`

‘तीन पुस्तापछि जग्गाको मालिक बन्न पाउने भयौँ, खुसी छौँ’

सिरहा, २२ फागुन : सिरहाको लहान नगरपालिका–१६ स्थित तरेगना गोविन्दपुरका लक्ष्मी चौधरीको अनुहार सोमबार निकै प्रसन्न देखिन्थ्यो । लहान नगरपालिकाको पहलमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जोतभोगका आधारमा जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा)का लागि वितरण गरिएको निस्सापत्र प्राप्त गरेपछि उहाँका मुहारमा खुसी छाएकोे हो ।

“यही पाउनका लागि धेरै वर्षको प्रतिक्षा थियो । पुस्तौँपुस्ता बिताउनुपर्यो”, हातमा निस्सापत्र देखाउँदै उहाँले भन्नुभयो, “धेरै खुसी लागेको छ । हामीले दुःखजिलो गरी गुजरा चलाउने जमिनको मालिक आफैँ हुन पाइनेभयो । यो पत्र (निस्सापत्र) लगेर घरमा श्रीमान्लाई देखाउँछु, उहाँ पनि खुसी हुनुहुन्छ ।”

लक्ष्मीजस्तै सोही वडाका रामप्रसाद महतो पनि खुसी देखिनुहुन्थ्यो । “भूमिको नाममा कहीँकतै केही नभएको म यो निस्सा पाउँदा अब जग्गा नै पाउँछु भन्ने विश्वास लागेको छ”, उहाँले भन्नुभयो, “निस्सा नभई रातो लालपुर्जा नै पाएजस्तो महसुस गरेको छु, अब सरकारले जग्गा दिनेमा विश्वस्त छु ।” चौधरी र महतोजस्तै वडा नं १६ का तीन सय ७६ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थितरूपमा बसोबास गर्दै आएका परिवारले सोमबार निस्सा पाएपछि लालपुर्जा पाउने आशमा खुसी देखिएका छन् ।

वडावासीलाई भूमिको अधिकार दिलाउन वडा र नगरको सहजीकरण समितिबाट प्रमाणीकरण गरी राष्ट्रिय भूमि आयोगसँगको समन्वयमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरी नगरपालिकाले निस्सा वितरण गरेको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वषौँदेखि जोतभोग गरेका तर आफ्नो नाममा जग्गा नभएका यहाँका भूमिहीनलाई जग्गा दिलाउन हामीले विभिन्न वडामा पहिलो चरणको प्रक्रिया सुरु गरिसकेका छौँ । निस्सा वितरणका आधारमा नै जग्गाको नापजाँचको कामलगायतका प्रक्रिया अगाडि बढाइने छ । सम्पूर्ण प्रक्रिया पूरा गरी एक महिनाभित्रै जग्गाधनी पुर्जा वितरण गर्नका लागि राष्ट्रिय भूमि आयोगका प्रतिनिधिलाई अनुरोध गर्दछु ।”

नागरिकलाई अधिकारसहित गाँसबासको व्यवस्था गर्नु राज्यको दायित्व भएको जनाउँदै नगरपालिकाका उपप्रमुख रापचलितार महतोले वर्षौँदेखि उपभोग गर्दै आएको जमिन आफ्नो नाममा नहुँदा निराश बनेका सुकुम्बासीलाई निस्सा प्राप्ति भूमिप्राप्तिको आधार बनेको बताउनुभयो । नगरपालिकाले गत माघ २८ गते वडा नं १५ का सात सय ७६ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई निस्सापत्र वितरण गरेको थियो ।

राष्ट्रिय भूमि आयोग सिराहाका अध्यक्ष रामअधिन यादवले नागरिकलाई जग्गाविहीन हुन नपरोस् भनी आयोगले काम गरिरहेको बताउनुभयो । उहाँको अनुसार १० वर्षसम्म एउटै जमिन जोतभोग गर्ने नागरिकलाई डेढ बिघासम्म उक्त जमिनको लालपुर्जा पाउने अधिकार हुनेछ । उहाँका अनुसार सिरहा जिल्लामा अहिलेसम्म आठ हजार सुकुम्बासी र तीन हजार आठ सय अव्यवस्थित बसोबासीले जग्गा प्राप्तिका लागि आ–आफ्नो बसोबास रहेको पालिकामा निवेदन दिएका छन् ।

‘सुशासन र सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्न नयाँ गठबन्धन’

काठमाडौँ- सुशासन र सहज सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्ने सर्तसहित नयाँ सत्ता गठबन्धनका लागि चार दलबीच सहमति भएको ती दलका नेताहरुले बताएका छन् ।सोमबार साँझ चार दलबीच बालुवाटारमा भएको आठबुँदे सहमतिपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिनुहुँदै नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन नयाँ गठबन्धन बनेको बताउनुभयो । मुलुकको सुशासन, विकास सामाजिक न्याय र समृद्धिका सवालमा समान सोच राख्ने दलहरुबीच सत्ता गठबन्धनका लागि सहमति भएको उहाँले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का महासचिव शङ्कर पोखरेलले सुशासन र सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्नेगरी चार दलबीच सहकार्य भएको बताउनुभयो । सरकारलाई पूर्णता दिने प्रक्रियासँगै न्यूनतम साझा कार्यक्रम बनाउने र त्यसैअनुरुप सरकारले काम गर्ने नेता पोखरेलले जानकारी दिनुभयो ।

सरकारमा सहभागी हुनेबारे अन्य दलसँग छलफल पछि मन्त्रालय बाँडफाँड टुङ्गो लाग्ने पनि उहाँले बताउनुभयो । “सबैभन्दा पहिले हामी यो गठबन्धनमा को–को दल सहभागी हुन्छन् भनेर छलफल गरिसकेपछि मात्रै मन्त्रालय बाँडफाँटले सार्थकता पाउँछ । अहिले नै मन्त्रालय बाँडफाँटमा प्रवेश गर्दा अरुलाई सामेल गर्ने कुरा रोकिने भएकाले यो विषयमा छलफल भएको छैन”, उहाँले भन्नुभयो, “मन्त्रालय बाँडफाँट ठूलो विषय होइन, सजिलै टुङ्गिन्छ ।”

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उपसभापति डा स्वर्णिम वाग्लेले पनि आर्थिक सुशासन, जवाफदेहिता र सेवा प्रवाहलाई सहज बनाउने सर्तसहित आफ्नो दल सरकारमा गएको बताउनुभयो ।

“आर्थिक शिथिलता र कुशासनका शृङ्खलाहरुबाटसमाजमा नैराश्य छ । त्यसलाई चिर्न सेवा प्रवाहको गति, मात्रा र गुणस्तर रफ्तारमा जाओस् भन्ने समाजको चाहना छ । त्यसलाई प्रधानमन्त्रीले गम्भीर रुपमा लिनुभएको हामीले पायौँ । अब फरक ढङ्गले जानुपर्छ भनेर प्रस्ताव आएपछि सरकारमा जाने निर्णय भएको हो” नेता वाग्लेले भन्नुभयो ।

चार दलबीच भएको आठबुँदे सहमति कार्यान्वयन नभएको अवस्थामा रास्वपा सरकारबाट बाहिरिने पनि उहाँले स्पष्ट पार्नुभयो । “हामी निश्चित एजेण्डासहित यो–यो काम गर्ने भनेर सरकारमा जान लागेका छौं । ती काम गर्न सकेको दिनसम्म सरकारमा रहन्छौं । गर्न नसकेको दिन हामी छोड्ने छौं । तर त्यस्तो दिन आउँछ जस्तो हामीलाई लाग्दैन”, वाग्लेले भन्नुभयो, “शङ्काको लाभसहित सरकारमा प्रवेश गरेका छौं । हाम्रो प्रवेश सशर्त छ । सेवा प्रवाह गर्न सकेको दिनसम्म हामी सरकारमा रहन्छौँ नसकेको दिन सम्मानजनक बहिर्गमन खोज्नेछौं ।”

जनता समाजवादी पार्टी ९जसपा० का नेता राजेन्द्र श्रेष्ठले संविधानको भावनाअनुसार मुलुकलाई गति दिन आफ्नो दल सरकारमा गएको बताउनुभयो । “सङ्घीयता, सुशासन र सामाजिक न्याय र समाजवाद उन्मुख राज्यसत्ता निर्माण गर्ने र अर्थ राजनीतिका हिसाबले पनि समाजवाद उन्मुख बनाउने हिसाबले आठबुँदे सहमति भएको छ । यसैका आधारमा नयाँ सत्ता समीकरण अघि बढ्छ । सेवा प्रवाह र सुशासनको पहलकदमीलाई थप प्रभावकारी बनाएर जान सहकार्य भएको हो,” उहाँले भन्नुभयो ।

निसेलढोरवासी भन्छन्– ‘सडक आयो, मोबाइलटावर भयो, विद्युत् सुविधा भएन ’

ढोरपाटन (बागलुङ), २२ फागुन : बागलुङको निसीखोला गाउँपालिका–५ निसीलढोरका स्थानीय बिरामी परे उपचारका लागि एक दिन पूरै धाएर बुर्तिबाङ बजार आउनुपथ्र्यो । आफन्तलाई फोन गर्न गाउँमाथिको अग्लो डाँडामा पुग्नुपथ्र्यो । तर अहिले त्यो दुवै समस्या समाधान भएको छ । एक दशक अगाडि नै मोटरबाटो पुगेको हुँदा यात्रामा पनि सहज नै छ । तर अहिलेसम्म अन्धकारमा बस्न बाध्य स्थानीयले गाउँमा विद्युत् ल्याइदिन माग गरेका छन् ।

जिल्लाको सबैभन्दा दुर्गम मानिने निसलढोरका स्थानीयले गोबरको गुइठा, दियालो र टुकीको भरमा रात कटाउने गरेका छन् । सामान्य भए पनि स्वास्थ्य सेवा दिने हिसाबले गाउँपालिकाले गत जेठ महिनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सेवा प्रवाह गर्दै आएको छ ।

नेपाल टेलिकमले निसीखोलाको शिरमा टावर निर्माण गरेर गत असोजबाट मोबाइल ‘नेटवर्क’ सञ्चचालन गरेको छ । गाउँमा हुनेखानेले त सौर्य ऊर्जा (सोलार)को प्रयोग गरेका छन् भने सामान्य परिवार अन्धकारमै छन् । स्थानीय मनबहादुर विकले गाउँमा विस्तारै विकासले गति लिन थाले पनि वर्षौँदेखि अन्धकारमा बस्नुपर्ने बाध्यता हट्न नसकेको गुनासो गर्नुभयो । विद्युत्को सुविधा नहुँदा मोबाइल फोनमा टावरले काम गरे पनि बेँसीमा बस्ने आफन्तसँग कुराकानी गर्न नपाइने उहाँको भनाइ छ । एउटा मोबाइल फोन चार्ज गर्नका लागि तीन घण्टा हिँडेर ढोरपाटन उपत्यका पुग्नुपर्ने स्थिति रहेको उहाँले बताउनुभयो ।

“गाउँका विकास नभएको होइन, विस्तारै हुँदै छ, हाम्रो मुख्य समस्या अहिले बिजौली (बिजुली) बत्तीको छ, सरकारलाई हाम्रो पीडा सुनाएका छौँ, कहिले आउँछ भन्ने अत्तोपत्तो छैन, आउन त आउला एक दिन तर हामीहरूलाई निकै खाँचो छ”, विकले भन्नुभयो, “पहिला–पहिले बेँसी (निसीगाउँ)मा बस्दा त बिजौलीको सुविधा थियो, यहाँ आएपछि तर अँध्यारोमा बस्नुबाहेक अरु विकल्प छैन, सानो मोबाइल चलाउँछु चार्ज गर्न ढोरपाटन पुग्नुपर्छ, कहिलेकाहीँ अतेरलाग्दा आफन्तलाई फोन गर्नुपर्छ ।”

पाँच वर्ष अगाडिसम्म निसेलढोर निसीका स्थानीय बर्खामा पुशचौपाय चरन र खेतीपातीका लाग आउने गर्थे भने हिउँदमा बेँसीमै बस्थे । तर अहिले करिब ६० घर परिवार बाह्रै महिना यही बस्न थालेका छन् । स्वास्थ्य संस्था सञ्चालनमा आएपछि बुर्तिबाङ जानुपर्ने समस्या समाधान भएको स्थानीय कलीकुमारी सुनारले बताउनुभयो । विद्युत् नहुँदा साँझ पर्दाबित्तिकै खाना खानुपर्ने र बालबालिकाले साँझमा पढ्न नपाउने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “यो ठाउँमा कहिले बिजुली आउँछ ?, कि हामी सधैँ यस्तै अँध्यारोमा बस्नुपर्ने हो ?, सबै ठाउँमा पुग्यो यहाँ अहिलेसम्म नआउँदा हामीहरू निकै मर्कामा छौँ, हाम्रो समस्या बुझ्ने नेता नभएर हो कि, बिजुलीबिनाको टावर छ, मोबाइल अफ छन्, बिजुली हुन्थ्यो भने टिभी चलाउन पाइन्थ्यो, टाढा–टाढाका घटना, समाचार देख्न पाइन्थ्यो, के गर्नु छैन ।”

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले भौगोलिक विकटताका कारण अहिलेसम्म निसेलढोरमा विद्युत् पुर्याउन नसकेको बताउनुभयो । विद्युत्को पहुँच पुर्याउनका लागि स्थानीय जलविद्युत र विद्युत् प्राधिकरणसँग छलफल भइरहेको उहाँको भनाइ छ । आफू निर्वाचित हुनु पूर्वदेखिनै यहाँ विद्युत् पुर्याउने विषयमा माथिल्लो निकायसँग माग गरेको जनाउँदै उहाँले अब केही समयमा यहाँका नागरिकले विद्युत् बाल्न पाउने जानकारी दिनुभयो ।

फुटपाथ व्यवासायीमाथि कुटपीट घटनाको आयोगद्वारा अनुगमन

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँ महानगरपालिकाका प्रहरीले फुटपाथ व्यवसायीलाई कुटपिट गर्नुका साथै दुव्र्यवहार गरेको घटनाको अनुगमन गरेको छ ।

आयोगले महानगरका प्रहरीको कुटपिटबाट घाइते भएका व्यक्तिको ट्रमा सेन्टरमा उपचार भइरहेको, व्यवसायीको सामान जफत भएको र केही व्यवसायीलाई पक्राउ गरी थुनामा राखिएकोलगायत अनुगमनका क्रममा पाइएको आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले बताउनुभयो । “व्यवसायीको सामान जफत भएको र केही व्यवसायीलाई पक्राउ गरी थुनामा राखिएकोलगायत सूचना अनुगमनका क्रममा आयोगलाई प्राप्त भएका छन्”, उहाँले भन्नुभयो ।काठमाडौँ महानगर प्रहरीले सुन्धारा आसपासका सडकमा व्यापार व्यवसाय गरिरहेका फुटपाथ व्यवसायीमाथि यही फागुन १६ गते कुटपिट तथा बल प्रयोग गरेको र तत्पश्चात् काठमाडौँ महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप हुँदा दुवैतर्फका ११ व्यक्ति घाइते भएका थिए । आयोगले उक्त घटनाको अध्ययन गरिरहेको जनाएको छ ।घटनाको सत्यतथ्य विवरण एवं फुटपाथ व्यवसायीसँग यसअघि गरिएका सम्झौताको कार्यान्वयन अवस्थासहितको जानकारी उपलब्ध गराउन काठमाडौँ महानगरपालिकालाई पत्राचार गर्नुका साथै फुटपाथ व्यवसायी र सरोकारवालासँग जानकारीसमेत लिएको आयोगले जनाएको छ ।

छ महिनाभित्र कञ्चनपुरको सुक्खा बन्दरगाहको काम अगाडि बढ्ने :रमेश लेखक

महेन्द्रनगर (कञ्चनपुर- नेपाली कांग्रेसका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले आगामी छ महिनाभित्र कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाहको काम अघि बढ्ने बताउनुभएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय औद्यागिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्दै प्रमुख सचेतक लेखकले भारतको सहयोगमा निर्माण गरिने सुक्खा बन्दरगाह बनाउने विषयमा भारतसित सम्झौता भएर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनिसकेको बताउनुभयो ।“छ महिनाभित्र सुक्खा बन्दरगाह निर्माणको काम अघि बढ्नेमा विश्वस्त छु,” उहाँले भन्नुभयो, “  नयाँ गठबन्धन बनाएका प्रधानमन्त्रीजीले नै गत वर्ष यही महोत्सवमा आएर पनि भनेर जानुभएको हो ।” उहाँले   राजनीतिक परिर्वतन भएको बताउँदै नयाँ बनिरहेको गठबन्धनका बारेमा कुनै टिप्पणी गर्नुभएन । “प्रचण्डजीले अप्रत्याशित र अविश्वनीय ढङ्गले पुरानो गठबन्धन भत्काएर नयाँ बनाउन अघि बढ्नुभएको छ,” उहाँले भन्नुभयो, “अब विकासमा राजनीति गर्नुहुँदैन, सबै मिलेर विकास गरौँ, हामी सहयोग गर्छौं ।”कञ्चनपुर सम्भावना बोकेको जिल्ला भएको बताउँदै उहाँले ठूला अर्थतन्त्र भएको मुलुक चीन र भारतसित यहाँबाट ढोका खोल्नुपर्ने बताउनुभयो । “यो रणनीतिक महत्वको भूगोल पनि हो,” नेता लेखकले भन्नुभयो, “यो क्षेत्रलाई आर्थिक, पर्यटकीय र धार्मिक नाकाका रुपमा विकास गर्न सबै लाग्नुपर्छ ।” यहाँको पूर्वाधार विकास, ठूला योजनाको निर्माणमा वाणिज्य सङ्घले रचनात्मक दबाब र उत्प्रेरणा दिँदै आएको बताउनुभयो । 

सरकारमा सहभागी हुने जसपाको निर्णय

काठमाडौँ, २१ फागुन : जनता समाजवादी पार्टी, (जसपा) नेपाल सरकारमा सहभागी हुने भएको छ । केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले पार्टी सङ्घीय सरकारमा सहभागी हुने निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो ।

पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउन मङ्गलबार पार्टी कार्यालय बालकुमारीमा दिउँसो ४ बजे बैठक पुनः बस्ने उहाँले बताउनुभयो ।

धरान एक्स्पोमा नौ करोडको कारोबार, व्यापारी उत्साहित

धरान, २१ फागुन : स्थानीय उत्पादन र व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको धरान एक्स्पोमा रु नौ करोडको कारोबार भएको छ । यही फागनु ११ गतेदेखि सुरु भएको एक्स्पोमा आजसम्ममा रु नौ करोडको कारोबार भएको र एक लाख पाँच हजारजनाले अवलोकन गरेका सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव महेन्द्र प्रधानले जानकारी दिनुभयो ।

गत वर्षको तुलनामा यसपटकको एक्स्पोमा व्यापार–व्यवसायमा विविधता रहेकाले सहभागीहरु पनि उत्साहित बनेको महासचिव प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, “यसपटक स्थानीय कृषि उत्पादनदेखि देश–विदेशका औद्योगिक उत्पादनसम्म समेटिएकाले व्यापारी र ग्राहक दुवै सन्तुष्ट रहेको पाएका छौँ ।

” एक्स्पोमा स्थानीय रुपमा उत्पादित स्ट्रबेरी, किबी, बेसार र साबुनका स्टल राखिएका छन् । त्यसैगरी, धरानको खेल पर्यटनलाई प्रवद्र्धन गर्न जिपलाइनदेखि प्याराग्लाइडिङ र विभिन्न खेल समावेश गरिएका थिए । त्यसैगरी, विभिन्न खानेकुरा, नर्सरी, गाडी र मोटरसाइकलका स्टलहरु एक्स्पोमा राखिएका छन् । व्यापारमा विविधतासँगै व्यवसायीहरु पनि उत्साहित भएका छन् ।

विराटनगरबाट साबुनको व्यापार गर्न आउनुभएका व्यापारी मदन मास्के धरान एक्स्पोमा राम्रो व्यापार भइरहेकामा उत्साहित हुनुहुन्छ । धेरै वर्षअगाडि देखि मार्केटिङको काम गर्दै आउनुभएको उहाँले अहिले धरान एक्स्पोमा बम्पर अफरसहित साबुन र सर्फ बिक्री गरिरहनुभएको छ । उहाँको स्टलमा निकै भीड लाग्ने गरेको छ । एक्स्पोमा तीनजना स्टाफ राखेर व्यापार गरिरहनुभएको उहाँ खुसी हँुदै भन्नुहुन्छ, “एक दर्जन कपडा धुने साबुन किन्दा एक दर्जन साबुन निःशुल्क दिएको छु, सर्फ पनि एक प्याकेट किन्दा एक प्याकेट सित्तैमा दिएको छु । त्यसो गर्दा मेरो स्टलमा राम्रो व्यापार भइरहेको छ ।”

उहाँले दैनिक रुपमा रु एक लाखदेखि एक लाख ८० हजारसम्मको व्यापार गर्दै आएको बताउनुभयो । धरान एक्स्पोमा जुम्लाबाट अग्र्यानिक स्याउ लिएर आउनुभएको गङ्गादेवी राउत पनि व्यापार राम्रो भइरहेको बताउनुहुन्छ । दश वर्षअगाडि देखि यसरी नै प्रत्येक हाटबजार र उत्सवतिर गएर व्यापार गर्दै आएको राउत धरान एक्स्पोमा सोचेभन्दा राम्रो व्यापार भएको बताउनुहुन्छ । दैनिक ४० देखि ५० हजारको स्याउ बिक्री भइरहेको बताउँदै उहाँ भन्नुहुन्छ, “धेरै ठाउँमा व्यापार गर्दै आएकी छु तर अहिले धरानमा जस्तो व्यापारमा उत्साहित चाहिँ पहिला कहिले भएकी थिइनँ ।”

उहाँले एक्स्पोमा जुम्लाबाट ल्याएको अग्र्यानिक स्याउ, मार्सी चामल, गहुँको चामल, सिलाजित, दाललगायत जुम्लाका स्थानीय उत्पादन बेचिरहनुभएको छ । यही फागुन २३ गतेसम्म सञ्चालन हुने धरान एक्स्पोमा पाकिस्तान, भारतलगायत देशका विभिन्न उत्पादन पनि बिक्री भइरहेका छन् । रोटे पिङलगायत खेलका साथै हरेक साँझ साङ्गीतिक कार्यक्रम पनि भइरहेको छ ।

विगतको वर्षभन्दा यसपटकको एक्स्पो कारोबारका हिसाबले राम्रो रहेको सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “धरानभित्र र कोशी प्रदेश क्षेत्रका उत्पादनसँगै देशका अन्य जिल्लादेखि विदेशका समान पाइने भएकाले एक्स्पोले ग्राहकका लागि आवश्यक पर्ने सबै कुरा एकै ठाउँमा जुटाइदिएको छ । त्यसैले पनि ग्राहक र व्यापारी दुवै उत्साहित छन् ।”

शालिन पोखरेलको मृत्युको घटनाको निश्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग

काठमाडौँ, २१ फागुन : राष्ट्रिय मानवअधिकार आयोगले चितवनको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीया शालिन पोखे्रलको मृत्युको घटनाको निश्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारलाई आग्रह गरिएको छ ।

अनुसन्धान प्रभावित हुने कुनै पनि गतिविधि नगर्न आयोगले सम्बन्धित सबैलाई अनुरोध समेत गरेको छ । चितवनको रत्ननगर नगरपालिका–१० टाँडीस्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलमा यही फागुन १२ गते सोही विद्यालयको छात्रावासमा झुण्डिएको अवस्थामा मृत फेला परेकी भनिएकी शालिन पोखे्रलको घटनाको प्रहरी अनुसन्धानबारे आयोगले जानकारी लिइरहेको छ ।

यसै सन्दर्भमा घटनाको सत्यतथ्य विवरण उपलब्ध गराउन एकता शिशु निकेतन बोर्डिङ स्कूल र शव परीक्षण प्रतिवेदन उपलब्ध गराउन त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, फरेन्सिक मेडिसिन विभाग, महाराजगञ्जलाई पत्राचार गरी घटनाबारे अनुसन्धान प्रारम्भ गरेको आयोगले जनाएको छ ।

चार राजनीतिक दलबीच आठबुँदे सहमति

काठमाडौं । नयाँ गठबन्धनमा आवद्ध चार राजनीतिक दलले आठबुँदे सहमति गरेका छन् । सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने तथा रिक्त रहेको राष्ट्रियसभाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्नेगरी सहमति भएको हो ।

सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने र त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने निर्णय भएको छ ।

यसैगरी सङ्क्रमणकालिन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुंग्याउने पनि सहमतिपत्रमा उल्लेख छ ।

चालकहरूले फोनमा क्रिकेट हेर्न थालेपछि रेल दुर्घटना

गत अक्टोबरमा रेलका चालकहरूले फोनमा क्रिकेट हेरिरहेका र रेलका लागि गरिएको ट्राफिक सङ्केत पालना नगरेका कारण रेलले अर्को रेललाई ठक्कर दिन पुगेको भारतीय रेलमन्त्रीले सोमबार बताउनुभएको छ ।

गत अक्टोबरमा भएको एक दिवसीय विश्वकप क्रिकेटमा आयोजक भारतले इङ्ग्ल्यान्डविरुद्ध खेल्दै गर्दा आन्ध्र प्रदेशमा उक्त दुर्घटना भएको थियो ।
रेलमन्त्री अश्विनी वैष्णवलाई उद्धृत गर्दै भारतीय समाचार संस्था (पीटीआई) ले लेखेको छ, “आन्ध्र प्रदेशमा भएको पछिल्लो रेल दुर्घटना चालकहरूले क्रिकेट खेल हेर्दै गर्दा विचलित भएका कारण भएको हो ।”
उहाँले भन्नुभयो, “अब भारतले कुनै पनि विचलन पत्ता लगाउन सक्ने प्रणालीहरू स्थापना गर्नेछ । नयाँ प्रविधिले चालकहरूलाई आफ्नो जिम्मेवारीबाट अन्यत्र ध्यान मोडेको खण्डमा उनीहरूको सवारीतर्फ ध्यान केन्द्रित गर्नेछ ।”

क्रिकेटका लागि ‘क्रेजी’ भारतका करोडौं शुभचिन्तकहरूले अक्टोबरमा सम्पन्न विश्वकप खेलको प्रत्यक्ष प्रशारण हेरेका थिए । हिन्दुस्तान टाइम्सका अनुसार गत महिना एक मालबाहक रेलले चालकबिना ७० किलोमिटर (४० माइल) यात्रा गरेको पुष्टि भएपछि अधिकारीहरूले स्टेशन मास्टर र अन्य तीन कर्मचारीलाई बर्खास्त गरेका थिए ।गत महिना करिब ५० वटा डब्बा भएको रेल करिब दुई घण्टासम्म चालकको नियन्त्रणविना नै गुडेपछि लापरबाही गरेको भन्दै उनीहरूलाई पदबाट हटाइएको थियो ।

सन् १९८१ मा बिहार राज्यको एक पुल पार गर्ने क्रममा रेल दुर्घटना हुँदा ८०० जनाको मृत्यु भएको थियो ।सन् २०२३ को जुन महिनामा उडिसा राज्यमा तीन वटा रेल एकआपसमा ठोक्किँदा करिब ३०० जनाको मृत्यु भएको थियो ।हालैका वर्षहरूमा भारतले आधुनिक स्टेशनहरू र इलेक्ट्रोनिक सङ्केत प्रणालीहरूको जडान गरी नेटवर्क अदावधिक गर्न ठूलो रकम लगानी गरिरहेको छ ।

सिङ्गापुरले कर्मचारी अवकाशको उमेर ६४ वर्ष पुर्याउदै

सिङ्गापुरले सन् २०२६ मा कर्मचारीको सेवानिवृत्तिको उमेर ६३ बाट बढाएर ६४ वर्षमा पुर्याउने जनशक्ति मन्त्री तान सी लेङले सोमबार संसद्मा घोषणा गर्नुभएको छ ।

उहाँले पुन: अवकाशको उमेर भने ६८ बाट ६९ वर्षमा पु¥याउने पनि बताउनु भएको छ । सन् २०२३ जुनसम्ममा सिङ्गापुरका लगभग २० प्रतिशत नागरिक ६५ वर्ष र सोभन्दा माथिका थिए। कुल प्रजनन दर गत वर्ष ०.९७ मा झरेको थियो । सो प्रजनन दर देशको इतिहासमा पहिलो पटक १ अङ्कभन्दा तल झरेको थियो।

संसद्मा दर्ता भएको सङ्घीय निजामती सेवा विधेयकमा के छ ?

काठमाडौँ, २१ फागुन : सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० संसद्मा दर्ता भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार प्रतिनिधिसभामा उक्त विधेयक दर्ता गरेको हो ।

सङ्घीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई सङ्घीयताअनुरुप सञ्चालन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो । मुलुकको प्रशासनिक प्रणालीलाई व्यवस्थित, कार्यात्मक र नतिजामुखी बनाउन यो विधेयक ल्याइएको जनाइएको छ ।संसद्मा दर्ता भएको विधेयकमा निजामती कर्मचारीलाई श्रेणीगतबाट तहगत प्रणालीमा लगिने प्रस्ताव गरिएको छ । साथै आवास सुविधा, सरकारी सुविधा, विशेष आर्थिक सुविधा तथा स्वास्थ्य बीमा योजनालगायत व्यवस्था प्रस्ताव गरिएको छ । सङ्घीय निजामती सेवाअन्तर्गत ११ वटा सेवा राखिएका छन् । नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, इन्जिनियरिङ, कृषि, न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण, वन, शिक्षा, सूचना प्रविधि र विविध सेवा छन् ।त्यसैगरी, तेह्रौँ तहसम्म सेवा विशिष्टीकरण गर्ने प्रयोजनका लागि विभिन्न छ वटा सेवा रहनेगरी समूहीकरण (क्लस्टर) गरिएको छ । यसमा इन्जिनियरिङ, कृषि तथा वन, न्याय, परराष्ट्र, प्रशासन र लेखापरीक्षणलाई समावेश गरिएको छ ।त्यसैगरी, सङ्घीय निजामती कर्मचारीका विभिन्न श्रेणी र तहको व्यवस्था गरिएको छ । विधेयकमा राजपत्राङ्कित विशिष्ट अधिकृत चौधौँ र तेह्रौँ तह हुनेछ । राजपत्राङ्कित प्रथममा बाह्रौँ र एघारौँ तह रहनेछ । राजपत्राङ्कित द्वितीयमा दसौँ र नवौँ तह छन् । छैटौँ, सातौँ र आठौँ तहलाई राजपत्राङ्कित द्वितीय मानिएको छ । पहिलोदेखि पाँचौँ तहसम्म राजपत्र अनङ्कित श्रेणीका रुपमा वर्गीकरण गरिएको छ ।सङ्घीय निजामती सेवाको रिक्त पदमा खुला प्रतियोगिता, अन्तरसेवा प्रतियोगिता र बढुवाद्वारा पूर्ति गरिनेछ । बढुवालाई ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनद्वारा बढुवा र आन्तरिक प्रतियोगिताबाट बढुवा गरिनेछ । खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये ४९ प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शतप्रतिशत मानी त्यसको ५० प्रतिशत पदमा महिलाबीच मात्र र बाँकी ५० प्रतिशतमा अन्य समूहका उम्मेदवारबीच मात्र प्रतिस्पर्धा गराइनेछ ।महिलाबीच मात्र प्रतिस्पर्धा गराई पदपूर्ति गर्नका लागि छुट्याइएको ५० प्रतिशत पदलाई शतप्रतिशत मानेर महिला उम्मेदवारबीच पनि विभिन्न समूहमा प्रतिस्पर्धा गराइनेछ । महिला समूहभित्र पनि विभिन्न समूहमा आरक्षणसहित प्रतिस्पर्धा गराइनेछ । महिला समूहमा खसआर्यलाई २७ प्रतिशत, आदिवासी जनजातिलाई २५ प्रतिशत, मधेसी १५ प्रतिशत, दलित बाह्र दशमलव सात प्रतिशत, थारू ६ दशमलव ६ प्रतिशत, मुस्लिम चार प्रतिशत, पिछडिएको क्षेत्र चार प्रतिशत र अपाङ्गता भएका व्यक्तिलाई चार प्रतिशत आरक्षणको प्रस्ताव गरिएको छ ।निजामती कर्मचारीमा अस्थायी नियुक्ति दिनुपर्दा लोकसेवा आयोगले सञ्चालन गरेको परीक्षामा स्थायी नियुक्तिका लागि सिफारिस नभएका उम्मेदवारबाट नियुक्त गरिनेछ । अस्थायी नियक्ति गर्ने प्रयोजनका लागि सूची प्रकाशन गर्ने र सो सूचीमा रहेका मध्येबाट योग्यताक्रमका आधारमा अस्थायी कर्मचारी नियुक्त गरिनेछ ।राजपत्राङ्कित विशिष्ट श्रेणीका कर्मचारीको पदावधि मुख्य सचिव वा सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारको पदावधि तीन वर्ष र सचिवको पदावधि पाँच वर्ष रहेको छ । एक आर्थिक वर्षमा बढीमा तीन महिनाका लागिमात्र काज खटाउने सकिने व्यवस्था विधेयकमा राखिएको छ ।सङ्घीय निजामती सेवाको पदमा बढुवाका लागि उम्मेदवार हुन राजपत्र अनङ्कित पदका लागि पाँच वर्ष र राजपत्राङ्कित पदका लागि सात वर्ष सेवा अवधि आवश्यक हुने प्रावधान राखिएको छ । तहवृद्धि गर्दा सहायक पाँचौँ, सातौँ तह, एघारौँ तहमा सात वर्ष सेवा अवधि पूरा भई पछिल्लो तीन वर्षको कार्य सम्पादन मूल्याङ्कनमा कम्तीमा ९० प्रतिशत अङ्क प्राप्त गरेको र नकारात्मक सूचीमा नपरेको अवस्थामा त्यस्तो कर्मचारीलाई एक तह वृद्धि गर्न सकिने व्यवस्था विधेयकमा गरिएको छ । राजपत्र अनङ्कित पाँचौँ श्रेणीको पदमा सुरु नियुक्ति हुने निजामती कर्मचारीको प्रथमस्तर कायम गरी त्यसपछि प्रत्येक पाँच वर्षमा स्तरवृद्धि गरी बढीमा पाँचौँस्तरसम्म वृद्धि गर्न सकिनेछ ।निजामती कर्मचारीले खाइपाइ आएको तलब बराबरको रकम प्रत्येक आर्थिक वर्षमा एकपटक चाडबाड खर्चका रुपमा पाउनेछन् । कर्मचारीको योगदानमा आधारित सावधिक जीवन बीमा सरकारले नै गर्नेछ । कर्मचारीको मासिक तलबबाट १० प्रतिशतका दरले हुने रकम कट्टा गरी सो रकममा सरकारले शतप्रतिशत रकम थप गरी कर्मचारी सञ्चयकोषमा राखिने व्यवस्था गरिनेछ । सरकारले निजामती कर्मचारीलाई जग्गा खरिद तथा आवास निर्माणका लागि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था पनि विधेयकमा गरेको छ ।निजामती कर्मचारीहरु राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने, सरकारको आलोचना गर्न नपाउने, सरकारी कामकाजसम्बन्धी समाचार प्रकाशन गर्न नपाउनेलगायत प्रतिबन्धात्मक व्यवस्था पनि विधेयकमा गरिएको छ । त्यसैगरी, निजामती कर्मचारीले सरकारको पूर्वस्वीकृति नलिई आफूले वा आफ्नो परिवारको कुनै सदस्यद्वारा कुनै व्यक्तिबाट कुनै पनि प्रकारको दान, दातव्य, कोसेली, उपहार स्वीकार गर्न वा चन्दा माग्न पाउने छैनन् । सरकारी कामसँग सम्बन्धित व्यक्तिसँग कर्मचारीले सापटीसमेत लिन नपाउने व्यवस्था विधेयकमा राखिएको छ ।निजामती कर्मचारीले कम्पनी स्थापना वा सञ्चालन गर्न तथा व्यापार–व्यवसाय गर्न पाउने छैनन् । परामर्शदाता, सल्लाहकार, विशेषज्ञ वा कुनै हैसियतले सेवा प्रदान गर्ने कार्यमा पनि कर्मचारी आबद्ध हुन पाउने छैनन् ।निजामती कर्मचारीले प्रदर्शन तथा हडताल गर्न पाउने छैनन् । “निजामती कर्मचारीले प्रदर्शन गर्न, बन्द हडतालमा भाग लिन, थुनछेक गर्न, बाधा अवरोध गर्न, दबाब दिन, कलम बन्द गर्न, तालाबन्दी गर्न वा अन्य कुनै तरिकाबाट सरकारी काममा बाधा पु¥याउन वा सो कार्य गर्ने उद्देश्यले अरूलाई उक्साउन नहुने व्यवस्था गरिएको छ,” विधेयकमा भनिएको छ ।कर्मचारीले विद्युतीय माध्यम वा सामाजिक सञ्जालमा सार्वजनिक पदाधिकारी, कुनै राजनीतिक दल, राजनीतिक दलको पदाधिकारीको पक्षा वा विपक्षमा कुनै टिप्पणी गर्न नपाउने व्यवस्था गरिएको छ ।प्रदेश सरकारको प्रमुख सचिवको पद सङ्घीय निजामती सेवाको पद हुने व्यवस्था गरिएको छ । प्रदेश मन्त्रालयका सचिवको पद अधिकृत बाह्रौँ तहको प्रदेश निजामती सेवाको पद हुनेछ । त्यसैगरी, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत यो ऐन लागू भएको १० वर्षसम्म सङ्घीय निजामती प्रशासन सेवाको कर्मचारी खटाइने पनि विधेयकमा उल्लेख छ ।सङ्घीय कानुनबमोजिम प्रदेश निजामती सेवा वा स्थानीय सेवामा समायोजन भएका तथा समायोजन मिलान वा संशोधन गर्दा प्रदेश वा स्थानीय तहमा समायोजन भएका तर हाजिर हुन नसकी फिर्ता भएका कर्मचारीको पदस्थापनसम्बन्धी व्यवस्था पनि विधेयकले समेटेको छ ।विधेयकको व्यवस्थाअनुसार निजामती कर्मचारीले साठी वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउनेछन् । विद्यमान निजामती ऐनमा कर्मचारीको उमेरहद ५८ वर्ष रहेको छ । निवृत्तिभरण पाउने अवस्था र उमेरको हद ५५ वर्ष पूरा भएका निजामती कर्मचारीले स्वेच्छिक अवकाश लिन पाउनेछन् । यसरी स्वेच्छिक अवकाश लिने कर्मचारीको साठी वर्ष उमेर ननाघ्ने गरी बढीमा पाँच वर्षसम्म सेवा अवधि थप गरी निवृत्तिभरणका लागि जम्मा सेवा अवधि कायम गरिनेछ ।पाँच वर्ष वा सोभन्दा बढी सेवा गरेको तर निवृत्तिभरण पाउने अवधि नपुगेको निजामती कर्मचारीले अवकाश पाएमा निश्चित रकम उपदान पाउनेछन् । पाँच वर्षदेखि १० वर्ष सेवा गरेकाले आधा महिनाको तलब, १० देखि १५ वर्ष सेवा गरेका कर्मचारीले प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलब र १५ वर्ष देखि २० वर्षसम्म सेवा गरेको कर्मचारीले प्रत्येक वर्षको आखिरी डेढ महिनाको तलब उपदानका रुपमा पाउनेछन् । २० वर्ष वा सोभन्दा बढी अवधि सेवा गरेका कर्मचारीले आजीवन निवृत्तिभरण पाउनेछन् ।

झापा गोल्डकप : एपिएफ फुटबल क्लब सेमिफाइनलमा

झापा, २१ फागुन : विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी छैटौँ संस्करणको झापा गोल्डकपको आजको खेलमा एपिएफ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफले बागमती युथ क्लबलाई ४–३ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो ।एपिएफका तर्फबाट सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदीप कार्की र प्रदीप लामाले गोल गरेका थिए ।

बागमतीका अभि लामा, विमल घिसिङ र दिवस लिम्बूले गोल गरेभने निर्मल घिसिङ र अनिल राना मगरको प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले विफल बनाएका थिए ।एपिएफ ‘ए’ डिभिजन लिगबाट रेलिगेसनमा परेको छ । यद्यपि, एपिएफले अर्काे क्लबमाथि गरेको उजुरी छानबिन नभएसम्म यसको निर्णय भएको छैन ।

एपिएफले पहिलो चरणको खेलमा ‘टाइब्रेकर’मा सङ्कटा फुटबल क्लबलाई हराउँदै क्वार्टर फाइनल प्रवेश गरेको थियो ।खेलको १०औँ मिनेटमा पेनाल्टी एरियाबाट बागमतीका अनिल राना मगरले गरेको कडा प्रहार फ्रेममा पर्न सकेन । २६औँ मिनेटमा सनम धिमालले पेनाल्टी एरियाबाट गरेको प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले पञ्च गरेर बचाए ।पहिलो हाफको इन्जुरी समयमा अग्रता बनाउने अवसर बागमतीले गुमाएको थियो ।

बागमतीका निर्मल घिसिङको फ्री किक बारको नजिकैबाट बाहिरिएको थियो । खेलको ५४औँ मिनेटमा एपिएफका दीपेश धिमालले गरेको प्रहार गोलपोस्टमा लागेको थियो । खेलको अधिकांश समय बल नियन्त्रणमा लिए पनि एपिएफको फिनिसिङमा कमजोरी देखिएको थियो । खेल अवधिभर एपिएफलाई बागमतीले दबाबमा राखेको थियो ।

खेलको ‘प्लेयर अफ द म्याच’ एपिएफ फुटबल क्लबका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भएर रु ११ हजार नगद पुरस्कार प्राप्त गरे । पहिलो चरणको खेलमा पनि श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ भएका थिए । मङ्गलबारको दोस्रो क्वार्टर फाइनल खेल एनआरटी फुटबल क्लब काठमाडौँ र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुनेछ ।
यसैबीच, नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश कमिटीले आज आयोजना गरेको केपी ओली ‘रोड रेस’ प्रतियोगिताको उपाधि पुरुषतर्फ दिनेशकुमार यादव र महिलातर्फको उपाधि राममाया बुढाले जितेका छन् ।

दुवैजना विजेताले पुरस्कारस्वरुप जनही रु ५१ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । आज ५१औँ सुखानी स्मृति दिवसका अवसर पारेर आयोजना गरिएको झापाको चारपाने चोकबाट इलाम र झापाको सङ्गमस्थल सुखानी सहिद पार्कसम्म १० किलोमिटर दूरीको दौड प्रतियोगितामा यादव र बुढाले उपाधि जितेका हुन् । धावक यादवले ५१ मिनेट २३ सेकेन्डमा १० किलोमिटरको दूरी पार गर्दै विजेता बनेका थिएभने महिलातर्फकी विजेता बुढाले ५९ मिनेटमा दूरी पार गरेकी थिइन् ।

यसैगरी, द्वितीय पुरुषतर्फ सन्दीप बस्नेत र महिलातर्फ पुष्पा भण्डारी भएका छन् । उनीहरुले नगद रु ३१ हजार नगद, मेडल, ट्रफी प्राप्त गरेका छन् । तृतीय बन्ने खेलाडीहरुमा पुरुषतर्फ पवन कार्की र महिलातर्फ फूलमति राना छन् । उनीहरुले जनही नगद रु २१ हजार प्राप्त गरेका छन् ।

दुवै तर्फका उत्कृष्ट १० सम्मलाई पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताको मूल आयोजक उपसमिति संयोजक प्रकाश बस्नेतले जानकारी दिनुभयो । प्रतियोगितामा देशभरबाट चार सय ४८ जना सहभागी भएका थिए । प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले उनीहरुलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

मुस्ताङमा लेक लागेर भारतीय पर्यटकको मृत्यु

म्याग्दी, २१ फागुन : मुस्ताङमा एक भारतीय पर्यटकको लेक लागेर (अक्सिजन अभाव) मृत्यु भएको छ । भारतको गुजरातका ५७ वर्षीय भूपेन्द्रभाइ पटेलको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रानीपौवामा आज लेक लागेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुुसार मुक्तिनाथ जाने क्रममा लेक लागेर बिरामी भएका पटेललाई प्रहरीले उपचारका लागि जोमसोम अस्पताल पु¥याएको थियो ।

उनलाई अस्पताल ल्याइपु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । पटेल साथी र आफन्तसँगै मुक्तिनाथ दर्शनका लागि आएका थिए । प्रहरी निरीक्षक मिलन विकको टोलीले उनको उद्धार गरी जोमसोम लगेको थियो । मुक्तिनाथ आसपासको क्षेत्रमा शनिबारदेखि हिउँ परेको छ । हिमपातसँगै चिसो बढेको छ । प्रतिकूल मौसमका कारण जनजीवन प्रभावित भएको छ ।

नयाँ गठबन्धन कम्युनिष्ट एकताको आधार बन्ने विश्वास :अग्निप्रसाद सापकोटा

धुलिखेल, २१ फागुन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पार्टीका बागमती प्रदेश इञ्चार्ज अग्निप्रसाद सापकोटाले देशको परिवर्तित राजनीतिक अवस्थाले विगतको बृहत्तर कम्युनिष्ट एकताको प्रयासलाई पूरा गर्ने आधार बनेको बताउनुभएको छ ।

सहिद सप्ताहको अन्तिम दिन देशको राजनीतिक अवस्थाले कोल्टे फेरेको र आज बनेको नयाँ गठबन्धनले केही वर्षअघिको बृहत्तर राजनीतिक एकताको प्रयासलाई सार्थक पार्ने आधार बनाउने विश्वास व्यक्त गर्नुभयो ।“पहिला कम्युनिष्ट पार्टीको एकता भएपनि त्यसलाई रक्षा गर्न सकिएको थिएन अहिले त्यसबेलाको अवस्थाको गम्भीर समीक्षासहित अगाडि बढ्न तथा एकतालाई अटुट राख्न सहयोग पुग्नेछ,” नेकपा (माओवादी केन्द्र)का जनवर्गीय सङ्गठन तथा मोर्चाले संयुक्त रूपमा आयोजनामा काभ्रेपलाञ्चोकको बनेपामा आज भएको ‘सहिद परिवार सम्मान तथा व्यवस्था परिवर्तनमा बलिदानको महत्व’ विषयको छलफलमा भन्नुभयो ।संविधानको प्रस्तावनामा उल्लेख भएको लोकतान्त्रिक गणत्रन्तात्मक समाजवाद उन्मुख राज्यव्यवस्थालाई आजको नयाँ गठबन्धनलाई ‘कोर्स करेक्सन’ भन्दै उहाँले त्यस दिशातर्फ अगाडि बढ्ने आधार तयार भएको बताउनुयो ।नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीका अध्यक्ष एवं प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले आफन्तजनहरु गुमाएर अहिलेको व्यवस्था प्राप्त गरेको उल्लेख गर्दै सहिद परिवारलाई विचलित नहुन आग्रह गर्नुभयो ।नेकपा (माओवादी केन्द्र) का काभ्रे जिल्ला संयोजक भोला अर्यालले सहिदको सपना पूरा गर्नेभन्दा पनि आफ्नो सपना पूरा गर्नेतफए नेताहरू लागेका आरोप लगाउनुभयो । सहिद परिवारका सदस्य राजकुमार तामाङले अहिलेको परिवर्तन सहिदहरुको बलिदानीबाट भएको बताउँदै सहिद परिवारको भावनालाई सम्बोधन गर्न आग्रह गर्नुभयो ।माओवादी केन्द्रले हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउँदै आएको छ ।

भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिमका महिला तथा बालबालिकामा कुपोषणको जोखिम

जाजरकोट, २१ फागुन : भूकम्पबाट क्षति भएको जाजरकोट, रुकुमपश्चिमका महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको छ । जाजरकोट, रुकुमपश्चिमका साथै सल्यानका महिला तथा बालबालिकामा भूकम्पपछि कुपोषणको जोखिम बढेको हो । भूकम्प प्रभावित क्षेत्रमा तीन महिनासम्म सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट उक्त कुरा पत्ता लागेको नेपाल परिवार नियोजन सङ्घले जनाएको छ । सङ्घकाअनुसार महिलामा इच्छा नभएरै गर्भवती हुने दर पनि बढेको छ ।

गत मङ्सिरदेखि माघसम्म परिवार नियोजन सङ्घले सञ्चालन गरेको ‘आधारभूत स्वास्थ्य सेवा कार्यक्रम’ शिविरमा सेवा लिन आएका अधिकांश महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको पाइएको कार्यक्रमका संयोजक वसन्त खनालले बताउनुभयो । उहाँका अनुसार कार्यक्रमअन्तर्गत जाजरकोट र रुकुमपश्चिममा ४६ वटा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । विपद्का समयमा पोषिलो खानेकुरा खान नपाएकाले पनि कुपोषणको जोखिम बढेको उहाँको भनाइ छ ।

उक्त शिविरमा सात हजार तीन सयभन्दा बढी भूकम्प प्रभावितलाई सेवा दिइएको खनालले जानकारी दिनुभयो । उहाँका अनुसार सेवा लिनेमा पुरुष नौ सय ४४, महिला छ हजार तीन सय ५५ महिला छन् । संयोजक खनालले चार हजार एक सय नौ पाठेघरको मुखको क्यान्सरको जाँच गरिएकामा एक सय छ जनामा क्यान्सरको सुरुआती अवस्था पत्ता लागेको जानकारी दिनुभयो । पाँच सय ४५ महिलालाई गर्भपतन सेवा उपलब्ध गराएको थियो । भूकम्पपछि महिलामा इच्छा नभएरै गर्भवती हुने दर पनि बढेको उहाँले बताउनुभयो ।

भूकम्पपछि यौन हिंसा कम गर्न, परिवार नियोजनको सेवा, एचआइभीबारे सचेतना अभिवृद्धि गर्न, अनिच्छुक गर्भधारण घटाउन सङ्घ कार्यक्रम गरेको संयोजक खनालले बताउनुभयो । कार्यक्रम जाजरकोटको भेरी र नलगाड नगरपालिका तथा बारेकोट र कुसे गाउँपालिकाका साथै रुकुमपश्चिमको आठबिसकोट नगरपालिका तथा सानीभेरी गाउँपालिकामा सञ्चालन गरिएको थियो ।

प्रभावित जिल्लामा बाह्रै महिना खान नपुग्ने, भूकम्पपछि खाना र बस्नको समस्या, सन्तुलित खानाको अभावले यहाँका महिला र बालबालिकामा कुपोषणको जोखिम बढेको कार्यक्रम संयोजक खनालको भनाइ छ । उहाँका अनुसार जाजरकोटको कुशे र बारेकोट गाउँपालिकामा कुपोषणको समस्या सबैभन्दा बढी पाइएको छ । त्यस्तै प्रभावित जिल्लामा अनिच्छुक गर्भधारणको समस्या पनि बढ्दै गएकाले सुरक्षित परिवार नियोजनका बारेमा जनचेतना जगाउनुपर्ने खनालले बताउनुभयो ।

नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले पालिकामा अझै लगानी बढाएर प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने योजना रहेको बताउनुभयो । “उत्पादनशील क्षेत्रमा घरटहरा निर्माण भएका छन् । खाद्यान्नको पनि समस्या भएकाले स्वास्थ्य समस्या देखिएको हो”, उहाँले भन्नुभयो । बारेकोट गाउँपालिकामा स्वास्थ्य, खाद्यान्नको समस्या रहेको भन्दै साझेदार निकायले सहयोग गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताउनुभयो । आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले विपद्का समयमा सबैले एकजुट भएर काममा लाग्नुपर्नेमा जोड दिनुभयो ।

हाइटीमा रात्रिकालीन कर्फ्यु र सङ्कटकालको घोषणा

हाइटीको सरकारले राजधानी शहरको मुख्य कारागारमा भएको सामूहिक आक्रमणबाट उत्पन्न हिंसाको लहरलाई दबाउन आइतबार सङ्कटकालीन अवस्था र रातको समयमा कर्फ्युको घोषणा गरेको छ । सरकारले एक विज्ञप्ति जारी गर्दै आपतकालीन अवस्था र आइतबारदेखि बुधबारसम्म साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लागू हुने जनाएको छ ।

स्थानीय पत्रकारले जेलमा राखिएका करिब चार हजार व्यक्तिमध्ये अधिकांशलाई भगाइएको पाइएको बताएका छन् । जेलबाट भगाइएकामध्ये सन् २०२१ मा तत्कालीन राष्ट्रपति जोभनेल मोइजको हत्यामा संलग्न रहेको अभियोगमा दोषी ठहर भई सजाय काटिरहेका व्यक्तिहरू पनि रहेका छन् । अमेरिकी देशमध्ये निकै विपन्न हेइटीमा पछिल्ला वर्षमा हिंसा बढ्दै गएको छ ।

सुरक्षाका लागि घोषणा गरिएका भनिएका दुवै उपाय राजधानी पोर्ट–ओ–प्रिन्ससहित ओएस्ट क्षेत्रमा लागू हुनेछ र आवश्यकता अनुसार थप हुँदै जानेछ । हाललाई अर्को सूचना नआएसम्मका लागि यी सुरक्षा उपायहरू लागू भएको जनाइएको छ ।

पछिल्लो समय अपनाइएका हिंसा नियन्त्रणका उपायहरू हिंसाग्रस्त क्षेत्रमा ‘ पुनः सुव्यवस्था स्थापित गर्न र स्थितिलाई सामान्य बनाउन’ अवलम्बन गरिएको सरकारले जनाएको छ । आर्थिक मामिला मन्त्री प्याट्रिक मिचेल बोइसभर्टले देशको कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा उक्त वक्तव्यमा हस्ताक्षर गर्नुभएको छ । प्रधानमन्त्री एरियल हेनरी गत सातासंयुक्त राष्ट्रसङ्घको समर्थन प्राप्त कानून र व्यवस्था मिसनको नेतृत्व गर्न पूर्वी अफ्रिकी देशबाट प्रहरी खटाउने सम्झौतामा हस्ताक्षर गर्न केन्यामा रहेका समय उक्त हिंसा भड्किएको हो ।

एकीकृत समाजवादीले नयाँ गठबन्धनलाई गुण र दोषका आधारमा सहयोग गर्ने

काठमाडौँ, २१ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले नयाँ गठबन्धनको गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज केन्द्रीय सचिवालय बैठकले सरकारको उद्देश्य, प्रक्रिया र संरचना प्रस्ट भएपछि पार्टी सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्ने निर्णय गरेको पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले राससलाई जानकारी दिनुभयो । “नयाँ समीकरणको उद्देश्य, प्रक्रिया र संरचना अझै स्पष्ट भइसकेको छैन, प्रधानमन्त्रीले लिएको निर्णयका उद्देश्य र संरचनाका बारेमा सबै विषय अगाडि आएपछि तिनको गुण–दोषका आधारमा नेकपा (एकीकृत समाजवादी)ले आफ्ना नीतिहरु स्पष्ट पार्नेछ,” बैठकको निर्णय सुनाउँदै उहाँले भन्नुभयो ।

पछिल्लो समय विकासित राजनीतिक घटनाक्रमले मुलुकमा अर्को राजनीतिक समीकरण निर्माण भएको विश्लेषण गर्दै बैठकले गठबन्धन फेरिएपछिको अवस्थामा पार्टीको धारणा प्रस्ट गरेको हो ।

बामपन्थी धु्रवीकरणको सम्भावना, समाजवादी मोर्चालगायत विषयमा विस्तृत छलफल गरिएको बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीले सरकारमा रहँदा गरेका कार्यको समीक्षा गरिएको थियो ।

कार्यालय सचिव श्रेष्ठका अनुसार सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले एकीकृत समाजवादीलाई सरकारमा सहभागिताका लागि गरेको आग्रहलाई सकारात्मक रूपमा लिन केही नेताहरूले बैठकमा सुझाव दिनुभएको थियो ।
 

तुला पर्वत, श्रृषा र म्यानमारकी मोडल नान पोको सहकार्यमा तयार भयो त्यत्तिकै छोड

काठमाडौँ । गायिका तथा मोडल श्रीषा कुँवरको स्वर रहेको त्यत्तिकै छोड बोलको गीतको भिडियो सार्वजनिक भएको छ । श्रीषा दयाहाङ राईको मुख्य अभिनय रहेको फिल्म दयारानीकी अभिनेत्री समेत हुन् ।

श्रीषाले आधा दर्जन बढी म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् । मकाउमा छायाकंन गरिएको गीतको भिडियोमा नान पोको अभिनय देख्न सकिन्छ । मोडल नान पो म्यानमारकी हुन् । गायक तथा संगीतकार तुलाले नै छायांकन तथा सम्पादन गरेको गीतको भिडियोको निर्देशन पनि स्वयम तुलाले नै गरेका हुन् ।

यसअघि पनि मकाउका विभिन्न रमणीय स्थानहरुमा नेपाली म्यूजिक भिडियो छायांकन गरेर तुलाले अन्तराष्ट्रिय बजारमा पनि नेपाली गीत संगीतलाई पुर्याउने काम गरेको भन्दै उनको प्रशंसा हुँदै आएको छ । भिडियो वाइडस्किन युट्युब च्यानलबाट बजारमा आएको हो ।

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

काठमाडौँ, २१ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही फागुन २६ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । विकसित राजनीतिक घटनाक्रमसँगै विविध समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गरी भावी रणनीति निर्माण गर्न तथा सो पार्टीले आह्वान गरेको आन्दोलनको तयारीबारे छलफल गर्न सो बैठक बोलाइएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि सरकारमा रहेको नेपाली कांग्रेससहितको सत्ता साझेदार दलमा परिवर्तन भएपछि मन्त्रिपरिषद्मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सहभागिता भएको छ । प्रधानमन्त्री दाहालले नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) का तीन मन्त्री नियुक्त गरी नयाँ मन्त्रिमण्डल निर्माण गर्नुभएको हो ।

विकसित यही राजनीतिक परिस्थितिका बारेमा छलफल गरी आगामी दिनका लागि आवश्यक रणनीति तय गर्न सो बैठक आह्वान गरिएको जानकारी प्रवक्ता श्रेष्ठले दिनुभयो ।

टि–२० क्रिकेट प्रतियोगिताले अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्छ: मुख्यमन्त्री कार्की

मोरङ, २१ फागुन : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगरमा हुने राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताबाट अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउनुभएको छ ।

प्रदेशमा यही फागुन २२ गते (भोलि)देखि हुने टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा वितरण गरिने ट्रफीको आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा अनावरण गर्दै यो प्रतियोगिता विराटनगरको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकट रङ्गशाला हुनु गौरवको विषय भएको बताउनुभयो । उहाँले प्रतियोगिताबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रतियोगिता सञ्चालनबाट रङ्शालाका विकासमा टेवा पुग्नुका साथै सम्पूर्ण पूर्वाधार निर्माणमा सहयोग पुग्ने विचार राख्नुभयो । उहाँले प्रदेश सरकारले खेल क्षेत्रलाई ‘युवामैत्री’का रुपमा अगाडि बढाउने योजना बनाइरहेको भन्दै यसलाई रोजगारसँग जोडिने बताउनुभयो । मोरङ जिल्ला क्रिकट सङ्घका अध्यक्ष मोहम्मद साद कुरैसी(बाबु)ले प्रतियोगिता सञ्चालनबाट यस क्षेत्रका युवा क्रिकेटप्रति आकर्षित हुनुका साथै राष्ट्रियस्तरमा खेलाडी उत्पादनमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

भोलिदेखि आगामी चैत ३ गतेसम्म विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय रङ्गशाला हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमको सहभागिता रहने अध्यक्ष कुरैसीले जानकारी दिनुभयो । प्रतियोगितामा विजेता हुने टिमलाई रु पाँच लाख तथा उपविजेतालाई रु तीन लाख पुरस्कार प्रदान गरिने छ ।

यसैगरी प्रतियोगिता सम्पन्न गर्न रु ७५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता लिगका आधारमा हुनेछ । प्रतियोगिताअन्तर्गत दैनिक दुई खेल हुनेछन् भने यसबाट प्रदेशको क्रिकेट खेलको स्तरवृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ । प्रतियोगिताका लागि खेलाडी यहाँ आउने क्रममा जारी छ ।

साफ च्याम्पियनसीप: नेपालले भूटानलाई हरायो

काठमाडौँ, २१ फागुन : साफ यू–१६ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले भूटानलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा नेपालले भूटानलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

नेपालका लागि पूजा गिरी, भूमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले समान एक–एक गोल गरे । खेलको १४औँ मिनेटमा पूजाको गोलमार्फत नेपालले पहिलो अग्रता लियो । पूजाले गोल गरेको चार मिनेटपछि कप्तान भूमिकाले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । खेलको ३१औँ मिनेटमा ग्यान्सुले एक गोल थपिन् ।

त्यसपछि खेलमा गोल हुन सकेन र नेपालले भूटानमाथि सहज जित निकाल्यो । जितसँगै नेपालले प्रतियोगितामा पहिलो जित हासिल गरेको थियो । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग २–० ले पराजित भएको थियो । यससँगै नेपालले प्रतियोगितामा तीन अङ्क बटुलेको छ । अब नेपालले यही फागुन २४ गते भारतसँग खेल्नेछ ।

पाकिस्तानमा भारी वर्षाका कारण ३६ जनाको मृत्यु, ४१ घाइते

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले फेब्रुअरी २७ देखि मार्च ३ सम्म परेको भारी वर्षा र हिमपातमा परी कम्तीमा ३६ जनाको मृत्यु हुनुका साथै ४१ जना घाइते भएको जनाएको छ । मृत्यु हुनेमा २१ जना बालबालिका, नौ जना पुरुष र छ जना महिला रहेको आइतबार राति जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

बर्षाको कारण सबैभन्दा बढी प्रभावित उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा २७ जनाको मृत्यु भएको थियो । यसैगरी, दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पाँच जनाको मृत्यु भएको छ भने पाकिस्तान अधिनस्थ कास्मिरमा चार जनाको मृत्यु भएको थियो । भारी बर्षाले ४६९ घरहरूमा पूर्ण वा आंशिक रूपमा क्षति भएको छ भने अनुमानित ६१ गाईवस्तुहरू मरेको प्रतिवेदनले जनाएको छ ।

जगदुल्ला जलविद्युत् आयोजना : यसरी बदल्नेछ कर्णाली प्रदेशको आर्थिक हैसियत

काठमाडौँ, २० फागुन : उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणकार्य सुरु हुने तयारीमा छ । आयोजनाको वित्तीय व्यवस्थापन र निर्माण व्यवसायी छनोटको काम अन्तिम चरणमा पुगेको छ ।

कुनै एउटा परियोजना कुन हदसम्म महत्त्वपूर्ण हुन्छ भन्ने उदाहरणसमेत बन्न लागेको छ कर्णाली प्रदेशका लागि जगदुल्ला । प्राकृतिक साधन र स्रोतले सम्पन्न भए पनि लगानीको अभावका पछाडि परेको सो प्रदेशमा दर्जनाँै जलविद्युत् आयोजना पहिचान भएका छन् । निर्माणमा भने कुनै पनि आयोजना अगाडि बढ्न सकेको छैन ।

सरकारको अध्ययनअनुसार कर्णाली प्रदेशको कुल ऊर्जा उत्पादन क्षमता (कर्णाली, भेरी, तिलालगायतका नदी करिडोरमा) १८ हजार मेगावाट बराबर छ । हाल आठ दशमलव ५५ मेगावाट बिजुली दैलेखमा उत्पादन भएको छ । सबैभन्दा कम डोल्पा र जुम्लाबाट समान शून्य दशमलव २० मेगावाटमात्रै उत्पादन भएको छ । दैलेखको पदमखोला र द्वारीखोला साना जलविद्युत् आयोजनाबाट क्रमशः चार दशमलव आठ मेगावाट र तीन दशमलव ७५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

अध्ययन भएका, अध्ययनका क्रममा रहेका आयोजना कहिले निर्माणमा जाने हुन्, त्यसले कहिले बिजुली उत्पादन गर्ने हुन् भन्ने घोषणा गरिहाल्नु तत्कालका लागि हतारो हुन जान्छ । तर चालु आर्थिक वर्षमा नै निर्माण सुरु गर्न लागिएको एउटा आयोजना नै कर्णाली प्रदेशका लागि महत्त्वपूर्ण आधारस्तम्भ बनेर खडा भएको छ । डोल्पामा आयोजनास्थल रहेको जगदुल्ला अर्धजलाशयुक्त प्रकृतिको आयोजनाले समग्र कर्णालीको मुहार फेर्ने त्यसमा संलग्न अधिकारीहरूको दाबी छ ।

कुल एक सय छ मेगावाट क्षमताको सो आयोजनाको आवश्यक तयारीको काम पूरा भइसकेको छ । विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमतिपत्रसमेत पाइसकेको छ । वित्तीय व्यवस्थापनको काम अन्तिम चरणमा छ । परामर्शदाता र निर्माण व्यवसायी छनोटका लागि विश्वव्यापीरूपमा बोलपत्र सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिनुभयो ।

आयोजना कर्णाली प्रदेशका लागि किन र कुन आधारमा महत्त्वपूर्ण छ ? भन्ने प्रश्नको उत्तरमा प्रमुख कार्यकारी अधिकृत सापकोटा भन्नुहुन्छ, “हालसम्म यस प्रदेशमा कुनै पनि ठूला आयोजना निर्माणको चरणमा प्रवेश गरेको छैन । निजी क्षेत्रले साना आयोजना निर्माण गरेको भए पनि त्यसको खासै प्रभाव परेको छैन । प्रदेशकै हालसम्मको ठूलो आयोजना हामी निर्माण सुरु गर्ने अन्तिम चरणमा पुगेका छौँ । त्यसकारण महत्त्वपूर्ण छ ।”

भौतिक पूर्वाधार विकासले पछाडि परेको कर्णाली प्रदेशको डोल्पामा सो आयोजनाका कारण विकास पुगेको छ । सडक सञ्जाल विस्तार भएको छ । दूरसञ्चारको पहुँचबाट टाढा रहेको स्थानमा नेपाल टेलिकमले सेवा विस्तार गरेको छ । केन्द्रीय प्रसारण लाइनको बिजुलीसमेत पुगेको छ । आयोजनाका कारण स्थानीय उत्पादनको बिक्रीवितरण बढ्दो क्रममा छ । रोजगारीको खोजीमा कालापहाड चहार्नुपर्ने डोल्पालीले थोरै मात्रामा भए पनि घरआँगनमै रोजगारीको अवसर पाउनेछन् । डोल्पाको मुड्केचुला र जगदुल्ला गाउँपालिकामा निर्माण हुने आयोजनाले हालै विद्युत् उत्पादन अनुमतिपत्र पाएको छ । आयोजनाको कुल लागत रु २३ अर्बबराबर छ ।

यस्तो छ शेयर संरचना

सो आयोजना निर्माणपछि सबैभन्दा बढी कर्णाली प्रदेशले नै लाभ हासिल गर्नेगरी शेयर संरचना तय गरिएको छ । पहिलोपटक प्रसारण लाइन प्रभावितका लागि समेत शेयर लगानी गर्न सक्नेगरी शेयर ढाँचा तय गरिएको छ । संस्थापक शेयरधनीका रूपमा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत बराबरको शेयर स्वामित्व छ ।

यस्तै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनी (एचआइडिसीएल)को १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरण नौ, कर्णाली प्रदेश सरकार, जगदुल्ला र मुड्केचुला गाउँपालिकाले समान एक–एक प्रतिशत बराबरको शेयर स्वामित्व छ । सर्वसाधारण शेयरधनीका रूपमा सर्वसाधारण नागरिकले ३३ प्रतिशत, आयोजना प्रभावित डोल्पाका बासिन्दाले १० प्रतिशत, प्रसारण लाइन प्रभावित बासिन्दा र आयोजनाका कर्मचारीले समान तीन–तीन प्रतिशत बराबरको शेयर लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।

कम्पनीको अधिकृत पुँजी रु आठ अर्ब, जारी पुँजी रु सात अर्ब एक करोड र चुक्ता पुँजी रु एक अर्ब एक करोड बराबर छ । सो आयोजनाले २०७४ असार १८ गते विद्युत् उत्पादनको सर्वेक्षणपत्र प्राप्त गरेको थियो । विद्युत् प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र २०७६ पुस १६ गते प्राप्त गरेको थियो । आयोजनाबाट उत्पादित बिजुली खरिद बिक्रीसम्बन्धी सम्झौतामा गत वैशाख २७ गते हस्ताक्षर भएको हो ।

अर्धजलाशयुक्त प्रकृतिको सो आयोजनाको ग्रस हेड सात सय ८९ दशमलव छ मिटर छ । आयोजनाले छ सय २३ दशमलव ३२ गिगावाट प्रतिघण्टा बराबरको ऊर्जा उत्पादन गर्छ । आयोजनामा कुल २३ मिटर उचाइ र ९३ मिटर लम्बाइ भएको बाँध निर्माण हुनेछ । यस्तै जगदुल्ला गाउँपालिका–१ को हुरिकोटमा बाँध निर्माण गरी छ दशमलव एक किलोमिटर लामो सुरुङमार्फत लगिएको पानी मुड्केचुला गाउँपालिका–४ इलमा निर्माण हुने विद्युत्गृहमा खसालेर बिजुली निकालिने छ ।

आयोजनाको सम्पूर्ण अध्ययन तथा डिजाइनको काम प्राधिकरणकोे सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले गरेको हो । यसकारण पनि आयोजना स्वदेशी प्रविधि र लगानीमा निर्माण हुनलागेको प्रमुख कार्यकारी अधिकृत सापकोटाको भनाइ छ । आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन र वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय अध्ययन प्रतिवेदनसमेत स्वीकृत भइसकेको छ । जग्गा अधिग्रहण कार्यअन्तर्गत दुई सय ५५ रोपनी जग्गाको मुआब्जा वितरणको काम पूरा भएको छ । आयोजनाका कर्मचारीलाई आवश्यक पर्ने आवास तथा कार्यालय प्रयोजनका लागि १४ कोठे अस्थायी प्रिफ्याब भवनको निर्माण सम्पन्न भएको छ ।

विद्युत्गृहस्थलमा थप जिओलोजिकल अध्ययनका लागि चार सय ६० मिटरबराबरको टेसट अडिट टनेलका साथै २५ मिटरको च्याम्बरको निर्माण सम्पन्न भएको छ । यसले निर्माण व्यवसायीलाई काम गर्न थप सहज हुनेछ । उत्पादन अनुमतिपत्र प्राप्त गरी उद्योग दर्ता र लगानी बोर्डबाट लगानी स्वीकृतिका लागि आवश्यक कागजातसहित निवेदन कम्पनीले पेश गरिसकेको छ ।

यसरी हुँदैछ वित्तीय व्यवस्थापन

आयोजनाको वित्तीय व्यवस्थापनका लागि सबै प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यसै महिनाभित्र त्यससम्बन्धी सबै काम सम्पन्न हुने प्रमुख कार्यकारी अधिकृत सापकोटाको भनाइ छ । नेपाल इन्फास्ट्रक्चर बैंक लिमिटेडको नेतृत्वमा वित्तीय व्यवस्थापनको काम भइरहेको छ । सो बैंकले रु चार अर्ब ७० करोडबराबर लगानी गर्नेछ । यस्तै नबिल बैंकले रु चार अर्ब, एचआइडिसीएलले रु चार अर्ब, लक्ष्मी सनराइज बैंकले रु दुई अर्ब, एभरेष्ट बैंकले रु एक अर्ब ५० करोडबराबर लगानी गर्नेछ । सरकारी स्वामित्वको कम्पनीमा निजी क्षेत्रका बैंकले लगानी गर्न लागेको पनि पहिलोपटक भएको उहाँको भनाइ छ ।

आयोजनाको निर्माणअवधि पाँच वर्षको छ । प्रमुख कार्यकारी अधिकृत सापकोटाले आयोजना निर्माणका लागि पूर्वतयारीको काम अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार बोलपत्रको काम पूरा गरी सकेसम्म चालु आवको अन्त्य, नभए पनि आगामी आवदेखि निर्माणमा जाने तयारी भइरहेको छ । आयोजना निर्माणका लागि लाग्ने रु २३ अर्बमध्ये रु १६ अर्ब ऋण र रु सात अर्ब भने स्वपुँजीबाट जुटाइनेछ । आयोजना निर्माणका लागि इन्जिनियरिङ, प्रक्र्यूरमेन्ट, कन्स्ट्रक्सन (इपिसी) ढाँचामा बोलपत्र गर्न लागिएको छ ।

आयोजना निर्माणका लागि भेरी करिडोरको त्रिवेणीबाट भेरी नदी पार गरी मुड्केचुलाको इल पुग्नका लागि सडक निर्माण भएको छ । हाल त्रिवेणीमा पुल निर्माणको काम जारी छ । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण पुल निर्माणले भने गति लिनसकेको छैन । त्यस्तै त्रिवेणीबाट इलसम्म पुग्ने एक दशमलव पाँच किलोमिटर सडक निर्माणका लागि नेपाली सेनाको सहयोगमा विष्फोटनको काम भइरहेको छ । कडा चट्टान भएकाले अहिले विस्फोटक पदार्थको प्रयोग गरी सडक निर्माण भइरहेको छ । चालु आवको अन्त्यसम्म सडक निर्माण सक्ने तयारी छ । आयोजनाबाट उत्पादित बिजुली जाजरकोटको नलगाड नगरपालिका–७ दानीपिपलमा निर्माण हुने चार केभी क्षमताको सबस्टेशनमा जोडिनेछ ।

सो आयोजनासँगै एक सय २० मेगावाट क्षमताको जगदुल्ला ‘ए’ जलविद्युत् आयोजनाको पनि अध्ययनकार्य जारी छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय अध्ययन, लगानीको ढाँचा तय गर्ने काम पनि सँगसँगै भइरहेको छ । सो आयोजनाको कुल लागत रु २७ अर्ब जति रहने अनुमान गरिएको छ । यस्तै २० मेगावाट क्षमताको अर्को आयोजनाको पनि अध्ययनकार्य सुरु भएको छ ।

यसरी हुनेछ कर्णाली प्रदेशलाई फाइदा

आयोजनाको निर्माणपछि वार्षिकरूपमा रु चार अर्ब ८० लाखबराबरकोे आम्दानी हुनेछ । त्यसबाट सङ्घीय सरकारले वार्षिकरूपमा रु १९ करोड २३ लाखबराबरको रोयल्टी प्राप्त गर्नेछ । कर्णाली प्रदेश सरकारले रु नौ करोड ६१ लाख र मुड्केचुला र जगदुल्ला गाउँपालिकाले रु नौ करोड ६१ लाखबराबरको रोयल्टी प्राप्त गर्नेछ ।

प्रसारण लाइन प्रभावितले समेत आयोजनाको शेयर पाउने भएकाले थप सहज हुने र स्थानीयवासीमा आयोजनाप्रति अपनत्वको महसुससमेत हुने विश्वास लिइएको छ । भौतिक विकासमा पछाडि परेका ती स्थानीय तहले एउटा आयोजनाबाट प्राप्त गर्ने रोयल्टीले आर्थिक समृद्धिको नयाँ ढोका खोल्नेछन् । त्यस्तै एक सय २० मेगावाट क्षमताको जगदुल्ला ‘ए’ आयोजनाको निर्माणपछि रोयल्टी बढेर रु २० करोड बराबर पुग्नेछ । आयोजनाले रु एक अर्बबराबरको सामाजिक उत्तरदायित्वको कामसमेत गर्नेछ । त्यसबाट हरेक हिसाबले पछाडि परेको डोल्पामा विकासको नयाँ आयाम स्थापित हुनेछ । आयोजनाका कारण पुगेको सडक, सञ्चार सम्पर्क, स्वास्थ्य शिक्षाका कार्यक्रमले महत्त्वपूर्ण योगदान गरेको प्रमुख कार्यकारी अधिकृत सापकोटाको भनाइ छ ।

“एउटा आयोजना सुरु हुँदा विशुद्ध आयोजनामात्रै अगाडि बढ्दैन । त्यसबाट विकासका नयाँ आयामसमेत अगाडि बढ्छन् । सडक, पुल निर्माण भएको छ । बिजुली पुगेको छ । यसले समग्र कर्णाली प्रदेशको भाग्य र भविष्यसमेत सुनिश्चित गरिदिएको छ”, प्रमुख कार्यकारी अधिकृत सापकोटाले भन्नुभयो ।

राजधानी काठमाडौँ नजिकै सिन्धुपाल्चोकका स्थायी बासिन्दासमेत रहनुभएका प्रमुख कार्यकारी अधिकृत सापकोटा डोल्पामा आयोजना बनाउन दत्तचित भएर लाग्नुभएको छ । साधन र स्रोत भएर पनि पछाडि परेको कर्णाली प्रदेशको विकासका लागि आफ्नो ठाउँबाट भए पनि सानो सहयोग गरौँ भन्ने सोच राखेर अगाडि बढेको उहाँको भनाइ छ । “सबै तह र तप्काले सहयोग गर्नुभएको छ । सङ्घीय, प्रदेश सरकार र स्थानीय तहले काममा सहजीकरण गरेको छ । कर्णाली प्रदेश सरकारले त लगानी नै गरेको छ । आशा छ हामी सो आयोजना सहजरूपमा सम्पन्न गर्नेछौँ” प्रमुख कार्यकारी अधिकृत सापकोटाले भन्नुभयो ।

‘मुलुकको समृद्धिका लागि कृषि क्षेत्रको विकास आवश्यक’ – उपेन्द्र यादव

राजविराज (सप्तरी) – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समृद्ध नेपाल निर्माण गर्न कृषि क्षेत्रको विकास आवश्यकता रहेको बताउनुभएको छ । समाजवादी किसान महासङ्घ केन्द्रीय कार्यसमितिद्वारा सप्तरीको राजविराजमा शनिवार आयोजित मधेस प्रदेशस्तरीय अगुवा किसान भेला तथा पुनःगठन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले राज्यले कृषि क्षेत्रलाई उपेक्षा गरेकै कारण अपेक्षित विकास हुन नसकेको बताउनुभयो ।

उहाँले मुलुकको विकासका लागि कृषि क्षेत्रमा आधुनिकीकरण जरुरी रहेको उल्लेख गर्नुभयो । कृषि क्षेत्रको विकासका लागि सिँचाइ, समयमै मलखाद जरुरी रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष यादवले चुरे क्षेत्रमा गिट्टी र बालुवाको उत्खननले पानीको सतह गहिरो हुँदै गएकाले निकट भविष्यमै किसानले सिँचाइको ठूलो मार खेप्नुपर्ने अवस्था देखिएको बताउनुभयो । चुरे विनाशले तराई मरुभूमिमा परिणत हुने अवस्थामा पुगेको र पानीको स्रोत विस्तारै सुक्दै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । उहाँले चुरे संरक्षण नहुने हो भने त्यसको प्रत्यक्ष प्रभाव पशुपालन र कृषि क्षेत्रमा पर्न गई किसानले आत्महत्या गर्नुपर्ने दिन आउनसक्ने भन्नुभयो ।

उहाँले कृषि नीतिमा पूरै परिवर्तन नभएसम्म कृषि क्षेत्र समृद्ध र सबल हुन नसकिने उल्लेख गर्नुभयो । “देशका ८० प्रतिशत जनता कृषिमा पेसामा छन् । तर कृषिमा चार–पाँच प्रतिशतमात्रै कृषिमा बजेट विनियोजन हुने गरेको छ”, उहाँले भन्नुभयो, “राज्यले किसान र कृषि क्षेत्रलाई महत्त्व नदिँदा कृषि क्षेत्रको विकास हुनसकेको छैन ।” अध्यक्ष यादवले कृषि उत्पादन बढाउन र कृषिमा आत्मनिर्भर बन्नका लागि राज्यले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

वर्तमान कृषि नीतिले किसानले सोचेजस्तो उत्पादन लिन नसक्ने दाबी गर्दै अध्यक्ष यादवले जमिनलाई चकलाबन्दी गरी कृषिमा आधुनिकीकरण गर्दै विज्ञान, प्रविधि र आधुनिक उपकरणको प्रयोगमार्फत उत्पादन बढाउन राज्यको कृषि नीति परिवर्तन आवश्यक रहेको बताउनुभयो ।

“कृषि उत्पादनमा ह्रास आउँदा त्यसको असर उद्योग व्यवसायमा समेत पर्न गएको छ”, अध्यक्ष यादवले भन्नुभयो । मुलुकमा बेरोजगारी समस्या अन्त्य गर्न कृषि, शिक्षा र स्वास्थ्य क्षेत्र समृद्ध र सम्पन्न हुनुपर्नेमा उहाँको जोड थियो । अध्यक्ष यादवले दूध उत्पादक किसानले नियमति भुक्तानी नपाएको भन्दै त्यसतर्फ सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

त्यस अवसरमा जनता समाजवादी पार्टी (जसपा)का मधेस प्रदेश कमिटी अध्यक्ष बालकिशोरप्रसाद यादवले सिँचाइको सुविधा सबैलाई समानरुपले उपलब्ध हुनुपर्ने बताउनुभयो ।

नेपालको संविधान समयसापेक्ष संशोधन हुनुपर्नेमा पूर्वराष्ट्रपति यादवको जोड

मोरङ – पूर्वराष्ट्रपति डा रामवरण यादवले वर्तमान नेपालको संविधान समयसापेक्ष संशोधन हुनुपर्नेमा जोड दिनुभएको छ । सुशील कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा सुशील कोइराला फाउण्डेशनको आयोजनामा शनिवार यहाँ आयोजित ‘संविधान कार्यान्वयनका चुनौती र आजको राजनीति’ विचारगोष्ठी कार्यक्रममा उहाँले वर्तमान संविधान जारी गर्न स्व कोइरालाको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो ।

“वर्तमान संविधान जारी हुनुमा निष्ठावान र इमान्दार राजनीतिज्ञ तत्कालीन प्रधानमन्त्री कोइरालाको भूमिका महत्तवपूर्ण छ । उहाँ अनुशासित एवं तपस्वी नेता हुनुहुन्थ्यो”, पूर्वराष्ट्रपति यादवले भन्नुभयो ।

त्यस अवसरमा पूर्वसभामुख दमननाथ ढुङ्गानाले संविधान कार्यान्वयनमार्फत राष्ट्रिय आवश्यकता पूरा गर्नुपर्ने भन्दै त्यसको जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको धारणा राख्नुभयो । उहाँले तत्कालीन समयमा धेरैले वर्तमान संविधान जारी गर्नबाट रोक्ने प्रयास गरेको उल्लेख गर्र्दै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सफल नेतृत्वकै कारण संविधान जारी भएको बताउनुभयो ।

पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले लामो सङ्घर्ष र सफल नेतृत्वका कारण संविधानमा बहुलवाद, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिकालगायतका विषय समावेश गर्न सफल भएको स्मरण गर्नुभयो । उहाँले संविधानमार्फत व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएकाले समयसापेक्ष संविधान संशोधन जरुरी रहेको बताउनुभयो ।

संविधानसभा सदस्य एवं पूर्वमन्त्री रोमी गौचनले संविधान सम्झौताको दस्तावेज भएकाले समयअनुसार संशोधन गर्दै सबैका लागि स्वीकार्य बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्व कोइराला एक इमान्दार नेता हुनुहुन्थ्यो भन्दै वर्तमान संविधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चा गर्नुभयो ।

राजनीतिक विश्लेषक प्रा कृष्ण हाछेथुुले स्व कोइराला दूरदर्शी नेता भएकाले संविधान जारी हुनसकेको बताउनुभयो । उहाँले संविधानलाई गतिशील बनाउन समयसापेक्ष संशोधन पनि जरुरी भएको उल्लेख गर्नुभयो । फाउण्डेशनका अध्यक्ष मृदुला कोइरालाले स्व कोइराला लोकतन्त्रको लडाइँमा अग्रणी भूमिका निर्वाह गर्नुका साथै दलका नेताहरुलाई एक ठाउँमा ल्याई संविधान जारी गर्न सफल हुनुभएको चर्चा गर्नुभयो ।

नताको साथ र सहयोग पाएको छु, तपाईँहरूको मतको गुन तिर्नुछः स्वास्थ्यमन्त्री बस्नेत

सिन्धुपाल्चोक – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका धेरै जनताको साथ र सहयोग आफूले पाएको भन्दै त्यसको गुन तिर्न बाँकी रहेको बताउनुभएको छ ।

सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं २, पाँचपोखरी थाङपाल गाउँपालिका–४ थाङपालकोटमा आयोजित नागी टासी छ्योलिङ गुम्बाको शिलान्यासका अवसरमा उहाँले धेरै जनताको साथ र सहयोग पाएर जनप्रतिनिधि भएको बताउनुहुँदै आफू हरतरहले जिल्लामा विकास निर्माणका आयोजना ल्याउन लागिपरेको बताउनुभयो ।

“छ महिना सञ्चारमन्त्री हुँदा यस जिल्लामा ५२ वटा टेलिफोन टावर बनाएकै हुँ । अहिले स्वास्थ्यमन्त्री भएकाले बेला ३९ वटा स्वास्थ्य संस्थाका भवन यस वर्ष निर्माण हुँदैछन् । अर्को वर्ष बाँकी स्वास्थ्य संस्थाका भवन निर्माण सम्पन्न हुनेछन्”, उहाँले भन्नुभयो, “जनप्रतिनिधि भएपछि मुद्दा मामिलादेखि विकास निर्माणका साथै जनताको आपत्विपद्मा सबै काम गर्नुपर्छ, म त्यसका लागि निरन्तर लाग्ने व्यक्ति हुँ ।”

उहाँले सामाजिक काममा सबै एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो । “निर्वाचनका समयमा सामुदायिक भवन, गुम्बा र मठमन्दिर निर्माणमा ध्यान दिन्छौँ भनेका थियौँ, त्यहीअनुसार रु १० लाख बजेट विनियोजन भइसकेको छ भने थप रु २० लाख विनियोजन हुनेक्रममा छ”, उहाँले भन्नुभयो ।

बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ (समीर)ले भूकम्पबाट क्षतिग्रस्त तीन सय वर्ष पुरानो गुम्बा पुनःनिर्माणका लागि निर्वाचनका बेला गरेको प्रतिबद्धताअनुसार शनिवार शिलान्यास भएको बताउनुभयो । उहाँले गुम्बा निर्माणका लागि बजेटको चिन्ता नलिन आग्रह गर्नुभयो ।

गुम्बा विकास समितिका केन्द्रीय सदस्य शिशिर वाइबाले शिलान्यास भएको गुम्बा निर्माण सम्पन्न गर्न सबैको भूमिका महत्त्वपूर्ण हुने धारणा राख्नुुभयो । नरदेवी आयुर्वेद अस्पताल विकास समितिका सदस्य लेखनाथ लामाले मत माग्ने बेलामा जातीय कुरा गरेर विकास निर्माणका समयमा हराउनेहरूका पछि लाग्ने काम अब बन्द हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस पाँचपोखरी थाङपाल गाउँपालिकाका सभापति प्रेम दोङ, नेकपा (माओवादी केन्द्र) पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष दिलबहादुर वाइबा, समाजसेवी शङ्कर लामालगयतले मन्तव्य राख्नुभएको थियोे ।

कला र संस्कृतिका लागि मौलिकता पनि आवश्यक – मन्त्री किराती

टक्सार (भोजपुर) – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कला र संस्कृतिका लागि मौलिकता पनि आवश्यक रहेको बताउनुभएको छ ।

भोजपुर सदरमुकाममा गायन तथा नृत्यतर्फको भोजपुर गट ट्यालेन्ट प्रतियोगिता २०८० को अन्तिम चरणको शनिवार उद्घाटन गर्दै मन्त्री किरातीले गीत, सङ्गीत र कलाको माध्यमबाट समाजको अनुहार देखाउन जरुरी रहेको बताउनुभयो ।

उहाँले मौलिकतामा फर्किन सकिएमा मात्रै विश्वमा नेपालले नाम राख्न सक्ने धारणा राख्नुभयो । गाउँबाट प्रतिभा पहिचान गरेर यहाँसम्म ल्याउने कार्यक्रम उत्कृष्ट भएको भन्दै मन्त्री किरातीले कला र संस्कृति जर्गेना जरुरी भएको बताउनुभयो । अन्तिम चरणका लागि गायनतर्फ छजना र नृत्यतर्फ छजना छनोट भएका थिए ।

भ्रष्टाचार नहटेसम्म सुशासन र समृद्धि आउँदैन : कानुनमन्त्री गुरुङ

रामपुर (पाल्पा) – कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताउनुभएको छ ।

तानसेन महोत्सवको उद्घाटनका अवसरमा मन्त्री गुरुङले भ्रष्टाचारीलाई कारबाही नगरेसम्म मुलुक समृद्धिको बाटोमा अगाडि बढ्न नसक्ने भन्दै भ्रष्टाचार गर्नेलाई कानुनसम्मत कारबाही गरिने बताउनुभयो । उहाँले भ्रष्टाचार नहटेसम्म मुलुकमा सुशासन तथा समृद्धि नहुने पनि उल्लेख गर्नुभयो ।

भ्रष्टाचार अन्त्यका लागि वडाअध्यक्षदेखि मन्त्रीसम्मका सबैको सम्पत्ति छानबिन हुनुपर्छ भन्दै उहाँले भ्रष्टाचारका फाइलहरु खोल्दा जताजतैबाट दबाब आएर काम गर्न कठिनाइ भएको बताउनुभयो । “वडादेखि माथिसम्मका जनप्रतिनिधि र कर्मचारीमा अधिकृतदेखि माथिसम्मका सबैको सम्पत्ति छानबिन गर्छौ त्यसका लागि कानून समेत ल्याउने तयारीमा छौँ”, उहाँले भन्नुभयो ।

तानसेन नगरपालिकाको आयोजनामा आजदेखि कृषि, रोजगार, पर्यटन उद्योग र व्यापार भन्ने नारासहित महोत्सव सुरु भएको हो । महोत्सवमार्फत कृषि, पर्यटन, लघु तथा साना उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्य लिइएको छ ।

कृषि तथा घरेलु उत्पादन, पर्यटन विकासको उद्देश्यले महोत्सव आयोजना गरिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । कृषि, स्थानीय उत्पादन, घरेलुसहित महोत्सवमा तीन सयभन्दा प्रदर्शनी कक्ष छन् । महोत्सव यही फागुन २९ गतेसम्म चल्नेछ ।

भरतपुर भ्रमण वर्ष २०२४ : आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव हुँदै

मुग्लिन (चितवन), २० फागुन : भरतपुर भ्रमण वर्ष–२०२४ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् चितवनले नारायणी नदी किनारमा ‘आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ आयोजना गर्ने भएको छ ।

आदिवासी महासङ्घ चितवनका अध्यक्ष महेन्द्र दुराले आउँदो चैत ९ देखि १८ गतेसम्म महासङ्घले पहिलोपटक महोत्सव आयोजना गर्न लागेको जानकारी दिनुभयो । आदिवासी जनजाति समुदायको संस्कृति र जातीय पहिचानलाई जानकारी गराउन महोत्सव आयोजना गर्न लागिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “वेशभूषा र खानपानसँगै मञ्चमा हुने गतिविधिमार्फत आदिवासी जनजातिलाई केन्द्रमा राखेर काम गर्न खोजेका छौँ । ”

महासङ्घका सचिव रामबहादुर भुजेलका अनुसार नारायणी नदी किनारमा हुने महोत्सवमा कम्तीमा दुई सयभन्दा बढी व्यापारिक प्रदर्शनी कक्ष रहनेछ । कम्तीमा दुई लाख दर्शकलाई महोत्सव अवलोकन गराउनेगरी तयारी थालिएको उहाँले बताउनुभयो ।

चितवनमा थारू, चेपाङ, तामाङ, गुरुङ, मगर, नेवार, कुमाल, दरै, दुरा, थकाली, ह्योल्मो, राई, लिम्बू, भुजेलसहित १७ आदिवासी जनजाति समुदाय बसोबास गर्दछन् । ती सबैलाई एकै ठाउँमा समेटिने गरी महोत्सव आयोजना गर्न लागेको महासङ्घका सचिव भुजेलले जानकारी दिनुभयो । “महोत्सवमा चितवनका आदिवासी जनजाति सम्बद्ध सबै सङ्घसंस्थाको प्रतिनिधित्व हुने छ”, उहाँले भभन्नुभयो, “सबै जातजातिले आ–आफ्नो वेशभूषा तथा संस्कृतिलाई प्रदर्शन गर्न पाउनेछन् ।”

यसबाहेक जिल्लामा उत्पादन भएका वस्तुको बजारीकरणमा समेत टेवा पुग्नेगरी महोत्सव आयोजना गर्न लागेको उहाँले बताउनुभयो । “स्थानीय उत्पादनको प्रवर्द्धन तथा बिक्रीवितरण, कृषि, जडीबुटी तथा खनिजजन्य उत्पादनको प्रदर्शन र बिक्रीवितरण गरिने छ”, उहाँले भन्नुभयो । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा हुन गइरहेको यस महोत्सवको संरक्षक भरतपुर महानगरपालिका रहेको छ ।

हेर्नुहोस् फागुन २० गते आइतवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – अरुको कुरामा बिशेष ध्यान नदिनु होला । मनमा कुबिचारले बास गर्नाले भोलिको समयमा केहि झन्झज पर्न सक्छ । खर्चको योग रहेको हुनाले लगानिमा ध्यान दिनु होला । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ ।

बृष राशि – ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय को क्षेत्रमा मध्यम दिन रहेको छ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

मीथुन राशि – अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्रने ब्यक्ति हरुको बृद्यि हुनेछ । शत्रु सबल रहलान । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । प्रिय ब्यक्ति को भेटले मन प्रशन्न रहला ।

कर्कट राशि- मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानि हुनसक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ ।

सिंह राशि – भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । सबारी साधनको प्रयोगमा ध्यान लिनु होला । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला ।

कन्या राशि – कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । आय आम्दानि मा बृद्यिहुने योग रहेको छ । भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला ।

तुला राशि – मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । बिश्वासिला ब्यत्तित्वहरुबाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि – मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला ।सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । शारिरिक आलस्यता ले सताउने छ । साजेदारी काममा हात नहालेकै बेस हुने छ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

धनु राशि – बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ ।

मकर राशि – नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।

कुम्भ राशि – कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परीबारका कोहि सदस्य हरुको स्वास्थ क्षेत्रमा झमेला पर्न सक्छ । बौधिक बिकास तथा विद्या प्राप्ति योग रहेको । सभा सम्मेलनमा सरीक हुने अबसर प्राप्त हुनेछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ ।

मिन राशि- मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ ।सबारी साधन को प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला ।

अनुसन्धानमा प्रभाव पार्ने सामग्री सम्प्रेषण नगर्न चितवन प्रहरीको अनुरोध

काठमाडौँ, १९ फागुनः जिल्ला प्रहरी कार्यालयले चितवनले केही दिनअघि रत्ननगर नगरपालिका वडा नं १० मा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्राको मृत्यु घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको भन्दै अनुसन्धानमा प्रभाव पार्ने कुनै पनि विषयवस्तु सम्प्रेषण नगर्न आग्रह गरेको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरू हालसम्म प्राप्त नभएको अवस्थामा अनुसन्धानमा प्रभाव पर्ने गरी कुनै पनि विषयवस्तु सम्प्रेषण नगरीदिन आग्रह गर्नुभएको हो । विज्ञप्तिमा घटनाबारे गम्भीररूपमा अनुसन्धान भइरहेको पनि उल्लेख छ ।

“विद्यालयको होस्टलका अन्य साथीसहित बस्ने कोठाको सिलिङ पङ्खामा डोरीको पासो लगाई झुण्डी छात्राको मृत्यु भएको घटनाबारे जानकारी प्राप्त हुनासाथ तत्काल वरिष्ठ प्रहरी अधिकृतको कमाण्डमा घटनास्थल विशेषज्ञसहितको अनुसन्धान टोली घटनास्थलमा खटी घटनास्थल र मृतक शवको सुक्ष्म अवलोकन गरी प्रारम्भिक चरणका अनुसन्धानका काम सम्पन्न गरी हाल सो घटनाको गम्भीररूपमा थप अनुसन्धान भइरहेको छ”, विज्ञप्तिमा भनिएको छ ।

बालबालिकाको मृत्युजस्तो संवेदनशील विषयलाई अत्यन्त गम्भीर्यताका साथ लिई प्रचलित कानुनले निर्दिष्ट गरेबमोजिम नेपाल प्रहरीले आफ्नो पेसागत मूल्य, मान्यता, दक्षता र विवेक प्रयोग गरी अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । “घटनाबारे वैज्ञानिक प्रयोग तथा प्राविधिक विश्लेषणसमेतका आधारमा तथ्यपरक वस्तुनिष्ठ अनुसन्धान गरिने पीडित परिवार र सम्पूर्णमा विश्वास दिलाउँछौँ”, प्रहरीले भनेको छ ।

प्रहरीले घटनाको तथ्यपरक वस्तुनिष्ठ अनुसन्धान जारी रहेको अवस्थामा यसै घटनालाई लिई विभिन्न सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सम्प्रेषित विषयवस्तुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएकोसमेत उल्लेख गरेको छ ।

सरकार समाजवादको आधार तयार पार्न क्रियाशील छः प्रधानमन्त्री

दाङ, १९ फागुनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको वर्तमान सरकार समाजवादको आधार तयार पार्न क्रियाशील रहेको बताउनुभएको छ ।

आज दिउँसो दाङको देउखुरीमा आयोजित अगुवा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको जगमा समाजवादको आधार तयार पार्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष प्रचण्डले, “मैले सरकारको नेतृत्व गरेदेखि नै समाजवादको आधार तयार पार्न सुशासन, समाजिक न्याय र समृद्धिमा जोड दिएको छु । प्रतिकूल परिस्थितिका बाबजुद पनि सरकारले समाजवादको आधार तयार पार्न प्रयास गरिरहेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट उत्पादन र रोजगारीमा केन्द्रित गरिने छ । त्यसले देशमा नयाँ वातावरण बनाउनेछ ।”

प्रशिक्षणमा माओवादी केन्द्रका सचिव एवं पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेल, स्थायी समिति सदस्य एवं नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, स्थायी समिति सदस्य जोखबहादुर महरालगायतका नेता उपस्थित हुनुहुन्थ्यो ।

नेपाल बङलादेशसँग पराजित

काठमाडौँ, १९ फागुन : दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१६ महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल बङ्लादेशसँग पराजित भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग २–० गोलअन्तरले पराजित भएको हो ।

बङ्गलादेशको जितमा सौरभी प्रीतिले गोल गरिन् । उनले खेलको २५औँ मिनेटमा पहिलो गोल गरिन् । त्यस्तै खेलका ३१औँ मिनेटमा प्रीतिले नै पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरिन् ।

नेपालकी गोलकिपर झरना डुम्राकोटीले बङ्गलादेशकी खेलाडी अल्पी अख्तेरलाई पेनाल्टी बक्सभित्र लडाएपछि बङ्गलादेशले पेनाल्टीको अवसर पाएको थियो ।

प्रतियोगितामा आयोजक नेपालसहित बङ्गलादेश, भुटान र भारत सहभागी छन् । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि भिड्नेछन् ।

कोरोला नाका पूर्णरूपमा सञ्चालन गर्न प्रधानमन्त्रीसमक्ष आग्रह

बागलुङ, १९ फागुन : नेपाल-चीन जोड्ने मुस्ताङको कोराला नाका पूर्णरूपमा सञ्चालनमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष माग गरिएको छ । अन्तरदेशीय व्यापार र पर्यटन प्रवर्द्धनका लागि सो उत्तरी नाका नियमित सञ्चालनका लागि पहल थाल्न सरकारको ध्यानाकर्षण गराइएको हो । आज बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’मा सहभागी प्रधानमन्त्री दाहालसमक्ष नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकास र समृद्धिका लागि कोराला नाका नियमित सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो ।

उहाँले केही समयअघि भएको चीन भ्रमणका क्रममा कोरोलालगायत नेपालसँगका उत्तरी नाका सञ्चालनमा प्रधानमन्त्रीले लिनुभएको पहलप्रति आभार व्यक्त गर्दै कोराला नाका छिट्टै पूर्णरूपमा सञ्चालनमा आउनेमा विश्वास व्यक्त गर्नुभयो । “कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग आयोजनालाई समयमै सम्पन्न गर्न सकिएमा कोराला नाकालाई सक्रिय र सहजरूपमा सञ्चालनमा ल्याउन सकिन्छ, यसतर्फ प्रधानमन्त्री र सरकारको विशेष ध्यान जानेछ भन्ने हाम्रो विश्वास छ”, अध्यक्ष ढकालले भन्नुभयो ।

पञ्चकोटबाट मुक्तिनाथ हुँदै कोरोला नाका जोड्ने सडक निर्माणलाई उच्च प्राथिमकता राख्न उहाँले प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभयो । विश्वका सनातन अनुयायीहरूको आस्थाको केन्द्र मुक्तिनाथ रहेको भन्दै अध्यक्ष ढकालले त्यस क्षेत्रलाई सांस्कृतिक, प्राकृतिक एवं धार्मिक सम्पदास्थलका रूपमा विकास गर्नुपर्ने अध्यक्ष ढकालले बताउनुभयो ।

पञ्चकोटमा निर्माण थालनी भएको विश्वशान्ति कलशको पूर्णताका लागि सरकारको सहयोगको अपेक्षा लिइएको उहाँको भनाइ छ । सर्वसिद्धिधाम पञ्चकोटका सङ्कल्पकर्ता स्वामी कमलनयनाचार्यले चीन जोड्ने कोरोला नाका सञ्चालन हुनसकेमा मुलुकको समृद्धिमा ठूलो टेवा पुग्ने उल्लेख गर्नुभयो ।

“मुक्तिनाथ क्षेत्र हुँदै मानसरोकारको यात्रा गर्न सकिने अवस्था सिर्जना गर्न सकियो भने धार्मिक पर्यटनका माध्यमबाट देशले ठूलो लाभ लिन सक्छ, यसतर्फ प्रधानमन्त्रीज्यूमार्फत सरकारको ध्यान जाओस्”, उहाँले भन्नुभयो ।

कोरोला नाका जोड्ने सडक सुविधासम्पन्न हुनसकेमा समग्र मुक्तिक्षेत्रको विकासले गति लिने स्वामी कमलनयनाचार्यले बताउनुभयो । उहाँले जनस्तर र सरकारी क्षेत्रको साथ र सहयोगबाट पञ्चकोटले नयाँ स्वरुप पाएको बताउनुभयो । उहाँले व्यवस्थित सडक, खानेपानी र पार्किङस्थलको व्यवस्थापनमा सरकारका निकायको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो ।

प्रधानमन्त्री दाहालले बागलुङ, म्याग्दी हुँदै मुस्ताङको कोराला नाका जोड्ने सडकको स्तरोन्नतिका लागि सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो । “प्रधानमन्त्रीका हैसियतले कोरोला नाकालाई नियमित सञ्चालन गर्ने र त्यहाँको सडक निर्माणमा मेरो ध्यान गएको छ, आगामी सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा पनि यो विषय प्राथमिकताका साथ समेटिन्छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक समृद्धिका लागि धार्मिक पर्यटन महत्त्वपूर्ण आधार भएको बताउनुभयो । उहाँले कोरोला नाका सञ्चालनमा आउँदा आर्थिक गतिविधिसँगै पर्यटन आवागमनमा पनि उल्लेख्य वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भौतिक विकासमा दौडिरहेको वर्तमान विश्वमा आध्यात्मिक चिन्तनको विकास गर्न नसके समाजमा स्थायी शान्ति प्राप्त नहुने धारणा राख्नुभयो । उहाँले संस्कारसहितको व्यावहारिक शिक्षामा जोड दिनुभयो ।

प्रदेशका मन्त्री र सचिवको समन्वय बैठक सुर्खेतमा सम्पन्न

कर्णाली, १९ फागुन : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा तीन प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री र सचिवहरूबीचको समन्वय बैठकले प्रदेश प्रहरी समायोजनलगायतका विषयमा सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री र नेपाल सरकारका गृहमन्त्रीबीच आगामी चैतको पहिलो हप्तामा बैठक बस्ने निर्णय गरेको छ ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीको अध्यक्षतामा आज सम्पन्न बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र गृह, सञ्चार र कानुन मन्त्रालयका मन्त्री तथा सचिवहरूबीच अन्तरप्रदेश अनुभव अदानप्रदान समेत गरिएको थियो ।

बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीद्वय गङ्गानारायण श्रेष्ठ र शिवदत्त भट्टका साथै कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव धुव्र घिमिरे, सुदुरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुशील वैद्य र मधेस प्रदेश सरकार गृह, सञ्चार तथा कानून मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवको उपस्थिति रहेको कर्णालइ प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी रोशनबहादुर शाहीले जानकारी दिनुभयो ।

‘कर्णाली लगानीको सम्भावना भएको प्रदेश’

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनमन्त्री बेदराज सिंहले कर्णाली प्रदेश लगानीको सम्भाव्य क्षेत्र भएको बताउनुभएको छ ।

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउण्डेसन नेपालको सयुक्त आयोजनामा शुक्रबारदेखि सुर्खेतमा सञ्चालन भएको डिजिटल कर्णाली कन्क्लेभ (प्रविधि सम्मेलन)को आज दोस्रो दिनको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले कर्णाली प्रदेश पानी, खानी र पर्यटनको प्रचुर सम्भावनाको प्रदेश भएको बताउनुभयो ।

उहाँले यसप्रकारको महत्त्वपूर्ण कार्यक्रमको आयोजना गरेको भन्दै आन्तरिक मामिला मन्त्रालय तथा आइसिटी नेपालप्रति कृतज्ञता प्रकट गर्नुभयो । “हामीसँग प्राकृतिक, धार्मिक र सांस्कृतिक महत्वका सम्पदाहरू छन् । रैथानेबाली, जडीबुटी र बहुमूल्य पत्थरसहित ती सबैको आवश्यक पहिचान गरी लगानीको वातावरण सिर्जना गर्नुपर्दछ । प्रदेश सरकार यसमा लागिरहेको छ”, उहाँले भन्नुभयो ।

सङ्घीयता आउनुपूर्व कर्णालीका धेरै ठाउँमा बाटो नभएको तर अहिले यहाँका करिब धेरै स्थानीय तहमा बाटो र बैंक पुगेको बताउँदै उहाँले अब कर्णालीले प्रविधि सम्मेलनको सहयोगबाट समयको बचत गरी विकास पूर्वाधार र प्रशासन सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । राज्यले कर्णाली र भेरी करिडोरको शीघ्र विकास गरेको खण्डमा कर्णाली मुलुककै आकर्षक गन्तव्य बन्ने उहाँको भनाइ थियो ।

एउटै क्षेत्रबाट संसार देखाउन आइसिटीको ठूलो महत्व रहेको बताउँदै मन्त्री सिंहले भन्नुभयो, “प्रविधि सम्मेलनमा कर्णालीको तल्लो तहले पनि यसमा प्रतिनिधित्व गर्ने र सिक्ने अवसर पाएको छ । अब सम्मेलनले एउटा घोषणापत्र तयार गर्नेछ । जसलाई आधार बनाएर प्रदेश सरकारले सूचना प्रविधिसम्बन्धी नीति तथा ऐन बनाउने र दोस्रो पञ्चवर्षीय योजनामा यसलाई समावेश गर्नेछ ।”

उपलब्ध स्रोतहरूको भरपुर उपयोगले जलविद्युत्, वन, कृषि, पर्यटन उद्योग निर्माण गराउन सकिएमात्र कर्णालीलाई अशिक्षा, बेरोजगार, अभाव र गरिबमुक्त प्रदेश बनाउन सकिने उहाँको भनाइ थियो ।

‘रुस-युक्रेन द्वन्द्वमा फसेका नेपालीलाई स्वदेश फर्काउन सरकार प्रयासरत छ’ – मन्त्री साउद

भैरहवा (रुपन्देही), १९ फागुन: परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले हरसम्भव प्रयत्न गरिरहेको बताउनुभएको छ ।

आज भैरहवामा सम्पन्न सिद्धार्थ उद्योग वाणिज्य सङ्घको ६५औँ वार्षिक साधारणसभामा मन्त्री साउदले सरकारको स्वीकृतिबेगर कुनै पनि मुलुकको सेनामा प्रवेश गर्न नपाइने नीतिको पालना गर्न सम्बद्ध सबैमा आग्रह गर्दै रुस–युक्रेन युद्धमा फसेका नेपालीलाई स्वदेश फर्काउन कूटनीतिक तहमा रुससँग निरन्तर सम्पर्क भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय रेडक्रस परिचालन गरेका छौँ र संयुक्तराष्ट्रसँग पनि मेरो लगातार कुरा भइरहेको छ ।”

उहाँले अहिले रुसबाट फिर्ता ल्याउनका लागि दुई सय ४४ वटा उजुरी आफूकहाँ परेको बताउँदै त्यहाँ रहेकाहरूलाई फिर्ता ल्याउनका लागि आफू लगातार लागेको दोहोर्याउनुभयो । साथै त्यहाँ मारिएका नेपालीका आश्रित परिवारलाई क्षतिपूर्तिको रकम दिलाउने प्रयास पनि भइरहेको उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा मन्त्री साउदले विप्रेषण आयबाट मात्र देशको अर्थतन्त्रलाई सुदृढ बनाउन नसकिने बताउनुभयो । मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने भएकाले विश्वासको वातावरण बनाएर काम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

कोभिडअघिकै अवस्थामा अर्थतन्त्र पुगे पनि लक्षित उपलब्धि हासिल नभएकाले अर्थ व्यवस्थामा विश्वास जगाउन सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अर्थतन्त्रलाई चलायमान बनाउन उद्योगीहरूसँग सहकार्य गरी अघि बढ्न सरकार दृढ रहेको उहाँको भनाइ थियो ।

हाल उद्योग व्यवसाय औसत ३० प्रतिशतमा मात्र चलेको गुनासो गर्दै सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले आर्थिक क्षेत्र चलायमान हुने वातावरण राज्यले बनाउनुपर्ने तथा बैंक तथा वित्तीय संस्थाले लचिलो भएर व्यवसायीको मर्का बुझ्नुपर्नेमा जोड दिनुभयो ।

उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ सञ्चालन गर्न माग गर्नुभयो । बौद्ध धर्मावलम्बीको बाहुल्य रहेका मुलुकहरु थाइल्याण्ड, श्रीलङ्का, भियतनाम, कोरिया, जापान, चीनबाट थप हवाई उडान सञ्चालन गर्न कूटनीतिक पहल गर्न परराष्ट्रमन्त्रीलाई आग्रह गर्नुभयो ।

नेपाल–पाकिस्तानमैत्री टि–२० क्रिकेट सुरु

काठमाडौँ, १९ फागुन : यहाँस्थित पाकिस्तानी राजदूतावासले हरेक वर्ष आयोजना गर्दै आएको नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–२० क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आजदेखि धुम्बाराहीस्थित क्रिकेट मैदानमा प्रारम्भ भएको छ ।

नेपालका लागि पाकिस्तानका राजदूत अबरर हुसेन हास्मी र नेपाल क्रिकेट सङ्घका पूर्वअध्यक्ष विनयराज पाण्डेले संयुक्तरूपमा उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत हास्मीले दुवै देशका युवा वर्गबीच खेलकुदका माध्यमबाट पारस्परिक सम्बन्धलाई जोड्ने प्रयासस्वरुप नौ वर्षदेखि प्रतियोगिता आयोजना गरिँदै आएको बताउनुभयो ।

शिक्षा तथा खेलकुदका माध्यमबाट युवा वर्गलाई रचनात्मक काममा प्रेरित गर्न भएका प्रयासको पूर्वअध्यक्ष पाण्डेले सराहना गर्दै नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–२० प्रतियोगिताले नयाँ प्रतिभा जन्माउने विश्वास व्यक्त गर्नुभयो ।

आगामी नौ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा टोलीबीच प्रतिस्पर्धा हुनेछ । टोलीमा पाकिस्तानी दूतावास क्रिकेट क्लब, हिमालयन क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी, बालुवाटार क्रिकेट क्लबलगायत सहभागी छन् ।

समान अधिकार नपाएसम्म राष्ट्रिय सभामा गतिविधि अघि बढाउन नदिने अडानमा पीटीआई

पाकिस्तानको सत्तारूढ गठबन्धनको कडा आलोचना गर्दै पाकिस्तान तेहरीक–ए–इन्साफका नेता जुनैद अकबरले आफ्नो पार्टीलाई उचित अधिकार प्रदान नगरेसम्म राष्ट्रिय सभाका गतिविधि अघिबढ्न नदिने बताउनुभएको छ । पूर्व प्रधधानमन्त्री खान निकटस्थ स्वतन्त्र सांसद्हरूको समूह सुन्नी इत्तेहाद काउन्सिल (एसआइसी) सदस्य तथा पीटीआई नेताले संसद्को तल्लो सदनमा आफ्नो भाषणमा राष्ट्रिय सभालाई चल्न नदिने बताउनुभएको हो ।

अकबरले आफूहरूले राष्ट्रिय सभालाई मान्यता नदिएको बताउदै कानून बनाउने तथा अनुमति दिने कुनै पनि कार्य गर्न नदिइने उल्लेख गर्नुभएको छ । इमरान खानद्वारा स्थापित पीटीआईले फेब्रुअरी ८ को आम चुनावको समयमा आफ्नो जनादेश चोरी भएको दाबी गर्दै उक्त चुनावलाई धाँधलीयुक्त चुनावको संज्ञा दिएको छ । निर्वाचन प्रयोजनका लागि बनेको कामचलाउ सरकारले चुनावको दौडानमा समान अवसर अस्वीकार गरेको आरोप लगाएको छ । अकबरले पाकिस्तान पिपुल्स पाटी सिन्ध हाउसमा राजनीतिक लेनदेनकोे बजार स्थापना गरी विधायकहरूकोे चेतना किनेको जनाउनुभएको छ । पिटिआईसँगको कथित भेदभावका उल्लेख गर्दै सांसदले मे ९ को घटनाको बहानामा आफ्नो पार्टीको चुनावी चिन्ह ‘ब्याट’ खोसेको र पटकपटक पार्टीका संस्थापक नेता खानको हत्या प्रयास गरिएको पनि उहाँले बताउनुभयो ।

मे ९ मा पीटीआईका करिब ३४ जना समर्थकको हत्या भएको बताउँदै खानले स्थापना गरेको पार्टीको नेतृत्वविरुद्ध विभिन्न झुट्टा मुद्दा दर्ता गरिएको पनि उहाँले बताउनुभयो । उहाँले आफु र आफ्ना साथीहरूविरुद्ध राजद्रोहको मुद्दा दर्ता गरिएको भन्दै निर्दोष व्यक्तिविरूद्धका सबै मुद्दा खारेज हुनुपर्नेमा उहाँले जोड दिनुभयो । फेब्रुअरी ८ को आम चुनावमा भएको कथित धाँधलीको बारेमा कुरा गर्दै पीटीआई नेता अकबरले धारा ४५ अनुसार हार बेहारेका व्यक्तिलाई सदनमा लगिएको दावी गर्नुभयो । संविधानको उल्लङ्घन र देशलाई हानि पु¥याएको सत्ताधारी गठबन्धनलाई जवाफदेही बनाउने वाचा पनि उहाँले गर्नुभयो । पीटीआईले सरकार र पाकिस्तानका मुख्य न्यायाधीश काजी फैज इसालाई मे ९ को हिंसाको लाभार्थी पत्ता लगाउन नयाँ अनुसन्धान सुरु गर्न आग्रह गरेको जियो न्यूजले जनाएको छ ।

गाजामा गरिएको इजरायली कारबाहीमा नौ हजार महिलाको मृत्यु : राष्ट्रसङ्घ

सन् २०२३ अक्टोबर ७ मा इजरायलविरूद्ध प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) ले गरेको आक्रमणको बदलामा गाजामा इजरायली सेनाद्वारा चलाएको हवाई तथा जमिनी कारबाहीमा करिब नौ हजार महिलाहरूको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय महिला कार्यक्रम (यूएन वुमन)ले शनिबार जनाएको छ ।

धेरै महिलाहरू भग्नावशेषमुनि परेको रिपोर्ट गरिएकाले यो आँकडा सम्भवतः कम भएको उक्त निकायले जनाएको छ ।

गाजामा युद्धका कारण दैनिक औसत ६३ महिलाको मृत्यु हुने गरेको छ । युद्धले गर्दा प्यालेष्टिनी महिलाहरूले परिवारका अन्य सदस्य गुमाउनु परेको र बाँचेका बालबच्चासमेतलाई असुरक्षाको अवस्था सिर्जना भएको यूएन वुमनले जनाएको छ ।

हरेक पाँचमध्ये चारभन्दा बढी वा ८४ प्रतिशत महिलाले उनीहरूको परिवारले द्वन्द्व सुरु हुनुअघि प्रयोग गरेको आधा वा कम खाना खाने गरेको रिपोर्ट राष्ट्रसङ्घीय निकायले गरेकोे छ ।

गाजामा पाँचमध्ये चार अर्थात् ८४ प्रतिशत महिलाले गरेको रिपोर्ट अनुसार उनीहरूका परिवारका सदस्यले गत हप्तादेखि खाना छोड्नु परेको छ । तीमध्ये ९५ प्रतिशत आमाहरू खाना बिना नै बस्ने तथा आफ्ना बच्चालाई खुवाउनका लागि आफूहरूले खानामा सम्झौता गर्ने गरेको यूएन वुमनले जनाएको छ ।

गाजाको २.३ मिलियन जनसङ्ख्याले केही हप्ताभित्र खाद्य असुरक्षाको गम्भीर स्तरको सामना गर्नुपर्नेछ । गाजा सर्वेक्षणमा १२ मध्ये १० महिला सङ्गठनहरूले आवश्यक आपतकालीन प्रतिक्रिया सेवाहरू प्रदान गर्दै आंशिक रूपमा खाद्यान्न सहयोग वितरण गरेकोे रिपोर्ट गरेका छन् ।तत्काल मानवीय युद्धविराम नभएसम्म आगामी दिनमा अझ धेरैको मृत्यु हुने उल्लेख गर्दे उक्त राष्ट्रसङ्घीय निकायले गाजामा आवश्यक पूर्वाधारको विनाश र बम विस्फोट रोक्न र तत्काल गाजामा मानवीय सहायता पु¥याउन आग्रह गरेको छ ।