`

संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छ : उपसभापति खड्का

Nepal One HD ११ फागुन २०८० ६:५४
राजनीति

ललितपुर- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वर्तमान संविधान कांग्रेसको नेतृत्वमा जारी भएको भन्दै संविधान संशोधनको नेतृत्व पनि कांग्रेसले लिनुपर्ने धारणा राख्नुभएको छ । नेपाली कांग्रेसको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सञ्चालन भएको पार्टीको महासमिति बैठक समापनमा उहाँले कांग्रेसले अन्य राजनीतिक दललाई विश्वासमा लिएर संविधान जारी गरेको स्मरण गर्दै संविधान संशोधनको नेतृत्व लिनुपर्ने समय आएको बताउनुभयो ।

संविधान जारी गर्ने बेला विभिन्न राजनीतिक दलसँग गरेको प्रतिबद्धता बमोजिम संविधानलाई समयानुसार परिवर्तनशील दस्ताबेजका रुपमा ग्रहण गरी संशोधनको नेतृत्व पनि गर्नुपर्ने उपसभापति खड्काको भनाइ थियो ।

“संविधान जारी गर्ने बेला सर्वसम्मति हुन नसकेको सत्य हो । संविधानमा सबैका सबै कुरा समेटिएका छैनन् । कतिपय क्षेत्र, वर्ग र समुदायका अधिकारका विषय छुटेका पनि छन्, कतिपय असन्तुष्टिहरू छन”, उहाँले भन्नुभयो, “संविधान जारी भई कार्यान्वयनमा आएको आठ वर्ष बितेको छ । संविधान कार्यान्वयनको समीक्षा गर्दै आवश्यक संशोधनका लागि कांग्रेसले वातावरण बनाउनु आवश्यक छ ।”

उपसभापति खड्काले अन्य राजनीतिक दललाई विश्वासमा लिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुद बनाउन पहल लिनुपर्नेमा जोड दिनुभयो ।उपप्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहनुभएका खड्काले कांग्रेसका तर्फबाट वर्तमान मन्त्रिमण्डलमा सहभागी नौ मन्त्रीले पार्टीले शिर झुकाउनु पर्नेगरी गलत काम नगरेको उल्लेख गर्नुभयो । उहाँले सरकारमा रहेका नेताहरूले जनतालाई सेवा गरिरहेका बताउनुभयो ।

“पार्टीबाट मेरो नेतृत्वमा नौ जना साथीहरुले नेतृत्व गरिरहेका छौँ । आजका दिनसम्म हामीले जनतालाई केन्द्रमा राखेर काम गरिरहेका छौँ”, उपसभापति खड्काले भन्नुभयो, “सरकारमा रहेर हामीले जनता र पार्टीको शिर झुकाउनुपर्ने कुनै पनि काम गरेका छैनौँ ।”वर्तमान सरकार सुशासन स्थापनाका लागि प्रयासरत रहेको भन्दै महासमिति बैठकमा मन्त्रीबारे प्राप्त टिप्पणी र सुझावलाई ध्यानमा राखेर अगाडि बढ्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
 


प्रतिक्रिया