`

राजनीतिसँगै कृषिकर्ममा पूर्वप्रमुख चौधरी, बीउ बेचेरै गर्छन् १० लाखसम्म आम्दानी

सिरहा, १७ फागुन :

ज्यूँदै मर्‍याको भनि नाम छ कस्को ?
उद्यमबिना बित्तछ काल जस्को ।

आदिकवि भानुभक्त आचार्यको प्रश्नोत्तरी कविताका यी पङ्क्ति उद्यम गर्नेका लागि प्रेरित छन् । तर धेरैले यसको भाव अनुशरण गरेका हुँदैनन् । अझ राजनीतिमा सक्रिय अधिकांश मानिसहरू त कुनै इलमबिनै रहरलाग्दो जीवन बाँचिरहेका पनि देखिन्छन् । एकपटक सार्वजनिक लाभको पद र जिम्मेवारी बहन गरिसकेपछि बाँकी के चाहियो र ? भन्नेहरू पनि छन् । तर यो धारणा सधैँ र सबैका लागि लागू नहुनसक्छ । त्यसैको उदाहरण हुनुहुन्छ सिरहाको धनगढीमाई नगरपालिकाका पूर्वप्रमुख हरिनारायण चौधरी ।

विसं २०७४ को स्थानीय निर्वाचनबाट नगरप्रमुख हुनुभएका चौधरीले आफ्नो कार्यकाल सकिएसँगै राजनीतिसँगै कृषिलाई मुख्य पेसा बनाउनुभएको छ । “सार्वजनिक पदमा हुँदा वा नहुँदा पनि मैले कृषिकर्म छोडिनँ । मलाई माटोमा नङ्ग्रा खियाउन, भकारो सोर्न, डोको बोक्न कहिल्यै अप्ठ्यारो लागेन । मेरो यो कर्म पछिल्लो एक दशकदेखि चलिरहेको छ”, चौधरीले रासससँग भन्नुभयो, “नगरप्रमुखको जिम्मेवारी सकिएपछि त झनै सक्रियताका साथ लागेको छु । काम त गरिखानुपर्यो नि सबैले ।”

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसमेत रहनुभएका चौधरीले आफ्नो आम्दानीको स्रोत नै कृषि पेसा बताउनुभएको छ । उहाँले डेढ बिघामा तोरी, दुई बिघामा हिउँदे मकै र अढाई बिघामा घाँसखेती गरिरहनुभएको छ । एउटै याममा १५ क्विन्टल तोरी, ९० क्विन्टल हिउँदे मकै र घाँस तथा बीउ बेचेर करिब रु १० लाखसम्म आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो ।

“राजनीतिमा नाम छ तर आर्थिकरूपमा जीवन धान्न धौधौ छ । राजनीति विशुद्ध समाजसेवा हो । त्यसैले परिवारको जोहो टार्न र जीवनयापन गर्न केही त गर्नैपर्छ”, चौधरी भन्नुहुन्छ, “त्यसैकारण मैले व्यावसायिक कृषि सुरु गरेको हुँ । अहिले राजनीतिमा मात्रै हुँदाजस्तो आर्थिक अभाव झेल्नुपरेको छैन ।”

उहाँ सार्वजनिक पदधारण गरेका हरेक व्यक्तिको जीवनशैली पारदर्शी हुनुपर्ने भन्दै त्यसको उदाहरण आफैँबाट सुरु गर्नुपर्ने मान्यतासहित उद्यममा जोडिएको बताउनुभयो । “सार्वजनिक ओहोदामा रहेका व्यक्तिबारे गलत धारणा छ । काम नगरेरै बाँचिरहेका छन् भन्ने आरोप बारम्बार सुन्नुपरिरहेको छ । त्यो स्वाभाविक पनि हो । समाजलाई डोहोर्याउने जिम्मेवारीमा रहेका नेतृत्वकर्मीले बोलेरभन्दा पनि व्यवहारबाटै जवाफ दिन आवश्यक छ । अहिले कृषिकर्ममा जोडिएपछि मैले परिवारको जीवनयापन सहजरूपमा गर्न सकेको छु । साथै राजनीतिकर्मीका रूपमा लाग्ने गरेको आरोपबाट पनि मुक्ति मिलेको आभास हुने गरेको छ”, उहाँले भन्नुभयो ।

राजनीतिकर्मी वा सार्वजनिक ओहदामा बसेका व्यक्तिलाई उद्यमबाट आर्जेको पैसाभन्दा त्यसबाट कमाएको इमान र प्रतिष्ठाले अझ बढी खुसी मिल्ने गरेको बताउने चौधरीले अहिले तीन छोराछोरीको पढाइ, घरपरिवारको लालनपालन र आवश्यकतामा ढुक्कले दुई पैसा खर्च गर्ने साहस पनि बढेको बताउनुभयो ।

चौधरीको व्यावसायिक कृषिकर्ममा बढेको लगावले परिवारको आम्दानीमात्रै बढेको छैन त्यसबाट आर्जेको सामाजिक प्रतिष्ठाले अझ बढी खुसी दिने गरेको छ । त्यो खुसीले उहाँकी श्रीमती बचकुनदेवी चौधरीको खुसीको दायरा पनि फराकिलो बनाएको छ । “गाउँघरमा राजनीतिकर्मी केही गर्दैनन् भन्ने आरोप सुन्छु । पहिले मेरो श्रीमान्को पनि कुरा काटेको सुन्थेँ । मन अमिलो हुन्थ्यो”, बचकुनदेवीले भन्नुभयो, “श्रीमान्ले राजनीतिलाई समाजसेवा र कृषिकर्मलाई आम्दानीको स्रोतका रूपमा अपनाएपछि अहिले भने राम्रो प्रतिक्रिया सुन्छु । त्यसो सुन्दा राजनीतिक नाम, पद, पैसाभन्दा उद्यमबाट आर्जेको प्रतिष्ठा ठूलो हुँदोरहेछ जस्तो लाग्यो । र यसले निकै खुसी हुन्छ ।”

चौधरीले कृषिकर्म गरे पनि पार्टी काम छोड्नुभएको छैन । त्यसरी राजनीतकर्ममा व्यस्त भएका बेला खेतीपाती सम्हाल्ने सारथी पनि श्रीमती बचकुनदेवी नै हुनुहुन्छ ।

उत्पादनसँग जोडिऔँ

अधिकांश जनता कृषि पेसामा भए पनि राज्यको लगानी र सामाजिकरूपमा हेयको दृष्टिले हेर्दा उचित लाभ लिन नसकिएको चौधरीको बुझाइ छ । उहाँले कृषिबाटै नेपाललाई समृद्ध बनाउने सोचसहित अगाडि बढ्नुपर्ने जरुरी रहेको बताउनुभयो । सोही भावनाअनुसर आफू नगरप्रमुख भएका बेला धनगढीमाई नगरपालिकाका किसानलाई प्रोत्साहन, आलु पकेट क्षेत्र घोषणा र सहयोगलगायतका काम गरेको उहाँले सुनाउनुभयो ।

“हामीसँग उर्बर माटो छ । अनुकूल वातावरण छ”, उहाँले भन्नुभयो, “सिँचाइ सुविधा, समयमै मलखाद, कृषि पूर्वाधारमा लगानी, उत्पादनको बजारीकरण गर्ने राज्यको नीति र आफ्नो माटोलाई माया गर्ने हुने हो भने यहाँ अन्न मात्र होइन सुनै फलाउन सकिन्छ भन्ने आत्मविश्वास नागरिकमा जगाउन जरुरी छ ।”

जनतालाई परिवर्तनमा ल्याउने तथा आत्मनिर्भर र राष्ट्रिय स्वाभिमान निर्माण गर्ने माओवादीका नेता कार्यकर्ताले त उत्पादनमा जोडिएर उदाहरण पेस गर्नुपर्ने बेला आएको चौधरीको भनाइ छ । माओवादीले विसं २०६९ माघमा हेटौँडामा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनमा पार्टीका नेता, कार्यकर्ता उत्पादनसँग जोडिने नीति पास गरे पनि त्यसअनुसार हुन नसकेकामा चौधरीको चित्त दुखाइ छ ।

“जनयुद्धमा हुँदाका सपना त छँदैछन् । हाम्रो पार्टीको हेटौँडा महाधिवेशनले उत्पादन ब्रिगेडको नीति अख्तियार गर्यो तर नेताहरूले सोअनुसारको व्यवहार अङ्गिकार गर्न सकिएन । हरेक नागरिक र पार्टी सदस्यलाई श्रम र उत्पादनसँग नजोडी विकास र समृद्धिको सपना पूरा हुन सक्दैन । त्यसैले अधिकांश युवाहरू विदेशिइरहेको बेला नेपालका पार्टीहरूले नै श्रम र उत्पादनसँग जोड्ने अभियान सुरु गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

राजनीति पेसा होइन, सेवा हो

राजनीतिलाई सेवाभन्दा पनि पेसा बनाउने प्रवृत्ति बढ्दै गएकामा पनि चौधरीको चिन्ता छ । देशमा बेतिथि र कुशासनको जड पनि परनिर्भर संस्कृतिको विकास हो भन्ने चौधरी आफ्ना दैनिक आवश्यकता चलाउनसमेत आम्दानीको स्रोत नभएका व्यक्तिहरूबाट राजनीति स्वच्छ हुन्छ भन्ने कुरा नागरिकले पत्याउन छाडिसकेको धारणा राख्नुहुन्छ ।

“राजनीतिमा उद्योग, व्यापार, जागिर वा आयआर्जनको अरु केही कुरा छैन तर पनि अधिकांशले ऐयासी जीवन बिताइरहेका छन् । त्यो प्रवृत्तिबाट देशको हित हुन सक्दैन र नागरिकलाई आशावादी पनि बनाउन सकिँदैन”, चौधरी भन्नुहुन्छ, “समृद्धि, सुशासन, निराशाको अन्त्य र आम युवाहरूमा आशाको सन्देश फैलाउन पनि हरेक पार्टी र पार्टीका नेता, कार्यकर्ता उद्यमशील बन्न सक्नुपर्छ । म आफैँले त्यो बाटो रोजिसकेको छु । अरुलाई पनि आह्वान गर्छु ।”

भित्ते चित्र बनाउँदै काठमाडौँ महानगरपालिका

काठमाडौँ, १७ फागुनः काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रका सार्वजनिकस्थलको सुन्दरताका लागि भित्ते चित्र बनाउने भएको छ ।यसका लागि कामपाले ललितकला प्रज्ञा प्रतिष्ठानसँग सम्झौता गरिसकेको छ । पहिलो चरणमा माइतीघरबाट बबरमहलको दायाँतर्फको पर्खाल, प्रदर्शनीमार्गका पर्खाल, अन्तरराष्ट्रिय विमानस्थल बाहिरको पर्खालका साथै मीनभवन र लैनचौरस्थित समाजकल्याण परिषद्को पर्खालमा भित्ते चित्र बनाउनका लागि स्वीकृति दिइसकिएको कामपा सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्यले जानकारी दिनुभयो ।

स्वीकृत भएका नमूनाबमोजिम ती स्थानमा प्रतिष्ठानले भित्ते चित्र बनाउने भएको छ । यो काम २०८१ जेठ मसान्तसम्ममा सम्पन्न गरिने प्रमुख शाक्यले भन्नुभयो । भित्ते चित्र बनाउन प्रतिष्ठानले स्थान र क्षेत्रफलसहितको कार्ययोजना पेस गर्नेछ । स्वीकृत कार्ययोजनाका आधारमा काम हुनेछ ।

चित्र बनाउन प्रतिष्ठानले व्यक्ति र संस्थाहरूसँग सम्झौता गरेर काम लगाउन सक्नेछ । यसरी काम लगाउँदा सम्झौता गर्ने, कार्यादेश दिने, मूल्याङ्कन गर्ने, भुक्तानी दिने, जवाफदेहिता बहन गर्ने दायित्व प्रतिष्ठानकै हुनेछ । यसका लागि कामपाले रु ५० लाख उपलब्ध गराउनेछ । सम्झौता भएपछि ६० प्रतिशत (रु ३० लाख) र कार्यसम्पन्न भइसकेपछि ४० प्रतिशत (रु २० लाख) प्रदान गरिने बताइएको छ ।

सम्पदा चिनारीका लागि क्यूआर कोड

कामपाले नन्दीकेशर मन्दिर, शङ्करकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको चिनारीसम्बन्धी जानकारी दिन क्यूआर कोड राखेको छ ।सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका स्मारक घुम्न आउने आगन्तुकले सजिलै जानकारी पाउन सकुन् भनेर वडा कार्यालयले प्रविधिको प्रयोग थालेको हो, वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठले भन्नुभयो, “अहिले घुम्न आउने जसले पनि स्मार्ट फोन बोकेको हुन्छ । क्यूआर स्क्यान गरेपछि मन्दिरको प्राचीन इतिहास, यससँग सम्बन्ध जोडिएका जात्रा पर्व, सामाजिक तथा धार्मिक संस्कारलगायत विषय जान्न कसैलाई सोध्नु नपरोस् भनेर यस किसिमको व्यवस्था गरिएको हो ।”

क्यूआर कोडमा नेपाली, अङ्ग्रेजी, जर्मनी, हिन्दी, फ्रेन्च, चिनियाँ, कोरियाली, स्पेनी, जापानी र अरेविक गरी १० भाषामा अडियो सुन्न सकिन्छ । वडा नं १ मा चारवटा प्राचीन ढुङ्गेधाराका साथै नागपोखरी, हिटीपोखरी, चतुर्भुज नारायण, गोमा गणेश, नन्दीकेशर बगैँचा, हरिहर नारायण (आधा विष्णु आधा शिव), साइ केन्द्र, सोराहिटी, जमल विहार, लाल गणेशजस्ता सांस्कृतिक सम्पदा छन् ।

दैनिक गरिने योगले शारीरिक र मानसिक स्वास्थ्यलाई स्वस्थ बनाउने योगविद्हरुको भनाइ

बलेवा (बागलुङ), १७ फागुनः कोरोना महामारीका समयमा योग र ध्यानले अलि बढी चर्चा पायो । बिरामीमा आयुर्वेदिक पद्धति अपनाउने र योग ध्यान गर्ने बानी बढ्न थाल्यो । पछिल्लो समय योग, ध्यान र खेलकुदका गतिविधि बढ्न थाल्नाका साथै मानसिक स्वास्थ्यमा सुधार आएको जानकारहरू बताउँछन् ।

दैनिक गरिने योगले शारीरिक र मानसिक स्वास्थ्यलाई स्वस्थ बनाउने योगविद्हरुको भनाइ छ । बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको आठौँ दिन योग तथा खेल सम्मेलनमा विज्ञहरूले नेपाल योगको भूमि भएको बताए । उनीहरूले योगले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यलाई सवल बनाउनेमा जोड दिए ।

सम्मेलनमा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले समृद्ध देशको लागि पहिले सर्वसाधारणको आर्थिक र मानसिक स्वास्थ्य समृद्ध हुनुपर्ने बताउनुभयो । समृद्धिका कुरा गर्नुपूर्व स्वास्थ्यमा समृद्धिको खोजी अहिलेको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

“हामी समृद्धिको कुरा गर्दछौं”, उपसभामुख रानामगरले भन्नुभयो, “जबसम्म जनता आर्थिक र मानसिकरूपमा स्वस्थ र समृद्ध हुँदैनन् तबसम्म देश पनि समृद्ध हुँदैन । योग, ध्यान र खेलकुदले मानसिक र शारीरिक स्वास्थ्य सवल बनाउन सहयोग गर्छ ।”

योग–ध्यान आरोग्य सञ्जाल नेपालका अध्यक्ष डा सुवास घिमिरेले योग गर्नाले व्यक्ति आफैँ स्वस्थ हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सोच बदल्नुहोस् खुसी आफैँ मिल्छ, स्वभाव बदल्नुहोस् इज्जल आफैँ मिल्छ । योग गर्नुहोस् स्वास्थ्य आफैँ मिल्छ । सही बाटो समात्नुहोस् बाटो आफैँ मिल्छ ।” सम्मेलनमा योग तथा तेक्वान्दो, उसु, करातेका खेलाडीले आ–आफना खेलको नमूना प्रस्तुत गरेका थिए ।

वायुसेवा निगम सुधार प्रतिवेदन कार्यान्वयन सिफारिस समितिले बुझायो चौथो प्रतिवेदन

काठमाडौँ, १७ फागुनः नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयन सिफारिस समितिले चौथो प्रतिवेदन बुझाएको छ ।

पूर्वक्याप्टेन कुलबहादुर लिम्बु नेतृत्वको सो समितिले आज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, मन्त्रालयका सचिव दीपक काफ्ले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई संयुक्तरुपमा प्रतिवेदन बुझाएको हो ।

समितिले बुझाएको प्रतिवेदनमा मुख्यगरी चार वटा बुँदा समावेश गरिएको छ । पहिलो बुँदमा आन्तरिक लेखापरीक्षण प्रभावकारी बनाउने, दोस्रोमा सञ्चालक समितिको निर्णय र निगमको सशासन प्रभावकारी बनाउन लेखा समिति बनाउने, तेस्रोमा निगमलाई आर्थिकरुपले प्रभावकारी बनाउन सोल्टी होटलको सेयर विक्री गर्ने उल्लेख छ । त्यस्तै चौथो बुँदामा निगमको यथार्थपरक व्यावसायिक कार्ययोजना बनाउने उल्लेख गरिएको छ ।

प्रतिवेदनको प्रभावकारी कार्यान्वयनका लागि मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्षलाई निर्देशन दिनुभयो ।

अर्थतन्त्रलाई थप गतिशील बनाउन सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाउनुपर्नेमा सांसदको जोड

काठमाडौँ, १७ फागुन : सांसदहरुले मुलुकको अर्थतन्त्रलाई थप गतिशील बनाउन सरकार र निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाएर लैजानुपर्नेमा जोड दिनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सम्पत्ति शद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागको कामकारबाहीका सम्बन्धमा छलफलका क्रममा सांसदहरुले राजस्व चुहावट नियन्त्रण, सम्पत्ति शुद्धीकरण र कर छलिबारे नकारात्मक धारणा बनिरहेको भन्दै यसका लागि नीतिगत सुधार जरुरी भएको उल्लेख गर्नुभयो ।

सांसदहरुले राजस्व विभाग र सम्पत्ति शुिद्धकरणको विषयलाई प्रविधिमैत्री र प्रभावकारी बनाउन भनिरहँदा निजी क्षेत्रका व्यवसायीले भने नियमनकारी निकायको दोहोरो तेहोरो दबदबा, व्यवसायीलाई प्रोत्साहन गर्ने कानुनअभाव जस्ता गुनासा पोख्नुभयो । जवाफमा सांसदहरुले दुबै विभागका कामलाई चुस्त र प्रभावकारी बनाउन एवं व्यवसायमैत्री वातावरण बनाउन सरकार र निजी क्षेत्र दुबैको प्रभावकारी समन्वय तथा सहकार्य जरुरी भएको औँल्याउनुभयो ।

समितिका सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजस्व चुहावट नियन्त्रण गर्न र दुबै विभागको कामलाई प्रभावकारी बनाउन समयानुकूल कानुन निर्माण जरुरी भएको बताउनुभयो । नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डेले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभागको कामलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कानुनी त्रुटि सुधारेर विभागका कामलाई पारदर्शी र प्रभावकारी बनाइनुपर्ने धारणा राख्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायमैत्री वातावरण बनाउन सरकारले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

सांसदहरु दिलेन्द्रप्रसाद बडू, रघुजी पन्त, चन्दा कार्की, सर्वेन्द्रनाथ शुक्ला, राजेन्द्रप्रसाद पाण्डे, सरिता प्रसाइँ, अम्बिका बस्नेत, दुर्गा राई, बुद्धिमान तामाङलगायतले अर्थतन्त्रलाई गतिशील बनाउन कानुनी सुधार गर्दै लगानीमैत्री वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक मुद्दामा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने र समग्र अर्थतन्त्रमा निजी क्षेत्रलाई विश्वासको वातावरण बढाउनेतर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभयो । उहाँले निजी क्षेत्र प्रोत्साहित हुने नीतिगत र संरचनागत सुधार जरुरी भएको उल्लेख गर्नुभयो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले नियमनकारी निकायको बुब्लिकेसनले उद्योगी व्यवसायी र जनताले समस्या भोगिरहेको उल्लेख गर्दै सम्पत्ति शुद्धीकरणको विषय अलग–अलग निकायले हेर्नुपर्ने धारणा राख्नुभयो । निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले राजस्व परिचालन सही नहुँदा निर्माण व्यावसायको काममा ढिलासुस्ती भएको दाबी गर्नुभयो । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले धेरै नियमनकारी निकाय हुँदा उद्योगी व्यवसायी समस्यामा पर्नेगरेको भन्दै एकद्वार प्रणालीबाट सेवा प्रवाह हुनुपर्नेमा जोड दिनुभयो ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले राजस्व चुहावट नियन्त्रण, अनुसन्धानलाई विश्वसनीय र वस्तुपरक बनाउन विभाग सक्रिय ढङ्गले लागेको बताउनुभयो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक पुष्पराज शाहीले आर्थिक सुशासन कायम गर्न विभागले सक्रिय रुपमा काम गरिरहेको बताउनुभयो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयका सचिव लीलादेवी गडतौलाले निजी क्षेत्रमैत्री कानुन निर्माणलाई जोड दिएको बताउनुभयो । उहाँले सम्पत्ति शुद्धीकरण र राजस्व विभागलाई निजी क्षेत्रमैत्री बनाएर आर्थिक सुशासन प्रवद्र्धनका लागि सहजीकरण गरिएको उल्लेख गर्नुभयो ।

समितिका सभापति रामहरि खतिवडाले उद्योगी व्यवसायीमैत्री कानुन निर्माण र सेवा प्रवाहका सन्दर्भमा निजी क्षेत्रले भोगेका समस्या तथा समाधानका लागि सरकारी निकायले गरिरहेका पहलका विषयमा समितिले सम्बद्ध पक्षसँग छलफल गरेको बताउनुभयो । उपयुक्त विषयमा पुनः छलफल गरेर समितिले सरकारलाई आवश्यक निर्देशन दिने उहाँले उल्लेख गर्नुभयो । सभापति खतिवडाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागले व्यवसायमैत्री वातावरणका साथ आफ्ना काम कारबाही अगाडि बढाउन आग्रह गर्नुभयो ।

यसैबीच समितिको बैठकमा चन्दा कार्कीले ‘जब प¥र्यो राति अनि बुढी ताती’ भन्ने शब्द प्रयोग गरेपछि सांसद इन्दिरादेवी न्यौपानेले उक्त शब्द रेकर्डबाट हटाउन माग गर्नुभएको थियो । लगत्तै सभापति खतिवडाले उक्त शब्द रेकर्डबाट हटाइएको जानकारी दिनुभयो ।

विद्यार्थीलाई सीपसँग जोड्दै सामुदायिक विद्यालय, लहरे बालीको नर्सरी स्थापना गरी बेर्ना बिक्री थालियो

दमौली (तनहुँ), १७ फागुन : तनहुँको आँबुखैरेनी गाउँपालिका–४ आमडाँडास्थित चण्डेश्वरी आधारभूत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्न थालेको छ । पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्दै व्यवहारिक सीप प्रदान गरेको हो ।

गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमबमोजिम विद्यालयमा लहरे बालीको नर्सरी स्थापना गरी त्यहाँबाट उत्पादित बेर्ना बिक्री थालिएको विद्यालयका प्रधानाध्यापक कुवेर ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार ८० विद्यार्थीले लहरे बालीको नर्सरी व्यवस्थापनमा प्राविधिक ज्ञान हासिल गर्नाका साथै बेर्ना उत्पादन भएर बिक्री सुरु गरिएको छ ।

पहिलो चरणका चार सय बेर्ना दोस्रो आँबुखैरेनी महोत्सवमा लगेर बिक्री गरिएको प्रधानाध्यापक ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत अहिलेको मौसमअनुसार लहरे बालीलाई अगाडि बढाउनुपर्छ भन्ने हेतुले विद्यार्थी, शिक्षक र अभिभावकको सहभागितामा बेर्ना उत्पादन गरेका थियाँै । चार सय बेर्ना उत्पादन भएकामा अधिकांश बेर्ना बिक्री भइसकेको छ ।”

प्रधानाध्यापक ढकालका अनुसार लहरे बालीको बेर्ना बिक्रीका लागि आँबुखैरेनी महोत्सव फलदायी भएको छ । गाउँपालिकाले बेर्ना बजारीकरणका लागि सहजीकरण गरिदिएको थियो । उक्त विद्यालयका विद्यार्थीले गत वैशाखमा अदुवा र हलेदोखेतीको सुरुआत गरेका थिए । दुई रोपनी जमिनमा अदुवा र हलेदो रोपिएको थियो । उहाँले भन्नुभयो, “यो कार्यक्रमले अध्ययनका साथै व्यवहारिक सीप सिकाउन मद्दत मिलेको छ । यसले विद्यार्थीलाई धेरै कुराको ज्ञान भएको छ ।”

शिक्षासँग सीप अभियानलाई अगाडि बढाउन गाउँपालिकाले चालु आर्थिक वर्षमा विभिन्न विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सुरु गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँका अनुसार मित्रता माध्यमिक विद्यालयमा चित्रकला, सयपत्री फूलखेती, कन्यादेवी माध्यमिक विद्यालयमा कुखुरापालनलगायत कार्यक्रम सुरु गरिएको छ ।

उहाँले भन्नुभयो, “विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने दृढ इच्छाशक्तिका साथ शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नुपर्छ । सीपयुक्त एवं स्वावलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित यो कार्यक्रम सुरु गरेका हौँ ।” गाउँपालिकाले विद्यालयको माग र आवश्यकताका आधारमा अन्य विद्यालयमा पनि यो कार्यक्रम सुरु गर्ने तयारी गरेको छ ।

दक्षिण कोरियामा मुद्रास्फीतिका कारण तलब तथा ज्यालामा दोस्रो पटक समायोजन

मुद्रास्फीतिका कारण दक्षिण कोरियाको तलव तथा ज्याला लगातार दोस्रो वर्ष घटेको श्रम मन्त्रालयको तथ्याङ्कले बिहीबार देखाएको छ । रोजगार र श्रम मन्त्रालयको अनुसार, नियमित कर्मचारी भएका व्यवसायहरूमा मासिक औसत ज्याला २.५ प्रतिशतले बढेर २०२३ मा ३९ लाख ६६ हजार ओन (दुई हजार ९७० अमेरिकी डलर) पुगेको छ ।

सन् २०२३ मा मासिक तलब १.१ प्रतिशतले घटेर ३५ लाख ५४ हजार ओन पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा ०.२ प्रतिशतले कम हो । सन् २०२३ मा दक्षिण कोरियाको उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) अघिल्लो वर्षको तुलनामा ३.६ प्रतिशतले बढेको छ ।

व्यवसायमा प्रति कामदारको मासिक औसत कार्य घण्टा एक वर्ष अघिको तुलनामा १.६ प्रतिशतले घटेर सन् २०२३ मा १५६.२ घन्टा पुगेको छ ।उत्पादन उद्योगले १७०.५ को सबैभन्दा लामो मासिक कार्य घण्टा रेकर्ड गरेका छन् । पानी, ढल र फोहोर व्यवस्थापन क्षेत्र १७० घण्टाको साथ निर्माण उद्योगले गत वर्ष १२८.७ को सबैभन्दा छोटो कार्य घण्टा दर्ता गरेको छ ।

रूसद्वारा ४८ युक्रेनी ड्रोन नष्ट

पश्चिमी सेनाको समूहको रूसी वायु रक्षा बलले विगत २४ घण्टामा ४८ युक्रेनी ड्रोनहरू नष्ट गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । पश्चिमी सेनाको समूहको हवाई रक्षाको क्रममा एकै दिनमा ४८ वटा मानवरहित हवाई सवारी साधनहरू नष्ट गरेको रूसको तास समाचार एजेन्सीले सेनाको प्रेस केन्द्रका प्रमुख इभान बिगमालाई उद्धृत गर्दै जनाएको छ । पूर्वी युक्रेनस्थित कुप्यान्स्क खार्कोभ क्षेत्रमा रहेको सहर हो ।

युक्रेनमा १४५ जनाको ज्यान गएको बताउँदै रूसी हवाई आक्रमणमा व्यापक हतियारको प्रयोग गरिएको बिगमाले जनाएको छ । आक्रमण सम्बनधमा युक्रेनले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

इरान निर्वाचन : २९० सदस्यका लागि १५ हजारभन्दा बढी प्रतिस्पर्धामा

इरानी संसद्का २९० सदस्यका लागि १५ हजारभन्दा बढी प्रतिस्पर्धीले मनोनयन दर्ता गरेका छन् ।इरानको संवैधानिक परिषद्का प्रवक्ता हादी ताहान नाजिफले शुक्रबार हुने निर्वाचनमा इरानी संसद्को २९० सिटका लागि विभिन्न क्षेत्रका १५ हजारभन्दा बढी उम्मेदवारले प्रतिस्पर्धा गर्ने बताउनुभएको छ ।

शुक्रबार हुने १२ औँ संसदीय र छैटौं एसेम्ब्ली अफ एक्सपर्ट्स को निर्वाचनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा इरानको राजधानी तेहरानमा नाजिफले निर्वाचनमा नयाँ नेतृत्व चयनका लागि स्वस्थ प्रतिस्पर्धा हुनेमा कुनै आशङ्का नगर्न विश्व समुदायसँग आग्रह गर्नुभएको छ ।

नाजिफका अनुसार उम्मेदवारको उमेर ३० देखि ७५ वर्षको हुनुपर्छ र दर्ता भएकामध्ये करिब ७५ प्रतिशत निर्वाचनमा भाग लिन योग्य हुनेछन् । सन् १९९० को दशकमा जन्मिएका करिब ४०० र सन् १९८० को दशकमा जन्मिएका करिब तीन हजारभन्दा बढी उम्मेदवार रहेका इरानी अधिकारीले बताएका छन् ।

उम्मेदवारमध्ये १३ प्रतिशत महिला उम्मेदवार रहेका छन् । उहाँले वकिल, न्यायाधीश, शिक्षक र चिकित्सकलगायत विभिन्न क्षेत्रमा चर्चित व्यक्तिहरू निर्वाचन प्रतिस्पर्धामा सामेल भएका उहाँले बताउनुभयो ।

प्रवक्ताका अनुसार संवैधानिक परिषद्ले निर्वाचनका बेला देशभरका करिब ६० हजार मतदान केन्द्रमा अनुगमन र पर्यवेक्षकका रूपमा काम गर्न करिब दुई लाख ३० हजार इरानी नागरिकलाई तालिम दिएको छ ।

“सन् १९७९ को इस्लामिक क्रान्तिको विजयपछि धार्मिक अल्पसङ्ख्यकहरूले इरानी संसद्रमा आ–आफ्नो स्थान पाएका छन्,” उहाँले भन्नुभयो । त्यसैगरी आठ वर्षे कार्यकाल रहेको ‘एसेम्ब्ली अफ एक्सपर्ट्स’ का ८८ सदस्यका लागि १४४ जनाले प्रतिस्पर्धा गर्नेछन् ।

नाजिफले दुई लाख ५० हजार सेनालाई निर्वाचनमा सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी दिइएको बताउनुभयो । इरानको निर्वाचन कार्यालयले यसै महिनाको सुरूमा दिएको जानकारीअनुसार यी दुई निर्वाचनमा मतदानका लागि कुल छ करोड ११ लाख ७० हजार मतदाताले योग्यताको मापदण्ड पूरा गरेका छन् ।

इन्डोनेसियाद्वारा खाद्य आत्मनिर्भरता बढाउन अमोनियम नाइट्रेट प्लान्टको स्थापना

प्लान्टले दक्षिणपूर्वी एसियाली देशलाई खानामा आत्मनिर्भर बनाउने उद्देश्यले कालिमान्टन टापुमा अमोनियम नाइट्रेट प्लान्टको स्थापना गरिएको छ ।

अमोनियम नाइट्रेट नामक रसायन मल र विस्फोटक पदार्थमा प्रयोग गरिन्छ ।प्लान्टको उद्घाटन गर्दै इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले प्लान्टको स्थापनाले इन्डोनेशियामा आयात हुँदै आएको अमोनियम नाइट्रेटको मागलाई आंशिक सम्बोधन गर्न सकिने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “प्लान्टको स्थापना देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने रहेको छ ।” इन्डोनेशियाले आफ्नो प्रयोगका लागि करिब २१ प्रतिशत अमोनियम नाइट्रेट विदेशबाट आयात गर्छ ।

पूर्वी कालिमान्टन प्रान्तको बोन्टाङमा अवस्थित नयाँ प्लान्ट संयुक्त रूपमा देशका तीन राज्यका सरकारी कम्पनीहरू, पिटि पुपुक काल्टिम, पिटि दहाना र पिटि काल्टिम अमोनियम नाइट्रेटको स्वामित्वमा छ र यसको बार्षिक क्षमता ७५ हजार टन उत्पादन रहेको छ ।

परिवारको सुरक्षाका लागि राजकुमार ह्यारीले अदालतमा गरेको याचनाको विपक्षमा फैसला

बेलायती राजकुमार ह्यारीले शाही जिम्मेवारीबाट पछि हटेपछि करदाताको आर्थिक सहायता सुरक्षा फिर्ता लिने बेलायत सरकारको निर्णयविरुद्ध अदालतमा दायर गरेको मुद्दा हारेपछि उहाँले कानूनी सङ्कटको सामना गर्नुपरेको सीएनएन टेलिभिजनले जनाएको छ ।

सन् २०२० को फेब्रअरीमा बेलायती राजकुमार ह्यारीले देशमा नरहँदा अन्य राजपरिवार सदस्यले पाउने जति ‘कर छुट’ नपाउने निर्णय भएपछि गृह मन्त्रालयविरुद्ध उहाँले कानूनी लडाइ सुरु गर्नुभएको थियो । बेलायती समाचार संस्था पीएलाई उद्धृत गर्दै सीएनएनले भनेको छ, “डिसेम्बरमा अदालतको सुनुवाइका क्रममा ह्यारीका वकिलले ह्यारीबारे गरेको निर्णयले राजकुमार ह्यारीप्रति पक्षपातपूर्ण व्यवहार गरेको तर्क गर्नुभएको थियो ।

पीएका अनुसार जुलाई २०२० देखि आफ्नी पत्नी मेगनसँग क्यालिफोर्नियामा बस्दै आएका ह्यारीमाथि ‘सफल आक्रमण’ भएको तर यसले बेलायतको प्रतिष्ठामा पर्न सक्ने सम्भावित असरबारे पनि वकिलहरूले विचार गर्न नसकेको ह्यारीका कानूनी सहयोगीले बताएका छन् ।

अदालतले उक्त निर्णय न्यायोचित र प्रक्रियागत अन्यायरहित फैसला भएको जनाएको छ । यो झट्काका बावजुद राजकुमार ह्यारीका कानुनी प्रवक्ताले फैसलाबारे अपिल गर्ने आफ्नो मनसाय व्यक्त गरेका छन् ।

“ड्यूकले प्राथमिकताको उपचारको लागि माग गरिरहनुभएको छैन, तर सफ्टवेयर विकास र सूचना प्रविधिबारे काम गर्ने कम्पनी ¥याभेकको आफ्नै नियमहरूको निष्पक्ष र कानुनी अनुप्रयोगको लागि यो सुनिश्चित गर्दै कम्पनीकोे लिखित नीति अनुसार काम गर्नु उचित हुनेछ,” ह्यारीका कानुनी प्रवक्ताले सीएनएनसँग भन्नुभयो ।

फैसलापछि गृह मन्त्रालयका प्रवक्ताले सीएनएनसँग भन्नुभयो, “हामी खुसी छौं कि अदालतले यस मामिलामा सरकारको स्थितिको पक्षमा फैसला गरेको छ, र हामी सावधानीपूर्वक हाम्रो अर्को कदमहरूबारे विचार गरिरहेका छौं । फैसलाबारे थप टिप्पणी गर्नु अनुपयुक्त हुनेछ ।”

“बेलायत सरकारको संरक्षणात्मक सुरक्षा प्रणाली कठोर र समानुपातिक छ । ती प्रबन्धहरूको विस्तृत जानकारी नदिनु हाम्रो लामो समयदेखिको नीति हो, किनकि यसो गर्दा तिनीहरूको निष्ठामा आँच आउन सक्छ र व्यक्तिको सुरक्षामा असर पर्न सक्छ ।”

अक्सर आफ्नी पत्नीको उपचार र आफ्नी स्वर्गीय आमा राजकुमारी डायनाले सामना गर्नुपरेको चुनौतीहरूको बीचमा समानताहरू चित्रण गर्दै राजकुमार ह्यारीले आफ्नो परिवारको सुरक्षाको बारेमा आवाज उठाउँदै आउनुभएको छ । यो मुद्दा बेलायतमा राजकुमार ह्यारीसँग सम्बन्धित धेरै मुद्दाहरूमध्ये एक हो ।

सन् २०२३ को मे महिनामा राजकुमार ह्यारीले बेलायतमा रहँदा आफ्नो प्रहरी सुरक्षाका लागि व्यक्तिगत रूपमा भुक्तानी गर्ने छुट्टै अधिकारको माग गर्दै गरेको निवेदनमा एउटा अर्को कानुनी झड्काको सामना गर्नुपरेको थियो । बेलायतको गृह मन्त्रालयले धनी व्यक्तिहरूलाई विशेष प्रहरी अधिकारीहरूबाट संरक्षणात्मक सुरक्षा खरिद गर्न अनुमति नदिने तर्क गरेको थियो ।

सोही वर्षको जनवरीमा राजकुमार ह्यारीले एसोसिएटेड न्यूजपेपर्स लिमिटेड (एएनएल) विरुद्ध मानहानिको मुद्दा दायर गर्नुभएको थियो । सन् २०२२ को फेब्रुअरीमा बेलायती राजकुमार ह्यारीले बेलायत भ्रमणका क्रममा सुरक्षा व्यवस्थाका सम्बन्धमा गृह मन्त्रालयविरुद्ध दायर गरेको मुद्दासँग सम्बन्धित थियो ।

डिसेम्बर २०२३ मा लण्डनको उच्च अदालतले राजकुमार ह्यारीलाई प्रकाशक ‘मिरर ग्रुप न्यूजपेपर्स (एमजीएन)’ द्वारा फोन ह्याकिङ र अन्य ‘गैरकानूनी सूचना सङ्कलन’ को शिकार भएको फैसला सुनाएको थियो ।

‘एसियन हाइवे’ निर्माण गर्न रुख काट्न थालियो

झापा, १७ फागुन : पूर्वपश्चिम एसियन राजमार्ग निर्माणका लागि काँकरभिट्टाबाट रुख कटान सुरु भएको छ ।‘दुई लेन’सडकलाई चार लेनमा रुपान्तरण गर्ने उद्देश्यअनुरुप निर्माण सुरु गरिएको एसियन राजमार्गमा आजदेखि रुख कटान सुरु भएको ‘डिभिजन’ वन कार्यालयका प्रमुख मेघराज राईले बताउनुभयो ।

एसियन राजमार्ग निर्माणका लागि काँकरभिट्टा–सितापुरीलाई पूर्वीखण्ड र सितापुरी–मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरिएको छ । उहाँका अनुसार पूर्वी खण्डको ठेक्का प्रक्रिया सम्पन्न भइसकेकाले काँकरभिट्टा–सितापुरीसम्मको ४५ किलोमिटर सडकका चार हजार ७२३ रुख आजदेखि काट्न थालिएको हो ।उहाँले निर्माण ठेक्का पाएको कम्पनीले दुई महिनाभित्रमा काँकरभिट्टादेखि केर्खासम्मका रुख कटान गरिसक्नुपर्ने जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले आज बिहान धुलाबारीमा पूजापाठ गरी रुख कटान सुरुवात गर्नुभएको हो ।

रुख कटानसँगै सडक विस्तारको काम सुरु भइसकेको एसियाली विकास बैंक आयोजना कार्यालय दमकका प्रमुख सुनिलबाबु पन्तले राससलाई बताउनुभयो । उहाँले राजमार्गका उत्तर दक्षिण विभिन्न भागमा ‘साइड क्लियरेन्स’ को काम भइरहेको बताउनुभयो ।

“काम सुरु गर्न रुख नै बाधक थियो”, उहाँले भन्नुभयो, “रुख काट्ने अनुमति हिजो आएर कटान सुरु भयो अब द्रुतगतिमा काम हुन्छ ।” उहाँले सडक निर्माणसँगै जमिनमुनिका पानीका पाइप र विजुलीको खम्बा हटाइने बताउनुभयो ।

एसियाली विकास बैंकको सहयोगमा निर्माण सुरु भएको काँकरभिट्टादेखि केर्खासम्मको सडक करिब रु. १० अर्बको लगानीमा सम्पन्न हुने गरी ठेक्का एभ्रासकन कालिका जेभीले लिएकोे छ ।

एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान् एसियाली राजमार्ग’ अन्तर्गत नेपालको एक किलोमिटर भागमा मेचीपुल निर्माणसँगै संरचना पूर्णरुपमा निर्माण भइसकेका छन् । फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना घटाउन तथा पूर्वी नाकाबाट स्थलमार्ग हुँदै आउने पर्यटकको सङ्ख्या बढ्ने हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्ने अपेक्षा गरिएको छ ।

नेपाली चलचित्रलाई विश्वबजारसम्म पु-याउनुपर्छ -अध्यक्ष तिमिल्सिना

काठमाडौँ, १७ फागुन : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आधुनिक प्रविधिको सदुपयोग गरी गुणस्तरीय एवं व्यावसायिक चलचित्र निर्माण गरी विश्वबजारसम्म पुरयाउनुपर्ने समय आएको बताउनुभएको छ ।

नेपाली चलचित्रकर्मीको अन्तरराष्ट्रिय सञ्जालको प्रथम साधारणसभाका अवसरमा आज यहाँ आयोजित ‘सिमानाभन्दा पर : नेपाली चलचित्र’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले बदलिँदो विश्वपरिवेशलाई ध्यान दिँदै नेपाली सिने उद्योगलाई अन्तर्राष्ट्रियकरण गर्न आग्रह गर्नुभयो ।

वरिष्ठ चलचित्रकर्मी नीर शाहले कलाकर्मीबीचको अविश्वास र बेमेलका कारण चलचित्र व्यवसाय अपेक्षा गरिएअनुसार फस्टाउन नसकेको उल्लेख गर्दै व्यावसायिक सफलताका लागि लगनशील भई एकताबद्धरूपमा अघि बढ्न चलचित्रकर्मीसँग अनुरोध गर्नुभयो ।

सञ्जालका अध्यक्ष लब प्याकुरेलले नेपाली युवाको विदेसिनेक्रम बढेसँगै राम्रा चलचित्रले पनि बजार पाउन नसकेका सन्दर्भमा नेपाली भाषीको उल्लेख्य उपस्थिति भएको विश्वबजारसम्म नेपाली चलचित्र पुग्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा नेपाली चलचित्र उद्योगमा उल्लेख्य योगदान पु¥याउनुहुने गीतकार डा कृष्णहरि बराल, अग्रज एवं वरिष्ठ चलचित्रकर्मी भुवन चन्द, गौरी मल्ल, करिष्मा मानन्धर, राजकुमार राई, उद्धब पौडेल, रवीन्द्र खडका, मुकुन्द भट्टराईलगायतका व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

सो अवसरमा सञ्जालका नवनिर्वाचित अध्यक्ष प्याकुरेल, उपाध्यक्षद्वय प्रदीपलाल श्रेष्ठ र लक्ष्मण सुवेदी, महासचिव रमेश कोइराला, सचिव भीष्मराज फुलारा, कोषाध्यक्ष थण्डबहादुर अधिकारीलगायत १२ सदस्यीय पदाधिकारी एवं कार्यकारी सदस्यलाई प्रमाणपत्र पत्र प्रदान गरिएको थियो ।

जाउलाखेललाई हराउँदै एनआरटी केपी ओली कपको फाइनलमा

काठमाडौं, १७ फागुन : न्युरोड टिम (एनआरटी)जावलाखेल युथ क्लबलाई पराजित गर्दै केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा आज भएको खेलमा एनआरटीले जाउलाखेलमाथि ३–० गोलअन्तरको जित निकाल्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

एनआरटीको जितमा सञ्जिव विष्टले दुई गोल गरे भने विवेक गुरुङले एक गोल थपे । खेल सुरु भएको पाँच मिनेटमै विवेकले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए भने खेलको ५०औँ मिनेटमा सञ्जिवले अर्को गोल गरेर टोलीको अग्रतालाई अझ अघि बढाए । पहिलो गोल गरेको सात मिनेटपछि सन्ञ्विले पुनः दोस्रो गोल गरे । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र एनआरटीको जित सुनिश्चित भयो ।

यसअघि एनआरटी थ्री स्टारलाई १–० तथा जावलाखेल आयोजक केपी ओली एफसीलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । प्रतियोगितामा विजयी हुने टोलीले रु ११ लाख तथा दोस्रो स्थान हासिल गर्नेे टोलीले रु पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

डब्ल्यूएचओमा सहमति निर्माताको भूमिका खेलिरहेका छौँ : पियुष गोयल

केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले बुधबार विश्व व्यापार सङ्गठन (डब्ल्यूएचओ) मा सहमति निर्माताका रूपमा भारतले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । उहाँले धेरै देशहरूका कारण डब्ल्यूएचओले यस सहमतिमा बाधा महशुस गरिरहेको भन्दै चिन्तासमेत व्यक्त गर्नुभएको छ ।

“भारतको स्थिर स्थिति हेरेर विश्वले बुझ्नु पर्नें बताउँदै उहाँले विश्व व्यापार सङ्गठनको काम सहज सुचारु नभएको तर भारत सहमति निर्माण लागि महत्वपूर्ण भूमिका खेल्दै आएपनि कतिपय देशले आँफैले गरेका सहमतिलाई यो वा त्यो बहानामा तोड्दै गरेको भेटिएको छ,” गोयलले १३ औं मन्त्रीस्तरीय सम्मेलनमा भन्नुभयोे ।

उहाँले भारतलगायत विकासशील देशहरूको चिन्तालाई सम्बोधन गर्न कडा वकालत गर्नुभयो । उहाँले सार्वजनिक स्टकहोल्डिङको स्थायी समाधानजस्ता मुद्दाहरूमा द्रूत ध्यान दिन उहाँले आह्वान गर्नुभयो ।

गोयलले भारत निष्पक्ष खेल, न्यायको बलियो सिद्धान्तमा खडा रहेको बताउँदै विश्व व्यापार सङ्गठनमा लिइएका सबै निर्णयहरू भारतीय किसानहरूको सर्वोत्तम हितलाई ध्यानमा राख्दै काम गर्ने र दिगो विकास लक्ष्यहरू पूरा गर्ने सुनिश्चित गर्न चाहने बताउनुभयो ।

भारतीय किसानहरूको चिन्तालाई सम्बोधन गर्दै गोयलले भाजपा सरकार किसानहरूको पक्षमा काम गरिरहेको र भाजपा आफ्नो प्रतिवद्धताबाट पछि नहट्ने उल्लेख गर्नुभयो ।

वाणिज्य मन्त्रीले अनुचित व्यापार अभ्यास र डब्ल्यूटीओका नियमको उल्लङ्घनसँग सम्बन्धित उजुरीहरूको समाधान गर्ने निकायको पुनःस्थापना गर्न आग्रह गर्नुभयो । यसले राष्ट्रहरूलाई स्थापित समाधान प्रक्रियामार्फत विवाद सम्बोधन गर्न सक्षम बनाउनेछ ।

उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १७ फागुनः उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमान चौधरीले शिष्टाचार भेट गर्नुभएको छ ।
उपराष्ट्रपतिको कार्यालयमा आज अपराह्न भएको भेटमा दुई मुलुकबीचको सम्बन्ध, व्यापार, पर्यटन, विद्युत्लगायत पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको थियो ।

उपराष्ट्रपतिको निजी सचिवालयका अनुसार दुई देशबीचको व्यापारको मात्रा बढ्दै गएकोमा खुसी व्यक्त गर्दै उपराष्ट्रपतिले व्यापार विस्तार एवं विविधीकरण गर्ने प्रचुर सम्भावना रहेको बताउनुभयो । “तेस्रो देशसँगको व्यापारका लागि चटगाउँ र मोङ्ला बन्दरगाह हुँदै नेपाललाई पारवहन सुविधा उपलब्ध गराएकामा बङ्गलादेश सरकारलाई धन्यवाद दिन चाहन्छु ” उहाँले भन्नुभयो, ‘रोहनपुर–सिंहाबाद रेलमार्गको शीघ्र सञ्चालन गरी यी समुद्री बन्दरगाहबाट पारवहन सहयोग प्रवद्र्धन गर्न महत्वपूर्ण हुनेछ ।”

उपराष्ट्रपति यादवले नेपालको जलविद्युत् क्षमता र बङ्गलादेशको बढ्दो ऊर्जा आवश्यकताले दुई देशबीच ऊर्जा सहयोग अभिवृद्धि गर्ने पर्याप्त अवसरहरू प्रदान गरेको बताउनु भयो । “सन् २०१८ मा नेपाल र बङ्गलादेशबीच विद्युत् सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनु ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगलाई सुदृढ पार्ने महत्वपूर्ण कोसेढुङ्गा हो,” उहाँले भन्नुभयो, “बङ्गलादेश सरकारले हालै भारतको पावर ग्रिड प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्न स्वीकृत गरेकामा हामी खुसी छौं ।” उहाँले ऊर्जा क्षेत्रमा बङ्गलादेशको लगानीलाई नेपालले स्वागत गरेको जनाउँदै नेपालको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट ५०० मेगावाट बिजुली आयात गर्न बङ्गलादेश र भारतको जीएमआरबीच भइरहेको वार्ता र सुनकोशी–३ आयोजनामा संयुक्त लगानीसम्बन्धी बङ्गलादेशको प्रस्ताव उत्साहजनक रहेको बताउनुभयो । “म विश्वस्त छु कि यी परियोजनाहरूको कार्यान्वयन नेपाल र बङ्गलादेश दुवैका लागि पारस्परिक रूपमा लाभदायक हुनेछ, ” उहाँले भन्नुभयो, “नेपाल र बङ्गलादेशमा प्राकृतिक सौन्दर्य, समृद्ध सभ्यता र सांस्कृतिक सम्पदा, साहसिक खेलकुद र जैविक विविधता देखाउने लोकप्रिय धेरै पर्यटकीय गन्तव्य छन् । बङ्गलादेश नेपालका लागि पर्यटकको महत्वपूर्ण स्रोत देश पनि हो ।”

“म हाम्रा दुई देशबीच सांस्कृतिक सहयोग र जनताबीचका सम्पर्क प्रवर्द्धन गर्न जनवरी १९७८ मा भएको सांस्कृतिक सम्झौताको स्मरण गर्न चाहन्छु ” नेपाल र बङ्गलादेशबीच घनिष्ट सांस्कृतिक सम्बन्ध र जनस्तरका सम्पर्कहरू रहेको बताउँदै उपराष्ट्रपति यादवले भन्नुभयो, “ सन् १९७६ अप्रिलमा हाम्रा दुई देशबीच हस्ताक्षर भएको प्राविधिक सहयोग सम्झौताअन्तर्गत नेपाली विद्यार्थीहरूलाई वार्षिक २२ छात्रवृत्ति (१९ एमबीबीएस र ३ बीडीएस) उपलब्ध गराएकोमा म बङ्गलादेश सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।”
उपराष्ट्रपति यादवले नेपाल र बङ्गलादेशले सार्क, बिमस्टेक, संयुक्त राष्ट्र सङ्घ, असंलग्न आन्दोलन, जी ७७ र चीनलगायत क्षेत्रीय तथा अन्तरराष्ट्रिय मञ्चहरूमा पारस्परिक हितका विषयमा सहकार्य गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो । “हाम्रा दुई देशले संयुक्त राष्ट्रसङ्घ र विभिन्न अन्तरराष्ट्रिय संस्थाहरूमा एकअर्काको उम्मेदवारीलाई समर्थन गरिरहेका छन् । आगामी दिनमा पनि यो सहकार्य जारी रहने विश्वास लिएको छु ” उहाँले भन्नुभयो, “एक मित्रराष्ट्रका नाताले नेपालले बङ्गलादेशसँगको सम्बन्धलाई उच्च महत्व दिन्छ । आगामी दिनहरूमा हाम्रा दुई देश र जनताबीचको सम्बन्ध अझ प्रगाढ हुनेमा म विश्वस्त छु ।”

राजदूत चौधरीले नेपाल र बङ्गलादेशबीचको सम्बन्ध व्यापार, पर्यटन, शिक्षा र ऊर्जालगायत क्षेत्रमा आधारित रहेको उल्लेख गर्दै हरेक वर्ष तीस हजार बङ्गलादेशी पर्यटक नेपाल आउने गरेका बताउनुभयो । बङ्गलादेशले नेपाली विद्यार्थीका लागि चिकित्सा शास्त्रलगायत विषयमा छात्रवृत्ति उपलब्ध गराउँदै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हरेक वर्ष छात्रवृत्तिसँंगै आफ्नै खर्चमा पाँच सय देखि छ सय विद्यार्थी बङ्गलादेशमा एमबीबीएस गर्न जान्छन् ।

हाल बङ्गलादेशमा चार हजारदेखि पाँच हजार नेपाली विद्यार्थी अध्ययनरत छन्, ”राजदूत चौधरीले हाल नेपाल र बङ्गलादेशबीच १० करोड अमेरिकी डलरको व्यापार हुनेगरेको जनाउँदै ४० मेगावाट विद्युत्का लागि दुई देशबीच केही दिनभित्रै सम्झौता हुने बताउनुभयो ।

हिमाल पग्लिएको विषयमा ध्यानाकर्षण गराउन महिला टोली कालापत्थरतर्फ प्रस्थान

काठमाडौँ, १७ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने नेपाली महिलाको टोली कालापत्थरतर्फ प्रस्थान गरेको छ ।

जलवायु परिवर्तन तथा महिला सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था साथसाथैले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ सगरमाथा क्षेत्रको कालापत्थरमा मनाउने भएको हो । विभिन्न क्षेत्रमा अग्रणी भूमिकाका रहेका २५ जना महिलाको टोली बिहीबार बिहान काठमाडौँबाट प्रस्थान गरेको हो ।

उनीहरुलाई युएन वुमका नेपाल प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज–पचेकोले अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा बिदाइ गर्नुभयो । जलवायु परिवर्तनले सगरमाथा क्षेत्रमा पारेको असर र हिमाली समुदायले सामना गर्नुपरेका चुनौतीका विषयमा राष्ट्रिय–अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराउन समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित महिलाको समूहले लुक्लाबाट कालापत्थरसम्म पदयात्रा गर्न लागेको हो ।

साथसाथैका अध्यक्ष प्रजिता कार्कीका अनुसार लुक्लाबाट कालापत्थरसम्म पदयात्रा गर्ने र विभिन्न स्थानमा स्थानीय तहका जनप्रतिनिधि र समुदायसँग जलवायु परिवर्तनले पारेको असरबारे अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको छ ।

उहाँले भन्नुभयो, “हामीले विगत तीन वर्षदेखि अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा’ वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ (जलवायु न्यायका लागि महिला एकता) भन्ने नारासहित १८ हजार ५१९ फिट उचाइमा रहेको कालापत्थरमा पुगेर राष्ट्रिय–अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराउँदै आएका छौँ । यसपटक पनि हामीले जलवायु परिवर्तनका कारण हिमाल पग्लिँदा हिमालको फेदमा बस्ने समुदायले भोग्नु परेका समस्या र समाधानका उपायहरुबारेमा पनि विज्ञ र सरोकारवाला निकायसँग अन्तक्र्रिया गर्नेछौँ ।”

साथसाथैले विभिन्न क्षेत्रमा अग्रणी भूमिकामा रहेका २५ जना महिलालाई लिएर यही फागुन १७ गते काठमाडौँबाट लुक्लातर्फ प्रस्थान गर्ने, फागुन १९ गते स्याङ्बोचेमा ‘जलवायु न्यायका लागि सरकार र समुदायलाई जोड्न महिला सशक्तीकरण’ भन्ने नारासहित स्थानीय जनप्रतिनिधि र स्थानीय समुदायसँग अन्तक्र्रिया कार्यक्रम गर्ने अध्यक्ष कार्कीले जानकारी गराउनुभएको छ ।

उहाँले भन्नुभयो, “स्याङबोचेमा कार्यक्रमपछि पदयात्रा गर्दै ८ मार्चमा कालापत्थरमा पुगेर राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदायलाई हिमाल पग्लिँदा समुदायमा परेको असर, कृषि र पर्यटन क्षेत्रमा परेको मारलगायतका विषयमा ध्यानाकर्षण गराउने छौँ ।” यसअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि सोलुखुम्बुको स्याङवोचेमा पुगेर हिमाल पग्लिरहेको विषयप्रति विश्व समुदायको ध्यानाकर्षण गराएका थिए । संयुक्त राष्ट्रसङ्घले ‘इन्भेस्ट इन वुमन ः एक्सलेरेट प्रोग्रेस’ (गतिशील प्रगतिका लागि महिलामा लगानी’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस २०२४ मनाइरहेको छ ।

गण्डकी प्रदेशका ६५ पूर्वाधार आयोजना बहुवर्षीय ठेक्कामा लैजान स्वीकृति

गण्डकी – गण्डकी प्रदेशका ६५ सडक तथा पुल आयोजनालाई बहुवर्षीय ठेक्कामा लैजान आर्थिक मामिला मन्त्रालयले स्वीकृति प्रदान गरेको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले एक सय २० पूर्वाधार आयोजनालाई बहुवर्षीय आयोजनामा समेटी स्रोत सुनिश्चित गर्न सो मन्त्रालयमा प्रस्ताव गरेको थियो । मन्त्रालयका प्रवक्ता एवं यातायात व्यवस्था महाशाखा प्रमुख टीकाराम पौडेलले बहुवर्षीयमा छानिएका आयोजनाको ठेक्का प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो । “मन्त्रालयले प्रस्ताव गरेका एक सय २० आयोजनामध्ये ६५ आयोजनाको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनश्चित भइसकेको छ, बाँकी आर्थिक मामिला मन्त्रालयमा अध्ययनको क्रममा छन्”, उहाँले भन्नुभयो । बढीमा रु २५ करोड लागतसम्मका आयोजना बहुवर्षीय ठेक्काका लागि स्वीकृत भएको प्रवक्ता पौडेलले बताउनुभयो । उहाँका अनुसार रु पाँच करोडभन्दा कम लागतका ३३ र रु पाँच करोडभन्दा धेरै लागतका आयोजनाको सङ्ख्या ३२ रहेको छ ।

बहुवर्षीय ठेक्काका लागि कास्कीका आठ, गोरखाका छ, तनहुँका आठ, नवलपुरका १०, पर्वतका चार, बागलुङका आठ, मुस्ताङको एक, मनाङका दुई, लमजुङका छ, स्याङ्जाका आठ र म्याग्दीका चार आयोजना छनोटमा परेका हुन् । “आगामी तीन आर्थिक वर्षसम्मका लागि आयोजनाको बजेट सुनिश्चित गरिएको छ, यसबाट आयोजना निर्माणले गति लिने र समयमै सम्पन्न हुने विश्वास लिइएको छ”, प्रवक्ता पौडेलले भन्नुभयो, “थप आयोजनालाई पनि बहुवर्षीय ठेक्कामा लैजाने गरी तयारी भइरहेको छ, आर्थिक मामिला मन्त्रालयबाट स्वीकृत भएर आउन बाँकी छ ।”

बहुवर्षीय ठेक्काका लागि स्वीकृत भएका सडक, पक्की पुल र झोलुङ्गे पुलका लागि रु पाँच अर्ब ४९ करोड ६४ लाख ५१ हजार बराबरको बजेट सुनिश्चित भएको मन्त्रालयले जनाएको छ । अधिकांश तीन वर्षका र केही दुई वर्षका आयोजना बहुवर्षीय ठेक्कामा जाने प्रवक्ता पौडेलले जानकारी दिनुभयो । चालु आवमा टुक्रे योजना कटौती गरेको मन्त्रालयले बहुवर्षीय आयोजना छनोट प्रक्रियालाई पनि थप व्यवस्थित बनाएको उहाँको भनाइ छ ।

सङघ सरकारले पठाएका टुक्रे प्रकृतिका योजनासमेत फिर्ता गरेर त्यहाँको बजेट दायित्व सिर्जना भइसकेका ठूला आयोजना लागि व्यवस्थापन गरिने भएको छ । सङ्घ सरकारले चालु आवमा रु ३० लाखभन्दा कम बजेटका एक सय ७४ वटा योजनाका लागि रु १६ करोड २५ लाख विनियोजन गरेको थियो । सो बजेट दायित्व सिर्जना भएका सङ्घीयका आठवटा सडक आयोजनामा रकामान्तरण गरिएको मन्त्रालयले जनाएको छ ।

सीमान्तकृत समुदायको आवाज सम्बोधन नगरे संविधान सफल हुँदैन : राज्यमन्त्री कुमारी (अन्तर्वार्ता)

काठमाडौँ, १७ फागुन : शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको राष्ट्रियसभा सदस्यको कार्यकाल यही फागुन २० गते सकिँदैछ । सो सभाको २०७४ माघ २४ मा भएको निर्वाचनमा मधेस प्रदेशबाट महिला स्थानमा जनता समाजवादी पार्टीका तर्फबाट निर्विरोध निर्वाचित प्रमिला कुमारी बौद्धिक नेत्रीका रूपमा पनि चिनिनुभएको छ । राष्ट्रियसभा सदस्य भएको अवधिमा धेरै समय सांसद र झण्डै एक वर्ष राज्यमन्त्री भएर देश र जनताका सेवामा आफू इमानदारपूर्वक लाग्न सकेको अनुभूतिमा रहनुभएका उहाँ मुलुकमा सीमान्तकृत समुदायको आवाजलाई सम्बोधन नगरे संविधान र सङ्घीय प्रणालीको सफल कार्यान्वयन हुनेमा स्पष्ट हुनुहुन्छ ।

‘सांसदसँग रासस’ का लागि बुधबार कुरा गर्दै उहाँले सांसद र राज्यमन्त्री भएर जनसरोकारका मुद्दामा आफूलाई केन्द्रित गरेको र समग्रमा त्यसबाट आफू सन्तुष्ट रहेको सुनाउनुभयो । “मैले सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्थालाई बलियो बनाउन र संविधानमा व्यवस्था भएको समानुपातिक समावेशी सिद्धान्तबमोजिम सीमान्तकृत समुदाय र वर्गका आवाजलाई अधिकतमरूपमा उठाएँ । ती समुदायका आवाज सम्बोधन नभएसम्म हाम्रो संविधान सफल हुन सक्दैन ।’’

उहाँले भन्नुभयो, “सुरुका दुई वर्ष राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सदस्य रहँदा सरकारबाट पेस हुने सबै विधेयक, नीति र तर्जुमा गरिने निर्देशिकामा समावेशीताको विषयलाई अनिवार्य उल्लेख हुनुपर्छ भन्ने लेखाउन मैले निर्णायक भूमिका निर्वाह गरेकी थिएँ । त्यो कुरा अहिले कार्यान्वयनमा आएको छ । यसमा म खुसी छु ।” सरकारलाई संसद्प्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका कामकारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा रायसल्लाह दिन समेतका लागि उक्त समिति महत्वपूर्ण मानिन्छ ।

राष्ट्रियसभा सदस्यका रूपमा प्रमिला कुमारीले केही वर्ष उक्त सभाको दिगो विकास तथा सुशासन समितिका सदस्य रहेर भूमिका निर्वाह गर्नुभयो । सरकारले अख्तियार गरेको दिगो एवं सन्तुलित विकास र सुशासन प्रवद्र्धनसम्बन्धी विषय समितिको कार्यक्षेत्रभित्र हेर्ने सो समितिले सुशासनयुक्त विकास नै सार्थक, सन्तुलित र न्यायसङ्गत हुने हुँदा विकासका बहुआयामिक पक्षलाई कार्यान्वयन गर्न र दिगो व्यवस्थापन गर्न आवश्यक समन्वय, निर्देशन पैरवी गर्दै आएको छ । लागेका कुरा खरोरूपमा राख्ने सांसद कुमारीले आफूलाई सभामा जसपाको संसदीय दलको नेता भए पनि पाउने सुविधाबाट वञ्चित गराउँदा मधेसी भएकै कारण पूर्वाग्रह गरिएको त होइन भनी प्रश्न उठाउनुभएको थियो ।

प्राकृतिकरूपमा स्रोत–साधन सम्पन्न भएर पनि मानव विकास सूचाङ्कमा तुलनात्मकरूपमा पछाडि परेको तराई मधेस क्षेत्रमा राज्यका नीति, कार्यक्रम र बजेट तर्जुमा गर्दा प्राथमिकता दिन सरकारमा रहँदा र सांसद रहँदा प्रायः पहलकर्ताका रूपमा प्रस्तुत हुने राज्यमन्त्री प्रमिला कुमारीले आफूले आफ्नो देश र माटोका लागि कुनै गलत पक्षसँग सम्झौता नगर्ने स्पष्ट गर्नुभयो ।

पूर्वशिक्षिका प्रमिला कुमारीले उठाउँदै आएका विषय समावेशी, सन्तुलित र समन्यायिक विकासलाई सारभूत रुपमा कार्यान्वयन हुने नीति, योजना, कार्यक्रम, बजेट, कार्यप्रक्रियमा तिनको उपलब्धिको अनुगमन, निगरानी, सचेतीकरण र दिशाबोध गराउन त्यहाँ आफ्नो उपस्थिति सशक्त जनाइएको बताउनुभयो ।

संसद्मा पछिल्ला अधिवेशनमा पर्याप्त विधेयक पारित हुन नसकेको सन्दर्भमा सोधिएको प्रश्नमा राज्यमन्त्री प्रमिला कुमारीले सदनमा सरकारले पर्याप्त विधेयक लैजानुपर्नेमा किन लान नसकेको भन्नेमा आफू पनि स्पष्ट हुन नसकेको बताउनुभयो । सरकारको राज्यमन्त्री मात्रै भएकाले मन्त्रिपरिषद्मा हुने छलफलबाट अलग हुने भएकाले विधेयकहरू किन आउन सकेनन् भन्नेबारेमा आफूले जवाफ दिन नसक्ने तर कार्यकाल सकिन लाग्दा कसैलाई दोषारोपण र तीतो पोख्ने पक्षमा आफू नरहने बताउनुभयो ।

शिक्षा क्षेत्रका भने विद्यालय शिक्षासम्बन्धी, सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक र नेपाल विश्वविद्यलायसम्बन्धी विधेयक विचाराधीन रहेकाले आशावादी हुने ठाउँ रहेको उहाँको भनाइ छ । योगमाया विदुषी आयुर्वेद विश्वविद्यालयसम्बन्धी विधेयक यसअघि नै पारित भइसकेको छ ।

राज्यका तीन अङ्गहरू कार्यपालिका, व्यवस्थापिका र न्यायालयबीच समन्वय र सहकार्य बढाउनुपर्नेमा जोेड दिने राज्यमन्त्री प्रमिला कुमारीले गत चैत ५ गते सम्पन्न उपराष्ट्रपति पदको निर्वाचनमा उम्मेदवार भई वर्तमान उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभएको थियो । त्यसपछि उहाँलाई शिक्षा राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो । जनता समाजवादी पार्टीका पोलिटब्युरो सदस्य राज्यमन्त्री प्रमिला कुमारी आफ्नो आगामी यात्रा सक्रिय राजनीति नै हुने बताउनुहुन्छ ।

राज्यमन्त्री प्रमिला कुमारी महिलाहरूले उचित जिम्मेवारी पाएमा पुरुषले भन्दा राम्रो र इमानदारपूर्वक सम्पादन गर्न सक्छन् भन्ने उदाहरण आफूले प्रस्तुत गरेको बताउनुुभयो । उहाँले सञ्चारकर्मीले पनि राजनीतिमा लागेका महिलाहरूका लागि त्यस दृष्टिकोणबाट सहयोग गर्नुपर्ने आग्रह गर्नुभयो । मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता, समावेशीता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समाजवादप्रति निष्ठापूर्वक सधैँ समर्पित हुन पाउने उहाँको अभिलाषा छ ।

प्रदेशस्तरीय सरुवा रोग अनुसन्धान केन्द्र टीकापुरमा निर्माण

भजनी (कैलाली), १७ फागुन: सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थापना गर्ने भएको छ । यसका लागि प्रदेशले पहिलो चरणको संरचना निर्माणको काम यसै वर्ष सम्पन्न गर्ने गरी तयारी थालिएको छ ।

सङ्घीय सरकारले प्रदेशको डोटीमा सरुवा रोग अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउने गरी काम गरिरहेका बेला प्रदेश सरकारले प्रदेशस्तरीय सरुवा रोग अनुसन्धान केन्द्र कैलालीको टीकापुरमा बनाउने निर्णय गरेको थियो । प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत २०७८ सालमा भवन निर्माणको काम थालिएको थियो । तत्कालीन समयमा अन्तिममा भवन निर्माणको काम सुरु भएपछि काम समयमा सम्पन्न हुन नसक्दा भवन निर्माणको काम एक वर्ष पछाडि धकेलिएको थियो । रु दुई करोडको लगानीमा पहिलो दुई तलासम्मको काम भएको भवनको यस वर्ष बाँकी काम सम्पन्न गरेर सञ्चालनको प्रक्रियामा लैजाने तयारी प्रदेशको रहेको छ । यस वर्ष प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले भवनको बाँकी कामको लागि रु दुई करोड बजेट विनियोजन गरेको छ ।

विनियोजन भएको बजेट बोलपत्र प्रक्रियामा गएर सम्झौताको लागि निर्माणका लागि छनोट भएको निर्माण कम्पनीलाई पत्र पठाइसकेको मन्त्रालयका इन्जिनियर होमराज तिमिल्सिनाले जानकारी दिनुभएको छ । “मन्त्रालयले दुई करोडको टेन्डर आह्वान गरेकोमा १२ कम्पनीले सिलबन्दी बोलपत्र पेस गर्नुभएको थियो । त्यसबाट बिबि खप्तड जेभीले भवनको काम पाएको छ ।” उहाँले भन्नुभयो, “चालु आवभित्र संरचनाको काम सम्पन्न हुने गरी मन्त्रालयले निर्माण कम्पनीले सम्झौता गर्नेछ ।” उहाँका अनुसार ठेक्का पाएको निर्माण कम्पनीले करिब ३२ प्रतिशत कम रकममा बोलपत्र पेस गरेको छ ।

संरचनाको काम सम्पन्न भएपछि सरुवा रोग अनुसन्धान केन्द्र सञ्चालनको आवश्यक प्रक्रिया अगाडि बढाइने सामाजिक मन्त्रालयका सचिव गणेश सिंहले बताउनुभयो । उहाँले अहिले भवन निर्माणकै चरणमै रहेको जनाउँदै त्यसपछि जनशक्ति व्यवस्थापनका लागि मन्त्रालयले काम अगाडि बढाउने बताउनुभएको छ । “प्रदेशका लागि सरुवा रोग अनुसन्धान केन्द्र एउटा महत्वपूर्ण संरचना हो । त्यसलाई महत्वका साथ हेरिएको छ”, उहाँले भन्नुभयो, “चालु आवमा भवन निर्माणको काम सकिएपछि नयाँ आवमा त्यसको नयाँ योजना तयार हुनेछ ।” उहाँले सरुवा रोग अनुसन्धान केन्द्रले प्रदेशको स्वास्थ्य क्षेत्रलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

टीकापुर अस्पताल परिसरभित्र निर्माण हुन लागेको सरुवा रोग अनुसन्धान केन्द्रले टीकापुर अस्पतालको स्तरोन्नतिमा समेत मद्दत पुग्ने विश्वास गरिएको छ । अनुसन्धान केन्द्र टीकापुरमा स्थापना हुनु सुखद् पक्ष भएको जनाउँदै टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले छिटो सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभएको छ । “सरुवा रोग अनुसन्धान केन्द्र सञ्चालनमा आउन आक्यो भने त्यसले टीकापुर अस्पताललाई पनि फाइदा पुग्नेछ ।” अस्पताल व्यवस्थापन समितिका उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रको विकासमा पनि सरुवा रोग अनुसन्धान केन्द्रले टेवा पुग्नेछ ।” प्रदेश सरकारलाई स्वास्थ्य क्षेत्रमा मजबुत बनाउने काममा सरुवा रोग अनुसन्धान केन्द्रले सहयोग पुग्ने विश्वास अध्यक्ष सोडारीले गर्नुभएको छ ।

उहाँले टीकापुर अस्पताल कैलालीको पुर्वी क्षेत्रलगायत कर्णाली र लुम्बिनी प्रदेशका सेवाग्राहीका लागि पनि महत्वपूर्ण रहेको बताउनुभयो । “प्रदेशको मातहतमा रहेको टीकापुर अस्पतालले यतिबेला छ किसिमका विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । सेवा विस्तारको क्रममा अस्पतालले स्थानीय तहसँग पनि समन्वय गर्दै आएको छ ।” अध्यक्ष सोडारीले भन्नुभयो, “अस्पतालमा भवनको अभाव र उपचारका लागि उपकरणको अभाव छ । त्यसको समाधानका लागि पनि भोलिका दिनमा सरुवा रोग अनुसन्धान केन्द्र बन्यो भने प्रदेशको ध्यान त्यसमा जाने म बेला अस्पतालमा समेत पुग्ने विश्वास छ ।”

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं। बिहिबार केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। यस्तै आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९८ पैसामा कारोबार भएको छ। युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ २० पैसा र बिक्रीदर १४३ रूपैयाँ ८४ पैसा तोकिएको छ।

त्यस्तै,बेलायती पाउण्ड सटर्लिङको भाउ ४४ पैसाले घटेर एकको खरिददर १६७ रूपैयाँ ४५ पैसा र बिक्रीदर १६८ रूपैयाँ २१ पैसा, हराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ १६ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ७५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४४ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ४९ पैसा र बिक्रीमा ९७ रूपैयाँ ९३ पैसा रहेको छ।

यता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७९ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८३, कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४७ पैसा, चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४७ पैसा, दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९१ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९६ पैसा कायम गरेको छ ।युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३६ रूपैयाँ २१ पैसा, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ १८ पैसा र बिक्रीदर ४३२ रूपैयाँ १८ पैसा रहेको छ।

‘प्रदेशभित्रका प्रहरीका भौतिक संरचनामा प्रदेश सरकारको लगानी छ’ – मुख्यमन्त्री जम्कट्टेल

मनहरी (मकवानपुर) – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशभित्रका प्रहरीका भौतिक संरचनामा प्रदेश सरकारको लगानी रहेको बताउनुभएको छ ।

हेटौँडा–११ स्थित थानाभ¥याङमा बागमती प्रदेश विपद् व्यवस्थापन गुल्मको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले आफू आन्तरिक मामिला तथा कानुनमन्त्री हुँदादेखिनै प्रहरीको भौतिक संरचना निर्माणमा जोड दिँदैआएको बताउनुभयो । प्रदेशभित्र विभिन्न जिल्लामा आवश्यकताअनुसार भौतिक संरचना निर्माण गर्दैआएको उहाँले बताउनुभयो ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले अपराध नियन्त्रण गर्न तथा शान्ति स्थापनामा प्रहरीको उल्लेख्य भूमिका रहेको बताउनुभयो । प्रहरीलाई प्रविधिमैत्री बनाउँदै नागरिकलाई छिटोछरितो सूचना प्रवाह र सेवा दिन प्रदेश सरकार अग्रसर रहेको उहाँले बताउनुभयो ।

प्रदेश विपद् व्यवस्थापन गुल्म रु तीन करोड २८ लाखको लागतमा निर्माण गरिएको हो । सो भवन आठ सय ५५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ । प्रदेश सरकारले हालसम्म ५७ प्रहरी एकाइ भवन निर्माण गरिसकेको छ ।

हिमाल हेर्न माइजोमाईमा पर्यटक आकर्षित, विश्वकै तेस्रो अग्लो हिमाल प्रष्ट देखिने

इलाम, १७ फागुन : इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६ मिटर) हिमाल प्रष्ट देखिन्छ भन्ने उहाँलाई लागेको थिएन । “ हिमाल हेरेरै बसिरहुँ लाग्यो, फुत्त उफ्रिदा हिमाल छोइएलाजस्तो, चिसो हावाको स्पर्श कति आनन्द ।” उहाँले भन्नुभयो ।

तुम्लिङ मात्र होइन नयाँबजार, थुम्के, मेग्मा, जौबारी, कालपोखरीलगायत इलामका उत्तरी भेगका लेकाली क्षेत्र नेपाल भारत सीमामा पर्ने पर्यटकीयस्थल हुन् । हिमाल हेर्न, झुल्के घामको दृश्यावलोकन गर्न, लोपोन्मुख वन्यजन्तु रेडपाण्डा हेर्न र औषधीय गुण भएका जडीबुटी खोज्न पाइने भएपछि खोज, अनुसन्धान र अवलोकन गर्न नेपालसहित भारत, भुटान, बङ्गलादेशलगायतका मुलुकबाट पर्यटक आउने गरेका छन् ।

प्रदेश सरकारले मेची राजमार्गमा पर्ने सूर्योदय नगरपालिकाको फिक्कल बजारदेखि माइजोगमाईको केन्द्र नयाँबजारसम्म जोडिने २० किलोमिटर सडक कालोपत्रे गरिदिएपछि सडक सहजताका कारण पर्यटक भित्रिने क्रम वृद्धि भएको गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले बताउनुभयो । “सडक बनिएपछि सजिलो भएको छ, तराईबाट आउने पर्यटक कन्याम, फिक्कल हुँदै सिधै नयाँबजार आएर हिमाल हेर्न, रेडपाण्डाबारे बुझ्न र जडीबुटी खोजी गर्न तुम्लिङतिर जाने गर्नुभएको छ ।” उहाँले भन्नुभयो ।

जैविक विविधताले भरिएको माइजोगमाई प्रचारप्रसारको अभावमा ओझेल परेपछि गाउँपालिकाले पर्यटन प्रवद्र्धनको काम सुरु गरेको छ । पर्यटकीयस्थललाई प्रवद्र्धन गर्न ‘टुरिज्म एप्स’ सञ्चालनमा ल्याउने काम अन्तिम चरणमा पुगेको अध्यक्ष थेबेले बताउनुभयो । ‘एप्समा यहाँका पर्यटकीयस्थल समेटिने छन् । उहाँले भन्नुभयो, “त्यसका साथै कृषिका कुरा, धार्मिक, सांस्कृतिक एवं यहाँका पुरातात्विक सम्पदाका कुरा समावेश हुन्छ ।” देश विदेशमा बसेर पनि माइजोगमाईमा कहाँ–कहाँ पर्यटकीय क्षेत्र छन् भन्नेबारे जानकारी लिन सकियोस् भनेर एप्स सार्वजनिक गर्न लागिएको उहाँले बताउनुभयो ।

पालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेर गत वर्ष थुम्केरानीमा तीन दिने थुम्केरानी महोत्सव आयोजना गरेको थियो । थुम्केरानी तुम्लिङ मेग्मा संरक्षण तथा पर्यटन प्रवद्र्धन समितिको आयोजनामा महोत्सव भएको थियो । थुम्केरानीबाट झुल्के घामको दृश्यावलोकनका साथै १० वटै स्थानीय तह, भारतका विभिन्न ठाउँ र तराईका फाँटको दृश्यावलोकन गर्न सकिन्छ । पर्यटकले गाउँपालिकाको केन्द्र नयाँबजारदेखि थुम्केरानी, जौबारी, तुम्लिङ, टङ्लु, मेग्मासम्मको पैदलयात्रा गर्छन् । जङ्गल सफारी र दुर्लभ रेडपाण्डाको अवलोकन पर्यटकका लागि यहाँँ थप आकर्षक बनेका छन् । विश्वको तेस्रो अग्लो हिमशृङ्खला, दुर्लभ वन्यजन्तु हाब्रे रेडपान्ड, एसियाको दोस्रो पुरानो मेग्मा गुम्बा अवलोकन गर्न सकिने अध्यक्ष थेबेले बताउनुभएको छ ।

माइजोगमाई गाउँपालिका २ र ६ को सङ्गमस्थलमा पर्ने थुम्के डाँडामा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको हो । लेकाली जीवजन्तुको अवलोकन, सूर्योदयको मनोरम दृश्यले भरिएको यस क्षेत्रमा दैनिक दर्जनौँ पर्यटक पुग्ने गरेका छन् । थुम्के र जौवारीमा गरिएको केसर खेतीले समेत पर्यटकलाई तान्न थालेको छ । अध्यक्ष थेवेले गाउँपालिकाको थुम्केसहित माथिल्लो लेकाली क्षेत्रको विस्तृत अध्ययन गरी पर्यटन पूर्वाधारका काम थालिएको बताउनुभयो । पालिकामा उत्तरे पोखरी, शिव मन्दिर बौद्धगुम्बासहित विभिन्न देवस्थलसहितका धार्मिक पर्यटकीयस्थल रहेका छन् ।

“नयाँबजारस्थित उत्तरे पोखरीमा पानीको सतह घटेपछि हामीले सहयात्रा नेपाल इलामसँगको साझेदारीमा पोखरीमा पानी पहिलाकै अवस्थामा फर्काउन प्रयास सुरु गरेका छौँ । त्यसलाई ब्युटिफिकेसनको काम गर्नेछौँ ।” उहाँले भन्नुभयो, “तुम्लिङ, थुम्केरानी, उत्तरे पोखरी, साततले झरनालगायतका ठाउँ हाम्रा प्रमुख पर्यटकीय गन्तव्य हुन् । करिब ३१ सय मिटरको उचाइमा रहेको तुम्लिङलगायत यहाँको उच्च हिमाली क्षेत्रमा धेरै जैविक विविधता पाइन्छ । हाम्रो ठाउँ लोपोन्मुख वन्यजन्तु रेडपाण्डा पाइने क्षेत्र हो । औषधीय गुण भएका जडीबुटी प्रशस्त पाइन्छन् । यी कुराको संरक्षणमा हामी जुटेका छौँ । यस्तै कुराको प्रचारप्रसार गरेर पर्यटन प्रवद्र्धनमा हाम्रो ध्यान गएको छ ।” पर्यटन पूर्वाधारका काम केही भएका छन् भने बाँकी काम निर्माणाधीन रहेको थेबेको भनाइ छ । “भगवान् गौतमबुद्धको सालिक, गणेशको मूर्ति, राजा यलम्बरको सालिक र लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको मूर्ति बनिएका छन् ।” उहाँले भन्नुभयो ।

पाँच सय ६१ मिटरदेखि तीन हजार एक सय मिटरसम्मको उचाइमा माइजोगमाईको भूगोल पर्दछ । यो क्षेत्र कृषि उत्पादनको उर्वर भूमि भएकाले कृषि पर्यटनलाई विकास गर्ने पालिकाको तयारी छ । धान, अलैँची, आलु, एभोकार्डो, किवी, खेतीदेखि केशर, चिराइतोलगायतको उच्च हिमाली जडीबुटीसमेत पाइने भएकाले खेतीबाट नै आर्थिक समृद्धि हासिल गर्ने यात्रामा पालिका अघि बढेको पालिका उपाध्यक्ष प्रवीना राईले बताउनुभयो । “किसानलाई खेतीमा प्रोत्साहन दिन कृषि शाखामार्फत बजेट छुट्याएर लगानी गरेका छौँ । किसानलाई व्यावसायिक बनाउन र उत्पादनलाई गुणस्तरीय बनाउन विगत वर्षदेखि नै हाम्रो प्रयत्न जारी छ ।” उपाध्यक्ष राईले भन्नुभयो, “युवापुस्तालाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता हटाएर गाउँमा नै खेतीबाट आर्थिक समृद्धि ल्याउन पालिकाले सहयोग गर्नेछ । उहाँहरुलाई अभिमुखीकरण तालिम, कृषिमा अनुदान र कृषि सामग्री वितरण गरिरहेका छौँ । सिँचाइ नपुगेर खेतीमा समस्या भएपछि प्रदेश र सङ्घीय सरकारसँगको साझेदारीमा विभिन्न क्षेत्रमा सिँचाइ सुविधा उपलब्ध गराइरहेका छौँ ।”

थुम्केरानी जोड्ने सडक स्तरोन्नतिको काम सम्पन्न भएकाले यहाँ आउने पर्यटकलाई सहज भएको गाउँपालिका उपाध्यक्ष राईले बताउनुभयो । यस क्षेत्रमा ऐतिहासिक जौवारी बजारसहित नेपालकै ठूलो आलु विकास केन्द्र रहेको छ ।

भूकम्पले क्षति पुर्याएका सामुदायिक विद्यालयका भवन राम्रा बने, विद्यार्थीको आकर्षण बढेन

मन्थली (रामेछप), १७ फागुन ः विसं २०७२ बैशाख १२ को विनाशकारी भूकम्पले क्षति पु¥याएका सामुदायिक विद्यालयका भौतिक संरचना आकर्षक निर्माण भएका छन् । विद्यालय भवन आकर्षक बने तापनि त्यहाँ अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या न्यून हुँदै जाँदा ती संरचनाको उपयोग कम हुन थालेकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

रामेछापका ८७ माध्यमिक विद्यालयको नयाँ भवन बनेका थिए । ती विद्यालयमा विद्यार्थीको सङ्ख्या दिनानुदिन घट्दै गएकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन् । शैक्षिक गुणस्तर नहुनु, जनसङ्ख्या वृद्धिदर न्यून हुनु र सामुदायिक विद्यालयमा राजनीतिक हस्तक्षेप हुनु लगायतका कारणले सामुदायिक विद्यालयमा विद्यार्थी घट्नुका मुख्य कारण भएको जिल्ला शिक्षा तथा समन्वय एकाइ रामेछापका प्रमुख भरतबहादुर भट्टराईले बताउनुभयो ।यसअघि जिल्लामा चार सयभन्दा बढी विद्यालय भए पनि विद्यार्थी कम भएकै कारण समायोजन भएर तीन सय ६० को सङ्ख्यामा झारिएका थिए । तर अझै विद्यार्थीको अभावमा ती विद्यालय एकअर्कामा समायोजन भई घट्ने अवस्था रहेको छ । यस्ता विद्यालयको शैक्षिक गुणस्तर खस्कँदै जान लागेपछि सुधारको प्रयासका लागि जिल्ला शिक्षा समन्वय एकाइ, विभिन्न पालिकामार्फत हुने गरेका तालिम, गोष्ठी, अन्तक्र्रिया एवं छलफलले पनि खासै काम गर्न सकेको छैन ।पूर्वशिक्षक गुञ्जबहादुर श्रेष्ठले सामुदायिक विद्यालयमा गुणस्तरीय अध्यापन नहुने र गाउँमा समानुपतिक विकास नहुनुनै सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै जाने गरेको बताउनुभयो । जिल्लामा पाँच नमूना माध्यमिक विद्यालय छन् एक÷दुई वटाबाहेक ती विद्यालयले पनि खासै गुणस्तरीय शिक्षा दिन नसक्दा विद्यार्थी आकर्षण गर्न सकेका छैनन् ।मुलुक सङ्घीय संरचनामा गएसँगै तत्कालीन जिल्ला शिक्षा कार्यालयले अनुगमन तथा नियमन गर्ने गरेका सबै विद्यालयसँग सम्बन्धित काम पालिकास्तरीय शिक्षा शाखाले गर्न थालेपछि भने अझै शैक्षिक गुणस्तर खस्कँदै गएको जनाइएको छ । माध्यमिक तहसम्म निःशुल्क शिक्षा भने पनि सामुदायिक विद्यालयले पनि जथाभावी विभिन्न बहानामा शुल्क असुल्ने गरेको र घरमा रहेका आफूजस्ता अभिभावक सौखिन भएका कारण पनि सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या नबढेको अभिभावक शान्ति प्रकाश दाहालले जानकारी दिनुभयो ।सबै तहका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाउने खालको दक्ष शिक्षक नहुनु, शिक्षकले आफ्ना छोराछोरीलाई आफूले पढाउने विद्यालयमा नपढाउनु, शिक्षक नियुक्ति गर्दा अनुभवी र दक्ष एवं राम्रा शिक्षकलाई भन्दा हाम्रा÷(आफ्ना, आफन्त) शिक्षकलाई प्रक्रिया मिलाएर नियुक्ति गर्ने गलत अभ्यास बढेको जनाइएको छ । अभिभावक सञ्जय वाग्लेले शिक्षक सेवा आयोगबाट आधारभूत वा माध्यमिक तह पास गरेर आएका शिक्षकमध्ये पनि पहुँचवालालाई मात्र आफ्नो पालिकामा ल्याउन पहल गर्नु नै शैक्षिक गुणस्तर खस्कनु र विद्यार्थीको सङ्ख्या घट्नुका कारण भएको बताउनुभयो ।यसो त कक्षा १ देखि १२, सम्म निःशुल्क पाठ्यपुस्तक, ५ कक्षासम्म दिवा खाजाको व्यवस्था, टोलटोलबाट विद्यार्थी ल्याउन विद्यालयमा बसलगायतका सुविधा पनि नभएको भने होइत तर यी सुविधा हुँदाहूँदै पनि विद्यार्थीको सामुदायिक विद्यालयमा आकर्षण बढ्न सकेको छैन ।संस्थागत विद्यालयसँग नमूना माविको रुपमा रहेको मन्थली मावि मन्थली र मावि डहुलेभन्दा बाहेकका अन्य माध्यमिक विद्यालयले गुणस्तरमा भने प्रतिस्पर्धा गर्न सकेका छैनन् । त्यही कारण पनि सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्न नसकेको हो । आफूले पढाउने विद्यालयमा आफ्ना बालबालिका अधिकांश शिक्षकले नपढाउने गरेकाले पनि शैक्षिक गुणस्तर खस्केको अभिभावकको आरोप छ । दक्ष तथा अनुभवी एवं युवापुस्ताका शिक्षकलाई नयाँ नियुक्ति दिने र २० वर्ष वा सोभन्दा बढी समयसम्म शिक्षण गरेका शिक्षकलाई पेन्सन दिनुपर्ने अभिभावक नारायणबाबु बस्नेतले बताउनुभयो ।

ताइवानलाई अमेरिकी हतियार बिक्रीको चीनद्वारा विरोध

– चिनियाँ सरकारका प्रवक्ताले बुधबार चीनको ताइवान क्षेत्रमा अमेरिकी हतियार बिक्री बारे कडा विरोध गर्नु भएको छ । राज्य परिषद्को ताइवान मामिला कार्यालयका प्रवक्ता झु फेङ्ग्लियनले अमेरिकी पक्षलाई ‘एक चीन सिद्धान्त’ र ‘तीन चीन-अमेरिका संयुक्त विज्ञप्ति’ नीतिको कडाइका साथ पालना गर्न आग्रह गर्नुभएको छ।

उहाँले अमेरिकालाई ताइवानलाई तुरुन्तै हतियार बिक्री रोक्न समेत आग्रह गर्नु भएको छ । ताइवानलाई करिब ७५ मिलियन अमेरिकी डलरको हतियार बेच्न अमेरिकी सरकारले हालै दिएको स्वीकृति बारेको प्रतिक्रिया सोध्दा उहाँले यस्तो टिप्पणी गर्नु भएको हो ।

प्रवक्ता झुले ताइवानमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीका अधिकारीहरूलाई उनीहरूको “स्वतन्त्रता” एजेन्डाका लागि अमेरिकी समर्थन खोज्ने र बलद्वारा “स्वतन्त्रता” पछ्याउने प्रयासले ताइवानलाई खतरनाक रूपमा युद्धको नजिक लैजाने र ताइवानका जनतालाई खतरामा पार्ने चेतावनी दिनु भएको छ ।

मोरक्कोको तटमा आप्रवासी डुङ्गा पल्टिँदा ८ जनाको मृत्यु

मोरक्कोको तटमा आप्रवासी डुङ्गा पल्टिँदा ८ जनाको मृत्यु भएको छ । मोरक्कोको भूमध्यसागरीय तटमा डुङ्गा चढेर स्पेन जाने प्रयास गर्दा ८ जना आप्रवासी डुबेर मृत्यु भएको उत्तरपूर्वी प्रान्त नादोरका स्थानीय अधिकारीहरूले बुधबार बताएका छन्।

पीडितहरू जानकारी प्राप्त नभएको आप्रवासीहरूको समूहमा थिए जसले मङ्गलबार साँझ बेनी चिकर शहरबाट जिब्राल्टरको स्ट्रेट पार गर्न डुङ्गा चढेका थिए । सो दुर्घटनामा ९ जना आप्रवासीलाई उद्धार गरी अस्पताल पुर्याइएको छ । बेपत्ताहरुको खोजी कार्य जारी रहेको विज्ञप्तिमा उल्लेख छ ।

पूर्वी इन्डोनेसियामा पहिरोमा परी ९ जना बेपत्ता

पूर्वी इन्डोनेसियाको दक्षिणी सुलावेसी प्रान्तस्थित राजमार्गमा पहिरो जाँदा ५ जनाको ज्यान गएको छ भने ९ जना बेपात्ता भएका छन् । संयुक्त खोज र उद्धार टोलीले बुधबार यस घटनाबारे जानकारी दिएको छ ।

सोमबार बिहान प्रान्तको राजधानी मकासारबाट करिब ३४० किलोमिटर टाढा लुउ रिजेन्सीमा पहिरो गएको र उद्धारकर्ताहरूले त्यहाँबाट ४ वटा शव निकालेका थिए ।

पहिरोमा दश वटाभन्दा बढी मोटरसाइकल र दुईवटा कार पनि पुरिएका छन्। दक्षिण सुलावेसी खोज तथा उद्धार एजेन्सीका प्रमुख मेक्सियानस बेकाबेलले स्थानीय मिडियालाई बताएअनुसार खोजी कार्यमा ड्रोन र उत्खननकर्तासहित प्रहरी र सेनाका कर्मचारीहरू पनि संलग्न छन् । इन्डोनेसियामा वर्षाको मौसममा बाढी र पहिरो जस्ता प्रकोपहरू बढी हुने गर्दछ ।

भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई राष्ट्रिय एकताको केन्द्र बनाउन राष्ट्रपतिको जोड

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई सिङ्गो नेपालको प्रतिविम्ब झल्कने गरी राष्ट्रिय एकताको केन्द्र र संसारभरिका नेपाली एकपटक पुग्नैपर्ने साहित्यिक तीर्थस्थलका रुपमा विकास गरिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

भानु साहित्य उद्यानको सहकार्यमा भानु नगरपालिकाद्वारा बुधबार यहाँ आयोजित भानु साहित्य उद्यानको गुरुयोजना अवधारणापत्र एवं परामर्श कार्यक्रममा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले देशका सातै धाम एकै ठाउँमा निर्माण गरेर नेपालका नेपाली, नेवारी, मैथिली, भोजपुरी, अवधी, राई, लिम्बू तामाङ, गुरुङ मगर सबै भाषाका साहित्यिक प्रतिभालाई एकै ठाउँमा राखेर कलात्मक र प्राकृतिक सौन्दर्यसहित आर्थिक सहयोग जुटाएर गुरुयोजनाअनुरुप भानु साहित्य उद्यान निर्माणको परिकल्पनालाई साकार पार्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

आदिकवि भानुभक्तको प्रतिमा केन्द्रमा राखेर अन्य भाषाभाषीका आदिकवि, ती भाषाका विशिष्ट साहित्यिक व्यक्ति र आ–आफ्ना मातृभाषामा विशिष्ट रचना गर्ने कविहरूको प्रतिमा स्थापना गरी चुँदीरम्घालाई विभिन्न भाषाका कविहरूको फूलबारी बनाउँदै एउटा विशिष्ट साहित्यिक तीर्थस्थलको रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।

साहित्यिक तीर्थयात्रीका निम्ति चुँदीबेँसी, भानु स्मृति भवन, रम्घाको डाँडो, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मथलो अर्घौअर्चले, जनकवि केशरी धर्मराज थापाको बाटुलेचौर र लोकगायक अलि मियाको जन्मस्थल कुँडहर हुँदै राष्ट्रकवि माधव घिमिरेको घर पुस्तुन लमजुङ, मानुङ विविध भानुस्मृति स्थल संयोजन गरी एउटा भानु परिपथ बनाउन सकिने र परिपथले भानुभक्तका स्मृतिलाई चिरकालसम्म जीवन्त बनाई राख्ने उहाँको भनाइ थियो ।

आफूले दार्जिलिङ र सिक्किमको भ्रमणका बेला यस्तो उद्यानको परिकल्पना गरेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले चुँदीरम्घाको डाँडामा सिक्किममा चार धाममा शिवजीको मूर्ति राखे जस्तै ठूलो बाटुलो भवनकोे धुरीमा भानुभक्तको प्रतिमा राखेर चारैतिर देखिने गरी अर्थात् दक्षिणमा बन्दीपुर, छिम्केश्वरी, पश्चिममा मानुङ, तनहुँसुर, उत्तरमा मिर्लुङकोट र तुर्लुङकोट, पूर्वमा लिगलिगकोट हुँदै गोरखा कालिका र मनकामनाबाटसमेत देख्न सकिने बनाऔँ भनेर अवधारणा सारेको स्मरण गर्नुभयो ।

विश्वभरिका नेपालीहरूको सुझाव र सहयोग जुटाएर गुरुयोजनाअनुरुपको निर्माण कार्य गर्न उहाँले सुझाव दिनुभयो । “यो उद्यान संसारभरि छरिएका नेपालीहरूले जीवनमा एक पटक पुग्नै पर्ने साहित्यिक तीर्थस्थल र भावनात्मक रूपले नेपाली राष्ट्रिय एकता केन्द्र बन्ने गरी यसको निर्माण होस् भन्ने मेरो सदिच्छा छ”, उहाँले भन्नुभयो ।

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले नगरपालिकाले यस सम्बन्धमा गरेका काम तथा योजना, समितिका उपाध्यक्ष व्रतराज आचार्यले भानु साहित्य उद्यानको गुरुयोजना अवधारणापत्र र महासचिव काशीराज आचार्यले विषयवस्तुबारे प्रकाश पार्नुभएको थियो । त्यसअवसरमा वासुदेव त्रिपाठी, रमा शर्मालगायत साहित्यकारले भानु साहित्य उद्यानका विविध पक्षबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बेनी नगरपालिकाभित्र हुक्का सेवन र बेचबिखनमा प्रतिबन्ध

म्याग्दी (बेनी), १७ फागुन : म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र हुक्कालाई प्रतिबन्ध (निषेध) गरिएको छ । सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धूमपान गर्ने वस्तु हुक्का (तमाखु)ले जनस्वास्थ्यमा गम्भीर असर पार्ने र युवायुवतीलाई कुलतमा लगाउने गरेको निष्कर्ष निकाल्दै नगरपालिकाले बुधबारदेखि हुक्का सेवन र बेचबिखनमा प्रतिबन्ध लगाएको हो ।

गत माघ २५ गतेको नगर कार्यपालिकाको बैठकले गरेको निर्णयअनुसार हुक्कालाई पूर्णरुपमा बिक्री वितरण र सेवनमा निषेध गरिएको नगर प्रमुख सुरत केसीले जानकारी दिनुभयो । पछिल्लो समय बजार क्षेत्रमा युवायुवती हुक्का सेवनका कुलतमा फस्दै गएका थिए । युवायुवतीलाई कुलतमा लैजान हुक्काले प्रत्यक्ष प्रभाव पारेपछि नगरपालिकाले नीतिगत निर्णय गरी आवश्यक छलफल र तयारीका साथ हुक्का सेवन र बिक्री वितरणमा निषेध गरिएको उहाँले बताउनुभयो ।

नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर हुक्का सेवन एवं बिक्री वितरणमा रोक लगाएको जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को नगरपालिकाको काम, कर्तव्य र अधिकारमध्ये दफा ११ को उपदफा २ खण्ड ९ञ० बमोजिम आधारभूत स्वास्थ्य र सरसफाइअन्तर्गत रही स्थानीय वातावरणमा र मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकाले हुक्कालाई पूर्णरुपमा निषेध गर्ने निर्णय गरिएको नगरपालिकाले जारी सूचनामा उल्लेख छ ।

कसैले अवज्ञा गरी हुक्का बिक्री वितरण गरेको पाइएमा सुरक्षा निकाय र नगर प्रहरीमार्फत जफत गरी कानुनअनुसार अधिकतम कारबाही गरिने व्यवस्थासमेत गरिएको प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले जानकारी दिनुभयो ।

नगरपालिकामा हुक्का निषेधसँगै जिल्ला प्रशासन, प्रहरीसहितको अनुगमन र समुदायस्तरमा समेत हुक्काको प्रयोगलाई निरुत्साहितसहितको सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । यसअघि नगरपालिकाले जनप्रतिनिधि, नगरभित्रका होटल तथा रेष्टुराँ व्यवसायीसँग समेत छलफल गरेर हुक्कालाई प्रतिबन्ध लगाउने योजनालाई अघि बढाएको थियो ।

पहाडी भू-भागमा आंशिक बदली, दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ हाल देशमा नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ जसका कारण अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

काठमाडौँ महानगरमा दुई लाख करदाताले तिर्दैनन् नियमित कर

काठमाडौँ, फागुन १७ : काठमाडौँ महानगरपालिकामा करिब दुई लाख करदाताले नियमित कर नतिर्ने गरेको पाइएको छ । कामपामा दर्ता भएका करदाता तीन लाख १२ हजार भए पनि दुई लाखले नियमित कर नतिर्ने बताइएको छ ।

लामो समयदेखि दर्ता प्रक्रियामा नै नआएर कर तिर्नका लागि आलटाल गरिरहेका करदातालाई नियमअनुसार समावेश गर्नका लागि कामपाले वडास्तरीय अनुगमन गरी नियमसङ्गतरुपमा ल्याउने तयारी गरेको कामपा राजस्व विभाग जनाएको छ यसरी कर तिर्नका लागि आलटाल गर्नेमा सबैभन्दा धेरै बहाल करमा करिब एक लाख करदाता रहेको छन् । त्यस्तै व्यवसाय कर, मनोरञ्जन कर र विज्ञापन करमा एक लाखको हाराहारीमा रहेको कामपा राजस्व विभागका प्रमुख धु्रव काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार दर्ता प्रक्रियामा नआएका सबै शीर्षकका करदातालाई नियमअनुसार बनाउनका लागि यसै महिनादेखि कामपाको ३२ वटै वडाबाट नियमित अनुगमन गरी प्रक्रियामा ल्याउने तयारी कामपाको रहेको छ ।

कामपामा कर तिर्नका लागि दर्ता प्रक्रियामा आएका तर नियमित कर नबुझाउने करदाताबाट पनि रु दुई अर्ब बक्यौता असुल गर्न बाँकी रहेको प्रमुख काफ्लेले जानकारी दिनुभयो । उक्त रकम विगत १२ वर्षदेखिको रहेको कामपाको भनाइ छ । दर्ता गरेर पनि नियमअनुसार कर नतिरेका करदाताका लागि कामपाले चालु आर्थिक वर्षको साउन महिनादेखि पुस मसान्तसम्म तिर्नुपर्ने रकममा केही छुट दिएको थियो ।

सोही अवधिमा दर्ता प्रक्रियामा रहेको केही करदाताले कर तिरेका भए पनि अझै धेरै करदाताले तिर्नका लागि आलटाल गरिरहेका छन् । दुई वर्षअघि पनि कामपाले २८ वर्षदेखिको बक्यौता रकम असुल गर्न भन्दै त्यस्ता करदाताको नाम नै सार्वजनिक गरेको थियो । उक्त समयमा घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने र बक्यौता तिर्ने क्रम बढेको भए पनि अहिले बक्यौता तीर्ने क्रम ठप्पजस्तै रहेको काफ्लेको भनाइ छ ।

चालु आवका लागि जम्मा रु दश अर्ब ८० करोड वार्षिक लक्ष्य लिएको कामपाले चालु आर्थिक महिनाको अवधि पार गरिसक्दा रु पाँच अर्ब ८० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ । चालु आवको अर्ध वार्षिक अवधिसम्म कामपाको राजस्व सङ्कलनको अवस्था राम्रो रहे पनि पछिल्लो माघ महिनामा कामपाको आम्दानी अन्य महिनाको तुलनामा घटेको छ ।

हेर्नुहोस् फागुन १७ गते बिहिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – नयाँ कार्य थालनिको सम्भाबना रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

बृष राशि – प्रतिश्पर्दा जन्यकार्यमा बिशेष सजग रहनु होला । सामान्य आर्थीक अभावको सम्भाबना रहेकोछ । परिवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ ।

मीथुन राशि – रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ ।

कर्कट राशि – स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनह?को साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ ।

सिंह राशि – बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । गरीरहेको कार्यमा ब्यवधान उत्पन्न गराउनेहरुको बृद्धिहुनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिह?ले प्राप्त गर्नेछन । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

कन्या राशि – स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

तुला राशि – गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने रहनेछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ ।

बृश्चिक राशि – स्वास्थमा सामान्य तनाव उत्पन्नहुन सक्नेछ । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्नेछ । सामान्य यात्राको सम्भाबना रहेकोछ । मित्रजनहरुको साथसहयोग प्राप्त रहनेछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

धनु राशि – बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । खानपानमा साबधानि उत्तम रहनेछ । मित्रजनह?को साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ ।

मकर राशि – सामाजिक कार्यमा जुट्नेसमय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनह?को स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । खानपानको क्षेत्रमा सजग रहनु होला ।

कुम्भ राशि – मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरीएको कार्य त्रुटिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

मिन राशि – खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।

अवैधरुपमाहुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ

पक्राउ पर्नेमा चीनको सङ्घाई घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर बस्ने २८ वर्षीय झोउ जियायु रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकाभित्र गैरकानुनी रुपमा नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशनविपरीत हुण्डीमार्फत वित्तीय कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई काठमाडौँ महानगरपालिका–२ लाजीम्पाटबाट पक्राउ गरिएको हो । पक्राउ परेका जियायुबाट नेपाली एक हजार दरको नोट रु आठ लाख तथा रु पाँच सय दरको नोट रु चार लाख बरामद गरिएको प्रवक्ता रेग्मीले बताउनुभयो । उनलाई नेपाल राष्ट्र बैंकअन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

‘देशलाई समृद्धिको मार्गमा अघि बढाउन एमालेको एकल सरकार चाहिन्छ’ : अध्यक्ष ओली

इनरुवा, १६ फागुन- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको बहुमतको सरकारले मात्र देशलाई समृद्धिको मार्गमा अघि बढाउनसक्ने बताउनुभएको छ । आज यहाँ आयोजित बृहत् कार्यकर्ता भेलामा उहाँले एमालेको एकल बहुमतको सरकार गठन नभएसम्म राष्ट्रियता पनि सुदृढ नहुने बताउनुभयो ।

उहाँले पार्टी कार्यकर्तालाई सङ्गठन विस्तारमा लाग्न निर्देशन दिँदै तल्लो तहमा पार्टीले गर्ने कामबाटै जनताको भरोसा जित्न सकिने बताउनुभयो । पूर्वप्रधानमन्त्री ओलीले सडक, शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत्लगायत आधारभूत विकासका संरचना र तिनमा विपन्न वर्गको पहँुच सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै देशको समृद्धिका लागि इमान्दारीका साथ काम गर्न सरकारलाई सुझाव दिनुभयो ।

लोकतन्त्रको अनुभूति हुने गरी काम गर्न उहाँले वर्तमान सरकारलाई आह्वान गर्नुभयो । त्यस अवसरमा जनता समाजवादी पार्टी (जसपा), नेपाल केन्द्रीय सदस्य तथा तत्कालीन भोक्रहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष पुनम मेहताको नेतृत्वमा सय बढी नेताकार्यकता नेपका एमालेमा प्रवेश गरेका थिए ।

सुदूरपश्चिम प्रदेशसभा नियमावली संशोधन मस्यौदामा छलफल

सुदूरपश्चिम, १६ फागुन : सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८०को संशोधन मस्यौदामाथि छलफल भएको छ । छलफलमा भाग लिँदै प्रदेशसभाका सदस्य तुल्सी देवकोटा, ओमविक्रम भाट र वीरबहादुर थापाले प्रदेशसभा नियमावली संशोधनको विषय समयानुकूल रहेको बताउनुभयो ।

त्यसअघि प्रदेशसभा नियमावली संशोधन मस्यौदा समितिका सभापति विक्रमसिंह धामीले प्रस्तुत गर्नुभएको ‘संशोधन मस्यौदामाथि छलफल गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो । समितिका सभापति धामीले छलफलका क्रममा नियमावलीमा सभामुखको भूमिकालाई थप प्रभावकारी बनाउने, विशेष समितिको कार्यक्षेत्रलाई थप शक्तिशाली बनाउनेलगायत बुँदामा संशोधन प्रस्ताव गरिएको बताउनुभयो ।

सामाजिक विकासमन्त्री झपटबहादुर साउदले पेस गर्नुभएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक संशोधनको सूचनासहित दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई पनि बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

प्रदेशसभामा प्रमुख प्रतिपक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकउपर संशोधनको सूचना सचिवालयमा दर्ता गराउनुभएको थियो । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक टेबल गर्नुभयो ।

विधेयक टेबल गर्दै मन्त्री भट्टले प्रदेश तहमा काम गर्न निकै कठिनाइ भएकाले सङ्घीय निजामती सेवा ऐनसँग नबाझिने गरी प्रदेश निजामती सेवा ऐन संशोधनका लागि संशोधन विधेयक प्रस्तुत गर्नुपरेको बताउनुभयो । प्रदेश निजामती सेवा ऐन, २०७९ को संशोधन विधेयकमा कर्मचारीको बढुवा, सरुवालगायत विषय समेटिएका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठसँग लेबनानका राजदूतको भेट

काठमाडौँ, १६ फागुन: उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि लेबनानका गैरआवासीय राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सम्बन्धका विविध पक्षबारे विचारविमर्श भएको थियो ।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र लेबनानबीच सन् १९६३ मा दौत्य सम्बन्ध स्थापना भएको र हालसम्म दुई देशबीच सुमधुर सम्बन्ध रहेकामा खुशी व्यक्त गर्नुभएको उहाँको प्रेस संयोजक कमल गिरीले जानकारी दिनुभयो ।
गृहमन्त्रीले लेबनान जस्तै नेपाल पनि आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको प्रक्रियामा रहेको उल्लेख गर्दै लेबनानबाट आउने वैदेशिक लगानीलाई प्रोत्साहन गरिने बताउनुभयो ।

राजदूत लोरेन्जोले आफ्नो कार्यकालको यो चौथो नेपाल भ्रमण भएको र हरेक पटकको भ्रमणले आफू निकै उत्साहित हुँदै आएको बताउनुभयो । नेपालका सेनाले लेबनानमा शान्ति कायम गर्न पु¥याएको योगदानप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।

सङ्घीयता कार्यान्वयन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री

काठमाडौँ, १६ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीयता कार्यान्वयन सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले विगत चार वर्षदेखि बस्न नसकेको सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐनबमोजिम गठित राष्ट्रिय समन्वय परिषद्को बैठक यसै वर्ष दुईपटक बसी सङ्घीयताको कार्यान्वयनका सम्बन्धमा विभिन्न निर्णयहरू भएको जानकारी दिनुभयो ।

उहाँले राष्ट्रिय निकुञ्ज र आरक्षण क्षेत्रमा आयोजना सञ्चालनसम्बन्धी निर्देशिका स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको र नदीजन्य निर्माण सामग्रीको सहज आपूर्तिका लागि सोको उपयोगसम्बन्धी विधेयक संसद्मा विचाराधीन रहेको स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री दाहालले काठमाडौँ–तराई मधेस दू्रतमार्ग, बूढीगण्डकी जलविद्युत् आयोजना, हुलाकी राजमार्ग, जयनगर–जनकपुर–कुर्था–भगाहा रेल, सुनकोसी मरिण डाइभर्सनलगायत आयोजना र कामलाई गति दिन सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

गण्डकी प्रदेशसभामा तीन विधेयक प्रस्तुत

गण्डकी, १६ फागुन : गण्डकी प्रदेशसभाको आजको बैठकमा तीन विधेयक प्रस्तुत भएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले ‘गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ प्रदेशसभामा पेस गर्नुभएको हो ।

‘गण्डकी प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिका सभापति फणीन्द्र देवकोटाले समितिको प्रतिवेदनसहित प्रदेशसभामा पेस गर्नुभएको हो ।

यस्तै ‘गण्डकी प्रदेशमा आमसञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभाको प्रदेश मामिला तथा कानुन समितिका सभापति चम्पादेवी खड्काले समितिको प्रतिवेदनसहित प्रदेशसभामा प्रस्तुत गर्नुभएको हो ।

बीउबिजन र आमसञ्चार सम्बन्धी विधेयक गत भदौ ३० गते प्रदेशसभामा दर्ता भई दफाबार छलफलका लागि विषयगत समितिमा पठाइएको थियो । विज्ञसहित सरोकार भएका पक्षहरुसँगको सघन छलफल र परामर्शपछि संशोधनसहित समितिबाट पारित भएको विधेयक प्रदेशसभामा प्रस्तुत गरिएको सामाजिक विकास तथा कृषि समितिका सभापति देवकोटाले बताउनुभयो ।

प्रदेश मामिला तथा कानुन समितिका सभापति खड्काले समितिका सदस्य, सम्बन्धित मन्त्रालयका पदाधिकारी, आमसञ्चार क्षेत्रका विज्ञलगायत सरोकार भएका पक्षसँगको रायसुझावलाई विधेयकमा समेटिएको बताउनुभयो । विधेयकमाथि दफावार छलफलका लागि पटकपटक समितिको बैठक बसेको उहाँको भनाइ छ ।

दुवै विधेयक प्रदेशसभामा सामान्य छलफलपछि पारित हुने जनाइएको छ । गत माघ २९ गतेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम ‘गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ आज प्रदेशसभामा पेस भएको हो ।

बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही हिउँदे अधिवेशनमा गण्कडी प्रदेश सडक विधेयक, जीवनाशक विषादी व्यवस्थापन विधेयक, जनस्वास्थ्य विधेयक, भूमि विधेयक, घरेलु मदिरासम्बन्धी विधेयक, खाद्य, विद्युत्, जलस्रोतलगायत विधेयक ल्याइने बताउनुभयो । विभिन्न नियमावली संशोधनका लागि सरकारले स्वीकृत प्रदान गरेको उल्लेख गर्दै उहाँले आवश्यकता पहिचान भएका कानुन निर्माण गर्ने कार्य प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले कानुनी प्रबन्धसँगै प्रदेश सरकारले तय गरेका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा आफूहरु केन्द्रित रहेको उल्लेख गर्नुभयो ।

रुसका सेनामा अवैध बाटोबाट गएका नेपालीलाई चाँडो उद्धार गर्छौं – प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १६ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याज (अनुचित लेनदेन) सहकारी, लघुवित्त पीडितका समस्या समाधान गर्न सरकार गम्भीरतापूर्वक लागिरहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले सरकार पीडितप्रति गम्भीर भएकाले उच्चस्तरीय आयोग गठनका साथै ऐन निर्माण गरेर समाधानमा पहल गरिरहेको बताउनुभयो । उहाँले यसै सन्दर्भमा केही मुद्दा अदालतले फुकाइदिनुपर्ने खालका भएकाले सरकारले अदालतलाई त्यसको संवेदनशीलतालाई ध्यान दिएर सहजीकरण गरिदिन आग्रह गर्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “समस्या सरकारका कारणले नभई कानुनीरुपमा आएको छ । यो समस्याको समाधानका लागि अदालती प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । पुराना कागज र तमसुकका आधारमा भएका कारोबारमा कानुन पीडककै पक्षमा हुन सक्ने भएकाले यसको प्रकृतिअनुसार सरकार र अदालतले मिलेर समाधान गर्नुपर्नेछ ।”

ती क्षेत्रका पीडितहरूले विभिन्न चरणका आन्दोलन गर्दै आएका छन् । प्रधानमन्त्री दाहालले ती विषयमा आजै सम्बन्धित निकाय र पक्षसँग वार्ता भएको पनि जानकारी दिनुभयो ।

समितिका सदस्यहरुको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री दाहालले काठमाडौँ तराई मधेस दूतमार्ग निर्माणको सुरु विन्दुको जग्गा विवादमा सहमति नभए विकल्प खोजर निर्णय गर्ने, सुनकोसी मरिन डाइभर्सनको निर्माण अघि बढाइने, गोर्खा भर्तीमा रहेका नेपालीका समस्या समाधानका लागि पहल गर्ने, रुसका सेनामा अवैध बाटोबाट गएका नेपालीलाई चाँडो उद्धार गर्ने, निजामती कर्मचारी विधेयक पेस गर्नेलगायत विषयमा सरकारले योजना बनाएर काम गरिरहेको जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री दाहालले समितिका निर्देशनहरू प्राथमिकतामा राखी आगामी १६औँ योजना, सरकारका नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बोधन गर्न सम्बन्धित निकायमा निर्देशन दिएको पनि अवगत गराउनुभयो । उहाँले संसद्मा बजेटको अभावमा काम हुन नसक्ने स्थितिको अन्त्यका लागि पनि अर्थ मन्त्रालयलाई अवगत गराइएको बताउँदै आगामी दिनमा त्यस्तो अवस्था हुन नदिने बताउनुभयो ।

बैठकमा समितिका सभापति दिलकुमारी रावल (पार्वती) ले समितिले राष्ट्रिय सरकारका क्षेत्रमा दिएका निर्देशनहरु, तीन तहका सरकारबीचको समन्वय, राष्ट्रिय सम्पदा, मानव अधिकार, परराष्ट्र, पिछडिएका क्षेत्र, समुदाय, राष्ट्रिय गौरवका आयोजना, संस्कृति, राष्ट्रिय सुरक्षा र संवैधानिक अयोगलगायत विषयमा दिइएका निर्देशनबारे स्मरण गराउनुभएको थियो ।

पृतनापति समन्वयात्मक बैठकः सुरक्षा चुनौती आकलन गर्न रक्षामन्त्रीको निर्देशन

काठमाडौँ, १६ फागुन : उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बाह्य तथा आन्तरिक कारणबाट राष्ट्रिय सुरक्षामा देखापर्न सक्ने चुनौतीको आकलन गर्न जरुरी रहेको बताउनुभएको छ ।

नेपाली सेनाको आयोजनामा आजदेखि यहाँ सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उहाँले भू राजनीतिक अवस्थिति, शक्ति राष्ट्रको रणनीति र प्रतिष्पर्धा, भिन्न सिद्धान्त र राज्य व्यवस्था भएका छिमेकीको विश्व मञ्चमा बढ्दो उपस्थितिलगायत विषयले सुरक्षा वातावरणमा चुनौती थपेको बताउनुभयो ।

उपप्रधानमन्त्री खड्काले आन्तरिक रुपमा विभिन्न स्वार्थ प्रेरित व्यक्ति र समूहको धार्मिक र सामाजिक सद्भाव विथोल्ने एवं साम्प्रदायिक गतिविधिको सूक्ष्म विश्लेषण गर्दै सुरक्षा चुनौतीको समाना गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनभुयो । राष्ट्रिय सुरक्षामा विद्यमान चुनौतीका बारे छलफल गरी त्यस्ता चुनौतीको सामना गर्ने उपायहरू पहिल्याउन बैठक उपयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
नेपाली सेनाले विभिन्न परिस्थितिमा सीमित स्रोत तथा साधनको अधिकतम उपयोग गर्दै मुलुक र माटोका लागि गरेको त्याग प्रशंसनीय रहेको उल्लेख गर्दै रक्षामन्त्री खड्काले सेनाको साहस तथा पराक्रमको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक चर्चा हुने गरेको स्मरण गर्नुभयो । जाजरकोट भूकम्पलगत्तै खोज, उद्धार एवं राहत कार्यमा सेनाले प्रदर्शन गरेको सक्रियताको आफू स्वयं साक्षी रहेको बताउँदै उहाँले सेनालाई पर्याप्त स्रोत साधनको व्यवस्था गर्दै उच्च व्यावसायिकता कायम राख्न सरकार र आफ्ना तर्फबाट पूर्ण प्रतिबद्धता प्रकट गर्नुभयो ।

रक्षामन्त्री खड्काले नेपाली जनताको तीव्र विकासको अपेक्षा पूरा गर्न राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेस द्रुतमार्गलगायत विकटका बस्ती जोड्ने सडक आयोजनाको जिम्मेवारी सरकारले सेनालाई सुम्पिएको बताउनुभयो । जटिल भू–बनोट भएका दुर्गम इलाकामा विकास निर्माणका थप जिम्मेवारी नेपाली सेनालाई प्राप्त हुनसक्ने उहाँले बताउनुभयो ।

उपप्रधानमन्त्री खड्काले निर्धारित लागत तथा समयसीमाभित्रै यस्ता आयोजना सम्पन्न गर्नेतर्फ सम्बद्ध सबै पक्ष संवेदनशील भएर लागिपर्ने विश्वास व्यक्त गर्नुभयो । संविधान प्रदत्त एवं राज्यले आवश्यक ठानेका अन्य जिम्मेवारीको निर्वाहमा नेपाली सेना सदैव अब्बल रहिआएको उल्लेख गर्दै उहाँले शान्ति स्थापनार्थ खटिने राष्ट्रको शीर्ष स्थानमा रहेको नेपाल र नेपाली सैनिकका बारेको प्रशंसाबाट सिङ्गो मुलुक गौरवान्वित भएको बताउनुभयो । उहाँले नेपाली सेनालाई सबल र समयानुकुल बनाई राख्न आवश्यक कानूनी प्रावधानको तर्जुमा तथा विद्यमान कानूनी प्रावधानलाई अद्यावधिक गर्नेतर्फ प्राथमिकताका साथ काम भइरहेको जानकारी दिनुभयो ।

प्रधानसेनापति प्रभुराम शर्माले नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी तथा राष्ट्रिय सुरक्षा नीतिले औँल्याएका कार्यसँगै पर्यावरण संरक्षण, विपद् प्रतिकार्य, विकास– निर्माण, महामारी नियन्त्रण, विश्व शान्ति स्थापना, आन्तरिक द्वन्द्व तथा अपरम्परागत सुरक्षा चुनौतीको सामना गर्न हरपल तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो ।

प्रधान सेनापतिले परम्परागत र अपरम्परागत खतराद्वारा सिर्जित सुरक्षा चुनौतीलाई सम्बोधन गर्नु आजको मुख्य आवश्यकता रहेको हुँदा सोहीअनुरुप तयारी अवस्थामा रहन एवं राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने विभिन्न विषयमा छलफल गर्न बैठक फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार वर्तमान राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा परिस्थितिको विश्लेषण गर्दै प्रधानसेनापतिले नेपालको सीमाना भन्दा धेरै टाढा भइरहेका रुस तथा युक्रेनबीचको युद्ध, इजरायल तथा हमासबीचको युद्धलगायत गतिविधिले नेपालको आर्थिक तथा सामाजिक जीवनमा परिरहेको प्रभावले भूमण्डलीकरणको असरलाई प्रतिविम्बित गरेको बताउनुभयो ।

बैठकमा सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखका साथै पृतनापतिको सहभागिता थियो । बैठकमा सहभागीले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यको समीक्षा एवं सुझाव प्रस्तुत गर्ने कार्यक्रम छ ।