`

गाजामा गरिएको इजरायली कारबाहीमा नौ हजार महिलाको मृत्यु : राष्ट्रसङ्घ

सन् २०२३ अक्टोबर ७ मा इजरायलविरूद्ध प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) ले गरेको आक्रमणको बदलामा गाजामा इजरायली सेनाद्वारा चलाएको हवाई तथा जमिनी कारबाहीमा करिब नौ हजार महिलाहरूको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय महिला कार्यक्रम (यूएन वुमन)ले शनिबार जनाएको छ ।

धेरै महिलाहरू भग्नावशेषमुनि परेको रिपोर्ट गरिएकाले यो आँकडा सम्भवतः कम भएको उक्त निकायले जनाएको छ ।

गाजामा युद्धका कारण दैनिक औसत ६३ महिलाको मृत्यु हुने गरेको छ । युद्धले गर्दा प्यालेष्टिनी महिलाहरूले परिवारका अन्य सदस्य गुमाउनु परेको र बाँचेका बालबच्चासमेतलाई असुरक्षाको अवस्था सिर्जना भएको यूएन वुमनले जनाएको छ ।

हरेक पाँचमध्ये चारभन्दा बढी वा ८४ प्रतिशत महिलाले उनीहरूको परिवारले द्वन्द्व सुरु हुनुअघि प्रयोग गरेको आधा वा कम खाना खाने गरेको रिपोर्ट राष्ट्रसङ्घीय निकायले गरेकोे छ ।

गाजामा पाँचमध्ये चार अर्थात् ८४ प्रतिशत महिलाले गरेको रिपोर्ट अनुसार उनीहरूका परिवारका सदस्यले गत हप्तादेखि खाना छोड्नु परेको छ । तीमध्ये ९५ प्रतिशत आमाहरू खाना बिना नै बस्ने तथा आफ्ना बच्चालाई खुवाउनका लागि आफूहरूले खानामा सम्झौता गर्ने गरेको यूएन वुमनले जनाएको छ ।

गाजाको २.३ मिलियन जनसङ्ख्याले केही हप्ताभित्र खाद्य असुरक्षाको गम्भीर स्तरको सामना गर्नुपर्नेछ । गाजा सर्वेक्षणमा १२ मध्ये १० महिला सङ्गठनहरूले आवश्यक आपतकालीन प्रतिक्रिया सेवाहरू प्रदान गर्दै आंशिक रूपमा खाद्यान्न सहयोग वितरण गरेकोे रिपोर्ट गरेका छन् ।तत्काल मानवीय युद्धविराम नभएसम्म आगामी दिनमा अझ धेरैको मृत्यु हुने उल्लेख गर्दे उक्त राष्ट्रसङ्घीय निकायले गाजामा आवश्यक पूर्वाधारको विनाश र बम विस्फोट रोक्न र तत्काल गाजामा मानवीय सहायता पु¥याउन आग्रह गरेको छ ।

व्यापार विवादका बिषयहरू उजागर गर्दै डब्ल्यूटीओ मन्त्रीस्तरीय वार्ता सम्पन्न

कृषि र मत्स्यपालनमा कुनै सम्झौताबारे विशेष निर्णय लिने अपेक्षा गरिएको विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) को उच्चस्तरीय सम्मेलन शनिबार सम्पन्न भएको छ ।

सम्मेलनले ई–कमर्श र कृषि र मत्स्यपालनसम्बन्धी छलफललाई महत्व दिएपनि उपलब्धीमुलक हुन नसकेको सहभागी देशका प्रतिनिधिहरूले जनाएका छन् ।

अबु धावीमासम्पन्न १३ औं मन्त्रीस्तरीय सम्मेलनको परिणामले भूराजनीतिक तनाव र आर्थिक मन्दीका बीच सङ्गठनका १६४ सदस्यराष्ट्रहरूबीच तीव्र विभाजनलाई विश्वव्यापी व्यापारलाई जोखिम पारेका बिषयहरूलाई उजागर गरेको छ ।

वार्तामा सहभागी युरोपेली सङ्घ (ईयू)का एक वरिष्ठ अधिकारीले भन्नुभयो, “विश्व व्यापार सङ्गठनले विश्व व्यापार सङ्कटको सकारात्मक पाटोलाई देखाउनुपर्ने खाँचो थियो । सम्भवतः सम्मेलनले विश्व समुदाय अहिलेको अवस्थाबाट अघि बढ्नु गलत हुनेछ भन्ने महसुस गराएको छ ।

समापन पत्रकार सम्मेलनमा बोल्दै एमसी–१३ भेलाका इमिराती अध्यक्ष थानी अल जेयुदीले कमीकमजोरीहरू स्वीकार गर्दै छलफल सोचे अनुरूप निष्कर्षमा पुग्न नसकेको बताउनुभयो ।

संयुक्त अरब इमिरेट्स (युएई) का विदेश व्यापारमन्त्री समेत रहेका अल जेयुदीले भन्नुभयो, “हाम्रा धेरै सदस्यका लागि निकै महत्वपूर्ण रहेको सम्झौताका लागि हाम्रो भरमग्दुर प्रयासका बावजुद पनि हामी केही बिषयमा सहमत हुन सकेनौं ।

विश्व व्यापार सङ्गठनका महानिर्देशक नगोजी ओकोन्जो–इवेलाले भन्नुभयो, “मैले सम्झन सक्ने कुनै पनि समयभन्दा बढी अनिश्चितताले भरिएको अन्तर्राष्ट्रिय पृष्ठभूमिमा वार्ता भएको छ । हामीले केही महत्वपूर्ण कुरा हासिल गरेका छौं र अन्य पूरा गर्न सकेका छैनौं ।”

विश्व व्यापार सङ्गठन राष्ट्रहरू बीचको व्यापारको नियमहरू हेर्ने एक मात्र अन्तर्राष्ट्रिय निकाय हो यसलाई सम्झौताहरू तयार गर्न सबै सदस्यहरूको पूर्ण सहमति आवश्यक छ ।

एमसी १३ ले जेनेभामा सन् २०२२ मा भएको मन्त्रिस्तरीय ऐतिहासिक सफलतालाई दोहो¥याउने अपेक्षा गरिएको थियो । यसले मत्स्यपालनसम्बन्धी सम्झौता गरेको थियो र सदस्यहरू यस वर्षको अन्त्यसम्ममा विवाद समाधान प्रणाली लाई पुनः स्थापित गर्न सहमत भएका थिए ।

तर पछिल्लो मन्त्रिमण्डलले त्यो उद्देश्य पूरा गर्न सकेन ।

सम्मेलनको समापनपछि इन्टरनेसनल चेम्बर अफ कमर्शका महासचिव जोन डेन्टनले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, समग्र प्याकेजको अनपेक्षित कमजोरीका बीच यसले ‘वेक अप कल’को रूपमा काम गरेको छ ।

सन् २०२२ मा गैरकानुनी, अघोषित र अनियमित माछा मार्ने कार्यमा अनुदानमा प्रतिबन्ध लगाउने सम्झौतापछि विश्व व्यापार सङ्गठनले क्षमताभन्दा बढी माछा मार्ने अनुदानमा केन्द्रित दोस्रो प्याकेजको निष्कर्ष निकाल्ने अपेक्षा गरेको थियो ।

जेनेभास्थित विश्व व्यापार सङ्गठनको मुख्यालयमा हालैका महिनाहरूमा भएको वार्ताले विकासशील देशहरूलाई लचकता र लाभ प्रदान गर्ने दोस्रो मत्स्य सम्झौताका लागि मस्यौदा ल्याउन सक्षम बनाएको थियो ।

विश्वभर बुद्धको सन्देश फैलाउन ‘लरेट एन्ड लिडर्स’ शिखर सम्मेलन

लुम्बिनी, १९ फागुन : शान्तिका अग्रदूत भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा यही फागुन २८ र २९ गते आयोजना हुने ‘लरेट एन्ड लिडर्स’ शिखर सम्मेलनका माध्यमबाट विश्वभर लुम्बिनी र शान्तिको सन्देश प्रवाह गर्न मद्दत पुग्ने विश्वास लुम्बिनी सरकारले गरेको छ ।

लुम्बिनी प्रदेश सरकारले लुम्बिनीमा आयोजना गर्ने उक्त सम्मेलनबाट विश्वभर भगवान् गौतमबुद्धको करुणा, अहिंसा र शान्तिको सन्देश प्रभाव गर्न मद्दत पुग्ने आज यहाँ पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताउनुभयो । उहाँले शिखर सम्मेलनका माध्यमबाट लुम्बिनीको ‘ब्रान्डिङ’ गर्न मद्दत पुग्ने बताउनुभयो । “सम्मेलनमा अहिलेसम्म विश्वका विभिन्न देशका नोवेल शान्ति र अन्य विधामा पुरस्कार प्राप्त गर्न सफल विश्वविख्यात व्यक्तित्वहरु सहभागी हुनुहुनेछ”, उहाँले भन्नुभयो ।

सम्मेलनमा विभिन्न देशका नौ जना नोबेल शान्ति पुरस्कार विजेता लुम्बिनी आउने निश्चित भइसकेको उहाँले जानकारी दिनुभयो । सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेता टिमोर–लेस्टेका राष्ट्रपति जोसे रामोस होर्टा (१७९६), जोडी विलयम्स (१९९७), सन् २०११ का संयुक्त विजेता लेह्म बोवी र टुवाको कर्मयान सहभागी हुनुहुनेछ । यसैगरी सन् २०१५ का नोबेल शान्ति पुरस्कार विजेता ट्युनिसियाको नेसनल डायलग क्वार्टेटका संस्थापकमध्येका अब्देससतार वेन मौसा र विदेद बुसामाबुईसँगै चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्टस (१९९३), रसायन शास्त्रका नोबेल विजेता एरी वार्सनल (२०१३) पनि लुम्बिनी आउने पक्का भएको मुख्यमन्त्रीले जानकारी दिनुभयो ।

शिखर सम्मेलनमा अर्थशास्त्री जेफ्री स्याक्स, जोर्डनका राजकुमार अली विन अल हुसेन, स्कट होम इन्टरनेसनल पिस रिसर्च इन्स्च्यिुटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पनामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङ्गो पनि सहभागी हुनुहुने भएको छ ।

सम्मेलनमा विभिन्न देशका २०० भन्दाबढी विकास साझेदारका साथै विभिन्न क्षेत्रका तीन सय जना विज्ञ सहभागी हुनेछन् । सम्मेलनका विशिष्ट सहभागीलाई पाल्पा, स्वगद्वारी र बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण गराइने योजना छ ।
मुख्यमन्त्री चौधरीले सम्मेलनका लागि रु छ करोड ५० लाख बजेट छुट्याइए सरकारको नीति कार्यक्रम र बजेटमै समावेश गरी प्रदेशसभाबाट पास भएर सरकारले कार्यान्वयनमा ल्याएकोे बताउनुभयो ।

सम्मेलनबाट बालबालिकामाथि हुने हिंसा, बालश्रम, बालविवाह र बालबालिका बेचविखनलाई नियन्त्रण एवं न्यूनीकरण गर्दै लुम्बिनीमा लगानी प्रवद्र्धनको वातावरण बनाउने अपेक्षा गरिएको पनि उहाँले बताउनुभयो ।

कांगेसद्वारा चितवन घटनाको अनुसन्धानको माग

काठमाडौँ, १९ फागुनः नेपाली कांग्रेसले चितवनको रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको केही दिनअघि सोही स्कुलको होस्टलमा मृत्यु भएको घटना र त्यससँग जोडिएका शङ्कास्पद विवरणप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

कांगेसले आज विज्ञप्ति जारी गर्दै विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिका झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यसका पछाडि आत्महत्या दुरुत्साहन या हत्याको आशङ्काको स्थिति पैदा हुनु अत्यन्तै गम्भीर रहेको उल्लेख गरेको छ । कांग्रेस यो घटनालाई निष्पक्ष ढङ्गले गहन अनुसन्धान गरी छिटोभन्दा छिटो सत्य, तथ्य बाहिर ल्याउन र दोषीलाई कारबाहीका लागि सरकारसँग माग गरेको छ ।

डोमालाल रङ्गशालाको संरक्षणमा सबै एकजुट हुनुपर्छ : सभामुख घिमिरे

बनियानी (झापा), १९ फागुनः प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिर्तामोडस्थित डोमालाल रङ्गशाला संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।रङ्गशालामा आजदेखि सुरु छैटौँ झापा गोल्डकप उद्घाटन गर्दै उहाँले दाताले दिएको जग्गा निजी बनाउने षड्यन्त्र हुनसक्ने भन्दै सार्वजनिक सम्पत्तिको संरक्षणमा सबैको बराबरी दायित्व भएको बताउनुभयो ।

दाताले दिएको करिब १४ बिघा जग्गा हडप्ने चलखेल हुँदा बिर्तामोडको मध्यभागमा रहेको रङ्गशालामा पूर्वाधार विकास गर्न नसकिएको उहाँको भनाइ थियो । “बर्सेनि अस्थायी प्यारापिट निर्माणमै लाखौँ खर्च भइरहेको छ । सबै पार्टी, जनप्रतिनिधि, खेलप्रेमी मिलेर रङ्गशाला संरक्षण गर्नुपर्छ”, उहाँले भन्नुभयो, “राम्रो रङ्गशाला बनाउन तपाईँहरूसँगै म पनि लाग्छु ।”

झापालाई खेलकुदको गन्तव्यका रूपमा विकास गरी यसैमार्फत यहाँको पर्यटन प्रवर्द्धन गर्नुपर्ने भन्दै उहाँले जनस्तरबाट सहयोग सङ्कलन भई खेलकुद प्रतियोगिता आयोजना हुनु प्रशंसनीय भएको बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन खेल सङ्कटा र एपिएफबीच हुँदैछ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबसहित १० टोली सहभागी छन् । अन्तर्राष्ट्रिय झापाली समाज मुख्य सहप्रायोजक र बिर्तामोड नगरपालिका संरक्षक रहेको झापा गोल्डकप यही फागुन २८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिता विजेताले नगद रू १३ लाख पाउनेछन् भने उपविजेताले नगद रु सात लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल प्लेयर’लाई एक थान मोटरसाइकलसमेत प्रदान गरिने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो । गोल्डकप आयोजना गर्न रु एक करोड ४० लाख खर्च लाग्ने अनुमान छ ।

नैतिकवान् जनशक्ति उत्पादनमा बौद्ध विश्वविद्यालय क्रियाशील

लुम्बिनी, १९ फागुन : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका सहकुलपति अशोककुमार राईले बौद्ध विश्वविद्यालय एउटा विशिष्टीकृत विश्वविद्यालय भएकाले यसको आफ्नै महत्व रहेको बताउनुभएको छ ।

उक्त विश्वविद्यालयका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को अध्यक्षतमा आज लुम्बिनीमा भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको १५औँ सभा बैठकलाई सम्बोधन गर्दै शिक्षामन्त्री राईले यो विश्वविद्यालय मुलुकको मात्रै नभई अन्तर्राष्ट्रिय चासो र सरोकारको विश्वविद्यालय हो भन्नुभयो । यसले विश्वसमुदायलाई शान्तिको सन्देशसहितको बौद्ध शिक्षा फैलाउने र मुलुकका लागि दक्ष, सीपयुक्त र नैतिकवान् जनशक्ति उत्पादनमा निरन्तर काम गर्दै आएको बताउनुभयो ।

शिक्षामन्त्रीले नेपालमा अनेकौँ पुरातात्विक क्षेत्र रहेका र त्यसको उत्खननका लागि आफ्नै मुलुकका जनशक्ति प्रयोग अपरिहार्य भएको बताउनुभयो । उहाँले कपिलवस्तुको तिलौराकोट क्षेत्र, नवलपरासीको रामग्राम क्षेत्रलगायत लुम्बिनीकै पनि अझै धेरै बौद्ध पुरातात्विक क्षेत्रको उत्खननमा लुम्बिनी बौद्ध विश्वविद्यालयका जनशक्ति प्रयोग गर्ने गरी मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्व विभागले योजना बनाउनुपर्ने बताउँदै यसबाट विश्वविद्यालयमा विद्यार्थीको आकर्षण हुनुका साथै पुरातात्विक वस्तुको उत्खननमा छोटो समयमा ठूलो उपलब्धि हासिल हुने र मुलुकले दक्ष जनशक्ति प्राप्त गर्ने बताउनुभयो ।

मन्त्री राईले बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर विश्वविद्यालयलाई बौद्ध शिक्षा, साहित्य, कला, इतिहासको अध्ययनअध्यापन तथा अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय प्राज्ञिक केन्द्र बनाउने ध्येयलाई भुल्न नहुनेमा जोड दिनुभयो । बौद्ध शिक्षामार्फत राष्ट्रिय शिक्षा विकासमा योगदान पु¥याउन योजनाबद्ध ढङ्गबाट अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो ।

यसअघि प्रधानमन्त्री दाहालले लुम्बिनी विकास कोष परिसरभित्र निर्माण भएको केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्नुभयो । करिब रु २२ करोड लागतमा बनेको भवनमा उपकुलपति कार्यालय, रजिष्ट्रार कार्यालय, अनुसन्धान केन्द्र, अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रको कार्यालय रहनेछ ।

विपश्यना ध्यान गरेका बन्दीलाई गृहमन्त्रीको सुझाव– जीवन परिवर्तनको ‘गहना’लाई अनुकरण गरिरहनुहोला

काठमाडौँ, १९ फागुन : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपश्यना ध्यानले जीवन रुपान्तरण गर्न सघाउ पु¥याउने भएकाले जीवनपर्यन्त ध्यानको अभ्यास गर्न कैदीबन्दीलाई सुझाव दिनुभएको छ । लतिलपुरको नक्खु कारागारमा नेपाल विपश्यना केन्द्रद्वारा सञ्चालित १० दिने ध्यान शिविरको आज समापनका अवसरमा उहाँले हरेक दिन विपश्याना ध्यानको अभ्यासमा लाग्न कैदीबन्दीलाई अनुरोध गर्नुभयो ।

“ध्यानले तपाईहरुलाई कारागार छाडेपछि असल जीवनयापन गर्न सहयोग पु¥याउँछ, हिजो के भयो त्यो बिर्सनुस्, अब समाजमा फर्कदा यहाँहरु अरुभन्दा असल हुनुहुन्छ”, ध्यानले कैदीबन्दीको जीवनमा रुपान्तरण ल्याउने उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “असल नागरिक बन्ने प्रक्रियामा ध्यान अभ्यासले धेरै नै सहयोग पु¥याउने छ, तपाईंहरु त्यसतर्फ अघि बढ्नुहोला ।”

ध्यानमार्फत आफूलाई हेर्ने, चिन्ने र फेर्ने प्रक्रियाको विधिद्वारा सुसज्जित गर्न सकियो भने सिङ्गो समाजलाई नै परिवर्तन गर्न सकिने उहाँको भनाइ छ । “यहाँहरुले जीवन परिवर्तनको गहना प्राप्त गर्नुभएको छ, त्यसलाई सदैव अनुकरण गरिरहनुहोला”, उहाँले भन्नुभयो । सरकार कैदीबन्दीको कारागार जीवन सहज बनाउन, श्रमको सदुपयोग हुने स्थिति बनाउन तथा मानसिक र शारीरिक स्वास्थ्य राम्रो बनाउन क्रियाशील रहेको उल्लेख गर्दै उहाँले कैदीबन्दीलाई रुपान्तरण गर्ने, जीवन फेर्ने अभियान चलाउन खोजिएको बताउनुभयो । “जेलभित्र पनि ध्यान शिविर चलाउने त्यसकै कदम हो, सबै बन्दीलाई ध्यान विधिद्वारा जीवन रुपान्तरण गराउन लागिएको छ”, उहाँले भन्नुभयो ।

ध्यान कार्यक्रममा सुरुआतको अनुभव समापनसम्ममा सुखद्मा परिणत हुने सुनाउँदै उहाँले एकपटकको ध्यानले मात्र जीवन रुपान्तरण नहुने बताउनुभयो । “शिविरले विधि सिकाएको छ, अब आफैँले अभ्यास गर्नुपर्छ”, उहाँले भन्नुभयो, “गृह मन्त्रालयले मातहतका सबै निकायमा छोटो अवधिको ध्यान अभ्यासलाई अघि बढाएको छ ।”कारागारमा पर्याप्त समय लिएर चलाइएको विपश्याना ध्यान कार्यक्रमले कैदीबन्दीको जीवनमा रुपान्तरण ल्याउने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अब दैनिक यसको अभ्यास गर्न सुझाव दिनुभयो । “ध्यान आफ्नो जीवन रुपान्तरणका लागि नै गरिने हो, ध्यानले स्वअनुसाशित हुन सिकाउँछ”, उहाँले भन्नुभयो, “बन्दीको जीवनमा रुपान्तरण आउँदा समाज र देशलाई फाइदा हुन्छ, पहिलो फाइदा भने बन्दीलाई नै हुन्छ ।”

वर्तमान सरकार मुलुकलाई राजनीतिक परिवर्तन अधिकार प्राप्तिका क्षेत्रमा मात्रै सीमित हुन नदिइ समाज रुपान्तरणमा अघि बढाउन खोजिरहेको बताउनुभयो । “राजनीतिक परिवर्तनलाई माध्यम र साधन बनाएर सिङ्गो समाजको रुपान्तरण गर्नुपर्छ भनेर सरकार क्रियाशील छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “शिक्षा, स्वास्थ्य, रोजगारीलगायत आधारभूत आवश्यकता पूरा गरेर जनताले नयाँ जीवन पाउनुपर्छ, सरकारको ध्यान यसतर्फ छ ।”

उपप्रधानमन्त्री श्रेष्ठले यही फागुन ८ गते नक्खु कारागारमा ध्यानकेन्द्रको उद्घाटन गर्नुभएको थियो । विपश्याना ध्यान केन्द्रको लगानीमा उक्त ध्यानकेन्द्र निर्माण गरिएको कारागार कार्यालयका प्रमुख कल्पना घिमिरेले जानकारी दिनुभयो । १० दिनसम्म चलेको सो ध्यान शिविरमा तीन सुरक्षाकर्मीसहित ४८ कैदीबन्दीले सहभागिता जनाएका थिए ।

नेपाल विपश्यना केन्द्रले देशभरि १९ ध्यानकेन्द्र निर्माण गरेको छ । नक्खु कारागार ध्यान केन्द्र तीन महिनाको तयारीपछि सञ्चालनमा आएको हो । केन्द्रले १६ देशका कारागारमा शिविर सञ्चालन गरिसकेको विपश्यना ध्यानकेन्द्रका क्षेत्रीय आचार्य डा रुप ज्योतिले जानकारी दिनुभयो ।

पञ्चकोटको पहिचान देशविदेशमा स्थापित हुँदै गएको छ – प्रधानमन्त्री

गण्डकी, १९ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङको सर्वसिद्धिधाम पञ्चकोटको पहिचान देशविदेशमा स्थापित हुँदै गएको बताउनुभएको छ । पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’मा आज सम्बोधन गर्दै उहाँले बागलुङको समग्र विकासमा पञ्चकोटले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

“सर्वसिद्धिधाम पञ्चकोट र कुँडुलेफेँदीको शालिग्राम सङ्ग्रहालय विशिष्ट धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रुपमा परिचित छन्”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “यस्ता महायज्ञ सञ्चालनले देवस्थल तथा तीर्थस्थलका महत्वका विषयमा मानिसमा अध्यात्मिक चेतना अभिवृद्धि भई धर्म, संस्कार र संस्कृतिको संरक्षणमा टेवा पुग्छ ।” धार्मिक तथा सांस्कृतिकस्थलमा हुने आन्तरिक तथा बाह्य पर्यटकको आगमनले मुलुकको समग्र विकासमा योगदान पुग्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री दाहालले भौतिक विकासमा दौडिरहेको वर्तमान विश्वमा अध्यात्मिक चिन्तनको विकास गर्न नसके समाजमा स्थायी शान्ति प्राप्त नहुने धारणा राख्नुभयो । उहाँले संस्कारसहितको व्यावहारिक शिक्षा अहिलेको आवश्यकता रहेकामा जोड दिनुभयो ।

ऋषि, महर्षिको पवित्र भूमि नेपालका बासिन्दा पैसाकै लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । धार्मिक ज्ञानका माध्यमबाट सामाजिक रुपान्तरणमा सर्वसिद्धिधाम पञ्चकोटका सङ्कल्पकर्ता स्वामी कमलनयनाचार्यले पु¥याएको योगदानको उहाँले प्रशंसा गर्नुभयो ।

“शिक्षा, स्वास्थ्य, पर्यावरणलगायत क्षेत्रको प्रवर्द्धनमा स्वामीज्यूले पु¥याउनुभएको योगदानको म उच्च प्रशंसा र कदर गर्दछु”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “त्रिवेणी क्षेत्रको गजेन्द्रमोक्षधामदेखि मुक्तिनाथ र दामोदर कुण्डसम्मको विकासमा स्वामीज्यूको लिनुभएको पहल विशिष्ट छ । कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलाको संरक्षणमा उहाँले खेल्नुभएको भूमिका उल्लेखनीय छ ।”

प्रधानमन्त्री प्रचण्डले बागलुङ, म्याग्दी हुँदै मुस्ताङको कोराला नाका जोड्ने सडकको स्तरोन्नतिका लागि सरकारले आगामी नीति, कार्यक्रम र बजेटमा प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो । सर्वसिद्धिधाम पञ्चकोटसहित मुक्तिनाथ क्षेत्रको समग्र विकासमा उक्त सडकले महत्वपूर्ण टेवा पुग्ने उहाँको भनाइ छ ।

स्वामी कमलनयनाचार्यले धार्मिक पर्यटनको विकासमा सरकारको सहयोग चाहिएको बताउनुभयो । उहाँले चीन जोड्ने कोरोला नाका सञ्चालन हुन सकेमा मुलुकको समृद्धिमा ठूलो टेवा पुग्ने उल्लेख गर्नुभयो । “मुक्तिनाथ क्षेत्र हुँदै मानसरोकारको यात्रा गर्न सकिने अवस्था सिर्जना गर्न सकियो भने धार्मिक पर्यटनका माध्यमबाट देशले ठूलो लाभ लिन सक्छ, यसतर्फ सरकारको ध्यान जाओस्”, उहाँले भन्नुभयो ।

स्वामी कमलनयनाचार्यले जनस्तर र सरकारी क्षेत्रको साथ र सहयोगबाट पञ्चकोटले नयाँ स्वरुप पाएको बताउनुभयो । उहाँले व्यवस्थित सडक, खानेपानी र पार्किङस्थलको व्यवस्थापनमा सरकारका निकायको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सर्वसिद्धिधाम पञ्चकोट पवित्र देवभूमिका रुपमा स्थापित भइरहेको बताउनुभयो । पञ्चकोटको विकासमा सहयोगी बन्न निजी क्षेत्र तयार रहेको उहाँको भनाइ छ । सभ्यताको जननी कालीगण्डकी नदी र शालिग्रामको संरक्षणका लागि स्वामी कमलनयनाचार्यले सञ्चालन गरेको अभियान अनुकरणीय रहेको अध्यक्ष ढकालले बताउनुभयो ।

“पञ्चकोटलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्न सरकारले विशेष कार्ययोजना ल्याओस् भन्ने हाम्रो अनुरोध छ । यसमा हातेमालो गर्न हामी बागलुङवासी पनि प्रतिबद्ध छौँ”, उहाँले भन्नुभयो, “धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलको विकासले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिन्छ, पर्यटनमार्फत समग्र देशको आर्थिक विकासमा टेवा पुग्छ ।”

अध्यक्ष ढकालले देशका सातै प्रदेशमा एकीकृत पर्यटकीय पूर्वाधार निर्माणमा आफूहरु लागिपरहेको बताउनुभयो । नेपाललाई प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

बुद्धको शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्छ : प्रधानमन्त्री

कपिलवस्तु, १९ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको आधारभूत शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति प्रधानमन्त्री दाहालले उक्त विश्वविद्यालयको १५औँ सभालाई आज सम्बोधन गर्दै शान्तिको सन्देश प्रवाहमा विभिन्न समुदाय र विश्वविद्यालयको अहम् भूमिका हुनुपर्ने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “देशभरका जनमानसमा बुद्ध, बौद्ध दर्शन, बौद्ध संस्कृति तथा परम्पराका बारेमा ज्ञान सम्प्रेषण गर्न विश्वविद्यालयले सबै क्षेत्रका व्यक्तिलाई बुद्धको आधारभूत शिक्षाका लागि देशव्यापी जनजागरण अभियान सञ्चालन गर्नुपर्दछ ।”

इतिहासको लामो कालखण्डदेखि अटुट रूपमा प्रचलनमा रहेका बौद्ध परम्परा तथा संस्कृति विश्वकै मानवशास्त्री तथा बौद्ध अध्येताका लागि अनुपम स्रोतका रूपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सांस्कृतिक, धार्मिक, पर्यटन विकासका लागि ठूलो अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालयले बौद्ध परम्परा र संस्कृति अध्ययनअध्यापन संरक्षण तथा संवद्र्धनका नयाँ कार्यक्रम अगाडि बढाउन उहाँले सुझाव दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

“नेपाल बुद्ध भूमि, हजारौँ ऋषिमुनिको योगदानले निर्माण गरेको तपोभूमि पनि हो,” प्रधानमन्त्रीले भन्नुभयो, “त्यसैले नेपाल विश्वकै आस्था र श्रद्धाको केन्द्र हो, यसको प्रवद्र्धन गर्ने दायित्व हाम्रो हो ।”

बौद्ध संस्कृति, कला, विहार तथा गुम्बा संसारकै लागि आकर्षणका सम्पदा हुन् भन्दै प्रधानमन्त्रीले यस्ता संरचनालाई आर्थिक समृद्धिसँग जोड्दै अगाडि बढेको खण्डमा समृद्ध मुलुक निर्माणको अभियानले सार्थकता पाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीले बौद्ध कला, साहित्य, पुरातत्व क्षेत्रको अनुसन्धान संवद्धन र प्रवद्र्धनबाट देशको गरिमा बढ्नाका साथै धार्मिक तीर्थस्थलका रूपमा योग, ध्यान, प्राकृतिक सौन्दर्य एवं शान्तिप्रेमी पर्यटकका लागि आकर्षण गर्न सकिने बताउनुभयो । “ओलाङचुङगोलादेखि टिङ्करसम्म अपार बौद्ध सम्पदा र संस्कृतिहरू छन् । त्यसैगरी, काठमाडौँ उपत्यका तीनै यानहरूको अभ्यासको थलो हो,” प्रधानमन्त्रीले भन्नुभयो, “नेपालमा एक अलग्गै बौद्ध संस्कृति निर्माण भएको छ । तिनीहरूको यथोचित संरक्षण र संवद्र्धन तथा प्रचारप्रसार गर्न सकियो भने मुलुकले धेरै ठूलो मात्रामा पर्यटकहरूलाई आकर्षण गर्न सक्नेछ । त्यसको नेतृत्व लुम्बिनी बौद्ध विश्वविद्यालयले गर्नेछ ।”

विभिन्न विदेशी विश्वविद्यालयसँग विद्यार्थी आदानप्रदान भइरहेको आफूले जानकारी पाएको उल्लेख गर्दै प्रधानमन्त्रीले यस कार्यलाई अझ वृद्धि गर्दै बौद्ध शिक्षा अध्ययनका लागि लुम्बिनी जानुपर्छ भन्ने भाष्य विश्वभर विकास हुने र यसको जिम्मेवारी लुम्बिनी बौद्ध विश्वविद्यालयले लिनुपर्ने बताउनुभयो ।

‘५२ करोड जनसङ्ख्याको आस्था बौद्धदर्शनको गुरुत्व बुझौँ’

प्रधानमन्त्री प्रचण्डले विश्वका ५२ करोडभन्दा बढी बौद्धमार्गीको आस्थालाई बुझेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले शैक्षिक क्षेत्र विश्वव्यापीकरणको प्रभावमा परिरहेको समयमा बौद्धमार्गीहरूको आस्थालाई प्रवद्र्धन गर्नुपर्छ भन्नुभयो ।

“हाम्रो मौलिक दर्शन, संस्कृति, परम्परा, स्रोत साधनको अध्ययन गर्नेतर्फ आधुनिक बजार उत्साहित छैन । त्यसमा बौद्ध दर्शनजस्तो गहन दर्शन पनि प्रभावित छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “विश्वमा ५२ करोड जनसङ्ख्याको आस्थाको विषय बनेको बौद्ध दर्शन त्यसभित्र अन्तर्निहित सामाजिक र दार्शनिक कुराहरू अहिलेको समाजलाई नभई नहुने कुराहरू हुन् । यसलाई विश्वव्यापीकरण गर्नु हामी सबैको साझा दायित्व हो ।”

तपाईंले खाने खाना सुरक्षित छ ?

सुदूरपश्चिम, १९ फागुन : मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य स्वच्छताका बारेमा उपभोक्ताले आफूले खानेकुराको स्तर (लेबल) हेर्न अति आवश्यक हुने स्वास्थ्य विज्ञ बताउँछन् । लेबल ख्याल नगरी कतिपय उपभोक्ताले बजारमा पाइने खानेकुरा उपभोग गरिरहेकाले स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको विज्ञको भनाइ छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत भीमप्रसाद पुलामीले कुनै पनि खाद्य पदार्थ खानयोग्य छ÷छैन भनेर उपभोक्ताले खानुअघि लेबल हेर्नुपर्ने बताउनुभयो । उपभोक्ताले ताजा एवं सुरक्षित खानेकुरा हो÷होइन जाँच गरेर मात्र खानेकुरा खानुपर्ने उहाँको भनाइ छ ।

“तपाईंले खाने खाना के सुरक्षित एवं स्वस्थ्यकर छ ? खानामा कुनै अखाद्य वस्तु मिसाइएको पनि हुनसक्छ । यस्तो खानाको उपभोगले मानव स्वास्थ्यमा प्रतिकूल असर पु¥याउँछ भन्ने कुरा उपभोक्तामा जानकारी हुनु जरुरी छ”, पुलामीले भन्नुभयो । चाहिने मात्राभन्दा बढी चिल्लो पदार्थ (तेल, घीउ) प्रयोग गरेर पकाइने खाना नियमित उपभोग गर्ने बानी परेका मानिसमा कोलस्ट्रोल र हृदयघातको समस्या हुनसक्ने पुलामीले बताउनुभयो । ‘आलीदेखि थाली’ सम्म खाद्य स्वच्छता कायम गर्न सके मानव स्वास्थ्य पनि स्वस्थ हुने उहाँको भनाइ छ ।

“पछिल्लो समय बाली उत्पादन गर्दा आली (खेत) मा मानव स्वास्थ्यका लागि हानिकारक मानिने रासायनिक मल तथा विषादीको जथाभावी प्रयोग गर्ने प्रवृत्ति बढ्दो छ । यस्ता रासायनिक विषादीबाट खानेकुरामा मिसिने दूषित तत्वले खानालाई पनि दूषित वा अखाद्य बनाइदिन्छ”, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पुलामीले भन्नुभयो । यसबाहेक ट्रान्स प्mयाट (औद्योगिक रुपमा वनस्पति घीउ तयार गर्दा बन्ने घीउ) नियमित सेवनले मानव स्वास्थ्यमा प्रतिकूल असर पु¥याउने उहाँले जानकारी दिनुभयो ।

खानेकुरामा भएको चिल्लो पदार्थको तौलको दुई प्रतिशतभन्दा बढी चिल्लो पदार्थ आफूले खाने खानामा हुनुहुँदैन भन्दै पुलामीले ट्रान्स प्mयाटको मापदण्ड सरकारले तोकेअनुसारको हुनुपर्ने बताउनुभयो । कच्चापदार्थ, उद्योग र आयात, निर्यात हुने स्थानबाट पनि खाद्य वस्तुमा दूषित तत्व मिसिएर आउने भएकाले प्रभावकारी नियमन र निगरानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

खाद्य स्वच्छताका बारेमा अधिकांश उपभोक्तामा पर्याप्त चेतनाको अभाव हुँदा खाद्य स्वच्छता कायम गर्न चुनौती देखिएको जनस्वास्थ्यविद्को भनाइ छ । सहर बजारमा यत्रतत्र पाउने कतिपय तयारी खाद्य पदार्थमा अखाद्य पदार्थ मिसिएको हुन्छ । बिक्रीवितरण हुने गरेका कतिपय खाद्य पदार्थमा मिसावट गर्ने गरिएको पाइन्छ । यस्ता खानाको गुणस्तर जाँच वा खाद्य स्वच्छता भए÷नभएका बारेमा अनभिज्ञ उपभोक्ताले यस्ता खानेकुरा उपभोग गरिरहेका हुन्छन् ।

पहिलेको तुलनामा खाद्य पदार्थको विषयमा उपभोक्तामा चेतना अभिवृद्धि भएको खाद्य अनुसन्धान अधिकृत पुलामीले दाबी गर्नुभयो । “एक दशक अघिको तुलनामा खाद्य पदार्थमा हुने अखाद्य वस्तुको मिसावट घट्दो क्रममा छ । पहिले १४÷१५ प्रतिशत रहने मिसावट अहिले छ÷सात प्रतिशतभन्दा कम नै देखिन्छ,” उहाँले भन्नुभयो, “नियमनकारी निकायको पहुँच सबैतिर बढ्दै जाँदा उपभोक्ता र व्यवसायी पनि पहिलेको भन्दा सचेत भएको देखिएको छ ।”

सरकारले हालसम्म झन्डै एक सय ४० वटा खाद्यवस्तुको अनिवार्य मापदण्ड तोकेको छ । सबैभन्दा बढी खाद्यान्न, दलहन तथा सोबाट बनेका २९ वस्तुको मापदण्ड तोकिएको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पुलामी जानकारी दिनुभयो । उहाँका अनुसार दूध तथा दुग्धजन्य पदार्थका २२, मसला, फल, सागपात, तेल तथा घीउ, नुन, गुलियो पदार्थ, प्यकिङ गरिएको पिउने पानी लगायतको पनि मापदण्ड तोकिएको छ । खाद्य वस्तुको व्यापार संसारभरि फैलिँदा खाद्य स्वच्छताको चुनौतीसँगसँगै अवसर पनि देखिएको बताउनुभयो ।

धनगढीमा आयोजित खाद्य स्वच्छतासम्बन्धी गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै पुलामीले भन्नुभयो, “आफ्नै देशमा गुणस्तरी खाद्य वस्तुको उत्पादनबाट त्यसलाई अन्तरराष्ट्रिय बजारमा सहज रुपमा बिक्रीवितरण गर्न सकिने अवसर प्राप्त हुने भई यसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । बाहिरबाट आउने खाद्य पदार्थ गुणस्तरीय भए÷नभएकोबारे प्रभावकारी रुपमा नियमन तथा निगरानी गर्न नसकिएमा चुनौती पनि छ ।”

गुणस्तरीय खाद्य वस्तु उपभोक्तासमक्ष पु¥याउने र खाद्य प्रविधिको विकास गर्न नेपालमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र अन्तर्गतका कार्यालय सञ्चालनमा छन् । यी कार्यालयको पहिलेको तुलनामा धेरै जिल्लामा पहुँच बढेको भए पनि पर्याप्त साधन स्रोतको अभावमा खाद्य वस्तुको गुण नियन्त्रण, अनुगमनलगायत काम प्रभावकारी बनाउन चुनौतीपूर्ण रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका निमित्त प्रमुख हरिसिंह बोहराले बताउनुभयो ।

नियमित तथा संयुक्त बजार अनुगमनका क्रममा अखाद्य वस्तु भेटिए नष्ट गर्ने, सम्बन्धितलाई चेतावनी दिने, दण्ड जरिवाना गर्नेलगायत काम गर्दै आएको कार्यालयले जनाएको छ । नेपाल विश्व व्यापार सङ्गठन (डब्लुटिओ)मा प्रवेश गरिसकेको अवस्थामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा प्रयोगशाला व्यवस्थापनमा समस्या छ ।

काठमाडौँ र विराटनगर बाहेका स्थानमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला नभएका भन्दै कतिपय कार्यालयमा भएका प्रयोगशालाका उपकरण पनि थन्किएका बसेका निमित्त प्रमुख बोहराले जानकारी दिनुभयो ।

“अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाको व्यवस्था हुन नसक्दा विश्व बजारमा नेपालका वस्तुको सहज रुपमा बिक्रीवितरण गर्न समस्या छ”, उहाँले भन्नुभयो, “न्यून जनशक्ति र अपर्याप्त साधन स्रोतका बाबजुद पनि कार्यालयले काम गर्नुपर्ने अवस्था छ ।”

बोहराले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा खाद्य स्वच्छता कायम गर्न यससम्बन्धी नीति, ऐन, नियम तथा निर्देशिका भए पनि प्रभावकारी कार्यान्वयन नभएको बताउनुभयो । उहाँका अनुसार विभाग र अन्तर्गतका कार्यालयले दूषित वा न्युन गुणस्तरको खाद्य पदार्थ बिक्रीवितरण गर्ने र उत्पादन गर्नेलाई बर्सेनि दण्ड जरिवाना गर्दै आएको छ ।

खाद्य ऐन, २०२३ ले कसैले दूषित वा न्यून गुणस्तरको खाद्य पदार्थ बिक्री गरेमा वा उत्पादन गरेमा निजलाई रु ५० हजार जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय गर्न सकिने व्यवस्था गरेको छ । सोबाहेक ऐन नियम उल्लङ्घन गरेमा रु १० हजार जरिवाना गर्न सकिने कानुनी व्यवस्था छ ।

गोष्ठीमा सरोकारवाला निकायका प्रतिनिधिले खाद्य स्वच्छताका लागि उपभोक्तामा प्रभावकारी रुपमा चेतना अभिवृद्धि गर्न जरुरी रहेकामा जोड दिनुभयो । सो अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक सोमकान्त रिजालले खाद्य स्वच्छता गुणस्तरसँगसँगै अबका दिनमा खाएको खाद्यबाट हुनसक्ने स्वास्थ्य जोखिमका बारेमा चेतना अभिवृद्धि गर्न जरुरी भएको बताउनुभयो ।

गोष्ठीमा प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा मदनसिंह धामी, कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रलगायतले खाद्य स्वच्छताका बारेमा धारणा राख्नुभएको थियो ।

मिनी म्याराथनको उपाधि त्रिभुवन आर्मीका पाललाई

चितवन, १९ फागुन : रोटरी क्लब अफ रत्ननगरले आयोजना गरेको रोटरी मिनी म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका मुकेशबहादुर पालले हात पार्नुभएको छ । उहाँले निर्धारित दूरी १५ दशमलव चार किलोमिटरको दूरी ४६ मिनेट ३८ सेकेण्डमा पार गर्नुभयो ।

नारायणगढस्थित नारायणी नदी किनारबाट सुरु भएको दौड रत्ननगरको हरिहर मन्दिर पुगेर टुङ्गिएको थियो । पाललाई उपाधिसँगै नगद रु एक लाख, चाँदीको मेडल र प्रमाणपत्रसहित सम्मान गरियो ।

प्रतियोगितामा दोस्रो स्थानमा त्रिभुवन आर्मीकै सञ्जय श्रेष्ठ रहनुभयो । उहाँले निर्धारित दूरी ४६ मिनेट ४१ सेकेण्डमा पार गर्नुभयो । उहाँलाई रु ५० हजार, चाँदीको मेडल र प्रमाणपत्रसहित सम्मान गरियो ।

जुम्लाका दुर्गाबहादुर बुढाले ४६ मिनेट ४२ सेकेण्डमा निर्धारित दूरी पार गर्दै तेस्रो हुनुभयो । उहाँलाई रु २५ हजार, चाँदीको मेडल र प्रमाणपत्रले सम्मान गरियो ।

त्रिभुवन आर्मीका टङ्क कार्की चौथो र सुवास कार्की पाँचौँ हुनुभयो । उहाँहरूले क्रमशः रु १० हजार र पाँच हजार प्राप्त गर्नुभयो । छैटौँदेखि १०औँ स्थानसम्म क्रमशः नागेश्वर अहिर, प्रेमबहादुर बस्नेत, राजेन्द्र तामाङ, खिमबहादुर खत्री र धनु मानन्धर हुनुभयो । उहाँहरूले जनही रु तीन हजार प्राप्त गर्नुभयो ।

महिलातर्फको पाँच किमी दौडमा सशस्त्रकी फूलमती राना प्रथम हुनुभयो । उहाँले निधारित दूरी १८ मिनेट १६ सेकेण्डमा पार गर्नुभयो । उहाँलाई रु २० हजार, चाँदीको मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । दोस्रो हुनुभएका त्रिभुवन आर्मीकी सुनसरी रोकायाले १८ मिनेट २७ सेकेण्डमा दूरी पार गर्नुभएको थियो । उहाँले नगद रु १० हजार, चाँदीको मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

सशस्त्रकी आशा राउत तेस्रो हुनुभयो । उहाँले निर्धारित दूरी १८ मिनेट ३३ सेकेण्डमा पार गर्नुभयो । उहाँले रु पाँच हजार, चाँदीको मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

सशस्त्रकै सीमा चौधरी चौथो हुनुभयो । उहाँले रु तीन हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । पाँचौँ स्थानमा रहनुभएकी स्मिता बुढाले रु दुई हजार पाँच सय, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । छैटौँ स्थानदेखि १०औँ स्थानसम्म रहनुहुने क्रमशः अस्मिता भुजेल, नम्रता गुरुङ, वर्षा ओली, सन्ध्या अधिकारी र लक्षिमा डाँगीले रु एक हजार, प्रमाणपत्र र मेडल प्राप्त गर्नुभयो ।

खुल्लातर्फ चेपाङ समुदायका धावकलाई नगद रु दुई हजार र महिलातर्फ दूरी पार गर्ने रु एक हजारसहित सम्मान गरिएको थियो । उहाँहरुलाई रोटरी डिष्ट्रिक ३२९२ का गभर्नर राजेन्द्रप्रसाद ध्वजुले सम्मान गर्नुभयो । क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिस नेपाल इन्टरनेशनल २०२२ न्यान्सी खड्का, कार्यक्रम संयोजक विपिन पोख्रेललगायतले भनाइ राख्नुभयो ।

प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी किनारमा गर्नुभएको थियो । उहाँले भरतपुर भ्रमण वर्षलाई टेवा पुर्याउन यस्ता कार्यक्रम महत्त्वपूर्ण रहेको बताउनुभयो ।

प्रतियोगितामा सात सय ६५ धावकले सहभागिता जनाएका थिए । जसमध्ये खुलातर्फ चार सय ९४ जनाको सहभागिता थियो । महिलातर्फ दुई सय ७१ जनाले सहभागिता जनाए । जसमध्ये खुलातर्फ ६८ र चेपाङ समुदायका धावक र महिलातर्फ ५४ जनाले सहभागिता जनाएको कार्यक्रमका संयोजक पोख्रेलले जानकारी दिनुभयो ।

प्रदेश संरचना सङ्घ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सेतु हो : प्रधानमन्त्री

लुम्बिनी, १९ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय प्रणालीमा प्रदेश संरचना सङ्घ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सेतु भएको बताउनुभएको छ ।

लुम्बिनी प्रदेशसभाको शुक्रबारदेखि सुरु हिउँदे अधिवेशनको दोस्रो बैठकलाई आज सम्बोधन गर्नुहँुदै प्रधानमन्त्री दाहालले सङ्घीयताका नवीन र असल अभ्यासको अनुकरण र अवलम्बन गर्दै नेपालले सङ्घीयता र लोकतन्त्रको अनुपम अभ्यास गरेर विश्वसामु देखाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको सङ्घीयता अभ्यास उदाहरणीय बनाउनुपर्छ, त्यसका लागि हामी सबैले अन्तरमनदेखि नै सङ्कल्प गर्न जरूरी छ ।”

लुम्बिनी प्रदेशले विकास, समन्वय, सहकार्यलगायतका विषयमा महत्तवपूर्ण योगदान गरेको भन्दै प्रधानमन्त्री दाहालले सङ्घीयता कार्यान्वयन र सेवा प्रवाहका क्षेत्रमा अझ धेरै काम बाँकी रहेको बताउनुभयो । “आगामी दिनमा सङ्घीयता कार्यान्वयन, विकास र समृद्धि एवं सेवा प्रवाहका क्षेत्रमा धेरै काम बाँकी छ”, उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रले अथाह सम्भावना देखाएको छ, त्यसलाई अवसरमा बदलेर मात्रै व्यवस्थाविरोधीहरूको षड्यन्त्र निस्तेज पार्नुछ । यसका निम्ति सबैले साझा, समन्वयात्मक र सकारात्मक योगदान गर्नुपर्छ ।”

प्रधानमन्त्रीले संविधान निर्माणको आठ वर्ष पूरा हुँदा समेत सङ्घीयता कार्यान्वयनमा रूचि नदेखाउने, वित्तीय र प्रशासनिक अधिकारको हस्तान्तरण गर्न नचाहने प्रवृत्ति अहिले पनि विद्यमान रहेको उल्लेख गर्दै आफू त्यसलाई तोड्न लगातार लागिरहेको स्पष्ट पार्नुभयो ।

प्रदेशलाई आर्थिक अधिकार दिनै नचाहने, कथम्कदाचित दिइहालेमा पनि सशर्त अनुदानका नाममा केन्द्रबाटै योजना र बजेट तोकेर पठाउने प्रचलन विगतमा विद्यमान रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसपटक त्यस्तो सोच र परम्परा तोड्ने सङ्कल्प गरिएको बताउनुभयो ।

सङ्घीय कानुनहरू निर्माणमा सरकार सक्रियरूपमा लागिरहेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले सङ्घीय शिक्षा ऐनको मस्यौदा संसद्मा प्रस्तुत भइसकेको, सङ्घीय निजामती सेवा ऐन दर्ताको प्रक्रियामा रहेको र प्रहरी ऐनलगायतका अन्य मस्यौदा पनि छिट्टै संसद्मा प्रस्तुत हुने दाबी गर्नुभयो ।

प्रधानमन्त्री दाहालले विश्वशान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमि लुम्बिनी शान्तिको उद्गमभूमि र पुण्यभूमिका रूपमा मात्रै परिचित नभएर विभिन्न परिवर्तनका आन्दोलनको नेतृत्व, अग्रगमन र परिवर्तनका नामले समेत उत्तिकै परिचित रहेको उल्लेख गर्नुभयो । उहाँ भन्नुभयो, “लुम्बिनी क्रान्ति र शान्तिको समिश्रणको सबैभन्दा राम्रो दृष्टान्त हो ।”

नेपाली राजनीतिक आन्दोलन, सामाजिक जीवन, ऐतिहासिकता र सम्भावनाका दृष्टिले लुम्बिनी प्रदेश अग्रणी स्थानमा रहेको उहाँको भनाइ थियो । प्रधानमन्त्री दाहालले जनयुद्ध, ऐतिहासिक जनआन्दोलनलगायतका राजनीतिक–सामाजिक परिवर्तनमा लुम्बिनी प्रदेश र प्रदेशवासीले महत्त्वपूर्ण योगदान रहेको स्मरण गर्नुभयो ।

उखु खेतीबाट धेरै लाभ लिने अवस्था निर्माण नगरे कृषकको पलायन रोक्न नसकिने

जनकपुरधाम, १९ फागुन ः मधेस प्रदेशका उखु उत्पादक किसानले उखु खेतीबाट बढीभन्दा बढी लाभ लिने अवस्था निर्माण नगरे कृषकको पलायन रोक्न नसकिने बताएका छन् । त्यसलाई रोक्न सरकारले तत्काल योजनाबद्धरूपमा काम गर्नुपर्ने उहाँहरूको सुझाव छ ।

कृषि विभाग हरिहर भवन, ललितपुरले शुक्रबार जनकपुरधाममा आयोजना गरेको उखु उत्पादनका समस्या पहिचान तथा कार्यविधिसम्बन्धी अन्तक्र्रियामा किसानले हालकै अवस्था कायम रहे धेरैले सोखेती नै छोड्ने निष्कर्षमा पुगेको बताएका हुन् ।

कृषि उत्पादक किसान एवं उखु तथा चिनी विकास समितिका पूर्वअध्यक्ष रामचन्द्र सिंह कुशवाहले उखु किसानले श्रमको मूल्य पाउन सधैँ आन्दोलन गर्नुपर्ने, मूल्य निर्धारण प्रणालीले उद्योगी मोटाउने तर किसान मारमा पर्ने अवस्था कायम रहेकाले त्यसलाई सच्याउनुपर्ने बताउनुभयो । हाल चिनी बन्ने सम्भावित दरका आधारमा मात्रै मूल्य निर्धारण भइरहेकाले अन्य कच्चा पदार्थलाई समेत मध्यनजर गरी मूल्य निर्धारण प्रणाली विकास गर्नुपर्ने उहाँको भनाइ छ ।

“उखुबाट चिनी बन्ने सम्भावित दर करिब १० प्रतिशत मात्रै भए पनि ६० प्रतिशतभन्दा बढी पानी तथा अन्य कच्चा पदार्थ प्रयोग हुने अवस्था रहेको छ । किसानका लागि भने चिनी बन्ने दरका आधारमा मात्रै मूल्य निर्धारण गरिन्छ । त्यो परम्परागत मूल्य निर्धारण प्रणाली फेर्नुपर्छ”, कुशवाहले भन्नुभयो, “अन्यथा जनशक्तिको अभाव, मूल्यका लागि सधैँ द्वन्द्व गर्नुपर्ने अवस्था, कम उत्पादकत्वजस्ता कारणले किसान बाध्य भएर बाली परिवर्तन गर्न लागिरहेका छन् । त्यो क्रम थप बढ्न नदिन सरकारले सोहीअनुसार काम गर्नुपर्छ ।”

न्यून उत्पादकत्व, उच्च खेती लागत, उखुको न्यून गुणस्तर, सामाजिक–आर्थिक र नीतिगत बाधालाई समाधान गरेर जानसके मात्रै किसानको पलायनलाई रोक्न सकिने कुशवाहले बताउनुभयो । त्यस्तै अर्का उखु किसान प्रमोदकुमार सिंहले ऋण काढेर उत्पादन गर्ने तर उधारोमा बेच्नुपर्ने झन्झटबाट सधैँका लागि मुक्ति पाउन आफूहरू बाली बदल्न बाध्य भइरहेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “भुक्तानीका लागि आन्दोलन गर्नुपर्ने अवस्था कायमै छ । काम गर्ने जनशक्ति छैन । सरकारसँग लागत घटाउने दीर्घकालीन याजना छैन । अनि सधैँ समस्या भोगेर कति बस्नु !”

उखु उत्पादक किसान वीरेन्द्र कुशवाहले पनि उन्नत जातको बीउ, सिँचाइ, आधुनिक प्रविधि र उत्पादकत्व बढाउने गरी सहयोग गर्न आग्रह गर्नुभयो । “लागतअनुसार उपलब्धि छैन । मल, बीउ, कृषि सडक, सिँचाइ र समयमा भुक्तानी नपाउनु हामी उखु किसानका स्थायी समस्या हुन् । पछिल्लो समय सरकारले प्रोत्साहनका लागि नगद अनुदान दिने र अन्य कार्यक्रम ल्याउने काम त गरेको छ तर त्यसले पनि लागत धान्न सकेन । जसले किसान बाली फेर्दैछन्”, कुशवाहले रासससँग भन्नुभयो ।

कार्यक्रममा कृषि विभागका महानिर्देशक डा हरिबहादुर केसीले सरकारले उखु उत्पादन तथा प्रशोधनले तराई मधेस क्षेत्रका नागरिकको जीविकोपार्जन तथा आयस्तर वृद्धि र राष्ट्रिय अर्थतन्त्रमा बर्सेनि १७ अर्बभन्दा बढी प्रत्यक्ष योगदान गरिरहेकाले यसलाई थप प्रोत्साहन गर्ने नीतिअनुसार सरकारले काम गरिरहेको बताउनुभयो ।

सोही नीतिअनुसार विगतमा औद्योगिक बाली विकास कार्यक्रमबाट उखु बीउ सेट, कृषि औजार उपकरण, विषादी अनुदानमा वितरण र हाल राष्ट्रिय उखु बाली अनुसन्धान कार्यक्रम जितपुर र कृषि विभागमार्फत कार्यक्रम सञ्चालन भइरहेका, अनुदान रकम कृषकको खातामा जम्मा गर्नका लागि उखु कृषकलाई अनुदान दिनेसम्बन्धी कार्यविधि कार्यान्वयन, कृषकको लगत सङ्कलनजस्ता काम सँगसँगै अगाडि बढिरहेका छन् ।

“कार्यविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सुझाव सङ्कलनको काम पनि भइरहेको छ । उखु किसानको समस्यालाई मध्यनजर गरी थप प्रोत्साहन गर्न उन्नत जातको उखु विकास, सिँचाइ, मलखाद तथा यान्त्रीकरणमा सहयोग र उद्योगको स्तरवृद्धि गरी चिनीको उत्पादन पनि बढाउनुपर्ने आवश्यकता छ । त्यसमा पनि मन्त्रालय र विभागले काम गरिरहेको छ”, डा केसीले आश्वस्त पार्नुभयो ।

नेपालमा व्यवसायीकरूपमा उखु खेती हुने १५ जिल्लामध्ये सात जिल्ला र देशभरि रहेका १६ वटा ठूला चिनी उद्योगमध्ये आठ वटा उद्योग मधेस प्रदेशमा मात्रै छन् । देशका सात प्रदेशमा जम्मा ६२ हजार पाँच सय ६७ हेक्टर क्षेत्रफलमा उखु खेती हुने गरेकामा मधेस प्रदेशले त्यसको ६८ प्रतिशत हिस्साअर्थात् ४२ हजार छ सय ९६ हेक्टर क्षेत्रफल योगदान गरिरहेको छ ।

त्यसैगरी देशभर उत्पादन हुने भनिएको उखुमध्ये ६६ प्रतिशतभन्दा बढी हिस्सा मधेसकै रहेको देखिन्छ । उत्पादकत्व भने यहाँ ४९ दशमलव ०४ प्रतिशत मात्रै छ । मलखाद, उन्नत जातको बीऊ, प्रविधि र दक्ष जनशक्तिको अभाव, उच्च लागत, न्यून मूल्य, उधारोमा कारोबार र उधारो उठाउन सधँै द्वन्द्वको अवस्था सिर्जना हुने अवस्था नबदलिएपछि यहाँका किसान भने निराश छन् ।

एकपल्ट उखु लगाएपछि तीन वर्षसम्म त्यसैबाट आम्दानी गर्न सकिने र गोडमेल गर्नुपर्ने समस्या खासै नहुने हुँदा विगतमा यहाँका किसानको आकर्षण उल्लेख्य थियो । तर उद्योगीसँगको द्वन्द्व, भुक्तानी समयमा नपाउने, लागत धेरै तर न्यून उत्पादकत्व (नेपालमा प्रतिहेक्टर ५० मे.ट), उत्पादित उखुबाट चिनी बन्ने दर नौ प्रतिशतमात्रै, आयातित र नेपालमा उत्पादन भएको चिनीको मूल्यमा सामजस्यता नहुँदा बजार असन्तुलन, उन्नत प्रविधि ग्रहण गर्ने क्षमतामा कमी, प्राविधिक ज्ञानमा कमी, सञ्चालनमा रहेका मिल पूर्ण क्षमतामा सञ्चालन हुननसक्नु, पूर्ण क्रसिङ क्षमताअनुसारको परिमाणमा उखु उपलब्ध नहुनु र चिनी मिलबीच अस्वस्थ प्रतिस्पर्धा र राजनीतिजस्ता कारणले यस क्षेत्रले समस्याको सामना गरिरहनुपरेको छ ।

राष्ट्रियसभालाई संवैधानिक र कानुनीरुपमै कमजोर बनाइयो

काठमाडौँ । संविधान निर्माणका क्रममा राष्ट्रियसभालाई कस्तो बताउने भनेर गम्भीररुपमा छलफल चल्यो । यसलाई अधिकारसम्पन्न, प्रतिनिधिमूलक र गुणस्तरीय कसरी बनाउने भनेर बहस, छलफल चलेको थियो । एकथरिले राष्ट्रिय सभालाई बलियो र अधिकारसम्पन्न बनाउने वकालत गरिरहेका थिए भने अर्कोथरिले प्रतिनिधिसभालाई नै बढी अधिकार दिएर राष्ट्रियसभालाई कमजोर बनाउन चाहन्थे । गणितीय रुपमा दोस्रो विचारधारा भएकाको जीत भयो । प्रतिनिधिसभालाई मात्र प्राथमिकता दिइयो र राष्ट्रियसभालाई कमजोर बनाइयो । मैले राष्ट्रियसभामा बिताएको ६ वर्ष अवधिको सैद्धान्तिक, राजनीतिक र व्यवहारिक निचोड यही हो ।

दुई सदनात्मक संसदीय व्यवस्था भएका प्रजातान्त्रिक देशको अभ्यास हेर्ने हो भने दुवै सदन उत्तिकै शक्तिशाली र अधिकारसम्पन्न पाइन्छन् । नेपालमा पनि राष्ट्रियसभालाई अधिकारसम्पन्न बनाउन सकिन्थ्यो । सरकार गठन/पुनर्गठनको काम जहाँ पनि तल्लो सदनले गर्छ । त्यसमा माथिल्लो सभाको कुनै भूमिका हुँदैन  र त्यो भूमिका राष्ट्रियसभाले माग्नु पनि हुँदैन ।

संसदीय लोकतन्त्र भएका मुलुकमा विनियोजन विधेयक पनि तल्लो सदनमै पेस हुन्छ । हाम्रो संविधान निर्माणका क्रममा पनि यी दुईवटा कुराको विशेषाधिकार प्रतिनिधिसभालाई दिने अर्थात् राष्ट्रियसभामा यी दुईवटा अधिकार नजाओस् भन्ने भयो । बाँकी सम्पूर्ण कुरामा दुवै सभाको बराबर अधिकार बनाऔँ भनेर भनिएको थियो । तर प्रतिनिधिसभालाई संवैधानिक र कानुनी रुपमै बलियो बनाइयो । त्यसका केही उदाहरण यहाँ उल्लेख गर्न चाहन्छु ।

विधेयकको सन्दर्भमा प्रतिनिधिसभालाई विशेषाधिकार दिइएको छ । प्रतिनिधिसभामा उत्पत्ति भएको विधेयक राष्ट्रियसभामा आउँदा १५ दिनभित्रमा संशोधन सुझावसहित फिर्ता भइसक्नुपर्छ । फिर्ता नपठाएको खण्डमा प्रतिनिधिसभाले जस्तो पारित गरेको छ त्यस्तै पारित हुने व्यवस्था रहेको छ । तर राष्ट्रियसभामा उत्पत्ति भएको विधेयक कति समयमा प्रतिनिधिसभाले फिर्ता पठाउने भन्ने कानुनमा कहीँकतै उल्लेख छैन ।

राष्ट्रियसभालाई कमजोर बनाएको अर्को उदाहरण भनेको संयुक्त समितिमा सभापतिको चयन हो । प्रतिनिधिसभा र राष्ट्रियसभाका दुईवटा संयुक्त संसदीय समिति छन् । जसमध्ये एउटा समितिको सभापति राष्ट्रियसभालाई दिने र अर्को समितिको सभापति प्रतिनिधिसभालाई दिने भनेर सिङ्गो राष्ट्रियसभाले संशोधन पेश गरेको छ । संयुक्त समितिको एउटा सभापति राष्ट्रियसभाबाट हुनुपर्छ भनेर माथिल्लो सभाका सबै सांसदले ऐक्यबद्धतासहित संशोधन समेत हाल्नुभएको थियो । यसले माथिल्लो सदनको गरिमा र ओझ थप बढाउँछ भन्ने थियो । तर ठूला दलका केही व्यक्तिले त्यसलाई असफल बनाए । राष्ट्रियसभालाई थप अधिकार दिनुहुँदैन भनेर संविधान बनाउने बेलामा जो लागिपरेका थिए, नियमावली बनाउँदा पनि उनीहरुले त्यसलाई स्वीकार गरेनन् ।

अर्को उदाहरण, संसदीय सुनुवाइ समितिमा १५ सदस्य छन् । जसमा प्रतिनिधिसभाका १२ र राष्ट्रियसभाका तीन मात्रै सदस्य छन् । यो समितिमा सबै दलको प्रतिनिधित्व हुने र राष्ट्रियसभालाई पनि न्यायपूर्ण रुपमा समावेश गराउने हो भने कम्तीमा राष्ट्रियसभाका पाँच सांसद त्यसमा रहने व्यवस्था गरौँभन्दा त्यो पनि हुन सकेन । यो भनेको राष्ट्रियसभालाई कमजोर देखाउने, शक्तिको अभ्यास गर्न नदिने र रबरस्ट्याम्प बनाइराख्ने जस्तो व्यवहार भएको छ ।

यसरी हामी पहिलो त संविधान निर्माणमै चुक्यौँ । दोस्रो, नियमावलीमा संशोधन गरेर पनि केही अधिकार राष्ट्रियसभालाई दिन सकिन्थ्यो । त्यसमा पनि चुक्यौँ । संविधान बनाउने बेलादेखि अहिलेसम्म राष्ट्रियसभालाई बारम्बार कमजोर बनाउने काम भएको छ । नियमावलीमा संशोधन गरेर थप केही अधिकार दिन सकिन्थ्यो । त्यसलाई संविधानले रोकेको थिएन । तर त्यसो पनि हुन सकेन । नेतृत्व पङ्क्तिमा भएका धेरैले यो कुरा बुझेनन् । केहीले बुझेर पनि बुझ पचाए । मौन बसे ।

संसद्को विधायिकी भूमिका कमजोर हुँदै गएको भन्दै आलोचना भइरहेका छन् । कानुन निर्माणमा सरकारको कमजोरी छ । विधेयक ल्याउने जिम्मेवारी सरकारको हो । सरकारले विधेयक ल्याएपछि संसद्ले बिजनेस पाउने हो । हुनतः गैरसरकारी विधेयक पनि हुन्छन् । तर आमरुपमा विधेयक ल्याउने काम सरकारको हो । पछिल्लो तीनवटा अधिवेशनमा कानुन निर्माणको काम सुस्त भयो, अति आवश्यक विधेयक पनि आउन सकेनन् भनेर आलोचना भइरहेको छ । त्यो स्वाभाविक पनि हो । सरकारले संसद्भित्र विधेयक नै ल्याएन । संसद्मा दर्ता नै नभएपछि छलफल र पारित पनि भएनन् । यसको जवाफदेहिता सरकारले लिनुपर्छ ।

संसदीय समितिका गतिविधिमाथि पनि प्रश्न आउने गरेको छ । राष्ट्रियसभाको सदस्यका हैसियतले मैले यसअन्तर्गतका समितिको कुरा गर्नु मात्रै उचित हुन्छ । राष्ट्रियसभाअन्तर्गतका चार समितिका गतिविधिको समीक्षा गर्दा म सन्तुष्ट छु । म सदस्य रहेको विधायन व्यवस्थापन समितिका कामको संसदीय र राजनीतिक वृत्तमा राम्रो प्रशंसा भएको छ । यो समितिले राम्रो काम गरेको छ ।

राष्ट्रियसभाका अरु समितिले पनि राम्रो काम गरेका छन् । संसदीय समितिमा स्वार्थको टकराब हुने गरी सदस्य नियुक्त भएका तथा समितिका कामको प्रभावकारिता कम देखिएका भन्ने कुरा राष्ट्रियसभा अन्तर्गतका समितिको हकमा लागू हुँदैन । यद्यपि, प्रतिनिधिसभाका केही समितिको काम प्रभावकारी छैन भनेर मैले पनि सञ्चारमाध्यम र बाहिरबाट सुनेको छु । यही सन्देश बाहिर गएको छ ।

सङ्घीय कानुन निर्माण भएपछि मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन सजिलो हुने भएकाले त्यस्ता कानुन चाँडो निर्माण हुुनपर्नेमा सबैतिरबाट जोड छ । सरकारले पनि सङ्घीय कानुन निर्माणका लागि पहल गरिरहेकै छ । सङ्घीय निजामती ऐन, प्रहरी प्रशासनसँग सम्बन्धित ऐनहरु यही अधिवेशनमा आउँछन् भन्ने आशा छ ।

हामीले शून्य समय, विशेष समय र केही सार्वजनिक महत्वका विषयमा सङ्कल्प प्रस्ताव संसद्मा राखेर आमजनताका जनजीवनका समस्यालाई संसद्मा उठाउने गरेका छौँ । प्राकृतिक प्रकोप, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चुनौतीलगायत समसामयिक विषयमा पनि राष्ट्रियसभाभित्र जोडदार रुपमा कुरा उठाएका छौँ । सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका सांसदबाट यस्ता कुरा उठेका छन् । सरकारको तर्फबाट केही जवाफ आएको पनि छ । केही पहलकदमी र प्रतिबद्धता भएका छन् । तर जति हुनुपर्ने हो, त्यो हुन सकेको छैन । जनतासँग जोडिएका विषयमा जवाफ दिने विषयमा सरकारले तदारुकता देखाउनुपर्छ । संसद्मा सांसदले उठाएका प्रश्नको जवाफ त्यही दिन सम्भव नभए पनि भोलिपल्ट वा पर्सिपल्ट सरकारले दिनैपर्छ । सरकारले के काम गरिरहेको छ भन्ने जनप्रतिनिधिलाई संसद्मार्फत बताउनुपर्छ ।

कुनै पनि देश बन्ने भनेको राजनीतिक नेतृत्वले हो । मुलुक निर्माणमा राजनीतिक नेतृत्वले मुख्य भूमिका रहन्छ भने त्यसमा सहयोगात्मक भूमिका कर्मचारी संयन्त्रको रहन्छ । यी दुई क्षेत्र इमान्दार, जवाफदेही र सुशासनको पक्षमा लाग्ने हो भने मुलुकको समृद्धि सम्भव छ । जनतालाई सहज सेवाप्रवाह गर्ने, औद्योगिक र कृषि क्रान्ति गर्ने सन्दर्भमा इमान्दारिताका साथ स्वच्छ भएर नलाग्ने र राजनीतिक तथा कर्मचारी संयन्त्रको नेतृत्व नसुध्रने हो भने मुलुक बन्दैन । उच्च राजनीतिक र कर्मचारी संयन्त्र सुध्रिएन भने प्रतिक्रान्ति हुन सक्छ । धेरै देशमा क्रान्ति पछि प्रतिक्रान्ति र प्रतिगमन भएका उदाहरण छन् । त्यस कारण सुशासनको पक्षमा, भ्रष्टाचार र घुसखोरीको विरुद्धमा सबै राजनीतिज्ञ र कर्मचारी लाग्न आवश्यक छ ।

मैले २०७० सालदेखि २०७४ सम्म संविधानसभामा र त्यसयताको ६ वर्ष राष्ट्रियसभामा बिताएँ । यो अवधिमा मैले संसद्मा रहेर कानुन निर्माणमा वा नागरिकका जनजीविकाका कुरा संसद्मा उठाउने सबालमा के–कस्तो भूमिका खेलेँ भन्ने अरुले समीक्षा गर्ने कुरा हो । राजनीतिक वृत्त, प्राज्ञिक तथा बौद्धिक जगत र आम सर्वसाधारणलाई नै मेरो कामको समीक्षा गर्न आग्रह गर्दछु । संसदीय अभ्यासमा केही गल्ती कमजोरी पनि भए । म त्यो स्वीकार्छु । विद्युतीय कारोबारसम्बन्धी विधेयकलाई विद्युत् विधेयक भनेर संसद्मा बोलेको कुरा गल्ती थियो । त्यसको म आत्मालोचना गर्छु । त्यसदिन म राजविराजबाट काठमाडौँ फर्किएर सोझै संसद्मा गएको थिएँ । संसद्को कार्यसूचीबारे पनि जानकार थिइनँ । मभन्दा अघि बोल्ने सांसदले पनि विद्युतीय कारोबारको विषय नभई विद्युत्कै विषय बोलेका थिए । जे भए पनि मेरा लागि त्यो निकै लज्जाबोधको विषय थियो । त्यो परिस्थितिजन्य थियो । मैले आत्मालोचना गरेको छु ।

मैले विचार, सिद्धान्त, एजेण्डा, मूल्यमान्यतालाई अगाडि राखेर करिब पाँच दशक राजनीतिक जीवन बिताएँ । विद्यार्थी जीवनदेखि अहिलेसम्म सधैँ अग्रगमनका लागि लडेँ । आगामी दिनमा पनि अहिलेको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, सुदृढ गर्ने र सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई सघाउन क्रियाशील रहनेछु । अग्रमन अभियानकै लागि बाँकी राजनीतिक जीवन बिताउनेछु ।

(सांसद जीतेन्द्र नारायण   देवसँग हेमन्त जोशीले गरेको गरेको कुराकानीको सम्पादित अंश ।)

आजदेखि ब्राजिलको ब्रासिलियामा ‘एक्स्पो नेपाल २०२४’सुरु

काठमाडौँ, १९ फागुन : ब्राजिलको राजधानी ब्रासिलियामा आजदेखि नेपाली दूतावास र रक सिद्धि प्रालिको आयोजनामा ‘एक्स्पो नेपाल २०२४’ सुरु भएको छ ।

ब्राजिलका श्रममन्त्री लेलियो बेन्तेस कोहेयाको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको उद्घाटन समारोहमा ब्राजिलका पर्यटन उपमन्त्री तथा कार्यकारी सचिव आना कार्ला मचाडो, ब्राजिलका कानुन उपमन्त्री, ब्राजिलको सङ्घीय अदालतका न्यायाधीश, ब्राजिलियन ट्राभल एजेन्सी सङ्घ (अबाब)का अध्यक्ष, ब्राजिल राष्ट्रिय उद्योग परिसङ्घका अध्यक्षलगायतको उपस्थिति रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि ब्राजिलका श्रममन्त्री लेलियोले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदाको प्रशंसा गर्दै दूतावासले आयोजना गरेको यो कार्यक्रमले दुई देशबीच सम्बन्धमा नयाँ आयाम ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली दूतावासको निमन्त्रणामा भएको सो कार्यक्रममा विभिन्न २० भन्दा बढी देशका राजदूतको उपस्थिति थियो । ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेले नेपाल र ब्राजिलको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धबारे चर्चा गर्नुभयो । उहाँले एक्स्पो ब्राजिलका नागरिकलाई नेपालसँग जोड्ने माध्यम हुनसक्ने धारणा राख्नुभयो ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का महासचिव विनोद सापकोटाले एस्पोले ब्राजिलका नागरिकलाई नेपाल घुम्नैपर्ने देश हो भनेर जानकारी दिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । नेपाल ब्राजिलदेखि भौगोलिक दूरीले टाढा भए पनि ठूलो अर्थतन्त्र भएकाले नेपालसँग जोड्न दूतावासले गरेको प्रयास सकारात्मक भएको उहाँको भनाइ थियो ।

नेपाल उद्योग परिसङ्घका महाप्रबन्धक दीपकराज जोशीले नेपाल भौगोलिक र प्राकृतिकरुपमा ब्राजिलजस्तै भएकाले त्यहाँका लगानीकर्तालाई नेपालमा निर्धक्क भएर भ्रमण र लगार्न गर्न आग्रह गर्नुभयो । नेपालका विविध क्षेत्रबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको ‘एक्सो नेपाल २०२४’ मा नेपाली व्यवसायीले २२ प्रदर्शनी कक्ष राखेका छन् । प्रदर्शनी कक्षमा नेपाल घुम्न चाहनेका लागि विभिन्न आकर्षक प्याकेजका साथै नेपाली मौलिक खानाका परिकार, नेपाली गलैँचा र नेपाली कला संस्कृति झल्काउने काठका सामग्री राखिएका छन् । यही मार्च १ देखि सुरु एक्स्पो मार्च ३ तारिखसम्म चल्नेछ ।

डा सन्दुक रुइतलाई गृह जिल्ला ताप्लेजुङमा अभिनन्दन

ताप्लेजुङ, १९ फागुन : नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले प्रख्यात नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई नागरिक अभिनन्दन गरेको छ । आँखाको हेरचाह र मानवीय सेवामा विशेष योगदान पु¥याएको भन्दै उहाँलाई नागरिक अभिनन्दनसहित सम्मान गरेको हो ।

ताप्लेजुङमा जन्मिनुभएका डा रुइत नेपाल र नेपाल बाहिरका लाखौँ व्यक्तिको दृष्टि फर्काउने समर्पणका कारण प्रख्यात हुनुहुन्छ । यहाँ आयोजित तीन दिने निःशुल्क आँखा शिविरको समापन कार्यक्रममा शुक्रबार साँझ उहाँलाई अभिनन्दन गरिएको हो । मोतियाविन्दुको शल्यक्रिया क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्नुभएका डा रुइतले दुर्गम क्षेत्रमा पुगेर अन्धोपनबाट पीडित नागरिकको जीवनमा परिवर्तन ल्याइरहनुभएको छ । यहाँ आयोजित शिविरमा उहाँ नेतृत्वको टोलीले एक सय ५४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको थियो ।

कार्यक्रममा डा रुइतले नेपाल नेत्र ज्योति सङ्घ तथा स्थानीय समुदायबाट आफूलाई प्रदान गरेको सम्मानपनप्रति आभार व्यक्त गर्नुभयो । गृह जिल्लाका नागरिकको स्वास्थ्यका लागि आफूले सक्दो प्रयास गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

निःशुल्क आँखा शिविरले जीवनमा उज्यालो

झण्डै तीन वर्षपछि आँखाको दृष्टि पुनःस्थापित भएपछि पाँचथरको हिलिहाङ गाउँपालिका–५, का ५५ वर्षीय बमप्रसाद योङहाङ र उहाँको परिवारमा यतिबेला खुसियाली छाएको छ । मोतियाविन्दुका कारण पूर्णरुपमा आँखाको दृष्टि गुमाउनुभएका योङहाङ पुनः उज्यालो जीवनमा फर्किएपछि खुशियाली छाएको हो । योङहाङको दुवै आँखाको शल्यक्रिया भएको थियो ।

फुङलिङ नगरपालिका–१० फुरुम्बुकी ७५ वर्षीया मनकुमारी लेछर्बो पनि औधी खुसी हुनुहुन्छ । केही वर्षदेखि आँखाको समस्या भोगिरहनुभएकी उहाँले तुलनात्मकरुपमा राम्रोसँग देख्न थालेपछि खुसी हुनुभएको हो । नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत र उहाँको टोलीले योङहाङ र लेछर्बोसहित एक सयभन्दा बढीको जीवनमा उज्यालो फर्काउनुभएको हो ।

ताप्लेजुङमा आयोजित आँखा शिविरमा विभिन्न समयदेखि मोतियाविन्दुका कारण ज्योति गुमाएका एक सय ५४ जनाको सफलतापूर्वक शल्यक्रिया भएको छ । नेत्र ज्योति सङ्घले फुङलिङ नगरपालिका र सेवा फाउण्डेशनसँगको सहकार्यमा तथा तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोग लिएर शिविर सञ्चालन गरेको हो ।

मानसिक रोगप्रति संवेदनशील नहुँदा विकराल समस्याका रुपमा देखिन थाल्यो

कर्णाली- पछिल्लो समयमा नेपाली समाजमा मानसिक रोगप्रति संवेदनशील नहुँदा यो विकराल समस्याका रुपमा देखिन थालेको सरोकारवालाहरुले बताएका छन् ।

कर्णाल प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा सिएमसी नेपालको समन्वय तथा सहकार्यमा शुक्रबार वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजनाको निर्माण प्रक्रिया र कार्यान्वयको अवस्था विषयक छलफलमा सहभागी सरोकारवालाहरुले मानिसक रोगले समाज भित्रभित्रै प्रभावित भएको बताएका हुन् ।गण्डकी प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुशीला सिम्खडाले मानव स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै समृद्ध समाज निर्माणका लागि मानसिकरुपमा स्वस्थ नागरिक हुनुपर्छ भन्नुभयो । “खानपिन, वैदेशिक रोजगार र हाम्रो जीवनशैलीका कारण अहिले मानसिक रोग बढ्दै गएको छ,” उहाँले भन्नुभयो, “यसको रोकथाम तथा नियन्त्रणमा सबै तहका सरकारले आवश्यक नीति तथा रणनैतिक कार्ययोजना बनाएर अगाडि बढ्नुपर्दछ ।”त्यसैगरी, लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजु खनालले पछिल्लो समय समाजमा मानसिक रोग र दुर्घटनाबाट धेरै मानिसको मृत्यु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले मानिसहरु नसर्ने रोगको जोखिममा छन् । यस क्षेत्रमा विशेषज्ञ जनशक्ति उत्पादन गर्नेतर्फ ध्यान दिन जरुरी छ ।कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले ‘डिप्रेसन’का कारण आत्महत्या बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न राज्य गम्भीर हुनुपर्ने बताउनुभयो ।सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव डा भोजराज शर्मा काफ्लेले एसियामै स्वास्थ्यमा सबैभन्दा बलियो सञ्जाल भएको देश नेपाल भएको दाबी गर्दै व्यवस्थापनमा सबल पक्ष भनेकै संवेदनशीलता हो भन्नुभयो ।मधेस प्रदेशका स्वास्थ्य सचिव डा प्रमोदकुमार यादवले ६३ लाख जनसङ्ख्या भएको मधेसका लागि तीनजना मानसिक रोग विशेषज्ञ जनशक्ति रहेका जनाउनुभयो ।लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा जनार्दन पन्थीले मनोपरामर्शदाताबाट समयसमयमा सुझाव लिनुपर्ने बताउनुभयो ।स्विस राजदूतावासका प्रतिनिधि प्रतिज्ञा सिम्खडाले सङ्घीयताको मर्मअनुसार मानसिक स्वास्थ्यसम्बन्धी रणनीतिलाई नजिकबाट नियाल्दै आएको बताउनुभयो ।कर्णाली प्रदेश अस्पतालका मानसिक रोग विशेषज्ञ डा सुशील समदर्शीले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई थप सहयोग पुग्नेगरी कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति र कार्ययोजना तयार गरेको बताउनुभयो ।सिएमसी नेपालका प्राविधिक निर्देशक डा पशुपति महतले मानसिक स्वास्थ्यको विद्यमान अवस्था, सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले प्रदेशस्तरमा मानसिक स्वास्थ्य रणनीतिक कार्ययोजना, कार्यान्वयनका क्रममा देखिएका सबल र सुुधार गर्नुपर्ने पक्ष, डा वासुदेव कार्कीले राष्ट्रिय मानसिक स्वास्थ्य नीति, प्रादेशिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजनाको मस्यौदा र यसका विशेषताका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

वर्सेनि बाहिरिरहेको अर्बौँ रुपैयाँ रोक्न नवीकरणीय र हरित ऊर्जा क्षेत्रमा सहायता बढाउन सरोकारवालाको आग्रह

जनकपुरधाम- पेट्रोलियम पदार्थ खरिदमा वर्सेनि बाहिरिरहेको अर्बौँ रुपैयाँ रोक्न नवीकरणीय र हरित ऊर्जा क्षेत्रमा सहायता बढाउन सरोकारवालाको आग्रह को छन् ।

वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र र नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको संयुक्त आयोजनामा आज जनकपुरधाममा भएको ‘दिगो ऊर्जा चुनौती कोषका अनुभव तथा सिकाई आदाप्रदान’ कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा यस क्षेत्रमा क्रियाशील सरोकारवालाहरूले त्यस्तो आग्रह गरेका हुन् । उनीहरूले नवीकरणीय ऊर्जाको विकासका लागि नेपाल सरकारले स्थापना गरेको सो कोषले प्रदान गर्ने सहयोगका क्षेत्रबाट नागरिक तथा उद्यमीले बढीभन्दा बढी लाभ लिने अवस्था बनाउनुपर्नेमा जोड दिएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले जनकपुरधाममा मुख्य समस्याका रूपमा रहेको फोहर सदुपयोग हुने गरी ऊर्जा उत्पादन गर्न चाहेकाले त्यसमा आर्थिक तथा प्राविधिक सहयोग आवश्यक भएको बताउनुभयो । उहाँले बायोग्यास वा त्यस्तै बहुउपयोगी एकीकृत ऊर्जा व्यवस्थापन परियोजनामा वैकल्पिक ऊर्जा प्रवद्र्धन कोषले सहयोग गरेमा त्यो प्रक्रिया तत्काल अगाडि बढाउन उपमहानगर तयार रहेको बताउनुभयो ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्रकुमार महासेठले ऊर्जाको पर्याप्त आपूर्ति नहुँदा हाल धेरै उद्योग ४० प्रतिशत क्षमतामा सञ्चालन गर्न बाध्य भइरहेका भन्दै त्यसको उपयुक्त निकास निकाल्न जरूरी भएको बताउनुभयो । उहाँले सरकारले महँगोमा विद्युत् खरिद गर्ने तर सस्तोमा बेच्ने नीतिले राष्ट्रिय आम्दानीमा असर परिरहेको भन्दै आफ्नै देशका उद्योगी तथा नागरिकलाई सस्तो दरमा विद्युत् दिएर पेट्रोलियम पदार्थ र एलपी ग्यास आयात प्रतिस्थापन गर्ने नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव नविनराज सिंहले सरकारको नीतिअनुसार चुनौती कोषमार्फत एक मेगावाटसम्मका ‘क्याप्टिभ’ तथा ‘ग्रिड’मा जोडिने परियोजना, ठूला बायोग्यास, विद्युतीय चुलो, विद्युतीय सवारीसाधन तथा सिँचाइको लागि सौर्यपम्पलगायत विभिन्न परियोजनामा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । मधेस प्रदेशका उद्योग, लघु, साना तथा मझौला उद्यम र स्थानीय तहलाई नवीकरणीय ऊर्जा परियोजना विकास गर्न सहयोग पुयाउने उद्देश्यले सिपकाई आदानप्रदान कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेशका प्रमुख मुनिन्द्र ठाकुरले मधेस प्रदेशका करिब शतप्रतिशत घरमा विद्युत्को पहुँच पुगिसकेकाले अब कृषि विद्युतीकरण तथा खाना पकाउने प्रयोजनका लागि विद्युत्को प्रयोग बढाउन प्राधिकरणको ध्यान केन्द्रित भएको बताउनुभयो । उहाँले विद्युतीय चुल्हो प्रयोगकर्ताहरूले मिटरको स्तरवृद्धि गर्दा शुल्क नलाग्ने र कसैले लिएमा आफूलाई जानकारी गराउन आग्रह गर्नुभयो ।

त्यस अवसरमा चुनौती कोषमार्फत हालसम्म नवीकरणीय ऊर्जासँग जोडिएका तीन सय आठ वटा अवधारणा पत्र, १० वटा पूर्ण प्रस्ताव प्राप्त हुनुका साथै ३८ वटा परियोजना स्वीकृत ९त्यसमध्ये मधेसका नौ०, २० हजारभन्दा बढी घरमा विद्युतीय चुलो जडान, ४६ वटा लघुउद्यम लाभान्वित र सात दशमलव पाँच मेगवाटका परियोजना स्वीकृत भई कार्यान्वयनका चरणमा रहेका जानकारी दिइएको थियो । हाल सञ्चालित नवीकरणीय ऊर्जा कार्यक्रम अवधि सन् २०२५ सम्म विकेन्द्रीकृत ऊर्जाको बजार विकास र पूर्ण ऊर्जा पहुँचको लागि उपयुक्त नीति, योजना तथा कानुन निर्माणमा पनि सहजीकरण गरिने उद्देश्य रहेको जानकारी दिइएको थियो ।

हुम्लाको सिमकोट गाउँपालिकाका वडाध्यक्षद्वारा एक सय परिवारलाई खाद्यान्न सहयोग

सिमकोट (हुम्ला)-  हुम्लाको सिमकोट गाउँपालिका–१ का वडाध्यक्ष गोरख लामाले आफ्नो वडाका एक सय परिवारलाई खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ । उहाँले प्रत्येक परिवारलाई पाँच किलो पिठो, पाँच किलो नुन र एक लिटर खानेतेल सहयोग गर्नुभएको हो ।

वडाध्यक्ष लामाले आफू निर्वाचित भएदेखि हालसम्मको पारिश्रमिक रकममध्येबाट वडावासीलाई खाद्यान्न सहयोग गर्नुभएको हो । रु चार लाख ५० हजार बराबरको खाद्यान्न सामग्री सहयोग गरेको वडाध्यक्ष लामाले बताउनुभयो । वडा नं १ का ठेहे, बैजीबाडा र दोजाम गाउँका अति विपन्न १५ परिवारलाई एक–एक बोरा चामल सहयोग गरेको उहाँले बताउनुभयो ।

यसैगरी, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट चामल खरिद गरी ढुवानी अनुदानमा चामल गाउँमै पुर्याएको वडाध्यक्ष लामाले बताउनुभयो । सदरमुकाम सिमकोटदेखि ठेहे–दोजामसम्म एक बोरा चामलको ढुवानी खर्च रु एक सय ५० लाग्छ । सो ढुवानी खर्च उहाँले आफूले तिरेको बताउनुभयो । ठेहेमा एक सय तथा दोजाम र बैजीबाडा गाउँमा एक सय १५ परिवारको बसोबास रहेको छ ।

टीकापुर अस्पतालमा चार वर्षमा दुई हजार महिलाको पाठेघरको शल्यक्रिया

टीकापुर (कैलाली), १९ फागुन : कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजारभन्दा बढी महिलाले शल्यक्रिया सेवा लिएका छन् । उक्त सङ्ख्या सुत्केरी सेवा र पाठेघरको शल्यक्रिया सेवा लिएका महिलाको मात्र हो । अस्पतालका स्त्री रोग विशेषज्ञ डा सञ्जयकुमार दासले सुत्केरी सेवा लिने र पाठेघरको समस्या भएकालाई शल्यक्रिया सेवा दिनुभएको हो । सो अवधिमा उहाँले जटिलता रहेका तीन हजार बढीलाई नर्मल सुत्केरी सेवासमेत दिनुभएको छ ।

टीकापुर अस्पतालमा हरेक महिना झण्डै दुई सयले सुत्केरी सेवा लिने गरेका छन् । सुत्केरी हुन जटिलता भएका ३५ देखि ४० जनाको शल्यक्रिया हुने गरेको डा दास बताउनुहुन्छ । यसबाहेक अस्पतालमा सातामा तीन÷चार महिलाको पाठेघरको शल्यक्रिया हुने गरेको छ । यसका साथै अस्पतालले पाठेघरको ल्याप्रोस्कोपी प्रविधिबाट समेत शल्यक्रिया सेवा दिने गरेको छ । ल्याप्रोस्कोपी प्रविधिबाट हालसम्म आठ जनाको शल्यक्रिया गरिएको डा दासले बताउनुभयो ।

टीकापुर अस्पतालमा गर्भवती, पाठेघरसम्बन्धी समस्या भएका, पाठेघरमा मासु पलाएका तथा अन्य समस्या भएका महिला उपचारका लागि आउने गरेका छन् । “कहिलेकाहीँ एकै दिन सात वटासम्म पनि शल्यक्रिया सेवा दिइएको छ”, उहाँले भन्नुभयो, “सुत्केरी सेवाका साथै पाठेघरको समस्याको उपचार, पाठेघर बाहिर निस्किएका वा सङ्क्रमण भएकाको शल्यक्रिया, पाठेघरमा ट्युमर पलाएकाको उपचार गर्दैआएका छौँ ।”

अस्पतालमा स्त्री रोगको उपचार सहजै हुन थालेपछि बिरामीलाई राहत मिलेको छ । डा दासले टीकापुर अस्पतालमा सेवा दिँदा विपन्न वर्गले राहत पाएको स्थानीय वासु थरुनीले बताउनुभयो । “मेरो बुहारीको अवस्था खतरामा थियो, बाहिर लैजान हामीसँग रकम थिएन, टीकापुर अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्मियो”, उहाँले भन्नुभयो, “धेरै गरिबको रकम बचत भएको छ ।” पहिला उपचार नपाएर ज्यान गुमाउनुपर्ने तथा बाहिर लैजानुपर्ने बाध्यता अब हटेको उहाँले बताउनुभयो ।

टीकापुर नगरपालिकाले स्त्री रोग विशेषज्ञको व्यवस्था गरेपछि यहाँका नागरिकले न्यून खर्चमै विशेषज्ञ चिकित्सकको सेवा स्थानीयस्तरमै पाउन थालेका हुन् । स्त्री रोग विशेषज्ञ डा दासले दैनिक ७० देखि ८० महिलाको उपचार गर्दैआउनुभएको छ । तीन दिनअघि मात्रै बौनियाबाट रेफर भएर आएको जटिल खालको गर्भवतीको शल्यक्रिया गरेर टीकापुर अस्पतालले आमा र बच्चालाई बचाउन सफल भएको छ ।

“शिशुको नाभी र एउटा खुट्टा बाहिर निस्किएको लामो समयपछि अस्पताल ल्याइएको थियो, यस्ता घटनामा आमा र शिशु दुवैलाई जोखिम हुन्छ”, डा दासले भन्नुभयो, “हामीले दुवैलाई बचाउन सक्यौँ ।”टीकापुर अस्पतालमा जोशीपुर, भजनी, जानकी र बर्दियाका केही पालिकाबाट सुत्केरी सेवा लिन आउने गरेका छन् । उपचार सहजरुपमा पाइन थालेपछि अस्पतालमा बिरामीको चाप बढेपछि श्ययाको अभाव हुन थालेको अस्पतालले जनाएको छ ।

युक्रेन र नेदरल्याण्डबीच सुरक्षा सम्झौतामा हस्ताक्षर

युक्रेन र नेदरल्याण्ड्सले शुक्रबार सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । सो सम्झौताले कीभलाई यो वर्ष दुई अर्ब युरो (२.२ बिलियन डलर) सैन्य सहायता प्रदान गर्ने राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताउनु भएको छ ।

“युक्रेनको रक्षा प्रणालीलाई बलियो बनाउने यो सम्झौताका लागि म प्रधानमन्त्री (मार्क) रुट्टेप्रति आभारी छु,” जेलेन्स्कीले उत्तरपूर्वी शहर खार्किभमा रुटेलाई भेटेपछि बताउनु भएको छ । सम्झौताको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

अन्तरिक्षमा आणविक हतियार राख्ने रुसको कुनै योजना छैन : राष्ट्रपति पुटिन

रुसले अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने कुनै योजना नबनाएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ । शुक्रबार देशको सुरक्षा परिषद्का सदस्यहरूसँगको बैठकमा उहाँले सो कुरा बताउनुभएको हो ।

“हामीले पहिले नै अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने भन्ने निराधार हल्लाको झूटा आरोपहरूबारे स्पष्ट पारिसकेका छौं, यी पश्चिमाहरूले चलाएको हल्लामात्र हो,” राष्ट्रपतिलाई उद्धृत गर्दै क्रेमलिनले भनेको छ ।

बिहीबार आफ्नो वार्षिक स्टेट अफ नेशन सम्बोधनमा राष्ट्रपति पुटिनले त्यस्ता आरोपहरूलाई “निराधार“ र “नक्कली कथा” मात्र भएको उल्लेख गर्नुभएको थियो । रुसले आणविक अन्तरिक्ष हतियारको विकासमा काम गरिरहेको अमेरिकी गुप्तचर तथ्याङ्कले खुलासा गरेको दाबी गर्ने पश्चिमी सञ्चार माध्यमको हल्लापछि यस्तो प्रतिक्रिया आएको हो ।

टी–२० क्रिकेट शृङ्खला : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

काठमाडौँ, १९ फागुन : त्रिकोणात्मक टि–२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । उक्त खेल बिहान ११ः३० देखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले नामिबिया र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक टि–२० क्रिकेट शृङ्खलाअन्तर्गत अघिल्ला तीन खेलमध्ये एउटामा मात्र जित हासिल गरेको थियो । शृङ्खलाको फाइनलमा स्थान बनाउनका लागि नेपालले आजको खेल जित्नैपर्ने हुन्छ ।

नेपालले तेस्रो खेलमा शुक्रबार नामिबियालाई तीन रनले हराएको थियो । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले तथा नेदरल्याण्ड्ससँग दोस्रो खेलमा दुई रनले पराजित भएको थियो । शृङ्खलामा नेदरल्याण्ड्स हालसम्म खेलेका दुवै खेलमा जित निकाल्दै चार अङ्कका साथ शीर्ष स्थानमा छ । नेपाल र नामिबियाको दुई दुई अङ्क छ । रन रेटका आधारमा नेपाल दोस्रो तथा नामिबिया अङ्क तालिकाको पुछारमा छ । –

कांग्रेसको नेतृत्वमा देशैभरि भ्रष्टाचारविरुद्ध अभियान थाल्नुपर्छ : अर्जुननरसिंह केसी

लेखनाथ (कास्की)-नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेसको नेतृत्वमा देशैभरि भ्रष्टाचारविरुद्ध अभियान चलाउनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीद्वारा  पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता केसीले भन्नुभयो–“जनताको चाहना राज्यका हरेक क्षेत्रमा हुने आर्थिक अनियमितता अन्त्य हुनुपर्ने रहेकाले कांग्रेसले जनताको भावनालाई बुझेर नेतृत्व गर्दै देशैभरि भ्रष्टाचारविरुद्ध अभियान चलाउन आवश्यक छ ।”नेपाली जनतामा रहेको भ्रमलाई चिर्न पनि कांग्रेसले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्न आवश्यक देखिएको उहाँको भनाइ थियो । देशमा भएका ठूल्ठूला भ्रष्टाचारका घटनाको पर्दाफास गर्न आवश्यक भएको उल्लेख गर्दै नेता केसीले राजनीतिक दलप्रति जनताले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको बताउनुभयो ।“पछिल्लो समय अदालतबाट न्याय सम्पादन सही रुपमा नभएको भन्ने गुनासा आएका छन्, यसप्रति सरकार सचेत हुन जरुरी छ,” नेता केसीले भन्नुभयो, “दोषीलाई उम्कने अवस्था अदालतबाट सृजना गर्न हुँदैन ।”देशमा आर्थिक मन्दीको चुनौतीसँगै बेरोजगारी खडा भएकाले त्यसलाई सम्बोधन गर्न सरकारले नयाँ कार्यक्रम ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । जनताको निराशा केही हदसम्म भए पनि समाधान गर्नुपर्ने नेता केसीको भनाइ थियो । कांग्रेस वर्तमान सत्ता गठबन्धन तोड्ने पक्षमा नरहेको उहाँले बताउनुभयो । “जनतामाझ गठबन्धन सरकारले पाँच वर्ष शासन चलाउने वाचा गरेकाले त्यस्तो गठबन्धन तोड्ने पक्षमा कांग्रेस छैन,” उहाँले भन्नुभयो, “त्यसप्रति कांग्रेस गम्भीर छ ।”राष्ट्रियसभा अध्यक्षका लागि कांग्रेसले आफ्नो उम्मेदवारका रुपमा कृष्णप्रसाद सिटौलालाई अगाडि बढाएको नेता केसीले उल्लेख गर्नुभयो ।  

सन्दुक रुइत नेतृत्वको टोलीद्वारा ताप्लेजुङमा एक सय ५४ जनाको आँखाको शल्यक्रिया

फुङ्लिङ (ताप्लेजुङ)-वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत नेतृत्वको टोलीले ताप्लेजुङमा एक सय ५४ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ । सदरमुकाम फुङ्लिङमा बुधबारदेखि सञ्चालित तीनदिने निःशुल्क आँखा शिविरमा मोतिविन्दुका रोगीको आँखाको शल्यक्रिया गरिएको हो ।

डा रुइतको प्रत्यक्ष संलग्नतामा मोतिविन्दु भएका व्यक्तिको आँखाको शल्यक्रिया गरिएको हो । नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङको आयोजना तथा तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन गरिएको नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिनुभयो ।

शिविरमा बालबालिकादेखि ८० वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया गरिएको थियो । बिहीबार एक सय दुई र शुक्रबार ५२ आँखाका बिरामीको शल्यक्रिया गरिएको छ । मोतिविन्दुको शल्यक्रिया गरिएका बिरामीलाई चस्मा र आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको नेत्रज्योति सङ्घ शाखाका उपसभापति खगेन्द्र अधिकारीले बताउनुभयो । उहाँका अनुसार सदरमुकाममा सञ्चालित आँखा शिविरलाई लक्षित गरी गाउँ–गाउँमा पुगेर मोतिविन्दु भएका रोगीको छनोट गरिएको थियो ।

शिविरमा जिल्लाभित्र र पाँचथर तथा तेह्रथुमबाट बिरामी आएर सेवा लिएको नेत्रज्योति सङ्घका शाखा सभापति राजकुमार गुरुङले जानकारी दिनुभयो । शिविरमा एक हजार तीन सय २७ जनाले आँखा परीक्षण गराएका थिए । आँखा परीक्षण गराउनेमा पाँच सय ४६ पुरुष र सात सय ८१ महिला छन् । उल्लेख्य सङ्ख्यामा बालबालिकाले पनि शिविरमा आँखा परीक्षण तथा उपचार सेवा प्राप्त गरेको नेत्रज्योति सङ्घले जनाएको छ ।

सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक

काठमाडौँ- सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक दिशातर्फ अग्रसर भएको छ । शुक्रबार साँझ भएको वार्ता सकारात्मक रहेको र आज पुनः छलफल गर्नेगरी टुङ्गिएको पीडित समूहका वार्ताटोली संयोजक अवधेश कुशवाहले बताउनुभयो ।

“समस्याको समाधान गर्ने भनेर राज्य लागिरहेकाले समीक्षा गरेर अघि बढौँ, संरचना निर्माण गर्ने भए पनि निर्माण गरौँ भन्ने प्रस्ताव सरकारी टोलीबाट आएको छ,” कुशवाहले भन्नुभयो ।

मिटरब्याजपीडित सङ्घर्ष समितिका संयोजक नृग नविनले चौथो चरणको वार्ता सकारात्मक रहेको बताउनुभयो । उहाँले अबको वार्ताबाट निष्कर्ष निस्कने विश्वास व्यक्त गर्नुभयो ।

सङ्घर्ष समितिले कुशवहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने सरकारका तर्फबाट गृहमन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ ।

अधिकारसम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राख्दै २३ दिन हिँडेर काठमाडौँ आइपुगेका मिटरब्याज पीडितले विगत केही दिनयता काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।
 

प्रविधिको विकासबाट कर्णालीलाई उठाउन सकिन्छः मुख्यमन्त्री

कर्णाली-कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रविधिको विकासबाट मात्र कर्णालीलाई माथि उठाउन सकिने बताउनुभएको छ ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा सुर्खेतमा सुरु भएको दुईदिने ‘डिजिटल कर्णाली कन्क्लेभ’को शुभारम्भ गर्दै उहाँले कर्णालीको समग्र विकासलाई प्रविधिसँग जोडेर अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कर्णालीको भूबनोट, यहाँको विकासलाई ध्यान दिएर प्रविधिको विकास नगरी अहिलेको आवश्यकता पूरा गर्न कठिन छ ।

यसको उन्नतिका लागि प्रविधिको भरपुर उपयोग गर्नुपर्ने देखिन्छ ।” कर्णालीमा हुने विकासलाई प्रविधिसँग जोड्नुपर्ने चुनौती रहे पनि युगको आवश्यकतालाई बोध गरी कन्क्लेभ आयोजना गरिएको उहाँले बताउनुभयो । आन्तरिक मामिलामन्त्री कृष्णबहादुर जिसीले डिजिटल मार्गचित्र तयार गर्न कन्क्लेभको आयोजना गरिएको बताउनुभयो ।

उहाँले कर्णाली प्रदेशकै एक महत्वपूर्ण मानिएको यो कार्यक्रमले नीति, नियम, सञ्चार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, जलविद्युत्, सुशासन, विपद् व्यवस्थापन, अर्थतन्त्र, नेतृत्व, स्टार्टअप र उद्यमीका विषयमा नीतिगत छलफल सुरु भएको जनाउनुभयो । आइसीटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले डिजिटल नीति र नेतृत्व, मानव पूँजी, आइसिटी र तथ्याङ्क उद्योग, डिजिटल पूर्वाधार, डिजिटल रुपान्तरण र सुरक्षाको विकास र सुनिश्चितताका लागि प्रविधि सम्मेलन आयोजना गरिएको बताउनुभयो ।

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १९ फागुन : हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, लुम्बिनी प्रदेशका थोरै स्थानमा र देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर साधारणतया बदली रहने छ । राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनीसहित बागमती प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

हेर्नुहोस् फागुन १९ गते शनिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । अ?को कुरामा बिशेष ध्यान नदिनु होला । मनमा कुबिचारले बास गर्नाले भोलिको समयमा केहि झन्झज पर्न सक्छ । खर्चको योग रहेको हुनाले लगानिमा ध्यान दिनु होला । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ ।

बृष राशि – ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । मित्रजनह? बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

मीथुन राशि – अ?को छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । अ?को सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्रने ब्यक्ति ह?को बृद्यि हुनेछ । शत्? सबल रहलान । स्वास्थ सम्बन्धि समस्या ले सताउला । नयाँ लगानि तथा साजेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ ।

कर्कट राशि- मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानि हुनसक्ने सम्भाबना रहेको छ । मित्र जन को साथ सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला ।मन प्रशन्न गराउने समाचार प्राप्त रहनेछन । अध्यन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ ।

सिंह राशि – भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । श्रम परीश्रमको कदर नहुनाले मनमा सामान्य चिन्ता हुनेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भाबना रहेको छ ।

कन्या राशि – खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । दाजु भाई बिचको साथ सहयोग प्राप्त हुनेछ । आय आम्दानि मा बृद्यिहुने योग रहेको छ । सामान्य यात्रा पस्चात मान सम्मानको प्राप्ती हुन सक्नेछ ।

तुला राशि- मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । कुलकुटुम्ब ह?को साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानमा बिशेष ?चि रहने छ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । नयाँ लगानिका क्षेत्रमा भने समय मध्यम रहनेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

बृश्चिक राशि – मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला । मित्रजन तथा दाजु भाई बिचको सम्बन्धमा सुधार रहने छ । सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । आँट र शाहासको बृद्यि हुनेछ । ब्यापार ब्यवसाय मा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ ।

धनु राशि – साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।

मकर राशि – मित्रजनह? बाट साथ सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । सामान्य स्वास्थ सम्बन्धि समस्या ले सताउन सक्छ । गैर ब्यक्तिको पुर्ण बिस्वास नर्गनु राम्रो हुनेछ । कुराकाट्ने ब्यतिह?बाट बच्नु पर्ने छ ।

कुम्भ राशि – कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परीबारका कोहि सदस्य ह?को स्वास्थ क्षेत्रमा झमेला पर्न सक्छ । बौधिक बिकास तथा विद्या प्राप्ति योग रहेको । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ । समय मध्यम रहनेछ ।

मिन राशि – मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । श्रम परीश्रमको राम्रो कदर हुने समय रहेको छ । सबारी साधन को प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ । शुभचिन्तकह?को साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ ।

जोमसोम–पोखरा हवाई सेवा तीन महिनापछि सञ्चालनमा

म्याग्दी, १८ फागुन : जोमसोम–पोखरा हवाई सेवा करिब तीन महिनापछि आजदेखि सञ्चालन भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुुस्ताङको जोमसोम विमानस्थलमा हुुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत मङ्सिर दोस्रो सातादेखि बन्द भएको थियो । गत मङ्सिर २० गतेदेखि उडान बन्द गरेको सुमित एयरलायन्सले आजदेखि उडान भर्न थालेको जोमसोम विमानस्थलका प्रमुख हिरोण शाहले बताउनुभयो ।

मङ्सिर १० गतेदेखि उडान रोकेको तारा एयरलायन्सले पनि केही दिनमै जोमसोम–पोखरा उडान सञ्चालन गर्ने तयारी गरेको छ । “मौसममा सुुधार र पर्यटकीय याम सुुरु भएकाले पोखरा–जोमसोम हवाई सेवा सञ्चालन गरिएको हो”, विमानस्थलका प्रमुख शाहले भन्नुुभयो, “सुमित एयरलाइन्सले आज दुई उडान भरेको छ ।” बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा स्तरोन्नति भइरहेको अवस्थामा हवाई उडान सुरु भएपछि मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज भएको छ ।

हवाई सेवा सुरु भएपछि मुस्ताङमा पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ । सन् २०२३ मा ९१ हजार विदेशी पर्यटकले मुुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ । गर्मी बढ्न थालेसँगै केही दिनयता बेनी–जोमसोम सडकमा भएर मुस्ताङ जाने आउने सवारी साधनको चाप बढ्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजकुमार थापाले बताउनुभयो ।

गठबन्धनमा कुनै किसिमको खटपट छैनः सञ्चारमन्त्री

काठमाडौँ, १८ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्तारूढ गठबन्धनमा कुनै समस्या नरहेको बताउनुभएको छ । सङ्घीय संसद् भवनमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले गठबन्धनमा कुनै किसिमको खटपट नभएको स्पष्ट गर्नुभयो ।

आफ्नो पार्टीको स्थायी समिति बैठकमा राष्ट्रियसभाको अध्यक्ष पाउनुपर्ने विषय उठेको जानकारी दिँदै नेपाल सरकारको प्रवक्तासमेत रहनुभएकी मन्त्री शर्माले आफूहरुका कारण गठबन्धन नटुट्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) राष्ट्रियसभामा सबैभन्दा ठूलो दल बनेकाले अध्यक्षमा दाबी गर्नु स्वभाविक भएको बताउनुभयो ।

“माओवादी राष्ट्रियसभामा ठूलो पार्टीका रुपमा आयो तर अहिलेसम्म आफ्नो पार्टीबाट राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखदेखि लिएर राष्ट्रियसभासम्म कहीँ पनि माओवादीको प्रतिनिधित्व छैन । प्रधानमन्त्री हुनुहुन्छ, त्यो आफ्नो ठाउँमा छ । अहिले जति विषयहरु उठेका छन्, ती माओवादीले नै राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारको दाबी गर्न पाउनुपर्छ र त्यसमा गठबन्धनले पनि सहयोग गर्नुपर्छ भन्ने आशयबाट स्थायी कमिटी बैठकमा कुरा उठेको हो,” उहाँले भन्नुभयो ।

राष्ट्रियसभा अध्यक्ष पदको उम्मेदवारी दिने विषयमा स्थायी समिति बैठकमा सहमति भएको र सोहीअनुसार पार्टीले दाबी गरेको उहाँले जानकारी दिनुभयो ।

विश्व बैङ्कले २६ अर्ब ५१ करोड ऋण प्रदान गर्ने

काठमाडौँ, १८ फागुन : विश्व बैङ्कले दुई परियोजनाका लागि दुई सय मिलियन अमेरिकी डलर (रु २६ अर्ब ५१ करोड) बराबरको ऋण सहयोग गर्ने भएको छ ।

विश्व बैङ्कको कार्यकारिणी समितिको आजको बैठकले सो निर्णय गरेको हो । उक्त सहयोगबाट नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जाल विस्तार एवं मर्मत–सम्भारमा सहयोग पुग्ने बैङ्कले जनाएको छ ।

“विश्व बैङ्क नेपालको समावेशी विकासमा सहयोग गर्न प्रतिबद्ध छ । विश्व बैङ्कको इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आइडीए) मार्फत हामीले सेवा र पूर्वाधारमार्फत नेपालीको जीवनस्तर सुधारका लागि सहयोग केन्द्रित गरेका छौँ,” बैङ्कका माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक फेरिस हदाद जार्भोसले भन्नुभयो ।

वाशिङटन डिसीस्थित बैङ्कको प्रधान कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार नेपाललाई प्रदान गरिने सहायता रकममध्ये एक सय मिलियन (करिब रु १३ अर्ब २५ करोड) रकम राजस्व सङ्कलनमा सुधार ल्याउन र ऋण व्यवस्थापनको पारर्शिता अभिवृद्धिमा उपयोग गरिनेछ ।

प्रत्यक्ष वैदेशिक लगानी प्रक्रियालाई स्वचालित बनाउन सो रकम प्रयोग गरिनेछ । यस्तै, एक सय मिलियन (करिब रु १३ अर्ब २५) बढी रकम भने प्रादेशिक (मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेश) र स्थानीय सडक पूर्वाधारको मर्मत–सम्भारमा खर्च हुनेछ । त्यसबाट सेवा प्रवाहमा प्रभावकारिताका साथै स्थानीय समुदायमा सहज पहुँच पुग्नेछ ।

दाङ क्रिकेट लिग–२ : तुलसीपुर रोयल्स र दङ्गाली लायन्स उपाधिका लागि भिड्ने

घोराही (दाङ), १८ फागुन : तुलसीपुर रोयल्स र दङ्गाली लायन्स दाङको घोराहीमा जारी ‘दाङ क्रिकेट लिग–२’ को उपाधिका लागि भिड्ने भएका छन् । फाइनल खेल शनिबार घोराही–१७ गुलरियास्थित घोराही क्रिकेट रङ्गशालामा हुने छ । दाङ क्रिकेट सङ्घको आयोजनामा यही फागुन १४ गतेदेखि सुरु भएको लिग चरणको अन्तिम खेलमा आज तुलसीपुर रोयल्सले घोराही टाइगर्सलाई तथा दङ्गाली लायन्सले देउखुरी वारियर्सलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् ।

तुलसीपुर रोयल्स लिग चरणका चारवटै खेलमा अपराजित रहँदै आठ अङ्कसहित शीर्ष स्थानमा छ । यस्तै दङ्गाली लायन्स चार खेलमा तीनमा जित तथा एउटामा हारसहित ६ अङ्कका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा सहभागी घोराही टाइगर्स चार अङ्कसहित तेस्रो, पुरन्धारा च्यालेन्जर्स दुई अङ्कसहित चौथो तथा लिग चरणमा जितबिहीन रहेको देउखुरी वारियर्स अङ्क तालिकाको पुछारमा रहेको छ ।

आज भएको पहिलो खेलमा दङ्गाली लायन्सले देउखुरी वारियर्सलाई ६ विकेटले हराएको हो । देउखुरीले दिएको एक सय २६ रनको लक्ष्य दङ्गालीले १८ दशमलव चार ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो । यस अघि टस जितेर ब्याटिङ गरेको देउखुरी वारियर्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २५ रन बनाएको थियो । यसैगरी आजै भएको लिग चरणको अन्तिम खेलमा तुलसीपुर रोयल्सले घोराही टाइगर्सलाई ४१ रनले पराजित ग¥यो ।

घोराहीले एक सय ५१ रनको लक्ष्य पाए पनि २० ओभरमा नौ विकेटको क्षतिमा एक सय नौ रन मात्र बनायो । यस अघि टस हारेर ब्याटिङको निम्तोे पाएको तुलसीपुर रोयल्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५० रन बनाएको थियो ।

स्थायी बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी

अत्तरिया (कैलाली), १८ फागुन : कैलालीमा स्थायी बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी रहेको छ । चालु आवमा स्वास्थ्य कार्यालय कैलालीले जिल्लाका विभिन्न ठाउँमा सञ्चालन गरेको स्थायी बन्ध्याकरण घुम्ती शिविरमा पुरुषभन्दा महिलाको सहभागिता बढी रहेको हो ।

तेह्रवटै स्थानीय तहका विभिन्न १७ ठाउँमा सञ्चालन गरिएको घुम्ती शिविरमा सन्तानको इच्छा पुगेका दुई सय ४६ जनाले स्थायी बन्ध्याकरण सेवा लिएको स्वास्थ्य कार्यालय कैलालीका परिवार नियोजन सुपरभाइजर निरीक्षक ओलटनारायण चापागाईंले राससलाई जानकारी दिनुभयो ।

घुम्ती शिविरमा स्थायी बन्ध्याकरण सेवा लिनेमा दुई सय २० महिला र २६ जना पुरुष रहेको उहाँले बताउनुभयो । परिवार नियोजनको स्थायी बन्ध्याकरण मिनिल्याप महिला र भ्यासेक्टोमी पुरुषले गर्ने गरेका छन् । नेपाल परिवार नियोजन सङ्घ धनगढी र सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा चालु आवमा स्वास्थ्य कार्यालयले जिल्लामा दुई चरणमा स्थायी बन्ध्याकरण घुम्ती शिविर आयोजना गरेको उहाँले बताउनुभयो ।

गत मङ्सिर २५ गतेदेखि पुस ६ गतेसम्म १० र यही फागुन ५ गतेदेखि १४ गतेसम्म जिल्लाका विभिन्न सात ठाउँमा स्थायी बन्ध्याकरण घुम्ती शिविर आयोजना गरिएको उहाँले बताउनुभयो । गत आव २०७९÷०८० मा स्वास्थ्य कार्यालयले सञ्चालन गरेको स्थायी बन्ध्याकरण शिविरमा दुई सय ९१ जनाले स्थायी बन्ध्याकरण सेवा लिएको उहाँले बताउनुभयो । जसमा दुई सय ६३ महिला र २८ जना पुरुषले बन्ध्याकरण सेवा लिएको परिवार नियोजन सुपरभाइजर निरीक्षक चापागार्इंले बताउनुभयो । गत वर्ष पनि बन्ध्याकरणमा पुरुषभन्दा महिलाको सहभागिता बढी नै रहेको थियो ।

पुरुषले स्थायी बन्ध्याकरण गर्न नचाहने, महिलाले नै पुरुषलाई बन्ध्याकरण गर्न नदिनेजस्ता कारणले बन्ध्याकरणमा पुरुषभन्दा महिलाको सहभागिता बढी हुने गरेको उहाँले बताउनुभयो । पुरुषले भ्यासेक्टोमी गर्दा शरीरमा अप्ठ्यारो हुन्छ भन्ने भ्रम, वैदेशिक रोजगारीमा बढी पुरुष नै जाने भएकाले गाउँघरमा पुरुषको सङ्ख्या कम हुने भएकाले पनि स्थायी बन्ध्याकरणमा पुरुषको सहभागिता कम हुने गरेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पुरुषले धेरै काम गर्नुपर्छ”, बन्ध्याकारण गर्दा कमजोर भइन्छ भन्ने भ्रम पनि छ । रोजगारीका लागि बढी पुरुष नै बाहिर जाने गरेका छन् । जसले गर्दा स्थायी बन्ध्याकरणमा पुरुषभन्दा महिला बढी आकर्षित देखिन्छन् ।”

मुख्यमन्त्री कप भलिबल : एपिएफ क्लब र गण्डकी फाइनलमा

किमाथाङ्का (सङ्खुवासभा), १८ फागुन : सशस्त्र प्रहरी बलको एपिएफ क्लब र गण्डकी प्रदेश सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

आज सम्पन्न सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै गण्डकीले फाइनलमा एपिएफ क्लबसँगको भेट पक्का गरेको हो । गण्डकीले पुलिस क्लबलाई ३–२ सेटले पराजित गरेको हो । सो खेलमा गण्डकी १७–२५, २५–२१, २६–२४ र १५–११ अङ्कले विजयी भयो ।

यस्तै अर्को सेमिफाइनल खेलमा एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० सेटले पराजित गरेको हो । एपिएफ क्लबले सो खेल २५–१६, २५–२२ र २५–१९ अङ्कले जितेको हो । फाइनल खेल शनिबार हुने छ । शनिबार नै तेस्रो स्थानका लागि आर्मी क्लब र पुलिस क्लबबीच खेल हुने छ ।

प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार, तेस्रो हुने टोलीले रु ५० हजार तथा चौथोले रु ३० हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा विभागीय टोलीसहित सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, र कोशी प्रदेश सहभागी थिए । कोशी प्रदेश खेलकुद विकास समितिको आयोजना तथा जिल्ला भलिवल सङ्घको संयोजनमा यही फाुगन १५ गतेदेखि मुख्यमन्त्री कप भलिबल सञ्चालन भएको हो ।

शान्ति स्थापना गर्न नेपाली कांग्रेसले ठूलो भूमिका खेलेको छ – अर्थमन्त्री

गलकोट (बागलुङ), १८ फागुन : नेपाल सरकारका अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको बताउनुभएको छ । उहाँले आफूलाई नभई देश र जनताको लागि मात्रै सोचेर काम गरेको बताउँदै अर्थतन्त्रको दीर्घकालीन सुधारमा लागेको बताउनुभयो ।

नेपाली कांग्रेस बागलुङले आज आयोजना गरेको कार्यक्रता भेटघाट कार्यक्रममा अर्थमन्त्री महतले नेपालमा सूचना प्रविधि, पर्यटन र जलविद्युत्मा अथाहा सम्भावना रहेको बताउँदै रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान गइरहेको जानकारी दिनुभयो । उहाँले वर्तमान सरकारले अर्थतन्त्रलाई विस्तारै लयमा फर्काएको सूचकले देखाउन थालेको बताउनुभयो ।

“म सरकारमा आउँदा आठ प्रतिशत मूल्यवृद्धि थियो, ब्याजदर १६ प्रतिशत थियो, अधिकांश लगानी जग्गा र शेयरमा गरेकाले प्रतिफल नआउँदा समस्या भयो, आर्थिक सुनिश्चितता नहुँदै धेरै योजना ल्याएका थिए, सहकारीलाई लुट्ने माध्यम बनाउन थालिएको थियो”, उहाँले भन्नुभयो, “तर अहिले ब्याजदर एक अङ्कमा ल्याउन थालिएको छ, आर्थिक वृद्धिदर बढ्न थालेको छ, रातारात आर्थिक सुधार नहुने भएकाले विस्तारै अर्थतन्त्र सुधारोन्मुख भएको छ ।”

वर्तमान सरकार आर्थिक दायित्व भुक्तानी गर्दागर्दै अहिलेको सरकार हैरान परेको अर्थमन्त्री महतले बताउनुभयो । अहिलेको सरकारले तीन करोडभन्दा तलको योजना केन्द्र सरकारले नगरेर प्रदेश सरकारमा पठाउने उहाँको भनाइ छ । अघिल्लो सरकारले हचुवाका भरमा धेरै योजना ल्याउँदा दायित्व भुक्तानी गर्न असहज भएको उहाँको भनाइ छ । नेपाली कांग्रेसका प्रवक्तासमेत रहनुभएका अर्थमन्त्री महतले भावनाले राजनीति नचल्ने भन्दै राजनीतिक पार्टी भनेको सरकार चलाउने र समृद्धि ल्याउने गरी स्थापना भएको बताउनुभयो ।

अहिलेको संवैधानिक अवस्थामा बहुमत ल्याउन नसक्ने भन्दै गठबन्धनको औचित्य स्थापित हुँदै जानु वास्तविकता रहेको बताउनुभयो । शान्ति स्थापना गर्न नेपाली कांग्रेसले ठूलो भूमिका खेलेको उहाँको भनाइ छ । गठबन्धन परिस्थितिले सिर्जना गरेको बताउँदै उपलब्धि हासिल गर्न र एक्लै बहुमत आउन नसक्ने अवस्थामा गठबन्धन सिर्जना गर्न बाध्य भएको अर्थमन्त्रीको भनाइ रहेको छ । गठबन्धन रणनीतिक विषय भएको उहाँको जिकिर छ ।

कांग्रेस पार्टीले योग्य व्यक्ति सबैलाई न्याय गर्न नसकेको बताउँदै त्यसका लागि पार्टीमा पहल गर्ने अर्थमन्त्री महतले बताउनुभयो । कांग्रेस एक्लै बहुमत ल्याउने गरी दृढताका साथ अघि बढ्नुपर्नेमा उहाँको जोड थियो । बागलुङको पञ्चकोटमा आयोजना भइरहेको अन्नतश्री बह्माण्डीय महायज्ञअन्तर्गत अर्थसंवाद कार्यक्रममा सहभागी हुन अर्थमन्त्री बागलुङ आउनुभएको हो ।

यही फागुन २३ गतेसम्म सञ्चालन हुने महायज्ञमा शिक्षा सम्मेलन, जनप्रतिनिधि सम्मेलन र कानुन सम्मेलनलगायतका विविध कार्यक्रम आयोजना भइसकेका छन् ।

अफ्रिकाको हर्नमा १ करोड ८० लाख मानिस विस्थापित

हर्न अफ अफ्रिका क्षेत्रमा करिब १ करोड ८० लाख मानिस आन्तरिक रूपमा विस्थापित भएको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले शुक्रबार जारी गरेको प्रतिवेदनमा जनाएको छ। संयुक्त राष्ट्रसंघको आप्रवासन एजेन्सीले विस्थापित जनसङ्ख्या अधिकांश सुडान (४९ प्रतिशत), सोमालिया (१९ प्रतिशत), इथियोपिया (१९ प्रतिशत) र दक्षिण सुडान (११ प्रतिशत) रहेको उल्लेख गरेको छ।

“सुडानमा द्वन्द्वको प्रकोपका कारण ८१ लाख मानिस जबरजस्ती विस्थापित भएको पाइएको छ जसमा आन्तरिक रूपमा ६३ लाख र छिमेकी देशहरूमा १९ लाख,” रहेको आईओएमले जनाएको छ ।यस क्षेत्रमा विस्थापनका अन्य कारणहरू ‘एल निनो’ वर्षासँग जोडिएको खडेरी र बाढी जस्ता प्राकृतिक प्रकोपहरू रहेको विज्ञहरूले बताएका छन् । प्राकृतिक प्रकोपका कारण सृजित खाद्य असुरक्षा पनि विस्थापनको मुख्य कारण बनेको छ ।

आगामी महिनाहरूमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको सङ्ख्या बढ्न सक्ने अनुमान छ किनभने यस क्षेत्रमा मार्च र मे महिनामा भारी वर्षा हुने र वर्षाजन्य प्रकोप बढ्न सक्ने पूर्वानुमान गरिएको छ।विकाससम्बन्धी अन्तरसरकारी प्राधिकरण जलवायु पूर्वानुमान केन्द्रले हालै गरेको पूर्वानुमानमा प्राकृतिक प्रकोपबाट सोमालिया, केन्या, इथियोपिया र दक्षिण सुडानका साथै युगान्डा र तान्जानिया बढी प्रभावित हुनसक्ने देखिन्छ । प्रतिवेदनका अनुसार अनुसार हालैको बाढी, द्वन्द्व र खडेरीका कारण अफ्रिकाको ग्रेटर हर्न क्षेत्रमा लगभग ५ करोड ८० लाख मानिसहरू खाद्य असुरक्षामा छन्।

सांसदहरुका जिज्ञासाको जवाफ प्रधानमन्त्रीले सोमबार दिने

काठमाडौँ, १८ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विपक्षी दलका सांसदलगायत प्रतिनिधिसभा सदस्यले समसामयिक विषयमा उठाउनुभएका जिज्ञासाको जवाफ आगामी सोमबार हुने बैठकमा दिनुहुने भएको छ ।

कार्यव्यस्तताका कारण प्रधानमन्त्रीले सांसदका प्रश्नहरुको जवाफ सदनमा दिन नसक्नुभएको जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद् सचिवालयलाई आज एक पत्र पठाउँदै आगामी सोमबारको बैठका प्रधानमन्त्रीले जवाफ दिने बताएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा गणेशप्रसाद पाण्डेयले आज सङ्घीय संसद्का महासचिवलाई पठाउनुभएको पत्रमा “आज सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय संसद्को प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम रहेकामा उहाँ कामविशेषले काठमाडौँ उपत्यकाबाहिर रहनुभएको हुँदा यही फागुन २१ गते सम्बोधन गर्ने गरी व्यवस्था गर्न” अनुरोध गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेपछि सभामुख देवराज घिमिरेले यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको थियो ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले प्रधानमन्त्रीको जवाफ माग गर्नुभएको थियो ।
–––

विपद्को जोखिम र क्षति न्यूनीकरणमा प्रदेश सरकारले जोड दिएको छ – मुख्यमन्त्री पाण्डे

म्याग्दी, १८ फागुन : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् पूर्वतयारी, रोकथाम, उद्धार, राहत तथा क्षतिपूर्ति वितरण र पुनःस्थापनालाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।

सशस्त्र प्रहरी बलले म्याग्दीको बेनीमा आज आयोजना गरेको नदीजन्य विपद्को नमूना अभ्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले विपद्को जोखिम र क्षति न्यूनीकरणमा प्रदेश सरकारले जोड दिएको बताउनुभयो । “हिमाल, पहाड र तराईको भूगोल समेटिएको गण्डकी प्रदेशमा सबै किसिमका विपद्को जोखिमको पहिचान गरी क्षति न्यूनीकरण गर्न पूर्वतयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “विपद् पूर्वतयारी, विपद्को अवस्थामा गरिने प्रतिकार्य तथा विपद्पश्चात् राहत र पुनःस्थापनाको कार्यलाई प्रदेश सरकारले प्राथमिकता दिएको छ ।”

विपद्को क्षति न्यूनीकरणका लागि समुदायस्तरमा सचेतनामूलक गतिविधि, सुरक्षा निकायको क्षमता अभिवृद्धि, सीपयुक्त जनशक्ति तयार, राहतको भण्डारण र पुनःस्थापनसम्बन्धी कार्य गरिएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हुन थालेका अधिक वर्षाद्का कारण खोलानालामा आउने बाढीले तटीय क्षेत्रका बजार तथा बस्तीमा गर्ने कटानलाई गण्डकी प्रदेशमा विपद्को नयाँ चुनौतीका रुपमा लिइएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

प्रदेशस्तरमा रु १० करोड र ११ वटै जिल्लामा रु दश÷दश लाख नघट्ने गरी विपद् व्यवस्थापन कोष स्थापना गरिएको जानकारी उहाँले दिनुभयो । गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले विपद् व्यवस्थापनका लागि समुदायस्तरमा सीपयुक्त जनशक्ति तयार पार्ने र सुरक्षा निकायलाई आवश्यक सामग्री उपलब्ध गराएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा विपद् व्यवस्थापन बेस क्याम्प स्थापना गरिएको जानकारी दिनुभयो । सशस्त्र प्रहरीको मुक्तिनाथ बाहिनीका बाहिनीपति कालीदास धौवजीले विपद् व्यवस्थापनका लागि तालिमप्राप्त जनशक्तिको क्षमता अभिवृद्धिका लागि नमूना अभ्यास गरिएको बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको सहयोगमा भएको नमूना अभ्यासमा ३५ जना सहभागी भएका थिए । नदीमा बग्दै गरेको, नदीमा अड्किएको, डुबेको, डोरीबाट झरेर गरिने उद्धारको नमूना प्रदर्शन गरिएको सशस्त्र प्रहरी बल गलेश्वर आश्रित गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामकुमार पौडेलले बताउनुभयो । म्याग्दीका छ वटा स्थानीय तहबाट पाँच÷पाँच जनालाई विपद् व्यवस्थापनसम्बन्धी आधारभूत तालिम पनि दिइएको उहाँले बताउनुभयो ।

तरकारी र फलफूल खेतीबाट विदेशमा भन्दा बढी कमाइ गर्दै पुन, गरे चार लाख आम्दानी

गलेश्वर (म्याग्दी), १८ फागुन : वैदेशिक रोजगारीका क्रममा कतारमा सात वर्ष बिताएपछि गाउँ फर्किनुभएका म्याग्दीको मालिका गाउँपालिका–६ का सङ्केत पुनलाई दोस्रो पटक विदेश जान मन लागेन । पाँच वर्षअघि २०७४ सालमा कतारबाट दिच्याम फर्केपछि गाउँमा बाँझै रहेको तीन रोपनी जग्गालाई खनजोत गरेर पुनले तरकारी र सुन्तला खेती सुरु गर्नुभयो । अहिले उहाँको बारीमा मौसमी र बेमौसमी तरकारी फलिरहेका छन् । गत वर्ष तरकारी बेचेर रू चार लाख आम्दानी भएको पुनले बताउँदै यस वर्षदेखि सुन्तला र कागती खेतीसमेत विस्तार गरेको जानकारी दिनुभयो ।

बेनी नगरपालिका–२ बञ्चरेढुङ्गाका ५३ वर्षीय हरिलाल घिमिरेको युवावस्था साउदी अरबको चर्को घाममा पसिना बगाउँदैमा बित्यो । तीन दशकअघि २० वर्षे उमेरमा साहुसँग ऋण लिएर मुग्लानको बाटो समाउनुभएका घिमिरेले दश वर्ष साउदी अरब र पाँच वर्ष भारतमा काम गर्दा पनि राम्रो कमाइ गर्न नसकेपछि घर फर्किनुभयो । घर फर्केर आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि भने घिमिरेको जीवनमा हरियाली छाउन थालेको छ ।

जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर तरकारी खेतीमा लागेको भन्दै हरिलालले अहिले जीवनको उत्तरार्धमा व्यावसायिक तरकारी खेतीले प्रशस्त आम्दानी भइरहेको बताउनुभयो ।

पुन र घिमिरेजस्तै बेनी–२ खबराका शोभित शर्मा, चन्द्रबहादुर कार्की, रोहोटेका चन्द्रबहादुर घिमिरे, मङ्गला–५ का टीकाकुमारी खत्रीलगायत किसानले गाउँकै थोरै खेतबारीमा पनि व्यावसायिक रुपमा गरेको तरकारी र फलफूल खेतीबाट मनग्गे आम्दानी गर्न सफल भएका छन् ।

अधिकांश नेपालीहरू विदेशी भूमिमा आफ्नो पसिना बगाइरहेको अवस्थामा म्याग्दीका केही जाँगरिला युवायुवतीले आफ्नै माटोमा मनग्गे आम्दानी गर्न सफल भएका मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय आफ्नै देशमा केही गर्नुपर्दछ भनेर खाडीमुलुकबाट गाउँ फर्केर व्यावसायिक कृषिमा लागेका युवाको सङ्ख्या बढ्दै गएको छ ।

सन् २०२१ मा कोरोना महामारीको समयमा युएईबाट गाउँमा फर्केर तरकारी खेती सुरु गर्नुभएका मालिकाकै टेकबहादुर सिउथानीको बारीमा बाह्रै महिना तरकारी खेती हुने गरेको छ । तरकारी खेतीबाटै खर्च चल्न थालेपछि विगतमा जस्तो उहाँलाई अहिले घरखर्च चलाउन विदेश जानुपरेको छैन ।

युट्युब हेरेर तरकारी खेतीको सुरुआत गरेको बताउने सिउथानीले तरकारी बिक्री गरेर वार्षिक रू तीन लाखको हाराहारीमा कमाइ हुने गरेको बताउनुभयो । “पहिला विदेशको भूत चढ्यो, विदेश गए पछि के के न गरिएलाजस्तो लाग्यो र ऋणधन गरेर विदेश गएँ । विदेश गएको अर्को वर्ष कोरोना महामारी सुरु भयो । काम नपाएपछि गाउँमा फर्केर सुरु गरेको तरकारी खेतीले अहिले खानबस्न समस्या छैन”, उहाँले भन्नुभयो ।

सिउथानीले मोबाइलमा युट्युब हेरेर बेमौसमी तरकारी खेती गर्ने तरिका सिकेको बताउनुभयो । “थोरै जग्गामा पनि मौसमी तथा बेमौसमी तरकारीखेती गरेर मनग्गे आम्दानी गर्न सकिँदोरहेछ भन्ने कुरा थाहा पाएपछि व्यवसायिक खेती सुरु गरेको थिएँ”, उहाँले भन्नुभयो, “सुरुसुरुमा तरकारी खेतीबाट खासै राम्रो कमाइ गर्न नसके पनि हिम्मत हारिन । विदेशमा कमाउन नसकेको मान्छेले माटोमा पसिना बगाएर के कमाउला भनेर गिज्याए पनि म काममा निरन्तर लागिरहेँ ।”

अहिले सिउथानीको खेत बारीमा गोलभेँडा, काँक्रो, करेला लटरम्मै फलेका छन् । खेतबारीमा फलेका तरकारीसँगै सिउथानीको घरपरिवारमा खुसी र सन्तुष्टि पनि छाएको छ ।

म्याग्दीमा पछिल्लो समय तरकारी र फलफूल खेतीप्रति युवाको आकर्षण बढ्दै गएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाका एक सय बढी व्यक्ति व्यावसायिक तरकारी खेतीमा लागेका छन् । त्यसैगरी फलफूल खेतीतर्फ पनि उत्तिकै आकर्षण छ । यस वर्ष जिल्लाबाट रू २० करोड मूल्य बराबरको सुन्तला निकासी भएको केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख सञ्जीव बास्तोलाका अनुसार यस वर्ष जिल्लामा सात सय ५५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादनयोग्य भूमि रहेकामा चार सय हेक्टर क्षेत्रफलमा मात्रै सुन्तला लगाइको थियो । उक्त क्षेत्रफलमा तीन हजार छ सय मेट्रिक टन सुन्तला फल्दा न्यूनतम मूल्य प्रतिकिलो रू ५५ का दरले बिक्री गर्दा पनि कृषकले रू १९ करोड ८० लाख आम्दानी गरेका उहाँले जानकारी दिनुभयो ।

यहाँ उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै पोखरा, काठमाडौँ, चितवन, मुग्लिनलगायतका बजारमा निकासी भएको केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख बास्तोलाले म्याग्दीका अधिकांश बगैँचाको सुन्तला निकासी भइसकेको भन्दै यस वर्ष सबैभन्दा बढी बेनी–३ भकिम्लीबाट निकासी भएको जानकारी दिनुभयो ।

जिल्लाको भकिम्ली, राखु, मरेक, सुर्केमेला, बरञ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा रहेका कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा छ ।

कृषि ज्ञान केन्द्र, स्थानीय तहको कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनका प्राविधिकले म्याग्दीका विभिन्न ठाउँमा क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरेका थिए ।

केन्द्रकी सूचना अधिकारी सम्झना शर्माले प्रतिहेक्टर ११ मेट्रिक टनको अनुपातमा सुन्तला फलेको बताउनुभयो । केन्द्रका अनुसार आव २०७८÷०७९ मा दुई हजार एक सय ८० मेट्रिक टन सुन्तला उत्पादन हुँदा रू १३ करोड जिल्लामा भित्रिएको थियो भने गत आवमा करिब तीन हजार मेट्रिक टन सुन्तला उत्पादन हुँदा रू १९ करोड बढी आम्दानी भएको थियो । यस वर्ष मङ्सिरको अन्तिम सातादेखि सुन्तला टिप्न सुरु भएको थियो ।