`

महानगर प्रमुख दाहाल र बेलायतका उपसभामुख भेटवार्ता

चितवन, २४ फागुन : भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका उपसभामुख निजेल इभान्ससँग भेटवार्ता गर्नुभएको छ । एक कार्यक्रमका सिलसिलामा हाल बेलायत रहनुभएका दाहाल र उपसभामुख निजेलबीच लण्डनमा आज भेटवार्ता भएको हो ।

दाहालले दिनुभएको जानकारीअनुसार भेटका क्रममा वर्षौंदेखिको नेपाल–बेलायत सम्बन्ध तथा ब्रिटिस सेनामा सेवा गरिरहेका गोर्खा सैनिकलगायतका विषयमा कुराकानी भएको थियो । त्यसअवसरमा दुई देश र जनताजनताबीचको ऐतिहासिक सम्बन्धबारे छलफल भएको पनि उहाँले जानकारी दिनुभयो । सो अवसरमा ‘भरतपुर भ्रमण वर्ष २०२४’ मा सहभागी हुन नेपाल आउन प्रमुख दाहालले उपसभामुख निजेललाई निमन्त्रणा गर्नुभएको थियो ।

भरतपुर महानगरपालिकाल सन् २०२४ लाई ‘घुमौँ भरतपुर’ नारासहित भरतपुर भ्रमण वर्षकारुपमा मनाइरहेको छ । सो भेटपश्चात् निजेलले बेलायती संसद्को इतिहासको अध्ययन गर्नुका साथै संसदीय गतिविधि र संसद् भवनको अवलोकन गर्नुभएको दाहालले जानकारी दिनुभयो ।

धादिङ बस दुर्घटना अपडेट : हराइरहेका दुई जनाको शव फेला

मलेखु (धादिङ), २४ फागुन : धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको यात्रु बस दुर्घटनामा हराइरहेका तीनमध्ये दुई जनाको शव फेला परेको छ ।

कपिलवस्तुको भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नं को बस बुधबार बिहान त्रिशूली नदीमा खस्दा हराइरहेका स्याङ्जाको वालिङ नगरपालिका–९ का विराज गैरे र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का नर्मदा सुवेदीको शव आज फेला परेको हो । योसहित दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।

गैरेको शव दुर्घटनास्थलभन्दा करिब दुई सय मिटर तल र सुवेदीको शव दुर्घटनास्थलबाट करिब एक किलोमिटर टाढा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गोताखोर टोलीले खोजी गर्ने क्रममा दुवै जनाको शव फेला पारेको हो ।

बसमा सवार प्रकाश पाठक अझै हराइरहेका छन् । उनको खोजी कार्य जारी छ । सो दुर्घटनामा ३९ यात्रु घाइते भएका थिए ।

चौधरी पार्टीको अध्यक्ष हुन नमिल्ने निर्वाचन आयोगको निर्णय

काठमाडौँ, २४ फागुन : निर्वाचन आयोगले सर्वाेच्च अदालतबाट ज्यान मुद्दामा दोषी ठहर गरिएका रेशमलाल चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुन अयोग्य हुने व्याख्या गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीले गत पुस २७ गते कैलालीमा महाधिवेशन गरी साविककी रञ्जिता श्रेष्ठको अध्यक्षतामा रहेको केन्द्रीय समितिमा चौधरीलाई अध्यक्ष घोषणा गरेकामा आयोगले त्यसलाई अद्यावधिक गर्न अस्वीकार गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दलसम्बन्धी ऐनले तोकेको योग्यताबमोजिम अदालतको फैसलाका आधारमा चौधरी दलको अध्यक्ष हुन योग्य नहुने निर्णय गरिएको जानकारी दिनुभयो ।

कैलालीको टीकापुरमा २०६२ सालमा सात सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी भएको घटनामा चौधरीलाई अदालतले जन्मकैदको सजाय तोकेको थियो । गत जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद मिनाहा पाइ चौधरी रिहा हुनुभएको थियो ।

खरानीटार–दोर्खुखोला सडक निर्धारित समय अगावै पूरा

त्रिशूली (नुवाकोट), २४ फागुन : नुवाकोटको तादी गाँउपालिका–३ स्थित ‘खरानीटार–दोर्खुखोला सडक योजना’को काम लक्ष्यभन्दा एक महिना अगावै सम्पन्न भएको छ । तादी गाउँपालिकासँग भएको सम्झौता अनुुसार गत मङ्सिरदेखि काम सुरु गरेर आगामी चैत मसान्तसम्ममा पूरा गर्नुपर्ने थियो । तर सो सडकको काम फागुन तेस्रो साता नै म्पन्न भएको छ ।

रोहना कन्स्ट्रक्सनमार्फत गरिएको उक्त सडकको स्तरोन्नतिको काम तोकिएको गुणस्तर अनुसारनै भएको अनुगमनका क्रममा देखिएको तादीका उपाध्यक्ष सञ्जु प्याकुरेलले जानकारी दिनुभयो । पालिकाको नियमित अनुगमन, निर्माण व्यवसायीको इमान्दारिताको साथ काममा सक्रियता र सरोकारवाला उपभोक्ताको सहयोगले लक्ष्य अगावै काम पूरा भएको छ ।

सडक स्तरोन्नतिका लागि गाउँपालिकाले रु एक करोड १२ लाख लागतको बोलपत्र आह्वान गरेको थियो । उक्त योजना रु ७५ लाख ९१ हजारमा सम्पन्न भएको उपाध्यक्ष प्याकुरेलले बताउनुभयो । निर्माण कम्पनीका प्रतिनिधि प्रदीप शर्माले समयमै काम सम्पन्न भएकामा खुसी व्यक्त गर्नुभयो । तादी गाँउपालिका–३ खारनीटारबाट दोर्खुखोला हुदै तादी–१ उर्लेनीसम्म पुग्ने उक्त सडकअन्तर्गत चालु आर्थिक वर्ष २०८०÷८१ मा करिब छ किलोमिटर सडकको स्तरोन्नति गरिएको छ ।

सडक स्तरोन्नतिपछि दुर्गम उर्लेनी र लच्याङका बासिन्दालाई पालिकाको केन्द्र खरानीटारहुदँै सदरमुकाम विदुर र राजधानी काठमाडाँै आउजाउ गर्न सहज बनाएको छ ।

बागमती प्रदेश सरकार र तादी गाउँपालिकाको सयुक्त लगानीमा विनियोजित बजेटबाट उक्त कार्य पूरा भएको हो । खरानीटार–दोर्खुखोलासम्मको सडकको स्तरोन्नति भएसगैँ उर्लेनी र लच्याङसम्म जोड्ने लक्ष्य लिएको गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले जानकारी दिनुभयो । दोर्खुखोलामा ४१ मिटर लामो पक्की पुल निर्माण सम्पन्न भएको छ ।

३३७ जनालाई ठगेको अभियोग लागेका तामाङद्वयलाई थुनामा राख्न आदेश

काठमाडौँ, २४ फागुन : वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार कसुरमा विकास बाइवा भन्ने सुजन तामाङ र अर्जुन तामाङ भन्ने कर्मा तामाङ पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

न्यायाधिकरणका अध्यक्ष कृष्ण गिरी, सदस्यद्वय निशा बानियाँ, उद्धबप्रसाद पुडासैनीको इजलासले निजहरूविरुद्ध तीन सय ३७ जनाको किटानी जाहेरी परेको तथा रु पाँच करोड ५० लाख भन्दाबढी रकम हिनामिना गरेकाले पुर्पक्षका लागि पठाउने आदेश गरेको हो । यूरो विइङस एजुकेसन कन्सल्ट्यान्सीको नाउँमा तामाङद्वयले वैदेशिक रोजगारीमा माल्टा, क्रोएसिया, क्यानडा, पोल्याडलगायत देशमा पठाइदिन्छौँ उक्त रकम ठगी गरेका थिए ।

तमाङद्वयले वैदेशिक रोजगारीमा नपठाएपछि वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ बमोजिम कारबाही गरि पाउँ भनी लक्ष्मण कटुवालसमेत तीन सय ३७ जनाको किटानी जाहेरी परेकामा अनुसन्धानको क्रममा कागज गर्ने इन्द्रमाया गुरुङ समेतले जाहेरी दिनुभएको थियो ।

न्यायाधीकरणले यूरो विइङस एजुकेसन कन्सल्ट्यान्सी विकास वाइवाको नाउँमा दर्ता भएको तर वैदेशिक रोजगार व्यवसाय गर्ने इजाजतपत्र नलिएको पाइएको छ । विदेश जानका लागि प्रक्रियामा पैसा लाग्ने भन्दै सानिमा विकास बैंक र एनएमबी बैंकको खातामा रु पाँच करोड ५१ लाख १४ हजार पाँच सय १० जम्मा गर्न लगाइएको पीडितहरूले बयान दिएका थिए ।

आदेशमा “अभियोगमा उल्लेखित दसीको रुपमा दाखिला हुन आएका वा १८ च ३५१४ नम्बरको क्रेटा गाडी र बा १५ च ४१९२ नम्बरको टकसन गाडीसमेत हस्तान्तरण नपाउने गरी रोक्का राख्न सम्बन्धित यातायात कार्यालयमा लेखी पठाइ उक्त गाडी यस न्यायाधिकरणको जिन्सी खातामा आम्दानी बाँधी सुरक्षित राख्नू, ल्यापटप, मोबाइलसमेतका जिन्सी समानको आम्दानी बाँध्नू र अभियोग साथ दाखिल हुन आएको नगद रकम धरौटी आम्दानीमा बाँध्नू ।” पीडितको उजुरीपछि नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले ती गाडीलाई नियन्त्रणमा लिएको छ ।

अदालतले उक्त मुद्दामा मिसिल संलग्न किटानी जाहेरी दरखास्त इन्द्रमाया गुरुङ समेतले मौकामा गरेको कागज, जाहेरवाला विजयकुमार तिमिल्सिना समेतले गरिदिएको सनाखत मुचुल्का, प्रतिवादीको बैंक खातामा रकम जम्मा भएको देखिने बैंक भौचर, बैंक स्टेटमेन्टले उनीहरू निर्दोष हुन् भन्न सकिने अवस्था नरहेको ठहर गरेको छ ।

आदेशमा भनिएको छ, “पीडितको सङ्ख्या, कसुरको बिगो र प्रतिवादीबाट हुनसक्ने थप जोखिम विश्लेषणपछि प्रमाण बुझ्दै जाँदा ठहरबमोजिम हुनेगरी प्रतिवादीलाई मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ६७ बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी आदेश पर्चा गरिदिएको छ ।” गरिएको छ ।

आदेशमा अदालतबाट अन्तिम भएको फैसला कार्यान्वनलाई सहज र प्रभावकारी बनाउने, मुद्दाको कारबाहीको क्रममा प्रतिवादीबाट प्रमाण लोप हुनबाट जोगाउने, अभियुक्तप्रतिको सामाजिक आक्रोश कम गर्ने, मुद्दाको कारबाहीको क्रममा अभियुक्तको उपस्थितिलाई सुनिश्चित गर्ने, अपराधबाट पीडित बन्न पुगेका पक्षलाई न्यायको अनुभूति दिलाउनुपर्ने उल्लेख गरिएको छ ।
आदेशमा भनिएको छ, “अभियुक्त स्वयम्को सुरक्षाको प्रत्याभूति दिने, मुद्दाको कारबाहीको क्रममा पीडित तथा साक्षीलाई हुनसक्ने सम्भावित जोखिमलाई कम गर्ने गरी पीडित तथा साक्षीको सुरक्षा गर्ने र अभियुक्तलाई पुनः अपराध गर्नबाट रोक्ने जस्ता थुनछेकका उद्देश्यलाई विचार गरी थुनछेकको आदेश गर्नुपर्ने हुन आउँछ ।”

चिनियाँ लगानीका कारण पदबाट बर्खास्त गरिएको श्रीलङ्काका पूर्वराष्ट्रपतिको दाबी

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजपक्षेले आफ्नो पतनका लागि चीन र अन्य मुलुकहरूबीचको ‘भू–राजनीतिक प्रतिद्वन्द्विता’ जिम्मेबार रहेको दाबी गरिएको पुस्तक विमोचन गरेर बिहीबार आफ्नो बर्खास्तीको लामो मौनतालाई अन्त्य गर्नुभएको छ ।

टापु मुलुक श्रीलङ्काको अहिलेसम्मको सबैभन्दा खराब आर्थिक सङ्कटमा महिनौँसम्म सडक र विरोध प्रदर्शनपछि सन् २०२२ मा प्रदर्शनकारीहरूले उहाँको आधिकारिक निवासमा आक्रमण गरेपछि राजपक्षेलाई अस्थायी निर्वासनमा जान बाध्य पारेका थिए ।

आफ्नो पतनको स्व–प्रकाशित लेख ‘द कन्स्पिरेसी’ मा राजपक्षेले आफ्नो सरकारको आर्थिक नीतिहरूको बचाउ गर्नुभयो । ती आर्थिक नीतिहरूका कारण अभूतपूर्व विदेशी ऋण डिफल्ट भएको थियो भने धेरै महिनासम्म खाद्यान्न र इन्धनको गम्भीर अभाव भएको थियो ।

यसको सट्टा उहाँका अनुसार सन् २००६ पछि श्रीलङ्कामा भू–राजनीतिक प्रतिद्वन्द्विताको तत्व ल्याउने चिनियाँ लगानीका पूर्वाधार परियोजनाहरूले उहाँलाई सत्ताबाट हटायो । “मलाई सत्ताबाट हटाउनका लागि चालिएका कदमहरूमा कुनै विदेशी हात नभएको दाबी गर्नु एकदमै मूर्खतापूर्ण हुनेछ”, उहाँले भन्नुभयो ।

राजपक्षेले निश्चित मुलुकहरूको नाम लिनुभएन तर अमेरिकाले विगतमा पूर्वाधार सम्झौतामा हस्ताक्षर गरेर श्रीलङ्काले चिनियाँ ऋणको पासोमा फस्ने जोखिम उठाइरहेको बारम्बार चेतावनी दिएको थियो । आफ्नो निष्कासनको समयमा ७४ वर्षीय राजपक्षेलाई सुरुमा एउटा सैन्य विमानमा श्रीलङ्काबाट बाहिर लगिएको थियो र उहाँले सिङ्गापुरबाट आफ्नो राजीनामा इमेल गर्नुभएको थियो । यद्यपि पछि उहाँ स्वदेश फर्किसक्नुभएको छ ।

पुस्तकमा राजपक्षेले कुनै प्रमाण प्रस्तुत नगरी आफ्नो कार्यकालको अन्तिम महिनाहरूमा अर्थतन्त्रलाई रोक्न सडकमा उत्रिएका प्रदर्शनकारीहरूलाई ‘विदेशी पैसा’ प्राप्त भएको दावी गर्नुभएको छ ।

बेइजिङले श्रीलङ्कामा धेरै विकास परियोजनामा लगानी गरेको छ । यसमा राजपक्षेको गृहनगर हम्बनटोटामा विरलै प्रयोग हुने सम्मेलन केन्द्र र विमानस्थल समावेश छ । यसलाई आलोचकहरूले सेतो हात्ती भनेका छन् । चीन श्रीलङ्काको सबैभन्दा ठूलो एकल द्विपक्षीय ऋणदाता पनि हो । चीनसँग श्रीलङ्काको विदेशी ऋणको करिब १० प्रतिशत हिस्सा छ ।

आफ्ना दाजु महिन्दा राष्ट्रपति रहँदा शीर्ष रक्षा अधिकारीका रूपमा काम गर्दै सन् २००९ मा श्रीलङ्काको लामो गृहयुद्ध अन्त्य गर्न सहयोग गरेकामा राजपक्षेलाई कुनै समय सिंहाली बौद्ध बहुसङ्ख्यकबीच सम्मानित गरिएको थियो ।

सन् २०१९ मा भएको निर्वाचनमा उहाँ राष्ट्रपति पदमा भारी मतले विजयी हुनुभयो । यद्यपि सुपरमार्केटका र्याकहरू खाली भएपछि र पेट्रोल स्टेसनहरूमा धेरै दिनसम्म लामो लाइन लागिरहेपछि तीन वर्षभन्दा पनि कम समयमा श्रीलङ्काको अर्थतन्त्र धरासायी भएसँगै उहँको लोकप्रियतामा कमी आयो ।

अर्थशास्त्रीहरूले अचानक देखिएको मन्दीका लागि राजपक्षे सरकारले सोचविचार नगरी करमा गरेको कटौतीलाई दोष दिएका छन् । कर कटौतीका कारण कोरोना भाइरस महामारीपछि विदेशी मुद्रा सञ्चितिमा भएको गिरावटको जवाफ दिन राजपक्षे सरकार असमर्थ रह्यो ।

राजनीतिक टिप्पणीकार कुशल परेराले राजपक्षेको पतन उहाँको अर्थतन्त्र सम्हाल्ने अयोग्यताका कारण भएको बताउनुभयो । “मिडिया प्रचारका कारण उहाँ सिंहाली–बौद्ध नेताका रूपमा लोकप्रिय हुनुहुन्थ्यो तर उहाँ केही गर्न असमर्थ हुनुहुन्थ्यो”, परेराले भन्नुभयो । राजपक्षेका उत्तराधिकारी रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्राकोषको उद्धार प्याकेजमा वार्ता गर्दै सरकारी वित्त पुनःस्थापना गर्न करमा तीव्रताका साथ वृद्धि गर्नुभएको छ ।

हमासलाई इजरायलसँग ‘तत्काल युद्धविराम’ स्वीकार गर्न ब्लिन्केनको आग्रह

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलबार हमासलाई इजरायलसँग “तत्काल युद्धविराम” स्वीकार गर्न आह्वान गर्नु भएको छ । हमास लडाकुहरूले कायरोमा कतारी र इजिप्टका मध्यस्थकर्ताहरूसँग भेट गरेको सन्दर्भमा अमेरिकी विदेशमन्त्रीको सो धारणा सार्वजिनक भएको हो ।

“हामीसँग तत्काल युद्धविरामको अवसर छ जसले बन्धकहरूलाई घर ल्याउन सक्छ, प्यालेस्टिनीहरूलाई मानवीय सहायताको मात्रामा व्यापक वृद्धि गर्न सक्छ,” उहाँले उल्लेख गर्नु भएको छ । वाशिङ्टनमा कतारका प्रधानमन्त्रीसँगको भेटमा अमेरिकी मन्त्रीले द्वन्द्वको स्थायी समाधानका निम्ति हमास लडाकुहरूले निश्चित शर्तसहित अगाडि बढ्नुपर्ने धारणा पनि सार्वजनिक गर्नु भएको छ ।

हमास यो युद्धविराम प्रक्रियामा संलग्न हुन तयार छ कि छैन भन्ने बारे निर्णय गर्ने कुरा हमासको हातमा रहेको अमेरिकी विदेशमन्त्री ब्लिन्केनले स्पष्ट पार्नु भएको छ ।

बुढासुब्बा गोल्डकपको तयारी पूरा, खेलतालिका सार्वजनिक

धरान, २४ फागुन : बुढासुब्बा गोल्डकपको २४ औँ संस्करणको तयारी पूरा भएको छ । यही फागुन २६ देखि चैत ३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेलतालिका पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै आयोजक धरान फुटबल क्लबले तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा आठ समूहले प्रतिस्पर्धा गर्नेछन् ।

फागुन २६ गतेको उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र भारतको युकेएफसीबीच हुनेछभने फागुन २७ मा एनआरटी र त्रिभुवन आर्मी क्लब भिड्ने छन् । फागुन २८ गते नेपाल पुलिस क्लब र मोरङ फुटबल क्लब र फागुन २९ गते काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र चर्च ब्वाईज युनियनबीच स्पर्धा हुनेछ ।

धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार विजेता टिमले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखसहित पदक तथा पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडीले नगद रु एक लाख, प्रत्येक खेलको म्यान अफ द म्याचले रु १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकरका साथै उत्कृष्ट प्रशिक्षकलाई जनही नगद रु २५ हजार र प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीलाई नगद रु ३५ हजार प्रदान गरिनेछ ।

प्रतियोगिता सञ्चानका लागि रु ७७ लाख ६० हजार आम्दानी र रु ६६ लाख ५५ हजार खर्च लाग्ने आयोजकको अनुमान छ ।

मानव बेचबिखनको अभियोगमा एक जना पक्राउ

काठमाडौँ, २४ फागुन : मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका–३ का २५ वर्षीय रिकमन राई रहेका छन् । प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालका अनुसार पक्राउ परेका राईले बुटवलको कपडा पसलमा काममा लगाईदिने भन्दै भारत पु¥याएका थिए ।

उनलाई मानव बेचबिखन गरेको अभियोगमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले प्रहरी वृत्त कालिमाटीको सहयोगमा पक्राउ गरिएको हो । राईले सामाजिक सञ्जालमार्फत चिनजान भएकी पीडितलाई रोजगारी लगाइदिने प्रलोभनमा भारतको मुजफ्फरपुर लगेर बन्धक बनाइ राखेको अवस्थामा नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ ।

उनी त्यसपछि फरार रहेका थिए । राई उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट सात दिन म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रवक्ता ढकालले बताउनुभयो ।

कांग्रेस नेतृत्वले महिलालाई सम्मानजनक स्थान र अवसर दिनुपर्नेमा कोइरालाको जोड

मोरङ,२४ फागुन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले पार्टी नेतृत्वले महिलालाई सम्मानजनक स्थान र अवसर दिनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली कांग्रेस मोरङ क्षेत्र नं ४ द्वारा आज जिल्ला पार्टी कार्यालय विराटनगरमा आयोजिन ‘ नेपाली कांग्रेस र अबको बाटो’ विषयमा भएको छलफलमा उहाँले सबै क्षेत्रमा महिलालाई पुरुष बराबर अवसर दिएर पार्टीप्रति आकर्षित गर्नुपर्छ भन्नुभयो । नेता कोइरालाले पार्टीमा गुटबन्दीको होइन विचारको राजनीति गर्नुपर्छ भन्नुभयो । उहाँले क्षेत्र, जिल्ला र पालिकालाई अधिकार दिन पार्टीको विधान संशोधन गर्नुपर्ने बताउनुभयो । आगामी निर्वाचनमा नेकाले कसैसँग गठबन्धन गननहुने बताउनुभयो ।

सङ्घीय सांसद सुनिल शर्माले पार्टीले क्रियाशील सदस्यहरुको बहुमतका आधारमा टिकट वितरण गर्नुपर्ने बताउँदै २०८४ को निर्वाचनका निम्ति आजैदेखि लाग्नुपर्नेमा जोड दिनुभयो ।

कोशी प्रदेश सभाका सदस्य अमृत अर्याल र पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेले अबको बाटो चुनौतीपूर्ण रहेकाले जनताका समस्या समाधानमा पार्टी लाग्नु पर्ने सुझाव दिनुभयो ।

क्षेत्रीय सभापति विनोद बस्नेत र मोरङ जिल्लाका कार्यवाहक सभापति भक्तिनाथ माझीले पार्टी नेतृत्वले गुटबन्दीलाई दुरुत्साहन गर्नुपर्छ भन्नुभयो ।

विपत्तिमा प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गर्न कानुन निर्माण गरिनुपर्ने

काठमाडौँ, २४ फागुन : राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिका सभापति जयन्ती राईले विपद्मा प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गर्न कानुन बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

राजधानीमा आज आयोजित ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मबाट महिलावादअन्तर्गत विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारसम्बन्धी सचेतना कार्यक्रममा उहाँले विपद्मा प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गर्ने गरी कानुनी व्यवस्था गरी त्यसको कार्यान्वयनका लागि आवश्यक संरचना बनाइनुपर्नेमा जोड दिनुभएको हो ।

सेन्टर फर रिप्रोडक्टिभ राइट (सीआरआर), केयर, निड्स नेपाल, ह्युमनेटेरियन पार्टनसिप प्लेटफर्म (एचपीपी) र महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा प्रत्यक्ष चित्रकला प्रदर्शनी, नाटक, कविता, गीत सङ्गीत तथा अन्य प्रस्तुतीकरणबाट विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारका बारेमा सचेतना गराइएको थियो । चित्रकार उमेशचन्द्र अधिकारीले विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारबारे कार्यक्रमस्थलमै चित्र बनाउनुभएको थियो । उहाँले अतिथिबाट थिम लिएर तीन वटा चित्र बनाउनुभएको थियो । उहाँको चित्रलाई दर्शकले टिप्पणी गरेका थिए ।

विपद् र प्रजनन स्वास्थ्य तथा अधिकारका बारेमा नाट्यकर्मीले मार्मिक नाटक प्रस्तुत गरेका थिए । नाटक हेरेर दर्शक भावुक बनेका थिए । समाजिक परिवेशमा हसाउँदै उनीहरुले विषयवस्तु गहन ढङ्गले उठान गरेर बुझाउने प्रयास गरेका थिए । कवितामार्फत मुनु अधिकारीले महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी वास्तविक पीडा अभिव्यक्त गर्नुभएको थियो । कोपी ¥यापरले प्रस्तुत गरेको ¥यापमा दर्शकले आनन्द लिएका थिए । उहाँको ¥यापमा महिलालाई सचेत गराइएको थियो ।

‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’ लाई ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको मूल नारा बनाइएको उक्त कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले गर्नुभएको थियो ।

महिला, कानुन र विकास मञ्चका अध्यक्ष गीता अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद, अधिकारकर्मी, विभिन्न कलेजका कानुन अध्ययन गरिरहेका विद्यार्थीको उपस्थिति थियो ।

लोकसेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस

काठमाडौँ, २४ फागुन : राष्ट्रियसभामा लोकसेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन, २०७९/८० पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट खानेपानीमन्त्री राजेन्द्रकुमार राईले उक्त प्रतिवेदन पेस गर्नुभयो ।

बैठकमा सभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश जानकारी गराउनुभएको थियो ।

बैठकमा राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही फागुन २७ गते आइतबार अपराह्न १ बजेर ९ मिनेटमा बस्नेछ ।

चिनियाँ नागरिकलाई नागरिकता दिलाएको आरोपमा अधिकृत पक्राउ

मनहरी (मकवानपुर), २४ फागुनः सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् ।

बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैटौं तहमा कार्यरत रामचन्द्र अर्याललाई आज प्रहरीले हेटौँडाबाट पक्राउ गरेको हो । अर्याल यातायात कार्यालय काठमाडौँ ठूलो भर्‍याङबाट सरुवा भएर अर्याल बागमती प्रदेशसभा सचिवालयमा आएका थिए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुरोधमा अर्याललाई बुधवार प्रदेशसभा सचिवालयबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले जानकारी दिनुभयो । अर्याललाई काभ्रे जिल्ला प्रहरी कार्यालय पठाइएको रिजालले बताउनुभयो ।

अर्यालमाथि काभ्रे जिल्ला प्रशासनमा रहँदा सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाउन सहयोग पु¥याएको आरोप छ । अर्यालसहितका कर्मचारीमार्फत काभ्रे प्रशासनले सुन तस्करलाई वंशजका आधारमा नागरिकता दिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । चिनियाँ नागरिकलाई नागरिकता दिलाउँदा अर्याल नायव सुब्बाको रुपमा कार्यरत थिए ।

उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । काभ्रे प्रशासनबाट २०७४ पुस २० मा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई वंशजका आधारमा नागरिकता जारी भएको थियो । छिरिङ र वाङको नागरिकता विवरण नासु अर्यालले नै कम्प्युटर प्रणालीमा प्रविष्ट गराएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । अर्याल २०७५ सम्म काभ्रे प्रशासनमा कार्यरत थिए ।

दावाले निमा तामाङका नाममा र वाङले पासाङ तामाङका नाममा नागरिकता लिएको अनुसन्धानबाट खुलेको थियो । नागरिकता सनाखत गराउने रामचन्द्र अर्याल र जारी गर्नेमा झपेन्द्रराज खरेल रहेको आधारमा उनीहरुमाथि अनुसन्धान भइरहेको हो ।उपसचिव कृष्णबहादुर कटुवाल संयोजकत्वको गृह मन्त्रालयको छानबिन समितिले दुई चिनियाँलाई नेपाली नागरिकता दिलाएको पुष्टि गर्दै तत्कालीन अधिकृत खरेल र नासु अर्याललाई कारबाही सिफारिस गरिएको थियो ।

उपराष्ट्रपति यादव र अमेरिकी राजदूत थम्प्सनबीच शिष्टाचार भेट

काठमाडौँ, २४ फागुन : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच शुभकामना आदानप्रदानपश्चात् दुई मुलुकबीचको सम्बन्ध, विकास सहायता, व्यापार र साझा चासोलगायत विषयमा छलफल भयो ।

उपराष्ट्रपति यादवले सन् १९४७ मा नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता सुमधुर सम्बन्ध रही आएको बताउनुभयो । “हाम्रो सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित छ”, उहाँले भन्नुभयो, “लोकतन्त्र, मानवअधिकार, स्वतन्त्रता हामी दुई मुलुकका साझा मूल्यमान्यता हुन् ।”

उहाँले सन् १९५१ देखि अमेरिकी सरकारले नेपाललाई विकास सहायता उपलब्ध गराउँदै आएको कुरा उल्लेखनीय रहेको बताउनुभयो । “नेपालको विकासमा अमेरिकी सहयोगको नेपालले उच्च कदर गर्दछ”, उहाँले भन्नुभयो, “अमेरिकासँगको सम्बन्धलाई नेपालले सदा उच्च महत्वका साथ हेर्ने गरेको छ ।” उपराष्ट्रपति यादवले नेपालको संसद्ले एमसिसी अनुमोदन गरेपछि नेपालको पूर्वाधार विकासमा अमेरिकी सहयोगको सुनिश्चितता अझ बढेको बताउनुभयो ।

“नेपाल अतिकम विकसित मुलुकबाट विकाशील मुलुकमा स्तरोन्नतिको प्रक्रियामा रहँदा अमेरिकीलगायतका विकास साझेदारबाट निरन्तर सहयोग प्राप्त हुनेमा हामी आशावादी छौँ”, उहाँले भन्नुभयो, “नेपालको व्यापार तथा वाणिज्य प्रवद्र्धनका लागि प्राप्त अमेरिकी सहयोगका लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।”

उपराष्ट्रपति यादवले नेपालको आर्थिक–सामाजिक विकास तथा लोकतन्त्रको सुदृढीकरणमा अमेरिकाले गरेको सहयोगका लागि राजदूतमार्फत अमेरिकी सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । “अमेरिकाबाट प्राप्त विकास सहायताले स्वास्थ्य, शिक्षा, यातायात, सञ्चार, कृषि र वातावरणलगायत विभिन्न क्षेत्रमा योगदान पु¥याएको छ”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय मञ्चहरुमा पनि अमेरिका र नेपालले मानवकल्याणसँग सम्बन्ध राख्ने साझा चासोका विषयमा सहकार्य गर्दै आएकामा खुसी लागेको छ ।”

भेटमा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर थम्प्सनले अमेरिकाले नेपालसँग बलियो सम्बन्ध बनाउन चाहेको बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसङ्घको चार्टरलाई नेपालले समर्थन गर्नु सकारात्मक रहेको उल्लेख गर्दै नेपालमा एमसिसी परियोजना राम्रोसँग सञ्चालन भइरहेकामा खुसी व्यक्त गर्नुभयो ।

“नेपाल एउटा शान्तिप्रिय देश हो । नेपालले रक्षाका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घ शान्ति मिसनमा सयौँ देशमा राम्रो नेतृत्व गरेकामा सराहना गर्न चाहन्छु”, उहाँले भन्नुभयो ।

डोलेश्वरमा महाशिवरात्रि मेलाको तयारी पूरा

भक्तपुर, २४ फागुन – भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि मेलाको तयारी पूरा भएको छ । डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले आज महाशिवरात्रि पर्वको तयारीबारे सञ्चारकर्मीलाई जानकारी दिएको छ ।

सो अवसरमा महाशिवरात्रि पर्वमा डोलेश्वरमा साधु, सन्त तथा दर्शनार्थीका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइयो । महाविशरात्रि पर्वका लागि भारतका विभिन्न ठाउँबाट डोलेश्वरमा हालसम्म दुई सय ५० भन्दा बढी साधुसन्त आइपुगेका समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभयो ।

महाशिवरात्रिमा डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीलाई बिहान ४ बजेदेखि नै मन्दिरको चारवटै ढोकाबाट प्रवेश गराइ सहज रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि बिहान ४ बजेदेखि दर्शनका लागि मन्दिरको चारैवटा ढोका खुल्ला गरिने छन् ।

अरुदिन मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि शिवरात्रिका दिन भने दर्शनार्थीले भित्र प्रवेश गरी डोलेश्वरमा सहजै पूजाअर्चना गर्न पाउने छन् । यस वर्ष करिब ५० हजारभन्दा बढी दर्शनार्थी आउने अपेक्षा गरिएको समितिका महासचिव बस्नेतले जानकारी दिनुभयो । महाशिवरात्रि पर्वमा डोलेश्वर आएका साधुसन्तका लागि खाने, बस्न र धुनी जगाउने व्यवस्था गरिएको छ ।

साधुसन्त घर फर्कने बेलामा प्रत्येक साधुसन्तलाई एक थान कम्बल र यातायात खर्च रु सात सय ५० प्रदान गरेर बिदाई गरिने उहाँले बताउनुभयो । दर्शनका लागि आएका सम्पूर्ण भक्तजनलाई निःशुल्क भोजन एवं प्रसादको व्यवस्था गरिएको छ ।

बागमती प्रदेशसभा सदस्य एवं स्थानीयवासी तथा समितिका पूर्व वरिष्ठ उपाध्यक्ष किरण थापाले धुनि जगाउन दाउराको व्यवस्था गरिएको छ । दर्शनार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै भक्तपुर अस्पताल र सूर्यविनायक नगर अस्पतालले स्वास्थ्य शिविरको व्यवस्था गरेको छ ।

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

रामपुर (पाल्पा), २४ फागुन : पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ)ले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा बागमती प्रदेशलाई ३–२ सेटले पराजित गर्दै एपिएफले उपाधि चुमेको हो ।

फाइनल खेलमा एपिएफले पहिलो र दोस्रो सेट १८–२५, १७–२५ अङ्कका साथ गुमाएको थियो । तेस्रो, चौथो र पाँचौँ सेटमा २५–१९, २५–१७ र १८–१६ अङ्कसहित जित निकाल्दै एपिएफले उपाधि हात पार्न सफल भएको हो ।

एपिएफसँग फाइनल खेलमा प्रतिस्पर्धा गरेको बागमती उपविजेता बनेको छ । प्रतियोगितामा लुम्बिनी प्रदेशले तृतीय स्थान ओगटेको छ । कोशीलाई ३–० को सोझो सेटमा हराउँदै लुम्बिनीले तृतीय स्थान ओगट्न सफल भएको हो । लुम्बिनीले २५–१०, २५–१६ र २५–२२ अङ्कका साथ जित हात पारेको छ भने यससँगै कोशी प्रदेशले सान्त्वना स्थान हासिल गरेको छ ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः नगद रु दुई लाख ५० हजार, एक लाख ५० हजार, ७५ हजार र ३५ हजारसहित साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा एपिएफका सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । एपिएफका निरुता थगुन्ना उत्कृष्ट सर्भर, महेश चौधरी उत्कृष्ट कोच, बागमतीका प्रगतिनाथ उत्कृष्ट सेटर, सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर, सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर र लुम्बिनीका मीना सुनार उत्कृष्ट स्पाइकर हुनुभएको छ ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले पुरस्कार वितरण गर्दै रामपुरमा राष्ट्रियस्तरको खेल हुनु महत्त्वपूर्ण कुरा रहेको बताउनुभयो । उहाँले खेलाडीलाई बौद्धिक सम्पत्तिको रूपमा लिनु आवश्यक रहेको बताउनुभएको छ । लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले पूर्वाधारको अभावमा राष्ट्रियस्तरका अन्य खेल सञ्चालनमा समस्या भएको जनाउँदै पूर्वाधार निर्माणमा जोड दिने प्रतिबद्धता जनाउनुभयो ।

प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक घिमिरेलगायतले सदरमुकामबाट टाढा रहेको रामपुरमा राष्ट्रियस्तरको खेलकुदले यस क्षेत्रको पहिचानका साथै पर्यटन तथा आर्थिक क्षेत्रमा महत्त्वपूर्ण टेवा पुग्ने बताउनुभएको छ ।

जिल्ला भलिबल सङ्घ पाल्पाको आयोजना, प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवर्द्धन तथा प्रायोजन, नेपाल भलिबल सङ्घको संयोजन, जिल्ला खेलकुद विकास समिति पाल्पा र प्रदेश भलिबल सङ्घ लुम्बिनीको समन्वय, रामपुर नगरपालिकाको संरक्षण, रामपुर उद्योग वाणिज्य सङ्घको प्रवर्द्धनमा प्रतियोगिता भएको हो ।

गत फागुन १८ गतेदेखि छ दिनसम्म भएको खेलमा आठ समूहको सहभागिता रहेको थियो । रामपुरमा पहिलोपटक राष्ट्रियस्तरको खेल आयोजना भएकाले पनि यस क्षेत्रका स्थानीयमा खेल क्षेत्रमा उत्साह थपिएको छ ।

काठमाडौँको सुरक्षा थप चुस्त पार्न ‘जिपीएस’सहित ‘इ–क्यूआरटी’ परिचालित

काठमाडौँ, २४ फागुन : काठमाडौँ उपत्यकामा थप शान्ति, सुरक्षा सुदृढ बनाउन, अपराध नियन्त्रण एवं न्यूनीकरणका लागि जिपीएस प्रणालीसहित इलेक्ट्रोनिक्स क्वीक रेस्पोन्स टिम (इ–क्यूआरटी’ परिचालन गर्न सुरुआत गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी सेवा चुस्त एवं सेवालाई प्रविधिमैत्री बनाउनका लागि ‘सेफर भ्याली प्रोजेक्ट’ अवधारणाअन्तर्गत नागरिकका गुनासो तथा घटनाको ‘क्वीक रेस्पोन्स’ गर्न इ–क्यूआरटी परिचालन गरेको हो ।

प्रहरीलाई प्रविधिमैत्री तथा प्रमाण र तथ्यमा आधारित अपराध अनुसन्धानलाई थप बलियो बनाउँदै खटिएका प्रहरी कर्मचारीमाथिको नियमनलाई समेत प्रभावकारी बनाउन प्रविधिमा आधारित क्वीक रेस्पोन्स टिम परिचालन गरिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले बताउनुभयो ।

पहिलो चरणमा काठमाडौँ जिल्लाभरिका ६० टिमलाई डिजिटल प्रविधिसहित परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर तथा मातहत वृत्त÷प्रभागबाट जिपीएस प्रणालीद्वारा प्रहरीको क्वीक रेस्पोन्स टिमलाई सम्बन्धित घटना घटेको स्थानमा यथाशीघ्र पुग्ने वातावतण निर्माण गर्न २४सै घण्टा प्रहरी नियन्त्रण कक्षबाट ‘ट्रयाकिङ’ गर्न सकिनेगरी विद्युतीय प्रणाली जडान गरिएको छ ।

टोली घटनास्थलमा पुग्नासाथ घटनास्थलको यथार्थ विवरणसहित प्रहरी काम कारबाही र पीडित वा सेवाग्राहीसँग गरेको व्यवहारको समेत स्वचालितरूपमा नियन्त्रण कक्षमै रेकर्ड हुने तथा नियन्त्रण कक्षबाट समेत क्यूआरटी टिमको गतिविधि तथा घटनास्थलको बारेमा लाइभ हेर्न सक्ने गरी ६० क्यूआरटीको शरीरमा क्यामरासमेत थप गरिएको छ ।

उनीहरू पहिलो रेस्पोन्स गर्ने टोलीको रूपमा २४सै घण्टा फिल्डमा परिचालन हुने खत्रीले बताउनुभयो । उनीहरूमार्फत प्रहरीको कारबाहीलाई शीघ्र, चुस्त एवं प्रभावकारी बनाउनका लागि टोलीलाई जिपीएस ट्र्याकिङ डिभाइस, भिडियो क्यामेरा, रेडियो सेट, बत्तीसहितको साइरनलगायत अन्य सुरक्षा सामग्रीसहित खटाइएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले उक्त टोलीमार्फत अब काठमाडौँ उपत्यकाको सुरक्षा प्रविधिमैत्री हुँदै थप प्रभावकारी हुनेसमेत बताउनुभयो । उहाँले प्रहरीलाई प्रविधिमैत्री बनाउने काममा उपत्यका प्रहरीले उच्च प्राथमिकता दिँदै आएको बताउनुभयो ।

कञ्चनपुरमा तीन दिनमा २५ जना फरार अभियुक्त पक्राउ

महेन्द्रनगर (कञ्चनपुर), २४ फागुन : प्रहरीले कुटपिट मुद्दामा २७ वर्षदेखि फरार रहेका कञ्चनपुरको दोधारा चादँनी नगरपालिका थारू गिरीसहित छजना फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमा पेस गरेको छ ।

जिल्ला अदालत कञ्चनपुरबाट २०५२ साल फागुन २७ गते भएको कुटपिट मुद्दाको फैसलाबाट दोधारा चादँनीका गिरीसहित छजनालाई जरिवाना तोकेको थियो । सो मुद्दामा सोही समयदेखि फरार रहेका रत्ना गिरी, तुल्सी गिरी, झिरकुली वन, राधा वन र भाखा सिंहलाई दोधारा चादँनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप कानुनी कारबाहीका लागि अदालत पेस गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अभियुक्तलाई स्थानीय घर ठेगानाबाटै पक्राउ गरिएको हो । तत्कालीन फैसलामा अदालतले रु दुई सयदेखि चार सयसम्म जरिवाना तोकेको थियो ।

जिल्ला प्रहरी कार्यालयको प्रमुखमा प्रहरी उपरीक्षक चक्रराज जोशीले फरार अभियुक्त पक्राउ गरी कानुनी दायरामा ल्याउने क्रमले गति लिएको बताउनुभयो । तीन दिनको अवधिमा मात्रै प्रहरीले जिल्लाका विभिन्न स्थानबाट फरार रहेका २५ जनालाई कारबाहीको दायरामा ल्याएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले कुटपिट, अभद्र व्यवहार, जबर्जस्ती करणी, सवारी ज्यानलगायतका मुद्दामा फरार रहेका अभियुक्तलाई पक्राउ गर्ने क्रम जारी रहेको बताउनुभयो ।

त्यसैगरी पाँच दिनअघि पनि प्रहरीले जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयबाट फैसला भएका मुद्दाका १० जना फरार अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । विसं २०७० मा कुटपिट मुद्दाका दीपक थलाल, रामदत्त भट्ट, राजी थलाल र राम थलाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी अभद्र व्यवहार मुद्दाका नीरा दमाई, पशुपति दमाई, गोपाल चुनारा, महेश लुहार, आशिष सुनाह र अनुज गुप्तालाई पक्राउ गरेको थियो । पक्राउ परेका फरार अभियुक्तलाई अदालत र प्रशासनले फैसलामा जरिवाना सजाय तोको थियो ।

त्यसैगरी प्रहरीले गत आइतबार पनि नौ जना फरार अभियुक्तलाई जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय पेस गरेको जनाएको छ । जबर्जस्ती करणी मुद्दामा २०७९ चैतमा अदालतबाट छ महिना कैद र रु तीन हजार जरिवाना सजाय भएका केशवराज भट्टलाई समेत प्रहरीले पक्राउ गरी अदालत पेस गरेको छ ।

यहाँका विभिन्न स्थानमा पक्राउ गरी अभद्र व्यवहार मुद्दामा जरिवाना सजाय तोकिएका सोलु बडैला, आयुश भट्टराई, नकजवनी चोरी मुद्दामा जरिवाना भएका कोसिस कार्की, सवारी ज्यान मुद्दाका नरसिंह धामीलाई नियन्त्रणमा लिएको थियो । गाली बेइज्जती मुद्दामा फरार रहेका भरत दमाई, पुनी दमाई र जोगीराम दमाई एवं कीर्ते जालसाज मुद्दाका पुरन कुमाललाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक जोशीले जिल्लाभर फरार अभियुक्त पक्राउ गर्न निर्देशन दिइएको बताउनुभयो । उहाँले विभिन्न मुद्दामा कैद सजाय तोकिएका र जरिवाना तोकिएका जिल्लाभरि करिब तीन हजार हाराहारीमा फरार सूची रहेको बताउनुभयो ।

“फरार रहेका अभियुक्त कसुरदातालाई कानुनी दायरामा ल्याउन मातहतका सबै युनिटसम्म सर्कुलर नै गरेका छौँ”, उहाँले भन्नुभयो, “त्यसका साथै समग्र शान्ति सुरक्षा, तस्करी नियन्त्रण, लागुऔषध नियन्त्रणमा समेत सक्रियता बढाएका छौँ ।”

चीनको आर्थिक विकासले नेपाललाई पनि फाइदा पुग्छ – विज्ञ

काठमाडौँ, २४ फागुन : छिमेकी मुलुक चीनले गरेको आर्थिक विकासले नेपाललगायतका छिमेकी मुलुकलाई फाइदा पुग्नसक्ने बताइएको छ । चाइना मिडिया गुप्रको आयोजना तथा नेपाल–चीन युवामैत्री सङ्घको सहआयोजनामा बुधबार यहाँ आयोजित ‘चीनको आर्थिक विकास र छिमेकी देशका लागि नयाँ अवसर’ विषयक अन्तक्र्रियामा वक्ताहरूले चीनको आर्थिक विकासले अन्य छिमेकी मुलुकलाई फाइदा पुग्ने बताएका हुन् ।

कार्यक्रममा चीनका लागि नेपाली पूर्वराजदूत लीलामणि पौड्यालले चीनले लिएको आर्थिक नीतिले विश्वलाई नै प्रभाव पार्ने बताउनुभयो । चीनमा स्थिरता र आर्थिक विकास हुँदा नेपाललाई फाइदा पुग्ने उहाँको भनाइ थियो ।

“सन् २००८ मा विश्वमा आएको आर्थिक मन्दीको बेलामा चीनले लिएको आर्थिक नीतिले विश्वको अर्र्थतन्त्रमा केही सहयोग पुगेको थियो, नेपाल छिमेकी मुलुक भएको कारण चीनको नीतिले नेपाललाई प्रभाव पर्दैन भन्न मिल्दैन”, उहाँले भन्नुभयो ।

कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले छोटो समयमा चीनले आर्थिक विकासमा ठूलो फड्को मारेको बताउनुभयो । उहाँले चिनियाँ राष्ट्रपति सीजिन फिङको नेपाल भ्रमणले नेपालको विकासमा केही आशा जागेको उल्लेख गर्नुभयो ।

नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि वाङ सीनले तीव्र औद्योगीकरणको विकास र अनुसन्धानका कारण चीनको अर्थतन्त्रले फड्को मार्न सफल भएको बताउनुभयो । उहाँले सन् २०२३ मा चीनले विश्व अर्थतन्त्रमा ४२ प्रतिशत योगदान गरेको दाबीसमेत गर्नुभयो ।

निर्यात व्यवसायी महासङ्का अध्यक्ष शङ्कर पाण्डे, नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा हरिशचन्द्र शाह, वल्र्ड कल्चरल नेटका अध्यक्ष दीपक सरकार, नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुली, चीन अध्ययन केन्द्रका सचिव प्रकाशबाबु पौडेललगायतले नेपाल र चीनबीचको सम्बन्ध जुन हिसाबले विकसित हुनुपर्ने हो त्यो हुन नसकेको बताउनुभएको थियो ।

उहाँहरूले दुई देशबीच भाषाको समस्या, चीनमा व्यापारको समयमा लेनदेनको समस्या, सामान पठाउनका लागि बोर्डरमा प्रयोगशाला नहुँदा नेपाली व्यवसायीले ठूलो समस्या झेल्नुपरेको बताउनुभएको थियो । चाइना मिडिया गुप्र, दक्षिण एसिया ब्यूरोका प्रमुख चाङ युए वर्षा, नेपाल–चीन युवामैत्री सङ्घका अध्यक्ष विष्णु सापकोटाले नेपाल–चीन सम्बन्धबारे जनतामाझ रहेको भ्रम चिर्दै नेपालको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

म्याग्दीमा गुणस्तरहीन मदिरा बिक्रीवितरण तथा सेवन गर्न प्रतिबन्ध

बेनी ( म्याग्दी), २४ फागुन ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा गुणस्तरहीन मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ । गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमनसम्बन्धी ऐनअनुसार वडाले बजार क्षेत्रबाट भित्रने न्यून गुणस्तर भएका मदिरालाई बिक्रीवितरण र सेवन गर्न प्रतिबन्ध लगाएको हो ।

वडाभित्र व्यापार व्यवसाय गर्ने र बजारबाट सामान ल्याएर बिक्री गर्ने व्यवसायीलाई न्यून गुणस्तर भएका करुवा, भुण्टी, सगुन, सौफीलगायतका मदिरा बिक्रीवितरण गर्न रोक लगाइएको रघुगङ्गा –२ का वडाध्यक्ष अमृत भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार अटेर गरी लुकीछिपी गुणस्तरहीन मदिरा बिक्री गर्ने व्यवसायीको अनुगमन गरेर कारबाही गर्न थालिएको छ ।

बुधबार भगवतीमा सवारीसाधनमा खाद्यान्नलगायतका सामग्रीसँग लुकाएर कमसल मदिरा बिक्रीवितरण गर्न पुगेको बेनी नगरपालिका–८ कालिपुलमा रहेको बिक्की एण्ड बदर्शलाई रु १० हजार जरिवाना गरिएको वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो । उक्त फर्मका व्यवसायीबाट विभिन्न कम्पनीका एक सय बोत्तल मदिरासमेत जफत गरिएको छ ।

गाउँपालिकाले बनाएको ऐनमा यसरी सवारीसाधनबाट सामान ढुवानी गरेर लुकीछिपी गुणस्तरहीन मदिरा बिक्रीवितरण गर्नेलाई पहिलोपटकका लागि रु १० हजार, दोस्रोपटकका लागि रु २५ हजार, तेस्रोपटकका लागि रु ५० हजार र चौथोपटकमा सवारीसाधन नै जफत गर्ने कानुनी कारबाहीको व्यवस्था गरिएको छ ।

‘‘स्वास्थ्यमा गम्भीर असर गर्ने, सस्तो मूल्यमा पाइने भएकाले कुलतमा फसाउने समस्या बढ्दो क्रममा रहेकाले हामीले गुणस्तर न्यून भएका मदिराको बिक्रीवितरणमा रोक लगाएका छाँै, नियम पालनाबारे नियमित अनुगमन पनि भइरहेको छ, कसैले लुकाएर बिक्रीवितरण गरे कारबाही गर्न थालेका छाँै”, उहाँले भन्नुभयो । भगवतीमा गत पुस २५ गतेदेखि वडा समितिले मदिराजन्य पदार्थ र सुर्तीजन्य पदार्थको बिक्रीवितरणका लागि मापदण्ड र कार्यविधिलाई लागू गरिएको थियो ।

उक्त व्यवस्थाको कार्यान्वयनका लागि वडाध्यक्षको नेतृत्वमा भगवती प्रहरी चौकीका प्रतिनिधि, वडा सचिव, वडा सदस्य, होटल व्यवसायीका प्रतिनिधि र समाजसेवी सम्मिलित टोलीले अनुगमन गर्ने प्रबन्ध गरिएको छ । बजारबाट भित्रने न्यून गुणस्तरका मदिराका कारण दलित समुदायमा महिलासमेत कुलतमा फसेको, पारिवारिक विखण्डन सिर्जना गरेको, जनधनको क्षति, विभिन्न जटिल स्वास्थ्य समस्या बढ्दो क्रममा रहेकाले बिक्रीवितरण र सेवन गर्न प्रतिबन्ध नै लगाउनुपरेको वडा कार्यालयले जनाएको छ ।

यस वडामा १८ वर्ष नपुगेका बालबालिकालाई मदिरा र सुर्ती–चुरोट बिक्रीवितरण गर्न नपाइने नियमलाई समेत कडाइ गरिएको छ । रघुगङ्गा गाउँपालिकाको वडा नं ५ झिँमा गाउँपालिकाले बनाएको मदिरा नियन्त्रण तथा नियमनसम्बन्धी ऐनकै व्यवस्थामा टेकेर आयातित मदिरा बिक्रीवितरणमा पूर्णरूपमा रोक लगाइएको छ । गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने मदिराको गुणस्तर मापन गरेर ब्राण्डिङ गर्ने कार्यलाई अघि बढाउने योजना बनाएको जनाएको छ ।

केकी, प्रियङ्कासहित सात महिला चलचित्रकर्मी नगदसहित सम्मानित

काठमाडौँ, २४ फागुन: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रमा योगदान पुर्याउनुभएका महिला चलचित्रकर्मीलाई सम्मान गर्नुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा चलचित्र विकास बोर्डद्वारा बुधबार आयोजित कार्यक्रममा सम्मानित हुनुहुनेमा अभिनेत्री केकी अधिकारी, प्रियङ्का कार्की, सरिता लामिछाने, निर्देशक रेनाशा वान्तवा राई, प्राविधिक ऋतु राना, द्वन्द्व निर्देशक किरण दाहाल हुनुहुन्छ । उहाँहरुलाई जनही नगद रु २५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा मन्त्री शर्माले चलचित्र ऐन छिट्टै बन्ने जनाउँदै संस्थागतरूपमा बोर्डमार्फत सुझाव मन्त्रालयमा पठाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ,“चलचित्र ऐनले महिलालाई चलचित्र विकास बोर्ड, चलचित्र जाँच समितिलगायतमा बलियो उपस्थिति गराउने छ भन्नेमा म विश्वस्त हुन आग्रह गर्दछु । अब बन्ने कानुनले महिलालाई नेतृत्वदायी भूमिकाका लागि अवश्य तयार गर्नेछ । ” मन्त्री शर्माले आउँदो वर्षमा पनि अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भ पारेर महिला चलचित्रकर्मीलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रमसँगै अन्य विविध सिर्जनात्मक क्रियाकलापलाई बोर्डले निरन्तरता दिने सुझाव दिनुभयो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले भन्नुभयो ,“हामीले चलचित्र क्षेत्रमा क्रियाशील रहेका महिला चलचित्रकर्मीलाई हौसला प्रदान गर्न र आगामी यात्रामा हाम्रो साथ रहेको आभास गराउन सम्मानको कार्यक्रम तय गरेका हौँ । हामीले पुनः मन्त्रीज्यूलाई नै दोस्रो कार्यकालमा पाउँदा हामीले तयार पारेका योजनाले गति लिने विश्वास गरेका छौँ । चलचित्रकर्मी र यसमा क्रियाशील व्यक्तिले छिट्टै परिवर्तन महसुस गर्नु हुनेछ ।”

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष नेत्रप्रसाद सुवेदी, चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी, राजु केसी, केएल बुढाथोकी, केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषिराज आचार्य, प्रथम अभिनेत्री भुवन चन्द, अभिनेत्री चैत्य देवी, करिष्मा मानन्धर, चलचित्र निर्देशक रक्षासिंह राणा, चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुस्कर लामालगायत सहभागी हुनुहुन्थ्यो ।

भूकम्प प्रभावित क्षेत्रमा पुन निर्माण गर्न दक्ष डकर्मी तयार गर्दै कर्णाली सरकार

कर्णाली, २४ फागुन : कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा पुन निर्माण गर्न दक्ष डकर्मी तयार गर्ने भएको छ । वातावरण अनुकूल भौतिक संरचना निर्माण, आवश्यक नीति एवं विधि पालना गरी विपद्बाट हुने क्षति न्यूनीकरण तथा समुदायमा ज्ञान, सीप र प्रविधिसहितको दक्ष जनशक्ति तयार गर्न प्रदेश सरकारले भूकम्प प्रतिरोधी भवन तथा संरचना निर्माणसम्बन्धी तालिम सञ्चालन गर्ने भएको हो । यसका लागि त्रिपक्षीय सम्झौता भएको छ ।

कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल र स्थानीय तहबीच तालिम सञ्चालन गर्नेगरी बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले जाजरकोट भूकम्पलाई अवसरका रूपमा उपयोग गरी अगाडि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “भ्ूाकम्पले दिएको शिक्षालाई जीवन व्यवहारमा लागू गरेर जानुको विकल्प छैन । गोरखा बारपाकको भूकम्पबाट शिक्षा लिन सकेको भए जाजरकोट भूकम्पबाट हामीले यति ठूलो क्षति व्यहोर्नु पर्दैनथ्यो ।” भूकम्पपश्चात खोज, उद्धार र राहतमा सरकारले लिएको पहलकदमी उल्लेख्य भए पनि पुनःनिर्माणको कार्यमा ढिलाइ भएको मुख्यमन्त्री शर्माले बताउनुभयो ।

भूकम्प प्रभावित जिल्ला जाजरकोट छेडागाड नगरपालिका, बारेकोट गाउँपालिका, रुकुमपश्चिम चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र सल्यानको दार्मा गाउँपालिका गरी पाँच स्थानीय तहमा भूकम्प प्रतिरोधी भवन तथा संरचना निर्माणका लागि जनप्रतिनिधि, कर्मचारी र डकर्मीको तालिम सञ्चालन गर्नेगरी सम्झौता भएको छ ।

छेडागाड र चौरजहारी नगरपालिका, बारेकोट, त्रिवेणी र दार्मा गाउँपालिका प्रत्येक स्थानीय तहबाट बाह्र जनाका दरले डकर्मीका लागि कार्यगत तालिम सञ्चालन गर्न लागिएको कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानका निर्देशक विष्णुप्रसाद कोइरालले जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्प प्रतिरोधी भवन निर्माणको डकर्मीलाई कार्यगत तालिम दिइनेछ । डकर्मीलाई दिइने तालिम २० दिनको हुनेछ ।

प्रभावित जिल्ला जाजरकोट, रुकुमपश्चिम, र सल्यानका सबै स्थानीय तहका जनप्रतिनिधिलाई भवन पुनःनिर्माणको विधि, भूकम्प प्रतिरोधी डिजाइनका सिद्धान्त र प्रतिरोधी अभ्यासको क्षमता विकाससम्बन्धी सीप सिकाइने निर्देशक कोइरालाले बताउनुभयो । तालिम सञ्चालनका लागि रु एक करोड ४६ लाख खर्च हुने जनाइएको छ ।

तालिमबाट ६० दक्ष डकर्मी तयार हुनेछन् । भूकम्प प्रतिरोधी भवन निर्माणसंहितामा रहेर निर्माण गर्नेमा समेत कार्यक्रमबाट सहयोग मिल्ने भूकम्प प्रविधि र राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

भारतबाट नेपालतर्फ भन्सार छली छली भित्र्याइएका एक सय ४० बोरा प्याज बरामद

लुम्बिनी, २४ फागुनः रुपन्देही प्रहरीले भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याइएको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले बुधबार रुपन्देहीको कालिदह नाकाबाट भन्सार छली नेपाल भित्र्याइएको प्याज र जिल्लाको धकधही क्षेत्रबाट विभिन्न उपभोग्य सामान बरामद गरेको छ ।

प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१ कालिदहबाट एक सय ४० बोरा प्याज बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो । उक्त प्याज मोटसाइकल र साइकलमा ढुवानी गरी गोदाम गरिरहेका अवस्थामा बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।

बरामद गरिएका चार मोटरसाइकलमध्ये एउटा भारतीय नम्बरप्लेट र तीन नेपाली नम्बरप्लेटका छन् । त्यस्तै सातवटा साइकल बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको प्याज, मोटरसाइकल र साइकल आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको प्रनाउ भट्टले बताउनुभयो ।

यस्तै भारतबाट नेपालतर्फ अवैधरूपमा भन्सार छली चोरी पैठारी गरी ल्याइएको उपभोग्य सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले मङ्गलबार रोहिणी गाउँपालिका–३ स्थित धकधईबाट अन्दाजी रु दुई लाखबराबरको सामान बरामद गरेको हो ।

प्रहरीले बरामद गरेको सामानमा फागुपूर्णिमाका लागि आवश्यक पर्ने पिच्कारी, रङ, बेलुन, जुत्ता र चप्पल, टिसर्टलगायत छन् । बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रनाउ भट्टले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिकाद्वारा नोक्सानी व्यहोरेका कृषि फार्मलाई समर्थन मूल्य प्रदान

कास्की, २४ फागुन : पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी व्यहोरेका १६ कृषि फार्मलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ । महानगरपालिकाले विभिन्न ३५ प्रकारका कृषि उपजको समर्थन मूल्य तोकेको छ । पोखरामा बुधबार आयोजित कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले किसानलाई रकम प्रदान गर्नुभएको हो । महानगरले ६० हजार चार सय ४१ केजी च्याउ, २५ हजार चार सय १७ केजी गोलभेँडा, नौ हजार पाँच सय २० केजी सिमी र दुई सय ९१ केजी कोदो गरी ९५ हजार छ सय ६९ केजी कृषि उपजको रु २६ लाख ७९ हजार सात सय ६१ समर्थन मूल्य प्रदान गरेको हो ।

पोखरा महानगरपालिकाभित्र उत्पादन भएका तर तोकिएको मूल्य नपाएका किसानलाई प्रोत्साहनका लागि समर्थन मूल्य प्रदान गरिएको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताउनुभयो । उहाँका अनुसार बाहिरबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा किसान विस्थापित हुँदै गएकाले त्यसलाई रोक्न महानगरले ३५ कृषि उपजको समर्थन मूल्य तोकेको उल्लेख गर्नुभयो ।

यदि किसानले आफ्ना उत्पादन समर्थन मूल्यभन्दा कममा बेच्नुपरेमा महानगरले बाँकी रकम किसानलाई दिन्छ । न्यूनतम समर्थन मूल्य तोकिएका बालीको दाबी गर्नका लागि किसानले आफूले लगाएको बालीको नाम, जात र क्षेत्रफल अग्रिमरूपमा दर्ता गर्नुपर्छ । न्यूनतम समर्थन मूल्य प्राप्त गर्ने किसानमा चिसापानी च्याउ फार्म पोखरा–२२ का सन्दीपबहादुर क्षेत्रीले समर्थन मूल्यबापत ११ हजार एक सय ६६ केजी च्याउको रु चार लाख ८५ हजार नौ सय ४० प्राप्त गर्नुभयो ।

भुर्जङ्खोला च्याउ फार्म पोखरा–१९ का सुष्मा सुनार गहतराजले सात हजार पाँच सय ६० केजी च्याउको रु तीन लाख ६२ हजार नौ सय २०, शोभा अग्र्यानिक मल्टिएग्रो फार्म पोखरा–२६ का मुकुन्द खड्काले नौ हजार सात सय १४ केजी च्याउको रु तीन लाख १७ हजार ४४, ग्रिन लाइम मसरुम फार्म पोखरा–२४ का चोविन्द्रबहादुर कुँवरले रु तीन लाख एक हजार सात सय ४० पाउनुभएको छ ।

यसैगरी सुवेदी च्याउ तथा तरकारी फार्म पोखरा–३३ का प्रताप सुवेदीले नौ हजार एक सय १३ केजी च्याउको रु तीन लाख आठ सय २२, काँहु सिस्नेरी एग्रो फार्म पोखरा–११ का ध्रुवबहादुर थापाले पाँच हजार दुई सय २५ केजी च्याउको रु एक लाख ७४ हजार दुई सय २६, भोर्लेटार च्याउ उद्योग पोखरा–३२ का मनोरञ्जन पौडेलले छ हजार दुई सय तीन केजी च्याउको रु एक लाख ६८ हजार सात सय छ पाउनुभएको छ ।

अधिकारी अग्र्यानिक च्याउ फार्म पोखरा–१४ का मीना अधिकारीले दुई हजार सात सय २४ केजी च्याउको रु ८३ हजार चार सय ४४ र विमु अधिकारी च्याउ फार्म पोखरा–१४ का हरिमाया अधिकारीले एक हजार दुई सय ५६ केजी च्याउको रु ४९ हजार छ सय महानगरबाट समर्थन मूल्य प्राप्त गर्नुभएको हो ।

यसैगरी एसके कँडेल कृषि फार्म पोखरा–२८ का सन्तोष कँडेलले तीन हजार नौ सय ५० केजी सिमीको रु ६९ हजार नौ सय ५०, पोखरा कुखुरा तथा कृषि फार्मका रिलेस बस्यालले तीन हजार छ सय ७० केजी सिमीको रु ६२ हजार आठ सय ९०, राति पोखरी कृषि फार्म पोखरा–२२ का अग्निमाया बरालले आठ सय २५ केजी सिमीको र एक हजार सात सय ५४ केजी गोलभेँडाको रु ३५ हजार चार सय २१, निलम कृषि फार्म पोखरा–१४ का यामबहादुर घर्तीले दुई हजार ६७ केजी गोलभेँडाको रु २३ हजार चार सय ७५ बुझ्नुभयो ।

रोशन एण्ड रोहित कृषि फार्म पोखरा–१४ का रमेश खनालले २१ हजार तीन सय १४ केजी गोलभेँडाको रु दुई लाख १९ हजार तीन सय २९, पोखरा हिमाल कृषि फार्म पोखरा–१४ का बुद्ध गुरुङले एक हजार ७५ केजी सिमी र दुई सय ८२ केजी गोलभेँडाको रु १५ हजार पाँच सय २४ र हरियाली कृषि फार्म पोखरा–३३ का शुकदेव सुवेदीले दुई सय ९१ केजी कोदोको रु आठ हजार सात सय ३० पाउनुभयो ।

किसानलाई समर्थन मूल्य प्रदान गर्दै प्रमुख आचार्यले महानगरपालिका किसानको साथमा रहेको बताउनुभयो । “कृषि उपजको सुरक्षित ढुवानीका लागि सञ्चालन गरिएको कृषि एम्बुलेन्स र समर्थन मूल्य कृषि व्यवसाय र किसानका लागि निकै महत्त्वपूर्ण छन्”, प्रमुख आचार्यले भन्नुभयो ।

कृषि व्यवसायमा लागेका किसान हतोत्साहित हुन नपरोस् भनी यसलाई थप प्रभावकारी बनाइएको महानगरले जनाएको छ । समर्थन मूल्य प्राप्त गरेपछि किसानले कृषि व्यवसायका क्रममा आफूले व्यहोर्नुपरेको नोक्सानीमा मल्हम लगाउन महानगरपालिका सारथी बनेको र यसले आफूहरूलाई प्रोत्साहन मिलेको किसानहरूको भनाइ छ ।

युक्रेन आक्रमणको आलोचना गरेको भन्दै रुसद्वारा पत्रकारलाई कारागार चलान

रुसको एक अदालतले सामाजिक सञ्जालमा युक्रेन आक्रमणको आलोचना गरेको आरोपमा एक पत्रकारलाई बुधबार सात वर्षको कारागार सजाय सुनाएको छ । एकाउन्न वर्षीय रोमन इभानोभमाथि रुसको सशस्त्र बलहरूका बारेमा ‘झुटो सूचना’ आरोपमा दोषी पाइयो र मसकोको कडा सैन्य सेन्सरसिप कानूनअन्तर्गत दण्डित गरियो । मस्कोले युक्रेनमाथि आफ्नो पूर्णस्तरको सैन्य आक्रमणको सार्वजनिक आलोचनालाई समाप्त पार्नका लागि सशस्त्र बलहरूलाई ‘अपमानित’ गर्ने वा ‘झुटो सूचना’ प्रकाशित गर्नेविरुद्ध कानूनहरूको प्रयोग गरेको छ ।

सजाय सुनाइएपछि इभानोभले अदालत कक्षबाट बाहिर निस्कँदै गर्दा चिच्याउँदै भन्नुभयो, “शान्ति र स्वतन्त्रता ।” उहाँका समर्थकहरूले कराउँदै र ताली बजाउँदै भने, “हामी तपाईंसँगै छौँ, तपाईं एक्लो हुनुहुन्न ।”

सन् २०२२ मा टेलिग्राम र भिकोन्टेक सामाजिक सञ्जाल साइटहरूमा प्रकाशित पोस्टहरूमा इभानोभले युक्रेनमा रुसको सैन्य आक्रमण र युक्रेनी सहर बुचामा उसको कार्यहरूको आलोचना गर्नुभएको थियो । उहाँलाई गत वर्ष पक्राउ गरिएको थियो र उहाँले आफू निर्दोष रहेको बताउनुभएको थियो ।

“रुसमा पत्रकारिता अब अवस्थित छैन”, पछिल्लो सुनुवाइमा अदालतलाई दिनुभएको अन्तिम बयानमा उहाँले भन्नुभयो, “हामीले हाम्रा चारैतिर दुःख किन बीजारोपण गरिरहेका छौँ र हाम्रो मुलुक दुःखको पहिरोमा किन परिवर्तन भएको छ भनेर हामीले स्वयंलाई सोध्नुपर्छ ।”

इभानोभ एउटा स्थानीय सरकारी टिभी च्यानलमा काम गर्नुहुन्थ्यो तर सन् २०२१ मा मस्कोको उत्तरपूर्वी सहर कारोलियोभमा कथित भ्रष्टाचार, चुनावी जालसाजी र पर्यावरणीय समस्याहरूमाथि रिपोर्ट गरेपछि उहाँलाई बर्खास्त गरिएको थियो ।

बुधबारको फैसलापछि अदालतको कक्षबाहिर बोल्दै इभानोभकी आमाले स्थानीय अधिकारीहरूले उहाँको रिपोर्टिङको प्रतिशोधका रूपमा उहाँविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको बताउनुभयो । “उनीअगाडि जे छ त्यो पूर्ण बनावटी हो”, अल्ला इभानोभाले भन्नुभयो, “म लड्न जारी राख्नेछु ।”

एक दशकमा सन् २०२३ आप्रवासीहरूका लागि सबैभन्दा घातक वर्ष– राष्ट्रसङ्घ

सन् २०२३ मा विश्वभरमा आप्रवासन मार्गमा कम्तीमा आठ हजार पाँच सय ६५ व्यक्तिको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले बुधबार बताएको छ । एक दशकअघि सुरु गरिएका रेकर्डपछिको यस वर्ष सबैभन्दा घातक वर्ष बनेको छ ।

“सन् २०२३ मा मृत्यु हुनेको सङ्ख्या सन् २०२२ को तुलनामा २० प्रतिशतको दुःखद वृद्धिलाई देखाउँछ, यसले जीवनको थप क्षतिलाई रोक्नका लागि तत्काल कदम चाल्नुपर्ने आवश्यकतालाई उजागर गर्दछ”, आइओएमले विज्ञप्तिमा भनेको छ ।

गत वर्षको कूल सङ्ख्याले सन् २०१६ को पछिल्लो रेकर्डलाई तोडेको छ । सन् २०१६ मा आप्रवासनका क्रममा आठ हजार ८४ जनाको मृत्यु भएको थियो । आइओएमका अनुसार सुरक्षित तथा नियमित बसाइँसराइ मार्ग सीमित भएकाले प्रत्येक वर्ष हजारौँ मानिस असुरक्षित परिस्थितिमा अनियमति मार्गबाट बसाइँसराइको प्रयास गर्छन् ।

भूमध्य सागर पार गर्न आप्रवासीहरूका लागि सबैभन्दा घातक मार्ग भएको छ । यसमा गत वर्ष कम्तीमा तीन हजार एक सय २९ जनाको मृत्यु र बेपत्ता रेकर्ड गरिएको छ । सन् २०२३ मा कूल आप्रवासीको मृत्युमा आधाभन्दा धेरै मृत्यु डुबेर भएको छ । नौ प्रतिशत वाहन दुर्घटना र सात प्रतिशत हिंसाका कारण भएको छ ।

आइओएमको मिसिङ माइग्रेन्ट्स प्रोजेक्ट सन् २०१४ मा आप्रवासीको मृत्यु र बेपत्ताका बारेमा एउटा ओपन–एक्सेस डेटाबेसका रूपमा स्थापना गरिएको थियो । त्यसबेलादेखि विश्वभरमा ६३ हजार मामिलालाई दस्तावेजीकरण गरिएको छ । यद्यपि विशेषरूपमा दुर्गम स्थानहरूमा डेटा सङ्ग्रहमा चुनौतीका कारण वास्तविक आँकडा अत्यन्त धेरै अनुमान गरिएको छ ।

“मिसिङ माइग्रेन्ट्स प्रोजेक्टको १० वर्ष पूरा गर्दैगर्दा हामी सबैभन्दा पहिला ती सबै ज्यान गुमाएकालाई स्मरण गर्दछौँ”, आइओएमका उपमहानिर्देशक उगोजी डेनियलले भन्नुभयो, “तिनीहरूमध्ये प्रत्येक एउटा भयानाक मानवीय त्रासदी हो जुन आगामी वर्षहरूमा परिवार र समुदायमा प्रतिध्वनित भइरहनेछ ।”

किसानको समस्या समाधान गर्न नसके कुर्सीमा बस्नुको औचित्य छैन – मन्त्री साह

काठमाडौँ- नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले किसानका समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

कृषि मन्त्रालयमा बुधबारपदबहाली गर्दै उहाँले किसानको समस्या समाधान गर्न नसके कुर्सीमा बस्नुको औचित्य नहुने बताउनुभयो । मन्त्री साहले दूध किसानको बाँकी रकम समयमै भुक्तानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री र कर्मचारीको संयुक्त प्रयासबाट मात्रै सरकारले लिएको लक्ष्य हासिल गर्न सकिने उहाँको भनाइ छ । उहाँले सकारात्मक कामको पक्षमा आफू सधैँ कर्मचारीको साथमा रहेको उल्लेख गर्दै सेवा प्रवाहमा ढिलाइ गरे आफूलाई सह्य नहुने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ज्वालाकुमारी साह दोस्रो पटक कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभएको छ । यसअघि उहाँले २०७९ माघ ३ गते कृषि मन्त्रालय सम्हाल्नुभएको थियो । सांसद साहको जन्म २०३८ कात्तिक ११ गते करैयामाई गाउँपालिका–४, लौतनमा भएको थियो । उहाँको शैक्षिक योग्यता स्नातकसम्म रहेको छ ।

माओवादी जनयुद्धमा भूमिगत भएर राजनीति गर्नुभएकी साह विद्यार्थी र महिला सङ्गठन हुँदै पोलिटब्युरो सदस्यको जिम्मेवारीमा पुग्नुभयो । विसं २०६४ मा सम्पन्न संविधानसभा निर्वाचनबाट समानुपातिकतर्फ सदस्य बन्नुभएको उहाँ एकपटक २०६७ मा भूमिसुधार राज्यमन्त्री र २०६८ मा पर्यटन राज्यमन्त्री बन्नुभयो । पछिल्लोपटक केपी ओली नेतृत्वको सरकारमा १३ दिनका लागि कृषिमन्त्रीसमेत बन्नुभयो ।

विसं २०७० मा उहाँले माओवादी केन्द्रीय सदस्य र पर्सा जिल्ला इञ्चार्ज भएर काम गर्नुभयो । विसं २०७१ मा पार्टी पोलिटब्युरो सदस्य रहनुभएको बारा जिल्ला इञ्चार्जको जिम्मेवारी पाउनुभयो । उहाँ २०७२ सालमा पार्टीको महिला सङ्गठनमा केन्द्रीय उपाध्यक्षसमेत बन्नुभयो । २०७४ मा मधेस प्रदेशको प्रदेशसभामा निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित प्रदेश सदस्य बन्नुभयो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ मा उहाँ प्रत्यक्ष निर्वाचित हुनुभयो ।

काठमाडौँ–तराई द्रुतमार्गलाई समयमै सक्न रक्षामन्त्री उप्रेतीको निर्देशन

काठमाडौँ – नवनियुक्त रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाडौँ–तराई द्रुतमार्गलाई समयमै सक्न मन्त्रालय र नेपाली सेनाका उच्चअधिकारीलाई निर्देशन दिनुभएको छ ।

सिंहदरबारस्थित कार्यालयमा बुधबार पदबहाली गर्दै मन्त्री उप्रेतीले नेपाली जनताको आशा र अपेक्षाको विषय रहेको उक्त आयोजनामा ढिलाइ भएको विषयमा आफू जानकार रहेको र अब निर्धारित समयमै सकाउन मन्त्रालयका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने बताउनुभयो । उहाँले राष्ट्रिय सुरक्षा, राष्ट्रिय हित र विकासमा मन्त्रालय तथा नेपाली सेनाले देखाउँदै आएको क्रियाशीलतालाई कायम राखी प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री उप्रेतीले नेपाली जनताको अगाध आस्था र विश्वासको धरोहर रहेको नेपाली सेनाको क्षमता विकासका काममा प्राथमिकता दिइने बताउनुभयो । उहाँलाई मन्त्रालयका सचिव किरणराज शर्मा, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायत उच्च पदाधिकारीले स्वागत गर्नुभएको थियो ।

विसं २०३७ मा काठमाडौँको सरस्वती क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापति हुनुभएपछि राजनीतिमा होमिनुभएका मन्त्री उप्रेतीको यस मन्त्रालयमा दोस्रो आगमन हो । विसं २०७० मा संविधानसभा सदस्यमा निर्वाचित उप्रेती गत निर्वाचनमा सर्लाही क्षेत्र नं–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ २०७९ सालमा डेढ महिना रक्षामन्त्री रहनुभएको थियो । एमालेको केन्द्रीय स्थानीय तह विभागका सदस्य उप्रेती सो पार्टीको मधेस प्रदेश कमिटीको पूर्वसदस्य रहीसक्नुभएको छ ।

‘मजदुरको समस्या एकद्वार प्रणालीबाट समाधान गर्नेछु’ – श्रममन्त्री अर्याल

काठमाडौँ – नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले संसारभर रहेका नेपाली मजदुरका समस्या एकद्वार प्रणालीबाट जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्री अर्यालले भन्नुभयो, “संसारभरि रहेका नेपाली श्रमिकको समस्यालाई एकद्वार प्रणालीबाट सबैभन्दा पहिला समाधानको प्रयास गर्नेछु, त्यो श्रम मन्त्रालयको जिम्मेवारी पनि हो ।” विदेश र स्वदेशमा रहेका श्रमिकको हकहित आफ्नो पहिलो प्राथमिकता हुने उहाँले बताउनुभयो ।

त्यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बुधबार पद बहाली गर्नुभएको छ । उहाँले प्रत्यक्ष लाभ हुनेगरी जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ, २४ फागुन : जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ८ बजेका लागि बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार जसपा १५ सङ्घीय सांसद रहेका र जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ ।

वन क्षेत्रको जग्गा उपयोगका सम्बन्धमा राष्ट्रिय योजना आयोगलाई सिफारिस गर्ने मन्त्री जोशीको निर्णय

काठमाडौँ – नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले बुधबार सिंहदरबारस्थित कार्यालयमा पदबहाली गर्नुभएको छ ।

मन्त्री जोशीले सुर्खेतको गुरुवाकोट नगरपालिकामा सामुदायिक विद्यालयका लागि स्थानीय तहमार्फत कार्यान्वयन हुने आयोजनाका लागि आवश्यक वन क्षेत्रको जग्गा उपयोगका सम्बन्धमा राष्ट्रिय योजना आयोगलाई सिफारिस गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो । मन्त्री जोशीलाई मन्त्रालयका सचिव विनोदप्रकाश सिंहलगाययतले स्वागत गर्नुभएको थियो ।

यसअघि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति रहनुभएका नेकपा (एकीकृत समाजवादी) का नेता जोशी बझाङबाट निर्वाचित हुनुहुन्छ । लामो समय नेकपा (एमाले) को राजनीतिमा समिर्पित जोशी एमाले विभाजनपछि एकीकृत समाजवादीमा लाग्नुभएको थियो ।

खेलकुद क्षेत्रको विकासका लागि आफू सक्रिय भएर लाग्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता

काठमाडौँ – नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि आफू सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्री श्रेष्ठले बुधबार खेलकुद मन्त्रालयमा पदभार ग्रहण गर्दै खेलकुद राष्ट्रको प्रतिष्ठासँग जोडिएका विषय भएकाले यस क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउन सक्दो प्रयास गर्ने बताउनुभयो ।

उहाँले खेलाडीलाई खेल मैदानसँग जोडिरहन, मनोबल बढाउन, खेलमार्फत राष्ट्रको गरिमा उच्च राख्न तथा राष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितालाई व्यावसायिक बनाउन खेल तालिकासहितको कार्ययोजना बनाई समन्वयात्मकरुपमा कार्यान्वयन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन पनि दिनुभयो ।

काठमाडौँको इन्द्रचोकमा जन्मिनुभएका श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पाटी काठमाडौँ–८ बाट निर्वाचित हुनुभएको हो । उहाँ २०७९ मङ्सिर ४ गते भएको निर्वाचनबाट प्रतिनिधिसभाको सांसद बन्नुभएको थियो । बयालीस वर्षीय श्रेष्ठ २०७४ को चुनावमा बागमती प्रदेशको विवेकशील साझा पार्टीबाट समानुपातिक सांसद बन्नुभएको थियो ।

यसअघि उहाँले पर्यटन, वातावरण तथा दिगो विकास अभियन्ता, सामाजिक अभियन्ता, अस्पताल व्यवस्थापन, सामाजिक÷सांस्कृतिक क्षेत्रमा समेत काम गर्नुभएको थियो । वाणिज्य व्यापार विषयमा श्रेष्ठले स्नातकोपाधि हासिल गर्नुभएको छ ।

भूमि व्यवस्था र सहकारी क्षेत्रमा सुधार गर्छु – मन्त्री अधिकारी

काठमाडौँ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि व्यवस्था तथा सहकारीको क्षेत्रमा आफूले सुधार गर्न अधितम प्रयास गर्ने बताउनुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री अधिकारीले आफूले राम्रो काम गर्ने र त्यसका लागि सबैको सहयोगका लागि आग्रह गर्नुभयो । विसं २०१७ साउन ४ गते कास्कीको मादी गाउँपालिका गोर्देमा जन्मिनुभएका मन्त्री अधिकारी राजनितिक आन्दोलनका क्रममा चार पटक हिरासतमा रहनुभएको थियो । शिक्षण पेसा हुँदै राजनीतिमा लाग्नुभएका मन्त्री अधिकारीले २०३४ सालदेखि लमजुङ र कास्कीमा विद्यार्थी राजनीति थाल्नुभएको थियो ।

मन्त्री अधिकारी हाल एमाले केन्द्रीय सदस्य तथा कपिलवस्तु इञ्चार्जसमेत हुनुहुन्छ । कपिलवस्तुको शिवराज नगरपालिका–९ सुन्दरीडाँडास्थित प्रकाश माविमा उहाँ १० वर्ष शिक्षण पेशामा आवद्ध हुनुभएको थियो । मन्त्री अधिकारी २०७० मा कपिलवस्तु क्षेत्र नं १ बाट संविधानसभा सदस्यमा विजयी हुनुभएको थियो । उहाँ २०७९ सालमा पनि कपिलवस्तु क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

सङ्घीयता कार्यान्वयका लागि आवश्यक कानुन बनाउँछु : कानुन मन्त्री गिरी

काठमाडौँ – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नेपालको संविधान तथा सङ्घीयता कार्यान्वयनका लागि आवश्यकपर्ने कानुनहरू निर्माण गर्ने बताउनुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा बुधबार साँझ पदभार ग्रहण गर्दै मन्त्री गिरीले मुलुकको विकास निर्माणमा सहयोग पुग्ने गरी कानुन निर्माणमा ध्यान दिने बताउनुभयो । न्यायमा पहुँच अभिवृद्धिका लागि कानुनी सचेतनामूलक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न तथा मन्त्रालयको समग्र कामकारबाहीलाई व्यवस्थित बनाउन आवश्यक कार्ययोजनाका साथ अगाडि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्रालयमा पदभार ग्रहणका क्रममा मन्त्री गिरीले एकीकृत कानुनी सहायतासम्बन्धी नयाँ विधेयक तर्जुमा गर्न नेपाल सरकार, मन्त्रिपरिषद्को सिद्धान्त स्वीकृतिका लागि प्रस्ताव पेश गर्ने निर्णय गर्नुभयो । प्रस्तुत विधेयकमा नेपालको संविधानको धारा २० को उपधारा (१०) ले न्याय सम्बन्धी हकअन्तर्गत असमर्थ पक्षलाई कानुनबमोजिम निःशुल्क कानुनी सहायता पाउने हकको प्रत्याभूत गरेको तथा एकीकृत कानुनी सहायतासम्बन्धी नीति, २०७६ कार्यान्वयन गर्न रहेको छ ।

त्यस्तै, संविधानको भावनाअनुरुप निःशुल्क कानुनी सहायता प्राप्त गर्ने असमर्थ पक्षको दायरा फराकिलो बनाउन तथा न्यायिक निकायमा मात्रै सीमित कानुनी सहायतालाई अर्धन्यायिक निकायमा समेत विस्तार गरी नेपालको सङ्घीय शासन प्रणालीबमोजिम सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक रुपमा कानुनी सहायतालाई प्रभावकारी बनाउन कानुनी सहायतासम्बन्धी ऐन, २०५४ खारेज गरी नयाँ एकीकृत कानुनी व्यवस्था गर्ने उद्देश्य रहेको छ ।

विसं २०३३ फागुन २८ गते पर्वतको दुर्लुङमा जन्मनुभएका मन्त्री गिरीले २०५० सालमा पोखराको पृथ्वीनारायण क्याम्पसबाट अनेरास्ववियुको राजनीतिमा सुरु गर्नुभएको थियो । विसं २०५४ मा नेकपा (एमाले) दुर्लुङ गाउँ कमिटी सचिव, २०५५ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसको प्रारम्भिक कमिटीको सदस्य, २०५७ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसको प्रारम्भिक कमिटीको अध्यक्ष भएर उहाँले काम गर्नुभएको थियो । मन्त्री गिरीले समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

विसं २०५९ स्ववियुमा पुनः दोस्रोपटक उपसभापति, २०६२ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति, २०६७ नेकपा (एमाले) पर्वत जिल्ला कमिटी सचिवालय सदस्य, २०७२ सालमा पर्वतको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित, २०७४ सालमा उहाँ पर्वतबाट पहिलोपटक संघीय सांसद बन्नुभएको हो ।

मन्त्री गिरी २०७५ सालमा एमाले गण्डकी कमिटी सदस्य, १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्य तथा पर्वत जिल्ला सहइञ्चार्ज, २०७९ मङ्सिरमा दोस्रो पटक पुनः उहाँ सङ्घीय सांसद बन्नुभएको थियो । यसअघि उहाँ २०७९ माघ ३ गते स्वास्थ्य तथा जनसङ्यामन्त्री बन्नुभएको थियो ।

मन्त्रालयको कामलाई परिणाममुखी बनाउनुपर्छ : खानेपानीमन्त्री राई

काठमाडौँ – नवनियुक्त खानेपानीमन्त्री राजेन्द्रकुमार राईले मन्त्रालयको कामलाई परिणाममुखी र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । खानेपानी मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले राजनीतिक र प्रशासनिक नेतृत्व मिलेर आमजनताले अनुभूति गर्नेगरी काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

मन्त्री राईले आफूले सम्हाल्न लागेको मन्त्रालय जनताको प्रत्यक्ष सरोकारसँग जोडिएकाले सबैले अनुभूति प्राप्त गर्नेगरी कार्यसम्पादन गर्न पनि निर्देशन दिनुभयो । उहाँले भन्नुभयोे, “मेरोतर्फबाट धेरै भनिरहनुपर्ने जरुरी ठान्दिन । तपाईंहरूसँग लामो अनुभव र विज्ञता छ । जुन ढङ्गले काम गरिरहनुभएको छ, यो भन्दा गतिदिने गरी काम गरौँ, खानेपानीको हाहाकार छ, जनताको विश्वास जित्ने गरी सेवा प्रवाहलाई चुस्त तुल्याउने काम गरौँ ।”

उक्त मन्त्रालयका सचिव सुरेश आचार्यले मन्त्रालयको गतिविधिबारे मन्त्री राईलाई अवगत गराउनुभएको थियो । मन्त्री राईले पदबहालीपछि पहिलो निर्णयका रुपमा धेरै जनसङ्ख्या भएका सहरमा नदीबाट पाइपको सहायताले पानी तानेर वितरण गर्नका लागि सम्भाव्यता अध्ययनको लागि खानेपानी विभागले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर सरोकारवालासँगको कार्यशाला गर्नेसम्बन्धी फाइलमा हस्ताक्षर गर्नुभयो ।

यसअघि मन्त्री राईलाई मन्त्रालयमा सचिव आचार्यसहितका कर्मचारीले स्वागत गर्नुभएको थियो । मन्त्री राई यसअघि छोटो समय भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारीमन्त्री बन्नुभएको थियो ।

विसंं २०३५ मा तत्कालीन नेकपा मालेसम्बद्ध अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गर्नुभएका नवनियुक्त मन्त्री राई १४ वर्षको किशोर उमेरमै धनकुटास्थित गोकुण्डेश्वर माविमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति हुनुभएको थियो । उहाँले अखिलको धनकुटा जिल्ला कमिटी अध्यक्ष, प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घको जिल्ला अध्यक्ष, किसान महासङ्घको केन्द्रीय सदस्य र नेकपा (एमाले) धनकुटा जिल्ला कमिटीको दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । विसं २०७८ मा एमालेको दशौँ महाधिवेशनबाट नवनियुक्त मन्त्री राई केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।

विसं २०४९ मा जिल्ला विकास समितिको सदस्य र २०५४ मा जिविस उपसभापतिको जम्मेवारी सम्हालिसक्नुभएका मन्त्री राईले स्नातकसम्म अध्ययन गर्नुभएको छ । पिता तेजबहादुर र माता मोतीमाया राईका कोखबाट २०२२ साल भदौ २९ गते धनकुटाको पाख्रिबासमा जन्मनुभएका उहाँ यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा धनकुटाबाट निर्वाचित हुनहुन्थ्यो ।

विभिन्न राजनीतिक गतिविधिमा सरिक भएबापत करिब साढे दुई वर्ष जेल जीवन व्यतित गर्नुभएका नवनियुक्त मन्त्री राई आन्दोलका क्रममा पटकपटक प्रहरी हिरासतमा पर्नुभएको थियो ।

देशैभरिबाट हडपिएका सरकारी जग्गा फिर्ता ल्याउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ-नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशैभरिबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारका नाममा फिर्ता ल्याउन निर्देशन दिनुभएको छ ।

गृह मन्त्रालयमा बुधबार पदबहाली गर्दै उहाँले व्यक्ति तथा संस्थाले हडपेका सरकारी स्वामित्वका जग्गा तत्काल सरकारमा ल्याउन पहल गर्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारीलाई निर्देशन दिँदै भन्नुभयो, “सरकारी जमिन हडप्नेलाई निर्मम कारबाही गर्नुस्, हडपिएका सरकारी जमिन सरकारको नाममा ल्याउनुस् ।”

गृहमन्त्री लामिछानेले नेपाली नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति हुने खालका काम गर्न निर्देशन दिनुभयो । “नागरिकलाई दुःख दिने खालका कुुरा आफूलाई सैह्य हुँदैन, बर्दी लगाएको प्रहरी देख्दा नागरिकलाई सुरक्षा महसुस हुनुपर्छ, सोहीअनुसार काम गर्नु होला”, उहाँले भन्नुभयो ।

राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि गृह मन्त्रालय पुग्नुभएका उहाँलाई गृहसचिव दिनेशकुमार भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु आर्याललगायत उच्च अधिकारीले स्वागत गर्नुभएको थियो ।

कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन

कर्णाली, २३ फागुन : कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले आज मुख्यमन्त्री राजकुमार शर्माको नेतृत्वमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो ।

नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा प्रतिनिधित्व गर्नुभएका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णबहादुर विसी र सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले मङ्गलबार राजीनामा दिनुका साथै सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै तीन मन्त्रालय रिक्त रहेका थिए ।

मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (९¬) बमोजिम नियुक्ति, हेरफेर कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेसँगै रिक्त तीनवटै मन्त्रालय मुख्यमन्त्री शर्माले हेर्नुहुने प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिनुभयो ।

निमित्त सचिव थानीका अनुसार कृष्णबहादुर जिसीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मङ्गलबहादुर शाहीले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, उर्मिला विश्वकर्माले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय तथा भीम प्रकाश शर्माले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

इलाम–२ मा उपनिर्वाचनका लागि बैठक

इलाम, २३ फागुन : इलाम निर्वाचन क्षेत्र नं २ मा आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि जिल्लाका सरोकारवालाकोे अन्तक्र्रियाले विभिन्न निर्णय गरेको छ ।

जिल्ला निर्वाचन कार्यालयले फागुन २३ गते आयोजना गरेको अन्तक्र्रियामा निर्वाचनमा सहयोग र समन्वयसम्बन्धी निर्णय गरिएको हो । कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूका अनुसार फागुन २८ गतेदेखि चैत ५ सम्म मतदाता नामावली अद्यावधिक तथा अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

जिल्लामा क्रियाशील सबै राजनीतिक दलहरूबाट जिल्लाका आफू मातहत सबै तहमा आवश्यक सहयोग, समन्वय र प्रचारप्रसारलगायत कार्यमा आवश्यक सहजीकरण गर्न निर्देशन दिने निर्णय पनि भएको कार्यालयले जनाएको छ । आयोगको परिपत्रअनुसार उपनिर्वाचनका लागि सहयोग, समन्वय र सहजीकरणका लागि जिल्लाका ८१ वटै वडा सचिवलाई निर्देशन दिने निर्णय पनि भएको छ ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईको प्रमुख आतिथ्यमा भएको अन्तक्र्रियामा विभिन्न राजनीतिक दल, कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, पत्रकारलगायत सहभागाी थिए । उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता चैत २४ लाई तोकिएकोे छ ।

आयोगका अनुसार चैत २२ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ भने फागुन २४ देखि ३० सम्मको म्याद दिई राजनीतिक दल दर्ताको सूचना प्रकाशन गरिनेछ । चैत २२ गते मुख्य निर्वाचन अधिकृत नियुक्त गरी त्यसै दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदैछ । चैत २८ देखि वैशाख १२ प्रचारको अवधि राखिएको छ भने वैशाख १५ बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ ।

राष्ट्रका सामू देखिएका चुनौतीको सामना गर्न गृहमा आएँ : गृहमन्त्री लामिछाने

काठमाडौं :  रास्वपा सभापति रवि लामिछानेले उपप्रधान एवम् गृहमन्त्रीको पदभार ग्रहण गरेका छन्। बुधबार बेलुका राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिए लगत्तै गृह मन्त्रालयमा उनले पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण गर्दै लामिछानेले ७७ जिल्लामै सरकारको स्वामित्वमा रहेको जग्गाको विवरण संकलन गरेर कसैले  सरकारी जग्गा व्यक्ति वा निजी संस्थाले कब्जा गरेको भए कारबाही अगाडि बढाउने बताए। यस अगाडि नै सरकारी र सार्वजनिक जग्गाको तथ्य सहितको विवरण संकलन गरेर पठाउन निर्देशन जारी भएकाले सोहि निर्णयमा टेकेर आफूले पहिलो निर्णय सरकारको स्वामित्वमा भएको जग्गा गलत तरिकाले हडप्नेलाई कारबाही प्रक्रिया अघि बढाउने दाबी गरे। 

उनले जे चलिरहेको छ त्योभन्दा फरक गर्न सक्ने विश्वासका साथ गृहमन्त्रालय रोजेको बताए। उनले राष्ट्रका सामू देखिएका चुनौतीको सामना गर्न आफू गृहमा आएको बताए। उनले भने,‘कानुनले तोकेका कार्य गर्न कसैको निर्देशन लिनु पर्दैन। लिगल काम गर्न कुनै अनुमति लिनुपर्दैन।’ 

न्याय माग्न मन्त्री भेट्न आउनुपर्ने वातावरणको अन्त्य गर्ने गरी काम गर्नुपर्ने उनको भनाई छ।

आम नागरिकले बाटोमा प्रहरी अधिकारीलाई देख्ने बित्तिकै म सुरक्षित छु भन्ने महसुस गराउनुपर्ने धारणा राखे। गैह्रकानुनी गतिविधि नियन्त्रण र निगरानी गर्नुपर्ने उनको भनाई छ।

उनले गृह मन्त्रालय २४ घण्टा सक्रिय हुनुपर्ने र जिम्मेवार रहेको मन्त्रालय रहेको बताए। उनले नागरिकलाई नयाँ सरकार गठन भएको महसुस गराउनुपर्ने आवश्यकता रहेको स्पष्ट पारे।

काठमाडौं – नवनियुक्त उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले राष्ट्रका सामू देखिएका चुनौतीको सामना गर्न आफू गृहमा आएको बताएका छन् ।

बुधबार बेलुका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति समेत रहेका लामिछानेले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको पदभार ग्रहण गर्दै यस्तो बताएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिए लगत्तै उनले आज पदभार ग्रहण गरेका हुन्।

उनले जे चलिरहेको छ त्योभन्दा फरक गर्न सक्ने विश्वासका साथ गृहमन्त्रालय रोजेको बताए। उनले भने,‘कानुनले तोकेका कार्य गर्न कसैको निर्देशन लिनु पर्दैन। लिगल काम गर्न कुनै अनुमति लिनुपर्दैन।’

‘विकासोन्मुख देशमा गैरसरकारी संस्थाको भूमिका महत्वपूर्ण हुन्छ’ – खिलराज रेग्मी

काठमाडौँ, २३ फागुन : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायधीश खिलाराज रेग्मीले विकासोन्मुख देशमा गैरसरकारी संस्थाको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

फोकस नेपाल नामक संस्थाद्वारा आज यहाँ आयोजित ‘समुन्नत नेपाल निर्माणमा सामाजिक संस्थाको भूमिका’ विषयक विचार गोष्ठीमा उहाँले मुलुकको विकासका लागि सरकारी तथा गैरसरकारी संस्थाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो । उहाँले सामाजिक सङ्घसंस्थालाई देश र समाजको आवश्यकतालाई हेरेर काम गर्न आग्रह गर्नुभयो । उहाँले सरकारसँग सहकार्य गरेर आफ्नो भूमिकालाई सशक्त बनाउन संस्था लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

जलस्रोत विज्ञ ताराप्रसाद भट्टराईले राजनीतिक खिचातानीका कारण मुलुकले सोचेजस्तो विकास गर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले जलस्रोतको अथाह सम्भावना भएको नेपालले जलविद्युत् क्षेत्रबाट फाइदा लिनुपर्ने बताउनुभयो । फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले कृषि, जलस्रोत र पर्यटन क्षेत्रको विकासबाटै समुन्नत नेपाल निर्माण गर्न सकिने बताउनुभयो ।