`

आलुखेती गरेका किसान रोग लागेपछि चिन्तित

गलेश्वर (म्याग्दी), २५ फागुन : सजिलै बिक्री हुने र बढी आम्दानी गर्न सकिने भन्दै गहुँ र तोरीखेती छाडेर आलुखेती गरेका म्याग्दीका किसान आलुमा डडुवा रोगको समस्या देखिएपछि चिन्तित भएका छन् ।

परम्परागत बाली छाडेर आलुखेतीतर्फ लागेका किसान डडुवा रोगका कारण आलुका बोटका पात र आँख्ला सुक्न थालेपछि उत्पादन कम हुने भन्दै चिन्तित भएका हुन् । गहुँ, जौ, उवा, फापर र तोरीखेती गर्ने किसान पछिल्लो समय ती बाली छाडेर आलुखेती गर्न थालेका थिए ।

म्याग्दीको बेनी नगरपालिकासहित मालिका, मङ्गला, अन्नपूर्ण, धौलागिरि र रघुगङ्गा पालिकाका किसान व्यावसायिक आलुखेतीमा लागेका कृषि ज्ञान केन्द्रले जनाएको छ । मालिका गाउँपालिका–१ निस्कोट, वडा नं २ रुम, ६ दरवाङ र ७ बिम तथा मङ्गला गाउँपालिकाको रणबाङ, अर्मन, नेटालगायत बेनी नगरपालिकाका दशवटै वडामा आलुखेती हुने गरेको छ ।

अधिकांश वडाका किसान परम्परागत अन्नबाली छाडेर आलुखेतीतिर लागेका पालिकाका कृषि प्राविधिकको भनाइ छ । मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले किसानले उत्पादन गरेको आलु बजारमा सहजरुपमा बिक्री हुन थालेपछि नगदेबालीका रुपमा आलुलगायत तरकारी खेतीतर्फ किसानको आकर्षण बढेको बताउनुभयो ।

उच्च वातावरणमा उब्जेको जैविक आलु स्वादिलो र छिटो पाक्ने भएकाले यसको माग बढ्दै गएपछि यहाँका किसान आलुखेतीतर्फ आकर्षित भएका मालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो । व्यावसायिक रुपमा आलुखेती गर्दै आएका बेनी नगरपालिका तथा मालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाका किसानको आलु डडुवाले सखाप पारेको कृषि प्राविधिकले बताएका छन् ।

अधिंकाश किसानले लगाएको आलुमा मौसम परिवर्तन भएसँगै डडुवाको समस्या फैलिएको हो । आलुखेतीमा ध्यान नदिँदा कतिपय लगाएको आलुखेती नष्ट भएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । रघुगङ्गा–६ पाखापानी र ठाडाखानीका किसानले लगाएको आलुमा पनि डडुवाको सङ्क्रमण फैलिएको ठाडाखानीका किसान टेकबहादुर छन्त्यालले बताउनुभयो । खेती गर्दा ध्यान दिने र प्राविधिकको सल्लाहअनुसार समयमै खेतीको रेखदेख गर्ने गरेमा आलुलाई रोग किरा लाग्नबाट बचाउन सकिने कृषि प्राविधिकको भनाइ छ । म्याग्दीमा व्यावसायिक रुपमा एक सय हेक्टर बढी क्षेत्रफलमा आलुखेती गरिएको छ । आलु सुपरजोन र स्थानीय पालिकाको साझेदारीमा बीउमा अनुदानमा पाई किसानले करिब एक हजार क्विन्टल आलुको बीउ लगाएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

पछौटे डडुवा आलुखेतीमा लाग्ने रोगमध्ये प्रमुख रोग भएको कृषि प्राविधक बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार यस रोगबाट हुने क्षतिको क्रम हरेक वर्ष विकराल रूपमा बढिरहेको छ । पहाडी जिल्लामा पनि बर्सेनि यो रोगको प्रकोप बढिरहेको छभने तराईका जिल्लामा महामारीका रुपमा फैलिएको छ । यसको सङ्क्रमण सुरुको अवस्थामा पातमा हल्का हरियो रङका विभिन्न आकारका थोप्ला देखिने कृषि प्राविधिक बानियाँले बताउनुभयो । उहाँका अनुसार अनुकूलन वातावरण पाइरहेमा थोप्लाको भित्री भागमा खैरो एवं सुकेको देखिन्छ । ओसिलो वातावरणमा ढुसीको अत्यधिक विकास भई पातको तल्लो सतहमा थोप्ला वरिपरि कपासको घेराजस्तो देखिन्छ । रोग बढी हुँदै गयो भने पूरै पात सुकेर डढेजस्तो हुन्छ भने अनुकूल वातावरण भइरहे पात, काण्ड, डाँठ र दानामा समेत सङ्क्रमण हुने उहाँको भनाइ छ ।

‘फाइटफथोरा इन्फेस्टेन्स’ नामक ढुसी नै यो रोगको प्रमुख कारकतत्व भएको विशेषज्ञले बताएका छन् । यस प्रजातिका ढुसीमध्ये मेटिङ टाइप पी १ र मेटिङ टाइप पी २ नामक उपप्रजाति नेपालमा पाइएका छन् । लामो समयसम्म सिमसिमे पानी, दिनमा घाम नलागेर बादल लागेमा र हावा, पानी, बीउ तथा माटोको माध्यमबाट यो रोग देखापर्ने विशेषज्ञको भनाइ छ ।

म्याग्दीमा आलु मौसममा प्रतिकिलो रु ५० देखि ७० सम्ममा बिक्री हुन्छ भने बेमौसममा रु ८० देखि रु एक सयसम्ममा बिक्री गर्न सकिने किसानको भनाइ छ । आलु उत्पादक किसानका लागि भण्डारण, बजारीकरण र नयाँ प्रविधि विस्तारमा स्थानीय पालिका तथा कृषि ज्ञान केन्द्रले सहयोग गर्न आवश्यक रहेको किसानको माग छ ।

स्याउखेतीका लागि महासचिव विप्लव जुम्लामा

जुम्ला, २५ फागुनः हिम गाउँपालिका–६ स्थित पाथरखोलामा सामूहिक स्याउखेतीका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) जुम्ला आइपुुग्नुभएको छ । महासचिव विप्लवले सामूहिक स्याउखेतीका लागि विरुवा रोप्न कार्यक्रमको सुरुआत गर्नुहुने सो पार्टीका केन्द्रीय सदस्य विर्खबहादुर शाहीले जानकारी दिनुभयो । पार्टीको निर्णयअनुसार सामुहिक स्याउखेती सुरु गर्न लागिएको जनाइएको छ ।

कूल २२ हजार क्षेत्रफलमा फैलिने सामूहिक स्याउखेतीका लागि १० हजार बिरुवा रोप्ने लक्ष्य पार्टीले लिएको छ । नेकपा जुम्लाले पहिलो चरणमा दुई हजार बिरुवा रोप्ने छ । पार्टीले कृषि उत्पादनलाई प्रथामिकता दिने उद्देश्यले बनाएको योजनाअनुसार हिमा गाउँपालिमा सामुहिक स्याउखेती सुरु गरिएको महासचिव विप्लवले बताउनुभयो ।

राजनीतिक वैचारिक मतभेदले कांग्रेससँग प्रधानमन्त्रीको सहकार्य टुटेको हो – प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्य

गोविन्द आचार्य प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार हुनुहुन्छ । पछिल्लो समय राजनीतिक समीकरण निर्माण भएसँगै राजनीतिक वृत्तमा देखिएका विविध टीकाटिप्पणीबारे उहाँसँग राष्ट्रिय समाचार समिति (रासस)ले गरेको सङ्क्षिप्त कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

प्रधानमन्त्रीले कांग्रेससँगको सत्ता सहकार्यको गठबन्धन अकस्मात तोडेर नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहितको नयाँ गठबन्धन बनाउनुपर्ने आवश्यकता किन प¥यो ?
¬–कांग्रेससँगको सत्ता गठबन्धन रातारात टुटेको होइन । यसका पछाडि प्रधानमन्त्रीज्यूको कांग्रेससँग केही राजनीतिक, वैचारिक, सैद्धान्तिक र व्यावहारिक मतभेदहरु रहेका छन् । मुख्यरुपमा राजनैतिक वैचारिक मतभेद उत्पन्न भएपछि अब कांग्रेससँग टाँसिएर रहनुहुँदैन भन्ने अवस्था सृजना हुन पुगेको हो । हो, कांग्रेससँग गठबन्धन टुट्नुका पछाडि केही व्यावहारिक जटिलता र कारण पनि छन् तर ती मुख्य होइनन् । मुख्य कारण राजनीतिक कारण नै हो जसका कारण गठबन्धन टुट्न पुगेको हो ।

त्यस्ता के राजनीतिक कारण वा बाध्यता थिए, जसले प्रधानमन्त्रीले कांग्रेससँगको सत्ता सहकार्य तोड्नु प¥यो ?
–खासगरी यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा जारी कांग्रेसको नीति महाधिवेशनका रुपमा लिइने महासमिति बैठकमा प्रस्तुत भई सर्वसम्मतरुपमा पारित भएका दस्तावेजमा माओवादीसहितका दलसँग गठबन्धनको औचित्यमाथि प्रश्न उठाउँदै गठबन्धन नगर्ने सैद्धान्तिक निर्णय गरेपछि माओवादी कांग्रेससँगै टासिइरहनु राजनीतिकरुपमै गलत हुनजान्थ्यो । त्यसमाथि महासमितिमा उपप्रधानमन्त्रीसमेत रहनुभएका उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरी पारित भएको नीति प्रतिवेदनमा माओवादीलाई ‘दृश्य¬–अदृश्य शक्तिकेन्द्रको आडमा २०४७ सालको संविधान र व्यवस्थाविरुद्ध लागेको अतिवादी शक्ति’ का रुपमा चित्रण गरिएको छ । अहिले सहकार्य भइरहेको दलमाथि यसखालको आक्षेप लगाउनु जरुरी नै थिएन । उक्त नीति प्रतिवेदनको पृष्ठ २० मा ‘माओवादीका कारण देश दलदलको भासमा पुगी पछाडि धकेलिएको’ भन्दै २०४७ सालको संविधान र तत्कालिन राजतन्त्रात्मक व्यवस्था नै ठीक रहेको आशय व्यक्त गरिएको छ ।

यसरी धेरै पुरानो भइसकेको विषय र प्रसङ्गलाई कांग्रेसले १२ बुँदे सहमति, शान्ति प्रक्रिया र संविधान निर्माणका क्रममा स्वीकार गरिसकेको छ र सशस्त्र सङ्घर्ष वा जनयुद्धकै कारण परिवर्तन सम्भव भएको कुरा संविधानमा लिपिबद्ध गरिसकिएको छ । त्यसलाई अहिले विद्ध्रुपीकरण गर्नुपर्ने आवश्यकता किन प¥यो ? कांग्रेसले पछिल्लो पटक राख्दै आएको धारणा विपरीत हुने गरी माओवादी जनयुद्धविरुद्धमा र २०४७ सालको संविधान नै ठीक भएको आशय आउने गरी किन नीति निर्माण गर्नु प¥यो ? साथै कांग्रेसले गरेको निर्णयमा अमूर्त विषय राखेर संविधान संशोधन गर्ने भनेर किन भनियो तथा संविधानको धर्म निरपेक्षताको प्रावधान विपरीत हुने गरी हजारभन्दा बढी महासमिति सदस्यद्वारा हिन्दू धर्मका नाममा किन हस्ताक्षर गर्नु प¥यो ? यस्ता कैयौँ गम्भीर नीतिगत प्रश्न पनि खडा भएका छन् । त्यसैले कांग्रेससँगको सत्ता गठबन्धन राताराता तोडिएको होइन र यसका पछाडि राजनीतिक र वैचारिक मतभेद नै मुख्य हो । यसमा कांग्रेस नै जिम्मेवार रहेको स्पष्ट हुन्छ ।

यस्ता विषय त कांग्रेससँग आपसमा छलफल गरेर पनि टुङ्गो लगाउन सकिँदैनथ्यो र ?
¬–राजनीतिकरुपमा कांग्रेसले फरक लाइन पास गरेर माओवादीमाथि गम्भीर आरोपहरु थोपरिसकेपछि कांग्रेससँग नै टासिइरहनु पर्दथ्यो भनेर कसैले भन्छ भने त्यो माओवादीका लागि राजनीतिक वैचारिकरुपमै गलत हुन जान्थ्यो । यी प्रश्नहरुले माओवादी पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीलाई उक्त पार्टीसँगको सहकार्यबारे गम्भीररुपमा सोच्नुपर्ने ठाउँमा पु¥यायो । जुन कुरा उहाँले कांग्रेस महासमिति बैठकका निर्णय सार्वजनिक गरिएको केही दिनपछि फागुन १७ गते चितवनमा सार्वजनिकरुपमै व्यक्त गर्नुभएको थियो । शान्तिसम्झौताको हस्ताक्षरकर्ता पार्टी कांग्रेसले शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने गरी माओवादीमाथि आरोप लगाउने कार्यलाई बेमौसमी बाजा भन्दै प्रधानमन्त्रीले यसलाई सच्च्याउन कांग्रेससँग बिन्तीपत्र नहालिने स्पष्ट पार्नुभएको थियो । यसरी जुन दलले गठबन्धन आवश्यक नरहेको ठहर ग¥यो माओवादीले त्यो दलसँग गठबन्धन गरिरहनु जरुरी र औचित्यपूर्ण पनि थिएन ।

कांग्रेस एउटा अलग्गै पार्टी भइसकेपछि उसले माओवादी जनयुद्धलगायत विषयमा आफ्नो स्वतन्त्र धारणा बनाउन सक्दैन र ?

–राजनीतिकरुपमा अहिले माओवादी जुन ठाउँमा खडा छ, त्यसका आधार जनयुद्ध नै हो । अहिलेको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र पनि माओवादी जनयुद्धकै जगमा खडा भएको हो । कांग्रेसले माओवादी जनयुद्धलाई पूरै अवमूल्यन गरेर जनयुद्धकालमा सरकारमा बसेर माओवादीमाथि आतङ्ककारी घोषणा गरी दमन गरिरहेको अवस्थामा झैँ चित्रण गर्नु र २०४७ सालको संविधानको बचाउ गर्नुले कांग्रेसले प्रतिगमन त रोजेन भन्ने आशङ्कालाई ठाउँ दिएको छ नि । यसमा कांग्रेसका विद्वान नेताहरुको किन ध्यान गएन ? माओवादी पार्टी, समग्र माओवादी आन्दोलन र त्यसको नेतृत्वमाथि कांग्रेसले आरोप लगाइरहँदा उसैसँग टासिइरहनु सम्भव नै थिएन । त्यसबेला माओवादीका सामु तीनवटा विकल्प थिए । पहिलो त कांग्रेसको समर्थनमा प्रधानमन्त्री पद सुरक्षित बनाउन कांग्रेसले जेजस्तो निर्णय गरे पनि प्रतिक्रियाविहीनरुपमा बसिरहनु, दोस्रो यसको विरोध गर्दै प्रधानमन्त्रीबाटै राजीनामा गरेर भाग्नु र तेस्रो कांग्रेसबाहेक अहिलेको संविधान र व्यवस्थाका पक्षमा रहेका अन्य दलको समर्थन प्राप्त गरेर अघि बढ्नु ।

प्रधानमन्त्रीज्यूले कांग्रेससँग झुकेर पदमा बसिरहने वा राजीनामा दिएर देश र जनताप्रतिको जिम्मेवारीबाट भाग्ने बाटो रोज्नुभएन । बरु उहाँले तत्काल पहलकदमी लिएर संविधान र व्यवस्थाका पक्षमा रहेका अन्य दलहरु, जसले उहाँलाई यो कार्यकालका लागि सुरुमा प्रधानमन्त्री बनाउन समर्थन गरेका थिए, ती दलसँग सहकार्यको हात बढाउनु भयो र उहाँहरुसहितको नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् पुनर्गठन गरियो । यसरी प्रधानमन्त्रीको सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने आफ्नो अभियानलाई रोक्नुभएन र थप प्रभावकारीरुपमा अघि बढाउने सामूहिक प्रतिबद्धता गरियो । यसमा कांग्रेससँग प्रतिवेदन सच्च्याउनुस् भनेर निवेदन त हालिएन नि ? बरु कांग्रेसले आफ्नो कित्ता स्पष्ट गरिसकेपछि माओवादीले पनि स्वतन्त्र निर्णय गरेर आफ्नो कित्ता ‘क्लियर’ ग¥यो ।

नेपाली कांग्रेससँगको सहकार्यमा व्यावहारिक कठिनाइ पनि थिए कि ?
¬–हो, कांग्रेससँगको गठबन्धन टुट्नुका पछाडि केही व्यावहारिक कारणहरु पनि थिए तर ती निर्णायक कारण भने होइनन् । निर्णायक त मैले भनेझैँ राजनीतिक वैचारिक कारण नै हो । कांग्रेससँग गठबन्धन गरेर जाँदा प्रधानमन्त्रीले सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न अपेक्षाकृत साथ पाउनु भएन । भूटानी शरणार्थी प्रकरणमा प्रहरीले छानबिन अघि बढाएपछि प्रधानमन्त्रीमाथि भएको दबाब, घेराबन्दी र असहयोग सामान्य थिएन । त्यसबेला प्रधानमन्त्रीले बरु आफूले प्रधानमन्त्री पद छाड्ने तर सुशासनको यात्रा नरोक्ने सार्वजनिकरुपमै उद्घोष गर्नुभएकै हो । यसपछि पनि पाइला पाइलामा प्रधानमन्त्रीमाथि असहयोगका सयौँ दृष्टान्त छन् । कार्यसम्पादन कमजोर भएका र विवादमा आएका मन्त्री परिवर्तन गर्न खोज्दा रोकियो । राज्यसत्ता सञ्चालनमा अनावश्यक हस्तक्षेप हुन थाल्यो । यी विषय कांग्रेस नेतृत्वलाई राम्रैसँग थाहा छ, जसका बारेमा एक–एक घटनामा तथ्यसहित बहस गर्न सकिन्छ ।

कांग्रेससँग गठबन्धन गरेर माओवादीले मात्र फाइदा उठायो र अहिले थप केही नपाउने भएर गठबन्धन नै तोडियो भन्ने आरोप छ त ?

¬–यो गलत आरोप हो । बरु कांग्रेससँगको गठबन्धनबाट माओवादीलाई घाटा र कांग्रेसलाई नाफा मात्र भइरह्यो । सङ्घ, प्रदेश र स्थानीय तहका निर्वाचनमा कांग्रेस माओवादीसँग मिल्दा पहिलो दल बन्यो । यसअघि उसले पाएको सिटभन्दा झन्डै तेब्बर सिट बढायो । माओवादी भने पहिलेभन्दा खुम्चियो । प्रतिनिधिसभामा पहिलेको ५२ सिटबाट घटेर जम्मा ३२ सिट मात्र पायो । यसमा कांग्रेसको भोट माओवादीलाई गएन । चुनाव सम्पन्न भइसकेपछि पनि कांग्रेसले चुनावअघि माओवादीसँग भएको राजनीतिक सहमति तोडेर बेइमानी र धोका दिने काम ग¥यो । पहिलो प्रधानमन्त्री प्रचण्डलाई दिने सहमतिबाट कांग्रेस पछि हटेकै कारण २०७९ पुस १० गते माओवादी अध्यक्ष प्रचण्ड, एमाले, रास्वपासहितका दलको समर्थनमा प्रधानमन्त्री बन्नुभएको हो । यसपछि प्रधानमन्त्री प्रचण्डकै प्रस्तावमा कांग्रेस उम्मेदवारलाई राष्ट्रपति बनाइयो । कोशीमा माओवादीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने गठबन्धनको निर्णय विपरीत कांग्रेसले विपक्षी दलसँग तालमेल गरेर आफ्नै मुख्यमन्त्री बनायो ।

त्यसैगरी कोशीमा कांग्रेस उम्मेदवार जित्दा माओवादीवाट राष्ट्रियसभा सदस्य उम्मेदवार चम्पादेवी कार्कीलाई हराइयो । कांग्रेसबाट यति ठूलो अन्तर्घात हुँदा पनि कांग्रेसले जिम्मेवार नेता र सांसदलाई कारबाही त परैको कुरा स्पष्टीकरण लिनसम्म आवश्यक ठानेन । यी घटनाहरुलाई पनि प्रधानमन्त्रीले आपसमा बसेर छलफलबाट हल गर्न सकिन्छ भन्नुभयो । तर यही पृष्ठभूमिमा कांग्रेसले महासमिति बैठकबाट एक्कासी गठबन्धनको औचित्य समाप्त पार्दै माओवादीलाई अतिवादी शक्तिकारुपमा चित्रण गरेकाले ऊसँग सरकारमा सहकार्य अन्त्य हुन पुगेको हो । त्यसैले गठबन्धनबाट बढी फाइदा त कांग्रेसले नै लिएको थियो ।

कांग्रेसले माओवादीबाटै गठबन्धन तोडेर धोका दिइएको र राजनीतिक बेइमानी भएको आरोप लगाएको छ त ?
–राजनीतिकरुपमा गठबन्धनको औचित्य छैन भन्ने कांग्रेस, अनि माओवादीलाई जनयुद्धकालमा कांग्रेसले भने जसरी हिंसावादी शक्ति भन्दै भए नभएका आरोप लगाउने पनि कांग्रेस । कोशीमा दुईपटक माओवादीलाई धोका दिने कांग्रेस अनि माओवादीले धोका दियो भन्न अप्ठेरो मान्नु पर्दैन । वास्तविक अर्थमा भन्ने हो भने राजनीतिक बेइमानी र धोका दिने काम कांग्रेसले गरेको हो, जसलाई घटनाक्रमले नै पुष्टि गर्दछन् । आफै पटक पटक माओवादीलाई धोका दिने, सरकार सञ्चालनमा पनि असहयोग गर्ने तथा राजनीतिक प्रतिवेदन नै पास गरेर माओवादीमाथि आरोप थोपर्ने कांग्रेसले अरूमाथि यस्ता आरोप लगाउँदा आत्मरति त होला तर वास्तविकतासँग भने मेल खाँदैन ।

माओवादीले कांग्रेससँग गठबन्धन तोडेर एमालेसँग मिल्नुमा बाह्य शक्तिको हात छ भनिदैछ नि ?
–यसमा कुनै बाह्य शक्तिलाई दोष दिनु पर्दैन । हाम्रा नेपालका राजनीतिक दलका नेता बसेर नयाँ गठबन्धन बनाइएको हो । नयाँ गठबन्धन कुनै बाह्य देश वा शक्तिको पक्ष वा विपक्षमा बनेको होइन । यो नेपाल र नेपाली जनताको हितमा बनाइएको हो भन्ने कुरा प्रधानमन्त्रीज्यूले प्रस्ट पारिसक्नु भएको छ । प्रधानमन्त्रीले समयमै एमाले, रास्वपा, राजपा र एकीकृत समाजवादीसँगसहितका पार्टीसँग गठबन्धन नगरेको भए देश थप अस्थिरतामा जान्थ्यो । नेपालको आन्तरिक राजनीतिक मामिलामा बाहिरी शक्तिलाई जोड्नु आवश्यक छैन ।

नयाँ गठबन्धन पनि केही समयमै भत्कने टिप्पणीप्रति तपाईंको प्रतिक्रिया के छ ?
–नयाँ गठबन्धनमा रहेका पाँच राजनीतिक दलका सिद्धान्त हेर्ने हो भने यो स्वाभाविक गठबन्धन हो जसले माओवादी अध्यक्ष प्रचण्डलाई तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनायो, तिनै शक्ति अहिले यो गठबन्धनमा छन् । खासगरी गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा (एमाले) का अध्यक्ष केपी ओलीसहितका नेताहरुले गठबन्धन बनाउन र यसलाई अघि बढाउन जसरी पहलकदमी लिइरहनु भएको छ, यसले गठबन्धन लामो समयसम्म जाने स्पष्ट पार्दछ । यो गठबन्धन कुर्सीका लागि मात्रै भन्दा देश र जनताका पक्षमा केही काम गर्ने उद्देश्यका साथ बनेको छ । त्यसैले गठबन्धनका बारेमा बाहिरी केही व्यक्तिले टिप्पणी गरेजस्तो अवस्था छैन । स्वार्थका आधारमा बनेका गठबन्धन हुन् भत्कने । यो गठबन्धन त निश्चित राजनीतिक वैचारिक धरातलमा खडा भएकाले आगामी निर्वाचनसम्म जान्छ, यसमा ढुक्क भए हुन्छ । यही गठबन्धनले नै २०८४ सालको निर्वाचन पनि गराउनेछ ।

राष्ट्रपतिद्वारा पशुपतिनाथको पूजाअर्चना

काठमाडौँ, २५ फागुन : महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नुभएको छ । उहाँलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन, फूलप्रसाद प्रदान गर्नुभएको थियो ।

त्यसअघि राष्ट्रपति पौडेललाई पशुपतिनाथ मन्दिर परिसरमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ्, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दीपक काफ्ले, कोषका सदस्यसचिव राजुकुमार खत्री, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, परिषद्का सदस्यहरू, स्थानीय नियकायका प्रमुख तथा प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायत कर्मचारीले स्वागत गर्नुभएको थियो ।

महाशिवरात्रिका अवसरमा हरेक वर्ष राष्ट्राध्यक्षद्वारा पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा छ । पाशुपत क्षेत्रमा अहिले पनि हजाराँै भक्तजन दर्शनका लागि लामबद्ध भएका छन् । आज बिहान २ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला राखेर भक्तजनलाई सहज दर्शनको व्यवस्था गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारिले राससलाई जानकारी दिनुभयो । हालसम्म चार लाख ३० हजार भक्तजनले पशुपतिनाथको दर्शन गरेका कोषले जनाएको छ ।

महाशिवरात्रि मेलालाई व्यवस्थित गर्न चार हजार सुरक्षाकर्मी र चार हजार हाराहारी स्वयंसेवक खटाइएका छन् ।

महाशिवरात्रि : बेहडाबाबा मन्दिरमा हेलिकप्टरबाट पुष्प वर्षा

कैलाली, २५ फागुन : धार्मिक तथा ऐतिहासिक महत्वको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा महाशिवरात्रिका अवसरमा आज हेलिकप्टरबाट पुष्प वर्षा गरिएको छ ।

बेहडाबाबा फाउन्डेसन, मन्दिर व्यवस्थापन समिति र बेहडाबाबा पुष्प वर्षा समारोह उपसमितिको आयोजनामा महाशिवरात्रिका अवसरमा पुष्प वर्षा गरिएको आयोजक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिनुभयो ।

हरेक वर्ष आयोजना गरिने महाशिवरात्रि मेलामा पहिलोपटक हेलिकप्टरबाट पुष्प वर्षा गरिएको उहाँले बताउनुभयो । प्रसिद्ध धार्मिकस्थल मानिने कैलालीको बेहडाबाबालाई पर्यटकीय गन्तव्य बनाउनका लागि प्रचार–प्रसार गर्न हेलिकप्टरद्वारा पुष्प वर्षा गराइएको आयोजकले जनाएको छ ।

पुष्प वर्षा बिहान ११ देखि मध्याह्न १२ बजेका बीचमा पुष्प वर्षा गरिएको हो । त्यस्तै अपराह्न दुई करोड २५ लाख बत्ती बालिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । पुष्प वर्षा कार्यक्रमका लागि नरेन्द्र शाहको संयोजकत्वमा रहेको टोलीद्वारा केही दिनअघि रु १४ लाख नौ हजार नौ सय ५० रकम सङ्कलन गरिएको थियो । हेलिकप्टर भाडाबापत रु ११ लाख र तीन क्विन्टल फूलको रु दुई लाख गरी जम्मा रु १३ लाख खर्च भएको बताइएको छ ।

पुष्प वर्षासँगै महाशिवरात्रिमा भक्तजनका लागि भण्डारा चलाइएको थियो । भण्डारामा आउनेलाई भोजनको व्यवस्था गरिएको थियो । उक्त धाममा भक्तजनलाई जान–आउनदेखि दर्शन तथा पूजापाठ गर्न बसको व्यवस्था गरिएको थियो ।

बेहडाबाबा मन्दिरमा लागेको महाशिवरात्रि मेलाको दर्शनका लागि छिमेकी मुलुक भारतबाट दर्शनार्थी आएका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जोशीले राससलाई बताउनुभयो । यहाँ प्रत्येक वर्ष भारतका लख्खिमपुर, पलिया, पिलिभित, उत्तराखण्डका विभिन्न स्थानबाट भक्तजन आउने गरेका बताउनुभयो ।

केन्द्रीय बैंकले आठ अर्बको विकास ऋणपत्र बिक्री गर्दै

काठमाडौँ, २५ फागुनः नेपाल राष्ट्र बैंकले आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ झ’ बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएको छ । कूल रु आठ अर्ब बराबरको उक्त ऋणपत्र धितो राखी कर्जा लिन वा दिन समेत पाइनेछ । ब्याजदर समेत बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने केन्द्रीय बैंकले सूचनामार्फत जानकारी गराएको छ ।

बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् । यही फागुन २९ गते अपरान्ह बोलकबोल हुने छ । ऋणपत्रको साँवा भुक्तानी २०८८ फागुन ३० गते हुनेछ । अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने र त्यसमा ब्याजकर समेत लाग्नेछ ।

ऋणपत्र घटीमा रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई रु ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्क बराबर खरिद गर्न सकिनेछ । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ ।

तराईबाट २० हजार लिटर दूध खरिद गरिँदै

मकवानपुर, २५ फागुन : हेटौँडा दुग्ध वितरण आयोजनाले तराईका जिल्लाबाट अहिले दैनिक करिब २० हजार लिटर दूध सङ्कलन गर्ने गरेको छ ।

सङ्कलित दूधमध्ये विराटनगरमा धुलो दूध उत्पादनका लागि दैनिक १२ हजार लिटर र हेटौँडा दूध विकास बोर्डलाई छ हजार लिटर गरी कूल १६ हजार लिटर दूध पठाउने गरेको आयोजनाले जनाएको छ । आयोजनाले पर्साको वीरगञ्ज, चितवनको भरतपुर र नारायणगढ तथा मकवानपुरको हेटौँडामा दैनिक चार हजार लिटर स्थानीय उपभोक्तालाई दूध वितरण गर्दै आएको छ ।

आयोजनाले मधेस प्रदेशको सर्लाही, रौतहट, बारा, पर्सा र बागमतीको मकवानपुरमा गरी दुई सय दूध उत्पादक सहकारी संस्थाबाट दूध खरिद गर्ने गरेको जनाएको छ । आयोजनाका प्रमुख राजीव खनालले तराईका जिल्लाका किसानले अहिले पशुपालन गरी त्यस भेगबाट दैनिक दुई लाख लिटरभन्दा बढी दूध उत्पादन गर्दै आएको भएता पनि वीरगञ्ज, नारायणगढ र हेटौँडा बजारमा स्थानीय उपभोक्ताको माग वृद्घि हुन नसक्दा ती किसानले उत्पादन गरेको दूधलाई आयोजनाले थप खरिद गर्नुपर्ने चुनौती थपिएको बताउनुभयो ।

उहाँका अनुसार आयोजनाले अब ती सहरमा थप दूधको माग बढाउन वीरगञ्ज, भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका र चितवनको रत्ननगर नगरपालिकाका जनप्रतिनिधि तथा स्थानीय उपभोक्ताबीच सहकार्य र प्रविधिक पक्षमा छलफल गर्न केही दिनभित्र प्राविधिक टोली त्यसतर्फ खटाउने छ ।

यसैगरी, आयोजनाले मधेसका चार जिल्ला र बागमतीको मकवानपुरका गरी करिब २८ हजार चार सय किसानलाई सो दूध खरिद गरेबापत मासिक रु तीन करोड १० लाख रकम भुक्तानी गर्ने गरेको प्रमुख खनालले बताउनुभयो । यसैगरी, आयोजनाले अहिले दैनिक दही सात सय लिटर, घ्यू नौ सय किलो, पनिर चार सय किलो र मख्खन पाँच सय किलो उत्पादन गर्दै आएको छ ।

आयोजनाले मिठाईतर्फ पेडा र लालमोहन दैनिक एक हजार दुई सय कार्टुन उत्पादन गर्दै आएको छ । काठमाडौँका उपभोक्ताको मागबमोजिम मिठाई, पँेडा र लालमोहन दैनिक आठ सय कार्टुन पठाउँदै आएको सो आयोजनाले जनाएको छ । गत साउन र भदौको तुलनामा स्थानीय बजारमा दूधको माग कम हुँदा अहिले दैनिक दुई हजार लिटर दूध खरिदमा कटौती गरेको आयोजनाका सूचना अधिकारी कृष्णबहादुर श्रेष्ठले बताउनुभयो । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सो आयोजनामा प्रशासन, लेखा, प्राविधिक र मजदुर गरी एक सय ५० व्यक्ति कार्यरत छन् ।

भरतपुर महानगर प्रमुख दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’

चितवन, २५ फागुन : भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ ’द्वारा सम्मानित हुनुभएको छ । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति उहाँलाई उक्त अवार्ड अर्पण गरिएको हो ।

प्रमुख दाहाललाई लण्डनका मेयर सादिक खान सहित मरिससका पहिलो महिला राष्ट्रपति अमिना गुरिब फकिमलगायतका उच्च व्यक्तित्व सहभागी हुनुभएको विशेष समारोहका बीच अवार्ड वितरण गरिएको जनाइएको छ ।

सो अवसरमा मेयर खानलाई लोकल गर्भमेन्ट अवार्ड, राष्ट्रपति फकिमलाई इन्टरनेसनल वेमन अफ द इयर अवार्ड प्रदान गरिएको थियो । पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्डअन्तर्गत सन् २०२४ मा उक्त अवार्ड बेलायतलगायत विभिन्न देशका फरकफरक क्षेत्रमा ख्यातिप्राप्त २४ जनालाई प्रदान गरिएको हो ।

यस वर्ष उक्त अवार्ड पाउनेमा बेलायतका उपप्रधानमन्त्री ओलिभर डाउडेन, प्रमुख विपक्षी दल लेबर पार्टीकी उपनेता एन्जेला रेनर, सीप तथा शिक्षासम्बन्धी राज्यमन्त्री रोर्बट हालफन, लेवर पार्टीका अन्तर्राष्ट्रिय व्यापार छायाँ मन्त्री ग्यारेथ थोमस, भारतका पूर्वमन्त्री सुरेश प्रभु, मौरिससकी पूर्वराष्ट्रपति फकिम, बेलायत वेल्स राज्यकी सांसद नताशा अस्गर पनि रहेको प्रमुख दाहालले जानकारी दिनुभयो ।

अवार्ड प्राप्त गरेपछि प्रमुख दाहालले उच्च राजनीतिक नेतृत्वबीच सम्मानित हुन पाउँदा आफू गौरवान्वित भएको बताउनुभयो । नेपालमा स्थानीय तहमा भौतिक निर्माणसहित अन्य सूचकमा भरतपुर महानगरपालिका अग्रणी रहेको छ ।

प्रमुख दाहालले यसअघि बेलायती उपसभामुख एवं सांसदसँग भेटवार्ता गर्नुभएको थियो । प्रमुख दाहालले बेलायती संसद् हाउस अफ कमन्सका उपसभामुख नाइजेल इभान्स् तथा सत्तारुढ कन्जरभेटिभ सांसद एवं पूर्वमन्त्री डिन रसेल र प्रमुख प्रतिपक्षी दल लेबरका सांसद वीरेन्द्र शर्मासँग संसद्मा भेटघाट गर्नुभएको थियो ।

त्यस्तै, लन्डनस्थित नेपाली दूतावासले गरेको सम्मान कार्यक्रममा सहभागी हुनुभएका प्रमुख दाहालले देश विदेशबाट भरतपुर महागरपालिकाको काम सूक्ष्म ढङ्गले अध्ययन भएरै आफूले अन्तर्राष्ट्रिय अवार्ड पाउन लागेको बताउनुभएको थियो ।

प्रमुख दाहालले लन्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई पनि भरतपुर भ्रमणका लागि निमन्त्रणा दिनुभएको छ । राजदूत आचार्यले भरतपुर भ्रमण वर्षले समग्र नेपाल भ्रमण वर्षलाई पनि फाइदा पुग्ने बताउनुभएको प्रमुख दाहालसँगै रहनुभएका अर्जुन पाठकले जानकारी दिनुभयो । प्रमुख दाहालले बेलायतका उच्च अधिकारीहरुलाई भरतपुर भ्रमण वर्ष २०२४ को निम्तो दिनुभएको जनाइएको छ ।

आधुनिक विकास र सुविधाको खोजिमा रित्तिदै ‘कुइनेखानी’ गाउँ

म्याग्दी (बेनी), २५ फागुन : गुजमुञ्ज घरहरु लहरै मिलेर बसेको गाउँ । जहाँ आजसम्म नयाँ आधुनिक भौतिक पूर्वाधार बनेका छैनन् । परम्परागत तरिकाले ढुङ्गाले छाएका घर रहेको कुइनेखानी आफैँमा सुन्दर गाउँको रुपमा परिचित छ । भौगोलिक रुपमा दुर्गम र सेवा सुविधाको अभाबले हिमाली गाउँको रुपमा चिनिने म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मा अवस्थित यो कुइनेखानी गाउँ रित्तिदै गएको छ । केही वर्ष अघिसम्म ९५ घरधुरीको बसोबास रहेको कुइनेखानीमा अहिले ४५ घरधुरीमा मात्रै बसोबास गर्दछन् ।

बसाइँसराइको कारण गाउँ युवाविहीन अवस्थामा पुग्न थालेको छ । गाउँमा मोटरबाटो पुगे पनि अन्य सुविधा पुग्न नसक्दा हरेक वर्ष गाउँबाट बसाइँ सर्ने बढेको स्थानीय टोल सुधार समितिका अध्यक्ष तुल छन्त्यालले बताउनुभयो । “विकास भनेको यही मोटरबाटो हो, यो पनि आएको जम्मा दुई वर्ष भयो, सडक आए पनि अरु विकास गाउँमा आउँदैन, यो लेकमा कस्ले हालिदिन्छ र बजेट, यसअघि त सदरमुकाम जान पनि दिनभर पैदल हिँड्नुपर्ने बाध्यत थियो”, उहाँले भन्नुभयो ।

गाउँमा कच्ची सडकको पहुँच पुगे पनि यो स्तरीय छैन । गाउँबाट सदरमुकाम बेनी पुग्न एकतर्फी रु एक हजार २०० भाडा लाग्छ । गाउँको शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्लगायतको सुविधा भरपर्दो र गुणस्तरीय छैन् । भौगोलिकरुपमा विकटता रहेको र छरिएका गाउँ बस्तीको कारण रघुगङ्गा गाउँपालिकाको वडा नम्बर ८ कुइनेमङ्गलेलाई ‘म्याग्दीको कर्णाली’को उपमा दिने गरिन्छ । यस वडामा एक गाउँबाट अर्को गाउँमा जान दिनभरकै पैदल यात्रा गर्नुपर्छ । छरिएर रहेकै गाउँबस्तीका कारण यस वडाको अहिले पनि सम्पर्क कार्यालय सदरमुकाम बेनीबाटै सञ्चालन हुँदै आएको छ ।

स्थानीय तह कार्यान्वयनमा आएसँगै गाउँमा भौतिक पूर्वाधारको क्षेत्रमा विकासका गतिविधि अघि बढे पनि बसाँइसराइ रोकिएको छैन । विकास गाउँ भित्रदै छ, तर कुइनेखानी गाउँ रित्तिने क्रम बढ्दै गएको छ । आधारभूत स्वास्थ्य सेवा लिनसमेत दिनभरको पैदलयात्रा गर्नुपर्ने बाध्यता स्थानीय तह कार्यान्वनयमा आएसँगै हटेको छ । गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेपछि सामान्य बिरामी हुँदा आधारभूत उपचार पाउने सुविधा गाउँमा भित्रिएको छ ।

अहिले गाउँ छाड्ने अधिकांश बालबालिकाको शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका लागि सहर झर्नुपरेको बताउँछन् । मुख्यगरी गाउँमा शिक्षाको अवस्था कमजोर रहेको छ । वैदेशिक रोजगारमा गएकाले आफ्ना बालबच्चा र परिवारलाई सहरमा राख्न थालेसँगै गाउँमा विद्यालय खाली हुँदै गएको छ । कक्षा ८ सम्म पठनपाठन हुने कुइने आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या नभएकै कारण अघिल्लो शैक्षिक सत्रदेखि तह घटाएर ५ कक्षासम्म मात्रै पठनपाठन गराउन थालिएको छ । स्तरीय शिक्षाका लागि बालबालिकालाई सहरी क्षेत्रमा लैजाने प्रचलन बढेसँगै गाउँको स्कुल खाली हुँदै गएको रघुगङ्गा गाउँपालिका–८ का वडासदस्य चबहादुर छन्त्यालले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिमा जनप्रतिनिधिको तर्फबाट सदस्यसमेत रहनुभएका छन्त्यालले अङ्ग्रेजी माध्ययमको शिक्षा लिने लहडले आर्थिकरुपमा सक्षम भएका परिवारले सहरमा पठनपाठन गराउने प्रवृत्ति बढेको बताउनुभयो । “आर्थिक अवस्था राम्रो भएकाले बोडिङमै पढाउन लौजान्छन, गाउँको स्कुल भौतिकरुपमा पनि पुरानो र जीर्ण हुँदै गएको छ, स्कुल खाली हुने अवस्था आइसकेको छ”, उहाँले भन्नुभयो । यस विद्यालयमा अहिले जम्मा १५ जना बालबालिका अध्ययनरत रहेका छन् ।

कक्षा ५ मा अध्यन गर्ने विद्यार्थी सङ्ख्या शून्य रहेको छ । केन्द्रीय विद्युतीकरण नपुगेको यस गाउँमा स्थानीय लघु जलविद्युत्बाट विद्युत् सुविधा उपभोग गर्दै आएका स्थानीयले बाढी पहिरोको कारण निरन्तर झन्झट हैरानी बेहोर्नुपरेको छ । पुख्र्यौली रुपमा खानी खन्ने सिलसिलामा कुइनेखानीमा छन्त्याल समुदायको बसोबास रहन गएको थियो । तामा खानीको प्रख्यात ठाउँको रुपमा चिनिएको कुइनेखानीमा तत्कालीन समयमा तामाको प्रशोधन र बिक्रीका लागि विश्वकर्मा र थकाली जातिको समेत केही घरधुरीको बसोबास रहेको पाइन्छ ।

खानी खन्ने काम बन्द भएपछि यहाँका स्थानीयको पेसा परिवर्तन भएसँगै गाउँको बसोबास घट्दै गएको स्थानीय नरमान छन्त्यालले बताउनुभयो । “खानी बन्द भएपछिको पुस्ता भारतीय सैनिकमा भर्ती हुने लहर चल्यो, उनीहरुको आर्थिक स्थितिमा सुधार भएपछि अधिकांश लाहुरेले गाउँबाट बेनी, पोखरा, बुटवल, दाङ, भैरहवालगायतका ठाउँमा बसाइ सारेका छन्, गाउँबाट सहरमा सर्नेक्रम अझै छ”, उहाँले भन्नुभयो । गाउँमा अहिले बूढापाका र महिला र विदेश जाने प्रयासमा रहेका केही युवा मात्रै छन् ।

स्वदेशमा रोजगारको अवसर नभएपछि युवायुवती विदेश पलायन हुने र आर्थिकरुपमा बलियो बन्न थालेपछि सहर झर्ने क्रमले गाउँमा वृद्धवृद्धा मात्रै रहने अवस्था आएको स्थानीय ७७ वर्षीय टीकाबहादुर विश्वकर्माले बताउनुभयो । “गाउँ त खाली हुँदै गयो, युवा लाहुर लागे, हुनेखाने सरेर गए, बूढापाका मरेर गए हाम्रो पुस्तापछि गाउँमा को रहलान् र ?”, उहाँले भन्नुभयो । गाउँको खेतीयोग्य जमिन बाँझो रहन थालेको छ । आलु, कोदो, मकै, जौ, गहुँलगायतका खाद्यबाली घट्दो क्रममा छ ।

केही वर्षपछि यहाँका जनताले वनजङ्गल र झाडी भरिएको जग्गाको तिरो तिरेर मात्रै बस्नुपर्ने अवस्था आउने विक बताउनुहुन्छ । कुइनेखानीबाट पुतलीडाँडा सिङ्कोस बगर हुँदै धौलागिरि आधार शिविर र झिरबारी, भालीचुली, च्यमलीबुकी, रुवाचौर हुँदै आइसफलतर्फको धौलागिरि आधार शिविर पुग्न सकिन्छ । रैथाने परम्परागत जनजीवन र संस्कृतिसँगै यहाँ रहेका पर्यटन सम्भावनाको उजागर गर्न सकेमा कुइनेखानीलाई पर्यटन विकासका माध्यमबाट विकसित, समृद्ध र आत्मनिर्भर बनाउन सकिने स्थानीयवासी बताउँछन् ।

जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवर्द्धन आयोजना

काठमाडौँ, २५ फागुन : जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ । त्यहाँ आयोजित विश्वकै ठूलो पर्यटन व्यापार मेला ‘आइटिबी’ बर्लिन २०२४ मा नेपालको पर्यटन प्रवर्द्धन गरिएको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले जनाएको छ । पाटा नेपालले नेपालको पर्यटन व्यवसायमा आबद्ध निजी क्षेत्रका ४० विविध पर्यटन र हस्पिटालिटी व्यावसायिक कम्पनीसँगको सहकार्यमा यही फागुन २२ देखि २४ गतेसम्म आयोजित आइटिबी बर्लिनमा सहभागिता जनाएको हो ।

पर्यटन उद्योगसम्बन्धी आयोजना भएको उक्त प्रवर्धनात्मक मेला विश्वकै सबैभन्दा ठूलो एवं अग्रिणी ‘ट्राभल ट्रेड शो’का रुपमा स्थापित कार्यक्रम हो । यस वर्ष सम्पन्न आइटिबी बर्लिनमा एक सय ७० देशबाट पाँच हजार पाँच सयभन्दा बढी बिक्रेता तथा प्रदर्शक कम्पनीसहित विश्वभरिबाट पर्यटनकर्मी, पर्यटन उद्योगका क्रेता र व्यापार आगन्तुकलाई आमन्त्रण गरिएको थियो । आइटिबी बर्लिन २०२४ को आधिकारिक प्रायोजक देश ओमानले औपचारिक उद्घाटन कार्यक्रममा भब्य प्रस्तुतिसहित ओमानलाई एक आकर्षक गन्तव्यको रुपमा प्रवर्द्धन गरी उपस्थित सम्पूर्ण विश्वव्यापी पर्यटन सरोकारवालालाई भ्रमणका लागि आह्वान गरेको थियो ।

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले नेपाल प्याभिलियनको उद्घाटन गर्दै देशको पर्यटन प्रवर्द्धनका लागि विश्वको सबैभन्दा ठूलो प्लेटफर्ममा नेपालको महत्वपूर्ण र प्रभावशाली उपस्थिति सुनिश्चित गरेको जनाउँदै व्यवसायीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

मेसे बर्लिनमा अवस्थित प्रदर्शनी मैदानमा रहेको नेपालको नियमित स्थान, हल ५.२ स्ट्यान्ड १२७ मा केन्द्रमा स्तुपासहित पर्यटकीय आकर्षणले सुसज्जित नेपाल प्याभिलियनअन्तर्गत साहसिक टुर अपरेटरहरू, एयरलाइन्स, होटल व्यवसायी, टुर अपरेटर, पर्वतारोहण, पदयात्रा, र एक्सपिडिसन अपरेटरहरूका साथै वेलनेश तथा स्वास्थ्य पर्यटन उद्यमले नेपालमा ट्रान्स्फÞोर्मटिभ, इमर्सिभ र अविस्मरणीय जीवन्त अनुभव प्रदान गर्ने विभिन्न पर्यटकीयउपज र सेवाको प्रवर्द्धन गरेका छन् ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूति चन्द ठाकुरले आइटिबी बर्लिनमा नेपालको प्रतिनिधित्व सुनिश्चित गर्न सहभागी सबै नेपाली पर्यटन व्यवसायीलाई सक्रिय सहभागिता लागि धन्यवाद व्यक्त गर्नुभयो । मेलाको माध्यमबाट नेपालको छवि उच्च राख्दै देशको पर्यटनको बजारीकरण र प्रवर्द्धनका लागि पाटा नेपालले भूमिका निर्वाह गर्न पाउँदा खुसी व्यक्त गर्दै नेपालमा दिगो पर्यटन विकासमा सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो ।

मेलामा सहभागी वरिष्ठ पर्यटन व्यवसायी तथा कोरा टुर्सका कार्यकारी व्यवस्थापक विजय अमात्यले नेपालको प्रभावशाली प्रस्तुति, सहभागीको उच्च सङ्ख्या र स्ट्यान्डको आकर्षक सजावटले विश्वको ध्यानाकर्षण भएको उल्लेख गर्नुभयो ।

आज महाशिवरात्रि पर्व : पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

काठमाडौँ । आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ ।

यसैक्रममा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ । बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा करिब एक लाखभन्दा बढी भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवणीरमण अधिकारीले जानकारी दिए ।

उनका अनुसार अहिले भक्तजनलाई मन्दिर प्रवेशदेखि भगवान्को दर्शनका लागि भीड कम भएका कारण सहज भएको छ । भक्तजनको सहजताका लागि पशुपतिनाथका चारैवटै ढोका बिहान २ बजेदेखि खोलिएको र एकैचोटीमा नौ जनादेखि १० जनासम्मले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ विकास कोषले जनाएको छ ।

पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आएका छन् । यस वर्षको महाशिरात्रिमा कम्तीमा पनि २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने विकास कोषले अनुमान गरेको छ । पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड–रक्सी तथा मासु पूर्णरुपमा निषेध गरिएको छ ।

आज पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, करिब छ सय जना स्वयंसेवक, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन भएका विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले बताए । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।

शिवको पूजा गर्नेको आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वरलगायतका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । आज भक्तजन व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ ।

आजै नेपाली सेना दिवस परेकाले नेपाली सेनाले टुँडिखेलमा शिवरात्रि विशेष समारोह पनि आयोजना गर्दै छ । यस वर्ष पशुपतिनामा तीन हजारभन्दा बढी साधुसन्त आएको विकास कोषको अनुमान छ । उनीहरुका लागि धुनी, भोजन र बाटो खर्चका लागि पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष बजेट छुट्टाउँदै आएको छ । पशुपतिनाथ दर्शनार्थ महाशिवरात्रिका दिन ठूलो सङ्ख्यामा आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले विभिन्न स्थानबाट मन्दिरसम्मको लाइनको प्रवन्ध मिलाएको प्रवक्ता अधिकारीले बताए ।

महाशिवरात्रि पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा नेपाल प्रहरी मूल शिविर रहेको छ भने सशस्त्र प्रहरी बलको नेपाल सुरक्षा कमाण्ड पोष्ट पशुपतिक्षेत्र नासल चोकमा रहेको छ । मूल शिविरसँगै कमाण्डपोष्टअन्तर्गत सव कमण्ड पोष्ट खडा गरी समग्र पशिुपति क्षेत्रको महाशिवरात्री पर्वमेला त्रुटिरहित सुरक्षा प्रणाली अपनाइएको छ ।

पशुपतिनाथ मन्दिर नजिकै कोर क्षेत्रमा डाक्टर, नर्स, औषधि र बेडसहितिको नेपाली सेनाको मूल स्वास्थ्य शिविर रहेको छ भने भने सशस्त्र प्रहरी, नेपाल प्रहरीसमेतका गरी करिब ५० वटा स्वास्थ्य शिविर रहेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ । आपत्कालीन अवस्थाका लागि एम्बुलेन्स र आगो नियन्त्रक साधन उपलब्ध हुने जनाइएको छ । यस्तै जुत्ता, चप्पल व्यवस्थापन दर्शन लाइनलाई पायक बनाएर भुवनेश्वरीमा दक्षिणामूर्ति रुद्रगाडेश्वर दर्शनमार्ग, भुवनेश्वरी नजिक शङ्कराचार्य मठ पछाडि, बज्रघर दक्षिणतर्फ, राममन्दिर नजिक वाग्मती पारी गरी पाँच ठाउँमा व्यवस्थापन गरिने कोषले जनाएको छ ।

आज ११४औैँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै

काठमाडौँ, २५ फागुन : आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ । विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ ।

महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ । सन् १९०८ मार्चमा १५ हजार महिलाले न्यूयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित ¥याली गरेसँगै यसको बिजारोपण भएको थियो । यसको एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९१० मा अन्तर्राष्ट्रिय महिला दिवस सुरुआत गर्नुपर्नेमा सुझाएकी थिइन् । पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्याण्डमा मनाइएको थियो । तर संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पाएको थियो ।

श्रमबारे उठेको आन्दोलनलाई संयुक्त राष्ट्रसङ्घले वार्षिक कार्यक्रमका रूपमा अन्तर्राष्ट्रिय महिला दिवसको मान्यता दिएको थियो । लैङ्गिक समानता हासिल गर्न महिला तथा बालिकाको सुरक्षा र सामाजिक संरक्षणको पूर्ण प्रत्याभूतिका सार्थ सभ्य र न्यायपूर्ण समाज निर्माण गर्न, महिलाका अधिकार र सशक्तीकरणका सवालमा आवाज बुलन्द गर्न, महिलाको सहभागिता, विभेद, असमानताका सवालमा ¥याली, जुलुस तथा विभिन्न सचेतनामूलक कार्यक्रम गरी दिवस मनाइने भएको छ ।

यस वर्ष ‘महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नारासहित ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ ।

लोकसेवा आयोगले समयानुकूल जनशक्ति व्यवस्थापनमा सुधार गर्ने

कर्णाली, २५ फागुन : लोकसेवा आयोगले विद्यमान भर्ना छनोट, परीक्षण प्रविधि, पाठ्यक्रम र परीक्षा सञ्चालनसम्बन्धी जनशक्ति व्यवस्थापनमा समयानुकूल सुधार गर्ने भएको छ । आयोगप्रति विश्वास कायम राख्न निष्पक्ष र स्वच्छरुपमा योग्यताको आधारमा भर्ना तथा छनोट हुने सिद्धान्तलाई पूर्णरुपले पालना गर्ने आयोगले जनाएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा बुधबारदेखि सुरु भएको लोकसेवा आयोगको चौथो राष्ट्रिय सम्मेलनले जारी गरेको घोषणापत्रमा सो कुरा उल्लेख छ ।

लोकसेवा आयोगका सदस्य वीरबहादुर राईले सङ्घीय शासन प्रणालीको संस्थागत विकास र सुशासनमा योगदान पु¥याउन उपयुक्त उम्मेदवार समयमै छनोट र सिफारिसको सुनिश्चिता गर्ने र लोकसेवा आयोगबाट स्थापित सिद्धान्त, मूल्य, मान्यता, कार्यप्रणाली र असल अभ्यासलाई निरन्तर अवलम्बन गर्ने घोषणापत्रमा उल्लेख गरिएको जानकारी दिनुभयो ।

‘योग्यता, निष्पक्षता, स्वच्छताः लोकसेवा आयोगको प्रतिबद्धता’ भन्ने मूल नारासहित दुई दिनसम्म सञ्चालन भएको चौथो सम्मेलन बिहीबार वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको हो । उक्त सम्मेलनले पाँच बुँदे घोषणापत्र र १३ बुँदे निर्णय जारी गरेको छ । घोषणापत्रको पहिलो बुँदामा भनिएको छ, संविधानको मर्म र भावनाअनुरुप समावेशी सिद्धान्तलाई सम्मान गर्दै भर्ना र छनोट आधार योग्यता नै हो भन्ने मान्यतालाई जोड दिँदै अगाडि बढिनेछ ।

लोकसेवा आयोगबाट पदपूर्ति गरिने विभिन्न सेवा, समुह, उपसमूह, श्रेणी वा तह र पद (प्राविधिक र अप्राविधिक)का पाठ्यक्रममा समसामयिक सुधार र परिमार्जन गर्ने, आयोगबाट सम्पादन गरिने कार्यमा कार्यगत सम्बन्ध कायम गर्दै प्रभावकारिता अभिवृद्धि गर्न असल अभ्यासको आदानप्रदान गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार आयोगको परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी खर्च मापदण्डमा एकरुपता कायम गर्ने र समयसापेक्ष बनाउँदै लैजाने, लोकसेवा आयोगबाट सङ्घीय कानुनबमोजिम अवलम्बन गरिएका सिद्धान्त तथा मापदण्डबमोजिम कार्यसम्पादनको सुनिश्चितताका लागि सूचक तयार गरी सोबमोजिम स्वमूल्याङ्कन एवं आवश्यकताअनुसार समकक्षी समीक्षा गर्नेजस्ता १३ निर्णय सम्मेलनले जारी गरेको छ ।

उक्त राष्ट्रिय सम्मेलनमा सङ्घीय लोकसेवा आयोग अध्यक्ष माधवप्रसाद रेग्मी, सदस्य माधव बेल्बासे, वीरबहादुर राई, दिनेश सिलवाल, मञ्जुकमारी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेस तथा कोशी प्रदेश लोकसेवा आयोगका पदाधिकारी तथा सदस्य र आयोगका सहसचिव, प्रदेश लोकसेवा आयोगका सचिव तथा कर्मचारीको सहभागिता रहेको थियो ।

संयुक्त राष्ट्संघद्वारा लिबियामा राजनीतिक समस्या समाधानका निम्ति सम्झौता गर्न आह्वान

लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि अब्दुलाये बाथिलीले लिबियामा जारी राजनीतिक सङ्कट समाधानका लागि सम्झौताको प्रयासलाई तीव्र पार्न पुनः आह्वान गर्नुभएको छ।लिबियाको प्रतिनिधिसभा, संसद्का सभामुख अगुइला सालेहसँग बुधबार टेलिफोन वार्ताका क्रममा बाथिलीले उक्त आग्रह गर्नु भएको हो ।

‘हामीले राजनीतिक प्रक्रियाको वर्तमान अवस्थाको बारेमा विचार आदानप्रदान गर्यौं र मैले सम्झौताको प्रयासलाई तीव्र पार्न पुनः आह्वान गरेको छु, “बथिलीले बिहीबार ट्वीट गर्नु भएको छ। वार्ताका क्रममा उहाँहरूले चुनावका लागि राजनीतिक समास्याको समाधान गर्न र लिबियामा एकता, स्थिरता र दिगो शान्ति सुनिश्चित गर्न परामर्श जारी राख्नुपर्ने धारणा व्यक्त गर्नु भएको छ ।

निर्वाचन कानुनमा दलहरू बीचको असहमतिका कारण लिबियाले सन् २०२१ डिसेम्बरमा हुनुपर्ने आम चुनाव गराउन असफल भएको थियो । सन् २०११ मा गद्दाफी शासनको पतन भएदेखि नै लिबिया बढ्दो हिंसा र अशान्तिले रुमलिएको छ ।

नेटो अभ्यासले तनाव निम्त्याउँछ- रुस

हाल जारी ‘नेटो स्ट्याडफास्ट डिफेन्डर सैन्य’ अभ्यासले तनाव बढाउँदै विश्वव्यापी स्थिरतालाई कमजोर बनाउने रुसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभले टिप्पणी गर्नु भएको छ ।युरोपमा जारी सैन्य अभ्यास “रूससँग सशस्त्र टकरावको परिदृश्य” जस्तो प्रतीत हुने पत्रुशेभले उल्लेख गर्नु भएको छ ।

“वर्तमान इतिहासमा संयुक्त राज्य अमेरिकाको विनाशकारी भूमिका स्पष्ट छ । कुनै पनि अन्य देशले यति धेरै युद्ध र सैन्य द्वन्द्वहरू निम्त्याएका छैनन् र यति धेरै आर्थिक सङ्कटका निम्ति उक्साएका पनि छैननन्,” उहाँले टिप्पणी गर्नुभयो ।
सुरक्षा सचिव पत्रुसेभका अनुसार नेटो गठबन्धनले रुसको पश्चिमी सिमानातर्फ गतिविधि विस्तार गरिरहँदा यसमा “वाशिङ्गटनको प्रभाव देखिएजस्तो अनुभूति भएको बताउनु भएको छ ।

नेटो ब्लकले एशिया-प्रशान्त र आर्कटिक क्षेत्रमा आफ्नो उपस्थिति बढाउने योजना बनाएको पनि उहाँको धारणा छ । पात्रुसेभले नेटोका सदस्य राष्ट्रहरूले सन् २०२४ मा रक्षा खर्च बढाइरहेका छन् जसले ती देशहरूको “बढ्दो आक्रामक प्रकृति” झल्काउँने बताउनु भएको छ ।

‘स्टेडफास्ट डिफेन्डर २०२४ सैन्य अभ्यास’ जनवरीको अन्त्यमा शुरु भएको र मेसम्म चल्ने तालिका छ। करिब ९० हजार सेनाको सहभागितामा आयोजित यो सैन्य अभ्यास युरोपमा दशकौंपछुको ठूलो युद्ध खेल हो।

महाशिवरात्रिको अवसरमा शुभकामना दिँदै सभामुख घिमिरेले भने – संस्कार , संस्कृति गौरव र सम्पत्ति हुन्

काठमाडौँ, २५ फागुन : सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले महाशिवरात्रि पर्वभित्र अनेकौँ उज्याला चेतनाका पक्ष रहेकाले मानिसको जागरण र आत्मबोधलाई उजागर गर्न मद्दत मिलोस् भन्ने कामना व्यक्त गनुभएको छ ।

उहाँले महाशिवरात्रि पर्वका अवसरमा आज यहाँ जारी गर्नुभएको शुभकामना सन्देशमा धार्मिक सांस्कृतिक महत्वको महाशिवरात्रि पर्वले सबै नेपालीबीच धार्मिक सहिष्णुता, सद्भाव र एकता कायम गर्न सकोस् भन्ने कामनासमेत व्यक्त गर्नुभएको छ ।

“महाशिवरात्रि विश्वभरका हिन्दूहरु पशुपतिनाथ मन्दिर दर्शनका लागि आउने गरेका छन्, महाशिवरात्रि पर्वसँग पशुपति क्षेत्रको मात्र नभई नेपालको धार्मिक र सांस्कृतिक पक्ष पनि गाँसिएको छ”, शुभकामना सन्देशमा भनिएको छ, “महाशिवरात्रि पर्वमार्फत पशुपतिनाथलाई विश्वको आध्यात्मिक केन्द्रका रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना छ ।”

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश भएको र संस्कार एवं संस्कृतिमा फरक भएकैले नेपालीहरु आज विश्वसामु फरकरूपमा प्रस्तुत भइरहेका सन्देशमा उल्लेख छ । सन्देशमा भनिएको छ, “संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति हुन् । विभिन्न जातजातिका भाषा, धर्म, संस्कृति, रहनसहन, चाडपर्व, भेषभूषा, रीतिथिति, इतिहास र चालचलन हाम्रा पहिचान हुन् ।”

महाशिवरात्रि भगवान् शिव र आद्यशक्तिको आराधना गर्ने मुख्य पर्व हो । भगवान् शिव उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रुपमा पुराणमा उल्लेख छ ।

महाशिवरात्रिमा शिवलिङ्गलाई रुद्राभिषेक र जलाभिषेक गर्नुलाई महत्वपूर्ण अनुष्ठान मानिन्छ – उपराष्ट्रपति यादव

काठमाडौँ, २५ फागुन : उपराष्ट्रपति रामसहायप्रसाद यादवले महाशिवरात्रि, सेना दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले भन्नुभएको छ, “मधेसमा ‘जलधरी’, ‘शिवराइत’, ‘शिवरात’ आदि नामले लोकप्रिय महाशिवरात्रिमा भगवान् शिवलाई बेलपत्र, धतूरो, अबीर आदि अर्पित गर्दै पूजाआजा गर्ने परम्परा छ, यो पवित्र पर्वले काम, क्रोध, लोभ, मोह र अहंकार त्याग्न सबैलाई उत्प्रेरित गर्न सकोस्, नेपाल र सम्पूर्ण विश्वमा शान्ति, पवित्रता र प्रेमको सत–धर्म स्थापित गर्दै आध्यात्मिक उन्नतिका लागि सबैलाई अनुकूलित हुने अवसर यो पर्वले प्रदान गरोस् ।”

महाशिवरात्रि भगवान् शिवमा समर्पित पर्व हो । महाशिवरात्रिमा शिवलिङ्गलाई रुद्राभिषेक र जलाभिषेक गर्नुलाई अत्यन्त महत्वपूर्ण अनुष्ठान मानिन्छ । यो पर्वमा भगवान शिवको पूजाआजा र व्रत उपवास गरे सबै रोग र शारीरिक दोषबाट मुक्ति पाउने जनविश्वास रही आएको छ । महाशिवरात्रिका अवसरमा देशभरका शिवालय, महादेव मठ र शिवमन्दिरमा हिन्दू भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।

त्यसैगरी सेना दिवस–२०८० को अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले नेपाली सेना आफूलाई थप सशक्त, सबल तथा सुदृढ बनाउँदै परिवर्तित समय र युग अनुरुपको आधुनिकीकरण गर्दै अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । नेपाली सेनाका लागि आवश्यक सैन्य सामग्री र प्रविधि नेपालमा उत्पादन नहुने र हालको संरचनालाई आफ्नै आर्थिक–प्राविधिक क्षमताले थेग्न नसकेर दक्षता, सबलीकरण र आधुनिकिकरण गर्ने प्रक्रियामा परनिर्भरता बढ्दै जानु राष्ट्रिय हितको दृष्टिमा गैर–अनुकूलित र संवेदनशील विषय भएकाले यसमा सम्बन्धित सबैको ध्यान पुग्नपर्ने उपराष्ट्रपति यादवको भनाइ छ ।

यसैगरी उपराष्ट्रपति यादवले अन्तर्राष्ट्रिय महिला दिवस–२०८० को अवसरमा शुभकामना व्यक्त गर्दै महिलाको समानता, समावेशिता र प्रगतिले हामी सबै लाभान्वित हुने विषयमा कसैको दुई मत हुन नसक्ने बताउनुभयो ।

पेशागतकर्ममा अविचलित रहनेमा विश्वस्त छु – प्रधानसेनापति शर्मा

काठमाडौँ – गौरवमय इतिहास रहेको नेपाली सेनाको २६१ औँ स्थापना दिवसका अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले दिनुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमाकार्यरत सकलदर्जा, अवकाशप्राप्त सैनिक तथा परिवार एवम् नेपाली सेनामा कार्यरत निजामतीकर्मचारीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

सन्देशमा उहाँले नेपाली सेनाले जस्तोसुकै परिस्थितिमा पनि पेशागत चरित्रबाट विचलित नभई देशको सार्वभौमसत्ता, स्वाधीनता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको रक्षार्थ संविधान प्रदत्त एवम् नेपाल सरकारबाट प्राप्त जिम्मेवारी पूरा गर्दै आएको स्मरण गर्नुभएको छ ।

प्रधानसेनापति सैनिक सेवा आत्मसम्मान र देशभक्तिले भरिएको निःस्वार्थ पेशाभएको कुरालाई मनन गर्दै प्राप्त जुनसुकै जिम्मेवारीमा उच्च पेशागत दक्षता प्रस्तुत गर्न सकलदर्जालाई सेना दिवसले प्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ ।

महिलाको राजनीतिक अधिकार स्थापित भएको छ – सभामुख घिमिरे

काठमाडौँ, २५ फागुन : सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसले सामाजिक सचेतना अभिवृद्धि गर्दै साझा अभियानमा सहभागी हुन सबैलाई उत्प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले महिला दिवसका अवसरमा आज यहाँ जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश एवं विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । “विश्वमा सदियौँदेखि चलिरहेको महिला अधिकार आन्दोलन फरकफरक स्वरूपमा आज पनि जारी छ, नेपालमा पनि विभिन्न आन्दोलनले महिलाको राजनीतिक अधिकारलाई विश्वमै उदाहरणीय हुने गरी स्थापित गरेको छ”, शुभकमना सन्देशमा भनिएको छ, “राजनीतिक अधिकारको अर्थ समानता, स्वतन्त्रता, अवसर, पहुँच, पहिचान र हैसियतको प्रयोगमा बराबरीको हिस्सा पनि हो, राजनीतिकरूपमा महिलाको अधिकार सुनिश्चित भए पनि सशक्तीकरणको लक्ष्य प्राप्त गर्न सबै पक्ष र क्षेत्रमा सकारात्मक सोच, दृढ इच्छाशक्ति र प्रतिबद्धता हुन जरुरी छ ।”

‘महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ यो दिवस नेपालमा आर्थिक र सामाजिक सशक्तीकरणका लागि लगानीको सुनिश्चित गर्न सहयोग गर्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम आयोजना गरी मनाइँदैछ । प्रत्येक मार्च ८ को दिनमा नारीहरूको सम्मान, जागरण, हक, अधिकारको सुनिश्चित गर्दै संसारभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ ।

अन्तर्राष्ट्रिय महिला दिवसलाई महिला जागरुकतासम्बन्धी दिवसको रुपमा पनि लिने गरिएको छ । राजनीतिक तवरबाट सुरू भएको भए तापनि हाल यस दिवसमा महिला अधिकार, महिला सशक्तीकरण र लैङ्गिक समानता आदि सवालमा बहस हुने गरेका छन् ।

सबल र सुदृढ संस्थाको रूपमा स्थापित छ – रक्षामन्त्री उप्रेती

काठमाडौँ – गौरवमय इतिहास रहेको नेपाली सेनाको २६१ औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनालाई समग्र राष्ट्र र राष्ट्रबासीको सर्वोपरि हित हुने कार्यमा थप सजगतापूर्वक समर्पित हुन निर्देशन दिनुभएको छ ।

सेना दिवसका अवसरमा उहाँले दिनुभएको सन्देशमा सेनाले स्थापनाकालदेखि वर्तमानसम्म सरकारबाट प्राप्त नीति निर्देशनलाई सर्वोपरि ठानेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो ।

रक्षमन्त्री उप्रेतीले भन्नुभएको छ, “आपतकालीन परिस्थितिहरूमा नेपाली सेना सदैव राष्ट्र र जनताको सेवामा अग्रपिङ्क्तमा रहेर काम गर्दै आइरहेको छ । देशका विभिन्न स्थानमाआइपर्ने विपद्का घटनाहरूमा समेत नेपाली जनताको जिउधनको रक्षार्थ नेपाली सेनाले गरेको योगदानको प्रशंसा गर्दछु ।”

आज महाशिवरात्रि, राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

काठमाडौँ, २५ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रि पर्व, २०८० ले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै हामी सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गनुभएको छ ।

राष्ट्रपति पौडेलले आज जारी गर्नुभएको शुभकामना सन्देशमा महाशिवरात्रि पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

“महाशिवरात्रिको पावन अवसरमा पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको यथोचित संरक्षण एवं सम्वद्र्धन गर्न प्रण गर्नुपर्दछ,” राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ, “पूर्खाको नासोका रूपमा हामीले पाएका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु हाम्रो दायित्व हो, बागमती सभ्यता विकास भएको तथा काठमाडौँ उपत्यकाको जलाधारको रूपमा रहेको बागमती नदीलाई स्वच्छ र सफा राखिराख्नका लागि आजको दिनले सबैलाई प्रेरणा मिल्ने विश्वास लिएको छु ।”

शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले मानव जातिले प्रकृतिसँगको असल सहकार्यबाट मात्र आफ्नो प्रगतिको बाटो रोज्नुपर्छ भन्ने तथ्यलाई अनेक सांस्कृतिक चाडपर्वजस्तै महाशिवरात्रिले पनि बेजोड रूपमा प्रकट गरेको उल्लेख गर्नुभएको छ । शुभकामना सन्देशमा भनिएको छ, “निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा एवम् शिव महिमा कीर्तन शिवरात्रि पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन भने शिवरात्रिको पालनाले योग र मोक्ष दुवैको प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।”

वैदिक परम्परामा शिवलाई मूलतः सम्हारका शक्ति मानिएको भए पनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित छन्, जसले प्रकृतिको सिर्जनात्मक एवं संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गर्दछन् । सौम्य शक्तिले मानव चेतनामा असल पक्षको बोध गराइ त्यसलाई मात्र ग्रहण गर्न उत्प्रेरित गर्ने भएकाले नै ‘सत्यम् शिवं सुन्दरम’ प्राचीन लोकोक्तिका रूपमा रहेको तथा रौद्र शक्तिले खराब रोजाइबाट उत्पन्न परिणामलाई दण्डित गर्दछ भन्ने राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।

नेपाली भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ । शिवोत्पत्ति भएको विश्वास गरिने मानसखण्डको भू–भाग, शिवको विचरणस्थल मानिने हिमवत्खण्डको मुख्य भूगोल एवं निवासस्थल मानिने पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभइ समस्त हिन्दूका लागि पनि गौरवको विषय हो । हाम्रो मुलुकका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिविम्बित भएको पाइन्छ । तसर्थ, आराध्यदेव पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात् शिव स्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा उल्लेख छ ।

पूर्वराष्ट्रपति भण्डारीद्वारा ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

काठमाडौँ २५ फागुन : ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

महिला अधिकार तथा लैङ्गिक समानता प्राप्तिका लागि सञ्चालन भइरहेका अभियानमा ऐक्यबद्धता स्वरूप प्रत्येक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा विश्वभर मनाइन्छ । यो वर्ष हामीले पनि ‘महिलामा लगानी ः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय सङ्कल्प साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदैछ ।

सामाजिक न्याय, महिला अधिकार तथा लैङ्गिक समानताका लागि भएका विभिन्न आन्दोलन, सामाजिक जागरण एवं सचेतना अभियानको परिणामस्वरुप हामीले महिला अधिकार र लैङ्गिक समानताको क्षेत्रमा संवैधानिक, नीतिगत तथा कानुनी दृष्टिबाट उल्लेखनीय उपलब्धि हासिल गरेका छौँ भन्दै पूर्वराष्ट्रपति भण्डारीले राज्यका विभिन्न निकायमा महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न हामीले संविधानमार्फत आधारभूत व्यवस्था गरी विभिन्न कानुन अभ्यासमा ल्याएका कारण मुलुकका तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको भूमिका सुदृढ भएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

उहाँले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद्, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चवत गर्ने यात्रामा निरन्तर लागिरहन हामी सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुन सकोस् भन्ने कामना गर्नुभएको छ ।

सेनाको योगदान गौरवपूर्ण छ – प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – गौरवमय इतिहास रहेको नेपाली सेनाको २६१ औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको स्वतन्त्रता, राष्ट्रिय एकता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षार्थ नेपाली सेनाले पु¥याएको योगदान गौरवपूर्ण रहेको बताउनुभएको छ ।

उहाँले राष्ट्र र जनताको जीवन रक्षार्थ विभिन्न कालखण्डमा कर्तव्यपालनाको सिलसिलामा मृत्युवरण गर्नुभएका सम्पूर्ण सैनिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । दुई सय ६१ औँ सेना स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्री दाहालले नेपाली सेना संविधान र कानुन प्रदत्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै राष्ट्र र जनताको सुरक्षामा निरन्तर समर्पित रहँदै आएको बताउनुभएको छ ।

सन्देशमा उहाँले भन्नुभएको छ–आगामी दिनमा ऐतिहासिक परिवेश र परिदृश्यहरूको विश्लेषण तथा भविष्यका चुनौतीलाई सूक्ष्म निगरानीगर्दै देश र जनताको रक्षार्थ आफूलाई उभ्याउनेछ भन्ने विश्वास लिएको छु ।

प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय शान्ति, विपद् व्यवस्थापन, पर्यावरण संरक्षण, खेलकूद तथा विकास निर्माण, निर्वाचन सुरक्षालगायतका क्षेत्रमा नेपालीसेनाले आर्जन गरेको ख्याति, प्रदर्शन गरेको वीरता र अपनाएको व्यावसायिकता प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ ।

सेना दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपतिले भने – नेपाली सेना राष्ट्र र जनताको हितमा समर्पित होस्

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको गौरवमय छविलाई अझै उच्च बनाउँदै सदाझैं राष्ट्र र जनताको हितमा समर्पित रहन नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिनुभएको छ ।

गौरवमय इतिहास रहेको नेपाली सेनाको २६१ औँ स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नेपाली सेना स्थापनाकालदेखि नै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता तथा राष्ट्रिय एकताकोरक्षार्थ क्रियाशील रही आएको बताउनुभयो ।

नेपाली सेनाका परमाधिपति पौडेलले सन्देशमा भन्नुभएको छ–संविधान प्रदत्त जिम्मेवारीका साथ अन्य जिम्मेवारीहरू पनि उत्कृष्ट ढङ्गले सम्पादन गर्दै आएको छ । नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको रूपमा विश्व शान्तिस्थापना कार्यमा पु¥याउदै आएको योगदानकोख प्रशंसा गर्न चाहन्छु ।

राष्ट्रपतिले विपद् प्रतिकार्य, महामारी, प्रकृति तथा पर्यावरण संरक्षण, विकास निर्माण लगायतकाविविध क्षेत्रहरूमा नेपाली सेनाको सहभागिता सम्पूर्ण नेपाली जनता तथा नेपाल सरकारको लागि भरोसाको केन्द्रको रूपमा स्थापित छ ।

शिवरात्रि तथा सेना दिवसका अवसरमा आज टुँडीखेलमा विशेष समारोह आयोजना हुने

काठमाडौँ – सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औँ वार्षिकोत्सवका शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिकासाथ मनाउँदै छ ।

राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडीखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको नेपाली सेनाको उहाँ परमाधिपति हुनुहुन्छ । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको र त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।
सेना दिवस समारोहमा यसपटक मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ तीन सय महिला र तीन सय पुरुष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । त्यस अवसरमा नेपाली सेनाका साथै भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाको साङ्गीतिक प्रस्तुती हुनेछ ।

जङ्गीअड्डा मातहत पृतना, बाहिनी, गण र गुल्ममा पनि विभिन्न कार्यक्रम आयोजना गरिनेछ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना कानुनको परिधिभित्र रही स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना गर्दै जीवनको आहुती दिन तत्पर अनुशासित सिपाहीको सङ्गठन रहेको बताउनुभएको छ ।
सङ्गठन स्थापना दिवसका अवसरमा सकल दर्जालाई सम्बोधन गर्दै उहाँले सदैव व्यक्तिभन्दा संस्थामाथि रहने पक्ष स्मरण गराँउदै पदभन्दा प्रतिष्ठा ठूलो हो भन्ने कहिल्यै नविर्सन सुझाव दिनुभयो ।

सेनाको इतिहास र अन्तर्राष्ट्रिय छवि

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ ।

वर्तमान सेनाको साङ्गठनिक स्वरूपको १८१९ सालदेखि सुरुआत भएको हो । देशभक्ति, समर्पण र आमनेपालीको हितलाई केन्द्रविन्दुमा राखी सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिकका बीचमा सेनाले आस्था र विश्वासको अटल छाप छोड्न सफल छ ।

सैनिक वीरपूर्खाहरूको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो । राष्ट्रिय एकता कायम राख्नु सेनाको संवैधानिक जिम्मेवारी हो । सेनामा अनुशासन, चेनअफ कमाण्ड र राजनीति निरपेक्ष चरित्र र एकताको भावना उच्च संस्कार रहन्छ ।

नेपाली सेना मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । समावेशीका हिसाबले सेना सबैको फुलबारी जस्तै बनेको छ । महिलाको सहभागिता पनि उल्लेखनीय रूपमा वृद्धि हुँदै गएको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो । हालसम्म ४४ शान्ति मिसनमा रही एक लाख ५० हजार आठ सय ९१ नेपाली शान्ति सैनिकबाट योगदान भइसकेको छ ।

विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्तिका लागि ज्यानको बाजी लगाउँदै नेपालका ७३ सैनिकले जीवन बलिदान दिइसकेका छन् भने ६८ सैनिक घाइते भएका छन् । विश्वमा हाल खडा भएका १२ शान्ति मिसनमा ६ सय ६२ महिलासहित पाँच हजार आठ सय ९० नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकहरूको कोटीमा नेपाल पहिलो स्थानमा छ ।

विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागि नेपाल पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशाला बनिरहेको छ । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालय र शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा विश्वका कयौँ मुलुकका सैनिक निरन्त सहभागीले यसलाई पुष्टि गरेको छ ।

विश्वका कुनै पनि महादेशका द्वन्द्वग्रस्त क्षेत्रका पीडित जनताबीच शान्ति सेनाका रूपमा पहिलो रोजाइमा नेपाली सेना नै पर्ने गरेको छ । सेनाले विपद् व्यवस्थापन र सडक पूर्वाधार निर्माणमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ । सेनाकै व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेस दू्रतमार्गको काम भइरहेको छ ।

दरबार, गढी, सङ्ग्रहालय, ऐतिहासिक महत्वका संरचना, विद्युत् गृह, भौतिक पूर्वाधार एवं प्राकृतिक सम्पदाको संरक्षण र सुरक्षा, हिमाल सफाइ तथा विकास निर्माणको जिम्मेवारीले सैनिक–नागरिकसँगको सम्बन्धलाई बलियो बनाउँदै लगेको नेपाली सेनाका प्रवक्ता भण्डारी बताउनुहुन्छ ।

हेर्नुहोस् फागुन २५ गते शुक्रवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – परीश्रम अनुरुपको फल प्राप्ती हुने समय रहेकोछ । सामाजीक कार्यका क्षेत्रमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहेनछ । पारीवारिक झोर झमेलाको सामना गर्नु पर्ने समय रहेकोछ ।

बृष राशि- पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरु सगँ को भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ ।

शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला ।सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुनेछ । आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ ।

कर्कट राशि – जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । मानसीक चन्चलताले सताउन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

सिंह राशि- स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । शुभ चिन्तकको बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुनसक्ला ।

कन्या राशि – आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ ।

तुला राशि – पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला ।

बृश्चिक राशि – आफ्नै घमन्डका कारण दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

धनु राशि – आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । स्वास्थमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउनेछ । सामान्य बादबिबादको चक्करकाट्नु पर्नेछ । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

मकर राशि – परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ । मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । सहि निर्णय हुन नसक्दा परिबारीक कलहको सामाना गनुपर्नेछ ।

कुम्भ राशि – शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । अनावश्यक खर्च नियन्त्ररण गर्न गारो हुन सक्ला । आफ्नु प्रिय ब्यक्ति सगँको बियोगले मन निरुत्साहित रहला ।

मिन राशि – यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । आय आर्जनको लागी राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । आम्दानी बृद्यिका लागी बीद्योत ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदाइक रहला । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ ।

गठबन्धन परिवर्तनसँगै सरकार र संसदका काम प्रभावकारी हुने आशा बढेको छ : गोकर्णराज विष्ट

काठमाडौँ । राजनीतिक घटनाक्रमको अनपेक्षित परिवर्तनसँगै सत्ता गठबन्धनमा हेरफेर भएको छ । संसद्मा कुनैपनि दलको बहुमत नभएको अवस्थामा आपसमा खटपट हुँदा कुनै गठबन्धनमा रहेका दलहरु अर्काे गठबन्धनमा जान सक्ने र सरकार हेरफेर हुनसक्ने कुरालाई सामान्यरुपमा लिनुपर्छ । तुलनात्मकरुपमा नयाँ गठबन्धन विकास, सुशासन र सामाजिक न्यायका लक्ष्यप्राप्ति तथा जनताका समसामयिक समस्याको सम्बोधनका लागि अनुकूल र उचित मानिन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नयाँ सहयात्राका साथ हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) जस्तो जिम्मेवार दल सामेल भएपछि जनतामा आशाको सञ्चार भएको छ । यो सरकार जनताका समस्याको सम्बोधन गर्न सक्षम हुनुपर्छ भन्ने हामी सबैको चाहना रहेको छ ।

संसद्लाई प्रभावकारीरुपमा सञ्चालन गर्ने र जनतालाई सुशासन गर्न अत्यावश्यक पर्ने विधेयक ल्याउन सरकारको सक्रिय भूमिका आवश्यक हुन्छ । गत अधिवेशनमा थोरै विधेयक सदनमा प्रस्तुत भएका थिए । प्रतिनिधिसिभाबाट एउटा मात्रै विधेयक पारित हुन सक्यो । त्यस प्रकारको धिमा गतिले अब मुलुक चल्दैन । एमालेलगायतका अग्रगामी सोच भएका दलहरु सरकारका सामेल भएको र प्रधानमन्त्री दाहालको पनि काम गरौँ भन्ने अठोट हेर्दा अब आपसी छलफलका आधारमा विधेयकहरु प्रशस्त आउनेछन् र पारित हुनेछन् भन्ने आशा गर्न सकिन्छ । विधेयकहरु नभएर सदनले बिजनेस नपाउने खालका कमजोरी अब नहोलान् भन्ने कामना गर्दछु ।

सांसदहरुको मुख्य भूमिका विधायकी नै हो । सदनमा आएका विधेयकमाथि मत जाहेर गर्ने र संशोधन गरी त्यसलाई मूर्तरुप दिनाका साथै जनताका आवाज बुलन्द गर्ने काम सांसदको हो । हामीले जनताका समसामयिक आवाजलाई उठाउन छोड्नु हुँदैन । जनतालाई पर्ने अरु पीरमर्कामा पनि हामी सारथी हुनुपर्छ । यस आधारमा हेर्दा सांसदले विधायिकी भूमिकालाई कम महत्व दिएका छन् भन्न मिल्दैन । सांसदले संसदीय नियमले दिएबमोजिम सदनमा जनताका समस्या सम्बोधनका लागि विशेष प्रस्ताव र सङ्कल्प प्रस्ताव आदिका माध्यमबाट सरकारलाई ध्यानाकर्षण गराउन सक्छन् । त्यो भूमिकमा हामी सधैँ रहनेछौँ । आगामी दिनमा यस भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्छ र यस्ता विषयमा सघन छलफल गरेर जानुपर्छ भन्ने मलाई लागेको छ ।

विकसित र संसदीय अभ्यास भएका कतिपय मुलुकमा सांसदहरुको क्षमता र सूचना विकासका लागि अध्ययन र स्रोतसामग्री व्यवस्थापनका लागि संसदीय सचिवालय र विज्ञ समूहको बलियो प्रबन्ध हुन्छ तर नेपालमा अहिलेसम्म त्यस प्रकारको अनुभव गर्न पाइएको छैन । हामीले जति गरेका छौँ, जति बुझेका छौँ, त्यो आफ्नै मेहेनत र खोजीनितीबाट गरेका छौँ । हाम्रो आफ्नै मेहनत, सम्पर्क र सम्बन्धका आधारमा विषयवस्तुबारे बुझेका छौँ । संसद सचिवालयले विज्ञहरुको परिचालन र अध्ययन–अनुसन्धान गरेको छैन । सांसदहरु आफ्ना खुट्टामा आफैँ उभिएका छन् ।

संविधानको व्यवस्थाअनुसार राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको सन्तुलन र समन्वयमा पनि हामीले सुधार गर्नुपर्नेछ । खासखास समयमा तीन निकायका बीचमा समन्वय नभएको देखिन्छ । संविधानको सीमाभन्दा बाहिर गएर कतिपय काम भइ तिनले समस्या पारेका उदाहरण छन् । त्यसले लोकतान्त्रिक अभ्यासमा तनाव दिएकोछ । त्यसकारण यी अङ्गबीच परस्पर  समन्वय हुनुपर्छ र आफ्नो क्षेत्राधिकारलाई कायम राखेर उनीहरु अघि बढ्नुपर्छ ।

निर्वाचन पूर्वाधार क्षेत्र विकास कोषलाई जोडेर हामी सांसदहरुलाई कतिपयले गलतरुपमा चित्रण गर्ने गरेका छन् । त्यस प्रकारको भाष्य सही होइन । हुनत यो विषय अहिले सर्वाेच्च अदालतमा विचारधीन भएकाले मैले धेरै प्रतिक्रिया दिनु उचित हुँदैन तर निर्वाचन पूर्वाधार क्षेत्र विकास कोषको रकम सांसदले आफ्नो अनुकलतामा खर्च गर्छन् भन्ने टीप्पणी र भाष्य गलत हो । हामीले विद्यमान ऐन र कार्यविधिमा आधारित भएर पहुँच नपुगेका जनता र स्थानमा विकास निर्माणका उचित कार्यक्रम र बजेट जान सकोस् भनेर त्यस कोषको रकमलाई विनियोजन गराउन सहजीकरणको भूमिका निर्वाह गरेका हुन्छौँ । आशा छ, सम्मानित सर्वाेच्च अदालतले यस यथार्थलाई आधार मानेर उपयुक्त व्याख्या गर्नेछ ।

सांसद विष्टको परिचय

नेकपा (एमाले) का सचिव सांसद गोकर्णराज विष्ट गुल्मी क्षेत्र नं. २ बाट निर्वाचन प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । उहाँ हालसम्म तीन पटक सङ्घीय सांसद निर्वाचित भइसक्नुभएको छ । विगतमा ऊर्जा, जलस्रोत तथा सिँचाइ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नुभएका सांसद विष्ट युवासङ्घ नेपालका पूर्व अध्यक्ष पनि हुनुहुन्छ ।

विसं. २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिप्रति आकर्षित उहाँ अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य हुँदै गुल्मी जिल्लाको अध्यक्ष हुनुभएको थियो भने एमालेको तत्कालीन अञ्चल कमिटी हुँदै केन्द्रीय सदस्य, प्रचार विभाग प्रमुख, सङ्गठन विभाग प्रमुख  र युवासङ्घको इञ्चार्ज जस्ता जिम्मेवारी उहाँले सम्हालीसक्नुभएको छ ।

(सांसद विष्टसँग राससका वरिष्ठ समाचारदाता प्रकाश सिलवालले गरेको कुराकानीमा आधारित)

निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्छु : अर्थमन्त्री पुन

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने बताएका छन् । उनले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने कुरामा प्रतिबद्धता व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यसमितिसँग विद्यमान आर्थिक समस्या समाधानको विषयमा सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा बिहीबार भएको छलफलमा मन्त्री पुनले कुनै समुदायप्रति अपराधीजस्तो व्यवहार नगरिने बताए । निजी क्षेत्रमाथि धरपकड भइरहेको प्रसङ्गमा उनले पहिला अनुसन्धान पूरा नगरी थुन्ने वातावरणको अन्त्य गर्न सम्बन्धित निकायसँग समन्वय गरिने बताए ।

“गल्ती गर्नेले सजाय पाउँछ । तर कोही व्यक्तिले गल्ती गर्दैमा पूरै समुदायलाई नराम्रो भन्न हुँदैन, राज्य भनेको नागरिकको सुरक्षा र सेवा दिने निकाय हो”, मन्त्री पुनले भने ।

सो अवसरमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले हालको विद्यमान अर्थतन्त्रको विषयमा ध्यानाकर्षण गराउँदै साना सहर र गाउँसम्म रकम प्रवाह गर्न सरकारले पुँजीगत खर्च बढाउनुका साथै पुनःकर्जा सुविधा विस्तार गर्नुपर्नेमा जोड दिए । सहकारी र लघुवित्तमा देखिएको समस्याले साना व्यवसायी र सर्वसाधारणको हातमा रकम पुग्न नसकेको उनले उल्लेख गरे ।

अध्यक्ष ढकालले भने, “त्यसका लागि सरकार र बैंकमा रहेको रकम सर्वसाधारणको हातमा पुग्ने व्यवस्था गर्नुपर्छ ।” निर्माण व्यवसायीलाई बक्यौता रकम तिर्न पहल गर्न पनि उनले मन्त्री पुन समक्ष आग्रह गरे ।

अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई कोभिड–१९ को समयमा लिएको व्यवसाय निरन्तरता कर्जाको सबै भुक्तानी भइसकेको उदाहरण दिँदै नेपाली व्यवसायी जिम्मेवार रहेको र सरकारले विश्वास गर्नुपर्ने बताए । जुनसुकै पार्टी भए पनि आर्थिक एजेन्डामा एकरुपता हुनुपर्ने माग गर्दै आएको उहाँले अर्थमन्त्री पुनलाई अवगत गराए । अर्थतन्त्र जटिल विषय भएकाले आर्थिक समस्या समाधानका लागि सबै पार्टी र पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष ढकालको भनाइ थियो ।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश खतिवडा सेवा निवृत्त

काठमाडौँ, २४ फागुन : सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा आजदेखि सेवा निवृत्त हुनुभएको छ । सर्वोच्च अदालतका न्यायाधीशको ६५ वर्षे उमेरहदका कारण उहाँले सेवाबाट अनिवार्य अवकास लिनुभएको हो ।

न्यायाधीश खतिवडालाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा अन्य न्यायाधीशहरुले आज बिदाइ गर्नुभयो । न्यायाधीश खतिवडा २०३९ चैत ७ गते न्याय सेवामा प्रवेश गर्नुभएको थियो । सरकारी वकिल समूहबाट न्यायाधीश बन्नुभएका उहाँ २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुनुभएको थियो ।

सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशका रुपमा खतिवडाले २०८० साउन २१ गतेदेखि काम सुरु गर्नुभएको थियो । उहाँले वरिष्ठतम् न्यायाधीशको हैसियतमा न्याय परिषद् सदस्यको जिम्मेवारी समेत निर्वाह गर्नुभएको थियो ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री शाही पदमुक्त

कैलाली, २४ फागुन : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीलाई आज पदमुक्त गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आर्थिक मामिला मन्त्री शाहीलाई पदमुक्त गर्नुभएको हो । शाही नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट प्रदेशको आर्थिक मामिला मन्त्री हुनुभएको थियो । केन्द्रमा भएको सत्ता समीकरणको परिवर्तनसँगै सुदूरपश्चिम प्रदेश सरकारमा यसअघि सहभागी माओवादी केन्द्रका दुई मन्त्री र एक राज्यमन्त्रीलाई पनि केही दिनअघि मात्रै पदमुक्त गरिएको थियो ।

यससँगै अब प्रदेश सरकारमा नेपाली कांग्रेसका मुख्यमन्त्री र दुई मन्त्री तथा नागरिक उन्मुक्ति पार्टीका एक मन्त्री र एक राज्यमन्त्री रहेका छन् । सुदूरपश्चिम प्रदेशको ५३ सदस्यीय प्रदेशसभामा हाल ५२ जना सांसद छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि शाह सरकार अल्पमतमा परेको छ ।

काठमाडौँको तारकेश्वर र टोखालाई जोड्न विष्णुमतीमा पक्की पुल निर्माण हुने

काठमाडौँ, २४ फागुन: काठमाडौँको टोखा नगरपालिका र तारकेश्वर नगरपालिका जोड्न विष्णुमती नदीमा मोटर सञ्चालन गर्न मिल्ने पुल निर्माण हुने भएको छ । टोखा नगरपालिका र तारकेश्वर नगरपालिकाको ५०–५० प्रतिशत लगानीमा टोखा नगरपालिका– ९ र तारकेश्वर नगरपालिका –११ जोड्ने विष्णुमती नदीमा पुल निर्माण हुन लागेको हो ।

मूल्य अभिवृद्धि कर (भ्याट)बाहेक दुवै नगरपालिकाको रु दुई करोड ६८ लाख ३५ हजार पाँच सयको लागतमा निर्माण हुन लागेको उक्त मोटरेबल पुलको आज टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

टोखा नगरपालिकाका प्रमुख अधिकारीले निर्माण गर्न लागिएको पुलले टोखा नगरपालिका र तारकेश्वर नगरपालिकाबीच मित्रवत् सम्बन्ध स्थापित गर्ने बताउनुभयो । तारकेश्वर नगरपालिकाका प्रमुख महर्जनले मोटरेबल पुल निर्माणसँगै तारकेश्वर र टोखाका बासिन्दालाई आवतजावतमा सहयोग पुग्ने बताउनुभयो । उक्त मोटरेबल पुलले काठमाडौँ महानगरपालिका– १६ का बासिन्दा पनि लाभान्वित हुनेछन् ।

टोखा नगरपालिका–९ का वडाअध्यक्ष रामभक्त घिमिरेले २०२२ साल पछिको सबैभन्दा पुरानो बाटोमा पुल निर्माण गर्न पाउँदा खुशी लागेको बताउनुभयो । पुल आगामी मङ्सिरभित्र निर्माण भएर सञ्चालन भइसक्ने उहाँले दाबी गर्नुभएको छ ।

दक्षिण अफगानिस्तानका २४ स्थानमा हतियार भण्डार फेला

अफगानिस्तानको ‘काउन्टर टेरोरिज्म’ प्रहरीले गत एक हप्तामा दक्षिणी प्रान्त हेलमान्डमा २४ स्थानमा हतियार भण्डार फेला पारेको प्रान्तीय प्रहरी कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।बरामद गरिएका हतियारहरूमा ७ थान एकेएम असल्ट राइफल, ६ थान युएस मेड एम १६ असल्ट राइफल, ९ थान पेस्तोल, केही मेसिनगन र ठूलो परिमाणमा गोलाबारुद रहेका छन् ।

विगत एक हप्तामा प्रान्तीय राजधानी लश्कर गाह र छिमेकी ग्रिष्क र नाद अली जिल्लाहरूमा गरिएको शृङ्खलाबद्ध कारबाहीका क्रममा हतियार र गोलाबारुद फेला पारिको विज्ञप्तिमा उल्लेख गरिएको छ।अमेरिकी नेतृत्वको सेना फिर्ता लिएपछि सन् २०२१ को अगस्टमा कब्जा गरेको अफगानिस्तानको विद्रोहीले देशभर ठूलो मात्रामा हतियार बरामद गरेको छ।

झापा गोल्डकप : एन्फा मकवानपुरलाई हराउँदै झापा–११ सेमीफाइनलमा

झापा, २४ फागुन : विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी छैटौँ झापा गोल्डकपमा झापा–११ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको क्वाटरफाइनल खेलमा एन्फा मकवानपुरलाई ५–१ गोल अन्तरले हराउँदैै झापा–११ सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेल प्रारम्भ भएको २४ औँ मिनेटमा आदित्य शाक्यले पहिलो गोल गरेर झापालाई आग्रता दिलाए भने खेलको ६६ औँ मिनेटमा अर्को गोल थपियो । खेलको ८३ औँ मिनेटमा झापाका प्रदीप बुढाथोकीले तेस्रो गोल गरे ।

यस्तै खेलको अतिरिक्त समयमा झापाका लागि बबिन बोहोराले गोल गरेका थिए । अतिरिक्त समयमा नै झापाका लागि आशिष चापागाईंले गोल गरेका हुन् । झापाका लागि शाक्य, विदेशी खेलाडी हेरिसन, बुढाथोकी, बोहोरा र चापागाईंले एक–एक गोल गरेका हुन् ।

खेलमा मकवानपुरले सान्त्वना एक गोल फर्कायो । खेलको ७९ औँ मिनेटमा मकवानपुरका ओस्कारले गोल गरे । अब पर्सी शनिबार झापा–११ चर्चब्वाइजसँग भिड्नेछ । आजको खेलमा समिराज थोकर म्यान अफ द म्याच भए । उनले नगद रु ११ हजार प्राप्त गरेका छन् ।

भोलिको खेल झापा गोल्डकप चारपटक जितेको त्रिभुवन आर्मी र एपीएफ फुटबल क्लबबीच हुनेछ । विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ एफसी, चर्च ब्वाइज र झापा ११ अन्तिम चारमा पुगेका छन् ।

रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फर्काउन विदेशमन्त्री लाभारोभलाई अनुरोध

काठमाडौँ, २४ फागुन : नवनियुक्त उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली नागरिकका समस्या, ज्यान गुमाएकाको शव स्वदेश ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गर्न आफ्ना रुसी समकक्षीसँग आग्रह गर्नुभएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले रुसी महासङ्घका विदेशमन्त्री सर्गेइ लाभरोभसँग आज भएको टेलिफोन वार्तामा त्यस्तो आग्रह गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कुराकानीका क्रममा रुसका विदेशमन्त्रीले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीलाई परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गर्नुभएकामा बधाई दिँदै शुभकामना व्यक्त गर्नुका साथै व्यापार, पर्यटन, संस्कृतिलगायत विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताउनुभएको थियो ।

दुवै परराष्ट्रमन्त्रीले रुसी सेनामा रहेका नेपाली नागरिकको समस्यालगायत नेपाल–रुस सम्बन्धका विविध पक्षमा पनि छलफल गर्नुभएको उक्त मन्त्रालयले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले क्षतिपूर्तिको प्रक्रिया प्रारम्भ गरेकामा रुसी महासङ्घका विदेशमन्त्रीलाई धन्यवाद दिँदै त्यसलाई चाँडोभन्दा चाँडो टुङ्ग्याउन आग्रह गर्नुभएको थियो भने विदेशमन्त्री लाभरोभले नेपाली पक्षको चासो सम्बोधन गर्न आफू नेतृत्वको मन्त्रालयले सहयोग गर्ने आश्वासन दिनुभएको थियो ।

रामबहादुरको लोभलाग्दो कागती खेती, १० लाखभन्दा बढी आम्दानी गर्दै

पर्वत, २४ फागुन : उमेरले ७० वर्ष पुगिसकेको छ । आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता दिलाउन स्थानीय वडा कार्यालयले सिफारिस गरिसकेको छ । तर पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका ७० वर्षीय रामबहादुर पौडेल क्षेत्रीको जोश जाँगर भने २०÷२२ वर्षे तन्नेरीको जस्तै छ । बिहान उठेदेखि राति अबेरसम्म उहाँ कागती बगानमा मेहनत गरिरहनुहुन्छ । घर वरिपरि रहेको २० रोपनी क्षेत्रफलमा लगाइएका कागती गोडमेल गर्ने, काँटछाट, मल बीउ हाल्ने र फल टिप्ने तथा बेच्ने काममा उहाँलाई भ्याइनभ्याइ छ ।

कटुवाचौपारी धानबालीका लागि जिल्लाकै अब्बल भूमि हो । समथर भुभागमा रहेको यो ठाउँ तराईजस्तै छ । तर उहाँले विगत १० वर्षदेखि धान रोप्न छाडेर एक हजार बिरुवा कागती लगाउनुभयो । नगदे बालीको रुपमा रहेको कागती र जिल्लामै पहिलोपटक व्यावसायिक रुपमा आफैँले थालेको कुरिलो खेतीबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

लामो समय काठमाडौँमा बसेर व्यापार गर्नुभएका क्षत्री ६० वर्षको उमेरमा काठमाडौँ छाडेर गाउँ फर्किनुभएको थियो । गाउँ फर्केपछि व्यावसायिक रुपमा कृषि पेसामा लाग्नुभएको हो । काठमाडौँ बस्ने क्रममा बोटानिस्ट डा खेमराज भट्टराईसँग भेट भयो । डा भट्टराईले कटुवाचौपारीको भौगोलिक अवस्थाका बारेमा रामबहादुरसँग सोधपुछ गरेपछि त्यहाँको माटोमा केही गर्न प्रेरणा दिनुभयो । पुर्खाले आर्जेको माटोमा आफैँ नङ्ग्रा खियाउने अठोटका साथ रामबहादुरले काठमाडौँको व्यवसाय छाडेर गाउँमा फर्किनुभयो ।

विसं २०७० मा रामेछापको मन्थलीबाट बिरुवा ल्याएर रोप्नुभएका क्षत्रीको बगैँचामा कागतीका करिब एक हजार बोट छन् । माछापुच्छ«े कागती उत्पादन फार्म सञ्चालन गरेर व्यवसाय थाल्नुभएका क्षत्रीले सुरुमा बिरुवा हुर्कनको लागि समय लागेको, फाटफुट रूपमा बिक्री भएको भए पनि पछिल्ला तीन वर्षयता ४० क्विन्टलको हाराहारीमा कागती बिक्री वितरण गर्दै आउनुभएको छ । उहाँले प्रतिकिलो रु दुई सय खुद्रा र होलसेलमा रु एक सय ८० मा बिक्री गर्ने गरेको बताउनुभयो । अहिले बजारको समेत समस्या नरहेको र घरबाटै बिक्री हुने उहाँले बताउनुभयो ।

गत वर्ष भने असिनाले कागतीमा क्षति गरेकाले यस वर्ष उत्पादन केही घटेको उहाँको भनाइ छ । आफ्नो बगैँचामा कुनै प्रकारको रासायनिक पदार्थ (विषादी मल) को प्रयोग नगरेको बताउने क्षत्रीले कागतीका बिरुवासमेत उत्पादन गर्न थाल्नुभएको छ । काँचो रस बिक्री नभए पकाएर चुक बनाएर बेच्ने । यसको बोक्राबाट स्वादिलो क्यान्डी बन्छ । उहाँले गत वर्ष मात्रै कागतीका चार हजार बिरुवा बिक्री गर्नुभएको थियो । यस वर्ष १४ हजार बिरुवा तयार गरेको उहाँले बताउनुभयो । कृषि ज्ञान केन्द्र पर्वतले कागतीको स्रोत केन्द्रको रुपमा उहाँको फार्मलाई छनोट गरेको छ ।

कागतीसँगै क्षत्रीले २०७५ सालबाट कुरिलो खेती सुरु गर्नुभएको छ । कागतीका बोटका बीचमा रोप्दा पनि हुने भए पछि उहाँले कुरिलोका लागि नयाँ जग्गा प्रयोग गर्नुपरेन । कुरिलोको डेढ किलो बीउलाई नौ हजारमा ल्याएका उहाँले त्यो बीउबाट पाँच हजार बिरुवा तयार बनाउनुभयो । उहाँको बगैँचामा अहिले कुरिलोका १५ हजार बिरुवा पुगेका छन् भने यही वर्ष १० हजार बिरुवा थप गर्ने योजना रहेको क्षत्रीले बताउनुभयो । कुरिलो बिक्री गरेर प्रत्येक छ महिनामा सन्तोषजनक आम्दानी भइरहेको उहाँको भनाइ छ । सुरुमा आयुर्वेदिक औषधि निर्माण गर्ने काठमाडौँका कम्पनीमा कुरिलोको जरा बिक्री गरेका उहाँले आजभोलि भने कुरिलोको टुसा घरबाटै बिक्री गर्दै आउनुभएको छ । जति धेरै टुसा निकाल्न सक्यो उति नै नयाँ टुसा पलाउँदै जाने भएकाले बगैँचामा जति समय दिन सक्यो उति नै धेरै आम्दानी बढ्दै जाने उहाँको भनाइ छ ।

पोखरा–काठमाडौँका बजारमा धेरै मूल्यमा टुसा बिक्री हुने गरेको भए पनि आफूले प्रतिकिलो रु एक हजारका दरमा बिक्री गर्दै आइरहेको पौडेलले बताउनुभयो । कागतीलाई गरेको गोडमेलले नै कुरिलोको पनि स्याहार हुँदा दुवै खेती फस्टाएकाले पनि आफूलाई यसमा प्रेरणा मिलिरहेको उहाँले बताउनुभयो । काममा उहाँलाई श्रीमती र छोराले पनि सघाउँदै आएका छन् । उहाँले जमिन बाँझो राख्नेलाई यस्तै नगदे बाली लगाएर आम्दानी गर्न सुझाव दिनुभयो ।

पौडेलले गत वर्षदेखि रु ८० हजारको लगानीमा दश वटा मौरीका घारबाट मौरीपालन पनि सुरु गर्नुभएको छ । कागतीको फूल मौरीका लागि उपयुक्त हुने र कागतीको परागसेचनका लागि मौरी उपयुक्त हुने भएकाले मौरीपालन पनि सुरु गरेको उहाँले बताउनुभयो । मौरीका लागि मात्रै भनेर कुनै नयाँ मिहिनेत गर्नु नपरेको र महको बजार र मूल्य राम्रो भएकाले पनि मौरी पाल्न थालेको पौडेलले बताउनुभयो ।

क्षत्रीको उत्पादनलाई जोगाउन गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले ५० प्रतिशत अनुदानमा रु १० लाख ‘कोल्ड स्टोर’ निर्माणका लागि सहयोग गरेको छ । क्षत्रीले घर नजिकै कोल्ड स्टोर निर्माण गरेर उत्पादित कागती भण्डारण गर्न थाल्नुभएको छ । बेमौसममा बिक्री गर्नका लागि कागती र मुस्ताङबाट स्याउ खरिद गरेर भण्डारण गरेको उहाँले बताउनुभयो । खेतबारीमा नियमित परिश्रम गर्ने हो भने बुढेसकालमा पनि अरुको भर पर्नुपर्दैन उहाँले भन्नुभयो, “एकातिर स्वास्थ्य राम्रो हुने, अर्कोतिर आम्दानी पनि हुने ।” उहाँले आफूले थालेको व्यवसायलाई अझै बढाउँदै जाने सोच रहेको बताउनुभयो ।

टीकापुरमा लु तथा शीतलहरको पूर्वकार्यविधि बन्दै

टीकापुर (कैलाली, २४ फागुन : कैलालीमा हरेक वर्ष गर्मीमा लु र हिउँदमा शीतलहरले नागरिकलाई हैरानी हुन्छ । गर्मीमा यहाँका नागरिकको दैनिकी कष्टकर हुन्छ भने चिसोमा शीतलहरका कारण कामकाजमा मात्र समस्या होइन खेतीपातीमासमेत असर पार्छ । लु र शीतलहरका कारण हुने क्षति न्यूनीकरणका लागि अब टीकापुर नगरपालिकाले योजना बनाएर काम गर्ने भएको छ ।

विपद् भनेपछि बाढीमात्र सम्झने यहाँका पालिकाले विपद्का अन्य क्षेत्रमा काम गर्न थालेका छन् । टीकापुर नगरपालिकाले पूर्वानुमानमा आधारित लु तथा शीतलहरको पूर्वकार्य व्यवस्थापन कार्यविधि निर्माण थालेको छ । कार्यविधिको मस्यौदामा विपद् व्यवस्थापन समितिका सदस्य र जनप्रतिनिधि तथा सरोकारवालाबीच छलफल भएको छ ।

गर्मीमा लु तथा जाडोमा शीतलहरले धेरै क्षति हुने भएकाले पूर्वकार्य तथा राहतमा सहजता होस् भनी कार्यविधि निर्माण थालिएको हो । मौसम पूर्वानुमानका आधारमा लु तथा शीतलहरको प्रभाव न्यूनीकरण गर्न र पूर्वकार्यका कार्य गर्न कार्यविधि भएमा सहज हुने विपद् शाखा प्रमुख निर्मला चौधरीले बताउनुभयो ।

“हामीसँग बाढीको पूर्वकार्य कार्यविधि यसअघि नै बनिसकेको छ”, चौधरी भन्नुहुन्छ, “अब हामीले विशेष गरी चार क्षेत्रलाई प्राथमिकता दिएर कार्यविधि बनाएर काम गर्न खोजेका छौँ, आगलागी, खडेरी, जङ्गली जनावरको जोखिमबाट बच्न कार्यविधि बनाएर काम गर्ने तयारीमा छौँ ।”

कार्यविधिमा विपद्को जोखिम, प्रभाव पार्ने क्षेत्र, विपद्को प्रभावको अवस्था, अति सङ्कटासन्न वर्ग छुट्याइएको छ । कार्यविधि भएमा लक्षित वर्गको तथ्याङ्क व्यवस्थापनमा सहज हुने र प्रतिकार्यका कार्यमा सहज हुने कार्यपालिका सदस्य दीपक निसानीले बताउनुभयो ।

“योजना भएमा बजेट व्यवस्था गर्न सकिन्छ, विपद्का समयमा विषयगत समिति आफैँ सक्रिय हुने भएकाले पालिकालाई सहज हुन्छ”, निसानीले भन्नुभयो, “विपद् भनेको बाढी मात्र होइन, हाम्रो यहाँ बाढीभन्दा बढी कृषिमा क्षति शीतलहर र लु ले हुने गरेको छ ।”

मस्यौदाका परामर्शदाता दिनेशचन्द्र जोशीले बाढी मात्र विपद् हो भन्ने बुझाइ परिवर्तन हुँदै गएको बताउनुभयो । “यहाँ विपद्, विपद् शाखा भनेपछि बाढीको जोखिम न्यूनीकरणमा मात्र काम भएका छन्”, उहाँ भन्नुहुन्छ, “अन्य विपद्मा पनि काम गर्नुपर्छ, शीतलहर, लु, आगलागी, खडेरी, जङ्गली जनावरको असरजस्ता धेरै विपद्का क्षेत्रमा पालिकाले काम गर्नु आवश्यक छ ।”

मुग्लिन–पोखरा सडक विस्तार : दमौलीका ५० घरधनीले बुझे मुआब्जा

तनहुँ, २४ फागुन: मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत तनहुँ सदरमुकाम दमौलीका ५० घरधनीले पहिलो किस्तावापतको मुआब्जा बुझेका छन् । सो क्षेत्रमा कूल ७० वटा घर भत्काउनुपर्नेछ । पहिलो किस्ता वापतको मुआब्जा बुझ्ने १३ घरधनीले आफैले घर भत्काउन सुरु गरेका छन् ।

पृथ्वीराजमार्ग सडकअन्तर्गत पूर्व र पश्चिम गरी दुई खण्डमा सडक विस्तार भइरहेको छ । हालको पूर्वी खण्डमा ५१ प्रतिशत र पश्चिम खण्डमा १७ दशमलव पाँच प्रतिशत भौतिक प्रगति भएको छ । डिजाइनअनुरुप सडक दायाँबायाँ २३÷२३ मिटर चौडा हुनेछ । दमौली र डुम्रे बजार क्षेत्रमा छ लेनको सडक बन्नेछ । राजमार्गका न्य क्षेत्रमा भने चार लेनको सडक बनाइनेछ ।

आयोजनाको पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटर दूरीमा कालोपत्र गरिएको मुग्लिन–पोखराको पूर्वी खण्डका इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिनुभयो । उक्त सडकअन्तर्गत चार लेनको बाह्र किमी र दुई लेनको आठ किमी सडक कालोपत्र गरिएको हो ।

पूर्वी खण्डमा ४१ दशमलव सात किलोमिटर दूरी छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डका लागि रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो ।

उक्त खण्डको सम्पन्न गर्नुपर्ने म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । कोभिडको समयमा निर्माण स्थगित भएपछि नेपाल सरकारबाट छ महिना म्याद थप गर्ने प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी पश्चिम सडक खण्डअन्तर्गत दुई लेनको सडकमा साढे पाँच किमी दूरीमा अस्फाल्ट प्रविधिको कालोपत्र कार्य गरिएको छ । उक्त सडक खण्डअन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दूरी रहेको छ । उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले ठेक्का पाएको छ ।

पश्चिम खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) का इञ्जिनियर नारायण पौड्यालले जानकारी दिनुभयो । विसं २०७८ भदौदेखि काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ ।

वातावरण संरक्षणमा महिला सहभागी भएका तस्बिर उत्कृष्ट सूचीमा

काठमाडौँ, २४ फागुन : विश्व वन्यजन्तु कोष नेपालले महिलाको नेतृत्वमा वातावरण संरक्षण गरेका उत्कृष्ट सूचीमा परेका तीन तस्बिरलाई सम्मान गरेको छ ।

से फोक्सुण्डो गाउँपालिका–५ को बिजेर गाउँमा महिलाले स्थानीय मुखपोरम खोला सफा गर्दै गरेको, इलामको दोबाटोको जङ्गलमा हाब्रेको संरक्षणमा जुटेका महिला र बर्दियाको सामुदायिक वनमा थारु समुदायका महिला भोजभतेरका लागि मौनीको पातको दुनाटपरी प्रयोग गर्दै गरेको तस्बिर उत्कृष्ट सूचीमा परेका हुन् ।

कोषको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा उत्कृष्ट सूचीमा परेका से फोक्सुण्डोको तस्बिर स्थानीय महिला मिङ्मार ल्हामो गुरुङ, इलामको फोटोग्राफर रसिक महर्जन र बर्दियाको विद्यार्थी प्रतिमा थारुले लिनुभएको जानकारी दिइयो ।

महिलाको नेतृत्वमा वातावरण संरक्षण गरेका तस्बिरको प्रतिस्पर्धाका लागि आह्वान गरिएको र उत्कृष्ट तस्बिरलाई अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा प्रमाणपत्रले सम्मानित गरिएको कोषका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले जानकारी दिनुभयो । प्रतिस्पर्धामा देशभरबाट फोटो पत्रकार र स्थानीयका गरी ५० भन्दा बढी तस्बिरबीच प्रतिस्पर्धा भएको र छनोट समितिले विभिन्न मापदण्डका आधारमा छनोट गरेको जनाएको छ ।

साथै राष्ट्रिय प्रतिनिधि डा गुरुङले महिलाको दर्दनाक अवस्था र चित्रण मात्र गरिने परिपाटीको अन्त्य गर्नुपर्ने उल्लेख गर्दै महिलाको नेतृत्वमा भएका राम्रा र प्रेरणादायी कामको प्रचार गर्नसके वातावरण संरक्षणमा थप योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो ।

एमसिए–नेपालले अघि बढायो १८ किमी लामो सीमापार विद्युत् प्रसारण लाइनको काम

काठमाडौँ, २४ फागुन : एमसिए–नेपालले विद्युत् प्रसारण आयोजनाअन्तर्गत निर्माण गर्न लागेको ३१५ किमी लामो प्रसारण लाइन सञ्जालबाट १८ किमी लामो बुटवल–गोरखपुर विद्युत् प्रसारण लाइन खण्डलाई छुट्याएर प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको छ ।

एमसिए–नेपालको सञ्चालक समितिको मङ्गलबार बसेको ४०औँ बैठकले सो निर्णय गरेको एमसिए–नेपालले जनाएको छ । यस सीमापार खण्डसम्बन्धी कामलाई तीव्रता प्रदान गर्दा नेपाल र भारतबीचको सीमापार ऊर्जा व्यापार सम्झौताअन्तर्गतको दायित्व निर्वाह गर्न सहयोग पुग्ने ठहर सञ्चालक समितिले गरेको छ ।

सञ्चालक समितिको बैठकपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव तथा प्रवक्ता नवीनराज सिंहले नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणका लागि यस खण्डको गम्भीरतापूर्ण महत्वलाई दृष्टिगत गर्दै सञ्चालक समितिले उक्त निर्णय गरेको बताउनुभयो । यस खण्डलाई बृहत् प्रसारण लाइन सञ्जालबाट छुट्याउँदा खरिद प्रक्रिया छिटो सम्पन्न गर्न सकिने र भारतमा निर्माणाधीन प्रसारण लाइनसँग जोड्नका लागि यसको निर्माण २०८३ साल जेठभित्रै सम्पन्न हुने गरी सुनिश्चित गर्ने उहाँले उल्लेख गर्नुभयो ।

यो सीमापार प्रसारण लाइन विद्युत् प्रसारण आयोजनाको महत्वपूर्ण अंश हो र यसले नेपालको आवश्यकता पूरा गर्न सीमापार विद्युत् व्यापारलाई सहजीकरण गर्ने छ । नयाँ बुटवल–गोरखपुर सीमापार प्रसारण लाइन निर्माण कार्यको व्यवस्थापन गर्ने वित्तीय तथा स्वामित्व संरचना सम्बन्धमा नेपाल सरकार तथा भारत सरकारबीच २०७६ साल असोजमा सहमति भएको थियो ।

बाँकी २९७ किमी प्रसारण लाइनका सन्दर्भमा, निर्धारित समयावधिभित्रै उक्त प्रसारण लाइनको निर्माण सम्पन्न गर्न डिजाइन–बिल्ड निर्माण कम्पनीको सेवा खरिदका लागि एमसिए–नेपालले काम अगाडि बढाइरहेको छ । एमसिए–नेपालले प्रसारण लाइन समयमै, बजेटभित्रै र नेपाल सरकार एवं एमसिसीको वातावरणीय तथा सामाजिक मापदण्डअनुसार निर्माण हुने सुनिश्चित गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

काठमाडौँ महानगरले पुनःसुरु गर्‍यो स्रोतमै फोहर वर्गीकरण

काठमाडौँ, २४ फागुन : काठमाडौँ महानगरपालिकाले स्रोतमा नै फोहर वर्गीकरणको काम पुनःसुरु गरेको छ । कामपा–१० मा आजदेखि वडामा उत्पादन हुने सबै किसिमका फोहर स्रोतमा नै वर्गीकरणको अभ्यास थालनी गरेको हो ।

करिब दुई वर्षअघि कामपाले ३२ वटै वडाबाट स्रोतमा फोहर वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडामा लाने काम सुरु गरे पनि प्रभावकारी नभएपछि आजदेखि पुनः सुरु गरेको हो ।

लामो समयदेखि कामपा वडा नं १० को फोहर सङ्कलन गरिरहेको निजी संस्था एक्सन वेष्ट र मेट्रो सिटी वेष्ट म्यानेजमेन्टलाई परिचालन गरेर अभ्यास थालिएको कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्रोतमा वर्गीकरण गरिएका फोहर सङ्कलन गर्ने सवारीसाधनमा कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै राख्न कोठा बनाइएका छन् । “स्रोतमा फोहर छुट््याएर कुहिने फोहरलाई घरमै मल बनाउन प्रोत्साहन गरेका छौँ”, प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

कामपाले यस वडामा मात्रै नभई ३२ वटै वडामा क्रमिकरुपमा स्रोतमा नै फोहरको वर्गीकरण र व्यवस्थापनको तयारी गरेको छ । अब चाँडै २९ वडामा उक्त कार्य सुरु गरिने उहाँको भनाइ छ ।

घरेलु फोहरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने अभ्यासलाई वडा नं २७ मा माघ २१ देखि थालिएको हो । वडामा घरघरबाट वर्गीकरण गरिएको फोहर छुट्टाछुट्टै सङ्कलन गर्ने गरिएको छ । कुहिने फोहरलाई टेकु ट्रान्सफर स्टेशनमा ल्याएर जैविक मल बनाउने कार्य कामपाले सुरु गरिसकेको छ ।

के हो, फोहर वर्गीकरण ?

“भान्छामा कुहिने र नकुहिने गरी दुई खालका फोहर निस्कन्छन् । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्नु वर्गीकरण हो । नकुहिने फोहर उत्पादक आफँैले बेच्न सक्छन् । कुहिने फोहर आफैँले पनि मल बनाउन सकिन्छ”, विभागका प्रमुख श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार मल बनाउन सकिएन भने कामपाको फोहर सङ्कलन गर्न आएको सवारी साधनमा राखेर पठाउन सकिन्छ ।

तरकारी (साग सब्जी), बढी भएको खानेकुरा, माछा मासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफूलका बोक्रा, खानेकुरा केलाउँदा आएको वस्तु, रुखका पातलगायत कुहिने फोहर हुन् ।

त्यस्तै प्लाष्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको ब्याग, बोतलहरु, फलामलगायत वस्तु नकुहिने फोहर हुन् ।

यससँगै सेनेटरी प्याड, डाइपर, विषादीको खाली बोटल, म्यान नाघेका औषधि, मास्क, व्यक्तिगत सुरक्षा पोसाक (पिपिइ), पञ्जा, फुटेका सिसा, घर आँगल बढार्दा आएको धुलो तथा माटो पनि फोहरका रुपमा सङ्कलन हुन्छ । हिजोआज सहरी क्षेत्रमा सेनटरी प्याडभन्दा औषधि र डाइपरजन्य फोहरको मात्रा बढ्दै गएको छ । यस्तो फोहर कुहिने र नकुहिने फोहर राख्ने भाँडाको नराखी अर्को छुट्टै भाँडामा राख्नुपर्ने कामपा वातावरण व्यवस्थापन विभागको भनाइ छ ।