्त्वपूर्ण मन्त्रालय नलिएको बताउनुभयो । सरकार परिवर्तनपछि स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म नयाँ नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने उहाँको भनाइ थियो ।

एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले एमाले सत्ता र पदका लागि भन्दा पनि राष्ट्रिय सङ्कट समाधानका लागि नयाँ गठनन्धन गरेर सरकारका सहभागी भएको बताउनुभयो । लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल लुम्बिनी प्रदेशको दोस्रो अबिधेशनका लागि गुल्मीमा बाह्र जिल्लाका प्रतिनिधि एवं पर्यवेक्षकको सहभागिता छ ।

कांग्रेस सरकार भत्काउने खेलमा लाग्दैन – महामन्त्री शर्मा

काठमाडौँ, २६ फागुन : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस सरकार भत्काउने चलखेलमा नलाग्ने बताउनुभएको छ ।

नेपाल शिक्षक सङ्घ बागमती प्रदेशको चौथो प्रतिनिधिसभाको आज उद्घाटन गर्दै उहाँले कांग्रेस नयाँ सरकार बनाउनेतर्फ नलाग्ने स्पष्ट पार्नुभयो । “कांग्रेस अब घरघरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दामा लाग्दैन, हामी सरकार भत्काउन र बहुमत पु¥याउनतर्फ लाग्दैनौँ”, उहाँले भन्नुभयो ।

महामन्त्री शर्माले कांग्रेस अब जनताको मुद्दा लिएर खरोरूपमा उत्रिने बताउनुभयो । “हामीले पार्टी सभापतिलाई भनेका छौँ, अहिले केही समय पर्खनुहोस्, यो गठबन्धनलाई काम गर्न अवसर दिनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले संसद्को चालु अधिवेशनमार्फत नै विद्यालय शिक्षा विधेयक पारित हुनुपर्नेमा जोड दिनुभयो ।

दोहामा नेपाल दिवस समारोह

काठमाडौँ, २६ फागुन : कतारको दोहास्थित नेपाली राजदूतावासले यही मार्च ८ तारिखका दिन नेपाल दिवस (नेपाल डे) समारोह सम्पन्न गरेको छ । हरित मरुभूमि र सुन्दर वातावरणको लक्ष्य राखी वागवानी उत्पादनको लागि विश्वमै पहिलोपल्ट कतार सरकारले सुरु गरेको दोहा एक्स्पो २०२३ को समापन हुने समयमा नेपाल दिवस सम्पन्न गरिएको हो ।

करिब पाँच सय अतिथिको उपस्थितिमा सम्पन्न एक्स्पोमा कतारस्थित विभिन्न देशका राजदूत तथा एक्स्पोमा पेभिलियन सञ्चालन गर्ने अधिकांश मुलुकका कमिश्नर जनरलहरूको विशिष्ट सहभागिता थियो । समारोह उद्घाटन गर्दै दोहा एक्स्पोका डेपुटी सेक्रेटरी जनरल मोहमद अल सादले अत्यन्त सुन्दर र प्राकृतिक रूपले धनी मुलुक नेपालले कतार सरकारले आयोजना गरेको एक्स्पोमा सक्रिय सहभागिता जनाएकोमा प्रशंसा गर्नुभयो ।

कतारका लागि नेपाली राजदूत डा नरेशविक्रम ढकालले नेपालको भौगोलिकता, प्राकृतिक सम्पदा र लगानीको अवस्था जानकारी गराउँदै उक्त अवसरका लागि यो समारोह महत्वपूर्ण हुने बताउनुभयो । नेपाली सांस्कृतिक कार्यक्रम, नृत्य, झाँकीहरू प्रस्तुत गर्दै परेड गरिएको छ । सो समारोहबाट विश्वकै धनी मुलुक र रोजगारीलगायतको सम्भावनाको खानी रहेको कतारमा नेपाल र नेपाली चिनाउन र नेपालको विकासमा कतार सरकारलाई साझेदार गराउन अहम् भूमिका निर्वाह गरेको कार्यक्रमका संयोजक एवं नेपाली पेभिलियनका कमिश्नर जनरल कृष्ण कुमार सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रमबाट कतारलगायत मध्यपूर्वका मुलुकबाट नेपालमा लगानीको सम्भावना बढ्ने अपेक्षा गरिएको नेपाली व्यवसायी सङ्घ कतारका अध्यक्ष महेन्द्र चम्लगाईंले बताउनुभयो । गैरआवासीय नेपाली सङ्घ कतारका अध्यक्ष रमेश भट्टले कतारमा रहेको नेपाली समुदायको विशिष्ट उपस्थिति र सांस्कृतिक कार्यक्रमले नेपालीको पहिचान बढाउने काम गरेको बताउनुभयो ।

गत अक्टोबर २ मा कतारका अमिरले विशेष समारोहबीच समुद्घाटन गरेको यस वागवानीसम्बन्धी दोहा एक्स्पो २०२३ मा विश्वका ८० मुलुक र एक सयभन्दा बढी व्यावसायिक संस्थाहरू सहभागी छन् । एक्स्पोमा नेपाली व्यवसायी सङ्घ कतार, गैरआवासीय नेपाली सङ्घ कतार र नेपाल निर्यात व्यवसायी महासङ्घको सहयोगमा नेपाली राजदूतावासले पनि सहभागिता जनाए ।

एक्स्पोको सञ्चालनका लागि नेपालका तर्फबाट कृष्णकुमार सुवेदी कमिश्नर जनरल, कृष्ण पन्थी डेपुटी कमिश्नर जनरलसहित महेन्द्र चम्लगाईं, रमेश भट्ट, सुनीलकुमार घिमिरे, शङ्कर न्यौपाने, भिजन घिमिरेलगायतको एक उच्चस्तरीय समिति बनाइएको छ ।

शिक्षा र मानवअधिकारका क्षेत्रमा योगदान पुर्‍याउने सम्मानित

काठमाडौँ, २६ फागुन: रुद्रराज साहित्य सेवा समितिले शिक्षा र मानवअधिकारका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनु हुने दुई व्यक्तित्व र एक संस्थालाई पुरस्कृत र सम्मान गरेको छ ।

सरदार रुद्रराज पाण्डेको १२४औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा समितिले चिकित्सा तथा मानअधिकारका क्षेत्रमा विशिष्ट योगदान दिएबापत डा गौरीशङ्करलाल दासलाई सम्मान गरेको छ ।

त्यस्तै, समितिले वरिष्ठ शिक्षाविद् प्राध्यापक शङ्करराज पाठकलाई यसवर्षको शिक्षा सम्मान प्रदान गरेको छ । विसं २०१६ मा काठमाडौँमा सरस्वती कलेजको प्राचार्यबाट शिक्षा क्षेत्रमा प्रवेश गर्नुभएका उहाँले नेपाल प्राध्यापक सङ्घको संस्थापक सदस्य, महासचिव, त्रिभुवन विश्वविद्यालयको उपकुलपतिलगायतका महत्वपूर्ण जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुभएको थियो ।

त्यस अवसरमा शिक्षाविद् पाठकलाई रु ५० हजार राशि नगदसहित सम्मानपत्र प्रदान गरियो । समितिले शिक्षा क्षेत्रमा डेढ दशकदेखि अनवरत योगदान पु¥याएवापत शिक्षक मासिक पत्रिकालाई पनि यसवर्ष विशेष सम्मान प्रदान गरेको छ । कार्यक्रममा शिक्षक मासिक पत्रिकाका सम्पादक राजेन्द्र दाहाललाई रु ५० हजार नगदसहित सम्मानपत्र प्रदान गरियो ।

उहाँहरुलाई त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा केदारभक्त माथेमाले सम्मान एवं पुरस्कार प्रदान गर्नुभएको हो । विसं २०४४ मा स्थापित समितिले शिक्षा, साहित्य, इतिहास र अध्यात्मक क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्ति वा संस्थालाई प्रत्येक वर्ष आलोपालो गरी रुद्रराज पाण्डेको जन्मजयन्तीका अवसरमा सम्मान गर्दै आएको छ ।

उहाँले नेपाली भाषा, साहित्य, शिक्षा, संस्कृति र आध्यात्मिक भावबाट राष्ट्र सेवामा विशिष्ट योगदान पु¥याउनुभएको थियो । सो अवसरमा पूर्वउपकुलपति माथेमाले आधुनिक शिक्षाको विकासमा धरोहरका रुपमा रहेका प्रचण्ड विद्वान पाण्डेले अध्यारोमा रहेको नेपाली समाजलाई उज्यालोतर्फ लैजान महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाली समाजमा अहिले छिटो समाचार दिने होडमा अस्वस्थ्य प्रतिस्पर्धा देखिन्छ । घटनाको विश्लेषण नगरी आउने त्यस्ता समाचार अपूर्ण हुन्छन् । युवा पुस्तालाई गौरवमय इतिहासप्रति ज्ञान दिलाउन सबैको सामूहिक पहल आवश्यक छ ।”

कार्यक्रममा प्राध्यापक त्रिरत्न मानन्धर, प्रा डा मोहनप्रसाद लोहनी, समितिका अध्यक्ष डा बद्रीराज पाण्डे, महासचिव डा निल पाण्डे, सम्मानित एवं पुरस्कृत व्यक्तित्व दास, पाठक र दाहालले सरदार पाण्डेको बहुआयामिक व्यक्तित्व र नेपालको शिक्षा क्षेत्रमा देखिएका चुनौतीबारे चर्चा गर्नुभयो ।

स्व पाण्डेले शिक्षा, साहित्य, आध्यात्मकको क्षेत्रमा गर्नुभएको कर्मले जीवन पर्यप्त पनि समाजले सम्झदै आएको बताउँदै उहाँहरुले सेडा, सिनाष्टको अवधारणा कोर्ने र प्राज्ञिक क्रियाकलापबारे समाजलाई जानकारी दिइनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो भन्नुभयो ।

पाण्डेकै पहलमा नेपालमै एसएलसी परीक्षा र नेपाली भाषामा पाठ्यपुस्तक तयार गरी विश्वविद्यालयमा पढाई प्रारम्भ भएको घटना पनि सो अवसरमा सुनाइयो ।

इजरायली आक्रमणबाट गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३० हजार ९६० पुग्यो

गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ३० हजार ९६० पुगेको छ । त्यसैगरी ७२ हजार ५२४ जना घाइते भएको पनि हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शनिबार उल्लेख गरेको छ ।पछिल्लो २४ घण्टामा इजरायली सेनाको आक्रमणबाट ८२ जना प्यालेस्टाइनीको हत्या भएको छ भने १२२ जना घाइते भएका छन् ।

शुक्रबार रातिदेखि गाजा पट्टीका विभिन्न क्षेत्रमा इजरायलले गरेको हवाइ हमलामा बालबालिका र महिला सहित थुप्रै प्यालेस्टाइनीहरू मारिएका र केही घाइते भएको प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाले जनाएको छ।

दक्षिणी गाजा पट्टीका खान युनिस र रफाह शहरहरूका थुप्रै घरहरूलाई निशाना बनाएर गरिएको तीव्र हवाइ आक्रमणमा कम्तीमा २३ व्यक्तिको मृत्यु भएको प्रतिवेदनले जनाएको छ।गाजापट्टीमा हमास विरुद्ध इजरायलले गरेको निरन्तर आक्रमणबाट व्यापक जनधनको क्षति भइरहेको छ ।

भरुवा बन्दुकसहित एक जना पक्राउ

दमौली, (तनहुँ), २६ फागुन: जिल्ला प्रहरी कार्यालय तनहुँले शुक्लागण्डकीबाट भरुवा बन्दुकसहित आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–११ भुसुनापुर बस्ने ५६ वर्षीय कुलबहादुर शाही रहेका छन् ।

प्रहरीले निजलाई अवैध एक थान भरुवा बन्दुकसहित घरबाटै पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले घरतलासी गर्दा लुकाइछिपाइ राखेको बन्दुकसहित निजलाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

लुम्बिनीमा एकैपटक एक हजार दुई सय ५० अल्पकालीन भिक्षु

लुम्बिनी, २६ फागुनः बौद्धमार्गमा हिँड्ने पहिलो खुट्किलो मानिने श्रामणेर (अल्पकालीन) भिक्षुका लागि बुद्ध जन्मस्थल लुम्बिनीमा आज प्रव्रज्या आयोजना गरिएको छ । मायादेवी मन्दिर परिसरमा एकैदिन एक हजार दुई सय ५० जना अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्धधर्मका विभिन्न १० वटा शिलहरू पालना गरी प्रव्रज्यामा सहभागिता जनाएका हुन् ।

अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाको सहआयोजनामा मायादेवी मन्दिर प्राङ्गणमा एक हजार दुई सय ५० जनालाई कूलपुत्र प्रव्रज्या (अल्पकालीन भिक्षु) गराइएको हो ।

अखिल नेपाल भिक्षु महासङ्घ अध्यक्ष महास्थविर धम्म शोभन र थाइल्याण्डका धम्मकाय फाउण्डेशनका उपप्रमुख फरा उपाझ्याए पभनासहित बौद्ध धर्मगुरुहरूले अल्पकालीन भिक्षुका लागि चीवर प्रदान गरेका थिए । अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्धधर्मका १० वटा नियम पालना गर्नुपर्ने नियम छ । सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्णरूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नुपर्ने छ । भिक्षु बन्नका लागि भने दुई सय २७ वटा नियम पालना गर्नुपर्छ ।

यही फागुन १६ गतेदेखि सुरु भएको प्रव्रज्यामा लुम्बिनीमै आएर एक हजार दुई सय ५० जनाले केश मुन्डन गरेर चीवर प्राप्त गरेका हुन् । आज पहेँलो चीवर लगाउन योग्य भएका श्रामणेरहरूले आफूहरूले पहेँलो चिवर ग्रहण गर्न पाउँदा निकै खुसी लागेको बताएका छन् ।

अखिल नेपाल भिक्षु महासङ्घका कार्यकारिणी सदस्य भिक्षु प्रज्ञामूर्तिले बुद्ध शिक्षाको प्रवर्द्धन र लुम्बिनीको महत्वलाई थप उजागर गर्नका लागि बाह्र सय ५० जनालाई श्रामणेर (अल्पकालीन भिक्षु) बनाइएको बताउनुभयो । उहाँले चीवर प्राप्त गरेका उनीहरूलाई पञ्चशील, अष्टशील र विनयपिटकबारे जानकारी दिने र दैनिक ध्यान गराउने गरिएको बताउनुभयो । छोटो अवधिमा चीवर प्राप्त गरी बुद्धको शिक्षा ग्रहण गराउन आफूहरूले श्रामणेर बनाउने गरिएको उहाँले बताउनुभयो ।

लुम्बिनीमा गरिएको अल्पकालीन भिक्षु बनाउने कार्यले बुद्धको शिक्षा र बुद्धधर्मको प्रचारमा सहयोग पुग्ने राजकीय थाई विहार लुम्बिनीका प्रमुख भिक्षु सुफोथले बताउनुभयो । यसअघि सन् २०११ मा एक हजार, २०१५ मा एक हजार एक सय १२, सन् २०१९ मा एक हजार एक सय १९ र सन् २०२३ मा पाँच सय जनालाई प्रव्रज्या गराइएको कार्यक्रम निर्देशक एवं लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य राजेश शाक्यले बताउनुभयो ।

प्रव्रज्या कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, कार्यकारिणी सदस्य विश्वराज पौडेल, वरिष्ठ निर्देशक ज्ञानिन राईलगायतको उपस्थिति थियो । प्रव्रज्यामा देशभरबाट सहभागिता थियो । प्रवज्याअन्तर्गत आइतबार भिक्षाटन, आगामी चैत ३ र ४ गते बृहत्तर लुम्बिनी क्षेत्रको रामग्राम र तिलौराकोटमा धर्मयात्रा र चैत ८ गते समापन हुने जनाइएको छ ।

नयाँ सरकारप्रति जनतामा नयाँ आशाको सञ्चार भएको छ – नेता खनाल

काठमाडौँ, २६ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मुलुकमा नयाँ वाम–लोकतान्त्रिक गठबन्धनको सरकारप्रति जनतामा नयाँ आशाको सञ्चार भएको बताउनुभएको छ ।

पार्टी निकट अखिल नेपाल महिला सङ्घद्वारा आज आयोजित कार्यक्रममा उहाँले राष्ट्र निर्माणमा बहुसङ्ख्यक जनता कम्युनिष्ट नेतृत्वको पक्षमा रहेको अवस्थामा वाम–लोकतान्त्रिक शक्तिहरूको नयाँ सरकार बनेको बताउनुभयो ।

समकालीन राजनीतिक परिस्थितिमा वामपन्थी धु्रवीकरणको सम्भावना बढेको बताउँदै नेता खनालले जनचाहना र मुलुकको आवश्यकतालाई प्रतिविम्बित गर्न आफ्नो पार्टी पनि सरकारमा सहभागी भएको स्पष्ट पार्नुभयो ।

मुलुकका वामपन्थी, देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिसमेत यो सरकारमा सहभागी रहेका र यसप्रति सकारात्मक भाव देखिएको उहाँको भनाइ थियो । वाम शक्तिको एकता गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “एक वर्षअघि बनेको गठबन्धनको सरकार टुटेको छ, वामपन्थी शक्तिहरूको पहल र नेतृत्वमा गठित सरकारलाई पार्टीको तर्फबाट स्वागत र समर्थन गर्दछु ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले संसद्मा कुनै पनि पार्टीको बहुमत नभएकाले गठबन्धन सरकार बनाउनुको आवश्यकता औँल्याउँदै नयाँ गठबन्धनलाई दायाँबायाँ गर्ने छुट नभएको प्रष्ट पार्नुभयो । उहाँले विगतको गठबन्धनले अघि सारेका नीति, कार्यक्रम र बजेटले जनता तथा राष्ट्रको कुनै पनि आधारभूत समस्यालाई सम्बोधन गर्न नसकेको आरोप लगाउँदै वामपन्थी एकताको माग दिनप्रतिदिन बढिरहेको जिकिर गर्नुभयो ।

विश्वको परिस्थिति अत्यन्त तनावयुक्त बन्दै गएको बताउँदै नेता खनालले भूराजनीतिक शक्तिहरूबीच प्रतिस्पर्धा तीव्र बनिरहेकाले मुलुकको सर्वोपरी राष्ट्रिय हितलाई ध्यानमा राखेर सन्तुलित विदेश नीति अख्तियार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । सो अवसरमा सङ्गठन सुदृढीकरणमा योगदान गरेका नेतालाई सम्मानसमेत गरिएको थियो ।

छोरीको कलेजोले बाबुले नयाँ जीवन पाएपछि…

कास्की, २६ फागुन : पोखरा महानगरपालिका–३० खुदीका ६४ वर्षीय वासुदेव लामिछानेलाई छोरीको कलेजोले नयाँ जीवन दिएको छ ।

विसं २०७५ तिर कलेजोमा समस्या देखिएको थियो । उहाँले चार वर्ष औषधि खाएर रोग निको पार्ने प्रयास गरे पनि विस्तारै औषधिले काम गर्न छाडेको थियो । एक वर्षदेखि उहाँलाई रोगले बढी च्याप्न थाल्यो र अवस्था गम्भीर भयो । लामिछानेको कलेजो क्षतिग्रस्त भएको र राम्रोसँग काम नगरेकाले चिकित्सकले अन्तिम चरणको उपचारका रूपमा कलेजो प्रत्यारोपण गर्न सुझाव दिए ।

कमजोर आर्थिक अवस्थाका कारण छिमेकी मुलुक गएर उपचार गर्न उहाँको अवस्था थिएन । परिवारकै सदस्यबाट प्रत्यारोपण गर्नुपर्ने र यसबाट खर्चसमेत कम हुने भएकाले उहाँले परिवारसँग सल्लाह गर्नुभयो । तीन छोरी र दुई छोराका बाबु लामिछानेको कलेजो प्रत्यारोपणका लागि परिवारमा छोरा–बुहारीसँग रक्त समूह मिलेन । रोगले दिनानुदिन च्याप्दै जानु र प्रत्यारोपणका लागि उपयुक्त व्यक्ति नपाउँदा लामिछानेले जीवनको आश मारिसक्नुभएको थियो ।

अन्तिममा उहाँकी जेठी छोरी पोखरा–३० पावरहाउस बस्ने रञ्जना लामिछाने बरालको रक्तसमूह मिलेर प्रत्यारोपण गर्न मिल्ने भयो । त्यसका रञ्जनाको घरबाट समेत स्वीकृति मिल्यो । रञ्जना बाबुको जीवन बचाउन जोखिम उठाउनुभयो र आफ्नो कलेजो बाबुलाई दिन तत्कालै तयार हुनुभयो ।

साहसपूर्वक आफ्नो कलेजो दिएर बुबालाई नयाँ जीवन दिन रञ्जना तयार भएपछि लामिछानेको गत आइतबार भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएको छ । कलेजो रोगका कारण थलिएर जीवनमरणको दोसाँधमा उभिनुभएका लामिछानले छोरीले कलेजो दिएपछि पुनर्जीवन पाउनुभएको छ । छोरी रञ्जनाले आफ्नो कलेजो दिन तयार हुनुभएको र अहिले बाबुछोरी दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको छोरा सुशीलले बताउनुभयो ।

“बुबाको कलेजो प्रत्यारोपण गर्नु नै थियो, तर मिलिरहेको थिएन, त्यसले गर्दा बुवालाई बचाउन सकिँदैन कि भनेर हामी चिन्तित थियौँ”, सुशीलले भन्नुभयो, “अन्तिममा दिदीले दिन मिल्ने भएपछि कलेजो सफलतापूर्वक प्रत्यारोपण भएको छ, अहिले बुवा र दिदी दुवै जना स्वस्थ हुनुहुन्छ, कुनै समस्या छैन ।”

आफ्नो कलेजो बुवासँग मिल्नु र प्रत्यारोपण कार्य सफल भएपछि रञ्जना पनि खुसी हुनुहुन्छ । बाबुआमाका लागि जस्तोसुकै अप्ठ्यारो र दुःखमा साथ दिनुपर्ने छोराछोरीको कर्तव्य आफूले पूरा गर्न पाउँदा धेरै खुसी लागेको दिदीले भनेको सुशीलले बताउनुभयो । दिदीलाई एक हप्ता र बुवालाई दुई हप्ताजति अस्पतालमा राख्नुपर्ने चिकित्सकले बताएको जानकारी दिनुभयो ।

ऊर्जा मन्त्रालयले बजेटमा राखेका योजना कति कार्यान्वयन भए ?

काठमाडौँ, २६ फागुन: चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत कार्यान्वयन हुनेगरी तय गरिएका योजना तथा कार्यक्रमको हालसम्मको उपलब्धि औसत देखिएको छ । कार्यान्वयन गर्ने निकायका कतिपय पदाधिकारी नै आफैँले तय गरेका योजनामा बेखबर छन् । कतिपय आयोजनाको आवेदन माग गर्ने क्रममा छ ।

चालु आर्थिक वर्षका लागि बजेटमा राखिएका योजना तथा कार्यक्रमको अर्धवार्षिक अवधिसम्मको उपलब्धिबारे सरकारले फागुन १७ गते समीक्षा गरेको थियो । उक्त समीक्षाका क्रममा ऊर्जा मन्त्रालयले वार्षिक लक्ष्यको करिब ५८ प्रतिशत लक्ष्य प्राप्त गरेको विवरण पेस गरेको छ ।

चालु आवमा ऊर्जा मन्त्रालयबाट सम्पन्न हुनेगरी निर्धारण भएका लक्ष्य (माइलस्टोन) एक सय ५३ वटा छन् । जसमध्ये फागुन दोस्रो सातासम्ममा काम सुरु भई ८९ वटा अर्थात् ५८ प्रतिशत लक्ष्य प्राप्त भएको छ । हालसम्म सुरु भई लक्ष्य प्राप्त नभएका ५९ र काम सुरु नै हुन नसकेका पाँचवटा छन् । काम सुरु नै नभएका अधिकांश योजना वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रअन्तर्गतका आयोजना हुन् ।

वार्षिक बजेटको उपलब्धिबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समीक्षा हुनुअघि फागुन पहिलो साता ऊर्जा मन्त्रालयको उच्च व्यवस्थापन समूह (एसएमटी) बैठक बसेको थियो । उक्त बैठकमा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालयअन्तर्गत वार्षिक निर्धारित योजना तथा कार्यक्रमको प्रगति सन्तोषजनक देखिन नसकेको बताउनुभएको थियो ।

साथै मन्त्रालयका कर्मचारी र आयोजना प्रमुखलाई थप जिम्मेवार भएर काम गर्न र तोकिएको वार्षिक लक्ष्य प्राप्त गर्नका लागि पनि निर्देशन दिनुभएको थियो । “हामी आफैँले तय गरेको लक्ष्यअनुसारको काम किन हुन सकेन ? सम्पादन हुन नसकेको कामको लक्ष्य किन निर्धारण गरेको ? वार्षिक योजना र कार्यक्रम कार्यान्वयन हुन नसक्नुका पछाडिको समस्या के हो ?”, मन्त्री बस्नेतको प्रश्न थियो । वार्षिक योजना बनाउँदा र लक्ष्य निर्धारण गर्दा वस्तुनिष्ट ढङ्गले बन्नुपर्नेमा पनि उहाँको जोड थियो ।

चालु आव २०८०/८१ को बजेटको बुँदा नम्बर ३५७ मा नेपाल विद्युत् प्राधिकरणबाट प्रवर्द्धित एक सय ११ मेगावाटको रसुवागढी, एक सय दुई मेगावाटको मध्यभोटेकोशी, ४२ दशमलव पाँच मेगावाटको साञ्जेन तथा निजी लगानीकर्ताबाट प्रवर्द्धित जलविद्युत् र सोलार आयोजना सम्पन्न गरी चालु आवभित्र करिब नौ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप गरिने उल्लेख छ । तीमध्ये मध्यभोटेकोशी निर्माण सम्पन्न भए पनि प्रसारण लाइनको अभावमा राष्ट्रिय प्रसारणमा जोड्न सकिएको छैन । चालु आवको अन्त्यसम्ममा नेपालको कुल विद्युत् उत्पादन तीन हजार छ सय मेगावाट पुग्ने पनि बजेटमा उल्लेख छ ।

बजेटको बुँदा नम्बर ३५९ मा सुक्खायामको विद्युत् माग सम्बोधन गर्न र जलविद्युत् निर्यात गर्न एक हजार दुई सय मेगावाटको बुढीगण्डकी र छ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको लगानी मोडालिटी तय गरी निर्माणकार्य अघि बढाउने उल्लेख छ ।

यस वर्षभित्र बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको खाका तयार गर्ने, बोलपत्र मूल्याङ्कन गरी खरिद सम्झौता गर्ने र निर्माण सुपरीवेक्षकका लागि परामर्शदाता छनोट गरिसक्ने लक्ष्य मन्त्रालयले राखेको छ । आयोजनाको खरिद प्रक्रिया अगाडि बढाउने लक्ष्य राखिएकामा हाल वित्तीय ढाँचा तयारी अन्तिम चरणमा पुगेको छ ।

बुढीगण्डकी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठका अनुसार वित्तीय व्यवस्थापनका विभिन्न विकल्पहरू तय गरिएको छ । उहाँले अन्तिम निर्णयको प्रक्रियामा रहेको र छिट्टै सकारात्मक खबर आउने बताउनुभयो । सो आयोजनाको निर्माण सुपरीवेक्षणका लागि परामर्शदाता छनोट गर्ने काम भने वित्तीय व्यवस्थापनको ढाँचा तय भएपछि सुरु हुनेछ ।

मन्त्रिपरिषद्को गत कात्तिक २३ गतेको बैठकले सो आयोजना निर्माणका लागि आवश्यक पर्ने बजेट अभाव हुन नदिन नेपाल सरकारले इन्धनमा लगाएको पूर्वाधार शुल्कसमेत उपयोग हुनेगरी आयोजनाका लागि आवश्यक पर्ने बजेट सालबसालीरूपमा विनियोजन गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो ।

त्यसैगरी यस वर्ष दूधकोशी जलाशययुक्त आयोजना निर्माणपूर्वको तयारीको कामका रुपमा करिब २२ हजार पाँच सय रोपनी जग्गा मुआब्जा वितरण गर्ने लक्ष्य राखिएको छ । तर स्रोत सुनिश्चितता र बजेट व्यवस्थापन नभएका कारण जग्गाको मुआब्जा वितरण नै सुरु भएको छैन । यो आयोजनाको काम अगाडि बढाउने जिम्मा नेपाल विद्युत् प्राधिकरणले पाएको छ । आयोजनाको निर्माणका लागि चालु आवभित्रै सम्भाव्य लगानीकर्तासँग छलफल गरी मोडालिटी तय गर्ने लक्ष्य राखिएकामा यसका लागि हाल दातृ निकायसँग छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै चालु आवको बजेटको बुँदा नम्बर ३६० मा सङ्घ, प्रदेश र स्थानीय तहको सहलगानीमा एक हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण, दुई सय १० मेगावाट क्षमताको चैतपुर सेती, एक सय छ मेगावाट क्षमताको जगदुल्ला, ९९ दशमलव नौ मेगावाटको सिम्बुआ खोला र ७७ दशमलव पाँच मेगावाट क्षमताको घुन्साखोला जलविद्युत् आयोजनाको निर्माण सुरु गरिने ल्लेख गरिएको छ । बजेटले राखेको यो लक्ष्यमा भने अपेक्षित उपलब्धि हासिल हुनसकेको देखिँदैन ।

अपर अरुण जलविद्युत् आयोजनामा यस वर्षभित्र ‘फिजिकल मोडल’ तयार गर्ने, टेण्डर डिजाइनसम्बन्धी काम, आयोजनाको पहुँचमार्गको विस्तृत डिजाइन तथा निर्माण सुपरीवेक्षण कार्य र सोको निर्माण गर्ने लक्ष्य राखिएको थियो । त्यस्तै पहुँचमार्गको रुख कटान कार्य सम्पन्न गर्ने र २२ किलोमिटर पहुँचमार्गको ३० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर रुख कटान तथा जग्गा भोगाधिकारका लागि निवेदन पेस गरिएकामा सोको निर्णय हालसम्म हुन नसकेको मन्त्रालयले जनाएको छ ।

“आयोजनास्थलको विभिन्न स्थानमा ‘हेलिलिफ्टिङ’ गरेर निर्माण सामग्री तथा उपकरण ढुवानी गर्नुपर्नेमा ‘एमआई–१७’ हेलिकोप्टर समयमा उपलब्ध हुन नसक्दा यो काम रोकिएको छ । रुख कटान तथा जग्गा भोगाधिकारका लागि वन तथा वातावरण मन्त्रालयमा निवेदन पेस गरिएकामा सो काम निर्णय प्रक्रियामा रहेको छ”, मन्त्रालयले भनेको छ । त्यस्तै यसै वर्षभित्र आयोजनामा कामदारका लागि क्याम्प निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकामा हाल क्याम्पहरू निर्माणको काम चलिरहेको जनाइएको छ । यो आयोजनाको काम नेपाल विद्युत् प्राधिकरणले गरिरहेको छ ।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल) मार्फत अघि बढाउने भनिएको ७० दशमलव तीन मेगावाट उत्पादन क्षमताको सिम्बुआ खोला जलविद्युत् आयोजनाको पूर्वतयारीका कार्य सम्पन्न गरी यसै वर्षभित्र निर्माण सुरु गरिसक्ने लक्ष्य राखिएको छ । यो आयोजनाका लागि आवश्यक निजी र सरकारी जग्गा अधिग्रहण गर्ने र साइट कार्यालय तथा आवास भवनको निर्माण सुरु गर्ने काममा उल्लेख्य प्रगति देखिन सकेको छैन । जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण तथा क्षतिपूर्ति समिति गठन भई अधिग्रहणका लागि सूचना निकाल्ने तयारी भइरहेको छ ।

विभिन्न निकायबाट सहमति प्राप्त गर्न समय लागेको मन्त्रालयले जनाएको छ । त्यस्तै आयोजनाअन्तर्गत बन्ने प्रसारण लाइनको प्रारम्भिक वातावरणीय परीक्षण (आइई) सम्पन्न गर्ने लक्ष्य राखिएकामा आइई प्रतिवेदनको कार्यसूची स्वीकृत भई स्थलगत अध्ययन सम्पन्न भएको र मस्यौदा प्रतिवेदन तयार भइरहेको मन्त्रालयको भनाइ छ ।

चैनपुर सेती अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको पूर्वतयारीका काम सम्पन्न गर्ने र आयोजना क्याम्प क्षेत्रको निर्माण सुरु गर्ने लक्ष्य पनि मन्त्रालयले राखेको छ । नेपाल विद्युत् प्राधिकरणमार्फत अघि बढिरहेको यो आयोजनाको पूर्वतयारीका कामका लागि खरिद प्रक्रिया सुरु गर्न लागिएको जनाइएको छ । यसका लागि चालु आवको दररेटअनुसार लागत अनुमान पुनरावलोकन अन्तिम चरणमा रहेको जनाइएको छ । अहिले आयोजनाको पहुँचमार्गबाट आवासीय क्षेत्र जाने सडकको डिजाइन भइरहेको पनि मन्त्रालयको भनाइ छ ।

जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजना (एक सय छ मेगावाट) को काम पनि अघि बढिरहेको छ । यो आयोजनामा चालु आवभित्र पूर्वतयारी कार्य सम्पन्न गरी निर्माण चरणमा लैजाने भनिएकामा उक्त काम चलिरहेको जानकारी मन्त्रालयले दिएको छ । यसै वर्षभित्र आयोजनाको पुल, पहुँच सडक तथा आवास निर्माण सुरु गरी ५० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य राखिएकामा हाल उक्त कार्य चलिरहेको मन्त्रालयले जनाएको छ ।

सरकारले यसै वर्षभित्र ७७ दशमलव पाँच मेगावाटको घुन्साखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन र पूर्वतयारीका काम सम्पन्न गरी आयोजनाको निर्माण सुरु गर्ने लक्ष्य राखेको छ । यो आयोजनाको साइट कार्यालय तथा आवास भवनको निर्माण गर्ने, आयोजनाको वित्तीय व्यवस्थापन गर्ने र सात किलोमिटर पहुँचमार्ग निर्माण गर्ने लक्ष्य राखिएको छ ।

तर आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) हुन नसक्दा वित्तीय व्यवस्थापन टुङ्गिन सकेको छैन । सात किलोमिटर सडकमध्ये करिब तीन किलोमिटरको ट्रयाक खोल्ने काम भइरहेको जनाइएको छ । यो आयोजनाको काम पनि एचआइडिसीएलले गरिरहेको छ ।

चालु आवभित्र तामाकोशी–५ जलविद्युत् आयोजनाको पूर्वतयारीका काम सम्पन्न गरी निर्माणका लागि ठेक्का सम्झौता गर्ने लक्ष्य राखिएकामा त्यसमा पनि उल्लेख्य प्रगति देखिन सकेको छैन । आयोजनाको सुपरभिजन परामर्शदाता छनोट गर्ने, प्रसारण लाइनको १८ वटा टावर निर्माणका लागि जग्गा अधिग्रहण गर्ने र आयोजनाको निर्माणका लागि पहिलो चरण (लट–१)को सिभिल तथा हाइड्रोमेकानिकलतर्फको काम सुरु गर्ने लक्ष्य राखिएको छ । तर यसको खरिद प्रक्रिया नै टुङ्गिन सकेको छैन ।

बुढीगङ्गा जलविद्युत् आयोजनाको दोस्रो चरण (लट–२) को इलेक्ट्रोमेकानिकल र तेस्रो चरण (लट–३) को ट्रान्समिसन लाइन निर्माणका लागि बोलपत्र आह्वान गर्ने लक्ष्य रहेकामा स्रोत सुनिश्चितता हुन नसक्दा सो कार्य अघि बढ्न सकेको छैन । अहिले स्रोत सुनिश्चतताका लागि अर्थ मन्त्रालयमा फाइल पेस भएको जनाइएको छ ।

विद्युत् उत्पादनका क्षेत्रमा मात्र नभई प्रसारण लाइन निर्माणका क्षेत्रमा पनि चालु आवका लागि तय भएका योजना तथा कार्यक्रमको प्रगति सन्तोषजनक छैन । चालु आवको बजेटमार्फत प्रसारण लाइनतर्फ नदी बेसिनमा आधारित चार सय केभी कर्णाली करिडोर (कर्मादेव–फुकोट) प्रसारण लाइनको निर्माणकार्यलाई तीव्रता दिने लक्ष्य राखिएको छ । यो प्रसारण लाइन आयोजनाको निर्माणका लागि ठेक्का सम्झौता गर्ने प्रक्रिया चलिरहेको छ । टावर प्याडको माटो परीक्षण, कैलाली जिल्लाअन्तर्गत पर्ने टावरको निर्माणका लागि जग्गा अधिग्रहण गर्ने र प्रसारण लाइनको इन्जिनियरिङ डिजाइन कार्य सम्पन्न गर्ने वार्षिक योजना रहेकामा ती सम्पन्न हुनसकेका छैनन् ।

भेरी करिडोर चार सय केभी प्रसारण लाइन आयोजनाको लगानी मोडल स्वीकृत गरी ठेक्का प्रक्रिया अगाडि बढाउने, पश्चिम सेती चार सय केभी प्रसारण लाइन आयोजनाको लगानी मोडल सुनिश्चित गरी ठेक्काको प्रक्रिया अगाडि बढाउने र नेपाल–भारत विद्युत् प्रसारण लाइनको तीन हजार छ सय किलोमिटर तार खरिद प्रक्रिया अगाडि बढाउने वार्षिक योजना रहेको छ । यी कुनै पनि प्रसारण आयोजनामा अपेक्षित उपलब्धि हासिल हुनसकेको देखिँदैन ।

ऊर्जा मन्त्रालयअन्तर्गत छवटा राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा छन् । गौरवका आयोजनाको वार्षिक प्रगति लक्ष्य र उपलब्धि तुलना गर्दा निकै कमजोर छ । महाकाली सिँचाइ आयोजनामा नेपाल–भारतबीचको लिङ्क क्यानल तथा हेड रेगुलेटर निर्माण सम्पन्न भइसकेको छ तर, आयोजनाको नहर भने सञ्चालन हुनसकेको छैन । नहरको ३७ दशमलव ३३ हेक्टर जग्गाको भोगाधिकार प्राप्त गर्न रुख कटानका लागि डेढ वर्ष बितिसक्दा पनि हालसम्म काम सम्पन्न हुनसकेको छैन ।

दोधारा चाँदनीका लागि वर्षैभरि १० क्युसेक पानी शारदा नहरबाट दिने महाकाली सन्धिको प्रावधान भए पनि हालसम्म भारत सरकारले उक्त क्षेत्रको लागि लिङ्क क्यानल र हेड रेगुलेटर बनाउने काम अनिश्चित छ । आयोजनाको जग्गा मुआब्जा वितरणका लागि विनियोजित बजेट निकै कम रहेको र थप रकम आवश्यक पर्ने आयोजनाले जनाएको छ ।

रानीजमरा कुलरिया सिँचाइ आयोजना आव २०६७/६८ मा निर्माण सुरु भएर चालु आवभित्र सम्पन्न गर्ने लक्ष्य राखिएकामा आयोजनामा हालसम्म ७० प्रतिशतमात्रै भौतिक प्रगति रहेको छ । आयोजनाको लागत रु १२ अर्ब ३७ करोड रहने सुरुआती अनुमान रहेकामा अहिले रु २७ अर्ब ७० करोड पुगिसकेको छ । आयोजनाको जलविद्युत् आयोजनाको उत्पादनबाट प्राप्त हुने राजस्व बाँडफाँट र विद्युत्गृह सञ्चालन तथा मर्मतसम्भार कार्यविधि बन्न सकेको छैन । आयोजनाको मूल नहरमा स्थानीय व्यक्तिबाट ‘राइट अफ वे’मा जग्गा अतिक्रमण गरी विभिन्न संरचना निर्माण भएको हुनाले राइट अफ वे कायम हुनसकेको छैन ।

आव २०८२/८३ मा सम्पन्न हुने लक्ष्य राखिएको बबई सिँचाइ आयोजनाको हालसम्म ७२ प्रतिशतमात्रै काम सम्पन्न भएको छ । कुल रु १८ अर्ब ९६ करोड लागत अनुमान गरिएको आयोजनामा हालसम्म रु १३ अर्ब १५ करोड खर्च भइसकेको छ । गत आव २०७९/८० मा भुक्तानी हुन नसक्दा र चालु आवमा समेत न्यून बजेट विनियोजन भएकाले निर्माण व्यवसायीबाट निर्माणकार्यमा ढिलाइ भइरहेको आयोजनाले जनाएको छ ।

जग्गा प्राप्तिका लागि मुआब्जा वितरणमा ज्यादै नै न्यून बजेट विनियोजन भएकाले पश्चिम सिँचाइ प्रणालीको सिञ्चित क्षेत्र विकासको कार्य अगाडि बढाउन नसकेको जनाइएको छ । हरेक वर्ष सात महिना नहरमा पानी सङ्कलन गर्नुपर्ने भएकाले बाँकी पाँच महिनामा नहर निर्माणको कार्य प्रगति वार्षिक लक्ष्यअनुसार हासिल गर्न गाह्रो हुने आयोजनाले जनाएको छ । खरिद गुरुयोजनाले प्रक्षेपण गरेअनुसारको वार्षिक बजेट विनियोजन हुन नसक्दा समस्या देखिएको पनि आयोजनाको भनाइ छ ।
आव २०७१/७२ मा निर्माण सुरु भएको भेरी बबई डाइभर्सन आयोजनाको काम हालसम्म ६५ प्रतिशत सकिएको छ । आव २०८२/८३ मा निर्माण सम्पन्न गरिसक्ने भनिएको यो आयोजनामा हालसम्म रु १६ अर्ब ९६ करोड ३८ लाख बराबर खर्च भइसकेको छ । राष्ट्रिय निकुञ्ज तथा सरकारी वन क्षेत्रभित्र पर्ने जग्गा र ऐलानी जग्गा प्राप्तिका लागि स्पष्ट नीति र कार्यविधिको अभावमा आयोजनाको काममा सुस्तता देखिएको छ । आयोजनाको निर्माणका लागि ठूला यन्त्र तथा उपकरण आवश्यक पर्ने भए पनि सोको व्यवस्थापन समयमा हुन नसक्दा पनि आयोजनामा समस्या देखिएको जनाइएको छ ।

आव २०६१/६२ मा निर्माण सुरु भएको सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४० दशमलव १६ प्रतिशत छ । रु ५२ अर्ब ८९ करोड कुल लागत अनुमान गरिएको आयोजनामा हालसम्म रु २० अर्ब ८० करोडभन्दा बढी खर्च भइसकेको छ । आयोजनाको पश्चिम नहरको मुख्य शाखा गुरुवागाउँ क्षेत्रको ठेक्का मूल्याङ्कन चरणमा छ भने पूर्वी नहरको विस्तृत सर्वेक्षणको सम्झौता सम्पन्न भई अध्ययन भइरहेको जनाइएको छ । निर्माणसँग सम्बन्धित ठेक्का सम्झौताअनुसार काम गर्दा पनि निर्माण व्यवसायीहरू मुद्दामामिलामा जाँदा आयोजनाको काममा ढिलाइ भएको जनाइएको छ । सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरतर्फको ३७ किलोमिटर नहर सञ्चालनमा ल्याई थप ५३ किलोमिटरसम्मको निर्माण सुरु गरिसक्ने लक्ष्य चालु आवको बजेटमार्फत लिइएको थियो । तर आयोजनामा उक्त लक्ष्यअनुसार काम हुनसकेको छैन ।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको हालसम्मको भौतिक प्रगति २६ दशमलव ३८ प्रतिशत रहेको छ । आव २०७३/७४ मा सुरु भएको यो आयोजनाको कुल लागत रु ४९ अर्ब ४२ करोड अनुमान गरिएकामा हालसम्म रु ११ अर्ब ९२ करोड बराबर खर्च भइसकेको छ । आयोजनाको काममा बजेट अभावको समस्या देखिएको छ ।

खरिद गुरुयोजनाअनुसार तथा निर्माण कार्यप्रगतिअनुसार थप बजेट आवश्यक रहेको भन्दै आयोजनाले मन्त्रालयसँग थप बजेटको माग गरिरहेको छ । यो आयोजनाका लागि रामेछाप जिल्लातर्फको डुबान क्षेत्रको जग्गा अधिग्रहणको सन्दर्भमा बैंकमा रोक्का रहेको र फुकुवा हुन बाँकी रहेको जग्गाको मुआब्जा वितरणकार्य सम्पन्न भइसकेको छैन । वन क्षेत्रको जग्गा प्रयोग, जग्गाको हदबन्दी, निर्माण सामग्रीको अभाव, दक्ष जनशक्तिको अभावलगायतका कारणले कतिपय आयोजना प्रभावित भएको छ । अन्तरसरकारी निकायबीच समन्वयको अभाव पनि समस्याको अर्को कारक रहेको छ ।

उत्तरी चीन भूमि बन्दरगाहद्वारा १५ हजार चीन-युरोप मालवाहक रेल सञ्चालन

उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको इरेनहोटको सीमा बन्दरगाहबाट शनिबार बिहानसम्म १५ हजार चीन-युरोप मालवाहक रेल सञ्चालन भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।

एरेनहोट पोर्ट चीन र मङ्गोलिया बीचको सबैभन्दा ठूलो भूमि बन्दरगाह हो। यस बन्दरगाहबाट चीन-युरोप मालवाहक रेल मार्गहरू सञ्चालित छन् । यहाँबाट चीनका तियानजिन, आन्हुई, हुनान र सिचुआन लगायतका १० भन्दा बढी प्रान्त, क्षेत्र र नगरपालिकाबाट शुरु भई जर्मनी, पोल्याण्ड जस्ता १० वटाभन्दा बढी देशहरूमा ५० भन्दा बढी गन्तव्यसम्म सञ्जाल जोडिएको छ ।

एरेनहोट बन्दरगाह हुँदै चीन-युरोप मालवाहक रेलहरूले ढुवानी गर्ने सामानहरूमा जुत्ता, कपडा, मेकानिकल र विद्युतीय उत्पादनका सामग्री लगायत सवारी साधनका पार्टपुर्जाहरू समावेश छन्।

पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना छ गुणाले बढे

काठमाडौँ, २६ फागुन : पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना छ गुणा बढीले वृद्धि भएको पाइएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६÷७७ मा दुई हजार तीन सय एक निवेदन आएकामा चालु आवको फागुन २३ सम्म १२ हजार सात सय ८९ निवेदन आएका हुन् । त्यस्तै आव २०७७÷७८ मा तीन हजार नौ सय छ, आव २०७८÷७९ मा चार हजार छ सय ८६ र आव २०७९÷८० मा नौ हजार १३ निवेदन परेको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको छ ।

प्रहरीका अनुसार चालु आवको फागुन २३ गतेसम्म अनलाइन माध्यमबाट पीडित बालकका एक सय ६४, बालिकाका दुई सय ४२, महिलाका पाँच हजार सात सय तीन, पुरुषका छ हजार एक सय ७७ र अन्यमा पाँच सय तीन गरी जम्मा १२ हजार सात सय ८९ निवेदन प्रधान कार्यालयमा आएका छन् ।

साइबर ब्यूरोका प्रहरी उपरीक्षक तथा प्रवक्ता दीपकराज अवस्थीले अनलाइन ठगी, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गर्ने, वेभसाइट ह्याकिङ लगायतका अपराधका विभिन्न स्वरुपमध्ये पछिल्लो समय ब्यूरोमा आर्थिक ठगीका निवेदन बढी आएको जानकारी दिनुभयो ।

साइबर अपराधका प्रवृत्तिमा विभिन्न किसिमका नग्न तस्बीरमा व्यक्तिको मुहार जोडी अनलाइन प्रविधि राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, सम्पूर्ण सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरेर प्रोफाइल पेज खोली बेइज्जत गर्ने तथा दुःख दिने, सरकारी तथा अन्य सङ्घ संस्थाको वेभसाइट ह्याकिङ गर्ने, अनलाइन ठगी गर्नेजस्ता गतिविधि पर्दछन् ।

शान्ति र स्थायित्वका लागि सेनालाई सबल बनाउँदै केन्या

केन्याका राष्ट्रपति विलियम रुटोले सरकारले देशको शान्ति र स्थायित्वको सुनिश्चितताका लागि केन्या डिफेन्स फोर्सलाई बलियो बनाइरहेको बताउँनु भएको छ ।उहाँले विदेशमा शान्ति मिसनमा भाग लिएको सेना नमूना संस्था भएको बताउँदै जसले केन्याको शान्ति र स्थायित्वको ग्यारेन्टी गरेको उल्लेख गर्नु भएको छ ।

तपाईंले हाम्रो राष्ट्रको लागि सुरक्षा र स्थायित्व प्रदान गर्नुहुन्छ, हामी केन्याका जनतालाई हाम्रा प्रतिबद्धताहरू पूरा गर्न सुनिश्चित कडा मेहनत गर्नेछौं,” राजधानी नैरोबीमा आयोजित सेनाका नवनियुक्त उपाध्यक्षको शपथ ग्रहण समारोहमा उहाँले सो धारणा राख्नु भएको हो ।

राष्ट्रको बल सेनामा निर्भर रहेको उल्लेख गर्दै राष्ट्रपतिले आफ्नो सरकारले खाद्य उत्पादन, रोजगारी सृजना, स्वास्थ्य सेवालाई सशक्त बनाउने जनादेश पूरा गर्नका लागि सबै सार्वजनिक संस्थाहरूलाई बलियो बनाइरहेको बताउँनु भएको छ ।

राष्ट्रपतिले देशको सुरक्षा र स्थिरता नभई “अन्यकुनै पनि आकाङ्क्षाहरू प्राप्त गर्न धेरै गाह्रो हुने टिप्पणी गर्नु भएको छ ।रुटोले जनजातिवाद र विभाजन रहित संयुक्त केन्यामा सरकारको प्रतिबद्धतालाई पुनः पुष्टि गर्नु भएको छ । “जातिवाद, जातियता र सीमान्तीकरणको अन्त्य गरी हाम्रो राष्ट्रलाई शान्तिपूर्ण, एकताबद्ध र प्रगतिशील राष्ट्रमा सुदृढ गर्ने मेरो चाहना छ” उहाँले बताउनु भयो ।

काभ्रेका थप एक सय ६८ ‘राष्ट्रिय सहिद’मा सूचीकृत

काभ्रेपलाञ्चोक, २६ फागुन : काभ्रेपलाञ्चोकका थप एक सय ६८ जनालाई ‘राष्ट्रिय सहिद’मा सूचीकृत गरिएको छ । सरकारले राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र सङ्घर्ष र क्रान्तिमा सहादत प्राप्त गरेका जिल्लाका थप एक सय ६८ जनालाई सहिदमा सूचीकृत गरेको हो ।

गत पुस २४ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम सहिद घोषणा गरी राजपत्रमा सूचनासमेत प्रकाशन गरिएको छ । गृह मन्त्रालयले सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावलीमा यसअघि काभ्रेपलाञ्चोकका एक सय ३५ लाई राष्ट्रिय सहिदमा सूचीकृत गरेको थियो । तत्कालीन जनयुद्धलगायत विभिन्न मितिमा ज्यान गुमाएका काभ्रेपलाञ्चोकका २४ महिलासहितको उक्त सूची राष्ट्रिय सहिदमा सूचीकृत गरी नेपाल राजपत्रमासमेत प्रकाशित गरिएको थियो । थपिएका नयाँसहित काभ्रेपलाञ्चोकमा सहिदको सङ्ख्या तीन सय तीन पुगेको छ ।

मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म सहिद भएकाको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सरकारले बिहीबार राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलन, सशस्त्र सङ्घर्ष र क्रान्तिमा सहादत प्राप्त गरेको जनाउँदै दुई हजार छ सय ७४ जनालाई सहिद घोषणा गरी राजपत्रमा प्रकाशित गरेको हो । राष्ट्रिय सहिदका परिवारले यसअघि सहिद घोषणा भई राज्यबाट परिपूरण र सम्मानस्वरूप प्राप्त गरेको सुविधाअनुरूप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउने जनाइएको छ ।

बेपत्ता छानबिन आयोग तथा सत्य निरुपण तथा मेलमिलाप आयोगको निर्देशनपछि तत्कालीन जिल्ला शान्ति समितिमा भने मानवअधिकारका गम्भीर उल्लङ्घनका घटनाका पाँच सय १३ उजुरी दर्ता भएका थिए । समितिका अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगका लागि भने चार सय ६९ वटा उजुरी दर्ता थिए । यस्तै जिल्लाका ४४ पीडित परिवारले आफ्ना आफन्तलाई बेपत्ता पारिएको जनाउँदै वास्तविक छानबिन गरी सत्यतथ्य पत्ता लगाउन उजुरी दर्ता गरेका थिए ।

दशवर्षे सशस्त्र द्वन्दका क्रममा भने काभ्रेपलाञ्चोकमा दुई सय ७१ जना मृतक परिवार, ८० जना घाइते÷अपाङ्ग, विस्थापनमा ६०, द्वन्द्वपीडित बालबालिकामा एक सय ९१ जना, द्वन्द्वपीडित महिलामा ८४ र ३२ बेपत्ता परिवारले सरकारी क्षतिपूर्ति तथा राहात लिएको काभे्रपलाञ्चोक प्रशासनको तथ्याङ्क उल्लेख छ । द्वन्द्वमा मृत्यु र बेपत्ता भएकालाई उक्त समयमा रु तीन लाख, घाइतेलाई उसको प्रतिशत हेरेर, विस्थापित र अन्यलाई प्रकृति हेरेर अन्तरिम राहत दिने सरकारको नीति रहेको थियो ।

कालीगण्डकी करिडोरमा पुनः सुक्खा पहिरो, सडक अवरुद्ध

बलेवा (बागलुङ), २६ फागुन: सुक्खा पहिरोका कारण आज दिउँसोदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मी जिल्लाको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नं ६ बरलवाको भिरमा भीषण पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पहिराले बागलुङ–गृल्मी खण्डअन्तर्गत मालढुङ्गा–अर्वेनी सडक पूर्णरूपमा अवरुद्ध बनेको छ । यसअघि यही फागुन ११ गते राति खसेको सुक्खा पहिरोका कारण करिडोर एक साता बन्द भएको थियो ।

बागलुङको मालढुङ्गाबाट गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ । काम चलिरहेकै बेला आज एक्कासी पहाड खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको निर्माण कम्पनी कालिका कन्ट्रक्सनका इन्जिनियर छकबहादुर गुरुङले बताउनुभयो ।

“पटक–पटक पहाड खस्दा काम गर्न निकै कठिन भइरहेको छ”, गुरुङले भन्नुभयो, “यसपटकको चट्टान पनि एक सातामा फोडेर सकिनेजस्तो छैन ।” पहिराको विषयमा कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पालाई जानकारी गराइएको उहाँले बताउनुभयो ।

सडक अवरुद्ध भएकाले करिडोर हुँदै लामो तथा छोटो दूरीका सवारी आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएका कारण जिल्ला सदरमुकाम बागलुङ बजार र दक्षिण जैमिनी र बरेङ गाउँपालिकाबाट बुटवललगायतका ठाउँमा चल्ने सवारीसाधन रोकिएका छन् । भिरालो जमिन रहेको उक्त स्थानमा बेला–बेलामा सुक्खा पहिरो जाने गरेको छ ।

प्रधानमन्त्री प्रचण्डद्वारा परिवर्तित राजनीतिक परिस्थितिबारे संसदीय दललाई जानकारी

काठमाडौँ, २६ फागुन : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक परिस्थितिबारे संसदीय दललाई जानकारी गराउनुभएको छ ।

माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा प्रधानमन्त्री दाहालले सरकारको समीकरण परिवर्तनका सम्बन्धमा प्रष्ट पार्नुभएको दलका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

बैठकमा प्रतिनिधिसभाको पछिल्लो अवस्थाबारे प्रतिनिधिसभाका मुख्य सचेतक पाण्डे र राष्ट्रियसभाका प्रमुख सचेतक गोपीबहादुर अछामीले बैठकलाई जानकारी गराउनुभएको थियो ।

त्यसैगरी राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तथा विश्वासको मतको विषयमा सहभागी सदस्यले सोधेको प्रश्नमा प्रधानमन्त्री दाहालले उम्मेदवारका विषयमा पार्टीको स्थायी समिति बैठकले निर्णय गर्ने र विश्वासको मत कहिले लिने भन्ने विषयमा सहयात्री दलसँग छलफल गरेर निर्णय लिइने जानकारी गराउनुभएको थियो ।

सन्त नेता किशुनजीको जीवनबाट सबैले प्रेरणा लिनुपर्छ: उपसभापति खड्का

सुर्खेत, २६ फागुनः नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सन्त नेता कृष्णप्रसाद भट्टराईको जीवनबाट सबैले प्रेरणा लिनुपर्ने बताउनुभएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेश पार्टी कार्यसमितिले निर्माण गर्न लागेको सन्त नेता कृष्णप्रसाद भट्टराई स्मृति भवनको आज शिलान्यास गर्दै उपसभापति खड्काले किसुनजीको आदर्श, निष्ठा, अनुशासन र आम नेपाली जनताप्रति समर्पित र अनुशासित हुने व्यवहारको अनुसरण गर्नुपर्ने बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

“सामाजिक र राजनीतिक जीवनमा समर्पित भएका मानिसहरुको जीवनपद्धति कस्तो हुनुपर्दछ, उनीहरुको आचार र विचार कस्तो हुनुपर्दछ भन्ने कुरा पार्टीका संस्थापकमध्येका एक सन्त नेता किशुनजीबाट हामीले सिक्नु आवश्यक छ”, उहाँले भन्नुभयो । मुलुकको जिम्मेवारी लिँदा कसरी जनताप्रति समर्पित भएर काम गर्नु पर्दछ भन्ने अनुपम, अनुकरणीय उदाहरण किसुनजीले दिएर जानुभएको उहाँको भनाइ छ ।

उपसभापति खड्काले राजनीतिक जीवनको अधिकांश समय आफूले सन्त नेताकै शिक्षा दीक्षामा जोडिन पाएको खुसी व्यक्त गर्नुभयो । “उहाँकै नाममा भवन निर्माणको सुरुवात गरेको छ”, उहाँले भन्नुभयो, “कर्णाली प्रदेशको सिङ्गो पार्टी सञ्चालन गर्न र जनताप्रतिको उत्तरदायी हुन यो शुभ अवसरले प्रेरणा दिनेछ ।”

एमालेको केन्द्रीय अनुशासन आयोगको प्रशिक्षण

काठमाडौँ, २६ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय अनुशासन आयोगले उपत्यका विशेष प्रदेश कमिटी र बागमती प्रदेश कमिटीका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

सबै प्रदेश कमिटीका लागि अनुगमन तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने आयोगको निर्णयबमोजिम दुई प्रदेश कमिटीका प्रशिक्षण सम्पन्न भएको हो ।

प्रशिक्षणमा आयोगका अध्यक्ष केशवप्रसाद बडालले पार्टी, सङ्गठन, अनुशासन र नेतृत्व विषयमा र आयोगका सचिव प्रा डा भरत पहारीले अनुशासन र आचारसंहिता विषयमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा सहभागीहरूले व्यक्तिगत तथा सम्पत्ति विवरण अद्यावधिक गराउनका साथै पार्टीको नीति, सिद्धान्त, विधान र निर्णय कार्यान्वयन गराउन आग्रह गर्नुभएको थियो ।

दर्शन समाजको भवन बनाउन पूर्वमन्त्री हमालद्वारा ५१ लाखको जग्गादान

खजुरा (बाँके), २६ फागुन: नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गजेन्द्रबहादुर हमालले दर्शन समाज बाँकेलाई कार्यालय निर्माणका लागि रु ५१ लाखबराबरको जग्गादान गर्नुभएको छ ।

पूर्वमन्त्री हमालले नेपालगञ्ज उपमहानगरपालिका–१२ गोरखनगरमा रहेको रु ५१ लाख मूल्य पर्ने ११ धुर जग्गा दर्शन समाज संस्थालाई भवन निर्माणका लागि दान गर्नुभएको हो । उक्त कार्यालयको अभावमा सो संस्थालाई काम गर्न समस्या भएकाले आफूले आफ्नो परिवारसँग सल्लाह गरेर सो जग्गा दान गरेको उहाँले बताउनुभयो ।दर्शन समाज बाँकेका अध्यक्ष रमेश शाहले सो सहमतिपत्र हस्तान्तरण गर्नुभयो । सहमतिपत्रमा हमालले प्रदान गरेको जग्गामा समाजले कार्यालय भवन निर्माण गर्ने र समाजसेवामा सक्रिय रहने उल्लेख छ ।नेपाली कांग्रेस बाँकेका पूर्वसभापतिसमेत रहनुभएका पूर्वमन्त्री हमालले यसअघि केही वर्ष पहिला पनि नेपालगञ्ज–१२ को स्वास्थ्यचौकी निर्माणका लागि आफ्नो पाँच कठ्ठा जग्गादान गर्नुभएको थियो । सो जग्गामा अहिले स्वास्थ्यचौकी निर्माण भएर वडावासीले स्वास्थ्य सेवा पाइरहेका छन् ।

हिमाल स्वच्छ राख्न प्लास्टिकको प्रयोग कम गर्ने प्रतिबद्धता

आधारशिविर (सोलुखुम्बु), २६ फागुनः सात दिन लगाएर सगरमाथा आधार शिविर पुगेका महिलाले हिमाल स्वच्छ राख्न प्लास्टिकको प्रयोग कम गर्ने प्रतिबद्धता जनाएका छन् ।

जलवायु परिवर्तनको असर न्यूनीकरणको अभियानका क्रममा सगरमाथा आधार शिविर पुगेर महिलाले यस्तो प्रतिबद्धता जनाएका हुन् । साथसाथै फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीले वातावरणको शत्रु नै प्लास्टिक भएकाले यसको प्रयोग कम गर्न सकियो भने मात्रै पनि धेरै हदसम्म वातावरण प्रदूषण कम हुने बताउनुभयो ।“प्लास्टिकका सामग्रीको प्रयोगलाई कम गरौँ र प्रयोग गर्न मिल्ने सामग्रीको पुनःप्रयोग गरौँ, हामी महिला कुनै चाडपर्व, मेला महोत्सवमा जाँदा धेरै कपडा खरिद गर्छौ, धेरै शृङ्गारका सामान किन्छौँ अनि त्यो सामग्री एकपटक चलाएपछि यतिकै फाल्छौँ”, अध्यक्ष कार्कीले भन्नुभयो, “पलास्टिकले वातावरण प्रदूषण मात्र गरेको हुँदैन । जलवायु परिवर्तनमासमेत ठूलो भूमिका खेलिरहेको हुन्छ । त्यसैले वातावरण जोगाउन र जलवायु न्यायका लागि पुनःप्रयोगको अवधारणालाई आत्मसात् गरौँ ।”मधेसी आयोगका सदस्य रेणुदेवी साहले जलवायु परिवर्तनको असरलाई कम गर्न हिमाल, पहाड र तराईका महिलाहरुले बेलैमा सोच्ने बेला आएको बताउनुभयो । जलवायु परिवर्तनबाट महिला तथा बालबालिका सबैभन्दा बढी पीडित भएको भन्दै उहाँले समस्या समाधानका लागि महिलाहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो । महिलाहरूले प्रयोग गर्ने अधिकांश पहिरन तथा शृङ्गारका सामान पोलिस्टर प्लास्टिकबाट बन्ने भएकाले यसबाट वातावरणमा पर्न सक्ने असरलाई पनि ख्याल गर्नुपर्ने दिन आएको सदस्य साहको भनाइ छ ।गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष रोजिना प्रधान राईले प्रकृति रहे मानव अस्तित्व सम्भव रहेकाले भन्दै वातावरण जोगाउने अभियानमा सबै जुट्नुको विकल्प नरहेको बताउनुभयो । मानवीय कृयाकलापबाटै वातावरण र प्रकृति जोखिममा पर्दै गएको अध्ययनले देखाएकाले हरेक क्रियाकलाप वातावरण अनुकूलन हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।मिस नेपाल शीच्छा प्रधानले प्लास्टिकको प्रयोग वातावरणका लागि अत्यन्त हानिकारक रहेकाले प्रकृति जोगाउन प्लास्टिक निरुत्साहितको अभियान चलाउनुपर्ने बताउनुभयो ।जलवायु न्यायको अभियान लिएर साथसाथै फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीको नेतृत्वमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउन सगरमाथाको आधार शिविर पुगेका १९ जना महिलाको टोलीले प्रकृति जोगाउने अभियानमा सबै जना एकजुट हुन सगरमाथा आधार शिविरबाट आह्वान गरेको थियो ।उहाँहरुले हिमाली क्षेत्रका महिला तथा जनप्रतिनिधिसँग ठाउँ÷ठाउँमा जलवायु न्यायका सवालमा अन्तरसम्वाद समेत गर्नुभयो । अभियानका क्रममा जलवायु परिवर्तनका कारण हिमालहरु कालो पहाडमा परिणत हुँदै गएको, कृषि प्रणालीमा अस्वाभाविक परिवर्तन देखा परेको र त्यसबाट प्रजननमा परेको असरबारे छलफल भएको थियो । 

इटहरीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

इनरुवा (सुनसरी), २६ फागुन : सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा गए राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि दाहाल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । मृतक दुवै काका भतिजा हुन् ।

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४१ प ६६१९ नं को मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२–००१ क ४५७८ नं को ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।

ट्रक चालक इटहरी–२ का ३० वर्षीय प्रदीप कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मदन भण्डारी राजमार्गले चुरे फेदीका बासिन्दा लाभान्वित

बेलबारी (मोरङ), २६ फागुन : मदन भण्डारी राजमार्गले भित्री मधेसका साथै चुरे फेदीका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । पूर्व–पश्चिम राजमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गका साथै मदन भण्डारी राजमार्गले मुलुकको पूर्वी–पश्चिमी भेगलाई जोडीरहेको छ ।

पूर्वी नेपाल इलामको पाटापुरदेखि पश्चिम नेपालको डडेल्धुराको रुपालसम्म करिब एक हजार दुई सय ५० किलोमिटर लामो मदन भण्डारी राजमार्गले व्यापार व्यवसाय र जग्गाको मूल्य मात्र वृद्धि भएको छैन, कृषि क्षेत्रलाई पनि उत्तिकै महत्व दिएको छ । सडक निर्माण भएसँगै गाउँमा उत्पादित सामग्री बजारसम्म पु¥याउन किसानलाई सहज भएको छ ।

विसं २०६५ भदौमा सप्तकोशीको बाढीबाट बस्ती जोगाउन लगाइएको तटबन्ध सुनसरीको पश्चिम कुसाहा भान्टाबारी नजिक फुटेपछि झण्डै ६ महिनासम्म कोशी वारिपारि गर्न छिमेकी मुलुक भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता बनेको थियो । एउटा मात्र राजमार्ग हुँदा त्यसमा कुनै समस्या आए समग्र यातायात अवरुद्ध हुने हुँदा त्यसको विकल्पमा मदन भण्डारी राजमार्ग निर्माण गर्न थालिएको मोरङ क्षेत्र नं १ का सांसद डिगबहादुर लिम्बू बताउनुहुन्छ । मदन भण्डारी राजमार्गले मोरङको उत्तरी भेगमात्र नभएर समग्र प्रदेशकै विकास निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ ।

मोरङको उत्तरी भेगका मिक्लाजुङ गाउँपालिका, लेटाङ नगरपालिका र केराबारी गाउँपालिका जोडेको यो राजमार्गमा तीनवटा पालिमा मात्रै १७ पक्की पुल निर्माण भइसकेका मोरङ क्षेत्र नं १ का पूर्वसांसद घनश्याम खतिवडाले बताउनुभयो ।

“बीस वर्षअघिदेखि नै चुरे फेदीमा वैकल्पिक मार्गको आवश्यकता महसुस गरेर स्थानीय र जिल्ला विकास समितिको बजेटबाट बाटोको सामान्य ट्र्याक खोल्ने कार्य सुरु गरेका थियौँ । पछि राष्ट्रिय गौरवको योजनाका रुपमा राजमार्ग बन्ने भएपछि उत्साहित छौँ”, उहाँले भन्नुभयो ।

दुई लेनको मदन भण्डारी राजमार्ग मेची खोलादेखि सुनसरीको धरान–चतरा, उदयपुरको गाईघाट–कटारी, सिन्धुलीको सिन्धुलीमाढी, मकवानपुरको हेटौँडा, नवलपरासीको गैँडाकोट, पाल्पाको रामपुर, गुल्मीको रिडी–तम्घास, प्युठानको बागदुला–देवीस्थान, दाङको घोराही–तुलसीपुर–पुरनधारा, सुर्खेतको बोटेचौर–बड्डीचौर, डोटीको सिमचौर–बीपीनगर, कैलालीको सहजपुर–बुडर हुँदै डडेल्धुराको रुपालसम्म पु¥याउने काम भइरहेको छ ।

सरकारको प्राथमिकतामा रहेकै कारण राजमार्गको कामले तीव्रता पाएको छ । कोशी प्रदेशका झापा, इलाम, मोरङ, सुनसरी र उदयपुर जिल्लालाई यसले छोएको छ । राजमार्ग आयोजना कार्यालयले सातवटा प्याकेजमा पूर्वीखण्डको ९५ दशमलव आठ किलोमिटर सडक निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ । पहिलो खण्ड सर्दु–भलुवाको २४ दशमलव आठ किलोमिटर सडक रु ९३ करोड ३३ लाखमा ठेक्का लागेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलले बताउनुभयो ।

यस्तै दोस्रो खण्ड भलुवा खोला–बेलडाँगीको २८ किलोमिटर सडक रु एक अर्ब चार करोडमा ठेक्का लागेको छ । यी दुवै खण्डका लागि २०७८ असारमा ठेक्का सम्झौता भएको थियो । दुवै ठेक्काको म्याद म्याद २०८१ पुससम्म थपिएको छ । यस अवधिमा पहिलो खण्डको भौतिक प्रगति ६५ प्रतिशत तथा वित्तीय प्रगति ५० प्रतिशत भएको प्रमुख खकुरेलले बताउनुभयो ।

यसैगरी दोस्रो खण्डको काम ५३ प्रतिशत तथा वित्तीय प्रगति ५१ प्रतिशत भएको छ । “सरकारले न्यून बजेट उपलब्ध गराएका कारण काम सुस्त गतीमा भइरहेको छ , सोचेअनुरूप प्रगति गर्न सकिएको छैन”, प्रमुख खकुरेलले भन्नुभयो ।

दैनिकजसो हजारौँको सङ्ख्यामा सवारी साधन ओहोरदोहोर हुने उक्त राजमार्गमा होटल व्यवसायका साथै अन्य व्यवसाय पनि उत्तिकै फस्टाएको छ । केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष किशन साही मदन भण्डारी राजमार्गका कारण स–साना बजार पनि व्यापारिक केन्द्र बन्न थालेका बताउनुहुन्छ ।

मिक्वाखोलाका दलित र भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण

फुङ्लिङ (ताप्लेजुङ), २६ फागुन : ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले भूमिहीनलाई निस्सा वितरण गरेको छ । राष्ट्रिय भूमि आयोग ताप्लेजुङको समन्वयमा दलित र भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्दैआएका परिवारलाई निस्सा वितरण गरेको हो ।

मिक्वखोला–१ र २ मा आठ÷आठ परिवारलाई निस्सा वितरण गरिएको हो । मिक्वखोला–३ मा दुई, वडा नं ४ मा तथा वडा नं ५ मा दुई परिवारलाई निस्सा वितरण गरिएको मिक्वाखोलाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनदेव योङयाले जानकारी दिनुभयो । निस्सा वितरण गरेसँगै जग्गा खोजी गरी केही महिनापछि उपलब्ध गराउने गरी पालिकाले काम गरिरहेको उहाँले बताउनुभयो ।

निस्सा पाएपछि जग्गा पाउने आशले भूमिहीन स्थानीय खुसी भएका छन् । राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष कुमार बस्नेतका अनुसार निस्सा वितरण गर्ने मिक्वाखोला गाउँपालिका जिल्लाको दोस्रो स्थानीय तह हो । यसअघि गत पुस २७ गते फुङ्लिङ नगरपालिकामा राष्ट्रिय भूमि आयोगले नगरपालिकाभित्रका ३६ दलित, ७० सुकुम्बासी र ११ अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरेको थियो ।

निस्सा पाएका परिवारले सम्बन्धित वडामा जग्गा प्राप्तिका लागि आफ्नो दाबी प्रस्तुत गर्न पाउने अध्यक्ष बस्नेतले बताउनुभयो । उहाँका अनुसार प्रमाणीकरणमा परी निस्सा पाएका परिवारले बजार क्षेत्रमा न्यूनतम चार आना र बजार बाहिर एक रोपनीसम्म जग्गा प्राप्त गर्नेछन् ।

कास्कीमा भूकम्पको धक्का महसुस

काठमाडौँ । कास्कीमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिवार बिहान ७ः३० बजे पर्चे आसपास केन्द्रबिन्दु बनाएर ४।० रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पले आसपासका जिल्ला पनि हल्लाएको जनाइएको छ ।

कालीगण्डकीको बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

म्याग्दी, २६ फागुन : म्याग्दीको बेनी नगरपालिका–१ आनन्दबगरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ । कालीगण्डकी नदीको कटानबाट जोखिममा रहेको आनन्दबगरको बस्ती संरक्षणका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले योजना कार्यान्वयन गरेको हो ।

आनन्दबगर बस्ती संरक्षण योजना उपभोक्ता समितिका अध्यक्ष लालबहादुर थापाले कालीगण्डकी किनारमा ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “कालीगण्डकीले धार परिवर्तन गरेर बस्ती कटान गर्न थालेपछि आनन्दबगर जोखिममा परेको थियो,” उहाँले भन्नुभयो “चालु आर्थिक वर्षमा ७० मिटर लामो र आठ मिटर अग्लो पर्खाल निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ ।”

झण्डै रु ७४ लाखको लागतमा निर्माण हुन लागेको पर्खालको जगतर्फ तीन मिटर अग्लो पक्की र सतहमा चार मिटर अग्लो पर्खाल निर्माण गरिएको अध्यक्ष थापाले बताउनुभयो । निर्माण कार्यलाई सहज बनाउन कालीगण्डकीलाई डाइभर्सन गरेर अस्थायीरुपमा पर्वतको लामाखेत तर्फबाट बगाइएको छ । सत्र परिवारको बसोबास रहेको आनन्दबगरमा सयौँ रोपनी खेतीयोग्य जमिन कटानको जोखिममा थियो ।

परियोजनाले बेनी बजार र त्यस आसपासका बस्तीमा कटान नियन्त्रणका लागि आठ ठाउँमा रु ५० करोडको लागतमा संरक्षणको काम गरिरहेको छ । बेनी बजार, गलेश्वर क्षेत्र, राम मन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न सञ्चालित उक्त आयोजना निर्माणले तिब्रता पाएको परियोजनाका इञ्जिनियर कृष्णबहादुर विश्वकर्माले बताउनुभयो ।

“गलेश्वर, राम मन्दिर, वारीबेनी र बगरफाँटको योजना सम्पन्न हुुने चरणमा छन्,” उहाँले भन्नुभयो– “बेनी नगरपालिका–२ भसबसेको नदी र पहिरो नियन्त्रण योजना लक्ष्य अघिनै सम्पन्न भएको छ ।” बेनीलाई सरकारले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचिमा राखेको छ ।

‘राजनीतिक स्थायित्वका लागि गठबन्धनको आवश्यकता’ – पूर्वगृहमन्त्री थापा

गुल्मी- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाले देशमा उत्पन्न राजनीतिक अस्थिरताको उपजका कारण सत्तासमीकरण परिवर्तन भएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता थापाले आर्थिक अवस्था सङ्कटमा पारेको र त्यसबाट देशलाई मुक्त गर्नका लागि पनि गठबन्धनको विकल्प नरहेको बताउनुभयो ।

नयाँ गठबन्धनले राजनीतिक स्थिरतासँगै, सामाजिक एवं सांस्कृतिक अराजकताकोे सङ्कटपूर्ण अवस्थावाट जोगाउँदै मुलुकलाई समृद्धिको यात्रामा लैजाने प्रमुख प्राथमिकता रहेको बताउनुभयो । नयाँ गठबन्धनले एमालेलाई नयाँ चुनौती र अवसर दुवै प्राप्त भएको भन्दै उपाध्यक्ष थापाले यो गठबन्धनलाई थप बलियो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

आजको मौसम : कोशी, बागमती र गण्डकीमा आंशिक बदली

काठमाडौँ, २६ फागुन : कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आज आंशिक बदली रहने छ । अन्य भू–भागको मौसम भने मुख्यतया सफा रहने छ ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आइतबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । सोमबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम सफा रहने छ ।

नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दै

काठमाडौँ, २६ फागुन ः नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।

नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक सिरिज खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई सिरिज सुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसाग खेल्ने छ । यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुने छ ।

नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् ।

हेर्नुहोस् फागुन २६ गते शनिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – साजेदारी कार्यमा बिशेष सजग रहनु होला । नयाँ कार्यको थालनि गर्न राम्रो समय रहेको छ । आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्नाले ईष्ट मित्रको साथ मिल्नेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । कला कौशलका क्षेत्रमा खर्चिएको समय उत्तम रहनेछ ।

बृष राशि – सम्पादित कार्यहरुका क्षेत्रमा सामान्य झन्झट आई पर्नेछ । मान्यजन तथा पारिवारीक साथसहयोगमा केहि दुरताको सामना गर्नु पर्ला । भौतिक साधनको प्रयोगमा बिशेष ध्यान दिनु राम्रो रहनेछ । बिद्या तथा बौधिक क्षेत्रमा भने राम्रो समय रहेको छ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । सवारि साधनको प्रयोमा ध्यान पूर्याउनु होला ।

मीथुन राशि – कामकाजको क्षेत्रमा भने बिशेष सजग रहनु होला अपजसआईपर्ने योग रहेको छ । नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुनेछ । आटँ र शाहसमा बृद्धि भएता पनि साथिभाई हरु टाडिएको अनुभव हुन सक्ला । मनोरञ्जन मुलक यात्राको सम्भाबना रहेकोछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ ।

कर्कट राशि – बोलिको गलत अर्थ लाग्न सक्ला तसर्थ वाणीमा ध्यान दिनुहोला । संचित रकम खर्च हुन सक्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला । सामान्य चोट पटक वा स्वास्थ सम्बन्धी समस्याको सामना गनुपर्नछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ ।

सिंह राशि – ब्यापार ब्यवसायमा सामान्य समस्या देखा पर्न सक्नेछ । खुट्टा तान्ने ब्यक्ति हरुको बृद्धि हुनाले कार्यसम्पादनमा बिशेष होसियार हुनु पर्ने छ । निर्णय गर्ने क्षमतामा कमि आउने छ । खानपानमा रुचि जाग्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । तपाईको सरल मिजासले मित्रजनहरु आकर्शित हुने योग रहेको छ ।

कन्या राशि – खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पनेछ । आर्थिक अभाबको सामन गर्नु पर्ला । मनमा सामान्य चिन्ताले बास गर्नेछ । खानपानको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

तुला राशि – तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । आम्दानिका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला । आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्नाले ईष्ट मित्रको साथ मिल्नेछ ।

बृश्चिक राशि – सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु होला । सभासम्मेलनमा सहभागि हुन सक्ने योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ । आम्दानि मध्यम रहला । बिद्या तथा बौधिक क्षेत्रमा भने राम्रो समय रहेको छ । सबारी साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु पर्नेछ ।

धनु राशि – आटँ शाहसमा बृद्यि हुनाले तपाईका बिपक्क्षीहरु कमजोर रहनेछन । सामान्य यात्रा हुनसक्ला । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ । नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुनेछ । आटँ र शाहसमा बृद्धि भएता पनि साथिभाई हरु टाडिएको अनुभव हुन सक्ला ।

मकर राशि – खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जसआउनसक्छ । सामान्य चोट पटक वा स्वास्थ सम्बन्धी समस्याको सामना गनुपर्नछ । नजिकका मित्रजनहरुको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

कुम्भ राशि – मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । पारीबारिक झोर झमेलाले सताउन सक्छ । तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्नेछन । तपाईको सरल मिजासले मित्रजनहरु आकर्शित हुने योग रहेको छ । अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

मिन राशि – अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । पारीबारिक झोर झमेलाले सताउन सक्छ । स्वास्थमा सामान्य समस्या आउन सक्छ । तात्कालिन आर्थीक अभाबको सामना गर्नुपर्नेछ । नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

एपिएफ फुटबल क्लब झापा गोल्डकपको फाइनलमा

झापा, २५ फागुन : झापा गोल्डकपको चार पटकको विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै एपिएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।

विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी छैटौँ झापा गोल्डकपमा एपिएफले आर्मीको आत्मघाती गोलको उपहारबाट फाइनल यात्रा तय गरेको हो । एपिएफका विदेशी खेलाडी फोडे फोफोनाले प्रहार गरेको बल खेलको ७०औँ मिनेटमा आत्मघाती भएको थियो । फोफोनाको प्रहार आर्मीका रक्षक कमल थापालाई लाग्दै गोल भएको थियो ।

पहिलो हाफमा दुवै टोलीले रक्षात्मक खेल खेलेका थिए । खेलको ४२औंँ मिनेटमा फोफोनाले दिएको क्रस पासमा एपिएफका अनिश महर्जनले गोल गर्न सकेनन् । खेलको ४७औँ मिनेटमा सर्ज सोङले पेनाल्टी एरियाबाट गरेको प्रहार बारको नजिकबाट बाहिरियो । खेलको ६९औँ मिनेटमा बुद्धिमान राईले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार फितलो भयो ।

खेलको ‘प्लेयर अफ द म्याच’ विजेता टोली सशस्त्र प्रहरीका फोडे फोफोना भए । उनले रु ११ हजार पुरस्कार प्राप्त गरे । शनिबार चर्च ब्वाइज युनाइटेड र झापा ११ एफसीबीच सेमिफाइनल खेल हुनेछ ।

प्रतियोगिताको फाइनल खेल यही फागुन २८ गते हुनेछ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबसहित नेपालका १० टोलीको सहभागिता छ । प्रतियोगिताका विजेतालाई रु १३ लाख नगद पुरस्कारसहित ट्रफी र उपविजेतालाई रु सात लाख प्रदान गरिनेछ ।

पाँच वर्षीय बालकले लाइटर खेलाउँदा…

दमौली (तनहुँ), २५ फागुन : तनहुँको ऋषिङ गाउँपालिका–६ दाउन्नेमा आगलागीमा परेर आज पाँच वर्षीय बालकको मृत्यु भएको छ । आगलागीमा परी शिशिर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय ऋषिराम थापामगरको घरमा कोही नभएका बेला गोठमा निजका नातिले पराल, काठ दाउरा रहेको स्थानमा लाइटर खेलाउँदा आगलागी भएको हो । निजको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले राससलाई जानकारी दिनुभयो ।

विश्वको सर्वोच्च शिखर सगरमाथा आधार शिविरमा नारी दिवस मनाइयो

कालापत्थर (सोलुखुम्बु), २५ फागुन ः एक सय १४औँ अन्तरराष्ट्रिय नारी दिवस विश्वको सर्वोच्च शिखर सगरमाथाका आधार शिविरमा मनाइएको छ । विभिन्न विधामा ख्यातिप्राप्त नारीको सहभागितासहित साथसाथै फाउन्डेसनको आयोजनामा आज सगरमाथा आधार शिविरमा सम्मेलन सकिएको हो । उक्त सम्मेलनले जलवायु न्यायका लागि सातबुँदे घोषणापत्रसमेत जारी गरेको छ ।

जलवायु परिवर्तनका कारण विश्वको सर्वोच्च शिखर सगरमाथा र खुम्बु क्षेत्रसहित अन्य हिमालमा देखिएका असरका बारेमा विभिन्न तहका सरकारको गम्भीर ध्यानाकर्षण गराउने, खुम्बु क्षेत्रसहित नेपालका विभिन्न भागमा जलवायु परिवर्तनले महिलाको जीवनशैलीमा ल्याएका समस्या सम्बोधनका लागि राष्ट्रिय–अन्तरराष्ट्रिय सङ्घसंस्थासँग सहकार्य गरी अघि बढ्ने, जलवायु न्याय, अनुकूलन र न्यूनीकरणका लागि स्थानीयस्तरमा पहलकदमी गर्ने घोषणापत्रमा उल्लेख छ ।

साथै त्यसमा महिलाको सहभागिता सुनिश्चित गर्ने र हिमालय क्षेत्रसहित विभिन्न ठाउँमा पर्यटन प्रवद्र्धन गर्दै हिमाल वरपर बढ्दो फोहोरमैला नियन्त्रण गर्ने तथा पुनः प्रयोग गर्न सकिने सामानलाई प्रोत्साहित गर्न सरोकारवाला निकायलाई जागरुक गराउनाका साथै जनचेतना जगाउने घोषणापत्रमा उल्लेख छ ।

जलवायु परिवर्तनले ल्याएका समस्या समाधानका लागि हिमाल, पहाड, तराई र देशबाहिर रहेका सबै नेपालीसँग हातेमालो गर्ने तथा जलवायु न्यायका लागि समाजका विभिन्न तह र समुदायका महिलासहित सगरमाथा आधार शिविरमा उभिएकोलगायत बुँदा घोषणापत्रमा समेटिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक संस्थाका अध्यक्ष प्रजिता कार्कीले प्रकृति बचेमात्र प्राणीजगत् रहने भएकाले यो समय प्रकृतिलाई पनि न्याय गर्ने बेला भएको बताउनुभयो । जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी महिला र बालबालिका पीडित रहेकाले यसको न्यूनीकरणमा विश्व समुदाय जुट्नुपर्ने उहाँको जोड छ ।

मधेसी आयोगका सदस्य रेणुदेवी शाहले हिमालमा देखिएको जलवायु परिवर्तनको असरबाट मधेस पनि अछुतो नरहेकाले न्यूनीकरणका लागि सबै हातेमालो गर्दै एकजुट हुन आह्वान गर्नुभयो । जलवायु परिवर्तनका कारण मधेसको कृषि प्रणालीदेखि त्यहाँका महिलाको जनजीविकामा प्रत्यक्ष असर परेको स्मरण गराउँदै उहाँले क्षति न्यूनीकरणका लागि हिमाल, पहाड र तराईको साथ अपरिहार्य भएको बताउनुभयो ।

गैरआवसीय नेपाली सङ्घका उपाध्यक्ष रोजिना प्रधान राई, शिक्षाविद् दुर्गा भट्टराई, मिस नेपाल शृच्छा प्रधान, मितिनी नेपालका संस्थापक अध्यक्ष लक्ष्मी घलान, नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधि डा रशिला प्रधानलगायतले जलवायु परिवर्तनको असरले महिलामा परेको असरबारे चर्चा गर्नुभएको थियो ।

विभिन्न विधाका अगुवा तथा ख्यातिप्राप्त सगरमाथा आधार शिविर पुगेका १९ महिलाको टोलीले जलवायु न्यायका लागि हरेक मानवीय क्रियाकलाप प्रकृतिमैत्री हुनुपर्ने निचोड निकाल्दै पहिलो सुरुआत आफँैबाट गर्ने प्रतिबद्धता जनाएको छ ।

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नयाँ गठबन्धन’ – दिनानाथ शर्मा

म्याग्दी, २५ फागुन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश इञ्चार्ज तथा केन्द्रीय सचिव दिनानाथ शर्माले नेपाली कांग्रेसको व्यवहारले नेपालका वामपन्थी र नयाँ राजनीतिक शक्तिबीच सहकार्यको परिस्थिति सृजना भएको बताउनुभएको छ ।

म्याग्दीको बेनीमा आज नेकपा (माओवादी केन्द्र) का जिल्ला तथा प्रदेश तहका नेताहरुसँगको भेटघाटका क्रममा नेता शर्माले माओवादीको नेतृत्वमा वामपन्थी राजनीतिक शक्तिको सहकार्यलाई दीर्घकालीन बनाउनु राष्ट्रिय आवश्यकता भएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तथा माओवादीका शीर्ष नेताहरुबीच विगतका कमजोरी सच्च्याएर सहकार्य गर्ने समझदारी बनेको पूर्वमन्त्री शर्माले बताउनुभयो । राष्ट्रिय समस्या समाधान, अर्थतन्त्रलाई चलायमान बनाउने, विकास निर्माणलाई गति दिने, सुशासन कायम गर्ने तथा शान्ति प्रक्रियाका बाँकी कामलाई प्राथमिकता दिने सहमति भएको उहाँले बताउनुभयो ।

महाशिवरात्रिमा एक सय ५० तीर्थयात्रीलाई जहाजबाट कैलाश मानसरोवरको दर्शन

नेपालगञ्ज (बाँके), २५ फागुन : महाशिवरात्रिको अवसरमा चीनको तिब्बतमा रहेको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको जहाजबाट दर्शन गराइएको छ ।नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ट्रिप टु टेम्पल्ससँगको समन्वयमा नेपालगञ्जबाट एक सय ५० भारतीय तीर्थयात्रीलाई लगेर आज कैलाश मानसरोवरको दर्शन गराएको हो ।

माउन्टेन फ्लाइटबाट कैलाश पर्वत र मानसरोवरको दर्शनसँगै राक्षस ताल, अपि र साइपाल हिमाललगायतको आकर्षक दृश्यावलोकन गराइएको पथिल होलिडेजका प्रबन्ध निर्देशक महेश गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना महामारीअघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगञ्जको मार्ग भएर मानसरोवर पुग्ने गरेका थिए ।

“यसअघि रुपैडिया नाका हुँदै मानसरोवर जाने पर्यटक नेपालगञ्जबाट हवाई मार्गबाट सिमिकोट गएर त्यहाँ बास बस्ने र सिमिकोटबाट हिल्सासम्म हेकिकप्टरमा तथा हिल्साबाट सडक मार्ग भएर ताक्लाकोट हुँदै मानसरोवर पुग्ने गर्दथे”, गौतमले भन्नुभयो ।

पर्यटकीय गतिविधि बढाउन माउन्टेन फ्लाइट सुरु गरिएको होलिडेजका प्रबन्ध निर्देशक गौतमले जानकारी दिनुभयो । कैलाश मानसरोवरको दर्शन गर्न चाहने भारतीय पर्यटकका लागि यो नयाँ गन्तव्य बन्दै गएको ट्रिप टु टेम्पल्सका प्रबन्ध निर्देशक विकास मिश्राले बताउनुभयो । माउन्टेन फ्लाइटकै लागि एक सय ५० भारतीय पर्यटक यहाँ आएका थिए । उनीहरूलाई श्री एअरलाइन्सको जहाजबाट हवाईसेवा उपलब्ध गराइएको हो ।

कैलाश मानसरोवरको दर्शन गर्ने सपना पूरा भएको भारतको कर्नाटकबाट आउनुभएकी ३३ वर्षीया अरुणा यनले बताउनुभयो । “जहाजबाटै दर्शन गर्न पाउँदा अत्यन्तै खुसी छौँ”, नयाँ दिल्लीबाट आएका ६७ वर्षीय गोपाल सेठले भन्नुभयो ।
यसअघि पथिल होलिडेज र ट्रिप टु टेम्पल्सले श्री एअरलाइन्ससँगको समन्वयमा गत माघ १५ गतेदेखि कैलाश मानसरोवर दर्शनका लागि माउन्टेन फ्लाइट थालेको हो ।

कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगिताः सुदूरपश्चिम र आर्मी विजयी

विराटनगर, २५ फागुन: मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल टी-२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र आर्मी विजयी भएका छन् ।

विराटनगरको बैजनाथपुर क्रिकेट रङ्गशालामा आज भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टोली नेपाल पुलिसलाई ५२ रनले पराजित गरेको छ । जितसँगै सुदूरपश्चिम तीन खेलमा दुईमा जित र एकमा पराजित हुँदै चार अङ्कको साथ दोस्रो स्थानमा उक्लिएको छ ।

टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले नारायण जोशीको विस्फोटन ब्याटिङमा निर्धारित २० ओभरमा आठ विकेट गुमाई एक सय ८३ रनको विशाल स्कोर खडा गरेको थियो । सुदूपश्चिमका लागि अविशेक पालले ३९ बलमा दुई छक्का र सात चौका प्रहार गरी ५८ रन बनाउँदा प्लेयर अफ द म्याच नारायण जोशीले १२ बलमा छ छक्का प्रहार गरी ४० रन र किरण ठगुन्नाले ३० रनको योगदान दिए ।

पुलिसका शरद भेश्वाकरले चार ओभरमा एक मेडन राख्दै तीन विकेट लिँदा मन्जित श्रेष्ठले दुई विकेट लिए । जवाफमा एक सय ८४ रनको विशाल लक्ष्य पाएको पुलिसले निर्धारित २० ओभरमा छ विकेट गुमाई एक सय ३१ रन मात्र बनाउन सक्यो । पुलिसका शङ्कर राना ९१ रनमा अविजित रहे । रानाले ६२ बलमा पाँच छक्का र नौ चौका प्रहार गरेका थिए । त्यस्तै अविशेक कार्कीले २० बनाए । सुदूरपश्चिमका दीपक चन्द र शेर मल्लले पनि दुई विकेट र नारायण जोशीले एक विकेट लिए ।

आजै भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई आठ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाई एक सय ४० रनको योगफल तयार पारेको थियो । आर्मीका प्लेयर अफ द म्याच वसिर अहमदले ३८ बलमा दुई छक्का र दुई चौका प्रहार गरी ४२ रन बनाउदा सन्दीप रजालीले अविजित ४१ रन र सन्तोष कार्कीले ३४ रनको योगदान दिए । कर्णलीका प्रकाश जैशीले दुई विकेट लिँदा दिनेश अधिकारी र दीपेन्द्र रावतले एक/एक विकेट लिए ।

एक सय ४१ को लक्ष्य पछ्याएको कर्णालीले निर्धारित ओभरमा छ विकेट गुमाई एक सय ३२ रन मात्र जोड्न सक्यो । कर्णालीका लागि दीपेन्द्र रावतले नटआउट ४७ रन बनाउँदा रवीन्द्र शाहीले २२ रन र विपीन रावतले १८ रनको योगदान दिए । आर्मीका नितेश पटेलले दुई विकेट लिँदा तीर्थराज दास, पवन कार्की, शहाव अलाम वसिर अहमदले एक/एक विकेट लिए ।

शनिबारको पहिलो खेल कर्णाली र एपिएफ र तथा दोस्रो खेल वागमती र लुम्बिनीबीच खेल हुने मोरङ क्रिकेट सङ्घका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिनुभयो ।

महिलामाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन राष्ट्रसङ्घको तालिबानलाई आह्वान

अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि रोजा ओटुनबायेभाले तालिबानसँग महिला तथा बालिकाहरूमाथिको प्रतिबन्ध फिर्ता लिन आह्वान गर्दै प्रतिबन्ध जति लामो समयसम्म रहन्छ त्यति नै धेरै नोक्सान हुने चेतावनी दिनुभएको टोलो न्युजले जनाएको छ ।

उहाँका अनुसार पहिचानको सवाल र अफगानिस्तानमा विशेष दूतको भूमिका एजेन्डामा रहेको छ । अफगानिस्तान अवस्थाबारे राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठक सकिएपछि पत्रकार सम्मेलनमा ओटुनबायेभाले दोहामा हुने तेस्रो बैठकमा पहिचानको मुद्दा र विशेष दूतको कार्यक्रमलाई निरन्तरता दिने आशा राखेको बताउनुभयो ।

टोलो न्युजका अनुसार सुरक्षा परिषद्का केही सदस्य र अफगानिस्तानमा महिला तथा बालिकाको अधिकार पूर्ण पालनका लागि राष्ट्रसङ्घीय महासचिवका विशेष प्रतिनिधिले पनि मानवअधिकार समस्याहरूको महत्त्वलाई जोड दिनुभयो ।

“हाल धेरै महिला सार्वजनिक स्थानहरूमा जान डराउँछन्, म यस अवसरमा वास्तविक अधिकारीहरूसँग यी प्रतिबन्ध फिर्ता लिनका लागि पुनः आग्रह गर्दछु, महिला र बालिकामाथि यी प्रतिबन्ध जति लामो समयसम्म जारी रहन्छ त्यति नै धेरै नोक्सान हुनेछ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार अफगानिस्तानका विषयमा तेस्रो दोहा बैठक यसै वर्षको जुनमा हुनेछ । “हामी भविष्यमा एउटा अर्को दोहा बैठक गर्दैछौँ, मलाई आशा छ पहिचानको मुद्दा र विशेष दूतको भूमिकालाई निरन्तरता दिइनेछ, यो अब एजेन्डामा छ, यो एकतामा कसरी काम गर्ने भन्ने कुरा हो”, ओटुनबायेभाले भन्नुभयो ।

यसैबीच राष्ट्रसङ्घमा अमेरिकाका उपस्थायी प्रतिनिधि रोबर्ट वुडले कानूनीरूपमा हिजाब लगाउन आवश्यक नरहेका महिलाहरूलाई पनि तालिबानले हिरासतमा लिएको दाबी गर्नुभएको छ ।

“कानूनीरूपमा हिजाब लगाउन आवश्यक नभएका महिलाहरूलाई पनि तालिबानले हिरासतमा लिइरहेको छ, अमेरिका महिलाहरूलाई समाजमा पूर्णरूपमा सहभागी हुनसक्ने दिनका लागि तयार हुनका लागि अफगान महिलाहरूसँग काम गरिरहेको छ”, उहाँले भन्नुभयो ।

अफगानिस्तानमा मानवअधिकारसम्बन्धी राष्ट्रसङ्घका विशेष प्रतिवेदक रिचर्ड बेनेटले गत वर्ष डिसेम्बरमा तालिबानसँग गैर–सरकारी सङ्गठनहरूमा महिलाहरूलाई काम गर्न लगाइएको प्रतिबन्ध हटाउन आग्रह गर्नुभएको थियो । उहाँले महिला अर्थतन्त्रका लागि महत्त्वपूर्ण भएको र अफगान समाजको कल्याण र प्रगतिका लागि उनीहरूको योगदान आवश्यक रहेकामा जोड दिनुभएको थियो ।

तालिबानले मिडिया स्वतन्त्रतामा प्रतिबन्ध लगाएको छ र महिलाहरूलाई पार्क र जिमजस्ता सार्वजनिक स्थानमा जान रोक लगाएको छ । उक्त कदमले कठोर अन्तर्राष्ट्रिय प्रतिक्रिया बढाएको छ । यसबाट अफगानिस्तानको अर्थतन्त्र तहसनहस भएको छ भने मानवीय सङ्कटसमेत बढेको छ ।

विशेषरूपमा सत्ता कब्जा गरेदेखि नै तालिबान नेतृत्वले अफगान महिला र बालिकाको शिक्षा तथा रोजगारसम्मको पहुँचमा प्रतिबन्ध लगाउने कडा आदेश जारी गर्दै आएको छ ।
–––

युक्रेनमा लडिरहेका महिला सैनिकहरूको पुटिनद्वारा प्रशंसा

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै भिडियो सन्देशमा युक्रेनमा लड्ने महिला सैनिक र आफ्नो मुलुकका सशस्त्र बललाई समर्थन गर्नेहरूको प्रशंसा गर्नुभएको छ ।

उहाँले ५२ महिला कैदीलाई रिहा गर्ने आदेशसमेत जारी गर्नुभयो । उनीहरूको आफन्त सेनामा थिए । बिदा मनाउका लागि सम्बोधन गर्दै पुटिनले विशेष सैन्य अभियानको क्षेत्रमा रहेका महिलाहरूलाई विशेष धन्यवाद दिनुभयो । रुसले युक्रेनविरुद्धको आफ्नो पूर्णस्तरका आक्रमणलाई ‘विशेष सैन्य अभियान’ भन्ने गरेको छ ।

रुसी रक्षामन्त्री सर्गेई शोइगुले शुक्रबार तीन लाखभन्दा बढी महिला सशस्त्र बलमा सेवा र काम गर्ने गरेको जानकारी दिनुभयो । गत वर्ष उहाँले युक्रेनमा करिब एक हजार एक सय महिलाले ‘लडाइँ’ लडिरहेको बताउनुभएको थियो । तीमध्ये अधिकांश चिकित्सक, नर्स र भान्सेजस्ता सहायक भूमिकामा छन् ।

अर्को भिन्नै भिडियो सन्देशमा शोइगुले युक्रेनमा लडिरहेका सैनिकका आमाहरूलाई धन्यवाद दिनुभयो । “तपाईंहरूले सच्चा देशभक्त र मातृृभूमिका बहादुर रक्षकहरू हुर्काउनुभएको छ”, उहाँले भन्नुभयो । सन् २०२२ फेब्रुअरीमा युक्रेनमा सेना पठाएपछि रुसले सैनिकहरूलाई ‘नायक’ का रूपमा सम्मानित गरेको छ र सेनाको प्रतिष्ठा बढाउन तथा उनीहरूको सुरक्षा गर्न खोजेको छ ।

कडा सेन्सरसिप कानूनअन्तर्गत सशस्त्र बलहरूको ‘अपमान’ गर्ने वा सैन्य अभियानका बारेमा ‘गलत सूचना’ फैलाउने सैयौँ मानिसमाथि मुद्दा चलाइएको छ । हालैका साताहरूमा सङ्गठित सैनिकहरूका केही श्रीमतीले आफ्ना पतिहरूलाई अग्रिम पङ्क्तिबाट हटाएर घर ल्याउन माग गर्दै क्रेमलिनबाहिर दुर्लभ विरोध प्रदर्शन गरेका छन् ।

भारतले एआई पूर्वाधार स्टार्टअपमा एक अर्ब २० करोड डलर लगानी गर्ने

विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको भारतले कृत्रिम बौद्धिकता (एआई) परियोजनाहरूको एउटा विस्तृत शृङ्खलामा एक अर्ब २० करोड डलर लगानी गर्ने भएको छ ।

कम्प्युटिङक पूर्वाधार स्थापना गर्न र एआई स्टार्टअपमा लगानीमा सहयोग गर्न उक्त धनराशि प्रयोग गरिने सूचना प्रविधि मन्त्रालयको विज्ञप्तिमा बिहीबार राति जनाइएको छ ।

कनिष्ठमन्त्री राजीव चन्द्रशेखरले भन्नुभयो, “लगानीले भारतको एआई इकोसिस्टम प्रणालीलाई उत्प्रेरित गर्नेछ र यसलाई भारत तथा विश्वका लागि एआईको भविष्यको आकार दिने शक्तिका रूपमा स्थापित गर्नेछ ।”

स्थानीय सूचना प्रविधि उद्योग निकाय न्यासकमको विद्यमान पूर्वानुमानअनुसार भारतको उदीयमान एआई बजार सन् २०२७ सम्ममा १७ अर्ब डलरको हुनेछ । उक्त आँकडाले एआई सफ्टवेयरका लागि वैश्विक बजारको एउटा सानो अंश देखाउँछ । यसका बारेमा अमेरिकी शोध फर्म गार्टनरले सन् २०२७ सम्ममा एआई बजार दुई खर्ब ९७ अर्ब डलरसम्म पुग्नसक्ने बताएको छ ।

भारतले सन् १९९० को दशकमा विश्वव्यापी आउटसोर्सिङ बुमबाट निर्मित विशाल सफ्टवेयर सेवा उद्योगको दाबी गर्दछ र एआई सफ्टवेयरले अवसर र खतरा दुवैको प्रतिनिधित्व गर्दछ । परम्परागत कल सेन्टर वा कोडिङ भूमिकामा काम गर्ने इन्जिनियरिङ स्नातकहरूले एआई मोडेलबाट आफ्नो नोकरीलाई खतराका रूपमा देख्न सक्छन् ।

ओपनएआईका प्रमुख कार्यकारी साम अल्टम्यानले गत वर्ष नयाँदिल्लीमा श्रोताहरूलाई भारतीय उद्यमी तथा कम्पनीहरूले महत्त्वपूर्ण वित्तीय सहयोगबिना एआई उत्पादन बनाउनका लागि सङ्घर्ष गर्नुपर्ने बताउनुभएको थियो । भारतको सार्वजनिक तथा निजी क्षेत्रहरूले एआई एप्लिकेसन बनाउन सुरुआती प्रयास गरेका छन् ।

बजार पूँजीकरणको हिसाबले भारतको सबैभन्दा ठूलो कम्पनी अर्बपति टाइकुन मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज र मुलुकका शीर्ष विश्वविद्यालयहरूबीचको साझेदारीले यसै महिना च्याटजिपिटी–स्टाइल च्याटबट एप्लिकेसन सुरु हुने अपेक्षा गरिएको छ ।

रुसको पक्षमा लड्न नागरिक पठाउने नेटवर्कमाथि भारतले मार्यो छापा

भारतीय अधिकारीहरूले धेरै ट्राभल एजेन्टमाथि छापा मारेपछि युक्रेनमा रुसी सेनाको पक्षमा लड्नका लागि मुलुकका नागरिक पठाउने एक ‘तस्करी’ नेटवर्कका सदस्यहरूलाई पक्राउ गरेको बताएका छन् ।

रुसको आक्रमण सुरु भएको दुई वर्षपछि युक्रेनमा उसका हजारौँ सैनिक मारिएका छन् र मस्को थप लडाकूहरूको वैश्विक खोजीमा छ । युद्धमा कम्तीमा दुई भारतीय सैनिक मारिएका छन् । सेनामा भर्ती भएका केही भारतीयले गत महिना अग्रिम मोर्चामा पठाइनुअघि उनीहरूलाई झुटो बहानामा युद्धको अग्रिम पङ्क्तिमा पठाइएको बताएका छन् ।

शुक्रबार साँझ जारी विज्ञप्तिअनुसार भारतको केन्द्रीय जाँच ब्युरो (सिबिआई) का अनुसन्धानकर्ताहरूले बिहीबार १३ स्थानमा छापा मारेर सोधपुछका लागि ‘केही संदिग्ध’ लाई पक्राउ गरेका थिए ।

“यी तस्करले सङ्गठित नेटवर्कका रूपमा काम गरिरहेका छन् र युट्युबजस्ता सामाजिक सञ्जाल च्यानल तथा आफ्ना स्थानीय सम्पर्क÷एजेन्टमार्फत भारतीय नागरिकलाई रुसमा उच्च तलब भएको नोकरीका लागि प्रलोभन दिइरहेक थिए”, विज्ञप्तिमा भनिएको छ, “तस्करीमा परेका भारतीय नागरिकहरूलाई लडाकू भूमिकामा प्रशिक्षित गरिएको छ र उनीहरूको इच्छाविरुद्ध रुस–युक्रेन युद्ध क्षेत्रमा अग्रिम ठेगानामा तैनाथ गरिएको छ ।”

सिबिआईका अनुसार उसले भारतीयलाई रुस पठाउने ‘करिब ३५ उदाहरण’ स्थापित गरेको छ तर उसले धेरै सम्भावित पीडितहरूको पहिचानका लागि काम गरिरहेको बताएको छ ।

भारतीय विदेश मन्त्रालयले पहिला रुसी सेनामा करिब २० भारतीय नागरिकलाई निकाल्न सुनिश्चित गर्नका लागि काम गरिरहेको बताएको थियो । मन्त्रालयले शुक्रबार विज्ञप्तिमा भनेको छ, “हामी हाम्रा नागरिकको शीघ्र रिहाइ र अन्ततः घर फिर्तीका लागि प्रतिबद्ध छौँ ।”

सिबिआईले दुबईस्थित भर्ती एजेन्ट फैसल खानसहित नेटवर्कमा चार संदिग्धको नाम राखेको छ । उनीहरूले आफ्नो सामाजिक सञ्जाल च्यानल बाबा भ्लग्समा रुसी सेनाको नोकरीको विज्ञापन गरेका थिए । खानले आफूले गत वर्षको अन्त्यमा सेनामा सहायक भूमिकाका लागि १६ भारतीय पासपोर्ट धारकको रुस भ्रमणलाई सुविधाजनक बनाउन सहयोग गरेको गत महिना बताएका थिए ।

उनले सेनामा भर्ती भएकालाई हतियार दिएपछि आफू ‘अचम्मित’ भएको र ‘भर्ती प्रक्रियामाथि रोक लगाउने निर्णय गरेको’ बताए ।

सेनामा भर्ती भएका केही भारतीयले गत महिना अग्रिम मोर्चामा पठाइनुअघि उनीहरूलाई उच्च तलब र रुसी राहदानी दिने वाचा गरेर सेनामा सामेल हुन प्रलोभन दिइएको बताएका थिए । आफूहरूलाई गैर–लडाकू भूमिका दिने वचन दिइएको तर युक्रेन पठाउनुअघि कलाश्निकोभ एसल्ट राइफल र अन्य हतियारको प्रयोग गर्नका लागि प्रशिक्षित गरिएको उनीहरूले बताएका थिए ।

भारत रुसको पुरानो सहयोगी हो र उसले युक्रेनका विषयमा आक्रमणको स्पष्ट निन्दा गर्नबाट पछि हटेको छ । भारतमा तीव्र आर्थिक विकास भए पनि बेरोजगारी उच्च छ र प्रत्येक वर्ष ठूलो सङ्ख्यामा मानिसहरू विदेशमा कामको खोजी गर्छन् ।

आठ सय वर्ष पुरानो भाजु पखू एवं जलेश्वर मन्दिरको बिजुक्छेँद्वारा उद्घाटन

भक्तपुर, २५ फागुन: भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित आठ सय वर्ष पुरानो ऐतिहासिक भाजु पखू र पखूको मध्यभागमा अवस्थित जलेश्वर महादेव मन्दिरको २२ वर्षपछि पुनःनिर्माण सम्पन्न गरी आज उद्घाटन गरिएको छ ।

भक्तपुर नगरपालिकाको कूल रु एक करोड ८७ लाख ३५ हजार ६ सय ३४ को लागतमा पुनःनिर्माण सम्पन्न भएको उक्त पोखरी एवं मन्दिरको आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उद्घाटन गर्नुभयो । आज भक्तपुर नगरपालिकाले आयोजना गरेको उद्घाटन तथा विमोचन कार्यक्रममा उहाँले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘भाजु पखू र जलेश्वर मन्दिर पुनःनिर्माण–२०८०’ पुस्तक पनि विमोचन गर्नुभयो ।

अध्यक्ष बिजुक्छेँले भक्तपुरको भाजु पखू मानव सभ्यताको एक महत्वपूर्ण उपलब्धि भएको भन्दै लोपोन्मुख अवस्थामा पुगेको राष्ट्रिय धरोहरलाई पुनःजीवन दिने काममा पुरातत्व विभाग, प्रज्ञा–प्रतिष्ठान र विश्वविद्यालहरु अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका अन्य सम्पदाको पुनःनिर्माण जस्तै भाजु पुखू पुनःनिर्माणका क्रममा पुरातत्वविद्, संस्कृतिविद्, इतिहासविद्, वास्तुकलाविद्लगायत सरोकारवालाहरूको सल्लाह र सुझावअनुसार अगाडि बढाएको बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टी बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले लोप हुनै लागेको भाज्या पुखूलाई पुनःनिर्माणको सपनाले साकार रुप लिएको बताउँदै भाजु पुखूको पुनःनिर्माण भक्तपुरका लागि कोसेढुङ्गा साबित भएको बताउनुभयो ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले घाँसेमैदानमा परिणत भएको यस पोखरीलाई २०७४ सालको स्थानीय तहको निर्वाचनपश्चात् सुरु भएको भाजु पुखू पुनःनिर्माणले पूर्णता पाएको चर्चा गर्नुभयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधाना, इतिहासविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ, पूर्वन्यायाधीश गौरीबहादुर कार्की, दरबार हेरचाह तथा स्मारक संरक्षण अड्डा भक्तपुरका कार्यालय प्रमुख अरुणा नकर्मी, भक्तपुर क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक कविता लुइँटेललगायतले पोखरीको पुनःनिर्माणबाट भक्तपुरको इतिहास जीवन्त हुने धारणा राख्नुभयो । विसं २०५८ शिवरात्रिकै दिन सुरु भएको उक्त पुखूको पुनःनिर्माण आज उद्घाटन गरिएको हो ।