`

दशरथ रङ्गशालाको मैदान स्तरोन्नतिका विषयमा चासो

Nepal One HD ३१ साउन २०८१ १९:२५
खेलकुद

काठमाडौँ, ३१ साउन : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङबीच दशरथ रङ्गशालाको मैदान स्तरोन्नतिका विषयमा आज छलफल भएको छ ।

मैदान स्तरोन्नतिका लागि लाग्ने समय, बजेटलगायत विषयमा दुई पक्षबीच त्रिपुरेश्वरस्थित राखेपमा प्रारम्भिक छलफल भएको हो । सो अवसरमा सदस्य–सचिव घिसिङले मैदानको स्तरोन्नति गर्न लाग्ने समय सीमा, बजेटलगायतका विषयमा चासो व्यक्त गर्दै सो कार्यका लागि दुवै पक्ष गम्भीर भएर पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

“दशरथ रङ्गशालाको मैदान स्तरोन्नति गर्न कति समय लाग्छ, कति बजेट लाग्छ, प्रारम्भिक खाका तयार गरी पेस गर्नुहोला,” सदस्य–सचिव घिसिङले चासो व्यक्त गर्दै भन्नुभयो, “समय सीमा तोकेर प्रारम्भिक खाका तयार गर्नु होला । त्यसपछि राखेप र एन्फा मिलेर मैदान स्तरोन्नतिका लागि गम्भीर भएर पहल गर्न आवश्यक छ । बजेटका कारण कुनै पनि हालतमा रोकिनुहुँदैन ।”

यो विषयमा राखेपले आइतबारै एन्फालाई पत्रचार पनि गरिसकेको छ । अध्यक्ष नेम्वाङले मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड पुग्नेगरी स्तरवृद्धि गर्नका लागि परामर्शदाताबाट सुझाव लिएर मैदान स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो


प्रतिक्रिया