`

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ, १० माघ : हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ जसका कारण अहिले देशभर आंशिकदेखि सामान्यतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागको केही स्थानमा तथा मुलुकका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । आज काठमाडौँको अधिकतम तापक्रम २१ दशमलव पाँच र न्यूनतम तापक्रम नौ दशमलव तीन डिग्री सेल्सियस रहने छ ।

गाजा युद्धविराम प्रस्तावमा अमेरिकी भिटोको अरब लिगद्वारा निन्दा

अरब लिगका महासचिव अहमद अबोल घिटले बुधबार गाजा पट्टीमा तत्काल युद्धविरामको माग गर्ने प्रस्तावलाई भिटो प्रयोग गरेकोमा संयुक्त राज्य अमेरिकाको निन्दा गर्नुभएको छ ।

गत वर्षको अक्टोबरमा इजरायल–हमास द्वन्द्व सुरु भएपछि अमेरिकाले मस्यौदा प्रस्तावलाई असफल बनाउन हस्तक्षेप गरेको यो तेस्रो पटक हो । अमेरिकी कदमप्रति अबोल घिटले “गहिरो खेद“ व्यक्त गर्नु भएको छ ।

मङ्गलबार न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालीन सत्रमा प्यालेस्टाइनी क्षेत्रमा तत्काल मानवीय युद्धविरामको माग गर्दै अल्जेरियाले अरब राष्ट्रहरूको तर्फबाट पेश गरेको प्रस्तावलाई अमेरिकाले भिटो लगाएको थियो ।

अमेरिकी स्थितिले अन्तरराष्ट्रिय प्रणालीको विश्वसनीयतालाई कमजोर बनाएको र संयुक्त राष्ट्रसंघले देखेको पक्षाघातमा योगदान पु¥याएको एएलको विज्ञप्तिमा अबुल घिटलाई उद्धृत गर्दै जनाइएको छ ।

अबोल घिटले यस्ता घटनामा सम्बन्धित पक्षको “राजनीतिक र नैतिक जिम्मेवारी“ लाई पनि जोड दिनुभएको छ ।

अबोल घिटले गाजामा इजरायली आक्रमणलाई लम्ब्याउनका लागि अमेरिकाको “राजनीतिक र नैतिक जिम्मेवारी“ रहेको आशय व्यक्त गर्नुभएको छ ।

अल्जेरियाको मस्यौदा प्रस्तावलाई सुरक्षा परिषद्का १५ सदस्यमध्ये १३ सदस्यको समर्थन थियो भने अमेरिकाले यसको विरुद्धमा भिटो गरेको थियो । बेलायतले त्यसको विरोध गरेको थियो ।

मस्यौदा प्रस्तावमा मतदान हुनु अघि, संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले अल्जेरियन मस्यौदाले बन्धक सम्झौताको लागि जारी प्रयासलाई खतरामा पार्ने बताउनुभयो ।

उहाँको प्रतिनिधिमण्डलले प्रतिद्वन्द्वी मस्यौदा प्रस्तावमा काम गरिरहेको छ जसले सबै बन्धकहरूलाई रिहा गर्ने सूत्रमा आधारित ‘अस्थायी युद्धविराम’ लाई आह्वान गर्ने बताइएको छ ।

अमेरिकी भिटोले गाजाको अवस्थालाई अझ खतरनाक अवस्थामा धकेल्यो – चीन

गाजामा तत्काल मानवीय युद्धविरामको माग गर्ने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा पेश मस्यौदा प्रस्तावमा संयुक्त राज्य अमेरिकाले फेरि एकपटक भिटो प्रयोग गरेकामा चीनलगायत विभिन्न पक्षहरूले कडा निराशा र असन्तुष्टि व्यक्त गरेका छन्।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बुधबार अमेरिकी भिटोले गाजाको अवस्थालाई अझ खतरनाक अवस्थामा धकेल्ने बताउनु भएको छ । प्रवक्ता माओ निङले दैनिक प्रेस ब्रिफिङमा अल्जेरियाको मस्यौदा प्रस्तावको विरुद्धमा अमेरिकी मतदान बारे टिप्पणी गर्न सोध्दा सो धारणा राख्नु भएको हो ।

गाजा द्वन्द्वसँग सम्बन्धित मस्यौदा प्रस्तावमा अमेरिकाले भिटो लगाएको यो तेस्रो पटक हो।माओले लामो समयदेखि प्यालेस्टाइन-इजरायली द्वन्द्वले गाजामा विनाशकारी मानवीय अवस्था निम्त्याएको र क्षेत्रीय शान्ति र स्थायित्वमा गम्भीर असर पारेको बताउनु भएको छ।

अरब राष्ट्रहरूको तर्फबाट अल्जेरियाले पेश गरेको मस्यौदा प्रस्तावमा गाजामा तत्काल युद्धविराम, सबै बन्धकहरूको तत्काल रिहाइ, मानवीय आपूर्तिको सुनिश्चितता पहुँच र जबरजस्ती विस्थापन अस्वीकार गर्न माग गरिएको छ ।

त्यहाँको परिस्थितिले तुरुन्तै आवश्यक कदम चाल्न माग गरेको र मानवताको न्यूनतम आवश्यकताको आधारमा मस्यौदा प्रस्तावलाई सुरक्षा परिषद्का सदस्यहरूको अत्यधिक बहुमतले समर्थन गरेको थियो र चीनले यसको पक्षमा मतदान गरेको माओले बताउनु भएको छ।

प्रवक्ता माओले सुरक्षा परिषद्लाई थप जिम्मेवार र अर्थपूर्ण कार्यहरू गर्दै गाजामा युद्धविरामका लागि अथक प्रयास गर्न, मानवीय अवस्थालाई सहज बनाउन चीन अन्तरराष्ट्रिय समुदायका सबै पक्षहरूसँग मिलेर काम गर्न तयार रहेको धारणा राख्नु भएको छ।

दादुरा–रुवेलाविरुद्धको खोप अभियान २५ दिनसम्म सञ्चालन हुने

काठमाडौँ-सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले दादुराको सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्ष मुनिका सबै बालबालिकाका लागि दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न थालिएको बताउनुभयो ।

खोप अभियान फागुन १३ गतेदेखि चैत ७ गते २५ दिनसम्म सञ्चालन हुनेछ । उहाँका अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ र काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाइनेछ ।यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिका पनि खोप अभियान सहभागी हुने प्रवक्ता डा बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार जाजरकोट र पश्चिम रुकुममा भने गत कात्तिकमा भूकम्प गएपछि खोप अभियान सञ्चालन गरिएको थियो ।खोप अभियानकै क्रममा नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि लगाइने बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । उहाँले खोपका लागि सबै तयारी पूरा गरिएको जानकारी दिँदै सातै प्रदेशमा गएर खोपबारे स्वास्थ्यकर्मीलाई तालिमसमेत सञ्चालन गरिएको बताउनुभयो ।महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा खोप केन्द्र राखिएको छ । डा गौतमका अनुसार अभियानका लागि ६३ लाख ३० हजार मात्रा खोप नेपाल आइसकेको छ । ती खोपलाई प्रदेशमार्फत सबै खोप केन्द्रमा पठाइने उहाँले जानकारी निुभयो ।उक्त खोप अभियानमा करिब ५७ लाख बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाइने लक्ष्य राखिएको छ । सरकारले सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालेको हो । गत वर्ष १९ जिल्लामा दादुरा–रुवेला महामारीका रुपमा फैलिएको थियो ।लक्षणदादुरा–रुवेला भएका बेला ज्वरो तथा शरीरमा राता बिबिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने, समयमा उपचार नगरेर आँखा नदेख्ने समस्याका साथै कान पाक्ने, कान नसुन्ने, निमोनिया भएर श्वासप्रश्वासमा समस्या हुने गर्दछ ।—

छिमेकी देश चीनसँग जोडियो तमोर कोरिडोर सडक

ताप्लेजुङ । निर्माणाधीन तमोर कोरिडोर सडकले छिमेकी देश चीनलाई जोडेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोला खण्डमा बाँकी रहेको ट्र्याक निर्माणको काम सम्पन्न भएसँगै तमोर कोरिडोरले चीनलाई जोडेको हो । तमोर कोरिडोर नेपालसँग छिमेकी देश चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो दुरी भएको सडकका रूपमा लिने गरिएको छ ।

तमोर कोरिडोर अन्तर्गत लेलेप–ओलाङ्चुङगोला सडक खण्डको जङ्गिन नजिकको क्षेत्रमा बाँकी रहेको ट्र्याक निर्माणको काम मङ्गलबार साँझ सम्पन्न भएको हो । कोरिडोरको सदरमुकाम फुङ्लिङ–ओलाङ्चुङगोला खण्डमा २०७४ फागुनदेखि ट्र्याक निर्माणको काम सुरु भएको थियो । कोरोना महामारी र सामान्य रूपमा अन्य अवरोधका कारण ट्र्याक निर्माण सुरु भएको छ वर्षपछि मात्र काम सम्पन्न भएको हो ।

निर्माण कम्पनी एलाइट जेभी कम्पनीका आयोजना सम्पर्क अधिकृत राजीव लामिछानेका अनुसार बाँकी रहेको ट्र्याक निर्माणको काम सम्पन्न भएसँगै चीनको स्वशासित क्षेत्र तिब्बत–नेपाल सिमाना टिपतालालाई सडकले जोडेको छ । उनका अनुसार लेलेप र तापेथोकको सिमाना रानीपुलदेखि ओलाङ्चुङगोलातर्फ ३७ किलोमिटर दुरी बराबर ट्र्याक निर्माणको काम गर्ने जिम्मा एलाइट जेभी कम्पनीले पाएको थियो । उत्तर दक्षिण (सुभाङ खोला–मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजना कार्र्यालयमार्फत ट्र्याक निर्माणको काम भइरहेको छ । लेलेप–ओलाङ्चुङगोला खण्डमा ट्र्याक निर्माणको काम सम्पन्न भएपछि पाँचथरको सुभाङ खोलादेखि टिपतालासम्म १२१ किलोमिटर सडकको ट्र्याक जोडिएको योजना कार्यालयले जनाएको छ ।

यता ट्र्याक निर्माण भइसकेपछि तिब्बतसँगको सिमाना टिपतालासम्म तमोर कोरिडोरमा तत्काल यातायात सञ्चालन हुने अवस्था भने नभएको बताइएको छ । ट्र्याक जोडिए पनि पहिले निर्माण भएको टिपतालासम्मको करिब ४२ किलोमिटर दुरीभित्र सडक सरसफाइ, मर्मत तथा पुनर्निर्माणको काम गर्नुपर्ने भएकाले यातायात सञ्चालन हुने अवस्था नरहेको हो । टिपतालादेखि ओलाङ्चुङगोला हुँदै जङ्गिन नजिकसम्म गोलाका स्थानीयले रकम सङ्कलन गरी ट्र्याक निर्माण गरेका थिए । नयाँ र पुरानो ट्र्याक जोडिएको ठाउँदेखि जङ्गिन हुँदै ओलाङ्चुङगोला बस्ती, मौवाटार–टिपतालासम्म सडक मर्मत तथा पुनर्निर्माण गर्न करिब दुई महिना लाग्ने निर्माण कम्पनीले जनाएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाटको दोस्रो र तेस्रो सुरुङ जोडियो

म्याग्दी- नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको दोस्रो र तेस्रो अडिट (सुरुङमा पस्ने पहुँचमार्ग) सुरुङ  जोडिएको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीलगायत जनप्रतिनिधि, आयोजना, निर्माण कम्पनी र परामर्शदाताका प्रतिनिधिको उपस्थितिमा  सुरुङ जोडिएको हो ।

जलविद्युत् आयोजनामा सुरुङ निर्माणलाई महत्वपूर्ण कामका रुपमा मानिन्छ । राहुघाटको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत लगानीमा रघुगङ्गा हाइड्रोपावर लिमिटेड स्थापना भएको हो ।

हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले दोस्रो र तेस्रो अडिट जोड्ने तीन हजार ८३६ मिटर लामो सुरुङ जोडिएको जानकारी दिनुभयो । “रघुगङ्गा गाउँपालिकाको अधेरीखोलामा रहेको दोस्रो अडिटबाट एक हजार ९३९ मिटर र पिप्लेको तेस्रो अडिटबाट एक हजार ८९७ मिटर सुरुङ खनिएको छ”, उहाँले भन्नुभयो, “राहुघाटको कूल छ हजार २७० मिटरमध्ये हालसम्म ९४ प्रतिशत अथवा पाँच हजार ९१७ मिटर सुरुङ निर्माण सकिएको छ ।”

तीन सय ५३ मिटर सुरुङ खन्न बाँकी रहेको केसीले बताउनुभयो । चार वर्षअघिदेखि बाँध, अधेरीखोला, पिप्ले र तिल्केनीचौरको चार वटा अडिटबाट राहुुघाटको सुरुङ निर्माण सुरु गरिएको थियो ।

पहिलो र दोस्रो अडिट जोड्ने दुई हजार तीन सय ३२ मिटर लामो सुरुङमध्ये तीन सय ५१ मिटर खन्न बाँकी छ । बाँध र पहिलो अडिट जोड्ने ७७ मिटर लामो सुरुङमध्ये ७५ मिटर खनिएको छ । पिप्लेस्थित तेस्रो अडिटबाट सर्ज साफ्ट जोड्ने २५ मिटर लामो सुरुङको यसअघि नै ‘ब्रेक थ्रु’ भएको थियो ।

सुरुङबाट आउने पानीलाई विद्युत्गृहमा खसाल्ने एक सय ९६ मिटर ठाडो सुरुङलाई फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको सञ्चालक केसीले जानकारी दिनुभयो । उहाँका अनुसार पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ । विद्युत्गृह निर्माणस्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने तीन सय २९ मिटर ‘वटम प्रेसर साफ्ट’को सुरुङ यसअघि नै जोडिएको थियो ।

सर्ज साफ्टदेखि टप प्रेसर साफ्ट जोड्ने पाँच सय ४१ मिटरमध्ये ४८ मिटर खन्न बाँकी छ । टप प्रेसर साफ्टदेखि भर्टिकल सर्ज साफ्ट जोड्ने एक सय ७१ र भर्टिकल प्रेसर साफ्टदेखि वटम प्रेसर साफ्ट जोड्ने तीन सय २९ मिटर सुरुङ यसअघि नै निर्माण भएको थियो ।

राहुघाटको ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाका व्यवस्थापक राज विष्टले बताउनुभयो । “आगामी सन् २०२५ मार्च महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम भइरहेको छ”, उहाँले भन्नुभयो, “सिभिल ठेकेदार जयप्रकाश एसोशियट्सले बाँध, सुरुङ र विद्युत्गृह निर्माणको कामलाई एकैसाथ तीव्रता दिएको छ ।”

बाँध निर्माणस्थलमा ११९.७ मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्टर बनाउन थालिएको छ । एक सय १२ मिटर लामो, ११९.७ मिटर अग्लो र पाँच मिटर फराकिलो अण्डर सुुलुुसबाट खोला डाइभर्सन गरेर डिसेन्डर बनाउन थालिएको विष्टले जानकारी दिनुभयो । १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध निर्माण ६० प्रतिशतभन्दा बढी सकिएको छ । विद्युत्गृहको संरचना निर्माण सकेर टर्वाइनका उपकरण जडान गर्न थालिएको छ ।

इलेक्ट्रोमेकानिकलसम्बन्धी काम गर्न विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग ठेक्का सम्झौता भएको थियो । भेलसँगको ठेक्का सम्झौताको म्याद सन् २०२४ नोभेम्बर महिनासम्म थपिएको छ ।

भारतीय आयातनिर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण भइरहेको छ ।

कमजोर आर्थिक अवस्थाका कारण विसं २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो ।

विसं २०७४ मङ्सिरमा रू छ अर्बमा ठेक्का सम्झौता गरेको यस आयोजनाको सिभिल ठेकेदार जेपीले विसं २०७५ असारमा पहुँचमार्ग र विसं २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित विसं २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।

सर्वोच्च अदालतको विसं २०७८ असार २९ को आदेशपछि कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन रोकिँदा आयोजना निर्माणका लागि आवश्यक नदीजन्य कच्चा पदार्थको अभाव हुनु चुनौतीका रुपमा देखिएको आयोजना कार्यालयले जनाएको छ ।

हेर्नुहोस् फागुन १० गते बिहिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – पारीवरिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । कार्य प्रतिको लगनसिलताको कदर हुने समय रहेकोछ । भौतिक श्रोत साधनको प्रयोगमा अधिक समय बित्नेछ । ब्यपार ब्यवसायमा समय उत्तम रहनेछ । प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । मानसम्मान प्राप्तीको समेत योग रहेकोछ ।

बृष राशि- मित्रजनहरुको अधिक सामिप्यता कष्टकर साबित रहनेछ । सामान्य पारीवारिक झोरझमेलाको सामना गर्नुपर्नेछ । यात्रामा पनि साबधानि पूर्वक अधिबढ्नुहोला । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । ब्यापार ब्यवसायमा साजेदारी नगर्नुनै उत्तम रहनेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ ।

मीथुन राशि – वाणी मधुरता छाउनेछ । कलाकौशलको क्षेत्रमा समय ब्यतित रहला । स्वास्थका क्षेत्रमा पनि सामान्य सुधारको योग बन्नेछ । पारीवारिक साथसहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । अध्यन अध्यापनमा भने समय त्यति उत्तम रहेकोछैन । नयाँ लगानिमा भने सजग रहनु होला ।

कर्कट राशि – आय आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ ।

सिंह राशि – अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । फजुल खर्चको योग रहेको छ । मानसिक चिन्ताले सताउनेछ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ ।तपाईको द्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरुको बृद्यिहुनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

कन्या राशि – दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । आक्स्मिक धनलाभको सम्भाबना रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । सन्तान सम्बन्धि समस्याले सताउला । रचनात्मक तथा कला क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ । स्वास्थका निम्ती सामान्य खर्चको सम्भाबना समेत रहेकोछ ।

तुला राशि – बिद्यार्थी बर्गको बौधिक बिकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहने योग रहेकोछ । गरीरहेको कार्यका श्रेत्रमा सामान्य ढिलाईको सम्भावना रहेकोछ ।

बृश्चिक राशि – ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । आय आर्जनका निम्ती अधिक श्रम गर्नु पर्ने समय रहेकोछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ ।

धनु राशि – मानसीक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ ।

मकर राशि – साजेदारी कार्यमा हात नहालेकै बेश रहनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ । मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ ।

कुम्भ राशि – अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । कार्य सम्पादन प्रति अरुको दबावको महसुस हुनाले दिन तनाब पूर्ण ब्यतित रहला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ । परीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नु होला ।

मिन राशि – बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । आय आर्जनका बिभिन्न श्रोत साधनहरु फेला परेतापनि मानसिक चन्चलताले कार्य श्रेत्रमा ब्यवधान आई पर्नेछ ।

कांग्रेस महासमिति बैठक: छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि आज समापन हुँदै

काठमाडौँ, १० फागुन : नेपाली कांग्रेसको यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकका क्रममा छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि चारदिने बैठक आजै समापन हुनेभएको छ ।

महासमिति बैठकको अन्तिम दिन आज बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्नुहुनेछ । त्यसपछि आजै अपराह्न समापन समारोह गरिने पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले राससलाई जानकारी दिनुभयो ।

बैठकको दोस्रो दिन उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

बैठकको तेस्रो दिन बुधबार विभिन्न पाँच प्रतिवेदनमासमूहगत रुपमा छलफल भएको थियो । बन्दसत्रको सुरुमा नै सबै जिल्लाका जिल्ला सभापति, भ्रातृ तथा शुभेच्छुक संस्था, जनसम्पर्क समितिका प्रमुखले बैठकमा पेस भएका पाँचवटै प्रतिवेदनमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गतेदेखि सुरु बैठकमा देशभर र विदेशस्थित जनसम्पर्कका गरी दुई हजार बढी महासमिति सदस्य सहभागी छन् । ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता, स्वतन्त्रता, न्याय र समानता, कांग्रेसको नीतिगत प्रतिबद्धता’ का साथ बैठकको पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद््घाटन गर्नुभएको थियो ।

भ्रष्टाचार नियन्त्रणदेखि जलवायुका सङ्कट समाधानसम्मका सुझाव

छलफलका क्रममा महासमिति सदस्यहरुले कांग्रेसले संविधानको कार्यान्वयनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्र्ने, पार्टीको विधान पालना गर्नुपर्ने, प्रदेश संरचनालाई बलियो बनाउन अधिकार दिनुपर्ने, गणतन्त्रात्मक पद्धतिमाथि निरन्तर भइरहेका प्रहारलाई रोक्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्र्ने, पार्टी सङ्गठनलाई सक्रिय बनाउनुपर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिनुपर्नेलगायत विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

महासमिति सदस्यहरुले सामाजिक न्यायका लागि कांग्रेसलाई सामाजिक आन्दोलनसँग जोड्नुपर्ने, आधुनिक कृषि प्रणालीमा जोड दिनुपर्ने, पर्यावरण संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने, पूर्वाधार विकासलाई तीव्रता दिनुपर्ने, अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउँदै देशको हितमा काम गर्नुपर्ने, वैदेशिक लगानीको वातावरण सिर्जना गर्दै आर्थिक सुधार गर्नुपर्ने, ऊर्जा र जलस्रोतको सदुपयोग गर्न विदेशी लगानी भित्र्याउन पहल गर्नुपर्ने, युवा पलायनलाई रोक्न रोजगारीका अवसहरु बढाउनुपर्ने, उद्योग तथा कलकारखाना स्थापना गर्नुपर्ने, सरकार र पार्टीबीचको समन्वय बढाउनुपर्नेलगायत विषयमा सुझाव दिनुभएको छ ।

शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारलाई रोक्न पहल गर्नुपर्ने, खेलकुदका पूर्वधार विकास गरी खेल पर्यटनलाई प्रवद्र्धन गर्नुपर्ने, जलवायु परिवर्तनको सङ्कटविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने, कुनै पनि नेपालीलाई गैरनागरिक हुन नदिने प्रावधान गर्नुपर्ने, क्रियाशील सदस्यतालाई थप खुकुलो र पारदर्शी बनाउनुपर्ने, सञ्चार क्षेत्रलाई स्वतन्त्र, सशक्त र प्रभावकारी बनाउन सञ्चार नीति संशोधन गर्नुपर्ने, सुशासन कायम गर्न भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई कार्यान्वयन गर्नुपर्ने सुझाव प्राप्त भएको विभागीय प्रमुख विश्वकर्माले राससलाई बताउनुभयो ।

कञ्चनपुरमा बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने

कञ्चनपुर, ९ फागुन कञ्चनपुरका नौ स्थानीय तहका बालकालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । जिल्लाका ९२ वडामा यही फागुन १३ देखि २१ गतेसम्म अभियान सञ्चालन गरी खोप लगाइने भएको हो ।

फागुन १३ देखि २१ गते (नौ दिन) सम्म सञ्चालन हुने अभियानमा जिल्लाका पाँच सय ५३ खोप केन्द्रमार्फत नियमित खोप लगाउन छुटेका एक लाख ३८ हजार एक सय १२ बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय कञ्चनपुरका क्षय–कुष्ठरोग अधिकृत उद्धवबहादुर ठगुन्नाले जानकारी दिनुभयो । अभियानअन्तर्गत नौ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने छ ।खोप केन्द्रमा स्वास्थ्यकर्मीसहित तीन जनालाई खटाइने तयारी गरिएको ठगुन्नाले बताउनुभयो । उहाँका अनुसार एक खोप केन्द्रमार्फत दुई सय ५० जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।नियमित खोप केन्द्रसँगै स्वास्थ्य संस्था र विद्यालयमा खोप केन्द्र निर्धारण गरिएका छन् । खोप अभियान कार्यक्रम सञ्चालनका लागि स्थानीय तहस्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखिकरण गोष्ठी सञ्चालन भइरहेका छन ।गोष्ठीलाई वडासम्म पु¥याएर अभियानबारे जानकारी दिने कार्य भइरहेको क्षय–कुष्ठरोग अधिकृत ठगुन्नाले बताउनुभयो । “गोष्ठीमा दादुरा–रुबेला खोप अभियानमा नियमित खोप सेवा सुदृढीकरण गर्नेबारे जानकारी गराउने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “खोप लगाउन छुट हुने समुदाय, वर्ग, स्थानको पहिचान गरी ती सबैलाई खोप प्रदान गर्ने कार्यनीति अवलम्बन गर्न स्वास्थ्य संस्थालाई निर्देशन, सल्लाह र सुझाव दिने कार्य गरिएको छ ।”दादुरा–रुबेला निवारणका लागि कम्तीमा ९५ प्रतिशत बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताउनुभयो । नगरपालिकाका १५ हजार बढी बालबालिकालाई उक्त खोप लगाइने उहाँले जानकारी दिनुभयो ।“दादुरा–रुबेला खोपका लागि गरिएको सर्भेक्षणमा कञ्चनपुरको शुक्लाफाँटामा दुई र कृष्णपुर नगरपालिकामा ३८ जना बालबालिकामा दादुराको सङ्क्रमण देखिएको थियो”, भट्टले भन्नुभयो, “बसाइँसराइका कारण भारतलगायत अन्य क्षेत्रबाट आएका बालबालिकामा सङ्क्रमण भएको सर्भेक्षणमा पाइएको थियो ।” इँट्टाभट्टामा कम गर्ने व्यक्ति, मुक्तकमैया, सुकुम्वासी, भारतमा मौसमी बसाइँ सर्नेलगायत परिवारका बालबालिका अभिभावकसँगै काम गर्ने क्षेत्रमा जाने भएकाले पूर्ण खोप सुनिश्चितता हुन चुनौती रहेको उहाँको भनाइ थियो ।सहरका घनाबस्ती, सुकुम्बासी बस्ती, उद्योग, कलकारखाना, बालमन्दिर, अनाथालय, अन्तदेशीय सीमा, बस पार्कलगायत क्षेत्रका बालबालिकालाई पहुँच पुग्ने गरी खोप केन्द्र राख्ने कार्य गरिएको भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०२६ सम्म रुबेला–दादुरा रोग निवारण गर्ने राष्ट्रिय उद्देश्य राखिएको छ ।मुलुकका ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्ष उमेर समूह र कैलाली कञ्चनपुर सहितका २४ जिल्लाका नौ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई अभियानअन्तर्गत खोप लगाउने कार्यक्रम रहेको छ ।दादुरा–रुबेला खोप अभियान २०७६÷७७ अनुसार नियमित खोप लगाएका बालबालिका ८४ प्रतिशत थियो । उक्त तथ्याङ्कलाई बढाएर यस वर्षको अभियानमा ९५ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ ।आव २०७९÷८० मा १९ जिल्लामा एक हजार तीन सय ३९ बालबालिकामा दादुरा महमारी देखिएको थियो । कोभिड–१९ को महामारी र अन्य कारणले गर्दा दादुरा–रुबेला खोप लगाउन छुट बालबालिकाको सङ्ख्यामा वृद्धी भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।हालसम्म ७२ जिल्लाका सात सय ३३ स्थानीय तह पूर्ण खोप घोषणा भइसकेका छन् । नुवाकोट, पर्सा लगायतका पाँच जिल्ला भने पूर्ण खोप घोषणा हुन बाँकी छन् ।दादुरा–रुबेला खोप अभियान सफलतापूर्वक सञ्चालन गर्न÷गराउन, स्थानीय तहको साधनस्रोत जुटाउन र परिचालन गर्न सरोकारवाला सबैसँग समन्वय गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन अधिकृत जनक कुवँरले बताउनुभयो । उहाँका अनुसार महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टको नेतृत्वमा तीन सदस्यीय एइएफआई समिति गठन गरिएको छ ।खोप अभियान सञ्चालनका लागि टोलटोलमा विद्यालयमार्फत निमन्त्रणा कार्ड पठाउने कार्य गरिएको छ । नेपालको जनसाङ्ख्यिक स्वास्थ्य सर्भेक्षण, २०२२ अनुसार चार प्रतिशत बालबालिकाले एउटा पनि खोप लगाएका छैनन् । करिब १६ प्रतिशत बालबालिकाले आंशिक खोप लगाएका छन भने ५२ प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप लगाएका छन ।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि गृहमन्त्री श्रेष्ठ नेपालगञ्जमा

जानकी (बाँके), ९ फागुन : नेपालगञ्जमा बिहीबारदेखि सुरु हुने लुम्बिनी प्रदेशस्तरीय दुईदिने सुरक्षा गोष्ठीका लागि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेपालगञ्ज आइपुग्नुभएको छ । आज साँझ बुद्ध एयरबाट नेपालगञ्ज आइपुग्नुभएका गृहमन्त्री श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारी श्रवणकुमार श्रेष्ठ, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुवेर कडायतलगायत बाँकेस्थित सुरक्षा प्रमुखले नेपालगञ्ज विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

भोलिदेखि सुरु हुने प्रदेशस्तरीय दुईदिने सुरक्षा गोष्ठीमा लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, गृहमन्त्रालयका गृहसचिव, उच्चपदस्थ कर्मचारीहरु, प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी, प्रमुख सचिव राधा अर्याल, गृहमन्त्री सन्तोष पाण्डे, गृहसचिव लालबाबु कवारीलगायतको सहभागिता रहने प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो ।गृहमन्त्री श्रेष्ठले भोलिदेखि सुरु हुने ‘ट्राफिक सप्ताह–२०८०’ को उद्घाटन गर्ने कार्यक्रम रहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा ‘सडक अनुशासन र सवारी दुर्घटना न्यूनीकरण’सम्बन्धी सप्ताह हुने जनाइएको छ ।

कांग्रेस महासमिति बैठकः जनतालाई केन्द्रमा राखेर काम गर्न पार्टीलाई सुझाव

ललितपुर, ९ फागुन : नेपाली कांग्रेसको महासमिति बैठकमा बोल्ने वक्ताहरुले पार्टीले जनतालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने बताएका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरुले पार्टीबाट टिकट लिई जनप्रतिनिधि भएका सबैले तल्लो तहका जनतालाई केन्द्रबिन्दुमा राखेर हरेक विकास निर्माणका काम अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।

बैठकमा कांग्रेस गोरखाका महासमिति सदस्य प्रकाशचन्द्र दवाडीले पार्टीबाट टिकट लिएर चुनाव जितेपछि जनताको घरदैलोमा जनप्रतिनिधि नपुग्दा समस्या परेको बताउनुभयो । “पार्टीबाट टिकट लिएर चुनाव जित्ने, त्यसपछि पार्टीको सम्बन्ध र जनताको समस्यालाई सुन्दै नसुन्ने प्रवृत्ति देखिएकाले पार्टीलाई समस्या देखिएको हो”, उहाँले भन्नुभयो ।

महासमिति सदस्य दवाडीले केन्द्रीय नेता स्थानीय तहबाट प्रतिनिधि भएर आउँदा कार्यकर्तामासमेत खुसी छाउने भएकाले सो व्यवस्था विधानमा गरिनुपर्ने बताउनुभयो । एक व्यक्ति, एक पदको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो । कांग्रेस चितवनका सभापति राजेश्वर खनालले राजनीतिलाई विकाससँग जोड्न सकेमात्र पार्टी बलियो हुने बताउनुभयो ।

पार्टीलाई शिक्षा, रोजगारी र कृषिलाई जोडेर लैजाँदा जनशक्ति व्यवस्थापनमा सहज हुने उहाँको भनाइ थियो । कांग्रेस धनकुटा सभापति दिनेश राईले कोशीमा प्रदेश नामाङ्कको विषय पेचिलो बन्दै गएको भन्दै उक्त विषयमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताउनुभयो ।

जनसम्पर्क समितिबाट प्रतिनिधित्व गर्नुभएकी महासमिति सदस्य सीता सापकोटाले विदेशमा रहेका नेपालीलाई पनि यही देशमा राजनीति गर्ने अधिकार प्रदान गर्नुपर्ने बताउनुभयो । “पार्टीले गैरआवासीय नेपालीलाई मतदानको व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

बैठकमा ललितपुरका महासमिति सदस्य कवेलबहादुर लामाले विगतमा नेताहरुको निर्णयको कमजोरीले गर्दा माओवादी र एमालेबीच गठबन्धन भएको र सोही कारणबाट असक्षम व्यक्तिले राजनीति नियुक्ति पाएर जिम्मेवारीमा रहँदा समस्या भएको बताउनुभयो । “राजनीतिक नियुक्ति पाएर महत्वपूर्ण जिम्मेवारीमा रहँदा कतिपय ठाउँमा सरकारले चाहेअनुरुप जनचाहना सम्बोधन गर्नेगरी काम हुन सकेका छैनन् ।

पार्टीले हरेक निर्णय गर्दा देशका सबै पक्षलाई ध्यान दिनुपर्छ । कांग्रेस राष्ट्रिय पार्टी भएकाले सबैलाई समेट्नेगरी अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो । महासमिति सदस्य शेखर खड्का, विमल सुवेदी र विष्णु पोखरेलले बैठकमा महामन्त्रीले राख्नुभएको प्रस्तावमाथि समर्थन जनाउँदै प्रतिवेदनलाई अक्षरशः पालना गरे पार्टी चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष एवं महासमिति सदस्य बालकृष्ण पाण्डेले विश्वभरी छरिएर रहेका नेपालीका बारेमा पार्टीले स्प्रष्ट धारणा बनाउनुपर्ने बताउनुभयो ।

“करिब एक तिहाइ जनसङ्ख्या भएको जनसम्पर्क समितिलाई कांग्रेसले अभिभावकत्व लिनुपर्छ । उनीहरुको सीप, पुँजी, क्षमतालाई सदुपयोग गर्दै पार्टी र राष्ट्र निर्माणमा लगाउनुपर्छ”, उहाँले भन्नुभयो । महासमिति सदस्य उमा थापामगरले सरकार र पार्टीका हरेक संरचनामा महिलालाई ३३ प्रतिशत प्रतिनिधित्वको अधिकार दिएको भन्दै उक्त अधिकार अपुग भएको उल्लेख गर्नुभयो ।

कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूले महासमिति बैठकको निर्णय केन्द्रीय समितिले उल्टयाउन नमिल्ने बताउनुभयो । उहाँले क्रियाशील सदस्यता वितरण गर्ने अधिकार जिल्लालाई दिनुपर्ने उल्लेख गर्नुभयो । कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले प्रदेश समितिलाई कसरी सक्रिय बनाउने र उनीहरुलाई कसरी गाउँगाउँ पु¥याउने त्यसतर्फ पार्टीले ध्यान दिनुपर्ने बताउनुभयो । नेपाली कांग्रेस म्याग्दीकी महासमिति सदस्य मनकुमारी विश्वकर्माले भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको अधिवेशन निश्चित समयमा तोकिएकै मितिमा गराउन बाध्यकारी विधान बनाउनुपर्ने बताउनुभयो ।

उहाँले वडापालिका कार्यसमिति भद्दा भएकाले बैठक बस्न समस्या भएको भन्दै उक्त समिति घटाउन महासमिति बैठकले विशेष पहल गर्नुपर्ने उल्लेख गर्नुभयो । कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले कांग्रेसलाई कसरी सुधारेर लैजाने भन्ने कुरा प्रतिवेदनमा अपुग भएको बताउनुभयो । “युवालाई कसरी कांग्रेसलाई समेट्न सकिन्छ, नयाँ अनुहार कसरी महाधिवेशन प्रतिनिधि हुन्छ भन्ने कुरा प्रतिवेदनले समेट्नुपर्छ”, उहाँले भन्नुभयो ।

महासमिति सदस्य एवं नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले सञ्चार क्षेत्रलाई समेट्नेगरी कांग्रेसले कुनै पनि प्रस्ताव ल्याउन नसकेको बताउनुभयो । “सञ्चार क्षेत्रले जताततै चुनौती भोग्दै आएको छ, नयाँ सञ्चार माध्यमको चुनौती छ, यसलाई सम्बोधन गर्न पार्टी गम्भीर ढङ्गले लाग्नुपर्छ”, उहाँले भन्नुभयो । कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारले पार्टीलाई तिर्नुपर्ने शुल्क (लेवी)को कुरा विधानबमोजिम सम्बोधन हुनुपर्ने बताउनुभयो । उहाँले क्रियाशील सदस्यता वितरणमा नयाँलाई अवसर दिनुपर्ने उल्लेख गर्नुभयो ।

कांग्रेस हुम्ला सभापति मोहनविक्रम सिंहले केन्द्रीय सभापति र पदाधिकारी जिल्लाबाट चुनिएर आउने व्यवस्था मिलाउनुपर्ने धारणा राख्नुभयो । कांग्रेस रुकुमपश्चिमका सभापति प्रेमप्रकाश ओलीले जाजरकोट र रुकुमपश्चिमको भूकम्पले पु¥याएको क्षतिको विषयलाई प्रतिवेदनमा नसमेटिएको गुनासो गर्नुभयो । कांग्रेस ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठले अहिलेको गठबन्धन नभएको भए नेपाली कांग्रेसमा निराशा थप बढ्ने र कमजोर हुने स्थिति सिर्जना हुने बताउनुभयो ।

भ्रातृ तथा सुभेच्छुकको समूहमा सहभागी महासमिति सदस्य ईश्वरी ओझाले कांग्रेसले गरीब किसानलाई ध्यान दिएर कृषि, शिक्षा, स्वास्थ्यका क्षेत्रमा समाधान गर्नेगरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले समावेशीताका नाममा राज्यका हरेक तहमा बौद्धिक जगतलाई बिर्सनु नहुने धारणा राख्नुभयो ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा चार समूहमा छलफल भइरहेको छ । सम्मेलन केन्द्रको मुख्य हल गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरु, फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशङ्खुनारायण हलमा मधेस र कर्णाली प्रदेशको समूहगत छलफल भइरहेको छ ।

प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गतेदेखि सुरु भएको कांग्रेस महासमितिको बैठक भोलि फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।

गणतन्त्रमाथि देखिएका खतरालाई रोक्न नेतृत्वदायी भूमिका निर्वाह नेतृत्वलाई कांग्रेस नेताहरुको सुझाव

ललितपुर । यही फागुन ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा सदस्यले धारणा राख्ने क्रम जारी छ । ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा जारी बैठकको तेस्रो दिन बुधबार उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाको साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव, अर्थमन्त्रीसमेत रहेका प्रवक्ता डा प्रकाशशरण महतको नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन, लेखा समिति संयोजक श्याम घिमिरेको लेखा परीक्षण प्रतिवेदनमाथि चारवटा हलमा समूहगतरुपमा छलफल भइरहेको कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

“प्रतिवेदनमाथि छलफलका लागि कोशी र सुदूरपश्चिमका महासमिति सदस्यहरुलाई गोदावरी हल, कर्णाली र मधेस प्रदेशका लागि विशङ्खुनारायण हल, बागमती र गण्डकी प्रदेशका लागि फूलचोकी हल र लुम्बिनी र भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरुलाई कोन्ज्योसोम हलमा विभाजन गरेर धारणा राख्ने क्रम जारी छ”, उनले भने ।

विश्वकर्माका अनुसार आज बाँकी भएका सदस्यहरुले भोलि पनि धारणा राख्नेछन् । “चारवटै हलमा सम्बन्धित प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने पदाधिकारी एवं केन्द्रीय सदस्यहरुले महासमिति सदस्यहरुको सुझावलाई टिपोट गरिरहनुभएको छ”, उनले भने ।

विभिन्न हलमा भएका बन्दसत्रको सुरुमा नै सबै जिल्लाका जिल्ला सभापति, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख, जनसम्पर्क समितिका प्रमुखहरुले बैठकमा पेस भएका पाँचवटै प्रतिवेदनमा आ–आफ्नो धारणा व्यक्त गरेको भन्दै प्रमुख विश्वकर्माले छलफलमा देशभरबाट आएका महासमिति सदस्यहरुले प्रतिवेदनमा विचार राखेको बताए । महासमितिमा पेस भएका पाँचवटै प्रतिवेदनमा महासमिति सदस्यहरुले सुधारका केही सुझावसमेत पेस गरेको उनले जानकारी दिए ।

छलफलमा गोदावरी हलमा एक सय १०, विशङ्खुनारायण हलमा ९५, फूलचोकी हलमा ९० र कोन्ज्योसोम हलमा ९० जना महासमिति सदस्यहरुले आफ्नो धारणा राख्नुभएको प्रचारप्रसार विभाग प्रमुख विश्वकर्माले जानकारी गराए ।

महासमिति बैठकमा सहभागी सदस्यहरुले कांग्रेसले संविधानको कार्यान्वयनमा प्रभावकारी भूमिका खेल्नुपर्ने, पार्टीको विधान पालना गर्नुपर्ने, प्रदेश संरचनालाई बलियो बनाउन अधिकार दिनुपर्ने, गणतन्त्रमाथि देखिएका खतरालाई रोक्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने, पार्टी सङ्गठनलाई सक्रिय बनाउनुपर्ने, भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिनुपर्ने विषयमा आफ्नो धारणा राखेको उनले बताए ।

महासमिति सदस्यहरुले सामाजिक न्यायका लागि नेपाली कांग्रेसलाई सामाजिक आन्दोलनसँग जोड्ने, आधुनिक कृषि प्रणालीमा जोड दिनुपर्ने, पर्यावरण संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने, पूर्वाधार विकासलाई तीव्रता दिनुपर्ने, अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउँदै नेपालको हितमा काम गर्नुपर्ने, वैदेशिक लगानीको वातावरण सिर्जना गर्दै आर्थिक सुधार गर्नुपर्ने, ऊर्जा र जलस्रोतको सदुपयोग गर्न विदेशी लगानी भित्र्याउन पहल गर्ने, युवा पलायनलाई रोक्न रोजगारीका अवसर बढाउनुपर्ने, उद्योग तथा कलकारखाना स्थापना गर्नुपर्ने सरकार र पार्टीबीचको समन्वय बढाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारलाई रोक्न पहल गर्नुपर्ने, खेलकुदको पूर्वधार विकास गरी खेल पर्यटनलाई प्रवर्द्धन गर्नुपर्ने, जलवायु परिवर्तनको सङ्कटविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने, कुनै पनि नेपालीलाई गैरनागरिक हुन नदिने प्रावधान हुनुपर्ने, क्रियाशील सदस्यतालाई थप खुकुलो र पारदर्शी बनाउनुपर्ने, सञ्चार क्षेत्रलाई स्वतन्त्र, सशक्त र प्रभावकारी बनाउन सञ्चार नीति संशोधन गर्नुपर्नेलगायतका विषयमा जोड दिएका थिए ।

सुशासन कायम गर्न भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई कार्यान्वयन गर्न अधिकांश महासमिति सदस्यले सुझाव दिएको विश्वकर्माले बताए ।

“समूहगत छलफलमा उठेका कुरा सातवटै प्रदेशका सभापतिले सबै प्रतिनिधिसमक्ष पेस गर्ने कार्यक्रम छ । त्यसपश्चात् ती सबै प्रस्तावहरुमा संयुक्तरुपमा छलफल गरी हलले पारित गर्नेछ”, कांग्रेसका प्रचार विभाग प्रमुख विश्वकर्माले भने । बिहीबार दिउँसो २ः३० बजेदेखि समापन समारोह गरिने उनले जानकारी दिए ।

टर्कीमा असफल ‘कु’को आशङ्कामा ६७ जनालाई पक्राउ

टर्की प्रहरीले सन् २०१६ मा भएको ‘कु’ प्रयासको अभियोगमा त्यस सञ्जालसँग सम्बन्ध रहेको आरोपमा ६७ जना संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ ।आन्तरिक मामिला मन्त्री अली येर्लिकायाले बुधबार बताए अनुसार प्रहरीले अङ्कारा सहित टर्कीका विभिन्न १४ वटा प्रान्तहरूमा “क्लेम्प-७” को रूपमा चिनिने कारबाहीका क्रममा एकैसाथ छापा मारेर ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो ।

मन्त्रीको सामाजिक सञ्चाल एक्समा पोस्ट गरिएको भिडियो फुटेजले प्रहरीले अपार्टमेन्ट भवनहरूबाट संदिग्धहरूलाई पक्रेर सवारी साधनमा राखेको देखाएको छ।संदिग्धहरू गुलेन आन्दोलनको सैन्य संरचनासँग सम्बन्धित छन् जसलाई टर्की सरकारले सन् २०१६ जुलाई १५ मा कम्तिमा २५० जनाको हत्या गर्ने प्रयास गरेको आरोप लगाएको थियो।
सन् २०२३ जुन १ देखि आन्दोलन विरुद्धको अभियानमा पक्राउ परेका संदिग्धको सङ्ख्या ६ हजार ४५ पुगेको मन्त्रीले बताउनु भएको छ ।

गुलेन आन्दोलन मुस्लिम धर्मोपदेशक फेथुल्लाह गुलेनको नेतृत्वमा नामकरण गरिएको हो । उनलाई अनुयायीहरूले आध्यात्मिक नेता मान्छन्।टर्की सरकारले सन् २०१६ मा भएको ‘कु’ प्रयासपछि आन्दोलनसँग जोडिएका संदिग्धहरूमाथि व्यापक कारबाही शुरु गरेको छ।

एमाले बैठक : अनुशासन र विधि–पद्धति कडाइका साथ पालना गर्न माग

काठमाडौँ, ९ फागुन : नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकमा पार्टीभित्र अनुशासन, आचरण, विधि र कार्यपद्धतिलाई कडाइका साथ पालना तथा माथिल्लो तहबाटै शुद्धीकरण गर्न समूहगत छलफलमा आवाज उठेको छ ।

बैठकमा प्रस्तुत अवधारणा र कार्ययोजनामाथि आज समूहगत छलफलका क्रममा सहभागी केन्द्रीयका सदस्यहरुले मूलतः विधान र नियमावलीको प्रभावकारी कार्यान्वयन, कमिटी प्रणालीलाई स्थापित गर्न जोड दिएका हुन् । छलफलमा पार्टीमा आचारसंहिता बनाएर कार्यान्वयन गर्नुपर्ने, पार्टीलाई विधिपूर्वक सञ्चालन गर्नुपर्ने, आलोचना र आत्मालोचनाको विषयलाई नियमित बनाइनुपर्नेजस्ता पार्टी सङ्गठन निर्माणमा महत्व राख्न सहभागीले गम्भीरतापूर्वक सुझाव राखेको एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बुधबारको बैठकमा प्रस्तुत अवधारणामाथि केन्द्रित भएर विभिन्न नौ समूहले आज छलफल गरेका हुन्् । समूहगत छलफलमा उठेका विषयमा स्थायी कमिटीको समूहबाट सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, कोशी प्रदेशबाट अध्यक्ष घनश्याम खतिवडा, मधेस प्रदेशबाट अध्यक्ष चन्द्रेश्वर मण्डल, बागमती प्रदेशबाट अध्यक्ष कैलाश ढुङ्गेल, गण्डकी प्रदेशबाट अध्यक्ष नवराज शर्मा, लुम्बिनी प्रदेशबाट अध्यक्ष राधाकृष्ण कँडेल, कर्णाली प्रदेशबाट अध्यक्ष गुलाबजङ्ग शाह, सुदूरपश्चिम प्रदेशबाट अध्यक्ष कृष्णप्रसाद जैसी र केन्द्रीय विभाग, उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवास समूहबाट केन्द्रीय सदस्य पेम्बा लामाले आ–आफ्नो समूहको लिखित प्रतिवेदन बिहीबारको बैठकमा प्रस्तुत गर्नुहुनेछ ।

समूहगत छलफलमा संसद्को कामलाई प्रभावकारी बनाउनुपर्ने, जनताका मुद्दामा विशेष ध्यान दिनुपर्ने, विकास, निर्माण र समृद्धिका मुद्दालाई केन्द्रमा राखेर प्रस्तुत हुनुपर्ने, समृद्ध नेपाल र सुखी नेपालको नारालाई कार्यान्वयन गर्न केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडासम्म संयन्त्र निर्माण गरी कार्य प्रारम्भ गर्नुपर्ने सुझाव सहभागीले राख्नुभएको छ ।

लुम्बिनी प्रदेश लोकसेवा आयोगको विज्ञापनप्रति संवैधानिक आयोग असहमत

काठमाडौँ, ९ फागुन : लुम्बिनी प्रदेश लोकसेवा आयोगबाट प्रकाशित विज्ञापनप्रति संवैधानिक आयोगले संयुक्तरुपमा पूर्णतः असहमति जनाएका छन् ।राष्ट्रिय मुस्लिम आयोग, थारु आयोग, आदिवासी जनजाति आयोगलगायत संवैधानिक आयोगले आज यहाँ पत्रकार सम्मेलन गर्दै उक्त विज्ञापनले संवैधानिक तथा कानुनी व्यवस्थाविपरीत र समानुपातिक समावेशीताको गम्भीर उल्लङ्घन भएको बताएका छन् ।

संवैधानिक आयोगले पूर्णतः असहमत रहेको जनाउँदै उक्त विज्ञापन रद्द गरी कानुन सम्मत ढङ्गले पुनःविज्ञापन आह्वान गर्नका लागि लुम्बिनी प्रदेश लोकसेवा आयोगलाई ध्यानाकर्षण गराएका छन् ।सोही सम्मेलनमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले लुम्बिनी प्रदेश लोकसेवा आयोगको विज्ञापनले समावेशी समूहलाई पूर्णतः इन्कार गर्दै संवैधानिक व्यवस्थाविपरीत रहेको बताउनुभयो ।आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले लुम्बिनी प्रदेश लोकसेवा आयोगले स्थानीय सरकारी सेवाअन्तर्गत सहायकस्तर पाँचौँ तहका प्राविधिक पदको खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन कृषि सेवाअन्तर्गत प्राविधिक सहायकको ३० तथा पशुस्वास्थ्य प्राविधिक भेटेरीनरी पदमा २३ पदमध्ये सबै खुलातर्फबाट मात्रै विज्ञापन गरी समावेशी कोटा नछुट्याइएको स्पष्ट पार्नुभयो ।त्यस्तै थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले लुम्बिनी प्रदेश लोकसेवा आयोगबाट प्रकाशित विज्ञापन समयमै कानुनी व्यवस्थाअनुरुप सच्चाइ पुनःविज्ञापन प्रकाशित गर्नुपर्ने उल्लेख गर्दै संविधानको मर्मलाई कसैले बिर्सन नहुने उल्लेख गर्नुभयो ।उक्त प्रदेश लोक सेवा आयोगबाट गत माघ २६ गते प्रकाशित स्थानीय सरकारी सेवाअन्तर्गत सहायकस्तर पाँचौँ तहका (प्राविधिक) पदको खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन र यही फागुन ३ गते प्रकाशित उक्त पदकै लागि संशोधित विज्ञापनमाथि राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगले उक्त विज्ञापनप्रति संयुक्तरुपमा लुम्बिनी प्रदेश लोकसेवा आयोगको ध्यानाकर्षण गराएका हुन् । 

धार्मिक कार्यक्रममा भोजन गर्दा भारतमा ३०० जना बिरामी

पश्चिमी राज्य महाराष्ट्रमा धार्मिक कार्यक्रममा खाना खाँदा महिला र बालबालिकासहित करिब ३०० जना बिरामी परेका छन् । घटना मङ्गलबार राति महाराष्ट्रको राजधानी मुम्बईबाट ४८६ किलोमिटर उत्तरपूर्वमा रहेको बुलढाना जिल्लाको सोमथाना गाउँमा जारी एक हप्ता लामो हिन्दु धार्मिक अनुष्ठानका क्रममा भएको हो।

त्यहाँ भोजन र प्रसाद ग्रहण गरेका थुप्रै व्यक्तिले बान्ता, पखाला, वाकवाकी र बेचैनी भएको बताएपछि उनीहरूलाई सरकारी स्वास्थ्य संस्थामा लगिएको थियो। अस्पतालमा शैयाको अभावका कारण अस्पतालको भवनबाहिरै खुल्ला ठाउँमा बिरामीको उपचार भइरहेको बताइएको छ ।

घटनास्थलबाट टेलिभिजनमा प्रशारण गरिएको भिडियो फुटेजमा जमिनमा लडिरहेका बिरामीहरूलाई अस्पतालबाहिर खुल्ला ठाउँमा रूखका हाँगाबाट डोरीमा बाँधिएका बोतलहरूबाट इन्ट्राभेनस फ्लुइड खुवाइँदै गरेको देखाइएको थियो। जिल्ला कलेक्टर कार्यालयका स्थानीय सरकारी अधिकारीका अनुसार यो विषाक्त खानाको असर हो र अधिकांश बिरामीहरू डिस्चार्ज भइसकेका छन् र बाँकी रहेकालाई विभिन्न अस्पतालहरूमा निगरानीमा राखिएको छ । यसैबीच अधिकारीहरूले खाद्यान्नको नमूना सङ्कलन गरी परीक्षण र विश्लेषणका लागि पठाएका छन् । घटना बारे अनुसन्धान जारी छ ।

पाँचखालमा निर्माण सम्पन्न १८५ केभिए क्षमताको ‘उन्नत सौर्य ऊर्जा परियोजना’को उद्घाटन

काभ्रेपलाञ्चोक (पाँचखाल), ९ फागुन : नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा निर्माण सम्पन्न १८५ केभिए क्षमताको ‘उन्नत सौर्य ऊर्जा परियोजना’को उद्घाटन गरिएको छ ।

‘संयुक्त राज्य अमेरिका एसिया प्रशान्त कमाण्ड–विश्व शान्ति कार्य प्रयास’को सहयोगमा निर्मित उक्त परियोजनाको आज यहाँ आयोजित समारोहमा संयुक्त राज्य अमेरिकाका राजनीतिक–सैन्य मामिला ब्यूरोका योजना तथा कार्यसञ्चालनसम्बन्धी उपसहायक विदेश मन्त्री रेचल शिलरले उद्घाटन गर्नुभएको हो । सो अवसरमा उहाँले संयुक्त राज्य अमेरिका, नेपाल र संयुक्त राष्ट्र सङ्घबीचको यो त्रिपक्षीय साझेदारीको ‘हाइब्रिड सौर्य ऊर्जा जेनेरेटर’ योजनाको उद्घाटन गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।“यो परियोजना दक्षिण सुडानमा संयुक्त राष्ट्रसङ्घ मिसनमा सेवारत नेपाली बटालियनले प्रयोग गर्नका लागि पनि विस्तार गरिने छ”, मन्त्री शिलरले भन्नुभयो । यो परियोजनाले दक्षिण सुडानको रुम्बेकमा रहेको नेपालको बटालियनले प्रयोग गरिरहेको डिजेल जेनेरेटरलाई प्रतिस्थापन गरी हाइब्रिड सौर्य ऊर्जाबाट चल्ने जेनेरेटर प्रविधिमा लगिने छ । मन्त्री शिलरले यसले कार्बन उत्सर्जन कम गर्न र इन्धन खपत घटाएर मिसनको लागत घटाउन मद्दत गर्ने उल्लेख गर्नुभयो ।नेपाली सेनाको युद्धकार्य महानिर्देशक उपरथी प्रेमध्वज अधिकारीले परियोजनाका बारेमा अवगत गराउँदै उक्त अमेरिकी सहयोगप्रति आभार व्यक्त गर्नुभयो । साथै उहाँले सामूहिक प्रयास र प्रतिबद्धतामा परियोजना महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।यस परियोजनाबाट उत्पादन हुने ऊर्जाले नेपाली सेनालाई आफ्नो नियमित काममा थप सहजता हुने भन्दै उपरथी अधिकारीले सौर्य ऊर्जाले वातावरण स्वच्छ बनाउन तथा कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

ट्रयाक खुलेको २९ वर्षपछि मानपुर-डेडगाउँ सडक कालोपत्र हुँदै

दमौली (तनहुँ), ९ फागुन : गण्डकी प्रदेशको गौरव आयोजनाको सडक कालोपत्र सुरु भएको छ । तनहुँको मानपुर–डेडगाउँ–बुलिङटार सडकमा ट्र्याक खुलेको २९ वर्षपछि कालोपत्र सुरु भएको हो ।

मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्र थालिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।

अस्फाल्ट प्रविधिबाट तनहुँ खण्डमा कालोपत्र सुरु गरेको कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार सडक स्तरोन्नतिका लागि सोमबारदेखि फागुन २२ गतेसम्म उक्त सडक बन्द गरिएको छ ।

विसं २०५१ मा ट्र्याक खुलेको उक्त मार्गमा कालोपत्र हुने भएपछि स्थानीयवासी खुसी भएका छन् । उक्त खण्ड स्तरोन्नतिका लागि विसं २०७७ मङ्सिर ५ गतेदेखि काम सुरु भएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् रू बाइस करोड ८५ लाख ४१ हजार सात सय ९३ को लागतमा कालोपत्र सुरु गरिएको आचार्यले बताउनुभयो । रू ३५ करोड १४ लाख ७४ हजार एक सय नौ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले रू १२ करोड २९ लाख ३२ हजार तीन सय १६ मा कालोपत्रको ठेक्का पाएको थियो ।

सडक कालोपत्रको सम्झौता विसं २०७६ फागुन ७ गते भएको थियो । ठेक्का भएलगत्तै नेपालमा कोरोनाको महामारी सुरु भएको र लकडाउनका कारण काम सुरु हुन नसकेको निर्माण कम्पनीले जनाएको छ ।

तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरबाट सुरु भएर डेढगाउँको सिमानासम्मको एघार किलोमिटर खण्डमा सडक कालोपत्र हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ । उक्त सडकको चौडाई सात मिटर रहनेछ । सडकमा पाँच मिटरको कालोपत्र हुनेछ भने एक मिटरको नाला निर्माण हुनेछ ।

कालोपत्र सम्पन्न भएपछि यस क्षेत्रकै समृद्धिको ढोका खुल्ने घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताउनुभयो ।

समितिमा आबद्ध नहुन राष्ट्रिय स्वतन्त्र पार्टीको निर्देशन

काठमाडौँ, ९ फागुन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनस्तरका सामुदायिक सङ्घसंस्था र विकास निर्माणसँग सम्बन्धित समितिमा आबद्ध नहुन मातहतका कमिटी र कार्यकर्तालाई निर्देशन दिएको छ ।

रास्वपाले आज जारी गरेको प्रेस विज्ञप्तिमा यस्ता समितिको नेतृत्व छनोटमा हुने दलीय स्वार्थ प्रेरित प्रतिस्पर्धाको सदैव विपक्षमा रहेको जनाएको छ । विज्ञप्तिमा पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले पार्टीको नीतिविपरीत त्यस प्रकारको क्रियाकलाप गरेको वा गराइएको पाइए कारबाही गर्ने उल्लेख छ । उहाँले व्यक्तिगत उम्मेदवारीका क्रममा पार्टीको संस्थागत प्रतिनिधित्वका रूपमा प्रचारप्रसार नगर्न, रास्वपाका समर्थक सामूहिकरूपमा प्यानल बनाउन, सगोलमा भोट नमाग्न तथा अन्य दलसँग राजनीतिक अभिप्रायले समूह बनाएर विरोध, समर्थन, वक्तव्य नगर्न र नगराउनसमेत आग्रह गर्नुभएको छ ।“विद्यालय, खानेपानी, सिँचाइ, वनजस्ता सामुदायिक संस्थाको उपभोक्ता÷व्यवस्थापन समिति होस् या विकास निर्माणसँग सम्बन्धित स्थानीयस्तरका समिति नै किन नहुन्, तिनमा राजनीतिक भागबण्डा वा दलीय प्रतिस्पर्धाका आधारमा नेतृत्व छनोट गरिनु सर्वथा गलत प्रवृत्ति हो”, विज्ञप्तिमा उल्लेख छ, “जनहितका लागि गर्नुपर्ने काममा पनि भागबण्डा खोजेर जनतालाई सधैँ राजनीतिक पार्टीको अधिनमा राख्ने प्रवृत्तिको हामी विरोध गर्दछौँ ।” पार्टीले राजनीतिक दललाई आफ्नो राजनीतिक सीमामा बाँध्नुपर्छ भन्ने सन्दर्भमा कुनै सम्झौता नगर्नेसमेत विज्ञप्तिमा उल्लेख छ ।

पञ्चकोटमा १०८ कन्याबाट महायज्ञ शुभारम्भ, १५ दिनसम्म विभिन्न विषयमा सम्मेलन हुने

ढोरपाटन (बागलुङ), ९ फागुन : बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ आजदेखि सुरु भएको छ । पञ्चकोटका संस्थापक एवं यस महायज्ञका परिकल्पनाकार मुक्तिनाथ पीठाधीश्वर स्वार्मी कमलनयनाचार्यको आह्वानमा सुरु भएको यस महायज्ञको मुक्तिनाथदेखि नवलपारासीको त्रिवेणीधामसम्मका नौ वर्षीया एक सय आठ कन्याबाट आज महायज्ञको भएको हो । नेपालमा पहिलो पटक आह्वान गरिएको यस ब्रह्माण्डीय महायज्ञ यही फागुन २३ गतेसम्म सञ्चालन हुनेछ ।

त्यसैगरी महायज्ञअन्तर्गत भोलि बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले पाँच हजार पाँच सय ५५ किलोको महाघण्टको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको महायज्ञ आयोजक मूल समारोह समितिले जनाएको छ । विश्वमा शान्तिको सन्देश दिने उद्देश्यसहित देश दर्शन गरेर सो महाघण्ट पञ्कचकोटमा स्थापित गरिएको छ ।

महायज्ञस्थलमा ३१ फिट अग्लो धान्य मौलो राखिएको छ । मौलो २५ फिट जमिनमाथि रहने र त्यसलाई धानले पुर्ने महायज्ञको कार्यक्रम रहेको स्वामी कमलनयनाचार्यले बताउनुभयो । मौलो पुर्नका लागि आवश्यकपर्ने २१ हजार पाँच सय ५५ मुरी धान सङ्कल्पकर्ताहरुबाट सङ्कलन भएको र महायज्ञमा आफँै उपस्थित भएर अनुष्ठान गरी तथा विभिन्न माध्यमबाट नेपाली दाजुभाइ दिदीबहिनीहरुले सहयोग उपलब्ध गराइरहनुभएको पनि उहाँले जानकारी गराउनुभयो ।

आजैदेखि महायज्ञमा धनधान्याञ्चल सुरु भएको छ भने यहाँ ब्रह्माण्डका सबै देवीदेवतालाई आह्वान गरी यजन र पूजन गरिने र कार्यक्रम रहेको छ । त्यसैगरी यसै महायज्ञअन्तर्गत १५ दिनमा विभिन्न फरकफरक विषयमा विज्ञहरुका कार्यपत्र तथा विचारसहितका सम्मेलन पनि हुने कार्यक्रम रहेको छ ।

यसअन्तर्गत हरेक श्रीफल (नरिवल) मा विभिन्न ५४ प्रकारका हवनीय द्रव्यहरुको मिश्रण गरी एक लाख नरिवल हवन गर्ने पनि कार्यक्रम रहेको छ । अनुष्ठानसहित हरेक दिन महायज्ञमा वैदिक पूजन जारी रहनेछ भने महायज्ञस्थलमै हरेक दिन फरकफरक विषयका बहस तथा सम्मेलन पनि जारी रहनेछ ।
जलसम्पदाको संरक्षण गर्ने विश्वव्यापी सन्देश दिनका लागि पञ्चकोटमा निर्माणाधीन कलश निर्माण यस महायज्ञका उद्देश्यमध्ये एक रहेको छ । विश्वमा सङ्कटपूर्ण बन्दै गएको जलसम्पदाको संरक्षणको सन्देश पनि हामीले नेपालबाटै दिन सकिने उद्देश्य लिइएको र यस महायज्ञमा राष्ट्रिय बहसका कार्यक्रमलाई अघि सारिएको उहाँले बताउनुभयो ।

पञ्चकोट विकास परिषद्का अध्यक्ष दामोदर शास्त्री दाहालले राष्ट्रपति, प्रधानमन्त्रीसहित राष्ट्रियरुपमा विभिन्न व्यक्तित्वहरुको उपस्थिति हुने जानकारी दिनुभयो । उहाँले महायज्ञका लागि देशभरबाट साधुसन्तहरुको आगमन भएको र भारतलगायतका देशबाट आउनेक्रम जारी रहेको जानकारी पनि दिनुभयो ।

महायज्ञमा पुग्ने भक्तजनहरुका लागि भोजन र बासको व्यवस्था गरिएको छ । यसका लागि विभिन्न व्यक्ति एवं सङ्घसंस्थाले स्वतःस्फूर्तरुपमा सहयोग गर्नेक्रम जारी रहेको महायज्ञका आयोजकले जनाएका छन् ।

तापक्रम घटेपछि चीनमा उच्च मौसमी चेतावनी जारी

चीनको दक्षिणी भागमा तापक्रम घटेपछि र बेइजिङमा हिउँ परेपछि बुधबार गम्भीर मौसमी चेतावनी दिइएको छ । अधिकारीहरूले मुलुकको त्रिस्तरीय प्रणालीमा सबैभन्दा उच्च रहेको अरेन्ज चेतावनी जारी गरेका छन् । यसले दक्षिणमा औसत तापक्रम शुक्रबार छदेखि १२ डिग्री सेल्सियससम्म घट्न सक्ने चेतावनी दिएको छ ।

राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनएमसी) ले केही क्षेत्रमा तापक्रम २० डिग्री सेल्सियसभन्दा धेरैले घट्नसक्ने सामाजिक सञ्जालमा बताएको छ । सरकारी समाचार समिति सिन्ह्वाले एनएमसीले स्थानीय सरकारहरूसँग चिसो मौसमप्रति सावधानी अपनाउन आह्वान गरेको, जनतालाई न्यानोमा बस्न सल्लाह दिएको र बाली र जलीय उत्पादनको सुरक्षाका लागि आवश्यक उपाय गर्न आग्रह गरेको बताएको छ ।

बुधबार तापक्रम शून्यको नजिक रहेको बेइजिङमा रातभर हिमपात भएको छ । मानिसहरूले बिहान उठ्दा राजधानी सेतो रङले ढाकिएको देखेका थिए । सहरका राजमार्गहरूमा यातायात सुस्त भएको छ भने यात्री र साइकल चालकका लागि हिउँले भरिएका फुटपाथ जोखिमपूर्ण भएका छन् ।

नगरपालिकाका अधिकारीहरूले केही उपनगरीय क्षेत्रमा चार दशमलव एक सेन्टिमिटरसम्म हिमापात भएको बताएका छन् । उनीहरूले हिउँ परेका सडकहरूमा चेतावनी जारी गरेका छन् ।“आफ्नो भ्रमण कम गर्नुहोस्, सार्वजनिक बस र सबवेको प्रयोग गर्नुहोस् र आफ्ना कारहरूलाई विस्तारै चलाउनुहोस्, सुरक्षामा ध्यान दिनुहोस्”, सहर सरकारले मङ्गलबार साँझ अनलाइन विज्ञप्तिमा बासिन्दाहरूलाई सिफारिस गर्दै भनेको छ ।

सात महिनामा नौ खर्ब ८४ अर्ब ७७ करोडको वैदेशिक व्यापार गर्दा आठ खर्ब घाटा

काठमाडौँ, ९ फागुन : चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती सात महिना अवधिमा मुलुकले कुल रू नौ खर्ब ८४ अर्ब ७७ करोडको वैदेशिक व्यापार गर्दा रू आठ खर्ब ११ अर्ब ११ करोड बराबरको घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिना अवधिको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा रू आठ खर्ब ९७ अर्ब ९४ करोड ३९ लाख बराबरको आयात भएको छ भने रू ८६ अर्ब ८३ करोड नौ लाख १२ हजार बराबरको मात्रै निर्यात भएको छ ।गत आवको सुरुआती सात महिना अवधिको तुलनामा चालु आवको सोही अवधिमा आयात दुई दशमलव ३१ र निर्यात सात दशमलव ०७ प्रतिशतले घटेको छ । गत वर्षको तुलनामा समग्र व्यापार दुई दशमलव ७५ प्रतिशतले घट्दा व्यापार घाटा पनि एक दशमलव ७७ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ ।नेपालले सबैभन्दा ठूलो वैदेशिक व्यापार गर्ने मुलुक भारत हो । भारतसँग रू पाँच खर्ब ५४ अर्ब ७५ करोड ८८ लाखको आयात गर्दा रू ५८ अर्ब ७२ करोड २७ लाखको मात्रै निर्यात भएको छ । अर्थात् चालु आवको सात महिना अवधिमा भारतसँग मात्र नेपालले रू चार खर्ब ९६ अर्ब तीन करोड ६० लाख व्यापारघाटा व्यहोरेको छ ।त्यस्तै, दोस्रो ठूलो वैदेशिक व्यापार रहेको मुलुक चीनसँग नेपालले रू एक खर्ब ७१ अर्ब २३ करोड ६३ लाख बराबर व्यापार घाटा व्यहोरेको छ । माघ मसान्तसम्ममा चीनबाट रू एक खर्ब ७३ अर्ब नौ करोड ११ लाख बराबरको मालवस्तु आयात हुँदा रू एक अर्ब ८५ करोड ४८ लाख बराबरको निर्यात भएको छ ।नेपालले उच्च व्यापार घाटा व्यहोर्ने मुलुकको सूचीमा तेस्रो नम्बरमा संयुक्त अरब इमिरेट्स रहेको छ । चालु आवको सात महिना अवधिमा संयुक्त अरब इमिरेट्ससँग रू १५ अर्ब ६९ करोड ५४ लाखको आयात र रु एक अर्ब ५८ करोड ३३ लाख बराबरको निर्यात भएको छ । यो मुलुकसँगको व्यापार घाटा रू १४ अर्ब ११ करोड २० लाख छ ।नेपालले वैदेशिक व्यापार गर्ने मुलुकहरुमध्ये सबैभन्दा बढी व्यापार नाफा संयुक्त राज्य अमेरिकासँग रहेको छ । सात महिना अवधिमा अमेरिकाबाट रू नौ अर्ब १७ करोड ५८ लाख बराबरको वस्तु आयात हुँदा नेपालबाट रू नौ अर्ब ५४ करोड छ लाख बराबरको निर्यात भएको छ । अर्थात् समीक्षा अवधिमा अमेरिकासँगको नेपालको व्यापार नाफा रू ३६ करोड ४७ लाख बराबर छ । डेनमार्क, नर्वे, अफगानस्तान, माल्दिभ्सलगायत मुलुकसँग पनि नेपालको व्यापार नाफामा छ ।चालु आवको सुरुआती सात महिना अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । यो अवधिमा रू ७७ अर्ब ४१ करोड ९८ लाख बराबरको डिजेल, रू ३८ अर्ब ८२ करोड ६३ लाख बराबरको पेट्रोल र रू ३० अर्ब ३१ करोड २४ लाख बराबरको एलपी ग्याँस आयात भएको छ । त्यस्तै, फलामजन्य सामग्री रू २२ अर्ब ६६ करोड, रू १७ अर्ब ३८ करोड ३६ लाख बराबरको स्मार्टफोन आयात भएको भन्सार विभागले जनाएको छ ।

पीडितले समयमै न्याय पाए मात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि : राष्ट्रपति पौडेल

काठमाडौँ, ९ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले वास्तविक रूपमा पीडितले समयमै न्याय पाउन सकेमा मात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि भई न्यायपालिकाका उद्देश्य हासिल हुनसक्ने बताउनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बुझाउनुभएको सर्वोच्च अदालत, न्यायपरिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन ब्ुझ्दै राष्ट्रपति पौडेलले उक्त धारणा व्यक्त गर्नुभएको हो । जनताको आस्था, विश्वास र धरोहरको केन्द्र न्यायपालिकाले आगामी दिनमा पनि जनविश्वास प्राप्त गर्न सकोस भन्दै उहाँले न्याय सस्तो र सर्वसुलभ भई गरिब, असहाय, अशक्त र अल्पसङ्ख्यकको सहज पहुँचमा हुनुपर्नेमा जोड दिनुभयो ।

“न्याय छिटोछरितो, पीडितमैत्री भएमा न्यायालयको स्वतन्त्रता, अखण्डता र सक्षमता कायम रही रहनेछ भन्ने विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो, “न्याय क्षेत्रका सुधारका नीति, योजना र प्रतिवेदनलाई पूर्णरूपमा कार्यान्वयनमा लैजान सके कानुनी शासनको प्रत्याभूति हुने कुरा सुनिश्चित गर्न सहज हुन्छ ।”

राष्ट्रपति पौडेलले न्यायिक प्रक्रियामा सूचना प्रविधिको विकासलाई सुदृढ गर्दै प्रविधिमैत्री बनाई तारेख व्यवस्थापन, फैसला कार्यान्वयन प्रभावकारी बनाउने, दण्ड जरिवाना असुलीको अभियान सञ्चालन गर्नेलगायतका कार्यको माध्यमद्वारा न्यायिक कार्यमा शुद्धता, पवित्रता, निष्ठा, इमान्दारिता र जवाफदेहिता कायम गर्ने सन्दर्भमा सर्वोच्च अदालत तदारूकताका साथ लागेको छ भन्ने विश्वास व्यक्त गर्नुभयो । न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र गतिशील एवं न्यायको मर्मलाई दरिलो बनाई यसप्रतिको जनविश्वास थप मजबुत बनाउँदै स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “मुद्दाको चाप र मुद्दा फछ्र्योटको हालको अवस्था नै सर्वोच्च अदालतको गहन चुनौती र यसको सहज अवतरणको खोजी गर्नु हो । यसको निराकरणका लागि कानुनमा आवश्यक सुधार गर्नुपर्ने देख्दछु ।”

कांग्रेस महासमिति बैठक : पहिचानको आन्दोलनको विषय उठान

गोदावरी (ललितपुर), ९ फागुन : नेपाली कांग्रेस महासमिति बैठकमा पार्टीका कोशी प्रदेशका जिल्ला सभापतिहरुले कोशी प्रदेशमा भएको पहिचानको आन्दोलनको विषयको उठान गर्नुभएको छ ।

कांग्रेस धनकुटाका सभापति दिनेश राईले कोशीमा प्रदेशको नामकरण विषय पेचिलो बनिरहँदा कांग्रेस नेतृत्वले चासो नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । “हामीले कोशीमा खुलेर राजनीतिक गतिविधि गर्न सकिरहेका छैनौँ । कार्यक्रम समेत गर्न सकिएको छैन”, उहाँले भन्नुभयो ।

कोशीको पहिचानको विषयमा महासमिति बैठकले निर्णय दिन नसके पार्टीका १४ जिल्लाका सभापति मिलेर समाधानको उपाय खोज्ने सभापति राईको भनाइ थियो ।

कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले गठबन्धन गर्ने विषयको कुरा उठान गर्नुभयो । “आफ्नो मान्छे परे गठबन्धन ठीक, नपरे बेठीक भन्ने परिपाटीको कहिले अन्त्य हुन्छ ?”, उहाँले प्रश्न गर्नुभयो । कोशीमा कांग्रेसले गठबन्धन गर्दा पार्टीलाई के घाटा भयो भन्दै नेतृत्वलाई प्रश्न गर्नुभयो ।

कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले महासमिति बैठकको निर्णय पार्टीको केन्द्रीय समितिले उल्टाउन नपाउने बताउनुभयो । पार्टीको क्रियाशील सदस्यता वितरण गर्ने अधिकार जिल्ला नेतृत्वलाई दिनुपर्ने उहाँको माग थियो ।

स्वच्छ खानेपानी पाउनु सबैको नैसर्गिक अधिकार होः मन्त्री यादव

काठमाडौँ, ९ फागुन : खानेपानीमन्त्री महिन्द्रप्रसाद राय यादवले स्वच्छ खानेपानी उपभोग गर्न पाउनु सबै नेपालीको नैसर्गिक अधिकार भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा सदस्य शान्ति श्रेष्ठको नेतृत्वमा गोकर्णेश्वर नगरपालिका वडा नं ५, ६, ८ र ९ का खानेपानीको समस्या भोगिरहेका जनताद्वारा प्रस्तुत ज्ञापनपत्र बुझ्दै उहाँले खानेपानीसम्बन्धी जनताको माग न्यायोचित रहेकाले यसलाई सम्बोधन गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री यादवले भन्नुभयो, “काठमाडौँ उपत्यकामा वितरण गर्न ल्याइएको खानेपानीको सङ्कलन केन्द्र वरपरका प्रभावित जनताले पानी पाउनुपर्छ भन्नेमा दुई मत छैन ।

स्वच्छ र शुद्ध खानेपानी पाउनु सबैको नैसर्गिक अधिकार हो ।” उहाँले त्यस क्षेत्रका प्रतिनिधिसभा सदस्य, स्थानीय तहका प्रमुख तथा खानेपानी वितरणसँग सम्बन्धित सबै सरोकारवालासँगको छलफलपछि नागरिकका माग सम्बोधन गरिने बताउनुभयो ।

ती चार वडामा बसोबास गर्ने करिब १५ हजार घरधुरीमा रहेका ६० हजार बासिन्दाले खानेपानीको समस्या झेल्दै आएको ज्ञापन पत्रमा उल्लेख छ । उक्त नगरपालिकाको वडा नं ९ मा मेलम्ची खानेपानी आयोजनाका ठूला पानी ट्याङ्की निर्माणाधीन छन् । सुन्दरी जल खानेपानी आयोजनाको मूल पाइप पनि सोही नगरपालिकाका विभिन्न तीन वटा वडा भएर गएको छ ।

दुवै खानेपानी आयोजनाबाट प्रभावित त्यस क्षेत्रमा २० वर्षदेखि खानेपानीको अभाव हुँदैआएको छ । बोरिङ गरी जमिनमुनिबाट पानी निकाल्ने क्रममा ग्याँस निस्केर टोल र समाज नै आतङ्कित हुने गरेको पनि ज्ञापनपत्रमा उल्लेख छ । सो अवसरमा सांसद श्रेष्ठले ‘बत्तीमुनि अध्यारो’ भन्ने उखानजस्तै यहाँका जनतालाई आगामी सुक्खायाममा काकाकूलको अवस्था आउन नदिनेतर्फ ध्यान पुर्‍याउन मन्त्री यादवको ध्यानाकर्षण गराउनुभयो ।

चिस्यान केन्द्र बनेपछि किसान लाभान्वित, ‘सिजन’ नभए पनि मुस्ताङका स्याउ बजारमा

म्याग्दी, ९ फागुन : मुस्ताङका किसानले चिस्यान केन्द्रमा भण्डारण गरेर बेसिजन पनि स्याउ बेच्न थालेका छन् । स्याउको याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न बेसिजनमा बिक्रीका लागि चिस्यान केन्द्र बनाएर स्याउ भण्डारण गरेका थिए । चिस्यान केन्द्रमा भण्डारण गर्ने सुविधा भएपछि लामो समय खुला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर क्षति व्यहोर्नुपर्ने समस्या हटेको किसानहरूले बताएका छन् ।

घरपझोङ गाउँपालिका–२ मार्फाका विश्व लालचनले बेसिजनमा बिक्री गर्न आठ हजार किलो स्याउ चिस्यान केन्द्रमा भण्डारण गरेको बताउनुभयो । “असोज–कात्तिकमा व्यापारीले जति भन्यो त्यति मूल्यमा स्याउ बेच्नुपर्छ”, किसान लालचनले भन्नुभयो, “चिस्यान केन्द्रमा कात्तिकमा राखेको स्याउ बेसिजनमा बिक्री गर्न थालेका छौँ ।”

“गुणस्तर, आकार र तौलमा कुनै फरक छैन”, चिसो घटेर मुस्ताङमा पर्यटक आगमन हुन थालेसँगै स्याउ बेच्न थालिएको हो । केही वर्षअघिसम्म चिस्यान केन्द्रको सुविधा नहुँदा मुस्ताङका किसानले घरको कोठा, चिसो ठाउँमा स्याउ भण्डारण गर्दै आएका थिए । त्यसरी राख्दा तापक्रम नमिलेर कुहिने गरेको थियो । बिक्री नहुने स्याउ घोडा, खच्चर, गाईगोरुलाई खुवाउने गरेका थिए । चिस्यान केन्द्रमा भण्डारणको सुविधा भएपछि किसानले भनेको मूल्य र बजार दुवै पाउन सहज भएको मार्फाका किसान राजु लालचनले बताउनुभयो ।

“पहिले बोटबाट टिपेको स्याउ आफ्नै तरिकाले भण्डारण गरेर राख्दा ७० प्रतिशतभन्दा बढी कुहिएर फाल्नुपर्ने समस्या थियो”, उहाँले भन्नुभयो, “सिजनमा प्रतिकिलो रु ९० देखि एक सय पर्ने स्याउ चिस्यान गृहमा राख्दा बेसिजनमा प्रतिकिलो रु एक सय ८० देखि दुई सय सम्ममा बिक्री हुने गरेको छ ।”

राजु र विश्वले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन कार्यक्रमको ८५ प्रतिशत अनुदानमा १०–१० मेट्रिक टन क्षमताको चिस्यान गृह बनाउनुभएको थियो । परियोजनामार्फत मुस्ताङमा पाँचवटा चिस्यान गृह निर्माण भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निमित्त प्रमुख नेत्र भट्टले बताउनुभयो । “वातावरण अनुकूल बनाउने उपकरण जडान भएको चिस्यान गृहमा भण्डारण गर्दा बजार नपाउने समस्या हट्नुका साथै बढी मूल्यमा बिक्री गर्न पाएका छन्”, उहाँले भन्नुभयो, “मुस्ताङमा प्रभावकारी भएकाले चिस्यान गृहको माग बढी छ ।” उहाँका अनुसार परियोजनाको सहयोगमा निर्माण भएको चिस्यानगृहमा यसपालि पाँच हजार किलो स्याउ भण्डारण गरेर राखिएको छ ।

मुस्ताङको एक हजार चार सय ७५ हेक्टर क्षेत्रफलमा स्याउखेती भएकामा पाँच सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ ।स्याउ जोन मुस्ताङका प्रमुख भट्टले जिल्लाभर चार हजार नौ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएकोमध्ये रु ४९ करोड मूल्यबराबरको चार हजार चार सय ७७ दशमलव पाँच मेट्रिक टन स्याउ देशका विभिन्न ठाउँमा निकासी भएको बताउनुभयो । स्याउ मुस्ताङबाट निकासी हुने प्रमुख कृषि उपज हो ।

म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायतका सहरका व्यापारी बगैँचामा नपाक्दै अग्रिम पैसा दिएर ठेक्कामा स्याउ खरिद गर्छन् । मुस्ताङ घुम्न आउने पर्यटकले पनि कोसेलीका रूपमा स्याउ किनेर लैजाने गर्छन् । मुस्ताङमा ‘रेडडेलिसिएस, रोयल डेलिसिएस, रिचारेड डेलिसिएस र गोल्डेन डेलिसिएस’ जातका स्याउखेती भएको छ । सडक यातायातको सुविधासँगै सहज बजार र राम्रो मूल्य पाउन थालेपछि मुस्ताङका किसान स्याउखेतीमा आकर्षित भएका छन् । कृषि ज्ञान केन्द्र कार्यालय मुस्ताङका अनुसार गत वर्षसम्म कुल एक हजार चार सय ७५ हेक्टर जमिनमा स्याउखेती भएको थियो ।

यस वर्ष २० हेक्टर क्षेत्रफलमा स्याउखेती विस्तार भएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले बताउनुभयो । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन र स्थानीय तहको कृषि शाखाले अनुदानमा स्याउका बिरुवा वितरण, सिँचाइ, चिस्यानगृह निर्माणलगायत काममा किसानलाई सहयोग गर्दै आएका छन् ।
 

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा

काठमाडौँ, ९ फागुन : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मधेस प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज दिउँसो देशभर नै बदली र वर्षाको सम्भावना छ । तापक्रम स्थिर रहनेछ । “अहिले मधेस प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भएको छ, दिउँसो सबै प्रदेशका एक–दुई स्थानमा भए पनि वर्षा हुने देखिन्छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ”, उहाँले राससलाई भन्नुभयो ।मौसमविद् अधिकारीले तुलनात्मकरूपमा पछिल्ला दिनमा देशका सुदूरपश्चिम र कर्णाली प्रदेशमा बढी असर रहेकामा आज उक्त प्रणाली गण्डकी, बागमती हुँदै पूर्वी भेगतर्फ सरिरहेकाले बढी प्रभाव हुने अनुमान गरिएको बताउनुभयो । आजभन्दा भोलि बिहीबार बढी वर्षाको सम्भावना रहेको र शुक्रबारदेखि मौसममा क्रमिकरूपमा सुधार हुने महाशाखाले जनाएको छ ।महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली हुनेछ । मधेस प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनर चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ ।आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थान तथा देशका बाँकी पहाडी भागका एक वा दुई स्थानमा मेघगर्ज र चट्याङसहित सामान्य वर्षा हुने सम्भावना छ ।

‘देशको समृद्धिका लागि प्रमुख दलहरूबीच सहकार्य हुनुपर्छ’- सांसद कुसारी

काठमाडौँ । संसद्को कानुन निर्माण प्रक्रियामा प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्वले सहमति र सहकार्य गर्दै आएका छन् । दलहरूबीच अझै कतिपय विषयमा सहमति हुन नसकेको र त्यसको प्रभाव सदनमा देखिएको छ । कानुन निर्माण प्रभावकारी ढङ्गबाट हुन सकेको छैन । सङ्घीय संसद्ले बितेका १५ महिनामा कानुन निर्माणमा जति सक्रिय भूमिका निर्वाह गर्नुपर्ने थियो, त्यसो नगरेको आलोचना खप्नुपरेको छ ।

कतिपय प्राविधिक विषय, परिस्थिति र अडानबाट विधेयकहरू संसद्मा पेस हुन सकेका छैनन् । कानुन निर्माणमा केन्द्रित हुनुपर्ने संसद् र सांसदमा किन अलमल भइरहेको छ भन्ने प्रश्न जनस्तरमा उठिरहेको छ । आगामी दिनमा जति पनि नयाँ कानुन निर्माण र संशोधनका काम छन्, तिनलाई द्रुतगतिमा पूरा गर्नुपर्ने बताउँछिन् नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँकुसारी ।

मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनका सहयात्री नेपाली कांग्रेस, माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी एमालेबीच समझदारी भएर देशबाट निरङ्कुशताको अन्त्य, गणतन्त्र स्थापनालगायत उपलब्धि हासिल भएका हुन् । राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनको उपलब्धिका रूपमा रहेको नेपालको संविधान र सङ्घीयताको पूर्ण कार्यान्वयनका लागि यिनै प्रमुख राजनीतिक शक्तिबीच फेरि पनि साझा दृष्टिकोण, चिन्तन र अठोट आवश्यक रहेको आवाज उठिरहेको छ । सत्तापक्ष र प्रतिपक्षको उग्रविरोधी भाव छाडेर हामी जनताका प्रतिनिधि हौँ भन्ने भावनाले काम गर्नुपर्छ । तर त्यसलाई अहिले हामीले बिर्सिएका छौँ । जनता मेरा मात्र हुन् उनीहरूले हामीलाई मात्र भोट हाल्नुपर्छ भन्नेजस्तो मनोविज्ञान दलका नेताहरूमा अझै रहेको उनको ठम्म्याइ छ ।

“दलका नेताहरूले हामी जनताका प्रतिनिधि हौँ, देशहितका लागि आएका ऐन, नियममा साझा धारणा आवश्यक छ भन्ने मान्यता अस्वीकार गर्नुहुँदैन । सदनमा त्यो अभ्यासको कमी महसुस भएको छ । सत्तापक्षले जतिसुकै असल काम गरे पनि प्रतिपक्षले अस्वीकार गर्ने परम्परालाई संसदीय धर्मजस्तै बुझिएको छ । देश विकासका लागि प्रमुख दलहरू मिलेर जाँदा नै अपेक्षित परिणाम प्राप्त हुन्थ्यो । त्यो कार्य जनताका लागि धर्मजस्तै हुन्थ्यो । विधेयक, नियम र कानुन समयमै बन्थे । कहिलेकाहीँ सदन र संसदीय समितिका बैठक ‘कोरम’ नपुगेर स्थगन हुनाको कारण पनि शीर्षनेतासँगै ठोक्किएको सुनिन्छ,”भन्छिन् सांसद मियाँकुसारी ।

उनी भन्छिन्–जिल्ला हुन् वा निर्वाचन क्षेत्रका आयोजना देखाएर जनप्रतिनिधिसँग जनताले ‘त्यहाँ त बजेट हाल्नपर्यो नि’ भन्ने भाषामा आशा व्यक्त गरेका हुन्छन् । मतदाताले केन्द्रीय सांसदसँग त्यो माग गर्नु स्वाभाविक नै हो । किनभने हिजो निर्वाचनमा भोट माग्न जाँदा उम्मेदवारले तिनै आयोजना अघि बढाउने प्रतिबद्धता जनाएका हुन्छन् । जनताका आशालाई सम्बोधन गर्न एक–दुई योजनाका फाइल बोकेर मन्त्रालय धाउनुपर्ने हाम्रो पनि बाध्यता छ । सांसद भएपछि आफ्नो क्षेत्रमा योजना पार्नुपर्छ भन्ने जनताको मनोविज्ञान छ, त्यसअनुरुप अघि बढ्ने क्रममा कानुन बनाउने व्यक्तिले फाइल बोक्न हुन्न भन्ने होइन । चुनावमा बाटो, कुलो, खानेपानी र विद्यालय भवन बनाउँछु भनेपछि बोलेका कुरा गर्दिनुस् है भन्ने जनताको भनाइ जायज छ ।

भ्रष्टाचार जसले गर्दिनँ भन्छ त्यसैले बढी भ्रष्टाचार गर्दोरहेछ भनेजस्तो देखिन्छ । मुलुकमा गणतन्त्र स्थापनापछि पनि जति सरकार बने त्यसको तुलनामा माओवादी नेतृत्वमा भ्रष्टाचार नियन्त्रमा के–कति काम भए भन्ने पक्षलाई सबैले हेर्नुपर्छ । ललिता निवास, नक्कली भुटानी शरणार्थी, सुन तस्करी प्रकरण र बाँसबारी छालाजुत्ताको जग्गा अपचलनमा संलग्न सबैलाई नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याउने काम वर्तमान सरकारले गरेको छ । त्यसमा संलग्न कुनै दल, नेता, उद्योगी, व्यापारी नभनी सबैलाई हिम्मतकासाथ अनुसन्धानको दायरामा ल्याउने यो सरकारको सराहनीय कामको सबै क्षेत्रबाट प्रशंसा हुनुपर्छ । उनीहरूलाई अनुसन्धान, कानुन र प्रमाणका आधारमा सजाय हुनुपर्छ । कर्मचारीतन्त्र, व्यापारी र राजनीतिक बिचौलियाको आडमा भ्रष्टाचारलाई मलजल गरिएकाले त्यसविरुद्ध जाँदा कतिपय अवस्थामा एक्लो हुनुपर्ने अवस्था हुनसक्छ ।

आफ्नो निर्वाचन क्षेत्र र त्यहाँका जनताका अपेक्षाबारे खुलेर कुरा गर्दै उनले भनिन्– दुर्गम पहाडी जिल्ला भए पनि सडक विस्तार र पूर्वाधार विकासका हिसाबले रुकुमपश्चिम विगतका तुलनामा उन्नत छ । अझै पनि त्यहाँको आवश्यकताको प्राथमिक सूचीमा सडक विस्तार र कालोपत्र गर्नै नै छ । संसारभर नेपाली जाति विश्वासिलो भनी कमाएको प्रतिष्ठा अहिले स्वदेशमै कमजोर हुन पुग्यो । हामी आफैँले आफैँलाई कति विश्वास गरेका छौँ भन्ने अहिले ठूलो प्रश्न छ । राष्ट्रियताका मुद्दामा पुराना र ठूला दलले जे–जे बिगारे, कमजोरी गरे त्यसलाई क्रमशः सुधार्ने प्रयास अहिले भइरहेको छ । तत्कालको सुविधा हेरेर विदेश जान हामी लालायित छौँ । रुसी सैनिकमा भर्नालगायत कतिपय अवस्थामा ‘लोभले लाभ, लाभले विलाप’ भनेजस्तो भएको छ । अर्काको देशमा गएर मर्न तयार हुने आफ्नो देशमा कुनै काम गर्न नचाहने सोच अन्त्य हुनुपर्छ । अप्ठेरो पर्दा देश सम्झने, सुविधा पाउँदा उतै रमाउने, नागरिकता त्याग्न पछिनपर्ने प्रवृत्ति ठीक होइन ।

एकातर्फ युरोप र अमेरिका जानेले नेपालमा रहेको आफ्नो सबै सम्पत्ति बेचबिखन गरी लगेका छन् भने अर्कोतर्फ खाडीमा जाने युवाको ‘रेमिट्यान्स’का आधारमा देश चलेको छ । आर्थिक रूपमा सम्पन्न, शिक्षित, डाक्टर, इञ्जिनियर, उद्योगी आफ्नो जायजेथा बेचेर पलायन हुने प्रवृत्ति बेठिक हो । सरकारको देश विकास र रोजगारी दिलाउने मामिलामा पुर्याउनुपर्ने दूरदृष्टि तथा भूमिका स्पष्ट र प्रभावकारी नहुँदा पनि विदेश युवा पलायनलाई सहयोग पुर्याएको छ । युवाको विदेश पलायनबाट राष्ट्रलाई पुग्ने क्षतिबारे जाने व्यक्ति स्वयं र सत्ता चलाउने राजनीतिक पार्टीले सोच्नपर्ने विषय हो ।

अब केही गर्नुपर्छ भन्ने सोच भएका हामी केही युवा विभिन्न तहका जिम्मेवारीमा र संसद्मा पुगेका छौँ । नेपाललाई समृद्ध तुल्याउन कृषिक्षेत्रमा आमूल परिवर्तन हुनेगरी कार्ययोजना बनाएर लागु गर्नुपर्छ । आफैँ पनि कृषिमा संलग्न भएर पशुपालन र जैविक खेती गर्ने सोच बनाएकी छु । यस क्षेत्रलाई प्रोत्साहन गर्न किसानका उत्पादन सरकारले खरिद गरिदिनुपर्छ । संसारमा भएका नेपालीले त्यसमै लगानी गर भन्नुपर्छ । कुनै काम होस् वा कतै केही समस्या झेल्नुपरेमा जनताले जनप्रतिनिधिसँग सम्पर्क गर्ने र उनीहरूलाई योग्यता र क्षमताअनुरुप रोजगारी हामीले दिनुपर्छ । अहिले हामी ‘टिम’ बनाएर त्यो दबाब अभियानमा जुटेका छौँ । देश हामीले बनाउनुपर्छ, बनाउन सकिन्छ, बन्छ, ढुक्क हुनुहोस् मिलेर काम गरौँ ।

सांसद कुसारीको परिचय

सांसद कल्पना मियाँकुसारी कर्णाली प्रदेश रुकुमपश्चिम सानीभेरी–६ कोटगाँउका स्थायी बासिन्दा हुन् । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट राजनीतिमा प्रवेश गरेकी नेत्री कोसारीसँग सङ्गठनको सचिव र उपाध्यक्ष भएर काम गरेको अनुभव छ । माओवादी केन्द्रको भ्रातृ सङ्गठन वाइसिएलमा समेत रही केही वर्ष काम गरेकी सांसद मियाँकुसारी प्रतिनिधिसभा महिला तथा समाजिक समिति सदस्य पनि हुन् ।

(सांसद कल्पना मियाँकुसारीसँग नारायण न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश)

लमजुङका भूकम्पपीडित विपन्न नयाँ घरमा

लमजुङ, ९ फागुन : आफू बस्दै आएको घर दुई वर्षअघिको भूकम्पले ध्वस्त बनाइदिएपछि मस्र्याङ्दी गाउँपालिका–९ का ७८ वर्षीय बाबुराम कामीको शिरमाथिको छानो आकाश बनेको छ । अति दुःख गरेर बनाएको एउटा घर भूकम्पमा भत्काइदिएपछि सम्हालिन नसक्नेगरी मन कुँडियो । ‘जहाँ गहिरो, त्यही पहिरो’ भनेझै उहाँमाथि एकपछि अर्को समस्या थपिँदै गयो । उहाँले भन्नुभयो, “दुःखीको भरोसा भगवान् हुन्छन् भनेर सहदै गएँ, मैले हिम्मत हारिनँ ।

प्यारालाइसिसले हातखट्टा राम्रोसँग नचल्ने र अलिअलिमात्र बोल्ने उहाँ र उहाँकी श्रीमती भूकम्पले भत्किएको घरमै जोखिम मोलेर बस्दै आउनुभएको थियो तर अहिले परिस्थिति परिवर्तन भएको छ । दुई छाक खान वृद्धाभत्ताको सहारा लिँदै आएका उहाँका लागि यतिबेला नयाँ घर पुनःनिर्माण भएर चाबी पाएसँगै मुहारमा खुसी छाएको छ ।

मस्र्याङ्दी गाउँपालिका–९, ८, ३ वडाका आर्थिक अवस्था कमजोर भएका बाबुरामजस्तै धेरै भूकम्प प्रभावितको मुहार उज्यालो भएको छ । उहाँका छिमेकीले पनि टहरोमा कष्टकर र डरैडरमा रात कटाउँदै आएकामा अहिले नयाँ घर पाएपछि खुसी लागेको बताएका छन् । भूकम्पपीडित तिलकबहादुर भण्डारी, गोमे कामी, टीकामाया भण्डारीलगायत विपन्न वर्गले घरसँगै जीविकोपार्जनका लागि सहयोग मिल्दा आफूहरूलाई धेरै सहज भएको बताउनुभएको छ ।

लमजुङमा क्रियाशील ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) र क्याथोलिक रिलिफ सर्भिस (सीआरएस)को साझेदारीमा लमजुङ पुनर्लाभ परियोजनाअन्तर्गत निजी आवास पुनःनिर्माण गरी गत आइतबार मस्र्याङ्दीका १७ भूकम्पपीडितको घर पुनःनिर्माण गरेर उनीहरूलाई हस्तान्तरण गरिएको छ । चालु आर्थिक वर्षमा निर्माण सकेको १७ घरका लागि आरसिडिसी सीआरएसले रु ९२ लाख ५३ हजार ४६ लगानी गरेको आरसिडिसीका अध्यक्ष राजेन्द्र बोहराले बताउनुभयो । उहाँका अनुसार उक्त रकमबाट मस्र्याङ्दी गाउँपालिका–९ मा १३, ८ मा तीन घर र वडा नं ३ मा एक घर पुनःनिर्माण गरिएको छ ।

उक्त परियोजना हेर्ने इन्जिनियर रवि थापाका अनुसार जस्तापाताको छाना भएको दुईकोठे घर र शौचालय निर्माण गरिएको छ । साथै खानेपानी धारा घरघरमै लगिएको छ । निजी आवास पुनःनिर्माणका लागि आरसिडिसी र सीआरएसले प्रतिघर रु पाँच लाख ४५ हजार तीन सय ४९ का दरले लगानी भएको छ । साथै उक्त सङ्ख्यामध्ये १५ लाभग्राहीलाई जीविकोपार्जनका लागि रु १५ हजारका दरले सहयोग गरेको छ ।

त्यस्तै सो गाउँपालिका–९ ढाँडमा कृषि उब्जाउका लागि ढाँड सिँचाइ परियोजनाअन्तर्गत आरसिडिसी र सीआरएसले रु १३ लाख ४९ हजार तीन सय २३ बराबरको छ सय मिटर लामो सिँचाइ योजनासमेत निर्माण गरेको आरसिडिसीका अध्यक्ष बोहोराले बताउनुभयो । उहाँका अनुसार यसबाट १६ घरधुरीका बासिन्दा लाभान्वित हुनेछन् । विसं २०७८ जेठ ५ गते बिहान मस्र्याङ्दी गाउँपालिका–८ भुलभुले केन्द्रविन्दु भएर पाँच दशमलव आठ रिक्टर स्केलको भूकम्प भएको थियो । भैँचालोबाट लमजुङका दुई हजार दुई सय घरमा क्षति भएको थियो ।

मस्र्याङ्दी गाउँपालिकाले विपन्नका ३० घर पुनःनिर्माणका लागि सिफारिस गरेकामा आरसीडिसी सीआरएसले गत वर्ष नौ घर र यो वर्ष १७ घर गरी २६ घर पुनःनिर्माण सम्पन्न गरेको छ । बेँसीसहर नगरपालिका र मस्र्याङ्दी गाउँपालिका गरी ५० घर पुनःनिर्माणको जिम्मेवारी यी संस्थाले लिएका छन् ।

सीआरएसका जिल्ला संयोजक कृष्णदेव जोशीले २०७२ वैशाख १२ गतेको भूकम्पपछि नेपालमा सिआरएस सक्रिय भएको र यो संस्थाको सहयोगमा हालसम्म ३२ हजार निजी आवास पुनःनिर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार लमजुङका तीन सय ५० परिवारलाई प्रत्यक्ष लाभ हुनेगरी सहयोगका कार्यक्रम सञ्चालन गरिएका छन् ।

मालढुङ्गा क्षेत्रको बस्ती संरक्षणका लागि कालीगण्डकीमा तटबन्ध

ढोरपाटन (बागलुङ), ९ फागुन -बागलुङ नगरपालिका–१ स्थित मालढुङ्गा क्षेत्रको बस्ती कालीगण्डकी नदीको उच्च जोखिममा परेपछि तटबन्ध गर्न थालिएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङमार्फत तटबन्ध निर्माण जारी छ ।

चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ७० लाखबाट मालढुङ्गा बस्ती संरक्षणको काम भइरहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङका इञ्जिनियर दीपेन्द्र पौडेलले रासस जानकारी दिनुभयो । कालीगण्डकीले धार परिवर्तन गर्दा केही वर्षयता कटान तीव्र हुँदै आएको छ । अघिल्लो वर्ष पनि रु ६५ लाख लागतमा केही क्षेत्रमा तटबन्ध गरिएको थियो । लक्ष्मीनारायण मन्दिरसँगै मालढुङ्गाबाट खुदुर्के घाटसम्मको बस्ती संरक्षण गर्न थालिएको इञ्जिनियर पौडेलले बताउनुभयो । गत पुस महिनादेखि निर्माण समिति गठन गरी तटबन्धको काम धमाधम भइरहेको छ ।कालीगण्डकी निरन्तर दोहन हुँदा बर्खामा पानीको बहाव बस्तीसम्म पुग्ने गरेको थियो । तटबन्ध निर्माणपछि मालढुङ्गाको तटीय क्षेत्रका बस्ती, प्रहरीचौकी, लक्ष्मीनारायण मन्दिरलगायत संरचना जोगिने इञ्जिनियर पौडेलले बताउनुभयो ।इन्जिनियर पौडेलले भन्नुभयो, “बर्खामा कालीगण्डकी उर्लेर आउँदा बस्तीमा बस्ने जोखिम बढेको थियो, अघिल्लो वर्ष केही भागमा काम भयो भने अहिले पनि करिब ४५ मिटर लामो तटबन्ध निर्माण हुन्छ, जसका लागि निर्माण समिति गठन भएर काम सुरु भएको छ, हालसम्म ३० प्रतिशत काम सम्पन्न भएको छ, आगामी असार मसान्तसम्म सम्पूर्ण काम पूरा गर्न ठेकेदारलाई निर्देशन दिइएको छ ।”तटबन्ध निर्माण समितिका अध्यक्ष भुवन खड्काले पानीमुनि दुई मिटर पक्की पर्खाल उठाउने काम भइसकेको भन्दै अहिले त्यसमाथि ग्याविनसहितको ‘पर्खाल’ उठाइरहेको बताउनुभयो । बागलुङ प्रवेशद्वार नजिकै ऐतिहासिक लक्ष्मीनारायणको मन्दिर बन्दै गएको र तटबन्ध बनेपछि यहाँका धेरै घर सुरक्षित हुने उहाँले दाबी गर्नुभयो । “तटबन्धको कामलाई तीव्र बनाएका छौँ, पर्खाल उठाएर ढलान गर्ने काम भइरहेको छ, सम्झौताऋनुसार आठ मिटर उचाइ, ४५ मिटर लम्बाइ हुनेछ, सोअनुसार काम गरिरहेका छौँ”, अध्यक्ष खड्काले भन्नुभयो ।

कांग्रेस महासमिति बैठक : आजदेखि विभिन्न प्रतिवेदनमा छलफल हुँदै

ललितपुर, ९ फागुन : नेपाली कांग्रेसको ललितपुरमा जारी महासमिति बैठकका क्रममा मङ्गलबार प्रस्तुत प्रतिवेदनमा आजदेखि समूहगत छलफल हुँदैछ । बैठकमा उपसभापति, महामन्त्रीद्वय, प्रवक्ता र लेखा समितिका संयोजकले पेस गरेको प्रतिवेदनमा छलफल गर्न चार समूह बनाइएको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागका संयोजक मीनबहादुर विश्वकर्माले राससलाई बताउनुभयो ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव अर्का महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव, पार्टीप्रवक्ता डा प्रकाशशरण महतले पेस गर्नुभएको आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले पेस गर्नुभएको लेखा परीक्षण प्रतिवेदन प्रस्तावमा समूहगत छलफल हुँदैछ ।

परराष्ट्रमन्त्री साउद आज भारत भ्रमणमा जाँदै

काठमाडौँ-परराष्ट्रमन्त्री नारायण प्रकाश साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन आज बुधबार नयाँदिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेट गर्नुहुनेछ ।रायसिना संवाद एक बहुपक्षीय मञ्च हो जसलाई अब्जर्भर रिसर्च फाउन्डेसनले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो ।

मेलम्चीको आयोजनामा भएको निःशुल्क आँखा शिविरबाट एक हजारभन्दा बढीले लिए सेवा

सिन्धुपाल्चोक, ९ फागुन : तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ र तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा एक हजार ५१ जनाले सेवा लिएका छन् ।

मेलम्ची, पाँचपोखरी थाङपाल, इन्द्रावती र हेलम्बुका सात स्थानमा हालै शिविर आयोजना गरिएको थियो । मेलम्ची नगरपालिका–४  पिप्लेमा भएको शिविरमा एक सय ९० जना, मेलम्ची–७ मा एक सय ५०, मेलम्ची ११ मा एक सय ६६, इन्द्रावती वडा नं १२ भीमटारका एक सय १६, हेलम्बु गाउँपालिका–२ किउलका ७३, पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्साका एक सय ८४ र तिपेनीका एक सय ७२ गरी एक हजार ५१ जनाले सेवा लिएका हुन् ।शिविरमा सेवा लिन आएकामध्ये एक सय २२ जनामा मोतियाविन्दु फेला परेको र एक सय ३९ जनाको मोतियाविन्दु शल्यक्रिया गरिएको तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीका प्रमुख आशिष भट्टले जानकारी दिनुभयो । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सुष्मा दुवाल नेतृत्वको टोलीले शल्यक्रिया गरेको होे । मेलम्ची नगरपालिकासँगको समन्वयमा मोतियाविन्दु शिविर अन्य सम्बन्धित पालिकाको समन्वयमा आँखा जाँच शिविर सञ्चालन गरिएको केन्द्रप्रमुख भट्टले जानकारी दिनुभयो ।

मध्यपूर्वको ‘भयानक मानव मूल्य’ प्रति युवराज विलियम चिन्तित

बेलायती सिंहासनका उत्तराधिकारी युवराज विलियमले मङ्गलबार इजराइल–हमास द्वन्द्वबारे दुर्लभ बयान जारी गर्दै ‘भयानक मानव मूल्य’ माथि आफ्नो चिन्तालाई रेखाङ्कित गर्नुभएको छ । युद्धका कारण हुने मानवीय पीडा र यहुदीविरोधी भावनामा वैश्विक वृद्धिलाई पहिचान गर्नका लागि विलियमले यो साता लन्डनमा भ्रमणअघि उक्त टिप्पणी गर्नुभएको हो ।

उहाँ मानवीय सहायता कार्यकर्ताहरूसँग भेट्ने र यहुदीविरोधी भावनाका बारेमा विभिन्न समुदायका युवाहरूसँग एक सभाघरको छलफलमा सहभागी हुनुहुनेछ । शाही परिवारले सामान्यतया अन्तर्राष्ट्रिय विवादहरूमा टिप्पणी गर्दैन । विलियिमका पिता राजा चार्ल्स तृतीय संयुक्त अधिराज्यका साथै क्यानाडादेखि लिएर अस्ट्रेलिया र जमैकासम्म १४ अन्य राष्ट्रमण्डल मुलुकको प्रमुख हुनुहुन्छ । उहाँको कार्य अनिवार्यरूपमा औपचारिक हुन्छन् र उहाँले राजनीतिक बहसमा हस्तक्षेप गर्नुहुन्न ।

“म, अरु धेरैजस्तो, चाँडोभन्दा चाँडो युद्ध अन्त्य भएको हेर्न चाहन्छु”, प्रिन्स अफ वेल्स भनेर चिनिने विलियमले भन्नुभयो, “गाजालाई मानवीय सहायता बढाउनुपर्ने टड्कारो आवश्यकता छ, सहायता पुगोस् र बन्धकहरू रिहा हुन् भन्ने महत्त्वपूर्ण हो ।” संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार गाजामा चार महिनाभन्दा धेरै समयदेखिको अथक लडाइँले तटीय क्षेत्रका अधिकांश भाग नष्ट गरेको छ, २२ लाख जनता भोकमरीको छेउमा पुगेका छन् र तीन–चौथाई जनसङ्ख्या विस्थापित भएको छ ।

अक्टोबर ७ मा हमासले इजराइलमाथि अभूतपूर्व आक्रमण गरेपछि युद्ध सुरु भएको हो । हमासको आक्रमणमा इजराइलमा अधिकांश सर्वसाधारणसहित करिब एक हजार एक सय ६० मानिस मारिएका थिए । इजराइलका अनुसार हमासका लडाकूहरूले करिब दुई सय ५० जनालाई बन्धक बनाएको र तीमध्ये एक सय ३० जना गाजामा रहेका छन् । गाजामा रहेका तीमध्ये ३० जनाको मृत्यु भएको मानिएको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजराइलको आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित २९ हजारभन्दा धेरै मारिएका छन् । “कहिलेकाहीँ मानवीय पीडाको विशाल स्तरको सामना गर्दा मात्र पनि स्थायी शान्तिको महत्त्व थाहा हुन्छ”, युवराज विलियमले भन्नुभयो, “अन्धकारको घडीमा पनि हामीले निराशाको सल्लाहमा झुक्नुहुँदैन, एउटा उज्ज्वल भविष्य पाउन सकिन्छ भन्ने आशामा म अडिग छु र म त्यसलाई त्याग्न अस्वीकार गर्छु ।”

धुलो दूधको माग घटेपछि ‘डेरी’ सञ्चालनमा समस्या

दमक, ९ फागुन : झापामा दूध तथा दुग्धजन्य सामग्री उत्पादन एवं बिक्री (डेरी सञ्चालन) गर्दै आएकाहरूले स्वदेशमा उत्पादन भएको धुलो दूधको माग घटेपछि व्यवसाय सञ्चालनमा समस्या भएको गुनासो गरेका छन् । स्थानीय किसानले उत्पादन गर्दै आएको गाईभैँसीको दूध सङ्कलन गरी बजारीकरण गर्दै आएका साना तथा मझौला डेरी व्यवसायीले किसानलाई भुक्तानी दिननसक्ने अवस्थामा आफूहरू पुगेको दुखेसो पनि गरेका छन् ।

विगत चार वर्षअघिदेखि झापाको दमक–१० सेतुमारीमा डेरी सञ्चालन गर्दै आएका व्यवसायी विदुर भण्डारीले पछिल्ला केही दिनयता डेरी व्यवसायीले स्थानीयस्तरमा सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई दिन कठिन भएको राससलाई बताउनुभयो । उहाँको डेरीले आबद्ध दुई सय साना किसानबाट गाईभैँसीको पाँच सय लिटर दूध दैनिक सङ्कलन गर्दै आएको छ तर बजारबाट भुक्तानी नहुँदा समस्या भएको व्यवसायी भण्डारीले बताउनुभयो । उहाँका अनुसार डेरीमा सङ्कलन भएको दूध दमक बजारका साथै पोखराको सुजल डेरीले खरिद गर्दै आएको छ । तर केही दिनयता उक्त डेरीले बजारमा धुलो दूध बिक्री गर्न नसकेको भन्दै भुक्तानी नदिएपछि किसानलाई पशुआहाराको रूपमा प्रयोग गर्दै आएको दाना, चोकरसमेत दिन नसक्ने अवस्थामा डेरी सञ्चालक पुगेका छन् ।केही समय अघिमात्र दूधको मूल्यमा केही वृद्धि हुँदा निकै उत्साहित देखिएका किसान अहिले समयमा नै दूधको भुक्तानी पाउन नसक्दा निराश हुनुपरेको दमक–१० का गाईपालक किसान नवराज न्यौपानेले बताउनुभयो । दुग्ध डेरी अहिले दूधका साथै दही, घिउ, पनिरलगायत दुग्धजन्य वस्तु उत्पादन तथा बिक्री गर्दै आएको छ । नेपाली बजारमा भारतीय उत्पादनले निकै प्रभाव जमाउँदै आइरहेको समयमा दूधको बजारमा पनि समस्या आएको व्यवसायीहरू बताउँछन् । भारतीय उत्पादनको लागत मूल्य कम हुनु र नेपाली उत्पादनको लागत मूल्य बढी भएकाले दूधको बजारमा समस्या भएको उनीहरूको बुझाइ छ ।

माटोका भाँडाकुँडामा शिल्प भरेर चलेको वीरपालको जीविका

कञ्चनपुर, ९ फागुन : माटोका भाँडाकुँडा बनाएर शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका वीरपाल कुमालका तीन पुस्ता बितेका छन् । भारतबाट बसाइँ सरेर वीरपालका बाजे भीमपाल माटोका भाँडाकुँडा बनाउन सात दशकअघि यता आउनुभएको हो । बाजेले गर्दै आएको काम उहाँका बुबा चिरौँजीलालले पनि निरन्तरता दिनुभयो । अहिले त्यही काम वीरपालले सम्हाल्दै आउनुभएको छ ।

वर्षौँदेखि यहाँ बस्दै आउनुभएका उहाँसँग चार कठ्ठा चार धुर जग्गाको २०२५ मा उपलब्ध गराइएको जग्गाधनी प्रमाणपत्र पनि छ । त्यो जग्गा निकुञ्ज विस्तारित क्षेत्रमा पर्दा उहाँले सट्टाभर्ना पाउन भने सक्नुभएको छैन । तत्कालीन पिपलाडी गाउँपालिकाको भत्तपुरीमा रहेको जग्गाको उहाँले सट्टाभर्ना नपाउनुभएको हो । “देशमा त्यसबेला सङ्कटकाल लागेको हुँदा विस्थापित हुनुपर्यो”, उहाँले भन्नुभयो, “जग्गाधनी प्रमाणपत्र भए पनि जग्गा पाउन सकिएको छैन ।”नेपालमै उहाँको जन्म भयो, यहाँ तीन पुस्ता बित्यो । नेपाली नागरिकताका लागि पहल गरे पनि त्यो भने पाउन नसकिएको उहाँले बताउनुभयो । कञ्चनपुर जिल्लामा उहाँ एक्ला माटोका भाँडाकँुडा बनाउने व्यक्तिका रूपमा चिनिनुहुन्छ । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्षको विस्तारित क्षेत्र भत्तपुरीबाट विस्थापनमा परेपछि वीरपालले भाडामा जग्गा लिएर माटोका भाँडा बनाउँदै आउनुभएको छ । उहाँ विभिन्न ढाँचामा आकर्षक गमला, लोटा, करुवा, घैँटो, गोलक बनाउनुहुन्छ । कम्तीमा रु १५ देखि बढीमा रु दुई सय ५० मा उहाँले बनाएका भाँडाकुँडाको किन्न पाइन्छ । यद्यपि ती वस्तुको मूल्य बजारमा फरक छ ।वार्षिक रु चार लाख कमाइ हुने उहाँ बताउनुहुन्छ । माटो, दाउरा, जग्गाको भाडा, कामदारको ज्यालामा रु दुई लाख ५० हजार जति खर्च हुने गरेको छ । बचेको रकमले घरखर्च चल्ने गरेको उहाँले बताउनुभयो । “परिवारको लत्ताकपडादेखि राशनपानीमै काम गरेर कमाएको रकम खर्च हुन्छ”, उहाँले भन्नुभयो, “बिरामी परे अरुसँग सापटी लिनुपर्दछ ।” व्यवसाय दर्ता गरेर उहाँले काम गर्दै आउनुभएको छ । तर अन्य भारतीयले भारतबाटै भाँडाकुँडा ल्याएर सस्तोमा बिक्री गर्दा उहाँको व्यवसाय सङ्कटमा परेको छ ।“अवैधरूपमा बजार क्षेत्रमा भारतीयले माटोका भाँडाकुँडा खुला सीमानाका हुँदै राजस्व नतिरेर भित्र्याउने गरेका छन्”, उहाँले भन्नुभयो, “मेरै नाम लिएर बेच्छन्, वडा कार्यालय र प्रहरीलाई यसबारे खबर गर्दा पनि अवैध कारोबार नरोकिँदा व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ, परिवारको रोजीरोटी खोसिन थालेको छ ।”अन्य काम गर्नेका लागि सरकारले अनुदानको व्यवस्था गर्दै आए पनि कुमालेका लागि कुनै कार्यक्रम नहुँदा उहाँ हतोत्साहित हुनुहुन्छ । वडाध्यक्ष नवलसिंह रानाले पुर्खौँदखि वीरपालको परिवारले काम गर्दै आए पनि नागरिकता नपाउँदा अनुदानलगायत सुविधाबाट बञ्चित रहनुपरेको बताउनुभयो । “कानुनी प्रक्रिया पूरा गर्न नागरिकता चाहिन्छ”, उहाँले भन्नुभयो, “त्यो नभएपछि कुनै पनि कार्यक्रममा समावेश गर्न सकिँदैन ।”

स्थानीय बजारमा सुनको माग घट्दा आयातमा उल्लेख्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा सुनको माग घट्दा आयातमा उल्लेख्य गिरावट आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको छ महिना (साउन–पुस) मा सुनको आयातमा ५९.३ प्रतिशतले कमी आएको छ । सुनको मूल्य बढेसँगै आन्तरिक बजारमा खपत न्यून हुँदा आयातमा कमी आएको हो ।

उपभोक्ताको क्रयशक्ति न्यून हुँदा बजारमा माग पनि कम भएपछि त्यसको असर आयातमा पर्न गएको हो । विभागका अनुसार आव २०७९/८० मा ४३ अर्ब ८९ करोड ९८ लाख ९१ हजार रुपियाँको आयात भएको थियो । चालु आवको छ महिनामा भने सुनको आयात आधाभन्दा बढीले घटेको छ । चालु आवको सुरुदेखि नै सुनको आयातमा कमी हुँदै आएको हो । यो वर्ष मङ्सिर महिनामा सुनको मूल्य बढेर सबैभन्दा धेरै प्रतितोला एक लाख २२ हजार रुपियाँसम्म पुगेको थियो । पछिल्लो समय भने घटेर एक लाख १८ हजार रुपियाँमा झरेको छ ।

सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले मूल्यवृद्धि, आर्थिक गतिविधि सक्रिय रूपमा चलायमान नहुनु, उपभोक्तासँग पर्याप्त क्रयशक्ति नहुँदा बजारमा सुनको माग घटेर आयातमा समेत कमी आएको जानकारी दिए । बजारमा माग न्यून हुँदा सुनको कारोबारमा ७० प्रतिशतले कमी आएको उहाँले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

दुई करोड ३३ लाख लागतमा इलामको माङसेवुङमा एकैपटक चारवटा सिँचाइ आयोजना थालिए

फिक्कल (इलाम), ९ फागुन : इलामको माङसेबुङ गाउँपालिकामा रु दुई करोड ३३ लाख ६७ हजारको लागतमा चारवटा सिँचाइ आयोजना सुरु भएको छ । माङसेबुङ गाउँपालिका–१ का चार टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास भएको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले चारवटै योजनाको संयुक्तरूपमा मङ्गलबार अपराह्न शिलान्यास गर्नुभएको हो ।

गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत तोभाङमा दुई, नाङरुङमा एक र खोलागाउँ टोलमा एक सिचाँइ योजनाको शिलान्यास भएको माङसेबुङ गाउँपालिका–१ का वडाध्यक्ष भूपाल योङहाङले राससलाई जानकारी दिनुभयो । चौरानब्बे घरधुरी किसान प्रत्यक्ष लाभान्वित हुनेगरी स्थानीय लम्फेवा खोलाबाट दुईवटा, फुङखोलाबाट एक र फेवाखोलाबाट एक सिँचाइ कुलो निर्माण सुरु भएको हो । तोभाङमा रु ९३ लाखको लागतमा लम्फेवा खोलाबाट निवाघारी र रु ५५ लाख ६८ हजारको लागतमा सोही खोलाबाट लामपाते कुलो निर्माण सुरु भएको छ ।यसैगरी, नाङरुङमा रु ३९ लाख २१ हजारको लागतमा फुङखोलाबाट घुमाउँरो पाक्रुम्बा कुलो र खोलागाउँमा रु ४५ लाख ७८ हजारको लागतमा फेवाखोलाबाट बाह्रमुरे कुलो निर्माण सुरु भएको वडाध्यक्ष योङहाङले बताउनुभयो । “वर्षौँदेखि आकाशेपानी र परम्परागत कुलोबाट सिँचाइ गरिरहेका वडाका किसान सिँचाइ आयोजना सुरु भएपछि उत्साहित भएका छन्, समयमै आयोजना सम्पन्न गर्न तीव्रता दिइनेछ”, वडाध्यक्ष योङाहाङले रासससँग भन्नुभयो, “आयोजना पूरा भएपछि यहाँका ९४ किसान परिवार प्रत्यक्ष लाभान्वित हुनेछन् ।”सिँचाइ योजनाका लागि स्वीस सरकारको ३० प्रतिशत, सङ्घीय सरकार, प्रदेश सरकार र माङसेबुङ गाउँपालिकाको २०–२० प्रतिशत र स्थानीय उपभोक्ताको १० प्रतिशत लागत साझेदारी रहेको छ । योजना आगामी असार २० गतेसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको छ ।गतवर्ष सोही वडामा रु दुई करोड १४ लाखको लागतमा चारवटा सिँचाइ कुलो निर्माण सम्पन्न भएका छन् । पाटीगाउँ, गजुरमुखीधाम, दोभान र तोभाङ टोलमा निर्मित सिँचाइ कुलोबाट एक सय ३७ किसान लाभान्वित भएका छन् ।सिँचाइ सुविधा पुगेपछि धान उत्पादनमा वृद्धि हुने स्थानीयको अपेक्षा छ । कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्कानुसार यस वर्ष १४ हजार आठ सय १० हेक्टर क्षेत्रमा धानखेती गरिएको थियो । इलाममा रञ्जित, राधा चार, चुल्ठे र अन्य स्थानीय जातका धानखेती गरिन्छ ।युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन कृषि क्षेत्रमा आकर्षित गरी कृषिको उत्पादकत्व वृद्धि गर्ने र कृषि क्षेत्रको व्यावसायिकरणबाट आयआर्जन बढाउने उद्देश्यले स्वीस सरकारको सहयोगमा साना सिँचाइ कार्यक्रम सञ्चालन भइरहेका छन् । 

ओलीसँग नजिकिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भएको छ । अहिलेको सत्तारूढ गठबन्धनका बारेमा कांग्रेस महासमिति बैठकमा भइरहेको टीका टिप्पणी र छलफलले त्रसित प्रधानमन्त्री प्रचण्डले एमालेसँग गठबन्धन गरेर आफ्नो कुर्सी सुरक्षित गर्नका लागि ओलीसँग सम्बन्ध बढाएको टिप्पणीसमेत हुनथालेको छ ।

एमाले र माओवादी दुवै पार्टीमा रहेका एक समूहले कम्युनिस्ट पार्टीबिचमा एकता र गठबन्धन हुनुपर्ने भन्दै लबिङ गर्दै आएका छन् । सत्ता स्वार्थका कारण अलग भएका कम्युनिस्ट पार्टी अहिले पुनः सत्ता स्वार्थकै कारण मिल्न खोजेको देखिन्छ । संघीय र प्रदेश सरकार कुनैमा पनि नभएको एमाले राजनीतिक नियुक्तिलगायतका विभिन्न अवसरबाट वञ्चित हुँदै आएको छ । सोही कारण एमालेले अहिलेको सत्तारूढ गठबन्धन भत्काउन खोजेको र सरकारमा हिस्सेदार बन्न खोजेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

सामाजिक न्यायका लागि विश्वव्यापी साझेदारीमा नेपालले सहभागिता जनाउने

काठमाडौँ-श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सामाजिक न्यायका लागि विश्वव्यापी साझेदारीमा नेपालले यथाशीध्र सहभागिता जनाउने बताउनुभएको छ । अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस, २०२४ को सन्दर्भ पारेर मंगलबार श्रम मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले सरोकारवाला निकायसँग थप परामर्श गरी आवश्यक प्रक्रिया पूरा गरेर यथाशीघ्र उक्त अभियानमा सहभागी हुन बताउनुभयो ।

मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले सामाजिक न्यायको क्षेत्रमा नेपालले हालसम्म गरेका प्रयास, साझेदार निकायसँगको सहकार्य एवं नेपालमा सामाजिक न्याय स्थापनाका लागि विश्वव्यापी साझेदारीका महत्वका विषयमा जानकारी गराउनुभएको थियो ।अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक र नेपाल कार्यालयका निर्देशक नुमान ओज्कानले नेपाललाई सामाजिक न्यायका लागि विश्वव्यापी साझेदारीमा सहभागी हुन आमन्त्रण गर्नुभयो । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष योगेन्द्र कुँवर तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त साझेदारीमा नेपालको सहभागिता महत्वपूर्ण रहेको बताउनुभयो ।