`

कांग्रेस महासमिति बैठकः सुझावका आधारमा परिमार्जनसहित तीन प्रस्ताव पारित

काठमाडौँ, १० फागुन : नेपाली कांग्रेसको यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको महासमितिको बैठक आज सम्पन्न भएको छ । बैठकले छलफलबाट प्राप्त सुझावका आधारमा केन्द्रीय कार्यसमितिले परिमार्जनसहित अन्तिम रुप दिने गरी महत्वपूर्ण तीन प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावहरुले कांग्रेसको नीति, साङ्गठानिक कार्ययोजना र समसामयिक सन्दर्भमा स्पष्ट दृष्टिकोण निर्माण गरेको छ ।

बन्द सत्रमा प्रस्तुत प्रस्तावमा सहभागी सदस्यबाट महत्वपूर्ण सुझाव प्राप्त भएको कांग्रेसका प्रचारप्रसार उपसमिति संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो । प्राप्त सुझावका आधारमा केन्द्रीय कार्यसमितले परिमार्जनसहित अन्तिम रुप दिने गरी उक्त तीन वटै प्रस्ताव महासमितिको बैठकले सर्वसम्मतिले पारित गरेको उहाँले बताउनुभयो ।

साथै बैठकले प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशसरण महतले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सुझावसहित ग्रहण गर्नुका साथै लेखासमितिका संयोजक श्यामप्रसाद घिमिरेले प्रस्तुत गर्नुभएको लेखापरीक्षण प्रतिवेदन अनुमोदन गरेको छ ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समुद्घाटन गरी १० गते सम्पन्न महासमिति बैठकले नेपाली जनताले पटकपटक गरेको क्रान्ति, सङ्र्घष र आन्दोलनबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै संस्थागत विकास एवं संविधानले निर्दिष्ट गरेका विषयलाई आत्मसाथ गरी नेपालको संविधानको रक्षा, सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको सार्थक कार्यान्वयन आजको राष्ट्रिय दायित्व भएको तथ्य हृदयङ्गमसाथ नागरिकको अवस्था रुपान्तरण गर्ने प्रण गरेको छ ।

शान्ति प्रक्रियाका वाँकी काम, सङ्क्रमणकालीन न्यायका विषय चाँडै टुङ्ग्याउँने प्रतिवद्धता जाहेर गर्दै बैठकले कांग्रेसको उपस्थितिमा निर्माण भएको गठबन्धनलाई निरन्तरता दिई वर्तमान सरकारमार्फत भ्रष्ट्राचार, बेथिती र विसङ्गतिका विरुद्ध वैधानिक रुपमा अभियान सञ्चालन गरी सुशासन र राष्ट्रिय सदाचार पद्दती स्थापित गर्न सम्पूर्ण रुपले अठोट गर्दै अर्थतन्त्रमा देखिएका विविध समस्या र चुनौतिलाई समाधान गर्ने जिम्मेवारी बोध गरेको छ ।

त्यस्तै बैठकले मुलुकमा विद्यमान सबैखाले सामाजिक एवं जातीय क्षेत्रीय तथा लैङ्गिक विभेद र हिंसाविरुद्ध अभियान सञ्चालन गर्ने प्रतिवद्धता गर्दै तीनै तहका सरकार सञ्चालनमा देखिएका समस्या समाधानका लागि नेतृत्वदायी भूमिकाप्रति सचेत रहने दृढ सकङ्ल्प व्यक्त गरेको छ । किसान, सहकारी वचतकर्ता, मीटरव्याज र लघुबित्त पिडितहरुले भोग्दै आएका पीडालाई अविलम्व समाधान गरी पिडितलाई न्याय दिलाउँन सरकारको ध्यानाकर्षण गराउने महासमिति बैठकको निष्कर्ष छ ।

‘राजनीतिक स्थायीत्व, रुपान्तरण नविनता स्वतन्त्रता, न्याय र समानता, कांग्रेसको नीतिगत प्रतिवद्धता’ भन्ने नाराका साथ प्रारम्भ भएको बैठकबाट हासिल नविन उर्जालाई सम्पूर्ण एकताका साथ सङ्गठन निर्माण र विस्तारमा जुट्दै नेपाल र नेपालीको उज्यालो भविष्यका लागि समर्पित हुने साझा प्रतिवद्धतासहित आज बैठक सम्पन्न भएको जनाइएको छ ।

महासमिति बैठक सम्बन्धी विस्तृत जानकारीका लागि भोलि (फागुन ११ गते) दिउँसो ३ बजे कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिने संयोजक विश्वकर्माले जानकारी गराउनुभयो ।
 

अब विकास र समृद्धिका लागि नीतिगत नेतृत्व कांग्रेसले गर्छ : सभापति देउवा

ललितपुर, १० फागुन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमितिबाट प्राप्त सुझाव दूरगामी महत्त्वको आधार भएको बताउनुभएको छ । नेपाली कांग्रेसको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा चार दिनदेखि सञ्चालन भएको महासमिति बैठककोे आज समापन गर्दै उहाँले सहभागीबाट महत्वपूर्ण सुझाव प्राप्त भएको भन्नुहुँदै प्राप्त सुझावलाई केन्द्रीय कार्यसमितिले परिमार्जन गरे पारित गर्ने बताउनुभयो ।

“प्राप्त सुझावलाई समेटेर केन्द्रीय समितिले पूर्णता दिनेछ । यसैको आधारमा आगामी केन्द्रीय समितिले प्रतिवेदन प्रकाशित गर्नेछ”, सभापति देउवाले भन्नुभयो, “महासमितिबाट प्राप्त सुझाव दूरगामी महत्वको आधार बनेको छ । विगतमा आन्दोलन र अभियानको नेतृत्व गर्याैँ, अब विकास र समृद्धिका लागि नीतिगत नेतृत्व कांग्रेसले गर्छ ।” उहाँले काँग्रेस सदैव नेपाली राजनीतिको मियोकारुपमा रहेको भन्दै आगामी दिनमा अझ प्रभावकारी ढङ्गले अगाडि बढ्ने बताउनुभयो ।नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले महासमिति बैठकमा पार्टी र सरकार सञ्चालनका सन्दर्भमा महत्वपूर्ण सुझाव प्राप्त भएको बताउनुभयो । “कांग्रेस जहिले पनि मुलुकको मध्यमार्गी पार्टीको रुपमा स्थापित हुँदै आएको छ । यो धारलाई दायाँबायाँ हुन दिँदैनौँ”, उहाँले भन्नुभयो ।उपसभापति खड्काले संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्ने बताउनुभयो । उहाँले महासमिति बैठकले एकताको सन्देश दिएको उल्लेख गर्दै राष्ट्रिय हितका पक्षमा पार्टी सधैँ क्रियाशील रहेको बताउनुभयो । उहाँले संविधान कार्यान्वयनको क्रममा भएको कमजोरीलाई सुधार र परिमार्जन गर्दै समृद्धितर्फ देशलाई लैजाने जिम्मेवारी कांग्रेसको काँधमा रहेको उल्लेख गर्नुभयो ।कांग्रेसका उपसभापति एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कांग्रेसका नेता तथा कार्यकर्ताले पार्टीको सङ्गठन निर्माणमा लाग्नुपर्ने बताउनुभयो । “कांग्रेस सिद्धान्तमा स्पष्ट र विचारमा प्रष्ट भएर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।उपसभापति गुरुङले गरिबीको रेखामुनि रहेका सबै नेपालीलाई नाना, खाना र छानाको व्यवस्था गर्ने गरी कांग्रेस आगामी दिनमा लाग्नुपर्ने उल्लेख गर्नुभयो । लाभका पदमा पुगेका सबैको सम्पत्ति छानविन गर्ने कुरा व्यवहारमा उतारिनुपर्ने उहाँको भनाइ थियो । जनताको भावनालाई छुने गरी पार्टीले मार्गचित्र तय गर्नुपर्ने उपसभापति गुरुङले बताउनुभयो ।

सभापति लामिछाने र राजदूत लोरेन्जोबीच भेटवार्ता

काठमाडौँ, १० फागुन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि यूरोपियन यूनियन (इयू) का राजदूत भेरोनिक लोरेन्जोबीच भेटवार्ता भएको छ ।

रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा आज भएको भेटवार्तामा दुवैबीच दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको रास्वपाका केन्द्रीय सदस्य एवं सहप्रवता प्रतिभा रावलले जानकारी दिनुभयो । सभापति लामिछाने र राजदूत लोरेन्जोले नेपाल र इयूको पचास वर्षे सहकार्यको समीक्षासहित आउँदा दिनमा अझै बलियो सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिएका उहाँले बताउनुभयो । सभापति लामिछानेले पर्यटन प्रवर्द्धनका लागि इयूले नेपाललाई कायम राखेको ‘एयर सेफ्टी लिष्ट’बाट हटाउन पहलका लागि राजदूत लोरेन्जोलाई अनुरोध गर्नुभएको थियो ।

सो अवसरमा राजदूत लोरेन्जोले यो विषय आफ्नो पनि प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपालले हवाई सुरक्षाका लागि योजनावद्ध रुपमा काम गर्न इयूले नेपाल नागरिक प्राधिकरणसँग समन्वय गरिरहेको भनाइ राख्नुभएको सहप्रवता रावलले जानकारी दिनुभयो । भेटवार्तामा सभापति लामिछानेले उर्जा, सूचना प्रविधिलगायत क्षेत्रमा नेपालका लागि विदेशी लगानी र प्राविधिक सहयोग आवश्यक रहेकाले त्यसमा इयूले सकारात्मक योगदान पु¥याइदिने अपेक्षा राख्नुभएको उहाँले बताउनुभयो ।

नेपाली सेनाले कञ्चनपुरको कुतियाकवरमा ‘सेफ हाउस’ निर्माण थाल्यो

महेन्द्रनगर (कञ्चनपुर), १० फागुन : नेपाली सेनाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरमा ‘सेफ हाउस’ निर्माण थालेको छ । उक्त ‘सेफ हाउस’को आज एक कार्यक्रमबीच दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर लिम्बू र श्रीदल गुल्मका गुल्मपति सेनानी राजीवजङ्ग ठकुरीले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

नेपाल–भारत सीमावस्तीका रुपमा रहेको कुतियाकवर बर्सेनि वर्खामा जोगबुढा र महाकाली नदीको बाढीको उच्च जोखिमका रहने गरेकाले उक्त क्षेत्रका बासिन्दाको सहजताका लागि श्रीदल गुल्म भगतपुर ब्यारेकले ‘सेफ हाउस’ निर्माण थालेको गुल्मपति सेनानी ठकुरीले जानकारी दिनुभयो ।

बर्षात्मा बाढी बस्तीमा पस्दा स्थानीय विस्थापित हुनेगरेकाले त्यसको रोकथामका लागि सेनाले दोधारा चादँनी नगरपालिकाको समेत सहयोगमा सेफ हाउस निर्माण कार्य अघि बढाएको नगरप्रमुख लिम्बूले बताउनुभयो । यसबाट सैनिक र नागरिकबीचको सम्बन्ध थप सुमधुर हुने उहाँको भनाइ छ । कुतियाकवरमा ४२ परिवारको बसोबास रहेको छ । यसअघि बाढीबाट कटान र डुबानबाट दर्जनाँै परिवार विस्थापित भइसकेका छन् ।

सेनाले बाढीका बेला आश्रय लिन मिल्ने उक्त दुईतले सेफ हाउस चालु आर्थिक वर्ष २०८०÷८१ भित्र निर्माण गरिसक्ने लक्ष्य छ । सेनाले कञ्चनपुरमा शिक्षा, स्वास्थ्य र खेलकुदका साथै सार्वजनिक सम्पतीको समेत संरक्षण एवं सम्र्वद्धन गर्दै आएको छ । दोधारा चाँदनी नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले सेनाले निर्माण थालेको सेफ हाउस बनेपछि स्थानीयलाई बाढी र डुबानका बेला सुरक्षित भएर बस्न सकिने बताउनुभयो ।

भवन निर्माणका लागि स्थानीयले जग्गा उपलब्ध गराएका हुन् । शिलान्यास कार्यक्रममा दोधारा चाँदनीका नगर प्रवक्ता ओम बस्नेत तथा स्थानीयको सहभागिता थियो ।

भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई कांग्रेसले वरपर राख्न हुदैन : महामन्त्री थापा

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई बलियो र सबल बनाउने अठोट बोकेर जनतामाझ जानुपर्ने बताएका छन् । कांग्रेसको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा चार दिनदेखि सञ्चालन भएको महासमिति बैठककोे बिहीबार समापन गर्दै महामन्त्री थापाले महासमिति बैठकपछि पार्टीलाई बलियो र सबल बनाउने गरी जनतामाझ जानुपर्ने बताएका हुन् ।

महामन्त्री थापाले हामी अभिभावक र सेवक भएकाले राम्रो काम गरेर अगाडि बढ्नुपर्ने बताए । विसं २०४६ देखि हालसम्म नेतृत्वमा रहेका सबैको सम्पत्ति छानबिन गर्ने अठोट कांग्रेसले लिनुपर्ने उनको भनाइ थियो ।

महामन्त्री थापाले भने, “काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिनुपर्छ । भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई कांग्रेसले वरपर राख्न हुदैन ।” उनले पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

“कांग्रेसले चार वर्षमा १२ लाख नयाँ सदस्यता थपेर आगामी निर्वाचनमा देशकै सबैभन्दा धेरै मत प्राप्त गर्ने पार्टी बनाउनुपर्छ”, महामन्त्री थापाले भने । बदलिँदो कांग्रेस र बलियो कांगेसको आडमा आगामी १५ वर्षमा देश निर्माणको सपना पूरा गर्ने उनको भनाइ थियो ।

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले महासमिति बैठकले देशमा सुशासन र समुन्नतिलाई अगाडि बढाउन कांग्रेस एक ढिक्का भएको सन्देश दिएको बताए। “महासमिति बैठकमा देशको पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्मका समस्यालाई देख्ने र सुन्ने मौका पायौँ । यसको समाधानका लागि कांग्रेस एक ढिक्का भएर अगाडि बढ्छ”, उनले भने ।

महामन्त्री शर्माले मुलुकलाई नेतृत्व गर्ने पार्टी कांग्रेस भएको उल्लेख गर्दै आगामी दिनमा पार्टीबाट उठाउने उम्मेद्वार भूगोलबाट छान्ने प्रवृत्तिलाई अगाडि बढाउनुपर्ने बताए । महासमिति बैठकबाट पारित कुरालाई पार्टीले अक्षरश पालना गर्नुपर्नेमा उनले जोड दिए ।

कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरले पार्टीलाई बलियो बनाउनका लागि देशभरका नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताए । “समावेशी, समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरेकाले आज संसद्मा महिला, मधेसी, मुस्लिम समुदायको प्रतिनिधित्व भएको छ । यो कांग्रेसको देन हो”, उनले भने ।

कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरीले महासमिति बैठकमा प्रस्तुत प्रतिवेदन कार्यान्वयन गरेर अगाडि बढ्न सके पार्टी झन् बलियो भएर अगाडि बढ्ने बताए । “कांगेस एकढिक्का भयो भने कसैले हराउन सक्दैन”, उनले भने ।

कांग्रेस सहमहामन्त्री महालक्ष्मी (डिना) उपाध्यायले पार्टीभित्र उठेका महिला सहभागितालाई पार्टीले प्राथमिकतामा राख्नुपर्ने बताइन् ।

पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले महासमिति बैठकले पार्टीलाई नविन दिशामा अगाडि बढाउने विश्वास व्यक्त गरे । “कांग्रेसले कसैलाई काखा र कसैलाई पाखा लगाएर हिँड्दैन । जनतालाई केन्द्रमा राखेर अगाडि बढ्छ”, उनले भने ।

कांग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले बैठकबाट प्राप्त सुझावलाई समेटेर पार्टीको विधानलाई परिस्कृत गर्दै लैजानुपर्ने बताए ।
कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले कांग्रेसले अन्य पार्टीसँग समय र परिस्थितिअनुसार गठबन्धन गर्नुपर्ने बताए । उनले पार्टीलाई तीन वर्षपछि एक्लै लड्ने पार्टी बनाउन सबै लाग्नुपर्ने उल्लेख गरे ।

 नेपालमा उत्पादित चिया तेस्रो मुलुकमा  निर्यात गर्नुपर्ने नेता खनालको जोड

मङ्गलबारे (इलाम), १० फागुन : नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा उत्पादित चिया तेस्रो मुलुक निर्यात गर्नुपर्ने बताउनुभएको छ । इलाम नगरपालिका–१ को वडा कार्यालयले आयोजना गरेको एक कार्यक्रममा उहाँले नेपालमा उत्पादित चिया चीन निर्यात गर्नसके तीन गुणा बढी फाइदा हुने बताउनुभयो ।

चीनमा तीन गुणा बढी मूल्यमा चिया बिक्री भइरहेको भन्दै नेता खनालले भारत केन्द्रित चियाको बजारीकरण तोड्नुपर्ने बताउनुभयो । हाल वार्षिक चार अर्बको चिया विदेश निर्यात भइरहेको भन्दै उहाँले चीनतर्फ निर्यात गर्दा १२ अर्ब भित्रिने जानकारी दिनुभयो ।इलाम–१ को वडाभित्र बढी चिया उत्पादन हुने भएकाले सो वडाले पूर्वप्रधानमन्त्री खनालसमक्ष चियाको समस्या किसानमार्फत राख्ने कार्यक्रम तय भएको थियो । वडावासीको तर्फबाट मोती दाहालले किसान र उद्योगी समस्यामा परेको बताउनुभयो । उहाँले तत्काल चियाको समस्या समाधान नभए किसान र उद्योगी पलायन हुनुपर्ने स्थिति आउने बताउनुभयो ।कार्यक्रममा वडाको तर्फबाट चियाका साथै विद्यमान विभिन्न समस्या समाधान गर्न, विकास निर्माणलाई समेटेर छ बुँदे ज्ञापनपत्र बुझाइएको थियो । वडाध्यक्ष गायत्रीराम बस्नेतले खनाललाई ज्ञापनपत्र बुझाउँदै समस्या समाधानमा पहल गरिदिन आग्रह गर्नुभयो ।खनालले सम्बन्धित पक्षसँग आफूले पहल गर्ने आश्वासन दिनुभएको छ । वडा कार्यालयअन्तर्गतको ज्येष्ठ नागरिक समन्वय समितिको तर्फबाट खनाललाई सम्मानसमेत गरिएको थियो । 

तराई–मधेस जागरण अभियान सम्बन्धमा माओवादीमा छलफल

काठमाडौँ, १० फागुन : नेकपा (माओवादी केन्द्र)ले तराई–मधेसका क्षेत्रमा पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले तराई–मधेस (हुलाकी राजमार्ग) जागरण अभियानको तयारीका सम्बन्धमा छलफल गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकमा आगामी चैत १ देखि १५ गतेसम्म सञ्चालन हुने दोस्रो चरणको अभियानका बारेमा छलफल भएको सचिव गणेश साहले राससलाई जानकारी दिनुभयो ।

उक्त अभियानको ‘रुट’का सम्बन्धमा पनि बैठकमा सामान्य छलफल भएको उहाँले बताउनुभयो । अभियान झापाको चन्द्रगढीबाट सुरु भएर वीरगन्ज, ठोरी, माडी चितवन हुँदै पश्चिम नेपालसम्म पुग्नेछ । हुलाकी राजमार्गलाई आधार मानेर अभियान सञ्चालन गर्ने माओवादीको तयारी छ ।

गत भदौदेखि पुससम्म देशभर चलेको ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ सफल भएको निष्कर्ष निकालेको माओवादीले तराई–मधेस लक्षित जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । आजको बैठकमा अघिल्लो रुपान्तरण अभियानको समीक्षासमेत भएको सचिव साहले जानकारी दिनुभयो ।

बैठकले अभियानको मूल्याङ्क गर्दै सहयोग गर्नेलाई पुरस्कार र असहयोग गर्नेलाई दण्डको व्यवस्था गर्ने निर्णयसमेत गरेको छ । बैठकमा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका इन्चार्जले अभियानका बारेमा ‘रिपोर्टिङ’ गर्नुभएको थियो । स्थायी समिति बैठक भोलि अपराह्न १ बजे पुनः बस्ने तय भएको छ ।

कांग्रेस कमजोर भए लोकतन्त्रको विस्तार अवरुद्ध हुन्छ : नेता कोइराला

ललितपुर, १० फागुन : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेस कमजोर भए लोकतन्त्रको विस्तार अवरुद्ध हुने बताउनुभएको छ । उहाँले देशवासीको भविष्य निर्माण गर्ने पार्टी कांग्रेस मात्र भएको उल्लेख गर्नुभयो ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा यही फागुन ७ गतेदेखि सुकरु भएको कांग्रेस महासमिति बैठकको आज समापन सत्रमा बोल्दै नेता डा कोइरालाले महासमितिको बैठक समापनसम्म आइपुग्दा आन्दोलनमा लागेर यथोचित सम्मान पाउन नसकेकाको खोजी गरेर तिनको उचित मूल्यांकन गर्ने कार्य तथा त्यस्ता व्यक्ति, घटना र मोडको खोजी, अनुसन्धान गरी लिपिबद्ध गरेर राख्ने कामको थालनी हुनुपर्ने बताउनुभयो । उहाँले इतिहासका ती गौरवशाली क्षण र त्यसलाई दिशानिर्देश गर्ने नेताको स्मरण गर्दै अग्रजहरुले राष्ट्र निर्माणका लागि सुम्पिएका अभिभारा सफलतापूर्वक सम्पन्न गर्नुपर्ने उल्लेख गर्नुभयो ।

कांग्रेस आफ्नो इतिहासप्रति गौरव गर्दै वर्तमानलाई आकार दिएर भविष्यउन्मूख भएरै अगाडि बढ्नुपर्ने नेता कोइरालाको भनाइ थियो । पार्टीको गुमेको मूल्य, पद्धति, विचार र आदर्शलाई पुनःस्थापित गर्दै पार्टीको आन्तरिक जीवनमा कसरी पूर्नजागरण प्रवाह गर्ने भन्ने चिन्तालाई सम्पूर्ण कांग्रेसजनले सामुहिक चिन्ता मात्र होइन चिन्तन बनाएर लैजानुपर्ने आजको चुनौति भएको उहाँले उल्लेख गर्नुभयो ।

देशभित्र उठेका मुद्दा र पार्टीलाई सुधार गर्ने विषयमाथि पार्टीले गम्भीर भएर छलफल गर्नुपर्ने, कांग्रेस आफ्नो मौलिक पहिचानबाट टाढा जान नहुने, आम नागरिक आर्थिक कठिनाई, महङ्गी, बेरोजगारी, दण्डहिनता र भ्रष्टाचारको अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो ।

कांग्रेस सहमहामन्त्री जीवन परियारले पार्टीका केन्द्रीय नेताहरु स्थानीय तहबाट प्रतिनिधि भएर आउनुपर्ने प्रवृत्तिबारे बैठकमा गम्भीर ढङ्गले उठेको बताउनुभयो । उहाँले जनताका समस्या समाधान गर्न पार्टी लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले कांग्रेस आत्तिनुपर्ने कुनै अवस्था नरहेको बताउनुभयो । “हामी सङ्गठित बनौँ, ठूलो पार्टीमात्र होइन, बहुमतप्राप्त पार्टी बन्न सक्छौँ,” उहाँले भन्नुभयो ।

कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहले तीनै तहको सरकारलाई अधिकारसम्पन्न बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । “संविधानसभाबाट जारी भएको संविधानको रक्षा गर्दै आर्थिक क्रान्तिको बाटो कांग्रेसको नेतृत्वमा सम्पन्न गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले बैठकपछि जाँदा आगामी २०८४ सालमा हुने निर्वाचनमा पार्टीलाई जिताउने गरी उत्साह लिएर जान आग्रह गर्नुभयो । उहाँले महासमितिका राम्रा कुरा आम जनतामाझ लैजानुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारले लामो इतिहास बोकेको कांग्रेसलाई अगाडि बढाउने जिम्मा नयाँ पुस्ताको भएको बताउनुभयो । उहाँले पार्टीलाई बलियो बनाउनका लागि सबै एकजुट हुनुपर्ने उल्लेख गर्नुभयो ।

बागमती प्रदेशको हिउँदे अधिवेशन फागुन १५ गते

मकवानपुर, १० फागुन : बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको हिउँदे अधिवेशन यही फागुन १५ गते दिउँसो ३ बजे बस्ने बताउनुभएको छ । उहाँले १५ गते दिउँसो ३ बजे बस्ने बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

सभामुख पाठकले रासससँग आज संक्षिप्त कुराकानी गर्नुहुँदै प्रदेश सरकारले आह्वान गरे बमोजिम फागुन १५ गते प्रदेशसभाको हिउँदे अधिवेशन बैठकमा प्रस्तुत हुने विभिन्न विधेयक एवं राष्ट्रिय महत्वको विषयमा कार्यसुची तयार गर्न फागुन १३ गते अपरान्ह् २ बजे संसद्मा रहेका सत्ता पक्ष र प्रतिपक्ष दल सम्मिलित सर्वदलीय बैठकको आयोजना गरिने भएको जानकारी दिनुभयो ।

उहाँले प्रदेशसभाको बैठकलाई नियमित रुपमा सञ्चालन गर्न र राष्ट्रिय सरोकारका विषय संसद्को विभिन्न समितिमा छलफलका लागि पठाइएको बताउनुभयो । विधेयकमाथि छलफल भई प्रतिवेदनका रुपमा तयार भएका विधेयकलाई बैठकमा एजेण्डाका रुपमा प्रस्तुत गर्न फागनु १४ गते दिउँसो १ बजे प्रदेशसभाको कार्य परामर्श व्यवस्थापन समितिको बैठकको आह्वन गरिएको सभामुख पाठकले जानकारी दिनुभयो ।

गत असोज २२ गते बागमती प्रदेशसभाको १२औँ अधिवेशन बैठकले दुई विधेयक पारित गरी गत असोज २३ गते प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोही दिनको राति १२ बजेदेखि संसद्को १२औँ अधिवेशन अन्त्य गर्नुभएको थियो ।

नेपालगञ्जबाट मैत्री बससेवा सुरु

राँझा (बाँके), १० फागुन : नेपालगञ्जबाट भारतको राजधानी नयाँदिल्ली र उत्तरप्रदेश प्रान्तको राजधानी लखनउका लागि मैत्री बससेवा सुरु गरिएको छ । यसअघि, नेपालगञ्जबाट दिल्ली र लखनउसम्म नेपाल–भारत मैत्री बससेवा सञ्चालन गर्दै आइएको भेरी यातायात प्रालिसँग सहकार्य गरेर उत्तर प्रदेश परिवहन देवीपाटन क्षेत्र गोण्डाले आजदेखि बस सेवा सञ्चालन गरेको हो ।

आज नेपालगञ्ज बसपार्कमा एक समारोहकाबीच लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्री र उत्तर प्रदेश परिवहन देवीपाटन क्षेत्र गोण्डाका क्षेत्रीय प्रबन्धक अङ्कुर विकासले बस सेवाको शुभारम्भ गर्नुभयो ।

प्रदेशसभा सदस्य खत्रीले नेपाली बस मात्रै दिल्ली र लखनउ सञ्चालन हुँदै आएकामा अव भारतको उत्तर प्रदेश सरकारलेसमेत नेपालीलाई सेवा सहजताका लागि मैत्री बस सञ्चालन गर्नु खुसीको कुरा भएको बताउनुभयो ।

उत्तर प्रदेश परिवहनका क्षेत्रीय प्रबन्धक विकासले सीमा क्षेत्रमा नेपाली यात्रुले पाउँदै आएको सास्तीलाई मध्यनजर गर्दै नेपालगञ्जबाटै सहज र सुलभ दरमा बस सेवा सञ्चालन गरिएको बताउनुभयो ।

भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले भारतीय पक्षले भारतबाट बस सञ्चालन गरेपछि अब नेपाल–भारत मैत्री बस सेवाले सार्थकता पाएको बताउनुभयो । उहाँले आफुहरुले हाल नेपालगञ्जबाट दिल्ली, लखनउ र हरिद्वारका लागि सुविधा सम्पन्न बस सञ्चालन गरेर यात्रुलाई सुविधा प्रदान गर्दै आएको दाबी गर्नुभयो ।

उत्तर प्रदेश परिवहन देवीपाटन क्षेत्र गोन्डाले नेपालगञ्जबाट हाल लखनउ र दिल्लीका लागि दुईवटा बस सञ्चालन गर्ने सहमति भएको भेरी यातायात प्रालिका प्रबन्धक प्रमोद धितालले जानकारी दिनुभयो ।

यसरी सम्भव भयो त्रिविको उपकुलपति नियुक्ति

काठमाडौँ, १० फागुन : त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविको ४९औँ दीक्षान्त समारोहमा सम्बोधन क्रममा क्षमता र दक्षताको आधारमा मात्रै उपकुलपति नियुक्ति गर्ने घोषणा गर्नुभएको थियो । उहाँले सोहीअनुसार त्रिविलाई सूचना जारी गर्न निर्देशन दिनुभयो ।

खुला प्रतिस्धर्पाका आधारमा त्रिविका उपकुलपति नियुक्तिका लागि सूचना प्रकाशित गरिए पनि तीन वर्ष पदाधिकारी भएको हुनुपर्ने सर्त राखिएपछि प्रधानमन्त्री दाहालले पुनः सूचना प्रकाशित गर्न निर्देशन दिनुभएको थियो । सोहीअनुसार नै नियुक्त प्रक्रिया अगाडि बढेको थियो ।

त्रिविले कार्यविधि संशोधन गरेर जारी गरेको सूचनाको आधारमा उपकुलपतिका लागि ४३ जनाको आवेदन परेको थियो । दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएका थिए । प्रधानमन्त्री दाहालले सोहीअनुसार उपकुलपति नियुक्तिको आधार तयार गर्न कस्ता प्रावधान बनाउने भन्ने विषयमा विज्ञसँग छलफल गर्नुभएको थियो ।

छलफलका आधारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको नेतृत्वमा उपकुलपति छनोट तथा सिफारिस समिति बनाइएको थियो । सिफारिस समितिले त्रिविको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री दाहाल समक्ष चित्रबहादुर बुढाथोकी, प्रा डा केशरजङ्ग बराल र टङ्कनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री दाहालले त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १८(२) अनुसार आज प्रा डा केशरजङ्ग बराललाई उपकुलपतिमा नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले तीन जनाको नाम सिफारिस गर्दा ‘मेरिटोक्रेसी’ पालना भए÷नभएको बारेमा अध्ययन गर्नुभएको थियो । त्यसलगतै शिक्षामन्त्री राई एवं शिक्षा सचिव सुरेश अधिकारीसँग छलफल गरेर बराललाई उपकुलपतिमा नियुक्ति गर्नुभएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

श्रम नीतिका लागि फिनल्याण्डमा सरकारलाई विश्वासको मत प्राप्त

हेलसिंकी – प्रधानमन्त्री पेटेरी ओर्पोको नेतृत्वमा रहेको फिनल्याण्डको दक्षिणपन्थी गठबन्धन मन्त्रिपरिषद्ले श्रम कानूनको संशोधनमा बुधबार विश्वासको मत प्राप्त गरेको छ।

बेरोजगारी र कल्याणकारी लाभहरूमा कटौतीका साथमा श्रम अधिकारका लागि विधायिकी ढाँचालाई कमजोर बनाउने सरकारको योजनाले गर्दा धेरै दशकसम्म फिनिश युनियनहरूले सबैभन्दा व्यापक हड्तालहरू शुरु गरेका थिए ।

सबै गठबन्धन दलहरूले मन्त्रिपरिषद्लाई समर्थन गरेपछि सरकारले ८९–७३ मतले विश्वासको मत पाएको थियो भने ३६ सांसद अनुपस्थित रहेका थिए भने र एउटा खाली मतपत्र परेको थियो । सरकारमा कन्जरभेटिभ, फिन्स पार्टी, स्वीडिश पिपुल्स पार्टी (एसडीपी) र क्रिस्चियन डेमोक्र्याट छन् ।

अविश्वासको इन्टरपेलेसनको पहिलो हस्ताक्षरकर्ता, एसडीपी अध्यक्ष एन्टी लिन्डटम्यानले मन्त्रिपरिषद्लाई अपील गर्दै यसले सङ्कट समाधान गर्न खुला वार्ता शुरु गर्ने बताउनु भएको छ ।

रुसी फौजमा कार्यरत बागलुङका युवकको निधन, कुशको शव बनाएर अन्त्येष्टि

गण्डकी, १० फागुन : रुसी फौजमा कार्यरत बागलुङको ताराखोला गाउँपालिका–२ सिलेका जितबहादुर विकको निधन भएको छ । युक्रेनविरुद्धको लडाइँमा ३६ वर्षीय विकको ज्यान गएको उहाँका साढुभाइ सनबहादुर विकले जानकारी दिनुभयो । गत माघ २० गते निधन भए पनि परिवारजनलाई बुधबार मात्र जानकारी आएको उहाँको भनाइ छ । पर्यटक भिसामा गत असोज ११ गते रुस पुग्नुभएका विकपछि रुसी फौजमा भर्ना भएको सनबहादुरले बताउनुभयो ।

“रुस लैजाने एजेन्टमार्फत मृत्युको खबर आएको हो, मृत्यु पुष्टि गर्ने अस्पतालको कागजात पनि परिवारलाई प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “थप जानकारी लिन परराष्ट्र मन्त्रालयलगायत निकायमा बुझ्दैछौँ ।” मृत्यु भएको पुष्टि भएपछि परिवारजनले बुधबार गाउँमै कुशको शव बनाएर विकको अन्त्येष्टि गरेको सनबहादुरले जानकारी दिनुभयो । ताराखोला–२ का वडाध्यक्ष भद्र घर्तीले पोर्चुगलमा रहनुभएका विकका भाइको फोनमार्फत् घरमा मृत्युको खबर आएको बताउनुभयो ।

“रुसी सेनामा भर्ना भएको तस्वीर उहाँले नै सार्वजनिक गर्नुभएको थियो, परिवारलाई पनि आफू लडाइँमा जान लागेको बताउनुभएको रहेछ”, वडाध्यक्ष घर्तीले भन्नुभयो, “उहाँको निधनको खबरले गाउँमा शोक छाएको छ, परिवारको बिचल्ली भएको छ ।” विक यसअघि गाउँमै गाडी चालक रहेको उहाँका साढुभाइ सनबहादुरले बताउनुभयो । वैदेशिक रोजगारीका लागि केही वर्षअघि विक साउदी र कतारमा पनि पुग्नुभएको थियो । विकका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ ।

सन्दीप लामिछानेद्वारा उच्च अदालत पाटनमा पुनरावेदन दर्ता

काठमाडौँ, १० फागुन : क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्ने काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन मुद्दा दर्ता भएको छ ।

उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर कार्कीका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ अनुसार थुनाबाहिरै बसेर मुद्दा लड्न पाउने गरी आज पुनरावेदन मुद्दा दर्ता भएको हो । लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ को सुविधा दिइएको हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासले क्रिकेट खेलाडी लामिछानेलाई गत पुस २५ गते आठ वर्ष कैद, रु तीन लाख जरिवाना र रु दुई लाख क्षतिपूर्ति निर्धारण गरेको थियो । गत पुस १३ गते गौशाला–२६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्ने उक्त अदालतले निर्णय गरेको थियो ।

लामिछानेविरुद्ध २०७९ भदौ २१ गते बालिका बलात्कार गरेको उजुरी परेपछि उनलाई गत वर्ष असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।

प्रेम कथामा आधारित चलचित्र‘रुमानी रङ्ग’ बन्ने,अभिनेता धीरज र साम्राज्ञीको अभिनय

काठमाडौँ, १० फागुन : अनिल योञ्जनको निर्देशनमा नेपाली चलचित्र ‘रुमानी रङ्ग’ बन्ने भएको छ । आज कमलपोखरीस्थित चलचित्र भवनमा अभिनेता धीरज मगर र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहने जानकारीसहित चलचित्र निर्माण घोषणा गरिएको हो ।

यसअगाडि ‘इन्टु मिन्टु लन्डनमा’ जोडी बनेर प्रस्तुत हुँदा झैँ यसपटक काम गर्न आफूहरू उत्साहित रहेको अभिनेता मगरले बताउनुभयो । “मलाई यो चलचित्रको कथाले आकर्षित गरेको हो । मैले आफूलाई प्रस्तुत गर्न चाहिरहेको भूमिका यसमा छ । यो प्रेमकथामा आधारित रोमान्टिक कमेडी चलचित्र हो”, उहाँले भन्नुभयो । उहाँले चलचित्र अष्ट्रेलियामा छायाङ्कन हुने जानकारी दिनुहुँदै आफू तयारीमा जुटेको बताउनुभयो ।अभिनेत्री शाहले कथाको तारिफ गर्दै आफू सधैँ फरक भूमिकामा प्रस्तुत हुन प्रयत्नशील रहेको बताउनुभयो । “मैले अघिल्ला चलचित्रमा पनि फरक भूमिका गर्ने कोसिस गरेकी थिएँ । केही सफलता र केही असफलतामार्फत प्राप्त सिकाइौ कारण अहिले सन्तुलित रुपमा काम गरिरहेकी छु”, उहाँले भन्नुभयो ।उहाँले निर्देशकले कथा सुनाउने शैली र प्रस्तुतिकरणका विषयमा गरेको तयारी र अभिनेता मगर चलचित्रमा रहेकाले पनि आफूलाई राम्रो बन्नेमा विश्वस्त हुने आधार पुगेको बताउनुभयो ।‘डायरी’मार्फत निर्देशनको सुरुआत गर्नुभएका निर्देशक योञ्जनले यसपटक पूर्ण रुपमा प्रेम कथानक चलचित्रको तयारी गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले हाम्रो प्रेम कथानक चलचित्र परिवारले हेर्ने कमै बनिरहेका छन् । यो प्रेम कथामा परिवार पनि उत्तिकै जोडिएको छ । यो सबै वर्गका दर्शकलाई हुने किसिमले तयार गर्नेछु ।” उहाँले चलचित्रको छायाङ्कन आउँदो वर्ष विसं २०८१ को वैशाख अन्तिमदेखि अष्ट्रेलियामा हुने जानकारी दिनुभयो ।

शैक्षिक क्यालेण्डर कार्यान्वयन पहिलो प्राथमिकता : उपकुलपति बराल

कीर्तिपुर, १० फागुन : त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति केशरजङ्ग बरालले पदबहाली गर्नुभएको छ । आज साँझ कीर्तिपुरस्थित विश्वविद्यालय कार्यालयमा पुगेर उहाँले कार्यभार सम्हाल्नुभएको हो ।

पदबहालीपछि रासससँग कुराकानी गर्दै उपकुलपति बरालले आफ्नो पहिलो प्राथमिकता विश्वविद्यालयको वार्षिक शैक्षिक ‘क्यालेण्डर’ कार्यान्वयन गर्नु रहेको बताउनुभयो । “त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था हो ।

यहाँ धेरै काम गर्नुपर्नेछ”, उहाँले भन्नुभयो । शैक्षिक क्यालेण्डर कार्यान्वयन तथा समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई प्राथमिकता दिइने उपकुलपति बरालले बताउनुभयो । विश्वविद्यालयको पाठ्यक्रम अद्यावधिक गर्ने आफनो योजनामा रहेको उहाँको भनाइ थियो ।

अस्ट्रियामा जनवरी महिनाको मुद्रास्फीति २ वर्षमा सबैभन्दा न्यून स्तरमा

अस्ट्रियाको वार्षिक मुद्रास्फीति जनवरी महिनामा ४.५ प्रतिशतमा झरेको छ । उक्त गिरावट सन् २०२१ डिसेम्बरपछिको सबैभन्दा कम हो तथ्याङ्क विभाग अस्ट्रियाका महानिर्देशक टोबियास थोमसले उक्त गिरावट मुख्यतया घरेलु ऊर्जाको मूल्यमा कमी आएको र विशेष गरी बिजुलीको मूल्यमा भएको गिरावटले गर्ता भएको बताउनु भएको छ ।

थोमसले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ-, “अन्य धेरै क्षेत्रहरू जस्तै ईन्धनको मूल्य अब अघिल्लो महिनाहरूमा जस्तो तीव्र रूपमा बढेको छैन।”सन् २०२३ डिसेम्बर मा वार्षिक मुद्रास्फीति दर ५.६ प्रतिशतमा रहेको थियो थियो।

सन्धिखर्क देशभरकै सात सय ५३ पालिकामा प्रथम

सन्धिखर्क (अर्घाखाँची), १० फागुन : कार्यसम्पादन मूल्याङ्कनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशभरकै प्रथम बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार आर्थिक वर्ष २०७९÷८० को कार्यसम्पादन मूल्याङ्कनमा सन्धिखर्क प्रथम भएको हो ।

देशभरका सात सय ५३ स्थानीय तहमध्ये सन्धिखर्कले ६१ दशमलव ८१ अङ्क प्राप्त गरी पहिलो भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो ।

स्थानीय तहलाई सङ्घीय सञ्चित कोष तथा प्रदेश सञ्चित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदानअन्तर्गत कार्यसम्पादन मूल्याङ्कनका आधारमा अनुदान सिफारिसका लागि आयोगले कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्दछ ।

कार्यसम्पादन मूल्याङ्कन गर्दा आयोगले स्थानीय तहसँग तथ्याङ्कहरू मागेर त्यसको आधारमा र उपलब्ध तथ्य सही वा गलत भएको प्रामाणित गरेर सोही आधारमा अङ्क प्रदान गरिन्छ । गत आर्थिक वर्षमा सन्धिखर्क नगरपालिका देशभरमै आठौँ स्थानमा पर्न सफल भएको थियोे ।

चितवनको भरतपुर महानगरपालिका ५६ दशमलव २९ अङ्कसहित दोस्रो र गुल्मीको मालिका गाउँपालिका ५५ दशमलव ४० अङ्कसहित तेस्रो भएका छन् । त्यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ५३ दशमलव ८४ अङ्कसहित चौथो, सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका ५३ दशमलव ७६ अङ्कसहित पाँचौँ, गुल्मीको चन्द्रकोट गाउँपालिका ५२ दशमलव ५७ अङ्कसहित छैटौँ, अर्घाखाँचीको छत्रदेव गाउँपालिका ५० दशमलव ४४ अङ्कसहित सातौँ, गुल्मीको रेसुङ्गा नगरपालिका ५० दशमलव ०३ अङ्कसहित आठौँ, सिन्धुपाल्चोककै पाँचपोखरी थाङ्पाल गाउँपालिका ४९ दशमलव ३६ अङ्कसहित नवौँ र प्युठानको सरुमारानी गाउँपालिका ४९ दशमलव १९ अङ्कसहित १०औँ भएका छन् ।

प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ को दफा ७ अनुसार कार्यसम्पादन मूल्याङ्कन गरी अङ्क प्रदान गरिएको हो ।

गाजा युद्धविराममा भिटो लगाएकोमा अरब मुलुकहरूद्वारा अमेरिकाको निन्दा

दक्षिणी गाजा सहर राफामा इजराइली आक्रमणको आशङ्काबाट प्यालेस्टिनी क्षेत्रमा मानवीय सङ्कट गहिरिन सक्ने चिन्ता बढेका बेला गाजापट्टीमा तत्काल युद्धविरामको माग गर्ने संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अर्को प्रस्तावमा भिटो लगाएकामा अरब मुलुकहरूले अमेरिकाको निन्दा गरेका छन् ।

मङ्गलबार न्युयोर्कमा आयोजित राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आपत्कालीन सत्रमा अल्जेरियाले अरब मुलुकहरूका तर्फबाट पेस गरेको मस्यौदा प्रस्तावलाई सुरक्षा परिषद्का १५ सदस्यबीच १३ मत प्राप्त भएको छ । अमेरिकाले उक्त प्रस्तावविरुद्ध मतदान गर्यो भने बेलायत अनुपस्थित थियो ।

दक्षिण चीनमा पुलमा जहाज ठोक्किँदा दुईको मृत्यु

दक्षिण चीनको गुआङडोङ प्रान्तको गुआङझोउमा बिहीबार बिहान एक जहाज पुलसँग ठोक्किएर पुल भत्किँदा दुई जनाको मृत्यु र अन्य तीन जना बेपत्ता भएको उद्धारकर्मीहरूले बताएका छन् ।

स्थानीय समयानुसार बिहान करिब साढे पाँच बजे एउटा कन्टेनर जहान नान्सा जिल्लाको लिक्सिनसा पुलको घाटसँग ठोक्किएको थियो । दुर्घटनामा एउटा मोटरसाइकिलसहित पाँच सवारी प्रभावित भएका थिए । तीमध्ये दुई नदीमा र अर्को जहाजमा खसेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

दुर्घटनामा चालक दलका एक सदस्य सामान्य घाइते भएका छन् । उद्धार प्रयास जारी छ र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

भारतमा किसानमाथि प्रहरी कारवाहीमा एकको मृत्यु

भारतको उत्तरी राज्य हरियाणामा बुधबार आन्दोलित किसानहरूमाथि प्रहरीले रबरको गोली र अश्रु ग्यास प्रहार गर्दा एक युवा किसानको मृत्यु भएको र अन्य केही घाइते भएको अधिकारीहरूले बताएका छन् ।

किसानको मृत्यु राष्ट्रिय राजधानी नयाँदिल्लीबाट करिब एक सय २१ किलोमिटर टाढा पञ्जाब र हरियाणाको बीच सीमाविन्दु खनौरीमा भएको हो । प्रहरीका अनुसार २० वर्षीय शुभकरण सिंह प्रहरी कारवाहीमा मारिएका हुन् । यद्यपि हरियाणा प्रहरीले उक्त आरोपलाई अस्वीकार गरेको छ ।

“खनौरीबाट तीन जना बिरामी हामीसँग आएका छन्, तिनीहरूमा एक जनाको यहाँ आइपुग्दा मृत्यु भएको छ, गोली लागेको जस्तो देखिएका अन्य दुईको अवस्था गम्भीर छ तर यसको पुष्टि गर्न सकिँदैन”, पटियालाका राजेन्द्र अस्पतालका वरिष्ठ चिकित्सा अधिकारी रेखीलाई उद्धृत गर्दै भनिएको छ, “यहाँ आइपुग्दा मरिसकेका व्यक्तिको टाउकोमा गोली लागेको थियो तर गोलीको आकारजस्तो अधिक जानकारीको पुष्टि शव परीक्षणपछि मात्र थाहा हुनसक्छ ।”

पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले पनि मृत्युको पुष्टि गर्नुभयो । प्रहरीले किसानको आन्दोलन रोक्नका लागि अम्बाला जिल्ला नजिकै अर्को सीमा विन्दु शम्भूमा अश्रु ग्याससहित रबरको गोली चलाएको छ ।

जारी विरोध प्रदर्शन अन्त्य गर्ने प्रस्तावका रूपमा आगामी पाँच वर्षका लागि न्यूनतमा सुरुक्षा मूल्यमा किसानबाट दाल, मकै र कपासको बाली खरिद गर्ने सरकारको प्रस्तावलाई अस्वीकार गरेपछि किसानहरूले बुधबार नयाँदिल्लीमा पुनः आन्दोलन सुरु गरेका छन् ।

भारतको सङ्घीय सरकारले बुधबार किसानहरूलाई शान्ति कायम राख्न आग्रह गर्दै समाधानका लागि पाँचौँ चरणको वार्ता गर्न तयार रहेको जनाएको छ । भारतमा यसै वर्ष आसन्न आम निर्वाचन र प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको अवसर खोजिरहेका बेला किसानहरूको विरोध प्रदर्शन चलिरहेको छ ।

महासमिति बैठकले पार्टीलाई थप बलियो र सुदृढ बनाएको छ : नेता सिटौला

काठमाडौँ, १० फागुन : नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महासमिति बैठकले पार्टीलाई थप बलियो र सुदृढ बनाएको बताउनुभएको छ ।

नेपाली कांग्रेसको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठककोे समापनसत्रमा उहाँले महासमिति बैठकले पार्टीमा थप उत्साह थपेको बताउनुभयो । “आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत पार्टीका रूपमा अगाडि बढाउन सबै लाग्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले देशलाई समस्या परेको बेलामा कांग्रेसले निकास दिनुपर्ने धारणा राख्नुभयो ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले नेपाली कांग्रेस कमजोर नभएको बताउँदै कांग्रेसलाई कुनै प्रकारको गठबन्धन आवश्यक नभएको धारणा राख्नुभयो । पार्टीभित्र एकता आवश्यक रहेको भन्दै उहाँले निर्वाचन पहिलेभन्दा पछि मात्र आवश्यकताका आधारमा गठबन्धन गर्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले देशको आर्थिक रुपान्तरण गर्ने जिम्मा कांग्रेसको भएको बताउनुभयो । उहाँले सीमित स्रोत, साधनका बाबजुद अर्थतन्त्रको विकासका लागि सरकारले काम गरिरहेको बताउनुभयो । कांग्रेस केन्द्र, प्रदेश र स्थानीय तहमा ठूलो पार्टी बनेकाले देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

वडादेखि प्रदेश हुँदै केन्द्रसम्म संस्थागतरूपमा निर्णय गरेर अगाडि बढ्नुपर्नेमा डा महतले जोड दिनुभयो । गठबन्धन गरेर जानु नपर्ने परिस्थिति निर्माण गर्न सबै एकजुट भएर लाग्नुपर्ने उहाँको भनाइ थियो ।

कांग्रेसका पूर्वकोषाध्यक्ष सीतादेवी यादवले पार्टीलाई बलियो बनाउनका लागि सबैको ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो । उहाँले पार्टीभित्र देखिएको गुट–उपगुटको अन्त्य गर्दै पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो ।

स्वास्थ्यमन्त्री बस्नेतद्वारा गोकर्णेश्वर नगर अस्पतालको शिलान्यास

काठमाडौँ, १० फागुन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गोकर्णेश्वर नगर अस्पतालको शिलान्यास गर्नुभएको छ । गोकर्णेश्वर नगरपालिकाले निर्माण गर्न थालेको नगर अस्पताल १५ शय्याको हुने छ । अस्पताल शिलान्यास गर्दै उहाँले शिलान्यास भएको अस्पताल समममै सम्पन्न हुनुपर्ने बताउनुभयो ।

उहाँले संविधानले हरेक जनताको स्वास्थ्योपचारको ग्यारेन्टी गरेकाले पैसा नभएका कारण कुनै पनि नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाउनुभयो । चिकित्सा शिक्षा ऐन चाँडै परिमार्जन हुने र धेरैले स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने उहाँको भनाइ थियो । मन्त्री बस्नेतले राम्रा काम गर्ने स्थानीय सरकारलाई सरकारले पूर्ण सहयोग गर्ने आश्वासन दिनुभयो । कार्यक्रममा सांसद सन्तोष चालिसेले अस्पताल शिलान्यास भएकामा खुसी व्यक्त गर्दै समयमै निर्माण सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो ।

बागमती प्रदेशसभा सदस्यद्वय सांसद बिमल ठकुरी र छिरिङदोर्जे लामाले निजी क्षेत्रमा स्वास्थ्य सेवा महँगो भएकाले सरकारी सेवा प्रभावकारी बनाउनुपर्नेमा केन्द्र सरकारको ध्यानाकर्षण गराउनुभयो । नगरप्रमुख दीपक रिसालले नगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले चाँडै अस्पताल निर्माण सम्पन्न गरेर नगरवासीलाई गुणस्तरीय सेवा दिने बताउनुभयो । अस्पताल रु २२ करोड ५० लाखको लागतमा निर्माण गरिने जनाइएको छ ।

कालीकोटका १७ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने

मान्म (कालीकोट), १० फागुन : कालीकोट जिल्लाका १७ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटले जिल्लाका नौवटा स्थानीय तहमा नौ महिनादेखि पाँच वर्षमुनिका १७ हजार चार सय १७ बालबालिकालाई खोप दिने जनाएको छ ।

पछिल्लो समय बालबालिकामा दादुरा देखापर्न थालेपछि त्यसबाट उनीहरूलाई मुक्त गर्न खोप दिन थालिएको हो । स्वास्थ्य सेवा कार्यालय कालीकोटले दुई चरणमा खोप अभियान सञ्चालन गर्न लागेको हो । पहिलो चरणमा खाँडाचक्र नगरपालिका, पलाँता गाउँपालिका, नरहरिनाथ गाउँपालिका, महावै गाउँपालिका र तिलागुफा नगरपालिकामा फागुन १३ देखि १५ गतेसम्म खोप अभियान सुरु गर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले बताउनुभयो ।

यस्तै रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र शुभकालिका गाउँपालिकामा फागुन १७ देखि १९ गतेसम्म खोप सञ्चालन गरिने उहाँको भनाइ छ । यसअघि जिल्लामा सञ्चालन गरिएको टाइफाइडविरुद्धको खोप ४९ हजार नौ सय छ जनाले लगाएका थिए । यो कालीकोटको जम्मा खोप पाउने लक्षित जनसङ्ख्याको ८७ प्रतिशत भएको कार्यालयले जनाएको छ ।

पोर्चुगलमा बिचल्लीमा परेकी सुस्मिताको उपचारका लागि आर्थिक सहयोग उपलब्ध

लिस्बन (पोर्चुगल), १० फागुनः उपचार अभावमा पोर्चुगलमा बिचल्लीमा परेकी नेपाली युवतीलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।

पोर्चुगलमा सडक दुर्घटनामा परी गम्भीर घाइते भई उपचार अभावमा बिचल्लीमा परेकी सिन्धुली मरिण-३ की २९ वर्षीया सुस्मिता मोक्तानलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्रदान गरिएको हो । गैरआवासीय नेपाली सङ्घ स्वीट्जरल्याण्डकी सचिव सुनिता तामाङ ब्लोनको पहल तथा सक्रियतामा दुई हजार दुई सय ४६ युरो आर्थिक सङ्कलन गरी पीडित मोक्तानलाई सहयोग प्रदान गरिएको हो ।

स्वीट्जरल्याण्डका नेपाली समुदायसँग सङ्कलन गरिएको उक्त सहयोग रकम मोक्तानको बैंक खातामा पठाइएको तामाङले जानकारी दिनुभयो । वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आएकी पीडित मोक्तान गत जनवरी १० तारिखका दिन सडक दुर्घटनामा परेकी थिइन् । सडक पार गर्ने क्रममा कारको ठक्करबाट गम्भीर घाइते भएकी उनको दाहिने हात भाँचिएको छ भने ‘हिप फ्याक्चर’ भई देब्रे खुट्टा नचल्ने भएको छ ।

यसअघि उपचार अभावमा मोक्तान बिचल्लीमा परेको समाचार राष्ट्रिय समाचार समितिमार्फत सम्प्रेषण भएको थियो । पीडित मोक्तानको औषधोपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ ।

महासमिति बैठकमा प्रदेश सभापतिको सुझावः कांग्रेसलाई पहिलो पार्टी बनाउन लागौँ

ललितपुर, १० फागुन : नेपाली कांग्रेसको जारी महासमिति बैठकमा प्रदेश सभापतिहरुले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन सबै एकमत हुनुपर्ने बताउनु भएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा छलफलका लागि विभाजन गरिएका चार समूहबाट आएको सुझाव पेस गर्दै उहाँहरुले विगतमा गठबन्धन गर्दा कांग्रेसले नयाँ मतदातालाई आकर्षित गर्न नसकेको बताउनुभएको हो ।छलफलबाट प्राप्त सुझाव प्रस्तुत गर्दै सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले विपक्षीबाट घेराबन्दीमा परेको बेलामा महासमिति सदस्यले पार्टी र देशको चिन्ता र चासोका विषयमा छलफल भएको जानकारी गराउनुभयो । उहाँले कांग्रेसको नेतृत्वमा युद्धरत माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याइएको उल्लेख गर्नुभयो । “कांग्रेस देशको प्रमुख पार्टी भएकाले दस्ताबेजका रुपमा ‘एक नीति र एक लक्ष्य’ बन्नु जरुरी छ”, उहाँले भन्नुभयो ।नेपाली कांग्रेस कोशीका सभापति उद्धव थापाले पार्टीलाई बलियो बनाउने र आगामी निर्वाचनमा पहिलो बन्ने गरी जानुपर्ने विषय उठेको जानकारी गराउनुभयो । पार्टीले युवा आकर्षण बढाउन नसकेको र गठबन्धनको विषयमा अहिले नै निर्णय गर्ने समय नभएको विषय पनि छलफलका क्रममा उठेको उहाँले जानकारी दिनुभयो ।कर्णाली प्रदेश सभापति ललितजंग शाहीले नीति प्रस्ताव सान्दर्भिक भएकाले इमानदार भएर कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । “छलफलमा उठेका नीति प्रस्ताव अत्यन्तै समयसान्दर्भिक छन् । यसलाई इमान्दारितापूर्वक कार्यान्वयनमा जानुपर्ने विषय आएको छ”, उहाँले भन्नुभयो ।गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय लिन हतार गर्न नहुने शाहीको भनाइ थियो । “गठबन्धन भित्र अघि वा पछि भन्ने कुरा रणनीतिक विषय हो भन्ने धारणा आएको छ । यो तत्कालीन समयले माग गर्ने विषय भएकाले अहिले नै गर्ने वा नगर्ने विषयमा निर्णय गर्न सकिदैँन”, उहाँले भन्नुभयो ।वर्तमान गठबन्धन सर्वसम्मत रुपमा गरिएकाले यसको निरन्तरताका लागि सबै इमान्दारीताका साथ लाग्नुपर्ने सभापति शाहीले बताउनुभयो । केन्द्रीय सदस्य स्वतः महासमिति सदस्य हुने प्रस्ताव खारेज हुनुपर्ने उहाँको भनाइ थियो ।मधेश प्रदेशका सभापति कृष्ण यादवले महासमिति सदस्यले निर्वाचनका समयमा बढ्दो अन्तर्घात घटाउन सके पार्टी बलियो हुँदै जाने भन्दै टिकट वितरणलाई पारदर्शी बनाउनुपर्ने सुझाव प्राप्त भएको जानकारी गराउनुभयो । “टिकट नपाएका साथीहरुले नै अर्को साथीलाई हराउन लागेकाले अन्तर्घात बढेको छ”, उहाँले भन्नुभयो ।कांग्रेसमा युवा पुस्ताको आकर्षण घट्दै गएको विषयमा मधेश प्रदेशका महासमिति सदस्यले छलफलमा उठाउनुभएको यादवले जानकारी खिनुभयो । “महाधिवेशनको फरक दुई÷दुई वर्षको गराउनुपर्दछ । यसले सकारात्मक परिणाम प्राप्त गर्न सकिन्छ भन्ने आवाज उठेको छ”, उहाँले भन्नुभयो । सभापति यादवले मधेशमा कांग्रेस ठूलो पार्टी भए पनि सरकारको नेतृत्व लिन नसकेको गुनासो पनि आएको बताउनुभयो ।बागमती प्रदेशका सभापति इन्द्र बानियाँले किसानलाई आधुनिक कृषितर्फ प्रोत्साहन गर्नुपर्ने, जनताका दैनिक समस्यालाई समाधानको पहल गर्नुपर्ने, सरकार र पार्टीबीच समन्वय गराउनुपर्ने, शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्नुपर्नेलगायत मागहरु उठेका जानकारी गराउनुभयो ।गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले केन्द्रदेखि स्थानीय तहसम्म पार्टी संरचनालाई बलियो बनाउनुपर्ने, टिकट वितरणलाई पारदर्शी बनाउनुपर्ने र आगामी निर्वाचनमा कांग्रेसले एकल बहुमत ल्याउनुपर्ने गरी काम गर्नुपर्नेलगायत विषय उठेका जानकारी दिनुभयो ।लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले तीन तहका सरकारले संविधानले दिएको अधिकारका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्नेबारे छलफल भएको बताउनुभयो । “गैरआवासीय नेपालीहरुका लागि आगामी निर्वाचनमा मतदानको व्यवस्था गराउनुपर्ने कुरा उठेको छ । यसलाई व्यवस्थित गर्न कांग्रेसले पहल गर्नुपर्ने सुझाव प्राप्त भएको छ”, उहाँले भन्नुभयो ।

सबै जात, धर्म, सम्प्रदाय, भाषाभाषी बीचको समभाव गणतन्त्रको मूल लक्ष्य : राष्ट्रपति पौडेल

अछाम, १० फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएकाले यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति, सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिने बताउनुभएको छ । अछाममा वैद्यनाथधाम कोटीहोम महायज्ञसहितको महाकुम्भ मेलाको आज उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सबै जात, जाति, धर्म, सम्प्रदाय, भाषाभाषीबीचको समभाव र एकता नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल लक्ष्य भएको बताउनुभएको हो ।

“सबै धर्म, संस्कृतिको संरक्षण गर्ने संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको छ । अधिकारका विभिन्न किसिम उल्लेख गरेर सबैले अधिकारको स्वतन्त्रता उपयोग गर्ने विषय सङ्घीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य हो”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले कोटीहोम प्रारम्भ भएको आजको यस पवित्र दिनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रले बोकेको त्यही दर्शनलाई सार्थक रूप दिन सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

“स्वस्थ र सभ्य संस्कृतिको विकास गरी सामाजिक सु–सम्बन्धमा आधारित समाजको निर्माण गर्ने तथा सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक, सद्भाव, ऐक्यबद्धता र सामञ्जस्य कायम गरी राष्ट्रिय एकता सुदृढ गर्ने राज्यको सामाजिक र सांस्कृतिक उद्देश्यलाई साकार रुप दिन आवश्यक छ भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो । यस क्षेत्रको विकास, संरक्षण र संवर्द्धनका लागि विगतमा वैद्यनाथ क्षेत्र विकास संस्थाको गठन भई सरकार तथा जनसहभागिताबाट मन्दिर पुनःनिर्माणलगायत काम हुनु खुसीको कुरा भएको राष्ट्रपति पौडेलको भनाइ थियो ।

उहाँले यस क्षेत्रको समग्र विकासका लागि विस्तृत अध्ययन गरी गुरुयोजना तयार गरेर अल्प, मध्य र दीर्घकालीनरूपमा नै पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । तीनै तहका सरकारले बजेट, नीति तथा कार्यक्रमभित्र समावेश गरी यस्ता धार्मिक एवं ऐतिहासिक क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रका रूपमा विकास गरी देश विकासमा योगदान पुर्याउन सकिने राष्ट्रपति पौडेलको भनाइ थियो ।

शिवरात्रि, मकर सङ्क्रान्ति, विषु, होरीपर्व, दसैँ, श्रावण स्नान, बोलबमलगायत वर्षभरि हुने पर्वपूजा यहाँ धुमधामका साथ मनाइने गरिनुले पनि यसप्रतिको आकर्षण सदैव जीवन्त रहिआएको उहाँले राष्ट्रपति पौडेलले बताउनुभयो । “यसलाई थप आकर्षण केन्द्र बनाएर लाखौँ पर्यटक भित्रयाउने सम्भावनाप्रति सबैको ध्यानाकर्षण गराउँदछु । यसबाट वैदिक सनातन धर्म संस्कृतिको संरक्षण, लोकसंस्कृतिको प्रदर्शन, वैद्यनाथ वेदविद्याश्रमको स्तरोन्नति गरी आयुर्वेद मावि बनाउने र यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यमा योगदान पुग्नेछ भन्ने मैले विश्वास लिएको छु”, उहाँले भन्नुभयो । छ/छ वर्षमा हुने लक्षहोमसहितको अर्धकुम्भ मेला, १२–१२ वर्षको महालक्षहोमसहितको कुम्भमेला र एक सय ४४ वर्षमा गरिने कोटिहोम महायज्ञसहितको महाकुम्भमेलाको परम्परालाई निरन्तरता दिने अभिप्रायसाथ यो कुम्भमेला आयोजना गरिएको जनाइएको छ ।

राष्ट्रपति पौडेलले यो पवित्रस्थल तीर्थाटनबाटै आकर्षक पर्यटन केन्द्र बनेको बताउँदै यसप्रकारको धार्मिक कार्यक्रम गरेकामा सुदूरपश्चिम क्षेत्रका सबै धन्य भएको बताउनुभयो । उहाँले हिमालहरूको बीच ऋषिहरूको तपस्याभूमि र देवीहरूको मन्दिरले भरिएको पवित्र भूमिमा उभिन पाउँदा आफूलाई अत्यन्त खुसी लागेको पनि बताउनुभयो ।

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँ, १० फागुन : काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद शान्ति कँडेलले बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको जानकारी दिनुभयो ।

काठमाडौँमा पछिल्लो एक घण्टादेखि विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँको उत्तरी भेग आसपासमा पानी परिरहेको छ । महाशाखाका अनुसार पछिल्लो छ घण्टामा पाल्पाको अर्चलेमा चार दशमलव आठ मिलिमिटर वर्षा भएको छ । मौसमविद कँडेलले भन्नुभयो, “अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

केही स्थानमा मात्रै हल्का वर्षा भइरहेको छ । आज राति पनि वर्षाको सम्भावना छ ।” भोलि शुक्रबारदेखि देशको पश्चिमभेगबाट मौसम क्रमिक रुपमा सुधार हुदै जाने उहाँले उल्लेख गर्नुभयो । “भारी वर्षा र हिमपात हुने सम्भावना छैन, तर, वर्षाले तापक्रम घटेर चिसो बढ्ने भएकाले सतर्कता अपनाउनुपर्ने हुन्छ”, मौसमविद् कँडेलले भन्नुभयो । पानी परेपछि एक भारतीय उडान लखनऊ ‘डाइभर्ट’ काठमाडौँको प्रतिकूल मौसमका कारण काठमाडौँबाट हुने अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन् ।

आज अपराह्न्न भारतको मुम्बईबाट काठमाडौँ आएको इण्डिगो एयरलाइन्सको जहाज काठमाडौँ अवतरण गर्न नसकेपछि भारतको लखनऊ ‘डाइभर्ट’ भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिनुभयो । उहाँका अनुसार आन्तरिकतर्फ भने हवाई उडान सामान्य अवरोध रहेको छ । प्रवक्ता झाले भन्नुभयो, “आन्तरिकतर्फ उडान केही ढिलो भए पनि सामान्य छ तर अहिले ‘इन्स्ट्रयुमेन्टल फ्लाइट रुल्स (आइएफआर)बाट मात्रै उडान भइरहेको छ ।”

‘केपी ओली कप–२०८०’ फुटबल प्रतियोगिताका विजेतालाई ११ लाख प्रदान

काठमाडौँ, १० फागुन : त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजङ्ग बराल नियुक्त हुनुभएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गर्नुभएको प्रधानमन्त्रीका निजी सचिवालयका सदस्य विनोद न्यौपानेले राससलाई जानकारी दिनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिबाट सिफारिस भएका तीनै जना उम्मेदवारहरुको ‘मेरिटोक्रेसी’का विषयमा प्रधानमन्त्री प्रचण्डले अध्ययन गर्नुभएको थियो । सिफारिस समितिले विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि प्रधानमन्त्री प्रचण्ड समक्ष बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलालाई सिफारिस गरेको थियो ।उहाँलाई नियुक्ति गर्नुअघि प्रधानमन्त्रीले शिक्षामन्त्री एवं शिक्षा सचिवसँग उहाँको ‘करिअर’का विषयमा जानकारी समेत लिनुभएको थियो । उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ ।

राष्ट्रपति पौडेल बागलुङको पञ्चकोटमा

ढोरपाटन, १० फागुन : राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोटमा आउनुभएको छ । हिजोदेखि यहाँ प्रारम्भ भएको ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन राष्ट्रपति यहाँ आउनुभएको हो । उहाँलाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति पौडेल पञ्चकोटमा राखिएको पाँच हजार पाँच सय ५५ किलोको महाघण्ट उद्घाटनका लागि बागलुङ आउनुभएको हो । पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सञ्चालन भएको छ । बुधबारदेखि सुरु भएको महायज्ञमा राष्ट्रपति पौडेलले अर्चना गर्ने कार्यक्रम छ ।

पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न यहाँ महाघण्ट राखिएको हो । विसं २०७१ देखि पञ्चकोटमा धार्मिक संरचना बनाउन सुरु गरिएको थियो । गत साता महाघण्टलाई पञ्चकोट ल्याइएको थियो । पञ्चकोटमा अहिलेसम्म सिस महल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत दर्जनौँ धार्मिक संरचना बनिसकेका छन् । पञ्चकोटमा निर्माण गर्न लागिएको एक सय आठ फिट अग्लो गण्डकी विश्वशान्ति कलशको नजिकै महाघण्ट राखिएको छ । महाघण्ट बनाउन करिब रु दुई करोड खर्च लागेको अनुमान गरिएको छ ।

हल गोरु पाल्ने किसानलाई पाँच हजार अनुदान

वालिङ (स्याङ्जा), १० फागुन : स्याङ्जाको वालिङ–५ वडा कार्यालयले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएकाले ‘हल गोरु पालन प्रोत्साहन एवं प्रवद्र्धनामत्मक’ कार्यक्रमअन्तर्गत किसानलाई रु पाँच हजार अनुदान उपलब्ध गराउने वडाअध्यक्ष छविलाल आलेले बताउनुभयो ।

हाते ट्र्याक्टर तथा प्रविधिको बढ्दो प्रयोगका कारण पुस्तौँदेखि चल्दै आएको हाम्रो परम्परा पनि हराउँदै गएकाले त्यसको संरक्षणका लागि वडाले अभियानका रुपमा हल गोरु पाल्ने किसानलाई अनुदान दिने नीति अगाडि सारेको उहाँले बताउनुभयो । “नयाँ पुस्ता प्रविधितर्फ आकर्षित हुँदै गर्दा गोरुपालनका लागि वडाले बजेट विनियोजन गरेको छ,” उहाँले भन्नुभयो, “हाम्रो परम्पराको संरक्षणका लागि पनि यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ ।”

वडा कार्यालयले आर्थिक वर्ष २०८०÷८१ को वडास्तरीय स्वीकृत योजनाबाट वडाभित्रका हल गोरु पालेका किसानलाई अनुदान दिइने उहाँले बताउनुभयो । वडाभित्र अनुमानित ५०–७० हल गोरु हुनसक्ने अनुमान वडाको छ । “कृषि प्रयोजन तथा प्राङ्गारिक मलका लागि गोरु पाल्दै आउनुभएका किसानलाई गोरुको संरक्षण तथा प्रोत्साहनस्वरुप न्यूनतम रु पाँच हजार उपलब्ध गराउँछौँ,” उहाँले भन्नुभयो, “हल गोरुपालन प्रवद्र्धन कार्यक्रममा सहभागी हुन वडामा अनुदानका लागि निवेदन दिनुपर्नेछ ।”

किसानले गोठमा हलगोरुसँग स्पष्ट देखिने गरी खिचेको तस्बिर, एकीकृत सम्पत्ति कर तिरेको रसिद, कृषि प्रयोजनका लागि एक महिनाअघि हलगोरुको व्यवस्था गरेको स्वघोषणा गरेको हुनुपर्ने वडासचिव डोलजङ्ग गुरुङले बताउनुभयो । वडा कार्यालयले किसानको गोठमा हल गोरुपालन गरे÷नगरेको, स्थानीय टोलबासी तथा जनप्रतिनिधिको स्थलगत अनुगमनपछि मात्रै अनुदान दिइने सचिव गुरुङले बताउनुभयो ।

तराई – मधेसको बजेट र विकासका योजना कटौती हुनुहुन्न’:सांसद श्रेष्ठ

काठमाडौँ, १० फागुन : मुलुक र जनताका सवालहरुको सम्बोधनका लागि सत्तापक्षको महत्वपूर्ण र नेतृत्वदायी भूमिका हुन्छ तर संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिका पनि उत्तिकै प्रभावशाली मानिन्छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद लीलानाथ श्रेष्ठ मुलुकका लागि आवश्यक कानुन निर्माण र विकासका सन्दर्भमा सरकारलाई आफूहरुको पूर्ण साथ र सहयोग रहने बताउनुहुन्छ ।

नेकपा (एमाले)को बुधबारको केन्द्रीय कमिटीको बैठक र संसदीय दलको बैठकले जनताका समसामयिक मुद्दामा संसद्मा अझ बढी रचनात्मक र प्रभावकारी भूमिका खेल्न निर्देशन भएको बताउँदै सो पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहनुभएका सांसद श्रेष्ठले पार्टीले दिएको निर्देशनबमोजिम नै आफूहरु संसद्को चालु हिउँदे अधिवेशनमा प्रस्तुत हुने बताउनुभयो ।

सांसद श्रेष्ठले ऋण लिएर कर्मचारीलाई तलब दिनुपर्ने, व्यापारीहरु कालोसूचीमा पर्ने, ३० प्रतिशत उद्योगधन्दा मात्रै सञ्चालनमा आएको, मुलुकमा बेरोजगारी बढेको र विदेशिने युवाको क्रम बढेको तथा मुलुकको अर्थतन्त्रका परिसूचकहरु सकारात्मक नभएको विश्लेषण गर्नुभयो ।

सिराहा क्षेत्र नं ३ बाट पछिल्ला दुई निर्वाचनमा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यमा लगातार विजयी सांसद श्रेष्ठ २०७० सालको संविधानसभाको निर्वाचनमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग झिनो मतान्तरले पराजित भएपछि राष्ट्रिय राजनीतिमा चर्चामा आउनुभएको थियो ।

वर्तमान गठबन्धन सरकारले अर्थतन्त्रको सुधार र सुशासनका क्षेत्रमा उल्लेखनीय काम गर्न नसकेको आरोप लगाउँदै पूर्वमन्त्री श्रेष्ठले नक्कली भूटानी शरणार्थी मामिला, ललिता निवास जग्गा प्रकरण, सुन तस्करीका घटनामा भएका छानबिनमा पूर्ण सफलता हासिल गर्न नसकिएको जिकिर गर्नुभयो । यद्यपि उहाँले सुशासन कायम गर्न सरकारले गरेका प्रयासको सराहना गर्नुभयो ।

एमालेका नेता एवं धनुषा जिल्ला इन्चार्ज श्रेष्ठले तराईको ‘लाइफ लाइन’ का रुपमा परिचित हुलाकी राजमार्ग निर्माणका लागि यसअघि रु १३ अर्बसम्म बजेट विनियोजन भएकामा अहिले सरकारले बजेट घटाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । “हुलाकी मार्गभन्दा पछि सुरु भएका कतिपय सडक बनिसकेका छन् । हुलाकी राजमार्ग निर्माणमा ढिलाइ भएको छ ।”

काठमाडौँ–तराई द्रुतमार्ग, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र सुनकोशी–कमलामाई डाइभर्सनजस्ता राष्ट्रिय गौरवका आयोजना निर्माणमा भएको विलम्बबाट तराई–मधेसमा विकासका काम पछाडि धकेलिएका सांसद श्रेष्ठको भनाइ छ । उहाँले आफूहरु सरकारमा हुँदा तराई–मधेस पूर्वाधार कार्यक्रमसहित समृद्ध मधेस सिँचाइ कार्यक्रमका लागि रु दुई अर्ब बजेट ल्याइएकामा अहिले एकपछि अर्काे गर्दै मधेसका विकास कार्यक्रममा बजेट कटौती र योजना हटाउने काम भएको टिप्पणी गर्नुभयो ।

सांसद श्रेष्ठले आफ्नो पहलमा सिराहाको भारतीय सीमादेखि गोलबजार र गोलबजारबाट मदन भण्डारी राजमार्गसम्मको दुई खण्डको सडकका लागि बजेट छुट्याएको, सिराहामा चारवटा राष्ट्रिय मार्ग बनाएको, मिर्चैैया–सोलु सडक निर्माणमा बजेट विनियोजन गराएको, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम जिल्लामा सञ्चालन गराएको, राजा सहलेसको मन्दिर, विभिन्न सिँचाइ आयोजना र लालपुरको रङ्गशाला निर्माण गराएको स्मरण गर्दै आगामी दिनमा पनि यस्ता विकासका कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तराई मधेसको विकासका लागि धेरै गर्न बाँकी रहेकाले त्यहाँका सबै सांसद मिलेर सुनकोशी–कमलामाई ‘डाइभर्सन’ शीघ्र सम्पन्न गर्न, चुरे संरक्षणका योजना ल्याउन, जानकी–रामायण परिपथ, कोशी वन्यजन्तु आरक्ष, गढीमाई पर्यटन परिपथ, चिनी कारखाना, कृषि औजार कारखाना र जनकपुर चुरोट कारखाना सञ्चालनका लागि १६औँ आवधिक योजनामा समावेश हुनुपर्ने माग सांसद श्रेष्ठको छ । यी विषयमा प्रधानमन्त्रीसमक्ष प्रतिनिधिमण्डल गएर कुरा राख्ने तयारी भएको उहाँले सुनाउनुभयो ।

किसानले नगद पैसा तिरेर पनि रासायनिक मल समयमै नपाएका, उखु किसानले समयमा भुक्तानी नपाएका, सहकारी र मिटरब्याजपीडितले न्याय नपाएका, खडेरीबाट खेती बाँझो रहेको वा उत्पादन कम भएका, ‘लम्पीस्किन’ रोगबाट प्रभावित किसानले क्षतिपूर्ति नपाएका आदि कारणले जनतामा छाएको निराशाका विषय अब आफूहरुले सदन र सडकमा उठाउने उहाँले भनाइ छ । के आन्दोलन गरेर जनतामा छाएको निराशा शान्त हुन्छ त भन्ने प्रश्नमा उहाँ प्रतिप्रश्न गर्दै भन्नुहुन्छ, “हामीले प्रतिपक्षमा रहेर रचनात्मक काम गर्ने हो । रोजगारीमा दक्षिण कोरिया जान खोज्ने दुई युवकको मृत्यु भएको विषयमा संसद्मा चुप लागेर बस्न सकिन्छ र ?”

समयमा महत्वपूर्ण कानुन नबन्दा तीन तहका सरकारको सु—सञ्चालनमा कठिनाइ आएको बताउँदै उहाँले निजामती सेवा ऐन, विद्यालय शिक्षा ऐन र प्रहरी समायोजन ऐन छिटो ल्याउनुपर्ने बताउनुभयो । निजामती ऐन नआउँदा कतिपय स्थानीय तहमा निमित्तका भरमा प्रशासन चलेको र कतिपय प्रदेशमा उपसचिवले मन्त्रालय सञ्चालन गर्नुपरेको सुनाउनुभयो ।

सांसद श्रेष्ठ राज्यका महत्वपूर्ण अङ्ग र संस्थाहरुबीचको समन्वय र सन्तुलन पनि बढ्नुपर्ने ठान्नुहुन्छ । सरकारी सम्पत्ति हिनामिनामा मुछिएका कतिपय व्यक्तिको अनुसन्धान पूरा नहुँदै रिहा हुनुजस्ता घटनाले न्यायालयमाथि पनि प्रश्न सिर्जना भएको सांसद श्रेष्ठको भनाइ छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई कुन रुपमा सञ्चालन गर्नुपर्ला भन्ने जिज्ञासामा उहाँले आफूहरुलाई उक्त कोष चलाउनुपर्ने कुनै रहर नभएको बताउनुभयो । हरेक सांसदको सिफारिसमा संसदीय क्षेत्रमा सन्तुलित र समानुपातिक विकास निर्माणका योजना पर्ने हो भने त्यस्ता कोषको आवश्यकता नपर्ने उहाँको बुझाइ छ ।
 

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित

चितवन । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । देशभरिका अन्य ६ महानगरपालिकाभन्दा भरतपुर उत्कृष्ट भएको हो । प्राकृतिक स्रोत तथा वित्त आयोगले गत आर्थिक वर्ष २०७९/८० मा गरेको कार्य सम्पादन मूल्याङ्कनमा भरतपुर महानगर नै पहिलो भएको थियो ।


आगामी आव २०८१/८२ मा सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १७ वटा सूचकका आधारमा प्रदेशको मूल्याङ्कन गरेको छ ।


आयोगले पालिकाले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे/नगरेको, राजस्वको विभाजन गरे/नगरेको लगायतका सूचकमा मूल्याङ्कन गर्ने गरेको महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले जानकारी दिए ।


असार १० भित्र बजेट ल्याए÷नल्याएको, असार ३०  भित्र बजेट पास गरे/नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिकरुपमा दिए/नदिएकोलगायत आधारमा मूल्याङ्कन गरिन्छ ।


आयोग संवैधानिक निकाय हो । सङ्घीयतामा सङ्घ, प्रदेश र स्थानीय तहहरुको राजस्व बाँडफाँड, अन्तरतह वित्तीय हस्तान्तरण, आन्तरिक ऋण सीमा तथा समग्रमा आर्थिक स्थायित्वको काम आयोगले गर्दै आएको छ ।


स्थानीय तहलाई एकमुष्टरुपमा समानीकरण अनुदान दिन आधारहरु तयार गरेर मूल्याङ्कन गर्ने गर्छ । आयोगले विशेष गरेर लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्याङ्कन गरी नतिजा प्रकाशित गर्छ । आयोगले दिएको जानकारीअनुसार भरतपुरले ५६ दशमलव २९ प्रतिशत अङ्क प्राप्त गरेको अर्यालले बताए । 


काठमाडौँ महानगरपालिकाले ३९ दशमलव ०२, वीरगञ्ज महानगरपालिकाले ३३ दशमलव ४९, विराटनगर महानगरपालिकाले ३२ दशमलव ८५, ललितपुर महानगरपालिकाले २५ दशमलव १८ र पोखरा महानगरपालिकाले २० दशमलव ७४ प्रतिशत अङ्क पाएका छन् ।


जिल्लाका सात स्थानीय तहमध्येमा पनि भरतपुर पहिलो भएको छ । भरतपुरले ५६ दशमलव २९ प्रतिशत अङ्क पाउँदा इच्छाकामना गाउँपालिकाले ४२ दशमलव ०६ प्रतिशत, खैरहनी नगरपालिकाले ४० दशमलव ५१ प्रतिशत, रत्ननगर नगरपालिकाले ४० दशमलव ०१ प्रतिशत, कालिका नगरपालिकाले ३५ दशमलव ६८ प्रतिशत, राप्ती नगरपालिकाले ३१ दशमलव ७५ प्रतिशत र माडी नगरपालिकाले २६ दशमलव २० प्रतिशत अङ्क पाएका छन् ।


भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोगले अध्ययन सुरु गरेपछि सधैँ भरतपुर महानगरपालिका अन्य महानगरपालिकाभन्दा अगाडि रहेको बताइन् ।


गत वर्ष पनि महानगरले प्रथम स्थान हासिल गरेको र अहिले पनि यो कायम राखेकामा खुसी व्यक्त गरिन् । महानगरपालिकाले नेपाल सरकारले गर्ने मूल्याङ्कनमा सधैँ उत्कृष्ट राख्दै नयाँ रेकर्ड पनि कायम गर्दै आएको छ । देशभरका सात सय ५३ पालिकामध्ये भरतपुर महानगरले सहरी पूर्वाधार, खेलकुद, न्यायिक समितिमार्फत मुद्दा फछ्र्यौटलगायत विषयमा  सधैं उकृष्ट बन्दै आइरहेको छ ।

१४ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि सुर्खेतलाई

कर्णाली, १० फागुन : कर्णाली प्रदेशस्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा यही फागुन ७ देखि ९ गतेसम्म सञ्चालन भएको सो प्रतियोगितामा सुर्खेत जिल्लाले ४५ स्वर्णसहित उपाधि हात पारेको हो । छ खेल समावेश गरिएको उक्त प्रतियोगितामा ४५ स्वर्ण, १४ रजत र सात कास्य पदक जितेर सुर्खेत प्रथम भएको हो र छात्रतर्फ २० स्वर्ण पाँच रजत, चार कास्य जितेका सुर्खेतले छात्रातर्फ २५ स्वर्ण नौ रजत र तीन कास्य पदक हात पार्न सफल भयो ।

त्यसैगरी, रुकुमपश्चिमले जम्मा पाँच स्वर्ण १३ रजत र १७ कास्य पदक जितेर द्वितीय भयो भने सल्यानले पाँच स्वर्ण, १२ रजत÷ १८ कास्यसहित तृतीय भएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का प्रशिक्षण विभाग प्रमुख प्रदीप राईले जानकारी दिनुभयो ।रनिङ शिल्ड कार्यक्रमको समापन कार्यक्रममा कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाहीले कर्णाली राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन खेलाडीको ठूलो भूमिका रहेको बताउनुभयो । विजेता खेलाडीलाई बधाई ज्ञापन गर्दै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित रनिङ शिल्ड प्रतियोगिताले पूर्वतयारीका लागि बल मिल्ने जनाउनुभयो । उहाँले भन्नुभयो, “खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार निरन्तर लागिपरेको छ । खेलाडीको प्रोत्साहनका लागि खेलको समयमा प्रतिखेलाडी प्रतिदिन रु दुई हजार भत्ताको व्यवस्था गरिएको छ । यसमा खेलाडीहरुलाई अनुशासित भएर खेल्न र दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गएकाले सो प्रतियोगितामा उपाधि चुम्ने गरी पूवतयारीमा जुट्न आग्रह गर्दछु ।”कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले विजयी खेलाडीहरुलाई बधाई तथा थप प्रगतिको शुभकामना दिँदै केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनौट भएका खेलाडीहरुलाई मेहनतका साथ आफ्नो तयारीमा जुट्न निर्देशन दिनुभयो । “पछिल्लो समयमा खेल क्षेत्रमा कर्णालीले अपेक्षित सफलता पाएको छ,” सचिव सञ्ज्यालले भन्नुभयो, “अबको एक दशकमा कर्णालीका खेलाडीहरुले राष्ट्रियस्तरमा आफ्नो वर्चस्व कायम राख्नेमा म पूर्णरुपले विश्वस्त छु ।”

महाधिवेशन तयारीबारे छलफल गर्न जसपा बैठक बस्दै

काठमाडौँ, १० फागुन : पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीलगायत मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज हुँदैछ ।

पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजे बोलाइएको बैठकमा महाधिवेशनलाई सफल बनाउन नेताहरुलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायत विषयमा छलफल हुने सो पार्टीका प्रवक्ता मनिष सुमनले बताउनुभयो ।

प्रवक्ता सुमनले भन्नुभयो, “महाधिवेशनका निम्ति विभिन्न प्रस्ताव तयार गर्न समिति निर्माण गरिनेछ, समसामयिक राजनीतिक परिस्थितिबारे पनि बैठकमा छलफल हुनेछ ।” जसपाको राष्ट्रिय महाधिवेशन आगामी जेठ २८, २९ र ३० गते आह्वान गरिएको छ ।

आफ्नै स्रोतमा ४५ किमी सडक स्तरोन्नति गर्दै कृष्णपुर नगरपालिका

कञ्चनपुर, १० फागुन: कृष्णपुर नगरपालिकाले नौवटै वडाका सडक स्तरोन्नतिको काम थालेको छ । नगरपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार प्रत्येक वडामा पाँच–पाँच किलोमिटर गरी ४५ किलोमिटर सडक स्तरोन्नति गर्ने निर्णयअनुसार कार्य अगाडि बढाएको हो ।

नगरपालिकाकै साधनस्रोतको प्रयोग गरी ‘ग्राभेल’ गर्ने र कालोपत्र गर्ने काम अगाडि बढाइएको नगर प्रमुख हेमराज ओझाले राससलाई बताउनुभयो । “वडा नं ९ को पाग्रेचोकबाट सडक स्तरोन्नतिको कार्य अगाडि बढाएका छौँ,” उहाँले भन्नुभयो, “थोरै खर्चमा सडक स्तरोन्नतिको काम गरिरहेका छौँ ।” उहाँका अनुसार वडाको छनौटमा परेका सडकलाई प्राथमिकतामा राखेर स्तरोन्नतिको कार्य अगाडि बढाइएको छ ।

“पाँच किलोमिटर सडक स्तरोन्नति गर्दा प्राविधिकको अनुमानित लागतअनुसार रु १० लाखभन्दा बढी लाग्छ,” नगर प्रमुख ओझाले भन्नुभयो, “नगरपालिकाकै लोडर, रोलर, टिपर प्रयोग गरी न्यून खर्चमै सडक स्तरोन्नतिको कार्य अगाडि बढाएका छौँ ।” यसरी सडक स्तरोन्नति गर्दा नदीजन्य पदार्थको सलामी दस्तुर तिर्ने, चालकलाई खाना, खाजा भत्ताबापतको रकम उपलब्ध गराउने र ढुवानीका साधनमा इन्धनको व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो ।

ठेक्का र उपभोक्ता समितिमार्फत हुने कार्यभन्दा कम लागतमा सडक स्तरोन्नतिको कार्य गरी नगरबासीको सुविधाका लागि सडक निर्माण हुने भएको नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले बताउनुभयो । उहाँले नगरपालिकाका नौवटै वडामा हुने सडक स्तरोन्नतिको कार्यले सर्वसाधारणको आवागमनमा सुविधा पुग्ने बताउनुभयो ।

चलचित्र ‘गोर्खा वारियर’ को प्रथम प्रदर्शनमा तारिफ

काठमाडौँ, १० फागुन : बुधबार बेलुकी काठमाडौँको कमलपोखरीस्थित एक चलचित्र भवनमा आयोजित नेपाली चलचित्र ‘गोर्खा वारियर’ को प्रथम प्रदर्शन (प्रिमियर ) सम्पन्न भएको छ । प्रदर्शनीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रोब फेन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायत विशिष्ट अथितिसँगै कलाकर्मीले चलचित्र हेर्नुभयो ।

अध्यक्ष ओलीले चलचित्र हेरेपछि नेपाली विषयलाई समेटिएको भन्दै निर्माण पक्षलाई धन्यवाद दिनुभयो । “यसले नेपाली कथा र विषयलाई समेटेको छ । चलचित्र भवनमा रहँदा मैले हाम्रो कथालाई पर्दामा हेर्न लाउँदा खुसी महसुस गरेँ । यसलाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्न हामी सबैले सहयोग गर्नुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीले चलचित्र हेरिरहँदा आफ्नो आँखा रसाएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “मेरो बुबा र बाजेले पनि विभिन्न युद्ध लड्नु भएको थियो । त्यसैले पनि यो चलचित्र हेर्दा मैले कथासँग जोडिएको पाएँ । यो चलचित्रलाई हरेक नेपाली हेर्नुपर्छ । हाम्रो पुर्खाले लडेको युद्धसँगै वीर भनेर पाउने सम्मानका बारेमा हामी अवगत हुने मौका पाउनेछौँ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्गदेनले चलचित्रले नेपालीको वीरताको गाथालाई विश्वभर फैलाउने बताउनुभयो । “हामो देश नेपाललाई सगरमाथा झैँ गोर्खालीको देश भनेर पनि चिन्ने गरिन्छ तर यस्तो विषयमा चलचित्र निर्माणको सङ्ख्या निकै कम हुनु भने दुःखद हो । यस्ता चलचित्रलाई हामीले हेरेर पनि हौसला प्रदान गर्नुपर्छ”, अध्यक्ष लिङदेनले भन्नुभयो ।

प्रिमियरमा उपस्थित सांसद ज्ञानेन्द्र शाही, अभिनेता हरिवंश आचार्य, सरोज खनाल, किरण केसी, गजित विष्ट, अभिनेत्री प्रियङ्का कार्की, पूजा शर्मा, निर्देशक ज्ञानेन्द्र देउजा, दिवाकर भट्टराई, वितरक करण श्रेष्ठलगायतले चलचित्रमा उठान गरिएको विषय र प्रस्तुतीकरणको तारिफ गर्नुभयो ।

वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर तयार गरिएको चलचित्रले पाएको प्रतिक्रियाले आफूलाई उत्साह थपेको निर्देशक तथा लेखक मिलन चाम्सले बताउनुभयो । “मैले यस चलचित्रमा देखाइने काल्पनिकभन्दा पनि वास्तविक रुपमा सैनिकले लड्ने युद्धलाई देखाएको छु । सन् १९४९ को समयलाई पर्दामा देखाउनु सहज थिएन । यसका लागि मैले छायाङ्कनमा तीन वर्षको समय खर्चेको छु । तयारी त एक दशकअगाडि देखिकै हो”, निर्देशक चाम्सले भन्नुभयो, “हामीले उक्त समयमा युद्धमा प्रयोग भएका वस्तु नै विभिन्न सङ्ग्रहालयबाट ल्याएर प्रयोग गरेका छौँ । यो चलचित्रले हाम्रो वीरतालाई देखाउनाका साथै विश्वमा नेपाली चलचित्रको महत्वलाई दर्शाउने छ ।”

फागुन ११ गते शुक्रबारदेखि प्रदर्शन गरिने चलचित्र ‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ । यसमा मुख्य भूमिका निर्वाह गर्नुभएका अभिनेता रितेश चाम्स आफैँ पूर्वगोर्खा सैनिक हुनुहुन्छ । उहाँले सेनाबाट अवकाश पाएपछि बेलायतमै अभिनयसम्बन्धी शिक्षा पनि लिनुभएको थियो । “मैले युद्धका क्रममा भोगेको भोगाइलाई नै यसमा प्रस्तुत गरेको छु । चलचित्र हेर्नुभएका गोर्खा सैनिकले मलाई दिएको प्रतिक्रियाले झनै उत्साहित छु । पुनः सैनिक जीवनमा फर्कने मौका पाएँ”, अभिनेता चाम्सले भन्नुभयो ।

चलचित्रमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

छैटौँ राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गण्डकीलाई

त्रिवेणी ( नवलपरासी), १० फागुन ः नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरमा जारी छैटौँ राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले उचालेको छ । जिल्लाको मध्यविन्दु नगरपालिका –२, स्थित राईनो रङ्गशालामा जारी प्रतियोगितामा नवलपुरको अठ्ठाइस बिघा क्लबलाई एकका विरुद्ध दुई गोलको अन्तरले पराजित गर्दै उपाधि गण्डकी प्रदेशले उचालेको हो ।

बुधबार भएको फाइनल खेलमा पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको खेल सुरु भए लगतै खेलको ४७ औँ मिनेटमा गण्डकी प्रदेशका जर्सी नम्बर ६ का खेलाडी मुकुन्द न्यूरेले पहिलो गोल गरि आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको ५५ औँ मिनेटमा गण्डकीका खेलाडी मुकुन्द न्यूरेले पुनः गोल गर्दे आफ्नो टिमको अग्रता दोब्बर बनाएका थिए ।

अठ्ठाइस बिघा क्लबका जर्सी नम्बर दुईका खेलाडी एन्जल महर्जनले आफ्नो टिमका लागि खेलको ७० औँ मिनेटमा पहिलो गोल गरेका थिए । त्यसपछि कुनै गोल हुन नसकेपछि गण्डकीले जित निकालेको हो ।

जितसँगै गण्डकी प्रदेशले उपाधि सहित रु. आठ लाख पुरस्कार प्राप्त गरको गरेको छ । उपविजेता बनेको अठ्ठाइस बिघा क्लबले रु. चार लाख पुरस्कार प्राप्त गरेको छ ।

गैँडा संरक्षणको सन्देश दिने उद्देश्यले २० वर्ष अघिदेखि राईनो संरक्षण गोल्ड कप प्रतियोगिता हुँदै आएको छ । छैटौँ संस्करणको प्रतियोगितामा नेपाल आर्मी , सशस्त्र प्रहरी र नेपाल प्रहरीको टिम , लुम्बिनी , बागमती र गण्डकी प्रदेश , मछिन्द्र , सङ्कटालगायत १२ वटा टिम सहभागी थिए ।

नवलपुरलाई खेलको माध्यमबाट चिनाउने साथै गैँडा संरक्षणको सन्देश दिन प्रतियोगिता गरिदै आएको आयोजक राईनो क्लबका अध्यक्ष दोमन बहादुर भण्डारीले बताउनुभयो । छैटौँ संस्करण सफल रुपमा सम्पन्न भएको र नियमित रुपमा आगामी दिनमा प्रतियोगिता सञ्चालन गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

भ्रमण वर्ष सफल पार्न पर्यटन बोर्ड र महानगरबीच सम्झौता

भरतपुर, १० फागुन : नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच ‘भरतपुर भ्रमण वर्ष २०२४’ अभियान सञ्चालनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार भरतपुर महानगरपालिकामा भरतपुर भ्रमण वर्ष लाई प्रवर्द्धन गर्न दुई पक्षबीच सम्झौता भएको हो ।

भरतपुर भ्रमण वर्ष अभियान सञ्चालनमा लाग्ने कूल खर्च तीन करोड ७० लाखमध्ये बोर्डले रु ७० लाख बेहोर्ने छ । पर्यापर्यटन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्याशाला, ‘ब्रसर, स्टिकर, डिजिटल बोर्ड, होर्डिङ बोर्ड,’ वैदेशिक पर्यटन प्रवद्र्धन, विभिन्न सहरमा प्रचारात्मक कार्यक्रम, ‘नेचर गाइड’ तालिमलगायत कार्यक्रम गर्न सो रकम खर्च गरिने सम्झौतापत्रमा उल्लेख छ ।

त्यस अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षलाई सफल बनाउन बोर्ड गरेको सहयोगको प्रशंसा गर्नुभयो । बोर्डले अभियानलाई सफल बनाउन अहिलेसम्म भएका प्रयोगलाई उच्चतम प्रयोग गरी नमूना काम गर्न अनुरोध पनि गर्नुभयो । देशका भइरहेको आर्थिक मन्दी र त्यसबाट उत्पन्न निराशालाई उत्साहमा परिवर्तन भ्रमण वर्षले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आशावादी रहेको प्रमुख दाहालले बताउनुभयो ।

कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्नुभयो । भ्रमण वर्षको आयोजना भरतपुर महानगरपालिकाले गरेको भए पनि निजी क्षेत्रले ल्याउने प्याकेज, सेवासुविधा, तत्परताले अभियान सफल हुने वरिष्ठ निर्देशक ऐरले बताउनुभयो । भरतपुर भ्रमण वर्ष सफल बनाउन नेपाल पर्यटन बोर्डले निजी क्षेत्रसँग समवन्य तथा सहकार्य गरी विभिन्न प्रचारात्मक कार्यक्रम अगाडि बढाउने कार्य तालिका रहेको जानकारी दिनुभयो ।

महानगरपालिकाले भ्रमण वर्षको तयारीलाई तीव्र पारेको छ । यही फागनु १८ गते नारायणी किनारमा हुने उद्घाटन समारोहलाई व्यवस्थित र फलदायी बनाउन बुधबार सरोकारवालासँग छलफल गरेको थियो ।

बाहुनडाँगीबाट मुख्यमन्त्री कार्कीको हात्तीमैत्री पदयात्रा

विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले झापाको बाहुनडाँगीस्थित प्रसाद गौँडाबाट हात्ती प्रभावित क्षेत्रमा पदयात्रा सुरु गर्नुभएको छ ।‘जीव, जनावर, जङ्गल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि’ भन्ने नाराकासाथ नेपाल–भारत सीमास्थित मेची खोलाको नेपालतर्फ हात्ती प्रवेश गर्ने नाकाबाट उहाँले पदयात्रा सुरु गर्नुभएको हो ।

हात्तीको परम्परागत जैविकमार्गको पुनःस्थापना तथा बासस्थानको संरक्षण, मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्दै हात्तीमैत्री पर्या–पर्यटन विकास गर्ने पदयात्राको उद्देश्य रहेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार देवनारायण साहले जानकारी दिनुभयो । उहाँका अनुसार बाहुनडाँगीबाट सुरु भएको यात्रा यही फागुन १६ गते उदयपुरको बेलसोतमा पुगेर सम्पन्न हुनेछ ।

मुख्यमन्त्री कार्कीले हात्ती र मानवबीचको द्वन्द्व घटाउन र समस्या पहिचान गरी हात्ती संरक्षणका लागि पदयात्रा सुरु गरिएको बताउनुभयो । “मानव र हात्ती दुवैलाई दुःख नहुने गरी समस्या समाधान खोज्न हामी गाउँबस्तीमा आफँै आएका हौँ । छलफल गरेर योजना बनाएर सोही अनुसार बजेट बनाउने छौँ”, उहाँले भन्नुभयो, “यो जीव, जङ्गल, जनावर, मानिस सबैको संरक्षण गर्ने अभियान हो ।”

प्रदेश सरकार हात्तीका कारण जनताले दुःख पाएका स्थानमा पुगेर कसरी मानव र हात्तीबीचको द्वन्द्व दीर्घकालीन रुपमा समाधान गर्न सकिन्छ भनेर स्थलगत अनुगमन गरिरहेको मुख्यमन्त्री कार्कीले बताउनुभयो । “सबैभन्दा बढी मानिसले ज्यान गुमाएको ठाउँमा पुगेर जनताका समस्या सुन्दै अघि बढ्ने, हात्ती संरक्षणको योजना बनाउनेलगायत योजना लिएर अभियानमा लागेका छौँ”, उहाँले भन्नुभयो ।

सरकारले जनता, बाली र घर बीमा कार्यक्रम कार्यान्वयन गर्ने योजना बनाइरहेको मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो । पदयात्रामा प्रदेशका सरकारी एवं गैरसरकारी निकाय, संरक्षणकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, हात्तीविज्ञ, नागरिक समाज एवं आमनागरिकको सहभागिता छ । मुख्यमन्त्री कार्कीले जैविकमार्गका सात स्थानमा रात्रिकालीन विश्राम गर्नुहुनेछ ।

एसियन हात्ती बर्सेनि भारतको आसामबाट मेचीनदी पार गरी झापाको बाहुनडाँगीका विभिन्न चार स्थानबाट नेपाल प्रवेश गर्दछन् । कोशी प्रदेशको झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाभरका हात्ती आवतजावत गर्ने क्षेत्रमा मुख्यमन्त्री कार्कीले पदयात्रा गर्नुहुने तय भएको प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

यसक्रममा मुख्यमन्त्रीसहितको टोलीले झापाबाट उदयपुरसम्म कूल दुई सय ४३ किलोमिटर पैदल यात्रा गर्ने रुट तय गरिएको छ । चार जिल्लाका विभिन्न २३ स्थानीय तहमा पुगेर स्थानीय जनतासँग साक्षात्कार गर्ने, समस्याबारे प्रत्यक्ष जानकारी लिने मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो ।