`

सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मूल मन्त्र हो – गृहमन्त्री श्रेष्ठ

नेपालगन्ज, ११ फागुन : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मूल मन्त्र भएको बताउनुभएको छ । लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीका विषयमा जानकारी दिन राजनीतिक दल, पत्रकार, नागरिक समाज, धार्मिक अगुवासँग आज भएको भेटघाटमा उहाँले शान्तिसुरक्षा, अमनचयन र अपराध नियन्त्रण गर्न सफलता हासिल भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “यस विषयलाई व्यवहारमा लागू गर्न प्रभावकारी कदम चालिने छ ।” गणतन्त्र स्थापनापछि केही सकारात्मक परिवर्तन भएको उल्लेख गर्दै उहाँले विकास र समृद्धिको प्रक्रियालाई तीव्र बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

जनताको समाजिक आर्थिक जीवनमा परिवर्तन ल्याउनु आजको मुख्य कार्यभार भएको भन्दै गृहमन्त्री श्रेष्ठले सुशासनका लागि भ्रष्टाचारको प्रभावकारी नियन्त्रण नगरीकन समृद्धिले फड्को मार्न सक्दैन भन्नुभयो । उहाँले अहिलेको सरकार आएपछि सुशासनको अभियान सञ्चालन भएको उल्लेख गर्दै तक्मा वितरण, राष्ट्रिय परिचयपत्रका विषय, भूटानी शरणार्थी समस्या, ललिता निवास जग्गा प्रकरण, बाँसबारी छाला उद्योग लगायत सरकारले उपलब्धि हासिल गरेर खर्बौंको सम्पत्ति सरकारका नाममा ल्याएको बताउनुभयो ।

“जे गरे पनि हुन्छ भन्ने स्थितिको अन्त्य गर्न खोजेका छौँ,” उहाँले भन्नुभयो । जतिसुकै शक्तिशाली, राजनीतिक पहुँचको भए पनि जत्रा ठूला नेता भए पनि वा जति ठूलो कर्मचारी भए पनि अब नचल्ने उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले दोषीलाई कानुनको कठघरामा ल्याइन्छ, आउनुपर्छ भन्नुभयो । सुशासन कायम गर्न नदिन राजनीतिक दलका नेताहरु, ठूलठूला उद्योगी–व्यवसायी, दलाल र कर्मचारीको गठबन्धन भएको बताउँदै गृहमन्त्री श्रेष्ठले जालसाजी, कीर्ते, ठगीजस्ता कामले छुट पाउँदैन र हामीले पनि विश्राम लिँदैनाँै भन्नुभयो । उहाँले अनियमितता तथा भ्रष्टाचार गर्ने जो सुकै, जुन घराना, पार्टी वा समुदायको भए पनि नछाडिनेमा जोड दिँदै अपराधी हो वा होइन भन्ने विषय हेरिने बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले धार्मिक सद्भावको विषलाई संवेदनशील रुपमा हेरिएको उल्लेख गर्नुभयो । भेटघाटमा लुम्बिनी प्रदेश, गृहमन्त्री सन्तोष पाण्डेयलगायत सहभागी हुनुहुन्थ्यो । सो अवसरमा बाँकेमा रहेका राजनीतिक दल, नागरिक समाजका प्रतिनिधि र धार्मिक अगुवाले विभिन्न विषयमा गृहमन्त्री समक्ष जिज्ञासा राखेका थिए ।

गण्डकीका साढे दुई लाखभन्दा बढी बालबालिकालाई दादुरा रुबेलाको खोप

कास्की, ११ फागुन : गण्डकी प्रदेशमा राष्ट्रिय अभियानका रुपमा सुरु गर्न लागिएको दादुरा रुबेलाको खोप दुई लाख ५३ हजार ३५ जना बालबालिकालाई दिइने भएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका नौ जिल्लाका नौ महिना उमेर पूरा गरी पाँच वर्षभित्रका सबै बालबालिकालाई तालिमप्राप्त स्वास्थ्यकर्मीबाट मात्र खोप दिने योजना छ ।

गण्डकीमा यही फागुन १३ देखि चैत ७ गतेसम्म सबै स्वास्थ्य संस्था र खोप केन्द्रमा खोप अभियान सञ्चालन हुने निर्देशनालयका निमित्त महानिर्देशक हेमन्त शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकीका नवलपरासी बर्दघाट(सुस्ता पूर्व) जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा रुबेलाको खोप प्रदान गरिने छ भने अन्य बाँकी जिल्लामा नौ महिना पूरा गरी पाँच वर्षभित्रकालाई दिइनेछ ।

हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा भने फागुन अन्तिमदेखि मात्र अभियान सुरु हुनेछ । चिसो मौसमका कारण दुई जिल्लामा दुई सातापछि मात्र कार्यक्रम सुरु हुनेछ । “बेलाबेलामा नेपालमा दादुराको महामारी फैलिने गरेकाले यस प्रकारको खोप अभियान अझै प्रभावकारी ढङ्गले गर्नुपर्ने टड्कारो आवश्यकता छ । त्यसैले समुदायमा रहेका लक्षित समूहको कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुन् भनी बढी सजगता अपनाइएको छ”, पौडेलले भन्नुभयो ।

गण्डकी प्रदेशसमेत दादुरा रुबेलाबाट अछुतो नरहेकाले खोप कार्यक्रम प्रभावकारी र व्यवस्थित हुने बताइन्छ । हालै मात्र तनहुँको शुक्ला गण्डकी नगरपालिकामा दादुरा रुबेलाको महामारी देखापरेको पौडेलले जानकारी दिनुभयो ।

खोपका लागि प्रदेशमा दुई हजार आठ सय ८९ खोप सेसन सञ्चालन हुनेछन् । खोप लगाउनका लाग दुई हजार आठ सय ८९ जना स्वास्थ्यकर्मी र पाँच हजार सात सय ७८ स्वयंसेवक परिचालित हुने निर्देशनालयले जनाएको छ ।

कास्कीमा ३४ हजार नौ सय २५, लमजुङ नौ हजार आठ सय १५, नवलपरासी एक लाख २२ हजार, तनहुँमा २० हजार चार सय ८०, पर्वतमा आठ हजार छ सय ११ र बागलुङमा २० जनामा खोप दिइनेछ ।

यसैगरी गोरखामा १७ हजार सात सय चार, स्याङ्जा १६ हजार र म्याग्दीमा छ हजार पाँच सय जना बालबालिकालाई खोप दिने योजना रहेको छ । विश्व स्वास्थ्य सङ्गठनका मेडिकल सर्भिलेन्स अफिसर डा रामु शर्माले दादुरा रुबेलाको सुई सुरक्षित र प्रभावकारी रहेको बताउनुभयो । खोपपछि कोही कसैमा सामान्य ज्वरो आए पनि अन्य जटिल स्वास्थ्य समस्या नआउने उहाँको भनाइ छ ।

“खोपमा कुनै पनि शङ्का छैन । सुरक्षित र अत्यन्त प्रभावकारी समेत छ । डा शर्माले भन्नुभयो, “खोपपछि कसैलाई सामान्य ज्वरो आउन सक्ने भए पनि पछि त्यो आफैँ हराएर जान्छ ।” डा शर्माले खोप लगाएपछि यदी कुनै अवान्छित घटना भई हालेमा उपचारका लागि (एएफआइ) टोली सबै जिल्लामा खटिएको बताउनुभयो ।

दादुरा तथा रुबेला दुवै रोग अत्यन्त सङ्क्रामक रहेको र बालबालिकालाई यी रोगले बढी सङ्क्रमण गर्ने विश्व स्वास्थ्य सङ्गठनको भनाइ छ । सरकारले सन् २०२६ सम्म नेपालबाट दादुरा रुबेला रोग निवारण गर्ने लक्ष्य राखेको छ । नेपालमा ४५ वर्षदेखि दादुराको खोप र पछिल्लो एक दशकभन्दा बढी समयदेखि रुबेलासमेतको गरी संयुक्त रुपमा १६ हजारभन्दा बढी खोप केन्द्रबाट प्रदान गर्ने गरिएको छ ।

सन् २००४ देखि हालसम्म हरेक चार÷चार वर्षमा अभियानका रुपमा पनि यो खोप लगाइदै आइरहे पनि बेला बेलामा महामारी फैलिने गरेको छ ।

संसद्मा संयमता र धैर्यताका साथ प्रस्तुत होऔँ : नेता लेखक

काठमाडौँ, ११ फागुन : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्मा कुनै पनि अवरोध नगरी संयमता र धैर्यताका साथ प्रस्तुत हुन प्रतिपक्षी दलहरुलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकको प्रारम्भमा सम्बोधन गर्दै उहाँले संसद्लाई बढीभन्दा बढी प्रभावकारी बनाउन अनुरोध गर्नुभयो ।

जनताले यही संसद्बाट मुलुकको समृद्धिको आशा राखेका उल्लेख गर्दै सांसद लेखकले सदनलाई स्वस्थ्य, सभ्य, मर्यादित र जिम्मेवारी बनाउन आग्रह गर्नुभयो । “सदन प्रभावकारी हुन सकेन भने त्यसको प्रत्यक्ष प्रभाव सरकारमाथि पर्न सक्छ । सरकार पनि निष्प्रभावी बन्न सक्छ । संसद्को प्रभाव संविधान र व्यवस्थामाथि पर्न सक्छ”, उहाँले भन्नुभयो ।

संसद्मा आलोचना, प्रतिआलोचना र घोचपेच हुने उल्लेख गर्दै सांसद लेखकले यी विषयलाई सामान्यरुपमा लिनुपर्ने बताउनुभयो । संसद्मा सबै सांसद आफ्ना कुरा राख्नका लागि धैर्य र अरुका कुरा सुन्नका लागि संयमित हुनुपर्छ भन्दै उहाँले भन्नुभयो, “सदनभित्र प्रतिपक्षले सरकारले आलोचना गर्छ, माग गर्छ, त्यो प्रतिपक्षको धर्म हो । प्रतिपक्षले आलोचना ग¥र्यो भनेर सत्तापक्ष आक्रोशित हुनुपर्दैन ।”

प्रतिपक्षी सरकार कुरिरहेको पार्टी हो भन्दै प्रमुख सचेतक लेखकले प्रतिपक्षका बारेमा पनि सत्तापक्षका केही धारणा रहेको हुनसक्ने र त्यो अभिव्यक्ति हुँदैमा प्रतिपक्षी आतङ्कित हुनु नपर्ने बताउनुभयो । “सरकारले चालु अधिवेशनमा धेरै विधेयक तयारी गरेको छ । यो अधिवशेनबाट धेरै विधेयक पारित गर्नुछ । जनतालाई यही संसद् र व्यवस्थाले हित गर्नसक्छ भन्ने विश्वास दिलाउनु छ । हामी सबै मिलेर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सरकारसँग जोडिएका विषयमा प्रतिपक्षले सरकारको जवाफ माग गरेको उल्लेख गर्दै त्यसको प्रतिरक्षाको तहमा कुनै सांसद उभिन नहुने बताउनुभयो । उहाँले अब बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दलले उठाएका सरोकारका विषयमा सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

सङ्घीय सरकारका बीस सडक आयोजना पर्वतबाट फिर्ता

पर्वत, ११ फागुन : सङ्घीय सरकारबाट बजेट विनियोजन भई कार्यान्वयनका लागि पठाइएका २० सडक योजना पर्वतबाट फिर्ता पठाइएको छ । सडक स्तरोन्नतिका लागि भन्दै आएका २० वटा योजना कार्यान्वयन नगरी फिर्ता पठाइएको हो ।

पुर्वाधार विकास कार्यालय पर्वतमा प्राप्त भएका ती योजना गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यान्वयन नगरी पठाइएको कार्यालयले जनाएको छ । सङ्घ सरकारले समेत दोहोरोपन हुने गरी साना योजना छनोट गरेर बजेट विनियोजन गरेपछि फिर्ता पठाउनुपरेको पुर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो । स्थानीय सरकारको जिम्मेवारीमा पर्ने खालका योजना भौतिक पुर्वाधार मन्त्रालयअन्तर्गत सडक विभागबाट प्राप्त भएका थिए ।

करिब रु एक करोड ५० लाख बराबरका ती योजना फिर्ता गरेपछि प्रदेश सरकारअन्तर्गतका योजना र सङ्घीय सरकारका बहुवर्षीय योजना मात्र सञ्चालन गरिएको उहाँले बताउनुभयो । प्रमुख अधिकारीका अनुसार अहिले पर्वतमा एक सय ७२ पूर्वाधारका योजना सञ्चालनमा छन् । जनशक्तिको अभाव, योजनाको सङ्ख्या अत्यधिक र साना तथा प्रदेश सरकारसँगै दोहोरोपना हुने खालका योजना भएकाले फिर्ता पठाइएको उहाँको भनाइ थियो ।

प्रमुख अधिकारीका अनुसार ती योजना रु पाँच लाखदेखि रु २० लाखसम्मका थिए । प्रदेश सरकारका योजना रु २० लाखभन्दा माथिका छन् । फिर्ता गरिएका योजनामा कुश्मा नगरपालिका–४ को अर्मादी पुरानो बाटो सडक निर्माण, कुश्मा–४ कै गोदाम जाने सडक, फलेवास नगरपालिकाको खड्केटारी–पञ्चासे सडक स्तरोन्नति, पैंयु गाउँपालिकाको हटियामा सहिद स्मृति सभाहल निर्माण गर्ने योजना रहेका उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी मिलनचोक, रातामाटा–लेकफाँट, खनियाघाट–ओडारे–बनौ सडक, तारे शालिजा–ओख्रेनी, कार्किनेटा–खौला–ठुलीपोखरी, पञ्चासे भञ्ज्याङ–आर्थर, पौडेलचोक–बुमि–लाम्पाटा र बराहथान गुफा–काफलचौर सडक कालोपत्रे योजना पनि फिर्ता पठाइएको छ ।

कुश्मा–३ दुर्लुङको सरुनचौदेखि चनौटे सडकखण्ड कालोपत्रे योजना, कटुवाचौपारीको पातिकान्ला–पिप्ले–सेउलीबजार सडक, जलजला वडा नं ८ र ९ जोड्ने सडक कालोपत्रे आयोजना, डुम्रेभञ्ज्याङ–बानीडाँडा–देउराली सडक, रतीखोला–चित्रे–राम्जा–गँगटे, फलेवासको भुपुको चौतारीदेखि खौलासम्मको सडक आयोजना फिर्ता पठाइएको कार्यालयले जनाएको छ ।

त्यसैगरी तिलाहार–दराक–चित्रे–राम्जा सडक कालोपत्रे आयोजना, खुर्कोट–पाङ–मल्लाज वैकल्पिक राजमार्ग आयोजना पनि कार्यान्वयन गरिएको छैन । पूर्वाधार कार्यालय पर्वतका अनुसार यस वर्ष झण्डै २० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको छ भने चारवटा मोटरेवल पुलसमेत निर्माणाधीन अवस्थामा रहेका छन् ।

प्रदेशकै योजना कार्यान्वयन गर्न हम्मेहम्मे परेको बेला सङ्घबाट आएका टुक्रे योजना समावेश गर्न समस्या परेको कार्यालयका इन्जिनियर जीता गिरीले जानकारी दिनुभयो ।

कोशी प्रदेशमा रहेको धार्मिक स्थल प्रदेशकै मातहतमा ल्याइने : उड्डयनमन्त्री किराती

इनरुवा, ११ फागुन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कोशी प्रदेशमा रहेको धार्मिकस्थल प्रदेशकै मातहतमा ल्याइने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सुनसरीले आज सुनसरीको धरान उपमहानगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै मन्त्री किरातीले सो कुरा बताउनुभएको हो ।

उहाँले कोशी प्रदेशका पाथीभरा, हलेसी, बराहक्षेत्र, कचनकवललगायत धार्मिक क्षेत्रलाई प्रदेश सरकार मातहत ल्याउने तयारी भएको र यसका लागि आवश्यक नीति निर्माण गरेको जानकारी दिनुभयो ।

मकवानपुरमा ३२ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप लगाइने

बागमती, ११ फागुन : मुलुकभरका बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप लगाउने अभियानअन्तर्गत मकवानपुर जिल्लामा ३२ हजार छ सय ६५ लाई खोप लगाउने तयारी पूरा भएको छ ।

नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई यही फागुन १३ गतेदेखि १९ गतेसम्म खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय हेटौँडाले आज जनाएको छ । सो खोप अभियानअन्तर्गत पाँच सय २० केन्द्रमार्फत बालबालिकालाई खोप लगाइने कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा तीन सय ४० स्वास्थ्य स्वयंसेविका परिचालन गरी खोप दिइने छ । लक्षित उमेरका बालबालिकालाई खोप लगाएर दादुरा तथा रुबेला रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरी ती रोगबाट सङ्क्रमण हुनसक्ने सम्भावनालाई न्यूनीकरण गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको घिमिरेले बताउनुभयो ।

सन् २०२६ सम्ममा दादुरा–रुबेला रोग निवारण गर्न सरकारले प्रतिबद्धता गरेको थियो । नेपालभरि गत आर्थिक वर्षमा एक हजार तीन सय ५० मा दादुरा–रुबेला रोग देखिएकामा मकवानपुरमा ४० जना सङ्क्रमित भेटिएको थियो ।

बागमती प्रदेशमा नुवाकोटबाहेक सबै जिल्लामा पूर्ण खोप घोषणा भइसकेको छ । दादुरा–रुबेला खोप नलगाएमा अन्धोपन हुने, पखाला लाग्ने, कान पाक्ने, न्यूमिनिया हुने इन्सेफलाइटिक्स हुने, कम्पन्न हुने तथा बालबालिकाको मृत्युसमेत हुनसक्ने भएकाले नियमित रुपमा खोप लगाउनुका साथै छुटेका बालबालिकालाई समेत अनिवार्य खोप लगाउनुपर्ने जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

जिल्लामा नियमित खोप कार्यान्वयनमा हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र मकवानपुरगढी गाउँपालिका उत्कृष्ट रहेका जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

सङ्घीयता तथा संविधान कार्यान्वयनका लागि कानुन निर्माण सरकारको उच्च प्राथमिकतामा : मन्त्री गुरुङ

काठमाडौँ, ११ फागुन : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्घीयता तथा संविधान कार्यान्वयनका लागि कानुन निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा ‘मौलिक हक कार्यान्वयनका लागि बन्न बाँकी कानुन २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नुपर्नेसम्बन्धी’ सङ्कल्प प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री गुरुङले उक्त प्रस्तावका सम्बन्धमा यसअघि पनि छलफल भएको र सो सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै सरकारकोतर्फबाट धारणा व्यक्त गरिसक्नुभएको जानकारी गराउनुभयो ।

मन्त्री गुरुङले सरकारले संविधान कार्यान्वयनको कार्ययोजना बनाएर कानुन निर्माणलाई प्राथमिकता साथ अघि बढाएको बताउँदै यो सबैको साझा कार्यभार भएको उल्लेख गनुृभयो । उहाँले हालसम्म नयाँ १३१ कानुन, ४६ संशोधन र १३ केही नेपाल ऐन संशोधन गरी १९० ऐन बनिसकेको जानकारी दिनुभयो ।

बैठकमा सांसद दिलकुमारी रावल थापा पार्वतीले ‘मौलिक हक कार्यान्वयनका लागि बन्न बाँकी कानुन २०८१ असोज ३ गतेसम्म निर्माण गरिसक्नुपर्नेसम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तावका समर्थक सांसदहरु देवेन्द्र दाहाल, अनिता देवकोटा, गोपीबहादुर सार्की अछामी, महोम्मद खालिद, शेखरकुमार सिंह, डा विमला राई पौड्याल र खिमलाल देवकोटाले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । सङ्कल्प प्रस्तावमाथिको छलफलमा बैठकमा सांसदहरुले बोल्नुभएको थियो । बैठकले सङ्कल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

विदेशमा सजिलै धन कमाउन सकिन्छ भन्ने भ्रममा परी आफूलाई जोखिममा नपार्न प्रधानसेनापति शर्माको सुझाव

भरतपुर (चितवन), ११ फागुन : प्रधानसेनापति प्रभुराम शर्माले विदेशमा सजिलै धन कमाउन सकिन्छ भन्ने भ्रममा परी आफूलाई जोखिममा नपार्न सुझाव दिनुभएको छ । नेपाली सेना कल्याणकारी बोर्डद्वारा आज यहाँ आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै उहाँले आर्थिक प्रलोभनमा परेर अरू देशको सैनिकमा भर्ना हुन नजान आग्रह गर्नुभयो ।

अवकाशप्राप्त एवं बहालवाला सैनिकलाई आफ्नै गाउँ ठाउँमा प्रचुर सम्भावना भएको भन्दै सैनिक जीवनको दौरान प्राप्त ज्ञान सीप र अनुभव आफ्नै समाजको विकास उत्थानमा लाग्न आह्वान गर्नुभयो । प्रधानसेनापति शर्माले भन्नुभयो, “विदेशमा जाने, विदेश पुग्नका लागि गैरकानुनी मार्ग प्रयोग गर्ने र विदेशी सेनामा भर्ना हुनुको सट्टा आफँै गाउँ, ठाउँ, टोल, जिल्लामा रहेका सम्भावना उपयोग गर्न सकेमा समाजमा आत्मसम्मान र प्रतिष्ठामा समृद्धि हुन्छ । यसले गर्दा समग्र देश विकासमा टेवा पुग्ने मैले विश्वास लिएको छु ।”

सैनिक कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले नेपाली सेनाका पूर्वसैनिकले आयआर्जनका लागि कृषि, विभिन्न व्यवसाय, उद्योग सञ्चालन गरी समाजमा रोजगारीको अवसर सिर्जना गर्न सफल भएको बताउनुभयो । उहाँले पूर्वसैनिकले स्थानीयस्तरमा विभिन्न कार्यमा सरिक भई समाजप्रति पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले सम्मेलन र सैनिक कल्याणकारी कोषबाट भूपू सैनिकका लागि सञ्चालन भइरहेको विभिन्न सेवा र सुविधाबारे जानकारी गराउनुभयो । ‘सेनाप्रतिको समर्पण र भरोसा’ भन्ने नारासहित यस क्षेत्रमा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकलाई लक्षित गरी आयोजना गरिएको सम्मेलनमा यस क्षेत्रका ज्येष्ठ भूपू ९६ वर्षीय गङ्गाबहादुर सुनुवार र ज्येष्ठ एकल महिला ९८ वर्षीय गोमादेवी कार्कीलाई सम्मान गरियो ।

कार्यक्रममा नेपाली सेनामा आफ्ना चार वा सोभन्दा बढी सन्ततिलाई भर्ना हुन प्रेरित गर्ने सातजना माता र पितालाई सम्मान गरियो । सो अवसरमा यस क्षेत्रमा बसोबास गर्ने फरक क्षमताका हिताधिकारीलाई व्हिल चेयर, वैशाखी तथा नेपाल इन्भेष्टमेन्ट मेघा बैङ्कका तर्फबाट आर्थिक सहयोग प्रदान गरियो ।

सम्मेलनका क्रममा भूपूसैनिक, एकल महिला तथा आश्रित परिवारलाई स्वास्थ्योपचार सेवा एवं लघुवित्त कार्यक्रमका ऋणीलाई सहुलियतदरमा उपलब्ध गराइएको रकमको चेक हस्तान्तरण तथा ज्येष्ठ भूपूसैनिक र एकलको सम्मान गरियो । भूपूसैनिकको जोसिलो मार्चपास, जिल्लागत सांस्कृतिक झाँकी र सैनिक ब्यान्ड प्रदर्शनका साथै ज्येष्ठ सैनिक तथा चारभन्दा बढी सन्तति सेनामा हुनेका मातापितालाई सम्मान र अन्तरक्रिया कार्यक्रम भयो ।

सम्मेलनमा प्रस्तुत मौलिक वेशभूषासहितको गीत, सङ्गीतसहितको नृत्य र झाँकीले यस क्षेत्रको भाषा, संस्कृति र रहनको संरक्षण, संवद्र्धन र उजागर गर्न महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । पुराना पल्टनियाबीचको भेटघाट र विचारको आदानप्रदानले बहालवाला र भूपूबीचका सम्बन्ध प्रगाढ तुल्याउन योगदान पुग्ने विश्वास गरिएको सम्मेलनमा सहभागीलाई टोपी, सल, ट्र्याकसुट, स्वीटरसहितको झोला र आतेजाते दैनिक भ्रमणभत्तासमेत उपलब्ध गराउने सैनिक परम्परा छ ।

प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ गर्ने अभ्यास छ । मुलुकमा हाल निवृत्तिभरणमा राजीनामा स्वीकृति भएका भूपू सैनिकको सङ्ख्या ८७ हजार दुई छ भने पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १६ हजार दुई सय ११ भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले हिताधिकारीको जीवनस्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार एवं सेवा र सहुलियतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । सैनिक कल्याणकारी बोर्डबाट स्वास्थ्य र शिक्षालगायत सेवा प्राप्त गर्ने हिताधिकारीको सङ्ख्या १० लाखभन्दा बढी छ । सैनिक कल्याणकारी कोषमा लगानी रहेकोसमेत गरी हाल रु ८२ अर्ब ६६ करोड १२ लाख सम्पत्ति रहेको सो अवसरमा जानकारी दिइयो ।

सेनाभूतपूर्व सैनिक र तिनका आश्रित परिवारको कल्याणका खातिर स्थापित सैनिक कल्याणकारी कोष बहुआयामिक र अधिकतम उपयोग आयमूलक कार्यमार्फत् हिताधिकारीको जीवनस्तर उकास्ने प्रयासमा छ । सम्मेलन जीवनको महत्वपूर्ण समय सेनामा बिताएका पूर्वसैनिकको पुनर्मिलनको ठूलो अवसर हो । आगामी चैत ४ गते उपत्यका पृतना र मातहतका काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा भूतपूर्व सैनिक सम्मेलन आयोजना हुने कार्यक्रम रहेको छ ।

हरियाणा सरकारद्वारा किसान विरुद्ध राष्ट्रिय सुरक्षा ऐन खारेज

हरियाणा प्रहरीले बिहीबार रातिको घोषणापछि शुक्रबार अम्बाला जिल्लाका केही युनियन नेताहरूविरुद्धको राष्ट्रिय सुरक्षा ऐन (एनएसए), १९८० खारेज गरेको अधिकारीहरूले बताएका छन् ।

अम्बाला रेन्जका आइजिपी सिबाश कविराजले किसान नेताहरूविरुद्धको एनएसए लागू नहुने बताउनुभयो । “अम्बाला जिल्लाका केही फार्म युनियन नेताहरूमाथि राष्ट्रिय सुरक्षा ऐनका प्रावधानहरू लागु गर्ने मामिलमा पुनरविचार गरिएको र यसलाई लागू नगर्ने निर्णय भएको सबै सम्बन्धित पक्षलाई स्पष्ट पारिन्छ”, उहाँले भन्नुभयो ।

प्रहरीले किसानहरूसँग कानून र व्यवस्था कायम गर्न र अधिकारीहरूसँग सहयोग गर्न पनि अपिल गरेको छ । “हरियाणा प्रहरी प्रदर्शनकारी र उनीहरूका नेताहरूसँग शान्ति तथा कानून व्यवस्था कायम गर्न अधिकारीहरूसँग सहयोग गर्न अपिल गर्दछ”, कविराजले भन्नुभयो ।

यसअघि हरियाणा सरकारले अम्बाला जिल्लामा सम्पत्तिको क्षतिको विवरण माग्ने प्रहरी अधिकारीहरूसँग किसान नेताहरूविरुद्ध राष्ट्रिय सुरक्षा कानून लागु गरेको थियो । सन् १९८० को राष्ट्रिय सुरक्षा ऐन (एनएसए) ले भारतमा सरकारलाई सार्वजनिक व्यवस्था र राष्ट्रिय सुरक्षा कायम गर्नका लागि मानिसहरूलाई हिरासतमा लिने अनुमति दिन्छ ।

यो ऐनले केन्द्र वा राज्य सरकारलाई कुनै पनि व्यक्तिलाई राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने कार्यमा संलग्न भएको विश्वास गर्ने कारण भएमा हिरासतमा राख्न अनुमति दिन्छ । एनएसए एउटा निवारक नजरबन्द कानून हो । यसमा कुनै पनि व्यक्तिलाई भविष्यमा अपराध गर्न वा भविष्यको अभियोगबाट भाग्नबाट जोगाउनका लागि हिरासतमा राख्ने व्यवस्था छ ।

चिनियाँ विदेशमन्त्री र जर्मन कूटनीतिज्ञ बीच भेटवार्ता

चिनियाँ विदेशमन्त्री वाङ यीले शुक्रबार बेइजिङमा जर्मन चान्सलरका विदेश तथा सुरक्षा नीति सल्लाहकार जेन्स प्लाटनरसँग भेटवार्ता गर्नुभएको छ।

सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य वाङले यस वर्ष चीन-जर्मनी व्यापक रणनीतिक साझेदारीको स्थापनाको दशौँ वार्षिकोत्सव मनाउने कुरा उल्लेख गर्नु भएको छ। चीन जर्मनसँग सञ्चारलाई बलियो बनाउन इच्छुक रहेको छलफलका क्रममा बताइएको छ ।

सो अवसरमा मन्त्री वाङले दुवै पक्षले बजार सिद्धान्तमा आधारित खुला मनोवृत्ति र तर्कसंगत भावनाका साथ व्यावहारिक सहयोग प्रवर्द्धन गर्न, साझा प्रगति र विकासको सन्दर्भमा असहमतिलाई सही ढङ्गले व्यवस्थापन गर्नुपर्ने धारणा राख्नु भएको छ ।

उहाँले संरक्षणवादलाई अस्वीकार गर्ने र विश्वव्यापी स्थिरता, विकास र समृद्धिका लागि सकारात्मक योगदान दिन प्रतिबद्ध रहनुपर्ने बताउनु भएको छ । सल्लाहकार प्लटनरले जर्मनीले चीनसँग विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने र जलवायु परिवर्तनलाई सम्बोधन गर्न नयाँ सहकार्य गर्न चाहेको उल्लेख गर्नु भएको छ ।

स्वीडेनमा प्रजनन दर सन् २०२३ मा दुई दशककै न्यून

स्वीडेनमा गत वर्ष नवजात शिशुको सङ्ख्या दुई दशककै न्यून विन्दुमा पुगेको छ । सन् २०२१ यता सबैभन्दा कम जनसङ्ख्या वृद्धि भएको पनि स्वीडेनको टेलिभिजन ले शुक्रबार उल्लेख गरेको छ।

“सन् २०२३ मा नवजात शिशुको सङ्ख्या सन् २००३ यता सबैभन्दा कम रह्यो । “तर त्यतिबेलाको जनसङ्ख्या पनि आजको तुलनामा झण्डै १६ लाख कम थियो,” तथ्याङ्क स्वीडेनका जनसङ्ख्या तथ्याङ्कविद् एन-मारी पर्सनले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।

गत वर्ष बसाइँसराइको ढाँचामा आएको परिवर्तनले पनि गत वर्ष सुस्त जनसङ्ख्या बृद्धि भएको बताइएको छ ।

श्रीलङ्कामा २ महिनामा १५ हजारभन्दा बढी डेंगीका बिरामी

श्रीलङ्कामा सन् २०२४ मा अहिलेसम्म १५ हजारभन्दा बढी डेंगीका बिरामीहरू भेटिएका छन् । डेङ्गी सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको राष्ट्रिय डेंगी नियन्त्रण एकाइले शुक्रबार जनाएको छ। एकाइद्वारा गरिएको पछिल्लो अपडेट अनुसार जनवरीमा १० हजार ४१७ जनामा सङ्क्रमण पाइएको छ भने फेब्रुअरीमा ४ हजार ९९६ जनामा सङ्क्रमण देखिएको छ ।

पश्चिमी प्रान्तमा सबैभन्दा बढी ५ हजार २७५ जनामा सङ्क्रमण देखिएको छ भने उत्तरी प्रान्तमा ३ हजार ६६७ जनामा सङ्क्रमण देखिएको छ ।गत वर्ष ८८ हजार जना डेंगीका बिरामी फेला परेका थिए जसमा ५७ जनाको सङ्क्रमणबाट मृत्यु भएको थियो।

प्रधानमन्त्री प्रचण्डद्वारा दुखः व्यक्त

काठमाडौँ, ११ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता खिमलाल देवकोटाकी आमा हिरादेवी देवकोटाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले आज नेता देवकोटाको निवास बालाजु पुगेर हिरादेवीप्रति श्रद्धान्जलि अर्पण गर्नुका साथै नेता देवकोटालगायत सम्पूर्ण परिवारजनमा समवेदना प्रकट गर्नुभएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । हिरादेवीको निधन भएको आज १३औँ दिनमा प्रधानमन्त्री दाहालले उहाँका परिवारजनलाई भेटेर समवेदना प्रकट गर्नुभएको हो ।

आइसिसी क्रिकेट लिग–२ : नामिबियाद्वारा नेदरल्यान्ड्स पराजित

काठमाडौँ, ११ फागुन : आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै दुई सय तीन रन बनायो । जितका लागि दुई सय चार रनको लक्ष्य पच्छाएको नेदरल्यान्ड्स ४३ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ७९ रनमा समेटियो ।

नामिबियाका लागि ज्यान निकोल लोफ्टी–इटनले सर्वाधिक ४९ रन बनाए । उनले ४३ बल खेल्दै ६ चौका र दुई छक्का हाने । यसैगरी मलान क्रुगरले ३९, ज्यान फ्राई लिङ्कले ३४, रुबेन ट्रम्पप्लेमानले २३ तथा जान ग्रिनले २२ रन बनाए । कप्तान जेर्हार्ड इरासमले १२ रन बनाउँदा माइकल भ्यान लिङ्गेन १० रन जोडे ।

बलिङतर्फ नेदरल्यान्ड्सका लागि भिभियन किङ्गमाले तीन, आर्यन दत्त र रुलफÞ भ्यान डर मर्वाले दुई दुई तथा शारिज अहमद र बास डे लिडले एक एक विकेट लिए ।

यस्तै नेदरल्यान्ड्सका लागि ब्याटिङ गर्ने क्रममा नोआ क्रोसले सर्वाधिक अविजित ४६ रन बनाए । उनले ५६ बल खेल्ने क्रममा तीन चौका हाने । यसैगरी म्याक्स ओडाउडले ४१ रन, बास डे लिडले २४ तथा शारिज अहमदले १९ रन बनाए ।

बलिङतर्फ नामिबियाका ज्यान फ्राई लिङ्क र जेहार्ड इरासमसले तीन तीन, बर्नार्ड स्कोल्जले दुई तथा रुबेन ट्रम्प्लम्यान र निकोल लफ्टी इटनले एक एक विकेट लिए ।

जितसँगै नामिबियाले चार खेलमा ६ अङ्क जोडेको छ । नामिबिया लिग–२ को शीर्षस्थानमा उक्लिएको छ । नेपाल र नेदरल्यान्ड्सको भने तीन खेलमा दुई दुई अङ्क छ । अब जारी शृङ्खलाको अन्तिम खेल नेपालले नेदरल्यान्ड्ससँग यही फागुन १३ गते खेल्नेछ ।

हिउँ पन्छाएपछि अवरुद्ध नाग्म गमगढी सडक पुन :सञ्चालन

मुगु, ११ फागुुन : कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडक खण्डमा हिउँ पन्छाएपछि अवरुद्ध यातायात पुनः सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय जुम्लाको टोलीले सो सडकखण्डको बुलबुले, सिप्टिचौर र सातमोड घुच्ची लेखमा जमेको हिउँ पन्छाएर सडक नियमित सञ्चालन गरेको हो । मङ्गलबार, बुधबार र बिहीबार हिउँ पर्दा यो खण्ड अवरुद्ध बनेको थियो ।

बिहीबार र शुक्रबार दिनभरि सडक डिभिजन कार्यालय जुम्लाले स्काभेटर र सडक रक्षकद्वारा हिउँ पन्छाएर सडक सञ्चालन गरेको सुपरभाइजर जग्गी विकले जानकारी दिनुभयो । उहाँका अनुसार झाड्नौलादेखि सातमोड, सिप्टिचौर हुँदै बुलबुलेसम्मको सडक खण्डमा जमेको हिउँ पन्छाइएको छ । हिउँद र वर्षाका समयमा दुई÷तीन महिना अवरुद्ध हुने यो सडक दुई वर्षयता सडक डिभिजन कार्यालय जुम्लाले स्काभेटर र सडकका कर्मचारी तैनाथी राखी तुरुन्तै हिउँ, पहिरो र अन्य अवरोध हटाउनाले एक÷दुई दिनभन्दा बढी अवरुद्ध हुने गरेको छैन ।

प्रमुख पर्यटकीय गन्तव्य नेपालकै ठूलो र गहिरो ताल रारा घुम्न आउने पर्यटकको स्थलमार्गको सडक पनि यही सडक भएकाले यातायात साधनले यो खण्ड सधैँ व्यस्त हुने गर्दछ । यो खण्ड व्यस्त र पर्यटकीय मार्ग रहेकाले सिन्जा, चन्दननाथ हुँदै रारा आउने पर्यटकले सडक अवरुद्धकै कारण सास्ती नपाओस् भनेर सडक विस्तार र स्तरोन्नतिमा सडक डिभिजन कार्यालय लागेको सुपरभाइजर विकले बताउनुभयो । कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक ९३ किमी दूरी रहेको छ ।

एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकियो

दमौली (तनहुँ), ११ फागुन : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकिएको छ । निर्माण सुरु भएको पाँच वर्षका अवधिमा आयोजनाले ५१.४४ भौतिक प्रगति गरेको हो ।

पुस मसान्तसम्म आयोजनाको आधा काम सकिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले राससलाई जानकारी दिनुभयो । सोही अवधिसम्म ४६.३४ प्रतिशत आर्थिक प्रगति हासिल भएको छ । आयोजनाले तीनवटा प्याकेजमा ठेक्कामार्फत काम गरिरहेको छ ।

शिल्पकारका अनुसार प्याकेज १ मा २७.७५ प्रतिशत भौतिक र २३.८८ प्रतिशत आर्थिक प्रगति भएको छ । प्याकेज २ मा ५१.१४ प्रतिशत भौतिक र ४४.०९ प्रतिशत आर्थिक प्रगति भएको छभने प्याकेज ३ मा ७६.५ प्रतिशत भौतिक र ७२.६ प्रतिशत आर्थिक प्रगति हासिल भएको शिल्पकारको भनाइ छ । उहाँले भन्नुभयो, “तीनवटै प्याकेजको काम तीव्र गतिमा भइरहेको छ, आयोजनाको प्रगति सन्तोषजनक रहेको छ ।” आयोजनाको कामलाई निर्धारित सन् २०२६ मै सम्पन्न गर्ने लक्ष्यसहित कामलाई अगाडि बढाइएको उहाँको भनाइ छ ।

आयोजनाको महत्वपूर्ण काम रहेको बाँध निर्माण केही महिनाअघि देखि जारी छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई एक सय ४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको छ ।

डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको छ । बाँध निर्माणका लागि नदी फर्काउने कामलाई महत्वपूर्ण मानिन्छ । सन् २०२१ बाट निर्माण सुरु भएको डाइभर्सन टनेल हालै निर्माण सम्पन्न भएपछि नदी फर्काउने काम गरिएको हो ।

अब मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी कङ्क्रिट बाँध (कफर ड्याम) निर्माण गरिनेछ । उक्त बाँध आगामी मनसुन सुरु हुनुभन्दा पहिले नै निर्माण सक्नेगरी काम भइरहेको आयोजना प्रमुख शिल्पकारले बताउनुभयो ।

आयोजनाको मुख्य निर्माण कार्यलाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । प्याकेज–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन (प्रा) लि. नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेदेखि कार्यान्वयनमा आएको थियो ।

आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज–२ को निर्माणका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग विसं २०७५ असोज १५ गते खरिद सम्झौता भएको थियो । निर्माण सुपरीवेक्षण परामर्शदाताले खरिद सम्झौताबमोजिम निर्माण सुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनो हाइड्रोले विसं २०७५ माघ ६ बाट आयोजनास्थलमा परिचालित भई निर्माण जारी राखेको छ ।

भूमिगत विद्युत्गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ तथा टर्वाइनलगायत उपकरण जडान भइरहेको छ । टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ मुख्य सुरुङ खनिरहेको छ । प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका केइसी इन्टरनेसनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते भएको खरिद सम्झौता विसं २०७५ फागुन १० मा कार्यान्वयनमा आएको थियो । ३४.७ किमी प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७४ वटा टावरको जग हालिएको छ । १६ वटा टावरको जग संरक्षण गर्ने कार्य सम्पन्न भएको छभने तीन स्थानमा जारी छ । यस अवधिमा निर्माण व्यवसायीले टावरका विभिन्न उपकरण छिर्कनेमा रहेको स्टोरमा आपूर्ति गरेको जनाइएको छ ।

आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ ।

यसअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३÷११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सबस्टेसनसम्म विद्युत् पु¥याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख सरकार/ नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

स्नातक कार्यक्रम पुन : तीनवर्षे बनाइन्छ : उपकुलपति बराल

कीर्तिपुर ।  त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडाकेशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने बताएका छन् । त्रिविले २०७१ /०७२ सालदेखि व्यवस्थापन सङ्काय तर्फ चारवर्षे स्नातक कार्यक्रम सुरुवात गरेको थियो ।

विश्वविद्यालयको केन्द्रीय कार्यालयमा शुक्रबार पदबहाली गरेपछि त्यहाँ उपस्थित विभागीय प्रमुख, कर्मचारी तथा प्राध्यापकहरुलाई सम्बोधन गर्दै उपकुलपति प्राडा बरालले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्यसञ्चालनमा पनि असहजता थपेको बताए । “बाहिरको शिक्षा प्रणाली अनुकूल बनाउन जनाउँदै चारवर्षे गरियो तर छिमेकी भारत, युरोपेली मुलुकलगायत थुप्रै ठाउँमा अहिले पनि तीनवर्षे स्नातक कार्यक्रम नै चलिरहेको छ”, उनले भने ।

अमेरिकालगायत केही देशमा चारवर्षे स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै उपकुलपति बरालले भने, “त्यस्ता देश वा त्यस्तै चारवर्षे विषय पढ्न जान चाहने विद्यार्थीका लागि तीनवर्षे कोर्ष सकेपछि थप एक वर्षको छुट्टै मानार्थ उपाधिका कार्यक्रम चलाउन सकिन्छ ।”

साथै उनले विषयको विशिष्टताका कारण केही विषयका स्नातक कार्यक्रम भने चारवर्षे वा पाँचवर्षे हुनसक्ने बताए । विश्वविद्यालयका केही कार्यक्रममा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून र केहीमा शून्य रहेकातर्फ औँल्याउँदै उनले अहिले मानविकी सङ्कायमा अरू कार्यक्रमको तुलनामा कम विद्यार्थी भर्ना हुने गरेको बताए ।

यसको  समाधानका लागि मानविकीलाई सबै सङ्काय र कार्यक्रमबाट आउन मिल्ने (मल्टी डिसिप्लिनरी लिवरल आर्ट )का रुपमा पुनःसंरचना गरिने जानकारी पनि उनले दिए । शिक्षा सङ्कायका कार्यक्रमलाई पनि सबै विषयबाट प्रवेश गर्न मिल्ने बनाइन उनले बताए ।

केही वर्षयता त्रिविको संरचना ठूलो र भद्दा भएको चर्चा गरिने उल्लेख गर्दै उपकुपति बरालले यसको पुनःसंरचनाका लागि आफू तयार रहेको बताए । “त्रिविलाई अब विस्तार होइन पुनःसंरचनाको खाँचो छ”, उनले भने  ।

उपकुपति बरालले त्रिविका शैक्षिक कार्यक्रमहरुलाई उत्पादन र बजारसँग जोड्न आफू लागिपर्ने बताए । देशको मौलिक र रैथाने ज्ञानलाई विश्वविद्यालयको प्राज्ञिक अध्ययन–अनुसन्धानसँग जोड्नका लागि दीर्घकालीन योजना बनाइने जानकारी पनि उनले दिए ।

“तराईका राजवंशी र पहाडका मगरले उत्पादन गर्ने कासवा होस् वा चिउरीका उत्पादनको विकास, विश्वविद्यालयले त्यसतर्फको अध्ययन–अनुसन्धानमा जोड दिनेछ”, उनले भने । साथै हिमाली उपचार पद्धति आम्ची र आयुर्वेदिक अध्ययन–अनुसन्धानका कार्यक्रममा पनि विशेष जोड दिएर उठाइने उनले बताए ।

यसैगरी, देशको विशिष्टताअनुरुप पर्वतारोहणको उच्चशिक्षाका लागि विशेष  योजना ल्याइने र विदेशी विश्वविद्यालयसँग ज्ञान आदानप्रदानका कार्यक्रममार्फत अघि बढाइने पनि उपकुलपति  बरालले बताए । होटल व्यवस्थापनमा अध्ययनसँगै कमाईको अवधारणालाई त्रिवि कार्यक्रमभित्रै समेटेर अघि बढाइने पनि उनले बताए ।

प्राडा बराललाई निवर्तमान कार्यवाहक उपकुपति शिवलाल भुसाललगायत त्रिविका वरिष्ठ कर्मचरी तथा प्राध्यापकहरुले स्वागत गरेका थिए ।

गरिखाने शिक्षा, आजको मूल आवश्यकता : मुख्यमन्त्री शर्मा

कर्णाली, ११ फागुन (रासस) : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले गरिखाने शिक्षा आजको मूल आवश्यकता भएको बताउनुभएको छ । कोपिला भ्याली स्कुल वीरेन्द्रनगरको १३औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले सूचना र प्रविधिको विकाससँगै शिक्षा मानव जीवनको प्रत्यक्ष कर्मसँग जोडिनुपर्ने बताउनुभएको हो । “हाम्रा शैक्षिक संरचना योग्य नागरिक उत्पादन गर्ने कारखानाका रुपमा विकास हुनुपर्छ,” उहाँले भन्नुभयो, “टाउकोले टेक्ने खालको हाम्रो शिक्षा नीति खुट्टाले टेक्ने बनाउनुपर्दछ ।

” सरकारले गर्नुपर्ने काम कोपिला भ्याली स्कुलले गरेको बताउनुभएका मुख्यमन्त्री शर्माले श्रम, सीप, प्रविधि र संस्कारसँग जोडिएको शिक्षा पनि यो विद्यालयले दिएको उल्लेख गर्नुभयो । उहाँले शैक्षिक क्षेत्रको उन्नयन र सुदृढीकरणका लागि सबै सरोकार भएका निकायको साझा भूमिका अपरिहार्य रहेको बताउनुभयो ।

उहाँका अनुसार नागरिक खुसी र सुखी बन्ने अवस्था सृजना नहुन्जेलसम्म समृद्धि कोरा भाषणमा मात्र सीमित हुन्छ । जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गङ्गाराम सुनारले कर्णालीको शैक्षिक विकास र यहाँका पहुँचविहीन तथा विपन्न समुदाय बालबालिकाका लागि कोपिला भ्याली वरदान सावित भएको बताउनुभयो ।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर मल्लले विसं २०६७ मा बाँसको टहराबाट सुरु गरेकामा १३ वर्षपछि हरित विद्यालयसम्म निर्माण गर्न सकिएको बताउनुभयो । विद्यालयका सहसंस्थापक म्याग्गी डोयनले कर्णालीमा आएर काम गर्न पाउँदा गर्व गरेको बताउनुभयो ।

प्रधानमन्त्रीद्वारा नवनियुक्त उपकुलपति बराललाई शुभकामना

काठमाडौँ, ११ फागुन : प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजङ्ग बराललाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालसँग आज भएको भेटमा उपकुलपति बरालले त्रिभुवन विश्वविद्यालय र यसमार्फत नेपालको उच्च शिक्षालाई सुधार गर्न आफूले प्राप्त गरेको जिम्मेवारीलाई पूरा गर्ने तथा कुलपतिको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा योगदान गर्ने बताउनुभयो ।

उपकुलपति बरालले शैक्षिक क्यालेन्डर लागू गर्ने, शैक्षिक कार्यक्रमलाई सही मार्गमा ल्याउने, पाठ्यक्रम परिमार्जन गर्ने, स्वच्छ शैक्षिक वातावरण निर्माण गर्न सरोकारवालालाई विश्वासमा लिई काम गर्ने, उच्च शिक्षाको गुणस्तर निर्माण गर्दै बन्चितिकरणमा परेका तल्लो वर्गलाई शिक्षामा अवसर प्रदान गर्ने तथा शैक्षिक मर्यादा र अनुशासनमा सम्झौता नगर्ने आफ्नो अठोट रहेको बताउनुभएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

ढोरपाटनमा व्यापक हिमपात, जनजीवन कष्टकर

ढोरपाटन (बागलुङ), ११ फागुन : बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले वरपरसमेत गर्न सकेका छैनन् ।

हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्न गाह्रो भएको स्थानीय जीवन अदैले जानकारी दिनुभयो । हिमपातले ढोरपाटनवासीको जनजीवन कष्टकर बनेको छ । बिहीबार सामान्य हिमपात भएकामा रातिदेखि भारी हिउँ परेको उहाँ बताउनुहुन्छ । यसपटकको हिमपात यो वर्षकै ठूलो भएको अदैको भनाइ छ ।

“बुधबार साँझदेखि सिमसिम पानी परेर चिसो महसुस भएको थियो, रातिदेखि अलिअलि हिउँ परेको र हिजो (बिहीबार) दिउँसो अलिअलि घाम लागेर हिउँ पग्लिएको थियो तर रातिदेखि भारी हिमपात भएर अहिले ढोरपाटन उपत्यका सबै ढाकिएको छ, वरपर गर्न सक्ने अवस्था छैन”, अदैले भन्नुभयो, “एक साता जति भयो घर्मी बढ्न थालेको थियो, हिउँ परेपछि फेरि चिसो बढेको छ, मङ्सिर र माघमा पनि हिउँ परेको थियो, यो बेलाको हिउँले बालीनाली राम्रो हुन्छ, तर चिसोले गर्दा घरबाट बाहिर निस्किएर काम गर्न समस्या भएको छ ।”

गत मङ्सिर १७ गते ढोरपाटनलगायत आसपासका क्षेत्रमा पहिलोपटक हिमपात भएको थियो भने माघको १८ गते पनि भारी हिमपात भएको थियो । तेस्रोपटकको हिमपातले किसान र ढोरपाटन उपत्यकाका होटल व्यवसायी खुसी भएका छन् ।

ढोरपाटनसँगै बागलुङको उच्चपहाडी क्षेत्र हिउँले ढाकिएका छन् । बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमाना पातीहाल्नेमा पनि बाक्लो हिमपात भएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताउनुभयो । हिमपातले जनजीवनमा सामान्य असर परेको उहाँले बताउनुभयो ।

बुढीगण्डकी आयोजनाका लागि तीन खर्ब १७ अर्ब जुटाइँदै

काठमाडौँ, ११ फागुन : एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय स्रोत जुटाउन विभिन्न विकल्प प्रस्ताव गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहको संयोजकत्वमा गठिन समितिले सरकारलाई विकल्पसहितको सुझाव दिएको छ ।

समितिमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआडिसिएल)का प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम, बुढीगण्डकी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगतकुुमार श्रेष्ठ र ऊर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर राजु महर्जन सदस्य रहेको समितिले दिएका सुझावलाई आधार बनाएर बिहीबार ऊर्जा मन्त्रालयमा सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिसँग छलफल भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकट भविष्यमा नै सो आयोजनाको शिलान्यास गर्ने बताउँदै आउनुभएको छ । प्रधानमन्त्रीको चाहनाअनुसार ऊर्जा मन्त्रालयले पनि आयोजनालाई यथाशक्य चाँडो कार्यान्वयन गर्न सम्बन्धमा नियमित छलफल गर्दै आएको छ । दर्जनौँपटकको छलफलका आधारमा अब लगानीको सम्पूर्ण ढाँचा बनेको बुढीगण्डकी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

विद्युत् माग हुने प्रमुख क्षेत्र नजिक रहेकाले पनि सो आयोजनाको आफ्ने विशिष्ट प्रकारको महत्व रहेको छ । राजधानी काठमाडौँ नजिकै रहेको, पोखरा, नारायणगढ, बुटवल, भैरहवा समीपवर्ती भएकाले आयोजनालाई ‘लोड सेन्टर’ मान्न सकिन्छ । ऊर्जा सुरक्षाका दृष्टिले पनि जलाशययुक्त आयोजना निर्माण गर्नैपर्ने बाध्यतामा सरकार छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सफलताले पनि आन्तरिक लगानीमा नै सो आयोजना निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको छ । चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको अनुभवले पनि बुढीगण्डकी आयोजनालाई सहजरूपमा निर्माण गर्न सकिने ठानिएको हो ।

आयोजना निर्माणका लागि बजेट अभाव हुन नदिन सरकारले इन्धनमा लगाएको पूर्वाधार कर उपयोग हुनेगरी आयोजनाका लागि आवश्यक पर्ने बजेट सालबसालीरूपमा विनियोजन गर्ने व्यवस्था अर्थमन्त्रालयले मिलाउने भएको छ । गत कात्तिक २३ गतेको मन्त्रिपरिषद्ले आयोजनाको स्रोत सुनिश्चितताका लागि आवश्यक निर्णय गरिसकेको छ ।

समितिले विशेषगरी वित्तीय व्यवस्थापनका सन्दर्भमा तीनवटा विकल्प अगाडि सारेको छ । त्यसमा कर्जा स्वपुँजी अनुपातका आधारमा ८० र २० प्रतिशत, ७५ र २५ प्रतिशत, ७० र ३० प्रतिशत बराबर रहनेछ । आयोजनाको कूल निर्माण लागत (निर्माण अवधिको ब्याजसमेत जोड्दा) पहिलो विकल्पमा रु तीन खर्ब १७ अर्ब ६७ करोड बराबर रहनेछ । दोस्रो विकल्पमा रु तीन खर्ब १३ अर्ब ९३ करोड बराबर हुनेछ । तेस्रो विकल्पमा रु तीन खर्ब १० अर्ब ४७ करोड हुनेछ । त्यसमा कुल कर्जा भने रु दुई खर्ब ५४ अर्ब २७ करोड बराबर रहनेछ ।

समितिका अनुसार कर्जा स्वपुँजी अनुपात ७५ र २५ प्रतिशतका आधारमा हेर्दा कूल कर्जा रु दुई खर्ब ३५ अर्ब ४३ करोड बराबर रहनेछ । त्यस्तै, ७० र ३० को अनुपातमा रहँदा रु दुई खर्ब १८ अर्ब २६ करोड हुनेछ । त्यसमा सरकारको सहुलियत प्राप्त कर्जा (८०ः२०) का आधारमा रु एक खर्ब ५४ अर्ब ८७ करोड बराबर हुनुपर्नेछ । यसैगरी (७५ः२५) अनुपातमा रु एक खर्ब ४६ अर्ब ९४ करोड र (७०ः३०) को अनुपातमा रु एक खर्ब ३९ अर्ब ९१ करोड बराबर हुनुपर्नेछ ।

समितिले व्यावसायिक कर्जाका हकमा तीनवटा फरक सुझाव दिएको छ । पहिलो विकल्पमा रु ९९ अर्ब ४० करोड बराबरको व्यावसायिक कर्जा लिनुपर्ने सुझाइएको छ । दोस्रो विकल्पमा रु ८८ अर्ब ४८ करोड र तेस्रो विकल्पमा रु ७८ अर्ब ३५ करोड कर्जा लिनुपर्नेछ । कूल स्वपँजी लगानीमा पनि तीन वटा विकल्पका आधारमा नै सुझाव दिइएको छ । पहिलोमा रु ६३ अर्ब ४० करोड, दोस्रोमा रु ७८ अर्ब ५० करोड र तेस्रोमा रु ९२ अर्ब २१ करोड बराबर रहनेछ ।

सरकारको स्वपुँजी लगानीमा पहिलो विकल्पमा रु ३२ अर्ब ३३ करोड, दोस्रोमा रु ४० अर्ब चार करोड रर तेस्रोमा रु ४७ अर्ब तीन करोड बराबर छ । नेपाल विद्युत् प्राधिकरणले गर्ने स्वपुँजी लगानीमा पनि पहिलो विकल्पमा रु १२ अर्ब ६८ करोड, दोस्रोमा रु १५ अर्ब ७० करोड र तेस्रोमा रु १८ अर्ब ४४ करोड बराबर हुनेछ । अन्य सरकारी एवं सार्वजनिक निकायको स्वपुँजीमा पनि तीन वटा विकल्प अनुसार नै प्रस्ताव गरिएको छ । पहिलो विकल्प अनुसार रु पाँच अर्ब ७१ करोड, दोस्रोमा रु सात अर्ब सात करोड र तेस्रोमा रु आठ अर्ब ३० करोड बराबर रहनेछ । सर्वसाधारणले लगानी गर्ने कूल लागतको १० प्रतिशत हिस्सामा पनि तीन वटा विकल्पमा नै हिसाब गरिएको छ । पहिलो विकल्पमा रु छ अर्ब ३४ करोड, दोस्रोमा रु सात अर्ब ८५ करोड र तेस्रोमा रु नौ अर्ब २२ करोड लगानी हुनेछ । आयोजना प्रभावित धादिङ र गोरखाबासीले पहिलो विकल्पमा रु ६ अर्ब ३४ करोड, दोस्रोमा रु सात अर्ब ८५ करोड र तेस्रोमा रु नौ अर्ब २२ करोड बराबरको शेयर लगानी गर्न पाउनेछन् ।

बैंक, वत्तीय संस्थालगायत सार्वजनिक निकायको कुल लगानीमा पनि तीन वटा विकल्प अनुसार नै हिसाब गरिएको छ । त्यसअनुसार पहिलोे रु एक खर्ब पाँच करोड १० लाख, दोस्रो रु ९५ अर्ब ५५ करोड र तेस्रो रु ८६ अर्ब ६५ करोड प्रस्ताव गरिएको छ । सरकारको कूल लगानी (भिजिएफबाहेक) पहिलो विकल्पमा रु एक खर्ब ८७ अर्ब २० करोड, दोस्रोमा रु एक खर्ब ८६ अर्ब ९८ करोड, तेस्रोमा रु एक खर्ब ८६ अर्ब ९३ करोड प्रस्ताव गरिएको छ । शेयर लगानीका हिसाबले कर्जा स्वपुँजी अनुपात ८० र २० नै उपयुक्त हुने सुझाव दिएको समितिले ऋण लगानीका आधारमा भने ७० र ३० को अनुपात ग्राह्य हुने बताएको छ ।

समितिले सरकारको न्यूनतम ५१ प्रतिशत शेयर कायम हुनेगरी शेयर संरचना कायम गर्नु उपयुक्त हुने सुझाव दिएको छ । गर्दा व्यवसायिक ऋण तथा शेयर लगानी जुटाउन समेत सहज हुनेछ । संस्थापक शेयरधनीका रुपमा सरकार, प्राधिकरण,का अलावा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, एचआइडिसिइल, नेपाल टेलिकमलगायतका सार्वजनिक निकायको सहभागिता हुने गरी मौजुदा शेयर संरचनामा परिवर्तन गर्नु उपयुक्त हुने समितिको राय छ ।

जलाशययुक्त आयोजना अन्य प्रकृतिका आयोजना भन्दा तुलनात्मक रुपमा लागत बढी र प्रतिफल कम हुन्छ । यस्ता आयोजनालाई वित्तीय रुपले सम्भाव्य बनाउन भायविलीटी ग्याप फण्ड र मिश्रित लगानी ( ब्लेन्डेड फाइनान्सीङ) जस्ता विधि अवलम्बन गरिन्छ । आयोजनाको प्रस्तावित वित्तीय ढाँचामा सर्वसाधारणबाट रु १८ अर्ब भन्दा बढी शेयर लगानीको प्रस्ताव गरिएको छ । नागरिकको अनिवार्य वचत सङ्कलन गर्ने कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषजस्ता सार्वजनिक निकायबाट ठूलो परिमाणको ऋण तथा शेयर लगानीको अपेक्षा पनि गरिएको छ ।

आयोजनाको वातावरणीय तथा सामाजिक सुरक्षा खर्च वापत हालसम्म भएको रु ४२ अर्ब ५७ करोड समेत अनुमानित खर्च रु ७३ अर्ब २० करोडलाई सरकारले भायविलीटी ग्याप फण्डका रुपमा व्यहोर्नुपर्ने समितिको सुझाव छ । इन्धनमा लगाइएको पूर्वाधार कर आयोजनामा उपयोग हुने गरी कूल लागत मध्ये रु एक खर्ब ८७ अर्ब शेयर लगानी र सहुलियत प्राप्त ऋणको रुपमा सरकारले लगानी गर्नुपर्नेछ । सो रकमबाट सरकारको प्रतिबद्धताअनुरुप आयोजनाको ५१ प्रतिशत शेयर सरकारको कायम हुने गरी बाँकी रकम सहुलियत प्राप्त ऋणमा समावेश गर्नुपर्ने हुन्छ । सरकारले प्रदान गर्ने सहुलियत प्राप्त ऋणको ब्याजदर वार्षिक एक प्रतिशत र ऋण अवधि आठ वर्षको निर्माण अवधिसहित ५० वर्ष कायम गर्नुपर्ने समितिको राय छ ।

कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, एचआीडसीएल, सामाजिक सुरक्षा कोषलगायत वाणिज्य बैंकहरु सम्मिलित सहवित्तीयकरण गठन गरी आयोजनाका लागि आवश्यक पर्ने व्यावसायिक कर्जाको प्रबन्ध गर्नुपर्ने हुन्छ । वित्तीय योजना अनुसार व्यावसायीक कर्जामध्ये रु २० अर्बसम्म एचआइडिसीएलमार्फत ऊर्जा बण्ड जारी गरी उठाउन सकिनेछ । आयोजनालाई वित्तीय रुपले सम्भाव्य र लगानीका लागि आकर्षक बनाउन सरकारले जलाशययुक्त आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्रको अवधि ५० वर्ष बनाउनका लागि नीतिगत प्रबन्ध गर्नु आवश्यक भएको समितिको सुझाव छ ।

कुन वर्ष कति रकम ?

आयोजनाको निर्माण सुरु आर्थिक वर्ष २०८१/८२ लाई आधार मानेर हेर्दा कुन वर्ष के कति रकम आवश्यक पर्छ भनेर समितिले सुझाएको छ । आयोजना सुरु हुने पहिलो वर्ष स्वपुँजीबाट नै रु १७ अर्ब ३७ करोड आवश्यक पर्नेछ । आर्थिक वर्ष २०८२/८३ मा रु १९ अर्ब एक करोड, आर्थिक वर्ष २०८३/८४ मा रु २३ अर्ब ८१ करोड, आव २०८४/८५ मा रु ४१ अर्ब ६७ करोड, आव २०८५/८६ मा रु ४४ अर्ब ९५ करोड, आव २०८६/८७ मा रु ८२ अर्ब रु ४९ करोड, आव २०८७/८८ मा रु ४२ अर्ब ४९ करोड र आव २०८८/८९ मा रु ३८ अर्ब ७४ करोड आवश्यक पर्नेछ । यसोगर्दा आयोजनालाई निर्माण अवधिमा ब्याजको भार कम हुन्छ भने व्यावसायिक कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले आफ्नो ऋण लगानीमा कम जोखिम भएको महसुस गर्नेछन् । त्यसबाट लगानी जुटाउन सहज हुने समितिको ठहर छ ।

यस्तो छ ऊर्जा उत्पादनको अवस्था

आयोजनाबाट हिउँदमा एक हजार चार सय आठ गिगावाट घण्टा बराबर ऊर्जा उत्पादन हुनेछ । यसैगरी वर्षा महिनामा एक हजार नौ सय ७५ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । हिउँदको विद्युत् बिक्री दर प्रतियुनिट रु १२.४० पैसा र वर्षायामको प्रतियुनिट रु ६. ५० पैसा बरारबर हुनेछ । आयोजनाको अनुमतिपत्रको अवधिभरमा सरकारलाई ‘रोयल्टी’, संस्थागत आयकर, मूल्य अभिवृद्धिकर तथा भन्सार महसुल गरी रु दुई खर्ब ८४ अर्ब ८२ करोड आय हुनेछ ।

यस्ता छन् समितिका सुझाव

समितिले सरकारी स्वामित्वका वित्तीय संस्थासँग छलफल गरी आयोजनाको प्रस्तावित वित्तीय योजनाको ढाँचालाई अन्तिम रुप प्रदान गरी सो अनुरुपको लगानी प्रतिबद्धता लिनुपर्ने सुझाव दिएको छ । वित्तीय योजनाको ढाँचाअनुरुप व्यावसायिक ऋण तथा स्वपुँजी लगानी गर्ने सार्वजनिक निकाय एवं बैंक तथा वित्तीय संस्था र त्यस्ता निकायले लगानी गर्ने रकम यकिन गर्नुपर्नेछ । प्रस्तावित शेयर संरचनाअनुरुप कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुपर्नेछ । व्यावसायिक कर्जाको शर्त, अवस्था एवं कर्जा प्रदान गर्ने बैंक तथा वित्तीय संस्था यकिन गरी त्यस्ता निकायसँग समझदारी गरी व्यावसायिक कर्जाको स्रोत सुनिश्चित गर्नुपर्नेछ ।

स्वदेशी लगानीमा आयोजना निर्माण गर्ने उद्देश्यका साथ २०७९ असार १४ को मन्त्रिपरिषद्ले कम्पनी स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार २०७९ असार २१ गते सरकारको अधिकांश शेयर स्वामित्व रहने गरी कम्पनी स्थापना भएकोे हो । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन फ्रान्सेली कम्पनी ट्याक्टबेलले सन् २०१४ मा नै तयार पारी सरकारलाई बुझाएको थियो ।

आयोजना निर्मााण्का निम्ति वर्तमान सरकारले आयोजनाको फिल्ड कार्यालय स्थापना गरेर मुआब्जा वितरणको काम अन्तिम चरणमा पु¥याएको छ । प्रधानमन्त्रीले निकट भविष्यमा नै शिलान्याश गर्ने बताउँदै आउनु भएको छ । प्रधानमन्त्रीको चाहनाअनुसार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले शीघ्र निर्णय गर्न सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभएको छ । सोहीअनुरुप बिहीबार ऊर्जा मन्त्रालयमा विभिन्न १० वटा निकायका प्रतिनिधिसँग छलफल भएको हो ।

“हामी सहमति नजिक पुगेका छाँै, सरकारी स्वामित्वका वित्तीय संस्था शेयर वा सहुलियतपूर्ण कर्जाका लागि तयार भएका छन्”, बुढीगण्डकी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भन्नुभयो । उहाँले सरकारी स्वामित्वका वित्तीय संस्थाका प्रतिनिधिसँगको छलफलले विश्वासको वातावरण बनाएको र आफूहरु आशावादी भएको जानकारी दिनुभयो । ती संस्थाका प्रतिनिधिले सबै विकल्पमा लगानी गर्ने प्रतिबद्धता जनाउनुभएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताउनुभयो ।

आगामी आर्थिक वर्षदेखि पूर्वाधार कर वापतको रकम आयोजनाको खातामा नै जम्मा हुने गरी व्यवस्था भएको छ । यसबाट स्रोतको ठूलो जोहो हुनेछ । जलाशययुक्त आयोजना निर्माण गरी ऊर्जा सुरक्षालाई विशेष ध्यान दिन लागेको सरकारले बुढीगण्डकीलाई राष्ट्रिय गौरवका परियोजनामा सूचीकृत गरेको छ ।

‘भ्रष्टाचारविरुद्ध निर्ममरूपमा प्रस्तुत हुन हाम्रो पार्टी दृढ छ’ – सांसद नेपाली

काठमाडौँ । नेपालको राष्ट्रिय हितलाई सर्वोपरि मानेर जनउत्तरदायी, सहभागितामूलक, लोकतान्त्रिक राज्य र शासन व्यवस्था प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राजनीतिको मूलधारमा आएको बताउछन् राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपाली । उनी भन्छन्–सबै वर्ग, जाति, लिङ्ग, समुदायका आवश्यकता र मागलाई पार्टीको मूल संरचनाबाटै उठाई राजनीतिलाई भन्दा कामलाई हामीले प्राथमिकतामा राखेका छौँ । भ्रष्टाचारविरुद्ध निर्ममरूपमा प्रस्तुत हुन हाम्रो पार्टी दृढ छ । राजनीतिलाई सुसंस्कृत र सम्मानित बनाउन हाम्रो पार्टी प्रतिबद्ध छ ।

उनी भन्छन्–मुलुकमा मौलाएको भ्रष्टाचारविरुद्ध मुख्य एजेण्डा बनाई खराब प्रवृत्तिप्रति निरन्तर आवाज बुलन्द पार्न हामी अडिग छौँ । हाम्रो पार्टीमा प्रवेश गर्दैगर्दा तथा प्रतिनिधित्व जनाउँदा राज्यले दिएको सेवासुविधा प्रयोग गरे पनि जनतालाई मारमा पारेर अनियमितताका गतिविधि गर्नेविरुद्ध हाम्रो पार्टी लागिरहन्छ ।

सांसद नेपालीका अनुसार राजनीति जनताको सेवा हो । सेवाभावले राजनीति गर्नुपर्छ भन्ने भाव नेपाली राजनीतिमा देखिँदैन । मुलुकको आधारभूत आवश्यकता तथा प्राथमिकताका क्षेत्रलाई दृष्टिगत गरी सांसद आफ्नो जिम्मेवारीमा अडिग रहनुपर्छ । जनताको प्रतिनिधित्व गर्ने सर्वोच्च निकाय संसद्मा सांसदले उठाएका आवाजलाई सरकारले सम्बोधन गर्नुपर्छ । जनताको प्रतिनिधित्व गरेको हाम्रो बोली, बोलीमा मात्र सीमित नहोस् । सांसदको सार्थकता संसद्मा उठाइएका विषय स्थापित भए÷नभएकामा निर्भर गर्दछ । संसद्मा उठाएका विषयलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध हुनुपर्छ ।

“हिजो म जनता थिएँ, राजनीतिक दलले राष्ट्र निर्माणका क्रममा गरेका विषयमा नियालेका हुन्थ्यौँ । प्रश्न गरेका हुन्थ्यौँ । आज म प्रतिनिधिसभामा जनताको प्रतिनिधित्व गर्दैगर्दा मैलै गरेका कामप्रति तथा मप्रति जनताले प्रश्न गर्ने ठाउँ रहन्छ । यस विषयमा म जिम्मेवार बन्नुपर्छ । दलित समुदायबाट मैले संसद्मा प्रतिनिधित्व गर्दैगर्दा समग्र मुलुकसँगै दलित समुदायको प्रतिनिधित्व पनि गर्नुपर्छ । कानुन निर्माण गर्ने र जनताको आवाज बुलन्द गर्ने मुख्य थलो संसद्लाई प्रभावकारी बनाउन राष्ट्र र जनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ,” उनी भन्छन् ।

सांसद नेपालीको भनाइ जस्ताको त्यस्तै–
संसद्मा अहिले हामी प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छौँ । संसदीय अभ्यासमा प्रतिपक्षको भूमिका महत्त्वपूर्ण हुन्छ । संसद्मा प्रतिपक्षमा रहिरहँदा हाम्रो मुख्य भूमिका सरकाले गरेका कामको अवलोकन गरी रचनात्मक आलोचना गर्दै सही बाटोमा डोहोर्याउनु हो । जसमा हामी प्रतिबद्ध छौँ, पार्टी प्रतिबद्ध छ ।

नेपाली राजनीतिमा नयाँ दलको रूपमा संसद्मा प्रवेश गर्दैगर्दा जुन हुटहुटी लिएर प्रवेश गरेका थियौँ, अभ्यासमा भने अपेक्षाअनुरुप हुन सकेन । हुन त हामी सिक्ने क्रममा छौँ, सिक्दैँ छौँ । म यातायात व्यवसायी तथा दलित समूहबाट प्रतिनिधित्व गरेका हिसाबले संसद्मा विशेषगरी यातायात व्यवसायी, दलित समुदायका मुद्दालाई प्राथमिकतामा राखेको छु । यी मुद्दालाई स्थापित गर्नुपर्छ र जनताका आधारभूत आवश्यकता परिपूर्ति हुन नसकेका विषयलाई ध्यान दिएर शून्य, विशेष, आकस्मिक समयमा आवाज उठाउँदै आएको छु ।

पछिल्लो समय अध्ययन तथा रोजगारीका सिलसिलामा ठूलो सङ्ख्यामा युवाको बहिर्गमन देशका लागि सुखद् पक्ष होइन । हामीले युवालाई देशमा बस्ने वातावरण सिर्जना गर्न युवाको क्षमता, आवश्यकताको सुक्ष्म अध्ययन गरी सोहीअनुरुपको रोजगारी सृजना गर्नेतर्फ मुलुक उन्मुख हुनुपर्छ ।

स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गरी राष्ट्रिय उत्पादन अभिवृद्धिमा जोड दिनुपर्छ । परिणाममुखी, सीपमूलक, नैतिक, रोजगारी केन्द्रित, व्यवहारिक शिक्षा प्रणाली अवलम्बन गरी शिक्षा प्रणालीलाई समयानुकूल बनाई सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्छ । आर्थिक अवस्थालाई स्तरोन्नति गर्न युवाको रोजाइ बाह्य मुलुक बन्न पुग्यो । यस्तो अवस्थालाई निराकरण गर्न नीतिगत सुधार, निजी तथा सहकारी क्षेत्रसँगको सहकार्यलाई सुदृढ बनाउँदै मुलुकभित्रको जनशक्ति सदुपयोग गर्न आवश्यक छ । गर्न सक्ने र खुबी भएका युवालाई समयसापेक्ष नीतिगत व्यवस्था गरी रोक्ने वातावरण बनाउन जरुरी छ ।

संसद्को चालु अधिवेशनमा पार्टीले संसद्मा गैरसरकारी विधेयक (प्राइभेट बिल)लैजाने विषयमा छलफल भइरहेको छ । नेपालको इतिहासमा प्राइभेट बिललाई त्यति महत्त्वपूर्णरूपमा हेरिएको रहेनछ । आ–आफ्नो विज्ञताअनुसार दलभित्रका सांसद कानुनलाई समयसापेक्ष, गुणस्तरीय बनाउन प्रयास गरिरहनुभएको छ । विज्ञको टोलीसँग संसदीय अभ्यासलाई कसरी प्रभावकारी बनाउने, नीति–निर्माण प्रक्रियालाई प्रभावकारी बनाउने सम्बन्धमा नियमित छलफल गरिरहेका छौँ । नेपाली समाजको परिवेशअनुसार, जनताको आवश्यकतानुसार राजनीतिक व्यवस्थालाई थप मजबुत बनाउन विज्ञसँगको छलफललाई अझ सुदृढ बनाउन आवश्यक ठानेका छौँ ।

सङ्घीय सांसदको मुख्य जिम्मेवारी कानुन निर्माण हो भन्ने जनतालाई नेपालको राजनीतिक दलले बुझाउन सक्नुभएको रहेनछ कि जस्तो मैले अनुभव गरेँ । सांसदले करोडौँसम्मको बजेट पारिदिएर विकास निर्माण गरिदिने भन्ने जुन नेपाली समाजमा भाष्य निर्माण भएको छ । स–साना बजेटमा रमाउन हाम्रो समाजलाई सङ्घीय सांसदको भूमिका बुझाउन जरुरी छ । आफ्नो निर्वाचन क्षेत्रमा जाँदा बजेट चाहियो भन्ने जनताको आवाजलाई हामी कसरी सम्बोधन गर्ने ? सांसदसँग आर्थिक सहयोग माग्ने परिपाटीले जनतासमक्ष असहज हुँदोरहेछ । हामीले उठाएका मुद्दा स्थापित भएपछि मात्र राजनीतिक अनुभव अझ प्रगाढ होला । नेपाली जनताको सेवक हुन धेरै बाँकी छ । अनुभव बटुल्दै जानेछौँ । अहिले हाम्रा प्रतिबद्धतालाई धेरै साकार पारिसकेका छैनौँ । धेरै गर्न बाँकी छ ।

परिचय
सांसद नेपाली गण्डकी प्रदेशको कास्की जिल्लाबाट प्रतिनिधित्व गर्छन् । समानुपातिक निर्वाचन प्रणालीबाट चयन भएका उनी प्रतिनिधिसभा सदस्य हुन् । विसं २०७९ देखि राजनीतिक दलमा आबद्ध भएका सांसद नेपालीसँग खेल, सामाजिक तथा यातायात क्षेत्रसम्बन्धी अनुभव छ ।
कुराकानीमा आधारित

तीन वर्षदेखि अलपत्र पुस्तकालयको काम थालियो

गलकोट (बागलुङ), ११ फागुन : विसं २०७६ मा शिलान्यास गरिएको धवलागिरि बहुमुखी क्याम्पसको पुस्तकालय भवन निर्माण पुनःप्रारम्भ भएको छ । तीन तला ढलान भएर तीन वर्षसम्म अलपत्र रहेको पुस्तकालय भवनको बाँकी काम थालिएको हो ।

तत्कालीन सांसद सूर्य पाठकको सांसद विकास कोषबाट प्रदान गर्नुभएको रु ७० लाख लागतमा बनाइएको भवनको बाँकी काम यथाशीघ्र पूरा गर्ने लक्ष्यका साथ पुनः काम थालिएको क्याम्पसप्रमुख रामप्रसाद उपाध्यायले बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयले बजेटमा उपलब्ध गराएपछि भवन निर्माणलाई अगाडि बढाइएको छ । “सांसद विकास कोषको २०७६ सालमा रु ४० लाख र २०७७ सालमा रु ३० गरी ७० लाख रकममा भवनको बाहिरी संरचनामात्रै बन्यो, तर समग्रमा भवनको ४० प्रतिशतमात्रै काम हो यो”, क्याम्पसप्रमुख उपाध्यायले भन्नुभयो । त्रिभुवन विश्वविद्यालयले पुस्तकालयको भवन निर्माण सम्पन्न गर्न रु एक करोड बजेट दिएकाले निर्माणको काम पुनः सुरु भएको उहाँले बताउनुभयो । भवन अपाङ्गमैत्री हुनेछ ।

सरकारी जग्गा हडपेको विवरण सङ्कलन गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ, ११ फागुन : गृह मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वको जग्गा कसैले हडपेको भए त्यसको यकिन विवरण मन्त्रालयसमक्ष पेस गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सरकारी जग्गा अतिक्रमण हुन नदिन देशभरका प्रशासन कार्यालयलाई उक्त निर्देशन दिइएको राससलाई जानकारी दिनुभयो । उहाँले पूर्ववत् सरकारी, सार्वजनिक, सन्धिसर्पन, ऐलानी कायम गर्ने प्रयोजनका लागि सोसम्बन्धी सत्य तथ्य सूचनासहितको विवरण सङ्कलन गरी गृह मन्त्रालयमा पठाउन भनिएको बताउनुभयो ।त्यस्तो कार्य गर्नेउपर प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई मन्त्रालयले पत्राचार गरेको छ ।

सरकारी वा सार्वजनिक वा निश्चित प्रयोजनका लागि उपयोग गर्न दिइएका जग्गा अनधिकृतरूपमा दर्ता वा दाखिल खारेज गरी अतिक्रमण वा कब्जा गरेको एवं तोकिएको उद्देश्यभन्दा फरक प्रयोजनका लागि प्रयोग भएका विभिन्न घटनाबाट देखिएपछि मन्त्रालयले जग्गा फिर्ताको पहल थालेको हो ।

मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिले कुनै सार्वजनिक संस्था (प्रचलित कानुनबमोजिम स्थापना भएका प्रतिष्ठान, बोर्ड, प्राधिकरण, संस्थान, विकास समिति, विश्वविद्यालय, विद्यालय, स्वास्थ्य संस्था, कम्पनी वा अन्य सार्वजनिक वा गैरसरकारी संस्था)लाई उपयोग गर्नेगरी उपलब्ध गराइएका सरकारी र सार्वजनिक जग्गा देशभर रहेका जनाएको छ ।

अतिक्रमण भएका जग्गा फिर्ता ल्याउने तथा राज्यको सम्पत्ति कब्जा गर्नेलाई कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता प्रवक्ता भट्टराईले व्यक्त गर्नुभयो ।

आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान, काठमाडौँका छ लाख बालबालिका समेटिँदै

काठमाडौँ, ११ फागुन :सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ ।

अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलन गरेर वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भुवन पौडेलले जानकारी दिनुभयो । उहाँले ती वालबालिकालाई एक हजार छ सय ७० खोप केन्द्रबाट खोप लगाइने बताउनुभयो ।

पहिले विद्यालयलाई नै खोप केन्द्र बनाउने र खोपको अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाइने उहाँले बताउनुभयो । बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियान सहभागी हुनेछन् ।

काठमाडौँ महानगरपालिकामा दुई लाख ५० हजार बालबालिका छन् । काठमाडौँ जिल्लाका १० स्थानीय तहमा शङ्खरापुर, कागेश्वरी मनहरा, गोकर्णेश्वर, दक्षिणकाली, नागार्जुन, टोखा, तारकेश्वर, बूढानीलकण्ठ, चन्द्रागिरि र कीर्तिपुरमा फागुन १३ गतेदेखि र काठमाडौँ महानगरपालिकामा यही फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुनेछ । खोप अभियानमा तीन सय ३२ स्वास्थ्यकर्मी र तीन हजार एकजना स्वयंसेवक परिचालन गरिने छ ।

भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइने छ ।

काठमाडौँ दादुरा–रुवेलाको अतिसङ्क्रमित जिल्ला हो । यो नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ । गत वर्ष काठमाडौँ जिल्लामा दादुरा–रुवेला फैलिँदा दुई सय २५ जना सङ्क्रमित र एकजनाको मृत्यु भएको थियो । गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको थियो ।

काभ्रेपलाञ्चोकमा जग्गा प्राप्तिका लागि तीन हजारबढी भूमिहीनको आवेदन

काभ्रेपलाञ्चोक, ११ फागुन राष्ट्रिय भूमि आयोग जिल्ला समिति काभ्रेपलाञ्चोकमा तीन हजारभन्दा बढी भूमिहीनले जग्गा प्राप्तिका लागि निवेदन पेस गरेका छन् । सरकारले भूमिहीनलाई जग्गा प्रदान गर्न सार्वजनिक अपिल गरेअनुसार हालसम्म काभ्रेपलाञ्चोकका तीन हजार एक सय ७३ जना भूमिहीन–सुकुम्बासी, भूमिहीन–दलित, अव्यवस्थित बसोबासीले जिल्लास्थित कार्यालयमा आवेदन गरेका हुन् ।

भूमिहीनद्वारा जग्गा प्राप्तिका लागि निवेदन गरेअनुसार समितिले काभ्रेपलाञ्चोकका भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने तयारी गरिरहेको छ । पहिलो चरणमा जिल्लाको अतिदुर्गममा सूचीकृत खानीखोला गाउँपालिकाको भूमिहीन–सुकुम्बासी, भूमिहीन–दलित, अव्यवस्थित बसोबास गरेका नागरिकलाई निस्सा वितरण भइरहेको छ । समितिद्वारा गत माघ २५ गतेदेखि उक्त गाउँपालिकाका भूमिहीनलाई निस्सा वितरण गरिरहेको र वडा नं १ र २ मा वितरण गर्न बाँकी रहेको समितिका सदस्य राम लामाले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार समितिले जिल्लास्थित १३ स्थानीय तहमध्ये महाभारत गाउँपालिकाबाहेकमा भूमिहीनको लगत प्रविष्टिकरणको काम भइरहेको छ ।“जिल्लाका अन्य १२ तहमध्ये खानीखोला गाउँपालिकाले सबै प्रक्रिया पूरा गरेकाले निस्सा वितरण थालिएको हो”, लामाले भन्नुभयो । उहाँले उक्त गाउँपालिकामा निस्सा वितरण सकिएपछि आयोगको मापदण्डअनुसार जग्गा वितरण प्रक्रिया थालिने बताउनुभयो । “रोशी र बेथानचोक गाउँपालिका तथा नमोबुद्ध नगरपालिकाका भूमिहीनको लगत प्रविष्टिकरणको काम सकेर स्थानीयलाई भूमिहीनमा सूचीकृतका लागि सार्वजनिक सूचनामार्फत अपिल गरेका छौँ”, सदस्य लामाले भन्नुभयो ।समितिका अनुसार जिल्लामा भूमिहीन–सुकुम्बासी, भूमिहीन–दलित, अव्यवस्थित बसोबास गरेकाको लागि जग्गा उपलब्ध गराउने प्रक्रियाअन्तर्गत खानीखोलाबाट सुरु गरिएको हो । जग्गा उपलब्ध गराउनुपूर्व सम्बन्धित व्यक्तिलाई आयोगको प्रक्रियाअनुसार निस्सा वितरणकार्य थालिएको जनाइएको छ । जग्गा प्राप्तिका लागि स्थानीय नागरिकले गाउँपालिका कार्यालयमा दिएको निवेदनमा अन्य व्यक्तिबाट भएको दाबीविरोध नभएको र पीडित भएको प्रमाणितस्वरुप आयोगको मापदण्डअनुसार निस्सा दिइने लामाले बताउनुभयो ।जिल्लामा पहिलोपटक खानीखोलाका भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय भूमि आयोगका केन्द्रीय विज्ञ सदस्य वासुदेव हुमागार्इँ र टेकबहादुर शाह तथा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङलगायत सरोकारवालाद्वारा स्थानीय सहजीकरण समितिमा निस्सा वितरण तथा नक्सापास सुरु गर्ने निर्णय गरिएको हो । समितिका अनुसार उक्त गाउँपालिकामा तीन सय ७२ अव्यवस्थित बसोबासी, ४० सुकुम्बासी, दुई भूमिहीन दलित र दुई भूमिहीन सुकुम्बासीको बसोबास छ ।आयोगको जिल्लास्थित कार्यालयमा हालसम्म दलित भूमिहीन सुकुम्बासी एक सय २६, भूमिहीन सुकुम्बासी पाँच सय ३४ तथा अव्यवस्थित बसोबास गर्नेको सङ्ख्या तीन हजार एक सय ७३ जना रहेको तथ्याङ्क छ । उनीहरूले जग्गा प्राप्तिका लागि निवेदन पेस गरेकाले समिति छानबिनको प्रक्रियामा रहेको जानकारी दिइएको छ ।

आजदेखि मौसम क्रमिकरूपमा सुधार हुने

काठमाडौँ – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ जसका कारण अहिले कोशी प्रदेश लगायत देशको पहाडी भुभागमा आंशिक बदली रहि बाकी भुभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आजदेखि मौसम क्रमिकरूपमा सुधार हुने पनि महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने र देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

नर्वेका प्रधानमन्त्रीले चीनसँगको सहकार्य थप प्रगाढ बनाउने

नर्वेजियन प्रधानमन्त्रीले चीनसँगको सहकार्य थप प्रगाढ बनाउने बताउनु भएको छ ।नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरले बुधबार ऊर्जा र जलवायु परिवर्तन जस्ता विभिन्न क्षेत्रमा चीनसँगको सहयोग विस्तार गर्न आफ्नो प्रशासनको गहिरो चासो व्यक्त गर्नुभएको छ।

“हामी चीनसँग व्यापक सहयोग आदान-प्रदान गर्न चाहन्छौं । हामीसँग द्विपक्षीय रूपमा सहयोग बढाउन सक्ने थुप्रै क्षेत्रहरू छन्,” स्टोरले किर्कनेस सम्मेलनमा सिन्ह्वासँगको अन्तर्वार्तामा बताउनु भएको छ ।

चीनको विश्वव्यापी प्रभावलाई उजागर गर्दै उहाँले विश्व अर्थतन्त्रमा चीनको भूमिका रहेको भन्दै उर्जा, जलवायु परिवर्तनका समस्या र शान्ति सुरक्षाका ठूला समस्या समाधानका लागि नर्वेसँग मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

आर्कटिक सर्कल भित्र अवस्थित, किर्कनेसले उत्तरी नर्वेको फिनमार्क काउन्टीको सोर-भ्यारेन्जर नगरपालिकाको केन्द्रीय हबको रूपमा सेवा प्रदान गर्दै गरेको उल्लेख गरिएको छ ।
सन् २००८ मा पहिलो पटक आयोजित, किर्कनेस सम्मेलनले उत्तरी नर्वे र यसको छेउछाउका क्षेत्रहरूमा राजनीतिक, व्यापार र सामाजिक प्रगतिलाई समेट्न विभिन्न प्रयास गर्ने विश्वास व्यक्त गरिएको छ।

बजेट अभावका कारण महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको काम प्रभावित

दोधारा चाँदनी(कञ्चनपुर),११ फागुन :बजेट अभावका कारण राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको काम प्रभावित भएको छ । मुआब्जा वितरण र विकास खर्च बजेट सकिएपछि निर्माण रोकिने अवस्था आएको यहाँस्थित आयोजना कार्यालयका निर्देशक कुसाङ शेर्पाले बताउनुभयो । उहाँले माग गरेभन्दा निकै कम बजेट प्राप्त भएकाले जमिन अधिग्रहण गर्न समस्या भएको बताउनुभयो । “विकासतर्फको रु २० करोड रकम अर्थ मन्त्रालयकै सहमतिमा मुआब्जातर्फ रकमान्तर गरेर जमिन अधिग्रहण गरेका थियौ ।” उहाँले भन्नुभयो–“२१.६ हेक्टर जमिन अधिग्रहणका गर्न रु ८७ करोड थप बजेट माग गरेका छौ ।” उहाँका अनुसार यस वर्ष विकासतर्फ रु ९९ करोड र मुआब्जाका लागि रु १२ करोड आएको थियो । बजेट नहुँदा यस वर्ष नयाँ ठेक्का लगाउन सकिएको छैन ।

आयोजनाको २८.८ किलोमिटरदेखि ४८.३ किमिसम्म मूल नहर निर्माणका लागि गत वर्ष पाँच वटा प्याकेजमा ठेक्का सम्झौता भएको थियो । तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भए पनि बजेट अभाव, रूख कटानमा समस्या र जमिन अधिग्रहण हुन नसक्दा काम हुन सकेको छैन । निर्देशक शेर्पाका अनुसार उन्नाइस किलोमिटर नहर निर्माणका लागि शुक्लाफाँटा नगरपालिकाको फुलेलीदेखि कैलालीको गोदावरी नगरपालिकामा पर्ने मालाखेतीसम्म सात हजार दुई सय रूख कटान गर्नुपर्ने छ तर त्यसको अनुमति वन विभागले अहिलेसम्म दिएको छैन ।डेढ दशकसम्म पनि आयोजनाको काम पूरा नहुँदा स्थानीय किसान खिन्न छन् । “सिचाँइ सुविधा उपलब्ध हुने स्थानमा किसानहरुले बोरिङबाट सिँचाइ गरिरहेका छन् ।” स्थानीय विसन दत्त जोशीले भन्नुभयो–“आयोजना लामो समयसम्म पनि निर्माण हुन नसक्दा लागत पनि बढ्दै गएको छ ।” कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले आयोजनाको मूल नहर नै जीर्ण हुँदै गएकाले सरकारले आयोजनाको काम शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आयोजनाका समस्या समाधान गरेर सरकारले किसानका खेतमा पानी पु¥याउनुपर्ने बताउनुभयो ।

चार करोडको लागतमा मुस्ताङको लोमान्थाङ खोलामा पक्की पुल निर्माण

म्याग्दी, ११ फागुन : कालीगण्डकी ‘करिडोर’ बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोमान्थाङ खोलामा पक्की पुल निर्माण भएको छ ।बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ खोलामा मोटर चल्ने पुल निर्माण भएको हो । पुल निर्माण भएपछि बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सहज भएको छ । पुल रु चार करोड ६८ लाख दुई हजारको लागतमा निर्माण भएको हो । पुल निर्माण पूरा गरी हस्तान्तरण गरिएको आयोजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईँले राससलाई बताउनुभयो ।

इन्जिनियर चापागाईँका अनुसार २०२ किलोमिटर दूरीको बेनी–जोमसोम कोरला सडकमा लोमान्थाङ खोलासहित थप छवटा गाडी चल्ने सडक पुल निर्माण भएका छन् । बेनी–जोमसोम कोरला आयोजनाले पाँचवटा पुल निर्माणका लागि विभिन्न निर्माण कम्पनीसँग रु ३१ करोड ६२ लाखमा ठेक्का सम्झौता भएको छ ।

लोमान्थाङ गाउँपालिकाको लोमान्थाङसहित किम्लिङ, नाम्डोक र भर्माखोलाको पुल निर्माणका लागि मुक्तिनाथ–अमित जेभीले विसं २०७६ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो । बेनी–जोमसोम–कोरला सडक योजनामार्फत १३ वटा पक्की पुल र तीनवटा बेलीब्रिज निर्माण भएका छन् ।

हजारौं इजरायली संस्थामा साइबर चुनौती बढ्यो

इजरायल राष्ट्रिय साइबर निर्देशनालयले बिहीबार भर्खरै पत्ता लागेका दुई वटा महत्त्वपूर्ण जोखिमका दृष्टिगत गर्दा अन्य हजारौं इजरायली संस्थाहरू साइबर आक्रमणको खतरामा रहेको बताएको छ ।

निर्देशनालयले विज्ञप्ति जारी गर्दै त्यसता कमजोरीहरू अमेरिकी कम्प्युटर नेटवर्क सुरक्षा विशाल फोर्टिनेटद्वारा निर्मित भिपिएन रिमोट पहुँच प्रणालीमा फेला परेको बताइएको छ । यसबाट हजारौं सङ्गठनको स्वामित्वमा रहेको लगभग ३० हजार सञ्जाललाई प्रत्यक्ष चुनौती देखिएको छ । निर्देशनालयले संस्थाहरूलाई आवश्यक सुरक्षा अपडेटहरू तुरुन्तै लागू गर्न आग्रह गरेको छ ।

सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौँ, ११ फागुन : सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नुवाकोट शिवपुरी गाउँपालिका–४का २७ वर्षीय किरण थापालाई पक्राउ गरिएको हो ।

अभियुक्तले ती महिलासँग सुसम्बन्ध रहेका बेला खिचिएका अन्तरङ्ग तस्बिर र भिडियो निजसँग सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरबाट महिलाका परिवारलाई पठाएर चरित्रहत्या गरेका केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको टोलीले गरेको अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट अभियुक्तले सामाजिक सञ्जालको दुरुपयोग गरेको पुष्टि भएपछि निजलाई गोङ्गबुबाट पक्राउ गरिएको जनाइएको छ ।

यसैबीच, सर्लाहीको नयाँरोडबाट एक क्विन्टल गाँजासहित एक जना पक्राउ परेका छन् । नवलपरासीको गैडाकोटका सूर्य परियारलाई मोटरको डिकीमा गाँजा लिएर बरहथवा गइरहेका बेला निजलाई पक्राउ गरिएको हो ।

बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न एकीकृत समाजवादीको माग

काठमाडौँ, ११ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले सरकारसँग बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न माग गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बिहीबार भएको बैठकमा प्रतिवेदनको थप अध्ययनपछि भौतिक योजना तथा निर्माणमन्त्री प्रकाश ज्वालालाई वा पार्टीलाई नै सरकारबाट फिर्ता बोलाउने विषयमा पार्टीले निर्णय लिने समझदारी भएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । गत पुस १३ गते बालकुमारी घटनामा दुई युवकको मृत्यु भएको थियो ।बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, सरकारको नीति तथा कार्यक्रमअनुसार कार्यप्रगतिको समीक्षा, मिटरब्याज पीडितका समस्या, सुशासन कायम गर्न पार्टीले निर्वाह गरेको भूमिकालगायत विषयमा छलफल भएको थियो । पार्टीले सञ्चालन गरेको महाधिवेशन केन्द्रित अभियान, पार्टी निकट जनवर्गीय सङ्गठनका कार्यक्रमबारे पनि बैठकमा छलफल भएको थियो ।

त्रिभुवन विमानस्थलबाट एक किलो सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ, – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनसहित बिहीबार एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक मोहमद जेसन रहेका विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले राससलाई जानकारी दिनुभयो । “पक्राउ परेका जेसनले लगाएको पाइन्ट र भित्री वस्त्रमा लेपन गरी ल्याइएको अवस्थामा सुनसहित पक्राउ गरेका छौँ”, उहाँले भन्नुभयो, “लुगासहित करिब दुई किलो पाँच सय ग्राम छ । निजले दिएको बयान अनुसार सुन मात्रै करिब एक किलो छ ।”

पक्राउ परेका जेसन दोहाबाट मुम्बइ हुँदै इण्डिगो एयरलाइन्सबाट बिहीबार अपराह्न ४ बजे काठमाडौँ आएका प्रहरी वरिष्ठ उपरीक्षक शर्माले बताउनुभयो । भन्सार जाँच पार गरिसकेपछि शङ्का लागेको आधारमा निजको खोजतलास गर्दा उक्त सुन भेटिएको प्रहरीले जनाएको छ । निजलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बरामद सुनसहित बुझाइने प्रहरी वरिष्ठ उपरीक्षक शर्माले जानकारी दिनुभयो ।

दशरथचन्द र जयपृथ्वी राजमार्गमा हिमपात

बैतडी- बैतडीसित जोडिएको दशरथचन्द र जयपृथ्वी राजमार्गमा हिमपात भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक नन्दराज जोशीका अनुसार ती राजमार्गमा बिहीबार दिउँसोदेखि हिमपात भएको हो । राजमार्ग अन्तर्गतका खोडपे, अनारखोली, हरिचन, दुदिलाखान, ढोल्यामोड, बित्थडलगायत स्थानमा हिमपात भएको छ । हिमपातका कारण केहिबेर ती राजमार्गमा यातायात सेवा अवरुद्ध भएको थियो ।

यसैबीच हिमपात भएसँगै बालीनाली सप्रिने भन्दै यहाँका किसान खुसी भएका छन् । हिमपातपछि चिसो भने ह्वात्तै बढेको छ । बैतडीमा यस वर्ष दोस्रो पटक हिमपात भएको हो । यसअघि गत माघ तेस्रो साता हिमपात भएको थियो ।

संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छ : उपसभापति खड्का

ललितपुर- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वर्तमान संविधान कांग्रेसको नेतृत्वमा जारी भएको भन्दै संविधान संशोधनको नेतृत्व पनि कांग्रेसले लिनुपर्ने धारणा राख्नुभएको छ । नेपाली कांग्रेसको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सञ्चालन भएको पार्टीको महासमिति बैठक समापनमा उहाँले कांग्रेसले अन्य राजनीतिक दललाई विश्वासमा लिएर संविधान जारी गरेको स्मरण गर्दै संविधान संशोधनको नेतृत्व लिनुपर्ने समय आएको बताउनुभयो ।

संविधान जारी गर्ने बेला विभिन्न राजनीतिक दलसँग गरेको प्रतिबद्धता बमोजिम संविधानलाई समयानुसार परिवर्तनशील दस्ताबेजका रुपमा ग्रहण गरी संशोधनको नेतृत्व पनि गर्नुपर्ने उपसभापति खड्काको भनाइ थियो ।

“संविधान जारी गर्ने बेला सर्वसम्मति हुन नसकेको सत्य हो । संविधानमा सबैका सबै कुरा समेटिएका छैनन् । कतिपय क्षेत्र, वर्ग र समुदायका अधिकारका विषय छुटेका पनि छन्, कतिपय असन्तुष्टिहरू छन”, उहाँले भन्नुभयो, “संविधान जारी भई कार्यान्वयनमा आएको आठ वर्ष बितेको छ । संविधान कार्यान्वयनको समीक्षा गर्दै आवश्यक संशोधनका लागि कांग्रेसले वातावरण बनाउनु आवश्यक छ ।”

उपसभापति खड्काले अन्य राजनीतिक दललाई विश्वासमा लिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुद बनाउन पहल लिनुपर्नेमा जोड दिनुभयो ।उपप्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहनुभएका खड्काले कांग्रेसका तर्फबाट वर्तमान मन्त्रिमण्डलमा सहभागी नौ मन्त्रीले पार्टीले शिर झुकाउनु पर्नेगरी गलत काम नगरेको उल्लेख गर्नुभयो । उहाँले सरकारमा रहेका नेताहरूले जनतालाई सेवा गरिरहेका बताउनुभयो ।

“पार्टीबाट मेरो नेतृत्वमा नौ जना साथीहरुले नेतृत्व गरिरहेका छौँ । आजका दिनसम्म हामीले जनतालाई केन्द्रमा राखेर काम गरिरहेका छौँ”, उपसभापति खड्काले भन्नुभयो, “सरकारमा रहेर हामीले जनता र पार्टीको शिर झुकाउनुपर्ने कुनै पनि काम गरेका छैनौँ ।”वर्तमान सरकार सुशासन स्थापनाका लागि प्रयासरत रहेको भन्दै महासमिति बैठकमा मन्त्रीबारे प्राप्त टिप्पणी र सुझावलाई ध्यानमा राखेर अगाडि बढ्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
 

जाजरकोट भूकम्पः अस्थायी आवासका लागि थप ९० करोड निकासा

काठमाडौँ- जाजरकोट भूकम्पबाट प्रभावितका लागि अस्थायी आवास निर्माणले तीव्रता पाएसँगै सरकारले अनुदान रकम वितरणलाई प्राथमिकताका साथ अघि बढाएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अनुदानको दोस्रो किस्ता उपलब्ध गराउन थप रु ९० करोड निकासा भएको छ ।

यसमध्ये रु ५० करोड जाजरकोट र रु ४० करोड रुकुम पश्चिमका जिल्ला विपद् व्यवस्थापन कोषमा पठाइसकिएको प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङले जानकारी दिनुभयो ।आजसम्म अस्थायी आवास निर्माण गर्न कूल रु तीन अर्ब १६ करोड निकासा भएको प्राधिकरणले जनाएको छ । हालसम्म पहिचान भएका लाभग्राहीको सङ्ख्या ८२ हजार नौ सय ३७ पुगेको छ । अस्थायी आवास निर्माणमा पनि उल्लेख्य वृद्धि भएको जनाइएको छ ।अहिलेसम्म ४८ हजार पाँच सय ६५ आवास बनिसकेका छन् भने निर्माण भइरहेका अस्थायी आवासको सङ्ख्या सात हजार आठ सय ३३ रहेको प्राधिकरणले जनाएको छ ।त्रगत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भुकम्प गएको थियो । उक्त भूकम्पमा क्षति भएका घरहरुको अहिले अस्थायी आवास निर्माण जारी छ । पुनः निर्माणका लागि आवश्यक तयारी भइरहेको गृहमन्त्रालयले जनाएको छ ।

कांग्रेस महासमिति बैठकः सुझावका आधारमा परिमार्जनसहित तीन प्रस्ताव पारित

काठमाडौँ, १० फागुन : नेपाली कांग्रेसको यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको महासमितिको बैठक आज सम्पन्न भएको छ । बैठकले छलफलबाट प्राप्त सुझावका आधारमा केन्द्रीय कार्यसमितिले परिमार्जनसहित अन्तिम रुप दिने गरी महत्वपूर्ण तीन प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावहरुले कांग्रेसको नीति, साङ्गठानिक कार्ययोजना र समसामयिक सन्दर्भमा स्पष्ट दृष्टिकोण निर्माण गरेको छ ।

बन्द सत्रमा प्रस्तुत प्रस्तावमा सहभागी सदस्यबाट महत्वपूर्ण सुझाव प्राप्त भएको कांग्रेसका प्रचारप्रसार उपसमिति संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो । प्राप्त सुझावका आधारमा केन्द्रीय कार्यसमितले परिमार्जनसहित अन्तिम रुप दिने गरी उक्त तीन वटै प्रस्ताव महासमितिको बैठकले सर्वसम्मतिले पारित गरेको उहाँले बताउनुभयो ।

साथै बैठकले प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशसरण महतले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सुझावसहित ग्रहण गर्नुका साथै लेखासमितिका संयोजक श्यामप्रसाद घिमिरेले प्रस्तुत गर्नुभएको लेखापरीक्षण प्रतिवेदन अनुमोदन गरेको छ ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समुद्घाटन गरी १० गते सम्पन्न महासमिति बैठकले नेपाली जनताले पटकपटक गरेको क्रान्ति, सङ्र्घष र आन्दोलनबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै संस्थागत विकास एवं संविधानले निर्दिष्ट गरेका विषयलाई आत्मसाथ गरी नेपालको संविधानको रक्षा, सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको सार्थक कार्यान्वयन आजको राष्ट्रिय दायित्व भएको तथ्य हृदयङ्गमसाथ नागरिकको अवस्था रुपान्तरण गर्ने प्रण गरेको छ ।

शान्ति प्रक्रियाका वाँकी काम, सङ्क्रमणकालीन न्यायका विषय चाँडै टुङ्ग्याउँने प्रतिवद्धता जाहेर गर्दै बैठकले कांग्रेसको उपस्थितिमा निर्माण भएको गठबन्धनलाई निरन्तरता दिई वर्तमान सरकारमार्फत भ्रष्ट्राचार, बेथिती र विसङ्गतिका विरुद्ध वैधानिक रुपमा अभियान सञ्चालन गरी सुशासन र राष्ट्रिय सदाचार पद्दती स्थापित गर्न सम्पूर्ण रुपले अठोट गर्दै अर्थतन्त्रमा देखिएका विविध समस्या र चुनौतिलाई समाधान गर्ने जिम्मेवारी बोध गरेको छ ।

त्यस्तै बैठकले मुलुकमा विद्यमान सबैखाले सामाजिक एवं जातीय क्षेत्रीय तथा लैङ्गिक विभेद र हिंसाविरुद्ध अभियान सञ्चालन गर्ने प्रतिवद्धता गर्दै तीनै तहका सरकार सञ्चालनमा देखिएका समस्या समाधानका लागि नेतृत्वदायी भूमिकाप्रति सचेत रहने दृढ सकङ्ल्प व्यक्त गरेको छ । किसान, सहकारी वचतकर्ता, मीटरव्याज र लघुबित्त पिडितहरुले भोग्दै आएका पीडालाई अविलम्व समाधान गरी पिडितलाई न्याय दिलाउँन सरकारको ध्यानाकर्षण गराउने महासमिति बैठकको निष्कर्ष छ ।

‘राजनीतिक स्थायीत्व, रुपान्तरण नविनता स्वतन्त्रता, न्याय र समानता, कांग्रेसको नीतिगत प्रतिवद्धता’ भन्ने नाराका साथ प्रारम्भ भएको बैठकबाट हासिल नविन उर्जालाई सम्पूर्ण एकताका साथ सङ्गठन निर्माण र विस्तारमा जुट्दै नेपाल र नेपालीको उज्यालो भविष्यका लागि समर्पित हुने साझा प्रतिवद्धतासहित आज बैठक सम्पन्न भएको जनाइएको छ ।

महासमिति बैठक सम्बन्धी विस्तृत जानकारीका लागि भोलि (फागुन ११ गते) दिउँसो ३ बजे कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिने संयोजक विश्वकर्माले जानकारी गराउनुभयो ।
 

अब विकास र समृद्धिका लागि नीतिगत नेतृत्व कांग्रेसले गर्छ : सभापति देउवा

ललितपुर, १० फागुन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमितिबाट प्राप्त सुझाव दूरगामी महत्त्वको आधार भएको बताउनुभएको छ । नेपाली कांग्रेसको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा चार दिनदेखि सञ्चालन भएको महासमिति बैठककोे आज समापन गर्दै उहाँले सहभागीबाट महत्वपूर्ण सुझाव प्राप्त भएको भन्नुहुँदै प्राप्त सुझावलाई केन्द्रीय कार्यसमितिले परिमार्जन गरे पारित गर्ने बताउनुभयो ।

“प्राप्त सुझावलाई समेटेर केन्द्रीय समितिले पूर्णता दिनेछ । यसैको आधारमा आगामी केन्द्रीय समितिले प्रतिवेदन प्रकाशित गर्नेछ”, सभापति देउवाले भन्नुभयो, “महासमितिबाट प्राप्त सुझाव दूरगामी महत्वको आधार बनेको छ । विगतमा आन्दोलन र अभियानको नेतृत्व गर्याैँ, अब विकास र समृद्धिका लागि नीतिगत नेतृत्व कांग्रेसले गर्छ ।” उहाँले काँग्रेस सदैव नेपाली राजनीतिको मियोकारुपमा रहेको भन्दै आगामी दिनमा अझ प्रभावकारी ढङ्गले अगाडि बढ्ने बताउनुभयो ।नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले महासमिति बैठकमा पार्टी र सरकार सञ्चालनका सन्दर्भमा महत्वपूर्ण सुझाव प्राप्त भएको बताउनुभयो । “कांग्रेस जहिले पनि मुलुकको मध्यमार्गी पार्टीको रुपमा स्थापित हुँदै आएको छ । यो धारलाई दायाँबायाँ हुन दिँदैनौँ”, उहाँले भन्नुभयो ।उपसभापति खड्काले संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्ने बताउनुभयो । उहाँले महासमिति बैठकले एकताको सन्देश दिएको उल्लेख गर्दै राष्ट्रिय हितका पक्षमा पार्टी सधैँ क्रियाशील रहेको बताउनुभयो । उहाँले संविधान कार्यान्वयनको क्रममा भएको कमजोरीलाई सुधार र परिमार्जन गर्दै समृद्धितर्फ देशलाई लैजाने जिम्मेवारी कांग्रेसको काँधमा रहेको उल्लेख गर्नुभयो ।कांग्रेसका उपसभापति एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कांग्रेसका नेता तथा कार्यकर्ताले पार्टीको सङ्गठन निर्माणमा लाग्नुपर्ने बताउनुभयो । “कांग्रेस सिद्धान्तमा स्पष्ट र विचारमा प्रष्ट भएर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।उपसभापति गुरुङले गरिबीको रेखामुनि रहेका सबै नेपालीलाई नाना, खाना र छानाको व्यवस्था गर्ने गरी कांग्रेस आगामी दिनमा लाग्नुपर्ने उल्लेख गर्नुभयो । लाभका पदमा पुगेका सबैको सम्पत्ति छानविन गर्ने कुरा व्यवहारमा उतारिनुपर्ने उहाँको भनाइ थियो । जनताको भावनालाई छुने गरी पार्टीले मार्गचित्र तय गर्नुपर्ने उपसभापति गुरुङले बताउनुभयो ।

सभापति लामिछाने र राजदूत लोरेन्जोबीच भेटवार्ता

काठमाडौँ, १० फागुन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि यूरोपियन यूनियन (इयू) का राजदूत भेरोनिक लोरेन्जोबीच भेटवार्ता भएको छ ।

रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा आज भएको भेटवार्तामा दुवैबीच दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको रास्वपाका केन्द्रीय सदस्य एवं सहप्रवता प्रतिभा रावलले जानकारी दिनुभयो । सभापति लामिछाने र राजदूत लोरेन्जोले नेपाल र इयूको पचास वर्षे सहकार्यको समीक्षासहित आउँदा दिनमा अझै बलियो सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिएका उहाँले बताउनुभयो । सभापति लामिछानेले पर्यटन प्रवर्द्धनका लागि इयूले नेपाललाई कायम राखेको ‘एयर सेफ्टी लिष्ट’बाट हटाउन पहलका लागि राजदूत लोरेन्जोलाई अनुरोध गर्नुभएको थियो ।

सो अवसरमा राजदूत लोरेन्जोले यो विषय आफ्नो पनि प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपालले हवाई सुरक्षाका लागि योजनावद्ध रुपमा काम गर्न इयूले नेपाल नागरिक प्राधिकरणसँग समन्वय गरिरहेको भनाइ राख्नुभएको सहप्रवता रावलले जानकारी दिनुभयो । भेटवार्तामा सभापति लामिछानेले उर्जा, सूचना प्रविधिलगायत क्षेत्रमा नेपालका लागि विदेशी लगानी र प्राविधिक सहयोग आवश्यक रहेकाले त्यसमा इयूले सकारात्मक योगदान पु¥याइदिने अपेक्षा राख्नुभएको उहाँले बताउनुभयो ।