`

भरतपुर अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्य बन्न सक्छः अध्यक्ष नेपाल

Nepal One HD १८ फागुन २०८० १८:२५
राजनीति

भरतपुर, १८ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भरतपुरलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्य बनाउन सकिने बताउनुभएको छ ।

आज चितवनको नारायणी नदी किनारमा आयोजित भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा अध्यक्ष नेपालले यहाँको विकास र पर्यटकीय सम्भावनाले भरतपुरलाई अन्तर्राष्ट्रिय पर्यटकीय थलो बनाउन सकिने बताउनुभएको हो ।

“यहाँ गैँडा, पाटेबाघ, घडियाल गोही, साइबेरियन चरा र वनस्पति देख्न पाइन्छ”, उहाँले भन्नुभयो, “यहाँको प्राकृतिक विविधताले पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।” उहाँले चितवनमा विभिन्न जातजाति, भाषाभाषीको बसोबास रहेको भन्दै यहाँको विविधता हेर्न पर्यटक आउने गरेको बताउनुभयो ।नेपालको केन्द्रमा रहेको भरतपुर महानगरपालिका उत्कृष्ट नगरपालिकाको दर्जा पाएको भन्दै यहाँको विकास निर्माण अन्य पालिकाका लागि पनि उदाहरण बनेको उल्लेख गर्नुभयो ।

विकासका लागि सडक पूर्वाधार मात्र नभई अन्य सूचकसमेत उत्कृष्ट हुनुपर्ने भन्दै त्यसमा भरतपुरले ध्यान दिएको बताउनुभयो । जनताले दिएको सल्लाह र आलोचनाले सही बाटोमा हिँड्न प्रेरित गर्ने भन्दै राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई जनताले नै दण्डित गर्ने बताउनुभयो ।

नेता नेपालले सङ्घीय, प्रदेश र स्थानीय सरकारले आपसमा समन्वयमा काम गरेर जनताका आवश्यकता पूरा गर्ने गरी विकास गर्न सकिने बताउनुभयो । भ्रमण वर्षसँगै भरतपुरलाई सबै क्षेत्रको हबको रुपमा विकास गर्नुपर्ने नेता नेपालको धारणा थियो ।


प्रतिक्रिया