`

सांसदहरुका जिज्ञासाको जवाफ प्रधानमन्त्रीले सोमबार दिने

काठमाडौँ, १८ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विपक्षी दलका सांसदलगायत प्रतिनिधिसभा सदस्यले समसामयिक विषयमा उठाउनुभएका जिज्ञासाको जवाफ आगामी सोमबार हुने बैठकमा दिनुहुने भएको छ ।

कार्यव्यस्तताका कारण प्रधानमन्त्रीले सांसदका प्रश्नहरुको जवाफ सदनमा दिन नसक्नुभएको जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद् सचिवालयलाई आज एक पत्र पठाउँदै आगामी सोमबारको बैठका प्रधानमन्त्रीले जवाफ दिने बताएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा गणेशप्रसाद पाण्डेयले आज सङ्घीय संसद्का महासचिवलाई पठाउनुभएको पत्रमा “आज सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय संसद्को प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम रहेकामा उहाँ कामविशेषले काठमाडौँ उपत्यकाबाहिर रहनुभएको हुँदा यही फागुन २१ गते सम्बोधन गर्ने गरी व्यवस्था गर्न” अनुरोध गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेपछि सभामुख देवराज घिमिरेले यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको थियो ।

आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले प्रधानमन्त्रीको जवाफ माग गर्नुभएको थियो ।
–––

विपद्को जोखिम र क्षति न्यूनीकरणमा प्रदेश सरकारले जोड दिएको छ – मुख्यमन्त्री पाण्डे

म्याग्दी, १८ फागुन : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् पूर्वतयारी, रोकथाम, उद्धार, राहत तथा क्षतिपूर्ति वितरण र पुनःस्थापनालाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।

सशस्त्र प्रहरी बलले म्याग्दीको बेनीमा आज आयोजना गरेको नदीजन्य विपद्को नमूना अभ्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले विपद्को जोखिम र क्षति न्यूनीकरणमा प्रदेश सरकारले जोड दिएको बताउनुभयो । “हिमाल, पहाड र तराईको भूगोल समेटिएको गण्डकी प्रदेशमा सबै किसिमका विपद्को जोखिमको पहिचान गरी क्षति न्यूनीकरण गर्न पूर्वतयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “विपद् पूर्वतयारी, विपद्को अवस्थामा गरिने प्रतिकार्य तथा विपद्पश्चात् राहत र पुनःस्थापनाको कार्यलाई प्रदेश सरकारले प्राथमिकता दिएको छ ।”

विपद्को क्षति न्यूनीकरणका लागि समुदायस्तरमा सचेतनामूलक गतिविधि, सुरक्षा निकायको क्षमता अभिवृद्धि, सीपयुक्त जनशक्ति तयार, राहतको भण्डारण र पुनःस्थापनसम्बन्धी कार्य गरिएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हुन थालेका अधिक वर्षाद्का कारण खोलानालामा आउने बाढीले तटीय क्षेत्रका बजार तथा बस्तीमा गर्ने कटानलाई गण्डकी प्रदेशमा विपद्को नयाँ चुनौतीका रुपमा लिइएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

प्रदेशस्तरमा रु १० करोड र ११ वटै जिल्लामा रु दश÷दश लाख नघट्ने गरी विपद् व्यवस्थापन कोष स्थापना गरिएको जानकारी उहाँले दिनुभयो । गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले विपद् व्यवस्थापनका लागि समुदायस्तरमा सीपयुक्त जनशक्ति तयार पार्ने र सुरक्षा निकायलाई आवश्यक सामग्री उपलब्ध गराएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा विपद् व्यवस्थापन बेस क्याम्प स्थापना गरिएको जानकारी दिनुभयो । सशस्त्र प्रहरीको मुक्तिनाथ बाहिनीका बाहिनीपति कालीदास धौवजीले विपद् व्यवस्थापनका लागि तालिमप्राप्त जनशक्तिको क्षमता अभिवृद्धिका लागि नमूना अभ्यास गरिएको बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको सहयोगमा भएको नमूना अभ्यासमा ३५ जना सहभागी भएका थिए । नदीमा बग्दै गरेको, नदीमा अड्किएको, डुबेको, डोरीबाट झरेर गरिने उद्धारको नमूना प्रदर्शन गरिएको सशस्त्र प्रहरी बल गलेश्वर आश्रित गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामकुमार पौडेलले बताउनुभयो । म्याग्दीका छ वटा स्थानीय तहबाट पाँच÷पाँच जनालाई विपद् व्यवस्थापनसम्बन्धी आधारभूत तालिम पनि दिइएको उहाँले बताउनुभयो ।

तरकारी र फलफूल खेतीबाट विदेशमा भन्दा बढी कमाइ गर्दै पुन, गरे चार लाख आम्दानी

गलेश्वर (म्याग्दी), १८ फागुन : वैदेशिक रोजगारीका क्रममा कतारमा सात वर्ष बिताएपछि गाउँ फर्किनुभएका म्याग्दीको मालिका गाउँपालिका–६ का सङ्केत पुनलाई दोस्रो पटक विदेश जान मन लागेन । पाँच वर्षअघि २०७४ सालमा कतारबाट दिच्याम फर्केपछि गाउँमा बाँझै रहेको तीन रोपनी जग्गालाई खनजोत गरेर पुनले तरकारी र सुन्तला खेती सुरु गर्नुभयो । अहिले उहाँको बारीमा मौसमी र बेमौसमी तरकारी फलिरहेका छन् । गत वर्ष तरकारी बेचेर रू चार लाख आम्दानी भएको पुनले बताउँदै यस वर्षदेखि सुन्तला र कागती खेतीसमेत विस्तार गरेको जानकारी दिनुभयो ।

बेनी नगरपालिका–२ बञ्चरेढुङ्गाका ५३ वर्षीय हरिलाल घिमिरेको युवावस्था साउदी अरबको चर्को घाममा पसिना बगाउँदैमा बित्यो । तीन दशकअघि २० वर्षे उमेरमा साहुसँग ऋण लिएर मुग्लानको बाटो समाउनुभएका घिमिरेले दश वर्ष साउदी अरब र पाँच वर्ष भारतमा काम गर्दा पनि राम्रो कमाइ गर्न नसकेपछि घर फर्किनुभयो । घर फर्केर आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि भने घिमिरेको जीवनमा हरियाली छाउन थालेको छ ।

जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर तरकारी खेतीमा लागेको भन्दै हरिलालले अहिले जीवनको उत्तरार्धमा व्यावसायिक तरकारी खेतीले प्रशस्त आम्दानी भइरहेको बताउनुभयो ।

पुन र घिमिरेजस्तै बेनी–२ खबराका शोभित शर्मा, चन्द्रबहादुर कार्की, रोहोटेका चन्द्रबहादुर घिमिरे, मङ्गला–५ का टीकाकुमारी खत्रीलगायत किसानले गाउँकै थोरै खेतबारीमा पनि व्यावसायिक रुपमा गरेको तरकारी र फलफूल खेतीबाट मनग्गे आम्दानी गर्न सफल भएका छन् ।

अधिकांश नेपालीहरू विदेशी भूमिमा आफ्नो पसिना बगाइरहेको अवस्थामा म्याग्दीका केही जाँगरिला युवायुवतीले आफ्नै माटोमा मनग्गे आम्दानी गर्न सफल भएका मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय आफ्नै देशमा केही गर्नुपर्दछ भनेर खाडीमुलुकबाट गाउँ फर्केर व्यावसायिक कृषिमा लागेका युवाको सङ्ख्या बढ्दै गएको छ ।

सन् २०२१ मा कोरोना महामारीको समयमा युएईबाट गाउँमा फर्केर तरकारी खेती सुरु गर्नुभएका मालिकाकै टेकबहादुर सिउथानीको बारीमा बाह्रै महिना तरकारी खेती हुने गरेको छ । तरकारी खेतीबाटै खर्च चल्न थालेपछि विगतमा जस्तो उहाँलाई अहिले घरखर्च चलाउन विदेश जानुपरेको छैन ।

युट्युब हेरेर तरकारी खेतीको सुरुआत गरेको बताउने सिउथानीले तरकारी बिक्री गरेर वार्षिक रू तीन लाखको हाराहारीमा कमाइ हुने गरेको बताउनुभयो । “पहिला विदेशको भूत चढ्यो, विदेश गए पछि के के न गरिएलाजस्तो लाग्यो र ऋणधन गरेर विदेश गएँ । विदेश गएको अर्को वर्ष कोरोना महामारी सुरु भयो । काम नपाएपछि गाउँमा फर्केर सुरु गरेको तरकारी खेतीले अहिले खानबस्न समस्या छैन”, उहाँले भन्नुभयो ।

सिउथानीले मोबाइलमा युट्युब हेरेर बेमौसमी तरकारी खेती गर्ने तरिका सिकेको बताउनुभयो । “थोरै जग्गामा पनि मौसमी तथा बेमौसमी तरकारीखेती गरेर मनग्गे आम्दानी गर्न सकिँदोरहेछ भन्ने कुरा थाहा पाएपछि व्यवसायिक खेती सुरु गरेको थिएँ”, उहाँले भन्नुभयो, “सुरुसुरुमा तरकारी खेतीबाट खासै राम्रो कमाइ गर्न नसके पनि हिम्मत हारिन । विदेशमा कमाउन नसकेको मान्छेले माटोमा पसिना बगाएर के कमाउला भनेर गिज्याए पनि म काममा निरन्तर लागिरहेँ ।”

अहिले सिउथानीको खेत बारीमा गोलभेँडा, काँक्रो, करेला लटरम्मै फलेका छन् । खेतबारीमा फलेका तरकारीसँगै सिउथानीको घरपरिवारमा खुसी र सन्तुष्टि पनि छाएको छ ।

म्याग्दीमा पछिल्लो समय तरकारी र फलफूल खेतीप्रति युवाको आकर्षण बढ्दै गएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाका एक सय बढी व्यक्ति व्यावसायिक तरकारी खेतीमा लागेका छन् । त्यसैगरी फलफूल खेतीतर्फ पनि उत्तिकै आकर्षण छ । यस वर्ष जिल्लाबाट रू २० करोड मूल्य बराबरको सुन्तला निकासी भएको केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख सञ्जीव बास्तोलाका अनुसार यस वर्ष जिल्लामा सात सय ५५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादनयोग्य भूमि रहेकामा चार सय हेक्टर क्षेत्रफलमा मात्रै सुन्तला लगाइको थियो । उक्त क्षेत्रफलमा तीन हजार छ सय मेट्रिक टन सुन्तला फल्दा न्यूनतम मूल्य प्रतिकिलो रू ५५ का दरले बिक्री गर्दा पनि कृषकले रू १९ करोड ८० लाख आम्दानी गरेका उहाँले जानकारी दिनुभयो ।

यहाँ उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै पोखरा, काठमाडौँ, चितवन, मुग्लिनलगायतका बजारमा निकासी भएको केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख बास्तोलाले म्याग्दीका अधिकांश बगैँचाको सुन्तला निकासी भइसकेको भन्दै यस वर्ष सबैभन्दा बढी बेनी–३ भकिम्लीबाट निकासी भएको जानकारी दिनुभयो ।

जिल्लाको भकिम्ली, राखु, मरेक, सुर्केमेला, बरञ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा रहेका कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा छ ।

कृषि ज्ञान केन्द्र, स्थानीय तहको कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनका प्राविधिकले म्याग्दीका विभिन्न ठाउँमा क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरेका थिए ।

केन्द्रकी सूचना अधिकारी सम्झना शर्माले प्रतिहेक्टर ११ मेट्रिक टनको अनुपातमा सुन्तला फलेको बताउनुभयो । केन्द्रका अनुसार आव २०७८÷०७९ मा दुई हजार एक सय ८० मेट्रिक टन सुन्तला उत्पादन हुँदा रू १३ करोड जिल्लामा भित्रिएको थियो भने गत आवमा करिब तीन हजार मेट्रिक टन सुन्तला उत्पादन हुँदा रू १९ करोड बढी आम्दानी भएको थियो । यस वर्ष मङ्सिरको अन्तिम सातादेखि सुन्तला टिप्न सुरु भएको थियो ।

पाथीभरामा चढाएको करिब २३ लाख सिक्का गनिँदै

फुङ्लिङ (ताप्लेजुङ), १८ फागुन : ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) मा भक्तजनले चढाएको सिक्का सङ्कलन गरी गन्न थालिएको छ । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरामा सङ्कलन हुँदै आएको करिब रु २३ लाख बराबरको सिक्का गणना गर्न थालेको हो ।

पाथीभरामा पूजापाठ गर्न आउने भक्तजनले देवीको नाममा नगद नोट र सिक्का चढाउने तथा दान गर्ने गर्दछन् । २०७६ सालयताका भारु सिक्का करिब दश लाख बराबर र नेपाली सिक्का करिब रु १३ लाख बराबरको गणना हँुदै गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो ।

कार्यकारी निर्देशक हाङ्बाङका अनुसार माघ महिनाको दोस्रो सातायता सिक्का गणना गर्न सुरु गरिएको हो । समितिको कर्मचारी तथा ज्यालादारी जनशक्तिमार्फत् भारतीय सिक्का धमाधम गणना भइरहेको उहाँले जानकारी दिनुभयो । भारतीय सिक्का रु १०, रु पाँच, रु दुई र रु एक दरका रहेका छन् । सिक्का गणना गरिसकेपछि सटहीको प्रक्रिया अघि बढाइने पनि कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो ।

माघ मसान्तसम्ममा पाथीभरा क्षेत्र विकास समितिको कोषमा जम्मा बैंक मौज्दात रु आठ करोड ९४ लाख ५४ हजार ४५ रहेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । गत साउनदेखि माघसम्ममा ९८ हजार तीन सय भक्तजनले पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेको समितिले जनाएको छ । बाह्रै महिना तीर्थयात्री आउने पाथीभरामा विशेष गरी बडादसैँ र वसन्त ऋतुका समयमा भक्तजनको चाप बढ्ने गरेको छ । बडादसैँपछि चैतेदसैँ (रामनवमी)का समयमा धेरै तीर्थयात्री यहाँ आउने गर्दछन् । यहाँ भारत र अन्य देशबाट पनि भक्तजन आउने गरेका छन् ।

तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर पुग्न इटहरीबाट तमोर करिडोर र झापाको बिर्तामोडबाट मेची राजमार्ग हुँदै जान सकिन्छ । मेची राजमार्गअन्तर्गतको बाटो सुकेटारसम्म पक्की छ भने त्यसभन्दा माथि काफ्लेपाटीसम्म कच्ची बाटो छ । वर्षाको समयमा कच्ची बाटोमा सामान्यतया समस्या हुने भए पनि हिउँदमा भने सहजै ओहोरदोहोर गर्न सकिन्छ । पाथीभरामा हेलिकोप्टरमार्फत मन्दिर परिसरमै पुगिन्छ ।

नेपाल– भारत सीमामा राष्ट्रिय झन्डा राखियो

इनरुवा (सुनसरी), १८ फागुन : नेपाल–भारतको सीमासँगै रहेको सुनसरीको मुख्य नाका कोसी–८ भण्टाबारीस्थित तीनकुनेमा आज राष्ट्रिय झन्डा राखिएको छ ।प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको पहलमा सीमा क्षेत्रमा राष्ट्रिय झन्डा राखिएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । राष्ट्रिय झन्डा सबै नेपालीको मान, सम्मान एवं स्वाभिमान प्रतिबिम्बित गर्ने भएकाले आवश्यकताअनुसार निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

सीमा नाकामा देखिएको समस्या समाधान ध्यान केन्द्रित रहेका बेलामा जिल्ला सुरक्षा समितिले सुरु गरेको सीमा क्षेत्रको पैदलयात्राका क्रममा भारततर्फको सीमा क्षेत्रमा भारतको झन्डा भएको र नेपालतर्फको सीमा क्षेत्रमा झन्डा नभएका बेलामा राष्ट्रिय झन्डा राखिएको प्रजिअ अर्चायले बताउनुभयो ।

आगामी दिनमा पनि सुनसरीका विभिन्न सीमा नाकामा राष्ट्रिय झन्डा राख्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यक्रममा कोसी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरी, नेपाली कांग्रेस सुनसरीका सचिव वीरेन्द्र शाह, कोसीका अध्यक्ष ऐयुब अन्सारी, उपाध्यक्ष अनितादेवी यादव, सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीलगायतको सहभागिता थियो ।

क्यानडाका पूर्व प्रधानमन्त्री ब्रायन मुलरोनीको निधन

क्यानडाका पूर्व प्रधानमन्त्री ब्रायन मुलरोनीको ८४ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गरी क्यानडास्थित सिटिभी न्यूजले जनाएको छ । प्रभावशाली तर विवादास्पद व्यक्तित्वका लागि परिचित पूर्व टोरी नेताले क्यानाडामा आफ्नो अमर परिचय स्थापना गर्नुभएको छ ।

क्युबेकको बाइ–कोमोमा मजदुर वर्गको परिवारमा जन्मेका मुलरोनीले राजनीति विज्ञानका विद्यार्थीका रूपमा आफ्नो राजनीतिक यात्रा सुरु गर्नु भएको थियो । कन्जरभेटिभ राजनीतिमा उहाँको प्रारम्भिक संलग्नतामा प्रधानमन्त्री जोन डिफेन बेकरको सल्लाहकारको रूपमा उहाँको सेवा सुरु भएको थियो । सन् १९७६ मा सङघीय प्रगतिशील कन्जर्भेटिभ नेता बन्ने आफ्नो प्रारम्भिक प्रयासमा पराजयको सामना गर्नुपरेको थियो । प्ररम्भिकि यात्रामा जो क्लार्कसँग हारेका मुलरोनीले हारबाट पाठ सिक्दै राजनीतिमा नै रहने दृढता व्यक्त गर्नुभएको सिटिभीले जनाएको छ ।

सन् १९८४ को सङघीय अभियानको विजयले क्यानाडाको १८ औँ प्रधानमन्त्रीको रूपमा मुलरोनीको स्थान सुरक्षित बनाएको थियो । मुलरोनीको नौ वर्षको प्रधानमन्त्री कार्यकाल शक्ति र विभाजन दुवैको विशेषता थियो । उहाँले मिच लेक र शार्लटटाउन एकोर्डजस्ता पहलहरूमार्फत क्युबेकलाई संवैधानिक तहमा ल्याउन महत्वपूर्ण प्रयासहरू गर्नुभयो । यद्यपि दुवै प्रयास असफल भएका थिए ।

विश्वव्यापी मञ्चमा, मुलरोनीले रङ्गभेदको सक्रिय रूपमा विरोध गर्दै क्यानाडाको अन्तर्राष्ट्रिय प्रभाव बढाउनुभएको थियो । उहाँले रङ्गभेदविरोधी अभियान अन्तर्गत दक्षिण अफ्रिकामाथि प्रतिबन्ध लगाउनुभएको थियो । मुलरोनीको विरासतलाई प्रतिबिम्बित गर्दै, पूर्व कूटनीतिज्ञ र मुलरोनीका चिफ अफ स्टाफ डेरेक बर्नीले मुलरोनीले अपनाएका केही कडा निर्णयहरूबारे पुनरावलोकन गर्नुभएको थियो ।

सन् २०२३ मा ऊर्जासँग सम्बन्धित कार्बन डाइअक्साइड उत्सर्जन वृद्धिमा सुस्तता

सन् २०२३ मा ऊर्जासँग सम्बन्धित कार्बन डाइअक्साइड उत्सर्जन उच्च स्तरमा पुगेको छ, तर स्वच्छ प्रविधिको निरन्तर विस्तारका कारण विगतका वर्षहरूको तुलनामा वृद्धि सुस्त भएको अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) ले शुक्रबार जनाएको छ ।

सन् २०२३ मा ऊर्जा क्षेत्रबाट कार्बन डाइअक्साइड उत्सर्जन १.१ प्रतिशत अर्थात् ४१ करोड टनले बढेर ३७.४ अर्ब टन पुगेको छ भने सन् २०२२ मा ४९ करोड टन कार्बन डाइअक्साइड उत्सर्जन भएको आईईएले आफ्नो वार्षिक अद्यावधिकमा उल्लेख गरेको छ ।

सौर्य प्यानल, हावावाट चल्ने टर्बाइन, आणविक ऊर्जा र विद्युतीय कारजस्ता प्रविधिबिना विगत पाँच वर्षमा ऊर्जासँग सम्बन्धित कार्बन डाइअक्साइड उत्सर्जनमा विश्वव्यापी वृद्धि भएको भनिएको ९० करोड टनभन्दा तीन गुणा बढी हुने थियो ।

ऊर्जाबाट कार्बन उत्सर्जनमा गत वर्षको वृद्धिको ४० प्रतिशतभन्दा बढी चीन, संयुक्त राज्य अमेरिका, भारत र अन्य ठाउँहरूमा भीषण खडेरीको कारण भएको थियो जसले हाइड्रो–इलेक्ट्रिक उत्पादनमा कटौती भएको र उपयोगिताहरूलाई जीवाश्म ईन्धनको सहारा लिन बाध्य बनाएको थियो ।

पानीको कमी नभएको भए गत वर्ष मात्रै विद्युत् उत्पादनबाट हुने विश्वव्यापी कार्बन उत्सर्जनमा अझै धेरै कमी आउने थियो ।

सन् २०२३ मा चीन र भारतमा ऊर्जा कार्बन उत्सर्जनमा वृद्धि भएको छ भने विकसित अर्थतन्त्रमा पनि गिरावट आएको छ । कोइलाको माग सन् १९०० को दशकको सुरुदेखि नदेखिएको स्तरमा झरेपछि उनीहरूको उत्सर्जन ५० वर्षयताकै न्यून बिन्दुमा झरेको छ ।

गत वर्ष पहिलो पटक, विकसित अर्थव्यवस्थाहरूमा उत्पादित कम्तिमा आधा बिजुली नवीकरणीय र आणविकजस्ता कार्बन डाइअक्साइड कम उत्सर्जन हुने स्रोतहरूबाट आएको थियो ।

चीनमा कार्बन डाइअक्साइड उत्सर्जन बढेको भएपनि सन् २०२२ मा पूरै विश्वले गरेकाभन्दा चीनले सन् २०२३ मा त्यति नै सौर्य पीभी क्षमता थपेको छ ।

आईईएका कार्यकारी निर्देशक फातिह बिरोलले भन्नुभयो, “स्वच्छ ऊर्जा सङ्क्रमणले विगत पाँच वर्षमा तनाव परीक्षणको शृङ्खला पार गरेको छ र यसले आईईएको लचिलोपन प्रदर्शन गरेको छ ।”

उहाँले भन्नुभयो, “महामारी, ऊर्जा सङ्कट र भूराजनीतिक अस्थिरताले स्वच्छ र अधिक सुरक्षित ऊर्जा प्रणाली निर्माण गर्ने प्रयासलाई विफल पार्ने सम्भावना थियो । तर हामीले धेरै देशहरूमा यसको विपरीत अवस्थामा देखेका छौं ।”

दुर्घटना पीडितको शव युक्रेन फिर्ता गर्न रूस तयार

बेलगोरोड क्षेत्रमा सैन्य आईएल–७६ विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको शव युक्रेनमा हस्तान्तरण गर्नको लागि रूस तयारी अवस्थामा रहेको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् । प्रक्रियागत दृष्टिकोणबाट आवश्यक पर्ने सबै कुरा तयारी अवस्थामा भएको रूसी मानव अधिकार आयुक्त तात्याना मोस्काल्कोभालाई उद्धत गर्दै रूसको आरआइए नोभोस्ती समाचार एजेन्सीले जनाएको छ । विद्यमान प्रक्रियाहरू सल्टाएर शव हस्तान्तरण गर्न सकिने उहाँले बताउनुभयो ।

जनवरी २४ मा, युक्रेनी सशस्त्र बलले बेलगोरोड क्षेत्रमा रूसी सैन्य यातायात विमान, आईएल– ७६ लाई गोली हानेको थियो । विमानमा ६५ जना युक्रेनी कैदीहरू आदान प्रदानका लागि सवार थिए । दुर्घटनामा कैदीहरूको साथमा तीनजना रूसी अधिकारीहरूका साथै छ जना चालक दलका सदस्यहरूले आफ्नो ज्यान गुमाएका छन् ।

सार्वजनिक बिदाका कारण फेबु्रअरीमा चीनको उत्पादन खरिद प्रबन्ध सुचकाङ्क घट्यो

चीनको उत्पादन क्षेत्रको लागि खरीद प्रबन्धक सूचकाङ्क (पीएमआई) फेब्रअरीमा ४९.१ कायम भएको छ । गत महिना ४९.२ बाट तल झरेको राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) को तथ्याङ्कले शुक्रबार देखाएको छ । जसमा ५० भन्दा माथिको तथ्याङ्कले विस्तारलाई जनाउँछ भने ५० भन्दा तलको तथ्याङ्कले सङ्कुचनलाई जनाउँछ ।

एनबीएसका वरिष्ठ तथ्याङ्कविद् झाओ किङ्घेले फेब्रअरी १०–१७ चलेको ‘स्प्रिङ फेस्टिभल’को लामो बिदाले गिरावट ल्याएको बताउनु भएको छ । उहाँका अनुसार यस अवधिमा कर्मचारीहरू घर फर्किने भएकोले परम्परागत उत्पादनमा कमी आउँछ ।
ठूला उद्यमहरूमा अघिल्लो महिनाको तुलनामा विस्तारको दायरामा रहेको उप–सूचकाङ्क ५०.४ पुगेको थियो ।

यसैबीच, उत्पादनका लागि उप–सूचकाङ्कमा अघिल्लो महिनाको तुलनामा १.५ अङ्कले कमी आई ४९.८ कायम भएको छ । यसले कम सक्रिय उत्पादनलाई सङ्केत गर्दछ ।नयाँ मागको उप–सूचकाङ्क अघिल्लो महिनाको समान ४९ कायम भएको छ । यसले अघिल्लो महिनाको तुलनामा फेब्रुअरीमा उत्पादन बजारमा माग घटेको सङ्केत गरेको छ ।

उत्पादन कम्पनीलगातार बजार विस्तारको सन्दर्भमा भने आशावादी रहेकोे उत्पादन र व्यापार पूर्वानुमानको लागि उप–सूचकाङ्क ५४.२ कायम भएको छ । अघिल्लो महिनाको तुलनामा ०.२ प्रतिशतले बढी हो । चीनको गैर–विनिर्माण क्षेत्रको पीएमआई फेब्रुअरीमा ५१.४ मा आएको छ, जुन जनवरीमा ५०.७ थियो ।

सन् २०२३ मा पाकिस्तानमा ४ हजार २१३ वटा बाल दुर्व्यवहारका घटना

पाकिस्तानमा सन् २०२३ मा कुल ४ हजार २१३ वटा बाल दुर्व्यवहार (यौन तथा अन्य) का घटनाहरू घटेका छन् । स्थानीय गैर-सरकारी संस्था साहिलले शुक्रबार जारी गरेको प्रतिवेदनमा यस बारे जानकारी दिइएको छ । ती घटनाहरू ८१ वटा राष्ट्रिय तथा क्षेत्रीयस्तरका पत्रपत्रिकामा उल्लेख गरिएका घटनाका आधारमा संस्थाले सङ्कलन गरेको तथ्याङ्कले गत वर्ष पाकिस्तानमा दैनिक करिब ११ जना बालबालिका दुर्व्यवहारको शिकार भएको देखाएको छ ।

जम्मा रिपोर्ट गरिएका घटनाहरू मध्ये २ हजार २५१, अथवा लगभग ५३ प्रतिशत पीडित बालिका भएको देखिएको छ भने १ हजार ९६१ जना अथवा करिब ४७ प्रतिशत बालकहरू दुर्व्यवहारको शिकार भएको पाइएको छ । पीडितहरूमध्ये ६ देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरू दुर्व्यवहारको सबैभन्दा बढी जोखिममा परेको पाइएको छ ।

तीमध्ये पनि केटीहरू बढी पीडित छन् । प्रतिवेदनले ५ वर्ष मुनिका बालबालिकाहरू पनि यौन दुर्व्यवहारको शिकार भएको देखाएको छ। बढीजसो चिनजानका व्यक्तिहरूबाटै बाल यौन दुर्व्यवहार घटेको प्रतिवेदनले देखाएको छ।

पैँतीस तोला सुन र ११ लाखसहित कुश्माबाट एक पक्राउ

पर्वत, १८ फागुन : विभिन्न जिल्लामा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने एक युवालाई यहाँबाट प्रहरीले पक्राउ गरेको छ । रोल्पाको रोल्पा नगरपालिका–१ का ३३ वर्षीय भरत परियार पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीबाट बिहीबार राति २ बजे प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय शर्मिला पौडेलले सञ्चालन गर्दै आएको आशिक एन्ड आशिका किराना पसलबाट रु १० लाख १७ हजार नगद, रु १२ हजार बराबरको रिचार्ज कार्ड, चोरी गर्दै गर्दा स्थानीयले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरी नायब उपरीक्षक खुमलाल भुसालको टोलीले पक्राउ गरेको हो ।

उनका साथबाट प्रहरीले ३५ तोला ७२ लाल सुन, रु ११ लाख १५ हजार चार सय ८५ नगद, नेपाल टेलिकम र एनसेलका ४२ थान रिचार्ज कार्ड बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी चोरीमा संलग्न व्यक्ति र बरामद गरिएको सामान सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालका अनुसार चोरी गर्ने व्यक्तिबाट दुई थान मोबाइल, नेपालको नक्सा एक थान, नेपालको सडकको नक्सा एक थान, हसिया एक थान, निजको नागरिकता, वायरलेस सिसी टिभी क्यामेरा एक थान, हार्डडिक्स एक थान र एलइडी मनिटर एक थान बरामद गरिएको छ ।

त्यसैगरी चोरी गर्न प्रयोग गरिएको ह्याम्बर, स्क्रुड्राइभर, जीआई पाइप, टर्च विभिन्न चाबीका झुप्पाहरु, चोरी गर्दा प्रयोग गरिने बालक्याप, पञ्जा, पावरबैङ्क, डिजिटल तौल मेसिन बरामद गरिएको छ ।

अभियुक्त परियार यसअघि २०६९ सालमा प्रहरी वृत्त नयाँ बानेश्वरमा चोरी मुद्दामा चार वर्ष कैद भुक्तान गरी २०७३ सालमा छुटेको पाइएको छ । सुरुमा केन्द्रीय कारागार काठमाडौँ र पछि झुम्का कारागार सुनसरीमा बसेको तथा त्यहाँ बस्दा आपराधिक व्यक्तिसँग सम्पर्क बढाई जेलबाट छुटिसकेपछि गिरोहको रुपमा चोरी गर्न थालेको बयान परियारले प्रहरीलाई दिएको छ ।

परियारलाई आज नै जिल्ला अदालतमा चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी १० दिनको म्याद लिएर अनुसन्धान कार्य सुरु गरिएको प्रहरी नायब उपरीक्षक भुसालले जानकारी दिनुभयो ।

भरतपुर अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्य बन्न सक्छः अध्यक्ष नेपाल

भरतपुर, १८ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भरतपुरलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्य बनाउन सकिने बताउनुभएको छ ।

आज चितवनको नारायणी नदी किनारमा आयोजित भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा अध्यक्ष नेपालले यहाँको विकास र पर्यटकीय सम्भावनाले भरतपुरलाई अन्तर्राष्ट्रिय पर्यटकीय थलो बनाउन सकिने बताउनुभएको हो ।

“यहाँ गैँडा, पाटेबाघ, घडियाल गोही, साइबेरियन चरा र वनस्पति देख्न पाइन्छ”, उहाँले भन्नुभयो, “यहाँको प्राकृतिक विविधताले पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।” उहाँले चितवनमा विभिन्न जातजाति, भाषाभाषीको बसोबास रहेको भन्दै यहाँको विविधता हेर्न पर्यटक आउने गरेको बताउनुभयो ।नेपालको केन्द्रमा रहेको भरतपुर महानगरपालिका उत्कृष्ट नगरपालिकाको दर्जा पाएको भन्दै यहाँको विकास निर्माण अन्य पालिकाका लागि पनि उदाहरण बनेको उल्लेख गर्नुभयो ।

विकासका लागि सडक पूर्वाधार मात्र नभई अन्य सूचकसमेत उत्कृष्ट हुनुपर्ने भन्दै त्यसमा भरतपुरले ध्यान दिएको बताउनुभयो । जनताले दिएको सल्लाह र आलोचनाले सही बाटोमा हिँड्न प्रेरित गर्ने भन्दै राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई जनताले नै दण्डित गर्ने बताउनुभयो ।

नेता नेपालले सङ्घीय, प्रदेश र स्थानीय सरकारले आपसमा समन्वयमा काम गरेर जनताका आवश्यकता पूरा गर्ने गरी विकास गर्न सकिने बताउनुभयो । भ्रमण वर्षसँगै भरतपुरलाई सबै क्षेत्रको हबको रुपमा विकास गर्नुपर्ने नेता नेपालको धारणा थियो ।

भरतपुर भ्रमण वर्ष : देवघाटको धार्मिक पर्यटन प्रवर्द्धन हुने

दमौली (तनहुँ), १८ फागुन : भरतपुर महानगरपालिकाले आजदेखि सुरु गरेको भ्रमण वर्ष २०२४ ले तनहुँको देवघाटको धार्मिक पर्यटनका लागि सहयोग पुग्ने भएको छ । सो महानगरपालिकासँग सिमाना जोडिएको देवघाटको धार्मिक पर्यटन प्रवद्र्धनका लागि भ्रमण वर्षले सहयोग पुग्ने विश्वास गरिएको छ ।

भरतपुर भ्रमण वर्ष उक्त महानगरपालिकाका लागि मात्रै नभइ छिमेकी पालिकाको पर्यटन प्रवद्र्धनका लागि सहयोगी हुने विश्वास गरिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “भरतपुर आउने पर्यटकलाई देवघाटसम्म ल्याउने वातावरण सृजना गरी यहाँको धार्मिक पर्यटनको प्रचारप्रसार र प्रवद्र्धन गर्नुपर्छ, त्यसका लागि हामी सहकार्य गर्छौं ।”

भरतपुर भ्रमण वर्ष सफल बनाउन देवघाटको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ छ । भरतपुर महानगरले भ्रमण वर्षलाई सहयोग गर्न सीमा जोडिएका सात स्थानीय तहलाई
अनुरोध गरेको थियो । भरतपुरसँग सीमा जोडिएका तनहुँको देवघाट, नवलपुरको गैँडाकोटसहित चितवनको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, रत्ननगर नगरपालिका र माडी नगरपालिकालाई औपचारिकरुपमा आह्वान गरेको थियो ।

भ्रमण वर्षमा भरतपुर आउने पाहुनाको स्वागतका लागि देवघाट गाउँपालिकाले स्थानीय माझी, बोटे, मगर, गुरुङ र कुमाल समुदायको सांस्कृतिक नाच तथा गुरुकुलका बटुक र ब्राह्मणको भजन प्रदर्शन गर्ने अध्यक्ष थापाले बताउनुभयो । भरतपुर भ्रमण वर्षमा भरतपुर आउने पाहुनाको कम्तीमा ४० प्रतिशत देवघाटमा लैजान सकेमा देवघाटको पनि थप प्रचारप्रसार हुने र देवघाटमा व्यापार–व्यवसायको प्रवद्र्धन हुने अध्यक्ष थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “भरतपुर भ्रमण वर्षले देवघाटको धार्मिक पर्यटनमा समेत सहयोग पुग्छ, त्यसका लागि पनि देवघाटले भ्रमण वर्ष सफल बनाउन सहयोग गर्नेछ ।”

भरतपुर भ्रमण वर्षले भरतपुरको मात्र नभई आसपासका छिमेकी जिल्लाको पर्यटन प्रवद्र्धन र समृद्धिमा सहयोग पुग्ने महानगरपालिकाका प्रमुख रेणु दाहालले जानकारी दिनुभयो । महानगरपालिकाले घुम्ने गन्तव्यको सूचीमा देवघाटलाई समेत समावेश गरेको छ । देवघाटमा चक्रवर्ती मन्दिर, गलेश्वर आश्रम, महेश सन्यास आश्रम, हरिहर सन्यास आश्रम, वेणी सङ्गमस्थल, सीता गुफा, देवपुर सामुदायिक घरबास, गोपीटार सामुदायिक घरबास, खाल्टे सामुदायिक घरबास, कोटा रङ्गशाला, छरछरे झरना, घण्टाचुली, प्याउलीगढी, सिन्च्याङगढी, पालुराज मन्दिर, सीता गुफा, बौद्ध गुम्बालगायत पर्यटकीय गन्तव्य छन् ।

देशको अर्थतन्त्रमा सुधारका सङ्केतहरु देखिन थाले – अर्थमन्त्री महत

ढोरपाटन (बागलुङ), १८ फागुन : अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र निराशाजनक नभएको बताउनुभएको छ । पञ्चकोटमा सञ्चालित अनन्त ब्रह्माण्डीय महायज्ञका अवसरमा आज आयोजित राष्ट्रिय अर्थतन्त्रको विकास तथा वित्तीय संस्थाहरुको योगदानसम्बन्धी सम्मेलनमा देशको अर्थतन्त्रमा सुधारका सङ्केतहरु देखिन थालेका बताउनुभयो ।

अर्थतन्त्रका सूचकहरु सकारात्मक बन्दै गएका छन्, बाहिर प्रचार गरेजस्तो नकरात्मक नभएको अर्थमन्त्रीले स्पष्ट गर्नुभयो । देशको अर्थतन्त्र सङ्कटमा रहेका बेला आफूले अर्थ मन्त्रालयको कार्यभार सम्हालेको र त्यसपछि क्रमशः अर्थतन्त्रमा सुधार आएको उहाँले बताउनुभयो ।

“बैङ्क ब्याजदर घटेको छ, मूल्यवृद्धि दर घटेको छ, अरू धेरै सूचकहरु सकारात्मक छन्, अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको छ । अर्थतन्त्रलाई सही ठाउँमा ल्याउन म प्रयत्न गरिरहेको छु,” मन्त्री महतले भन्नुभयो, “नेपालमा नराम्रा कुराको बढी प्रचार हुने गरेको छ, यहाँ यति धेरै सम्भावना छन्, हरेक नागरिकले सकारात्मक सोचका साथ स्वदेशमा नै कम गर्नुपर्छ ।”

अर्थमन्त्री महतले पछिल्लो समय पर्यटन क्षेत्र चलायमान भएसँगै बाह्य पर्यटकको आगमनमा वृद्धि हुँदा अर्थतन्त्रमा थप टेवा पुगेको बताउनुभयो । पर्यटन र जलविद्युत्मा अथाह सम्भावना रहेकाले ती क्षेत्रमा रोजगारी सृृजना गर्नेतर्फ सरकारको ध्यान केन्द्रित रहेको उहाँले बताउनुभयो ।

वैदिक सनातन हिन्दू धर्म नेपालीको मौलिकता भएको भन्दै यो धर्मबाट कोही पनि यताउता गर्न नहुनेमा उहाँले जोड दिनुभयो । पञ्चकोटमा मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा भएका संरचनाको विकासको प्रशंसा गर्दै पञ्चकोट धार्मिक गन्तव्य हुने बताउनुभयो । पञ्चकोट क्षेत्रको सडक, खानेपानीमालगायत विकासको क्षेत्रमा आफ्नो सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

स्वामी कमलनयनाचार्यले जल, जमिनको संरक्षण गरी विकास निर्माणमा लाग्न आग्रह गर्नुभयो । जल रहे मात्रै सिङ्गो मानव जीवन रहने हुँदा राज्यले यसतर्फ गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले अर्थमन्त्रीमार्फत वैदिक सनतान धर्मको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

‘अपर हाउस’ भनेको अमेरिकाको जस्तो होस् : अध्यक्ष तिमिल्सना (अन्तर्वार्ता)

काठमाडौँ । विधि निर्माणका लागि राष्ट्रियसभा प्रतिनिधिसभासँगसँगै जिम्मेवार र सक्रिय रहँदै आएको छ । प्रतिनिधिसभा विघटन भएका बखत पनि बन्द नहुने प्रकृतिको राष्ट्रियसभा प्रबुद्ध व्यक्तिहरूको सहभागितामा शालिन प्रस्तुति दिने माथिल्लो सभाका रूपमा रहेको छ । दुई सदनात्मक संवैधानिक व्यवस्था रहेको नेपालको संविधान कार्यान्वयनका क्रममा सरकार बनाउने र ढाल्ने सवालमा प्रतिनिधिसभाको भूमिका हुने भएकाले होला राजनीतिका खेलाडी र आम सञ्चारमाध्यमका लागि राष्ट्रियसभा अलि ओझेलमा परेको देखिन्छ । यस प्रकारको अनुभूति छवर्षे कार्यकाल सकाएर यही फागुन २० गते बिदा हुन लाग्नुभएका उक्त सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनामा पनि रहेको छ । अध्यक्ष तिमिल्सिनाका कार्यकालका उपलब्धि र अनुभवका सन्दर्भमा उहाँसँग राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ समाचारदाता प्रकाश सिलवाल र समाचारदाता कालिका खड्काले गरेको कुराकानीको सम्पादित विवरणः

राष्ट्रियसभाको छवर्षे कार्यकाल सकिँदैछ । आफ्नो नेतृत्वमा यी काम भए वा यी हुन सकेनन् भन्ने समीक्षाका विषयहरू यहाँका मनभित्र उब्जिरहेकै होलान् ? समग्रमा आफैँले मूल्याङ्कन गर्दा कस्तो पाउनुहुन्छ ?

संसदको कार्यभार मुलतः विधि निर्माण नै हो । हामीले राष्ट्रियसभाको यस अवधिमा जति काम गरेका छौँ, ती मुलतः विधि निर्माणमै केन्द्रित भएर गरेका छौँ । यसबीचमा सरकारबाट प्रस्तुत भएका विधेयकहरू र एक गैरसरकारी विधेयकसमेतमा हामीले सकभर छिटोछरितोरूपमा छलफल गरेर प्रतिनिधिसभामा सन्देशसहित पठाएका छौँ । सरकारले चाहेर एकवटा विधेयक फिर्ता भएबाहेक हामीसमक्ष आएका सबै विधेयक अगाडि बढेका छन् । अहिले हाम्रो सभामा एकबाहेक कुनै पनि विधेयक विचाराधीन छैन । हामी समयमा छलफलसहित विधेयक पारित गर्ने कुरामा सचेत रहँदै आएका छौँ । हामी हाम्रोतर्फबाट विधेयक पारितमा विलम्ब नहोस् भन्ने चाहन्छौँ । कुनै–कुनैमा सरकार आफँैले चाहेर ढिलाइ गरेकाले पारित हुनमा ढिलाइ भएका छन् ।

समय मूल्यवान छ । हाम्रा समयहरू त्यत्तिकै व्यतित भइरहेका हुन्छन् । समयसँगै हाम्रो शक्ति र सामथ्र्य पनि खेर गइरहेको हुन्छ । त्यसलाई सकारात्मक ऊर्जा र मुलुकको हितमा अधिकतम कसरी प्रयोग गर्ने भन्नेमा हामी चिन्तित हुनुपर्छ । समयको यही महत्वलाई बुझाउन र एक प्रकारले राष्ट्रियरूपमा सन्देश दिन राष्ट्रियसभाले समयमा बैठक गर्ने र सम्पन्न गर्ने काममा विशेष ध्यान दिएको छ । विकास निर्माणमा समय अन्तरनीहित हुन्छ । समयमा बैठक सुरु हुने–नहुनेले हाम्रा योजना, लक्ष्य र कार्यक्रमहरू समयमा सम्पन्न हुन्छन् या हुँदैनन् । हाम्रा मन्त्री, सांसदहरू नै समयमा काम गर्दैनन् भन्ने सन्देश जनतमा जान दिन हुँदैन ।

विधि निर्माणलाई अझै पारदर्शी र सहभागितामूलक बनाउनुपर्छ भन्नेमा हामी कहिल्यै पछि पर्नु हुँदैन । हामीले यस मामिलामा सक्दो प्रयास गरेका छौँ भन्ने लाग्छ । विधि निर्माणका साथै मुलुक र जनताका जल्दाबल्दा सवालमा सभामा आवाज उठेका छन् । सांसदलाई लागेका विषयमा सरकारलाई ध्यानाकर्षण गराउँदै सङ्कल्प प्रस्ताव पनि पारित भएका छन् । यसरी हेर्दा हामीले मुलुक र जनताको सेवा र विकासका लागि विधि निर्माणका सवालमा कुनै कमी नराखीकन इमान्दारपूर्वक काम गरेका छौँ भन्ने लाग्छ । समग्र मूल्याङ्कन र राजनीतिक दल, सरोकार भएका पक्ष र सञ्चारजगत् पनि गर्दै जाला । मलाई गर्न पाइएन भन्ने लागेको कामचाहिँ सभामा प्रधानमन्त्री र मन्त्रीसँग सांसदका प्रश्नोत्तर कार्यक्रम चलाउन सकिएन भन्ने रहेको छ । नियमावलीमा व्यवस्था भए पनि विविध कारणले हामीले यो सञ्चालन गर्न सकेनौँ । आगामी दिनमा हुन सकोस् भन्ने चाहन्छु ।

विधान कार्यान्वयनका लागि आवश्यक पर्ने कतिपय महत्त्वपूर्ण कानुन अहिलेसम्म आउन नसक्नुको कारण के होलाजस्तो लाग्छ ?

हामीले संविधान कार्यान्वयनका क्रममा आवश्यक पर्ने विधेयकहरू २०८१ असोजभित्र ल्याइसक्नुपर्छ भनेर सङ्कल्प प्रस्ताव पारित गरी सरकारलाई दिइसकेका छौँ । सदनमा सरकारले पर्याप्त विधेयक ल्याउन सक्नु उसको दायित्व हो । मन्त्रीहरूले पदमा आएपछि पहिलो प्राथमिकता नै आफ्ना कार्यक्षेत्रमा कुन नयाँ कानुन आवश्यक र छ कुन संशोधन छ भन्ने बुझेर त्यसअनुसार मस्यौदाका लागि निर्देशन दिनुपर्छ तर यहाँ यतातिर त्यति ध्यान नदिइएको जस्तो लाग्छ । पदका लागि पद र पदमा रहेर नीहित स्वार्थका लागि बढी समय दिइएको जस्तो लाग्छ । गैरसरकारी विधेयकका रूपमा आएको राष्ट्रिय मर्यादाक्रमसम्बन्धी विधेयक अगाडि बढाउन ढिलाइ भइरहेको छ । त्यसमा सम्बन्धित मन्त्रालयले स्वामित्व लिन आनाकानी गरिरहेको छ तर कुरा के हो भने या आफूले विधेयक ल्याउनुपर्यो या आएका विधेयक अगाडि बढाउन लाग्नुपर्यो । अरू विकल्प हामीसँग छैन ।

संविधानमा दुई सदनात्मक व्यवस्था राख्नुको आफ्नै कारण होला तर एकै विधेयक, उही प्रस्ताव दुवै संसद्मा प्रस्तुत, छलफल र उस्तै जवाफको शृङ्खला चलेको देखिन्छ । के यसमा प्रणालीगत परिवर्तनको आवश्यकता देख्नुहुन्न ?

संसारमा लोकतान्त्रिक मुलुकमा दुई सदनात्मक व्यवस्था छन् । कतैकतै एउटै सदन पनि छ । आफ्नाआफ्ना अभ्यास छन् । दुई सदनको आवश्यकता सामान्यतः सन्तुलन र नियमन (चेक एण्ड ब्यालेन्स)का लागि हो । विधि निर्माणमा कुनै कमी नहोस्, एउटा संसद्ले नदेखेका कमजोरी अर्काे संसद्ले देख्छ र विधेयकहरू परिपक्व भएर जान्छ भन्ने हो । कार्य प्रकृतिका आधारमा हेर्दा प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित सांसदको उपस्थितिको सदन हुने भएकाले जनता र सरकारले त्यसलाई अलि बढी महत्व दिएको अनुभव हुन्छ । राजनीतिक दलका शीर्षनेता, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र भावी प्रधानमन्त्रीसम्म प्रतिनिधिसभामै बढी हुनुहुन्छ । सञ्चारमाध्यमले पनि प्रतिनिधिसभालाई बढी महत्व त्यसकारण दिन्छ सायद । तर समयमा राष्ट्रियसभाले पनि उत्तिकै जिम्मेवारीका साथ आफ्नो भूमिका निर्वाह गरिरहेको हुन्छ । चर्काचर्का स्वरमा बोल्ने र पाखुरा सुर्कने गरेका आधारमा सञ्चारमाध्यमले स्थान बढाउनु उचित होइन । राष्ट्रियसभामा चर्का आवाज नसुनिन सक्छ तर शालिन र विशिष्टताका आधारमा हामी सवालहरू उठाइरहेका हुन्छौँ । त्यसलाई पनि उत्तिकै महत्व दिइनुपर्छ ।

अर्काे कुरा, प्रतिनिधिसभा विघटन हुँदा राष्ट्रियसभा बस्न सक्ने थियो तर बसाइएन । आर्थिक विधेयक पारितको अधिकार यसलाई नभए पनि प्रस्तुतसम्म गराउन सक्थ्यो त्यो गराइएन । कुनै एक संसद् नहुँदा अर्काे संसद्मा नियमित विधि निर्माण र आर्थिक विधेयकजस्ता विषयमा छलफल चलाइनुपर्छ । यी विषयमा संविधान संशोधनका क्रममा हेरिनुपर्छ जस्तो लाग्छ । वास्तवमा राष्ट्रियसभाको आवश्यकता छ । ‘अपर हाउस’ भनेको अमेरिकाको जस्तो होस् । बेलायतको जस्तो होस् भनेर हामी त्यो तहमा ठ्याक्कै पुग्न नसकौँला तर त्यसको पनि सीमा हुन्छ ।

सदनमा शून्य र विशेष समयमा राष्ट्रिय सरोकारका जति विषय उठ्ने गर्छ, त्यसको उचित सम्बोधन हुनसकेको देखिँदैन भन्ने सांसदहरुको गुनासो छ । तपाईँको अनुभव कस्तो छ ?

यो विषयलाई राजनीतिक दल, सांसद, सम्बन्धित मन्त्रीहरुले गम्भीरताका साथ लिनुपर्छ । संसदीय परिपाटीमा विधि निर्माण सँगसँगै यी कुराहरू उठ्नु आवश्यक र महत्वपूर्ण कुरा हो । नत्र संसद् किन चाहियो ? सरकार बनाउने र त्यसपछि जे–जे आयो ताली पिटेर पारित गरेर गए भइहाल्थ्यो । त्यसरी हँुदैन । जनताका जल्दाबल्दा समस्या सदनमा उठ्छन् । सरकार त्यसमा गम्भीर बनोस् । सरकारको कामकारबाहीका विषयमा सदनमा छलफल भएपछि सम्बन्धित मन्त्रीहरूले उक्त विषयमा उचित जवाफ दिनुपर्छ । त्यहीअनुसार काम गर्नुपर्छ ।

राज्यसत्ता सञ्चालन गर्ने क्रममा सुशासन कायम गर्न आवाज आउँछ । प्रधानमन्त्री वा मन्त्रीहरूले आ–आफ्नो ठाउँबाट आफ्नो क्षेत्रमा उठेको विषयमा सम्बोधन गरी समस्याको समाधान गर्नुपर्छ । त्यसो भएमा देश र जनता दुवैलाई लाभ हुन्छ । सांसदले सरकारका कमी–कमजोरी औँल्याएर बलियो बनाउने हो । सांसदले बोलेपछि केही हुन्छ भनेर जनताले आशा गरेर ध्यान दिएर सुनेका हुन्छन्, सरकारबाट सुनुवाइ नहुने हो भने सांसदले बोलेर मात्रै के हुन्छ भन्ने निराशा उत्पन्न हुन्छ । राजनीतिक दलहरूले पनि आफूले पठाएका मन्त्रीको कार्यक्षमताको मूल्याङ्कन गर्नुपर्छ । विधायकहरूलाई सदनका गरेको कामको आधारमा नै मूल्याङ्कनको विधि बनाउने हो भने सदन प्रभावकारी हुन्छ ।

राजनीतिमा लागेर यति माथिल्लो पदमा पुग्छु भन्ने त लागेको थिएन होला तर पनि स्थानीय तहको जनप्रतिनिधिदेखि राज्यको अतिविशिष्ट पदमा समेत पुग्नुभयो । छ वर्षको अनुभव सम्हाल्नुभयो । समग्रमा देशको राजनीतिक प्रणाली व्यवस्थापन तथा देश र जनताको हितका लागि पदमा हुँदा र नहुँदा के फरक पाउनुभयो ?

पक्कै पनि हामी राजनीतिमा लागेकाहरू पदको आकाङ्क्षाभन्दा पनि जनताको सेवाप्रतिको दृढ अठोट र न्यायपूर्ण परिवर्तनका लागि लागेका हुन्छौँ । राजनीतिमा लागेर प्रधानमन्त्री, मन्त्री वा पार्टीको ठूलो पदमा पुगेर यस्तो गर्छु भन्ने पनि लाग्ने हुन्छ तर सबैले त्यो अवसर पाउँदैनन् । एकै व्यक्तिले पटक–पटक अवसर पाउनु पनि हुँदैन । जुनसुकै पदमा पुगे पनि नाम लेखाउनेमात्रै खालको भएर अर्थ हुँदैन । सबैभन्दा महत्त्वपूर्ण कुरा इतिहासमा कसरी फरक भूमिका साथ परिवर्तन र रुपान्तरणमा योगदान दिन सक्छ भन्ने हो । म प्रधानमन्त्री हुँदा विगतका प्रधानमन्त्रीले भन्दा यो बढी राम्रो गर्छु भनेर नयाँ र प्रभावकारी ढङ्गले काम गर्न सक्छु भनेर काम गर्नुपर्यो । पार्टीको घोषणापत्र र जनतासँग गरेका प्रतिवद्धताअनुरुप काम गर्छु भन्ने दृढ अठोटका साथ काम गर्नुपर्छ ।

सांसद भएपछि मन्त्री हुन सबैको दौडधुप हुन्छ । म किन नहुने भन्ने वातावरण छ । मन्त्री हुनेले पनि हिजोका दिनमा भन्दा अझै राम्रो काम गर्छु भनेर आएको देखिँदैन । अझै हिजो पटकपटक प्रधानमन्त्री वा मन्त्री हुनेले के कारणले दोहोरिएको भन्ने प्रश्नको जवाफ छैन । विगतमा मैले यो काम गरेको थिएँ । यो अधुरो छ, अब गर्छु भनेर केही निस्कँदैन । नेपाली समाजमा रहेका सबै प्रकारका विभेदहरुको अन्त्य गर्नुपर्छ । सुशासन कायम गरी देशलाई समृद्ध र विकसित मुलुकको स्थानमा लैजानुपर्छ । समग्रमा राज्यको लक्ष्य प्राप्तिका लागि काम गर्नुपर्छ । राष्ट्रियसभाको भूमिकामा म आउँदा कानुन निर्माणलाई सहमतिका साथ अघि बढाउनका लागि निरन्तर काम गरिरहेँ । सकेसम्म सहमतिका साथ विधि निर्माणका जाने भन्ने सोचमा रहेँ ।

संवैधानिक परिषद्को बैठक लामो समयदेखि बस्न सकेको छैन । कतिपय पदहरू खाली छन् । विगतमा पनि त्यस्तै भयो । दलीय असहमतिका बीच अध्यादेश ल्याउने र कार्यविधि परिर्वतन गर्ने काम भए । यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ ?

संवैधानिक परिषद्को वैठक बस्न नसकेको विवाद भएका कुराहरु मात्र होइन । दल परिर्वतनसम्बन्धी ऐनलाई अध्यायादेशमार्फत जारी गराएर कुनै दल विभाजन हुने तर त्यसपछि अध्यादेशमा भएका व्यवस्था नरहने कामहरू पनि भए । विभिन्न खालका राजनीतिक स्वार्थका कारण यस्ता गतिविधि हुने गरेका छन् । संविधानले परिकल्पना गरेका यस्ता संवैधानिक नियुक्तिका कुरा वा दलविशेषलाई कसरी संस्थागत गर्ने भन्ने कुरामा ‘थ्रेसहोल्ड’ नै राखेर दल टुक्रिएर साना–साना भएर संविधानसभाको बेलामा घटनाहरू भएका छन् । त्यो स्थिति नआओस् । हामीले एउटा क्षणिक स्वार्थका लागि काम गर्न हुँदैन ।

मुख्यतः ऐन निर्माण गर्दा वा कुनै पनि निर्णय गर्दा बृहत्तर हित, राष्ट्रिय हित र दूरगामी असरलाई हेरेर काम गर्नुपर्छ । तत्कालका लागि वा आफ्नो स्वार्थका लागि काम गर्न हुँदैन । सदन नचलेको अवस्थामा सरकारले अध्यादेश पनि ल्याउन सक्ने अवस्था छ । म त परिषद्को एक सदस्यका हिसाबले बैठकमा सहभागी हुँदै आएँ । कतिपय सदस्य बैठकमा नआउने गर्नुभयो, त्यसो गर्नुभन्दा बैठकमा आएर आफ्ना कुरा राख्ने गर्नु उचित हुन्थ्यो । अध्यादेश र कानुनबमोजिम भएका परिषद्का कतिपय बैठक र निर्णयमाथि सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन रहेको छ । त्यस विषयको टुङ्गो अदालतले नै लगाउँला ।

राज्यका तीन अङ्गका बीचको समन्वय र सन्तुलत कस्तो पाउनुभएको छ ?

संविधानले प्रबन्ध गरेअनुसार समन्वय र सन्तुलनको अभाव रहेको छ । संसदीय व्यवस्थामा कार्यपालिका होइन, सार्वभौम संसद् शक्तिशाली हो भन्ने स्थापित गरिनुपर्छ । कार्यपालिकाले म कार्यकारी हुँ भन्ने मानसिकता बदल्नुपर्छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढ्न ढिलाइ हुनुमा कुन पक्षको कमजोरी हो जस्तो लाग्छ ?

सैद्धान्तिकरूपमा हेर्दा विवाद देखिँदैन । बाहिर प्रतिबद्धता पनि सबैले अन्तर्राष्ट्रिय मान्यता र सर्वाेच्च अदालतको आदेशबमोजिम हुनेगरी ती विधेयक पारित गर्ने भन्ने रूपमा आएको छ । तर दुवै पक्षलाई आफ्नो पक्ष बलियो बनाउँ भन्ने लागेकाले विधेयक अघि बढ्न नसकेको जस्तो लाग्छ । यो विधेयक हाल प्रतिनिधिसभामा अड्किएको छ । तत्कालीन विद्रोही पक्ष अहिले सरकारको नेतृत्वमै छ । उसले सबैलाई मिलाएर लान सक्नुपर्छ । दण्डहीनता हुनु हुँदैन भन्ने कुरा महत्त्वपूर्ण छ ।

राष्ट्रियसभा अध्यक्षको जिम्मेवारीबाट बिदा भएपछिको आगामी राजनीतिक योजना के छ ?

म मुलतः देश र जनताको सेवामै रहने छु । फेरि पदमा आउने या नआउने भन्ने कुरा राजनीतिक स्थिति, राजनीतिक नेतृत्व र परिस्थितिको कुरा हो । पार्टीको जिम्मेवारीमा पनि आउन सक्छु । यसमा सम्बन्धित राजनीतिक नेतृत्वले कसरी सोच्छ र मेरो आवश्यकता कहाँ देख्छ, त्यसअनुसार म अगाडि बढ्छु ।

दमकबाट फिदिम जाँदै गरेको बोलेरोलाई टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु

मोरङ । झापाको दमकबाट तमोर करिडोर हुँदै फिदिम जाँदै गरेको बोलेरोलाई टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी–३ पुरानो मालपोत अगाडि शुक्रबार बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए ।

दुर्घटनामा जिप चालक बिर्तामोड नगरपालिका–२ झापाका ३६ वर्षीय कृष्ण गजुरेल, जिपमा सवार झापाको कमल गाउँपालिका–२ का करिब ५१ वर्षीय यदुकान्त भट्टराई र गीता खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र१ख ९६७६ नम्बरको टिपरले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसलाई ठक्कर दिँदै सोही दिशामा रहेको मे१ज २८५६ नम्बरको बोलेरोलार्ई ठक्कर दिएको थियो । घाइतेको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चन्द्रागिरि र कर्जा सुरक्षण कोषबीच सहकार्य : बिनाधितो कर्जा प्रवाह गर्न थप बाटो खुला

काठमाडौँ, १८ फागुन : चन्द्रागिरि नगरपालिकाले आफ्ना उत्पादन, रोजगारी तथा व्यवसाय प्रवर्द्धन गर्न वित्तीय संस्थाको समन्वयमा विपन्न वर्ग तथा लघु उद्यमीलाई बिनाधितो प्रवाह हुने कर्जामा निक्षेप तथा कर्जा सुरक्षण कोषले सुरक्षण गरिदिने भएको छ । सोबापत वित्तीय संस्थाले कोषलाई तिर्नुपर्ने वार्षिक सुरक्षण शुल्क ऋणीको तर्फबाट नगरपालिकाले व्यहोरिदिने भएको छ ।

यसका लागि चन्द्रागिरि नगरपालिका र निक्षेप तथा कर्जा सुरक्षण कोषका बीचमा बिहीबार द्विपक्षीय समझदारी भएको छ । चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख वसन्ती श्रेष्ठ, नगरप्रवक्ता कृष्णप्रसाद खड्गी तथा आर्थिक विकास शाखा प्रमुख राजुबहादुर खड्काको उपस्थितिमा सम्पन्न सो समझदारीपत्रमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले हस्ताक्षर गर्नुभयो ।

सम्झौताले बैंक तथा वित्तीय संस्थालाई विपन्न वर्ग तथा लघुउद्यमीलाई बिनाधितोे निर्धक्क कर्जा प्रवाह गर्न थप बाटो खुला भएको जनाइएको छ । साथै यसबाट चन्द्रागिरिले आफ्ना उत्पादन, रोजगारी तथा व्यवसाय प्रवर्द्धन गर्न थप सहयोग पुग्ने अपेक्षा गरेको छ । हाल नगरपालिकाले सहकारी संस्थाको सहकार्यमा आफ्ना उत्पादनलाई प्रवर्द्धन गर्न स्थानीय उत्पादन प्रदर्शनी तथा बिक्री मेला (सहरी हाटबजार) तथा स्थानीय उत्पादन बिक्री केन्द्र सञ्चालनमा सहयोग गर्दै आएको छ ।

नगरपालिकाले उत्पादन, रोजगारी तथा व्यवसाय प्रवर्द्धन गर्न वित्तीय संस्थाका समन्वयमा दिइने विशेष ब्याज अनुदान कार्यविधि, २०७९ नै जारी गरेको छ । कार्यविधिअनुसार प्रवाहित कर्जाको सुरक्षण प्रदान गर्ने प्रयोजनले बैंक तथा वित्तीय संस्थाले कोषमा तिर्नुपर्ने वार्षिक सुरक्षण शुल्कको शून्य दशमलव चार प्रतिशत नगरपालिकाले कोषलाई तिर्ने समझदारीमा उल्लेख छ ।

समझदारीमा बैंकले कार्यविधिअनुसार प्रवाह गर्ने कर्जालाई लघुवित्त तथा लघुकर्जामा वर्गीकृत हुनेगरी छुट्टै उपशीर्षक खडा गरी वा सोही शीर्षकमा आबद्ध गरी कोषले बैंकसँग नियमावलीअनुसार सम्झौता गर्ने, कोषसँग लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण कार्यक्रममा यसअगाडि आबद्ध बैंकले कार्यविधिअनुसार प्रवाहित कर्जाको सुरक्षणका लागि कोषसँग पुनः सम्झौता गर्नुपर्ने छैन । तर कार्यविधिअनुसार कर्जा प्रवाह गर्ने बैंकले यसअगाडि कोषसँग यस्तो सम्झौता नगरेको भए कोषसँग सम्झौता गरेपश्चात सम्झौताअनुसार कोषले सुरक्षण गर्नेलगायतका बुँदा उल्लेख छ ।

सो अवसरमा नगरप्रमुख गिरीले उद्यमशीलताको विकास गर्दै आफ्ना उत्पादन, रोजगारी तथा व्यवसाय बढाउन नगरपालिकाले उच्च प्राथमिकता दिँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयस्तरमै रोजगारी सिर्जना एवं व्यवसाय प्रवर्द्धन गर्न नगरपालिकाको साथ र सहयोग रहने छ”, प्रमुख प्रशासकीय अधिकृत अर्यालले नगरका विपन्न वर्ग तथा लघुउद्यमीलाई थप प्रवर्द्धन गर्न सम्झौता महत्त्वपूर्ण रहेको बताउनुभयो । आर्थिक विकास शाखा प्रमुख खड्काले स्थानीयस्तरमै रोजगारी सिर्जना, उत्पादन, सहरी हाटबजार, व्यवसाय प्रवर्द्धन गर्न शाखाले काम गर्दै आएको बताउनुभयो ।

कोषका प्रमुख कार्यकारी अधिकृत घिमिरे र प्रबन्धक मन्दिरा थपलियाले नगरपालिका र कोषबीचमा भएको सम्झौताले विपन्न वर्ग तथा लघुउद्यमीलाई बिनाधितो प्रवाह हुने कर्जा निर्धक्क गर्न बाटो खुला भएको बताउनुभयो । कोषले लघु उद्यमीलाई ब्याजमा अनुदान दिनका लागि विभिन्न्न १८ कमर्शियल बैँकसंग सम्झौता गरिसकेको जनाइएको छ ।

कैलालीमा निर्माणाधीन हुलाकी राजमार्ग स्तरोन्नति गर्न थपिएको समय सकियो, निर्माण सकिएन

टीकापुर (कैलाली), १८ फागुन : कैलालीमा निर्माणाधीन हुलाकी राजमार्ग स्तरोन्नति गर्ने कार्य थपिएको समय पनि पूरा हुन सकेको छैन । समयमै सडक निर्माण नसकिएपछि स्थानीय चिन्तित भएका छन् । पहिलो सम्झौताअनुसारको समय अघिल्लो वर्ष पुस महिनामा सकिएर फेरि एक वर्षका लागि थपिएको म्याद पनि गएको पुस मसान्तमै सकिएको छ । म्याद थपिएको एक वर्ष बितिसक्दा पनि सडक निर्माण सकिएको छैन ।

जिल्लामा हुलाकी राजमार्गअन्तर्गत दुईवटा सडक स्तरोन्नतिको काम भइरहेको छ । उत्तर–दक्षिण लम्की–खक्रौला सडक र पूर्वपश्चिम धनगढी–सत्ती सडकको स्तरोन्नतिको काम भइरहेको हो ।

लम्की–खक्रौला सडकको पहिलो खण्ड लम्कीबाट आठ किलोमिटरमात्र कालोपत्र भएको छ । बाँकी दुई खण्डको कालोपत्र गर्ने सुरु नै भएको छैन । अझै लम्की–खक्रौला सडकखण्डको २१ दशमलव सात किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । लम्की–खक्रौला सडकको अहिलेसम्मको प्रगति हेर्दा वित्तीयरूपमा ५४ प्रतिशत र भौतिकरूपमा ६० प्रतिशतमात्र पुगेको हुलाकी राजमार्ग निर्देशनालय धनगढीका सूचना अधिकारी बर्खबहादुर कठायत बताउनुभयो । “पहिलो प्याकेजमात्र सम्पन्न भएको छ । दोस्रो र तेस्रो प्याकेज निर्माण जारी छ”, उहाँले भन्नुभयो, “काममा ढिलाइ भएको हो ।”

त्यस्तै सत्ती–धनगढी खण्डको पहिलो खण्ड धनगढी क्याम्पसचोकबाट सात किलोमिटर र त्यसपछि दोस्रो खण्डको साढे पाँच किलोमिटर सडकमात्र अहिलेसम्म कालोपत्र भएर सकिएको छ । अन्य दुई खण्ड कालोपत्रको काम सुरु भएको छैन । सत्ती–धनगढी खण्डको ३१ दशमलव ५० किलोमिटर कालोपत्र गर्न बाँकी छ । यो प्रगति वित्तीय तथा भौतिकरूपमा करिब ६८ प्रतिशत पुगेको सूचना अधिकारी कठायतको भनाइ छ । “यहाँ चारवटा प्याकेज हो, पहिलो प्याकेजको सात किलोमिटर कालोपत्र भइसक्यो”, उहाँले भन्नुभयो, “दोस्रो प्याकेज साढे पाँच किलोमिटर जति निर्माण भएको छ, अन्य निर्माण हुँदैछ ।”

लम्की–खक्रौला सडक तीन खण्ड र सत्ती–धनगढी सडक चार खण्डमा छुट्टाछुट्टै ठेक्का लागेको थियो । सत्ती–धनगढी खण्डको काम स्वच्छन्द जोशी जेभीले गरिरहेको छ । स्वच्छन्दका सञ्चालक गणेश जोशीका अनुसार सत्ती–धनगढी सडकखण्डको पहिलो खण्डको काम सकिएको हो । दोस्रो खण्डको पनि कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । चालु आर्थिक वर्षभित्र वसन्तापूर्वको खण्ड सक्ने लक्ष्य छ । अन्य भजनीपूर्वको सडकको सतह तयार गर्ने काम भइरहेको छ । “अहिलेसम्म दुई प्याकेज सकियो, २० किलोमिटर तयारी छ । अब कालोपत्र गर्ने हो”, उहाँले भन्नुभयो, “तेस्रो खण्ड असार मसान्तसम्म सक्ने योजना छ ।”

लम्की–खक्रौला सडकको तीन् खण्डमा भइरहेको काममध्ये पहिलो खण्ड सकिएको छ भने अन्य दुई खण्डको काम चालु अवस्थामा नै छ । तेस्रो खण्ड निर्माण कम्पनी रायमाझी गल्वा जगदम्वा जेभीकाअनुसार सडक निर्माण तीव्रगतिमा भइरहेको छ । आउँदो चैत १५ गतेदेखि कालोपत्र गर्न सुरु गर्ने र यो आर्थिक वर्षमा नौ किलोमिटर सडक कालोपत्र योजना रहेको छ । बाँकी साढे एक किलोमिटर सडक बाँकी रहने निर्माण कम्पनीका चन्द्र लम्सालले जानकारी दिनुभयो । “अब बेस लेन सुरु हुन्छ चैतबाट कालोपत्र सुरु गर्ने तयारी छ”, उहाँले भन्नुभयो, “यस वर्ष अस्नेहरीबाट बालुवाटारसम्म १५ किलोमिटर सक्ने योजना छ ।”

लम्की–खक्रौला खण्ड २९ दशमलव सात किलोमिटर र सत्ती–धनगढी खण्ड ४४ किलोमिटरको स्तरोन्नतिका लागि हुलाकी राजमार्ग निर्देशनालयले विसं २०७७ मा ३० महिनाको अवधिमा काम सक्नेगरी दुवै सडकको ठेक्का लगाएको थियो । यी सडक निर्माण सम्पन्न भएमा यहाँका नागरिकलाई धनगढी, टीकापुरलगायतका क्षेत्रमा यात्रा गर्न सहज हुनेछ ।

डोटीमा उत्पादित उन्नत मकैको बीउ झापामा बिक्री

डोटी, १८ फागुन-डोटीको जोरायल गाउँपालिका–४ स्थित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ६९ टन उन्नत जातको मकैको बीउ बिक्री गर्ने भएको छ । सहकारीले किसानबाट सङ्कलन गरी ६९ हजार छ सय ८८ किलो मकैको बीउ बिक्री गर्ने भएको छ । सहकारीले मङ्सिरदेखि किसानबाट मकै सङ्कलन गर्न सुरु गरी चैतसम्म प्रमाणीकरणसहित ‘प्याकिङ’ गरेर पुनः बीउ किसानसम्म पुर्याउने गरेको छ ।

यस वर्षको अहिलेसम्म १४ हजार एक सय ७० किलो मकैको बीउ बिक्री भइसकेको सहकारीका व्यवस्थापक ठक्करबहादुर कठायतले बताउनुभयो । पचपन्न हजार पाँच सय १८ किलो मकैबीउ बिक्रीका लागि तयारी अवस्थामा छ । सहकारीले प्रतिकेजी रु ८० का दरले बीउ बिक्री गर्दछ । सहकारीले अरुण–२, अरुण–४, मनकामना–३, पोषिलो, रामपुर, कम्पोजिटलगायतका विभिन्न उन्नत जातका बीउ बिक्री गर्दै आइरहेको छ ।

सहकारीले विभिन्न एग्रोभेटमार्फत बीउ आपूर्ति गर्दै आएको छ । डोटीको जोरायलमा उत्पादन भएको मकैको बीउ झापा जिल्लासम्मै पुग्ने गरेको सहकारीले जनाएको छ । सहकारीले बिक्री गर्ने बीउबाट उत्पादन भएको मकै विशेष गरेर पोलेर खान, कुखुराका लागि दाना बनाउनलगायतका विभिन्न प्रयोजनमा आउने गर्छ । सहकारीले गत वर्ष ५४ लाख ४० हजार बराबरको ६८ टन मकैको बीउ बिक्री गरेको थियो ।

डब्ल्युएचओ सोमालियामा हैजाको प्रकोप रोक्न थप कोष खोज्दै

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सोमालियामा हैजाको प्रकोपलाई नियन्त्रण गर्न थप कोषको खोजी गरेको छ । सोमालियामा हालको हैजाको प्रकोप गत वर्षको प्रकोपको निरन्तरता हो जुन सन् २०२३ अक्टोबर मा बाढीबाट प्रभावित केही स्थानहरूमा व्यापक रूपमा जिल्लाहरूमा फैलिएको थियो । सोमालियाको राजधानी मोगादिसुमा जारी गरिएको पछिल्लो प्रतिवेदनमा डब्ल्युएचओले हालको प्रकोपलाई नियन्त्रण गर्न प्रतिक्रियात्मक गतिविधिहरूको कार्यान्वयन गर्न थप परिचालन कोषको तत्काल आवश्यकता रहेको बताएको छ।

सोमालियाको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२४ देखि सोमालियामा कुल २ हजार ९४३ हैजाका नयाँ बिरामी फेला परेको २६ जनाको मृत्यु भएको उल्लेख गरिएको छ। डब्लुएचओले मुख्यतया साबेले नदीको किनारमा बसोबास गर्ने विस्थापित व्यक्तिहरूका लागि सुरक्षित पानी र उचित सरसफाइमा समस्या हुनु वर्तमान हैजाको प्रकोपको प्रमुख कारण भएको बताएको छ।

यसले छिमेकी इथियोपियामा हैजाको प्रकोपबाट फैलिएको सोमालील्याण्डको हर्गेसा र गालिबे जिल्लाहरूमा नयाँ हैजाको प्रकोप पुष्टि भएको पनि बताएको छ । यसैबीच डब्लुएचओले स्वास्थ्य साझेदारहरूसँग मिलेर प्रभावित जिल्लाहरूमा हैजा प्रतिक्रिया गतिविधिहरूको कार्यान्वयनलाई बढाएको बताएको छ। डब्ल्युएचओका अनुसार सोमालियामा सन् २०२२ देखि पानीजन्य झाडापखाला र हैजाको प्रकोप बढेको छ जुन सन् २०१७ को खडेरीबाट बनादिर क्षेत्रमा समस्या बढ्दै गएपछि थप विकराल बन्दै गएको बताइएको छ ।

सन् २०२३ मा सोमालियामा १८ हाजर ३०४ जनाभन्दा बढी सङ्क्रमणका घटनाहरू देखिएको र ४६ जनाको मृत्यु भएको उल्लेख गरिएको थियो जसमा ५ वर्ष मुनिका १० हजारभन्दा बढी बालबालिकाहरू छन् । संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) का अनुसार सन् २०२४ मा हैजाको प्रकोप डरलाग्दो रहने अनुमान छ । पूर्वी र दक्षिणी अफ्रिकाका थुप्रै देशहरूमा पहिल्यै नै भारी वर्षा र ‘एल निनो’ प्रभाव परिसकेको छ । युनिसेफका अनुसार सन् २०२३ मा लामो खडेरी, बहु चक्रवात, भारी वर्षा र ठूलो बाढी जस्ता चरम मौसमी घटनाहरूका कारण हैजाका घटनाहरू बढेको हो । —

आज भरतपुर भ्रमण वर्ष २०२४ को प्रधानमन्त्री दाहालबाट शुभारम्भ गरिँदै

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो १ नारायणी नदी किनारमा शुभारम्भ गर्ने भएका छन् । पाँच पूर्वप्रधानमन्त्रीको उपस्थितिमा उनले भ्रमण वर्षको उद्घाटन गर्न लागेका हुन् । यसका लागि प्रधानमन्त्री बिहीबार साँझ चितवन आइसकेका छन् ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसहित विशिष्टि व्यक्तित्व उपस्थिति हुनेछन् ।

यसैगरी चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछाने, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवाललगायतको उपस्थिति हुने दाहालले जानकारी दिइन् ।

यसैगरी बागमती प्रदेशका मुख्यमन्त्री शालिग्राम जम्कट्टेल, प्रदेश प्रमुख अमिक शेरचन र तिलक परियार उपस्थित हुनेछन् । माल्टाको एम्सिदा नगरका नगरप्रमुख मारर्गेरेट सेफाइसँगै नेपालका महानगरपालिका पोखरा र वीरगञ्जबाट प्रमुखको कार्यक्रममा उपस्थित हुनेछन् । चितवन र छिमेकी जिल्लाका उपमहानगर, नगर र गाउँपालिकाका प्रमुख एवं अध्यक्षहरू कार्यक्रममा उपस्थित हुनेछन् ।

यसैगरी मन्त्री, सांसदलगायतका विशिष्ट व्यक्तिहरूको कार्यक्रममा उपस्थिति रहने दाहालले जानकारी दिइन् । नारायणी नदी किनारमा ५० हजारभन्दा बढीको उपस्थितिमा भ्रमण वर्षको उद्घाटन गर्ने तयारी गरिएको छ ।

भरतपुरको पर्यटकीय महत्वलाई स्वदेश र विदेशमा पुर्याउने लक्ष्यका साथ भ्रमण वर्षको आयोजना गर्न लागिएको हो । उपप्रमुख चित्रसेन अधिकारीका अनुसार भ्रमण वर्षमा आन्तरिक पाँच लाख पर्यटक र बाह्य दुई लाख पर्यटकले भरतपुर महानगरको भ्रमण गर्ने लक्ष्य राखिएको छ । सोहीअनुसार देश तथा विदेशमा समेत प्रचारप्रसारको काम गरिएको छ ।

औपचारिक कार्यक्रमअघि र पछि राष्ट्रिय र स्थानीय कलाकारले नदी किनारमा साँझसम्म प्रस्तुति प्रस्तुत गर्नेछन् । भरतपुर महानगरभित्र सात मुख्य गन्तव्य तोकिएका छन् । यसका अतिरिक्त २१ गन्तव्यको समेत प्रचारप्रसार गरिएको छ । मुख्य गन्तव्यलाई ब्लक बनाएर अन्य गन्तव्यको प्रचार गरिएको उपप्रमुख अधिकारीले जानकारी दिए ।

भ्रमण वर्षका अवसर पारेर चितवन राष्ट्रिय निकुञ्जभित्र खोरमा राखिएका हिंस्रक बाघलाई सर्वसाधारणले अवलोकन गर्न मिल्नेगरी महानगरको देवनगर खोरमा राखिँदै छ । सोही ठाउँमा एकसिङ्गे गैँडासमेत पर्यटकले हेर्न पाउनेछन् । ऐतिहासिक दियालो दरबारसमेत भ्रमण वर्षसँगै सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ ।

भ्रमण वर्षका अवसरमा यहाँका होटल रेष्टुरेन्टले सहुलियतमा आफ्नो सेवा दिनेछन् । नारायणी र राप्ती नदीको बीचमा अवस्थित भरतपुर महानगर धार्मिकसँगै पर्यापर्यटनको हिसाबले महत्त्वपूर्ण छ ।

छ महिनादेखि भुक्तानी नपाएपछि सडकमा दूध पोखेर किसान आन्दोलित

इलाम, १८ फागुन : इलामसहित कोशी प्रदेशका आठ हजार बढी किसानले दुग्ध विकास संस्थान (डिडिसी)लाई बिक्री गरेको दूधको भुक्तानी छ महिनादेखि नपाएको जनाउँदै इलामका किसानले बिहीबार मेची राजार्गमा विरोध जनाएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ इलामको आयोजनामा भेला भएका करिब दुई सय किसानले सूर्योदय नगरपालिका–१० फिक्कल बजारस्थित मेची राजमार्गमा दूध पोखेर विरोध जनाएका हुन् । उनीहरूले यथाशीघ्र किसानले भुक्तानी पाउनुपर्ने माग राखेका छन् । चक्काजाम गरिँदा करिब एक घण्टा मेची राजमार्ग अवरुद्ध भएको थियो ।

दूध बेचेको पैसाले गर्जो टार्दै आएका किसानलाई छ महिनायता परिवार पाल्न मुस्किल छ । इलामसहित कोशी प्रदेशका आठ हजार बढी किसानले दुग्ध विकास संस्थान (डिडिसी)लाई बेचेको दूधको भुक्तानी छ महिनादेखि पाएका छैनन् । भुक्तानी नपाउँदा चामल किन्न नसकिएको इलामकी सावित्रा राउतको गुनासो छ । “साहुसँग ऋण काढेर मान्छेलाई चामल र गाईलाई चोकर ल्याएको आधा वर्ष भइसक्यो”, राउतले भन्नुभयो, “हिसाब गर्दा बुझाउन रु ५० हजार पुगेछ, अब ऋण नतिरे साहुले पनि दिँदैनन्, डिडिसीले दूधको पैसा दिने छाँटकाँट देखाएको छैन ।”

भुक्तानी नपाएर किसान मारमा परेपछि किसानसम्बद्ध विभिन्न १५ सङ्घसंस्थाले दूधको भुक्तानी माग गर्दै इलामलगायत देशभर आन्दोलन जारी राखेका छन् । उनीहरूले फागुन १० देखि आन्दोलनलाई निरन्तरता दिँदै इलाम जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । अखिल नेपाल किसान महासङ्घ केन्द्रीय सदस्य हेम कट्टेल र इलाम अध्यक्ष महानन्द सापकोटासहितले सरकारलाई दूधको मूल्य भुक्तानी माग गरी ज्ञापनपत्र पेस गरेका हुन् ।

उनीहरूले लम्पी स्किन रोगले पशु मरेर, दूध बेच्न नपाएर थलिएका किसानले बेचेको दूधको भुक्तानी सरकारीसहित अन्य क्रेताले पनि दिन नसकेको गुनासो गरेका छन् । उनीहरूले किसानले उत्पादन गरेको सबै दूध बिक्ने वातावरण बनाउनेसहितका १८ बुँदे मागपत्र सरकारलाई बुझाएका हुन् । माग पूरा नभए मेचीसहित देशका मुख्य राजमार्ग बन्द गर्नेसम्मका कार्यक्रम उनीहरूले घोषणा गरेका छन् । किसान महासङ्घ, अखिल नेपाल किसान महासङ्घ, राष्ट्रिय प्रजातान्त्रिक किसान सङ्गठन, केन्द्रीय दुग्ध सहकारी सङ्घ, नेपाल दुग्ध व्यवसायी सङ्घ, दुग्ध उत्पादक किसान सङ्घलगायत किसानका सङ्घ–सङ्गठनले संयुक्तरूपमा आन्दोलनका कार्यक्रम अघि बढाएका छन् ।

डिडिसीले विराटनगर आयोजनासहित १० चिस्यान केन्द्रसमेत गरी दैनिक २६ हजार लिटर दूध सङ्कलन गर्दै आएको छ । त्यसैगरी अन्तरआयोजना ढल्केवर र हेटौँडाबाट थप २१ हजार लिटर दूध विराटनगर आयोजनामा आउने गरेको छ । किसानबाट खरिद गरेको छ महिनाको रु ५० करोड बढी सहकारीमार्फत किसानलाई भुक्तानी दिन बाँकी रहेको डिडिसीले जनाएको छ । आयोजनाले विभिन्न सहकारीमार्फत इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सप्तरी जिल्लाबाट दूध सङ्कङ्कलन गर्दै आएको छ । जसमा कोशी प्रदेशका आठ हजार बढी किसान आबद्ध छन् ।

किसानबाट खरिद गरिएको दूधको उत्पादन व्यापारमा आएको ह्रासका कारण किसानलाई समयमै भुक्तानी दिन समस्या भएको दुग्ध विकास संस्थान विराटनगर आयोजना प्रमुख परमेश्वर चौधरीले बताउनुभयो । उहाँले अहिले पनि ठूलो मात्रामा दुग्धजन्य उत्पादन आयोजनाका स्टोरमा लामो समयदेखि थन्किएका कारण किसानलाई गएको साउनयता भुक्तानी दिन नसकिएको बताउनुभएको छ । “पछिल्लो समय घ्यू बिक्री नभएको र बढी भएको दूधबाट (धुलो दूध) बनाएर राख्नुपर्दा चालु पुँजी अभाव छ । अहिले पनि रु ३० करोड ५० लाखको धुलो दूध, मक्खन र घ्यू विराटनगर आयोजनामा मौज्दात छ”, उहाँले भन्नुभयो ।

गएको जेठयता रु छ करोडबराबरको ५० टन बढी धुलो दूधको पाउडर, रु ११ करोड मूल्यबराबरको ९० मेट्रिक टन मक्खन, रु नौ करोड ५० लाख मूल्यको आठ मेट्रिक टन घ्यू स्टोरमा रहेको जानकारी दिँदै आयोजना प्रमुख चौधरीले यसअघि विभिन्न सहकारीमार्फत किसानबाट खरिद गरेको दूधको पैसा पाक्षिकरूपमा उपलब्ध गराउँदै आएको बताउनुभएको छ ।
 

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु

तुलसीपुर (दाङ), १८ फागुन : लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुनेभएको छ । आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने प्रस्तावित कार्यसूचि रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजको बैठकमा सभामुखले प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धीे, मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति र कार्यविभाजन सम्बन्धीे र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ । यस्तै दलको तर्फबाट प्रदेशसभा सदस्यले शुभकामना व्यक्त गर्नुहुने कार्यसूचि पनि रहेको छ । यस्तै यही फागुन १९ गते प्रदेशसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

कीर्तिमानी पर्वतारोहीद्वारा इजिप्टमा नेपालको पर्यटन प्रवर्द्धन

कायरो (इजिप्ट ), १८ फागुन : नेपाली राजदूतावास कायरोको आयोजनामा फेब्रुअरी २८ तारिखका दिन हिमालमा प्रकृति र साहसी यात्राको खोज नामक नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा प्रसिद्ध सगरमाथा आरोही गेल्जे शेर्पा र आद्रियाना ब्राउनलीको प्रस्तुति रहेको थियो ।

साथै गत वर्ष नेपालमा गरेको ट्रेकिङको अनुभवबारे कायरो अमेरिकन कलेजका प्राचार्य तथा शिक्षाविद् डा ज्यारेड ह्यारिस र सिङ्गिङ्ग बाउलको उपचारात्मक महत्वबारे नेपालमा तालिम लिनुभएका शिक्षाविद् कोर्टनी बेलीले वर्णन गर्नुभएको थियो ।

सो अवसरमा इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले नेपालको अनुपम सांस्कृतिक र प्राकृतिक सम्पदाबारे संक्षिप्त चर्चा गर्नुभएको थियो । साथै उहाँले इजिप्टमा नेपालको पर्यटन प्रवर्द्धनका लागि गरिएका प्रयासबारे प्रकाश पार्दै दुई देशबीचको जनस्तरको सम्बन्ध विस्तारका लागि इजिप्सियन मिडियाको सहयोगका लागि धन्यवाद प्रकट गर्नुभयो ।

कार्यक्रममा इजिप्टका भ्लग्गर र इन्फ्लुएन्सर, कलाकार, शिक्षा, संस्कृति र पर्यटनसँग सम्बन्धित व्यक्तित्वहरू, विदेशी कूटनीतिज्ञ, एयरलाइन्स, टिभी च्यानल एवं पत्रपत्रिकाका प्रतिनिधिका आदि गरी करिब ७० जना व्यक्तिको सहभागिता रहेको थियो ।

कार्यक्रममा फेब्रुअरी २७ र २८ तारिखका दिन आयोजित इजिप्टका बालबालिकाका आँखामा नेपालको तस्वीर नामक चित्रकला प्रतियोगितामा छनोट भएका उत्कृष्ट चित्रहरूको प्रदर्शनी पनि गरिएको थियो । इजिप्टको बालसंस्कृति केन्द्रको सहआयोजनामा आयोजित सो प्रतियोगितामा तीन सयभन्दा बढी इजिप्सियन विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा बालबालिकाले नेपालको कला, संस्कृति, इतिहास, प्राकृतिक सम्पदा र जनजीवन झल्किने पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ, तलेजु भवानी, हिमाल, बुद्ध, कुमारी आदिको तस्वीर उतारेका थिए ।

फेब्रुअरी २७ का दिन चित्रकला प्रतियोगिताका अवसरमा राष्ट्रिय बालसंस्कृति केन्द्रका प्रमुख तथा सुप्रसिद्ध बालसाहित्यकार मुहम्मद नासेफले कार्यक्रमले दुवै देशबीचको जनस्तरको सम्बन्ध थप प्रवर्द्धन गर्न मद्दत पुग्ने धारणा प्रकट गर्नुभयो । साथै उहाँले इजिप्टका संस्कृतिमन्त्री महामहिम नेभिन एलकिलानीले प्रतियोगिताको सफलताका लागि हार्दिक शुभकामना पठाउनुभएको उल्लेख गर्दै कार्यक्रमले इजिप्टका बालबालिकालाई नेपालको भौगोलिक विशेषता, प्राकृतिक सौन्दर्य र अनुपम संस्कृतिबारे जानकारी प्राप्त गर्ने अमूल्य अवसर प्रदान गरेको धारणा व्यक्त गर्नुभएको थियो ।

अरब गणतन्त्र इजिप्टका लागि नेपालका राजदूत सुशीलकुमार लम्सालले इजिप्टका बालबालिकामाझ नेपालको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक विशिष्टता तथा नेपाल–इजिप्ट सम्बन्धबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा पहिलोदेखि दशौँ स्थानसम्म हासिल गर्ने विद्यार्थीलाई पदक तथा सहभागी विद्यार्थीलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो । उक्त कार्यक्रममा इजिप्सियन नृत्यसहितको सांस्कृतिक कार्यक्रम, नेपाली कलाकृति तथा हस्तकला तथा बालसंस्कृतिसँग सम्बन्धित विविध विषयवस्तुको प्रदर्शनी गरिएको थियो ।

वायुसेवा सञ्चालक सङ्घको अध्यक्षमा कार्की चयन

काठमाडौँ, १८ फागुन : हवाई सेवा प्रदाय संस्थाहरूको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घको अध्यक्ष पदमा मनोज कार्की चयन हुनुभएको छ । सङ्घको बिहीबार भएको २३औँ वार्षिक साधारणसभाले सङ्घका महासचिव उहाँलाई आगामी दुई वर्षका लागि निर्विरोध चयन गरेको हो । उहाँ समिट एयरका प्रबन्ध निर्देशक हुनुहुन्छ ।

सङ्घको वरिष्ठ उपाध्यक्षमा कैलाश हेलिकप्टरका प्रबन्ध निर्देशक प्रतापजङ्ग पाण्डे, प्रथम उपाध्यक्षमा अल्टिच्युड एयरका प्रबन्ध निर्देशक निमानुरु शेर्पा, उपाध्यक्षमा श्रीएयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धर, महासचिवमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुवास सापकोटा, सचिवमा मुरलीधर जोशी र कोषाध्यक्षमा बुद्ध एयरका वरिष्ठ बजार निर्देशक रुपेश जोशी चयन हुनुभएको सङ्घले जनाएको छ । सदस्यमा उमेश पनेरु, बालकृष्ण श्रेष्ठ र उमेश आचार्य चयन हुनुभएको छ ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकको हवाई क्षेत्रलाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन सेवाप्रदायक जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो । मुलुकको पर्यटन क्षेत्रको विकासमा हवाई क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको भन्दै हवाई उद्योगको विकास निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “पर्यटनको रक्तसञ्चार नै हवाई क्षेत्र हो, हवाई उडानबिना पर्यटनको कल्पना गर्न सकिँदैन, त्यसैले हवाई उद्योगमा सरकार र निजी क्षेत्रको ठूलो लगानी छ, एयरलाइन्सले नाफामुखी मात्रै होइन, सेवामुखी भएर दूरदराजका जनतालाई सेवा दिनुपर्छ ।”

सचिव डा दीपक काफ्लेले हवाई क्षेत्रको सुधारका लागि सरोकारवाला निकाय गम्भीर हुनुपर्ने बताउनुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले सङ्घले गर्ने कार्यमा नियामकको साथ सहयोग रहने जनाउँदै हवाई क्षेत्रको सुदृढीकरणमा ध्यान दिन सेवाप्रदायकलाई आग्रह गर्नुभयो । सङ्घका नवनिर्वाचित अध्यक्ष कार्कीले हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सबै सरोकारवालाको साथ लिएर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । जारी सम्भावित कार्यसूची अनुसार बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यको नाम हेरफेर गर्ने रहेको छ ।

बैठकमा परराष्ट्र नारायण प्रकाश साउदले विमस्टेक बडापत्र प्रस्तुत गर्ने, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री निता देवीले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बागमती प्रदेशसभाको बैठकबाट बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति गठन

मकवानपुर – बागमती प्रदेशसभाको बिहिबार बसेको पहिलो बैठकले बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति गठन गरेको छ । बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताबीच भएको सहमति अनुसार सत्तापक्षका प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले विशेष समिति गठनको प्रस्ताव टेबुल गर्नुभएको थियो । उहाँलाई सभामुख भुवनकुमार पाठकले प्रस्ताव टेबुल गर्न समय दिनुभएको थियो ।

प्रदेशसभा सदस्य ढकालले प्रस्तुत गर्नुभएको उक्त विशेष समितिको प्रस्तावलाई इन्द्रप्रसाद गोतामे, रमा आले मगर, शैलेन्द्र बज्राचार्य र मधुसुदन पौडेलले सर्मथन गर्नुभएको थियो । बैठकले उक्त समितिको संयोजकमा गोविन्द लम्सालसहित ११ सदस्यीय समिति गठन गरिएकामा सर्वसम्मतिले स्वीकृत प्रदान गरेको छ । उक्त विशेष समितिको सदस्यहरुमा डा दिनेशचन्द्र देवकोटा, इन्द्रप्रसाद गोतामे, उद्धव थापा, गिरबहादुर तामाङ, प्रभात तामाङ, वसन्तप्रसाद मानन्धर, रत्नप्रसाद ढकाल, रमा आले मगर, मधुसुदन पौडेल र शैलेन्द्रमान बज्राचार्य हुनुहुन्छ ।

विशेष समितिले बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी प्रतिवेदन यही फागुन २९ गते बस्ने प्रदेशसभाको बैठकमा प्रस्तुत गर्न अनुमति दिएको छ । यसैगरी, उक्त बैठकमा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले प्रदेश हस्तकलाग्राामको स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, २०८० प्रस्तुत गर्नुभयो ।

गृहमन्त्रीसमक्ष कार्यदलद्वारा सूचनाप्रणाली विकाससम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ – एकीकृत आपत्कालीन प्रतिकार्य प्रणालीसम्बन्धी अवधारणा तथा कार्ययोजना तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन बिहिबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको छ ।

गृह मन्त्रालयमा बिहिबार आयोजित एक कार्यक्रममा कार्यदलका संयोजक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेले प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । प्रतिवेदनमा विभिन्न निकायद्वारा सञ्चालित आपत्कालीन नम्बर तथा प्रणालीको वर्तमान अवस्था, अन्तरराष्ट्रिय अभ्यास, एकीकृत प्रणाली विकास गर्नुपर्ने आवश्यकता, समस्या र चुनौती, प्रस्तावित ढाँचाका अतिरिक्त प्रणाली विकास गर्न आवश्यक नीतिगत, संरचनागत र प्रविधिगत सुझाव समावेश गरेको कार्यदल संयोजक पाण्डेले जानकारी दिनुभयो ।

आपत्कालीन अवस्थामा परेका व्यक्तिले आफूसँग रहेको सञ्चार साधन प्रयोग गरी केन्द्रीय प्रणालीमा सूचना दिने र आवश्यक आपत्कालीन सेवा लिन सक्ने गरी प्रणाली विकासका लागि कार्ययोजना तयार गर्न उपप्रधानमन्त्री श्रेष्ठले ११ सदस्यीय उक्त कार्यदल गठन गर्नुभएको थियो ।

कार्यदलमा गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरीका एक–एक र नेपाल प्रहरीका दुईजना प्रतिनिधि र सूचनाविज्ञ हुनुहुन्छ । तत्कालका लागि प्रहरी सेवा, एम्बुलेन्स र दमकल सेवाको एकीकृत प्रणालीको विकास गर्न प्रतिवेदनमा विस्तृत कार्ययोजना पनि प्रस्ताव गरिएको छ ।

आपत्कालीन प्रयोजनका लागि विभिन्न देशमा एकल नम्बरको अभ्यास भइसकेको छ । भारतमा एक सय १२, चीनमा एक सय १०, अमेरिका र पाकिस्तानमा नौ सय ११ नम्बर प्रयोगमा छन् ।

कर्णालीका प्रतिभालाई ललितकलामार्फत विश्वसामु चिनाउनुपर्नेमा मुख्यमन्त्री शर्माको जोड

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका प्रतिभालाई ललितकलामार्फत विश्वसामु चिनाउनुपर्नेमा जोड दिनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा अयोजित ‘कर्णाली प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ को उद्घाटन गर्दै मुख्यमन्त्री शर्माले प्रदेशका प्रतिभालाई ललितकलामार्फत उजागर गर्नुपर्ने जनाउनुभयो । उहाँले भन्नुभयो, “इच्छाशक्ति र व्यवस्थापकीय क्षमता मुख्य हो । यसको समुचित प्रयोगबाट मात्र देशले अपेक्षित प्रतिफल प्राप्त गर्दछ ।” कर्णालीबाट लोप भएका सभ्यता र लुटिएका कलालाई ललितकलाका माध्यमबाट बाहिर ल्याउन सकिने मुख्यमन्त्री शर्माले बताउनुभयो ।

मुगुको राराताल, हुम्लाको लिमी र जुम्लाको सिञ्जा उपत्यका, डोल्पाको धो तथा शे–फोक्सुन्डो, कालीकोटको पचाल झरना, दैलेखको पञ्चकोशी, सुर्खेतको काँक्रेविहारलगायत धार्मिक तथा पर्यटकीयस्थललाई कलात्मक सृजनाबाट विश्वसामु चिनाउन प्रदेश सरकारबाट आवश्यक सहयोग हुने उहाँले बताउनुभयो । उहाँका अनुसार काठमाडौँभन्दा विशाल सभ्यता बोकेको कर्णाली प्रदेशलाई पछि पारिएकाले यसको उत्थान विकासमा सङ्घीय सरकारले विशेष जोड दिनुपर्दछ ।

ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छाली राष्ट्रिय तथा अन्तरराष्टियस्तरमा पहुँच वृद्धि गरी विश्वमा कर्णाली तथा नेपालको पहिचान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीले अनुसन्धान, सृजना र सम्मानलाई मूल नारा बनाएर अगाडि बढेका छौँ । अब विद्यालय तथा विश्वविद्यालयस्तरमा ललितकलाका विषयमा अध्ययन–अध्यापन हुनुपर्छ जसले नयाँ प्रतिभा उजागर गरोस् ।”

कर्णाली मौलिक संस्कृति र सभ्यताको विकासको तरङ्ग अन्तरराष्ट्रियस्तरमा पु¥याउन सांस्कृतिक बुद्ध जन्माउनुपर्ने भन्दै उहाँले अहिलेसम्म यससँग सम्बन्धित स्रष्टा नभएकाले अब प्रदेशमा ललितकलासम्बन्धी प्रतिभा खोज्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार कोन्कयाप लामाले कर्णालीबाट यो क्षेत्रमा आफ्नो नाम उच्च बनाउनुभएको छ ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष भीम कुमाँखीले ललितकलालाई भुल्दा विशाल कर्णालीको स्वरुप, संरचना सभ्यतामा हराउँदै गएको तर्क गर्नुभयो । लोपोन्मुख अवस्थामा रहेका संस्कृति संरक्षण र प्रवद्र्धनमा सबै सरोकारवालाको ध्यान जानुपर्छ,” उहाँले भन्नुभयो, “समाजिक रुपान्तरणका लागि ललितकला अभियान थाल्नुपर्छ ।”

समाजसेवी तथा बालरोग विशेषज्ञ डा नवराज केसीले सृजनाको विकास आमाको कोखबाटै हुने भन्दै बाल विकासको उपरान्त समाजको विकास हुने जिकिर गर्नुभयो । कर्णालीलाई चलाउने भावी नेतृत्व जन्माउन यो कार्यक्रमले विशेष मद्दत पुग्ने उहाँले बताउनुभयो ।

जिल्ला समन्वय समिति सुर्खेतका सदस्य जितबहादुर रानाले यहाँको संस्कृति र मानव जीवनलाई क्यानभासमा उतार्न प्रदर्शनीले सघाउने धारणा राख्नुभयो । पाँच दिनसम्म सञ्चालन हुने कर्णाली प्रादेशिक ललितकला प्रदर्शनीमा ४६ स्रष्टाले ललितकलासँग विभिन्न सामग्री प्रदर्शनीमा राखेका छन् ।

सुनसरीमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान फागुन १५ देखि सञ्चालन

इनरुवा – सुनसरीमा दादुरा–रुबेलाविरुद्ध खोप अभियान सञ्चालन गर्न सम्पूर्ण तयारी पूरा भएको छ । स्वास्थ्य कार्यालय सुनसरीले सदरमुकाम इनरुवामा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर फागुन १५ देखि चैत १ गतेसम्म सञ्चालन हुने दादुरा–रुबेलाविरुद्ध खोप अभियानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

सुनसरीमा खोप अभियान सञ्चालनका लागि नौ सय ९३ वटा खोप लगाउने बुथ निर्धारण गरिएको छभने पाँच सय ९२ स्थानबाट खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय इनरुवा सुनसरीका प्रमुख सागर प्रसाईले जानकारी दिनुभयो ।

त्यसैगरी, खोप अभियान सञ्चालनका लागि एक हजार नौ सय ८६ जना स्वास्थ्यकर्मी र दुई हजार नौ सय ९९ जना स्वास्थ्य स्वयंसेविका परिचालन गरिने उहाँले जानकारी दिनुभयो । सुनसरीमा नौ महिनादेखि ५ वर्षसम्मका दुई लाख ४९ हजार आठ सय २५ जना बालबालिकालाई खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय इनरुवा सुनसरीका प्रमुख प्रसाईले बताउनुभयो ।

जिल्ला खोप अभियानका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने तालिम, सामग्री हस्तान्त्रण, खोपलगायत कार्य भएको उहाँले बताउनुभयो । जिल्लामा पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरेर विशेषरुपमा खोप अभियान सञ्चालन गर्नका लागि सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण अर्चायले आग्रह गर्नुभयो ।

कार्यक्रम जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमा सुनसरीका प्रहरी प्रमुख बिपिन रेग्मी, सेभ द अर्थका पुष्प भट्टराई, पत्रकार महासङ्घ सुनसरीका कोषाध्यक्ष अजितकुमार झालगायतको सहभागिता थियो ।

हेर्नुहोस् फागुन १८ गते शुक्रवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – बाणीका कारण निकटतम ब्यक्तिहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । गैर ब्यक्तिको बिस्वासमा गरीएका कार्यहरुमा सजग रहनुहोला सामान्य अपजसको सम्भाबना रहेकोछ । खानपानमा बिषेश साबधानि अपनाउनु होला । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ ।

बृष राशि – जीबन साथिको सहयोगमा गरीएका कार्य बाट मनग्य लाभ प्राप्त हुने समय रहेको छ । ब्यापार ब्यवसाय मा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । नयाँकाम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ ।

मीथुन राशि- प्रतिस्पर्दिहरुको बृद्धि हुनाले कार्य सम्पादनमा बिषेश ध्यान पूर्याउनु पर्ने समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । शारीरिक अस्वस्थाको सम्भाबना रहेको छ । आकस्मीक खर्चको सामना गर्नु पर्नेछ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ ।

कर्कट राशि- अरुको कार्य लापरबाहि को प्रतिफल तपाईलाई आईपर्न सक्नेछ । साजेदारी ब्यवसायमा मनग्य लाभ मिल्नेछ । गैर ब्यक्तिको पुर्ण बिस्वास नर्गनु राम्रो हुनेछ । कुराकाट्ने ब्यतिहरुबाट बच्नु पर्ने छ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ । अध्यन अध्यापनमा खर्चिएको समय उत्तम रहनेछ ।

सिंह राशि – पारीवारिक साथ सहयोमा गरीएका कार्यहरु दीर्घकालिन फाईदाका श्रोत साबित हुनेछन । पति पत्नि बिचको सम्बन्धमा सामान्य खटपट रहने सम्भाबना रहेको छ । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ । भौतिक श्रोतसाधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु होला ।

कन्या राशि – मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सुधार आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ । मित्र सहयोग प्राप्त हुनेछ । यात्राका क्रममा बिभिन्न झमेलाहरुको सामना गर्नु पर्न सक्नेछ ।

तुला राशि- कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । मित्र जनको साथ सहयोगमा कमि रहला । अध्यन अध्यापनका क्षेत्रमा त्यति मन जानेछैन ।

बृश्चिक राशि- पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायको साजेदारीमा भने सामान्य असमन्जसता उत्पन हुन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ । खानपानमा सजग रहनु होला । नयाँ कार्यको थालनि गर्न समय उत्तम रहेकोछ ।

धनु राशि- मानसिक चन्चलताका कारण मित्रजन सगँको सम्बन्धमा फाटो आईपर्नेछ । जिबन साथीको सहयोमा गरीएका ब्यापार ब्यवसायमा लाभ प्राप्त हुनेछ । नयाँ लगानि तथा साजेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ । प्रतिपक्षीहरु शुभ चिन्तकका रुपमा परीणत हुनेछन ।

मकर राशि – अध्यन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ । प्रतिपक्क्षी तथा प्रतीस्पर्दीहरुको बृद्धि हुन सक्नेछ । नयाँकाम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ तथापि साजेदारी काममा भने सजग रहनु राम्रो रहनेछ । मान्यजनको सहयोग द्वारा भाग्योदयको योग रहनेछ ।

कुम्भ राशि- मानसिक चन्चलताका कारण कार्य क्षेत्रमा तनाबको सामना गर्नु पर्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भाबना रहेको छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सन्तान सम्बन्धी समस्याले सताउन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

मिन राशि – सामान्य यात्रा पस्चात मान सम्मानको प्राप्ती हुन सक्नेछ । मान्यजनको सहयोग द्वारा भाग्योदयको योग रहनेछ । मित्रजनको अति सामीप्यतामा अहित हुन सक्नेछ । पारीवारिक सम्बन्धमा भने सामान्य समस्या उत्पन हुनेछ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।

छिमेकी मुलुकसँगको सम्बन्ध प्राथमिकतामा छ : परराष्ट्रमन्त्री

काठमाडौँ, १७ फागुन : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले छिमेकी मुलुकसँगको सम्बन्ध सधैँ प्राथमिकतामा रहेको उल्लेख गर्दै पारस्परिक विश्वास र सम्मानका आधारमा छिमेकीहरूसँग मैत्रीपूर्ण, सौहार्द्रपूर्ण र सहयोगात्मक सम्बन्ध रहेको बताउनुभएको छ ।

नेपाल विश्व सम्बन्ध परिषद्को ७६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले नेपालको परराष्ट्र नीति नेपालको संविधान, संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलका सिद्धान्त, अन्तरराष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताका आधारमा सञ्चालित रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “शान्ति र अहिंसाका प्रवर्तक बुद्धको जन्मभूमि नेपालले विश्व शान्तिको मान्यतालाई आफ्नो परराष्ट्र नीतिको आधारभूत आधार मानेको छ ।

कुनै पनि विवादलाई वार्ता र शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्छ भन्ने हाम्रो दृढ विश्वास छ ।” सो अवसरमा मन्त्री साउदले परिषद्ले विश्व मामिला र परराष्ट्र नीतिका विषयमा गुणस्तरीय प्रवचन र समृद्ध विचारविमर्शको परम्परालाई निरन्तरता दिन सकोस् भनी शुभकामना दिनुभयो । परिषद्का अध्यक्ष हेमन्त खरेलले संस्थाका गतिविधिबारे जानकारी गराउँदै परिषद्ले विगतदेखि नै विषयविज्ञ, प्राज्ञ, व्यावसायिकविज्ञ, राजनीतिज्ञ र कूटनीतिज्ञहरूबीच अन्तरक्रिया, बहस, छलफलका लागि मञ्च प्रदान गर्दै आएको उल्लेख गर्नुभयो ।

उहाँले यसले नेपालको नीति निर्माण प्रक्रियाको गुणस्तर र प्रभावकारिता बढाउनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । विकासका लागि साझेदारी विश्वव्यापी क्षेत्रको प्रमुख एजेन्डा भएको बताउँदै अध्यक्ष खरेलले नेपाल सरकार र विकास साझेदारहरूसँगको सामाजिक–आर्थिक सहयोगलगायत अन्तरराष्ट्रिय सम्बन्धलाई प्रवद्र्धन र सुदृढ बनाउने सम्बन्ध परिषद् अग्रणी संस्था भएको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री कप भलिबल : पुलिस र आर्मी सेमिफाइनलमा

किमाथाङ्का (सङ्खुवासभा), १७ फागुन : नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पुलिस क्लब समूह ‘ए’को विजेता तथा आर्मी क्लब उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेका हुन् । आज भएको खेलमा पुलिस क्लबले एपिएफ क्लबलाई ३–२ सेटले पराजित गरेको हो । पुलिस क्लबले उक्त खेल २९–२७, २५–२०, १६–२५ र १५–१२ अङ्कले जितेको हो । अर्को खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशलाई ३–२ सेटले हरायो । कर्णालीले कोशी प्रदेशलाई १८–२५, १९–२५, २५–२३ र १५–१२ अङ्कले हराएको हो ।

यस्तै आजै भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ३–२ सेटले नै पराजित ग¥यो । सुदूरपश्चिम सो खेलमा २५–१७, २६–२५, २५–२३ र १५–६ अङ्कले विजयी भयो । यही फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार, तृतीय हुनेले रु ५० हजार र चौथो हुने टोलीले रु ३० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

चीन र अमेरिका बीच विदेश नीति योजना परामर्शको नयाँ चरणको छलफल

चीन र संयुक्त राज्य अमेरिकाले फेब्रुअरी २७ गते शाङ्घाईमा नयाँ चरणको विदेश नीति योजना परामर्शको आयोजना गरेका छन् ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार सहायक विदेशमन्त्री तथा नीति योजना विभागका महानिर्देशक मियाओ देयु र अमेरिकी विदेश मन्त्रीको नीति योजना निर्देशक सलमान अहमदले उक्त परामर्श गर्नु भएको हो ।

दुवै पक्षले आ-आफ्नो परराष्ट्र नीति, अन्तरराष्ट्रिय परिस्थिति र क्षेत्रीय हटस्पट लगायतका मुद्दाहरूमा गहन छलफल गरेको बताइएको छ ।

गठबन्धन धर्मराएको छैन, बलियो जगमा उभिएको छ – अध्यक्ष नेपाल

चितवन, १७ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको गठबन्धनमा कुनै समस्या नभएको बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष नेपालले भन्नुभयो– “गठबन्धनमा त्यस्तो कुनै प्रश्न खडा भएको छैन । गठबन्धन धर्मराएको पनि छैन । बलियो जगमा उभिएको छ ।”

धेरै राजनीतिक दल गठबन्धनमा रहेकाले सामान्य समसया आउने उल्लेख गर्दै अध्यक्ष नेपालले ती समस्याको समाधान खोजिने बताउनुभयो । देखिएका समस्याको छलफलबाट उपाय निकालिने उहाँको भनाइ थियो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र आफ्नो पाटीको बैठक बसेको तथा बिचारहरु आएको उल्लेख गर्दै उहाँले बिचारको आधारमा कुन ढङ्गले अघि बढ्छन् त्यो हेर्न बाँकी रहेको बताउनुभयो । गठबन्धनमा देखिएका दरारलाई समाधान गर्दै अघि बढ्ने अध्यक्ष नेपालको भनाइ थियो ।

निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनामा बजेट र समन्वयको अभाव

काठमाडौँ, १७ फागुन : प्रत्येक निर्वाचन क्षेत्रलाई सडक सञ्जालबाट जोड्ने लक्ष्यका साथ सुरु गरिएको ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ आयोजनाको प्रगति अपेक्षित रुपमा हुन नसकेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको आजको बैठकमा सांसदहरुले आर्थिक वर्ष २०७७÷७८ देखि सुरु भएको एक सय ६५ निर्वाचन क्षेत्र केन्द्रीत आयोजनामा स्रोत तथा साधनको अभाव रहेको पाइएको बताउनुभएको छ । निर्वाचन क्षेत्रका एकभन्दा बढी स्थानीय तह जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम कार्यान्वयनको लागि रकम विनियोजन गरिएको उल्लेख भए पनि प्रर्याप्त बजेट उपलब्ध हुन नसक्दा अपेक्षित प्रगति हुन सकेको छैन । बजेटको विषयमा आवश्यक छलफलका लागि अर्थमन्त्री र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई छलफलमा बोलाउनुपर्ने सांसदहरुको राय थियो ।

‘निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माण तथा सञ्चालन मापदण्ड, २०७७’ बमोजिम सो आयोजना अगाडि बढाइएको हो । सडक विभागका अनुसार एक सय ६५ निर्वाचन क्षेत्र रणनीतिक सडकको कूल लम्बाई दुई हजार दुई सय १० किलोमिटर बराबर छ । ती सबै सडक कालोपत्र गर्ने योजना अनुसार काम भइरहेको छ । मापदण्ड अनुसार एउटा मात्रै निर्वाचन क्षेत्र भएका हिमाली जिल्लामा रु ६० करोड, एउटा निर्वाचन क्षेत्र भएका पहाडी जिल्लामा रु ५० करोड र दुई निर्वाचन क्षेत्र भएका जिल्लामा भने प्रतिनिर्वाचन क्षेत्र रु ४० करोड लागत रहने गरी सडक छनौट गरिएको थियो ।

बैठकमा सांसदहरु ठाकुर गैरे, गोकर्णराज विष्ट, निशा डाँगी, शङ्कर भण्डारीलगायतले सो परियोजनालाई थप गति दिनुपर्नेमा जोड दिँदै यथेष्ट स्रोतको विनियोजन गर्नुपर्ने, निर्माण कार्यमा देखिएको गतिअवरोध हटाउनुपर्ने बताउनुभएको थियो । सडक आयोजनामा बजेट अभाव, अन्तर सरकारी निकायबीच समन्वयको अभाव रहेको उल्लेख गर्दै बैठकमा सांसदहरुले समस्या समाधानका लागि ठोस पहल जरुरी रहेको बताउनुभयो ।

बैठकमा सांसदहरुले यस विषयमा थप छलफल आवश्यक रहेकाले अर्थमन्त्री र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई समेत आमन्त्रण गरेर थप प्रष्ट हुनुपर्नेमा जोड दिनुभएको समितिका सभापति दीपकबहादुर सिंहले जानकारी दिनुभयो ।

एक महिलालाई श्रीलङ्का लगेर बेचबिखन गरेको आरोपमा मियाँ पक्राउ

काठमाडौँ, १७ फागुन : नेपाल प्रहरीले मानव बेचबिखन कार्यमा संलग्न एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका–४ का ४७ वर्षीय मुर्तुजा मियाँ रहेका छन् । उनलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

कुवेतमा घरेलु काममा लगाईदिने प्रलोभनमा पारी एक महिलालाई श्रीलङ्का पु¥याई बेचबिखन गरेको आरोपमा मियाँलाई पक्राउ गरेको प्रहरीकोे मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो । मियाँले पीडित महिलालाई सुनौली हुँदै भारतको नयाँदिल्ली पु¥याइ त्यहाँका एजेन्टमार्फत श्रीलङ्का पठाएको अनुसन्धानका क्रममा खुलेको उहाँले बताउनुभयो ।

पीडित महिला श्रीलङ्का पुगेपछि त्यहाँ उनलाई ६८ दिनसम्म राहदानीलगायत कागजात जफत गरी बन्धक बनाएर राखेको खुलेको छ । उनलाई मानसिक यातना दिने तथा कुटपिट गर्ने गरेको पाइएको प्रवक्ता फुँयालले बताउनुभयो । पक्राउ परेका मियाँलाई जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

छाडा चौपाया व्यवस्थापनको चुनौती

शुक्रऋषि चौलागाईँ/काठमाडौँ – सनातन धर्म मान्नेहरूले जनावरलाई भगवान्सरह मान्दछन् । तिहारमा गाई, कुकुर, गोरुलाई पूजा गर्ने पनि गर्दछन् तर अघिपछि तिनै जनावरलाई घरबाट बाहिर छाडिदिने, लखेटिदिने पनि गरेको पाइन्छ । पशुधनीले गोठबाट निकालेका÷छाडेका चौपाया नै सडक, चोकमा आएका हुन् । छाडा चौपायाकोे व्यवस्थापन नै अहिले मुख्य टाउको दुखाइको विषय बनेको छ । लुम्बिनी प्रदेशका ठूला सहर नेपालगञ्ज, बुटवल, भैरहवा, तुलसीपुर, तौलिहवा, घोराही, कोहलपुर, परासीलगायतका सहरका लागि अहिले मुख्य चुनौतीका रूपमा छाडा चौपाया रहेको छ ।

सहर र राजमार्ग छेउछाउमा गाई, गोरुलगायतका छाडा चौपायाको बिगबिगी छ । नेपालगञ्जमा त झन् गाईगोरुसँगै गधा, घोडासमेत सडकमै देखिन्छन् । छाडा चौपायाहरू सवारीसाधन नै अवरुद्ध हुनेगरी बस्ने गरेका छन् । छाडा चौपायाका कारण दुर्घटनाको जोखिम पनि बढ्दो छ । छाडा चौपाया नियन्त्रणमा स्थानीय सरकार उदासिन भएको भन्दै सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरिएको पाइन्छ । छाडा चौपायाको नियन्त्रण र व्यवस्थापनमा पालिकालाई थप सकस भइरहेको छ ।

गाई÷गोरुको महत्व

हिन्दू र गाई/गोरु परिपूरक हुन्भन्दा हुन्छ । गाईबिना हिन्दू र हिन्दूबिना गाई परिकल्पना गर्न सकिन्न । अर्काेतिर गाई गुण नै गुणले भरिपूर्ण जनावर पनि हो । गाईलाई हिन्दू धर्ममा लक्ष्मी पनि भनिन्छ । यमपञ्चकको तेस्रो दिन लक्ष्मीको रूपमा गाईलाई पुजिन्छ पनि । गाईबिना स्वर्ग गइँदैन भन्ने मान्यताअनुसार हिन्दूहरूले जीवनको अन्तिमकालमा गौदान गर्ने गर्दछन् । गरुड पुराणअनुसार गाईको पुच्छर समातेर हिन्दूहरू बैतरणी नदी तरी स्वर्ग जान्छन् भन्ने विश्वास छ । गाई पूजाले करोडौंको धर्म हुन्छ भन्ने मान्यता पनि छ ।

हिन्दूहरूका हरेक खाले संस्कारमा गाईको गउँत प्रयोग गरिन्छ । विशेषतः शुद्ध हुनलाई गउँत चाहिन्छ । पवित्र कार्यमा शुद्ध पार्न गाईको गोबर पनि चाहिन्छ । गाईको दूध सबैभन्दा पोसिलो हुन्छ । गाईको दूध बालबालिका र वृद्धवृद्धाको लागि झनै फाइदाजनक हुन्छ । खेतीपातीको लागि गाई÷गोरुको गोबर÷गहुँत मलिलो मानिन्छ । हिन्दू धर्मालम्वीहरूले गोरुलाई पनि पूजा गर्दछन् ।

गोरु पनि सडकमै छाडिएको पाइन्छ । मुख्यतः खेतबारी जोत्नको लागि प्रयोग गरिने भए पनि अन्य समयमा पाल्न गा¥हो हुने भएपछि गोरु पनि सडकमै छोडिएको हो । जग्गा जोत्न गोरुको छुट्टै भूमिका हुन्छ । सडकमा छाडिएका साँडेको पनि आफ्नै महत्व छ । भगवान शिवजीको बाहन नन्दी भनी पूजा गर्ने गरी आशीर्वाद माग्ने चलन छ । गाई, गोरुको मललाई परम्परागत मलका रूपमा लिइए पनि खेतीबाली अन्न उब्जनीमा यसको प्रभावकारिता देखिन्छ । अर्गानिक मलका रूपमा यसले व्यापकता पाउँदै गएको छ । गोवर र गौ मूत्रबाट पनि आर्थिक लाभ लिन सकिन्छ । आयुर्वेदका अनुसार गौमुत्रबाट क्यान्सरलगायतका बिरामीले लाभ लिन सक्ने बताइएको छ । पछिल्लो समय वैज्ञानिकहरूले यसको पुष्ट पनि गरेका छन् ।

किन छाडिन्छन् गाई÷गोरु ?

पशुधनीले आफूले पालेका चौपाय किन सडकमा पु¥याउन्छन ? पशुरुहरू किन सडकमा ल्याइए ? पछिल्लो समय सडकमा विशेषगरी गाई, गोरु छोडने चलन बढ्दैछ । दूध देउञ्जेल पाल्ने, दूध दिन छाडेपछि गाई सडकमा छाडिदिने चलन छ । बाच्छी दूधका लागि पाल्ने तर बाच्छाहरू सडकमै पु¥याइदिने पनि गरिन्छ । चाड पर्ब तथा सामाजिक कार्यमा गाई चाहिने हाम्रो समाज, गाई मर्दा भने रमिते झैं हुन्छ । नाग पञ्चमीमा गोबर खोज्न हिड्ने । नागलाई दूध चढाउने । पितृ कार्य, बैबाहिक कार्य सबै काममा गाई चाहिने अनि एक मुठा घाँस दिएर पाल्न भने तयार नहुने, अचम्मको छ– हाम्रो समाज । पितृ उद्दारमा हजारौं रुपिया दान दिन तयार छ । एउटा भोको गाईलाई खुवाउन तयार छैन । भंैसी किन सडकमा छाडा छोड्दैनन् ? बाख्रा किन छाडा छोडिएन ? किनभने भैंसीको मासु खान्छन् । बाख्राको पनि मासु बिक्री हुन्छ । नगद आउँछ । तर गाईबाट के मिल्छ ?

गाई÷गोरु घरपालुवा जनावर हो । जहाँ छाडे पनि यो बस्ती छेउकै सडकमा आउँछ । यिनीहरूले सुख्खा ठाउँ मन पराउँछन् । त्यही भएर सडकमै बस्छन् । अहिले सडकका गाई वस्तु नियन्त्रण गर्दै काञ्जीहाउसमा पु¥याइए पनि सडकमा वेवारिस अवस्थामा छाडिने गाई गोरुको सङ्ख्यामा कमी आएको छैन । पशु धनीको पहिचानको अभावमा अहिले छाडा पशु बढेको हो । बजार सडकमा गाई÷गोरु कति छन् ? भन्ने नै यकिन छैन । पछिल्लो समय त भारतीय सीमाबाट पनि गाई, गोरुहरू आएको अनुमान गरिएको छ । काम लाग्दाको भाँडा नचाहिंदाको ठाँडा भने झैं काम छउन्जेल गाईवस्तु पुज्ने, पाल्ने अनि काम सकिए, सडकमा फ्याँकीदिने प्रवृत्ति छ । यो हिन्दू मात्र हैन, मानव संस्कृति पनि होइन ।

व्यवस्थापनको पहल खै ?

जहाँ समस्या छ, त्यहाँ समाधान पनि छ । समाधान बिनाको समस्या कहीँ हुँदैन । छाडा चौपायाको पनि समाधान छ तर पुरानै सोच र शैलीले मात्र सम्भव छैन । अहिलेको चुनौती भनेको गाई वस्तुलाई सडकमै आउन नदिनु र आएकालाई संरक्षण गर्नु नै हो । सडकका गाई वस्तु काञ्जीहाउस÷आश्रयस्थल पु¥याएर मात्र पालिकाको दायित्व पूरा भएको ठहरिदैन । कतिपय पालिकाले पशु पक्रने र कान्जीहाउस पु¥याउने गरिरहेकै छन् तर यो दीर्घकालीन उपाय हैन । काञ्जीहाउसमा राखिएका गाई खानै नपाएर मरिरहेका समाचार पनि बेलाबेला आइरहेको छ । खान नपाएर पेट्मा ग्यास भरिएर उपचारमा समेत समस्या आएको छ । काञ्जीहाउस ठेक्का प्रक्रियामार्फत सञ्चालन गरिनुपर्छ ।

पशु सडकमा आउन नदिन र आएका पशु नियन्त्रण गर्न नयाँ सोच र विधि अपनाउन जरुरी छ । स्थानीय कानुन समेत बनाउन सक्ने सरकारले सम्वद्ध विज्ञ र सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा पहलकदमी लिन अब ढिलाई गर्नु हुँदैन । प्रथमतः सडकमा पशु छोड्नै दिन हुँदैन । छाडा पशुलाई कारवाही हैन, पशुधनीको पहिचान गरेर निजलाई कारवाही गरिनुपर्छ । कारवाहीका लागि नयाँ मापदण्ड पनि बनाइनु पर्छ । पशु चौपाया पालनमा पनि मापदण्ड बनाउनु पर्ने हुन्छ । अनुमतिबिना गाईलगायतका चौपाया पालन गर्न बजार क्षेत्रमा रोक लगाइनु पर्छ । जनावरको ‘ट्याग’ गरेर लगत राख्ने अनि पशुधनीलाई कारबाहीको दायरामा ल्याउने गर्नु पर्छ । गाई÷गोरुलाई सडकमा छाडेर पशु धनीले हिंसामाथि हिंसा गरिरहेका छन् । गाई वस्तुलाई सडकमा पु¥याइनु अबोध, निरीह प्राणी माथिको अत्याचार पनि हो । यस्ता पशुधनीलाई कानूनी रूपमा कारबाही र सामाजिक रूपमा हतोत्साही गरिनुपर्छ । गाईसहितका पशु चौपायाको व्यवस्थापनका लागि पर्याप्त जग्गा भएको भौतिक संरचनासहितको आश्रयस्थल बनाउनु पर्छ ।

केही सहरमा काञ्जीहाउस, आश्रयस्थल निर्माण त गरिएका छन् तर तिनको प्रभावकारी व्यवस्थापन र दीर्घकालीन स्थायित्व भने खोजिएको छैन । फुल्टेक्रास्थित काञ्जीहाउस साँघुरो भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले केही वर्षअघि वडा नं २१ मा कान्जीहाउस सञ्चालनमा ल्यायो । केही कर्मचारी खटाएर गाईगोरुलाई कान्जीहाउसमा त थुनियो तर तिनीहरूका लागि आवश्यक खानेकुराको सही व्यवस्थापन गर्न अहिले पनि हम्मेहम्मे छ ।

तिलोत्तमा नगरपालिका–१ र ८ को बीचमा कहरिया सामुदायिक वनमा गौशाला बनाएर छाडा गाईवस्तु राखिएको छ । यस्तै घोराहीमा पनि सामुदायिक वनको सहयोगमा छाडा पशु चौपाया नियन्त्रण गरिएको छ । छाडा चौपायाको समस्या दीर्घकालीन समाधान गर्न बुटवल उपमहानगरपालिकाले छिमेकी पालिकाहरूसँग समन्वय गरी प्रदेशस्तरको गौ संरक्षण केन्द्र बनाउने योजना बनाएको छ तर खासै पहल भने गरेको छैन । यस्तै तौलिहवामा सडकमै गाईगोरुको बथान देखिन्छ । तर नगरपालिकाले खास पहल गर्न सकेको छैन । यस्तै अन्य पालिकाले पनि छाडा चौपाया एउटा ठाउँबाट अर्को ठाउँ धपाउनेबाहेक ठोस पहल गरेको देखिँदैन ।

छाडा चौपाया नियन्त्रणको प्रयास गरे पनि दीर्घकालीनरूपमा समाधान गर्न सकिएको छैन । एउटा पालिकाले मात्रै चाहेर समाधान नहुने भएकाले सामूहिक प्रयत्नस्वरुप प्रदेश सरकारले नै अगुवाइ गर्नुपर्ने हुन्छ । स्थानीय तहले गर्दा कतै वनसँग कुरा नमिल्ने, कतै राजनीतिकरण हुनेजस्ता समस्या देखिएकाले प्रदेशले नै गौशाला बनाउँदा दीर्घकालीनरूपमा समाधान निकाल्न सकिन्छ । तर नीतिगतरूपमा स्थानीय सरकारको अधिकार क्षेत्रमा पर्ने भएकाले प्रदेशस्तरको गौशाला निर्माण गर्न नमिल्ने देखिन्छ । छाडा चौपाया व्यवस्थापनको समस्या छ भन्ने सबैलाई थाहा छ । समस्याबाट भाग्ने छुट कसैलाई पनि छैन । यसर्थ समाधान खोज्न लाग्ने हो भने स्थानीय सरकार र प्रदेश सरकारबीचको छलफलबाटै निकास खोजिनुपर्छ । नीतिगत पहलबाटै दीर्घकालीन व्यवस्थापन खोजिनुपर्छ ।(लेखक नेपालगञ्जका क्रियाशील पत्रकार हुनुहुन्छ)

उपचार नपाएर अकालमा कसैले ज्यान गुमाउनुपर्दैन – स्वास्थ्यमन्त्री बस्नेत

ढोरपाटन (बागलुङ), १७ फागुन: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अब कुनै पनि नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाउनु नपर्ने बताउनुभएको छ ।

बागलुङको पञ्चकोटमा आयोजित अनन्त श्री ब्राह्माण्डीय महायज्ञका अवसरमा आयोजित पूर्वीय चिकित्सा शिक्षा पद्धति र जनस्वास्थ्य विकास सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले दूरदराजमा स्वास्थ्य सेवाको पहुँच पुर्याउँदै गएको बताउनुभयो ।

दक्ष जनशक्तिलाई उत्पादन गर्दै सबै ठाउँमा पठाएर नागरिकको उपचार गर्न थालिएको उहाँको भनाइ छ । चिकित्सकको दरबन्दी बढाउनका लागि मन्त्रालय लागिपरेको भन्दै सरकार नागरिकको जीवनरक्षाका लागि गम्भीर भएर लागेको मन्त्री बस्नेतले बताउनुभयो ।

पछिल्लो समय धेरै नागरिकमा मिर्गौला फेल हुने समस्या देखिएको भन्दै यसबाट बच्नका लागि जीवनशैली बदल्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले डायलायसिस गराइरहनुभन्दा जतिसक्दो चाँडो मिर्गौला प्रत्यारोपण गराउने राम्रो विकल्प भएको बताउँदै प्रत्यारोपण गरेपछि सरल तरिकाको जीवन जिउन सकिने बताउनुभयो ।

“अब पैसा नभएर उपचार नपाएर कसैले पनि अकालमा ज्यान गुमाउनुपर्ने छैन, सरकारले सबै क्षेत्रमा स्वास्थ्य सुधार गर्नतर्फ लागेको छ, अब सामान्य उपचारका लागि एक दिन खर्चनुपर्ने बाध्यता हट्दै गएको छ, घर नजिकैसम्म स्वास्थ्य संस्थाहरू सञ्चालनमा आइरहेका छन्, सोहीअनुसार जनशक्ति पनि व्यवस्थापन गर्दैछौँ”, मन्त्री बस्नेतले भन्नुभयो, “तल्लो तहका सरकारसँग सहकार्य गरेर पहिलेका अञ्चल अस्पताल सुधार गर्दै गइरहेका छौँ, हरेक निजी अस्पतालमा गरिब तथा विपन्न वर्गलाई १० प्रतिशत छुट गर्ने व्यवस्था हुन थालेको छ ।”

चिकित्सा शिक्षा ऐन सुधार गरेर धेरै विद्यार्थीलाई पढ्न पाउने व्यवस्था गरिरहेको भन्दै देशका कुनाकाप्चामा नर्सिङ र प्यारामेडिक पढ्न पाउने व्यवस्था मिलाउन थालेको र एक हप्तामा त्यसको टुङ्गो लाग्ने उहाँले बताउनुभयो ।

आम नागरिकले पनि जीवनशैली परिवर्तन गर्नुपर्नेमा उहाँको जोड थियो । पछिल्लो समय स्वास्थ्यमा ध्यान नदिँदा प्राणघातक रोगको सिकार बन्नुपरेको भन्दै उहाँले जीवनशैली बदल्नुपर्ने, शारीरिक व्यायामलाई निरन्तरता दिनुपर्ने भनाइ राख्नुभयो । सरकारले आयुर्वेद क्षेत्रको विकास गर्न थालेको भन्दै गण्डकी प्रदेश आयुर्वेद औषधिका लागि उर्वर क्षेत्र रहेको उहाँको भनइ थियो ।

मन्त्री शर्माले भनिन् – अनलाइनबाट हुने हिंसा न्यूनीकरण गर्न डिजिटल साक्षरतालाई व्यापक बनाउनुपर्छ

काठमाडौँ, १७ फागुन: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अनलाइनका माध्यमबाट हुने हिंसालाई न्यूनीकरण गर्न डिजिटल साक्षरतालाई व्यापक बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय महिला आयोगले आज यहाँ आयोजना गरेको ‘अनलाइनमा महिला सुरक्षा’ अन्तरक्रियामा मन्त्री शर्माले अनलाइनको खतराको विकसित प्रकृतिलाई न्यूनीकरण गर्न स्थानीयस्तरसम्म डिजिटल शिक्षालाई विस्तार गर्न जरुरी रहेको बताउनुभयो ।

“प्रविधि आफैँमा पूर्वाग्रही हँुदैन । हिंसाको अन्त्य गर्न प्रविधिको भूमिका महत्त्वपूर्ण छ । अनलाइनको सदुपयोग गर्न सकेमा हामीले धेरै लाभ लिन सक्छौँ”, उहाँले भन्नुभयो, “सरकारी, गैरसरकारी संस्था, सञ्चारमाध्यम तथा विद्यालयस्तरका पाठ्यक्रममा अनलाइनको सदुपयोगबारे सचेतना जगाउन आवश्यक छ ।” उहाँले डिजिटल शिक्षालाई ग्रामीणस्तरसम्म विस्तार गर्न जरुरी रहेको समेत उल्लेख गर्नुभयो ।

मन्त्री शर्माले अनलाइनबाट हुने हिंसाको न्यूनीकरणसम्बन्धमा सरकारले कानुनी व्यवस्था गरी सम्बोधन गर्ने बताउनुभयो । “विश्वव्यापी सामाजिक सञ्जालको प्रयोग र नियमनलाई सरकारले बेवास्ता गर्न सक्दैन । यसबारे सरकार सजग छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय साइबर सुरक्षा नीति, सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) ऐनमा गरिएका व्यवस्थाले अनलाइनबाट हुने हिंसा न्यूनीकरणमा सहयोग गर्नेछ ।”

महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले प्रविधिलाई जीवनोपयोगी बनाउन जरुरी रहेका बताउनुभयो । “अनलाइनबाट हुने महिला हिंसा निवारणमा आयोगले सञ्चालन गरेको यो कार्यक्रम आरम्भमात्र हो । आयोगका गतिविधिलाई गुणात्मक, परिणात्मक बनाउन सबै सरोकारवालासँग समन्वय, सहकार्य गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष पराजुलीले लैङ्गिक हिंसा निवारण, बदलिँदो हिंसाका स्वरुपलगायतका विषयलाई विद्यालयस्तरका पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले अनलाइनमा महिला सुरक्षाका अवस्था, समस्या तथा चुनौती र समाधान सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले चालु आर्थिक वर्षको माघसम्म अनलाइनमार्फत पीडित भएका महिलाबाट पाँच हजार एक सय ३१ निवेदन आएको जानकारी दिनुभयो । उहाँले पछिल्लो समय आर्थिक ठगीका निवेदन बढी आएको उल्लेख गर्नुभयो ।

ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्रचार्यले अनलाइनबाट महिला हिंसाका गतिविधि न्यूनीकरण हुन महिला आफैँ सजग, सचेत हुन पनि जरुरी रहेको बताउँदै महानगरपालिकाले कानुनी सचेतनाका कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले महिला हिंसा न्यूनीकरणमा महिला, पुरुष दुवै साथसाथै अगाडि बढ्न आवश्यक रहेको औँल्याउँदै महिलालाई सशक्तीकरण गर्न आरक्षण नभई अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल दुरसञ्चार प्राधिकरण उपनिर्देशक रोजाकिरण बासुकलाले अनलाइनबाट हुने महिला हिंसा न्यूनीकरणमा अनलाइन सेवा प्रदायकको भूमिकाका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले प्रविधिको प्रयोग गरी हुने महिला तथा बालिका हिंसाका बदलिँदो चुनौतीलाई अवसरको रूपमा रुपान्तरण प्रविधिमार्फत गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा सरोकारवाला पक्षले लैङ्गिक हिंसा निवारणमा एकीकृत कानुन आवश्यक रहेको, समस्या समाधानमा व्यक्ति, परिवारको भूमिका प्रमुख रहने, प्रविधिको सदुपयोग गर्नुपर्नेलगायतका विषय उठान गर्नुभएको थियो । ‘महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नारासहित एक सय १४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइने भएको छ ।